अध्यादेशमा सबै दलले एउटै मत राख्ने सत्तारुढ दलको निर्णय


काठमाडौं । सत्तारुढ दलले संसदमा एक भएर प्रस्तुत हुने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको सत्तारुढ दलहरुको बैठकले संसदमा सत्तारुढ दल एक ढिक्का भएर प्रस्तुत हुने निर्णय गरेको हो ।
बैठकले अध्यादेशमा सबै दलले एउटै मत राख्ने निर्णय गरेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । अधिवेशनलाई बढीभन्दा बढी कानुन निर्माण गर्ने अधिवेशनका रूपमा अघि बढाउने निर्णय पनि बैठकले गरेको छ ।
बैठकमा प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएको विषयमा ब्रिफिङ गर्दै त्यसको बचाउमा सत्तारुढ दल एकढिक्का भएर संसदमा प्रस्तुत हुनुपर्ने बताएका छन् । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले पनि सबै दल एक ढिक्का हुनुपर्नेमा जोड दिएका थिए ।
सोमबारको बैठक मुख्य रुपमा संसदमा सत्तारुढ दल कसरी प्रस्तुत हुने भन्ने विषयमै केन्द्रित रहेर छलफल भएको थियो । यसअघि कांग्रेस र एमाले आआफ्ना संसदीय दलका बैठक राखेर आआफ्ना सांसदहरूलाई अध्यादेशबारे ब्रिफिङ गरेका थिए ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहदुर देउवा, एमाले उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादव तथा संसदीय दलका प्रमुख सचेतहरू सहभागी थिए।