`

सुमनाको पैदलयात्रा अनुभवः ‘प्रधानमन्त्री नेताले होइन, हामी जनताले चुन्न पाउनुपर्छ’

Nepal One HD १३ माघ २०८१ ९:५६
अन्तर्वार्ता/बिचार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ यतिबेला वीरगञ्ज–काठमाडौं पैदलयात्रामा छिन् । पैदलयात्रामा क्रमममा स्थानीयसँग कुरा गरी उनीहरुका समस्या सदनमा उठाउने उद्देश्यले उनले पैदलयात्रा सुरु गरेकी हुन् ।

शुक्रबारदेखि सुरु भएको उनको यात्रा आइतबार तेस्रो दिन हो । वीरगञ्जदेखि काठमाडौंको यात्राको दोस्रो दिन शनिबार उनी हेटौंडाबाट भन्डारा हुँदै सौराहा पुगिन् । उनले पैदलयात्रामा देखे भोगेको कुरा यसरी प्रस्तुत गरेकी छन् ।

पैदलयात्राका क्रममा देखेका गुनासालाई सुमनाले यसरी प्रस्तुत गरेकी छन् :

आजको यात्राको सुरुवात शिक्षकहरूसँगको संवादबाट भयो । उहाँहरूको एउटै गुनासो थियो, ‘शिक्षकलाई शिक्षकको हैसियतमा सम्मान दिइँदैन।’ शिक्षण पेशा, जसले समाज र भविष्यको जग बसाउँछ, त्यो नै दलीय राजनीतिकरणको शिकार भएको देख्दा मेरो मनै पोल्यो । बाटोमा भेटिएका बालविकास शिक्षकले आफ्नै पीडा सुनाउनुभयो, ‘हामीलाई समान व्यवहार हुँदैन । सरकार हाम्रो अवस्था सुधार गर्नुपर्छ।’

यसले मलाई मन्त्रालयमा हुँदा बजेटमा समावेश गरिएको ‘बुटक्याम्प मोडल’ को सम्झना गरायो, जहाँ ECD शिक्षक तालिमलाई प्राथमिकता दिने प्रयास गरिएको थियो । शिक्षकमात्रै हैन विद्यालयका कर्मचारीहरूले पनि ‘हाम्रो लागि सम्मानजनक व्यवस्था छैन’ भन्दै गुनासो गरे । उहाँहरूले भन्नुभयो, ‘विद्यार्थीको चापअनुसार कर्मचारीको दरबन्दी र तलब हुनुपर्छ।’ यस्ता आवाजहरू सुन्दा, संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयकलाई अझै विस्तृत छलफलमा लैजानुपर्ने आवश्यकता मैले महसुस गरेँ ।

तर शिक्षा क्षेत्रमा मात्र समस्या छैन । कतै उपभोक्ता समितिको मनोमानीको रूपमा दलीय स्वार्थले समाजलाई च्यापेको छ। कतै वित्तीय शोषणले यहाँका मानिसहरूलाई झन्झन् गरिब बनाउँदैछ । मकवानपुरका भूमिहीन सुकुम्बासीको समस्या, सिमपानीका जग्गा विवाद, कतै स्वास्थ्य चौकीको अभाव, कतै विद्यालयमा शौचालयसमेत नभएको कुरा सुन्दा मन खिन्न भयो । आज मलाई सबैभन्दा झस्काउने कुरा के थियो भने, एकजना बुबाले भन्नुभएको थियो ‘यहाँ मन्दिरमा पनि दलीय राजनीति छ।’

देश बुझ्न भनेर म वीरगञ्जबाट हिँडेकी हुँ । तर के महशुस गरें भने, देश भन्नु जनता रहेछ । देश बनाउने कुरा गर्ने नेतृत्वले जनतालाई बनाउने कुरा बिर्सिएको रहेछ । बाटोमा स्कुल, अस्पतालका कुरा सुन्दै दिदीबहिनीहरूसँगै हिँड्ने क्रममा मैले एउटा कुरा प्रस्टै देखेँ—यो देशको जनता स्मार्ट छ, परिश्रमी छ । नयाँ पुस्ता उज्यालो भविष्यको प्रतीक हुँदै उदाइरहेको छ । तर तिनले देशप्रति भरोसा राख्न नसकेको पीडा भने गहिरो छ। एक जना दाइले दिनभरिका गुनासा पछि भन्नुभयो, ‘नेतृत्वदेखि नै घृणा लाग्छ।’ तर आक्रोशसँगै नागरिकसँग समाधान पनि छ। अर्को व्यक्तिले थप्नुभयो, ‘प्रधानमन्त्री नेताले होइन, हामी जनताले चुन्न पाउनुपर्छ।’

दोस्रो दिनको यात्रा टुङ्ग्याउँदै गर्दा, एक जना दिदीको कुरा मनमै बसिरहेको छ। ‘बहिनी, बच्चाहरू चराजस्तो उडेर गए । नेपालमा बस्न कोही मान्दैन।’ देशभित्रका युवालाई स्वाभिमानी र सक्षम बनाउन हामी सबै मिलेर लाग्नुपर्छ। सोचिरहेकी छु—हामीले ती उडेर गएका चरा स्वदेश कसरी फर्काउने ? भोलि बिहानै यताबाट भरतपुरतर्फ हिँड्नेछु । भेटौँला ।


प्रतिक्रिया