हुलाकबाट घरघरमै सिमकार्ड !
काठमाडौं । नेपाल टेलिकमको सिमकार्ड लिन अब कार्यालय वा वितरण केन्द्र धाउनुपर्ने बाध्यता हट्ने भएको छ । टेलिकमले सेवाग्राहीलाई घरमै सिमकार्ड उपलब्ध गराउने सेवा सुरु गरेको हो।
यसका लागि हुलाक सेवा विभाग र नेपाल टेलिकमबीच सम्झौता भएको छ । प्रारम्भिक चरणमा पर्सा जिल्लाभरिका सेवाग्राहीलाई लक्षित गरी हुलाकमार्फत घरमै सिमकार्ड पुर्याउने व्यवस्था मिलाइएको हो ।
जिल्ला हुलाक कार्यालयका हुलाक अधिकृत नमनाथ यादवका अनुसार नेपाल टेलिकमको अनलाइन फाराम भरेपछि सेवाग्राहीले हुलाक सेवामार्फत सिमकार्ड घरमै प्राप्त गर्न सक्नेछन् ।
यसबाट सिमकार्ड लिन कार्यालयसम्म पुग्नुपर्ने झन्झट हट्ने उनको भनाइ छ ।
सेवाको सुरुवातसँगै हुलाकका कर्मचारीले वीरगञ्ज महानगरपालिका–१० रानीघाटकी किरणकुमारी चौहानको घरमै पुगेर पहिलो सिमकार्ड हस्तान्तरण गरेका छन् ।
यसअघि हुलाक कार्यालयले चिठीपत्र, पार्सल, द्रुत डाँक सेवा (ईएमएस) र हुलाक बचत बैंकजस्ता सेवा दिँदै आएको थियो । पछिल्लो समय सरकारी सेवा नागरिकको घरदैलोसम्म पुर्याउने माध्यमका रूपमा हुलाकको भूमिका विस्तार हुँदै गएको छ ।
हुलाक सेवा विभाग, यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीचको सम्झौताअनुसार सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) लगायत महत्त्वपूर्ण सरकारी कागजात पनि हुलाकमार्फत वितरण हुँदै आएका छन् ।
त्यस्तै, हुलाक वस्तु तथा पार्सल कहाँ पुगे भन्ने जानकारी अनलाइनबाटै लिन सकिने गरी ट्र्याकिङ प्रणालीसमेत व्यवस्थित बनाइएको विभागले जनाएको छ ।
