`

रासायनिक मलको कालोबजारी बढ्दै, उपभोक्ता मारमा

पाल्पा – बालीनाली लगाउने समयमा हरेक वर्ष किसानले रासायनिक मल नपाएर निकै सास्ती खेप्नु परेको छ । मल अभाव भएपछि महँगोमा खरिद गरेर खेतबारीमा प्रयोग गर्न यहाँका किसान बाध्य छन् ।

सरकारले अनुदानमा उपलब्ध गराउने मलको तुलनामा प्रतिकिलो दोब्बर–तेब्बर बढी मूल्य तिरेर मल खरिद गरिरहेको किसान टेकनाथ भुषालले बताउनुभयो । “केही सहकारी सञ्चालक र व्यापारीले मनपरी ढङ्गले अवैधरूपमा मल खरिद बिक्री गर्ने गरेको भेटिएको छ । रामपुर क्षेत्रमा रासायनिक मलको कालोबजारी बढ्न थालेको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार खेती लगाउने समयमा हरेक वर्ष मलको हाहाकार हुँदा किसानले प्रतिकिलो रू एक सयभन्दा बढी मूल्य तिरेर मल खरिद गर्नुपर्ने बाध्यता छ ।

“खेतबारीमा बालीनाली लगाउने बेलामा मलको समस्या सधैँ भोग्नु परिरहेको छ । कालोबजारीमा मल खरिद गरी व्यापारीले मनपरी ढङ्गले बिक्री गरिरहेका छन् । किसान भने चर्को मूल्यमा खरिद गर्न बाध्य छौँ” उहाँले भन्नुभयो, “पछिल्लो समय लुकिछिपी अवैधरूपमा मल खरिद बिक्री गर्ने गरेको भेटिएको छ ।”

रामपुरमा हिजोआज अवैधरूपमा रासायनिक मल खरिद गर्ने र सरकारले अनुदानमा किसानलाई उपलब्ध गराएको मल निजी एग्रोभेटलाई बेच्ने काम बढिरहेको छ भने किसान महँगो मूल्यमा मल खरिद गर्न बाध्य छन् ।

रामपुर नगरपालिका–७ स्थित हराभरा कृषि सहकारी संस्थाले सरकारको अनुदानमा आएको मल निजी एग्रोभेटलाई बिक्री गरेको प्रहरीले फेला पारेर मल फिर्ता गराएको छ । उक्त घटना सेलाउन नपाउँदै ठूलो परिमाणमा प्रहरीले रामपुरबाटै अवैध मल बरामद गरेको छ ।

सहकारीले स्याङ्जाको वालिङ भकुण्डेस्थित गरिमा एग्रोलाई बिक्री गरी गाडीमा मल लैजाँदै गर्दा वडा प्रहरी कार्यालय वालिङले जेठ १८ गते राति ४० बोरा युरिया मल फेला पारेर नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएको मल जेठ १९ गते साँझ रामपुर नगरपालिकालाई प्रहरीले बुझाएको थियो । सहकारीले गरिमा एग्रोलाई प्रतिबोरा रू एक हजार ५० का दरले बिक्री गरेको जनाएको छ ।

यही जेठ २७ गते प्रहरीले पाल्पाबाट एक हजार २२ बोरा अवैध युरिया मल बरामद गरेको छ । जिल्लाको रामपुर नगरपालिका र रम्भा गाउँपालिकाबाट सो मल एकैदिन प्रहरीले फेला पारेको हो । रम्भा गाउँपालिका–१ स्थित कालीगण्डकी करिडोर सडकखण्डमा प्रहरी चौकी हुँगीले रामपुरका लागि गाडीमा लिएर आउँदै गरेको तीन सय ७२ बोरा मल जेठ २७ गते बिहान करिब सवा ८ः१५ बजे फेला पारेको थियो ।

नवलपरासीबाट पाल्पाको रामपुरतर्फ आउँदै गरेको लु १ ख ३८१ नं को ट्रकलाई चेकजाँच गर्ने क्रममा भारतीय जनउर्वरक परियोजना भारत युरिया नामक युरिया मल १६ हजार सात सय ४० किलो अर्थात तीन सय ७२ बोरा रु दुई लाख ९७ हजार छ सय मूल्य बराबरको बिल नभएको मल भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताउनुभएको छ ।

ट्रकले पहिले चामलको बिल देखाएको र पछि अनुसन्धान गर्दै गर्दा युरियाको बिल फेला परेको थियो । बिलमा क्रेता र पान नं फरक–फरक व्यक्तिको रहेको स्रोतले जनाएको छ । मल, ट्रक र चालकसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ ।

सोही दिन दिउँसो रामपुर नगरपालिका–५ स्थित बेझाड बजारमा विजय श्रेष्ठको चारतले घरको सटर कोठा (भाडामा दिइएको सटर) मा अवैधरूपमा भण्डारण गरी राखेको छ सय ५० बोरा प्रधानमन्त्री भारतीय जनउर्वरक परियोजना भारत युरिया नामक रासायनिक मल ठूलो मात्रामा भेटिएको थियो । सो मल अझैपनि कसले भण्डारण गरेर राखेको छ खुल्न भने सकेको छैन ।

रामपुर बेझाड बजारको एक सटरबाट नियन्त्रणमा लिइएको छ सय ५० बोरा (प्रतिबोरा ४५ किलो बराबरको तौल छ) अवैध रासायनिक मल (युरिया) राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।

गत जेठ २९ गते राजस्व अनुसन्धान अधिकृतसहित, करदाता सेवा कार्यालय पाल्पाका प्रमुख र जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब निरीक्षकसहितको टोलीले रामपुरमा सिल गरेर राखेको मल अनुसन्धान कार्यालय बुटवल पठाइएको हो । रामपुरमा ठूलो परिमाणमा अवैध मल फेला परेपछि प्रनाउ थापासहितको टोलीले स्थलगतरूपमा अनुगमन गरेको थियो ।

स्थानीय मल वितरण व्यवस्थापन समितिले (हराभरा कृषि सहकारीले बिक्री गरेको मल) जफत गरिएको ४० बोरा युरिया मल रामपुर नगरपालिकाका अन्य बिक्रेतालाई बिक्री गरी आम्दानी नगरपालिकाको राजस्व खातामा जम्मा गरिने निर्णय भएको रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरी पाण्डेयले जानकारी दिनुभयो । उहाँका अनुसार तोकिएको कार्य क्षेत्रभन्दा बाहिर सम्बन्धित सहकारी संस्थाको अनुगमन, संयोजक र बिक्रेता कर्मचारीको मिलमतोमा समितिलाई कुनै जानकारी नदिई मल बिक्री गरिएकाले उक्त बिक्रीमा संलग्न व्यक्तिलाई जिम्मेवारी पदबाट हटाउने र जफत मल बराबरको रकम सम्बन्धित व्यक्तिबाट असुर उपर गर्ने निर्णय समितिले गरेको छ ।

चारैतिरबाट रामपुरमा सवारीसाधन भित्रिने तथा यस क्षेत्रलाई मुख्य स्थान बनाएर आवतजावत गर्ने भएकाले पछिल्लो समय अवैधरूपमा विभिन्न माल सामान लुकाएर ल्याउने कार्य बढ्न थालेको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताउनुभयो । सुरक्षा व्यवस्था कडा पार्नुपर्ने भन्दै सुरक्षाका लागि थप जनशक्ति आवश्यकता पर्ने उहाँको भनाइ थियो ।

“रामपुर अहिले प्रमुख नाकाको रूपमा विकास भएको छ, जनघनत्व बढेसँगै व्यापार व्यावसाय फस्टाउन थालेको छ” उहाँले भन्नुभयो, “नगर सरकारले बजार अनुगमन कार्यलाई तीव्रता दिइरहेको छ, कालीगण्डकी करिडोर सडकले जोडेकाले सुरक्षामा पनि चुनौती थपिएको छ” ।

निर्माणाधीन कालीगण्डकी करिडोर सडकखण्डको बाटो हुँदै नारायणघाटसँग सिधा रामपुर जोडिएपछि अवैधरूपमा कालोबजारी बढ्न थालेको नगरप्रमुख थापाले बताउनुभयो । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर (नवलपरासी सुस्ता पूर्व) को केन्द्र भागमा रहेको रामपुरमा बस्ती तथा व्यापार व्यवसाय बढ्दै गएको छ । बुटवल, नारायणघाट, पोखरासँग सिधा जोडिएकाले पनि लुकिछिपी अवैध रूपमा कारोबार गर्ने घटना सार्वजनिक हुन थालेको हो ।

दुई मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सम्पन्न

काठमाडौँ – सांसद जाबेदा खातुन जागाले राष्ट्रिय निकुञ्ज ऐन, २०२९ खारेज गरेर वनको स्थानीय समुदायले उपभोग गर्न सक्ने गरी नयाँ ऐन बनाउन माग गर्नुभएको छ ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८० अन्र्तगतको मन्त्रालय गत छलफलमा उहाँले जङ्गलबाट काठ तथा वनजन्य सामग्रीको प्रयोगबाट आर्थिक समृद्धि हासिल गर्न सकिने भन्दै नयाँ ऐन बनाउन सुझाव दिनुभयो ।

उहाँले उपभोक्ताले संरक्षण गरेको वन क्षेत्रको अधिकार उपभोक्ता तथा स्थानीय समुदायलाई दिनुपर्नेमा जोड दिनुभयो । “वनसँग हाम्रो जीवन जोडिएको छ । वनलाई व्यवस्थित र संरक्षण गर्नपर्दछ । तर हामीले वनजङ्गलबाट आर्थिक समृद्धि हासिल गर्न सकेका छैनौँ”, उहाँले भन्नुभयो, “राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्र विस्तार रोक्नुपर्दछ । त्यसको अधिकार जनजाति, आदिवासी, दलित, मुक्तकमैया, सुकुम्वासी, गरिब विपन्न र पिछडिएका समुदाय दिनुपर्छ ।”

उहाँले वनजङ्गलबाट काठमा आत्मनिर्भर बन्नसक्ने बताउनुभयो । “विदेशबाट अर्बौं रकमको काठ आयात गर्ने तर आफ्नैै देशको काठ दाउरा सदुपयोग गर्न नपाउने अवस्थाले हाम्रो देशको अर्थतन्त्रमा ह्रास आएको छ”, उहाँले भन्नुभयो ।

छलफलका क्रममा नेकपा (माओवादी केन्द्र) को संसदीय दलका सचेतक रूपा सोशी चौधरीले महिला केन्द्रित कार्यक्रम प्रभावकारी बनाउनतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथा र मधेसमा दाइजो प्रथाका कारण हिंसाका घटनाहरू न्यूनीकरणका लागि प्रभावकारी कार्यक्रम ल्याउन जोड दिनुभयो । उहाँले भन्नुभयो, “प्रथाजन्यदेखि वैदेशिक रोजगारका सिलसिलामा महिलाले भोग्ने समस्याको समाधान गर्न कस्ता कार्यक्रम चलाउने ? कस्तो प्रकारको जनचेतना जगाउने भन्नेतर्फ गम्भीर भएर सोच्नपर्छ ।”

उहाँले ज्येष्ठ नागरिक र बालबालिकाको उचित संरक्षणका लागि पनि सोहीअनुसारको कार्यक्रमको व्यवस्थामा जोड दिनुभयो ।

वनजङ्गलको स्थानीय समुदायले उपभोग गर्न पाउनुपर्छ : सांसद जाबेदा खातुन

काठमाडौँ – सांसद जाबेदा खातुन जागाले राष्ट्रिय निकुञ्ज ऐन, २०२९ खारेज गरेर वनको स्थानीय समुदायले उपभोग गर्न सक्ने गरी नयाँ ऐन बनाउन माग गर्नुभएको छ ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८० अन्र्तगतको मन्त्रालय गत छलफलमा उहाँले जङ्गलबाट काठ तथा वनजन्य सामग्रीको प्रयोगबाट आर्थिक समृद्धि हासिल गर्न सकिने भन्दै नयाँ ऐन बनाउन सुझाव दिनुभयो ।

उहाँले उपभोक्ताले संरक्षण गरेको वन क्षेत्रको अधिकार उपभोक्ता तथा स्थानीय समुदायलाई दिनुपर्नेमा जोड दिनुभयो । “वनसँग हाम्रो जीवन जोडिएको छ । वनलाई व्यवस्थित र संरक्षण गर्नपर्दछ । तर हामीले वनजङ्गलबाट आर्थिक समृद्धि हासिल गर्न सकेका छैनौँ”, उहाँले भन्नुभयो, “राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्र विस्तार रोक्नुपर्दछ । त्यसको अधिकार जनजाति, आदिवासी, दलित, मुक्तकमैया, सुकुम्वासी, गरिब विपन्न र पिछडिएका समुदाय दिनुपर्छ ।”

उहाँले वनजङ्गलबाट काठमा आत्मनिर्भर बन्नसक्ने बताउनुभयो । “विदेशबाट अर्बौं रकमको काठ आयात गर्ने तर आफ्नैै देशको काठ दाउरा सदुपयोग गर्न नपाउने अवस्थाले हाम्रो देशको अर्थतन्त्रमा ह्रास आएको छ”, उहाँले भन्नुभयो ।

छलफलका क्रममा नेकपा (माओवादी केन्द्र) को संसदीय दलका सचेतक रूपा सोशी चौधरीले महिला केन्द्रित कार्यक्रम प्रभावकारी बनाउनतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथा र मधेसमा दाइजो प्रथाका कारण हिंसाका घटनाहरू न्यूनीकरणका लागि प्रभावकारी कार्यक्रम ल्याउन जोड दिनुभयो । उहाँले भन्नुभयो, “प्रथाजन्यदेखि वैदेशिक रोजगारका सिलसिलामा महिलाले भोग्ने समस्याको समाधान गर्न कस्ता कार्यक्रम चलाउने ? कस्तो प्रकारको जनचेतना जगाउने भन्नेतर्फ गम्भीर भएर सोच्नपर्छ ।”

