`

बेलबारीमा आयोजित अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा विद्यार्थीको आकर्षण

मोरङ । बेलबारी प्राज्ञ प्रतिष्ठानको आयोजनामा मोरङको बेलबारीमा अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा स्थानीय विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको छ।

विद्यालय तथा क्याम्पस तहका विद्यार्थीसहित स्थानीय समाजसेवी, शिक्षाप्रेमी, कलाकारलाई महोत्सवले आकर्षित गरेको देखिन्छ। तीन दिनसम्म चल्ने सो महोत्सवमा नेपाल, भारत र जापानका नाट्यकर्मीहरुले नाटक मञ्चन गरिरहेका छन। हरेक दिन दुई वटाका दरले नाटक मञ्चन हुने महोत्सवका निर्देशक विकास बुढाथोकीले जानकारी दिए।

मण्डला थिएटरका निर्देशक सोमनाथ खनालको सक्रियतामा आयोजना भएको सो महोत्सवमा छ वटा नाटक मञ्चन हुने बताइएको छ। स्थानीय कलाकर्मीको पहिचानसहित नाट्यकला क्षेत्रको विकास र प्रवद्र्धन गर्न सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको यस किसिमको नाट्य महोत्सव चितवन र पोखरामा पनि भइरहेको आयोजक पक्षले जनाएको छ।

बेलबारी प्राज्ञ प्रतिष्ठानका सचिव कुलप्रसाद बरालका अनुसार महोत्सवमा नाटक मञ्चनसहित सांस्कृतिक झाँकी, कार्यशाला, अन्तरक्रियालगायतका प्राज्ञिक गतिविधि सञ्चालन हुनेछ।

पहिलो दिन आइतबार जीवन बराल र विकास बुढाथोकीको निर्देशनमा रहेको ‘स्कुल’ नाटक र भारतीय टोलीले तयार गरेको नाटक ‘एबोरिजिनल क्राई’ मञ्चन भएको छ। यस नाटकले भारतस्थित मणिपुरको प्रभावित क्षेत्रका विस्थापित मानिस र तिनको कठिनाइलाई चित्रण गर्ने प्रयास गरेको छ।

मण्डल थिएटरका निर्देशक सोमनाथ खनालले नेपालको पूर्वी क्षेत्रको बेलबारीमा पहिलोपटक सुरु भएको सो महोत्वसले स्थानीय कलाकार तथा नाट्यकर्मीको उजागर गर्न र समग्र नाट्यकला क्षेत्रको विश्वास र प्रवद्र्धनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे। 

प्रमुख तीन दलका शीर्ष नेता सिंहदरबारमा छलफलमा

काठमाडौँ । तीन दलका शीर्ष नेताहरुबीच सङ्क्रमणकालीन न्यायलगायत समसामयिक विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा जारी छलफलमा प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरु सहभागी छन् ।

साथै छलफलमा गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक, माओवादी केन्द्रका नेताहरु शक्ति बस्नेत र खिमलाल देवकोटा तथा प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नी खरेललगायत नेताहरु सहभागी छन् ।

अष्ट्रेलियाको राजधानी क्यानबेरामा ‘नेपाल महोत्सव ’ आयोजना

काठमाडौँ । अष्ट्रेलियाको राजधानी क्यानबेरामा आयोजित ‘नेपाल महोत्सव–२०२५’ सफलताका साथ सम्पन्न भएको छ । नेपाली कला संस्कृति, नेपाली पहिरन, खानाको परिकार र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखी क्यानबेरामा आयोजित महोत्सवले राजधानी नेपालमय बनेको थियो ।

कमनवेल्थ पार्कमा आयोजित महोत्सवअन्तर्गत क्यान्बेराको सिभिकको गरिमा प्लेसबाट बिहान साढे दश बजेदेखि सुरु भएको प्रभातफेरी नगर परिक्रमा गरी कमन्वेल्थ पार्कको स्टेज ८८ मा पुगेर टुङ्गिएको थियो । पञ्चेबाजासहित निस्किएको प्रभातफेरीमा लाखे नाच र कुमारी नाच प्रस्तुत गरिएको थियो ।

सो अवसरमा अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवलगायत अष्ट्रेलियामा रहेका विभिन्न नेपाली सङ्घसंस्था, स्थानीय अष्ट्रेलियालीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।

त्यसैगरी राजदूत यादवको प्रमुख आतिथ्यमा भएको औपचारिक कार्यक्रममा अष्ट्रेलियाली सरकारका अर्थमन्त्री केटी गालागार, केन्द्रीय सांसद डेभिड स्मिथ, कूटनीतिक नियोगका प्रमुखहरू, अष्ट्रेलियन क्यापिटल टेरिटोरी राज्य सरकारका बहुसासंस्कृतिकमन्त्री माइकल पेटरसन र यातायतमन्त्री क्रिस् स्टिललगायत उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।

महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित नेपाली कला संस्कृति झल्काउने प्रदर्शनी, नेपाली खानाका फुडस्टल, बालबालिकाहरूका लागि चित्रकला राखिएको थियो ।

नेपाली पहिचानलाई विश्वमाझ पुर्याउने अभियानका रूपमा सन् २००९ देखि गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियाले नेपाल महोत्सव आयोजना गर्दै आएको अध्यक्ष अनिल पोखरेलले बताए ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत यादवले क्यान्बेराको नेपालीले राम्रो गरिरहेको र नेपाली समुदायले नेपाल र नेपालीलाई गर्वको महसुस गराएको बताइन् ।

राष्ट्रपति पौडेल र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

सोमबार दिउँसो शीतल निवासमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । पछिल्लो समय पूर्वराजाको समर्थनमा नारा जुलुस प्रदर्शन बढेपछि दलहरु सशंकित देखिएका छन् ।

प्रचण्डले त पूर्वराजालाई पक्राउ गर्नुपर्नेसम्मको अभिव्यक्ति दिएका छन् । समाजवादी मोर्चाले राजावादीको प्रदर्शनलाई काउन्टर दिन चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्ने घोषणा गरिसकेको छ भने एमालेले पनि देशभर गणतन्त्रका पक्षमा कार्यक्रम गर्ने तय गरेको छ ।

यता पूर्वराजा ज्ञानेन्द्र शाह भने मठ मन्दिरमा दर्शनमा व्यस्त देखिएका छन् । प्रचण्ड र राष्ट्रपति पौडेलबीच पनि यही विषयमा कुराकानी भएको अनुमान गरिएको छ ।

राष्ट्रपति पौडेल पनि राजावादीको चलखेलप्रति असन्तुष्ट देखिएका छन् । सोमबार सोलुखुम्बु पुगेका राष्ट्रपति पौडेलले स्वतन्त्रता र शासन प्रणाली समयको माग र जनताको चाहना भएको उल्लेख गर्दै नेपाली जनतालाई आफूले बनाएको संविधानबाहिरका कुनै पनि निरंकुशता र अराजकता स्वीकार्य नहुने बताएका छन् ।

दिगो विकासका लक्ष्य प्राप्त गर्न महिला सशक्तीकरण जरुरी छः मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूमा महिला नेतृत्व अझै पनि चुनौतीपूर्ण रहेको बताएका छन् ।

सोमबार खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवास), नेपालद्वारा यहाँ आयोजित ‘खानेपानी उपभोक्ता संस्थामा महिला नेतृत्वः अवस्था, अवसर र चुनौती’ विषयक अन्तरक्रियामा उनले खानेपानी र सरसफाइको क्षेत्रमा महिलाको भूमिका महत्वपूर्ण रहेको बताए ।

उनले भने, ‘खानेपानी तथा सरसफाइ आधारभूत आवश्यकता मात्र होइन, समग्र समाजको स्वास्थ्य, समृद्धि र विकाससँग गाँसिएको विषय हो । यस क्षेत्रमा महिलाको भूमिका झनै महत्वपूर्ण छ । घरपरिवारमा पानीको व्यवस्थापन, सरसफाइको अभ्यास र स्वास्थ्य सुरक्षा कायम राख्ने प्रमुख जिम्मेवारी प्रायः महिलाहरूको काँधमा हुन्छ ।’

उनले महिलाहरु हरेक क्षेत्रमा सक्षम रहेको उल्लेख गर्दै महिलालाई अवसर दिए जस्तोसुकै काम पनि गर्न सक्ने बताए । उनले भने, ‘महिलाहरू उपभोक्ता संस्थाहरूमा नेतृत्वदायी भूमिकामा कम देखिन्छन् । तर, विडम्बना के छ भने, नीति निर्माणदेखि कार्यान्वयन तहसम्म महिलाको प्रभावकारी सहभागिता अझै पनि चुनौतीपूर्ण छ ।’

उनले महिला सशक्तिकरण बिना खानेपानी तथा सरसफाइको क्षेत्रमा दिगो विकासको लक्ष्य प्राप्त गर्न नसक्ने समेत उल्लेख गरे । उनले उपभोक्ता संस्थाहरूमा महिलाहरूको सहभागिता सुनिश्चित गर्न कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री यादवले खानेपानी तथा सरसफाइ संस्थाहरूमा महिलाको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्ने कानुनी व्यवस्था लागू गरिने तथा महिला नेतृत्व प्रवद्र्धन गर्न विशेष कोटा, क्षमता अभिवृद्धि कार्यक्रम र आर्थिक सहयोग उपलब्ध गराइने बताए ।

उनले महिलाहरूको नेतृत्वदायी भूमिका बढाउन प्रशिक्षण, सीप विकास, र सशक्तीकरण कार्यक्रम सञ्चालन गरिने समेत बताए ।

जल स्रोतको दिगो व्यवस्थापनका लागि सामुदायिक सहभागिता आवश्यक रहेको उल्लेख गर्दै मन्त्री यादवले पानीको दुरुपयोग रोक्न, स्रोत संरक्षण गर्न, तथा सरसफाइको सही अभ्यास अपनाउन उपभोक्तालाई आग्रह समेत गरे ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपालले महिलाहरूलाई नेतृत्वदायी भूमिकामा ल्याउन खेलेको भूमिका अत्यन्त सराहनीय रहेको भन्दै मन्त्री यादवले महासंघको पहललाई सरकारले उच्च प्राथमिकता दिएको बताए ।

खोटाङमा ‘खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव’ हुँदै

खोटाङ । आगामी वैशाख दोस्रो साता खोटाङको दिक्तेल बजारमा ‘दोस्रो बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ सञ्चालन हुने भएको छ ।

नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङको संयुक्त आयोजनामा वैशाख–१५ गतेदेखि २० गतेसम्म दिक्तेल बजारमा खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव सञ्चालन हुने भएको हो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा छ दिनसम्म सञ्चालन हुने महोत्सवमा ६३ वटा पदकका लागि एथलेटिक्ससहित खुला ब्याडमिन्टन, खुला पुरूष बुद्धिचाल र साहित्यिक प्रतियोगिता आयोजना गरिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रूपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन, सन् २०५० भित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्नेलगायतका उद्देश्यसहित महोत्सवको आयोजना गरिएको नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिए ।

