`

पहिरो पन्छाउन नसक्दा पाँच दिनदेखि यातायात ठप्प

त्रिवेणी – पहिरो पन्छाउन नसक्दा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा पाँच दिनदेखि यातायात सञ्चालन हुनसकेको छैन । जिल्लाको पहाडी क्षेत्रका लागि यातायात सञ्चालन हुने मुख्य सडक मार्गको ठाउँ–ठाउँमा पहिरो खसेर  यातायात पूर्णरूपमा अवरुद्ध भएको हो ।

दलदले–कुसोत–पोखरी खण्डअन्तर्गत कुमसोत–पोखरी खण्डमा खसेको पहिरो पन्छाउन नसक्दा यातायात सञ्चालनमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद पौडेलले बताउनुभयो ।

अविरल वर्षाका कारण विभिन्न खण्डमा पहिरो खसेसँगै गत बिहीबारदेखि सदरमुकामसँग  नवलपुरको पहाडी क्षेत्रको यातायात सम्पर्क पूर्णरूपमा टुटेको छ । जिल्लाको पहाडी क्षेत्रअन्तर्गत पर्ने पालिका बौदीकाली, बुलिङटार र हुप्सेकोटका केही क्षेत्रका लागि मुख्य मार्गका रूपमा रहेको खण्डमा पहिरो खसेपछि ती क्षेत्रमा कुनै सवारी सञ्चालन हुनसकेका छैनन् ।

पहिरो पन्छाउने प्रयास गरिएको भए पनि पानी पर्ने र पहिरो झर्ने क्रम नरोकिँदा समस्या भएको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । “पहिरो पन्छाउन निरन्तर प्रयास भइरहेको छ, तर विभिन्न क्षेत्रमा धेरै पहिरो खसेको छ, पानी पर्ने र पहिरो झर्ने क्रम पनि रोकिएको छैन, यसैले पहिरो पन्छाउन समस्या भएको छ”, उहाँले भन्नुभयो ।

दलदले–कुमसोत–पोखरी खण्डअन्तर्गत हुप्सेकोट गाउँपालिका–५ पाङ्गे्र र पोखरी खण्डमा खसेको पहिरो हटाउन समस्या भएको उहाँले बताउनुभयो । पोखरीबाट डेढगाउँ जाने खण्डमा समेत यातायात सञ्चालन हुनसकेका छैनन् । पहाडी क्षेत्रको मुख्य मार्गका रूपमा सडकखण्ड बन्दा भएसँगै पहाडी क्षेत्रका बासिन्दालाई सदरमुकाम आउनसमेत समस्या भएको छ । पहिराले बाटो बन्द भएपछि जिल्लाको सदरमुकाममा कुनै अत्यावश्यक काम परे डेढगाउँ–भिमाद–खैरेनी–मुग्लिङ–नारायणगढ हुँदै घुमेर आउनुपर्ने बाध्यता सिर्जना भएको बौदीकाली–५ बबकका स्थानीय गेसबहादुर श्रेष्ठले बताउनुभयो ।

पहाडी क्षेत्रका लागि विकल्पको मार्गका रूपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट–बुलिङटार खण्डसमेत पहिराले अवरुद्ध हुँदा थप समस्या सिर्जना भएको उहाँको भनाइ छ । जिल्लाको पहाडी क्षेत्रका बासिन्दालाई वर्षायाममा कुनै समस्या परे कावासोती आउने बाटो बन्द हुने हुँदा भिमाद, खैरेनी पुग्नुपर्ने बाध्यता छ ।

नवलपुरको पहाडी क्षेत्रमा बर्सेनि वर्षायाममा बाटो पहिराले बन्द हुँदा यस क्षेत्रका बासिन्दा समस्यामा पर्ने गरेका छन् । जिल्लाको सदरमुकाम जोड्ने मूल सडकखण्डको समयमै स्तरोन्नति हुन नसक्दा समस्या सधैँ उस्तै रहेको बुलिङटारका स्थानीय टोलबहादुर रानाले बताउनुभयो ।

राम्रो काम गर्दै जाने हो, जस खोज्ने होइन– एमाले अध्यक्ष ओली

भक्तपुर – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जीवनमा कुनै प्रतिफलको आशा नगरी देश र जनताको समृद्धिको काममा निरन्तर लागिरहने बताउनुभएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका-९ ताथलीमा सञ्चालनमा आएको ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम’को उद्घाटन गर्दै उहाँले राम्रा कुरालाई बढावा दिएर जानुपर्ने बताउनुभयो ।

नेपालमा बालबालिका, ज्येष्ठ नागरिकप्रति हेरचाह गर्ने, सेवा गर्ने परम्परा निकै पुरानो भएको चर्चा गर्दै कार्यक्रममा उहाँले स्याङ्जाको आँधी खोलामा श्रवण कुमार मारिएका र उहाँका आमाबुबाको उद्धार गरिएको कथा सुनाउनुभयो ।

रिडीको छेउको रुरु क्षेत्र उपनिषद् र पुराणको प्रसिद्ध क्षेत्र भएको सुनाउँदै एमाले अध्यक्ष ओलीले हरिणले समेत दूध पिलाएर बालिका बचाएको पवित्र भूमि नेपाल नै भएको इतिहास रहेको बताउनुभयो ।

नेपाली परम्परा, संस्कृति र पहिचानभन्दा फरक संस्कृति नेपालमा भित्रिन थालेकामा चिन्ता व्यक्त गर्दै उहाँले गुरुलाई नमान्ने, आदर भाव नदेखाउने, आमाबुबालाई हेला गर्ने कुरा सुनिन थाल्नु दुःखद भएको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, “समाजले नराम्रा मात्रै खोज्ने र खोतल्ने नभई राम्रा कुरालाई बढावा दिएर जानुपर्छ, मानिसलाई उत्प्रेरित गरेर घृणा होइन प्रेम फैलाउनु पर्छ, हिंसा होइन शान्ति फैलाउनुपर्छ, द्वन्द्व होइन मेलमिलाप फैलाउनु पर्छ, विविधतामा एकता बढाउने सोच अगाडि बढाउनु पर्छ ।”

देश र जनताका लागि राम्रा काम गरेकै कारण आफूलाई सरकारमा जान नदिन निरन्तर षडयन्त्र भइरहेको भन्दै उहाँले भन्नुभयो, “मलाई कसले के भन्यो भन्ने कुरामा म खासै चासो दिन्नँ, मैले राम्रो काम गर्दा पनि त्यसको श्रेय दिए पनि नदिए पनि म अर्थ राख्दिनँ, कसैले राम्रो भनोस् कि नभनोस् त्यसको अर्थ राख्दिनँ, तर जसले जे भने पनि आफूले राम्रो काम अनवरतरूपमा गरिरहनुपर्छ, म गरिरहन्छु ।”

परलोक कसैले देखेको छैन, त्यहाँ सुख हुन्छ, हुँदैन त्यसमा नलागौँ भन्दै उहाँले भन्नुभयो, “तर यो लोक आनन्दमय बनाउनुपर्छ, समृद्ध देश र जनतालाई सुखी बनाउनुपर्छ, देश समृद्ध होस्, जनता समृद्ध र सुखी होऊन् ।”

आफ्नो नेतृत्वको सरकार हुँदा ज्येष्ठ नागरिकको भत्ता चार हजार पुर्‍याएको, एकल महिला, अशक्तता भएका, अपाङ्गता भएका व्यक्तिलाई समेत भत्ताको व्यवस्था गरेको, सडक बालबालिकाको व्यवस्थापनको काम सुरु गरेको, सडकलाई मानव मुक्त बनाउने अभियान सुरु गरेको, दुर्गम ठाउँहरूको अन्त्य हुने गरी सडक सञ्जाल निर्माणको काम सुरु गरेकोलगायत थुप्रै काम गरे पनि आफूले जस लिन नखोजेको अध्यक्ष ओलीको भनाइ थियो ।

बागलुङ पूर्णखोप सुनिश्चित दिगोपना जिल्ला घोषणा

गलकोट – बागलुङ जिल्लालाई सोमबार पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लामा सरकारले खोप सेवा पाउनुपर्ने लक्षित बालबालिकाले जन्मेको १५ महिनाको उमेरभित्रै पूर्णखोप लगाई विभिन्न रोगबाट सुरक्षित रहनका लागि पूर्णखोप अभियान कार्यक्रम थालनी गरेको थियो ।

बालबालिकालाई पूर्णखोपको रूपमा लिन १५ महिनाभित्रै १३ प्रकारका खोप लगाइसक्नुपर्ने व्यवस्थाअनुसार बागलुङ जिल्ला पूर्णखोप सुनिश्चितता दिगोपना जिल्लाका रूपमा घोषणा गरिएको हो । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव तथा खोप समन्वय समितिका अध्यक्ष विनोदबिन्दु शर्माले पूर्णखोप जिल्ला घोषणा गर्नुभएको हो ।

सो अवसरमा उहाँले स्वास्थ्यकर्मीको निरन्तरको मेहनतका कारण बागलुङ पूर्णखोप सुनिश्चिता दिगोपना घोषणा भएको र छिट्टै गण्डकी प्रदेशलाई पूर्णखोप सुनिश्चिता प्रदेश घोषण गरिने जानकारी दिनुभयो । उहाँले गण्डकी प्रदेशको स्वास्थ्य प्रणाली देशमै उत्कृष्ट हुनुमा स्वास्थ्यकर्मीको ठूलो सहयोग रहेको जनाउँदै स्वास्थ्य सेवासँगसँगै स्वास्थ्यकर्मीको व्यवहारसमेत सेवामैत्री हुन आवश्यक रहेको बताउनुभयो ।

जनस्वास्थ्य सेवा ऐन, २०७५ मा खोप सेवालाई आधारभूत निःशुल्क स्वास्थ्य सेवाको सूचीमा दर्ता भएसँगै खोप ऐन, २०७२ तथा नियमावली, २०७४ र प्रदेश खोप ऐन, २०७५ ले गुणस्तरीय खोप सेवा सुनिश्चितताका लागि तय गरिएको कानुनी प्रावधानअनुसार बागलुङ जिल्लालाई पूर्णखोप सुनिश्चितता दिगोपना जिल्लाका रूपमा घोषणा गरिएको जनाइएको छ । पन्ध्र महिनाभित्रै पूर्णखोप नलिएका बालबालिकालाई पाँच वर्षभित्रको उमेरमा खोप लगाइसकेपछि पूर्णखोप सुनिश्चितता दिगोपना जिल्लाका रूपमा घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिनुभयो ।

“बागलुङ जिल्लामा एक सय ८३ खोप केन्द्रबाट प्रत्येक महिना एक सय ९३ खोप सेसनद्वारा निरन्तर खोप कार्यक्रम गरिएको छ । हरेक बालबालिकाले जन्मपश्चात पोख लगाउन पाउनु नैसर्गिक अधिकारको सुनिश्चितता गर्नु तथा गुणस्तरीय र प्रभावकारी खोप सेवा लक्षित वर्गमा पुर्याउनु हाम्रो जिम्मेवारी हो”, उहाँले भन्नुभयो, “जिल्लामा २०६७ सालबाट पूर्णखोप कार्यक्रम थालनी भएको र २०७५ असार २५ गते पूर्णखोप जिल्ला घोषणा भएको थियो । त्यसको दोस्रोरूपमा जिल्लालाई पूर्णखोप सुनिश्चितता दिगोपना जिल्लाका रूपमा अहिले घोषणा गरिएको छ ।” उहाँका अनुसार घोषणा हुँदा पूर्णखोप पाइसके पनि दिगोपनाको सुनिश्चितता नभए पनि अबदेखि पूर्णखोपमात्रै नभएर पूर्णखोप सुनिश्चितता दिगोपना जिल्लाको रूपमा घोषणा गरिएको हो ।

बागलुङमा गत माघदेखि जिल्लाका १० वटै स्थानीय तहका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी घर–घरमा गई खोप छुट भएका पाँच वर्षमुनिका बालबालिकाको खोजी गरी भेटिएका बालबालिकालाई खोप लगाउने कार्य भएपछि जिल्लालाई पूर्णखोप सुनिश्चितता दिगोपना जिल्लाका रूपमा घोषणा गरिएको हो ।

बागलुङ जिल्लाका १० स्थानीय तहका सम्पूर्ण वडा, पालिका पूर्णखोप सुनिश्चतता दिगोपना जिल्ला घोषण गरिएको हो । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाको रोहबरमा जिल्लाका जन्मेदेखि १५ महिनासम्मका बालबालिका चार हजार छ सय ७७ र १५ देखि ५९ महिनाका १० हजार तीन सय १८ बालबालिकाले पूर्णखोप प्राप्त गरेपछि बागलुङ पूर्णखोप सुनिश्चिता दिगोपना जिल्लाको रूपमा घोषणा गरिएको हो ।

