`

प्रतिनिधिसभा बैठकमा बजेट माथिको छलफल आज पनि जारी रहने

काठमाडौँ – आज प्रतिनिधिसभाको बैठक बस्दै छ । 

सङ्घीय संसद् भवन, बानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ः०० बजे बस्नेछ । 

आज बस्ने बैठकमा आर्थिक वर्ष २०८० /८१ को राजस्व र व्ययको वार्षिक अनुमान(बजेट)माथिको छलफल जारी रहनेछ।

गत जेठ १५ गते अर्थमन्त्री प्रकाश शरण महतले पेस गरेको बजेटमाथि पछिल्ला दिनमा छलफल निरन्तर चलिरहेको छ । हालसम्म उक्त बजेटमा १ सयभन्दा बढी प्रतिनिधिसभा सदस्यले धारणा राखिसक्नुभएको छ । 

निराश जनतालाई आशावादी बनाऔँ : गगन थापा

धनकुटा – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली समाजमा बढ्दै गएको निराशालाई आशामा बदल्न नेपाली कांग्रेसले पहलकदमी लिनुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि धनकुटाको पहिलो जिल्ला अधिवेशन उद्घाटनमा आउनुभएका थापाले अहिले देशका सबै राजनीतिक कार्यकर्ता तथा आमनागरिक सरकार र देशको अवस्थाबाट निराश भएको बताउनुभयो ।

“माओवादी शान्ति प्रक्रिया र संविधान लेखनपछि केही हुन्छ भनेर आश गरेका नेपालीहरूले दुवै कालखण्डपछि केही नभएकाले निराश छन्”, थापाले भन्नुभयो, “यस्तो अवस्थामा आम नागरिकमा उत्साह छर्ने काम नेपाली कांग्रेस तथा पार्टी कार्यकर्ताहरूको हो ।”

सत्ता र सरकारभन्दा नागरिकको सरोकार प्रमुख भएकाले कांग्रेसले नागरिकको समस्या समधान गरेर निराशाको दलदलबाट उनीहरूलाई उठाउनुपर्ने थापाको भनाइ थियो ।

अर्को प्रसङ्गमा थापाले राजनीतिमा कुनै दुश्मन वा मित्र नहुने कांग्रेसको नीति भएकाले आगामी चुनावमा कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने बताउनुभयो ।

सत्ता र सरकार कांग्रेसको प्राथमिकता नभए पनि वर्तमान अवस्थामा कांग्रेसले गठबन्धन गरेर त्यसको विपरीत काम गर्दा नागरिकमा गलत सन्देश गएको थापाको भनाइ थियो । कांग्रेस जिल्ला सभापति दिनेश राईको अध्यक्षतामा सम्पन्न जिल्ला अधिवेशनमा सङ्घ, प्रदेश र जिल्लाका सात स्थानीय तहका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

माथिल्लो अरूणमा लगानी जुटाउन दातृ निकायसँग छलफल

काठमाडौँ – मुलुकको रुपान्तरणकारी योजना माथिल्लो अरूण जलविद्युत परियोजनामा लगानी जुटाउन अर्थ मन्त्रालयमा विभिन्न दातृ निकायका प्रतिनिधिसँग छलफल भएको छ । एक हजार ६१ मेगावाट क्षमताको अर्धजलाशययुक्त यो परियोजनामा लगानी गर्न अर्थ मन्त्रालयले विश्व बैंक, एसियाली विकास बैंक, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), जर्मनी सरकार, ओपेक फण्ड, युरोपियन युनियन, युरोपियन लगानी बैंकलगायत दातृ निकायका प्रतिनिधिसँग छलफल गरेको हो ।

छलफलमा विश्व बैंक दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजर, पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष वाङ्ग्जी चेनको पनि सहभागिता रहेको थियो । छलफलमा अर्थमन्त्री डा प्रकाशशरण महतले विश्व बैंकले माथिल्लो अरूणमा लगानी गर्न खोज्नु सकारात्मक भएको बताउनुभयो । “हामीले अरूण तेस्रोमा नै विश्व बैंकको लगानी चाहेका थियौँ । विश्व बैंक पनि लगानी गर्न तयार थियो, तर विविध कारणले अरूण तेश्रोमा लगानी हुन सकेन”, मन्त्री महतले भन्नुभयो, “अहिले माथिल्लो अरूणमा लगानीको विषयमा सकारात्मक छलफल हुँदा निकै खुसी लागेको छ ।”

उहाँले जलाशययुक्त दूधकोशी जलविद्युत् परियोजनामा एसिया विकास बैंकले चासो राखेको भन्दै लगानीको प्रक्रिया छिटो अगाडि बढाउन आग्रह गर्नुभयो । “अहिले पनि नेपालले सुख्खायाममा भारतबाट बिजुली आयात गर्नु परेको छ”, डा महतले भन्नुभयो, “त्यसैले हामीलाई धेरै जलाशययुक्त योजना आवश्यक छ । प्रधानमन्त्रीको भारत भ्रमणले पनि नेपालमा उत्पादित १० हजार मेगावाट बजार सुनिश्चित गरेको छ । जलविद्युत् उत्पादन र निर्यातलाई बढाएर व्यापार घाटा घटाउने योजनामा हामी छौँ ।”

छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले नेपालमा जलविद्युत् उत्पादन र यसको प्रभावकाबारेमा चर्चा गर्नुभएको थियो । छलफलमा विश्व बैंक, एसियायी विकास बैंक, जाइका फण्ड, साउदी फण्डका प्रतिनिधिले माथिल्लो अरूण परियोजनामा लगानी गर्न इच्छुक रहेको बताउनुभयो ।

अपर जलविद्युत् आयोजनाले गरेको अध्ययनअनुसार परियोजनाको काम सम्पन्न गर्न एक अर्ब ८० करोड अमेरिकी डलर लागत लाग्ने अनुमान गरिएको छ । त्यसमध्ये ८५ करोड डलर आन्तरिक स्रोतबाट जुटाउने योजना रहेको छ । परियोजना निर्माणका लागि गर्नुपर्ने पूर्वतयारीका जग्गा अधिग्रहण, रूख कटानलगायत धेरैजसो काम सम्पन्न भइसकेका छन् । सन् २०२५ जुलाइबाट परियोजना निर्माणको काम सुरू गर्ने तयारी छ ।

स्ववासी समस्या समाधान हुन्छ : मन्त्री श्रेष्ठ

भक्तपुर – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठले भक्तपुरलगायत काठमाडौंँ उपत्यकाभित्रको लालपूर्जाविहीन स्ववासी समस्या समाधान गर्ने बताउनुभएको छ । आज उपत्यकावासी व्यवस्थापन तथा सहयोग सङ्घर्ष समितिले मन्त्री श्रेष्ठलाई भेटी स्वबासी र बेनिस्साका घर खेत दर्ता खुला गर्नुपर्ने माग ध्यानाकर्षण पत्र बुझाएपछि उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “मलाई तपाईंहरुको समस्याबारे राम्रैसँग जानकारी छ, हजारौँ वर्षदेखि आफ्नै थातथलोमा बस्दै आएका स्वबासी र जग्गाको निस्सा नभएका स्थानीयलाई लालपूर्जा उपलब्ध गराउन म सहजीकरण गर्नेछु, म मेरै कार्यकालमा भूमिसम्बन्धी समस्या समाधान गर्नेछु ।”

सङ्घर्ष समितिकी संयोजक पृथविन्दु महर्जनको नेतृत्वको टोलीलाई मन्त्री श्रेष्ठले पीडित स्ववासीको पक्षमा आफू सधैँ उभिने बताउनुभयो । विसं २०७२ मा जारी भएको नेपालको संविधानले सम्पूर्ण नागरिकलाई सम्पत्तिको हक प्रत्यायोजन गरेको भए पनि संविधान बमोजिम अधिकार प्राप्त नभएकोमा टोलीले मन्त्रीसँग गुनासो गरेका थिए । काठमाडौँ उपत्यकाभित्रका तीन सहरका पुराना बस्तीमा पुस्तौँदेखि बसोबास गर्दै आएका धेरै स्ववासीले लालपूर्जा पाउन नसक्दा समस्यामा परेका छन् ।

सङ्घीय निजामती सेवा ऐन यसै अधिवेशनबाट जारी हुन्छ : मन्त्री मोदी

काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती कर्मचारी सेवा ऐन यसै अधिवेशनबाट ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सम्माननीय प्रधानमन्त्रीको आदेशानुसार दिनरात खटेर सरोकारवाला सबै पक्षसँग गरिएको चरणबद्ध छलफलबाट प्राप्त रायसुझावलाई समेत समेटेर तयार गरिएको निजामती सेवा ऐन यसै अधिवेशनबाट पारित हुनेछ भन्नुभयो ।

ऐन निर्माण प्रक्रियाअन्तर्गत सहमतिका लागि अर्थ र कानून मन्त्रालयमा करिब साढे दुई महिनाअघि मस्यौदा पठाएको जानकारी गराउँदै उहाँले ती मन्त्रालयबाट सहमति प्राप्त हुनासाथ आवश्यक प्रक्रिया पूरा गरी निजामती सेवा ऐन जारी गरिनेछ भन्नुभयो ।

कर्मचारीको सरुवा व्यवस्थापन, बेरुजु फर्छ्योट, सुशासन कायम गर्ने क्रममा आफूले ठूलो सफलता प्राप्त गरेको जानकारी दिँदै मन्त्री मोदीले व्यापक दबाबका बाबजुद पालिकाको प्रमुख कार्यकारी अधिकृत व्यवस्थापनमा पनि उल्लेख्य सफलता प्राप्त गरेको बताउनुभयो ।

कतिपय पालिकाको असहयोगका कारण केही स्थानमा अझै निमित्तको भरमा कर्मचारी प्रशासन सञ्चालन गर्न बाध्य हुनुपरेको स्पष्ट गर्दै उहाँले असार महिनापछि कडाइका साथ सबै पालिकामा प्रमुख कार्यकारी अधिकृतको व्यवस्था गरिने दृढता व्यक्त गर्नुभयो ।

निजामती अस्पतालमा राष्ट्रियस्तरका खेलाडी, कलाकारलगायत समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरूलाई राष्ट्रसेवक कर्मचारी सरह औषधोपचारको व्यवस्था गर्नलागेको बताउँदै सूचना तथा प्रसारण विभागबाट जारी पत्रकार परिचयपत्रका आधारमा पत्रकारलाई पनि सो सुविधा दिने विषयमा छलफल भइरहेको मन्त्री मोदीले जानकारी दिनुभयो ।

मन्त्रालयका सचिव डा कृष्णहरि पुष्करले कर्मचारीको सरुवा तथा पदस्थापना र सूचनाको हकसम्बन्धी अनावश्यक निवेदन र उजुरीका कारण मन्त्रालयको कामकाज प्रभावित हुनेगरेको उल्लेख गर्दै स्पष्ट मापदण्ड र कार्ययोजनासहित जनताका पक्षमा परिणाममुखी काम गर्न मन्त्रालय सफल भएको धारणा व्यक्त गर्नुभयो । सोही मन्त्रालयका प्रवक्ता कमल भट्टराईले कर्मचारी सरुवा व्यवस्थापन, बेरुजु फर्छ्योट, दीगो विकाससहित सुशासन कायम गर्न मन्त्रालय परिवार एकजुट रहेको स्पष्ट गर्नुभयो ।

कामपाको सबै विद्यालयमा नर्सिङ सेवा

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने भएको छ । कामपाले ३२ वटै वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गर्ने र सोही केन्द्रमार्फत आगामी वर्षदेखि ८९ वटै सामुदायिक विद्यालयमा नै नर्सिङ सेवा उपलब्ध गराउने तयारी गरेको हो ।

कामपा शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार धेरै विद्यार्थी सङ्ख्या रहेको विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गर्ने र विद्यार्थी सङ्ख्या कम भएको सामुदायिक विद्यालयमा वडामार्फत उक्त सेवा प्रदान गर्ने कामपाको तयारी छ ।

अहिले कामपालगायत देशको सबै स्थानीय तहहरू नीति तथा कार्यक्रम बनाउने तयारीमा जुटेका छन् । कामपाले आफ्नो नीति तथा कार्यक्रमा नै उक्त विषय समेटेर आगामी आवदेखि कार्यान्वयन गरिने शिक्षा विभागका प्रमुख कोइरालाले जानकारी दिनुभयो ।