महोत्सवमा दश वर्षमुनिका छात्रछात्राका लागि एक माइल, १२ वर्षमुनिका छात्रछात्राका लागि दुई किलोमिटर, ६० वर्षमाथि पुरूषको दुई किलोमिटर, आमाहरूको पाँच किलोमिटर, १२ वर्षदेखि १५ वर्षमुनिको छात्रछात्राका लागि सात किलोमिटर र ३५ वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको दौड प्रतियोगिता हुनेछ । पन्ध्र वर्षमाथिका पुरूष महिला दश किलोमिटर र महिला/पुरूष २१ किलोमिटर हाफ म्याराथन प्रतियोगिता सञ्चालन हुने आयाजकले जनाएको छ ।

दश वर्षमुनिका छात्रछात्रा एक माइल दौड प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुनेले रू तीन हजार, रू दुई हजार, रू एक हजार, १२ वर्षमुनिका छात्रछात्रा दुई किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले रू चार हजार, रू तीन हजार र रू एक हजार ५००, ६० वर्षमाथिका पुरूषको दुई किलोमिटर र आमाहरूको पाँच किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले रू पाँच हजार ५००, रू तीन हजार ५०० र रू दुई हजार ५०० का दरले पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

बाह्र वर्षदेखि १५ वर्षमुनिको छात्रछात्रा सात किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले रू सात हजार ५००, रू छ हजार ५०० र रू पाँच हजार ५००, ३५ वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले नगद रू १५ हजार, रू दश हजार र रू सात हजार पुरस्कार पाउनेछन् ।

पन्ध्र वर्षमाथिका पुरूष महिला दश किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले नगद रू १५ हजार, रू दश हजार, रू सात हजार र महिला पुरूष २१ किलोमिटर हाफ म्याराथन प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौं, छैटौँ र सातौँ हुनेले नगद रू ७७ हजार ७७७, रू ५५ हजार ५५५, रू २५ हजार ५५५, रू १५ हजार ५५५, रू ११ हजार १११, रू सात हजार ७७७ र रू पाँच हजार ५५५ पुरस्कार पाउने जनाइएको छ ।

खुला पुरूष ब्याडमिन्टनअन्तर्गत १५ वर्षमुनिका सिङ्गलमा प्रथम, द्वितीय र तृतीय हुनेले रू सात हजार ७७७, रू छ हजार ६६६, रू पाँच हजार ५५५, खुला सिङ्गलमा प्रथम, द्वितीय, तृतीय हुनेले रू १५ हजार ५५५, रू ११ हजार १११, रू पाँच हजार ५५५ प्राप्त गर्नेछन् ।

खुला डबलमा प्रथम, द्वितीय र तृतीय हुनेले रू २० हजार, रू १५ हजार, रू दश हजार तथा ४५ वर्षमाथिका डबल र खुला मिक्स ब्याडमिन्टनमा प्रथम, द्वितीय र तृतीय हुनेले रू ११ हजार १११, रू सात हजार ७७७ र रू पाँच हजार ५५५ का दरले पुरस्कार पाउनेछन् ।

खुला बुद्धिचालमा प्रथम, द्वितीय र तृतीय हुनेले रू ४० हजार, रू २५ हजार, रू १५ हजारसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । जिल्ला समन्वय समिति खोटाङको सभाहलमा बुद्धिचाल तथा दिक्तेलस्थित माटिकोरे खेलमैदानको खोटाङ बहुउद्देश्यीय कभर्डहलमा ब्याटमिन्टन र साहित्य महोत्सव हुने जनाइएको छ ।

महोत्सवका लागि रू ३९ लाख ५५ हजार ८७ बजेट लाग्ने अनुमान गरिएको नेपाल सितोरियो कराते सङ्घ खोटाङका अध्यक्ष सुमन राईले जानकारी दिनुभएको छ । जिल्लाका दशवटै स्थानीय तह र शुभेच्छुकको आर्थिक सहयोगमा महोत्सव गर्ने तयारी गरिएको आयोजकले जनाएको छ ।

कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना सदस्य मनोनीत

काठमाडौं। नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना सदस्य मनोनीत भएका छन् ।

सभापति शेरबहादुर देउवाले सोमबार कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम १० जना सदस्य मनोनीत गरेका हुन् ।

कालोपुलमा गुठीको जग्गा अतिक्रमाण गरी बनाइएका संरचनामा चल्यो महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले कालोपुल क्षेत्रमा गुठी संस्थानको जग्गा अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलाएको छ ।

सोमबार दिउँसो डोजर लिएर पुगेको महानगर प्रहरी बलमाथि अतिक्रमण गरी बसेकाहरुले आक्रमण गरेका थिए । त्यसक्रममा उनीहरुले डोजर तोडफोडसमेत गरेका छन् ।

उनीहरुले आफूहरुलाई खबर नगरी डोजर ल्याइएको भन्दै विरोध गरेका थिए । तर महानगरको टोलीले अतिक्रमण गरी बनाइएका संरचना भत्काएको छ ।

शेयर बजारमा दोहोरो अंकको वृद्धि

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से दोहोरो अंकले बढेको छ । सोमबार नेप्से ३० दशमलव ५२ अङ्कले बढेर २ हजार ६ सय ४५ दशमलव २० विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा फाइनान्स समूहको शेयर ३ दशमलव ७५ प्रतिशतले उकालो लागेको छ । यस्तै जीवन बीमा, अन्य, लगानी समूहको शेयर साढे १ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । समग्रमा बजार बढेको दिन अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर भने झन्डै ५ प्रतिशतले घटेको छ ।

नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । आज ३ सय २६ कम्पनीको ९७ लाख ३९ हजार कित्ता शेयर ४ अर्ब ४८ करोड रुपैयाँमा किनबेच भएको छ ।

एसइई परीक्षामा ‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराउने परीक्षा गार्ड निष्कासन

सुनसरी । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चिट चोराउन मोबाइलको प्रयोग भएको पाइएको छ । यस वर्षको एसइई परीक्षामा चिट चोराउन मोबाइलमार्फत ‘ह्वाट्सएप’ प्रयोग भएको पुष्टि भएको हो ।

सुनसरी सदरमुकाम इनरुवा–९ स्थित सरस्वती मावि परीक्षा केन्द्रमा गणित विषयको एसइई परीक्षा चलिरहँदा ‘ह्वाट्सएप’ मार्फत चिट चोर्न सहयोग गर्ने गार्ड रङ्गेहात पक्राउ परेका छन् ।

परीक्षा केन्द्रबाट ‘ह्वाट्सएप’ को प्रयोग गरी चिट चोराउने कार्यमा संलग्न दुई जना गार्डलाई पक्राउ गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । परीक्षा केन्द्र अनुगमनमा पुगेको प्रजिअसहितको टोलीलाई देखेर परीक्षा गार्ड(शिक्षक)ले मोबाइल अफ गरेका थिए ।

उनीहरूको मोबाइल जाँच गर्दा परीक्षा केन्द्रमा खटाइएका प्रावि शिक्षकको साथमा रहेको मोबाइलबाट चिट चोर्न र चोराउन ह्वाट्सएप मार्फत च्याट गरिएको भेटिएको थियो ।

ह्वाटस्एपमा कुराकानी गर्दै विद्यार्थीको नाम, सिम्बल नम्बर र बोर्डिङ स्कुलको नामसहित विद्यार्थी सङ्ख्या के कति भन्नेबारे च्याट गरिएको पाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी मिश्रले बताए । पक्राउ परेका शिक्षक श्रवणकुमार चौधरी र रमानन्द मेहतालाई परीक्षा गार्डबाट निष्कासन गरेको उनले बताए ।

त्यसैगरी अनुगमनका क्रममा इनरुवा–१ स्थित भगवती मावि परीक्षा केन्द्रबाट तीन जना निरीक्षकलाई नियन्त्रणमा लिएको प्रजिअ मिश्रले बताए । भगवती मावि परीक्षा केन्द्रबाट इनरुवा–५ का मुकेन्द्र यादव, रमानन्द यादव र दिनेशप्रसाद यादवलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए ।

पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको तिम्सिनाले बताए । यसैबीच परीक्षा केन्द्रमा मोबाइल प्रवेशको विषयलाई लिएर सुनसरी प्रशासनले जाँचमा कडाइ गर्न निर्देशन दिएको छ । सुनसरीको दुहवीबाट अघिल्लो दिन प्रजिअले विद्यार्थीबाट जनही १० हजार रकम लिने दुई गार्डलाई निष्कासन गरिएको थियो ।

परीक्षा मर्यादित बनाउँदै चिट चोर्ने र चोराउने प्रवृत्तिलाई निरुत्साहित गर्नेगरी परीक्षा केन्द्र लक्षित अनुगमन टोली परिचालन गरिएको सुनसरीका प्रजिअ मिश्रले बताए।

निरीक्षकले ‘ह्वाट्सएप ग्रुप’ बनाएर भित्रको प्रश्नपत्र बाहिर पठाएर बाहिरबाट सबै प्रश्नको उत्तर लेखेर पठाउने र विद्यार्थीलाई सिकाउने गरेको पाइएको हो ।

यसअघि गत बिहीबार मात्रै सुनसरीकै दुहबीको सरस्वती माध्यमिक विद्यालय र गढीको सरस्वती माध्यमिक विद्यालयबाट दुई/दुई जना निरीक्षकलाई निष्कासन गरिएको थियो ।

सुनसरीका प्रजिअ मिश्र नेतृत्व टोलीले अनधिकृत गतिविधि गरेको र विषय शिक्षक राखेको भेटिएपछि निष्कासन गरिएको थियो । दुवै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई आगामी दिनमा त्रुटि नगर्न सचेत समेत गरिएको उनले बताए ।

परीक्षालाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन सबै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई आवश्यक सकुर्लर गरिएको उनले बताए ।

सुनसरीमा खासगरी निजी विद्यालयका सञ्चालकको आर्थिक प्रलोभनमा निरीक्षक फस्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

निजी विद्यालयका सञ्चालकले विद्यालयलाई उत्कृष्ट देखाउनका लागि परीक्षा केन्द्रदेखि निरीक्षक राख्नेसम्मको कार्यमा आर्थिक चलखेल गर्ने गरेका कारणले निरीक्षक फ्स्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

जिल्लाका ५० परीक्षा केन्द्रमा १३ हजार ५७३ परीक्षार्थी सहभागी भएको शिक्षा विकास तथा समनव्य एकाइ प्रमुख खगेन्द्र सुवेदीले जानकारी दिए ।

सन् २०३० सम्ममा क्षयरोग अन्त्य गर्न विश्व स्वास्थ्य सङ्गठनको आह्वान

मनिला । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युुएचओ) ले सोमबार सदस्य राष्ट्रहरूलाई सन् २०३० सम्ममा क्षयरोग (टीबी) अन्त्यका लागि तत्काल ‘निर्णायक कदम’ चाल्न आह्वान गरेको छ ।

डब्ल्यूएचओले विश्व टीबी दिवसको अवसरमा प्रकाशित  विज्ञप्तिमा यस्तो आह्वान गरेको हो ।
विज्ञप्तिअनुसार सन् २०२३ मा अनुमानित १९ लाख व्यक्तिमा क्षयरोगको नयाँ सङ्क्रमितहरूको दर्ता भएकोमा ९५ हजार जनाको मृत्यु भएको तथा परिवार र समुदायमा यस रोगको प्रभाव बढ्दै गएको बताएको छ ।