तेह्र क्षयरोग, रोटा भाइरसबाट हुने झाडापखला, लहरेखोकी, धनुष्टङ्कार, पोलियो, स्टेपटोकोकस निमोनिया, भ्यागुते रोग, हेपाटाइटिस बी, मेनेन्जाइटिस, दादुरा, रुवेला, जापानिज इन्सेफ्लाइटिस र टाइफाइडको खोप लगाइने गरिएको छ । यी सबै रोगबाट बच्नका लागि पूर्णखोपको आवश्यकता हुने स्वास्थ्यकर्मीको भनाइ छ । पूर्णखोप सुनिश्चिता दिगोपना जिल्ला घोषणा कार्यक्रमलाई दिगोपनामा जोड निुपर्ने बागलुङका स्थानीय तहका प्रमुखले प्रतिबद्धता जनाएका थिए ।

एसइईको नतिजा गत वर्षको व्यवस्थाअनुसार नै सार्वजनिक हुने

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ को नतिजा गत वर्षको व्यवस्थाअनुसार नै सार्वजनिक गर्ने निर्णय गरेको छ । सोमबार बसेको बोर्डको बैठकले यसअघिकै व्यवस्थाअनुसार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस वर्ष पुरानै पाठ्यक्रअनुसार परीक्षा सञ्चालन भएकाले नतिजा पनि पुरानै व्यवस्थाअनुसार सार्वजनिक गरिने छ । नयाँ निर्देशिका, २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई ‘नन ग्रेडेड’ मा राख्ने व्यवस्था छ ।

कक्षा १२ मा भने लेटर ग्रेडिङ निर्देशिका–२०७८ कार्यान्वयन भइसकेको भन्दै उहाँले अर्को वर्षदेखि एसइईमा पनि नयाँ व्यवस्था लागू हुने बताउनुभयो । उहाँले भन्नुभयो, “कक्षा १२ मा लेटर ग्रेडिङ निर्देशिका–२०७८ कार्यान्वयन भइसकेको छ, अब एसइईमा पनि नयाँ पाठ्यक्रम आउँछ, सोहीअनुसार नयाँ व्यवस्था लागू हुन्छ ।”

एसइईको नतिजा सकभर बिहीबार सार्वजनिक गर्ने योजना भए पनि प्राविधिक कारण नतिजा प्रकाशन हुन नसके शुक्रबार नतिजा सार्वजनिक गर्ने तयारी रहेकोसमेत शर्माले जानकारी दिनुभयो ।

विद्यार्थीले प्राप्त गरेको नतिजा रुजु र प्रविष्ट गर्ने अन्तिम काम भइरहेको बोर्डले जनाएको छ । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा देशभरका चार लाख ८५ हजार तीन सय ९६ जना विद्यार्थी सहभागी भएका थिए ।

लुम्बिनी प्रदेशसभा : विपक्षीको अवरोधकाबीच बजेटमाथि छलफल

लुम्बिनी – लुम्बिनी प्रदेशसभामा आजदेखि बजेटमाथिको छलफल अगाडि बढेको छ । विपक्षी दलको विरोधका बीच पनि सभामुख तुलाराम घर्तीले आजको बैठक सञ्चालन गर्दै बजेटमाथिको छलफल अगाडि बढाउनुभएको हो । सभामुखले छलफल अगाडि बढाए पनि प्रतिपक्ष दलका प्रदेश सदस्यहरूले ‘रोष्ट्रम’ अगाडि उभिएर विरोध जनाएका थिए ।

बैठकमा अर्थमन्त्री धनबहादुर मास्कीले आगामी आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि लुम्बिनी प्रदेश, प्रदेश सञ्चिती कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेस गर्नुभएको थियो ।

बजेट माथिको छलफलमा भाग लिँदै नेपाली कांग्रेसका प्रदेश सदस्य बैजनाथ कलवारले अहिलेको बजेटले लुम्बिनीका ५२ वटै निर्वाचन क्षेत्रलाई न्याय गरेको बताउनुभयो । उहाँले वर्तमान सरकारले प्रतिपक्ष र सत्तापक्षलाई समान व्यवहार गरेको भन्दै उत्कृष्ट बजेट रहेको बताउनुभयो ।

बैठकमा स्वतन्त्र सदस्य खड्ग बस्नेतले बजेटका विषयमा उठाएका कुराहरु आफू केन्द्रितभन्दा पनि आम जनतालाई केन्द्रमा राखेर मुद्दा बनाउनुपर्ने सुझाव दिनुभयो ।

छलफलमा उठेका विषयमाथि जवाफ दिँदै अर्थमन्त्री मास्कीले निर्देशनालय खारेज गर्ने निर्णयको बारेमा अध्ययन गर्न समिति बनेको र समितिको प्रतिवेदनका आधारमा निर्णय गरिने बताउनुभयो । अबको बैठकमा विनियोजन विधेयकमाथिको सैद्धान्तिक र दफावार छलफल गर्ने सम्भावित कार्यसूची तय गरिएको छ । अर्थमन्त्री मास्कीले यही असार १ गते रु ४० अर्ब ४७ करोड ८९ लाखको बजेट प्रस्तुत गर्नुभएको थियो ।

प्रदेशसभामा गतिरोध उत्पन्न हुनुमा स्वयम् सरकार नै जिम्मेवार रहेको प्रमुख विपक्षी नेकपा (एमाले)ले आरोप लगाएको छ । दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै बलमिचाइँ गर्दै सरकार अघि बढेको बेला सदन स्थगित हुन पुगेको र सरकारले छलफलको कुनै वातावरण नै नबनाएको आरोप लगाउनुभयो ।

निष्पक्ष र स्वच्छ पत्रकारिता गर्नुपर्छ : परराष्ट्रमन्त्री साउद

सुदूरपश्चिम – परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले स्वच्छ, तथ्यपरक र निष्पक्ष पत्रकारिता गर्न पत्रकारहरूलाई आग्रह गर्नुभएको छ ।

प्रजातन्त्रवादी पत्रकारहरूको संस्था नेपाल प्रेस युनियन कैलालीको आज धनगढीमा भएको अधिवेशनको उद्घाटन गर्दै कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री साउदले सुदूरपश्चिमको पत्रकारिताले राष्ट्रिय पत्रकारितामा महत्त्वपूर्ण योगदान पु¥याएको बताउनुभयो ।

छुट्टै प्रसङ्गमा उहाँले छिमेकी मुलुक भारत र चीनको उदाउँदो अर्थतन्त्रबाट नेपालले लाभ लिन सक्नुपर्ने बताउनुभयो ।

कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर ओडले पनि पत्रकारिता निष्पक्ष र तटस्थ हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्व वरिष्ठ उपाध्यक्ष दामोदर दवाडी, कांग्रेसका जिल्ला सभापति नारायणदत्त भट्ट, प्रेस युनियनका सुदूरपश्चिम प्रदेश अध्यक्ष मनमोहन स्वाँरलगायतले पत्रकारिता र पत्रकारको हकहितका बारेमा बोल्नुभएको थियो । अधिवेशनले युनियनको नयाँ जिल्ला कार्यसमिति चयन गर्ने जनाइएको छ ।

सत्तारूढ गठबन्धनको निर्णय : कोशी प्रदेशमा कांग्रेसका थापालाई मुख्यमन्त्री बनाउने

काठमाडौँ – सत्तारूढ गठबन्धनको आज बसेको बैठकले कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आज बसेको बैठकले कोशी प्रदेशमा नेपाली कांग्रेसको सबैभन्दा बढी सङ्ख्या भएकाले थापालाई मुख्यमन्त्री बनाएर मन्त्रिमण्डल विस्तार गर्ने निर्णय भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकबारे जानकारी दिँदै नेकपा(एकीकृत समाजवादी)का कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेले भन्नुभयो, “हामी गठबन्धनमा भएको दलहरुका तर्फबाट कांग्रेस संसदीय दलको नेता उद्धव थापालाई मुख्यमन्त्रीलाई मुख्यमन्त्री बनाउने र केही खाली सिटका विषयमा सल्लाह गरेर निर्णय गर्ने सहमति भयो ।”

उक्त प्रदेशमा गत शुक्रबार नेकपा (एमाले) नेता हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएर पदमुक्त हुनुभएको थियो । प्रदेशप्रमुख परशुराम खापुङले आइतबार सरकार गठनको आह्वान गर्नुभएको थियो ।

महासङ्घ र परिसङ्घले आर्थिक मुद्दामा सहकार्य गर्ने

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घबीच निजी क्षेत्रको हकहित र आर्थिक विकासका लागि सहकार्य गर्ने विषयमा छलफल भएको छ । महासङ्घले आज परिसङ्घका नवनिर्वाचित पदाधिकारी र कार्यकारी समितिलाई बधाई एवं शुभकामना प्रदान गर्न आयोजना गरेको कार्यक्रममा दुवै संस्थाका नेतृत्वले सहकार्यमा जोड दिनुभएको हो ।

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले परिसङ्घका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाललाई बधाई दिँदै मुलुकको अर्थतन्त्र विषम परिस्थितिमा रहेकाले दुई संस्थाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले विगतमा पनि सहकार्य गरेर सुखद् नतिजा ल्याउन सफल भएका थियौँ र अब पनि यसलाई निरन्तरता दिनुपर्छ ।”

अध्यक्ष ढकालका अनुसार महासङ्घ, परिसङ्घ र नेपाल चेम्बर अफ कमर्शले बिहीबार संयुक्त रूपमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सुझाव पेश गर्दैछ । यसले आर्थिक क्षेत्रमा सकारात्मक सन्देश दिनेछ ।

यसैगरी परिसङ्घका अध्यक्ष अग्रवालले नीतिगत पैरवीका लागि दुवै संस्थाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । महासङ्घको स्वागतका लागि धन्यवाद व्यक्त गर्दै उहाँले भन्नुभयो, “हामीले सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्छ ।” परिसङ्घको यही असार ९ गते अध्यक्ष अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो । सोमबारको छलफलमा परिसङ्घ र महासङ्घका पदाधिकारी एवं कार्यकारिणी समिति सदस्यहरूको सहभागिता थियो ।

वर्षायाममा खाद्यान्न अभाव नहुने

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस वर्षको वर्षायाममा कहीँ कतै खाद्यान्न अभाव नहुने जनाएको छ । देशभरको गोदाममा खाद्यान्न मौज्दात रहेको, थप खाद्यान्न खरिद र ढुवानी प्रक्रिया जारी रहेको मन्त्रालयले जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार हाल काठमाडौँ उपत्यका तथा तराईका जिल्लामा ३६ हजार तीन सय ५६ क्विन्टल खाद्यान्न मौज्दात छ । अतिदुर्गम तथा दुर्गम जिल्लामा २५ हजार पाँच सय पाँच क्विन्टल खाद्यान्न मौज्दात रहेको कम्पनीले जनाएको छ ।

प्रतिस्पर्धाको माध्यमबाट खुला बजारबाट थप खाद्यान्न खरिद भइरहेको र थप चामल खरिदका लागि बोलपत्र आह्वान गर्ने प्रक्रिया पनि जारी रहेको छ । हाल २६ हजार तीन सय ७५ क्विन्टल धान मौज्दात छ ।

भारतबाट आयात कोटाअन्तर्गत साल्ट ट्रेडिङमार्फत ३४ हजार तीन सय २० क्विन्टल गहुँ तत्काल प्राप्त हुनेछ । कम्पनीसँग कूल दुई लाख ६६ हजार तीन सय क्विन्टल खाद्यान्न मौज्दात रहनेछ । हाल खुला बजारबाट प्रतिस्पर्धाका माध्यमबाट सम्झौता भएको ८९ हजार एक सय क्विन्टल खाद्यान्न कम्पनीको गोदाममा आइरहेको र भारतबाट आयात हुने खाद्यान्न पनि लोड भइसकेको जनाइएको छ ।

चालु आर्थिक वर्षको असार १२ गतेसम्म दुर्गमका जिल्लामा १७ हजार आठ सय ३० मेट्रिक टन खाद्यान्न ढुवानी भएको छ । बढी खाद्यान्न समस्या देखिएको हुम्लामा चार हजार क्विन्टल कोटा थप गरी हवाइमार्गबाट दैनिक ढुवानी भई वितरण भइरहेको छ ।

