`

सुदूरपश्चिममा आज आम हड्तालको आंशिक प्रभाव

सुदूरपश्चिम – शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले आज सुदूरपश्चिम प्रदेशभर गरेको आम हड्तालको आंशिक प्रभाव परेको छ । संघर्ष समितिले गेटामा शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि दवाव दिने आम हड्तालको घोषणा गरेको हो ।

आम हड्तालको आज बिहान आङ्शिक प्रभाव परेको छ । यातायात, उद्योग–कलकारखाना, व्यापार–व्यवसाय, निजी तथा सरकारी विद्यालयहरु लगायत अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द रहेका छन् ।

मन्त्रिपरिषद्को निर्णय र २०८० जेठ ५ गतेका दिन संघीय ससदमा प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममा गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने भन्ने कुरा उल्लेख भएपनि जेठ १५ गते संसदमा पेश गरिएको बजेटमा गेटामा स्वास्थ्य प्रतिष्ठान बनाउने उल्लेख गरिएपछि संघर्ष समितिले आन्दोनका कार्यक्रम गर्दै आइरहेको छ ।

संघर्ष समितिले बजेटमा एक सय शैय्याको मात्रै अस्पताल संचालन गर्ने कुराको पनि विरोध गर्दै गेटामा भवनको क्षमता अनुसार छ सय शैय्याको अस्पताल संचालन गरिनुपर्ने माग गर्दै आइरहेको छ ।

तातो हावाको लहरबाट कस्ता असर पर्छन् र कसरी जोगिने ?

काठमाडौँ – नेपालमा पछिल्लो समयमा तातो हावाको लहर (हिट वेभ) जारी छ । यो तराईका जिल्लामा बढ्दो छ । तापक्रम वृद्धि हुँदा जनजीवन प्रभावित भएको छ भने कृषि बालीमा असर परिरहेको छ । यो क्रम अझै केही दिन जारी रहने मौसमविद्हरूले बताएका छन् । तराईका जिल्लामा ४० डिग्रीभन्दा माथि तापक्रम छ ।

तातो हावाको लहर बढ्दा कतिपय स्थानमा तापक्रमले ‘रेकर्ड ब्रेक’ नै गरेको छ । इलाम, नवलपुर, धरान, ओखलढुङ्गालगायत क्षेत्रमा रेकर्ड ब्रेक भएको मौसमविद्ले बताएका छन् ।

यस्तो अवस्थाबाट कसरी जोगिने, केके गर्न सकिन्छ भन्ने विषयमा खास तयारी छैन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले अब भने तयारी थालिएको बताउनुभयो । यसको असर र यसबाट बच्ने उपायका बारेमा चिकत्सक डा पवनकुमार शाहले केही ‘टिप्स’ दिनुभएको छ ।

उहाँका अनुसार तातो हावाको लहरले मानिसलाई मृत्यसम्म पनि गराउन सक्ने भएकाले सावधानी अपनाउनु जरुरी छ । सुरुमा यसले चिलाउने, साना बिमिरा देखिने हुनसक्छ । त्यसबाट इन्फेक्सन भयो भने ठूला घाउ, खटिरा पनि बन्न सक्ने उहाँले बताउनुभयो । यस्तै खुट्टा सुनिने, रिङटा लाग्ने र बेहोस पनि हुन सकिन्छ । रक्तचाप घट्नेलगायतका लक्षण पनि देखिन सक्ने उहाँले बताउनुभयो ।

काम गर्ने व्यक्तिमा ‘डिहाइड्रेसन’ (निर्जलीकरण) हुनसक्ने बढी खतरा हुन्छ । यस्तो बेलामा तिर्खा बढी लाग्ने, टाउको दुख्ने पनि हुन्छ । वृद्धवृद्धा, बालबालिका तथा कमजोर व्यक्तिहरू कोमामा पनि जान सक्ने खतरा हुन्छ । हात खुट्टा बाउँडिने, अलिक बढी नै भयो भने वान्ता आउने र वान्ताका क्रममा फोक्सोमा पुग्यो भने मानिसको मृत्यु हुनसक्ने उहाँले बताउनुभयो ।

यसका लागि शीतल ठाउँमा बस्नु नै यसको उपयुक्त उपचार हो । प्रशस्त पानी पिउने, घाममा धेरै नहिँड्ने, दिउँसो काम नगर्ने गर्दा पनि यसबाट जोगिन सकिन्छ । लक्षणअनुसारको उपचार हुने भन्दै डा शाहले तातो स्थानबाट चिसो ठाउँमा राख्ने, मसाज गर्ने, जीवनजल खुवाउने, कतिपय खुट्टामा असर परेको बेला खुट्टा उठाएर चिसो ठाउँमा राख्दा पनि कम हुँदै जाने बताउनुभयो । यति हुँदा पनि कम भएन भने चिकित्सकको निगरानीमा उपचार गराउनुपर्ने उहाँले सुझाव दिनुभएको छ ।

प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीले आज बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौँ – आज प्रतिनिधिसभाको बैठक बस्दै छ । 

सङ्घीय संसद् भवन बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।

आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान(बजेट)माथि छलफलका साथै सांसदहरूले उठाएका प्रश्नहरूको अर्थमन्त्री प्रकाश शरण महतले जवाफ दिनुहुने कार्यक्रम छ ।

कालीकोटको गविराममा जिप दुर्घटना, तीन जनाको मृत्यु

मान्म – कालीकोटको शुभकालिका गाउँपालिका–६ गविरामा गए राति लु१च ८४९८ नम्बरका जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जिप कालीकोटको बेउली पान्तडी सडकखण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालिकातर्फ जाँदै गर्दा शुभकालिका–६ गविराममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

दुर्घटनामा परेर जिप चालक शुभकालिका–२ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालिका–८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले–३ का २५ वर्षीय गोपाल सलामीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले जानकारी दिनुभयो ।

दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । “घटना मध्यराति भएकाले दुर्घटनाको कारण खुल्न सकेको छैन्”, प्रहरी प्रमुख रिमालले भन्नुभयो, “जिपमा सवार तिनै जनाको मृत्यु भएको, देख्ने र घाइते अन्य नभएकाले पनि दुर्घटनाका कारण खुल्न सकेन ।”

यात्रुवाहक बसमा ‘डस्टविन’राख्न पत्राचार

दमौली । तनहुँको व्यास नगरपालिकाले यात्रुवाहक बसमा अनिवार्य ‘डस्टविन’को व्यवस्था मिलाउन यातायात समितिलाई पत्राचार गरेको छ । 

व्यास नगरलाई सफा र स्वच्छ बनाउने उद्देश्यसहित जथाभाबी फोहर फाल्ने कार्यलाई न्यूनीकरण गर्न यात्रुवाहक बसमा ‘डस्टविन’ को व्यवस्था मिलाउन पत्राचार गरेको हो । 

जथाभाबी रूपमा फोहर फालिदिँदा नगरपालिका दुर्गन्धित हुने भएकाले सवारीसाधनमा अनिवार्य ‘डस्टविन’को व्यवस्थापनका लागि निर्देशनसहित पत्राचार गरिएको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकालाई वातावरणमैत्री सहर बनाउन नगर क्षेत्रभित्र गुड्ने सवारीसाधनमा अनिवार्य डस्टविन राख्न भनेका छौँ ।”

सवारीसाधनमा यात्रा गर्ने यात्रुलाई पनि जथाभाबी रूपमा फोहर नफाल्न यातायात समितिमार्फत जानकारी गराउन निर्देशन दिइएको उहाँले बताउनुभयो । जथाभाबी रूपमा अटेर गरी फोहर फालेमा पहिलो पटक रु तीन हजार र दोस्रो पटक रु सात हजारसम्म जरिवाना गरिने उहाँले जानकारी दिनुभयो । 

नगरपालिकाले पृथ्वी राजमार्ग यातायात समिति, स्थानीय यातायात प्रालि, व्यास भूमि यातायात प्रालि, ट्याक्सी व्यवसायी समिति र अटो रिक्सा व्यवसायी समितिलाई पत्राचार गरेको हो । 

नगरपालिकाले बजारका विभिन्न क्षेत्रमा फोहर मैला व्यवस्थापनसम्बन्धी सचेतनामूलक बोर्ड राखेको छ । 

नगरपालिकाका सरसफाइ शाखाका प्रमुख भाग्यशाली ढुङ्गानाका अनुसार बजारका मुख्य–मुख्य भागमा जथाभाबी फोहर नफालौँ, फोहर फालेमा हुने कानुनी कारबाहीलगायतका विषयमा सचेतना दिन सचेतनामूलक बोर्ड राखिएको छ ।

व्यास नगर फोहर मैला व्यवस्थापन कार्यविधि, २०७८ अनुसार दफा १४ ९क० नगरपालिका वा सम्बन्धित वडाले तोकिएको समय र स्थानबाहेक अन्यत्र फोहर मैला निष्कासन गरी यत्रतत्र राखेमा वा फालेमा सोही कार्यविधिको दफा १९ अनुसार कसुर गर्ने व्यक्तिलाई जरिवाना गरिने उहाँले बताउनुभयो । त्यस्ता व्यक्तिलाई पहिलो पटक रु तीन हजार जरिवाना, दोस्रो पटक सोही कसुर गरेमा रु तीन हजारदेखि रु सात हजारसम्म जरिवाना र फोहर मैला उठाउँदा लाग्ने खर्चसमेत निजबाट असुलउपर गरिने जनाइएको छ । 

साथै जथाभाबी चोक–चोकमा फुटपाथ व्यवसाय नगर्न र पशु बध तोकिएको स्थानमा मात्र गर्न नगरपालिकाले आग्रह गरेको छ । उहाँले भन्नुभयो, “जथाभाबी रूपमा फोहर फालिदिने प्रवृत्ति बढ्दो छ, त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न यो व्यवस्था गरेका हौँ । यसले गर्दा फोहर मैला व्यवस्थापनमा सहयोग पुग्ने विश्वास गरेका छौँ ।” व्यास नगरपालिकाले बजार क्षेत्रको वडा नं २, ३ र ४ बाट दैनिक रूपमा फोहर सङ्कलन गर्दै आएको छ । नगरपालिकाका बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुने गरेको छ । 

स्थापनाको ३० वर्ष पुगिसक्दा पनि नगरपालिकाले फोहर मैला केन्द्र बनाउन भने सकेको छैन । व्यास नगरपालिका सरसफाइ केन्द्र निर्माणका लागि जग्गा व्यवस्थापनमा जुटे पनि उक्त प्रयास सफल हुन सकिरहेको छैन । 

व्यास नगरपालिकाले हाल वडा नं १३ स्थित सोढेको बुद्धसिं राजमार्ग आसपास फोहर मैला विसर्जन गर्दै आएको छ । 

यसअघि व्यास–३ मादीस्थित भतेरीमा फोहर फाल्दै आएको नगरपालिकाले उक्त ठाउँ मादीले कटान गरिदिएपछि चारकुनेमा जग्गा भाडामा लिएर फोहर फाल्दै आएको थियो । उक्त ठाउँ पनि फोहरले भरिएपछि फोहर फाल्ने ठाउँ नपाएर नगरपालिकाले सोढेमा फोहर फाल्दै आएको छ ।रासस

अत्यधिक गर्मीबाट बच्न मौसम विभागको अनुरोध

काठमाडौँ – हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । 

दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । 

कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती भने कोसी र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी र बागमती प्रदेशका थोरै स्थानहरूका साथै मधेस प्रदेश लगायत देशका बाँकी पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका मध्य तथा पश्चिमी तराईका भू–भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिन्छ, जसका कारण सो भू–भागहरूमा तातो हावा र लू चलिरहने देखिन्छ। साथै कोसी र कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू–भागका  एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ  । 

अत्यधिक गर्मी तथा मेघ गर्जन र चट्याङबाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०८० जेठ २८ गते (आइतबार)
दिउँसो: 
कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती: कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनुका साथै देशका बाँकी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै मधेस प्रदेश लगायत देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०८० जेठ २९ गते (सोमबार)
दिउँसो
: कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोसी  प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेस प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती: कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोसी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा मेघ–गर्जन÷चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेस प्रदेश लगायत देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

२०८० जेठ ३० गते (मङ्गलवार)
दिउँसो: 
कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेस प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती: कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा मेघ–गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेस प्रदेश लगायत देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रधानमन्त्री दाहालद्वारा पशुपतिनाथ मन्दिर दर्शन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज पशुपतिनाथ मन्दिरको दर्शन गर्नुभएको छ ।

उहाँले भारत भ्रमणका क्रममा उज्जैनस्थित ज्योतिर्लिङ्ग महाकालेश्वरबाट ल्याएको जल पशुपतिनाथमा चढाउनुभएको हो । उहाँलाई पशुपतिमा संस्कृतिमन्त्री सुुदन किराती र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले स्वागत गर्नुभएको थियो ।

पशुपतिनाथ मन्दिर दर्शनका लागि प्रधानमन्त्री दाहालसँगै भारत भ्रमणको समूहमा रहनुभएका अर्थमन्त्री डा प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मन्दिर पनि दर्शन गर्नुभयो ।

क्षमता वृद्विका लागि अघि बढ्न अध्यक्ष ओलीको सुझाव

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महिला कर्मचारीलाई अधिकार प्राप्तिको सङ्घर्षसँगै क्षमता वृद्विका लागि योजनाबद्धरुपमा अघि बढ्न सुझाव दिनुभएको छ ।

आज यहाँ आयोजित नेपाल निजामति कर्मचारी सङ्गठनको दोस्रो राष्ट्रिय महिला भेलामा अध्यक्ष ओलीले कुनै पनि क्षेत्रमा सफल हुन क्षमता वृद्धि आवश्यक रहेको बताउनुभयो । “अधिकार प्राप्तिको सङ्घर्षसँगै क्षमता वृद्धि पनि आवश्यक छ, योजनाबद्ध ढङ्गले अधिकारसँगै क्षमतावृद्विका प्रयास योजनाबद्धरुपमा अघि बढाउन यो भेला आयोजना भएको मैले ठानेको छु ।”

उहाँले हकअधिकार प्राप्त गर्न र प्राप्त अधिकारको संरक्षण हुनुपर्नेमा जोड दिनुभयो । नेकपा (एमाले) स्थापना कालदेखिनै समानताको पक्षमा लड्दै आएको भन्दै उहाँले समानताको मान्यताबाट आफूहरु पछि नहटने बताउनुभयो । उहाँले देश र जनताप्रति इमान्दार हुँदै सेवाभावले प्रेरित भइ काम गर्न महिला कर्मचारीलाई सुझाव दिनुभयो ।

उहाँले फुकोट–कर्णाली आयोजना भारतीय कम्पनीलाई दिइएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । “फुकोट कर्णाली आयोजना एकदमै सस्तो छ । कुदिरहेको नदीमै रिजर्भर नबनाइकन चार सय ८० मेगावाट बिजुली निकाल्न सकिन्छ । यो आयोजना नेपालले निर्माण गर्नेबारे मैले २०७६ मै निर्णय गरेको थिए”, उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले सीमा नाकामा संयुक्त चेकजाँच पोष्ट निर्माणको काम आफ्नै कार्यकालमा सुरु भएको समेत दाबी गर्नुभयो ।

देशको राष्ट्रिय हित र राष्ट्रियताको रक्षाका लागि वर्तमान सरकारले केहि गर्न सक्दैँन: अध्यक्ष ओली

काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको राष्ट्रिय हित र राष्ट्रियताको रक्षाका लागि वर्तमान सरकारले केहि पनि गर्न नसक्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा नेपाल निजामती कर्मचारी संगठनको दोश्रो राष्ट्रिय महिला भेला उद्घाटन गर्दै अध्यक्ष ओलीले भारत भ्रमणका बेला आफ्नो भूमि रक्षाका लागि प्रधानमन्त्रीले केहि पनि बोल्न नसकेको, नेपालका नदिहरु भारतलाई सितैमा सुम्पेर आएको भन्दै राष्ट्रिय हित र राष्ट्रियताको रक्षाका लागि वर्तमान सरकारले केहि पनि गर्न नसक्ने बताउनुभएको हो । उहाँले एमालेको सरकार परिवर्तन भएपनि दुई वर्षमा ८ प्रतिशत पुर्‍याउँछु भनेको उत्पादन वृद्धिदर २ प्रतिशत नपुग्ने अवस्था आएको जिकिर गर्नुभयो । सरकारसंग विकासको कुनै योजना र स्रोत पनि नरहेको भन्दै ओलीले सरकार र सरकारमा रहेका दलहरु एमालेको बिरोधमा मात्रै लागेको उल्लेख गर्नुभयो । उहाँले आफु नेतृत्वको सरकार ढाल्ने, पार्टी फुटाउने लगाएतका अनेक षडयन्त्र भएपनि एमाले जस्ताको त्यस्तै रहेको र आगामी निर्वाचनमा एमालेले देशका लागि बहुमत ल्याउने गरि तयारी गर्ने बताउनुभयो । त्यस्तै ओलीले पुराना योगदान, त्याग र बलिदानका विरुद्ध अभियान सञ्चालन गर्न खोजिएको भन्दै इतिहासलाई सम्मान गर्न जान्नुपर्ने बताउनुभयो ।

उहाँले मुलुकमा ठूला ठूला परिवर्तन ल्याएपनि युवाहरुलाई परिवर्तनका बारेमा बुझाउनुपर्ने बताउनुभयो । ओलीले जनताका काममा समर्पित हुनका लागि कार्ययोजनासहित अघि बढ्न कर्मचारी संगठनलाई निर्देशन दिनुभयो ।

