`

चट्याङ लागेर दुई जनाको मृत्यु

दाङ – दाङमा चट्याङ लाग्दा दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीका अनुसार फरक–फरक ठाउँमा चट्याङ पर्दा दङ्गीशरण गाउँपालिकाका दुई जनाको मृत्यु भएको हो ।

उहाँका अनुसार दङ्गीशरण–३ चखौरा बस्ने ३७ वर्षीय रामनारायण चौधरी र दङ्गीशरण–६ निवासी ३२ वर्षीय समिर केसीको मृत्यु भएको हो । चौधरीले आफ्नै बारीमा तरकारी टिपेर फर्किने क्रममा दङ्गीशरण–६ स्थित गोरु बाँध्न बनाएको छाप्रोमा ओत लागिरहेको अवस्थामा आज साँझ साढे ६ बजेतिर चट्याङ लागेको हो ।

त्यस्तै केसीलाई अपराह्न ५ बजेतिर बागरस्थित खेतबाट घाँस लिँदै गरेको अवस्थामा चट्याङले लागेको थियो । उनीहरू दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

पूर्व सभापति लामाको निधनप्रति कांग्रेसद्धारा दुःख व्यक्त

काठमाडौँ – नेपाली कांग्रेसले पार्टी सिन्धुपाल्चोकका पूर्वसभापति विकास लामाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले आज शोक विज्ञप्ति जारी गरी सिन्धुपाल्चोकका निवर्तमान सभापति लामाको गए राति वीर अस्पतालमा उपचारका क्रममा भएको निधनप्रति गहिरो दुःख व्यक्त गरेको हो ।

स्व लामाको पार्थीव शरीरलाई श्रद्धाञ्जलिका लागि बौद्धको तीनचुलेस्थित ह्याल्मो गुम्बामा राखिने र भोलि बिहान ११ः०० बजे सोही गुम्बाबाट शवयात्रासहित काठमाडौँको जोरपाटीस्थित जम्बोडाँडामा अन्त्येष्टी गरिने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

विसं २०१६ असोजमा जन्मनुभएका लामा ब्लड क्यान्सरबाट पीडित हुनुभएको र केही समयअघि थाइल्यान्डमा उपचार गराएर नेपाल फर्कनुभएको थियो । स्व लामाले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

लामाको निधनले कांग्रेसले एक होनाहार सङ्गठनकर्तालाई गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको कांग्रेसले जनाएको छ ।

लामाको निधनप्रति कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नुभएको छ । “नेपाली कांग्रेसका निवर्तमान जिल्ला सभापति लामाको निधनको खबरले मलाई अत्यन्त दुःखित बनाएको छ, कांग्रेस सिन्धुपाल्चोकको नेतृत्वदायी भूमिकामा रहेर पार्टीको सङ्गठन निर्माण र लोकतान्त्रिक आन्दोलनमा स्व लामाले पुर्याउनुभएको सक्रिय योगदानप्रति उच्च सम्मान प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु”, सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सभापति देउवाले दिवङ्गत आत्माको चीर शान्तिको कामनासाथ शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगततर्फबाट हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

प्रदेश सञ्चार विधेयक स्वतन्त्रताविरोधी हुँदैन : मुख्यमन्त्री पाण्डे

पर्वत – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वतन्त्र र निष्पक्ष पत्रकारिता नै लोकतन्त्रको बलियो आधार भएको बताउनुभएको छ ।

नेपाल प्र्रेस युनियन पर्वतको छैटौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले राष्ट्रको चौथो अङ्गका रुपमा रहेको पत्रकारिता पेसाले समाज र राष्ट्रलाई सही दिशामा हिँडाउन खबरदारी गरिरहेको बताउनुभयो । उहाँले पत्रकारिता पेसा निष्पक्ष र स्वतन्त्र तथा तटस्थ नभए लोकतन्त्र नै सङ्कटमा पर्ने बताउनुभयो ।

उहाँले पछिल्लो समय केही सीमित सञ्चारकर्मीका कारण सिङ्गो प्रेस आलोचित बन्दै गएको बताउँदै यसलाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले ल्याउन लागेको सञ्चार विधेयक स्वतन्त्रताविरोधी नहुने स्पष्ट पार्नुभयो । उहाँले सञ्चार विधेयक ल्याएर प्रदेशका सबै सञ्चारमाध्यम र सञ्चार क्षेत्रको व्यवस्थापनमा सरकार लागेको बताउँदै विधेयकमा सञ्चारमाध्यमलाई कुनै अङ्कुश नलगाइने बताउनुभयो । उहाँले अन्य क्षेत्र जस्तै सञ्चार जगत्मा पनि नियमनको आवश्यकता रहेको उहाँको भनाइ छ ।

मुख्यमन्त्री पाण्डेले सीमित स्रोत र साधनका बीच प्रदेशको बजेट सबै जिल्लामा पहुँच पुग्नेगरी वितरण गरिएको दाबी समेत गर्नुभयो । प्रदेशका ११ जिल्लाबाट छनौट भएर आएका अधिकांश योजनालाई प्राथमिकताका आधारमा बजेट विनियोजन गरिएको उहाँको भनाइ छ ।

कार्यक्रममा प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले आम सञ्चार क्षेत्रको विकास र प्रवद्र्धनमा तीनै तहका सरकार उदार हुन नसकेको बताउनुभयो । उहाँले सञ्चारमाध्यमको विकास र विस्तारबाट मात्रै यो मुलुकको लोकतन्त्र संस्थागत हुने बताउँदै यसको सङ्कुचनमा नलाग्न आग्रह गर्नुभयो ।

सो अवसरमा हरि मखमली प्रेस युनियन पत्रकारिता पुरस्कारबाट स्थानीय र राष्ट्रियस्तरका गरी १० जना पत्रकारलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशी, कांग्रेस पर्वतका सभापति युवराज जोशी, प्रदेश सांसद डिल्लीराम सुवेदी, रेखा गुरुङ, कांग्रेस पर्वतका पूर्वसभापति नवराज गुरुङ, पूर्वजिल्ला सचिव विश्वप्रकाश प्रसाईँ, प्रेस युनियनका केन्द्रीय सदस्य माया अधिकारी, पत्रकार महासङ्घ पर्वतका अध्यक्ष सन्तोष थापा, टे«ड युनियन कांग्रेसका अध्यक्ष सुरेन्द्र केसीलगायतले आफ्ना भनाइ राख्नुभयो ।

अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

परिसङ्घको अध्यक्षमा अग्रवाल निर्वाचित

काठमाडौँ – नेपाल उद्योग परिसङ्घको अध्यक्षमा राजेशकुमार अग्रवाल चयन हुनुभएको छ । परिसङ्घको २०औँ वार्षिक साधारणसभाले अग्रवाललाई अध्यक्षमा निर्वाचित गरेको हो । अग्रवाल विगत डेढ दशकदेखि परिसङ्घको राष्ट्रिय परिषद् सदस्य, उद्योग समिति सभापति, राजस्व समिति सभापति, रोजगारदाता परिषद् संयोजक हुँदै परिसङ्घको उपाध्यक्ष बन्नुभएको थियो ।

काठमाडौँमा जन्मनुभएका अग्रवाल सन् १९९२ देखि उद्योग क्षेत्रमा हुनुहुन्छ । आरएमसी गु्रपका कार्यकारी निर्देशकसमेत रहनुभएका अग्रवाल सिमेन्ट, स्टिल, खाद्यलगायतका क्षेत्रमा आबद्ध हुनुहुन्छ । परिसङ्घका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवालले नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाललाई शपथग्रहण गराउनुहुँदै पदभार हस्तान्तरण गर्नुभयो ।

आज यहाँ सम्पन्न वार्षिक साधारणसभाबाट परिसङ्घको राष्ट्रिय परिषद् सदस्यमा सञ्जय गोल्छा, राजबहादुर शाह, विदुषी राणा, अजितविक्रम शाह, हेमराज ढकाल, आशिष अग्रवाल जजोडिया, मनिष खेम्का, द्विराज शर्मा (शिवाकोटी), धु्रवप्रसाद रिजाल, वर्षा श्रेष्ठ, हितेश गोल्छा, आशिष गर्ग, सपना सापकोटा, वीरेन्द्रराज पाण्डे निर्वाचित हुनुभयो ।

यसैगरी लक्ष्मीप्रसाद सुवेदी, गोकुल भण्डारी, सन्दीप शारदा, मोहित केडिया, अमित मोर, अमितकुमार बेगानी, चन्द्र टण्डन, रोहित गुप्ता, निर्वाण चौधरी, वरुणकुमार तोदी, राहुलकुमार अग्रवाल, शरदकुमार टिवडेवाला, विक्रम सिङ्घानीया, मिलनबाबु मल्ल, दीपक अग्रवाल, विशाल अग्रवाल, सौरभ दुगड, विकास दुगड, दिलीप अग्रवाल, गोपालकुमार अग्रवाल, आदित्य सङ्घाई निर्वाचित हुनुभयो ।

निर्वाचित राष्ट्रिय परिषद् सदस्यहरूबाट सर्वसम्मतरूपमा सात जना उपाध्यक्ष चयन हुनुभएको छ । परिसङ्घको उपाध्यक्षमा निर्वाण चौधरी, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेमराज ढकाल, रोहित गुप्ता, अमित मोर र भीम घिमिरे चयन हुनुभएको छ । अमित मोर र भीम घिमिरे पहिलोपटक परिसङ्घको उपाध्यक्ष बन्नुभएको हो । यसैगरी परिसङ्घको स्थायी आमन्त्रित सदस्यमा सन्दीप शारडा, गोकुल भण्डारी र छायाँ शर्मा मनोनित हुनुभएको छ ।

परिसङ्घ अध्यक्षको पदभार ग्रहण गर्नुहुँदै अध्यक्ष अग्रवालले परिसङ्घले विगतदेखि हासिल गर्दै आएका उपलब्धिलाई संस्थागत गर्दै थप नयाँ उचाइमा पुर्याउन सक्रियरूपमा लाग्ने बताउनुभयो । उहाँले सरकारका छिटो–छिटो परिवर्तन हुने नीति नियम, चर्को ब्याजदर, समग्र मागमा आएको कमी, उत्पादनमा कमी, घट्दो मनोबल तथा नयाँ लगानीका योजनाहरू स्थगनलगायतका निजी क्षेत्रले भोगिरहेको समस्या समाधानका लागि प्रभावकारीरूपमा प्रस्तुत हुने बताउनुभयो । उहाँले निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाललाई सफल कार्यकालका लागि बधाई ज्ञापन गर्नुभयो । परिसङ्घको साधारणसभा शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको थियो ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले कर्मचारी कटौती गर्ने

बागमती – आर्थिक अभाव भएको भन्दै हेटौँडामा सञ्चालित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राविधिक चिकित्सकसहित एकसय ४४ प्राविधिक र प्रशासनिक कर्मचारी कटौती गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानको कार्यकारी परीषद्को बैठकले बजेट अभावका कारण आगामी आर्थिक वर्षमा तलव र भता वितरण गर्न नसक्ने भन्दै चालु आवमा नियुक्त गरिएका कर्मचारी हटाउने निर्णय गरेको हो ।

प्रतिष्ठान र हेटौँडा अस्पतालका लागि सङ्घीय र प्रदेश सरकारले चालु आवको तुलनामा आगामी आर्थिक वर्षमा कम बजेट विनियोजन भएकाले तलब र भत्ता वितरणमा समस्या हुने भएको प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईँले बताउनुभयो ।

प्रदेश सरकारले चालु आवको तुलनामा आगामी आर्थिक वर्षका लागि प्रतिष्ठानको रु सात करोड १९ लाख बजेट कम अर्थात रु १२ करोड ३२ लाख बजेट विनियोजन गरेको छ ।

कटौती हुनेमा एमबीबीएस डाक्टर १५ जना, आर्युवेद चिकित्सक एक, फार्मासिस्ट, रेडियोलोजिस्ट, ल्याव टेकनिसियनलगायत प्रविधिक कर्मचारीगरी एक सय तीन जना र प्रशासनमा २५ कर्मचारी छन् । साथै सरसफाइमा कार्यरत ३५ र सुरक्षातर्फ खटाइएका २५ कर्मचार पनि कटौती गरिने भएको छ ।

जसपाद्वारा पाँच जना केन्द्रीय सदस्य निष्काशन गर्ने निर्णय

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीका पाँच जना केन्द्रीय सदस्यलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ ।
आजको बैठकले विसं २०७९ मङ्सिरमा सम्पन्न भएको निर्वाचनमा अन्तर्घात गर्ने पार्टीका केन्द्रीय सदस्य दीपेन्द्र नेम्वाङ, देउकुमार नेम्वाङ, महेन्द्र चौधरी, मनोेरञ्जन गोइत र धर्मेन्द्र मरवैतालाई पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार छानबिन समितिको प्रतिवेदनको सिफारिसअनुसार पाँच जनलाई पार्टीबाट निष्काशन गरिनुका साथै पार्टीका केही केन्द्रीय नेताहरूलाई नसिहत दिने निर्णय भएको छ । कारबाहीको निर्णयउपर चित्त नबुझेमा सम्बन्धित व्यक्तिले १५ दिनभित्र पार्टीको अनुशासन आयोगमा निवेदन दिनसक्ने सो पार्टीले जनाएको छ ।

यसैगरी आजको बैठकले विधानको मस्यौदालाई अनुमोदन गरेको छ । उक्त अनुमोदित विधानको मस्यौदा भोलि आइतबारदेखि सुरु हुने विधान अधिवेशनमा प्रस्तुत हुने जनाइएको छ । सशस्त्र जनयुद्ध, जनआन्दोलन र मधेस जनविद्रोहजस्ता राजनीतिक सङ्घर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षार्थ गठित पार्टी सम्बद्ध समाजवादी मोर्चालाई पार्टीको केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको केन्द्रीय प्रचार विभाग प्रमुख बस्नेतले बताउनुभयो ।

केन्द्रीय कार्यकारिणी समिति र राजनीतिक समितिका बैठकले गरेका यसअघिका निर्णयलाई समेत आजको बैठकले अनुमोदन गरेको जनाइएको छ । आइतबारको बैठकमा केन्द्रीय समितिका चार सय २३ सदस्य साथै प्रदेश समिति, राष्ट्रिय समिति, विषेश प्रदेश समिति, जिल्ला समिति, महानगर, भातृ सङ्गठन तथा केन्द्रीय समितिबाट मानोनित हुने १० जना सहित सात सय ७८ प्रतिनिधि सहभागी हुने सो पार्टीले जनाएको छ । यसरी सहभागी भएका प्रतिनिधिलाई ११ वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल हुने जनाइएको छ ।

नेपाल नेदरल्यान्डस्सँग पराजित

काठमाडौँ – आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाल नेदरल्यान्डस्सँग पराजित भएको छ । यो हारसँगै नेपाल सुपर सिक्समा पुग्ने सम्भावना टुङ्गिएको छ ।

