`

गोरखामा जन्ति बस दुर्घटना, ६ जनाको मृत्यु

गोरखा – गोरखामा गए राति जन्ति बस दुर्घटनमा परेको छ ।

शहिद लखन गाउँपालिका-३ सिलिङ कोटगाउँबाट शहिद लखन गापा-५ पोखरी डाडाँ जन्ति फर्कने क्रममा सिलिङ र डाँडाबारीको बिचमा अमलडाँडा भन्ने ठाउँमा गाडी दुर्घटना भएको प्रहरीलाई उदृत गर्दै शहिद लखन वडा नम्बर ७ का वडाअध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभएको छ । घटनास्थल मनकामनानजिकै पर्दछ ।

उहाँका अनुसार भीरमा धेरै मानिसहरु हताहती भएको तर मृत्यु हुनेको संख्या भने एकिन भएको छैन ।

प्रहरीले वडाअध्यक्ष श्रेष्ठलाई ६ जनाको मृत्यु भएको जानकारी दिएको छ ।

२ जनाको सकुशल उद्दार गरिएको छ भने १२ जना घाइतेलाई उपचारको लागि तनहुँको खैरेनीमा पठाइएको छ । रातिको समय र पानी पनि परिरहेको हुनाले उद्दार कार्य कठिन भएको प्रहरीले जनाएको छ ।

अहिले जिल्लाबाट नेपाल प्रहरी, शसष्त्र पहरी र नेपाली सेनाको थप उद्दार टोली घटनास्थलतर्फ गएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

गण्डकीमा नयाँ सवारी साधन खरिद नगरिने

गण्डकी – गण्डकी प्रदेशमा आगामी आर्थिक वर्षमा अत्यावश्यक सेवाका लागि बाहेक नयाँ सवारी साधन खरिद नगरिने भएको छ ।

सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रदेश सरकारका पुँजीगत खर्च गर्ने क्षमता अभिवृद्धि गर्दै चालु खर्चलाई न्यूनीकरण गर्न खर्चको मापदण्ड प्रभावकारी रुपमा कार्यान्वयन गरिने उल्लेख छ ।

वित्तीय सेवामा आम नागरिकको पहुँच अभिवृद्धि गर्न र विद्युतीय भुक्तानी प्रणालीलाई प्रोत्साहित गर्न बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा वित्तीय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरिएको अर्थमन्त्री जीतप्रकाश आलेले बताउनुभयो ।

वार्षिक बजेट तर्जुमा गर्दा बजेटलाई दिगो विकास केन्द्रित, समानुपातिक समावेशी र प्राथमिकता प्राप्त केन्द्रित गर्न लैङ्गिक उत्तरदायी, दिगो विकास लक्ष्य र जलवायु अनुकूलनसम्बन्धी बजेट कोड अवलम्बन गर्ने व्यवस्था मिलाइएको छ । हाल सञ्चालनमा रहेका प्रदेश गौरवका आयोजना, बहुवर्षीय आयोजना, क्रमागत र अधुरा आयोजनाको तोकिएको बाँकी काम आगामी आवमा सम्पन्न हुने गरी बजेट विनियोजनमा प्राथमिकता दिइएको उहाँले बताउनुभयो ।

सार्वजनिक प्रकृतिका सामुदायिक संस्थाका भवन प्रदेश सरकारको स्रोतबाट निर्माण गर्दा अनिवार्यरुपमा उक्त संस्थाको नाममा जग्गाको स्वामित्व वा भोगाधिकार प्राप्त भएको हुनुपर्ने व्यवस्था मिलाइएको छ । प्रदेश र स्थानीय तहका कर्मचारीलाई योजना तथा बजेट तर्जुमा सम्बन्धमा वित्तीय अनुशासन, वित्तीय हस्तान्तरण, प्रदेश मन्त्रालयगत बजेट सूचना प्रणाली, सार्वजनिक खरिद, आर्थिक अनुशासन तथा विकासलगायतका विषयमा क्षमता अभिवृद्धिसम्बन्धी तालिम कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरिएको मन्त्री आलेले बताउनुभयो ।

प्रदेशको सन्तुलित विकासलाई प्रभावकारी बनाउन पूर्वाधार विकास कार्यक्रमका लागि रु ७२ करोड विनियोजन गरिएको र कार्यान्वयनका लागि आवश्यक कार्यविधि बनाई व्यवस्थित गरिने उहाँले बताउनुभयो ।

प्रतिनिधिसभा बैठक आज बस्दै : सांसदले सोधेको प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौँ – प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।

शुक्रबार बस्ने बैठकमा प्रतिनिधिसभा सदस्यहरूले बजेटबारे सोधेको प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

त्यसै गरी बैठकमा विनियोजन विधेयक २०८० को विभिन्न शीर्षकहरूमाथिको छलफल अन्तर्गत आज चार वटा मन्त्रालयसँग सम्बन्धित बजेटमाथि छलफल हुनेछ । जसअनुसार संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयले, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका बजेट शीर्षकमाथि छलफल हुन लागेको हो ।

यसै गरी बैठकमा ७ जना सांसदले विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले उल्लेख गरेको छ ।

टिकट महँगो भएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ- नेपाल एसोसिएसन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले सरकारले भ्याट लगाउँदा हवाई टिकट महँगो भएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

नाट्टाका अध्यक्ष रमेश थापा नेतृत्वको टोलीले बुधबार अर्थमन्त्री डा प्रकाशशरण महतलाई भेटेर आर्थिक वर्ष २०८०÷८१ को बजेटमार्फत हवाई टिकटमा भ्याट लगाउँदा ज्यादै महँगो भएको उल्लेख गर्दै उक्त निर्णय फिर्ता लिन माग गरेको हो ।

“नेपालमा हाल आन्तरिक तथा अन्तर्राष्ट्रिय भाडादर ज्यादै महँगो रहेकाले यही अवस्थामा भ्याटसमेत थप्दा भाडादर महँगो भई पर्यटक आवागमन नै घट्ने, नेपालमा भाडादर महँगो तथा सीमा नजिक हुँदा बागडोगरा, गोरखपुरलगायतका हवाईमैदान रोज्ने सम्भावना रहेको छ”, अध्यक्ष थापाले भन्नुभयो ।

सरकारले १० लाख बढी पर्यटक भित्र्याउने लक्ष्य राखिरहँदा उक्त निर्णयले गम्भीर असर पर्ने उहाँको भनाइ छ । नेपालमा मात्र भ्याट लगाउँदा नेपालका ट्राभल एजेन्सीले जारी गर्ने टिकट महँगो हुने र अनलाइन तथा विदेशबाट टिकट लिँदा सस्तो पर्ने भएकाले धेरै टिकट विदेशबाट लिने र विदेशी मुद्रा आर्जन गुम्नुका साथै ट्राभल एजेन्सीले दिएको रोजगारी र व्यवसायीसँग सरकारले पाइरहेको कर गुम्ने खतरा बढेको नाट्टाले जनाएको छ ।

नेपाली नागरिक विदेश घुम्न जाँदा यात्रुले पाएको विदेशी मुद्राको सहुलियतबाटै प्याकेज टुर खरिद गर्नुपर्ने व्यवस्था परिवर्तन गर्नुपर्ने नाट्टाको माग छ । भेटमा अर्थमन्त्री डा महतले नेपालको पर्यटन क्षेत्रको विकासका लागि व्यवसायीलाई समस्या नआउने तरिकाले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ ।

ताप्ली गाउँपालिकाले वडामा बजेट नपठाउने

कटारी – उदयपुरको ताप्ली गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ मा विगतमा जस्तो वडागत रुपमा बजेट नपठाउने भएको छ । वडाबाट सञ्चालन हुने साना र टुक्रे योजनाको उपलब्धि नदेखिएको भन्दै यस्तो निर्णय गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विश्वकर्माका अनुसार पालिकाले यही असार १० गते कूल रु ३६ करोडको बजेट ल्याउने तयारी गरेको छ । “समग्रमा पालिकाभरिका योजना एकीकृतरुपमा छनोट गरी ठूला र प्रभावकारी योजना निर्माणसहित बजेट विनियोजन गरिनेछ”, उहाँले भन्नुभयो । पालिकाको भौगोलिक विकटतालाई ध्यान दिँदै दिगो विकासका लागि ठूला र महत्वपूर्ण योजना पालिकास्तरबाटै सञ्चालन गर्न यस्तो निर्णय गरेको हो ।

बजेट गत वर्षभन्दा घटेर आएको र वडास्तरबाट साना योजना मात्रै माग भई आएकाले प्रभावकारीता नदेखिने हुँदा वडागतरुपमा बजेट माग नगरिएको ताप्ली–१ का वडाध्यक्ष उद्धव हमालले बताउनुभयो ।

गाउँपालिकामा वित्तीय समानीकरण अनुदान शीर्षकअन्तर्गत रु सात करोड ५५ लाख, सशर्त अनुदान शीर्षकअन्तर्गत रु १८ करोड, विशेष अनुदानतर्फ रु एक करोड नौ लाख र समपुरक अनुदान पुँजीगततर्फ रु २६ करोड बजेट विनियोजन गरिँदै छ । चालु आवको तुलनामा आगामी आवका लागि रु दुई करोड ३६ लाख कम बजेट विनियोजन गरिएको छ । ताप्लीमा पाँच वडा रहेका छन् ।

आजको मौसम: पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहने

काठमाडौँ – हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोसी, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। 

राती भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती तथा गण्डकी  प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

कोसी , मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र देशको बाँकी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

कोसी प्रदेशको थोरै स्थानहरूका साथै मधेस र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको हुनाले भारी वर्षा, मेघ गर्जन र चट्याङ, बाढी, पहिरो भू-क्षय तथा गेग्र्यान बहावका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०८० आषाढ ०७ गते (बिहीबार) 
दिउँसो:
  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
राती:  कोसी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती तथा गण्डकी  प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

२०८० आषाढ ०८ गते (शुक्रवार) 
दिउँसो
:  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी,  बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी र गण्डकी  प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
राती: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मधेस, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

२०८० आषाढ ०९ गते (शनिवार) 
​​​​​​​दिउँसो:
  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
राती: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती तथा गण्डकी  प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

किसानलाई धानको बीउ र मकै जोगाउनै मुस्किल

ढोरपाटन – वैशाख अन्तिम साता लगातार वर्षा भएपछि पश्चिम बागलुङका किसानले धानको बीउ लगाए तर जेठ लागेपछि वर्षा रोकियो । त्यसपछि अहिलेसम्म पानी परेको छैन । लामो समय पानी नपर्दा ब्याडमा धाँजा फाटेर धानको बीउ सुक्न थालेका छन् । लामो समय खडेरी पर्दा ब्याडमा धानको बीउसँगै बारीमा मकैका बोटसमेत सुकेर मर्न थालेपछि कृषक चिन्तित बनेका छन् ।

अघिल्ला वर्षहरुमा यति बेला यस क्षेत्रका खेतमा कृषकले धान लगाउन सुरु गर्थे । वर्षा नहुँदा खोलानालासमेत सुकेका छन् । खोलानाला सुक्दा सिँचाइको चरम अभावमा रहेका किसानलाई धानको बीउ र कुटाउने बेलाका मकै जोगाउन हम्मेहम्मे परेको छ ।

जेठ अन्तिम सातदेखि रोपाइँ गर्ने किसान यति बेला आकाश हेर्दै बस्न बाध्य छन् । कतिपय किसानको ब्याडमा रोप्नका लागि तयार भएका बिरुवासमेत सुकेर मर्न थालेका हुन् । असार सुरु हुँदासमेत पानी नपर्दा धानको बीउ, मकै तथा अन्य तरकारीसमेत सुक्न थालेको कृषकको गुनासो छ । गएका वर्षहरुमा यति बेला धेरै ६० प्रतिशतको हाराहारीमा रोपाइँ हुने गरेकोमा यस वर्ष करिब २० प्रतिशत मात्रै रोपाइँ भएको बडिगाडका कृषक प्रेमबहादुर क्षेत्रीले बताउनुभयो । लामो खडेरीका कारण धानसँगै मकै र कोदोको बीउसमेत सुकेको उहाँको भनाइ छ ।

क्षेत्री भन्नुहुन्छ, “जेठको २०÷२२ मै रोपाइँ गर्ने भनेर बैशाख महिनामै ब्याड राखियो, अहिले धानको बीउ हुर्किएर ठूलो–ठूलो भएका छन्, पानी पर्दैन, अब कसरी रोपाइँ गर्ने, ब्याड राख्ने बेलामा त बर्खा लागेजस्तै लगातार हप्ता दिन पानी प¥यो, यसपालि छिट्टै रोपाइँ गर्न पाइने भयो भन्ने लागेको थियो, अहिले धेरै दिन भयो पानी परेको छैन, बारीमा एकोहोराउने बेलाका मकै मर्न थाले, कोदोको बीउ पनि त्यस्तै भएको छ, बढो समस्या प¥यो, बीउ जोगाउनै गाह्रो भयो ।”

