`

नक्कली शरणार्थीकाे फाइल अगाडि बढाउन नमान्ने सुब्बालाई दुर्गममा सरुवा

काठमाडौं – नक्कली शरणार्थी खडा गर्ने फाइल अगाडि बढाउन नमानेको झोकमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणले एक नायब सुब्बालाई दुर्गममा सरुवा गरिदिएको खुलासा भएको छ ।

भुटानी शरणार्थीसम्बन्धी समितिअन्तर्गत झापामा रहेको एक इकाइ प्रमुख रहेका ती कर्मचारीलाई खाँणले सरुवा गरी ताप्लेजुङ पठाइदिएका थिए । 
त्यो समितिमा विभिन्न दातृ निकायका कर्मचारी र गृह मन्त्रालयले खटाएका कर्मचारीले संयुक्तरूपमा शरणार्थी ‘भेरिफिकेसन’को काम गर्दै आएका थिए ।

‘तपाईंले सहयोग गर्नुभएन भन्दै ती कर्मचारीलाई ९खाँणले० सरुवा गरिदिनुभएको थियो,’ गृहस्रोतले  भन्यो ।

नक्कली शरणार्थी खडा गरी अमेरिका पठाउने भनी चलेको ठगी धन्दामा संलग्न भएको आरोपमा खाँण बुधवार पक्राउ परेका छन् । उनलाई ३ दिनको म्याद लिएर प्रहरीले हिरासतमा राखेको छ । 

अदालतले दिएको म्याद आज ९शुक्रवार० सकिए पनि भोलि शनिवार परेकाले खाँण हिरासतमै रहनेछन् । उनलाई म्याद थपका लागि आइतवार पुनः जिल्ला अदालत काठमाडौंमा लगिने छ । खाँणसँगै उनका निजी सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । 
खाँणले गिरोहका सदस्यसँग मनी ट्रान्सफरमार्फत पैसा बुझेको प्रमाण फेला परेको प्रहरी स्रोतले जनाएको छ । गिरोहका सदस्यहरूसँगको ‘कल डिटेल्स’, च्याट आदिलाई पनि प्रमाणका रूपमा लिइएको छ ।

यस प्रकरणमा अहिलेसम्म १२ जना पक्राउ परेका छन् । खाँणका अलावा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजीत राई, केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, सन्देश शर्मा पोखरेल, टेकनारायण पाण्डे र सन्दीप रायमाझीलगायत प्रहरी हिरासतमा छन् ।

अहिलेसम्म उनीहरूविरुद्ध २० वटा जाहेरी परेको छ । प्रहरीका अनुसार १५४ जना पीडित सम्पर्कमा आएका छन् । हालसम्म पीडितले दिएको विवरण हेर्दा २३ करोड बराबर बिगो कायम हुनसक्ने देखिएको छ ।

अपराध अनुसन्धान कार्यालयका अनुसार यस प्रकरणमा २०७९ जेठ १८ गते रामकुमार रेग्मी र गजेन्द्र बुढाथोकीले पहिलो उजुरी दिएका थिए । अन्य जाहेरी पछि मात्र थपिएका हुन् ।

बेलकोटगढीमा ठेगदारको दादागिरी ,जिल्ला अनुगमनसँग नगरपालिकाले माग्यो गुहार

काठमाडाैं – बेलकोटगढी वडा नं. १३ को सिंगारे खोलामा भएको दोहनको मुद्दा जिल्ला समन्वय समिति अन्तर्गतको अनुगमन समितिमा पुगेको छ ।

ठेगेदार रामबाबु जिसीले सिंगारे खोला तथा जंगलमा अवैधरुपमा करोडौं मूल्य बराबरको ढुंगा गिट्टी उत्खनन गरी आफुले १६ करोड रुपैंयामा ठेक्का पाएको बाराही शक्ति मा.वि. बडारेको निर्माणाधीन सडकमा प्रयोग गर्दै आइरहेका छन् । राज्यसँगको करोडौंको ठेक्का पाएका जिसीले स्थानीय स्रोतहरुको दोहन गरी सित्तैमा सामाग्री प्रयोग गर्दा पनि हालसम्म कुनै कारबाही हुन सकिरहेको छैन ।

जिसीको अवैध दोहनका विरुद्घ नगरपालिकामा उजुरी परे पछि यस अघि जिल्ला प्रशासनसहितको टोलीले अवैध उत्खनन् गरेको क्षेत्र अवलोकन गरी करोडौं मुल्यको ढुंगा तथा गिट्टी निकालिएको पहिचान गरेको थियो । अनुगमनका क्रममा जिसीका पेट्टी ठेगेदारले समेत अवैध दोहन स्विकार गरी मुचुल्कामा सहीछाप गरेका थिए ।

जिल्लाको टोलीले गरेको अनुगमन पछि नगरपालिलाई कारबाहीको लागि पत्राचार भए पनि नगरपालिका भित्रका कमाउ धन्दामा लागेकाहरुले कारबाही गर्न रोकसँगै नगरपालिकाले जिल्ला अनुगमनसमितिसँग गुहार मागेको हो ।

यसैबीच नगरपालिकाले कारबाहीको लागि जिल्ला अनुगमनलाई पचात्रार गरेपछि जिसीका पेट्टी ठेगेदार राजन लामालले नगरपालिकालाई आफुले दोहन गरेको स्विकार गर्दै कर तिर्न तयार भएको जवाफ नगरपालिकालाई दिएका छन् ।

नगरपालिकाले अनुगमन समितिलाई ताकेता गर्दै जिसीले चोरी पैठारी गरेको ढुंगा उत्खनन्को बिगो एकिन गर्न पत्र काटेसँगै जिसीले आफ्ना कामदार मार्फत ढिलो गरी जवाफ पठाएका हुन् । जवाफमा लामाले आफु विरामी भएर जवाफ पठाउन नसकेको भन्दै आफुहरुले अवैध ढँगले खानी संचालन तथा दोहन गरेको स्विकार गरी जवाफ पठाएको नगरपालिका निकट स्रोतले बतायो ।

स्थानीय जंगल तथा खोला भएको क्षेत्रलाई लामाले आफुले भाडामा लिएर चलाएको भन्दै जवाफ पठाएको नगरपालिकाका निकट स्रोतले बतायो । नगरपालिकाका प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितले कुनै पनि हालतमा जिसीले गरेको दोहनको कार्बाही अब राजश्व मात्र हुन नसक्ने बताए । बिगोको एकिन मुल्यांकन होस् र कडाभन्दा कडा कारबाही गर्न सकियोस्, पारदर्शी ढँगले पेटी ठेगेदार मात्र हैन अवैध खानी संचालनको मुख्य नाइकै माथि नै कारबाही गर्न सजिलो होस् भनेर आफुहरुले नदी जन्य तथा खानी जन्य पदार्थ जिल्ला अनुगमन समितिलाई पत्र काटेको उनले बताए ।

‘यो ठुलो किसिमको दोहन हो, त्यही भएर यो नगरको मात्र चासोको विषय रहेन, राजश्व मात्रले यस्को निरुपढ हुँदैन जिल्लाका सबै समयन्त्रले मिलेर कारबाही गर्नु पर्ने अवस्था बन्यो’ प्रमुख प्रशासकीय अधिकृत पण्डितले भने ।

नगरपालिकाले जिसीलाई कारबाहीको दायरामा ल्याउन पहल गरिरहँदा उता जिसी भने अर्को अवैध खानी संचालनमा जुटेका छन् । स्थानीयहरुका अनुसार जिसीले बेलकोटगढी १३ शक्ति मा.वि. भन्ज्याङमा ग्रावेल निकालेर अर्को दोहन सुरु गरेका हुन् ।

यसै बीच बेलकोटगढी १३ का वडा अध्यक्षले वडाभित्र चलिरहेका अवैध खानी तकाल बन्द गर्न निर्देसन समेत दिएका छन् । वडा अध्यक्ष नवराज पाण्डेले भने तत्काल अवैध खानी बन्द नगरीए जस्तोसुँकै कडा कार्बाही गर्न आफुहरु बाध्य हुने उनले बताए ।

अवैध उत्खनन् रोक्न चौतर्फी दबाबमा परेका ठेगेदार जिसी भने यत्तिखेर स्थानीयहरुलाई दोहन गर्न नपाए बाटो नै बन्दैन भन्दै धम्काइ रहेका छन् । तपाइहरुकै बाटो हो मेरो त के विग्रिन्छ र बाटो बनाउने भए चुप लाग्नुहोस्, हल्ला नगर्नुहोस् भन्दै जिसीले स्थानीयहरुलाई उचालिरहेका छन्, जनप्रतिनीधिहरु पनि मुक दर्शक भए, स्थानीयहरुले बताए ।

यता स्थानीयले जिसी र नगरपालिकाका केही जनप्रतिनीधिहरुको मिलोमत्तोको भण्डाफोर गर्न सार्वजनिक सुनुवाईको माग गरेका छन् । प्रमाणसहित सार्वजनिक सुनुवाई गरी अवैध खानी संचालनमार्फत मुनाफा गर्नेहरुलाई कालोमोसो दल्ने तयारी भइरहेको उनीहरुले बताए ।

रकम अभाव भो भन्दै नगरपालिकाले अहिलेसम्म हिउँदे अधिवेशनसमेत नगरेकोमा उनीहरुले आक्रोश पोखे । ‘यता ठेगेदारसँग मिलेर कमाउ धन्दा चलाउने, उता राजश्व नउठ्ने काम गरी दोहनकारीलाई साथ दिने मतियारहरुलाई हामी भूमिगत शैलीमा कुनैपनि समय कालोमोसो दल्ने छौ’ उनीहरुले भने ।

टोपबहादुरको पत्र बुझाउने व्यक्तिको खोजी गर्दै सीआईबी : संसद्‍ सचिवालयको सीसीटीभी फुटेज लगियाे

काठमाडौं – टोपबहादुर रायमाझीको पत्र बुझाउन आउने व्यक्तिको खोजी गर्न केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले संघीय संसद सचिवालय सिंहदरबारको सीसीटिभी फुटेज लगेको छ।

सीआईबीले शुक्रबार फुटेज लगेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयाे।  नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि  पूर्वमन्त्री तथा सांसद टोपबहादुर फरार छन्।

फरार रहेकै बेला उनको तर्फबाट संघीय संसदलाई आफू बिरामी भएको भन्दै टोपबहादुर पत्र पठाएका थिए । टोपबहादुरको पत्र लिएर संसद सचिवालय पुग्ने व्यक्तिको खोजी गर्न सीसीटीभी फुटेज लगिएको सीआईबीले जनाएको छ।

पत्र बुझाउने व्यक्तिको पहिचान भएको अवस्थामा उनीमार्फत टोपबहादुरसम्म पुग्न सकिने आँकलन गर्दै सीआईबीले सीसीटीभी फुटेज लगेको हो। 

यो ठगी प्रकरणमा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १२ जना व्यक्ति पक्राउ परेका छन् ।  पक्राउ पूर्जी जारी भएका केही व्यक्ति भने अहिलेसम्म फरार छन्। 

गण्डकीका नवनियुक्त मन्त्रीले लिए शपथ

पोखरा – गण्डकी प्रदेश सरकारमा नवनियुक्त ४ मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्रबहादुर थापा र तनहुँका जीतप्रकाश आलेलाई तथा माओवादीबाट रेशमबहादुर जुग्जालीलाई मन्त्री नियुक्त गरेका थिए ।

उनीहरुलाई गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनियताको शपथ गराएका हुन् ।

महेन्द्रध्वज जिसी कृषि मन्त्री बनेका छन् भने रेशमबहादुर जुग्जाली भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । यस्तै, जितप्रकाशलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । दिपेन्द्रबहादुर थापा उद्योग, पर्यटन तथा वन मन्त्री बनेका छन् ।