गर्मीका कारण बाँकेमा सर्पदंशका बिरामी बढ्दै

जानकी / अत्यधिक गर्मीका कारण बाँकेमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । गर्मी बढे्सँगै यहाँका भेरी अस्पताल, राँझास्थित सर्पदंश उपचार केन्द्र र शम्शेरगञ्जस्थित सर्पदंश उपचार केन्द्रमा पछिल्लो समय सर्पदंशको उपचारका लागि आउने बिरामी बढ्न थालेका हुन् ।

दैलेखका माधव आचार्यलाई कोहलपुरमा वैशाख ३१ गते करेट नाम गरेको सर्पले टोकपछि उहाँले नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराउनुभयो । रोजगारीका लागि भारत जानका लागि यहाँ आउनुभएका ३७ वर्षीय आचार्यलाई आफन्तको घरमा राति भुइँमा सुतिरहेको अवस्थामा सर्पले टोकेको थियो । अस्पतालमा १४ दिन आइसियु र दुई दिन वार्डमा बसेर उहाँले उपचार गराउनुभएको उहाँका बुबा हेमलाल आचार्यले बताउनुभयो । “माधव खतरामुक्त भएर घर फर्किए पनि अझै हिँड्डुल गर्न गाह्रो हुने गरेको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार छोरालाई अहिले पनि हातका औँला, हत्केला र पैताला जलन हुने गरेको छ ।

“खतरामुक्त भएपछि अस्पतालबाट डिस्चार्ज भएर घर त आयौँ तर छोराको अवस्था भने सामान्य छैन,” आचार्यले भन्नुभयो, “माधव पहिलाको जस्तो सजिलै हिँड्डुल गर्न सक्दैन । जतिखेरै हातका औँला, हत्केला र पैताला पोलिरहेको छ मात्र भन्छ ।” बुबा हेमलालका अनुसार माधवको जलन भएको ठाउँमा निरन्तर पानी पट्टि लगाउनुका साथै मसाज गरिरहनु पर्दछ । सर्पले टोकेपछि उपचारका लागि रू एक लाख २० हजार खर्च भएको बुबा हेमलालले जानकारी दिनुभयो । भेरी अस्पतालमा उपचार गराउँदा भित्रबाट पाइने औषधि, आइसियु र वार्डको खर्चमा अस्पतालले छुट दिएको उहाँको भनाइ थियो ।

कामको सिलसिलामा बर्दियाको बाँसगढीमा इँटाभट्टामा काम गर्ने भारतीय नागरिक मोहम्मद हनिदलाई राति सुतिरहेको अवस्थामा करेट सर्पले टोकेको थियो । तेइस वर्षीय मोहम्मदलाई जेठ २० गते राति सर्पले टोकेको थियो । पाँच दिनको उपचारपश्चात् उहाँ बिहीबार निको भई घर जानुभएको छ । घर फर्कनुभएका मोहम्मदको पनि स्वाथ्य अवस्था सामान्य नभएको उहाँले काम गर्ने इँटाभट्टाका प्रमुख खगेन्द्र कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मोहम्मदको बोलीमा स्पष्टता छैन भने हिँडाइमा पनि केही समस्या देखिएको छ ।

“अस्पतालबाट डिस्चार्ज भएर मोहम्मद यहाँ आएको तीन दिन भयो । अस्पतालबाट आएदेखि उसको बोली सुस्त छ”, प्रमुख कँडेलले भन्नुभयो, “उसले अहिले पनि औषधि खाइरहेको छ ।” उहाँका अनुसार मोहम्मदको उपचारमा रू ६२ हजार खर्च भएको छ ।

यही जेठ ८ गते नेपालगञ्ज उपमहानगरपालिका-२३ जङ्गलसिंङ पुरुवाका २२ वर्षीया सहजरानी यादवलाई कोब्रा नाम गरेको सर्पले टोकेको थियो । उहाँलाई दिउँसो धारामा पानी पिउन जाँदा सर्पले टोकेको थियो । सहजरानी १० दिनको उपचारपछि निको भई घर फर्कनुभएको छ । उहाँको उपचारमा रू ३५ हजार खर्च भएको परिवारले जनाएको छ । उहाँले अहिले पनि औषधि खाइरहनु भएको उहाँका भाइले बताउनुभयो ।

अत्यधिक गर्मीका कारण सर्पदंशका बिरामी अस्पताल आउने क्रम बढ्दै गएको भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट एनिस्थेसोलोजिस्ट डाक्टर कृष्णप्रसाद आचार्यले बताउनुभयो । उहाँका अनुसार वैशाखको अन्तिमदेखि सर्पदंशका बिरामी अस्पताल आउन थालेका हुन् । एक महिनाको अवधिमा तीनजना गम्भीर प्रकृतिका सर्पदंशका बिरामीलाई उपचार गरी डिस्चार्ज गरिएको डा. आचार्यले बताउनुभयो । उहाँका अनुसार गर्मी बढ्दै गर्दा विशेष गरी करेट र कोब्राले टोकेर विष लागेका बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् ।

“विषरहित सर्पले टोकेमा १० देखि १२ घन्टा विष लाग्छ कि भनेर निगरानीमा राख्छौँ । उक्त समयमा विष लागेको कुनै लक्षण नपाए घर फर्काउने गरेका छौँ”, डा. आचार्यले भन्नुभयो, “विष लागेको अवस्थाका बिरामीलाई उनीहरुको स्वास्थ्य अवस्था हेरेर कम्तीमा दुई हप्तासम्म आइसियू र भेन्टिलेटरमा राखेर सुधार नहुुँदासम्म उपचार गर्छौँ ।” निगरानीमा राखिएका बिरामीलाई विष नलागेको भेटिएमा १२ घन्टापछि सर्पदंशबाट बच्ने उपाय सिकाएर घर पठाउने गरिएको उहाँको भनाइ छ ।

आठ वर्षदेखि सर्पदंशको क्षेत्रमा काम गर्दै आउनुभएका डा. आचार्यले नेपालभरि नै सर्पदंशबाट कसरी बच्ने र सर्पदंश भइसकेको अवस्थामा उपचार कसरी गर्ने भनेर विभिन्न ठाउँमा स्वास्थ्यकर्मीलाई तालिम दिने गरेको बताउनुभयो । उहाँले सर्पदंशबाट बच्नका लागि राति सुत्नुभन्दा पहिला बिस्तरा राम्री झारेर झूल टाँगेरमात्र सुत्ने, भुइँमा नसुत्ने, घर वरपर भएको जङ्गल वा झाडीलाई सफा बनाई राख्ने, सर्पको आहार कुखुरा भएको हुनाले राति कुखुरा कराएको सुनिएमा लाइट बालेरमात्र खोरको चेकजाँच गर्ने, घरमा मुसा छन् भने मुसालाई नियन्त्रण गर्नेलगायत भएको बताउनुभयो ।

बाँकेको राँझास्थित सर्पदंश उपचार केन्द्रमा जेठमा मात्रै तीनजना सर्पदंशका बिरामी आएको स्वास्थ्य प्राविधिक राजन कुँवरले बताउनुभयो । उहाँले विष लागेका दुईजनालाई थप उपचारका लागि नेपालगञ्जको भेरी अस्पतालमा पठाइएको जानकारी दिनुभयो । उहाँका अनुसार भेरी अस्पताल पठाइएकामा नेपालगञ्ज उपमहानगरपालिका-१९ मोहनपुरका मुनसिङ सार्की र डुडुवा गाउँपालिका–५ नानपुरकी सरिता लामिछाने मगर हुनुहुन्छ ।

जानकी गाउँपालिका-६ का रमावती भाटालाई विषरहित सर्पले टोकेकाले उहाँलाई केन्द्रबाटै प्रारम्भिक उपचार गरी घर फर्काइएको स्वास्थ्य प्राविधिक कुँवरले बताउनुभयो । उहाँका अनुसार गत वर्ष १० जना सर्पदंशका बिरामी उपचारका लागि केन्द्रमा आएका थिए । समुदाय र नेपाल आर्मीको सहकार्यमा स्थानीयलाई सर्पदशं सम्बन्धी उपचार गर्ने उद्देश्यले केन्द्रको स्थापना गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै, बाँकेको शम्शेरगञ्जस्थित सर्पदंश उपचार केन्द्रमा पनि जेठमा दुई जना सर्पदंशका बिरामी उपचारका लागि आएको अहेव नन्दलाल पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकेको राप्तिसोनारी गाउँपालिका-८ जिरो बजारकी पप्पीकुमारी बोहोरालाई सर्पले टोकेको थियो । “पप्पीलाई सर्पको विष लागेको कुनै लक्षण नदेखिए पछि १० घन्टाको निगरानीपछि सर्पबाट बच्ने उपाय सम्झाएर घर पठाएका हौँ”, उहाँले भन्नुभयो ।

सोही केन्द्रमा सर्पदंशको उपचार गर्न राप्तिसोनारी गाउँपालिका-१ कुसुमकी कमला वली जेठको २३ गते आउनुभएकी अहेव पाण्डेले बताउनुभयो । उहाँका अनुसार वलीलाई विषालु सर्पले नटोकेकाले विष लागेको कुनै लक्षण नदेखिएपछि १० घन्टा निगरानीमा राखेपछि घर फर्काइएको थियो । पाण्डेका अनुसार अघिल्लो वर्ष वैशाखदेखि भदौसम्ममा ३५ जना सर्पदंशका बिरामी उपचारका लागि आएका थिए । गर्मी याममा बढी सर्पदंशका बिरामी आउने भन्दै यो सङ्ख्या अझै बढ्ने उहाँको भनाइ थियो । राँझा र शम्शेरगञ्जमा विषरहित बिरामीको उपचार गरिन्छ भने विष लागेका बिरामीलाई भेरी अस्पताल पठाउने गरिएको छ ।

मुलुकमा प्रजातन्त्रलाई बलियो बनाउनका लागि कांग्रेसलाई बलियो बनाउँदै लैजानुपर्छ : सभापति देउवा

भक्तपुर / नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मुलुकमा प्रजातन्त्रलाई बलियो बनाउनका लागि कांग्रेसलाई बलियो बनाउदै लैजानुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

शनिबार भक्तपुरमा कांग्रेस भक्तपुरको जिल्ला सम्मेदन उद्घाटन गर्दै सभापति देउवाले कांग्रेस बलियो र सक्षमका साथै जनस्तरबाटै अघि बढ्न सके प्रजातन्त्र सुदृढ भएर जाने बताउनुभएको हो ।

उहाँले पार्टीलाई बलियो बनाउनका लागि संगठनलाई बलियो बनाउँदै गाउँ गाउँ घर घरमा पुराउनुपर्नेमा जोड दिनुभयो । अहिले गठबन्धनको सरकार देशमा रहेको भन्दै गठबन्धनकै कारण कांग्रेस ठूलो पार्टी बन्न सफल भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा कांग्रेस नेता शेखर कोइरालाले पार्टी भित्रको गुट–उपगुट बढ्दै गए कांग्रेस समाप्त हुने भन्दै गुट–उपगुट अन्त्य गर्नुपर्ने बताउनुभयो । पार्टीलाई बलियो बनाउनका लागि जनतासंग जोड्ने प्रयास गर्नैपर्ने उहाँले बताउनुभयो । त्यस्तै कोइरालाले निर्वाचन आयोगको जिल्ला कार्यालय खारेज गरि प्रशासन कार्यालयमा इकाइ खडा गर्ने कामले आयोगको कामले लोकतन्त्र मजबुद हुन नसक्ने बताउनुभयो । तीनवटै अदालतले गरेको निर्णयका विरुद्ध राष्ट्रपतिले रेशम चौधरीलाई माफी दिने कुराहरु भोलीका दिनमा गम्भिर हुने भन्दै सरकार टिकाउन गरिएको निर्णयले लोकतन्त्र नै कमजोर हुने बताउनुभयो ।

आर्थिक सामाजिक सांस्कृतिक विविधताहरु अहिले पनि अप्ठेरोमा परेको भन्दै कोइरालाले यसलाई समानतामा ल्याउन नसके संविधान अप्ठेरोमा पर्न सक्ने धारणा राख्नुभयो ।

राष्ट्रहित विपरीतका काम हुन नदिन संसदमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने : सभापति लामिछाने

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रहित विपरीतका काम हुन नदिन संसदमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा रास्वपा अर्घाखाँची–काठमाडौं सम्पर्क भेलालाई सम्बोधन गर्दै लामिछानेले संसदमा आफ्नो पार्टीको २१ जना सांसद भएपनि राष्ट्रहित बिपरितका काम हुन नदिन सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्न प्रयाप्त भएको बताउनुभएको हो ।

उहाँले सरकारका राम्रा कामको समर्थन गर्दै देशहित बिपरितको कार्यलाई खवरदारी गरिररहने जिकिर गर्नुभयो । लामिछानले रास्वपालाई जनताले दिएको म्याण्डेड कार्यान्वयन गर्न चौतर्फी रोक्ने काम भइरहेको बताउनुभयो । २०८४ को निर्वाचनमा रास्वपालाई जित हासिल गर्ने सहज बाटो जनताले देखाएको भएपनि त्यो बाटोसम्म पुग्नका लागि घेराबन्दी गर्ने काम भइरहेको उहाँले बताउनुभयो । सभापति लामिछानेले नागरिकता विधेयकको प्रक्रियाप्रति असन्तुष्टि जनाउँदा रास्वपा नै नागरिकताको बिरोधमा रहेको भन्दै भ्रम छर्ने काम गरिएको उल्लेख गर्दै नागरिकले नागरिकता पाउनुपर्नेमा कुनै दुविधा नरहेको बताउनुभयो । त्यस्तै उहाँले आफु व्यक्तिगत काममा भारत जाँदा अनेक अर्थ लगाउने भएकाले नै परराष्ट्रमा जानकारी गराएर गएको बताउनुभयो ।

कार्यक्रममा रास्वपा सांसद डा. स्वर्णीम वाग्लेले जनताको जनजिविका लगाएत सुशासनका मुद्धामा रास्वपाले आवश्यक पहलकदमी लिने उल्लेख गर्नुभयो । उहाँले नागरिकको भरोसालाई जगेर्ना गर्दै पार्टीलाई जनताको मुद्धामा केन्द्रीत गर्ने बताउनुभयो । वाग्लेले अवसर आएको खण्डमा आगामी निर्वाचनमा यसअघिको निर्वाचन भन्दा पनि सानदार ढंगले जित निकाल्ने बताउनुभयो ।

२३ परिवारलाई पुर्जा वितरण

मङ्गलबारे / चुलाचुली गाउँपालिकामा रहेका २३ घरपरिवारलाई लालपुर्जा वितरण गरिएको छ । भूमि आयोगद्वारा लाजपुर्जा गाउँपालिकाका भूमिहीन परिवारलाई वितरण गरिएको हो ।

लामो समयदेखि काम थालिएको भए पनि विभिन्न प्रक्रिया पूरा भएपछि जग्गा वितरण गरिएको हो । जग्गाको धनीपुर्जा पाएपछि उनीहरु खुसी भएका छन् । जग्गाविहीनहरुले अबमात्र आफूहरु बस्दै आएको जग्गा आफ्नो नाममा भएको भन्दै खुसी जनाएका छन् ।

सो गाउँपालिकासहित अन्य पालिकामा अझै पनि भूमिहीन रहेका भूमि आयोगका अध्यक्ष भक्त केसीको भनाइ छ । उहाँले योसँगै जिल्लामा रहेका सुकुम्वासीलाई पुर्जा वितरण प्रक्रियाको थालनी भएको बताउनुभयो ।

अन्य भूमिहीनले समेत तत्काल आफूहरुलाई समेत जग्गाको धनीपुर्र्जा दिन आग्रह गरेका छन् । गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले भूमिहीनको समस्या समाधानका सङ्घीय र प्रदेश सरकार लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तहले गर्नुपर्ने कामका लागि आफूहरु तयार रहेको पनि बताउनुभयो ।

घर भाडामा छुट दिन व्यवसायीको माग

भरतपुर / चितवनका व्यवसायीले २० प्रतिशतसम्म घर भाडामा छुट दिन माग गरेका छन् । नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनले आर्थिक मन्दीबाट व्यवसाय धराशयी अवस्थामा पुगेको भन्दै हाल तिर्दै आएको घर भाडादरमा २० प्रतिशत छुट दिन अनुरोध गरेको हो ।

मञ्चले शुक्रबार नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक मन्दीको असर रहुन्जेल तथा व्यवसाय पूर्ववत् अवस्थामा चलायमान हुन नसक्दासम्म घरभाडा घटाउन माग गरेको हो ।

मञ्चका अध्यक्ष ख्याम नारायण पराजुलीले राजमार्ग विस्तारका साथै विकास निर्माणका कामको असर प्रत्यक्ष रूपमा व्यवसायमा परेको भन्दै व्यवसाय पूर्ववत् सञ्चालन नहुँदासम्म भाडादरमा पूर्ण रुपमा छुट दिन घरधनीलाई अनुरोध गर्नुभयो । उहाँले घरबहालसम्बन्धी कर घरधनी स्वयम् आफैँले तिर्नुपर्नेसमेत स्पष्ट पार्नुभयो ।

अहिले व्यवसायीले आर्थिक मन्दीका कारण घरभाडा समयमा भुक्तानी गर्न नसक्दा घरधनीलाई समेत असर परेको अध्यक्ष पराजुलीको भनाइ थियो । “घरभाडाका कारण व्यवसाय बन्द हुँदै गएको अवस्थामा बेरोजगारी बढ्ने, घरधनीले प्राप्त गर्ने घरभाडा, राज्यले प्राप्त गर्ने व्यवसाय कर, बहाल करलगायत अन्य करसमेत घट्ने हुँदा यसलाई व्यवसायी, घरधनी र राज्य पक्षले सहजीकरण गरी विकल्प खोज्नुपर्दछ”, उहाँले भन्नुभयो ।