बझाङमा पनि एक हजार क्विन्टल कोटा थप गरिएको छ । पूर्वी जिल्लामा पनि पर्याप्त खाद्यान्न मौज्दात रहेको कम्पनीले स्पष्ट पारेको छ । पालिकास्तरमा भने खाद्यान्न सञ्चिति गर्ने गोदाम नभएकाले आवश्यक मात्रामा बिक्री केन्द्रमा खाद्यान्न ढुवानी गरेर वितरण भइरहेको कम्पनीले जनाएको छ ।

चालु आर्थिक वर्षमा हालसम्म पालिकास्तरबाट माग भएका स्थानमा ४७ हजार तीन सय ३४ क्विन्टल चामल वितरण भइसकेको छ । कतिपय स्थानमा भने माग नै नभएकाले आपूर्ति नगरिएको कम्पनीले जनाएको छ ।

नविन प्रविधिको अभ्यासमा विशेष ध्यान दिनुपर्छ : कृष्णबहादुर महरा

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले इन्टरनेटको विकास र प्रयोग बढेसँगै टेलिकम कम्पनीहरूको व्यापार कम हुँदै जाने भएकाले नविन प्रविधिको अभ्यासमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।

आज यहाँ आयोजित ‘दूरसञ्चार विकास’ विषयक कार्यक्रममा माओवादी केन्द्रका प्रवक्ता एवं पूर्व सञ्चार तथा सूचनाप्रविधिमन्त्री महराले इन्टरनेटको प्रयोग बढेसँगै विध्यमान ‘टेलिकम्युनिकेशन’ क्षेत्र साँघुरिने तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामीले दूरसञ्चारमा क्रान्ति गर्याँै । तर अहिलेसम्म आइपुग्दा टेलिकम कम्पनीहरूको भविष्य त्यति राम्रो देखिँदैन । त्यसैले सञ्चारका नयाँ प्रविधिमा प्रविधिलाई अपनाउनुको विकल्प छैन ।” हरेक वर्ष प्रविधिमा परिवर्तन आउने भएकाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोहीअनुसार नयाँ नीति बनाउनुपर्ने उहाँको सुझाव थियो ।

नेता महराले भन्नुभयो, “सञ्चार तथा सूचना प्रविधि मन्त्रालय संवेदनशील छ । बदलिदो प्रविधि र अभ्याससँगै नीतिमा पनि अपग्रेड हुनुपर्छ ।” उहाँले सेवालाई सहर केन्द्रित मात्र नगराएर ग्रामीण दूरसञ्चार क्षेत्रमा सेवा विस्तार गर्न सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दूरसञ्चार सेवा शूल्क महँगो हुनु सेवा प्रदायकको बाध्यता भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सेवा शुल्क महँगो छ । प्रत्यक्ष कर मात्रै ३२ प्रतिशत र अप्रत्यक्ष कर जोड्दा ४२ प्रतिशत हुन्छ । अर्कोतर्फ आवश्यक सबै उपकरण विदेशबाट ल्याउनुपर्ने बाध्यता छ ।”

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीले भन्नुभयो, “अहिले सरकारको लक्ष्यअनुसार सात सय ३९ वटा स्थानीय तहमा फोर जी सेवा पुगेको छ । बाँकी १४ स्थानीय तहमा भौगोलिक विकटताका पुर्याउन सकिएको छैन । यही वर्षभित्रमा ती क्षेत्रमा पनि फोर जी पुुर्याउने छौँ ।”

कार्यक्रममा उपस्थित निजी सेवा प्रदायक संस्थाहरूले सरकारसँगको सहकार्यमा डिजिटल नेपालको फ्रेमवर्कका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

झापामा हात्ती आक्रमणमा ज्यान गुमाउने बर्सेनि बढ्दै

झापा – झापामा बर्सेनि जङ्गली हात्ती आक्रमणमा परेर ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ । जङ्गलमा घाँस काट्ने क्रममा, घरमै सुतिरहेको अवस्थामा र चिया बगानमा मानिस जङ्गली हात्तीको निशानामा पर्ने गरेका छन् ।

झापाकै सामुदायिक वनमा रहेका रैथाने हात्ती र दैनिक बाहुनडाँगी हुँदै नेपाल प्रवेश गर्ने भारतीय जङ्गली हात्तीले मानवीय क्षति गरिरहेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताउनुभयो ।

उहाँले गत वर्षको तुलनामा हात्ती आक्रमणमा परी ज्यान गुमाउनेको सङ्ख्या बढेको जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्ममा आठ जनाले हात्ती आक्रमणमा ज्यान गुमाएका छन् भने सात जना घाइते भएका छन् । गत वर्ष सोही अवधिमा छ जनाले ज्यान गुमाएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

आहाराको खोजीमा गाउँ, सहर पस्ने हात्तीको निशानामा मानिस परेको उहाँको भनाइ छ । केही समय अघिसम्म सामुदायिक वन आसपासमा मात्र हात्तीको जोखिम रहेको थियो । आजकल हात्तीले सहरभित्रै पसेर मान्छे मार्न थालेको छ ।

“हुलमा भन्दा पनि एक्ले हात्तीले मान्छे मारिरहेको छ”, प्रमुख राई भन्नुहुन्छ, “हात्ती अब अटेर भइसके । सहर पसेर मान्छे मार्न थाल्यो ।” आज बिहान मात्र धुलाबारी बजारमा पूजाका लागि फूल टिप्न सडकमा हिँड्दै गरेकी ८० वर्षीया पन्नादेवीको हात्ती आक्रमणमा घटनास्थलमै मृत्यु भएको छ । वृद्धालाई मारेर उत्तरतर्फ लागेको हात्तीले बुद्धशान्ति गाउँपालिका–५ मा ३८ वर्षीया कमला धिमाललाई आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । चिया बगानमा काम गर्न जाने क्रममा बाटोमै धिमाल हात्ती आक्रमणमा परेर घाइते हुनुभएको थियो । उहाँको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।

झापाका स्थानीय तहले हालै मात्र बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेका छन् । जिल्लामा बर्सेनी हात्ती आक्रमणमा मानवीय क्षतिसँगै लाखौँको अन्नबालीसमेत नष्ट हुँदै आएको छ । तर बजेटमा पालिकाले हात्ती नियन्त्रणका लागि नै भनेर रकम उल्लेख गरिएको पाइँदैन ।

मेचीनगर नगरपालिकाको बाहुनडाँगी हात्ती नेपाल प्रवेश गर्ने मुख्य गौँडो मानिन्छ । सो क्षेत्रमा लगाएको विद्युतीय घेराबार समेत तोडेर दैनिक हात्ती गाउँ पस्ने गरिरहेका छन् । पालिकाले नीति तथा कार्यक्रममा जङ्गली हात्तीको प्रकोपको क्षतिलाई नियन्त्रण गर्न निर्माण गरिएको विद्युतीय घेराबारको मर्मत सम्भार तथा स्तोरन्नति गरिने र सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्ने हात्ती रोक्न सङ्घ र प्रदेश सरकारसँग पहल गर्ने नीति तथा बजेट कार्यक्रममा उल्लेख गरेको छ ।

पालिकाले हात्तीलगायतका जङ्गली जनावरलाई खेदाउन साइरन खरिदका लागि रु तीन लाख र हात्ती प्रकोप तथा विपद् व्यवस्थापनमा रु तीन लाख बजेटमा विनियोजन गरेको छ । नगरको वडा नम्बर ४ ले भने हात्तीमैत्री किसान समूहलाई बेमौसमी तरकारी खेतीका लागि रु ५० हजार र हात्तीले मारेको पीडित परिवारका सदस्यलाई रु १२ हजारका दरले रकम दिइने बजेटमा उल्लेख गरिएको छ ।

वडा नम्बर ३ ले हात्ती धपाउनका लागि फगी लाइट खरिदका लागि रु ५० हजार बजेट छुट्याएको छ । पन्ध्र वडा रहेको पालिकाका अन्य वडाले भने एक रूपैयाँ बजेटसमेत हात्ती नियन्त्रणका लागि छुट्याएको बजेट पुस्तिकमा पाइँदैन ।

बाँकेमा अझै आएन ‘लम्पी स्किन’ को खोप

नेपालगञ्ज – बाँकेमा अहिलेसम्म ‘लम्पी स्किन’ को सङ्क्रमण भएका पशुमा लगाउने खोपको प्रबन्ध भएको छैन । सो सङ्क्रमणबाट बाँकेमा अहिलेसम्म २५ पशु मरिसकेका छन् । जिल्लामा करिब सात हजार पशु सङ्क्रमित भएका छन् ।

पशु पालक किसान समयमा खोप नपाउँदा ठूलो आर्थिक नोक्सानी व्यहोर्न बाध्य छन् । केही किसानले निजीस्तरबाट खोप लगाएको तर जिल्लामा खोप अझै नआएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बाँकेका पशु चिकित्सक रूपेन्द्रकुमार ओलीले बताउनुभयो ।

उहाँले पशुमा देखिएको सङ्क्रमणले ठूलो जनधनको क्षति भएकाले रोगको पहिचानका लागि ल्याब टेष्ट र लक्षणअनुसारको उपचार भइरहेको जानकारी दिुभयो । कतिपय पशुपालक कृषकले स्थानीय सरकारमा रहेको पशुसेवा केन्द्रमार्फत पनि सुविधा लिएको उल्लेख गर्दै पशु चिकित्सक ओलीले सङ्घीय सरकार, प्रदेश सरकारबाट खोप नआएको बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकासहित आठ स्थानीय तहमा सो भाइरसको सङ्क्रमण देखिए पनि राप्तीसोनारी गाउँपालिका र बैजनाथ गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको भेटेरिनरी अस्पतालले जनाएको छ । नेपाल भेटेरिनरी एशोसियशनका सचिव डा शङ्कर न्यौपानेले सङ्क्रमणबाट पशुवस्तुको मृत्युपछि किसानले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको उल्लेख गर्दै किसानको पशुबाट दूधको उत्पादन घट्दै गएको बताउनुभयो ।

उहाँले पशुलाई धेरै ज्वरो आउनु, शरीर र मुखमा फोका जस्ता खटिरा निस्कनु, पशुलाई श्वासप्रश्वासमा समस्या हुनु, दानापानी नखानु र दुधालु पशु भए दूधको उत्पादन घटाउनु सङ्क्रमणको मुख्य लक्षण भएको जानकारी दिनुभयो । सङ्क्रमण भएको पशु भए त्यसलाई सामूहिकरूपमा चराउन नलैजाने, पशुको ढुवानी कार्य बन्द गर्ने र आवाजातवमा कडाइ गरेर पनि यसको न्यूनीकरण हुन सक्ने डा न्यौपानेले सुझाव दिनुभयो । एउटा रोगी पशुलाई लामखुट्टे, झिङ्गा वा किर्नाले टोकेर यसको सङ्क्रमण फैलन सक्ने बताइएको छ । बाँकेमा करिब एक लाखको हाराहारीमा भैँसी र ६० हजार हाराहारीमा गाई रहेका छन् ।

बर्दियाको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयले ‘लम्पी स्किन’ को सङ्क्रमण भएका पशुलाई खोप लगाउन दुई हजार भाइल खोप आएको जानकारी दिएको छ । एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय, बर्दियाका वरिष्ठ कृषि प्रसार अधिकृत सागर ढकालले केही दिनमा नै खोप लगाउने कार्य सुरु हुने जानकारी दिँदै जिल्लामा तीन सय ७९ पशु सङ्क्रमित भएको बताउनुभयो ।

अहिलेसम्म जिल्लामा चार पशुको सङ्क्रमणबाट मृत्यु भएको छ । बर्दियामा एक लाख २४ हजार नौ सय २१ गाई र एक लाख २४ हजारभन्दा बढी भँैसी रहेका छन् ।

पचास प्रतिशत अनुदानमा किसानलाई कृषियन्त्र

सिन्धुली – कमलमाई नगरपालिकाले व्यावसायिक कृषि प्रवर्द्धन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा किसानलाई कृषियन्त्र वितरण गरेको छ । चौध वडामा रहेका किसानलाई कृषियन्त्र वितरण गरिएको हो ।

कृषि यान्त्रीकरण, प्रविधिको प्रयोग गरी जीविकोपार्जन मात्र नभई व्यावसायिक कृषि प्रवर्द्धन गर्ने उद्देश्यले नगरका किसानलाई कृषियन्त्र वितरण गरिएको कमलामाई नगरपालिकाकी उपमेयर मञ्जु देवकोटाले बताउनुभयो । अहिले धान रोपाइँ गर्ने बेलामा लम्पी स्कीन रोगबाट गोरु बिरामी पर्दा किसानलाई धान रोपाइँ गर्न समस्या भएको उहाँको भनाइ छ । कमलामाई नगरपालिकाले वितरण गरेको मिनी ट्रेलर र पावर ट्रेलरले धान रोपाइँ गर्न सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

