`

संसदीय मामिला पत्रकार समाजमा नयाँ नेतृत्व

काठमाडौँ – संसदीय मामिला पत्रकार समाजको आठौँ अधिवेशनले मनोज सत्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको आज सम्पन्न निर्वाचनबाट उपाध्यक्षमा किरण दाहाल र उपाध्यक्ष (महिला) सृजना घिमिरे, महासचिवमा जयसिंह महरा, सचिवमा गुञ्जनराज गिरी र सचिव (समावेशी) सविता शर्मा, कोषाध्यक्षमा अमुल थापा निर्वाचत हुनुभएको छ ।

कार्यसमितिको नयाँ सदस्यमा राजु थापा, पुजन आचार्य, कमलराज भट्ट, रघुनाथ बजगाई, बिनोद कटुवाल, शिला तिमिल्सिना सर्वसम्मतरुपमा चनय हुनुभएको छ । त्यसैगरी समावेशी सदस्यद्वयमा मीरा बस्नेत र अन्जना लामिछाने विजयी हुनुभएको छ ।

निर्वाचन समितिका संयोजक टंक पन्तले निर्वाचन परिणाम घोषणा गर्दै नव निर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई तथा शुभकामना दिनुभयो ।

नयाँ कार्यसमितिको दुईवर्षको कार्यकाल हुनेछ । संसद र संसदीय मामिलासम्बन्धी गतिविधिमा कलम चलाउने पत्रकारहरुको साझा संगठनको रुपमा समाज रहेको छ ।

दलित भएको भन्दै घरबाट निकाल्ने घरबेटी पक्राउ

तुलसीपुर – दाङमा एक घरबेटीले दलित भएको भन्दै भाडाबाट निकालेपछि ती घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार घरबेटी घोराही उपमहानगरपालिका–१७ दाङका ताराप्रसाद पोखरेललाई आज पक्राउ गरी अनुसन्धान थालिएको छ ।

पोखरेलको घरमा बसिरहेका पञ्चल देवल नपा–७ पुल्तोला अछाम हाल घोराही–१७ मा बस्दै आएका महेन्द्र विक र अदानचुली गापा–३ हुम्लाका अङ्गराज नेपालीलाई घर निकाला गरेको प्रहरीले जनाएको छ । “तिमीहरू कामी रहेछौँ, घर बनाएदेखि दलितलाई छिर्न दिएको छैन । तिमीहरू घरमा आएदेखि म बिरामी छु भन्दै घरबाट निकालिदिनुभयो”, पीडित महेन्द्र विककी श्रीमती शान्ति विकले भन्नुभयो ।

सोही घरमा परियारसंग तीन जना एउटा कोठामा बस्थे भने महेन्द्रको परिवार अर्को कोठामा बस्थे । शुक्रबार साँझ नै घरबेटीले त्यस्तो व्यवहार गरेको प्रहरीले बताएको छ । प्रहरीले जातीय छुवाछूतअन्तर्गत मुद्दा दर्ता गरी कारबाही गर्ने तयारी गरेको छ । घटना बाहिर आएपछि प्रेस सेन्टर दाङ, दलित पत्रकार सङ्घ दाङलगायत विभिन्न सङ्घसंस्थाले विज्ञप्ति जारी गरी विरोध जनाएका छन् । साथै दोषीमाथि कारबाहीको माग गरेका छन् ।

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सरकारको पहिलो सर्त : उपप्रधानमन्त्री श्रेष्ठ

छेन्दु (चीन) – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र सुशासन प्रवर्द्धनलाई पहिलो सर्त बनाएर काम थालेको बताउनुभएको छ ।

जनवादी चीनको भ्रमणमा रहनुभएका उहाँले छेन्दुस्थित नेपाली महावाणिज्य दूतावासमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान सरकारले सुशासनलाई कडाइ पूर्वक अगाडि बढाउन खोजेको बताउनुभयो ।

“कुशासन नेपालको विकासको समस्या हो, अहिलेको सरकारले भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहित सुशासनको स्थापित गर्नेलाई पहिलो सर्त बनाएर काम थालेको छ । पूर्वउपप्रधनमन्त्री, पूर्वगृहमन्त्री, निर्वाचनका आयोगका सदस्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अध्यक्ष, विभिन्न उच्च तहका पदाधिकारी भ्रष्टाचार गर्ने अपराधमा नियन्त्रणमा लिनु परेकोछ”, उहाँले भन्नुभयो ।

कमिसन र भ्रष्टाचारको जालोले देशलाई जर्जर बनाएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले अनियमितता गर्ने व्यक्तिमाथिको कारबाही प्रक्रिया कुनै पनि हालतमा नरोकिने दृढता व्यक्त गर्नुभयो । “जो सुकै होस् यो प्रक्रिया कुनै पनि हालतमा रोकिँदैन”, उहाँले भन्नुभयो, “अहिले कुनै पार्टीसँग जोडिएका व्यक्ति परेका होलान्, कोही अर्को पार्टीसँग जोडिएका होलान्, अब आउँदा दिनमा अर्को कुनै पार्टीसँग जोडिएको हुन सक्छन्, हामीलाई त्यसको कुनै मतलब छैन, जो भए पनि कारबाही हुन्छ ।”

मुलुक र जनतालाई ठगी गर्ने, धोका दिने, अपराध गर्नेलाई वर्तमान सरकारले कुनै पनि हालतमा नछाड्ने विश्वास दिलाउँदै उहाँले अपराध गर्नेलाई कानुनको दायरमा ल्याइ छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “अपराध कसले गरेको छ, त्यसलाई कानुनको दायरामा ल्याइ छाड्छौँ, देशमा सुशासन स्थापित गरी छाड्छौँ । यो हाम्रो सङ्कल्प हो”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “त्यसले विकास र प्रगतिका निम्ति नयाँ आधार तयार पार्छ । देशमा एउटा आशा पैदा हुन्छ ।”

सुशासन कायम गर्दै मुलुकलाई सुशासनको मार्गमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उहाँले विभिन्न कारणबाट विदेशीएका नेपालीलाई स्वदेश फर्काउने वातावरण निर्माण गरिने बताउनुभयो । विकास र समृद्धिको लक्ष्य पूरा गर्नका निम्ति आफ्नै बलबुतामा काम गर्नुपर्नेमा जोड दिँदै उहाँले समृद्धिका विदेशी मित्रको सहयोगको अपेक्षा गरेको बताउनुभयो । आफूले चीन भ्रमणका क्रममा भएका दिपक्षीय भेटवार्तामा नेपालको समृद्धिका बारेमा छलफल गरेको जानकारी दिँदै उहाँले भन्नुभयो, “हाम्रै बुद्धि, विवेक र श्रम पसिना लगाएर विकासको यात्रालाई अगाडि बढाउनुपर्नेमा हाम्रो मात्रै साधन स्रोतले विकासका कुरालाई तीव्र पारेर लक्ष्यमा पुग्न सम्भव छैन । त्यसैले वैदेशिक सहयोगका निम्ति पनि अनुरोध गरिरहेका छौँ ।”

राजनीतिक परिवर्तनसँगै जनताको जीवनस्तर पनि परिवर्तन हुनुपर्नेमा त्यसो हुन नसकेको स्वीकार गर्दै उहाँले जनताको जीनवस्तर बदल्ने गरी मुलुकलाई समृद्ध बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो । “राजनीतिक परिवर्तन मात्रै दिएको होइन, हाम्रो पोल्टामा हामीले नै भोग्न पाउने गरी यति चिज दियो भनेर नेपाली जनताले अनुभूति गर्न पाउनुपर्यो”, उहाँले भन्नुभयो, “शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यान्न, आवास, सडक, खानेपानी, विद्युत्का आवश्यकताहरु पूरा गरेर राजनीतिक परिवर्तनले खाली राजनीतिक अधिकार मात्र दिएको हैन हाम्रो जीवनस्तर नै बदलियो भन्ने स्थानमा जनतालाई पुर्याउनुपर्छ ।”

वर्तमान सरकार मुख्य चार वटा कार्यभार पूरा गर्न लागि परेको उल्लेख गर्दै उहाँले सार्वभौमिकताको रक्षा, राष्ट्रिय सुरक्षालाई सुदृढ, परिवर्तनको रक्षा र शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो । “सामाजिक आर्थिक रुपान्तरणको कार्यभारलाई हर हालतमा पूरा गर्नुपर्नेछ । विकास र समृद्धि, त्यसलाई गुणात्मक फड्को पुर्याउने गरी सम्पूर्ण ध्यान विकास र समृद्धिमा केन्द्रित गर्नुछ । त्यो दिशामा सरकार लाग्छ”, उहाँले भन्नुभयो । सबै राजनीतिक पार्टीलाई आआफ्नो मतभिन्नता एक ठाउँमा राखेर राष्ट्रियता, राष्ट्रिय सुरक्षा र समृद्धिको मुद्दामा एकताबद्ध हुनुपर्छ भनेर सहमति र सहकार्यका निम्ति अपिल गरिरहेको उहाँले बताउनुभयो ।

महावाणिज्यदूत दिनेशकुमार घिमिरेले महावाणिज्य दूतावासले लगानी, पर्यटन, व्यापार तथा निर्यात प्रवर्द्धन एवं कन्सुलर सेवालगायत नेपाल र नेपाली जनताको सर्वोत्तम हितका कार्य गर्दै आएको बताउनुभयो । उहाँले महावाणिज्य दूतावासको कार्यक्षेत्र सिचुवान र कुइचो प्रान्त तथा छोङछिङ महानगरमा रहेको जानकारी दिनुभयो ।

सो अवसरमा उपप्रधानमन्त्रीले अध्ययन तथा विभिन्न पेशा व्यवसायका सिलसिलामा छेन्दुमा रहेका नेपालीसँग अन्तरक्र्रिया गर्नुभएको थियो । दूतावासले उपप्रधानमन्त्रीको सम्मानमा रात्रिभोजको आयोजना गरेको थियो । दूतावास पुग्दा उपप्रधानमन्त्री श्रेष्ठलाई महावाणिज्यदूत घिमिरे र वाणिज्यजूत मनहरि दङ्गालले स्वागत गर्नुभएको थियो । समारोहमा छेन्दुमा रहेका नेपाली व्यवसायी तथा विद्यार्थीको बाक्लो उपस्थित रहेको थियो ।

सर्पबाट बच्न मन्त्रालयको आग्रह

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मी र बर्खायाम बढेसँगै तराईमा सर्पदंशबाट बच्न आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले तराई क्षेत्रमा अहिलेको मौसममा सर्प देखिने भएकाले विषालु सर्पबाट जोगिन आग्रह गर्नुभएको छ ।

राति हिँड्नुपरे टर्च लाइट लिएर हिँड्ने, जुत्ता वा गमबुट लगाउने, खुट्टा राम्ररी छोप्ने बाक्लो पाइन्ट लगाउने, घर वरपरको घाँस झारपात काटेर सफा राख्ने एवं जमिनका दुला टाल्ने गर्नुपर्दछ । यस्तै पराल, दाउरा आदि लिन जाँदा होसियारी अपनाउने, सुत्नुअघि ओछ्यान, खाटमुनि र वरपर राम्ररी हेर्ने, सधैँ झुल टाँगेर सुत्ने गर्न पनि आग्रह गरिएको छ ।

सर्पले टोकीहाले के गर्ने

सर्पले डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्ने, सर्पले टोकेको ठाउँमा काट्ने, चुस्ने बाँध्ने नगर्ने तथा मल्हम, टोकेको ठाउँमा रासायनिक पदार्थ तातो–चिसो प्रयोग नगर्ने र बिरामीको आत्मविश्वास कायम राख्ने गर्नुपर्दछ ।

यस्तै धामी–झाँक्रीतिर नलाग्ने, विष सोस्ने कुराको पछि नलाग्ने, सम्भव भएसम्म डस्ने सर्पको पहिचान गर्ने तर नमार्ने, जति सक्दो चाँडो अस्पताल वा सर्प उपचार केन्द्रमा बिरामीलाई पुर्याउनुपर्दछ ।

हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गर्दै आएको छ : मन्त्री महत

लेखनाथ – अर्थमन्त्री डा प्रकाशशरण महतले देशमा भएका सबैजसो परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गरेको बताउनुभएको छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अर्थमन्त्री डा महतले भन्नुभयो, “राणाशासनदेखि पञ्चायत हुँदै माओवादीलाई शान्ति प्रक्रिया ल्याइ सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्ने काम कांग्रेसकै नेतृत्वमा भएको हो ।”

लामो इतिहास बोकेर आएको पार्टीका भएकाले उहाँले कार्यकर्तालाई विचलित नभइ सङ्गठित रुपमा अगाडि बढ्न सुझाव दिनुभयो । नेपालमा कांग्रेसले जति अरु कुनै पनि पार्टीले काम नगरेको उहाँको दाबी थियो । आफूले गरेका कामको प्रचारप्रसार गर्न नजानेकै कारण कांग्रेस पछि परेको भन्दै उहाँले नयाँ पार्टीले सानो काम गरे पनि सामाजिक सञ्जालबाट ठूलो बनाएर प्रचारप्रसार गर्ने गरेको आरोप समेत लगाउनुभयो ।

कानूनी शासनमा विश्वास गर्ने पार्टी भएकाले नेपाली कांग्रेसप्रति आमजनताको विश्वास र भरोसा सधैँ आएको बताउँदै उहाँले कांग्रेसलाई बलियो बनाउन कार्यकर्ता एक ढिक्का हुन आग्रह गर्नुभयो ।

“निर्वाचनबाट कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्यो, कार्यकर्ताले पनि कांग्रेसले नै सरकारको नेतृत्व गर्नुप¥यो भन्ने सुझाव दिने गरेका छन्”, उहाँले भन्नुभयो, “कांग्रेस एक्लैले बहुमत पु¥याउन नक्दा माओवादी केन्द्रलाई सरकारको नेतृत्व गर्न दिनु परेको हो ।” उहाँले वर्तमान निर्वाचन प्रणालीबाट कुनै पनि दललाई बहुमत ल्याउन कठिन हुने समेत बताउनुभयो ।

उहाँले मुलुकमा आर्थिक उन्नती तथा समृद्धिका लागि जनता केन्द्रित कार्यक्रम आवश्यक रहेको बताउनुभयो । जनता केन्द्रित कार्यक्रम नल्याएसम्म देशले विकासमा फड्को मान नसक्ने भन्दै उहाँले सोहीअनुसारको कार्यक्रम ल्याइएको बताउनुभयो ।

“सीमित स्रोत र साधानले धेरै काम गर्नुपर्ने अवस्था छ, चालु आर्थिक वर्षमा राजस्व सङ्कलन कम भएकाले केही विकास निर्माणका काम यसवर्ष कटौती भएका छन्”, उहाँले भन्नुभयो ।

सो अवसरमा मन्त्री महतले अर्थतन्त्रलाई चलायमान बनाउँदै लगेको र आफूले कृषि क्षेत्रलाई प्रोत्साहन गर्न अनुदानको व्यवस्था गरेको समेत भनाइ राख्नुभयो ।

संविधान र गणतन्त्रको रक्षाका लागि समाजवादी मोर्चा गठन : अध्यक्ष नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान र गणतन्त्रको रक्षाका लागि समाजवादी मोर्चा निर्माण भएको बताउनुभएको छ ।

नेपाल नेवाः राष्ट्रिय सङ्घ (समाजवादी)को प्रथम बागमती प्रदेश कमिटी भेलामा अध्यक्ष नेपालले लामो जनसङ्घर्षबाट मुलुकमा प्राप्त राजनीतिक उपलब्धिविरुद्ध षड्यन्त्र भइरहेकाले समाजवादी मोर्चा निर्माण भएको बताउनुभयो । मोर्चा कसैलाई एक्ल्याउनका लागि नभएको उहाँको दाबी छ ।

अध्यक्ष नेपालले आफ्नो तत्काल कुनै पार्टीसँग एकता नहुने स्पष्ट पार्नुभयो । परिवर्तनका पक्षधर शक्ति एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले संविधानबारे बिमति राख्ने शक्ति पनि प्रजातान्त्रिक प्रणालीमा विश्वास गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले मोर्चाको आगामी कार्यदिशा र कार्यक्रम तय गर्न बैठक आयोजना गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । देशमा सामाजिक न्याय तथा सुशासन कायम हुन नसकेकाले बेथिति बढेको बताउँदै उहाँले प्रगतिको बाधक तत्वका रूपमा रहेको भ्रष्टाचार न्यूनीकरण गर्न सबै दलको साझा दृष्टिकोणको खाँचो औँल्याउनुभयो ।

हामी बदलिएपछि सङ्घीय लोकतान्त्रिक प्रणाली थप बलियो हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनै तहका सरकारहरूले आफ्नो सोच र कार्यशैली बदलेर मात्र सङ्घीय लोकतान्त्रिक प्रणाली बलियो बनाउन सकिने बताउनुभएको छ ।