चितवनका मुख्य सहर र सडक आसपास क्षेत्रमा ८० देखि ९० प्रतिशतले भवन, सटर, कोठा भाडा लिई व्यवसाय सञ्चालन गर्दै आएका छन् । व्यवसायमा देखिएको ह्रास, चर्को घरभाडा र बैंकको ब्याजका कारण दैनिक खर्च चलाउन समेत समस्या हुन थालेपछि व्यवसायीहरु पलायन हुँदै अध्यक्ष पराजुलीले बताउनुभयो । उहाँले बैंक तथा वित्तीय संस्थाद्वारा प्रदान गरिएको कर्जाको ब्याजलाई एक अङ्कमा सीमित राख्न नेपाल राष्ट्र बैंकलाई अनुरोध समेत गर्नुभयो ।

हेटौँडामा वृद्ध दम्पती मृत फेला

बाग्मती / मकवानपुरको हेटौँडामा वृद्ध दम्पत्ती मृत फेला परेका छन् । हेटौँडा उपमहानगरपालिका–१ चाइना गेटका ७८ वर्षीय कृष्णप्रसाद दाहाल र उहाँकी श्रीमती ७४ वर्षीया नन्दकुमारी दाहाल झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार दुवैजना गए राति तीन तले पक्की घरको पूजा कोठामा पासो लगाइ झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

मृतक दम्पत्ती कान्छो छोरा र बुहारीसँगै बस्दै आएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

साइबर अपराध न्यूनीकरण गर्न सचेतना अभियान

राँझा – नेपालगञ्ज उपमहानगरपालिकामा साइबर अपराध न्यूनीकरण गर्न सचेतना अभियान सुरु गरिएको छ । उपमहानगरपालिका–१८ ले निजी क्षेत्रसँगको साझेदारीमा माध्यमिक विद्यालय तहमा अध्ययनरत विद्यार्थीमार्फत साइबर अपराध न्यूनीकरण अभियान सुरु गरिएको वडाध्यक्ष दिपककुमार वर्माले जानकारी दिनुभयो ।

“नेपालगञ्जका विभिन्न विद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थी र शिक्षकलाई लक्षित गरेर सचेतनामूलक कार्यक्रम सुरु गरिएको हो”, वडाध्यक्ष वर्माले भन्नुभयो, “समाजमा ठूलो समस्याका रुपमा देखिँदै गएको साइबर अपराध न्यूनीकरण गर्न सकिन्छ भन्ने अपेक्षा हो ।”

साइबर अपराध न्यूनीकरणका लागि सचेतना अभियान नेपालगञ्जभरि सञ्चालन गर्न नगरप्रमुख र अन्य वडासँग सहकार्य तथा समन्वय गर्दै अघि बढ्ने वडाध्यक्ष वर्माको भनाइ छ । जिल्ला प्रहरी कार्यालय बाँके अपराध शाखाका प्रहरी निरीक्षक नरेश विकले बाँकेमा पनि साइबर अपराधसम्बन्धी घटना घटिरहेकाले यो अभियान प्रभावकारी हुने बताउनुभयो ।

युवा तथा किशोरावस्थामा साथीसाथीबीच सामाजिक सञ्जालको पासवर्ड एकापसमा लिनेदिने कुराले सम्बन्ध बिग्रिएपछि साइबर अपराधसम्मका घटना निम्त्याउने गरेको उहाँको भनाइ छ । “सामाजिक सञ्जालको पासवर्ड तपाईं आफ्नो साथी वा प्रेमीप्रेमिकालाई होइन आफ्ना बाबुआमालाई दिनुस्, यसले तपाईमाथि घट्नसक्ने साइबर अपराध रोक्न ठूलो सघाउ पुग्छ”, उहाँले भन्नुभयो, “अरु कसैलाई आफ्नो पासवर्ड नदिनुस्, अभिभावकले पनि आफ्ना सन्तानका साइबर गतिविधिलाई निगरानी गर्न जरुरी छ ।”

नेपालगञ्जमा माध्यमिक विद्यालय तहमा अध्ययनरत विद्यार्थीलाई साइबर अपराधसम्बन्धी सचेतना कार्यक्रममा प्रहरी निरीक्षक विकले सम्बन्ध राम्रो हुँदा एकअर्कालाई दिइएको सामाजिक सञ्जाल सम्बन्ध बिग्रिएपछि साइबर अपराधका घटना घटाउने हतियार बन्ने गरेको उल्लेख गर्नुभयो ।

“सामाजिक सञ्जालको पासवर्ड अभिभावकलाई दिएमा छोराछोरी के गर्दैछन् र कसको सङ्गतमा छन् भन्ने बुझ्न र गलत बाटोमा लागेको समयमै थाहा पाउन सहज हुन्छ”, प्रहरी निरीक्षक विकले भन्नुभयो, “आफ्ना बालबालिकाले के गरिरहका छन् भन्ने कुरा बुझ्न अभिभावकसमेत सचेत हुन जरुरी छ ।”

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले इन्टरनेटको प्रयोगका हिसाबले पनि युवा बढी देखिएको भन्दै साइबर अपराध नियन्त्रणका लागि युवाको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । साइबर अपराध सचेतनाका लागि वडाले गरेको पहलको सराहना गर्दै प्रजिअ आचार्यले साइबर अपराध न्यूनीकरणमा सचेतना नै मुख्य पक्ष रहेको उल्लेख गर्नुभयो ।

बाँके प्रहरी प्रमुख सन्तोषसिंह राठौरले आफ्ना सन्तानका काममा निगरानी गर्न अभिभावकलाई सुझाव दिनुभयो । अपराधको कानुनी उपचारभन्दा सचेतना नै महत्वपूर्ण हुने उल्लेख गर्दै प्रहरी उपरीक्षक राठौरले व्यक्ति अञ्जानबस वा जानकारीको अभावमा पनि साइबर अपराधमा फसेकाले न्यूनीकरणमा प्रहरीले सबैको साथ र सहयोग खोजेको बताउनुभयो ।

गणतन्त्रका १५ वर्षले ल्याएको परिवर्तन

काठमाडौँ / नेपालमा दुई सय ४० वर्षे राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको १५ वर्षको अवधिमा जनताका प्रतिनिधिले लेखेको संविधानमार्फत अवसर र अधिकारबाट बञ्चित भएका महिला, आदिवासी, मुस्लिम, दलित, मधेसी, उत्पीडित, पिछडिएका क्षेत्रबाट प्रतिनिधि सुनिश्चित भई समावेशी आधारमा राज्यसत्ता सञ्चालनमै सहभागी हुने सुवर्ण अवसर प्राप्त भएको छ । नेपालमा भैतिक पूर्वाधारको विकास र सूचना तथा सञ्चार प्रविधिमा क्रान्ति सङ्घीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थाकै कारणले सम्भव भएको हो ।

राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिर्वतनका लागि नेपाली जनताले इतिहासका विभिन्न कालखण्डमा गरेका जनयुद्ध, राजनीतिक आन्दोलन तथा जनताको बलिदानीपूर्ण सङ्घर्षको जगमा रु २०६५ जेठ १५ गते तत्कालीन संविधानसभाबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने ऐतिहासिक निर्णय भएको थियो । सोह्रौँ गणतन्त्र दिवसका सन्दर्भमा सरकारले गणतन्त्रका १५ वर्ष नामक पुस्तिका प्रकाशनमा ल्याएको छ । यसबीचमा भएका उपलब्धिलाई विभिन्न १५ शर्षिकमा तथ्याङ्कगतरुपमा प्रस्तुत गरिएको छ । यस अवधिमा समावेशीकरण, सङ्घीयता कार्यान्वयन, आर्थिक विकास शान्ति सुरक्षा र सुशासन स्थापना, ऊर्जा विकासलगायतका क्षेत्रहरुमा सकारात्मक फड्को मारेको देखिन्छ ।

गणतन्त्रका १५ वर्षमा समावेशी प्रतिनिधित्व नीति निर्माण तथा प्रशासनिक क्षेत्र उत्साहजनक रहेको छ । स्थानीय तहमा हालको महिला प्रतिनिधत्वलाई मात्र हेर्ने हो भने साविक स्थानीय निकायमा यस्तो प्रतिनिधित्व ज्यादै कम देखिन्छ । यसैगरी विसं २०४८, २०५१ र २०५६ को संसद्मा भएको प्रतिनिधित्वको तुलनामा गणतन्त्रपछिको प्रतिनिधित्व उल्लेख्य रुपमा वृद्धि भएको छ । त्यसैगरी संवैधानिक पदाधिकारीमा महिला पुरुष अनुपात ८ः९२ पुगेको छ ।

यसैगरी नेपालले प्रशासनिक क्षेत्रमा समावेशी प्रतिनिधित्वमा फड्को मारेको छ । विसं २०६४ देखि २०७९ सम्म लोकसेवा आयोगको समावेशी प्रतिस्पर्धाबाट २२ हजार ६९२ जना महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपाङ्गता भएका व्यक्ति र पिछडिएका क्षेत्र समूहबाट सिफारिस भएका छन् । समावेशी समूहले अवसर सिर्जना गरेको प्रतिस्पर्धी क्षमताका कारण २०७४ देखि २०७८÷७९ सालको अवधिमा खुला प्रतियोगिताबाट नौ हजार ३१ र समावेशी प्रतियोगिताबाट नौ हजार आठ सय २९ गरी १८ हजार आठ सय ६० जना लोकसेवाबाट सरकारी सेवाका लागि सिफारिस भएका छन् ।

गणतन्त्र स्थापनापूर्वको स्थानीय तहको निर्वाचन वर्ष २०४९, २०५४ सालमा क्रमशः ० दशमलव ६२, ११ दशमलव ७७ प्रतिशत मात्र महिलाको प्रतिनिधित्व रहेकोमा गणतन्त्र स्थापनापछिको निर्वाचन वर्ष विसं २०७४, २०७९ मा क्रमशः ४० दशमलव ९६, ४१ दशमलव २३ प्रतिशत पुगेको छ ।

त्यस्तै गणतन्त्र स्थापनापूर्वको प्रतिनिधिसभामा निर्वाचन वर्ष २०४८, २०५१, २०५६, २०६४ सालमा क्रमशः तीन दशमलव ९, २ दशमलव ९३, ५ दशमलव ८५ र ३२ दशमलव ७८ प्रतिशत रहेको थियो भने गणतन्त्र स्थापनापश्चात् निर्वाचन वर्ष २०७०, २०७४, २०७९ मा क्रमशः २९ दशमलव ४५, ३३ दशमलव ९ र ३३ दशमलव ९ प्रतिशत रहेको छ ।

गणतन्त्रले न्यायिक क्षेत्रमा पनि लैङ्गिक समावेशीकरणलाई टेवा पु¥याएको छ । जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालत को न्यायाधीश पदमा महिलाको संख्या बढ्दो छ । संविधानअनुसार शासकीय पुनःसंरचना भएको र बझाङको सैपाल गाउँपालिकाबाहेक सबै स्थानीय तहमा बैंकिङ सुविधा पुगेको छ ।

शान्तिसुरक्षा र सुशासनतर्फ विसं २०६३ मङ्सिर ५ गते नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी) बीच सम्पन्न भएको ऐतिहासिक विस्तृत शान्ति सम्झौता विसं २०६३ ले सामाजिक, आर्थिक र राजनीतिक रूपान्तरणको सवालमा महत्वपूर्ण उपलब्धि हासिल ग¥यो । सम्झौताबमोजिम गरिएको सेना समायोजन पनि एउटा महत्वपूर्ण उपलब्धिका रुपमा लिन सकिन्छ । सशस्त्र द्वन्द्वमा विद्रोही पक्षबाट लडिरहेका व्यक्तिहरूको उचित व्यवस्थापन र सशस्त्र द्वन्द्वमा संलग्न भएको नेपाली सेनाको आधुनिकीकरणसहितको सेना समायोजन सम्पन्न भएको छ ।

शान्ति सुरक्षा र विकास निर्माणमा नेपाली सेना विश्वमा शान्ति स्थापनार्थ विभिन्न १३ वटा मिसनमा जम्मा ६० हजार ६१ जना फौज तैनाथ भई फौज योगदान गर्ने मुलुकको सूचीमा नेपाल दोस्रो स्थानमा रहेको छ । राष्ट्रिय सुरक्षाको महत्वपूर्ण अङ्गका रुपमा रहेको सीमा सुरक्षालाई सबल र व्यवस्थित बनाउन देशका दक्षिणी सीमातर्फ दुई सय १९ र उत्तरी सीमातर्फ सात गरी दुई सय २६ स्थानमा बिओपी स्थापना गरिएको छ ।

सार्वजनिक सेवा प्रवाहलाई सहज र पहुँचयोग्य बनाउँदै लगिएको छ । सरकारी काम कारबाहीलाई थप पारदर्शी र जवाफदेही बनाइएको छ । प्रदेश र स्थानीय तहका सेवा प्रवाहले सार्वजनिक सेवालाई नागरिकको नजिक पु¥याएको छ । सबै प्रदेश सरकारले सुशासन केन्द्र स्थापना गरेका छन् । प्रायःजसो सरकारी कार्यालयले आफ्ना सेवा अनलाइन प्रणालीबाट सुरु गरेका छन् । भ्रष्टाचार नियन्त्रणका प्रयासस्वरुप नेपालको भ्रष्टाचार सूचकमा सुधार आएको छ ।

करिब डेढ दशकअघिसम्म ऊर्जाका क्षेत्रमा स्वदेशको उत्पादन र भारतबाट आयात गर्दासमेत कहालिलाग्दो लोडसेडिङ रहेकामा हाल उत्पादन उल्लेख्य वृद्धि भई निर्यातसमेत सुरु गरिएको छ । आव २०६३÷६४ मा सात सय मेवा विद्युत् उत्पादन क्षमता रहेकामा गत चैत मसान्तसम्म दुई हजार छ सय ७८ मेवा पुगेको छ भने विद्युत् पहुँच पुगेका घरपरिवार विसं २०६४ मा ५६ प्रतिशत रहेकामा विसं २०७८ मा ९२ प्रतिशत पुगेको छ ।

देशको आर्थिक विकास र वित्तीय व्यवस्थापनको क्षेत्रमा पनि सुधारका उल्लेख्य प्रयासहरु भएका छन् । नेपाल सरकारले विकास निर्माणको कार्यलाई नयाँ सोचका साथ तीव्र रुपमा अघि बढाउन राष्ट्रिय गौरवका आयोजनाहरू पहिचान गरी कार्यान्वयनमा ल्याएको छ । सडक, पुल, भवन, जलविद्युत् योजना, विमानस्थल, सिँचाइ नहर, केबुलकार, सुरुङमार्गको निर्माण पनि अघि बढेका छन् । विसं २०६४ मा रु ३१ हजार नौ सय ४६ रहेको प्रतिव्यक्ति आय विसं २०७९ मा रु एक लाख ८२ हजार छ सय ८३ पुगेको छ ।

गरिबी निवारणलाई मापन गर्ने बहुआयामिक गरिबी दरले सन् २०१४ मा २८.६ प्रतिशत जनसंख्या गरिब देखाएकोमा हाल यो प्रतिशत १७.४ मा झरेको छ । त्यस्तै मानव विकास सूचकाङ्कमा नेपालको सूचकाङ्क सन् २०१० मा ०.५४३ रहेको अवस्थामा सुधार भई हाल ०.६०२ पुगेको छ । त्यस्तै लैंगिक असमानता सूचकांक २०६४ सालमा ०.५३२ रहेकामा २०७९ सालमा यो अङ्क घटेर ०.४५२ मा ओर्लेको छ । लगानी वातावरणको सङ्केत गर्ने सूचकका रुपमा लिइने डुइङ विजनेस प्रतिवेदन २०२० ले नेपालको स्थान अघिल्लोपटकको ११० औँ बाट सुधार भई ९४ मा ओर्लेको देखाएको छ ।

विसं २०६४ मा पाँच हजार चार सय किलोमिटर रहेको पक्की सडक २०७८ सालमा १६ हजार छ सय किमी पुगेको छ भने पक्की, कच्ची र ग्राभेल गरी सडकको लम्बाई ३३ हजार ७ सय किलोमिटर पुगेको छ । त्यस्तै शौचालयको प्रयोग गर्ने घरपरिवारको प्रतिशत ४९ प्रतिशतबाट दोब्बरले बढेर ९६ प्रतिशत पुगेको छ । यसैगरी मोबाइल सेवा प्रयोगकर्ता ५.९५ प्रतिशतबाट बढेर २०७९ मा १२२.२५ पतिशत पुगेको एवम् इन्टरनेट सेवा ०.२४ प्रतिशतबाट १३३ प्रतिशत पुगेको छ ।

प्रकृति र संस्कृतिको धनी नेपाल आकर्षक, सुरक्षित, मनोरम र साहसिक पर्यटकीय गन्तव्यका रूपमा विश्व पर्यटन बजारमा परिचित रहेको छ । नेपालको पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, आर्थिक क्रियाकलाप अभिवृद्धि र समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पु¥याउँदै आएको छ ।

गणतन्त्र स्थापनापछिका १५ वर्षमा सञ्चार क्षेत्रलेसमेत ठूलो फड्को मारेको छ । यस अवधिमा रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन र डिजिटल सञ्चारमाध्यम सङ्ख्यात्मकरुपले मात्र वृद्धि नभई प्रविधि तथा प्रकाशन प्रसारण सामग्रीको स्तरीयतासमेत बढेको छ । सरकारले ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका, विधवा, लोपोन्मुख आदिवासी जनजाति, दलित बालबालिका र कर्णालीका ६० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई मासिकरुपमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ ।