मिनी ट्रेलर पाएपछि अब खेती गर्न किसानलाई निकै सहज र सरल हुनुका साथै कम समयमा बढी उत्पादन लिन सक्ने र आधुनिक कृषियन्त्रको सहाराले कृषिमा ठूलो परिवर्तन आउने बताउनुभयो । कमलामाई नगरपालिकाले किसानलाई कृषि खेती गर्ने सीपसहित प्रविधि, प्राविधिकको उपलब्धता गराउँदै आएको उहाँले बताउनुभयो । उहाँले अनुदान पाउनका लागि निवेदन दर्ता गराएका किसानको घर–घरमा पुगेर अनुगमन गरी ५० प्रतिशत अनुदान पाउने किसान छनोट गरेर उनीहरुलाई यन्त्र उपलब्ध गराइएको बताउनुभयो । छनोटमा परेका किसानले कृषिलाई व्यवसायीकरण गर्ने जनाएकाले आधुनिक उपकरणले सो कामलाई सहज बनाउने बताउनुभयो ।

किसानको मागको आधारमा नगरपालिकाले किसानको परम्परागत खेतीलाई व्यावसायिक बनाउने गरी कार्यक्रम सञ्चालन गर्दै नगरपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको उहाँले बताउनुभयो । कृषिको व्यावसायिकताले युवालाई विदेश पलायन हुनबाट रोकी यही स्वरोजगार बनाउने, यहाँको पैसा तरकारीका नाममा अन्यन्त्र नजाँदा यहीँका जनाता आर्थिकरुपमा सवल हुने उहाँले बताउनुभयो ।

कमलामाई नगरपालिकाले ५० प्रतिशत अनुदानमा ६४ जना किसानलाई मिनी ट्रेलर र चार जना किसानलाई पावर ट्रेलर वितरण गरेको कृषि शाखाका सरोज फुयालले जानकारी दिनुभयो । यस आर्थिक वर्षमा नगरपालिकाले ५० प्रतिशत अनुदानमा एक सय ७० जनालाई टनेल प्लाष्टिक, ८५ जनालाई मौरीको घर र २५ मेट्रिक टन धानको बीउ वितरण गरेको उहाँले जानकारी दिनुभयो ।

कमलामाई नगरपालिकाले एक वडा एक उत्पादन कार्यक्रमअन्तर्गत हरेक वडामा एक बालीलाई प्राथमिकता दिइएको र कृषिको व्यावसायिक खेतीका लागि हरेक वडामा समूह र सहकारीमार्फत रु दुई लाख प्रदान गरिएको उहाँको भनाइ छ । कमलामाई नगरपालिकाले एक वडा एक उत्पादन अन्तर्गत वडा नं. १, ३, ४, ६, ७, १०, ११, १२ तरकारी, वडा नं २ मा अदुवा पकेट कार्यक्रम, वडा नं ५ मा ५ अदुवा वेसार, वडा नं ८ मा भुई कटहर, वडा नंं ९ मा लिचि र वडा नं १३ र १४ मा चैते धान खेतीलाई प्राथमिकता दिएको उहाँको भनाइ छ ।

राष्ट्रियसभा बैठक : विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुने

काठमाडौँ  – आज राष्ट्रियसभा बैठक बस्दै छ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा दिउँसो १ बजे राष्ट्रियसभा बैठक बस्न लागेको हो । 

आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने सम्भावित कार्यसूचीमा उल्लेख छ ।  

यसैगरी, बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुनेछ । जसअनुसार आजको बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय माथि छुटाईएको बजेटमाथि छलफल हुनेछ ।  

साथै, शिक्षा मन्त्री अशोककुमार राईले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वविद्यालय विधेयक २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख रहेको छ । 

गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ – नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ ।

विसं १९८१ असार १८ गते जन्मनुभएका कोइरालाको विसं २०६६ चैत ६ गते निधन भएको थियो । जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले रक्तदान, फलफूल वितरण, विचार गोष्ठी, दीपप्रज्वलनलगायतका कार्यक्रम राखेका छन् ।

पूर्व सभापति कोइरालाले सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा (माओवादी) लाई शान्तिपूर्ण राजनीतिका मूलधारमा समाहित गराउन र गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । मुलुकमा पाँच पटक प्रधानमन्त्री र लामो समय कांग्रेसको पार्टी सभापति भएर काम गर्नुभएको थियो ।

जङ्गली हात्तीले कुल्चेर मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० मा आज बिहान जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले बताउनुभयो । पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा आज बिहान साहलाई सडकमा हात्तीले कुल्चेर मारेको उहाँले जानकारी दिनुभयो । सिलगुढी निवासी उहाँ एक वर्षअघिदेखि छोरीको घरमा बस्दै आउनुभएको थियो ।

झापामा छ दिनअघि मात्र जङ्गली च्याउ टिप्ने क्रममा हल्दिबारी गाउँपालिका–२ मा ५३ वर्षीय गिरेन कर्मकारलाई जङ्गली हात्तीले किल्चेर मारेको थियो । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले चालु आर्थिक वर्षमा मात्र जिल्लामा हात्तीको आक्रमणबाट आठ जनाको ज्यान गएको जानकारी दिनुभयो ।

चेपाङ समुदायलाई फलफूलका बिरुवा वितरण

रत्ननगर – चितवनको इच्छाकामना गाउँपालिका–१ का चेपाङ समुदायलाई फलफूलका बिरुवासहित अम्रिसोको बिरुवा वितरण गरिएको छ ।

उनीहरुको आयआर्जन बृद्धि, वातावरण संरक्षण र भू–क्षय नियन्त्रणको लागि सुन्तला, कागती र अम्रिसोको बिरुवा वितरण गरिइएको हो । इच्छाकामना–१ भालुडाँडामा आयोजित कार्यक्रममा स्थानीय ५२ परिवार चेपाङलाई ७१ हजार सात सय ५० सुन्तलाको बिरुवा, ५२ परिवारलाई चार सय ५० कागतीका बिरुवा तथा एक सय चार परिवारलाई पाँच हजार ५० बोट अम्रिसो वितरण गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो । सो वडाअन्तर्गत काउलेमा सुन्तला उत्पादन हुँदै आएको छ । स्थानीय आवश्यकतालाई मध्यनजर गरि सुन्तलाको बिरुवा वितरण गरिइएको हो ।

सो ठाउँमा अम्रिसो बहुउपयोगी मानिँदै आएको छ । कुचोको लागि, बाख्राको लागि घाँस र डोको बुन्न चोयासमेत निस्कने भएकाले अम्रिसोको बिरुवा प्रदान गरिएको हो । बाख्रापालन, कुचो तथा भू–क्षय नियन्त्रण र वातावरण संरक्षणको लागि अम्रिसो उपयोगी हुने गर्दछ ।

चेपाङको पारिवारिक अवस्थामा परिवर्तन आएको छ, बालबालिका स्कुल जान थालेका छन्”, अध्यक्ष गिरीले भन्नुभयो, “आयआर्जनको लागि बाख्रापालन गरिएको छ, खेतमा तरकारी र फलफूल उत्पादन गरिएको छ । ”

बागमती प्रदेशसभा बैठक आज ११ बजे बस्ने

काठमाडाैँ – बागमती प्रदेशसभाको आइतबार साँझ बस्ने भनिएको दोस्रो बैठक विशेष कारणवश स्थगित भई आज बिहान ११ बजे बस्ने भएको छ । 

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा सत्तापक्षले प्रतिपक्षसँग सहमति जुटाउने सिलसिलामा सर्वदलीय बैठक हुँदा सहमति जुट्न नसकेकाले आइतबार साँझ बस्ने भनिएको बैठक आजको लागि सारिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सरकारका तर्फबाट प्रतिपक्षहरूसँग वार्तालाप गरी सहमति गरी विवाद टुङ्ग्याउने सम्भावना रहेकोले बैठक नियमित रूपमा सञ्चालन हुने बताउनुभयो । 

पोखराको मासु पसललाई व्यवस्थित गरिँदै

कास्की – पोखरा महानगरपालिकाले मासु पसललाई व्यवस्थित गर्न सुरुआत गरेको छ । महानगरले मासु पसल सञ्चालनका लागि तोकिएको न्यूनतम मापदण्ड पूरा गरेका पसललाई एकै प्रकारका बोर्ड तथा व्यवसाय परिचयपत्र वितरण गरेको हो । महानगरको पशु सेवा शाखाले आइतबार आयोजना गरेको कार्यक्रममा महानगरप्रमुख प्रमुख धनराज आचार्यले व्यवसायीलाई परिचयपत्र प्रदान गर्नुभएको हो ।

पशु सेवा शाखा प्रमुख नवराज अधिकारीले पशुबध तथा मासु जाँच ऐन २०५५, नियमावली २०५७ तथा महानगरको मासु जाँच निर्देशिकाअनुसारको मापदण्ड पालना गरेका ७४ पसललाई परिचपत्र र बोर्ड प्रदान गरिएको बताउनु भयो । उहाँका अनुसार महानगर क्षेत्रमा करिब छ सयको हाराहारीमा ठूला तथा साना मासु व्यवसायी छन् ।

महानगरले पसलको एकरुपताका लागि सबै पसललाई एकै आकार र बनोटको बोर्ड हस्तान्तरण गरेको छ । महानगर प्रमुख आचार्यले पोखरामा अब मापदण्डविपरीतका फ्रेस हाउस बन्द गरिने बताउनुभयो । महानगरबाट अनुमति प्राप्त गरेको पसल हो भनेर चिनाउने गरी बोर्ड प्रदान गरिएकाले मान्यता प्राप्त पसलबाट मात्र मासु खरिद गर्न उहाँले उपभोक्तालाई आग्रहसमेत गर्नुभयो ।

महानगर प्रमुख आचार्यले भन्नुभयो, “अब केही समयपछि महानगरको बोर्ड नभएको पसलमा मासु खरिद विक्री नगर्नका हामी सार्वजनिक सूचना जारी गर्नेछौँ, महानगरबाट मान्यता प्राप्त गरेको र व्यवस्थित पसलमा स्वच्छ र स्वस्थ मासु उपलब्ध गराउनुपर्दछ ।” उहाँले महानगरले पोखरामा व्यवस्थित र सुविधासम्पन्न पशुबधशाला स्थापनाका लागि काम अघि बढाएको जानकारी दिनुभयो ।

महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले स्वच्छ र सफा मासु खान पाउनु उपभोक्ताको अधिकार भएको बताउनुभयो । उहाँले मापदण्ड पालना नगरेका अन्य पसललाई समेत पूरा गरेर महानगरमा दर्ता भएर परिचपत्र लिन आग्रह गर्नुभयो । पशु सेवा शाखा प्रमुख अधिकारीले मासु पसललाई बोर्ड र व्यावसायिक परिचपत्र वितरणको काम नेपालमै पहिलोपटक सुरु भएको बताउनुभयो । मापदण्ड पूरा नभएका पसल केही दिनको समय दिएर बन्द गराइने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “महागनरले मापदण्डविपरीतलाई बन्द गरेर पालना भएकालाई मात्र सञ्चालन गर्नेछ । बाँकी पसलसमेत केही समयपछि मापदण्ड पालनामा आउने विश्वास लिएका छौँ ।”

यसैगरी महानगरले विभिन्न पाँच विधाका उत्कृष्ट कृषकलाई नगदसहित सम्मान गरेको छ । गाई, भँैसी, कुखुरा, बँगुर र बाख्रा पालनमा उत्कृष्ट कृषकलाई जनही रु १० हजारसहित पुरस्कृत गरिएको महानगरले जनाएको छ । उत्कृष्ट कृषक सम्मान प्राप्त गर्नेमा पोखरा १५ का भैँसीपालक कृषक दीपक तिमिल्सिना, पोखरा–२५ का गाईपालक कृषक घनश्याम तिमिल्सिना, पोखरा–१७ का कुखुरापालक कृषक चन्द्रकान्त बराल, पोखरा–२० का बाख्रापालक कृषक दुर्गाबहादुर गुरुङ र पोखरा–१९ का बङ्गुरपालक कृषक सरस्वती बस्ताकोटी हुनुहुन्छ ।