वडामा सञ्चालन गरिने स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत प्रत्येक विद्यालयमा हप्तामा दुई दिन नर्सिङ सेवा दिने गरी तयारी भएको छ । कम्तीमा दुई दिन विद्यार्थीको स्वास्थ्य परीक्षण गराउने र तत्काल गर्नुपर्ने केही समस्या पर्दा केन्द्रमार्फत कामपाले खटाएका नर्सले सेवा दिनेछन् ।

एक विद्यालय एक नर्स कार्यक्रम प्रदेशको कार्यक्रम हो । अहिले उक्त कार्यक्रम कामपाको आठवटा विद्यालयमा मात्र सञ्चालन हुँदै आएको छ । यसलाई बढाएर कामपाले सबै विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने भएको हो ।

उक्त कार्यत्रमसँगै कामपाले आगामी आवदेखि मनोवैज्ञानिक परामर्श सेवा पनि उपलब्ध गराउने तयारी गरेको छ । त्यसैगरी प्रविधि र विशेष शिक्षामा गत वर्षको भन्दा यस वर्ष लगानी बढाउने अभ्यास भइरहेको कामपा शिक्षा सल्लाहकार रेशु अर्यालले जानकारी दिनुभयो ।

शिक्षाको गुणस्तर बढाउनु नै कामपाको लक्ष्य रहेकाले यसै शैक्षिकसत्रदेखि सुरु गरेको शिक्षामा सीप कार्यक्रमलाई पनि थप विस्तार गरिने भएको छ । अहिले माध्यमिक तह कक्षा ९ देखि १२ सम्ममात्र सञ्चालन भइरहेको उक्त कार्यक्रम तलका कक्षामा पनि लगिने छ । कामपामा रहेका ८९ सामुदायिक विद्यालयमध्ये ५९ माध्यमिक र ३० प्राथमिक विद्यालय छन् । उनान्साठी माविमध्ये ५६ वटामा मात्र शिक्षामा सीप कार्यक्रम लागू भएको छ ।

बजेटमाथिको छलफलमा पक्ष र विपक्षमा सांसदका धारणा

काठमाडौँ – प्रतिनिधिसभाको बैठकमा जारी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सांसदहरूले पक्ष–विपक्षमा आफ्ना धारणा व्यक्त गर्नुभएको छ ।

सभाको आजको बैठकमा सत्तापक्षका सांसदहरूले बजेटमा आएका विषयवस्तु राम्रा भएका बताउँदै कार्यान्वयनमा जोड दिनुभएको छ । यसैगरी प्रतिपक्षका सांसदहरूले भने बजेटले मुलुकको वर्तमान आर्थिक समस्या सम्बोधन गर्न नसक्ने तर्क गर्नुभएको छ ।

बैठकमा सांसदहरू सीताकुमारी राना, लालप्रसाद सावाँ लिम्बू, मैना कार्की, एकनाथ ढकाल, सीता मिजार, प्रभु हजारा दुसाद, मनबहादुर गुरुङ, डा सुनिलकुमार शर्मा, रामकुमार राई, हरि ढकाल, ऐनबहादुर शाही ठकुरी, सूर्यप्रसाद ढकाल, लीलादेवी बोखिम, प्रतिक्षा तिवारीलगायतले आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही जेठ २६ गते बिहान ११ बजे बस्नेछ ।

प्रतिनिधिसभामा आव २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी छ ।

केयुका एक हजार दुई सय ४० विद्यार्थी दीक्षित हुँदै

बनेपा – काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत विभिन्न सङ्कायका एक हजार दुई सय ४० विद्यार्थी दीक्षित हुने भएका छन् । विश्वविद्यालयले आज पत्रकार सम्मेलन गरी जेठ २८ गते आइतबार दोस्रो चरणमा हुन लागेको २८औँ दीक्षान्त समारोहमा विद्यार्थी दीक्षित हुने जनाएको हो ।

काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालय परिसरमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा मुम्बइका अटलास स्किलटेक विश्वविद्यालयका उपकुलपति प्रोफेसर राजन वीलुकरको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह हुने भएको विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले बताउनुभयो ।

दीक्षान्त समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति अशोककुमार राई र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीसमेतको सहभागिता रहने उहाँले बताउनुभयो । यसपटकको समारोहमा काठमाडौँ विश्वविद्यालयबाट स्कुल अफ आर्टस्, एजुकेसन, इञ्जीनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विधाका पिएचडी नौ जना, एमफिल ४१, स्नातकोत्तर तहका ९८ र स्नातक तहका एक हजार ९२ सहित एक हजार दुई सय ४० विद्यार्थी दीक्षित हुने जनाएको छ । जसमध्ये आर्टस्का ३५, एजुकेसनका ५७, इञ्जीनियरिङका तीन सय ६५, ल का एक, म्यानेजमेन्टका ५०, मेडिकल साइन्सेजका पाँच सय ६५ र साइन्सका एक सय ६७ जना रहने छन् ।

दीक्षित हुने विद्यार्थीमध्ये पुरुषको सङ्ख्याभन्दा महिलाको सङ्ख्या बढी रहने छ । पुरुषको प्रतिशत ४९ दशमलव ३५ (छ सय १२) र महिलाको प्रतिशत ५० दशमलव ६५ (छ सय २८) जना रहने छ । दीक्षित हुनेमध्ये वेनिन, भारत, श्रीलङ्का र संयुक्त राज्य अमेरिका गरी चार देशका ७३ जना अर्थात् ५ दशमलव ८९ प्रतिशत रहेका विदेशी विद्यार्थी रहनेछन् ।

काठमाडौँ विश्वविद्यालयको इतिहासमा पहिलोपटक स्कुल अफ इञ्जीनियरिङअन्तर्गत ब्याचलर अफ आर्किटेक्चरमा २९ जनालाई उपाधि प्रदान गरिने भएको छ । अठ्ठाइसौँ दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रमसम्ममा गरी काठमाडौँ विश्वविद्यालयबाट ४१ हजार दुई सय ७५ विद्यार्थी उत्तीर्ण भएका छन् ।

विश्वविद्यालयले यसपटक स्कुल अफ एजुकेशनबाट स्नातकोत्तर तहमा मास्टर अफ एजुकेशन इन म्याथमेटिक्स एजुकेशनमा सबैभन्दा बढी सिजीपीए चार प्राप्त गरेका सिद्धार्थ रजकलाई चान्सलर स्वर्ण पदक, स्कुल अफ एजुकेशनबाट नै स्नताक तहमा व्याचलर अफ एजुकेशन इन चाइनिज ल्याङ्वेज टिचिङमा सबैभन्दा बढी सिजीपीए तीन दशमलव ८९ प्राप्त गर्नुभएका सञ्चिता केसीलाई भाइस चान्सलर स्वर्ण पदक, स्कुल अफ म्यानेजमेन्टको एमबिए तहमा सबैभन्दा बढी सिजीपीए तीन दशमलव ९७ प्राप्त गर्नुभएका प्रश्ना भट्टराईलाई जुद्धबहादुर श्रेष्ठ स्वर्ण पदक र स्कुल अफ म्यानेजमेन्टबाट नै एमबिए तहमा सिजीपीए तीन दशमलव ८५ प्राप्त गरी सर्वोत्कृष्ट हुनुभएका आयुष्मा पोखरेलाई रणबहादुर शाह स्वर्ण पदक प्रदान गर्ने भएको विश्वविद्यालयका प्रवक्ता उद्धव प्याकुरेलले बताउनुभयो ।

यसैबीच विश्वविद्यालयले गत जेठ २२ गते सम्पन्न काठमाडौँ विश्वविद्यालयसभाको ९५औँ बैठकबाट आव २०७८/७९ को वार्षिक कार्यप्रगति विवरण स्वीकृत गरेको, आव २०८०/८१ को वार्षिक कार्यक्रम तथा अनुमानित आय–व्यय (बजेट) मा कुल रकम रु दुई अर्ब २१ करोड ५५ लाख आय हुने र रु दुई अर्ब २६ करोड व्यय हुने अनुमान गरिएको, विश्वविद्यालयको आव २०७७/७८ र आव २०७८/७९ को वार्षिक लेखापरीक्षण प्रतिवेदन स्वीकृत गरेको प्रवक्ता प्याकुरेलले बताउनुभयो ।

त्यस्तै आव २०७९/८० को लेखापरीक्षणका लागि लेखापरीक्षकका रूपमा एमबी श्रेष्ठ एण्ड कम्पनी नियुक्ति गरी लेखापरीक्षकको पारिश्रमिक निर्धारण गरेको तथा काठमाडौँ विश्वविद्यालय ऐन, २०४८ को दफा ५ (ङ) एवं २२ बमोजिम विश्वविद्यालय आर्थिक नियम २०४९ मा आठौँ संशोधन नियम, २०८० लाई संशोधन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

कर्णाली सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

कर्णाली – कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको नवौँ बैठकबाट प्रदेश सरकारको आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । सभामुख नन्दा गुरुङले मुख्यमन्त्री राजकुमार शर्मालाई प्रदेशसभा नीति तथा कार्यक्रम पारितका लागि प्रस्ताव गर्न समय दिनुभएसँगै बहमुतले पारित भएको हो ।

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले यही जेठ २१ गते प्रदेश सरकारको आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । आजको बैठकमा प्रतिपक्षी दल नेकपा (एमाले)बाट प्रदेशसभा सदस्यत्रय टेकराज पछाईँ, जीतबहादुर मल्ल र विनोदकुमार शाहले नीति तथा कार्यक्रममाथि प्रस्तुत गर्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

सदस्य पछाईँले जनयुद्ध शब्द, मल्लले कर्णालीको हवाई व्यवस्था र शाहले वित्तीय व्यवस्थाको पहुँचसँग सम्बन्धित विषयमा संशोधन प्रस्ताव राख्नुभएको थियो । नीति तथा कार्यक्रम पारित भएसँगै सभामुख गुरुङले प्रदेशसभाको अर्को बैठक असार १ गते दिउँसो १ः०० बजेसम्मका लागि स्थगित भएको जानकारी गराउनुभयो ।

मुकुन्द न्यौपानेसहित एमालेका १३ केन्द्रीय सदस्यद्वारा शपथ

​​​​​​​काठमाडौं – नेकपा एमालेले मनोनीत गरेको १३ जना केन्द्रीय सदस्यहरुको शपथ ग्रहण गराएको छ।

आज पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले शपथ गराउनु भएको हो।

अध्यक्ष ओलीले नेता मुकुन्द न्यौपानेसहित प्रेमबहादुर सिंह, भागवत विश्वासी, चुणामणि जंगली, हेमराज राई, ठम्मर विष्ट, अजय गुप्ता, एकवाल मिया, गणेश खनाल, प्रेम तामाङ, यमबहादुर परियार, सुरेन्द्र मानन्धर, उमाशंकर अरगरियालाई शपथ गराउनु भयो ।

कार्यक्रममा अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत नेताहरु सहभागी हुनुहुन्थ्यो।

एसियन कप छनोट : नेपाल चीनसँग पराजित

काठमाडौँ – एएफसी यु–२० महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गत आज भएको खेलमा नेपाल चीनसँग पराजित भएको छ ।

म्यान्मारको यानगोनस्थित थुवुन्ना स्टेडियममा भएको खेलमा नेपाल चीनसँग ०–५ गोलअन्तरले पराजित भएको हो । नेपालको यो लगातार दोस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल आयोजक म्यानमारसँग ०–५ गोलअन्तरले नै पराजित भएको थियो ।

आज खेलको १६औँ मिनेटमा ओउयाङ युहयानले गोल गर्दै चीनलाई सुरुआती अग्रता दिलाइन् । त्यस्तै होउ युसीले खेलको २६औँ मिनेटमा गोल गर्दै चीनको अग्रता दोब्बर बनाइन् । खेलको पहिलो हाफको अत्तिरिक्त समयमा चीनले दुई गोल थप्यो । चीनकी यिनली होङ र लु जुआयुले एक– एक गोल थपे । त्यसपछि खेलको ८९औँ मिनेटमा यु जियाकीले गोल गर्दै चीनलाई ५–० को जित दिलाए । यस जितसँगै चीनले छ अङ्क जोडेको छ । चीनले पहिलो खेलमा चाइनिज ताइपेलाई १–० गोलअन्तरले पराजित गरेको थियो ।

