`

कञ्चनपुरमा ‘सिकलसेल’ रोगको जोखिम

दोधारा चाँदनी – पछिल्लो समय कञ्चनपुरमा सिकलसेलका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । सिकलसेल तराईमा रहेका रानाथारू समुदायमा बढी देखिने भएकाले कञ्चनपुर पनि जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

यो रोग एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जाने वंशाणुगत रोग भएको र यसले रानाथारू समुदाय बढी प्रभावित बनेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो रोग निरीक्षक सिद्धराज भट्टले जानकारी दिनुभयो । “यो रोग तराईमा बसोबास रहेको अधिकांश थारू समुदायमा देखिएको छ”, उहाँले भन्नुभयो, “यो रोग लागेका मान्छेबाट जन्मिएको २५ प्रतिशत बच्चामा पनि देखिन्छ ।”

उहाँले यसको कुनै उपचार नभएको बताउँदै सङ्क्रमितले नियमित चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्ने बताउनुभयो । “कञ्चनपुरमा यसको प्रकोप बढेको छ, अहिले यसको परीक्षणका लागि प्रदेश सरकारले निःशुल्क परीक्षण गरिरहेको छ”, उहाँले भन्नुभयो, “यो सिरियस रोग हो, यसका बिरामी स्वस्थजस्तै देखिन्छ, चेक गराएपछि मात्रै पत्ता लाग्छ ।”

सिकलसेलका बिरामी बढ्न थालेपछि स्वास्थ्य कार्यालयले शनिबार बेलौरी नगरपालिकामा सिकलसेल एनिमिया र थालेसिमिया रोग पहिचानका लागि निःशुल्क रगत परीक्षण शिविर सञ्चालन गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले सिकेलसेलबाट डगौरा थारू र रानाथारू समुदाय बढी प्रभावित रहेकाले बेलौरीबाट निःशुल्क रगत परीक्षण शिविरको सुरुआत गरिएको बताउनुभयो । “यो शिविर यहाँ १० दिनसम्म सञ्चालन हुनेछ । यस अवधिमा रानाथारू र डगौरा थारू समुदायका १० वर्षदेखि २५ वर्ष उमेर समूहका व्यक्तिको रगत परीक्षण हुन्छ”, उहाँले भन्नुभयो, “सम्बन्धित वडाका लागि तोकिएको स्थानमा गई रगत परीक्षण गर्न आग्रह गर्दछु ।”

बेलौरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयसिंह बोहराले बिरामी बढेपछि निःशुल्क परीक्षण शिविर सञ्चालन गरेको बताउनुभयो । “अहिले यहाँबाट तीन हजार बिरामीले औषधि सेवन गरिरहेका छन्”, उहाँले भन्नुभयो, “पालिकामा औषधि सेवनका लागि सिफारिस माग्न आउनेहरूको स¬ङ्ख्या बढेको छ ।” उहाँले यसका रोगीलाई पालिकाको सिफारिसमा महाकाली र सेती प्रादेशिक अस्पतालमा निःशुल्क औषधि पाउने बताउनुभयो ।

स्वास्थ्य शिविरमा स्वास्थ्य कार्यालय कञ्चनपुर, महाकाली प्रादेशिक अस्पताल र बेलौरीका स्वास्थ्यकर्मीको टोलीले रगत परीक्षणका लागि नमूना लिने कार्य गरिरहेको छ ।

आज प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ – आज प्रतिनिधिसभा बैठक बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्न लागेको हो । 

आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफल हुनेछ । जसअनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

यसअघिको बैठकमा वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको छलफल गरिएको थियो ।  

सम्भावित कार्यसूची अनुसार आजको बैठकमा लिलानाथ श्रेष्ठ र प्रेम सुवालले सङ्घीय मामिलाको, योगेश भट्टराईले पर्यटन मन्त्रालयको, कृष्णगोपाल श्रेष्ठ र सुमना श्रेष्ठले स्वास्थ्य मन्त्रालयको शीर्षकको रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव गर्नुहुने छ । 

आजको मौसम : कोसी प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ  – हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोसी, गण्डकी, कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहेको छ। 

गण्डकी प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै देशका बाँकी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । 

दिउँसो कोसी प्रदेशमा सामान्य बदली रहनुका साथै सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। 

कोसी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, कोसी प्रदेशका तराई भू-भागका साथै देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी तराई भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोसी प्रदेश र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। 

राती भने कोसी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी तराई भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ। 

कोसी प्रदेशका केही स्थानहरूमा, देशका बाँकी पहाडी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। 

देशका मध्य तथा पश्चिम तराईका भू-भागहरूमा अत्याधिक गर्मी हुने सम्भावना यथावत् देखिन्छ। कोसी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, कोसी प्रदेशका तराई भू-भागका साथै देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी तराई भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोसी प्रदेश र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। तसर्थ, अत्याधिक गर्मी, मेघ गर्जन र चट्याङ तथा वर्षाबाट हुनसक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०८० आषाढ ०३ गते (आइतबार)
दिउँसो:
 कोसी प्रदेशमा सामान्य बदली रहनुका साथै सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोसी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, कोसी प्रदेशका तराई भू-भागका साथै देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
राती: कोसी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी तराई भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ। कोसी प्रदेशका केही स्थानहरूमा, देशका बाँकी पहाडी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।कोसी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। 

२०८० असार​​​​​​​ ०४ गते (सोमबार)
दिउँसो
: कोसी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी तराई भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ। कोसी प्रदेशको केही स्थानहरूमा, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
​​​​​​​राती: कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी  प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

२०८०  असार ०५ गते (मङ्गलवार
दिउँसो: 
कोसी प्रदेशमा सामान्य बदली रही लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका बाँकी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी तराई भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ। कोसी प्रदेशको केही स्थानहरूमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती:  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी , मधेस, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानहरूमा साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र देशको बाँकी भू-भागका एक दुई स्थानमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी प्रदेश र मधेस प्रदेशको थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

ताप्लेजुङमा पहिराले एकै परिवारका तीनजना सहित चार बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिराले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् ।

स्थानीय कमल कडरियाका अनुसार पहिराले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् । यस्तै मेहेलेकै भरत तामाङसमेत बेपत्ता हुनुभएको छ । खोला छेउमा घर भएका तामाङले ठूलो वर्षा भएपछि बुवाआमालाई सुरक्षित क्षेत्रमा सारेर फर्किने क्रममा बेपत्ता भएका बताइएको छ ।

घटना क्षेत्रमा साब्लाखु प्रहरी चौकीबाट प्रहरीको टोली गइरहेको सिदिङ्वा गाउँपालिका उपप्रमुख बन्दना कडरियाले जानकारी दिनुभयो । मेहेलेका राजकुमार गौतमको एउटा घर बगेको छ भने अर्को घर जोखिममा छ । यस्तै देउकुमार लिङ्देन र गुमान राईको घर जोखिममा परेको छ भने मेहेले स्वास्थ्यचौकीको भवन पूर्णरूपमा पहिराले बगाएको छ ।

अहिले पनि निरन्तर वर्षा भइरहेकाले सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकाका अधिकांश नागरिक त्रसित छन् । बाढी र पहिराले जिल्लाका धेरैजसो सडक सञ्जाल पूर्णरूपमा अवरुद्ध छन् भने याम्फुदिन, खेवाङ, मेहेले, सुरुम्खिम, आङ्खोपसहितका ठाउँमा विद्युत्समेत ठप्प छ । मेची राजमार्ग र तमोर करिडोर क्षेत्रका विभिन्न क्षेत्रमा बाढी पहिरो आएपछि तराई जोड्ने सडक पनि अवरुद्ध बनेका छन् । थप क्षतिसहित यकिन विवरण आउन बाँकी छ ।

ताप्लेजुङमा बाढीले तीन घर बगायो, दोभान बजार जोखिममा

अबिरल वर्षासँगै आएको बाढीले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित आङ्खोपमा तीन घर बगाएको छ । गए राति इङ्वाखोलामा आएको बाढीले प्रेम सेलिङ, महेश्वर सेलिङ र गणेश सेलिङको घर बगाएको स्थानीय शिक्षक चैतन्य बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोही क्षेत्रका डिल्ली सेलिङ, रामबहादुर सेलिङ र मीन बुढाथोकीको घर जोखिममा छन् । वर्षासँगै आएको बाढी बस्तीतर्फ पसेपछि घर छाडेर सुरक्षित क्षेत्रमा सरेकाले मानवीय क्षति भएको छैन । बाढीले इङ्वाखोला जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ । खोला किनारको खेतीयोग्य जमिनसमेत बगाएको छ भने केही पशुचौपायासमेत बगाएको जनाइएको छ ।

यसैगरी मैवाखोलामा आएको बाढीले दोभानबजार जोखिममा परेको छ । बाढीले बजार क्षेत्र कटान गरेपछि दुई घर उच्च जोखिममा रहेको स्थानीय प्रदीप पोखरेलले बताउनुभयो । उहाँका अनुसार दीपक धिताल र सुकबहादुर लिम्बूको घर उच्च जोखिममा छन् । बाढी सामान्यतया घटे पनि पानीको बहाव घटेको छैन । मध्यरातमा बाढी आएपछि बजारका आधाजसो घरपरिवार अन्तै सरेका छन् । बाढीले मेरिङ्देन गाउँपालिकातर्फ जाने खोला किनारको सडकसमेत बगाएपछि बाटो पूर्णरूपमा अवरुद्ध बनेको बताइएको छ ।

मैवाखोला–२ र ५ नं वडा जोड्ने खार्तेखोलाको झोलुङ्गे पुल बगाएको स्थानीयले बताए । रातभर अत्यधिक वर्षासँगै ठाउँ–ठाउँमा बाढी र पहिरो झरेपछि जिल्लाका अधिकांश गाउँघरका मानिस रातभर नै जाग्राम बस्नुपरेको छ । जिल्लाका सबै ठाउँमा वर्षा भएको थियो । बिहीबार रातिमात्र सिरीजङ्घा गाउँपालिकाको याम्फुदिनमा बाढीले क्षति पुगेको थियो । यहाँका पाँचवटा सरकारी कार्यालय स्थानान्तरण गरिएको छ भने १५ घरपरिवार अन्तै सरेर बसेका छन् ।

यसैबीच मेची राजमार्गअन्तर्गत हिलिहाङ र फिदिम नगरपालिका जोड्ने हेवाखोलामा आएको बाढीले पुल बगाएपछि मेची राजमार्गसमेत पूर्णरूपमा अवरुद्ध भएको जनाइएको छ ।

पत्रकार एवं साहित्यकार विमल नेपालको ‘पीपला’ सार्वजनिक

काठमाडौं – पत्रकार एवं साहित्यकार विमल नेपालको पहिलो उपन्यास ‘पीपला’ सार्वजनिक गरेका छन् ।

शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा पुस्तक सार्वजनिक भएको हो। पुस्तक सार्वजनिक समारोहमा लेखक नयनराज पाण्डे, पत्रकार तथा समीक्षक राजकुमार बानियाँ र प्राध्यापक समीक्षक ज्ञानु अधिकारीले बोलेका थिए। कार्यक्रममा बोल्दै लेखक पाण्डेले नेपालको उपन्यास युद्ध साहित्यको एक महत्त्वपूर्ण ग्रन्थ हुनसक्ने बताए ।

इन्डिगो इन्कले प्रकाशन गरेको पुस्तक २८ अध्यायसहित २२९ पेजको छ। लेखक नेपालले आफ्नो पुस्तक धेरै राम्रो नभए अनि झुर भने नभएको भन्दै सबैलाई पढेर प्रतिक्रिया दिन आग्रह गरे।

चुरे क्षेत्रलाई उचित संरक्षण र व्यवस्थापन गर्नुपर्दछ : उपराष्ट्रपति

त्रिवेणी – उपराष्ट्रपति रामसहायप्रसाद यादवले चुरे क्षेत्रलाई उचित संरक्षण र व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ । नवलपरासी पूर्वको कावासोतीमा वृक्षरोपण कार्यक्रमको उद्घाटन कार्यक्रममा उहाँले अत्यन्तै संवेदनशील पर्यावरणीय एवं वातावरणीय अवस्था रहेको चुरे क्षेत्रलाई संरक्षण र उचित व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

उहाँले चुरेको विनाशले पानीको स्रोतमा कमी हुँदा तराई–मधेस सुक्खा र मरुभूमिकरणमा परिणत हुनसक्नेतर्फ सबै सचेत हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “तराई–मधेसमा पानीको स्रोत मानिने चुरे, भावर र तराई मधेस परस्पर अन्योयाश्रित छ । यसको विनाशले पानीको स्रोतमा कमी हुँदा नेपालको अन्न भण्डारको रूपमा रहेको मधेस सुक्खा र मरभूमिकरणमा परिणत हुनसक्छ ।”

जलवायु परिवर्तन र प्राकृतिक स्रोतको विनाशले चुरे क्षेत्रको संरक्षणमा चुनौती थपिएको भन्दै उपराष्ट्रपति यादवले यसको संरक्षणमा लाग्नुपर्ने बताउनुभयो । राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिको आयोजना, वन तथा पर्यावरण सुरक्षा निर्देशनालय हात्तीखोरको समन्वयमा नवौँ चुरे संरक्षण दिवसका अवसरमा आज कावासोतीमा वृक्षरोपण गरिएको हो ।

कावासोती नगरपालिका–६ स्थित विष्णुनगर सामुदायिक वनको आठ हेक्टर क्षेत्रफलमा १० हजार बिरुवा रोप्ने योजना रहेको वन तथा पर्यावरण सुरक्षा निर्देशनालय हात्तीखोरका प्रमुख सेनानी दीपेन्द्र बोगटीले बताउनुभयो । आज वृक्षरोपणको उद्घाटन गरिएको मौसमको अनुकूलता हेरी चाँडै यस क्षेत्रमा १० हजार बिरुवा लगाइने उहाँले बताउनुभयो । विभिन्न प्रजातिका फलफूलसहितका बिरुवा रोपिने उहाँले बताउनुभयो ।

लोमश शर्माको अभिनयमा नयाँ गीत ओ प्यारो सार्वजनिक

काठमाडौँ – सर्वप्रिय मोडल लोमश शर्माको अभिनयमा नयाँ गीत ओ प्यारो सार्वजनिक भएको छ । एलिना चौहान र राधे बिक्की कार्कीको स्वर रहेको गीत ओ प्यारो लाई गायक कार्कीले नै लेखेर सङ्गीत भरेका हुन भने जीवन बडुले सङ्गीत संयोजन सँगै मिक्सिङ्ग मास्टरीङ्ग गरेका छन् । गीतको अडियो बिग परिवेश स्टुडियोमा तयार भएको हो ।

अजय रेग्मीको छायाकंन,प्रबिन भट्टको को सम्पादन,मिलन विश्वकर्माको रङ्ग संयोजन र कुमार केसीको निर्देशनमा तयार गीतको भिडियोमा लोमशसँगै स्मारिका र समारिका ढकालको अभिनय देख्न सकिन्छ ।