यसैबीचमा नेपालको अन्तर्राष्ट्रिय मञ्चमा सहभागिता तथा प्रतिनिधित्वसमेत प्रभावकारी बन्दै गएको छ । नेपालले सन् २००९ र सन् २०२३ गरि दुई पटक अल्पविकसित मुलुकको अध्यक्षता गरेको छ । कूटनीतिक सम्बन्धको विस्तार भई नेपालको दौत्य सम्बन्ध २०६४ सालमा १२६ रहेकामा २०८० वैशाखसम्म एक सय ७९ पुगेको छ । त्यस्तै ११ मुलुकसँग द्विपक्षीय श्रम सम्झौता भएको छ ।

गणतन्त्र स्थापनापछिको अवधिमा मुलुकमा सामाजिक र सांस्कृतिक सद्भावमा अभिवृद्धि भएको छ । जनतामा आशाको सञ्चार हुन सकेको छ । माथि उल्लेखित केही तथ्याङ्कका आधारमा पनि मुलुकमा गणतन्त्र प्राप्तिपछिको अवधिमा मुलुकको राजनीतिक, आर्थिक, सामाजिक तथा जनजीविकाको सवालमा गुणात्मक फड्को मारेको स्पष्ट छ । योसँगै गणतन्त्र प्राप्तिपछि सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता, मानवअधिकारको सुनिश्चितता, पूर्ण प्रेस स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको मजबुतीकरण भएको छ ।

गणतन्त्र प्राप्तिपछि सङ्घीयता, धर्मनिरपेक्षता, समावेशीता, मानवअधिकारको सुनिश्चितता, पूर्ण प्रेस स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रिय अखण्डताको मजबुतीकरण भएको छ । मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्नुपर्ने समयको आवश्यकतालाई पुस्तिकामा औंल्याइएको छ । यसबाट लोकतान्त्रिक गणतन्त्र र सङ्घीयतालाई नागरिकमैत्री बनाई मुलुकको समृद्धि र समुन्नतिको ढोका खोल्न सहयोग पुग्नेछ । (पुस्तक सम्पादनमा संलग्न हुनुभएका सुवेदी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव हुनुहुन्छ भने अधिकारी राससका आलेख शाखा प्रमुख हुनुहुन्छ) – नेत्रप्रसाद सुवेदी र कृष्ण अधिकारी

गर्मी बढेपछि गोरखा र तनहुँमा विद्यालय बन्द

गोरखा / गर्मी अत्यधिक बढेपछि गोरखाको पालुङटार नगरपालिकाले नगरक्षेत्र भित्रका सबै विद्यालयमा पठनपाठन बन्द गरेको छ । गर्मीले विद्यालयमा पठनपाठन गर्न नसक्ने भएपछि नगरपालिकाले नगरक्षेत्रका ५३ वटै विद्यालय बन्द गर्ने निर्णय गरेको हो । ती सबै विद्यालय तीन दिन बन्द रहने पालुङटार नगरपालिकाका नगरप्रमुख विवस चिन्तनले जानकारी दिनुभयो ।

“गर्मी ह्वात्तै बढेपछि बालबालिकाहरुको स्वास्थ्यमा समेत असर पर्न सक्ने भएकाले विद्यालयहरु बन्द गरिएको हो, उहाँले भन्नुभयो, ‘अहिले दिइएको बिदालाई आउँदो बर्खे बिदाबाट कट्टी गर्ने गरी २८ आइतबारदेखि मंगलबारसम्म सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको हो ।’
गर्मी कम नभए निर्णय गरेर बिदा थप लम्ब्याउन सकिने नगरप्रमुख चिन्तनको भनाई छ । ‘विद्यालयका भवन समेत तातेर दिउँसोको समयमा बालबालिकाहरु कक्षा कोठा भित्र पनि बस्नै नसक्ने अबस्था छ, उहाँले भन्नुभयो, ‘यस्तो अवस्थामा विद्यालय बन्द गर्नु नै उचित हुने देखेर केहीदिनका लागि पठनपाठन रोकिएको हो ।’
पालुङ्टार क्षेत्रमा पछिल्लो समय ४० डिग्रीभन्दा बढी तापक्रम मापन गरिएको नगरप्रमुख चिन्तनले बताउनुभयो । ‘हिजो आज तापक्रम घट्नु भन्दा झनझन बढ्दै गएको छ, उहाँले भन्नुभयो, ‘ठूला मानिसहरुलाई दिनको समयमा घर बाहिर निस्किएर हिड्डुल गर्न कठिन भएको छ ।’
पालुङ्टार नगरपालिका भित्र ८ हजारभन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत माधव पोखरेलले जानकारी दिनुभयो । गर्मीका कारण धुवाकोट, मिरकोट, च्याङ्ली,पालुङटार , ठाटीपोखरी क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु बढी प्रभावित भएको नगरपालिकाले जनाएको छ ।

समाजवादी प्रेस सङ्गठनको निर्वाचन प्रक्रिया सुरु

काठमाडौँ / समाजवादी प्रेस सङ्गठनको शुक्रबारदेखि सुरु भएको प्रथम महाधिवेशनअन्तर्गत आज निर्वाचन प्रक्रिया सुरु भएको छ । सोका लागि सबै पदमा मनोनयन दाखिला सम्पन्न भएको छ ।

अध्यक्षदेखि केन्द्रीय सदस्यमा खुला र समावेशी गरी कूल एक सय ३६ पदमा निर्वाचन हुने निर्वाचन समितिका सदस्य नारायण सुवेदीले जानकारी दिनुभयो । निर्वाचन समितिको संयोजकमा माधव पौडेल तथा सदस्यमा विक्रम मैनाली, योगेन्द्र सिंहलगायत रहनुभएको छ । महाधिवेशनमा ७७ जिल्लाका करिब चार सय प्रतिनिधि सहभागी छन् ।

उक्त महाधिवेशनको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले शुक्रबार उद्घाटन गर्नुभएको थियो । विसं २०७८ भदौ १० गते वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको संयोजकत्वमा सो सङ्गठन गठन गरिएको थियो।

विदेशी चलचित्रकर्मीको रोजाइमा नेपाल

काठमाडौँ / केही समयदेखि नेपालमा भारतीय चलचित्र तथा शृङ्खलाको छायाङ्कन हुनेक्रम बढिरहेको छ ।

अङ्ग्रेजी भाषामा निर्माण हुने वृत्तचित्रले नेपाललाई छायाङ्कनस्थल बनाए पनि भारतीय चलचित्रको सङ्ख्या बढेको धेरै भएको छैन । विसं २०७८ मा ‘उचाइ’ चलचित्रले नेपालमा एक महिना छायाङ्कन गरेको थियो । भारतीय कलाकार अनुपम खेर, वोमन इरानी, परीनीति चोपडा, सारिका हसनजस्ता कलाकारमार्फत नेपालको राम्रै चर्चा भयो ।

त्यसपछि नेपालमा भारतीय चलचित्रसँगै शृङ्खलासमेत आउन थालेका छन् । केही समय अगाडि मात्र काठमाडौँमा भारतीय चलचित्र ‘मिराई’ को छायाङ्कन भयो । सोही समयमा भारतीय निर्देशक अनुभव सिन्हालेसमेत १० दिन एक शृङ्खला काठमाडौँदेखि पोखरासम्म छायाङ्कन गर्नुभयो ।

नेपालमा विदेशी चलचित्रको आकर्षण बढिरहेको प्रोडक्सन संयोजक अरुण रेग्मीले बताउनुभयो । “विदेशी समूहसँग काम गर्दा नेपाली प्राविधिकलेसमेत सिक्न पाएँ । उहाँहरूको काम गर्ने शैली परिपक्व छ । ठूलो समूहमा कसरी काम गर्ने भन्ने सिकिन्छ”, संयोजक रेग्मीले भन्नुभयो ।

उहाँसहित सुरज आचार्यको कम्पनी थ्री ह्विलर्सले गएको दुई वर्षमा निर्देशक सिन्हाको शृङ्खलासँगै फर्जी, उचाइलाई नेपालमा छायाङ्कन व्यवस्थापनको काम गरिसकेको छ । चलचित्र छायाङ्कनका क्रममा चाहिने सम्पूर्ण प्रबन्ध प्रोडक्सनले मिलाउने गर्छन् ।

शुक्रबार मात्र बलिउड अभिनेता सनी देओलको अभिनय रहने चलचित्रको छायाङ्कनको लागि स्थल छनोट गर्न आएको टोलीले मुस्ताङको जोमसोम, कागबेनी, मुक्तिनाथ क्षेत्र घुमघाम गरेर फर्किएको छ । व्यवस्थापक आचार्यका अनुसार उक्त चलचित्रको छायाङ्कन आउँदो नोभेम्बर महिनामा गर्ने तयारी भईरहेको छ ।

“मुस्ताङमा छायाङ्कन गर्ने तय भएको छ । यहाँ बीस दिन छायाङ्कन गर्ने उहाँहरुको योजना छ । यसले नेपालको पर्यटन प्रबद्र्धनसँगै प्राविधिकलाई समेत टेवा पुग्छ”, उहाँले भन्नुभयो ।

सरकारले आर्थिक वर्ष २०८० र ८१ को बजेट वक्तव्यमार्फत नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कनको गन्तव्य स्थल बनाउने उल्लेख गरेसँगै विदेशी चलचित्रकर्मीले सहजता महसुस गरे आउँदो समय राम्रो देखिएको अर्का व्यवस्थापक शङ्कर पाण्डेले बताउनुभयो । “विशेषत छायाङ्कनमा चाहिने स्वीकृति प्रदान गर्ने निकाय चुस्त भए र केही सहुलियत प्रदान गरिए सङ्ख्या बढ्नेछ”, पाण्डेले भन्नुभयो ।

चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०७९ र ८० को नौ महिनामा मात्रै नेपालमा ४५ भन्दा बढी विदेशी चलचित्र छायाङ्कन भएका छन् । पछिल्लो छ वर्षको तथ्याङ्क हेर्दा दुई सय ४३ को हाराहारीमा चलचित्र, वेभ शृङ्खला र वृत्तचित्र छायाङ्कन गरिएका छन् । उल्लेखित सङ्ख्या वृद्धि गर्न सरकारको तर्फबाट सहजता र कार्यविधि सहज बनाइनु आवश्यक रहेको चलचित्रकर्मी बताउँछन् ।

हरिपुर्वा नगरपालिकामा दुई महिनादेखि तालाबन्दी

सर्लाही / सर्लाहीको हरिपुर्वा नगरपालिका कार्यालयमा तालाबन्दी भएको करिब दुई महिना भयो । नगरका जनप्रतिनिधिबीच राजनीतिक आग्रह पूर्वाग्रह रहेका कारण लागेको तालाबन्दी खुलाउने प्रयास कसैले नगर्दा नगरको विकास निर्माणको काम प्रभावित भएको छ ।

नगरपालिकमा राजनीतिक विवादका कारण प्रमुख प्रशासकीय अधिकृत नगरपालिका आउन नमान्नु हरिपुर्वा नगरपालिकाका लागि कुनै अनौठो कुरा होइन । दुई महिनाको अवधिमा चार जना प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर आए पनि कोही नबसेका नगर प्रमुख विनोद साहले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय तहको दोस्रो निर्वाचनमार्फत नगरपालिकामा नयाँ जनप्रतिनिधि आएको पनि एक वर्ष पूरा भएको छ तर आन्तरिक विवादका कारण नगरको विकासको काम ठप्पजस्तै छ ।

राजनीतिक द्वन्द्वका कारण हरिपुर्वा नगरपालिकाको आर्थिक वर्ष २०७९÷०८० को नगरसभा नै ढिलो भयो । गत मङ्सिरमा नगरसभा भए पनि विकासको काम अघि बढ्न नसकेको नगर प्रमुख साहले बताउनुभयो । हरिपुर्वा नगरपालिकाका लागि कार्यालय सहयोगी भर्ना, नगरपालिकाको भवन निर्माण गर्ने स्थान, प्रहरीचौकी निर्माणजस्ता कुरामा जनप्रतिनिधि र राजनीतिक दलहरुबीच कुरा नमिल्दा नगरपालिकाको कार्यालयमा तालाबन्दीको अवस्था आएको स्थानीय युवा वीरेन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।

नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी९जसपा० नेपाल, नेकपा (माओवादी केन्द्र) सहितका पार्टीले एक सर्वदलीय सङ्घर्ष समिति नै बनाएर नगरपालिकाको आफ्नै जमिनमा कार्यालय भवन बनाउनुपर्ने, प्रहरीचौकीका लागि खरिद गरेकै जमिनमा भवन बनाउनु पर्नेलगायतका नौ माग राखेर आन्दोलन गरेको सर्वदलीय सङ्घर्ष समितिका संयोजक विकाउ यादवले बताउनुभयो ।

उहाँका अनुसार माग पूरा गर्न नगरपालिकाले चासो नदिएपछि सङ्घर्ष समितिले नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको हो ।

गत चैत १५ गतेदेखि नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको सङ्घर्ष समितिका संयोजक यादवले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाको भवन मन्दिरको जमिनमा बनाउन खोजेपछि विवाद बढेको हो । आर्थिक वर्षको अन्त्य हुनै लागेको र यो समयमा विकासको काम धमाधम गर्नुपर्नेमा नगरपालिकाको कार्यालयमा तालाबन्दी भएपछि विकास निर्माणको काम ठप्प भएको छ ।

चैत १५ गते प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने सरुवा भएपछि चैत २२ गते उपसचिव ध्रुवराज आर्चायलाई हरिपुर्वा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मन्त्रालयमा पठाएको भए पनि उहाँ आउनुभएन ।

त्यसपछि शाखा अधिकृत शम्भुप्रसाद यादवलाई वैशाख १४ गते प्रमुख प्रशासकीय अधिकृतमा पठाएर उहाँ वैशाख १७ गते हाजिर भएको एक घण्टामै सरुवा हुनुभयो । त्यसयता रिक्त रहेको सो पदमा वैशाख २४ गते सरकारले निमेष मिश्रलाई सरुवा गर्यो तर उहाँ विवादका कारण आउनुभएन । नगरपालिकामा तालाबन्दी जारी रहेको र हाजिर हुने अवस्था नभएकाले नआएको मिश्रले बताउनुभयो ।

त्यसपछि जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयको समन्वयमा नगरपालिकाको तालाबन्दी खुलाउने प्रयास गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयले पटकपटक तालाबन्दी खुलाउने प्रयास गरेको भए पनि सहमति नजुट्दा नगरपालिकमा लागेको तालाबन्दी जारी रहेको छ ।

ताला खोल्न आफूहरू तयार रहेको भए पनि नगर प्रमुख साहसहितका मानिसको अनावश्यक अडानका कारण त्यो असम्भव भएको सङ्र्घर्ष समितिका सदस्य योगनारायण रायले बताउनुभयो । उहाँका अनुसार सङ्घर्ष समितिले राखेका माग पूरा गर्ने लिखित प्रतिबद्धता गर्न नगर प्रमुख साह तयार नभएपछि सहमति नजुटेको हो ।

यता, नगरप्रमुख साहले नगरको विकासका लागि आफू लागि परे पनि सङ्घर्ष समितिले अवरोध गरेर काम गर्न नदिएको आरोप लगाउनुभयो । उहाँका अनुसार कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ताबाहेक अन्य कुनै पनि काम भएको छैन ।

टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी

गण्डकी  – गणतन्त्र दिवसका अवसरमा यही जेठ १५ गते खुला गरिएको पोखराको फेवा किनारास्थित रत्न मन्दिर घुम्ने विदेशी पर्यटकको सङ्ख्या अति न्यून छ । अहिलेसम्म जम्मा नौ जना विदेशी पर्यटक टिकट काटेर मन्दिर छिरेका छन् । 

त्यहाँ भित्रिने आन्तरिक पर्यटकको सङ्ख्या भने दैनिक सयौँमा छ । टिकटको शुल्क सुनेपछि महँगो भन्दै विदेशीहरू प्रवेशद्वारबाटै फर्कने गरेको पोखरास्थित नेपाल ट्रस्टको एकाइ कार्यालय प्रमुख गीता मिजारले बताउनुभयो । 

उहाँका अनुसार नेपालीका लागि रु एक सय र विदेशी नागरिकका लागि रु एक हजार प्रवेश शुल्क तोकिएको छ । “विदेशी पर्यटकबाट टिकट शुल्क घटाउनुपर्ने सुझाव आएको छ, यो विषयमा नेपाल ट्रष्टको केन्द्रीय कार्यालयमा पनि जानकारी गराएका छौँ”, प्रमुख मिजारले भन्नुभयो, “टिकट दर संशोधन गर्ने कुरा भइरहेको छ, माथिबाट निर्णय भएर आउन बाँकी छ ।”

पर्यटन सम्बद्ध निकाय र संस्थाबाट पनि विदेशी पर्यटकका लागि तोकिएको शुल्कलाई केही घटाउनुपर्ने सुझाव आएको उहाँको भनाइ छ । आन्तरिक पर्यटक भने दैनिक सरदर तीन सय ५० को सङ्ख्यामा रत्न मन्दिर पुगेको तथ्याङ्क उक्त कार्यालयसँग छ । गत शनिवार मात्रै सात सय बढीले रत्न मन्दिर घुमेका थिए । 

सोमबारबाहेक हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मन्दिर खुला हुने गर्छ । टिकट कक्ष भने ४ बजे नै बन्द हुन्छ । विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिका लागि रु ५० शुल्क निर्धारण गरिएको  छ । 

कार्यालयको पूर्व स्वीकृति लिएर वृत्तचित्रका लागि प्रतिघण्टा रु पाँच हजार र व्यावसायिक भिडियोग्राफीका लागि प्रतिघण्टा रु १० हजार शुल्क तोकिएको छ । 

