`

१६ जिल्लाका एक हजारभन्दा बढी दादुराबाट सङ्क्रमित

काठमाडौँ – दादुरा प्रकोपबाट १६ जिल्लाका एक हजारभन्दा बढी सङ्क्रमित भएका छन् । स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाले आज सार्वजनिक गरेको प्रतिवेदनमा १६ जिल्लाको एक हजार तीन जनालाई दादुराको प्रकोप भएको छ ।

महाशाखाका निर्देशक डा विवेककुमार लालका अनुसार मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, काठमाडौँ, कपिलवस्तु, अर्घाखाची, दाङ, बाके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरा जिल्लामा दादुराको प्रकोप भएको छ । ती जिल्लामध्ये सबभन्दा बढी प्रभावित कैलाली, सुनसरी र महोत्तरी रहेका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका, गौरीगङ्गा नगरपालिका र गोदावारी नगरपालिका, सुनसरीको बर्जु नगरपालिका र महोत्तरीको गौलाशा नगरपालिकाको वडा नं २ र ५ रहेका छन् । ती स्थानीय तहका छ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दादुराविरुद्धको खोप लगाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अहिलेसम्म दादुराको प्रकोपबाट बाँकेको नेपालगञ्जमा एक जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यही जेठ २४ गते काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा देखिएको दादुरा नियन्त्रणमा आएको महाशाखाले जनाएको छ । दादुरा प्रकोप प्रभावित जिल्लामा हालसम्म दुई लाख १५ हजार ५४ जनालाई दादुराविरुद्धको खोप लगाइएको छ ।

बाल स्वास्थ्य तथा खोप शाखाले यही जेठ २५ गतेदेखि सुनसरी मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरा जिल्लाका छ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप अभियान सुरु गरेको छ । दादुरा रुबेला रोग कोरोना भाइरसभन्दा पनि तीव्र गतिले फैलिने र मृत्युदर पनि उच्च रहेको छ । एक जना दादुरा सङ्क्रमितले १८ जनासम्म रोग सार्न सक्दछ । मन्त्रालायले यसअघि जति पटक खोप लगाए पनि अभियानका क्रममा खोप लगाउन आग्रह गरिएको छ ।

महाशाखाले काठमाडौँका सबै स्वास्थ्य संस्था, निजी अस्पतालमा सक्रिय दादुराका बिरामी खोजी जारी राखेको जनाएको छ । यसै सबै स्वास्थ्य संस्था र निजी अस्पताललाई दादुराको शङ्कास्पद केस नगरपालिका र स्वास्थ्य सेवा विभागमा प्रतिवेदन पेश गर्न अनुरोध गरिएको छ । यस्तै दादुराको निगरानीको लागि सबै जिल्ला र नगरपालिका फोकल पर्सनलाई संवेदनशील हुनसमेत महाशाखाले अनुरोध गरेको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए एमालेसहित सबै सांसदबाट विश्वासको मत

काठमाडौँ – मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज विश्वासको मत पाएका छन् ।

आज मुख्यमन्त्री यादवले प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित प्रदेशसभाका सबै दलको विश्वासको मत पाएका हुन् । मुख्यमन्त्री यादवको पक्षमा प्रदेशसभामा उपस्थित सबै १०३ साँसदले मत दिएका छन् । प्रदेशसभामा १०७ सांसद छन् ।

प्रदेशका सबभन्दा ठूलो दल नेकपा एमालेकै समर्थनमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए । तर सत्ता समिकरण बदलिएपछि सरकार छाडेको एमालेले जेठ १ मा समर्थन फिर्ता लिएको थियो ।

एमालेले समर्थन फिर्ता लिएकै कारण मुख्यमन्त्री यादवले विश्वासको मत लिनु परेको छ । तर एमालेले समेत मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएपछि सरकारको विपक्षमा कुनै दल नै रहेनन् ।

अन्तरक्षेत्रीय व्यापार विस्तार गर्न ‘कनेक्टिभिटी’ आवश्यक : अध्यक्ष ढकाल

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बहुपक्षीय प्राविधिक एवं आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) राष्ट्रहरूमा अन्तरक्षेत्रीय व्यापार र लगानी प्रवर्द्धधन गर्न प्रभावकारी पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ ।

मङ्गलबार भारतको कलकत्तामा ‘बिमस्टेक बिजनेस कन्क्लेभ’ अन्तर्राष्ट्रिय व्यापार मञ्चको विशेष सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले क्षेत्रीय व्यापार र लगानी प्रवर्द्धन गर्न राम्रा र प्रभावकारी सडक, जलमार्ग, रेलमार्गजस्ता पूर्वाधार निर्माणको आवश्यकता रहेको बताउनुभएको महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसका साथै, हवाई तथा डिजिटल कनेक्टिभिटी बढाउन, पूर्वाधार सञ्जाल सुधार गर्न र नयाँ पूर्वाधारहरू निर्माण गर्न बिमस्टेक सदस्य देशहरूले संयुक्त रूपमा लगानी गर्न आवश्यक रहेको पनि उहाँले बताउनुुभयो ।

सहज ढुवानीका लागि सडक तथा बन्दरगाहजस्ता भौतिक पूर्वाधारको बृद्धि गर्न आवश्यक रहेको बताउँदै उहाँले क्षेत्रीय मूल्य शृङ्खलाको विकासमा सहयोगका लागि पूर्वाधारको विकास र स्तरोन्नतिका लागि संयुक्त प्रयास गर्न सकिने बताउनुभयो । अध्यक्ष ढकालले भन्नुभयो, “ऊर्जासँग सम्बन्धित पूर्वाधारको विकास र ऊर्जा व्यापारसहित क्रसबोर्डर ऊर्जा सहयोग प्रवर्द्धनले क्षेत्रीय मूल्य शृङ्खलाहरूमा बढिमात्रामा ऊर्जा आवश्यक पर्ने उद्योगहरूको विकासलाई सहयोग पुग्न सक्छ । उदाहरणका लागि, नेपाल–बङ्गलादेश र भारतले नेपालको जलविद्युत् बङ्गलादेशसम्म निर्यात गर्न जलविद्युत् प्रसारण लाइनमा काम गरिरहेका छन् ।”

उहाँले नेपालमा उत्पादित बिजुली भारत हुँदै बङ्गलादेशसम्म पुग्ने र यसलाई बिमस्टेकका अन्य सदस्य राष्ट्र र त्यसभन्दा बाहिर पनि विस्तार गर्न सकिने धारणा राखनुभयो । कनेक्टिभिटी पूर्वाधारका अतिरिक्त, बिमस्टेक देशहरूले क्षेत्रीय व्यापार र लगानीलाई सहज बनाउन व्यापारमा लाग्ने विभिन्न गैर–भन्सार अवरोधहरू हटाउन र घटाउनु आवश्यक रहेकोमा अध्यक्ष ढकालको जोड दिनुभयो ।

बिमस्टेक राष्ट्रहरूले क्षेत्रीय मूल्य शृङ्खलाहरूको लागि अनुकूल वातावरण सिर्जना गर्न आफ्नो व्यापार र लगानी नीतिहरू सहज र सरल बनाइ भन्सार प्रक्रिया, आवश्यक नीति नियम सरल बनाउँदै लगानी सहजीकरणका उपायहरू प्रवर्द्धन गर्न सकिने उहाँले बताउनुभयो ।

“यस क्षेत्रको स्वतन्त्र व्यापार व्यवस्थाले सदस्य राष्ट्रहरूबीचको द्विपक्षीय र बहुपक्षीय व्यापार बढाउन सहज बनाउन सक्छ । नेपालले आफ्नो निर्यातमा लाग्ने कर हटाउने वा घटाएकोमा फाइदा लिन सक्छ, जसले गर्दा व्यापारको मात्रा बढ्छ र निर्यातमा विविधीकरण हुन्छ”, अध्यक्ष ढकालले भन्नुभयो । उहाँले क्षेत्रीय कनेक्टिभिटी र व्यापार सम्झौताले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आकर्षित गर्न पनि मद्दत गर्ने बताउनुभएको सो विज्ञप्तिमा उल्लेख छ ।

“बिमस्टेक राष्ट्रहरूबीचको राम्रो कनेक्टिभिटी र व्यापार व्यवस्थाले एफडीआईलाई आकर्षित गर्न मद्दत गर्नेछ । बजार पहुँच सुधार गर्न तथा व्यापार अवरोधहरू कम गर्न सकेमा विदेशी कम्पनीहरूलाई अर्थतन्त्रका विभिन्न क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नेछ, जसले बिमस्टेक देशहरूमा आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्नेछ”, उहाँले भन्नुभयो । उहाँले बिमस्टेकमा अन्तरक्षेत्रीय व्यापार र लगानीलाई प्रवर्द्धन गर्न बिमस्टेक बिजनेस फोरम गठन गर्न सकिने प्रस्ताव गर्नुभएको थियो ।

हत्याको अनुसन्धानका लागि सिआइबीको टोली नवलपरासीमा

नवलपरासी – एक दम्पती हत्याबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली पश्चिम नवलपरासी आएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका–८ मा गत सोमबार दम्पती हत्या भएको थियो ।

उक्त वडाको पथलहनी बस्ने ५५ वर्षीय तिलकराम भेडिहार र उनकी श्रीमती ५० वर्षीया निर्मला भेडिहारको वीभत्स हत्या भएको हो । उनीहरुको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेका अनुसार सिआइबीको र जिल्ला प्रहरी कार्यालयको टोलीले संयुक्तरुपमा उक्त हत्याको अनुसान्धान गरिरहेको बताउनुभयो ।

उहाँको अनुसार अनुसन्धानमा अपराधीको नजिक पुगिसकेको छ । अपराधीले घटना होसियारीपूर्वक घटाएकाले सामान्य प्रमाणसमेत छोडेका छैनन् । जिल्ला प्रहरी कार्यालयले उक्त घटनामा अनुसन्धान गर्दा अपराधी नजिक पुग्न नसक्दा तीन दिनदेखि सिआइबीको दुई टोली पनि आएर अनुसन्धानलाई अगाडि बढाएको उपरीक्षक पाण्डेले जानकारी दिनुभयो । उहाँको अनुसार प्रहरी अपराधीको नजिक पुगिसकेको छ ।

हत्या भएको दम्पतीको सोही वडामा रहेको बैरिहवा भन्ने गाउँमा घर रहेको छ तर उनीहरू सामान्य खेतीपातीसँगै भैँसीपालन गरी पथलहनीमा बस्दै आएका थिए । उनीहरूका सन्तान उक्त गाउँमै बस्दै आए पनि दम्पती भने गाईभैँसीलाई रेखदेख गर्नको लागि पथलहनीमा बस्दै आएका थियो । उनीहरूको हत्यापछि शवलाई आँगनमा फालिएको थियो ।

कांग्रेसद्वारा जनकपुरधामका मेयर माथिको कारबाही फुकुवा

महेन्द्रनगर धनुषा – नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहमाथिको कारबाही फुकुवा गरेको छ । साहको कांग्रेसभित्रको साविकको पदलाई निरन्तरता दिँदै कारबाही फुकुवा गरिएको हो ।

स्थानीय तह निर्वाचन २०७९ मा पार्टीका तर्फबाट विद्रोही भएका उम्मेदवार, उनका प्रस्तावक र समर्थकलाई कांग्रेस पार्टीको विधान २०१७ (संशोधनसहित) धारा ३४ बमोजिम साधारण सदस्यसमेत नरहने गरी पार्टीले कारबाही गरेको थियो ।

साहले पुनः पार्टीमा रही हिजोका आफ्ना गतिविधिलाई आत्मसात् गर्दै पार्टीको आदर्श, सिद्धान्त र उद्देश्यअनुसार क्रियाशील रहने गरी सोमबार निवेदन दिई पार्टीमै रहने प्रतिबद्धता व्यक्त गरेकाले कांग्रेस केन्द्रीय कार्यसमितिले अनुमोदन गर्नेगरी उहाँको साविकको पदलाई निरन्तरता दिँदै कारबाही फुकुवा गरिएको केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले बताउनुभयो ।

साह यसअघि कांग्रेसको जनकपुरधाम नगर सभापति हुनुहुन्थ्यो । साहले स्थानीय तहको निर्वाचनका क्रममा ९ वैशाख २०७९ मा नगर सभापति पदबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । उहाँको प्रस्तावकमा नन्दलाल साह र समर्थक रामप्रसाद पजियार हुनुहुन्छ । निर्वाचनका दौरान गठबन्धनले जनकपुरधाम जनता समाजवादी पार्टीलाई दिने निर्णय गरेपछि असन्तुष्ट जनाउँदै साहले कांग्रेस परित्याग गर्दै नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ – शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।

आज बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुग्नुभएका उहाँलाई अस्पतालले चिकित्सकको सल्लाहअनुसार २४ घन्टासम्म अवलोकनमा राख्ने अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रपति पौडेललाई बुधबारसम्म डिस्चार्ज गर्ने तयारी छ ।

अन्तरप्रदेश चल्ने सवारीसाधनले सङ्घबाटै अनुमति लिन अनिवार्य गरिँदै

काठमाडौँ – अन्तरप्रदेश सञ्चालन हुने सबै सार्वजनिक सवारीसाधनले सञ्चालनका लागि आवश्यक अनुमति र परीक्षण सङ्घीय सरकारअन्तर्गतका विभागमा गर्नुपर्ने भएको छ । 

    अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनमा बाटो इजाजतपत्र, स्तर कायम, जाँचपास, प्रदूषण परीक्षण गर्ने अधिकार सङ्घीय सरकारको भए पनि अहिलेसम्म प्रदेशले नै गर्दै आइरहेको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले बताउनुभयो । उहाँका अनुसार यात्रुवाहक र मालवाहक दुवै सवारीसाधनमा यो नियम लागू गराउन लागिएको हो ।
 
    संविधानअनुसार अन्तरप्रदेश चल्ने सवारीसाधनको व्यवस्थापन विभागको कार्यक्षेत्र भए पनि प्रदेशअन्तर्गत कार्यालयहरूले काम गर्न नछाडेको उहाँले बताउनुभयो । कार्यालयले सेवा लिन आएका सेवाग्राहीलाई अनुमति दिइरहेको उहाँले जानकारी दिनुभयो । विभागले अहिले यातायात व्यवसायीलगायत सबैलाई विभागमा बोलाएरै सङ्घीय कार्यालयबाट अनुमति लिन भनेको छ । उहाँले भन्नुभयो, “सबै सरोकारवालालाई सम्झाउनका लागि अहिले परिपत्र गरिएको छ ।”

    प्रदेशले सेवा दिए पनि सरकारलाई आउने राजस्व आइरहेको र नागरिकलाई पनि सजिलो भएकाले सङ्घीय कार्यालयबाटै अनुमति लिन बाध्य नगरिएको प्रवक्ता पनेरुले बताउनुभयो । प्रदेशअन्तर्गतका कार्यालय सबै जिल्लामा भएकाले अहिलेसम्म सेवाग्राही पनि यातायात व्यवस्था कार्यालयमा नै गइरहेको उहाँले बताउनुभयो । तर अन्तरप्रदेश चल्ने सवारीसाधनमा एउटाले दिएको अनुमति अर्काे प्रदेशले नमान्न सक्ने हुँदा र कानूनको पालना गर्नुपर्ने हुँदा अब सङ्घले नै गर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सङ्घीयताको अभ्यासका क्रममा रहेकाले अहिलेसम्म कडाइ गरिएको थिएन ।” 

    विभागअन्तर्गतका कार्यालयहरू काठमाडौँको टेकु, इटहरी, हेटौँडा, बुटवल र अत्तरियामा रहेका छन् । सेवाग्राहीले यी कार्यालयबाट आवश्यक अनुमति लिनुपर्नेछ । संविधान र मन्त्रिपरिषद्बाट स्वीकृत कार्य विस्तृतीकरण प्रतिवेदन तथा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र नियमावली, २०५४ अनुसार अन्तरप्रदेश सञ्चालन हुने यातायातको व्यवस्थापनको जिम्मेवारी सङ्घीय सरकारको रहेको छ । कानूनको उल्लङ्घन गरी सङ्घअन्तर्गतका कार्यालयबाट इजाजत नलिई सवारीसाधन सञ्चालन नगरेको पाइएमा कारबाही गरिने विभागले जनाएको छ । 

    विगतमा यातायात व्यवस्था विभागअन्तर्गत रहेका यातायात व्यवस्था कार्यालय विसं २०७२ मा नयाँ संविधान लागू भएपछि प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो । सङ्घीय सरकारअन्तर्गत चार प्रदेशमा मात्रै कार्यालय रहेका छन् । 
 

हात्तीवाङ्ग र हपनीमा अझै पुगेन विद्युत

मुग्लिन – तपाईँलाई पत्यार नलाग्न सक्छ ! चितवनका बासिन्दा अझै पनि टुकी बत्तीको भरमा बस्न बाध्य छन् । किनकि चितवन सुगम जिल्ला भनेर परिचित छ । तर चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाको पहाडी दुर्गम बस्तीका स्थानीयले अझै विद्युत उपयोग गर्न पाएका छैनन् ।

इच्छाकामना गाउँपालिकाको वडा नं १ र २ का लागि चार वर्षअघि ठेक्का लागे पनि ठेकेदारले काम नगरेपछि यहाँका स्थानीय विद्युत् सेवाबाट बञ्चित हुन पुगेका हुन् । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार चार वर्षअघि ठेक्का लागे पनि ठेकेदार कम्पनीले काम नगर्दा विद्युत् सेवा विस्तार गर्न ढिला भएको हो ।

उहाँका अनुसार विद्युतीकरणका लागि वडा नम्बर १ र २ मा आर्थिक वर्ष २०७५÷७६ मै बोलपत्र भएर पनि काम अघि बढेन । सो समयमा विद्युतीकरणका लागि ठेक्का लिएर ठेकेदार कम्पनीले समयमा काम नगरिदिँदा विद्युत् सेवा विस्तार गर्न सकेन । अहिले काम नगर्ने ठेकेदारलाई मुद्दा हालेर ठेक्का रद्द गरेर पुनः ठेक्का लगाएर काम पनि अघि बढेको अध्यक्ष गुरुङले बताउनुभयो ।

“काम नगर्ने ठेकदारलाई मुद्दा हालेपछि पुनः चालु वर्षमै नयाँ बोलपत्र आह्वान भयो, त्यतिखेर छ करोडको ठेक्का लागेको थियो, अहिले १४ करोडमा स्तरवृद्धि र विस्तारको काम थालनी भएको छ, अब कुनै पनि बहानामा काम रोकिँदैन, प्राधिकरणसँगको समन्वयमा काम भइरहेको छ”, अध्यक्ष गुरुङले भन्नुभयो । चालु आवको दोस्रो चौमासिकभित्रै ठेक्का प्रक्रिया टुङ्गिएर नयाँ ठेकेदारले जिम्मा लिएपछि अहिले विद्युत् सेवा पुग्न बाँकी गाउँमा धमाधम विद्युतीकरणको काम सुरु भएको उहाँले बताउनुभयो ।

गाउँपालिकामा समग्रमा ५५ प्रतिशत घरमा मात्र विद्युत् पुगेको छ । अध्यक्ष गुरुङका अनुसार वडा नं ३, ४ र ५ को ९० प्रतिशत घरमा बिजुली पुगिसकेको छ । तर पहाडी क्षेत्र अधिक रहेको वडा नं १ मा १५ प्रतिशत, ६ मा ५० प्रतिशत घरमा मात्र बिजुली पुगेको छ । वडा नं २ मा कुनै पनि ठाउँमा बिजुली छैन । विद्युतीकरणको क्रममा केही समयअघि पर्यटकीय एवं ऐतिहासिक क्षेत्र उपरदाङगढीमा बिजुली बलेसँगै वडा नंं ७ को भने सबै ठाउँमा बिजुली पुगिसकेको उहाँले बताउनुभयो ।

वडा नं २ मा विद्युत् विस्तारका लागि पोल पुगेपछि स्थानीयमा आशा भने पलाएको छ । “चार वर्षअघि नै ठेक्का आह्वान भएको सुनेका थिएँ, काम सुरु नहुँदा आश नै मरेको थियो, तर अहिले घरको आँगनमै पोल झरेपछि आशा पलाएको छ”, स्थानीय टीका गुरुङले भन्नुभयो ।”

यस्तै यतिबेला टोलटोलमा बिजुली पोल ढुवानीको काम भइरहेको इच्छाकामना–२ का वडाध्यक्ष पञ्चबहादुर चेपाङले बताउनुभयो । यहाँका सबै टोलटोलमा सडक पुगे पनि बिजुली बाल्नबाट यहाँका स्थानीय बञ्चित भएको उहाँको भनाइ छ । अब भने बिजुली बल्नेमा ढुक्क भएको उहाँको भनाइ छ ।

अहिले नेपाल विद्युत् प्राधिकरणसँगको समन्वयमा काम भइरहेकाले पोल र तार प्राधिकरणले नै खरिद गरेर पठाएको तथा पोल गाड्ने र तार टाँङ्ने काम ठेकेदार पक्षले गर्ने भएको गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो । इच्छाकामनाको सबैै वडामा विद्युत् विस्तार र स्तरवृद्धिको काम हुनलागेको हो । अध्यक्ष गुरुङका अनुसार काममा कुनै अवरोध नभएमा आगामी आवभित्रै इच्छाकामनाका सबै स्थानमा विद्युत् पुग्नेछ । गाउँपालिकाले विद्युतीकरणसँगै विपन्न समुदायको नागरिकको घरमा निःशुल्क विद्युत् मिटरसमेत जडान गर्दै आएका छन् ।

साथै सामथ्र्य उच्च बनाउनका लागि गाउँपालिकामै ‘सबस्टेशन’ राख्नका लागि पनि पहल भइरहेको उहाँले जानकारी दिनुभयो । गाउँपालिकामै ‘सबस्टेशन’ बनाएर गोरखाबाट लाइन जोडेपछि चौबीसै घन्टा विद्युत्मा पहुँच हुने उहाँको भनाइ छ ।

झोलुङ्गे पुलले फेरियो दैनिकी

ढोरपाटन – पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङ बजार नजिकै एउटा अग्लो र लामो झोलुङ्गे पुल बनेको छ । त्यो पुलमा वारपार गर्ने स्थानीयभन्दा फोटो, भिडियो खिच्ने र रमाउने सङ्ख्या धेरै देखिन्छ । तमानखोलामाथि बिसमर र घोँसाखानी गाउँलाई जोड्ने गरी निर्माण भएको यो पुल अहिले आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । पुलमा दैनिक दुई सय बढी आन्तरिक पर्यटकले वारपार गर्ने गरेका छन् । स्थानीयले घाँस, दाउरा ल्याउन र बारीमा काम गर्न वारपारका लागि निर्माण गरिएको पुलमा पर्यटकको घुइँचो लाग्न थालेपछि स्थानीय पनि हर्षित बनेका छन् ।

बुर्तिबाङ–बोङ्गादोभान सडकखण्डको माथिपट्टि निर्माण भएको पुलले यात्रुलाई समेत आकर्षित गर्ने गरेको छ । गत वर्षसम्म वारपार गर्दा सास्ती भोग्दै आएका स्थानीयलाई यो पुल वरदान सावित भएको छ । वारि गाउँ र पारि खेतीयोग्य जमिन हुँदा स्थानीय वारपारमा निकै समस्या थियो । गत पुसमा निर्माण सुरु भएको पुल दुई महिनामै सम्पन्न भई चैतदेखि सञ्चालनमा आएको हो । पुल दुई सय ४३ मिटर लामो छ । पुल नबन्दा खोला वारपार गर्न करिब एक घण्टा लाग्ने गरेकामा अहिले तीन मिनेटमै आउजाउ गर्न सकिन्छ । पुल निर्माणपछि ढोरपाटन नगरपालिका–३ को पुर्कोट, घोँसाखानी, सामा, बिसमरलगायतका गाउँका हजारौँ नागरिकलाई सहज भएको छ ।

आफ्नो बारी खोलापारि र घरवारिपट्टि हुँदा काम गर्न जाँदा पनि धेरै समय लगाउनुपर्ने बाध्यता पुल निर्माण भएपछि टरेको स्थानीय तिलकुमारी कुँवरले बताउनुभयो । हिउँदको समय जसोतसो खोला वारपार गरेर काम गरे पनि बर्खामा निकै समस्या भोग्दै आएको यस वर्षदेखि सहज हुने सुनाउनुभयो । पुलले गाउँलेको दैनिकी नै फेरिएको उहाँको भनाइ छ ।

“बर्खामा खोला उर्लिएर आउँछ, पारि बारीमा पुग्न धेरै समस्या थियो, वारि गाउँदेखि पारि गाउँ पुग्न बुर्तिबाङ बजारबाट चुरेलाबास हुँदै बारीमा पुग्नुपथ्र्यो, घर र बारी नजिकै भए पनि बीचमा खोला हुँदा धेरै अवरोध भएको थियो । भनेको बेलामा बारीमा पुग्न सकिँदैनथ्यो”, उहाँले भन्नुभयो, “यहाँ पुल बनेपछि त हामी धेरै खुसी भएका छौँ, हाम्रो आधा समस्या समाधान भएको छ, अब त बारीमा तरकारी फलाएर उत्तिखेरै टिपेर ल्याउन सकिन्छ, पहिले त बारीबाट तरकारी लिएर आउन झन्डै दुई घन्टा लाग्ने गथ्र्यो ।”

स्थानीय कुलबहादुर नेपालीले अब खोला तर्दा कसैले ज्यान गुमाउन नपर्ने बताउनुभयो । उहाँले पहिले खोला वारपार गर्दा धेरैले ज्यान गुमाएको स्मरण गर्नुभयो । बुर्तिबाङ बजार नजिकै भए पनि यहाँ लामो समयसम्म पुल नबन्दा आफूहरूले खेतीपाती गरेर जीवन निर्वाह गर्नसमेत गाह्रो भएको उहाँले बताउनुभयो ।

