`

खो खो विश्वकपमा उपविजेता बन्न सफल नेपाली टोलीलाई रास्वपाको सम्मान

Nepal One HD ९ माघ २०८१ १९:३९
खेलकुद

काठमाडौं । भारतमा सम्पन्न प्रथम खो खो विश्वकपमा उपविजेता बन्न सफल नेपाली पुरुष तथा महिला टोलीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले सम्मान गरेको छ ।

पार्टीको केन्द्रीय युवा तथा खेलकुद विभागले बुधबार एक कार्यक्रम आयोजना गरी खेलाडीलाई सम्मान गरेको हो ।

कार्यक्रममा पार्टीका कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति डा. स्वर्णिम वाग्ले, कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्य विजय जैरु, विभागका सचिव पुरुत्तोम पोखरेल, सदस्य जगदीश खरेललगायत नेताहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा खेलाडीहरूसँगै खो खो संघका अध्यक्ष प्रदीप महर्जन, प्रशिक्षकहरू लक्ष्मी नारायण वैद्य, उषा कुँवर, बिक्की महर्जन, कयामुजिन मन्सुर लगायतलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा पार्टी नेताहरूले नेपाली टोलीले देखाएको उत्कृष्ट प्रदर्शनले देशको प्रतिष्ठा अन्तर्राष्ट्रियस्तरमा उच्च बनाएको चर्चा गर्दै खेलाडीहरूको थप प्रोत्साहन र अवसरका लागि राष्ट्रिय स्वतन्त्र पार्टी सदैव प्रतिबद्ध रहने बताएका थिए ।


प्रतिक्रिया