`

उखु खेतमै सुक्न थालेपछि किसान चिन्तित

बेदकोट – कञ्चनपुरको लालझाडी गाउँपालिका–३ नन्दगाउँका लोकबहादुर बडायक केही दिनयता खेतखलियानमै व्यस्त हुनुहुन्छ । उहाँले दुई बिघाभन्दा बढी जमिनमा उखु खेती गर्नुभएको छ ।

केही दिनयता खेतको उखु सुक्न थालेको छ । त्यसैले खेतको उखु सिँचाइ गर्नैमा दिन बित्छ, उहाँको । “पानी नपर्दा गर्मीले खेतको उखु सुक्दै गएको छ, यस्तै रह्यो भने उखु सबै सुकेर नष्ट हुने सम्भावना छ”, उहाँले भन्नुभयो, “खेती जगाउन हम्मेहम्मे परेको छ ।” विगतका वर्षमा पनि उखु सुक्ने गरेको भए पनि यस वर्ष अत्यधिक मात्रामा उखु सुक्दै गएको उहाँको भनाइ छ । “यसपटक गर्मी पनि अत्यधिक छ, आकाशको पानी पनि परेको छैन”, उहाँले भन्नुभयो, “बोरिङबाट खेतमा पानी लगाइरहेका छौँ ।”

बेलौरी नगरपालिका–१० भुडाका धनीदत्त भट्ट खेतको उखु कसरी जोगाउने भनेर चिन्तित हुनुहुन्छ । दुई बिगाह जग्गामा उहाँले उखु खेती गर्नुभएको छ । करिब आधा बिघाभन्दा बढीको उखु सुकेर नष्ट भइसकेको उहाँले बताउनुभयो । “आकाशे पानीको भरको खेततिरको उखु सुकेको छ, नहरबाट सिँचाइ हुने जमिनमा सिँचाइ गरिरहेका छौँ”, किसान धनीदत्त भट्टले भन्नुभयो, “पानी परे खेती जोगाउन सकिन्थ्यो ।”

उखु बेचेर घरखर्च जोहो गर्ने उहाँ यसपटक लगानी पनि निकाल्न पनि गाह्रो हुने बताउनुहुन्छ । आम्दानीको स्रोतको रुपमा रहेको उखु खेतमै सुक्न थालेपछि किसान चिन्तित बनेका हुन । केही दिनयता अत्यधिक गर्मी बढ्नुका साथै सिँचाइको लागि आकाशबाट पानी नपर्दा उखु खेतमै सुक्न थालेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी हरि जोशीले जानकारी दिनुभयो ।

“यहाँ धेरै ठाउँमा आकाशको पानीको भरमा खेती हुन्छ”, उहाँले भन्नुभयो, “पानी नपरेकोले र पछिल्लो समय तापक्रम पनि बढेकोले खेती सुकिरहेको छ ।” कञ्चनपुरको पुनर्वास, बेलौरी, लालझाडी, बेलडाँडी र दोधारा चाँदनीमा बढी उखु खेती हुने गरेको छ । जिल्लाभर आठ सयदेखि एक हजार हेक्टर जमिनमा उखु खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कञ्चनपुरमा उखुको उत्पादन प्रतिहेक्टर ५५ देखि ६० टन हुने गरेको छ । यहाँका किसानका लागि उखु बच्न बेलौरी र पुनर्वासमा मिल छ । “गहिरो जमिनको खेती त्यति धेरै सुकेको छैन, बालुवा तथा सुक्खा जमिनको खेती सुकेको छ”, सूचना अधिकारी जोशीले भन्नुभयो, “किसान नियमित बाली जोगान नियमित सिँचाइ गर्न आग्रह गरेका छौँ ।”

प्रतिनिधिसभा बैठक : अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दै छ । 

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः०० बजे प्रतिनिधिसभा बैठक बस्न लागेको हो ।  

आजको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)मा अर्थमन्त्री डा.प्रकाश शरण महतले जवाफ दिने कार्यक्रम रहेको छ। 

प्रधानमन्त्री भारत भ्रमणबाट फर्केपछि निरन्तर बजेटमाथि छलफल भइरहेको थियो, सो क्रम आइतबारबाट सकिएपछि सोमवार अर्थमन्त्रीले जवाफ दिन लाग्नुभएको हो । 

प्रतिनिधिसभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ आइतबार नै दिने भनिए पनि प्राविधिक कारण देखाउँदै आजका लागि सारिएको हो । 

दुम्कौलीको तापक्रम ४४ डिग्री सेल्सियस पुगेपछि गरियो ‘इन्द्र पूजा’

नवलपुर – लामो समयदेखि पानी नपरेपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दुम्कौलीमा ‘इन्द्र पूजा’ गरिएको छ । देवचुली नगरपालिका–१ स्थित दुम्कौलीको नारायणी नदी किनारस्थित दिव्यधाम मन्दिरमा स्थानीयले सामूहिकरुपमा इन्द्रको पूजा गरेका हुन् । जेठको अन्तिम हुँदा पनि पानी नपर्दा खडेरीका कारण खेतबारीमा लगाइएको तरकारी तथा अन्नबालीका साथै फलफूल सुक्न थालेपछि स्थानीयले पानी पारिदिन आग्रह गर्दै वैदिक मन्त्रसहित इन्द्रको पूजा गरेका हुन् ।

मन्दिर व्यवस्थापन समिति अध्यक्ष तिलप्रसाद पाठकले मन्दिरमा पूजाआजा गरी नजिकै रहेको नारायणी नदी किनारमा पुगेर पानी मागिएको बताउनुभयो ।

इन्द्रको पूूजा गरेमा पानी पर्ने जनविश्वासका साथ गाउँका सबै जना भेला भएर इन्द्र पूूजा गरिएको उहाँले बताउनुुभयो । उहाँले भन्नुभयो ,“देशको अन्य स्थानभन्दा दुम्कौलीको तापक्रम अधिक बढेको कारण स्थानीय भेला भएर धूमधामका साथ इन्द्रको पूजा गरेका हौँ ।” जेठको सुरुदेखि नै तापक्रम वृद्धि भइरहेको दुम्कौलीमा शुक्रबार यस वर्षको सबैभन्दा बढी ४४ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।

दिव्यधाम मन्दिर व्यवस्थापन समितिका सचिव कृष्णचन्द्र बस्ताकोटीले गर्मीका कारण दैनिक जनजीवन प्रभावित हुनुका साथै कृषकले खेतबारीमा लगाएको मकै सुकेका बताउनुभयो । “घोगा लाग्ने बेलाको मकै खडेरीका कारण झ¥यामझुरुम भएर सुकेको छ”, उहाँले भन्नुभयो, “मकैमात्रै होइन कृषकले लगाएको केराबाली सुक्न लागे पानी नपर्दा बर्खे धानको बीउ राख्नसमेत ढिला भइसकेको छ ।” इन्द्र खुसी भएमा पानी पारिदिने जनविश्वाससहित स्थानीयले मन्दिरमा ब्रह्मणद्वारा पाठ पारायणसहित हवन गर्नुका साथै भजनकीर्तनसमेत गरेका थिए ।

कृषि र पशु विकासमा निजी क्षेत्रको लगानी आवश्यक

कर्णाली – कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कर्णाली कृषि र पशु विकासमा निजी क्षेत्रको लगानी आवश्यक रहेको बताउनुभएको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्र वीरेन्द्रनगर सुर्खेतद्वारा आइतवार आयोजित ‘पशुपन्छी औषधि व्यवसायीको लागि ३५ दिने औषधि व्यवस्थापनसम्बन्धी तालिम’ शुभारम्भ गर्दै उहाँले यहाँको कृषि र पशु क्षेत्रको विकासमा निजी क्षेत्रको लगानी जरुरी छ भन्नुभयो ।

मन्त्री शर्माले भन्नुभयो, “माथिल्लो क्षेत्रमा चौँरी च्याङ्ग्रा भेडा तथा बाख्रा कार्यक्रमको प्रवद्र्धन र पशुको स्वास्थ्य सेवामा निजी लगानी हुनुपर्दछ । स्थानीय तहमा हुने कृषि तथा पशु क्षेत्रमा गरिने औषद्योपचार प्रद्धति र सिफारिसमा प्रदेश सरकारको चासो भएकाले यसको व्यवस्थापनमा र नियमन गर्ने तालिमको मुख्य उद्देश्य हो ।”

नागरिकको सेवामा सहज र सरल बनाउन तालिम उपलब्धिमूलक हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सूर्यविनायक–धुलिखेल सडक : पुरातात्विक वस्तु नष्ट नगर्न परिपत्र

काभ्रे – पुरातत्त्व विभागले सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा पुरातात्त्विक वस्तु नष्ट भएको जनाउँदै त्यस्ता कार्य रोक्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकलाई परिपत्र गरेको छ । 

विभागले अरनिको राजमार्गअन्तर्गत बनेपाको भैँसेपाटी क्षेत्रमा डोजर लगाई बाटो खन्ने क्रममा प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन काठ र शिला फेला परेकाले तत्कालै डोजर लगाउने कार्य रोक्न भनेको हो । 

सडक विस्तारका क्रममा पुरातात्त्विक वस्तु नष्ट भएको जनाउँदै त्यस्ता कार्य तत्काल रोक्न आइतबार परिपत्र गरिएको विभागका पुरातत्त्व अधिकृत भीष्म बाँस्कोटाले जानकारी दिनुभयो । 

उहाँका अनुसार प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन काठ र शिलालाई संरक्षण गर्नसमेत आग्रह गरिएको छ । यस्तै विभागले राजमार्गअन्तर्गत पर्ने बनेपा नगरपालिकालाई समेत उक्त कार्य रोक्ने सम्बन्धमा पत्राचार गरेको छ । 

गत फागुनदेखि अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार सुरु गरिएको थियो । उक्त सडक खण्ड तीन वर्षमा सक्ने गरी भक्तपुरको सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडक खण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएको थियो । उक्त राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल कूल १५ दशमलव पाँच किलोमिटर सडक खण्ड चार लेनमा विस्तार थालिएको हो । 

सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार साँगा–धुलिखेल सडक खण्ड विस्तार कार्यका लागि रु चार अर्ब पाँच करोड ६४ लाखका ठेक्का लगाइएको छ भने दोस्रो चरणमा निर्माण गरिने सूर्यविनायक–साँगा सडक खण्ड भने सात दशमलव पाँच किमी रहेको छ । उक्त खण्डको ठेक्का रु तीन अर्ब ८८ करोड ९३ लाखमा हालै सम्झौता भइसकेको विभागले जनाएको छ । 

यस्तै विभागको आग्रहमा काभ्रेपलाञ्चोकको पाँचखाल नगर क्षेत्रमा भेटिएका ऐतिहासिक सम्पदा सुरक्षार्थ जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले तीन वर्षअघि सम्पदा क्षेत्रमा ‘खनजोत’ गर्न रोक लगाएको छ । 

कार्यालयले सम्पदा क्षेत्रमा ‘खनजोत’ नगर्न र गर्नुपरे विभागको स्वीकृति र सहमति गराउन पाँचखाल नपालाई पत्रमार्फत जानकारी गराएको थियो । विभागले भने सम्पदा क्षेत्रमा खनजोत गरे नगरेको निरीक्षण गर्दै आइएको जनाएको छ । 

पाँचखाल क्षेत्रमा खोज, उत्खननका क्रममा भेटिएका सम्पदा–सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएपछि विभागले प्रारम्भिक चरणमा बेलायतको विज्ञ टोलीसहित विभागका पुरातत्वविद्ले ‘जियोफिजिकल सर्वे’ गरिसकेको छ ।

गर्मी बढेपछि रामपुरका विद्यालय बन्द

रामपुर (पाल्पा) – अत्यधिक गर्मी बढेपछि पाल्पा रामपुरका विद्यालय बन्द गरिएको छ । रामपुर नगरपालिकाभित्र सञ्चालित सबै शैक्षिक संस्थामा गर्मीले पठनपाठन सञ्चालनमा कठिनाइ भएकाले आजदेखि पाँच दिनसम्मका लागि विद्यालय बन्द गरिएको हो ।

रामपुर नगरपालिका शिक्षा शाखाको यही जेठ २८ गतेको निर्णयअनुसार आजदेखि असार १ गतेसम्म नगरपालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक, संस्थागत तथा मन्टेश्वरीमा बिदा दिने दिइएको छ ।

बर्खे र हिउँदे बिदामा मिलान हुने गरी बिदा दिइएको नगरपालिकाका शिक्षा अधिकृत विकल काफ्लेले बताउनुभयो ।

शिक्षा शाखाले तातो हावा (लू)बाट बच्न सतर्कताका सुझाव सम्प्रेषण गर्न विद्यालयलाई अनुरोधसमेत गरेको छ । लामो समयसम्म पानी नपरेपछि यस क्षेत्रमा गर्मी अत्यधिक बढेको छ । गर्मीले पठनपाठन, दैनिक कामकाजमा समस्या भएको छ ।

कोशी प्रदेशसभाको बैठक जेठ ३१ मा

विराटनगर – कोशी प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन यही जेठ ३१ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ । जेठ २३ गते सभाको सम्पन्न बैठक पछि अर्को सूचना जारी नभएसम्म सभामुख बाबुराम गौतमले बैठक स्थगित गर्नुभएको थियो ।

कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभाका सबै सदस्यलाई जानकारीको लागि यो सूचना जारी गरेको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

आजको मौसम: पूर्वी तराईमा वर्षाको सम्भावना

काठमाडौँ – हाल देशमा  पश्चिमी  वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । कोसी तथा बागमती प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

दिउँसो कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । 

कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

राती भने कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

कोसी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेस प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

मध्य तथा पश्चिम तराईका भू–भागहरूमा अत्यधिक गर्मी हुने देखिन्छ । साथै कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै मधेस प्रदेश लगायत देशका बाँकी पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तसर्थ, अत्यधिक गर्मी, मेघ गर्जन र चट्याङ तथा वर्षा बाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 
​​​​​​​२०८०  जेठ २९ गते (सोमबार)
दिउँसो: 
कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । 

कोसी  प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती: कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

कोसी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा मेघ–गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेस प्रदेश लगायत देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

२०८० जेठ ३० गते (मङ्गलवार)
दिउँसो:
 कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। 

कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेस प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती: कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा मेघ–गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेस प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

२०८० जेठ ३१ गते (बुधवार)
दिउँसो: 
कोसी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ–गर्जन÷चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती: कोसी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। 

कोसी प्रदेशलगायत पहाडी भू–भागका केही स्थानहरूमा मेघ–गर्जन÷चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

संसदमा मागियाे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं – प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागिएको छ । 

पूर्वबाल लडाकुसहितले प्रधानमन्त्री प्रचण्ड र डा बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाएर कारबाही गर्नुपर्ने माग गर्दै सर्वाेच्च अदालतमा रिट दर्ता भएपछि उनको राजीनामा मागिएको हो । 