स्थानीय नेपालीले भन्नुभयो, “पुल निकै छिटो बन्यो, हिउँदमा बाँसको फड्के बनाएर खोला तर्ने गथ्र्यौँ, त्यही फड्केबाट लडेर कतिले ज्यान गुमाए, फड्के नहुँदा भारीसँगै खोला तर्यौँ, नेताहरुलाई धेरै पटक यहाँ पुल बनाउनका लागि आग्रह गरेका थियौँ सुनेनन्, बल्ल पुसमा बजेट परेछ र अहिले पुल बन्यो, अब वारिपारि गर्न खोला तर्नुपर्ने छैन, पुल निकै लामो छ, त्यही भएर होला अहिले पुलमा धेरै मान्छे आउँछन् ।” (रासस)

आज प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा सुनुवाइ हुने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज (मंगलबार) सुनुवाइ हुने भएको छ ।

पूर्व अयोग्य लडाकु लेलिन विष्टसहितले बाल सेना दुरुपयोग लगायत आरोप लगाउँदै प्रधानमन्त्री प्रचण्ड र पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईविरुद्ध दायर गरेको रिटमाथि आज सुनुवाइ हुन लागेको हो ।

 माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको समयमा आफूहरुलाई बाल सेना बनाएर प्रवेश गराएको अनि बेवास्ता गरेको भन्दै  कारबाहीको माग गर्दै प्रधानमन्त्री प्रचण्डविरुद्ध दायर भएको यो दोस्रो रिट हो। 

प्रधानमन्त्री प्रचण्डले द्वन्द्वकालमा मारिकामध्ये ५ हजारको जिम्मा आफूले लिने भन्दै दिएको भाषणका  सन्दर्भमा  प्रचण्डलाई  कारबाहीको माग गर्दै दायर भएको रिट सर्वोच्च अदालतमा हालसम्म विचाराधीन छ। 

आँखा जाँच्न गराउन कांग्रेस सभापति देउवा सिंगापुर जाँदै

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आँखा जाँच् गराउन आज सिंगापुर जाँदै छन् । देउवाले आफू आँखा जाँच्न सिंगापुर जान लागेको पार्टीका नेताहरूलाई जानकारी गराइसकेका छन् ।

प्रमुख सत्ता साझेदार दलका नेता भएका कारण देउवाले आँखा जाच्न सिंगापुर जान लागेको कुरा प्रधानमन्त्री प्रचण्डलाई समेत जानकारी गराइसकेका  छन् । पछिल्लो समय देउवाको आँखामा समस्या देखिएको उनी निकटकाहरूले बताउँदै आएका छन् ।

डा सन्दुक रूइतले आँखाको उपचारमा विश्वमा नाम कमाउने र करोडौँको पुरस्कार प्राप्त गरिरहेको भए पनि पूर्वप्रधानमन्त्री देउवा भने आँखाकै उपचारका लागि मंगलबार सिंगापुर उड्दैछन ।

तनहुँमा जग्गाको नापजाँच अगाडि बढ्यो

दमौली – भूमिहीन एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि तनहुँमा जग्गा नापजाँचको काम अगाडि बढेको छ । राष्ट्रिय भूमि आयोग तनहुँले भूमिहीन एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि जग्गा नापजाँचको काम अगाडि बढाएको हो ।

आयोगका विज्ञ सदस्य श्रीराम कार्कीका अनुसार शुक्लागण्डकी नगरपालिका–३, ८ र ९ मा जग्गाको नापजाँच भइरहेको छ । देवघाट गाउँपालिका–५ मा नापजाँच सकिए पनि केही छुटपुट भएकाले छुटपुट भएकालाई समेत समावेश गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । देवघाटकै वडा नं २ र ४ मा जग्गाको नापजाँच सुरु गर्ने तयारी गरिएको छ ।

सदस्य कार्कीका अनुसार आँबुखैरेनी गाउँपालिकाका छवटै वडामा जग्गाको नापजाँच काम सकिएको छ । व्यास नगरपालिकाका जग्गा नापजाँचका लागि छलफल अगाडि बढाइएको छ । जग्गा नापजाँचका लागि आवश्यक उपकरण खरिदका लागि नगरपालिकाले बोलपत्र आह्वान गरिसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “प्राविधिक कम भएका कारण पनि जग्गा नापजाँचको कामले तीव्रता पाउन सकेको छैन । हामीसँग उपलब्ध प्राविधिकलाई नै मिलाएर सबै स्थानीय तहमा खटाउनुपर्ने अवस्था छ ।”

जग्गा नापजाँच सम्पन्न भएपछि फिल्ड ढड्डा उतारेर काम गर्दा प्रत्येक पालिकाका लागि एक महिना समय आवश्यक पर्छ । उहाँले भन्नुभयो, “जग्गा नापजाँच सुरु भएपछि धेरै काम अगाडि बढेको छ भन्ने महसुस सबैलाई हुन्छ । सोहीबमोजिम हामीले कामलाई अगाडि बढाइरहेका छौँ ।” सदस्य कार्कीका अनुसार असारभित्रै अथवा नभए दशैँ अगाडि कुनै न कुनै पालिकामा लालपुर्जा वितरण गर्ने लक्ष्य छ ।

यसैगरी भानु नगरपालिकामा पनि दशैँअघि सुकुम्बासी एवं अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणको तयारीसहित नापजाँच कार्य सुरु भएको छ । वर्षौँदेखि लालपुर्जाविहीन रहँदै आएका स्थानीयवासीलाई लालपुर्जा दिने उद्देश्यसहित भानु नगरपालिकामा जग्गाको नापजाँच सुरु भएको छ । भानु नगरपालिका–१ स्थित नयाँबस्तीबाट जग्गाको नापजाँच कार्य सुरुआत गरिएको हो ।

भानु–१ मा पाँच सयभन्दा बढीलाई निस्सा वितरण गरिएको थियो । यो वडाबाट सुरु भएको जग्गा नापजाँच कार्य क्रमशः अन्य वडामा सुरु गरिने नापी कार्यालयका तनहुँका प्राविधिक एवं जग्गा नापजाँच कार्यका टोली प्रमुख राजीव श्रेष्ठले जानकारी दिनुभयो । 

भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले दशैँअगावै नापजाँच कार्य सकेर लालपुर्जा वितरण गरिने बताउनुभयो । राष्ट्रिय भूमि आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारीले स्थानीय तहको समन्वयमा भूमिहीनलाई लालपुर्जा र अव्यवस्थित बसोबासीलाई व्यवस्थित बनाउने प्रक्रिया सुरु गरिएको बताउनुभयो ।

भानु नगरपालिकामा जग्गाको नापजाँच सुरु भएपछि भूमिहीन खुसी भएका छन् । यसअघि निस्सा पाएका नयाँबस्तीका रामबहादुर परियारले अब लालपुर्जा पाइन्छ कि भन्ने आशा जागेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रत्येक चुनावमा नेता आएर लालपुर्जा दिन्छौँ भन्नुहुन्छ, तर कहिल्यै पुर्जा पाइएन । अहिले नापजाँचको काम सुरु भएपछि त पक्कै पुर्जा पाइन्छ होला ।”

सोही ठाउँकी डिलकुमारी राना पनि जग्गा नापजाँच अगाडि बढेपछि हर्षित हुनुहुन्छ । लालपुर्जा नहुँदा सुकुम्बासी भएर बाँच्नुपरेको भन्दै उहाँले जग्गा नहुँदा धेरै समस्या आइपरेको उल्लेख गर्नुभयो । जिल्लाका १० पालिकामा भूमिहीन दलित एक हजार एक सय आठ, भूमिहीन सुकुम्बासी एक हजार आठ सय ७२ र अव्यवस्थित बसोबासी २३ हजार एक सय ३७ गरी २६ हजार एक सय १७ जनाको निवेदन दर्ता भएको छ । 

देशभर तापक्रम बढ्दै

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा आगामी पाँच दिनसम्म तातो हावा (लू)को सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो । “आगामी पाँच दिनसम्म देशभरको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भू–भागमा अधिकतम र न्यूनतम तापक्रम क्रमिकरूपमा बढ्दै जाने देखिन्छ । तसर्थ, तराईका भू–भागमा तातो हावाबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ”, बुलेटिनमा भनिएको छ ।
    
लू चल्नका लागि लगातार पाँच दिनसमम सामान्यभन्दा ४० डिग्रीभन्दा माथि ताफत्रम बढेमा लू चलेको मानिन्छ । वर्षा नहँुदा सुक्खापन चलेकाले तापक्रम बढेर लू चलेको बताइएको छ । साथै पहाडी भू–भागका उपत्यका तथा खोंचहरूमा समेत तापक्रम क्रमिकरूपमा बढ्न सक्ने सम्भावना रहेकाले महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन पनि महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ । काठमाडौँ उपत्यकालगायत देशका अन्य उपत्यकामा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र देशको तराई भू–भागमा, मुख्यतयाः मध्यतराई र आसपासमा अधिकतम तापक्रत्र ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भएको छ ।

लूबाट हुने सम्भावित असर जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेसी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न आग्रह गरिएको छ ।

लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ जुससर्वत आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या आएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही सल्लाह–सुझाव लिन पनि महाशाखाले सुझाएको छ ।

हाल देशमा पश्चिवी वायुको साथै भारतको बिहारमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । अहिले कोशी, मधेस र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही कोशी तथा बागमती प्रदेशका केही स्थान साथै मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम १८ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २९ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

म्याग्दी नदीको पानी पोकफाँटको सिरानमा

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका–५ पोकमा ‘लिफ्ट’ सिँचाइ आयोजना निर्माण भएको छ । मङ्गला गाउँपालिकाको आर्थिक सहयोगमा म्याग्दी नदीको पानी तानेर पोकको फाँटमा लगेर सिँचाइ गर्न थालिएको हो । तीस हर्षपावर क्षमताको पम्प प्रयोग गरेर म्याग्दी नदीको पानी ६५ मिटरमाथि तानिएको मङ्गलाका प्राविधिक नगेन्द्र सापकोटाले बताउनुभयो ।

“म्याग्दी नदीको किनारबाट ९० मिलीलिटरको पाइपबाट पानी तानेर ६५ मिटरमाथि पोकफाँटको सिरानमा पुर्याइएको छ”, उहाँले भन्नुभयो, “नहरबाट कृषकको खेतबारीमा पानी लगेर सिँचाइ गर्न सकिन्छ ।” लिफ्ट सिँचाइ आयोजनाको सोमबार परीक्षण सफल भएको प्राविधिक उहाँले बताउनुभयो ।

पोक म्याग्दीको मकै, गहुँ र धानबालीको भण्डार मानिन्छ । लिफ्ट सिँचाइ आयोजनाबाट पोकको ६५ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको उपभोक्ता समितिका अध्यक्ष मनप्रसाद बुढाथोकीले बताउनुभयो । बाउन्न घरधुरी कृषक लाभान्वित भएका छन् । हिउँदयाममा सिँचाइ अभावमा कृषकलाई खेतीबाली लगाउन समस्या परेपछि लिफ्ट प्रविधिको विकल्प अपनाइएको हो ।

बर्खायाममा मूल फुट्ने र खोल्सामा पानी आउने हुँदा सिँचाइको समस्या हुँदैन । खडेरी र हिउँदयाममा सिँचाइ अभावमा बाली सुक्ने समस्या छ । पानीको अभावमा धानको ब्याड राख्न नपाएका र खेतको मकै सुकेर क्षति ब्यहोर्नुपर्ने समस्या हट्ने पोकका कृषकको अपेक्षा छ । सिँचाइ भएपछि जमिन बाँझो राख्नुपर्ने समस्या हटेर बाह्रै महिना मौसम अनुकूलको खेती लगाउन सकिने भएको छ ।

लिफ्ट सिँचाइ आयोजना निर्माणका लागि मङ्गला गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० मा रु १० लाख बजेट विनियोजन गरेको थियो । पम्प, पाइप खरिद र नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरी नयाँ ट्रान्सफर्मर राखेर विद्युत्को व्यवस्था मिलाइएको छ । म्याग्दी नदी किनारमा आवश्यक परेको समयमा पाइप राखेर पानी तान्न मिल्ने संरचना बनाइएको थियो । आगामी वर्ष म्याग्दी नदीबाट तानेको पानी सङ्कलन गर्ने पोखरी बनाउने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

अवैध रासायनिक मल भित्रिने क्रम बढ्दो

पाल्पा – नियन्त्रणमा लिइएको अवैध रासायनिक मल (युरिया) राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ । गत शनिबार रामपुरको एक सटरमा भण्डारण गरी राखिएको भारतीय कम्पनीको छ सय ५० बोरा अवैध मल फेलापरेको थियो ।

सोमबार राजस्व अनुसन्धान अधिकृतसहित, करदाता सेवा कार्यालय पाल्पाका प्रमुख र जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब निरीक्षकसहितको टोलीले रामपुरमा ‘शिल’ गरेर राखेको मल अनुसन्धान कार्यालय बुटवल पठाइएको छ । रामपुर–५ बेझाडस्थित विजय श्रेष्ठको घरमा (सटर भाडामा) ‘प्रधानमन्त्री भारतीय जनउर्वरक परियोजना भारत युरिया’ नामक रासायनिक मल भण्डारण गरिएको अवस्थामा फेला परेको थियो  ।

बिल तथा कागजपत्र र सम्बन्धित व्यक्ति फेला नपरेपछि रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापासहितको सरोकारवालाको टोलीले मल ‘शिल’ गरेर राखेको हो ।