पूर्व राजपरिवारको शीतकालीन दरबारका रूपमा चिनिने रत्न मन्दिर गणतन्त्रको उदयसँगै १५ वर्षदेखि बन्द अवस्थामा थियो । पर्यटकीय गन्तव्य स्थलका विकास गर्ने ध्येयले पहिलो पटक उक्त दरबार सर्वसाधारण तथा पर्यटकका लागि खुला गरिएको हो । 

नवौँ शाह वंशीय राजा महेन्द्रले आफ्नी कान्छी रानी रत्नको नाममा रत्न मन्दिर बनाउनुभएको थियो । राजसंस्थाको अन्त्यपछि पूर्व राजा वीरेन्द्रको नाममा रहेको उक्त दरबार विसं २०६४ मा नेपाल ट्रस्टको स्वामित्वमा आएको थियो । शाह वंशीय राजाको इतिहाससँग गाँसिएको रत्न मन्दिर सर्वसाधारणका लागि खुला गर्नुपर्ने माग स्थानीय स्तरमा उठ्दै आएको थियो । दरबारको संवेदनशीलता र प्राविधिक कठिनाइका कारण दरबारको सबै भाग भने खुला गरिएको छैन ।  

दरबारका कोठा, भर्‍याङदेखि भित्री संरचना साँघुरा छन् । एकै पटक सबै खोल्दा दरबारमा रहेका ऐतिहासिक सामग्रीको सुरक्षादेखि आन्तरिक व्यवस्थापनमा चुनौती छ । दरबारले चर्चेकोमध्ये २८ रोपनी क्षेत्र मात्र अहिले सर्वसाधारणका लागि खुला गरिएको हो ।

पोखरा महानगरपालिका–६ फेवा किनारको गौरीघाट कटेपछि बाराहीघाट नपुग्दै बीचमा रत्न मन्दिर आइपुग्छ । रत्न मन्दिर विसं २०१३ मा निर्माण आरम्भ भएर विसं २०१५ मा बनेको थियो । तीन तले दरबारमा ११ कोठा छन् । भुईँ तलामा अतिथि कक्ष, भोजनालय, राजाका सुरक्षा अधिकृत (एडिसी) बस्ने कोठा र आराम कक्ष छ । 

दोस्रो तलामा पाँच कोठा छन् । कोठा बाहिरको मुख्य हलमा बैठक कक्ष छ । जसमा राजपरिवारका सदस्य मात्र बैठक बस्ने गर्थे । राजपरिवारले क्यारेमबोर्ड, चेस, तास आदि खेल्ने कोठा पनि सोही तलामा छ । त्यो बेलाका खेल सामग्री सुरक्षित छन् । 

दोस्रो तलामै युवराजको शयन कक्षसहित तीन पाहुना कोठा छन् । राजपरिवारका निकटस्थ नातेदार र आफन्तका लागि ती कोठा प्रयोग गरिन्थ्यो । सबैभन्दा माथिल्लो तलामा राजा रानीको शयन कक्ष र पूजा कोठा रहेको छ । बाहिरपट्टि आराम कक्ष र दृश्यावलोकनका लागि कौसी छ । 

हरेक कोठामा रहेका पलङ, खाट, कुर्ची, टेबललगायत फर्निचरका सामग्री बेतबाट बनेका छन् । मुख्य कोठाहरूमा सजावट र उपहारका सामग्री राखिएको छ । राजपरिवारका सदस्यले प्रयोग गर्ने भान्छादेखि शृङ्गारसम्मका सामग्री जतन गरिएको छ । भित्तामा पूर्व राजा महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्रदेखि पूर्व युवराज पारसका सन्ततिसम्मका तस्बिरहरू सजाइएको छ । नेपाली कला झल्काउने हस्तकलाका सामग्रीदेखि आकर्षक ‘पेन्टिङ’ हरू दरबारभित्र छन् । दरबारमा प्रयोग हुने टेलिभिजन, रेडियो, टेलिफोन सेटलगायत सञ्चार र सूचना प्रविधिका सामग्री सङ्ग्रहित छन् । 

काठ र ढुङ्गाबाट दरबार बनेको छ । दरबारको पछाडिपट्टि भान्छा, कर्मचारी र सुसारेका लागि बनाइएका स–साना कोठा छन् । सुरक्षाका लागि नेपाली सेनाको छुट्टै भवन छ । अहिले रणचण्डी गणले दरबारमा सुरक्षा पहरा दिइरहेको छ । एक सय ७४ रोपनी क्षेत्रफलमा रत्न मन्दिर फैलिएको छ ।  रासस

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेडा ठुलो भारतीयको प्रतिकिलो अधिकतम मूल्य ६० रुपैयाँ रहेको छ । यस्तै गोलभेडा सानो टनेलको २० रुपैयाँ छ । 

यसैगरी मूला रातोको ४०, काउली स्थानीयको ६०, मकैबोडीको ६०, लौकाको ६०, भिण्डीको ७०, रायो सागको ५० रुपैयाँ कायम छ । 
यस्तै अनारको ४००, मौसमको २००, भूईँ कटहरको २००, अदुवाको २५०, भेडे खुर्सानीको ७० रुपैयाँ मूल्य कायम भएको छ । 

null

दिनदिनै नयाँ ‘रेकर्ड’ बनाउँदै नवलपुरको तापक्रम

नवलपुर – तराईमा गर्मी बढ्दै जाँदा मध्यनेपालमा पर्ने तराईको जिल्ला नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरले दिनदिनै तापक्रममा नयाँ ‘रकर्ड’ बनाउँदै आएको छ । यसअघिका वर्षमा नेपालगञ्ज, वीरगञ्ज, धनगढीलगायत सहरको तापक्रम देशकै सबैभन्दा बढी मापन गरिएको भए पनि यसवर्ष नवलपुरले उच्च तापक्रममा नयाँनयाँ ‘रेकर्ड’ बनाउँदै आएको छ ।

जल तथा मौसम विज्ञान विभागले हरेक २४ घण्टामा सार्वजनिक गर्ने देशको उच्च तापक्रममा नवलपुरको दुम्कौलीले दिनदिनै नयाँ रेकर्ड बनाउँदै आएको हो । विभागको हावापानी विज्ञान महाशाखाले वैशाख ६ गतेदेखि देशको तापक्रम सार्वजनिक गर्न सुरु गरेको थियो । सोही दिन नवलपुरको दुम्कौलीको तापक्रम देशकै सबैभन्दा बढी ४२ दशमलव आठ डिग्री सेल्सियस मापन गरिएको विवरणमा उल्लेख गरिएको छ ।

विभागले देशभरको अधिकतम तापक्रम सार्वजनिक गर्न सुरु गरेपछि बीचमा फाट्टफुट्ट केही जिल्लाको तापक्रम उच्च मापन गरिएको भए पनि धेरै समय नवलपुरले नयाँ नयाँ रेकर्ड बनाउँदै आएको छ । नवलपुरको दुम्कौलीमा वैशाख १० र ११ गते ३८ दशमलव आठ, १४ गते ३८, १५ गते ३८ दशमलव आठ, २४ गते ३९ दशमलव आठ, २५ गते ४१ दशमलव आठ, २७ गते ४२ दशमलव आठ, २८ र २९ गते ४१ दशमलव आठ, ३१ गते ४१ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । यो मापन गरिएको तापक्रम त्यस दिनमा देशकै सबैभन्दा उच्च तापक्रम हो ।

जेठ १ गते जिल्लामा ४१ डिग्री सेल्सियस रहेको तापक्रम जेठ २ मा घटेर ४० तथा जेठ १० मा अझ घटेर ३९ डिग्री सेल्सियस पुगेको भए पनि त्यस दिनमा यो तापक्रम देशकै उच्च तापक्रम भएको विभागले जनाएको छ । जेठ १० पछि उच्च तापक्रम भएका स्थानमा तराईका अन्य जिल्ला मापन गरिएको भए पनि जेठ १९ गते एकाएक नवलपुरको दुम्कौलीको तापक्रम ४३ डिग्री सेल्सियस मापन भयो । जेठ १९ पछि हालसम्म नवलपुरको अधिकतम तापक्रम देशका अन्य स्थानको भन्दा बढी मापन भइरहेको छ । जेठ २० गते ४३, २१ गते ४२ दशमलव आठ, २२ गते ४३ दशमलव आठ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । जेठ २२ गते नवलपुरमा त्यसबेलासम्मको सबैभन्दा बढी तापक्रम हुने आफ्नो जिल्लाको ‘रेकर्ड ब्रेक’ भएको थियो । त्यसअघि जिल्लाको अधिकतम तापक्रम सन् १९७९ मा ४३ दशमलव सात डिग्री सेल्सियस मापन गरिएको थियो ।

जेठ २३ मा तापक्रम घटेर ४२ दशमलव आठ डिग्री पुगेको भए पनि त्यस दिन यो तापक्रम देशकै उच्च तापक्रम मापन भएको विभागले जनाएको छ । जेठ २४ र २५ गते यहाँको तापक्रम ४३ दशमलव आठ डिग्री सेल्सियस पुगेको थियो । नवलपुरले उच्च तापक्रमको आफ्नो रेकर्ड पुनः ‘ब्रेक गर्दै’ जेठ २६ गते यहाँको तापक्रम ४४ डिग्री सेल्सियस पुग्यो । विभागले हरेक २४ घण्टामा देशभरको उच्च तापक्रम सार्वजनिक गर्दै आएको छ ।

नवलपुरको तापक्रम वृद्धि भएर तराईका अन्य जिल्लालाई माथ दिइरहँदा यहाँको जनजीवन प्रभावित भएको छ । अत्यधिक गर्मीका कारण खेतबारीमा लगाएका मकै सुक्न थालेका देवचुली–१७ का कृषक देवनारायण महतोले बताउनुभयो । गर्मी अधिक भएपछि यस क्षेत्रमा दिउँसोको समयमा मानिस घरभित्रै बस्ने गरेका र घरायसी कामकाज बिहानबेलुकी गरेर गर्दै आएको महतोले बताउनुभयो ।

‘विकास गाउँ पुग्यो, मान्छे बजार झरे’

ढोरपाटन – काठेखोला गाउँपालिका–३ धम्जाकी ८५ वर्षीया चन्द्रकुमारी भण्डारीलाई हिजोआजा दिन बिताउन निकै गाह्रो भइरहेको छ । बूढेसकाल लागेपछि गाह्रो काम गर्न सक्नु हुन्न उहाँ । घरको सामान्य काम गरेर दिन बित्दैन । दुःख, सुखका कुरा गर्ने वरपरका छरछिमेकीका घर सुनसान बन्दै गएका छन् । छिमेकी धमाधम बसाइँसराइ गरी बजार झर्न थालेपछि चन्द्रकुमारीले एक्लो महसुस गरी राख्नुभएको छ । अब गाउँमा मान्छेनै नहुने चिन्ता भण्डारीलाई छ । एक दशक अगाडिसम्म गाउँबाट बसाइँसराइ गरेर बजार झर्नेको सङ्ख्या न्यून थियो तर अहिले दिनप्रति दिन गाउँ छोड्नेको सङ्ख्या बढ्दो छ ।

उहाँका जवानीमा सँगसँगै मेलापात र घाँसदाउरा गरेका दौतरी अधिकांश गाउँ छोरेर बसाइँ सरेका छन् । पहिले गाउँमा विकास पुगेको थिएन, स्थानीय दुःख गरेर पनि गाउँमै बस्थे । अहिले गाउँ–गाउँमा टोल–टोलमा विकास पुगेको छ मान्छे छैनन् । गाउँमा ढुङ्गा, माटो र काठले चिटिक्क बनेका घर रित्तिएर सुनसान बन्दै गएका छन् । खेतीयोग्य जमिन वनमाराले ढाकिन थालेका छन् । दशक अगाडिसम्म निकै रमाइलो थियो धम्जा गाउँ तर अहिले बसाइँसराइका कारण चहलपहल हराउन थालेको छ । विसं २०६६ मा सडकले जोडिएको धम्जा गाउँमा अहिले विकासले गति लिदै गएको छ तर उपभोग गर्ने स्थानीय थप सेवा सुविधा खोज्दै गाउँ छोड्दै छन् ।

पहिले गाउँमा एकै परिवारले सयौँ वस्तुभाउ पाल्ने खेती किसानी गर्ने गर्थे । सामान्य सेवा लिनका लागि दिनभरि लगाएर बजार धाउनुपर्ने अवस्था थियो तर अहिले त्यो अवस्था हटे पनि गाउँमा मान्छे बस्न छोड्दै छन् । स्थानीय महत्वकांक्षी बन्दै गएपछि गाउँ रित्तिन थालेको चन्द्रकुमारी बताउनुहुन्छ । उहाँले आफ्नो पालामा अहिलेको जस्तो यातायात, खानेपानी, विद्युत् र स्वास्थ्यको सहज पहुँच नभए पनि गाउँमा मान्छेको चाप बढी भएको भन्दै अहिले सुविधा भएर पनि बसाइँसराइ गरिरहेको बताउनुभयो ।

“उतिबेला अहिलेको जस्तो मोटर गाडी आउँदैनथे, बाटोनै बनेको थिएन, हामीहरु एक साता लगाएर थाकखोला पुगेर ढिके नुन बोकेर आँथ्यौँ, स्याङ्जा पुगेर चामल लिएर खान्थ्यौँ, चप्पल लगाउने चलन थिएन, खाली खुट्टा हिँड्थ्यौँ, अहिलेको जस्तो फेसन–फेसनका लुगा थिएनन् भोटो लगाउँथ्यौँ”, उहाँले भन्नुभयो, “बिजुली पनि थिएन, दियालो, टुकी बालेर रात बिताउनुपथ्र्यो, अहिले यस्तो विकास होला भन्ने त सोचेका थिएनौँ, गाउँ पनि धेरै फेरिएको छ, गाउँमा विकास आएर के गर्ने, मान्छे सबै सहर बजारतिर झर्न थाले ।”

स्थानीय ६२ वर्षीय नगेन्द्रबहादुर भण्डारीले रोगार र विदेश हुने अधिकांश युवाको परिवार सहर बजारमा सुविधा खोज्दै झरेको बताउनुभयो । उहाँले पछिल्लो १० वर्षमा धम्जाबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्दै गएको सुनाउनुभयो । चौध वर्ष अगाडि गाउँमा सडक नआउँदासम्म स्थानीय गाउँमै दुःख गरेर बसेको भन्दै गाउँमा विकास आउन थालेपछि बजार भर्न थालेको उहाँको भनाइ छ । स्थानीय विदेश जना थलेपछि उनीहरुमा महत्वकाक्षां बढी हुँदै गएपछि बसाइँसराइ गर्न थालेको भण्डारी बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “पहिले विदेश जाने सङ्ख्या कम थियो, धेरै गाउँमा खेतीपाती गर्ने, गाउँमै कामधन्दा गर्ने गर्थे, सरकारले विदेश जाने बाटो सहज बनाइ दिएपछि धेरै विदेश जान थाले, पैसा कमाउन थाले त्यसले गर्दा उनीहरुलाई गाउँभन्दा सहर बजार मन पर्न थाल्यो, त्यही भएर अहिले गाउँमा मान्छे कम हुँदै गएका छन्, विदेश हुने धेरैजसो युवाका परिवार अहिले बजारमा छन्, कतिपय आजभोलिनै बजार झर्दैछन्, खै किन यसरी मान्छेहरु गाउँ छोडी राखेका छन् ?, मलाई पनि निकै आश्चार्य लागेको छ, विकास छैन भनौँ भने विकास पनि भएकै छ ।”

सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्न सके र गाउँमा स्वरोजगार सिर्जना गर्नसके मात्रै बसाइँसराइ रोकिने भण्डारीले बताउनुहुन्छ । गाउँमा स्वास्थ्य, शिक्षा, रोजगारको राम्रो व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ । बसाइँसराइका कारण यस वडामा रहेका विद्यालयमा विद्यार्थीको सङ्ख्या पनि दिनदिनै घट्दै गइरहेको छ ।

काठेखोला गाउँपालिका–३ धम्जाका अध्यक्ष कुलबहादुर विकले बसाइँसराइका कारण जनशक्ति अभाव हुँदा विकास निर्माणमा समस्या हुने गरेको बताउनुभयो । गाउँमा एकै पटक धेरै आयोजानका काम गर्नु परे उपभोक्ता समितिमा बस्ने मान्छे नहुने उहाँको भनाइ छ । उहाँले जनसङ्ख्या बढी भएको ठाउँमा विकास पनि धेरै हुने र आयआर्जन पनि बढी हुने भन्दै यहाँ विकास र आयआर्जन पनि कम हुने गरेको बताउनुभयो । धम्जाबाट सबैभन्दा बढी पोखरा, बागलुङ, बुटवल र चिवतनमा लगायतका सहरमा बसाइँसराइ गरेर जानेको सङ्ख्या ठूलो रहेको अध्यक्ष विकको भनाइ छ ।

“मान्छेहरु अलिअलि पैसा कमाउन थाले भने बजारनै झर्ने गरेका छन्, बसाइँसराइ रोक्न स्थानीयलाई आयआर्जनसँग जोड्ने, पर्यटन प्रवद्र्धन गर्ने, उद्योगधन्दा सञ्चालन गर्ने, स्रोत साधानको पहिचान गरेर उपयोग गरी स्वरोजगार बनाउने कामतर्फ ध्यान दिएका छौँ”, अध्यक्ष विकले भन्नुभयो, “हामीहरुले गर्ने प्रयास गर्छौँ, हिजो स्वास्थ्य, शिक्षा, विद्युत्लगायतका विकासका पूर्वाधारले नजोडिँदा गाउँमा बस्ने अहिले सबै पुग्दा पनि बजार झर्ने गरेका छन्, बजारको जस्तो सेवा सुविधा गाउँमा नल्याएसम्म बसाइँसराइ रोक्न गाह्रो देखिन्छ ।”