अब नेपालले छनोट चरणको अन्तिम खेल यही जेठ २७ गते चाइनिज ताइपेसँग खेल्नेछ । प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल दोस्रो चरणमा पुगेको हो ।

आँखाको नानीमा नेपाल आत्मनिर्भर छ : नेपाल आँखा बैंक

काठमाडौँ – आँखा दान गर्नेको सङ्ख्या बढेसँगै आँखाको नानीमा नेपाल आत्मनिर्भर बनेको नेपाल आँखा बैंकले बताएको छ ।

आँखा दानप्रतिको बद्लिँदो सकारात्मक सोचका कारण दाताको सङ्ख्या बढ्दै गएको बैंकका व्यवस्थापक शङ्करनारायण न्वयनाले बताउनुभयो । आज यहाँ आयोजित ‘आँखादान तथा सामूहिक श्रद्धाञ्जलीसभा सम्बन्धी पत्रकार सम्मलेन’ मा सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले भन्नुभयो, “बैंकमा आँखाको नानी सुरुको अवस्थामा विदेशबाट झिकाइन्थ्यो भने अहिले आँखाको नानी देश भित्रबाटै सङ्कलन हुन्छ ।” उहाँका अनुसार अहिले बैंकले देशभित्र अन्य अस्पतालमा समेत प्रत्यारोपणका लागि आँखाको नानी उपलब्ध गराउँदै आएको छ ।

नेपाल आँखा बैंकमा हालसम्म एक लाखभन्दा बढी दाताले मृत्युपर्यन्त आँखाको नानी दान गर्ने प्रण गरिसकेको र भने १२ हजारभन्दा बढीले आँखाको नानी दान प्राप्त गरी पुनःदृष्टि प्राप्त गरेको उहाँले जानकारी दिनुभयो ।

बैंकले सन् १९९४ मा दुई दाताबाट आँखाको नानी सङ्कलन सुरु गरेको थियो । बैंकले हाल वार्षिक एक हजार तीन सय दाताबाट आँखाको नानी सङ्कलन गर्दै आएको छ । सन् २०१८ मा एक हजार एक सय ७८ दाता र सन् २०२२ मा एक हजार ४३ दाताबाट आखाँको नानी सङ्लग्न गरेर प्रत्यारोपण गरिएको छ ।

बैंकका निर्देशक डा लिना बज्राचार्यले आँखा दानप्रतिको बढ्दो सकारात्मक सोचका कारण दाताको सङ्ख्या बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “सुरुआतमा पशुपतिको आर्यघाटलगायत विभिन्न ठाँउमा गएर आँखा दानसम्बन्धी मानिसमा जनचेतना जगायौँ । अहिले मन्दिरदेखि अस्पतालसम्म दाताका आफन्तलाई ‘काउन्सिलिङ’ गरिरेहका छौँ । आँखा दानप्रतिको सोचमा सकारात्मक परिवर्तन पाएका छौँ ।”

आँखा दानसम्बन्धी सचेतना बढे पनि अन्धविश्वास चुनौती बनेको उहाँ बताउनुहुन्छ । “मृत्युपछि आँखाको नानी दान गर्नेको सङ्ख्या दोब्बरले बढेको छ । तर कतिपय अझै पनि अन्धविश्वासका कारण दान गर्न हिचकिचाउनुहुन्छ । उहाँहरूलाई हामी सक्दो काउन्सिलिङ गर्दै आएका छौँ”, उहाँले भन्नुभयो ।

नेपाल आँखा बैंकले सन् १९९४ देखि नै मृत्युपश्चात आँखाको नानी दान गर्ने दाताहरूबाट नानी सङ्कलन, परीक्षण र सञ्चयलगायत आवश्यक परेकालाई नानी उपलब्ध गराउने कार्य गर्दै आएको छ । बैंकले स्थानीय आँखा अस्पतालको समन्वयमा मेची, विराटनगर, लहान, हेटौँडा, भरतपुर, लुम्बिनी, पोखरा र कैलालीमा पनि क्षेत्रीय आँखा नानी सङ्कलन केन्द्रबाट आँखाको नानी सङ्कलन गरिरहेको छ ।

“अहिले यी सँगै आर्यघाट, विद्युतीय शवदाह गृहलगायत काठमाडौँमा रहेका चार वटा ठूला अस्पताल वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, गङ्गालाल मुटु अस्पताल र पाटन अस्पतालमा आँखा बैंकबाट खटाइएका परामर्शदाताबाट परामर्श तथा जानकारी दिने काम भइरहेको छ”, बैंकका व्यवस्थापक त्वयनाले भन्नुभयो ।

चिकित्सकका अनुसार आँखाको नानीमा सङ्क्रमण भएर, चोट लागेर, जन्मजात फुलो परेर समयमै उपचार नपाउँदा, अशिक्षा, अज्ञानता र गरिबीको कारणले गर्दा र विभिन्न घरेलु तथा अन्य हानिकारक परम्परागत उपचारका कारण आँखाको नानी बिग्रने सम्भावना बढी हुन्छ ।

आँखाको नानी रोग विशेषज्ञ चिकित्सक डा बन्दना खनालले नेपालमा दृष्टिविहीनको दोस्रो मुख्य कारण आँखाको नानी बिग्रिनु भएको बताउनुभयो । उहाँले आँखाको नानीको प्रत्यारोपण गरी पुनः दृष्टि दिलाउन सकिने भन्दै आँखा दानसम्बन्धी सचेतना बढाउनुपर्नेमा जोड दिनुभयो ।

पत्रकार सम्मेलनमा मृत्युपछि आँखाको नानी दान गर्ने दाताको सम्झना र सम्मानमा उनीहरूको परिवारको उपस्थितिमा शनिबार सामूहिक श्रद्धाञ्जलीसभाको आयोजना गरिने बैंकका व्यवस्थापक त्वयनाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोरोनाका कारण तीन वर्षमा सामूहिक श्रद्धाञ्जलीसभा हुन सकेन । यही परम्परालाई निरन्तरता दिँदै यस वर्ष तिलगङ्गा आँखा अस्पतालमा सामूहिक श्रद्धाञ्जली सभाको आयोजना गर्दैछौँ । सभामा दाताका आफन्त र आँखाको नानीबाट पुनःदृष्टि पाएका सहभागी हुनुहुनेछ ।” उहाँले यस सभाले आँखादानको महत्त्वबारे पनि सु–सूचित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सुरु हुँदै नेपाल–चाइना फेण्डसीप ड्रागन बोट रेस फेस्टिभल २०२३

काठमाडौँ – दक्षिण एसियामा पहिलोपटक ‘नेपाल–चाइना फ्रेण्डसीप ड्रागन बोट रेस फेस्टिभल २०२३’ नेपालमा हुने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा आगामी असार ८ र ९ गरी दुई दिनसम्म पोखरामा हुने भएको हो ।

पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एशोसिएसनको सहआयोजना एवं होटल एशोसिएसन नेपाल र नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिजसँगको सहकार्यमा उक्त फेस्टिभल पोखराको फेवाताल किनार क्याम्पिङ चोकमा सञ्चालन हुनेछ ।

पर्यटन बोर्डमा आज आयोजित पत्रकार सम्मेलनमा बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मीले नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न यस खेलले महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो ।

“विश्वव्यापी महामारीका कारण खस्किएको पर्यटन क्षेत्रको ९२ प्रतिशत सुधार भइसकेको छ । हाल बढ्दै गएको पर्यटकको सङ्ख्यामा यस फेस्टिभलले अझ थप वृद्धि गर्छ भन्ने विश्वास लिएका छौँ, जसले पर्यटन क्षेत्रबाट आर्थिक समृद्धिमा महत्वपूर्ण टेवा पुर्याउँछ”, उहाँले भन्नुभयो ।

पहिलोपटक नेपालमा सञ्चालन गर्न लागिएको यस फेस्टिभल आगामी वर्षदेखि वार्षिकरूपमा सञ्चालन गर्ने तयारीमा रहेको बोर्डका सिइओ रेग्मीले जानकारी दिनुभयो । बेमौसमी समयमा सञ्चालन हुने उक्त फेस्टिभलले नेपालको पर्यटन क्षेत्रलाई अझ बलियो पार्ने उहाँको भनाइ छ ।

नेपालस्थित चिनियाँ दूतावासका उपप्रमुख वाङ सिङले नेपाल र चीनबीच लामो समयदेखिको मित्रतामा यस फेस्टिभलले थप सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । “हामी दुई देशबीचको भौगोलिक निकटता, सांस्कृतिक तथा जनस्तरको सुमधुर सम्बन्ध बनाउन तथा नेपालमा चिनियाँ पर्यटक बढाउनमा यस फेस्टिभलले ठूलो योगदान पुर्याउँछ”, उहाँले भन्नुभयो ।

यस बोट फेस्टिभलमा ५० भन्दा बढी देश तथा क्षेत्रमा आयोजना हुँदै आइरहेको एवं यो एसियन गेममा समेत सहभागी गराइने उहाँले जानकारी दिनुभयो । रेसका लागि चीनबाट आठवटा विशेष खालको बोट, अन्य आवश्यक सामग्री र चीनबाट बोट रेस तथा प्रशिक्षणको लागि आउने प्रतियोगी नेपाल आइसकेका छन् । फेस्टिभलमा नेपालका सातै प्रदेश र चीनबाट आएका प्रतियोगी सहभागी हुनेछन् ।

कार्यक्रमको औपचारिक उद्घाटनसँगै पहिले दुई सय मिटर र पछि पाँच सय मिटर गरी आठवटा बोट रेस प्रतियोगिता हुनेछ । प्रतियोगितामा विजेतालाई नगद तथा प्रमाणपत्र प्रदान गरिनेछ साथै कार्यक्रममा दुवै देशका सांस्कृतिक प्रस्तुति र खाद्य प्रदर्शनी हुने भएको छ ।

पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका सिइओ रेग्मी, नेपालस्थित चिनियाँ राजदूतावासका उपप्रमुख सिङ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका उपसचिव सरोज पोखरेलद्वारा संयुक्तरूपमा उक्त फेस्टिभलको लोगो सार्वजनिक गर्नुभएको थियो ।

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित

गण्डकी – गण्डकी प्रदेश सरकारले ल्याएको आउँदो आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रदेशसभाको बहुमतले पारित भएको छ । प्रदेशसभाको बिहीबारको बैठकमा सभामुख कृष्णप्रसाद धितालले निर्णयार्थ प्रस्तुत गरेपछि प्रदेशसभाको बहुमत सङ्ख्याले नीति तथा कार्यक्रम पारित गरेको हो ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले यही जेठ २१ गते प्रदेशसभासमक्ष पेस गर्नुभएको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि तीन दिनसम्म छलफल गरिएको थियो । नीति तथा कार्यक्रम पारित हुनुअघि छलफलका क्रममा प्रदेशसभा सदस्यहरूबाट उठेका प्रश्नको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जवाफ दिनुभएको थियो ।

सो क्रममा उहाँले गण्डकी प्रदेशलाई आत्मनिर्भर र समन्नुत बनाउने अभियानमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूबीच सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो । प्रदेशको प्रथम पञ्चवर्षीय योजनालाई आधार मानेर नीति तथा कार्यक्रम ल्याएको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले अघिल्ला सरकारले ल्याएका राम्रा कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धतासमेत जनाउनुभयो । उहाँले वर्तमान सरकारका लक्ष्य र प्राथमिकता स्पष्टरूपमा नीति तथा कार्यक्रममा झल्केको बताउनुभयो ।

नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सत्तापक्षका सदस्यहरूले सरकारको नीति तथा कार्यक्रम उत्कृष्ट रहेको धारणा राख्नुभयो । उहाँहरुले नीति तथा कार्यक्रमले समन्नुत गण्डकी प्रदेशको खाका कोरेको बताउनुभएको थियो ।