हालसम्म भण्डारण गरेका सम्बन्धित व्यक्ति पहिचान भएको छैन । प्रतिबोरा ४५ किलो बराबरको तौल छ । गत शनिबार बिहान रम्भा गाउँपालिका–१ हुँगीमा पनि अवैधरूपमा गाडीमा ल्याउँदै गरेको तीन सय ७२ बोरा युरिया मल प्रहरीले नियन्त्रणमा लिएर सोही दिन अनुसन्धानका लागि भन्सार कार्यालय पठाइसकिएको छ ।

बुद्ध एयरको विमानमा धुवाँ देखिएपछी उडान रद्द

जनकपुरधाम – जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानको उडान रद्द गरिएको छ ।

सोमबार बुद्ध एयरको  यु ४–५०८ नम्बरको विमान साँझ ५:३७ मा काठमाडौंका लागि उडान भर्ने क्रममा यात्रुले धुँवा देखिएको बताएपछि उडान रद्द गरिएको हो।

दिउँसो ४:३० बजे उडान गर्ने तालिका रहे पनि सो विमान १ घण्टा ७ मिनेट ढिला गरी उड्न लागेकोमा यात्रुले धुवाँ देखिएको बताएका थिए ।

सहकारीले बचतकर्ताको बीस करोडभन्दा बढी रकम ठगी गरेको खुलासा

कञ्चनपुर- महेन्द्रनगरस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको रु २० करोड ७८ लाख बढी रकम ठगी गरेको खुलासा भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बचत रकम फिर्ता नगरेको भन्दै दुई हजार चार सय ९६ जना बचतकर्ताले प्रहरीमा निवदेन दिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बचतकर्ताहरूले रु २० करोड ७८ लाख २४ हजार रकम फिर्ता माग गर्दै निवेदन दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी निरीक्षक हर्षबहादुर चन्दले शिवशिखर सहकारी संस्थाबाट ठगिएका दुई हजार चार सय ९६ जनाले निवेदन दिएको बताउनुभयो । “अहिले हामी निवदेनकर्ताको संयुक्त जाहेरी बनाएर मुद्दा दर्ता गर्ने तयारीमा छौँ”, उहाँले भन्नुभयो, “अनुसन्धान गर्न सजिलो होस् भनेर संयुक्त जाहेरी तयार गर्न लागेका हाँै ।”

गत महिना प्रहरीले उक्त सहकारीबाट बचत रकम फिर्ता नपाएकाहरूलाई बचतपास बुक र नागरिकतासहित प्रहरीमा निवेदन दिन आग्रह गरेको थियो । अहिले महेन्द्रनगरस्थित शिवशिखर सहकारी संस्था बन्द छ ।

बचतकर्ताहरूले आफूहरूले जम्मा गरेको रकम फिर्ता पाउनुपर्ने भन्दै निवेदन दिएको बताएका छन् । “हामीले मेहनतले कमाएको रकम हामीलाई फिर्ता गराइदिन भनेर प्रहरीमा निवेदन दिएका हौँ”, बचतकर्ता सुमन कुँवरले भन्नुभयो, “सहकारीका कर्मचारीले घरमै आएर आग्रह गर्दा बचत जम्मा गरेका हौँ ।” उहाँले उक्त सहकारीमा ३७ हजार रकम बचत रहेको बताउनुभयो ।

त्यसैगरी, वासुदेव भट्टले पनि ४१ हजार रकम उक्त सहकारीमा जम्मा रहेको बताउनुभयो । “सहकारीको कार्यालयमा गएर बचत फिर्ता माग्दा दिएन, तीर-चार दिन कार्यालयमा धाएँ”, उहाँले भन्नुभयो, “मेरो किराना पसल छ, मैले दैनिक बचत गर्दै आएको थिएँ ।” बचतकर्ताहरूले बचत रकम फिर्ता र सहकारी सञ्चालकहरूलाई कारबाहीको माग गरेका छन् ।

भक्तपुर केन्द्रीय कार्यालय रहेको शिवशिखर बहुउद्देशीय सहकारी संस्थाले महेन्द्रनगरलगायत अन्य जिल्ला शाखाबाट समेत ठगी गरेको उजुरी प्रहरीमा छ ।

‘नीरफूल’को विशेष प्रदर्शनी

काठमाडौँ – गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनीमा आएको चलचित्र ‘नीरफूल’को निर्माण समूहले आयोजना गरेको विशेष प्रदर्शनीमा नेतादेखि कलाकारसम्म सहभागी भए । सोमबार बेलुकी आयोजित प्रदर्शनीमा चलचित्र हेरेपछि नेकपा (एमाले)का नेता भीम रावलले २०७२ साल वैशाखको विनाशकारी गोरखा भूकम्पले पारेको असर चलचित्रमा समेटिएको बताउनुभयो ।

“चलचित्रमा मनोरञ्जनसँगै सन्देश पनि छन् । नेपालीमार्फत नै नेपालीले पाउने पीडालाई दृश्यका माध्यमले दर्शाइएको छ”, उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीले हाम्रो समाज र परिवारलाई गरेको क्षतिलाई समेट्दै सेवा दिनुपर्ने निकाय दायित्वबाट पन्छिदा पर्ने प्रभाव देखाइएको छ । यो यथार्थ चित्रण हो ।”

अभिनेत्री करिष्मा मानन्धरले पनि चलचित्रको प्रस्तुतिकरण र मौलिकताको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाली चलचित्रमा मौलिकता भेटिएन्, आफ्नै कथा छैन ? भन्ने गुनासोको जवाफ बनेको छ नीरफूल । हाम्रो समाज र भोगाइसँग जोडिएको चलचित्रमा कलाकारले जीवन्त अभिनय गर्नुभएको छ । यसमा भूकम्पको समयमा एउटा ग्रामीण भेगमा परिवारले भोग्ने परिस्थितिलाई चित्रण गरिएको छ ।”

अभिनेत्री मानन्धरले चलचित्रमा देखाइएको कला र संस्कृतिको समेत सहराना गर्नुभयो । स्थानीय तहदेखि राष्ट्रियस्तरसम्मको समस्यालाई चलचित्रमा उजागर गरिएको गायिका सुनिता दुलालको भनाइ थियो । “यसमा हाँसो र रोदन दुवै छ । कलाकारले पात्र बाँचेका छन्, गीत–सङ्गीतमा संस्कृति झल्किन्छ । यत्तिको चलचित्र हेर्न दर्शक चलचित्र भवनसम्म आउनुपर्छ”, उहाँले भन्नुभयो ।

चलचित्रका निर्देशक फूलमान वलले दर्शकझैँ निम्तालु अतिथिबाट प्रतिक्रिया पाएको जानकारी दिनुभयो । “नयाँ स्वाद, फरकपन पाएको प्रतिक्रिया पाएको छु । हेर्न आउनुभएका दर्शकले रूचाउनुभएको छ”, उहाँले भन्नुभयो ।

आयोजित विशेष प्रदर्शनीमा पूर्वमन्त्री बुद्धिमान तामाङ, परशुराम तामाङ, सांसद रोशन कार्की, युवासङ्घका अध्यक्ष छितिज थेवे, पूर्वराजदुत डा गणेश योञ्जन, अभिनेत्री पल्पसा डङ्गोल, अभिनेता गजित विष्ट, निर्देशक एवं अभिनेता दिनेश डिसी, पत्रकार ऋषि धमला, उमेश चौहानलगायतले चलचित्र हेर्नुभएको थियो ।

काठमाडौँ महानगरपालिकाले लगायो दुई अस्पतालमा ताला

काठमाडौँ – दर्ता नै नगरी सञ्चालनमा रहेका काठमाडौँ महानगरपालिकाका दुईवटा अस्पतालमा आज काठमाडौँ महानगरपालिकाले ताला लगाएको छ । दर्ता नगरी सञ्चालनमा रहेको वडा ६ बौद्धको चाइनिज पिपुल्स अस्पताल र वडा ३२ कोटेश्वरमा रहेको सहयात्री अस्पतालमा कामपा जनस्वास्थ्य विभागले ताला लगाएर बन्द गरेको हो ।

स्वास्थ्यजस्तो संवेदनशील सेवा प्रदान गर्ने स्थान दर्ता नै नभएको पाइएपछि बन्द गराएका कामपा जनस्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल भन्नुहुन्छ, “मानिसको बाँच्न पाउने अधिकारसँग जोडिएको क्षेत्र हो । यसमा हुने सानातिना त्रुटि र लापर्वाहीले मानिसको मृत्यु हुन सक्छ । गलत औषधिको प्रयोगले जीवन अझ अस्वस्थ्य हुन्छ । दर्ता नै नगरी सञ्चालन हुने स्वास्थ्य संस्था न सरकारप्रति जिम्मेवार छन्, न नागरिकप्रति यसकारण बन्द गरिएको हो ।”

बन्द गरिएका दुवै अस्पताल १५/१५ शय्यामा सञ्चालन भएका हुन् । चाइनिज पिपुल्स अस्पतालमा अक्युपङ्चर र पाइल्सको उपचारका लागि मानिसहरु आउने गरेका थिए । त्यस्तै, सहयात्रीमा गर्भपतन सेवा दिने गरिएको आउने गरेका बताइएको थियो ।

विभागले लक्षित वर्गलाई उपलब्ध गराउनुपर्ने सेवा उपलब्ध गराएको नगराएको बारे नियमित निगरानी र अनुगमन गरिरहेको छ । यही जेठ पहिलो साता नै कामपाको प्रमुख बालेन्द्र साहले उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शय्याको १० प्रतिशत छुट्याई निःशुल्क उपचार गर्न आफ्नो क्षेत्रभित्रका अस्पतालहरूलाई निर्देशन दिनुभएको थियो ।

साहले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७०, (घ) मा भएको व्यवस्था स्मरण गराउँदै कामपाको अधिकार क्षेत्रमा केन्द्र, प्रादेशिक, स्थानीय सबै प्रकृतिका स्वास्थ्य संस्था छन् । विद्यमान स्वास्थ्यसम्बन्धी ऐन, कानुन र मापदण्ड पूर्ण कार्यान्वयन गराउन प्रभावकारी कदम चाल्न विभिन्न क्षेत्रबाट सुझाव प्रप्त भएको प्रमुख साहको भनाइ छ ।

उक्त सुविधा दिनका लागि महानगर क्षेत्रभित्र रहेका अस्पतालहरूले प्रचलित कानुन र मापदण्डअनुसार लक्षित वर्गहरूलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, सेवाग्राहीमैत्री सेवा प्रवाह गर्ने, स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूको प्रचलित कानुनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने, अस्पतालजन्य फोहरमैला व्यवस्थापन गर्ने, अस्पतालभित्र रहेका क्यान्टिनमा खाद्य गुणस्तर कायम गर्ने, अनावश्यक प्रयोगशाला परीक्षणका लागि सिफारिस नगर्नेजस्ता कार्यहरू सुधार गरी स्वास्थ्य सेवालाई सबै वर्ग, समूहको पहुँचयोग्य बनाउन पनि सम्बन्ध भएका सबै निकायलाई कामपाले यसअघि नै निर्देशन दिएको छ ।

दुर्घटनामा मृत्यु हुनेप्रति प्रधानमन्त्री दाहालद्वारा समवेदना

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्यूठानमा आज दिउँसो भएको कार दुर्घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत दुर्घटनामा मृत्यु हुने आठ तथा मृतकको परिवारमा समवेदना प्रकट गर्नुभएको हो । “प्यूठान स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किरहेको कार दुर्घटना हुँदा आठ जनाको निधन भएको खबरले दुःखित बनाएको छ । उक्त दुर्घटनामा जीवन गुमाउने सबैमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु”, समवेदनामा उल्लेख छ ।

कला, सिर्जनाले अर्थतन्त्रको विकाससँगै मौलिकता जोगाउँछ : अर्थमन्त्री डा महत

काठमाडौँ – अर्थमन्त्री डा प्रकाशशरण महतले नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरिएको राष्ट्रिय ललितकला प्रदर्शनी २०८० को अवलोकन भ्रमण गर्नुभएको छ ।

आज साँझ भएको अवलोकन भ्रमणका क्रममा अर्थमन्त्री डा महतलाई प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केली लगायतका पदाधिकारीहरुले कला प्रदर्शनी र प्रदर्शित सिर्जनाका बारेमा जानकारी गराउनुभएको थियो ।

सो क्रममा अर्थमन्त्री डा महतले कला र सिर्जनाले अर्थतन्त्रको विकाससँगै नेपालको मौलिकता जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कलालाई अर्थतन्त्रसँग जोड्नुपर्ने बताउँदै अर्थमन्त्री डा महतले ललितकलाको विकासका लागि सरकारबाट आवश्यक सहयोग उपलब्ध हुने प्रतिबद्धता पनि जनाउनुभयो ।

उहाँले ललितकला तथा हस्तकलालाई आगन्तुक पाहुना लागि कोसेली तथा उपहार दिने परम्पराका रुपमा विकास गर्न जरुरी रहेको औँल्याउनुभयो । कला प्रदर्शनीबारे उहाँले भन्नुभयो, “एकदम राम्रो काम गर्नुभएको छ, यसरी प्रदर्शनी गर्दा देशैभरिका कला सिर्जनाहरु एक ठाउँमा हेर्न पाइने र यसले मौलिकता चिन्ने तथा संस्कृति आदानप्रदान गर्ने मौका मिलेको छ ।”

