`

शिक्षण सहजकर्ता नियुक्तीबारे प्रभावकारीता अध्ययन गर्दै कामपा

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले यस वर्षको लागि शिक्षण सहजकर्ता नियुक्त गर्दा अघिल्लो वर्षको प्रभावकारिता अध्ययन गरेर मात्र अघि बढ्ने जनाएको छ । कामपाले गत वर्ष एसईई नतिजा सुधार गर्न भन्दै अनिवार्य पाँच विषयका लागि दुई महिनाको लागि शिक्षण सहजकर्ता नियुक्त गरेको थियो ।

यस वर्ष भने अघिल्लो वर्षको प्रभावकारिता अध्ययन गरी शैली परिवर्तन गरेर मात्रै उक्त कार्यक्रमलाई निरन्तरता दिने कामपा शिक्षा विभागका प्रमुख सिताराम कोईरालाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दुई महिना थोरै भयो यसलाई बढाउनुपर्छ सोहीअनुसार तयारी भईरहेको छ ।”

यस वर्ष कामपाले सम्बन्धित विद्यालयका शिक्षकलाई नै जिम्मेवार बनाएर अघि बढ्ने प्रमुख कोईरालाले तयारी भएको जानकारी दिनुभयो । गत वर्ष उक्त कार्यक्रमको लागि बाहीरबाट दुई महिनाको लागि शिक्षक ल्याइएको थियो ।

आफ्ना विद्यार्थी कुन अवस्थाका छन् र तीनलाई कसरी राम्रो बनाउन सकिन्छ भन्नेबारे कार्यरत शिक्षकलाई नै थाहा हुने भएकाले विद्यालयका विषयगत शिक्षकलाई नै जिम्मेवार बनाएर कार्यक्रमलाई निरन्तरता दिने तयारी कामपाको रहेको छ ।

कामपाले गत वर्षको एसईईमा सहभागी विद्यार्थीको सिकाइमा सहयोग पुगोस् भन्ने उद्देश्यले माध्यमिक तहका विद्यालयमा अनिवार्य पाँच विषयका लागि अनुभवि विज्ञ सहजकर्ता र शिक्षण सहयोगी परिचालन गरेको थियो ।

शिक्षण सहजकर्ताका लागि विश्वविद्यालयका प्राध्यापक, मावि शिक्षक वा अधिकृतस्तरबाट अनिवार्य अवकाश भएका सम्बन्धित विषयका विज्ञ वा विभिन्न सङ्घसंस्थामा काम गरेको कम्तीमा १० वर्षको अनुभव भएको हुनुपर्ने मापदण्ड बनाईएको थियो ।

अनिवार्य विषय गणित, विज्ञान, अङ्ग्रेजी, सामाजिक र नेपाली विषय अध्यापन गराउन प्रत्येक विषयका लागि पाँच/पाँच जना सहजकर्ता नियुक्त गरेको हो । हाल कामपामा ८९ सामुदायिक विद्यालय छन् । त्यसमा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय रहेका छन् । ती विद्यालयमा ५२ हजार विद्यार्थीले अध्ययन गर्दछन् । पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत छन् ।

केही सामुदायिक विद्यालयको एसईई नतिजा राम्रो नरहेको भन्दै कामपाले उक्त कार्यक्रम ल्याएको हो । गत वर्ष मागभन्दा कम सहजकर्ता र सहयोगी गरी ४३ जना मात्र नियुक्त गरिएको थियो ।

राजादेखि विप्लव माओवादीसम्म अट्ने प्रणालीबारे बहस गरौं : कमल थापा

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापा पार्टी आवद्ध जनवर्गीय संगठनको संयुक्त विरोध प्रदर्शनमा सहभागी हुँदै सम्बोधनसमेत गरेका छन् । आक्रोश युक्त भाषण गरेका थापाले गणतन्त्रका सम्बाहक शक्तिमाथी  बारम्बार प्रश्न उठाएका थिए । 

उनले गणतन्त्रले देशलाई स्थायी र समृद्धिको दिशामा लैजान नसकेको बताए । अब राजादेखि विप्लब माओवादीसम्म अट्ने राज्य प्रणाली बारे बहस हुनुपर्नेमा थापाको जोड थियो ।  

देशमा भएका ठूला भ्रष्टाचारका काण्डको फाइल खोलेर दोषीलाई तत्काल कारबाही प्रक्रिया अघि बढानुपर्नेमा थापाको भनाई थियो । आज पार्टी आवद्ध जनवर्गीय संगठनको संयुक्त विरोध प्रदर्शनको क्रममा नयाँ  बानेश्वरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै थापाले वाईडवडी घोटाला, एनसेल करछली, ललिता निवास काण्ड, तेत्तीस क्विन्टल सुन काण्ड, सार्वजनिक जग्गा अतिक्रमण जस्ता जघन्य भ्रष्टाचारका काण्डको सत्यतथ्य छानबिन गरि दोषीलाई कारबाही हुनुपर्ने बताए । 

नागरिकता विधेयकले देशको स्वाधिनताको रक्षा गर्न नसक्ने भन्दै थापाले नागरिकता विधेयक खारेज हुनुपर्ने, संघीयताले मुलुकलाई टाट पल्टाउने भएकोले संघीयता पनि खारेज हुनु पर्ने बताए । 

कुष्ठरोगीको मनोबल बढाउन समाजको व्यवहार परिर्वतन आवश्यक : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कुष्ठरोग अन्य रोगहरु सरह सामान्य भएको र उपचार सम्भव छ भन्ने जनचेतना वृद्धि गर्नुपर्ने बताउनुभएको छ ।

कुष्ठरोगका बिरामीलाई समाजमा गरिने व्यवहारलाई जनचेतनामूलक कार्यक्रमसहित परिर्वतन ल्याउन सके बिरामीको रोगसँग लड्न सक्ने क्षमता विकास हुने उहाँले बताउनुभयो । इन्टरनेशनल नेपाल फेलोशिप(आइएनएफ) नेपालको शून्य कुष्ठरोग रणनीतिको आज पोखरामा शुभारम्भ गर्दै उहाँले नेपाललाई कुष्ठरोगमुक्त बनाउने सरकारी उद्देश्य प्राप्तिका लागि आइएनएफको साझेदारी रणनीतिको सफलताको कामना गर्नुभयो ।

मुख्यमन्त्री पाण्डेले कुष्ठरोगका बिरामीप्रति विभेद गर्न नहुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “कुष्ठरोग पनि साधारण रोग हो र उपचार सम्भव छ भनेर जनचेतना बढाउनु आवश्यक छ । बिरामीलार्ई डिप्रेशन हुने गरी व्यवहार गर्नुहुँदैन । बिरामीको उच्च मनोबल वृद्धि गर्नका लागि समाजले गर्ने व्यवहार परिर्वतन गर्नु आवश्यक छ ।”

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको म्याग्दी र नवलपरासीमा अन्य जिल्लाका तुलनामा कुष्ठरोगी बढी रहेकाले रोग निवारण र रोगीहरुको सेवाका लागि आइएनएफले सञ्चालन गरेको अस्पतालले ठूलो योगदान गरेको उल्लेख गर्नुभयो । कुष्ठरोग मुक्त अभियानमा प्रदेश सरकारले सहकार्य गर्ने मुख्यमन्त्रीले प्रतिबद्धता जनाउनुभयो ।

प्रदेश सरकारले १० वर्षमुनि र ६० वर्षमाथिका नागरिकको सरकारी अस्पतालमा निःशुल्क उपचारको प्रबन्ध गर्ने गरी कार्यक्रम सञ्चालनको तयारी गरेको उहाँले जानकारी दिनुभयो । आइएनएफका कार्यकारी अध्यक्ष रामचन्द्र तिमोथीले नेपाल सरकारले सन् २०३० सम्ममा कुष्ठरोगलाई पूर्ण रुपमा निवारण गरी कुष्ठरोगमुक्त नेपाल बनाउने लक्ष्य लिएकामा सो लक्ष्यलाई साकार पार्न संस्थाले रणीनितिक योजना तयार गरेको बताउनुभयो ।

सरकारको अभियानलाई आइएफनले पूर्ण सहयोग गर्ने गरी कार्ययोजना बनाइएको अध्यक्ष तिमोथीले बताउनुभयो । नेपालमा कुष्ठरोगको बिरामी पत्ता लगाउनेदेखि रोगको उपचार गर्न, उनीहरूलाई पुनःस्थापना र कुष्ठरोगको प्रकोप दरमा कमी ल्याइ मुलुकलाई राष्ट्रियस्तरमा कुष्ठरोग निवारण भएको घोषणा गर्ने स्थितिसम्म ल्याई पु¥याउन आइएफनले योगदान गरेको अध्यक्ष तिमोथीको भनाइ छ ।

उहाँले भन्नुभयो, “नेपाल सरकारले लिएको लक्ष्य पूरा गर्न आइएनएफ नेपाल प्रतिबद्ध छ । सरकारको लक्ष्यलाई योगदान गर्न र कुष्ठरोगमुक्त समाजको परिकल्पनाका लागि रणनीतिक योजना निर्माण गरेका हौँ ।” रणनीतिक योजनामा समुदाय तहमा कुष्ठरोगका विविध पक्षबारे जनचेतना अभिवृद्धि गर्ने कुरालाई विशेष जोड दिइएको छ । त्यसैगरी रोगका बिरामीको पहिचान गर्न र समाजमा नखुलेका बिरामीलाई स्वास्थ्य संस्थासम्म ल्याइपुर्याउन स्थानीय स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि कार्यक्रम अघि सारिएको छ ।

कुष्ठरोगलाई यसबाट प्रभावितको समस्याको रुपमा मात्र नलिइकन यो समस्यालाई सबैले साझा रुपमा ग्रहण गर्ने र यसको समाधानको लागि पनि सबैले महत्वपूर्ण भूमिका निर्वाहको रणनीति आइएनएफको रहेको आइएनफएका मेडिकल सर्भिसेज डाइरेक्टर डा अरुणकुमार बुढाले बताउनुभयो ।

कार्यक्रममा समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्टले आइएनएफले सुरु गरेको कार्यक्रमबाट सरकारको कुष्ठरोग उन्मुलनको नीतिलाई सहयोग पुग्ने बताउनुभयो । उहाँले कुष्ठरोग शून्यताका लागि सबै पक्षले धेरै मिहिनेत गर्नुपर्ने खाँचो औँल्याउनुभयो । गैरसरकारी संस्था महासङ्घ नेपालका अध्यक्ष रामप्रसाद सुवेदीले गैर सरकारी संस्थाहरू सरकारको प्रतिस्पर्धी नभई सहयोगी हात मात्र रहेको बताउनुभयो । गैरसरकारी क्षेत्रबाट कुष्ठरोगको उपचारमा प्रदान गरिएको सेवा अत्यन्त उत्कृष्ट रहेको उहाँले बताउनुभयो ।

पोखराको हरियोखर्क अस्पताल परिसरमा कुष्ठरोगका बिरामीको उपचारका लागि लागि सञ्चालनमा ल्याइएको ‘आइलीन एण्ड बेट्टी सेन्टर’ भवनको उद्घाटन गरिएको छ । हरियोखर्क हस्पतालमा हाल १०० बेडमा कुष्ठरोगीहरुको उपचार हुँदै आएको छ । कार्यक्रममा आइएनएफ बोर्डका उपाध्यक्ष राजेन्द्रकुमार अधिकारी, आइएनएफ अष्टे«लियाका प्रमुख कार्यकारी अधिृकत वेन थर्ली, कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख डा प्रसन्न नापित, पोखरा—१५ का वडाध्यक्ष तोरणबहादुर बानियाँ, नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीलगायतले कुष्ठरोगमुक्त नेपाल बनाउने सरकारी अभियानमा आइएनएफले तयारी गरेको रणनीतिक योजनाले महत्पूर्ण भूमिका खेल्ने बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशसभा : नीति तथा कार्यक्रममाथि छलफल सुरु

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशसभामा आज प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम माथिको छलफल सुरु भएको छ ।

आजको बैठकमा छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सरकारको आगामी आवको सिद्धान्त एवं प्राथमिकता र नीतिबीच अस्पष्टता र विरोधाभास रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारको प्राथमिकता के हो भन्ने कुरा नीति कार्यक्रममा स्पष्ट छैन, सैद्धान्तिक आधारविहीन र प्राथमिकता अस्पष्ट छ ।”

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य मेघराज खड्काले नीति कार्यक्रममा थुप्रै विषय समेटिएको भन्दै प्रतिपक्षी बेञ्चमा बस्नेबाट सबै कुरा खराबैखराब देख्ने प्रवृत्तिको अन्त्य गरी सकारात्मक सोच राख्न पनि जरुरी रहेको बताउनुभयो । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता खगराज भट्टले नीति कार्यक्रम आधारभूत रुपमा स्वच्छ सुरुआत भएको भन्दै प्रशंसा र आलोचनाको चेतनाभन्दा समालोचनाको चेतनाले गरिने छलफल बहसले आउने निष्कर्ष पनि वैज्ञानिक र उन्नत हुने बताउनुभयो ।

नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले प्रदेशको विकास गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम आएको बताउनुभयो । नेकपा (एकीकृत समाजवादी) पार्टी संसदीय दलका नेता दीर्घबहादुर सोडारीले नीति कार्यक्रम ऐतिहासिक र महत्वपूर्ण रहेको भन्दै यसलाई वस्तुनिष्ट ढङ्गले बजेटमा व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

राप्रपाकी खेमादेवी विष्टले सरकारको नीति तथा कार्यक्रममा थुप्रै कुरा समेटिएको भए पनि स्वास्थ्य र शिक्षाका बारेमा ठोस योजना नआएको बताउनुभयो । स्वतन्त्र सदस्य ताराप्रसाद जोशीले यसअघिका सरकारले ल्याएको नीति तथा कार्यक्रम जस्तै यो नीति कार्यक्रम देखिएको भन्दै यसले कुनै नयाँ अवस्थाको खोजी गरिएको देखिएन भन्नुभयो ।

यसअघि बैठकको प्रारम्भमा मुख्यमन्त्री कमलबहादुर शाहले सरकारको आगामी आव २०८०/८१ को नीति कार्यक्रममाथि सभामा छलफल गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव बहुमतले स्वीकृत भएको थियो ।

विकास र समृद्धिको ढोका खोल्छौँ : अध्यक्ष ओली

गल्याङ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीले विकास र समृद्धिको ढोका खोल्ने दाबी गर्नुभएको छ । आँधीखोला गाउँपालिकाको नयाँ भवन उद्घाटन कार्यक्रममा आज उहाँले देशमा एमाले मात्र जनताको पक्षमा काम गर्ने पार्टी भएको दाबी गर्दै जनताका आवश्यकताका आधारमा कामको गतिलाई बढाउने बताउनुभयो ।