विपक्षी दलका सदस्यहरूले नीति तथा कार्यक्रम महत्वकाङ्क्षी रहेको भन्दै कार्यान्वयन हुनेमा आशङ्का व्यक्त गर्नुभएको थियो । स्रोत पहिचान नगरी अमूर्त ढङ्गले नीति तथा कार्यक्रम ल्याइएको उहाँहरूको टिप्पणी थियो । नीति तथा कार्यक्रममाथिको छलफलमा ५० जना प्रदेशसभा सदस्यले भाग लिनुभएको थियो ।

शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिइएको नीति तथा कार्यक्रममा गाँजा खेतीदेखि सुरुङमार्गको सम्भाव्यता अध्ययनसम्मका लक्ष्य समेटिएको छ । ‘समृद्ध गण्डकी’को लक्ष्य प्राप्तिका लागि पर्यटन, ऊर्जा, कृषि, उद्योग, भौतिक पूर्वाधार, मानव संशाधन र सुशासनलाई जोड दिइएको छ ।

सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित सङ्घीयतालाई सुदृढीकरण गरी संस्थागत गर्न नीति तथा कार्यक्रम सहयोगी सिद्ध हुने सरकारले जनाएको छ । नीति तथा कार्यक्रम पारित भएसँगै सरकार बजेट निर्माणको अन्तिम तयारीमा जुटेको छ । संवैधानिक व्यवस्थाअनुसार आउँदो असार १ गते प्रदेश सरकारको बजेट सार्वजनिक हुनेछ ।

आगामी असार १५ गते राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सव

काठमाडौँ – सरकारले ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि : धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आगामी असार १५ गते २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव गर्ने भएको छ ।

कृषि विभागका महानिर्देशक हरिबहादुर केसीको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले विसं २०६१ देखि मनाइँदै आएको धान दिवस तथा रोपाइँ महोत्सव मनाउने निर्णय गरेको हो ।

धान नेपालको प्रमुख खाद्यान्न बाली र खाद्य सुरक्षाको प्रमुख आधार रहेको बाली विकास तथा कृषिजन्य विविधता संरक्षण केन्द्रले जनाएको छ । आर्थिक, सामाजिक, सांस्कृति र धार्मिकलगायतको महत्व रहेको धानबालीलाई एउटा बालीका रूपमा मात्र नभई औसत नेपालीको जीवन पद्दतिका रूपमा हेरिने गरिएको छ ।

धानको यिनै विविध महत्वलाई दृष्टिगत गरी उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायिकीकरण गर्न दिवस बनाउन लागिएको कृषि विभागले जनाएको छ ।

जलवायु परिवर्तनका कारण धानखेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिको अनुसन्धान र विकास एवं उपलब्ध प्रविधिको प्रचार–प्रसार गरी अवलम्बन गर्न यस्ता दिवस र महोत्सव सहायकसिद्ध हुनेछ । नेपालमा धानखेतीका लागि तराई र भित्री मधेस तथा पहाडका फाँटलाई उर्वरभूमि मानिन्छ । पछिल्लो समय उन्नत जातको धानखेतीका लागि सरकारले कृषकलाई प्रोत्साहन गरेको छ भने रैथाने पुराना बीउ प्रवर्द्धनमा पनि जोड दिँदै आएको छ ।

कृषक र अन्य पक्षलाई यस्ता विषयमा सेचत र जागरुक तुल्याइ धान उत्पादन एवं उत्पादकत्व बढाउन यस वर्षको नाराले सन्देश दिएको छ ।

प्रधानमन्त्री दाहालद्वारा समवेदना व्यक्त

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालका बुवा जगन्नाथ भुसालको निधनमा समवेदना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले आज रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित भुसालको निवासमा पुगेर उहाँप्रति श्रद्धासुमन अर्पण गर्नुभएको हो ।

उहाँले शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकमा समवेदना प्रकट गर्दै धैर्यधारणका लागि अपिलसमेत गर्नुभएको छ । भुसालको यही जेठ २१ गते ९६ वर्षको उमेरमा निवासमै निधन भएको थियो । उहाँ सामाजिक तथा राजनीतिक व्यक्तित्वका रुपमा लामो समयसम्म क्रियाशील हुनुहुन्थ्यो ।

हतारमा पार्टी घोषणा गर्नु नै गल्ती भयो : बाबुराम भट्टराई

काठमाडौँ  –  नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आफूले २०७२ सालमा हतारमा पार्टी घोषणा गरेर गल्ती गरेको स्वीकार गरेका छन् । बुधबारदेखि बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष भट्टराईले नयाँ संविधान जारी भइसकेपछि पाँच ‘स’लाई मूल वैचारिक-राजनीतिक आधार बनाएर नयाँ शक्ति निर्माणको देशव्यापी अभियान प्रारम्भ भएको र पार्टी घोषणा भएको स्मरण गर्दै त्यसबेला हतारमा पार्टी घोषणा गर्नु गल्ती भएको स्वीकार गरेका छन् । 

बैठकमा अध्यक्ष भट्टराईले प्रस्तुत गरेको ‘अबको राष्ट्रको संकल्प : नयाँ समाजवादी विकल्प’ शीर्षकको राजनीतिक प्रस्तावमा उनले हतारमा पार्टी घोषणा गर्नु, अरूसँग तालमेल गरेर चुनावमा जानु, हतारिएर पार्टी एकता गर्नु तथा जनआन्दोलन र जनपरिचालनप्रति उदासीनता आउनुलाई कमजोरीकारुपमा स्वीकार गरेका छन् ।

अध्यक्ष भट्टराईले आफ्नो नेतृत्वको पार्टी पहिचान र अस्तित्व संकटको गम्भीर मोडमा पुगेको समेत उल्लेख गरेका छन् । ‘हामी कहाँ जान हिँडेका थियौं, कहाँ पुग्यौं ? हामी वैकल्पिक राजनीतिक शक्ति हौं कि परम्परागत पुरानै पार्टीका लाचार छाया हौं ? किन हामीले पटक-पटक पार्टीको नाम र चुनाव चिह्न फेरिरह्यौं ? हामी झुक्किएका हौं कि, ठगिएका हौं कि, जानाजान निहित स्वार्थका निम्ति कहिले यता कहिले उता गरेका हौं ?,’ भट्टराईले प्रश्न गरेका छन् ।

उनले बाटो घुमेको हो कि गन्तव्य फेरिएको हो भन्नेबारे प्रस्ट हुने गरी उत्तर खोज्नुपर्ने औंल्याएका छन् । ‘संविधान जारी भएपछि नयाँ शक्ति निर्माणबारे बहस र पहल नयाँ उचाइबाट भयो, र २०७२ माघमा ‘नयाँ शक्ति निर्माण अभियान’ सुरु भयो । त्यसले स्वाधीनता, समावेशी/समानुपातिक/सहभागितामूलक लोकतन्त्र, सुशासन/सदाचार, समतामूलक समृद्धि र समुन्नत समाजवादका ५ ‘स’लाई मूल वैचारिक-राजनीतिक आधार बनाएर देशव्यापी अभियान चलाउने र तलैदेखि जनताको सहभागितामा ‘नयाँ शक्ति’को संगठनात्मक आधार तयार गर्ने काम सुरु गर्‍यो,’ भट्टराईले प्रतिवेदनमा लेखेका छन्, ‘०७३ जेठमा दशरथ रंगशालामा करिब एक लाख सदस्य र समर्थकको उपस्थितिमा पार्टी स्थापनाको घोषणा गरियो । त्यसपछि त्यो नयाँ शक्ति अभियान र पार्टीको आकर्षण देखेर विभिन्न प्रवृत्ति र पात्रहरू बेरोकटोक त्यस अभियानमा प्रवेश गरे । अभियानका नेतृत्वकर्ताहरू स्वयंमा निजी आकांक्षाहरु पलाउन थाले र नयाँ शक्ति अभियानले बाटो बिराउन थाल्यो । अहिले फर्केर हेर्दा र निष्कर्ष मूल्यांकन गर्दा त्यसरी हतारमा पार्टी घोषणा गर्नु नै पहिलो गल्ती थियो ।’

भट्टराईले त्यसबेला केही समय विभिन्न राष्ट्रिय र जनसरोकारका विषयमा सशक्त अभियान चलाएर त्यसबाट निर्मित र दीक्षित जनाधार, व्यक्ति र शक्तिहरूबाट मात्रै वैकल्पिक पार्टी निर्माणको जग निर्माण हुन सक्ने स्मरण गरेका छन् ।

कांग्रेस संसदीय दलको सचेतकमा सुशीला थिङ

काठमाडौँ – नेपाली कांग्रेसको प्रतिनिधिसभा सचेतकमा प्रतिनिधिसभा सदस्य सुशीला थिङ मनोनित हुनुभएको छ ।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पार्टीको विधानअनुसार आज उहाँलाई सचेतक पदमा मनोनयन गर्नुभएको संसदीय दलको नेताको सचिवालयका निजी सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।

‘बजेटमा छुटेका विषय पनि सम्बोधन होस्’

काठमाडौँ – राष्ट्रियसभामा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सांसदहरूले बोल्ने क्रम जारी छ ।

सभाको आजको बैठकमा सांसद इन्दिरादेवी गौतम, तारामान स्वाँर, सुमित्रा विसी र राधेश्याम पासवानले समग्रमा बजेटमा राम्रा विषयवस्तु समेटिए पनि कतिपय विषय छुटेकाले बैठकमा उठाइएका विषयलाई समेट्न आग्रह गर्नुभयो ।

सांसदहरू सुरेशकुमार आलेमगरले बजेटमाथिको छलफलमा सत्ता पक्ष र प्रतिपक्षको जुहारी होइन देशलाई समृद्ध बनाउने सोचबाट अघि बढ्नुपर्ने बताउनुभयो । सांसद सोनाम ग्याल्जेन शेर्पाले देशको अर्थतन्त्रलाई चलायमान बनाउन योजनाबद्ध कार्यक्रम चाहिने खाँचो औँल्याउनुभयो ।

त्यस्तै सांसद गङ्गाकुमारी बेलबासेले समय सान्दर्भिक बजेटले अहिलेको आर्थिक सङ्कटलाई समाधान गरेर मुलुकलाई अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रियसभाको अर्को बैठक यही जेठ २६ गते बिहान ११ बजेर ३१ मिनेटमा बस्नेछ ।

‘कोशी प्रदेश’मा नामकरणविरुद्ध भइरहेको आन्दोलनमा प्रधानमन्त्री प्रचण्डको संलग्नता छ: अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘कोशी प्रदेश’मा नामकरणविरुद्ध भइरहेको आन्दोलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रत्यक्ष संलग्नता रहेको बताउनु भएको छ।

बिहीबार पार्टी कार्यालयमा केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूको शपथ कार्यक्रममा बोल्दै उहाँले माओवादीले पहिले कोशी प्रदेश नामकरणमा साथ दिएको र पछि पुनर्विचार गर्नुपर्छ भनेर भड्काइरहेको आरोप लगाउनु भयो।

अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम नै लिएर नेपालका जातजातिका नाममा दंगाफसाद गराउने षड्यन्त्र स्वरूप देशभर पहिचानको विष फैल्याउने कोशिश गरेको टिप्पणी गर्नुभयाे। त्यसमा प्रधानमन्त्री दाहाल सफल हुन नसक्ने उहाँको भनाइ थियो। उहाँले पहिचानवादको संरक्षक पुष्पकमलवादीहरू भएको भन्दै प्रचण्डपथ देशद्रोही र अपराधी पथ भएको जिकिर गर्नुभयाे।

अध्यक्ष ओलीले भन्नुभयो, ‘कोशी प्रदेश नामकरणविरुद्ध प्रचण्डको प्रत्यक्ष संलग्नता देखिन्छ। नाम राख्ने, अलि पछि गल्ती भो भन्ने अब पुनर्विचार गर्नुपर्छ भन्ने त्यता मान्छे भड्काउन थाल्ने।’

​​​​​​​

अध्यक्ष ओलीले अब कोशीमा नामकरणविरुद्ध भइरहेको आन्दोलनको एमालेले प्रतिवाद गर्ने पनि बताउनु भयो। “एमाले चुप लागेर बस्न सक्दैन, हाम्रो कार्यकर्ताको रक्षा आफैँले गर्नुपर्छ। ‍गुन्डाहरू न नियन्त्रण गर्छ, न समात्छ, प्रोत्साहित गरेको छ प्रचण्ड सरकारले। अब जवाफ दिनुपर्ने बेला आइसकेको छ। पहिचानवादको संरक्षक यो पुष्पकमलवादीहरू प्रचण्डपथ हो। प्रचण्डपथ अझै गएको छैन। यो देशद्रोही र अपराधी पथ हो,” उहाँले भन्नुभयाे।