कास्कीको पोखरामा आज आयोजित राष्ट्रिय समन्वय परिषद्को प्रथम बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्रीले सङ्घीयतालाई बलियो बनाउन सबैको उत्तिकै सार्थक प्रयास हुनु आवश्यक रहेको बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “सङ्घीयताको मर्म र यसको दीर्घकालीन महत्त्व हामीले बुझेनौँ भने यसको फाइदा सङ्घीयताका विरोधीहरूले लिनेछन् । हामीले जति छिटो र राम्रो कार्यसम्पादन गर्छौँ, जनताले त्यति नै मात्रामा सङ्घीयताबाट लाभ लिन सक्छन् । सङ्घीयता कार्यान्वयनका लागि ऐनहरू बनेका छन्, तर ती पूर्ण छैनन् । समन्वयको प्रभावकारिता पनि जरूरी छ । हाम्रो जोड त्यता हुन जरूरी छ ।”

लामो सङ्घर्ष र पहलपछि देश सङ्घीय गणतन्त्रमा आएको उल्लेख गर्दै प्रधानमन्त्रीले यो कुनै भावावेशमा गरिएको निर्णय नभएको तथा सुविचारित निष्कर्षका कारण नै हामी अहिले हामी सङ्घीय प्रणालीमा रहेको बताउनुभयो । उहाँले यसको व्यवस्थापन र प्रभावकारी कार्यान्वयन पनि हाम्रै भएकाले यसमा चुक्न नहुने धारणा राख्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “कतिपय शक्तिहरू यस (सङ्घीय गणतन्त्र)लाई ढलाउन सकिन्छ कि भनेर लागिरहेका छन् । पुरातनपन्थी र हावाहुरीबाट आएका शक्तिहरू पनि यसलाई कमजोर पार्न लागिरहेका छन् । त्यसैले लोकतान्त्रिक शक्तिहरूले नै यसको पहल र स्वामित्व लिनुपर्छ । नेपालको भूराजनीतिक संवेदनशीलताका कारण पनि व्यवस्था बलियो बनाउन हामीहरू नै लाग्नुपर्छ ।”

राष्ट्रको स्वाधीनता र समृद्धिको नेतृत्व अरूले गर्न नसक्ने भएकाले लोकतन्त्रभित्र देखिएका समस्या समाधानको हैसियत लोकतान्त्रिक शक्ति र दलले नै सक्ने र यो जिम्मेवारीलाई सत्तापक्ष, प्रतिपक्ष सबैले ठीक ढङ्गले लिन जरूरी रहेको बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “नीति, कार्यक्रम र बजेटको परम्परा अर्को वर्ष ब्रेक गर्छौँ । अहिले हामीले नीति, कार्यक्रम र बजेटमा जुन मोडल र प्रक्रिया अवलम्बन गरेका छौँ, त्यसले समाधान दिँदैन । त्यसैले हामी यसलाई बदल्छौँ । जनप्रतिनिधि र सरोकारवाला सबैको अन्तक्र्रियाबाट सबैको अपनत्व हुने गरी नीति, कार्यक्रम र बजेट बनाउँछौँ ।”

सङ¬्घीयताविरोधी शक्तिलाई हामीले व्यवहारबाट जवाफ दिन जरूरी रहेको र त्यसका लागि हाम्रो सोच र कार्यशैली बदल्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ । उहाँले भन्नुभयो, “हामी बदलिएपछि मात्रै लोकतान्त्रिक प्रणाली बलियो हुन्छ । सबै तहका सरकारहरू त्यसरी लागौँ । फिल्डका समस्या राम्रोसँग आएका छन्, यसले हामीलाई राम्रो फिडब्याक दिएको छ । यसमा टेकेर अघि बढौँ ।”

सो बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महत, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङ, विपक्षी दलको तर्फबाट पूर्वमन्त्री विष्णु पौडेल, प्रदेशका मुख्यमन्त्रीहरू, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास बैरागी, नेपाल सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्याल, नेपाल सरकारका सचिवहरू, जिल्ला समन्वय समिति महासङ्घ, नगरपालिका महासङ्घ र गाउँपालिका महासङ्घका प्रमुखलगायत उपस्थित हुनुहुन्थ्यो । बैठकले सङ्घीयताको प्रभावकारी कार्यान्वयनसम्बन्धी विविध प्रस्तावमाथि गहन छलफल गरी आवश्यक निर्णयसमेत गरेको छ ।

कटे मनाङ, झरे मर्स्याङ्दीमा

लमजुङ : घन, छिनो र सावेलले ठूलाठूला चट्टान खोपेर बनाइएको सडक । तल हेर्दा आँङ नै सिरिङ हुने भीर, त्यो भन्दा तल रिँगटा लाग्ने गरी गड्गडाउँदै बगिरहेको मर्स्याङ्दी नदी । माथि उस्तै अजङ्गको चट्टानी पहरो । यो अवस्था हिमालपारीको जिल्ला मनाङ जाने सडकको हो ।

उतिबेला अहिले जस्तो डोजर र एस्काभेटर चलाएर सडक बनाइदैनथ्यो । साँघुरो कच्ची सडक, हरेकपटक जोखिम मोल्नुपर्ने अवस्था । ठाउँठाउँमा बगेको पहिराका कारण थप जोखिमपूर्ण यात्रा । अहिले वर्षाको समयमा यही जोखिमपूर्ण सडक पार गर्दै दैनिक सयौँ यात्रु यात्रा गर्न बाध्य छन् । यही सडक भएर दैनिक दर्जनौँ सवारीसाधन लमजुङ मनाङ आवतजावत गर्दछन् । 

मनाङबाट लमजुङ हुँदै विभिन्न ठाउँमा आउने र यहाँबाट मनाङ जाने एउटै बेँसीसहर–चामे सडक हो । भिरैभिर र मस्र्याङ्दी नदी माथिमाथि हुँदै ढुङ्गैढुङ्गाको सडक व्यवस्थित नहुँदा बेँसीसहर–चामे सडकमा ज्यानको बाजी राख्दै भगवान्को भरोसामा यात्रा गर्न यात्रु बाध्य छन् । यात्रुले यस सडक पार गरे मनाङ पुग्छन्, सडकबाट तल झरे सिधै मर्स्याङ्दी नदीमा पुग्छन् । यस्तो जोखिम मोल्नुको विकल्प छैन मनाङवासीलाई । 

जिल्लालाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरुप विसं २०५१ देखि  सडक डिभिजन कार्यालय दमौली तनहुँले सडक निर्माण गर्न सुरु गरेको थियो । जनयुद्ध र अन्य विभिन्न कारणले उक्त सडक निर्माणको जिम्मेवारी विसं २०५७ देखि तत्कालीन नेपाली सेनाले पायो । तत्कालीन सेनाले शान्ति प्रक्रिया पछि मात्रै सडक निर्माण कार्यलाई निरन्तरता दिएको थियो ।

सेनाले उक्त जोखिमपूर्ण भिरमा ज्यानको बाजी राखेर सडक निर्माण गर्न सफल भयो । सरर मटर चढेर मनाङ आवतजावत गर्ने मनाङवासीको सपना पूरा भयो । नेपाली सेना कार्यगणले विसं २०६९ मा सडक निर्माण कार्यसम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो । गणका इञ्जिनियर भरत श्रेष्ठ र इन्द्रीवर गुरुङको नेतृत्वमा सडक निर्माण गरी हस्तान्तरण गरिएको थियो ।

बेँसीसहर–चामे सडक ६५ किलोमिटर रहेको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ । उक्त सडक लमजुङतर्फ ३५ किलोमिटरसम्म र मनाङतर्फ ३० किलोमिटर रहेको छ ।

सडक निर्माण भए पनि भौगोलिक कारणले यहाँको यात्रा जोखिमपूर्ण रहँदै आएको छ । सडकको स्तरोन्नति हुन नसक्दा यहाँका स्थानीय निराश बनेका छन् । मनाङवासीसँगै,  लमजुङवासी, आन्तरिक तथा बाह्य पर्यटक समेत चिन्तित छन् । यात्राका क्रममा सबैको चाहना सडक गुणस्तरीय होस् र दुर्घटना र जोखिम न्यून रहोस् भन्ने हुन्छ ।

बेँसीसहर–चामे सडक पार गर्न झन्डै छ घन्टा समय लाग्ने सवारी चालक सोम मगारातीले बताउनुभयो । “ठूलाठूला चट्टान ढुङ्गाको बीचैबीच । मस्र्याङ्दी नदीबाट तीन सयदेखि एक हजार फिटभन्दा माथिमाथि हुँदै सवारीसाधन चल्छन्”, उहाँले भन्नुभयो । यात्रा नसकिञ्जेलसम्म डराइडराइ यात्रा गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ थियो ।

विभिन्न कामलगायत घरायसी समान लिनका लागि जोखिमको यात्रा गर्न बाध्य भएको मनाङकावासी बताउँछन् । 

  भौगोलिक संरचनाले जोखिमपूर्ण बनेको सडक बर्खायाममा बाढीले खोतलिदिने र पहिरो आउने भएकाले थप जोखि बनेको चालक मगारातीले बताउनुभयो । उहाँले समय–समयमा सडक स्तरोन्नति गरे सडक गुणस्तरीय हुने र जोखिम कम हुनेमा जोड दिनुभयो ।

 “बेलाबेला ठाउँठाउँमा अवरुद्ध सडकले सवारीसाधन रोकेर बस्दा सडक भासिने हो कि ? माथिबाट पहिरो आएर ज्यानै लैजाने हो कि ? भन्ने जोखिम छ”, यस सडकखण्डका चालक रामबहादुर तामाङले भन्नुभयो । उहाँले यात्राका क्रममा माथिबाट पहिरो आउने सम्भावना बढी भएको भन्दै सडक भासिए मस्र्याङ्दीमा पुग्ने खतरा पनि उत्तिकै रहेको बताउनुभयो । 

 “हामीले दैनिक जोखिमपूर्ण यात्रा गरिरहेका छौँ । पहिरो, बाढीको जोखिमका साथै सडक भासिने सम्भावना पनि छ”, तामाङले भन्नुभयो । यात्राका क्रममा बाटोमा घाइते भए वा बिरामी परेमा थप समस्या हुने गरेको उहाँको भनाइ छ । विगतको तुलनामा केही ठाउँमा सडक स्तरोन्नति भए पनि अधिकांश ठाउँमा सडक जीर्ण हुँदै जाँदा यात्रु दिनहुँ त्रसित हुँदै यात्रा गर्न बाध्य भएका उहाँले बताउनुभयो ।
 

वायुसेवा निगमले मनायो ६५औँ वार्षिकोत्सव

काठमाडौँ – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ६५औँ वार्षिकोत्सव मनाएको छ ।

दिवसका अवसरमा नयाँसडकस्थित निगमको केन्द्रीय कार्यालयमा आज वैदिक विधिअनुसार आकाश भैरवको पूजा आराधना गरिनुका साथै प्रभातफेरी आयोजना गरिएको छ ।

विगतका वर्षहरुमा औपचारिक कार्यक्रम गरेर दिवस भव्यरुपमा मनाइने गरिएको भए पनि निगमले यसपटक सामान्यरुपमा कार्यालय परिसरमै अनौपचारिक कार्यक्रम तथा शुभकामना आदानप्रदान गरेर वार्षिकोत्सव मनाएको हो ।

निगमको प्रधान कार्यालयबाट सुरु भएको पैदल यात्रा वसन्तपुर, आकाश भैरव मन्दिर, असन, जमल, घण्टाघर, शहीदगेट हुँदै निगमको प्राङ्गणमा आएर अनौपचारिक कार्यक्रममा परिणत भएको थियो ।

वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गर्दै निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले राष्ट्रिय ध्वजावाहकको मान र स्वाभिमान कायम राख्दै निगमको हितमा काम गर्न कर्मचारीलाई आग्रह गर्नुभयो । उहाँले सम्पूर्ण कर्मचारी अनुशासित भई एकजुट भएर बाधा अड्चनलाई छिचोल्दै, राष्ट्रिय दायित्वको भूमिका निर्वाह गर्न पनि अनुरोध गर्नुभयो ।

वार्षिकोत्सवको अवसरमा असार ८ गते केन्द्रीय कार्यालयमा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । जसमा निगमका एक सय ७२ जना कर्मचारीले रक्तदान गर्नुभएको थियो । त्यसैगरी निगमको केन्द्रीय कार्यालयमा असार १५ गते टेबल टेनिस प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा पुरुषतर्फ निगमका का.मु उपनिर्देेशक शैलेश कंशाकार पहिलो र निगमका अध्यक्ष युवराज अधिकार दोस्रो हुनुभएको थियो । महिलातर्फ उपनिर्देशक सविना शाक्यले पहिलो र उपनिर्देशक प्रतिभा शर्मा दोस्रो हुनुभएको थियो । निगमले बिना तामझाम आर्थिक मितव्ययता अपनाइ वार्षिकोत्सव कार्यक्रम मनाइएको विज्ञप्तिमा जनाइएको छ ।

सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६५ वर्षे दौरानमा पछिल्लो पटक वाइडबडी ए ३३०–२०० सिरिजको विमान भित्र्याएर सेवा दिइरहेको छ ।

निगमले हाल अन्तर्राष्ट्रियतर्फ भारतको नयाँदिल्ली, बैङ्लोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्याण्ड, जापानका नारिता, कतारको दोहा, युनाइटेड अरब इमिरेट्सको दुबई र साउदी अरबको रियादमा उडान भर्दै आएको छ । निगमले दुई थान वाइड बडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० सिरिजका विमानमार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।

स्थापनाको ६५ वर्षको इतिहास बोकेको निगमले आफ्नो बजार हिस्सा गुमाउँदै जाँदा चिन्ता बढेको छ । निगमको ऋण दायित्व करिब रु ४८ अर्ब पुगेको छ । वाइडबडी विमान खरिद गर्न कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट निगमले ऋण लिएको थियो । भएका विमान पनि राम्ररी सञ्चालन नहुनु, बजेट एयरलाइन्ससँगको प्रतिस्पर्धालगायत कारणले खस्केको निगमले ग्राउण्ड ह्याण्डलिङ सेवा, अन्तर्राष्ट्रिय गन्तव्यमा व्यापार भने राम्रो भइरहेको छ।

खानेपानी उपलब्ध गराउन मन्त्री यादवको निर्देशन

ललितपुर – खानेपानी मन्त्री महिन्द्र राय यादवले उपभोक्तालाई सहजरुपमा खानेपानी उपलब्ध गराउन निर्देशन दिनुभएको छ ।

ललितपुर महानगरपालिका–१४, १५, २३ र २६ को खानेपानी सङ्घर्ष समितिले आज यहाँ आयोजना गरेको बृहत् अन्तरक्रिया कार्यक्रममा मन्त्री यादवले स्थानीय बासिन्दालाई तत्काल मेलम्चीको पानी उपलब्ध गराउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई निर्देशन दिनुभयो । उहाँले खानेपानीको सहज पहुँच आम जनताको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै जनतालाई शुद्घ खानेपानी उपलब्ध गराउने सरकारको दायित्व भएको बताउनुभयो ।

कार्यक्रममा सांसद डा तोसिमा कार्की, प्रदेशसभा सदस्य रघुनाथ महर्जन, खानेपानी मन्त्रालयका कर्मचारी, ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्की, मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय प्रमुख राजेन्द्र सापकोटा तथा स्थानीय प्रभावित बासिन्दा कार्यक्रममा सहभागी थिए ।

आठ सामुदायिक विद्यालयलाई ल्यापटप वितरण

तनहुँ – जिल्लाको ऋषिङ गाउँपालिका कार्यालयले गाउँपालिकाभित्र रहेका आठ सामुदायिक विद्यालयलाई ल्यापटप उपलब्ध गराएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यअनुरुप विद्यालयबाट माग भइआएका निवेदनका आधारमा ल्यापटप वितरण गरेको हो ।

सबै सामुदायिक विद्यालयमा कम्प्युटर जडान भए पनि विद्युत् लाइन नहुँदाको समयमा ल्यापटप सहज हुने भएकाले ल्यापटप उपलब्ध गराइएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो । विद्यालयमा मात्रै नभई प्रयोगात्मक काममा विद्यालय बाहिर जाँदा पनि ल्यापटप लैजान सजिलो हुने भएकाले विद्यालयलको मागबमोजिम प्राथमिकताका आधारमा ल्यापटप हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

प्रवक्ता दरैका अनुसार शुक्ला मावि, सहिदगङ्गा मावि, राधा आवासीय विद्यालय, महेन्द्रदोय, जयदुर्गा मावि, श्रृग मावि, सरस्वती आवासीय विद्यालय र शिवसरस्वती माविलाई ल्यापटप प्रदान गरिएको छ ।