युवापुस्तालाई लक्षित गर्दै तयार गीत ओ प्यारो लाई मोडल शर्माले आफ्नै अफिसियल युट्युब च्यानलबाट प्रसारण गरेका छन् ।
गीतले टिकटकमा पनि निरन्तर दर्शक श्रोताको भरपुर माया पाईरहेको छ ।

कृषकलाई शून्य ब्याजदरमा ऋण

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले व्यावसायिक कृषि गर्नेलाई शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको छ ।

सरकारले शुक्रबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा कृषि अनुदानमा देखिएका कमी–कमजोरीलाई सुधार गरी कृषि अनुदानको समुचित उपयोग गर्न शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरिएको उल्लेख छ ।

प्रदेश कृषि प्रवद्र्धन कोषको स्थापना गरी यस्तो कर्जा उपलब्ध गराउन रु चार करोड विनियोजन गरिएको छ । आगामी पाँच वर्षमा दलहन, मसला बाली र फलफूलमा आत्मनिर्भर हुने गरी ‘कृषिमा आत्मनिर्भर सुदूरपश्चिम प्रदेश’ भन्ने अभियान सञ्चालन गरिने सरकारको बजेट कार्यक्रममा उल्लेख छ ।

यसअन्तर्गत भटमास, ओखर, सुन्तला, स्याउ, अदुवा, खाद्यान्न बीउ, दूध, मासु र अण्डामा आत्मनिर्भर हुने गरी सबै जिल्लामा कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । कृषिजन्य वस्तुको प्रवद्र्धन बजारीकरणका लागि लागत साझेदारीमा कृषि एम्बुलेन्स सेवा सञ्चालन गरिने व्यवस्थासमेत गर्न लागिएको छ ।

रासायनिक मलको सहज उपलब्धताका लागि अनुदान समावेश नभएको एमोनियम सल्फेटलगायतका मलमा अनुदान उपलब्ध गराउने, कृषकको क्षमता अभिवृद्धि गर्न एक स्थानीय तह एक कृषक पाठशालाजस्ता कार्यक्रम पनि बजेट कार्यक्रममा समेटिएका छन् ।

चालु आर्थिक वर्षमा व्यावसायिक खेती गर्ने किसानलाई एक प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने प्रदेश सरकारको कार्यक्रम भने अपेक्षितरूपमा सफल हुनसकेको छैन ।

सुदूरपश्चिमका नौ जिल्लामा चालु आवमा यो कार्यक्रम कार्यान्वयन गर्नका लाग झण्डै रु १० करोड बजेट छुट्याइएको थियो । सुदूरपश्चिम प्रदेश सरकारले व्यावसायिकरूपमा कृषि तथा पशुपंक्षीपालन व्यवसाय गर्न चाहने कृषकलाई एक प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गराउने व्यवस्था दुई वर्षअघि गरेको थियो ।

कार्यक्रम कार्यान्वयन गराउन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास बैंक सुदूरपश्चिम प्रदेश कार्यालयका बीच सम्झौता भएको थियो । सम्झौताअनुसार कृषि विकास बैंकमार्फत कृषकले लिने कर्जाको ब्याजमा अनुदान दिने व्यवस्था गरिएको थियो ।

सूर्यविनायक-धुलिखेल सडक बिस्तार समयमै पूरा गर्न मन्त्री ज्वालाको निर्देशन

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माण व्यवसायीलाई सूर्यविनायक-धुलिखेल सडक बिस्तार समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

आज सडक अनुगमनका क्रममा मन्त्री ज्वालाले मन्त्रालयले राम्रो काम गर्नेलाई पुरस्कृत र काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई दण्डित गर्ने बताउनुभयो । मन्त्री ज्वालाको नेतृत्वमा सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाललगायतको टोलीले सडकखण्डको अनुगमन गरेको थियो ।

सूर्यविनायक-धुलिखेल सडकखण्ड दुई खण्डमा विभाजन गरी हाल सडक विस्तारको काम भइरहेको छ । हाल सडकका दुवै किनारमा पर्खाल निर्माण भइरहेको छ ।

कुल १६ किलोमिटर लम्बाइ रहेको यस सडकखण्ड विस्तारको काम गत वर्षबाट सुरु गरिएको हो । झन्डै रु आठ अर्ब ४२ करोड लागतमा निर्माण भइरहेको सडकखण्डमा तीन स्थानमा पक्की पुलसमेत निर्माण गरिने आयोजनाका प्रमुख राजेन्द्र दासले जानकारी दिनुभयो ।

तीन वर्षमा निर्माण सक्ने लक्ष्य राखिएको यो सडकमा २० मिटरको मुख्य र दायाँ-बायाँ पाँच-पाँच मिटरको सर्भिस लेन र साढे दुई मिटरको पैदलयात्रुमार्गको निर्माण गरिनेछ ।

वार्षिक १० हजार रोजगारी सिर्जना गर्ने कर्णाली प्रदेश सरकारकाे लक्ष्य

कर्णाली – कर्णाली प्रदेश सरकारकारले बहुक्षेत्रीय उपयोग र साझेदारीमा कर्णाली समृद्धिको अभियान अगाडि बढाउने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा सो अभियान अघि बढाउने उल्लेख छ ।

प्रदेश सरकारले बहुक्षेत्रीय उपयोग र साझेदारीमा कर्णाली समृद्धि अभियानमार्फत प्रत्येक वर्ष १० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको हो । यसका लागि प्रदेश गौरवका आयोजना, बहुवर्षीय, अधुरा, क्रमागत तथा नतिजामुखी नयाँ आयोजना अध्ययन गरी कार्यान्वयनमा तीव्रता दिइने प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले बताउनुभयो ।

उहाँका अनुसार यसका लागि स्वास्थ्य पूर्वाधार, जनशक्ति र संस्थागत सुदृढीकरणमा जोड दिइने छ । साथै प्रविधिमैत्री, गुणस्तरीय ज्ञानका लागि उच्च शिक्षामा लगानी गर्ने, कृषिको आधुनिकीकरणमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, वन, उद्योग, पर्यटन प्रवद्र्धन र पर्यावरण संरक्षण, सामाजिक सचेतना, न्याय र समावेशीकरण, सार्वजनिक वित्त व्यवस्थापनमा सुधार, सुशासन प्रवद्र्धन र गुणस्तरीय तथा पहुँचयोग्य सार्वजनिक सेवा प्रवाहमा उच्च प्राथमिकता दिइनेछ ।

मन्त्री सिंहले समृद्ध कर्णाली, सुखारी कर्णालीवासीको दीर्घकालीन सोचमा टेवा पुग्ने गरी रोजगारीमार्फत स्वरोजगारी सिर्जना गर्ने, प्रदेश सरकारको प्रथम पञ्चवर्षीय योजनाअनुसार विकासका गतिविधि बढाइने बताउनुभयो ।

आगामी आवका लागि भौतिक पूर्वाधार, यातायात र सहरी विकासका क्षेत्रमा रु १० अर्ब ११ करोड ४२ लाख बजेट विनियोजन गरेको सरकारले सबै मन्त्रालयको एकीकृत तथा आधुनिक भवन निर्माणका लागि बजेट विनियोजन गरेको छ ।

आगामी आवको बजेटमा जलवायु परिवर्तनबाट हुने विपद्लाई कार्यान्वयन गर्दै हिमाली सङ्कटग्रस्त क्षेत्र घोषणा भएका चार जिल्लामा एकीकृत बस्ती विकास आयोजनाका लागि बजेट विनियोजन गरिएको छ । डोल्पाको रिग्म बस्ती विकास कार्यक्रम सञ्चालनका लागि रु १० करोड विनियोजन गरिएको छ भने हुम्लाको सिमकोट पूर्वाधार विकास गरी नमूना एकीकृत पूर्वाधार विकासका लागि रु १८ करोड विनियोजन गरिएको छ ।

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमका लागि रु एक अर्ब १२ करोड विनियोजन गरिएको छ । यद्यपि यस कार्यक्रममा लागि रु २० लाखभन्दा मुनिका आयोजना छनोट गर्न नपाउने व्यवस्था गरिएको छ । जुम्लाको कनकासुन्दरीमा प्रशिक्षण तालिम केन्द्र भवन निर्माणका लागि बजेट विनियोजन गरिएको छ । एकीकृत बस्ती विकास कार्यक्रमलाई निरन्तरता दिइएको छ । राष्ट्रिय विद्युत् प्रसारण लाइन नपुगेका ठाउँमा वैकल्पिक माध्यमबाट विद्युतीकरण गरिने छ ।

‘नदीमाथि गरा, बनाउँछौँ हराभरा’

कर्णाली जनता सिँचाइ कार्यक्रममा लागि रु छ करोड विनियोजन गरिएको छ । प्रदेश सरकारले ‘नदीमाथि गरा, बनाउँछौँ हराभरा’ कृषिसम्बन्धी नयाँ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
प्रदेश सरकारले महामारी नियन्त्रण तथा प्रतिकार्य योजनाका लागि रु दुई करोड विनियोजन गरेको छ । टेलिमेडिसीन सेवालाई थप प्रभावकारी बनाइने, खोप अभियानलाई तीव्र बनाई आगामी आवमा प्रदेशलाई पूर्णखोप घोषणा गरिने, महिला स्वास्थ्य स्वयंसेविकालाई वार्षिक रु १० हजार प्रोत्साहन भत्ता दिइने समेत बजेटमा उल्लेख छ ।

यसैगरी सुर्खेतस्थित प्रदेश अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने, प्रदेश अस्पताल सुर्खेतको तला थप गर्न रु ५५ करोड ५६ लाख विनियोजन गरिएको छ । कर्णालीका सबै जिल्ला अस्पताललाई ५० शय्याको अस्पताल बनाइने, सुत्केरी पोषण कार्यक्रम, पोषिलो पीठो वितरण कार्यक्रम, विपन्नलाई स्वास्थ्य बीमा कार्यक्रम, विपन्नलाई प्रेषणमा यातायात खर्च उपलब्ध गराउने, नागरिक स्वास्थ्य परीक्षण सेवा सञ्चालन गर्ने कार्यक्रमलाई निरन्तरता दिइने बजेटमा उल्लेख छ ।

बजेटमा मिर्गौला डायलायसिस सेवा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सल्यानबाट सेवा विस्तार गर्ने, निःशुल्क र अतिआवश्यक औषधिको सहज आपूर्ति हुने व्यवस्था मिलाउन र ‘छोरीहरूको जीवन निर्वाह’ कार्यक्रमका लागि रु २५ करोड बराबरको रकम बजेटमा विनियोजन गरिएको छ । ‘कृषिको अनुदान, कृषकको खातामा’ भन्ने नाराका साथ अनुदानको कार्यक्रम ल्याइएको छ ।

महिला आयआर्जन विकासका लागि रु सात करोड विनियोजन गरिएको छ भने महिलाको स्वामित्वमा रहेका उद्योगलाई प्रोत्साहन कार्यक्रम, भौगोलिक पहिचानसँग जोडिने उद्योग सञ्चालनका साथै प्रदेशको औद्योगिक ऐन तर्जुमा गरिनेसमेत मन्त्री सिंहले बताउनुभयो ।

प्रदेश सरकारले एक जिल्ला एक उत्पादन, सीपसँग सहयोग कार्यक्रमबाट उत्प्रेरित गर्ने, रैथाने उत्पादनको बजारीकरणका निम्ति सौगात घर स्थापना र अनलाइन सौगात डट कम सञ्चालन गर्ने तथा विशिष्टीकृत वस्तुको उत्पादन प्रशोधनका लागि प्राविधिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । दशौँ राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै प्रदेश गौरवको रङ्गशालाका लागि रु ८५ करोड बढी रकम विनियोजन गरेको छ ।

चालु आवमा रु ३२ अर्ब ६१ करोड ६१ लाख ६२ हजार वार्षिक बजेट ल्याएको प्रदेश सरकारले आगामी आवका लागि रु ३३ अर्ब ३७ करोड ९७ लाख सात हजार बजेट बिनियोजन गरेको छ ।

काशीखोला खानेपानी आयोजना निर्माणमा ढिलाइ

गोरखा – गोरखाको भीमसेन थापा गाउँपालिका–४ धावामा दुई वर्षअघि नै निर्माण सम्पन्न भइसक्नुपर्ने खानेपानी आयोजना अझै सम्पन्न हुनसकेको छैन । वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका चौतारा टोल, दमैगाउँ, अम्बोटे, घडेरी गाउँका स्थानीयवासीलाई खानेपानीको सुविधा पुर्याउने उद्देश्यले निर्माण सुरु भएको आयोजना चार वर्ष बितिसक्दा पनि सम्पन्न हुन नसकेको निवर्तमान वडाध्यक्ष मदनकुमार शाक्यले जानकारी दिनुभयो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले २०७६ असारमा दुई वर्षभित्र आयोजना निर्माणको काम सम्पन्न गर्ने गरी कङ्काई गोरखा एप्रोपिरेट जेभीसँग ठेक्का सम्झौता गरेको थियो । तर आयोजना अहिलेसम्म पनि सम्पन्न हुन नसकेको उहाँले बताउनुभयो । “पछिल्लो समय झन्डै एक वर्ष आयोजना निर्माणको काम नै भएन”, श्रेष्ठले भन्नुभयो, “फेरि गएको जेठको अन्तिम सातादेखि भने ठेकेदारले काम थालेको छ ।”

आयोजनाको अहिलेसम्म ७५ प्रतिशतमात्र भौतिक प्रगति भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाका प्रमुख किरण पौडेलले जानकारी दिनुभयो । “भौतिक प्रगतिको अवस्था हेर्दा ७५ प्रतिशत काम सम्पन्न भइसकेको छ”, उहाँले भन्नुभयो, “आयोजनाअन्तर्गत अहिलेसम्म तीनवटा पानीट्याङ्की, प्रशोधन प्रणाली संरचना निर्माण तथा पाइप खरिदको काम सम्पन्न भइसकेको छ ।”

उहाँले आयोजना निर्माणको ढिलाइ हुनुमा ठेकेदारको ढिलासुस्तीसँगै बजेटको अभाव पनि मुख्य रहेको दाबीसमेत गर्नुभयो । “आयोजना सुरु भएको पहिलो र दोस्रो वर्षमा पर्याप्त बजेट भएन”, प्रमुख पौडेलले भन्नुभयो, “त्यसबाहेक ठेकेदारको ढिलासुस्ती पनि निर्माण ढिलाइको अर्को कारण हो ।” ठेकेदार कम्पनीले काम नगर्दा २०७८ मा आयोजनाको रु ३५ लाख बजेट फ्रिज भएको प्रमुख पौडेलले जानकारी दिनुभयो ।

सम्झौताअनुसार ठेकेदारले २०७८ वैशाखभित्रै आयोजना निर्माण सम्पन्न गर्नुपर्ने थियो । निर्धारित समयमा काम सम्पन्न गर्न नसकेपछि कार्यालयले दुई पटकसम्म म्याद थप गरिसकेको प्रमुख पौडेलले बताउनुभयो । “दोस्रोपटक थप गरिएको म्यादअनुसार २०८० असार मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नुपर्नेछ”, उहाँले भन्नुभयो, “तीव्रताका साथ काम गरे थपिएको समयमा काम सम्पन्न गर्नसक्ने अवस्था छ ।”