उहाँले ज्येष्ठ नागरिक र बालबालिकाको उचित संरक्षणका लागि पनि सोहीअनुसारको कार्यक्रमको व्यवस्थामा जोड दिनुभयो ।

शैक्षिक मेलामा कामपाको एक्सन

काठमाडौँ – नतिजा प्रकाशनपूर्व नै विभिन्न तहको भर्नाका लागि शैक्षिक मेला आयोजना गरेको भन्दै काठमाडौँ महानगरपालिकाले प्रदर्शन कक्षहरू हटाएको छ ।

माध्यमिक विद्यालय सङ्घ (हिसान) ले आजदेखि भृकुटीमण्डपमा सुरु गरेको उक्त मेला सञ्चालनको उपयुक्त समय अहिले नभएको भन्दै कामपाले उक्त स्थानमा राखिएको प्रदर्शन कक्षहरू हटाएको हो । कामपाको शिक्षा विभागका अधिकारी र नगर प्रहरीको संयुक्त प्रयासमा त्यहाँ रहेका कक्षहरू हटाइएको हो ।

कामपाका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को नतिजा नआउँदै विद्यार्थी भर्नाका लागि तान्ने उद्देश्यले मेला आयोजना गरेको भन्दै महानगरले बन्द गराएको हो ।

परीक्षाको नतिजा नै प्रकाशित नभएको अवस्थामा मेलामार्फत विद्यार्थी र अभिभावकलाई झुक्याउने र लोभ्याउने काम भएपछि मेला हटाउनुपरेको प्रमुख कोइरालाको भनाइ छ ।

एसईई र कक्षा १२ को नतिजा कुरेर बसेका विद्यार्थी र अभिभावकलाई लक्षित गरेर राखिएको मेला उपयुक्त समयमा सञ्चालन नभएको कामपाले बताएको छ ।

मेलामा ७५ भन्दाबढी शैक्षिक संस्थाका स्टलहरू रहेका थिए । मेला आगामी असार ३ गतेसम्म सञ्चालन गर्ने उद्देश्यसहित सुरु गरिएको थियो । कामपाले यसअघि नै यी र यस्ता गतिविधि सञ्चालन नगर्नका लागि सम्बद्ध निकायलाई आग्रह गर्दै आएको थियो । त्यसैगरी शिक्षासँग सम्बन्धित विभिन्न जानकारी दिने उद्देश्यसहित बाँड्ने पर्चाको पनि कामपाले नियन्त्रण गर्दै आएको छ ।

शैक्षिक मेला जारी रहन्छ– हिसान

काठमाडौँ महानगरपालिकाले भृकृटीमण्डपमा जारी चारदिने शैक्षिक मेला ‘आठौँ कान्तिपुर हिसान एडुफेयर’ रोक्न निर्देशन दिए पनि आयोजकले केन्द्र सरकारको सम्बन्धित निकायसँगको अनुमतिप्राप्त भएकाले मेलालाई निरन्तरता दिने जनाएको छ ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ, नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्स लिमिटेडको संयुक्त आयोजनामा आजदेखि सुरु भएको सो मेलाले माध्यमिक शिक्षा परीक्षा कक्षा १० र १२ को परीक्षाको परीक्षाफल प्रकाशन नभएको समयमा विद्यार्थी र अभिभावकलाई आकर्षित गर्न खोजेको भन्दै रोक्नका लागि आज दिउँसो कार्यक्रमस्थलमा महानगरपालिकाका सुरक्षाकर्मी पुगेका थिए ।

हिसानका अध्यक्ष रमेश सिलवालले आफूहरू कानूनतः दर्ता भई सञ्चालनमा रहेको, नियमानुसार राजस्व तिरेको र मेलाबारे केन्द्र सरकारका सम्बन्धित निकायबाट स्वीकृति लिएको तथा महानगरपालिककालाई जानकारी दिइएकाले स्थगन नगर्ने बताउनुभयो । उहाँले मेलामा हस्तक्षेप गर्ने अधिकार महानगरपालिकालाई नभएको जिकिर गर्नुभयो । सो मेलाको उद्घाटन प्रतिनिधिभसभाका सभामुख देवराज घिमिरेले गर्नुभएको थियो ।

विद्युत् व्यापारका लागि तयार हुनुस् : ऊर्जामन्त्री बस्नेत

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले निजी क्षेत्रलाई छिट्टै बिजुली व्यापारका लागि अनुमति दिने सङ्केत गर्नुभएको छ ।

उहाँले त्यसका लागि तयारी अवस्थामा रहन आग्रहसमेत गर्नुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को २१औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा उहाँले बिजुली व्यापारमा क्रमशः निजी क्षेत्रलाई अनुमति दिइने बताउनुभयो ।

मन्त्री बस्नेतले अब विद्युत् व्यापारका लागि पनि निजी क्षेत्र तयारी अवस्थामा बस्न आग्रह गर्नुभएको हो । प्रधानमन्त्रीको भारत भ्रमण एउटा ‘ब्रेक थ्रु’ भएको भन्दै उहाँले हाल परिस्थिति धेरै परिवर्तन भइसकेको स्पष्ट पार्नुभयो ।

भारतलाई बिजुली बिक्रीका लागि भएको सहमतिलाई कार्यान्वयन गरिने उहाँको भनाइ छ । ऊर्जामन्त्री बस्नेतले त्यो सम्भव रहेको बताउनुभयो । “सम्भव नभई त निर्णय हुन पनि सम्भव थिएन । निर्णय हुनु नै यो सम्भव हुनु हो । कार्यान्वयनमा जान्छ । ढुक्क हुनुस्”, उहाँले भन्नुभयो ।

हाल बुझाइ र परिस्थितिमा अन्तर रहेको भए पनि आगामी १० वर्षभित्र १० हजारमात्रै होइन १५ देखि २० हजार मेगावाट बराबरको बिजुली बिक्रीका लागि परिस्थिति बन्ने उहाँले जिकिर गर्नुभयो ।

उत्पादन बढी भएपछि भारत, बङ्गलादेशलगायतका मुलुकसँग व्यापारको कुरा भए पनि पूर्वाधार निर्माणमा ठूलो लगानीको आवश्यकता रहेको मन्त्री बस्नेतको भनाइ छ । उहाँले लगानीको वातावरण बनाउन नीतिगत व्यवस्था सुधार गर्ने, सेवाप्रवाह चुस्त बनाउनेलगायतका कुरा ध्यानमा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

“उत्पादन गरेरमात्र पुग्दैन । पहिला लगानीको वातावरण बनाएर उत्पादन बढाउने र पूर्वाधार बनाएर त्यसलाई व्यापारसँग जोड्ने नीति सरकारले लिएको छ”, उहाँले भन्नुभयो ।

सरकारले स्पष्ट लक्ष्य निर्धारण गरेको जानकारी दिँदै उहाँले सो लक्ष्य पूरा गर्न एवं अप्ठ्यारा हटाएर अगाडि बढिने र समस्या समाधान गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकको समृद्धिको निम्ति आधार भनेकै ऊर्जा हो, त्यसमा हामी स्पष्ट छौँ ।”

उत्पादनको दृष्टिबाट हेर्दा पूर्वाधार अभावजस्तो देखिए पनि निर्माणाधीन प्रसारणलाइन र सबस्टेशन बनिसक्दा फेरि उत्पादनमै फर्किनुपर्ने अवस्था आउने पनि मन्त्री बस्नेतको भनाइ छ ।

बिजुलीको खपत बढाउनका लागि शतप्रतिशत विद्युतीकरण, औद्योगिक खपत बढाउने, घरायसी प्रयोजनमा ग्यास विस्थापित गर्ने, सिँचाइ, यातायातलगायतका सबै क्षेत्रमा ऊर्जा खपत बढाउने अभियान पनि सुरु गर्न लागेको मन्त्री बस्नेतले जानकारी दिनुभयो ।

बजेट निर्माणलगायतका काममा व्यस्त हुँदा विद्युत् विधेयक पहिला संसद्मा लैजान नसकिएको जानकारी दिँदै उहाँले केही समयलगत्तै सो विधेयकले संसद्को कार्यक्षेत्रमा प्रवेश पाउने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अब निजी क्षेत्रले व्यापार गर्ने बेला आएको छ । तपाईंहरू तयार हुनुस् । सरकार हातेमालो गरेरै अघि बढ्छ ।”

कार्यक्रममा विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले जलविद्युत् आयोजनालाई हकप्रद सेयर जारी गर्न अनुमति दिएपछि पाँच मेगावाटको आयोजनाले पनि ५० मेगावाटको अर्को आयोजना बनाउन सुरु गरेको बताउनुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा ठूलो उपलब्धि भएको उल्लेख गर्नुभयो । “हिजो ५० मेगावाट बिजुली किनिदिनुस् भन्ने अवस्था थियो । दुई सय मेगावाट किन्दा पनि दङ्ग पथ्र्यौँ । अहिले त एकैपटक १० हजार मेगावाटको सम्झौता भयो । यो निकै ठूलो उपलब्धि हो ।”

बङ्गलादेशसँग विद्युत् व्यापारका लागि नेपाल र बङ्गलादेश दुवैले भारतसँग बाटो माग्ने र डेडिकेटेड प्रसारण लाइन आफैँ बनाउनुपर्नेमा उहाँको जोड छ । निजी क्षेत्रले यस क्षेत्रमा महत्त्वपूर्ण काम गरेको उहाँको भनाइ छ ।

निजी क्षेत्रले विद्युत् व्यापार गर्ने कुरा आउँदा प्रसारण लाइनको कुरा आउँछ । तर ग्रीड कोडसम्बन्धी निर्देशिका बनाएको चार महिनासम्म पनि सुझाव नआएको उहाँको भनाइ छ ।

नेपाल–बङ्गलादेश सम्बन्धमा विद्युत् सम्झौता कोसेढुङ्गा सावित हुने विश्वास

काठमाडौँ – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग बङ्गलादेशका राजदूत सालाउद्दिन नोमन चौधरीले शिष्टाचार भेट गर्नुभएको छ ।

गृह मन्त्रालयमा भएको भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र बङ्गलादेशबीचको सौहार्दपूर्ण सम्बन्धलाई विद्युत् प्रसारण लाइनसम्बन्धी सम्झौताले अझ मजबुद बनाएको बताउनुभयो ।

राजदूत चौधरीले दुई देशको सम्बन्धमा विद्युत् प्रसारण लाइन कोशेढुङ्गा सावित हुने विश्स व्यक्त गर्नुभयो । उहाँले यहाँस्थित बङ्गलादेशी राजदूतावासले २३ जुनमा कला प्रदर्शनीको आयोजना गर्न लागेकामा उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थिति हुन उपप्रधानमन्त्री श्रेष्ठलाई आग्रह गर्नुभएको उपप्रधानमन्त्रीको सचिवालले जनाएको छ ।

विश्व मातृभाषा दिवसका सन्दर्भमा जुन २३ मा ‘लभ एण्ड ल्याङ्ग्वेज’ शीर्षकमा हुने कला प्रदर्शनीमा नेपालका ३५ कलाकारको कला प्रदर्शन हुने बताइएको छ ।

विपद् व्यवस्थापनका लागि दक्ष सुरक्षा जनशक्तिमा उल्लेख्य वृद्धि

काठमाडौँ – मनसुनजन्य विपद् व्यवस्थापन, खोज तथा उद्धारलगायतका कार्यमा खटिने दक्ष सुरक्षा जनशक्तिमा उल्लेख्य वृद्धि गरिएको छ ।

गत वर्ष विपद् व्यवस्थापनका लागि एक हजार चार सय ८४ जना दक्ष जनशक्ति रहेकामा यसपालि बढाएर ११ हजार छ सय ६३ पुर्याइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यसपालि नेपाली सेनाबाट सात हजार छ सय ३६ जना सुरक्षा जनशक्ति विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा राखिएको छ ।

यस्तै नेपाल प्रहरीका दुई हजार एक सय २५ र सशस्त्र प्रहरी बल नेपालका एक हजार नौ सय तीन जनशक्ति विपद् व्यवस्थापनकै लागि तयार पारिएको जनाइएको छ । यसमा सशस्त्र प्रहरीको गोताखोरमात्रै ७४ जना छन् । यद्यपि विपद्को अवस्थाअनुसार भने जनशक्ति थपघट हुनेछ ।

प्रहरीहरु भने हरेक जिल्लाबाट आ–आफ्नै तरिकाले परिचालन हुने भए पनि विशेषरूपमा विपद्लाई नै केन्द्रित गरेर दक्ष सुरक्षा जनशक्ति तयार पारिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो ।

अन्य लाखौँ सुरक्षाकर्मीहरू ठाउँ–ठाउँमा खटिने छन्, यो ११ हजार जनशक्ति भनेको विपद्सम्बन्धी नै तालिम लिएर दक्ष बनाइएका जनशक्ति हुन् । यसपालि नेपालमा पूर्वबाट मनसुन प्रवेश भइसकेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यसपटकको मनसुनमा औषतभन्दा कम वर्षा हुने अनुमान गरिएको छ ।

प्राधिकरणले यसपालि विपद्बाट १२ लाख ५० हजार मानिस प्रभावित हुने अनुमान गरेको छ । सोहीअनुसार मनसुन प्रतिकार्य कार्ययोजना बनाएर कार्यान्वयन गरिएको छ ।