वैशाख ९ गते एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट गत वैशाख १४ गते पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

एमालेको केन्द्रीय समिति बैठक : सबै प्रदेशले मिसन ग्रासरुट अभियानको समीक्षा प्रतिवेदन पेश

काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटीको दोश्रो दिन सबै प्रदेशले मिसन ग्रासरुट अभियानको समीक्षा प्रतिवेदन पेश गरेका छन् ।

शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकमा बागमती, पेशागत, सम्पर्क समन्वय, गण्डकी प्रदेशका तर्फबाट मिसन ग्रासरुट अभियानको समीक्षा प्रतिवेदन पेश गरिएको हो । यसअघि बिहीबार सुदूरपश्चिम, कर्णाली, कोशी प्रदेशको रिपोर्ट पेश गरिएको थियो ।

बैठकमा पेश भएको विभिन्न प्रतिवेदनमाथि आठ वटा समूह बनाएर छलफल भएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । बैठकको तेश्रो दिन शनिबार पार्टीको स्थायी कमिटी बैठक बसेर पार्टीको वार्षिक कार्ययोजनाको प्रस्ताव तयार गर्ने र त्यसपछि बस्ने केन्द्रीय कमिटी बैठकमा पेश हुने रिजालले बताउनुभयो । एमालेलाई पहिलो शक्तिमा रुपन्तरण गर्ने गरी पार्टीले वार्षिक कार्यक्रम बनाएर अघि बढ्ने उहाँले बताउनुभयो ।

बैठकमा केन्द्रीय सदस्यहरूले राखेका सुझावहरूलाई अङ्गीकार गरेर अघि बढ्ने उल्लेख गर्नुभयो ।

सङ्घीय शिक्षा ऐन लागू गर्न माग गर्दै काठमाडौँमा शिक्षक महासङ्घको प्रदर्शन

काठमाडौँ – सङ्घीय शिक्षा ऐन लागू गर्न माग गर्दै नेपाल शिक्षक महासङ्घले काठमाडौँमा प्रदर्शन गरेका छन् ।

शुक्रबार काठमाडौँको माइतीघर तत्काल सङ्घीय शिक्षा ऐन लागू गर्नुपर्ने, बजेटमार्फत शिक्षा क्षेत्रका समस्या समाधान गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शन गरेका हुन् ।

उनीहरूले विद्यालय कर्मचारीको तलवमान कायम गर्नुपर्ने, ६० वर्ष पुगेका विद्यालय कर्मचारीलाई सम्मानजनक बिदाइ गर्नुपर्ने, बाल कक्षा शिक्षक ९ईसीडी० लाई दरबन्दी कायम गरी तलब भत्ता उपलब्ध गराउनु पर्ने माग पनि राखेका छन् ।

त्यस्तै उनीहरूले यसअघि महासङ्घसँग सरकारले गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने प्रदर्शनका सहभागीहरूले जनाएका छन् ।

आफ्ना मागहरू पुरा नभए निरन्तर प्रदर्शन गरिरहने उनीहरूले जनाएका छन् ।

संसदीय दलको नेता चयन पश्चात जसपा सरकारमा सहभागी हुने

काठमाडौँ – संसदीय दलको नेता चयन पश्चात जनता समाजवादी पार्टी, नेपाल सरकारमा सहभागी हुने भएको छ ।

सरकारमा सहभागी हुनु पूर्व संसदीय दलको नेता चयन गर्नुपर्ने कुरा उठेपछि बुधबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संसदीय दलको नेता चयनका लागि समिति गठन गरेको छ ।

समितिमा मिथिलेशकुमार सिंह, अर्जुन थापा र दीपेन्द्र झा रहेका छन् । तत्कालीन संसदीय दलको नेता रहेका रामसहयायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि जसपाको संसदीय दलको नेताको पद रिक्त रहेको छ ।

जसपाले विधानको व्यवस्था बमोजिम निर्वाचन प्रक्रियाबाटै संसदीय दलको नेता छान्ने गर्दछ ।

स्थानीय तहका जनप्रतिनिधिलाई एमालेले प्रशिक्षण दिने

काठमाडौं – नेकपा (एमाले)ले पार्टीका तर्फबाट स्थानीय तहका जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने भएको छ।

आगमी जेठ १२ र १३ गते काठमाडौं स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षलाई प्रशिक्षण दिन लागिएको एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘स्थानीय तहमा बजेट बनाउने बेला भएको छ। बजेट बनाउनुअघि पार्टीका तर्फबाट सल्लाह, सुझाव र निर्देशन दिन कार्यशाला गर्न लागिएको हो।’

युवा जनसङ्ख्याले देशको आर्थिक गतिविधि विस्तार गर्नुपर्छ : अर्थमन्त्री डा महत

काठमाडौँ – अर्थमन्त्री डा प्रकाशशरण महतले दिगो विकासको लक्ष्य हासिल गर्न पर्याप्त वित्तीय लगानी गरी पूर्वाधारको खाडल पुर्नुपर्ने, जलवायु परिवर्तनका चुनौतिलाई सम्बोधन गर्नुपर्ने एवम् समावेशी, फराकिलो र दिगो आर्थिक वृद्धि हासिल गर्नुपर्ने बताउनुभएको छ । उहाँले देशमा लगानी योग्य कोषको प्रवाह कसरी बढाउने भन्नेमा समन्वय र व्यवस्थित छलफल आवश्यक रहेको बताउनुभयो ।

लगानी बोर्ड नेपालको आयोजनामा नेपालमा लगानीका लागि अन्तर्राष्ट्रिय सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा महतले भन्नुभयो, “हाम्रो मासिक रेमिट्यान्स प्रवाह करिब ८० अर्ब र विदेशी विनिमय सञ्चिति १० दशमलव ९ अर्ब डलर रहेकामा उक्त रकमबाट नौ महिनाभन्दा बढीको व्यापारिक वस्तु र सेवा आयात गर्न पर्याप्त छ ।”

नेपाल विश्व व्यापार सङ्गठनका सदस्य रहेको र तीन दशकभन्दा बढी समयदेखि उदार आर्थिक नीतिहरू अपनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी हाम्रो मुद्रा भारतीय रुपैयाँसँग स्थिर गरिएको छ तर बाँकी परिवर्तनीय मुद्राहरूको विनिमय दर बजारले निर्धारण गर्छ । नेपालले स्थायित्व र लचिलोपनमा पर्याप्त ध्यान दिएर आफ्नो बृहत् अर्थतन्त्रको व्यवस्थापन गरिरहेको छ ।”

नेपालको सकारात्मक बृहत् आर्थिक अवस्थालाई विश्व समुदायलाई पर्याप्त रूपमा सम्प्रेषण गर्न सकेका छौँ या छैनौँ भन्ने आफ्नो पहिलो चासो रहेको जनाउँदै अर्थमन्त्री डा महतले नेपालले इतिहासमा न त ऋण चुक्ता गर्न असफल भएको छ, न त कुनै अन्तर्राष्ट्रिय कम्पनीलाई नाफा फिर्ता गर्ने सुविधाबाट वञ्चित गरेको छ भन्नुभयो । “हाम्रो ऋण तिर्ने क्षमता इतिहासदेखिनै अत्यन्तै सकारात्मक छ । हामीले यसलाई अन्तर्राष्ट्रिय वित्तीय बजारमा उजागर गर्न आवश्यक छ”, मन्त्री डा महतले भन्नुभयो ।

ऋण र कूल ग्रायस्थ उत्पादन (जिडिपी) अनुपात दिगो रहने गरी काम गर्नुपर्नेमा जोड दिँदै उहाँले सहज स्थितिमा बाह्य ऋण दायित्वले नेपाललाई कुनै तनावको स्थिति नभएको बताउनुभयो । मन्त्री डा महतले भन्नुभयो, “नेपालको अर्को सकारात्मक पक्ष भनेको उच्च सम्भावित जनसाङ्ख्यकीय लाभांश भएको युवा जनसङ्ख्या र कोभिडपछि हामीले देखेको डिजिटल परिवर्तन हो । नेपालको औसत उमेर २६ वर्ष मुनिको छ र राष्ट्रिय योजना आयोगले सन् २०५० सम्म देशमा जनसाङ्ख्यिक लाभांश कायम रहने प्रक्षेपण गरेको छ । हामीसँग अझै पनि पर्याप्त युवा जनसङ्ख्या हुनेछ, जसले आगामी दिनको लागि देशको आर्थिक गतिविधिलाई सहयोग गर्नेछ ।”

उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्नु हाम्रा लागि चुनौती भएको जनाउँदै उहाँले अहिले हामीले यो शक्तिलाई पूर्ण रूपमा पुँजीकरण गर्न नसकेको बताउनुभयो । अर्थमन्त्री डा महतले भन्नुभयो, “हामीसँग ३० लाखभन्दा बढी वैदेशिक रोजगारीमा रहेका आप्रवासी कामदार छन्, यसले कुनै न कुनै रूपमा रेमिट्यान्सको रूपमा हाम्रो अर्थतन्त्रलाई टेवा पु¥याइरहेका छन्, जसलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न पनि पर्याप्त रूपमा प्रयोग गर्न सकेका छैनौँ ।”

एमालेको केन्द्रीय समिति बैठक : संघीय प्रणाली खारेज गर्न माग

काठमाडौं – ​​​​​​​नेकपा एमालेका दुई प्रभावशाली केन्द्रीय सदस्यले संघीय प्रणाली देशहितमा नभएको भन्दै पुनरावलोकन गर्नुपर्ने मत अघि सारेका छन् ।

एमालेको केन्द्रीय समिति बैठकमा दुई प्रभावशाली केन्द्रीय सदस्यद्वय गोकुल बास्कोटा र महेश बस्नेतले संघीयतासम्बन्धी पार्टीको नीति पुनरावलोकन गर्नुपर्ने मत अघि सारेका हुन् । केन्द्रीय सदस्यद्वयले संघीय प्रणाली देशहितमा नभएको भन्दै पार्टीले अब नयाँ दृष्टिकोण बनाएर जानुपर्नेमा जोड दिए ।

सामाजिक सञ्जालमा बारम्बार संघीयता खारेजीको आवाज उठाइरहेका बास्कोटाले पार्टीमा भने पहिलोचोटि जोडदाररुपमा उक्त कुरा  उठाएका हुन् । जनमानसमा नै संघीयताप्रति वितृष्णा उब्जिएकाले पार्टीले अब संघीयताको विपक्षमा आफूलाई उभ्याउनुपर्ने उनको तर्क  थियो ।

अर्का नेता बस्नेतले पनि जनभावनालाई बुझेर पार्टीले आफ्नो दृष्टिकोण सच्याउनुपर्ने बेला आएको बताए । संघीयताले देशको व्ययभार बढाएको तर उपलब्धी केही नदिएको उनको भनाइ थियो ।

पछिल्लो समय संघीयता विरोधि अभिमत बलियो बन्दै गइरहेको अवस्थामा थुप्रै नेताहरुले संघीयता नेपालका लागि हितकर नभएको धारणा राख्नेका छन् ।

शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउन राप्रपाको माग

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सामु माग गरेका छन् ।
शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनलगायतका नेताहरु सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।

लिङ्गदेनले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘ राष्ट्रिय प्रजातन्त्र पार्टी यस प्रकरणलाई कुनै पनि कुनै पनि बाहानामा लम्ब्याएर अलपत्र पार्ने कोशिसको विरुद्धमा छ।तसर्थ अहिलेको छानबिन कार्यलाई निरन्तरता दिँदै नेपाल प्रहरीलाई स्वतन्त्र, निष्पक्ष र दवावरहित वातावरणमा काम गर्न दिन र जोसुकैलाई कारबाहीको दायरामा ल्याउन राष्ट्रिय प्रजातन्त्र पार्टी जोडदार माग गर्दछ।’