एमाले सरकारमा हुँदा विकासले फड्को मारेको जिकीर गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष ओलीले वर्तमान सरकारलाई एमालेले जस्तो लोकप्रिय काम गरेर देखाउन चुनौती दिनुभयो । उहाँले एमालेको सरकार हुँदा एकै दिन तीन सय ९६ योजनाको शिलन्यास गरेर नयाँ इतिहास रचेको दाबी गर्नुभयो । अध्यक्ष ओलीले वर्तमान सरकारलाई एमालेको पालामा भएका विकास निर्माणसम्बन्धी आयोजनाका बजेट कटौती नगर्न आग्रह गर्नुभयो ।

“सरकार जनजिवीकाका सवालमा गम्भीर भएर लाग्न आवश्यक छ”, उहाँले भन्नुभयो, “वर्तमान सरकारले एमालेको सुझाव मान्दैन भने पनि निराश हुनुपर्दैन एमालेले जनताको काम गर्छ ।” एमाले प्रतिपक्षमा मात्र नबस्ने बताउँदै अध्यक्ष ओलीले देश बनाउन आफ्नो पार्टी सरकारमा जाने र त्यसका लागि वातावरण बनाउने उल्लेख गर्नुभयो ।

भ्रष्टाचार विरुद्धको अभियानमा कांग्रेस खरो रुपमा उभिन्छ : नेता केसी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले भ्रष्टाचार विरुद्धको अभियानमा कांग्रेस खरो रुपमा उभिने बताउनुभएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घले आज यहाँ आयोजना गरेको ‘काठमाडौँ तदर्थ समिति घोषणा’ सभामा उहाँले भ्रष्टाचारीलाई जोगाउन कांग्रेस नलाग्ने बताउनुभयो । “कांग्रेस भ्रष्टाचार विरुद्धको अभियानमा खरो रुपमा उभिन्छ, कांग्रेसले भ्रष्टाचारीलाई जोगाउँदैन”, उहाँले भन्नुभयो ।

नेता केसीले कांग्रेसले आउने दिनमा विद्यार्थी, तरुण युवा, महिला, दलित, जनजाती, होटल व्यवसायीलगायतलाई सही ढङ्गले परिचालन गरेर सङ्गठन निर्माणमा लाग्ने बताउनुभयो । उहाँले भर्खरै निर्माण भएको तदर्थ समितिले सबैलाई समेटेर अगाडि बढ्न आग्रह गर्नुभयो ।

कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घलाई पार्टीको भ्रातृ संस्थाको रुपमा मान्यता दिन आफूले पहल गर्ने बताउनुभयो । उहाँले देशभरका ८० हजार होेटल व्यवसायीले लाखौँ युवालाई रोजगारी प्रदान गर्दै आएको भन्दै होटल व्यवसायीको सम्मानमा सरकार लाग्नुपर्ने बताउनुभयो । ग्राहकलाई सन्तुष्टि दिने गरी काम गर्न उहाँले सम्पूर्ण होटल व्यवसायीलाई आग्रह गर्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य प्रदीप सुनुवारले नेपाली खानालाई अन्तरराष्ट्रियस्तरमा पुर्याउन नेपाली होटल व्यवसायीले महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले व्यवसायीको समस्यालाई समाधान गर्न नयाँ कार्यसमिति लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य सीता देवकोटाले कांग्रेसलाई बलियो बनाउन देशभरका होटल व्यवसायीको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो । कांग्रेस बागमती प्रदेशका सदस्य इन्द्रमान महर्जन, होटल व्यवसायी अमृत भुजेल, कांग्रेस युवा नेता शैलेश कार्कीलगायतले व्यवसायीको सुरक्षाका लागि सरकार लाग्नुपर्ने बताउनुभयो । सङ्घका केन्द्रीय उपाध्यक्ष दिपेन सुवेदीले देशभर नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घको तदर्थ समिति गठन गरिने बताउनुभयो ।

होटल व्यवसायी सङ्घ काठमाडौँको अध्यक्षमा श्रेष्ठ

नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी सङ्घ काठमाडौँ जिल्लाको अध्यक्षमा सुदीप श्रेष्ठ चयन हुनुभएको छ । सङ्घको आज सम्पन्न प्रथम अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

सङ्घको उपाध्यक्षमा दुर्गा थापा र मनोहरी कँडेल, सचिवमा शैलेन्द्रविक्रम थापा र ठाकुर सापकोटा, सहसचिवमा अमरविकास रिजाल र कोषाध्यक्षमा राजु घिमिरे निर्वाचित हुनुभएको होटल व्यवसायी गणेश ढकालले जानकारी दिनुभयो । सदस्यमा ईश्वर न्यौपाने, जीवन ढकाल, भोजराज भुसाल, मनोजकुमार लोहनी, ईश्वर पौडेल, पशुपति दाहाल, नकुल भट्टराई र निरज बस्ताकोटी हुनुभएको छ ।

सुदूरपश्चिममा आइतबार आमहड्तालको घोषणा

धनगढी – सुदूरपश्चिम प्रदेशमा आइतबार आमहड्तालको घोषणा गरिएको छ । कैलालीस्थित गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आइतबार सुदूरपश्चिम बन्दको घोषणा गरिएको हो । 

स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले शुक्रबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नयाँ बिरोधका कार्यक्रम सार्वजनिक गर्दै सुदूरपश्चिम बन्दको घोषणा गरेको छ । 

संघर्ष समितिका संयोजक लोकराज पाण्डेय ‘आगो’ले आइतबार बिहान ८ देखि साँझ ६ बजेसम्म सुदूरपश्चिम प्रदेशका शैक्षिक, वित्तीयलगायतका संघ/संस्था तथा कलकारखाना, व्यापार र यातायात पूर्ण रुपमा बन्द गरिने बताए । उनले शुक्रबार सुदूरपश्चिमका उद्योगी, व्यापारी, तथा सार्वजनिक यातायातका सञ्चालकसँग छलफल गरेको समेत बताएका छन् । 

नेपाल छिमेकी देशको सम्पन्नताबाट लाभ लिन चाहन्छ : मन्त्री शर्मा

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले छिमेकी देशको सम्पन्नताबाट नेपालले लाभ लिन चाहेको बताउनुभएको छ ।

नेपालका लागि चिनियाँ राजदूत छन सोङसँग मन्त्रालयमा आज भएको दुई पक्षीय भेटवार्ताका क्रममा मन्त्री शर्माले नेपाल र नेपाली जनताको हितमा अन्तर्राष्ट्रिय समुदायबाट हुने सहयोगको सधैँ स्वागत गर्ने बताउनुभयो ।

नेपाल र चीनबीच घनिष्ट छिमेकीको सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सूचना र प्रविधिको क्षेत्रबाट समृद्धि हासिल गर्ने नेपालको प्राथमिकता भएकाले छिमेकीलगायत अन्तर्राष्ट्रिय समुदायबाट यसमा आउने सहयोग स्वागतयोग्य हुनेछ ।”

सूचना प्रविधिसँगै आम सञ्चारको क्षेत्रमा पनि चीनको सहयोग महत्त्वपूर्ण रहँदै आएको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पत्रकारिताको अध्ययन, ज्ञान र सीपको आदानप्रदानमा नेपाल र चीनको सहकार्य हुँदै आएको छ, यसमा अझै वृद्धि गर्नुपर्छ भन्ने लागेको छ ।”

आफूहरूले आफ्नै भूउपग्रहको विकास गर्ने, फोरजी इन्टरनेट सेवा देशव्यापीरूपमा विस्तार गर्दै फाइभजी सेवाको तयारी गर्ने, सूचना प्रविधि विश्वविद्यालय स्थापना गर्ने र सबै प्रदेशमा आइटी पार्क बनाउने प्राथमिकता निर्धारण गरेको उहाँको भनाइ छ ।

मन्त्री शर्माले प्रविधिको क्षेत्रमा सम्पन्नता हासिल गरिसकेका चीनसहित अन्तर्राष्ट्रिय समुदायले यसमा सहयोग गर्नसक्ने बताउनुभयो । नेपाल सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत सूचना प्रविधि, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकताको क्षेत्र निर्धारण गरेको पनि उहाँले स्मरण गराउनुभयो ।

विकासोन्मुख र भूपरिवेष्ठित राष्ट्र नेपालमा सूचना प्रविधिबाट आर्थिक सम्पन्नता हासिल गर्न सकिने विश्वास वृद्धि हुँदै गएको उल्लेख गर्दै उहाँले यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि सम्पन्न देशसँग ज्ञान र सीपको आदानप्रदान गर्न चाहेको बताउनुभयो । सूचना प्रविधिसँग सम्बन्धित चीनका धेरै कम्पनीले नेपालमा काम गरिरहेको चर्चा गर्दै उहाँले यसको गुणस्तरमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल प्राकृतिकरूपमा विश्वकै सुन्दर मुलुक भएकाले चलचित्र क्षेत्रको पनि विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उहाँले फिल्म सिटी निर्माणको सवालमा पनि चीनले सहयोग गर्नसक्ने बताउनुभयो ।

नेपालका लागि चिनियाँ राजदूत छन सोङले सूचना प्रविधि र सञ्चारको क्षेत्रमा नेपालको प्राथमिकता जानकारी भएकाले धेरै क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो ।

दुवै देशको आर्थिक उन्नतिबाट यहाँका जनताले लाभ लिनसक्ने भन्दै उहाँले चीनले दूरसञ्चार क्षेत्रमा गरेको प्रगतिबाट नेपालले लाभ लिनसक्ने बताउनुभयो । चीनमा कुनै सरकारी कार्यालयमा जाँदा कागज वा कार्ड बोक्नुपर्ने अवस्था नरहेको र सबै काम मोबाइलबाटै हुने उल्लेख गर्दै उहाँले यसबाट नेपालले पनि फाइदा लिनसक्ने बताउनुभयो ।

‘डेटा एप्लिेकेसन’को क्षेत्रमा चीनले विश्वमै अगुवाइ गरिरहेको उल्लेख गर्दै उहाँले नेपालले पनि प्रविधिको माध्यमबाट विकास र सुशासनको क्षेत्रमा आफूलाई अघि बढाउनसक्ने बताउनुभयो । नेपालको नयाँ पुस्तामा प्रविधिको दुनियाँ तयार गर्न सके यसबाट यहाँको समृद्धिको ढोका खुल्ने राजदूत सोङको विश्वास थियो । उहाँले प्रविधिसहित विविध क्षेत्रमा चीन नेपाललाई सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

राष्ट्रपति पौडेलसँग स्विस राजदूतको बिदाइ भेट

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसँग स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले आज बिदाइ भेट गर्नुभएको छ । राजदूत क्यापलर आफ्नो साढे पाँच वर्षे कार्यकाल समाप्त गरेर स्वदेश फर्कंदै हुनुहुन्छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा राष्ट्रपति पौडेलले स्विस सरकारले नेपालको विकास र नेपालीप्रति देखाएको सद्भाव उदाहरणीय रहेको बताउनुभएको उहाँका परराष्ट्र विज्ञ डा सुरेशचन्द्र चालिसेले बताउनुभयो । सो अवसरमा राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ हुँदै जाने विश्वास समेत व्यक्त गर्नुभयो ।

राजदूत क्यापलरले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्ध प्रगाढ र बलियो बनाउन खेल्नुभएको योगदानको समेत राष्ट्रपति पौडेलले सो अवसरमा प्रशंसा गर्नुभएको थियो ।

दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात द्विपक्षीय सम्बन्ध सुमधुर, नजिकको र मित्रवत रही आएको छ । नेपालले स्वीट्जरल्याण्डसँगको सम्बन्धलाई आपसी सम्मान, मित्रता र सहयोगका आधारमा उच्च महत्त्व दिँदै आएको छ ।

फ्रेन्ड्स क्लब विजयी

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत फ्रेन्ड्स क्लबले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा फ्रेन्ड्सले एपीएफ क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै विजयी भएको छ । फ्रेन्ड्सको जितमा टोरिक जेब्रिन, विकास थापा, राफिक अमिनु र अखरबेक उक्तामोभले एक/एक गोल गरे । खेलको १५औँ मिनेटमा फ्रिकिकमार्फत जेब्रिनले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाए । त्यस्तै खेलको ३१औँ मिनेटमा विकासले गोल गर्दै फ्रेन्ड्सलाई २–० को अग्रता दिलाए ।

त्यसपछि खेलको ७२औँ मिनेटमा अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई ३–० को अग्रता दिलाए । खेलको ८२औँ मिनेटमा उक्तामोभले गोल गर्दै फ्रेन्ड्सलाई ४–० को जित दिलाए । यस जितसँगै रेलिगेसनबाट बचेको फ्रेन्ड्सले २६ खेलमा ३० अङ्क जोडेको छ । पराजित एपिएफको रेलिगेसनको खतरा कायम छ ।

एपिएफले २६ खेलमा ३० अङ्क जोडेको छ । यस जितसँगै फ्रेन्ड्सको २६ खेलबाट ३० अङ्क पुगेको छ । पराजित एपिएफको भने रेलिगेसनको खतरा कायम छ । समान ३० अङ्क रहेको एपिएफ हेड टु हेडमा फ्रेन्ड्सभन्दा पछि छ ।

सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा

चितवन – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल डेमोक्र्याटिक लयर एसोसिएसन (डिएलए नेपाल) को ११औँ राष्ट्रिय महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले अहिलेको समयमा सबै मिल्नुको विकल्प नरहेको बताउनुभएको हो ।

आपूmलाई पुनः सभापति बन्ने रहर नरहेको भन्दै उहाँले प्रजातन्त्र बलियो बनाउनका लागि कांग्रेस बलियो हुन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली कांग्रेस बलियो भयो भने प्रजातन्त्र बलियो हुन्छ । त्यसका लागि सबै मिलेर अघि बढौँ ।”

नेकपा (एमाले) भित्र उमेर हद हटाइएको भन्दै उहाँले थप्नुभयो, “हामीकहाँ त्यस्तो छैन । तर दुई पटकभन्दा बढी सभापति हुन पाइँदैन । मैले म फेरि हुन्छु भनेर पनि भनेको छैन ।” प्रजातन्त्र बलियो भयो भने नेपालको विकासमा ठूलो सहयोग पुग्ने उहाँको भनाइ थियो ।

पूर्वप्रधानमन्त्री देउवाले कानून व्यवसायी अझ बढी सक्षम हुँदै प्रजातन्त्रको रक्षाका लागि लाग्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “रानीतिज्ञले गलत गरेको कुरालाई पनि समाधान गराएर यो ठिक छ र यो छैन भनेर सुझाव दिन सक्ने कानून व्यवसायी हुन् ।”