उक्त प्रदर्शनीको आज दिउँसो मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सदन किराँतीले पनि अवलोकन भ्रमण गर्नुभएको थियो । कला प्रदर्शनीमा विशिष्ट व्यक्तिहरुको अवलोकनमा अभिरुचि देखिएको छ ।

लोकतन्त्रलाई सुदृढ तुल्याउन राजनीतिक इमान्दारी अपरिहार्य– पूर्वराष्ट्रपति डा यादव

काठमाडौँ – पूर्वराष्ट्रपति डा रामवरण यादवले लोकतान्त्रिक प्रणालीलाई सुदृढ तुल्याउन विधिको शासन र राजनीतिक मूल्यमान्यताको असल अभ्यासलाई स्थापित गर्न जरुरी भएको बताउनुभएको छ ।

शैलजा आचार्य आदर्श समाजले आज यहाँ आयोजना गरेको ‘शैलजा आचार्यको प्रेरणा र सान्दर्भिकता ः भ्रष्टाचार विरोधी हाम्रो प्रतिबद्धता’ विषयक अन्तरक्रियामा उहाँले राजनीतिक दलभित्र देखिएका विकृतिलाई सुधार गरी भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनको दिशामा सबै अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

“लोकतान्त्रिक प्रणाली रह्यो भने समग्र शासन प्रणाली राम्रो हुन्छ”, पूर्वराष्ट्रपति यादवले भन्नुभयो, “त्यसैले प्रणाली बचाएर गयो भने सुधार हुन्छ, अहिले युवापुस्तामा छटपटी बढेको छ । पुराना नेताको योगदान र कदरलाई आत्मसात् गरेर अघि बढ्न सकेमात्र लोकतन्त्र बलियो हुन्छ ।”

उहाँले राजनीतिमा निष्ठा र इमान्दारीको खडेरी परेको टिप्पणी गर्दै उहाँले गठबन्धन संस्कृति, राज्य संयन्त्र, संवैधानिक निकायलगायतमा भागबन्डा र दलगत स्वार्थको संस्कृतिले लोकतन्त्रलाई कमजोर तुल्याउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “राजनीतिमा लाग्ने व्यक्तिले जनतालाई सर्वोपरि ठानेर आफ्नो निष्ठा र समर्पण भावका साथ अगाडि बढाउनुपर्छ । राजनीतिक पार्टीभित्रै प्रणालीको सुधार हुनुपर्छ । जबसम्म विधि र कानूनको शासन सही ढङ्गले जाँदैन र नेतृत्व सही ढङ्गले अघि बढ्दैन तबसम्म प्रणाली र पद्धति स्थापित हुन सक्दैन ।”

पूर्वराष्ट्रपति यादवले प्रजातन्त्र र लोकतन्त्रलाई स्थापित गर्न भूमिका निर्वाह गर्नुभएका निष्ठावान् राजनीतिज्ञ शैलजा आचार्यको त्याग र योगदानलाई नेतृत्वले अनुसरण गरेर युवापुस्तामाझ पुस्तान्तरण गर्नसकेको खण्डमा उहाँप्रति सच्चा सम्मान हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँका अनुसार राजनीतिक दलभित्र प्रणाली सुधार गर्नुपर्छ । पार्टीभित्र जनप्रतिनिधि चयनमा विभिन्न चलखेल हुने गरेको छ । समानुपातिक टिकट वितरणमा ठूलो समस्या प्रजातान्त्रिक पार्टीमै छ ।

कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुङ्गानाले मूल्य र मान्यताको संस्कृति हराउँदै गएको तर भ्रष्टाचार र बेथिति बढेको छ भन्दै यसले लोकतन्त्रलाई कमजोर पार्ने आशङ्का व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “थोत्रो घरमा मुसाले दुःख दिएजस्तो नेपालमा भ्रष्टाचारले त्यस्तै रूप लिएको छ । भ्रष्टाचारी र बेइमानीको हाईहाई हुने तर असल र इमान्दार व्यक्तिको आत्मसम्मान छैन, यो विडम्बना हो असल मान्छेको खोजीको संस्कृति भएन ।”

शैलजा आचार्यको मूल्यमान्यता र आदर्शलाई नयाँ पुस्तामा कसरी पु¥याउने भन्ने चुनौती रहेको पनि उहाँले बताउनुभयो ।

वरिष्ठ पत्रकार हरिबहादुर थापाले ‘इमान्दार’ शब्द नै हराउँदै गएको, आपराधिक व्यक्तिहरू सङ्गठित हँुदै गएको र इमान्दारहरू छिन्न भिन्न हँुदै गएको भन्दै संसदीय व्यवस्था र लोकतान्त्रिक प्रणालीको संरक्षणका लागि निरन्तर खबरदारी जरुरी भएको उल्लेख गर्नुभयो ।

उहाँले मुलुकमा लोकतान्त्रिक प्रणाली बलियो बनाउन तथा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा शैलजा आचार्यको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो ।

सांसद कमला पन्तले शैलजा आचार्यको भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनको आदर्शलाई आत्मसात् गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले जलविद्युत्को विकासमा समेत आचार्यको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो ।

कार्यक्रममा भ्रष्टाचारविरुद्ध निरन्तर खोज तथा अनुसन्धानमा सक्रिय रही असल शासन प्रवर्द्धनमा भूमिका खेलेको भन्दै पत्रकार हरिबहादुर थापालाई कदरपत्रद्वारा सम्मान गरिएको थियो । संस्थाका तर्फबाट पूर्वराष्ट्रपति यादवले पत्रकार थापालाई सम्मान गर्नुभएको थियो ।

इतिहासकै डरलाग्दो आर्थिक मन्दि छ : कमल थापा

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक यथास्थितिबाट अघि बढे दुर्घटनामा पर्ने बताएका छन् । 

राष्ट्रियता कमजोर भएको र विदेशी हस्तक्षेप तथा प्रभाव बढेर गएको उनको भनाइ छ । ‘इतिहासकै डरलाग्दो आर्थिक मन्दि छ । भ्रष्टाचार संस्थागत भएको छ । बेरोजगारी र महङ्गिले आकाश छोएको छ,’ थापाले भने । 

यही क्रम जारी रहे यथास्थिति मै मुलुक रहिरहने र दुर्घटनातर्फ देश धकेलिने उनले चिन्ता व्यक्त गरे । काठमाडौंका अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै थापाले बजेटले कुनै आशाको किरण दिन नसकेको भन्दै मुलुकको जर्जर आर्थिक अवस्थालाई बजेटले सम्बोधन गर्न नसकेकोमा तीब्र आलोचना गरे । 

सस्तो लोकप्रियता र तालिको लागि भन्दा मुलुकको समस्याको दिगो समाधानतर्फ सरकारको ध्यान केन्द्रीत हुनुपर्नेमा थापाको जोड थियो । राप्रपा नेपाललाई सडक केन्द्रीत बनाउँदै जनताको माझमा जाने नीति अनुरुप काम गर्नसमेत उनले कार्यकर्तालाई निर्देशन दिए । 

कार्यक्रममा महामन्त्री राजाराम बर्तौला, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की, बागमती प्रदेश इन्चार्ज माधब खत्री, काठमाडौं अध्यक्ष श्याम घिमिरेलगायत जनवर्गीय संगठनका अध्यक्षहरुले बोल्दै आगामी कार्यक्रमको खाका प्रस्तुत गरेका थिए ।

जसपाको अन्तरराष्ट्रिय सम्बन्ध विभाग गठन

काठमाडौँ – जनता समाजवादी पार्टी, (जसपा) नेपालले अन्तरराष्ट्रिय सम्बन्ध विभाग गठन गरेको छ ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अर्जुन थापाको अध्यक्षतामा विभाग गठन गरेको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त बैठकबाट भरत गुरुङलाई सचिवको जिम्मेवारी दिइएको छ । यसैगरी, विभागको सदस्यहरुमा छायाँ शर्मा पन्त, जुद्ध ढाक्रे राई, मनिस कुमार, प्रमोदराम मिश्र, प्रेम यक्तेन लिम्बू, पवन राय र विनोद पौडेल रहनुभएको सो पार्टीले जनाएको छ ।

कर्णाली समृद्धिको अभियान थाल्दैछौँ : मुख्यमन्त्री शर्मा

कर्णाली – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली समृद्धिको अभियान थालिएको बताउनुभएको छ ।

नागरिक लगानी कोष शाखा कार्यालय वीरेन्द्रनगर सुर्खेतको उद्घाटन कार्यक्रममा आज उहाँले साधन स्रोतले सम्पन्न कर्णालीको विकास र उन्नतिका लागि समृद्धिको अभियान थाल्ने नीति तथा कार्यक्रम ल्याइएको बताउनुभयो । “कर्णालीमा गरिबी छ,” उहाँले भन्नुभयो, “यद्यपि साधन स्रोतको उच्च प्रयोग हुन सके सिङ्गो राष्ट्रलाई पाल्ने क्षमता राख्छ ।”

‘शिक्षा, स्वास्थ्य र रोजगार त्यसका लागि सुशासन र पूर्वाधार’ भन्ने नारालाई मूल आधार बनाएको प्रदेश सरकारले कृषि र वन पैदावरमा आधारित उद्योग स्थापना गर्ने बताउँदै उहाँले प्रतिवर्ष यहाँका १० हजार बेरोजगार युवालाई रोजगार दिएर स्वरोजगार बनाउने नीति लिइएको बताउनुभयो । यसले प्रदेश सरकारको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को दीर्घकालीन सोच पूरा गर्ने उहाँले दाबी गर्नुभयो ।

कर्णालीमा वित्तीय संस्थाहरु नागरिक केन्द्रित हुन नसकेको उहाँको भनाइ छ । नागरिकको सेवामा केन्द्रिन हुन नागरिक लगानी कोषलाई आग्रह गर्दै मुख्यमन्त्री शर्माले कर्णाली सरकार कोषको साथमा रहने विश्वास दिलाउनुभयो ।

नागरिक लगानी कोषका अध्यक्ष प्राडा सूर्यबहादुर थापाले नागरिकको सुविधालाई केन्द्रमा राखेर सेवा विस्तार गरिएको बताउनुभयो । कोषको शाखा कार्यालय सुर्खेत स्थापनाले नागरिकको पहुँच वृद्धि हुने र यसले कर्णालीको आर्थिक विकासमा सहयोग पुग्ने अध्यक्ष थापाको भनाइ थियो ।

प्रधानमन्त्री पत्नी सीताको स्वास्थ्य परीक्षण

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल  प्रचण्ड पत्नी सीता दाहालको नर्भिक अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गरिएको छ । 

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले उनको थापाथलीस्थित नर्भिक अस्पतालमा निजी चिकित्सक प्राडा. युवराज शर्मालगायतको टोलीले स्वास्थ्य परीक्षण गरेको हो । 

यससँगै प्रधानमन्त्रीको पनि नियमित स्वास्थ्य परीक्षण गरिएको उनले जानकारी दिए । प्रधानमन्त्री पत्नी दाहाल लामो समयदेखि प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित रहेका छन् ।

छ किलो चरेससहित विमानस्थलबाट जर्मनी नागरिक पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६ किलो आठ सय ६० ग्राम चरेससहित जर्मनी नागरिक ६३ वर्षीय पाउल वेस्र्टलाई आज प्रहरीले पक्राउ गरेको छ ।

टर्किस एयरको उडानद्वारा काठमाडौँबाट स्तानबुल हुँदै जर्मनी जान लागेका उनको दुईवटा लगेजलाई विमानस्थलको प्रस्थान होल्ड ब्यागेज एरियामा जाँच गर्ने क्रममा उक्त लागूपदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौँ पठाइएको छ ।

यसैबीच, आजै काठमाडौँ महानगरपालिका–९ स्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाटै लुकाई–छिपाई अवैध रुपमा लैजान लागेको नौ हजार चार सय १३ अमेरिकी डलरसहित दोलखा विगु गाउँपालिका–७ स्थायी वतन भएका ३६ वर्षीय प्रेम नोर्बु शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट थाइल्यान्ड जान लागेका शेर्पालाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अन्तरराष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा लुकाई–छिपाई अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा अमेरिकी डलरसहित फेला पारी पक्राउ गरिएको प्रहरी प्रवक्ता कुबेर कडायतले बताउनुभयो । उनलाई बरामद विदेशी मुद्रासहित राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाइएको छ ।

टुक्रे योजना कटौती गरिने

गण्डकी – गण्डकी प्रदेश सरकारले साना तथा टुक्रे योजना कटौती गर्ने भएको छ । माग र आवश्यकताका आधारमा मात्र योजना छनोट गरिने भएको हो । यसबाट पहुँचका आधारमा योजना बाँडफाँट हुने प्रवृत्ति अन्त्य हुने ठानिएको छ ।

योजना तुर्जमाको परम्परागत शैलीलाई बदल्ने बेला आएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बताउनुभयो । “अरू मन्त्रालयको भन्न सक्दिनँ भौतिकबाट पाँच/दस लाखका टुक्रे योजनामा बजेट जान्नँ”, उहाँले भन्नुभयो, “आगामी बजेटमा न्यूनतम ३० लाखभन्दा माथिका मात्र योजना पर्छन् ।”