राजनीतिमा अब पुस्तान्तरणको खाँचो

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपमहासचिव डा गङ्गालाल तुलाधरले केही वामपन्थी दलको समन्वयमा आगामी असार १ गते समाजवादी केन्द्र घोषणा गरिने बताउनुभएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले समाजवादी प्रेस सङ्गठन नेपालको नवनिर्वाचित कार्यसमितिलाई शुभकामना तथा बधाई दिन आज आयोजित कार्यक्रममा उहाँले अहिले केन्द्रमा आबद्ध आफ्नो पार्टीलगायतका दलहरूबीच कार्यगत एकता गरिने जानकारी दिनुभयो ।

पार्टी कार्यालयमा सचिवसमेत रहनुभएका नेता तुलाधरले लामो सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिलाई जोगाउन केन्द्रको महत्व हुने उल्लेख गर्दै तुलाधरले केन्द्रमा रहने दलबीच लामो गृहकार्य गरी राष्ट्रियता, जनजीविका, वैज्ञानिक समाजवादका विषयमा साझा दृष्टिकोणमा समझदारी कायम भएपछि एकता हुने बताउनुभयो ।

पार्टीले अवलम्बन गरेको आदर्श, नीतिले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको महत्व रहेको बताउँदै उहाँले राजनीतिमा अब पुस्तान्तरणको खाँचो औँल्याउनुभयो । पार्टी केन्द्रीय सदस्य मोहन गौतमले सभ्य र समृद्ध समाज निर्माणका लागि सञ्चार जगत्ले राम्रो र सकारात्मक सन्देशलाई प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

युनियनका अध्यक्ष सुदेश पराजुलीले गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता विषय नागरिको मौलिक अधिकार भएकाले यसमा राज्यले लगानी बढाउनुपर्ने बताउनुभयो । सङ्गठनका नवनिर्वाचित अध्यक्ष विश्वमणि सुवेदीले श्रमजीवीको हक, हित र अधिकारका क्षेत्रमा थप क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संसद्लाई भ्रष्टाचारीको संरक्षण गर्ने थलो नबनाउन नागरिक खबरदारी

काठमाडौँ – मानवअधिकार तथा शान्ति समाजले सार्वभौम संसद्ले भ्रष्ट नेतालाई कारबाही गरोस्, सार्वभौम संसद् भ्रष्टाचारीको संरक्षण गर्ने थलो नबनोस् भन्दै नागरिक खबरदारी गरेको छ ।

शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न शीर्षनेतासहित मूल दोषीलाई कारबाही गर भन्ने आह्वानसहित आज नयाँबानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शन गरेको हो । यसैगरी चुरे ध्वस्त पार्ने नीतिको शान्ति समाजले विरोध गरेको छ । मानवअधिकारमैत्री ऐन बनाइ सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुर्याउन आग्रह पनि गरिएको छ ।

प्रदर्शनमा ‘चुरे ध्वस्त पार्न पाइँदैन : मधेसमारा नीति चाहिँदैन’, ‘शीर्षनेताहरुको सम्पत्ति छानबिन खोइ ?’, ‘भ्रष्टाचारी नेताको स्वर ठूलो किन ?’, ‘सार्वभौम संसद् राष्ट्रिय पञ्चायतजस्तो नबनोस्’, ‘शीर्षनेता भ्रष्ट छन् : नेपाली जनता त्रस्त छन्’, ‘भ्रष्टाचारी नेताका कारण लोकतन्त्र खतरामा’, ‘भ्रष्टाचारविरोधी अभिलेख संसद्को रेकर्डबाट किन हटाइयो ?’, ‘पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर’ लगायतका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

संसद् भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन सुरु हुनासाथ प्रहरीले शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, नागरिक अगुवा डा केदारनरसिह केसी, शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, सचिव चन्द्रमणि बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, अधिकारकर्मीहरु बलबहादुर गाहामगर, दिवाकर पुडासैनी, गीता तिमल्सिना, भगवान् पुडासैनी, उमा गौतम, रुपा गिरी, विकास थापा, तुलसीराम भण्डारी, दुर्गाप्रसाद सापकोटा, ईश्वरी नेपाल, उपेन्द्र कुइँकेलसहित १६ जनालाई गिरफ्तार गरेको थियो ।

वित्तीय सङ्घीयता सुदृढीकरणका लागि विश्व बैंकका यस्ता छन् सुझाव

काठमाडौँ – नेपालले वित्तीय सङ्घीयताको क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको भए पनि प्रदेश र स्थानीय तहमा नियामकीय संरचना, संस्थागत व्यवस्था, जनशक्ति क्षमतामा वृद्धि गर्नुपर्नेमा जोड दिइएको छ । सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन थप काम गर्न आवश्यक रहेको विश्व बैंकद्वारा आज सार्वजनिक पहिलो वार्षिक नेपाल वित्तीय सङ्घीयता प्रतिवेदनमा उल्लेख गरिएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलका अनुसार प्रतिवेदनले नेपालमा वित्तीय सङ्घीयताका उपलब्धिहरूमा सुधार ल्याउन गर्नुपर्ने काम, त्यसको अनुक्रम, समयसीमा र कार्यान्वयनका लागि जिम्मेवार निकायसम्बन्धी स्पष्ट विवरणसहितको वित्तीय सङ्घीयता मार्गचित्र तयार गर्नुपर्ने आवश्यकतामाथि जोड दिएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा प्रदेश तथा स्थानीय सरकारहरूले सङ्घीय रकमको झन्डै ३६ दशमलव सात प्रतिशत रकम अन्तरसरकारी वित्त हस्तान्तरणमार्फत प्राप्त गरेका थिए । उक्त रकम प्रदेश तथा स्थानीय सरकारको कुल आम्दानीको ६४ दशमलव आठ प्रतिशत बराबर हो ।

पछिल्ला पाँच वर्षमा स्थानीय सरकारहरूलाई गएको अनुदानमध्ये सबैभन्दा बढी र तुलनात्मकरूपमा उच्च वृद्धि सशर्त अनुदानको रहेको छ । प्रतिवेदनअनुसार ठूलो मात्रामा छुट्याइएको सशर्त अनुदान निर्धारित कामका लागि मात्र खर्च गर्न पाइने भएकाले प्रदेश तथा स्थानीय सरकारको खर्च गर्ने क्षमता वृद्धि भएसँगै क्रमशः सशर्त अनुदान हिस्सा घटाउँदै समपूरकलगायत अन्य अनुदानको हिस्सा बढाउँदै जान आवश्यक देखिएको छ ।

विश्व बैंकद्वारा तयार यस प्रतिवेदनले नेपालको वित्तीय सङ्घीयतामा भएका प्रगतिको विस्तृत समीक्षा गरेको छ । सङ्घीय सरकारद्वारा विगतमा सञ्चालित आयोजना पछिल्लो चरणमा प्रदेश तथा स्थानीय सरकारहरूमा हस्तान्तरण भई कार्यान्वयन भइरहेको छ ।

स्थानीय सरकारमातहत कार्यरत शिक्षक तथा स्वास्थ्य क्षेत्रमा कार्यरत प्राविधिक कर्मचारीको तलबभत्ता हाल सशर्त अनुदानमार्फत भुक्तानी हुने अल्पकालीन व्यवस्थाले सुरुका वर्षहरूमा सशर्त अनुदानको हिस्सा केही बढी देखिएता पनि क्रमशः यसमा सुधार हुने प्रतिवेदनमा उल्लेख छ । अर्थ मन्त्रालयका राजस्व सचिव डा रामप्रसाद घिमिरेले ती सुझाव राष्ट्रिय विकास योजनासँग मेल खाने र यसले वित्तीय सङ्घीयतालाई अगाडि बढाउन भइरहेका प्रयासलाई थप सहयोग गर्ने बताउनुभयो ।

प्रतिवेदनले नेपालमा वित्तीय सङ्घीयता सुदृढीकरणका लागि विगत पाँच वर्षमा गरिएका सुधारका पहलको अवस्था उजागर गर्दै वित्तीय सङ्घीयताका उपलब्धिहरूको अभिवृद्धिमा मद्दत गर्न आवश्यक पर्ने मुख्य सुधारका कार्यहरू पहिचान गरेको छ ।

प्रतिवेदनले यस क्षेत्रमा भएका सुधारको मार्गदर्शन तथा अनुगमनका लागि वित्तीय सङ्घीयताको मार्गचित्र तयार गर्न, अन्तरसरकारी वित्त हस्तान्तरण प्रणालीलाई अझ बढी सुदृढ बनाउन र प्रदेश तथा स्थानीय तहमा सार्वजनिक वित्तीय व्यवस्थापन कार्यसम्पादनसम्बन्धी एकीकृत डाटाबेस स्थापना गर्न सुझाव दिएको छ । साथै यसले तीनै तहका सरकारमा रहेका समवर्ती र साझा अधिकारहरूका बारेमा स्पष्टताका लागि कानुनी व्यवस्थामा संशोधन एवं परिमार्जन गर्न, सार्वजनिक वित्तीय व्यवस्थापनसम्बन्धी कार्यसम्पादनका लागि प्रदेश तथा स्थानीय सरकारका कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न र बजेटको थप विश्वसनीयता र प्रदेश तथा स्थानीय सरकारको सेवा प्रवाहमा सुधार ल्याउन यससम्बन्धी प्रणालीलाई सबल तुल्याउनसमेत सुझाव दिएको छ ।

विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि राष्ट्रिय निर्देशक फारिस हदाद–जार्भोसले वित्तीय सङ्घीयता प्रदेश र स्थानीय सरकारहरूका लागि दिगो सेवा प्रवाहको एउटा महत्वपूर्ण आधार भएको बताउनुभयो । उहाँले त्यसका लागि सङ्घीयताको मर्मअनुरुप प्रदेश तथा स्थानीय तहमा पर्याप्त वित्तीय स्रोत र खर्च गर्ने निर्णय क्षमता हुनु आवश्यक रहेको बताउनुभयो ।

कोशी प्रदेशले ल्यायो ३६ अर्ब २४ करोड रुपैयाँको बजेट

काठमाडौँ – कोशी प्रदेशले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ।

आर्थिक मामिला मन्त्रालय समेत सम्हालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार अध्यदेशमार्फत ल्याएको कुल बजेट ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको छ।  

जसमा चालूतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार र पुँजीगततर्फ १८ अर्ब २३ करोड ५२ लाख र वित्तीय व्यवस्थातर्फ १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरण ३ अर्ब ६० करोड २९ लाख ९२ हजार रहेको उनले बजेट भाषण मार्फत जानकारी गराए।

यसलाई खर्च व्यवस्था गर्ने स्रोतमा राजस्वतर्फ ४ अरेब ५७ करोड ७८ लाख ५० हजार संकलन गर्ने लक्ष्य राखेको छ।

त्यस्तै राजस्व बाँडफाँडबाट ११ अर्ब ६४ करोड ८१ लाख, समानीकरण अनुदानबाट ८ अर्ब ७८ करोड ३८ लाख, सशर्त अनुदान ५ अर्ब ८४ करोड ३२ लाख, समपुरक अनुदान ७३ करोड, विशेष अनुदान ७६ करोड र बाँकी अपुग रकममा बचतबाट ३ अर्ब ७५ करोड १ लाख र वैदेशिक अनुदानबाट १५ करोड ४ लाख ६० हजार जुटाउने उल्लेख छ।

तीन हजार गाईभैँसीलाई लम्पीस्किनविरुद्धको खोप

चितवन – चितवनका तीन हजार तीन सय ८० गाईभैँसीलाई लम्पीस्किनविरुद्धको खोप लगाइएको छ । पशु पालक किसान र स्थानीयको सक्रियतामा खोप लगाईएको हो ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत डा रामचन्द्र आचार्यका अनुसार भरतपुर महानगरपालिकाका दुई हजार नौ सय ९०, रत्ननगर नगरपालिकाका तीन सय ४० र राप्ती नगरपालिकाका ५० गाईभँैसीलाई लम्पीस्किनविरुद्धको खोप लगाइएको छ । खोप खरिदका लागि कार्यलयमा बजेट अभाव हुँदा स्थानीय पालिका र कृषक आफैँले खोप खरिद गरी लगाएको उहाँले जानकारी दिनुभयो ।

प्रदेश सरकार र सङ्घीय सरकारले खोपका लागि बजेट विनियोजन नगर्दा समस्या आएको हो । आचार्यले भन्नुभयो, “सरकारले अहिलेसम्म बजेट विनियोजन गरेको छैन । अब बजेट आए पनि खरिद प्रक्रिया जाँदा ढिला हुन्छ ।”

कार्यालयमा बजेट नहँुदा कृषक आफैँले खोप खरिद गरेका हुन् । अति प्रभावित क्षेत्रका पशुपालक कृषकले आफैँ खोप खरिद गरी लगाएका छन् । कार्यालयले अहिलेसम्म पाँच हजार गाईभैँसीलाई औषधि वितरण गरेको उहाँले जानकारी दिनुभयो । रोग न्यूनीकरणका लागि मलम, स्प्रे, ज्वरो नियन्त्रणका लागि औषधि, पोटास, फिनेल, भिरकोन जस्ता औषधि वितरण गरिएको छ ।

कार्यालयले जिल्लाका प्रभावित क्षेत्रमा जनचेतनाका कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ । जनचेतनाका लागि पालिकास्तरमा सचेतना गोष्ठी, जिल्लाका सहकारीमार्फत फ्लेक्स, ब्रुसर र पम्प्लेट वितरणलगायतका काम गरिएको उहाँले जानकारी दिनुभयो । रोग के हो ? रोग नियन्त्रण कसरी गर्ने ? र यसका औषधिका बारेमा जानकारी दिइएको आचार्यले बताउनुभयो ।

