`

कांग्रेस बलियो भए लोकतन्त्रको संस्थागत विकास हुन्छ : सहमहामन्त्री पाण्डे

बैतडी – नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले लोकतन्त्रको संस्थागत विकासका लागि कांग्रेस बलियो हुनुपर्ने बताउनुभएको छ । बैतडी सदरमुकाममा कार्यकतासँगको अन्तक्र्रियात्मक कार्यक्रममा उहाँले कांग्रेसलाई बलियो बनाए मात्रै लोकतन्त्रको संस्थागत विकास हुने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “जनताको पक्षमा काम गर्न सक्ने पार्टी कांग्रेस नै हो । त्यसैले लोकतन्त्रको संस्थागत विकास र देश विकासका लागि कांग्रेस बलियो हुनुपर्छ ।”

कांग्रेस पार्टीभित्र देखिएका कमजोरी र समस्या हटाई तल्लो तहदेखि नै बलियो कांग्रेस बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “पार्टीभित्र रहेका समस्या, कमी कमजोरी हटाएर सबैले कांग्रेस बलियो बनाउन लाग्नुपर्छ ।”

अन्तक्र्रियामा नेपाली कांग्रेस बैतडीका उपसभापति खगेन्द्रसिंह धामी, पूर्वजिल्ला सभापति नरेन्द्रसिंह थापा, जिल्ला कोषाध्यक्ष चक्रबहादुर चन्द, जिल्ला सहसचिव दीपेन्द्रबहादुर चन्दलगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

नेपाल प्रेस युनियन काठमाडौँको अध्यक्षमा गौतम निर्वाचित

काठमाडौँ – नेपाल प्रेस युनियन काठमाडौँ शाखाको अध्यक्ष पदमा महेश्वर गौतम निर्वाचित हुनुभएको छ । युनियनको गए राति सम्पन्न मतगणनामा सो पदका अर्का प्रत्यासी दिलीपप्रकाश कार्कीलाई पराजित गर्दै गौतम निर्वाचित हुनुभएको हो । गौतमले तीन सय १५ मत प्राप्त गर्दा कार्कीले एक सय २९ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत प्रदीप सत्यालले जानकारी दिनुभयो ।

यस्तै खुला उपाध्यक्षमा रोमन आचार्य र महिला उपाध्यक्षमा श्रद्धा कोइराला निर्विरोध निर्वाचित हुनुभएको छ । सचिवमा भने सन्तोष अधिकारीले दुई सय ८५ मत ल्याएर विजयी हुँदा प्रत्यासी केशवप्रसाद पाण्डेले एक सय ५९ मत प्राप्त गर्नुभयो । सहसचिवमा पूजा बगाले र कोषाध्यक्षमा प्रदीप कार्की (भेषराज) विजयी हुनुभएको छ ।

यसैगरी सदस्यमा प्रवीन भुसाल, शिवलाल पौडेल, विशाल पुरी, कृष्णबहादुर कार्की, भुपेश उपाध्याय, कविन अधिकारी, ओमप्रकाश राउत, निकेश अधिकारी, सरोज बस्याल, मदन रिजाल, सागर जोशी, देवीप्रसाद पाण्डे, राजु थापा, प्रशन्न मुल्लिक, मनोज भण्डारी, किशोर दाहाल, रामचन्द्र मिश्र, अनुप प्रधान विजयी हुनुभएको छ ।

यस्तै मिन्साङ लामा, रमेश सेन्चुरी, विनिता क्षेत्री, मुना दाहाल, सिर्जना मिश्र, सकुन्तला रानामगर र कोसिना ढकाल निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत सत्यालले बताउनुभयो । काठमाडौँ शाखाको नवौँ जिल्ला अधिवेशनको आइतबार नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले उद्घाटन गर्नुभएको थियो । शाखाका कार्यवाहक अध्यक्ष अच्युत रेग्मीको संयोजकत्वमा नवौँ जिल्ला अधिवेशन सम्पन्न भएको थियो ।

बिरामीको चापअनुसार कर्मचारी नहुँदा सेवाप्रवाहमा समस्या

चितवन – सङ्घीय अस्पतालको रूपमा रहेको भरतपुर अस्पतालमा बिरामीको चापअनुसार कर्मचारी नहुँदा व्यवस्थापनमा समस्या हुँदै आएको छ । भरतपुर अस्पतालमा अहिले दैनिक एक हजार पाँच सय हाराहारी बिरामी बहिरङ्ग सेवामा आउने गर्दछन् ।

चितवनसहित १२ जिल्लाका बिरामीको उपचार नियमित गर्ने गरेको यस अस्पतालमा अहिले स्वीकृत दरबन्दी एक सय ७७ जनाको छ । अस्पतालमा ४४ चिकित्सकको मात्र स्वीकृत दरबन्दी छ । अस्पताल विकास समितिका चिकित्सक र स्वास्थ्यकर्मीको भरमा अस्पताल सञ्चालन हुँदै आएको छ । जहाँ एक सय ६५ चिकित्सक कार्यरत रहेका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार दुई वर्षअघि अस्पतालमा भएको ‘ओएनएम सर्भे’अनुसार एक हजार ८७ कर्मचारी आवश्यक पर्ने हो । सर्भेअनुसार कर्मचारी नहुँदा अस्पताल विकास समिति र ठेकेदारमार्फत राखिएका कर्मचारीको भरमा अस्पताल चलिरहेको छ ।

विसं २०७५ मा अस्पताललाई केन्द्रीय अस्पतालका रूपमा पाँच सय शय्या बनाउने निर्णय भए पनि अहिलेसम्म कार्यान्वयनमा आउन नसक्दा कर्मचारीको अभावका कारण व्यवस्थापनमा कठिनाइ भएको हो । अहिले अस्पताल छ सय शय्यामा सञ्चालनमा छ ।

अस्पतालमा सरकारी र विकास समिति गरी नौ सय १५ चिकित्सक कर्मचारी कार्यरत रहेका छन् । सरकारले पाँच सय शय्याको अस्पतालका रूपमा विकास गर्दैगर्दा पनि दरबन्दी भने एक सय ५० शय्याको मात्र रहेको छ । पौडेलका अनुसार दैनिक एक जना चिकित्सकले ३० जना बिरामी हेर्नुपर्नेमा ५० देखि एक सय जनासम्म बिरामी हेर्नुपर्ने बाध्यता रहेको छ । उहाँले भन्नुभयो, “विश्व स्वास्थ्य सङ्गठनका अनुसार एक जना चिकित्सकले ३० जना बिरामी हेर्ने हो तर यो सम्भव छैन ।”

भरतपुर अस्पतालमा बिरामीको विश्वास बढ्दै गएकाले चाप दैनिक बढेको उहाँले जानकारी दिनुभयो । कोभिड सङ्क्रमणको समयमा भन्दा पछिल्ला वर्षमा बिरामीको चाप बढ्दै गएको पौडेलले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य बीमा कार्यक्रममा अस्पतालमा लागू हुनु, अस्पतालप्रति विश्वास बढ्दै जानु र अस्पतालमा दिइने सेवालाई विशिष्टकृत गर्दै जाँदा बिरामीको चाप बढ्दै गएको हो ।

अस्पताका सूचना अधिकारी गोपाल पौडेलका अनुसार अस्पतालमा शय्या बढेको, सघन उपचारकक्ष थप गर्नु, बाल सघन उपचारकक्ष (पिआइसीयू) सञ्चालनमा आउनु, अस्पतालका भौतिक संरचनासँगै अत्याधुनिक प्रविधिबाट उपचार हुनुले अस्पतालप्रति बिरामीको आकर्षण बढेको हो । बिरामीको चाप बढेसँगै अहिले अस्पतालमा मिर्गौलाको डायलायसिस उपकरण थप गरी २० वटा सञ्चालन गर्ने तयारीमा अस्पताल रहेको छ । छवटा थप गर्न लागिएको हो ।

आधुनिक शल्यक्रिया कक्ष, आकस्मिक कक्षका लागि छुट्टै टिकट काउन्टर, विशेषज्ञ सेवाका लागि जिओपिडी, बहिरङ¬्ग सेवाको टिकट काट्ने काउन्टर थपसँगै उपचार समय पनि थप गरिनु, विशेषज्ञ सेवा नियमित हुनुले अस्पतालमा बिरामीको चाप बढेको उहाँले बताउनुभयो । बिरामीको चापअनुसारको व्यवस्थापनका लागि अस्पताल प्रशासन लागिपरेको उहाँको भनाइ छ ।

प्रसूति सेवाका लागि राजधानी बाहिरको उत्कृष्ट अस्पतालका रूपमा भरतपुर अस्पताल चिनिन्छ । जिल्लामा प्रसूतिको पहिलो रोजाइ भरतपुर अस्पताल बनेको छ ।

माध्यमिक तह कक्षा ११ मा लिइने शुल्कको विवरण पेस गर्न कामपाको निर्देशन

काठमाडौं – काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्र २०८०/८१ को लागि कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरुसँग लिइने शुल्कको विवरण पेस गर्न सबै निजी विद्यालयहरुलाई निर्देशन दिएको छ ।

कामपाले सूचना जारी गर्दै सबै निजी विद्यालयहरुलाई यही असार मसान्तसम्म कुनकुन शीर्षकमा कति शुल्क लिने हो उक्त विवरण पेस गर्न भनेको हो । कामपाको शिक्षा ऐन २०७५ को दफा २७ (९) बमोजिमको विद्यालय व्यवस्थापन समितिको निर्णय सहितको विवरण उपलब्ध गराउन पत्रमार्फत आग्रह गरिएको थियो ।

हाल कामपामा पाँच सय २० वटा निजी विद्यालयहरु सञ्चालित छन् । ती सबै विद्यालयलाई कामपाले यही असार मसान्तभित्र विवरण पेस गर्न निर्देशनसहित पत्राचार गरिसकेको कामपा शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले जानकारी दिनुभयो ।

शिक्षा अधिकारी कोइरालाका अनुसार निजी विद्यालयहरुले मनपरी शुल्क लिएको गुनासो आए पनि कामपाले आफ्नो अधिकारको प्रयोग गरेको हो । उहाँले भन्नुभयो, “कामपाको शिक्षा ऐनमा भएको व्यवस्थाअनुसार सबै विद्यालय सञ्चालन हुनुपर्छ । हामीले सोहीअनुसार लान लागिएको हो । ऐनले दिएको अधिकार प्रयोग गरेर पहिलो पटक माध्यमिक तह कक्षा ११ र १२ को शुल्क निर्धारण गर्न लागेको हो ।”

नियमानुसार प्रत्येक वर्ष विद्यालयहरुले आफ्नो शुल्क विवरण महानगरमा पेस गर्नुपर्ने भए पनि धेरै विद्यालयहरुले पेस नगरेपछि यस किसिमको अभ्यास गर्न लागिएको हो । कामपाले तोकेको समयसीमा शुल्क विवरण उपलब्ध नगराउने विद्यालयलाई अनुगमन गरी नियमानुसार कारबाही गरिने पनि प्रमुख कोइरालाको भनाइ छ । विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर महानगरमा पेस हुने शुल्क नै अन्तिम शुल्क हुने पनि कामपाको भनाइ छ ।

कामपाको निर्देशनकै आधारमा निजी विद्यालयले गत हप्ता १३ हजार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको थियो । नियमानुसार प्रत्येक विद्यालयले जम्मा विद्यार्थी सङ्ख्याको १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने हुन्छ ।

कामपा शिक्षा विभाग प्रमुख कोइरालाले चालु शैक्षिक सत्रको गत जेठ २८ गतेभित्र १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराएको विवरण पेस नगरे त्यस्ता विद्यालयको सम्बन्धन खारेज गर्ने र विद्यालयमा ताला लगाउने चेतावनी दिएपछि धमाधम छात्रवृत्ति उपलब्ध गराइएको हो । कामपा विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ र ५९ एवं कामपाको शिक्षा ऐन, २०७५ को दफा ५० को व्यवस्थाअनुरूप छात्रवृत्ति वितरणको विवरण पेस गर्नुपर्ने हुन्छ ।

सहकारीका सञ्चालक मुम्बईबाट पक्राउ

काठमाडौं – बचतकर्ताको रकम हिनामिना तथा ठगी गरेको आरोप लागेको शिव शिखर बहुउद्देश्यीय सहकारीका सञ्चालक केदारनाथ शर्मा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको हो। 

सीआईबी स्रोतका अनुसार शर्मा मुम्बईमा लुकेर बसेका थिए। सीआईबीको टोलीले उनलाई मुम्बईबाट नै पक्राउ गरेको हो। 

भक्तपुरमा केन्द्रीय कार्यालय रही देशका विभिन्न सहरमा शाखा सञ्चालन गरेको यो शहकारीले बचकर्ताको १४ अर्ब रुपैयाँभन्दा बढी रकम ठगी गरेको उजुरी परेको छ। 

उपत्यकाका ३ वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरसहित उपत्यका बाहिर पनि प्रमुख शहरहरुमा शाखा विस्तार गरेको सहकारीका सञ्चालविरुद्ध सबै शाखाका बचतकर्ताले उजुरी गरेका छन्। 

इम्बोस्ड नम्बर प्लेट जडान सुस्त : सात वर्षमा ५० हजार जडान

काठमाडौँ – सरकारले ‘इम्बोस्ड नम्बर प्लेट’का लागि सम्झौता गरेको सात वर्षमा झन्डै ५० हजार सेवाग्राहीले आफ्नो सवारी साधनमा नम्बर प्लेट जडान गरेका छन् ।

सरकारले बाध्यकारी नगरेकाले अहिलेसम्म थोरै सङ्ख्यामा मात्रै नम्बर प्लेट जडान भएको हो । यातायात व्यवस्था विभागले अहिलेसम्म झन्डै तीन लाख नम्बर प्लेट उत्पादन भएर आएकोे जनाएको छ । आपूर्तिकर्ताका कारणले नभएर विभागले नै बाध्यकारी नगरेकाले जडानमा ढिलाइ भइरहेको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले बताउनुभयो । उहाँले भन्नुभयो, “आपूर्तिकर्तालाई अहिलेसम्म काम दिन सकिएको छैन ।”

आपूर्तिकर्ताले विभागले माग गरेअनुसारको उत्पादन गर्न सकिने भनिरहेको उहाँले बताउनुभयो । लामो समयसम्म कुन भाषामा बनाउने भन्ने अन्योलका कारण पनि यसको प्रगति ढिलाइ भएको जनाइएको छ । सरकारले नेपालीमा समेत ‘इम्बोस्ड नम्बर प्लेट’ छाप्ने भनेकाले अहिले विभागले यसका लागि आवश्यक तयारी गरिरहेको छ ।

एकैपटकमा धेरै सेवाग्राहीलाई सेवा दिन सरकारको आफ्नै क्षमता कस्तो छ भन्ने महत्त्वपूर्ण रहेको प्रवक्ता पनेरुले बताउनुभयो । उहाँका अनुसार कार्यालयमा जडान गर्ने क्षमता, जनशक्ति, गाडी राख्ने ठाउँलगायतका भौतिक पूर्वाधारका कुरा हुन आवश्यक छ । यातायात व्यवस्था कार्यालयहरू प्रदेश मातहतमा रहेकाले विभागले मात्रै चाहेर नहुने उहाँको भनाइ थियो । यी कार्यालयसँग समन्वय गरेर कति सङ्ख्यामा कसरी सकिन्छ भनी योजना बनाइने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले समन्वयको काम गर्ने हो । खास काम गर्नुपर्ने यातायात कार्र्यालयहरूले भएकाले उनीहरूको साधन स्रोतले पनि भ्याउने हुनुपर्छ ।”

कहिले अदालतमा मुद्दा भएकाले त कहिले भाषासम्बन्धी विवादका कारणले इम्बोस्ड नम्बर प्लेट जडान सुस्त भएको जनाइएको छ । आपूर्तिकर्ता कम्पनीका कारण नभएर अरु कारणले ढिलाइ भएकाले विभागले अवधि थपिरहेको छ । पछिल्लोपटक थप भएको अवधिअनुसार आगामी मङ्सिरसम्म अवधि रहेको छ । सबैको समन्वय भएर काम हुँदा यसले गति लिनसक्ने उहाँले बताउनुभयो ।

आपूर्तिकर्ताले धमाधम छाप्ने र यातायात कार्यालयले त्यहीअनुसार जडान गरेर अबको केही समयमा नै सम्पन्न हुनसक्ने सम्भावना रहेको उहाँले बताउनुभयो । त्यतिबेलासम्म पनि केही समस्या आयो र सकिएन भने सरकारले समाधान गर्ने उहाँको भनाइ छ । विभागले विसं २०७३ जेठ १७ गते टाइगर आइटी (द कर्पाेरेसन)सँग नम्बर प्लेट आपूर्ति र जडानका लागि सम्झौता गरेको थियो ।

खानेपानीमा ‘फेइकल कोलिफर्म इकोली’ भेटियो

काभ्रेपलाञ्चोक – काभ्रेको पचास प्रतिशत खानेपानी दूषित भएको परीक्षणले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालयले करिब दुई साताको अवधिमा जिल्लाका छ स्थानीय तहका खानेपानी आयोजनाका पानी परीक्षणबाट सबै खानेपानी दूषित भएको पुष्टि भएको जनाएको हो ।

कार्यालयद्वारा सदरमुकामस्थित धुलिखेल तथा प्रमुख सहर बनेपा, पनौती, पाँचखाल, भम्लुलगायत जिल्लास्थित आधा स्थानीय तहको खानेपानी नमूनाका रूपमा परीक्षणका क्रममा पानीजन्य रोगको जोखिम पुष्टि भएको जनाइएको छ । परीक्षण गरिएका सबै खानेपानीमा दिसाजन्य किटाणु ( फेइकल कोलिफर्म–इकोली) भेटिएको कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईँले बताउनुभयो । उहाँका अनुसार परीक्षणबाट खानेपानी संस्थानद्वारा वितरण भइरहेको तथा स्थानीय खानेपानी आयोजनाद्वारा वितरित पानीमा दिसाजन्य किटाणु भेटिएको हो ।