पार्टीले छानबिनमा दोषीलाई उम्‍काउन खोज्‍ने कुनै पनि योजना र चलखेलविरुद्ध सदन र सडकबाट आन्दोलन गर्न पछि नहट्‍ने बताएको छ ।

विगतका ठुल्ठूला भ्रष्टाचार काण्डका फाइलहरु खोल्न र २०४६ पछिका सबै उच्च पदस्थ नेता कर्मचारीको सम्पत्ति छानबिन गर्नसमेत राप्रपाले माग गरेको छ ।

गण्डकीमा मन्त्रिपरिषद् विस्तार,आजै शपथ गराउने तयारी

काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । पाण्डेले बिहीबार चारजना मन्त्री नियुक्त गर्दै गण्डकी प्रदेश मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

महेन्द्रध्वज जिसी, दिपेन्द्रबहादुर थापा, राजीव गुरुङ (दीपक मनाङे० र रेशमबहादुर जुग्जाली मन्त्रीमा नियुक्त भएका हुन् । जिसी र थापा कांग्रेसबाट, मनाङे एकीकृत समाजवादीबाट र जुग्जाली माओवादीबाट मन्त्री बनेका हुन् । यद्यपि, उनीहरुको मन्त्रालय भने सार्वजनिक गरिएको छैन ।

उनीहरुलाई आजै अपरान्ह ४ बजे शपथ गराउने तयारी भएको छ । सोही बेला मन्त्रालय पनि टुंग्याइने छ । योसँगै गण्डकी सरकारमा कांग्रेसबाट २, माओवादी केन्द्रबाट २ र एकीकृत समाजवादीबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद् बनेको छ ।

विदेशी लगानीप्रतिको धारणा सकारात्मक बनाउनु आवश्यक : विज्ञ

काठमाडौँ – नेपालमा विदेशी लगानी भित्र्याउने विषयमा सरकारको धारणा स्पष्ट हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

लगानी बोर्डको कार्यालय र स्ट्यान्डर्ड चार्टर्ड बैंकको आयोजनमा काठमाडौँमा सुरु भएको ‘नेपालका लागि वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, २०२३’को पहिलो सत्र ‘वित्तीय स्रोतको परिचालन र प्रत्यक्ष विदेशी लगानी’मा बोल्ने विज्ञले सरकारले लगानी भित्र्याउनका लागि नीतिगत सुधारका साथै सरकारको सकारात्मक धारणा बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठले नेपालमा लगानी ल्याउनका लागि आवश्यक नीतिगत सुधार, सरकार तथा कर्मचारीतन्त्रमा खुला तथा उदार सोचका साथै नेपालमा लगानीका क्षेत्रसम्बन्धी प्रचारप्रसार आवश्यक रहेको बताउनुभयो ।

उहाँले नेपालको अर्थतन्त्र मुद्रास्फीतिलगायतका समस्याका बाबजुद पनि स्थिर रहेको अर्थतन्त्रमा कैयन समस्या हुँदा पनि अहिलेसम्म टाट पल्टने अवस्था नआएको भनाइ व्यक्त गर्नुभयो ।

नेपालको विकासका लागि ठूलो मात्रामा लगानी आवश्यक रहेको भन्दै उहाँले आन्तरिक स्रोत पर्याप्त नभएको उल्लेख गर्नुभयो । “हामीसँग विकासका लागि पर्याप्त आन्तरिक स्रोत नभएको अवस्थामा विदेशी लगानी आवश्यक छ”, उहाँले भन्नुभयो, “यसका लागि ग्रीन फाइनान्सिङ, प्रत्यक्ष विदेशी लगानी तथा ब्लेन्डेड फाइनान्समार्फत लगानी ल्याउन सक्नुपर्छ ।”

श्रेष्ठले नेपालको जलविद्युत्, पर्यटनलगायतका क्षेत्रमा लगानी आवश्यक रहेको भनाइ राख्नुभयो । उनले विदेशी लगानी ल्याउनका लागि सहज वातावरण निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो । “नीतिगत सुधार रातारात हुँदैन, तर अहिलेदेखि नै सुधार गर्नुपर्छ”, उहाँले भन्नुभयो, “अहिलेको आवश्यकता विदेशी लगानी ल्याउनमा केन्द्रित हुनुभन्दा पनि धान्न सक्ने क्षमता बढाउनुपर्नेमा हुनुपर्छ ।”

इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिजका कार्यकारी निर्देशक डा विश्वास गौचनले नेपालमा ‘कस्ट अफ डुइङ’ उच्च भएकाले लगानी ल्याउन नसकिएको बताउनुभयो । “नेपालमा श्रमिकको पारिश्रमिक र कस्ट अफ डुइङ अन्य देशको तुलनामा बढी छ, विदेशी लगानी ल्याउनका लागि यस्ता क्षेत्रमा सुधार आवश्यक छ ।”

उहाँले चीन र भारतसँग उत्पादन क्षेत्रमा प्रतिस्पर्धा गर्न नसक्ने भन्दै नेपालले सेवामूलक क्षेत्रमा लगानी बढाउन सके फाइदा पुग्ने बताए । उनले विगत ३० वर्षयता राजनीतिक सङ्क्रमणकालका कारण पनि पर्याप्त विदेशी लगानी ल्याउन नसकिएको धारणा राख्नुभयो ।

कार्यक्रममा समृद्धि द प्रोस्पेरिटी फाउन्डेसनका अर्थशास्त्री अर्पिता नेपालले हामीलाई कस्तो खालको विदेशी लगानी आवश्यक हो त्यसमा स्पष्ट हुनुपर्ने बताउनुभयो ।

उहाँले ग्वाटेमाला र भियतनामको उदाहरण दिँदै नेपालले कुन क्षेत्रमा लगानी आवश्यक छ सोहीअनुसार लगानी भित्र्याउन प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रादेशिकस्तरमा ठूलो लगानी आवश्यक भएको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने सुझाव दिनुभयो । क्रेडिट रेटिङ तथा पुँजी नियन्त्रणलगायतका समस्याले अपेक्षाकृतरुपमा नेपालमा लगानी ल्याउन नसकिएको उहाँको भनाइ छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक, सस्टेनेबल फाइनान्स, इएसआरएमका कार्यकारी निर्देशक हेथ गिब्सनले नेपालसँग अन्तर्राष्ट्रियस्तरका वातावरणीय र सामाजिक प्रभावसँगसम्बन्धित नीति भएको उल्लेख गर्दै बैंकले सधैँ नेपालजस्ता मुलुकमा लगानीका लागि तयार रहेको बताउनुभयो ।

पहिलो सत्रमा कार्यपत्र प्रस्तुत गर्र्दै अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले नेपालमा लगानी ल्याउनका लागि नीतिगत स्थिरतामा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले निजी क्षेत्र पनि विदेशी लगानी ल्याउने विषयमा उदार हुनुपर्ने भन्दै विदेशी लगानी आउँदैमा सुरक्षा जोखिम हुन्छ भन्ने गरी धारणा राख्न नहुने उल्लेख गर्नुभयो ।

नेपालको कूल गार्हस्थ्य उत्पादनको दुई प्रतिशत विदेशी लगानी भएको उहाँको भनाइ छ । “तीस लाखभन्दा बढी जनसङ्ख्या विदेशमा छ, अर्थतन्त्र रेमिट्यान्सले धानेको अवस्था छ”, उहाँले भन्नुभयो, “हामीलाई दिगो विकासका लक्ष्य पूरा गर्नका लागि प्रत्येक वर्ष रु पाँच खर्ब आवश्यक छ । त्यसका लागि पनि विदेशी लगानी आवश्यक छ ।”

उहाँले नेपालको विकासमा सहायताले मात्रै वित्तीय आवश्यक पूरा नहुने भन्दै निजी क्षेत्रको लगानी बढाउनका लागि वित्तीय क्षेत्रमा नविनतम औजार ल्याइनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालले न्यून परिपूरक कोष, अनुदान तथा सहयोगका माध्यमबाट लगानी ल्याउन सक्ने बताउनुभयो ।

प्रमुख तीन क्षेत्रले कर्जा पुनःसरचना गर्न पाउने

काठमाडौँ – नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायी, होटल तथा रेन्टुरेन्ट, पशुपंक्षी पालनसँग सम्बन्धित कर्जालाई पुनःसंरचना-पुनरतालिकीकरण गर्नसक्ने व्यवस्था गरेको छ । आन्तरिक अर्थतन्त्रको विस्तारका लागि यस खालको निर्णय लिइएको बैंकको भनाइ छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै वास्तविक क्षेत्रको कर्जा र अन्य क्षेत्रको रु पाँच करोडसम्मको कर्जालाई पुनर्संरचना÷पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था गरेको हो ।

“अर्थतन्त्रको वास्तविक क्षेत्रमा देखिएको शिथिलतालाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाहको विश्लेषण गरी आवश्यकता र औचित्यताका आधारमा होटल तथा रेष्टुरेन्ट, पशुपंक्षी पालन, निर्माण क्षेत्रसँग सम्वन्धित कर्जा रु पाँच करोडसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई २०८० असार मसान्तभित्र पुनरसंरचना÷पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइने छ”, समीक्षामा भनिएको छ । यस्तो व्यवस्थाले कोरोना कहरपछि समस्यामा परेर भर्खर व्यवसाय विस्तार हुने क्रममा रहेका होटल क्षेत्रलाई राहत पुग्ने विश्वास लिइएको छ ।

यसैगरी निर्माण तथा निर्माणसँग जोडिएका क्षेत्रलाई थप राहत दिने उद्देश्यका साथ मौद्रिक नीतिको समिक्षामार्फत् कर्जाको पुनरतालिकीकरणको सुविधा दिइएको छ । अर्थतन्त्रमा देखिएको वास्तविक क्षेत्रमा देखिएको समस्या समाधानका लागि यस्तो व्यवस्थाले सहयोग पुग्नेछ ।

मौद्रिक नीतिको समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाहरुबाट जारी भएका ऋणपत्रहरुलाई कर्जा–निक्षेप अनुपात गणनाको समयसमेत थप गरिएको छ । यसअघि साउन १ गतेसम्मका समय दिइएकोमा कर्जा–निक्षेप अनुपात गणना गर्ने प्रयोजनको लागि स्रोत (निक्षेप) को रुपमा गणना गर्न पाउने विद्यमान व्यवस्थालाई २०८० पुस मसान्तसम्मको लागि निरन्तरता दिइएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशन गर्ने तथ्याङ्कको आधारमा पछिल्ला दुई त्रयमाससम्म लगातार ऋणात्मक वृद्धि हुन गएका आर्थिक क्षेत्रहरुसँग सम्वद्ध ऋणीहरुले सुविधा पाउने गरी कोषमा उपलव्ध स्रोतको सीमाभित्र रही पुनःकर्जा सुविधा उपलव्ध गराउने व्यवस्था मिलाईएको छ ।

वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारणले कर्जा चुक्ता गर्न परेको कठिनाइलाई दृष्टिगत गरी अल्पकालीन तथा चालु पुँजी प्रकृतिका कर्जाहरुलाई ब्याज नियमित रहेको अवस्थामा आवश्यकता र औचित्यको आधारमा कुनै किसिमको हर्जाना÷शुल्क नलिने गरी तीन महिनासम्मका लागि २०८० असार मसान्तभित्र म्याद थप गर्न सक्ने व्यवस्था गरेकोे छ ।

वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारणले लघुवित्त वित्तीय संस्थाका सदस्य ऋणीहरुलाई कर्जा चुक्ता गर्न परेको कठिनाइलाई दृष्टिगत गरी सम्बन्धित संस्थाले आवश्यकता र औचित्यको आधारमा २०८० असार मसान्तभित्र कर्जाको पुनरसंरचना÷पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ

काठमाडौँ – कृषि विज्ञ मदन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राईले सञ्चालन गरेको खोटाङस्थित शुभद्रा मदन फाउन्डेसन (शुभम) बाट आज बिहान उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीमाथि फाउण्डेसनमा अध्ययनरत बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

खोटाङका प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले अनुसन्धानका लागि राईलाई नियन्त्रणमा लिएको बताए । उनले भने ,‘राईलाई नियन्त्रणमा लिएर अनुसन्धान बढाएका छौं, विस्तृत कुरा अनुसन्धानपछि थाहा हुन्छ ।’

मौद्रिक नीति समीक्षा : बैंकदर एक प्रतिशत बिन्दुले घटाइयो (पूर्णपाठ)

काठमाडौँ – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंकदर एक प्रतिशत बिन्दुले घटाएको छ ।

राष्ट्र बैंकले नीतिगत दरलाई सात प्रतिशतमा यथावत राख्दै विद्यमान बैंक दरलाई एक प्रतिशत बिन्दुले घटाएर सात दशमलव पाँच प्रतिशत कायम गरेको हो । ब्याजदर करिडोरअन्र्तगतका अन्य दरलाई भने यथावत राखिएको राष्ट्र बैंकले जनाएको छ ।

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत केही मौद्रिक व्यवस्था खुकुलो बनाइएको राष्ट्र बैंकले जनाएको छ । “मौद्रिक नीतिको कार्यदिशालाई मुद्रास्फीर्ति र विदेशी विनिमय सञ्चितिको वर्तमान अवस्था र सम्भावित परिदृश्यको आधारमा समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आन्तरिक आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पु¥याउने गरी सजगतापूर्वक केही लचिलो बनाइएको छ”, राष्ट्र बैंकले भनेको छ ।

राष्ट्र बैंकले साढे आठ प्रतिशतको बैंकदरमा उपलब्ध गराउँदै आएको दैनिक तरलता सुविधालाई अर्धवार्षिक समीक्षादेखि नीतिगत दर सात प्रतिशतमा उपलब्ध गराउने व्यवस्था गरेकाले अहिले अन्तरबैंक ब्याजदरमा एक दशमलव पाँच प्रतिशत बिन्दुले कमी आएको छ । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबाट दैनिक तरलता सुविधालाई नीतिगत दरमा प्रदान गरिने व्यवस्थामा निरन्तरता दिइएको छ ।

बैंक तथा वित्तीय संस्थाबाट जारी भएका ऋणपत्रलाई कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) गणना गर्ने प्रयोजनका लागि स्रोत (निक्षेप) को रुपमा समेत गणना गर्न पाउने विद्यमान व्यवस्थालाई २०८० पुस मसान्तसम्मको लागि निरन्तरता दिइएको छ ।

मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्र बैंकले पुनरकर्जासम्बन्धी केही नयाँ व्यवस्था गरिएको छ । पछिल्लो छ महिनाको अवधिमा वृद्धिदर नकारात्मक देखिएका क्षेत्रका लागि यस्तो पुनरकर्जा उपलब्ध गराइनेछ । “राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशन गर्ने तथ्याङ्कको आधारमा पछिल्ला दुई त्रयमाससम्म लगातार ऋणात्मक वृद्धि हुन गएका आर्थिक क्षेत्रसँग सम्बद्ध ऋणीले सुविधा पाउने गरी कोषमा उपलब्ध स्रोतको सीमाभित्र रही पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइने छ”, मौद्रिक नीतिको समीक्षामा भनिएको छ ।

त्यस्तै, होटल तथा रेष्टुराँ, पशुपन्छी पालन, निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा र रु पाँच करोडसम्मको अन्य क्षेत्रमा प्रवाह भएको कर्जालाई २०८० असार मसान्तभित्र पुनःसंरचना÷पुनरतालिकीकरण गर्नसक्ने व्यवस्था ल्याइएको छ ।

मौद्रिक नीतिको पूर्णपाठ

विपद व्यवस्थापनमा समस्या भयो भन्ने कुरा नआवोस् : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद्का घटनालाई शून्य बनाउन नसकिने तर न्युन भने गर्न सकिने बताउनुभएको छ ।

गृह मन्त्रालमया आज विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले त्यसका लागि सबै निकायबीच सामूहिक प्रयोसको खाँचो रहेको औँल्याउनुभयो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्षसमेत रहनुभएका उहाँले भन्नुभयो, “विपद्लाई शून्य बनाउन सकिन्न, न्यून गर्न सक्छौँ, त्यसका लागि अगाडि नै सही व्यवस्थापन गर्नुपर्छ, सबैले गम्भीरतापूर्वक सोच्नुपर्ने अवस्था छ ।” उहाँले यथास्थिवादी सोचले मात्रै काम गर्न नसकिने स्पष्ट पार्नुभयो ।

उहाँले विपद् जोखिम व्यवस्थापनको तयारीमा कमी भएको गुनासा रहेकाले आवश्यक पूर्वतयारीलाई प्रभावकारी बनाउन सरोकारराख्ने मन्त्रालय र निकायका अधिकारीहरुको ध्यानाकर्षण गराउनुभयो । “भएका निर्णय ठीक ढङ्गले कार्यान्वयन नभएर वा तयारी नपुगेर विपद व्यवस्थापनमा समस्या भयो भन्ने कुरा नआवोस्”, बैठकले उहाँले भन्नुभयो ।

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री मोहनबहादुर बस्नेतले विपद्लाई समयमै व्यवस्थापन गर्न ध्यानाकर्षण गराउँदै स्वास्थ्य मन्त्रालयले गर्ने तयारीमा कुनै कमी हुन नदिने पनि प्रतिबद्धता जनाउनुभयो ।

आगलागी तथा वन डढेलोले मानव, वन्यजन्तु तथा वातारणमा ठूलो असर गरिरहेकाले आगो लगाउनेलाई कडा कारबाही गर्न र उपभोक्ता समितिलाई थप सक्रिय बनाउनुपर्ने उहाँले आवश्यकता औँल्याउनुभयो ।

बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले विपदको पूर्व सूचना प्रणाली र पुर्वानुमानलाई आधुनिकीकरण गर्दै लैजानुपर्ने बताउनुभयो । उहाँले विपद् जोखिम न्युवस्थापनका लागि पूर्व तयारी नै महत्वपूर्ण कुरा रहेको उल्लेख गर्दै आवश्यक बन्दोवस्तीमा चुस्त र पारदर्शी बनाउन पनि आग्रह गर्नुभयो ।

मुख्य सचिव शंकरदास बैरागीले विपद व्यवस्थापन कार्ययोजनालाई विस्तृतरुपमा तयार प्पारेर अघि बढ्न्पर्नेमा जोड दिनुभयो । विपद् व्यवस्थापन विज्ञ गङ्गालाल तुलाधरले विपद्बाट प्रभावितहरुका लागि तत्काल राहत दिने व्यवस्था मिलाउन जरुरी छ भन्नुभयो ।

शरणार्थी प्रकरणमा प्रहरीलाई स्वतन्त्र ढंगले छानबिन गर्न देऊ : योगेश भट्टराई

काठमाडौँ – नेकपा एमालेका सचिव योगेश भट्टराईले नक्कली शरणार्थी प्रकरणमा प्रहरीलाई स्वतन्त्र ढंगले छानबिन गर्न दिनुपर्ने बताउनुभएको छ । आज बिहान सामाजिक सञ्जालमा सचिव भट्टराईले प्रहरी राजनीतिक दबाब र पक्षधरताबाट मुक्त हुनुपर्ने बताउनुभएको हो ।  

‘साधन र स्रोतका बाबजुद अपराधीक घटनाको छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन नेपाल प्रहरी सक्षम छ । विगतमा कतिपय जटिल र अप्ठ्यारो ठानिएका घटनामा नेपाल प्रहरीले आफूलाई  काबिल सबित गरेको छ ।  प्रहरीको अनुसन्धानमाथि बाह्यय दबाब, राजनीतिक हस्तक्षेप र स्वार्थ समूहले रोटी सेक्न खोज्दा अनुसन्धान कसरी बरालिन्छ भन्ने कुरा निर्मला पन्त काण्डबाट नेपाल प्रहरीले पाठ सिकेकै होला’, उहाँले लेख्नुभएको छ,  ‘नक्कली भुटानी शरणार्थी केस सामान्य अपराध मात्र होइन मानव तस्करी र बेचबिखनमा सरकारको राजनीति र प्रशासनिक नेतृत्व कै अगुवाइमा भएको राष्ट्र द्रोह हो ।’ 

सचिव भट्टराईले आफ्नै नागरिकलाई अनागरिक बनाएर विदेशीन बाध्य बनाउने, निन्दा र भर्त्सना गर्ने  कुनै शब्द नरहेको उल्लेख गर्नुभएको छ ।

 ‘आफ्नै नागरिकलाई अनागरिक बनाएर विदेशिन बाध्य बनाउने, निन्दा र भर्त्सना गर्ने पनि कुनै शब्द नै छैन । नेपाल र नेपालीको आत्मसम्मानमाथि अपूरणीय क्षति पुगेको छ’, सचिव भट्टराईले लेख्नुभएको छ, ‘पार्टी र राज्यको सांस्कृतिक अधपतनलाई शुद्धीकरण गर्ने, व्यवस्थाप्रति जनविश्वास जाग्रित गर्ने, राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरणको जालो नष्ट गर्ने, नेपाल प्रहरीको छवि उजिल्याउने उपयुक्त अवसर हो यो ।’

सुनको मूल्य तोलामा ८ सयले घट्यो

काठमाडौँ – अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ झरेको हो । 

अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ८ सय रुपैयाँले नै सस्तिँदै १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।  

यता चाँदीको मूल्य भने आज एकै दिन तोलामा ५५ रुपैयाँले घट्दै १ हजार ३७५ रुपैयाँमा झरेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भएको थियो । 

पूर्वी नाकाबाट निर्यातभन्दा आयात दोब्बर

बनियानी – झापाको पूर्वी नाका काँकरभिट्टाबाट निर्यातभन्दा आयात दोब्बर भएको छ । चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा रू ३५ अर्ब २१ करोड ९४ लाख ९० हजार बराबराको विभिन्न सामग्री आयात भएको काँकरभिट्टास्थित मेची भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिनुभयो ।

यस नाकाबाट सोही अवधिमा रू १६ अर्ब तीन करोड १७ लाख तीन हजार बराबरको विभिन्न वस्तु निर्यात भएको छ । निर्यातको तुलनामा आयात दोब्बरभन्दा बढी रहे पनि राजस्व सङ्कलनको लक्ष्यसमेत पूरा नभएको कार्यालयले जनाएको छ । सरकारले तोकेको लक्ष्यको तुलनामा कार्यालयले ७१ दशमलव २४ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

उक्त अवधिमा रू १४ अर्ब ८४ करोड ५८ लाख ६७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रू १० अर्ब ४३ करोड २९ लाख ५७ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी लम्सालले बताउनुभयो ।

उक्त नाकाबाट आयात हुने मुख्य १० वस्तुमध्ये चालू आवको चैत मसान्तसम्म सबैभन्दा धेरै रू १४ अर्ब ५० करोड ३३ लाख बराबरको हवाई स्प्रिट आयात भएको छ ।