स्थानीय कृषक तुलबहादुर जिसीले पहिले असार महिना सुरु हुनुपूर्वनै ढपक्क बर्खा लाग्ने हुँदा किसानलाई खेतीपाती गर्न सहज हुने गरेको भन्दै अहिले खडेरीले गर्दा आफूहरु समस्यामा परेको बताउनुभयो । खेतमा लगाएको गहुँ स्यारेलगत्तै खनजोत गरेर धान रोप्नका लागि तयार हुने गरेको भन्दै अहिले पानी नपर्दा खेत बाँझोसमेत मार्न नपाएको गुनासो पोख्नुभयो । पानी नपर्दा ठाडो खोला सुकेको हुँदा सिँचाइ गर्न नपाएको उहाँको भनाइ छ ।

“पहिले–पहिले यस्तो समस्या त हुँदैनथ्यो, जेठको पहिलो÷दोस्रो सातादेखि बर्खा लाग्थ्यो, अहिले असार लागि सक्दा पनि बर्खाको अनुभूति हुन सकेको छैन, जताजतै सुक्खैसुक्खा छ, पानी परेर मकै छरियो, ब्याड राखियो, अहिले सुकेर भुसाजस्तो भन्न थाले”, जिसीले भन्नुभयो, “एक झर्का ठूलो पानी परेत मकै पानी राम्रो हुन्थ्यो, खेतमा रोपाइँ गर्न पनि सहज हुन्थ्यो, अब लगातार हप्ता दिनसम्म ठूलो पानी परेन भने रोपाइँ गर्न सम्भव छैन, खोलानाला बढे भने मात्रै रोपाइँ गर्न सकिला, अहिले गाउँका खोलामा कमिला हिँड्छन्, पानी छैन ।”

अर्का किसान निलमाया विकले वैशाख पहिलो हप्ता झरेको मकै जेठ दोस्रो साता कुटाएको भन्दै त्यसयता पानी नपर्दा बारीमा लगाएको सबै मकैको बिरुवा सुकेर नष्ट हुन थालेको बताउनुभयो । मकैसँगै लगाएको कोदोको बीउ पनि कामै नलाग्ने गरी सुकेको विकले बताउनुभयो । घर नजिक छेउमा रहेको बारीमा खानेपानीको पाइपबाट पानी लगाएर केही मकै र कोदोको बीउ हुर्काउन सफल भएको उहाँ बताउनुहुन्छ ।

कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले हालसम्म जिल्लाभर १२ प्रतिशत मात्रै रोपाइँ भएको बताउनुभयो । लामो समय खडेरी पर्दा कृषकले बीउ तयार गरे पनि रोपाइँ गर्न नसकेको उहाँको भनाइ छ । उहाँका अनुसार यति बेलासम्म जिल्लामा २५ प्रतिशत रोपाइँ सकिनुपर्ने थियो । बैसाखको वर्षाले कृषक उत्साहित भएर धेरै बीउ उत्पादन गरेको हुँदा रोपाइँ क्षेत्रफल बढ्न सम्भावना बढेको प्रमुख भट्टराईले बताउनुभयो ।

“गत वर्ष पाँच हजार आठ सय ८३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो, अघिल्लो वर्षको तुलनामा यस वर्ष बढेर छ हजार हेक्टरमा रोपाइँ हुन्छ भन्ने लागेको थियो, खडेरीले गर्दा केही समस्या परेको छ”, प्रमुख भट्टराईले भन्नुभयो, “अब वर्षा भयो भने पनि किसानले धेरै नोक्सानी ब्यहोर्नुपर्ने थिएन, जिल्लामा अझै ७५ प्रतिशत रोपाइँ गर्न बाँकी छ ।”

बागलुङमा ४६ हजार एक सय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकोमा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ । त्यसमध्ये छ हजार एक सय ४८ हेक्टर क्षेत्रफल जमिनमा मात्रै सिँचाइको सहज पहुँच पुगेको छ । खेतीयोग्य जमिनको २० दशमवलव १५ प्रतिशत जमिनमा मात्रै सिँचाइको सुविधा छ । त्यसमध्ये बाह्रै महिना सिञ्चित क्षेत्र दुई हजार सात सय ७५ हेक्टर रहेको छ । पछिल्लो समय बसाइँसराइले खेतीयोग्य जमिनसमेत बाझिँदै गएका छन् । गाउँमा प्रसस्त खेतीयोग्य जमिन भए पनि सिँचाइको सुविधा नहुँदा बाँझै राख्नुपरेको कृषकको गुनासो छ ।

धुलिखेलको बजेट एक अर्ब १५ करोड

काभ्रे – धुलिखेल नगरपालिकामा आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि रु एक अर्ब १५ करोड १५ लाख बजेट विनियोजन गरिएको छ । नगरले बुधबार तेह्रौँ नगरसभाको अधिवेशन सम्पन्न गर्दै उक्त बजेट पारित गरेको हो ।

तोकिएको अवधिमा बजेट सार्वजनिक गर्ने काभ्रेपलाञ्चोकको १३ स्थानीयमध्ये धुलिखेल नगर पहिलो हो । सभामा आउँदो आवका नगर प्रमुख अशोक ब्याञ्जुले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र बजेट, उपप्रमुख निराजन जङ्गमले प्रस्तुत गर्नुभएको आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मतले पास गरिएको छ । विनियोजित बजेटमध्ये चालुतर्फ रु ६७ करोड ६५ लाख ३२ हजार रहेको छ भने पुँजीगत खर्चतर्फ रु ४६ करोड ७९ लाख ६८ हजार उल्लखे छ । वित्तीय व्यवस्थातर्फ रु ७० लाख विनियोजन भएको छ । चालु आव २०७९÷८० मा रु एक अर्ब ३५ करोड अनुमान गरिएकोमा आर्थिकमन्दीका कारण लक्ष्यअनुरुप राजस्व सङ्कलन हुन नसकेकाले कूल बजेट रु एक अर्ब २२ करोड २५ लाख कायम गरिएको जनाइयो । चालु आवको प्रगतिमा ८० दशमलव ३५ प्रतिशत प्रगति भएको बताइयो ।

नगरप्रमुख ब्याञ्जुले नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै स्वास्थ्य सहर अभियानलाई साकार बनाउन स्वास्थ्य सूचनामा जनताको पहुँच विस्तार गर्न ड्यासबोर्ड कार्यक्रम, रक्तअल्पता मुक्त नगर, दीर्घरोगीलाई घरघरमा औषधि पु¥याउने घोषणासमेत गर्नुभएको छ । कार्यक्रममा नसर्ने रोगको प्रकोपको नियन्त्रण गर्न दीर्घ रोगीलाई स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइ घरमै औषधि पु¥याउने योजना बनाइएको छ । साथै ‘काभ्रे हाइपरटेन्सिभ क्यास्केड केयर’ कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याइने ब्याञ्जुले बताउनुभयो ।

यस्तै नगरसभाले धुलिखेल नगर अस्पताल सञ्चालन, स्वास्थ्य पर्यटन गन्तव्य, रोगविरुद्धको चेतना व्यक्ति व्यक्तिमा, रोगको उपचार बस्ती बस्तीमा, बहु–क्षेत्रीय स्वास्थ्य, प्रत्येक स्वास्थ्य संस्थामा अक्सिजन सेवा, स्वास्थ्य बिमा, नगरको जिम्मा, राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा प्रचार, निःशुल्क एम्बुलेन्स सेवा, मानसिक रोग तथा मनोसामाजिक परामर्श, हाम्रो स्वास्थ्य–हाम्रो सरोकार, स्वास्थ्य सहर, धुलिखेल नगर, धुलिखेल नगर, धुवाँमुक्त सहर, विपद्मा नगरको साथ, अत्यावश्यकीय औषधि तथा उपकरण अभाव हुन नदिन र विशेषज्ञ घुम्ती स्वास्थ्य शिविर सञ्चालनको घोषणा गरेको छ ।

यसैगरी शिक्षामा स्वउत्प्रेरित शिक्षकले मात्र सिकाउने कार्यक्रमलाई प्राथमिकता, नतिजाका आधारमा शिक्षक र विद्यार्थीलाई प्रोत्साहन पुरस्कार र दण्डको व्यवस्था, सकारात्मक प्रतिस्पर्धाको वातावरण, शिक्षकको व्यवस्थापन कार्य र विद्यार्थीको सिकाइ उपलब्धिको मूल्याङ्कन गरी समग्र शैक्षिक उपलब्धिको आधारमा विद्यार्थी र शिक्षकलाई दण्ड पुरस्कारको नीति लिइने ब्याञ्जुले बताउनुभयो ।

‘धुलिखेलका खेलाडी सधैँ अगाडि’ भन्ने नारालाई युवा तथा खेलकुद कार्यक्रम प्रभावकारी बनाइने, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, सामाजिक सुरक्षा र सामाजिक समावेशितालगायतका कार्यक्रमलाई प्रभावकारी बनाउने, लैङ्गिक हिंसा नगरी समान व्यवहार गराँै, महिला पुरुष कोही पनि हिंसामा नपरौँ भन्ने नारालाई कार्यान्वन गर्ने घोषणा गरिएको छ ।

यस्तै कार्यक्रममा व्यक्तिगत घटना दर्ता सम्बन्धमा देशकै नमूना सिकाइ तथा व्यवस्थापकीय केन्द्रको रुपमा विकास गर्ने, अपाङ्गतामैत्री नगर घोषणाका लागि पदमार्ग निर्माण तथा संरचनालाई अपाङ्गमैत्री बनाउन जोड दिइने उल्लेख गरिएको छ । बाल अधिकारको संरक्षण तथा आपत्कालीन अवस्थामा उद्धार तथा संरक्षणको लागि वडा नगर बाल संरक्षण कोष सञ्चालनलाई निरन्तरता, जन्मदर्तालाई नै पहिलो आधार मान्ने कार्यलाई प्रभावकारी बनाइने, ‘धुलिखेलको आवाज–छुवाछुतमुक्त समाज’, आर्थिक विकासको आधार उद्यमशीलता र रोजगार, मेयर गरिबी निवारण कार्यक्रम, उद्यमी युवा समृद्ध धुलिखेल निर्माणमा टेवा भन्ने कार्यक्रम घोषणा गरिएको छ ।

नीति तथा कार्यक्रममा ‘एक घर–एक धारा, नगर क्षेत्रभित्रका सबै खानेपानी आयोजनाको संरक्षण, सञ्चालन र मर्मतसम्भार तथा महसुल व्यवस्थामा एकरुपता कायम गर्ने समेटिएको छ । सडक पूर्वाधारअन्र्तगत नियमित मर्मतसम्भार दिगो सडकको आधार भन्ने अभियान पूरा गर्ने, अन्य पूर्वाधार, भवन आवास तथा सहरी विकासअन्तर्गतका कार्यक्रम, प्रत्यक्ष रोजगारी सिर्जना गर्ने कम्तीमा एक वडा एक आयोजना, पर्यटन विकास, कृषि विकास, पशुपन्छी विकास, गरिबी न्यूनीकरण, श्रम, रोजगारी तथा उद्यम विकास, वन वातावरण तथा विपद् व्यवस्थापन, सूचना, सञ्चार तथा प्रविधि, सेवा प्रवाह, संस्थागत विकास तथा सुशासन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध, राजस्व परिचालन, सार्वजनिक सम्पत्तिको संरक्षण तथा व्यवस्थापनलगायतका विषयमा विभिन्न योजनासहितको बजेट विनियोजन भएको छ ।

बाढीपहिराले विद्यार्थीको पढाइ प्रभावित

फुङ्लिङ – ताप्लेजुङको पूर्वी क्षेत्रमा निरन्तर वर्षासँगै बाढीपहिराका कारण विद्यार्थीको पढाइ प्रभावित हुन पुगेको छ । बाढीपहिराका कारण बाटो घाटो अवरुद्ध भएकाले विद्यालय जान अवस्था नहरेकाले सिदिङ्वा र सिरिजङ्घा गाउँपालिकामा अध्ययनरत विद्यार्थीको पढाइ प्रभावित हुन पुगेको हो ।

गत शुक्रबार, बनिवार र आइतबार निरन्तर वर्षाका कारण बाढीपहिराले सिरिजङ्गा गाउँपालिका–८ आम्फुदीनका रहेको कञ्चजङ्घा माध्यमिक विद्यालय उच्च जोखिममा रहेको छ । सो विद्यालय जोखिममा पर्दा त्यहाँ अध्ययनरत एक सय २२ विद्यार्थीका पढाइ प्रभावित भएको सिरिजङ्घा गाउँपालिकाका शिक्षा शाखाले जनाएको । जताततै पहिरो गएकाले बाटो अवरुद्ध भएको छ । बाढीले पुल बगाएसँगै खोला तरेर जान सम्भव नभएकाले सिरिजङ्गा गाउँपालिकाले अनिश्चितकालका लागि विद्यालय बन्द गरेको सिरिजङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काइ पोखरेलले बताउनुभयो ।