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल चलिरहँदा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नैतिकताका आधारमा पनि प्रधानमन्त्री प्रचण्डले राजीनामा  दिनुपर्ने माग गरेका हुन् । 

प्रधानमन्त्रीका हिसाबले अदालतमा उपस्थित हुन नमिल्ने भन्दै उनले तत्काल प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिएर अदालतलाई काम गर्ने वातावरण बनाउनुपर्ने बताए । 

‘प्रतिनिधिसभा नियमावलीको २०६९ को नियम २६ अन्तर्गत प्रधानमन्त्रीज्यू यो संसदको सदस्य पनि हो । तर, प्रधानमन्त्रीज्यूको विरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराधजस्तो जघन्य अपराधमा मुद्दा दर्ता भएको छ । सर्वोच्च अदालतले जेठ ३० गते अदालतमा हाजिर हुन भनेर तारेख पर्चा पनि काटिसकेको छ। म यहाँ सोध्न चाहन्छु– ३० गते प्रधानमन्त्री अदालतमा जाँदै गर्दा यो देशको प्रधानमन्त्री भएर जानुहुन्छ कि पुष्पकमल दाहाल प्रचण्ड भएर ? युद्ध अपराधको मुद्दामा अदालतमा जाने कुरा.. यो देशले अपराध गरेको होइन ? व्यक्तिले गरेको हो ? त्यो भएर, म सम्मानीय सभामुखमार्फत् सम्माननीय प्रधानमन्त्रीज्यूले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ नैतिकताका आधारमा पनि पदमा बसिरहन मिल्दैन,’ सांसद शाहीले भने । 

शाहीको अभिव्यक्तिप्रति माओवादी केन्द्रका माधव सापकोटाले आपत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरे । ‘उहाँले हाम्रो नियमावलीको कुन धारा आकर्षित गरी यी कुराहरू राख्नुभयो। उहाँले प्रधानमन्त्रीलाई एकोहोरो गैरराजनीतिक तरिकाका साथ लखेटिरहनुभएको छ। प्रधानमन्त्रीको हुर्मत लिनु भनेको राष्ट्रको हुर्मत लिनु हो। उहाँले बोलेको कुरा रेकर्डबाट हटाइयोस्,’ सांसद सापकोटाले भने । 

यसपछि सभामुख देवराज घिमिरेले दुवै सदस्यको भनाइप्रति ध्यानाकर्षण भएको भन्दै बैठक अघि बढाए ।

विश्वविद्यालय शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्दछ : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयको शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित काठमाडौँ विश्वविद्यालयको २८औँ दीक्षान्त (दोस्रो चरण) समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले विश्वविद्यालयमा स्नातकोत्तर तहका पाठ्यक्रममा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने तथा स्नातक तहमा बढी अभ्यासमुखी र सिकाइमा जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हाल सञ्चालनमा रहेका सबै विश्वविद्यालय र उच्च शैक्षिक संस्थाले पठनपाठन तथा अनुसन्धानको शैली परिवर्तन गर्न आवश्यक छ । खासगरी विश्वविद्यालयमा स्नातकोत्तर तहका पाठ्यक्रममा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने हुन्छ । स्नातक तहमा बढी अभ्यासमुखी र सिकाइमा जोड दिनुपर्छ ।”

प्रधानमन्त्री दाहालले अनुसन्धानले समाजमा प्रभाव र परिवर्तन ल्याउन नसक्दा साधन स्रोतको सही सदुपयोग नहुने स्पष्ट पार्नुभयो । विश्वविद्यालय तहको अध्ययन र अनुसन्धानलाई सवल बनाउन सरकारका अनुसन्धानसम्बन्धी कार्य विश्वविद्यालयबाट गराउने निर्णय गरिसकेको हुनाले प्राध्यापकमा राज्यका लागि योगदान गर्ने प्रत्यक्ष अवसर मिल्ने उहाँको भनाइ थियो । काठमाडौँ विश्वविद्यालयले आफ्नो स्थापनाको ३२ वर्षमा विभिन्न सङ्कायमा ४१ हजारभन्दा बढी उच्च सीप, दक्षता र मानवीय गुणसम्पन्न जनशक्ति उत्पादन गरी मुलुकको विकासमा योगदान दिएको प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभयो ।

काठमाडौँ विश्वविद्यालयले गुणस्तरीय शिक्षाका लागि मुलुकको अग्रणी र दक्षिण एसियाकै एक प्रतिष्ठित विश्वविद्यालयका रूपमा आफूलाई स्थापित गरेको उल्लेख गर्दै उहाँले गुणस्तरीय, प्राविधिक र अत्याधुनिक उच्चशिक्षा युगको विश्वव्यापी आवश्यकता भएको बताउनुभयो । बर्सेनि हजारौँ विद्यार्थी नेपालबाट विदेशिनुको कारण सिर्जनशील मस्तिष्क, युवा ऊर्जा र अर्बौँ रुपैयाँ मुलुकबाट बाहिरिइरहेको सन्दर्भमा मुलुकभित्रै उच्चशिक्षाको गुणस्तर एवम शिक्षापछिको सम्मानयुक्त जीवनयापन गर्न सम्भव रोजगारी सिर्जना सबैका लागि टड्कारो आवश्यकता र चुनौती भएको प्रधानमन्त्री दाहालले जिकिर गर्नुभयो ।

काठमाडौँ विश्वविद्यालयले अन्तर्राष्ट्रिय गुणस्तरकै शिक्षा प्रदान गरी विदेश पलायन हुने युवा र विदेशी मुद्रालाई केही हदसम्म भए पनि रोक्न प्रशंसनीय योगदान गरेको उहाँले स्पष्ट पार्नुभयो । “यस विश्वविद्यालयले आफ्ना क्षमतावान अब्बल स्नातक तह उत्तिर्णलाई प्रारम्भिक रोजगारीसमेत दिने जुन प्रस्तावना गरेको छ यसलाई नेपाल सरकारले अत्यन्त सकारात्मक कदमका रूपमा लिएको छ । यसको विस्तार र दीगोपनका लागि यथासम्भव सघाउने छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

विगतदेखि नै वस्तु व्यापार घाटामा भएको तीव्र वृद्धिले मुलुकलाई आक्रान्त बनाएको उल्लेख गर्दै उहाँले पछिल्लो समय सेवा व्यापारघाटा पनि उत्तिकै गतिमा बढ्दै जानु थप चिन्ताको विषय भएको बताउनुभयो । नेपाललाई इञ्जीनीयरिङ, चिकित्साशास्त्र, सूचना एवम् डिजिटल प्रविधि, वातावरण विज्ञान आदि विषयमा उच्च शिक्षाको ‘हब” बनाउने सम्भावनातर्फ सरकारको विशेष ध्यान गएको प्रधानमन्त्री दाहालले बताउनुभयो ।

हाल मस्यौदा भइरहेको सरकारको वाणिज्य नीतिले पनि शिक्षा सेवालाई निर्यातयोग्य सम्भावनाको क्षेत्रका रूपमा पहिचान गरेको उहाँले जानकारी दिनुभयो । सम्भावनालाई वास्तविकतामा बदल्नका लागि सरकार आवश्यक कानुनी, प्रक्रियागत र संरचनागत व्यवस्था गर्न तत्पर रहेको तथा त्यसमा विज्ञको सुझाव महत्वपूर्ण हुने प्रधानमन्त्री दाहालको कथन छ ।

काठमाडौँ विश्वविद्यालयबाट उत्पादित शैक्षिक जनशक्तिमध्ये १३ प्रतिशतभन्दा बढी दीक्षित ५५ भन्दा बढी मुलुकका विदेशी नागरिक भएको जानकारी पाउँदा नेपाललाई दक्षिण एसिया क्षेत्रकै आकर्षक शैक्षिक ‘हब’ बनाउने सम्भावना केवल कल्पना मात्र नभएर वास्तविकतामा रूपान्तरण गर्न सकिने वस्तुगत यथार्थ भएको उहाँले बताउनुभयो ।

सो विश्वविद्यालयले अनुसन्धान गरिरहेको भविष्यको इन्धनका रूपमा पहिचान गरिएको ग्रीन हाइड्रोजनको उत्पादन, आर्टिफिसिअल इन्टेलिजेन्स, आधुनिक प्रविधिमा आधारित कृषि विज्ञान, हिमालय क्षेत्रको पर्यावरणको अध्ययनमा समर्पित ग्लेसियोलोजी, चिकित्सा र प्रविधिलाई समायोजन गर्ने हेल्थ–इन्फम्र्याटिक्सलगायत विषयको अध्ययन–अध्यापन, खोज–अनुसन्धान एवम् प्रकाशन–प्रचारले मुलुकको आर्थिक विकास र सामाजिक पुँजी निर्माणमा जोड दिने प्रधानमन्त्री दाहालको भनाइ छ ।

शिक्षाका लक्ष्य हासिल पूरा गर्न सरकार प्रयासरत : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुसार कूल बजेटको २० प्रतिशत रकम विनियोजन हुन नसके पनि नेपाल सरकारले संयुक्त राष्ट्रसङ्घीय दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा कार्य गरिरहेको बताउनुभएको छ ।

‘एजुकेशन इन्टरनेशनलको दक्षिण एसियाली शिक्षक सम्मेलन’को उद्घाटनसत्रमा उपप्रधानमन्त्री श्रेष्ठले सामाजिक क्षेत्रमा सबैभन्दा धेरै रकम शिक्षा क्षेत्रमा रहेको र लगानीको अपर्याप्तताकाबीच नेपाल सरकारले दिगो विकासको लक्ष्यअनुसार सबैका लागि गुणस्तरीय समतामूलक तथा जीवनपर्यन्त शिक्षाको सुनिश्चितताका लागि सुधारका पहल सञ्चालन गरिरहेको अवगत गराउनुभयो ।

“सीमान्तकृत र विपन्न समुदायका बालबालिकालाई शिक्षामा सहजरुपमा ल्याउन र टिकाइराख्नका लागि सामाजिक र आर्थिक अवरोध हटाउनुपर्छ र शिक्षाले सामाजको अग्रगतिमा योगदान दिन सक्नुपर्छ”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो । उहाँले शिक्षा बाँच्नका लागि नभइ जीवनका लागि हुनुपर्ने बताउनुभयो । “बाँच्नु जीवनको महत्वपूर्ण पक्ष मात्रै हो, सिङ्गो जीवन होइन । शिक्षाले वैज्ञानिक र चरित्रवान असल नागरिक बनाउन भूमिका खेल्न सक्दैन भने त्यो वास्तविक शिक्षा होइन”, उहाँले भन्नुभयो । गुणस्तरीय र सबैका लागि शिक्षाको कुरा गर्दा आधारभूत आयामलाई बिर्सन नमिल्ने उहाँको भनाइ छ ।

शिक्षा समाजको आधारस्तम्भ भएकाले समृद्धि र विकासका लागि सक्षम शिक्षा प्रणालीको अनिवार्यतामा जोड दिँदै उहाँले गरिब र विपन्न समुदायलाई शिक्षाको मूल प्रवाहमा सहज पहुँचका लागि सरकारले मुलुकभर बालविकास कक्षा सञ्चालन र विद्यालयका पूर्वाधार विकासमा लगानी गर्दै सीमान्तकृत समुदायका महिला र अपाङ्गता भएका विद्यार्थीको शिक्षाको अधिकार प्राप्तिका लागि ध्यान दिँदै आएको बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले शिक्षामा व्यापारीकरण नभइ निजी क्षेत्रलाई पनि संलग्न गराउँदै सामुदायीकरण हुनुपर्ने र शिक्षाका कारण समाजमा वर्ग विभाजन हुन नहुने पक्षमा आफूहरु रहेको स्पष्ट गर्नुभयो । उहाँले शिक्षाको प्रणाली र नीतिका विषयमा कुरा गर्दा शिक्षक पहिलो भन्ने सोचलाई ध्यानमा राख्न आग्रह गर्नुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले सबैका लागि गुणस्तरीय शिक्षाको दायित्व र शिक्षकको अधिकार रक्षाका लागि सरकार अग्रसर रहेको बताउँदै शिक्षक सङ्घ–सङ्गठनसँग सामाजिक संवादका माध्यमबाट देखिएका मुद्दाहरुको सम्बोधन गर्ने उल्लेख गर्नुभयो ।

एजुकेशन इन्टरनेशनलका अध्यक्ष सुसन हपगुडले गुणस्तरीय शिक्षाका लागि सार्वजनिक शिक्षामा लगानीवृद्धि र शिक्षकको क्षमता विकासका प्राथमिकता दिनुपर्ने बताउनुभयो । निजी विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापाले नेपालका विद्यालयमा न्यून पूर्वाधार र शिक्षकको न्यून तलब र ट्रेड युनियन अधिकारको सम्मानलगायतका सवालमा समस्या रहेको बताउनुभयो ।

‘गो पब्लिक, फण्ड एजुकेशन’ भन्ने नाराका साथ सञ्चालन भएको दुई दिने सम्मेलनमा नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेशका एजुकेशन इन्टरनेशनलका प्रतिनिधिले देशीय प्रतिवेदन प्रस्तुत गर्नेछन् । सम्मेलनममा ‘गो पब्लिक, फण्ड एजुकेशन’ अभियानको एसिया प्रशान्त क्षेत्रका प्राथमिकता, दक्षिण एसियाली शिक्षामा निजीकरण, शिक्षामा ट्रेड युनियन अधिकारको भविष्य आदि विषयमा समूह छलफल हुनेछ ।

बजेटको प्रभावकारी कार्यान्वयन जरुरी : गगन थापा

काठमाडौँ – सांसद गगनकुमार थापाले बजेटको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्यायको वार्षिक अनुमानमाथिको सामान्य छलफलका क्रममा उहाँले बजेटमा समेटिएका कार्यक्रमलाई परिणाममुखी बनाउन कार्यान्वयन प्रभावकारी बनाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेसका महामन्त्री समेत रहनुभएका सांसद थापाले बजेटको आकार ठूलो छ भन्ने वास्तविकतालाई स्वीकार गरी कार्यान्वयनमा गएको खण्डमा परिणाम निस्कनेमा विश्वास व्यक्त गर्नुभयो । “बजेटको आकार ठूलो छ, यो वास्तविक छैन यसलाई ख्याल गरे कार्यान्वयन गरेर परिणाम निकाल्न सक्नुपर्छ”, उहाँले भन्नुभयो “बजेट कार्यान्वयन गरेर परिणाम ल्याउन अवास्तविक छ भन्ने कुरालाई स्वीकार गर्नुपर्छ ।”

सांसद थापाले जनअपेक्षालाई सम्बोधन गर्ने र अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाइ जनतामा देखिएका निराशालाई आशामा परिणत गर्नेगरी बजेटले लिएको लक्ष्यलाई परिणाममुखी बनाउन ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले भन्नुभयो, “अर्थमन्त्री आफै पनि यति ठूलो बजेटको आकार ल्याउन चाहनुहुन्नथ्यो । किनकी यो अवास्तविक छ भन्ने कुरा पक्कै पनि उहाँले बुझ्नुभएको छ । यहाँ प्रस्तुत भइसकेपछि बचाउ पनि गर्नुप¥यो । अवास्तविक छ भन्नेकुरालाई मनमा लागे पनि होइन भनेर भन्नुपर्ने स्थिति हुन्छ ।”

अर्थमन्त्रीले बजेट भाषण टुङ्ग्याउने क्रममा बजेट कार्यान्वयनमा भएमा समग्रमा ६ प्रतिशत आर्थिक वृद्धि, मुद्रास्फिति ६ दशमलव ५ प्रतिशतमा सीमित हुन्छ भन्ने अनुमान गरेको स्मरण गर्दै सांसद थापाले बजेट कार्यान्वयनबाट लगानीको विस्तार, रोजगारीको अवसरमा वृद्धि, अर्गतन्त्र सुधारका साथै वित्तीय अनुशासन कायम भई राजस्वको लक्ष्य पूरा गर्नुपर्ने बताउनुभयो ।

उहाँले बजेटमा साना व्यापारीका समस्या सम्बोधन हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयदेखि सञ्चालन भएका उद्योग कलकारखाना पनि समस्यामा देखिन्छन् । उनीहरु निराश छन् । उनीहरुले बजेटलाई कति अङ्क दिन्छन् भन्नेकुरा यसको कार्यान्वयनमा भर पर्छ ?”