त्यस्तै जुट रू दुई अर्ब ९६ लाख ४१ लाख, प्राकृतिक ग्यास रू दुई अर्ब तीन करोड ९८ लाख, भटमासको पिना रू एक अर्ब ६० करोड २९ लाख, तरकारी रू एक अर्ब ४४ करोड ८३ लाख, जिप्सन रू ९८ करोड १९ लाख, कोइलाजन्य पदार्थ रू ९५ करोड ५६ लाख, दाल रू ८४ करोड ४१ लाख, कपडा रू ८२ करोड ३९ लाख र अल्किड रेजिन र अन्य पिभिसी रेजिन रु ८० करोड ५५ लाखको आयात भएका सोही कार्यालयका कर्मचारी चन्द्रबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

सो अवधिमा काँकरभिट्टा नाकाबाट निर्यात हुने मुख्य १० वस्तुमध्ये सबैभन्दा धेरै रू छ अर्ब ३३ करोड ७१ लाख बराबरको अलैँची निर्यात भएको छ । फलामजन्य सामग्री रू दुई अर्ब ९८ करोड ९९ लाख, चिया रू दुई अर्ब ६६ करोड ५४ लाख, प्लाइउड रू एक अर्ब २९ करोड ४६ लाख, अम्रिसो रू ७२ करोड ९० लाख, अदुवा रू ४३ करोड ५२ लाख, पशु आहार रू ४० करोड ९५ लाख, धाउ, धतुमुल र खरानी रू २८ करोड ८४ लाख, दलहन रू २७ करोड ४६ लाख र पशु आहारको कच्चा पदार्थ रू २१ करोड ३७ लाख बराबरको निर्यात भएको कार्यालयले जनाएको छ ।

देशभरबाट राप्रपाले प्रधानमन्त्रीलाई भ्रष्टाचारविरुद्ध ज्ञापन पत्र बुझाउँदै

काठमाडौँ  – राप्रपाले भ्रष्टाचार र भ्रष्टाचारी विरुद्ध देशभरबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउने भएको छ ।

देशभरका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री प्रचण्डलाई भ्रष्टाचार र भ्रष्टाचारी विरुद्ध आज दिउँसो १ बजे ज्ञापन पत्र बुझाउन लागिएको राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन संयोजक तथा अधिवक्ता सुजित केसीले जानकारी दिनुभयो । 

अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको टोलीले भने प्रधानमन्त्री प्रचण्डलाई नै ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको राप्रपा प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो । 

सङ्गठित भ्रष्टाचार विरुद्धको कार्यक्रममा सहभागी हुन सबैमा आह्वान गरेको राप्रपाले केही दिनअघि प्रतिनिधिसभा बैठकमा पनि भ्रष्टाचारविरुद्ध जोडदार आवाज उठाएको थियो । 

मुगु हिमपहिरो अपडेट : घटनास्थलसम्म उद्घार टोली पुग्न सकेन

मुगु – हिमपहिरामा परी बेपत्ता भएको घटना हप्ता दिन भइसक्दा पनि सुरक्षाकर्मीसहितको टोली घटनास्थलसम्म पुग्न सकिरहेको छैन । हिमाल तथा पाटनमा १० फिटभन्दा बाक्लो हिउँ जमेको र लगातार मौसममा खराबी आइरहेकाले घटनास्थलसम्म पुग्ने बाटो पहिल्याउन कठिनाइ हुँदा उद्घारमा गएको टोली जति प्रयास गरे पनि घटनास्थलसम्म पुग्न नसकेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश बस्नेतका अनुसार सुरक्षाकर्मीले छापाखोलामा बेसक्याम्प खडा गरेर प्रत्येक दिन बिहानै घटनास्थलसम्म जान हिँडे पनि हिउँ बाक्लो जमेको र छिन–छिनमा हिउँ परिरहँदा प्रत्येक दिनको प्रयास निरर्थक भइरहेको छ । खटिएका सुरक्षाकर्मी एकपछि अर्को बिरामी हुन थालेकाले उहाँले आज जिल्ला सदरमुकामबाट थप सुरक्षाकर्मी पठाउन लागेको र बिरामी परेकालाई फिर्ता बोलाइएको जानकारी गराउनुभयो ।

बेपत्ता भएको हप्ता दिन बितिसकेकाले बेपत्तामध्ये कोही जिउँदो होलान् भन्ने आश मरिसकेको छ । अब जेठ ४ गते पाटनमा यार्सागुम्बा टिप्न प्रवेश खुला हुने भएकाले त्यो बेला सुरक्षाकर्मी सुरक्षा दिन जाने र सङ्कलक पनि सयौँ सङ्ख्यामा पाटन पुग्ने भएकाले बेपत्ताको खोजी त्यो बेला सहज हुनसक्ने प्रनाउ बस्नेतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “खोजीको टोलीसँगै गएका बेपत्ता भएका व्यक्तिका दुई आफन्त पनि घर फर्किसक्नुभएको छ, पाटनको अवस्था, परिस्थिति, कठिनाइ सबै उहाँहरूले बुझेर अब खोजी गर्न गाह्रो छ, हामी पनि बिरामी भयौँ, पाटन खुला भए सुरक्षाकर्मी वा यार्सा सङ्कलक कोहीले बेपत्ता भेट्टाए खबर गरिदिनुहोला भन्दै घरतर्फ फर्किसक्नुभएको छ ।”

यही वैशाख २२ गते मुगुम कार्मारोङ गाउँपालिका–१ र २ मा पर्ने च्याँखुलेकमा हिउँपहिरो आउँदा यार्सा टिम्न मुगुका पाटनमा पुगेका जुम्ला पातारासि गाउँपालिका–२ तल्फीगाउँका १५ जनामध्ये तारासिंह सार्की, पुन्न सार्की र वीर बोहोरो बेपत्ता भएका थिए ।

बेपत्ताको सूचना पाउनासाथ २२ गते नै इलाका प्रहरी चौकी मुगुबाट र २४ गते नेपाली सेनाको हेलिकोप्टरबाट जिल्ला सदरमुकाम गमगढीबाट बेपत्ता भएका व्यक्तिका दुई आफन्तसहित २३ जनाको टोली घटनास्थलतर्फ खोजीका लागि गएको थियो । घटनास्थल नजिक हेलिकोप्टर अवतरण गर्न अनुकूल मौसम नभएपछि सिरानी चौरमा अवतरण गरी फर्किएको थियो भने टोली त्यहाँबाट तीन घण्टामाथि र घटनास्थल च्याखुलेकभन्दा चार घण्टा तल रहेको छापाखोला भन्ने स्थानमा बास बसी प्रत्येक बिहान घटनास्थलसम्म पुग्न निस्कने दिनभरि प्रयास गर्ने र साँझ बासस्थान फर्किने गर्दै आएका थिए ।

प्रधानमन्त्री प्रचण्ड र रास्वपाका सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच समसामयिक तथा राजनीतिक विषयमा छलफल भएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुग्नुभएका रास्वपा सभापति लामिछानेले भ्रष्टाचारविरुद्ध सरकारले राम्रो काम गरेको भन्दै प्रधानमन्त्री प्रचण्डलाई धन्यवादसमेत दिनुभएको छ ।

भ्रष्टाचारविरुद्ध हुने काममा आफू र आफ्नो पार्टीको साथ र समर्थन रहने लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराउनुभएको छ । 

जवाफमा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारीलाई कारबाही गर्ने विषयमा निर्मम भएर लाग्ने बताउनुभयो ।

गण्डकीमा माओवादीले टुङ्ग्यायो मन्त्रीको नाम

गण्डकी – नेकपा (माओवादी केन्द्र)ले म्याग्दीका रेशम जुग्जालीलाई गण्डकी प्रदेश सरकारमा पठाउने निर्णय गरेको छ । माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य सुशीला सिम्खडा यसअघि नै बिनाविभागीय मन्त्रीका रूपमा नियुक्त हुनुभएको थियो ।

गठबन्धनमा भएको सहमतिअनुसार माओवादी केन्द्रले दुई मन्त्रालय पाउने भएको हो । म्याग्दी प्रदेशसभा क्षेत्र (२) बाट निर्वाचित जुग्जाली अघिल्लो सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री हुनुहुन्थ्यो । गठबन्धन फेरिएपछि दुई महिना नबित्दै माओवादी केन्द्र प्रदेश सरकारबाट बाहिरिएको थियो । कांग्रेस नेतृत्वको नयाँ सरकारमा पुनः जुग्जालीलाई नै मन्त्री बनाउने निर्णय माओवादी केन्द्रले गरेको हो ।

माओवादी केन्द्रले जुग्जालीलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र सिम्खडालाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा पठाउने भएको हो । माओवादी केन्द्रका प्रदेशसभा सदस्य कुसुम बुढाले आजै मन्त्रिपरिषद् विस्तार हुने सम्भावना रहेको बताउनुभयो ।

“माओवादी केन्द्रले मन्त्रीको नाम टुङ्ग्याइसकेको छ, कांग्रेसभित्र आकाङ्क्षी धेरै भएकाले मिलाउन समय लागेको देखिन्छ”, उहाँले भन्नुभयो, “गठबन्धन दलहरूबीच मन्त्रालयको बाँडफाँट मिलिसकेको छ, खाली मन्त्री छान्न ढिलाइ भएको हो ।”

सातमध्ये मुख्यमन्त्रीसहित चार मन्त्रालय कांग्रेसले, दुई माओवादी केन्द्रले र एक नेकपा (एकीकृत समाजवादी)ले पाउनेछ । यसअघि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०७४ को नियम ८ अनुसार मन्त्रालयको कार्यविभाजन हेरफेर गरेको थियो ।

नयाँ कार्यविभाजनअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभिएको छ । अबदेखि शान्ति सुरक्षा, विपद् व्यवस्थापन, प्रदेशसभा मामिला, कानुन, सञ्चार आदिको कार्य जिम्मेवारीसमेत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्हाल्नेछ ।

कृषि तथा जलस्रोत मन्त्रालयले कृषि, पशुपक्षी, ऊर्जा, सिँचाइ र खानेपानी हेर्दै आएकामा अब ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र कृषि तथा भूमि व्यवस्था मन्त्रालय छुट्टाछुट्टै रहनेछ । आर्थिक मामिला मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय भने यथावत कायम छन् ।

मन्त्रालयको कार्यविभाजन हेरफेर भइसकेकाले अब सरकारले छिट्टै पूर्णता पाउने सरकारका प्रवक्ता एवं बिनाविभागीय मन्त्री सरस्वती अर्याल तिवारीले बताउनुभयो । हाल मन्त्रिपरिषद्मा मुख्यमन्त्री पाण्डेसहित दुई बिनाविभागीय मन्त्रीमात्र रहनुभएको छ । यही वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त पाण्डेले सातवटै मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ ।

तनहुँमा १२ सिँचाइ योजना निर्माण गरिँदै

तनहुँ – जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँमार्फत जिल्लाका १२ योजनाका लागि स्रोत सुनिश्चितता गरी निर्माणकार्य अघि बढाइएको छ । ती योजना निर्माण गर्नका लागि कुल रु २८ करोड ५९ लाखको सम्झौता गरिएको छ ।

आयोजनाका लागि चालु आर्थिक वर्षमा रु छ करोड २० लाख बजेट विनियोजन गरिएको छ । सङ्घको विशेष अनुदान र गण्डकी प्रदेश सरकारले योजना सम्पन्न गर्न बजेट विनियोजन गरेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख रमेशराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार दुई ठूला आयोजनामा सङ्घ विशेष अनुदानमा मादी नदी नियन्त्रण र गण्डकी प्रदेशको बजेटमा मादी नदी नियन्त्रण कार्यक्रम रहेको छ । सङ्घ सरकारबाट मादी नदी नियन्त्रणमा रु १७ करोड ९८ लाख र गण्डकी प्रदेशबाट रु दुई करोड ६६ लाखमा सम्झौता भएको छ ।