गाउँपालिकाले ७० प्रतिशत र विद्यालयले ३० प्रतिशत लगानी गरेर खरिद गरेको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिल्यापटप रू ९० हजारका दरले खरिद गरिएको हो ।

गाउँपालिकाभित्र रहेका ११ वटा मावि र ३४ आधारभूतसहित ४५ वटै सामुदायिक विद्यालयमा कम्प्युटर जडान गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । अध्यक्ष श्रेष्ठका अनुसार गत वर्ष १० वटा विद्यालयलाई कम्प्युटर प्रदान गरिसकिएको छ । उहाँले भन्नुभयो, “बाँकी रहेका अन्य विद्यालयलाई पनि क्रमिक रुपमा वितरण गर्दै प्रविधिमैत्री बनाइने छ ।”

 कर्णाली प्रदेशसभा बैठक भाेली बस्दै

सुर्खेत – भाेली कर्णाली प्रदेशसभा बैठक बस्दैँछ । बिहीबारबाट स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आइतबार बस्न लागेको हो ।

प्रदेशसभा सचिवालयका अनुसार विशेष कारणले गत बिहीबारदेखि स्थगित भएको बैठक आइतबार बस्ने गरी तय गरिएको छ ।

यस अघि प्रमुख प्रतिपक्षी दल एमालेले बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संसद अवरुद्ध गरेको थियो। जसकाकारण बैठक सुचारु हुन सकेका थिएन । 

बजेट संशोधन नभएसम्म संसद अवरुद्ध गर्ने एमालेले चेतावनी छ । 

संसदमा एमालेको अवरोध हटाउन पटक पटक छलफल भए पनि कुनै ठोस निर्णय हुन सकेको छैन। तर, पनि बैठक आजका लागि बोलाईएको छ । 

आगलागी हुँदा रू २४ लाखको क्षति

सिमकोट – हुम्लाको सिमकोट गाउँपालिका–८ लिगुखेत (बटुम)को एक घरमा आगलागी हुँदा रू २४ लाख बराबरको क्षति भएको छ । स्थानीय जसवीर शाहीको घरमा आज बिहान बिजुलीको तार सर्ट भएर आगलागी हुँदा घरको तेस्रो र दोस्रो तलामा क्षति भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

घरको तेस्रो र दोस्रो तलामा पूर्णरुपमा क्षति पुर्‍याए पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भिमला भट्टराईले बताउनुभयो । “घरमा आगलागी हुँदा शाहीको ढुङ्गा माटोले बनेको तीनतले घर, घरमा भएका गरगहना तथा अन्नपात, काठलगायत सम्पूर्ण धनमाल जलेर नष्ट भएका छन्”, उहाँले भन्नुभयो ।

सिमकोट–७ मा रहेको धारापोरी प्रहरी चौकीका प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए ।

स्वयम्भूको गजुर जीर्णोद्वार सुरु

काठमाडौँ – विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ चैत्यको जीर्णोद्वार सुरु गरिएको छ ।

हावाहुरीका कारण गत फागुनमा चैत्यको गजुर झरेपछि यसको जीर्णोद्वार सुरु गरिएको हो । पुरातत्व विभाग, स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमिति र काठमाडौँ महानगरपालिकाको प्राविधिक टोलीले विस्तृत अध्ययन गरेको थियो ।

काठमाडौँ–१५ मा पर्ने उक्त स्थलमा विशेषगरी बौद्ध अनुयायीले विभिन्न धार्मिक गतिविधि गर्ने गर्दछन् । सम्पदाको
संरचनाको कला, कौशल, बनोटको अध्ययन तथा अनुसन्धान गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । यहाँबाट काठमाडौँ उपत्यकाको बाक्लो बस्ती तथा त्यस वरपर क्षेत्रको
अवलोकनका लागि पनि सर्वसाधारण मानिस आउने गरेको पाइएको छ ।

प्राचीन सम्पदा भएकाले पुरातत्व विभागको परामर्श तथा अनुमति प्राप्त भएपछि मात्र जीर्णोद्वार प्रारम्भ गरिएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अध्यक्ष भिक्षु भर्ममूर्ति महास्थवीरले जानकारी दिनुभयो । उक्त महासमितिले यस क्षेत्रको सरसफाइ तथा आवश्यक संरक्षण गर्ने गरेको छ । बाँदरले हल्लाएर कमजोर बनेको गजुरमा ठूलो हावाहुरीले क्षति पु¥याएको स्थानीयको भनाइ छ ।

मर्मत तथा जीर्णोद्वारको काम सकिएपछि विशेष विधिअनुसार क्षमा पूजा गरी गजुर पुनःप्रतिस्थापन गरिने जनाइएको छ । चैत्यको आसपास क्षेत्रमा रहेका प्रतापपुर र शान्तिपुर मन्दिरले पनि त्यस क्षेत्रमा विशेष सौन्दर्य थपेको छ । यसअघि यी दुवै सम्पदाको पनि मर्मत गरिएको थियो ।

कांग्रेस डराएर १० सीटेलाई डेढ वर्ष प्रधानमन्त्री बनाउँछौँ भन्ने ठाउँमा पुग्यो: गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता बाहिर बस्नुपर्छ भन्ने डरले गर्दा कांग्रेस १० सीट भएका माधव नेपाललाई डेढ वर्ष प्रधानमन्त्री बनाउन तयार हुने अवस्था आएको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ।

महामन्त्री थापाले भन्नुभयो, ‘आज कांग्रेसको पहिचान सत्ताका लागि जे पनि गर्ने भन्ने बनेको छ। १० सीट जितेको पार्टीको नेतालाई अर्को डेढ वर्ष प्रधानमन्त्री मानेर टाउकोमा राखे, बुइमा चढाएर कांग्रेस अन्तिममा डेढ वर्ष प्रधानमन्त्री बन्छौँ भन्ने अवस्थामा पुगेको छ। सरकारबाट बाहिर जानुपर्ला भनेर डराएर यस्तो गरिएको हो । अब नीति महाधिवेशनले यो परिवर्तन गर्नुपर्छ ।’

नसर्ने रोग पहिचान गर्दै बेथानचोक गाउँपालिका

काभ्रे – बेथानचोक गाउँपालिकाले बदलिँदो जीवनशैली र खानपान अपनाएकै कारण मधुमेह, उच्च रक्तचापलगायत नसर्ने रोग बढ्न थालेपछि नसर्ने रोगको ‘स्क्रिनिङ क्याम्प’ सेवा सुरु गरेको छ ।

वडास्थित समुदायका ४० वर्ष माथिका नागरिकको मधुमेह, उच्च रक्तचापलगायत नसर्ने रोगको असारभित्र पहिचान गर्ने उद्देश्यले तालिका बनाएर गाउँपालिकाले क्याम्प कार्यक्रम सञ्चालन गरिरहेको हो । गाउँपालिका र बनेपास्थित शीर मेमोरियल एड्भेन्टिष्ट अस्पतालबीच सम्झौता गरी स्क्रिनिङ क्याम्प सेवा सुरु गरिएको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताउनुभयो ।

अधिकारीका अनुसार सम्झौतामा अस्पतालको प्राविधिक सहयोगमा गाउँपालिकाका छ वटै वडामा समुदायमा रहेका ४० वर्ष माथिका जेष्ठ नागरिकको नसर्ने रोग (मधुमेह, उच्च रक्तचाप लगायत)को स्क्रिनिङ क्याम्प सेवा उपलब्ध गराउने उल्लेख गरिएको हो ।

यस्तै स्क्रिनिङपश्चात् अस्पतालमा रेफर भई आउने बिरामीलाई २० प्रतिशत उपचार शुल्क छुट गराउने पनि सम्झौतामा उल्लेख गरिएको छ । स्थानीय ज्येष्ठ नागरिकको स्वास्थ्य सेवालाई ध्यानमा राखी मधुमेह, उच्च रक्तचापलगायतका समस्याको समयमा नै पहिचान गरी उपचारको दायरामा ल्याई स्वस्थ नागरिक र स्वस्थ समाज निर्माण गर्न सेवा आरम्भ गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।

कार्यक्रमअन्तर्गत नागरिकलाई वडावडामै स्क्रिनिङ सेवा उपलब्ध गराउने, गाउँपालिकाभित्र माथि उल्लेखित समस्या के–कति रहेका छन् सोको तथ्याङ्क सङ्कलन गरी उपचारको दायरामा ल्याउनुका साथै जोखिममा रहेका नागरिकलाई थप उपचारका लागि दुवै पक्षले आगामी आर्थिक वर्षमा आवश्यक कार्यक्रम निर्माण गरी सेवा उपलब्ध गराउने जनाइएको छ ।

कार्यक्रमअन्तर्गत यही असार १३ गते १ नं वडास्थित च्याम्राङबेँसी स्वास्थ्य चौकीमा, १४ गते ६ नं वडास्थित पाँगुभुग्देउ स्वास्थ्य चौकीमा, १५ गते ५ नं वडास्थित च्यासिंखर्क स्वास्थ्य चौकीमा क्याम्प सम्पन्न गरिएको छ ।

यस्तै आइतबार ३ नं वडास्थित महाँकालस्थान आधारभूत स्वास्थ्य चौकीमा, २ नं वडास्थित ढुङ्खर्क स्वास्थ्य चौकीमा सोमबार र मङ्गलबार ४ नं वडास्थित चलाल गणेशस्थान स्वास्थ्य चौकीमा स्क्रिनिङ क्याम्प सञ्चालन गरिने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सीताराम तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार तीन वडामा गरिएको स्क्रिनिङ क्याम्पमा करिब छ सय स्थानीयले सेवा लिएका छन् ।

गठबन्धनको सरकार पाँच वर्ष चल्छ : प्रधानमन्त्री

गण्डकी – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको सरकार पाँच वर्ष नै चल्ने बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “गठबन्धनको सरकार पाँच वर्ष चल्छ । यो कसैले हिलाएर हिल्दैन । हामी समझदारीका साथ अगाडि बढ्छौँ ।”

भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीव्रता पाउने बताउँदै उहाँले भ्रष्टाचार देशको विकराल समस्या भएको उल्लेख गर्नुभयो । नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ सरकार अगाडि बढेको बताउँदै प्रधानमन्त्रीले थप तीव्रताका साथ अघि बढ्ने बताउनुभयो ।

बजेट पास होला कि नहोला भन्ने तरङ्ग रहेको बताउँदै उहाँले विनियोजन विधेयक पारित भइसकेपछि यो तरङ्ग अन्त्य भएको छ, भन्नुभयो ।

उहाँले भन्नुभयो, “यसपटक हामीले भिन्न ढङ्गले नै काम सुरू गरेका छौँ । यो सामान्य मात्र नभएर विशिष्ट प्रकृतिको छ । जनताले भोगका समस्या सम्बोधन गर्न हाम्रो पूरै कोसिस गरिएको छ । विदेशमा रहेका लाखौँ नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेका छौँ, यसको दूरगामी अर्थ छ ।”

अर्थतन्त्र धरासायी बढी नै हुन्छ कि भन्ने रहेका अवस्थामा यो बिस्तारै लयमा फर्किएको उहाँले बताउनुभयो । यसपटकको भारत भ्रमण ऐतिहासक भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रको हितमा भारतसँग धेरै महत्वपूर्ण समझदारी भएको बताउनुभयो । “भारतीय प्रधानमन्त्रीले आफैँ सीमा समस्या हल गरिन्छ भन्ने कुरा ठूलो विषय हो । यसअघि भारतका कार्यकारी प्रमुखले यसबारे बोलेका छैनन्”, उहाँले भन्नुभयो ।

पारवाहन सन्धि पुनरावलोकन पनि महत्वपूर्ण निर्णय भएको र विद्युत् व्यापार सम्झौता पनि सामान्य कुरा नभएको बताउँदै उहाँले १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने समझदारी सामान्य नभएको बताउनुभयो । यसबाट विद्युत् व्यापार पनि बढ्ने र लगानीको ढोका पनि खुल्ने बताउँदै यो आउने पिँढीले पनि सम्झिरहने काम भएको उल्लेख गर्नुभयो ।

राष्ट्र र जनताप्रति इमानदार भएर काम गरिरहेको बताउँदै प्रधानमन्त्रीले छिट्टै चीनको भ्रमणको तयारी भएको जानकारी गराउनुभयो । चीनमा पनि देश र जनताको हितमा अधिकतम राम्रो कोसिस हुने उहाँले बताउनुभयो ।

एयर रूटका लागि भारतसँग कुरा गरिएको र छिट्टै त्यो निष्कर्षमा पुग्ने बताउँदै उहाँले चीन जाँदा पनि यो विषयमा छलफल हुने बताउनुभयो । भ्रष्टाचारका सम्बन्धमा प्रहरीले आफ्नोतर्फबाट अनुसन्धान गरिरहेको र प्रहरीलाई सरकारले आवश्यक निर्देशित गरिरहेको बताउँदै उहाँले यो प्रक्रिया अगाडि बढिरहेको छ र निरन्तर अगाडि जाने बताउनुभयो ।

पोखरामा हिजो सम्पन्न प्रदेशका मुख्यमन्त्रीको गम्भीर छलफलपछि सङ्घीय सरकारका लागि ध्यानाकर्षण गर्न साझा धारणा आएको र त्यो दूरगामी महत्वको रहेको उहाँले बताउनुभयो ।

त्यस्तै आज सम्पन्न राष्ट्रिय समन्वय परिषद्को बैठकले सर्वसम्मत केही महत्वपूर्ण निर्णय गरेको बताउँदै उहाँले त्यसले संविधान कार्यान्वयनमा देखापरेका कतिपय समस्यालाई सम्बोधन गर्ने काम गरेको बताउनुभयो । तीनवटै सरकारको बीचमा समन्वय गर्न र संविधान कार्यान्वयनलाई प्रभावकारी बनाउन बैठकका निर्णय दूरगामी महत्वको रहेको उहाँले बताउनुभयो ।

पर्यटनको विकास गरेर आर्थिकरुपमा सक्षम बन्न सकिन्छ : मन्त्री किराती

भोजपुर – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन क्षेत्रको योजनाबद्ध विकास गरेर देशलाई आर्थिकरुपमा सक्षम बनाउन सकिने बताउनुभएको छ ।

उहाँले सञ्चालन गर्नुभएको ‘हाम्रो सम्पदा राम्रो सम्पदा’ अभियानअन्तर्गत गृह जिल्ला भोजपुरमा आयोजना गरिएको सरसफाइ अभियान कार्यक्रमलाई सम्बोधन गर्दै नागरिकले आफ्नो क्षेत्रको विकासमा आफैँले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

पर्यटकहरुलाई आकर्षित गर्नका लागि आफ्नो संस्कार, संस्कृति तथा आचरण र वातावरणमा सुधार गर्नुपर्ने उहाँको भनाइ छ । पर्यटकीय क्षेत्रलाई सफा, सुन्दर र हराभरा बनाउन नागरिकस्तरबाट अगुवाइ गर्नुपर्नेमा उहाँको जोड थियो ।

“पर्यटनको विकासका लागि हाम्रो संस्कार र संस्कृतिको जगेर्नासँगै आफ्नो ठाउँलाई सफा सुन्दर र हरभरा बनाउन आवश्यक छ”, मन्त्री किरातीले भन्नुभयो, “हाम्रो सुन्दर देशलाई अझ सुन्दर बनाउने हाम्रो दायित्व हो, आफ्नो ठाउँको विकासका लागि हामीले हप्तामा दुई घन्टा समय दिन सक्यौँ भने त्यसले देश निर्माणमा पनि योगदान पुग्छ ।” आफ्नो ठाउँमा पर्यटकलाई बसौँबसौँ लाग्ने बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

आफ्नो घर अगाडि फोहर होइन फूल भन्ने अभियान सञ्चालन गर्नुपर्ने मन्त्री किरातीले बताउनुभयो । यसका लागि नागरिकले हप्तामा दुई घन्टा श्रमदान गर्ने बानी बसाल्नुपर्ने उहाँको भनाइ छ । उहाँको अगुवाइमा जिल्ला अस्पतालसँगै बजार क्षेत्रको सरसफाइ गरिएको छ ।

सचेतनाका रुपमा सरसफाइ गरिएको भए पनि यसको निरन्तरताका लागि नागरिक आफैँ सचेत बन्नुपर्ने भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले बताउनुभयो । “मन्त्रीको उपस्थितिमा बजार क्षेत्रको सरसफाइ गरेका छौँ”, उहाँले भन्नुभयो, “तर एक दिन मन्त्री, नगर प्रमुखले सरसफाइ गरेर मात्र हुन्न, यसको निरन्तरताका लागि नागरिक सजक बन्न आवश्यक छ ।”

