`

एक सातामा प्रदेश सरकारले पूर्णता पाउँछ : मुख्यमन्त्री जमकट्टेल

विदुर – बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमकट्टेलले एक साताभित्र प्रदेश सरकारले पूर्णता पाउने बताउनुभएको छ ।

आज विदुरमा प्रेस सेन्टर नुवाकोटले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “केन्द्रीय नेतृत्व तहबाट केही निर्णय गर्नुपर्नेमा मन्त्रिपरिषद बिस्तार रोकिएको छ, अब एक हप्ताका सरकारले पूर्णता पाउनेछ”, उहाँले भन्नुभयो ।

उहाँले बजेट निर्माणको पूर्वसन्ध्यामा टुक्रे योजनामा प्रदेश तहबाट लगानी नगरिने पनि स्पष्ट पार्नुभयो । “अब विकासको मोडेल नै परिवर्तन गर्नुपर्छ । प्रदेश सरकारले सानातिना टुक्रे योजना गर्दैन । साना योजना स्थानीय तहहरुलाई जिम्मा दिने र प्रदेशमा ठूलो योजना मात्र सञ्चालने गर्ने छौं”, मुख्यमन्त्री जममकट्टेलले भन्नुभयो ।

उहाँले कृषि उत्पादत्व वृद्धिका लागि प्रदेश सरकारले काम गरिरहेको भन्दै आगामी आर्थिक वर्षदेखि व्यक्तिलाई कृषि अनुदान दिन बन्द गरिने बताउनुभयो । “कृषिमा व्यक्ति केन्द्रित र पहुँच केन्द्रित अनुदान वितरण हुँदै आएको छ । अब त्यस्तो अनुदान बन्द गर्दैछौँं”, उहाँले भन्नुभयो, “समुदायमा आधारित धेरैभन्दा धेरै किसानलाई समेट्ने गरी लगानी गर्ने योजनामा लागेका छौँ । आगामी आर्थिक वर्षबाट नै यो मोडालिटी सुरु हुनेछ ।”

मुख्यमन्त्री जमकट्टेलले सङ्घीयतामा प्रदेश सरकारको भूमिका महत्वपूर्ण हुने भन्दै प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, खेलकुद, सडक पूर्वाधारलगायत विभिन्न क्षेत्रका महत्वपूण योजना सञ्चालन गरिरहेको बताउनुभयो ।

शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै ‘नेक्सस’लाई कारबाहीको दायरमा ल्याइने बताउनुभएको छ ।

आज आफूसँग भेट गर्न आएका नेकपा (एकीकृत समाजवादी)का नेता तथा जनवर्गीय सङ्गठनका प्रतिनिधिसँगको छलफलमा उहाँले दोषीलाई कुनै पनि हालतमा नछाड्ने र निर्दोष कुनै पनि हालतमा नफस्ने गरी सरकार अगाडि बढेको बताउनुभयो । “निर्दोष कुनै पनि हालतमा पर्ने छैनन्, दोषी छुट्ने छैनन्”, उहाँले भन्नुभयो । 

उपप्रधानमन्त्री श्रेष्ठले यस प्रकारको ठगी सामान्य भ्रष्टाचार मात्रै नभएर सङ्गठित अपराध भएको उल्लेख गर्नुभयो । अझ त्योभन्दा बढी यो राज्यविरुद्धकै अपराध भएको पनि उहाँको भनाइ छ । “यो भ्रष्टाचार मात्रै होइन माथिदेखि तलसम्म मिलेर चलाइएको सङ्गठित अपराध हो । यो यतिमा मात्रै सीमित नभएर आफ्नो देशका नागरिकलाई अनागरिक बनाउने राज्यविरुद्धकै अपराध हो”, उहाँले  भन्नुभयो । 

सो प्रकरणमा आफूलाई कुनै पनि नेताले दबाब नदिएको उल्लेख उल्लेख गर्दै उहाँले दबाब आए त्यसलाई थेगेरै भए पनि अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पु¥याइने दृढता व्यक्त गर्नुभयो । शरणार्थी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट आफूले दह्रो साथ र आडभरोसा पाएको उहाँको भनाइ छ ।

“मलाई अहिलेसम्म शीर्ष नेताले यसलाई नपक्रनुस् उसलाई नपक्रनुस् भनेर दबाब दिनुभएको छैन । दोषी नफसोस् र निर्दोष नउम्कियोस् भन्ने नै उहाँहरूको कुरा छ,”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “प्रधानमन्त्रीको निर्देशन र आडभरोसा छ । दोषीलाई कारबाही गरियोस् निर्दोस नपरुन् भन्ने छ सबैको कुरा ।”

उहाँले प्रहरीलाई निर्धक्क भएर अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको जानकारी दिनुभयो । “राजनीतिक दबाबको सामना गर्ने म छु, तपाईंहरू पनि अन्य चलखेलमा नलागी अनुसन्धान गर्नुहोला भनेर प्रहरीलाई भनेको छु,”, उहाँले भन्नुभयो । 

भेटमा एकीकृत समाजवादीका नेताले शरणार्थी प्रकरणमा सरकारले प्रशंसनीय काम गरेको भन्दै बधाई दिनुभएको थियो । यो अनुसन्धान प्रक्रियामा आफूहरूको पनि समर्थन रहने भन्दै उहाँहरूले कुनै पनि दबाबको अगाडि नझुक्न उपप्रधानमन्त्री श्रेष्ठलाई सुझाव दिनुभयो । 
 

मधेश प्रदेशमा सरकार पुनःगठन हुनुपर्छ : अध्यक्ष ठाकुर

धनुषा – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मधेश प्रदेश सरकारको नेतृत्व सरकार पुनःगठन हुनुपर्ने माग गर्नुभएको छ ।

आज जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले गठबन्धनको मर्मअनुसार अन्य प्रदेशमा सरकारको नेतृत्व परिवर्तन भए सरह नै मधेश प्रदेशमा पनि सरकारको नेतृत्व र स्वरुप परिमार्जन हुनुपर्ने बताउनुभयो ।

अध्यक्ष ठाकुरले मधेश प्रदेश सरकारको नेतृत्वमा लोसपाको समेत दाबी रहने बताउनुभयो । गठन्धनको मर्मअनुसार मधेश सरकारको नेतृत्वमा अव लोसपाकै पालो हुनुपर्ने अध्यक्ष ठाकुरको भनाइ छ ।

उपनिर्वाचन अगाडि नै मधेश प्रदेशको सरकारका विषयमा दलबीच सहमति भइसकेको भन्दै अध्यक्ष ठाकुरले त्यसैअनुसार मधेश सरकार परिवर्तन हुने दाबी गर्नुभयो ।

अध्यक्ष ठाकुरले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन भइरहेकाले सबैले सहयोग गर्नुपर्ने समेत बताएका छन् ।

नेप्सेमा झिनो अङ्कको गिरावट

काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ३४ अङ्कले ओरालो लागेर एक हजार आठ सय ३८ दशमलब ५९ मा सीमित भएको छ ।

ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ७१ अङ्कले ओरालो लागेर तीन सय ५३ दशमलब शून्य नौ मा सीमित भएको छ । कारोबार भएका कूल १३ कम्पनीमध्ये तीन कम्पनीको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर भने ओरालो लागेको छ । कूल २१ लाख पाँच हजार छ सय ५७ कित्ता शेयर रु ५७ करोड ८८ लाख ४१ हजार पाँच सय ९३ मूल्यमा खरिद बिक्री भएको छ । कूल ६४ कम्पनीको शेयर मूल्य उकालो लाग्दा एक सय ३४ कम्पनीको शेयर मूल्यमा भने गिरावट आएको छ ।

कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु तीन करोड १५ लाख छ हजार तीन सय ६३ बराबरको शेयर कारोबार भएको छ ।

ग्लोबल आइएमई बैंकको संस्थापक शेयर रु दुई करोड ७० लाख ८४ हजार आठ सय चार, शिवम् सिमेन्ट रु एक करोड ८० लाख ३७ हजार सात सय ५२, हिमाल दोलखा हाइड्रोपावर रु एक करोड ७७ लाख ६३ हजार चार सय १० र हिमालयन डिस्टिलरीको रु एक करोड ६८ लाख ७८ हजार सात सय पाँच बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार आत्मनिर्भर लघुवित्त छ दशमलब १०, सिटिजन म्युचुअल फण्ड पहिलो पाँच दशमलब ८९, मनकामना स्मार्ट लघुवित्त पाँच दशमलब ७१, इस्र्टन हाइड्रोपावर पाँच दशमलब ६६ र कुमारी इक्विटी फण्डको शेयर मूल्य पाँच प्रतिशतले बढेको छ ।

त्यस्तै, फरवार्ड माइक्रोफाइनान्स पाँच दशमलब ९९, बाराही हाइड्रोपावर पाँच दशमलब ५२, एशियन हाइड्रोपावर पाँच दशमलब ५२, बलेफी हाइड्रोपावर चार दशमलब ३५ र पञ्चकन्या माई हाइड्रोपावरको शेयर मूल्य चार दशमलब ३४ प्रतिशतले घटेको छ ।

एमाले केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्नुभएकाे  छ ।  बिहीबारबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा ओलीले प्रतिवेदन पेस गर्नुभएकाे हाे ।

मुकेशलाई शहीद घोषणा गरिन्छ :मन्त्री मोदी

काभ्रेपलाञ्चोक – सङ्घीय मामला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले जनआन्दोलनका घाइते मुकेश कायस्थलाई शहीद घोषणा गरिने बताउनुभयो ।