उहाँले भन्नुभयो, ‘अब नेकपा एमालेले तयारीका सडक तताउनु पर्ने अवस्था आएको छ । किनभने सरकारले यस्तो गराइरहेको छ भने एमाले चुप लागेर बस्न सक्दैन। हाम्रो कार्यकर्ताको रक्षा हामी आफैंले गर्नुपर्छ । गुण्डाहरु न नियन्त्रण गर्छ, न गिरफ्तार गर्छ न केही गर्छ, प्रोत्साहित गरेको छ, प्रोटेक्सन गरेको छ प्रचण्ड सरकारले।’

कोशीमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमालेविरुद्ध पहिचानको नाममा मान्छे भड्काइरहेको ओलीले आरोप लगाउनु भयो। बिहीबार इलाममा एमाले कोशी प्रदेशसभा संसदीय दलका उपनेता राम रानामाथि पहिचान पक्षधरहरुले आक्रमण प्रयास गरेका थिए।

मेयर साहको कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राख्नु भएको छ।

भारतले आफ्नो नयाँ संसद भवनमा नेपालका भू-भागसमेत समावेश गरेर ‘अखण्ड भारत’ को नक्सा राखेपछि शाहले त्यसलाई काउन्टर दिनु भएको हो ।

महानगर स्रोतकाअनुसार मेयरको कार्यकक्षमा दुई-तीन दिनअघि नयाँ नक्सा राखिएको हो । मेयर शाह भने अहिले पत्नीको उपचारका लागि भारतको बैंगलौरमा हुनुहुन्छ। उहाँले भारतको बैंगलौर जानुअघि नक्सा राख्न निर्देशन दिनु भएको महानगरले जनाएको हो ।

हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशको नयाँ संसद भवन उद्घाटन गर्नु भएको थियो । संसद भवनभित्र ‘अखण्ड भारत’ को नक्सा राखिएको सार्वजनिक भएसँगै नेपालमा तीव्र विरोध भइरहेको छ। यो नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु समेत समावेश भएका कारण नेपालमा आलोचना भएको हो । नेपाल सरकारले भने यस विषयमा भारतसमक्ष कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालैको भारत भ्रमणमा ‘अखण्ड भारत’ को नक्सालाई उच्चस्तरीय छलफलको विषयवस्तु बनानु भएन ।

अर्थमन्त्रीसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्षकाे भेटवार्ता

काठमाडौँ – अर्थमन्त्री डा प्रकाशशरण महतसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अर्थमन्त्रालयमा भएको भेटमा अर्थमन्त्री महतले वित्त व्यवस्थापनमा नेपालले भोग्नु परेका चुनौती, आगामी बजेटमा लिइएका रणनीति र स्रोत व्यवस्थापनका बारेमा छलफल भएको थियो ।

यस्तै, आयोजनालाई पुनःप्राथमिकीकरण गर्ने, सहयोगलाई उत्पादनशील क्षेत्रमा लगानी बढाउने, राहत दरमा कर्जा प्रवाह गर्नुपर्ने विषयमा छलफल भएको अर्थमन्त्री डा महतको सचिवालयले जनाएको छ । विश्व बैंकले नेपालको आर्थिक तथा सामाजिक विकासमा खेलेको भूमिकाप्रति धन्यवाद दिँदै उहाँले मुख्यतः पूर्वाधार विकासमा जोड दिन आग्रह गर्नुभयो ।

पूर्वाधार र सामाजिक विकासका सूचकबीच घनिष्ठ सम्बन्ध रहेको र पूर्वाधार विकासबाट गरिब तथा पिछडिएको वर्ग खासगरी ग्रामीण भेगमा बस्ने महिलाको जनजीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिने उहाँको भनाइ छ । गाउँबाट स–साना बजारमा उनीहरुको पहुँच विस्तार हुने र आफ्नो क्षमता विकास गरी अवसरमा पहुँच विस्तार हुँदै जाने उहाँको भनाइ छ ।

बसाइँसराइले अवसरसँगै साना सहरी पूर्वाधारमा चाप परेकाले पूर्वाधार विकासमा थप स्रोत आवश्यक रहेको उल्लेख गर्दै जलविद्युत्, सूचना प्रविधि, पर्यटन क्षेत्रको विकासमा सडक पूर्वाधार पूर्वसर्त रहेको बताउनुभयो ।

कोभिड– १९ को कारण जनजीवनमा प्रतिकूल प्रभाव पारेको भए पनि सूचना प्रविधिको विकासमा नयाँ अवसर सिर्जना भएको तथा कोभिड पश्चात् पर्यटन क्षेत्रको पुनरुत्थान हुँदै गएको सा अवसरमा उहाँले बताउनुभयो । सामाजिक सुरक्षा, राष्ट्रिय गौरवका आयोजना र चालु खर्च विनियोजन गरेपछि अन्य आयोजनाका लागि आवश्यक रकम न्यून रहनेतर्फ इङ्गित गर्दै अर्थमन्त्री डा महतले साँवा ब्याज भुक्तानीमा हुने खर्च बढ्दै जाँदा ऋणको दिगो व्यवस्थापनतर्फ पनि सचेत रहनुपर्नेमा जोड दिनुभयो ।

माथिल्लो अरुण जलविद्युत् आयोजनाका लागि विश्व बैंकले वित्तीय स्रोत जुटाउन बहन गरेको नेतृत्वदायी भूमिकाका लागि धन्यवाद दिँदै अर्थमन्त्री डा महतले उक्त आयोजना कार्यान्वयनमा नेपाल सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । त्यस्तै, यस्ता आयोजनाको लागि स्रोत जुटाउँदा अन्य आयोजनामा स्रोतको कमी हुन नदिने गरी व्यवस्थापन गर्न र नेपालमा क्रियाशील नरहेका नयाँ विकास साझेदारलाई आकर्षण गर्न उहाँले आग्रह गर्नुभयो ।

हालै आगामी आर्थिक वर्षको बजेटमा पुँजीगत खर्च बढाउने प्रतिबद्धता गरेको विश्व बैंक प्रतिनिधिलाई अर्थमन्त्री डा महतले स्मरण गराउनुभएको छ । साथै उहाँले नेपालले पूर्वाधार क्षेत्रमा लगानी बढाउन चाहेको समेत जानकारी गराउनुभएको थियो ।

सो अवसरमा बैंकका उपाध्यक्ष मार्टिनले स्रोतको समुचित परिचालनमा समस्या रहेको र त्यसलाई सम्बोधन गर्न संयुक्तरुपमा काम गर्न आग्रह गर्नुभयो । खरिद तथा ठेक्का व्यवस्थापन विद्युतीय माध्यमबाट गर्ने र समयमै आयोजना कार्यान्वयनमा अन्तरनिकाय समन्वयमा जोड दिनुभयो ।

सो अवसरमा विश्व बैंकका तर्फबाट पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष वांग्जी चेन, उपक्षेत्रीय निर्देशक फारिस हद्दाद जर्भाेसलगायत विश्व बैंक तथा अर्थ मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।

नेप्से परिसूचक सात दशमलव २७ अङ्कले बढ्यो

काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव २७ अङ्कले उकालो लागेर एक हजार नौ सय ३९ दशमलव ६१ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव शून्य पाँच अङ्कले ओरालो लागेर तीन सय ६४ दशमलव ४२ मा सिमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा नौ उपसमूहको शेयर मूल्यमा बृद्धि भएको छ ।

कूल ५९ लाख ६२ हजार ९३ कित्ता शेयर रु दुई अर्ब ३० करोड ५८ लाख ८८ हजार नौ सय ३१ मूल्यमा कारोबार भयो । नेप्सेका अनुसार कारोबारका आधारमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु १० करोड २६ लाख ८७ हजार सात सय १३ बराबरको शेयर खरिद बिक्री भएका छन् ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको रु नौ करोड ६३ लाख १३ हजार पाँच सय नौ, शिवम् सिमेन्टको रु आठ करोड ७० लाख १२ हजार नौ सय २९, हिमालयन एभरेष्टको रु आठ करोड २८ लाख ५३ हजार र नेपाल दूरसञ्चार कम्पनी रु आठ करोड २२ लाख ३१ हजार एक सय ९१ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार डोल्टी पावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । भूगोल इनर्जी नौ दशमलव ९६, मनकामना स्मार्ट लघुवित्त आठ दशमलब ४८, सानिमा जीआइसी इन्स्योरेन्स सात दशमलब ३८ र हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर मूल्य सात प्रतिशतले बढेको छ ।

त्यस्तै रिभर फल्स पावर छ दशमलव ६४, खप्तड लघुवित्त तीन दशमलव ९४, ग्लोबल आईएमइ ब्यालेन्स फण्ड पहिलो तीन दशमलव ८९, सिटिजन म्युचुअल फण्ड तीन दशमलव ७७ र श्वेत गङ्गा हाइड्रोपावरको शेयर मूल्य तीन दशमलव ३९ प्रतिशतले घटेको छ ।

निजी क्षेत्रको सहकार्य बिना समृद्धि सम्भव छैनः प्रधानमन्त्री

लुम्बिनी – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार निजी क्षेत्रसँगको सहकार्यबिना देशमा समृद्धि सम्भव छैन भन्ने कुरामा स्पष्ट रहेको बताउनुभएको छ । मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको निजी क्षेत्रलाई लगानी एवं व्यवसायका क्षेत्रमा आइपर्ने जस्तासुकै समस्या हल गर्न सरकार सदैव तत्पर रहेको समेत उहाँले स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री दाहालले आज बुटवल हिल्सद्वारा प्रवद्र्धित लुम्बिनी केबलकारको उद्घाटन गर्दै आफू नेतृत्वको सरकारले देश विकास र समृद्धिको यात्रामा निजी क्षेत्रलाई साथ लिएर अघि बढ्न चाहेको बताउनुभयो ।

“म निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीका सम्भावनालाई हरेक समय खुला राख्ने पक्षमा छु”, उहाँले भन्नुभयो, “कोरोना महामारीका कारण प्रभावित अर्थतन्त्रको विकासका लागि आर्थिक क्रान्ति जरुरी भइसकेको छ ।” उहाँले सरकारले यसअघि निजी क्षेत्रका लागि विभिन्न आर्थिक प्याकेज ल्याएको समेत बताउनुभयो ।

उहाँले बुद्धको जन्मस्थल लुम्बिनी जस्तो महत्वपूर्ण स्थानमा केबलकार तथा पाँचतारे होटलसहित पर्यटकीय संरचना निर्माण गर्दा यहाँको स्थानीय मात्र नभएर राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले पर्यटन क्षेत्रको बहुआयमिक विकासका निम्ति भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन, होटललगायत पर्यटन पूर्वाधार निर्माण, सुरक्षा प्रबन्ध एवं पर्यटकको बसाइ लम्ब्याउन सरकारले आवश्यक नीति अवलम्बन गर्ने जानकारी दिनुभयो ।

उहाँले अर्थतन्त्रलाई चलायमान बनाउन र उद्योग–व्यवसायलाई सङ्कटबाट जोगाउन रोकिएको घरजग्गा कारोबारलाई सञ्चालन गर्ने निर्णय गरिएको र यसले अर्थतन्त्र सुधारका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने बताउनुभयो । उहाँले उच्च मुद्रास्फीति र अस्थीर ब्याजदरले असर पारेको भन्दै यसका लागि सरकारले उपयुक्त कदम चाल्ने विश्वास दिलाउनुभयो ।

