`

बहाल कर सङ्कलनमा उब्जिएको अन्योल हटाउन सङ्घीय सरकारलाई शाहको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले बहाल कर सङ्कलनको विषयमा सिर्जना भएको अन्योल हटाउन सङ्घीय सरकारलाई आग्रह गर्नुभएको छ ।

संस्थागत बहाल करदाताहरूले तिर्नुपर्ने कर नतिर्दा कामपाको वार्षिक आयमा करिब रु एक अर्ब ४३ करोड ४० लाख क्षति भएको छ । घरबहाल कर सङ्कलन गर्ने सम्बन्धमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई पत्र लेख्दै प्रमुख शाहले यस्तो बताउनुभएको हो ।

बहाल आयमा लाग्ने कर सङ्कलनको अधिकार संविधानले स्थानीय तहलाई मात्र दिएको भन्दै प्रमुख शाहले यसबाट सिर्जना भएको अन्योला तत्काल हटाउन सङ्घीय सरकारलाई आग्रह गर्नुभएको हो ।

पत्रसँगै संवैधानिक तथा कानूनी प्रबन्धहरू संलग्न गरेर पठाइएको पत्रमा प्रमुख शाहले अब उप्रान्त घर बहाल कर स्थानीय तहबाहेक अन्य कसैले सङ्कलन गर्न नपाउने सुनिश्चित गर्न पहल गरिदिन वित्त आयोगलाई पत्रमार्फत आग्रह गर्नुभएको छ ।

संविधान २०७२ को धारा ५७ (४) र अनुसूची ८ मा घरबहाल कर सङ्कलन गर्ने अधिकार स्थानीय तहको एकल अधिकारमा उल्लेख छ भन्दै उहाँले धारा ६० मा स्थानीय तहले आफ्नो आर्थिक अधिकार क्षेत्रभित्रको विषयमा कर लगाउन र राजस्व उठाउन सक्नेछ भन्ने स्पष्ट व्यवस्था गरिएको पत्रमा उल्लेख गर्नुभएको छ ।

स्थानीय सरकार सरकार सञ्चालन ऐन, २०७४, कामपा राजस्व ऐन, २०७५ र बहाल व्यवस्था निर्देशिका, २०७९ बमोजिम कामपा क्षेत्रभित्र बहाल आय गर्नेले महानगरपालिकालाई नै कर बुझाउनुपर्छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५७ मा गाउँपालिका वा नगरपालिकाको आफ्नो क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, कारखाना, जग्गा वा पोखरी पूरै वा आंशिक तवरले बहालमा दिएकामा गाउँपालिका वा नगरपालिकाले त्यस्तोमा बहाल कर लाग्नेछ, भन्ने व्यवस्था छ । यस व्यवस्थाबमोजिम कामपाभित्र बहाल आयमा लाग्ने कर महानगरपालिकाले मात्र सङ्कलन गर्न सक्छ ।

संविधानको धारा २२६ को उपधारा (१) र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को अधिकार प्रयोग गरेर कामपाले नगर सभाबाट ‘काठमाडौँ महानगरपालिका राजस्व ऐन, २०७५’ जारी गरेको छ ।

बहाल कर सङ्घ सरकारका राजस्व कार्यालयहरूले उठाइरहेको सन्द

कृषकलाई प्रोत्साहन गर्न अनुदान नीति

दमौली –  तनहुँको सरकारी निकायले अनुदानको नीति अगाडि सारेका छन् । कृषकलाई कृषि पेसामै टिकाइराख्ने उद्देश्यसहित जिल्लाका सरकारी निकायले अनुदानको नीतिलाई प्राथमिकता दिएका हुन् ।

कृषि ज्ञान केन्द्र तनहुँ, आँबुखैरेनी, म्याग्दे र बन्दीपुर गाउँपालिकालगायतले कृषकलाई विभिन्न उपकरण अनुदानमा वितरण गर्दै आएका छन् । कृषि पेसामा लागेका कृषकलाई आयआर्जनमा सहयोग पुग्ने खालका सामग्री वितरणलाई प्राथमिकतामा राखिएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “निर्वाहमुखी पेसा गरिरहेकालाई सहयोग गरेर व्यावसायिक बनाउने लक्ष्यसहित केन्द्रले मौरीघार, हाते ट्र्याक्टर, बङ्गुरका पाठापाठी, व्याड बोका वितरण गर्दै आएको छ ।” 

केन्द्रले विपन्न वस्तीमा मुख्यमन्त्री कार्यक्रमअन्तर्गत ऋषिङ गाउँपालिका–४ भिरकोटका कृषकलाई कृषि सामग्री सहयोग गरेको छ । विपन्न समुदायलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित १५ मौरीघार, ३० बङ्गुरको पाठापाठी, दुई व्याड बोका, एक हातेट्र्याक्टर, दुई पक्की टनेल, एक कुटानी पिसानी, १५ सिँचाइ ट्याङ्की, बाख्रा र कुखुराको खोर सहयोग गरिएको हो । तिवारीले भन्नुभयो, “विपन्न कृषक छनोट गरी कार्यक्रममार्फत उनीहरुलाई आत्मनिर्भर बनाउने लक्ष्य हो ।” यो ठाउँका ६० घरधुरीलाई लक्षित गरी कार्यक्रम सुरुआत भएको छ । 
 
जिल्लाका दुई पालिकाका विपन्न बस्तीमा ‘मुख्यमन्त्री कार्यक्रम’ सञ्चालन गरिएको छ । आयआर्जनमा सबल गराई विपन्न परिवारको जीविकोपार्जनमा सहज बनाउने उद्देश्यले उक्त कार्यक्रम सुरु गरिएको तिवारीले बताउनुभयो ।

जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ का ४० घर भुजेल र ऋषिङ गाउँपालिका–४ का करिब ६० घरधुरीलाई लक्षित गरी कार्यक्रम सुरु गरिएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । आँबुखैरेनीमा ४६ परिवारमध्ये १६ जनालाई बाख्रा, छवटा तरकारी टनेल, ३५ घार मौरी, हातेट्र्याक्टरलगायत प्रदान गरिसकिएको छ । 

गण्डकी प्रदेश सरकारबाट दुई पालिकाका लागि रु २०–२० लाख बजेट निकासा भएको छ । त्यसमा गण्डकी प्रदेश सरकारको ९० प्रतिशत अनुदान र कृषकको १० प्रतिशत लागत सहभागिता रहनेछ । केन्द्रले म्याग्दे–४ का कृषकलाई ९० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरेको छ । म्याग्दे गाउँपालिका–४ स्थित चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादन समूहमा आबद्ध कृषकलाई ४६ मौरी घार वितरण गरिएको जनाइएको छ । 

मौरीसहितको घार प्राप्ति गर्नका लागि केन्द्रले निवेदन माग गरेको थियो । एक सय छ जनाले निवेदन दिएकामा ४६ कृषक छनोट गरी घार वितरण गरिएको हो । तिवारीका अनुसार तनहुँ मौरीपालनका लागि उपयुक्त भएकाले यहाँका विभिन्न ठाउँमा मौरीपालनतर्फ कृषक आकर्षित भइरहेका छन् ।

समूहमा आबद्ध कृषक मौरीपालनतर्फ आकर्षित भएको अध्यक्ष जीतमाया रानाले बताउनुभयो । उहाँका अनुसार समूहमा आबद्ध सबैले मौरीपालन गरेका छन् । कम लगानी र मेहनतमा मौरीपालन गर्न सकिने भएकाले कृषक यसतर्फ लागेको उहाँले बताउनुभयो । 

आँबुखैरेनी गाउँपालिकाले एक वडाः एक उत्पादन कार्यक्रमअन्तर्गत कृषकलाई अनुदानमा एक सय १८ मौरी घार वितरण गरेको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एक वडाः एक उत्पादनअन्तर्गत म्याग्दे गाउँपालिका–४ का कृषकलाई मौरीपालनतर्फ आकर्षित गराउन घार वितरण गरिएको छ ।”

कृषि ज्ञान केन्द्रले नै शुक्लागण्डकी नगरपालिका–६ स्थित दरगाउँ कृषि तथा पशुपक्षी कृषक समूह र तीनखोलेदेवी कृषि तथा पशुपक्षी समूहलाई ५० प्रतिशत अनुदानमा हातेट्र्याक्टर र कम्बाइन मिल सहयोग गरेको छ ।

म्याग्देले कृषकलाई ५० प्रतिशत अनुदानमा हातेट्र्याक्टर वितरण गरेको छ । पालिकाको कृषि शाखाको स्वीकृत कार्यक्रमअनुसार विभिन्न वडाका कृषकलाई अनुदानमा हातेट्र्याक्टर वितरण गरिएको हो । रु ७० हजार पर्ने ट्र्याक्टरको मूल्यमा ५० प्रतिशत कृषकले र ५० प्रतिशत गाउँपालिकाले लागत साझेदारी गरेको छ । कृषकलाई कृषिमा आत्मनिर्भर बनाउन र यान्त्रिकीकरण गर्न कृषि उपकरण सहयोग गरिएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

कांग्रेसद्वारा पार्टीबाट निर्वाचित स्थानीय पदाधिकारीलाई मार्गनिर्देशन

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित ‘स्थानीय तहको बजेट तथा कार्यक्रमको प्राथमिकता’ सन्दर्भमा पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षसँग जुम बैठकमार्फत मार्गनिर्देशन कार्यक्रम सम्पन्न भएको छ ।

उक्त बैठकमा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्मा र पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलको सहभागिता थियो ।

महामन्त्री थापाले कांग्रेसको सङ्कल्प स्थानीय तह निर्वाचन–२०७९ मा उल्लिखित ‘सबल स्थानीय सरकार ः समुन्नत गाउँ, समुन्नत नगर’ भन्ने मूल नाराका साथ समावेश भएका विषय शिक्षा, स्वास्थ्य, प्राकृतिक स्रोत, वन तथा वातावरण, रोजगार, स्थानीय पूर्वाधार, कृषि रोजगारी उद्यम, सेवा प्रवाह, वित्तीय अनुशासनलगायत विभिन्न विषयमा स्थानीय तहको आगामी बजेट निर्माण गर्दा समावेश गर्ने सम्बन्धमा आफ्नो धारणा राख्नुभएको थियो ।

अर्का महामन्त्री शर्माले पार्टी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिबीचको सम्बन्ध, नागरिकसँगको सहकार्य, पारदर्शिता र जवाफदेहिता, सामाजिक रूपान्तरण तथा स्रोतको समुचित व्यवस्थापनका बारेमा आफ्नो विचार राख्नुभएको थियो । प्रचार विभागका प्रमुख विश्वकर्माले विकास र सुशासन सँगसँगै जानुपर्ने तथा जनप्रतिनिधिको कार्यशैली र व्यवहार सरल हुनुपर्ने धारणा राख्नुभएको थियो ।

कोशी प्रदेश मन्त्रिपरिषद् निर्णय : बाढी पहिराबाट मृत्यु हुनेलाई रु एक लाख राहत

विराटनगर – कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशमा हालै आएको बाढी पहिरामा परी मृत्यु हुनेप्रति मृतकका परिवारलाई रु एक लाख र घाइतेलाई उपचारका रु ५० हजार राहतस्वरूप दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिनुभयो । त्यसैगरी, बैठकले कोशी प्रदेश पुनःनामकरण सङ्घर्ष समितिसँग भएको वार्ता समितिको प्रशासनिक तथा व्यवस्थापकीय खर्च उपलब्ध गराउने निर्णय गरेको छ ।

कृषि ऐन छिट्टै ल्याइन्छ : कृषिमन्त्री भुसाल

काठमाडौँ – कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालले मुलुकमा कृषि क्षेत्रको विकासका लागि छिट्टै ऐन ल्याउने बताउनुभएको छ । युवा किसान सङ्घको आजदेखि सुरु भएको राष्ट्रिय भेलाको उद्घाटन गर्दै मन्त्री भुसालले अहिलेसम्म कृषि ऐन नबन्दा यस क्षेत्रमा सिर्जित समस्या समाधान गर्न नसकिएको बताउनुभयो ।

ऐनमा वास्तविक किसानलाई स्थानीय तहको सिफारिसअनुसार मल, बीउ बिजनको व्यवस्था गरिएको जानकारी दिँदै उहाँले यस वर्ष मलको अभाव हुन नदिन आफूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताउनुभयो ।

कृषिको आधुनिकीकरण तथा यान्त्रिकीकरणमा जोड दिन आग्रह गर्दै मन्त्री भुसालले भन्नुभयो, “कृषिको आधुनिकीकरण र यान्त्रिकीकरणमा हाम्रो ध्यान गएको छैन । अनुदानको रकम सदुपयोग गरेर यान्त्रिकीकरणमा ध्यान दिनुपर्छ ।” उत्पादनमुखी क्षेत्रमा अनुदानका लागि प्रदेश र स्थानीय तहमा समन्वय गरिएको उहाँले जानकारी दिनुभयो ।

मन्त्री भुसालले कृषिजन्य उत्पादनको प्रयोगमा उपेक्षा हुन थालेकामा चिन्ता व्यक्त गर्दै यसको प्रयोग बढाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । कृषिजन्य उत्पादनलाई विषादी मुक्त गर्न आग्रह गर्दै उहाँले भन्नुभयो, “घरघरमा, चुलोचुलोमा विषादी छ भन्ने आम धारणा छ । यसको नियमन, अनुगमन कार्य आवश्यक छ ।”

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रयोगशाला स्तरोन्नतिमा आफ्नो विशेष जोड रहने बताउँदै उहाँले त्यसका लागि आफूले सक्दो पहल गर्ने विश्वास दिलाउनुभयो । मन्त्री भुसालले स्रोत, साधन र जनशक्ति भएर मात्रै काम नहुने भन्दै त्यसको व्यवस्थापनमा विशेष ध्यान पु¥याउनुपर्ने बताउनुभयो । हालै मात्र सरकारले तरकारी र फलफूलको विषादी चेकजाँजसम्बन्धी नयाँ निर्णय गरेको उहाँको भनाइ थियो । कतिपय ऐन र कार्यविधिको अभावले पनि सोचेजस्तो काम हुन नसकेको भन्दै मन्त्री भुसालले तत्काल खाद्य स्वच्छता तथा गुणस्तर विधेयक संसद्बाट पास गर्नुपर्नेमा जोड दिनुभयो ।