पश्चिमी प्रशान्त क्षेत्रका लागि डब्ल्युएचओको क्षेत्रीय निर्देशक साइया माउ प्युकलाले जटिल क्षयरोगले जीवन बचाउने अवसर गुमाउने बताए । उनले भने, ‘जोखिममा रहेका व्यक्तिले समयमै, रोगको निदान सुनिश्चित गर्दै आफ्ना प्रतिबद्धतालाई निर्णायक कार्यमा परिणत गर्नुपर्ने अवस्था आएको छ ।’

डब्ल्युएचओका अनुसार, क्षयरोग ब्याक्टेरियाद्वारा हुने एउटा सङ्क्रामक रोग हो जसले फोक्सोमा असर गर्छ । क्षयरोगीले खोक्दा, हाच्छिउँ गर्दा वा थुक्दा हावामा यसका किटाणु  फैलिन्छन् र हावाको माध्यमबाट अन्य मानिसमा योसर्छ । यसलाई विशिष्ट एन्टिबायोटिकले निको पार्न सकिने भएता पनि अझै पनि सङ्क्रमणबाट धेरै मानिसहरूले ज्यान गुमाइरहेका छन् ।

जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न पाकिस्तान सरकारको प्रतिबद्धता

इस्लामाबाद । पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले हिमनदी संरक्षण र जलस्रोतको संरक्षणका लागि जोड दिएका छन् ।

शरीफले आफ्नो सरकारको प्रतिबद्धतालाई पुनः पुष्टि गर्दै विश्व पानी दिवस सन् २०२५ का सन्दर्भमा ताजा पानीको आपूर्ति कायम राख्न हिमनदीहरूको महत्त्वपूर्ण भूमिका र यस महत्त्वपूर्ण स्रोतको संरक्षणमा पाकिस्तानले सामना गर्ने चुनौती बारे भने, “पानी जीवनको आधारशिला हो, हाम्रो अर्थतन्त्र, खाद्य प्रणाली र वातावरणको लागि आवश्यक छ ।”

उनले पाकिस्तानको बढ्दो पानीको चुनौतीलाई प्रकाश पार्दै देश हिमनदी र जलस्रोतमा धेरै निर्भर रहेको बताए । जलवायु परिवर्तन र मानवीय हस्तक्षेपले विश्वका हिमनदी पग्लने र तालहरू सुक्ने क्रम बढेको छ ।

“सन् २०२२ को विनाशकारी बाढीको प्रभाव दिर्घकालीन हुनेछ, जसले सिँचाइ प्रणालीमा ठूलो क्षति पु¥याउने र लाखौँ मानिसको जीवन र जीविकोपार्जनमा बाधा पु¥याउनेछ,” उनले बताए ।

जलवायु परिवर्तनबाट सबैभन्दा बढी जोखिममा रहेका दश देशमध्येको एक पाकिस्तानको औसत तापक्रम विश्वव्यापी औसतभन्दा छिटो बढ्ने अनुमान गरिएको छ, जसले पानीसम्बन्धी चुनौतिहरू थप बढाउने प्रधानमन्त्रीले उल्लेख गरे ।

शरीफले जल स्रोतको महत्त्वलाई जोड दिँदै जल सन्धिको प्रभावकारी कार्यान्वयनको लागि आह्वान गरे ।

उनले जलवायु–प्रेरित बाढीको जोखिम कम गर्ने र इकोसिस्टममा आधारित अनुकूलन मार्फत खडेरीको प्रभावलाई कम गर्ने लक्ष्य राखेको सरकारको ‘रिचार्ज पाकिस्तान’ पहलबारे प्रकाश पारे । यसले जलवायु–प्रेरित बाढीको जोखिम कम गर्ने र इकोसिस्टममा आधारित अनुकूलन मार्फत खडेरीको प्रभावलाई कम गर्ने लक्ष्य राखेको छ ।

शरीफले दिगो, पानी–सुरक्षित भविष्यप्रति पाकिस्तानको प्रतिबद्धतालाई पुनः पुष्टि गर्दै हिमनदीहरूको संरक्षण र जलस्रोतको संरक्षण गर्न सामूहिक कार्य गर्न आग्रह गरे।

इजरायली आक्रमणमा १० प्यालेस्टिनीको मृत्यु

गाजा । गाजा पट्टीका विभिन्न क्षेत्रमा भएको इजरायली आक्रमणमा परी सोमबार दस जना प्यालेस्टिनीको मृत्यु भएको छ भने अन्य केही घाइते भएको जनाइएको छ।

खान युनूसको दक्षिणमा क्विजान रस्वान क्षेत्रमा विस्थापितहरूको शिविरमा भएको इजरायली हवाई आक्रमणमा छ जना नागरिकको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोतले जनाएको छ।

उक्त सहरमा भएको अर्को हवाई आक्रमणमा धेरै प्यालेस्टिनीहरू घाइते भएको तथा अल–जाना क्षेत्रस्थित एक घरको आँगनमा पार्क गरिएको गाडीमा बम विस्फोट हुँदा एक जना नागरिक घाइते भएको स्रोतले उल्लेख गरेको छ। स्रोतका अनुसार विस्तापितलाई निशाना बनाए गरेको हमलाका घाइतेहरूलाई कुवेतस्थित विशेष अस्पतालमा लगिएको थियो।

कतार समाचार एजेन्सी (क्युएनए) का अनुसार खान युनसले आइतबार रातदेखि इजरायली धेरै घर विस्थापितको आश्रय स्थल तथा पार्क गरिएका सवारीलाई लक्षित गरी आक्रमण गरीरहेका छन्।

गाजा पट्टीका बिभिन्न सहरमा सोमबार भएको इजरायली हवाई आक्रमणमा करीव १६ जनाको मृत्यु हुनुका साथै दुई आवासीय घरहरूमा भएको आक्रमणमा चार जना नागरिकको मृत्यु भएको जनाइएको छ।

अल–नुसिरात शरणार्थी शिविरको दक्षिणपश्चिम स्थित अल–सवारा क्षेत्रमा भएको इजरायली आक्रमणमा चार जना घाइते भएको उल्लेख गरिएको छ।

इजरायलले जनवरी १९ देखि लागु भएको युद्धविराम सम्झौता अन्तर्गत दुई महिनाको युद्धविरामपछि गाजा पट्टीमा आफ्नो आक्रमण पुनः सुरु गरेको छ।

शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार जनतासँग छः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र रैती दुनियाँबाट सार्वभौम नागरिक हुन नेपाली जनताले रगतसँग साटेको उपलब्धी भएको भन्दै शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार नागरिकलाई दिएको बताएका छन् ।

सोमबार सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रमा हरेक नागरिक आफ्नो सार्वभौमसत्ताको आफैं मालिक हुने व्यवस्था भएको बताए ।

उनले भने, ‘शासन व्यवस्थालाई सुदृढ बनाउन र यही व्यवस्थाबाट नेपाली जनताको भाग्य र भविष्य सुनिश्चित छ भन्ने महसुस गराउनुपर्ने दायित्व सरकार, राजनीतिक दललगायत हामी सबैको हो ।’

उनले स्वतन्त्रता र शासन प्रणाली समयको माग र जनताको चाहना भएको उल्लेख गर्दै नेपाली जनतालाई आफूले बनाएको संविधानबाहिरका कुनै पनि निरंकुशता र अराजकता स्वीकार्य नहुने बताए ।

राष्ट्रपति पौडेलले भने, ‘इतिहास साक्षी छ कि १०४ वर्षीय जहानीयाँ राणा शासन होस् कि ३० वर्षे पञ्चायत वा सक्रिय राजतन्त्र नेपाली जनताले कुनै पनि निरंकुशताका नाम र अवशेषलाई रुचाएनन् । संघीय लोकतान्त्रिक गणतन्त्र हामीले त्यसै प्राप्त गरेका होइनौ । यो हजारौंको त्याग, संघर्ष र बलिदानबाट प्राप्त उपलब्धी हो ।’

राष्ट्रपति पौडेलले क्षेत्रमा सभामुख हुँदा पैदल यात्रा गर्दे यस ठाँउमा र पूर्वी पहाडका डाँडाकाँडा पुगेको र जनतासँग साक्षात्कार गरेको स्मरण गरे ।

उनले भावविह्वल हुँदै नजिकै रहेको टिम्बुरबोटेको ओडारमा रूझ्दै र भिज्दै पुगेको बताए । टिम्बुबोटेको नाम उच्चारण गर्दा राष्ट्रपति पौडेलको गला अबरूद्ध भएको थियो । टिम्बुरबोटे नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा २०४१ सालमा पंचायती सरकारले दर्जनभन्दा माथि योद्धाको हत्याको गरेको स्थान हो ।

राष्ट्रपति पौडेलले देशको युवा जनशक्ति विदेश पलायन हुने प्रवृत्ति रोक्न जरुरी रहेको उल्लेख गर्दै यसका लागि उचित शिक्षा, स्वास्थ्यको प्रवन्ध, उद्योगधन्दाको विकास, उत्पादनमा बृद्धि, चुस्तदुरुस्त सेवा प्रवाह, गाउँंमै रोजगारी र आम्दानीको व्यवस्थाको लागि जनता केन्द्रित नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्नुपर्ने बताए । उनले विगतमा भएका कमजोरीबाट पाठ सिकेर अघि बढ्दै समृद्ध राष्ट्र निर्माणको अभियानमा जुट्न म सम्बद्ध सबैमा अपील पनि गरे ।

राष्ट्रपति पौडेलले संघीयता कार्यान्वयनका लागि तीन तहको सरकार मुलुकमा क्रियाशील भएको भन्दै जनताको ठूलो संघर्ष, त्याग र बलिदानले हामीले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्याएको बताए ।

उनले भने, ‘यसलाई सार्थक बनाउन संविधानको मर्म र भावनाअनुसार जनताको आवश्यकतामा जिम्मेवार ढंगले काम गर्न स्थानीय सरकार अझ बढि क्रियाशील हुनुपर्छ भन्ने म ठान्दछु ।’

अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल बढ्यो

गण्डकी । दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै अन्नपूर्ण चक्रीय पदमार्गमा पदयात्री पर्यटकको चहलपहल बढ्न थालेको छ । यस क्षेत्रमा चैत–वैशाख र असोज–कात्तिकको याम पदयात्राका लागि उत्तम मानिन्छ ।

ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले गत सातादेखि पर्यटकको आउजाउ बढेको बताए । ‘मौसम सफा छ, हिमाल खुलेको छ, पर्यटन क्षेत्र चलायमान बनेको छ,’ उनले भने, ‘शरद ऋतुपछि यो याममा धेरै पर्यटक नेपाल भित्रन्छन् ।’

अध्यक्ष आचार्यका अनुसार पदयात्रामा विदेशी पर्यटकसँगै पछिल्लो समय आन्तरिक पर्यटकको पनि आकर्षण बढेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानी, कास्कीको खुमै डाँडा, कोरी आदि पदयात्री पर्यटकको रोजाइमा पर्ने गन्तव्यस्थल हुन् ।

अन्नपूर्ण चक्रीय पदमार्ग पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्यस्थल रहेको अध्यक्ष आचार्यले बताए ।

गत वर्ष पोखरालाई पर्यटनको राजधानी सहरका रूपमा घोषणा गरेपछि यस क्षेत्रमा पर्यटकको आकर्षण थप बढेको उनको भनाइ छ । पोखरा जोड्ने मुख्य सडकमार्ग र अन्तरर्राष्ट्रिय हवाईयात्रालाई नियमित तथा व्यवस्थित बनाउन सके उल्लेख्य सङ्ख्यामा पर्यटक भित्र्याउन सकिने उनले बताए ।