आयोजना निर्माणको काममा ढिलाइ भए पनि कार्यालयले ठेकेदार कम्पनीलाई मूल्य समायोजन रकम उपलब्ध गराउन नपर्ने भएकाले ठेकेदारले सम्झौता गरिएको रकममा नै आयोजना निर्माणको काम सम्पन्न गर्नुपर्ने उहाँले जानकारी दिनुभयो । कार्यालयले ठेकेदार कम्पनीलाई पेश्की रु १० लाखसहित अहिलेसम्म रु तीन करोड ८५ लाख भुक्तानी गरिसकेको छ ।

पानी ट्याङकीबाट घर–घरमा पानी पुर्याउन पाइलाइन खन्नेलगायतका काम जनसहभागिताबाट गर्नुपर्ने भएकाले आवश्यक पहल भइरहेको प्रमुख पौडेलले बताउनुभयो । प्रदेश सरकारको क्रमागतअन्तर्गतको विशेष अनुदान कार्यक्रमबाट आयोजना निर्माणको सुरु भएको थियो ।

चालु आर्थिक वर्षमा निर्माण सम्पन्न भए पनि भुक्तानी रकम सबै दिन आगामी आर्थिक वर्षको बजेट पर्खनुपर्ने बाध्यता कार्यालयलाई रहेको प्रमुख पौडेलले जानकारी दिनुभयो । खानेपानी आयोजना निर्माणको काम सम्पन्न नहुँदा त्यहाँका स्थानीयवासी आधा घण्टा लगाएर डोकोमा पानी बोकेर खान बाध्य छन् ।

समानतासहितको स्वतन्त्रता आजको आवश्यकताः अध्यक्ष नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समानतासहितको स्वतन्त्रता आजको आवश्यकता भएको बताउनुभएको छ ।

रौतहट-काठमाडौँ सम्पर्क मञ्चद्वारा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष नेपालले जनताको लामो सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिपछि पनि समाजमा अझै पनि आर्थिक, सामाजिक, सांस्कृतिक, भाषिकलगायतका विभेदको कायम रहेको भन्दै यसको अन्त्यका लागि सबै एकताबद्ध हुनुपर्ने बताउनुभयो ।

नेपाली कम्युनिष्ट आन्दोलनमा देखापरेको विकृति आत्मकेन्द्रित व्यक्तिवाद भएको बताउँदै उहाँले संविधान र लोकतन्त्रको रक्षाका निम्ति विद्रोह गरी नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा, पुनर्गठन, विकास र रूपान्तरणका लागि आफूहरू समाजवादी मोर्चा निर्माणको अन्तिम चरणमा जुटेको बताउनुभयो ।

अध्यक्ष नेपालले नागरिकका राजनीतिक अधिकारका साथै आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारका निम्ति पनि बोल्नुपर्छ भन्ने उद्देश्यले माक्र्सवादको उदय भएको भन्दै सम्पूर्ण नेता तथा कार्यकर्तालाई त्यस्ता क्षेत्रमा क्रियाशील हुन निर्देशन दिनुभयो ।

सामाजिक एकता र आदर्श समाज निर्माणका लागि कम्युनिष्ट सिद्धान्तले पथप्रदर्शन गरेको बताउँदै उहाँले मानव कल्याणका लागि सामाजिक न्याय, समानताका साथै भातृत्वको खाँचो औँल्याउनुभयो । सो अवसरमा रौतहट–काठमाडौँ सम्पर्क मञ्चका नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

सूचना तथा प्रविधिको बढ्दो प्रयोगसँगै सुरक्षा आजको मुख्य चुनौती : मन्त्री शर्मा

देउखुरी – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षासम्बन्धी कमजोर कानुनका कारण आम नागरिकदेखि सरकारकै सूचनाको गोपनीयतामा चुनौती थपिएको बताउनुभएको छ । दाङको घोराहीमा सञ्चार, साइबर सुरक्षा नीति र कानुन विषयक राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उहाँले सूचना तथा प्रविधिको बढ्दो प्रयोगसँगै यसको सुरक्षा अहिलेको मुख्य चुनौती भएको बताउनुभयो ।

सरकारका प्रवक्तासमेत रहनु भएका मन्त्री शर्माले सरकारले साइबर सुरक्षासम्बन्धी कानुन निर्माण गर्न लागेको जानकारी दिनुभयो । प्रविधिको गलत प्रयोगका कारण बालबालिका, किशोर–किशोरीदेखि आम नागरिकमा विभिन्न खालका समस्या सिर्जना भएको उल्लेख गर्दै उहाँले कानुन निर्माणसँगै सामाजिक सञ्जालको प्रयोगसम्बन्धी सर्वसाधारण नागरिकलाई चेतना प्रवाह गर्न आवश्यक रहेको बताउनुभयो ।

सामाजिक सञ्जालको गलत प्रयोगको सिकार नागरिक हुनुपरेको बताउँदै उहाँले सूचना प्रविधि तथा सामाजिक सञ्जालका बारेमा सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो । नेपाल टेलिकमले दाङ जिल्लाभित्र सञ्चारको अवस्था कस्तो छ भनेर अनुसन्धान गरेको जानकारी दिँदै मन्त्री शर्माले भन्नुभयो, “सूचना र प्रविधित्रमा सबैलाई पहुँच हुनुपर्छ । कुन स्थानमा के आवश्यकता छ ? आवश्यकताअनुसार हामी काम अगाडि बढाउनेछौँ ।”

उहाँले नेपालमा सूचना प्रविधिको प्रयोगलाई बढाउँदै आयआर्जनका माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । त्यसका लागि सूचना र प्रविधिसँगै सामाजिक सञ्जालको सही प्रयोगसम्बन्धी आम नागरिकलाई ज्ञान हुनुपर्ने मन्त्री शर्माले बताउनुभयो । राप्ती इन्जिनिरिङ कलेज सञ्चालक समितिका अध्यक्ष डा शैलेन्द्र गिरीको अध्यक्षतामा भएको सम्मेलनले कम्प्युटर, सूचना प्रविधि, साइबर सुरक्षा, नीति र कानुनका विषयमा सहभागीबीच छलफल, ज्ञान आदान–प्रदान गरिएको थियो ।

हेलम्बुले काठमाडौँबासीलाई लगाएको गुन तिर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

अम्बाथान – विसं २०७८ असार १ गते भीषण बाढी नआएको भए राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको काम यतिबेला धमाधम चलिरहेको हुन्थ्यो । याङ्ग्री र लार्के खोलाको थप पानी ल्याउने र राजधानी काठमाडौँको तिर्खा मेट्ने योजनाले नयाँ गति लिएको हुन्थ्यो ।

तर, प्राकृतिक विपत्तिका अगाडि केही लागेन । निर्माण सम्पन्न भइसकेको आयोजना पर धकेलियो । जसले बर्षाको समयमा पानी बन्द गर्नुपर्ने अवस्था आइलाग्यो । फलस्वरुप गत वर्ष जस्तै यसवर्ष पनि बर्खामा पानी पठाउने कि नपठाउने भन्नेमा मेलम्ची खानेपानी विकास समितिले अझै निर्णय लिन सकेको छैन । मनसुन भर्खर शुरु भएकाले आगामी दिन कस्तो रहला भन्ने अहिल्यै अनुमान गर्न गाह्रो छ ।

सोही आयोजनाको समग्र अवस्थाको बारेमा जानकारी लिन र आगामी योजनाको बारेमा उपयुक्त निर्णय लिनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको उच्चस्तरीय टोली आज आयोजना स्थलमै पुग्यो । टोलीमा खानेपानी मन्त्री महेन्द्रराय यादव, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, बाग्मती प्रदेशसभा सदस्यद्वय युवराज दुलाल र सरल सहयात्री पौडेललगायत हुनुहुन्थ्यो ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले आयोजनाको समग्र पक्षका बारेमा जानकारी मात्रै लिनुभएन, स्थानीयसँग यसलाई दिगो बनाउने र आयोजनाको दोस्रो खण्डलाई छिट्टै कार्यान्वयनमा ल्याउने बाचा पनि गर्नुभयो । काठमाडौँलाई पानी पठाएर हेलम्बुले लगाएको गुन तिर्न प्रधानमन्त्रीले स्थानीयले राखेका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

आयोजना सञ्चालन गरिरहेको मेलम्ची खानेपानी विकास समिति केही समय अन्यौलमा पर्दा परेको उल्झनका साथ साथै पानी पठाउने स्थललाई दिगो र भरपर्दो बनाउने विषयमा पनि प्रधानमन्त्रीले चासोपूर्वक पदाधिकारीको धारणा सुन्नुभयो ।

सरकारले अगाडि बढाएका राष्ट्रिय गौरवका हरेक आयोजनामा पुगेर तत्काल नै समस्या समाधान गर्ने बताउँदै आउनुभएका प्रधानमन्त्री प्रचण्ड नै मेलम्ची पुग्दा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठलाई पनि थप बल मिलेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रिय गौरवका आयोजनाको नियमित र व्यवस्थित सञ्चालनका लागि मुलुकको कार्यकारी प्रमुखले नै चासो लिएर स्थलगत अनुगमन गरेपछि हाम्रा समस्याहरु अब समाधान हुन्छन् भन्ने विश्वास पैदा भएको छ ।”

काठमाडौँ पानी पठाउने सुरुङको मुखै अगाडि उभिएर प्रधानमन्त्रीले भन्नुभया, “यसलाई सुरक्षित र व्यवस्थित बनाउन के–के गर्नुपर्छ । त्यसका लागि सरकार पूर्ण प्रतिबद्ध छ ।” प्रधानमन्त्रीको सो भनाइ लगत्तै कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो, “त्यसका लागि आवश्यक तयारी भइसकेको छ । हामी सुत्रवद्ध रुपमा पेश गर्छौ ।”

आयोजना स्थलका साथै इन्द्रावती नदीको तल्लो र माथिल्लो तटीय क्षेत्रमा नै बाढीले थुपारेको ढुङ्गा, बालुवा र गेग्रयानको व्यवस्थापन उत्तिकै चुनौतीपूर्ण छ । आयोजना स्थल पुग्ने सडकको अवस्था पनि दुरुहपूर्ण छ । पुनःनिर्माणको काम जारी रहेपनि अपेक्षित गतिमा छैन । यी सबै विषयमा ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “आयोजनाको गम्भीरतालाई मध्यनजर गर्दै यसलाई दिगो बनाउन सरकारको तर्फबाट सबै प्रकारको सहयोग उपलब्ध हुन्छ ।”

प्रधानमन्त्रीले स्थानीयको माग सम्बोधन गर्न पनि कुनै कसर बाँकी नराख्ने विश्वास दिलाउनुभयो । आयोजनास्थल प्रधानमन्त्री आउँदै गरेको थाहा पाएर हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्याल्मोलगायतका पदाधिकारी पनि आफ्ना समस्या सुनाउन उपस्थित हुनुहुन्थ्यो ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङको ७५ प्रतिशत भाग सोही गाउँपालिकाभित्र पर्छ । दोस्रो चरणको याङ्ग्री र लार्के आयोजनाको सुरुङको ५० प्रतिशत भाग पनि सोही गाउँपालिकामा पर्नेछ ।

कहिल्यै बिर्सदैनन् मेलम्चीबासीले त्यो असार
विसं २०७८ असार १ र सोही वर्षको साउन १६ र १७ गते मेलम्ची खोलामा आएको भीषण बाढीका कारण सो गाउँपालिकामा पर्ने मेलम्ची खोनेपानीको मुहान क्षतिग्रस्त भयो । खोला आसपासमा अधिकाशं बस्तीहरु तिम्बु, हल्दे, चिउरीखर्क, किउल बगर, गणेशे, चनौटे, ग्याल्थुम, पाल्चोक बेसीलगायतका तीन सय नौ वटा निजी आवास तथा घर पूर्णरुपमा क्षतिग्रस्त भए ।

व्यावसायिक रुपमा रहेका १० वटा ट्राउट माछा फार्म, एक हजार आठ सय ७३ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भयो । कूल छ वटा मोटरेबल पुल, सात वटा झोलुङ्गे पुल पूर्णरुपमा क्षतिग्रस्त भए । आयोजानमा कार्यरत तीन चिनियाँ, तीन भारतीय गरी २४ जनालाई बाढीले बगायो । त्यसमध्ये १५ नेपाली र पाँच विदेशी अझै बेपत्ता छन् ।

बाढी आएको दुई वर्ष पूरा हुँदा समेत बाढी पीडितको समस्या समाधान नभएकामा स्थानीय चिन्तित र आक्रोशित छन् । ती सबै विषयमा प्रधानमन्त्री प्रचण्डले गम्भीरतापूर्वक सुन्दै समस्या समाधानका लागि सरकारले ठोस पहल गर्ने बताउनुभयो ।

दोस्रो खण्डको काम तदारुकताका साथ अगाडि बढाइन्छः प्रधानमन्त्री

प्रधानमन्त्री प्रचण्डले मेलम्ची खानेपानी आयोजना अन्तर्गतको दोस्रो खण्ड याङ्ग्री र लार्केको काम तत्कालै अगाडि बढाइने बताउनुभयो । स्थलगत निरीक्षणपछि सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै उहाँले भन्नुभयो, “मेलम्ची राष्ट्रिय गौरवको आयोजना हो । यस आयोजनालाई समयमै सम्पन्न गर्ने र काठमाडौंबासीलाई स्वच्छ पिउनेपानी उपलब्ध गराउने र यस क्षेत्रका जनतालाई आवश्यक सुविधा उपलब्ध गराउने उद्देश्यका साथ यो आयोजना सुरु गरिएको थियो । काठमाडौंका जनतालाई खानेपानीको समस्याबाट मुक्त गर्ने विषय आफैमा धेरै संवेदनशील छ ।”

प्रधानमन्त्रीले काठमाडौँबासीलाई पानी खुवाउने यहाँका जनताको पनि आवाज आफूले सुनेको र समस्या समाधानमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । प्राकृतिक विपत्तिले परियोजनामा कल्पना नै नगरिएको क्षति भएको उहाँको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यहाँ आएको बाढी कसैले पनि प्रक्षेपण गरेको कुरा होइन । यत्रो बाढी आउला भनेर आयोजना निर्माण गर्ने समयमा इन्जिनियर वा त्यो कसैले पनि परिकल्पना गर्ने विषय पनि होइन ।” उहाँले दुई वर्ष पहिले असार १ गतेका दिन आयोजनाले समयमै पानी बन्द नगरेको भए सुरुङमा गेग्रयान भरिएर परियोजना नै असफल हुनसक्ने खतरा टरेको स्मरण गर्नुभयो ।