“जिल्लाको आधा स्थानीय तहमा गरिएको खानेपानी परीक्षणबाट सबै खानेपानी दूषित पाइएको छ”, स्वास्थ्य कार्यालय डा सेढाईँले भन्नुभयो । अनुगमन तथा परीक्षणका क्रममा कतिपय खानेपानीको स्रोत तथा सङ्कलन केन्द्र ट्याङ्कीको पानी दूषित देखिएको जनाइएको छ । कतिपय स्थानमा वितरीत जारको खानेपानीमा समेत दिसाजन्य किटाणु भेटिएको उहाँँले बताउनुभयो । उहाँले भन्नुभयो, “जारमा खानेपानी बिक्री गर्ने कम्पनीको तीन स्थान मुहान, रिजर्भर र धाराको पानी परीक्षण गर्दा राम्रो देखियो । यसबाट जारमा पानी कतै भरेर बिक्री गरेको हुनसक्छ, हामी त्यसबारे थप अनुसन्धान गर्दैछौँ ।” काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह छ ।

खानेपानी दूषित हुने समस्या अझै केही समय रहने भएकाले सचेत रहन आग्रह गरिएको छ । “हामी अझै शङ्कास्पद क्षेत्रको खानेपानी परीक्षणकै क्रममा छौँ, त्यसैले पानी उमालेर, फिल्टर गरेर वा तोकिएको मात्रामा क्लोरिन झोल हालेरमात्रै पानी पिउनुपर्छ”, उहाँले भन्नुभयो ।

दुई सातादेखि नै जिल्ला स्वास्थ्य कार्यालय, नमोबुद्ध नगरस्थित मेथिनकोट अस्पताल तथा नगर र गाउँपालिकाको समन्वयमा स्थानीयस्तरका खानेपानी परीक्षण, औषधि व्यवस्थापनकार्य तथा खानेपानी शुद्ध बनाउनेबारे चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी भएको जनाइएको छ । कार्यालयले जोखिममा द्रूत प्रतिकार्य टोली तयारी अवस्थामा राखिएको समेत स्वास्थ्य प्रमुख सेढाईँले बताउनुभयो । उहाँले भन्नुभयो, “सम्भावित हैजाको महामारी रोमथामको प्रयास गरिरहेका छौँ ।”

कार्यालयले पातलो चौलानीको पानीजस्तो पखाला लाग्ने, खान–पिउन नसकी झन् बिरामी भएमा, दिसामा रगत देखिएमा, तारन्तार वान्ता भएमा, बालबालिका ज्यादै तिर्खाएमा, उच्च मात्रामा ज्वरो आएमा, धेरैपटक पातलो दिसा गरेमा उपचारार्थ तुरुन्तै स्वास्थ्य संस्थामा जान तथा लैजान अपिलसमेत गरेको छ । दूषित पानीका कारण हैजा सबै उमेर समूहलाई हुने भए पनि बालबालिका, गर्भवती तथा वृद्धवृद्धा बढी जोखिममा पर्ने भएकाले सजग रहन विशेष अपिल गरिएको हो ।

यस्तै खाना बनाउनुअघि र पछि, दिसापिसाब गरेपछि र फोहर चलाएपछि राम्रोसँग साबुनपानीले हात धुन पनि आग्रह गरिएको छ । यस्तै खानेपानी सधैँ सफा भाँडोले छोप्न, खानेकुरा राम्ररी पकाएर खान, सडेगलेको, बासी र झिङ्गा भन्केको खानेकुरा नखानसमेत अनुरोध गरिएको छ ।

भिरबाट लडेर मृत्यु

गोरखा – भिरबाट लडेर बारपाक सुलिकोट गाउँपालिका–७ पाँचखुवा देउरालीका ६० वर्षीय मीनबहादुर गुरुङको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले घरबाट आइतबार जङ्गलमा काठ लिन भनेर गएका गुरुङ नफर्किएपछि खोजी गर्ने क्रममा अमलेस्थित जङ्गलमा सोमबार मृतावस्थामा फेला परेको बताउनुभयो । “परिवारका सदस्यसहित स्थानीयवासी मिलेर खोजी गर्ने क्रममा वडा नं ७ स्थित अमलेको जङ्गलमा रहेको बिखुरे भिरमा गुरुङको शव भेटिएको हो”, प्रनाउ लामिछानेले भन्नुभयो, “घटनाको प्रकृति हेर्दा भिरबाट लडेर ज्यान गएको देखिन्छ ।”

मृतकको शव उद्धारका लागि इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो । गुरुङ काठ लिएर फर्कने क्रममा भिरबाट लडेर मृत्यु भएको अनुमान प्रहरीले गरेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रनाउ लामिछाने बताउनुभयो ।

‘स्वास्थ्य बीमाः बन्दीपुरको जिम्मा’

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पर्यटनलाई विशेष प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढाउने भएको छ । पहाडकी रानी नामले परिचिते बन्दीपुरले आगामी आर्थिक वर्षमा ‘सभ्य समाजको गाउँ, बन्दीपुर घुम्न जाउँ’ अभियान सञ्चालन गर्न लागेको हो ।

बन्दीपुरको पर्यटनलाई विश्वसनीय, भरपर्दो र आकर्षक बनाउन विभिन्न प्रवर्द्धनका कार्यहरू प्राथमिकताका साथ अगाडि बढाइने गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो । बन्दीपुर आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थलका रूपमा विकास भइरहेको र यसको थप प्रचार–प्रसार गरी धेरैभन्दा धेरै पर्यटक भित्र्याउने योजना बनाइएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आगामी आर्थिक वर्षमा बन्दीपुर घुम्न जाउँ भन्ने अभियानलाई सफल बनाउन प्रचार–प्रसारमा जोड दिन्छौँ ।” बन्दीपुरलाई पर्यटकीय केन्द्र बनाइने र त्यसका लागि पूर्वाधार निर्माणमा जोड दिइने अध्यक्ष थापाले बताउनुभयो । बन्दीपुर गाउँपालिकाका छवटै वडामा रहेका पर्यटकीय गन्तव्यलाई विकास गरिने नीति लिइएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार देशका मुख्य सहर काठमाडौँ, पोखरा, बुटवल र विराटनगरमा बन्दीपुर घुम्न जाउँ अभियानसम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिनेछ । उहाँले भन्नुभयो, “पर्यटकीयस्थलको संवर्द्धन र प्रवर्द्धन गरी गाउँपालिकालाई पर्यटनका माध्यमबाट समृद्ध बनाउने सोच राखिएको छ ।” अध्यक्ष थापाले गाउँपालिकाभित्र रहेका होमस्टेको विकास, पर्यटकीय लक्षित उत्पादनलाई प्राथमिकतामा राखिएको बताउनुभयो । गाउँपालिकाभित्र जीप फ्लायर र रक क्लाइम्बिङको सम्भाव्यता अध्ययन गरिने उहाँको भनाइ छ ।

पर्यटकीय नगरी बन्दीपुर भित्रिने पर्यटकको लगत राख्न पर्यटन सूचना केन्द्र स्थापना गरिने अध्यक्ष थापाले बताउनुभयो । होमस्टेको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गरी होमस्टे सर्किटको विकास गर्ने नीति लिइएको उहाँको भनाइ छ ।

गाउँपालिकाले आगामी माघ महिनामा सिद्धगुफा महोत्सव आयोजना गरी सिद्धगुफाको प्रचार–प्रसार गर्ने लक्ष्य राखेको छ । बन्दीपुर बजारलाई थप आकर्षक बनाइने र यसलाई पौराणिक सहरका रूपमा विकास गरिने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।

बन्दीपुरका मुख्य बजार क्षेत्र संरक्षित क्षेत्र घोषणा भएको र यहाँ घर निर्माण गर्दा मौलिकता झल्किने खालको हुनुपर्ने नीतिलाई निरन्तरता दिइएको उहाँको भनाइ छ । सहासिक, धार्मिक र एग्रो टुरिजमसमेत सम्भावना भएकाले सोका लागि कार्यक्रम बनाउने र समग्र बन्दीपुरको जनजीवन, भाषा, कला, संस्कृति, वेषभूषा, चाडपर्व, रहनसन र रीतिरिवाज झल्कने सङ्ग्रहालय निर्माणकार्यको प्रारम्भ गरिने उहाँले बताउनुभयो ।

उज्ज्यालो बन्दीपुर कार्यक्रमलाई बजार क्षेत्रलगायत पर्यटकीय गाउँमा थप विस्तार गर्ने, पर्यटकीय क्षेत्र र गाउँका बाटा र गल्लीमा ढुङ्गा छपनीकार्यलाई थप विस्तार गरिने अध्यक्ष थापाले बताउनुभयो । बन्दीपुर गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थलमा थप क्युआर कोडमार्फत प्रवर्द्धन प्रभावकारी बनाउने नीति अवलम्बन गरिएको अध्यक्ष थापाले उल्लेख गर्नुभयो ।

मुकुन्देश्वरी पदमार्गको निर्माणलाई निरन्तरताका साथ थप विस्तार गर्दै हाफ म्याराथन र साइक्लिङजस्ता पर्यटन प्रवर्द्धन लक्षित कार्यक्रम सञ्चालन गर्ने, बन्दीपुरको छिम्केश्वरी माईको दर्शनका लागि विशेष कार्ययोजना बनाई प्याकेजका रूपमा अगाडि बढाउन निजी क्षेत्रलाई प्रोत्साहन गरिने उहाँले बताउनुभयो ।

गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा अनिवार्य पढाउनुपर्ने नीति कार्यान्वयन गर्ने जनाएको छ । ‘स्वास्थ्य बीमाः बन्दीपुरको जिम्मा’ भन्ने नारासहित अतिगरिब विपन्न जनतालाई निःशुल्क स्वास्थ्य बीमा गरिने अध्यक्ष थापाले बताउनुभयो ।

किसानलाई अनुदानमा भैँसी वितरण

भरतपुर – चितवनको रत्ननगर नगरपालिकाले व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न अनुदानमा भैँसी वितरण गरेको छ । वडा नं ३ का १६ किसानलाई सोमबार ५० प्रतिशत अनुदानमा ३३ भैँसी वितरण गरिएको हो ।

किसानलाई व्यावसायिक बनाउँदै दूध उत्पादन वृद्धि गर्न गोठ सुधारका कार्यक्रमसँगै दुधालु भैँसी वितरण गरिएको पशु विकास अधिकृत शालिग्राम पौडेलले जानकारी दिनुभयो । उहाँले भैँसीसँगै किसानलाई चापाकटर, पानी तान्ने मोटर, ठेलागडा र औषधिसमेत वितरण गरिएको बताउनुभयो । चार जनालाई चापाकटर, एक जनालाई ठेलागाडा, दुई जनालाई पानी तान्ने मोटर, १६ किसानलाई औषधि वितरण गरिएको छ ।

अधिकृत पौडेलका अनुसार नगरमा सङ्घीय सरकारको सहयोगमा भैँसी पकेट क्षेत्र सञ्चालन गरिएको छ । पकेट क्षेत्र सञ्चालनका लागि साइराम पशुपालन फार्म समूह गठन गरी काम गरिएको छ । समूहमा रहेका १६ किसानले गोठमा कम्तीमा एक सयवटा भैँसी र दैनिक एक हजार लिटर दूध उत्पादन गर्नुपर्ने हुन्छ । पकेट क्षेत्रका १६ किसानको गोठ निर्माण तथा मर्मतको काम गरिएको उहाँले जानकारी दिनुभयो । कार्यक्रम सञ्चालनपश्चात पशुपालन क्षेत्रमा लाग्ने किसान उत्साहित भएको उहाँको भनाइ छ ।

जीविकोपार्जनका लागि विदेश जानुभन्दा गाउँमै कृषि क्षेत्रमा लाग्न अभिप्रेरित गर्न यस्ता कार्यक्रमले सघाउने रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताउनुभयो । उहाँले किसानलाई दिने अनुदान र उनीहरूले गरेको उत्पादनको बजारीकरणका लागि पालिकाले निरन्तर सहयोग गरिरहेको जानकारी दिनुभयो ।

किसानलाई व्यावसायिक पुष्पखेती तालिम

चितवनको रत्ननगरका किसानलाई व्यावसायिक बनाउन पुष्पखेती तालिम दिइएको छ । रत्ननगर नगरपालिका–९ को आयोजना र पुष्प विकास केन्द्र गोदावरी ललितपुरको प्राविधिक सहयोगमा आइतबार प्रशिक्षण दिइएको हो ।

सहभागी ५१ किसानलाई खेती गर्ने तरिका र बजारीकरणका बारेमा प्रशिक्षण दिइएको थियो । तालिममा किसानलाई माला उन्नसमेत सिकाइएको वडाध्यक्ष अनन्त अधिकारीले जानकारी दिनुभयो । “सयपत्री फूलखेतीमा मात्रै आत्मनिर्भर बन्न सके पनि धेरै पैसा बचत हुन्छ”, उहाँले भन्नुभयो, “वडाले किसानले उत्पादन गरेको फूलको बजारीकरणका लागि पनि सहयोग गर्नेछ ।”

फूल उत्पादन गरी बजारीकरण गरेर आर्थिकरूपमा धेरै किसान सबल भइरहेको उल्लेख गर्दै अब रत्ननगरमा पनि व्यावसायिक फूलखेती विस्तारमा पालिकाले जोड दिएको कृषि शाखा प्रमुख प्रविन लामाले बताउनुभयो । उहाँले धेरै किसान पछिल्लो समय पुष्पखेतीमा आकर्षित भएको बताउनुभयो ।

समुदायमा आधारित चोरी–सिकारी नियन्त्रण युवा जागरण अभियान बछौलीका अध्यक्ष वसन्त रानाले प्लास्टिकजन्य फूल आयातलाई निरुत्साहित गर्न पुष्पखेती विस्तार अनिवार्य रहेका कारण तालिम महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले यस्ता तालिम निरन्तर सञ्चालन हुनुपर्ने बताउनुभयो । तालिमका सहभागीलाई पुष्पविज्ञ सुधीर श्रेष्ठ, वासुसिंह साउद र सुमन्त पोखरेलले प्रशिक्षण दिनुभएको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४२ रुपैयाँ ८४ पैसा र बिक्री दर १४३ रुपैयाँ ४९ पैसा रहेको छ ।

यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५० पैसा र बिक्री दर १६७ रुपैयाँ २६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

CurrencyUnitBuySell
USD (U.S. DOLLAR)1130.97131.57
EUR (EUROPEAN EURO)1142.84143.49
GBP (UK POUND STERLING)1166.5167.26
CHF (SWISS FRANC)1146.65147.32
AUD (AUSTRALIAN DOLLAR)187.4287.82
CAD (CANADIAN DOLLAR)199.4899.94
SGD (SINGAPORE DOLLAR)196.8197.25
JPY (JAPANESE YEN)109.159.19
CNY (CHINESE YUAN)118.118.19
SAR (SAUDI ARABIAN RIYAL)134.9235.08
QAR (QATARI RIYAL)135.9636.13
THB (THAI BAHT)13.723.74
AED (UAE DIRHAM)135.6635.82
MYR (MALAYSIAN RINGGIT)128.0228.15
KRW (SOUTH KOREAN WON)10010.0210.07
SEK (SWEDISH KRONER)112.2212.28
DKK (DANISH KRONER)119.1819.27
HKD (HONG KONG DOLLAR)116.7316.81
KWD (KUWAITY DINAR)1426.14428.09
BHD (BAHRAIN DINAR)1347.38348.97

कञ्चनपुर बजेटः पूर्वाधारलाई नै प्राथमिकता

दोधारा चाँदनी – कञ्चनपुरका नौ स्थानीय तहले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आगामी वर्षको बजेट सार्वजनिक गरेका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाले कृषिमा ‘हाम्रो उपजः हाम्रै प्रयोग’ भन्ने नारा अघि सारेको छ । त्यसैगरी कृषि क्षेत्रमा नगरपालिकालाई आत्मनिर्भर बनाउन व्यावसायिक कृषि खेतीलाई बढोत्तरी हुने गरी कृषि उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्न आवश्यक सहजीकरण गर्ने नीति लिएको छ । त्यसैगरी नगरपालिकाले कृषि उत्पादनलाई अभिवृद्धि गर्न ‘एक वडा एक उत्पादन’को नीति अवलम्बन गरेको नगर प्रवक्ता महेन्द्र खड्काले जानकारी दिनुभयो । “कृषकले उत्पादन गरेको कृषि उपजको भण्डारणका लागि शीतगृह र कृषि भण्डारण केन्द्र स्थापना गर्ने गरी बजेटको व्यवस्था मिलाएको छ”, उहाँले भन्नुभयो, “शिक्षामा विद्यार्थीसँग मेयर कार्यक्रम र वडा–वडामा निःशुल्क स्वास्थ्य शिविर गर्ने गर्ने व्यवस्था मिलाएका छौँ ।”

उहाँले ‘जेहेन्दार विद्यार्थी छात्रवृत्ति कार्यक्रम’अन्तर्गत नगर क्षेत्रका विद्यालयबाट अध्ययन गरेका विपन्न तथा जेहेन्दार विद्यार्थीको उच्च शिक्षामा पहुँच बढाउन छात्रवृत्तिको व्यवस्था मिलाएको बताउनुभयो । “संस्थागत विद्यालयबाट प्रदान गरिने गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति कार्यक्रमलाई कडाइका साथ लागू गरिने छ”, उहाँले भन्नुभयो, “व्यावसायिक ज्ञान, सीप प्रवर्द्धन गर्न पढ्दै कमाउँदै कार्यक्रमलाई थप विस्तार गर्ने गरी बजेट विनियोजन गरिएको छ ।” उहाँले सामुदायिक विद्यालयमा ‘हाम्रो विद्यालय, उत्कृष्ट विद्यालय’ अभियान सञ्चालन गरिने बताउनुभयो ।

यसैगरी यहाँको वेदकोट नगरपालिकाले ‘समृद्ध वेदकोट नगरको आधारः कृषि, उद्योग, पर्यटन र पूर्वाधार’ भन्ने मूल नारा अवलम्बन गरेर आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । “शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा ध्यान केन्द्रित गरेका छौँ ।” नगरपालिकाका उपप्रमुख तुलसी जोशीले भन्नुभयो, “नगर गौरवका योजनालाई प्राथमिकताका साथ अघि बढाउने छौँ ।” यहाँको कृष्णपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास प्राथमिकतामा दिएको छ । “यसपटक हामीले स्थानीय स्रोत साधनलाई उपयोग गरेर शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड दिएका छौँ”, नगरप्रमुख हेमराज ओझाले भन्नुभयो, “सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने, सबै नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा पुर्याउँछाँै ।”