चालू आवमा क्रमशः रु चार करोड ५० लाख र रु २० लाख बजेट विनियोजन भएको छ । ती आयोजनाको क्रमशः २०७९ फागुन ९ र २०७९ जेठ ६ गते सम्झौता भई क्रमशः २०८१ भदौ ८ र २०८० जेठभित्र सम्पन्न गर्ने योजना छ ।

त्यसैगरी डुम्रेबेँसी सिँचाइ योजनामा रु तीन करोड ८१ लाख, पहाड खोला बस्ती संरक्षण कार्यका लागि रु एक करोड ८५ लाख, छाब्दीफाँट सिँचाइ योजनामा रु ७३ लाख, सेराफाँट सिँचाइ योजनामा रु ६३ लाख, कोल्पाटा लिफ्ट सिँचाइ योजानमा रु ५२ लाख र तालेफाँट सिँचाइ योजनामा रु ४० लाखमा ठेक्का सम्झौता भई काम सुरु गरिएको छ ।

त्यसैगरी अर्चले गाउँ र बिलौनी गाउँ पहिरो नियन्त्रण, मादीखोला ठूलो कुलो सिँचाइ र साँघेखोला डुम्रे सुपरी तटबन्धन कार्यका लागि चालु आवमा रु १० लाखका दरले बजेट विनियोजन गरी निर्माण भइरहेको कार्यालयका सूचना अधिकारी जगन्नाथ चापागाईँले जानकारी दिनुभयो । उक्त योजना २०७७ साउन २८ गते ठेक्का सम्झौता भई २०८१ भदौ ८ गतेसम्म सम्पन्न गर्ने योजना छ ।

एमाले स्थायी कमिटी बैठक सर्‍यो

काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ ।

आज प्रस्तुत हुन लागेका बाँकी ४ प्रदेशको प्रतिवेदन तथा त्यसमाथि हुन गइरहेको समूहगत छलफल नसकिने देखिएपछि बैठक शनिवारका लागि सारिएको हो । 

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार स्थायी समिति बैठक भोलि बस्ने र त्यसपछि मात्रै केन्द्रीय समिति बैठक बस्नेछ । 

महिला केन्द्रित योजनाका लागि संयन्त्र आवश्यक

बागमती – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा आरजु राणा देउवाले विकासका आयोजनाहरूलाई महिला केन्द्रित बनाउनका लागि एक अलग्गै संयन्त्र आवश्यक रहेको बताउनुभएको छ ।

उहाँले महिलामैत्री तथा महिला केन्द्रित आयोजना बनाउन यस्तो संयन्त्रले समन्वय गर्ने र एकीकृतरूपमा महिला सशक्तीकरणका कार्यक्रम अघि बढाउन पनि सजिलो हुने धारणा राख्नुभयो ।

बागमती प्रदेश नीति तथा योजना आयोगले सामुदायिक महिला विकास केन्द्र मकवानपुर र ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक)को सहकार्यमा बिहीबार हेटौँडामा सञ्चालन गरेको ‘महिला सशक्तीकरणका लागि प्रदेश र स्थानीय सरकारको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा डा देउवाले सो धारणा राख्नुभएको हो ।

उहाँले नेपालमा महिला सशक्तीकरणका क्षेत्रमा धेरै काम भएको तर यो उपलब्धिलाई संस्थागत गरी त्यसबाट फाइदा लिनसक्ने अवस्थामा महिला अझै नपुगेका भन्दै यसका लागि पनि सो संयन्त्रले काम गर्न सक्ने बताउनुभयो ।

यस्तो संयन्त्रले देशमा महिला अधिकार तथा महिला सशक्तीकरणका क्षेत्रमा भए÷गरेका कार्यको अनुगमन गर्ने, आगामी दिनमा गर्नुपर्ने थप कार्यका लागि समन्वय गर्ने र दिगो विकास लक्ष्यमा कसरी पुग्ने भन्ने विषयमा पनि आवश्यक सहजीकरण गर्ने डा राणाले बताउनुभयो ।

आगामी आर्थिक वर्षको बजेटका लागि बागमती सरकारको नीति तथा कार्यक्रम बनाउनुपूर्व विभिन्न चरणमा सुझाव लिने क्रममा आयोजना गरिएको यस कार्यक्रममा महिलाको आर्थिक सशक्तीकरण, बजेटमा समेट्नुपर्ने विषय तथा दिगो विकासको लक्ष्य हासिल गर्नका लागि महिला सशक्तीकरणमा आवश्यक पर्ने बजेटका विषयमा विविध सुझाव प्राप्त भएका थिए ।

सो कार्यक्रममा पूर्वराज्यमन्त्री तथा नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी डिना उपाध्याय, बागमती सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामा, बागमती प्रदेश नीति तथा योजना आयोगका सदस्यहरू, बागमती प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद निरौला, बागमती प्रदेश सरकारका सचिवहरू, महिला सशक्तीकरण विषयमा काम गर्ने गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिलगायतले आ–आफ्ना सुझाव पेस गर्नुभएको थियो

ट्र्याक्टर दुर्घटनामा एक मजदुरको मृत्यु

रोल्पा – रोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा एक मजदुरको मृत्यु भएको छ । दुर्घटनमा परी मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका–५ सर्कनाका १३ वर्षीय खेमराज रोका रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम सारुमगरका अनुसार रा१त ३८८१ नम्बरको ट्र्याक्टर गए राति लुङ्ग्री गाउँपालिकाको मछेटीमा दुर्घटना भएको हो । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् ।

लुङ्ग्रीको दोमैमा सडक निर्माणमा खटिएका कामदार काम सकेर बास बस्नका लागि किलाचौरतर्फ जाँदै गर्दा ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका मजदुरको प्राथमिक स्वास्थ्यचौकी सुलीचौरमा उपचार भइरहको छ ।

एमाले केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहने, बाँकी ४ प्रदेश कमिटीको प्रतिवेदन पेस हुँदै

काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहने छ ।

बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक भोलि अर्थात् वैशाख ३० गतेसम्म जारी रहनेछ ।

बिहीबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्नुभएको थियो भने महासचिव शङ्कर पोखरेलले पार्टी बैठकमा हुने छलफलका लागि एजेन्डा पेस गर्नुभएको थियो ।  

केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन बिष्टका अनुसार बिहीबार पेस गर्न बाँकी रहेका प्रदेश कमिटीका प्रतिवेदन आज प्रस्तुत गरिनेछ  ।

”आज गण्डकी प्रदेशबाट पदमा अर्याल, बाग्मतीबाट गोकर्ण विष्ट, सम्पर्क समन्वय कमिटीबाट लालबाबु पण्डित, उपत्यका विशेष प्रदेशबाट सुजिता शाक्यले आ–आफ्नो क्षेत्रको प्रतिवेदन पेस गर्नुहुनेछ”, उहाँले भन्नुभयो, ”उक्त प्रतिवेदनमाथि समूह विभाजन गरी छलफल गरिने भएको छ, समूह छलफलपछि प्रदेश अध्यक्षहरूले निष्कर्षका रूपमा सुझाव प्रस्तुत गर्नु हुनेछ ।”

उहाँका अनुसार बिहीबार सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, अनुशासन आयोगका प्रमुख केशव बडाल, लेखा आयोगका अध्यक्ष पुष्प कँडेल र निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले आ– आफ्नो क्षेत्रको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

यसैगरी, मिसन ग्रास रुटका बारेमा पाँच वटा प्रदेश प्रमुखले प्रतिवेदन पेस गर्नुभएको थियो । जसअनुसार सुदूरपश्चिमबाट लेखराज भट्ट, कर्णालीबाट योगेश भट्टराई, लुम्बिनीबाट छविलाल विश्वकर्मा, मधेसबाट रघुवीर महासेठ र कोसी प्रदेशबाट राजेन्द्र गौतमले आ आफ्नो प्रदेशको रिर्पोट प्रस्तुत गर्नुभएको थियो । 

बाँकी रहेका प्रदेश कमिटीहरूले आज आ–आफ्नो प्रतिवेदन पेस गर्नेछन् ।  

लेखा परीक्षण सार्वजनिक गर्न काँग्रेस, एमाले र माओवादीलगायत ८२ दललाई आयोगकाे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले लेखा परीक्षण गरी सार्वजनिक नगरेको भन्दै ८२ दललाई सचेत गराएको छ । 

आयोगले नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित ८२ दलले पार्टीको लेखा परीक्षण गरी सार्वजनिक नगरेको भन्दै सचेत गराएको हो । 

आयोगले पार्टीको लेखा परीक्षण वेबसाइट, आमसञ्चारका माध्यम, सामाजिक सञ्जालबाट सार्वजनिक गर्नुपर्ने जनाउँदै यसरी सार्वजनिक गरेको विषय आयोगलाई बुझाउन पनि निर्देशन दिएको छ । 

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१) बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा सो लेखा परीक्षण प्रतिवेदन पेस गर्नुपर्ने कानुनी व्यवस्था भएकोमा आर्थिक वर्ष २०७८/७९ को लेखा परीक्षण प्रतिवेदन तोकिएको समय सीमाभित्रै पेस गर्ने तपसिल बमोजिमका ८२ राजनीतिक दललाई सोही ऐनको सोही दफाको उपदफा (५) बमोजिम आयोगमा पेस गरेको लेखा परीक्षण प्रतिवेदन ७ दिनभित्र सम्बन्धित दलको कार्यालय वा वेबसाइट, आमसञ्चार माध्यम (पत्रपत्रिका, रेडियो, टेलिभिजन आदि), सामाजिक सञ्जाल (फेसबुक, ट्विटर, इन्स्टाग्राम)का माध्यमबाट सार्वजनिक गरी सार्वजनिक गरेको मितिले ७ दिनभित्र सो विवरण आयोगमा पेस गर्न सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशन गरिएको आयोगले जनाएको छ । 

‘साथै  आर्थिक  वर्ष  २०७८÷७९  को  लेखा  परीक्षण  प्रतिवेदन  कानुनले  तोकेको  समयभित्र  पेस  गर्ने  तपसिल  बमोजिमका  ८२  राजनीतिक  दलहरूको  विवरण  आयोगको  वेबसाइटमा हेर्न सकिने र तोकिएको समयावधिभित्र लेखा परीक्षण प्रतिवेदनको विवरण सार्वजनिक गरी आयोगमा जानकारी नगराएमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा (५) को खण्ड (ग) बमोजिम कारबाही भइजाने ब्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ’ आयोगले भनेको छ । 

रेशम चौधरीलाई रिहाइ गर्ने सरकारको तयारी

काठमाडौं – सरकारले रेशम चौधरीलाई रिहाइ गर्ने तयारी थालेको छ। टीकापुर घटनामा दोषी ठहर भई कारागारमा रहेका चौधरीको मुद्दा फिर्ता लिन सरकारले संसदमा विधेयक दर्ता गरेको हो।

कानुन, न्याय तथान संसदीय मामिला मन्त्रालयले बिहीबार केही नेपाल ऐन संशोधन विधेयक प्रतिनिधिसभाको विधेयक शाखामा दर्ता गरेको छ। चौधरीको मुद्दा फिर्ता लिनेगरी कानुन संशोधन गर्न लागिएको मन्त्रालय स्रोतले जनाएको छ।

सरकारले विधेयकमार्फत् मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा एउटा बुँदा थप गरेको छ। जसमा शान्तिपूर्ण राजनीतिमा आउन सम्झौता गरेका दल वा समूहका नेता कार्यकर्ताविरुद्ध चलेका मुद्दा फिर्ता लिन सक्ने प्रावधान राखिएको छ। 