जिम्बावेको हरारेस्थित ताकासिङगा स्पोर्ट क्लबको मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल नेदरल्यान्डस्सँग सात विकेटले पराजित भएको हो । जितसँगै नेदरल्यान्डस् भने सुपर सिक्समा प्रवेश गरेको छ ।

त्यस्तै यस खेलसँगै समूह ‘ए’ बाट सुपर सिक्समा पुग्ने टोलीको टुङ्गोसमेत लागेको छ । समूह ‘ए’ मा रहेको नेपाल र अमेरिका प्रतियोगिताबाट बाहिरिएका छन् भने नेदरल्यान्डस्, जिम्बावे र वेस्टइन्डिज प्रतियोगिताको सुपर सिक्समा प्रवेश गरेका छन् ।

नेदरल्यान्डस्को जितमा म्याक्स ओडाउडले ७५ बलमा आठ चौका र छ छक्कासहित ९० रन बनाए । त्यस्तै साव डि लिडेले ४१ रन र विक्रमजित सिंहले ३० रन बनाए । नेपालका सन्दीप लामिछानेले दुई विकेट र गुल्सन झाले एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै एक सय ६७ रनको योगफल बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ३३, कुशल भुर्तेल र सन्दीप लामिछानेले समान २७–२७, भीम सार्कीले २२, गुल्सन झाले १५, दीपेन्द्रसिंह ऐरीले १४ र कुशल मल्लले १२ रन बनाए ।

नेदरल्यान्डस्का लागि लागन भान विकले चार विकेट लिए भने विक्रमजित सिंह र बास डि लिडेले समान दुई/दुई विकेट हात पारे । त्यस्तै क्लेटन फ्लोयड र आर्यन दत्तले समान एक–एक विकेट लिए ।

नेपाल यसअघि जिम्बावेसँग आठ विकेट र वेस्टइन्डिजसँग एक सय एक रनको फराकिलो अन्तरले पराजित भएको थियो । त्यस्तै नेपालले अमेरिकालाई भने ६ विकेटले पराजित गरेको थियो ।

यसअघि जिम्बावेसँग छ विकेटले पराजित नेदल्यान्डस्ले अमेरिकालाई पाँच विकेटले हराएको थियो । समूह चरणको आफ्नो अन्तिम खेल सोमबार नेदरल्यान्डस्ले वेस्टइन्डिजसँग खेल्नेछ ।

नेपालगन्ज उपमहानगरको बजेट रु एक अर्ब ६७ करोड ५६ लाख

नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिकाले सामूहिक बस्ती विकास गर्ने योजना अघि सारेको छ । बसोबासलाई व्यवस्थित गर्न रिङरोडको विकाससँगै आसपासका जग्गाको ‘ल्यान्डपुलिङ’मार्फत जग्गा विकास गर्ने योजना उपमहानगरको छ ।

उपमहानगरपालिकाको १३औँ नगरसभामा आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख प्रशान्त विष्टले नगर विकासलाई विशेष प्राथमिकता दिएको बताउनुभयो । वर्षाको समयमा हुने डुबान कम गर्नका लागि नालीको प्रभावकारीरूपमा सरसफाइ तथा व्यवस्थापन गर्ने र नेपालगन्जको ऐतिहासिक कला, संस्कृति झल्किने गरी नयाँ योजना ल्याइने नीति कार्यक्रममा उल्लेख छ ।

आधुनिक प्रविधिको प्रयोग गरी कागजको प्रयोग घटाउँदै लगिने र नागरिकका लागि सहज अनलाइन सेवाको विकास गर्नुका साथै ‘डिजिटलाइज्ड’ सेवा प्रदान गर्ने विषयलाई समेत प्राथमिकतामा राखिएको छ ।

नगरप्रमुख विष्टले आगामी आवमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सुशासन प्रवर्द्धनलाई प्राथमिकता दिइएको बताउनुभयो । नीति तथा कार्यक्रममा विद्यालयलाई सूचना प्रविधिमैत्री बनाउने, गुणस्तरीय शिक्षामा जोड, स्थानीय पाठ्यक्रम कार्यान्वयन, निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, योगमैत्री नगर बनाउने, पाँच वर्षभित्र क्षयरोगमुक्त उपमहानगर घोषणा गर्ने, जमुनाहानाकामा हेल्थडेस्क सञ्चालन गरी सरुवाजन्य रोगको रोकथाम, निगरानी र व्यवस्थापन गर्ने, राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक पहल गर्ने उल्लेख छ ।

नीति तथा कार्यक्रममा आगामी दुई वर्षभित्र १५ शय्याको आधारभूत अस्पताल सञ्चालनका लागि प्रदेश तथा सङ्घीय सरकारसँग पहल गर्ने, ६० वर्ष पुगेका स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन एवं सम्मानसहित बिदाइ गरिने, प्लास्टिकका झोलाको प्रयोगलाई न्यूनीकरण गर्ने, हरित नेपालगन्ज बनाउन सडकको दायाँबायाँ बिरुवा रोप्ने, श्रम सूचना बैंक स्थापना, रोजगार मेला सञ्चालन गर्ने, रोजगारी सिर्जना गर्ने, सहकारीको निरन्तर अनुगमन गरी नियमनको दायराभित्र ल्याइने, हामी सुधार्छौँ हाम्रो सहकारी भन्ने विशेष अभियानमा सम्पूर्ण सहकारीकर्मीलाई सामेल गराई सहकारीप्रतिको विद्यमान गुम्दो जनविश्वासलाई रोक्दै लैजानेसमेत नीति कार्यक्रममा उल्लेख छ ।

उपप्रमुख राईले आगामी आव २०८०/८१ का लागि रु एक अर्ब ६७ करोड ५६ लाख एक हजार पाँच सय ८७ अनुमानित आयव्यय विवरणसहितको बजेट नगरसभामा प्रस्तुत गर्नुभयो । सो बजेट चालु आवको भन्दा रु चार करोडले बढी हो । चालु आवका लागि रु एक अर्ब ६३ करोड ६५ लाख ७२ हजार चार सयको अनुमानित बजेट प्रस्तुत गरिएको थियो । सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त भएको आय अनुमान तथा आन्तरिक आयसमेतका आधारमा अनुमानित बजेट नगरसभामा प्रस्तुत गरिएको थियो ।

सो अवसरमा राईले समग्र नगर विकासका लागि वडा कार्यालयसँगको सहकार्यलाई आत्मसात गर्दै चालु आवजस्तै आगामी आवका लागि पनि रु २५ करोडको सिलिङ उपलब्ध गराउने व्यवस्था गरेको उल्लेख गर्नुभयो । नेपालगन्ज उपमहानगरपालिकाले आन्तरिक आय रु १८ करोड र राजस्व र अनुदान बचत मौज्दात रु २० करोड हुने अनुमान गरेको छ ।

डुबानको जोखिमका बस्तीको तटबन्ध गर्दै डुडुवा

बाँकेको डुडुवा गाउँपालिकाले डुबानको उच्च जोखिममा रहेको बस्तीमा तटबन्धनको व्यवस्था गरिने नीति, कार्यक्रम अघि सारेको छ । पालिकाका अधिकांश गाउँमा डुबानसँगै कटान गरेर अत्यधिक क्षति पुर्याउने भएकाले त्यसको रोकथाम र व्यवस्थापनका लागि तटबन्धलाई उच्च प्राथमिकतामा राखेको छ । पालिकाले बाढी प्रभावितका लागि उद्धार तथा आश्रयस्थलको कार्यलाई सहज र प्रभावकारी बनाउन जोड दिएको छ ।

गाउँसभाको १४औँ गाउँसभामा नयाँ आव २०८०÷८१ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले रु ४८ करोड ८४ लाख ३४ हजारको प्रस्तावित बजेट सार्वजनिक गर्नुभयो । डुडुवाले गाउँपालिकाका वडा नं ६ महाउत टोलमा सात सय मेट्रिक टन क्षमताको कोल्डस्टोर निर्माण सम्पन्न गरी किसानको आलु बीउ भण्डारण र तरकारी तथा फलफूल भण्डारण गर्ने नीतिसमेत ल्याएको छ ।

प्रयोगशाला नभएका वडा नं १, ३ र ४ मा क्रमशः प्रयोगशाला स्थापना, न्यूनतम दरमा सबै स्थानाीयवासीलाई वडास्तरमा स्वास्थ्य परीक्षणको पहुँच, कृषि बालीमा लाग्ने रोग कीरा नियन्त्रण गर्न आवश्यक विषादी निःशुल्क वितरण, कृषिको उत्पादन क्षेत्र विस्तार, पशुरोग निदानका लागि पशु उपचार सेवा, प्रयोगशाला सेवा, खोप तथा परजिवी नियन्त्रण सेवालाई थप प्रभावकारी बनाइने नीति कार्यक्रमा उल्लेख छ ।

डुडुवा–४ शाहपूर्वामा गाउँपालिकास्तरीय १५ शय्याको अस्पताल निर्माण, गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूतिका लागि बेतहनी स्वास्थ्यचौकीमा चिकित्सकसहितको ज्येष्ठ नागरिक अस्पताल सञ्चालन, बाल उद्यानको स्थापना, तलाउ तथा पोखरीको संरक्षण, वनभोजस्थल निर्माण, राप्ती नदी र डुडुवा खोलामा डुङ्गा तथा र्याफ्टिङ सञ्चालन हुनेछ । गाउँपालिकामा रहेका प्राचिन मठ, मन्दिर, गुम्वा, चर्च, मस्जिद एवं गुरुद्वाराको संरक्षण, मर्मतसम्भार तथा पुनःनिर्माण गरी पर्यटकीय क्षेत्रका विकास, राप्ती नदी किनारमा स्नानघर र आर्यघाट व्यवस्थितरूपमा सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने नीतिसमेत लिइएको छ । सभामा विधियेक समितिका संयोजक सम्सुद्दिन सल्मानीले डुडुवा गाउँपालिकाको आर्थिक विधेक २०८० प्रस्तुत गर्नुभएको थियो ।

ड्रागन बोट रेस : चीनको सिचुवान च्याम्पियन, नेपाली टोली उपविजेता

कास्की – पोखरामा आयोजना गरिएको नेपाल–चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस’ प्रतियोगितामा नेपाली टोली उपविजेतामा सीमित भएको छ । फेवातालमा यही जेठ ८ देखि सुरु बोट रेसको आज सम्पन्न फाइनलमा चीनको सिचुवान ड्रागन बोर्ट टिमले दुई सय र पाँच सय मिटरको दुवै विधामा च्याम्पियन बन्न सफल भयो ।

नेपाली टिम ‘नारा ड्रागन बोट टिम’ले दुवै विधामा उपविजेता हुन सफल भएको छ । च्याम्पियन बनेको सिचुवान ड्रागन बोट टिमले दुवै इभेन्टमा गरी रु पाँच लाख ५० हजारका दरले रु ११ लाख नगद पुरस्कारसहित उपाधि हात पार्न सफल भयो ।

यसैगरी उपविजेता नेपाली टोली नारा ड्रागन बोट टिमले दुवै इभेन्टमा गरी रु सात लाख नगद पुरस्कार पायो । सिचुवानले पाँच सय मिटरको दूरी दुई मिनेट २० सेकेन्डमा पूरा गर्न सफल भयो । यसैगरी दुई सय मिटरको दौड ५३ सेकेन्डमा पार गर्दै दोहोरो उपाधि जित्न सफल भयो ।

नेपाली टिम नाराले भने पाँच सय मिटरको दूरी दुई मिनेट २३ सेकेन्डमा पूरा गर्न सफल भयो । यसैगरी दुई सय मिटरको दूरी भने ५६ सेकेन्डमा पार गर्दै उपविजेता भएको हो । ड्रागन बोट रेसमा चीनको तीन, नेपालको चार र सिङ्गापुरको एक टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । चीनको युनान प्रान्तको युनान ड्रागन बोट टोली दुवै विधामा तृतीय हुन सफल भयो ।

नेपालको नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ एशोसिइएसन (एनआरसीए) चौथो भएको छ । प्रतियोगितामा सहभागी सबै टिमलाई जनही रु एक–एक लाख प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगिताका विजेता खेलाडीलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली, नेपालस्थित चिनियाँ राजदूत छन् सोङ, पोखरा महानगर प्रमुख धनराज आचार्यलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा बोट रेस तथा महोत्सव आयोजना गरिएको हो । पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसिएसन पोखरा फेस्टिभलको सहयोगी संस्थाका रूपमा थिए ।

नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बोट रेस तथा फेस्टिभलको आयोजना गरिएको हो । कार्यक्रमलाई आगामी वर्षमा समेत निरन्तरता दिइने पोखरा महानगरले जनाएको छ ।

१० स्थानीय तहले ल्याए बजेट, बाँकीको भोलि

काठमाडौँ – आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ७५३ मध्ये १० स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहले प्रत्येक वर्षको असार १० गतेअघि नै वार्षिक बजेट ल्याउनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार हालसम्म १० स्थानीय तहले बजेट सार्वजनिक गरिसकेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ । बाँकी ७४३ स्थानीय तहले आइतबार बजेट सार्वजनिक गर्नेछन् ।

मन्त्रालयका अनुसार कोशी प्रदेशका दुई, मधेस प्रदेशका एक, बागमती प्रदेशका एक, गण्डकी प्रदेशका चार र सुदूरपश्चिम प्रदेशमा दुई गरी जम्मा १० स्थानीय तहले बजेट ल्याइसकेका छन् ।

मन्त्रालयका अनुसार कोशी प्रदेश अन्तर्गत इलामको देउमाई नगरपालिका र मोरङको जहदा गाउँपालिकाले असार ७ गते बजेट ल्याइसकेका छन् । साथै मधेस प्रदेशका महोत्तरीका एकडारा गाउँपालिका, बागमती प्रदेश अन्तर्गतको धादिङको नीलकण्ठ नगरपालिकाले पनि असार ७ गते नै बजेट सार्वजनिक गरिसकेका छन् ।

गण्डकी प्रदेश अन्तर्गत स्याङ्जाको पुलतीबजार नगरपालिका, गोरखाको शहीद लखन गाउँपालिका, म्याग्दीको रघुगङ्गा गाउँपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकाले पनि असार ७ गते नै बजेट सार्वजनिक गरिसकेका छन् । साथै सुदू्रपश्चिम प्रदेशबाट कैलालीको जानकी गाउँपालिकाले असार ८ गते र दार्चुलाको दुहुँ गाउँपालिकापनि असार ७ गते बजेट सार्वजनिक गरिसकेका छन् ।

सङ्घबाट प्राप्त हुने चार प्रकारका अनुदान र राजस्व बाँडफाँटबाट जाने रकम स्थानीय तहको बजेटको मुख्य स्रोतका रुपमा मानिन्छ । सङ्घीय सरकारले वार्षिक बजेटबाट स्थानीय तहलाई वित्तीय समानीकरण, सर्शत अनुदान, समपूरक विशेष अनुदान छुट्याएको हुन्छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय सरकारले ऐनअनुसार असार १० गतेभित्र बजेट पेस भए नभएकालाई मूल्याङ्कनमा एक सूचक मान्ने गरेको छ ।