त्यसैगरी लामो समय कृषि तथा पशुपालनमा लागेकालाई ज्येष्ठ प्रवद्र्धक कृषकको सम्मान प्रदान गरिएको छ । महानगरले पाडीबाच्छी आफैँ हुर्काएर माउ बनाउने पाँच सय कृषकलाई रु तीन हजार र एक हजार पाडीबाच्छी हुकाउनेलाई रु चार हजारका दरले अनुदान उपलब्ध गराइएको छ । महानगर क्षेत्रका अपाङ्गता भएका व्यक्तिलाई रु आठ हजारका दरले ५० जनालाई बाख्रा खरिदका लागि अनुदानसमेत प्रदान गरिएको छ ।

बारले आज बन्दीप्रत्यक्षीकरणकाे मुद्दामा बाहेक बहस नगर्ने

काठमाडौँ – नेपाल बार एसोसिएसनले अदालतभित्रै कर्मचारी कुटेको आरोपमा कानुन व्यवसायीलाई पक्राउ गरिएको विरोधमा आज देशभर बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने जनाएको छ । 

बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा यही असार १८ गते देशभरिका अदालतहरूमा बन्दीप्रत्यक्षीकरणका मुद्दामा बहस पैरवी नगर्ने उल्लेख छ ।

जिल्ला अदालत ललितपुरकी कर्मचारी प्रेमिका तामाङलाई हातपात गरेको आरोपमा कानुन व्यवसायी अमिर लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । सोही विरोधमा बारले उक्त घोषणा गरेको हो । 

बारले थुनामा रहेका अधिवक्ता लामिछानेलाई २४ घण्टाभित्र रिहा गर्नुपर्ने, सिसी टिभी फुटेज सार्वजनिक गर्नुपर्ने, लामिछानेले दिएको जाहेरी दर्ता गर्नुपर्नेमा समेत गरेको छ ।

यही असार १३ गते जिल्ला अदालत ललितपुरमा नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै विरोध स्वरूप देशभरका अदालतका कर्मचारीहरूले आन्दोलन स्वरूप आज तीन घण्टा काम नगरी विरोध जनाएका थिए । 

लामिछानेविरुद्ध नासु तामाङले घटना भएकै दिन जिल्ला अदालत ललितपुरमा अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै निवेदन दिएपछि अधिवक्ता लामिछानेलाई पक्राउ गरिएको थियो ।

नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

भरतपुर – नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा आज बिहान पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध बनेको हो ।

पहिरोले एउटा ट्रक पल्टिएको छ भने पहिरो हटाउन सुरु गरिएको छ । अहिले सडक दुईतर्फी नै ठप्प भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभयो । पहिरो गएको स्थानमा ना६ख ७१० नम्बरको ट्रक पल्टिएको हो । ट्रकका चालक सामान्य घाइते भएका छन् ।

अहिले पहिरो पन्छाउने र ट्रकलाई उठाउने तयारी भइरहेको प्रहरी निरीक्षक तामाङले जानकारी दिनुभयो । उक्त स्थानमा पटक–पटक पहिरो खसेको छ । आइतबार झण्डै १८ घण्टा अवरुद्ध भएको यो सडक साँझबाट सञ्चालन भएको थियो । यसको केही समयमा फेरि पहिरो खसेकोमा पहिरो पन्छाएर सडक सञ्चालन गरिएको थियो । यो सडक हुँदै दैनिक हजारौँ सवारीसाधन आउजाउ गर्ने गर्दछन् । पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडाँै ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले अत्यावश्यक बाहेक यो सडकखण्ड प्रयोग नगर्न अनुरोध गरेको छ ।

ललिता निवास प्रकरण : थप तीन जना पक्राउ

काठमाडौं – ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज थप तीन जनालाई पक्राउ गरेको छ । 

तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालयका तत्कालीन कर्मचारी घमान कुमार कार्की र नक्कली मोही बनेका बाबुराजा महर्जनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

ललिता निवासका अस्थायी संरचना हटाउन कामपाले दियो सात दिनको समय

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले बालुवाटारस्थित ललितानिवासमा बनेका अस्थायी संरचना आगामी सात दिनभित्र हटाउनका लागि निर्देशन दिएको छ ।

कामपाका प्रवक्ता नवीन मानन्धरका अनुसार उक्त स्थानमा निर्माण भएका सबै अस्थायी संरचना हटाउनका लागि निर्देशन दिइएको हो । स्थायी संरचनाको विषयमा भने पुनः छलफल गरेर निर्णय गरिने उहाँको भनाइ छ । उक्त संरचना हटाइसेकेपछि उक्त स्थामा तारबार गरी संरक्षण गर्ने प्रवक्ता मानन्धरले जानकारी दिनुभयो । आज कामपा नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वमा नगर प्रहरी उक्त स्थानमा पुगेको थियो ।

पहिले उक्त स्थानमा कति सार्वजनिक जग्गा छ भनी एकिन गरी तारबार गर्ने तयारी कामपाको छ । उक्त स्थानमा अहिले करिब २५ वटा साना टहरा बनाएर गोदामघर, पसल आदि सञ्चालनमा रहेको र ती सबै संरचना हटाउनका लागि निर्देशन दिइएको कामपाले जानकारी दिएको छ । उक्त स्थानको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको अभियोगमा केही व्यक्ति विरुद्ध विशेष अदालतमा मुद्दा चलिरहेको छ ।

कामपाले नयाँ नेतृत्व आएसँगै गत भदौ ७ गतेदेखि सार्वजनिक जग्गामा बनाइएका, नक्सा पासबिनै निर्माण भएका, नक्सा पास भएअनुसार निर्माण नभएका र निर्माण भएअनुसार प्रयोग नभएका संरचना हटाउने कामलाई निरन्तरता दिँदै आएको छ । यस अवधिमा कामपा नगरप्रहरीको नेतृत्वमा विभिन्न स्थानमा गरी एक सय २३ रोपनी सार्वजनिक जग्गा संरक्षण गरेको छ ।

१६ हजार पाँच सय अनधिकृत संरचना हटाइयो

कामपाले गत भदौ ७ गतेदेखि अवैधानिकरूपमा निर्माण गरिएको संरचना हटाउने काम सुरु गरेको हो । हालसम्मको अवधिमा १६ हजार पाँच सय ६० स्थानका अवैधानिकरूपमा निर्माण गरिएका संरचना हटाइएको कामपाले जनाएको छ । यस अवधिमै ९५ हजार पाँच सय ३८ वर्गफिट भूमिगत क्षेत्रलाई पार्किङमा रूपान्तरण, दुई सय ३१ अनधिकृत सवारी वर्कसपलाई कारबाही र ९५ हजार पाँच सय ३८ वर्गफिट भूमिगत क्षेत्रलाई पार्किङमा रूपान्तरण गरेको छ ।

जथाभावी रोकेर राखिएको १६ हजार सात सय ५७ सवारीलाई नियन्त्रणमा लिइएको कामपाले जानकारी दिएको छ । निर्वाचनको बेला भएको घोषणाअनुसार काम गर्ने क्रममा यी उपलब्धिहरू प्राप्त भएको कामपा जनप्रतिनिधिको भनाइ छ । सुरक्षा र पैदल यात्रीलाई सहजता प्रदान गर्नका लागि कामपाले यस अवधिमा एक हजार सात सय स्मार्ट सडक बत्ती जडान गरेको छ । सात किलोमिटर नयाँ ढल निर्माण एक हजार ५०० मिटर फुटपाथ निर्माण भएको छ ।

कांग्रेससँग नयाँ सरकार गठनबारे कुरा भएको छैन: अध्यक्ष ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनका विषयमा नेपाली कांग्रेससँग कुनै कुराकानी नभएको बताउनु भएको छ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै ओलीले सरकार गठनबारे कांग्रेससँग कुनै कुरा नभएको बताउनु भएको हो।

उहाँले सत्तारुढ कांग्रेसका शीर्ष नेताहरू एमालेसँग छलफल गर्न डराइरहेको बताउनु भयो।

कांग्रेस र एमाले मिलेर सरकार गठन गर्ने चर्चा चलिरहेको छ ? भन्ने प्रश्नमा कांग्रेसका नेताहरू कुरा गर्नै डराइरहेको अध्यक्ष ओलीको जवाफ थियो । उहाँले भन्नुभयो, ‘कांग्रेससँग कुनै हिमचिम छैन। फोनमा पनि कुरा भएको छैन। भेट्दा हाइहेलो मात्रै भइरहेको हो। उहाँहरू खासमा कुरा गर्न पनि डराइरहनुभएको छ।’

कांग्रेसका नेताहरू अनौपचारिक कुरा गर्न पनि डराउने गरेको ओलीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘सामान्य भेटघाट हुँदा पनि कसैले हेरिरहेको छ कि झैं गरी यताउति हेर्नुहुन्छ। कुरा नै गर्नुहुन्न।’

बजार व्यवस्थापन सदस्य अधिकारीको सपथ

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त बजार व्यवस्थापन सदस्य नवराज अधिकारीलाई सपथ गराउनुुभएको छ ।

सिंहदरवारस्थित सञ्चार मन्त्रालयमा आज आयोजिन एक कार्यक्रममा नवनियुक्त बजार व्यवस्थापन सदस्य अधिकारीलाई सपथ गराउनुभएको हो । बर्दिया निवासी अधिकारीलाई असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकले सो पदमा नियुक्त गरेको थियो ।

प्रधानमन्त्री दाहाल र जनमत पार्टीका अध्यक्ष डा राउतबीच भेट

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनमत पार्टीका अध्यक्ष डा सिके राउतबीच भेट भएको छ । जनमत पार्टीका अध्यक्ष डा राउतले आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा पुगेर भेट गर्नुभएको हो ।

गठबन्धनमा रहे पनि केही असन्तुष्टि राख्दै सरकार बाहिरै रहेको जनमत पार्टीलाई प्रधानमन्त्री दाहालले सरकारमा सहभागी हुन आग्रह गर्नुभएको अध्यक्ष राउतले जानकारी दिनुभयो ।

अध्यक्ष राउतले भन्नुभयो, “प्रधानमन्त्रीले तपाइँहरू सरकारमा आउनुस् म मिलाउँछु भन्नुभएको छ, अब गठबन्धनका सबै दलहरूबीच सहमति बनाउनुपर्छ ।”

पशुपति क्षेत्रमा साउन महिनाको तयारी सुरु

काठमाडौँ – पशुपति क्षेत्र विकास कोषले साउन महिनामा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि सहजरूपमा दर्शन गराउन तयारी सुरु गरेको छ ।

साउन महिना भगवान् शिवको महिना भएकाले विश्वभरबाट लाखौँ भक्तजन पशुपति क्षेत्रमा पूजा आराधना एवं दर्शनका लागि आउने गर्छन् । देश एवं विदेशबाट आउने भक्तजनलाई सहजरूपमा दर्शन गराउन तयारी सुरु गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिनुभयो । यस वर्ष साउनमा अधिकमास परे पनि प्रत्येक वर्ष साउनमा गरिने भगवान् पशुपतिनाथको नित्य एवं नैमित्तिक पूजामा कुनै प्रभाव नपर्ने उहाँले बताउनुभयो ।

भगवान् शिव व्यष्टि र समष्टि दुवैका देवता भएकाले अधिकमासले भगवान् शिवको नित्य पूजामा फरक नपर्ने कोषले जनाएको छ । अपव्यय सबै शिवले नै लिनुहुने भएकाले पनि साउनमा गरिने शिवको पूजा अधिकमासका कारण नरोकिने जनाइएको छ । साउनको पनि सोमबारका दिन पशुपति क्षेत्रमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ ।

बागमती प्रदेशको बजेट सन्तुलित भएन : एमाले

मकवानपुर – नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलियाले बागमती प्रदेश सरकारद्वारा ल्याएको आगामी आर्थिक वर्षको बजेट असन्तुलित, अव्यवहारिक र गठबन्धन दलको स्वार्थको लागि प्रयोग गरिएको आरोप लगाउनुभएको छ ।

उहाँले आज एमाले संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी विनियोजित बजेट पास हुन नदिने अठान दोहोर्याउनुभयो । नेता थपलियाले जनताको घर जग्गा जोगाउने, खहरे बाढी नियन्त्रण गर्न अति न्यून बजेट विनियोजित गरिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

सरकारको नीति तथा कार्यक्रम र बजेटको बीच कुनै पनि तालमेल नगरेको टिप्पणी गर्दै उहाँले बजेटमा विद्युतीय बस, सुरुङ मार्गजस्ता अघिल्लो सरकारले ल्याएको जनमैत्री र प्रदेश गौरवको योजनाको नाम बजेट विनियोजन नगरेको बताउनुभयो । नेता थपलियाले आफ्नो दलको तर्फबाट प्रस्तुत गरिएको ११ वटा माग पूरा नगरेसम्म बैठक अवरुद्ध गरिरहने जिकीर गर्नुभयो ।