‘शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन मुद्दा फिर्ता लिन सकिनेः दफा ११६ मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै राजनीतिक दल वा समूहले मुलुकको राजनीतिक प्रणालीसँग असहमत रही हिंसात्मक क्रियाकलाप सञ्चालन गरिरहेकोमा त्यस्तो राजनीतिक दल वा समूह शान्तिपूर्ण राजनीतिको मुलधारमा आउन नेपालको संविधान र प्रचलित कानुनको अधिनमा रही शान्तिपूर्ण राजनीतिक क्रियाकलाप सञ्चालन गर्ने प्रतिबद्धता जनाई नेपाल सरकार र त्यस्तो राजनीतिक दल वा समूहबीच राजनीतिक प्रकृतिका सम्झौताको माध्यमबाट नेपाल सरकार वादी भई दायर भएका मुद्दा फिर्ता लिने गरी सहमति भएकोमा त्यस्तो सम्झौता बमोजिम त्यस्ता राजनीतिक दल वा समूहका नेता तथा कार्यकर्ताका विरुद्धमा नेपाल सरकार वादी भई चलाइएका जुनसुकै मुद्दा जुनसुकै तहको अदालतमा विचाराधीन रहेको भए पनि फिर्ता लिन बाधा पर्ने छैन,’ दफा ११६ मा भनिएको छ। 
रेशम चौधरीको मुद्दा सर्वोच्च अदालतमा सुनुवाई भइरहेको छ।

अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग अर्थमन्त्रीको छलफल

काठमाडौँ – अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा रहेका अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटका विषयमा छलफल गर्नुभएको छ ।

अर्थ मन्त्रालयमा आज भएको छलफलमा विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र अन्तर्राष्ट्रिय वित्त निगमजस्ता बहुपक्षीय विकास साझेदार, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग, जापान, कोरिया, स्वीट्जरल्यान्ड, नर्वे, फिनल्यान्ड, युरोपियन युनियन, जर्मनीलगायतका द्विपक्षीय विकास साझेदार संस्थाहरूका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

छलफलका क्रममा अर्थमन्त्री डा महतले नेपाल सरकारका आगामी दिनका प्राथमिकता, आगामी बजेटले लिने मार्गदर्शन, सिद्धान्तका विषयमा धारणा राख्नुभयो । उहाँले नेपाल सरकारले उपलब्ध साधन र स्रोतको उच्चतम सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल सरकारको ऋण बढ्दो क्रममा रहेको सन्दर्भमा आगामी दिनमा साँवा ब्याज तिर्न सक्ने खालका उत्पादनशील क्षेत्रमा लगानी गर्ने प्राथमिकता रहेको जानकारीसमेत उहाँले गराउनुभयो । साथै उहाँले आगामी दिनमा सिर्जना हुने दायित्वका विषयमा नेपाल सरकार अत्यन्तै सजग रहेको समेत बताउनुभयो ।

डा महतले वैदेशिक ऋणसँगसँगै उल्लेख्यरूपमा अनुदान उपलब्ध गराउन र जलवायु परिवर्तनको कारक नेपाल नभएको हुँदा यस क्षेत्रमा आउने सहायता पनि अनुदानकैरूपमा परिचालन गर्न आग्रह गर्नुभयो । छलफलका क्रममा विकास साझेदारहरूबाट प्राप्त राम्रा सुझाव–सल्लाहलाई धन्यवाद दिँदै डा महतले आगामी दिनमा सहकार्य गर्दै जाने उल्लेख गर्नुभयो ।

अन्तर्राष्ट्रिय विकास साझेदारका प्रमुख एवं प्रतिनिधिहरूले नेपाल सरकारले बजेटमा लिने प्राथमिकता र कार्यक्रममा साथ, सहयोग र समर्थन हुने विश्वास दिलाउनुभएको छ ।

नेपाल सरकारले लिएको लक्ष्य र प्राथमिकतालाई नै विकास साझेदारहरूले अवलम्बन गर्ने, नेपालको राष्ट्रिय नीति, प्रणाली र संरचनाको माध्यमबाट वैदेशिक सहायता परिचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै विदेशी साझेदारहरूसँग समेत समय–समयमा गरिने संवादको शृङ्खलाका लागि धन्यवाद दिँदै आगामी दिनमा संयुक्त सहकार्यलाई थप घनिष्ट पार्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

छलफलका क्रममा अन्तर्राष्ट्रिय विकास साझेदारहरूले विभिन्न सुझाव दिनुभएको छ । पूँजीगत खर्चमा सुधार गर्नुपर्ने, सार्वजनिक संस्थान व्यवस्थापनमा सुधार गर्नुपर्ने, खर्चमा दोहोरोपना घटाउने, आन्तरिक स्रोत परिचालनका लागि सुधार खाका तयार गर्ने, सार्वजनिक र निजी वित्तीय साधन राष्ट्रिय प्राथमिकतामा प्रवाह गर्ने सुझाव दिनुभएको छ ।

त्यसैगरी स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा र पोषणमा लगानी वृद्धि गर्ने, करको दायरा विस्तार गर्ने, न्यून पूँजीगत खर्च र कमजोर खरिद क्षमतामा सुधार गर्ने, अनौपचारिक क्षेत्रलाई क्रमशः औपचारिक क्षेत्रमा परिवर्तन गर्दै करको दायरा विस्तार गर्ने सुझाव दिनुभएको छ ।

त्यसैगरी उहाँहरूले साना तथा मझौला उद्यम र आन्तरिक उद्यमशीलतालाई प्रवर्द्धन गर्ने, मानव पूँजीमा लगानी विस्तार गर्ने, आर्थिक लक्ष्यका साथसाथै पर्यावरणीय र सामाजिक लक्ष्यलाई पनि प्राथमिकतामा राख्नुपर्ने, आयोजना पूर्वतयारीमा प्राथमिकता दिनुपर्ने, ठूला सुधार एजेन्डालाई प्राथमिकीकरण गर्नुपर्ने, आयोजनाका कर्मचारीलाई निश्चित समयसम्म सोही स्थानमा जिम्मेवारी दिनुपर्ने, अन्तरनिकाय समन्वय बढाउनुपर्ने र सहुलियतपूर्ण ऋणको पूर्ण उपयोग गर्नुपर्नेजस्ता सुझाव दिनुभएको छ ।

काठमाडौँमा नेकपा एसको प्रदर्शन- शरणार्थी प्रकरणका सबै अपराधीलाई कडा कारबाही होस्

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणका सबै अपराधीलाई कडा कारबाही गर्नुपर्ने भन्दै नेकपा एकीकृत समाजवादीले काठमाडौँमा प्रदर्शन गरेको छ ।

बिहीबार काठमाडौँको माइतिघरमा एकीकृत समाजवादीका मोर्चा सङ्गठनहरूले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरूलाई छिटो भन्दा छिटो कानुनी दायरामा ल्याई कडा कारबाही गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् । उनीहरूले यस प्रकरणमा कुनै पनि दबाबका कारण पछि हट्न नहुने जनाएका छन् ।

उनीहरूले यस प्रकरणमा निकै अघि बढिसकेको अनुसन्धानलाई पछि नढकेल्न समेत ध्यानाकर्षण गराएका छन् । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य बलराम बाँस्कोटाले भ्रष्टाचार विरुद्धको आन्दोलनको उद्घोष गरेको र यसलाई देशव्यापी बनाउने बताउनुभयो । राजनीतिलाई आधार बनाएर हुने भ्रष्टाचारले समग्र मुलुक र राजनीतिको बदनाम भएकाले यसलाई सदाका लागि अन्त्य हुनुपर्ने उहाँले बताउनुभयो ।

समाजवादीका मोर्चा सङ्गठनहरूले नक्कली भुटानी शरणार्थी प्रकरणका साथै सबै प्रकारका भ्रष्टाचारहरुलाई छानबिन गर्नुपर्ने जनाएका छन् ।

कृषि ऐनका लागि मस्यौदा बनाउने काम भइरहेको छ : बेदुराम भुसाल

काठमाडौँ – कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले कृषि ऐन बनाउने तयारी भइरहेको जानकारी दिनुभएको छ ।

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा मन्त्री भुसालले नेपाल कृषिप्रधान देश भए पनि कृषि सम्बन्धी कुनै ऐन नभएकाले कृषि ऐन बनाउनका लागि मस्यौदा बनाउने काम भइरहेको जानकारी गराउनुभएको हो । मूल कृषि ऐन बनाउँदा यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि सहज हुने उहाँले बताउनुभयो ।

त्यस्तै मन्त्री भुसालले मल ल्याउनका लागि अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्नुपर्ने बताउनुभयो । यो वर्ष ३८ अर्ब भन्दा बढीको मल आयात गरेको भन्दै आगामी आर्थिक वर्षमा त्यही अनुसारको तयारी गर्नुपर्ने उहाँको भनाइ छ । मन्त्री भुसालले कृषि उत्पादनमा वृद्धि गरेर आयात प्रतिस्थापन गरेको निर्यात प्रवर्द्धन गर्ने नीति रहेपनि त्यसअनुसार राज्यले लगानी गर्न नसकेको धारणा राख्नुभयो । अर्थतन्त्रको मेरुदण्ड कृषि क्षेत्र भए पनि यस क्षेत्रमा बजेटको समस्या हुने गरेको उहाँले बताउनुभयो ।

उहाँले अहिले रैथाने बालीलाई पनि प्राथमिकतामा राख्दै जमिन र बढी उत्पादनशील बीउ आवश्यक रहेको बताउनुभयो । उहाँले तराईका ५० प्रतिशत जमिन अझै पनि सिँचाइबाट वञ्चित हुन पुगेको र जनशक्तिका अभावका कारण जमिनहरू बाँझो रहने अवस्था देखिएको र जसका कारण उत्पादनमा कमी हुने गरेको पनि बताउनुभयो ।

एक सातामा प्रदेश सरकारले पूर्णता पाउँछ : मुख्यमन्त्री जमकट्टेल

विदुर – बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमकट्टेलले एक साताभित्र प्रदेश सरकारले पूर्णता पाउने बताउनुभएको छ ।

आज विदुरमा प्रेस सेन्टर नुवाकोटले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “केन्द्रीय नेतृत्व तहबाट केही निर्णय गर्नुपर्नेमा मन्त्रिपरिषद बिस्तार रोकिएको छ, अब एक हप्ताका सरकारले पूर्णता पाउनेछ”, उहाँले भन्नुभयो ।

उहाँले बजेट निर्माणको पूर्वसन्ध्यामा टुक्रे योजनामा प्रदेश तहबाट लगानी नगरिने पनि स्पष्ट पार्नुभयो । “अब विकासको मोडेल नै परिवर्तन गर्नुपर्छ । प्रदेश सरकारले सानातिना टुक्रे योजना गर्दैन । साना योजना स्थानीय तहहरुलाई जिम्मा दिने र प्रदेशमा ठूलो योजना मात्र सञ्चालने गर्ने छौं”, मुख्यमन्त्री जममकट्टेलले भन्नुभयो ।

उहाँले कृषि उत्पादत्व वृद्धिका लागि प्रदेश सरकारले काम गरिरहेको भन्दै आगामी आर्थिक वर्षदेखि व्यक्तिलाई कृषि अनुदान दिन बन्द गरिने बताउनुभयो । “कृषिमा व्यक्ति केन्द्रित र पहुँच केन्द्रित अनुदान वितरण हुँदै आएको छ । अब त्यस्तो अनुदान बन्द गर्दैछौँं”, उहाँले भन्नुभयो, “समुदायमा आधारित धेरैभन्दा धेरै किसानलाई समेट्ने गरी लगानी गर्ने योजनामा लागेका छौँ । आगामी आर्थिक वर्षबाट नै यो मोडालिटी सुरु हुनेछ ।”

मुख्यमन्त्री जमकट्टेलले सङ्घीयतामा प्रदेश सरकारको भूमिका महत्वपूर्ण हुने भन्दै प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, खेलकुद, सडक पूर्वाधारलगायत विभिन्न क्षेत्रका महत्वपूण योजना सञ्चालन गरिरहेको बताउनुभयो ।

शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै ‘नेक्सस’लाई कारबाहीको दायरमा ल्याइने बताउनुभएको छ ।

आज आफूसँग भेट गर्न आएका नेकपा (एकीकृत समाजवादी)का नेता तथा जनवर्गीय सङ्गठनका प्रतिनिधिसँगको छलफलमा उहाँले दोषीलाई कुनै पनि हालतमा नछाड्ने र निर्दोष कुनै पनि हालतमा नफस्ने गरी सरकार अगाडि बढेको बताउनुभयो । “निर्दोष कुनै पनि हालतमा पर्ने छैनन्, दोषी छुट्ने छैनन्”, उहाँले भन्नुभयो । 

उपप्रधानमन्त्री श्रेष्ठले यस प्रकारको ठगी सामान्य भ्रष्टाचार मात्रै नभएर सङ्गठित अपराध भएको उल्लेख गर्नुभयो । अझ त्योभन्दा बढी यो राज्यविरुद्धकै अपराध भएको पनि उहाँको भनाइ छ । “यो भ्रष्टाचार मात्रै होइन माथिदेखि तलसम्म मिलेर चलाइएको सङ्गठित अपराध हो । यो यतिमा मात्रै सीमित नभएर आफ्नो देशका नागरिकलाई अनागरिक बनाउने राज्यविरुद्धकै अपराध हो”, उहाँले  भन्नुभयो । 

सो प्रकरणमा आफूलाई कुनै पनि नेताले दबाब नदिएको उल्लेख उल्लेख गर्दै उहाँले दबाब आए त्यसलाई थेगेरै भए पनि अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पु¥याइने दृढता व्यक्त गर्नुभयो । शरणार्थी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट आफूले दह्रो साथ र आडभरोसा पाएको उहाँको भनाइ छ ।

“मलाई अहिलेसम्म शीर्ष नेताले यसलाई नपक्रनुस् उसलाई नपक्रनुस् भनेर दबाब दिनुभएको छैन । दोषी नफसोस् र निर्दोष नउम्कियोस् भन्ने नै उहाँहरूको कुरा छ,”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “प्रधानमन्त्रीको निर्देशन र आडभरोसा छ । दोषीलाई कारबाही गरियोस् निर्दोस नपरुन् भन्ने छ सबैको कुरा ।”

उहाँले प्रहरीलाई निर्धक्क भएर अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको जानकारी दिनुभयो । “राजनीतिक दबाबको सामना गर्ने म छु, तपाईंहरू पनि अन्य चलखेलमा नलागी अनुसन्धान गर्नुहोला भनेर प्रहरीलाई भनेको छु,”, उहाँले भन्नुभयो । 

भेटमा एकीकृत समाजवादीका नेताले शरणार्थी प्रकरणमा सरकारले प्रशंसनीय काम गरेको भन्दै बधाई दिनुभएको थियो । यो अनुसन्धान प्रक्रियामा आफूहरूको पनि समर्थन रहने भन्दै उहाँहरूले कुनै पनि दबाबको अगाडि नझुक्न उपप्रधानमन्त्री श्रेष्ठलाई सुझाव दिनुभयो । 
 

मधेश प्रदेशमा सरकार पुनःगठन हुनुपर्छ : अध्यक्ष ठाकुर

धनुषा – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मधेश प्रदेश सरकारको नेतृत्व सरकार पुनःगठन हुनुपर्ने माग गर्नुभएको छ ।

आज जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले गठबन्धनको मर्मअनुसार अन्य प्रदेशमा सरकारको नेतृत्व परिवर्तन भए सरह नै मधेश प्रदेशमा पनि सरकारको नेतृत्व र स्वरुप परिमार्जन हुनुपर्ने बताउनुभयो ।

अध्यक्ष ठाकुरले मधेश प्रदेश सरकारको नेतृत्वमा लोसपाको समेत दाबी रहने बताउनुभयो । गठन्धनको मर्मअनुसार मधेश सरकारको नेतृत्वमा अव लोसपाकै पालो हुनुपर्ने अध्यक्ष ठाकुरको भनाइ छ ।

उपनिर्वाचन अगाडि नै मधेश प्रदेशको सरकारका विषयमा दलबीच सहमति भइसकेको भन्दै अध्यक्ष ठाकुरले त्यसैअनुसार मधेश सरकार परिवर्तन हुने दाबी गर्नुभयो ।

अध्यक्ष ठाकुरले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन भइरहेकाले सबैले सहयोग गर्नुपर्ने समेत बताएका छन् ।

नेप्सेमा झिनो अङ्कको गिरावट

काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ३४ अङ्कले ओरालो लागेर एक हजार आठ सय ३८ दशमलब ५९ मा सीमित भएको छ ।

ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ७१ अङ्कले ओरालो लागेर तीन सय ५३ दशमलब शून्य नौ मा सीमित भएको छ । कारोबार भएका कूल १३ कम्पनीमध्ये तीन कम्पनीको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर भने ओरालो लागेको छ । कूल २१ लाख पाँच हजार छ सय ५७ कित्ता शेयर रु ५७ करोड ८८ लाख ४१ हजार पाँच सय ९३ मूल्यमा खरिद बिक्री भएको छ । कूल ६४ कम्पनीको शेयर मूल्य उकालो लाग्दा एक सय ३४ कम्पनीको शेयर मूल्यमा भने गिरावट आएको छ ।

कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु तीन करोड १५ लाख छ हजार तीन सय ६३ बराबरको शेयर कारोबार भएको छ ।

ग्लोबल आइएमई बैंकको संस्थापक शेयर रु दुई करोड ७० लाख ८४ हजार आठ सय चार, शिवम् सिमेन्ट रु एक करोड ८० लाख ३७ हजार सात सय ५२, हिमाल दोलखा हाइड्रोपावर रु एक करोड ७७ लाख ६३ हजार चार सय १० र हिमालयन डिस्टिलरीको रु एक करोड ६८ लाख ७८ हजार सात सय पाँच बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार आत्मनिर्भर लघुवित्त छ दशमलब १०, सिटिजन म्युचुअल फण्ड पहिलो पाँच दशमलब ८९, मनकामना स्मार्ट लघुवित्त पाँच दशमलब ७१, इस्र्टन हाइड्रोपावर पाँच दशमलब ६६ र कुमारी इक्विटी फण्डको शेयर मूल्य पाँच प्रतिशतले बढेको छ ।

त्यस्तै, फरवार्ड माइक्रोफाइनान्स पाँच दशमलब ९९, बाराही हाइड्रोपावर पाँच दशमलब ५२, एशियन हाइड्रोपावर पाँच दशमलब ५२, बलेफी हाइड्रोपावर चार दशमलब ३५ र पञ्चकन्या माई हाइड्रोपावरको शेयर मूल्य चार दशमलब ३४ प्रतिशतले घटेको छ ।

एमाले केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्नुभएकाे  छ ।  बिहीबारबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा ओलीले प्रतिवेदन पेस गर्नुभएकाे हाे ।

मुकेशलाई शहीद घोषणा गरिन्छ :मन्त्री मोदी

काभ्रेपलाञ्चोक – सङ्घीय मामला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले जनआन्दोलनका घाइते मुकेश कायस्थलाई शहीद घोषणा गरिने बताउनुभयो ।

बुधबार साँझ निधन हुनुभएका दोस्रो जनआन्दोलनका घाइते बनेपा नगरपालिका–८ का मुकेशको श्रद्धाञ्जली सभालाई आज सम्बोधन गर्दै उहाँले मुकेशलाई शहीद घोषणा गर्नेमा शङ्का नगर्न आग्रह गर्नुभएको हो ।“ मुकेशलाई शहीद घोषणा गर्नेमा शङ्का नगर्नुस् । उहाँको निधनले राष्ट्र आज शोकाकुल छ”, मन्त्री मोदीले भन्नुभयो । लोकतन्त्र प्राप्तिमा मुकेशले पु¥याउनुभएको योगदानप्रति काभ्रेली नागरिकले गौरव मान्नुपर्ने बताउँदै उहाँले शोकलाई शक्तिमा बदल्न कायस्थ परिवारजनलाई आग्रह गर्नुभयो ।

मन्त्री मोदीले भन्नुभयो “इतिहासमा ‘जिउँदो शहीद’ निकै कम हुने गर्छन्, मुकेश त्यसमध्ये एक हुनुहुन्थ्यो । उहाँले १८ वर्षसम्म शय्याबाटै मृत्युसँग जुधिरहनुभयो ।” सामान्यभन्दा विशेष नागरिकको मृत्यु ‘विशेष’नै हुनेगरेको र हरेक मनिसको मृत्यु फरकफरक ढङ्गले हुनेगरेको उहाँको भनाइ थियो ।
सो अवसरमा मन्त्री मोदीलाई मुकेश प्रतिष्ठानमार्फत मुकेशलाई शहीद घोषणा गर्नुपर्ने, उहाँको नाममा स्वास्थ्य संस्था निर्माण गर्नुपर्नेलगायत माग प्रस्तुत गरिएको थियो ।

श्रद्धाञ्जली अर्पणका लागि मुकेशको शवलाई बनेपा नगरपालिका कार्यालय प्राङ्गणमा राखिएको छ । श्रद्धान्जली सभामा काभ्रेपलाञ्चोकका सङ्घीय सांसदद्वय सूर्यमान दोङ र गोकुलप्रसाद बाँस्कोटा, प्रदेशसभा सदस्यद्वय कञ्चनचन्द्र वादे र लक्ष्मण लम्साल, गृह मन्त्रालयका सचिव दिनेश भट्टराई जिल्लास्थित राजनीतिक दलका नेता तथा कार्यकर्ता एवं स्थानीयवासीको उपस्थिति थियो । दिउँसो मुकेशको शवलाई नगर परिक्रमा गराइ साँझ बनेपास्थित उग्रतीर्थमा अन्त्यष्टि गरिने जनाइएको छ ।
अस्पतालमा उपचारका क्रममा बुधबार साँझ ७ः३० बजे निधन हुनुभएका मुकेश जनआन्दोलनमा घाइते हुँदा १५ वर्षका हुनुहुन्थ्यो बत्तीस वर्षका उहाँको स्वास्थ्यमा केही दिनदेखि थप समस्या भएपछि बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।

जनआन्दोलन भइरहँदा बनेपाको तीन दोबाटोमा विसं २०६२ चैत २७ गते मुकेशको बाँया कञ्चटमा सुरक्षाकर्मीको गोली लागेर सख्त घाइते हुनुभएको थियो । त्यस दिनदखि उहाँको होस् नखुल्नाका साथै बाँया हात राम्रोसँग चल्दैनथ्यो । गोलीको घाउ निको भएपनि मुकेशको टाउकोमा गहिरो खाल्डो थियो । सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएको दिनदेखि ओछ्यानमा पर्नुभएका मुकेशलाई ‘ज्यूँदो शहीद’ भन्ने गरिन्थ्योे ।

दोस्रो अनआन्दोलनका क्रममा काभे्रपलाञ्चोकको नालाका भिमसेन दाहाल पोखरामा, पनौतीका सगुन ताम्राकार कलङ्कीमा, भिमखोरीका शिवहरि कुँवर बनेपामा र नागे्र गगर्चेका सुनिलकुमार लामा काठमाडौँस्थित जोरपाटीमा मारिनुभएको थियो भने ४० जना घाइते भएका थिए ।