वितरणमुखी नभई आवश्यकता पहिचान गरेरमात्र विकास योजना तर्जुमा गरिने मन्त्री जुग्जालीले उल्लेख गर्नुभयो । साना योजनाले सरकारको खर्च बढाउने तर प्रदेश गौरवका योजना कार्यान्वयन हुन नसकिरहेको स्थिति छ । प्रदेशसभा सदस्यले निर्वाचन क्षेत्रका स–साना योजना पार्न खोज्दा कतिपय मन्त्रालयलाई बजेट निर्माणमा दबाब छ ।

राजनीतिक दलका नेतासहित मन्त्रालयमा पहुँच पु¥याउन सक्ने व्यक्तिले माग लिएर जाँदा पनि योजनाको चाप छ । भौतिक पूर्वाधार मन्त्रालय प्रदेशकै सबैभन्दा ठूलो बजेट भएको मन्त्रालय हो । आगामी आव २०८०/८१ का लागि पनि उक्त मन्त्रालयलाई रु ११ अर्ब बजेटको सीमा ‘सिलिङ’ तोकिएको छ ।

भौतिकतर्फ सडक योजनाको माग बढी छ । पुराना आयोजनाको दायित्व बढी रहेकाले आगामी आवमा नयाँ योजना कम छनोट हुने मन्त्रालयले जनाएको छ । प्रदेश नीति तथा योजना आयोगका सदस्य डा सुवास अधिकारीले प्रशासनिक खर्च घटाउने र अनुत्पादक क्षेत्रमा लगानी नगर्ने योजनामा प्रदेश सरकार रहेको बताउनुभयो ।

आयोगले पनि मन्त्रालयहरुलाई साना र टुक्रे योजना कटौती गर्न सुझाव दिएको उहाँको भनाइ छ । आर्थिक मामिला मन्त्रालय आगामी आवको बजेटको मस्यौदालाई अन्तिम रुप दिने तयारीमा छ । मन्त्रालयका प्रवक्ता राजेन्द्रबन्धु अर्यालले बजेटमा समावेश हुने योजना र लागत प्रदेश मन्त्रालयगत बजेट सूचना प्रणाली (पिएलएमबिआइएस)मा प्रविष्ट गर्ने काम भइरहेको बताउनुभयो ।

आन्तरिक स्रोत र सङ्घ सरकारले दिने अनुदान खुम्चिएपछि गण्डकी प्रदेश सरकारको आगामी आवको बजेटको आकार घट्ने भएको छ । चालु आवमा रु ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याइएकामा आगामी आवका लागि रु ३३ अर्बको हाराहारीमा बजेट आउने अनुमान छ ।

सङ्घ सरकारले पठाएको रु ३३ अर्ब ८५ करोडको सीमा (सिलिङ)मा रहेर प्रदेश सरकारले बजेट निर्माणलाई अन्तिम रुप दिन लागेको हो । स्रोत खुम्चिँदा सरकारलाई बजेट निर्माणमा दबाब छ । चालु आवमा कर तथा राजस्वबाट रु ११ अर्ब ३४ करोड ३७ लाख उठाउने लक्ष्य लिइएकामा यही जेठ ४ गतेसम्मको तथ्याङ्कअनुसार जम्मा पाँच अर्ब ८९ करोड ३९ लाख १८ हजारमात्र राजस्व उठेको छ ।

आन्तरिक राजस्वयतर्फ रु पाँच अर्ब नौ करोड १६ लाखको लक्ष्य रहेकामा हालसम्म करिब ५० प्रतिशतमात्र सङ्कलन भएको छ । घरजग्गालगायत कारोबारमा मन्दी आउँदा राजस्व न्यून उठेको जनाइएको छ । सङ्घ सरकारले दिने समानीकरण अनुदान पनि यो वर्ष रु एक अर्बले घटेको छ । स्रोतमा आधारित रहेर वस्तुनिष्ठ र यथार्थपरक बजेट ल्याउनुपर्ने चुनौती प्रदेश सरकारसामु छ । आगामी असार १ गते प्रदेश सरकारले बजेट ल्याउँदैछ ।

‘अभ्यास हातेमालो–५’ आज सम्पन्न

मोरङ – कोशी प्रदेशका १४ जिल्लामा हुने बाढी, पहिरो, भूकम्प लगायतका विपद्को समयमा जनधनको क्षति न्यूनीकरण, एवं उद्धार र राहत परिचालनका लागि ‘अभ्यास हातेमालो–५’ आज सम्पन्न भएको छ ।

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर सुनसरीद्वारा इटहरीमा आज आयोजित प्रदेशस्तरीय एकीकृत विपद् व्यवस्थापन अभ्यास हातेमालो–५ कार्यक्रममा सहभागीहरूलाई विपद् पूर्वको तयारी र योजना र विपद्को दौरान र पश्चात् विभिन्न तहमा गर्नुपर्ने कार्य योजना, कार्यान्वलयनबारे ज्ञान तथा अभ्यास सम्बन्धमा जानकारी गराइएको थियो ।

यस्तै, सहभागीहरूलाई मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना कार्यान्वयनमा स्पष्टता, प्रदेश र जिल्ला र स्थानीयको भूमिका र जिम्मेवारीबारे जानकारी गराईएको थियो । सहभागीबीच विपद् प्रतिकार्य र मानवीय सहयोगको अवस्थामा सरकारी र गैरसरकारी सङ्घसंस्थासँग विभिन्न तहमा गर्नुपर्ने समन्वय र सहकार्य एवं संयन्त्रको विषयमा छलफल गराइएको थियो ।

विपद्को दौरान र विपद्पश्चात् जनशक्ति, स्रोत तथा साधनको परिचालनसम्बन्धी सम्बन्धित सबैको कर्तव्य, जिम्मेवारी र प्रदेश जिल्ला तथा स्थानीय तहमा विपद् प्रतिकार्यका लागि आवश्यक योजना तयार गरी विभिन्न तहमा हुनसक्ने समस्या चुनौतीबारे जानकारी र समाधान उपायहरूको पहिचान गर्नुपर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।

सो अवसरमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनधनको क्षति हुन नदिन उद्धारमा खटिने नेपाली सेनालगायत सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने चर्चा गर्दै यसका लागि सरकारले आवश्यक नीतिगत प्रबन्ध र आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सङ्घ, प्रदेश र स्थानीय निकायबीचको सहकार्यबाट विपद् व्यवस्थापनमा नागरिकको उद्धारमा महत्वपूर्ण सफलता प्राप्त गर्न सकिने धारणा राख्नुभयो ।

मुख्यमन्त्री कार्कीले विपद्का समयमा स्थानीय जनताका सहयोगमा गरिने उद्धार, राहतले यस क्षेत्रमा हुने जोखिम न्यूनीकरणमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समयमा प्राकृतिक प्रकोपभन्दा सडक दुर्घटनाबाट मानिसको मृत्यु र अपाङ्गताको सङ्ख्यामा वृद्धि भइरहेकामा चिन्ता व्यक्त गर्दै यसको रोकथामका लागि जनतामा ट्राफिक नियम सम्बन्धमा जनचेतना वृद्धि गर्नुपर्नेुमा जोड दिनुभयो ।

पूर्वी पृतनापति उपरथी डा आशबहादुर तामाङले अभ्यासको पूर्वतयारीले विपद् व्यवस्थापनमा सहयोग पुग्ने धारणा राख्नुभयो । सेनाका विपद् व्यवस्थापन विभागका सहायकरथी रवीन्द्र खत्रीले विपद् व्यवस्थापनका समयमा गर्नुपर्ने कार्यका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने धनकुटाका गणपति सुमन थापाले अभ्यास–५ का विषयमा जानकारी गराउनुभएको थियो ।

अभ्यास–५ मा नेपाली सेना, सशस्त्र प्रहरी, तीन तहका कर्मचारी, विभिन्न गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । यसअघि सेनाको पृतना कार्यालय अन्तर्गतका १४ जिल्लामा जेठ १३ देखि २० गतेसम्म अभ्यास मनसुन–३ सञ्चालन भएको थियो ।

कांग्रेसले सत्ता र विचारका लागि सम्झौता गर्दैन : महामन्त्री थापा

मनहरी – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता र विचारका लागि कांग्रेसले कसैसँग पनि सम्झौता नगर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस पार्टी पद मात्र पाउने आशमा जन्मेको पार्टी नभएको भन्दै उहाँले अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन नगर्ने बताउनुभयो ।

नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ र २ को प्रदेशसभा ‘२’ को संयुक्त आयोजनामा आज आयोजित क्षेत्रीय सम्मेलनमा महामन्त्री थापाले पार्टीले अब चार वर्षभित्र काम गर्नुपर्नेमा जोड दिनुभयो ।

पार्टीभित्र आत्मविश्वास गुमाएर कमजोर नहुन कार्यकर्तालाई आग्रह गर्दै उहाँले कांग्रेस चुनाव जित्नभन्दा पनि नेपाली जनताको मन जित्न जन्मेको पार्टी भएको बताउनुभयो । आशाले मान्छे बाँचे जस्तै कांग्रेस पनि भोलिको आशाको केन्द्र बन्ने उहाँको भनाइ थियो ।

देशमा समस्या पर्दा निकास दिने पार्टीका रूपमा कांग्रेस रहेको बताउँदै उहाँले पार्टीभित्र विचारको आकर्षण रहेको औँल्याउनुभयो ।

बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जनताको मन जित्न विकासको एजेन्डा र भिजन आवश्यक रहेको बताउनुभयो । उहाँले पार्टी र नेतृत्वसँगको मनमुटावलाई सामाजिक सञ्जालमा जथाभावी रूपमा लेखेर समस्या समाधान नहुने बताउनुभयो ।

विपद् व्यवस्थापनमा सुरक्षा निकायको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशको १४ जिल्लामा हुने बाढीपहिरो, भूकम्पलगायतका विपद्को समयम जनधनको क्षति न्यूनीकरण एवं उद्धार र राहत कार्य परिचालन गर्न अभ्यास हातेमालो–५ आज सम्पन्न भएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय र नेपाली सेनाको पूर्वी पृतना हेडक्वार्टर सुनसरीद्वारा इटहरीमा प्रदेशस्तरीय एकीकृत विपद् व्यवस्थापन ‘अभ्यास हातेमालो–५’ कार्यक्रममा सहभागीलाई विपद्पूर्वको तयारी र योजना र विपद्को दौरान र पश्चात विभिन्न तहमा गर्नुपर्ने कार्य योजना, कार्यान्वयनबारे ज्ञान तथा अभ्यास सम्बन्धमा छलफल एवं जानकारी गराइएको छ ।

सहभागीलाई मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना कार्यान्वयनमा स्पष्टता, प्रदेश र जिल्ला र स्थानीयको भूमिका र जिम्मेवारीको बारेमा जानकारी, विपद् प्रतिकार्य र मानवीय सहयोगको अवस्थामा सरकारी र गैरसरकारी सङ्घसंस्थाहरूसँग विभिन्न तहमा गर्नुपर्ने समन्वय र सहकार्यको संयन्त्रको विषयमा छलफल एवं अभ्यास गराइएको थियो ।

विपद्को दौरान र विपद्पश्चात जनशक्ति, स्रोत तथा साधनको परिचालनसम्बन्धी सम्बन्धित सबैको कर्तव्य र जिम्मेवारी तथा प्रदेश जिल्ला र स्थानीय तहमा विपद् प्रतिकार्यका लागि आवश्यक योजना गरी विभिन्न तहमा हुनसक्ने समस्या चुनौतीबारे जानकारी र समाधान उपायको पहिचान गर्नुपर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनधनको क्षति हुन नदिन नेपाली सेनालगायत सुरक्षा निकायको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गर्दै यसका लागि सरकारले आवश्यक नीतिगत प्रबन्ध र आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले सङ्घ, प्रदेश र स्थानीय निकायबीचको सहकार्यबाट विपद् व्यवस्थापनमा नागरिकको उद्धारमा महत्त्वपूर्ण सफलता प्राप्त गर्न सकिने धारणा राख्नुभयो । मुख्यमन्त्री कार्कीले विपद्का समयमा स्थानीय जनताको सहयोगमा गरिने उद्धार, राहतले यस क्षेत्रमा हुने जोखिम न्यूनीकरणमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समयमा प्राकृतिक प्रकोपभन्दा सडक दुर्घटनाबाट मानिसको मृत्यु र अपाङ्गताको सङख्यामा वृद्धि भइरहेकोमा चिन्ता व्यक्त गर्दै यसको रोकथामका लागि जनतामा ट्राफिक नियम सम्बन्धमा जनचेतना वृद्धि गर्नुपर्नेुमा जोड दिनुभयो ।

पूर्वी पृतनापति उपरथी डा आशबहादुर तामाङले अभ्यासको पूर्वतयारीले विपद् व्यवस्थापनमा सहयोग पुग्ने धारणा राख्नुभयो । सेनाका विपद् व्यवस्थापन विभागका सहायक रथी रवीन्द्र खत्रीले विपद् व्यवस्थापनका समयमा गर्नुपर्ने कार्यका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने धनकुटाका गणपति सुमन थापाले अभ्यास–५ का विषयमा जानकारी गराउनुभएको थियो ।