प्रधानमन्त्रीले विपत्तिको जोखिम कायमै भएकाले अर्को विकल्पको खोजी गर्नुपर्ने र त्यसको आवश्यक तयारी गर्नुपर्ने बताउनुभयो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले कठिन अवस्थामा पनि काठमाडौंमा पानी पठाउन मेहनत गरेका आयोजनाका इन्जिनियर र प्राविधिकलाई धन्यवाद दिनुभयो । उहाँले आयोजनाको आकस्मिक कामका लागि छुट्टै बजेटको प्रबन्ध गरिने समेत जानकारी दिनुभयो ।

‘‘खानेपानी आयोजनाको काम सम्पन्न भइहाल्यो भनेर अचानक विकास समिति खारेज गर्ने, काम पूरा नगर्ने अवस्था देखियो”, उहाँले भन्नुभयो, “यहाँ तत्काल काम गर्नुपर्‍यो वा अर्को दुर्घटना हुन लाग्यो भने तुरुन्तै केही गर्नुपर्ने अवस्था आए त्यसका लागि सरकारले आवश्यक बजेट विनियोजन गर्नेछ ।”

उहाँले सो परियोजना समपन्न गर्नुका साथै आकस्मिक घटनालाई रोकथाम गर्ने विषयमा आफ्नोतर्फबाट पूर्ण सहयोग हुने विश्वास दिलाउनुभयो ।

सो अवसरमा खानेपानी मन्त्री महेन्द्र यादवले आयोजनाको दिगो र दीर्घकालीन व्यवस्थापनका लागि ठोस रणनीति बनाएर सरकार अगाडि बढ्ने बताउनुभयो । उहाँले आयोजनाको समग्र अवस्था र बाढीलगायतका विषयमा क्यानडाका प्राविधिकले अध्ययन गरिरहेको समेत जानकारी दिनुभयो ।

नेपालको भूमिमा चीन विरोधी गतिविधि हुन दिन्नौँ : अध्यक्ष तिमिल्सिना

काठमाडौँ, २ असार (रासस) :
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको भूमिलाई चीनको अखण्डतामा आँच आउने कुनै गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बतमा आयोजित पाँचौँ चीन तिब्बत पर्यटन तथा संस्कृति एक्स्पोलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल सधैँ एक चीन नीतिको पक्षमा स्पष्ट रूपमा अडिग रहेकाले स्पष्ट गर्नुभयो । विश्व शक्तिको रूपमा उदाएको चीनले भौगोलिक र सामरिक हिसाबले सानो छिमेकी मुलुक नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्ताको सम्मान गर्दै आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नेपाल पनि सधैँ एक चीन नीतिको पक्षमा स्पष्ट रूपमा अडिग छ र आफ्नो भूमिलाई चीनको अखण्डतामा आँच आउने गतिविधिका लागि प्रयोग हुन नदिन प्रतिबद्ध छ ।”

नेपाल–चीनले एक अर्काको स्वाभिमानलाई सम्मान गर्दै आएको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “शान्तिपूर्ण सहअस्तित्वका पञ्चशीलका सिद्धान्तका आदर्शहरूमा दुवै देशको अटल विश्वास छ । चीन र नेपाल एक अर्काको स्वाभिमान, अस्तित्व र अखण्डताको सधैँ सम्मान गर्दै आएका छन् ।” विश्व व्यवस्थालाई न्यायोचित, समावेशी, निष्पक्ष र नियममा आधारित बनाउन तथा आर्थिक विश्वव्यापीकरण र बहुपक्षीयतालाई प्रवर्द्धन गर्न र गरिबी निवारणमा चीनले हासिल गरेको उपलब्धि विश्वका लागि एक अनुपम उदाहरण बनेको चर्चा गर्दै अध्यक्ष तिमिल्सनाले विकासोन्मुख र अतिकम विकसित मुलुकको हित प्रवर्द्धनार्थ चीनले खेल्दै आएको नेतृत्वदायी भूमिकाको सराहना पनि गर्नुभयो ।

उहाँले नेपाल र तिब्बतबीच ऐतिहासिक समयदेखि चलिआएका व्यापार र लगानी नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धका आधारभूत खम्बा भएको बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले कोभिड महामारीका समयमा नेपाल र चीनबीचको व्यापार र लगानीका गतिविधिहरु प्रभावित भएको तथा अहिले तीन वटा नाकाहरु खुला भएकाले यसले व्यापार र लगानीमा प्रवर्द्धन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मुस्ताङ र तिब्बतको ढोङवासेन जिल्लाको सिमानामा पर्ने कोरल्ला नाकालाई छिटो सञ्चलान गर्न आवश्यक रहेको बताउँदै उहाँले नेपालको उत्तरमा तिब्बत र दक्षिणमा भारत जोड्ने कालीगण्डकी करिडोर निर्माण अन्तिम चरणमा रहेकाले कालीगण्डकी करिडोर हुँदै मानसरोवर यात्रासमेत छोटो र सहज हुने धारणा राख्नुभयो ।

कोराला नाकामा तिब्बततर्फ भन्सार पूर्वाधारको निर्माण कार्य तीव्र रुपमा अगाडि बढिरहेको र नेपालतर्फ भन्सार पूर्वाधारको निर्माण कार्य सुरु गर्न नसकिएको अवस्थामा नेपालतर्फ भन्सार पूर्वाधार बनाउन तिब्बत सरकारको सहयोगको अपेक्षा गरेको अध्यक्ष तिमिल्सिनाको भनाइ छ ।

उहाँले नेपालको मुस्ताङ जिल्ला र तिब्ब्तको ढोङवासेन जिल्लाको सिमानामा हरेक वर्ष जुन र सेप्टेम्बर महिनामा लाग्दै आएको नेचुङ (लिक्ची) मेला रोकिएको हुँदा मेला सुचारु गर्न पनि आग्रह गर्नुभयो । अध्यक्ष तिमिल्सिनाले नेपालबाट तिब्बततर्फ निकासी हुने जनवारको आहारमा प्रयोग हुने तयारी घाँस तथा फलफूल, तरकारी र जडिबुटी जस्ता कृषिजन्य उत्पादनको निकासीमा तिब्बत सरकारले भन्सार प्रक्रिया सहजीकरण गर्दा दुई देशबीचको व्यापार असन्तुलन घट्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

उहाँले काठमाडौँदेखि ल्हासा, पोखरा र भैहरवा सीधा उडान सुचारू गर्दै कैलाश मानसरोवर यात्रा अनुमतिको प्रक्रियामा सहजीकरण भएमा दुवै देशमा पर्यटकीय गतिविध बढ्ने भन्दै तिब्बत सरकारको ध्यानाकर्षण गराउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

देशप्रति समर्पित राष्ट्रिय शक्ति निर्माण आवश्यक : अध्यक्ष ओली

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशप्रति समर्पित राष्ट्रिय शक्ति निर्माण आवश्यक रहेको बताउनुभएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले इमान्दारितमका साथ देशप्रति समर्पित र जनतालाई सुखी बनाउन सक्ने राष्ट्रिय शक्ति निर्माण आवश्यक रहेको बताउनुभएको छ ।

“हामी एउटा राष्ट्रिय शक्ति निर्माण गर्न चाहन्छौँ, जो देशप्रति समर्पित होस र त्यसले मुलुकको चौतर्फी विकास, सुरक्षा तथा न्याय प्रदान गर्न सकोस”, उहाँले भन्नुभयो । अध्यक्ष ओलीले कसैले पनि पराजित गर्न नसक्ने खालको राष्ट्रिय शक्ति निर्माणको आवश्यकता रहेको बताउनुभयो । उहाँले निष्ठा र इमान्दारिताका साथ सक्रिय भइ जनताको जीवनमा परितर्वन ल्याउने गरी काम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले एमाले सबैका लागि एउटै परिवार जस्तो भएकाले योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिइने बताउनुभयो । उहाँले पार्टीमा चाकडी चल्ने स्पष्ट पार्दै कामका आधारमा मूल्याङ्कन हुने बताउनुभयो ।

“कसले कति चाकडी गर्छ भन्ने कुरा पार्टीमा हुँदैन । कामको मूल्याङ्कनबाट आएको पार्टी हो”, उहाँले भन्नुभयो, “यो आदेशबाट नियुक्त र बर्खास्त गर्ने पार्टी पनि होइन । एमालेले भन्ने बेलामा एउटा र गर्ने बेलामा अर्को काम गर्दैैन ।”

नेपाली समाजको आधुनिक जागरण, सचेतनामा एमालेको भूमिका रहेको भन्दै उहाँले सामाजिक न्याय, समानता, पछाडि परेका समुदायको हकअधिकारका लागि कम्प्युनिष्ट पार्टी स्थापना गरिएको बताउनुभयो ।

काठमाडौँभित्रबाट उपत्यका बाहिर चल्ने सार्वजनिक सवारीसाधनको ५६ काउण्टर थपियो

काठमाडौँ – काठमाडौँभित्रबाट उपत्यका बाहिर चल्ने सार्वजनिक जीप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेसँगै ५६ टिकट काउण्टर थप भएका छन् ।

काठमाडौँ महानगरपालिकाले काठमाडौँभित्रको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दूरीका सवारीसाधन सञ्चालनका लागि ५६ टिकट काउण्टर थपिएको हो ।

यसअघि काठमाडौँभित्रको बल्खु, कलङ्की, बालाजु, माछापोखरी, गोङ्गबु, कोटेश्वरलगायतका क्षेत्रमा काउण्टर राखेर सञ्चालन हुँदै आएका माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेपछि त्यहाँ टिकट काउण्टर थपिएको हो ।

काठमाडौँ महानगरपालिकाले शुक्रबार बिहानैदेखि चक्रपथ क्षेत्रमा अव्यवस्थितरुपमा सञ्चालन भएका टिकट काउण्टरसमेत हटाएको थियो ।

काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले गोङ्गबु, कलङ्की, चाबहिल क्षेत्रमा अव्यवस्थित रुपमा राखिएका टिकट काउण्टर हटाइएको जानकारी दिनुभयो ।

महानगरपालिकाको निर्णय कार्यान्वयनसँगै माईक्रोबस तथा जीप नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका छन् । माइक्रोबस तथा जीपलाई सञ्चालन गर्नका लागि लोत्से मल पछाडि पार्किङ तथा काउण्टरको व्यवस्था गरिएको छ ।

नयाँ बसपार्कभित्रबाट माइक्रोबस तथा जीपलाई सञ्चालन गर्नका लागि यातायात व्यवसायीको सहकार्यमा नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिले ५६ नयाँ टिकट काउण्टर थप गरेको छ । लोत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले काठमाडौँ महानगरपालिकाले गरेको निर्णयको कार्यान्वयनका लागि नयाँबसपार्कभित्र जीप तथा माइक्रोबसलाई ५६ नयाँ टिकट काउण्टर निर्माण गरिएको बताउनुभयो । “नयाँ बसपार्कभित्रबाट सार्वजनिक सवारी साधनलाई व्यवस्थित र भरपर्दो ढङ्गले सञ्चालन गर्नका लागि लोत्से बहुउदेश्यीय प्रालि लागेको छ”, उहाँले भन्नुभयो ।

यसअघि नयाँ बसपार्कबाट ठूला सार्वजनिक सवारी साधनमात्र सञ्चालन हुँदै आएका थिए । यसअघि काठमाडौँबाट पोखरा, नारायणगढ, डुम्रे, दमौली, लमजुङ, गोरखा, धादिङ, त्रिशूली बागलुङ, बेनी, स्याङ्जा वालिङ, बुटवल, भैरहवा, कोटेश्वरबाट विपी राजमार्ग हुँदै पूर्व जाने माइक्रोबस र वल्खुबाट हेटौँडा चल्ने टाटासुमोसञ्चालन हुँदै आएका थिए ।

काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि काठमाडौँ महानगरपालिकाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँबसपार्क सञ्चालनमा ल्याएको थियो । एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा ८०० भन्दा बढी ठूला सार्वजनिक सवारी साधन पार्किङ गर्नमिल्ने क्षमता रहेको छ ।

लुभुबाट लगनखेलतर्फ आउँदै गरेको बस इमाडोलकाे बिच सडकमा पल्टियो, १९ जना घाइते

ललितपुर – ललितपुरमा एकाबिहानै बस दुर्घटना भएको छ । 

ललितपुरको इमाडोलमा भएको सो बस दुर्घटना परी १९ जना घाइते भएका छन्। उनीहरूको नजिकैको अस्पतालमा उपचार भइरहेको छ ।

लुभुबाट लगनखेलतर्फ आउँदै गरेको बा२ख ८५८३ नम्बरको बस शनिवार बिहानै बीच सडकमा नै पल्टिन पुग्दा उक्त दुर्घटना भएको हो । 

प्रहरी प्रभाग इमाडोलका प्रहरी निरीक्षक हरि डाँगीका अनुसार सो दुर्घटनामा परी घाइते भएका मध्ये ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा १८ जनाको र नजिकैको किस्ट अस्पतालमा एक जनाको उपचार भइरहेको छ । उहाँका अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उक्त बसमा २४ जना यात्रु सवार थिए। 

प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेका कारण सो बस अनियन्त्रित भई बिच सडकमा पल्टिएको हो । ग्वार्को निस्कन लागिरहेको अवस्थामा तीव्र गतिमा गुडेको सो बस ओरालो सडकमा पल्टिएपछि झन्डै २० मिटर जति घिस्रिन पुगेको थियो ।

लागुऔषध नियन्त्रण गर्न ‘एक्सन टिम’ परिचालन

काभ्रे – बनेपा नगरपालिका–८ बाट प्रहरीले प्रतिबन्धित खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपा र लागुऔषध नियन्त्रण ब्युरोसहितको प्रहरी टोलीले खैरो हिरोइनसहित काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाको १९ वर्षीया युवती र भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–९ का ३० वर्षीय युवकलाई पक्राउ गरेको हो ।

बिहीबार राति ८ बजे उनीहरुबाट ६५ ग्राम खैरो हिरोइन, डिजिटल तराजु एक थान, रु तीन लाख १९ हजार र आइफोन–११ एक थान बरामद गरिएको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका दुवैलाई शुक्रबार जिल्ला अदालतबाट लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गतको कसुरमा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको छ ।

यस घटनाले काभ्रेमा सात महिनापछि लागुऔषध कारोबारी पुनः सक्रिय भएको देखिन्छ । प्रहरीले प्रतिबन्धित औषधि कारोबार गरेको आरोपमा २०७९ कात्तिकमा बनेपा र पनौतीका चार जनालाई पक्राउ गरेको थियो । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले लागुऔषधसहित चारै जना २२ वर्षकालाई पक्राउ गरेको थियो ।

उनीहरुको साथबाट डाइजापाम एम्पुल १७ थान, बुप्रिनोफाइन एम्पुल १५ थान, फेनेगर्नन १७ थान, नुफिन एम्पुल दुई, ‘नाइट्राभेट–१०’ ७० चक्की, लाइफलाइन लेखिएको सिरिञ्ज पाँच थान तथा नगद रु ४३ हजार बरामद गरिएको थियो । त्यसयता लागुऔषधका कुनै पनि घटना सार्वजनिक भएका थिएनन् ।