उहाँले अब देश विकासको मोडलबारे पुनर्विचार गर्न आवश्यक रहेको धारणा राख्नुभयो । “हालसम्मका योजनाबद्ध विकासका प्रयासबाट भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, समावेशीता जस्ता क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भए पनि उत्पादन र रोजगारीको क्षेत्रमा भएको प्रगति उत्साहजनक छैन”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले साझा सङ्कल्प भए मात्रै विकास र समृद्धिमा गुणात्मक सुधार ल्याउन सकिने स्पष्ट पार्नुभयो । उहाँले नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै भारत भ्रमणका क्रममा पनि आफूले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानीका लागि आह्वान गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बुटवल र पाल्पा जोड्ने गरी निर्माण गरिएको केबलकारले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउनेमा विश्वास व्यक्त गर्नुभयो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशमा पर्यटन विकासका प्रशस्तै सम्भावना भए पनि यसको प्रवद्र्धनमा ध्यान पुग्न नसकेको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रको विकासमा यस खालको पूर्वाधारको निर्माणले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस क्षेत्रको पर्यटकीय विकासका लागि बुद्ध जन्मस्थल लुम्बिनी महत्वपूर्ण सम्पदा रहेको र यसको गुरुयोजना पूरा गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले लुम्बिनी क्षेत्रको विकास र समृद्धिका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन, बुटवल–गैँडाकोट राजमार्ग विस्तार, सिद्धबाबा सुरुङमार्ग निर्माण, अन्तर्राष्ट्रिय सभाहल निर्माणजस्ता विकासका पूर्वाधारसँगै निजी क्षेत्रबाट निर्माण भएका यस खालको पूर्वाधार सहयोगी बन्ने बताउनुभयो ।

त्यस अवसरमा भारतीय भारत उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री जगदम्बिका पालले नेपाल–भारत सीमा क्षेत्र नजिकै रहेकोले आफ्नो प्रदेशका नागरिकका लागि पनि राम्रो पर्यटकीय गन्तव्य बनेको बताउनुभयो ।

तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले केबलकार सञ्चालनले गाउँपालिकाको विकासमा ठूलो योगदान पुग्ने बताउनुभयो । उहाँले तिनाउका स्थानीयलाई यहाँ उत्पादित कृषि उपजको बजार खोज्न अब अन्यत्र पुग्न नपर्ने अवस्था आएको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनीका अध्यक्ष कृष्णप्रसाद शर्माले बुटवलबाट पाल्पाको हिलस्टेशन वसन्तपुरमा केबलकार सञ्चालनले रुपन्देहीको व्यापार व्यवसायमा सुधार आउने अपेक्षा रहेको बताउनुभयो । उहाँले यसबाट सिङ्गो निजी क्षेत्रले पर्यटन प्रवद्र्धनका लागि उत्साह जगाएको र यस क्षेत्रको आर्थिक गतिविधि थप उजागर हुने अपेक्ष गरिएको बताउनुभयो ।

लुम्बिनी केबलकार कूल रु साढे तीन अर्ब लगानीमा निर्माण भएको हो । केबलकारको बटम स्टेशन बुटवल–३ बमघाट र टप स्टेसन पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरमा छ ।

सांसदको प्रश्न- गणतन्त्रमा शाही नेपाली राजदूताबास किन ?

काठमाडौँ – राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले भारतस्थित नेपाली दूताबासको नाम अहिले पनि शाही नेपाली राजदूताबास लेखिएको भन्दै नाम सुधार्न आग्रह गर्नुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद देवकोटाले मुलुकमा गणतन्त्र आएको डेढ दशक नाघिसक्दा पनि भारतका लागि नेपाली राजदूताबासको नाम सुधार नभएको भन्दै अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले भन्नुभयो, “गणतन्त्र आएको लामोसमय बितिसक्दा पनि अझै भारतमा रहेको नेपाली राजदूताबासको नाम परिवर्तन नहुनु राम्रो भएन । यस्ता नाम अन्य कुन–कु देशमा छन् ती सबैको सुधार हुनुपर्छ ।”

सांसद खिमलाल देवकोटाले नक्कली भुटानी शरणार्थीको विषयबारे सत्यतथ्य सदनलाई जानकारी गराउन माग गर्नुभयो । उहाँले फेवाताल संरक्षण, सहकारी क्षेत्रको विकृति रोक्न सहकारी शुद्धीकरण अभियान सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद कुमार दसौदीले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने व्यवस्था कार्यान्वयन नगर्न माग गर्दै सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “बजेटमा निर्वाचन कार्यालय हटाउने र अन्य कुनै कार्यालयमा व्यवस्थापन गर्ने भनिएको छ, लोकतन्त्रमा निर्वाचनको असाध्यै महत्व हुने र आवधिक निर्वाचनमा जानुपर्ने भएकाले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन ती कार्यालयको महत्व छ । त्यसैले निर्वाचन कार्यालय खारेज नगरी यथावत राख्न माग गर्दछु ।”

सांसद दीपा गुरुङले अस्पतालमा भर्ना भएका बिरामीको कुरुवाका लागि व्यवस्था नभएको राजधानीका ठूला अस्पतालमासमेत यस्तो व्यवस्था रहेको भन्दै स्वास्थ्य संस्था सञ्चालन मापदण्ड निर्देशिकाबमोजिम बिरामी कुरुवाको बस्ने व्यवस्था गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सुदन किराँतीले भने : पापीहरुले म माथी घेराबन्दी गरे

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पापीहरुले आफुमाथी घेराबन्दी गर्दै आएको दाबी गरेका छन् ।

आज खोटाङको दिक्तेल बजारमा अग्नि नियन्त्रण यन्त्र उद्घाटनका क्रममा उनले जहाज किन्न नदिन ‘पापी मनहरु’ले आफूविरुद्ध घेराबन्दी भैरहेको बताएका हुन् ।

उनले भने, ‘हामी तीनवटा जहाज किन्ने प्रकृयामा छौँ । तर, हवाइजहाज किन्न नदिन संसारभरका पापी मनहरुले घेराबन्दी गरिरहेका छन्, तपाईहरुको साथ पाएँ भने प्रक्रिया र प्रणालीमा पारदर्शी तरिकाले पाँच पैसा घोटाला हुन नदिनेगरी जहाज ल्याउँछौँ ।’

किराँतीले खरिद गरेर ल्याइने दुईवटा जहाज पश्चिम नेपालमा र एउटा पूर्वी नेपालको विराटनगरमा राखेर उडान भर्ने व्यवस्था मिलाउने पनि जानकारी दिएका छन् । जहाज अभावमा गौचरणमा परिणत भएका देशका २२ वटा विमानस्थलमा एकजना सुत्केरी राखेर भए पनि उडान भर्ने उनको अठोट छ ।

आफूले मन्त्रालय सम्हालेको करिब तीन महिनामै चार अर्ब ऋण घटाएको पनि मन्त्री किराँतीले चर्चा गरे ।

‘मन्त्री भएर जाँदा हवाइजहाज त बेहोस अवस्थामा भेन्टिलेटरमा सुतिरहेको रहेछ । त्यसलाई हामी उपचार गर्दैछौँ,’ उनले भने, ‘२२ वटा एयरपोर्ट गौचरणमा परिणत भएको छ । कारण जहाजमाथि ठूलठूलो भ्रष्टाचार भए । पापीको आँखा लागे, लुट्नैसम्म लुटिए । खाने पिउने रमाउने ठाउँ भए ।’

समाजवादको यात्रा तय गर्ने कार्यक्रम बजेटमा समावेश भएन : सांसद गुरुङ

काठमाडौँ – नेकपा (एमाले)का सांसद पृथ्वीसुब्बा गुरुङले आर्थिक वर्ष २०८०/८१ को बजेट समाजवादको यात्रा तय गर्नबाट चुकेको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग दलीय आधारमा भाग लिँदै उहाँले बजेट कर्मचारी र स्रोतसाधन सिंहदरबारमा नै थन्किने गरी आएको भन्दै यसले वित्तीय सङ्घीयताको मर्मलाई आत्मसाथ गर्न नसकेको बताउनुभयो ।

कर प्रणालीमा प्रभावकारी सुधार नभएको भन्दै यसरी राष्ट्रिय पुँजीको विकास हुन नसक्ने उहाँको जिकिर थियो । मुलुकको लैङ्गिक, वर्गीय, जातीयलगायत विभेद् अन्त्य गर्न बजेटले आवश्यक विषय समेटन नसकेको दाबी गर्दै पुँजीगत खर्च बढाउन नारा लेखेर मात्र नहुने र यसका लागि सार्वजनिक खरिद ऐन संशोधनको सांसद सुब्बाले सुझाव दिनुभयो ।

‘ गर्मीले तराईको जनजीवन कष्टकर भयो ’

काठमाडौँ – सांसदले तराई–मधेसमा केही दिनयता चर्काे गर्मीले जीवन कष्टकर भएको जनाउँदै आवश्यक राहतका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद निर्मला कोइरालाले तराई–मधेसका जिल्लामा गर्मीका कारण लु चलेको र जीवन कष्टकर भएको अवस्थामा विद्युत् आपूर्ति नियमित नहुँदा जनजीवन झन कठिनाइ भएकाले विद्युत् नियमित आपूर्तिका लागि सरकारको ध्यनाकर्षण गराउनुभयो ।

सांसद प्रदीप पौडेलले देशभर तापक्रम वृद्धि भएर ४४ डिग्री सेल्यिस पुगेको र जनजीवन कष्टकर भएको तथा कृषि क्षेत्रमा असर पुगेको अवस्थामा तत्कालीन र दीर्घकालीन सामाधानका आवश्यक उपायका बारेमा सरकारसँग माग गर्नुभयो ।

सांसद नारायणी शर्माले दाङको सीमा नाका क्षेत्रका बासिन्दाका लागि खानेपानी शिक्षा स्वास्थ्यको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । सांसद निशा डाँगीले बागमतीका नाममा धेरै राजनीति भएको सरसफाइका नाममा करिब रु २२ अर्ब खर्च भइसकेको तर अझै प्रभावकारी काम नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद प्रतिक्षा तिवारीले बागमती अधिकार सम्पन्न समितिलाई बागमती सभ्यता सुधारका ०.५ प्रतिशत कर रकम उठाइँदै आएको करिब सात अर्बभन्दा बढी रकम जम्मा भइरहेको अवस्थामा त्यसको प्रभावकारी उपयोग गर्न आग्रह गर्नुभयो । सांसद प्रभु साहले किसानका बालीनाली जङ्गली जनावरले नाश गर्ने गरेको अवस्थामा आवश्यक क्षतिपूर्ति नपाएको जनाउँदै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद प्रेम सुवालले मुलुकका ठूला जलविद्युत् आयोजना निर्माणको जिम्मा विदेशीलाई नदिइ नेपाल सरकार आफँैले बनाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद वसन्तकुमार नेम्वाङले मुलुभर गाईबस्तुमा महामारी रोग फैलिएको भन्दै रोग नियन्त्रण तथा समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद बीना देवीले रौतहटमा रहेको चिनी मिल बन्द भएको जनाउँदै शीघ्र सञ्चालनका लागि माग गर्नुभयो । सांसद विनिता कठायतले पोर्चुगलमा रहेको नेपालीले नेपाली दूतावास स्थापनाको माग गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

कालिकोटमा जीप दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु, एक घाइते

कालिकोट – कालिकोटको रास्कोट नगरपालिकामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

जिल्लाको रास्कोट नगरपालिका- २ सेरा बजारमा रोकेर राखिएको जिप दुर्घटना भएको हो ।

रोकेर राखिएको ग३ च ४६१० नम्बरको जीप एक्कासि ब्याक भई सडकबाट ३ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रशासन कार्यालय कालिकोट जनाएको छ । 

दुर्घटनामा  रास्कोट नगरपालिका-१  निवासी मन बहादुर शाही र उनकी श्रीमती मैना कुमारी शाहीको घटनास्थलमै मृत्यु भएको छ भने दुर्घटनामा घाइते रास्कोट-१ की रिता कुमारी सिंह शाहीलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत  प्रदेश अस्पतालमा पुर्‍याइएको छ ।

जीपका चालकलाई प्रहरीले नियन्त्रण लिइएको छ ।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति साहको निधन

महेन्द्रनगर / मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएको छ ।

करिब एक सातादेखि भारतको नयाँ दिल्लीमा उपचाररत ६९ वर्षीय डा. साहको आज बिहान निधन भएको उहाँको पारिवारिक स्रोतले जानकारी दिएको छ । उपकुलपति साह दुई महिनादेखि फोक्सोको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।