अखिल नेपाल किसान महासङ्घका अध्यक्ष बलराम बाँस्कोटाले अब कृषिमा नतिजामुखी भएर काम गर्नुको विकल्प नभएको भन्दै यसका लागि सरकारले लगानी वृद्धि गर्नुपर्ने बताउनुभयो । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य प्रमेश पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिको आधार कृषि उत्पादन भएको बताउँदै यसतर्फ युवा वर्गलाई आकर्षित गर्न आवश्यक नीति अवलम्बन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

सङ्खुवासभा बाढी अपडेट : बेपत्तामध्ये एकको शव भेटियो

किमाथाङ्का – सङ्खुवासभामा बाढी पहिरामा परेर बेपत्ता भएका २१ मध्ये एक जनाको शव भेटिएको छ । आज चैनपुर नगरपालिका–१० निगुरेमा एक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो ।

शरीरको आधा भाग (कम्मर) भन्दा मुनि मात्र भेटिएका कारण शवको पहिचान खुल्न सकेको छैन । सुपर हेँवा हाइड्रोपावरबाट बेपत्ता भएका एकजना पुरुषको शव फेला परेको प्रहरी नायब उपरीक्षक गोदारले बताउनुभयो । फेला परेको शव परीक्षणका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शनिबार राति वर्षासँगै आएको बाढीले बगाउँदा जिल्लाका विभिन्न स्थानका २१ जना बेपत्ता भएका थिए । बेपत्ता २१ जनामध्ये चैनपुर नगरपालिका–४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोपावरका १७ जना मजदुर हुन् । बाढीले सभापोखरीमा दुई, चैनपुरको नुनढाकीमा एक र अप्पर हेवाखोला हाइड्रोपावरका एकजना मजदुर अझै बेपत्ता छन् । बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

बाढीले बगाउँदा सुपर हेँवाखोला हाइड्रोपावरमा काम गर्ने दुईजना मजदुर घाइते भएका छन् । गम्भीर घाइते दुवै जनाको हेल्पिङ हेन्ड्स सामुदायिक अस्पताल चैनपुरमा उपचार भइरहेको छ । चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिराले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो । बाढीले जिल्लाका विभिन्न ११ घरमा क्षति पुगेको छ । बाढीले तीनवटा पक्की पुलमा क्षति पु¥याएको छ । बाढीले भौतिक संरचना बगाउँदा करोडौँको क्षतिको भएको छ ।

श्रमिकका समस्या समाधान गर्न सरकार लाग्छ : उपप्रधानमन्त्री खड्का

काठमाडौँ – नेपाली कांग्रेसका कार्यवाहक सभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले श्रमिकको समस्या समाधान गर्न सरकार लाग्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उहाँले श्रम आयोग निर्माण, सामाजिक सुरक्षा कोष लागू गर्ने बारेमा सरकार सकारात्मक रहेको बताउनुभयो । “श्रमिकको समस्या र मुद्दा समाधानका लागि पार्टी र सरकार दुवै लाग्नेछ”, कार्यवाहक सभापतिसमेत रहनुभएका उपप्रधानमन्त्री खड्काले भन्नुभयो ।

कार्यवाहक सभापति खड्काले पार्टीको नेतृत्व तहमा श्रमको प्रतिनिधित्व गराउने विषयमा पार्टी नेतृत्व सकारात्मक रहेको उल्लेख गर्नुभयो । उहाँले श्रमिकका मुद्दालाई समाधान गर्न थुप्रै ऐन, कानुन निर्माण भए पनि कार्यान्वयनमा समस्या देखिएको बताउनुभयो ।

उहाँले मजदुरका समस्यालाई ट्रेड युनियन कांग्रेसको सातौँ महाधिवेशनमा व्यापक छलफल गरेर निस्किएका निष्कर्ष पार्टी र सरकारलाई बुझाउन आग्रहसमेत गर्नुभयो । छलफल र सहमतिको माध्यमबाट सङ्गठनलाई अगाडि बढाउन सके मात्र पार्टी बलियो हुने उहाँको भनाइ थियो । उपप्रधानमन्त्री खड्काले मुलुकको अवस्था जटिल रहेको उल्लेख गर्दै कांग्रेस नेतृत्वमा निर्माण भएको संविधानको रक्षा गर्न पार्टी लाग्ने स्पष्ट पार्नुभयो ।

कांग्रेसका नेता डा शेखर कोइरालाले श्रम आयोग र श्रम अदालत बनाउन आफूले पहल गर्ने बताउनुभयो । उहाँले पार्टीको केन्द्रीय तहमा ट्रेड युनियन कांग्रेसको प्रतिनिधित्व गराउने विश्वास व्यक्त गर्नुभयो ।

“सरकार कता कता बरालिन थालेको छ, दण्डहिन्ता र भ्रष्टाचारका विरुद्धमा हाम्रो साथीहरू उभिनुपर्छ, सरकारमा कांग्रेस साथीको राम्रो उपस्थित छ, हाम्रा साथीहरू सजक हुनुपर्छ”, उहाँले भन्नुभयो । उहाँले नेपाल ट्रेड युनियन आन्दोलनलाई नयाँ धाराका साथ अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो ।

संविधानले श्रमिकसम्बन्धी गरेको हकलाई कार्यान्वयन गर्नुपर्छ : नेता सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानले श्रमिकसम्बन्धी गरेको हकलाई कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो । उहाँले संविधानले श्रमिकसम्बन्धी गरेको हकलाई कार्यान्वनमा लगेमात्र श्रमिकको अधिकार स्थापित हुने बताउनुभयो । “श्रमिकलाई खुसी बनाउने र श्रमिकको हक, अधिकार स्थापित गर्न संविधानको बाटोअनुसार अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले नेपालको राजनीतिक परिवर्तनमा ट्रेड युनियन कांग्रेसको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । राष्ट्र र पार्टीको स्वार्थभन्दा व्यक्तिको स्वार्थ हावी हुँदा देश यो अवस्थामा पुगेको उहाँको भनाइ थियो ।

नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले नेपाली कांग्रेसले ट्रेड युनियन कांग्रेससँग गरेको सम्झौता अक्षरश पालना गर्न आग्रह गर्नुभयो । उहाँले आगामी दिनमा देशको सात सय ५३ वटै स्थानीय तहमा ट्रेड युनियन कांग्रेसको संगठन विस्तार गरिने बताउनुभयो ।

नेपाल ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष लक्ष्मणबहादुर बस्नेतले सामाजिक सुरक्षालाई सरकारले लागू गर्नुपर्ने बताउनुभयो । कांग्रेसले श्रमिकको मुद्दालाई सम्बोधन गर्न नसकेको उहाँको भनाइ थियो । पूर्वअध्यक्ष बस्नेतले ७० प्रतिशत जनसङ्ख्याले नेपालको अनौपचारिक क्षेत्रमा काम गरेको बताउँदै उहाँले उनीहरुलाई सामाजिक सुरक्षामा समावेश गर्नुपर्ने उल्लेख गर्नुभयो ।

नेपाल ट्रेड युनियन कांग्रेसका पूर्व अध्यक्ष खिलानाथ दाहालले श्रमिकका मुद्दाबारे महाधिवेशनमा व्यापक छलफल हुने बताउनुभयो । साउन १ गतेदेखि न्यूनतम ज्याला कम्तीमा २५ हजार नपु¥याए आन्दोलनमा जाने उहाँले चेतावनी दिनुभयो । श्रम आयोग र सातै प्रदेशमा श्रम अदालत बनाएरु नेपाल ट्रेड युनियन कांग्रेसले जोडतोडका साथ उठाउनुपर्ने उहाँको भनाइ थियो ।

सोही अवसरमा नेपालको श्रम क्षेत्रमा काम गर्ने विदेशस्थित विभिन्न श्रम सङ्गठनका प्रतिनिधीहरुले नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । आजदेखि सुरु भएको नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन असार ६ गतेसम्म चल्नेछ । उक्त महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने कार्यक्रम रहेको छ । पाँच वर्षपछि हुन लागेको सातौँ महाधिवेशनमा देशभरबाट एक हजार पाँच सय महाधिवेशन प्रतिनिधी एवं पर्यवेक्षकको सहभागिता रहने महाधिवेशन प्रचारप्रसार समितिका संयोजक एवं उपाध्यक्ष अजयकुमार राईले जानकारी दिनुभयो ।

नेपाल–भारत बीचको समस्या कूटनीतिक वार्ताबाट समाधान गर्नुपर्छ : लामिछाने

भरतपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले भारतले उसको संसद् भवनमा नेपाली भूभागसहित नक्सा राखेको विषय कूटनीतिक वार्ताबाट समाधान गर्नुपर्ने बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले नक्सा राखिएको विषयमा पार्टीको चासो रहेको बताउनुभयो ।

उहाँले यही असार ७ गते सातै प्रदेशका ७७ वटा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी बजाउने अभियान रहेको जानकारी गराउनुभयो । “सबै जिल्लामा ७७ पटक घण्टी बजाएर एकबद्धता जनाउने कार्यक्रम छ”, उहाँले भन्नुभयो । उहाँले पार्टीले आवश्यकताअनुसार सदन, टोल, बस्ती सबैतिर काम गर्दै जाने बताउनुभयो ।

लामिछानेले सरकारले ल्याएको बजेटमा आफ्नो असन्तुष्टि रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बजेट जुन ढङ्गले वितरण हुन्छ, त्यसको असर मेरो निर्वाचन क्षेत्रमा पनि परेको छ । श्रमदान गरेर बजेट खोजेर पनि कैयौँ आयोजनाहरू निर्माण गर्नेछौँ । दीर्घकालीन आयोजनाहरूका लागि स्थानीय सरकारको पनि जिम्मेवारी हुने भएकाले स्थानीय सरकारसँग पनि परामर्श गर्नेछौँ ।”

लमिछानेले स्थानीय विकासका कतिपय विषयमा संसद्को अधिकार क्षेत्रभन्दा बाहिर गएर कुरा राख्न नमिल्ने विचार राख्नुभयो । उहाँले भन्नुभयो, “स्थानीय सरकारको अधिकारको विषयमा सङ्घीय सांसदले बोल्नु हुँदैन ।”

चितवन–२ का सांसदसमेत रहनुभएका लामिछानेले रामनगरमात्र नभएर आफ्नो निर्वाचन क्षेत्रमा अन्य परियोजनाहरू सञ्चालन गर्नेबारे तयारीमा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अध्ययन गरेपछि आवश्यक पर्ने काम गर्दै जानेछौँ । हामी आवश्यकताअनुसार काम गर्दै जानेछौँ । युवाहरूले प्रोत्साहन गर्ने ठाउँहरूमा पनि छौँ ।” लामिछानेले रामनगरमा खानेपानीको समस्या भएर नै श्रमदानमा पानीको आयोजना निर्माण गरेको बताउनुभयो ।

कर्णाली सरकारले ल्याएको बजेटमाथिको छलफल सुरु

सुर्खेत – कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरेको बजेटमाथि छलफल सुरु भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले संसद्मा प्रस्तुत गर्नुभएको बजेटमाथिको छलफल सुरु भएको हो ।

संसद्को आजको बैठकमा भएको बजेटमाथिको छलफलमा भाग लिँदै सांसदहरूले बजेटले दीर्घकालीन सोच नराखेको बताउनुभयो । विशेषगरी विपक्षी दलका सांसदहरूले बजेट ल्याउँदा तत्कालको फाइदा हेरेर ल्याइएको भन्दै जनताको जीवनमा परिवर्तन आउने खालको नभएको बताउनुभयो ।

नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेलले सरकारले ल्याएको बजेटले तत्काल केही व्यक्तिलाई फाइदा हुनेबाहेक अरू केही नभएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “बजेटले दीर्घकालीन सोच बनाएको देखिँदैन, अहिले नै केही व्यक्तिलाई फाइदा हुने गरी बजेट ल्याइएको छ ।”

सत्ता पक्षका सांसदहरूले समेत बजेटको आलोचना गर्नुभएको छ । पूर्वआर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य बिन्दमान विष्टले यथार्थपरक बजेट नभएको बताउनुभयो । “हाम्रो स्रोतभन्दा बजेटको आकार ठूलो छ । उहाँले भन्नुभयो, “मैले पूर्वआर्थिक मामिलामन्त्रीको हैसियतले सुझाव पनि दिएको थिएँ बजेट यथार्थपरक हुनुपर्छ भनेर तर त्यसअनुसार बजेट ल्याइएन, हाम्रो बजेट कार्यान्वयन पनि सुस्त छ ।”

प्रदेशसभा सदस्य तुलसा मल्लले भनाइ र गराइ फरक हुनेगरी बजेट ल्याइएको बताउनुभयो । सदस्यहरू जानकी सिंह, पूर्णबहादुर खत्री चालिसे र सुरेश अधिकारीले बजेटमाथि छलफलमा भाग लिँदै बजेट कार्यान्वयनमा जोड दिनुभयो ।

किर्ते कागजात पेश गरी छोरा बनेर जग्गा नामसारी

काठमाडौँ – एक व्यक्तिले किर्ते कागजात बनाइ छोरा बनेर अर्काको जग्गा नामसारी गरी ठगी गरेको फेला परेको छ ।

स्याङ्जामा जन्म भएकी उमादेवी गुरुङलाई आमा बनाएर प्रतिवादी सतराज गुरुङले जग्गा हडपेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

गुरुङलाई आफ्नी आमा रहेको भनी नक्कली मुत्यु दर्ता, नाता प्रमाणित प्रमाणपत्रलगायतका झुट्टा कागजहरु तयार गरी विभिन्न व्यक्ति तथा निकायकको मिलेमतोमा उमादेवी गुरुङको नाममा रहेको काठमाडौँको कीर्तिपुर नगरपालिका ३ मा रहेको जग्गा नामसारी गरेको फेला परेको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा मनोज केसीले बताउनुभयो ।

उनले किर्ते कागजहरु पेश गरी आफ्नो नाममा नामसारी गरी सङ्गठित लिखत किर्ते र ठगीसम्बन्धी कसुर गरेको भेटिएको उहाँले बताउनुभयो । उनले उमादेवीको नक्कली मृत्युदर्ता र नाता प्रमाणित गरेर जग्गा नामसारी गराउन सफल भएका थिए । तर उक्त जग्गा बिक्री गर्न भने भ्याएनन् ।