बुधबार साँझ निधन हुनुभएका दोस्रो जनआन्दोलनका घाइते बनेपा नगरपालिका–८ का मुकेशको श्रद्धाञ्जली सभालाई आज सम्बोधन गर्दै उहाँले मुकेशलाई शहीद घोषणा गर्नेमा शङ्का नगर्न आग्रह गर्नुभएको हो ।“ मुकेशलाई शहीद घोषणा गर्नेमा शङ्का नगर्नुस् । उहाँको निधनले राष्ट्र आज शोकाकुल छ”, मन्त्री मोदीले भन्नुभयो । लोकतन्त्र प्राप्तिमा मुकेशले पु¥याउनुभएको योगदानप्रति काभ्रेली नागरिकले गौरव मान्नुपर्ने बताउँदै उहाँले शोकलाई शक्तिमा बदल्न कायस्थ परिवारजनलाई आग्रह गर्नुभयो ।

मन्त्री मोदीले भन्नुभयो “इतिहासमा ‘जिउँदो शहीद’ निकै कम हुने गर्छन्, मुकेश त्यसमध्ये एक हुनुहुन्थ्यो । उहाँले १८ वर्षसम्म शय्याबाटै मृत्युसँग जुधिरहनुभयो ।” सामान्यभन्दा विशेष नागरिकको मृत्यु ‘विशेष’नै हुनेगरेको र हरेक मनिसको मृत्यु फरकफरक ढङ्गले हुनेगरेको उहाँको भनाइ थियो ।
सो अवसरमा मन्त्री मोदीलाई मुकेश प्रतिष्ठानमार्फत मुकेशलाई शहीद घोषणा गर्नुपर्ने, उहाँको नाममा स्वास्थ्य संस्था निर्माण गर्नुपर्नेलगायत माग प्रस्तुत गरिएको थियो ।

श्रद्धाञ्जली अर्पणका लागि मुकेशको शवलाई बनेपा नगरपालिका कार्यालय प्राङ्गणमा राखिएको छ । श्रद्धान्जली सभामा काभ्रेपलाञ्चोकका सङ्घीय सांसदद्वय सूर्यमान दोङ र गोकुलप्रसाद बाँस्कोटा, प्रदेशसभा सदस्यद्वय कञ्चनचन्द्र वादे र लक्ष्मण लम्साल, गृह मन्त्रालयका सचिव दिनेश भट्टराई जिल्लास्थित राजनीतिक दलका नेता तथा कार्यकर्ता एवं स्थानीयवासीको उपस्थिति थियो । दिउँसो मुकेशको शवलाई नगर परिक्रमा गराइ साँझ बनेपास्थित उग्रतीर्थमा अन्त्यष्टि गरिने जनाइएको छ ।
अस्पतालमा उपचारका क्रममा बुधबार साँझ ७ः३० बजे निधन हुनुभएका मुकेश जनआन्दोलनमा घाइते हुँदा १५ वर्षका हुनुहुन्थ्यो बत्तीस वर्षका उहाँको स्वास्थ्यमा केही दिनदेखि थप समस्या भएपछि बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।

जनआन्दोलन भइरहँदा बनेपाको तीन दोबाटोमा विसं २०६२ चैत २७ गते मुकेशको बाँया कञ्चटमा सुरक्षाकर्मीको गोली लागेर सख्त घाइते हुनुभएको थियो । त्यस दिनदखि उहाँको होस् नखुल्नाका साथै बाँया हात राम्रोसँग चल्दैनथ्यो । गोलीको घाउ निको भएपनि मुकेशको टाउकोमा गहिरो खाल्डो थियो । सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएको दिनदेखि ओछ्यानमा पर्नुभएका मुकेशलाई ‘ज्यूँदो शहीद’ भन्ने गरिन्थ्योे ।

दोस्रो अनआन्दोलनका क्रममा काभे्रपलाञ्चोकको नालाका भिमसेन दाहाल पोखरामा, पनौतीका सगुन ताम्राकार कलङ्कीमा, भिमखोरीका शिवहरि कुँवर बनेपामा र नागे्र गगर्चेका सुनिलकुमार लामा काठमाडौँस्थित जोरपाटीमा मारिनुभएको थियो भने ४० जना घाइते भएका थिए ।

चितवनमा शिक्षकले जबरजस्ती परीक्षा हलबाट निकालिएकी विद्यार्थीले आत्महत्या गरिन्

चितवन – ​​​​​​​ शिक्षकले जबरजस्ती परीक्षा हलबाट निकालिदिएपछि चितवनमा एकजना छात्राले आत्महत्या गरेकी छन्। 

बुधबार चितवन मेडिकल कजेलमा बीडीएस चौथो वर्ष पहिलो सत्रकी विद्यार्थी सिम्रन थापाले आफ्नो कोठामै आत्महत्या गरेकी हुन्। 
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निर्मल पनेरुले मृतकको साथबाट कुनै सुसाइट नोट नभेटिएको तर मेडिकल कलेजमा बुझ्दा परीक्षामा चिट चोरेपछि उनलाई हलबाट निकालिएको बुझ्न आएको बताए ।

पाल्पा रामपुर स्थायी ठेगना भइ पोखरा बस्ने मृतक थापा भरतपुर सप्तगण्डकी चोक स्थित गंगाबहादुर थापाको घरमा डेरा गरी बसेकी थिइन् । उनले आफु सुत्ने कोठाको सिलिङ पंखामा सलको पासो लगाई झुण्डिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवबाट ५०० मिटर उत्तरमा  सो घटना घटेको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनापछि चितवन मेडिकल कलेजमा इमरजेन्सीबाहेकका सबै सेवा बन्द गरिएको छ ।

मेडिकल कलेजका विद्यार्थीहरुले आज प्रेषित गरेको विज्ञप्तिमा मृतक थापाले आन्तरिक परीक्षा दिइरहेको समयमा परीक्षामा खटिएको शिक्षकले जबरजस्ती मानसिक तनाव दिई परीक्षा हलबाट निकालेपछि उनी आत्महत्या गर्न बाध्य भएको जनाइएको छ ।

अनेरास्ववियु नेशनल मेडिकल स्टुडेन्ट एसोसियशनको राष्ट्रिय कमिटी अध्यक्ष पुष्पराज भामका अनुसार शिक्षकहरुले अपमानपूर्वक सिम्रनलाई परीक्षा हलबाट निकालिदिएका थिए।   त्यही तनावका कारण उनले कोठामा पुगेर आत्महत्या गरेको उनले बताए । विद्यार्थीहरुले घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाहीका माग राख्दै इमरजेन्सीबाहेक कलेजका सबै सेवा बन्द गरेका छन् ।

शरणार्थी प्रकरणमा दोषी उम्किन र निर्दोष फस्न हुँदैन : ओली

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा कोही पनि दोषी उम्किनु नहुने बताउनुभएको छ ।

ललितपुरको च्यासलस्थित एमालेको मुख्यालयमा आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उहाँले निर्दोषलाई फसाउन र दोषीलाई उम्काउन खोजे आफूले त्यसको विरोध गर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वाग्रहपूर्ण ढङ्गले कसैलाई फसाउन खोजिएको बताउनुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी नउम्कियोस् र निर्दोषलाई नफसुन भनेर आग्रह गरेको समेत बताउनुभयो ।

उहाँले अनुसन्धानलाई सहयोग गर्नका लागि पार्टीका सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेकोसमेत बताउनुभयो । अध्यक्ष ओलीले नेपालीलाई राज्यविहीन बनाउने र विदेश पठाउने मानिस देशद्रोही भएको भन्दै यसप्रकरणमा यसअघि समातिएका व्यक्तिलाई किन छाडियो भनेर प्रश्न गर्नुभयो । राज्यको अर्बौको ढुकुटी कुल्याउन भ्रष्टाचारका मुद्दा खोजी खोजी छानबिन गर्न ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गर्नुभयो ।

“राज्यको ढुकुटी खल्तीमा हाल्नु भनेको भ्रष्टाचार हो । राज्यको ढुकुटी अर्बौको सम्पत्ति कुम्लाउनविरुद्ध अख्तियारले छानबिन गर्नुपर्ने छ,” उहाँले भन्नुभयो, “तर भ्रष्टाचारका मुद्दालाई अख्तियारमा त्यतिकै राखेको छ ।”

उहाँले सरकारले भूटानी शरणार्थी वर्गीकरण नगरेर अयन्त्रबाट आएको, भुटानबाट अपराध गरेर आएका भनेर चार बुँदे सहमति गरेपछि शरणार्थीलाई भुटान फर्काउन समस्या भएको बताउनुभयो ।

उहाँले नेपाली भाषी भुटानी योजनाबद्ध ढङ्गले लखेटिएको र उनीहरुलाई भुटान फिर्ता पठाउन सम्भव नभएपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको समयमा आफूले भुटानी शरणार्थीको समस्या तेस्रो मुलुक पठाएर समाधान गर्न सुझाव दिएको बताउनुभयो । साथै आफू परराष्ट्रमन्त्री भएको समयमा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुससँग शरणार्थी समस्या समाधान गर्न पनि आग्रह गरेको बताउनुभयो ।

बैठकमा पार्टी महासचिव शङ्कर पोखरेलले एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा सुदृढ गर्ने योजनासाथ सुरु भएको मिसन ग्रासरुट अभियानको समीक्षा गर्ने बताउनुभयो ।

बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायको प्रतिवेदन, मिसन ग्रासरुटको प्रतिवेदन, प्रदेशको कार्ययोजना, केन्द्रीय सदस्यको कार्यविभाजन, पार्टी प्रवेशीको व्यवस्थापन लगायतका १० वटा कार्यसूचीमा छलफल हुनेछ ।

एमालेको गत मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनपछि पहिलो पटक बैठक बस्न थालेको हो । बैठक यही वैशाख ३० गतेसम्म चल्ने छ ।

कांग्रेसको पदाधिकारी बैठक अघि प्रधानमन्त्री प्रचण्डसँग देउवा र पूर्णबहादुर खड्का बीच छलफल

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

बिहिबार प्रधानमन्त्री भेट्न उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासहित देउवा बालुवाटार पुग्नुभएको थियो ।