साधरण खर्च बढेको र पुँजीगत खर्च कम भएको यथार्थतालाई ध्यान दिएर प्राथमिकतायुक्त क्षेत्रको सम्बोधन हुनेगरी बजेट कार्यान्वयन गरिनुपर्नेमा उहाँले जोड दिनुभयो । विभिन्न अन्तर्राष्ट्रिय कठिनाइका बाबजुद पनि भारत र चीनको आर्थिक गतिशिलताले नेपालको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव परेको उहाँको विश्लेषण छ ।

बजेटमा कर प्रणाली सुधार, कार्यान्वयन क्षमता बढाएर साधरण खर्च घटाउने प्रस्तावित कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गरिनुपर्नेमा उहाँको जोड छ । वैदेशिक मुद्रा सन्तुलित रहेपनि राजस्व सङ्कलन घटिरहनुले अर्थतन्त्रलाई असर परेको भन्दै उहाँले बजेटको प्रभावकारी कार्यान्वयनका लागि पुँजीगत खर्च बढाउन सुझाव दिनुभयो । उहाँले राजस्व चुहावट नियन्त्रणका लागि संयन्त्रलाई सक्रिय र प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

कांग्रेस विधिसम्मत् ढङ्गले चल्न सकेन: नेता सिंह

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधिसम्मत् ढङ्गले चल्न नसकेको बताउनुभएको छ । नेपाल ट्रेडयुनियन कांग्रेस वाग्मती प्रदेशको दोस्रो अधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले पार्टी विधिसम्मत् ढङ्गले चल्न नसक्दा भ्रातृ र शुभेच्छुक संस्था अफ्ट्यारोमा परेको बताउनुभएको हो ।

“प्रजातान्त्रिक पार्टी कांग्रेस प्रजातान्त्रिक विधि र पद्धतिअनुसार चल्न सकेन, विधि र विधानअनुसार चल्न नसकेकै कारण यो अवस्था सिर्जना भएको हो,” नेता सिंहले भन्नुभयो । ट्रेड युनियनका मुद्दा सम्बोधन गर्न कांग्रेस लागिपर्ने स्पष्ट पार्दै उहाँले योग्य र ट्रेड युनियन हाक्नसक्ने नेतृत्वलाई चयन गर्न प्रतिनिधिलाई आग्रह गर्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य रमा पौडेलले कांग्रेसलाई बलियो बनाउन ट्रेड युनियन कांग्रेस बलियो हुनुपर्ने धारणा व्यक्त गर्नुुभयो । उहाँले ट्रेड युनियन कांग्रेस र पार्टीको नेतृत्वलाई जोड्न आफू लाग्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय अध्यक्ष पुष्कर आचार्यले पार्टीका नेतृत्वले मजदुरको समस्यालाई सम्बोधन गर्न नसकेको गुनासो गर्नुुभयो ।

उहाँले मुलुकको सात सय ५३ वटै स्थानीय तहमा ट्रेड युनियन कांग्रेसको सङ्गठन विस्तार गर्न ट्रेड युनियन कांग्रेस लागेको बताउनुभयो । नेपाल ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष खिलानाथ दाहाल, वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादव, महासचिव योगेन्द्र कुँवरलगायतले पार्टीको विधानमा मजदुरको मुद्दालाई समावेश गर्न पार्टी नेतृत्व लाग्नुपर्ने बताउनुभयो ।आजदेखि सुरु भएको महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने कार्यक्रम छ ।

आर्थिक सङ्कट समाधान गर्ने गरी बजेट आएको छ : यादव

काठमाडौँ – सांसद दिनेशकुमार यादवले देशको वर्तमान सङ्कटलाई समाधान गर्ने गरी सरकारले बजेट ल्याएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले भन्नुभयो, “देश अहिले सङ्कटमा छ, त्यो सङ्कटलाई पनि समाधान गर्ने गरी हरेक क्षेत्रलाई समान ढङ्गबाट समावेश गरेर प्रस्तुत भएको बजेटप्रति मेरो समर्थन छ ।”

सांसद यादवले देशको आर्थिक अवस्थालाई सुदृढ गर्न गर्नेथलो मधेसलाई बजेटले छुन नसकेको पनि उहाँले टिप्पणी गर्नुभयो । किसानको लागि सिँचाइको व्यवस्था बजेटमै व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो ।

सांसद रुपा विकले आव २०८०/८१ को बजेट वक्तव्यले मुलुकमा देखिएको अर्थतन्त्रको समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो । “निराश भएका जनता र व्यवसायीलाई उत्साह दिने खालको बजेट आएको छ । यद्यपि बजेटमा केही परिमार्जन गर्नुपर्ने विषय पनि छन्” उहाँले भन्नुभयो ।

बजेटले पुँजीगत खर्चलाई प्रभावकारी बनाउन केही नयाँ सोच र दृष्टिकोणसहित ‘वर्किङ मोडालिटि’मा अगाडि सारेको बताउँदै सांसद विकले जसलाई सकारात्मक सङ्केतको रुपमा लिनुपर्ने बताउनुभयो । बजेट कार्यान्वयनमा सरकारले जोड दिनुपर्ने उहाँको भनाइ थियो ।

सांसद कान्तिका सेजुवालले कर्णाली प्रदेशमा पर्याप्त बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “कर्णालीमा विशेषगरी जुम्लामा शैक्षिक जनशक्ति बढेको छ, राज्यका हरेक गतिविधिलाई तर्कपूर्ण विश्लेषण गर्नसक्ने भएको छ, अब संवैधानिक नियुक्त र राजनीतिक नियुक्तिमा समेत कर्णालीले अर्थपूर्ण सहभागिता हुनुपर्छ ।”

प्रतिनिधिसभाको अर्को बैठक भोलि २९ गते १ बजे बस्ने भएको ।

लुम्बिनी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल

लुम्बिनी – लुम्बिनी प्रदेश सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि सोमबारदेखि तीन दिन प्रदेशसभामा छलफल हुने भएको छ ।

सभामुख तुलाराम घर्तीले आजको छैठौंँ वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न तीन दिन समय तोकिएको जानकारी गराउनुभयो । नीति तथा कार्यक्रममाथिको छलफल यही जेठ ३१ गतेसम्म चल्ने छ । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने गरी तयारी गरिएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले यही जेठ २६ गते प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । आजको बैठकमा नीति तथा कार्यक्रमबारे धन्यवाद प्रस्ताव सर्वसम्मतले पारित भएको छ । धन्यवाद ज्ञापनको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता जोखबहादुर महरा र समर्थकमा नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिना रहनुभएको थियो । लुम्बिनी प्रदेश सरकारले प्रदेशलाई आत्मनिर्भर, समृद्ध र समुन्नत बनाउन रणनीतिक प्राथमिकतामा केन्द्रीत हुने गरी कार्यक्रम सञ्चालन गर्ने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

प्रदेश सरकारद्वारा प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, पर्यटन, भौतिक पूर्वाधारर स्वास्थ्य जस्ता विषयलाई प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रममा यसअघिका सरकारले अगाडि बढाएका कार्यक्रमलाई निरन्तरता दिइएको छ । व्यावसायिक प्रवद्र्ध्न, बजारीकरण र रोजगार केन्द्रित कृषि प्रणालीलाई प्राथमिकतामा राखिएको छ । रोजगारी सिर्जना गर्ने नवीन उद्योग र पर्यटन क्षेत्रलाई पनि सरकारले प्राथमिकता दिएको छ ।

‘जनताको भेट राज्यसँग तिरो तिर्ने बेलामा मात्रै हुन्छ’

काठमाडौँ – सांसद प्रदीप पौडेलले अर्थमन्त्री डा प्रकाशशरण महतलाई संसद्मा उठेका विषयलाई कसरी बजेटमा समावेश गर्नुहुन्छ ? भन्दै प्रश्न गर्नुभएको छ । मुलुकको अर्थचतन्त्रमा देखिएको समस्या लामो बेतिथिको शृङ्खलाको विकसित रुप भएको उहाँको टिप्पणी छ ।

उहाँले भन्नुभयो, “एउटा किसान बाँदर आतङ्कदेखि जलवायु परिवर्तनसम्मका अनगिन्ती समस्यासँग जुँधिरहेको हुन्छ, तर उसको राज्यसँगको भेट केवल तिरो तिर्ने बेलामा मात्रै हुन्छ, यस्तो अवस्था सधैँ रहिरहने हो भने सरकारले अघि सारेका कार्यक्रम कसरी पूरा हुन्छन ?”

सरकारले प्रस्तुत गरेको आगामी आवको बजेटले श्रम र शिक्षालाई व्यावहारिक रुपमा जोड्न नसक्ने उहाँको दाबी छ । सांसद पौडेलले बजेटमा नागरिक पेन्सनको व्यवस्था गर्ने सकारात्मक विषय भए पनि त्यसलाई पूर्णरुपमा व्याख्या गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद पदम गिरीले सरकार स्वास्थ्य क्षेत्रप्रति उदासिन देखिएको टिप्पणी गर्नुभयो । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०÷८१ को बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले भन्नुभयो, “शिक्षा र स्वास्थ्य जस्तो विषय आम जनताको पहुँचमा हुनुपर्दथ्यो, तर स्वास्थ्यमा २० प्रतिशत रकम घटाइएको, जसले गर्दा आधारभूत अस्पताल बन्ने छैनन, स्वास्थ्य क्षेत्रमा अब दुरावस्था देखिँदैछ ।”

करि ११ हजार हुलाकका कर्मचारीले वर्षांैदेखि सेवा गर्दै आए पनि आज जागिरबाट निस्कनुपर्ने अवस्था सिर्जना भएको भन्दै जनताको रोजीरोटी सरकारले खोस्न नहुने उहाँको भनाइ थियो । सांसद गिरीले विद्यालयका शिक्षकका लागि दरबन्दी सिर्जना गरेर पारिश्रमिक दिनेगरी सरकारले व्यवस्था गर्नुमा जोड दिनुभयो ।

सांसद गङ्गा कार्कीले मुलुकको वर्तमान अवस्थालाई सम्बोधन गर्ने गरी बजेट आएको बताउँदै बजेटको सिद्धान्त, प्राथमिकता र नीति ठीक भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारमूलक क्षेत्रलाई बजेटले जोड दिएको छ, बजेटले अवस्थामा टेकेर अहिलेको आवश्यकता पूरा गर्ने भनेको छ, तर कार्यक्रममा चुकेको पाइन्छ ।” दोलखा जिल्लाले अहिले झण्डै ए हजार मेगावाटको बिजुली राज्यलाई आपूर्ति गरिरहेको भए पनि सरकारले दोलखाका लागि बजेटको व्यवस्था नरेको भन्दै गुनासो गर्नुभयो ।

दोलखा जिल्लालाई पर्यटकीय क्षेत्रको रुपमा घोषणा गर्नुपर्ने उहाँको भनाइ थियो । सांसद गीता बस्नेतले सरकारले शक्ति र पहुँचको भरमा बजेट छुट्याउने काम गरको भन्दै बजेटले तल्लो तहका जनतालाई समावेश गर्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “बर्दिया २०७१ सालमा बाढीपीडितमा परेको जिल्ल्ला हो, आज १० वर्ष बित्दासमेत जनताले राहत पाउन सकेको छैन, यस पटकको बजेटमा पनि समावेश गरिएको छैन, त्यहाँका जनता दुःखी भएका छन, बर्दिया जिल्लालाई हेर्ने सरकारको किन फरक छ ?”

सांसद तारा लामा तामाङले भन्नुभयो, “यो बजेटले अहिले खस्किँदै गएको अर्थतन्त्रलाई उकास्न के गर्न सकिन्छ भनेर ल्याउनुपर्नेमा ध्यान गएको छैन, यो बजेट किसानमुखी श्रमजीविमुखी समाजवाद उन्मुख छैन”, भन्नुभयो ।

सांसद सन्तोष चालिसेले किसानको मलको समस्या समाधान गर्ने विषयलाई बजेटमा समावेश गर्नुपर्नेमा जोड दिनुभयो ।

गेटालाई विश्वविद्यालय बनाउन माग गर्दै आन्दोलन

दोधारा चाँदनी – गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै आज सुदूरपश्चिममा आमहड्ताल गरिएको छ ।

विश्वविद्यालय स्थापनार्थ गठित सङ्घर्ष समितिले आज सुदूरपश्चिम प्रदेशमा आमहड्ताल गरेको हो । बन्दले कञ्चनपुरमा बिहानैदेखि लामो तथा छोटो दूरीका सवारीसाधन चल्न नसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यहाँ स्वस्फूर्तरुपमा शैक्षिक संस्था, बजार, व्यवसाय पनि बन्द गरिएको छ ।

“बिहानैदेखि छोटो तथा लामो दूरीको यातायात बन्द छ । बजार पनि आंशिक बन्द छन्”, प्रहरी निरीक्षक हर्षबहादुर चन्दले भन्नुभयो, “बजारमा फाट्टफुट्ट मोटरसाइकल चलेका छन् ।” बन्दले कञ्चनपुरबाट बाहिर जिल्ला जाने समस्यामा परेका छन् ।

सरकारले गत २९ माघमा मन्त्रिपरिषद्को बैठकबाट गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । यही जेठ १५ मा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा विश्वविद्यालयको ठाउँमा प्रतिष्ठानका रुपमा अघि बढाउने र एक सय शय्याको अस्पताल सञ्चालन गर्ने घोषणा गरिएपछि सुदूरपश्चिममा चरणबद्ध आन्दोलनको घोषणा गरिएको हो ।

विश्वविद्यालय स्थापनार्थ गठित सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेयले सरकारले बजेटमा गेटालाई विश्वविद्यालय बनाउने निर्णय उपेक्षा गरेकाले आन्दोलनमा उत्रिनुपरेको बताउनुभयो । “मन्त्रिपरिषद्ले विश्वविद्यालय बनाउने निर्णय ग¥यो नीति तथा कार्यक्रममा पनि आयो तर बजेटमा आएन”, उहाँले भन्नुभयो, “यहाँ अर्बौंका भवन बनेका छन्, अब सुदूरपश्चिमलाई ठग्न पाइँदैन ।” उहाँले सरकारले यथाशीघ्र विश्वविद्यालय बनाउन पहल गर्नुपर्ने बताउनुभयो ।

बिचौलियालाई पाल्ने सरकार, दोषचाहिं एमालेलाई ? : पदम गिरी

काठमाडौँ – नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले अहिलेको गठबन्धन सरकारले बिचौलियालाई संरक्षण गर्ने काम गरिरहेको बताउनु भएको छ।

आइतबार संसद् बैठकमा बजेटमाथिको छलफलका क्रममा आफ्ना भनाइ राख्दै उहाँले यस्तो बताउनु भएको हो।

गिरीले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा पूर्वकर्मचारीलाई बिचौलियका रुपमा अर्थमन्त्रालयमा छिराएर करका दरमा जथाभावी हेरफेर गरिएको पनि बताउनु भयो।

आज प्रतिनिधि सभा बैठकमा बोल्दै गिरीले कांग्रेस र माओवादीको गठबन्धन दुई वर्षदेखि सरकारमा रहेको बताउँदै गिरीले आजको देशको अवस्था कस्तो भएको छ ? भन्दै प्रश्न गर्नुभयो। 

१४ खर्ब राजश्व संकलन गर्ने लक्ष राखेकोमा ८ खर्ब रकम पनि संकलन गर्न नसकेको सरकार असफल भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो सरकारको असक्षमता देश र दुनियाँलाई थाहा हुनुपर्छ कि पर्दैन ?’