सोही आधारमा मकवानपुरको टिस्टुङ घर भई काठमाडौँको कपन बस्ने सतराज गुरुङलााई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौँ पठाइएको कार्यालयले जनाएको छ । प्रहरीले उक्त जग्गा बिकीका लागि वैना गर्न लाग्दा फेला पारेको थियो ।

कृषकका गोलभेँडा बजार पुर्याइदिँदै कटारी नगरपालिका

कटारी, ४ असार (रासस) :
उदयपुरको कटारी नगरपालिकाले नगरका कृषकहरूले उत्पादन गरेको गोलभेँडा बजारमा पुर्याइदिने गरेको छ । नगरको वडा नं ११ मा उत्पादित गोलभेँडाले बजार नपाएपछि नगरपालिकाको सवारी साधन मिनी ट्रकले कृषकहरूको गोलभेँडा बजारसम्म पु¥याइदिने गरेको हो ।

नगरपालिकाको मिनी ट्रकले कोशी प्रदेशका साथै बागमती प्रदेशको सिन्धुली, मधेस प्रदेशको सिरहासम्म लगेर कृषकहरूको गोलभेँडा बिक्री गरिदिने गरेको छ । “नगरपालिकाले ढुवानी गरिदिएर बजारसम्म पु¥याइदिन थालेका छौँ”, नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले भन्नुभयो, “कृषकहरूको उत्पादनलाई बजार नपाएपछि नगरपालिकाले नै बजारसम्म पुर्याउन थालेका हौँ ।”

कटारी नगरपालिका–११ मा वडाका एक सय ५० परिवारले गोलभेँडाको खेती गरेका छन् । वडाध्यक्ष अनन्त हायुका अनुसार वडामा चार सय रोपनीभन्दा बढी जग्गामा खुलारूपमा र चार सय टनेलमा गोलभेँडा उत्पादन गरिएको छ । उक्त वडामा मात्रै यस वर्ष ५० टनभन्दा बढी गोलभेँडा उत्पादन भएको गोलभेँडा सङ्कलन केन्द्रका नुजराज कार्कीले जानकारी दिनुभयो ।

कार्कीका अनुसार केन्द्रले जस्ताको छानो भएको भवनमा गोलभेँडा सङ्कलन गर्ने गरेको छ । सङ्कलन केन्द्रमा राखिएको गोलभेँडा नगरपालिकाले कटारी बजार, सिन्धुलीको दुधौली, सिरहाको गोलबजारसम्म लगेर बिक्री गर्ने गरेको छ ।

नगरपालिकाले गोलभेँडा बजारसम्म पुर्याइदिएपछि कृषकहरूलाई ठूलो राहत मिलेको वडाध्यक्ष हायु बताउनुहुन्छ । “बारीमै सडेर जाने अवस्थामा पुगेको थियो, नगरको पहलमा बजारसम्म पु¥याउँदा पनि ठूलो राहत भयो । वडाको गोलभेँडा ओखलढुङ्गा, सोलुखुम्बु, जिल्लाकै कटारी बजार, गाईघाट, सिन्धुलीको दुधौली र सिरहाको गोलबजार, धनकुटासम्म लगेर बिक्री गर्ने गरिएको छ ।

वडाध्यक्ष हायुका अनुसार वडाको गोठडाँडा, काफलडाँडा, खोल्मेचौर, लप्से, आम्बोटेलगायत गाउँमा गोलभेँडा पर्याप्त मात्रामा उत्पादन भएको छ । यसअघि अदुवा, काउली र डल्ले खुर्सानी उत्पादन गरेका कृषकले दुई वर्षयता गोलभेँडा खेतीलाई प्राथमिकता दिँदै आएका छन् ।

अत्यावश्यक औषधि उपलब्ध गराउन विभागको अनुरोध

काठमाडौँ – औषधि व्यवस्था विभागले बिरामीलाई अति आवश्यक औषधिको उपलब्धता गराउन औषधि उत्पादक, आयातकर्ता र अस्पताललाई आग्रह गरेको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बिरामीको उपचारका क्रममा जीवनरक्षक अत्यावश्यक औषधि बजारमा उपलब्ध गराउन अनुरोध गर्नुभएको छ ।

“बिरामीको उपचारका क्रममा आवश्यक पर्ने कतिपय जीवनरक्षक अति आवश्यकीय औषधिहरु बजारमा उपलब्ध नभएको जनगुनासो पटकपटक विभागमा आउने गरेकोप्रति विभागको ध्यानाकर्षण भएको छ”, उहाँले जारी गर्नुभएको सूचनामा भनिएको छ ।

औषधि अभाव हुन नदिनका लागि के कस्ता प्रकारका औषधिहरु कुन कुन रोगको उपचारमा अभाव भएको छ र सोको जानकारी गर्न गराउनु हुनाका साथै त्यस्ता औषधिको व्यवस्थापनका लागि सम्भावित अभावको पूर्वजानकारीसमेत विभागमा आधिकारिक पत्र वा इमेलमार्फत सबै उत्पादक, आयातकर्ता, सरकारी, सामुदायिक तथा निजी अस्पताल र सङ्घसंस्थालाई अनुरोध गरिएको उहाँले जारी गर्नुभएको सूचनामा उल्लेख गरिएको छ ।

नागरिकता उपलब्ध गराउन आयोगको आग्रह

काठमाडौँ – राष्ट्रिय मानवअधिकार आयोगले माइतीघर मण्डलामा धर्नामा बसेकालाई नागरिकता उपलब्ध गराउन आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज विज्ञप्ति जारी गर्दै माइतीघर मण्डलामा बसेकालाई नागरिकता अधिकारबाट वञ्चित नगर्न आग्रह गर्नुभएको छ ।

आयोगको स्थलगत अनुगमनबाट ती धर्नामा बसेका व्यक्ति जन्मसिद्ध नागरिकता भएको पाइएकाले नागरिकता उपलब्ध गराउन आग्रह गरिएको छ । आयोगले व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकारका सबै पक्षसँग जोडिएको नागरिकता प्राप्त गर्ने एवं व्यक्तिको पहिचानको विषयलाई संवेदनशील रुपमा लिई नागरिकता प्राप्त गर्ने अधिकारको सम्मान, संरक्षण र सुनिश्चित गर्न सरकारको ध्यानाकर्षणसमेत गराएको उहाँले बताउनुभयो ।

“अनुगमनका क्रममा १६ वर्षदेखि ३५ वर्षसम्मका नागरिकहरु धर्नामा बसेको, यस उमेर समूहका नागरिकहरुले विशेषगरी अध्ययन, पेसा, व्यवसाय गरी जीवनयापन गर्ने समयमा नागरिकता नहुँदा उच्चशिक्षा अध्ययन गर्न, वैदेशिक रोजगारमा जान, नेपालमै रोजगारी तथा पेसा व्यवसाय गर्न नपाएको पाइएको छ,” विज्ञप्तिमा भनिएको छ, “नागरिकताको विषय नागरिकको राष्ट्रियता, शिक्षा आर्जन गर्ने, पेसा र रोजगारी प्राप्त गर्ने, सम्पत्तिको अधिकार, सामाजिक न्याय लगायतका हरेक पक्षसँग जोडिएको हुन्छ । यसर्थ, नागरिकताको अभाव हुँदा व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने हकमा समेत असर पर्न जान्छ ।”

नागरिकता प्राप्तिको विषय उठान गरी धर्ना बस्ने क्रममा २५ वर्षीय निरज कामतले यही जेठ ३० गते आफ्नै शरीरमा पेट्रोल खन्याई आत्मदाह गर्ने प्रयास गरेका थिए ।

कांग्रेस र ट्रेड युनियन कांग्रेसबीच भएका सम्झौता कार्यान्वयन गर्ने महामन्त्रीको प्रतिबद्धता

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी र ट्रेड युनियन कांग्रेसबीच भएको सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उहाँले पार्टी र टे«ड युनियनबीच विगतमा भएको सम्झौता कार्यान्वयन गर्न पार्टी नेतृत्व तयार रहेको बताउनुभयो । “पार्टीको विधानमा मजदुरसम्बन्धी गरिएको व्यवस्थालाई कार्यान्वयन गर्दै पार्टीमा मजदुरलाई प्रतिनिधित्व गर्न कांग्रेस लाग्छ”, उहाँले भन्नुभयो ।

महामन्त्री थापाले कांग्रेस मजदुरलाई सँगसँगै लिएर अगाडि बढ्न चाएको बताउनुभयो । “मजदुरको तागतले कांग्रेस बलियो बन्छ, कांग्रेस बदलिए देश बदलिन्छ”, महामन्त्री थापाले भन्नुभयो । श्रमिक अस्पताल निर्माणका लागि नेपाल ट्रेड युनियन कांग्रेस सङ्घर्ष गर्न पछि हट्न नहुने उहाँको भनाइ छ ।

कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले लिएको सामाजिक न्यायसहित उदार अर्थव्यवस्थाका कारण नेपाली श्रम बजार बढेको बताउनुभयो । उहाँले कांग्रेसले लिएको नीतिका कारण नै नेपालको श्रम क्षेत्र अहिलेको अवस्थामा पुगेको स्पष्ट पार्नुभयो ।

ट्रेड युनियन ऐन, मौजुदा श्रम ऐन, सामाजिक सुरक्षा कोष लगायतलाई अगाडि बढाउन कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ । उहाँले श्रमिकको मुद्दा आगामी नीति अधिवेशनमा उठाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “यो देश बन्छ, बनाउन सकिन्छ भन्ने मनोविज्ञानका साथ अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।

महामन्त्री शर्माले श्रमिकको मुद्दा समाधान गर्न कांग्रेस नेतृत्व सधैँ तयार रहेको स्पष्ट पार्नुभयो ।

मन्त्रालयगत शीर्षकमाथिको छलफल जारी

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित तीन मन्त्रालयमाथिका शीर्षकको छलफल सकिएको छ ।

बैठकमा सञ्चार मन्त्रालयका साथै परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयका विनियोजन शीर्षकमाथि सांसद्हरूले आफ्ना धारणा राख्नुभएको थियो ।

सांसद्हरूले नेपालको छविलाई अन्तर्राष्ट्रिय जगत्मा उँचो राख्न, ऊर्जा क्षेत्रमा लगानी वृद्धि गरी ठूला आयोजनाा समयमा सम्पन्न गराउन र प्रेस क्षेत्र तथा विद्युतीय मिडियालाई प्रभावकारी तुल्याउन आग्रह गर्नुभएको थियो । उहाँहरूले बजेट विनियोजन गर्दा सन्तुलितरूपमा विनियोजन गर्न पनि आग्रह गर्नुभयो ।

सो विधेयकअन्तर्गत आगामी बैठकमा सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका शीर्षकमाथि छलफल हुने सभामुख देवराज घिमिरेले बैठकमा अवगत गराउनुभयो । प्रतिनिधिसभाको अर्काे बैठक यही असार ५ गते मङ्गलबार बिहान ११ बजे बस्नेछ ।

सीमान्तकृत महिलाको सशक्तिकरणका लागि एकताबद्ध

काठमाडौँ – विभिन्न आयोगका पदाधिकारीले सीमान्तकृत महिलाको सशक्तिकरणका लागि एकताबद्ध हुन जरुरी रहेको बताउनुभएको छ ।

राष्ट्रिय महिला आयोगद्वारा आज आयोजित ‘सीमान्तकृत महिलाहरूको सशक्तिकरणका लागि सरोकारवालासँग अन्तरक्रिया’ कार्यक्रममा विभिन्न आयोगका पदाधिकारीले एकताबद्ध हुनुपर्नेमा साझा मत राख्नुभएको हो ।

महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले सीमान्तकृत महिलाको राज्यको मूलप्रवाहीकरणमा अभिवृद्धि गर्न सबै निकाय प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।

“सीमान्तकृत महिलाका मुद्दामा समयसापेक्ष थपिँदै गएका चुनौतीहरूको सम्बोधन गर्न सबै निकाय प्रतिबद्ध हुन जरुरी छ । अहिलेको समयमा पुराना समस्या यथावत हुनु र नयाँ समस्या थपिँदै गएकाले उक्त चुनौतीपूर्ण समस्यालाई समाधान गर्न सबै निकाय प्रतिबद्ध हुनुपर्छ” उहाँले भन्नुभयो ।

अध्यक्ष पराजुलीले आयोगका कार्यक्रम गाउँ केन्द्रित हुन सकेनन् भन्ने सरोकारवालाको गुनासोलाई सम्बोधन गर्दै महिलाका मुद्दासम्बन्धी विभिन्न सवाललाई नीतिगत तहमा प्रवाह पार्न प्रायः कार्यक्रम गाँउ केन्द्रित नभएर केन्द्रमा सञ्चालन गर्नुपरेको स्पष्ट पार्नुभयो ।

महिलाका मुद्दा समाधान विषयमा अन्य आयोगको तुलनामा मुस्लिम आयोग र मधेसी आयोगमा बढी कठिनाइ हुदाँहुँदै पनि समन्वयन हुन नसकेको अध्यक्ष पराजुलीले गुनासो व्यक्त गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चका उपाध्यक्ष यशोक्रान्ति भट्टचनले ‘नेपालमा सीमान्तकृत महिलाको वर्तमान अवस्था, समस्या, चुनौती र भावी कार्यदिशा’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले सीमान्तकृत महिलाको समस्या समाधान गर्न प्राथमिकताका आधारमा वर्गीकरण गर्नुपर्ने बताउनुभयो ।

“सबैभन्दा बढी उत्पीडित वर्गलाई प्राथमिकतामा राखी समस्या समाधानतर्फ आयोग लाग्नुपर्छ । लक्षित वर्ग केन्द्रित भएमा मात्र सीमान्तकृत महिलाका समस्या समाधान हुन सक्छ” उहाँले भन्नुभयो ।

त्यस्तै दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले स्थानीय सरकारले जनतालाई सचेत गराउने दायित्व लिनुपर्ने बताउनुभयो । महिला आयोगको कार्यक्षेत्र धेरै रहेकाले स्थानीय सरकारलगायत सबै सरोकार क्षेत्र प्रतिबद्ध हुन आवश्यक रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले सीमान्तकृत महिलाको सशक्तिकरणका लागि शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । “शिक्षा अभावकै कारणले महिलाका विषयमा विभिन्न अवरोध देखापरेका छन् । जबसम्म उनीहरूलाई शिक्षा प्रदान गरी सचेत गरिँदैन तबसम्म यी समस्या चुलिँदै जान्छन्” उहाँले भन्नुभयो ।