सिरिजङ्घा गाउँपालिकामा ४२ वटा विद्यालय सञ्चालनमा रहेको छ । बाढीपहिराका कारणले अहिले गाउँपालिकाका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएको छ । त्यस्तै सिदिङ्वा गाउँपालिकामा ३९ वटा विद्यालय रहेको छ । सिदिङ्वा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद बेघाका अनुसार ३९ विद्यालयमा तीन हजार एक सय विद्यार्थी अध्ययनरत रहेका छन् । तर अहिले बाढी पहिरोका कारण सबै शैक्षिक संस्था बन्द गरिएको बेघाले बताउनुभयो ।

बाढीपहिराका कारण आउँदो बर्खे बिदामा मिलाउने गरी साउन ६ गतेसम्मका लागि विद्यार्थीलाई बिदा दिएको गाउँपालिकाले जनाएको छ । निरन्तर वर्षा र बाढीपहिराले गर्दा विद्यालय आउजाउमा समस्या भएकाले पाथीभरा याङ्वरक गाउँपालिकाले यही असार ८ गतेसम्मका लागि विद्यालयमा बिदा दिएको गाउँपालिकाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सिदिङ्वा गाउँपालिका–६ मेहेले गाउँमा गत शनिबार राति गएको बाढीपहिराले बगाएको चार जनामध्ये एकै घर परिवारका तीन जना अझै बेपत्ता रहेका छन् । एक जनाको सोही दिन शव फेला परेको थियो । सोही गाउँमा आइतबार बिहान पहिराले तीन जना बगाएको थियो । एक घरका बाबु छोराको शव भेट्टिएको थियो भने एक जना नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर अहिले विराटनगरको न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

जसपा नेपालको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौँ – आज जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । 

आगामी असार ९ गतेबाट सुरु हुन गइरहेको केन्द्रीय समिति र त्यसको भोलिपल्टदेखि अर्थात् १० गतेदेखि सुरु हुने विधान अधिवेशनको बारेमा छलफलका लागि कार्यकारिणी समितिको बैठक बस्न लागेको हो ।

जसपाका प्रवक्ता मनिष सुमनका अनुसार आजको बैठकमा विधान अधिवेशनको तयारी तथा प्रस्तावित संशोधनसहित तयार पारिएको विधान मस्यौदामाथि कार्यकारिणी सदस्यको राय लिने तथा सो राय अनुसारको निष्कर्ष राजनीतिक समितिमा पेस गरिनेछ । 

आजको बैठकमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको समाजवादी मोर्चामा पार्टी सहभागिताका विषयलाई अध्यक्ष उपेन्द्र यादवले विस्तारमा जानकारी गराउने समेत बुझिएको छ । 

नेपाल पहिलो पटक विश्वकप क्रिकेट विजेता वेस्ट इन्डिजसँग भिड्दै

काठमाडौँ – नेपालले पहिलो पटक विश्वकप क्रिकेट विजेतासँग आज क्रिकेट खेल्दै छ ।

आइसिसी विश्वकप छनोट २०२३ को आफ्नो तेस्रो खेलमा नेपालले विश्वकप विजेता वेस्ट इन्डिजसँग खेल्न लागेको हो । 

सो खेल नेपाली समय अनुसार अपराह्न १२ः ४५ बजेबाट हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।

नेपालले यसअघि खेलेका दुई खेल मध्ये एकमा जीत र एकमा हार व्यहोरेको छ । जिम्बाबेलाई राम्रो लक्ष्य दिए पनि बलिङमा जम्न नसक्दा पराजय भोगेको नेपालले अमेरिकालाई भने सानदार प्रदर्शनका साथ हराएको थियो ।

ओडिआई वरियतामा नेपाल १४औँ र वेस्ट इन्डिज १० औँ स्थानमा छन् । आजको प्रतिस्पर्धा नेपालका लागि निकै ठुलो अवसर भएको जनाउँदै क्रिकेट समीक्षकहरूले नेपालले गौरव गर्नु पर्ने टिप्पणी गरेका छन् ।

वैदेशिक सहयोग समेत खर्च भएन !

काठमाडौँ – प्रदेश र स्थानीय तहले आवश्यक चासो र ध्यान नपु¥याएका कारण लोकतान्त्रिक पद्धति सुदृढीकरण र शासकीय सुधार क्षमता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त वैदेशिक सहयोगको ठूलो अंश खर्च नभएको तथ्य सार्वजनिक भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत सञ्चालनमा रहेको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजीएसपी) को ठूलो रकम खर्च हुन नसकेको हो । आर्थिक वर्ष २०७६÷७७ देखि २०७९÷८० सम्म उक्त कार्यक्रम सञ्चालनका लागि रु १४ अर्ब ९५ करोड रकम व्यवस्थापन गरिएकामा गत चैतसम्म रु तीन अर्ब २३ करोड ८७ लाख मात्र खर्च भएको राष्ट्रिय कार्यक्रम निर्देशक व्यवस्थापक भूपेन्द्र सापकोटाले जानकारी दिनुभयो । प्रदेश तथा स्थानीय सहयोग कार्यक्रम सङ्घीय सुशासनमा केन्द्रित सरकारको मुख्य राष्ट्रिय कार्यक्रम हो ।

मुलुक आर्थिक सङ्कटको चुनौतीसँग जुधिरहेका बेला वैदेशिक सहयोगमा सञ्चालित कार्यक्रमका लागि प्राप्त अनुदानसमेत खर्च हुन नसक्नुलाई प्राथमिकता प्राप्त कार्यक्रममै तीन तहकै सरकारको आवश्यक चासो र ध्यान नपुगेको घटनाका रुपमा हेरिएको छ ।

लक्षित कार्यक्रम सञ्चालनका लागि कतिपय प्रदेश र स्थानीय तहले तोकिएको समयमा सहयोग लिन नआएका तथा केहीले सहयोग लिएर पनि सही ढङ्गले प्रयोग नगरेकाकारण अनुदान बेरुजु हुन पुगेको छ ।

कानुनको मस्यौदा तर्जुमा, अन्तर–सरकारी संयन्त्र स्थापना, सार्वजनिक वित्त व्यवस्थापन, विद्युतीय सुशासन र जवाफदेही तुल्याउन क्षमता अभिवृद्धि गराउने अर्थात् खासगरी प्रदेश र स्थानीय तहमा संस्थागत संरचना सुदृढ तुल्याउने सन्दर्भमा कार्यक्रम लक्षित छ ।

प्रदेश र स्थानीय दुवै तहमा जनप्रतिनिधि, संरचना र त्यहाँ काम गर्ने जनशक्ति नयाँ भएकाले सबै पक्षमा क्षमता अभिवृद्धि गर्र्ने कार्यक्रमको उद्देश्य हो । उक्त कार्यक्रमका लागि सरकारबाट रु तीन अर्ब ४५ करोड र संयुक्त राष्ट्रसङ्घ, युरोपियन युनियन, नर्वेलगायत नेपालका विकास साझेदार संस्थाबाट रु ११ अर्ब ५० करोड अनुदान उपलब्ध छ । सो रकममध्ये सङ्घीय सरकारलाई रु एक अर्ब ८९ करोड ७५ लाख, प्रदेशलाई रु सात अर्ब २२ करोड २० लाख र स्थानीय तहका लागि रु पाँच अर्ब ८३ करोड पाँच लाख बजेट व्यवस्थापन गरिएको थियो ।

कार्यक्रमले नयाँ संरचनाका लागि आवश्यक ऐन तथा नीति निर्माण, अन्तर सरकारी संयन्त्रको सवलीकरण, सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसहित १४ वटा उपलब्धिको अपेक्षा गरे पनि खास गरी संविधानअनुरुप सङ्घीय शासन प्रणालीलाई टेवा पुग्ने गरी सबै तहका सरकारी निकाय र अन्तर सरकारी संयन्त्रलाई पूर्ण क्रियाशील बनाइने लक्ष्य राखेको छ ।

त्यस्तै प्रदेश र स्थानीय तहमा दक्ष, प्रभावकारी, समावेशी र उत्तरदायी संस्थागत संरचना तयार गरिने तथा कार्यक्रम कार्यान्वयनसँगै निर्वाचित जनप्रतिनिधि र कर्मचारीबाट सेवा प्रवाह प्रभावकारी हुने अपेक्षा छ । मन्त्रालयका सचिवको अध्यक्षतामा बसेको राष्ट्रिय कार्यान्वयन समिति र राष्ट्रिय वित्तीय जोखिम परामर्श उपसमितिको पछिल्लो बैठकले कार्यक्रमको हालसम्मका उपलब्धि, लक्षित नतिजा हासिल गर्न गरिएका प्रयासको समीक्षा गर्दै आगामी दिनमा कार्यक्रमलाई थप नतिजामुखी तुल्याउन हरसम्भव प्रयास गर्ने अठोट लिएको छ ।

सातौँ बैठकका निर्णय कार्यान्वयन र भावी कार्ययोजना, चालु अवधिको प्रगति विवरण, आगामी आवका लागि प्रस्तावित बजेट कार्यक्रम र तेस्रो पक्षबाट प्रस्तुत अनुगमन मूल्याङ्कन प्रतिवेदनमा सो अवसरमा विस्तृत एवं गहन छलफल भएको व्यवस्थापक सापकोटाले बताउनुभयो ।

कार्यक्रम कार्यान्वयनको अवधि समाप्त हुन लागे पनि सहयोग रकमको ठूलो अंश खर्च नभएको परिप्रेक्ष्यमा आगामी एक वर्षलाई सङ्क्रमणकालीन वर्षका रुपमा अघि बढाउने र त्यसपछि सरोकारवाला पक्षसँगको बृहत् छलफलका आधारमा नयाँ कार्ययोजना र ढाँचा निक्र्याैल गरिने बताइएको छ ।

कार्यक्रमले लैङ्गिक समानता र सामाजिक समावेशिता, नवप्रवर्तन साझेदारी केन्द्र स्थापना र नागरिक सहभागिता अभिवृद्धिमा समेत दुवै तहका सरकारलाई सहयोग पु¥याउँदै आएको छ । उक्त कार्यक्रमले प्रदेश र स्थानीय तहमा सङ्घीयताको संस्थागत विकास र सुदृढीकरणका लागि सहकारी सङ्घीयताको भावनाअनुरुप साझा संरचना प्रदान गर्दैआएको छ । कार्यक्रम सङ्घ, प्रदेश तथा स्थानीय तहको संस्थागत, सङ्गठनात्मक र व्यक्तिगत क्षमता विकासमा केन्द्रित छ ।

कार्यक्रम कार्यान्वयन भएपछि प्रदेश तथा स्थानीय सरकार क्रियाशील, दिगो, समावेशी र जवाफदेही भई सञ्चालन हुने लक्ष्य निर्धारण गरिएको छ । उक्त कार्यक्रमबाट दुवै तहको शासन प्रणाली र प्रक्रिया एवं अन्तरसरकारी सम्बन्ध सुदृढ भई नागरिकका लागि लाभ प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

चालु अवधिमा सङ्घीय निकायबाट प्रदेश तथा स्थानीय तहका लागि धेरै नमूना कानुन र निर्देशिका निर्माण गरिएका छन भने स्थानीय र प्रदेशमा राजस्व सुधार र क्षमता विकास तथा अवधिक योजना तयारजस्ता कार्यक्रम उद्देश्य प्राप्ति गर्ने ढङ्गबाट अघि बढेको जानकारी दिइयो ।

ऐन, कानुन, निर्देशिका तर्जुमा तथा योजना तयार, सुशासन प्रवद्र्धन, वित्तिय प्रणाली सुधार, सूचना प्रविधि सवलीकरण, क्षमता अभिवृद्धि कार्यक्रम, नवप्रवर्तन साझेदारी कोषलगायतका विषयसँग सम्बन्धित ७१ हजार जनशक्तिलाई क्षमता अभिवृद्धि तालिम प्रशिक्षण प्रदान गरिएको उपसचिव सापकोटाले जानकारी दिनुभयो ।

‘उज्यालो गण्डकी प्रदेश’ घोषणा हुने

गण्डकी – गण्डकी प्रदेशलाई आर्थिक वर्ष २०८०/८१ मा ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गरिने भएको छ ।

सरकारको आव २०८०/८१ को बजेटमा गण्डकी प्रदेशभर विद्युतीकरण र वैकल्पिक कर्जाको विस्तार गरी यसै वर्ष ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गरिने उल्लेख छ । बिजुलीबाट वञ्चित प्रदेशभित्रका बाँकी घरधुरीमा सौर्य उर्जा जडान गर्न आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री जीतप्रकाश आलेले बताउनुभयो ।

क्षतिग्रस्त लघु जलविद्युत् आयोजनाको मर्मतसम्भार तथा निर्माण गरी लघु जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गर्न रु एक करोड ७५ लाख विनियोजन गरिएको छ । प्रदेशभित्र वायु ऊर्जा र फ्लोटिङ सोलारबाट ऊर्जा उत्पादनका लागि सम्भाव्यता अध्ययन कार्य प्रारम्भ गरिने उल्लेख गर्दै उहाँले एलपी ग्यासलाई प्रतिस्थापन गरी विद्युतीय चुलो प्रयोगकर्ताको सङ्ख्या अभिवृद्धि गर्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । सार्वजनिक कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, शिक्षण संस्थामा नियमित विद्युत् उपलब्ध गराउने उद्देश्यले संस्थागत सौर्य ऊर्जा जडान कार्यलाई निरन्तरता दिइएको छ ।