बजार क्षेत्रको सरसफाइका लागि नागरिकस्तरबाट अगुवाइ हुनुपर्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख देवनाथ सिंहले बताउनुभयो । कार्यालयले सरसफाइका लागि आवश्यक सहयोग गर्नेे उहाँले प्रतिबद्धता जनाउनुभयो । बजार क्षेत्रलाई सफा, सुन्दर र हराभरा बनाउन योजनाबद्धरुपमा सरसरफाइका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उहाँको भनाइ छ । नागरिकले हप्तामा एक दिन श्रमदानको अभियान सञ्चालन गर्नुपर्ने प्रमुख सिंहले बताउनुभयो ।

एक दिनमात्र नभएर सरसफाइ अभियानलाई निरन्तरता दिन सबै अग्रसर हुनुपर्ने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताउनुभयो । यस्ता सन्देशमूलक कार्यक्रमले नागरिकको चेनतास्तरमा सुधार आउने उहाँको भनाइ थियो ।

कार्यक्रममा जिल्लाका सरकारी कार्यालय, सुरक्षा निकाय तथा विभिन्न सङ्घ संस्थाको सहभागिता रहेको थियो । मन्त्री किरातीले जिल्ला अस्पातलको बिरामी कुरुवा घरको अनुमगन तथा परिसरमा वृक्षरोपणसमेत गर्नुभएको थियो ।

कोशीमा वर्तमान मन्त्रिपरिषद्लाई काम गर्ने जिम्मेवारी

विराटनगर – कोशी प्रदेशमा अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म वर्तमान प्रदेश मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेगरी जिम्मेवारी तोकिएको छ ।

कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम मन्त्रिपरिषदलाई सो जिम्मेवारी तोकेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा आज जारी विज्ञप्तिमा तत्कालका लागि वर्तमान मन्त्रिपरिषद्लाई जिम्मेवारी तोकिएको उल्लेख छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मिति २०७९ साल पुस २४ गते नियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम २०८० साल असार १४ गते कोशी प्रदेशसभामा विश्वासको मतका लागि राखेको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम २०८० साल असार १५ गते पारित हुन नसकेको भन्ने व्यहोराको पत्र कोशी प्रदेशसभामुख बाबुराम गौतमले प्रदेश प्रमुख खापुङ्गलाई बुझाएका थिए ।

विधेयकका बारेमा संसदीय पत्रकारको कलम कम चल्यो: अध्यक्ष तिमिल्सिना

काठमाडौं – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय पत्रकारहरुले विधेयकहरुको बारेमा कलम चलाउनुपर्ने बताउनुभएको छ।

शनिबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको आठौं अधिवेशनलाई सम्बोधन गर्नुुहुँदै  उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष तिमिल्सिनाले संसदीय मामिला हेर्ने पत्रकारहरुले एउटै विधेयकहरु संसदबाट बारम्बार फर्किने, समितिमा अल्झिएर बस्ने र वर्षौं वर्षसम्म नआउने लगायतका विषयहरुमा कलम चलाउन नसकेको गुनासो गर्नुभयो । उहाँले विधेयकहरु बारम्बार शून्यमा झर्दा आम नागरिकहरुलाई त्यसबाट परेको असरका बारेमा कलम चलाउन आग्रह गर्नुभयो ।

‘एउटा विधेयक तयार पार्दा समय, लगानी, आर्थिक पक्ष त्यो विधेयकले दिने सेवा कति प्रभावित भएको हुन्छ, लिएर आयो ५/६ वर्षसम्म विधेयक थन्क्याउने, त्यसलाई अघि नबढाउने, एउटा सदनले पास गरेको अर्कोमा लगेर त्यत्तिकै राखेर त्यो शून्यमा जाँदा के हुन्छ ? यस्ता कुरामा औंला ठड्याउनुपर्छ । कुन समितिमा गएर कति समय लाग्यो, विधेयक रोकेको कति भयो ? किन राख्यो त्यसलाई उजागर गर्नुपर्छ’ अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘सभामुख, अध्यक्ष, मन्त्रीहरुले के गरे भन्नेमा खोजिखोजि नभएको पनि लेख्ने तर विधेयक ल्याएर कहाँ कति रोकियो, किन रोकियो त्यसको सोधीखोजी नगर्ने गर्नु हुँदैन । विधेयक कहाँ कसरी अड्कियो, त्यसको असर के ? त्यसमा नआउने कसरी संसदीय मामिला कस्तो हुन्छ ? यस्ता कुरामा हामीले ध्यान दिनुपर्छ । तपाईहरुले यसमा लेख्दा विधेयक छिटो आउँछ । दबाब बढ्छ ।’

अध्यक्ष तिमिल्सिनाले पत्रकारहरुले विधेयक ल्याउन भइरहेको ढिलासुस्तीमा दबाब दिन सके विधेयकहरु समयमा नै आउने बताउनुभयो ।

राहत, क्षतिपूर्ति र पुनःनिर्माणमा ढिलाइ नगर्न मन्त्री ज्वालाको निर्देशन

पाँचथर – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बाढी पहिरोबाट उत्पन्न विषम परिस्थितिमा राहत तथा क्षतिपूर्ति वितरण तथा पुनःनिर्माण कार्यमा ढिलाइ नगर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

असार पहिलो साता पाँचथरमा बाढी र पहिरोले पु¥याएको क्षतिको निरीक्षणका लागि आज पाँचथरको फिदिम आउनुभएका मन्त्री ज्वालाले जिल्ला प्रशासन कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा राहत, क्षतिपूर्ति र पुनःनिर्माणमा कुनै पनि प्रकारको ढिलाइ नगर्न सरोकारवाला निकायलाई निर्देशन दिनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सरकारको टोलीले स्थलगत बाढी पहिरोको क्षतिको निरीक्षण गर्न नपाएका कारण आफू सरकारको प्रतिनिधिका रुपमा आएको जनाउँदै उहाँले सबै मन्त्रालय मातहतका निकायलाई तदारुकताका साथ लाग्न आग्रह गर्नुभयो । “राहत, क्षतिपूर्ति र पुनःनिर्माणको काम नियमित काम जस्तो होइन, यसमा ढिलाइ हुनु हुँदैन”, मन्त्री ज्वालाले भन्नुभयो, “अहिले सबै स्रोतसाधनको प्रयोग गरेर तदारुकताका साथ काम गरी आधारभूत सेवाबाट बञ्चित नागरिकका लागि सरकारी निकायले काम गर्नुपर्छ ।”

उहाँले बाढी पहिरोका कारण भएको क्षतिको विवरण सङ्कलन, राहत र क्षतिपूर्तिका लागि प्रशासन तथा स्थानीय तहले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै पाँचथरमा बाढीमा परी बेपत्ता रहेका तीन जनाको खोजी कार्यलाई नियमित गर्न पनि उहाँले सुरक्षा निकायलाई निर्देशन दिनुभयो ।

यही असार २ गते आएको बाढीले क्षति पु¥याएका मेची राजमार्ग, तमोर करिडोर र पुष्पलाल (मध्यपहाडी) राजमार्गको अनुगमनका लागि मन्त्री ज्वालासहितको टोली यहाँ आएको हो । उहाँले मेची राजमार्गअन्तर्गत हेंवा खोलामा बेलिब्रिज निर्माण कार्यलाई चाँडो सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले सो स्थानमा पक्की पुल निर्माणका लागि चाँडै ठेक्का प्रक्रिया अघि बढाइने पनि बताउनुभयो ।

बाढीले बगाएको तमोर करिडोरको माझीटारस्थित बेलिब्रिज र मध्यपहाडी राजमार्गको दोभानेस्थित सडक पुल रहेका स्थानमा बेलिब्रिज निर्माण गर्ने वा सडक पुल नै बनाउने भन्ने पनि चाँडो यकीन गरेर कार्य थालिने बताउनुभयो ।

सो क्रममा पाँचथरका प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री वसन्तकुमार नेम्वाङले बाढी र पहिराका कारण धेरै भौतिक संरचनामा क्षति पुग्दा नागरिकले समस्या झेल्नुपरेको जनाउँदै पुनःनिर्माण चाँडो अघि बढ्नुपर्ने बताउनुभयो । “फालेलुङ गाउँपालिकाभित्रै दुई वटा सडकमा पुल बग्दा नागरिकलाई सास्ती छ, सरकारको ध्यान मुख्य राजमार्गका अतिरिक्त अन्य संरचनामा पनि पुग्नुपर्छ”, उहाँले भन्नुभयो, “घरबार, खेतीपाती, जग्गा, जमिन, पशुपक्षी तथा अन्य संरचनामा क्षति भोगेका जिल्लावासीलाई चाँडो राहत र क्षतिपूर्ति दिन मैले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएको छु ।”

मन्त्री ज्वालाका साथ पूर्वमन्त्री नेम्वाङ, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, सडक विभागका उपमहानिर्देशक रामहरि पोखरेललगायत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका विभिन्न निकायका अधिकारी सहभागी हुनुहुन्छ । मन्त्री ज्वालाको टोलीले आज र आइतबार यहाँका क्षतिग्रस्त सडक तथा अन्य संरचनाको निरीक्षण गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले जानकारी दिनुभयो ।

नवलपरासी र रुपन्देहीमा दिउसो ३ बजेसम्म बाढीको उच्च जोखिम, सतर्कता अपनाउन सुचना जारी

काठमाडौं – नवलपरासी र रुपन्देही क्षेत्रमा आज दिउसो ३ बजेसम्म बाढी आउने जोखिम भएकोले सर्तकर्ता अपनाउन सुचना जारी गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले आफ्ने फेसबुकमा पेजमा सुचना लेखेर पछिल्लो ६ घण्टामा नवलपरासी बर्दघाट सुस्तापूर्व, नवलपरासी बर्दघाट सुस्ता पश्चिम, रुपन्देही जिल्ला र आसपास भारी वर्षा भएको जनाएको छ ।

जसका कारण सो जिल्ला भई बहने खोला र नदीमा बाढी आउने तथा होचा स्थान डुबानमा पर्नसक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सूचना गरेको छ।

नारायणगढ–मुग्लिन पुनःअवरुद्ध

मुग्लिन – नारायणगढ–मुग्लिन सडकखण्ड पुन अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोला नजिक फेरि पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।

आज बिहान ११ः३५ बजे पुनःपहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । आज बिहान ३ः१५ बजे सोही स्थानमा पहिरो खसेर सडक बन्द भएको सडक सञ्चालन भएको केहीबेरमा पुनःपहिरो खसेर अवरुद्ध भएको हो ।

अहिले पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बिहीबार दिउँसो पनि सोही ठाउँमा पहिरो खसेर बन्द भएको सडक शुक्रबार बेलुकी ५ बजेदेखि खुलेको थियो । पहिरो झरेर सडक अवरुद्ध भइरहने हुनाले उक्त स्थानमा अपरेटरसहितको मेसिन तैनाथ रहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

यो सडक हुँदै दैनिक औसतमा १० हजार गाडी आवतजावत गर्ने गर्दछन् । पटकपटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडाँै ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।

नरैनापुरका भूमिहीनलाई पुर्जा वितरण सुरु

खजुरा – बाँकेको नरैनापुर गाउँपालिकाको गाउँब्लक (घरबास मिनाह) मा रहेका पुर्जाविहीनलाई जग्गा धनी प्रमाण पुर्जा वितरण सुरु गरिएको छ ।

नरैनापुर गाउँपालिका–४ स्थित गाउँब्लकका ७७ घर परिवारलाई पाहिलो चरणमा जग्गाधनी प्रमाण पुुर्जा वितरण गरिएको गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को भदौमा गोश्वारा नापी कार्यालय टोली नं १ ले गरेको नापी र सर्वेक्षणअनुसार वडा नंं ४ का करिब पाँच सयको गाउँब्लकको जग्गा धनी पुर्जा तयार पारिएको छ ।

नरैनापुर गाउँपलिकामा रहेका छ वटै वडामा पुर्जाविहीनलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने मिश्रले बताउनुभयो । उहाँले छ वटै वडामा करिब दुई हजार पाँच सय बढीलाई पुर्जा वितरण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

मिश्रले भन्नुभयो, “अहिले वडा नं ४ का ७७ जनालाई मात्र वितरण गरिएको छ, यस वडाका बाँकी चार सय बढीलाई पुर्जा विरतणको तयारी गरिएको छ ।” अन्य वडामा पनि क्रमशः जग्गाधनी पुर्जा वितरण गरिने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

नापी कार्यालयबाट सर्भे र नापी भइसकेका गाउँब्लकको जग्गाको प्रमाण पुर्जा बनाएर वितरणको अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष इश्त्यिाक अहमद शाहले बताउनुभयो । “नापी हुन बाँकी गाउँब्लकको नापी प्रक्रिया अघि बढेको छ । जग्गा नभएका सबैले पुर्जा प्राप्त गर्नेछन्”, उहाँले भन्नुभयो ।

एमालेसँग कांग्रेसको संयुक्त सरकार बन्ने कुनै सम्भावना छैन् : परराष्ट्रमन्त्री साउद

डडेल्धुरा – परराष्ट्रमन्त्री एनपी साउदले सरकारले तरल रहेको परराष्ट्र नीतिलाई स्थिरता दिने प्रयत्न गरिरहेको बताउनुभएको छ।

नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले शनिबार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अन्तर्राष्ट्रिय सम्बन्धलाई स्थिरता दिने प्रयास भइरहेको बताउनुभएको हो ।

‘अलि कति तरल रहेको परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई हामीले अहिले स्थिरता दिने प्रयत्न गरिरहेका छौं। हाम्रो परराष्ट्र नीतिको सम्बन्धमा हामीले संयुक्त राष्ट्र संघको बडापत्रमा उल्लेखित मूल्य र मान्यताहरूलाई सम्मान गर्छौं,’ मन्त्री साउदले भन्नुभयो, ‘त्यसलाई हामी व्यवहारमा पनि लागू गर्न चाहन्छौं, संसारमा हुने सैन्य द्वन्द्व वा सैन्य गठबन्धनमा हामी समेल हुँदैनौं तर संसारमा हुने घटनामा हामी तटस्थ बस्छौं, बोल्न सक्दैनौं हाम्रो विचार नै छैन भन्ने चाहिँ होइन।’ उहाँले संसारमा हुने घटनालाई नेपालले स्वतन्त्र राष्ट्रको रूपमा निश्पक्ष किसिमले हेरिरहेको बताउनुभयो।

कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भारतसँग सीमा जोडिएका क्षेत्रका बारेमा पनि सरकार गम्भीर रहेको उहाँको भनाइ थियो। प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पनि यी विषयमा कुराकानी भएको र भारत पनि सीमा समस्या समाधानमा सकारात्मक रहेको मन्त्री साउदले बताउनुभयो। ‘कालापानीलगायत देशभरका अन्य सीमाका बारेमा भारतीय पक्षले दिनुपर्ने रेस्पोन्स हामीले कुटनीतिक रूपमा प्राप्त गर्नुपथ्र्यो त्यो विगतमा गर्न सकिएको थिएन,’ उहाले भन्नुभयो, ‘भारतीय प्रधानमन्त्रीले सीमासँग सम्बन्धित समस्या वा विवादहरू वार्तामार्फत् सामाधान गर्नुपर्छ भनेर बोल्नु भएको छ। त्यसलै सीमासम्बन्धी समस्याले निकास पाउँछ।’

यसका साथै परराष्ट्रमन्त्री साउदले अहिलेको सत्ता गठबन्धन नभत्किने प्रष्ट पार्नुभयो। बाहिर हल्ला अनुसार एमालेसँग मिल्ने कुनै सम्भावना नरहेको उहाँको दाबी छ। ‘नेपाली कांग्रेसलाई पुस १० गतेको घटना हेक्का रहेकै छ। हामीले इतिहासबाट पाठ सिक्नुपर्छ त्यसकारण अहिले एमालेसँग नेपाली कांग्रेसको संयुक्त सरकार बन्ने कुनै पनि सम्भावना रहेको छैन’ उहाँले भन्नुभयो। उहाँले प्रतिपक्षका मागलाई सरकारले अधिकतम् सम्बोधन गर्ने प्रयास गरिरहेको बताएउनुाभयो।

उहाँले डडेल्धुराको परशुरामको शीर्ष र बैतडीको झुलाघाटमा निर्माण हुने पक्की पुलको काम ६ महिनाभित्र सुरु हुने जानकारी दिनुभयो।

रौतहटमा आमा छोरीको मृत्युबारे प्रहरीको अनुसन्धान जारी

चन्द्रपुर (रौतहट) – रौतहटको मौलापुरमा गत शुक्रबार आमा छोरीको रहस्यमय मृत्युका सम्बन्धमा रौतहट प्रहरीले अनुसन्धान गरिरहेको छ । मौलापुर नगरपालिका–४ पतौरा गाउँकी २४ वर्षीया कविता देवी र उनकी दुई वर्षीया छोरी आरुही शुक्रबार राति घरमै मृतावस्थामा शव फेला परेका थिए ।