यसैगरी यहाँको शुक्लाफाँटा नगरपालिकाले नगर गौरवका योजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । नगर प्रमुख रणबहादुर महराले नगरपालिकाले नगर गौरवका योजना प्राथमिकतामा राखेर आगामी वर्षको बजेट ल्याएको बताउनुभयो । “बजेटमा नगर गौरवका योजनाहरू प्राथमिकतामा राखेका छौँ”, उहाँले भन्नुभयो, “नगरपालिकाको आन्तरिक आय कम छ, सङ्घबाट आउने रकम घटेर आएको छ ।” उहाँले यसपटक बजेट कार्यान्वयनमा नगरपालिकाले जोड दिएको बताउनुभयो ।

गृह मन्त्रालयद्वारा शरणार्थी प्रकरणबारे प्रकाशित समाचारको खण्डन

काठमाडौं- गृह मन्त्रालयले नक्कली भूटानी शरणार्थी प्रकरणबारे आज प्रकाशित एक समाचारप्रति आपत्ति जनाउँदै त्यसको खण्डन गरेको छ ।

उक्त विषयमा आज एक पत्रिकाले केही व्यक्तिलाई उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठद्वारा पक्राउ गर्न आदेश दिइएको भन्ने समाचार प्रकाशित गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रीले कुनै पनि व्यक्तिलाई पक्राउ गर्नु या नगर्नु भनी कुनै आदेश नदिएको मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

सत्यमा आधारित नभई प्रकाशित यस्ता खालका समाचारले मन्त्रालयले हाल सञ्चालन गरिरहेको अपराध र भ्रष्टाचार नियन्त्रणको अभियानलाई दिग्भ्रमित पार्न उद्यत समूहलाई मात्र फाइदा पुग्ने विषयतर्फ जिम्मेवार प्रकाशन संस्था सतर्क हुनु पर्ने स्पष्ट गरेको छ ।

हिजो सोमबार विभिन्न मिडियाहरुले नेपाली कांग्रेसकी नेतृ आरजु राणा र कृष्ण प्रसाद सिटौलालाई पक्राउ गर्न गृहको आदेश भन्ने भ्रामक समाचार आएको थियो ।

मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा जारी विज्ञप्तिमा निर्देशन दिने क्रममा गृहमन्त्रीले कुनै व्यक्तिलक्षित गरी केही गर्न वा नगर्न कुनै प्रकारको निर्देशन दिएको कुरा भ्रामक, कपोलकल्पित र झुटा भएको स्पष्ट पार्नुभएको छ ।

“गृहमन्त्रीले कार्यभार सम्हालेसँगै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउँदै सबै मुद्दामा स्वच्छ, निष्पक्ष र दबाबरहित अनुसन्धान तथा कारबाही अगाडि बढाउन नेपाल प्रहरीलगायत सुरक्षा निकायलाई निर्देशन  दिनुभएको छ, सोही क्रममा नेपाल प्रहरीबाट नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढी सम्मानित अदालतमा अभियोजन माग दाबी लिई मुद्दाको पुर्पक्ष भइरहेको छ’, मन्त्रालयले आज खण्डन जारी गर्दै भनेको छ ।

मन्त्रालयले न्याय निरुपणसम्बन्धी यस्ता विषयमा कुनै समाचार प्रकाशन गर्दा सम्बन्धित पक्ष वा पदाधिकारीबाट पुष्ट्याइँ हुने प्रबन्ध मिलाउनेतर्फ संवेदनशील हुन आग्रह गरेको छ ।

आज देशैभरी पानी पर्ने तथा हावाहुरी चल्ने

काठमाडौं – हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली  रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी,  बागमती , गण्डकी र कर्णाली  प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती  प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको  पनि सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना  रहेको छ।

राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी,  गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी,  गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना  रहेको छ।

देशको केही स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती,  गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको  तथा मधेश प्रदेशका केही तथा कोशी र बागमती प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको  समेत सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ। भारी वर्षा, मेघ-गर्जन/चट्याङ्ग र हावाहुरीका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।

ठूला दरका भारतीय नोटलाई वैधानिकता दिन माग

गण्डकी – ठूला दरका भारतीय नोटलाई वैधानिकता दिन पोखराका पर्यटन व्यवसायीले माग गरेका छन् । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आइतबार आयोजित वैदेशिक मुद्राको प्रयोग र समस्या विषयक अन्तक्र्रियामा व्यवसायीले ठूला दरका भारतीय नोट नचल्दा पर्यटक मर्कामा परेको बताए ।

बजारमा सय रुपैयाँभन्दा बढीका भारतीय नोट प्रचलित विनिमय दरभन्दा घटीमा कारोबार भइरहेको, ठूला भारतीय नोट नचल्दा पर्यटक मर्कामा परेको गुनासो आएसँगै पोखरा उद्योग वाणिज्य सङ्घले कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवन प्रजापतिले भारतीय ठूला नोटको प्रचलनको व्यवस्था गरिनुपर्ने बताउनुभयो । अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली तत्काल कार्यान्वयनमा आउनुपर्ने बताउँदै उहाँले व्यवसायीसँग भएका भारतीय ठूला नोटको व्यवस्थापन हुनुपर्ने माग गर्नुभयो ।

ठूला नोट नचल्दा नेपाल आउने भारतीय पर्यटकले दुःख पाएको उल्लेख गर्दै उहाँले पर्यटकले चाहे जति खर्च गर्ने व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो । “नेपालमा सय रुपैयाँभन्दा ठूला भारतीय नोट चल्दैनन्, यहाँ भारतीयको एटीम, भिसा र मास्टरकार्ड पनि मुस्किलले चल्छ”, उहाँले भन्नुभयो, “एउटा मान्छे पैसाको भारी बोकेर घुम्न निस्कँदैन ।अब डिजिटल भुक्तानी प्रणाली कार्यान्वयनमा नगइ सुख छैन ।”

पोखरा उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष नारायण कोइरालाले घरघरमा थन्किएका भारतीय रुपैयाँ व्यवस्थापन गर्न राष्ट्र बैंकले नै पहल गर्नुपर्ने बताउनुभयो । वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले ठूला दरका भारती नोट सकेसम्म प्रयोगमा नल्याउन व्यवसायीसँग आग्रह गर्नुभयो ।

टान गण्डकीका उपाध्यक्ष कृष्ण आचार्यले नेपालका केही निषेधित क्षेत्रमा जान पर्यटकले डलरमा शुल्क बुझाउनुपर्ने तर सजिलै डलर नपाउँदा समस्या भएको बताउँदै डिजिटल भुक्तानीलाई छिटो व्यवस्थित गर्नुपर्ने माग राख्नुभयो । नेपाल राष्ट्र बैंक पोखराका निर्देशक आर्या जोशीले भारतकै चाहनाका कारण नेपालमा ठूला भारतीय नोट प्रचलनमा नआएको जिकिर गर्नुभयो । ठूला नोट प्रचलनमा ल्याउनको लागि भारतसँग कूटनीतिक पहल गरिनुपर्ने उहाँको भनाइ छ ।

अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली कार्यान्वयनमा आउँदा भारतीय नोटको समस्या कम हुने उहाँले बताउनुभयो । नेपाल बैंकर्स एसोसिएसन गण्डकीका अध्यक्ष सूर्य रोकाले भारतकै कारण ठूला दरका भारतीय नोटको प्रयोग हुन नसकेको बताउनुभयो । नेपाल हुँदै नक्कली नोटहरु भारत भित्रने आशङ्कासँगै भारतले त्यो नीति लिएको उहाँको भनाइ छ ।

नदी नियन्त्रणका लागि रु चौध करोड बजेट

म्याग्दी – आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि गण्डकी प्रदेश सरकारबाट म्याग्दीमा खानेपानी, नदी नियन्त्रण र सिँचाइ आयोजना निर्माणका लागि रु १४ करोडभन्दा बढी बजेट विनियोजन भएको छ ।

खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीमार्फत कार्यान्वयन हुने गरि उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले ९५ वटा योजना तथा कार्यक्रमका लागि रु १४ करोड ३५ लाख बजेट विनियोजन गरेको हो ।
खानेपानी र सिँचाइ सुविधा विस्तार तथा कटानको जोखिमयुक्त बस्ती संरक्षणका लागि बजेट विनियोजन भएको म्याग्दी प्रदेशसभा क्षेत्र (क) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारीले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयले सार्वजनिक गरेको योजनाको विवरणअनुसार आगामी वर्ष म्याग्दीका ११ वटा नदी नियन्त्रण योजनालाई रु दुई करोड साठी लाख, ्र३५ वटा सिँचाइ योजनालाई रु चार करोड ८० लाख र ४९ वटा खानेपानीका योजनालाई रु छ करोड ५० लाख विनियोजन भएको छ ।

एउटा एउटा तथा कार्यक्रमका लागि न्यूनतम रु दश लाखदेखि अधिकतम रु ४५ लाखसम्म बजेट विनियोजन भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीका अनुसार चालु आव २०७९÷०८० मा म्याग्दीका ९९ वटा योजनाका लागि रु १२ करोड बजेट विनियोजन भएको थियो । देशका धेरै जिल्लामा बजेट घटे पनि म्याग्दीमा कार्यान्वयन हुने योजनाका लागि गत वर्षको तुलनामा करिब रु दुई करोड ५० लाख बजेट बढेको हो ।

बेनी नगरपालिका, मङ्गला र मालिका गाउँपालिकामा म्याग्दी नदी नियन्त्रणमा रु ४५ लाख, मङ्गला गाउँपालिकाको सिमलचौर, ताराखेत, बाबियाचौर पिपलबोट क्षेत्रमा म्याग्दी नदी नियन्त्रण, मालिका गाउँपालिकाको दरवाङ बजार संरक्षण, बेनी नगरपालिका–४ को सिंगा तातोपानी तटबन्ध तथा संरक्षण, मङ्गला गाउँपालिका म्याग्दी नदी तटबन्धका लागि रु २५÷२५ लाख र बेनपा ८ कालीपुल बारी जलजला–३ कालीगण्डकी किनारमा पहिरो र कटान संरक्षणका लागि रु ३० लाख विनियोजन भएको छ ।

बेनपा–४ को नयाँपुल सुर्केमेला म्याग्दी खोला बस्ती संरक्षणका लागि रु २० लाख, मङ्गला–२ सिम बगर म्याग्दी नदीमा तटबन्ध, उपल्लो तातोपानी बजार संरक्षण, बेनपा–२ को कारागार भवन तथा बस्ती संरक्षण तटबन्धका लागि रु दश÷दश लाखका दरले विनियोजन भएको छ ।

सिँचाइतर्फ रघुगङ्गा–१ को बादुक, बेनपा–१ र २ को अधेरीखोला ठूलोखोला सिदाली बरडाडा सिँचाइ कुलो, मालिका–५ को गौराखोला, बेनपा–४ को सामतुङ सिँचाइ आयोजना र सिँचाइ प्रणालीको मर्मत सुधार कार्यक्रमका लागि रु २०÷२० लाख बजेट विनियोजन भएको छ ।

रु १५ लाखका दरले बजेट विनियोजन हुनेमा मङ्गला–५ को हिल्वाङखोला खोरलाई, मालिका–४ को फूलबारी, धौलागिरि–७ को हिलापोखरी, बेनपा–९ को पहेलेखोला थाकन बृहत्, बेनपा–५ को कुमाल्डी, मालिका–७ को नौलिस्नेखोला सिँचाइ आयोजना रहेका छन् ।

मङ्गला–३ को झ्याम्टे खोला मैरनी साँझादह, मङ्गला–२ को रणवाङ, रघुगङ्गा–३ को राखु पिप्ले, मङ्गला–५ को महखोला, मङ्गला–२ को तल्लो ओखलढुङ्गा गडहरेखोला, मालिका–४ को फूलबारी, मङ्गला–३ को पखेर, रघुगंगा–४ को दर्मिजा सिँचाइ योजनालाई रु दश÷दश लाख र बेनपा–१ को २०२३ साले सिँचाइ कुलोलाई रु १२ लाख विनियोजन भएको छ ।

बेनी–४ को मथुराखोला फापरचौर, रघुगङ्गा–२ को चुनपोल्ने ठाडीखोरीया पहिरा, मङ्गला–३ को झ्याप्रे बिसौनी, मालिका–३ को छेरवाङखोला औल, मङ्गला–५ को पोक शेराफाँट, मालिका–१ को खोप्टीखोला, मङ्गला–५ को छिस्वाङ, मालिका–७ को बेल्फी लुर्वाङ, मङ्गला २ को तोराखेत, मालिका ४ को बुकेनी, बेनपा–१ को तेइससाले सिँचाइ कुलो मर्मत, बेनपा–२ को बगरफाँट लिफ्ट, मालिका–१ को केश, मङ्गला–२ को घोरेनी कोत्रवाङ सिम, बेनपा १ को उपल्लोचौर नहर तथा संरचना निर्माण, रघुगङ्गा–१ को बेगखोला सिँचाइ आयोजनालाई रु दश÷दश लाखका दरले बजेट विनियोजन भएको छ ।

खानेपानीतर्फ मङ्गला–१ को कुहुँलाई रु ३० लाख, रघुगङ्गा–२ को बनाखी, रिसिनचौतारी गुल्फु, बरखर्क एक घर एक धारा, बाङ्गेधारा, रघुगङ्गाको चिमखोला भगवती पिप्ले बृहत्, मङ्गला–३ को जुकेपानी निहुँखोला बनाहा आल्टे, भकिम्ली एक घर एक धारा, खानेपानी आयोजनालाई रु २०÷२० लाख विनियोजन भएको छ ।

बेनी–५ लिफ्ट, बेनपा ९ को घतान काउलेगौडा खानेपानी आयोजना र रघुगङ्गा–२ को सिजलगाउँ चुनेपानी खानेपानी आयोजनालाई रु १५÷१५ लाख विनियोजन भएको छ । बेनपा–३ को डाडाखानी, भुकभुके, बेनपा–९ ढावाको सौरबोट, अन्नपूर्ण गाउँपाकिलाको लहरेनी पाउद्वार, बेनपा–९ को खसपधेरा, रघुगङ्गा–२ को रुइसेटोल खानेपानी सुधार, रघुगङ्गा ६ को फूलडाँडा औलागाउँ, रघुगङ्गा ३ को पिप्ले, मङ्गला–३ को याङगुङ, बेनपा ३ को डाँडाखानी खानेपानी मर्मत, मङ्गला १ को काउले खानेपानी मर्मत, मङ्गला ३ र ४ को सेफल काल्ला धारो ढुङ्गा, मालिका १ को दासटोल, मालिका–५ को देविस्थान, मालिका–६ को दरवाङ, मालिका ५ को गरजरा, मङ्गला–५ को छिसवाङ, बेनपा ४ के डाँडाखेत, अन्नपूर्ण ५ को तल्लो र उपल्लो शिख, बेनपा–६ को अमराई, बेनपा १० को ओखले, बेनपा ४ को भालुदुला, बेनपा १० को नेपाने र रघुगङ्गा ४ को दग्नाम खानेपानी आयोजनालाई रु दश÷दश लाखका दरले विनियोजन भएको छ ।

बैतडीका पालिकाको बजेट चार अर्ब

बैतडी – बैतडीका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८०÷८१ को लागि नीति तथा कार्यक्रम सहित बजेट सार्वजनिक गरेका छन् । नगरसभा तथा गाउँसभाबाट यहाँका स्थानीय तहको सार्वजनिक गरेको नीति तथा कार्यक्रम र बजेटमा सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारलाई मुख्य प्राथमिकतामा राखेका छन् ।

जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले आगामी आवका लागि रु ८२ करोड १७ लाख ३८ हजार बराबरको बजेट ल्याएको छ । उपप्रमुख कौशिला चन्दले आर्थिक विकास, भौतिक पूर्वाधार, सामाजिक विकास, सुशासनलगायतका क्षेत्रलाई प्राथमिकता राख्दै आगामी आवको बजेट नगरसभामा पेश गर्नुभएको हो ।

नगरपालिकाले पुँजीगततर्फ रु ११ करोड विनियोजन गरेको छ भने चालु खर्चतर्फ रु १३ करोड ४० लाख २८ हजार आठ सय ८९ बजेट विनियोजन गरेको छ । यस्तै आर्थिक विकासतर्फ रु ७५ लाख विनियोजन गरेको नगरपालिकाले सामाजिक विकासतर्फ रु चार करोड ६० लाख, पूर्वाधार विकासतर्फ रु एक करोड ६६ लाख विनियोजन गरेको नगरपालिकाले वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु ५० लाख विनियोजन गरेको छ ।

पुर्चौडी नगरपालिकाले रु ६४ करोड ५४ लाख ११ हजार बजेट ल्याएको छ । पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट ल्याएको बताएको छ । नगरसभामा बजेट प्रस्तुत गर्दै उपप्रमुख मीना धानुकले सामाजिक विकास, पूर्वाधार, कृषि, शिक्षा स्वास्थ्यलाई र सुशासनलाई प्राथमकितामा राखेको बताउनुभयो ।

पुर्चौडीमा सामाजिक विकासतर्फ रु आठ करोड ५० लाख, वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु ५० लाख, सुशासन तथा संस्थागत विकासतर्फ रु नौ करोड, पूर्वाधार विकासतर्फ रु सात करोड र आर्थिक विकासतर्फ रु एक करोड विनियोजन गरिएको छ ।

पाटन नगरपालिकाले पनि सार्वजनिक गरेको रु ६३ करोड ५३ लाख ६२ हजार २१० बराबरको बजेट बजेटमा शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई प्राथमिकतामा राखेको नगर प्रमुख गौरीसिंह रावलले बताउनुभयो । दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले प्रस्तुत गर्नुभएको रु ५१ करोड ४४ लाख ४० हजार चार सयको बजेटमा स्वास्थ्य, कृषि र सुशासनलाई प्राथमिकतामा राखेको छ ।