उपकुलपति साहको काठमाडौँमा उपचार सम्भव नभएपछि भारतको नयाँ दिल्ली लगिएको थियो । उहाँ नशा तथा हाडजोर्नी रोग विशेषज्ञ समेत हुनुहुन्थ्यो । डा. साहलाई मधेस प्रदेशले २०७७ माघ १८ गते प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको थियो ।

कनकाईका २८ परिवारलाई जग्गाधनी पुर्जा

सुरुङ्गा / झापाको कनकाई नगरपालिकाका २८ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ । नगरमा बसोबास गर्ने भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले धनीपुर्जा वितरण गर्नुभएको हो । मन्त्री चौधरीले कनकाई–५ का दलित भूमिहीन वरदान मण्डल र रेतिया मण्डललाई जग्गाधनीपूर्जा प्रदान गरेर सो कार्यको सुरुआत गर्नुभयो । कनकाई–५ का २२ र कनकाई–८ का छ भूमिहीनदलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला, राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष महेन्द्र खड्का, राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष तिलकसिंह पाण्डे, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, कनकाई नगरपालिका प्रमुख पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द

वालिङ / स्याङ्जाको वालिङ–१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको सङ्क्रमण देखिएको छ ।

सुरुका दिनमा केही बालबालिकामा देखिएको सङ्क्रमण फैलँदै जाँदा २३ जना तथा घरका अन्य सदस्यलाई पनि सर्न थालेपछि आउँदो शुक्रबारसम्म विद्यालय बन्द गरिएको छ । बालबालिकाको शरीरमा एकै प्रकारका पानीका फोका आउने, चिलाउने, दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखिएको छ ।

विश्व स्वास्थ्य सङ्गठन, गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य कार्यालय स्याङ्जा र गह्रौँ प्राथमिक अस्पताल वालिङबाट चिकित्सकको टोली पुगेर औषधि उपचार गरेको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो ।

पहिलो पटक परीक्षण गर्दा २३ जनामा देखिएको सङ्क्रमण दर बढ्दै गएपछि गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि कोखे पुगेर नमूना सङ्कलन गरेका हुन् ।

“ठेउला देखिएको ठाउँमा पुगेर स्वास्थ्यकर्मीको टोलीले घाँटीको स्वाब, छालाको नमूना तथा रगतको नमूना सङ्कलन गरी परीक्षण गर्न काठमाडौँ पठाएको छ”, उहाँले भन्नुभयो, “लक्षणअनुसार ठेउला भएको प्रारम्भिक परीक्षण हेर्दा सङ्ख्या धेरै भएकाले नमूना परीक्षण गर्न काठमाडौं पठाएका छौँ ।”

ठेउला रोगको रोकथाम तथा नियन्त्रण गर्न हावाबाट बच्न र सामाजिक दूरी कायम राख्नसमेत अनुरोध गरिएको शाखा प्रमुख पाण्डेले बताउनुभयो । दोस्रो पटक जाँच गर्दा थप दश जना बालबालिका तथा समुदायस्तरसम्म सङ्क्रमण फैलिएकाले रोकथाम तथा न्यूनीकरणका लागि स्थानीयलाई सचेत गराइएको उहाँले बताउनुभयो ।

ठेउला भाइरसबाट सर्ने सङ्क्रामक रोग हो । विशेष गरी १५ वर्ष उमेर समूहमुनिका बालबालिकामा यो रोग बढी देखिने गर्छ । यसले दीर्घरोगी तथा गर्भवती महिलालाई बढी असर गर्नसक्ने भएकाले समुदायस्तरमा फैलिन नदिन विशेष सावधानी अपनाइएको स्वास्थ्य कार्यालय स्याङ्जाकी प्रमुख वसुन्धरा शर्माले बताउनुभयो ।

“सङ्क्रमण फैलिन नदिन सङ्क्रमित बिरामीको सम्पर्कमा नआउने, एउटै लुगा प्रयोग नगर्ने, सरसफाइमा ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो, “एकदेखि दुई हप्तासम्म यसको लक्षण देखिन्छ, एकपटक भएपछि दोस्रो पटक हुँदैन ।” जेठ १४ गतेदेखि सुरु भएको ठेउलाको सङ्क्रमण अहिले सिर्सेकोट जनहित विद्यालय तथा समुदायस्तरमा फैलिएको छ ।

सुर्खेतमा पाँच जनामा दादुरा, जेठ २८ गतेदेखि खोप अभियान

सुर्खेत – सुर्खेतमा पाँच जनामा दादुरा देखा परेको छ । पैसठ्ठी शङ्कास्पद बिरामीको चेकजाँच गर्दा उनीहरुमा दादुरा भेटिएको हो ।

वीरेन्द्रनगर र चिङ्गाड दुई÷दुई तथा गुर्भाकोटका एक जनामा दादुरा भेटिएको स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार कालीकोटमा पनि तीन जनामा दादुरा देखिएको छ ।

यही जेठ २८ गतेदेखि सुर्खेतका नौवटै पालिकामा दादुराविरुद्धको खोप अभियान सुरु गरिने भएको छ । दुई चरणमा सञ्चालन हुने उक्त खोप अभियन आगामी असार ५ गतेसम्म सञ्चालन गरिने छ ।

पहिलो चरणमा बराहाताल, चिङ्गाड, भेरीगङ्गा र लेकबेँसी तथा दोस्रो चरणमा वीरेन्द्रनगर चौकुने, सिम्ता, पञ्चपुरी र गुर्भाकोटमा खोप अभियान सञ्चालन गरिने गौतमले बताउनुभयो ।

यसैबीच, दादुरा रुबेल खोप अभियान सञ्चालनसम्बन्धी जिल्ला खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालाको अभिमुखीकरण गरिएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गङ्गाराम सुनारले वडाले प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनुभयो । अभियानलाई सफल बनाउन सरकारको धेरै लगानी भएको उल्लेख गर्दै उहाँले गुणस्तरीय र प्रभावकारी समन्वय आवश्यक पर्ने बताउनुभयो ।

कर्णाली प्रदेश स्वास्थ सेवा कार्यक्रमका निर्देशक डा रविन खड्काले खोप अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह र प्रचारप्रसारमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । खोप लगाउनका लागि हरेक खोप केन्द्रमा दुई स्वास्थ्यकर्मी र दुई स्वयंसेवक खटाइने छ ।

खोप अभियानका लागि जिल्लाका ९९ वडामा कूल पाँच सय ४७ खोप केन्द्रको व्यवस्था गरिएको छ । खोप केन्द्र विद्यालयमा राखिने छ । दादुराविरुद्धको खोप १५ वर्षमुनिका बालबालिकालाई दिइने छ । यसअघि सुर्खेतलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो । सन् २०२३ सम्म दादुरामक्त नेपाल घोषणा गर्ने भनिएकामा सङ्क्रमण फैलिएपछि सन् २०२६ सम्म सो लक्ष्य राखिएको छ ।

असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न प्रतिबन्ध

काठमाडौँ – वर्षा यामको समयमा सडक खनेमा कारबाही गरिने भएको छ ।

सडक विभागअन्तर्गतको सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले ‘वर्षायाममा सडक खन्ने स्वीकृति नदिइनेबारे सार्वजनिक सूचना’ जारी गर्दै जबरजस्ती गरेमा कारबाही गर्ने जनाएको हो । 

जारी सूचना अनुसार आगामी असर १ गतेदेखि भदौ मसान्तसम्म सडकमा खन्न पाइने छैन ।

”वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत–सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भएकोले यही २०६० साल असार १ गतेदेखि २०८० साल भाद्र मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने”, जारी सूचनामा भनिएको छ, ”कसैले जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिए‌को छ ।”

पाँच दिन तातो हावा यथावत्

काठमाडौँ – देशका तराईका भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना रहेकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्यूनतम तापक्रम बढेकाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो ।

“हालको तल्लो र उपलल्लो वायुमण्डलको अध्ययन र विश्लेषअनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने देखिन्छ । तसर्थ, देशका तराई भू–भागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लूको सम्भावन यथावत् रहने देखिएकोले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ”, बुलेटिनमा उल्लेख छ ।

साथै पहाडी भू–भागका उपत्यका तथा खोचमा समेत तापक्रम क्रमिकरुपमा बढ्न सक्ने सम्भावना रहेकाले महाशाखाबाट जारी सूचना तथा पूर्वानुमानमा अद्ययावधिक रहन पनि अनुरोध गरिएको छ ।

महाशाखाका मौसमविद् गोविन्दकुमार झाले अबका तीन दिनसम्म लू चल्ने सम्भावना रहेको बताउनुभयो । “विगत दुई दिनदेखि तराईका अधिकांश भू–भागमा लू चलिरहेको छ । समग्रमा तराईको मध्य क्षेत्र सप्तरीदेखि भैरहवा क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेर तातो हावा तथा लू चलेको छ । नेपालगञ्जलगायत क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री हाराहारी छ जसले गर्मी बढेको छ”, उहाँले भन्नुभयो ।

लगातार पाँच दिनसम्म सामान्यभन्दा ४० डिग्रीभन्दा माथि तापक्रम बढेमा लू चलेको मानिन्छ । वर्षा नहुँदा सुक्खापन चलेकाले तापक्रम बढेर लू चलेको मौसमविद् झाको भनाइ छ । साथै पहाडी भू–भागका उपत्यका तथा खोचमा समेत तापक्रम क्रमिकरुपमा बढ्न सक्ने सम्भावना रहेकाले महाशाखाद्वारा जारी सूचना तथा पूर्वानुमानमा अध्यावधिक रहन पनि महाशाखाले अनुरोध गरेको छ ।

महाशाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव छ । देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो कोशी प्रदेशलगायत गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङगसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ ।

विगत दुई सातादेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकालगायत देशका अन्य उपत्यकामा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको छ । तराई भू–भागमा, मुख्यतया मध्य तराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भएको छ ।

तातो हावा तथा लूबाट हुने सम्भावित असरजस्तैः थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, माँसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न आग्रह गरिएको छ ।

तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा दाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ जुस सर्वत आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या आएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही सल्लाह सुझाव लिन पनि महाशाखाले सुझाएको छ ।

आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव ५ डिग्री र अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले फेरी मन्त्रिपरिषद् हेरफेर गर्दै, सुदन किरातीलाई मन्त्रीबाट हटाउने तयारी

काठमाडौं – मन्त्रिपरिषदले पूर्णता पाएको एक महिना पनि नहुँदै प्रधानमन्त्री पुष्पकमल दाहालले फेरी मन्त्रिपरिषद् हेरफेर गर्दैछन् । चार दिने भारत भ्रमण सकेर फर्किएका दाहालले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका  हुन् । 

सिके राउत नेतृत्वको जनमत पार्टीलाई  सरकारमा ल्याउनुपर्ने भएकाले मन्त्रिपरिषद् पुनर्गठनको तयारी भइरहेको दाहाल निकट माओवादीका नेताले जानकारी दिए। 

पुस १० मा एमालेको सहयोगमा प्रधानमन्त्री भएका दाहालले जेठ ९ गते मात्रै सरकारलाई पूर्णता दिएका थिए।

मन्त्रिपरिषदले पूर्णता पाइसकेकाले जनमत पार्टी सरकारमा आउँदा माओवादी केन्द्रले एउटा मन्त्रालय छाड्नुपर्ने सम्भावना छ।

माओवादीबाट उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जामन्त्री शक्ति बस्नेत, सञ्चारमन्त्री रेखा शर्मा, संघीय मामिला तथा सामान्य प्रकाशनमन्त्री अमनलाल मोदी र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती छन्।

स्रोतका अनुसार माओवादीले एउटा मन्त्रालय छाड्दा संस्कृतिमन्त्री किराँती र संघीय मामिलामन्त्री मोदीमध्ये एक जना हट्ने सम्भावना छ।

माओवादी एक नेताका अनुसार मन्त्री किरातीसँग प्रधानमन्त्री दाहाल सन्तुष्ट छैनन् ।  नेताहरुका अनुसार माओवादीले जनमत पार्टीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय दिने तयारी गरेको छ ।