न्याय मर्न दिनु हुँदैन : मुख्यमन्त्री पाण्डे

लेखनाथ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले न्यायाधीशहरूले न्याय सम्पादन निष्पक्ष गरिदिएमा न्याय मर्न नपाउने बताउनुभएको छ ।

मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकी प्रदेश स्थापनाको पाँच वर्ष पुगेको अवसरमा आज आयोजित ‘कार्यालयबाट भएका उपलब्धि, चुनौती, अवसर र भविष्य’ विषयक अन्तक्र्रियामा उहाँले भन्नुभयो, “न्याय सम्पादन गर्दा दबाबमा भन्दा पनि न्याय मर्न नदिने किसिमबाट न्यायाधीशहरूले न्याय सम्पादन गर्नुपर्छ ।”

न्यायालयबाट हुने निर्णय विवादास्पद हुन नहुने बताउँदै उहाँले भीडको अवस्थालाई हेरेर निर्णय गर्न नहुने भनाइ राख्नुभयो । “कानुनभन्दा ठूलो कोही छैन, न्यायालयलाई स्वतन्त्र बनाउन हामी चाहन्छौँ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “प्रदेश सरकारले धेरै कानुनहरू बनाउन बाँकी नै छ, त्यसतर्फ आफ्नो ध्यान केन्द्रित छ ।”

सञ्चार विधेयक पनि बनाएर सञ्चार क्षेत्रलाई मर्यादित बनाउने पक्षमा आफू रहेको उहाँको भनाइ थियो । पछिल्लो समय सामाजिक सञ्जाल र विद्युतीय सञ्चारमाध्यममा आउने समाचार भ्रमपूर्ण भएकाले ती सञ्चारमाध्यमलाई नियमन गर्न प्रेस काउन्सिल जिम्मेबार भएर लाग्नुपर्नेमा उहाँको जोड थियो ।

उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्यले न्यायको पहुँच दूरदराजको व्यक्तिमा समेत पुग्ने गरी हामीले काम गर्नुपर्नेमा जोड दिनुभयो । छिटो–छरितो न्याय सम्पादन गर्यौँ भने न्यायालयप्रतिको विश्वास आम नागरिकले महसुस गर्न सक्ने भनाइ उहाँको थियो ।

कास्की जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद बाँस्तोलाले मुख्य महान्यायाधिवक्ताको कार्यालय गण्डकीले यस क्षेत्रका न्यायालयसँग समन्वय गरी आम नागरिकलाई न्यायप्रतिको सचेतना फैलाउन आवश्यक भएको बताउनुभयो ।

मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकीका महान्यायाधिवक्ता चिरञ्जीवी पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहन्यायाधिवक्ता नारायणबहादुर थापा, कानुन व्यवसायीका विभिन्न संस्थाका प्रतिनिधिले भनाइ राख्नुभएको थियो ।

पाँच दिने विपद् अभ्यास हातेमालो कार्यक्रम

मोरङ – नेपाली सेनाको मोरङ थलाहस्थित भैरव गणले आयोजना गरेको विपद् व्यवस्थापनसम्बन्धी पाँचदिने ‘अभ्यास हातेमालो–५’ आज सम्पन्न भएको छ ।

विपद् व्यवस्थापनसँग सम्बन्धित निकायको काम, कर्तव्य, जिम्मेवारी, क्षमता र तयारीका बारेमा एकआपसमा जानकारी आदान गर्ने उद्देश्यले हातेमालो कार्यक्रम सञ्चालन गरिएको हो ।

जिल्लामा हुने बाढी, पहिरो, डुबान, आगलागी तथा भूकम्पका समयमा जनधनको क्षतिको न्यूनीकरण एवं राहत र उद्धारका कार्यमा विपद् व्यवस्थापनसँग सम्बद्ध सम्पूर्ण निकायलाई समन्वयात्मक ढङ्गबाट परिचालन लागि अभ्यास कार्यक्रमको आयोजना गरिएको गणका गणपति प्रमुख सेनानी अमृत थापा मगरले जानकारी दिनुभयो ।

पाँचदिने अभ्यासका क्रममा सरोकारवाला निकायलाई अभ्याससम्बन्धी जानकारी दिनुका साथै सरोकारवाला निकायका काम कर्तव्य, जिम्मेवारी, क्षमता र तयारीका बारेमा प्रस्तुतीकरण गरिएको थियो ।

विपद्को काल्पनिक परिस्थितिको परिकल्पनाका आधारमा सहभागीहरुबीच समूहगत विभाजन गरी उक्त परिस्थितिमा के कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया गरिएको सेनानी थापा मगरले बताउनुभयो ।

अभ्यासमा जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय मोरङ, नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, जिल्ला स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी, विराटनर महानगरपालिका, कटहरी र धनपालथान गाउँपालिकाले विपद् एवं राहत तथा उद्धार सम्बन्धी प्रदर्शन गरेका थिए ।

समापन समारोहमा मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले यस प्रकारको कार्यक्रमले क्षमता विकास भई विपद्को समयमा उद्धारमा सहयोग पुग्ने बताउनुभयो ।

सेनाका थलहाका गणपति प्रमुख सेनानी थापा मगरले विपद्को समयमा छिटोछरितो किसिमले उद्धार गरी जनधनको क्षति न्यूनीकरण अभ्यासले सहयोग पुग्ने विचार राख्नुभयो ।

कार्यक्रममा बाढीपहिरा आएको अवस्थामा गरिने उद्धारको पूर्व अभ्यास तथा उद्धारका लागि प्रयोग गरिने सामग्रीको प्रदर्शन गरिएको थियो ।

खानेपानी आयोजना बाढीले बगाउँदा तीन करोड बराबरको क्षति

भोजपुर – बाढीले सभाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट खानेपानी आयोजना बगाउँदा रु तीन करोड बराबरको क्षति भएको छ ।

खोलाभन्दा करिब सय मिटर वर रहेको आयोजना स्थलमा बाढी पसेर सम्फवेल, पानी तान्ने मोटर पम्प, ट्रान्सफर्मर, तीनओटा कन्ट्रोल प्यालन, स्टेपलाइजर, चेन पुल्ली, पालेघर लगायतमा क्षति पु¥याउँदा रु तीन करोड बराबरको क्षति भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख देवनाथ सिंहले बताउनुभयो ।

आयोजना निर्माण स्थल अहिले बगरमा परिणत भएको उहाँको भनाइ छ । प्रमुख सिंहले भन्नुभयो, “आयोजना रहेको ठाउँमा अहिले खोला बगेको अवस्था छ, आयोजना बगाउँदा स्थानीय पिउने पानीबाट वञ्चित भएको अवस्था छ, यसलाई पुनः सञ्चालनमा ल्याउन कार्यालयले पहल थालेको छ ।”

निर्माणको अन्तिम चरणमा रहेको आयोजना बाढीले बगाउँदा राज्यलाई ठूलो क्षति पुगेको उहाँको भनाइ छ । आयोजनाको कार्यालयले स्थलगत अनुगमन गरेर उपयुक्त विकल्पको खोजी गर्ने काम भइरहेको प्रमुख सिंहले जानकारी दिनुभयो ।

“स्थलगत रुपमा हेर्दा आयोजनाको बेहाल अवस्था छ”, उहाँले भन्नुभयो, “अर्को आर्थिक वर्षको सुरुमा हस्तान्तरण गर्ने लक्ष्य थियो, हस्तान्तरणको अन्तिम अवस्थामा बाढीले क्षति पुगेको छ, पुनः सञ्चालनका लागि मन्त्रालयलाई आवश्यक जानकारी गराएको छु ।”

आर्थिक वर्ष २०७५÷७६ बाट यो योजनाको निर्माण थालिएको हो । कूल अनुमानित रु ११ करोड ११ लाख आठ हजार नौ सय २७ लागतमा निर्माण भइरहेको छ । यही असार २ गते राति आएको बाढीले आयोजनास्थलमा क्षति पु¥याएपछि स्थानीय पिउनेपानीबाट वञ्चित भएका छन् ।

तीन सय ८६ घरपरिवारलाई पानी खुवाउने लक्ष्यका साथ निर्माण भइरहेको आयोजनाबाट एक सय ५० घरपरिवारले पानी खाँदै आएका थिए । दुई सय घरपरिवारमा धारा जडान गरेर पानी वितरणको अन्तिम तयारीमा रहेको अवस्थामा बढीले आयोजना बगाएको निर्माण उपभोक्त समितिका अध्यक्ष उद्धवराज त्रितालले जानकारी दिनुभयो ।

निर्माणको अन्तिम चरणमा रहेको आयोजना बाढीले बगाएपछि स्थानीयवासीलाई पानीको समस्या थपिएको उहाँको भनाइ छ । “बाढीले आयोजना बगाएपछि समस्या परेको छौँ”, अध्यक्ष त्रितालले भन्नुभयो, “बस्तीमा पानीको हाहाकार भएको छ, आयोजना स्थल बगर बनेको छ, राज्यले यसलाई चाँडो निर्माणमा ध्यान दिन आवश्यक छ ।”

सुरु भयो काठमाडौं–बेइजिङ सीधा उडान

काठमाडौं – आज देखि काठमाडौं–बेइजिङ सीधा हवाई उडान थालिएको छ ।

हिमालय एअरलाइन्सले काठमाडौं–बेइजिङ उडान सुरु गरेको हो। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान ७ बजेर ४० मिनेटमा उडेको उडान नम्बर एच नाइन ६६५ विमान स्थानीय समयानुसार दिउँसो २ बजेर १५ मिनेट जाँदा बेइजिङस्थित तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हिमालय एअरलाइन्सले जनाएको छ।

काठमाडौंबाट बेइजिङ पुग्न ४ घण्टा ४५ मिनेट लगाएको विमान स्थानीय समयानुसार दिउँसो ३ बजेर २५ मिनेटमा पुनः काठमाडौंका लागि उड्ने जनाइएको छ।

आजको उडानमार्फत छोरीको बिहेका लागि नेपाल आएका चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ आफ्नो कार्यस्थल फर्किएका छन्।

आजदेखि काठमाडौं–बेइजिङ सीधा उडान नियमित हुने हिमालय एअरलाइन्सले जनाएको छ। यसबाट नेपालको पर्यटन र व्यापार प्रवर्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।

नक्कली परीक्षार्थी पक्राउ

गलकोट – सवारीचालक अनुमती पत्रको प्रयोगात्मक परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई प्रहरीले आज पक्राउ गरेको छ । यातयात व्यवस्था कार्यालय बागलुङले आज माझीबस्तीमा लिइरहेको प्रयोगात्मक परीक्षा‘ट्रायल सेन्टर’मा नक्कली परीक्षार्थी बनेका सशस्त्र प्रहरी जवान गणेश कोहिरीलाई पक्राउ गरेको हो ।

पर्वको कुश्मा नगरपालिका पकुवा घर भई हाल सशस्त्र प्रहरी बलको सहायक हबल्दार पदमा कार्यरत विनोद नेपालीका नाममा प्रयोगात्मक परीक्षामा सहभागी रुपन्देही निवासी सशस्त्र प्रहरी जवान कोहिरीलाई परीक्षा स्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मदन केसीले जानकारी दिनुभयो ।

नक्कली परीक्षार्थी बनेका कोइरी सशस्त्र प्रहरी बल रुपन्देहीमा कार्यरत हुनुहुन्छ भने सशस्त्र प्रहरी बलको सहायक हबल्दार पदमा कार्यरत नेपाली कास्कीस्थित सशस्त्रवाहिनीमा कार्यरत हुनुहुन्छ । नेपालीलाई अनुसन्धका लागि बोलाउने तयारी भइरहेको प्रनाउ केसीको भनाइ छ ।

अबको सिर्जना र अनुसन्धान परम्परा धान्नेमा सीमित हुनुहुँदैनः प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा अबको सिर्जना र अनुसन्धान केवल परम्परा धान्नेमा मात्र सीमित हुन नहुने बताउनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६६औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले यथास्थितिका सौन्दर्य चेतनाले मात्रै अब नपुग्ने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले नेपाली समाजको सामाजिक संरचना र राजनीतिक व्यवस्थामा भएको परिवर्तनलाई संस्थागत गर्न सोहीअनुसारको सांस्कृतिक रूपान्तरण जरुरी रहेको स्पष्ट पार्नुभयो । नेपाली समाजका सूक्ष्म तहमा जरा गाडेर बसेको सामन्तवादी संस्कृति र सुनामीजस्तै बनेर आइरहेको भूमण्डलीकृत उत्तरआधुनिक संस्कृतिको प्रतिरोध गर्न आह्वान गर्दै उहाँले सङ्घीय, समानुपातिक, गणतान्त्रिक युग अनुकूलको संस्कृतिको निर्माण आजको मुख्य दायित्व भएको प्रष्ट्याउनुभयो ।

प्रधानमन्त्री दाहालले नेपालको संविधान, २०७२ को मर्म र भावनाअनुरूप नेपालमा बोलिने सबै भाषा र तिनका साहित्य, संस्कृति अनि ज्ञानका विभिन्न शाखालाई प्रवद्र्धन र विकास गर्दै अघि बढ्नु प्रज्ञा–प्रतिष्ठानको दायित्व र कर्तव्य रहेको औँल्याउनुभयोे । उहाँले नेपालका कतिपय उन्नत सांस्कृतिक परम्परा, यहाँको माटोमा सिर्जित र विकसित ज्ञान तथा साहित्य–चिन्तनलाई पछिल्लो समयमा विकास भएका आधुनिक ज्ञान र चिन्तनका सापेक्षतामा विकास गर्दै अघि बढ्नसकेमा मात्र सफल हुने बताउनुभयो ।

नेपालका भाषा, साहित्य, कला, संस्कृतिलगायत ज्ञान–विज्ञानका विभिन्न शाखाको अध्ययन, अनुसन्धान तथा विकास गर्ने उद्देश्यका साथ २०१४ सालमा नेपाल साहित्य कला एकेडेमीका रूपमा स्थापना भएको यस प्रतिष्ठान परिवर्तित हुँदै हाल नेपाल प्रज्ञा–प्रतिष्ठानको रूपमा हाल सञ्चालनमा छ ।

विसं २०६२÷६३ को जनआन्दोलनपश्चात् साविकको नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानबाट ललितकला र सङ्गीत नाट्य विधालाई छुट्टै प्रतिष्ठानका रूपमा गठन गरिएकोले नेपाल प्रज्ञा–प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शन र सामाजिकशास्त्रका क्षेत्रमा अध्यययन–अनुसन्धान र प्रकाशनका काम गर्दै आइरहेको छ ।