उच्च हिमाली भेगका बर्थिङ सेन्टर सञ्चालित स्वास्थ्यचौकीमा कम्तीमा एउटा कोठालाई तताउने गरी सौर्य ऊर्जा प्रविधि जडान कार्य सुरु गर्न संस्थागत सौर्य ऊर्जा प्रविधि जडान कार्यक्रम सञ्चालन गरिने र त्यसका लागि रु एक करोड विनियोजन गरिएको सरकारले जनाएको छ । प्रदेशभित्र सञ्चालित लिफ्ट खानेपानी र लिफ्ट सिँचाइ आयोजनामा शतप्रतिशतसम्म विद्युत् महसुलमा अनुदान व्यवस्था मिलाइएको र त्यसका लागि रु पाँच करोड विनियोजन गरिएको मन्त्री आलेले बताउनुभयो ।

कृषि क्रान्तिको कार्यभार अधुरै छ : देव गुरुङ

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले नेपालमा कृषि क्रान्तिको कार्यभार अधुरो रहेको बताउँदै समाजवादी क्रान्तिले मात्रै पूरा गर्ने बताउनुभएको छ ।

संवाद डबलीमा आज अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)ले ४६ औँ जुगेडी किसान सङ्घर्ष दिवस तथा ३२ औँ किसान सङ्घर्ष दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा गुरुङले अहिलेको कृषि क्रान्तिकारीको कार्यभार वित्तीय एकाधिकार पुँजीवादविरुद्धको सङ्घर्ष भएको बताउनुभयो ।

“कृषि क्रान्तिको कार्यभार अझै अधुरो नै छ । कृषि क्रान्तिको कार्यभार अन्ततः समाजवादी क्रान्तिले मात्रै पूरा गर्न सक्छ, अहिलेको कृषि क्रान्तिको कार्यभार भनेको वित्तीय दलाल पुँजीवादविरुद्धको सङ्घर्ष प्रमुख रहेको छ”, गुरुङले भन्नुभयो । देशलाई स्वाधिन अर्थतन्त्र निर्माणको लागि कृषि क्रान्तिको विकल्प नभएको उहाँको भनाइ थियो । नेता गुरुङले कृषिमा आधुनिकीकरण, औजारीकरणसँगै नयाँ ढङ्गको उत्पादन प्रणालीको विकल्प नभएको बताउनुभयो ।

उहाँले भूमि सुधारको कार्यक्रमलाई सुधार गर्दै भूउपयोगको नीतिलाई अवलम्बन गरेर मौलिकरुपमा कृृषि क्रान्ति पूरा गर्नुपर्ने आवश्यकता औँलयाउनुभाये । कृषि प्रधान देश भनिएको तर कुनै कृषि वस्तुमा पनि आत्मनिर्भर नभएको बताउँदै गुरुङले वित्तीय एकाधिकार पुँजीवादले स्वादेशी उत्पादनलाई विस्थापित गरेको बताउनुभयो ।

उहाँले विभिन्न कम्पनीको नामबाट भूमि वित्तीय एकाधिकार पुँजीपतिको हातमा पुगेको बताए । भूमि राज्य र किसानको हातमा आएसम्म कृषि क्रान्ति सम्भव नभएको बताउँदै गुरुङले त्यसको लागि सङ्घर्ष गर्नुपर्नेमा जोडदिनुभयो ।

वीरगञ्ज महानगरपालिकाद्वारा तीन अर्ब २१ करोडको बजेट प्रस्तुत

पर्सा – मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले अगामी आर्थिक वर्षका लागि रु तीन अर्ब २१ करोडको अनुमानित बजेट ल्याएको छ ।

महानगरपालिकाले आज वीरगञ्जमा आयोजना गरेको १३औँ नगर अधिवेशमा महानगरपलिकाका उपप्रमुख इम्तियाज आलमले आर्थिक वर्ष २०८०/८१ का लागि रु तीन अर्ब २१ करोड ३५ लाख ४४ हजारको अनुमानित आयव्यायको बजेट प्रस्तुत गर्नुभएको हो ।

‘औद्योगिक तथा व्यापारिक सहर, सुसंस्कृत सभ्य हाम्रो वीरगञ्ज महानगर’ भन्ने नारासहित महानगर उपप्रमुख आलमले नगर सभालाई सम्बोधन गर्दै चालुतर्फ कूल बजेटको ७७ प्रतिशत चालु खर्च, २२ प्रतिशत पूँजीगत खर्च र कूल बजेटको एक प्रतिशत वित्तीय व्यवस्थापनतर्फ छुट्याइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार आगामी आवका लागि चालु खर्चतर्फ दुई अर्ब ४८ करोड ८५ लाख पाँच हजार, पूँजीगततर्फ ६८ करोड ८७ लाख १५ हजार र वित्तीय व्यवस्थातर्फ तीन करोड ६३ लाख २४ हजार रुपैयाँ छुट्याइएको छ ।

सभामा उहाँले आन्तरिक आयबाट एक अर्ब २० करोड ४४ लाख ३० हजार, नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट एक अर्ब ३३ करोड २१ लाख, सङ्घीय राजस्व बाँडफाँटबाट २५ करोड २४ लाख ७० हजार, प्रदेश वित्तीय हस्तान्तरणबाट पाँच करोड ४५ लाख ९५ हजार र प्रदेश राजस्व बाँडफाँटबाट दुई करोड ८७ लाख रुपैयाँ बेहोरिने जानकारी दिनुभयो ।

प्रस्तुत बजेटमा आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्र सुधारतर्फ रु १२ करोड २० लाख र खानेपानी तथा सरसफाइ क्षेत्रमा रु १२ करोड विनियोजन गरिएको छ ।

आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ एवं विकेन्द्रित रूपबाट उपलब्ध गराउन विकेन्द्रित स्वास्थ्य सेवाका लागि रु तीन करोड ७५ लाख, यातायात पूर्वाधार क्षेत्रका लागि रु ५९ करोड, स्वयंसेवक शिक्षक कार्यक्रमका लागि रु चार करोड ७५ लाख, खेलकुद क्षेत्रका लागि रु एक करोड छुट्याइएको उपप्रमुख आलमले जानकारी दिनुभयो ।

कार्यक्रममा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख राजेशमान सिंहले स्वास्थ्य, शिक्षा, पूूर्वाधारको विकासलाई जोड दिनुका साथै सुशासनलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।

उहाँले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै असारे विकासलाई निरुत्साहित गरिने र महानगरपालिकाको प्रशासनिक सेवालाई चुस्तदुरुस्त बनाउँदै परम्परागत विधिलाई परिमार्जित गर्दै महानगरपालिकाको सबै वडालाई अनलाइन प्रविधिसँग जोडिने बताउनुभयो ।

आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेट चालु आवको तुलनामा करिब चार प्रतिशत कम रहेको छ । महानगरपालिकाको १२औँ नगर अधिवेशनबाट रु तीन अर्ब ३३ करोड ६३ लाख २६ हजारको बजेट प्रस्तुत गरिएको थियो ।

अतिरिक्त शुल्क उठाउने कार्य तत्काल बन्द गर्न प्रसारण विभागको आग्रह

काठमाडौँ – सूचना तथा प्रसारण विभागले केही वितरक संस्थाले ग्राहकबाट अतिरिक्त शुल्क लिन थालेको भन्दै सो कार्य तत्काल बन्द गर्न भनेको छ । सरकारको उद्देश्यविपरीत इन्टरनेट र टेलिभिजन वितरणको शुल्क छुट्याउने नाममा थप शुल्क उठाइरहेको भन्दै अतिरिक्त शुल्क उठाउने कार्य तत्काल बन्द गर्न भनेको हो ।

केही वितरक संस्थाले उपभोक्तामा पर्ने शुल्कभार कम गर्ने नेपाल सरकारको उद्देश्य विपरित ईन्टरनेट र टेलिभिजन वितरणको शुल्क छुट्याउने नाममा थप शुल्क उठाई रहेको भन्ने गुनासो विभिन्न माध्यमबाट विभागको जानकारीमा आएको विभागका प्रवक्ता भरत गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उहाँका अनुसार नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिभिजन कार्यक्रम वितरण गर्ने संस्थाको सेवाबापत उपभोक्तालाई पर्ने व्ययभार कम गर्ने उद्देश्यले ‘आलाकार्ट’ मूल्य प्रणाली लागू गर्ने निर्णय गरी सबै वितरण संस्थालाई सूचना जारी गरिसकेको छ ।

विभागले सो मूल्य प्रणाली लागू गर्न आवश्यक पर्ने ‘बुके’ र टेलिभिजन च्यानलको छुट्टाछुट्टै मूल्यसहित बुकेको मूल्य प्रस्ताव गर्न सूचना तथा प्रसारण विभागले सबै वितरण संस्थालाई पत्राचार गरिसकेको र त्यस्तो मूल्य हालसम्म प्राप्त नभएकाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट यस्तो बुकेको मूल्य निर्धारण भई नसकेकोसमेत जनाएको छ ।

“प्रसारण शुल्क निर्धारणसम्बन्धी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०७९ चैत २४ गतेको सूचनामा न्यूनतम शुल्कबापत रु दुई सय ५० (करसमेत) र सशुल्क च्यानलको बुके बनाई प्रत्येक बुकेको अधिकतम मूल्य रु ४० (करसमेत) गरी मासिक अधिकतम रु दुई सय ५० (करसमेत)भन्दा बढी उपभोक्ताबाट लिन नपाउने सूचना जारी भइसकेको छ”, विज्ञप्तिमा भनिएको छ ।

सूचनामा न्यूनतम र सशुल्क च्यानल गरी प्रसारण शुल्कबापत अधिकतम रु पाँच सय लिनसक्ने स्पष्ट भएको विभागले जनाएको छ । सोही सूचनामा उपभोक्ताले “टेलिभिजन प्रसारणबापत मासिकरुपमा अधिकतम रू पाँच सय भुक्तानी गर्नुपर्दा तथा इन्टरनेट सेवाबापत दूरसञ्चार ऐन, २०५३ बमोजिमको शुल्क भुक्तानी गर्नु पर्दासमेत हाल तिर्नु परिरहेको संयुक्त शुल्कभन्दा बढी हुन नहुने” भनी स्पष्ट गरी सकिएकाले प्रसारण शुल्कका नाममा अतिरिक्त शुल्क उठाउन नपाउने स्पष्ट छ ।

साउन १ गतेदेखि काठमाडौँमा प्लाष्टिकको प्रयोगमा निषेध

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी साउन १ गतेदेखि प्लाष्टिकको प्रयोगलाई निषेध गर्ने भएको छ ।

कामपा प्रमुख बालेन्द्र शाहले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै साउन १ गतेदेखि एकल प्रयोगको प्लाष्टिकलाई निषेध गर्ने, प्लाष्टिकको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लाष्टिकको झोलाको प्रयोगलाई महानगर क्षेत्रमा प्रतिबन्ध लगाइने छ र यसको कार्यान्वयनलाई प्रभावकारी बनाइने जानकारी दिनुभयो ।

कामपाले आफ्नो क्षेत्रभित्र निर्माण कार्यमा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तर र मापदण्ड निर्धारण गर्ने नीति लिएको छ । निर्माण गर्दा वातावरणीय प्रदूषण कम हुने, कामदारको उचित सुरक्षाको प्रत्याभूति हुने, स्वदेशी कामदारको ज्ञान, सीप र क्षमताको अधिकतम उपयोग सुनिश्चित हुनेगरी पूर्वाधार निर्माण कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याइने भएको छ ।

कामपा क्षेत्रभित्रका सडकपेटीमा पैदल यात्रालाई सहज तथा सुरक्षित बनाउन एवं अपाङ्गतामैत्री बनाउनका लागि सडक पेटीमा रहेका अवरोध ट्याङ्की, पर्खाल, बिजुली तथा टेलिफोनका पोल तथा डिस्ट्रिब्युसन बक्स, कम्युनिकेशन बक्स जस्ता संरचना स्थानान्तरण गर्न कानून तर्जुमा गरी कार्यान्वयनमा ल्याइने नीति पनि कामपाको रहेको छ ।

‘उज्यालो सहर, मेरो महानगर’ परियोजनालाई गौरवका योजनाका रूपमा सञ्चालन गरिनेछ । महानगरका विभिन्न एक सय स्थानमा ‘हाई मास लाइट’ जडान गरिनेछ ।

त्यसैगरी सार्वजनिक, ऐलानी, पर्ती, नदी उकास, नदी किनार, नदी करिडोर, गुठी तथा सरकारी जग्गाको लगत अद्यावधिक गरी सोको संरक्षण, संवर्द्धन तथा उपयोग गरिनेछ । महानगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाई खुला क्षेत्रका रूपमा विकास गरिनेछ ।