अभ्यास–५ मा नेपाली सेना, सशस्त्र प्रहरी, तीन तहका कर्मचारी, विभिन्न गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । यसअघि सेनाको पृतना कार्यालयअन्तर्गतका १४ जिल्लामा जेठ १३ गतेदेखि २० गतेसम्म अभ्यास मनसुन–३ सञ्चालन भएको थियो ।

मुलुकमा बलियो राजनीतिक शक्तिको आवश्यकता : महासचिव पोखरेल

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकमा बलियो राजनीतिक शक्तिको आवश्यकता रहेको बताउनुभएको छ । एमाले प्रचार विभागले आज यहाँ पार्टी मुख्यालयमा आयोजना गरेको ‘मुलुकको वर्तमान राष्ट्रिय राजनीति : अबको बाटो’ विषयक अन्तरक्रियामा उहाँले मुलुकको राष्ट्रिय समस्या समाधानका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताउनुभयो ।

नेपालमा बलियो राष्ट्रिय शक्ति निर्माण हुन नदिनका लागि राजनीतिक अस्थिरता सिर्जना गर्ने प्रयास हुने गरेको उहाँको भनाइ छ । उहाँले बलियो राष्ट्रिय राजनीतिक शक्ति स्पष्ट नीति, उद्देश्य, लक्ष्य गन्तव्यमा भएको एमालेमात्र बन्ने बताउनुभयो । “नेपालमा राजनीतिक अस्थिरता सिर्जना गर्नका लागि केहीले सांस्कृतिक अतिवादलाई प्रवद्र्धन गर्ने, कहिले लोकप्रियताका नाममा नेपाल बलियो राजनीतिक शक्ति निर्माण गर्ने प्रक्रिया अवरोध सिर्जना गर्ने खालका प्रयास भइरहेका छन्”, उहाँले भन्नुभयो ।

उहाँले बलियो राष्ट्रिय शक्तिको निर्माण नेतृत्वको जग र स्पष्ट गन्तव्यमा आधारित भएरमात्र निर्माण हुने भन्दै त्यसले मात्र मुलुकको समस्या समाधान गर्न सक्ने भनाइ राख्नुभयो । उहाँले एमालेसँग नीति, लक्ष्य र उद्देश्यमा प्रतिस्पर्धा गर्न अन्य राजनीतिक दललाई आह्वान गर्नुभयो । महासचिव पोखरेलले मुलुकमा रहेको समस्या र चुनौतीलाई समाधान गर्नका लागि सञ्चारमाध्यमले पनि बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने प्रक्रियामा सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले एमालेलाई बलियो राजनीतिक शक्ति निर्माणका लागि विभाजित भएका कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तालाई एमालेमा आउन आह्वान गर्नुभयो । उहाँले एकता र एकीकरणका लागि उदार नीति अवलम्बन गरिएको समेत स्पष्ट पार्नुभयो ।

महासचिव पोखरेलले एमाले जनताको बहुदलीय जनवादको सैद्धान्तिक आधारमा स्वच्छ प्रतिस्पर्धा गर्ने लोकतान्त्रिक पार्टी भएकाले जनताले रुचाएको बताउनुभयो । सोही अवसरमा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीले पूर्ण स्वतन्त्रता सहितको लोकतन्त्रलाई विश्वास गर्ने भएकाले पार्टीका गतिविधिलाई सञ्चारमाध्यमबाट सार्वजनिक गर्ने बताउनुभयो । सोही अवसरमा प्रचार विभागको जिम्मेवारी पाउनुभएको नेता गौतमलाई निवर्तमान प्रचार विभाग उपप्रमुख विष्णु रिजालले माइन्युट हस्तान्तरण गर्नुभयो ।

विनियोजन विधेयक बहुमतबाट स्वीकृत

काठमाडौँ – प्रतिनिधिसभामा ‘विनियोजन विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सभासमक्ष उक्त प्रस्ताव पेस गर्नुभएको हो ।

विनियोजन बजेटका विभिन्न मन्त्रालय र सचिवालय शीर्षकमाथि यही जेठ ३२ देखि असार १२ गतेसम्म छलफलका लागि दिन तोकिएको सभामुख देवराज घिमिरेले सदनलाई जानकारी गराउनुभयो ।

विनियोजन विधेयकमा अर्थमन्त्रीको जवाफ

यसअघि उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री डा महतले बजेट विनियोजन गर्दा जनताको जीवनस्तर उकास्न, जनतालाई समृद्धि प्रदान गर्न, रोजगारी सिर्जना गर्न तथा उद्योग व्यवस्थाको प्रवद्र्धनका विषयलाई दृष्टिगत राखेर बजेट तर्जुमा गरिएको बताउनुभयो ।

उहाँले स्वास्थ्य, शिक्षा, पूर्वाधार, शान्तिसुरक्षा र सुशासन प्रवर्द्धन गर्नेतर्फ उन्मुख गराउने हिसाबले बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले स्वास्थ्य बीमा, विभिन्न गहन प्रकृतिका रोगको उपचार र पछि परेको क्षेत्रका लागि बजेट सुस्पष्ट ढङ्गले विनियोजन गरेको स्पष्ट गर्नुभयो । गरिबीको रेखामुनिका विपन्न नागरिकको तथ्याङ्क आएपछि थप बजेट विनियोजन गरिने स्पष्ट गर्दै उहाँले देश र जनताका लागि काम गर्ने भएकाले बजेटमा विभेद नगरेको स्पष्ट पार्नुभयो ।

अर्थमन्त्री महतले भन्नुभयो, “विनियोजन बजेटको उत्पादन बढाउने, आर्थिक वृद्धिमा आम नागरिकलाई जोड्ने सिद्धान्तसँग बजेट जोडिएको छ ।”

विनियोजन विधेयकप्रति सांसदको टिप्पणी

विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै नेकपा (एमाले)का गोकर्ण विष्टले आर्थिक हिसाबले पछिपरेका जोखिमा रहेकालाई ठोस व्यवस्था नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “उपचार नपाएर जीवन गुमाउने र शिक्षामा पहुँच पुर्याउने विषयमा बजेटमा ध्यान पुर्याएको छैन । बजेट प्रधानमन्त्री र मन्त्रीका जिल्लामा केन्द्रित छ, एमालेको बजेटप्रति गम्भीर असहमति छ ।”

रास्वपाका सन्तोष परियारले राजनीतिक व्यवस्था बलियो बनाउने र अन्तर प्रदेशबीच समन्वय कायम गर्ने मामिलामा कम्जोर रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “बजेटप्रति पार्टीको असहमति छ, सुधारको खाँचो छ ।” नेमकिपाका प्रेम सुवालले बजेट बनाउँदा विश्वविद्यालयको राय परामर्श लिएको भए बजेट न्यायपूर्ण हुन्थ्यो भन्नुभयो ।

नेकपा (एस)का अम्बरबहादुर थापाले बजेट ठोस र परिणाममुखी नभई टालटुले हिसाबले तर्जुमा गरिएकाले समस्या सम्बोधन गर्न नसक्ने धारणा राख्नुभयो । जसपाका रञ्जुकुमारी झाले धेरै पक्ष राम्रो रहे तापनि गरिबी रेखामुनिका जनतालाई माथि उठाउने, कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासमा बजेट देखिएन भन्नुभयो । नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले बजेटमा नवीनता र निरन्तरता भए पनि कार्यान्वयनको पक्षमा विशेष ध्यान पुर्याउन सुझाव दिनुभयो ।

सांसद थापाद्वारा दुर्घटना जानकारी

यसअघि बैठकमा प्यूठानबाट प्रतिनिधित्व गर्नुहुने सांसद सूर्य थापा स्वर्गद्वारीमा आज भएको सडक दुर्घटनाबारे सदनलाई जानकारी दिनुभयो । उहाँले स्वर्गद्वारीको दर्शन गरेर फर्कने क्रममा दुर्घटनामा परेको सवारीसाधनमा ६ जना तीर्थालु सवार रहेको बताउनुभयो ।

अर्थमन्त्रीलाई उक्त सडकको स्तरोन्नति र सुधारका लागि बजेटको व्यवस्था गर्न सुझाव दिँदै सांसद थापाले दुर्घटनामा एक पुरुष र बालकको निधन भएको भन्ने सूचना प्राप्त भएको जानकारी दिनुभयो । उहाँले निधन भएकाप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । प्रतिनिधिसभाको अर्काे बैठक यही जेठ ३२ गते दिनको ११ बजे बस्नेछ ।

नेपालको पहिलो महिला उद्यमी विशेष औद्योगिक ग्राम पाँचखालमा बन्ने

काठमाडौँ – नेपालको पहिलो महिला उद्यमी विशेष औद्योगिक ग्राम काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा बन्ने भएको छ ।

दक्षिण एसियाली महिला विकास मञ्चले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र पाँचखाल नगरपालिकाको सहकार्यमा सार्वजनिक–निजी साझेदारी अवधारणामा यस्तो ओद्योगिक पार्क बनाउन लागेको हो ।

अघिल्लो बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पाँचखालमा महिला उद्यमी विशेष औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको थियो । दक्षिण एसियाली महिला विकास मञ्चले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उद्योग औद्योगिक ग्राम (पार्क) बारे जानकारी गराएको हो ।

“पाँचखाल नगरपालिकामा रहेको औद्यागिक ग्रामलाई महिला उद्योगी विशेष औद्योगिक ग्राममा रूपान्तरण गर्ने निर्णय सरकारले गरेको छ । महिला उद्यमी र हरित अर्थतन्त्रका लागि यो औद्योगिक पार्क स्थापना हुनु सकारात्मक रहेको छ र अन्य छ वटा प्रदेशमा पनि यस्तै प्रकृतिका पार्क स्थापनाका लागि हरित औद्योगिक पार्क ऐन ल्याउन आवश्यक छ” दक्षिण एसियाली महिला विकास मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजालले भन्नुभयो ।

उहाँले लघु, साना र मझौला महिला उद्यमीका लागि उपयुक्त वातावरण सिर्जना गर्ने यस्ता आयोजना कार्यान्वयनमा जोड दिएर राष्ट्रिय अर्थतन्त्रमा महिला उद्यमीको भूमिका बढाउनुपर्ने समेत बताउनुभयो ।

महिला उद्यमी हरित औद्योगिक पार्क समितिकी अध्यक्ष शारदा रिजालले पाँचखाल नगरपालिकाको होक्सेमा शुरु भएको पहिलो महिला उद्यमी हरित औद्योगिक पार्क परियोजनाबारे प्रस्तुतीकरण गर्नुभयो । प्रदुषणमुक्त, फोहरमैला व्यवस्थापन र फोहोर पानीको पुनरप्रयोग, ऊर्जा संरक्षणका लागि साझा योजना, स्थानीय सामग्रीको प्रयोग गरी बनाइएको भवनलगायतका विशेषताबारे उहाँले प्रकाश पार्नुभयो ।

नेपालको हरित औद्योगिक अवधारणालाई एकीकृत जलवायु परिवर्तन अनुकूल बनाउनका लागि ‘कृषि–पर्यटन हरित औद्योगिक पार्क’ लाई ब्रान्डका रूपमा प्रचार गरिने जनाइएको छ । यो परियोजना नेपालमा पहिलो र दक्षिण एसियामा दोस्रो हो । यो औद्योगिक पार्कमा कृषि खाद्य क्षेत्रका साथै पर्यटन केन्द्रीत सेवा क्षेत्रसँग सम्बन्धित ५० वटा साना उद्योग स्थापना गरिने जनाइएको छ ।

महिला उद्यमशीलतालाई बढावा दिने उद्देश्यले स्थापित दक्षिण एसियाली महिला विकास मञ्च सार्क मान्यताप्राप्त संस्था हो भने यो संस्थाले संयुक्त राष्ट्रसङ्घको आर्थिक र सामाजिक परिषद्को रूपमा मान्यता पाएको छ ।

बुटवलको तिलोत्तमालाई पत्र : नदीजन्य पदार्थ उत्खनन् गर्दा सीमा मिचियो

रुपन्देही – बुटवल उपमहानगरपालिकाले नदीजन्य पदार्थ निकासी गर्दा तिलोत्तमा नगरपालिकाबाट सीमा मिचिएको जनाएको छ ।

आज राससमा ‘यसरी भइरहेको छ तिनाउ नदीको दोहन’ शीर्षकमा समाचार प्रकाशित भएपछि उपमहानगरपालिकाले तिलोत्तमा नगरपालिकालाई पत्राचार गरी सहमति पालना गर्न अनुरोध गरेको छ ।

सीमा रेखाङ्कन नगरी नदीजन्य पदार्थ उत्खनन गर्दा बुटवलको क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन भइरहेको देखिएकाले बुटवलले तिलोत्तमाबाट भएको प्रारम्भिक वातावरण परीक्षण अध्ययन प्रतिवेदन उपलब्ध गराउन अनुरोध गरेको छ ।

सिमाना नदीमा नदीजन्य पदार्थ उत्खनन गर्दा सीमा जोडिएका पालिकाहरूबीच आपसी समन्वय गरी विवादरहित ढङ्गले उत्खनन् गर्ने गराउने सम्बन्धमा जेठ ६ गते भएको निर्णय कार्यान्वयन नभएको पत्रमा उल्लेख छ ।