त्यस्तै समावेशी आयोगका सदस्य तथा प्रवक्ता पुष्पराज तिमिल्सिनाले समावेशीका विभिन्न समस्या समाधानका लागि अध्ययन अनुसन्धान गर्न बजेट अपर्याप्त रहेको बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सांसद उर्मिला माझीले सीमान्तकृत महिलाको सवालमा राज्यले गरेका कानूनी व्यवस्था व्यवहारगत हुनुपर्ने र अमृतलाल राजवंशीले सम्बन्धित क्षेत्रका व्यक्ति तथा संस्थाहरू आ–आफ्नो जिम्मेवारीमा दृढ रहनुपर्नेमा जोड दिनुभएको थियो ।

समाजवादी मोर्चा विस्तृत शान्ति सम्झौतालाई अपमानित गर्ने प्रवृत्ति विरुद्ध हो : प्रधानमन्त्री दाहाल

काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौतालाई निस्तेज पार्ने र अपमानित गर्ने प्रवृत्ति विरुद्ध जुध्न मोर्चा स्थापित भएको बताउनुभएको छ । समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले विस्तृत शान्ति सम्झौतालाई नेपालको संविधानको अङ्ग बनाएको तथ्य पेस गर्नुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने क्रममा यो मोर्चा स्थापना भएको हो ।” परिवर्तनकारी सबै शक्तिलाई समाजवादी मोर्चामा सहभागी हुन आह्वान गर्दै उहाँले नयाँ शिराबाट अगाडि बढ्न एवं विगतको कमजोरीबाट पाठ सिकेर मोर्चाको बाटोबाट अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “यो नै वैज्ञानिक मार्ग हो, परिवर्तकारी मार्ग हो ।” मोर्चाको दूरगामी महत्त्व रहेको उल्लेख उहाँले विगतका कमी कमजोरीबाट पाठ सिकेर अगाडि बढेको बताउनुभयो । अग्रगामी र परिवर्तनकारी शक्ति सबैलाई मोर्चामा सहभागी हुन प्रधानमन्त्री दाहालले आग्रह गर्नुभयो ।

नेकपा घोषणाको स्मरण गर्दै उहाँले भन्नुभयो, “राष्ट्रियसभा गृहको यही हल र रोष्ट्रमबाट नेकपा बनाउने घोषणा बनाएका थियौँ । निकै ठूलो भरोसा र अपेक्षा गरेका थियौँ । समाजवादको बाटोमा, आर्थिक सामाजिक रुपान्तरणको बाटोमा अगाडि बढाउने विश्वास राखिएको थियो । हामीले कहाँ त्रुटि गर्यौँ, ऐतिहासिक समीक्षा गरौँ ।”

समाजवादमा लैजाने उद्देश्यका साथ विगतको तीतो अनुभवसहित समाजवादी मोर्चा घोषणा गरिएको उहाँले बताउनुभयो । मोर्चामा आबद्ध दलबीच एकता र स्वतन्त्रतालाई सम्बोधन गर्ने द्वन्द्ववादी मान्यतालाई संश्लेषण गरिएको प्रधानमन्त्री दाहालको भनाइ छ ।

परिवर्तनकारी सबै शक्तिलाई समेटेर नयाँ शिराबाट अगाडि बढ्ने एवं विगतको कमजोरीबाट पाठ सिकेर मोर्चाको बाटोबाट अगाडि बढ्न खोजिएको र यो नै वैज्ञानिक मार्ग भएको उहाँले स्पष्ट पार्नुभयो । “फेरि एकपटक इतिहासबाट फर्केर हेरौँ । हामीले गर्न सकेका राम्रा काम र गर्न नसकेका कामलाई पनि हेरेर नयाँ आधारमा अगाडि बढ्न अपिल गर्दछु । यो नयाँ अभियान हो । सामाजिक न्याय, सुशासन र समृद्धितर्फ लैजाने प्रक्रिया अभियान हो”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

परिवर्तनकारी नेता र परिवर्तनलाई होच्याउने, अपमानित गर्ने प्रतिगामी प्रवृत्तिले टाउको उठाउन लागेको उल्लेख गर्दै मोर्चा प्रतिगमनकारी शक्तिका विरुद्ध रहेको उहाँको भनाइ छ । अराजकता, निरङ्कुशतातर्फ मुलुकलाई लैजान चाहने शक्ति र प्रवृत्तिका विरुद्ध पनि मोर्चा रहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

समाजवादी मोर्चा बनाउन लामो छलफल र प्रक्रियाबाट गुज्रेको जानकारी दिँदै उहाँले यसको घोषणासँगै यसको औचित्य पनि स्थापित भइसकेको बताउनुभयो । प्रतिगमन र प्रतिगामी शक्तिका विरुद्ध सडक, सदनबाट साझा प्रतिवाद गरिने उहाँको भनाइ छ ।

नेपाली जनतालाई सुशासन र समृद्धि दिनका लागि वर्तमान सरकार देश र जनताको पक्षमा दृढ भएर उभिएको प्रधानमन्त्रीको भनाइ छ । उहाँले निराशालाई चिर्दै नयाँ उत्साहका साथ अगाडि बढ्ने सङ्कल्पका साथ मोर्चा घोषणा गरिएको र यसलाई देशव्यापी बनाइने बताउनुभयो ।

पश्चगमन र प्रतिगमनका विरुद्ध साझा उद्देश्यका साथ उभिएका छौँ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आम निर्वाचन अगाडि नै समाजवादी मोर्चा घोषणा गर्ने उद्देश्य राखिएको भए पनि तत्कालीन अवस्थाका कारण सम्भव नभए पनि हाल आएर सफल भएको बताउनुभयो ।

मोर्चा स्वार्थ, सिद्धान्तहीन र विचारहीन मोर्चा नभएको उल्लेख गर्दै उहाँले पश्चगमन र प्रतिगमनका विरुद्ध साझा उद्देश्यका साथ एकै ठाउँमा उभिएको बताउनुभयो । मोर्चा कोही कसैलाई फकाउन र कोही कसैलाई तर्साउनका लागि नभएको अध्यक्ष नेपालको भनाइ छ ।

“कुनै पार्टीलाई घुर्क्याउन खोजेका होइनौँ, दबाब दिन खोजेको होइन । तिनै तर्सिछन्, जो अग्रगमनको पक्षमा छैनन् । मोर्चामा केही नयाँपन छ”, अध्यक्ष नेपालले भन्नुभयो, “२०४६ सालको जनआन्दोलनको बेलामा पनि वाम मोर्चा बनेको तथा २०६२/६३ मा पनि त्यस्तै परिवर्तनकारी मोर्चा बनेको थियो । विगतका यी मोर्चाको अनुभव सकारात्मक रहेको थियो ।”

सरकारमा रहेका र नरहेका शक्ति एक ठाउँमा उभिनु नै मोर्चाको नयाँपन रहेको स्पष्ट पार्दै अध्यक्ष नेपालले अग्रगामी चिन्तन बोकेको र मोर्चामा आबद्ध दलका बीचमा एकापसमा विश्वास रहेको एवं समानता रहेको बताउनुभयो ।

उहाँले २०७४ मा नेपाली जनताले तत्कालीन नेकपालाई अत्यधिक मत दिएको भए पनि त्यसलाई रक्षा गर्न नसकिएको तथ्य पेस गर्दै विगतको अनुभवबाट शिक्षा लिएर अगाडि बढ्न चाहेको बताउनुभयो । समाजमा अत्याचार, शोषण गर्नेलाई कुनै पनि छुट नदिन र दोषीलाई कारबाहीको दायरामा ल्याउन अध्यक्ष नेपालले प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले मुलुकको समग्र पक्षको अध्ययन तथा विश्लेषण गरेर नेपाली विशेषतासहितको समाजवाद निर्माण गरिने दृढता व्यक्त गर्नुभयो । “हामी सक्छौँ, हामी गर्न सक्छौँ भन्ने विश्वासका साथ अगाडि बढ्छौँ”, अध्यक्ष नेपालले भन्नुभयो, “कोही पनि निराश हुनु जरुरी छैन । आशावादी बनौँ ।”

मोर्चाको साझा लक्ष्य समाजवादी गणतन्त्र : नेता खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपाली जनताले वामपन्थी शक्तिलाई विगतमा दुई तिहाइ बराबरको मत दिएको भए पनि त्यसको नेतृत्वले बाटो बिराउँदा राजनीतिक उपलब्धि प्राप्त भए पनि आर्थिकरुपमा सबल बन्न नसकेको बताउनुभयो ।

मुलुकको राष्ट्रियता सङ्कटमा रहेको, आर्थिकरुपमा समेत समस्यामा रहेको उल्लेख गर्दै उहाँले नेपाल र नेपाली जनताको समस्या समाधान गर्ने तथा देशभक्त तथा वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मोर्चा आमूल परिर्तनको मोर्चा बनोस् भन्ने कामना गर्नुभयो । तीन करोड नेपालीको साझा लक्ष्य नै समाजवादी गणतन्त्र भएको स्पष्ट पार्दै पूर्वप्रधानमन्त्री खनालले जातीय, भाषिक, भौगोलिक तथा वर्गीय विभेदको अन्त्य जरुरी रहेको बताउनुभयो ।

मोर्चा घोषणालाई पहिलो पाइला भएको उल्लेख गर्दै नेता खनालले परिवर्तनकारी शक्तिलाई एकै ठाउँमा उभिनका लागि आह्वान गर्नुभयो । महिला, किसान, आदिवासी, जनजातिको समस्या समाधान गर्ने, आम जनतालाई सहजरुपमा स्वास्थ्य र शिक्षाका लागि परिवर्तकारी शक्ति एक ठाउँमा उभिनु जरुरी रहेको उहाँको भनाइ छ ।

जनतालाई थप अधिकार सम्पन्न बनाउने लक्ष्य राखिएको छ : अध्यक्ष यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले शोषित पीडित नेपाली जनतालाई थप अधिकार सम्पन्न बनाउने लक्ष्यका साथ आफूहरु साझा उद्देश्यका साथ एकै ठाउँमा उभिएको बताउनुभयो ।

उहाँले सङ्घीयता, गणतन्त्र, समावेशिता, समानुपातिक प्रतिनिधित्वलगायतका अधिकारलाई कमजोर बनाउन प्रतिगमनका मतियारहरु लागिपरेकाले त्यसलाई असफल बनाउन अग्रगामी शक्तिहरु एकै ठाउँमा उभिनु परेको बताउनुभयो ।

संविधानमा रहेको कमजोरीलाई सुधार गर्दै नेपाली जनतालाई थप अधिकारसम्पन्न बनाउने लक्ष्यका साथै आर्थिक क्रान्तिलाई अगाडि बढाउने एवं कृषि, उद्योग, ऊर्जा, पर्यटन लगायतका क्षेत्रको विकास गर्न साझा धारणाका साथ एक ठाउँमा उभिएको अध्यक्ष यादवको भनाइ छ ।

आफ्नै देशका नागरिकलाई नागरिकताबाट वञ्चित बनाउने देश कुन हो भनेर सोध्दा सबैले नेपाल भन्ने अवस्था आएको उल्लेख गर्दै अध्यक्ष यादवले सङ्घीय संसद्ले दुई–दुईपटक पारित गरेर पठाएको विधेयक पूर्वराष्ट्रपतिले रोकेका कारण समस्या उत्पन्न भएको बताउनुभयो । राष्ट्रिय पूँजीको विकास, वैदेशिक लगानी भित्र्याएर मुलुकलाई आर्थिक विकासको मार्गमा अगाडि बढाउने लक्ष्य मोर्चाले राखेको जानकारी दिँदै उहाँले वर्गीय, क्षेत्रीय एवं लैङ्गिक असमानताको अन्त्यका लागि साझा लक्ष्यका साथ मोर्चा बनाइएको स्पष्ट पार्नुभयो ।

अध्यक्ष यादवले सबै दलका आ–आफ्ना राजनीतिक उद्देश्य रहे पनि साझा दृष्टिकोणका साथ एक ठाउँमा उभिएको र आगामी दिनमा यसलाई पूर्णरुपमा सफल बनाएरै छाडिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मोर्चालाई लिएर कोही कसैले पनि तर्सन जरुरी नरहेको र कोहीको विरुद्धमा पनि नभएको बताउनुभयो । मुलुकको अग्रगमन, नेपाली जनताको हितका लागि परस्पर सहयोगका आधारमा अगाडि बढ्ने दृढता व्यक्त गर्दै अध्यक्ष यादवले प्रतिगमनका विरुद्ध साझा प्रतिवाद गरिने बताउनुभयो ।

अन्याय र अत्याचारका विरुद्ध लड्नेहरु कहिल्यै हारेका छैनन् : महासचिव विप्लव

नेकपाका महासचिव नेत्रविक्रम चन्दले नेपालमा थुप्रै खालका सङ्कटहरु रहेको, नागरिकहरु निराशमा रहेको तथा अन्योल र आकाङ्क्षाको बीचबाट मुक्त गर्ने लक्ष्यका साथ आफूहरु एक ठाउँमा उभिएको बताउनुभयो ।

पश्चगमनलाई परास्त गर्दै मुलुकको राष्ट्रिय एकताको संवर्द्धनका लागि आफूहरुले नेपालको इतिहासमा नयाँ प्रयोग गरेको र यसले नेपाली जनतालाई अधिकार सम्पन्न बनाउने सङ्कल्प गरिएको उहाँले बताउनुभयो । मुलुकको नेतृत्व अग्रगामी, परिवर्तनकारी शक्तिले गर्ने र त्यो सम्भव रहेको महासचिव चन्दको भनाइ छ ।

मोर्चाले बेपत्ता तथा सहिदहरुको सपना बोकेर आएको स्पष्ट गर्दै उहाँले आफ्नो देशलाई स्वाधीन र आफ्नै खुट्टामा उभिन सक्ने बनाउने विश्वास दिलाउनुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षा, हालसम्म प्राप्त भएको राजनीतिक उपलब्धिको संरक्षण गर्दै नेपाली विशेषतासहितको समाजवाद निर्माणका लागि आफूहरु एकै ठाउँ उभिएको बताउनुभयो ।