लम्पीस्किनका कारण गाईभँैसी मर्न थालेपछि उच्च सतर्कता अपनाउन कृषकलाई अनुरोध गरिएको छ । जिल्लामा हालसम्म चार हजार एक सय गाईभैँसी यस रोगबाट प्रभावित भएका छन् । जसमध्ये एक सय १२ वटा मरिसकेको कार्यालयले जनाएको छ । यस रोगका कारण जिल्लाको राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिका बढी प्रभावित भएका छन् । जिल्लामा ९३ हजार एक सय ८२ गाई र ७२ हजार नौ सय ७८ भैँसी पालिएको छ ।

गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, ¥याल काढ्ने, लिम्फनोड सुक्नेजस्ता लक्षण देखापर्छ ।

यो रोग विशेषगरी सङ्क्रमित लामखुट्टे, झिङ्गालगायतको टोकाइबाट लाग्ने गर्दछ । सङ्क्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ । यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिङ्गा, लामखुट्टे तथा अन्य किराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने आचार्यले बताउनुभयो । रोग लाग्नबाट बचाउनका लागि लम्पीस्किनविरुद्धको खोप लगाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ०६ पैसा र बिक्री दर १३१ रुपैयाँ ६६ पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४१ रुपैयाँ ६२ पैसा र बिक्री दर १४२ रुपैयाँ २७ पैसा रहेको छ ।

यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ६८ पैसा र बिक्री दर १६६ रुपैयाँ ४४ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

CurrencyUnitBuySell

USD (U.S. DOLLAR)
1131.06131.66

EUR (EUROPEAN EURO)
1141.62142.27

GBP (UK POUND STERLING)
1165.68166.44

CHF (SWISS FRANC)
1145.12145.79

AUD (AUSTRALIAN DOLLAR)
188.9889.39

CAD (CANADIAN DOLLAR)
198.699.06

SGD (SINGAPORE DOLLAR)
197.6998.14

JPY (JAPANESE YEN)
109.369.4

CNY (CHINESE YUAN)
118.3118.4

SAR (SAUDI ARABIAN RIYAL)
134.9435.1

QAR (QATARI RIYAL)
135.9536.11

THB (THAI BAHT)
13.783.79

AED (UAE DIRHAM)
135.6835.85

MYR (MALAYSIAN RINGGIT)
128.3628.49

KRW (SOUTH KOREAN WON)
10010.2610.31

SEK (SWEDISH KRONER)
112.2612.31

DKK (DANISH KRONER)
11919.09

HKD (HONG KONG DOLLAR)
116.7416.81

KWD (KUWAITY DINAR)
1426.53428.48

BHD (BAHRAIN DINAR)
1347.63349.23

व्यापार घाटा न्यूनीकरण गर्न पाँचवर्षे कार्ययोजना

काठमाडौँ – सरकारले बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न पाँचवर्षे नयाँ राष्ट्रिय कार्ययोजना ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा ल्याएको हो । आयात बढ्दै गए पनि सो अनुपातमा निर्यात नहुँदा नेपालको वैदेशिक व्यापार घाटा बढ्दै गएपछि त्यसलाई कम गर्न कार्ययोजना ल्याएको हो । यसअघि २०७५ सालमा ल्याएको व्यापार घाटा न्यूनीकरणसम्बन्धी कार्ययोजना कार्यान्वयन नभई मन्त्रालयले पुनः नयाँ कार्ययोजना ल्याएको हो । 

मन्त्रालयका सहसचिव गोविन्द कार्कीले व्यापार घाटा न्यून गर्न नयाँ कार्ययोजना बनाउन कार्यान्वयन ल्याएको जानकारी दिनुभयो । स्वदेशी वस्तुको उत्पादन बढाएर निर्यात प्रवर्धन गरी व्यापार घाटा कम गर्न सकिने प्रशस्त आधारहरू कार्ययोजनामा समावेश गरिएको उहाँले जानकारी दिनुभयो । 

तुलनात्मक लाभ र प्रतिस्पर्धात्मक क्षमताका वस्तु तथा सेवाको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने, वस्तु तथा बजारको विविधीकरण गरी नेपाली वस्तुको निर्यात प्रवर्धन गर्ने उद्देश्यसहित कार्ययोजना ल्याएको मन्त्रालयले जनाएको छ । 

नेपालको वस्तु तथा सेवाको निर्यात कुल गार्हस्थ उत्पादनको अनुपातमा आधार वर्ष २०७८/७९ को ६.३ प्रतिशतबाट आगामी पाँच वर्षमा २० प्रतिशत पु¥याउने कार्ययोजनाको लक्ष्य रहेको छ । कार्ययोजना कार्यान्वयनको गर्न विभिन्न १५ वटा सरकारी निकायलाई गर्नुपर्ने जिम्मेवारी तोकिएको छ । कार्ययोजना कार्यान्वयनको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय तथा राष्ट्रिय योजना आयोगबाट अनुगमन हुने छ । व्यापारविज्ञ रविशङ्कर सैँजूले कार्ययोजना प्रभावकारी कार्यान्वयन गर्न विशेष मेकानिजम, बजेटको स्पष्ट व्यवस्था गर्नुपर्ने बताउनुभयो । वस्तु तथा सेवाको निर्यात कुल गार्हस्थ उत्पादनको अनुपातमा आधार पाँच वर्षभित्र २० प्रतिशत पु-याउने लक्ष्य सम्भव नभएको उहाँको भनाई छ । 

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७४/७५ मा वस्तुको आयात १२ खर्ब ४५ अर्ब रहेकामा पाँच वर्षमा वृद्धि भई आव २०७८/७९ मा १९ खर्ब २० अर्ब पुगेको र व्यापार घाटा १७ खर्ब २० अर्ब पुगेको छ । सो अवधिमा निर्यात ८१ अर्ब रुपियाँबाट बढेर दुई खर्ब पुगको छ । आव २०७८/७९ मा कुल गार्हस्थ उत्पादनको अनुपातमा वस्तुको आयात ३९.६ प्रतिशत र निर्यात ४.१ प्रतिशत र व्यापार घाटा ३५ प्रतिशत रहेको छ । गोरखापत्र दैनिकबाट

सीमा विवाद नटुङ्गिँदा पूर्वाधार निर्माणमा समस्या

ढोरपाटन – राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिनुपूर्व बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्ने गुमनाम थियो । यहाँ तीन जिल्लाका भेडी गोठालाले भेडा चरन क्षेत्रका रुपमा प्रयोग गर्दै आएका थिए ।

स्थानीय तहको स्थापनापछि निसीखोला गाउँपालिकाले विसं २०७५ मा रिगतालको पहचिान गरी प्रचारप्रचार र पूर्वाधार निर्माण गरेको थियो । पातीहाल्ने क्षेत्र र रिग ताल प्रचारप्रसारपछि पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गए । सोही वर्ष पूर्वी रुकुमको भूमे गाउँपालिकाले बागलुङको भू–भागमा आएर प्रवेशद्वार निर्माण गरेपछि विवाद सिर्जाना भएको थियो ।

पाँच वर्ष अगाडिदेखि सुरु भएको विवाद अहिलेसम्म सुल्झिन सकेको छैन । सीमा विवाद नसुल्झिँदा पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणको काम ठप्प भएको छ । सरोकारवालाले विवाद मिलाउन कोसिस गरे पनि अहिलेसम्म कुनै पनि निचोड निक्लिएको छैन । पातीहाल्ने दुई जिल्ला मात्रै नभएर गण्डकी र लुम्बिनी प्रदेशकै सीमा क्षेत्र पनि हो । दुवै जिल्लाका सरोकारवालाबीच पटक–पटक सहमति जुटाउने प्रयास विगतमा भए तर त्यसले कुनै सहमति नजुटेपछि विवाद कायमै रहेको हो । दुई वर्ष अगाडि सीमा विवाद टुङ्ग्याउन कार्यदलसमेत बनेको थियो । कार्यदलसमेत विवाद टुङ्याउन सकेन ।

दुवै जिल्लाका जनप्रतिनिधिले विवाद नसुल्झिएसम्म यस क्षेत्रमा विकास निर्माणका काम नगर्ने सहमति भए पनि भूमे गाउँपालिकाले बागलुङको भूभागतिर ल्याउने गरि सडक निर्माण गरिरहेको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताउनुभयो । विवाद टुङ्गाएर काम गर्ने गरी निसीखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा रु पाँच लाख विनियोजन गरेको उहाँको भनाइ छ । सहमतिविपरीत भूमे गाउँपालिकाले विवाद नटुङ्ग्याइ काम गरिरहेको अध्यक्ष घर्तीमगर भन्नुहुन्छ ।

“पहिले सीमाको बारेमा कुनै विवादनै थिएन, जब निसीखोला गाउँपालिकाले रिग तालको विकास गर्न थाल्यो, पातीहाल्नेदेखि तालसम्म जोड्ने सडक बनायो, पर्यटक पनि आउन थाले त्यसपछि भूमे गाउँपालिकाले हाम्रो भने र दावी गर्न थाल्यो”, अध्यक्ष घर्तीमगरले भन्नुभयो, “यो भू–भाग बागलुङकै हो, यहाँ वर्षौंदेखि बागलुङै मान्छेले उपयोग गर्दै आएका थिए, विवाद मिलाउन धेरै पटक प्रयास भएका थिए, सफल नर्भपछि विवाद नरोकिएसम्म यस क्षेत्रमा कुनै पनि पालिकाले विकास निर्माणका काम नगर्ने भन्ने सहमति ग¥यौँ तर उहाँहरुले अहिले काम गरी राख्नुभएको छ ।”

मध्यपहाडी लोकमार्गले दुई जिल्ला नजोडिँदा यस क्षेत्रमा निसीखोलाका स्थानीयले चरन क्षेत्रका रुपमा प्रयोग गर्दै आएको निसीखोला गाउँपालिका–६ का स्थानीय पानबहादुर विकले बताउनुभयो । घर्तीले रिगतालमा पछिल्लो समय सयौँ पयर्कट आउन थालेपछि रुकुमले आफ््नो दाबी गरेको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “पहिला यो ठाउँ सुनसान थियो, गोठालाबाहेक अरु कोही आउँदैनथे, बाह्रै महिना चिसो हुन्छ, अहिले पातीहाल्नेमा घर बनेर व्यापार पनि सुरु भएको छ, दिनदिनै गुम्न आउनेको भीड हुन्छ, वर्षौंदेखि हामीहरुले प्रयोग गर्दै आएको ठाउँलाई कसरी उनीहरुको भनेर स्वीकार गर्ने ? यो विवाद राज्यले मिलाउनुपर्छ ।”

गर्मी बढेपछि महभिर झरनामा पर्यटकको घुइँचो

भोजपुर – देशभर तापक्रम बढेसँगै जनजिवन प्रभावित बनेको छ । तापक्रम बढेसँगै भोजपुरको टेम्केमैयुङ गाउँपालिकास्थित महभिर झरनामा पर्यटकको घुइँचो लागेको छ । उनीहरु गर्मी छल्न यहाँ आउने गरेका छन् ।

झरनाबाट झरेको पानीको फोहोराले पर्यटकको मन लोभ्याउँछ । दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक यहाँ रमाइलो गर्न पुग्ने गरेका छन् । टेम्केमैयुङ–४ नागीमा रहेको यो झरना ६० मिटर लामो छ । भिरमौरी बस्ने भएकाले यो झरनाको नाम महभिर झर्ना रहेको स्थानीयको भनाइ छ ।

बाह्रै महिना भिरको छाँगोबाट झर्ने पानीले पर्यटकको मन लोभ्याउने गरेको छ । खास गरेर यहाँ गर्मीको समयमा बढी पर्यटक पुग्ने गरेका छन् । गाउँपालिकाले यहाँ पुग्ने बाटोको विस्तारसँगै झर्ना वरिपरि पर्यटकलाई लक्षित गरेर विभिन्न संरचना निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत सन्दिप न्यौपानेले बताउनुभयो ।

विगतमा प्रचारप्रसारको अभावले ओझेलमा परेको झरनासम्म पुग्न गाउँपालिकाले पदमार्ग निर्माण गरेको छ । भोजपुर सदरमुकामबाट करिब २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करिब साढे चार किलोमिटर पश्चिममा अवस्थित यो झरनामा बाह्रै महिना पानी एकनासले बग्ने गरेको स्थानीयवासी शिवकुमार राईले बताउनुभयो ।

भोजपुर र खोटाङ सदरमुकाम दिक्तेल जोड्ने मध्यपहाडी लोकमार्ग यही क्षेत्र भएर विस्तार भएकाले झरना हेर्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । झरना सडकबाट साढे दुई किलोमिटरभित्र रहेको छ । महभिर झरनालाई पर्यटकीय क्षेत्रको रुपमा स्थापित गराउने उद्देश्यका साथ काम अघि बढाइएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो ।

“गाउँपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा स्थापित गर्ने लक्ष्य छ । धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि योजनाबद्ध रुपमा काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो । अञ्चल डाँडाबाट महभिर हुँदै चखेवा भञ्याङ र वडा नं– ५ खावा, चोलन्तीलगायत क्षेत्रबाट आउने पर्यटकलाई लक्षित गरेर हुँगेबाट झरना हँुदै चखेवाभञ्याङसम्म पदमार्ग विस्तार गर्ने योजना रहेको उहाँको भनाइ छ ।

झरना आसपासमा स–साना दह निर्माण गरेर माछापालन, उद्यान निर्माण गर्नेलगायत गाउँपालिकाको योजना छ । महभिर झर्नाका साथै चखेवाभञ्याङ, टेम्के डाँडा र मैयुङडाँडा एकै पटकमा घुम्न मिल्ने गरी संरचना निर्माण गर्ने योजना छ । मुन्दुम पदमार्गले पनि यहाँका धेरै पर्यटकीय क्षेत्रलाई समेटेको छ । चखेवाडाँडा, टेम्केडाँडा र मैयुङडाँडा पनि यही मार्ग भएर जानुपर्ने हुन्छ ।

