`

गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिँदै

गलेश्वर – म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर धामलाई विश्व सम्पदा सूचीमा राख्न म्याग्दीको बेनी नगरपालिकाले आवश्यक पहल सुरु गरेको छ ।

बेनी–९ स्थित गलेश्वर धाम स्कन्द पुराण, हिमालय पर्वत, भगवान् शिव र पार्वतीका साथै स्वयं उत्पन्न विशाल ज्योर्तिलिङ्गको महिमा र यिनै विषयसँग सम्बन्धित रहेका कारण विश्वभरि चिनिएको छ । बाबु दक्ष प्रजापतिको यज्ञमा आफ्ना लोग्ने शिवको अपमान गरिएपछि जलिरहेको अग्निमा हाम फालेर आत्महत्या गरेकी सतीदेवीको लाशलाई काँधमा बोकेर हिमालय पर्वततर्फ जाँदै गर्दा गला पतन भएको र त्यस ठाउँको नाम गलेश्वर नामकरण गरिएको स्कन्द पुराणमा उल्लेख छ ।

लामो खडेरीमा पनि कहिल्यै पानी नसुक्ने र ठूलो वर्षामा पनि पानीको सतह घटबढ नहुने ढुङ्गामा मूल उम्रेर बनेको बराहा पोखरी, विशाल चट्टानमा जग बिना नै निर्माण गरिएको भगवान् शिवजीको मन्दिर, विष्णु मन्दिर, हवन कुण्ड, १०८ शिवलिङ्ग, साँढेका विशाल मूर्ति, घन्टा यहाँका मुख्य आकर्षण हुन् । पछिल्लो समययता गलेश्वरमा भारतीय धार्मिक पर्यटकको पनि सङ्ख्या वृद्धि हुन थालेको छ ।

कालीगण्डकी र रघुगङ्गा नदीको सङ्गमस्थलमा रहेको गलेश्वर धाममा अहिले उद्यानसहित आवश्यक सम्पूर्ण भौतिक पूर्वाधारसमेत निर्माण भएकाले यस्तो पावन धार्मिकस्थललाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नगरले समन्वय र पहल गरेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो ।

“गलेश्वर धाम ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल भएकाले विश्व सम्पदामा सूचीकृतका लागि नगरपालिकाले आवश्यक प्रक्रिया अपनाइ समन्वय र पहल गर्दैछौँ”, नगरप्रमुख केसीले भन्नुभयो । विश्व सम्पदामा सूचीकृत गर्न नगरले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएको उहाँले बताउनुभयो । “गलेश्वर धाम धार्मिक हिसाबले महत्वपूर्णस्थल हो । गलेश्वर पवित्र नदी कालीगण्डकी र रघुगङ्गाका सङ्गमस्थलमा छ । गलेश्वरलाई मुक्तिनाथ प्रवेशद्वारका रुपमा पनि लिने गरिन्छ । विश्व सम्पदा सूचीमा सूचीकृत गरेर गलेश्वर क्षेत्रको धार्मिक महत्वको प्रचारप्रसार र संरक्षण गर्ने हाम्रो योजना छ”, उहाँले भन्नुभयो ।

गलेश्वर मन्दिर प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारमा रहेको धार्मिक तीर्थस्थल हो । गलेश्वरधाम एउटै चक्रशिलामा अवस्थित छ । उन्नाइसौँ शताब्दीको अन्त्यतिर गलेश्वर बाबा नाम गरेका एक जना साधुले सानो कुटी र सानो कच्ची मन्दिर बनाई त्यस क्षेत्रमा बस्न थालेपछि गलेश्वर तीर्थस्थलको रुपमा चिनिँदै जान थालेको भनाइ छ ।

यस्तो छ गलेश्वर धामको महत्व र इतिहास

गलेश्वर मन्दिर प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारमा रहेको धार्मिक तीर्थस्थल हो । म्याग्दी जिल्लाको बेनी नगरपालिका–९, गलेश्वरमा रहेको गलेश्वरधाम एउटै चक्रशिलामा अवस्थित छ । म्याग्दीको उत्तरी भेगमा अवस्थित कालीगण्डकी नदीका वारी र पारीका केही साविकका गाविस र मुस्ताङ जिल्लालाई अन्नपूर्ण संरक्षण क्षेत्र घोषणा गरिएपछि गलेश्वर पर्यटकीय क्षेत्रको प्रवेशद्वारको रुपमा समेत परिचित छ ।

गलेश्वर धामको इतिहास स्कन्द पुराणसँग, आर्थिक इतिहास उत्तरमा तिब्बत र दक्षिणमा भारतसँग जोडिएको छ । उन्नाइसौँ शताब्दीको अन्त्यतिर गलेश्वर बाबा नाम गरेका एक जना साधुले सानो कुटी र सानो कच्ची मन्दिर बनाई त्यस क्षेत्रमा बस्न थालेपछि गलेश्वर तीर्थस्थलको रुपमा चिनिँदै जान थालेको बताइन्छ । त्यसैगरी आर्थिक दृष्टिकोणले पनि गलेश्वर ऐतिहासिकस्थल भएको इतिहासकारले बताएका छन् ।

उन्नाइसौँँ शताब्दीको अन्त्यताका गलेश्वर म्याग्दीका उत्तरी क्षेत्रको साथै उत्तरमा भोट र दक्षिणमा भारतीय व्यापारीको समेत सम्पर्क हुने ठाउँको रुपमा चिनिने गरेको म्याग्दीका इतिहासकार चन्द्रप्रकाश बानियाँद्वारा लिखित विभिन्न लेखमा चर्चा गरिएको छ । यो क्रम बेनी जोमसोम सडक विस्तार नहोञ्जेलसम्म जारी रहेको थियो ।

बाबु दक्ष प्रजापतिको यज्ञमा आफ्ना लोग्ने शिवको अपमान गरिएपछि जलिरहेको अग्निमा हाम फालेर आत्महत्या गरेकी सतीदेवीको लाशलाई काँधमा बोकेर हिमालय पर्वततर्फ जाँदै गर्दा गला पतन भएको र त्यस ठाउँको नाम गलेश्वर नामकरण गरिएको स्कन्द पुराणमा उल्लेख छ ।

लामो खडेरीमा पनि कहिल्यै पानी नसुक्ने र ठूलो वर्षामा पनि पानीको सतह घटबढ नहुने ढुङ्गामा मूल उम्रेर बनेको बराहा पोखरी, जडभरत गुफा, विशाल चट्टानमा जग बिना नै निर्माण गरिएको भगवान शिवजीको भव्य मन्दिर, विष्णु मन्दिर, हवन कुण्ड, १०८ शिवलिङ्ग, साँढेका विशाल मूर्ति घन्टा यहाँका मुख्य आकर्षण हुन् ।

पूर्वपट्टि कालीगण्डकी नदी, दक्षिणतर्फ बेनी बजार, उत्तरमा मुक्तिनाथ र पश्चिमतर्फ रावणको जन्मस्थान मानिने पुलस्त्य आश्रमको बीचमा अवस्थित गलेश्वर क्षेत्र अपार पर्यटकीय सम्भावना बोकेको क्षेत्र हुँदाहुँदै पनि सरकारले खासै ध्यान दिन नसकेको गुनासो स्थानीय बासिन्दाको रहेको छ । म्याग्दीको सदरमुकाम बेनी बजारदेखि तीन किलोमिटर उत्तरमा अवस्थित गलेश्वर धाम रहेको छ ।

अब आइडी नभई ट्विटर पढ्न र हेर्न नसकिने

क्यालिफोर्निया – ट्विटरले हरेक दिन नयाँ प्रयोग गरिरहेको छ। यसैबिच ट्विटरले शुक्रवार थप नयाँ परिवर्तन गरेको छ। 

नयाँ परिवर्तन अनुसार अब लगइन नगरी ट्विट हेर्न पाइने छैन । यसको मतलब यो हो कि यदि तपाईँ ट्विट हेर्न चाहनुहुन्छ भने तपाईँले ट्विटरमा आफ्नो आइडी सिर्जना गर्नु पर्नेछ। एलोन मस्कले यसलाई अस्थायी आपत्कालीन उपाय भनेका छन्।

ट्विटरका मालिक एलोन मस्कले धेरै डाटा लुटिएको र यो सामान्य प्रयोगकर्ताका लागि अपमानजनक सेवा भएको बताए । यस अघि पनि मस्कले ओपन एआई लगायतका अन्य प्लेटफर्महरू प्रति आफ्नो असन्तुष्टि व्यक्त गरिसकेका छन् । उनले भने कि धेरै प्लेटफर्महरूले उनीहरूको डाटाको साथ भाषिक मोडेलहरू तालिम दिन प्रयोग गर्थे। 

तपाई यो थाहा लिनुहोस् कि ट्विटरले एप प्रोग्रामिङ इन्टरफेसका लागि थर्ड पार्टी एप्स र रिसर्चर्सलाई पनि चार्ज गर्न थालेको छ।

उता, माइक्रो ब्लगिङ प्लेटफर्म ट्विटरले भिडियो डाउनलोड गर्ने सुविधा जारी गरेको छ । यस फिचर अन्तर्गत नयाँ डाउनलोड भिडियो विकल्प थपिएको छ। अर्थात् ट्विटर प्रयोगकर्ताहरूले कुनै पनि तेस्रो पक्ष एप र साइटको मद्दत बिना नै प्लेटफर्ममा सीधा भिडियोहरू डाउनलोड गर्न सक्षम हुनेछन्। 

यद्यपि, यो सुविधा हाल बिटा परीक्षकहरूको लागि जारी गरिएको छ। एप अनुसन्धानकर्ता र ट्विटर प्रयोगकर्ता नीमा ओभजीले पनि यो सुविधाको बारेमा जानकारी दिँदै स्क्रिनसट साझा गरे। प्रयोगकर्ता भन्छन्, ‘ट्विटर भिडियो डाउनलोड बटनमा काम गरिरहेको छ र सिर्जनाकर्ताहरूले यसलाई सक्षम र असक्षम गर्न सक्षम हुनेछन्। यो फिचर छिट्टै रोल आउट हुने दाबी गरिएको छ । 

हालै भर्खरै ट्विटरले नयाँ भिडियो एप लन्च गर्ने घोषणा गरेको छ।

सङ्घीयतालाई टेवा पुग्ने बजेट

काठमाडौँ – अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्घीयतालाई टेवा पुग्ने बजेट आएको बताउनुभएको छ । उहाँले प्रदेश र स्थानीय तहको भन्दा सङ्घमा बजेट कटौतीको मात्रा बढी भएको उल्लेख गर्नुभयो । 

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा विनियोजन विधेयकमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. महतले भन्नुभयो, “सङ्घीय बजेट २२ प्रतिशतले कटौती भएको छ । प्रदेश र स्थानीय तहको बजेट सात प्रतिशतले मात्रै कटौती भएको छ ।” उहाँले स्रोत साधनको सीमितता भए पनि प्रदेश र स्थानीय तहलाई विनियोजनमा भारी कटौती नगरिएको बताउनुभयो । 

अर्थमन्त्री डा. महतले ठुला आयोजनामा महिनैपिच्छे एक अर्बभन्दा बढी रुपियाँ माग भएकाले साना तथा मझौला आयोजनामा अपेक्षाकृत रकम कम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “ठुला, महत्वपूर्ण र राष्ट्रिय गौरवका आयोजनामा ठुलो पैसा सीमित भयो जसले गर्दा साना र मझौला तथा गाउँ गाउँमा सडक बाटोघाटोमा भनिए जसरी बजेट पुगेन तर तलमाथि भयो भने १६५ निर्वाचन क्षेत्रमा पाँच पाँच करोडको दरले राखेकै छौँ ।”

