`

ट्रम्पले लिए ४७ औँ अमेरिकी राष्ट्रपतिको शपथ

Nepal One HD ७ माघ २०८१ २३:३२
प्रमुख खबर

बीबीसी । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । सोमबार वासिङटन डीसीस्थित यूएस क्यापिटल वन एरेनामा आयोजित कार्यक्रमबीच प्रधानन्यायाधीश जोन रोबर्टसले ट्रम्पलाई शपथ खुवाएका हुन् ।

राष्ट्रपतिका रूपमा ट्रम्पको यो दोस्रो कार्यकाल हो । यसअघि सन् २०१६ मा उनी राष्ट्रपति निर्वाचित भएका थिए । शपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति जो बाइडेन, पूर्वराष्ट्रपतिहरू, उपराष्ट्रपति, मनोनीत गरिएका मन्त्रीहरू तथा उच्चपदस्थ अधिकारीहरू उपस्थित थिए । शपथ ग्रहण समारोहमा करिब आठसय पाहुना उपस्थित भएका बताइएको छ ।

ट्रम्पभन्दा अगाडि उपराष्ट्रपति जेडी भान्सले शपथ लिएका थिए । ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिन करिब १०० वटा कार्यकारी आदेशमा हस्ताक्षर गर्ने तयारी गरेका छन् । तीमध्ये धेरै बाइडेन प्रशासनका नीतिहरू उल्ट्याउने लक्ष्य राखिएको छ ।

आफ्ना धेरै प्रतिज्ञामध्ये उनले सामूहिक निर्वासन कार्यक्रम सुरु गर्ने र तेल उत्खनन बढाउने वाचा गरेका छन् । उनले सन् २०२१ जनवरी ६ मा क्यापिटलमा तोडफोड गर्ने आफ्ना दङ्गाकारीहरूलाई छिट्टै माफी दिनसक्ने पनि बताएका छन् ।


प्रतिक्रिया