सिगास गाउँपालिकाले केही नयाँ कार्यक्रमसहित पुराना कार्यक्रमलाई निरन्तरता दिएर रु ४३ करोड ८२ लाख ३१ हजार आठ सय बराबरको बजेट सार्वजनिक गरेको छ । जसमा चालुतर्फ रु ३३ करोड ८९ लाख २४ हजार आठ सय र पुँजीगततर्फतर्फ रु नौ करोड ९३ लाख सात हजार बराबरको बजेट विनियोजन गरिएको अध्यक्ष हरिसिंह धामीले बताउनुभयो ।

जिल्लाको पञ्चेश्वर गाउँपालिकाले रु ३८ करोड ७३ लाख ७२ हजार दुई सय बराबरको बजेट ल्याएको छ । कृषि, स्वास्थ्य र विद्युतीकरणलाई प्राथमिकतामा राख्दै बजेट गाउँसभामा पेश गरेको गाउँपालिका उपाध्यक्ष वीना भट्टले जानकारी दिनुभयो ।

शिवनाथ गाउँपालिकाले पनि रु ३६ करोड ३४ लाख ६७ हजार नौ सयको बजेट ल्याएको छ । बजेटमा शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताउनुभयो ।

जसपा विधान अधिवेशन, आज समूहगत छलफल हुने

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन जारी रहेको छ । 

सो अधिवेशनको दोस्रो दिन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधानमाथि आज १० समूहमा विभाजन गरेर छलफल हुदैँछ । 

आइतबार अध्यक्ष यादवले मस्यौदा विधान प्रस्ताव गर्नुभएको थियो । सोही प्रस्तावित विधानमा आजबाट समूहगत रूपमा छलफल हुन लागेको हो ।  

बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ सङ्गठन लगायतबाट देशभरि तथा प्रवाससमेत गरी करिब ८०० प्रतिनिधिहरू सहभागी भएर समूहगत छलफल हुन लागेको हो ।  

पुनः एकल नेतृत्वमा फर्काउने जसपा नेपालका विधान पारित भएमा अध्यक्ष यादव पुनः शक्तिशाली हुनुहुन्छ  । विधानले ७० बर्से उमेर हदको व्यवस्थाका साथै एक व्यक्ति एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने जस्ता नयाँ व्यवस्था राखेर विधान प्रस्तुत गरिएको छ । 

झापाली किसानको केरा खेतीमा बढ्दो आकर्षण

झापा – उत्पादन बढी, छिटो आम्दानी र लागत कम हुने भएकाले झापामा केरा खेतीतर्फ किसानको आकर्षण बढेको छ । कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी गणेश शिवाकोटीका अनुसार जिल्लामा एक हजार आठ सय ९० हेक्टर जमिनमा व्यावसायिक उन्नत जातको केरा खेती भइरहेको छ । किसानले एक कट्ठादेखि दुई सय ५० बिघा जमिनमा केराको व्यवसायिक खेती गर्दै आइरहेको उहाँको भनाइ छ ।

उहाँले केरा खेतीमा प्रोत्साहन गर्न राज्यबाट दिइने अनुदान, बजारीकरण सहज र कृषि विमा समेत हुने कारणले पनि यसतर्फ किसानको आकर्षण बढेको बताउनुभयो । जिल्लाको भद्रपुर नगरपालिका, झापा र गौरीगञ्ज, बाह्रदशी, कचनकवल गाउँपालिकालगायतका क्षेत्रमा केराको व्यावसायिक खेती भइरहेको छ ।

यहाँका किसानले सुरुमा चिनीचम्पा, मालबोक, इजरायली प्रजातिको केराको खेती गर्दै आएका थिए तर पछिल्लो समय खाँदा मिठो हुने, ठूला कोसा भएको र उत्पादनसमेत बढी हुने हुँदा किसानले जी–नाइन जातका केरा लगाउन थालेका छन् ।

गणपति एग्रीकल्चर कृषि फार्मले भद्रपुर नगरपालिका–४ र गौरीगञ्ज गाउँपालिका–५ मा गरी ४१ बिघा जमिनमा जी–नाइन जातको व्यावसायिक केरा खेती सुरु गरेको छ । भद्रपुरमा भद्रपुर गौशालाको १६ र गौरीगञ्जमा स्थानीय किसानको ५७ बिघा जमिन भाडामा लिएर फार्मले रु दुई करोडको लागतमा केरा खेती सुरु गरेको जनाएको छ ।

फार्मका अध्यक्ष वासुदेव उप्रेतीले सुरुमा वीरगञ्ज र अहिले बुद्धशान्ति गाउँपालिकाको खुदुनाबारी, गौरादह नगरपालिकाको नर्सरीबाट टिष्यु कल्चरद्वारा उत्पादित केराको बिरुवा ल्याएर रोपण गरिएको बताउनुभयो ।

उहाँले प्रतिगोटा रु ३० का दरले खरिद गरी भद्रपुरमा ३० हजार र गौरीगञ्जमा ४० हजार जी–नाइन जातका केराको बिरुवा लगाएको बताउनुभयो । नौ महिनाअघि भद्रपुरमा १६ बिघा जमिनमा लगाएको बिरुवाको प्रत्येक बोटमा केरा पसाएको छ । उहाँले सो केरा दसैँ तिहारमा निकाल्ने तयारी रहेको बताउनुभयो ।

स्थानीय गौशालाबाट गोबर मल खरिद गरेर केरामा हाल्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले ८० प्रतिशत प्राङ्गारिक मलको प्रयोग गरेका छौँ । बीस प्रतिशत मात्र युरिया, डिएपी र पोटास मलको प्रयोग गर्छौं ।” पाँच जना युवा मिलेर केराको व्यावसायिक खेती गर्दै आएको उहाँले बताउनुभयो । उहाँले गौरीगञ्जमा दुई महिना अघि मात्र २५ बिघा जमिनमा ४० हजार विरुवा रोपण गरेको बताउनुभयो । उहाँले बाँकी रहेको ३२ बिघा जमिनमै केराको व्यवासायिक खेती गरिने बताउनुभयो ।

“केरा खेतीमा व्यावसायिक ज्ञान र दक्ष प्राविधिक नहुँदा समस्या हुँदोरहेछ”, उहाँले भन्नुभयो, “विज्ञलाई सोध्दै र अन्य किसानसँगको अनुभवको आधारमा खेती गरिरहेका छौँ ।” उन्नत प्रजातिको केरा भएका कारण बजारीकरणमा समस्या नहोला भन्ने आशा रहेको उहाँको भनाइ छ ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शिवाकोटीले झन्झटिलो र खर्चिलो धान खेतीको विकल्पको रुपमा किसानले केराको खेती लगाउन थालेको बताउनुभयो । उहाँले ज्ञान केन्द्रले हाल जिल्लामा दुईवटा केराको ब्लक सञ्चालन गरिरहेको बताउनुभयो ।

यसैगरी, जिल्लामै पहिलोपटक रातो केराको खेती गर्दै आउनुभएका झापा गाउँपालिका चन्द्रप्रसाद बस्नेतलाई रु एक लाख राशिको पुरस्कारबाट हालै सम्मान गरिएको छ । बस्नेतलाई नेपालस्थित इजरायली राजदूतावास र साना किसान विकास लघुवित्त वित्तीय संस्थाले संयुक्त कार्यक्रम गरी पुस्कृत गरेको हो ।

बस्नेत युथ एग्री अवार्ड २०७९ बाट सम्मानति हुनुभएको हो । इजरालबाट फर्केर विगत चार वर्ष अघिदेखि उहाँले २५ बिघा जमिनमा चिनी चम्पा, विलीअम हाइब्रिड, मालभोग, जी–नाइन र रातो केराको खेती गर्दै आउनुभएको छ ।

काभ्रेका सबै स्थानीय तहमा फैलियो ‘लम्पी स्किन’

काभ्रे – जिल्लाको करिब ३५ हजार पशुमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखिएको छ । गत वैशाख पहिलो साता धुलिखेल नगरस्थित रविगाउँको पशुमा देखिएको सो रोग सङ्क्रमण हालसम्म काभ्रेपलाञ्चोकको १३ वटै स्थानीय तहमा फैलिसकेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

जिल्लामा पहिलोपटक धुलिखेल–२ रविगाउँमा देखिएको ‘लम्पी स्किन’ रोग जिल्लाका १३ वटै स्थानीय तहमा देखिएको केन्द्रका निमित्त प्रमुख डा कार्कीले बताउनुभयो । उहाँका अनुसार पक्स समूहको काप्रीपक्स भाइरसबाट गाई, भैँसीमा लाग्ने लम्पी स्किन रोग करिव दुई महिनाको अवधिमा जिल्लाका सबै स्थानीय तहको गाउँ तहमा पुग्दा ३५ हजार पशुमा सङ्क्रमण देखिएको तथ्याङ्क प्राप्त भएको छ ।

रोगको सङ्क्रणले स्थानीय पशुपालक कृषक निकै चिन्तित बनेका छन् । उहाँले उक्त रोगका कारण जिल्लामा हालसम्म कम्तीमा ४५ गाई तथा ३५ हजार सङ्क्रमित पशुमध्ये करिब दुई हजार भैँसी सङ्क्रमित रहेको तर भैँसी नमरेको जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्ला केही दिनदेखि महाभारत र खानीखोला गाउँपालिकाका अधिकांश पशुमा सङ्क्रमण देखिएको थियो भने हाल बनेपा नगरका पशुमा उक्त रोग देखिन थालेको छ ।

जिल्लामा देखिएको रोगका कारण रु ४५ लाख हाराहारीमा पशुधन क्षति तथा रोगका कारण पशुले दिने दूधमा कमी हुँदा रु छ करोडको दूध उत्पादनमा कमी आएको केन्द्रले जनायो । केन्द्रका अनुसार ग्रामीण क्षेत्रमा रोगको सङ्क्रमण बढेको हो । जिल्लाका सबै स्थानीय तहमा लम्पी स्किन रोग फैलिएपछि केन्द्रले स्थानीयस्तरमा सचेतानामूलक जानकारी गराउँदै प्रारम्भिक चरणमा प्रत्येक स्थानीय तहलाई तीन सय डोजका दरले खोप पठाइएको जनाएको छ । “जिल्लामा रोगको सङ्क्रमण बढेसँगै केन्द्रले लम्पी स्किनविरुद्धको थप मात्रा खोप खरिद गर्ने प्रक्रिया अघि बढाएको छ”, निमित्त प्रमुख कार्कीे भन्नुभयो ।

उक्त रोग लागेपछि गाई, भैँसीले कचेरा निकाल्ने, सिङ्गान बग्ने, तथा फिँज धेरै निकाल्ने, शरीरका विभिन्न भागमा विशेष गरी घाँटी, पछाडिका खुट्टामा, पेट तथा थुन वरिपरि साना, ठूला गिर्खा तथा फोका देखिन्छ । रोगका कारण पशुबाट २५ देखि ८० प्रतिशतसम्म दूध उत्पादन घट्छ भने पशुको गर्भ तुहिने, मृत्युदर कम भए पनि धेरै पशु बिरामी हुने गर्छन् ।

यो रोगको हालसम्म कुनै ठोस उपचार छैन । लम्पी स्किन सङ्क्रमण सन् १८८८ मा अफ्रिकाबाट सुरु भएको थियो । सन् २०१२ पछि मध्य पूर्व, दक्षिण पूर्वी युरोप, रसिया, काजकिस्तान र बङ्गलादेश हुँदै विसं २०७७ असारमा नेपालको मोरङ जिल्लामा पहिलोपटक देखिएको थियो ।

तनहुँका दश स्थानीय तहद्वारा रु सात अर्ब ७५ करोडको बजेट प्रस्तुत

दमौली – तनहुँका दश स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि रु सात अर्ब ७५ करोड ७० लाख ६७ हजार तीन सय ७० को बजेट प्रस्तुत गरेका छन् । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाले आगामी आवका लागि उक्त बजेट प्रस्तुत गरेका हुन् ।

तनहुँका सबै स्थानीय तहका उपप्रमुख एवं उपाध्यक्षले आइतबार बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । जिल्लाका सबै स्थानीय तहले कृषि, स्वास्थ्य, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको जनाएका छन् ।

व्यास नगरपालिकाले रु एक अर्ब ५९ करोड ३१ लाख एक हजार, भिमाद नगरपालिकाले रु ६३ करोड ८९ लाख ५६ हजार आठ सय ७०, भानु नगरपालिकाले रु एक अर्ब सात करोड ३२ लाख ५६ हजार, शुक्लागण्डकी नगरपालिकाले रु एक अर्ब २८ करोड ३१ लाख तीन हजारको बजेट प्रस्तुत गरेका छन् ।

देवघाट गाउँपालिकाले रु ५० करोड ६६ लाख ९८ हजार छ सय, आँबुखैरेनी गाउँपालिकाले रु ६३ करोड, बन्दीपुर गाउँपालिकाले रु ४८ करोड ६१ लाख ८४ हजार, म्याग्दे गाउँपालिकाले रु ५५ करोड ५३ लाख ५० हजार, ऋषिङ गाउँपालिकाले रु ५५ करोड २५ लाख २८ हजार र घिरिङ गाउँपालिकाले रु ४३ करोड ७८ लाख ८९ हजार नौ सयको बजेट प्रस्तुत गरेको छ ।

जिल्लाको पुरानो र ठूलो नगरपालिका व्यासले सबैभन्दा बढी बजेट प्रस्तुत गरेको छ । व्यास नगरपालिकाले चालुतर्फ रु ९० करोड ८६ लाख ९६ हजार र पुँजीगतर्फ रु ६८ करोड ४४ लाख पाँच हजार विनियोजन गरेको उपप्रमुख इन्दिरा दरैले जानकारी दिनुभयो । कूल बजेटको ५७ दशमलव ०४ प्रतिशत चालुतर्फ र ४२ दशमलव ९६ प्रतिशत बजेट पुँजीगतर्फ विनियोजन गरिएको छ ।

उपप्रमुख दरैका अनुसार आर्थिक विकासतर्फ रु पाँच करोड ९६ लाख १० हजार, सामाजिक विकासतर्फ रु ७१ करोड दुई लाख ९२ हजार, पूर्वाधार विकासतर्फ रु ५३ करोड ५४ लाख ३१ हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु सात करोड १६ लाख ५० हजार, संस्थागत विकास सेवा प्रवाह सुशासनतर्फ रु २१ करोड ६१ लाख १८ हजार बजेट विनियोजन गरिएको छ ।

राजस्व सङ्कलन कमी, सङ्घ र प्रदेश अनुदान कटौती भएकाले चालु अवस्थामा रहेका योजनामा रु पाँच करोड विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।

आम्दानीतर्फ सङ्घ सरकारको सशर्त अनुदानबाट रु ५७ करोड २२ लाख, आन्तरिक स्रोतबाट रु १८ करोड एक लाख, सङ्घ सरकारको वित्तीय समानीकरण रु १७ करोड ९९ लाख, सशर्त पुँजीगत अनुदान रु १६ करोड ४४ लाख, राजश्व बाँडफाट रु १५ करोड ४१ लाख ३२ हजार, नगर विकास कोष ऋणबाट रु १० करोड, प्रदेश वित्तीय समानीकरणबाट रु दुई करोड ६० लाख ६८ हजार, सङ्घ विशेष अनुदानबाट रु दुई करोड ५० लाख, प्रदेश सरकार राजश्व बाँडफाँटबाट रु दुई करोड ३३ लाख एक हजार, सङ्घ सरकारको सडक बोर्डबाट रु एक करोड ५० लाख, प्रदेश विशेष अनुदानबाट रु ६० लाख, प्रदेश समपुरक अनुदानबाट रु ६० लाख, जिल्ला समन्वय समिति अनुदानबाट रु ५० लाख र जनसहभागिता रु ५० लाख हुने अनुमान गरिएको छ ।

नगरपालिकाले कृषि, स्वास्थ्य र पर्यटनलाई प्राथमिकतामा राखेको छ । स्थापनाकालदेखि नगरपालिकाले हासिल गरेका महत्वपूर्ण उपलब्धिको जगमा रही राज्य पुनःसंरचनापछि दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिले विगतका कामको समीक्षा गर्दै नगरवासीको भरोसालाई ध्यानमा राखेर स्रोतगत सीमालाई मध्यनजर गर्दै नीति तथा कार्यक्रम बनाइएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो ।

भानु नगरपालिकाले आगामी आव २०८०÷८१ का लागि रु एक अर्ब सात करोड ३२ लाख ५६ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । उपप्रमुख उमा गोतामेका अनुसार जसमध्ये चालुतर्फ रु ५८ करोड ४४ लाख र पुँजीगततर्फ रु ४८ करोड ८८ लाख ५६ हजार विनियोजन गरिएको छ ।

आगामी आवका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु १३ करोड ४७ लाख, सङ्घीय विभाज्य कोषबाट प्राप्त हुने राजस्व बाँडफाँट रु १२ करोड ३२ लाख ३१ हजार, सशर्त अनुदान रु ४२ करोड एक लाख, सङ्घीय समपुरक अनुदान रु एक करोड ८५ लाख, सङ्घीय विशेष अनुदान रु दुई करोड, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु एक करोड ८९ लाख ५२ हजार, प्रदेश राजश्व बाँडफाँट रु एक करोड ३५ लाख ७३ हजार, प्रदेश सशर्त अनुदान रु ३० लाख, प्रदेश विशेष अनुदान रु ३० लाख, प्रदेश समपुरक अनुदान रु ५० लाख, आन्तरिक राजस्वबाट प्राप्त हुने रु तीन करोड अनुमान गरिएको छ ।

स्थानीय सरकारको क्षेत्रभित्रका करको आधार फराकिलो पार्दै आन्तरिक राजस्व वृद्धि गर्न कर तथा गैरकर राजस्वको अधिकतम परिचालन गर्ने नीति लिइएको उपप्रमुख गोतामले बताउनुभयो । उहाँका अनुसार कर तथा गैरकर राजस्व सङ्कलनलाई प्रभावकारी बनाउन कानुनी तथा संस्थागत सुधार गर्दै राजस्व सुधार अभियान सञ्चालन गर्ने व्यवस्था मिलाइएको उहाँको भनाइ छ । आर्थिकरुपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका नागरिकलाई ध्यानमा राखेर प्रगतिशील कर प्रणाली विकसित गरिने उहाँले बताउनुभयो ।