प्रहरीले पक्राउ परेका सार्वजनिक गर्दै अनुसन्धानका म्याद थप गर्दै कसुरका आधारमा अदालतमार्फत सजाए दिलाउने गरेको छ । यस्तै प्रहरीले गत भदौमा पनि ‘नियन्त्रित औषधि’सहित बनेपा नगरपालिका–८ उदय मेडिकल हलका सञ्चालकलाई पक्राउ गरेको थियो । मकैले नियन्त्रित औषधि बिना‘प्रेस्क्रिप्सन’ बिक्री गरेका कारण प्रहरीले उनको मेडिकल पसलबाट ठूलो मात्रामा औषधिसमेत बरामद गरेको हो ।

प्रहरीले त्यतिबेला हलबाट नियन्त्रित मानिएका ठूलो सङ्ख्यामा ट्याब्लेट बरामद गरेको थियो । बरामद गरिएका औषधि सञ्चालकले चिकित्सकीय सिफारिसबिना बिक्री गर्दै आएको अनुसन्धानबाट खुलेको थियो । त्यसरी बिक्री गरिएका औषधि ‘लागुऔषध’को रुपमा प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ ।

यसअघि इप्रका बनेपाले प्रतिबन्धित लागुऔषध कारोबारमा संलग्न पाँच जनालाई २०७९ साउनमा पक्राउ गरेको थियो । प्रहरीले भारतबाट वीरगञ्ज हुँदै काभ्रेपलाञ्चोकको बनेपामा लागुऔषध कारोबारमा संलग्न भएका उनीहरुलाई वीरगञ्जबाट पक्राउ गरेको थियो । लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न भएकाबाट प्रहरीले ३०२ एम्पुल डाइजेपाम, ३०२ एम्पुल फेनेर्गन र ३०२ थान नोफिन गरी कूल ९०६ थान लागुऔषध बरामद गरेको थियो ।

त्यतिबेला प्रहरीको अनुसन्धानले वीरगञ्जबाट काभ्रेपलाञ्चोकअन्तर्गतसमेत पर्ने विपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास सडक)को प्रयोग गरी बनेपा हुँदै लागुऔषध काठमाडौँ पु¥याउने र काठमाठौँबाट पुनः बनेपा ल्याई कुलतमा फसेका युवालाई बिक्री गर्ने गरेको देखाएको प्रहरीले जनायो । यो घटनामा भने प्रहरीले छोटो समयमा भारतबाट बनेपासम्म लागुऔषधको कारोबार गर्ने समूहलाई छोटो समयमा नै पक्राउ गर्न सफल भएको देखिन्छ ।

यसअघि ०७९ वैशाखमा लागुऔषध प्रयोगकर्ता चार चालकलाई काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गका जाँचका क्रममा प्रहरीले प्रक्राउ गरेको थियो । यस्तै प्रहरीले सुराककै आधारमा गत वर्षको माघमा चिकित्सकको आधिकारिक सिफारिसबिना प्रतिबन्धित औषधि (नसालु पदार्थका रुपमा सेवन गरिने) बिक्री गर्ने पनौती नगरपालिका–२ स्थित एक फार्मेसी सञ्चालकलाई पक्राउ गरेको थियो । साथै उनको फार्मेसीबाट विभिन्न प्रकारका सात हजार १३८ प्रतिबन्धित लागुऔषध ट्याब्लेटसमेत बरामद गरिएको थियो ।

घटनाक्रमले सुराकको आधारमा मात्रै प्रहरीले जाँच गर्ने र लागुऔषध कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने गरेको देखाएको छ । साथै, विपी राजमार्गबाट अधिकांश रुपमा लागुऔषध ओसारपसार हुने गरेको देखिएको हो । काभ्रेपलाञ्चोकलगायत छिमेकी जिल्ला तथा राजधानीका विभिन्न स्थानमा बिक्री हुने प्रतिबन्धित लागुऔषध मध्यपहाडी क्षेत्रअन्तर्गतको राजमार्गबाट तस्करी हुने जिल्लास्थित प्रहरीको रेकर्डबाट देखिन्छ ।

यस्तै प्रहरीले सुराकीको आधारमा उक्त राजमार्गबाट आउने सवारी जाँच गर्दा दर्जनौँ पटक प्रतिबन्धित औषधि बरामद गर्दै ओसारपसार संलग्न व्यक्तिलाई पक्रेर मुद्दासमेत चलाउने गरेको छ । प्रहरीको तथ्याङ्कअनुसार बितेको पाँच वर्षमा लागुऔषध ओसारपसारसम्बन्धी ४० वटा मुद्दामा करिब एक सयलाई पक्राउ परेका छन् । पक्राउ परेकामध्ये पनि अधिकांशले ‘ब्रोकर’ बनेर काम गरिरहेको बयान दिँदै आएको प्रहरीले जनायो ।

प्रहरीको अनुसन्धानले विशेष गरी ‘टिनएजर्स्’ यसको तस्करी र प्रयोगकर्ताका रुपमा देखिएको छ । घटना विवरणअनुसार तराई क्षेत्रबाट विपी राजमार्गहुँदै लागुऔषध तस्करी भई लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ काभ्रे बनाएकोसमेत देखिन्छ ।

पछिल्ला घटनाले तराईसँग छोटो दूरीका रुपमा रहेको विपी राजमार्गबाट लागुऔषध भित्रिने गरेको देखिएकाले उक्त राजमार्गमा ‘एक्सन टिम’ परिचालन गरिएको प्रहरी जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भाग्यपुरुष ढकालले बताउनुभयो । उहाँका अनुसार पक्राउ परेकाले भारतका विभिन्न स्थानबाट लागुऔषध सङ्कलन गरी बनेपा र आसपासका सहर तथा काठमाडौँमा बिक्री गर्दै आएको देखिन्छ । लागुऔषध विशेष गरी युवा पुस्ताले प्रयोग गरेको पाइएको प्रहरीकै अनुसन्धानले देखाएको छ ।

बाँसजन्य सामग्री उत्पादनका लागि उद्योग खुल्दै

दमौली, २ असार (रासस) ः
गरिबी निवारणका लागि तनहुँको आँबुखैरेनी गाउँपालिकाले बाँस र कृषि औजारसम्बन्धी उद्योग स्थापनाको प्रक्रिया अन्तिम चरणमा पु¥याएको छ ।

मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रममार्फत गाउँपालिकाले बाँस र कृषि औजारका सामग्री उत्पादनका लागि उद्योग स्थापनाको कामलाई तीव्रता दिएको हो ।

बाँस र फलामबाट विभिन्न सामग्री उत्पादनका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा उद्योग स्थापना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नवीनतम ज्ञान, सीप, सोच र सिर्जनशीलता प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकाले उद्योग स्थापना गर्न लागेको हो । उद्योग स्थापनाका लागि प्रदेश सरकारले आर्थिक सहयोग गरेको छ ।”

आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा स्थापना हुने उक्त उद्योगका लागि दुई वटा भवन निर्माण गरिएको छ । उद्योगमा आवश्यक उपकरणका लागि खरिद प्रक्रिया सम्पन्न भइसकेको र केही दिनभित्रै उपकरण आइपुग्ने चुमानले जानकारी दिनुभयो । “असार १५ गतेभित्र उद्योगको आवश्यक सबै काम सम्पन्न हुनेछ”, उहाँले भन्नुभयो ।

उद्योगबाट बाँसजन्य सामग्री सोफा, कुर्ची, टेबल निर्माण गरिनेछ । गाउँपालिकाभित्र रहेका विपन्न समुदायलाई घरेलु सीप सिकाएर आयआर्जनसँग जोड्ने लक्ष्य रहेको चुमानको भनाइ छ । चुमानले भन्नुभयो, “विपन्न समुदायका व्यक्तिलाई सीप सिकाएर प्रविधिसँग अभ्यस्त बनाएर रोजगारमा जोड्ने उद्देश्य हो ।”

उद्योगबाट फलामजन्य सामग्री पनि उत्पादन गरिनेछ । विशेष गरी यहाँबाट कृषि औजार उत्पादन गर्ने तयारी छ । चुमानका अनुसार कृषि उत्पादनका लागि सहयोगी बन्ने खालका आधुनिक यन्त्र उत्पादन गरिनेछ ।

त्यस्तै सामुदायिक विद्यालयका लागि आवश्यक डेस्क, बेञ्चलगायत सिकाइ सामग्री उद्योगबाट स्थापना गरिनेछ । गाउँपालिका सामुदायिक विद्यालयमा सुधारमा लागिरहेको र सामुदायिक विद्यालयका लागि आवश्यक सामग्री उद्योगबाटै स्थापना हुने चुमानको भनाइ छ । उहाँले भन्नुभयो, “उद्योगले यहाँका मानिसलाई रोजगारी त दिनेछ नै हामीले सुरु गरेको सामुदायिक विद्यालय सुधारका लागि पनि सहयोगी बन्नेछ ।”

उद्योगलाई दिगोरुपमा सञ्चालनका लागि कम्पनीको रुपमा विकास गर्ने योजना छ । त्यसका लागि गाउँपालिकाभित्रका वित्तीय संस्था एवं समूहसँग साझेदारी गरिने चुमानले बताउनुभयो । चुमानका अनुसार उक्त उद्योगमा गाउँपालिकाको ५१ प्रतिशत र अन्यको ४९ प्रतिशत शेयरको व्यवस्था गरिनेछ । चुमानले भन्नुभयो, “कम्पनीको रुपमा अगाडि बढाउन सके उद्योग दिगोरुपमा सञ्चालनमा सहयोग पुग्नेछ । साउनभित्रै यसलाई मूर्तरुप दिनेछौँ ।”

उद्योगको कूल लागत रु दुई करोड एक लाख रहेको छ । त्यसका लागि गण्डकी प्रदेश सरकारले रु एक करोड ४० लाख ७० हजार अनुदान दिएको छ भने गाउँपालिकाले रु ६० लाख ३० हजार लागत साझेदार गर्नेछ ।

स्थानीय स्रोत र सीपको प्रवद्र्धन गरी उद्यमशीलता विकास गर्ने नीतिअन्तर्गत गाउँपालिकाले सबैभन्दा सीमान्तकृत र पिछडिएको भुजेल तथा मगर समुदायका ३४ जनालाई बाँसजन्य सामग्री उत्पादनको तालिम दिइसकेको छ । तालिम लिएकाले बाँसजन्य सामग्री उत्पादन सुरु गरेका छन् ।

उहाँले भन्नुभयो, “ती समुदायलाई आयआर्जनमा जोड्ने उद्देश्यसहित बाँसबाट निर्माण गर्न सकिने कुर्ची, सोफालगायत उत्पादन हुन थालिसकेको छ । त्यसको बजारीकरणका लागि पनि उद्योगले सहयोग पुग्नेछ ।”

गाउँपालिकाले यस अगाडि घरेलु बाँसबाट डस्टविन बनाउने तालिम पनि दिइसकेको छ । उक्त डस्टविन गाउँपालिकाले नै खरिद गरेर स्थानीय विद्यालयमा वितरण गरेको थियो ।

मुख्यमन्त्री नवप्रर्तन साझेदारी कार्यक्रममार्फत गाउँपालिकाका सात सय पाँच घरधुरीका तीन हजार पाँच सय २९ जना लाभान्वित हुने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । जसमा एक हजार सात सय ६५ महिला र एक हजार सात सय ६४ पुरुष लाभान्वित हुने गाउँपालिकाले जनाएको छ । त्यसमध्ये चार सय दलित, बाह्मण क्षेत्री छ सय ७७, आदिवासी जनजाजति दुई हजार दुई सय ९२ र अन्य एक सय ६० जना रहेका छन् ।

मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले अवधारणा माग गरेको थियो । कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले अवधारणापत्र पेश गरेपछि दुवै पक्षबीच सम्झौता भएको हो ।

राष्ट्रपतिको मुटुमा पुनः समस्या, अस्पताल भर्ना

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल मुटुमा पुन: समस्या देखिएपछि अस्पताल भर्ना हुनु भएको छ । मध्यरातमा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा  पुयाइएका राष्ट्रपति पौडेललाई बिहान नै  मनमोहन कार्डियो भास्कुलर लगिएको स्रोतले बताएको छ।

पौडेलको मुटुमा समस्या देखिएपछि २ बजे राति त्रिबि शिक्षण अस्पताल  पुर्‍याइएकाे थियाे।

स्राेतका अनुसार  टिचिङबाट आज बिहान ५ बजे मनमोहन कार्डियो थेरासिस भास्कुलर एन्ड ट्रान्स प्लान्ट सेन्टरमा लगिएकाे छ। अहिले उहाँकाे सिसियूको क्याबिनमा राखेर उपचार भइरहेको स्रोतले बताएको छ।

केही दिन अघि पनि मुटुमा समस्या आएपछि  अस्पताल भर्ना हुनु भएको थियो । उहाँ अघिल्लाे महिना मात्रै भारतकाे नयाँदिल्लीमा  उपचार गरी फर्किनु भएको थियो ।

यस्तो छ आजको मौसम

काठमाडौँ – हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको  छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। 

दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोसी,  बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती भने कोसी प्रदेश, मधेस प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोसी,  बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशसहित बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०८० आषाढ ०२ गते (शनिवार)
दिउँसो
: कोसी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोसी,  बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती: कोसी प्रदेश, मधेस प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोसी,  बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेश सहित बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।कोसी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

२०८० आषाढ ०३ गते (आइतबार)
दिउँसो: 
कोसी प्रदेशमा सामान्य बदली रहनुका साथै सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोसी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, कोसी प्रदेशका तराई भू-भागका साथै देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती: कोसी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी तराई भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ। कोसी प्रदेशका केही स्थानहरूमा, देशका बाँकी पहाडी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।कोसी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

२०८० आषाढ ०४ गते (सोमबार)
दिउँसो
: कोसी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी तराई भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ। कोसी प्रदेशको केही स्थानहरूमा, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ

राती: कोसी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोसी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

नवौँ चुरे संरक्षण दिवस मनाइँदै

काठमाडौँ – राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले आज स्थापनाको अवसरमा नवौँ चुरे संरक्षण दिवस मनाउँदै छ । समिति र सम्बन्धित निकायले चुरे आसपासका क्षेत्रमा वृक्षरोपण तथा जनचेतनाका विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन् । सरकारले २०७१ साल असार २ गते सो समितिको गठन गरेको थियो ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सरकारको प्रकृति संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्य लिएको एकमात्र राष्ट्रिय गौरवको आयोजना हो । समितिका अध्यक्ष डा किरण पौडेलले स्थापनाको दिवसका अवसरमा ‘चुरेको माटो चुरेलाई, सफापानी सबैलाई’ भन्ने साझा लक्ष्यमा अघि बढ्न सबैलाई आह्वान गर्नुभएको छ ।
उहाँले चुरे संरक्षणको गहन अभिभारा पूरा गर्ने काममा सहयोग पु¥याउने वन तथा वातावरण मन्त्रालय, अन्य पूर्वाधार विकास गर्ने मन्त्रालय, प्रदेश सरकार तथा स्थानीय तह, सुरक्षा निकाय, सामुदायिक वन उपभोक्तालगायत स्थानीय समुदाय, विकास साझेदार एवं सबैलाई धन्यवाद दिनुभएको छ ।