अध्यक्ष आचार्यले कतिपय पुराना र स्थापित पदमार्ग सडकका कारण सङ्कटमा परेकाले तिनको विकल्प खोज्नुपर्ने बताए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका थिए । जसमा दक्षिण एसियाली मुलुकका एक लाख ३२ हजार ९४ र अन्य मुलुकका एक लाख ११ हजार नौ सय ५१ रहेका थिए ।

उक्त सङ्ख्या हालसम्मकै बढी रहेको आयोजना प्रमुख डा. रविन कडरियाले बताउनुभयो । त्यसअघि सबैभन्दा बढी सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए ।

सन् २०१९ मा एक लाख ८१ हजार पर्यटक भित्रिएकामा त्यसयता कोभिड–१९ महामारीका कारण पर्यटक आगमन घटेको थियो । उक्त महामारी छँदा सन् २०२१ मा जम्मा १६ हजार एक सय पाँच पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए ।

त्यसको अर्को वर्षअर्थात् सन् २०२२ मा जम्मा एक लाख २९ हजार सात सय ३३ पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका थिए । गत वर्षदेखि यस क्षेत्रको पर्यटन पुरानै लयतिर फर्किएको ‘एक्याप’का प्रमुख डा कडरियाले बताए ।

उनका अनुसार ‘एक्याप’ ले पदयात्रा र सडकमार्ग भएर सो क्षेत्रका विभिन्न गन्तव्यस्थलमा पुग्ने विदेशी पर्यटकको तथ्याङ्क राख्दै आएको छ । सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् ।

अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ । यहाँको प्राकृतिक सौन्दर्य, विशिष्ट भूगोल, हावापानी, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिको अवलोकनसँगै घुमफिरको आनन्द लिन पर्यटक पदयात्रामा जाने गरेका छन् ।

कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ । आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण क्षेत्र पदयात्राका लागि उत्कृष्ट मानिन्छ ।

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका प्राधिकरणका सहायक प्रबन्धक उप्रेती जेल चलान

काठमाडौं । भ्रष्टाचार मुद्दामा अदालतबाट दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् । भ्रष्टाचार मुद्दामा दोषी ठहर भई फरार रहेका नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक ध्रुवकुमार उप्रेती पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंको बनस्थलीबाट आइतबार उप्रेतीलाई पक्राउ गरेको हो ।

गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै उप्रेतीविरुद्ध अख्तियारमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उप्रेतीमाथि अनुसन्धान गरेको थियो।

अनुसन्धानका क्रममा २ करोड बढी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।

सर्वोच्च अदालतले गत मंसिर १२ गते भ्रष्टाचार मुद्दामा सुनुवाइ गर्दै उप्रेतीलाई २ करोड ५५ लाख १६ हजार ४८३ रुपैयाँ जरिवाना र ६ महिना कैद हुने ठहर गरेको थियो । उप्रेतीलाई फैसला कार्यान्वयनका लागि डिल्लीबजार कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

कर्णालीविरुद्ध बागमतीको सहज जित

दाङ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशविरुद्ध नौ विकेटको सहज जित हात निकालेको छ ।

सोमबार लमहीमा भएको खेलमा कर्णालीले दिएको ५९ रनको लक्ष्य बागमतीले सातौँ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्यो । उसको जितमा इशान पाण्डेले २२, आशुतोष घिरैयाले १९ र शुभ कंसाकारले १६ रन बनाए । कर्णालीका लागि दीपेन्द्र रावतले एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले १९.१ ओभरमा सबै विकेट गुमाउँदै ५८ रन मात्रै बनाउन सक्यो । उसका लागि सुनिल धमलाले सर्वाधिक १५ रन बनाउँदा अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बागमतीका लागि रिजन ढकालले ५.१ ओभरमा १९ रन दिएर पाँच विकेट लिए भने सूर्य तामाङले सात ओभरमा १७ रन दिएर चार विकेट लिए ।

नेपाल क्रिकेट सङ्घ क्यानको आयोजना र प्रदेश क्रिकेट सङ्घको समन्वय तथा दाङ क्रिकेट सङ्घको व्यवस्थापनमा जारी प्रतियोगितामा तीन विभागीय टोली आर्मी क्लब एपिएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टोली सहभागी छन् ।

गत फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा जारी प्रतियोगितामा राउण्ड रोविनका आधारमा खेल भइरहेका छन् । प्रतियोगिता चैत १६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताअन्तर्गत रुपन्देहीको सिद्धार्थ रङ्गशालामा १७ वटा, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा १५ वटा, दाङको लमहीस्थित देउखुरी अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा १४ वटा खेल खेलाइनेछ ।

प्रधानमन्त्रीलाई जोडेर आएका समाचारप्रति एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेले पार्टीको सचिवालय बैठक र प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एमाले महासचिव शंकर पोखरेलले सोमबार विज्ञप्ति जारी गरी राजावादीहरूको केही दिन अगाडिको प्रदर्शनलाई लिएर प्रधानमन्त्री ओलीले बोलेको भनेर प्रकाशित गरिएका विषय निराधार र अतिरञ्जित भएको स्पष्ट पारेका हुन् ।

त्यस्ता समाचारले अनावश्यक सनसनी फैलाउने एवं नेपाल र भारत बिचको युगौं पुरानो सम्बन्धमा आशंका बढाउने दुराशय बोकेको विज्ञप्तिमा उल्लेख छ ।

‘नेकपा (एमाले)को हालै सम्पन्न सचिवालय बैठकसँग सम्बन्धित विषयमा केही नेपाली र विदेशी मिडियाहरूमा प्रकाशित समाचारबारे हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

पूर्वराजावादीहरूको केही दिन अगाडिको प्रदर्शनलाई लिएर प्रधानमन्त्रीले भन्नुभएको भनेर प्रकाशित गरिएका विषय निराधार र अतिरञ्जित छन् । तिनले अनावश्यक सनसनी फैलाउने एवं नेपाल र भारत बिचको युगौं पुरानो सम्बन्धमा आशङ्का बढाउने दुराशय बोकेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

संसारका कुनै पनि लोकतान्त्रिक मुलुक र जनता लोकतन्त्रका ठाउँमा निरङ्कुशतन्त्रलाई प्रश्रय दिन सहमत हुन सक्दैनन् भन्ने कुरामा एमाले स्पष्ट रहेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि एमाले सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजावादीको आन्दोलनमा भारतको भूमिका रहेको भनेर ब्रिफिङ गरेको भन्ने खालका समाचारहरू बाहिर आएका थिए ।

दुई भारतीय कम्पनीका औषधि बिक्री वितरणमा रोक

काठमाडौं । नेपालमा दुई भारतीय कम्पनीका औषधि बिक्रीवितरणमा रोक लगाइएको छ । राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा न्यून गुणस्तर पाइएपछि औषधि व्यवस्था विभागले बिक्रीवितरणमा रोक लगाएको हो ।

विभागले भारतको साइकोट्रपिक इन्डिया लिमिटेडको पिल्प्यान ४०, पेन्टोप्राजोल ट्याब्लेटको एमजीको ब्याच नम्बर सीआई६४३००८ को बिक्रीवितरणमा रोक लगाएको छ । यस औषधिको आयातकर्ता शारदा मेड्केयर ट्रेडर्स प्रालि काठमाडौं रहेको विभागले जनाएको छ ।

यस्तै, भारतकै एरिस्टो फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ब्याच नम्बर एमपीजे२३३४८७ को एसिटप ४० एमजी, पेन्टाप्राजोल औषधि पनि बिक्रीमा रोक लगाइएको छ । यस ब्याचको औषधि सिफारिस र प्रयोगसमेत नगर्न विभागको आग्रह छ ।

लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा चम्लागाई निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघको अध्यक्षमा माधव प्रसाद चम्लागाईं निर्वाचित भएका छन् ।

गत शुक्रबार लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशन सुरु भएको थियो भने शनिबार मतदान भएको थियो । मतगणनाको अन्तिम परिणाम अनुसार चम्लागाईंले कुल खसेको ४७० मतमा ३५१ मत प्राप्त गरेका हुन् ।

अर्का अध्यक्ष पदका उम्मेदवार विकास थापाले ८८ मत प्राप्त गर्दा अध्यक्ष पदमै उम्मेदवारी दिएकी खड्काले १३ मत प्राप्त गरेकी छन् ।

यस्तै उपाध्यक्ष र महामन्त्री पदमा पनि चम्लागाई समुहकै उम्मेदवार निर्वाचित भएका छन् । उनको समुहबाट उपाध्यक्ष उम्मेदवार बनेका उदयबहादुर लिम्बुले ३३२ मत प्राप्त गर्दै निर्वाचित भएकाहुन् ।

यस्तै उपाध्यक्षमा नै अनिता घिमिरे गैरे निर्वाचित भएकी छन् । उनले ३३९ मत प्राप्त गरेकी हुन् ।
यस्तै महामन्त्रीमा गणेशबहादुर खत्री र किरण पासवान निर्वाचित भएका छन् । खत्रीले ३४९ मत प्राप्त गर्दा पासवानले ३५५ मत पाएर निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित चम्लागाईं कांग्रेस महामन्त्री गगनकुमार थापा निकट हुन् । उनलाई सभापति शेरबहादुर देउवा निकट धेरै नेताहरुको पनि साथ थियो ।

सिँचाइ सुविधापछि एकैवर्षमा तीन बाली खेती

फिक्कल। इलाम नगरपालिका–१० भिरगाउँमा सिँचाइ योजना पुनःर्निर्माण भएपछि किसानलाई खाद्यबालीसँगै तरकारीखेती गर्न सहज भएको छ । वर्षमा एक बालीमात्र उत्पादन हुँदै आएको सो क्षेत्रमा सिँचाइ आयोजना पुनर्निर्माणपछि किसानले तीन बालीसम्म खेती गर्न थालेका छन् ।

साना सिँचाइ कार्यक्रमअन्तर्गत रु ४१ लाख ९४ हजारको लागतमा मालबाँसे भिरगाउँ हुँदै तेस्रोगाउँ जोड्ने सिँचाइ आयोजना पुनर्निर्माणपछि किसानले राहत पाएका हुन् ।

स्थानीय अँधेरीखोलाबाट आठ सय ९५ मिटर लामो पक्की कुलो निर्माण भएको वडा नं १० का वडाध्यक्ष दिलीप प्रधानले जानकारी दिए । आयोजनाबाट ३९ घरपरिवारको १५ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ ।

आयोजना पुनर्निर्माण सम्पन्न भई पानी आउन थालेपछि भिरगाउँका किसान खुसी भएका हुन् । पानी अभावमा खेत बाँझै राखेर बस्न विवश भिरगाउँका किसानलाई सिँचाइ आयोजनाले राहत मिलेको उपभोक्ता समितिका अध्यक्ष किशोर रम्तेलले बताए

स्वीडेन सरकारको १२ लाख ५८ हजार रुपैयाँ, सङ्घीय सरकार, प्रदेश सरकार र इलाम नगरपालिकाको आठ लाख ३८ हजार रुपैयाँका दरले तथा स्थानीय उपभोक्ताको चार लाख १९ हजार रुपैयाँको साझेदारीमा उक्त आयोजना पुनर्निर्माण गरिएको हो ।