आगामी माघभित्र नयाँ आवधिक योजना ल्याइसक्ने आयोगको तयारी

काठमाडौँ – नयाँ आवधिक योजनाको दस्तावेज तयार पारेर स्वीकृत गरिसक्नका लागि आगामी माघ मसान्तसम्मको समयसीमा तोकिएको छ । राष्ट्रिय योजना आयोगले ‘सोह्रौँ योजना तर्जुमाका लागि संस्थागत व्यवस्थासम्बन्धी कार्यविधि, २०८०’ जारी गर्दै सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (२०८१/८२–२०८५/८६) तर्जुमाको समयतालिका तयार पारेको हो ।

कार्यविधिअनुसार गत जेठ चौथो हप्तादेखि काम सुरु भएर आगामी माघ मसान्तसम्ममा आवधिक योजनालाई मन्त्रिपरिषद्बाट स्वीकृत गरिसक्नेगरी समयतालिका बनाइएको छ । कार्यविधिले तोकेको समयतालिकाअनुसार सोह्रौँ योजनाको अवधारणा तयारी सम्बन्धमा विज्ञसँगको अन्तरक्रिया असारसम्ममा सकिसक्ने आयोगको तयारी छ । त्यस्तै, सोह्रौँ योजनाको अवधारणाको मस्यौदा तयारी र आयोगबाट पारित गर्नका लागि साउन पहिलो हप्तासम्मको समयसीमा तोकिएको छ ।

कार्यविधिअनुसार आयोगका उपाध्यक्षको संयोजकत्वमा निर्देशक समिति र सदस्यहरुको संयोजकत्वमा विषय क्षेत्रगत समिति रहेको छ । सोह्रौँ योजनाको अवधारणापत्र निर्देशक समितिबाट साउन पहिलो हप्ताभित्र सुझावसहित स्वीकृत भइसक्नेछ । त्यस्तै, योजनाको स्वीकृत अवधारणासहित विस्तृत योजना तर्जुमा सम्बन्धमा विषयगत मन्त्रालयहरुसँग प्रारम्भिक छलफल तथा आवश्यक विवरण उपलब्ध गराउन साउन दोस्रो हप्तासम्ममा पत्राचार भइसक्नेछ । विषयगत मन्त्रालयबाट भदौ पहिलो हप्ताभित्र सुझाव लिइसक्ने योजना आयोगको रहेको छ । समष्टिगत आर्थिक तथा लगानी खाकाको तयारी पनि भदौ दोस्रो हप्तासम्ममा भइसक्नेछ ।

“आगामी असोज दोस्रो हप्तासम्ममा आवधिक योजनाको क्षेत्रगत एकीकृत प्रारम्भिक मस्यौदा तयार पारी आयोगबाट स्वीकृत गरिसक्नेछ भने असोज तेस्रो हप्तासम्ममा राष्ट्रिय विकास परिषद्को गठन तथा परिषद्का सदस्यलाई एकीकृत प्रारम्भिक मस्यौदाको प्रतिलिपि वितरण गरिसक्नेछ”, कार्यविधिमा भनिएको छ ।

आवधिक योजना तर्जुमा सम्बन्धी प्रदेश र स्थानीय तहसँग अन्तरक्रियाका लागि कात्तिक तेस्रो हप्ताको समय तोकिएको छ । त्यस्तै, प्रदेश तथा स्थानीय तहबाट प्राप्त सुझावको आधारमा योजनाको परिमार्जित मस्यौदा मङ्सिर दोस्रो हप्तासम्ममा तयार भइसक्नेछ । सङ्घीय संसद्का सदस्यहरू, प्रमुख राजनीतिक दलका पदाधिकारीहरु, नागरिक समाज, विद्वत्वर्ग तथा पेसाविद्, विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरु र विकास साझेदारसँग मङ्सिर तेस्रो हप्तासम्ममा छलफल गरिसक्ने कार्यतालिका बनाइएको छ ।

यसरी राष्ट्रियस्तरबाट प्राप्त सुझावका आधारमा आवधिक योजनाको परिमार्जित मस्यौदा पुस दोस्रो हप्तासम्ममा तयार भइसक्नेछ । पुस तेस्रो हप्तासम्ममा परिमार्जित मस्यौदा राष्ट्रिय विकास परिषद्मा पेस गर्न निर्देशक समितिबाट सिफारिस भइसक्नेछ । त्यस्तै, राष्ट्रिय विकास परिषद्को सुझावसहित आवधिक योजनाको अनुमोदन पुस मसान्तसम्ममा भइसक्नेछ । परिषद्बाट प्राप्त सुझावसहितको योजनाको अन्तिम मस्यौदा माघ तेस्रो हप्तासम्ममा तयार भइसक्नेछ भने आगामी माघ मसान्तसम्ममा सोह्रौँ आवधिक योजनाको दस्तावेज मन्त्रिपरिषद्बाट स्वीकृत गरिसक्ने कार्यतालिका रहेको छ ।

विसं २०८१ साउनदेखि कार्यान्वयनमा जाने सोह्रौँ आवधिक योजना तयार पार्दा नेपालको संविधान, राष्ट्रिय तथा क्षेतगत नीति, पन्ध्रौं योजना र त्यसको समीक्षा, अल्पविकसित मुलुकबाट स्तरोन्नती हुनका लागि तयार पारिएको रणनीति (एलडिसी ग्रायुएसन स्ट्राटेजी), दिगो विकास लक्ष्य प्राप्ति, मध्यमकालीन खर्च संरचना आदिलाई ध्यानमा राखिने राष्ट्रिय योजना आयोगले जनाएको छ ।

आयोगले असार पहिलो हप्ताबाट विभिन्न क्षेत्रका विषय विज्ञसँगको छलफल गरी सुझाव लिइरहेको छ । सोह्रौँ योजनाको अवधारणापत्र तथा दस्तावेजमाथि छलफल, सुझाव, परिमार्जन र स्वीकृत गर्ने अधिकारसहित एक निर्देशक समितिको व्यवस्था राखिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष संयोजक रहने निर्देशक समितिमा मुख्यसचिव, जिल्ला समन्वय समिति महासङ्घका अध्यक्ष, योजना आयोगका सबै सदस्य, नेपाल राष्ट्र बैंकका गभर्नर र मन्त्रालयका सचिव रहनेछन् । त्यस्तो राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी, सबै प्रदेशका प्रमुख सचिव, सबै प्रदेशका योजना आयोगका उपाध्यक्ष, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत, नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्षलगायत सदस्य रहने व्यवस्था रहेको छ ।

त्यस्तै, आवधिक योजनाको मस्यौदामाथि काम गर्न पाँचवटा विषय क्षेत्रगत समिति बनाइएका छन् । समष्टिगत आर्थिक खाका तथा समग्र योजना, आर्थिक क्षेत्र, पूर्वाधार तथा वातावरण क्षेत्र, सामाजिक क्षेत्र र संस्थागत विकास तथा सुशासन क्षेत्र गरी पाँचवट क्षेत्रगत समिति बनाइएको आयोगले जनाएको छ । त्यस्तै, आवधिक योजनाको मस्यौदा तयार गर्ने क्रममा विषयगत मन्त्रालय तथा विभिन्न क्षेत्रसँग समन्वय, सहयोग र सहजीकरणका लागि प्राविधिक समिति रहेको छ ।

‘फेसन फेयर अवार्ड २०२३’ दोस्रो संस्कर सम्पन्न

काठमाडौँ – ‘फेसन फेयर अवार्ड २०२३’ को दोस्रो संस्करण सम्पन्न भएको छ । शनिबार आयोजित कार्यक्रममा विभिन्न विधामा ‘अवार्ड’ प्रदान गरिएको थियो ।

समारोहमा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ ब्यूटीसिएनतर्फ कमला श्रेष्ठ, पेजेन्ट्रीतर्फ रूवि राना शाहलाई अर्पण गरिएको थियो भने ‘लेजेन्ट्री आर्टिस अवाडर्’बाट गायक दीपक बज्राचार्य, ‘मस्ट इन्फ्लुएन्सल पर्सनालिटी अवार्ड’बाट पूर्व बैंकर अनिल केसरी शाह, ‘स्टाइलिस फेसन आइकन अवार्ड’बाट नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र चलचित्रतर्फ नायिका प्रियङ्का कार्कीलाई प्रदान गरिएको थियो ।

त्यस्तै कार्यक्रममा ‘आउट स्ट्यान्डिङ अचिभमेन्ट अवार्ड इन फेसन’तर्फ मुना गौचन, प्रोमिनेन्ट नेसनल डाइरेक्टर अवार्ड’बाट मिस नेपालका निर्देशक नङ्मा श्रेष्ठलाई सम्मान गरिएको थियो भने ‘फेसन स्टाइलिस्ट अवार्ड’ अविनाश श्रेष्ठलाई सम्मान गरिएको थियो । ‘मस्ट पपुलर आर्टिस्ट अवार्ड’ महिलातर्फ डा त्रिशला गुरुङ र पुरूषतर्फ धर्मेन्द्र सेवनलाई अर्पण गरिएको थियो ।

‘मस्ट इन्फ्लुएन्सल रक आर्टिस अवार्ड’ महिलातर्फ अश्रा कुवँर, ‘इन्टरनेसनल फेसन मोडल अवार्ड’ अन्सिका शर्मालाई प्रदान गरिएको थियो । त्यस्तै ‘फेसन मेकअप आर्टिस्ट अवार्ड’ राजेश घिमिरेलाई प्रदान गरिएको थियो भने ‘योङ फेसन आइकन अवार्ड ’ पराक्रम राणालाई प्रदान गरिएको थियो ।

‘फेसन आइकन अवार्ड’ सविता कार्की, ‘फेसन सुपर मोडल अवार्ड’ आस्था पोख्रेल, ‘मष्ट पपुलर इम्कि अवार्ड’ सुवेक्षा खड्का, ‘क्रिएटिभ फेसन डिजाइनर अवार्ड’अस्तिक शेरचन ,‘आइकोनिक फेसन डिजाइनर अवार्ड’ मनिष राई, ‘क्रिएटिभ फेसन फोटोग्राफर अवार्ड’ किशोर कायस्थ, ‘स्टाइलिस फेसन आइकन अवार्ड’ साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अर्पण गरिएको थियो ।

कार्यक्रममा सम्मानित व्यक्तिलाई ड्रिम सर्च एजेन्सीका संस्थापक कमल क्षेत्री र सेराप ग्याल्छेन लामाले सम्मानित व्यक्तित्वलाई पुष्पगुच्छासहित खादा , प्रमाणपत्र र अवार्ड गर्नुभएको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो ।

बेनी–गलेश्वर सडक स्तरोन्नतिमा आशालाग्दो प्रगति

म्याग्दी – उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक योजनाअन्तर्गत बेनी–गलेश्वर सडक स्तरोन्नतिको काममा भएको भौतिक प्रगतिले चौतर्फी प्रशंसा बटुलेको छ ।

कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डमा पाँच महिनामा ८० प्रतिशत भौतिक प्रगति भएको हो । जिल्लामा भित्रिएका ठूला योजनामा ढिलासुस्ती, अलपत्र र समयमै सम्पन्न नहुने समस्याबीच यस क्षेत्रमा निर्माण कम्पनीले छोटो समयमा गरेको कामले चौतर्फी प्रशंसा बटुलेको बेनी नगरपालिका–९ का वडासदस्य गणेश सुवेदीले बताउनुभयो ।

“बेनी–गलेश्वर सडक आयोजनामा छोटो समयमा हासिल भएको प्रगतिले ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई चुनौती बनेको”, उहाँले भन्नुभयो, “निर्माण व्यवसायीको इच्छाशक्ति, जनशक्ति, उपकरण परिचालन व्यवस्थित हुने, निर्माण सामग्रीको पर्याप्त व्यवस्थापन गर्ने तथा सरोकारवालाले नियमनसँगै सहजीकरण गर्ने हो भने ढिलासुस्ती हटाउन सकिने सन्देश दिएको छ ।”

बेनी–जोमसोम कोरला सडक योजना प्रमुख जगत प्रजापतिले करिडोरअन्तर्गत ठेक्का लागेका खण्डमध्ये सबभन्दा छिटो, छोटो समयमा धेरै काम गरेको खण्ड बेनी– गलेश्वर रहेको बताउनुभयो । उहाँका अनुसार २०७९ माघ ६ गतेबाट सुरु गरेको योजनाको काम हालसम्म सडक तलमाथिको पर्खाल, नाली, चारवटा कल्भट, सडक फराकिलो बनाउने काम, सबवेस र दुई सय मिटर आरसिसी ढलानसहित ८० प्रतिशत काम सकिएको छ ।