वडा कार्यालयको अनुसार चालु आर्थिक वर्षमा मात्रै धम्जा गाउँबाट १० परिवार बसाइँसराइ गरेर बाहिर गरेका छन् । वडामा दर्ता गराएका बाहेक अझै बढी बसाइँसराइ गरेर गाउँ छाड्नेको सङ्ख्या बढी रहेको स्थानीयको भनाइ छ ।

कुष्ठरोगीको उपचारका लागि हरियोखर्क अस्पतालमा ‘आइलिन एण्ड बेट्टी’ सेन्टर

कास्की – इन्टरनेशनल नेपाल फेलोसिप (आइएनएफ)ले पोखराको नयाँगाउँस्थित हरियोखर्क अस्पतालमा आइलिन एण्ड बेट्टी सेन्टर भवनको स्थापना गरेको छ । कुष्ठरोगका बिरामीको उपचारमा थप सहजताका लागि हरियोखर्क अस्पतालले सो भवन निर्माण गरी शुक्रबारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको हो ।

विसं २०१४ मा कुुष्ठ प्रभावितको स्वास्थ्य समस्या तथा उपचार केन्द्रका लागि नयाँ गाउँमा हरियोखर्क अस्पताल निर्माण गर्ने तत्कालीन बेलायती नागरिक आइलिन लज र बेट्टी बेलीको स्मरणमा निर्माण गरिएको सो भवनमा ३० शय्या छन् । यससँगै अस्पतालमा एक सय शय्यामा कुष्ठरोगका बिरामीको उपचार हुने बताइन्छ ।

हरियोखर्क अस्पतालमा छाला तथा कुष्ठरोग, मेरुदण्ड पक्षघात, कानसम्बन्धी रोगहरुको निदान, हाडजोर्नी, शारीरिक पुनःस्थापना सेवालगायतका उपचार सेवा प्रदान गर्दै आएको छ । आइलिन एण्ड बेट्टी सेन्टर भवन रु दुई करोड ७४ लाख ४९ हजार ७०४ लगायतमा निर्माण गरिएको आइएनएफका स्वास्थ्य सेवा निर्देशक डा अरुणकुमार बुढाले बताउनुभयो । उहाँका अनुसार भवनमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको रु एक करोड ५० लाख, आइएनएफ युकेको रु एक करोड एक लाख १२ हजार र आइएनएफ क्यानाडको रु २३ लाख ३७ हजार ७०४ लगानी भएको छ ।

सुविधासम्पन्न नयाँ भवन निर्माण र शय्या वृद्धि भएसँगै बिरामीको उपचारमा सुविधा पुग्ने अस्पतालले जनाएको छ । आइएनएफले विसं २००९ देखि नेपालका गरिब तथा सुविधाबाट वञ्चित नागरिकको जीवनमा सहजता ल्याउने उद्देश्यले विपन्न र विकट समुदायमा स्वास्थ्य तथा विकासका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

आइएनएफले पोखरा, बाँके र सुर्खेतमा अवस्थित आफ्ना तीन अस्पतालमा विभिन्न उपचार सेवा प्रदान गर्दै आएको छ । हाल हरियोखर्क अस्पताल कुष्ठरोगको उपचारका लागि पर्यायवाची बनेको छ । हरियोखर्क अस्पताललाई अपाङ्गतामा आधारित पाँच सय शय्याको विशिष्ट अस्पालको रुपमा विकास गर्दै लैजाने भावी कार्यक्रम रहेको बताइन्छ । आइएनएफले शून्य कुष्ठरोग रणनीतिसमेत सार्वजनिक गरेको छ ।

आइएनएफका कार्यकारी अध्यक्ष रामचन्द्र तिमोथीले नेपाल सरकारले सन् २०३० सम्ममा कुष्ठरोगलाई पूर्ण रुपमा निवारण गरी कुष्ठरोमुक्त नेपाल बनाउने लक्ष्य लिएकामा सो लक्ष्यलाई साकार पार्न संस्थाले रणनीतिक योजना तयार गरेको बताउनुभयो ।

सरकारको अभियानलाई आइएफनले पूर्ण सहयोग गर्ने गरी कार्ययोजना बनाइएको अध्यक्ष तिमोथीले बताउनुभयो । नेपालमा कुष्ठरोगको बिरामी पत्ता लगाउनेदेखि रोगको उपचार गर्न उनीहरूलाई पुनःस्थापना र कुष्ठरोगको प्रकोप दरमा कमी ल्याई मुलुकलाई राष्ट्रियस्तरमा कुष्ठरोग निवारण भएको घोषणा गर्ने स्थितिसम्म ल्याई पु¥याउन आइएनएफले योगदान गरेको छ ।

‘गठबन्धनको सरकारले गर्नुहुने/नहुने सबै काम गरेकाले देश अराजकता तिर गयो’ : प्रदिप ज्ञवाली

धनकुटा –  नेकपा एमालेका महासचिव तथा स्कुलिङ विभाग प्रमुख प्रदिप ज्ञवालीले गठबन्धनका कारण देश अराजकतामा गएको आरोप लगाउनुभएको छ ।

नेकपा एमाले प्रशिक्षण विभाग धनकुटाले आयोजना गरेको तीन दिने प्रशिक्षणका लागि आउनुभएका ज्ञवालीले यस्तो बताउनुभएको हो ।

प्रशिक्षणको उद्घाटन गर्दै उहाँले नेकपा एमालेको नेतृत्वमा बनेको देशभक्त र जनमुखी सरकार असंवैधानिक तरिकाले ढालेर गठबन्धनले देशमा अराजकतासँगै नागरिकमा निराशा फैलाएको बताउनुभयो ।

यो अराजकताको शुरुवात गठबन्धनले सांसदबाट निर्वाचित हुनुपर्ने ठाउँमा अदालतको परमादेशमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएसँगैसँगै  शुरु भएको उहाँको भनाई थियो ।

‘गठबन्धन र गठबन्धनको सरकारले गर्नुहुने/नहुने सबै काम गरेकाले देश अराजकता तिर गयो’ज्ञवालीले भन्नुभयो ।

गठबन्धन र सरकारले भुटानी शरणार्थी प्रकरणमा गैरकानुनी साँठगाँठ, देशको बजेट निर्माणमा मनपरी गरेकाले देश अराजकतासँगै आर्थिक सङ्कटमा समेत फसेको उहाँको भनाई थियो ।

‘देशका नागरिक तथा ब्यपारीहरु आर्थिक मन्दीले थप निरास छन्’ उहाँले भन्नुभयो ‘काडमाण्डौंका ३० प्रतिशत ब्यपारीक सटरहरू बन्दछन् ।’ उक्त अराजकता अहिले गठबन्धनले कोशी प्रदेशको नामाकरणमा एमाले नेताहरूलाई आक्रमण गर्ने हतियारका रुपमा प्रयोग गरिरहेको समेत उहाँको जिकिर थियो ।यस्तो अवस्थामा खबरदारी गरेर अघि बढ्ने जिम्मेवारी नेकपा एमालेको काँधमा आई परेको उहाँको भनाई थियो । 

पाख्रिबास नगरपालिका धनकुटाको कृषि अनुसन्धानको तालिम केन्द्रमा २८ गते सम्म चल्ने उक्त प्रशिक्षणमा नेकपा एमाले कोशी प्रदेश अध्यक्ष तुलसी न्यौपाने,स्कुलिङ विभाग प्रमुख गुरु बराल लगायत केन्द्रिय नेताहरूले प्रशिक्षण दिने कार्यक्रम रहेको नेकपा एमाले धनकुटाका स्कुलिङ विभाग प्रमुखका अध्यक्ष मनोज राईले जानकारी दिनुभयो ।

प्रशिक्षण कार्यक्रममा नेकपा एमाले धनकुटा जिल्ला कमिटीबाट ३० जना र विभिन्न जनवर्गीय सङ्गठनहरूबाट १० जना गरी ४० जनाको सहभागिता रहेको नेकपा एमाले जिल्ला कमिटी धनकुटाका अध्यक्ष ईन्द्रमणी पराजुलीले जानकारी दिनुभयो । 

मध्यवर्तीको समस्या : उद्योग खोल्न कसरा धाउनुपर्ने बाध्यता

त्रिवेणी – चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका बासिन्दाले विभिन्न प्रकारका समस्या झेल्दै आएका छन् ।

मध्यवर्ती क्षेत्रमा किसानले लगायका बाली वन्यजन्तुले विनाश गर्नु, वन्यजन्तुको आक्रमणमा परी मानवीय क्षति बेहोर्नुपर्ने समस्या छँदै छ । योसँगै मध्यवर्तीका बासिन्दाको अर्को समस्या यस क्षेत्रमा कुनै उद्योग खोल्नुपरे अनुमति लिन चितवनको कसरास्थित चितवन राष्ट्रिय निकुञ्जको कार्यालय धाउनुपर्ने बाध्यता रहेको छ ।

नवलपुरमा आठवटा पालिका रहेका छन् । जसमध्ये पाँचवटा पालिकाभित्रका धेरै भाग चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछन् । मध्यवर्तीका बासिन्दाले सामान्य चिया पसल सञ्चालन गर्नु परे पनि अनुमति लिन कसरा धाउनुपर्ने बाध्यता रहेको उद्योग वाणिज्य सङ्घ नवलपुरका अध्यक्ष वैकुण्ठ अर्यालले बताउनुभयो । यस नीतिले उद्योग स्थापनालाई निरुत्साहित गरेको उहाँको भनाइ छ । पर्यटन तथा उद्योग कार्यालय कावासोतीमा रहेको छ । यसैले आफ्नो शर्तअनुसार उद्योग सञ्चालनको अनुमति दिन सक्ने भए पनि मध्यवर्ती क्षेत्र पर्ने स्थानमा केही गर्नुपरे पहिला कसरा पुग्नुपर्ने बाध्यता रहेको अध्यक्ष अर्यालले बताउनुभयो । “सरकारले रोजगारी सिर्जनाको कुरा गर्छ, तर हाम्रो नियम उद्योग स्थापनालाई प्रोत्साहन गर्ने भएजस्तो पाउँदैनौँ, अहिले नवलपुरको मध्यवर्ती क्षेत्रमा सामान्य चिया पसल खोल्नुपरे पनि कसरा पुग्नुपर्ने बाध्यता छ”, अध्यक्ष अर्यालले भन्नुभयो, “मध्यवर्तीमा रहेको यो नीतिको परिमार्जन आवश्यक छ ।”

नवलपुरको गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका साथै विनयी त्रिवेणी गाउँपालिकाको धेरैजसो क्षेत्र मध्यवर्तीको सीमा क्षेत्रभित्र पर्दछन् । राजमार्गदेखि नजिकको र उद्योग स्थापनाका दृष्टिले सहज भएका सबैजसो क्षेत्रमा मध्यवर्तीका कारण उद्योगीले उद्योग स्थापना गर्न नचाहेको सङ्घका अध्यक्ष अर्यालले बताउनुभयो ।

यस क्षेत्रमा जुनसुकै उद्योग स्थापना गर्नका लागि अनुमति लिन चितवन राष्ट्रिय निकुञ्जको कसरा पुग्नुपर्ने हुँदा समस्या हुने गरको अध्यक्ष अर्यालले बताउनुभयो । सानोतिनो केही उद्योग सञ्चालन गर्छु भन्ने मानिसले मध्यवर्तीको झन्झटका कारण केही नगरी बस्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख सागर खनालका अनुसार मध्यवर्ती क्षेत्रमा उद्योग सञ्चालनका लागि माग आए आफूहरूले सुरुमा मध्यवर्ती सेक्टर कार्यालय पठाउने गरेको बताउनुभयो । सेक्टरले फाइल हेरेर मुचुल्का गरी चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित कार्यालय पठाउन र त्यहाँबाट विभिन्न सर्त राखी सञ्चालनको अनुमति प्रदान गरे ती शर्तसहित कार्यालयका सर्तको समेत पालना गर्ने गरी उद्योग सञ्चालनको अनुमति दिने गरेको उहाँले बताउनुभयो । साना ठूला सबै उद्योग सञ्चालनको अनुमतिका लागि कसरानै पुग्नुपर्ने कार्यालय प्रमुख खनालले बताउनुभयो ।

“चिया पसल, होटल, डेरी, रेष्टुराँ पनि उद्योग नै हुन, ती सबै खोल्नका समेत निकुञ्जको अनुमति चाहिन्छ, निकुञ्जले शर्त तोकी सञ्चालनको अनुमति दिएपछि हामीले दर्ता गर्छौं”, कार्यालय प्रमुख खनालले भन्नुभयो । उद्योग भनेर आउने सबैले मध्यवर्ती क्षेत्रमा परे चितवनको कसराबाट निकुञ्जको अनुमति ल्याएपछि मात्रै पर्यटन तथा उद्योग कार्यालयले थप प्रक्रिया अघि बढाउने गरेको छ । यस प्रावधानले मध्यवर्ती क्षेत्रमा उद्योग सञ्चालनमा समस्या भएको मध्यवर्ती क्षेत्रका बासिन्दाको गुनासो रहेको छ ।

ठूला उद्योग खोल्ने र सामान्य एउटा कपडा सिलाउने उद्देश्यले टेलर स्थापना गर्न खोज्नेलाई एउटै प्रावधान हुनु व्यवहारिक नभएको पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख खनालले स्वीकार गर्नुभयो ।

नवलपुर देशकै मध्यभागमा रहेकाले यहाँ उद्योग स्थापना गरे उत्पादित सामग्री देशको पूर्वी भागदेखि पश्चिमसम्म लैजान सहज हुने भए पनि चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका कारण जति उद्योग स्थापना हुनुपर्ने हो त्यति हुन नसकेको नवलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष अर्यालले बताउनुभयो ।

समथर भाग जति मध्यवर्ती क्षेत्र पर्ने र पहाडी क्षेत्रमा पूर्वाधार निर्माण गरी उद्योग स्थापना गर्न लगानी धेरै लाग्ने हुँदा जिल्लामा उद्योगमैत्री वातावरण बन्न नसकेको उहाँको भनाइ रहेको छ ।

जाजरकोटमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

जाजरकोट –  पौडी खेल्ने क्रममा डुबेर दुई बालकको निधन भएको छ ।  

भेरी नगरपालिका– १३ खानेपानी तथा सिँचाइ पोखरीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको निधन भएको हो  । 

पौडी खेल्ने क्रममा डुबेर नरबहादुर बस्नेतका वर्ष ८ का  छोरा पाण्डप बस्नेत र टीकाराम बस्नेतका वर्ष ९ का छोरा प्रमोद बस्नेतको मृत्यु भएको हो ।

स्कुलबाट फर्केर खाजा खाएर पौडी खेल्न गएका दुई बालक पौडी खेल्ने क्रममा डुबेर निधन भएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जानकारी दिएको छ । 

अर्थतन्त्रमा सुधारको सङ्केत

काठमाडौँ । बाह्य क्षेत्रको दबाबले विगत डेढ वर्षयता चापमा परेको अर्थतन्त्रमा सुधारका सङ्केत देखिन थालेका छन् । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को १० महिना (वैशाख) सम्मको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले मुद्रास्फीति, विपे्रषण, चालु खाता तथा शोधनान्तर स्थितिमा सुधार आएको उल्लेख गरेको हो । 

प्रतिवेदन अनुसार वैशाखमा उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत रहेको छ जुन् २०७९ वैशाखमा ७.८७ प्रतिशत थियो । एक वर्षको अन्तरमा मुद्रास्फीति केही घटेको पाइएको हो । त्यस्तै वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.५४ प्रतिशत र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । खाद्य समूह अन्तर्गत सबैभन्दा धेरै मरमसलाको २६.६१ प्रतिशत र गैर खाद्य समूह अन्तर्गत मनोरञ्जन तथा संस्कृति उपसमूहको सबैभन्दा धेरै १५.७५ प्रतिशतले मूल्यवृद्धि भएको छ । क्षेत्रगत हिसाबले काठमाडौँ उपत्यकामा ७.६८ प्रतिशत, तराईमा ७.१५ प्रतिशत, पहाडमा ७.५७ र हिमालमा ७.१२ प्रतिशत मुद्रास्फीति रहेको छ । 

विप्रेषण १० खर्ब नाघ्यो

समीक्षा अवधिमा नेपाल भित्रने विप्रेषणमा उल्लेख्य वृद्धि भएको छ । राष्ट्र बैङ्कका अनुसार वैशाखसम्म विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेर १० खर्ब पाँच अर्ब १८ करोड पुगेको छ । अघिल्लो आवको वैशाखसम्म आप्रवाह ०.५ प्रतिशतले मात्र बढेको थियो । अमेरिकी डलरमा भने विपे्रषण १३.४ प्रतिशतले बढेर सात अर्ब ७० करोड डलर पुगेको छ । 

समीक्षा अवधिमा खुद सेवा आय घाटामा रहे पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने कम छ । प्रतिवेदन अनुसार वैशाखसम्म खुद सेवा आय ५७ अर्ब ७४ करोड रुपियाँले घाटामा छ जबकी अघिल्लो आवको सोही अवधिमा यस्तो आय ८८ अर्ब १८ करोड रुपियाँले घाटामा थियो । 

सेवा खाता अन्तर्गत विदेशी नागरिकले नेपाल भ्रमणबापत हुने आय ९३.८ प्रतिशतले बढेर ५१ अर्ब ८८ करोड रुपियाँ पुगेको छ । २०७९ वैशाखमा यस्तो आय २६ अर्ब ७७ करोड रुपियाँ थियो । नेपालीले विदेश भ्रमणबापत गर्ने खर्च भने बढेर एक खर्ब दुई अर्ब नाघेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ७५ अर्ब ७३ करोड रुपियाँ थियो । 