आरुहीको शव पङ्खामा झुिन्डएको तथा कविताको शव घरबाट बाहिरिने सिँढीमुनि फेला परेको प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक उमाशङ्करप्रसाद यादवले बताउनुभयो । उहाँका अनुसार मृतक कविताका पति धिरेन्द्र साह र ससुरा नागेन्द्र साह घटनापछि फरार छन् । कविताकी सासू र जेठानीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

कविताको माइती पक्षले दाइजोको निहुँमा उनको हत्या गरिएको आरोप लगाएको छ । उनको माइतीघर माधवनारायण नगरपालिका–५ मिठुअवा गाउँ हो । कविताका बुबा विजयशङ्कर साहले घटना थाहा पाउनसाथ आफू छोरीको घर गएको तर आफूले छोरी र नातिनीको शव हेर्नसमेत धेरै बेरपछि पाएको बताउनुभयो । उहाँका अनुसार छोरी र ज्वाइँबीच पटक पटक विवाद हुने गरेको थियो ।

“बेलाबेलामा कविताले ज्वाइँ धिरेन्द्र साहले नगद, पलङ, सुनको आँैठी र सिक्री माग्ने गरेको बताएकी थिइन् । दाइजो नल्याएका कारण छोरी र नातिनीको हत्या गरिएको हो”, साहको आरोप छ ।

हालसम्म घटनाको मुचुल्का तयार गर्ने काम भइरहेको र माइती पक्षले कुनै जाहेरी नदिएको रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर बुढाले बताउनुभयो ।

मौलाकालिका पुग्ने धार्मिक पर्यटक बढे

नवलपुर – यसअघि गैँडाकोट तथा नारायणगढ आउँदा टाढैबाट मन्दिर दर्शन गरेर जाने ६१ वर्षीया लक्ष्मी उपाध्याय गत सोमबार मौलाकालिका मन्दिरमा पूजा गर्न पुग्नुभएको थियो । जिल्लाको मध्यविन्दु–३ बाट आउनुभएकी उहाँले हामीसँगको कुराकानीमा १७ वर्षपछि आज मन्दिर पुगेको बताउनुभयो ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिस्थल मौलाकालिका मन्दिरमा हिँडेर जानुपर्ने भएकाले आफू १७ वर्षसम्म मन्दिर दर्शनका लागि जान नसेकेको उपाध्यायको भनाइ थियो । “सत्र वर्षअघिसम्म त वर्षमा दुई तीन पटक मौलाकालिका मन्दिर आउने गरेकी थिएँ”, उहाँले भन्नुभयो, “विस्तारै बुढेसकाल लागेपछि हिँडेर मन्दिर पुग्नसक्ने अवस्था नभएकाले टाढैबाट मन्दिरको दर्शन गरेर घर फर्किने गरेकी थिएँ ।” यस पटक भने मन्दिरसम्मै पुग्न सकिने केबलकार सञ्चालनमा आएको सुनेर आफू मन्दिर दर्शनका लागि आएको उहाँले बताउनुभयो ।

“पहाडको फेदीबाटै केबलकार चल्दा सहज भएको छ । केबलकारमा पाँच मिनेको यात्रापछि मन्दिर नजिकै ओर्लिन पाइने रहेछ, यात्रा पनि रमाइलो लाग्यो”, उहाँले भन्नुभयो, “जिन्दगीमै पहिलोपटक केबलकार चढ्ने मौका मिल्यो, केबलकारबाट झरेको पाँच मिनेटमै माताको दर्शन गर्न मन्दिर पुगिँदो रहेछ ।” केबलकार सञ्चालनपछि हिँड्न नसक्ने व्यक्तिका लागि मन्दिर पुग्न सहज भएको उहाँले बताउनुभयो । यसअघि आफू नारायणगढ र गैँडाकोट आइराख्ने भए पनि टाढैबाट माताको दर्शन गरेर फर्किने गरेको उपाध्यायले सुनाउनुभयो ।

अहिले मौलाकालिकामा पूजाआजा गर्न जाने त भए नै धार्मिक पर्यटन प्रर्वद्र्धनका लागि विभिन्न समूह बनाएर जाने व्यक्तिहरु पनि पुग्ने गरेका छन् । पहिले तल देवघाट दर्शनमा आएका व्यक्तिहरु त्यहाँबाटै फर्किने गरेका भए पनि अहिले केबलकारको सुविधाका कारण मौलाकालिका मन्दिर पनि पुग्ने गरेका सोमबार धनगढीबाट मन्दिर दर्शनका लागि आएका कैलाश आचार्यले जानकारी दिनुभयो ।

आचार्यले भन्नुभयो, “पहिले पनि दर्शन गर्न पुगेको थिएँ, यहाँ हिँड्न नसक्नेलाई गाडीमा जान सकिने सुविधा पनि थियो र अहिले पनि रहेछ । तर गाडी भरपर्दाे नहुने । पानी पर्दा हिलो हुने र उकालोमा गाडी नचल्ने भएकाले एकपटक हामी बीचबाटै फर्र्किएका थियौँ तर यसपालि निकै सजिलोगरी देवीको दर्शन गर्न पाइयो । सपरिवार आएका थियौँ अब आज नै घर फर्किन्छौँ ।”

गैँडाकोट–१ को धारापानीबाट मन्दिर नजिकैको हेलिप्याडसम्म केबलकार सञ्चालनमा आएपछि मन्दिरमा दर्शन तथा पूजाआजाका साथै धार्मिक पर्यटनमा आउनेको सङ्ख्या बढेको धार्मिक सेवा समिति मौलाकालिका मन्दिरले जनाएको छ । समितिका आन्तरिक लेखा समिति संयोजक शोभाकान्त काफ्लेले पहिलेको तुलनामा अहिले दोब्बरले भक्तजनको सङ्ख्या बढेको बताउनुभयो ।

“अघिल्ला वर्षमा सय समयमा सामान्य दिनमा दैनिक पाँच सयको हाराहारी मानिस मन्दिरमा आउने गरेका थिए”, उहाँले भन्नुभयो, “अहिले दैनिक एक हजारभन्दा बढी मानिस मन्दिरमा आउने गरेका छन् । सार्वजनिक बिदाको दिन र चाडपर्वमा त निकै भिडभाड हुने गरेको छ ।”

उहाँले भन्नुभयो, “वैशाखमा केबलकार सञ्चालनमा आएपछि मन्दिरमा भक्तजन बढेका हुन् । मन्दिरमा दैनिक नित्य पूजा, शिवालय मन्दिरमा रुद्री, हवन, विवाहजस्ता शुभकार्य हुने गरेका छन् ।” मन्दिरमा माता कालीको दर्शनसँगै जन्मदिन मनाउन, वैवाहिक वर्षगाँठ मनाउन, भाकल गर्न, भाकल बुझाउन, पितृको उद्धारका लागिसमेत भक्तजन आउने गरेका उहाँको भनाइ छ ।

मन्दिरमा कुनै पनि कार्य गर्नका लागि समितिले पैसा तोकेर नलिने भन्दै उहाँले भन्नुभयो, “हामीले परेवा उडाउन चाहने व्यक्तिका लागि रु दुई सय ५० मूल्य तोकेका छौँ, अन्य कार्यका लागि भक्तजनले स्वेच्छाले दिनुभएको दान हामीले सहर्ष स्वीकार गरेका छौँ ।” मन्दिर पुग्ने भक्तजनहरुले माताको पाउमा, दान पेटिकामा रकम दिने गरेको भन्दै उहाँले केही व्यक्तिहरुले भने रसिद काटेर भेटी दिने गरेको बताउनुभयो । मन्दिर दर्शनका लागि आउने भक्तजन बढेसँगै मन्दिरको भेटीसमेत बढेको उहाँको भनाइ छ ।

“अहिले मन्दिरले दैनिक रु ५० हजारभन्दा बढी भेटी रकम सङ्कलन गर्दै आएको छ”, उहाँले भन्नुभयो, “मन्दिरमा सङ्कलन भएको भेटीबाट धर्मशाला, गुरुकुलम्, अतिथि गृहलगायत सञ्चालन भइरहेको छ । भेटीबाट उठ्ने रकमले मन्दिरको खर्च धान्न धौधौ हुने गरेको भन्दै उहाँले सरकारकोतर्फबाट हालसम्म मन्दिरलाई आर्थिक सहयोग नभएको बताउनुभयो ।

जेठ महिनामा मात्रै मौलाकाली केबलकारमार्फत २६ हजारभन्दा बढी व्यक्तिले यात्रा गरेका मौलाकाली केबलकार प्रालिका व्यवस्थापक सुरज पौडेलले बताउनुभयो । माथि पुगेका अधिकांश व्यक्ति मन्दिरको दर्शनका लागि पुग्ने गर्दछन् ।

दैनिक आठ सय जनासम्म यात्रुले केबलकार चढेर चढेर मौलाकालिका पुग्ने गरेका पौडेलको भनाइ छ । नयाँ वर्षका अवसरमा वैशाख १ गतेदेखि सुरु गरिएको केबलकारमा दैनिक जस्तो दर्शनार्थीको सङ्ख्या बढेको उहाँ बताउनुहुन्छ । बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने यस केबलकारबाट प्रतिघन्टा छ सय जनाले यात्रा गर्न सक्छन् । यसो लम्बाई एक हजार दुई सय मिटर छ ।

लामो खडेरीले धानको उत्पादनमा कमी हुने

कलैया – लामो समयदेखि वर्षा नभई खडेरी परेको हँुदा भदैया धानको उत्पादन हुने क्षेत्रफलमा किसानले रोपाइँ गर्न नसक्दा उत्पादनमा कमी आउने भएको छ ।

आर्थिक वर्ष २०८०÷८१ का लागि कृषकले विभिन्न जातका भदैया धान ११ हजार नौ सय पाँच हेक्टर क्षेत्रफलमा खेती गर्ने लक्ष्य लिएकामा खरेडी पर्दा र समयमा धानको बीउ तयार हुन नसकेकाले हालसम्म कृषहले १० प्रतिशतमात्र रोपाइँ गर्न सकेको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत राजनारायण प्रसादले जानकारी दिनुभयो । भदैया धानको क्षेत्रफलमा कमी भए पनि अगहनी धानको क्षेत्रफलमा भने वृद्धि हुने उहाँले बताउनुभयो ।

गत वर्ष कृषकले विभिन्न जातका भदैया धान ११ हजार नौ सय पाँच हेक्टर क्षेत्रफलमा प्रति हेक्टर चार दशमलव तीन प्रतिशतले धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो ।

कलैया उपमहानगरपालिका–१४ भैराका किसान गोपालदास बैरागी र कलैया उपमहानगरपालिका–२ का किसान प्रभु यादवका अनुसार खरेडीका कारणले अहिलेसम्म रोपाइँ हुनुपर्ने बेलामा बीउ नै रोपाइँयोग्य नभएको हुँदा आफूहरुलाई समस्या भएको बताउनुभयो ।

आजबाट बन्द भए देशैभरीका क्रसर उद्योग

भैरहवा – लुम्बिनीका क्रसर उद्योगीहरु आन्दोलित हुदै क्रसर उद्योग नै बन्द गर्ने घोसणा गरेका छन ।

सरकारको अव्यवहारिक निर्णयले नविकरण हुन नसकेको भन्दै लुम्बिनी प्रदेशका सबै उद्योगीले असार १६ गते देखि उद्योग बन्द गर्ने जानकारी गराएका हुन् । 

विगत १० वर्ष देखि नेपाल सरकारबाट जारी भएका अव्यवहारिक निर्णयहरुको कारण निरन्तर उद्योगहरुको नविकरण सम्बन्धी समस्या झेल्दै आएको बताउदै उनीहरुले नेपाल सरकारबाट कानून बमोजिम दर्ता भई ईजाजत लिई सञ्चालनमा रहेका क्रसर, खानी तथा वालुवा उद्योगहरु २०८० असार १५ गते भित्र नविकरण गर्न मातहतका निकायहरुलाई लिखित स्पष्ट निर्देशन नभएको खण्डमा यस लुम्बिनी प्रदेश क्रसर व्यवसायी संघ वाध्य भई २०८० असार १६ गतेदेखि हाम्रा प्रदेशका सम्पूर्ण क्रसर, खानी तथा वालुवा उद्योगहरुको विक्री वितरण कार्य तथा उत्पादन कार्य ठप्पगरी अनिश्चित कालको लागि बन्द गर्ने निर्णयमा पुगेकाे लुम्बिनी प्रदेश क्रसर व्यवसायी संघका अध्यक्ष गोपाल ज्ञवालीले बताए । 

नेपाल सरकार, गृह मन्त्रालयले मिति २०७९ पुष २० गतेबाट क्रसर, वालुवा तथा खानी उद्योग बन्द गराई नेपाल सरकारको तर्फबाट छानविन गरी कानून बमोजिम अनुमति ईजाजत लिएका उद्योगहरुको विवरण नै सार्वजनिक गरेको थियो । 

नेपाल सरकार मन्त्री परिषदको बैठक ले दर्ता भई सञ्चालनमा रहेका, मापदण्ड लगायतका कारण नवीकरण हुन नसकेका क्रसर उद्योगहरुको हकमा ती उद्योगबाट कानून बमोजिम लाग्ने कर, दस्तुर शुल्क लगायतका राजश्व लिई २०८० असार मसान्तसम्म यथावत रुपमा सञ्चालन गर्ने निर्देशन समेत भएको थियो । 

निर्णय अनुसार नेपाल सरकारले तोकिएको निकायबाट हालसम्म कुनै पनि निर्देशन कार्यान्वयन नभएर उद्योगहरु नविकरण नभएका र उद्योगी व्यवसायीहरु जिल्ला जिल्लामा रहेका नेपाल सरकारको सम्बन्धित निकाय घरेलु तथा साना उद्योग कार्यालयमा कर, दस्तुर शुल्क लगायतका राजश्व रकम बुझाउन जाँदा पत्रमा नविकरणको भाषा स्पष्ट नभएको कारण जनाई रकम बुझ्न नमानेको र उद्योगहरु नविकरण समेत नभएकोले बाध्य भएर आन्दोलित हुन परेको संघका केन्द्रिय उपाध्यक्ष चन्द्रमणी अधिकारीले बताए । 

कच्चा पदार्थको रुपमा रहेका ढुङ्गा, गिट्टी, वालुवा उत्खनन कार्य र तिनै कच्चा पदार्थहरु कसिङ्ग प्रशोधन गर्ने गरी उद्योग संचालन गर्ने कार्य दुई छुट्टाछुट्टै उद्देश्य र प्रकृतिको कार्य हुन । कच्चा पदार्थ उत्खनन कार्यलाई क्रसर उद्योग संचालनसंगै जोडेर मूल्यांकन गर्न नमिल्ने हुँदा उत्खनन कार्य स्थानीय सरकारमार्फत र कसर उद्योग संचालन कार्य उद्योग मन्त्रालय मार्फत नै व्यवस्थापन गर्ने व्यवस्था मिलाउन समेत उनीहरुले माग गरेका छन । 

अर्बौं लगानी भएको क्रसर उद्योग देशभर ६ सय र लुम्बिनी प्रदेशमा मात्रै करिब १५० वटा रहेका छन ।  
 

पहिराले मध्यपहाडी लोकमार्गको निसीखोला खण्ड अवरुद्ध

ढोरपाटन – दुई दिनदेखिको वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गको बुर्तिबाङ–रुकुम खण्डअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–२ जुग्जाखोला नजिकै आज पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा बुर्तिबाङदेखि रुकुम र रुकुम, निसीखोला लगायतका ठाउँबाट काठमाडौँ, बुटवल, पोखरा लगायतका ठाउँमा जाने यातायातका साधन ठप्प भएका छन् । सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । अहिले सडक खुलाउने प्रयास भइरहेको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले जानकारी दिनुभयो ।

भारी वर्षाका कारण लोकमार्गको विभिन्न स्थानमा पहिराले सडक ठाउँ ठाउँमा अवरुद्ध बनेको छ । लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डको विभिन्न ठाउँमा पहिरो जाँदा सडक खुलाउँदै यातायातका साधन सञ्चालन भइरहेका छन् ।

बजेटले अर्थतन्त्रलाई चलायमान बनाउँछ : अर्थमन्त्री महत

गण्डकी – अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले ल्याएको बजेटले अर्थतन्त्रलाई चलायमान बनाउने बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा उहाँले देश र जनतालाई केन्द्रविन्दुमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउने गरी बजेट आएको उल्लेख गर्नुभयो ।