“यस सडकमा बेस हाल्न र कालोपत्र काम मात्र बाँकी छ”, उहाँले भन्नुभयो, “बर्खा रोकिनेबित्तिकै सम्पन्न गर्ने तयारीमा निर्माण कम्पनी र आयोजना कार्यालय छ ।” निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले ठेक्का सम्झौतालगत्तै योजनास्थलमा उपकरण र मजदुर परिचालन गरेर साँघुरो सडकलाई आठ मिटरको फराकिलो बनाउने, सडक तलमाथि पर्खाल, चारवटा कल्भर्ट, दुई सय मिटर आरसिसी ढलानको काम सकिएको बताउनुभयो ।

दुई किलोमिटर एक सय दुई मिटर सडक कालोपत्र गर्नका लागि कम्पनीले भ्याट÷पिएससहित रु १२ करोड ७५ लाख ९४ हजार चार सय ३६ मा ठेक्का लिएको थियो । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित गत पुस १७ गते आयोजना र निर्माण कम्पनीबीच सम्झौता भएको थियो ।

मुक्तिनाथ प्रवेशद्वारका रूपमा रहेको यो सडकखण्डलाई समयमै सम्पन्न गर्न आयोजनाका साथै स्थानीयरूपमा नियमितरूपमा अनुगमन, निरीक्षण र समन्वय गरिएको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताउनुभयो । यो सडक कालोपत्र भएपछि बेनी नगरपालिकासहित रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका, मुस्ताङवासी र घुम्न आउने पर्यटकलाई आवातजावातमा सहज हुने छ ।

कालीगण्डकी नदीको कटान र माथिबाट खहरे भेलले सडक जीर्ण र साँघुरो बन्दै गएपछि पर्यटक र सर्वसाधारणको तीव्र दबाबपछि जिल्लाका जनप्रतिनिधि, सरोकारवाला र करिडोरको सक्रियतामा योजना अघि बढेको थियो ।

कर्णाली प्रदेशसभा बैठक आज बस्दै

सुर्खेत – कर्णाली प्रदेशसभा बैठक आज बस्दैँछ ।  बिहीबारबाट स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आज बस्न लागेको हो । 

प्रदेशसभा सचिवालयका अनुसार विशेष कारणले गत बिहीबारदेखि स्थगित भएको बैठक आज बस्ने गरी तय गरिएको छ । 

यसअघि प्रमुख प्रतिपक्षी दल एमालेले बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै संसद् अवरुद्ध गरेको थियो। जसका कारण बैठक सुचारु हुन सकेका थिएन । बजेट संशोधन नभएसम्म संसद् अवरुद्ध गर्ने एमालेले चेतावनी दिएको छ ।  

संसद्मा एमालेको अवरोध हटाउन पटक पटक छलफल भए पनि कुनै ठोस निर्णय हुन सकेको छैन। तर, पनि बैठक आजका लागि बोलाइएको छ । 

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूपैयाँ ५७ पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४२ रूपैयाँ ०३ पैसा र बिक्री दर १४२ रूपैयाँ ६८ पैसा रहेको छ ।

यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ४७ पैसा र बिक्री दर १६६ रूपैयाँ २३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९५ पैसा र बिक्री दर ३६ रूपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

काभ्रेमा राजस्व सङ्कलनमा गिरावट

काभ्रे – काभ्रेपलाञ्चोकमा जेष्ठ मसान्तसम्म अर्थात् चालु आर्थिक वर्षको ११ महिनामा रु ६० करोडले मालपोत करमा गिरावट आएको छ । सरकारले एक वर्षअघि जग्गा वर्गीकरणपछि मात्रै कारोबार गर्ने अनिवार्य व्यवस्था लागू भएसँगै घरजग्गामा आएको मन्दीका कारण राजस्व सङ्कलनमा ठूलो रकम गिरावट भएको हो ।

जिल्ला मालपोत कार्यालय धुलिखेलमा चालु आवको जेठ मसान्तसम्म रु ५१ करोड ३४ लाख ९६ हजार राजस्व सङ्कलन भएको छ । अघिल्लो वर्षको यही अवधिमा रु एक अर्ब ११ करोड ५६ लाख राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । “जग्गा वर्गीकरणपछि मात्रै जग्गाको कारोबार गर्ने अनिवार्य व्यवस्था लागू भएपछि घरजग्गामा आएको मन्दीका कारण राजस्व सङ्कलनमा ठूलो गिरावट भयो”, प्रमुख मालपोत अधिकृत ऋषिकुमार दाहालले भन्नुभयो । उहाँका अनुसार जग्गा कारोबार नगन्य मात्रामा हुँदा राजस्व पनि घटेको हो ।

मालपोत कर कम सङ्कलन हुँदा स्थानीय तहलाई पनि निकै चाप परेको छ । मालपोतले सङ्कलित रकममध्ये जुन तहबाट कारोबार भएको हो, सोही तहलाई ४० प्रतिशत बाँडफाँट गर्ने प्रावधान रहिआएको छ । यस्तै मालपोतमा प्राप्त चालु आवको जेठ मसान्तसम्मको कुल करमध्ये जिल्लाका १३ स्थानीय तहलाई पनि राजस्व बाँडफाँट भएको छ ।

यसअन्र्तगत बनेपा नगरपालिकाले रु १० करोड, धुलिखेल नगरले रु चार करोड ७९ लाख, नमोबुद्ध नगरले रु एक करोड ७७ लाख, मण्डनदेउपुर नगरले रु दुई करोड २५ लाख, पाँचखाल नगरले रु तीन करोड ६० लाख, पनौती नगरले रु तीन करोड ३६ लाख प्राप्त गरेका हुन् । यस्तै गाउँपालिकातर्फ बेथान्चोकले रु २४ लाख, खानिखोलाले रु पाँच लाख ७९ हजार, रोशीले रु २४ लाख ७८ हजार, तेमालले रु १० लाख ७१ हजार, भुम्लुले रु १२ लाख ८२ हजार, चौँरीदेउरालीले रु १० लाख र महाभारत गाउँपालिकाले रु छ लाख ६४ हजार राजस्व प्राप्त गरेको जनाइएको छ ।

अघिल्लो आवमा उक्त रकम दोब्बरभन्दा धेरैले बाँडफाँट भएको थियो । स्थानीय तहले मालपोत कर अघिल्लो आवझैँ सङ्कलन हुने अपेक्षा गर्दै सोहीअनुसार बजेट विनियोजन गरेका थिए । मालपोत करमा भएको गिरावटले केही तहले बजेट संशोधन गरेका थिए भने केहीले ऋणात्मक बजेटमा काम गरिरहेका छन् ।

यसैबीच सरकारले भू–उपयोग नियमावली जारी गरी १० क्षेत्रमा जग्गाको वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेअनुसार हालसम्म काभ्रेका नौ स्थानीय तहले वर्गीकरण गरेका छन् । जग्गाको जथाभावी कित्ताकाट रोक्ने उद्देश्यले सरकारले २०७९ जेठमा भू–उपयोग नियमावली जारी गरेको थियो । मन्त्रिपरिषद् बैठकले गत वैशाखमा भू–उपयोगसम्बन्धी पहिलो संशोधन नियमावली, २०७९ स्वीकृत गर्दै पुनः कित्ताकाट खुला गरेको छ ।

नियमावलीले हालसम्मको अंशवन्डा, कारोबार र कित्ताकाटसम्बन्धी समस्याको सहजीकरण गर्ने जनाइएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७९ साउन ३१ गते परिपत्र गर्दै मङ्सिर २३ गतेसम्ममा कृषि क्षेत्र र गैरकृषि क्षेत्रमा छुट्याउनुपर्ने जनाउँदै सात सय ५३ वटै स्थानीय तहलाई निर्देशन दिएको थियो ।

भू–उपयोग नियमावलीअनुसार कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्त्व र नेपाल सरकारबाट आवश्यकतानुसार तोकिएका अन्य क्षेत्रमा जग्गाको अनिवार्य वर्गीकरण गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

आज श्री एयरलाइन्सका सबै उडान स्थगित 

काठमाडौँ – आज श्री एयरलाइन्सका सबै उडान स्थगित हुने भएका छन् । 

श्री एयरलाइन्स प्रालिले आजका लागि पूर्व निर्धारित सबै उडानहरू स्थगित गरेर विमान परीक्षण गर्ने भएको हो । 

एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले शनिवार जारी गरेको प्रेस नोट अनुसार आजका सबै उडान स्थगित गरिएको छ । उहाँका अनुसार श्री एयरलाइन्सका सबै उडान स्थगित गरी आइतबार दिनभर कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको छ ।  

सोमवारिदेखि भने सबै उडान नियमित रूपमा सञ्चालन हुनेछन्  । शनिवार काठमाडौँबाट धनगढीका लागि दिउँसो ३ः३० बजे उडेको विमानमा प्राविधिक समस्या आएको थियो । जसकारण धनगढी उडेको सो विमान पुनः काठमाडौँ नै फिर्ता गरी अवतरण गराइएको थियो । 

सो घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय लिएको श्री एयरलाइन्सले जनाएको छ ।

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फिर्ता

छेन्दु (चीन) – जनवादी चीनको पाँचदिने भ्रमणमा रहनुभएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कनुभएको छ । उहाँलाई छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान प्रान्त सरकारका उपमहासचिव सियाओ फङ्ग , चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) सिचुवान एयरलाइन्स कमिटीका सचिव सी छयी र छेन्दुस्थित नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलगायतले बिदाइ गर्नुभयो ।

भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । भेटवार्ताका क्रममा उहाँहरूबीच दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’लगायत विषयमा छलफल हुनुका साथै चीनद्वारा नेपालमा थप सहयोग बढाउने बारेमा विचार–विमर्श भएको थियो । थप व्यापारिक नाका खोल्ने र नेपाल–चीन सीमानाकामा आवातजावत सहज बनाउने विषयमा समेत सकारात्मक छलफल भएको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठले छेन्दुमा आयोजित १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलालाई मुख्य वक्ताका रूपमा सम्बोधन गर्नुभएको थियो । सम्बोधनका क्रममा उहाँले नेपाल सरकारले लगानी प्रणालीमा उल्लेख्य सुधार गरी विदेशी लगानीलाई प्रोत्साहन, प्रवर्द्धन एवं संरक्षण गर्ने नीति लिएको जनाउँदै नेपालमा लगानी गर्न आग्रह गर्नुभएको थियो ।

भ्रमणका दौरान उहाँले सिचुवान विश्वविद्यालयमा आयोजित कार्यक्रममा नेपाल–चीन सम्बन्धका बारेमा सम्बोधन मन्तव्य दिनुभएको थियो । उपप्रधानमन्त्री श्रेष्ठले सिचुवान प्रान्तीय लगानी समूहसँग छलफल गरी नेपालमा लगानी वृद्धि गर्न आग्रह गर्नुभएको थियो ।

यस्तै सिचुवान एयरलाइन्सका पदाधिकारीसँगको छलफलमा उहाँले छेन्दु–काठमाडौँ रुटमा हवाई उडान वृद्धि गर्न तथा छेन्दुबाट पोखरा र भैरहवा विमानस्थलमा उडान सुरु गर्न आग्रह गर्नुभएको थियो ।

छेन्दुमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठसहितको नेपाली प्रतिधिमण्डलले सन् २००८ को भूकम्पबाट ठूलो क्षति व्यहोरेको सिचुवान प्रान्तको वान चोन काउन्टीको पुनःनिर्माण तथा भूकम्पीय सङ्ग्रहालयको अवलोकन गरेको थियो । नेपाली प्रतिनिधिमण्डलले जिपिङ जलविद्युत् केन्द्र तथा दुजियाङ सिँचाइ प्रणालीको अवलोकन गरेको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठ शनिबार साँझ छेन्दुस्थित महावाणिज्यदूतावासमा आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो । उहाँ सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार चीन आउनुभएको थियो ।

प्रतिनिधिसभा बैठकमा आज आर्थिक र राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल हुँदै

काठमाडौँ – प्रतिनिधिसभा बैठक बस्दैँछ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा आज  बिहान ११ः०० बजे प्रतिनिधिसभाको बैठक बस्न लागेको हो । 

आजको बैठकमा आर्थिक विधेयक २०८० माथि छलफल हुनेछ भने सो विधेयकमाथि प्राप्त संशाेधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । 

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार अर्थमन्त्री प्रकाश शरण महतले आर्थिक विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै राष्ट्र ऋण उठाउने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।  