सफा सार्वजनिक शौचालयमा नागरिकको पहुँच वृद्धि गर्नका लागि स्वर्णिम योजनाका रूपमा सार्वजनिक शौचालयको सुविधा उपलब्ध गराइनेछ । प्रत्येक बस स्टपलाई परम्परागतस्वरूपको फल्चामा रूपान्तरण गरिनेछ ।

कामपाका सम्पूर्ण सडकलाई आगामी तीन वर्षभित्र गुणस्तरीय पक्की सडकमा रूपान्तरण गर्न र सडकपेटीको स्तरोन्नतिका लागि धुलोरहित काठमाडौँ गौरवको योजना तर्जुमा गरी सञ्चालनमा ल्याइनेछ ।

कामपाका मिश्रित घनाबस्ती क्षेत्रभित्र सहरी पुनःविकासको सम्भाव्यता अध्ययन गरिनेछ । हाल सञ्चालनमा रहेका जग्गा एकीकरण आयोजनालाई यसै आर्थिक वर्षभित्र सम्पन्न गरिनेछ ।

कामपालाई खुला सङ्ग्रहालयका रूपमा विकास गरिने

कामपालाई खुला सङ्ग्रहालयका रूपमा विकास गर्न तथा यसको पहिचानलाई जोगाइ राख्न महानगर गौरवको योजना संस्कृति, सम्पदा र पर्यटन : महानगरको धनअन्तर्गत मूर्त तथा अमूर्त सम्पदाको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन गरिने भएको छ ।

नेपाल भाषा, लिपि, साहित्य, कला, सीपको जगेर्ना गर्ने, स्थान तोकेर विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यका लागि स्थानीय समुदाय तथा कलाकारसँग सहकार्य गरी स्वर्णिम योजनाका रूपमा कार्यक्रम सञ्चालन गरिने नीति पनि कामपाले लिएको छ ।

नीति तथा कार्यक्रममा ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्त्वका मठ, मन्दिर, बहाल, पोखरी, हिटी, चैत्य, स्तूप आदिको अभिलेख राखी संरक्षणको व्यवस्था मिलाइने उल्लेख छ । निजी क्षेत्र, व्यवसायी र स्थानीय समुदायसँग सहकार्य गरी महानगर क्षेत्रभित्र होमस्टे सञ्चालन गर्न कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याइने भएको छ ।

विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको संरक्षण र व्यवस्थापनका लागि टेवा पु¥याइनेछ । बौद्धनाथ र स्वयम्भूलाई महानगरपालिका मातहत सञ्चालन र व्यवस्थापन गर्नका लागि आवश्यक समन्वय र कानूनी प्रबन्ध गरिने नीति पनि कामपाले लिएको छ ।

स्थानीय समुदाय तथा विज्ञको समन्वय र सहयोगमा सम्पदा क्षेत्रमा सवारीसाधनको प्रवेशलाई निषेध गरिनेछ । सम्पदा संरक्षण र प्रवर्द्धन हुने परम्परागत शैलीका घर निर्माण गर्न घरधनीलाई प्रोत्साहित गरिनेछ । हनुमानढोका दरबार क्षेत्रदेखि स्वयम्भूसम्मको ‘हेरिटेज वाक’ लाई सञ्चालन गर्नेगरी कार्यक्रम अघि बढाइनेछ ।

कामपा वडा नं ३२ स्थित तिनकुनेको जग्गाको मुआब्जासम्बन्धी विषयको समस्या समाधानका लागि सङ्घीय सरकारसँग ठोस पहल गरी उक्त स्थानमा अन्तर्राष्ट्रियस्तरको पार्क निर्माण गर्ने योजनालाई निरन्तरता दिइनेछ ।

सवारी साधनको प्रदूषण मापन गरी तोकिएको मापदण्डभन्दा बढी प्रदूषण निष्काशन गर्ने सवारी साधनलाई महानगर क्षेत्रमा सञ्चालन गर्न रोक लगाउन सम्बन्धित निकायसँग सहकार्य गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

कामपाको फोहर व्यवस्थापनमा रहेको लामो समयदेखिको अन्योललाई अन्त्य गरी आगामी आवभित्र ठोस योजनासहितको दिगो समाधानको कार्य प्राथमिकताका साथ कार्यान्वयन गरिने छ ।

नीति तथा कार्यक्रममा कामपाभित्रको नदीनालाको नियमित सरसफाइ गर्न नदी सरसफाइ स्वर्णिम योजनाका रूपमा सञ्चालन गरिने जनाइएको छ । यसका लागि आवश्यक उपकरण खरिद गरी संस्थागत क्षमता विकास गरिने तथा वाग्मती तथा विष्णुमती नदीमा फोहर पानी प्रशोधन केन्द्रको स्थापना गरिनेछ ।

कामपालाई आवश्यक पर्ने सवारी साधन खरिद गर्दा विद्युतीय सवारी साधन खरिद गर्ने नीति लिइनेछ । सार्वजनिक स्थानमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोग तथा बेचबिखनलाई रोक लगाइने छ ।

मालपोत र नापीसम्बन्धी कार्यलाई महानगरपालिका मातहत सञ्चालनमा ल्याउन आवश्यक समन्वयसहित नीतिगत प्रबन्ध गरिनेछ ।

कामपाको सेवा प्रवाह १६ घण्टामा विस्तार गरिने

महानगर प्रमुख शाहले अत्यावश्यक सेवा परिभाषित गरी सेवा प्रवाहलाई १६ घण्टासम्म सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँका अनुसार कामपाअन्तर्गतका कार्यालयका सबै सेवा प्रवाह विन्दुमा ‘वन स्टप सर्भिस सेन्टर’ स्थापना गरी क्रमिकरूपमा सञ्चालनमा ल्याइनेछ । कामपाको निर्णय प्रक्रियालाई पारदर्शी, सहज, सूचना प्रविधिमैत्री, सेवाग्राहीमैत्री, कुशल एवं प्रभावकारी बनाइनेछ ।

नीति तथा कार्यक्रममा सङ्घ तथा प्रदेशबाट प्राप्त हुने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम महानगरपालिकाको पूर्वसहमति एवं समन्वयबिना छनोट भएका योजना तथा कार्यक्रम कार्यान्वयन नगरिने व्यवस्था गरिनेछ ।

सेवा केन्द्रका रूपमा सेवा प्रवाह गरिरहेका वडा कार्यालयको काम कारबाहीलाई थप प्रभावकारी र अधिकार सम्पन्न बनाउन थप कर्मचारी, भौतिक पूर्वाधार तथा आवश्यक स्रोत साधनको व्यवस्था मिलाइने बताइएको छ ।

वार्षिकरूपमा एक लाख रुख बिरुवा रोप्ने

वार्षिकरूपमा एक लाख रुख बिरुवा रोपी महानगरलाई हराभरा बनाउन ‘मेरो रहर, हरित सहर’ गौरवको योजनाको रूपमा कार्यक्रम सञ्चालन गरिनेछ ।

चराचुरुङ्गीको वासस्थान सुनिश्चित गर्नका लागि महानगरभित्र रहेका सहरी जङ्गलको संरक्षण तथा संवर्द्धन गर्न आवश्यक प्रबन्ध मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

महानगर क्षेत्रभित्रको सम्भावित स्थानमा पोखरी स्थापना गर्न सम्भाव्यता अध्ययन गरिने र यस विषयमा छिमेकी नगरपालिकासँग समेत समन्वय र सहकार्य गरिने कार्यक्रमा बताइएको छ ।

वायु, ध्वनि, दृश्यलगायत विभिन्न प्रदूषण नियन्त्रणसम्बन्धी अध्ययन अनुसन्धान गरी नीतिगत व्यवस्था गरिने नीति कामपाले लिएको छ ।

बाढीपहिरो प्रभावित क्षेत्रमा प्राथमिकताका आधारमा काम थालिसकिएको छ : उप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ – मनसुनजन्य विपद्बाट पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर र सङ्खुवासभालगायत जिल्लामा भएको क्षतिको अवस्था, तत्काल गर्नुपर्ने काम तथा सरकारका प्राथमिकताबारे उप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज सरोकारवालासँग छलफल गर्नुभएको छ ।

उहाँले खोज तथा उद्धारको निरन्तरता, जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थलमा स्थानान्तरण, घाइतेको उपचार, अभाव भएका स्थानमा खाद्यान्नको ढुवानी, खानेपानी तथा विद्युत् आपूर्ति एवं आवागमन पुनःस्थापनालाई क्रमशः प्राथमिकताका आधारमा काम थालिसकेको जानकारी दिनुभयो ।

नेपालमा मनसुन भित्रिएको दिन २०८० जेठ ३१ गतेदेखि परेको भारी वर्षाबाट आज अपराह्नसम्म पूर्वी पहाडका तीन जिल्लासहित भोजपुर, तनहुँ, नुवाकोट र गोरखामा गरी १३ जनाको मृत्यु भइसकेको छ भने २६ जना बेपत्ता छन् । आठ जना घाइतेको उपचार भइरहेको छ । कूल ४१ वटा घर पूर्णरूपमा र सात वटा आंशिकरूपमा क्षतिग्रस्त भएका छन् ।

आजको छलफलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बाढी पहिरोबाट सडक र पुलमा मात्रै रु ४० करोडको हाराहारीमा क्षति भएको जानकारी दिनुहुँदै मेची राजमार्ग सञ्चालन गराउन हेवाखोलामा १० दिन जतिमा बेलीब्रिज राख्नसकिने अनुमान गरिएको बताउनुभयो ।

छलफलमा ताप्लेजुङबाट प्रतिनिसभामा प्रतिनिधित्व गर्नुहुने सांसद योगेश भट्टराई, सङ्खुवासभाबाट प्रतिनिसभामा प्रतिनिधित्व गर्नुहुने सांसद दीपक खड्का, पाँचथरबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने सांसद वसन्त नेम्वाङ र प्रतिनिधिसभा सदस्य लीला देवी वोखिम (लिम्बू)ले आआफ्ना जिल्लामा तत्काल गर्नुपर्ने कामका बारेमा उल्लेख गर्नुभयो ।

सांसदहरूले घरबास गुमाएकाका लागि पालको व्यवस्था गर्नुपर्ने, कतिपय स्थानमा हेलिकप्टरबाट खाद्यान्न ढुवानी गर्नुपर्ने अवस्था रहेको, तत्कालका लागि उद्धार तथा राहतका लागि जिल्लामा रकम निकासा गर्नुपर्ने, यातायात सञ्चालनमा जोड दिइनुपर्नेलगायतका विषयवस्तु राख्नुभएको थियो । छलफलमा तीनवटै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि एवं विपद् सम्बद्ध निकायका अधिकारीहरूको उपस्थिति थियो ।

एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थाबाट आवेदन माग गरेको छ ।

बोर्डको कार्यालयले आज एक सूचना प्रकाशित गरी माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई २०७९) को नतिजासम्बन्धी विवरण परीक्षा नियन्त्रण कार्यालयबाट प्राप्त गरी एसएमएस, आइभिआर वा वेबसाइटबाट सार्वजनिक गर्न इच्छुक संस्थाले आफूले दिन चाहेको सेवाको विवरण कार्यालयबाट तोकिएको शर्तको अधीनमा रही यही असार १२ गतेभित्र आवेदन दिन आग्रह गरेको छ ।

एसएमएसबाट सूचना दिनका लागि रु ४० हजार, वेबसाइटबाट नतिजा प्रकाशनका लागि रु २० हजार, एसएमएस र वेबसाइट सेवाका लागि रु ६० हजार, एसएमएस, आइभीआर र वेबसाइट सेवाका लागि रु एक लाख राजस्व बुझाउनुपर्ने कार्यालयद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ । बोर्डले परीक्षा प्रकाशित गरेपछि मात्रै नतिजासम्बन्धी विवरण उनीहरूलाई प्रदान गरिने र सोही आधारमा प्रकाशन गर्नुपर्ने जनाइएको छ ।

यसैगरी नतिजासम्बन्धी जानकारी दिने कार्य नतिजा प्रकाशन भएको मितिले ३१ औँ दिनबाट अनिवार्य बन्द गर्नुपर्ने जनाइएको छ ।

प्रतिनिधिसभा बैठकमा चार मन्त्रालयअन्तर्गत विभिन्न शीर्षकमाथि छलफल

काठमाडौँ – प्रनितिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न चार मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको छ ।

बैठकमा युवा तथा खेलकुद, शिक्षा विज्ञान तथा प्रविधि, कानून न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा सांसदले भाग लिनुभएको थियो ।

बैठकमा जनार्दन शर्मा, विनिता कठायत धु्रवबहादुर प्रधान, प्रकाश अधिकारी, शेरबहादुर कुँवर, अर्जुनरसिंह केसी, शङ्कर भण्डारी, रामनाथ अधिकारी, उर्मिला थेबे, नागिना यादव, मनबहादुर गुरुङ, पूर्णबहादुर तामाङ, सूर्यकुमारी श्रेष्ठ, रामकृष्ण यादव, प्रतीक्षा तिवारी, रामहरि खतिवडा, ईश्वरी घर्ती, मैना कार्की, अमृतलाल राजवंशी, जावेदा खातुन, सरिता भुसाल, दीपा शर्मा, प्रभु हजारा दुसाधलगायतले मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही असार ८ गते शुक्रबार बिहान ११ बजे बस्नेछ ।