शुक्लागण्डकी नगरपालिकाले रु एक अर्ब २८ करोड ३२ लाखको बजेट प्रस्तुत गरेको छ । उपप्रमुख खुमबहादुर विकका अनुसार पूर्वाधारतर्फ रु पाँच करोड ६५ लाख ७० हजार, सामाजिक विकासतर्फ रु तीन करोड ७७ लाख, आर्थिक विकासतर्फ रु एक करोड २५ लाख, वातावरणतर्फ रु एक करोड २५ लाख ७१ हजार, सुशासनतर्फ रु ६२ लाख ८५ हजार विनियोजन गरिएको छ । नगरपालिकाका १२ वडामा कूल रु आठ करोड ३८ लाख सात हजार आठ सय ३८ विनियोजन भएको छ ।

भिमाद नगरपालिकाले रु ६३ करोड ८९ लाख ५६ हजार आठ सय ७० को बजेट प्रस्तुत गरेकामा चालुतर्फ रु ४३ करोड ९८ लाख ५६ हजार र पुँजीगततर्फ रु १९ करोड ९१ लाख छुट्याएको छ ।

उपप्रमुख शारदा खनालका अनुसार सामाजिक विकासतर्फ ३४ करोड ६३ लाख, पूर्वाधार विकासतर्फ रु १३ करोड ३७ लाख, सुशासन तथा अन्तरिकतर्फ रु एक करोड ३२ लाख र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च रु दश करोड ८९ लाख विनियोजन गरिएको छ ।

ऋषिङ गाउँपालिकाले रु ५५ करोड २५ लाख २८ हजार विनियोजन गरेकामा सङ्घीय समानीकरणबाट रु नौ करोड सात लाख, राजस्व बाँडफाँटबाट रु दश करोड १४ लाख चार हजार, सशर्त अनुदानबाट रु २३ करोड ४१ लाख, प्रदेश सशर्त अनुदानबाट रु ६० लाख, विशेष अनुदानबाट रु ७५ लाख, सशर्त अनुदान पुँजीगतबाट रु एक करोड नौ लाख र समानीकरणबाट रु एक करोड २६ लाख आम्दानी हुने अनुमान गरिएको छ ।

आँबुखैरेनी गाउँपालिकाले रु ६३ करोडको अनुमानित बजेट प्रस्तुत गरेकामा चालुमा रु ३९ करोड १३ लाख ५१ हजार र पुँजीगततर्फ रु २३ करोड ८६ लाख अनुमान गरिएको उपाध्यक्ष दुर्गा अर्यालले जानकारी दिनुभयो ।

म्याग्दे गाउँपालिकाले रु ५५ करोड ५३ लाख ५० हजारको अनुमानित बजेट प्रस्तुत गरेकामा चालुतर्फ रु २१ करोड ५३ लाख ८५ हजार र पुँजीगततर्फ रु ३२ करोड ५७ लाख ८२ हजार बजेट विनियोजन गरिएको उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिनुभयो । जसमध्ये चालुतर्फ ३८ दशमलव ७८ प्रतिशत र पुँजीगततर्फ ५८ दशमलव ६६ प्रतिशत बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले चालुतर्फभन्दा विकासतर्फ प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ ।

घिरिङ गाउँपालिकाले रु ४३ करोड ७८ लाख ८९ हजार नौ सयको बजेट प्रस्तुत गरेको छ । देवघाट गाउँपालिकाले पूर्वाधारलाई प्राथमिकता दिएर रु ५० करोड ६६ लाख ९८ हजार छ सयको बजेट प्रस्तुत गरेको उपाध्यक्ष भुवनसिं गुरुङले जानकारी दिनुभयो ।

बन्दीपुर गाउँपालिकाले पर्यटनलाई केन्द्रित गरी रु ४८ करोड ६१ लाख ८४ हजारको बजेट प्रस्तुत गरेको उपाध्यक्ष पञ्चमाया गुरुङले बताउनुभयो ।

पोखरा महानगर : बजेटको ठूलो हिस्सा पूर्वाधारमा

गण्डकी – पोखरा महानगरपालिकाले आगामी आव ०८०÷०८१ को बजेटमा पूर्वाधार विकास कार्यक्रमलाई प्राथमिकता दिएको छ । भौतिक पूर्वाधार, पर्यटन, सहरी विकासलगायत क्षेत्रमा रु दुई अर्ब ७० करोड बजेट विनियोजन गरिएको हो ।

आइतबार सार्वजनिक बजेटमा महानगरको प्रशासकीय भवन र वडा कार्यालय भवन निर्माणमा रु ५४ करोड ६२ लाख विनियोजन गरिएको छ । महानगरको प्रशासकीय भवन निर्माण यसै वर्ष थालिने बजेटमा उल्लेख छ ।

सहरी क्षेत्रमा ‘आस्फाल्ट’ प्रविधिको सडक निर्माणका लागि रु १० करोड बजेट छुट्टाइएको महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिनुभयो । आगामी आवमा ठूल्ढुङ्गा–सुर्ताने–चैनपुर, घाँटीछिना–दमदमे–सिदाने–पञ्चासे, कास्कीकोट–बनपाले–गुण्टेचौर–पँदेली कृषि सडक, लामाचौर–माछापुछ«े, लामगादी–पुँडीटार सडकलगायत बहुवर्षीय योजना सम्पन्न गरिने जनाइएको छ ।

सहरी सौन्दर्य बिगार्ने सवारी साधनका वर्कसपलाई एकै स्थानमा व्यवस्थित गर्न ‘अटो भिलेज’को स्थापनार्थ रु ५० लाख बजेट विनियोजन गरिएको छ । पोखरा चक्रपथको सम्भाव्यता अध्ययन अघि बढाउन रु एक करोड ५० बजेट छुट्टाइएको छ । स्थानीय फिर्के खोलाको अतिक्रमण हटाई करिडोर निर्माणका लागि रु एक करोड ५० लाख विनियोजन गरिएको छ ।

वडा कार्यालयबाट प्राथमिकतापूर्वक छनोट भई पेश भएका सडक योजनाका लागि रु ४९ करोड ९२ लाख विनियोजन गरिएको उपप्रमुख गुरुङले बताउनुभयो । हाँडीखोला, खइतेखोला, खहरेखोला, खुदीखोला, ठूलीमजुवा, फिर्के खोला, सुरौदी खेलालगायत पुल र कल्भर्ट निर्माणमा रु १६ करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।

‘एक घर, एक धारा’ खानेपानी आयोजनाअन्तर्गत सराङकोट, थाक, निर्मलपोखरी, भरतपोखरी, चैनपुरलगायत क्षेत्रमा खानेपानी आयोजनाका लागि रु १० करोड विनियोजन गरिएको छ । ‘हामी बनाउँछौँ, हाम्रो महानगर’ अन्तर्गत स्थानीय उपभोक्ता र महानगरपालिकाको ५०÷५० प्रतिशत साझेदारीमा पूर्वाधार आयोजना सञ्चालनका लागि रु पाँच करोड छुट्टाइएको छ । छिमेकी स्थानीय तहसँग आवश्यकताका आधारमा साझदोरी आयोजना सञ्चालनका लागि रु एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।

फेवा, बेगनासलगायत पोखराका सबै तालको संरक्षण तथा अतिक्रमण नियन्त्रण गरिने बजेटमा उल्लेख छ । फेवातालको सुन्दरतासँगै पर्यटकीय गतिविधि बढाउन ‘फेवाफेरो पदमार्ग’ निर्माणका लागि रु ४० लाख बजेट विनियोजन गरिएको छ ।

पोखरा बहुउद्देश्यीय भवन, नयाँ विमास्थलबाट लेकसाइड जोड्ने फास्ट ट्रयाक, फेवा–बेगनास कनेक्टिभिटी सडक, पोखरा बसपार्क, बिन्ध्यवासिनी बसपार्क, कोमागाने पार्क, बेगनास बराहक्षेत्र परियोजना, पञ्चासे विकास परियोजना, ड्यामसाइड पर्यटन पार्कलगायत महानगर गौरवका आयोजनाहरुलाई बजेटमा प्राथमिकता दिइएको छ ।

विकास आयोजनामा हुने लगानीलाई दिगो बनाउन आगामी वर्ष पोखरा महानगरपालिकाको विकास गुरुयोजना तयार पारिने बजेटमा उल्लेख छ । हरित, उत्थानशील र दिगो पूर्वाधार विकाससँगै बजेटमा पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण तथा फोहोरमैला व्यवस्थापन, समावेश, सन्तुलित र समतामूलक विकास, संस्थागत विकास, सुशासन प्रवर्द्धन, गुणस्तरीय सेवा प्रवाह, स्वरोजगार, उद्यमशीलता र व्यवसायिक कृषि प्रणालीमा जोड दिइएको छ ।

गुणस्तरीय, जवाफदेही र प्रतिस्पर्धी मानवस्रोत विकास तथा गुणस्तरीय शिक्षा र आधारभूत स्वास्थ्य सेवाको विकास र व्यवस्थापन बजेटको प्राथमिकतामा परेका छन् । आर्थिक विकासतर्फ व्यावसायिक कृषि, कृषिको यान्त्रिकीकरण, सिँचाइ सुविधाको विस्तार, रुग्ण उद्यम, व्यवसायको पुनःउत्थानलगायतका कार्यक्रम बजेटमा समावेश छन् ।

‘एक सहकारी, एक उत्पादन कार्यक्रम’लाई निरन्तरता दिन रु ५५ लाख, व्यवसाय प्रवद्र्धन तथा विकास, रोजगार मेला, युवा उद्यमशीलता विकास कार्यक्रम आदिका लागि रु दुई करोड, छाडा पशुपन्छी व्यवस्थापन, पशुपन्छीको उपचार, पशु स्वास्थ्य शिविरलगायतमा गरी रु दुई करोड ५० लाख विनियोजन गरिएको छ ।

शिक्षातर्फ विद्यार्थीलाई दिवा खाजाको रकम वृद्धिदेखि छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरणसम्मका कार्यक्रम बजेटमा समावेश छ । सङ्घ सरकारले तल्लो तहका विद्यार्थीलाई खाजाबापत दैनिक दिँदै आएको रु १५ मा महानगरले रु १० थपी रु २५ पु¥याइने भएको छ । विद्यार्थीको दिवा खाजा र प्रधानाध्यापकको प्रोत्साहन कार्यक्रमका लागि रु चार करोड ६५ लाख विनियोजन गरिएको छ ।

गण्डकी बहुप्राविधिक शिक्षालयको पूर्वाधार विकास र शैक्षिक कार्यक्रम सञ्चालनका लागि रु तीन करोड ३३ लाख बजेट छुट्टाइएको छ । खेलकुद पूर्वाधार र प्रवर्द्धनमा रु एक करोड २५ लाख विनियोजन गरिएको छ । कक्षा ६ देखि १२ सम्मका छात्रका लागि निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउन रु एक करोड ६३ लाख विनियोजन गरिएको छ । महानगरमा स्रोत शिक्षा, खेलकुद, युवा र प्राज्ञ प्रतिष्ठानसम्बन्धी कार्यक्रमका लागि रु १८ करोड बजेट छुट्टाइएको छ ।

महानगरअन्तर्गतका सबै स्वास्थ्य संस्थाहरुबाट निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले . १६ करोड ५० लाख विनियोजन गरिएको छ । महिला स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बीमाका लागि रु एक करोड बजेट विनियोजन गरिएको छ । स्वास्थ्यतर्फ रु ३५ करोड ५६ लाख बजेट छुट्टाइएको छ । सहरी गरिबी निवाकरण कार्यक्रमका लागि रु १४ करोड बजेट विनियोजन गरिएको छ ।

महानगरले पूर्वाधारतर्फ रु दुई अर्ब, पर्यटन सहरी विकास तथा वातावरणतर्फ रु ७० करोड, आर्थिक विकासतर्फ रु. १० करोड, सामाजिक विकासमा रु छ करोड ५० लाख, नगर कार्यपालिकाको कार्यालयतर्फ रु ८१ करोड २२ लाख, वडा कार्यालयतर्फ रु ७२ करोड ६० लाख, विभिन्न कोषहरूमा रु १४ करोड, संघीय सशर्त अनुदानतर्फ रु दुई अर्ब २३ करोड ६२ लाख, प्रदेश सशर्त अनुदानतर्फ रु ८० लाख र सहरी विकास आयोजनामा रु आठ करोड ४० लाख ९१ हजार विनियोजन गरेको छ ।

स्रोततर्फ सङ्घीय सरकार अनुदानबाट रु दुई अर्ब ७६ करोड ३२ लाख, प्रदेश सरकार अनुदानबाट रु १० करोड २३ लाख ६२ हजार, आन्तरिक आयबाट रु दुई अर्ब २७ करोड ८७ लाख खर्च व्यहोरिने उपप्रमुख गुरूङले जानकारी दिनुभयो । सङ्घीय राजस्व बाँडफाँटबाट ३६ करोड ६२ लाख, प्रदेश राजस्व बाँडफाँटबाट आठ करोड २५ लाख, स्थानीय राजस्व बाँडफाँटबाट रु एक अर्ब एक करोड ७५ लाख स्रोत व्यवस्थापन गरिने भएको छ ।

यस्तै सङ्घीय सरकार सहरी विकास आयोजनाबाट रु आठ करोड ४० लाख ९१ हजार, प्राप्त हुने अनुमान गरिएको छ । न्यून हुन जाने रु ४५ करोड ६८ लाख ६५ हजार चालु आवको अन्त्यमा बचत हुने मौज्दात रकमबाट व्यहोरिने जनाइएको छ ।

आन्तरिक राजस्व सङ्कलन न्यून हुनु, अर्थतन्त्रमा देखिएको सङ्कट इत्यादि कारणले चालु आवको तुलनामा आगामी आवको बजेटको आकार घटेको हो । चालु आवमा रु आठ अर्ब ९९ करोड दुई लाख २९ हजारको बजेट ल्याइएको थियो । बजेटमा उचित नदेखिएका कतिपय पुराना कार्यक्रमलाई हटाइएको र केही नयाँ कार्यक्रम थप गरिएको छ ।

प्रतिनिधिसभा बैठक: सांसदहरूले उठाएको प्रश्नको जवाफ मन्त्रीहरूले दिने

काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दैँछ । 

सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ः०० बजेबाट सुरु हुनेछ । 

आजको बैठकमा  विनियोजन विधेयक २०८० माथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यक्रम रहेको छ । जसअनुसार आजको बैठकमा रक्षा, सङ्घीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा मन्त्रालयगत छलफलमा सांसदले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ।

प्रतिनिधिसभाको हिजोको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत प्रतिनिधि सभा सदस्यहरूले मन्त्रालयगत छलफलमा उठाएका प्रश्नहरूको गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधि मन्त्रीले जवाफ दिनुभएको थियो।

आजको मौसम: देशैभरि पानी पर्ने, तराइका केही स्थानमा हावाहुरी चल्ने

काठमाडौँ – हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली  रहेको छ । कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्य बदली रहनेछ।  कोसी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोसी , गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेशका धेरै भू-भागहरू र बाँकी तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

राती भने कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ ।

कोसी, बागमती र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका  थोरै स्थानहरूमा मेघ-गर्जन / चट्याङ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोसी प्रदेश र मधेस प्रदेशका धेरै भू-भागहरू र बाँकी तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी,  कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले  सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ। भारी वर्षा र मेघ गर्जन / चट्याङका कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भू-क्षय तथा गेग्र्यान बहावका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 
२०८० आषाढ ११ गते (सोमबार) 
दिउँसो
:  देशभर सामान्य बदली रहनेछ।  कोसी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी , गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ। मधेस प्रदेशका धेरै भूभागहरू र बाँकी तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।
राती: कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी,  बागमती र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका  थोरै स्थानहरूमा मेघ-गर्जन / चट्याङ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोसी प्रदेश र मधेस प्रदेशका धेरै भूभागहरू र बाँकी तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

२०८० आषाढ १२ गते (मङ्गलवार)
दिउँसो:
  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी,  बागमती र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती र कर्णाली  प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको  पनि सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको तराईका एक-दुई स्थानहरू र बाँकी तराईका धेरै भू-भागहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।
राती: कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी,  गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन / चट्याङ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको तराईका एक-दुई स्थानहरू र बाँकी तराईका धेरै भू-भागहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

२०८० आषाढ १३ गते (बुधवार) 
दिउँसो: 
 देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी, बागमती, गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  
राती: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी,  बागमती, गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

सडक सञ्जालको विस्तारलाई पहिलो प्राथमिकतामा राखिएको छ : मन्त्री ज्वाला

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले सडक सञ्जालको विकास र विस्तारले मात्रै समग्र विकासको प्रक्रिया अगाडि बढ्ने भएकाले निर्धारित समयमा नै निर्माणाधीन परियोजना पूरा गर्न सरकार लागिपरेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाउनुभएको प्रश्नको जवाफमा मन्त्री ज्वालाले विकासको मूल आधार भएकाले सडक सञ्जालको विस्तारलाई पहिलो प्राथमिकतामा राखिएको र त्यसको दिगोपनका बारेमा समेत सरकारले आवश्यक चासो राखेको बताउनुभयो । रुग्ण रहेका आयोजनालाई समेत नयाँ आधारमा अगाडि बढाउने सङ्कल्पका साथ काम थालिएको उहाँको भनाइ छ ।

यातायात क्षेत्रमा सुशासन कायम गर्न, सवारी चालक अनुमतिपत्रलाई सहज र सरलरूपमा लिन पाउने प्रबन्ध गरिएको, नवीकरणमा पनि सहजताका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै मन्त्री ज्वालाले सवारी चालक अनुमतिपत्रको अवधि १० वर्षको बनाउने गरी ऐनमा नै प्रबन्ध गरिएको उल्लेख गर्नुभयो ।