गर्मीले दैनिक जनजीवन कष्टकर

टीकापुर – कैलालीमा एक सातायता गर्मी बढेपछि दैनिक काम गरेर गुजारा गर्नेको दैनिकी कष्टकर भएको छ । कैलालीको गर्मी ४२ डिग्री सेल्सियस पुगेपछि यहाँको जनजीवन प्रभावित भएको छ । दैनिक ज्यालादारी गर्ने, रिक्सा चलाउने, सडक किनारमा सामान बेचबिखन गर्ने, ठेला व्यवसायीलाई बढी समस्या भएको छ ।

रिक्सा चालक माया चौधरी पाँच वर्षदेखि टीकापुरको बजारमा रिक्सा चलाउनुहुन्छ । यस वर्ष एक सातायता अत्यधिक गर्मी बढेपछि उहाँलाई रिक्सा चलाउन कठिन भएको छ । “गर्मीमा निकै गाह्रो हुन्छ, ओठमुख सुक्छ, तातो हावा चलेर ओठ मुख सुकेका छन्, दिउँसोको समयमा आँखा पनि पोल्न थाल्छ”, मायाले भन्नुभयो, “दिउँसोको घाममा रिक्सा चलाउन सकेको छैन । केही दिनदेखि गाह्रो भएको छ ।”

अर्का रिक्सा चालक दिलबहादुर चौधरी पनि तातो हावा र गर्मी सहन कठिन भएको बताउनुहुन्छ । “यात्रु बोकेर हिँड्दा सबै ठाउँमा चिसो पानी खान पाइँदैन, एकातिर गर्मी, अर्कोतर्फ तातो पानी पिउन सकिँदैन”, उहाँ भन्नुहुन्छ, “कहिलेकाहीँ त मुटु पनि दुख्छ । हिजो त गर्मीले मुटु दुख्न थालेपछि दिनभरि रिक्सा चलाउन गएन ।” विगत पाँच वर्षदेखि रिक्सा चलाएर जीवन धानेकी लक्ष्मी चौधरी पनि यस वर्ष दिउँसोमा रिक्सा चलाउन नसकेको बताउनुहुन्छ । ज्यालादारी गर्नुभन्दा अटोरिक्सा चलाउन थालेकी लक्ष्मीलाई पनि गर्मीले हैरान पारेको छ । “गर्मीले यात्रु बोक्न सकिएको छैन, साँझ र बिहान मात्र चलाउँछु, दिनभरि लचाए पो कमाइ हुन्छ”, उहाँ भन्नुहुन्छ, “थोरै काम गर्दा पनि गर्मीले बेलुका थाकिन्छ, एकातिर गर्मीमा रिक्सा चलाउनु, अर्कोतर्फ भान्सामा काम गर्दा पनि गर्मी हुन्छ । महिलालाई त कठिन मात्र ।”

राधाकृष्ण थारुलाई पनि यस्तै समस्या छ । “बाटा राम्रो छैनन् । धुलैधुलो, खाल्डाखुल्डी भएको सडकमा गर्मी छल्न मुस्किल भएको छ”, उहाँ भन्नुहुन्छ, “गर्मीमा दिउँसो यात्रु बोक्न पनि सकिँदैन, गर्मीमा यात्रु पनि पाइँदैनन् ।” गर्मी बढेपछि दैनिक ज्यालादारी काम गर्नेलाई पनि समस्या भएको छ । दैनिक घर निर्माणको काममा संलग्न राधेश्याम चौधरी पनि एक सातादेखि काममा जान सक्नुभएको छैन । “घरको मसला बनाउँदै थिए, एक दिन गर्मीले ढलेछु । साथीहरुले अस्पताल लगेर उपचार गरेर बचाए”, राधेश्यामले भन्नुभयो, “त्यसपछि काममा गएको छैन । पानी परेपछि अलि शीतल भएमा काममा जाउला भनेको छु ।”

राधाश्यामजस्तै अन्य कामदारसमेत गर्मीले नियमित काममा जान सकेका छैनन् । गर्मी बढेपछि टीकापुर अस्पतालमा समेत विभिन्न समस्या भएका बिरामी बढेको छन् । तापक्रम बढ्दै जाँदा मानिसको स्वास्थ्यमा थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, बेहोस हुनेजस्ता समस्या देखा पर्छन् । गर्मीको समयमा मानिसको शरीरमा पानीको मात्रा घटी मानिस बेहोस हुने, बिरामी हुने, ज्वरो आउनेलगायतका समस्या देखिएका बिरामी बढेका अस्पतालले जनाएको छ ।

गर्मी बढेपछि विद्यालयमा बिदा

गर्मी अत्यधिक बढेपछि कैलालीका विद्यालयमा गर्मी बिदा दिन थालिएको छ । गर्मी बढेपछि बालबालिकालाई विद्यालय जान आउन कठिन भएको छ । बालबालिका गर्मीले विद्यालयबाट आउँदा ओठमुख सुकाएर आउने भएकाले अभिभावकले बिदा दिन माग गरेका हुन् ।

पछिल्लो समय अत्यधिक गर्मी बेढेकाले विद्यार्थी र शिक्षकको स्वास्थ्यमा असर पर्ने देखिएकाले हिउँदे वा बर्से बिदाबाट मिलाउने गरी बिदा दिइएको पालिकाले जारी गरेका सूचनामा उल्लेख छ । गर्मी बढेकाले कैलालीको टीकापुर नगरपालिकाले असार १ गतेबाट बिदा दिने निर्णय गरेको छ । धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाले यसअघि नै बिदा दिइसकेका छन् । गर्मीले बालबालिकालाई विद्यालय जान र विद्यालयमा समेत शिक्षणमा समस्या भएपछि बिदा दिन थालिएको हो । टिनका छाना, प्रचण्ड गर्मी, कतिपय विद्यालयमा पङ्खासमेत नभएको अवस्थामा विद्यालयमा पठनपाठनमा समस्या भएको शिक्षक बताउँछन् ।

औषधि पसल सञ्चालक नौ भारतीय पक्राउ

दोधारा चाँदनी – कञ्चनपुरको दोधारा चाँदनीमा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुलाई बुधबार पक्राउ गरिएको हो ।

दोधारा चाँदनी नगरपालिकाभित्र अवैधरुपमा औषधि पसल सञ्चालन गरेर औषधि बिक्री वितरण गर्दैआएका नौ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतराज गिरीले जानकारी दिनुभयो । “ नौ भारतीय नागरिकलाई औषधिसहित नियन्त्रणमा लिएका छौँ”, उहाँले भन्नुभयो–“उनीहरुमाथि अनुसन्धान गरी कारबाहीका लागि स्वास्थ्य विभाग पठाउँछौँ ।”

पक्राउ पर्नेमा भारतको उधमसिंह नगरका सञ्जय विश्वास, कार्तीक सरदार, रवि विश्वास, निवास गाइन, निरन्जन अधिकारी र भूपेन्द्र पुरी तथा भारत पिलिभितका राजेश विश्वास, सन्तोष सरकार र सुधान्सु हल्दार रहेका छन् ।

प्रतिनिधिसभा बैठकमा आजबाट मन्त्रालयगत छलफल हुने

काठमाडौं – संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ ।

बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र शहरी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि सांसद्हरुले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ । मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

संसदीय सुनवाइ समितिमा आज कार्यवाहक प्रधानन्यायाधीश कार्की उपस्थित हुँदै 

काठमाडौँ –  संसदीय सुनवाइ समितिले कार्यवाहक प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई आज छलफलका लागि बोलाएको छ । 

समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका कार्कीलाई आज छलफलका लागि बोलाएको हो । 

लामो समयदेखि कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नुभएका कार्कीलाई यसै महिनाको पहिलो हप्ता प्रधानन्यायाधीशमा सिफारिस गरिएको थियो ।

संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशका लागि सिफारिसमा पर्नुभएका कार्कीलाई उहाँ विरुद्ध परेको उजुरीका बारेमा सोधपुछ गरिनेछ । 

उहाँ विरुद्ध परेका २९ वटा उजुरीका बारेमा समितिले उजुरीकर्तासँग बुधवार छलफल गरेको थियो । 

देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव

काठमाडौँ – हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा  रहेको छ । कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

राती भने कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोसी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेस प्रदेशसहित देशका बाँकी पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र  चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । 

देशका मध्य तथा पश्चिम तराईका भू–भागहरूमा अत्यधिक गर्मी हुने सम्भावना यथावत् देखिन्छ । कोसी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेस प्रदेशको एक दुई स्थानमा लगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। तसर्थ, अत्यधिक गर्मी, मेघ गर्जन र चट्याङ तथा वर्षाबाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०८० जेठ ३२ गते (बिहीबार)
दिउँसो
: कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन ÷ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती: कोसी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोसी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन ÷ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।साथै मधेस प्रदेशसहित देशका बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । 
२०८० असार ०१ गते (शुक्रवार)
दिउँसो:
 कोसी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन ÷ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती: कोसी प्रदेश, मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा  मधेस प्रदेश सहित बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०८० असार ०२ गते (शनिवार)
दिउँसो:
 कोसी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोसी,  बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
​​​​​​​राती: कोसी प्रदेश, मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। कोसी,  बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशसहित बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ  गर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

घरघरमा स्वास्थ्य पहुँच पुर्याउँदै भरतपुर महानगर

चितवन – भरतपुर महानगरपालिकाले घर–घरमा स्वास्थ्यको पहुँच पुर्याउने उद्देश्यले एक वडा एक स्वास्थ्य केन्द्र स्थापना गर्दै आएको छ । जनताको पहुँच स्वास्थ्य क्षेत्रमा पुर्याउने उद्देश्यका साथ प्रत्येक वडामा स्वास्थ्य केन्द्र स्थापना गर्न लागिएको हो ।

जसअन्तर्गत आधारभूत स्वास्थ्य केन्द्र भरतपुर–२४ ध्रुव सञ्चालनमा ल्याइएको छ । विगत लामो समयदेखि भाडामा सञ्चालन हुँदै आएको केन्द्रले आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ । केन्द्रको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले एक समारोहका बीच उद्घाटन गर्नुभएको हो ।

रु ४६ लाखको लागतमा स्थापना गरिएको स्वास्थ्य केन्द्रबाट रक्तचाप मापन, औषधि वितरण र सामान्य उपचार हुनेछ । कार्यालय उद्घाटन गर्दै महानगर प्रमुख दाहालले अब यस क्षेत्रका जनतालाई सामान्य उपचारका लागि १२ किलोमिटर टाढा शिवनगर जानुपर्ने बाध्यता हटेको बताउनुभयो । एक वडा एक स्वास्थ्य सेवा एकाइ कार्यक्रमअन्तर्गत अहिलेसम्म १२ वटा वडामा भवन निर्माणको काम सम्पन्न भएको बताउनुभयो । यस्तै चारवटा वडामा निर्माणाधीन अवस्थामा रहेको र अन्य चारवटा अहिले पनि भाडाको भवनमा सञ्चालनमा आइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जनताको घर आँगनमा सेवा दिने उद्देश्यका साथ महानगर अघि बढेको छ ।” जनतालाई शिक्षा र स्वास्थय घरघरमा पुर्याउन महानगर लागिपरेको उहाँको भनाइ थियो ।

महानगरपालिकाले हालसम्म वडा नं ३, ४, १०, ११, १५, २१, २२, २३, २४, २५,२८ र २९ मा स्वास्थ्यचौकी र केन्द्रका लागि भवन निर्माण गरिसकेको छ । यस्तै वडा नं ५, ७, १३ र २० मा निर्माणाधीन अवस्थामा रहेको महानगरको स्वास्थ्य महाशाखाका प्रमुख दीपक सुवेदीले बताउनुभयो । उहाँका अनुसार वडा नं २, ५, ९ र १२ मा भवन नभएपछि अहिले आश्रम, वडा कार्यालयका भवन तथा भाडाका घरमा कार्यालय राखेर सञ्चालन गरिएको छ ।

घरघरमा स्वास्थ्यको पहुँच पुर्याउने अभियानअन्तर्गत महानगरपालिकाभित्र ४० वटा स्वास्थ्य संस्था सञ्चालनमा रहेका छन् । एउटा प्राथमिक स्वास्थ्योपचार केन्द्र, १४ वटा आधारभूत स्वास्थ्य केन्द्र, १३ वटा स्वास्थ्यचौकी, छवटा आयुर्वेदिक औषधालय, तीनवटा नगर स्वास्थ्य केन्द्र, दुईवटा स्वास्थ्य क्लिनिक र सामुदायिक स्वास्थ्य एकाइ एउटा रहेका छन् ।

वडाध्यक्ष रामबहादुर गोदारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना, पूर्व वडाध्यक्ष कान्छा मल्ल, नेकपा (एमाले)का वडासचिव कृष्णबहादुर गोदार र एकता सार्की समाजका अध्यक्ष दिलीप मङ्ग्रातीलगायतले बोल्नुभएको थियो । सो अवसरमा रु ३४ लाखको लागतमा निर्माण भएको जनपथ क्लब सामुदायिक भवन, रु आठ लाख ५० हजारको लागतमा निर्माण भएको सार्की समाजको भवन, रु ४५ लाखको लागतमा निर्माण भएको छेथरलिङ बौद्ध गुम्बा सङ्ग्राहलय भवनको समेत प्रमुख दाहालले उद्घाटन गर्नुभएको थियो ।