नक्क्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि राजनीतिक वृत्त तरंगित छ । त्यस विषयमा छलफल गर्न आज कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बुधबार बसेको कांग्रेसको बैठकमा नेता खाणलाई निलम्बन गर्नुपर्ने माग उठेको थियो ।

पार्टीको बैठक बस्नुअघि देउवा लेप्रधानमन्त्री प्रचण्डसँग छलफल गर्नुलाई निक्कै चासोका साथ हेरिएको छ । हिजो पनि प्रधानमन्त्री, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गर्नुभएको थियो ।

भेटवार्ता सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे केन्द्रित रहेका प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमल्सिनाले बताउनुभयो ।

स्थानीयले तहले सीप र बजार प्रवद्र्धनमा जोड दिनुपर्छ : मन्त्री रिजाल

महोत्तरी – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले स्थानीय तहले सीप विकास र बजार प्रबद्र्धनलाई कामको प्राथमिकतामा राख्न आग्रह गर्नुभएको छ ।

आज महोत्तरीको बर्दिबास नगर कार्यपालिकाका जनप्रतिनिधि र अगुवा राजनीतिक कार्यकर्तासँगको सामूहिक भेटमा मन्त्री रिजालले नगरका प्रत्येक बस्तीमा बजार बढाउन आग्रह गर्नुभयो ।

बर्दिबास नगर कार्यपालिकाको कार्यालयकै सभाहलमा आयोजित भेटघाटमा उहाँले सीप बढाउन, स्थानीय सीपअनुसारको उत्पादन बढाउन र उत्पादित सामग्रीको बजार बढाउनसके समृद्धिको यात्राले गति लिने उल्लेख गर्नुभयो ।

“जनतालाई सीपसँग, सीपलाई उत्पादनसँग र उत्पादित सामग्रीलाई बजारसँग जोडौँ” रिजालले भन्नुभयो, “स्थानीय तहले यसको नेतृत्व लिउन्, सरकार सहयोग गर्न तत्पर छ ।” प्रत्येक स्थानीय तहमा अब औद्योगिक ग्रामको अवधारणाअनुसार कामअघि बढाउन सम्बद्ध जनप्रतिनिधिले योजना बनाउन आवश्यक रहेको रिजालको भनाइ छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री रिजालले अब दलहरुका नियमित साङ्गठनिक कामका योजनामा पनि जनताको जीवनस्तर उकास्ने स्पष्ट मार्गचित्र र तदनुरुपको काम देखिनपर्ने उल्लेख गर्नुभयो ।

“अब आर्जनको पाटोमा जनतालाई उत्प्रेरित गर्न दलहरुको प्रयत्न देखिनपर्छ” रिजालले भन्नुभयो, “अहिलेसम्मका आन्दोलनका कारण जनताले राजनीतिक अधिकार पाएका छन्, अब समृद्धिका लागि उत्पादन र बजार बढाउन जरुरी छ ।”

एक फरक प्रसङ्गमा मन्त्री रिजालले अहिले प्रहरीले अघि बढाएको नक्कली भुटानी शरणार्थी प्रकरणको कारबाहीमा सरकारी हस्तक्षेप नहुने स्पष्ट पार्नुभयो । “जतिसुकै उच्च ओहदाका भए पनि दोषी छन् भने कारबाही हुनपर्छ”, रिजालले भन्नुभयो, “सरकारबाट यो अनुसन्धान कारबाहीमा हस्तक्षेप हुँदैन ।” भ्रष्टाचार मुलुकको समृद्धिको मुख्य बाधक भएको हुँदा यसको नियन्त्रणमा मुलुकका सबै दल सहयोगी बन्नुपर्ने उहाँको भनाइ छ ।

समस्याग्रस्त दुई सहकारीका बचतकर्ताको रकम फिर्ता

काठमाडौँ – सरकारले समस्याग्रस्त घोषणा गरेका १२ सहकारीमध्ये दुई सहकारीका सबै बचतकर्ताको रकम फिर्ता गरिएको छ ।

सरकारले २०७५ साल असार १८ गते समस्याग्रस्त घोषणा गरेको कुवेर बचत तथा ऋण सहकारी संस्थाको पहिलो सूचनाअनुसार माग दाबी गर्ने सबै बचतकर्ताको पैसा फिर्ता गरिएको सहकारी व्यवस्थापन समितिको कार्यालयका प्रमुख केशवप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो । सहकारीका सञ्चालक र ऋणीको बैंक खाता रोक्का गरेपछि आएको पैसाले बचतकर्ताको बचत फिर्ता गरिएको उहाँले बताउनुभयो ।

सरकारले विसं २०७५ असार १८ गते समस्याग्रस्त घोषणा गरेपछि जारी गरेको सूचनाअनुसार कुवेर सहकारीका १० बचतकर्ताले समितिसँग रु ८४ लाख बचत दाबी गरी निवेदन पेस गरेका थिए । ती सबैको बचत फिर्ता गरिएको हो । दश बचतकर्ताको वचत फिर्ता गरेपछि अन्य १२ बचतकर्ताले पनि रु ५० लाख माग दाबी गरी निवेदन पेस गरेका छन् ।

यसअघि समितिले स्ट्याण्डर्ड मल्टिपर्पोज को–अपरेटिभ लिमिटेडका बचतकर्ताको पनि सबै बचत फिर्ता गरिएको जानकारी गराएको थियो । बाँकी रहेका १० समस्याग्रस्त सहकारीमध्ये ओरेन्टल कोअपरेटिभ लिमिटेडमा चार हजार तीन सय बचतकर्ताको पैसा फिर्ता गर्नुपर्ने अभिलेख रहेको छ । ओरेन्टलले बचतकर्र्तालाई रु तीन अर्ब ५० करोड बचत फिर्ता गर्नुपर्नेछ ।

सरकारले समस्याग्रस्त घोषणा गरेका स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट कोअपरेटिभ लिमिटेड, प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, कञ्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चार्टर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताको बचत फिर्ताका लागि पनि काम भइरहेको समितिका सदस्य सचिवसमेत रहनुभएका कार्यालय प्रमुख पौडेलले बताउनुभयो ।

सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीको व्यवस्थापनका लागि समितिको गठन भएको हो । समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत रही समस्याग्रस्त सहकारी व्यवस्थापनको काम गर्दै आएको छ ।

अहिले नै टोपबहादुर रायमाझीलाई दोषी करार गर्न मिल्दैन, अदालती प्रक्रियाले मात्र दोषी करार गर्न मिल्छ : केपी ओली

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टीका निलम्बित सचिव टोपबहादुर रायमाझीलाई अहिले नै दोषी र फरार करार गर्न नसकिने बताउनुभएको छ ।

च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार बसेको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले अदालती प्रक्रियाले मात्र दोषी करार गर्न सक्ने बताउनुभयो । तर, अहिले नै अपराधी हो भनेर करार गर्न नसकिने उहाँले बताउनुभयो।

भ्रष्टाचार प्रकरणमा एमालेका नेताहरु र एमालेको सरकारमा रहेकाहरुको मात्र नाम आएको भन्दै अध्यक्ष ओलीले जोसुकैको नाम आए पनि दोषी भए कारबाही गर्नुपर्ने बताउनुभयो । तर, अदालतले दोषी सावित गर्नुअघि कसैलाई पनि दोषी आंशका गर्न सकिए पनि दोषी नै ठहर गर्न नसकिने उहाँको भनाइ छ ।

एमाले केन्द्रीय कमिटीको बैठक च्यासलमा सुरु

काठमाडौँ – नेकपा एमाले केन्द्रीय कमिटीको बैठक च्यासलमा सुरु भएको छ ।

च्यासलमा रहेको पार्टीको केन्द्रीय कार्यालय तीन दिनसम्म चल्ने बैठक सुरु भएको हो। आजबाट सुरु भएको बैठकमा १० वटा एजेन्डामा छलफल हुने बताइएको छ ।

वैशाख २६ मा बसेको सचिवालय बैठकले केन्द्रीय समितिको बैठकको लागि १० वटा एजेन्डा तय गरेको थियो।

बैठक अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नुका साथै, निर्वाचनको समीक्षा, ग्रास रुट अभियानको समीक्षा, भावी नीति तथा कार्यक्रमलगायतका एजेन्डा तय भएका छन्।

आज सुनको मूल्य स्थिर

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ। 

यसअघि बुधवार प्रतितोला १ लाख ११ हजार छ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा किनबेच भइरहेको छ।  

त्यसैगरी, नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज चाँदीको मूल्य भने घटेको छ।  आज चाँदी प्रतितोला १४ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधवार चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ घटेको हो।

कायस्थको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो जनआन्दोलनका घाइते मुकेश कायस्थको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत ‘जिउँदो सहिद’ कायस्थको निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँले शोक सन्तप्त परिवारजन, आफन्त र शुभेच्छुकमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

गण्डकीमा मन्त्रालयको कार्य विभाजन हेरफेर हुने

गण्डकी – गण्डकी प्रदेशमा मन्त्रालयको कार्य विभाजन हेरेफेर हुने भएको छ । मन्त्रालयको सङ्ख्या भने सातभन्दा नबढ्ने प्रदेश सरकारले प्रष्ट पारेको छ ।

अघिल्लो सरकारले मन्त्रालयको सङ्ख्या १२ बाट घटाएर सातमा झारेको थियो । नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रालय घटाउँदा कार्य विभाजन नमिलेको देखिएकाले केही परिमार्जन गर्न लागिएको बताउनुभयो ।

“मन्त्रालयको सङ्ख्या सात नै रहन्छ, बढ्दैन, तर नयाँ कार्य विभाजन हुन्छ”, उहाँले भन्नुभयो, “आज कार्य विभाजन टुङ्गिन्छ, त्यसपछि मन्त्रिपरिषद् विस्तार हुन्छ ।”