आयोजना पुनर्निर्माणपछि धान, मकैजस्ता मौसमी बालीको मात्र खेती हुँदै आएको सो क्षेत्रमा अहिले मौसमी र बेमौसमी तरकारीसँगै नगदेबाली पनि उत्पादन हुन थालेको उपभोक्ता समिति सचिव मनकुमारी समालले बताइन् ।

‘पहिले मौसमी धान र मकैखेती मात्र गरिन्थ्यो, अहिले सिँचाइ सुविधा आएपछि बेमौसमी तरकारीको पनि व्यावसायिक खेती हुन थालेको छ’, सचिव समालले भनिन्, ‘यसबाट किसानको आर्थिक अवस्था सुधार आउने विश्वास छ ।’

स्थानीय उपभोक्ता भीमकुमारी मगर आयोजना पुनर्निर्माणसँगै अकासे पानीको भर पर्नुपर्ने बाध्यताबाट मुक्त भएको बताउछिन् । अहिले भिरगाउँका किसान तीन बालीसम्म खेती गर्न थालेका छन् । सिँचाइ सुविधा पुगेपछि अन्नबाली, नगदेबाली तथा तरकारीबाली उत्पादन वृद्धि हुने उनले बताइन् ।

कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार यस वर्ष १० हजार तीन सय ४२ हेक्टरमा धानखेती गरिएकामा ३५ हजार ३९ मेट्रिक टन धान उत्पादन भएको छ । इलाममा रन्जित, राधा४, चुल्ठेर अन्य स्थानीय जातको धानखेती गरिन्छ ।

अमेरिकाबाट निष्कासनपछि १९९ आप्रवासी भेनेजुएलामा अवतरण

भेनेजुएला । संयुक्त राज्य अमेरिकाबाट निष्काशित १९९ आप्रवासी बोकेको विमान सोमबार बिहान भेनेजुएला आइपुगेको गृहमन्त्री डिओसडाडो काबेलोले बताएका छन् ।

“आज, हामी १९९ जना स्वदेशीहरूलाई स्वागत गर्दैछौं,” उनले विमानस्थलमा बताए ।“हामी भेनेजुएलाका मानिसहरू जहाँ भए पनि स्वागत गर्न तयार छौं ।”

प्रत्यक्ष फुटेजमा स्वेटसूट लगाएका युवाहरू राजधानी काराकास बाहिर अवतरण गरेको विमानबाट ओर्लिरहेको देखाइएको छ । तिनीहरूमध्ये केही मुस्कुराइरहेका र ताली बजाइरहेका थिए ।

शनिबार भेनेजुएलाले संयुक्त राज्य अमेरिकाबाट स्वदेश फिर्ती उडानहरू पुनः सुरु गर्न वाशिङ्गटनसँग सम्झौता गरेको घोषणा गरेपछि यो उडान आएको हो । 

प्रहरी चौकी खार्पाको बाह्र वर्षपछि आफ्नै भवन

खोटाङ । स्थापनाको १२ वर्षपछि रावाबेँसी गाउँपालिका-२ खार्पास्थित प्रहरी चौकी खार्पाले आफ्नै भवन निर्माण गरिएको छ । दुई करोड ९५ लाख ३२ हजारको लागतमा उक्त भवन निर्माण गरिएको हो ।

विसं २०६९ मा स्थापना भएको खार्पा प्रहरी चौकीले अघि साविक खार्पा गाउँ विकास समिति (गाविस) कै पुरानो भवनबाट सेवा प्रदान गर्दै आएको थियो ।

स्थापना भएको १२ वर्षसम्म साँघुरो तथा कच्ची भवनबाट सेवा प्रवाह गर्दै आएको थियो । नवनिर्मित भवनमा साना ठूलो गरी ११ कोठा छन् । साढे दुई तले सो भवनमा कार्यालय प्रमुख कक्ष, सञ्चार कक्ष, महिला तथा पुरुष हिरासत कक्ष, महिला र पुरुष ब्यारेक, प्रमुख आवास तथा मरोजञ्जन हल निर्माण गरिएको छ ।

कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले आइतबार सो भवनको उद्घाटन गरेका हुन्  । सुविधा सम्पन्न भौतिक संरचनाले प्रहरीलाई सेवा प्रवाह गर्न मनोबल बढ्ने उनको भनाइ थियो ।

लामीचौरमा ४२ वर्षपछि खानेपानी सुविधा

बागलुङ । बागलुङ नगरपालिका-८ सिगाना लामीचौरमा करिब दुई सय घरपरिवारको बसोबास छ । बाक्लो बस्ती रहेको लामीचौरमा खानेपानीको एकदमै अभाव थियो । बयालीस वर्ष अगाडि निर्माण भएका तीन धाराबाट यहाँका सयौँ स्थानीयले पानी उपभोग गर्दै आएका थिए ।

एक गाग्री पानी भर्न रातभर धारामा लाइन बस्नुपर्ने अवस्था थियो । सहजै पानी भर्ने पालो आउँदैनथ्यो । बि.सं. २०३९ मा निर्माण गरेको धारा जीर्ण बनेका थिए ।

लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका लामीचौरवासीलाई अब भने खानेपानीको समस्या छैन । यसपाली नगरपालिकाले जमिनमुनिबाट पानी निकालेको छ । लामो समयको मेहनतपछि ड्रिलिङ गरी लामीचौरमा पानी निस्किएपछि स्थानीयमा खुसीयाली छाएको छ ।

नगरपालिकाले प्राविधिक खटाएर यसबारे सर्वेक्षण गरेको थियो । पानी निकाल्न सकिने सम्भावना देखेपछि ड्रिलिङ मेसिन प्रयोग गरी यहाँ पानी निकाल्ने काम गरिएको हो ।

यही चैत १ गते मेसिनले करिब एक सय ७० मिटर जमिन खोदेर पानी निकालेको हो । यही चैत ९ गतेदेखि नियमित रूपमा पानी निकाल्न थालिएको लामी चौर खानेपानी उपभोक्ता समितिका अध्यक्ष टीकाराम थापाले जानकारी दिए ।

“गाउँमा खानेपानीको निकै समस्या थियो, बल्ल माग पूरा भएको छ”, अध्यक्ष थापाले भने । नगरपालिकाको रु. २६ लाख र स्थानीय जनसहभागिताबाट जुटेको रु. तीन लाखको लागतमा पानी निकालिएको हो । “सिंगो गाउँमा पानीको समस्या थियो, दुई सय घरका लागि तीन वटा मात्र धारा थिए, धारामा थोरै पानी आउँथ्यो, स्थानीयले कुवा र खोलाको फोहर पानी उपभोग गर्दै आएका थिए”, उनले विगतको समस्या बताए ।

स्थानीय बिना परियारले एक गाग्री पानी भर्नका लागि आठ घण्टासम्म लाइन बस्नुपरेको सुनाए । खानेपानी अभावले धेरैले गाउँ छोड्न बाध्य भएको उनले बताए । स्थानीय ७१ वर्षीय चन्द्रमणि गौतमले २०३९ सालदेखि नै लामीचौरमा खानेपानी समस्या रहेको बताए । जनसङ्ख्या बढ्दै गएपछि खानेपानीको अभाव भएको उनले बताए ।

वीरगञ्ज नाकाबाट आठ महिनामा एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको आठ महिनामा वीरगञ्ज नाका भएर  एक खर्ब २२ अर्ब २० करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो ।

गत आवको आठ महिनाका तुलनामा चालु आवको सोही अवधिमा रु एक अर्ब ६७ करोड बढीको पेट्रोलियम पदार्थ आयात भएको हो । गत आवको आठ महिनामा रु एक खर्ब २० अर्ब ५३ करोडको पेट्रोलियम पदार्थ आयात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा पेट्रोलियम पदार्थको आयात र राजस्व बढेको बताए ।

“अहिले पूर्वाधार निर्माणको समय भएकाले पनि पेट्रोलियम पदार्थको आयात बढेको देखिन्छ”, उनले भने । कार्यालयका अनुसार, चालु आवको आठ महिनामा सबै खालका पेट्रोलियम पदार्थको आयातबाट रु ५० अर्ब १३ करोड राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा रु ४४ अर्ब ८० करोड राजस्व सङ्कलन भएको थियो ।

चालु आवको आठ महिनामा रु ६१ अर्ब ४५ करोड बराबरको छ लाख ८५ नौ सय ९१ किलोलिटर डिजेल आयातबाट रु २७ अर्ब ३१ करोड राजस्व सङ्कलन भएको प्रमुख भन्सार प्रशासक लामिछानेले बताए । यस्तै, चालु आवको आठ महिनामा रु २५ अर्ब ३० करोड मूल्यको दुई लाख ९० हजार तीन सय ८२ किलोलिटर पेट्रोल आयात हुँदा रु १६ अर्ब ४८ करोड राजस्व सङ्कलन भएको छ ।

चालु आवको आठ महिनामा रु २४ अर्ब पाँच करोड मूल्य बराबरको २१ करोड ४२ हजार सात सय ८१ किलोग्राम एलपिजी ग्यास आयात भएको छ । यसबाट रु चार अर्ब ५० करोड राजस्व सङ्कलन भएको छ । गत आवको आठ महिनामा भने रु १९ अर्ब ५२ करोडको १८ करोड ६८ लाख १२ हजार एक सय २० किलोग्राम एलपिजी ग्यास आयात भएको थियो ।

दक्षिण कोरियाका निलम्बित कार्यवाहक राष्ट्रपतिको पद पुनर्वहाली

बीबीसी । दक्षिण कोरियाको संवैधानिक अदालतले निलम्बित कार्यवाहक राष्ट्रपति हान डक–सु को महाअभियोग खारेज गर्ने निर्णय गर्दै उनलाई पुनर्बहालीको आदेश दिएको छ ।

तत्कालीन राष्ट्रपति युन सुक योललाई महाअभियोग लागेपछि हान कार्यबाहक राष्ट्रपति बनेका थिए । उनलाई पनि महाअभियोग लागेपछि निलम्बित भएका थिए । डिसेम्बर २७ मा संसदमा निर्वाचनमार्फत् हानविरुद्ध महाभियोग लगाइएको थियो । त्यसपछि उनी निलम्बित भएका थिए ।

दक्षिण कोरियाको संविधान अनुसार संवैधानिक अदालतले सदर गरेपछि मात्र महाअभियोग प्रमाणित हुन्थ्यो र प्रधानमन्त्री हान पदमुक्त हुने थिए । तर संवैधानिक अदालतले महाअभियोग खारेज गरेकाले उनी पुनः पदमा फर्किने बाटो खुलेको छ ।

प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच आज छलफल हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज छलफल हुन लागेको हो । अपरान्ह ४ बजे सिंहदरबारमा तीन नेताबीच बैठक हुने भएको हो ।

बैठकमा राजावादीहरुको गतिविधि, संक्रमणकालीन न्याय (टीआरसी) लगायतका विषयमा छलफल हुनेछ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने हुलाकी मार्गकेन्द्रित तराई मधेश जागरण अभियानमा छन् । उनी आजै काठमाडौं आउने बताइएको छ ।

निर्धारित समयमा काम नगरेपछि परे चार कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले एस.डी. कन्स्ट्रक्सन जनकपुर, अरनिको निर्माण कम्पनी काठमाडौं, मनकामना सप्लायर्स भोजपुर र आर.एस.ए. कन्स्ट्रक्सन काठमाडौंलाई कालो सूचीमा राखेको हो ।