पूर्वप्रधानमन्त्री तथा केही सीमित मन्त्रीको निर्वाचन क्षेत्र र जिल्लामा बजेट केन्द्रित भएको गुनासोमा अर्थमन्त्री डा. महतले भन्नुभयो, “विगतमा प्रधानमन्त्रीको जिल्लामा कसरी बजेट गए हामीलाई थाहा छ । अहिले पनि झापामा थुप्रै बजेट रकमान्तर भएका छन् । हामीले कुनै पनि पूर्वाग्रह राखेनौँ ।”

बजेटबारे पूर्वतयारी केही नभएको समयमा मन्त्रालयको जिम्मेवारी सम्हालेको अवस्थामा आमूल किसिमबाट नयाँ प्रस्ताव गर्ने समय नभएर बजेट आएको परिस्थिति बुझ्नुपर्ने उहाँले बताउनुभयो । 

राणाकालीन समयमा जसरी बजेट आएको प्रश्नको जवाफमा अर्थमन्त्री डा. महतले भन्नुभयो, “त्यतिबेला बजेट प्रणाली थियो ? जनप्रतिनिधि समक्ष आएर सफाइ दिनुपथ्र्यो ? उनीहरूको पकेटको खर्च जसरी बजेट परिचालन हुन्थ्यो, अन्धकार युग थियो ।”

जनता र देशलाई केन्द्रमा राखेर बजेट तयार गरिएको दाबी गर्दै उहाँले भन्नुभयो, “बजेट कार्यान्वयनको प्रभावकारिताका लागि समयतालिका बनाएका छौँ । आगामी दिनमा रकमान्तर गर्न दिइने छैन । कार्यविधि अनुसार बजेट सुधारको प्रयास सुरु गरिसक्या छौँ । प्रस्तावका लागि हैन ।  कार्यान्वयनका लागि बजेट आएको हो।”

ऋणको साँवा, ब्याज तिर्ने दायित्व नै पुँजीगत खर्चभन्दा बढी रहेको तथ्याङ्क प्रस्तुत गर्दै अर्थ मन्त्री डा. महतले भन्नुभयो, “तीन खर्ब सात अर्ब ऋण र ब्याजको दायित्वको दबाब पुँजीगत खर्चमाथि पर्दा तीन खर्ब दुई अर्बमा सीमित भयो।”

विगतमा जसरी कनिका छरे झैँ बजेट नछर्ने प्रतिबद्धता व्यक्त गर्दागर्दै रोक्न नसकेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “मेरो गाउँको सडकमा बजेट प¥यो परेन मात्रै देखेर बजेटको मूल्याङ्कन गर्न भएन। अस्पताल, खानेपानी, शिक्षामा गरिने खर्च पनि महत्वपूर्ण हो।” उहाँले बजेट समाजवाद उन्मुख नै रहेको दाबी गर्दै आर्थिक वृद्धि गरेर त्यसको पहुँच आमनागरिकसम्म पु¥याउने लक्ष्य लिएको बताउनुभयो। धेरै आम्दानी गर्ने वर्ग समूहलाई बढी कर तिनुपर्ने व्यवस्था गर्दा व्यवसाय नै चौपट पार्ने गरी बजेट आएको गुनासो सुन्नुपरेको धारणा उहाँले व्यक्त गर्नुभयो। 

समग्रमा विनियोजन सङ्घीयता र समन्यायिक सिद्धान्तलाई टेवा पुग्ने गरी ल्याइएको बताउँदै उहाँले कार्यक्षमता बढाएर सीमित स्रोत साधनबाट बढी प्रभाव पु¥याउने गरी कार्यान्वयन गरिने आश्वासन दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक असार १८ गते १ बजेसम्मका लागि स्थगित भएको छ। आजको गोरखापत्रबाट

आजको मौसम: देशैभरि पानी पर्ने

काठमाडौँ – हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली  रही गण्डकी र लुम्बिनी  प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा  बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै  गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

राती भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी, मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 

देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। 

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ। तसर्थ भारी वर्षा, मेघ गर्जन / चट्याङ, हावा हुरी, गेग्र्यान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
२०८० आषाढ १६ गते (शनिवार) 
दिउँसो
:  देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै  गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।
राती: देशभर  आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी, मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

२०८० आषाढ १७ गते (आइतबार) 
दिउँसो: 
 देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०८० आषाढ १८ गते (सोमबार) 
दिउँसो:
  देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका तराई भूभागका धेरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

छिम्केश्वरी मन्दिरमा पित्तलको छानो

दमौली – तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीमाई मन्दिरको छानो ‘प्यागोडा’ शैलीमा निर्माण थालिएको छ । आँबुखैरेनी गाउँपालिका–५ मा अवस्थित प्रसिद्ध छिम्केश्वरी मन्दिरको छानो प्यागोडा शैलीमा निर्माण थालिएको हो ।

छिम्केश्वरी समुद्र सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित छ । विगत दुई वर्षदेखि छिम्केश्वरीमाई मन्दिरको पुनःनिर्माण भइरहेको छ । निर्माणको अन्तिम चरणमा पुगेको मन्दिरमा पित्तलको छानो छाउने काम भइरहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पित्तलले छाएर मन्दिरलाई आकर्षण बनाउन लागिएको हो ।”

भक्तपुरबाट कालीगढ मगाएर छानो छाउने काम भइरहेको छ । चुमानका अनुसार असार मसान्तभित्रै काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । छिम्केश्वरी मन्दिर पुनःनिर्माणका लागि करिब रु ८० लाख खर्च भइसकेको छ ।

गाउँपालिकाले छिम्केश्वरीमाई मन्दिर नजिकै रहेको बूढीमाईको मन्दिर पनि पुनःनिर्माण गर्ने लक्ष्य राखेको छ । सात देवीमध्ये जेठी बुढीमाईको मन्दिर काठैकाठले पुनःनिर्माण गर्ने लक्ष्य राखिएको छ ।

गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको बताइन्छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरी लेकमै अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । छिम्केश्वरीबाट धौलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ«ेलगायतका हिमाल आँखै अगाडि हेर्न सकिन्छ ।

महाभारत शृङ्खलाको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउने गाउँपालिकाको लक्ष्य छ । धार्मिक पर्यटन केन्द्र बनाउनका लागि यस ठाउँलाई प्राथमिकताका साथ बजेट विनियोजन गरिएको अध्यक्षको चुमानको भनाइ छ । चुमानले भन्नुभयो, “छिम्केश्वरीलाई प्रमुख पर्यटकीय गन्तव्यस्थल बनाउन योजनाबद्धरुपमा लागेका छौँ । आगामी आर्थिक वर्षको बजेटमा पनि छिम्केश्वरीको विकासका लागि रु ५० लाख बजेट विनियोजन गरिएको छ ।”

छिम्केश्वरी मन्दिर पुग्नका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण गरिएको छ । आव ०७५÷७६ मा रु ४१ लाख ६३ हजार सात सय ६ को लागतमा चार सय ८६ मिटर ढुङ्गाको सिँढी निर्माण सम्पन्न भएको छ भने आर्थिक वर्ष ०७६÷७७ मा रु ३५ लाख ९९ हजार एक सय ४१ को लागतमा तीन सय पाँच मिटर ढुङ्गाको सिँढी र रेलिङ निर्माण सम्पन्न भइसकेको छ ।

छिम्केश्वरीसम्म जाने सडक कालोपत्रको तयारी भइरहेको छ । पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनीदेखि छिम्केश्वरीको फेदी लाब्दीसम्म सडक कालोपत्रको तयारी गरिएको हो । हालसम्म साइट कटिङ, नाला निर्माण, बेसमेन्टको काम र ग्राभेल काम सकिएको छ ।

यसअघि एक हजार दुई मिटर खण्ड कालोपत्र भइसकेको छ । कूल १६ किमी सडकको बाँकी खण्ड कालोपत्र गर्न लागिएको हो । छिम्केश्वरीसम्म पुग्ने सडक कालोपत्र भएपछि मन्दिर दर्शन गर्न जाने भक्तजनको सङ्ख्यामा वृद्धि हुने विश्वास गरिएको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिकाले एमबिबिएस अध्ययनका लागि एक छात्रलाई छात्रवृत्तिस्वरुप रु ११ लाख ६६ हजार सहयोग गरेको छ ।

आँबुखैरेनी गाउँपालिका–१ निवासी दीपक दवाडीका छोरा दिक्षण दवाडीलाई अध्ययनका लागि गाउँपालिकाले पहिलो किस्ताबापत रु ११ लाख ६६ हजार सहयोग गरेको हो ।

छात्रवृत्ति प्रदान

उक्त रकमको चेक गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले शुक्रबार दवाडीलाई हस्तान्तरण गर्नुभयो । गाउँपालिकाले दवाडीलाई कूल रु ३५ लाख प्रदान गर्नेछ । पहिलो किस्ताबापतको रकम शुक्रबार हस्तान्तरण गरिएको अध्यक्ष चुमानले बताउनुभयो ।

गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९÷८० को नीति, कार्यक्रम तथा बजेटमा उल्लेख भएबमोजिम ती विद्यार्थीलाई एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिएको छ । चिकित्साशास्त्रमा स्नातक तह (एबिबिएस) अध्ययन गर्ने विद्यार्थीसँग छात्रवृत्ति करार सम्झौता गरी छात्रवृत्तिमा अध्ययनको व्यवस्था मिलाइएको अध्यक्ष चुमानले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अध्ययनपश्चात् अनिवार्यरुपमा दुई वर्ष आँबुखैरेनी अस्पतालमा सेवा गर्नुपर्ने शर्त राखिएको छ ।” गाउँपालिकाले गत मङ्सिरदेखि आँबुखैरेनी अस्पताल सञ्चालनमा ल्याएको छ ।

छात्रवृत्तिका लागि गाउँपालिकाले छात्रवृत्तिसम्बन्धी सूचना आह्वान गरेकामा छनोट समितिको सिफारिसबमोजिम दवाडीलाई पहिलो किस्ताबापतको रकम प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । छात्रवृत्ति प्राप्त गर्ने दवाडीले यो रकमले आफ्नो अध्ययनमा ठूलो टेवा मिलेको बताउनुभयो ।

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेको हो ।

सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो । पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अठ्ठाइस घण्टा लगाएर पहिरो पन्छाएसँगै रोकिएर राखिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको समयमा पुनः पहिरो खसेसँगै यस सडक भएर यात्रा गर्ने यात्रु अलपत्र परेका छन् । पहिरो पन्छाउने काम सुरु गरिएको छ । सो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवतजावत गर्ने गर्दछन् ।

बैङ्कको ब्याजदर एकल अङ्कमा सीमित हुनुपर्छ : अध्यक्ष ओली

रत्ननगर – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बैङ्कको ब्याजदर एकल अङ्कमा सीमित हुनुपर्ने बताउनुभएको छ । 

चितवनका उद्योगी व्यवसायीले शुक्रवार साँझ भरतपुरमा आयोजना गरेको छलफलका क्रममा अध्यक्ष ओलीले बैङ्कले दुई अङ्कको ब्याजदर लिनु राम्रो नभएको बताउनुभयो । 

“बैङ्कले आठ–नौ प्रतिशत लिँदै आएको ब्याजदर १५ प्रतिशतमाथि पुर्‍याएका गुनासो सुनेको छु”, ओलीले भन्नुभयो, “यसरी बैङ्कले दुई अङ्कको ब्याजदर लिनु राम्रो होइन ।” 