मुख्यमन्त्री पाण्डेले गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँटमा सहमति भइसकेकाले अब मन्त्री छान्न र मर्यादाक्रम मात्र तोक्न बाँकी रहेको बताउनुभयो । “अहिलेलाई माओवादी केन्द्रले दुई मन्त्रालय लिने सहमति भएको छ, एकीकृत समाजवादीलाई पनि मिलाएर लैजानुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो । मुख्यमन्त्री पाण्डेले एक÷दुई दिनभित्रमै सरकारले पूर्णता पाउने बताउनुभयो ।

यही वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका पाण्डेले वैशाख २१ गते प्रदेशसभाबाट विश्वासको मत पाउनुभएको थियो । साठी सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, माओवादी केन्द्रका सात र नेकपा (एकीकृत समाजवादी) का एक गरी ३५ प्रदेशसभा सदस्यले उहाँलाई विश्वासको मत दिनुभएको थियो ।

हाल मन्त्रिपरिषद्मा मुख्यमन्त्री पाण्डेसहित बिनाविभागीय मन्त्रीका रुपमा माओवादी केन्द्रका सुशीला सिम्खडा र कांग्रेसकी सरस्वती अर्याल तिवारी रहनुभएको छ । सत्तारुढ दलहरु नयाँ मन्त्री छान्ने कार्यमा जुटेका छन् ।

दैलेख आगलागी अपडेट : घाइते विकको मृत्यु

राँझा – दैलेखको आठविस नगरपालिका–६ स्थित माल्या जङ्गलमा बुधबार आगलागीमा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । आगलागीमा परी गम्भीर घाइते दैलेखको आठविस–६ का ५५ वर्षीय भैरव विकको उपचारको क्रममा बाँकेको नेपालगञ्जमा मृत्यु भएको हो ।

भेरी अस्पतालमा उपचाररत विकको गए राति मृत्यु भएको अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा बद्री चापागाईले जानकारी दिनुभयो । उहाँका अनुसार, भेरी अस्पतालमा उपचारका लागि ल्याइएका चार जनामध्ये विकको शरीरको अत्यधिक भाग जलेको थियो । बाँकी तीनमध्ये एकजनाको अवस्था गम्भीर छ भने अन्य दुईको अवस्था सामान्य छ ।

भेरी अस्पतालमा आठविस–६ का ३२ वर्षीया नैनी कामी, ३३ वर्षीय नवीन विक र २९ वर्षीय प्रजा विकको उपचार भइरहेको छ । अन्य चार घाइतेको नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी डा चापागाईले बताउनुभयो ।

दैलेखको आठविस–६ माल्या जङ्गलमा बुधबार आगलागी हुँदा घाइते भएका आठ जनालाई उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज ल्याइएको हो ।

मुलुकमा राजनीतिक स्थायित्वका लागि एमालेले माग्यो रचनात्मक सुझाव

काठमाडौँ – नेकपा एमालेले मुलुकमा राजनीतिक स्थायित्वका लागि रचनात्मक सुझाव मागेको छ । 

केन्द्रीय कमिटीको बैठक सुरु हुनुअघि पार्टी महासचिव शङ्कर पोखरेलले आज सामाजिक सञ्जालमार्फत एमालेले कार्य योजनाका लागि सुझावको अपेक्षा गर्नुभएको हो । 

उहाँले लेख्नुभएको छ, ”मुलुक राजनीतिक अस्थिरता र चरम आर्थिक सङ्कट (मन्दी)बाट गुज्रिरहेको बेलामा नेकपा (एमाले)कस्तो कार्य योजनाका साथ अघि बढ्नु उपयुक्त हुन्छ? तपाईँहरूको रचनात्मक सुझावको अपेक्षा गरिन्छ ”

मिसन ग्रासरुटको प्रदेशस्तरीय समीक्षा सकिएसँगै एमाले केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदै छ ।  बैठकमा १० एजेन्डाबारे छलफल हुनेछ ।  

”मुलुकमा राजनीतिक स्थायित्वका लागि नेकपा (एमाले)लाई बलियो राष्ट्रिय शक्तिका रूपमा सुदृढ गर्ने योजनासाथ सुरु भएको मिसन ग्रासरुटको प्रभाव मूल्याङ्कन यस बैठकले गर्नेछ र त्यसको जगमा कार्य योजना तयार गर्नेछ”, महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेख्नुभएको छ । 

श्रम तथा रोजगार सेवा कार्यविधि, २०८० कार्यान्वयनमा

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एकीकृत श्रम तथा रोजगार सेवा (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८० स्वीकृति गरी कार्यान्वयनमा ल्याएको छ ।

मन्त्रालयले एक प्रेस विज्ञप्ति प्रकाशित गरी नागरिकलाई व्यावसायिक सीप विकास, रोजगार प्रवद्र्धन, उत्पादनशील रोजगार सिर्जना, उद्यमशीलता प्रवद्र्धन एवं वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा सहजीकरणलगायतका श्रम तथा रोजगारसम्बन्धी सेवा तथा सुविधा स्थानीय तहबाटै एकीकृतरुपमा प्रदान गर्न मन्त्रालयले उक्त कार्यविधि ल्याएको जनाएको छ ।

उक्त कार्यविधिअनुसार स्थानीय तहमा रहेको रोजगार सेवाकेन्द्रमार्फत श्रम बजार सम्बद्ध सूचनाको सङ्कलन तथा विश्लेषण गर्ने, आन्तरिक रोजगार प्रवद्र्धन, सीप र क्षमताको अन्तर विश्लेषण गरी रोजगारोन्मुख सीप प्रदान गर्न संयोजन तथा सञ्चालन, वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्न आवश्यक सहजीकरण तथा परामर्शका लागि सहज हुने जनाइएको छ ।

यसैगरी वैदेशिक रोजगारबाट फर्केका श्रमिकको सामाजिक र आर्थिक पुनः एकीकरण, स्वरोजगारका लागि उद्यमशीलता विकास तथा व्यावसायिक योजना निर्माणमा सहयोग, श्रम र रोजगारसम्बन्धी सूचना प्रणाली सञ्चालन गर्नेलगायतका एकीकृत श्रम तथा रोजगारसम्बन्धी क्रियाकलाप स्थानीय तहको माग र आवश्यकताअनुसार सञ्चालन गरिने मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

श्रम बजारमा रोजगारीको प्रवर्द्धन तथा विस्तार गर्न आवश्यकता र मागका आधारमा स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रलाई नमूना रोजगार सेवा केन्द्रका रुपमा सञ्चालन गर्न सकिने व्यवस्थासमेत कार्यविधिमा रहेको र कार्यविधिको कार्यान्वयनपश्चात् नागरिकले श्रम र रोजगारसम्बन्धी सबै सेवा आफ्नै स्थानीय तहबाट प्राप्त गर्न सक्षम हुने विश्वास मन्त्रालयले लिइएको विज्ञप्तिमार्फत जनाइएको छ ।

आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव सङ्कलन संयन्त्र

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष  २०८०-०८१ को नीति, बजेट तथा कार्यक्रम तर्जुमा गर्दा नागरिकका चाहनामा आधारित बनाउन सुझाव सङ्कलन संयन्त्र   प्रयोगमा ल्याएको छ ।

 उक्त संयन्त्रको प्रयोग अनलाइनमार्फत गर्न सकिने छ । कामपाको विकास, सुविधा वितरण, सेवा प्रवाह तथा समृद्धिका लागि कुन कुन क्षेत्रमा कस्ता नीति बनाउनु पर्ला ? कस्ता कार्यक्रम राख्नु पर्ला ? बजेटमा  कस्तो किसिमको  व्यवस्था गर्नुपर्ला ? लगायत विषयक छनोट गरिएको कामपाका सूचना अघिकारी वसन्त आचार्यले जानकारी दिनुभयो ।  

नागरिकको परिकल्पना र समस्या समाधानका न्यूनतम उपाय र योजनाको विवरण जेठ ९ गतेभित्र पठाइसक्नु पर्ने  आचार्यको भनाइ छ । सुझाव [email protected] मा वा नगर कार्यपालिकाको कार्यालयमा पुगेर उपलब्ध गराउन सकिनेछ । 

कामपाले तोकेको विषयमा सुझाव दिनका लागि http//esuggestions.kathmandu.gov.np ठेगानाबाट सुझावसम्बन्धी जानकारी दिने पेजमा पुगिन्छ । यो पेजमा कार्यक्रमसम्बन्धी सामान्य जानकारी, सुझाव पृष्ठमा जाने बटम छ । पेजमा राखिएका विभिन्न  शीर्षकमा कति वटा सुझाव प्राप्त भए भन्ने विवरण यही पृष्ठमा हेर्न सकिन्छ । 

कार्यक्रम (बजेट) मा सुझाव दिनुहोस् र नीति निर्माणमा सुझाव दिनुहोस् गरी दुई वटा बटम छन् । यी बटममा छानेर आफूलाई इच्छा भएको शीर्षकमा सुझाव दिन सकिन्छ । त्यहाँ भएका सबै वा आफूलाई आवश्यक भएको शीर्षकमा सुझाव दिन सकिनेछ । 

सुझावका लागि कामपाले भौतिक पूर्वाधार (सडक÷ढललगायत पूर्वाधार) मर्मत, सम्भार तथा पुनःनिर्माण, यातायात तथा सहरी गतिशीलतासँग सम्बन्धित योजना, शैक्षिक क्रियाकलाप र शैक्षिक गुणस्तर वृद्धि, स्वास्थ्य प्रवर्द्धन केन्द्र र आधारभूत स्वास्थ्य सेवा तथा बीमा भवन निर्माण र इजाजत, फोहरमैला व्यवस्थापन सङ्कलन, ढुवानीलगायतको विषय छनोटका लागि राखिएको छ ।  