नेपालमा पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३७ वटा जिल्लामा कूल भू–भागको १२ दशमवलव ७८ प्रतिशत क्षेत्रमा फैलिएर रहेको अत्यन्त संवेदनशील र कमजोर अवस्थाको चुरे पहाड तराई मधेसको अस्तित्वसँग अन्योन्याश्रित सम्बन्ध राख्दछ । चुरे क्षेत्र भौगर्भिकरूपमा कमजोर, धेरै पानी पर्ने, भूकम्पीय कारणबाट अति जोखिमयुक्त, जैविक विविधतामा धनी रहेको, दुर्लभ वन्यजन्तुको वासस्थान र जैविक मार्ग हो । बलौटे ढुङ्गा एवं माटो ढुङ्गा सङ्गुरीकाले बनेका कारण चुरे भूभाग निकै कमजोर छ ।

अव्यवस्थित बसोबास, वन अतिक्रमण, वन डढेलो, खुला चरिचरण र नदीजन्य पदार्थको दोहन, अनियन्त्रित भौतिक पूर्वाधार निर्माण, भू–क्षयजस्ता कारणले यो क्षेत्र झनै संवेदनशील बन्दै गएको छ । यस्तै गतिविधिका कारण तराई मधेस मरुभूमिकरण हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चुरे–तराई मधेस क्षेत्रका ३७ जिल्लाका तीन सय २५ स्थानीय तहका करिब ५८ प्रतिशत मानिसको जीवन पद्धतिसँग सम्बन्धित यो क्षेत्रका एक सय ६४ नदी प्रणाली र तिनका जलाधार क्षेत्रलाई संवेदनशील एवं जोखिमपूर्ण भौगोलिक क्षेत्र घोषणा गर्दै वातावरण संरक्षण क्षेत्र कायम गरी नेपाल सरकारले समितिको गठन गरेको थियो ।

चुरे क्षेत्र भौगोलिक हिसाबले कमलो र कान्छो भए तापनि जैविक र सांस्कृतिक सम्पदामा धेरै धनी छ । चुरे क्षेत्र बाघ, भालु, गैँडा, हात्ती, अर्ना र अन्य वन्यजन्तुको वासस्थान रहनुका साथै विविध किसिमका जडीबुटीजन्य वनस्पतिको खानी पनि हो । तराई र मधेस क्षेत्रमा सिँचाइको लागि आवश्यक पर्ने पानीको प्रमुख स्रोत भनेको चुरे र मध्य पहाडी शृङ्खलाबाट बग्ने नदी प्रणाली र यिनले पुनर्भरण गरेका भूमिगत जलस्रोत हो ।

तराई र मधेसका जनतालाई प्राकृतिक विपद्बाट बचाउने हो भने चुरे क्षेत्रमा रहेका वन, वनस्पति, वन्यजन्तु र पारिस्थितिकीय प्रणालीलाई उनीहरूको प्राकृतिक प्रक्रियाअनुसार स्वच्छ र स्वतन्त्ररूपमा बाँच्न दिनुपर्ने हुन्छ । अध्यक्ष पौडेलले ‘प्रकृति स्वच्छ भए मात्र हाम्रो जीवन सुरक्षित हुन्छ र प्रकृतिलाई हामीले संरक्षण गर्यौं भने मात्र प्रकृतिले हामीलाई संरक्षण गर्दछ’ भन्ने तथ्यलाई कसैले पनि बिर्सनु नहुने बताउनुभएको छ ।

चुरे क्षेत्रमा जनसङ्ख्या वृद्धि, बसाइँसराइ र भौतिक पूर्वाधार विकासका कारण सहरीकरण दिन प्रतिदिन बढ्दो छ । “बढ्दो भौतिक विकासले चुरे क्षेत्रको पारिस्थितिकीय प्रणालीलाई पारेको असरलाई कसरी कम गर्न सकिन्छ र हिजो नष्ट भएका पारिस्थितिकीय प्रणालीलाई आज कसरी पुनःस्थापना गर्न सकिन्छ भनेर सबैले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ”, अध्यक्ष पौडलले भन्नुभयो ।

चुरे क्षेत्रमा भावी पुस्ताको बाँच्न पाउने अधिकारसमेतलाई ख्याल गरेर यस क्षेत्रको व्यवस्थित भौतिक विकास गर्न र वातावरणीय अध्ययन गरेर मात्र ढुङ्गा, गिट्टी र बालुवाजस्ता प्राकृतिक स्रोतको सङ्कलन तथा उत्खनन गर्न उहाँले आह्वान गर्नुभएको छ ।

सवारी दुर्घटनामा पूर्व नगरप्रमुख गिरीको निधन

वालिङ – गए राति स्याङ्जामा भएको सवारी दुर्घटनामा चापाकोट नगरपालिकाका पूर्वप्रमुख शिव गिरीको मृत्यु भएको छ । बा१५च १७०९ नम्बरको ‘स्कारपियो’ अनियन्त्रित भई दुर्घटना हुँदा प्रमुख गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो । चापाकोट–४ दार्सिङ बस्ने ६० वर्षीय गिरीलाई जिल्ला अस्पताल स्याङ्जाले ११ः४० मा मृत घोषणा गरेको थियो ।

राङखोलाबाट स्याङ्जातर्फ जाँदै गरेको स्कारपियो गए राति ११ बजे पुतलीबजार–१० राङखोलास्थित सिद्धार्थ राजमार्गमा दुर्घटनामा परेको थियो । प्रहरीले पुतलीबजार–९ कोल्मा बस्ने ३२ वर्षीय सवारी चालक सुरज नेपाली तथा स्कारपियो नियन्त्रणमा लिएको प्रवक्ता खनालले बताउनुभयो ।

हँसिया प्रहार गरी बालकको हत्या

स्याङ्जाको अर्जुनचौपारीमा हँसिया प्रहार गरी एक बालकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालका अनुसार अर्जुनचौपारी– ६ सिउँडीबारी बस्ने २१ वर्षीय सुजन चुवाई (सुवेदी) ले हँसिया प्रहार गरी सोही ठाउँ बस्ने ९ वर्षीय बालक हर्षित देवकोटाको हत्या गरेका हुन् । शुक्रबार साँझ हँसिया प्रहार गरी बालकको हत्या गर्ने सुवेदी घटनापश्चात् फरार रहेकोमा प्रहरीले पुतलीबजार–१ बाट पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । हत्याको कारण खुल्न सकेको छैन ।

बर्खायाममा झाडापखाला र हैजाबाट बचाउन आग्रह

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मी तथा बर्खायाम सुरु भएदेखि बालबालिकालाई झाडापखाला र हैजाबाट बचाउन आग्रह गरेको छ । मन्त्रालयले आज सूचना जारी गरी गर्मी तथा बर्खायाम सुरु भएदेखि बालबालिकालाई झाडापखाला र हैजाबाट बचाउन अभिभावक सबैलाई आग्रह गरेको हो ।

मन्त्रालयले सधैँ पानी उमालेर वा क्लोरिन झोल प्रयोग गरेरमात्र पिउन, व्यक्तिगत सरसफाइमा ध्यान दिन, बासी तथा सडेगलेका खानेकुरा नखान, काँचो खान मिल्ने फलफूल र तरकारीको सरसफाइमा विशेष ध्यान पुर्याउन आग्रह गरेको छ ।

यसैगरी, खानालाई छोपेर राख्न र खुला रुपमा दिसापिसाव नगर्न, चर्पीको अनिवार्य प्रयोग गर्न र दिसापिसाब गरिसकेपछि साबुनपानीले हात धुनसमेत आग्रह गरिएको छ । मन्त्रालयले बालबालिकालाई हैजा तथा झाडाझाडापखाला लागेमा घरमा नै उपचार गर्नसमेत आग्रह गरेको छ ।

पखला हुनासाथ एक लिटर सफा पानीमा एक पुरिया जीवनजल राखी राम्ररी घोलेर पटक पटक खुवाउन आग्रह गरिएको छ । बालबालिकालाई प्रशस्त मात्रामा सफा तथा झोल खानेकुरा खुवाउन, नरम तथा पच्ने खानेकुरा खुवाउन, जिङ्क चक्कीको मात्रा नबिराईकन खुवाउन र सरसफाइमा ध्यान दिन अभिभावकलाई आग्रह गरिएको छ ।

व्यावसायिक लागत घटाउन सरकारले काम गर्छ : मुख्य सचिव अर्याल

काठमाडौँ – नेपाल सरकारका नवनियुक्त मुख्य सचिव डा बैकुण्ठ अर्यालले व्यावसायिक लागत घटाउन सरकारले विशेष पहल गर्ने बताउनु भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँगको आज भएको भेटमा मुख्य सचिव डा अर्यालले हालको आर्थिक अवस्था सुधारका लागि सरोकारवाला निकायसँग समन्वय गर्ने बताउनुभयो ।

मुख्यसचिव अर्यालसँग महासङ्घका पदाधिकारीको भेटबारे प्रेस विज्ञप्ति जारी गर्दै महासङ्घले मुलुकको समग्र व्यावसायिक वातावरण सुधारका लागि सरकारले पहल गर्ने आश्वासन मुख्यसचिवबाट पाएको जनाएको हो ।

भेटका क्रममा महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकालले नवनियुक्त मुख्य सचिव डा अर्याललाई वधाइ दिनुहुँदै विद्यमान मन्दीको अवस्थाबाट अर्थतन्त्रलाई बाहिर ल्याउन सरकारले विशेष पहल थाल्न आग्रह गर्नुभयो । यसैगरी अध्यक्ष ढकालले आर्थिक विधेयकमा गरिएको परिवर्तनले विभिन्न उद्यम व्यवसायमा नकारात्मक प्रभाव देखिएको बताउँदै यसको संसोधनका लागि पहल गर्न आग्रह गर्नुभयो ।

महासङ्घले निजी क्षेत्रको मर्यादाक्रमको विषय उठाइरहेको र विद्यमान अवस्थामा उद्यमी व्यवसायीको मनोबल उच्च बनाउन आवश्यक भएकोमा अध्यक्ष ढकालले जोड दिनुभयो । यस विषयमा मुख्य सचिव अर्यालले गृह मन्त्रालयसँग समन्वय गर्ने जवाफ दिनुभएको महासङ्घको विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष ढाकालले जिल्ला नगरमा आयोजना हुने मेला महोत्सव व्यवस्थित बनाउन जिल्ला नगरउद्योग वाणिज्य सङ्घले आयोजना गर्नेगरी प्रावधान बनाइनुपर्ने माग माग गर्नुभयो । भेटमा महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रबारे सरकारको प्रष्ट नीति हुनुुपर्नेमा जोड दिनुुभयो । महासङ्घका उपाध्यक्ष सुरकृष्ण वैद्य र हेमराज ढकालले बढदो ब्याजदरका कारण साना व्यवसायी प्रभावित रहेकाले व्यावसायिक लागत घटाउन सरकारले पहल गनुपर्ने बताउनुभयो ।

नवनियुक्त प्रधानन्यायाधीश कार्कीद्वारा पदवहाली

काठमाडौँ – नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पदवहाली गर्नुभएको छ ।

आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ लिनुभएपछि कार्कीले आजै सर्वाेच्च अदालत पुगेर पदवहाली गर्नुभएको हो । पदबाहालीपछि कुरा गर्दै उहाँले आफ्नै संयोजकत्वमा न्यायपालिका सुधारका लागि बनेको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै न्यायपालिकाको अधिकार क्षेत्र पुनरावलोन गर्ने उहाँकाे भनाइ छ ।

“प्रतिवेदनको जगमा बसेर कार्ययोजना बनाएको छु, प्रतिवेदन सर्वोच्चलगायत सबै अदालत र सरोकारवाला सबैको समर्थनमा तयार भएको हो”, उहाँले भन्नुभयो, “सबैको सहयोग र सहकार्यबाटै यसलाई टुङ्गोमा पुर्‍याउन सकिन्छ ।”

उहाँले आफ्नो कार्यकाल छोटो हुनु र नहुनुभन्दा पनि न्यायापालिकालाई कसरी अगाडि बढाउने भन्ने विषय मुख्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “न्याय ढिलो हुन्छ, सर्वोच्च अदालतले न्याय दिन ढिलाइ गर्छ, लामो समय लाग्छ भन्ने कुरालाई सम्बोधन गर्नका लागि प्रतिवेदनअनुसार काम गर्छौं ।”

उहाँले न्यायाधीश र कर्मचारीको सरुवा, बढुवा, काजलगायत ठोस र वस्तुगत आधारमा देखिने गरी अघि बढाउने बताउनुभयो । प्रधानन्याधीश कार्कीले न्यायाधीश नियुक्तिको सवालमा सम्बोधन गर्नका लागि न्यायाधीशको योग्यता अभिवृद्धिका लागि न्यायिक एकेडेमीमा ‘जज कोर्स’ सञ्चालनका लागि अध्ययन भइरहेको जानकारी दिनुभयाे ।

ब्याडमै सुक्न थाल्यो धानको बीउ

रामपुर (पाल्पा) – खेतमा यतिबेला सबैजसो किसानका ब्याडमा हरियाली धानको बीउ हुन्थे । असारको दोस्रो हप्ता पछाडि धान रोप्ने किसानले तयारी गर्थे तर यस पटक भने वर्षा नपरेपछि बीउ राख्न समस्या भएको किसानले बताएका छन् ।

असार सुरु हुँदासमेत पानी नपर्दा बीउ राख्न समस्या भएको छ भने कतिपय ठाउँमा राखिएका बीउ ब्याडमै उम्रन पाएका छैनन् । हरेक वर्ष हिले ब्याड राख्ने गरेकोमा यस पटक पानी अभावमा धुले ब्याड राख्न बाध्य भएको पाल्पाको रामपुरका किसान डोलराज तिवारी बताउनुहुन्छ ।

“समयमा पानी पर्न सकेन, धुले ब्याड बनाएर बीउ राखियो, सिँचाइ दिन सकिएको छैन, दिनभर चर्को घामबाट जोगाउन स्याउला तथा बोराले माथिबाट ढाकेर राखिएको छ”, उहाँले भन्नुभयो । तिवारीका अनुसार कुलोको पानी पालो अनुसार सिँचाई दिन रातदिन धाउनुपरेको छ । प्रयाप्त सिँचाइ दिन नपाउँदा ब्याडमा उम्रदै गरेको बीउ सुक्ने अवस्थामा छन् ।

रातभर खेतमा पानीको पालो कुलेर बस्दासमेत दुई दिनमा एक पटक सिँचाइ दिन सकस भएको बताउनुहुन्छ, शोभा आले ।

“पानीको पालोअनुसार ब्याड सिँचाइ गर्न दिनरात नभनिकन खेतमा धाउनुपरेको छ”, उहाँले भन्नुभयो, “दुई दिन बित्दासमेत पालो आउन मुस्किल पर्छ, खेतमा बीउ सुक्न लागिसक्यो, आकाशे पानी नपरेपछि किसानले धेरै सास्ती खेप्नु परेको छ ।”

