प्रधानमन्त्री शाहको भारत भ्रमणमा जनकपुर–अयोध्या रेल सेवा उद्घाटन हुने
जनकपुरधाम । जनकपुरधामबाट भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म सञ्चालन हुने विशेष रेल सेवाको बिहीबार परीक्षण गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा सो विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी गरिएको छ ।
सोही तयारी स्वरूप बिहीबार डब्ल्यु डी पी ४ डी ४०४०३ नम्बरको दुई इन्जिन र सात बोगी भएको भारतीय विशेष रेल सेवाद्वारा भारतको अयोध्याबाट धनुषाको कुर्थासम्म परीक्षण गरिएको नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए ।
“प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा उक्त विशेष रेल सेवाको उद्घाटन गर्ने गरी हामी तयारीमा जुटेका छौँ ”, प्रबन्ध सञ्चालक पराजुलीले भने, “यही तयारीस्वरुप भारतीय रेल्वे कम्पनीका प्रतिनिधि तथा प्राविधिक सहितको टोलीले रेल सेवाको परीक्षण गरिएको छ ।” उनका अनुसार भारतको अयोध्याबाट बिहान ९ः०० बजे जनकपुरधाम हुँदै कुर्थासम्म आइपुगेको विशेष परीक्षण रेल बिहान ११ः०० बजे पुनः जनकपुरधाम आइपुगेको छ ।
परीक्षण टोलीसँग नेपाल रेल्वे कम्पनीका पदाधिकारीबिच अयोध्या(जनकपुरधाम नियमित विशेष रेल सेवा नियमित सञ्चालनको विषयमा छलफल भइरहेको प्रबन्ध सञ्चालक पराजुलीको भनाइ छ । छलफलपश्चात् उक्त रेल आजै अयोध्यातर्फ फर्किने जनाइएको छ ।
उद्घाटनको मिति तय नभए पनि प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा रेल सेवा उद्घाटन गर्ने तयारी भइरहेको प्रबन्ध सञ्चालक पराजुलीले जानकारी दिए । प्रधानमन्त्री शाहले यही मङ्सिर ६ गतेदेखि भारत भ्रमण गर्ने तयारी भइरहेको छ ।
उनका अनुसार नेपालतर्फको रेलखण्डमा नेपाली सुरक्षा निकाय तथा भारततर्फ भारतीय सुरक्षा निकायले यात्रु र रेल सुरक्षाको जिम्मेवारी लिने विषयमा पनि सैद्धान्तिक सहमति भएको छ । केही दिनअघि नेपाल र भारतका रेल्वे सेवा, सुरक्षा, भन्सार तथा अध्यागमनका अधिकारीको टोलीले विशेष निरीक्षण यानमार्फत जयनगर–जनकपुरधाम–कुर्था रेलखण्डको स्थलगत निरीक्षण गरेको थियो ।
जनकपुरधाम र अयोध्याबिच रेल सेवा सञ्चालनमा आएपछि दुई देशबिचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप सुदृढ हुनाका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको नगरी अयोध्यालाई प्रत्यक्ष रेल सेवामार्फत जोडिएपछि रामायण सर्किटअन्तर्गत तीर्थयात्री तथा धार्मिक पर्यटकको आवागमन थप सहज हुने विश्वास गरिएको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जितेन्द्र महासेठले बताए ।
विशेष रेल सेवा सञ्चालनले नेपाल र भारतका धार्मिक तथा सांस्कृतिक गन्तव्यबिचको पर्यटन प्रवर्द्धनसँगै स्थानीयस्तरमा आर्थिक गतिविधि बढाउनसमेत सहयोग पुग्ने अपेक्षा गरिएको महासेठको भनाइ छ । हाल भारतको जयनगरदेखि नेपालको जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ ।