त्यसैगरी पुनःनिर्माण, विद्युतीय शासन प्रणाली, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति विशेष कार्यक्रम, सहकारी दर्ता, नवीकरण तथा नियमन, कानून तथा मानवअधिकारअन्तर्गत  न्यायिक प्रणाली, कृषि तथा पशु बजार व्यवस्थापनलगायत छन ।  

बधशाला, चिस्यान गृह भण्डारण, विपद् पूर्वतयारी, आपत्कालीन सेवा, चमती मनोहरा जग्गा एकीकरण आयोजना, राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घसंस्थासँगको सम्बन्ध र आपसी सहयोगजस्ता विषय रहेका छन् ।  

आजबाट एमाले केन्द्रीय कमिटी बैठक सुरु हुँदै

काठमाडौँ – नेकपा एमाले केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुदैँछ । 

गत मङ्सिर ४ गते सम्पन्न उपनिर्वाचन पछि पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।

”यसअघि झापामा गर्ने तय भएको केन्द्रीय कमिटीको बैठक संसदीय काममा केन्द्रित हुनुपर्ने भएकाले २८–३० वैशाख, २०८० मा केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्ने निर्णय भएको हो”,  प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

गत २६ वैशाखमा बसेको सचिवालय बैठकले निर्वाचनको समीक्षा, ग्रास रुट अभियानको समीक्षा, भावी नीति तथा कार्यक्रमलगायतका कम्तीमा १० वटा विषयमा छलफल गर्नका लागि एजेन्डा तय गरेको थियो ।  

उक्त सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने, चौथो केन्द्रीय कमिटी बैठकपछि भएका सचिवालय र स्थायी कमिटी बैठकले गरेका निर्णयको जानकारी र अनुमोदन गराउने, अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले केन्द्रीय कमिटी बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुहुने, मिसन ग्रासरुट अभियानको समीक्षा, मिसन ग्रासरुट अभियानलाई आधार मानेर पार्टीले वार्षिक कार्य योजना बनाउने, पार्टीले नवप्रवेशीलाई व्यवस्थापन गर्न सम्बन्धमा र समसामयिक राजनीतिक प्रस्तावमाथि छलफल गर्ने लगायतका एजेन्डाहरू तय गरेको थियो ।

जनआन्दोलनका घाइते कायस्थको निधन

काभ्रेपलाञ्चोक – विसं २०६२-६३ को जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन भएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ का उहाँको गए राति निधन भएको हो ।

जनआन्दोलनमा घाइते हुँदा कायस्थ १५ वर्षका हुनुहुन्थ्यो । घाइते भएको १७ वर्षपछि उहाँको निधन भएको हो । केही दिनदेखि स्वास्थ्यमा थप समस्या भएपछि कायस्थलाई बनेपास्थित शिरमेमोरियल अस्पताल भर्ना गरिएको थियो । सो अस्पतालमै उहाँको निधन भएको मुकेश फाउण्डेशनका अध्यक्ष हीरा शर्माले जानकारी दिनुुभयो ।

जनआन्दोलनताका कायस्थ बनेपाकै विद्यासागर स्कुलमा कक्षा ८ मा पढ्दै हुनुहुन्थ्यो । लोकतन्त्रका खातिर जनआन्दोलन भइरहँदा २०६२ चैत २७ गते उहाँ बनेपाको तीनदोबाटोमा बायाँ कञ्चटमा सुरक्षाकर्मीको गोली लागी गम्भीर घाइते हुनुभएको थियो । त्यस दिनदखि उहाँको अचेत हुनुहुन्थ्यो । कायस्थको बायाँ हात सोत राम्रोसँग चल्दैनथ्यो । गोलीको घाउ निको भए पनि टाउकोमा गहिरो घाउ थियो ।

सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते हुनुभएपछि ओछ्यानमा थला पर्नुभएका कायस्थलाई ‘ज्यूँदो सहिद’ भन्ने गरिन्थ्योे । उहाँ ओछ्यानबाट कहिल्यै उठ्न सक्नुभएन । परिवार र स्वास्थ्यर्मीको निरन्तरको स्याहार तथा उपचारपछि कायस्थ देब्रे हात चलाउने, आमा भन्ने, हाँस्ने, गिलो खाने कुरा खाने र ह्विलचियरमा अडिन सक्नेसम्म हुनुभएको थियो । उहाँ २०७५ असारदेखि थप बिरामी पर्नुभएको हो ।

स्वाथ्योपचारलगायतका लागि कायस्थको नाममा प्रतिष्ठानसमेत स्थापना गरिएको छ । सरकारले उहाँको उपचार खर्च, रु १५ हजार मासिक भत्ता, एक सुसारेको लागि रु छ हजार दुई सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो । कायस्थलाई २०७८ सालमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयोजकत्वको लोकतन्त्रका योद्धा, अभिलेखीकरण तथा सम्मान समितिले जनआन्दोलनमा खेलेको योगदानको उच्च मूल्याङ्कन गर्दै ‘लोकतन्त्रका योद्धा’ सम्मानसमेत प्रदान गरिएको थियो ।

कायस्थ पाँच वर्षयता दुब्लाउँदै जानुभएको, पहिलेजस्तो हाँस्न र बोल्न छाड्दा उहाँको परिवारलाई ‘पीरमाथि पीर’ थपिँदै गएको थियो । कायस्थ परिवारको एक्लो छोरा हुनुहुन्थ्यो । उहाँका बुबा कृष्णमानले केही महिनाअघि भन्नुभएको थियो “परिवारको एक्लो छोरा पनि आन्दोलनमा अर्धचेत हुने गरी घाइते भएपछि हाम्रो हालत के भइरहेको होला, यतिका वर्षसम्म ओछ्यानमै छ, आफैँ मनन गर्नुस् ।” कायस्थ एक वर्षदेखि बोल्न सक्नुभएको थिएन । चपाएर खाना खान नसक्ने उहाँलाई झोल वा गिलो प्रकारका खानेकुरा खुवाउँदै आइएको थियो । बिरामी परेपछि भने पाइपद्वारा खानेकुरा खुवाइँदै आएको थियो ।

“बिरामी परेयता मुकेशको दायाँ हात र दुवै गोडा थोरै मात्र चल्थे”, बुबा कृष्णमानले भन्नुभयो । उहाँको चेत खुल्नसके सहयोग मागेर भए पनि उपचारका लागि अझै कतै लैजान सकिन्छ की भन्ने आशामा बसेको थियो कायस्थ परिवार । जनआन्दोलनका घाइते र सहिदलाई सरकारले सम्झिरहोस् भन्ने चाहना कायस्थ दम्पतीको छ । सरकारले कायस्थ परिवारको बैंकको रु सात लाख ऋणसमेत मिनाहा गरिदिएको थियो ।

पछिल्लो समय मेडिसिटी अस्पतालका चिकित्सक डा गोपाल रमणले कायस्थको स्वास्थ्य निगरानी गरिरहनुभएको थियो । रमणका अनुसार टाउकोमा जम्ने पानी निस्कने पाइप समय समयमा बन्द हुने हुँदा समस्या भइरहेको थियो । विसं २०६२÷६३ को अनआन्दोलनका क्रममा काभे्रपलाञ्चोकका चार युवाले ज्यान गुमाएका थिए । सो आन्दोलनमा नालाका भीमसेन दाहालले कास्कीको पोखरामा, पनौतीका सगुन ताम्राकारले काठमाडौँको कलङ्कीमा, भिमखोरीका शिवहरि कुँवरले बनेपामा तथा नागे्र गगर्चेका सुनिलकुमार लामाले काठमाडौँको जोरपाटीमा ज्यान गुमाउनुभएको थियो । उक्त आन्दोलनमा काभे्रपलाञ्चोकका ४० जना घाइते भएका थिए ।

प्रहरी अनुसन्धान डिस्टर्ब गर्नुहुन्न भन्ने सहमति छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भुटानी शरणार्थी प्रकरणमा थालेको प्रहरीको अनुसन्धानमा डिस्टर्ब गर्न नहुने तीन दलमा सहमती भएको बताएका छन् ।

सिंहदरबारमा बुधबार भएको तीन दलको बैठकपछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै उनले भने, ‘हामीले स्पष्ट भाषामा भनेका छौं । दोषी नछुटून् र निर्दोष नपरून्। प्रहरीले आफ्नो काम गरिरहेको छ । जे भइरहेको छ नियम र विधि पद्धतिअनुसार काम भइरहेको छ । प्रहरीको अनुसन्धानमा कुनै डिस्टर्ब गर्नुहुन्न भन्नेमा हाम्रो सहमति भएको छ ।’

उनले मिडियामा प्रचार भएजसरी तीन दलका शीर्ष नेताहरुको भेट नभएको उनको भनाइ छ। उनले सदन कसरी अगाडी बढाउने समितिहरु कसरी बनाउने विषयमा छलफल मात्रै भएको बताए । उनले भने, ‘ मिडियामा प्रचार भएजसरी तीन जनाको भेट भएको होइन । सदन कसरी अगाडि बढाउने, समितिहरू कसरी बनाउने भन्नेबारे छलफल भएको हो । आशंका गर्नुपर्ने कारण छैन ।’

शरणार्थी प्रकरणमा फेक अडियो बनाएको भन्दै साइबर ब्यूरोमा आरजुको उजुरी

काठमाडौं – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक भएको भन्दै  छानविन गरी दोषीलाई कारबाही गर्न माग राखेर नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी छिन् ।

साइबर व्यूरो भोटाहिटीमा दिएको उजुरीमा उनले केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त फेक अडियो बदनियत पूर्ण ढंगबाट बदनाम गराउने उद्देश्यले नियोजित रुपमा रेकर्ड गराइएको भन्दै कारबाहीको दायरामा ल्याउन माग गरेकी छिन् ।

