`

सङ्कटा फुटबल क्लब सभापति कपको फाइनलमा

Nepal One HD १४ माघ २०८१ २३:०५
खेलकुद

काठमाडौँ । मच्छिन्द्र फुटबल क्लबलाई पराजित गर्दै सङ्कटा फुटबल क्लब सभापति कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा सोमबार सेमिफाइनल खेलमा सङ्कटाले मच्छिन्द्रलाई सडनडेथमा ८–७ गोलले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । 

खेलको निर्धारित ९० औं मिनेटमा खेल गोलरहित बराबरीमा समाप्त भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । सडनडेथमा सङ्कटाका राम थापा, सृजन क्षेत्री, सन्तोष खत्री, साम कालोस, दीप कार्की, अबेक रिचर्ड, रोशन पहारी र बोयटेङ इमानुवेलले गोल गरे । चन्दन दासको पेनाल्टी मच्छिन्द्रका गोलकिपर प्रदीप भण्डारीले बचाए ।

त्यस्तै मछिन्द्रका समीरराज थोकर, दीवाकर चौधरी, सनिश श्रेष्ठ, ओमोलाजा करिम, देवेन्द्र तामाङ, छिरिङ गुरुङ, विमल घर्तीमगरले गोल गरे । तर, आयुष घलानको प्रहार दीप कार्कीले रोके भने दयानन्द सिंहको प्रहार गोल पोष्टबाट बाहिरियो ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा भएको उक्त प्रतियोगिताको उपाधि विजेताले रु २६ लाख तथा उपविजेताले  १३ लाख पाउनेछ ।


प्रतिक्रिया