घरधन्दा, छोराछोरीको रेखदेखका बाबजुद रातभर खेतमा पानी पालो पर्खेर बस्न पर्दा महिलालाई धेरै अप्ठ्यारो हुने गरेको मन्जु पङ्गेनीले बताउनुभयो । रातको समयमा डर त्रासका बाबजुद कुलोको मुहानमा पुगेर पानी ल्याएर सिँचाइ गर्न महिलालाई सकस परेको आलेको भनाइ छ ।

हिले ब्याड बनाएर बीउ राख्ने यहाँका किसानले अहिले पानी अभावमा धेरैले धुले ब्याड राखेका छन् । असार लागिसक्दा पनि कतिपय ठाउँमा बीउ अझै राख्न पाइएको छैन । यस वर्ष मनसुन ढिला सुरु हुँदा धानको बीउ राख्न किसानले धेरै समस्या भोग्नुपरेको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “पानी नपरेपछि कुलो, नहरमा पानीको बहाव घटेको छ, पानीका मुहान, कुँवा सुक्दै गएका छन्, पर्याप्त सिँचाइ भएका मूल, कुँवाको मुहान नजिक भएका खेतमा हिलो गरेर बीउ राखिएको छ भने सिँचाइ कम सुविधा भएका ठाउँमा धुले ब्याड तयार भएका छन् ।”

पाण्डेयका अनुसार यस क्षेत्रका आकाशे पानीको भरमा मात्र खेती लगाइने जग्गामा बीउ राख्न अझै बाँकी नै छ । कुलो, नहरमा ल्याइएका पानी खेतको मुहानमा पुग्न धौँ धौँ अवस्था छ । बिहानैदेखि रात नपरुञ्जेलसम्म चर्को घाम लागेकाले कुलो तथा नहरमा ल्याइएको पानी खेतसम्म पु¥याउन कठिनाइ छ ।

ब्याडमा बीउ सुक्ने अवस्था हुन थालेपछि किसानले बोरा, स्याउलाले दिनभर छोपेर राख्ने गरेका छन् । महँगो मूल्यमा बजारका एग्रोभेटमा बीउ खरिद गरेर ब्याड राखेका किसान सिँचाइ पर्याप्त दिन नपाउँदा उम्रन नपाइकन बीउ बिग्रने चिन्तामा छन् । वर्षदिन खाने खेती समयमा नै बीउ राख्न नपाउँदा र ब्याडमा पर्याप्त सिँचाइ दिन नसक्दा किसान पिरोलिएका छन् ।

खेती लगाउने समयमा हरेक वर्ष किसानलाई केही न केही समस्या निम्तिएको हुन्छ । कहिले रासायनिक मलको अभाव त कहिले धानको बीउ अभाव, समयमा वर्षा नपर्नुजस्ता समस्याले किसानलाई सताइरहेको हुन्छ । दिगो र भरपर्दो सिँचाइको व्यवस्थापन हुन नसक्दा बीउ राख्न तथा बालीनाली लगाउन समस्या भइरहेको छ ।

लिचीको दाना घाँटीमा अड्किएर बालकको मृत्यु

सिन्धुली – सिन्धुलीमा गए राति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ ।

कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो । लिचीको दाना अड्किएपछि राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बालकको लिचीको दाना अड्किएर मृत्यु भएको अस्पतालबाट जानकारी प्राप्त भएको बताउनुभयो ।

यसैबीच सुनकोशी गाउँपालिका–२ गजुलीदहस्थित सुनकोशी नदी किनारमा एक बालकको शव फेला परेको छ । बिहीबार साँझ बालकको शव फेला परेको प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।
सुनकोशी–२ गजुलीदहस्थित सुनकोशी नदीको किनारमा नाम ठेगाना खुल्न नसकेको अवस्थामा अन्दाजी नौ वर्षको बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।

भारतले भटमास तेल र सूर्यमुखी तेलको आयातमा भन्सार शुल्क घटायो

नयाँ दिल्ली- भारत सरकारले बिहीबारदेखि लागू हुने गरी भटमास तेल र सूर्यमुखी तेलको आयातमा लाग्ने भन्सार शुल्कमा पाँच प्रतिशत कटौती गरेको छ ।

तेलको आयातमा लाग्ने भन्सार शुल्क १७.५ प्रतिशतबाट घटाएर १२.५ प्रतिशतमा झारेको संघीय अर्थ मन्त्रालयअन्तर्गतको राजस्व विभागले जारी गरेको आधिकारिक सूचनामा उल्लेख छ ।

भारतमा खाना पकाउने दुवै तेल मुख्यतया अर्जेन्टिना, ब्राजिल, युक्रेन र रूसलगायत देशबाट आयात हुने गरेको छ ।

घरेलु माग पूरा गर्न र खाना पकाउने तेलको बढ्दो मूल्यलाई नियन्त्रण गर्न यी दुई उत्पादनहरूको थप आयातलाई अनुमति दिने उद्देश्यले यो कदम चालिएको हो । करिब छ महिनापछि भन्सार महसुलको दर पुनरावलोकन गरिएको थियो ।

सूचनामा भनिएको छ, “सार्वजनिक हितमा त्यसो गर्न जरूरी छ । यो सूचना जून १५ देखि लागु हुनेछ ।”

इन्डियन एक्सप्रेसको एक समाचारमा विश्वको सबैभन्दा ठूलो वनस्पति तेल खरीदकर्ता भारतले प्रशोधित भटमास तेल र सूर्यमुखी तेलमा आधार आयात शुल्क घटाएको जनाइएको हो ।

मेलम्ची बाढी : प्रभावित अझै अस्थायी टहरामै

​​​​​​​सिन्धुपाल्चोक । विसं २०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको दुई आज वर्ष पूरा भएको छ । 

असार १ र त्यसपछिका पटक पटकका बाढीका कारण ठुलो जनधनको क्षति भएको थियो । नदी तटीय क्षेत्रका सयौँ घर र खेतीयोग्य जमिन बगर बने भने हजारौँ नागरिक विस्थापित भए । 

​​​​​​​

बाढीले क्षति पुर्‍याएको दुई वर्ष बिते पनि प्रभावित अस्थायी टहरामै बसिरहेका छन् । उनीहरू सुरक्षित बसोबासको पर्खाइमा छन् । मेलम्ची बाढीले घर खेत बगाएर बेसहारा बन्नुभएकी हेलम्बु–२ च्युरीखर्ककी जुकमाया थापामगरका आँखा अझै ओभाएका छैनन् । बाढीले उहाँको घरसहित भएको थोरै जमिनसमेत बगर बनेपछि सुकुम्वासी बन्नुभएको छ । सरकारले घर बनाइदिने भनेको दुई वर्ष बितिसक्दा समेत अस्थायी टहरामै बस्न बाध्य उहाँलाई दैनिक गुजारा चलाउनसमेत धौधौ परेको छ । 

हेलम्बुकै डेलिङ थापा वृद्ध दम्पती दुई वर्षदेखि अस्थायी टहराको सकसपूर्ण जीवनले बाच्नै गाह्रो भएको बताउनुहुन्छ । बाढीका कारण विस्थापित हेलम्बु, मेलम्चीका स्थानीयवासी सुरक्षित ठाउँमा घर कहिले बनाउन पाइएला भन्ने आशामा छन् ।  

नदी तटीय क्षेत्रका बासिन्दाको कथा पनि उस्तै छ । नदी नियन्त्रणको काम गुणस्तरीय नभएको मेलम्ची सिमखेतकी शान्ता चालिसेले गुनासो गर्नुभयो । उहाँले बाढी आउँदा बालबच्चा बोकेर माथितिर भाग्नुपरेको दुखेसो सुनाउनुभयो । 

बाढीका कारण हेलम्बु गाउँपालिकामा मात्रै तीन सय ९२ जना लाभग्राही कायम भएकामा हालसम्म दुई सय ७५ जनाले मात्र पहिलो किस्ता पाएका छन् । मेलम्ची नगरपालिकामा कायम भएका दुई सय ७१ लाभग्राहीमध्ये दुई सय ४५ जनाले पहिलो, २८ जनाले दोस्रो र एक जनाले मात्र अन्तिम किस्ता पाएका छन् । 

यस्तै पाँचपोखरी थाङपाल गाउँपालिकामा समेत एक सय ७९ जना लाभग्राहीमध्ये जम्मा २६ जनाले मात्र पहिलो किस्ता लिएका छन् । जिल्लामा बाढी पहिरोलगायतका प्राकृतिक प्रकोपबाट प्रभावित बनेका एक हजार पाँच सय ७९ लाभग्राहीमध्ये हालसम्म सात सय ७६ जनाले पहिलो, ६८ जनाले दोस्रो र मात्र सात जनाले अन्तिम किस्ताबापतको रकम पाएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । 

बाढीका कारण विस्थापित भएका स्थानीयको स्थायी आवास पुनः निर्माण प्रक्रियामा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयबीच आपसी तालमेल नहुँदा निर्माण कार्य सुस्त बनेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पा बताउनुहुन्छ । उहाँले गाउँपालिकाले हाल्नुपर्ने १० प्रतिशत रकम खातामा जम्मा गरिसकेको बताउनुभयो ।  घर बनाउन दिने रु पाँच लाख कम भएका कारण स्थानीयले घर बनाउन आँट गर्न नसकेको शेर्पाले बताउनुभयो । रु पाँच लाख घर बनाउन अपुग भएको छ । 

प्राकृतिक विपद्का हिसाबले देशकै उच्च जोखिममा रहेको यस जिल्लामा वर्षायाममा आउने बाढी, पहिरो तथा अन्य विपद्मा पूर्व सूचना प्रणाली, विपद् प्रतिकार्य योजना एवं सामग्रीको उचित व्यवस्थापनको कमजोरीले पनि बर्सेनि जनधनको क्षति हुने गरेको छ ।

यस्ता प्राकृतिक विपद्को पूर्व सूचनाले ठुलो क्षति हुनबाट रोक्न सकिने अनुभव मेलम्ची बाढीले सिकाएकाले सोको पूर्व तयारी अवस्थामा राखिएको मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालको भनाइ छ । उहाँले पूर्व सूचना प्रणाली जडान, वडा स्तरीय विपद् समितिलाई तालिम दिइएको तथा उद्धार अभ्यास पनि गरिएको, वर्षा मापन केन्द्र स्थापना गरिएको बताउनुभयो ।  

विसं २०७८ असार १ गतेको बाढीले हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाको मात्रै पाँच सय ५१ घर बगाएको थियो । पाँच हजार चार सय रोपनी खेतीयोग्य जमिन बगर बन्यो भने २६ जनाको ज्यान गएको थियो । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै सात झोलुङ्गे पुल, नौ  पक्की पुललगायत ३३ संरचना ध्वस्त भएका थिए । हेलम्बुको चनौटेमा बेलीबृज जडान भइसकेको छ भने मेलम्ची नदीमा जडान गर्न थालिएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो । रासस

मधेस प्रदेशको बजेट आज आउँदै

जनकपुर । मधेस प्रदेशको बजेट आज आउँदै छ ।

मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज सार्वजनिक गर्न लागेको हो ।

बिहीबार बसेको प्रदेशसभा बैठकमा अर्थ मन्त्रालयले आगामी आर्थिक २०८०/८१ को बजेट वक्तव्यका लागि प्रदेशसभामा पत्र पठाइएको सभामुख रामचन्द्र मण्डलले जानकारी गराउनुभएको थियो।  

उपत्यका बाहिर चल्ने लामो, मध्यम तथा छोटो दुरीका सवारी साधन आजबाट नयाँ बसपार्कबाट मात्रै छुट्ने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाबाट बाहिर जाने सवारी साधन आजबाट नयाँ बसपार्कबाट मात्रै छुट्ने भएका छन् ।  

काठमाडौँ महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दुरीमा सञ्चालन हुने यात्रुवाहक सवारी साधन नयाँ बसपार्क गोंङगबुबाट मात्रै छुट्नुपर्ने व्यवस्था कार्यान्वयन गर्ने निर्णय भएको भन्दै महानगरपालिकाले निर्देशन दिएअनुसार आजबाट लागु हुन लागेको हो ।

‘निर्णय कार्यान्वयन गर्दै अवस्थामा सुधार ल्याउन २०८० असार १ गतेदेखि नयाँ बसपार्कभन्दा बाहिर रहेका सबै टिकट काउन्टर हटाउन, नयाँ बसपार्कबाट मात्र यात्रुवाहक सवारी साधन सञ्चालन गर्न सूचित गरिन्छ, महानगरले भनेको छ, ‘धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दुरीका सवारी साधनको हकमा कलङ्कीदेखि जडीबुटीसम्म सवारी साधन रोक्न निषेध गरिएको छ ।’ 

महानगरद्वारा जारी सूचनाअनुसार सो निर्देशन अनुसार बसपार्कबाट मात्रै सवारी नछुटाएमा कारबाहीसमेत गर्ने जनाएको छ । 

‘सूचनाको बर्खिलाप गर्ने जो कोहीलाई असार १ गतेदेखि ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीबाट नियमानुसार कानुनी कारबाही हुने ब्यहोरा जानकारीका लागि अनुरोध छ ।’

कोसी, बागमती र गण्डकी प्रदेशमा पानी पर्ने, मध्य तथा पश्चिम तराई अत्यधिक गर्मी हुने

काठमाडौँ । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। कोसी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरू साथै बागमती प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। 

दिउँसो कोसी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

राती कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोसी,  बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा  मधेस प्रदेश सहित बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका मध्य तथा पश्चिम तराईका भू–भागहरूमा अत्यधिक गर्मी हुने सम्भावना यथावत् देखिन्छ । कोसी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै मधेस प्रदेश सहित देशका बाँकी पहाडी भू–भागका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तसर्थ, अत्यधिक गर्मी, मेघ गर्जन र चट्याङ तथा वर्षाबाट हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०८० असार ०१ गते (शुक्रवार)
दिउँसो:
 कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा, बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा र कोसी प्रदेशका तराईका भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती: कोसी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा  कोसी प्रदेशका तराई, मधेस प्रदेशसहित बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

२०८० असार ०२ गते (शनिवार)
दिउँसो:
 कोसी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोसी,  बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती: कोसी प्रदेश, मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। कोसी,  बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशसहित बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

२०८० असार ०३ गते (आइतबार)
दिउँसो:
 कोसी प्रदेशमा सामान्य बदली रहनुका साथै सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोसी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा, कोसी प्रदेशका तराई भू–भागका साथै देशका बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जन ÷ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
​​​​​​​राती: कोसी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी तराई भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ। कोसी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा, देशका बाँकी पहाडी पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।कोसी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