‘विभिन्न संचार माध्यामहरुमा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारीनै नभएको नक्कली भुटानी शरणार्थीका सम्वन्धमा मेरो समेत नाम जोडी कुराकानी गरिएको अडियो रेकर्ड कहाँ, कसरी, कसले र के उदेश्यले रेकर्ड गरेका हुन् ? उक्त अडियोका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्य तथ्य व्यहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानुन अनुसार कडाभन्दा कडा कारबाही होस् भनी यो निवेदन पेश गरेको छु,’ देउवाले दर्ता गरेको निवेदनमा भनिएको छ ।

पूर्वगृहमन्त्री खाँणलाई थुनामा राख्न ४ दिनको अनुमति

काठमाडौँ –   कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले अनुमति दिएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणी नेउपानेले बताउनुभयाे । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई अनुसन्धानका लागि प्रहरीले बुधबार मैजुबहालस्थित निवासबाट पक्राउ गरेको थियाे । बुधबार नै उनका स्वकीय सचिव नरेन्द्र केसीसमेत पक्राउ परेका छन् ।

आफू गृहमन्त्री हुँदा खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् । 

आरोपितहरूको बयानका आधारमा अनुसन्धानमा खाँण तानिएका हुन् ।

कांग्रेसका नेतासँग गृहमन्त्री श्रेष्ठले भन्नुभयाे- भ्रष्टाचारको नेक्सस् नतोडेसम्म राष्ट्र बन्दैन

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र कमिसनखोरको नेक्सस् नतोडेसम्म राष्ट्र नबन्ने बताउनुभएकाे छ ।

 नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा गरेको कार्यप्रति ऐक्यबद्धता जनाउन आएका कांग्रेसका युवा नेतासँगको भेटमा उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचार र कमिसनखोरको नेक्सस् नतोडेसम्म राष्ट्र नबन्ने भएकोले सरकार दृढतापूर्वक अगाडि बढ्ने विश्वास दिलाउनुभएकाे हाे । 

रन्जित कर्ण, गुरुराज घिमिरे, गोविन्द पोखरेल, भूपेन्द्रजंग शाही, मधु आचार्य लगायतका कांग्रेस नेताहरुको टीमले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पछिल्ला कदमप्रति ऐक्यबद्धता जनाउनुभएकाे हाे । सोही क्रममा उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचारविरुद्ध सरकार गम्भीर भएर लाग्ने बताउनुभयाे । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायतका नेता तथा उच्च तहका कर्मचारी मुछिएका छन् । 
 

 खाँण पक्राउ परेपछि मोबाइल अफ गरेर  मञ्जु खाँण सम्पर्कविहीन

काठमाडौं –  पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि उहाँकी पत्नी  एवं कांग्रेस नेत्री मञ्जु खाँण सम्पर्कविहीन भएकी छिन् । मञ्जु मोबाइल  अफ गरेर सम्पर्कविहीन भएको प्रहरी स्रोतले जानकारी दियो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्दामा संलग्न भएको आरोपमा उनका पति एव्म पूर्वगृहमन्त्री खाँड बुधबार विहानै पक्राउ पर्नु भएको थियो ।  यस प्रकरणमा पक्राउ पर्नेमध्ये खाँण सबैभन्दा शीर्षस्थ व्यक्ति हुन् ।

उनका अलावा तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित कुल १२ जना पक्राउ परिसकेका छन् ।

गिरोहका सदस्यले बालकृष्णपत्नी मञ्जुलाई ६ करोड बुझाएको दाबी गरिएको अडियो समेत सार्वजनिक भएको छ । सो अडियोमा तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणा देउवालाई समेत २ करोड बुझाएको दाबी गरिएको छ ।
 

पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत लगियो

काठमाडौं – प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत काठमाडौंमा लगेको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पाउने ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले खाँणलाई हिरासतमा राख्न अदालतसँग अनुमति लिन लागेको हो ।

बुधबार विहान घरबाटै पक्राउ परेका खाँणलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको थियो । दिउँसो ३ बजे उनलाई प्रहरीको भ्यानमा राखेर बबरमहलस्थित जिल्ला अदालत काठमाडौंतर्फ लगेको हो ।

भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन होस् : रामहरि खतिवडा

काठमाडौँ – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणको दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन होस् । कोही दोषी नउम्कोस् । निर्दोष नफसोस् ।’

सो प्रकरणमा हाइप्रोफाइलका नेताहरू नै मुछिएका छन् ।

रघु पन्तको सरकारलाई आग्रह : नागरिकता विधेयक तुरुन्त प्रतिनिधि सभामा ल्याएर दर्ता गरोस्

काठमाडौँ – नेकपा एमालेका सांसद रघु पन्तले नागरिकता विधेयक तुरुन्त प्रतिनिधि सभामा ल्याएर दर्ता गर्न सरकारलाई आग्रह गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राष्ट्रपति रामचन्द्र पौडेललाई संसदको अधिकार नखोस्न आग्रह गरेका हुन् ।

तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले संसदबाट अनुमोदन भएर गएपछि रोकेको नागरिकता विधेयक राष्ट्रपति पौडेलले प्रमाणिकरण गर्न छलफल थालेपछि उनले यस्तो आग्रह गरेका हुन् ।

उनले भने, ‘म सरकारलाई आग्रह गर्छु नागरिकता विधेयक तुरुन्त प्रतिनिधि सभामा ल्याएर दर्ता गरोस् । हामीले छलफल गरेर पारित गर्न तयार छौं । तर, धुलो लागेर बसेको विधेयकलाई टक्टक्याउँदै राष्ट्रपतिले झिकेर जारी गर्न मिल्छ कि मिल्दैन भनेर छलफल गर्न संविधानले दिन्छ ?’

संविधानको संरक्षकले संविधानविपरीत कार्य गर्न नहुने उनको भनाइ छ ।

भुटानी शरणार्थी प्रकरणलाई कमजोर बनाउने वा उन्मुक्ति दिने काम राज्यबाट नहोस् : राजेन्द्र लिङ्देन

काठमाडौँ – राप्रपाले नक्कली भुटानी शरणार्थी प्रकरणका विषयमा संसदमा जानकारी गराउन माग गरेको छ ।

बुधवार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकको सुरुमै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न शङ्का उत्पन्न भइरहेको भन्दै यस विषयमा संसदमा जानकारी गराउन माग गर्नुभएको हो । उहाँले उक्त प्रकरण केवल भ्रष्टाचारमात्रै नभएको भन्दै राज्यविरुद्धको द्रोह भएको जिकिर गर्नुभयो ।

त्यस्तै लिङ्देनले उक्त प्रकरण अख्तियारलाई बुझाउने काम नगर्न पनि ध्यानाकर्षण गराउनुभयो । पूर्व उपप्रधानमन्त्री, गृहमन्त्रीहरूको नाम नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएर आउनु लज्जास्पद भएको उहाँको भनाइ छ । उहाँले उक्त प्रकरणलाई कमजोर बनाउने वा उन्मुक्ति दिने काम राज्यबाट गर्न नहुनेमा जोड दिनुभयो ।

बैठकमा सभामुख देवराज घिमिरेले यस विषयमा सदनमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । यसअघि बुधवार नै बसेको संसद्को पहिलो बैठक बोल्न समय नदिएको भन्दै राप्रपाले अवरुद्ध गरेको थियो ।

प्रतिनिधि सभाको बैठक राप्रपाद्वारा अवरोध

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभाको बैठकमा अवरोध सिर्जना गरेको छ ।

आज बसेको प्रतिनिधि सभाको बैठक शुरु हुनासाथ राप्रपा दलका नेता राजेन्द्र लिङ्देनसहितले उभिएर आकस्मिक समय माग गरेका थिए ।

समय माग गर्दा सभामुख देवराज घिमिरले कार्यं व्यवस्था परामर्श समितिको बैठकमा शून्य समयअघिको कुनै आकस्मिक समय नदिने सहमति भएको स्मरण गराएर बैठक अघि बढाउन खोज्दा रोष्टम घेराउ गरेर अवरोध गरेका हुन् ।

पूर्वगृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ

काठमाडौँ – पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । केसीलाई जडिबुटीबाट पक्राउ गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि बुधबार बिहान खाँणलाई मैजुबहालस्थित निवासबाट र केसीलाई जडिबुटीबाट पक्राउ गरेको प्रहरी स्रोतले बतायो ।

मुगु हिमपहिरो अपडेट : १० फिट हिउँ जमेकाले बेपत्ता खोज्न समस्या

मुगु – अत्यधिक हिमपातका कारण मुगुम कार्मारोङ गाउँपालिका–१ र २ मा पर्ने च्याँखुलेकमा हिमपहिरोमा परी बेपत्ता भएका तीन जनाको खोजी गर्न समस्या भएको छ । सो क्षेत्रमा १० फिटभन्दा बढी हिउँ जमेकाले उनीहरुको खोजी हुन सकेको छैन ।

यही वैशाख २२ गते च्याँखुलेकमा हिमपहिरोमा परी यार्सागुम्बा सङ्कलन गर्न गएका जुम्लाको पातारासी गाउँपालिका–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की (४०), ३५ वर्षीय पुन्न सार्की र ३५ वर्षीय बीर बोहोरा बेपत्ता भएका थिए । उनीहरुको खोजीमा मङ्गलबारदेखि सुरक्षाकर्मी लागिपरे पनि बाक्लो हिउँ जमेकाले समस्या भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत वैशाख २४ गते बेपत्ताको खोजीका लागि सुरक्षाकर्मीसहित २३ जनालाई घटनास्थलमा पठाएको थियो । सुरक्षाकर्मीले घटनास्थलभन्दा चार घण्टा तल बेँसीमा रहेको छापाखोलामा क्याप राखी बेपत्ताको खाजी गर्दै आएको छ । घटनास्थलसम्म सुरक्षाकर्मी पुग्न भने सकिरहेको छैन् । आज पुनः उनीहरुको खोजी गरिने प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो । “डोरी र लठ्ठीको सहाराले बेपत्ताको खोजी भइरहेको छ, बाक्लो हिउँ छ, त्यसमाथि हिउँ लगातार परिरहेको छ”, उहाँले भन्नुभयो ।