प्रधानमन्त्री दाहालले जनयुद्धको जगमा भएको २०६२÷६३ सालको जनआन्दोलन र त्यसबाट निर्मित नेपालको संविधान २०७२ को मर्म र भावनाअनुरूप नेपालमा बोलिने सबै भाषा र तिनका साहित्य, संस्कृति अनि ज्ञानका विभिन्न शाखालाई प्रवद्र्धन र विकास गर्दै अघि बढ्नु वर्तमान प्रज्ञा–प्रतिष्ठानको दायित्व र कर्तव्य भएको बताउनुभयो ।

नेपालका कतिपय उन्नत सांस्कृतिक परम्परा, यहाँको माटोमा सिर्जित र विकसित ज्ञान तथा साहित्य–चिन्तनलाई पछिल्लो समयमा विकास भएका आधुनिक ज्ञान र चिन्तनका सापेक्षतामा विकास गर्दै अघि बढ्न सकेमा मात्र सफल हुने प्रधानमन्त्री दाहालको भनाइ छ । उहाँले सामाजिक संरचना र राजनीतिक व्यवस्थामा भएको परिवर्तनलाई संस्थागत गर्न सोही अनुसारको सांस्कृतिक रूपान्तरण हुन नसकेको स्पष्ट पार्नुभयो । नेपाली समाजका सूक्ष्म तहमा जरा गाडेर बसेको सामन्तवादी संस्कृति र सुनामीजस्तै बनेर आइरहेको भूमण्डलीकृत उत्तरआधुनिक संस्कृतिको प्रतिरोध गर्दै आजको संघीय, समानुपातिक, गणतान्त्रिक युगअनुकूलको संस्कृतिको निर्माण आजको मुख्य दायित्व भएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “आजको यही युगीन आवश्यकतालाई सम्बोधन गर्न नेपाल सरकारले आज नयाँ प्रज्ञा परिषद् तथा प्राज्ञ सभाको गठन गरेको छ । आजको युगीन दायित्वलाई आत्मसात गर्दै उत्पादनमूलक राष्ट्रिय अर्थव्यवस्थाको विकास गरेर नेपाल राज्यले लिएको समाजवादोन्मुख व्यवस्थाको लक्ष्य पूरा गर्न आवश्यक पर्ने श्रमको सम्मानमा आधारित अन्तर्वस्तु र सौन्दर्यशास्त्रको निर्माण गर्ने साहित्य र संस्कृतिको निर्माण गर्ने काम यस प्रतिष्ठानले सफलतापूर्वक सम्पन्न गर्नेछ भन्ने विश्वास मैले लिएको छु ।”

प्रज्ञा–प्रतिष्ठानको वर्तमान नेतृत्वका तर्फबाट सरकारसमक्ष आएका नयाँ र सिर्जनात्मक प्रस्तावप्रति सरकार सकारात्मक रहेको प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “त्यसप्रति सरकारकोतर्फबाट आवश्यक पहल भइरहेको छ । प्रतिष्ठानको वर्तमान नेतृत्वले नेपालको मौखिक इतिहासको खोजी गर्ने, नेपालमा बोलिने मातृभाषाको संरक्षण र सम्वद्र्धन जोड दिने, नेपालको परिवर्तनको सौन्दर्य, श्रमजीवी वर्गको सौन्दर्य र सिर्जनामा जोड दिने कुराप्रति सचेत रहेको बुझेको छु । त्यसमा सरकारको भरपूर रहयोग रहने छ ।”

विसं २०२२ देखि सुरु भएको कविता महोत्सवमा यस पटकदेखि बहुभाषी कविता समावेश गरिएको थाहा पाउँदा खुसी लागेको प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभयो । त्यसबाट उत्साहित भएर कविहरुले यस पटक यो दशकमै सबैभन्दा बढी कवि सहभागी भएको थाहा पाउँदा खुसी लागेको उहाँले उल्लेख गर्नुभयो । यसपटक झन्डै तीन दर्जन भाषाका कविता महोत्सवमा सहभागी भएका छन् ।

आगामी वर्षदेखि नेपालका सबै भाषाका कविता राष्ट्रिय कविता महोत्सवमा सहभागी हुने र राष्ट्रिय कविता महोत्सव आफ्नो नामअनुसार साँच्चिकै राष्ट्रिय कविता महोत्सवका रूपमा अरु स्थापित हुने प्रधानमन्त्री दाहालको भनाइ छ ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कविता महत्सोवको महत्व र यसको सांस्कृतिक पक्षका बारेमा चर्चा गर्दै मन्त्रालयले त्यकास लागि आवश्यक सहजीकरण गरिरहेको बताउनुभयो । सो अवसरमा प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राईले राष्ट्रिय कविता महोत्सवका बारेमा जानकारी गराउनुभएको थियो ।

बेपत्ताको खोजी गर्न कुकुर परिचालन

किमाथाङ्का – सङ्खुवासभामा बाढीपहिरामा परी बेपत्ता भएकाको खोजीकार्यका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । यही असार २ गते राति अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण २० जना बेपत्ता भएका थिए । बाढीमा बेपत्ताको एक सातासम्म पनि फेला नपरेपछि तालिम प्राप्त कुकुर परिचालन गरिएको हो ।

नेपाल प्रहरीले धरानबाट ल्याएको तालिम प्राप्त दुई कुकुरले आज बिहान सभाखोलादेखि खोजी थालेको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो । प्रहरीको तालिम प्राप्त कुकुरले हेवा र सभाखोला किनारमा बेपत्ताको खोजी गर्न थालेको उहाँले बताउनुभयो । बाढी पहिरामा बेपत्ता भएकाको सुरक्षाकर्मीको टोलीले एक सातादेखि खोजी जारी राखे पनि बेपत्ता २० जनाको अवस्था पत्ता नलागेपछि प्रहरीले धरानबाट तालिम प्राप्त कुकुर ल्याएर खोजीलाई तीव्रता दिएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले हेवा खोला र सभाखोला किनार आसपास खोजी गर्नेछ । बेपत्ताको खोजीका लागि हेँवाखोला र सभाखोलाको बगरमा अन्य सुरक्षाकर्मी पनि परिचालित छन् ।

बाढी पहिराका कारण जिल्लाका विभिन्न स्थानका २१ परिवार विस्थापित भएका छन् । बाढी पहिरोबाट १२ घर पूर्णरुपमा क्षति भएका छन् । बाढीपहिरोबाट २० मध्ये १६ जना सुपर हेवाखोला जलविद्युत् र एक जना अपर हेवाखोला जलविद्युत् आयोजनाका, एक जना अमर कन्ट्रक्सनका तथा दुई जना सभाखोपरी गाउँपालिकामा बेपत्ता भएका छन् । बाढी पहिराका कारण जिल्लाका आठ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । बाढी भौतिक संरचना बगाउँदा करोडौँको क्षति भएको छ ।

सुत्केरीलाई पाँच हजार भत्ता

जुम्ला – जिल्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई रू पाँच हजार भत्ता दिएको छ । बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलालाई पालिकाको स्वास्थ्य शाखाले रू पाँच हजार सुत्केरी भत्ता दिएको स्वास्थ्य शाखाका प्रमुख ललित रोकायाले जानकारी दिनुभयो ।

घरमा हुने सुत्केरीदरलाई शून्यमा झार्नका लागि पालिकाले रू पाँच हजार भत्ता दिने कार्यविधि ल्याएर नीति तथा कार्यक्रमबाट पारित भई कार्यान्वयमा आएको उहाँको भनाइ थियो ।

बर्थिङ सेन्टरभन्दा टाढाका गाउँबाट सुत्केरी हुन स्वास्थ्य संस्थामा आउने महिलालाई प्रोत्साहन स्वरुप भत्ता दिने गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताउनुभयो । उहाँका अनुसार यहाँका २६ जना सुत्केरीलाई उक्त रकम गाउँपालिकाको स्वास्थ्य शाखाले प्रदान गरेको छ ।

सिञ्जाका सबै वडामा प्रसूति गृह निर्माण भई सञ्चालनमा आएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

बाढीले हेवा खोलाको पुल बगाउँदा स्थानीयवासी चकित

पाँचथर – साविक भारपा गाविसको गुराँसे नागीका कुलबहादुर लावती फिदिम नगरपालिका–४ थापाटार मुनि हेवाखोला पुल छेउमा बस्न थालेको ३० वर्ष भयो । किशोरावस्थादेखि नजिकैको बजार फिदिम धाउँदा हेवा खोलामा फड्के तरेको याद लावतीसँग ताजै छ ।

विसं २०४२ मा हेवा खोलामा पुल बनेपछि भने भारपा हुँदै अमरपुरसम्म सवारीसाधन चल्न थाले । त्यही पुलको सम्मुखमा तीन दशकदेखि बसिरहनुभएका लावतीले अहिले भने नयाँ अनुभूति गर्नुभयो ।

पहिले फड्केबाट खोला तर्ने लावतीलाई अहिले घरअघिको सडकको पुल बग्योभन्दा विश्वास लागिरहेको छैन । “पहिले अहिलेभन्दा धेरै पानी पथ्र्यो । तर यो खोलाले फड्के पनि केही गरेको थिएन”, उहाँले भन्नुभयो, “अहिले त गाडी पुल नै बगाइलग्यो । अहिलेसम्म मैले यस्तो देखेको थिइनँ ।” अत्यासलाग्दो भेलले लावतीको घरको एक तला पुरिएको छ । घरका संरचना हल्लिएका छन् ।

“यस्तै पानी आइरह्यो भने त बगाइलान्छ होला । हाम्रो त उपाय केही छैन्”, लावतीले भन्नुभयो, “भएको जग्गा पनि काम नलाग्ने बनाइदियो ।”

फालेलुङको शिर फालोटदेखि माझीटारस्थित तमोरसम्म फैलिएको हेवा खोलाले यस वर्ष तटीय क्षेत्रमा ठूलो आतङ्क सिर्जना गरेपछि स्थानीयवासी अचम्मित छन् । कुनै समस्याविना वर्षौंदेखि बसोबास गरिआएका उनीहरुले अहिले व्यवस्थित संरचना पनि बनाएका थिए । यात्रु आवतजावत गरिरहने भएकाले मानवीय चहलपहल पनि प्रशस्तै हुन्थ्यो । हेवामै दुई जलविद्युत् आयोजना सञ्चालनमा छन् ।

कतिपयले माछा र बङ्गुरपालन गरेका थिए भने धेरैले सागसब्जी र परम्परागत खेती गर्दै आएका थिए । अधिकांश बालीनाली बाढीले सखाप पारेको छ । यही असार २ गते राति हेवा खोलामा उर्लिएर आएको बाढीले फालेलुङको मेमेङदेखि, प्राङबुङ, सिदिन, याङनाम, भारपा र फिदिममा पर्ने विभिन्न संरचनामा क्षति गरेको छ । धेरै स्थानीयवासी हेवा खोला ‘बहुलाएर’ आएको प्रतिक्रिया दिन्छन् । यस खोलाले चार वटा सडक पुल नै बगाएको छ ।

थापाटार हेवा खोलाका कुलबहादुरकी श्रीमती मीनालाई राति हेवा खोलामा बाढी आउँदा सुरुमा सामान्य लागेको थियो । “खासै वास्ता गरेनौँ । भरे साह्रै बज्न थाल्यो”, उहाँले भन्नुभयो, “हामी निस्किसक्दा सडकसम्म पानी आइसकेको थियो । अब भागौँ भनेर कुद्यौँ । बाख्रा, कुखुरा केही बचाउन सकिनँ ।” तीन दशकमा आफूले कहिल्यै यस्तो नदेखेको उहाँको भनाइ छ । “आजसम्म यस्तो देखेको थिइनँ । हंशले ठाउँ छोडेको छ”, लावतीले भन्नुभयो ।

सोही स्थानका इन्द्रप्रसाद कटवाललाई पनि ठूलो बाढी आएको लागेकै थिएन । तर खोला साह्रै बजेपछि हेर्न भनेर निस्कँदा घरमा बाढी पस्न थालिसकेको कटवाल सुनाउनुहुन्छ । “पानी परिरहेको थियो । कुडुडुङकुडुडुङ ग¥यो । छाता ओढेँ, टर्च बोकेर डिलमा आएर हेरेँ । टर्च लगाएर हेर्दाहेर्दै झ्याप्पै आइहाल्यो”, उहाँले भन्नुभयो, “ओइ भाग, भाग, भाग भनेर चिच्याउँदाचिच्याउँदा सबै भाग्न चाहिँ सफल भयौँ । कान्छा भाइको त घरै गयो । धन्न साना नानीहरु बोकेर निकाले ।” दुई वर्षअघि पनि यहाँ बाढी आएको थियो । “सानोतिनो बाढीपहिरो आइरहन्थ्यो । यस्तो भोगेको थिएनँ”, कटवालले भन्नुभयो, “तर यसपालि घर बस्नै नहुने भयो ।”

इन्द्रप्रसादकी भाइबुहारी रिता कटवाललाई सुतिरहेकी छोरी निकाल्न खोज्दा खोलाले झण्डै बगायो । बाढीका कारण उहाँको घर र घरका कुनै पनि सामग्री बचेनन् । “घरसम्म बाढी आउँदा मात्रै थाहा पाएँ । छोरी चाहिँ निकाल्न बिर्सेछु । छोरीलाई उठाउने हुँदा किचन (भान्साघर)मा सुतेका ठूला नानीहरु देखेँ र कराएँ”, कटवालले भन्नुभयो, “उनीहरुलाई उठाउँदा मलाई त बाहिर निस्किनै गाह्रो प¥यो । घरमा भएका कुनै पनि सामग्री निकाल्न सकेनौँ ।”

हेवा खोलाले कटान गरेको क्षेत्र देख्दा स्थानीयवासी चकित छन् । शताब्दीऔँदेखि हिलिहाङ गाउँपालिका–७ माझीटारको सानो टाकुरामा बसोबास गर्दै आएका माझी समुदाय अहिले बाढीको जोखिममा परेका छन् । हेवा खोलाले फिदिमतर्फबाट उक्त स्थानमा कटान बढाउँदै लगेको छ । बाढी आएको समयमा छाल घरसम्म आउन थालेपछि १० घरका सबै गाउँले भागेको स्थानीयवासी प्रकाश माझी बताउनुहुन्छ ।

जमिन सबै हल्लिएकाले सहज बसोबासको स्थिति नभएको उहाँको भनाइ छ । हेवा खोलामा आएको बाढीले तटीय क्षेत्रका पाँच जनालाई बगाएको छ, सोमध्ये दुई जनाको शव फेला परिसकेको छ । पुल बगाएपछि मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध बनेका छन् ।

बाढीमा हराएका तीन जना अझै बेपत्ता

यही असार २ गते राति आएको बाढीमा परी हराएका पाँचथरका तीन जना अझै बेपत्ता छन् । यहाँको हेवा खोलामा आएको बाढीले बगाएका पाँच जनामध्ये दुई जनाको शव फेला परिसकेको छ । तर बाढीले बगाएका तीन जना हालसम्म बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले जानकारी दिनुभयो ।