पानी अभावले रोपाइँ गर्न ढिलाइ

भजनी – कैलालीको भजनी नगरपालिका–२ का रामप्रसाद चौधरी गत वर्ष अहिलेको समयमा खेतमा निकै व्यस्त हुनुहुन्थ्यो । आकाशे पानीको भरमा खेती गर्दै आउनुभएका उहाँ यस वर्ष भने फुर्सदमा हुनुहुन्छ । समयमा वर्षा नभएपछि धान रोप्न नपाएका चौधरीको दैनिकी पानी पर्छ की भन्ने आशमै बित्ने गरेको छ ।

“खेती लगाउने समय ढल्किन लागेको छ । ब्याड राखेको पनि एक डेढ महिना भइसकेको छ”, चौधरी भन्नुहुन्छ, “बोरिङ आफूसँग छैन । पालो लगाएर ब्याडमा पानी लगाउनै ठिक्क हुन्छ । आकाशबाट पानी पर्ने सुरसार अझै छैन । धान रोप्न ढिलाइ भएको छ ।”

यस वर्ष मनसुन सक्रिय हुन ढिलाइ भएका कारण चौधरीजस्तै अन्य किसानले पनि समयमा धान रोप्न पाएका छैनन् । भजनीको अधिकांश खेतीयोग्य जमिनमा वर्षाको पानीको भरमा खेती हुन्छ । केही किसानले बोरिङ गरी जमिनमुनिको पानी तानेर सिँचाइ गर्दै आएका छन् ।

भजनीकै हरिराम चौधरीले १५ बिघा क्षेत्रफलमा धान रोप्ने तयारी गर्नुभएको छ । सबै काम सम्पन्न गरेर रोपाइँको तयारीमा बस्नुभएका उहाँ पानीको पर्खाइमा हुनुहुन्छ ।

“अहिलेसम्म आधाभन्दा बढी रोपाइँ गरिसक्नुपर्ने हो । मौसमका कारण खेतमा जान सकिएको छैन”, चौधरीले भन्नुभयो, “यस वर्ष समस्या होला जस्तो छ । अर्को खेती लगाउन समय लाग्ने देखिएको छ ।”

गाउँघरतिर किसानले आलोपालो खेतीको काम गर्दै आउनुभएको छ । त्यसरी काम गर्दा ज्याला बच्ने र समूहमा काम हुने भएकाले त्यो प्रायः परम्पराजस्तै छ । यस वर्ष भने सबैको कामसँगै पर्ने भएपछि त्यो आलोपालोमा काम हुने अवस्था नरहेको लक्ष्मण थारु बताउनुहुन्छ ।

“सबैले खेत जोत्ने काम गरिसकेका छन् । कतिपयको ब्याड पनि रोप्ने समयभन्दा ढल्किसकेको छ ।” लक्ष्मण भन्नुहुन्छ, “गाउँमा हामी सबै किसान छौँ । आफ्नो काम छोडेर अरुको काम गर्न जाने कोही होइन । त्यसकारण पनि धान रोपाइँमा ढिलाइ हुने देखिएको छ ।”

भजनी नगरपालिका कृषि क्षेत्रका लागि कैलाली जिल्लाकै महत्वपूर्ण क्षेत्र हो । कृषिका लागि महत्वपूर्ण क्षेत्र भए पनि सिँचाइ सुविधा भने राम्रो छैन । चारैतिरबाट नदीले घेरिएको क्षेत्रमा एउटा मात्रै सिँचाइ आयोजना लागू भएको छ । जसले एक तिहाइ क्षेत्रलाई समेट्न सकेको छैन । किसानको सिँचाइको माध्यम त्यहीँ बोरिङ मोटर नै हो । बर्सातको समयमा बाढी र डुबानले विकराल रुप लिने गरेको छ । कैयौँ वर्ष किसानले लगाएको धान बाली बाढीमै विलय भएको इतिहास साक्षी रहेको स्थानीयको धारणा छ ।

“सिँचाइको समस्या छ । बर्सातको समयमा सबै क्षेत्र जलमग्न हुने भजनी अन्य समयमा पानी पाउँदैन ।” स्थानीय कलशराम डङ्गौरा भन्नुहुन्छ, “सिँचाइ सुविधाको लागि सरकारले बोरिङ मोटर अनुदानमा किसानलाई वितरण त गरेको छ तर बिजुलीको महसुलमा भने छुट गरेको छैन ।”

वर्षे धानको तयारी गरेका किसानलाई वर्षा नहुँदा समस्या भए पनि चैते धान रोपेका किसानलाई भने अहिलेको मौसमले फाइदा पु¥याएको छ । किसानले चैते धान भित्र्याउने समय भएकाले मौसम सफा हुँदा फाइदा भएको दिनेश बोहरा बताउनुहुन्छ । “पानी परेको भए धान सुकाउन समस्या हुन्थ्यो । भित्र्याउन कठिन हुने थियो । यस वर्ष मौसमले साथ दिएको छ ।” उहाँले भन्नुभयो, “मौसम राम्रो भएका कारण विगतमा भन्दा यस वर्ष चैते धानको उत्पादन पनि राम्रो हुने देखिएको छ ।”

भजनी क्षेत्रमा मात्रै अधिकांश किसानले चैते धानको खेती गर्दै आएका छन् । बर्सातको समयमा बाढी र डुबानको बढी जोखिम भएको क्षेत्रमा चैते धानको खेती फस्टाएको छ । फागुनको अन्तिमतिर रोपेको चैते धान यतिबेला किसानलाई भित्र्याउन भ्याइनभ्याइ छ । बाढी र डुबानको क्षति कम भएको खण्डमा किसानले दुई पटक त्यहीँ एकैपटक रोपेको धान भित्र्याउने गरेका छन् । बाढीले क्षति नपु¥याए भदौमा पुनः त्यहीँ धान फल्ने गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा उद्योग, भूमि र भौतिक मन्त्रालयको बजेटमाथि छलफल हुने

काठमाडौँ – प्रतिनिधिसभा बैठक आज बस्दै छ । 

सङ्घीय संसद् भवनमा बिहान ११ः०० बजे बस्ने बैठकमा विनियोजन विधेयक २०८० माथि छलफल हुनेछ । 

सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथि छुटाईएको बजेटमा छलफल हुनेछ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत वन तथा वातावरण मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको छलफल गरिएको थियो, जुन सकिएको छ। 

शरणार्थी प्रकरण : आज सरकारी वकिलले जवाफी बहस गर्ने

काठमाडौँ – नक्कली शरणार्थी प्रकरणमा आजबाट जवाफी बहस सुरु हुने भएको छ । 

सो प्रकरणमा पक्राउ परेका १८ जना आरोपीको तर्फबाट थुनछेक बहस सकिएपछि आज सरकारी वकिलले जवाफी बहस गर्नेछन् ।  

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँका प्रमुख अच्युतमणि न्यौपानेसहितका चार जना अधिवक्ताले आज जवाफी बहस गर्नेछन् ।

आजबाट हुने जवाफी बहस आज दिउँसो २ बजेभित्र नै सक्न जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले इजलासबाटै निर्देशन दिइसक्नुभएको छ 

सङ्घीयतालाई संस्थागत गर्न कर्मचारीको वैयक्तिक सङ्केत नम्बर जरुरी : मुख्यमन्त्री जम्कट्टेल

मनहरी – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेशमा राष्ट्रिय किताबखाना र प्रदेश निजामती सेवा ऐन स्थापनाले सङ्घीयतालाई मजबुद र संस्थागत गर्न सहयोग पुगेको बताउनुभएको छ । प्रदेश सरकारले स्थापना गरेको यी महत्त्वपूर्ण कार्यले कर्मचारी प्रशासन अझ व्यवस्थित भएर जानेमा उहाँले जोड दिनुभयो ।

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित प्रदेश लोकसेवा आयोगबाट नियुक्त कर्मचारीको वैयक्तिक विवरण (पिआईएस) वितरण कार्यको सुरुआत कार्यक्रममा उहाँले प्रदेश र प्रदेशभित्रका स्थानीय तहमा नियुक्त वा बढुवा हुने कर्मचारीको व्यवस्थित अभिलेख राख्न प्रदेश किताबखाना स्थापनाले ठूलो सहयोग भएको बताउनुभयो ।

सङ्घीयता कार्यान्वयनको मुख्य पाटोको रूपमा रहेको प्रशासनिक सङ्घीयताको कार्यान्वयनका लागि कर्मचारीको अभिलेख प्रणाली हस्तान्तरण र सङ्केत नम्बर उपलब्ध गराई अभिलेख व्यवस्थापनको कार्य एक महत्त्वपूर्णपक्ष रहेको उहाँको भनाइ थियो ।

प्रदेशमा निजामती सेवा ऐन नआउँदा कर्मचारीको बढुवा र सुविधा रोकिएको भन्दै मुख्यमन्त्री जम्कट्टेलले अब यी समस्या समाधान गर्न प्रदेश किताबखानाबाट आवश्यक प्राविधिक कार्य गरी वैयक्तिक विवरण वितरण सुरु गरिएको बताउनुभयो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तरगत प्रदेश किताबखाना स्थापना भई कार्य सञ्चालनमा रहेको उल्लेख गर्दै उहाँले प्रदेशभित्र समायोजन भएर आएका कर्मचारीलाई यसले ‘अपडेट’ गर्न सहज बनाएको बताउनुभयो । यसले बागमती प्रदेश सरकारलाई सृदृढीकरण गर्दै अगाडि बढन सहयोग पुग्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रदेशका मुख्यसचिव मुकुन्द निरौलाले प्रदेश किताबखानाबाट आवश्यक प्राविधिक कार्य गरी जेठ ३१ गते बुधबारदेखि कर्मचारीको वैयक्तिक विवरण फारममा सङ्केत नम्बर कायम गरिएको जानकारी गराउनुभयो । उहाँका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय किताबखाना (निजामतीमा)बीच विभिन्न चरणमा भएको छलफलपश्चात प्रदेश लोकसेवा आयोगबाट सिफारिस भई नियुक्त भएका प्रदेश र स्थानीय सेवाका कर्मचारीको वैयक्तिक विवरण फारम उपलब्ध गराउन राष्ट्रिय किताबखाना निजामतीसँग एक महिना अगाडि नै सम्झदारी भई प्रादेशिक पोर्टल हस्तान्तरण भएको बताउनुभयो ।

उहाँले प्रदेशका कर्मचारीको अभिलेख राख्ने संस्थागत कार्य प्रदेश सरकारको रहेकोले तहाँबाट नै कार्य अगाडि बढाउन भनी किताबखानाबाट पत्राचार भएको सन्दर्भमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रममार्फत प्रदेशका लागि आवश्यक पिआईएस सफ्टवेयर पोर्टल निर्माण भएको बताउनुभयो ।

बागमती प्रदेशमा पहिलो पटक प्रदेश तहमा नियुक्त नौ जना कर्मचारीको वैयक्तिक सङ्केत नम्बर प्रादेशिक पिआइएस पोर्टलबाट सिर्जना गरिएको छ ।

कांग्रेसको प्रचार विभागमा ३९ सदस्य मनोनित

काठमाडौँ – नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको सदस्यमा ३९ जना सदस्य मनोनित गरिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसको विधानबमोजिम पार्टीका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा प्रमुख रहनुभएको प्रचार विभागको सदस्यमा उहाँहरूलाई मनोनयन गर्नुभएको हो ।

विभागको सदस्यमा दीपकप्रसाद कुइँकेल, गोपाल झा, कृष्णप्रसाद बस्याल, तिलक राई, गोविन्द परियार, चन्देश्वर खत्वे, गणेश केसी, शिला इजम, गङ्गाधर पराजुली, लोकराज ढकाल, सन्तबहादुर चेपाङ, राजु मास्के, उमिद वागचन, लीला खनाल, चेतराज रेग्मी, मिथलेश मिश्र, मोती पौडेल, पवन अधिकारी, कमला पाण्डे, फूलमाया सुनार मनोनित हुनुभएको छ ।

यसैगरी विभागको सदस्यमा राजबहादुर गुरुङ, राघव गौतम, अनुषा नेपाल, निगम हुमागाईँ, गोविन्द मरासिनी, ई हुकुमबहादुर बुढा, रम्भा मिश्र, लवदेव ढुङ्गाना, दिनेशविक्रम शाह, सुरेश यादव, इन्द्र रिजाल, डा मो ओजिर देवान, पूर्णबहादुर नेपाली, अशोकनाथ योगी, विष्णुप्रसाद तिम्सिना, दीपेन्द्र वान्तवा, सज्जन ठाकुर, प्रकाश खरेल र विनोद मोक्तान मनोनित हुनुभएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेशसभा : प्रदेशको आर्थिक सर्वेक्षण प्रस्तुत

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण प्रस्तुत गर्नुभयो ।

प्रदेशसभामा पहिलोपटक प्रस्तुत गरिएको प्रदेश सरकारको आर्थिक सर्वेक्षणमा आर्थिक वर्ष २०७९/८० मा सुदूरपश्चिम प्रदेशको कुल ग्राहस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा रु तीन खर्ब ७६ अर्ब ३३ करोड ३० लाख रहने अनुमान छ ।

यस्तै आव २०७९/८० मा प्रदेशको आर्थिक वृद्धिदर एक दशमलव ७८ प्रतिशत रहने अनुमान छ । गत आव २०७८/७९ मा यसको वृद्धिदर चार दशमलव ७८ प्रतिशत रहेको मन्त्री शाहीले सदनलाई जानकारी गराउनुभयो । आव २०७८/८९ मा राष्ट्रिय कुल ग्राहस्थ्य उत्पादनमा प्रदेशको योगदान सात प्रतिशत रहने अनुमान छ ।

आव २०७९/८० मा प्रदेशको कृषि तथा गैरकृषि क्षेत्रको वृद्धिदर क्रमशः एक दशमलव ६७ प्र्रतिशत र दुई दशमलव १३ प्रतिशत हुने अनुमान छ । यस्तै प्राथमिक क्षेत्र र सेवा क्षेत्रको वृद्धिदर क्रमशः एक दशमलव ६६ प्रतिशत र तीन दशमलव २४ प्रतिशत धनात्मक तथा वित्तीय क्षेत्रको वृद्धिदर शून्य दशमलव ६४ प्रतिशत ऋणात्मक हुने अनुमान छ ।

आव २०७९/८० सुदूरपश्चिम प्रदेशको आय एक हजार ६३ अमेरिकी डलर रहने अनुमान छ । गत आवमा यस्तो आय एक हजार ६० अमेरिकी डलर रहेको आर्थिक मामिलामन्त्री शाहीले जानकारी गराउनुभयो ।

गएको फागुनसम्म बझाङको सैपाल गाउँपालिकाबाहेक सुदूरपश्चिम प्रदेशका सबै ८७ पालिकामा जम्मा तीन सय ४३ विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखा सञ्चालनमा आइसकेका छन् । यस्तै गत फागुनसम्म प्रदेशमा तीन सय ६५ सहकारी संस्था र तीन सय आठ बीमा कम्पनी पुगिसकेका छन् ।

बैठकमा यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहले प्रदेश लोकसेवा आयोग, महालेखा परीक्षक र महान्यायधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रदेश सरकारले असार १ गते अपराह्न ४ बजेपछि बस्ने बैठकमा आव २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्न लागेको छ ।