आम नेपाली जनतालाई निराश नहुन आग्रह गर्दै उहाँले निराशाले समाप्त पार्ने र विसर्जन गर्ने भएकाले आशातीत भएर उभिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अन्याय र अत्याचारका विरुद्ध लड्नेहरु कहिल्यै हारेका छैनन् र हार्ने छैनन् ।” मोर्चाको अवधारणा बनाउनका लागि नेताहरु जनार्दन शर्मा, प्रवेश हमाल, खड्गबहादुर विश्वकर्मा र राजेन्द्र श्रेष्ठ रहेको कार्यदल गठन गरिएको थियो ।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै छ । 

पार्टी स्थापना दिवसको कार्यक्रम तय गर्न तथा ‘नयाँ युगको सङ्कल्प’ नामक सैद्धान्तिक दस्ताबेजबारे छलफल गर्न उक्त बैठक बस्न लागेको हो । 

संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारका अनुसार असार ७ गतेको स्थापना दिवस कसरी मनाउने भन्नेबारे बैठकमा छलफल हुनेछ ।

रास्वपाको नीति तथा विचार विभागले तयार पारेको सैद्धान्तिक मस्यौदामा पार्टीभित्र तीव्र मतभेद भएपछि त्यसलाई टुङ्गो लगाएर असार ७ गते औपचारिक रूपमा सार्वजनिक गर्ने योजनासहित बैठक बस्न लागेको हो । बैठकमा उक्त मस्यौदा माथि पनि छलफल हुने उहाँले जानकारी दिनुभयो ।

महामन्त्री मुकुल ढकालको संयोजकत्वमा कमल सुवेदी र रमेश प्रसाईँ सदस्य रहेको मस्यौदा समितिले ६२ पृष्ठ लामो दस्ताबेज तयार पारेको थियो, जुन दस्ताबेजमा उल्लिखित शासकीय स्वरूप, सङ्घीयतालगायतका विषयमा केन्द्रीय नेताहरू बिचमा नै विवाद देखा परेको छ । सो विषयमा पनि प्रारम्भिक छलफल हुने जनाइएको छ । 

समाजवादी मोर्चाको साझा प्रतिबद्धता तय, आज घोषणा हुँदै

काठमाडौं- नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहितका चार दल मिलेर घोषणा गर्न लागिएको समाजवादी मोर्चाले साझा मुद्दा र लक्ष्य टुङ्गो लगाएको छ ।

आइतबार बसेको चार दलको बैठकले आज घोषणा हुने समाजवादी मोर्चाको साझा मुद्दा, लक्ष्य, उद्देश्य र प्राथमिकतासहित प्रतिबद्धता तय गरेको नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “समाजवादी मोर्चाको साझा मुद्दा, लक्ष्य, उद्देश्य र प्राथमिकता सहितको १५ बुँदे प्रतिबद्धता तय भएको छ, भोलिको कार्यक्रममा घोषणा गरिने छ ।” दलहरुले समाजवादी मोर्चाको नेतृत्वमा आलोपालो गर्ने र निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यताअनुरुप हुने सहमति गरेका बताइएको छ ।

यसैगरी, मोर्चामा सहभागी हुने सदस्य दलका अध्यक्ष सहितको एउटा संयोजन समिति हुने र त्यसले आवश्यकताअनुसार उपसमितिहरु बनाएर अन्य दलहरुलाई पनि सहभागी गराउने निर्णय भएको जनाइएको छ ।

आइतबार तय भएको १५ बुँदे प्रतिबद्धतामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको विशेषताहरू पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने, नेपालमा सदियौँदेखि कायम रहिआएको वर्गीय, जातीय, भाषिक, क्षेत्रीय, लैङ्गिक र जात व्यवस्थाजन्य शोषण, उत्पीडन, असमानता र विभेदहरू अन्त्य गर्ने रहेको छ ।

त्यसका लागि निरन्तर जनपहल र जनदबाब सृजना गर्ने, मानव विकास सूचकाङ्कमा पछाडि परेका मधेस, कर्णाली र सेती–महाकालीलगायत पिछडिएको क्षेत्र र जनताको विकास र अवसरलाई विशेष प्राथमिकतामा राख्ने रहेको छ ।

यसैगरी, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपले बहिष्करणमा परेका वा पारिएका मधेसी, आदिवासी जनजाति, खस, दलित, मुस्लिम, थारू, पिछडा वर्ग, अल्पसङ्ख्यक समुदाय, विपन्नवर्ग लगायतका सीमान्तकृत समुदायहरुको पहिचानको मान्यता, समावेशीकरण र सामाजिक न्यायको प्रत्याभूति गराउने कार्य अगाडि बढाउने नीति मोर्चाको रहेको छ ।

जनताको नागरिक र राजनीतिक अधिकारका साथै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको प्रत्याभूति गराउँदै शान्तिपूर्ण, न्यायसङ्गत र समावेशी समाजको निर्माण गर्ने मोर्चाले प्रतिबद्धतामा उल्लेख गरेको छ । वित्तीय एकाधिकार तथा दलाल पूँजीवादको शोषण र हस्तक्षेपबाट मुक्त तथा सार्वजनिक, सहकारी र निजी क्षेत्रको समन्वयात्मक, सहकार्यात्मक र क्रियाशील भूमिकाका आधारमा समाजवादी अर्थ–राजनीतिक व्यवस्था अवलम्बन गर्ने नीति मोर्चाको छ ।

प्रगतिशील कर प्रणाली लागू गर्ने, देशको अर्थव्यवस्थामा नीतिगत तथा संरचनागत सुधार गरी उत्पादनमुखी अर्थतन्त्र, आपूर्ति व्यवस्थामा सुधार तथा समन्यायिक वितरणको व्यवस्था गर्ने मोर्चाले जनाइएको छ ।

मोर्चाले तय गरेको प्रतिबद्धतामा भनिएको छ –आन्तरिक र बाह्य लगानीमैत्री वातावरण निर्माण गरी देशलाई औद्योगिकीकरण गर्ने, वैदेशिक रोजगारीबाट पूँजी र प्रविधिसहित फर्केका नेपालीहरूलाई देशभित्र रोजगारमूलक व्यवसाय गर्न प्रोत्साहित गर्ने र उत्पादनका क्रियाकलाप वृद्धि गरी रोजगारी प्रदान गर्ने, गरिबी उन्मूलन र रोजगार प्रवद्र्धनको क्षेत्रहरूमा लगानी बढाउन तीनवटै तहको सरकारहरूलाई क्रियाशील बनाउने, वैज्ञानिक भू-उपयोग नीति लागू गर्दै कृषि क्रान्तिको माध्यमबाट कृषिको औद्योगिकीकरण, व्यवसायिकीकरण र आधुनिकीकरण गरी कृषिमा निर्भर श्रमजीवी जनताको जीवनस्तर सुधार, समृद्ध र समुन्नत बनाउने, ऊर्जा, जलस्रोत, वन, उद्योग, वाणिज्य, पर्यटन, सूचनाप्रविधि, भौतिक पूर्वाधार, यातायातलगायत क्षेत्रलाई आर्थिक समृद्धिको संवाहकका रुपमा विकास गरिनेछ ।

त्यसैगरी शिक्षा, स्वास्थ्य जस्ता सामाजिक क्षेत्रहरूको रूपान्तरणका लागि राज्यले प्राथमिकता दिने, सबैका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, रोजगार, सामाजिक सुरक्षा र आवासमा पहुँचको प्रत्याभूति गराउने र शिक्षालाई जनताको पहुँचभित्र राख्न सामुदायिक शिक्षा प्रभावकारी बनाउने प्रतिबद्धता मोर्चा रहेको छ ।

त्यसैगरी प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने, जलवायु परिवर्तन, वातावरणीय प्रदूषण र प्राकृतिक विपत्का कारण उत्पन्न नकारात्मक असरलाई नियन्त्रण गर्ने, जैविक विविधता र पर्यावरणको संरक्षण गर्ने मोर्चाले जनाएको छ ।

गुणस्तरीय सेवाप्रवाहका लागि सार्वजनिक प्रशासन चुस्त दुरुस्त बनाउने, अनुगमन र मूल्याङ्कनका परिपाटी स्थापित गर्ने, सामग्रिक योजना तर्जुमा गर्ने, शासकीय सुधार गर्ने तथा देशमा देखापरेको अनियमितता, प्रशासनिक ढिलासुस्ती, भ्रष्टाचार, कमिसनतन्त्रजस्ता अपराध र विकृतिलाई नियन्त्रण गरी जनतालाई सदाचार र सुशासनको प्रत्याभूति गराउने प्रतिबद्धतामा उल्लेख गरिएको छ ।

त्यसैगरी मोर्चाले तय गरेको प्रतिबद्धतामा भनिएको छ –सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीयतहका सरकारहरुबीचको क्षेत्राधिकारलाई स्पष्ट पार्ने, देशको राजस्व तथा स्रोतसाधनहरु सन्तुलित र न्यायोचित रुपमा बाँडफाँट गर्ने र राज्यका तर्फबाट प्रदान गरिने सेवासुविधाहरू जनतामा पुर्‍याउन प्रदेश तथा स्थानीयतहलाई सक्षम बनाउँदै सङ्घीय समाजवादी प्रणालीलाई समृद्ध गर्ने, देशको स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रिय हितको रक्षा गर्न एवं जनताको समृद्धिका लागि संयुक्त राष्ट्रसङ्घको बडापत्र र पञ्चशीलको सिद्धान्तलाई आधार मानी स्वतन्त्र, असंलग्न र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्ने उल्लेख गरेको छ ।

विगतका विभिन्न कालखण्डमा भएका आन्दोलनहरुका कारण विभिन्न दलका नेता/कार्यकर्ताहरुमाथि लगाइएका मुद्दाहरुको खारेजी र राजबन्दी रिहाइका लागि आवश्यक कानुनी र राजनीतिक पहल गर्ने, विभिन्न राजनीतिक दलहरूसँग भएका सहमति र सम्झौताहरु कार्यान्वयन गर्ने, समाजको विविधतायुक्त चरित्रअनुरुप राष्ट्रिय, लोकतान्त्रिक र वैज्ञानिक संस्कृति प्रवद्र्धन गर्ने, जाति, भाषा, धर्म तथा संस्कृतिको क्षेत्रमा रहेका सम्पूर्ण भेदभावहरूको अन्त्य गरी राष्ट्रिय एकता प्रवद्र्धन गर्ने, प्रगतिशील कला, साहित्य र संस्कृतिको विकासलाई प्रोत्साहित गर्ने, समाजमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय सबै प्रकारका शोषण, उत्पीडन र विभेदहरुको अन्त्य गरी समता, स्वतन्त्रता एवम् न्यायमा आधारित सामाजिक व्यवस्था निर्माण गर्ने प्रतिबद्धता मोर्चाले जनाएको छ ।

मैवाखोला बाढीपहिरो : उद्धारमा सास्ती

फुङ्लिङ – कोशी प्रदेशमा बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई तत्काल रु एक लाख राहत उपलब्ध गराउने भएको छ ।

आइतबार साँझ बसेको कोशी प्रदेश विपद् व्यवस्थापन सममितिले बाढीपहिरोबाट ज्यान गुएमाएको परिवारलाई रु एक लाख दिन नियर्ण गरेको हो । आइतबार कोशी प्रदेश खानेपानी, सिँचाइ, ऊर्जा तथा स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्बो बाढी पहिरो प्रभावित केही जिल्लाको निरीक्षण गरेपछि प्रदेश सरकारको विपद् व्यवस्थान समितिको बैठकले मृतक परिवारलाइ राहतस्वरुप रु एक लाख प्रदान गर्ने निर्णय गरेको मन्त्री मेन्याङ्बोको सचिवालले जनाएको छ ।

घाइतेको उपचार गर्ने, भौतिक संरचना (घर) पुनःनिर्माणको लागि सहयोग गर्ने, बगाएका, भत्किएका पुल यथाशीघ्र मर्मत र निर्माण गरी अवरुद्ध बाटो तथा राजमार्ग तत्काल खुलाउन पहल गर्ने निर्णय गरेको मन्त्री मेन्याङ्बो बताउनुभयो ।

५१ घर उच्च जोखिम

निरन्तर वर्षासँगै आएको बाढीपहिरोले ताप्लेजुङमा मानवीय क्षति हुनुका साथै विभिन्न संरचारको पूर्णरुपमा क्षति भएको छ । निरन्तर वर्षासँगै बाढीपहिरोले ताप्लेजुङमा ठूलो क्षति गराएको हो । शनिबार रात गएको बाढी पहिरोले ताप्लेजुङको सिदिङवा–५ मेहेलेमा एक युवकको मृत्यु भएको छ । तीन भने बेपत्ता रहेको छ । बेपत्ताको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । पहिरोमा परी मैवाखोला गाउँपालिकामा एक घाइते भएको हुनुभएको । उहाँको उपचार भइरहेको छ । सिरिजङ्गा गाउँपालिकामा सात घर सिदिङवा गाउँपालिकामा २१ घर, मैवाखोला गाउँपालिकामा २१ र पाथीभरा याङवरक गाउँपालिका एक गरी ५१ घर परिवार उच्च जोखिम रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

त्यस्तै सिरिजङ्गामा एक, सिदिङवामा एक र मैवाखोलामा एक गरी तीन पक्की मोटरेबल पुल पूर्णरुपमा क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । त्यस्तै ताप्लेजुङको विभिन्न क्षेत्रमा पाँच झोलुङ्गे पुल बाढीले बगाएको छ । पुल बगाएसँगै एक ठाउँबाट अर्को ठाउँमा जान समेत बन्द भएको छ । सिदिङवा, मैवाखोला र सिदिङवा गाउँपालिकामा गाई पाँच, भैँसी दुई बाख्रा आठ बाढीले बगाएको जिल्ला प्रशासशन कार्यालय ताप्लेजुङले जनाएको छ ।

सिरिजङ्गामा चार, सिदिङवामा चार र पाथीभरा याङवरकामा एक गरि नौ घर पूर्णरुपमा क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

त्यस्तै सिदिङवामा एक र सिरिजंगामा एक गरी दुई विद्युत् गृह पूर्णरुपमा क्षति भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सिरिजङ्गा–८ याम्फुदीनमा र ७ खेवाङमा गरी सात सरकारी कार्यालय पूर्ण रुपमा क्षति भएको छ । सिरिजङ्गा –८ मा सञ्चालन रहेको एक क्रसर उद्योगसमेत बाढीले बगाएको छ । त्यस्तै एक कुखुरा फर्म पूर्ण रुपमा क्षति भएको जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले जनाएको छ । सिरिजङ्गा –८ याम्फुदीनमा एक सामुदायिक विद्यालयसमेत बाढीले बगाएको समितिले जनाएको छ ।