प्रजातन्त्रलाई बलियो र सुदृढ बनाउन डिएलएको भूमिका महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “यो भूमिकालाई अझै सशक्त बनाउँदै लैजानुपर्छ ।” आपूm पनि कानूनको विद्यार्थी भएको भन्दै देउवाले अभ्यास गर्न नपाउँदा दुःख लागेको बताउनुभयो । कानून व्यवसायी पेशा मर्यादित भएको उहाँको भनाइ थियो ।

बिपी कोइराला पनि कानून व्यवसायी भएको भन्दै उहाँले भन्नुभयो, “बिपी कोइराला पार्टीमा कानून व्यवसायी (लयर) हुनुहुन्थ्यो । भारतीय नेता जवाहरलाल नेहरू पनि कानून व्यवसायी हुनुहुन्थ्यो । लयर राम्रो हो, मैले पनि ल पढेको हुँ, प्राक्टिस गर्न पाइनँ ।” अमेरिकामा कानून पढेका राष्ट्रपतिलगायत उच्च तहमा पुगेको भन्दै उहाँले कानूनको ज्ञान सबैलाई हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्यायाधीश सिफारिस गर्ने क्रममा क्षमताको आधारमा गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “नेताहरूको आँगनमा देउसी, भैलो खेलेर न्यायाधीश बन्ने दिन गए ।”

क्षमता नभएका व्यक्तिलाई न्यायाधीशमा सिफारिस नगर्ने प्रतिबद्धता जनाउँदै उहाँले भन्नुभयो, “न्यायालयमा भएको भ्रष्टाचार शून्य गर्न म मन्त्री भएको हुँ । त्यो सफा गर्ने क्रममा ब्रिफकेस बोकेर धाउने न्यायाधीश बन्न सक्दैन । निष्पक्षरूपमा क्षमताका आधारमा न्यायाधीश छानिन्छ ।”

विगतमा शक्ति केन्द्रबाट कानून सञ्चालन भएको उल्लेख गर्दै नेपाली कांग्रेसका उपसभापतिसमेत रहनुभएका मन्त्री गुरुङले त्यस्ता शक्ति केन्द्र ढलेको र लोकतन्त्र प्राप्त भएको बताउनुभयो । पछिल्लो समयमा फेरि हामी ती शक्ति केन्द्रजस्तै बन्यौँ र दण्ड चलाउन थाल्यौँ भने कानूनी राज्यको परिकल्पना अधुरो हुने उहाँको भनाइ थियो । लोकतन्त्रलाई बलियो बनाउनका लागि सुशासन आवश्यक रहेको भन्दै उहाँ कानूनको आँखामा सबै बराबर हुने बताउनुभयो ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले विधिको शासन र सर्वोच्चताका लागि कांग्रेस ठीक ठाउँमा उभिनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कांग्रेस ठीक ठाउँमा उभियो भने विधिको शासन र सर्वोच्चता रहन्छ नत्र रहँदैन ।” अहिलेको समय पार्टीलाई पुनरसंरचना गर्ने समय भएको धारणा राख्दै उहाँले यसमा डिएलएको सहयोग आवश्यक रहेको बताउनुभयो ।

पार्टीलाई विधानसम्मत सञ्चालन गर्नका लागि अहिलेको पद्धतिलाई भत्काउन आवश्यक रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “क्रियाशील सदस्यता वितरण र उम्मेदवार छनोट गर्ने अहिलेको पद्धतिको अन्त्य नभएसम्म पार्टीभित्र सुधार हुन नसक्ने देखिन्छ ।”

कार्यक्रममा केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसलाई सुधार गरेर अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी कांग्रेसलाई कमजोर हुन दिँदैनाँै । सुधार गरेर अघि बढ्छौँ ।” पार्टीलाई अझै सशक्त बनाएर अघि बढ्ने उहाँको भनाइ थियो ।

केन्द्रीय सदस्य रमेश लेखकले अहिलेको व्यवस्था र संविधानमाथि आक्रमण भइरहेको बताउनुभयो । लामो सङ्घर्षपछि ल्याएको व्यवस्था र संविधानमाथिको आक्रमण रोक्नका लागि कानून व्यवसायीको महत्त्वपूर्ण भूमिका रहने उहाँको भनाइ थियो । न्यायालयमा भएका विकृति र विसङ्गति रोक्नका लागि राजनीतिज्ञ र कानून व्यवसायी एक ठाउँमा उभिन आवश्यक रहेको उहाँले बताउनुभयो ।

सो अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुषाल, पूर्वमहान्यायाधिवक्ता बाबुराम कुँवर, खम्बबहादुर खाती, नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वअध्यक्ष माधव यादव, प्रेमबहादुर खड्का, हरिहर दाहाल, शेरबहादुर केसी, सर्वाेच्च अदालत बार एसोसिएसनका वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौला, नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, उपेन्द्रकेसरी न्यौपाने लगायतले बोल्नुभएको थियो ।

पूर्वी चितवनको रत्ननगरमा आज र भोलि हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनमा देशभर ८८ एकाइका प्रजातान्त्रिक पक्षधर १३ हजार कानून व्यवसायीमध्येबाट एक हजार चार सय एक जना महाधिवेशन प्रतिनिधि सहभागी हुनुहुन्छ । नयाँ नेतृत्वमा सर्वसम्मत बनाउने प्रयास भइरहेको छ ।

संयुक्त राष्ट्रसङ्घीय सङ्गोष्ठी नेपालमा

काठमाडौँ – संयुक्त राष्ट्रसङ्घ सचिवालयअन्तर्गत सूचना तथा सञ्चार प्रविधि कार्यालय मातहतको कार्य सञ्चालन विभागद्वारा शान्ति स्थापना कार्यमा प्रविधिको लागि सहकार्यसम्बन्धी अन्तर्राष्ट्रिय सङ्गोष्ठी नेपालमा आयोजना हुन लागेको छ ।

शान्ति स्थापना कार्यमा डिजिटल प्रविधिको प्रयोगको सम्भाव्यता विकास गर्ने तथा नवीनतम् प्रविधिको प्रयोग गर्ने उद्देश्यले सातौँ संस्करणको सङ्गोष्ठी यही जेठ ३० गतेदेखि अगामी असार १ गतेसम्म यहाँ सञ्चालन हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

विश्वमा भइरहेका सूचना प्रविधिको तीव्रतम विकास र बदलिदो सुरक्षा परिस्थितिअनुसार शान्ति कार्य मिशनमा प्रयोग भईरहेका प्रविधि, चुनौती एवं सर्वोत्कृष्ट अभ्यासबारेमा सदस्य राष्ट्रबीच अनुभव आदानप्रदान गर्ने हेतुले उक्त कार्यक्रम गर्न लागिएको हो ।

रक्षा मन्त्रालयको अगुवाइ र नेपाली सेनाको समन्वयमा उक्त कार्यक्रम सञ्चालन हुनेछ । नेपालका तर्फबाट रक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधिको सहभागिता रहने छ ।

संयुक्त राष्ट्रसङ्घ मुख्यालयबाट कार्य सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खारे, सूचना प्रविधि कार्यलयका सहायक महासचिव, मानव सशाधन सहायक महासचिव, सयुक्त राष्ट्रसङ्घ डिसइङगेजमेन्ट फोर्स कमाण्डरलगायत विभिन्न ११ वटा शान्ति मिशनका प्रतिनिधिको सहभागीता रहने छ । संयुक्त राष्ट्रसङ्घका ५१ सदस्य राष्ट्रका प्रतिनिधि, विभिन्न विषय विज्ञसहित दुई सय ३० जनाको सहभागिता रहने निर्देशनालयले जनाएको छ । संयुक्त राष्ट्रसङ्घद्वारा शान्ति स्थापना कार्यमा प्रविधिको लागि सहकाय कार्यक्रम पहिलो पटक सन् २०१४ मा इटालीमा आयोजना भएको थियो ।

सिधै किसानको हातमा अनुदान दिन्छौँ : प्रधानमन्त्री दाहाल

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका अनुभवबाट शिक्षा लिएर यसपटक सिधै किसानको हातमा अनुदान दिने नीति लिएको बताउनुभएको छ ।

शुक्रबार दिउँसो काठमाडौँमा आयोजित रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय भेलामा उहाँले विगतमा अनुदानको सही उपयोग हुन नसकेकाले सरकारले सिधै किसानसम्म अनुदान पु¥याउने नीति लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विगतमा अर्बौं अरबका अनुदानका कार्यक्रम बने । तर, तिनीहरूको सही सदुपयोग हुन सकेन । जसले उत्पादन गर्छ, उसले अनुदान नपाउने स्थिति रह्यो । त्यो एक प्रकारले बालुवामा पानी हालेजस्तै भयो । विगतका अनुभवबाट शिक्षा लिएर सरकारले यसपटक सिधै किसानको हातमा पुग्ने गरी अनुदान दिने नीति लिएको छ ।”

प्रधानमन्त्री दाहालले विदेशबाट फर्किएको जनशक्ति, पूँजी र सीपलाई एकीकृतरूपमा परिचालन गर्ने नीति र योजना पनि सरकारले बनाएको बताउनुभयो ।

“विशिष्ट परिस्थितिमा गुज्रिएर नेपाल फर्किएका साथीहरूको पहलमा यो भेला हुँदैछ, यसले सङ्गठनको काम मात्र गर्ने छैन”, उहाँले भन्नुभयो, “प्रकृतिले दिएको साधन स्रोतका दृष्टिले हामी गरिब छैनौँ, हामी धेरै धनी छौँ । हामीसँग जमिन, जङ्गल, हिमाल, जडीबुटी, जलविद्युत्को उत्पादन र सदुपयोगमार्फत निर्यातमुखी अर्थतन्त्रको विकास गर्नसक्ने प्रचुर सम्भावना छ । तर, त्यसको सही सदुपयोग गर्नुपर्ने चुनौती हाम्रासामु छ ।”

आफूले यसपटक विगतभन्दा फरक ढङ्गले काम गरिरहेको जनाउँदै प्रधानमन्त्री दाहालले विगतभन्दा फरक, तत्परताका साथ काममा लागेको बताउनुभयो । “सरकार भ्रष्टाचारविरूद्ध कठोररूपमा प्रस्तुत भएको छ । हामीकहाँ भएको फोहोरको थुप्रो नै सफा गर्नुछ । नक्कली भूटानी शरणार्थी प्रकरण एउटा उदाहरण मात्रै हो, यस्ता थुप्रै बेथिति छन्, तिनीहरू पनि नियन्त्रण गर्नुछ । हामी यसमा दृढतापूर्वक अगाडि बढ्छौँ ।”

उत्पादन र रोजगारी नै अहिलेको मुख्य आवश्यकता भएको जनाउँदै उहाँले यसबाट मात्रै समाजवादको आधार निर्माण गर्न सकिने बताउनभुयो । यसपटकको नीति तथा कार्यक्रममा उत्पादन, रोजगारी र कृषिलाई सबैभन्दा उच्च महत्त्व दिइएको उहाँको भनाइ छ ।

प्रधानमन्त्रीले भन्नुभयो, “जनतामा एकता र नयाँ राष्ट्रिय सङ्कल्पबाट देश बन्छ । राष्ट्रिय एकता र सङ्कल्पका लागि तपाईंले पनि योगदान गर्नुस् । एकथरी मान्छे राम्रो गर्न, देख्न र सुन्नै चाहँदैनन्, उनीहरूबाट देश बन्दैन । त्यसैले हामीले नेतृत्व लिनुको विकल्प छैन ।”

उहाँले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको पूँजी, प्रविधि र ज्ञानलाई मुलुकको समृद्धिमा लगाउनका निम्ति कानूनी, संस्थागत, संरचनागत र प्रक्रियागत सहजीकरण गरिने बताउनुभयो । “लगानीमैत्री वातावरणको निर्माण, राज्यको तर्फबाट उत्पादन एवं रोजगारीमा प्रोत्साहन र जोखिमका समयमा सरकारको अभिभावकीय भूमिका महत्त्वपूर्ण रहन्छ”, उहाँले भन्नुभयो, “यी समस्या सम्बोधनका लागि सरकारले प्राथमिकताका साथ काम गरिरहेको जानकारी गराउन चाहन्छु ।”

आफ्नो कार्यकालमा सबैभन्दा बढी ध्यान वैदेशिक रोजगारीमा गएका नेपालीको हितरक्षामा केन्द्रित गरेको उल्लेख गर्दैै उहाँले विदेशमा रहेका नेपालीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्धता, विदेशस्थित नेपाली दूतावासमा श्रमिक ‘हेल्प डेस्क’को व्यवस्था, अनलाइन माध्यमबाटै श्रम स्वीकृति लिनसक्ने व्यवस्था गरिएको जानकारी गराउनुभयो ।

“वैदेशिक रोजगारीका क्रममा बन्धक बनाइएका, अलपत्र परेका नेपालीको उद्धारलगायतका महत्त्वपूर्ण निर्णय र काम भएका छन, वैदेशिक रोजगारीका क्रममा अङ्गभङ्ग वा मृत्यु भएका नागरिकका परिवारको शिक्षा र स्वास्थ्यमा राज्यले अभिभावकीय भूमिका खेल्नेछ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “भारत र तेस्रो मुलुकबाट वैदेशिक रोजगारीमा गएका नेपालीले भोग्दै आएका समस्या र दुःखकष्टको सहजीकरण र सम्बोधन गर्न सरकार गम्भीर छ ।”

रिटर्नीको हित संरक्षणका निम्ति राज्यले विनियोजन गरेको बजेटको सही सदुपयोग गर्न आवश्यक संरचनाको निर्माण गरी प्रभावकारी अनुगमन, रिटर्नीले सञ्चालन गरेका व्यवसायमा अनुदान र कर छुटका लागि आवश्यक निर्णयका लागिसमेत सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

प्रधामन्त्री दाहालसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्षको भेट

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरले आज शिष्टाचार भेट गर्नुभएको छ ।

भेटमा प्रधानमन्त्री दाहालले विश्व बैंकसँगको नेपालको छ दशक लामो सहकार्यको स्मरण गर्दै नेपालले विकास प्रक्रियामा भोग्नुपरेका जलवायुजन्य चुनौती र हरित विकासका सम्भावनाबारे छलफल गर्नुभयो ।

विश्व बैंकले नेपालको आर्थिक तथा सामाजिक विकासमा खेलेको भूमिकाप्रति धन्यवाद दिँदै उहाँले मुख्यतः जलविद्युत्को विकासका लागि वित्त व्यवस्थापनमा विश्व बैंकले खेलेको समन्वयकारी भूमिकाका लागि धन्यवाद दिनुभयो ।