समयमा काम नगर्ने कम्पनीहरुलाई कार्यालयले कालोसूचीमा राखेको हो । निर्माणकार्यको जिम्मा लिने तर काम सन्तोषजनक नगर्ने कम्पनीहरुलाई कालोसूचीमा राख्ने गरिन्छ ।

कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउँदैनन् ।

नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना

काठमाडौँ । अभिनेत्री मनिषा कोइरालाले नेपाली चलचित्रमा काम गर्ने चाहना रहेको बताएकी छन् । अभिनेत्री कोइरालाले चलचित्र ‘फेरी भेटौँला’मा अभिनय गरेपछि बलिउड प्रवेश गरेकी थिइन् । उनले पछि नेपाली चलचित्र ‘धर्मा’मा अभिनय गरिन् । बलिउडमार्फत विश्वभर अभिनयमा छाप छोड्न सफल अभिनेत्री कोइरालाले क्यान्सर रोगसँग जित हासिल गरेपछि आफ्नो जीवनशैलीसँगै बुझाइमासमेत परिवर्तन महसुस गरिन्।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा काठमाडौँमा बिहीबारदेखि सुरु ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)’ को आठौँ संस्करणमा आयोजित ‘सिनेमा संवाद’मा उनले आफू पुनः नेपाली चलचित्रमा काम गर्न इच्छुक भएको बताएकी छन् ।

उनले भने, “म नेपाली चलचित्रमा काम गर्न इच्छुक छु, नेपाली लेखक तथा निर्देशकले नयाँ र भिन्न विषय लिएर मलाई प्रस्ताव गर्न सक्नुहुनेछ । पछिल्लो समय नेपाली चलचित्रको निर्माणमा आएको परिवर्तन र कलात्मक शैलीलाई मैले नियालेकी छु ।”

त्यसो त उनले ‘करिअर’ को सुरुआती समयमै नेपाली चलचित्रकर्मीलाई आफ्नै कथा भन्न आग्रह गरेको स्मरण गरिन् । विदेशी चलचित्रको नक्कल गरेर बनाइने नेपाली चलचित्रले कालान्तरमा रचनात्मक बन्न प्रेरित नगर्ने उनको बुझाइ छ । उनले अन्तरक्रियाको क्रममा पछिल्लो समय व्यावसायिक र कलात्मक दुवै किसिमका चलचित्रले पाइरहेको सफलताको चर्चा गरिन् ।

“मैले सुरुआती समयमा भन्ने गरेको शैलीमा अहिले चलचित्र बनिरहेका छन् । म निकै खुसी छु, किनकि अहिले कलात्मक चलचित्रले हामीलाई अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उभ्याउन सफल भएको छ भने व्यावसायिक चलचित्रले नयाँ कीर्तिमान बनाइरहेको छ । यो एउटा चलचित्रकर्मीका लागि सुखद खबर हो”, अभिनेत्री कोइरालाले भनिन् ।

कोइरालाद्वारा अभिनीत पछिल्लो भारतीय वेब शृङ्खला ‘हिरामण्डी’ले निकै चर्चा प्राप्त गर्‍यो । भारतीय निर्देशक सञ्जयलीला भन्सालीले निर्देशन गरेको सो शृङ्खला भारत र नेपालमा लोकप्रिय भयो । अभिनेत्री कोइरालाले निर्देशक भन्सालीसँग चलचित्र ‘खामोसी’ मा काम गरेको २८ वर्षपछि दोस्रो सहकार्य गरेका थिए ।

भन्सालीले आफूलाई दिएको भूमिकाका लागि कुनै कसर बाँकी नराखी अभिनय गरेको उनले बताए । उर्दु बोल्नु पर्ने भएकाले भाषा विज्ञ राखेर लवज सिकेर काम गरेको स्मरण अभिनेत्री कोइरालाले गरिन् ।

“मैले आफ्नो पात्रलाई जीवन्त बनाउने कोसिस गरेकी थिएँ, सायद सोही कारण उक्त पात्रको चर्चा भयो । अहिले पनि मैले केही काम गरेकी छु, ती मन खुसी भएर इमान्दारीपूर्वक गरिएको काम हो”, उनले भनिन् ।

अन्तरक्रियाकै क्रममा अभिनेत्री कोइरालाले आफू राजनीतिमा आउन र चलचित्र निर्माणका लागि तयार नरहेको बताइन् । उनले हाल एउटा पुस्तकमा काम गरिरहेको जानकारी दिइन् । महोत्सव आज साँझ समापन हुने आयोजकले जनाएको छ ।

प्रकाश सपुतको ‘वसन्त’ को ट्रेलर सार्वजनिक

काठमाडौं । गायक तथा नायक प्रकाश सपुतको निर्देशनमा बनेको पहिलो फिल्म ‘वसन्त’ ट्रेलर सार्वजनिक गरिएको छ ।

शनिबार काठमाडौंमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएके हो । फिल्ममा जातीय विभेदको कथा देखाइएको छ ।

फिल्मको कथा, लेखन र संगीत पनि प्रकाशकै हो । फिल्ममा प्रकाश र स्वस्तिमासहित खड्गबहादुर पुन, प्रभात पाल ठकुरी, श्री शिभांसी, उर्मिला लाम्गादे, अनुप बराल, प्रकाश घिमिरे, माओत्से गुरूङ, कमलमणि नेपाल लगायत कलाकारहरूको अभिनय छ ।

गलबन्दी प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको फिल्मको निर्माता मोहन विश्वकर्मा र बिन्दु बोहोरा हुन् भने कार्यकारी निर्मातामा वीरेन्द्र नारायण श्रेष्ठ, अनुरोध भट्टराई र नाना थकाली छन्। ‘वसन्त’ चैत २२ गतेदेखि प्रदर्शन तयारीमा छ।

संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प छैनः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले आफूहरु संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहेको बताएको छ । पार्टी कार्यालय सानेपामा आइतबार बसेको कार्यसम्पादन समिति बैठकले कांग्रेस लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहेका र रहिरहने बताएको हो ।

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस यो संविधान र संविधानमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रप्रति निरन्तर र पूर्ण प्रतिवद्ध रहेको र रहिरहने दृढता व्यक्त गर्दछ । संविधानको संरक्षण, सम्वद्र्धन र कार्यान्वयन मार्फत मुलुकलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त, सामाजिक विकृति र विसंगतिबाट मुक्त बनाउँदै जनताको निरन्तर प्रगतिको अपेक्षा र आवश्यकता सम्बोधन गर्न सकिन्छ भन्नेमा नेपाली कांग्रेसको दृढ विश्वास छ । यही विश्वास साथ अघि बढ्नु नै आजको मुख्य राष्ट्रिय जिम्मेवारी ठान्दै नेपाली कांग्रेस यसका निम्ति आवश्यक अग्रसरता लिने निर्णय गर्दछ ।’

प्रकाशमानलाई बालेनको आग्रहः मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउन आग्रह गरेका छन् ।

आइतबार सामाजिक संजालमार्फत मेयर साहले बालमन्दिर बचाउने र सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै रहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘माननीय सहरी विकास मन्त्री प्रकाशमान सिंहज्यू, अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै रह्यो। कहिले गर्ने हो ? मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला। यत्रो गणेशमान सिंह, पी.एल. सिंह, र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला ।’

अमेरिकी सिनेटरको बेइजिङ भ्रमणका क्रममा चिनियाँ प्रधानमन्त्रीद्वारा ‘संवाद’ को आह्वान

बेइजिङ । बेइजिङमा प्रमुख अमेरिकी व्यापारिक अधिकारीहरू र राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख काङ्ग्रेस सहयोगीले भाग लिएको बैठकमा चीनका दोस्रो नम्बरका नेता प्रधानमन्त्री ली किआङले आइतबार वासिङ्टनसँग ‘संवाद’ को आह्वान गरेका छन् ।

ट्रम्पले लगाएको व्यापक भन्सार शुल्कले चीनको व्यापार सम्भावनालाई खतरामा पुर्याएसँगै विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्रबीचको सम्बन्ध हालैका हप्ताहरूमा खस्किएको छ ।

मोन्टानाका रिपब्लिकन सिनेटर एवं ट्रम्प समर्थक स्टिभ डेन्ससँगको भेटका क्रममा प्रधानमन्त्री लीको उक्त टिप्पणी आएको हो ।

उनको भ्रमणलाई ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको शिखर सम्मेलन स्थापना गर्ने दिशामा तनावपूर्ण सम्बन्धलाई सहज बनाउने प्रयासका रूपमा हेरिएको छ ।

“हाम्रा दुवै पक्षले सङ्घर्षभन्दा संवादलाई, शून्य–योगफल प्रतिस्पर्धाभन्दा जित–जित सहकार्यलाई छान्नु आवश्यक छ”, लीले डेन्सलाई भने । भेटका क्रममा फेडएक्स, फाइजर र क्वालकम लगायतका प्रमुख कम्पनीका सिइओहरू पनि उपस्थित थिए ।

लीले वासिङ्टनले ‘सम्बन्धको स्थिर, सुदृढ र दिगो विकासलाई बढावा दिन चीनसँग मिलेर काम गर्ने’ आशा व्यक्त गरे ।

यसअघि आइतबार नै लीले चाइना डेभलपमेन्ट फोरममा बेइजिङले ‘विखण्डन’ का बावजुद आर्थिक विश्वव्यापीकरणलाई अपनाउने बताए । यो ट्रम्पले उत्पन्न गरेको व्यापार अशान्तिको अप्रत्यक्ष सन्दर्भ हो ।

चिनियाँ नेताहरूले विशेष गरी उपभोगलाई बढावा दिएर महामारीको अन्त्यपछि अस्थिर अर्थतन्त्रलाई अझ स्थिर मार्गमा लैजाने प्रयास गरिरहेका छन् ।

ट्रम्पले चीन, क्यानाडा र मेक्सिको लगायत प्रमुख अमेरिकी व्यापारिक साझेदारहरूसँग भन्सार युद्ध चलाइरहेकाले उनीहरूले देशलाई बहुपक्षीय आर्थिक प्रणालीको रक्षकका रूपमा स्थापित गर्न खोजिरहेका छन् ।

माओवादीलाई सशस्त्र द्वन्द्वको बेला कसले पालनपोषण गरेका थिए भन्ने कुरा प्रमाणित हुँदैछः महासचिव पोखरेल

विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार सरकार चलाउनको लागि मात्र नबनेको बताएका छन् ।

आइतबार प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशनको विराटनगरमा उद्घाटन गर्दै महासचिव पोखरेलले लोकतान्त्रिक प्रणालीमाथि नै चुनौति उत्पन्न भएको कारण देशका दुई प्रमुख राजनीतिक दल मिलेर सरकार बनाएको बताए ।

उनले भने, ‘कांग्रेस र एमाले पहिलो पटक मिलेका होइनन्, जतिबेलासम्म यी दुई पार्टी मिलेनन् तबसम्म देशमा तानाशाही व्यवस्था रहिरह्यो, जब देशलाई संकट पर्छ, तब कांग्रेस र एमाले मिल्ने गर्दछन् ।’