बचतमा शोधनान्तर

विपे्रषणमा आएको वृद्धिले शोधनान्तर स्थिति बचतमा पुगेको छ । वैशाखसम्म नेपालबाट बाहिरिनेभन्दा भित्रने रकम अर्थात् शोधनान्तर अवस्था दुई खर्ब १४ अर्ब ६७ करोड रुपियाँले बचतमा छ । जुन गत आवको वैशाखसम्म दुई खर्ब ८८ अर्ब ५० करोड रुपियाँले घाटामा थियो । नेपाल र अन्य देशबिच हुने कारोबारको हिसाबकिताब राखिने चालु खाता भने ५४ अर्ब ६७ करोड रुपियाँले घाटामा छ । वैशाखसम्म चालु खाता ५४ अर्ब ६७ करोड रुपियाँले घाटामा देखिन्छ । यद्यपि गत आवको वैशाखसम्मको तुलनामा चालु खाता घाटामा धेरै नै सुधार आएको देखिन्छ । गत वैशाखसम्म चालु खाता पाँच खर्ब ४५ अर्ब छ करोड रुपियाँले घाटामा थियो । 

विदेशी मुद्रा सञ्चिति सहज

बढ्दो आयातका कारण विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि दबाब भोग्न सुरु गरेको अर्थतन्त्र अहिले भने सहज अवस्थामा पुगेको छ । राष्ट्र बैङ्कका अनुसार २०७९ असार मसान्तको तुलनामा २०८० वैशाखसम्म विदेशी मुद्रा नेपाली रुपियाँमा २०.९ प्रतिशतले वृद्धि भई १४ खर्ब ७० अर्ब ३३ करोड रुपियाँ पुगेको छ । अमेरिकी डलरमा भने १७.६ प्रतिशतले वृद्धि भई ११ अर्ब २१ करोड डलर कायम भएको छ । १० महिनासम्मको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको सञ्चितिले ११.२ महिनाको वस्तु आयात र ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैङ्कले जनाएको छ ।  यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ । 

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको चहलपहल बढ्दो

बर्दिया – गर्मी मौसम सुरु भएसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । गर्मी मौसममा बाघ पानी पिउन आइरहने हुँदा बाघ सजिलै देख्न सकिने निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रीविनोद दाहालले जानकारी दिनुभयो ।

राष्ट्रिय निकुञ्जमा लोपोन्मुख पाटेबाघको सङ्ख्या बढेर एक सय २५ पुगेपछि बाघ हेर्नकै लागि पर्यटक बर्दिया आउने गरेको निकुञ्ज प्रशासनले जनाएको छ । अघिल्लो आवमा एक हजार विदेशी पर्यटक आएकामा अहिले छ हजारको हाराहारीमा पुगेको सहायक संरक्षण अधिकृत दाहालले उल्लेख गर्नुभयो ।

यसैगरी अघिल्लो आर्थिक वर्ष आन्तरिक १० हजार पर्यटकले निकुञ्ज अवलोकन गरेकामा अहिले १५ हजार पुगेका छन् । गत आवमा चार सय सार्क मुलुकका पर्यटकले अवलोकन गरेकामा अहिले बढेर एक हजार पुगेका छन् । बाघ हेर्नकै लागि गत वर्षभन्दा यस वर्ष पर्यटकको सङ्ख्या बढेको सहायक संरक्षण अधिकृत दाहालले जानकारी दिनुभयो ।

पाटेबाघ, एक सिङ्गे गैँडा, चितुवा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गे र जङ्गली हात्तीलगायत स्तनधारी वन्यजन्तु निकुञ्जमा पाइन्छन् । जलचरमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइन्छन् । निकुञ्जमा चार सय ३८ थरी रैथाने र बसाइँ सरी आउने चराको अभिलेख रहेको छ । प्राकृतिकरूपमा बाघ हेर्न सकिने विश्वको दोस्रो स्थानमा बर्दिया पर्ने गरेको पर्यटन व्यवसायी बताउँछन्

बाह्र वर्षपछि संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह हुँदै

दाङ – बाह्र वर्षपछि नेपाल संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह हुन लागेको छ । विसं २०६८ मा विश्वविद्यालयको समारोह भएको थियो । त्यसपछि दीक्षान्त समारोह हुन सकेको थिएन । प्रत्येक वर्ष हुनुपर्ने दीक्षान्त समारोह हुन सकेको छैन ।

यसपटक प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनुमति दिएपछि दीक्षान्त समारोह हुन लागेको विश्वविद्यालयका शिक्षाध्यक्ष भीमप्रसाद खतिवडाले बताउनुभयो । “विश्वविद्यालयको दीक्षान्त समारोह प्रत्येक वर्ष हुनुपर्ने हो”, उहाँले भन्नुभयो, “तर, कुलपतिले अनुमति नदिँदा लामो समयदेखि दीक्षान्त समारोह हुन सकेका थिएन, यस पटक कुलपतिले अनुमति दिएपछि समारोह गर्न लागेका छौँ ।”

विश्वविद्यालयको केन्द्रीय कार्यालय बेलझुण्डीमै उक्त समारोह हुन लागेको हो । यो पाँचौँ दीक्षान्त समारोह रहेको उहाँले बताउनुभयो । यसअघि विसं २०६८ मा पनि १० वर्षपछि मात्रै दीक्षान्त समारोह भएको हो । विसं २०५७ पछि २०६८ मा मात्रै दीक्षान्त समारोह भएको थियो । यसपटक ३१ जेठमा दीक्षान्त समारोह हुन लागेको र सोही कार्यक्रममा प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने कार्यक्रम छ । दीक्षान्त समारोहमा नहुँदा ‘ग्रयाजुएट’ विद्यार्थीले मूल प्रमाणपत्र पाउन सकेका छैनन् । यसपटक विसं २०७७ सम्म १० वटा शैक्षिक शत्रमा विश्वविद्यालयबाट विद्यावारिधी, आचार्य, शास्त्री, एक वर्षे शिक्षा शास्त्री र विएएमएस उत्तीर्ण गरेका चार हजार सात सय ७३ विद्यार्थीलाई कुलपतिले मूल प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम छ ।

त्यसमा पनि विश्वविद्यालय टपरमध्ये स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्नेलाई मञ्चमै बोलाइन्छ भने अन्य ‘ग्रयाजुएट’ लाई ‘फलोर’ मा राखिन्छ । त्यसपछि प्रधानमन्त्री तथा कुलपतिले दीक्षामन्त्र ग्रहणसमेत गराउनुहुन्छ भने प्रमाणपत्र पनि प्रदान गर्ने कार्यक्रम रहेको उपप्रशासक विनयकुमार पोखरेलले बताउनुभयो । त्यो प्रमाणपत्रले विश्वविद्यालयबाट दीक्षित भएको भनी अन्तर्राष्ट्रिय मान्यता पाउन सहज हुने उहाँको भनाइ छ ।

यस वर्ष लामो समयपछि दीक्षान्त समारोह गरिएको भए पनि अब भने नियमित गर्ने गरी तयारी गरेको उपप्रशासक पोखरेलले बताउनुभयो । “प्रत्येक वर्ष गर्नुपर्ने दीक्षान्त समारोह लामो समयपछि हुन लागेको छ”, उहाँले भन्नुभयो, “यसपछि भने हामी नियमित प्रत्येक वर्ष समारोह गर्ने गरी प्रणालीको विकास गर्न लागेका छौँ ।”

विश्वविद्यालय अब ‘सिस्टम’ मा चल्ने भन्दै अब प्रत्येक वर्ष यो समारोह आयोजना गर्ने तयारी गरिएको उहाँको भनाइ छ । प्रधानमन्त्री तथा कुलपति आउने भएपछि तयारीलाई तीव्र पारिएको छ । विश्वविद्यालयको प्राङ्गणमा उक्त कार्यक्रम हुने भएकाले त्यहाँ सडक कालोपत्रे गर्न लागिएको उपप्रशासक पोखरेलले बताउनुभयो । त्यसका लागि लुम्बिनी प्रदेश आर्थिक मामिला मन्त्रालयबाट रु १० लाख बजेट आएको उहाँले बताउनुभयो । त्यही बजेटबाट त्यहाँ कालोपत्रे गर्ने काम अघि बढेको छ । विश्वविद्यालयमा ७७ वटै जिल्लाका विद्यार्थी अध्ययन गरिरहेका छन् ।

माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु

मुगु – खोलामा माछा मार्न करेन्ट लगाउँदा माछा मार्ने युवकलाई नै करेन्ट लागेर मुत्यु भएको छ ।

मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका–१ र ४ मा पर्ने घट्टे खोलामा माछा मार्न करेन्ट लगाउने क्रममा करेन्ट लागेर सोही नगरपालिका–४ भाम वाडा घर भएका २२ वर्षीय सञ्जय भामको शुक्रबार मृत्यु भएको हो ।

ब्याट्री र १२ भोल्टको इन्भर्टर लगेर खोलामा माछा मार्न गएका भामको दिउँसो २ बजेतिर खोलामा करेन्ट लागेर बेहोस भएपछि उनका साथीहरूले जिल्ला अस्पताल मुगुमा पुर्याएका थिए । अस्पतालमा पुगेपछि भामको ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिनुभयो । शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा राखिएको छ ।

माछा मार्न प्रयोग गरिएका ब्याट्री र इन्भर्टर प्रहरीले नियन्त्रणमा लिइसकेको छ । मुगु कर्णाली नदी र यसका सहायक खोलामा माछा मार्नका लागि पछिल्ला वर्षमा करेन्ट प्रयोग बढ्दै गएको छ ।

नेपालले आज नेदरल्याण्डसँग अभ्यास खेल खेल्दै

काठमाडौँ – आइसिसी एक दिवसीय विश्वकप छनोटको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास आज नेदरल्याण्डससँग खेल्दै छ । 

गत बिहीबार भएको पहिलो अभ्यास खेलमा नेपाल स्कटल्याण्डसँग ७ विकेटले पराजित भएको थियो । दक्षिण अफ्रिकामा भएको पहिलो एक दिवसीय अभ्यास खेलमा नेपाल स्कटल्याण्डसँग ७ विकेटले पराजित भए पनि नेपालमा भएको खेलमा भने स्कटल्याण्डलाई नेपालले पराजित गरेको थियो । 

जिम्बाबेमा हुने छनोट प्रतियोगिताका लागि नेपाल दक्षिण अफ्रिका पुगेको छ, जहाँ नेपालले अभ्यास खेल खेल्ने क्रममा आज नेदरल्याण्डसँग खेल्न लागेको हो ।

जिम्बाबेमा हुने छनौट खेलमा नेपालसहित आठ देशको सहभागिता रहने छ । जसअनुसार नेपालसमेत रहेको समूह ‘ए’ वेस्ट इन्डिज, अमेरिका, नेदरल्याण्डस् र जिम्बाबे रहेका छन भने समूह ‘बी’मा आयरल्याण्ड, ओमान, स्कटल्याण्ड, श्रीलङ्का र युनाइटेड अरब इमिरेट्स (युएई) रहेका छन् । 

नेपाल दुई सातापछि जिम्बावे हुने आइसिसी विश्वकप छनोट अघि अन्तिम तयारीको लागि दक्षिण अफ्रिका भ्रमणमा गएको हो । 

अझै केही दिन देशभर तापक्रम बढ्ने  

काठमाडौँ – देशभरको तापक्रम अझै केही दिन रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

केही दिनयता तातो हावा तथा ‘लु’ देशका धेरैजसो स्थानमा देखिएको बारेमा आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै मौसमविद्हरूले देशभरको तापक्रम बढ्ने बताउनुभएको हो ।

कार्यक्रममा मौसमविद् शान्ति कँडेलले यस वर्ष देशका धेरैजसो भू–भागमा सरदरभन्दा कम पानी पर्ने र सरदरभन्दा बढी अधिकतम तापक्रम हुने देखिएको बताउनुभयो। नेपालमा जुन १३ देखि मात्रै मनसुन प्रवेश हुने भएकाले अझै केही दिन ‘हिट वेभ’ बढ्ने बताइएको छ ।

गर्मीका कारण लुलु लाग्ने, बान्ता हुने, थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने समस्या देखा पर्न थालेका छन् ।

हचुवाको भरमा बोल्दा विदेश सम्बन्ध बिग्रन्छ : मन्त्री साउद

भक्तपुर – परराष्ट्रमन्त्री एनपी साउदले हचुवाको भरमा टिप्पणी गर्दा देशको विदेश सम्बन्धमा आँच आउने बताउनुभएको छ । उहाँले छिमेकी मित्रराष्ट्रको विषयमा हल्का टिप्पणी गर्दा सन्तुलन बिग्रने भएकाले त्यसतर्फ सतर्क हुनुपर्ने बताउनुभयो ।

सहिद राधेश्याम जोन्छेँ स्मृति प्रतिष्ठानले आज भक्तपुरमा आयोजना गरेको ११औँ वार्षिक स्मृतिसभा तथा छात्रवृत्ति एवं प्रमाणपत्र वितरण कार्यक्रममा उहाँले दुई देशबीचको सम्बन्ध बिगार्ने गरी बोल्न नहुने बताउनुभयो । सरकारले कुनै पनि विदेशी नीतिका बारेमा बोल्दा गहन अध्ययन गरेर स्पष्ट भएर मात्रै बोल्नुपर्ने बताउँदै उहाँले प्रधानमन्त्रीसहितको टोली भारत भ्रमणमा जाँदा हचुवाको भरमा कुनै पनि विषय नबोलेको स्पष्ट पार्नुभयो ।

“भारतको संसद्मा हामी गएका छैनौँ, नेपालको भूमि समावेश गरिएको नक्सा राखेको देखेका पनि छैनौँ, त्यस्तो भएको हो भने पनि नेपाली दूतावासले त्यसबारेमा आधिकारिक रुपमा जानकारी दिनुपर्यो, यसबारेमा कि त भारतले नै भन्नुपर्यो, तब मात्र त्यसबारेमा भ्रमणमा एजेण्डा बन्छ”, उहाँले भन्नुभयो, “हचुवाको भरमा बोल्दा दुई देशबीचको शक्ति सन्तुलन बिग्रन्छ, सम्बन्ध बिगार्न हुँदैन ।”

नक्साका बारेमा भारतले आधिकारिक रुपमा त्यो विषय राजनीतिक होइन भनिसकेको अवस्थामा दुई देशबीचको सम्बन्धमा क्षति पुग्ने गरी कसैले पनि बोल्नु हुँदैन भन्दै उहाँले नबुझी बोल्ने परम्पराले जिम्मेवार परराष्ट्रनीति अगाडि बढ्न नसक्ने बताउनुभयो ।

छिमेकी दुई राष्ट्रसँग र शक्ति राष्ट्रहरुसँग सन्तुलित परराष्ट्र नीतिका आधारमा विकासको साझेदारी गर्दै आएको उहाँले स्मरण गर्नुभयो । सांसद विकास कोषको पाँच करोडको सन्दर्भमा सांसदलाई चुनाव खर्च उठाउन दिएको भन्ने भ्रममा कोही पनि पर्न नहुने उहाँको भनाइ थियो ।

“धेरै देशमा सांसद विकास कोष दिने प्रचलन छ, तर त्यो रकम आफूखुसी गर्न र आफूले चाहेको काम गर्न होइन”, मन्त्री साउदले भन्नुभयो, “एक करोडभन्दा कम रकम कुनै पनि योजनामा छुट्याउन पाइँदैन र पाँच करोडले आफ्नो क्षेत्रमा देखिने ठूला आयोजना ठेक्का पद्धतिबाट सम्पन्न गने गरी विकास आयोजना छनोट गर्ने अधिकार सांसदलाई छ ।”

पहुँचमा हुनेले आफ्नो क्षेत्रमा मात्रै बजेट लैजाने र अरु क्षेत्रमा बजेट नजाने सम्भावना रहेकाले देशभरका एक सय ६२ क्षेत्रमा सांसद कोषबाट पाँच करोडका दरले रकम जाँदा सबै निर्वाचन क्षेत्रमा सन्तुलित विकासमा सहयोग पुर्याउन सांसद विकास कोषको रकम बजेटमा ल्याएको उहाँले बताउनुभयो । यो रकम खर्च गर्न सरकारले निर्देशिका जारी गरेर परिचालन गर्ने उहाँको भनाइ थियो ।

स्वर्गीय जोन्छेँको योगदानको चर्चा गर्दै मन्त्री साउदले कांग्रेसभित्र न्यायको आवाज बोल्ने व्यक्ति र सार्वजनिक पदको लोभ नगर्ने नेतालाई पनि तत्कालीन आवस्थामा निशाना बनाएको टिप्पणी गर्नुभयो । उहाँले पार्टीमा भित्रभित्रै लडेर प्रतिपक्षलाई मैदान खाली गर्नुभन्दा नेपाली कांग्रेसका युवा वर्गले अब गन्तव्यको पहिचान पहिल्याउनुपर्नेमा जोड दिँदै आफू पनि केही गर्न नसक्ने र पार्टीको पनि विरोध गरिरहने चरित्र अब बन्द गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रमा कोइरालाले वर्तमान संविधानको अहिलेकै व्यवस्थाले देशमा बहुमतको एकल सरकार गठन हुने सम्भावना नरहेको भन्दै संविधान संशोधन गर्र्नुपर्ने औँल्याउनुभयो । कांग्रेसका अर्का केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठले पार्टीभित्रको विवाद अन्त्य गरेर एक ढिक्का बनाएर लैजानु आजको आवश्यकता भएको बताउनुभयो ।