पूर्वतयारी सम्पन्न भएका आयोजनालाई मात्रै अगाडि बढाउने जानकारी दिँदै उहाँले आगामी आवका लागि मन्त्रालयको बजेट ठूलो मात्रामा कटौती भएको जानकारी दिनुभयो । सीमित साधन र स्रोतका कारण ठूलो अपेक्षा पूरा गर्न गाह्रो भएको उल्लेख गर्दै उहाँले निर्माणाधीन तथा निर्माणमा जाने तयारीमा रहेका आयोजनालाई पनि शीघ्रातिशीघ्र सम्पन्न गरिने बताउनुभयो ।

उहाँले रुग्ण अवस्थामा रहेका पुलको ठेक्का तोड्ने र अन्य योजना अगाडि बढाउने उल्लेख गर्दै निर्माणमा रहेका आयोजनालाई कुनै पनि स्रोतको अभाव हुन नदिने विश्वास दिलाउनुभयो । आवश्यक तयारीका लागि केही पुल तथा सडकको बजेट न्यून राखिएको र आगामी आर्थिक वर्षमा स्रोतको उचित प्रबन्ध गरेर निर्माणमा लैजाने उहाँको भनाइ छ ।

सडकको मर्मत सम्भारलाई प्राथमिकतामा राखिएको र त्यसका लागि सडक बोर्डमार्फत बजेट उपलब्ध हुने र अर्थमन्त्रालयसँग यसबारेमा छलफल भइरहेको मन्त्री ज्वालाको भनाइ छ । उहाँले मधेस प्रदेशका लागि मात्रै रु ४१ अर्ब ९६ करोड बराबरको बजेट विनियोजन भएको जानकारी दिनुभयो ।

कहीँ पनि धेरै बजेट विनियोजन भएको छैन

मन्त्री ज्वालाले केही जिल्लामा धेरै बजेट विनियोजन भएको भन्ने आरोपमा कुनै सत्यता नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “केही सांसदले पहुँचवाला नेताको ठाउँमा धेरै बजेट विनियोजित भएको टिप्पणी गर्नु भएकोतर्फ मेरो ध्यानाकर्षण भएको छ । वैकल्पिक सहायक राजमार्गको एउटा बजेट शीर्षकलाई लिएर यो टिप्पणी गरिएको हुनसक्छ तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कूल बजेटलाई हेर्ने हो भने त्यस्तो अवस्था देखिँदैन ।” उहाँले वैकल्पिक सहायक राजमार्गको रु पाँच अर्ब १७ करोडको बाँडफाँटलाई मात्र हेरेर समग्र बजेट बाँडफाँटको अवस्था बारे धारणा नबनाउन आग्रह गर्नुभयो ।

काठमाडौँ–तराई मधेस द्रुतमार्ग, पुष्पलाल मध्य पहाडी राजमार्ग, मदन भण्डारी राजमार्ग, हुलाकी राजमार्ग र केही जिल्लामा पूर्व¬–पश्चिम राजमार्ग तथा उत्तर–दक्षिण कोरिडोरले सम्बोधन गरेको उहाँले जानकारी दिनुभयो ।

मन्त्रालयको बजेट सिलिङ चालु आवको भन्दा रु ३७ अर्ब घटाइएकोले बजेट बनाउन र सन्तुलन कायम गर्न ज्यादै कठिनाइ भएको उहाँको भनाइ छ । समय र बजेट कटौतीको चापले सोचेजस्तो सन्तुलन र सबैलाई सम्बोधन गर्न नसकेकोमा आफूलाई दुःख लागेको मन्त्री ज्वालाले उल्लेख गर्नुभयो ।

ठेक्का लागिसकेका आयोजनामा त्यसको दायित्व भुक्तानी गर्न पुग्ने बजेटका लागि प्रयास गर्ने तथा मदन भण्डारी राजमार्गलगायत राष्ट्रिय महत्त्व तथा रणनीतिक महत्त्वका राजमार्गमा बजेट सुनिश्चितता भई ठेक्कामा लागेका काम तीव्ररूपमा अगाडि बढाइने छ । सो राजमार्ग आयोजनाअन्तर्गतका निर्माणधीन सडक स्तरोन्नति तथा पुल निर्माणका ठेक्कामार्फत निर्माण कार्य सञ्चालनमा भइरहेकोमा न्यून बजेट विनियोजनका कारणले सम्पन्न कार्यको समेत भुक्तानी हुन नसक्दा तथा रुख कटानको कारणबाट समेत निर्माण कार्य केही सुस्त हुन पुगेको मन्त्री ज्वालाको भनाइ छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कुनै पनि शीर्षकमा एकमुष्ट बजेट नराखिएको जानकारी दिँदै उहाँले सबै क्रियाकलाप विनियोजित बजेटमा प्रविष्ट गरिएको र अन्य कुनै पनि शीर्षकमा बजेट नरहेको बताउनुभयो ।

विकास निर्माणसँग ऐनकानून परिमार्जन गरी विकास मैत्री कानून बनाउन, बजेट निर्माण प्रक्रिया पारदर्शी तथा समावेशी बनाउन तथा योजनाको आवश्यकता र प्राथमिकताअनुसार बजेट सुनिश्चित गर्नु पर्ने आफ्नो पनि धारणा रहेको उहाँको कथन छ ।

हालसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्ला जिल्ला सदरमुकाम सिमिकोटलाई आगामी वर्ष राष्ट्रिय सडक सञ्जालसँग आबद्ध गरिने र त्यसका लागि कर्णाली कोरिडोरको कामलाई तीव्रता दिने उहाँले विश्वास दिलाउनुभयो । त्यसैगरी डोल्पा जिल्लाको सदरमुकाम दुनैसम्म सडक पुगिसकेको, पुलको निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको र नियमितरूपमा यातायात सञ्चालन गरिने बताउनुभयो । यस्तै, मुगुको नाक्चेलाग्ना जोड्ने सडकका लागि आवश्यक बजेट व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

मन्त्री ज्वालाले कर्णाली कोरिडोर, भेरी कोरिडोर, कर्णाली राजमार्ग, सुर्खेत दैलेख महाबु नाग्मा, गमगढी नाक्चेलाग्नालगायत विभिन्न आयोजनालाई प्राथमिकतामा राखी आवश्यक बजेट विनियोजन गरी कालीकोट, हुम्ला, डोल्पा, मुगु, जुम्लाको पहुँच सुधार गर्न बजेट व्यवस्था गरिएको जानकारी दिनुभयो । यस्तै, पुष्पलाल मध्यपहाडी र मदन भण्डारी राजमार्गबाट पनि आवश्यक सम्बोधन गरिएको उहाँको भनाइ छ ।

रेललाई विशेष प्राथमिकता

यातायातका माध्यमहरू मध्य रेल यातायात तुलनात्मकरूपमा सस्तो यातायातको साधन भएको र देशमै उत्पादिन विद्युत् खपत गरेर यसको प्रयोग बढाउनु पर्ने सुझाव स्वागतयोग्य रहेको बताउँदै उहाँले त्यसका लागि रु तीन अर्ब ७५ करोड बराबरको बजेट विनियोजन भएको जानकारी दिनुभयो ।

पूर्वपश्चिम रेल, जयनगर जनकपुर रेल र काठमाडौँमा मेट्रो रेलका लागि न्यून बजेट विनियोजन भएको विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको उहाँको भनाइ छ ।

सीमित आर्थिक स्रोतको परिचालन गरेर विकास योजनालाई निरन्तरता दिनुपर्ने बाध्यताको बीचमा त्यससम्बन्धी कार्यका लागि ती निकाय कार्यरत रहँदा काममा दोहोरोपना हुन जाने देखिएकाले रेल्वे बोर्डको खारेजी गरिएको बताउनुभयो ।

इम्बोस्ड नम्बर प्लेट नेपाली देवनागरी भाषामा नै राखिन्छ

सवारी साधनमा जडान गरिने इम्बोस्ड नम्बर प्लेटको केही भाग नेपाली देवनागरी भाषामा लेख्ने गरी मौजुदा कानून (सवारी तथा यातायात व्यवस्था ऐनको अनुसूची) मा संशोधन भइसकेको जानकारी दिँदै उहाँले सोहीअनुसार नम्बर प्लेटमा प्रदेशको नाम नेपाली भाषामा लेख्ने गरी आपूर्तिकर्ता कम्पनीलाई संशोधित कार्यादेश दिन प्रक्रिया अगाडि बढाइएको र यो व्यवस्था छिट्टै लागू हुने उहाँको भनाइ छ । मन्त्री ज्वालाले विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

यातायात व्यवस्था विभागले सरोकारवालाहरूको सहभागितामा तयार गरिएका विभिन्न १३ वटा प्यारामिटरका आधारमा वैज्ञानिक भाडादर प्रणाली लागू भएको जानकारी गराउँदै मन्त्री ज्वालाले गत जेठ ३ गते यातायात व्यवस्था विभागको कार्यक्षेत्रअनुसार अन्तरप्रदेशमा चल्ने सार्वजनिक सवारी साधन तथा मालवाहक सवारीमा नयाँ भाडादर लागू गरिएको बताउनुभयो ।

समायोजन भएको भाडादर कडाइका साथ लागू गरिने त्यसमा कुनै कमजोरी हुन नदिने मन्त्री ज्वालाको भनाइ छ । सूचना प्रविधिमा आधारित भएर सञ्चालित यातायात सेवालाई थप व्यवस्थित र मर्यादित बनाउन आवश्यक कानूनी र प्रविधिगत व्यवस्थाको कार्य अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।

सवारी दुर्घटना न्यूनीकरण गर्न सार्वजनिक सवारीको यान्त्रिक परीक्षणलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने प्रक्रिया अगाडि बढाइएको उल्लेख गर्दै मन्त्री ज्वालाले सडक दुर्घटना न्यून गर्न रोड सेफ्टी अडिट तथा त्यसका आधारमा पूर्वाधार निर्माण गर्ने र सडक सुरक्षासम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनुभयो ।

मन्त्री ज्वालाले भन्नुभयो, “मन्त्रालयमा योजना र बजेट निर्माण गर्ने क्रममा कर्मचारी साथीहरू भन्दै हुनुहुन्थ्यो– यति सन्ततुलितरूपमा यसअघि कहिल्यै योजना बनाइएको थिएन । तर परिस्थिति, समय र बजेटको बाध्यताले गर्दा सबैका माग सम्बोधन गर्न सकिएन । म यसमा निकै दुःखी छु ।”

बजेट कम भएका योजनामध्ये कतिपयलाई बजेट सुनिश्चित गरेर, कतिपयलाई बहुवर्षीय बोलपत्र गरेर, आवश्यकता पर्दा संशोधन गरेर, खर्च नहुने बजेट खर्च हुने योजनामा रकमान्तर गरेर भए पनि आवश्यक चासोलाई सम्बोधन गरिने उहाँले विश्वास दिलाउनुभयो ।

सरकारले भरतपुर रङ्गशाला आफ्नो स्वामित्वमा लिई निर्माण कार्य अगाडि बढाउने

काठमाडौँ – युवा तथा खेलकुदमन्त्री डिगबाहदुर लिम्बूले चितवनको भरतपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय रङ्गशालालाई सरकारले आफ्नो स्वामित्वमा लिई निर्माण कार्य अगाडि बढाउने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको आर्थिक वर्ष २०८०/८१ बजेट विनियोजन विषयक छलफलमा मन्त्री लिम्बूले धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण प्रक्रियाका अगाडि बढाएको निमार्णाधीन रङ्गशाला सरकारले स्वामित्व ग्रहण गर्ने र थप बजेट विनियोजन गरी निर्माण कार्य अगाडि बढाउने बताउनुभयो । उहाँले विद्यालयमा अध्ययरत बालबालिकाका लागि खेलकुद प्रतियोगिता आयोजना गर्न सबै स्थानीय तहमा बजेट विनियोजन गरेको बताउनुभयो ।

त्यसैगरी उहाँले चीनको होङझाउमा आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिताको तयारीका लागि विभिन्न खेलका दुई सय ३३ जना खेलाडीलाई बन्दसत्रमा राखेर प्रशिक्षण गराइरहेको बताउनुभयो । एसियाडमा नेपालले २९ खेलमा सहभागिता जनाउँदैछ ।

खेलकुद क्षेत्रको विकासका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा दर्ता भएका एक सय वटा खेल सङ्घलाई खेलकुद प्रतियोगिता आयोजना गर्न रु दुई लाख ५० हजार अनुदान दिने गरी बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।

यसैगरी, देशका लागि पसिना बगाउने खेलाडीको वृत्ति विकास र प्रोत्साहन भत्ताका लागि के कति रकम बढाउन सकिन्छ त्यस विषयमा छलफल गरिने मन्त्री लिम्बूले उल्लेख गर्नुभयो । उहाँले खेलकुद प्रतियोगिता आयोजनाका हिसाबले सातै प्रदेशमा समान बजेट विनियोजन गर्न नसकेको स्पष्ट पार्दै कर्णाली प्रदेशमा आयोजना गरिने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका लागि आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

उहाँले सभासद्हरूले पब्जी ई खेललाई समावेश गरिनुपर्ने मागलाई सम्बोधन गर्दै पब्जी खेलका लागि के कस्तो नीति बनाउन सकिन्छ त्यसका लागि विशेष छलफल गरिने बताउनुभयो । मन्त्री लिम्बूले खेलाडीको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै यसपटक खेलाडीका लागि बीमाको व्यवस्था गरेको बताउनुभयो । उहाँले कीर्तिपुरस्थित त्रिवि विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्लड लाइटको निर्माण कार्य आगाडि बढिसकेको भन्दै विभिन्न ठाउँमा रहेका निर्माणाधीन पूर्वाधारको विकासमा अघि बढ्ने बताउनुुभयो ।

उहाँले कपिलवतु र प्यूठान जिल्लामा खेलकुद मन्त्रालयका तर्फबाट बजेट विनियोजन गर्न नसकेकामा क्षमा माग्दै आगामी दिनमा यसलाई पुनः विचार गर्ने बताउनुभयो । सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई रु दुई अर्ब ८७ करोड ५९ लाख रकम विनियोजन गरेको छ ।

काठमाडौँ महानगरभित्र कुन व्यवसाय गर्दा कति तिर्ने कर ?

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८० आज नगरसभामा प्रस्तुत गरेको छ । आर्थिक विधेयकले आगामी आर्थिक वर्षका लागि महानगरपालिकाभित्र लाग्ने करका दर तोकेको छ ।

महानगरले विभिन्न व्यवसायको प्रकृति र लगानीको अवस्था हेरेर व्यावसायिक कर तोकेको हो । काठमाडौँ महानगरपालिकाको आर्थिक विधेयकअनुसार उत्पादनमूलक व्यवसाय तथा उद्योगमा हलुका पेयपदार्थ उद्योग (कोकाकोला, पेप्सीकोला, फ्रुटी आदि) घरेलुमा दर्ता भएका रु ५० हजार कर तिर्नुपर्नेछ । घरेलु उद्योगबाट उत्पादन हुने सोडा आदि हलुका पेयपदार्थ उत्पादन गर्ने उद्योगको नवीकरणका रुपमा वार्षिक शुल्क रु दुई हजार, डिस्टिलरी उद्योगलाई रु ५० हजार, विभिन्न निर्यातयोग्य वस्तु तथा व्यवसायलाई रु पाँच हजार र आयातयोग्य वस्तु तथा व्यवसायलाई रु १० हजार कर तोकिएको छ ।

चलचित्र निर्माण कम्पनीलाई रु १५ हजार तथा वितरक कम्पनीलाई रु पाँच हजार कर तोकिएको छ । मिनरल वाटर उद्योगलाई रु पाँच हजार, आइसक्रिम उद्योग ठूलो (तीन किलोवाटभन्दा माथि) लाई रु १० हजार र यस्तो घरेलु उद्योग (तीन किलोवाट सम्म) लाई रु दुई हजार कर तोकिएको छ ।

ब्रान्डेड बिस्कुट, पाउरोटी, केक उद्योगलाई रु १० हजार र यस्ता घरेलु उद्योगलाई रु दुई हजार कर तोकिएको छ । डेरी उद्योगले रु १० हजार, कुटानी–पिसानी मिलले रु पाँच हजार, ब्रान्डेड जुत्ता, चप्पल उद्योगले रु १२ हजार, ब्याग, बेल्ट, पर्स आदि उत्पादन उद्योगले रु पाँच हजार कर तिर्नुपर्नेछ ।

खाद्यान्न उद्योग (पाँच किलोवाटभन्दा माथि) का लागि रु १० हजार र यस्ता साना उद्योगलाई रु पाँच हजार कर तोकिएको छ । कार्पेट, गार्मेन्ट, पस्मिना र प्लाष्टिक उद्योगले रु १० हजार कर तिर्नुपर्नेछ । कापी, किताब तथा मुद्रण उद्योगका लागि क्षमताअनुसार रु दुई हजारदेखि १२ हजार, जमिनमुनिको पानी प्रशोधन उद्योगका लागि रु ५० हजार, बोटल र जार पानी उद्योगका लागि रु सात हजार कर तोकिएको छ ।

त्यस्तै, डसना, कुसन बनाउने उद्योगलाई रु पाँच हजार र हर्बल उद्योगलाई रु दुई हजार कर लाग्नेछ । सडक पुल, रोपवे, रेलवे, टनेल, फ्लाइब्रिज तथा औद्योगिक, व्यापारिक एवं आवास कम्प्लेक्स आदि निर्माण गरी सञ्चालन गर्ने उद्योग व्यवसायलाई रु २५ हजार कर लाग्नेछ । किराना पसल खुद्रा पसलका लागि दुई हजार, थोक किराना पसलका लागि पाँच हजार, थोक खाद्यान्न बिक्रेतालाई रु १० हजार, खाद्यान्न खुद्रा बिक्रीमा रु तीन हजार, मौरीपालन व्यवसायमा रु दुई हजार र कुखुराको चल्ला बिक्री गर्दा रु तीन हजार कर तिर्नुपर्नेछ ।