उनले माओवादीको सशस्त्र द्वन्द्वको निशान राजा नभएर कांग्रेस र एमाले भएका पोखरेलले बताए । माओवादीलाई सशस्त्र द्वन्द्वको बेला कसले पालन पोषण गरेका थिए भन्ने कुरा प्रमाणित हुँदै गएको उनको भनाइ छ ।

नेपालको राजनीतिमा नेपाली कांग्रेसले जतिबेला संसद् विगठन गर्छ, त्यतिवेला सदर हुने तर एमालेले विगठन गर्दा अमान्य हुने गरेको पोखरेलले बताए । नेपालको न्याय निरूपणको प्रक्रियामा अदालतको समेत दोहोरा चरित्र देखिएको पोखरेलको गुनासो छ ।

आज राजावादीहरुले लोकतन्त्रमा देश विकासको कुनै काम हुन सकेन भनेर भ्रम फिँजाइरहेका बताउँदै पोखरेलले राजाको पालामा भएको विकास र लोकतन्त्रमा राजनीतिक दलले शासन गर्दा भएका विकास तुलना गरेर हेर्न आग्रह गरे ।

पोखरेलले कू–तर्क गरेर जनतालाई भ्रम फिँजाउने कुचेष्टा नगर्न राजावादीहरूलाई चेतावनी दिए । मंगलबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

आठौँ अन्तर्राष्ट्रिय मेयरकप वैशाख दोस्रो सातादेखि

भोजपुर । आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयरकप फुटबल आगामी वैशाख दोस्रो सातादेखि सुरु हुने भएको छ ।
जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक वर्ष जिल्ला सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगिता यस वर्ष २०८२ वैशाख १४ देखि २० गतेसम्म सञ्चालन हुने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रविण सुवालले जानकारी दिए ।

भोजपुर नगरपालिका–७, कोदारस्थित रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा आठ टोलीले सहभागिता जनाउने छन् । प्रतियोगिता सञ्चालनका लागि भोजपुर नगरपालिकाले ३० लाख सहयोग गरेको छ ।

प्रतियोगिताका विजेता तथा उपविजेताले क्रमशः पाँच लाख र तीन लाख पुरस्कार पाउने छन् ।
सातौँ संस्करणमा चर्च व्वाइज युनाइटेड, काठमाडौँले त्रिभुवन आर्मी क्लबलाई हराउँदै विजेता बनेको थियो ।

कार्यपालिका बैठक तत्काल बोलाउन बालेनसँग १८ वडाध्यक्षको माग

काठमाडौं । काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई गरिएको कारबाही प्रक्रियाको मागसहित तत्कालै कार्यपालिका बैठक बोलाउन नेपाली कांग्रेसबाट निर्वाचित १८ जना वडाअध्यक्षसहित बहुमत कार्यपालिका सदस्यहरूले माग गरेका छन् ।

आइतबार काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई काठमाडौं महानगरपालिकाका १८ जना वडाअध्यक्षसहित नेपाली कांग्रेसबाट कार्यपालिका सदस्य भएका सदस्यहरूले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई गरिएको कारबाहीको प्रक्रियाको माग गर्दै वडा–१७ का वडाअध्यक्ष एवं प्रवक्ता नविन मानन्धरले ज्ञापन पत्र बुझाएका हुन् ।

‘आज प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई गरिएको कारवाही प्रक्रियाको माग सहित तत्कालै कार्यपालिका बैठक बोलाउन वडाअध्यक्ष एवं कार्यपालिका सदस्यहरूले माग गरेका छौ,’ काठमाडौँ महानगरपालिका वडा–८ का वडाअध्यक्ष आशामान संगतले भने ।

उनले, कामपा वडा नम्बर १२ का वडाअध्यक्षको अध्यक्षतामा कार्यपालिका बैठक तत्काल बोलाउन माग गरेको र तत्कालै प्रशासकीय अधिकृतलाई गरिएको कारबाही प्रक्रियाको माग सार्वजनिक गर्न हस्ताक्षरसहित पठाइएको बताए ।

विवाहको उमेर १८ वर्ष कायम गर्न सांसदहरुको सुझाव

काठमाडौँ । संसदको न्याय, कानुन तथा मानव अधिकार समितिमा विवाहसम्बन्धी २० वर्ष उमेर पुग्नुपर्ने भन्ने हालको प्रावधान संशोधन गरिनुपर्ने माग उठेको छ ।

समितिको आइतबारको बैठकमा सांसदहरु नागिना यादव, रञ्जुकुमारी झा, पूर्णबहादुर घर्तीलगायतले विवाहसम्बन्धी हालको व्यवस्था व्यावहारिक नभएको उल्लेख गर्दै त्यसलाई संशोधन गरी १८ वर्ष कायम राख्न उपयुक्त हुने सुझाव दिए ।

समितिका सदस्य नागिना यादवले कानुनले विवाहको उमेर २० वर्ष भने पनि सामाजमा व्यावहारिक अभ्यासका रुपमा कतिपयको त्यसअघि भइरहेको बताइन् । उनले भनिन्, ‘उमेरमा विवाह गर्न पाउनुपर्ने स्वतन्त्रता र अधिकार हो । हालको उमेरको हद अव्यावहारिक भयो, यो व्यावहारिक हुनुपर्छ । नागरिकताको प्रमाणपत्र प्राप्ति १६ वर्षमा, प्रहरीजस्तो जोखिम व्यहोर्नुपर्ने सङ्गठनमा भर्ना १८ वर्षमा हुन्छ भने विवाह किन हुन्न । विवाहको उमेर १८ वर्ष गरिनै पर्छ ।’

विवाहसम्बन्धी उमेर घटाइनुपर्छ भन्ने कुनै सांसद र संसद्को माग नभई समाजबाट उठाइएको विषय भएको उल्लेख गर्दै सदस्य यादवले भनिन्, ‘१८ वर्ष पुगेका युवायुवतीबीचको प्रेम सम्बन्धबाट जन्मिएका सन्तानको जन्मदर्तालगायतमा समस्या परिरहेको छ, यसैकारण ठूलै सङ्ख्या युवा जेलमा पुगिरहेका छन् । अन्तरराष्ट्रिय अभ्यास पनि १८ वर्ष नै देखिन्छ ।’

अर्का सदस्य रञ्जुकुमारी झाले देश विकासमा लाग्नुपर्ने युवाको ठूलो सङ्ख्या लागुऔषध र करणीको मुद्दामा कारागारमा रहेको अनुगमनबाट देखिएको जानकारी दिइन् । उनले भनिन्, ‘विवाहसम्बन्धी २० वर्षे यो प्रावधान व्यावहारिक र समाजमैत्री हुनुपर्छ । यस विषयमा गहन र खुला छलफल गरी कानुन बनाउनुपर्छ । यो समिति र सांसदको भनाइ नभई समाजको आवाज हो ।’

समितिका सदस्य ध्रुवबहादुर प्रधानले सजाय दिएर वा सुधार केन्द्रमा राखेर मात्र कतिपय समस्या समाधान हुन नसक्ने तर्क प्रस्तुत गर्दै विवाहको उमेरसम्बन्धी जोडिएर आएको प्रश्नबारे पुनःविचार गर्नुपर्ने बताए ।
अर्का सदस्य सुशीला थिङले युवाहरु जेल जानमा विवाह हो कि कानुन दोषी हो भनी प्रश्न गर्दै कानुनमा व्यवस्था भए पनि त्यस्तो विवाहपछि जन्मिएका सन्तान जन्मदर्ता गर्नबाट बञ्चित हुन परिरहेको घटना सुनाइन् ।
सदस्य रामकुमार राईले राज्यका हरेक क्षेत्रमा भर्ना हुन १८ वर्षको उमेरलाई आधार मानिएपछि विवाहका लागि २० वर्ष कायम गर्न आवश्यक नरहेको तर्क गरे ।

सांसद पूर्णबहादुर घर्तीले विवाहसम्बन्धी हालको प्रावधान नेपाली समाज, शिक्षाको अवस्था र समाजलाई बुझ्न नसकेको परिस्थितिबाट आएको हुनुपर्ने अनुमान गरे ।

सदस्य जीवन परियारले विवाहसम्बन्धी हालको प्रावधानको दुरुपयोग गर्दै कतिपयले अन्तरजातीय विवाहलाई अस्वीकार गर्दै अपहरण, करणी र शरीर बन्धकजस्ता मुद्दामा युवालाई दुःख दिने काम भएको बताए ।

सांसदहरुले उठाएको प्रश्नको जवाफमा बैठकमा गृहमन्त्री रमेश लेखकले बालविवाहसम्बन्धी ऐन संशोधनका क्रममा रहेकाले विवाहको उमेरसम्बन्धी प्रवधान सुधार गरी जान सकिने बताए ।

उनले भने, ‘यो विषय अत्यन्त गम्भीरताकासाथ सोच्न आवश्यक छ । यसको रोमियो एण्ड जुलियट विचारधारा पनि छ । उमेर घटनाउने कि रोमियो अवधारणा कार्यान्वयनका लागि ऐन संशोधन गर्ने भन्ने कोणबाट छलफल गर्न सकिन्छ । यसमा छलफलका लागि सरकार खुला छ ।’

कानुनमन्त्री अजयकुमार चौरसियाले विवाहसम्बन्धी उमेर र त्यसको उल्लङ्घन गरेको गरिने दण्डसजायसम्बन्धी नयाँ प्रावधान समेटिएको केही समयभित्र संसद्मा विधेयक प्रस्तुत हुने जानकारी दिए ।

उनले भने, ‘विवाहको उमेरका सम्बन्धमा विभिन्न भनाइ आएका छन्, हालको व्यवस्था प्रजनन अधिकार र मातृस्वास्थ्यसँग जोडिएको छ । सरकार विभिन्न कोणबाट उठेको सबै आवाजकाबारे छलफल गर्न तयार छ ।’

नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले  मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न, सुरक्षा निकायका भौतिक पूर्वाधार निर्माणलाई तीव्रता दिन र थुनामा रहेका नागरिकलाई मानव अधिकारको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहेको बताए ।

बारा र पर्सामा विद्युत आपूर्ति सुधार्न तीन वटा उच्च क्षमताका सबस्टेसन निर्माण अन्तिम चरणमा

काठमाडौँ । बारा र पर्सा जिल्लास्थित औद्योगिक करिडोर र उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति नियमित बनाउन उच्च क्षमताका तीनवटा सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । बाराको अमलेखगञ्ज तथा प्रसौनी र पर्साको वीरगञ्जमा निर्माणाधीन १३२ केभी क्षमताका तीनवटा सबस्टेसन अन्तिम चरणमा पुगेको हो । 

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमन गरी सबस्टेसन र प्रसारण लाइन निर्माण यथाशीघ्र सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् । वीरगञ्ज क्षेत्रको विद्युत् माग र आपूर्ति व्यवस्थापन तथा भारतसँगको विद्युत् व्यापारका लागि निर्माणाधीन प्रसारण लाइन तथा सबस्टेसन महत्त्पूर्ण रहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा संवेदनशील र जिम्मेवार भएर निर्धारित समयमा काम सम्पन्न गर्न आग्रह गरे । 

पथलैया–सिमरा–वीरगञ्ज औद्योगिक करिडोरमा रहेको विद्युत आपूर्तिको समस्या समाधान र बढ्दो माग पूरा गर्न अमलेखगञ्ज १३२/६६ केभी सबस्टेसन तयार भएको छ । उक्त सबस्टेसनमा रहने अधिकांश मुख्य उपकरण जडान भइसकेका छन् । अमलेखगञ्ज सबस्टेसनलाई आगामी जेठको दोस्रो साताभित्र सञ्चालनमा ल्याउने गरी अन्तिम चरणका काम भइरहेका प्रबन्ध निर्देशक  घिसिङले उल्लेख गरे ।   