कार्यक्रममा सङ्घीय सांसद एवं कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले जनयुद्ध कालमा विसं २०५८ मा तत्कालीन माओवादीले घरमै बसिरहेको जोन्छेँलाई गोली हानेको स्मरण गर्दै अहिले संविधानको रक्षा र राष्ट्रको हितका लागि विगतका तितोलाई बिर्सिएर त्यही पार्टीसँग गठबन्धन गरी दुई निर्वाचन र सरकारमा सँगै जानुपरेको बताउनुभयो ।

उहाँले पार्टीको भूमिकाप्रति आम कार्यकर्तामा असन्तुष्टि चुलिँदै गएको बताउँदै उहाँले एउटा वडाध्यक्षले २० करोड खर्च गर्ने तर सांसदले पाँच करोड खर्च गर्ने गरी सांसद विकास कोषको व्यवस्था गर्नु अनावश्यक भएको बताउनुभयो । कार्यक्रममा भक्तपुरका शिक्षासेवी गङ्गाधर हाडालाई मरणोपरान्त सम्मान गरिएको थियो । मन्त्री साउदले हाडाकी पत्नी कवितालाई उक्त सम्मान पत्र प्रदान गर्नुभयो । विभिन्न विद्यालयका विद्यार्थीलाई रु पाँच हजार, रु सात हजार र रु १२ हजारको छात्रवृत्ति रकम प्रदान गर्नुभयो ।

‘अर्थपूर्ण सहभागिताका लागि एकताबद्ध हुनुपर्छ’

काठमाडौँ – राष्ट्रियसभा सदस्य कमला पन्तले महिलाको अर्थपूर्ण सहभागिताका लागि एकताबद्ध हुन जरुरी रहेको आवश्यकता औँल्याउनु भएको छ । नेपाल महिला संस्थाद्वारा आज आयोजित ‘युवा र महिलाको लागि नागरिक र राजनीतिक स्थान सक्षम बनाउन अन्तरपुस्ता नीति संवाद’ कार्यक्रममा उहाँले भन्नुभयो, “आजको उपलब्धि कसैको दया, मायाले आएको नभई महिलाका सङ्घर्ष, त्याग, आन्दोलनले पाएको हो । अबको नेतृत्व राजनीतिक पहुँचबाट नभई युवाका जोस जाँगरले प्रतिस्पर्धा गरी महिलाको अर्थपूर्ण सहभागिता बनाउन आवश्यक छ ।”

राष्ट्रियसभा सदस्य पन्तले सात सय ५३ पालिकामा महिला विकास कार्यलय हुनुपर्नेमा जोड दिनुभयो । “वडाअध्यक्षले महिलाका मुद्दामा सिफारिस गर्ने अधिकार महिला विकास कार्यलयलाई दिनुपर्छ । सचेतना बढ्दै गए पनि महिला हिंसा नघट्नुको कारण वडा अध्यक्षले महिलाको पीडा बुझ्न नसक्नु पनि हो”, उहाँले भन्नुभयो ।

कार्यक्रममा पूर्वमन्त्री जयपूरी घर्तीले महिलाका लागि तयार गरिएका कानुनी व्यवस्था कार्यान्वयनमा चुनौती रहेको बताउनुभयो । “केही बाध्यकारी व्यवस्था बाहेक कानुनमा भएका व्यवस्था कार्यान्वयन गर्न चुनौती छ । यस्ता सामाजिक मुद्दाका विषयमा सबै राजनीतिक दल स्वार्थभन्दा माथि रहेर एकजुट हुनुपर्छ”, उहाँले भन्नुभयो । अबको पुस्ताले इच्छाशक्ति र आत्मवल लिएर महिला नेतृत्व स्थापित गर्न सक्ने वातावरण बनेको उहाँको भनाइ छ ।

त्यस्तै नेपाल समाजवादी पार्टीका उपाध्यक्ष दुर्गा सोबले पार्टीले महिला नेतृत्व स्वीकार गर्न नसकेको टिप्पणी गर्नुभयो । “पार्टी भित्रनै महिला पछाडि परेका छन् । एउटै पदमा महिला हुँदा र पुरुष हुँदा हेर्ने दृष्टिकोणले फरक हुन्छ”, उहाँले भन्नुभयो । महिला नेतृत्व स्थापित गर्नमा समस्या छ भनेर पछाडि नहटी उक्त समस्यालाई सामना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष भावना भट्टले तीन पुस्ताका भोगाइ र सिकाई अन्तरपुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेकाले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । “महिला आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न नसकिएको अवस्थामा उनीहरुको सिकाइ, सङ्र्घषलाई लिपिबद्ध गरी अन्तरपुस्तामा हस्तान्तरण गर्नुपर्छ”, उहाँले भन्नुभयो । नागरिक समाजकी नेतृ शर्मिला कार्कीले महिलाको सहभागिता बढ्दै गए पनि गुणस्तरीय सहभागितामा पहल गर्नुपर्ने बताउनुभयो । महिलाको नेतृत्वप्रति विश्वास नराखे पनि निरन्तर आफ्नो अधिकारमा महिला सजग हुनुपर्नेमा उहाँको थियो ।

कार्यक्रममा विभिन्न संस्थाबाट आवद्ध व्यक्तिले महिलाका सङ्घर्ष, आन्दोलनबारे जानकारी गराउनुपर्ने, जल्दोबल्दो मुद्दामा तत्काल आवाज उठाउनुपर्ने, समयसापेक्ष विभिन्न सञ्जालमा आवद्ध भई आपूmले गरेका कामबारे प्रस्ट पार्नुपर्ने, व्यवस्था कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्नेलगायतका विषय उठाउनुभएको थियो ।

समानुपातिक बजेट वितरण गर्न सांसदको माग

काठमाडौँ – प्रतिनिधिसभामा सबै भूगोलका लागि समानुपातिकरुपमा बजेट विनियोजन हुनुपर्ने माग गरिएको छ ।

सभाको आजको दोस्रो बैठकमा आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान (बजेट) माथिको जारी सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँहरूले प्रधानमन्त्री, सत्ता गठबन्धका शीर्ष नेता र अर्थमन्त्रीका गृह जिल्लामा बढी बजेट केन्द्रित गरिएको तर्क गर्नुभएको थियो ।

उत्पादनमूलक अर्थतन्त्रलाई ध्यान दिँदै समग्र विकास केन्द्रमा राख्नुपर्नेमा जोड दिँदै उहाँहरूले विद्यमान आर्थिक सङ्कटको मोचन गर्ने बाटोमा बजेट लक्षित नभएको टिप्पणी गर्नुभयो । छलफलमा सांसद् देवप्रसाद तिमिल्सिना, दामोदार भण्डारी हृदयराम थानी, पूर्णबहादुर तामाङ, देवीप्रसाद भट्टचन, तेजुलाल चौधरी, चन्द्रबहादुर विश्वकर्मा, सुशीला थिङ, सराद अहमद फारुकी, सरिता भुसाल, हर्कमाया बिक, प्रेमबहादुर महर्जन, महेशकुमार बर्ताैलाले भाग लिनुभएको थियो ।

प्रतिनिधिसभाको आगामी बैठकमा पनि सो बजेटमाथिको छलफल जारी रहनेछ । उक्त छलफल र अर्थमन्त्रीले जवाफ दिनका लागि जेठ २८ गतेको समय थप गरिएको बैठकमा सभामुख देवराज घिमिरेले जानकारी गराउनुभयो । आजको बैठकमा संविधानसभामा मन्त्रिपरिषद्को सिफारिशमा मनोनित तत्कालीन सदस्य महेश चौधरीको निधनप्रति शोक प्रस्ताव पारित गरिएको छ ।

सभाको अर्काे बैठक यही जेठ २८ गते आइतबार बिहान ११ बजे बस्नेछ ।

पहिचानको नाममा आक्रमण गर्ने घटनाको भर्त्सना : तुलसीप्रसाद न्यौपाने

विराटनगर – नेकपा (एमाले) कोशी प्रदेश समितिले पहिचानको नाममा आन्दोलन गरिरहेको समूहबाट पटकपटक एमालेका नेताहरूमाथि गरिएको सुनियोजित आक्रमणको घोर भर्त्सना र निन्दा गरेको छ ।

पार्टीका कोशी प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपानेको हस्ताक्षरित विज्ञप्तिमा कोशी प्रदेशकी उपसभामुख सृजना दनुवार र संसदीय दलका उपनेता रामबहादुर रानामाथि आक्रमण गरेपछि पार्टी कोशी प्रदेशले घटनाको निन्दा गरेको उल्लेख छ ।

कोशी प्रदेश सरकारबाट सञ्चालन भएका विविध विकास आयोजनाको अनुगमन तथा जिल्ला भ्रमणका क्रममा यही जेठ २५ गते इलाम जिल्लाको देउमाई नगरपालिका–३ मङ्गलबारेबाट इलाम नगरपालिका–११ सोयाक भञ्ज्याङ पुग्दा एमाले केन्दीय कमिटिका सदस्यसमेत रहनुभएका उपनेता रानालाई पहिचानवादी भन्ने अपरिचित समूहद्वारा बाटो अवरुद्ध गराई साङ्घातिक आक्रमणसहित गाडीमा मोबिल खन्याएर आगो लगाउने प्रयास भएको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी सोही दिन उदयपुर जिल्लाको श्री १८ नम्बर बाहिनी भुल्केमा रहेको सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेर विराटनगर फर्कने क्रममा उपसभामुख दनुवारलाई पहिचानवादी बताउने एक हुल मानिसले आक्रमण गर्नुका साथै त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राईलाई लक्षित गरी नारा जुलुस गर्ने, उछृङ्खल गतिविधि गर्ने, ढुङ्गामुढा प्रहार गर्ने जस्ता आपराधिक क्रियाकलाप गरिएको विज्ञप्तिमा बताइएको छ ।

प्रदेश अध्यक्ष न्यौपानेले यस्ता अवाञ्छित, जघन्य र अपराधपूर्ण घटनाले नेकपा एमाले कोशी प्रदेशलाई गम्भीर बनाएको बताउनुभएको छ । एमाले पार्टीका नेताहरू कार्यकर्तालाई लक्षित गरेर बारम्बार आक्रमण प्रयास गर्ने, पार्टीले आयोजना गरेका कार्यक्रम बिथोल्न प्रयास गर्ने, पार्टीका शीर्षस्थ नेता, मुख्यमन्त्री, मन्त्री र सांसदमाथि साङ्घातिक आक्रमण गर्ने, प्रहारको निशाना बनाउने जस्ता क्रियाकलाप पटक पटक हुने गरेकाले प्रहरी प्रशासनले त्यस्ता अपराधीहरूलाई कडा कारवाही गर्नु पर्ने माग गरिएको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा दोषीलाई नियन्त्रणमा लिई कानूनी दायरामा ल्याउन र शान्ति सुरक्षा बहाल गर्न सङ्घीय सरकारसँग पनि माग गरिएको छ । एकतर्फी पार्टीका नेता, कार्यकर्तामाथि हुने गरेका आक्रमण र हिंसाका घटनाको डटेर प्रतिवाद गर्न आफ्ना कार्यकर्तालाई अध्यक्ष न्यौपानेले निर्देशनसमेत दिनुभएको छ ।

लुम्बिनी प्रदेश नीति तथा कार्यक्रम : समृद्ध, समुन्नत प्रदेश बनाउन रणनीतिक प्राथमिकतामा जोड

लुम्बिनी – लुम्बिनी प्रदेश सरकारले प्रदेशलाई आत्मनिर्भर, समृद्ध र समुन्नत बनाउन रणनीतिक प्राथमिकतामा केन्द्रीत हुने गरी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

प्रदेश सरकारका तर्फबाट आगामी आर्थिक वर्षका लागि प्रदेश प्रमुख अमिक शेरचनले आज प्रदेशसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, भौतिक पूर्वाधार, स्वास्थ्यजस्ता विषयलाई प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रममा यसअघिका सरकारले अगाडि सारेको कार्यक्रमलाई निरन्तरता दिँदै सरकारका तर्फबाट प्रदेश प्रमुख शेरचनले आज प्रदेशसभामा आगामी आव २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो ।

नीति कार्यक्रममा व्यावसायिक प्रवर्द्धन, बजारीकरण र रोजगार केन्द्रित कृषि प्रणालीलाई प्राथमिकतामा राखिएको छ । रोजगारी सिर्जना गर्ने नवीन उद्योग र पर्यटन क्षेत्रलाई पनि सरकारले प्राथमिकता दिएको छ ।

नीति तथा कार्यक्रममा कृषि क्षेत्रको व्यावसायिक प्रवर्द्धनका लागि खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्न तथा कृषि उपजको आयात प्रतिस्थापन गर्न कृषिको आधुनिकीकरण र व्यावसायीकरणमार्फत उत्पादन र उत्पादकत्व वृद्धिका लागि बाली÷वस्तु विशेष सघन व्यावसायिक उत्पादन क्षेत्र विकास कार्यक्रम सञ्चालन गर्न विभिन्न जिल्लामा कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।

कृषिको प्रवर्द्धनका लागि सघन व्यावसायिक उत्पादन क्षेत्र विकास कार्यक्रम सञ्चालन गरिने छ । त्यसका लागि विभिन्न जिल्लालाई जिल्लागत खेती प्रवर्द्धन गर्ने उल्लेख छ ।

‘घरदैलोमा प्राविधिक सेवा : उत्पादनमा टेवा’ भन्ने नारासहित कृषि प्रचार सेवाको पहुँच गाउँसम्म पु¥याउने पनि सरकारको लक्ष्य छ ।

प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाका रूपमा रहेको प्रदेशको स्थायी राजधानी रहेको राप्ती उपत्यका देउखुरीमा राजधानीको व्यवस्थापनका लागि स्थायी राजधानी निर्माणलाई पनि प्राथमिकतामा राखेको छ । प्रदेशसभाबाट राजधानी तोकिएसँगै आधुनिक सहरसहितको प्रदेश राजधानीलाई व्यवस्थित गर्न गुरुयोजना निर्माण भएर जग्गा व्यवस्थापन, ल्यान्ड पुलिङ र भौतिक पूर्वाधार निर्माणका कार्य शीघ्ररूपमा अघि बढाइने कार्यक्रममा समेटिएको छ ।

यस्तै गौरवका आयोजनामध्ये पाल्पाको रामपुरदेखि रोल्पाको जिनाबाङलगायत २० वटा अन्य प्रदेशस्तरका राजमार्ग निर्माण एवं स्तरोन्नति कार्यलाई पनि प्राथमिकतामा राखिएको छ ।

सरकारले ‘उज्यालो प्रदेश : लुम्बिनी प्रदेश’ अवधारणाअनुसार विद्युत् नपुगेका स्थानमा वैकल्पिक ऊर्जाको प्रयोग, लघु तथा साना जलविद्युत् हरित ऊर्जा, वायु ऊर्जालाई प्रवर्द्धन गर्ने नीति लिएको छ ।

राजधानीमा आधुनिक सहर संरचना विकासका लागि स्रोत व्यवस्थापन गर्न सङ्घ र स्थानीय तहसँग निरन्तर समन्वय तथा लगानी आर्कषण गर्न विकास साझेदारको सहभागिता जुटाउने प्रयास भइरहेको र त्यसले प्रदेशको समग्र विकास र नयाँ शहर स्थापनामा सहयोग पुग्ने जनाइएको छ ।

सरकारले प्रदेशवासीको आवश्यकताबमोजिम सीप तथा क्षमता विकास, रोजगारी सिर्जना, आयआर्जनमा वृद्धि गर्दै जीवनस्तरमा दिगो सुधार एवं उत्पादन र उत्पादकत्व वृद्धिको माध्यमबाट आत्मनिर्भर, समृद्ध र समुन्नत प्रदेश बनाउन रणनीतिक प्राथमिकता केन्द्रित हुने गरी कार्यक्रम सञ्चालन गरिने नीति कार्यक्रममा उल्लेख छ ।

मुख्यमन्त्री आर्थिक विकास कार्यक्रममार्फत बेरोजगार युवाशक्तिलाई बजार माग र स्वरुचि अनुरुपको सीपमूलक तालिम प्रदान गर्दै उद्यमशीलताको विकासमार्फत रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य छ ।

सङ्घ, स्थानीय तह, निजी क्षेत्र, सहकारी र विकास साझेदारसँगको साझेदारीमा आगामी दुई वर्षमा दुई लाख उत्पादनशील रोजगारीका अवसर सिर्जना हुने गरी प्रदेशका नौ सय ८३ वटै वडामा सामाजिक परिचालन गर्ने नीति कार्यक्रम सरकारले सार्वजनिक गरेको छ ।

त्यसैगरी बुटवललाई आर्थिक ‘हब’ बनाउने नारा कार्यक्रममा समेटिएको छ भने औद्योगिक विकासका लागि बाँकेको नौवस्तासहित औद्योगिक क्षेत्रको विकासमा प्राथमिकतामा राख्ने जनाइएको छ ।

पर्यटनको क्षेत्रमा लुम्बिनीलाई केन्द्र बनाएर अन्य क्षेत्रलाई जोड्ने गरी योजना बनाउने, घरेलु रक्सीदेखि हस्तकलाका सामग्रीको ब्राण्डिङ गर्ने र त्यसबाट नागरिकको जीवनस्तर बढाउने उद्देश्य पनि राखिएको छ ।

यस्तै रोजगारीको अवसर सिर्जना गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । ठूला र धेरै बजेट खर्च हुने आयोजनालाई यसपालि अघि नसार्ने तर प्रत्यक्ष लाभप्राप्त हुने योजनालाई अघि सारिएको छ ।