माथिल्लो अरुण आयोजनाका लागि विश्व बैंकले वित्तीय स्रोत जुटाउन बहन गरेको समन्वयकारी पहलका लागि धन्यवाद दिँदै प्रधानमन्त्री दाहालले नेपाल सरकारको प्राथमिकतामा रहेको सो आयोजना कार्यान्वयनका लागि स्रोत व्यवस्थापन गरिँदा अन्य आयोजनामा स्रोतको कमी हुन नदिनेतर्फ ध्यानाकर्षण गराउनुभयो ।

उहाँले नेपालको जलविद्युत् विकासबाट नेपाल मात्र नभई छिमेकी मुलुक भारत तथा बङ्गलादेशसमेत लाभान्वित हुने साथै हरित र स्वच्छ ऊर्जाको विकासबाट जलवायु परिवर्तनका असर न्यूनीकरण भई क्षेत्रीय तथा विश्वका सबै जनताले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ पाउने बताउनुभयो ।

हालै भएको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा नेपाल–भारत दीर्घकालीन सम्झौतामार्फत आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत लैजाने घोषणा गरेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यसले जलविद्युत् विकासमा नयाँ सम्भावना खोलेको बताउनुभयो । उहाँले नेपालको जलविद्युत् विकासमा सहकार्य गर्न बङ्गलादेशसँग पनि छलफल भइरहेको जानकारी गराउनुभयो ।

भेटमा बैंकका उपाध्यक्ष मार्टिनले नेपालको आर्थिक तथा सामाजिक विकासमा सक्दो सहयोग गर्न विश्व बैंक सधैँ तत्पर रहेको उल्लेख गर्दै उपलब्ध साधन र स्रोतको अधिकतम उपयोग गर्न सुझाव दिनुभयो । उहाँले सुधारका क्षेत्रमा हातेमालो गर्न विश्व बंैक सधैँ अग्रसर हुने प्रतिबद्धता जनाउनुभयो ।

सो अवसरमा विश्व बैंकका तर्फबाट पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष वाङ्ग्जी चेन, उपक्षेत्रीय निर्देशक फारिस हद्दाद जर्भोसलगायत विश्व बैंक तथा अर्थ मन्त्रालयका अधिकारीको उपस्थिति थियो ।

सरकारले प्रस्तुत गरेको बजेटले आर्थिक क्षेत्रमा फड्को मार्न सक्दैन : डा स्वर्णिम वाग्ले

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले नेपाल सरकारले प्रस्तुत गरेको बजेटले आर्थिक क्षेत्रमा फड्को मार्न नसक्ने टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान (बजेट) माथिको जारी छलफलमा भाग लिँदै उहाँले ‘फण्डामेन्टल कोर्स करेक्सन’ गर्न सुझाव दिनुभयो । राजस्वका लक्ष्य हासिल गर्न चालु आर्थिक वर्षमा नै चुनौती देखिएको उहाँको भनाइ थियो ।

बैठकमा सांसद मञ्जु शर्मा अन्सारीले बजेट जनताका लागि सहायक नभएको टिप्पणी गर्नुभयो । सांसद शङ्कर भण्डारीले राजनीतिक स्थिरता नहुँदा आर्थिक सम्मुनति हुन नसकेको बताउनुभयो ।

सांसद भीमप्रसाद आचार्यले बजेटले मुलुकका जल्दाबल्दा समस्यालाई सम्बोधन गर्न नसकेको टिप्णी गर्नुभयो भने सांसद प्रेम सुवालले मजदुर र श्रमिक वर्गका लागि समाजवादी व्यवस्था नआएसम्म वर्तमान शासन प्रणालीले जनमुखी कार्यक्रम दिन नसक्ने जनाउनुभयो ।

सांसद् धवलशमशेर जबराले नेपाली किसानलाई अनुदान बढाएर भारतीय किसानका उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्ने बताउनुभयो । सांसद राजेन्द्रकुमार राईले कुनै जिल्लामा अत्यधिक र कुनै जिल्लामा न्यून बजेट विनियोजनले सन्तुलित विकास नहुने भन्दै बजेट पुनःलेखन गर्न माग गर्नुभयो ।

जिल्ला निर्वाचन कार्यालय खारेजी प्रस्तावबारे राजनीतिक दलसँग आयोगको परामर्श

काठमाडौँ – निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेजको प्रस्तावलगायत विषयमा आज राजनीतिक दलसँग परामर्श गरेको छ ।

आयोगले निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयक, स्थानीय तहमार्फत मतदाता नामावली सङ्कलन प्रारम्भ, विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली सङ्कलन र राजनीतिक दलको लेखा र लेखा परीक्षण सम्बन्धमा पनि छलफल गरेको छ ।

छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उल्लेखित विषयवस्तुमा आयोगका तर्फबाट समग्र प्रस्तुतिकरण गर्नुभएको थियो । सहभागी दलका प्रतिनिधिले आयोगको स्वतन्त्रता, स्वायत्तता र क्षेत्राधिकारमा सङ्कुचन ल्याउने र प्रतिकूल प्रभाव पार्ने कार्य सरकारबाट हुन नहुने बताउनुभयो । उहाँहरुले बजेट वक्तव्यको अनुसूचीमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने प्रस्ताव गरिएको विषयले आयोगको स्वायत्तता, निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा गम्भीर असर पर्ने देखिएको प्रतिक्रिया दिनुभएको थियो । साथै उहाँहरुले संवैधानिक निकाय निर्वाचन आयोग मातहतका जिल्लास्थित निर्वाचन कार्यालयबाट भइरहेको काम अन्य निकायमा दिनु संविधान र प्रचलितकानुन प्रतिकूल हुने देखिएको बताउनुभएको थियो ।

मतदाता नामावली सङ्कलन तथा अद्यावधिक र भर्खरै सम्पन्न तीनवटै तहका निर्वाचनपश्चात् निर्वाचनसम्बन्धी कागजात तथा निर्वाचन सामग्रीहरू सुरक्षित राख्नुपर्ने भएकाले जिल्ला निर्वाचन कार्यालयहरू यथावत् रूपमा राखी राख्न उपयुक्त हुने निर्वाचन आयोगको ठहर छ ।

निर्वाचन कार्यालय खारेजीका विषयमा सरकारबाट कुनै निर्णय भएको भए तत्काल उक्त निर्णय फिर्ता लिई जिल्ला निर्वाचन कार्यालय यथावत सञ्चालनका लागि आवश्यक स्रोत साधन उपलब्ध गराउन आयोगमार्फत नेपाल सरकारलाई लेखी पठाउन बैठकले निर्णय गरेको आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

सो अवसरमा दलका प्रतिनिधिहरुले आयोगबाट तयार गरिएको निर्वाचन व्यवस्थापन विधेयक स्वीकृतिको प्रक्रिया अघि बढाउने, विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली सङ्कलन सुरु गर्ने, स्थानीय तहसँगको सहकार्यमा मतदाता नामावली सङ्कलन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । साथै राजनीतिक दलहरूको लेखा तथा लेखापरीक्षणका सम्बन्धमा निर्वाचन आयोगलाई सहयोग गर्ने उहाँहरुको भनाइ थियो ।

सर्वाेच्च अदालतको आदेश : नागरिकता विधेयक प्रमाणीकरणको फाइल र मन्त्रिपरिषद्को निर्णय झिकाउन सर्वाेच्च अदालतको आदेश :

काठमाडौं – सर्वाेच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणको फाइल र मन्त्रिपरिषद्को निर्णय झिकाउन आदेश दिएको छ । 

यही जेठ १७ गत राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रमाणीकरण गरेका थिए ।

अघिल्लो प्रतिनिधिसभाले पठाएको र तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको उक्त विधेयकलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि यो विषय अदालतसम्म पुगेको हो । 

एक साताअघि वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भन्डारी र बालकृष्ण न्यौपानेले उक्त नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध दिएको रिटमाथि शुक्रबार सुनुवाई गर्दै प्रकाशमानसिंह राउत र सुस्मालता माथेमाको संयुक्त इजलासले विधेयक प्रमाणीकरण गर्न सुझाव दिने भनिएको मन्त्रिपरिषदको निर्णय र राष्ट्रपतिको प्रमाणीकरणको फाइल झिकाउने आदेश दिएको हो । आउँदो मंगलबार पेसी तोकिएको छ । 

यसअघि गत आइतबार सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले उक्त विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । 

संसद्लाई छलेर सरकारले गरेको सिफारिसका आधारमा नागरिकता विधेयक प्रमाणीकरण गर्नु असंवैधानिक भएको भन्दै वरिष्ठ अधिवक्ताद्वय भण्डारी र न्यौपानेले राष्ट्रपति पौडेल, राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट दर्ता गरेका हुन् । 

राष्ट्रपतिसँग बेलायती राजदूतको बिदाइ भेट

काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत निकोला पोलिटले आज शिष्टाचार भेट गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा नेपाल र संयुक्त अधिराज्य बेलायतबीच रहिआएको द्विपक्षी सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।

सो अवसरमा राष्ट्रपतिले राजदूत पोलिटलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा धन्यवाद दिनुभएको थियो ।

जिल्लाभरिका बासिन्दालाई निःशुल्क रगत उपलब्ध

भक्तपुर / भक्तपुर जिल्लामा रहेका चार नगरपालिकाका स्थायी बासिन्दाले निःशुल्क रगत पाउन थालेका छन् । विभिन्न रोगको उपचारका क्रममा अत्यावश्यक पर्ने रगतका लागि लाग्ने आवश्यक विभिन्न शुल्कहरु चारवटै नगरपालिकाले व्यहोर्ने गरी आफ्ना नगरवासीले निःशुल्क रगत पाउन थालेका हुन् ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखासँग जिल्लाका चारवटै नगरपालिकाहरु,भक्तपुर मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाले गरेको सम्झौताबमोजिम रेडक्रसले बिरामीका लागि अत्यावश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउन थालेको हो ।

रेडक्रसका जिल्ला सभापति मनोजकुमार थापाले रगत निःशुल्क प्राप्त गर्नका लागि बिरामीका आफन्तले बिरामीको भक्तपुर जिल्लाभित्र स्थायी ठेगाना भएको परिचय खुल्ने आधिकारिक परिचयपत्र र सम्बन्धित अस्पतालका चिकित्सकको रगत आवश्यकता रहेको सिफारिस पत्र पेस गरेका आधारमा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन सुरु गरिएको जानकारी दिनुभयो ।

बिरामीलाई रेडक्रसले निःशुल्क उपलब्ध गराएको रगतको शुल्क भने सम्बन्धित नगरपालिकाले सोधभर्ना गर्नेछ । सभापति थापाले भन्नुभयो, “जिल्लाका चारवटै नगरपालिका र रेडक्रसले निःशुल्क रगत उपलब्ध गराउने बारेमा सम्झौता भएपछि यो सेवा सुरु गरेका हौँ, बिरामीलाई रगत दिएपछि त्यसको शुल्क नगरपालिकाहरुले ब्यहोर्ने गर्छ, बिरामीले निःशुल्क रगत पाउन थालेपछि आर्थिकरूपमा विपन्न नागरिकलाई निकै राहत पुगेको छ ।”

अहिलेसम्म रेडक्रसले करिब एक हजार छ सय ५४ जिल्लावासीलाई दुई हजार पिन्ट रगत एवम् रक्ततत्व निःशुल्क वितरण गरिसकेको छ । सबभन्दा बढी भक्तपुर नगरपालिकाका बिरामीबाट रगत माग हुने गरेको छ ।

रेडक्रसका सभापति थापाका अनुसार भक्तपुरमा रगतको अभाव छैन । दैनिक विभिन्न ठाउँमा हुने रक्तदान र आकस्मिक रक्तदानबाट रगतको आपूर्ति भइरहेको बताउँदै उहाँले भक्तपुर मात्रै नभई काठमाडौँ उपत्यका, काभ्रेपलाञ्चोक र उपत्यका बाहिरका अस्पतालमा उपचार गराइरहेका बिरामीका लागिसमेत रगत उपलब्ध गराइरहेको जानकारी दिनुभयो ।

विवाह गर्दा वडाको सिफारिस अनिवार्य

जुम्ला / यहाँका स्थानीय तहले बाल विवाह रोकथाम गर्न विवाह गर्दा अनिवार्य वडाको सिफारिस अनिवार्य गरेका छन् । जिल्लाको तिला गाउँपालिकाले विवाह गर्दा अनिवार्य रुपमा वडाको सिफारिसको निर्णय गरेको छ । विवाह गर्ने जोडीले वडापालिकाको सिफारिस लिएरमात्र विवाह गर्नुपर्ने छ । गाउँ कार्यपालिकाको बैठकको निर्णयबाट विवाह गर्न वडाको सिफारिस अनिवार्य गरिएको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिनुभयो ।

पालिकाका नौवटै वडालाई परिपत्रसमेत गरिएको छ । पछिल्लो समयमा बाल विवाह बढ्दै गएको छ । बाल विवाह रोक्न वडाको सिफारिस अनिवार्य गरिएको उपाध्यक्ष बुढाको भनाइ छ ।

वडावासीले विवाह गर्नुपूर्व वडाको सिफारिस अनिवार्य लिनुपर्ने व्यवस्था गरिएको छ । बाल विवाह न्यूनीकरण गर्न तिला–६ लाई बाल विवाहमुक्त वडा घोषणासमेत गरिएको छ । देखासेखीले गर्दा हुने बाल विवाहलाई रोक्न वडाको सिफारिसले निकै महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताउनुभयो । पालिकाका सबै वडालाई बाल विवाहमुक्त गर्न लागिपरेका छौँ ।

कार्यपालिकाबाट गरिएको निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्न वडालाई निर्देशनसमेत गरिएको गाउँपालिका अध्यक्ष रोकायाको भनाइ छ । जुनसुकै उमेर समूहकाले विवाह गर्दा पनि अनिवार्य वडा कार्यालयमा जन्मदर्ता पेस गर्नुपर्ने र स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

विवाह गर्दा अनिवार्य वडाको सिफारिस गरेसँगै वडाबाट सिफारिस लिनेको सङ्ख्या बढेको तिला–१ को वडा कार्यालयले जनाएको छ । पालिकाको वडा नं ६ निवासी विकास रोकायाले विवाहका लागि वडाबाट सिफारिस लिएर विवाह गरेको वडाध्यक्ष जङ्ग रोकायाले जानकारी दिनुभयो । यहाँको पातारासी गाउँपालिकाले पनि विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरिएको उपाध्यक्ष जनमाया रोकायाले बताउनुभयो । सिञ्जा गाउँपालिकाले पनि विवाह गर्दा अनिवार्य वडाको सिफारिस लागू गरेको जनाएको छ ।

आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्व अर्थमन्त्री शर्मा

काठमाडौँ / सांसद जनार्दन शर्माले १० वर्षको बजेटको समीक्षा गर्ने प्रस्ताव गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उहाँले १० वर्षको बजेटमाथि सत्तापक्ष र प्रतिपक्षको आग्रह र पूर्वाग्रहमुक्त छलफल गर्दै निष्कर्ष निकाल्न समिति गठन गर्ने माग गर्नुभएको हो । उहाँले भन्नुभयो, “विगत १० वर्षका बजेटको समीक्षा गरौँ भन्ने प्रस्ताव राख्न चाहन्छु । अर्थविद् नागरिक समाज, किसान, पत्रकार, पूर्वन्यायाधीश र सम्बन्धित क्षेत्रका विज्ञसहितको उच्चस्तरीय आयोग वा समिति बनाऔँ ।”

उहाँले प्रतिपक्ष दलबाट बजेटको वस्तुनिष्ठ समीक्षा नभएको आरोप समेत लगाउनुभयो । पूर्व अर्थमन्त्री शर्माले भन्नुभयो, “चालु आवको बजेटको समीक्षा गर्दै प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले शून्य अङ्क दिनुभयो । उहाँको उक्त मूल्याङ्कन सत्ताबाट विमुख हुनुपर्दाको पूर्वाग्रह र प्रतिशोधपूर्ण भएको मैले बुझेको छु ।”

उहाँले राजनीतिक सहमतिका साथ २०४६ सालदेखि अहिलेसम्म उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति छानबिन गर्नुपर्ने प्रस्तावसमेत गर्नुभयो । उहाँले भन्नुभयो, “मेरो प्रस्ताव छ, २०४६ पछि २०८० सम्मको सबै राजनीतिज्ञ, कर्मचारी, सेना, प्रहरी, आयोग र न्यायपालिकाको सम्पत्ति छानबिन गर्ने आयोग बनाऔँ । तर ललिता निवासको जग्गा फिर्ता गरेर उन्मुक्ति दिने जस्तो नाटक चाहिँ नगरौँ । दूधको दूध, पानीको पानी गरौँ, यो कार्यान्वयन गरौँ। त्यसका लागि राजनीतिक सहमति गरौँ ।” उहाँले निर्यातमा आठ प्रतिशत अनुदान दिने नीतिको प्रभाव देखिन अझै केही वर्ष लाग्ने उहाँले बताउनुभयो ।

१० महिनामा १२ खर्ब चार अर्ब ४२ करोड बराबरको व्यापार घाटा

काठमाडौँ / चालु आर्थिक वर्षको १० महिनामा कूल वस्तु व्यापार घाटा १५ दशमलव नौ प्रतिशतले कमी आई रु १२ खर्ब चार अर्ब ४२ करोड कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार गत आवको सोही अवधिमा यस्तो घाटा २४ दशमलव नौ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा निर्यात-आयात अनुपात नौ दशमलव आठ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १० दशमलव आठ प्रतिशत थियो ।

चालु आवको वैशाखसम्ममा कूल वस्तु आयात १६ दशमलव आठ प्रतिशतले कमी आई रु १३ खर्ब ३५ अर्ब ३२ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २८ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १५ दशमलव एक प्रतिशत, २१ प्रतिशत र १८ दशमलव छ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, सुन, पेट्रोलियम पदार्थ, कागज लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, एम एस विलेट, औषधि, अन्य मेशिनरी तथा पार्टस्, दूरसञ्चारका उपकरण तथा पार्ट्स लगायतका वस्तुको आयात घटेको छ ।

समीक्षा अवधिमा कूल वस्तु निर्यात २४ दशमलव पाँच प्रतिशतले कमी आई रु एक सय ३० अर्ब ९० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५९ दशमलव आठ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३३ दशमलव छ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः एक सय दशमलव छ प्रतिशत र आठ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिङ्क सिट, पार्टिकल बोर्ड, अलैँची, ऊनी गलैँचा, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।

निर्याततर्फ भैरहवा, सुक्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ ।

आयाततर्फ रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु एक खर्ब १९ अर्ब ६० करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु एक खर्ब ८३ अर्ब ९४ करोड बराबरको थियो ।

वृहत् आर्थिक वर्गीकरणअनुसार समीक्षा अवधिमा भएको कूल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५४ दशमलव नौ प्रतिशत र ४४ दशमलव पाँच प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगण्य अर्थात् शून्य दशमलव छ प्रतिशत छ । गत वर्षको सोही अवधिमा भएको कूल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ४७.१ प्रतिशत, ०.०२ प्रतिशत र ५२.९ प्रतिशत थियो ।

समीक्षा अवधिमा भएको कूल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५३ दशमलव दुई प्रतिशत, पुँजीगत वस्तुको आठ दशमलव चार प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३८ दशमलव चार प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५२ दशमलव आठ प्रतिशत, १० दशमलव चार प्रतिशत र ३६ दशमलव आठ प्रतिशत थिए ।

धानको आयात ५३ प्रतिशतले बढ्यो

पर्सा / वीरगञ्ज नाका प्रयोग गरी नेपालका लागि हुने धानको आयातमा ५३ प्रतिशतले वृद्धि भएको छ भने चामलमा २३ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको १० महिनामा वीरगञ्ज नाकाबाट रू. छ अर्ब १० करोड बराबरको दुई लाख दुई हजार पाँच सय ३९ मेट्रिक टन धान आयात भएको थियो । चालु आवको सोही अवधिमा रू. ११ अर्ब ३८ करोड बराबरको तीन लाख आठ हजार नौ सय ३३ मेट्रिक टन धान आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । चालु आवमा गत आवको तुलनामा एक लाख छ हजार तीन सय ९४ मेट्रिक टन बढी धान आयात भएको हो ।

त्यस्तै, गत आवको साउनदेखि वैशाखसम्ममा रू. दुई अर्ब ५८ करोड मूल्यको ४० हजार बराबरको दुई सय ५४ मेट्रिक टन चामल आयात भएकामा चालु आवको सोही अवधिमा रू. दुई अर्ब ४५ करोड बराबरको ३१ हजार एक सय ३५ मेट्रिक टन चामल आयात भएको भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र शर्मा ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आवमा नौ हजार एक सय १९ मेट्रिक टन चामल कम आयात भएको छ ।

चामलको निर्यातमा भारत सरकारले २० प्रतिशत भन्सार कर लगाएपछि चालमको आयात खुम्चिँदै गएको नेपाल चामल तेल दाल सङ्घका अध्यक्ष डा. सुबोद गुप्ताले जानकारी दिनुभयो । उहाँले सरकार र खाद्य व्यवसायीको आग्रहमा भारत सरकारले चामल निर्यातमा भन्सार कर लगाउँदै शून्य डियुटीमा धानको कोटा निर्धारित गरेको बताउनुभयो ।

चामलको आयात घट्दै गएपछि त्यसको सकारात्मक प्रभाव खाद्य उद्योगमा परेको सरोकारवालाको भनाइ छ । स्वदेशी उत्पादनलाई बढाउन सिँचाइ सुविधाको व्यवस्था, उन्नत जातको बीउ, आवश्यक मलखादलगायत सामाग्री सरकारले किसानलाई उपलब्ध गराएर खाद्यान्नमाथिको परनिर्भरतालाई कम गर्दै लैजानुपर्ने सरोकारवाला बताउँछन् ।

भारतबाट तरकारी भित्रिँदा बारीमै सुक्यो किसानको तरकारी

तुलसीपुर / दाङको तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुरका राजेश डाँगी टन्टलापुर घामको प्रवाह नगरी आफ्नो खेतबारीमा पुग्नुहुन्छ । उहाँलाई गर्मीले गर्दा निस्केको पसिनाको कुनै प्रवाह छैन । पसिना पुछ्दै बारीमा पुग्दा पनि उहाँमा उत्साह छैन । उहाँले १७ कट्ठामा लगाएको बन्दा यस वर्ष काम नलाग्ने भयो । बिक्री नभएपछि बस्तुभाउलाई खुवाउनुपर्ने बाध्यता आयो । “१७ कट्ठामा लगाएको हुँ, एउटा पनि बिक्री भएन”, उहाँले भन्नुभयो, “अब गाई, बाख्रालाई खुवाउनुभन्दा विकल्प भएन ।”

उहाँले यसरी खेती गर्न लागेको १० वर्षभन्दा बढी भयो । गएको वर्ष बन्दा राम्रै बिक्री भएको थियो । त्यही भएर पनि यस वर्ष हौसिएर उहाँले १७ कट्ठामा खेती गर्नुभएको हो । “गत वर्ष राम्रै माग भएको थियो, बिक्री पनि राम्रै भएको थियो”, उहाँले भन्नुभयो, “त्यही भएर मैले यस वर्ष धेरै क्षेत्रमा यो खेती गरेको हुँ ।” गएको वर्ष उहाँले १० कट्ठामा मात्रै बन्दा खेती गर्नुभएको थियो ।

भारतबाट आउने तरकारीले गर्दा यहाँको बन्दा बिक्री नभएको उहाँको गुनासो छ । “सबै भारतबाट आइहाल्छ”, उहाँले भन्नुभयो, “त्यसले गर्दा हामीले उत्पादन गरेको तरकारीले बजार पाउँदैन ।” त्यस्तै सोही ठाउँका किसान डम्बरकुमारी खत्रीको पनि बारीमा सुक्दै गरेको बन्दा देख्दा मन कुँडिन्छ ।

कृषि प्रधानदेशमा किसानले लगाएको तरकारी नै बिक्री नहुनुले मुलुक कता जाँदैछ भन्ने चिन्ताले पिरोल्ने गरेको उहाँ बताउनुहुन्छ । “कृषि प्रधान देश भन्छन्, हामीले लगाएको तरकारी बारीमै सुक्छ”, उहाँले भन्नुभयो, “तरकारी बिक्री नभए पनि नसुक्ने, नबिग्रिने गरेर राख्न मिल्ने र प्रशोधन गरी अचारजस्ता कुरा बनाउने गरी सरकारले व्यवस्था गर्नुपथ्र्यो ।”

गत वर्ष व्यापारी बारीमा लिन आउने गरेको भए पनि यस वर्ष किन्नसमेत नमानेको उहाँको भनाइ छ । यस्तै भइरहेमा अर्को वर्ष खेती गर्ने कि नगर्ने भन्ने कुराले आफूलाई दोधारमा परेको उहाँको भनाइ छ । उहाँहरुजस्तै जिल्लामा बन्दा खेती गर्ने किसानको हालत त्यस्तै छ । रु. पाँच किलोमा बिक्री गर्न खोज्दा पनि बिक्री नभएर गाईबस्तुलाई खुवाउनुपर्ने अवस्था आएको उहाँको भनाइ छ । खेती गर्दा रु .एक डेढलाख लगानी भए पनि त्यो लगानी उठाउनसमेत हम्मे–हम्मे परेको उहाँले बताउनुभयो ।

‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शनमा

काठमाडौँ / शुक्रबार नयाँ चलचित्रको प्रदर्शनलाई निरन्तरता दिँदै आजदेखि दुई नेपाली चलचित्र ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शन भएका छन् । फरक विधाका दुई चलचित्रले नेपाली दर्शकलाई आकर्षित गर्ने विश्वास निर्माण समूहको छ ।

अघिल्लो हप्ता जेठ १९ मा कुनै पनि नेपाली चलचित्र प्रदर्शनमा आएका थिएनन् । यो साता एकैसाथ दुई चलचित्र प्रदर्शन भइरहेका छन् ।

फूलमान वलले निर्देशन गर्नुभएको चलचित्र ‘नीरफूल’ मौलिक स्वादमा बनेको निर्देशक वलले बताउनुभयो । उहाँका अनुसार फरक समुदायको सांस्कृतिक स्वाद पाइने चलचित्रमा भूकम्पका कारण विछोडिएका एक परिवारको सदस्यले पुनःमिलनका लागि गरेको प्रयत्न देखाइएको छ ।

“भत्किएका मन र सम्बन्धको पुनःनिर्माणको कथा समेटेर चलचित्र तयार गरेको छु । यो हाम्रो कथा र व्यथा बोकेको मौलिक स्वादको चलचित्र हो”, निर्देशक वलले भन्नुभयो ।

चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतको अभिनय रहेको छ । निर्देशक वल र सचिन घिमिरेको पटकथा लेखन रहेको चलचित्रमा प्रमोद कार्कीको छायाङ्कन, निमेश श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको सङ्गीत रहेको छ ।

आज प्रदर्शन भएको अर्को चलचित्र हो, ‘वेलकम टु हेम्जाकोट’ । सरोज पौडेलको लेखन तथा निर्देशन रहेको उक्त चलचित्रमा बुद्धि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदीप ढकाल, सन्दीप सिग्देल, अम्बिका तामाङलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

समसामयिक कथामा हास्य नाटक (कमेडी) शैली मिश्रण गरेर प्रस्तुत गरिएको चलचित्रमा वैदेशिक रोजगारी, बेरोजगारीले निम्त्याउने समस्या, अन्तरजातीय प्रेममा आउने उतारचढावलगायत विषयवस्तु समेटिएको अभिनेता विनोद न्यौपानेले बताउनुभयो । “फरक प्रस्तुतीकरणमा सामाजिक कथालाई लिएर आएका छौँ । यो हाम्रै समाजको कथा हो”, उहाँले भन्नुभयो ।

क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा मिलन श्रेष्ठको द्वन्द्व, मित्र डी गुरुङको सम्पादन, दीर्घ गुरुङको छायाङ्कन रहेको छ ।

जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको होइन : प्रधानमन्त्री दाहाल

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको नभई नयाँ ढङ्गले व्यवस्थापन गर्न खोजिएको बताउनुभएको छ ।

प्रधानमन्त्री दाहालले आज निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा आयोगको क्षेत्राधिकारमा सङ्कुचन वा प्रतिकूल प्रभाव पर्न नदिने कुरामा सचेत रहेको बताउनुभएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सरकार आयोगको स्वतन्त्रता, स्वायत्तता र क्षेत्राधिकारमा सङ्कुचन वा प्रतिकूल प्रभाव पर्न नदिने कुरामा सचेत छ । ”

प्रधानमन्त्री दाहालले आयोगले प्रारम्भ गर्न खोजेको निर्वाचन व्यवस्थापन ऐन, मतदाता नामावली सङ्कलन र अन्तर्राष्ट्रिय सम्मेलनका कार्य अगाडि बढाउन सरकारको सम्पूर्ण सहयोग रहने बताउनुभएकाे दिनुभएको प्रवक्ता पौडेलले जानकारी दिनुभयाे ।

कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालयको विषयमा आयोगको धारणाअनुसार व्यवस्थापन गरिने बताउनुभएको थियो ।

आयोगले आर्थिक वर्ष २०८० / ८१ को बजेट वक्तव्यको अनुसूचीमार्फत जिल्ला निर्वाचन कार्यालयको विषयमा गरिएको व्यवस्था, निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयक सरकारमार्फत संसद्मा पेश गर्नेबारे, स्थानीय तहमार्फत मतदाता नामावली सङ्कलन प्रारम्भ गर्ने विषय, विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली सङ्कलन गर्ने सम्बन्धमा प्रधानमन्त्रीसँग छलफल गरेको थियो ।

यस्तै सन् २०२३ सेप्टेम्बर २० र २१ मा नेपालमा आयोजना हुने ‘एसियन इलोक्ट्रोल स्टेकहोल्डर्स फोरम’को छैटौँ सम्मेलन र ‘फोरम इलेक्सन म्यानेजमेन्ट अफ साउथ एसिया’को १२ औँ बैठकका विषयमा पनि छलफल भएको थियो ।

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपालको संविधानको धारा २४६ ले तोकेको जिम्मेवारी र धारा २४७ तथा प्रचलित निर्वाचन कानुनअनुसार निर्वाचन आयोगलाई आफ्नो कार्यसम्पादनका लागि आवश्यक पर्ने कर्मचारी, स्रोत, साधन एवं भौतिक संरचना नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उपलब्ध गराउनुपर्ने संवैधानिक दायित्व रहेको सन्दर्भ उल्लेख गर्दै जिल्ला निर्वाचन कार्यालयको आवश्यकता बारे स्पष्ट पार्नुभयो ।

उहाँले निर्वाचन आयोग ऐनमा निर्वाचन आयोगको सङ्गठनात्मक संरचना र कर्मचारीको दरबन्दी आयोगको सिफारिसमा सरकारले स्वीकृत गर्ने र आयोगको कार्य सञ्चालन तथा व्यवस्थापनको लागि आवश्यक पर्ने कर्मचारी सरकारले उपलब्ध गराउनुपर्ने व्यवस्था भएको अवगत गराउनुभएको थियो ।

उहाँले तीनै तहको आवधिक निर्वाचन तथा उपनिर्वाचन गर्न तथा मतदाता नामावली सधैँ अद्यावधिक राख्न जिल्लास्थित आयोगका संरचनालाई अझ बढी सबल, सक्षम, प्रभावकारी र प्रविधिमैत्री बनाउँदै लैजान सुझाव दिनुभएको थियो ।

उहाँले प्रस्तावित नयाँ व्यवस्थाअनुसार जिल्ला प्रशासन कार्यालयमा निर्वाचन एकाइ खडा गरिने व्यवस्थाले निर्वाचनमा सरकारको प्रत्यक्ष संलग्नता रहेको मानिने, निर्वाचनको वैधतामाथि प्रश्न चिह्न खडा हुने अवस्थामा आयोगले जवाफदेहिता लिन नसक्ने जनाउँदै सरकारले प्रस्ताव गरेको व्यवस्था शक्ति सन्तुलन, नियन्त्रण र शक्तिपृथकीकरणको सिद्धान्त एवं संविधान तथा कानुन प्रतिकूल हुन जाने पनि उहाँको भनाइ थियो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्मा, निर्वाचन आयोगका आयुक्त,सरकारका मुख्य सचिव र आयोगका सचिवसमेतको उपस्थिति थियो ।

नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्यो भीम आदर्श विद्यालयले

भक्तपुर – भीम आदर्श आधारभूत विद्यालयमा प्रमुख अतिथि तथा भक्तपुर नगरपालिका वडा नं ८ का अध्यक्ष कृष्णप्रसाद कोजूको प्रमुख आतिथ्यतामा शुक्रबार नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको छ ।

सोही कार्यक्रमका उहाँले स्थानीयमा सीमित विद्यालयमा हाल अन्य क्षेत्रका विद्यार्थीको उपस्थितिले भक्तपुरको शैक्षिक क्षेत्रमा ठूलै योगदान रहेको बताउँदै निजी विद्यालयसँग प्रतिस्पर्धाको लागि सामुदायिक विद्यालयको अतिरिक्त क्रियाकलापले सघाउ पुग्ने बताउनुभयो ।

विद्यालयका प्रअ दीपक माकले देश र समाजको लागि उपगोगी विद्यार्थी तयार गर्न विद्यालयका शिक्षकहरु लागिपरेको बताउँदै विद्यार्थीहरुलाई पनि सोही अनुरुप उज्जवल भविष्यको लागि शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलापमा सहभागिता गराइरहेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितेन्द्र खायमलीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा उहाँले विद्यार्थीहरुको क्षमता अभिवृद्धिको लागि विद्यालयले उपयुक्त मञ्च तयार गरिरहेको बताउँदै देश र जनताको सेवा गर्ने विद्यार्थी जस्ता जनशक्तिले आफ्नो धरातल बिर्सन हुँदैन भन्नुभयो ।

विद्यालयका शिक्षकद्वय रजनी कर्माचार्य र सत्यराम कासिछ्वा तथा कक्षा ६ की विद्यार्थी खुसी तामाङ लगायतले स्वागत गरेको सो कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम अन्तर्गत आफ्नो नृत्य प्रस्तुत गरेका थिए ।

सोही कार्यक्रममा शैक्षिक वर्ष २०८० मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई शैक्षिक सामाग्री समेत वितरण गरिएको थियो ।

डिएलए नेपालको राष्ट्रिय महाधिवेशन आजदेखि

चितवन / नेपाल डेमोक्रयाटिक लयर (एसोसिएसन डिएलए नेपाल) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ ।

पूर्वी चितवनको रत्ननगरमा आज र भोलि हुन लागेको महाधिवेशनको नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति धनराज गुरूङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र नेता शेखर कोइरालालगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

महासचिव लक्ष्मीदेवी रावलका अनुसार महाधिवेशनमा देशभर ८८ इकाइका प्रजातान्त्रिक पक्षधर १३ हजार कानुन व्यवसायीमध्येबाट एक हजार चार सय एक जना प्रतिनिधि सहभागी हुनेछन् । अहिले देशभरबाट प्रतिनिधि आउनेक्रम जारी छ ।

बागलुङ कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

गलकोट – जिल्ला कारागार बागलुङमा क्षमता दोब्बर कैदीबन्दी राखिएको छ । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा विभिन्न समस्या निम्तिएका छन् ।

कारागारको क्षमता ५० पुरुष र २५ महिला अटाउने रहेकामा हाल एक सय ६६ कैदीबन्दी राखिएको छ । कारागारमा हाल एक सय ५४ पुरुष कैदीबन्दी, १० महिला कैदीबन्दी र दुई नाबालिका रहेका छन् । कारागारमा ठाउँ अभावले महिलाभन्दा पुरुष कैदीबन्दीलाई बढी समस्या भएको जिल्ला कारागार बागलुङ कार्यालय प्रमुख डिलबहादुर केसीले जानकारी दिनुभयो ।

“पुरुष कैदीबन्दीलाई सुत्न समस्या भएको छ”, उहाँले भन्नुभयो । उनीहरु ठाउँ अभावले कोचाकोच गरेर सुत्न बाध्य छन् । महिला कैदीबन्दीलाई भने हाल समस्या छैन । कारागारमा खानेपानीको समस्या समाधानका लागि खानेपानी आयोजना अघि बढाइएको केसीले बताउनुभयो । तित्याङबाट यहाँ खानेपानी ल्याइँदै छ । यसका लागि रु २० लाख बजेट स्वीकृत भएको छ ।

बागलुङ नगरपालिका–९ तित्याङस्थित रिठेखोलाको पानी बागलुङ कारागारमा ल्याउन सरसफाइ तथा खानेपानी डिभिजन कार्यालयले काम गरिरहेको छ । असार मसान्तभित्र कारागारमा मूलको पानी पुग्ने केसीले बताउनुभयो । खानेपानी अभाव हुँदा कैदीबन्दीलाई सरसफाइ गर्न समस्या थियो ।

नेपाल संयुक्त राष्ट्रसङ्घको आर्थिक सामाजिक परिषद् सदस्यमा निर्वाचित

वाशिङ्टन डिसी – नेपाल संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा निर्वाचित भएको छ । नेपाल सन् २०२४ देखि २०२६ सम्मका लागि सदस्यमा निर्वाचित भएको हो । 

बिहीबार राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा भएको मतदानमा नेपाल एक सय ४५ मतसहित एसिया प्रशान्त क्षेत्रका देशहरूको समूहमा सर्वाधिक मतका साथ विजयी भएको हो । राष्ट्रसङ्घको वडापत्र १९४५ अनुसार छ मुख्य परिषद्मा आर्थिक तथा सामाजिक परिषद् एक हो, यसले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि उचो बनाएको छ । 

नेपाल निर्वाचित भएपछि राससलाई प्रतिक्रिया दिनुहुँदै राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख राजदूत अमृत राईले भन्नुभयो, “नेपालले मानवअधिकार परिषद्मा सन् २०१८ मा निर्वाचित भएर एउटा सन्देश दिएको थियो भने अहिले आर्थिक, सामाजिक परिषद्मा विजयी भएर महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । राष्ट्रसङ्घका परिषद्मा नेपालले निर्वाचित भएर विश्व मञ्चमा आफ्नो सन्देश दिन सफल भएको छ ।”

राईले भन्नुभयो, “म सम्पूर्ण सदस्य राष्ट्रप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु । नेपालले सदस्यको रूपमा जिम्मेवारी लिएपछि विश्व सहश्राब्दी लक्ष्य २०३० र अति कम विकसित राष्ट्रहरूका लागि दोहा कार्ययोजनालाई कार्यान्वयनमा समन्वयकारी र महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ ।” गोप्य मतदानमार्फत भएको उक्त मतदानमा एसिया प्रशान्त क्षेत्रबाट जापान र पाकिस्तान पनि निर्वाचित भएका छन् ।

बिहीबारको मतदानमा कुल १८ देश सदस्यमा निर्वाचित भएका छन् । यसरी निर्वाचित हुने देशमा फ्रान्स, जर्मनी, स्पेन, बेलायत, पोल्याण्डलगायत छन् ।  तीनवर्षे कार्यकालका लागि आगामी २०२४ को जनवरीबाट यी नयाँ सदस्य राष्ट्रले काम गर्नेछन् ।
  
नेपाल सन् २०२६ देखि मध्यमस्तरको विकासशील राष्ट्रका रूपमा स्तरोन्नति हुनका लागि रणनीतिकरूपमा अगाडि बढिरहेको परिप्रेक्ष्यमा आर्थिक तथा सामाजिक परिषद्को सदस्यमा निर्वाचित हुनु महत्त्वपूर्ण उपलब्धि हो । यस परिषद्ले विश्वभरिका नागरिकको आर्थिक, सामाजिक अवस्थाका बारेमा सुधार गर्दै सहश्राब्दी विकास लक्ष्य हासिलका लागि विभिन्न कार्यक्रमसमेत अगाडि सारेको छ ।

चार नगरपालिकाका बासिन्दालाई निःशुल्क रगत

भक्तपुर – भक्तपुर जिल्लामा रहेका चार नगरपालिकाका स्थायी बासिन्दाले निःशुल्क रगत पाउन थालेका छन् । विभिन्न रोगको उपचारका क्रममा अत्यावश्यक पर्ने रगतका लागि लाग्ने आवश्यक विभिन्न शुल्क चारवटै नगरपालिकाले व्यहोर्ने गरी आफ्ना नगरवासीका लागि निःशुल्क रगत उपलब्ध गराउन थालेपछि यहाँका बासिन्दाले निःशुल्क रगत पाउन थालेका हुन् ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखासँग जिल्लाका चारवटै नगरपालिका भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाले निःशुल्क रगत उपलब्ध गराउनेबारे सम्झौता गरेपछि रेडक्रसले बिरामीका लागि अत्यावश्यक रगत निःशुल्क उपलब्ध गराउन थालेको हो ।

रेडक्रस सोसाइटी भक्तपुर शाखाका सभापति मनोजकुमार थापाले रगत निःशुल्क प्राप्त गर्नका लागि बिरामीका आफन्तले बिरामीको भक्तपुर जिल्लाभित्र स्थायी ठेगाना भएको परिचय खुल्ने आधिकारिक परिचयपत्र र सम्बन्धित अस्पतालका चिकित्सकको रगत आवश्यकता रहेको सिफारिसपत्र पेस गरेको आधारमा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन सुरु गरिएको जानकारी दिनुभयो ।

बिरामीलाई रेडक्रसले निःशुल्क उपलब्ध गराएको रगतको शुल्क भने सम्बन्धित नगरपालिकाले सोधभर्ना दिने सहमति गरेसँगै रगत निःशुल्क उपलब्ध गराउन थालेका हो । उहाँले भन्नुभयो, “जिल्लाका चारवटै नगरपालिका र रेडक्रसले निःशुल्क रगत उपलब्ध गराउनेबारेमा सम्झौता भएपछि यो सेवा सुरु गरेका हाँै, बिरामीलाई रगत दिएपछि त्यसको शुल्क नगरपालिकाले व्यहोर्ने गर्छ, बिरामीले निःशुल्क रगत पाउन थालेपछि आर्थिकरूपमा विपन्न नागरिकलाई निकै राहत पुगेको छ ।”

अहिलेसम्म रेडक्रसले करिब एक हजार छ सय ५४ जना भक्तपुर जिल्लावासीलाई दुई हजार पिन्ट रगत एवं रक्ततत्व निःशुल्क वितरण गरेको छ । सबभन्दा बढी भक्तपुर नगरपालिकाका बिरामीका लागि रगत माग हुने गरेको छ । सभापति थापाका अनुसार भक्तपुरमा रगतको अभाव छैन । दैनिक विभिन्न ठाउँमा हुने रक्तदान र आकस्मिक रक्तदानबाट रगतको आपूर्ति भइरहेको छ । भक्तपुरमात्रै नभई काठमाडौँ उपत्यका, काभ्रेपलाञ्चोक र उपत्यका बाहिरका अस्पतालमा उपचार गराइरहेका बिरामीका लागि समेत रगत उपलब्ध गराइरहेको उहाँले जानकारी दिनुभयो ।

समयमै जडान भयो कालीपुल–बगरफाँट बेलीब्रिज

म्याग्दी – म्याग्दी र पर्वत जिल्लाको सिमाना भएर बग्ने कालीगण्डकी नदीमा बेलीब्रिज जडान गर्ने योजना लक्ष्यअघि नै निर्माण सकिएको छ । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुल र पर्वतको जलजला गाउँपालिका–२ र ३ नं वडामा पर्ने बगरफाँट जोड्ने बेलीब्रिज निर्माणकार्य लक्ष्यभन्दा एक महिनाअघि नै सकिएको हो ।