सकारले सेटिङमा राखिएका बिचौलिया भन्सार छलीमा संलग्न भएका कारण सोचे अनुसार राजश्व संकलन हुन नसकेको उहाँले दाबी गर्नुभयो। गिरीले भन्नुभयो, ‘भन्सार छल्ने काममा सरकारका मान्छेहरू लागेका छन्।’

अर्थतन्त्र टाट पल्टिने अवस्थामा पुगेको देशले आउने आर्थिक वर्षमा १२ खर्ब राजश्व संकलन गर्ने कुरा गर्नु हास्यास्पद भएको उहाँले बताउनुभयो । यो लक्ष कुनै पनि हालतमा प्राप्त हुन नसक्ने गिरीले बताउनुभयो । देशमा अवस्था अहिले कहालीलाग्दो अवस्थामा रहेको उहाँले प्रष्ट पार्नुभयो । 

हिजो केपी ओली सरकारले सुरु गरेका कामलाई निरन्तरता दिए मात्रै पनि देश समाजवादको बाटोमा अघि बढ्ने उहाँले दाबी गर्नुभयो । तर सरकारले ती कार्यक्रमलाई समेत निरन्तरता दिन नसकेको उहाँले बताउनुभयो । अहिले सरकार दृष्टिकोणहीन भएको गिरीको भनाइ छ । 

नेकपा एमाले अहिले सत्तामा नभए पनि देशको राजनीति एमाले वरिपरि घुमिरहेको उहाँले बत्ताउनुभयो । देशका समस्या सम्बोधन गर्ने पार्टी नेकपा एमाले भएको उहाँले दाबी गर्नुभयो। 

स्वचालित प्रणालीमार्फत पूर्व र अन्तिम श्रम स्वीकृति प्रदान हुने

काठमाडौँ, २८ जेठ (रासस) : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी साउन १ गतेदेखि स्वचालित प्रणालीमार्फत पूर्व र अन्तिम श्रम स्वीकृति प्रदान गर्ने भएको छ ।

म्यानपावर कम्पनीले आफ्नै कम्पनीमा बसेर वैदेशिक रोजगारीमा जाने श्रमिकको सूचना अनलाइनमा राख्न सक्ने र सूचना राखेपछि स्वतः श्रम स्वीकृति प्रदान हुने व्यवस्था गर्ने निर्णय भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार यो व्यवस्था कार्यान्वयनमा आएपछि पूर्व र अन्तिम श्रम स्वीकृतिका लागि फाइल बोकेर म्यानपावर कम्पनी श्रम तथा रोजगार कार्यालयमा धाउने अवस्थाको अन्त्य हुनेछ ।

मन्त्रालयले अहिलेको अनलाइन प्रणालीलाई परिमार्जन गर्दै पूर्व र अन्तिम श्रम स्वीकृतिसम्बन्धी सबै काम स्वचालित प्रणालीबाटै हुने व्यवस्था गरेको हो । वैदेशिक रोजगार व्यवसायीले गलत कागजात पेस गरी प्रविष्ट गरेमा वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली २०६४ बमोजिम कम्पनी खारेजीसम्मको सजाए हुने गरी निर्णय गरिएको जनाएको छ ।

यसैगरी अबदेखि श्रम स्वीकृतिका लागि आएका आवेदनको विवरण प्रमाणीकरण र अनुगमनको काम पनि अधिकृत तहका कर्मचारीले गर्ने गरी व्यवस्था गरिएको पनि श्रम सचिव अर्यालले जानकारी दिनुभयो । यसअघि ‘फेमिस सिस्टम’मार्फत दिएका आवेदन विभिन्न तहमा कर्मचारीले प्रमाणित गर्ने हुँदा काम ढिलो हुने गर्दथ्यो ।

पछिल्लो समय सबैखाले श्रम स्वीकृति अनलाइनमार्फत नै प्रदान हुन थालेपछि अब भने कुनै पनि कामका लागि कार्यालयमा गएर लाइन बस्नु पर्दैन । यसअघि श्रम स्वीकृति लिँदा ‘बायोमेट्रिक’ नभएकाले मात्र पुनःश्रम स्वीकृति लिनका लागि श्रम कार्यालयमा उपस्थित हुनपर्छ । यस्तो सङ्ख्या एकदमै न्यून हुने र बिनाझन्झट सेवा लिन सकिने मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगार ऐन, २०६४ मा भएको वैदेशिक रोजगारमा जाने हरेक कामदारले अनिवार्यरुपमा श्रम स्वीकृति लिनुपर्ने व्यवस्था भएकामा वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) मार्फत कामदारले अनलाइन आवेदन गरी श्रम स्वीकृति लिने व्यवस्था छ ।

हाल एफइआइएमएसलाई समायानुकुल परिमार्जन गरी पूर्व÷अन्तिम श्रम स्वीकृतिसम्बन्धी कार्य स्वचालित प्रणालीबाटै गरी समयमा नै श्रम स्वीकृति प्रदान गर्ने र कार्यालयमा कार्यरत अधिकृत तहका कर्मचारीलाई एफइआइएमएसको विवरण अनुगमनमा केन्द्रित गर्ने निर्णय मन्त्रालयले गरेको हो ।

सुरक्षार्थ प्रहरी नायब उपरीक्षकको कमाण्डमा टोली खटाइने

वैदेशिक रोजगार विभागको सुरक्षार्थ नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) को कमान्डमा सुरक्षाकर्मीको टोली खटाइने भएको छ । विभागको सुरक्षार्थ प्रहरी नायब उपरीक्षकसहितको टोली खटाइने विषयमा आवश्यक गृहकार्य तथा छलफल भइरहेको विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विभागको सुरक्षार्थ प्रहरी नायब उपरीक्षक खटाइने विषयमा गृहकार्य र छलफल भइरहेको छ, कहिलेसम्म राखिने यकिन तय हुन बाँकी छ ।” विभागमा बढ्दो सेवाग्राहीको चाप र हुल हुज्जत हुन थालेपछि विभागले सुरक्षाकर्मी माग गरेको जनाइएको छ । विभागको सुरक्षार्थ प्रहरी नायब उपरीक्षकको कमान्डमा सुरक्षाकर्मीको टोली खटाउने विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्णय गरेर गृह मन्त्रालयलाई पठाएको थियो ।

गृह मन्त्रालयले भने हालसम्म कुनै निर्णय नगरेको बताइएको छ । गृह मन्त्रालयबाट लामो समयसम्म पनि कुनै पहल अगाडि नबढेपछि विभागले नै सक्रियता देखाएको जनाइएको छ । दिनदिनै ठगीका घटना बढ्दै जाने र विभागमा आएर अनावश्यक होहल्ला गर्नुका साथै काममा अवरोध सिर्जना हुँदै आएको सूचना अधिकारी सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार हाल विभागमा सादा पोशाकमा प्रहरी खटाइएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिक दिनप्रतिदिन ठगिदै आएका घटनाका उजुरी विभागमा दिनहुँ बढ्दै गएको विभागले जनाएको छ ।

‘नागरिकतालगायत संवेदनशील विषयमा सरकार गम्भीर हुनुपर्छ’

काठमाडौँ – सांसद प्रकाश अधिकारीले नागरिकतालगायत अति संवेदनशील विषयमा सरकार गम्भीर भएर समस्या समाधान गर्नुपर्ने बताउनुभएको छ ।

सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०-८१ को बजेटमाथिको छलफलमा भाग लिनुहुँदै उहाँले भन्नुभयो, “बजेटमा आफ्नो अर्थतन्त्र विकास गर्नका लागि त्यस्तो कुनै प्रावधान छैन, कृषि उत्पादनको ठोस् व्यवस्था छैन, किसानलाई प्रोत्साहन गर्ने ठोस् प्रस्ताव छैन ।” सांसद अधिकारीले आफ्नै स्रोत÷साधनको उपयोग नगरुञ्जेल मुलुकमा विकासले गति लिन नसक्ने उल्लेख गर्नुभयो ।

सधैँ ऋण र अनुदानमा मुलुक चलाउन नहुने धारणा राख्दै उहाँले लोकतन्त्रलाई बलियो बनाउने कार्यक्रममा जोड दिनुपर्ने बताउनुभयो । “सन्तुलन र समानुपातिक विकासका लागि मधेस, कर्णाली, सुदूरपश्चिम र पिछडिएको समुदायका लागि बजेट बढाउनुपर्छ”, सांसद अधिकारीले भन्नुभयो ।

सांसद प्रभु साहले अर्थतन्त्रको मुख्य चुनौती आर्थिक अभाव भएको उल्लेख गर्दै किसानलाई समस्या हुने गरी करको दायरा बढाउन नहुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “कूल बजेटको ८० प्रतिशत केन्द्रमै केन्द्रित गरेपछि सङ्घीयताको विकास कसरी हुन्छ ? मुलुकको आवश्यकताभन्दा पनि नेताहरुको वरिपरि बजेट केन्द्रित भएको छ ।”

सांसद अञ्जनी श्रेष्ठले बजेटको समर्थन गर्दै अर्थतन्त्रलाई गतिशील गर्ने गरी र पिछडिएको समुदायलाई प्राथमिकता दिएर बजेट ल्याइएको टिप्पणी गर्नुभयो । किसानका समस्या समाधन गर्नेतर्फ बजेटले प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो ।

सांसद श्रेष्ठले भन्नुभयो, “नेपाल प्राकृतिक रुपमा धनी छ, त्यसको उपयोग गर्ने गरी बजेट ल्याइएको छ, दलित, महिला, ज्येष्ठ नागरिक, शिक्षा, स्वास्थ्य र रोजगारीलाई बढी प्राथमिकता दिएको छ, जुन सकारात्मक छ ।”

सार्वजनिक यातायातलाई वातावरणमैत्री बनाउने गरी बजेटमा समावेश गर्नुपर्ने र कारागार बनाउँदा ज्येष्ठ नागरिक, बालबालिका र महिलामैत्री बनाउनुपर्ने सांसद श्रेष्ठको भनाइ छ ।

बीस आयोजनाका लागि २१ करोड

झापा – झापामा २० वटा आयोजना सञ्चालन गर्न सङ्घीय सरकारले रु २१ करोड ८० लाख बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८०÷२०८१ का लागि समपुरक अनुदानमार्फत स्थानीय तहबाट सञ्चालन हुने आयोजनाका लागि सो रकम विनियोजन गरिएको हो ।

राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको विवरणमा जिल्लाका विभिन्न पालिकामा २० वटा आयोजना परेका थिए । समपुरक अनुदानमार्फत अर्जुनधारा नगरपालिकामा खानेपानीका लागि रु ७५ लाख बजेट विनियोजन भएको छ । शनिश्चरे खानेपानी तथा लटरे खानेपानी आयोजना स्तरोन्नति तथा विस्तारका लागि उक्त बजेट विनियोजन भएको हो ।

योसँगै उक्त नगरपालिकामा विपद् व्यवस्थापनका लागि रु ७० लाख विनियोजन गरिएको छ । विनियोजित रकमले ठूलो नेते खोलामा तटबन्धन गर्ने नगरप्रमुख वलदेवसिंह गोम्देनले बताउनुभयो ।

यता बाह्रदशी गाउँपालिकामा रहेको गौरीशङ्कर माध्यमिक विद्यालयको भवन निर्माणका लागि रु ५० लाख बजेट विनियोजन भएको छ ।सोही गाउँपालिका–७ स्थित डाँगीबारीमा रहेको उक्त विद्यालयको भवन निर्माणका लागि सो रकम उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष देवीन्द्रप्रसाद चम्लगाईंले बताउनुभयो । सो विद्यालय गाउँपालिकाको नमुना विद्यालयका रुपमा रहेको छ ।

भद्रपुर नगरपालिकामा समावेशीकरण तथा मूलप्रवाहीकरणका लागि रु दुई करोड बजेट विनियोजन भएको छ । तीनवर्षे आयोजनाका रुपमा नगरमा रहेका सन्थाल समुदायका लागि आवास कार्यक्रमअन्तर्गत सो रकम विनियोजित भएको हो । यता विर्तामोड नगरपालिकामा खाद्य सुरक्षा कार्यक्रमका लागि रु दुई करोड बजेट विनियोजन भएको छ ।

बुद्धशान्ति गाउँपालिकामा फोहरमैला व्यवस्थापनका लागि रु ९० लाख बजेट विनियोजन भएको छ । तीनवर्षे उक्त आयोजनामा फोहरमैला व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइड विथइन सिनिरेशनको काम गरिने जनाइएको छ । सोही गाउँपालिको विजयपुरस्थित आदर्श मा.वि.कोे भवन निर्माणका लागि रु ७० लाख विनियोजन भएको छ ।

दमक नगरपालिकामा विद्यालयको पूर्वाधार निर्माणका लागि रु दुई करोड विनियोजन भएको छ भने गौरादह नगरपालिकामा खानेपानीका लागि रु एक करोड ५० लाख विनियोजन भएको छ ।

गौरादाहनगरपालिका–५ को चान्दु खोला ८ नम्बरको बाँध (चान्दु) खानेपानी तथा सरसफाई आयोजनाका लागि सो रकम छुट्याइएको हो ।
गौरीगञ्ज गाउँपालिकामा खानेपानी आयोजनाका लागि लागि रु ५० लाख विनियोजन भएको छ । खजुरगाछी खानेपानी आपूर्ति आयोजनाका लागि सो बजेट विनियोजन भएको हो ।