बाढीमा बेपत्ता भएका फिदिम नगरपालिका–५ चोकमागु घर भई हेवाखोलामा गिटी कुट्ने ५५ वर्षीय सुन्दर भनिने राजकुमार राई, हिलिहाङ गाउँपालिका–७ घर भई तल्लो हेवाखोला जलविद्युत् आयोजनामा सुरक्षा गार्डका रुपमा कार्यरत ४५ वर्षीय तिलकुमार तामाङ र हिलिहाङ गाउँपालिका–७ माझीटार घर भई हेवा खोला किनारमा होटल सञ्चालन गर्दै आएका २८ वर्षीय आशिष माझी अझैसम्म फेला नपरेका हुन् ।

बेपत्ताको जिल्लाका सुरक्षा निकायसहित तमोर नदीसँग सीमा जोडिएका तेह्रथुम र धनकुटा जिल्लाबाटसमेत सुरक्षा निकायले खोजीको कार्य गर्दै आएको प्रजिअ मङ्ग्रातीले जानकारी दिनुभयो । बाढी र पहिराका कारण पाँचथरमा हालसम्म तीन जनाको ज्यान गएको छ ।

बाढीले बेपत्ता बनाएकामध्ये हिलिहाङ–७ माझीटारकी २५ वर्षीया एलिसा माझीको शव दुई दिनपछि धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ तेलियास्थित तमोर नदीको किनारामा फेला परेका थियो । बाढीले बगाएर बेपत्ता जिल्लाको फिदिम नगरपालिका–१० घर भई तल्लो हेवाखोला जलविद्युत् आयोजनामा सुरक्षा गार्डका रुपमा कार्यरत २८ वर्षीय हेमराज भनिने सञ्जोग लिम्बूको शव कुम्मायक गाउँपालिका–५ लोरिपादोभानस्थित तमोर किनारामा फेला परेको थियो ।

यस्तै पहिरामा पुरिएर घाइते भएकी पाँचथरको फालेलुङ गाउँपालिका–४ की आठ वर्षीया बालिका जुना सावदेनको उपचारका क्रममा असार ३ गते निधन भएको थियो । पहिराले पुरिएर जुनाकी मावलकी हजुरआमा ६७ वर्षीया रनमाया राई सामान्य घाइते भएको र उहाँको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

नागरिकताका लागि सङ्घर्ष गर्दै दलित समुदाय

सप्तरी – सप्तरीको बोदे बर्साइन नगरपालिका–७ बगबिराका जीवछ सदा ७२ वर्ष पूरा हुनुभएको छ । उहाँ हालसम्म पनि नागरिकता विहिन हुनुहुन्छ ।

नेपाली भएको प्रमाण प्राप्त गर्न ठूलै सङ्घर्ष गरे पनि सफलता पाउन नसकेका सदा अझै पनि नागरिकता बन्ला भन्ने आशमा बस्नुभएको छ । सदाले नागरिकता पाउन नसक्दा उहाँको सिङ्गो परिवार नै यतिबेला नेपाली भएको पहिचान पाउनबाट वञ्चित छन् ।

“नेपालमै जन्मिए, यही हुर्किए तर अहिलेसम्म आफू नेपाली भएको कुनै पहिचान नै पाउन सकेको छैन”, सदाले गुनासो गर्नुभयो । घरकै मूल व्यक्तिको नागरिकता नबन्दा उहाँको २१ वर्षीय छोरा जितेन्द्र सदा, २० वर्षीया बुहारी सरस्वती सदाको नागरिकता बन्न सकेको छैन भने नाति आठ वर्षीय रुपक, पाँच वर्षीय दीपक र एक वर्षीया नातिनी जन्मदर्ता विहीन छन् ।

नेपाली भएको प्रमुख पहिचान नै नागरिकता भएको भन्दै नागरिकता नहुँदा परिवारका सदस्यहरुले अहिलेसम्म राज्यबाट पाउनुपर्ने सेवासुविधाबाट वञ्चित भएका छन् । स्थानीय साहुमहाजनमा खेतीपातीको काम गर्दै आएका जीवछले नागरिकताका लागि सम्बन्धित निकायमा धाउँदै आए पनि पहिचान पाउन नसकेको दुखेसो पोख्नुभयो ।

जन्मेपछि कानुनी रुपमा नै राज्यको नागरिकको फेहरिस्तमा नाम जोडिनुपर्ने भए पनि जीवछका बुबा बिलट सदाको नागरिकता नहुँदा उहाँको पूरै परिवार अहिले पहिचानविशिन भएको छ । “बुबाको नागरिकता नहुँदा मेरो जन्मदर्ता बन्न सकेन, अहिले मेरो नागरिकता नहँुदा छोराछोरीदेखि नातिनातिनी सम्मको पहिचान बन्न सकेन”, जीवछले भन्नुभयो, “जन्मदर्ता नबन्दा छोराछोरीले विद्यालयमा पढ्न पाएन, अहिले नातिनातिनीको अवस्था पनि यस्तै बनेको छ ।”

आर्थिक अवस्था कमजोर भएकाले केही समय रोजगारीका लागि भारतको पञ्जाब गएको भन्दै अब स्वदेशमै केही गर्ने योजना रहेको जीवछका छोरा जितन्द्रले बताउनुभयो । उहाँले नेपाली भएको कुनै पहिचान नहुँदा समस्या भइरहेको सुनाउनुभयो ।

“नागरिकता बनाउन गाएको नेतादेखि सिडियोसम्मलाई गुहारे पनि बुबाको नागरिकता नभएकाले नागरिकता नहुने भन्दै फर्काउँदै आएको छ”, जीवछले भन्नुभयो, “गाउँमा नागरिकता टोली आएको बेला नागरिकता बनाउन प्रयास गरे । त्यति बेला छरछिमेकको नागरिकता बन्यो, कुनै प्रमाण नरहेको भन्दै हामीलाई नागरिकता बनाई दिएन् ।” नागरिकताको लागि तत्कालीन गाविस कार्यालयदेखि अहिलेको स्थानीय तहको वडा कार्यालयसम्म धाउँदै आए पनि नागरिकता पाउन नसकिएको उहाँको भनाइ थियो ।

“नागरिकताको सिफारिसका लागि जन्मदर्ता र श्रीमान्को नागरिकता खोज्छन् । आफ्नो न त जन्मदर्ता छ न त श्रीमान्को नागरिकता”, सरस्वती सदाले भन्नुभयो, “नेपालमा जन्मिए, तर नेपाली भएको कुनै प्रमाण नहुँदा आफ्नो जीवन नै व्यर्थ भएको महसुस भइरहेको छ ।” नागरिकता नहुँदा राज्यबाट मात्रै नभइ समाजबाट पनि अलग हुनु परेको दुखेसो उहाँले सुनाउनुभयो ।

“नागरिकता नभएकाले गाउँमा बन्ने कुनै पनि समूहमा सदस्यता पाउन सकिरहेकी छैन”, सरस्वतीले भन्नुभयो । आफ्नो नागरिकता नभएकाले विवाह दर्ता हुन नसकेको भन्दै अहिले छोराछोरीको जन्मदर्ता पनि नबनेको उहाँको दुखेसो छ ।

सोही ठाउँका ६५ वर्षीय देवनारायण सदाले पनि नागरिकता पाउनुभएको छैन । उहाँको नागरिकता नबन्दा उहाँको सिङ्गो परिवार नागरिकताविहीन छ । उहाँको श्रीमती ६० वर्षीया सोसिलादेवी सदा र ३० वर्षीय छोरा खजेन सदाले पनि नागरिकता बन्न नसकेको गुनासो गरेका छन् ।

सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकाको हरिपुरमा जन्मिएर करिब ४५ वर्षदेखि बोदे बर्साइन नगरपालिकाको बगबिरामा बस्दै आउनुभएका देवनरायण सदाले बाल्यकालमा नै बुबा र आमालाई गुमाउनु भएको थियो । “अहिले न त बुबाको कुनै प्रमाण छ न त आमाकै”, देवनारायणले भन्नुभयो, “जति प्रयास गर्दा पनि नागरिकता पाउन सकिनँ ।”

पछिल्लो समय सरकारले नागरिकताविहीनका लागि ल्याएको नागरिकता विधेयक सम्बन्धी समाचारले उत्साहित भएको देवनारायणले सुनाउनुभयो । उहाँले कुनै उपायले नागरिकता पाइन्छ कि भन्ने आशा जगाएको बताउनुभयो ।

सप्तरीको बोदे बर्साइन नगरपालिका–५, ६ र ७ स्थित दलित बस्तीमा नागरिकताको समस्या अझै भयावह रहेको एक तथ्याङ्कले देखाएको छ । वडाहरुमा जन्मदर्ता, विवाह दर्ता र नागरिकताको ठूलो समस्या पाइएपछि ‘व्यक्तिगत घटना दर्ता गराऔँ’अभियानसमेत सुरु गरिएको छ ।

द फ्रिडम फन्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले बोदे बर्साइन नगरपालिका–५, ६ र ७ वडाका दलित समुदायलाई लक्षित गरी व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन गरेको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक लालु रामले जानकारी दिनुभयो । नागरिकता र जन्मदर्ताबाट वञ्चित रहेका अधिकांशले जन्मदर्ताकै कारण पढ्न नसकेकाले व्यक्तिगत विवरण दर्ताको अभियान थालिएको उहाँले बताउनुभयो ।

जनचेतनाको अभावमा नागरिकता र जन्मदर्ताको महत्व नबुझेर पूर्वजले समयमा जन्मदर्ता, विवाह दर्ता, मृत्युदर्ता नबनाइदिँदा अहिलेका सन्तति पहिचान विहिन बन्नु परेको बोदे बर्साइन नगरपालिका–७ का वडाअध्यक्ष बिजली कापैरले बताउनुभयो । आवश्यक प्रमाण जुटाउन नसक्दा जन्मदर्ता र नागरिकताको सिफारिस गर्न कठिनाइ भइरहेको उहाँको भनइ थियो । वडाअध्यक्ष कापैरले नागरिकता विहिन परिवारको नागरिकतासम्बन्धी समस्या समाधानका लागि पहल गरिरहेको बताउनुभयो ।

वीरगञ्ज भन्सारको कारोबारमा कमी

पर्सा – वीरगञ्ज भन्सार कार्यालयमा पछिलो समय प्रज्ञापनपत्रको प्रयोग घट्दै गएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा प्रज्ञापनपत्रको प्रयोग २४ प्रतिशतले कम भएको हो ।

आव २०७९÷८० को साउनदेखि जेठसम्ममा वीरगञ्ज भन्सार कार्यालयले एक लाख ८१ हजार चार सय ६१ प्रज्ञापनपत्र प्रयोग गरेको तुलनामा चालु आवको सोही अवधिमा एक लाख ३८ हजार एक सय ७२ प्रज्ञापन प्रयोग भएको छ । यो समीक्षा अघिल्लो वर्षको तुलनामा ४३ हजार दुई सय ७९ कम हो ।

गत आवको तुलनामा चालु आवको ११ महिनामा रातो च्यानलबाट २३, पहेँलो च्यानलबाट २० र हरियो च्यानलबाट ३४ प्रतिशत प्रज्ञापनपत्र कम प्रयोग भएको भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र शर्मा ढकालले जानकारी दिनुभयो । उहाँले वीरगञ्ज नाका प्रयोग गरी हुने आयात निर्यातमा कमी भएका कारण प्रज्ञापनपत्रको उपयोग घटेको र यसको नकारात्मक प्रभाव भन्सारको राजस्व सङ्कलनमा समेत परेको बताउनुभयो ।

चालु आवको साउनदेखि जेठसम्मका लागि भन्सार विभागले रु दुई खर्ब ३७ अर्ब ५८ करोड राजस्व सङ्कलनको लक्ष्य दिएको तुलनामा कार्यालयले लक्ष्यभन्दा ४० प्रतिशत कम अर्थात् रु एक खर्ब ४२ अर्ब ३० करोड मात्र सङ्कलन गरेको उहाँँले जानकारी दिनुभयो । उहाँले सबैभन्दा बढी राजस्व दिने इन्धनको आयातमा २५ र वाहन आयातमा ७० प्रतिशतभन्दा बढी कमी देखिएका कारण राजस्व सङ्कलनको लक्ष्य हासिल हुन नसकिएको बताउनुभयो ।

०६२/०६३ को परिबर्तनले देश र जनताको हित गरेन: कमल थापा

महोत्तरी – राप्रपा नेपालका अध्यक्ष कमल थापाले ०६२र६३ को परिबर्तनबाट मुलुकको हित हुनुको सट्टा राष्ट्रियता कमजोर भएको , धर्मसंस्कृती र पहिचान मेटिएको, बिधिको शासनको धज्जी उडेको, भ्रष्टाचार र बेरोजगारी व्यापक रुपमा बढेको आरोप लगाउनभएको छ ।

राप्रपाका नेता पुर्ब मन्त्री एबं उपसभामुख स्वर्गीय रामबिलास यादबको महोत्तरीको एकडारा गाउँ पालिकामा निर्मित शालिकको अनावरण गर्दै थापाले निष्ठा,इमानदारी र आदर्शको राजनिती कमजोर भएको भन्दै केहि सिमीत दलका सिमित नेताहरुको सिन्डिकेटबाट मुलुक आक्रान्त भएको समेत दाबी गर्नुभयो ।

ठुला (ठुला भ्रष्टाचार काण्डमा आफुलाई ठुला भन्ने ठुला राजनीति दलका नेताहरुको संलग्नता भएको भन्दै थापाले आफ्नो स्वार्थ सिद्ध गर्नको लागि कानुनलाई समेत हातमा लिने दुश्प्रयास भैरहेको भन्दै थापाले यस्तो अक्षम्य काम नगर्न राजनितीक दलहरुलाई आग्रह गर्नुभयो । लोकतन्त्रको आबरणमा देशमा लुटतन्त्र मच्चाईएको भन्दै थापाले राजा, हिन्दु राष्ट्र ,एकात्मक राज्य प्रणाली अन्त्य पछि देश बन्छ, स्थिरतामा पुग्छ, समृद्धि आउँछ भन्नेहरुले आज मुलुकलाई कहाँ पुर्याएरु भन्ने प्रश्न समेत थापाले गर्नुभयो ।

स्वर्गिय रामबिलास यादव राष्ट्रबादी ,बिकासप्रेमी र सदैब मधेसी जनताको हितमा कृयाशिल ब्यक्ति भएको समेत उहाँले भन्नुभयो । कार्यक्रममा राप्रपा नेपालका उपाध्यक्ष राजिब पराजुली , विभिन्न पार्टीका नेताहरू ,स्थानिय जनप्रतिनिधि र स्वर्गीय यादवका छोरा शशिरन्जन यादब लगायतले स्वर्गीय यादबको ब्यक्तित्व बारे चर्चा गर्नुभएको थियो

आफू र पार्टीका नेताहरूमाथि भ्रम छर्ने काम भयो : रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू र पार्टीका नेताहरूमाथि भ्रम छर्ने काम भइरहेको बताउनुभएको छ ।