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समिति बैठक बस्ने भएको छ ।

बुधबार बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बैठक बोलाइएको हो । बैठकमा सरकारमा मन्त्री पठाउनेबारे छलफल हुने छ ।

यस्तै पार्टीको विधान अधिवेशन लगायतका विषयले पनि प्रवेश पाउने नेताहरूले बताएका छन् ।

पूर्वगृहमन्त्री बालकृष्ण खाँड पक्राउ

काठमाडौं –  शरणार्थी काण्डमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण आफ्नो निवासबाट आज पक्राउ परेका छन् ।

उनीसँगै तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् ।हाल उनलाई अपराध अनुसन्धानको कार्यालयको हिरासतमा राखिएको परिसरका प्रवक्ता सिताराम रिजालले जानकारी दिए ।

प्रहरीले अर्का पूर्वगृहमन्त्री रामबहादुर थापा बादललाई पनि पक्राउ गर्ने तयारी गरेको बताइएको छ । उनका छोरा प्रतीक थापा पक्राउ पुर्जी जारी भएपछि फरार छन् । गिरोहका सदस्यले बादलकी श्रीमती नैनकला थापाको नाम पनि पोलेका छन् ।

यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् ।

यसअघि प्रहरीले गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

थप विवरण आउँन बाँकी छ ।

अध्यक्ष नेपाल र संयोजक गौतमबीच भेट : एकताका लागि छलफल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच आज भेटवार्ता भएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा अध्यक्ष नेपाल र नेता गौतमबीच भएको भेटघाटमा समसामयिक राजनीतिक विषय, समान विचार भएका वामपन्थी शक्तिबीचको एकताबारे भइरहेका प्रयासका साथै राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा छलफल भएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

अध्यक्ष नेपालले मुलुकको कम्युनिष्ट आन्दोलन जगेर्ना गरी राष्ट्रियताको संरक्षणका साथै विकास र समृद्धिका लागि छरिएका स–साना वामपन्थी दललाई एकीकृत गरी बलियो कम्युनिष्ट शक्ति निर्माणका क्रममा पार्टी रहेकाले एकताका लागि प्रस्ताव गर्नुभएको थियो ।

सो अवसरमा नेता गौतमले एकताका लागि आफू सकारात्मक रहेकाले आफ्नो समूहबाट छलफल गरी छिट्टै निर्णय लिने जानकारी गराउनुभयो । पार्टीले सङ्गठन सुदृढीकरणका साथै वामपन्थी दलसँग एकताका लागि समान दृष्टिकोण तथा वैचारिकरूपमा नजिक रहेका दललाई एकताबद्ध गर्न उपाध्यक्ष डा बेदुराम भुसालको नेतृत्वमा कार्यदलसमेत गठन गरेको थियो ।

उक्त कार्यदलले नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीसँग एकताका लागि विभिन्न चरणमा वार्ता गरेको जनाइएको छ ।

आर्थिक समस्या समाधान गर्ने गरी बजेट तर्जुमा गर्न सुझाव

काठमाडौँ – प्रतिनिधिसभाका सांसदहरुले वर्तमानमा देखिएको आर्थिक समस्या समाधान गर्ने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिनुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलका क्रममा आज उहाँहरुले स्वदेशी उद्योगलाई महत्व दिएर बजेट बनाउनुपर्नेमा जोड दिनुभएको हो ।

सांसद डा चन्द्रकान्त राउतले मजदुरलाई केन्द्रमा राखेर विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तय गरिनुपर्नेमा जोड दिनुभयो । सामान्य मानिसलाई हेरेर उसको न्यूनतम् आवश्यकता पूरा गर्न सामथ्र्यवान् बनाउने गरी बजेट बनाउनुपर्नेमा उहाँको भनाइ छ ।

सांसद योगेशकुमार भट्टराईले राज्य संयन्त्र अर्थात् गृह मन्त्रालय नै मानव बेचबिखनमा लाग्नु चिन्ताको विषय भएको बताउनुभयो । अपराधको गम्भीरतालाई हेरेर नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही गरिनुपर्ने उहाँको माग छ । हिमाल र पहाडका जनसङ्ख्या घटेर काठमाडौँलगायत उपत्यका र तराईको जनसङ्ख्या बढिरहेकाले त्यसलाई सम्बोधन गर्ने गरी नीति निर्धारण एवं बजेट विनियोजन गरिनुपर्ने सांसद भट्टराईको विचार थियो ।

सांसद सर्वेन्द्रनाथ शुक्लले स्वदेशी उद्योगलाई संरक्षण गर्ने गरी आगामी बजेटमा प्राथमिकता दिनुपर्ने बताउनुभयो । चुन उद्योगका कच्चापदार्थ बाहिरबाट ल्याउने विषयमा अर्थ मन्त्रालय गम्भीर हुनुपर्ने उहाँको भनाइ छ ।

सांसद अरुणकुमार चौधरीले आर्थिक वृद्धिदर हुनेगरी उद्योग व्यवसाय प्रवद्र्धन गर्ने गरी आगामी वर्षको बजेट आउनुपर्ने बताउनुभयो ।

सांसद विनोदकुमार चौधरीले सुशासन र निजी क्षेत्रको प्रवद्र्धनलाई प्राथमिकता दिएर विनियोजन विधेयकका सिद्धान्त आएकाले बजेट पनि त्यसैअनुरुप आउने विश्वास व्यक्त गर्नुभयो । विद्युत् निर्यातमार्फत् व्यापार घाटा पूर्ति गर्ने नीति बजेटले लिनुपर्ने उहाँको विचार छ । बूढानीलकण्ठजस्ता विद्यालय सकेसम्म प्रत्येक जिल्लामा नभए एउटा प्रदेशमा एउटा खोल्ने गरी बजेट व्यवस्थापन गर्न पनि सांसद चौधरीले माग गर्नुभयो । आवासको हकका लागि तीनै तहका सरकारले फरक–फरक कार्यक्रम अघि सारेपनि आवासविहीनले आवास पाउन नसकेकाले एकीकृत रुपमा कार्यक्रम अघि लैजानुपर्नेमा उहाँको जोड थियो ।

सांसद माधव सापकोटाले विनियोजन विधेयकमा विपद्का विषय छुटेकाले त्यसलाई समावेश गर्न माग गर्नुभयो । नीतिभन्दा बढी नियत खराब, कानुनभन्दा कार्यान्वयनमा समस्या रहेको उहाँले भनाइ राख्नुभयो ।

सांसद डा तोसिमा कार्कीले बजेट सङ्कुचन हुने हल्ला चलेकाले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा कटौती गर्न नहुने माग गर्नुभयो । गाउँगाउँमा चिकित्सक लैजान २०४६ को जनशक्तिले नपुग्ने भएकाले बढाउनुपर्नेमा उहाँको जोड थियो । कूल बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रमा छुट्याउन पनि सांसद कार्कीले माग गर्नुभयो ।

पाँचतारे होटलमा गरिने कार्यक्रमको बजेट मन्त्रालयकै हलमा गरेर बचाएर सेवामूलक काम लगिनुपर्ने उहाँको भनाइ थियो । सांसद रामनाथ अधिकारीले आम्दानी र खर्चमा तालमेल नमिलेकाले अहिले देशमा आर्थिक समस्या देखिन थालेको बताउनुभयो । अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको हालसम्म १३ प्रतिशतले कम राजस्व सङ्कलन भएको उहाँको भनाइ छ ।

सांसद भीमप्रसाद आचार्यले डिजिटल प्रविधिमा गए भ्रष्टाचार कम हुने बताउनुहुँदै तीन महिनामा सबै विषयलाई डिजिट्लाइज्ड गर्ने गरी नीति तथा कार्यक्रम बजेट बनाइनुपर्ने भनाइ राख्नुभयो । रोजगार प्रवद्र्धन, पर्यटन, उत्पादन वृद्धि, कृषिमा आधुनिकीकरणलगायत माध्यमबाट देशको आर्थिक अवस्था सुधार गर्न सकिने उहाँको भनाइ थियो ।

सांसद नारायणी शर्माले राष्ट्रिय पुँजी निर्माण गर्ने गरी आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट बनाइनुपर्ने बताउनुभयो । शिक्षा र स्वास्थ्यमा बढी लगानी गरी बालबालिकाले आत्महत्या नगर्ने वातावरण निर्माण गर्न पनि उहाँले माग गर्नुभएको थियो ।

सांसद सोविता गौतमले राम्रा प्राध्यापक भए पनि नेपालका विश्वविद्यालयमा राम्रो अध्यापन नहुने गरेकाले धेरै विद्यार्थी विदेशिएकाले कसरी नेपालमै राख्ने भनी आगामी अर्थ नीति निर्माण हुनुपर्ने बताउनुभयो । उद्यमशीलता र लगानीलाई जोड्ने गरी आगामी वर्षको बजेट आउनुपर्ने उहाँको भनाइ थियो । दिगो विकास लक्ष्यका छलफल पाँच तारे होटलमा हुने र यस विषयमा स्थानीय तहलाई थाहा नहुने अवस्थाको अन्त्य गरिनुपर्ने सांसद गौतमको विचार थियो ।

गण्डकीमा कुन दललाई कति मन्त्रालय ?

गण्डकी – गण्डकी प्रदेश सरकारमा कुन दलले कति मन्त्रालय पाउनेबारे गठबन्धनमा सहमति जुटेको छ । प्रमुख सत्ता घटक नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित चार, नेकपा (माओवादी केन्द्र)ले दुई र नेकपा (एकीकृत समाजवादी)ले एक मन्त्रालाय पाउने भएको हो ।

कांग्रेसको प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेका अनुसार मन्त्रालयगत बाँडफाँट भने अझै टुङ्गिन बाँकी छ । “कुन दलले कुन मन्त्रालय लिने भन्ने विषयमा गठबन्धनमा गृहकार्य भइरहेको छ”, उहाँले भन्नुभयो, “केही दिनमै मुख्यमन्त्रीज्यूले सरकारलाई पूर्णता दिनुहुन्छ ।”

मन्त्रालयको बाँडफाँट मिलेपछि दलहरुले मन्त्रीको नाम टुङ्ग्याउने प्रमुख सचेतक न्यौपानेले बताउनुभयो । “केन्द्रीय गठबन्धनसँग पनि जोडिएको विषय भएकाले नेकपा एसलाई कुन मन्त्रालय दिने भन्ने विषयमा माथि नै सहमति बन्छ”, उहाँले भन्नुभयो ।

प्रदेशसभामा राजीव गुरुङ नेकपा (एस)का एक्लो सदस्य हुनुहुन्छ । मनाङ–१ (२) बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित हुनुभएका उहाँ पछि नेकपा एसमा प्रवेश गर्नुभएको थियो । प्रदेशसभामा सत्तारुढ दलतर्फ सबैभन्दा बढी कांग्रेसका २७ र माओवादी केन्द्रका सात (सभामुखबाहेक) प्रदेशसभा सदस्य छन् ।

माओवादी केन्द्रको गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले आफूहरुले तीन मन्त्रालयमा दाबी गर्दै आए पनि दुई मन्त्रालय पाउने सहमति बनेको बताउनुभयो । “कांग्रेस र माओवादी केन्द्रबीच सहमति भइसकेको छ, नेकपा एसको विषयमा मुख्यमन्त्रीज्यूले नै मिलाउनुहुन्छ”, उहाँले भन्नुभयो ।

पूर्वमन्त्रीसमेत रहनुभएका नेता चुमानले माओवादी केन्द्रले भौतिक पूर्वाधार विकास र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय पाउने सम्भावना रहेको उल्लेख गर्नुभयो । “अब माओवादीका कारण मन्त्रिपरिषद् विस्तार रोकिन्न, बरु कांग्रेसभित्रै मन्त्रीका आकांक्षीलाई मिलाउन समय लाग्न सक्छ”, उहाँले भन्नुभयो ।

निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारमा पनि माओवादीले दुई मन्त्रालय पाएको थियो । सोही सरकारले मन्त्रालयको सङ्ख्या १२ बाट घटाएर सातमा पु¥याएको थियो । नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि मन्त्रालयको सङ्ख्या नथप्ने प्रतिबद्धता जनाइसक्नुभएको छ । यही वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका उहाँले गत २१ गते प्रदेशसभाबाट विश्वासको मत पाउनुभएको थियो । विश्वासको मत पाएसँगै उहाँ मन्त्रिपरिषद् विस्तारको तयारीमा जुट्नुभएको छ ।

हाल मन्त्रिपरिषद्मा मुख्यमन्त्री पाण्डेसहित बिनाविभागीय मन्त्रीका रुपमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य सुशीला सिम्खडा र कांग्रेसका सरस्वती अर्याल तिवारी रहनुभएको छ । मन्त्रिपरिषद्को पूर्णतापछि सरकारका कामकारबाहीले गति दिने सरकारका प्रवक्ता एवं बिनाविभागीय मन्त्री तिवारीले बताउनुभयो ।

पछिल्लो चार वर्षमा पाँच सय १८ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

काठमाडौँ / पछिल्लो चार वर्षमा पाँच सय १८ गर्भवती तथा सुत्केरीेको उद्धार भएको छ । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यक्रम सुरु भएदेखि हालसम्म सो सङ्ख्यामा उद्धार भएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ । 

मन्त्रालयबाट कार्यान्वयन भइरहेको राष्ट्रपति महिला सशक्तीकरण परियोजनाअन्तर्गतको राष्ट्रपति महिला उत्थान समन्वय एकाइ प्रमुख नीता शर्माले १८ जिल्लाबाट पूर्ण र २९ जिल्लामा आशिंकरूपमा सञ्चालन रहेको जानकारी दिनुभयो । 

आर्थिक वर्ष २०७५/०७६ बाट सुरु भएको उक्त कार्यक्रम प्रसव समस्या न्यूनीकरण गरी मातृ शिशु मृत्युदर कम गर्ने उद्देश्यका साथ सुरु गरिएको थियो । उक्त आर्थिक वर्षमा २६ जना महिलाको उद्धार गरिएको थियो । आर्थिक वर्ष २०७६/०७७ मा ८७, २०७७/०७८ मा एक सय तीन, २०७८/०७९ मा एक सय ६९ र २०७९/०८० मा हालसम्म एक सय ३३ गरी जम्मा पाँच सय १८ महिलाको राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट निःशुल्क हवाई उद्धार सेवा प्रदान गरिएको एकाइ प्रमुख शर्माले जानकारी दिनुभयो । 

“प्रभावित क्षेत्रबाट मन्त्रालयलाई सम्पर्क गरेको आधारमा उद्धारको कामको प्रक्रिया अगाडि बढाइएको छ । सम्बन्धित स्वास्थ्य संस्थामा गएको व्यक्तिको उपचार सम्भव नभएको खण्डमा उक्त संस्थाबाट मन्त्रालयलाई महिलाको ज्यान जोखिम छ भनी गरिएको सूचनाको आधारमा प्रक्रिया सुरु गरिन्छ”, उहाँले भन्नुभयो । 

उपचार सम्भव नभएमा उक्त स्वास्थ्य संस्थाले रेफर कार्डसहित सम्बन्धित गाउँपालिका, जिल्ला प्रशासन कार्यलयलाई सूचना प्रदान गर्ने उहाँले बताउनुभयो । “उपचार सम्भव नभएको स्वास्थ्य संस्थाबाट मन्त्रालयलाई इमेल गरी पत्राचार गर्नुहुन्छ । तुरुन्त पत्र पठाउन सम्भव नभएमा बिरामीको नाम, अवस्था, उमेर ठेगाना फोनबाट उपलब्ध गराएको विवरणका आधारमा प्रक्रिया सुरु गर्छौं”,  उहाँले भन्नुभयो ।

दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लािग हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७७  मा तोकिएका क्षेत्रबाट मन्त्रालयले निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन गरेको छ ।  

“मन्त्रालयको निर्देशनमा नेपाली सेनालाई हेलिकप्टर उडानका लागि तयारी अवस्थामा रहन जानकारी गराउँछाँै । थप विवरण प्राप्त भएको सूचना प्राप्त भएसँगै तुरुन्त उडान हुन्छ । यसरी सूचना प्राप्त भएको आधा घण्टादेखि ४५ मिनेटसम्म हेलिकप्टर उडान गरिसकेका हुन्छाँै । प्रतिकूल मौसमको समयमा तोकिएको समयमा उडान हुन नसक्नु अपवाद मात्र हो”, उहाँले बताउनुभयो । 

मन्त्रालयले आमासुरक्षा कार्यक्रम लागू भएका तीनवटा अस्पतालसँग सम्झौता गरेको छ । काठमाडौँमा  थापाथली प्रसूतिगृह, पूर्वमा कोशी अस्पताल, विराटनगर र पश्चिममा प्रादेशिक सुर्खेत अस्पताल रहेका छन् । ती अस्पतालबाट निःशुल्क उपचार गरिन्छ ।  

“बिरामीको अवस्थाअनुसार पायक पर्ने अस्पतालमा पुर्याउँदै आएका छौँ । पूर्वतर्फ वर्षाको समयमा मात्र सेनाको हेलिकप्टर रहनाले अन्य समयमा थापाथली ल्याउने गरेका छौँ । काठमाडौँबाट पठाएको हेलिकप्टर कोशी अस्पतालभन्दा थापाथलीमा सहज हुनाले थापाथलीमै ल्याउने गरिएको छ”, एकाइ प्रमुख शर्माको भनाइ छ । 

उद्धार गरिएका महिलाको सम्बन्धित अस्पतालमा निःशुल्क उपचारपश्चात् कार्यविधिबमोजिम ज्यान जोखिममा परेकी महिलाको सुत्केरी पोषण स्याहार तथा यातायात सहयोगका लागि एकमुष्ट खर्च रु २० हजार उपलब्ध गराउने गरेको उहाँले जानकारी दिनुभयो । 

    “आमा सुरक्षा कार्यक्रम लागूभएका अस्पतालसँग सम्झौता गरेकाले प्रसूतिसम्बन्धी समस्या समाधान हुनाले सम्बन्धित अस्पतालमा नै उपचार गर्दै आएका छाँै । यसप्रति खासै गुनासो आएको छैन”, उहाँले भन्नुभयो । 

मन्त्रालयले प्रसूतिसँग सम्बन्धित उपचारमा सेवा गर्ने प्रावधान रहेकाले अन्य रोग देखापरेका बिरामीको खण्डमा सम्बन्धित व्यक्तिले आवश्यक अस्पतालमा उपचार गराउने गरेको शर्माले जानकारी दिनुभयो । कार्यविधिबमोजिम तोकिएका क्षेत्रमा गरिएको पूर्णरूपमा १८ वटा जिल्ला ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, मनाङ, मुस्ताङ, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, डोल्पा, कालिकोट, मुगु, हुम्ला, बाजुरा, अछाम र दाचुर्लामा तथा आशिंक २९ जिल्लामा सञ्चालित छन् । 

दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार राष्ट्रको प्राथमिकताको कार्यक्रम रहेकाले प्रभावकारी रहेको एकाइ प्रमुख शर्माले बताउनुभयो ।