यसैगरी फोहोरमैला व्यवस्थापनका लागि गौरीगञ्ज गाउँपालिकालाई रु ७० लाख विनियोजन भएको छ । विनियोजित रकम ल्याण्डपिल्ड साइड निर्माण तथा व्यवस्थापनका लागि उपलब्ध गराइएको हो ।

हल्दिबारी गाउँपालिकामा खानेपानी आयोजना सञ्चालनका लागि रु एक करोड १५ लाख बजेट विनियोजन भएको छ । विनियोजित बजेटले हल्दिबारी गाउँपालिकाका विभिन्न स्थानमा खानेपानीको पाइप बिस्तार गरिने गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले बताउनुभयो ।

झापा गाउँपालिकामा आदिवासी, जनजाति, मधेशी, मुस्लिम, दलितलगायत विपन्न वर्गका लागि आवास निर्माण गर्न रु एक करोड १५ लाख बजेट विनियोजन भएको छ । विनियोजित बजेटले उक्त गाउँपालिकाको वडा नं ३, ४ र ५ मा आवास निर्माण गरिने गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताउनुभयो । विपन्न आवास कार्यक्रमका लागि सो रकम प्राप्तहुने अध्यक्ष साहको भनाइ थियो ।

कचनकबल गाउँपालिकामा खानेपानीका लागि रु एक करोड १५ लाख विनियोजन भएको छ । गाउँपालिकाको वडा नं ३, ६ र ७मा खानेपानीको पाइपलाइन बिस्तारकालागि सो रकमविनियोजन भएको हो ।

कमल गाउँ पालिकामा महेन्द्ररत्न मा वि को भवननिर्माणका लागि रु एक करोड बजेट विनियोजन भएको छ । कमलगाउँपालिकामा रहेको लगनपुर स्वास्थ्यचौकीको भवन निर्माणका लागि रु ८० लाख विनियोजन भएको छ ।

कनकाई नगरपालिकाभित्र फोहोरमैला व्यवस्थापनका लागि रु दुई करोड विनियोजन भएको छ । यसबाट जामुनबारी चोकबाट वनपथ हुँदै बायोग्यास प्लान्टसम्म जाने पूर्वाधार निर्माण गरिने नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो ।

मेचीनगरपालिकामा विपद् व्यवस्थापनका लागि रु एक करोड विनियोजन भएको छ । निन्दा रिभर बैंक इन्बैंकमेन्ट निर्माणका लागि सो रकम विनियोजन भएको हो । त्यस्तै आदर्श माविको विद्याल यभवन निर्माणका लागि रु एक करोड १५ लाख विनियोजन भएको छ ।
शिवसताक्षी नगरपालिकामा फोहोरमैला व्यवस्थापनका लागि रु एक करोड १५ लाख विनियोजन भएको छ । रासस

युवा स्वरोजगार र उद्यमशीलता सरकारको प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको आगामी वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम र बजेटमा युवा स्वरोजगार एवं उद्यमशीलताको कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ ।

राष्ट्रिय युवा परिषद्ले सेन्ट जेभियर कलेजको सहकार्यमा आयोजना गरेको नमुना संयुक्त राष्ट्रसङ्घ, २०२३ कार्यक्रमको आज यहाँ उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले नेपाल कृषि, जलस्रोत, ऊर्जा, जडीबुटी, पर्यटनलगायतमा सम्भावनाको देश भएकाले यीमार्फत स्वरोजगार र उद्यमशीलतामा जोड दिइने उल्लेख गर्नुभयो । वर्तमानको आधारस्तम्भका रुपमा रहेका युवा ६० लाखभन्दा बढीको सङ्ख्यामा रोजगारीका लागि विदेशिएकाले स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न लागिएको उहाँको भनाइ छ । हरेक क्षेत्रमा युवा परिचालन गरेर काम गर्न सकिने उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो ।

“हरेक क्षेत्रमा सम्भावना भएर पनि नेपाललाई विकसित किन बनाउन सकिएन भनी युवाले सोच्नु पर्नेछ, समस्या राजनीतिमा छ, राजनीतिलाई सफा गर्ने काम हाम्रो हो, युवाले राजनीतिबाट भागेर समस्या समाधान हुँदैन, समस्या समाधानका लागि युवा राजनीतिमा लाग्नुपर्छ, युवाले देशमै बस्ने सङ्कल्प गर्नुपर्छ, राजनीतिमा सहभागिता जनाउनुपर्छ, राजनीतिक नेतृत्वले समृद्धिका लागि काम गर्नमा कमजोरी गरेको छ, यसमा युवाको सक्रियता आवश्यक छ”, उहाँले भन्नुभयो ।

‘पढ्दै कमाउँदै र कमाउँदै पढ्दै’ कार्यक्रम पनि सरकारले युवालाई नै लक्षित गरेर आगामी वर्षमा सञ्चालन गर्न लागेको उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिनुभयो । नेपालका मौलिक संस्कृतिलाई रक्षा गर्दै यसमा विज्ञान र प्रविधिलाई पनि जोडेर युवा वर्ग अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । जीवनको मूल्य स्थापित गर्ने गरी अध्ययन अघि बढाउन, शारीरिक श्रमलाई निरन्तरता दिन र नियमितरुपमा ध्यान गर्न उपप्रधानमन्त्री श्रेष्ठले युवा वर्गलाई आह्वान गर्नुभयो ।

कार्यक्रममा नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हाना सिङर हाम्डे, विश्व वन्यजन्तु कोषका नेपाल प्रतिनिधि डा घनश्याम गुरुङलगायतले युवा वर्गलाई रचनात्मक काममा लगाउन यस्ता कार्यक्रमले सहयोग गर्ने उल्लेख गर्नुभयो ।

विसं २०७८ को जनगणनाअनुसार नेपालमा ४२ दशमलव ५६ प्रतिशत १६ देखि ४० वर्ष उमेरको जनसङ्ख्या रहेको छ । यो समूहबाट छनोट गरी ल्याइएका युवाले चार दिनसम्म दिगो विकास लक्ष्यलगायत समसामयिक विषयमा संवाद, छलफल र साक्षात्कार कार्यक्रम गरिने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराई विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेता डा. बाबुराम भट्टराई विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

आइतबार सर्वोच्चमा प्रधानमन्त्री प्रचण्ड र भट्टराईलाई कारबाही गर्न माग गरेको रिट दर्ता भएको हो ।

सशस्त्र युद्धका बालसेना लेनिन विष्टले आफू जस्ता अबोध नाबालकलाई तत्कालीन माओवादीले बालसेनाको रुपमा प्रयोग गरी जबर्जस्ती अयोग्य लडाकू भनेर शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै प्रचण्ड र भट्टराईलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दिएका हुन् ।

यसअघि विष्टको रिट सर्वोच्च प्रशासनले संक्रमणकालीन न्याय अनुरुप निरुपण हुने भन्दै रिट दरपीठ गरिदिएको थियो । दरपीठविरुद्ध विष्टले दिएको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गत शुक्रबार रिट दर्ता गर्न आदेश दिएको छ ।

उक्त रिटमाथि ३० जेठमा सुनुवाइको मिति तोकिएको छ ।

सांसदहरु भन्नुहुन्छ, ‘बजेट सन्तुलित देखिएन’

काठमाडौँ – सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा समेटिएका कार्यक्रम सन्तुलिन नभएको, नीति तथा कार्यक्रम र बजेट पनि तालमेल हुन नसकेको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै उहाँहरुले वर्तमान आर्थिक समस्याको दीर्घकालीन समाधान खोज्ने र वितरणमुखी कार्यक्रमलाई निरुत्साहित हुनेगरी बजेटमा समेट्न सुझाउनुभयो ।

सांसद महेन्द्रबहादुर शाहीले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट सन्तुलित नरहेको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रम र बजेटबीच तालमेल नदेखिएको जिकिर गर्नुभयो । सांसद शाहीले भन्नुभयो, “बजेट असन्तुलित छ । नीति तथा कार्यक्रम र बजेटमा तालमेल देखिदैन । बजेट मन्त्री र पहुँचवालाको क्षेत्रमा बढी वितरण भएको देखिन्छ । यो प्रवृत्ति रोकिनुपर्छ ।”

सांसद शाहीले विकास पूर्वाधारमा पछि परेको कर्णाली क्षेत्रमा बजेट कम भएको गुनासो गर्नुभयो । कर्णालीको विकास र समृद्धिका लागि बजेटले प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सांसद शिशिर खनालले बजेटमा वातावरणीय प्रभाव स्थिर, वनमा सहजिकरण, ‘स्टार्टप र इन्नोभेसन’लाई प्राथमिकता, वैदेशिक लगानी भित्र्याउनेजस्ता कार्यक्रम समेटिए पनि केही अपुग विषयलाई समेट्न सकेका खण्डमा बजेट प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस वर्षको राजस्व सङ्कलन लक्ष्यमा पुग्न नसक्ने देखिएको र अर्थतन्त्र सुधारका प्रभावकारी कार्यक्रम आउन नसकेको उल्लेख गर्दै सङ्घीयता सवलीकरणका लागि बजेटले प्राथमिकता नदिएको बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षा, सहरमा ठूला विद्यालय निर्माण, सहरी व्यवस्थापनलगायत कार्यक्रमलाई बजेटले ध्यान नदिएको बताउनुभयो ।

सांसद रोशन कार्कीले बजेटमा केही कुरा राम्रा रहे पनि कतिपय कार्यक्रम महत्वाकाङक्षी रहेको बताउनुभयो । उहाँले महिला र पछाडि परेका समुदायको उत्थानका लागि बजेटले कार्यक्रम समेट्न नसकेको टिप्पणी गर्नुभयो । निर्वाचन क्षेत्र पूर्वाधार बनाउन समानुपातिक सांसदलाई पनि कार्यक्रममा समेट्नुपर्ने सुझाउनुभयो । उहाँले कर प्रणाली न्यायोजित नरहेको र विनियोजित कार्यक्रम निर्वाचन क्षेत्रका आधारमा सन्तुलिन नभएको गुनासो गर्नुभयो ।

कुलुङ तथा मेवाहाङलाई आदिवासी जनजातिमा सूचीकृत गर्न प्रधानमन्त्रीसमक्ष माग

काठमाडौँ – सङ्खुवासभा, भोजपुर, सोलुखुम्बु, सुनसरीलगायत नेपालका २२ जिल्लामा बसोबास गरिरहेका कुलुङ तथा मेवाहाङ समुदायलाई आदिवासी जनजातिको सूचीमा सूचीकृत गर्न माग गरिएको छ ।

सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य एवं पूर्वराज्यमन्त्री दीपक खड्काको नेतृत्वमा किरात कुलुङ उत्थान समिति र मेवाहाङ केन्द्रीय समितिका पदाधिकारीले एवं सोही क्षेत्रका जनप्रतिनिधिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर कुलुङ तथा मेवाहाङ समुदायलाई आदिवासी जनजातिको सूचीमा सूचीकृत गर्न माग गरेको हो ।

टोलीले लामो समयदेखि सङ्खुवासभा, भोजपुर, सोलुखुम्बुलगायत पूर्वी जिल्लामा बसोबास गर्दै आएका कुलुङ, मेवाहाङ जातिलाई आदिवासी जनजातिको सूचीमा सूचीकृत प्रधानमन्त्रीसमक्ष आग्रह गरेको हो ।

भेटमा प्रधानमन्त्री दाहालले उक्त जातिलाई आदिवासी जनजातिको सूचीमा सूचीकृत गर्न सरकारकोतर्फबाट आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कुलुङ, मेवाहाङ जातिसँगै अन्य जातिसमेत आदिवासी जनजातिमा सूचीकृत हुन छुटेकाले सबैलाई सूचीकृत गर्न सरकार लाग्ने प्रधानमन्त्री दाहालको भनाइ छ ।

आदिवासी जनजाति प्रतिष्ठान ऐन, २०५८ को अनुसूचीमा कुलुङ, मेवाहाङ जाति उल्लेख नभएका कारण उक्त जाति आदिवासी जनजातिको सूचीमा सूचीकृत हुन नसकेको हो । सङ्खुवासभाको सिलिचोङ, भोजपुरको शाल्पा सिलिचो, सोलुखुम्बुको महाकुलुङ, सुनसरीको देवीगाउँलगायत २२ जिल्लामा एक लाख ५० हजार सङ्ख्यामा कुलुङ जाति बसोबास गरिरहेका छन् ।

आदिवासी जनजातिको अनुसूची अद्यावधिक गर्ने उच्चस्तरीय आयोगका तत्कालीन अध्यक्ष डा ओम गुरुङले सूचीकृत गर्नुपर्ने समुदायमा कुलुङ र मेवाहाङ जातिलाई राखेर प्रतिवेदन सरकारलाई बुझाए पनि उक्त जाति हालसम्म पनि आदिवासी जनजातिको सूचीमा सूचीकृत हुन सकेको छैन ।

उक्त जातिलाई आदिवासी जनजातिको सूचीमा सूचीकृत गर्ने विषयमा सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य खड्काले प्रतिनिधिसभाको बैठकमा आवाज उठाउँदै आए पनि हालसम्म सुनुवाइ हुन सकेको छैन । भेटमा प्रतिनिधिसभा सदस्य खड्कासँगै कोसी प्रदेशका सांसद राजेन्द्र कार्की, सिलिचोङ गाउँपालिकाका अध्यक्ष भूपालराज राईलगायत कुलुङ तथा मेवाहाङ जातिका अध्यक्ष तथा प्रतिनिधिको सहभागिता थियो ।

त्रिभुवन विमानस्थलमा गोली चल्यो

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गोली चलेको छ ।

आइतबार विमानस्थलमा लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागुऔषध कारोबारी एक युवामाथि गोली प्रहार गरेको हो ।

उक्त युवालाई नियन्त्रणमा लिन खोज्दा घुँडामुनी गोली लागेको विमानस्थल प्रहरी स्रोतले बतायो ।

पछ्याउँदै गरेको ब्युरोको टोलीले पक्राउ गर्न खोज्दा ती युवाले बल प्रयोग गरेपछि घुँडामुनि गोली हानिएको हो ।

संसद बैठक : अर्थमन्त्रीले जवाफ दिनुहुने

काठमाडौँ – प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्ने कार्यसूची छ ।

बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले राजस्व र व्ययको वार्षिक अनुमान माथिको छलफलमा उठेका प्रश्नको उत्तर दिनुहुने कार्यसूची छ । अर्थमन्त्री डा महतले आजै विनियोजन विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० संसद्मा प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

त्यस्तै, विनियोजन विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राख्नुभएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने समेत आजको कार्यसूचीमा राखिएको छ ।

प्रकाश ढकालको नयाँ गीत हिरो पोई सार्वजनिक

काठमाडौँ – सर्वप्रिय गायक तथा सर्जक प्रकाश ढकालको नयाँ गीत हिरो पोई सार्वजनिक भएको छ ।