उनका अनुसार पूर्व–पश्चिम १३२ केभी डबलसर्किट प्रसारण लाइनमध्ये एउटा सर्किटलाई अमलेखगञ्ज सबस्टेसनभित्र छिराउने (लुप इन) र बाहिर निकाल्ने (लुप आउट) गर्ने काम सकिएको छ । त्यस्तै हेटौँडाबाट सिमरा–वीरगञ्ज औद्योगिक करिडोरमा विद्युत् आपूर्ति गर्ने ६६ केभी लाइनको दुवै सर्किटलाई सबस्टेसनमा लुप इन र लुप आउट गरिसकिएको छ । हेटौँडाबाट गएको ६६ केभी लाइन लामो र क्षमता कम हुँदा सिमरा–वीरगञ्ज औद्योगिक करिडोरमा भोल्टेजको समस्या थियो । 

उक्त ६६ केभी लाइनको लम्बाइ पनि घट्ने र १३२ केभी प्रसारण लाइनबाट विद्युत् आपूर्तिको स्रोत हुने भएपछि अमलेखगञ्ज सबस्टेसन सञ्चालनमा आएसँगै सिमरा–वीरगञ्ज औद्योगिक करिडोरको विद्युत् आपूर्तिमा सुधार प्राधिकरणले जनाएको छ । सबस्टेसनमा १३२/६६ केभी २०० एमभिए र ६६/११ केभी २० एमभिए क्षमताका पावर ट्रान्सफर्मरहरू रहेका छन् । स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि ११ केभीका छ वटा फिडर रहने छन् । 

प्रसौनी तथा वीरगञ्ज सबस्टेसन र उक्त सबस्टेसनलाई जोड्ने दुई दशमलव आठ कलोमिटर १३२ केभी भूमिगत प्रसारण लाइन निर्माण भइरहेको छ । भूमिगत प्रसारण लाइन एक महिनाभित्र सक्ने गरी काम भइरहेको प्रबन्ध निर्देशक  घिसिङले जानकारी दिए । सबस्टेसनमा उपकरण जडान र बाँकी रहेका सिभिल संरचनाको काम जारी छ । भारत र नेपालबीचको रक्सौल परवानीपुर १३२ केभी प्रसारण लाइनलाई प्रसौनी सबस्टेसनमा लुप इन र लुप आउट गरिने छ । 

उक्त सबस्टेसनबाट भूमिगत प्रसारण लाइनमार्फत वीरगञ्ज सबस्टेसनमा विद्युत् आपूर्ति दिइने छ । हाल वीरगञ्जमा चालु रहेको ६६/३३/११ केभी सबस्टेसनलाई विस्तार गरी १३२ केभी बनाउन लागिएको हो । सबस्टेसन र प्रसारण लाइन निर्माण सम्पन्न भएपछि वीरगञ्ज क्षेत्रमा विद्युत् आपूर्तिका लागि १३२ र ६६ केभीको स्रोत हुनेछ । १३२ र ६६ केभी सबस्टेसन अन्तरआवद्ध हुने भएकाले विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो र गुणस्तरीय बन्ने विश्वास छ । 

हाल बाराको कलैया क्षेत्रमा पनि वीरगञ्ज सबस्टेसनबाट विद्युत् आपूर्ति हुँदै आएकामा प्रसौनी सबस्टेसन सम्पन्न भएपछि त्यहींँबाट आपूर्ति दिइने प्राधिकरणले जनाएको छ । यसबाट वीरगञ्ज सबस्टेसनको भार पनि घट्नेछ । 

प्रसौनी सबस्टेसनमा स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि ३३ केभी र ११ केभीका पाँच÷पाँचवटा फिडर रहने व्यवस्था गरिएको छ । बारा–पर्सा औद्योगिक करिडोरमा पर्ने सिमरा, निजगढ, वीरगञ्ज, परवानीपुर, पोखरिया, प्रसौनीलगायत क्षेत्रमा हाल सञ्चालनमा रहेका तथा आगामी दिनमा खुल्ने उद्योगलाई लक्षित गरी प्राधिकरणले उच्च क्षमताका विद्युत प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना क्रमिक रुपमा बनाउन लागिरहेको छ । 

वीरगञ्ज क्षेत्रका उद्योगले १३२ केभी प्रसारण लाइनबाटै विद्युत् आपूर्ति लिन सक्ने गरी उच्च क्षमताका प्रसारण लाइन तथा सबस्टेसन निर्माण अगाडि बढाइएको प्राधिकरणको भनाइ छ । वीरगञ्ज क्षेत्रको विद्युत्को बढ्दो औद्योगिक मागपूर्ति गर्न परवानीपुरबाट पोखरियासम्म १३२ केभी अर्को प्रसारण लाइन र पोखरिया सबस्टेसन निर्माण अगाडि बढाइएको छ । 

हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनअन्तर्गत बाराको निजगढमा ४०० केभी सबस्टेसन निर्माण गरी उक्त लाइनलाई  रमौली हुँदै पोखरियामा पुर्याउने गरी अर्को आयोजना सुरु गरिएको छ । प्रस्तावित उक्त ४०० केभी प्रसारण लाइन आयोजनाको लम्बाइ ६५ किलोमिटर हुनेछ । निजगढ, रमौली र पोखरियामा गरी ४०० केभीका तीनवटा सबस्टेसन निर्माण गरिने छन् । निजगढ–रमौली–पोखरिया प्रसारण लाइनको सर्वे सम्पन्न भइसकेको छ । प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृतिको प्रक्रियामा छ । 
रमौली सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहणका गर्न मुआब्जा निर्धारण भइसकेको छ । निजगढ सबस्टेसन भारतको निर्यात आयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा निर्माण गरिने छ । निजगढ–रमौली ३८ किलोमिटर प्रसारण लाइन र रमौलीमा सबस्टेसन एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा निर्माण गरिनेछ । 

सिमरास्थित विशेष अर्थिक क्षेत्र (सेज), डुमरवानालगायत क्षेत्रलाई लक्षित गरी औरही–सिमरा १३२ केभी प्रसारण लाइन निर्माण अगाडि बढाइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

इजरायली आक्रमणमा हमासका राजनीतिक नेता र उनकी श्रीमतीको मृत्यु

बीबीसी । गाजाको दक्षिणी सहर खान युनिसमा इजरायली हवाई हमलामा हमासका शीर्ष राजनीतिक नेता सलाह अल–बर्दवील मारिएका छन् ।

आक्रमणमा हमास समूहको राजनीतिक कार्यालयका सदस्य बर्दवील र उनकी श्रीमती दुवैको मृत्यु भएको स्थानीयवासीले बताएका छन् ।

इजरायली अधिकारीहरूले भने कुनै टिप्पणी गरेका छैनन् । इजरायली सेनाले गत मङ्गलबारदेखि गाजामा पुनः हमला सुरु गरेको छ ।

उसले गत जनजरी १९ बाट सुरु भएको युद्धविराम सम्झौताप्रति प्रतिबद्ध नभएको दोष हमासलाई दिँदै पुनः आक्रमण सुरु गरेको हो । हमासले इजरायली आरोपलाई अस्वीकार गरेको छ र कतार, इजिप्ट तथा अमेरिकाको मध्यस्थतामा भएको युद्धविरामा उल्लङ्घन गरेको आरोप लगाएको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका एक अधिकारीले गाजामा विगत २४ घण्टामा ३२ जनाको ज्यान गएको बताए ।

सन् २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणमा झन्डै १२ सय जना मानिसहरू मारिनुका साथै २५१ जनालाई बन्धक बनाइएपछि इजरायलले गाजामा आक्रमण गरिरहेको छ।

साउदी वार्तामा ‘प्रगति’हुने रुसी अपेक्षा

मस्को । संयुक्त राज्य अमेरिकाले युक्रेनी र रुसी प्रतिनिधिमण्डलसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुअघि रुसी वार्ताकारले सोमबार साउदी अरबमा हुने वार्तामा ‘केही प्रगति’ हासिल गर्ने अपेक्षा मस्कोले गरेको बताएका छन्।

अमेरिकी कुटनीतिज्ञ किथ केलोगले यस प्रयासलाई होटलका कोठाहरूबीचको ‘शटल डिप्लोमेसी’ को संज्ञा दिएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताका लागि आफू तयार रहेको बताएका छन् । खाडी मुलुकमा सोमबार अमेरिकी र रुसी अधिकारीबीच छुट्टाछुट्टै बैठक हुनेछ ।

मस्कोले ३० दिनको पूर्ण र निःशर्त युद्धविरामका लागि अमेरिका र युक्रेनको संयुक्त प्रस्तावलाई अस्वीकार गरेको छ । मस्को र किएभ दुवैले वार्ताको दौडान आक्रमण जारी राखेका छन्।

शुक्रबार राति दक्षिणी युक्रेनी शहर जापोरिजियामा रुसी आक्रमणमा परी एकै परिवारका तीन जनाको मृत्यु भएपछि युक्रेनी अधिकारीहरू आक्रोशित भएका छन् ।

युक्रेनको आपतकालिन सेवाले आइतबार बिहानै भनेको छ, “रुसले किएभमा ड्रोन अपार्टमेन्टका भवनहरूमा आक्रमण गरेको, आक्रमणमा आगलागीसमेत भएको र कम्तीमा दुई जनाको मृत्यु भएको थियो।”

किएभका मेयर भिटाली क्लिट्स्कोले आइतबार ‘शत्रु युएभीको ठूलो आक्रमण’ का कारण शहरका विभिन्न जिल्लामा भग्नावशेष खस्दा सात जना घाइते भएको बताएका छन् ।

रुसको रक्षा मन्त्रालयले ५९ वटा युक्रेनी ड्रोनलाई नष्ट गरेको जनाएको छ ।

रुसी प्रतिनिधिमण्डलको नेतृत्व गर्ने रुसी सिनेटर ग्रिगोरी कारासिनले ज्वेज्दा टिभी च्यानलसँग भने, “हामी कम्तीमा केही प्रगति हासिल गर्ने आशा गर्छौं।”

उनले आफू र एफएसबीका सल्लाहकार सर्गेई बेसेडाले वार्ताले ‘जुझारु र रचनात्मक’ मुड लिने बताएका छन् ।

युक्रेनका एक वरिष्ठ अधिकारीले एक दिनअघि एएफपीलाई बताएअनुसार किएभले ऊर्जा, पूर्वाधार र समुद्रमा हुने आक्रमणलाई समेट्ने गरी आंशिक युद्धविरामका लागि ‘कम्तीमा’ सहमति हासिल गर्ने आशा राखेको छ । किएभले आफ्ना रक्षामन्त्रीलाई वार्तामा पठाउँदैछ ।

“हामी कम्तीमा एउटा मुद्दाको समाधानका लागि लड्ने मनस्थितिमा छौँ,” रुसको रक्षा मन्त्रालयको स्वामित्वमा रहेको ज्वेज्दासँग कुरा गर्दै कारासिनले भने । उनीहरु आइतबार साउदी अरब जान लागेको र मङ्गलबार फर्किने उनले बताए ।