मोदीले बिहीबार आफ्नो मन्त्रालयले हालसम्म गरेका प्रगति विवरण सुनाउन पत्रकार सम्मेलन गर्दैछन् ।  संस्कृतिमन्त्री किराँतीको ठाउँमा मोदीलाई पठाइ संघीय मामिला जनमतलाई दिने तयारी प्रचण्डको रहेको स्रोतको दाबी छ । मन्त्री किरातीले पनि आफु हट्नु पर्ने संकेत पाएसँगै केहीदिन यता मन्त्रालय त अरुले नै चलाउने रहेछन् भन्ने जस्तो अभिव्यक्ति दिइरहेका छन् । 

जसपाले जेठ २७ गते बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

बैठक जेठ २७ गते शनिबारका लागि बोलाइएको केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । शनिबार दिनको एक बजे पार्टी कार्यालयमा बैठक बस्नेछ ।

केन्द्रीय कार्यकारिणी समितिको बैठकमा विधान अधिवेशनको तयारी, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने बताइएको छ ।

स्वास्थ्यकर्मी पाँच महिनादेखि तलबबाट वञ्चित

भक्तपुर – भक्तपुरको सूर्यविनायकमा स्वास्थ्यकर्मी पाँच महिनादेखि तलवबाट वञ्चित रहेका छन् ।

सूर्यविनायक नगरपालिकाभित्रका स्वास्थ्य शाखाका कर्मचारी, नगरपालिकाभित्र सञ्चालित विभिन्न स्वास्थ्यचौकी, उपस्वास्थ्य चौकी, नगर अस्पताल र सहरी स्वास्थ्य संस्थाका कार्यरत एक सयभन्दा बढी स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएका छैनन् । चालु आर्थिक वर्षका लागि सरकारले पठाएको बजेट अपुग भएपछि नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले तलब नपाएको नगरपालिका स्वास्थ्य शाखाका प्रमुख वसन्त चापागाईले जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मीले गत माघ महिनादेखि नेपाल सरकारका करिब ७० स्वास्थ्य शाखाका कर्मचारी एवं स्वास्थ्यकर्मीले तलब नपाउँदा पनि स्वास्थ्य सेवामा कुनै गुनासो आउन नदिने गरी काम गरिरहेको उहाँले बताउनुभयो । नगरपालिकाले करारमा नियुक्त गरेका स्वास्थ्यकर्मीले भने नियमित तलब पाइरहेका छन् ।

चापागाईले भन्नुभयो, “एउटै कार्यालयमा नगरपालिकाले करारमा नियुक्त गरेका कर्मचारी एवं स्वास्थ्यकर्मीले नियमित तलब पाइरहने तर नेपाल सरकारको तर्फबाट तलब खाने स्वास्थ्यकर्मी भने पाँच महिनादेखि तलब नपाउँदा कर्मचारीको घर व्यवहारमै समस्या परेको छ ।”

एउटै शाखामा काम गर्ने नगरपालिकाले नियुक्त गरेका कर्मचारीले नियमित तलब पाउने र सरकारका कर्मचारीले तलब नपाउँदा उनीहरुलाई समस्या भएको छ । यहाँका कर्मचारीका लागि मासिक करिब रु ४५ लाख तलबमा खर्च हुने गरेको लेखा शाखाले जनाएको छ ।

नगरपालिकाको लेखा शाखाले भने बजेट सकियो भनेर सरकारले थप रकम नपठाएका कारण तलब खुवाउन नसकेको जानकारी दिएको छ । नगरपालिका लेखापाल महेश भट्टराईले सरकारबाट रकम नआएका कारण तलब खुवाउन नसकेको बताउनुभयो । तलब खुवाउनु बाँकी रकमको माग गर्दै स्वास्थ्य मन्त्रालयमा पत्राचार गरिरहेको जानकारी दिँदै उहाँले तलबका लागि रकम निकासा भएर नआउँदा तलब खुवाउन नसकेको बताउनुभयो ।

कञ्चनपुरमा दादुरा–रुबेला खोप अभियान

महेन्द्रनगर – कञ्चनपुरमा छ महिनादेखि १५ वर्षमुनिका बालबालिकाका लागि आजदेखि दादुरा–रुबेला खोप अभियान सञ्चालन हुँदैछ ।

खोप अभियानअन्तर्गत कञ्चनपुरमा एक लाख १४ हजार छ सय २३ बालबालिकालाई खोप दिइने स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिनुभयो । बुधबार कञ्चनपुरको महेन्द्रनगरमा दादुरा रुबेला खोप अभियानबारे सरोकारवाला निकायसित छलफलसमेत गरिएको थियो ।

आजदेखि सुरु हुने खोप अभियान जेठ मसान्तसम्म सञ्चालन हुने छ । खोप अभियान स्वास्थ्य संस्था, विद्यालयलगायत क्षेत्रमा सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । “खोप पूर्णरुपमा सुरक्षित र प्रभावकारी रहेकाले आफ्ना सम्पूर्ण बालबालिकालाई सम्बन्धित खोप केन्द्रमा लगेर खोप लगाइदिन आग्रह गर्छु”, पन्तले भन्नुभयो, “यो रोग सबै उमेर समूहलाई लाग्न सक्ने भए पनि बालबालिकालाई बढी असर गर्छ । त्यसैले लक्षित उमेर समूहलाई खोप लगाउँदै छौँ ।”

सरकारले सन् २०२६ सम्ममा दादुरा रुबेलालाई निवारण गर्ने लक्ष्य पूरा गर्न खोप अभियान सञ्चालन गरिएको हो । कञ्चनपुरमा पाँच सय ७२ खोप केन्द्रबाट खोप दिइने छ । साथै तीन सय ५३ स्वास्थ्यकर्मी खोप सेवाका लागि खटिएका छन् ।

व्यापार घाटा कम गर्न निर्यात प्रवर्धनमा जोड

काठमाडौँ – सरकारले स्वदेशी वस्तुको निर्यात प्रवर्धन गरी व्यापार घाटा कम गर्ने गरी नेपाल व्यापार एकीकृत रणनीति (एनटिआइएस) कार्यान्वयनमा ल्याएको छ । 

नेपालको वस्तु तथा सेवाको निर्यात कुल गार्हस्थ उत्पादनको अनुपात ६.३ प्रतिशतबाट आगामी पाँच वर्षमा २० प्रतिशत पु-याउने लक्ष्यसहित सो रणनीति कार्यान्वयनमा ल्याएको हो । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल व्यापार एकीकृत रणनीति २०७३ लाई अद्यावधिक गरेर नयाँ वस्तु तथा सेवा थप गरी सो रणनीति कार्यान्वयनमा ल्याएको हो । मन्त्रीपरिषद्ले हालै पास गरेसँगै सो रणनीति कार्यान्वयनमा आएको हो । रणनीतिमा विभिन्न ३२ वटा वस्तु तथा सेवा राखिएको छ । कृषिजन्य वस्तु पाँच, वनजन्य वस्तु तीन, ठुला उद्योग चार, साना तथा घरेलु उद्योग पाँच, उदीयमान वस्तु ११ र भविष्यमा सम्भावना हुन सक्ने नयाँ वस्तु चार समावेश गरिएको छ । 

मन्त्रालयका सहसचिव गोविन्दबहादुर कार्कीले निर्यातयोग्य सम्भावना भएका नयाँ वस्तु समावेश गरेर नयाँ रणनीति तयार गरिएको जानकारी दिनुभयो । स्वदेशी वस्तुको उत्पादन बढाएर निर्यात बढाउनु रणनीतिको मुख्य उद्देश्य रहेको उहाँले जानकारी दिनुभयो । वस्तु विकास तथा व्यापारका लागि उत्तम प्रणाली निर्माण, प्रतिस्पर्धात्मक क्षमताको निरन्तर सुधार, आर्थिक सङ्कट झेल्न सक्ने गरी बजार विविधीकरणको उद्देश्यसहित रणनीति कार्यान्वयनमा ल्याएको उहाँले जानकारी दिनुभयो ।

तुलनात्मक लाभ र प्रतिस्पर्धात्मक क्षमताका वस्तुको उत्पादन र उत्पादकत्व वृद्धि गर्नु, वस्तु तथा बजारको विविधीकरण गरी नेपाली वस्तुको निर्यात प्रवर्धन, कृषि तथा औद्योगिक वस्तुको उत्पादन तथा उपभोग वृद्धि गर्ने उद्देश्यसहित रणनीति कार्यान्वयनमा ल्याइएको हो । यस्तै स्वदेशी तथा विदेशी वैदेशिक लगानी वृद्धि, स्वदेशी उत्पादनको गुणस्तर सुधार गर्नु, व्यापार सहजीकरण गरी व्यापार तथा पारवहन लागत कम गर्नु रणनीतिको उद्देश्य रहेका छन् । 

रणनीतिमा निर्यात सम्भावना भएका कृषि क्षेत्रमा अलैँची, अदुवा, दलहन, जुट, चिया रहेका छन् । यस्तै वन क्षेत्रमा जडीबुटी तथा सुगन्धित वनस्पति, लोक्ताबाट बनेको हातेकागज, रोजिन र टर्पेन्टाइन रहेका छन् । साना तथा घरेलु उद्योग क्षेत्रमा गलैँचा, गहना, पस्मिना, पास्ता र ठुला उद्योगमा फलाम तथा स्टिल धागो तथा कपडा, जुत्ता, तयारी पोसाक रहेका छन् । 

उदीयमान वस्तु तथा भविष्यमा सम्भावना हुने सक्ने वस्तुमा सुगन्धित तेल, हिमालयन स्प्रिङ वाटर, तरकारी, फलफूल र तिनका प्रशोधित सामग्री, मसलाहरू, हस्तकला, लामा रेसाका कपडा, कफी, पिपिसि सिमेन्ट, छुर्पी र मह रहेका छन् ।

नयाँ तथा भविष्यमा सम्भावना हुन सक्ने वस्तुमा हाइड्रोजन ऊर्जा, बहुमूल्य पत्थर, खानीजन्य, नदीजन्य र वनजन्य स्रोतबाट प्राप्त हुने ढुङ्गा तथा ढुङ्गाजन्य अन्य उत्पादन रणनीतिमा राखिएको छ । नीतिगत तथा कानुनी परिमार्जन गरी हेम्प वा हेम्प जस्तै वनस्पति एवं सोबाट बनेका औषधीय गुण भएका सुगन्धित वस्तु राखिएको छ । 

पर्यटन, सूचना प्रविधि र इन्टरनेटमा आधारित सेवा, जलविद्युत्, निर्माण सेवा, दक्ष तथा अर्धदक्ष श्रम सेवा रणनीतिमा समावेश गरिएको छ । 

पूर्वाधार, संरचना प्रक्रिया र नियामकीय वातावरण तथा व्यापार सुशासन सुधार रणनीतिमा एकीकृत लजिस्टिक्स पूर्वाधार विकास र व्यापार सहजीकरण, खाद्य गुणस्तर र बाली स्वास्थ्य मापदण्ड सुदृढीकरण, गुणस्तर पूर्वाधार सुधार र औद्योगिक उत्पादनको गुणस्तर मापदण्ड लगानीको वातावरण सुधार, उत्पादन प्रक्रियामा चौथो र पाँचौँ पुस्ताका उद्योगको अवधारणा रणनीतिमा समावेश गरिएको छ । यस्तै प्रतिस्पर्धी वस्तु तथा सेवाको विकास र निर्यात बजार विस्तारमा वस्तु निर्यात क्षमता विस्तार गर्ने, सेवा निर्यात सृदृढ तुल्याउने रणनीतिमा उल्लेख छ । पाँच वर्षमा कार्यान्वयन गर्ने १८३ क्रियाकलाप कार्यान्वयन गर्न रणनीतिको चार खर्ब ६३ अर्ब २५ करोड सात लाख २० हजार रुपियाँ लागत रहेको छ । रणनीति कार्यान्वयनका लागि सरकारले आगामी आर्थिक वर्षका लागि करिब चार करोड रुपियाँ छुट्याएको छ । रणनीति कार्यान्वयन गर्न लाग्ने बजेट उपशीर्षकमा नेपाल सरकार र विकास साझेदारहरूले बजेट उपलब्ध गराउने, विकास साझेदारले व्यापारसम्बन्धी सहायता व्यापारमा क्षेत्रगत अवधारणा अन्तर्गत उपलब्ध गराउने अपेक्षा गरिएको छ ।   आजको गोरखापत्र बाट