उद्धारमा सास्ती

ताप्लेजुङमा आइतबार आन्तरिक तथा बाह्य यातायातका साधन सञ्चालन हुन सकेको छैन । निरन्तर वर्षासँगै विभिन्न क्षेत्रमा बाढीपहिरोले सडक अवरुद्ध भएपछि यातायात ठप्प भएसँगै बेपत्ताको लागि खोज तथा उद्धारकार्यका लागि सास्ती भएको हो ।

मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ र फिदिम नगरपालिका जोड्ने हेवाखोला माथिको पुल बगाएपछि ताप्लेजुङ, पाँचथर, इलामसहित तराईका जिल्लातर्फ जाने सवारी साधन सदरमुकाममा थन्किएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता कुशुराम कार्कीले बताउनुभयो । तमोर नदीसहित तमोर करिडोरअन्तर्गतका खोलामा बाढी आएकाले उक्त तमोर करिडोरको सडकसमेत अवरुद्धएकाले छोटो र लामो दूरी छुट्ने सवारी साधन ताप्लेजुङदेखि छुट्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी प्रवक्ता कार्कीका अनुसार बिहीबार राति आएको बाढीले मेहनले र खेवाङ जोड्ने पुल भत्काएको छ । अविरल वर्षासँगै गए राति मैवाखोलामा आएको बाढीले दोभान बजार हुँदै आठराई त्रिवेणी जाने सकड बगाएको छ । सडक अवरुद्ध भएकाले पहिरोग्रस्त क्षेत्रमा सदरमुकामबाट राहत र उद्धारका लागि जानसमेत कठिनाइ भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिनुभयो ।

व्यवस्थापन समितिकाका अनुसार दोभान बजार क्षेत्र मैवाखोलामा आएको बाढीले कटान गर्न थालेपछि आधाजसो परिवार मध्यरातमै सुरक्षित स्थानमा सरेका छन् । सिरीजङ्घाको याम्फुदिनमा काबेली खोलामा आएको बाढीले बस्ती कटान गरिरहेको छ । उक्त ठाउँका पाँच सरकारी कार्यालयसहित १५ परिवार अन्यत्र सरेका छन् । विभिन्न क्षेत्रका जलविद्युत् आयोजनामासमेत बाढीपहिरोले क्षति पुगेको छ । विद्युत् आपूर्ति बन्द भएको छ ।

गए रात ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, पाँचथरलगायत जिल्लामा बाढी पहिर सडक र पुलमा क्षति पु¥याउँदा करिब रु ५० करोड रकम बराबरको क्षति भएको भौतिक पूर्वाधार तथा यातायत व्यवस्था मन्त्रलयाले जनाएको छ ।

झापाको वन क्षेत्रमै हात्तीका आहाल र आहारा

बनियानी – झापाका सामुदायिक वन हाताभित्रमा हात्तीका लागि आहाल र आहाराको व्यवस्थापनको काम शुरु भएको छ । जिल्लाका सामुदायिक वन क्षेत्रमा जलाशय निर्माण र हात्तीले पन पराउने बाँस तथा केराको बिरुवा लगाउन थालिएको डिभिजन वन कार्यालय झापाका सहायक वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिनुभयो ।

राष्ट्रिय वन विकास कार्यक्रमअन्तर्गत झापाको कचनकवल–३ स्थित दुर्गाभिट्टा सामुदायिक वन र बाह्रदशी–१ साधुपर्ती सामुदायिक वन हाताभित्र दुई वटा पोखरी निर्माण गरिएको छ । रु १० लाखको लागतमा ती पोखरी निर्माण गरिएको हो । हात्ती र अन्य वन्यजन्तुलाई पानी खान र आहाल बस्न सहज होस् भन्ने उद्देश्यले पोखरी निर्माण गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै, जिल्लाकै आठ वटा समुदायिक वनमा चार हजार बाँस र दुई हजार आठ सय केराको बिरुवा लगाउन थालिएको छ । “बिरुवा रोप्न खाल्डो खनेर तयारी अवस्थामा राखिएको छ”, डिभिजन वन कार्यालय झापाकी अधिकृत रञ्जना पुरीले भन्नुभयो, “बिरुवा रोप्न खाल्डो खन्ने काम सकिएको छ, वर्षा सुरु भयो अब बिरुवा लगाइने छ ।”

जिल्लाको मनकामना सामुदायिक वनमा बाँसका बिरुवा एक हजार र केरा आठ सय, साधुपर्ती सामुदायिक वनमा बाँस एक हजार र केरा चार सय ६०, पूर्व देउराली सामुदायिक वनमा चार सय केरा, पाथीभरा कालिका सामुदायिक वनमा बाँस आठ सय र केरा दुई सय, दियालो सामुदायिक वनमा बाँस दुई सय र केरा चार सय, विशाल सामुदायिक वनमा बाँस चार सय, दुर्गाभिट्टा सामुदायिक वनमा केरा चार सय र मायालु सामुदायिक वनमा बाँस छ सय र केरा दुई सय वटा बिरुवा लगाइने छ ।

वन क्षेत्रमा बाँस र केरा लगाउन रु १५ लाख बजेट प्राप्त भएको कार्यालयले जनाएको छ । आहाराको खोजीमा हात्तीलगायतका वन्यजन्तु वन आसपासका गाउँ बस्तीमा पस्ने भएकाले वन क्षेत्रमै आहाराको व्यवस्थापन गर्न लागिएको हो । यसबाट मुख्यतः मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न मद्दत विश्वास लिइएको छ । झापाका सामुदायिक वनमा एक दर्जनभन्दा बढी रैथाने हात्ती रहेका छन् ।

हेवा खोला बाढीपहिरो : बेपत्ताको पहिचान खुल्यो

किमाथाङ्का – सङ्खुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको सङ्ख्या २२ पुगेको छ । गए राति आएको बाढीले बगाउँदा पाँचखपन–९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको छ । शनिबार राति वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीले चैनपुर–४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोपावरका १७ जना बेपत्ता भएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो ।

वेपत्ता हुनेमा सुपर हेँवा हाइड्रोपावरका सुपरभाइजर सन्तोष ढकाल (सुनसरी), भुवनसिंह तामाङ (चैनपुर नगररपालिका) , सुवास राई ( सङ्खुवासभा) , फैजबहादुर कार्की (झापा) , गणेश गिरी (धनकुटा), राजकुमार मगर (इलाम), मीना श्रेष्ठ (झापा) , रामजतन थारु (कैलाली), राहुल थारु (बर्दिया), रोहित थारु (बर्दिया), पुलसन थारु (बर्दिया), कालीराम थारु (बर्दिया), राजराम थारु (बर्दिया), सुगत थारु (कैलाली), अमर थारु (कैलाली), सीता थारु (कैलाली) र दीपक मगर (सङ्खुवासभा) छन् ।

त्यस्तै गरी सभापोखरी गाउँपालिका–३ सुनाम्लामा गोठ बगाउँदा ६० वर्षीय गणेश राई र ६१ वर्षीया सञ्चमाया राई बेपत्ता हुनुभएको छ । चैनपुर नगरपालिका–१ नुनढाकीमा बर्दिया नगरपालिकाका भीम चौधरी, अप्पर हेवाखोला हाइड्रोपावरका मजदुर चैनपुर नगरपालिका–४ का ५० वर्षीय ज्ञानबहादुर लिम्बू बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाढीले बगाउँदा सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने दुई जना मजदुर घाइते भएका छन् । घाइते हुनेमा बर्दिया नगरपालिका –७ का २४ वर्षीय टीकाराम चौधरी र ३५ वर्षीय दीपकराज थारु छन् । गम्भीर घाइते दुवैको हेल्पिङ हेन्स सामुदायिक अस्पताल चैनपुरमा उपचार भइरहेको छ । चैनपुर नगरपालिका ४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो ।

बाढीले जिल्लाका विभिन्न स्थानमा सात घर क्षति भएको छ भने अन्य चार घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । बाढीले तीन पक्की पुलमा क्षति पु¥याएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरीको टोली खटिएका छन् । बाढी भौतिक संरचना बगाउँदा करोडाँैको क्षतिको भएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

नेपालले मल्दिभ्सलाई हराउँदै सेमिफाइनलमा

काठमाडौँ – माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले आयोजक माल्दिभ्सलाई पराजित गर्दै विजयी हासिल गरेको छ ।

माल्दिभ्सको मालेमा गए राति भएको खेलमा नेपालले आयोजक माल्दिभ्सलाई ७५–६८ अङ्कले पराजित गर्दै विजयी हासिल गरेको हो । नेपालको यो तेस्रो जित हो । पहिलो खेलमा भुटानसँग पराजित नेपालले त्यसपछि लगातार पाकिस्तान र बङ्गलादेशलाई हराएको थियो ।

यस जितसँगै नेपाल शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको हो । ४ खेलमा ७ अङ्क जोड्दै नेपाल शीर्षस्थान रहयो । समान अङ्कका साथ पाकिस्तान दोस्रो स्थानमा रहयो ।

यसैगरी समान ६ अङ्कका साथ बङ्गलादेश तेस्रो र भुटान चौथो स्थानमा रह्यो । ४ अङ्क जोडेको माल्दिभ्स समूह चरणबाट बाहिरिएको छ । शीर्ष ४ टोलीले सेमिफाइनल खेल्नेछन् । प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका पाँच राष्ट्रको सहभागिता रहेको छ ।

ट्रेड युनियन कांग्रेसको महाधिवेशन आजदेखि

काठमाडौं – नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिले पत्रकार सम्मेलन गरी यही आज असार ४ गतेदेखि ६ गतेसम्म महाधिवेशन हुन लागेको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले ट्रेड युनियन कांग्रेसले विधानतः ७७ वटै जिल्ला, सातवटै प्रदेश र २७ वटै आबद्ध राष्ट्रिय सङ्घको अधिवेशन सम्पन्न गरी सातौँ महाधिवेशन गर्न लागेको जानकारी दिनुभयो ।

उहाँले ट्रेड युनियन कांग्रेसले आफ्नो विधानमार्फत युवा र महिलाको सहभागितालाई बढाएको बताउँदै जिल्ला, प्रदेश र आबद्ध सङ्घमा महिला र युवा सहभागिता बढाउन लागेको उल्लेख गर्नुभयो ।

ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादवले वर्तमान समयमा श्रमिकका मुद्दा थप चुनौतीपूर्ण बन्दै गएकाले यस महाधिवेशनले श्रमिकको मुद्दालाई व्यापकरूपमा उठाउने बताउनुभयो ।

ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्र कुँवरले महाधिवेशनले नेपाली श्रमिकका जल्दाबल्दा समस्यालाई सम्बोधन गर्ने बताउनुभयो । उहाँले ट्रेड युनियन कांग्रेसको गत वर्ष सम्पन्न राष्ट्रिय सम्मेलनबाट महासङ्घको अध्यक्षलगायत ४९ पद र महिला समिति तथा युवा समिति चयन गरेर सम्पन्न हुने जानकारी दिनुभयो ।

ट्रेड युनियन कांग्रेस सातौँ राष्ट्रिय महाधिवेशन प्रचारप्रसार समितिका संयोजक अजयकुमार राईले आगामी दिनमा ट्रेड युनियन कांग्रेसलाई थप बलियो र सशक्त बनाउनका लागि सात सय ५३ वटै स्थानीय तहमा ट्रेड युनियन सङ्गठन निर्माण गर्ने जानकारी दिनुभयो ।

पोखरामा पनि हिन्दी सिनेमा प्रदर्शनमा रोक

पोखरा – पोखरामा पनि आजबाट हिन्दी सिनेमा नचल्ने भएका छन् ।  

बलिउड चलचित्र ‘आदिपुरुष’ को संवादलाई लिएर पोखरामा पनि हिन्दी सिनेमा प्रदर्शनमा प्रतिबन्ध लगाइएको हो । पोखरा महानगरपालिकाले एक परिपत्र जारी गर्दै सोमवारबाट हिन्दी सिनेमा प्रदर्शनमा प्रतिबन्ध लगाएको हो ।

 ‘दक्षिण भारतीय चलचित्र (फिल्म) ‘आदिपुरुष’मा समावेश गरिएको जानकी भारतीय छोरी हुन भन्ने शब्द नसच्चिएसम्म पोखरा महानगरपालिका क्षेत्र भित्रका चलचित्र घरमा अन्य कुनै पनि भारतीय फिल्म प्रसारण गर्न रोक लगाइएको ब्यहोरा जानकारी गराइन्छ’ नगर प्रमुख धनराज आचार्यलेद्वारा जारी विज्ञप्तिका भनिएको छ ।  

जसअनुसार वाराही क र ख, श्रीकृष्ण र विन्ध्यवासिनी, सिनेप्लेक्स, मिडटाउनलगायत सिनेमा हलमा हिन्दी प्रदर्शन चल्ने छैन । 

गण्डकीमा ३०० किमी सडक कालोपत्रे हुने

गण्डकी – गण्डकी प्रदेशमा आगामी आर्थिक वर्षमा थप तीन सय किलोमिटर सडक कालोपत्रे हुने भएको छ ।गण्डकी प्रदेश सरकारको आव २०८०÷८१ को बजेटमा प्रदेश गौरवका सडक आयोजना, एक निर्वाचन क्षेत्र–एक कृषि सडक, रणनीतिक महत्वका सडक, स्थानीय तहको प्रशासनिक केन्द्र जोड्ने सडकको निर्माण तथा स्तरोन्नति कार्यलाई निरन्तरता दिइएको छ ।

सडक पूर्वाधार निर्माणका लागि रु ११ अर्ब १६ करोड विनियोजन गरिएको अर्थमन्त्री जीतप्रकाश आलेले बताउनुभयो । सडक कालोपत्रेसँगै २५ वटा सडक पुल र २० वटा झोलुङ्गे पुल सम्पन्न गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । नदी प्रणालीमा आधारित एकीकृत विकासको अभ्यासलाई नेपाल सरकारसमेतको लगानीमा अगाडि बढाइने सरकारले जनाएको छ । बूढीगण्डकी करिडोर, मस्र्याङ्दी करिडोर र शालिग्राम करिडोरको विस्तृत आयोजना प्रतिवेदन तयार गरी कार्यान्वयनमा लगिने र यसका लागि बजेट विनियोजन गरिएको मन्त्री आलेले बताउनुभयो ।

