`

शिक्षक नियुक्तिमा अनियमितता गरेको अभियोगमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

Nepal One HD २१ माघ २०८१ १५:४६
अपराध

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुल्मीको एक विद्यालयका तत्कालीन व्यवस्थापन समिति अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले गलत लिखत तयार गरी गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको देउराली माध्यमिक विद्यालयका तत्कालीन व्यवस्थापन समिति अध्यक्ष नगेन्द्रप्रसाद सापकोटासहित ९ जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

गुल्मीको कालीगण्डकी गाउँपालिका– १ स्थित देउराली माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्षसमेतको मिलेमतोमा शिक्षक नियुक्तिमा अनियमितता भएको उजुरी आयोगमा परेको थियो ।

अनुसन्धानका क्रममा उक्त विद्यालयको माध्यमिक तह (कक्षा ९–१०) को अङ्ग्रेजी, गणित र विज्ञान विषयको शिक्षण सिकाई अनुदान कार्यक्रम अन्तर्गतको रिक्त शिक्षक पदमा नियुक्ति गर्ने प्रयोजनमा उनीहरूले अनियमितता गरेका थिए ।

उनीहरूले बेपत्ता व्यक्तिको नाममा नक्कली कागजात बनाई नियुक्ति पत्र, हाजिरी भएको पत्र, हाजिरी विवरण बनाई हाजिरी प्रमाणित गरी कालीगण्डकी गाउँपालिका, गुल्मीमा पेश गरी गैरकानूनी रूपमा विद्यालयमा अनुपस्थित शिक्षकको नाममा पारिश्रमिक रकम निकासा गराई वार्षिक एकमुस्ट तलब बुझेको झुट्टा फर्जी लिखत तथा भरपाई बनाई लेखापरीक्षण समेत गरी दुरुपयोग गर्ने बदनियतपूर्ण मनसायले कार्य गरी लाभ लिएको देखिएको आयोगले जनाएको छ।


प्रतिक्रिया