शनिबार काठमाडौँमा धादिङ काठमाडौँ सम्पर्क विभाग गठन कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले रास्वपा बलियो भएर अघि बढ्ने देखिएपछि काम नगर्ने र कुरा मात्रै गर्ने भनेर आफू र पार्टीका नेताहरूमाथि भ्रम छर्ने काम भइरहेको बताउनुभएको हो ।

उहाँले आफू र पार्टीले विभिन्न समयमा धेरै काम गरेको भन्दै ८४ को निर्वाचनमा एक एक हिसाब लिएर जनतामाझ जाने जिकिर गर्नुभयो । नागरिकका मुद्धाहरुमा दरो उपस्थिति आफैमा गहन कुरा भएकाले पाँच वर्षको हिसाब व्याजसहित जनतालाई देखाउने उहाँको भनाइ छ । उहाँले संस्थागत रूपमा नै भिन्न ढङ्गले नयाँहरूलाई भिडाउने कामले कसैलाई फाइदा नहुने धारणा राख्नुभयो । नयाँ राजनीतिक दलका रूपमा आएका र पुराना दलमा राम्रा काम गरिरहेका नेताहरूमाथि आफूहरूको कुनै लडाई नरहेको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले आफूहरूको साझा शत्रु भ्रष्टाचार भएकाले त्यसका लागि लडिरहेको जिकिर गर्नुभयो ।

जसपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपाल को केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरु भएको छ। आइतबारदेखि हुन लागेको पार्टीको विधान अधिवेशनको पूर्वसन्ध्या पार्टीको केन्द्रीय समितिको बैठक बोलाइएको हो।

आइतबारदेखि काठमाडौँको कमलादीमा सुरु हुने विधान अधिवेशन तीन दिनसम्म चल्नेछ। पार्टीले पहिलोपटक आयोजना गर्न लागेको अधिवेशनमा पार्टी अध्यक्ष उपेन्द्र यादवले विधानको मस्यौदा प्रस्तुत गर्नेछन्। 

भोलिदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु हुने विधान अधिवेशनमा प्रस्तुत हुने मस्यौदा विधानलाई आजको बैठकले अनुमोदन गर्नेछ। बैठकले केन्द्रीय समितिबाट मस्यौदा विधान पारित गरे पछि विधान अधिवेशनमा प्रस्तुत हुनेछ।

उन्नत जातको ‘व्याड’ बोका वितरण

गोरखा – गोरखाको पालुङटार नगरपालिकाले नगरपालिकाभित्र नश्ल सुधारमार्फत मासु उत्पादन वृद्धि गर्न किसानलाई अनुदानमा ‘बोयर’ जातका ब्याड बोका वितरण गरेको छ ।

मासुमा नगरपालिकालाई आत्मानिर्भर बनाउन प्रयास गर्दै आएको पालुङटारले बाख्रामा नश्ल सुधार गर्दै मासु उत्पादन वृद्धि गर्न सहयोग पु¥याउने उद्देश्यसहित व्यावसायिक बाख्रापालक किसानलाई उन्नत जातको व्याड बोका वितरण गरेको नगरपालिकाका पशुशाखाका पशुचिकित्सक डा मरहट्टाले जानकारी दिनुभयो ।

“नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउनका लागि नश्ल सुधारमा जोड दिनु आवश्यक छ”, उहाँले भन्नुभयो, “हामीले व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएका किसानलाई छनोट गरेर ५० प्रतिशत अनुदानमा बोयर जातको ब्याड बोका वितरण गरेको हो ।” नगरपालिकाले मापदण्ड पूरा भएका २७ वटा बाख्रा फार्मलाई ब्याड बोका वितरण गरेको उहाँको भनाइ छ ।

व्यावसायिक बाख्रा फार्म सञ्चालन गर्दै आएका किसान खोरमा कम्तीमा १५ वटा बाख्रा भएको हुनुपर्नेलगायतका मापदण्ड बनाएर ब्याड बोका वितरण डा मरहट्टाले जानकारी दिनुभयो । “निवेदन दिएका किसानको घरघरमा पुगेर अनुगमन गरी आवश्यकता बुझेर मात्र ब्याड बोका वितरण गरिएको हो”, उहाँले भन्नुभयो, “किसानले खोरमा बाख्रा भए नभएको घाँसको अवस्था कस्तो छ, बाख्रापालनका लागि खोरको बनावटलगायका सबै कुराको अध्ययन गरेर अनुदान उपलब्ध गराइएको छ ।

छनोटमा परेको किसानबाट नै समिति बनाएर समितिमार्फत नै बोयर बोका खरिद गरेर ल्याएर वितरण गरेको डा मरहट्टाले जानकारी दिनुभयो । “हामीले खरिद गर्नुभन्दा उहाँहरु २७ जनामध्येबाट एउटा समिति बनाइयो”, उहाँले भन्नुभयो, “समितिले उपयुक्त छ भनेपछि आवश्यक प्रक्रिया पूरा गरी ब्याड बोका ल्याएर वितरण गरेको हो ।”

किसानलाई अनुदानमा वितरण गरिएको बोयर जातको बोका ८५ प्रतिशतदेखि ९७ दशमवल छ प्रतिशत रहेको पालुङटार नगरपालिका पशु चिकित्सक डा मरहट्टाले बताउनुभयो । उहाँले किसानलाई अनुदानमा उन्नत जातको बोका वितरण गर्दा कम्तीमा पाँच वर्षसम्म बिक्री वितरण गर्न नपाउने गरी सम्झौतासमेत गरेको जानकारी दिनुभयो ।

सडक कालोपत्र र स्तरोन्नति गर्न बजेट विनियोजन

म्याग्दी – गण्डकी प्रदेश सरकार मार्फत आगामी आर्थिक वर्ष २०८०÷०८१ म्याग्दीका ६८ सडक कालोपत्र र स्तरोन्नति गर्न बजेट विनियोजन भएको छ ।

प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत म्याग्दीमा आगामी आवमा ६८ वटा सडक, तीन वटा झोलुङ्गे पुल र सात वटा सडक पुलसम्बन्धी आयोजना कार्यान्वयन हुने भएका हुन् ।

ती सबै आयोजनाका लागि रु ७३ करोड बजेट विनियोजन भएको गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको वार्षिक योजना पुस्तिकामा उल्लेख छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले सडक आयोजनामा विनियोजन भएको बजेट कालोपत्र, नाली निर्माण, ढलान, सोलिङ र स्तरोन्नतिमा लगानी गरिने बताउनुभयो ।

“म्याग्दीमा प्रदेश सरकारमार्फत सञ्चालित तीन वटा पुराना सडक आयोजना सम्पन्न गराउन बजेट बिनियोजन भएको छ”, उहाँले भन्नुभयो, “म्याग्दीका आठ÷दश वटा शीर्षकबाहेक सबै नयाँ सडक आयोजना भित्रिएका छन् ।” क्रमागतरुपमा सञ्चालनमा रहेका बेनी–दरवाङ सडकलाई रु चार करोड, गलेश्वर–पिप्ले–भगवतीलाई रु तीन करोड, ठेक्का प्रक्रियामा रहेका अदिभारा र अर्जेखोला सडक पुललाई रु एक करोड ५० लाख÷एक करोड ५० लाख, दरवाङ–दाङखोला–धारापानी–ताकम सडकलाई रु एक करोड, दाङखोला सडक पुललाई रु ७५ लाख, अर्कला मोटरेबल पुललाई रु ३० लाख र छ्यारछ्यारे सडक पुललाई रु ६० लाख बजेट विनियोजन भएको छ ।

बेनी–दरवाङ–कल्लेनी–ताकम–मुना–जलजला सडकलाई रु पाँच करोड, दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नतिलाई रु पाँच करोड, दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नतिका लागि रु चार करोड, बेनी–तोरीपानी हुँदै पाखापानी सडकलाई रु चार करोड बजेट विनियोजन भएको छ । यी आयोजनाको डिपिआर बनाएर बहुवर्षे ठेक्का लगाइने भएको छ ।

दरवाङ–अदिभारा–डाडागाउँ–सोले–तमान–बुर्तिवाङ, पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला, हाँडेभिर–बगरफाँट–दूधेखोला–हल्लेगौडा–डोलेमुसुङ–बागलुङ, लुलाङ–गुर्जा सडक र पखेर–बरङ्जा–बुकेनी–धापुङ सडकलाई रु दुई÷दुई करोड विनियोजन भएको छ ।

रु एक करोडका दरले बजेट विनियोजन भएका सडकमा बिम–मराङ–मल्कवाङ–कुहिने–ठाडाखानी–पाखापानी, रघुगङ्गा गाउँपाकिलाको केन्द्र मौवाफाँटदेखि फूलबारी–मतारे–अक्षेत–सिजलगाउँ–धुपीचौरा हुँदै रुइसे सडक स्तरोन्नति, अन्नपूर्ण गाउँपालिकाको महभिर–दोसल्ले–काफलडाँडा नागी सडक, मङ्गलाको पोक–पिपलबोट–छिस्वाङ–छ्यारछ्यारे सडक, दर्वाङ–देवीस्थान, दरवाङ–देवीस्थान–ताकम सडक रहेका छन् ।

रु एक÷एक करोड बराबरको ठेक्का आह्वान भइसकेको सिङ्गा सिस्नेरी–डाडाखेत–पुलाचौर–गान्धे–जगन्नाथ हँुदै ढोलथान र पोक–नेटा–अर्मन–किमचौर–देउराली सडकलाई रु ५०÷५० लाख विनियोजन भएको छ । रु ५० लाखका दरले बजेट बिनियोजन भएका अन्य सडकमा डल्लेपिपल–राहुवडा–फोहटे–जामुनाखर्क, भगवती अधेरीखोला–खहरेखोला सडक स्तरोन्नति, घारखोला–पाउदुर–किन्दु–स्वाँता, मालिकाको घाङ्लेपानी–दुर्लेक, कल्लेनी–मराङ–राम्चे सडक आयोजना रहेका म्याग्दी क्षेत्र (क) बाट निर्वाचित प्रदेश सांसद हरि भण्डारीले बताउनुभयो ।

बेनपा–९ को कानेखोर तिनमाने–हटिया–पुलाश्रम, बेनी–ठुलोखबरा–अर्जम, खबरा–अर्जम मोटरबाटो, मौवाफाँट–घट्टेखोला–माछेखोला–दुलेपानी, रघुगङ्गाको रिजाल कुलमन्दिरदेखि हुमेनटोल–डढेकोट– सिजलगाउँ, बेनपा–१ को पिपलडाडाँ–दमाह–चौतारो मोटरबाटो स्तरोन्नति, बेनपा ६ र ५ को देउराली–भराले–पुत्लेढुङ्गा–पुला–भिरमुनि हुँदै कुहुँ सडक, अन्नपूर्ण–६ को पोखरेबगर–बैसरी सडक स्तरोन्नतिका लागि रु ३०÷३० लाखका दरले बजेट विनियोजन भएको छ ।

मङ्गला–२ को हिदी र मालिका–६ को दुखु सडक स्तरोन्नतिका लागि रु ८० लाख, मालिका–४ को चिउरीबोट–सिस्नेरी सडक र बेनपा–९ गलेश्वर मन्दिरदेखि कालीगण्डकी नदी बाटो स्तरोन्नतिमा रु ४०÷४० लाख तथा मालिका–६ दरवाङको जनप्रिय माविदेखि उपल्लो दरवाङ सडक स्तरोन्नतिका लागि रु ६५ लाख बिनियोजन भएको छ ।

बेनपा–६ को अवैचौरको घुम्तीदेखि नेपाने राममन्दिर सडक स्तरोन्नति, अन्नपूर्णको घारखोला–नेपाने–किन्दु सडक स्तरोन्नति, गलेश्वर मन्दिरदेखि पुलाश्रम मन्दिर जगन्नाथ मन्दिर भएर बेनी बजार जोड्ने सडक, मालिका–५ को पन्थोक सडक स्तरोन्नति, मङ्गलाको कुहुँ सडक स्तरोन्नति, थाइवाङ सडक र नाली योजना, मुदी सडक र नाली निर्माण, बिम तल्लोगाउँ डाडागाउँ बाटो स्तरोन्नति तथा नाली बनाउन, सिम–डडुवा–टोड्के सडक, आनन्दबगर–ढोडेनी सडक, कास्कीको उल्लेरी र म्याग्दीको घोडेपानी वैकल्पिक सडक, चित्रे–घोडेपानी, बेनपा–१० को दीपक मावि पछाडिको वाइ चोकदेखि हिलासम्मको सडक स्तरोन्नति, घ्याँसीखर्क मुस्ताङ लेते सडक, पोक भोर्लेनी, कोटगाउँ–रायखोर, धौलागिरिको सोलवाङ सडकलाई रु ३०÷३० लाखका दरले विनियोजन भएको छ ।

मालिकाको शिवरात्रीखोला पुललाई रु ५० लाख, रघुगङ्गाको कालावाङ सडक पुललाई रु ३० लाख र धौलागिरिको गुर्जा जोड्ने सडकको दरखोला मोटरेबल पुल बनाउन रु ८० लाख विनियोजन भएको छ । झोलुङ्गे पुलको निर्माणका लागि र एक करोड, पाउद्वार तातोपानी झोलुङ्गे पुललाई रु ७५ लाख र धौलागिरिको जापानीज आधार शिविरमा झोलुङ्गे पुल बनाउन रु ३२ लाख विनियोजन भएको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत कार्यान्वयन हुने गरि मालिका–७ को प्रभुचेला ध्यान आश्रममा पूर्वाधार बनाउन रु ५० लाख, पुँजीगत अनुसन्धान तथा परामर्श शीर्षकमा रु ५० लाख, प्रादेशिक सडक सुरक्षा कार्यक्रमलाई रु ५० लाख, सालबसाली रुपमा सम्पन्न गर्ने गरी सुरु भएका तर सम्पन्न हुन नसकी दायित्व सिर्जना भएका योजनाको भुक्तानीका लागि रु एक करोड, कालोपत्र÷ग्राभेल÷माटे सडक सतहको नियमित आवधिक र आकस्मिक मर्मतमा रु ३३ लाख, बाढी पहिरोबाट क्षतिग्रस्त सडक, पुल र झोलुङ्गे पुलको आकस्मिक पुनःस्थापनामा रु एक करोड, सरकारी भवन मर्मतसम्भार तथा निर्माण शीर्षकमा रु ५० लाख विनियोजन भएको छ ।

आठ कृषि फार्मलाई राहत

बागमती – बागमती प्रदेश सरकारले कृषि क्षेत्रमा विपद्बाट क्षति पुगेका कृषकलाई रु ५४ लाख राहत वितरण गर्ने शुक्रबार निर्णय गरेको छ ।

बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेशको विभिन्न स्थानका आठ कृषि फार्मलाई रु ५४ लाख राहत प्रदान गर्ने निर्णय गरेको सो मन्त्रालयले जनाएको छ । प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री डा राजेन्द्रमान श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले विपद्को समयमा क्षति पुगेका आठ कृषि फार्मलाई राहत प्रदान गर्ने निर्णय गरेको हो ।

मन्त्रालयले आर्थिक वर्ष २०७९÷८० को वार्षिक एकीकृत कार्यक्रमअनुसार आपत्कालीन र आकस्मिक रोग तथा क्षति न्यूनीकरण कार्यक्रमअन्तर्गत राहत वितरण कार्यविधि २०७९ बमोजिम राहत प्राप्त गर्न इच्छुक कृषकबाट गत मङ्सिर महिनादेखि आवश्यक कागजात माग गरिएको थियो ।

सो मागबमोजिम आवेदन प्राप्त भएका ४० कृषकमध्ये आठ कृषि फार्मलाई राहत प्रदान गर्ने छनोट भएको मन्त्रालयका प्रवक्ता झलकनाथ कँडेलले जानकारी दिनुभयो । बैठकले राहतका लागि छनोट भएका कृषि फार्ममा नोवेल कृषि फार्म धुलिखेल, हाम्रो माझीफेदा पशुपालन तथा कृषि फार्म चौरी देउराली, दाजुभाइ एकीकृत बहुद्देश्यीय कृषि फार्म पनौती, गैरी गाउँ कृषि तथा पशुपन्छी फार्म पनौती, टिमभिजन एग्रीकल्चर फार्म पनौती, श्रेष्ठ बङ्गुर फार्म पनौती, एसएस बङ्गुर माछा तथा कृषि फार्म बनेपा, तथा उभौली हाम्रो बङ्गुर फार्म पनौती रहेका जनाइएको छ । छनोटमा बाँकी रहेका ३२ आवेदकको आवश्यक कागजात नुगेकाले छानबिन गरी अर्को बैठकबाट निर्णय गरिने बताइएको छ ।

महभिरमा ढुङ्गा खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध

पर्वत – पर्वतको मोदी गाउँपालिका–६ स्थित महभिरमा सडक माथिबाट ढुङ्गा खस्दा मध्यपहाडी राजमार्गको पोखरा–पर्वत खण्ड अवरुद्ध भएको छ । गए रातिदेखि परेको भारी वर्षाका कारण बिहानपख भिरबाट सडकमा ढुङ्गा खसेर पुरिएको हो । अवरुद्ध सडक खुलाउनका लागि जेसिबी र सुरक्षाकर्मीलाई परिचालन गर्ने तयारी भइरहेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सुमन न्यूरेले जानकारी दिनुभयो ।

सडक अवरुद्ध हुँदा पोखरातर्फबाट धौलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङतर्फ आएका सवारीसाधन नयाँपुलमा रोकिएका छन् भने यस क्षेत्रबाट अन्यत्र जाने सवारीसाधन डिमुवामा रोकिएका छन् ।

अहिले पनि यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । ठूलो वर्षाका कारण केही ग्रामीण सडरुमा समेत आवतजावत बन्द भएको छ ।

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

खजुरा – नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ । ‘एन्टी रेबिज भ्याक्सिन’ हालसम्म सेवाग्राहीलाई अस्पतालबाट निःशुल्करूपमा प्रदान गर्दै आएकामा अस्पतालमा खोपको मौज्दात सकिएकाले सो सेवा दिन नसकेको एक सूचनामार्फत जानकारी गराइएको छ ।

भेरी अस्पतालका प्रमुख डा बद्री चापागाईंले कुकरले टोकेपछि लगाइने रेबिजविरुद्धको सुई अस्पतालले आफैँ उपलब्ध गराउनेभन्दा केन्द्र र प्रदेशमार्फत प्राप्त भएको डोज (मात्रा) आवश्यकताअनुसार वितरण मात्र गर्दै आएको बताउनुभयो । उहाँका अनुसार बुटवलबाट प्राप्त हुने उक्त खोपको मौज्दात कम भएपछि अन्तिम पटक धनगढीबाट ल्याएर भए पनि बिरामीलाई लगाइएको छ ।

हाल केन्द्र तथा प्रदेश आपूर्ति केन्द्रमै उक्त खोपको मौज्दात मागअनुसार नभएको जानकारी प्राप्त भएको र अस्पतालमा मौज्दात सकिएकाले खोपको आपूर्ति सञ्चालन नहुञ्जेल निःशुल्क रेबिजविरुद्धको खोप दिन नसकिने अस्पतालले जनाएको छ ।

अहिले बिरामीले आफैँ उक्त खोप खरिद गरी लिई आएमा सो खोप लगाउने कार्य गरिएको छ । उक्त खोप निकै महँगो पर्ने भएकाले सबैले किनेर लगाउन नसक्ने हुँदा भेरी अस्पतालमा सुई तत्काल पठाउनुपर्ने स्थानीयको माग छ ।

भेरी अस्पताल विकास समितिका निवर्तमान सदस्य कृष्णप्रसाद श्रेष्ठले तत्काल अस्पताललाई रेबिजविरुद्धको खोप उपलब्ध गराउन पहल गर्दै खोपका अभावमा यहाँका गरिब र विपन्न परिवारलाई उपचारमा समस्या भएको बताउनुभयो ।

 आइसिसी विश्वकप छनोट : नेपाली क्रिकेट टिमले आज नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ  – नेपाली क्रिकेट टिमले आज नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दै छ । 

आइसिसी विश्वकप छनोट अन्तर्गत आफ्नो समूह चरणको अन्तिम खेलमा आज नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्न लागेको हो ।

जिम्बावेको ताकाशिंगा क्रिकेट स्पोर्ट्स क्लबमा हुने सो खेल नेपाली समय अनुसार दिउँसो १२ः ४५ बजेबाट सुरु हुनेछ ।

दुई वटा खेलमा पराजित तथा एक खेलमा विजयी नेपालले सुपर ६ मा पुग्ने लक्ष्य नेदरल्यान्ड्सलाई हराएर मात्र पुरा हुने भएपछि नेपाललाई थप दबाब परेको छ । 

नेदरल्याण्डलाई हराउन नसके नेपाल तीन वटा खेलमा पराजित हुँदै समूह चरणबाटै बाहिरिने छ । जसका कारण पनि नेपालले निकै मेहनतका साथ आफ्नो प्रदर्शन देखाउनु पर्ने हुन्छ । 

यसअघि भएका तीन खेलमध्ये नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । उत्कृष्ट लक्ष्य प्रदान गरे पनि बलिङमा जम्न नसक्दा पहिलो खेलमा नै पराजयको चोट ब्योहोरेको नेपालले दोस्रो खेलमा भने अमेरिकालाई ६ विकेटले हराउन सफल भएको थियो ।  

तर, चार चार पटक विश्वकप विजेता टोली वेस्टइन्डिजसँग मैदानमा उत्रेको नेपालले उससँग १ सय १ रनको फराकिलो अन्तरले पराजयको नमिठो अनुभव लिनु परेको थियो । त्यो पीडा भुलाउनका लागि पनि आज नेपालले दबाबमा आएर खेल्नु पर्ने बाध्यता छ । 

सुपर ६ मा पुग्नका लागि मैदानमा उत्रन लागेको नेपालले समूह चरणको अन्तिम खेलमा दबाबमा खेल्नु पर्ने बाध्यता रहेको छ । 

रत्ननगरमा नगरप्रमुख उद्यमशीलता प्रवर्द्धन कार्यक्रम

रत्ननगर – चितवनको रत्ननगर नगरपालिकामा नगरप्रमुख उद्यमशीलता प्रवर्द्धन कार्यक्रम शुभारम्भ भएको छ ।

उद्यमी बन्न चाहेका नगरवासीमध्येबाट पहिलो चरणमा छनोट गरिएका ३८ जनालाई नेपाल बैंकसँगको सहकार्यमा रु तीन लाखका दरले ‘चेक’ हस्तान्तरण गर्दै कार्यक्रमको थालिएकोे हो ।

सो अवसरमा नगरप्रमुख प्रलाद सापकोटाले आर्थिक अवस्था कमजोर भएकालाई पहिलो प्राथमिकता दिँदै उद्यमशीलता प्रवर्द्धन गर्न चेक हस्तान्तरण गरिएको बताउनुभयो । उहाँले उद्यमीले इमान्दारिताका साथ व्यवसाय सञ्चालन गरे थप लगानी गर्ने वातावरण मिलाउन आफू तयार रहेको जानकारी दिनुभयो ।

“हामी उद्यमीलाई राजनीतिक आँखाले हेर्दैनौँ, प्राथमिकताका आधारमा छनोट गर्छौं”, उहाँले भन्नुभयो, “एकल महिला, सीमान्तकृत, अल्पसङ्ख्यक र दलित महिलालाई पहिलो प्राथमिकता दिएका छौँ ।” कार्यक्रममा नेपाल बैंक लिमिटेड टाँडी शाखाका प्रमुख सरोज खनालले उद्यमशीलता कार्यक्रममा जोडिएका उद्यमीले उदाहरणीय काम गरेर देखाउनुपर्ने चुनौती रहेको बताउनुभयो । बैंकले नगरपालिकासँग समन्वय गरी आवश्यक छनोट प्रक्रिया पूरा गरेपछि तीन वर्षका लागि रु तीन लाख ऋण लगानी गर्ने र सो ऋणको ब्याज नगरपालिकाले बुझाउने सहमति गरिएको उहाँको भनाइ छ ।

उद्यमीले प्राप्त गरेको ऋणको हरेक तीन महिनामा रु २५ हजारका दरले किस्ता घटाउँदै तीन वर्षभित्र तिरिसक्नुपर्ने जनाइएको छ । रत्ननगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बद्रिनारायण शर्माले उद्यमशीलताबिना विकास हुन नसक्ने जनाउँदै उद्यमीले राम्रो गर्न सकेमात्र नगरप्रमुख उद्यमशीलता प्रवर्द्धन कार्यक्रम थप विस्तार हुने बताउनुभयो ।

कार्यक्रममा उद्यमशीलता कार्यक्रममा छनोट भएका ३८ उद्यमीलाई नेपाल बैंक लिमिटेड टाँडी शाखाका कर्जा प्रमुख दीपेन्द्र अधिकारीले वित्तीय व्यवस्थापनबारे प्रशिक्षण दिनुभएको थियो ।

नवलपुरको शनिश्चरे ताल पुनःनिर्माण

त्रिवेणी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको शनिश्चरे तालको पुनःनिर्माण गरिएको छ । जिल्लाको देवचुली नगरपालिका–१ मा अवस्थित तालको गण्डकी प्रदेश सरकारको सहयोगमा पुनःनिर्माण सम्पन्नभएको हो ।

जिल्लाकै ठूलो तालका रुपमा रहेको शनिश्चरे ताल साँघुरिँदै गएपछि ताल सफा गर्ने, ताल पुरिएको स्थानमा खन्नेलगायतको काम गरिएको सिसबार उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले बताउनुभयो । एकतीस बिघा क्षेत्रफलमा फैलिएको ताल गण्डकी प्रदेश सरकारको रु ४० लाख र उपभोक्ता समितिबाट रु चार लाख ३४ हजार चार सय २१ गरी कूल रु ४४ लाख ३४ हजार चार सय २१ लागतमा पुनःनिर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।

सिमसारको रुपमा रहेको यस क्षेत्रको संरक्षण गर्दै तालको रुपमा विकास गरिएको हो । ताल संरक्षण गर्नु जैविक विविधताका हिसाबले समेत महत्वपूर्ण रहेको अध्यक्ष पाण्डेले बताउनुभयो । गैँडा, मृगलगायतका वन्यजन्तुलाई पानीको स्रोत, लोपउन्मुख चराको बासस्थानका लागि तालको महत्व रहेको अध्यक्ष पाण्डेले बताउनुभयो ।

जिल्लाकै ठूलो ताल भएकाले पर्यटनको आकर्षणसमेत बन्ने उहाँले बताउनुभयो । “जैविक विविधताको संरक्षण गर्दै पर्यापर्यटनको माध्यमबाट दिगो जीविकोपार्जन गर्नका लागि यो तालको महत्व रहेको छ”, उहाँले भन्नुभयो । तालमा अहिले माछापालनसमेत गरिएको छ । लक्षित वर्ग माझी, मुसहर, बोटे समुदायको आर्थिक उपार्जनमा समेत तालले सहयोग पुग्ने उहाँले बताउनुभयो ।

पूर्व पश्चिम राजमार्गको केउरेनीदेखि दुई दशमलव पाँच किलोमिटरको दूरीमा रहेको शनिश्चरे ताललाई जिल्लाकै आकर्षक पर्यटकीयस्थलको रुपमा विकास गर्न रु १५ करोडको विस्तृत परियोजना प्रतिवेदनसमेत तयार पारिएको अध्यक्ष पाण्डेले बताउनुभयो । पार्क, मचान, दृश्यावलोकन स्तम्भसहितका संरचना बनाउने गरी विस्तृत परियोजना प्रतिवेदन तयार पारिएको उहाँले बताउनुभयो ।

प्रारम्भिकरुपमा थोरै बजेटले तालको पुनःनिर्माणको काम गरिएको र क्रमशः योजनाअनुसारका काम गरिने अध्यक्ष पाण्डेले बताउनुभयो । “प्रदेश सरकारबाट प्राप्त रकमबाट प्रारम्भिक चरणमा तालको पुनःनिनिर्माणको काम अघि बढाएका छौँ, क्रमशः यसको विकास गर्ने योजना हाम्रो रहेको छ”, अध्यक्ष पाण्डेले भन्नुभयो, “मुख्य कुरा बजेटको समस्या हो, यसका लागि तीनै तहका सरकारसमक्ष समन्वय गरिरहेका छौँ ।” चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले तालको थप महत्व रहेको उहाँको भनाइ रहेको छ ।

लामा र अग्लो पुल हेर्न आउने विदेशी पर्यटक बढ्दै

गल्याङ – स्याङ्जामा लामो र अग्लो झोलुङ्गे पुल हेर्न आउने विदेशी पर्यटकको सङ्ख्या बढ्दै जान थालेको छ ।

गल्याङ नगरपालिका ८ र ७ जोड्ने चिउरीस्थित आँधीखोलामाथि तीन सय ६८ मिटर लामो, एक सय ९० मिटर अग्लो झोलुङ्गे पुल दुई वर्ष पहिले निर्माण भएको थियो । अघिल्लो वर्षभन्दा यस वर्ष धेरै गर्मी बढेको छ । गर्मी छल्न भारतीय नागरिक पोखरा, कुस्मा र मुक्तिनाथ आउने गरेका छन् ।

भारतीय नागरिकका लागि पोखरा, कुस्मा र मुक्तिनाथ जान सिद्धार्थ राजमार्ग सबैभन्दा छोटो र सजिलो राजमार्ग हो । सो राजमार्गको छेवैमा भएकाले पनि घुम्न हिँडेका भारतीय नागरिक चिउरीको झोलुङ्गे पुलको अवलोकन गरेर जान्छन् ।