प्रदेशको प्राथमिकतामा रहेका उत्तर–दक्षित द्रुतमार्गअन्तर्गतको भिमाद–डेढगाउँ–झ्यालबास–चोरमारा–दुम्कस्वास–त्रिवेणीखण्ड आयोजनालाई विशेष प्राथमिकता दिई बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । प्रदेश गौरवको आयोजनाको रुपमा रहेको शालिग्राम करिडोरको बाँकी खण्डको स्तरोन्नति र रणनीतिक महत्वको सडक बुद्धसिंह मार्ग निर्माण कार्यलाई तीव्रताका साथ अगाडि बढाउने सरकारको योजना छ ।

त्यसको कार्यान्वयनका लागि रु १९ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । यसबाट राष्ट्रिय राजमार्गसँग वैकल्पिक राजमार्गको आबद्धता विस्तार भई सडक पूर्वाधारको उपयोगमा जनताको पहुँच अभिवृद्धि हुने सरकारले विश्वास लिएको छ ।

प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने

काठमाडौँ – प्रतिनिधिसभाको बैठक बस्दै छ । 

सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा आज बिहान ११ः०० बजे प्रतिनिधिसभाको बैठक बस्न लागेको हो । 

आजको बैठकमा विनियोजन विधेयक २०८० माथि छलफल जारी रहनेछ । जसअनुसार आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय माथिको बजेटमा छलफल हुनेछ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको छलफल सकिएको थियो । 

मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना, बाढी, पहिरो, भू-क्षय हुनसक्ने हुनाले सतर्कता अपनाउन आग्रह

काठमाडौँ – हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोसी, प्रदेशमा सामान्य बदली रही देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा  रहेको छ। कोसी प्रदेशको थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । 

दिउँसो कोसी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी तराई भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ। 

कोसी प्रदेशको केही स्थानहरूमा, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र देशको बाँकी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती भने कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी  प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोसी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। मेघ गर्जन र चट्याङ, बाढी, पहिरो भूक्षय तथा गेग्रान तथा वर्षाका कारण नदीको स्तर बढेर हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
​​​​​​​२०८० आषाढ ०४ गते (सोमबार)
​​​​​​​दिउँसो: 
कोसी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी तराई भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ। कोसी प्रदेशको केही स्थानहरूमा, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।राती: कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी  प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। 

२०८० आषाढ ०५ गते (मङ्गलवार)
दिउँसो: 
कोसी प्रदेशमा सामान्य बदली रही लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका बाँकी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी तराई भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ। कोसी प्रदेशको केही स्थानहरूमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती:  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी , मधेस, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानहरूमा साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र देशको बाँकी भू-भागका एक दुई स्थानमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी प्रदेश र मधेस प्रदेशको थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

२०८० आषाढ ०६ गते (बुधवार) 
दिउँसो:
  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।कोसी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
राती: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।कोसी, बागमती, मधेस र लुम्बिनी  प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

स्वास्थ्य शिविरबाट ८८ जना लाभान्वित

बनेपा / काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको दाप्चामा आयोजना गरिएको बाथरोगसम्बन्धी स्वास्थ्य शिविरबाट ८८ जनाले लाभ लिएका छन् ।

नेपाल रेडक्रस सोसाइटी डराउनेपोखरी उपशाखा तथा सहयोगी महिला जागरण मञ्चको सहकार्यमा नेशनल बाथरोग सेन्टरको प्राविधिक सहयोगमा दाप्चा माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य परीक्षण सेवा दिलाइएको थियो ।

शिविरमा विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीबाट स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधिसमेत वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी डराउनेपोखरी उपशाखाका सभापति नवीन अधिकारीले बताउनुभयो । उहाँका अनुसार परीक्षणपछि समस्या देखिएकालाई थप स्वास्थ्य परीक्षणसमेत निःशुल्क गरिएको थियो ।

नमोबुद्ध नगरपालिका प्रमुख कुनसाङ लामाले नागरिकलाई घरदैलोमै स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउन नगरपालिका निरन्तर लागिरहेको बताउनुभयो । गाउँघरमै बसेर स्वास्थ्य सेवा लिन पाउने व्यवस्था गर्न आयोजना गरेको शिविरबाट बाथरोगका बिरामी ८८ जनाले सेवा पाउनु खुसीको विषय भएको कार्यक्रम संयोजक बिलबहादुर श्रेष्ठले बताउनुभयो ।

नगरप्रमुख लामाले शिविर सञ्चालनका लागि सहकार्य गर्ने सहयोगी महिला जागरण मञ्च काठमाडौँका अध्यक्ष राधा श्रेष्ठ र नेशनल बाथरोग सेन्टरका तर्फबाट डा. मनिषा भोछिभोयालाई कदरपत्र प्रदान गर्नुभएको थियो ।

हेवाखोलाको बाढीमा बेपत्ता सबैको पहिचान

पाँचथर / पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखोलामा आएको बाढीमा परी बेपत्ता भएका पाँचै जनाको पहिचान भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीमा परी हिलिहाङ गाउँपालिका–७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका–११ का २८ वर्षीय सञ्जोग लिम्बू र फिदिम–५ का ५५ वर्षीय राजकुमार राई सम्पर्कविहीन छन् । उनीहरुलाई हेवाखोलाले हेवाखोला पुल क्षेत्रबाट बगाएको प्रहरीको अनुमान छ ।

यस्तै फिदिम –४ र हिलिहाङ–७ को सिमाना माझीटार तमोर दोभानबाट दुई जना बेपत्ता भएका छन् । स्थानीयबासी २८ वर्षीय आशिष माझी र २५ वर्षीया एलिसा माझी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । बाढीले फिदिम–४ का रेशम कटुवालको दुईतले घर र मतान बगाएको छ ।

बाढीले याङवरक गाउँपालिका–२ फलैँचाका रामप्रसाद राईको एकतले घर, चन्द्र बेघाको दुईतले घर र एकतले मतान र कृष्ण बेघाको एकतले घर बगाएको छ । यहाँ मानवीय क्षति नभएको र बाँकी क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार हालसम्म बाढीले हेवाखोलामा रहेका चारवटा सडक पुल बगाएको छ । फिदिम–४ र हिलिहाङ–७ को सीमामा मेची राजमार्गको एक सडक पुल, तमोर करिडोर एक सडक पुल (बेलीब्रिज) बाढीले बगाएको छ । यस्तै फालेलुङ गाउँपालिका वडा नं ३ र ७ को सीमामा रहेको एउटा तथा सोही गाउँपालिका वडा नं ३ र ५ को सीमामा रहेको अर्को सडक पुल बाढीले बगाएको छ । सो स्थानबाट जलविद्युत् आयोजनाको एउटा ‘स्काभेटर’ पनि बाढीले बगाएको प्रहरीले जनाएको छ ।

बाढीका कारण मेची राजमार्ग र तमोर करिडोर सडक अवरुद्ध भएका छन् । वर्षापछि मेची राजमार्गको फाल्गुनन्द गाउँपालिका–३ पाङ्ग्रेभीरमा पहिरो झरेर सडक पूर्णतः अवरुद्ध भएको छ भने फिदिम–३ कान्छीदोकानमा पनि भेलले सडक अवरुद्ध पारेको छ ।

वर्षाका कारण सडक बगाएपछि फिदिम–यासोक सडकको कुम्मायक गाउँपालिका–४ वनथाकमा सडक अवरुद्ध भएको छ । यस्तै फाल्गुनन्द–७ बाट घुर्बिसेपञ्चमी जोड्ने सडक पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ । बाढीले याङवरक–२ मा दुईवटा र फालेलुङ–३ र ५ को सीमाको एक झोलुङ्गे पुलमा समेत क्षति पु¥याएको प्रहरीले जनाएको छ । बाढीले जिल्लामा निर्माण र सञ्चालनमा रहेका अधिकांश जलविद्युत् आयोजनामा क्षति गरेको छ । क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

सडक सम्पर्कविच्छेद

भीषण वर्षापछि आएको बाढीले हेवाखोलामा रहेका दुईवटा पुल बगाएपछि पाँचथरबाट ताप्लेजुङ जिल्ला तथा जिल्लाका दुई गाउँपालिकासँगको सडक सम्पर्कविच्छेद भएको छ ।

गए राति भीषण वर्षा भएपछि हेवाखोलामा आएको बाढीले मेची राजमार्गको फिदिम –४ र हिलिहाङ–७ जोड्ने हंवाखोला पुल बगाएको छ । बाढीले ५४ दशमलव ५२ मिटरको उक्त पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । विसं २०४२ मा बनेको यो पुल बाढीका कारण हालसम्म कहिल्यै जोखिममा समेत परेको थिएन । तर गए रातिको बाढीले तीन स्पान रहेको पुलका सबै संरचना बगाएको हो ।

यस्तै तमोर करिडोर सडकअन्तर्गत तीन वर्षअघि हेवाखोलामै निर्माण भएको माझीटारस्थित बेलीब्रिज (फलामको पुल) पनि बाढीले बगाएको छ । फिदिम–४ र हिलिहाङ –७ लाई जोड्ने बेलीब्रिजका सबै संरचना बाढीमा बगेका छन् । दुवै पुल बगेपछि मेची राजमार्ग र तमोर करिडोर सडकबाट ताप्लेजुङ जिल्ला तथा पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिकासँगको सडक सम्पर्कविच्छेद भएको छ । सडक सम्पर्कविच्छेद भएपछि आकस्मिक बिरामीलाई अस्पतालसम्म पुर्याउने कार्य चुनौतीपूर्ण भएको छ । यस्तै यस क्षेत्रमा उत्पादन हुने दुग्धजन्य उत्पादन र सागसब्जी खेर जाने अवस्था आएको छ ।

–रवीन्द्र काफ्ले

बाढीपहिरोबाट भएको क्षतिबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौँ / सङ्खुवासभाको हेवाखोलामा गए राति आएको बाढीले पुर्याएको क्षतिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गरिइएको छ ।

सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले आज बिहान प्रधानमन्त्री दाहाललाई भेटेर सङ्खुवासभामा भएको क्षतिका बारेमा अवगत गराउँदै सरकारले क्षतिको निरीक्षण गर्न आग्रह गरेको थियो ।

भेटमा सांसद खड्काले सङ्खुवासभामा आएको बाढीले दर्जनौँ जलविद्युत्गृहमा क्षति पुग्दा राज्यलाई अर्बौँको क्षति हुनुका साथै जलविद्युत्गृहमा कार्यरत मजदुरसमेत बेपत्ता भएको प्रधानमन्त्री दाहाललाई अवगत गराउनुभएको थियो । साथै उहाँले क्षतिको निरीक्षण गरी उद्धार र राहतका लागि सरकारबाट पहल गर्न आग्रह गर्नुभएको थियो ।

भेटमा प्रधानमन्त्री दाहालले बाढी पहिराबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले बेपत्ता भएकाको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अङ्ग र कर्मचारीलाई निर्देशनसमेत दिइसकेको बताउनुभयो । बाढीले पुर्याएको क्षतिबारे अवलोकनमा जाने प्रधानमन्त्रीले जानकारी दिनुभएको सांसद खड्काले राससलाई जानकारी दिनुभयो ।

प्रतिनिधिसभा सदस्य खड्कासँगै प्रदेशसभा सदस्य राजेन्द्र कार्की र विभिन्न दलका नेताहरू प्रधानमन्त्रीलाई भेट्न आज बिहानै बालुवाटार पुग्नुभएको थियो । सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ भने सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्याएको छ ।

बेपत्ता नागरिकको खोजी, उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वी देशका विभिन्न जिल्लामा बाढी पहिरोबाट बेपत्ता नागरिकको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न निर्देशन दिनुभएको छ ।

उहाँले बाढी प्रभावितको उद्धारमा जुट्न सुरक्षा अङ्ग, राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिँदै सो अभियानमा सहयोग गर्न आम जनसमुदायमा अपिल गर्नुभएको छ । प्रधानमन्त्री दाहालले बाढी पहिराका कारण भएको धनजनको क्षतिप्रति पनि गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

गए राति पूर्वी नेपालमा आएको भारी वर्षाका कारण बाढी र पहिरो आउँदा सङ्खुवासभामा १७ र पाँचथरमा पाँच जना बेपत्ता भएका छन् । बाढीले मेची राजमार्ग अवरुद्ध भएको जनाइएको छ ।

सङ्खुवासभाको हेवाखोलाको बाढी सात घर बगायो : १७ मजदुर सम्पर्कविहीन

किमाथाङ्का – सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो ।

बाढीले बगाएका अप्पर हेवाखोला हाइड्रोपावरमा काम गर्ने एक मजदुरको शव पाँचखपन नगरपालिका–५ खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ । प्रहरी प्रमुख गोदारका अनुसार शवको पहिचान हुन बाँकी छ । बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोमा पूर्णरूपले क्षति पुगेको छ । बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पु¥याएको छ ।

घटनाको जानकारी लिन प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, सुरक्षा निकायका प्रमुखको टोली घटनास्थलतर्फ जानुभएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरीको टोली खटिएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।

कर्णाली प्रदेश सरकारको आन्तरिक आम्दानी कमजोर

सुर्खेत – सङ्घीयता कार्यान्वयन भएको पाँच वर्ष बितिसक्दा पनि कर्णाली प्रदेश सरकार सङ्घीय सरकारकै अनुदानको भर पर्नुपर्ने अवस्था छ । प्रदेशको आन्तरिक आम्दानी कमजोर हुँदा सङ्घ सरकारकै अनुदानका भरमा प्रदेश सरकार रहेको हो ।

आम्दानी वृद्धि हुने खालका ठोस योजना नल्याइँदा आन्तरिक आम्दानी कमजोर देखिएको हो । जसले गर्दा प्रदेश सरकार पूर्णरूपमा सङ्घीय सरकारको अनुदानको भरमा पर्नुपरेको देखिएको छ । प्रदेश सरकार गठनपछि कर्णाली प्रदेश सरकारको पाँच वर्षको आन्तरिक आम्दानी रु दुई अर्ब १३ करोड २० लाखमात्रै देखिन्छ । जबकि सरकारले बितेका पाँच आर्थिक वर्षमा रु एक खर्ब ३३ अर्ब ९४ करोड ४७ लाख ४२ हजारको बजेट ल्याएको छ ।