त्यस्तै, फलफूल, जुस तथा तरकारी बेच्ने खुद्रा पसलका लागि रु एक हजार, फलफूल तथा तरकारी थोक पसलका लागि रु दुई हजार, फलफूल र बिरुवा बिक्रेता (नर्सरी) लाई रु दुई हजार कर तोकिएको छ । माछा÷मासु, अण्डा खुद्रा बिक्रेताले रु दुई हजार पाँच सय र थोक बिक्रेताले रु ६ हजार कर तिर्नुपर्नेछ । प्रशोधित मासुजन्य बिक्री व्यवसायमा रु पाँच हजार कर तोकिएको छ । तरकारी खेती, पशुपक्षी पालनलगायत अन्य कृषिजन्य कार्य गर्ने व्यवसायका लागि रु दुई हजार, पेट शप (घरपालुवा पशुपक्षीको दाना÷आहारा बिक्री) गर्ने थोक पसलका लागि रु सात हजार र खुद्रा पसलका लागि रु तीन हजार कर तोकिएको छ । त्यसैगरी, कुकुर प्रजनन केन्द्र (डग व्रिडिङ्ग फर्म) का लागि रु पाँच हजार, आधुनिक पशु बधशाला, तरकारीको बीउ बिजन खरिद बिक्री गर्ने पसलका लागि रु दुई हजार कर तोकिएको छ ।

होटल, पर्यटन तथा मनोरञ्जन व्यवसायमा पाँचतारे होटलका लागि रु एक लाख, चारतारे होटलका लागि रु ८० हजार, तीनतारे होटलका लागि रु ६० हजार, दुईतारे होटलका लागि रु ४० हजार र एकतारे होटलका लागि रु २० हजार कर लाग्नेछ । चलचित्र प्रदर्शनी घर, साधारण होटल, लज, गेष्टहाउस, ५० जनाभन्दा बढी क्षमताको होमस्टे, रेष्टुरेन्ट एन्ड बार (डान्स, दोहोरीबाहेक), ट्राभल एन्ड ट्रेकिङ एजेन्सीहरुका लागि रु १० हजार कर लगाइएको छ ।

मसाजपार्लर, स्पा, ज्याकुजी, सौनाबाथ, स्विमिङपुलका लागि पनि रु १० हजार कर तोकिएको छ । पर्यटकीय खेल (गल्फर्कोस, र्याफ्टिङ, सफारी, अश्वारोहण, स्किइङ, ग्लाइडिङ, वाटरर्याफ्टिङ पोनिट्रेकिङ, प्याराग्लाइडिङ, पोलो, बन्जिजम्प, केबुलकार, रिसोर्ट, होटल आदि) को सम्पर्क कार्यालयका लागि रु तीन हजार कर लाग्नेछ ।

विदेशी विमान सेवा प्रदायक कम्पनीलाई रु ५० हजार र स्वदेशी विमान सेवालाई रु २५ हजार कर तोकिएको छ । वायुयान भाडामा लगाउने व्यवसाय गर्ने कम्पनी, डिस्को, नाइट क्लब, वैदेशिक रोजगार सम्पर्क व्यवसायलगायतलाई लाई रु २५ हजार कर लाग्नेछ ।

त्यसैगरी, क्यासिनोमा रु तीन लाख र मिनी क्यासिनोलाई रु २५ हजार कर लगाइएको छ । टे«किङ सामान पसल, मनोरञ्जन सेवा प्रदान गर्ने व्यवसाय, थान्का पसल, डान्स टे«निङ सेन्टर, सङ्गीतसम्बन्धी सेवा प्रदान गर्ने व्यवसाय, ट्याटु हाउसलाई रु पाँच हजार कर तोकिएको छ । ५० जना सम्मको होस्टेलका लागि रु तीन हजार र ५० जनाभन्दा बढीको होस्टेलले रु पाँच हजार कर तिर्नुपर्नेछ । मेकअप स्टुडियोले तीन हजार, पाँच रोपनीसम्म क्षेत्रफल भएको फन पार्कले रु १० हजार, दश रोपनीसम्म क्षेत्रफलमा फैलिएकाले रु २० हजार र दश रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको फनपार्कले रु ३० हजार कर तिर्नुपर्नेछ ।

सञ्चार क्षेत्रतर्फ टेलिभिजन प्रसारण कम्पनीलाई रु पाँच हजार, एफएम स्टेसनलाई रु एक हजार, अनलाइन सेवा बिजनेसलाई रु दुई हजार, अनलाइन न्यूज पोर्टललाई रु पाँच सय, राष्ट्रिय पत्रिकालाई रु दुई हजार, स्थानीय पत्रिकालाई रु एक हजार र साइबर क्याफेलाई रु दुई हजार कर तोकिएको छ ।

भीमदत्त नगरका तत्कालीन प्रमुखसहित १२ जना विरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीमदत्त नगरपालिका, कञ्चनपुरका तत्कालीन नगरप्रमुख सुरेन्द्रबहादुर बिष्टसहित १२ जना विरुद्ध नदीजन्य पदार्थको ठेक्कामा भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ मा प्राकृतिक स्रोतबाट प्राप्त हुने आयको ठेक्कामा बोलपत्रको सम्झौताअनुसार प्राप्त गर्नुपर्ने आयमा निजी व्यवसायीसँग मिलेर भ्रष्टाचार गरेको पाइएको छ । महाकाली नदीको नदीजन्य पदार्थको रोयल्टी शुल्क उठाउने ठेक्कामा मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक न्यूनतम कबोल अङ्क तोकेर बोलपत्र आह्वान गरेको र त्यसैलाई स्वीकृत गरेको पाइएको छ । राजस्व रकम कम निर्धारण गर्ने मनसाय राखी मिलेमतोमा बोलपत्र स्वीकृत गरी सम्झौता प्रक्रिया अगाडि बढाएको समेत आयोगको अध्ययनमा देखिएको छ ।

आयोगले तत्कालीन प्रमुख बिष्टले रु तीन करोड ३३ लाख २२ हजार पाँच सय ८३ बराबरको राजस्व चुहावट गरेको पाइएकाले सोहीबमोजिमको बिगो कायम गरी आज मुद्दा दायर गरेको हो । यस्तै, नगरपालिकका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीविरुद्ध रु दुई करोड ११ लाख ६५ हजार छ सय आठ बराबरको बिगो दाबी गर्दै आजै मुद्दा दायर गरिएको छ ।

यसैगरी, भीमदत्त नगरपालिकाका तत्कालीन राजस्व छुटका लागि गठित कार्यदलका संयोजक तथा सदस्यहरू तत्कालीन वडा नं १७ का वडाअध्यक्ष हिमालबहादुर चन्द, प्रशासकीय अधिकृत हरिसिंह धामी, शाखा अधिकृत नरबहादुर शाह तथा इञ्जिनियर हिमालयसिंह ऐर र गोविन्दराज उपाध्यायविरुद्ध पनि रु ८५ लाख ५६ हजार तीन सय नौ बराबरको बिगो दाबी गरिएको छ ।

यस्तै, गलत विवरणका आधारमा राजस्वमा असर पार्ने कार्यमा संलग्न प्रतिवादीहरू हिमालय सिंह ऐर, हरिसिंह धामी र नरबहादुर शाहले सत्यतथ्य विवरण नदिई कबोल अङ्कमा गरेको सिफारिस विपरीत हुने गरी सम्झौता गराएको र साक्षीसमेत बसेको पाइएको छ । आयोगले ऐर र उपाध्यायविरुद्ध रु दुई करोड ११ लाख ६५ हजार छ सय आठ बराबरको बिगो दाबी गरेको छ ।

आयोगले भवानी कन्स्ट्रक्सनका सञ्चालकहरू केशवराज भट्ट, पुष्पराज भट्ट, सो कम्पनीका आधिकारिक प्रतिनिधि दिवाकर भट्ट, ईश्वरीप्रसाद भट्टको हकदार खगेश्वरी भट्टका विरुद्ध रु तीन करोड ३३ लाख २२ हजार पाँच सय ८३ बराबरको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

यसैगरी, आयोगले आजै कृषि विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख चन्द्रभूषण झा, हुम्ला अदानचुली गाउँपालिका–२ का वडाध्यक्ष दलबहादुर बुढा, सबइञ्जिनियर भीमबहादुर रोकायाविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कर्णाली प्रदेश सरकारको अनुदानबाट निर्माण हुने हाइटेक नर्सरी स्थापना र सञ्चालन गर्दा अनियमितता गरेको पाइएकाले उनीहरूविरुद्ध रु चार लाख ३८ हजार पाँच सय ५७ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ । आयोगले फलफूल प्रशोधन तथा भण्डार केन्द्रकी सञ्चालिका सुष्मा कार्की भण्डारीविरुद्ध पनि समान बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ चार दिने भ्रमणको लागि चीन जाँदै

काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जानुहुने भएको छ ।

आगामी मङ्गलवार चार दिने भ्रमणको क्रममा उहाँ चीन जान लाग्नु भएको हो ।  उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयका अनुसार ७ सदस्यीय टोलीसहित उहाँ चीनको छेन्दु सहरमा जान लाग्नुभएको हो । 

चीनको छेन्दुमा हुने एक व्यापार मेलामा विशेष अतिथिको रूपमा सहभागी हुनका लागि उपप्रधानमन्त्री श्रेष्ठ त्यसतर्फ जान लाग्नुभएको हो ।  उहाँको टोलीमा गृह मन्त्रालयका सहसचिवसहितको प्रतिनिधित्व रहने जनाइएको छ । 

उपप्रधानमन्त्री श्रेष्ठ चार दिन छेन्दु मा नै रहने, सो क्रममा त्यहाँको विश्वविद्यालयको अवलोकन तथा भ्रमण गर्ने लगायतको कार्यक्रम रहेको छ । 

उहाँ शुक्रवार स्वदेश फर्कनुहुनेछ ।

श्रमदानबाट पुल निर्माण गर्दै चितवनको इच्छाकामना गाउँपालिका

भरतपुर – चितवनको इच्छाकामना गाउँपालिकाले श्रमदानबाट पुल निर्माण सुरु गरेको छ । 

इच्छाकामना गाउँपालिका–७ को गर्दास र स्याङ्दी जोड्ने पुल श्रमदानबाट निर्माण गर्न सुरु गरिएको हो ।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले शनिवार श्रमदान गरेर पुल निर्माणको काम शुभारम्भ गर्नुभयो । उहाँले गाउँघरमा श्रमदान गरेर विकास निर्माणका काम गर्ने परम्परा हराउन थालेको भन्दै पालिकाले श्रमदानमा जुट्न स्थानीयलाई प्रोत्साहन गरेको बताउनुभयो । उहाँले श्रमदानका लागि जनप्रतिनिधि, कर्मचारी र स्थानीय बासिन्दालाई आह्वान गरिएको जानकारी दिनुभयो ।

“तीसदेखि ४० प्रतिशत श्रमदानबाट पुल निर्माणको काम गर्नेछौँ”, उहाँले भन्नुभयो, “प्राविधिक र निर्माण सामग्रीका लागि आवश्यक बजेट गाउँपालिकाले व्यवस्था गरेको छ ।” उहाँले पुल निर्माणका लागि गाउँपालिकाले रु १५ लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो । असार महिनाभित्र सम्पन्न गर्ने गरी काम अघि बढाइएको भन्दै उहाँले पालिकाले नियमित निगरानी गर्ने बताउनुभयो । 

यसअघि हरिपुर खोलामा राखिएको बेली ब्रिजको संरचना प्रयोग गर्ने गरी स्याङ्दी खोलमा पुल निर्माण गर्न लागिएको इच्छाकामना–७ का वडाध्यक्ष बमबहादुर रानामगरले जानकारी दिनुभयो । हरिपुर खोलामा अहिले पक्की पुल निर्माण भइसकेको छ । 

उहाँले बेली ब्रिज राख्नका लागि वडावासीले श्रमदान गर्ने बताउनुभयो । उहाँले पुल निर्माणपछि गर्दास र स्याङ्दीका बासिन्दा लाभान्वित हुने जानकारी दिनुभयो । हरेक वर्ष स्याङ्दी खोलामा आउने बाढीका कारण विद्यालय जाने विद्यार्थी र स्थानीयले सास्ती खेप्दै आउनुपरेको थियो । रासस

क्रिकेट टिमलाई अध्यक्ष ओलीको सान्त्वना : मेहनतका बाबजुद पनि परिणाम प्राप्त नहुन सक्छ निराश हुनु हुँदैन

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कहिलेकाहीँ मेहनतका बाबजुद पनि परिणाम प्राप्त नहुन सक्छ यसबाट निराश हुनु हुँदैन भन्दै नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सान्त्वना दिनुभएको छ । 

आइसिसी एक दिवसीय क्रिकेट विश्वकप अन्तर्गत नेपाली टिम नेदरल्यण्डसँग पराजित भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष ओलीले मेहनत जननी हो भने परिणाम शिशु भन्नुहुँदै परिणाम हामीले सोचेजस्तो नभए पनि नेपाली टिमको मेहनत कमजोर नभएको बताउनुभयो । 

उहाँले मेहनतका लागि धन्यवाद नेपाली क्रिकेट टिमलाई धन्यवाद दिनुहुँदै नेपाल फर्केपछि सँगसँगै खाना खाने गरी भेटौँला भन्नुभयो । 

अध्यक्ष ओलीले एउटा असफलता यात्राको अन्त्य होइन भन्नुहुँदै हाम्रो यात्रा जारी रहने बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ :
”यात्रा जारी छ !
हिजो मैले नेपाली टिम र नेदरल्याण्डबीचको खेल लाइभ हेरेँ। मोबाइलमा इन्टरनेट स्लो भएर केही डिस्टर्ब भयो, तैपनि हेरे। आइसिसी एक दिवसीय क्रिकेट विश्वकपमा सहभागी हुन त हामीले पाएनौँ। मेहनत जननी हो भने परिणाम शिशु। कहिलेकाहीँ मेहनतका बाबजुद पनि परिणाम प्राप्त नहुन सक्छ। यसबाट निराश हुनु हुँदैन। परिणाम हामीले सोचेजस्तो नभए पनि नेपाली टिमको मेहनत कमजोर थिएन। मेहनतका लागि धन्यवाद नेपाली क्रिकेट टिम!नेपाल फर्केपछि सँगसँगै खाना खाने गरी भेटौँला। एउटा असफलता यात्राको अन्त्य होइन, हाम्रो यात्रा जारी छ।” 

आज स्थानीय तहको बजेट आउँदै

काठमाडौँ – अधिकांश स्थानीय तहले आइतबार आगामी वर्षको नीति, कार्यक्रम र बजेट आआफ्नो सभामा पेस गर्दै छन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट आआफ्नो सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । उक्त कानुनी व्यवस्था अनुसार सबै स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आआफ्ना सभामा पेस गर्ने तयारी गरेका हुन् । 

७५३ मध्ये १० स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन् । बाँकी ७४३ स्थानीय तहले आइतबार बजेट सार्वजनिक गर्ने छन् ।बजेट ल्याउने स्थानीय तहमा कोशीका दुई, मधेशको एक, बागमतीको एक, गण्डकी प्रदेशका चार र सुदूरपश्चिम प्रदेशमा दुई छन् । 

सङ्घबाट प्राप्त हुने चार प्रकारका अनुदान र राजस्व बाँडफाँटबाट जाने रकम स्थानीय तहको बजेटको मुख्य स्रोतका रूपमा मानिन्छ । सङ्घीय सरकारले वार्षिक बजेटबाट स्थानीय तहलाई वित्तीय समानीकरण, ससर्त अनुदान, समपूरक विशेष अनुदान छुट्याएको हुन्छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि नै सबै स्थानीय तहलाई आगामी वर्षको नीति, कार्यक्रम र बजेट असार १० गतेभित्र आआफ्नो गाउँ र नगर सभामा पेस गर्न आग्रह गरिसकेको मन्त्रालयका प्रवक्ता कमल भट्टराईले जानकारी दिनुभयो। 

सङ्घीय सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र सबै स्थानीय सरकारले असार १० गतेभित्र अगामी वर्ष २०८०/८१ को नीति, कार्यक्रम र बजेट सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ। सङ्घीय र प्रदेश सरकारले भने यसअघि नै बजेट आआफ्नो सभामा पेस गरिसकेका छन्। 

स्थानीय तहलाई सङ्घीय र प्रदेश सरकारले समानीकरण अनुदान, राजस्व बाँडफाँटबाट प्राप्त अनुदान, विशेष र ससर्त अनुदान शीर्षकमा बजेट उपलब्ध गराएका छन्। उक्त बजेटका आधारमा र स्थानीय तहको आफ्नै आन्तरिक स्रोतलाई समेत आधार मानी स्थानीय तहले आगामी वर्षको नीति, कार्यक्रम र बजेट सभामा पेस गर्न लागेका मन्त्रालयले जनाएको छ।   

जसपा नेपालको विधान अधिवेशन आजबाट

काठमाडौँ – जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)को आजबाट विधान अधिवेशन सुरु हुदैँछ ।  

आजदेखि सुरु हुने विधान अधिवेशनको अन्तिम तयारी तथा मस्यौदा विधान अनुमोदनका लागि शनिवार केन्द्रीय समिति बैठक बसेको थियो । उक्त बैठकले मस्यौदा विधानलाई अनुमोदन गरेसँगै आजको विधान महाधिवेशनमा पेस हुन लागेको हो ।

सो पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार सो अधिवेशन आजदेखि नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सुरु हुनेछ । सङ्घीय परिषद् खारेज गरिएको प्रस्तावित विधानमार्फत जसपा नेपाल पुनः एकल नेतृत्वतर्फ फर्किँदै छ ।  

विधान अधिवेशनमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ सङ्गठन लगायतबाट देशभरि तथा प्रवाससमेत गरी करिब ८०० प्रतिनिधिहरू सहभागी हुदैँछन ।  

विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रस्तुत हुनेछ । ११ गते यसरी सहभागी भएका प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिनेछ । र, १२ गते  विधानमाथि नेताहरूले धारणा राख्ने गरी कार्य तालिका बनाइएको छ ।

पटक पटक सर्दै आएको सो विधान अधिवेशन यसअघि चैत्र २७, २८ र २९ गते गर्ने निर्णय गरेको थियो ।