बैङ्कले लगानी गरेको ऋणबारे अनुगमन गर्नुपर्ने भन्दै उहाँले ऋणी र बचतकर्ताप्रति बैङ्क उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो । “ऋण लगानी गर्‍यो, ब्याज आउँछ भनेर बैङ्क तथा वित्तीय संस्था बस्ने गरेका छन्”, उहाँले भन्नुभयो, “ब्याज प्राप्त नभए राम्रो सम्पत्ति लिलाम गर्न पाइन्छ भन्ने उनीहरूको मानसिकता छ, त्यो ठिक होइन ।” 

बैङ्कले एकतर्फी रूपमा ब्याजदर बढाउनु पनि मिटरब्याजी भएको ओलीले टिप्पणी गर्नुभयो । “गाउँको लेनदेन मिटरब्याज भयो तर बैङ्कको किन हुँदैन ?” अध्यक्ष ओलीले प्रश्न गर्नुभयो । बैङ्कहरूका कारण अहिले उद्योग व्यवसाय धमाधम बन्द हुन थालेका भन्दै उहाँले उद्योगी व्यवसायीको संरक्षण गर्नु राज्यको दायित्व भएको बताउनुभयो ।

छलफलका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय सदस्य एवं पोल्ट्री व्यवसायी डा तिलचन्द्र भट्टराईले सरकारको नीति र बैङ्कको ब्याजदरका कारण चितवनमा अहिले ४० प्रतिशत उद्योग मात्रै सञ्चालनमा रहेको बताउनुभयो । 

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले राज्यले ल्याएको नीतिका कारण उद्योगी व्यवसायीलाई खराब ऋणीको रूपमा स्थापित गराउन खोजेको गुनासो गर्नुभयो । 

उद्योग वाणिज्य सङ्घ चितवनका पूर्व अध्यक्ष रमेशकुमार पियाले राज्यले उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्ने बताउनुभयो । 

अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा

तनहुँ / व्यास नगरपालिका(७) शेषमटारमा समता विद्यालय स्थापना गरी अभिभावकविहीन पैँतालिस बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आएको छ ।

खान र बस्नसहितको शिक्षाका लागि नगरपालिकाले अभिभावकत्व ग्रहण गर्दै साहाराविहीन बालबालिकालाई साहारा दिएको हो । शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिका वञ्चित हुन नपरोस् भनी नगरपालिकाले उक्त विद्यालय स्थापना गरी आवाससहितको शिक्षा प्रदान गरेको हो ।

नगरपालिकाले बस्ने, खाने, पढ्ने र सुत्नेसहितको सुविधा प्रदान गरेपछि बालबालिका खुसी छन् । बालबालिकालाई चाहिने कापी कमल, पोसाक, झोला, खाने तथा बस्ने सबै नगरपालिकाले व्यवस्था गरेको छ । विद्यार्थी अभावले गर्दा क्यामिन छापथोक प्राथमिक विद्यालय बन्द भएपछि नगरपालिकाले रु ४० लाख खर्चेर विद्यालयको मर्मतसम्भार गरी विसं २०७९ भदौ ५ गतेदेखि व्यास नगर समता विद्यालय सञ्चालनमा ल्याएको हो ।

साहाराविहीन भएका कतिपय बालबालिका सडकमा भौँतारिएर हिँड्ने गरेकाले पढ्ने, लेख्ने अधिकारबाट वञ्चित हुने तथा कुपोषण हुने गरेकाले व्यास नगर समता विद्यालय सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ । कक्षा १ देखि ६ सम्म पढाइ भइरहेको विद्यालयका प्रधानाध्यापक अर्जुन सुनारले जानकारी दिनुभयो ।

हाल सो विद्यालयमा शिक्षक र कर्मचारी गरी १० जना छन् भने सबै कक्षामा अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुने तथा हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप गर्ने गरिएको छ । नगरपालिकाले अभिभावकविहीन बालबालिकाको संरक्षकत्व गरेकामा स्थानीय बासिन्दा खुसी भएका छन् । यस उदाहरणीय कार्यको अन्य पालिकालेसमेत सिको गर्नुपर्ने आवश्यक देखिएको छ ।

विद्यालय सञ्चालनमा आएपछि अनाथ, असहाय, विपन्न, सहिद, बेपत्ता, कोरोनाबाट मृत्यु भएका घरपरिवारका बालबालिकाले अध्ययन गर्न पाएका छन् । कक्षा ३ मा पढ्दै आएका साजन नेपालीले विद्यालयको मैत्रीपूर्ण वातावरणमा पठनपाठन हुँदा सिक्न र पढ्न सहज भएको बताउनुभयो ।

उक्त विद्यालयको भौतिक संरचना र शैक्षिक क्षेत्रको विकासका लागि नगरपालिकाले गत वर्ष रु एक करोड विनियोजन गरेको नगरपालिकाले जनाएको छ । विद्यालयको भवन, कम्पाउण्ड, गार्ड र केही शिक्षकको व्यवस्थापनका लागि उक्त लगानी गरिएको हो । वडा नं ७ का बाबुआमा नभएका भक्त दरै र बहिनी गायत्री दरै पढ्न पाएकामा निकै खुसी हुनुहुन्छ ।

अध्ययनबाट वञ्चित हुनुपरेका अभिभावकविहीन बालबालिकाले लगनशील भएर अध्ययन गरेको देख्दा खुसी लागेको व्यास–१० का वडाध्यक्ष खेमराज पोखरेलले बताउनुभयो । उक्त विद्यालयमा पढाउने समय तालिका छ, त्योभन्दाबाहेक उनीहरूलाई अनुशासित र लगनशील बनाउन गरिने क्रियाकलाप प्रभावकारी छ । खाजा खान र बस्ने सुत्ने व्यवस्था पनि व्यवस्थित बनाइएको छ ।

व्यास–९ स्थित बसाहस्थान माध्यमिक विद्यालयमा कक्षा ६, ७, ८, ९ र १० मा आवासीय विद्यार्थी भर्ना गरी समता विद्यालय सञ्चालन गर्न अनुमति दिने निर्णय गरिएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । हाल कक्षा ६ सम्म सञ्चालनमा ल्याइएको र क्रमशः कक्षा थप गर्दै लैजाने योजनाअनुरुप नगरपालिका अघि बढेको उहाँले जानकारी दिनुभयो । पढ्ने अवसरबाट वञ्चित भएका असहाय बालबालिकालाई नगरपालिकाले ज्ञान आर्जन गर्ने थलो बनाएपछि समता विद्यालय नमुना विद्यालय बन्दै गएको नगरप्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

स्वास्थ्यचौकीमा औषधि अभाव

मुगु / मुगुको सोरु गाउँपालिकास्थित खनाया स्वास्थ्यचौकीमा औषधिको अभाव देखिएको छ । एक चक्की सिटामोलसमेत पाउन मुस्किल पर्ने अवस्था देखिएको अनुगमनका क्रममा भेटिएको हो ।

दैनिक १० देखि २० जनासम्म बिरामी उपचार गर्न स्वास्थ्यचौकीमा आउने गरे पनि औषधि नपाई रित्तै घर फर्किन बाध्य भएको गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले जानकारी दिनुभयो । मङ्गलबार दिउँसो अनुगमनको क्रममा खनाया स्वास्थ्यचौकीमा पुग्दा औषधि अभाव भएको देखिएको उहाँको भनाइ छ ।

“औषधि अभाव छ, आपूर्ति पनि हुन सकेको छैन । बिरामीलाई कसरी उपचार गरौँ”, अनमी तुल्सा विश्वकर्माले भन्नुभयो, “औषधि न पालिकाले दिन्छ न त जिल्ला स्वास्थ्यबाट नै आउँछ ।”

औषधिका लागि जिल्ला स्वास्थ्य कार्यालय र पालिका स्वास्थ्य शाखामा माग गर्दा पनि हालसम्म औषधि नआएको उहाँले गुनासो गर्नुभयो । “स्वास्थ्यचौकीमा ९८ प्रकारका औषिध हुनुपर्नेमा १० प्रकारका पनि औषधि छैनन्”, उहाँले भन्नुभयो ।

पालिकाले औषधि खरिदमा पर्याप्त बजेट नछुट्याउँदा र जिल्ला स्वास्थ्य कार्यालयले औषधि उपलब्ध नगराउँदा दुर्गम बस्तीका स्वास्थ्य केन्द्रमा औषधिको चरम अभाव हुने गरेको छ । सोरु गाउँपालिकाका स्वास्थ्य संयोजक चरित्र धामीले भन्नुभयो, “केही दिनभित्रै जिल्ला स्वास्थ्य कार्यालयबाट आएको औषधि र पालिकाले खरिद गरी अन्य स्वास्थ्यचौकीमा पठाइनेछ ।”

उक्त स्वास्थ्यचौकीमा औषधिका साथै बीपी सेट, थर्मोमिटरलगायत उपकरणको पनि अभाव भएको छ । उक्त स्वास्थ्यचौकीमा हाल सात जना कर्मचारी कार्यरत भए पनि हाल चार जना मात्र उपस्थित हुने गरेको स्थानीयको भनाइ छ ।

विषालु च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमान् सिकिस्त

ओखलढुङ्गा / विषालु च्याउ खाँदा ओखलढुङ्गामा एक जनाको मृत्यु भएको छ । बारीमा पलाएको च्याउ खाँदा चिशङ्खुगढी गाउँपालिका–७ डाँडागाउँकी २४ वर्षीया कल्पना शर्माको ज्यान गएको हो । च्याउ खाँदा कल्पनाका श्रीमान् पर्शुराम खतिवडा सिकिस्त बिरामी भएका छन् ।

यही असार ७ गते बारीमा पलाएको च्याउ पकाएर खाँदा दुवै जना बिरामी परेका थिए । जङ्गली च्याउ खाएर गम्भीर बिरामी परेका दम्पतीलाई उपचारका लागि नभएपछि काठमाडौँको टिचिङ अस्पताल पठाइएको थियो ।

अस्पतालमा उपचाररत श्रीमती शर्माको बिहीबार राति मृत्यु भएको र श्रीमान् पर्शुराम खतिवडाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।

जिल्लामा वर्षाको समयमा च्याउ जताततै उम्रिने गरेको छ । खेतबारी र जङ्गलमा उम्रिने विभिन्न प्रकारको च्याउमध्ये विषालु च्याउ छुट्याउन नसक्दा त्यस्तो च्याउ खाएकै कारण बिरामी पर्ने र मृत्युसमेत हुने गरेको छ । गत वर्ष जिल्लाको चम्पादेवीमा दुई जनाको जङ्गली च्याउ सेवन गरेकै कारण मृत्यु भएको थियो ।

मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा पुग्यो

काठमाडौँ / मलेसियामा जारी एसिसी इस्ट जोन यू–१६ कप क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली मलेसियालाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले मलेसियालाई ८४ रनले पराजित गर्दै सेमिफाइनलका लागि यात्रा तय गरेको हो । यस जितसँगै नेपाल समुुह ए को विजेतासमेत बन्यो ।

नेपालले मलेसियालाई एक सय ८४ रनको लक्ष्य दिएकामा जवाफमा मलेसिया ३० दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ९९ रनमा समेटियो । मलेसियाका लागि मोहम्मद हैरिलले ५४ बलमा २५ रन बनाए ।