सुनिता बुढा क्षेत्रीको स्वर रहेको गीतलाई गायक ढकालले नै लेखेर सङ्गीत भरेका हुन भने राकेश सोनीले सङ्गीत संयोजन गरेका छन् । हिरो पोइ को अडियो गोबिन्द अनेकको रेकर्डिङ्ग तथा कमल थापाको मिक्सिङ्ग मास्टरीङ्गमा प्रिज्म स्टुडियोमा तयार भएको हो । 

शम्भु चालिसेको छायाकंन,रमेश बि.क.रसाईलीको सम्पादन,रबिन बि.क.को रंग संयोजन,मुकेश नेपालीको नृत्य रचना र प्रकाश ढकालको निर्देशनमा तयार गीतको भिडियोमा नारायणी खत्री,सञ्चिता बोलाखेसँगै गायक ढकालको पनि अभिनय देख्न सकिन्छ । 

आफ्ना पछिल्ला सृजना बैमानी मोया र मोयाको जुठोले जस्तै नयाँ गीत हिरो पोईले पनि दर्शक श्रोताको भरपुर माया पाउनेमा गायक ढकाल विश्वस्त रहेको छन् ।

आइतबार सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ ।​​​​​​- नेपाल सुनचाँदी व्यवसायी महासघले आइतबार सुनचाँदीको मूल्य स्थिर कायम रहेको जनाएको छ । महासंघले आइतबारको मूल्यसूची तय गर्दै सुन र चाँदीको मूल्य स्थिर कायम भएको जनाएको हो ।

महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ कायम छ । गत साताको शुक्रबार पनि छापावाल र तेजाबी सुनको मूल्य तोलामा यही कायम थियो ।

यस्तै, आइतबार चाँदीको मूल्य पनि स्थिर कायम छ । गत साताको शुक्रबारको तुलनामा आज पनि सोही मूल्यमा सुनको कारोबार भइरहेको छ । महासंघअनुसार आइतबार चाँदीको मूल्य तोलामा १४ सय ५५ रुपैयाँ कायम छ ।

सहर सफा बनाउने इन्दौरको अनुभव

काठमाडौँ –   सहरमा कही कतै पनि फोहर देख्न पाइँदैन । धुलो त परेको कुरा । मुख्य चोकदेखि साना गल्ली तथा चोकसमेत सफा र चिटिक्क छन् । जताततै रुख रोपिएका छन् । त्यसमा नियमितरुपमा पानी हालिन्छ । 

 फोहर राख्नका लागि मिलाएर राखिएका डस्टबिन छन् । सहरवासीले कुन प्रकारको फोहर हो, हेरेर त्यसैमा राख्छन् । कोही कसैले पनि सार्वजनिक स्थानमा फोहर गर्दैनन् पनि । मानिसमा चेतनाको विकास भएको छ, आफ्नो सहर, आफ्नो टोल र समुदायलाई कसरी स्वस्थ र हराभरा बनाउने । स्थानीय सरकार पनि उत्तिकै प्रभावकारी छ । सबै प्रकारको सहयोग उपलब्ध गराएको छ, आफ्ना नागरिकलाई । प्रदेश सरकार र सङ्घीय सरकारले पनि त्यसमा आडभरोसा गरेको छ । 

धुलो, धुवाँ र फोहररहित सहर बनाउने कुरा आफैँमा सामान्य र चानचुने विषय नै होइन । गरे सम्भव हुँदोरहेछ । भागवत गीतमा भने जस्तै ‘तिमी आँट म पु¥याउँछु ।’ यहाँ भएको यस्तै छ । फोहर, दुर्गन्ध र धुवाँ तथा धुलोले आक्रान्त भएको काठमाडौँको अवस्था होइन यो । यो त, छ सय ८६ माइल अर्थात् एक हजार एक सय चार किलोमिटर टाढा रहेको भारतको मध्यप्रदेशस्थित इन्दौरको अवस्था हो । 

भारतको सबैभन्दा स्वच्छ र सफा सहरको नाम राखेको इन्दौरको सकारात्मक अनुभवलाई अन्यत्र पनि अनुकरण गर्न खोजिएको छ । भारत सरकारले त्यसको प्रचारप्रसार मात्रै गरेको छैन, अनुभव साटासाट समेत गराएको छ । कुनै समय काठमाडौँ उपत्यका जस्तै फोहर रहेको इन्दौरले कसरी प्रगति ग¥यो त ? आम मानिसमा चासो हुनु स्वाभाविक छ । 

 काठमाडौँ उपत्यकामा बेलाबखतमा फोहरको समस्या बल्झने गरेको छ । फोहर व्यवस्थापन कसरी गर्ने भन्नेबारेमा सङ्घीय सरकार र स्थानीय सरकारको टाउको दुःखाइको विषयसमेत बन्ने गरेको छ । जहाँ समस्या त्यहाँ समाधान । जहाँ फोहर त्यहाँ मोहोर भन्ने नारालाई वास्तवमै आत्मसात् गरेको इन्दौरको सफल अभ्यास नेपालका लागि पनि सफल उदाहरण बन्न सक्छ । 

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही जेठ १७ गतेदेखि २० गतेसम्म गर्नुभएको औपचारिक भारत भ्रमणका क्रममा इन्दौर र उज्जैनकोसमेत भ्रमणको कार्यक्रम थियो । बर्षेनी लाखौँ पर्यटक भित्र्याउन सफल ती दुई सहरको आआफ्नै विशेषता र महत्व पनि छन् । एकातिर धार्मिक पर्यटन, अर्कोतर्फ सूचना प्रविधि र औद्योगिक विकासका फड्को मात्रै गएको इन्दौरले राखेको स्वच्छ भारत अभियानको नामले सुनमा सुगन्ध थपे जस्तै भएको छ । 

फोहरलाई मोहर अनि त्यसैलाई पुनःप्रयोगको सफल उदाहरण बनेको छ इन्दौर । यसको पछाडिको रहस्य के होला ? भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री प्रचण्ड र भ्रमण दलमा सहभागी प्रतिनिधिमण्डलले पनि जान्ने कोशिस ग¥यो । यहाँ फोहर उत्पादनको स्रोत, घरमा नै फोहरलाई विभिन्न छ भागमा विभक्त गरिन्छ । हरेक दिन नै इन्दौर नगर निगमको सवार साधनले ती फाहोर सङ्कलन गर्छ । सो सवारी साधनमा नै कुहिने, नकुहिने, प्लास्टिक, औषधिजन्य फोहर सङ्कलन गर्ने व्यवस्था गरिएको छ । इन्दौर सहरको ८५ वडामा पाँच सयभन्दा बढी फोहर सङ्कलन गर्ने सवारीसाधन पुग्छन् र सङ्कलन गर्छन् । मासु तथा माछा पसलबाट निस्कने फोहर सङ्कलनका लागि छट्टै सवारीसाधनको व्यवस्था गरिएको छ । 

सङ्कलित फोहरलाई पहिलो चरणको व्यवस्थानका लागि १० वटा ट्रान्सर्फर सेन्टर स्थापना गरिएको छ । ती केन्द्रलाई स्वचालित बनाइएको छ । जैविक फोहरलाई विकेन्द्रित गरिन्छ । नगर निगमले फोहर व्यवस्थापनका लागि छुट्टै कानुन बनाएको छ । होटल, अस्पताल तथा धेरै फोहर उत्सर्जन गर्ने स्थानमा नै फोहर व्यवस्थापनका लागि निगमले विशेष व्यवस्था गरिदिएको छ । सहरको सबैभन्दा ठूलो तरकारी बजारमा बायोग्यास उत्पादनका लागि प्लान्ट स्थापना गरिएको छ । तरकारी बजारबाट दैनिक निस्कने २० देखि २५ टन फोहर त्यहीँ व्यवस्थापन गरिन्छ । प्लान्टले दैनिक निस्कने एक हजार किलो बराबरको बायोग्यास इन्दौर नगर निगमले सञ्चालन गर्ने शहरी बसमा प्रयोग गरिन्छ । त्यसबाट बाँकी रहने अवशेषलाई जैविक मलका रुपमा प्रयोग गरिन्छ । यसले एकातिर इन्धन खरिदका लागि जाने ठूलो रकम बचेको छ भने अर्कोतर्फ कृषि उत्पादनमा वृद्धि भएको छ । 

सहरमा रोपिएका रुख तथा बिरुवाको पातलाई समेत मल बनाइएको छ । ती मल नगर निगमले रोपेका ती बिरुवा वा रुखमा नै प्रयोग गरिन्छ । सहरभित्र कपाल काट्ने पसलबाट निस्कने कपाल व्यवस्थापनका लागि छुट्टै संयन्त्र बनाइएको छ । स्थानीय नेहरु पार्क र इन्दौर चिडियाखानाबाट निस्कने फोहर व्यवस्थापनका लागि ‘अर्गानिक बेस्ट कन्भटर मेसिन’ राखिएको छ । त्यसबाट दैनिक निस्कने फोहर व्यवस्थापन गरेर जैविक मल बनाइन्छ । प्लास्टिकजन्य फोहर व्यवस्थापनका लागि प्लास्टिक क्रसिङ मेसिन राखिएको छ । सार्वजनिक सवारीसाधनमा फोहोर फाल्नका लागि डस्टबिन राखिएको छ । 

दैनिक तीनदेखि चार पटकसम्म नगर निगमको विशेष बाहनले सडक बढार्ने व्यवस्था मिलाइएको छ । घरमा नै कुहिने फोहर व्यवस्थापन गरेर मल बनाउनका लागि प्रेरित गरिएको छ । त्यसबाट स्रोतमा नै कम फोहर उत्पादन हुन थालेको छ । यसलाई सहरभर नै अभियानका रुपमा अगाडि बढाइएको छ । प्लास्टिक तथा नकुहिने फोहर सङ्कलनका लागि नगर निगमले नै व्यवस्था गरेका व्यवसायीले घरघर पुगेर खरिद गर्ने व्यवस्था गरिएको छ । 

 वर्षौंदेखि सहरको सार्वजनिक स्थानमा थुप्रिएको १२ लाख टन बढी फोहरलाई बायोरेमिडिशन प्रक्रियाबाट मल बनाइएको छ । त्यसबाट सहरमा नयाँ पार्क निर्माण गरी हरियाली प्रवद्र्धन गरिएको छ । बाँकी रहेका प्लास्टिकजन्य वा अन्य फोहरको पनि विशेष तवरले व्यवस्थापन गरिएको छ । फोहरमा फालिएका तर पुनःप्रयोग गर्न सकिने फोहरका लागि छुट्टै प्रबन्ध गरिएको छ । ती फोहर सिमेन्ट प्लान्ट वा प्लास्टिकजन्य सामग्री निर्माणका लागि उपयोग गरिन्छ । सो कार्यका लागि विशेष सुविधासहितको रोजगारी पनि दिइएको छ । 

दैनिक सङ्कलन हुने छ सय टन बढी फोहरलाई विशेष फोहर प्रशोधन केन्द्रमा लगिन्छ । त्यसलाई २८ दिनको विशेष प्रक्रियाबाट ८० टन बराबरको मल उत्पादन गरिन्छ । सो मल प्रतिकिलो खुला दुई रुपैयाँ र प्याकिङ गरिएको मल तीन रुपैयाँ भारुमा बिक्री गरिन्छ । उक्त मल स्थानीय किसानले खरिद गरेर लैजान्छन् भने बाँकी रहने फोहर स्थानीय पार्क तथा बिरुवाका लागि प्रयोग गरिन्छ । घर तथा आवास पुनःनिर्माणबाट निस्कने फोहर व्यवस्थापनका लागि छुट्टै प्रशोधन प्लान्ट स्थापना गरिएको छ । त्यसबाट इँटा वा सडकमा बिछ्याउने ब्लक निर्माण गरिन्छ । सो सामग्रीसमेत नगर निगमले आफ्नै नवनिर्माणमा प्रयोग गर्ने गरेको छ । 

खासमा केही वर्ष पहिलेसम्म इन्दौर यति स्वच्छ र सफा होला भन्ने धेरैलाई लागेको थिएन, तर अहिले वास्तविकतामा परिणत भएको छ । उनीहरु भन्छन्– खासमा यो त शुरुवात मात्रै हो, लामो यात्रा अझै बाँकी छ । स्वच्छता अभियानमा सन् २०१७ मा इन्दौर पहिलोपटक पहिलो नम्बरमा आउन सफल भएको छ । 

सहरलाई स्वच्छ बनाउनका लागि आम नगरबासीले सङ्कल्प नै गरेका छन् । त्यसलाई व्यावहारिकरुपमा कार्यान्वयन गरेका छन् । शुरुआती चरणमा सहरसफाईका लागि रेडियो, टेलिभिजन पत्रपत्रिका, बालपेन्टिङ गरेर जनचेतना जगाइयो । फोहर सङ्कलनका लागि गुड्ने सवारीसाधनमा जिपिएस जडान गरिएको छ । यस्तै ५० माइक्रोनभन्दा कम प्यास्टिक प्रयोगमा प्रतिबन्ध लगाइएको छ । 

निगमका प्रमुख कार्यकारी अधिकृत हर्षिका सिंहका अनुसार इन्दौरले वातावरण संरक्षण र फोहर व्यवस्थापन गरेर मात्रै ‘कार्बन क्रेडिट बिक्री गरेर’ झन्डै रु १० करोड भारु बराबरको आम्दानी गरेको छ । शहरमा बिजुलीको खर्च बचाउनका लागि सौर्य प्रणाली जडान गरिएको छ । त्यसका लागि ‘ग्रीन बण्ड’ बिक्री गरेर स्रोत सङ्कलन गरिएको थियो । त्यसबाट ६० मेगावाट क्षमताको सौर्य प्रणाली जडान गरिएको छ । उक्त बण्डलाई धर्ती बचाउने महाअभियानको नाम दिइएको थियो । 

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले फोहर व्यवसथापन केन्द्र, वायोग्यास उत्पादन स्थल, फोहरको पुनःप्रयोग वा व्यवस्थापन केन्द्रलगायतको स्थानको अवलोकन गर्नुभएको थियो । ती स्थानको अवलोकनपछि प्रधानमन्त्री प्रचण्डले इन्दौरको सफल अभ्यास नेपालका लागि समेत अनुकरणीय रहेको बताउनुभएको थियो । उहाँले नेपाल सरकारको तर्फबाट विशेष टोली नै बनाएर इन्दौरको फोहर व्यवस्थापनका बारेमा जानकारी लिन पठाउने बताउनुभएको थियो ।