प्रदेश सरकारले प्रस्तुत गरेको बजेट वक्तव्यमा कर्णाली सरकारले पाँच वर्षमा ल्याएको बजेट आकार ठूलो र आन्तरिक आम्दानी कमजोर रहेको उल्लेख छ । सङ्घीय सरकारकै भरमा प्रदेश सरकारले ल्याउने बजेट कार्यान्वयन पनि नभएको देखिएको छ । पाँच वर्षको बजेटको संरचना हेर्दा चालुतर्फ ३६ दशमलव ७९ प्रतिशत र पुँजीगततर्फ ६३ दशमलव २१ प्रतिशत विनियोजन भएकामा चालुतर्फ ६० दशमलव १४ प्रतिशत बजेट खर्च भएको छ भने पुँजीगततर्फ ५२ दशमलव ५९ प्रतिशतमात्रै खर्च भएको छ ।

चालु वर्षको बजेट खर्च पनि कमजोर रहेको पाइएको छ । गत जेठ मसान्तसम्म चालुतर्फ ४८ दशमलव १० प्रतिशत र पुँजीगततर्फ ३४ दशमलवग ६१ प्रतिशतमात्रै खर्च भएको आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले बताउनुभएको छ । चालु आवको जेठ मसान्तसम्म लक्ष्यको ७४ दशमलव ६२ प्रतिशत अर्थात् रु ५३ करोड २० लाख राजस्व सङ्कलन भएको उहाँले प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख छ ।

गण्डकीमा दोस्रो पञ्चवर्षीय योजना तर्जुमा थालिने

गण्डकी – गण्डकी प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६) तर्जुमा थाल्ने भएको छ ।

सरकारको आव २०८०/८१ को बजेटमा प्रदेशको समग्र विकासलाई प्रभावकारी बनाउन पहिलो पञ्चवर्षीय योजनाको मध्यावधि समीक्षाबाट प्राप्त अनुभव र यसको मूल्याङ्कनबाट प्राप्त पृष्ठपोषणका आधारमा प्रदेशको दोस्रो पञ्चवर्षीय योजना तर्जुमा थालनी गरिने उल्लेख छ । यसका लागि बजेटको व्यवस्था गरिएको अर्थमन्त्री जीतप्रकाश आलेले बताउनुभयो ।

बृहत् लगानीयोग्य आयोजनाको पहिचान र प्रादेशिक अर्थतन्त्रको सवलीकरणका लागि स्वदेशी तथा विदेशी लगानीलाई आकर्षण गर्न नीतिगत तथा कानुनी व्यवस्था र लगानीमैत्री वातावरण सिर्जना गरिने उल्लेख गर्दै बजेटमा प्रदेशमा सार्वजनिक तथा निजी लगानीको प्रवर्द्धन गर्न लगानी सम्मेलन आयोजना गरिने भनिएको छ ।

सरकारको वित्तीय र भौतिककार्य प्रगतिलाई अनलाइन अनुगमन प्रणालीबाट विस्तृत अनुगमन गर्न र सुधारका लागि थप पृष्ठपोषण प्राप्त हुने गरी सञ्चालित प्रणालीमा सुदृढीकरण गरिने अर्थमन्त्रीले बताउनुभयो ।

प्रदेशको विद्युतीय सुशासन गुरुयोजनाबमोजिम अनलाइन अनुगमन प्रणालीको स्तरोन्नति, यातायात व्यवस्था कार्यालयको डिजिटाइजेसन र रि–इन्जिनियरिङ एवं गण्डकी प्रदेशको आर्थिक सामाजिक प्रोफाइललगायतका कार्यक्रममार्फत सेवा प्रवाहलाई प्रविधिमैत्री बनाई सरलीकरण गरिने उहाँले बताउनुभयो ।

प्रदेश र स्थानीय तहको साझेदारीमा आयोजना तथा कार्यक्रम सञ्चालन गरी सञ्चालित कार्यक्रममा स्थानीय तहको अपनत्व अभिवृद्धि गर्न मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमलाई निरन्तरता दिइने बताउँदै अर्थमन्त्री आलेले यसका लागि रु १२ करोड २१ लाख विनियोजन गरिएको उल्लेख गर्नुभयो ।

पाँचथरमा बाढीले बगाउँदा पाँच जना बेपत्ता : मेची राजमार्ग अवरुद्ध

मिक्लाजुङ – गए रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा पाँचथरमा पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम–४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष र एलिसा माझी र फिदिम–४ हेवाखोलाबाट एक जना रहेका छन्

फालेलुङ ३ खोलाघारी सेपीमा पहिराले पुरेको बालिकाको सकुशल उद्धार भएको वडाध्यक्ष शक्ति केरुङले जानकारी दिनुभयो । वर्षात्ले मेची राजमार्गस्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोला पुल समेत बगाएको छ ।

पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताउनुभयो । तमोर करिडोरको ‘बेलीब्रिज’ बगाएको छ । याङ्वरक गाउँपालिका–३ र २ मा घर बगाएको स्थानीयले बताएका छन् । यस्तै फालेलुङ गाउँपालिका–३ मच्छेबुङमा मोटरेबल पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

जनशक्ति खोज्न र रोज्न रोजगार मेला

भक्तपुर – रोजगारको खोजीमा रहेका जनशक्ति र रोजगारदातालाई एकै ठाउँमा ल्याई आ–आफ्नो आवश्यकतानुसारको जनशक्ति खोज्न र रोज्न सहयोग पुर्याउने उद्देश्यले मध्यपुरथिमि नगरपालिकाले रोजगार मेला आयोजना गर्ने भएको छ ।

मध्यपुरथिमिले विद्यार्थी तथा युवाको वृत्तिविकासमा टेवा पुर्याउन वृत्ति परामर्श सेवा र रोजगारीमा टेवा पुर्याउन यही असार १६ गते शनिबार वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला आयोजना गरिने नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

मेलाले स्थानीय सरकारलाई नगर क्षेत्र, जिल्लामा के–कति र कस्ता क्षेत्रमा रोजगारीको अवसर रहेछ भन्ने जानकारी हुनुका साथै बेरोजगार युवा कस्ता किसिमका तालिममा संलग्न हुन् चाहन्छन् भन्ने बारेमा जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ ।

मेलामा युवा विद्यार्थीलाई वृत्तिविकाससम्बन्धी परामर्श सेवा दिइने, सीपमूलक तालिम दिने संस्थाहरूको प्रदर्शनी गरिने, तालिमबारे जानकारी एवं रोजगारसम्बन्धी सूचना दिइने, निःशुल्क सञ्चालन हुने कार्यस्थलमा आधारित सीपमूलक तालिमसम्बन्धी जानकारी दिइने, स्थानीय उत्पादनको प्रदर्शनी गरिने, स्थानीय रोजगारीको अवसरको पहिचान तथा जानकारी दिइने र रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने उहाँले जानकारी दिनुभयो ।

मेलामा युवालाई बजारको मागअनुसार के–कस्ता सीपयुक्त तालिम आवश्यक छ भन्नेबारेमा जानकारी दिने, उद्योगलाई सीपयुक्त, अर्धसीपयुक्त जनशक्ति पहिचान गर्न अवसर मिल्ने र नगर क्षेत्र एवं जिल्लामा कति बेरोजगार युवा रहेछन् भन्नेबारेमा तथ्याङ्क सङ्कलनमा मेलाले टेवा पुर्याउने छ ।

दक्ष सीपयुक्त युवाहरूको सीप रोजगारदाताको मागसँग मेल खाए मेलामै अन्तरर्वार्ता लिई रोजगारीको सुनिश्चितता गरिने, उद्यम व्यवसाय सुरु गर्न चाहनेहरूका लागि उपयुक्त जानकारी गराइने, सफल उद्यमीको कथा, अनुभव तथा सिकाइको आदान–प्रदान पनि मेलामा गरिने भएको छ । नगरपालिकाले नपाका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष कृष्णहरि आचार्यको संयोजकत्वमा मेला आयोजक समिति गठन गरेको छ ।

सिन्धुकपको उपाधि श्री भगवती क्लब टोखालाई

सिन्धुपाल्चोक – नवौँ संस्करणको सिन्धुकप फुटबल प्रतियोगिता २०८० को उपाधि श्री भगवती क्लब टोखाले जितेको छ । लामोसाँघुस्थित वसन्तपुर खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनल खेलमा भगवतीले काभ्रे जिल्ला फुटबल सङ्घलाई पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले हराउँदै उपाधि जितेको हो ।

निधारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल सिधै पेनाल्टीमा धकेलिएको थियो । पहिलो हाफको खेलमा सुरुआती अग्रता बनाएको काभ्रेले दोस्रो हाफमा गोल खाएको थियो ।

गत जेठ २८ बाट सुरु भएको प्रतियोगिताको समापन सहारोहमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत, अखिल नेपाल फुटबल सङ्घ एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, एन्फाकै वरिष्ठ उपाध्यक्ष बीरबहादुर खड्कालगायतले पुरस्कार प्रदान गर्नुभयो ।

युथ स्पोर्ट्स क्लबको आयोजना र सिन्धुपाल्चोक जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोग रहेको सिन्धुकपको विजेता भगवतीले नगद रु दुई लाख र उपविजेता काभ्रेले नगद रु एक लाख पाएको छ ।

आर्थिक परिवर्तनका लागि सुशासन पहिलो शर्त – उपप्रधानमन्त्री श्रेष्ठ

मन्थली – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न उच्च प्राथमिकता दिएको बताउनुभएको छ । उहाँले भन्नुभयो,“मुलुकमा समाजिक र आर्थिक परिवर्तनका लागि सुशासन पहिलो शर्त भएकाले सरकार अहिले मुलुकमा सुशासन कायम गर्न लागेको छ । ”

जिल्ला समन्वय समिति रामेछापले शनिबार आयोजना गरेको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सुशासन कायम गर्नका लागि भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ भन्नुभयो । उहाँले राजनीतिक परिवर्तन पछाडि मुलुकमा समाजिक र आर्थिक विकास हुँदै नभएको भने होइन, तर जनताको अपेक्षाकृत ढङ्गबाट हुनुपर्ने जति नभएको बताउनुभयो ।

अहिले संविधान कार्यान्वनको पक्षमा सरकार रहेकाले सामाजिक, आर्थिक परिवर्तन गर्नुपर्ने अवस्था रहेको पनि गृहमन्त्री श्रेष्ठ बताउनुभयो । उहाँले भन्नुभयो, “म जे बोल्छु त्यो गर्छु त्यसैले गर्न नसक्ने काम म बोल्दिनँ । अरुजस्तो गर्न नसक्ने काम बोलेर भाग्ने काम पनि गर्दिनँ ।”

कार्यक्रमका अवसरमा जिल्लामा भएका समस्यालाई समाधान गर्न र विकास निर्माणका काम गरिदिन विभिन्न राजनीतिक दलका प्रतिनिधि, पालिका प्रमुख एवं सङ्घीय तथा प्रदेश सांसदले गृहमन्त्री श्रेष्ठलाई आग्रह गरेका थिए ।

विरिङ नदीको पुल निर्माण अन्तिम चरणमा

झापा – हुलाकी राजमार्गको झापा सडकखण्डमा रहेको विरिङ नदीको पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा बनिरहेको सडकको सो पुल चालु आर्थिक वर्षको असार मसान्तसम्ममा सञ्चालनमा ल्याउने योजनाका साथ काम भइरहेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इन्जिनियर प्रमोद खतिवडाले बताउनुभयो ।

विसं २०६८ मै पुल निर्माण सुरु भएको हो । पुल निर्माण सुरुको १२ वर्षपछि बल्ल काम अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । सुरुमा ठेक्का लिएको ठेकेदार कम्पनीको लापारवाहीले पुल निर्माण ढिलो भएको उहाँको भनाइ छ । उहाँका अनुसार दुई वर्षअघि पुल निर्माणको काम पप्पु जेभीको पार्टनर महादेव खिम्तीले लिएको छ ।

उहाँले खोलामा पानीको बहाव छ महिनासम्म बढी हुने भएको कारण पुलको निर्माणमा ढिलाइ भएको बताउनुभयो । “वर्षा सुरु हुनेबित्तिकै खोलामा पानीको बहाव बढ्छ । नदीमा पानी बढी भएको बेला काम गर्न सकिँदैन । वर्षमा छ महिनामात्र काम हुने हुँदा र ठेकेदारको ढिलासुस्तीले गर्दा झनै ढिलो भइरहेको छ ।”

इन्जिनियर खतिवडाले पुलको ९८ प्रतिशत काम सकिँदा भने वित्तीय प्रगति ७० प्रतिशतमात्र भएको बताउनुभयो । राष्ट्रिय गौरवको आयोजना भएता पनि आर्थिक स्रोतको सुनिश्चित नहुँदा वित्तीय प्रगति कम भएको हो । उहाँले रु ३६ करोड बढीको लागतमा निर्माण भइरहेका पुलमाथि १९ वटा स्लाब लगाउनुपर्नेमा ११ लगाइसकिएको र बाँकी आठवटा लगाउने काम भइरहेको बताउनुभयो ।

“विगतको तुलनामा ठेकेदार कम्पनीको काम अलि स्लो भयो”, उहाँले भन्नुभयो, “सकेसम्म असार मसान्त नभए पनि भदौ असोजदेखि पुलमाथिबाटै सवारी कुद्ने वातावरण बन्छ”, समयमै पुल नबन्दा प्रत्येक वर्ष वर्षात्को समयमा स्थानीयवासीले बाँसको टाटीको अस्थायी पुल बनाएर खोलाबाट आवतजावत गर्र्दै आएका छन् ।

उहाँले सो सडकमा पर्ने कनकाई नदी र रतुवा खोलामा समेत पुल निर्माणको काम धमाधम भइरहेको बताउनुभयो । राष्ट्रिय गौरवको योजनाको रूपमा रहेको राजमार्गको झापा खण्ड ४८ किलोमिटर छ भने यहाँ आठ ठूला साना नदी छन् । जसमध्ये कन्काई, विरिङ र रतुवा नदीबाहेक अन्यमा पुल निर्माणको कार्य सम्पन्न भइसकेको इन्जिनियर खतिवडाले जानकारी दिनुभयो ।