त्यस्तै कप्तान मोहम्मद आलिफले १५ रन जोडे भने मुहम्मद अक्रमले १२ रन बनाए । त्यसबाहेक अन्य ब्याटसम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपालका लागि अशोक धामीले चार विकेट लिए भने कप्तान अभिषेक तिवारीले तीन विकेट लिए । त्यस्तै सन्तोष यादवले दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३३ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ८३ रन बनाएको थियो । नेपालका लागि अशोक धामीले सर्वाधिक ५२ रनको योगदान दिए । सुर्यांशु कोइराला र नरेन भट्टले समान २९ रन बनाए । त्यस्तै दीप भुजेलले १५ रन जोडे । निरजकुमार यादव आठ रनमा आउट भए ।

मलेसियाका लागि मोहम्मद मुकरी, एरिन एकवाल, हरिक हाइकाल र मुहम्मद अक्रमले समान दुई÷दुई विकेट लिए भने मोहम्मद फतुलले एक विकेट झारे । यसहारसँगै मलेसिया समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो । नेपालले पहिलो खेलमा थाइल्यान्डलाई दुई सय २५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

अब काठमाडौँको मनोरम दृश्य कमलादीको स्काइवाकबाट

काठमाडौँ। एक सय ३४ वर्षअघि फ्रान्सको पेरिसमा निर्मित आइफल टावर फ्रान्सका लागि आजसम्म ‘आइकन’ बनेको छ । पेरिसको यही आइकन हेर्न संसारभरबाट बर्सेनि पाँच करोडभन्दा बढी पर्यटक फ्रान्स भित्रिन्छन् । फ्रान्सको पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका खेलेको यस आइकन हेर्नमात्रै दैनिक २५ हजार व्यक्तिले औसतमा १० करोड टिकटमै खर्चिन्छन् ।

फ्रान्सको आइफल टावरमात्रै होइन, पर्यटक आकर्षित गर्न दुबईमा बुर्ज खलिफा, इटालीमा लिनिङ टावर, जापानमा स्काइट्रीलगायत विश्वका कैयन् देशले यस्ता संरचना बनाएका छन् । ती संरचनामार्फत ती देशले विदेशी पर्यटक भित्र्याएका छन् र विदेशी मुद्रा पनि आर्जन गरिरहेका छन् । नेपालबाट पनि बर्सेनि ठूलो सङ्ख्यामा पर्यटक आइफल टावर र बुर्ज खलिफालगायतका संरचना हेर्न जाने गरेका छन् ।

अब भने यस्ता अग्ला टावरबाट सहर नियाल्ने अवसर नेपालमै पनि प्राप्त हुने भएको छ । सहरका गगनचुम्बी भवनभन्दा माथि ‘स्काइवाक’ गर्दै सहरको तीन सय ६० डिग्रीमा भ्यू हेर्न नेपालमै पाइने भएको छ ।

काठमाडौँ कमलादीमा दुई वर्ष लगाएर निर्माण गरिएको यस स्काइवाक टावरको आज ‘सफ्ट ओपनिङ’ हुँदैछ । अर्थात् सर्वसाधारणले आजदेखि टिकट काटेर अवलोकन गर्न पाउने भएका छन् ।

कुल ७८ दशमलव पाँच मिटर अग्लो यस टावरमा रु दुई अर्ब लगानी भएको निर्माता कम्पनी वन्डर नेपाल प्रालिका अध्यक्ष आविष्कार पोख्रेलले जानकारी दिनुभयो । “टावरमाथि सिसामा हिँड्दा आकाशमा हिँडेजस्तो महसुस हुन्छ, यसप्रकारको संरचना नेपालमा पहिलोपटक निर्माण गरिएको हो”, उहाँले भन्नुभयो ।

कमलादीस्थित गणेश मन्दिर छेउको यस टावरबाट उपत्यकाको तीन सय ६० डिग्रीमा दृश्यावलोकन गर्न सकिन्छ । टावरबाट उपत्यका सहर हेर्नेमात्रै होइन १८, १९ र २०औँ तलामा निर्मित ‘एम्पिथिएटर’ रेष्टुराँमा खानपिन गरेर समय बिताउन पनि सकिन्छ ।

टावरको २१औँ तलामा उभिएर छेवैको एक सय वर्षभन्दा बढी पुरानो त्रिचन्द्र क्याम्पस, रानीपोखरी र घन्टाघरको ‘एरियल भ्यू’ हेर्दा निकै रोमाञ्चक लाग्छ । त्यति नभएर अलिक पर समानन्तर उभिएको धरहरा, टुँडिखेलका साथै अग्ला भवनहरू पनि हेर्न पाइन्छ । टावर धरहराभन्दा करिब १६ मिटर अग्लो छ । टावरबाट केही किलोमिटरको दूरीमा रहेको स्वयम्भू स्तुपा नजिकै लाग्छ । साथमा उपत्यकालाई छेकिरहेका पहाडलाई नजिकैबाट नियाल्न सकिन्छ ।

हाल स्काइवाकमात्रै निर्माण गरिए पनि दोस्रो चरणमा यहाँ बञ्जी र स्वीङलगायतका पर्यटकीय संरचना पनि थप्ने योजना रहेको अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो । टावरदेखि १८औँ तलासम्म जानका लागि दुईवटा लिफ्टको व्यवस्था गरिएको छ । जहाँ ३० सेकेन्डमै माथि पुग्न सकिन्छ । दुईवटा लिफ्टबाट २४ जनाका दरले एकैपटकमा ४८ जना माथि जान सकिन्छ ।

सबैभन्दा माथिल्लो तलामा रहेको डेक एरियामा एकैपटकमा पाँच सयभन्दा बढी अट्ने गरी बनाइएको कम्पनीका सञ्चालक तेजबहादुर सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार टावरका तीन तलाका रेष्टुराँमा एकैपटक एक हजार जनाभन्दा बढी बस्न सक्ने गरी संरचना निर्माण गरिएको छ र टावरमाथि नै शौचालयको व्यवस्था पनि गरिएको छ ।

स्काइवाकका लागि सिसा राखिएको तलाभन्दा माथि नेपालको झन्डा फहराइएको छ । त्यहाँ पुग्नका लागि अतिरिक्त शुल्क तिर्नुपर्ने हुन्छ र एकपटकमा दुई जनाभन्दा बढी जान मिल्दैन ।

कुल १३ रोपनी दुई आनामा फैलिएको क्षेत्रफलमा पार्किङको सुविधाका साथै बगैँचा पनि अवलोकन गर्न सकिन्छ भने सोही परिसरमा रहेका ३६ वटा सटरमा रेष्टुराँलगायतका सुविधा पनि उपलब्ध हुनेछन् । कम्पनीका अनुसार माथिल्लो तलामा प्रयोग भएको सिसालाई पाँच तहमा राखिएको छ । सबैभन्दा मुनि १० एमएम आकार र त्यसमाथि एक दशमलव पाँच एमएम, १० एमएम, एक दशमलव पाँच एमएम र फेरि १० एमएमको सिसा प्रयोग गरिएको छ ।

स्काइवाकका लागि कम्पनीले टिकटका लागि प्रतिव्यक्ति रु एक हजार तोकेको छ । तीन फिटभन्दा कम उचाइ भएका र ८० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई टिकट लाग्ने छैन भने ७० देखि ८० वर्ष उमेर समूहका व्यक्तिलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । टिकट स्काइवाक नेपाल डट कम अनलाइनबाट पनि लिन सकिन्छ । कम्पनीले हाललाई बिहान ८ः०० देखि राति ८ः०० बजेसम्ममात्रै स्काइवाक खुल्ने जानकारी दिएको छ ।

कम्पनीमा करिब ९० जना सेयरधनी रहे पनि सञ्चालकमा आविष्कार पोख्रोल, लोकनाथ अधिकारी, विष्णु काप्री, खेम न्यौपाने र तेजबहादुर सिंह हुनुहुन्छ । कम्पनीले यसअघि इलामको कन्याममा स्काइवाक सञ्चालनमा ल्याइसकेको छ भने धनकुटाको भेडेटारमा पनि स्काइवाक निर्माण गर्दैछ ।

कालीकोटमा कालाजारका बिरामी भेटिए

मान्म – कालीकोटका पाँच स्थानीय तहमा कालाजारका बिरामी भेटिएका छन् । पचालझरना, पलाता, सान्नित्रिवेणी, रास्कोट र नरहरिनाथमा कालाजारका बिरामी फेला परेका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतका अनुसार यस वर्ष आठ महिला र १२ पुरुष गरी २० कालाजारका बिरामी फेला परेका छन् ।

यसको उपचार सदरमुकाम मान्मस्थित जिल्ला अस्पतालमा हुने गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा ४३ तथा आव २०७८/७९ मा २८ कालाजारका बिरामी फेला परेका उनले जानकारी दिए ।

जलवायु परिवर्तनका कारण पहाडी जिल्लामा कालाजारको असर देखिन थालेको जिल्ला अस्पतालका प्रमुख डा. सङ्केत विश्वकर्माले बताए ।

‘पहिला तराईमा मात्र देखिने कालजार र ओलौरोग पछिल्लो समय पहाडी जिल्लामा समेत देखिन थालेको छ’, उनले भने–’तापक्रममा वृद्धि भएसँगै लामखुट्टे बढ्दा यो रोग देखिएको हो ।’

आलमदेवी मन्दिर महिलाका लागि खुला

गल्याङ- शाह वंशको कूल मन्दिरका रूपमा परिचित ‘आलमदेवी’मा कुनै समय महिलालाई प्रवेश निषेध थियो । महिलालाई मन्दिर प्रवेशमा रोक लगाउन एउटा व्यक्ति नै खटाइएका हुन्थे । हिजाआज भने मन्दिर महिलाका लागि समेत खुला गरिएको छ ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ स्थित आलमदेवी मन्दिर शाह वंशको कूलदेवता र कूल मन्दिरका रूपमा चर्चित छ । आलमदेवी मन्दिर १३५० सालमा स्थापना भएको हो । यो मन्दिरको शक्तिपीठमध्ये बेग्लै पहिचान र धार्मिक विशेषता छ । मन्दिरमा ठकुरी महिलालाई प्रवेश खुला गरिएको थियो । उनीहरूलाई मन्दिरभित्र पसेर पूजा, दर्शन तथा भेटी चढाउन छुट थियो । तर ठकुरीबाहेकका महिलालाई मन्दिर प्रवेशमा निषेध गरिएको थियो । मन्दिर प्रवेश गर्न रोक लगाइएका कारण अन्य महिला बाहिरबाटै दर्शन एवं पूजा गर्दै आएका थिए । उनीहरूले ल्याएको भेटी मन्दिरका पुजारीलाई अथवा आफूसँग आएका पुरुषलाई भित्र चढाउन दिने चलन थियो ।

आलमदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रित थापाले पहिला–पहिला एक जना राखेर ठकुरीबाहेकका महिलालाई मन्दिर प्रवेशमा रोक लगाउने गरिएको बताउनुभयो । “हिजोआज सबै महिलाका लागि मन्दिर खुला गरिएको छ”, उहाँले भन्नुभयो, “ठकुरीबाहेकका महिला मन्दिरमा प्रवेश गर्दा अनिष्ट हुन्छ भन्ने सुनिन्थ्यो, हिजोआज बाहिरबाट आएका महिला सहजै भित्र पस्छन्, पहिलाको चलनबारे थाहा पाएका महिला अझै पनि मन्दिर छिर्दैनन् ।”