सरकारले अर्थतन्त्रलाई चलायमान बनाउले लक्ष्यका साथ उद्योग व्यवसायलाई बढाउने प्रस्ताव गरेको मन्त्री महतले बताउनुभयो । उद्योग व्यवसाय खोल्नका लागि निःशुल्क उद्योग दर्ता गर्न सक्ने र पूँजी एक सय रुपैयाँ राखेर पनि प्रारम्भिक उद्योगको सुरुआत गर्न सक्ने व्यवस्था मिलाइएको उहाँको भनाइ थियो । आइटीलाई प्रोत्साहन गर्न करमा आधा छुटको व्यवस्था मिलाइएको र पूँजीको कुनै सिमाना नरहेको उहाँले उल्लेख गर्नुभयो ।

पूँजीगत खर्च गर्ने सीमाका कारण भनेजस्तो हरेक ठाउँमा चाहेजस्तो बजेट विनियोजन गर्न नसकिएको उल्लेख गर्दै मन्त्री महतले बजेटको लक्ष्य लोकप्रिय रहेको र यसले लोकप्रिय परिणाम दिने विश्वास व्यक्त गर्नुभयो । खर्च प्रक्रियालाई सहज बनाउने र अनुशासन कायम गर्नतर्फ सरकार लागेको जिकिर गर्दै उहाँले बजेटको समयमा कार्यान्वयन नहुने, कार्यविधि नबन्ने, समयमा ठेक्का नलाग्ने जस्ता विषयको अन्त्य गर्नका लागि मुख्य सचिवसहित मन्त्रालयका सचिवलाई बोलाएर निर्देशन दिएको उल्लेख गर्नुभयो । निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी बजेट आएको उहाँको भनाइ छ ।

नेपाली कांग्रेसका प्रवक्तासमेत रहनुभएका मन्त्री महतले कांग्रेस जहिले पनि निजी क्षेत्रलाई प्रोत्साहन गर्नेतर्फ लागेको बताउनुभयो । आर्थिक वृद्धिको वाहक निजी क्षेत्रलाई बनाउने र वितरण वाहक एवम् जिम्मेवारी राज्यले लिनेमा आफूहरू स्पष्ट रहेको उल्लेख गर्दै उहाँले उत्पादन वृद्धि गराउँदै उक्त वृद्धिको हिस्सा पछि परेका वर्ग एवम् समूहमा सम्प्रेषित गर्ने नीति लिइएको बताउनुभयो । आर्थिक वृद्धिसँगै शिक्षा, स्वास्थ्य पूर्वाधार विकासमा पछि परेको समूहमा लगानी गर्ने नीतिअनुरुप नै बजेट प्रस्ताव भएको मन्त्री महतले स्पष्ट पार्नुभयो । सरकारले कृषिमा उत्पादनका आधारमा अनुदान दिने व्यवस्था मिलाएको उहाँले बताउनुभयो ।

वर्तमान सत्ता गठबन्धन हेरफेरको कुरा अफवाह भएको उल्लेख गर्दै मन्त्री महतले त्यसका पछि नलाग्न आग्रह गर्नुभयो । निश्चित लक्ष्यका साथ सुशासन गर्ने, आर्थिक वृद्धि हासिल गर्ने र अर्थतन्त्रलाई चलायमान बनाउने कुरालाई केन्द्रमा राखेर वर्तमान गठबन्धन अघि बढ्ने उहाँले बताउनुभयो ।

राष्ट्रिय समन्वय परिषद्को बैठक पोखरामा

गण्डकी – राष्ट्रिय समन्वय परिषद्को बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पोखरामा सुरु भएको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा हुने परिषद्मा अर्थ, कानुन, न्याय तथा संसदीय मामिला, गृह सहित सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, प्रतिनिधिसभामा विपक्षी दलको नेता वा निजले तोकेको सङ्घीय संसद्को सदस्य र सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरी गाउँपालिका, नगरपालिका वा जिल्ला समन्वय समितिका प्रमुख–उपप्रमुखमध्येबाट सात सदस्य रहने कानुनी व्यवस्था छ ।

विसं २०७७ साउन १३ गते तीन तहका सरकारबीच कार्यात्मक समन्वयका लागि सङ्घ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन जारी भएसँगै परिषद् कार्यान्वयनमा आए पनि यसको बैठक हालसम्म बस्न सकेको थिएन ।

संघ, प्रदेश र स्थानीय तहका साझा अधिकारमा कानुन, नीति बनाउनेदेखि ठूला आयोजना कार्यान्वयनमा तीनवटै सरकारबीच समन्वय गर्ने अधिकार सम्पन्न राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठक भएको हो ।

तीन तहका सरकारबीच कार्यात्मक समन्वयका लागि सङ्घ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन, २०७७ कार्यान्वयनमा आइसकेको र सोही ऐनबमोजिम पहिलो बैठक बस्न लागेको शुक्रबार पोखरामा आयोजित मुख्यमन्त्रीको बैठकमा प्रधानमन्त्रीले बताउनुभएको थियो । तीन तहका सरकारबीचका अस्पष्टता र साझा अधिकारमा कानुन, नीतिलगायतमा देखिएका समस्याको समाधान हुने विश्वास लिइएको छ ।

संसदीय पत्रकारको भूमिका महत्वपूर्ण छ : सभामुख

काठमाडौँ – सभामुख देवराज घिमिरेले सासद र संसद्को भूमिकालाई जनतासमक्ष पु¥र्याउन संसदीय पत्रकारको भूमिका महत्वपूर्ण भएको बताउनुभयो ।

संसदीय मामिला पत्रकार समाजको आठौँ अधिवेशनको उद्घाटन गर्दै आज उहाँले जनप्रतिनिधिका विषयजस्ताको तस्तै जनतामा पु¥याउने काम महत्वपूर्ण हुन्छ भन्नुभयो । “समाचारको सही विश्लेषण गर्नुपर्ने जरुरी छ । संसद् र संसदीय समितिको काम सञ्चारमाध्यमबाटै जनतासमक्ष पुग्ने हो”, सभामुख घिमिरेले भन्नुभयो, “संसदीय पत्रकारले संसद्का प्रत्येक यथार्थ गतिविधि बाहिर ल्याउन भूमिका खेल्नुपर्छ । ” उहाँले आगामी दिनमा पनि सहकार्य जारी रहने स्पष्ट पार्नुभयो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय मामिलाका समाचार सम्प्रेषण गर्ने समाजको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले संसदीय समिति र संसदीय समितिमा रहेका विधेयकका विषयमा पनि पत्रकारले लेख्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले मिडिया काउन्सिल विधेयक धेरै मेहनत गरेर तयार गर्दा राम्रो बनेको थियोे तर प्रतिनिधिसभामा गएर अघि बढन नसकेको बताउनुभयो । उपसभामुख इन्दिरा रानामगरले पत्रकार राज्यको ऐना भएको हुनाले संसद्का सही सूचना बाहिर ल्याउन संसदीय पत्रकारको भूमिका उल्लेखनीय छ भन्नुभयो ।

राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले जनप्रतिनिधिका आवाज जनतासामु पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण भएको हो ।

संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले जनताको दृष्टिकोणमा दुई संसद भएको आफूलाई लागेको उल्लेख गर्दै एउटा जनप्रतिनिधि र जनप्रतिनिधिका विषय बाहिर लैजाने पत्रकार पनि जनप्रतिनिधि नै भएको बताउनुभयो । उहाँले पत्रकारलाई सूचनाका लागि संसद् सचिवालय सदा खुला रहेको बताउनुभयो ।

समाजका संस्थापक अध्यक्ष हरिबहादुर थापाले संसद्मा भाइरल हुनका लागि युटुबर बोकेर आउने तर संसदीय अभ्यासमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । समाजका अध्यक्ष सञ्जीव बगालेले अधिवेशनले आजै १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने जानकारी दिनुभयो ।

बत्तीमुनिको अँध्यारोमा बागलुङको पर्यटन

गलकोट –नेपालमा भित्रिने विदेशी पर्यटकमध्ये ४० प्रतिशत गण्डकी प्रदेशको राजधानी पोखरा पुग्ने गरेको तथ्याङ्क छ । पर्यटनको राजधानी मानिने पोखराबाट बागलुङ बजार त्यस्तै ७० किलोमिटर हाराहारीमा पर्छ । तर पोखरा आएका कति पर्यटक बागलुङसम्म पुग्छन् ? यसको खोजी र लेखाजोखा सकैसँग छैन ।

पोखरा आएका धेरै पर्यटक एकदेखि डेढ घण्टाकै दूरीका अन्य जिल्लामा कमै मात्रै पुग्ने गरेका छन् । त्यसो त यो दूरीका जिल्ला र स्थानमा पनि पर्यटक लोभ्याउने अधिक सम्भावना रहेकै छन् । यसो भए पनि संरचनाअर्थात् पर्यटन पूर्वाधारको भने अभाव छ । पोखरा आएका विदेशी पर्यटकलाई पश्चिमका बागलुङ, पर्वत, म्याग्दीसम्म ल्याउन आवश्यक प्रचारप्रसार एवं सूचना र पर्यटन पूर्वाधारको खाँचो देखिन्छ ।

पोखराबाट बढीमा दुई घण्टामा बागलुङ पुग्न सकिने भए पनि विदेशी पर्यटकको आगमन भने शून्यजस्तै छ । विभिन्न पर्यटन व्यवसायीको पहलमा आएका विदेशी पर्यटकको समूहबाहेक अन्य विदेशी पर्यटक आफैँले खोजेर सूचना प्राप्त गरेर यहाँ आउने गरेका छैनन् । नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनमा सिधै हेलिकप्टरमार्फत विदेशी पर्यटक पुग्दा जिल्लामा पर्यटक आगमनको आभास नै हुँदैन । त्यस्तै अरु कुनै प्याकेज कार्यक्रममा आए भने पनि बाटो मात्र हिँड्छन्, यहाँ बास बस्दैनन् ।

बागलुङमा विदेशी पर्यटक भित्र्याउन पर्यटकीय पूर्वाधार, आतिथ्यता कार्यक्रम, सूचना प्रणालीलगायतको अभाव छ । यी क्षेत्रमा आवश्यक मात्रामा सुधार गर्न सकिएमा पर्यटक यहाँ ल्याउन सकिने यहाँका स्थनीय पर्यटन व्यवसायी तथा जानकार बताउँछन् ।

पोखरा आएका पर्यटक किन आउदैनन् बागलुङ ?

बागलुङ जिल्लामा विदेशी पर्यटक भित्र्यान हालसम्म संस्थागत पहल नथालिएका कारण विदशी पर्यटक नआएको पर्यटन व्यवसायीको भनाइ छ । बागलुङमा पहिलोपटक विदेशी पर्यटक भित्र्याउन पहल गर्नुभएका पर्यटन व्यवसायी महादेव शर्माले पोखरा भित्रिने पर्यटक अधिकांश पोखरा आसपासका क्षेत्रमा आउन नसक्नु भनेको अन्य जिल्लाले नै विदेशी पर्यटक भित्र्याउन पहल नगरेको हो भन्न सकिन्छ भन्नुहुन्छ ।

“व्यक्तिगत पहलमा कति पर्यटक आउलान्, मैले भेगन समूहका विदशी पर्यटक बागलुङ ल्याउन थालेको छु, तर यहाँका स्थानीय पालिकाले पहल थाल्न प¥यो, निजी क्षेत्रले साझेदारी गर्न प¥यो र बागलुङका पर्यटकीय क्षेत्रमा विदेशी पर्यटकको नजर नपर्नु नै पहिलो कारण देख्छु”, शर्माले भन्नुभयो, “धार्मिक पर्यटक भित्र्याउन बागलुङमा सहज देख्छु पोखराबाट मुक्तिनाथ जाने वा त्यहाँ पुगेका भारतीय पर्यटक बढी बागलुङ आउने सम्भावना छ, त्यसका लागि आश्रम र सुविधा सम्पन्न शाकाहारी होटल स्थापना गर्न आवश्यक छ ।”

बागलुङमा पर्यटक भित्राउने निजी क्षेत्रको एउटा साझेदार संस्था नहुँनु, प्रचारप्रसारको कमी र बागलुङको महत्व विश्वसामु चिनाउन नसक्नुका कारण बागलुङमा विदेशी पर्यटक आकर्षित हुन नसकेको पाइएको छ ।

“पोखरा आएको विदेशी पर्यटक बागलुङमा किन र के का लागि जाने भन्ने त हुन प¥यो, यहाँको कला संस्कृति हेर्न हो अथवा ग्रामीण पर्यकीय क्षेत्रमा घुम्न, बागलुङमा तीन दिन हिँड्न सक्ने राम्रो पदमार्गको रुट अहिले सम्म रेखाङ्कन छैन”, उहाँले भन्नुभयो, “मैले बागलुङ बजा देखि भकुण्डै हुँदै सिगानाको बौडैचौरदेखि बौरसम्मको दुई दिने पर्यटकीय पदमार्गको रुट बनाएर विदेशी पर्यटक पु¥याएको छु, तर पालिकाले विदेशी पर्यटक ल्याउन कुनै चासो दिएको देखिँदैन ।”

यहाँ पर्यटनमा पूर्वाधारका क्षेत्रमा निजी क्षेत्रको लगानी कम देखिन्छ । पर्यटक आए पनि यहाँ बस्ने र घुम्ने ठाउँहरु पनि कमै छन् । उनीहरुको बसाई लम्ब्याउन सकिने खालका पूर्वाधार नहुँदा पर्यटकको आकर्षण बढ्न नसकेकाले पर्यटक बागलुङ आउन नसकेको स्थानीय राम शर्माले बताउनुभयो । बागलुङको पुरानो संस्कृतिको रुपमा रहेको हनुमान नाच, लाखे नाच, घाटु नाच र शालैजोलाई समय समयमा प्रदर्शन गर्न सकेमा यसबाट स्वदेशी मात्र नभएर विदेशी पर्यटकलाई ल्याउन सकिने शर्माको भनाइ छ ।

सूचना केन्द्र नहुँदा अलमलमा पर्यटक

बागलुङमा भित्रिने विदेशी पर्यटक मात्रै होइन स्वदेशी पर्यटकसमेत अलमलमा पर्ने गरेका छन् । बागलुङ जिल्लाको प्रवेशद्वारमा डिजिटल सूचना केन्द्र राख्न नसक्दा बागलुङ आएका पर्यटक अलमलमा पर्ने गरेको पाइन्छ ।

बागलुङ जिल्लाको कालिका मन्दिर कहाँ छ, पर्यटकीय गन्तव्य पञ्चकोट कहाँ छ, भन्ने विवरणको सूचना केन्द्र स्थापना गरेर राख्न सकिने भए पनि हालसम्म पर्यटक सूचना केन्द्र नहुँदा पर्यटक अलमलमा पर्ने गरेको बागलुङ जिल्लाको होटल व्यवसायी सङ्घका अध्यक्ष निलेश राजभण्डारी बताउनुहुन्छ ।

“अहिले डिजिटल जमाना आइसक्यो, यहाँका होटल पुरानै अवस्थाका छन्, गुगल तथा डिजिटल म्यापमा यहाँका होटल देखिँदैनन्, विदेशी पर्यटकले इन्टरनेट खोजेर गन्तव्य पहिल्याउने भइसके, जिल्ला सदरमुकामस्थित एक दर्जन होटल मात्रै विदेशी पर्यटक राख्न सक्ने अवस्थाका छन्”, राजभण्डारीले भन्नुभयो, “होटल स्तरोन्नति हुन आवश्यक छ, बागलुङ प्रवेशद्वारमा पर्यटकीय सूचना केन्द्र राख्न बागलुङ नगरपालिकालाई सुझाव दिएका छौँ ।”

अब होटलहरु अनलाइनबाटै बुकिङ गर्न सकिने र प्रविधि मैत्री हुनसकेमा मात्रै विदेशी पर्यटकको रोजाइमा पर्नसक्ने बताउँदै राजभण्डारीले विदेशी पर्यटकहरु जिल्लामा ल्याउन भौतिक पूर्वाधार, आतिथ्यतामा लगानी र प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनुभयो । जिल्ला सदरमुकाम बागलुङ बजारमा चार सय विदेशी पर्यटक एक रातमा बस्न सक्ने क्षमता रहेको होटल व्यवसायी सङ्घ बागलुङले जनाएको छ । बागलुङ जिल्लामा दुई हजार पाहुना राख्ने क्षमता भएपनि पर्यटकका लागि चार सय मात्रै क्षमता रहेको हो ।

मुस्ताङ जाने विदेशी पर्यटकको छायाँमा बागलुङ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७५ वैशाख २९ गते मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शनपश्चात् अहिले मुक्तिनाथमा भारतीय पर्यटकको लर्को छ तर मुक्तिनाथ पुगेका भारतीय पर्यटकको १५ प्रतिशत पर्यटक मात्रै बागलुङ कालिका मन्दिरलगायत अन्य धार्मिक क्षेत्रको भ्रमणमा आउने गरेको पाइएको छ ।

बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार पछिल्लो समय मुस्ताङ पुग्ने भारातीय पर्यटक बागलुङ आउन थालेपनि तेस्रो मुलुकका पर्यटकहरु मुस्ताङबाट सोझै फर्कने गरेकोे बताउनुभयो ।

भारतीय पर्यटक मुक्तिनाथ भ्रमणपश्चात् बागलुङ नगरपालिका–४ कुडुँलेस्थित शालग्राम सङ्ग्रहालय दर्शनका लागि समेत पुग्ने गरेको पाइएको छ तर मुस्ताङ पुगेर बागलुङ आएका पर्यटक एक रातसमेत बागलुङमा नबसी सिधै पोखरा पुग्ने गरेको बागलुङका होटल व्यवसायीहरु भनाई छ ।

उता भारातीय पर्यटक अधिकांशले शाकाहारी खाना मन पराउने भएकाले बागलुङमा शाकाहारी खानाका होटल नहुँदा पनि समस्या उत्पन्न भएको हुनसक्छ । मुस्ताङ पुग्ने विदेशी पर्यटकलाई बागलुङमा ल्याउनका लागि प्रवद्र्धनात्मक काम थाल्नुपर्ने पर्यटन व्यवसायी महादेव शर्माको भनाइ छ । जस्तो कि मुस्ताङ पुग्ने भारतीय पर्यटकले आफ्नो खानपिन र धार्मिक पर्यटनका रुपमा बागलुङलाई छान्नका लागि उनीहरु बस्ने र घुम्ने स्थान तथा होटलको प्रचार गुगलमै उपलब्ध भए सजिलो हुन्छ । तर त्यस्तो अवस्था यहाँ देखिँदैन । त्यसैले पोखराबाट सडकमार्ग भएर मुस्ताङ पुगेका पर्यटक यता नछिरी उतैबाट पोखरा फर्किने गरेका हुनसक्छन् ।

आन्तरिक पर्यटकको भरमा बागलुङ

बागलुङमा विदेशी पर्यटकहरु नगन्य मात्रमा आएपनि आन्तरिक पर्यटकको भने जिल्लाका अधिकांश पर्यटकीयस्थलमा चहल–पहल देखिन्छ । जिल्लाका सुविधा सम्पन्न होटलहरु प्रायजसो आन्तरिक पर्यटकहरुले भरिने गरेको होटल व्यवसायी संघ बागलुङको तथ्याङ्कमा छ ।

जिल्लाको पिस प्यालेस, होटल समिट धौलागिरि, रेड एप्पल, दिराजन, होटल सुगन, आरती, होटल हिलभ्यू लगायतका होटलहरु प्रायः आन्तरिक पर्यटकले नै भरिने गरेको होटल व्यवसायीको भनाइ छ ।

होटलसँगै जिल्लाको पर्यटकीय गन्तव्यहरु बागलुङ कालिका, पञ्चकोट, शालग्राम सङ्ग्रहालय, हाँडीकोट, बेलढुङ्गा, सोलेडाँडा, भैरवस्थान, घकुण्डेमा आन्तरिक पर्यटकको चहलपहलसमेत बढ्दै गएको छ । कोरोनापछि जिल्लामा आन्तरिक पर्यटकको सङ्ख्या ह्वातै बढेको होटल व्यवसायी ललिता थापाले बताउनुभयो । अहिले जिल्लाका पर्यटकीयस्थलको अवलोकन भ्रमणका लागि पोखरा, चितवन, गोरखा, काठमाडाँैंलगायतका जिल्लाबाट बागलुङ आउने क्रम क्रमश बढ्दै आएको थापाको अनुभव छ ।

अहिले कालिका मन्दिर, पञ्चकोट र शालग्राम सङ्ग्रहालय परिसरमा अवलोकन भ्रमणमा व्यानरसहितका थुप्रै सवारीसाधन देख्न पाइन्छ । कालिका मन्दिर, पञ्चकोट, लामो झोलुङ्गे पुल, शालग्राम सङ्ग्रहालयमा आन्तरिक पर्यटकहरु बढेका छन् । पछिल्लो समय आन्तरिक पर्यटक घरबासमा पुग्ने, हाइकिङ गर्ने तथा वनभोज जानेलगायतका कारण आन्तरिक पर्यटकीयस्थल चलयमान भएका हुन् । आन्तरिक पर्यटक थपिदै गएपनि बागलुङ नगरपालिकाले विदेशी पर्यटकहरु ल्याउन संस्थागत रुपमा पहल गर्ने बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताउनुभयो ।

थपिँदै पर्यटकीय गन्तव्य

बागलुङमा नयाँ पर्यटकीय गन्तव्य थपिने क्रम जारी छ । कोरोनाकहरपछि बागलुङमा लामो झोलुङ्गे पुल, शालग्राम संग्रहालय, पञ्चकोट, बुद्ध हिल, हाँडीकोट, सहस्रधारा झरना र गाईघाट झरनालगायतका क्षेत्र पछिल्लो समयमा चर्चा कमाएका पर्यटकीय गन्तव्य हुन् । कुश्मा र बागलुङलाई जोडेर निर्माण गरिएको विश्वकै अग्लो बन्जी पुलमा आन्तरिक पर्यटकले भरिभराउ हुने गरेको पाइन्छ ।

नयाँ पर्यटकीय गन्तव्यको प्रचारप्रसार र पूर्वाधारपछि चर्चामा आउन थालेको पर्यटन विकास समिति बागलुङका सचिव अर्जुन चोखालले जानकारी दिनुभयो । चोखालका अनुसार प्रविधिको प्रयोगका कारण पर्यटकीय गन्तव्यको प्रचार हुँदा आन्तरिक पर्यटकहरु आउन थालेको बताउनुहुन्छ ।

“टिकटकमा देखिएका दृश्यका कारण धेरै मानिस लामो झोलुङ्गे पुल आएको पाइयो, पछिल्लो समय सामाजिक सञ्जालका कारण एकाएक पर्यटकीयस्थल भाइरहल हुने जमाना आइसक्यो”, चोखालले भन्नुभयो, “स्थानीय सरकारको रुपमा रहेका पालिकाले एक पालिका एक पर्यटकीयस्थलको रुपमा विकास तथा पूर्वाधार निर्माण थालेपछि पर्यटकीय गन्तव्य थपिदै गएको हामीले पाएका छौँ ।”

चोखालले बागलुङमा आन्तरिक तथा बाह्य पर्यटकको बसाई लम्ब्याउनका लागि पर्यटनमैत्री नीति तथा कार्यक्रम ल्याउन आवश्यक रहेको बताउदै बागलुङ जिल्लाको पर्यटन गुरु योजना नहुँदा समस्या भएको जानकारी दिनुभयो ।

खड्किँदै तारे होटल

बागलुङमा सुविधा सम्पन्न तारे होटल नहुँदा विदेशी तथा भिआइपी पाहुना आउने आँट गर्दैनन् । जिल्लामा विदेशी पर्यटक तथा भिआईपी पाहुना आइहाले पनि साँझ बस्न पोखरा नै पुग्नुपर्ने अवस्था छ । बागलुङ जिल्लामा हालसम्म कम्तीमा पनि एक सयजना अट्नसक्ने क्षमताको ठूलो होटल स्थापना हुन नसक्दासमेत पर्यटकहरु आकर्षित हुन नसकेको स्थानीय राम शर्माको भनाई छ । पर्यटन बोर्डले बागलुङलाई पर्यटकीय गन्तव्यको रुपमा राख्न नसक्दा विदेशी पर्यटक आउन नसक्नु मुख्य समस्या रहेको शर्माको भनाई छ ।

राष्ट्रिय अन्तर्राष्ट्रिय कार्यक्रम गर्न, धेरै पाहुना राख्न र सेमिनार तथा गोष्ठी गर्नका लागिसमेत बागलुङमा उपयुक्त होटल तथा रिसोर्ट नभएको शर्माको भनाइ छ । बागलुङमा एउटा तारे होटल र एउटा सुविधासम्पन्न रिसोर्टको तत्कालै आवश्यकता देखिन्छ ।

पर्यटनमैत्री घरवासको खाँचो

जिल्लामा रहेका २८ वटा सामुदायिक घरबासमध्ये कतिपय घरबास नाम मात्रका छन् । यीमध्ये आधा दर्जन घरवास मात्रै पर्यटनमैत्री रहेका छन् । जिल्लाको पहिलो घरबासका रुपमा रहेको भकुण्डेको अतिथि घरवासमा मात्रै विदेशी पाहुना पुग्न थालेका छन् भने अन्य केही जिल्लाका आधा दर्जन घरवासमा मात्रै आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन् ।

केही घरवासमा मात्रै स्थानीय तथा अर्गानिक खानाका परिकारको स्वाद तथा विभिन्न कला संस्कृति देखाउने गरकेका छन् भने केही घरवास नाम मात्रैका घरवासजस्ता छन् । घरवासहरु पूर्वाधार युक्त र पर्यटनमैत्री हुन आवश्यक रहेको पर्यटन व्यवसायीहरु बताउनछन् ।

पर्यटकको छैन तथ्याङ्क

बागलुङमा हालसम्म भित्रने आन्तरिक तथा बाह्य पर्यटकको कुनै तथ्याङ्क छैन । पर्यटनसम्बन्धी खोज तथा अनुसन्धान गर्नका लागि समेत कुनै सन्र्दभ सामाग्री पाइदैन ।

जिल्लाका पालिका, पर्यटन विकास समिति तथा अन्य कुनै पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाले हालसम्म जिल्लामा भित्रने पर्यटकको तथ्याङ्क नभएको पाइएको छ ।

नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षभित्र प्रवेश गर्ने विदेशी तथा स्वदेशी पर्यटकहरुको मात्रै जिल्लामा तथ्याङ्क छ । यस वर्ष ढोरपाटन शिकार आरक्ष क्षेत्र घुम्नका लागि नौ हजार स्वदेशी तथा विदेशी पर्यटक पुगेको ढोरपाटन शिकार आरक्षको कार्यालयले जनाएको छ ।

पूर्वमाओवादी शक्तिहरूबीच पार्टी एकताका लागि ठोस पहल हुँदै छ : प्रधानमन्त्री 

पोखरा – प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताउनुभएको छ।

शनिवार बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो।

प्रधानमन्त्रीले भन्नुभयो, “माओवादी कमजोर हुँदा सिङ्गो परिवर्तन कमजोर हुन्छ। हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ। त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो। त्यसका लागि हामी सबैले देशको पक्षमा सोच्न र काम गर्न जरुरी छ।”

“हामीभित्र मात्र थपघट गरेर पार्टी पुनर्निर्माण हुँदैन। यस पटक सरकारको नेतृत्व लिँदा परिवर्तन र पार्टी राम्रो बनाउने वातावरणका लागि सोचेको थिएँ” प्रधानमन्त्रीले भन्नुभयो, “त्यसका लागि नयाँ ढङ्गले सोच्दैछौँ। हामीसँग इतिहासको तागत छ, त्याग र बलिदानको तागत छ। जनताले हामीमाथि राखेको आशा र भरोसाको तागत पनि छ, त्यसलाई देश निर्माणका पक्षमा लगाउनुपर्छ।”

“हामीले राम्रो गर्न खोज्दै छौँ। सामन्तवाद र प्रतिक्रियावादले फोहोरको डङ्गुर थुपारेको छ, त्यसलाई सफा नगरी देश बन्दैन” प्रधानमन्त्रीले भन्नुभयो, “देश निर्माणका लागि फेरि नयाँ फड्को जरुरी छ। सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा फड्को हान्न खोजिएको छ। यसमा हामी दृढतापूर्वक अघि बढ्नुपर्छ। सरकार यसमा दृढ छ।”

“हाम्रा प्राकृतिक साधन स्रोत उपयोग गरेर देशको समुन्नतिका पक्षमा फड्को हान्ने मन छ” प्रधानमन्त्रीले भन्नुभयो, “यसका लागि के-कसरी काम गर्न सकिन्छ, यतातर्फ पनि सबैले सोचौँ। पार्टीका सबै नेता-कार्यकर्ताले देशको समृद्धिको पक्षमा काम गर्ने सङ्कल्प गरौँ।”

“हाम्रो पहलमा समाजवादी मोर्चा घोषणा गरिएको छ। आज नै बैठक बसेर त्यसका कार्यक्रम तय गर्छौँ” उहाँले भन्नुभयो, “समाजवादी मोर्चाले समाजवादको आधार निर्माणका लागि काम गर्नेछ। पूर्वमाओवादीहरू पनि छलफलमा छौँ। फेरि पार्टी एकताको आधार निर्माण हुँदै छ। पार्टी एकताको लागि ठोस पहल अगाडि बढाउँछौँ।”

“हामी विशेष महाधिवेशन गर्नेमा पनि छौँ, यसले पार्टी पुनर्निर्माणमा योगदान पुग्नेछ” प्रधानमन्त्रीले भन्नुभयो, “सरकारका कामको व्यवस्थित स्वामित्व, पार्टी निर्माणको काम, समाजवादी मोर्चा र पार्टी एकताको प्रयासलाई सँगसँगै लैजानुपर्छ।”

उपप्रधानमन्त्री श्रेष्ठद्वारा सिचुवानमा भूकम्प पुनःनिर्माण क्षेत्रको अवलोकन

छेन्दु (चीन) – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज भूकम्पपछि पुनःनिर्माण गरिएको सिचुवान प्रान्तको वान चोन काउन्टीको अवलोकन गर्नुभएको छ ।

सिचुवान प्रान्तमा २००८ मा गएको ८ रेक्टर स्केलको भूकम्पमा वान चोन क्षेत्रमा ठूलो क्षति भएको थियो । चीनले छोटो समयमै पुनःनिर्माण सम्पन्न गरी क्षतिग्रस्त संरचनालाई सुरक्षित राखेको छ । सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले भूकम्पबाट ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

चीनले सो संरचनालाई एकत्रित गरेर पर्यटकीयस्थलका रूपमा विकास गरेको छ । सो भूकम्पमा परी करिब ७० हजार नागरिकको ज्यान गएको थियो । भूकम्पबाट क्षतिग्रस्त क्षत्रमा भएको पुनःनिर्माण तथा भूकम्पको अध्यान अवलोकन गर्नका लागि रूपमा वार्षिक ३० लाख मानिस पुग्ने गरेका छन् ।

रत्ननगरमा रोजगार मेला

रत्ननगर – चितवनको रत्ननगर नगरपालिकामा वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला सुरु भएको छ । रत्ननगर–१ स्थित होटल स्टार चितवनमा शुक्रबारदेखि सुरु भएको मेलाको रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिकाले संयुक्तरुपमा आयोजना गरेका हुन् ।

मेलाको उद्घाटनका क्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले नगरवासी युवालाई स्वरोजगार बनाउन र रोजगारीको अवसर सिर्जना गर्न रत्ननगर नगरपालिका लागिपरेको बताउनुभयो । उहाँले आफ्नो क्षमता पहिचान गरी उद्यमी बन्न चाहने युवालाई आवश्यक तालिमको व्यवस्था गर्ने र रोजगारदातासँग समन्वय गरी रोजगारीको अवसर दिलाउन मेला आयोजना गरिएको सापकोटाको भनाइ छ ।

सीप र क्षमता भएका व्यक्ति कोही पनि बेरोजगार बन्नु नपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “स्वदेशमै उद्यमी बन्न होस् वा वैदेशिक रोजगारीमै जानका लागि पनि आवश्यक पर्ने तालिम लिनुपर्छ । हामीले इन्स्योर परियोजनाअन्र्तगत हेल्भेटास नेपालको प्राविधिक सहयोगमा तालिम दिन प्रतिबद्ध छौँ ।”

कार्यक्रममा नगर उपप्रमुख यादवप्रसाद पाठकले शैक्षिक योग्यता, दक्षता र क्षमता हुँदाहुँदै पनि रोजगारीको अवसरबाट वञ्चित भएकाले मेलाबाट लाभ उठाउन सक्ने र सीप सिक्न चाहनेका लागि विभिन्न तालिममा सहभागी गराइने बताउनुभयो । रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले रोजगारीको खोजीमा रहेका र रोजगारी दिनेबीच प्रत्यक्ष भेट गराएर रोजगारीको अवसर सिर्जना गर्न मेला कोसेढुङ्गा सावित हुने बताउनुभयो । उहाँले मेला अवलोकन गरी लाभ लिन नगरवासीसँग आह्वानसमेत गर्नुभएको छ ।

कार्यक्रममा उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले विभिन्न उद्योगमा अहिले जनशक्तिको अभाव भइरहेको जनाउँदै आवश्यक सीप सिकेर दक्ष बन्न सकेको अवस्थामा एक हजार बढी युवालाई रोजगार प्रदान गर्न सकिने बताउनुभयो । मेलामा रोजगारदाता कम्पनी तथा सीप सिकाउने कम्पनीका गरी गरी ३४ प्रदर्शनी कक्ष छन् ।