नेपाली कांग्रेसका सभापति देउवा उपचारका लागि सिङ्गापुर प्रस्थान

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर जानुभएको छ ।

उहाँ नियमित स्वास्थ्य ‘फलोअप’का लागि गएराति त्यसतर्फ प्रस्थान गर्नुभएको उहाँका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । सभापति देउवाले केही वर्षअघि पेटमा समस्या देखिएपछि सिङ्गापुरमा उपचार गराउनुभएको थियो । सभापति देउवासँग प्रमुख स्वकीय सचिव भानु देउवा पनि हुनुहुन्छ ।

पछिल्लो पटक प्रधानमन्त्री भएपछि विभिन्न तहका निर्वाचन र पार्टीको महाधिवेशनमा व्यस्त हुनुपरेका कारण सभापति देउवाको नियमित स्वास्थ्य ‘फलोअप’ हुन सकेको थिएन ।

गण्डकीमा ‘प्रदेशको उत्पादन : हाम्रो पहिचान’ कार्यक्रम

गण्डकी – गण्डकी प्रदेशमा ‘प्रदेशको उत्पादन : हाम्रो पहिचान’ कार्यक्रम सञ्चालन गरिने भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा स्थानीयस्तरमा उत्पादित वस्तु तथा सेवाको उपयोगमा प्रोत्साहन गर्न सो कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

उक्त कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न सार्वजनिक निकायहरूमा प्रदेशभित्र उत्पादित वस्तु उपयोग गर्ने नीति लिइने सरकारले जनाएको छ । ‘आर्थिक विकासको आधार, उद्यमशीलता र रोजगार’ नारालाई परिस्कृतरूपमा लागू गर्न स्थानीय तहहरूको क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने सरकारको योजना छ ।

प्रदेशभित्रका हरेक स्थानीय तहमा उद्यमशीलताको माध्यमबाट रोजगारी सिर्जना गर्नका लागि लघुउद्यम कार्यक्रममार्फत लक्षित वर्गलाई आयआर्जन र रोजगारी सिर्जना हुने कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । लघु घरेलु उद्यमीको उत्पादित वस्तुको बजारीकरणका लागि प्रदेशस्तरमा बिक्रीकक्ष स्थापना गर्ने नीति लिइने सरकारले उल्लेख गरेको छ ।

सङ्घ सरकारसँगको समन्वय र स्थानीय तहको सहकार्यमा प्रदेश गौरवको आयोजनाका रूपमा रहेका कास्की र तनहुँको पुँडीटार, नवलपुरको लोकाहाखोलामा प्रस्तावित प्रादेशिक औद्योगिक क्षेत्र स्थापना, व्यवस्थापन तथा सञ्चालनका लागि पूर्वाधार निर्माणकार्यलाई प्राथमिकता दिइने भनिएको छ ।

स्थानीय स्रोत, सीप तथा प्रविधिमा आधारित घरेलु तथा साना उद्योगको संरक्षण र प्रवर्द्धन गर्ने नीति लिइने नीति तथा कार्यक्रममा उल्लेख छ । आधुनिक प्रविधिको प्रयोग गरी स्थानीयरूपमा उत्पादित मदिराको गुणस्तर वृद्धि गर्दै ब्रान्डिङ गर्न आवश्यक कानुनी व्यवस्था मिलाइने सरकारले जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

मुटुमा समस्या देखिएपछि भएपछि मंगलबार बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना हुनुभएका राष्ट्रपति पौडललाई आज बिहान ८ बजे डिस्चार्ज गरिएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।

विवाह गर्न वडाको सिफारिस अनिवार्य

जाजरकोट – जाजरकोटको कुशे गाउँपालिका–९ ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ ।

बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेको हो । वडाध्यक्ष शिवराज गिरीले भन्नुभयो, “बढ्दै गएको बालविवाहलाई मध्यनजर गरी यस वडाले न्यूनीकरणका लागि सम्पूर्ण टोल बस्तीमा विवाहपूर्व वडाबाट सिफारिस लिई विवाह कार्य अगाडि बढाउन अनुरोध गरेको छ ।”

विवाहका लागि वडाबाट सिफारिस लिँदा उनीहरूको वास्तविक जन्म मिति थाहा हुने र बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा वडाले लिएको शिवराज गिरीले जानकारी दिनुभयो । वडालाई बालमैत्री वडा घोषणा गरिएको छ । बालमैत्री वडाको दिगोपनका लागि विवाहका लागि उमेर पुगेका युवायुवतीले वडा कार्यालयबाट अनिवार्य सिफारिस लिनुपर्ने नियम बनाइएको वडाध्यक्ष गिरीले बताउनुभयो । जन्मदर्ता र नागरिकता साथमा ल्याई विवाहका लागि सिफारिस लिन सकिने छ ।

घरभाडामा छुट दिन माग

गण्डकी – आर्थिक मन्दीले व्यवसायी पलायन हुने स्थिति आएको भन्दै घरभाडामा छुट दिन घरधनीसमक्ष माग गरिएको छ । पोखरास्थित नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिले घरभाडामा कम्तीमा २५ देखि ५० प्रतिशतसम्म छुट दिनुपर्ने जनाएको हो ।

समितिद्वारा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष कमलप्रसाद न्यौपानेले घरबहाल कर पनि घरधनी आफैँले तिर्न आग्रह गर्नुभयो । समितिले सम्झौताअनुरुप भाडा वृद्धिको समय आएको भए पनि त्यसलाई पछाडि सार्न माग गरेको छ ।

“घरभाडा बेलैमा तिर्न नसकेका कारण व्यवसायीहरू विस्थापित हुनुपरिरहेको छ”, समितिका अध्यक्ष न्यौपानेले भन्नुभयो, “सङ्कटको अवस्थामा घरधनीले व्यवसायीको मर्का बुझिदिनुस् भन्ने हाम्रो माग हो ।”

कोभिड–१९ ले थलिएको व्यवसाय क्षेत्र पछिल्लो आर्थिक सङ्कटका कारण झन्झ्न मारमा परेको उहाँले बताउनुभयो । आर्थिक मन्दीका कारण १५ देखि २० प्रतिशतसम्म व्यवसायी पलायन भएको अनुमान समितिको छ ।

अधिकांशले भाडा तिर्न नसकेर व्यवसायबाट हात धुनुपरेको बताउने गरेको समितिका प्रथम उपाध्यक्ष उमापति ढकालले बताउनुभयो । उहाँले व्यवसायीहरू विषम परिस्थितिबाट गुज्रिरहेकाले घरभाडा वृद्धि नगर्न र बढेको भाडादर मिनाहा गरिदिन माग गरिएको बताउनुभयो ।

समयमा घरभाडा नतिर्ने व्यवसायीलाई घर खाली गर्न बाध्य नपार्नसमेत समितिले अनुरोध गरेको छ । “यस्तो बेला घरधनीले राहतको प्याकेज ल्याउन जरुरी छ, आखिर व्यवसायी र घरधनी भनेको एकअर्काका सहयोगी पनि त हुन्”, उहाँले भन्नुभयो ।

प्याजको मूल्य हप्तामै दोब्बरले वृद्धि

काठमाडौँ – सर्वसाधारण उपभोक्तामा प्याज किन्दा नै आँसु आउने अवस्था सिर्जना भएको छ । सरकारले बजेटमार्फत तरकारी तथा फलफूलजन्य वस्तु आयातमा १३ प्रतिशत भन्सार महसुल (भ्याट) वृद्धि गरेसँगै प्याजको भाउ आकासिएको छ । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यसअघि दिइएको छुट खारेज गरेर बजेटमार्फत १७० वस्तुमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेसँगै प्याजको मूल्य वृद्धि भएको हो ।  

आयातकर्ता व्यवसायीले आलु, प्याजमा नौ प्रतिशत कृषि सेवा शुल्क र अग्रिम आयकर पाँच प्रतिशत गरी १४ प्रतिशत कर भुक्तानी गर्दै आएको थियो तर अहिले थप १३ प्रतिशत कर बुझाउनुपर्ने भएपछि प्याजको मूल्यमा वृद्धि भएकाले भान्छा महँगो हुने भएको छ । 

भारतबाट प्याज आयात गर्ने व्यवसायीले भन्सार बिन्दुमै भ्याट भुक्तानी गर्नुपर्ने भन्दै जेठ २१ गतेदेखि आलु तथा प्याजको आयात बन्द गरेको दाबी गरेका छन् तर बजारमा प्याजको अभाव छैन । मूल्य भने आकासिएको छ । 

कालीमाटी थोक व्यापारीहरूको संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले २१ गतेदेखि आधिकारिक व्यापारीबाट बजारमा प्याज नआएको फाइदा बिचौलियाले उठाउँदा बजारमा प्याजको मूल्य महँगो भएको दाबी गर्नुभयो ।   

कालीमाटी फलफूत तथा तरकारी बजार विकास समितिले २२ गतेदेखि दैनिक मूल्य सूचीमा प्याज समावेश गरेको छैन । कालीमाटी समितिका अनुसार असार १५/१६ गतेसम्म कालीमाटीमा प्याज प्रतिकेजी ३२/३५ रुपियाँमा कारोबार भएकामा २१ गते प्रतिकेजी ५० रुपियाँ र २२ गते ६० रुपियाँमा किनबेच भएको थियो । कालिमाटीभित्रै एक हप्तामै प्याजको मूल्य दोब्बरले वृद्धि भएर प्रतिकेजीकै ११० देखि ११५ रुपियाँ खुद्रा मूल्यमा बिक्री भइरहेको छ । कालीमाटीबाहिरका खुद्रा पसलमा प्याजको भाउ प्रतिकेजी १२५ रुपियाँदेखि १४० रुपियाँसम्म छ । 

आलु, प्याज आयात तथा निर्यात व्यवसायीले अहिले प्याज र आलुमा १३ प्रतिशत भ्याटलाई देखाउँदै बजारमा प्याजको कालोबजारी सुरु भइसकेको बताउँछन् । नेपाल कृषि उपज आलु, प्याज आधारित निर्यात तथा थोक बिक्रेता सङ्घले आलु तथा प्याज आयात औपचारिक रूपमा बन्दको घोषणा नगरे तापनि भ्याटकै कारण आयात नगरेको जनाएको छ । 

कृषि उपजमा यसअघि भ्याट छुट हुँदै आएको नयाँ बजेटमार्फत छुट खारेज गरिएको छ । जसले गर्दा स्थायी लेखा नम्बर (प्यान) मा दर्ता भएर व्यवसाय गर्दै आएका व्यापारीलाई एकै पटक भ्याटमा जाँदा समस्या भएको छ । 

कालीमाटी थोक व्यापार सङ्घका अध्यक्ष गीताप्रसाद आचार्यले तरकारीजन्य वस्तुमा भ्याट लगाउनुभन्दा कर बढाएको भए आफूहरूलाई कुनै आपत्ति नहुने बताउनुभयो । तरकारीको कारोबार गर्नुपर्ने व्यवसायीहरूले अहिले व्यवसाय बचाइदिनुस् भन्दै अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसमक्ष हारगुहार गरेका छ । 

नेपाल कृषि उपज आलु, प्याज आधारित निर्यात तथा थोक बिक्रेता सङ्घका महासचिव प्रकाश गजुरेल भ्याटका दरमा दुविधा भएपछि आयात नगरेको बताउनुभयो । अधिकांश व्यवसायी भ्याटमा दर्ता नै नभएको समयमा भ्याट लागु हुँदा व्यवसायी र उपभोक्ता दुवै मारमा परेको उहाँले बताउनुभयो । 

कालीमाटी तरकारी विकास समितिको तथ्याङ्क हेर्दा प्याज आयातमै भर पर्नु पर्ने अवस्था छ । सो बजारमा भित्रिने प्याजमध्ये ९८ प्रतिशत भारतबाट भित्रिएको समितिले जनाएको छ ।   

पार्क निर्माणमा जोड दिँदै अधिकार सम्पन्न वाग्मती सभ्यता समिति

ललितपुर – धार्मिक विशेषता रहेको वाग्मती नदीलाई हिन्दु तथा बौद्ध धर्ममा पवित्र मानिन्छ । वाग्मती नदी किनारमा रहेका केही मन्दिर परिसरमा उद्यान (पार्क) निर्माण हुँदै छन् ।

उपत्यकाको वातावरण स्वच्छ, पवित्र र सुन्दर तुल्याउने, नदी प्रणालीसँग सम्बन्धित ऐतिहासिक पुरातात्त्विक एवं सांस्कृतिक सम्पदाको संरक्षण गर्ने र सम्पूर्ण वाग्मती सभ्यताको पहिचान एवं जगेर्ना गर्ने उद्देश्य बोकेको अधिकार सम्पन्न एकीकृत विकास समितिले वाग्मती किनारमा पार्क निर्माणलाई जोड दिँदै आएको छ । 

ललितपुरको ज्वागलमा विसं २०५२ मा स्थापना भएको युएन पार्क हाल अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको स्वामित्वमा छ । रुख भएका कारण हरियाली देखिने युएन पार्क आकर्षक बनाउनका लागि काम भइरहेको छ । 

युएनपार्कअन्तर्गतको करिब एक हजार पाँच सय ७६ रोपनी जग्गा विसं २०७५ देखि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको स्वामित्वमा रहेको युएन पार्क सँगसँगै वाग्मती किनारमा विभिन्न पार्क निर्माण भइसकेको र कुनै निर्माणका क्रममा रहेको सूचना अधिकारी कमल अर्यालले जानकारी दिनुभयो ।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी अर्यालले भन्नुभयो, “वाग्मती करिडोर छेउमा साना–ठुला गरी जम्मा ३१ वटा पार्क छन् । हाम्रो स्वामित्वमा भएको केही जग्गा पार्क व्यवस्थापनका लागि विभिन्न संस्थालाई निश्चित अवधिका लागि दिएका छौँ । उहाँहरूले संस्थागत रूपमा नाम राखेर पार्क निर्माण गर्नुभएको छ ।” 