पैतालीस मिटर लामो बेलीब्रिज निर्माणका लागि बेनी–जोमसोम कोरला सडक आयोजनासँग बेनीको हिमालयन बिल्डर्सले विसं २०७९ फागुनमा रु दुई करोड चार लाखमा ठेक्का सम्झौता गरेको थियो । आयोजना प्रमुख जगत प्रजापतिले आगामी असार मसान्तसम्म सम्झौताको म्याद भए पनि एक महिनाअघि नै बेलीब्रिज निर्माण सकिएर प्रयोगमा आएको बताउनुभयो ।

“पाँच महिनाको सम्झौताको म्याद थियो”, उहाँले भन्नुभयो, “चार महिनामै पुल तयार भएर प्रयोगमा आइसकेको छ । प्राविधिक मूल्याङ्कन र नापजाँचको काम बाँकी छ । धेरै योजना ढिलासुस्तीले थलिएको अवस्थामा यो बेलीब्रिज लक्ष्यभन्दा एक महिनाअघि नै सम्पन्न भएको छ ।”

बेनी–जोमसोम कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ र २ को सिमाना पोखरेबगरस्थित कालीगण्डकीमा रहेको बेलीब्रिज बगरफाँट जोड्ने सडकमा स्थानान्तरण गरिएको हो । पोखरेबगरमा गत वर्ष पक्की पुल बनेपछि बेलीब्रिज प्रयोगविहीन थियो ।

हिमालयन बिल्डर्सका सञ्चालक नीरज भण्डारीले काम गर्ने वातावरण, सम्बद्ध कार्यालय, स्थानीय पालिका र समुदायको सहयोगका कारण लक्ष्यअघि नै पुल निर्माण गर्न सकेको बताउनुभयो । “सम्झौतालगत्तै पर्याप्त मजदुर, उपकरण परिचालन गरेको थिएँ”, उहाँले भन्नुभयो, “काम गर्ने वातावरण भएकाले पनि सजिलो भयो ।”

करिब तीन सय घरधुरीको बसोबास रहेको बगरफाँटका बासिन्दा दुई वर्षयता सडक यातायात सुविधाबाट बञ्चित भएका थिए । पर्वतबेनीबाट बगरफाँट जोड्ने सडक विसं २०७८ असारको बाढीले कटान गरेर बगाएको र मर्मत तथा नयाँ सडक निर्माण हुन नसकेपछि बगरफाँटवासी समस्यामा परेका थिए ।

तीनवटा पुल बनाउन रु १२ करोड ५५ लाख बजेट

म्याग्दीमा तीनवटा पुल निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट रु १२ करोड ५५ लाख बजेट व्यवस्थापन भएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयमार्फत चालु आर्थिक वर्षमै ठेक्का प्रक्रिया सुरु गर्ने गरी दुईवटा सडक र एक झोलुङ्गे पुल बनाउन बजेटको स्रोत सुनिश्चिता भएको हो ।

कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले मालिका गाउँपालिकाको अदिभारा, बेनी नगरपालिकाको वडा नं ४ र मङ्गला गाउँपालिकाको वडा नं ३ को सिमानास्थित अर्चेखोला मोटरेबलका लागि थप बजेट प्राप्त भएको बताउनुभयो । उहाँका अनुसार अन्नपूर्ण गाउँपालिकाको वडा नं २ र ५ को सिमाना भएर बग्ने कालीगण्डकी नदीमाथि पाउद्धार तातोपानी जोड्ने एक सय ५६ मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि रु एक करोड ५६ लाख बजेट व्यवस्थापन भएको छ ।

कुल लागत अनुमानको २० प्रतिशतभन्दा बढी बजेट विनियोजन र स्रोत सुनिश्चितता भएका आयोजनाको मात्र ठेक्का लगाउन पाउने नीतिगत व्यवस्थाका कारण पुल निर्माणको काम अघि बढ्न सकेको थिएन । “पछिल्लो दुई वर्षयता वार्षिक योजनामा समावेश भएका यी आयोजनाको कुल लागत अनुमानको २० प्रतिशत बजेट विनियोजन हुन नसक्दा ठेक्का लगाउन सकिएको थिएन”, अधिकारीले भन्नुभयो, “अर्थ मन्त्रालयले बजेटको स्रोत सुनिश्चिता, क्रमागत र बहुवर्षे योजनामा समावेश गरेपछि भौतिक मन्त्रालयबाट ठेक्का प्रक्रिया सुरु गर्न पत्र आएको छ ।”

मालिका गाउँपालिकाको वडा नं ३ र ४ को सिमानास्थित अदिभारामा २५ मिटर पुल निर्माणका लागि रु छ करोड नौ लाख लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत गरी चालु आवमा रु ९१ लाख थपिएको छ । अघिल्लो आव २०७८÷७९ र चालु आव २०७९÷८० मा रु ५०–५० लाख विनियोजन भएको थियो । अर्चेखोलामा २५ मिटर लामो मोटरेबल पुल बनाउन रु चार करोड ९० लाख बजेटको स्रोत सुनिश्चितता भएको छ ।

चालु आवमा अर्चेखोलाको पुललाई थप रु ७३ लाख र भुरुङ्ग–पाउद्धार तातोपानी झोलुङ्गे पुललाई रु नौ लाख थप बजेट व्यवस्था गरी क्रमागत योजनामा समावेश गर्न अर्थ मन्त्रालयले ठेक्का लगाउन सहमति दिएको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले वार्षिक योजनामा समावेश भएर पनि स्रोत सुनिश्चितता र २० प्रतिशत बजेट नपुगेर अल्झिएका आयोजना पहिचान गरेर कार्यान्वयन गर्न थालिएको बताउनुभयो ।

लुम्बिनी प्रदेश सरकारले आज नीति तथा सार्वजनिक गर्ने

दाङ – लुम्बिनी प्रदेशमा आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुदैँछ ।  

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्न लागेको हो । जसका लागि प्रदेशसभाको बैठक बिहान ११ःः०० बजे बोलाइएको छ ।   

प्रदेश प्रमुख अमिक शेरचनले आज बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएपछि सोही अनुसार तयारी गरेको प्रदेश संसद् सचिवालयले जानकारी दिएको छ ।

‘हरेक घर–घरमा प्रदेश सरकार, हरेक गाउँमा प्रदेश सरकार’ नारासहित नीति तथा कार्यक्रम ल्याउन लागिएको जनाइएको छ । 

इच्छाकामना मन्दिर भक्तजनका लागि खुला

मुग्लिन – चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ । मन्दिर पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो ।

मन्दिर बाहिर निर्माण गरिएको इच्छाकामना माताको प्रतिमामा पूजा गर्दै आएकामा बिहीबारदेखि मन्दिरभित्रैबाट पूजा गर्न खुला गरिएको छ । विधिवतरूपमा पूजा गरी गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बिहीबार मन्दिरको उद्घाटन गरेपछि सर्वसाधारण तथा भक्तजनका लागि नियमित पूजा गर्न खुला गरिएको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले जानकारी दिनुभयो ।

बागमती प्रदेश, इच्छाकामना गाउँपालिका, स्थानीयको श्रमदान र चन्दादाताको सहयोगमा रु दुई करोड ४२ लाखको लागतमा मन्दिर पुनःनिर्माण सम्पन्न भएको बोहोराले बताउनुभयो । कोरोना महामारी र काठको अभावका कारण मन्दिर पुनःनिर्माण ढिला गरी सम्पन्न भएको हो । मन्दिरको २०७५ असार ७ गते शिलान्यास गरेर काम प्रारम्भ भएको थियो । ढुङ्गा र माटोले बनेको सो पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर पुनःनिर्माण गरिएको हो ।

गाउँपालिका अध्यक्ष गुरुङले ऐतिहासिक महत्त्व रहेको इच्छाकामना मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने बताउनुभयो । “आवश्यक पूर्वाधार निर्माण गरिने र प्रचार–प्रसारमा जोड दिइने छ”, उहाँले भन्नुभयो–“खानेपानीको व्यवस्थासमेत भइसकेको छ, बस्नका लागि होमस्टेको सुविधा छ, आवश्यक पूर्वाधार निर्माण गर्दै जान्छौँ, ऐतिहासिक महत्व बोकेको इच्छाकामना मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने योजना छ ।”

सुन्तलाको बगैँचाको अवलोकन गर्दै मन्दिरसम्म यात्रा गर्न सकिन्छ । साथै मन्दिर परिसर वरपर फागुन–चैतमा ढकमक्क फुल्ने लालीगुराँसले पर्यटकलाई लोभ्याउँछ । इच्छाकामनाको फिस्लिङ, मुग्लिन, कालिकाको शक्तिखोर, धादिङको बेनीघाट रोराङको हुग्दीखोला हुँदै इच्छाकामना मन्दिर सवारीसाधनमार्फत पुग्न सकिन्छ ।

गोरखाको सहिद लखन गाउँपालिकाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको आमनेसामने उत्तरमा पर्ने यस मन्दिरमा पूजाआजा गरे इच्छाएको पूरा हुने धार्मिक विश्वास छ । मनकामना माईको सात दिदीबहिनीमध्ये एक बहिनी इच्छाकामना रहेकोे धार्मिक विश्वास रहेको मन्दिरका पुजारी हर्कबहादुर गुरुङले बताउनुभयो । मन्दिरसम्म सडक पुगेसँगै भक्तजनको आवागमनमा वृद्धि भएको उहाँले बताउनुभयो । प्रत्येक वर्ष मङ्सिरको ठूलो एकादशीपछि पञ्चमी तिथिमा इच्छाकामनामा ठूलो मेला लाग्छ । इच्छाकामना मन्दिर समुद्री सतहदेखि एक हजार आठ सय मिटरको उचाइमा रहेको छ । रासस

‘लु’को जोखिम कायमै

काठमाडौँ मनसुन भित्रिन ढिला हुँदा नेपालको तराईमा तातो हावाको बहाव अर्थात् ‘लु’ चल्ने क्रम थप उच्च बनेको छ । नेपालको पूर्वदेखि पश्चिम तराईको भूभागमा तापक्रम उच्च बन्दा जनजीवनमा गम्भीर असर पर्न थालेको छ । 

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशका तराई भूभागमा आउँदो चार दिनसम्म तातो हावा तथा लुको सम्भावना यथावत् रहने देखिएकाले सोबाट बच्नका लागि सतर्कता अपनाउन अनुरोध गरेको छ ।

तातो हावा तथा लुबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुन सक्ने देखिएको छ ।

महाशाखाले तातो हावा तथा लुबाट बच्न बढी गर्मीको समयमा घरभित्र वा चिसो स्थानमा बस्न, बाहिरी वातावरणमा बढी नजान, हलुका सुती कपडा लगाउन, बाहिर निस्किँदा टाउको छोप्न, टोपी लगाउन सुझाव दिएको छ । साथै नियमित पानी तथा झोल पदार्थ प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनसमेत अनुरोध गरेको छ । 

जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखाले पश्चिमका दुई र पूर्वका तीन जिल्लाबाहेक सबै जिल्लाको तापक्रमले उच्च सतर्कताको तह पार गरेको छ । ती जिल्लामा ४१ डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेको छ । पाँच जिल्लामा तापक्रमको सतर्कता तहको अवस्थामा रहेको छ । सबैभन्दा बढी जनकपुर, विराटनगर, भैरहवा, सिमरा र नेपालगन्जमा वृद्धि भएको देखिएको छ । मोरङको कानेपोखरी गाउँपालिकाको तापक्रम मापक यन्त्रले बिहीबार ४४ डिग्री सेल्सियस तापक्रम मापन गरेको गाउँपालिकाले उल्लेख गरेको छ । 

बङ्गालको खाडीबाट मनसुनी न्यूनचापीय रेखा भारतको केरलामा बिहीबार आइपुगेको छ । त्यहाँबाट मनसुनी जलवाष्प नेपाल आउन करिब एक साता लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् सञ्जीव अधिकारीले भन्नुभयो, “केरला आएको मनसुनी न्यूनचापीय रेखा छिटो गरी आउँछ वा ढिला यात्रा गर्छ भन्ने अर्को मापदण्ड पर्ख र हेरकै अवस्था छ ।” जुन १ तारिखमा केरला आइपुग्नुपर्ने सो रेखा एक साता ढिला आइपुगेकाले यस्तो अन्योल रहेको हो । 

नेपालमा यो वर्ष मनसुन भित्रिने अनुमानित दिन भनेर जुन १३ तोकिएको छ । अहिलेकै अवस्थालाई गणना गर्ने हो भने मनसुन सुरु हु्न करिब एक साता वा त्यसभन्दा बढी समय लाग्ने सम्भावना प्रबल बनेको छ । 

तथापि दुई दिन पश्चिमी वायु र स्थानीय वायुको प्रभावले देशका पहाडी भेगमा हल्का खण्डवृष्टि हुने जानकारी उहाँले दिनुभयो । पूर्वतर्फ केही बादल बनेको छ भने पश्चिम पहाडी इलाकामा पनि बादल बन्ने व्रmम जारी रहेको छ । धेरै ठूलो वर्षा नहुने भएकाले तापक्रम बढोत्तरीमा कमी आउने सम्भावना कम रहेको छ । आजको गोरखापत्र बाट

प्रेस सङ्गठनको पहिलो केन्द्रीय अधिवेशन आजबाट सुरु हुँदै

काठमाडौँ – समाजवादी प्रेस सङ्गठनको पहिलो केन्द्रीय अधिवेशन आजबाट सुरु हुँदै छ । 

अर्पण बैंक्वेट बानेश्वरमा तय गरिएको अधिवेशनको उद्घाटन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गर्दै हुनुहुन्छ । 

आजदेखि सुरु हुने सो राष्ट्रिय अधिवेशनबाट सङ्गठनको नयाँ नेतृत्व चयन गरिने प्रमुख एजेन्डा रहेको छ । सो सम्मेलनमा करिब देशभरबाट ४ सय पत्रकार प्रतिनिधिले सहभागी जनाउँदै छन् ।

हाल यस सङ्गठनको अध्यक्ष शम्भु श्रेष्ठ हुनुहुन्छ भने महासचिवमा भुपराज खडका रहनुभएको छ । यस सम्मेलनबाट अब नयाँ नेतृत्व चयन हुनेछ । 

गण्डकी प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरलाई

त्रिवेणी – गण्डकी प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरले जितेको छ । 

नवलपरासी पूर्व नवलपुरको कावासोतीमा सम्पन्न फाइनल खेलमा नवलपुरले स्याङ्जालाई ५–१ गोल अन्तरले पराजित गरेको हो । 

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतबहादुर पुनका अनुसार विजेता  नवलपुरले रु ५० हजार पुरस्कार प्राप्त गर्‍यो । उपविजेता स्याङ्जाले रु ३० हजार प्राप्त गर्‍यो । प्रतियोगिताका सबै खेल कावासोतीको सरस्वती माविको खेलमैदानमा खेलाइएका थिए । 

प्रदेश खेलकुद परिषद् गण्डकीको प्रायोजन र जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता आयोजना भएको हो । 

प्रतियोगितामा नवलपुर, स्याङ्जा, तनहुँ, लमजुङ र गोरखाको सहभागिता थियो । महिला फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यका प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशको सहयोगमा प्रतियोगिता आयोजना  गरिएको अध्यक्ष पुनले बताउनुभयो ।

कानुन निर्माणको मूल थलोमै मर्यादाको प्रश्न !