घट्यो हवाई भाडादर (सूचीसहित)

​​​​​​​काठमाडौं – हवाई भाडादर घटाइएको छ । हवाई इन्धनको मूल्य घटाइएपछि भाडादर पनि घटाइएको हो ।

मंगलबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको थियो । बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणले भाडा घटाएको हो ।

साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल–कुवेत भिड्दै

काठमाडौँ – साफ च्याम्पियनसिपको उद्घाटन खेलमा आज नेपाल र कुवेत बीचमा प्रतिस्पर्धा हुँदैछ  ।

आज भारतको बेंग्लोरमा हुने प्रतियोगिताको उद्‌घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुन लागेको हो । सो खेल  दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ ।

कुवेत पहिलो पटक दक्षिण एसियाको सबैभन्दा ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा भाग लिन लागेको हो । आमन्त्रित टिमको रूपमा साफमा सहभागी हुन लागेको कुवेतसँग नेपालले आज आफ्नो जीत दर्ज गराउने उद्देश्यका साथ मैदानमा उत्रदैछ । 

प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले छोटो तयारीका बिचमा प्रतियोगितामा सामेल हुन लागेको नेपाली टिमले कठिन चुनौतीको सामना गर्न सक्षम रहेको बताएका छन् ।

गत वर्ष मात्रै एसियन कपको छनोटमा कुवेतसँग नेपाल ४–१ गोलले पराजय भएको थियो । यससँगै नेपाल र कुवेतका बिचमा ५ खेल भएका छन् । 

उखरमाउलो गर्मीमा छिन–छिनमा बिजुली जाँदा सास्ती

जानकी – भगवती रिजाल खुद्रा व्यावसायी हुनुहुन्छ । उहाँ बाँकेको कारकाँदोस्थित एउटा सटर भाडामा लिएर किराना पसल सञ्चालन गर्दै आउनुभएको छ । बिजुली छिनछिनमा आउने जाने गर्दा पसलमा राखिएको रेफ्रिजिरेटरले काम गर्न छाडेको छ ।  रिजाल चिसो बनाउन राखिएका पेयपदार्थ बिक्री गर्न नपाएपछि तनावमा हुनुहुन्छ । 

चार वर्षदेखि किराना पसल सञ्चालन गर्दै आउनुभएकी रिजाल विगत वर्षभन्दा यसवर्ष विद्युत् आपूर्ति अनियमित हुँदा व्यापारमा घाटा लागेको बताउनुहुन्छ । 

“चार वर्र्षमा रेफ्रिजिरेटर यसअघि कहिल्यै बन्द भएन”, उहाँले भन्नुभयो, “कम भोल्टेजका कारण फ्रिज नचेलेको हुनाले यो गर्मीमा चिसो बनाउन राखिएको पेयपदार्थ नै चिसो नभएर बेच्न पाएकी छैन । ग्राहक आउँछन् सोध्छन् । चिसो छैन भन्नुपर्ने हुन्छ ।” 

भगवतीजस्तै सोही वडामा किराना पसल चलाउँदै आउनुभएका रामचन्द्र गिरीको व्यथा छ । बिजुली आउने जाने हुँदा फ्रिज चल्न पाएको छैन । “गर्मीमा धेरै बिक्री हुने भनेकै दही हो । तर बिजुली झ्याप्प आउने र जाने गर्दा दही पग्लिएर दूधजस्तै हुन्छ”, उहाँले भन्नुभयो, “दूधजस्तै दही ग्राहकले किन्न मान्दैनन् ।” 

गिरीले किराना पसलमा हरियो सागसब्जी पनि बेच्ने गर्नुहुन्छ । तर चर्को घामका कारण हरियो तरकारी सुकेर खेर जाँदा तरकारीबाट नाफा कमाउन नसकेको उहाँले बताउनुभयो । 

“बिहानै हाटबजार गएर ल्याएको हरियो तरकारी  चर्को घामले सुकाइदिन्छ । साग सुकेर फाल्नुपरेको छ”, गिरीले भन्नुभयो । गर्मीको सयममा विद्युत् प्राधिकरणले बेलाबेला बत्ती काटिरहने तथा कम भोल्टेजका कारण व्यापार गर्न कठिन हुँदै गएको उहाँले बताउनुभयो । 

कम भोल्टेजका कारण बेकरी व्यवसायीको अवस्था झनै दयनीय छ । बेकरी सञ्चालक रामकिशोर बर्मा अत्यधिक गर्मीका कारण व्यापार चौपट भएको बताउनुहुन्छ । नेपाल विद्युत् प्राधिकरणले अनियमितरूपमा विद्युत् प्रवाह गरेपछि उहाँको व्यवसाय धरापमा परेको हो । “बेकरीमा केकका प्रकार धेरै हुन्छन्, चौबीसै घन्टा फ्रिजको आवश्यकता पर्दछ”, बर्माले भन्नुभयो, “एक महिनायता एउटा फ्रिज नै बिग्रिएको छ । अर्को फ्रिजले पनि राम्रोसित काम गर्न सकिरहेको छैन ।”

विद्युत् सेवा प्रवाह भरपर्दो नभएको भन्दै विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रविरुद्ध स्थानीयले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले विद्युत् कार्यालय घेराउ गर्दै आएका छन् । प्राधिकरणको नेपालगन्जस्थित वितरण केन्द्रलाई चार बुँदे ज्ञापनपत्र बुझाइएको स्थानीय नमस्कार शाहले बताउनुभयो । 

नारायणगढ–मुग्लिन सडक : सेती दोभान पुल सञ्चालनमा

भरतपुर – नारायणगढ–मुग्लिन सडकअन्तर्गत सेती दोभानको पुल सञ्चालनमा आएको छ । निर्माणाधीन १५ पुलमध्ये सेती दोभानको पुल सञ्चालनमा ल्याइएको हो ।

पैसठ्ठी मिटर लामो उक्त पुल सञ्चालनमा आएसँगै नारायणगढ–मुग्लिन सडकको दूरी एक सय मिटर कम भएको छ । निर्माण सुरु भएको दुई वर्षपछि पुल सञ्चालनमा आएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का प्रमुख किरण कार्कीले जानकारी दिनुभयो । पुल निर्माणसँगै सेती दोभानमा घुमाउरो बाटोका कारण सवारीसाधन विस्तारै चलाउनुपर्ने बाध्यता हटेको छ । यो महिनाभित्र लामो बालुवा, डुम्रे, रिग्दी र सिमलताल पुल पनि सञ्चालनमा आउने कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार यी पुलको फिनिसिङको काममात्र बाँकी रहेको छ ।

रु एक अर्ब २७ करोडमा तीन वर्षअघि १५ पुल निर्माण सुरु गरिएको थियो । तीन वर्षका लागि दुई प्याकेज बनाएर ठेक्का लगाइएको थियो । कार्कीका अनुसार पुल निर्माणका लागि अनक कन्स्ट्रक्सनलाई थप गरेको एक वर्षको समय यही २०८० पुस मसान्तमा सकिँदै छ । निर्धारित समयमा काम नसकिएपछि एक वर्ष समय थप गरिएको थियो । विश्व बैंकको सहयोगमा सडकखण्डका पुल निर्माण गरिएको हो ।

निर्माणाधीन अन्य आठ पुल दसैँ र तिहारको आसपासमा सञ्चालनमा ल्याउने आयोजनाले जनाएको छ । ती सबै पुलको ढलान भइसकेको कार्कीले जानकारी दिनुभयो । मुग्लिन नजिकैको खहरे खोला पुल र तुइन खोला पुलको भने धेरै काम बाँकी छ । तुइन खोलामा पहाड फोर्न विस्फोट नै गराउनुपर्ने भएकाले समय लाग्ने देखिएको छ । विस्फोटक पदार्थ खरिद गर्न सरकारले स्वीकृति दिइसकेको छ । यसअघि चारवटा पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेका छन् । नारायणगढ–मुग्लिन सडक भएर दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन् ।

तयारी अवस्थामा रहन आग्रह

ताप्लेजुङ – विपद् व्यवस्थापनमा सम्बद्ध सबै निकायलाई उपलब्ध स्रोत, साधन र जनशक्तिसहित तयारी अवस्थामा रहन जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले आग्रह गरेको छ ।

मनसुन सुरु भई जिल्लामा विपद्का घटना भइरहेकाले खोज, उद्धार र राहतका कार्यलाई ढिलो हुन नदिन तयारी हुनुपर्ने निष्कर्षसहित सबै निकायलाई अनुरोध गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताउनुभयो । खोज र उद्धारका कार्यसँगै निरन्तर समन्वयमा रहनसमेत उहाँले अनुरोध गर्नुभएको छ ।

मङ्गलबार बसेको बैठकले पूर्ण क्षति भएको प्रति घरपरिवारलाई छ बन्डल कर्कटपाता उपलब्ध गराइदिन आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशलाई अनुरोध गर्ने निर्णय गरेको छ । बाढीपहिरामा परी मृत्यु भएका आफन्त तथा नजिकको हकदारलाई र आंशिक तथा पूर्णरूपमा घर क्षति भएकालाई मापदण्डबमोजिम राहत उपलब्ध गराउनसमेत उक्त मन्त्रालयलाई अनुरोध गरिएको छ ।

यस्तै विस्थापित परिवारलाई तत्काल रेडक्रसबाट गैर खाद्य सामग्री उपलब्ध गराउने, अन्नपातसहितको क्षति भएका परिवारको गुजाराका लागि स्थानीय तहले सहयोग गर्ने, घाइते भएकालाई स्थानीय अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने, उपचारका लागि आर्थिक सहायता आवश्यक परे प्रदेश सरकारसँग माग गर्नेसमेत निर्णय भएको छ ।

समितिको निर्णयानुसार हरेक पालिकाले विस्थापित परिवारको तथ्याङ्क यकिन गरी तीन दिनभित्रै जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउनुपर्ने भएको छ । मेची राजमार्गस्थित पाँचथरको हेवाखोला बाढीले बगाई यातायात सेवा अवरुद्ध भएकाले अत्यावश्यक सामान ढुवानी गर्न परे तुइन (घिर्लिङ) को व्यवस्थापन गर्न प्रदेश सरकारसँग अनुरोध गर्नेसमेत निर्णय भएको छ ।

यसैबीच विभिन्न व्यक्ति, सङ्घसस्थाबाट राहत सङ्कलन र वितरणको कार्य सन्तुलित, पारदर्शी नहुने हुँदा विपद् व्यवस्थापन समितिको स्वीकृतिमा एकद्धार प्रणालीबाट सङ्कलन गरी स्थानीय तहले वितरणको व्यवस्था गर्ने निर्णय भएको छ । विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा, राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र काठमाडाँैलाई त्रिपाल, कम्बल, भाँडाकुडा र अत्यावश्यक औषधि माग गर्ने निर्णय गरिएको छ । बाढीपहिरामा परी तीन जनाको ज्यान गएको थियो भने तीन जना बेपत्ता छन् ।

समितिका अनुसार जिल्लामा सरकारी कार्यालय, निजी घरसहित ४३ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । मनसुन अझै सक्रिय रहेकाले नदी किनार तथा जोखिम क्षेत्रका नागरिकलाई सुरक्षित रहन अनुरोध गरिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण हुँदै

पोखरा – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडान हुने भएको छ ।

चिनिया जहाज ‘सिचुवान एयरलाइन्स’ को जहाज पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्न लागेको हो । 

चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेर नेपाल आउन लागेको सो जहाज आज बिहान ९ः३० बजे पोखरा विमानस्थल अवतरण गर्नेछ । जहाँ १ सय ३० जना यात्रु रहने छन् ।  

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समेतलाई लिएर आउने सो विमानमा चिनियाँ खेलाडीहरू साथमा नै आउने छन् । 

दक्षिण एसिया मा नै  पहिलो पटक पोखरामा आयोजना गरिन लागिएको ड्रागन बोट रेस फेस्टिबलमा सहभागी हुनका लागि ती खेलाडीहरू नेपाल आउन लागेका हुन । सो फेस्टिबल यही असार ८ र ९ गते पोखरामा हुदैँछ ।

रासायनिक मल उपलब्ध गराउन माग

काठमाडौँ – युवा किसान सङ्घको राष्ट्रिय भेलाले उत्कल सापकोटाको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । यही असार ४ र ५ गते काठमाडौँमा सम्पन्न भेलाले सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

भेलाको समापन समारोहमा नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव डा विजय पौडेलले कृषकलाई रोपाइँको समयमा रासायनिक मल तत्काल उपलब्ध गराउन माग गर्नुभयो । उहाँले रासायनिक मलका लागि सरकारले रु ३० अर्ब विनियोजन गरेको भए पनि आयातमा ढिलासुस्ती भएकाले उनीहरूले मल नपाएको बताउनुभयो ।

