`

विश्व स्वास्थ्य सङ्गठनको सदस्यताबाट बाहिरिने ट्रम्पको घोषणा

Nepal One HD ८ माघ २०८१ ११:०३
विश्व

बीबीसी । डोनल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिका रूपमा आफ्नो दोस्रो कार्यकाल सुरु भएसँगै विभिन्न कार्यकारी आदेशहरू जारी गरेर गरेका छन् ।

पदभार ग्रहण गरेको केही घण्टाभित्रै राष्ट्रपति ट्रम्पले ह्वाइटहाउसबाट विभिन्न दस्तावेजहरूमा हस्ताक्षर गरेर अनुमोदन गरेका छन् ।

उनले मेक्सिकोसँगको सिमानामा राष्ट्रिय सङ्कटकालको घोषणा गरेका छन् भने लागुपदार्थ तस्करहरूको गिरोह, कार्टेलहरूलाई आतङ्कवादी संगठन घोषणा गरेका छन् ।

यसअघि उनले भरिभराउ रङ्गशालामा बसेर एक चरणका कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेका थिए। मञ्चमा राखिएको डेस्कबाट उनले बाइडन प्रशासनले लागु गरेका झण्डै असीवटा प्रावधानहरूलाई उल्टाइ दिएका थिए भने पेरिस जलवायु सम्झौताबाट अमेरिकालाई बाहिर निकालेका थिए ।

उनले ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सी’ नाम दिइएको सरकारी खर्च प्रभावकारीता सम्बन्धी विभागको स्थापना, ‘लैङ्गिक विचारधाराबाट महिलाहरूको प्रतिरक्षा’ र ‘संघीय सरकारमा जैविक सत्यताको पुनस्र्थापना’, विश्व स्वास्थ्य सङ्गठनको सदस्यताबाट बाहिरिने प्रकृयाको थालनी, अमेरिकाको दक्षिणी सिमानामा ‘राष्ट्रिय सङ्कटकाल’ को घोषणा, टिकटकविरुद्धको प्रतिबन्ध कार्यान्वयनमा आउनमा अस्थायी रोक लगाउने, क्यापिटल हिल दङ्गामा संलग्नहरूलाई क्षमादान, ‘भूतपूर्व सरकारी अधिकारीहरूलाई निर्वाचनमा चलखेल गरेकोमा जिम्मेवार’ ठहर गर्ने आदेशमा हस्ताक्षर गरेका छन् ।

राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशबाट चार वर्ष अघि अमेरिकी संसद् भवन क्यापिटलमा जबर्जस्ती प्रवेश गरेर हुलदङ्गा भएको घटनामा संलग्न झण्डै १६ सय जनालाई क्षमादान दिइएको छ ।

त्यस घटनामा उनका समर्थकहरूले त्यसबेलाको राष्ट्रपतीय निर्वाचनको मतपरिणामलाई उल्टाउने प्रयास गरेका थिए । एकजना वरिष्ठ डिमोक्र्याट न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पले दिएका क्षमादानलाई “लज्जाजनक“ भनेर टिप्पणी गरेकी छन् ।


प्रतिक्रिया