काठमाडौँ – प्रतिनिधिसभा नियमावलीमा सभामुखले बोलेको कुरा ध्यानपूर्वक सुन्नुपर्ने, उहाँले समय दिएपछि मात्र बोल्नुपर्ने, पिठ्युँ फर्काएर बस्न र उभिन नहुने तथा सभामुखको आसन र बोलिरहेको सदस्यको बीचबाट हिँड्न समेत नहुनेजस्ता कुरा उल्लेख छ ।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलले लामो बहस र छलफलपछि सर्वसम्मतिमा पारित गरेको उक्त नियमावलीमा सदनलाई मर्यादित र सांसदलाई अनुशासित तुल्याउने हेतुले त्यस्ता धेरै प्रावधान समेटिएका हुन् । 

सत्तापक्ष र विपक्ष सदस्यका केही सदस्यबाट लोकप्रिय हुने होडबाजी र प्रतिशोधपूर्ण अभिव्यक्तिले जनताको सार्वभौमसत्ता सम्पन्न संसद्मा पछिल्ला समय भएका अभ्यासले संसदीय मर्यादा गुमाएको भनी निकै आलोचना भएको छ ।

अमर्यादित होइन, शिष्ट हुनुस्
​​​​​​​नेकपा (एमाले)संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले संसद् कसरी सञ्चालन हुनुपर्छ भनी संविधान, नियम र स्थापित अभ्याससहित नियमावलीमा सविस्तार स्पष्ट व्यवस्था गरिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “सांसद कहाँ बस्नुपर्छ, कसरी बस्नुपर्छ, उठ्दा, हिँड्दा के कुराको ख्याल गर्नुपर्छ, कुन पोसाक लगाउने भन्नेजस्ता विषय पनि त्यहाँ समेटिएका छन् ।”

संविधानसभाका अध्यक्ष नेम्वाङले सदनमा अनावश्यक घोचपेच नगरी शिष्ट बोल्न, आरोप–प्रत्यारोप तथा गालीगलौज र अमर्यादित रूपमा प्रस्तुत नहुन तथा संसद्को सम्मानका लागि नियमावलीमा यस्ता प्रावधान राखिएका बताउनुभयो ।

एमाले उपाध्यक्ष समेत रहनुभएका नेम्वाङले भन्नुभयो, “सदनलाई औपचारिक थलोका रूपमा लिइन्छ । संसद् र अन्तर्गतका समितिमा पनि यही औपचारिकता र भद्रता अपनाइन्छ । कसैमाथि लक्षित गरी गालीगलौज गरिनुहुन्न । आफ्ना कुरा सभामुखमार्फत भन्ने हो, सिधै औँला ठड्याएर एकले अर्कोलाई सम्बोधन गर्न हुँदैन ।”

संसदीय लामो अभ्यास गरेकै सदस्यले पनि रोष्टमबाटै लक्षित गरेर भनाइ प्रस्तुत गरिएकाप्रति असहमति जनाउँदै उहाँले सभामुखमार्फत ध्यानाकर्षण गराउन तथा व्यक्ति विशेषको नाम नलिई प्रस्तुत हुन सबै राजनीतिक दलका नेता तथा सांसदलाई सुझाव दिनुभयो ।

जनताको आवाज प्रस्तुत गर्ने, जनता र देशको हितमा काम गर्ने थलो भएकाले त्यसलाई हेक्कामा राखेर मर्यादित र सभ्य तुल्याउन आवश्यक रहेको उल्लेख गर्दै  नेम्वाङले भन्नुभयो, “हामीले त्यहाँ जे बोल्छौँ, व्यवहार देखाउँछौँ त्यो सन्देश प्रवाह हुने भएकाले त्यो समाजलाई सकारात्मक दिशातर्फ लैजाने हुनुपर्छ ।”

सदनमा सदस्यले बोलेका केही विषय रेकर्डबाट हटाइयोस् भन्ने कुराले चर्चा र निरन्तरता पाइरहेको विषयमा उहाँ भन्नुहुन्छ, “प्रतिशोधमा नआई नेताहरू जहिले पनि शान्त, भद्र र शिष्ट हुनुपर्छ । बाहिरका घटना र विषय जोडेर प्रस्तुत हुनुहुन्न । अहिले भएका कमी–कमजोरीलाई सच्याउँदै लगिनुपर्छ ।”

सङ्घीय संसद्को दुवै सदनमा पूर्ण वाक स्वतन्त्रता रहने र सदनमा व्यक्त गरेको कुनै कुरा वा दिएको कुनै मतलाई लिएर अदालतमा समेत कुनै कारबाही प्रश्न उठाउन नपाइने स्पष्ट संवैधानिक व्यवस्था छ ।

नियमावली पालनामा विशेष ध्यान पुर्‍याउनुस्……….
संविधानसभाका सदस्य एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सदनको मर्यादा कायम राख्न र सदनलाई सुव्यवस्थित रूपमा अघि बढाउन सभामुखदेखि सत्ताधारी, विपक्षी दल र हरेक सांसदलाई नियमावली पालनामा विशेष ध्यान पुर्‍याउन आग्रह गर्नुभयो ।

उहाँ भन्नुहुन्छ, “सदनमा कडा बोल्ने सन्दर्भमा अहिलेका सांसदभन्दा म कम थिइनँ, अहिले प्रतिपक्ष, सत्तापक्ष, सभामुख, नयाँ दल, पुराना दल सबैतर्फबाट कमी–कमजोरी र बिग्रिएको अवस्था छ ।”

संविधान र नियमावली बनाए पनि अहिले त्यसको पालना नभएको उल्लेख गर्दै राष्ट्रियसभाका पूर्व सदस्य बिडारीले दुवै सदनका नियमावलीमा के गर्न हुने वा के गर्न नहुने भन्नेबारे प्रष्ट उल्लेख रहेको बताउनुभयो ।

सांसदले सदनभित्र बोलेको कुरालाई लिएर कुनै अदालतमा मुद्दा लगाइने र प्रश्न उठाइने छैन भनी प्रष्ट व्यवस्था गरेकाले सदनमा बोल्न कुनै बन्देज नरहेको उल्लेख गर्दै उहाँले बोलेका कुरा खण्डन गर्ने तथा नियमावली गर्नुपर्नेमा रेकर्डबाट हटाउने अभ्यास पनि संविधान विपरीत हुने तर्क गर्नुभयो ।

संविधान र कानुनका आधारमा विधि र व्यवहारअनुसार चल्नुपर्नेमा अराजक गतिविधिले प्रश्रय पाएको भनी चिन्ता व्यक्त गर्दै संविधानसभा सदस्य बिडारीले बनेका कानुनको परिधिभित्र रही अघि बढ्न तथा सदन चल्न नसकेमा त्यो दिन तलब भत्ता नलिने व्यवस्था गर्न सङ्कल्प प्रस्ताव पारितका लागि सुझाव प्रस्तुत गर्नुभयो ।

सदनमा सत्तापक्ष र प्रतिपक्षबीच एक–अर्कालाई लक्षित गरी आरोप–प्रत्यारोपका घटना बढेको तथा समय लिएर वक्तव्य दिइरहेका प्रधानमन्त्रीलाई समेत रोकेर अरूलाई समय दिइएको घटनालाई चासोका साथ हेरिरहेको सन्दर्भमा उहाँहरूले यो प्रतिक्रिया दिनु भएको हो ।

सदन दलको आमसभा होइन……
संसद् सचिवालयका पूर्व महासचिव मनोहर प्रसाद भट्टराईले प्रधानमन्त्रीको वक्तव्यप्रति सुरुदेखि अन्त्यसम्म असहमति भए पनि समय लिएर बोल्न सुरु गरेपछि पूरा नभएसम्म उहाँलाई अपमान र मर्यादा नै नरहने गरी हस्तक्षेप गर्न नमिल्ने तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो, “संसदीय अभ्यासलाई मर्यादित तुल्याउन सञ्चालन गर्न नियमावली बनाइएको छ, त्यसैले सबै प्रक्रियालाई निर्धारण गर्छ । त्यसको उल्लङ्घन गर्दै उत्तेजना र आवेगलाई प्रश्रय दियौँ भने सञ्चालन गर्नेलाई पनि चुनौती खडा हुन्छ भने संसद्को मर्यादामा पनि क्षयीकरण हुन जान्छ ।”

सदनको गरिमा र प्रभावकारिता बढाउने कर्तव्य सरकार, सम्पूर्ण राजनीतिक दल र सदस्यहरूको भएको उल्लेख गर्दै पूर्व महासचिव भट्टराईले नियमापत्तिको आडमा राजनीतिक अभीष्ट पूरा गर्न अनावश्यक विषय प्रवेश गराएर सदनलाई अवरोध गर्ने अभ्यास नगर्न सुझाव दिनुभयो ।

नियम र प्रक्रिया तोडमोड गरिए सदन चल्न नसक्ने भएकाले त्यसमा हेक्का राख्न सबै सांसदलाई सुझाव दिँदै उहाँले सदन भनेको कुनै राजनीतिक दलको आमसभा नभई विधि, प्रक्रिया, अनुशासन, आचार संहिता र मर्यादा कायम गर्दै अघि बढ्नुपर्ने थलो भएकाले त्यसको गरिमा जोगाउने सिलसिलामा सबैको सहकार्य र भूमिकाको खाँचो औँल्याउनुभयो । रासस

निर्वाचन आयोग र राजनीतिक दलबीच आज छलफल हुँदै

काठमाडौँ – निर्वाचन आयोग र राजनीतिक दलबीच आज छलफल हुँदै छ । 

अर्थमन्त्री प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरेपछिको अवस्थाका बारेमा जानकारी गराउन निर्वाचन आयोगले राजनीतिक दलका नेताहरूलाई छलफलमा बोलाएको हो । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आज बिहान साढे ११ः०० बजे बैठक बस्ने गरी राजनीतिक दलहरूलाई बोलाइएको छ । उहाँका अनुसार सो क्रममा जिल्ला निर्वाचन कार्यालय खारेजीसँग विभिन्न विषयमा छलफल हुनेछ ।  

आज निर्वाचन कानुनको विधेयक, स्थानीय तहसँगको सहकार्यमा मतदाता नामावली सङ्कलन गर्ने, विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली सङ्कलन र राजनीतिक दलका लेखा परीक्षणको सम्बन्धलगायतमा छलफल हुनेछ ।

गण्डकीमा ‘प्रदेश सरकारको साझेदारी, बाँझो रहन्न खेतबारी’

गण्डकी – गण्डकी प्रदेश सरकारले ‘प्रदेश सरकारको साझेदारी, बाँझो रहन्न खेतबारी’ अभियान सञ्चालन गर्ने भएको छ । सरकारको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रममा उक्त अभियान थालिने भएको हो ।

सो अभियानका साथसाथ बाँदर प्रभावित क्षेत्रहरूलाई केन्द्रित गरी प्रदेशभित्र उच्च सम्भावनाको क्षेत्र रहेको दुग्ध तथा मासुजन्यलगायतका निर्यात प्रवर्द्धन हुने बाली वस्तु उत्पादनमा आत्मनिर्भर बन्न विशेष कार्यक्रम ल्याउने उल्लेख छ । स्थानीय तहसँगको साझेदारीमा भूमि बैंकको अवधारणा लागू गरिने छ ।

आयातलाई प्रतिस्थापन गर्ने उद्देश्यले कृषिजन्य उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ उपलब्ध गराउन चक्लाबन्दी गर्ने सरकारको योजना छ । चक्लाबन्दी गरिएका तथा अन्य क्षेत्रहरूमा समेत कृषकलाई उद्यमी र कृषिलाई उद्योग बनाउने गरी आयआर्जनसँग जोड्दै विशेष कृषि उत्पादन कार्यक्रमको सुरुआत गरिने छ ।

कृषिजन्य उत्पादन तथा पशुपालनका पकेट क्षेत्र पहिचान गरी पाइलट प्रोजेक्टका रूपमा सामूहिक तथा व्यावसायिक कृषि उत्पादनमा आधारित कार्यक्रमलाई जोड दिइने भनिएको छ । किसानलाई प्रोत्साहन स्वरुप ‘उत्पादनमा आधारित अनुदान’ उपलब्ध गराई बजारको सहजीकरण र सुनिश्चितता गरिने उल्लेख छ ।

मस्र्याङ्दी, कालीगण्डकीलगायत करिडोर क्षेत्रमा कृषिमा आधारित एकीकृत विकासलाई प्राथमिकतामा राखेर कार्यप्रारम्भ गरिने छ । जलवायुजन्य जोखिम र सङ्कटासन्नताको विश्लेषणका आधारमा जलवायुमैत्री प्रविधिहरूको उपयोग गर्दै कृषि उत्पादन प्रवर्द्धन गरिने नीति तथा कार्यक्रममा समेटिएको छ । कृषक र व्यवसायीबीच करार गरी कृषि उपजको बजार सुनिश्चित गर्ने नीति लिइने सकारको योजना छ । कृषि मूल्य शृ¬ङ्खलामा संलग्न सबै व्यवसायको लाभ सुनिश्चितता हुने गरी उत्पादन प्रणालीलाई आधुनिकीकरण र व्यावसायीकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

खाद्य तथा पोषण सुनिश्चितताका लागि ग्रामीण पोषण सुरक्षण कार्यक्रमलाई निरन्तरता दिँदै रैथाने तथा स्थानीय बालीको उत्पादन प्रवर्द्धन र रैथाने बालीका परिकारहरूको विविधिकरण तथा उपयोगसम्बन्धी कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गरिने छ । कृषकलाई बाली बीमा निःशुल्क हुने गरी बीमा प्रिमियममा सहुलियत दिने कार्यक्रमलाई निरन्तरता दिइने नीति लिइएको छ ।