अधिकारी अर्यालका अनुसार वाग्मती नदीको किनारमा पार्क निर्माणका लागि नदीको माटो निकालेर पार्क व्यवस्थापन गरिएको छ । वाग्मती नदीले माटो बगाएर ल्याउँदा नदीमा माटो थुप्रिएर बाढी पार्क र बस्तीमा पस्छ । नदीको माटो निकालेमा बागमती नदी सलल बग्छ र पार्क र बस्तीलाई पनि जोखिम कम हुन्छ । नदी छेउमा पार्क निर्माण गर्नुले नदी सफा हुन्छ ।

हाल निर्माण भएका पार्कमा टिकटको व्यवस्था गरिएको छैन । म्युजिक भिडियो सुटिङको लागि मात्र केही सीमित रकम लिने गरिएको छ । पार्क व्यवस्थापनका लागि टिकटको सिस्टमको व्यवस्था गरेमा पार्क अझै राम्रो हुने अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको भनाइ छ । 

“पार्कमा बिहान र बेलुका मान्छेको भिडभाड हुन्छ । बिहान योगा र मोर्निङवाकका लागि मान्छे आउँछन् । आजभोलि त दिउँसो अत्यधिक गर्मी हुने भएकाले गर्मी छल्नका लागि पनि मान्छे पार्कभित्र पस्छन् । अरू बेला भने बेलुकीपख धेरै जना पार्कभित्र घुमिरहेका हुन्छन् । 

“अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती करिडोरको छेउमा पार्क मात्र नभई वाग्मती किनारमा भूकम्पपछि भत्किएका मन्दिर पनि निर्माण गरेको छ । अबको करिब चार वर्षपछि वाग्मती किनारका पार्क आकर्षक देखिने छन् ।” एकीकृत विकास समितिका इन्जिनियर असिम अधिकारीले भन्नुभयो । 

वाग्मती किनारमा निर्माण भएका विभिन्न पार्क निर्माण भइसकेपछि त्यसको राम्रोसँग व्यवस्थापन र संरक्षण गर्नको लागि महानगरपालिकालाई हस्तान्तरण गर्ने अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको भनाइ छ ।रासस

सुनचाँदीको कारोबारमा विलासिता कर नलाग्ने

काठमाडौँ – सरकारले सुनचाँदीको कारोबारमा लगाउने भनिएको दुई प्रतिशत विलासिता कर नलगाउने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा १० लाखमाथिको सुनचाँदीको कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने भनिएको थियो । सुनचाँदी व्यवसायीले मङ्गलबार अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरी सो कर फिर्ता गर्न माग गरेका थिए । भेटमा अर्थमन्त्री डा. महतले सुनचाँदीको कारोबारमा विलासिता कर लगाउने मनसाय सरकारको नभएको बताउनुभयो । “हामीले हीरा, जवाहरत, पत्थर जस्ता महँगा सुनचाँदीजडित गहनामा दुई प्रतिशत विलासिता कर लगाउने भनेका हौँ । यस्ता वस्तुहरू जडान नगरिएका सुनचाँदीका गरगहनामा कर लगाइँदैन ।”

सुनका गरगहना हुनेखानेदेखि हुँदा खानेसम्मले प्रयोग गर्ने भएकाले यस्ता गरगहनामा थप विलासिता कर लगाउने सरकारको नीति नभएको अर्थमन्त्रीको भनाइ छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको सुनचाँदी व्यवसायमा आबद्ध तीन महासङ्घको संयुक्त भेटका क्रममा मन्त्री महतले भन्सार दर वृद्धि गर्नु परेका कारण भने भारतीय र नेपाली बजारमा समान दर बनाउनका लागि भएको प्रस्ट पार्नुभयो । 

व्यवसायीको माग अनुसार विदेशबाट आउने नेपालीले ल्याउने गहनाको परिणाम वृद्धि गर्न र व्यवसायीलाई परेको अप्ठ्यारो विषय सल्ट्याउन सरकार प्रतिबद्ध रहेको बताउँदै अर्थमन्त्री महतले व्यवसायीको माग शीघ्र सम्बोधन गरिने बताउनुभयो । 

कर्मचारी सरुवा व्यवस्थापन प्रभावकारी बनाइँदै

काठमाडौँ –  सरकारले निजामती कर्मचारीको सरुवा व्यवस्थापन प्रभावकारी बनाउने भएको छ । कर्मचारीको एकै वर्षमा चार/पाँच पटकसम्म विभिन्न कार्यालयमा सरुवा हुन थालेपछि कर्मचारी सरुवा प्रणालीलाई व्यवस्थित गर्न लागिएको हो ।  

 छोटो समयमा कर्मचारीको सरुवा हुँदा नियमित सेवा प्रवाह र योजना कार्यान्वयनमा समस्या देखिन थालेपछि निजामती कर्मचारीको सरुवा प्रणालीलाई व्यवस्थित गर्न लागिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयले कर्मचारीको सरुवा प्रणालीलाई व्यवस्थित गर्न मन्त्रालयकै दुई जना सहसचिव रहेको कार्यदल गठन गर्न लागेको छ । 

मन्त्रालयका प्रवक्ता कलमप्रसाद भट्टराईले केही दिनभित्रमा कार्यदल निर्माण भई काम सुरु हुने र कार्यदलले दिएको प्रतिवेदनलाई अक्षरशः कार्यान्वयन गरी कर्मचारीको सरुवा प्रणालीलाई व्यवस्थित गरिने बताउनुभयो । 

उहाँका अनुसार कर्मचारीको सरुवा प्रणालीलाई पूर्वअनुमानयोग्य र स्वचालित बनाउनका लागि कार्यदल गठन गरी काम गर्न लागिएको हो । उहाँले भन्नुभयो, “कर्मचारी सरुवा भएपछि दुई वर्षसम्म सोही कार्यालयमा रहने र दुई वर्षपछि कुन कार्यालयमा आफ्नो सरुवा हुँदै छ भन्ने पूर्वजानकारी कर्मचारीलाई हुने नीति बनाइने छ ।” 

अहिले राम्रा र आकर्षक कार्यालयमा पहुँच र शक्तिका आडमा वर्षौँसम्म टिकिरहने तर पहुँच नभएका कर्मचारी केही महिनामा नै सरुवा हुने प्रवृत्ति छ । दुर्गम कार्यालयमा कर्मचारी जान नचाहने हुँदा कर्मचारीको अभावमा सेवा प्रवाह ठप्प हुने गरेको छ । कार्यदललाई सरुवासम्बन्धी हालका कानुनी व्यवस्था र अभ्यास हेरेर सुझाव दिने गरी कार्यसर्त तोकिने छ ।   

मन्त्रालयका प्रवक्ता भट्टराईले भन्नुभयो, “कतै कर्मचारी पहुँच र शक्तिका आडमा बसिरहने र कतै कर्मचारीको अभावमा सेवा प्रवाह नै ठप्प हुने स्थितिको अन्त्य मन्त्रालयले गर्दै छ ।” अहिले पनि दुर्गम क्षेत्रमा कर्मचारी सरुवा भइहाले पनि बढुवाका लागि नम्बर बढाउनका लागि केही समय गएर पुनः सुगममा नै फर्कने प्रवृत्ति रहेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका सहसचिव बलराम रिज्यालले नयाँ बन्ने कार्यदलले कर्मचारी सरुवा प्रणालीलाई सम्भव भएसम्मका कामलाई अनलाइन प्रणालीमा लैजाने गरी सरकारलाई सुझाव दिनु उपयुक्त हुने बताउनुभयो । उहाँका अनुसार अनलाइन प्रणालीमा सरुवा भएपछि सरुवा प्रणालीमा कसैको भनसुन लाग्दैन । कर्मचारीको दुई वर्ष एउटै कार्यालयमा अनिवार्य बस्नुपर्ने, दुई वर्षसम्म बढी समयसम्म बस्दा प्रशासनिक कार्यसम्पादन स्थिरता भई सेवा प्रवाह प्रभावकारी बन्ने छ । 

कर्मचारी प्रशिक्षण प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक डा. बालचन्द्र मिश्रले दुर्गम कार्यालयमा निश्चित समयमा काम गरेपछि मात्र बढुवा हुने व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रस्तावित समितिलाई सुझाव दिनुभयो । उहाँले रिक्त दरबन्दीमा डिजिटल प्रणालीबाट पद सार्वजनिक गर्ने, सङ्घीय निजामती सेवा ऐन जारी भएको दिनदेखि सबै कर्मचारीलाई पुल दरबन्दीमा राखेर पुनः पदस्थापन गर्ने, सरुवाको सिफारिस नलिने, दुर्गम स्थानका कर्मचारीलाई सुगममा बस्नेलाई भन्दा बढी अवसर दिनुपर्ने बताउनुभयो ।आजको गोरखापत्र बाट

बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी – बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ ।

सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल मङ्गलबार रातिको बाढीले बगाएको हो । पुल बगाएपछि बेनी–जोमसोम सडकमा सिधा सवारी आवतजावत बन्द भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो ।

बेनीबाट मुस्ताङ जाने र मुस्ताङबाट बेनीतर्फ आउने सवारीसाधन बीच बाटोमै रोकिएका छन् । जेठ ६ गते रातिको बाढीले भुरुङ्ग–तातोपानीमा रहेको तीन मिटर लामो कल्भर्ट पुल भत्काएको थियो । पुल भत्काएपछि ह्युमपाइप राखेर अस्थायीरूपमा खोला वारपार गर्ने संरचना बनाइएको थियो । पुनः बाढी आएर ह्युमपाइप र वरपरको सडक कटान गरेर बगाएको हो ।

छयात्तरु किलोमिटर दूरीको बेनी–जोमसोम सडक कालीगण्डकी करिडोर सडक आयोजनामार्फत स्तरोन्नतिको क्रममा छ । आयोजनाका सुुपरभाइजर इन्द्रसिंह शेरचनले आज बिहानैदेखि डोजर र मजदुर परिचालन गरेर सडक खुलाउने प्रयास भइरहेको बताउनुभयो ।

यसैगरी म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा भिरबाट लडेर मङ्गलबार एक महिलाको ज्यान गएको छ । धारापानीका २३ वर्षीया सविना विकको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको वडाध्यक्ष अशोक खत्रीले बताउनुभयो । बिहान १० बजे बेहोस अवस्थामा उद्धार गरिएकी विकलाई उपचारका लागि अपराह्न पोखराको मणिपाल शिक्षण अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

विकको शव पोखराको मणिपाल शिक्षण अस्पतालमा राखिएको छ । विकलाई अस्पतालमा लैजानका लागि स्थानीयवासी र सङ्घसंस्थाबाट चन्दा उठाएर रु एक लाख ४० हजार भाडा तिर्ने गरी हेलि एभरेष्टको हेलिकोप्टर मगाएका थिए ।

थारू आयोगको गुनासो : कार्यान्वयन भएन सिफारिस

काठमाडौँ – थारू आयोगले सरकारसमक्ष पेस गरेको सिफारिस कार्यान्वयन नभएको गुनासो गरेको छ । महिला तथा सामाजिक मामिला समितिको मङ्गलबार बसेको ‘आयोगको क्षेत्राधिकार, गत वर्षमा सम्पन्न कार्यक्रम, पूरा हुन नसकेका काम, चालु आर्थिक वर्षको कार्यक्रम तथा समस्यासम्बन्धी’ बैठकमा आयोगले यस्तो जनाएको हो ।

बैठकमा आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले केन्द्रमा बसेर थारू आयोगका समस्या समाधान गर्न कठिनाइ हुने गरेको बताउनुभयो । “आयोगले केन्द्रमा बसेर थारूको बाहुल्यता रहेको तराई क्षेत्रका समुदायका समस्या पहिचान गर्न कठिनाइ भएको छ । ऐनको प्रावधानबमोजिम आयोगको कार्यालय आवश्यकतानुसार प्रदेशस्तरमा समेत स्थापना गर्न सकिने व्यवस्था रहे पनि विस्तार हुनसकेको छैन”, अध्यक्ष चौधरीले भन्नुभयो ।

अध्यक्ष चौधरीले थारूको थर सूचीकरण कार्य, ऐतिहासिक सम्पदाको अध्ययन, महिला कानुनी साक्षरता कार्यक्रम सम्पन्न भएको जानकारी दिँदै थारूको अवस्था कस्तो छ ? भन्ने तथ्याङ्क सरकारसँग नरहेको जानकारी दिनुभयो ।

बैठकमा आयोगका सचिव कृष्णकान्त उपाध्यायले आयोगको क्षेत्राधिकार, आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न कार्यक्रम तथा उपलब्धि, वैशाख मसान्तसम्मका कार्यक्रमको समीक्षा, आव २०८०/८१ को कार्यक्रम खर्च, चुनौती र समाधानका उपाय प्रस्तुत गर्नुभएको थियो ।

आव २०७९/८० को वैशाख मसान्तसम्म आयोगका कुल स्वीकृत १४ वटा कार्यक्रममध्ये १३ वटा कार्यक्रमका बजेट रोक्का हुँदा सम्पन्न हुनसकेको छैन । सम्पन्न भएको एक कार्यक्रममध्ये थारू समुदायको इतिहासको अध्ययन हो । जुन त्रिभुवन विश्वविद्यालय इतिहास विभागसँग सम्झौता गरी सम्पन्न भएकामा अन्तिम प्रतिवेदन भने आउन बाँकी रहेको छ ।