परम्परागतरूपमा गरिँदै आएको खेती प्रणालीलाई प्रविधि प्रयोग गरी आधुनिकीकरण गर्नुपर्ने उपमहासचिव पौडेलको भनाइ थियो । पार्टीको मोर्चा फाँट प्रमुखसमेत रहनुभएका उहाँले युवालाई यस क्षेत्रमा आकर्षित गर्न सकेमा कृषि उत्पादन वृद्धि गर्न सकिने उल्लेख गर्दै उनीहरूलाई प्रविधिमैत्री बनाउनपर्नेमा जोड दिनुभयो ।

अखिल नेपाल किसान महासङ्घका अध्यक्ष बलराम बाँस्कोटाले उत्पादन वृद्धि गर्न किसानलाई मल र बीउबिजनको व्यवस्था गर्नुपर्ने बताउनुुभयो । किसानलाई अध्ययन र अनुसन्धानमा केन्द्रित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य प्रमेश पोखरेलले मल आयातको प्रबन्ध गर्न माग गर्दै विकास र आर्थिक समृद्धिका लागि यस क्षेत्रमा गरिने लगानीले आत्मनिर्भर अर्थतन्त्रको विकास हुने बताउनुभयो ।

प्रतिनिधिसभा बैठक आज पनि बस्दै

काठमाडौँ – आज प्रतिनिधि सभाको बैठक बस्दै छ । सङ्घीय संसद् भवन, बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ । 

आजको बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल जारी रहनेछ । 

आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेटमाथि छलफल भएको थियो ।

लुम्बिनीमा सङ्कलित अपरिवर्तीय मुद्रा साटियो

लुम्बिनी – लुम्बिनी विकास कोषले दानवापत सङ्कलित अपरिवर्तित देशहरूको रु ५४ लाख २९ हजार बराबरको रकम नेपाल राष्ट्र बैंकमार्फत सटही भएको छ । कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईसहित पदाधिकारी र बोर्डको पहलमा वर्षौँदेखि सटही हुन नसकेको दानवापतको अपरिवर्तीय मुद्रा पहिलोपटक सटही भएको हो ।

लुम्बिनी विकास कोष र राष्ट्र बैंकबीच भएको सम्झौताअनुसार गत चैत २७ गते राष्ट्र बैंक सिद्धार्थनगर शाखालाई उक्त मुद्रा पठाइएको थियो । कोषले मुचुल्का उठाएर श्रीलङ्का, म्यानमार, भियतनाम, कम्बोडिया, बङ्गलादेशसहितका देशको मुद्रा सटहीका लागि राष्ट्र बैंक भैरहवा कार्यालयले सिआइएमबी बैंक सिङ्गापुर पठाएको कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताउनुभयो । उहाँले लुम्बिनीमा विदेशी नागरिकले पवित्र भावनाले प्रदान गरेको दान रकम नसाटिएर कागज बराबर भएकामा पटक–पटकको प्रयासपछि रकम सटही भएर आएको बताउनुभयो ।

नेपाल राष्ट्र बैंकको परिवत्र्य विदेशी मुद्राको सूचीमा नपरेका देशका पर्यटकले दानवापत लुम्बिनीमा चढाएको रकम लामो समयदेखि सटही हुन नसकेकामा सिङ्गापुरस्थित सिआइबी बैंकबाट राष्ट्र बैंकको खातामा रु ५४ लाख २९ हजार सात सय ३१ प्राप्त भएको राष्ट्र बैंक सिद्धार्थनगरका उपनिर्देशक जीवनप्रकाश पाण्डेले बताउनुभयो । उहाँले केही मुद्रा पुरानो भएकाले सटही हुन नसकेको उल्लेख गर्दै पठाइएकामध्ये ९० प्रतिशत मुद्रा सटही भएर आएको बताउनुभयो । सोमबार राष्ट्र बैंकको खातामा रकम आएको र अब लुम्बिनी विकास कोषमा रकम पठाइने पाण्डेले बताउनुभयो ।

गत चैत २२ गते कोषका तर्फबाट कोषाध्यक्ष ढुण्डिराज भट्टराई र राष्ट्र बैंक सिद्धार्थनगरका कायममुकायम निर्देशक शान्तिप्रसाद पाण्डेबीच मुद्रा सटही गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौँ – अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । सङ्घले घोषणा गरेका दिवस मध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएकोे थियो ।

नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । नेपाल संस्कृत विश्वविद्यालयमा छ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ ।

यस अघि विसं २०३६ देखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो । वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायःबनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतनाजगाउने काम सुरु भएको हो ।

प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमायसलाई चटक्क बिर्सिएका नेपाली युरोप तथा अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेकाहुन् ।

माघ १गते मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीले माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्तितथापुनःनिर्माण मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव गरेकाथिए ।नेपाल सरकारले विसं २०७२ साउन २८ गते तत्कालीनशान्तिमन्त्री नरहरि आचार्यको प्रस्तावमामाघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो ।

योग र ध्यान साधनाकालागिउत्तरायण महत्वपूर्ण मानिनेभएकाले उत्तरायण सुरु हुने पहिलो दिन मकर सङ्क्रान्तिअर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो । हाल नेपालमा माघ १ गते राष्ट्रिय र जुन २१ कादिनअन्तर्राष्टिय योग दिवस मनाइन्छ ।

कर्णाली सरकारको बजेटमाथि छलफल जारी

कर्णाली – कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि छलफल जारी छ । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको तेह्रौँ बैठकमा पनि बजेटमाथिको छलफलमा दशजना प्रदेशसभा सदस्यले आफ्ना धारणा राख्नुभयो ।

छलफलको सुरुमा भाग लिँदै प्रदेशसभा सदस्य रणसिंह परियारले बजेटमा दलितहरुलाई साङ्केतिक ढङ्गले सम्बोधन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बजेटको बुँदा नम्बर ५० मा दलित, बोटे, राउटेलगायतका जाति र वर्ग आवश्यक रकम छुट्याउने भन्ने उल्लेख गरिएको छ । त्यो प्रक्रिया नै अमूर्त छ ।” अल्पसङ्ख्यक र सीमान्तकृत वर्गसँग दलितलाई मिसाउन नहुने भन्दै सदस्य परियारले बजेटमा स्पष्ट कुरा आउनुपर्नेमा जोड दिनुभयो ।

प्रदेशसभामा सदस्य जीतबहादुर मल्लले बजेट गोलमालमा आएकाले त्यसलाई परिस्कृत बनाउनुपर्ने बताउनुभयो । प्रदेशसभा सदस्य वीरबहादुर शाहीले डोल्पामा समानुपातिकरुपमा बजेट विनियोजन हुन नसकेको भन्दै आक्रोश पोख्नुभयो भने टेकराज पछाईले नीति तथा कार्यक्रमभन्दा भिन्न आएको भन्दै बजेट निर्माणमा योजनामन्त्रीलाई दबाब दिने व्यक्तिको नाम सार्वजनिक गर्न आग्रह गर्नुभयो ।

छलफलमा प्रदेशसभा सदस्य घनश्याम भण्डारी, कल्याणी खड्का, विजया बुढा, दक्षिणा शाही, लक्ष्मी सुनार, बलिमाया बुढाले समृद्ध कर्णाली निर्माणमा टेवा पुर्याउने बजेट ल्याउन सुझाव दिँदै प्रदेशसभामा आफ्ना धारणा राख्नुभएको थियो । सभाको अर्को बैठक बुधबार दिउँसो ३ बजे बस्ने सभामुख नन्दा गुरुङले जानकारी दिनुभयो ।

किसानलाई तत्काल रासायनिक मलको प्रबन्ध गर्न माग

काठमाडौँ – विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न मन्त्रालयको विभिन्न शीर्षकमाथिका छलफल जारी छ । आजको बैठकमा सहरी विकास, खानेपानी, अर्थ र श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका शीर्षमाथिको छलफल सकिएको छ ।

छलफलमा भाग लिँदै सांसद लालवीर चौधरीले खेतीपातीको समयमा रासायनिक मल नपाएकाले तत्काल उपलब्ध गराउन माग गर्नुभयो । रासायनिक मलका लागि सरकारले रु ३० अर्ब बराबरको बजेट विनियोजन गरिएकाले त्यसलाई उचितरुपमा मल आयातको प्रबन्ध गर्न माग गर्नुभयो ।

सांसद अमरेशकुमार सिंहले काठमाडौँ उपत्यकाभित्र खुल्ला स्थान क्रमशः मासिँदै गएकाले मानव जीवन प्रभावित भएकाले अब बन्ने स्मार्ट सिटीलाई भने व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद अर्जुननरसिंह केसीले सहरी क्षेत्रका विकासका लागि नगर विकास एकीकृत परियोजना विगतमा नै सुरु भएको तथ्य पेश गर्दै सो योजनामा निरन्तरता नपाएकाले सहरी क्षेत्रमा विकास निर्माणको काम प्रभावकारी हुन नसकेको बताउनुभयो । उहाँले सीमान्तकृत, उपेक्षित समुदायको सामुदायिक सुरक्षा, न्यायको प्रत्याभूत गराउनुपर्नेमा जोड दिनुभयो ।

सांसद लेखनाथ दाहालले आन्तरिक ऋणलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले विकासको नयाँ मोडल तय नगरिकन नेपाली जनताको अपेक्षा पूरा हुन नसक्ने बताउनुभयो ।

सांसद रामहरि खतिवडाले बजेट निर्माण प्रक्रियालाई नयाँ आधारमा अगाडि बढाउनुपर्ने बताउनुभयो । मुलुकभर विभिन्न प्रकृतिका भवन र टावर निर्माण भए पनि त्यसको प्रयोग हुन नसक्दा त्यत्तिकै बसेको स्पष्ट पार्दै निर्माण भएका संरचनाको सदुपयोग गर्न बनाउन आग्रह गर्नुभयो ।

सांसद राजेन्द्रकुमार राईले जनतालाई खुसी बनाउने र जनप्रतिनिधिको अनुभव गराउने हो भने विधिमा रहेर सांसदलाई उल्लेख्य मात्रामा बजेट उपलब्ध गराउनुपर्ने आफ्नो मान्यता रहेको बताउनुभयो । उहाँले सहरी विकास मन्त्रालयका लागि आफूले उपलब्ध गराएको कुनै पनि योजना समावेश नभएकामा गुनासो गर्नुभयो ।

सांसद नारायणी शर्माले बजेट विनियोजन व्यवस्थित र प्रभावकारी हुन नसकेको भन्ने गुनासो व्यापकरुपमा उठेकाले त्यसलाई उचित सम्बोधन गर्नुपर्ने बताउनुभयो । उहाँले विद्युतीय सवारी साधनको प्रवद्र्धनलाई विशेष जोड दिनुपर्ने धारणा राख्नुभयो । सांसद रणेन्द्र बराइलीले आम नेपालीले सहजरुपमा पिउने पानीको प्रबन्ध गर्ने गरी बजेटको प्रबन्ध गर्नुपर्ने बताउनुभयो ।

सांसद योगेन्द्र मण्डल, अनिता देवी, रामप्रकाश चौधरी, बिजुला रायमाझी, रामनाथ अधिकारी, तारा लामा तामाङ, सीताकुमारी राना र बलराम अधिकारीले बजेटका विभिन्न पक्षका बारेमा आफ्ना धारणा राख्नुभएको थियो । प्रतिनिधिसभाको बैठक जारी छ ।

क्रसर तथा गिट्टी, बालुवाका सम्बन्धमा गृहमा छलफल

काठमाडौँ – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा क्रसर तथा गिट्टी, बालुवाको सम्बन्धमा आज सरोकार राख्ने सरकारी निकायका प्रतिनिधि तथा उद्योगी, व्यवसायीबीच छलफल भएको छ ।

सरकारले नवीकरण नभएका र दर्ता नभएका क्रसर उद्योगलाई कानुनी दायरामा आउन भनी दिएको समयसीमा नजिकिएपछि पुनः यससम्बन्धी बहस सुरु भएको हो । सरकारले दर्तामा आउन यही असार १६ गतेसम्मकोे समयसीमा दिएको थियो । समय नजिक आएपछि केही दिनअघि व्यवसायीले पत्रकार सम्मेलन नै गरेर विविध कारणले नवीकरण नभएको जनाउँदै असार १६ देखि बन्द गर्ने चेतावनी दिएका थिए ।

उनीहरुले गृहमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएकाले त्यस विषयमा छलफल गर्न आज बैठक बोलाइएको गृह मन्त्रालयले जनाएको छ । “बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्रीज्यूले सबै क्षेत्रबाट ब्रिफिङ लिने काम गर्नुभएको छ, पुनः माथिल्लो तहका अधिकारीहरुसँग छलफल गर्ने कुरा भन्नुभएको छ, आज खास ठोस निष्कर्ष केही भएन”, गृह मन्त्रालयका प्रवक्ता जीतेन्द्र बस्नेतले भन्नुभयो ।”