अध्यक्ष थापाका अनुसार मन्दिरको सुरुआतदेखि नै चुडाकर्म गरेका रानामगर पुजारी छन् । यहाँ दशैँको नवमीका दिन डेढ घन्टा लामो यज्ञ र नवदुर्गाका विशेष पूजासहित सरकारी पञ्चबलि चढाउने चलन छ । “आलमदेवीमा राँगो, बाख्राको पाठो, कुखुरा, परेवा र भेडालाई बलि चढाइन्छ, भेडा नभए कुभिण्डो प्रयोग गरिन्छ”, उहाँले भन्नुभयो ।

कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले शाह वंशीय राजाले छाडिदिएको राँगोलाई स्थानीयले बलि चढाउने इतिहास रहेको बताउनुभयो । “पछिल्लो समय राँगो छाड्ने परम्परा हटेको छ”, उहाँले भन्नुभयो, “गुठी संस्थानको रु ८४ हजार बजेटमार्फत मन्दिरको व्यवस्थापन हुँदै आएको छ ।” आलमदेवी मन्दिरमा तीन सय ६५ दिन नै पूजा हुने गरेको छ । यहाँ एकादशी, औँसी, साउन १ गतेदेखि नागपञ्चमी र सोह्रश्राद्धमा बाहेकका दिन बलि चढाउने गरिएको छ ।

पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन – पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । हिजो दिउँसोदेखि बन्द रहेको उक्त सडक अझै खुल्न सकेको छैन । आज बिहानसम्म पनि पहिरो पन्छाउन सकिएको छैन ।

चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि बिहीबार दिउसोदेखि सडक बन्द भएको हो । त्यसपछि सुक्खा पहिरो खसे क्रम जारी छ । पन्छाउने तयारी गरिए पनि पहिरो खस्ने क्रम जारी रहेकाले बाधा पुगेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभयो । उहाँले पहिरो झरेर पहाड बनेको र पन्छाउन छ-सात घन्टा लाग्ने बताउनुभयो ।

“दिनभर पहिरो पन्छाएर पनि सडक सञ्चालन गर्न सक्ने अवस्था छैन”, तामाङले भन्नुभयो । पहिरो झर्ने क्रम नरोकिएपछि बिहीबार राति पन्छाउने काम हुनसकेको थिएन । पहिरो पन्छाउनका लागि डोजर तयारी अवस्थामा राखिएको छ । सडकमा गाडीको लामो लाइन लागेको छ । सयौँ यात्रु समस्यामा छन् ।

काठमाडौँबाट भरतपुरतर्फ आएका सवारीसाधन मुग्लिन र कुरिनटार क्षेत्रमा रोकिएका छन् भने नारायणगढबाट काठमाडौँ, पोखरातर्फ जाँदै गरेका सवारीसाधन जलबिरे क्षेत्रमा रोकिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आज यात्रा गर्ने यात्रुलाई वैकल्पिक राजमार्ग प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ । बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पटक–पटक पहिरो जाने र बाटो बन्द हुने गरेको छ ।

राष्ट्रियसभा बैठक, विनियोजन विधेयक प्रस्तुत हुने

काठमाडौँ  – राष्ट्रियसभा बैठक बस्दै छ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा दिउँसो २ः३० बजे राष्ट्रियसभा बैठक बस्न लागेको हो । 

आजको बैठकमा राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले विनियोजन विधेयक २०८० को सबन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्नेछन् भने अर्थमन्त्री डा.प्रकाश शरण महतले विनियोजन विधेयक २०८० बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्य सुची रहेको छ ।

यसैगरी, विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वविद्यालय विधेयक २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ भने भने त्यसलाई पारित गरियोस् भन्ने प्रस्ताव शिक्षा मन्त्री अशोक राईले गर्ने कार्यसूचीमा उल्लेख छ । 

मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि दफावार छलफल हुने र सो विधेयक पारित गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । 

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ र बिक्री दर १३१ रुपैयाँ ६० पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४३ रुपैयाँ ०८ पैसा र बिक्री दर १४३ रुपैयाँ ७३ पैसा रहेको छ ।

यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ७९ पैसा र बिक्री दर १६६ रुपैयाँ ५५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

आज धान दिवस मनाइँदै

काठमाडौँ – आज धान दिवस मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।

पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रुप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा धान दिवस राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।

देशभर वर्षाको सम्भावना

काठमाडौँ – मनसुन सक्रिय रहेकाले देशको अधिकांश स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त मनसुनी वायुको प्रभावले आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही कोशी, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागद्वारा जारी बुलेटिनमा उल्लेख छ ।

गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ । राति देशभर सामान्यदेखि पूर्णतया बदली भई कोशी, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसका साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित भारीदेखि भारी वर्षाको सम्भावना छ ।

भारी वर्षाको सम्भावना रहेकाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्र प्रभावित हुनसक्ने तसर्थ भारी वर्षा, मेघगर्जन÷चट्याङ, हावाहुरी, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

समाज रुपान्तरणको अभिभारा अझै पूरा भइसकेको छैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं –  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज रुपान्तरणको अभिभारा अझै पूरा भइनसकेको बताउनुभएको छ। 

बिहीबार काठमाडौंमा मदन भण्डारीको ७२ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले  समाज रुपान्तरणको अभिभारा पूरा गर्न लामो यात्रा तय गर्न बाँकी नै रहेको बताउनुभयो । 

भण्डारीले जनताको जीवनमा सम्पूर्ण रुपमा परिवर्तन ल्याउने, समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पनाको दायित्व पूरा भइनसकेको पनि  बताउनुभयो । 

राजनीतिक रुपमा केही संरचनागत परिवर्तन भए पनि यसमा पर्याप्त सुधार, परिवर्तन तथा रुपान्तरणका सम्भावनाहरु बाँकी नै रहेको उहाँले बताउनुभयो । 

‘समाज रुपान्तरणको हाम्रो अभिभारा पूरा भइसकेको छैन। यसका लागि धेरै लामो यात्रा तय गर्न बाँकी नै छ। जनताको जीवनमा सम्पूर्ण रुपमा परिवर्तन ल्याउने, समृद्ध नेपाल, सुखी नेपालीको जुन परिकल्पना छ, त्यसको दायित्व पूरा भइसकेको छैन । राजनीतिक रुपमा केही संरचनागत परिवर्तन भएका छन् । तर नेपाली क्रान्ति सम्पन्न भइसकेको छैन’, उहाँले भन्नुभयो, ‘केवल सुरुवात भएको छ। यसमा पर्याप्त सुधार, परिवर्तन तथा रुपान्तरणका सम्भावना बाँकी नै छन्। हामीले जनताबीच गएर ती सम्भावनाको खोजी गर्नुपर्छ।’
 

राजनीतिक अस्थिरताको पक्षमा हामी छैनौँ : सभापति लामिछाने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरु राजनीतिक अस्थिरताका पक्षमा नरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्नुहुँदै उहाँले रास्वपा मुलुकमा अस्थिरता नहोस् भन्ने पक्षमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी अस्थिरताको खेलमा छैनौँ । मुलुकमा अस्थिरता नहोस् भन्ने हाम्रो चाहना हो ।” रास्वपा अहिले सङ्गठन निर्माणका क्रममा रहेको उहाँको भनाइ थियो । सङ्गठन निर्माणसँगै रास्वपाले सरकारका कामप्रति निरन्तर खबरदारी गरिरहने उहाँले बताउनुभयो ।

फरक प्रसङ्गमा उहाँले सरकारले ल्याएको बजेट पास भए पनि यसले जनताको चाहनाअनुसार काम गर्न नसक्ने टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले मुलुकको जुन अवस्था छ । अवस्था सुहाउँदो बजेट बनोस् भन्ने हाम्रो चाहना थियो । तर त्यो हुन सकेन ।” बजेट संसद्बाट पास हुनुलाई स्वाभाविकरुपमा लिएको बताउँदै उहाँले अहिलेको बजेट नियमित बजेट जस्तो भएको बताउनुभयो ।

उहाँले थप्नुभयो, “अहिलेको बजेटबाट व्यापारी, वैदेशिक दातृ निकायलगायतका संस्था खुसी हुन सकेका छैनन् ।” इतिहासमा पहिलो पटक मतदानबाट बजेट पास भएको बताउँदै उहाँले नागरिकको आवश्यकता सम्बोधन गर्न सरकारलाई आग्रह गरिरहने बताउनुभयो ।

कांग्रेससँग नयाँ सरकारका विषयमा कुरा भएको छैन : अध्यक्ष ओली

चितवन – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार निर्माणका विषयमा कुनै कुरा नभएको बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकार गठनका विषयमा कांग्रेससँग कुनै कुरा नभएको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, “कांग्रेससँग मैले प्रस्ताव गरेको छैन, कांग्रेसले पनि मलाई प्रस्ताव गरेको छैन । तपाईं (पत्रकार)मार्फत जानकारी पाइरहेका छौँ ।” पार्टीका दोस्रो तहका नेतामार्फत कुराकानी गरिएको भन्ने विषय आफूलाई जानकारी नभएको बताउनुभयो ।

अर्काे एक प्रश्नमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले पशुपतिनाथ मन्दिरको जलहरीको सुन आफ्नो विषय नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “आफू सरकार प्रमुख हुँदा पशुपति क्षेत्र विकास कोषलाई रकम दिने मात्र निर्णय गरेको हो ।” यस विषयमा संसद् र सञ्चारमाध्यममा केही दिन चर्चा भएको भन्दै उहाँले भन्नुभयो, “एक जनाले भनेको सुनियो, सुन होइन, पित्तल चढाएको, त्यहाँ पनि भ्रष्टाचार भएको छ । अलिक दिन त्यसले पनि मार्केट पायो ।” केही दिनपछि ११ किलो सुन कहाँ गयो ? भन्ने प्रश्न आएको भन्दै उहाँले प्रतिप्रश्न गर्नुभयो, “यो मेरो विषय हो र तपाईंहरुले मलाई सोधेको ?”