यस्तै चीन, जापान, अमेरिका, जर्मनलगायत विभिन्न मुलुकबाट पोखरा घुम्न आएका विदेशी पर्यटक गौतमबुद्धको जन्मथलो लुम्बिनीमा जान पनि सिद्धार्थ राजमार्ग नै बढी प्रयोग गर्छन् । स्थानीय भीमबहादुर रानाले अघिल्लो वर्षका तुलनामा यस वर्ष धेरै भारतीय पर्यटकले चिउरीमा रहेको पुल भ्रमण गरेको बताउनुभयो ।

उहाँले भारतबाट बुटवल पाल्पा हुँदै पोखरा, कुस्मा र मुक्तिनाथ जाने हरेक भारतीय पर्यटकका गाडी अग्लो र लामो झोलुङ्गे पुल हेर्न चिउरीमा रोकिने गरेको बताउनुभयो । “कुनै समय यहाँ फोटो खिच्ने र टिकटक बनाउने आन्तरिक पर्यटकको अत्यधिक चाप हुने गर्दछ ।” रानाले भन्नुभयो, “अहिले पुल हेर्न आउने आन्तरिक पर्यटक घटेका छन् तर विदेशी पर्यटक बढ्दै गएका छन् ।”

पर्यटकको मनोरञ्जनको साधन मात्र नभएर उहाँले झोलुङ्गे पुल स्थानीयस्तरमा उत्पादित वस्तुको बजारीकरणका लागि कोसेढुङ्गा सावित भएको बताउनुभयो । गल्याङ–७ पेलाकोटमा रहेको केदारनाथ मन्दिरमा दर्शन तथा पूजाका लागि तीर्थयात्रीलाई पुलले सहज बनाएको केदारनाथ मन्दिर धार्मिक तथा पर्यटन विकास समितिका सचिव टीकाराम पाठकले बताउनुभयो । उहाँले मन्दिरमा जान लाग्ने दुई घण्टाको बाटो आधा घण्टामा छोटिएको बताउनुभयो ।

गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले झोलुङ्गे पुल अवलोकनका लागि आउने पर्यटकको सङ्ख्या बढेपछि चिउरीमा हाल पार्किङ र पुलसम्म जान आउन रेलिङसहितको पदमार्ग निर्माण गरिएको बताउनुभयो । झोलुङ्गे पुल नुवाकोटस्थित एसए शैलेन्द्र जेभीले २०७८ असार मसान्तमा सम्पन्न गरेर सर्वसाधारणका लागि खुला गरेको थियो । पुल रु एक करोड ८३ लाखमा ठेक्का सम्झौता भएको थियो ।

मनसुनी वायुको प्रभाव, देशभर मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ – हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन ÷ चट्याङसहित वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्य बदली रहनेछ। देशभर केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती भने देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन ÷ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

देशभर सामान्य बदली रही मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन ÷ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

मधेस, बागमती ,गण्डकी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साथै कोसी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भारी वर्षा र मेघ गर्जन चट्याङका कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भू–क्षय तथा गेग्र्यान बहावका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ । सडक तथा हवाई यातायात, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०८० आषाढ ०९ गते (शनिवार) 
दिउँसो
:  देशभर सामान्य बदली रहनेछ। देशभर केही स्थानहरूमा मेघ गर्जन ÷ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
राती: देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ गर्जन ÷ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

२०८० आषाढ १० गते (आइतबार) 
दिउँसो
:  देशभर सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
​​​​​​​राती: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन ÷ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

२०८० आषाढ ११ गते (सोमबार) 
दिउँसो: 
 देशभर सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राती: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा मेघ गर्जन ÷ चट्याङ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

युवा सङ्घ नेपालको कैलाली जिल्ला कमिटीको बैठक सम्पन्न

काठमाडौँ – राष्ट्रिय युवा सङ्घ नेपालले कैलाली जिल्लाको जिल्ला कमिटी बैठक सम्पन्न गरेको छ ।

सङ्घको बैठकले जिल्लाको १३ वटा स्थानीय तहमा व्यवस्थित ढङ्गले अधिवेशन गर्ने निर्णय गरेको हो । १ सय २६ वटै वडाहरूमा भव्यरुपमा अधिवेशन गरेर नयाँ १६ वर्ष देखी २५ वर्षका १० हजार भन्दा बढी युवाहरूलाई सदस्यता वितरण गर्ने योजना रहेको सङ्घले बताएको छ ।

न्यु जेनेरेसन मिसन नेक्स्ट इलेक्सनलाई प्रभावकारी ढङ्गले पार्टी सशक्त बनाई आगामी निर्वाचन २०८४ मा नेकपा एमालेलाई कैलाली जिल्लामा पहिलो पार्टी बनाउने युवा सङ्घले जनाएको छ ।

कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय उपाध्यक्ष महाराज गुरुङ, केन्द्रीय सचिव विनय शाह, प्रदेश अध्यक्ष भरत मल्लको आतिथ्यमा बैठक सम्पन्न भएको हो ।

नमोबुद्धका अनियमित संरचना हटाइँदै

काभ्रे – ऐतिहासिक एवं पर्यटकीय नमोबुद्ध परिसरमा निर्माण गरिएका अनियमित संरचना हटाउन थालिएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रक्रियामा रहेको काभे्रपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित नमोबुद्ध चैत्य छोपिने गरी निर्माण भएका संरचना पुरातत्व विभागअन्तर्गतको संरक्षित स्मारक तथा दरबार क्षेत्र हेरचाह अड्डाको रोहवरमा बिहीबारदेखि हटाउन थालिएको हो । नमोबुद्ध नगरका जनप्रतिनिधि तथा कर्मचारी, प्रहरी, प्रशासन, नमोबुद्ध भगवान् घ्या गुठी व्यवस्थापन समितिसहित स्थानीय सरोकारवालाको उपस्थितिमा हटाइएको जनाइएको छ । पुरातत्व विभागले उक्त संरचना नहटाइ विश्व सम्पदा सूचीमा सूचीकृत हुने प्रक्रिया अघि बढाउन नसकिने जनाएपछि सरोकारवालासँगको छलफलपछि अनियमित संरचना हटाउन थालिएको हो ।

नगर प्रमुख कुनसाङ लामाले विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाउन अनियमित संरचना हटाउन थालिएको बताउनुभयो । “नमोबुद्धलाई थप व्यवस्थित बनाउन संरचना हटाउनेदेखि थप निर्माण गर्न पनि सक्नेछौँ”, उहाँले भन्नुभयो ।

नमोबुद्ध नगरले नमोबुद्ध क्षेत्र ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल भएकाले विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियाअन्तर्गत संरचना हटाउन थालिएको बताइन्छ । ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक एवं वातावरणीय महत्व बोकेको विश्व प्रसिद्ध तथा प्राचीन नमोबुद्ध चैत्य परिसरको दीर्घकालीन गुरुयोजना निर्माण गरी विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रारम्भिक चरणको कार्य सुरु गरिएको जनाइएको छ । रु ८७ करोड लागतको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरी काम अघि बढाइएको हो ।

यसबाट नमोबुद्ध क्षेत्रमा पर्यटन विकासका लागि सिँढी, पर्खाल, दुई स्थानमा प्रवेशद्वार, सडक बत्ती, सौर्य बत्ती, ढुङ्गा छाप्ने, सार्वजनिक शौचालयलगायतका पूर्वाधार विकासका काम भइरहेको छ । सुरक्षा व्यवस्थापनको लागि सिसीटिभी क्यामेरासमेत जडान गरिएको छ भने डिपीआरअनुसार थप काम अघि बढाउन सङ्घीय पर्यटन मन्त्रालय, प्रदेशस्थित पर्यटन मन्त्रालयलगायत सरोकारवाला निकायमा पहल गरिएको छ ।

पर्यटकीयस्थल नमोबुद्धलाई विशेष गरी बौद्ध धर्मावलम्बीको तीर्थस्थलका रुपमा समेत लिइने गरिन्छ । नगरले यसअघि नै गुरुयोजना बनाएर काम अघि बढाएको छ । हाल नमोबुद्ध क्षेत्रमा विशाल गुम्बा, मन्दिर, गुम्बा र चैत्य छन् । गुम्बामा बुद्ध पाठशालासमेत रहेको छ । सदरमुकाम धुलिखेलबाट १३ किलोमिटर तथा सङ्घीय राजधानी काठमाडौँबाट ५० किलोमिटरको दूरीमा रहेको पर्यटकीय क्षेत्र नमोबुद्ध पुग्ने काभ्रेभञ्ज्याङदेखि फूलबारी सडकखण्ड असहज हुँदा पर्यटकले सास्ती ब्यहोर्दै आएका छन् । पनौतीबाट शङ्खु उपत्यका हुँदै र पर्यटकीय नगरी धुलिखेलबाट हाइकिङ गर्दै पुग्न सकिने नमोबुद्धबाट मनोरम हिम शृङ्खला देख्न सकिन्छ ।

पुरातत्व विभागका अनुसार नेपालको चार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ । जसमा काठमाडौँ उपत्यका (उपत्यका सात क्षेत्र ः काठमाडौँ दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथ मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ र चाँगुनारायण मन्दिर), चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन् ।

‘आत्मनिर्भर नभएका वस्तुमा भ्याट लगाउँदा चोरी तस्करी बढ्ने’

काठमाडौँ – आत्मनिर्भर भएका वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउँदा चोरी तस्करी वृद्धि भई बजारमा अस्वाभाविक मूल्य बढ्दै जाने उपभोक्ता अधिकारकर्मीले बताएका छन् । 

राष्ट्रिय उपभोक्ता अधिकार मञ्च, राष्ट्रिय उपभोक्ता मञ्च र उपभोक्ता हित संरक्षण मञ्चले बिहीबार आयोजना गरेको सरकारको नीति तथा कार्यक्रममा बढ्दो महँगी, अनियन्त्रित बजार र उपभोक्ता सरोकारका विषयमा भएको अन्तर्क्रिया कार्यक्रममा सो बताएका हुन् । 

आगामी आर्थिक वर्षको बजेटमार्फत तरकारी, फलफूल र खाद्यवस्तुमा उपभोक्तालाई १३ प्रतिशत भ्याट लगाउने नीति खारेज गर्नसमेत उनीहरूले माग गरेका छन् । 

उपभोक्तालाई प्रत्यक्ष भार पर्ने नीतिको विरोध गर्दै हाल आलु, प्याजलगायतका सामानको आयातमा भन्सार बिन्दुमै नौ प्रतिशत कृषि सेवा शुल्क, अग्रिम आयकर १.५ र १३ प्रतिशत भ्याट थप हुँदा यस्ता वस्तुमा २३.५ प्रतिशत कर लाग्ने भएको बताइएको छ । 

उपभोक्ता अधिकारवादी संस्थाले बजारलाई व्यवस्थित र मर्यादित बनाउन विभिन्न १६ बुँदे मागसमेत राखेका छन् । उनीहरूले बजार अनुगमनका लागि तीनै तहका सरकारबिचका संयन्त्रलाई प्रभावकारी बनाउन माग गरेका छन् । 

स्वच्छ र प्रतिस्पर्धी बजारका लागि आवश्यक न्यूनतम मापदण्ड राष्ट्रिय उपभोक्ता नीति, मूल्य नीति आपूर्ति नीति तयार गरी लागु गर्न उनीहरूले माग गरेका हुन् । 

राष्ट्रिय उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले दिनहुँ जसो उपभोक्ता मूल्य, गुणस्तर र नापतौलमा ठगिएकाले सोसम्बन्धी मापदण्ड बनाएर लागु गरिनुपर्ने बताउनुभयो । 

सो अवसरमा उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँले कृत्रिम अभाव, मूल्य वृद्धि, एकाधिकार र ‘कार्टेलिङ’ गरी गुणस्तरहीन वस्तु र सेवाको बिक्री, भ्रमपूर्ण विज्ञापन, मूल्य र नापतौल ठगी तथा स्वच्छ प्रतिस्पर्धाविरुद्धका कार्यलाई कडाइका साथ नियन्त्रण गर्न माग गर्नुभयो । आजको गोरखापत्रबाट

लमजुङको भलायखर्क केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ – लमजुङको भलायखर्क आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङ जिल्लाको राइनास नगरपालिकास्थित भलायखर्क आसपास केन्द्रबिन्दु भएर आज बिहान ५ बजेर ५५ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का लमजुङ, तनहुँ र गोरखा जिल्लामा महसुस गरिएको थियो । यसअघि गत असार ५ गते बिहान दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रूपमा लिने गरिन्छ । 

ओखलढुङ्गामा पहिरोमा परी एकै घरका चार जनाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गामा पहिरोमा जाँदा चार जनाको मृत्यु भएको छ ।  

चम्पादेवी गाउँपालिका– ८ मा गए राति पहिरो जाँदा एकै घरका चार जनाको मृत्यु भएको हो ।  

जिल्ला प्रहरी कार्यालयका अनुसार सो गाउँपालिका गुरुङ बस्तीका बिहीबार राति ११–१२ बजेको आसपासमा पहिरो गएको थियो, जुन पहिरोमा परी एकै घरका चार जनाको मृत्यु भएको हो ।

यसरी मृत्यु हुनेमा ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया शिवमाया, छोरा १० वर्षीय दिनेश र छोरी डेढ वर्षीया कविताको मृत्यु भएको प्रहरीले जनाएको छ । 

सो घटनाबारे जानकारी पाए लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा घटनास्थल पुगेर उद्धार सुरु गरेका थिए । सो घटनाको थप विवरण आउन बाँकी छ। 

आज नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभलको उद्घाटन हुँदै

पोखरा – आज नेपाल–चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभलको उद्घाटन हुदैँछ ।

दक्षिण एसियामा नै पहिलो पटक पोखराको फेवातालमा आज उद्घाटन हुन गइरहेको ड्रागन बोट रेस फेस्टिभल दुई दिनसम्म चल्नेछ । सो फेस्टिभल शुक्रवार र शनिवार गरी दुई दिनसम्म चल्न लागेको हो ।

पोखरामा पहिलो पटक भएको अन्तर्राष्ट्रिय उडानको क्रममा सिचुवान एयरलाइन्सको विमानबाट पोखरा आएका चिनियाँ खेलाडीहरूले आफ्नो कौशलता प्रदर्शन गर्नेछन् । सो फेस्टिभलमा सहभागी हुन चिनियाँ १ सय २० जनाको टोली बुधवार नेपाल आइसकेको छ ।

आयोजकका अनुसार सो प्रतियोगितामा ४ नेपाली र ४ चिनियाँ गरी आठ ओटा टोली सहभागी हुनेछन् भने २०० र ५०० मिटरको प्रतिस्पर्धा हुनेछ । 

पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा हुन गइरहेको उक्त फेस्टिभलमा पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसियसन सह आयोजकको रूपमा रहेका छन्। सो प्रतियोगितामा पहिलो हुने टोलीले ५ लाख ५० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।