बैठकमा निर्माण व्यवसायी, क्रसर व्यवसायी, गाउँपालिका महासङ्घ, नगरपालिका महासङ्घ, उद्योग मन्त्रालय, सङ्घीय मामिला, वन तथा वातावरण मन्त्रालय, खानी विभाग, आन्तरिक राजस्व विभागलगायतका प्रतिनिधिको सहभागिता रहेको थियो ।

छलफलमा व्यवसायीले भने सरकारले यो विषयलाई चाँडो टुङ्ग्याउनुपर्ने माग गरेका थिए । उनीहरुले मापदण्ड कडा भएको र दर्ता भएर नवीकरण नभएका उद्योग दर्ता प्रक्रियामा आउन नसक्ने अवस्था भएको बताएका थिए ।

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीलगायतको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री पुथ्वीबहादुर सिंह, उहाँको श्रीमती अमृतादेवी र भाउजु जयादेवी सिंहको सवारी दुर्घटनामा निधन भएकामा प्रधानमन्त्री दाहालले श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

उहाँले दुर्घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । आज दिउँसो बझाङको कदारस्यु गाउँपालिका–१ झारछडस्थित जयपृथ्वी राजमार्गमा मन्त्री सवार गाडी दुर्घटनामा परेको थियो ।

दार्चुलाको खाणेश्वरी केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं- दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत जेठ २९ गते बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।

आज प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं – आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद भवन, बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाईएको छ । 

आजको बैटकमा विनियोजन विधेयक २०८० माथीको छलफल जारी रहनेछ । जसअनुसार आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेट माथी छलफल हुनेछ।

हिजोको प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल  सकिएको थियो । 

बाबुराम भट्टराईको टिप्पणीः ‘सबैलाई सधैं ठग्न सकिन्न’

काठमाडौं – पुर्व प्रधानमन्त्री अध्यक्ष बाबुराम भट्टराईले समाजवादी मोर्चाको निमार्ण प्रति आशंका ब्यक्त गरेका छन् ।

जालझेलले समाजवादको निमार्ण नहुने भन्दै नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले मोर्चाको सत्ताको बार्गेनिङको अंश बन्न नहुने टिप्पणी गरेका छन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा मोर्चा गठन भए पछि  भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

‘समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन,’ उनले भनेका छन, ‘यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामुहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो।’ 

उनले मोर्चाको गठन सत्ताको बार्गेनिङका लागि भएको आशंका ब्यक्त गर्दै त्यसो नगर्न सुझाव दिएका छन् । ‘कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थका निम्ति भित्री र बाहिरी शक्तिहरूसंग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस्,’ भट्टराईले भनेका छन, ‘केहीलाई सधैं र धेरैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैं ठग्न सकिन्न भन्ने हेक्का रहोस् ।’ 

यस्तो छ आजको मौसम :  बाढी, पहिरो भू-क्षय तथा गेग्रान बहाव हुन सक्ने

काठमाडौं – हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको  छ  भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली रही देशको पहाडी भू-भागको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यता सफा रहनेछ। कोशी  र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा  बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, गण्डकी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी , मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा देशको बाँकी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी , मधेश र गण्डकी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावनाका साथै कोशी  र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। मेघगर्जन र चट्याङ्ग, बाढी, पहिरो भू-क्षय तथा गेग्रान बहाव तथा वर्षाका कारण नदीको स्तर बढेर हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

भौतिक पूर्वाधारमा लगानी बढाइँदै

गण्डकी – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको ठूलो हिस्सा सडक र पुलमा केन्द्रित गरेको छ । रु ३३ अर्ब ४२ करोड ७२ लाखको कुल बजेटमध्ये रु ११ अर्ब १६ करोड पुल तथा सडक पूर्वाधारमा विनियोजन गरिएको हो ।

गत शुक्रबार सार्वजनिक बजेटमा प्रदेश गौरवका आयोजना, एक निर्वाचन क्षेत्र–एक कृषि सडक, रणनीतिक महत्वका सडक, स्थानीय तहको प्रशासनिक केन्द्र जोड्ने सडकको निर्माण तथा स्तरोन्नतिलाई तीव्रता दिइने उल्लेख छ ।

आगामी आवमा थप तीन सय किमी सडक कालोपत्र गर्ने र २५ वटा पक्की पुल बनाउने प्रदेश सरकारको लक्ष्य छ । बजेटमा टुक्रे योजना कटौती गरेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले ठूला र रणनीतिक महत्वका सडक निर्माणलाई प्राथमिकता दिएको हो ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले सडकका बहुवर्षीय आयोजनामा धेरै बजेट खर्च हुने बताउनुभयो । “प्रदेशको गौरव र रणनीतिक महत्त्वसँग जोडिएका सडकमा सरकारको बढी जोड छ, बजेट पनि त्यसरी नै आएको छ”, उहाँले भन्नुभयो, “पक्की पुल निर्माणलाई पनि प्राथमिकता दिइएको छ ।

पूर्वाधारतर्फका पुरानै आयोजनामा बजेटको दायित्व थपिएपछि सडकमा नयाँ आयोजना कम परेका छन् । पक्की पुलमा भने सरकारले लगानी थपेको छ । पुल नबनेकै कारण कतिपय सडक बाह्रैमास चल्न नसकेको स्थिति छ । एकातिर स्तरहीन सडक त्यहीँमाथि पुलसमेत नहुँदा वर्षात्का बेला ग्रामीण भेगको यातायात सेवा प्रभावित हुने गरेको छ ।

प्रदेश सरकारको प्राथमिकताप्राप्त उत्तर–दक्षिण द्रुतमार्गअन्तर्गत भिमाद–डेढगाउँ–झ्यालबास–चोरमारा–दुम्कीबास–त्रिवेणी खण्डको निर्माणलाई पनि आगामी वर्ष गति दिइने भएको छ । प्रदेश गौरवको आयोजना शालिग्राम करिडोरको स्तरोन्नति र रणनीतिक महत्त्वको बुद्धसिंह मार्ग निर्माणका लागि रु १९ करोड ५० बजेट छुट्याइएको छ ।

सडकको मर्मतसम्भार र दिगो व्यवस्थापनसहित बाह्रैमास यातायात सञ्चालनका गर्न आपत्कालीन मर्मत तथा पुनःनिर्माणका लागि रु २१ करोड ७५ लाख बजेट विनियोजन गरिएको आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेमगरले जानकारी दिनुभयो ।

एसियाली विकास बैंकको सहयोग तथा स्थानीय पूर्वाधार विभागको समन्वयमा ग्रामीण पहुँच सुधार कार्यक्रम–अतिरिक्त लगानीमार्फत प्रादेशिक र स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम सञ्चालन गरिने भएको छ । नदी प्रणालीमा आधारित एकीकृत विकासको अभ्यासलाई सङ्घ सरकारको समेत लगानीमा अगाडि बढाइने जनाइएको छ ।

बूढीगण्डकी करिडोर, मस्र्याङ्दी करिडोर, त्रिशूली करिडोर र शालिग्राम करिडोरको विस्तृत आयोजना प्रतिवेदन तयार गरी कार्यान्वयनमा लगिने भएको छ । पूर्वाधारतर्फ आगामी आवमा थप २० वटा झोलुङ्गे पुल निर्माणको लक्ष्य लिइएको छ ।

तनहुँको भिमादबाट नवलपुरको डेढगाउँ, डेढगाउँ–झ्यालबास, बागलुङको बिहुँ–नरेठाँटी, म्याग्दीको दानाबाट मुस्ताङको घाँसा र लमजुङको शीतलपाटी–नाल्फाफेँदी सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि पनि बजेटको प्रबन्ध गरिएको छ ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री जुग्जालीले यसै वर्षभित्र सुरुङमार्गको सम्भाव्यता अध्ययनको काम अगाडि बढ्ने बताउनुभयो । “बजेट छुट्टिएको छ, यसै वर्ष सुरुङमार्गको सम्भाव्यता अध्ययन सुरु हुन्छ”, उहाँले भन्नुभयो । घुमाउरा सडक भएका पहाडी भूगोलमा सुरुङमार्ग निर्माण गर्ने सङ्घ सरकारको नीतिलाई प्रदेशले पनि पछ्याएको हो ।

केन्द्रमा सडक विभागले ‘सुरुङमार्ग विकास कार्यक्रम’मार्फत सुरुङमार्गको निर्माण र सम्भाव्यता अध्ययनको काम गर्दै आएको छ । प्रदेश सरकारले आफ्नै लगानी र पहलमा सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने भएको हो । कतिपयले सुरुङमार्गलाई प्रदेशको महत्वकाङ्क्षी लक्ष्यका रूपमा लिएका छन् ।

मन्त्री जुग्जालीले व्यवस्थित कार्ययोजनासहित पूर्वाधार विकासमा लगानी गरिने उल्लेख गर्नुभयो । प्रादेशिक सडक सञ्जालको गुरुयोजनासमेत निर्माण गर्ने तयारीमा मन्त्रालय छ । गुरुयोजनाले यातायात क्षेत्रको योजना बनाउन, सडक मर्मतसम्भार तथा प्राथमिकीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

काठमाडौँ महानगरद्वारा ११ महिनामा रु आठ अर्ब राजस्व सङ्कलन

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा रु आठ अर्ब राजस्व सङ्कलन गरेको छ । आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी आव २०७९-८० को ११ महिनामा रु आठ अर्ब २९ करोड ९५ लाख ५९ हजार दुई सय ७८ राजस्व सङ्कलन गरिएको राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार यो रकम महानगरको राजस्व लक्ष्यको ७९ प्रतिशतमात्रै हो ।

महानगरपालिकाले चालु आवका लागि राजस्व लक्ष्य रु १० अर्ब ४२ करोड ९५ लाख राखेको थियो । यसमध्ये सबैभन्दा धेरै प्रगति महानगरले आन्तरिक आयतर्फ गरेको छ । राजस्व सङ्कलनमध्ये महानगरपालिकाले आन्तरिक आयतर्फ ९८ दशमलव ८७ प्रतिशत हासिल गरेको जनाएको छ । महानगरपालिका रु चार अर्ब ८५ करोड आन्तरिक आयको राजस्व लक्ष्यमध्ये रु चार अर्ब ७७ करोड उठाएको हो । जुन अघिल्लो आवको भन्दा एक अर्ब बढी भएको विभागले जनाएको छ । 

विभागका अनुसार आव २०७८÷७९ मा महानगरले रु तीन अर्ब ७२ करोडमात्रै आन्तरिक आय सङ्कलन भएको थियो । महानगरपालिकाले आन्तरिक आयतर्फ घरबहाल करमा रु एक अर्ब ९२ करोड १२ लाख ८० हजार राजस्व सङ्कलन गरेको छ । चालु आवमा महानगरपालिकाले यो शीर्षकमा रु दुई अर्ब राजस्व उठाउने लक्ष्य राखेको थियो । यस्तै सम्पत्ति करमा रु ९१ करोड ३३ लाख राजस्व सङ्कलन गरेको छ । जुन अघिल्लो आवको भन्दा रु १२ करोडले बढी भएको जनाइएको छ ।

महानगरलाई राजस्व लक्ष्यमा पुग्न राजस्व बाँडफाँट भएर आउने रकमले असर परेको देखिएको छ । यसैगरी महानगरले बाँडफाँटबाट प्राप्त हुने राजस्वबाट रु एक अर्ब ५५ करोड ८९ लाख जम्मा गरेको छ । राजस्व बाँडफाँट पाउनुपर्नेमा महानगरपालिकालाई प्राप्त भएको अघिल्लो आवको भन्दा झन्डै रु एक अर्बले कमी भएको देखिन्छ । गत आव २०७८÷७९ मा राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम रु एक अर्ब ७५ करोड ५४ लाख थियो, जनु एक सय छ प्रतिशत रहेको थियो । तर यो पटक लक्ष्यको जम्मा ४५ प्रतिशतमात्रै महानगरलाई बाँडफाँट भएको हो ।

गत आवमा रु दुई अर्ब ५८ करोड २५ लाख राजस्व बाँडफाँटबाट आउने रकम लक्ष्य राखेकामा जेठ मसान्तसम्म रु दुई अर्ब ७५ करोड ५४ लाख अर्थात् एक सय छ प्रतिशत बाँडफाँट भएको थियो । तर चालु आव तीन अर्ब ४१ करोड ३१ लाख लक्ष्य राखेकामा रु एक अर्ब ५५ करोड ८९ लाखमात्रै उठेको हो ।

महानगरपालिकाको राजस्व विभागका अनुसार चालु आवको राजस्वको लक्ष्य भेटन् नसक्नुमा महानगरलाई प्राप्त हुने राजस्व बाँडफाँट हो । विभागका प्रमुख ध्रुव काफ्लेले महानगरले पर्याप्त आन्तरिक राजस्व उठाए पनि बाँडफाँट भएर आउने रकम कम हुँदा लक्ष्य प्राप्तिको दूरी टाढा भएको बबताउनुभयो । राजस्व विभागका अनुसार चालु आवमा आन्तरिक अनुदानतर्फ रु एक अर्ब ९६ करोड ९६ लाख महानगरको राजस्व जम्मा भएको छ ।