असार १५ असारमा धान दिवस मनाउन यहाँ आउनुभएका ओलीलाई धान दिवस मनाउन चितवन नै किन रोज्नुभएको हो भन्ने पत्रकारको प्रश्नमा भन्नुभयो, “राम्रो धान फल्ने जिल्ला भन्ने सुनेको छु, कृषिलाई आधुनिकीकरण गर्नुपर्यो, कृषि विश्वविद्यालय यही छ । विश्वविद्यालयले कृषिको विकासका लागि योगदान गर्नुपर्यो ।” यहाँको जमिन उर्वर भएको भन्दै उहाँले यसलाई अधिकतम प्रयोग गर्नुपर्ने बताउनुभयो ।

नेपालले विदेशी लगानीलाई प्रोत्साहन, प्रवर्द्धन एवं संरक्षण गर्ने नीति लिएको छ : उपप्रधानमन्त्री श्रेष्ठ

छेन्दु । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको लगानी प्रणालीमा उल्लेख सुधार गरी विदेशी लगानीलाई प्रोत्साहन, प्रवर्द्धन एवं संरक्षण गर्ने नीति लिएको जानकारी दिनुभएको छ । चीनको सिचुवान प्रान्तको छेन्दुमा आयोजित १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलाको उद्घाटनसत्रलाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो, “प्रत्यक्ष वैदेशिक लगानीलाई मध्यनजर गर्दै नेपालले व्यापार र लगानीमैत्री नीति अवलम्बन गरेका छौँ, लगानी गर्नुहोस् ।”

नेपालमा लगानीका अवसरबारे जानकारी गराउँदै उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “हाम्रो कर स्ल्याबहरू सबभन्दा कम छन्, व्यापारका लागि पनि उपयुक्त वातावरण छ । त्यसैले नेपालको जलविद्युत्, पर्यटन, कृषि, खनिज, खानीलगायतका क्षेत्रमा लगानीका अवसरहरू छन् ।” उहाँले नेपालको कानुनले लगानीबाट आर्जन गरेको आम्दानीलाई लगानीकर्ताको देशमा लैजानका लागि पूर्णरूपमा अनुमति दिएको पनि स्पष्ट पार्नुभयो । 

वैदेशिक लगानीका सम्बन्धमा पछिल्लो समय नेपालले लिएको नीतिबारे जानकारी गराउँदै उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “नेपालमा दर्ता भएका विदेशी कम्पनीहरूले जग्गा खरिद, स्वामित्व लिन र बिक्री गर्न पनि सक्नेछन्, स्वदेशी र विदेशी लगानीलाई कुनै भेदभाव गरेको छैन । निजी उद्योगलाई राष्ट्रियकरण गर्ने नीति पनि छैन ।” पछिल्लो समय सुधार भएका कानुनले व्यवसाय प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास दिलाउँदै उहाँले श्रम कानुनलाई सुधारेर कम खर्चिलो जनशक्ति उपलब्ध गराउने नीति लिइएको जानकारी दिनुभयो ।

प्रत्यक्ष वैदेशिक लगानी (एफडिआइ)को सञ्चालनका लागि प्रक्रियामा सरलता कायम गर्नका लागि आफूहरू गम्भीर भएर लागिपरेको बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “एफडिआइको स्वचालित स्वीकृतिका लागि आवश्यक नियमहरू विकास गर्दैछौँ ।” उहाँले चीनका साथै सम्मेलनमा सहभागी हुन छेन्दु आएका विदेशी उद्योगी व्यवसायीलाई नेपालमा रहेको लगानीको अवसरबाट फाइदा लिन पनि आह्वान गर्नुभयो । 

पछिल्लो समय नेपालमा विकास भएका लोकतान्त्रिक पद्धतिको स्थायित्व र संस्थागत विकासका लागि पनि नेपालमा वैदेशिक लगानी आवश्यक भएको जानकारी गराउँदै उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “ऐतिहासिक शान्ति प्रक्रिया, लोकतान्त्रिक राजनीतिक परिवर्तन, गणतन्त्र र समाजवादोन्मुख समावेशी लोकतन्त्र स्थापनार्थ जारी संविधानको संस्थागत गर्न आर्थिक समृद्धि र विकास जरुरी छ, त्यसका लागि नेपाललाई एफडिआइसहित अन्तर्राष्ट्रिय सहयोगको आवश्यक छ ।”

सम्मेलनमा सहभागीलाई नेपाल भ्रमण गर्न आग्रह गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “नेपालको प्राकृतिक सौन्दर्य, संस्कृतिक विविधता र नेपालको साहसिक पर्यटनको अनुभव गर्न यहाँहरूलाई आग्रह गर्दछु ।” उहाँले नेपालको वास्तविक प्रकृतिमा रमाउन आग्रह गर्दै भन्नुभयो, “तपाईँहरू नेपालको भव्य हिमालयको अद्भूत दृश्यहरू देखेर जीवनभरको अनुभव गर्नुहुनेछ ।”

नेपाल–चीनबीचमा सताब्दीऔँदेखि उत्कृष्ट सम्बन्ध र मित्रता रहँदै आएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “दुई देश पहाड र नदीले जोडिएका छन्, हामी भौगोलिक निकटता र सांस्कृतिक आत्मीयताले गाँसिएका छौँ, हाम्रो असल मित्रता विश्वसनीय छन् ।” नेपाल–चीन एकअर्काको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनताको पक्षमा अडिग रहँदै आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ, आफ्नो भूमि चीन र अन्य छिमेकीको हितविरुद्ध प्रयोग हुन नदिनेमा सधैँ प्रतिबद्ध छ ।”

नेपाल–चीनबीच रहिआएको सदियौँ पुरानो मैत्रीपूर्ण सम्बन्ध र सहयोगलाई अझ प्रगाढ तुल्याउनका लागि यसलाई विकास र समृद्धिको लागि प्रयोग गर्ने रणनीति अपनाइएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “बेल्ट एन्ड रोड इनिसिएटिभअन्तर्गत ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्कमार्फत सम्पर्क सञ्जाललाई विस्तार गर्न हामी लागि परेका छौँ ।”

नेपालको विकासमा चीनले महत्त्वपूर्ण सहयोग पुर्‍याउँदै आएको स्मरण गर्दै उहाँले भन्नुभयो, “हाम्रो खुसीका लागि चीनले उच्च गुणस्तरीय पूर्वाधार निर्माण, समृद्धिको लागि पहल, मानवता र प्रकृतिबीचको सद्भाव प्रवर्द्धन गर्ने र मानव उन्नति र विकासका नयाँ स्वरूप सिर्जनामा महत्त्व दिएको छ ।” उपप्रधानमन्त्री श्रेष्ठले नेपालजस्ता विकासोन्मुख देशहरूको क्षमता विकास र समृद्धिसहित आधुनिकीकरणमा चीनले पुर्याएको सहयोगको प्रशंसा गर्नुभयो ।

सिचुवान प्रान्तसँग नेपालको ऐतिहासिक सम्बन्ध रहेको स्मरण गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र सिचुआनबीच भूगोल, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्बन्धका धेरै समानता रहेको बताउनुभयो । नेपाल र चीनका जनताले बुद्धका शिक्षा र दर्शनलाई उच्च सम्मान गर्ने यथार्थ बताउँदै उहाँले त्यसले पनि द्विपक्षीय सम्बन्धलाई प्रगाढ तुल्याएको उल्लेख गर्नुभयो । उपप्रधानमन्त्री श्रेष्ठले पछिल्लो समय छेन्दु चीनको प्रवेशद्वार बनेको उल्लेख गर्दै चीनसँगको नेपालको कुल व्यापारको एक तिहाइभन्दा बढी यसै प्रान्तबाट हुने गरेको बताउनुभयो । 

नेपालका लागि अन्तर्राष्ट्रिय मेला निकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले मेलाले नेपालका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धनका लागि महत्त्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उपप्रधानमन्त्री श्रेष्ठले यस्ता मेलाले जनस्तरको सम्बन्धलाई पनि प्रवर्द्धन गर्ने उल्लेख गर्नुभयो । नेपालले सन् २०१३ देखि यस मेलामा भाग लिँदै आएको छ ।

चीनले आफ्नो समग्र सामाजिक र आर्थिक विकासका साथै प्राविधिक विकासमा  फड्को मारेको उल्लेख गर्दै उहाँले राष्ट्रपति सी चीनफिङको परिकल्पनाअनुसार सन् २०४९ सम्ममा चीन पूर्ण विकसित, बलियो र संस्कृतिकरूपमा उन्नत समाजवादी राष्ट्र बन्ने विश्वास व्यक्त गर्नुभयो । रासस

ललिता निवास प्रकरण : आरोपी तीन जनाद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

काठमाडौँ – ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका चारमध्ये तीन जना बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वाेच्च पुगेका छन् ।

सर्वाेच्च अदालतका प्रवक्ता विमल पौडेलले तीन जनाले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेको जानकारी दिनुभयो । उहाँका अनुसार यसरी रिट लिएर जानेमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतम रहेका छन् । उक्त रिटमाथि शुक्रबार सुनुवाइ हुने जनाइएको छ ।

अर्का गोपाल कार्कीसहित उनीहरुलाई यही असार १२ गते प्रहरीले पक्राउ गरेको थियो । यही १३ गते अदालतमा पेस गरिएकामा काठमाडौँ जिल्ला अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइसकेको छ ।

सर्वाेच्चबाट स्टेअडर ल्याएको पाइएपछि पक्राउ परेकामध्ये कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीलाई कागज गरेर छाडिएको छ । विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो । सोही प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरिरहेको छ ।

कोसी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदै

विराटनगर – कोसी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिनुहुने भएको छ ।

कोसी प्रदेशसभाको आज अपराह्न १ः०० बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिन लाग्नुभएको हो ।  

सरकारलाई समर्थन दिएको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि सङ्कटमा पर्नुभएका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिन लाग्नुभएको हो। 

कोसी प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठुलो दल रहेको छ । एमाले नेतृत्वको एक मात्र प्रदेश सरकारमाथि विश्वासको सङ्कट उत्पन्न भएपछि मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिन लाग्नुभएको हो । एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत दिने जनाइसकेका छन् ।  राप्रपा र एमाले मिल्दा ४६ जना सांसदको समर्थन रहने देखिएको छ । कोसी प्रदेशसभामा सरकार बनाउन वा विश्वासको मत प्राप्त गर्न ४७ जना सांसद आवश्यक पर्छ । 

जनता समाजवादी पार्टी नेपालले विश्वासको मत दिएमा कोसी सरकार यथावत् रहनेछ । जसपा नेपालको एक मत रहेको छ । जसपा नेपाल नेतृत्वको मधेस प्रदेश सरकारका लागि विश्वासको मत दिएको एमालेले कोसीमा पनि विश्वासको मत पाउने अपेक्षा मुख्यमन्त्री कार्कीले गर्नुभएको छ । 

हाल कोसी प्रदेशसभामा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादीको (सभामुखसहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदले प्रतिनिधित्व गरिरहनुभएको छ । 

‘विविधताभित्रको एकता नै हाम्रो राष्ट्रिय पहिचान हो’ : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विविधताभित्रको एकता नै हाम्रो राष्ट्रिय पहिचान र गौरव भएको बताउनुभएको छ ।

इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद (इद–उल–अजहा) २०८० को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका मुस्लिम समुदायलगायत समस्त नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त विशेषता भएको हाम्रो देश संविधानतः धर्म निरपेक्ष राज्य भएको उल्लेख गर्नुभएको छ । 

बहुधर्म र बहुसंस्कृतिले हाम्रो समाजलाई पारस्पारिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन् भन्दै प्रधानमन्त्री दाहालले यस्ता विविधतायुक्त विशेषता बोकेका धार्मिक एवं सांस्कृतिक चाडपर्वले सांस्कृतिक एकता, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्त्वपूर्ण योगदान दिएको बताउनुभयो । 

“सामाजिक सद्भाव र पारिवारिक मिलनको रूपमा मनाइने बकर इदले राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी मित्रतालाई थप सुदृढ गर्ने विश्वास लिएको छु । प्रेम र सद्भाव आदानप्रदान गर्ने यस पर्वले आम मुस्लिम समुदाय र नेपालीहरूमा स्वतन्त्रता र समृद्धिको मार्गमा अगाडि बढ्न अभिप्रेरित गर्ने विश्वाससहित फेरि एक पटक हार्दिक शुभकामना व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ ।

हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौँ – मुलुकमा हाल मनसुनी वायुको प्रभाव रहेकाले केही स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली, गण्डकी, बागमती र कोशीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी, गण्डकी र बागमती प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका तराईका केही स्थानमा हावा हुरीको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ ।

आज राति पनि देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । लुम्बिनी, गण्डकी, मधेश र कोशी प्रदेशका केही स्थानमा तथा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । हावाहुरीसहित वर्षाका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्र प्रभावित हुन सक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ र बिक्री दर १३१ रुपैयाँ ६० पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४३ रुपैयाँ ५० पैसा र बिक्री दर १४६ रुपैयाँ १६ पैसा रहेको छ ।

यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ २५ पैसा र बिक्री दर १६७ रुपैयाँ ०१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

CurrencyUnitBuySell
USD (U.S. DOLLAR)1131131.6
EUR (EUROPEAN EURO)1143.5144.16
GBP (UK POUND STERLING)1166.25167.01
CHF (SWISS FRANC)1146.21146.88
AUD (AUSTRALIAN DOLLAR)186.9287.32
CAD (CANADIAN DOLLAR)199.0399.49
SGD (SINGAPORE DOLLAR)196.9197.36
JPY (JAPANESE YEN)109.099.13
CNY (CHINESE YUAN)118.0818.17
SAR (SAUDI ARABIAN RIYAL)134.9335.09
QAR (QATARI RIYAL)135.9536.12
THB (THAI BAHT)13.683.7
AED (UAE DIRHAM)135.6635.83
MYR (MALAYSIAN RINGGIT)128.0428.17
KRW (SOUTH KOREAN WON)10010.0110.05
SEK (SWEDISH KRONER)112.212.25
DKK (DANISH KRONER)119.2719.36
HKD (HONG KONG DOLLAR)116.7216.8
KWD (KUWAITY DINAR)1426.33428.28
BHD (BAHRAIN DINAR)1347.49349.08

आज हरिशयनी एकादशी पर्व मनाइँदै

काठमाडौँ – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । 

एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । 

सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । 

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । यस वर्ष भने साउन महिनामा अधिकमास परेकाले पाँच महिना हुने भएको छ ।

एक वर्षमा २४ एकादशी पर्छन् । यस वर्ष भने अधिकमासका दुईसमेत गरी २६ एकादशी परेका छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् । 

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बुढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ । एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ । 

वैज्ञानिक रूपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ । तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्यसमेत वैज्ञानिक रूपमा पुष्टि भएको छ ।

चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्नि स्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ ।

राष्ट्रपति पौडेलद्वारा बकर इद पर्वको शुभकामना

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेशभूषाको विविधता रहेको हाम्रो मुलुकमा इद–उल–अज्हा (बकर इद) पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिनुभएको छ ।

मुस्लिम समुदायको महान् पर्व इद–उल–अज्हा (बकर इद)को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुसलमान दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको लागि शुभकामना व्यक्त गर्दै इस्लाम धर्मावलम्बीले मनाउने यस पर्वले मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्ने बताउनुभयो । मुस्लिम समुदायको ठूलो चाडको रुपमा रहेको यो पर्व आपसी रिस, राग र द्वेषलाई बिर्सेर भाइचारा र पारिवारिक मिलनको रुपमा मनाउने गरिन्छ ।

“यस्ता चाडपर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण सम्वर्द्धन हुनुका साथै जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि हुनेछ, हाम्रो विविधताबीचको एकताले नै राष्ट्रियता र राष्ट्रिय एकताको भावनालाई प्रगाढ बनाउन योगदान गर्नेछ भन्ने मेरो विश्वास छ”, शुभकामना सन्देशमा भनिएको छ ।

राष्ट्रपति पौडेलले इद–उल–अज्हा (बकर इद) पर्वले सबै नेपालीहरूबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र समुन्नत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना प्रकट गर्नुभएको छ ।

बागमती प्रदेशसभाको बैठक बस्दै

हेटौँडा । बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । प्रदेशसभा भवन, हेटौँडामा आज बिहान ११ः०० बजे प्रदेशसभाको बैठक बस्न लागेको हो । 

प्रदेशसभा सचिवालयका अनुसार आजबाट बजेटमाथि छलफल सुरु हुनेछ । जस अनुसार आजको बैठकमा प्रदेश सरकारले गत असार १ मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि आजबाट छलफल सुरु हुनेछ ।

प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काअनुसार सोमबार बसेको कार्य परामर्श व्यवस्थापन समितिको बैठकले मङ्गलवारदेखि बजेटमाथिको छलफल गरिने कार्यसूची तयार गरे पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राप्रपाको अवरोधका कारण मङ्गलवारको बैठक सुचारु हुन सकेको थिएन । बजेटमा भेदभाव भएको भन्दै प्रतिपक्ष दलले अवरोध गरेका थिए ।  

आज पुनः सहमति कायम गरेर बैठक बस्न लागेको हो । बैठक अघि सहमति कायम गर्ने प्रयास हुनेछ ।   

आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले गत असार १ गतेको प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको थियो, जुन बजेटमाथि आज छलफल हुन लागेको हो । 

सन्तोषीले घरमै पाउनुभयो नागरिकता

त्रिशूली – नुवाकोटको तारकेश्वर गाउँपालिका–६ की शारीरिकरूपमा पूर्ण अशक्त सन्तोषी रिमालले आफ्नै घरमा नेपाली नागरिकताको प्रमाणपत्र पाउनुभएको छ ।

जन्मजात नै शारीरिकरूपमा पूर्ण अशक्त भएका कारण हिँडडुल गर्न नसक्ने २१ वर्षीया रिमाललाई प्रमुख जिल्ला अधिकारी किरण थापाले मङ्गलबार घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएको हो । उक्त वडाका वडाध्यक्ष नारायणप्रसाद रिमालले जिल्ला प्रशासन कार्यालयमा पेस गरेको आवश्यक कागजातसहितको सिफारिस तयार गरेसँगै उहाँलाई प्रजिअ थापा, सहायक प्रजिअ बेदनिधि अधिकारी, प्रशासकीय अधिकृत सुरेश खतिवडासहितले घरमा पुगेर आवश्यक प्रक्रिया पूरा गराई नागरिकताको प्रमाणपत्र उपलब्ध गराउनुभएको हो ।

शारीरिकरूपमा पूर्ण अशक्त हुनुभएका रिमाललाई नागरिकताको अभावमा सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्तावापतको रकम पाउन समस्या भएको जानकारीमा आएपछि घरमै पुगेर नागरिकता उपलब्ध गराइएको प्रजिअ थापाले बताउनुभयो । शारीरिकरूपमा कमजोर भएका तथा हिँडडुल गर्न नसक्ने नागरिकको हकमा घरमै गएर नागरिकता प्रदान गर्ने नीति रहेको उहाँले बताउनुभयो ।

नागकिरता प्राप्त भएपछि खुसी हुनुभएका सन्तोषीका बुवा तोयबहादुरले असक्त छोरीलाई स्याहारसुसार तथा रेखदेखमा समस्या हुने गरेको बताउनुभयो । “राज्यबाट उपलब्ध हुने भत्ताले सरसफाइका सामग्री खरिद गर्नसमेत पुग्दैन”, उहाँले गुनासो गर्नुभयो, “छोरीको शरीर कमजोर भएकाले पौष्टिकयुक्त खानेकुरा खुवाउनुपर्छ । एक जना हेरालु खटिनुपर्छ । दीर्घकालीन सहयोगको कार्यक्रम भए लाभ पुग्ने थियो ।”

वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु

त्रिवेणी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एक वर्षमा वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको हालसम्ममा जिल्लाबाट वैदेशिक रोजगारमा गएका उनीहरुले ज्यान गुमाएका हुन् ।

वैदेशिक रोजगारको क्षेत्रमा जिल्लामा काम गर्दै आएको सुरक्षित आप्रवासन कार्यक्रमका संयोजक रितुराम सोतीका अनुसार यस वर्ष २७ पुरुष र एक महिलाको वैदेशिक रोजगारका क्रममा मृत्यु भएको छ । ज्यान गुमाउनेमा देवचुलीका सात, कावासोतीका ६, मध्यविन्दुका ६, गैँडाकोटका चार, विनयी त्रिवेणीका तीन र हुप्सेकोटका एक जना छन् ।

अत्यधिक समय काम गर्ने, भनेजस्तो नहुँदा तनावमा काम गर्नेलगायत कारणले ज्यान गुमाउने गरेको पाइएको कार्यक्रमका परामर्शदाता रञ्जना लम्सालले बताउनुभयो । अत्यधिक रकम खर्चेर विदेश जाँदा धेरै आम्दानी गर्ने दबाबका कारण लगातार काम गर्दा कतिपय घटना हुने गरेको उहाँले बताउनुभयो ।

संयोजक सोतीका अनुसार एक वर्षमा वैदेशिक रोजगारसम्बन्धी नवलपुरमा एक सय ८८ मुद्दा दर्ता भएका छन् । तथ्याङ्कानुसार ठगीमा पर्नेको सङ्ख्या सबैभन्दा बढी छ । एक सय ८८ मध्ये एक सय १८ मुद्दा ठगीसम्बन्धी रहेका छन् । उद्धारसम्बन्धी ३०, मृत्युका ३० र अन्य प्रकृतिका १० मुद्दा १० छन् ।

सुरक्षित आप्रवासन कार्यक्रममार्फत दर्ता भएकामध्ये ८१ मुद्दाको समाधान गरिएको र यसबाट पीडितलाई रु तीन करोड २० लाख ६० हजार क्षतिपूर्ति उपलब्ध गराइएको संयोजक सोतीले बताउनुभयो । जिल्लामा सञ्चालित कार्यक्रममार्फत सूचनामा पहुँच, न्यायमा पहुँच, सीप विकास तालिम, मनोसामाजिक परामर्श र वित्तीय साक्षरताका क्षेत्रमा रहेका काम गर्ने गरिएको छ ।

ललिता निवास प्रकरण: पूर्वनिर्वाचन आयुक्त पक्राउ, तीन जनालाई छाडियो

काठमाडौं- ललिता निवासको जग्गा हिनामिना प्रकरणमा प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पनि पक्राउ गरेको छ ।

उक्त प्रकरणमा अनुसन्धान तीव्र पारेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शाहलाई पनि पक्राउ गरेको प्रहरी प्रवक्ता कुवेर बडायतले जानकारी दिनुभयो । शाहले विसं २०७३ देखि २०७५ सम्म निर्वाचन आयुक्त भएर काम गर्नुभएको थियो ।

मंगलबार खोज तथा अनुन्धानका क्रममा सीआईबीले शाहसहित सात जनालाई पक्राउ गरेको थियो । उद्यपि यसअघि नै सर्वोच्चबाट स्टेअर्डर ल्याएको पाइएपछि पक्राउ परेका तीन जनालाई भने कागज गराएर छाडिएको छ ।

सीआईबीका अनुसार उनीहरुलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएको पाइएपछि कागज गरेर छाडिएको हो । यसरी छाडिनेमा कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी रहेका छन् । देउजा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख र कपाली कर्मचारी हुन् ।

मंगलबार पक्राउ परेका शाहसहित धर्मप्रसाद गौतम, गोपाल कार्की र भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई भने प्रहरीले हिरासतमा राखेको छ । उक्त घटनाका विषयमा आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी सीआईबीले गरेको छ ।

सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो । विसं २०४९ देखि २०६९ सम्ममा ललिता निवासको जग्गा लिखत किर्ते गरी हिनामिना भएको पाइएको छ । सोही प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

ललिता निवास प्रकरणमा यसअघि तीन सय जनालाई प्रतिवादी बनाएर ब्युरोले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो । उक्त घटनाको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग दायर गरेको मुद्दा विचाराधीन रहेको छ ।

आजको मौसम : भारी वर्षा र हावा हुरीबाट हुने क्षतिबाट बच्न अनुरोध

काठमाडौँ- हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही कोसी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । 

दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी,  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका एक-दुई स्थानमा हावा हुरीको समेत सम्भावना रहेको छ।

राती भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी,  बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ। 