लगानी सम्मेलन गर्दै पाँचखाल

काभ्रे – पाँचखाल नगरपालिकाले यस वर्ष लगानी सम्मेलनको आयोजना गर्ने भएको छ । कोरोना सङ्क्रमणलगायत विविध कारण सम्मेलन लगातार चार वर्ष अनिश्चित भएको थियो । नगरले आर्थिक वर्ष २०८०÷०८१ मा लगानी लम्मेलन गर्ने आफ्नो बजेट, नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

सम्मेलनको अयोजना घोषणा गरेको नगरले कोरोना सङ्क्रमणको तेस्रो लहरसम्म गर्न सकेको थिएन । “चालु आवमा पनि गर्न भ्याइएन, अबको वर्ष जसरी पनि गर्ने बजेटसहितको योजना बनाउनेछौँ”, नगरप्रमुख महेश खरेलले भन्नुभयो । लगानी सम्मेलनको चाहना त्यतिकै जाने हो की भन्ने डरमा थिए, पुनः नगरप्रमुख भएपछि त्यो चाहनालाई पूरा गर्नेतिर लागिरहेको उहाँले बताउनुभयो ।

आव ०७६÷०७७ मा कार्यपालिका बैठकले निर्णय गर्दै बजेट विनियोजन गरी तयारीमा जुटेपछि कोरोना भाइरसको सङ्क्रमण उच्च जोखिम बढ्दै गएपछि त्यसयता लगानी सम्मेलनको योजना योजनामै सीमित भएको थियो । कोरोनाको तेस्रो लहरसम्मका कारण त्यसको असर नगरको अर्थतन्त्रमा परेका कारण गत वर्ष पनि गर्न नसकिएको खरेलले दुःखेसो पोख्नुभयो ।

उहाँका अनुसार सम्मेलनमा लगानीकर्ताबाट रु १५ अर्बको लक्ष्य लिइएको थियो । खरेलले भन्नुभयो, “यस वर्ष सम्मेलन गर्न सकिने वातावरण बन्दै गएको छ, यो वर्ष गर्ने नै योजना बनाएका हौँ, यसका लागि लगानीकर्ता निम्त्याउनेबारे अध्ययन थाल्नेछौँ ।” यसअघि स्थानीय तहअन्तर्गत पहिलोपल्ट विसं २०७६ असोजमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गरेको लगानी सम्मेलनमा स्वेदेशीसहित विदेशी लगानीकर्ताबाट रु १५ अर्बभन्दा बढीको लगानी प्रतिबद्धता जनाएका थिए ।

पाँचखाल क्षेत्रको समग्र विकासका लागि चालु आवमा लगानीकर्ता तथा रोजगारदाताको सम्मेलन गर्न अघिल्ला दुवै आवमा प्रारम्भिक बजेट छुट्याइएको खरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पाँचखालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विकासका काम सुरुभएसँगै लागानी सम्मेलन फलदायी हुने अपेक्षा गरेका छौँ ।” सम्मेलनमा विशेष गरी कृषि र पशुपालनमा लगानकर्तालाई आकर्षण बनाउने योजनामा बनाइएको छ ।

पाँचखालमा लगानी तथा पर्यटनका प्रचुर सम्भावना भएका स्थानमा सडक पु¥याइसकिएको तथा पु¥याउने काम अन्तिम चरणमा रहेकाले वातावरणको दृष्टिकोणले लगानीकर्ता आकर्षण हुनु स्वभाविक रहेको बताइन्छ । कृषि तथा पशुपालन क्षेत्रमा आधुनिकीकरण, सौर्य ऊर्जा, प्रविधि र पर्यटकीयस्तरका ठूला होटल, उद्योग स्थापनार्थ सम्मेलनमा प्रस्तावसमेत गरिने योजना बनाइएको छ । “सम्मेलनमा स्थानीयलाई रोजगार दिने उद्योग तथा परियोजनालाई कर छुट दिने योजना ल्याइसकेका छौँ”, नगर प्रमुख खरेलले भन्नुभयो ।

सम्मेलनमा पाँचखालमा विभिन्न ऐतिहासिकस्थलसमेत रहेकाले पर्यटन र स्थानीय सांस्कृतिक क्षेत्र लक्षित आयोजनालाई समेत प्राथमिकतामा राखिनेछ । पाँचखालमा विशेष आर्थिक क्षेत्र (सेज)को निर्माण अन्तिम चरणमा पुगेको, मदन भण्डारी विश्वविद्यालयका लागि जग्गा व्यवस्थापन भई हाल संसद्बाट विधेयकसमेत पारित भइसकेको, बृहत् सुनकोशी पाँचखाल खानेपानी आयोजनाको काम अन्तिम चरणमा रहेको, राष्ट्रिय युवा परिषद्द्वारा निर्माण हुने ‘नेशनल युथ इनोभेसन सेन्टर’, महिला उद्योग ग्रामको प्रक्रिया थालिएको, एकीकृत तथा स्मार्ट सिटीका लागि पनि जमिन छुट्याएकाले पनि थप लगानीकर्ता र रोजगारदाता आवश्यक रहेको जनाउँदै नगरले सम्मेलनको योजना बनाएको हो ।

खरेलका अनुसार हालै सम्झौता गरिएको स्मार्ट सिटी पनि लगानीको एउटा वैकल्पिक योजना हो । ग्रीन स्मार्ट–सिटी निर्माणका लागि सहरी विकास मन्त्रालयको सघन सहरी विकास कार्यक्रमअन्तर्गत सहरी विकास कार्यक्रम आयोजना गर्न रु ५० करोड बजेट विनियोजन गरिएको छ । मन्त्रालयले देशका ४४ नगरलाई छनोट गरेकामध्ये पाँचखाललाई प्राप्त रु ५० करोड बजेटमा ५० प्रतिशत सडक क्षेत्रमा, ३० प्रतिशत आयआर्जन, १५ प्रतिशत सामुदायिक पूर्वाधार तथा पाँच प्रतिशत रकम शासकीय पूर्वाधार निर्माणमा खर्च गर्नुपर्ने छ ।

कोरोना जोखिमका कारण लगानी सम्मेलन गर्न नसकेपछि नगरले पछिला वर्ष लगानी भित्र्याउन विकल्पका रुपमा उद्यमशीलताको विकास एवं प्रवर्द्धन गर्न नगरले विभिन्न वित्तीय संस्थासँगको सम्झौतालाई अघि बढाएको थियो । नगरप्रमुख खरेलका अनुसार उद्यम गर्न चाहने स्थानीयका लागि नगरको सिफारिसमा सहजरुपमा सरल कर्जा उपलब्ध गराउन वित्तीय संस्थासँगको सम्झौता गरिएकोे हो । “लगानी सम्मेलन गरेर नगरको थप विकासमा लाग्ने योजना कोरोना सङ्क्रमणको जोखिमलगायत विविध कारणले थाँती रहे पछि साझेदारीमा वैकल्पिक योजनाको खोजी गरिरहेका थियौँ”, नगर प्रमुख खरेलले भन्नुभयो ।

‘पाँचखाल नगर, कृषि सहर’ नारालाई सार्थक बनाउन नगरले खेतीयोग्य जमिनलाई ‘प्लटिङ’ गर्न पूर्ण प्रतिबन्ध लगाउँदै आएको छ । नगरले कृषि उत्पादनमा जोड दिइरहेका बेला खेतीयोग्य जमिन मास्न नदिने निर्णय गरेको हो । रिङरोड राजमार्गसँग जोडिने भएकाले खेतीयोग्य जमिन जोगाएर मानव बस्ती तथा औद्योगिक ग्राम स्थापना गरिने योजना बनाउने नगरको योजना छ ।

हराउँदै बाँसबाट बनेका सामग्री

म्याग्दी – प्लास्टिक जन्य सामानले निगालो र बाँसबाट बनाइने टोकरी, डाली, भकारी, थुन्से, मान्द्रो, नाङ्लोजस्ता सामानलाई विस्थापित बनाएको छ ।

कम लागतमा तयार पार्न सकिने आर्थिकरुपमा मितव्ययी, वातावरणमैत्री निगालो र बाँसबाट बनाइएका सामग्री विस्थापित र सीपको पुस्तान्तरण पनि हुन सकेको छैन । नयाँ पुस्तामा सीप हस्तान्तरण, प्रवर्द्धन, संरक्षण र प्लास्टिकजन्यको विकल्पमा स्थानीय सामग्रीको प्रयोग बढाउन म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको शिख माविका विद्यार्थीलाई निगोलोबाट सामान बनाउने तालिम दिइएको छ ।

सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोगमा कक्षा ८, ९ र १० का ४० जना विद्यार्थीलाई बिहीबार र शुक्रबार सीपमूलक तालिम दिइएको प्रअ केदार कार्कीले बताउनुभयो । “वातावरणलाई दूषित बनाउने र पैसा बाहिरिने प्लास्टिक जन्य सामानको विकल्पमा निगालोका सामग्रीको प्रयोग बढाउने र सीप हस्तान्तरण गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो”, उहाँले भन्नुभयो, “निगालोबाट सामान बनाउने आधारभूत सीप सिकेका विद्यार्थीले बर्खे बिदामा बनाउने सामग्री विद्यालयले खरिद गर्छ ।”

फोहर फाल्न प्रयोग हुने प्लास्टिकको डस्टिबिनको विकल्पमा निगालोको डाली र डोका उत्पादन गर्न विद्यार्थीलाई बर्खे बिदाको गृहकार्य दिइएको हो । उनीहरुलाई शिखका बोमबहादुर पुन र किन्दुका चन्द्रबहादुर सुनारले निगालोबाट चोया र चोयाबाट विभिन्न सामान बनाउने सीप सिकाउनुभएको थियो ।

ग्रामीण क्षेत्रमा केही वर्षअघिसम्म निगालोबाट बनाइएइका थुन्से, डोका, डाली, नाम्लो, दाम्लो, भकारी, नाङ्लोका सामग्रीको प्रयोग हुने गर्दथ्यो । प्लास्टिकजन्य सामानको आयात हुन थालेपछि निगालोका सामानले बजार नपाउँदा सीपयुक्त जनशक्ति परम्परागत पेसाबाट पलायन र सामान खरिद गर्दा नगद बाहिरिएको छ । उच्च पहाडी क्षेत्रको जङ्गलमा प्रशस्त पाइने निगालो प्रयोग हुन नसकेर खेर गइरहेको छ ।

परम्परागत सीपको संरक्षण र नयाँ पुस्तालाई हस्तान्तरण गरी वातावरणलाई असर पुग्ने प्लास्टिकजन्य सामग्रीको प्रयोग तथा आयात घटाउने र रोजगारी सिर्जना गराउने उद्देश्यले तालिम सञ्चालनमा सहयोग गरिएको सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले बताउनुभयो ।

सुनिन छाड्यो असारे भाका

कास्की –

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर,
घरमा छैन शितलु वचन, मनमा छैन थिर ।
छुपुमा छुपु खेतमै रोपु, हातको बीउ छउञ्जेल
जे खानु खाइयो, जे लाउनु लाइयो बाबाको ज्यू छइञ्जेल ।।’

लोकगायिका हरिदेवी कोइरालाको स्वरमा रेहेको यस्तै–यस्तै शब्दमा रोपाइँका बेला खेतका गह्रामा रोपाहारका मुखबाट सुनिन छाडेका छन् । असारे भाका हालेर दिनभर रमाइलो गर्दै खेतमा धानको बीउ रोप्ने चलन थियो । असारे भाका लोप हुने अवस्थामा पुग्दा पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजाकी खिनी तिमिल्सिना निकै चिन्तित हुनुहुन्छ ।

शुक्रबार हेमजामा भएको रोपाईं महोत्सवमा खिनी तिमिल्सिना श्वास पु¥याइ–नपु¥याइ असारे भाका गाउन थाल्नुभयो । गीत गाउँदा उहाँ एक्लै पर्नुभयो । आजकल असारे गीत असार महिनामा पनि बिरलै सुनिन्छन् । पहिला असारे गीत असार सुरु हुनेबित्तिकै सुनिथ्यो तर अहिले मध्य असार भइसक्दा पनि असारेगीत नसुनिएको खिनीले बताउनुभयो बताइन् । पछिल्ला दिनमा बढ्दो आधुनिकतासँगै असारमा पहिलेजस्तो उल्लास पाइन छाडेको उहाँको भनाइ छ । आजकल मेला हिँड्ने परम्परा कम भएको र असारे गीत गाउने छाडेकाले भाकासमेत लोप भएको बूढापाका बताउँछन् ।

उमेरले ७१ वर्ष लाग्नुभएकी उहाँलाई विमारले छोएपछि केही वर्ष गाउन छाड्नुभयो । नयाँ पिँढीलाई असारे गीत गाउनै आउँदैन । खिनीलाई असरे भाका हराउँछ की भन्ने साह्रै चिन्ता लाग्छ । त्यसैले आफ्नै ठाउँमा आयोजना भएको महोत्सवमा धोको पुगुञ्जेल गाउनुभयो । “म बिरामी भएर गाउन सकिनँ”, खिनी तिमिल्सिनाले भन्नुभयो, “मैले छोडेसी अरुले पनि गाउन छाडे खासमा नजानेर रहेछ ।” बीउ काढ्ने, खेत रोप्ने अनि रमाइलो गर्ने गर्ने हुँदा असारे गीतको रौनक घटेको उहाँ बताउनुहुन्छ । पछिल्लो सयममा रोपाइँको क्रममा असारेगीत गाउन छाडिएपछि गीतसँगै टुक्का पनि लोप हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो ।

आजकल रोपाइँको मौलिकता हराउँदै गएकामा पाका नागरिक चिन्तित छन् । कृषिमा यान्त्रिकीकरण र प्रविधिको प्रयोग बढ्दै गएपछि रौथाने प्रविधि लोप हुँदै गएका छन् । हलो–जुवा र गोरुको ठाउँ मिनीट्रिलर हलोले लिएको छ भने असारे गीत पनि सुनिन छाडेको छ । फेरि उहाँले भाका हाल्न सुरु गर्नुभयो ।

‘असार मासको छिपछिपे हिलो, छिः मलाई घिन लायो
जेठी र कान्छी नगरे झगडा
कान्छीलाई दिम्ला गइरीको खेत, जेठीलाई बगर
चुधरी चोलियामै सिलाइ दिउँदा बाहुली पसार
पूर्वको ढोका उघारी हेर्दा लाएछ असार’

लोप हुने अवस्थामा पुगेको असारे भाका पुस्तान्तरका लागि तिमिल्सिनाले पहल पनि गर्नुभयो । “अरुलाई सिकाउँछु भन्ने त लाग्छ नि सिकाउन पनि तयार छु”, उहाँले भन्नुभयो, “अहिलेका केटाकेटी माया पिरतीका गीतभन्दा अरु त गीत नै होइन जस्तो गर्छन् ।” संसार छोडेर जाने बेलामा आफूसँग भएको प्रतिभा पुस्तान्तरण गर्ने उनको रहर छ ।

शुक्रबार नै पोखरा पर्यटन परिषद्ले आयोजना गरेको १८ औँ असारे रोपाइँ महोत्सवमा पनि असारे गीत वीरलै सुनियो । महोत्सव हेर्न पुगेका युवायुवती हिलो खेल्न व्यस्त भए पनि उनीहरुलाई असारे गीत, धान रोपाइँ र बिउ काट्ने कुनै चिन्ता थिएन् । त्यही हुलमा पोखरा महानगरपालिका–२८ को काफलघारी आमा समूह भने जानी नजानी गीत गाउन सिक्दै थिए ।

‘वनमा खेल्ने चरा र चुरी माछी त लेउमा
यो ८० सालको रोपाइँ महोत्सव वियजपुर छेवैमा ।।
माझठानाको टारी बैदामको बारी नामै छ प्रख्यात
आर्वाको घारी रमाइलो गरौँ अहिलेको वर्ष त ।।’

आमा समूहको उद्देश्य पनि हराउँदै गएको असारे भाका जोगाउने भन्ने नै थियो । आमाहरुले जस्तै खाट्टी असारे भाका आफूहरुलाई पनि नआउने काफलघारी आमा समूहकी अध्यक्ष अम्बिका भण्डारीले बताउनुभयो । “असारे गीत पहिलाका बूढाबूढीले जस्तो गाउन जानिँदैन । यो संस्कृति जोगाउनका लागि जानी नजानी गाइएको हो”, उहाँले भन्नुभयो, “अब आउने पुस्ताका लागि सिकाउन बूढाबूढीलाई भेटेर गाउन लगाएर मोबाइलमा सेभ गरेर राख्ने अनि हामीले सिक्ने छोराछोरीलाई पनि सिकाउने योजना छ ।”