काठमाडौँ उपत्यका र सहरी क्षेत्रको फोहर व्यवस्थापन गर्न नसकेर समस्यामा परेको सरकार र सरकारका कार्यकारी प्रमुखले नै त्यसमा विशेष चासो लिएर सकारात्मक अनुभवलाई यहाँ प्रयोग गर्ने सङ्कल्प गर्नुभएको छ । विशेषतः काठमाडौँ उपत्यकाका लागि यो तत्काल गरिहाल्नुपर्ने कामका रुपमा रहेको छ । त्यसका लागि आजैदेखि पहल थाल्नु जरुरी छ । केही वर्ष पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुरु गर्नुभएको ‘स्वच्छ भारत अभियान’ को सफल अभ्यास इन्दौरबाट काठमाडौँले सिक्दा केही फरक पर्देन । त्यसका लागि जागरुकता र प्रतिबद्धता भएमा फोहरमाण्डौँमा परिणत भएको काठमाडौँ उपत्यका पनि इन्दौर जस्तै सफा र स्वच्छ हुन सक्छ ।
 

अत्यधिक गर्मी, कैलाली र कञ्चनपुरका जनजीवन प्रभावित

दोधारा चाँदनी – केही दिनदेखि बढेको गर्मीले कैलाली,कञ्चनपुर लगायतका जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाले मङ्गलबारदेखि कैलाली, कञ्चनपुर लगायत जिल्लाको तापक्रम वृद्धि भएको जनाएको छ । कार्यालय प्रमुख सिङ्गल चौधरीले शनिबार ४० दशमलव छ डिग्री तापक्रम मापन गरिएको बताउनुभयो । “मङ्गलबारसम्म यहाँको तापक्रम ३७ डिग्री थियो अहिले बढेर ४० दशमलव छ पुगेको छ”, उहाँले भन्नुभयो, “बिहीबार र शुक्रबार ४० दशमलव पाँच डिग्री तापक्रम मापन गरिएको थियो ।”

महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरका मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले गर्मीमा अत्यावश्यक कामबाहेक बाहिर नआउन आग्रह गर्नुभयो । “गर्मीका कारण ज्वरो आउने, आलश्य हुने चक्कर आउनेलगायतका रोग हुन सक्छन् सबैले सतर्कता अपनाउनुपर्छ”, उहाँले भन्नुभयो, “बाहिर निस्कनुपरे छाता आढ्ने, चश्मा लगाउने प्रशस्त मात्रामा पानी खाने गर्नुपर्छ ।”

अत्यधिक गर्मी बढेपछि यहाँको जनजीवन प्रभावित बनेको हो । गर्मी बढेपछि कैलालीमा चार दिनका लागि विद्यालय बन्द गरिएको छ भने कञ्चनपुरमा जिल्ला समन्वय समितिले सूचना जारी गर्दै बिहान १० बजेभित्र मात्रै विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । “अहिले जिल्लामा दादुरा रुवेलाविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ, खोप केन्द्र पनि विद्यालयमै छन्”, उहाँले भन्नुभयो, “खोप अभियानका कारण बिहान १० बजेभित्र मात्रै विद्यालय सञ्चालन गर्न सबै पालिकालाई पत्राचार गरेका छौँ ।” गर्मीका कारण विद्यालय जाने बालबालिका र वृद्धवृद्धा बढी प्रभावित बनेका हुन् ।

दाइजोलाई लिएर दुई महिलाको हत्या

सर्लाही – दाइजोलाई लिएर यहाँका दुई छुट्टाछुट्टै घटनामा दुई महिलाको हत्या भएको छ । सर्लाही हरिपुर नगरपालिका वडा नं ३ स्थित फरहदवा र वडा नं ६ स्थित लक्ष्मीपुरमा दुई महिलाको हत्या भएको हो ।

वडा नं ३ स्थित फरहदवाका अब्दुल साह फकिरले अन्दाजी २३ वर्षीया श्रीमती ईदा खातुनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

सुवेदीका अनुसार अब्दुलले श्रीमतीलाई माइतबाट रु एक लाख नल्याएको भन्दै पटक-पटक मानसिक तथा शारीरिक यातना दिने गरेका थिए । यातनापछि ईदा माइत गएको तर छलफलपछि केही समय अगाडि उनी घर फर्केको स्थानीय इन्दी मन्सुरले बताउनुभयो ।

ईदा बुबा मन्सुर साह फकिरले अब्दुल र उनका परिवारले ईदालाई पटक-पटक शारीरिक र मानसिक यातना दिने गरेको आरोप लगाउनुभयो । “इदाका पाँच वर्षे छोरा कमलेनले भनेपछि मात्रै हत्या भएको थाहा भयो, शव हेर्न जाँदा ईदाको शरीरभरि माटो लागेको र मुखमा कपडा कोचिएको थियो”, बुबा साहले भन्नुभयो । कुटपिटपछि मृत्यु भएकी ईदालाई झुण्ड्याइएको थियो ।

घटनामा सङ्लग्न भएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । ईदाको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल सर्लाहीमा राखिएको प्रहरीको भनाइ छ ।

साथै वडा नं ६ स्थित लक्ष्मीपुरमा जल्दै गरेको अवस्थामा एकजनाको शव प्रहरीले नियन्त्रणमा लिएको छ । सोही स्थानमा बस्ने अन्दाजी ४५ वर्षिय इन्द्रकलादेवी साहलाई श्रीमान राजाराम साहले कुटपिट गरी घाइते बनाएपछि मृत्यु भएको प्रहरीको भनाइ छ । दाइजोको विषयमा विवाद हुँदा श्रीमानको कुटपिटबाट घाइते भएकी इन्द्रकलालाई उपचार नगरी घरमै राखिएको र केही समयपछि मृत्यु भएको थियो ।

इन्द्रकलादेवीको शवलाई लखन्देही नदीमा दाहसंस्कार गर्न लागिएको खबर पाएपछि शवलाई जल्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियारले जानकारी दिनुभयो ।

“लालबन्दी र हरिवनको सिमानामा रहेको लखन्देही नदीमा जल्दै गरेको चिताबाट शवलाई नियन्त्रणमा लिई आधा जलेको शरीर बरामद गरी पोस्टमोर्टमका लागि प्रादेशिक अस्पताल सर्लाही पठाइएको छ”, पञ्जियारले भन्नुभयो । इन्द्रकलादेवीका श्रीमान राजाराम घटना भएकै दिनदेखि फरार छन् । शवलाई कानुनी प्रक्रिया पूरा नगरी जलाउन सहयोग गर्ने छ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ

लम्पीस्किनबाट विनयी त्रिवेणी प्रभावित

नवलपुर – घरपालुवा पशुचौपायामा प्रमुख स्वास्थ्य समस्याका रूपमा फैलिएको लम्पीस्किन रोगबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा ७० गाईभैँसी मरेका छन् । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरका अनुसार जिल्लामा हालसम्म लम्पीस्किनबाट ४५ गाई, १० बाच्छाबाच्छी, नौ भैँसी, तीन पाडापाडी तथा तीनवटा गोरु मरेका छन् ।

विज्ञ केन्द्रका प्रमुख डा ऋषभ गुरागाईँले लम्पीस्किनबाट जिल्लाको विनयी त्रिवेणी गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको बताउनुभयो । उहाँका अनुसार विनयी त्रिवेणी गाउँपालिकामा १९ वटा पशुचौपाया मरेका छन् । त्यसैगरी मध्यविन्दु नगरपालिकामा १६ तथा कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिकामा १०–१० वटा पशुचौपाया मरेका गुरागाईँले जानकारी दिनुभयो ।

हालसम्म जिल्लाका दुई हजार चार सय ५० पशुचौपायामा लम्पीस्किनको सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । केन्द्र प्रमुख डा चापागाईँका अनुसार जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा आठ सय २५, मध्यविन्दु नगरपालिकामा पाँच सय ४८, कावासोती नगरपालिकामा चार सय २५, हुप्सेकोट गाउँपालिकामा दुई सय ८५, गैँडाकोट नगरपालिकामा एक सय ८५, बुलिङटार गाउँपालिकामा ६९ तथा बौदीकाली गाउँपालिकामा ४६ पशुचौपायामा लम्पीस्किनको सङ्क्रमण देखिएको छ । लम्पीस्किन रोगबाट जिल्ला सबैभन्दा बढी गाई सङ्क्रमित भएका उहाँले बताउनुभयो ।

लम्पीस्किन देखिएका पशुचौपायामध्ये एक हजार सात सय १९ वटा गाई तथा २७ वटा पाडापाडीमा सङ्क्रमण देखिएको छ । “लम्पीस्किनबाट पशु मर्ने नै अवस्था होइन”, उहाँले भन्नुभयो, “लम्पीस्किनका कारण पशुचौपायाको शरीरमा आउने फोका पाक्ने र फुट्ने हुन्छ । सययमा उपचार भएन भने फोका फुटेको ठाउँबाट सङ्क्रमण फैलिएर पशुचौपायाको मृत्यु हुने गरेको छ ।” लम्पीस्किनको मुख्य उपचार खोप भएकाले पशुचौपायामा लम्पीस्किनको सङ्क्रमण नदेखिँदै उनीहरूलाई खोप लगाउनुपर्ने डा चापागाईँको भनाइ छ ।

जिल्लाका सबै पालिकामा निरन्तर अनुगमन तथा निगरानी गरेर भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले औषधि पठाउने काम गरिरहेको उहाँले बताउनुभयो । लम्पीस्किनविरुद्धको खोप लगाएमा पशुचौपायाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने भएकाले पशुपालक कृषक सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । लम्पीस्किन भाइरल रोग भएकाले लामखुट्टे, झिङ्गा तथा विभिन्न कीराको टोकाइबाट पशुलाई जोगाउनुपर्ने उहाँले सुझाव दिनुभयो ।

लम्पीस्किन रोगको सङ्क्रमणले पशुचौपायाको शरीरमा फोका निस्कने र पशुलाई कमजोर बनाई मृत्युको मुखमा पुर्याउने भन्दै डा चापागाईँले सङ्क्रमित पशुचौपायालाई अन्य पशुसँग नराख्ने, त्यस्ता वस्तुलाई आवतजावतमा रोक लगाउने, चरनमा नलैजाने, जैविक सुरक्षाका विधि अपनाउनुपर्ने बताउनुभयो । कृषकले पालेको पशुचौपायामा लम्पीस्किनको शङ्का लागेमा त्यस्ता पशुलाई अन्यबाट अलग गराएर तुरुन्त पशु चिकित्सकलाई खबर गर्नुपर्ने उहाँको भनाइ छ ।

हसंपुरमा मदिरारहित समाज निर्माण अभियान

गण्डकी – कास्की जिल्ला रुपा गाउँपालिकाको वडा नं ७ हंसपुरका बासिन्दा पछिल्लो समय मदिरारहित समाज निर्माण अभियानमा जुटेका छन् ।

मदिरा तथा लागुऔषध सेवनकर्ताका कारण विकृति एवं विसङ्गति बढेको जनाउँदै यसको अन्त्य गर्न टोलवासीको भेलाले मदिरा निषेधित अभियान सञ्चालन गरेको हो ।

स्थानीय विभिन्न सङ्घसंस्था, समाजसेवी, वुद्धिजीवीसहितको सहगितामा शनिबार वडाका हंसपुर गाउँ क्षेत्रका प्रत्येक पसलमा पुगेर मदिरा व्यवस्थापन तथा लागुऔषध नियन्त्रणका विषयमा सचेतनामूलक कार्यक्रम गरिएको टोलसुधार समितिका अध्यक्ष डिलबहादुर नेपालीले जानकारी दिनुभयो ।

लागुऔषधको प्रयोग तथा बिक्री–वितरणले मानिसको स्वास्थ्य बिग्रनुका साथै धन सम्पत्तिको समेत क्षति हुने भएकाले यसको नियन्त्रणको प्रयास थालिएको उहाँको भनाइ छ । महिला मिलन विकास समितिका सदस्य एवं स्थानीय स्वयंसेविका ताराकुमारी सापकोटाले सभ्य र समृद्ध समाज निर्माणको अभियानमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

उक्त क्षेत्रका प्रत्येक घरबाट एक जनताको सहभागिता रहेको सचेतना अभियानका क्रममा मदिरा तथा लागुऔषध निषेधित सूचना टाँस गरिएको जनाउँदै उहाँले भन्नुभयो, “सूचनालाई बेवास्ता गरेमा गाउँपालिका र प्रहरीको सहयोगमा कडाभन्दा कडा कारबाही गरिने छ ।”

गाउँपालिकाका अध्यक्ष नवराज ओझाले हंसपुरले सुरु गरेको अभियानमा आफ्नोतर्पmबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ग्रामीण क्षेत्रका प्रत्येक पसलमा मदिरा बिक्री वितरण हुने गरेको गुनासो आउन थालेपछि पालिकाकाले कार्यालय समयबाहेक र स्वीकृति लिएको पसलबाट मात्र मदिरा बिक्री–वितरण गर्ने अभियान सञ्चालन गरेको उहाँले बताउनुभयो ।

खडेरीको असर : खेतमै सुक्न थाल्यो धान र कोदाको बीउ

गलेश्वर – गर्मीका कारण म्याग्दीका किसानले खेतमा राखेको धानको बीउ खेतमा नै सुक्न थालेको छ ।
लामो समयदेखिको खडेरी र तापक्रम वृद्धिका कारण यहाँको लेकाली क्षेत्रमा समेत रोपाइँ सुरु हुन सकेकोे छैन भने तल्लो क्षेत्रमा धानको बीउ, सिमीलगायत बर्खेबाली खेतबारीमै सुक्न थालेको किसानले बताएका छन् ।

पानी नपर्दा लेकाली क्षेत्रमा कोदोसमेत रोप्न नपाएको मालिका गाउँपालिका–२ का कृष्णबहादुर विकले जानकारी दिनुभयो । “यतिबेला धमाधम कोदो र धान रोपाइँ सुरु हुने बेला भए पनि वर्षा नभएका कारण रोपाइँ त परको कुरा बीउसमेत राम्ररी फस्टाउन पाएको छैन”, उहाँले भन्नुभयो ।

जिल्लाको बेनी नगरपालिकाका उपल्लो भेग र मालिका, धवलागिरि, मङ्गला, अन्नपूर्ण र रघुगङ्गाका लेकाली क्षेत्रमा विगतका वर्षमा यतिबेला कोदो रोपाइँ सकिन्थ्यो । केही ठाउँमा धान रोपाइँ भइसकेको हुन्थ्यो । तर यस वर्ष भने जिल्लामा कतै पनि रोपाइँ सुरु हुन नसकेको किसानको भनाइ छ । लामो समयदेखि वर्षा नभएका कारण धान र कोदोको बीउ सुक्न थालेको छ भने मकैलगायत खेतबारीमा लगाएका अन्य गेडागुडी खेतीसमेत ओइलाउन थालेको बेनी –२ का किसान नारायण शर्मा सापकोटाले बताउनुभयो ।

“यो वर्ष जस्तो खडेरी र चर्को गर्मी कहिल्यै भएको थिएन । गत वर्ष कोदो रोपेर धान रोपाइँ सुरु गरेका थियौँ”, उहाँले भन्नुभयो “यस वर्ष अहिलेसम्म कोदोसमेत रोप्न पाएका छैनौँ । बीउ सुकेर खेर जान लागिसक्यो ।”