कोसी,  बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै यी नै प्रदेशहरूको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको  र  मधेस प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना  रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ। 

भारी वर्षा, मेघ गर्जन / चट्याङ र हावा हुरीका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 
​​​​​​​२०८० आषाढ १३ गते (बुधवार) 
दिउँसो:
  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी,  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  मधेस प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका एक-दुई स्थानमा हावा हुरीको समेत सम्भावना रहेको छ।
राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोसी,  बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

२०८० आषाढ १४ गते (बिहीबार) 
​​​​​​​दिउँसो:
  देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका एक-दुई स्थानमा हावा हुरीको समेत सम्भावना रहेको छ।
राती: देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। कोसी, मधेस प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

२०८० आषाढ १५ गते (शुक्रवार) 
दिउसो: 
देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोसी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती: देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

विजेता खेलाडीलाई सम्मान

बेनी – म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले राष्ट्रियस्तरको अन्तरपालिका ‘मेयर कप’ बास्केटबल प्रतियोगिताको उपाधि जित्ने खेलाडीलाई सम्मान गरेको छ ।

काठमाडौँको कीर्तिपुर नगरपालिकाले आयोजना गरेको यु–१८ अन्तरपालिका मेयर कप पुरुष बास्केटबल प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाबाट सहभागी भइ विजयी भएका खेलाडीलाई मङ्गलबार बेनीमा आयोजित कार्यक्रममा रु एक लाख पाँच हजारसहित सम्मान गरेको हो ।

सम्मानित हुने खेलाडीमा अर्जुन विक, रनिक गर्बुजा, नुकेश जुग्जाली, केमन सेञ्चुरी, राजेन्द्र गर्बुजा, मनिष तिलिजा पुन, निश्चल फगामी, हेमन परियार, सुजन परियार, राजु परियार, सुदिप बरुवाल, जोन तिलिजा र प्रशिक्षक सुमन तिलिजा पुन तथा व्यवस्थापक बिसन राना रहेका छन् । उहाह्रुलाई गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीलगायतले सम्मानपत्र, दोसल्लासहित सम्मान गर्नुभएको हो ।

यही असार ९ गते सम्पन्न फाइनल खेलमा आयोजक कीर्तिपुर नगरपालिकालाई पराजित गर्दै अन्नपूर्ण गाउँपालिकाले मेयर कप बास्केटबलको उपाधि जितेको थियो । विजेता खेलाडीले रु एक लाख पुरस्कारसहित ट्रफी प्राप्त गरेका थिए ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन प्रस्थान

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन प्रस्थान गर्नुभएको छ । 

मङ्गलवार राति ११ः२० को उडानमार्फत उहाँ चीनको छेन्दु प्रस्थान गर्नुभएको हो। 

उहाँ बुधवार पश्चिमी चीन अन्तर्राष्ट्रिय मेलाको स्वागत भोजमा सहभागी हुने कार्य तालिकामा छ । उक्त मेलाको उद्घाटन गरी दिउँसो छेन्दुको योजना प्रदर्शनी हल र सिचुवानको भ्रमण एवम् प्रदर्शनी अवलोकन गर्ने कार्यसूची रहेको उहाँको सचिवालयले जनाएको छ ।  

उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ त्यही दिन साँझ चिनियाँ कम्युनिष्ट पार्टी, सिचुवान प्रान्तका नेताद्वारा आयोजित रात्रीभोजमा सहभागी हुनुहुनेछ । 

उहाँले शुक्रवार सिचवान विश्वविद्यालय नेतृत्वसँग भेटघाट गर्नुहुनेछ । उहाँले त्यहाँ अध्ययनरत चिनियाँ, नेपाली र अन्य विदेशी विद्यार्थीहरूलाई सम्बोधन गर्नुहुनेछ । 

त्यसपछि उहाँले विश्वविद्यालयको  ‘हाइड्रोलिक्स’ र ‘माउन्ट रिभर इन्जिनियरिङ’ प्रयोगशालाको अवलोकन गर्ने तालिका छ । 

शनिवार भूकम्पपछि पुनर्निर्माण भएको यिन्छियुको र जिपिङ्पुस्थित ‘हाइड्रो जक्सन’, दुजियाङ्गानस्थित चीनकै पुरानो सिँचाइ प्रणाली र ग्रामीण पुनरुत्थानको अवलोकन भ्रमण गर्नुहुने छ । शनिवार नै छेन्दु फर्किएर आइतबार बिहानको उडानमार्फत बिहान ११ः१० बजे उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ ।  

प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, उद्योग मन्त्रालयका सहसचिव महेश बराल, उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, राष्ट्रिय समाचार समितिका संवाददाता अशोक घिमिरे र अङ्गरक्षक बाबुराम खरेल सहभागी हुनुहुन्छ।

सबै भुक्तानी असार २४ गतेभित्र गरिसक्न परिपत्र

काठमाडौँ – चालु आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन गर्दा सिर्जना भएको आर्थिक दायित्वको भुक्तानी असार २४ गतेभित्र गरिसक्न महालेखा नियन्त्रक कार्यालयले सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) र प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) लाई परिपत्र गरेको छ ।

      महालेखा नियन्त्रक कार्यालयले आइतबार सबै कोलेनिका र प्रलेनिकालाई पत्र पठाउँदै असार २४ गतेपछि भुक्तानी रोक्न भनेको हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ मा आर्थिक वर्ष सकिन सात दिनअगावै सबै भुक्तानी गरिसकेर खाता बन्द गरिसक्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालयले परिपत्र गरेको हो । प्रदेश तथा स्थानीय तहको बजेट भुक्तानी निकासाका लागि प्रयोग हुँदै आएका स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टिएसए) र कम्प्युटरकृत सरकारी लेखा प्रणाली (सिगास) एक हप्ताका लागि बन्द हुनेछन् ।

सङ्घ, प्रदेश तथा स्थानीय तहको भुक्तानी निकासीका सम्बन्धमा परिपत्र गरिसकेको भए पनि आवको अन्त्यमा धेरै भुक्तानी हुने प्रवृत्ति रोक्न र चालु आवमा सिर्जना भइसकेको भुक्तानी दायित्व आगामी आव सर्न गएमा त्यसको व्यवस्थापनका लागि महालेखा नियन्त्रक कार्यालयको भूमिका नरहने प्रवक्ता शम्भुप्रसाद मरासिनी बताउनुहुन्छ । ‘चालु आवमा भएको खर्चको भुक्तानी असार २४ गतेभित्र हुन नसकेको अवस्थामा र आगामी आवको बजेटबाट भुक्तानी गर्नुपर्ने अवस्था आइलागेमा त्यसको व्यवस्थापन कसरी हुन्छ ?’ भन्ने राससको प्रश्नमा प्रवक्ता मरासिनीले सम्बन्धित कार्यालय र लेखा उत्तरदायी अधिकारी त्यसका लागि जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

“आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको व्यवस्थाअनुसार नयाँ आव सुरु हुनु सात दिनअगावै चालु आवका सबै खाता बन्द हुन्छन् । चालु आवको भुक्तानी मिलान आगामी आवको बजेटबाट गर्नुपर्ने अवस्था आएमा त्यसका लागि सम्बन्धित कार्यालय तथा लेखा उत्तरदायी अधिकारी नै जिम्मेवार हुन्छन् । यसमा महालेखा नियन्त्रक कार्यालयको भूमिका रहँदैन”, उहाँले भन्नुभयो ।
      
आवको अन्त्यमा मात्रै भुक्तानी गर्ने परिपाटीका कारण गत आव २०७८/७९ मा सात प्रदेशको मात्र करिब रु छ अर्ब बराबर भुक्तानी रोकिएको थियो । ठूलो सङ्ख्यामा बजेट भुक्तानी माग भइआएका फाइल प्रवृष्टि (इन्ट्री) गर्दा महालेखा नियन्त्रक कार्यालय तथा कोलेनिका र प्रलेनिकाको भुक्तानी प्रणालीमै समस्या देखिएको थियो । एकैपटक ठूलो सङ्ख्यामा डाटा इन्ट्री हुँदा त्यस्तो समस्या देखिएपछि भुक्तानी रोकिएको भन्दै प्रदेशले प्रेस विज्ञप्ति नै जारी गरेर भुक्तानी माग गर्दै दबाब दिएका थिए ।
      
आर्थिक वर्षको अन्तमा हतारमा कागज मिलाउने र भुक्तानी माग्ने प्रवृत्ति पनि बढ्दो छ । वर्षान्तको खर्चमा आर्थिक अनुशासन मिचिने बढी सम्भावना हुनेहुँदा यस्तो खर्च रोकिनुपर्ने भन्दै महालेखा परीक्षकको प्रतिवेदनले हरेक वर्ष औँल्याउने गरेको छ । गत आव २०७८/७९ मा कूल बजेट खर्चको २१ प्रतिशत असार महिनामा मात्र खर्च भएको थियो । गत आवका लागि रु १६ खर्ब ४७ अर्ब ५७ करोड ६७ लाख बराबरको बजेट विनियोजन भएकोमा कूल खर्च रु १३ खर्ब नौ अर्ब ८७ करोड ४३ लाख बराबर थियो । 

यस्तो खर्चमध्ये असार महिनामा मात्र रु दुई खर्ब ९ अर्ब ७५ अर्ब नौ करोड २५ लाखअर्थात् कूल खर्चको २१ प्रतिशत बराबर भुक्तानी भएको  देखिन्छ । त्यस्तै असार महिनाको अन्तिम हप्तामा मात्र रु ९८ अर्ब ९९ करोड ७१ लाख ८१ हजार अर्थात् कूल वार्षिक खर्चको सात दशमलव ५६ प्रतिशत भुक्तानी भएको महालेखा परीक्षक कार्यालयको ६० औँ प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, सरकारले वर्षान्तमा ठूलो सङ्ख्यामा रकमान्तरसमेत गर्ने गरेको देखिन्छ । गत आव २०७८/७९ मा कूल रु एक खर्ब ९६ अर्ब ४१ करोड ४८ लाख अर्थात् कूल बजेटको १२ प्रतिशत रकमान्तर गरेको थियो । महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवेदनअनुसार गत आवको असार महिनामा मात्र रु ८२ अर्ब ८० करोड ६७ लाख र असारको अन्तिम हप्ता मात्र रु २७ अर्ब बराबर रकमान्तर भएको थियो । रकमान्तरको यस्तो प्रवृत्ति हटाउनुपर्ने सुझाव महालेखाको प्रतिवेदनले दिएको छ ।
 

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ जवाफ दिने

काठमाडौँ – प्रतिनिधिसभाको बैठक बस्दै छ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ः०० बजे प्रतिनिधिसभाको बैठक  बस्नेछ । 

आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ । सोही क्रममा विनियोजन (बजेट)विधेयक २०८० माथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिनुहुने छ । जसअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिकाे कार्यालय, राष्ट्रिय योजना आयोगलगायतका कार्यालयमा छुटाइएको बजेटमाथि जवाफ दिने कार्यक्रम रहेको छ । 

मंगलबारको  बैठकमा भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा सांसदले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिनुभएको थियो । 

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बिहान ११ बजे बस्ने भएको हो ।  

बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ । बजेटमाथि उठेका प्रश्नको जवाफ मन्त्रीहरूले दिने कार्यलाई निरन्तरता दिइएको संसद् सचिवालयले जनाएको छ ।   

आजको  बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा सांसदले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।

हिजो रक्षा, सङ्घीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले जवाफ दिएका थिए ।