सो राष्ट्र ऋण उठाउने विधेयक २०८० माथि प्राप्त संशाेधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ भने सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस हुने सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ । 

अङ्गदानका लागि समुदायस्तरमा जनचेतना आवश्यक

लुम्बिनी – मानिसले दैनिक खानपान र जीवनशैलीमा ध्यान नपुर्याउँदा जटिल खालका दीर्घरोगीको सङ्ख्या बढदो छ । स्वास्थ्यप्रति सचेत नहुने , खानपान र जीवनशैलीमा लापरवाही गर्नाले रक्तचाप, मधुमेह,मिर्गाैला र मुटुरोगजस्ता जटिल खालका दीर्घरोगले समस्या पार्र्ने गरेको पाइएको छ । त्यस्ता रोगको समयमा उपचार नगर्नाले मिर्गौैला, कलेजो र क्यान्सरजस्ता गम्भीर प्रकृतिका रोगको सिकार हुनुपर्ने अवस्थासमेत रहेको जनाइएको छ ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा शनिबार बुटवलमा गरेको मस्तिष्क मृत्युपश्चातको अङ्गदानसम्बन्धी कानुनी व्यवस्था र कार्यान्वयनको अवस्था विषयक अन्तक्र्रिया कार्यक्रममा प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले मानिसले रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिन खानपान र जीवनशैलीमा सचेत हुनुपर्ने बताउनुभयो ।

उहाँले मिर्गाैला प्रत्यारोपण गर्न चाहँदा पनि बिरामीले सहजै मिर्गाैला प्रत्यारोपी पाउन सक्ने अवस्था नहँुदा प्रत्यारोपण केन्द्रले अहिले मरणोपरान्त अङ्गदानको सामाजिक अभियान थालेको जानकारी दिनुभयो । केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले खेर जान लागेको अङ्गलाई सदुपयोग गरेर अरुको ज्यान बचाउन मर्नुअघि मञ्जुरीनामा दिने अवस्था बनाउन सकिए धेरै मिर्गाैला रोगीको ज्यान बचाउन सकिने जानकारी दिनुयो । “आफू मरे पनि आफ्नो अङ्ग अरूको शरीरमा बाँचिरहन पाउँछ । यो पुण्य काम हामी सबैले गर्नुपर्छ”, उहाँले भन्नुभयो, “यसले नेपाललाई मिर्गौला प्रत्यारोपणमा आत्मनिर्भर बनाउन निकै मद्दत गर्छ ।”

उहाँले जनचेतनाको कमीका कारण मस्तिष्क मृत्युपछि प्रयोग गर्न सकिने अङ्गहरु खरानी भएर वा माटोमुनि गइरहेको उहाँको भनाइ छ । कार्यक्रममा एक जना मस्तिष्क मृत्युपश्चात आठवटा अङ्ग अन्य मानिसलाई उपयोग हुनसक्ने हुँदा पनि यसबारे आम नागरिकलाई सचेतना जगाउँदै कार्यक्रम समुदायस्तरमा लैजानुपर्ने उहाँले सुझाव दिनुभयो ।

केन्द्रका निर्देशक डा श्रेष्ठले नेपालमा प्रत्येक वर्ष एक हजार जनाको मस्तिष्क मृत्यु हुने गरेको जनाउँदै जनचेतना जगाउन सकिएमा वर्षमा आठ हजार अङ्ग प्राप्त गर्न सकिने सम्भावना रहेको बताउनुभयो । “नेपालमा निकै कममात्र मस्तिष्क मृत्युबाट प्राप्त अङ्ग प्रत्यारोपणमा उपयोग भएको छ”, उहाँले भन्नुभयो, “एउटा मस्तिष्क मृत्यु भएकोबाट आठ जनाले जीवनदान पाउन सक्छन् ।”

स्वस्थ जो–कोही मानिसले पनि अङ्गदान गर्न सक्ने र कानुनले अहिले आफन्तहरूको ५२ नाताबाट प्रत्यारोपण गर्न सकिने व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । मानव अङ्ग प्रत्यारोपण गर्न सकिने व्यवस्था मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ को पहिलो संशोधन २०७२ तथा नियमावली २०७३ ले व्यवस्था गरेको छ ।

उहाँले नेपालमा मिर्गौलाका बिरामीको नियमित डायलायसिसभन्दा प्रत्यारोपण गरेकाहरूको जीवन बढ्ने बताउनुभयो । उहाँले नेपालमा महँगो शुल्क तिरेर डायलायसिस गर्ने प्रक्रियाबाट आंशिक हुँदै अहिले सरकारले पूर्णरूपमा निःशुल्क डायलायसिस सेवा उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।

उहाँले मिर्गौलाका बिरामीलाई निःशुल्क डायलायसिसको अभियानसँगै बिरामीलाई स्वास्थ्य भएर बाँच्न र परिवारमा पनि सहजताको वातावरणका लागि प्रत्यारोपण नै उत्तम विकल्प हुने विशेष ज्ञान दिने अभियान थालिएको बताउनुभयो । प्रत्यारोपणको विकल्प डायलायसिस हुन नसक्ने बरु डायलायसिस गरेका बिरामीलाई पनि एक मुठी पानी पिउँदा सास बढ्ने र कठिन हुने गरेको बताउनुभयो । “ सरकारले डायलायसिस सेवा निःशुल्क गरेको छ । जसको लागत वर्षमा रु दुई लाख ५२ हजार खर्च हुन्छ”, उहाँले भन्नुभयो, “दुई वर्षको डायलायसिस खर्चबाट मिर्गाैला प्रत्यारोपण गर्न सकिन्छ ।” नेपाल सरकारले विसं २०७३ देखि प्रत्यारोपणका लागि पूर्णरूपमा निःशुल्क सेवा उपलब्ध गराउँदै आएको र नेपालमा प्रत्यारोपण सफलताको प्रतिशत ९९ प्रतिशत रहेको उहाँले सो अवसरमा जानकारी दिनुभयो ।

देशभर प्रत्येक वर्ष मिर्गौला प्रत्यारोपणको माग तीन हजार जनाको रहे पनि केन्द्रमा भने हप्ताको चार जनाको गरी वर्षको दुई सय जनाको प्रत्यारोपण क्षमतामात्र रहेको निर्देशक डा श्रेष्ठले बताउनुभयो । उहाँले मिर्गाैला प्रत्यारोपणको सेवा केन्द्रमा मात्र नभएर अब यस्तो सेवालाई विकेन्द्रिकृत गर्नुपर्नेमा जोड दिनुभयो । “यो सेवालाई अब सबै प्रदेशमा प्रत्यारोपण सेवा चलाउन जरुरी छ”, उहाँले भन्नुभयो, “अब बुटवलमा पनि यस्तो स्वास्थ्य सेवा सुरु गर्न आह्वान गर्छु ।”

कार्यक्रममा डा कल्पना श्रेष्ठले अङ्गदान गर्ने व्यक्तिको परिवारलाई बुझाउन धेरै कठिन हुने गरेको बताउनुभयो । उहाँले मस्तिष्क मृत्युपछि २४ घन्टाभित्र सुरक्षित राखेर प्रत्यारोपण गर्न सकिने सम्भावना रहेको समेत जानकारी दिनुभयो । उहाँले नेपालमा मिर्गौला प्रत्यारोपणमा पनि लैङ्गिक विभेद रहेको बताउनुभयो । “मिर्गाैला प्रत्यारोपणका बिरामी महिलाले पुरुषबाट अङ्ग प्राप्त गर्ने सङ्ख्या निकै कम छ”, उहाँले भन्नुभयो, “यसको तुलनामा महिलाबाट पुरुष बिरामीले मिर्गौला लिने सङ्ख्या निकै ठूलो छ ।”

लुम्बिनी प्रदेशसभाका प्रदेश सदस्य भोजप्रसाद श्रेष्ठले आम नागरिकको स्वस्थ्य सेवालाई सरल र सहज बनाउने विषयमा तीन तहकै सरकार गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो । नीतिगत समस्यालाई समाधान गरेर सेवा विस्तारमा सरकारी अस्पतालहरूको ध्यान जानुपर्ने उहाँले बताउनुभयो ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवलमा स्वास्थ्य क्षेत्रमा जनतालाई सेवा प्रदान गर्न उल्लेख्य काम भएको बताउनुभयो । उहाँले आम्दा जापानको सहयोगमा बुटवलको आम्दा अस्पतालमम क्यान्सर, न्यूरोसर्जन सेवा सुरु गर्ने छलफल चलाएको बताउनुभयो ।

कार्यक्रममा प्रत्यारोपण विशेषज्ञ डा दिपेश श्रेष्ठ, मिर्गौला रोग विशेषज्ञ डा शक्ति बस्नेतले समाजमा प्रत्यारोपणका बारेमा सचेतना जगाउने काम गर्नु आवश्यक रहेको बताउनुभयो ।

नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

मुग्लिन – नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । 

चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति  पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।

अहिले पहिरो पञ्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । 

पहिरोमा विद्युत्को तार रहेको र सो तार हटाएपछि पहिरो पन्छाउन सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभयो । पहिरो हटाउन उपकरण तयारी अवस्था रहेको उहाँले बताउनुभयो ।

सोही स्थानमा गत बिहीबारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । यो सडक हुँदै दैनिक औसतमा १० हजार सवारीसाधन आउजाउ गर्ने गर्दछन् । पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौँ ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।

फेवाताल संरक्षणका काम अघि बढाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

कास्की – पोखरास्थित देशकै प्रमुख पर्यटकीय गन्तव्य फेवाताल संरक्षण काम अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराइएको छ ।

मानवीय तथा प्राकृतिक अतिक्रमणको चपेटामा परेको फेवातालको प्रभावकारी संरक्षणको पहल गर्न राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपाल आज पोखरामा प्रधानमन्त्रीसमक्ष आग्रह गरेको हो ।

संस्थाका अध्यक्ष सुनिल पाण्डे, अधिवक्ता भगवती पहारी, फेवातालको अतिक्रमित जग्गा छानविन समितिका तत्कालीन संयोजक विश्वप्रकाश लामिछानेलगायतले प्रधानमन्त्रीसँग भेट गरी रामसार सूचीमा समावेश तालको दिगो संरक्षणको आग्रह गर्नुभएको हो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले सरकार फेवाताल संरक्षण र सर्वोच्चका फैसला कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताउनुभयो । फेवाताल पोखराको भविष्यसँग जोडिएको भन्दै कुनै पनि हालतमा ताल संरक्षण गरेरै छाड्ने उहाँको प्रतिबद्धता थियो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “फेवातालका विषयमा सरकार गम्भीर छ । अदालतको फैसला कार्यान्वयन गर्दै सम्पदा जोगाउने हाम्रो दायित्व हो । सरकारले यसका लागि काम गर्छ ।”

संस्थाका अध्यक्ष पाण्डेले फेवातालको ऐतिहासिक फैसला र मापदण्ड घटाउने निर्णय बदर गर्ने पछिल्लो अदालतको फैसला कार्यान्वयन गर्न सरकारले प्रभावकारी कदम चाल्न माग गर्नुभयो । अधिवक्ता भगवती पहारीले अब सर्वोच्च अदालतका फैसला र विभिन्न प्रतिवेदनका सुझाव कार्यान्वयन गर्नुको विकल्पै तीनवटै सरकारसँग नभएको बताउनुभयो ।

फेवाताल अतिक्रमण र मापदण्डका सवालमा बारम्बार रिट निवेदन हाल्दै आउनुभएका पहारीले भन्नुभयो, “अब पनि चुप बस्ने हो भने ताल साँघुरिँदै बगरमा परिणत हुन्छ । अधिकारसम्पन्न निकाय गठन गरी अदालतका फैसला र आयोगका प्रतिवदेन कार्यान्वयन गर्नुपर्दछ ।”

पर्यटकीय गन्तव्य फेवातालका संरक्षणका लागि विभिन्न समयमा काम हुँदै आएपछि प्रभावकारी हुनसकेको छैन । बर्सेनि ताल र सिमसार क्षेत्र पुरिँदै जाँदा तालको अस्तित्व समाप्त हुने चिन्ता बढेको छ । पछिल्लोपटक फेवातालसहित पोखराका आठवटा तालको मापदण्ड घटाउने पोखरा महानगरपालिकाको पूर्ववर्ती नेतृत्वको निर्णय सर्वोच्च अदालतले उल्टाइदिएको थियो ।

विसं २०७५ वैशाख १६ गतेसमेत सर्वोच्चले फेवाताल आसपासमा मापदण्ड मिचेर बनाइएका संरचना हटाउन परमादेश जारी गरे पनि कार्यान्वयन हुनसकेको छैन ।