सिँचाइको सुविधा भएका क्षेत्रमा समेत खोलामा पानी नहुँदा रोपाइँ हुन नसकेको स्थानीयले बताएका छन् । पछिल्ला केही दिनयता तापक्रम ह्वात्तै बढेकाले बालीसमेत ओइलाउन थालेको उनको भनाइ छ ।

जिल्लाका अधिकांश ठाउँमा वर्षाको भरमा खेतीबाली लगाइने गरिएको छ । करिब चार हजार हेक्टर जमिनमा सिँचाइको सुविधा भए पनि खोलानाला सुकेकाले समस्या भएको हो । जिल्लाको मुख्य बाली धान हो भने कोदो दोस्रो मुख्य बाली हो । मकै र गहुँ क्रमशः तेस्रो र चौथो बालीका रूपमा उत्पादन हुने गरेको छ ।

जिल्लाभर सात हजार ३५ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ भने झन्डै चार हजार हेक्टरमा कोदो र मकैखेती हुने गरेको छ । मुख्य बाली लगाउने समयमै खडेरी परेका कारण कृषकलाई समस्या परेको छ । कृषि ज्ञान केन्द्र म्याग्दीले लामो समयदेखि वर्षा नहुँदा म्याग्दीमा रोपाइँ गर्न समस्या भएको जनाएको छ । मौसम सक्रिय नभएसम्म रोपाइँ गर्न नपाउने भएपछि कृषक समस्यामा परेका छन् ।

राजनीतिक हैसियत र टठ्याइँँ देखाएर उन्मुक्ति पाइँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

महोत्तरी – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासनको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहेको बताउनुभएको छ । शनिबारदेखि महोत्तरीका विभिन्न कार्यक्रममा सहभागि रहनुभएका उहाँले आज बिहान बर्दिबास–४ माईस्थानमा स्थानीयवासीसँगको भेटघाटमा भ्रष्टाचारविरुद्धको कारबाही तीव्र बनाइने प्रतिबद्धता जनाउनुभयो ।

“जो होस्, गलत गर्ने कारबाहीको भागी बन्छ, अब राजनीतिक हैसियत र टठ्याइँ देखाएर उन्मुक्ति पाइँदैन”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो । यसअघि राजनीतिक दलका नेताहरूले जिम्मेवारी र दायित्व नबुझ्दा जनताले सुशासनको प्रत्याभूति पाउन नसकेका उहाँको भनाइ छ ।

“गरिबीको दुश्चक्रमा पिसिएका आम जनता अझै निर्धक्क आफ्ना कुरा सम्बद्ध अधिकारीसम्म पुर्याउन सकेका छैनन्, ती वर्गका जनताले लोकतन्त्रको महसुस गर्न सक्नुपर्छ”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “प्रहरी, प्रशासनिक अधिकारी र सम्बद्ध पक्षले कुनै लाउके वा बिचौलियाको होइन, सिधै पीडितको कुरा सुन्ने र निदान दिने परिपाटी बढाउन पर्छ ।” पछिल्लो समयमा मिटरब्याजविरुद्ध जनता उठ्न खोजे पनि जनप्रतिनिधिको अपेक्षित साथ नपाएका उहाँको गुनसो थियो ।

“मिटरब्याज पीडितले आफ्नै प्रतिनिधिको राम्रो साथ पाएका छैनन्, मिटरब्याजी सामाजिक अपराधीमा अझै दरिएका छैनन्”, उहाँले भन्नुभयो, “यो अवस्था अन्त्यका लागि प्रहरी÷प्रशासनिक निकाय र स्थानीय तहका प्रतिनिधिमा थप प्रतिबद्धता आवश्यक छ ।”
शनिबार जिल्ला सदरमुकाम जलेश्वर र रामगोपालपुरमा आयोजित कार्यक्रममा पनि उपप्रधानमन्त्री श्रेष्ठले सुशासनको प्रत्याभूति सरकारको प्राथमिक दायित्व भएको बताउनुभएको थियो ।

खडेरीले मकै खेतमै सुके

भरतपुर – खडेरीले खेतमै मकै सुकेपछि चितवनका किसान चिन्तित बनेका छन् । मकैको घोगा लाग्ने र पाक्ने बेलामा बढ्दो तापक्रम र खडेरीले मकैका बोट सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् । सुकेको मकैका बोट काटेर किसानले गाई, भैँसीलाई घाँसको रूपमा दिन थालेका छन् । भरतपुर महानगरपालिका–८ गौरीगन्जका नवीन पुरीले १३ गठ्ठा जग्गाको मकै पूरै सुकेको बताउनुभयो । उहाँले भन्नुभयो, “घोगा लाग्ने बेलामा मकैका बोट सुक्यो । मकैमा गरिएको मल, बीउ र खनजोतको लगानी खेर गयो ।”

भरतपुर महानगरपालिका–११ बसेनीकी जलपादेवी घिमिरेले सात गठ्ठा जग्गामा मकै लगाउनुभएको थियो । सबै मकै सुक्न थालेपछि उहाँले घाँसको रूपमा मकैका बोट काटेर गाईलाई दिन थाल्नुभएको छ । सबै परिवार कृषिमा आश्रित ७८ वर्षीय जलपादेवी मकै डढ्न थालेपछि चिन्तित बन्नुभएको छ । सोही ठाउँकी तारादेवी भण्डारीको पनि चार गठ्ठाको मकै सुकेको छ । पाइप लगाएर अलिअलि पानी हाल्दाहाल्दै पनि चर्को घामले मकै सुकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मकैका बोट सुकेपछि काटेर गाईलाई दिन थालेको छु । चाख्नसमेत नपाइने भयो मकै । मल, बीउ र मेहनत त्यसै खेर गयो ।”

कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी मीनबहादुर पुनले प्राकृतिक कारणले यस वर्ष मकै सुकेको भन्दै केही रोकथाम गर्ने उपाय नै नभएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सिँचाइको सुविधा भएको ठाउँबाहेक अन्य ठाउँको मकै जोगाउन कठिन छ ।” उहाँले सरकारी अनुदानमा बोरिङको सुविधा भएको ठाउँको मकै मात्र केही जोगिन सक्ने भए पनि अन्यत्रको मकै पूरै सुकेको बताउनुभयो । उहाँले मकै मात्र होइन खडेरीका कारण तरकारी खेतीमा समेत प्रभाव परेको छ ।

चितवनमा २६ हजार हेक्टर बढी क्षेत्रफलमा मकैखेती गरिने जनाइएको छ । उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ७९ मेट्रिक टन रहेको छ । मकै घोगा लगाउने सिजनमै खडेरीले मकै सुकेपछि अहिले किसान समस्यामा परेका हुन् । चितवनमा प्रायः तीन सिजन मकैको खेती हुन्छ । माघ फागुनमा लगाइने ‘बसन्ते’ मकै चितवनमा १४ हजार छ सय हेक्टरमा खेती हुने गर्छ । यो मकै जेठ–असारमा पाक्छ । वैशाख–जेठमा गरिने मकै खेती साउन भदौमा पाक्छ । यसलाई वर्षे मकै भनिन्छ । चितवनमा यो मकै नौ हजार आठ सय हेक्टर बढीमा खेती गरिन्छ । यस्तै असोज कात्तिकमा लगाइने हिउँदे मकै चितवनमा १४ हजार छ सय हेक्टरमा खेती हुन्छ । यो मकै फागुन–चैतमा पाक्छ । चितवनमा वार्षिक ९४ हजार ८० मेट्रिक टन मकै उत्पादन हुने गर्छ ।

धितोपत्र बजार पुँजीकरण २६ खर्ब भन्दा बढी

काठमाडौँ –  चालु आर्थिक वर्षको वैशाख मसान्तमा धितोपत्र बजार पुँजीकरण २६ खर्ब ५७ अर्ब ७६ करोड रुपियाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बजार पुँजीकरण ३३ खर्ब ४३ अर्ब ५६ करोड रुपियाँ रहेको थियो ।

नेपाल राष्ट्र बैङ्कले शुक्रबार प्रकाशित गरेको चालु आव २०७९/८० को १० महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार २०८० वैशाखमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २५३ पुगेको छ ।

सूचीकृत कम्पनीमध्ये १४३ बैङ्क तथा वित्तीय संस्था र बिमा कम्पनी रहेका छन् भने ७२ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, छ लगानी कम्पनी, छ होटल, चार व्यापारिक संस्था र तीन अन्य समूहका रहेका छन् । २०७९ वैशाखमा सूचीकृत कम्पनीको सङ्ख्या २२९ रहेको थियो ।

२०७९ वैशाख मसान्तमा २३५०.४३ रहेको नेप्से सूचकाङ्क २०८० वैशाख मसान्तमा १८२१.६५ कायम भएको थियो । सूचीकृत कम्पनीमध्ये बैङ्क तथा वित्तीय संस्था र बिमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६४.३ प्रतिशत रहेको छ ।

त्यसै गरी जलविद्युत् कम्पनीको हिस्सा १३.८ प्रतिशत, लगानी कम्पनीको हिस्सा सात प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.९ प्रतिशत, होटेलको हिस्सा २.३ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीको हिस्सा ८.३ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० वैशाख मसान्तमा सूचीकृत सात अर्ब २४ करोड सेयरको चुक्ता मूल्य सात खर्ब १३ अर्ब ८७ करोड रुपियाँ रहेको छ । आव २०७९/८० को १० महिनामा एक खर्ब ६६ अर्ब ४१ करोड रुपियाँ बराबरको साधारण सेयर, ४५ अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र, 

२९ अर्ब १९ करोड रुपियाँ बराबरको डिबेन्चर, ३४ अर्ब ८१ करोड रुपियाँ बराबरको बोनस सेयर, पाँच अर्ब ४९ करोड बराबरको म्युचुअल फन्ड र चार अर्ब १३ करोड रुपियाँ बराबरको हकप्रद सेयर गरी कुल दुई खर्ब ८५ अर्ब तीन करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ११ अर्ब ६० करोड रुपियाँ बराबरको डिबेन्चर, १३ अर्ब ३५ करोड रुपियाँ बराबरको म्युचुअल फन्ड, १० अर्ब एक करोड रुपियाँ बराबरको साधारण सेयर र दुई अर्ब १५ करोड रुपियाँ बराबरको हकप्रद सेयर गरी कुल ३७ अर्ब १२ करोड रुपियाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।

मिस मगर इन्टरनेशनलको उपाधि प्रतिमालाई

काठमाडौँ – यस वर्षबाट सुरु भएको ‘मिस मगर इन्टरनेशनल २०२३’ प्रतिमा आलेमगरले घोषित हुनुभएको छ । यहाँ शनिबार साँझ आयोजित अन्तिम प्रस्तिस्पर्धामा १२ जनालाई पछि पार्दै उहाँले नगद रु चार लाख पुरस्कारसमेत प्राप्त गर्नुभयो ।

कार्यक्रमको निर्णायकमध्येकी एक माल्भिका सुब्बाले सामाजिक सञ्जालको तर्फबाट तपाईँले मगर संस्कृतिलाई कसरी प्रचार गर्नुहुन्छ ? भनेर सोधिएको प्रश्नमा सटिक उत्तर दिएसँगै मगर विजेता घोषित हुनुभएको थियो ।

विजेता बनेसँगै मगरले सपनाको एउटा खुड्किलो उक्लिएको बताउनुभयो । “पहिलो सिजनमै विजेता बने, दायित्व पनि महसुस भएको छ । संस्कृतिको प्रवर्द्धनमा मेरो भूमिका हुनेछ”, उहाँले भन्नुभयो ।

यस्तै अन्तिम प्रतिस्पर्धामा स्मृति ठाडामगर उपविजेता र क्लिया थापामगर दोस्रो बन्नुभयो । उहाँहरूले क्रमशः रु दुई लाख र एक लाखसमेत प्राप्त गर्नुभयो । कार्यक्रममा सुब्बासँगै अभिनेत्री मिरुना मगर, अभिनेता अनुपविक्रम शाही, मोडल रिना थापामगर, हिमाल राना, सङ्जोग लाफामगर, अलिगिभा पुनमगर र रुद्र सिरिजमगरले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

समाजवादी प्रेस सङ्गठनको अध्यक्षमा सुवेदी विजयी

काठमाडौँ – समाजवादी पे्रस सङ्गठन, नेपालको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित हुनुभएको छ । यही जेठ २६ र २७ गते काठमाडौँमा सम्पन्न सो सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनले सुवेदीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

आइतबार बिहान सम्पन्न अन्तिम मतपरिणामअनुसार सुवेदीले प्रतिस्पर्धी भूपराज खड्कालाई २८ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । सुवेदीले एक सय ४७ मत प्राप्त गरी विजयी हुँदा खड्काले एक सय १९ मत प्राप्त गर्नुभएको थियो । अध्यक्षका अर्का प्रतिस्पर्धी राघव साहले १५ मत प्राप्त गर्नुभयो ।

यसैगरी खुला उपाध्यक्षमा नवराज छत्कुल्ली (एक सय ५०), महिला उपाध्यक्षमा अस्मिता गिरी (एक सय ७१), उपाध्यक्ष सुदूरपश्चिममा नरेन्द्र भट्ट (एक सय ७४) मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन समितिका सदस्य नारायण सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार महासचिवमा रामकुमार एलनले एक सय ३९ मतले विजयी हुँदा उहाँका प्रतिस्पर्धी हृदय भुसालले एक सय ३० मत प्राप्त गर्नुभएको थियो ।

उपमहासचिवमा प्रेम गौतम (एक सय ६४), प्रतिज्ञा बुढामगर (एक सय २२) र लेखनाथ सिकारु (एक सय ३९) मत प्राप्त गरी विजयी हुनुभएको छ । सचिव खुलामा शिवप्रसाद ढुङ्गाना (एक सय १७), अनिल शाही (एक सय ३६) तथा पूर्णबहादुर कार्की (८६) मत प्राप्त गरी विजयी हुनुभएको छ ।

यसैगरी सचिव (महिला) मा क्रान्ति न्यौपाने (एक सय २८), सचिव (दलित)मा प्रदीप नेपाली (एक सय ५१) र कोषाध्यक्षमा कृपा भण्डारी (एक सय ३९) मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन कमितिले जनाएको छ ।

त्यस्तै सुदूरपश्चिम उपाध्यक्षमा नरेन्द्र भट्ट निर्वाचित हुनुभएको छ । उपत्यका उपाध्यक्षमा कृष्णराज गौतम, एसोसिएट÷प्रतिष्ठान उपाध्यक्षमा तेजप्रसाद वाग्ले सर्वसम्मत निर्वाचित हुनुभएको छ । यसैगरी अन्य प्रदेशमा पनि सर्वसम्मत उपाध्यक्ष चयन हुनुभएको निर्वाचन समितिका सदस्य सुवेदीले जानकारी दिनुभयो ।

शुक्रबार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्नुभएको राष्ट्रिय सम्मेलनले १५ बुँदे विशेष समसामयिक प्रस्तावसमेत पारित गरेको छ । नवनिर्वाचित कार्यसमितिलाई पार्टी एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बधाई तथा शुभकामना दिनुभएको थियो ।