मुसहर र डोम समुदायको घर–घरमै पुगेर स्वास्थ्य बीमा

कटारी – उदयपुरको कटारी नगरपालिका–४ का विपन्न मुसहर र डोम समुदायलाई उनीहरुको घरमै पुगेर निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । शनिबारसम्ममा वडाका १९ मुसहर र ११ डोम समुदायका विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको कटारी अस्पतालका स्वास्थ्य बीमाको सहजीकरण गर्दै आएका कर्ण राईले बताउनुभयो ।

सरकारको स्वास्थ्य बीमा बोर्डअन्तर्गत विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिएर सहज र सहुलियतरूपमा उपचारका पहुँच पुर्याउने उद्देश्य रहेको छ । मुसहर र डोम समुदायले यसका बारेमा जानकारी नपाउँदा सेवा लिन नसकेकाले घरमै गएर जानकारीसहित बीमा गरिदिएको उहाँले जानकारी दिनुभयो । “ उपचार गर्ने पैसा मुसहर र डोमसँग हुँदैन, यो सरकारी सेवाको पहुँचमा पुर्याए कम्तीमा वर्षमा रु एक लाखसम्मको उपचार सरकारले गरिदिन्छ”, सहजकर्ता राईले भन्नुभयो, “उपचारका लागि गुहार मागि हिँड्छन् यति गरेपछि सरकारले उपचार सेवा दिन्छ ।”

बीमाका बारेमा कुनै पनि जानकारी नभएकाले बिरामी हुँदा घरमै बस्ने गरेको बताउँदै कटारी–४ मुसहर टोलका भरत मुसहरले अब भने बिरामी परे अस्पताल जाने बताउनुभयो । “हामीलाई केही थाहा नै थिएन, अस्पताल जान पैसा हुँदैन थियो, निःशुल्क उपचार पनि पाइने बल्ल थाहा भयो ।” उहाँले शनिबार छ परिवारका सदस्यसहितको स्वास्थ्य बीमा गराउनुभयो ।

सात परिवारका सदस्य बुद्धि मुसहरले पनि बल्ल सेवाबारे थाहा पाएको जनाउँदै आगामी दिनमा उपचारका लागि अस्पताल जाने बताउनुभयो । छ परिवारका स्वास्थ्य बीमा गरिदिएपछि भलवा मुसहरले अस्पताल जाने बाटो खुलेको बताउनुभयो । “पैसाबिना पनि उपचार हुने रहेछ बल्ल थाहा भयो”, उहाँले भन्नुभयो ।

वडाध्यक्ष तथा कटारी अस्पताल विकास समितिका अध्यक्षसमेत रहनुभएका भूपेश तामाङले वडामा रहेका लगभग ४०–५० घर विपन्न परिवारका मुसहर, डोम समुदायको स्वास्थ्य बीमा गराइरहेको जनाउँदै आगामी वर्ष बजेट नै छुट्याएर सबैलाई बीमाको पहुँचमा पुर्याउने बताउनुभयो । वडाका बीमा दर्ता सहयोगी सानुमाया तामाङले स्वास्थ्य बीमा बोर्डका मापदण्डअनुसार उनीहरूको बीमा गरिदिनुभएको हो ।

स्वास्थ्य बीमा बोर्डका अनुसार विपन्न, ज्येष्ठ नागरिक, ‘क’ वर्गको अपाङ्गता भएका, कुष्ठरोग, एचआइभी पोजिटिभ, क्षयरोगलगायतका बिरामीलाई निःशुल्क एकपटक बीमा गरेपछि सधँैका लागि बर्सेनि रु एक लाख बराबरको उपचार सेवा निःशुल्क गर्ने गरेको छ । त्यसैगरी अन्यको हकमा भने प्रतिपरिवार पाँच सदस्यका लागि वर्षको रु तीन हजार पाँच सय र थप परिवार सदस्य रु सात सयले बीमा गरिदिए थप रु एक लाखमा २० हजार बराबरको उपचार सेवा निःशुल्क पाइने छ ।

सरकारले तोकेका सरकारी अस्पतालले स्वास्थ्य बीमा कार्ड देखाएपछि निःशुल्क उपचार गर्ने गरेको छ । बीमाबारे जानकारी नभएकालाई घरमै पुगेर बीमा गरिदिए अप्ठ्यारोमा परेका बेला स्थानीय निकायसम्म सहयोग माग्न आउनेलाई उपचारमा सहज होस् भन्ने उद्देश्यले बीमा गरिदिएको वडाध्यक्ष तामाङले बताउनुभयो । कटारीमा बीमा गराएकाले कटारी अस्पताल र यहाँबाट सिफारिस गरेका अस्पतालमा निःशुल्क रु एक लाखसम्मको उपचार सेवा पाउनेछन् ।

हेवाखोला तर्न तुइन र फड्केको सहारा

पाँचथर – ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापासहित ताप्लेजुङका व्यवसायी, नागरिक सङ्घसंस्थाका प्रतिनिधिको टोली शनिबार पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमामा अवस्थित हेवाखोला आइपुग्यो । टोलीले हेवाखोलामा बाढीले बगाएका संरचनाको अवलोकन गर्नुका साथै डाइभर्सनसहितका संरचना निर्माणबारे चासो राख्यो ।

“पाँचथरमा सबै जना लागेर छिटो डाइभर्सन बनाइदिनुपर्यो”, अध्यक्ष थापाले पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज घिमिरेसहित हेवाखोलामा भेटिएका पाँचथरवासीलाई भन्नुभयो, “ताप्लेजुङमा खाद्यान्न अभाव हुन थालिसक्यो । डाइभर्सन र बेलीब्रिज निर्माणमा तदारुकता चाहियो ।”

वर्षायामका लागि पहाडी र हिमाली क्षेत्रका नागरिकले खाद्यान्नको जोहो गर्नै नपाई खाद्यान्न आपूर्ति रोकिएपछि ताप्लेजुङका खाद्य सामग्रीको अभाव हुन लागेको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष थापाको भनाइ छ । यही असार २ गते राति आएको बाढीले हेवाखोलामा पर्ने मेची राजमार्गको सडक पुल र तमोर करिडोरको बेलीब्रिज बगाएपछि ताप्लेजुङ जिल्ला र पाँचथरकै दुई गाउँपालिकासँग सडक सम्पर्क टुटेको छ । तर एक साता बितिसक्दा पनि हेवाखोलामा डाइभर्सन निर्माण हुनसकेको छैन ।

विगत तीन दिनदेखि हेवाखोलामा पानीको सतह निकै घटेको छ । पाँचथर उद्योग वाणिज्य सङ्घसहितका निकायको अगुवाइ तथा सुरक्षा निकायको सक्रियतामा हेवाखोलामा तुइन निर्माण गरिएको छ । मेची राजमार्गमा हेवाखोलाको वारिपारि दुईतर्फ रहेका सवारीका साधनले यात्रुलाई गन्तव्यमा पुर्याइरहेका छन् । तुइनको माध्यमबाट खोला पार गर्दै आएका यात्रुले आजबाट भने बाँसको फड्केबाट खोला तर्न पाएका छन् । राष्ट्रिय युवासङ्घ पाँचथरसहितका निकायले फड्के निर्माणका लागि बाँसको प्रबन्ध गरिदिएपछि नेपाली सेनाले फड्के निर्माण गरेको हो ।

तर छोटो समयमै सम्पन्न हुने डाइभर्सन निर्माणको कार्य एक साता बित्न लाग्दा पनि पूरा नहुँदा जिल्लाको हिलिहाङ र याङ्वरक गाउँपालिकावासी तथा ताप्लेजुङ जिल्लावासीले समस्या भोग्दै आएका छन् । बिरामीलाई बोकेर खोला तार्नुपर्ने स्थिति छ भने सागसब्जी, दुग्धजन्य पदार्थको निर्यातमा समस्या भएको छ । खाद्यान्नको अभाव हुन लागिसक्दा पनि पाँचथरतर्फबाट यथेष्ट चासो नदिइएकामा ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष थापाले गुनासो पोख्नुभयो ।

डाइभर्सन निर्माणका लागि सडक डिभिजन कार्यालय इलामका प्राविधिक, सुरक्षाकर्मी, फिदिमका केही निर्माण व्यवसायी, पाँचथर उद्योग वाणिज्य सङ्घसहित सामाजिक क्षेत्रका अगुवाको सक्रियता देखिन्छ । तर चाँडो काम सम्पन्न गराउन सीमा जोडिएका फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाका जनप्रतिनिधि, प्रशासनिक कर्मचारीलगायतले निरन्तर सहयोग र समन्वय नगरिदिएको प्राविधिक गुनासो गर्छन् ।

पानीको सतह घटेको तीन दिन बितिसक्दा डाइभर्सन निर्माणका लागि शनिबार आठवटा ह्युमपाइप ल्याइएको छ । यस्तै डाइभर्सन निर्माण स्थलसम्म सडक विस्तार भएको छ । प्राविधिकको सल्लाहबमोजिम १२ ह्युमपाइप राखेर डाइसर्भन निर्माण गर्न लागिएको हो । तर बाँकी रहेका ह्युमपाइप ल्याउन र संरचना निर्माण गर्न कति समय लाग्छ भन्ने अझै यकिन छैन् ।

यसअघि सडक पुल रहेको मेची राजमार्गमै बेलीब्रिज निर्माणका लागि संरचना निर्माणको कार्य असार ४ गतेदेखि जारी छ । सडक डिभिजन कार्यालय इलामका इन्जिनियर विपिन ढुङ्गानाका अनुसार बेलीब्रिज निर्माण कार्य सुरुआत भएको १५ दिनमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तर सो कार्य अहिलेकै गतिमा अघि बढे एक महिनामा पनि सम्पन्न हुन कठिन छ । बाढीले पुल बगाएर जनजीवन प्रभावित बने पनि समस्याको तत्कालीन र दीर्घकालीन हल खोज्न समन्वयकारी निकायको भूमिका कमजोर देखिएको छ ।

बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु, एक घाइते

ढोरपाटन – बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।  

ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिवार राति ९ बजे चट्याङ पर्दा उनको छ वर्षीय दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो ।

चट्याङ लागेर  चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । 

चट्याङले घर नजिकै बाँधेको एक भैँसीसमेत मरेको प्रनाउ केसीको भनाइ छ । घाइते यमकुमारीलाई उद्धार गरी अस्पताल पठाइएको उहाँले बताउनुभयो ।

प्रतिनिधिसभा बैठक: आजबाट बजेटमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने

काठमाडौँ – आज प्रतिनिधिसभा बैठक बस्दै छ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ः०० बजे प्रतिनिधिसभा बैठक बस्न लागेको हो । 

आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे छलफल हुनेछ।

आजको बैठकबाट सांसदहरूले सोधेको प्रश्नको जवाफ मन्त्रीहरूले दिने कार्यको सुरुवाती हुनेछ ।  जसअनुसार गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधि मन्त्रीले विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

गत असार ८ गतेको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत आजको प्रतिनिधिसभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह, रक्षा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमाथिको छलफल सकिएको थियो ।

ललितपुर महानगरको पुँजीगत खर्च ४० प्रतिशत

पाटन – ललितपुर महानगरपालिकाले चालु आर्थिक २०७९/८० को जेठ मसान्तसम्म ४० प्रतिशतमात्रै पुँजीगत खर्च गरेको छ । महानगरका सूचना अधिकारी देव गुरागाईँका अनुसार ललितपुरले जेठ मसान्तसम्म पुँजीगततर्फ रु दुई अर्ब सात करोड बजेटमात्रै खर्च गर्न सफल भएको हो । यो महानगरको वार्षिक पुँजीगत बजेट रु पाँच अर्ब १९ करोड ३५ लाखको ४० प्रतिशत हो ।

गत असारमा कुल बजेट रु छ अर्ब ३५ करोड ३५ लाख तीन हजार पारित भएको थियो । उक्त बजेटको संशोधन गर्दै २०७९ पुसमा सम्पन्न दोस्रो नगरसभाले रु एक अर्ब १५ करोड पूरक बजेट थप गरेको थियो । गत असारको नगरसभामा पुँजीगततर्फ रु चार अर्ब आठ करोड ७३ लाख ४९ हजार पारित गरेकामा पुसको नगरसभाबाट रु एक अर्ब १० करोड ३५ लाख पूरक बजेट थप गरी रु पाँच अर्ब १९ करोड ३५ लाख पुर्याएको सूचना अधिकारी गुरागाईँले जानकारी दिनुभयो ।

त्यस्तै आन्तरिक आयतर्फ ललितपुरले ८५ प्रतिशत उपलब्धि हासिल गरेको छ । आन्तरिक र राजस्व बाँडफाँटबाट प्राप्त हुनेसमेत गरी रु दुई अर्ब ४० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको महानगरले आन्तरिकतर्फ जेठ मसान्तसम्म रु एक अर्ब १५ करोड सङ्कलन गर्न सफल भएको राजस्व महाशाखा प्रमुख प्रेमबहादुर थापाले जानकारी दिनुभयो । थापाका अनुसार महानगरले यस वर्ष आन्तरिक र राजस्व बाँडफाँटबाट प्राप्त हुनेसमेत गरी कुल रु दुई अर्ब ४० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । आन्तरिकतर्फ रु एक करोड ३५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको हालसम्म उठेको रकम ८५ प्रतिशत हो ।

अघिल्लो आर्र्थिक वर्षमा रु दुई अर्ब ६७ करोड राजस्व सङ्कलन गरेको महानगरले आन्तरिकतर्फ रु एक करोड ४५ लाख राजस्व सङ्कलन गरेको थियो ।

कस्तो छ आजको मौसम ?

काठमाडौँ – हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ । 

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै कोसी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।  

दिउँसो देशभर सामान्य बदली रहनेछ।  बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।  

राती भने देशभर सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको  पनि सम्भावना रहेको छ। 

देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ।

भारी वर्षा र मेघ गर्जन / चट्याङका कारणले हुनसक्ने बाढी, पहिरो, डुबान, भू-क्षय तथा गेग्र्यान बहावका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०८० आषाढ १० गते (आइतबार) 
दिउँसो:
  देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ।  बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।  
राती: कोसी र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा सामान्य देखि पूर्णतया बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको  पनि सम्भावना रहेको छ।

२०८० आषाढ ११ गते (सोमबार) 
दिउँसो:
  देशभर सामान्य बदली रहनेछ।  बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको  पनि सम्भावना रहेको छ।
राती: कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी,  बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका  थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। 

२०८० आषाढ १२ गते (मङ्गलवार) 
दिउँसो:  
देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।  बागमती र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन /चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको  पनि सम्भावना रहेको छ।
राती: कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी,  गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

शिक्षण संस्था राजनीतिको थलो बन्नु हुँदैन : प्रदेश प्रमुख शेरचन

भरतपुर – लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शिक्षण संस्थाहरु राजनीतिको थलो बन्न नहुने बताउनुभएको छ ।

भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको तेस्रो क्याम्पस सभालाई आज सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले शिक्षण संस्थामा शिक्षक र विद्यार्थीको राजनीतिक आस्था फरक–फरक भए पनि राजनीतिक स्वार्थ पूरा गर्न संस्थालाई राजनीतिको थलो बनाउन नहुने बताउनुभएको हो ।

प्रमुख शेरचनले भन्नुभयो, “आजको युग प्रतिस्पर्धाको युग भएकाले विश्व बजारमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादनमा सबै शिक्षण संस्थाको ध्यान जानुपर्छ । विकसित देशले चन्द्रमाबाट माटो ल्याइसके । खेती गर्ने योजना बनाइसके तर हामी भने चन्द्रमाको पूजा गरेर बसिराखेका छौँ । अब उपनिवेशवादी शिक्षा नीतिलाई बदलेर प्रविधिको युगमा प्रवेश गर्नुपर्छ ।”

प्रमुख शेरचनले पछिल्लो राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै अहिले सबैले युवा युवा भन्ने गरेको तर पुराना र नयाँबीचको अनुभवको आदानप्रदानबाट मात्र देश सही ढङ्गले अगाडि बढ्न सक्ने विचार राख्नुभयो ।

उहाँले भन्नुभयो, “होस नभई जोसले मात्र युवा अगाडि बढे भने देश कता पुग्छ ठेगान हुन्न । म आफू ८१ वर्ष भए पनि युवा जोसले नै काम गरिरहेको छु ।”

उहाँले देशमा भ्रष्टाचार बढ्दै गइरहेको विषयमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “म स्वास्थ्यमन्त्री भएर काम गर्दा पनि कमिसनको पोको आउने गर्दथ्यो । मैले त्यो पैसा उपचार कोषमा जम्मा गर्दथेँ । पाँच प्रतिशत कमिसन तपाईंकै हो भन्दै पैसा बोकेर आउने गर्दथे । अहिलेका स्वास्थ्यमन्त्री के गरिरहेका छन् मलाई थाहा छैन ।”

कार्यक्रममा बागमती प्रदेशसभा विपक्षी दलका नेता जगन्नाथ थपलियाले विगतमा आफूहरुले चितवनका क्याम्पसमा विद्यार्थीको सङ्ख्या र पहुँच खोजेको तर अब भने शैक्षिक गुणस्तर बढाउनुपर्नेमा जोड दिनुभयो । “विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादनमा ध्यान दिनुपर्छ । आजको युग सूचना प्रविधिको युग भएकाले सोहीअनुसारको शिक्षा आवश्यक छ”, उहाँले भन्नुभयो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष टेकबहादुर थापाको अध्यक्षतामा भएको उद्घाटन सत्रमा सप्तगण्डकी बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख प्राडा भीमराज अधिकारी, पूर्वप्रदेशमन्त्री घनश्याम दाहाल, संविधानसभा सदस्य कृष्णभक्त पोखरेल, प्रदेश सांसद ईश्वर सापकोटा, पूर्वक्याम्पस प्रमुख बालकृष्ण पौडेल, भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनाललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा सप्तगण्डकी जर्नलको पनि विमोचन गरिएको थियो । सप्तगण्डकी क्याम्पस अनुसन्धान व्यवस्थापन सेलले प्रकाशन गरेको यो जर्नलमा ११ वटा अनुसन्धानमूलक लेखहरु सङ्ग्रहित गरिएको छ ।