आयोगका सदस्य शान्ति मोदीले अधिकार नदिई तलबभत्ता खुवाउनका लागि स्थापित गरिएको आयोगको औचित्यता नरहेको टिप्पणी गर्नुभयो । “सरकारको साक्षीका रूपमा मात्र यो आयोग रहेको छ । थारू समुदायको हितको संरक्षण गर्ने आयोगको ऐनमा अनुसन्धान गर्ने व्यवस्था रहेको छैन । गरेका सिफारिस कार्यान्वयन भएको छैन । आयोग सरकारप्रति उदासिन रहेको छ”, उहाँले भन्नुभयो ।

छुट्टै प्रकारको संस्कृति, सम्पदा, हस्तकलालगायतका थारू समुदायका उत्पादनको संरक्षण गर्न आयोग प्रतिबद्ध रहेको उहाँको भनाइ छ । आयोगका सदस्यले पछाडि परेका समुदायको उत्थानमा हुँदै गएको सकारात्मकताप्रति सन्तुष्टि रहेता पनि कानुनी व्यवस्था कार्यान्वयन नहुँदा असन्तुष्टि रहेको, अधिकारमा विस्तार थारूको मौलिक पहिचानाको प्रवर्द्धन, हरेक क्षेत्रमा समान अवसर र सहभागिता गराउनुपर्ने विषय उठान गर्नुभएको थियो ।

बैठकमा समितिका सदस्यले पीडित थारूको पहिचान हुन नसकेको, संवैधानिक व्यवस्था कार्यान्वयन प्रभावकारी नभएको, थारू समुदायलाई शिक्षामा पहुँच विस्तार गर्नुपर्ने, अन्तर्राष्ट्रियस्तरसम्म पहिचान पाउनका लागि थारूबाट उत्पादित सामान, कला संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने, सीपलाई प्रवर्द्धन गर्नुपर्नेलगायतका विषयमाथि छलफल भएको थियो ।

आज विश्व रक्तदाता दिवस मनाइँदै

काठमाडौँ – आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यावाद दिने दिनका रूपमा पनि मनाउने गरिन्छ । 

यस वर्ष ‘नियमितरूपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ विश्व रक्तदाता दिवस मनाइँदै छ । नाराले जीवनपर्यन्त रगत आवश्यक पर्ने बिरामीलाई रगत र प्लाज्मा दान गरेर सहयोग गर्न हरेक व्यक्तिले खेल्ने भूमिकाको महत्वलाई दर्शाएको छ । यसले नियमितरूपमा रगत र प्लाज्माको दानमार्फत दिगो र सुरक्षित आपूर्तिको महत्वबारेसमेत चर्चा गरेको छ । यही अवसरमा देशभरका विभिन्न सङ्घसंस्था र अस्पतालले रक्तदानसम्बन्धी जनचेतना फैलाउने, दातालाई प्रोत्साहन गर्ने र रक्तदानको कार्यक्रम आयोजना गरेको छ । 

यस दिवसका अवसरमा ब्लड डोनर्स एशोसिएसन नेपालले विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ । एशोसिएसनले साताव्यापी चेतनामूलक कार्यक्रमको आयोजना गरिरहेको एशोसिएसनका महासचिव केशव महर्जनले जानकारी दिनुभयो । “साइकल र्याली, महिला रक्तदाता अभिमुखीकरण, चित्रकला र रक्तदाता सम्मानलगायतका कार्यक्रम अयोजना गरेका छाँै”, उहाँले भन्नुभयो, “अस्पतालमा रगतको व्यवस्थापनमा असहज र रक्तादातालाई प्रोत्साहन गर्न नसक्नु अहिलेको चुनौती हो ।”

यस दिनलाई मानव रगतको समूह पत्ता लगाउने वैज्ञानिक डा कार्ल ल्याण्डस्टाइनरको जन्मदिन जुन १४ को अवसर पारेर हरेक वर्ष विश्व रक्तदाता दिवस मनाइन्छ । पहिलो विश्व रक्तदाता दिवस सन् २००४ मा मनाइएको थियो भने सन् २००५ मा ५८औँ विश्व स्वास्थ्यसभाद्वारा वार्षिक विश्वव्यापी कार्यक्रमको रूपमा नामकरण गरिएको थियो ।

आजको मौसम: चार प्रदेशमा पानी पर्ने तर मध्य तथा पश्चिम तराइमा अत्यधिक गर्मी हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा  रहेको छ। 

कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू साथै मधेस प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र मधेस प्रदेश लगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती भने कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोसी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेस प्रदेशलगायत बाँकी पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । 

देशका मध्य तथा पश्चिम तराईका भू–भागहरूमा अत्यधिक गर्मी हुने सम्भावना यथावत् देखिन्छ । कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै मधेस प्रदेश लगायत देशका बाँकी पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। तसर्थ, अत्यधिक गर्मी, मेघ गर्जन र चट्याङ तथा वर्षाबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 
२०८० जेठ ३१ गते (बुधवार)
दिउँसो:
 कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र मधेस प्रदेश लगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ–गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती: कोसी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोसी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा मेघ–गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेस प्रदेश लगायत बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । 

२०८० जेठ ३२ गते (बिहीबार)
दिउँसो:
 कोसी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ–गर्जन÷चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती: कोसी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोसी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा मेघ–गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेस प्रदेश सहित देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । 

२०८० आषाढ ०१ गते (शुक्रवार)
दिउँसो: 
कोसी प्रदेश, मधेस प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ–गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती: कोसी प्रदेश, मधेस प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ–गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश मन्त्रिपरिषद् बैठक–वार्षिक नीति तथा कार्यक्रम स्वीकृत

मोरङ – कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ वार्षिक नीति कार्यक्रम छलफलका लागि स्वीकृति गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज साँझ बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिनुभयो ।

यस्तै बैठकले प्रदेश प्रमुख पर्शुराम खापुङलाई प्रदेश सरकारको वार्षिक नीति कार्यक्रम प्रदेशसभाको चालु अधिवेशन यही जेठ ३१ गते दिनको १ बजे सम्बोधन गरी प्रस्तुत गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रदेश प्रमुखको प्रदेशसभामा हुने नीति तथा कार्यक्रम सम्बोधनको आवश्यक सम्पूर्ण व्यवस्था मिलाउनका लागि प्रदेशसभालाई अनुरोध गर्ने निर्णय भएको प्रवक्ता सिटौलाले बताउनुभयो ।

मधेसको जनसङ्ख्या सात लाख बढीले बढ्यो

महोत्तरी – मधेसमा पछिल्ला १० वर्षमा जनसङ्ख्या सात लाख १० हजार चार सय ५५ बढेको छ । विसं २०६८ र २०७८ राष्ट्रिय जनगणनाबीचको अवधिमा यो सङ्ख्या बढेको राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथली काठमाडौँले आज बर्दिबासमा राष्ट्रिय जनगणना–२०७८ को नतिजा सार्वजनिक कार्यक्रम आयोजना गरेर जानकारी दिएको हो ।

यसअघि २०६८ को राष्ट्रिय जनगणनामा मधेसको जनसङ्ख्या ५४ लाख चार हजार एक सय ४५ थियो । २०७८ को गणनामा यो सङ्ख्या बढेर ६१ लाख १४ हजार छ सय पुगेको छ । पुरुष ३० लाख ६५ हजार सात सय ५१, महिला ३० लाख ४८ हजार आठ सय ४९ र अन्य लिङ्गी (तेस्रोलिङ्गी) दुई हजार नौ सय २८ रहेका राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक मनोहर घिमिरेले जानकारी दिनुभयो ।

मधेसको वार्षिक जनसङ्ख्या वृद्धिदर राष्ट्रिय वृद्धिदरभन्दा निकै बढी पाइएको छ । पछिल्लो गणनामा राष्ट्रिय जनसङ्ख्या वृद्धिदर ०.९२ प्रतिशत वार्षिक देखिएको छ तर मधेसमा यो दर १.१९ प्रतिशत रहेको सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ । मधेसभित्र सबैभन्दा बढी जनसङ्ख्या वृद्धिदर रौतहटमा १.६३ प्रतिशत र सबैभन्दा कम पर्सामा ०.८२ प्रतिशत रहेको निर्देशक घिमिरेले स्पष्ट पार्नुभयो ।

यसैगरी मधेसमा पछिल्ला १० वर्ष (२०६८–२०७८) बीच परिवार सङ्ख्या पनि बढेको छ । विसं २०६८ मा नौ लाख ३२ हजार तीन सय आठ परिवार रहेका थिए । यो सङ्ख्या २०७८ मा बढेर ११ लाख ५६ हजार तीन सय ८३ पुगेको छ । यो वृद्धिदर २४.०१ प्रतिशत भएको प्रतिवेदन उद्धृत गर्दै घिमिरेले बताउनुभयो ।

मधेसमा पछिल्लो जनसङ्ख्या तालिकाअनुसार सबैभन्दा बढी जनसङ्ख्या धनुषामा आठ लाख ६७ हजार सात सय ४७ र सबैभन्दा कम पर्सामा छ लाख ५४ हजार चार सय ७१ रहेका उल्लेख छ । त्यसैगरी तालिकामा बढी जनसङ्ख्या क्रममा धनुषापछि सर्लाही, रौतहट, बारा, सिरहा, महोत्तरी र सप्तरी छन् । कार्यक्रम राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख मुनिकुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो ।

बरामद भएका छ हजार बढी थान हातहतियार नष्ट

काठमाडौँ – विभिन्न मिति र स्थानबाट कानुनबमोजिम जफत भएका, प्राप्त हुन आएका, बरामद भएका वा बेवारिसे अवस्थामा फेला परेका छ हजार दुई सय ६८ थान हातहतियार आज कानुनबमोजिम नष्ट गरिएको छ । नष्ट गरिएका हतियारमा भरुवा बन्दुक छ हजार एक सय ८९ थान, विभिन्न प्रकारका पेस्तोल ६४ थान, म्याग्नम १ थान, एयर गन एक थान र नाम नखुलेको १३ थान रहेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक समेतका प्रतिनिधि, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, कोष तथा लेखा नियन्त्रण कार्यालय, स्थानीय प्रतिनिधि र बूढानीलकण्ठ नगरपालिका–११ का वडाध्यक्षलगायतको रोहबरमा काठमाडौँ महानगरपालिका–११ स्थित नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन परिसरमा हातहतियार नष्ट गरिएको हो ।

हातहतियार खरखजाना एवं विष्फोटक पदार्थ व्यवस्थापन निर्देशिका, २०६९ को दफा ८(३) बमोजिम नष्ट गरिएको तथा फलामलाई पत्रु बनाई कानुनबमोजिम व्यवस्थापन एवं संरक्षणको लागि उक्त कार्यदलको जिम्मा लगाइएको प्रहरी प्रवक्ता कुबेर कडायतले जानकारी दिनुभयो ।

उक्त हातहतियार दीर्घकालीन व्यवस्थापन गर्नका लागि हातहतियार, खरखजाना एवम् विष्फोटक पदार्थ व्यवस्थापन निर्देशिका, २०६९ को दफा ५ बमोजिम गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको २०८० जेठ १७ गतेको पत्र पठाएको थियो ।

सोही पत्रको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीको अध्यक्षतामा गठित प्राविधिक टोलीले जेठ १८ गतेको बैठकमा कानुनी प्रक्रियाअनुसार नष्ट गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णय : एनसेल प्रकरणमा नेपालको पक्षमा खटिनेलाई धन्यवाद

काठमाडौँ – मन्त्रिपरिषद्को बैठकले एनसेलका सन्दर्भमा अन्तर्राष्ट्रिय नियोगमा दायर मुद्दामा नेपालको पक्षमा खटिने सबैलाई धन्यवाद दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले एनसेलका सन्दर्भमा दायर भएको मुद्दामा नेपालको पक्षमा आएको फैसलाले अर्बौँ रुपैयाँ घाटा लाग्नबाट जोगिएको भन्दै यसमा खटिने वकिललगायत सबैलाई धन्यवाद दिने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय कोर्टमा एनसेलले नै मुद्दा गरेको थियो, त्यस सन्दर्भमा अहिले केही दिन अगाडि मात्रै फैसला भयो र त्यसमा नेपाल पक्षले जितेको छ, यदि नेपाल पक्ष हारेको भए रु ६०/६५ अर्ब नेपाललाई घाटा हुन्थ्यो ।” सो मुद्दा जित्नु मुलुकको लागि हितजन्य कार्य भएको बताउँदै मन्त्री गुरुङले मुद्दामा पैरवी गर्ने वकिल, कानुन मन्त्रालयलगायत अहोरात्र खटिने सबै पक्षलाई धन्यवाद दिने निर्णय भएको सुनाउनुभयो ।

सुदूरपश्चिम प्रदेशसभा : सरकारको नीति तथा कार्यक्रम पारित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि सभामुख भीमबहादुर भण्डारीले बैठकमा निर्णयार्थ पेश गर्नुहुँदा बहुमतले पारित भएको हो । यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुहुँदै प्रदेश बनाउने सवालमा सबैसँग हातेमालो गरी अगाडि बढ्न सरकार तयार रहेको बताउनुभयो ।

उहाँले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, ऊर्जालाई प्राथमिकतामा राखेर सोही बमोजिमको वार्षिक बजेट तुर्जमा भइरहेको जानकारी दिनुभयो । उहाँले विगतको सरकारले ल्याएका कतिपय असल अभ्यास एवं कार्यक्रमलाई सरकारले आफ्नो नीति कार्यक्रममा समावेश गरेको बताउनुभयो ।

बैठकको प्रारम्भमा नीति कार्यक्रममाथि भएको छलफलमा प्रदेशसभा सदस्य जानकीदेवी कुँवर, जानकीदेवी ऐर बम, टीका थापा, देवानसिंह विष्ट, हिरा सार्की, बेलबहादुर रानामगर, गीताकुमारी चौधरीले भाग लिनुभएको थियो ।