“बुटवल उपमहानगरपालिकाको वडा नं १७ र १८ को सीमा क्षेत्रमा बुटवलतर्फको भागमा नदीजन्य पदार्थ उत्खनन भएको, सीमा नदीको प्रारम्भिक वातावरण परीक्षण अध्ययन गर्दा समन्वय हुन नसकेको र सीमा रेखाङ्कन नगरी उत्खनन गर्दा बुटवलको क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन भइरहेको देखिएकोले त्यहाँबाट भएको प्रतिवेदन एक प्रति उपलब्ध गराइदिने व्यवस्था हुन अनुरोध छ”, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीद्वारा हस्ताक्षर रहेको पत्रमा भनिएको छ ।

यसअघि वैशाखमा पनि बुटवल उपमहानगरपालिकाले पत्राचार गरी नदीजन्य पदार्थ अनियमित उत्खनन हुनसक्ने र सो विषयमा विवाद हुन सक्ने भन्दै नदीको क्षेत्र छुट्ट्याई मार्किङ गर्ने कार्यमा जिल्ला समन्वय समितिबाट सहजीकरण गर्न अनुरोध गरेको थियो ।

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित प्रधानन्यायाधीश कार्की विरुद्धको उजुरी खोलिने

काठमाडौँ – संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । 

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको भवनमा सोमबार बिहान ११ः०० बजे बस्ने गरी समितिको बैठक बोलाइएको छ । 

बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध परेका उजुरी खोलेर सदस्यहरूलाई वितरण गर्ने कार्य तालिका छ । यही १६ जेठमा १० दिनभित्र उजुरी दिन समितिले आह्वान गरेको थियो । 

सो समयमा परेका उजुरी आज बस्ने बैठकमा खोल्ने र वितरण गर्ने सङ्घीय संसद्का उपसचिव विमला घिमिरेले जानकारी दिनुभयो । 

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइसम्बन्धी कार्य तालिकामाथि छलफल गरी निर्णय गरिने बैठकको एजेण्डा रहेको छ ।

बीमा कम्पनीले पशुधनको बीमा गर्न छाडिदिए

रत्ननगर – जिल्लामा लम्पीस्किन सङ्क्रमणबाट पशु चौपायाको मृत्यु हुने क्रम बढेपछि बीमा कम्पनीले पशुधनको बीमा गर्न छाडिदिएका छन् ।

चितवनमा रहेका बीमा कम्पनीले पशुपालक कृषकको गाईभैँसीको बीमा नगदिएको भन्दै कृषकले आइतबार प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले विगत एक महिनादेखि बीमा कम्पनीले गाईभैँसीको बीमा गर्न छोडेका बताउनुभयो । “पशुचौपायामा लम्पीस्किन सङ्क्रमण बढेसँगै बीमा कम्पनीले पशुधनको बीमा गर्न छोडेका छन्”, उहाँले भन्नुभयो, “पहिल्यै बीमा गरिएका पशुको समेत लम्पीस्किनबाट मृत्यु भएपछि बीमा रकम दिन ढिलासुस्ती गरेका छन् ।” चितवनमा क्रियाशील कुनै पनि निर्जीवन बीमा कम्पनीले अहिले पशु बीमा नगरेका उहाँको भनाइ छ ।

“चितवनमा अन्य कम्पनीसँगै शिखर इन्सुरेन्स कम्पनीले अनिवार्यरुपमा गाईभैँसीको बीमा गर्ने गरी सरकारसँग सम्झौता भएको छ”, उहाँले भन्नुभयो, “अहिले बीमा गरिदिन कृषकले बोलाउँदा उनीहरुले पशु बीमा गर्न नसकिने बताउँदै आएका छन् ।” कृषकको बीमा गरिएका पशुधनको मृत्यु भएको क्षतिपूर्ति रकम तुरुन्त पाउनुपर्ने र नयाँ बीमा पनि तुरुन्तै गरिनुपर्ने कृषकको भनाइ छ ।

घरपालुवा जनावरको बीमा गर्दा ८० प्रतिशत प्रिमियम सरकारले तथा २० प्रतिशत प्रिमियम कृषकले तिर्ने गरी सरकारले व्यवस्था गरेको छ ।

कृषकको गुनासो आएपछि चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कृषि मन्त्रालयमा टेलिफोनबाटै कृषकको गुनासो राख्नुभयो । “तपाईहरुको समस्याको बारेमा मैले कृषि सचिवलाई टेलिफोन गरेर जानकारी गराएँ”, कृषि सचिवसँगको कुराकानीबारे जानकारी गराउँदै प्रजिअ पौडेलले भन्नुभयो, “सचिव ज्यूले सार्वजनिक सूचना जारी गरेर कृषकको समस्या समाधान गराउँछौँ भन्नुभएको छ ।” कृषि सचिवलाई कृषकको गुनासो जानकारी गराएसँगै प्रजिअ पौडेलले जिल्लामा कार्यरत बीमा कम्पनीलाई बोलाएर छलफल गराउन निर्देशन दिनुभएको छ ।

प्रजिअ पौडेलले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख वरिष्ठ पशु विकास अधिकृत सुशील केसीलाई बीमा कम्पनीलाई बोलाएर कृषकको समस्या सम्बोधन गर्न निर्देशन दिनुभयो । “कृषकको पशु बीमा गर्न तथा मृत्यु भएका पशुको क्षतिपूर्ति रकम उपलब्ध गराउन बीमा कम्पनीसँग सोमबार नै समन्वय बैठक बसाउनू”, प्रजिअ पौडेलले केसीलाई भन्नुभयो, “जिल्लामा कार्यरत सबै बीमा कम्पनी, कृषकसहित समन्वय बैठक बस्नू, आवश्यक परे म पनि आउँछु ।” सरकारले बीमा कम्पनीलाई दिनुपर्ने रकम उपलब्ध गराउँदा समेत कृषकको पशुचौपाया बीमा नगर्ने र क्षतिपूर्ति नदिने कम्पनीलाई कारबाही गर्नसक्ने उहाँको भनाइ छ ।

बाजुराको बिछिया केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ – बाजुरा जिल्लाको बिछिया केन्द्रबिन्दु भएर भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछिया केन्द्रबिन्दु भएर आज बिहान ७ बजेर ३८ मिनेट जाँदा ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो । 

बिछिया केन्द्रबिन्दु भएर यसअघि पनि पटक पटक भूकम्प गएको थियो ।  

यसअघि यही जेठ १४ सिन्धुपाल्चोक जिल्लाको गोल्चे आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो । 

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी रहेको जनाइएको छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रूपमा लिने गरिन्छ । 

यस वर्ष विपद्बाट १२ लाख ५० हजार मानिस प्रभावित हुन सक्ने

काठमाडौँ – यस वर्षको मनसुनबाट १२ लाख ५० हजार नागरिक प्रभावित हुने प्रक्षेपण गरिएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न वैज्ञानिक विश्लेषणका आधारमा गरिएको अध्ययनमा कूल दुई लाख ८६ हजार नौ सय ९८ घर धुरीका १२ लाख ५० हजार मानिस प्रभावित हुने आँकलन गरेको हो । 

सबैभन्दा बढी मधेस प्रदेशमा चार लाख र कोसी प्रदेशमा तीन लाख मानिस प्रभावित हुने अनुमान गरिएको जनाइएको छ ।  

प्राधिकरणका अनुसार लुम्बिनी प्रदेशमा दुई लाख, बागमती प्रदेशमा एक लाख, सुदूरपश्चिम प्रदेशमा एक लाख ४७ हजार, गण्डकी प्रदेशमा ६९ हजार र कर्णाली प्रदेशमा ३५ हजार मानिस विपद्बाट प्रभावित हुने आँकलन गरिएको हो । 

गत वर्ष २० लाख मानिस प्रभावित हुने आँकलन गरिएको थियो । 

मनसुन भित्रिन केही दिन मात्रै बाँकी रहेकाले पूर्व तयारी तथा प्रतिकार्यका काम तीव्र रूपमा अघि बढिरहेका छन् । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनको काम चुस्त रूपमा अघि बढाउन यसअघि नै निर्देशन दिइसक्नुभएको छ । 

सोही आधारमा आवश्यक पूर्व तयारी समन्वयात्मक काम तथा मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना निर्माण भएको पनि प्राधिकरणले जनाएको छ । 

आइतबार बसेको १८औँ बैठकले उक्त कार्य योजना स्वीकृत समेत गरेको छ । 

कार्य योजनामा मनसुनजन्य जोखिमको अवस्था विश्लेषण तथा प्रभाव आँकलनका साथै विभिन्न मन्त्रालय तथा विषयगत क्षेत्र, निजी क्षेत्र, मानवीय क्षेत्रमा काम गर्ने नेपाल रेडक्रसलगायत गैरसरकारी संस्थाको जिम्मेवारीका साथै खोज, उद्धार तथा राहत सामग्रीको मौज्दातीको विवरण समेटिएको छ । 

त्यसैगरी भण्डारण गरिएका आपत्कालीन उपकरण र सामग्रीको जानकारी उपलब्ध हुने स्रोत व्यवस्थापन प्रणाली’ गोदाम र खोज तथा उद्धारमा संलग्न हुने स्वयंसेवकको विवरण उपलब्ध हुने स्वयंसेवक व्यवस्थापन प्रणालीबारेमा कार्य विभाजन पनि गरिएको छ ।

पूर्व सूचना तथा पूर्व कार्यका लागि देशका ३४ स्थानमा स्मार्ट साइरन जडान, विपद् सामूहिक उद्धार सवारी तथा ’ए क्लास’ एम्बुलेन्स खरिद गरी सात वटै प्रदेश र काठमाडौँ उपत्यकामा एक–एक वटा रहने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ । स्वयंसेवक प्रणालीमा हालसम्म एक लाख चार सय २२ जना सूचीकृत भइसकेका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्षको मनसुनमा देशैभरि कम पानी पर्ने प्रक्षेपण गरिसकेको छ । सरदरभन्दा कम पानी पर्ने भएकाले अधिकतम तापक्रम विगतको भन्दा बढी हुने अनुमान पनि गरिएको छ । 

सामान्यतया जेठ अन्तिम साताबाट मनसुन नेपाल प्रवेश गर्दछ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले यस वर्षको मनसुन जेठ ३१ वा ३२ गते पूर्वबाट मनसुन प्रवेश गर्ने सम्भावना रहेको बताउनुभएको छ । नेपालमा मनसुन सरदर एक सय दिन क्रियाशील हुने गरेको छ । उहाँले औसतभन्दा म पानी पर्ने भन्ने कुरालाई पानी नै पर्दैन, विपद् नै आउँदैन भन्ने अर्थमा नबुझ्न अनुरोध गर्नुभएको छ । औसतभन्दा कम पर्ने भएकाले विपद्जन्य घटना भने निम्तिन सक्ने हुँदा तयारीका कामलाई तीव्रताका साथ अघि बढाउनुपर्ने बताउनुभयो ।

नेपालमा बाढी, पहिरो र भारी वर्षा प्रमुख मनसुनजन्य विपद् हुन् । शीतलहर खडेरीले पनि प्रभाव पार्ने गरेकोमा यस पटक भने प्रतिमनसुनका समयमा तातो हावाको लहरले जनजीवन प्रभावित बनाएको छ । यो क्रम अहले पनि तराईका जिल्लामा कायमै छ । 

मौसमविद् शान्ति कँडेलले यसपालि इलाम, धरान, नवलपुर, ओखलढुङ्गालगायतका क्षेत्रमा अधिकतम तापक्रमले रेकर्ड कायम गरेको छ । यसपालि केही दिनमा मनसुन भित्रिएर केही पानी पर्ने भए पनि पुन तातो हावाको लहर बढ्ने भएकाले सचेत हुनुपर्ने उहाँले बताउनुभयो । 

गृह मन्त्रालयले तातो हावाको लहरबाट मानिसलाई जोगाउने आवश्यक पर्ने उपायका विषयमा ठोसठोस प्रस्ताव ल्याउन निर्देश गरिसकेको छ ।

वीरगञ्जमा नाला सफा गर्ने क्रममा  ठुलो मात्रा बन्दुकका गोली फेला 

वीरगञ्ज – वीरगञ्जमा १ सय थानभन्दा बढी गोली भेटिएका छन् ।  

बिरगञ्ज महानगरपालिकाको एक वडाको नाला सफाइ गर्ने क्रममा आइतबार १ सय थानभन्दा बढी गोली भेटिएका हुन ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहका अनुसार महानगरपालिकाका कर्मचारीहरूले महानगर–६ मा नाला सफाइ गर्ने क्रममा प्लास्टिकको झोलामा विभिन्न हतियारमा प्रयोग हुने एक सय पाँच थान गोली फेला परेको हो । 

उहाँका अनुसार नाइन एमएमको ३२ थान, ३८ बोरको २४ राउण्ड, हर्नेटको १७ राउण्ड, एसएलआरको चार राउण्डसहित अन्य विभिन्न बन्दुकमा लाग्ने एक सय पाँच राउण्ड गोली फेला परेको हो ।  

नालामा बेवारिसे अवस्थामा ठुलो मात्रामा गोली भेटिएपछि थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो।