काँग्रेसका जिल्ला सभापतिहरूको बैठक आज पनि बस्दै


काठमाडौँ – नेपाली काँग्रेसका जिल्ला सभापतिहरूको बैठक आज पनि बस्दै छ ।
बिहीबारदेखि सुरु भएको जिल्ला सभापतिहरूको बैठक आज पनि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सो बैठकमा ४२ जिल्लाका जिल्ला सभापतिहरूसहित अन्य केन्द्रीय र प्रदेशका प्रतिनिधिहरू सहभागी हुनुहुन्छ ।
बिहीबारको बैठकमा २६ जना जिल्ला सभापतिहरूले आफ्नो धारणा राख्नुभएको थियो भने बाँकीले आज आफ्नो धारणा राख्ने बुझिएको छ।
जिल्ला सभापतिहरूले धारणा सुनेपछि महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले त्यसको जवाफ दिने तथा पार्टीको निर्देशन दिने कार्यक्रम रहेको छ ।
पार्टीको पछिल्लो १४ औँ महाधिवेशनपछि पहिलो पटक काँग्रेसले जिल्ला सभापतिहरूसँग बैठक आयोजना गरेको हो । बैठकमा पार्टी सदस्यता, जिल्ला समितिमा देखिएका विवाद र समस्यालगायत केन्द्रीय समितिलाई सुझाव माग गरिएको छ ।