`

मुगु हिमपहिरो अपडेट : १० फिट हिउँ जमेकाले बेपत्ता खोज्न समस्या

मुगु – अत्यधिक हिमपातका कारण मुगुम कार्मारोङ गाउँपालिका–१ र २ मा पर्ने च्याँखुलेकमा हिमपहिरोमा परी बेपत्ता भएका तीन जनाको खोजी गर्न समस्या भएको छ । सो क्षेत्रमा १० फिटभन्दा बढी हिउँ जमेकाले उनीहरुको खोजी हुन सकेको छैन ।

यही वैशाख २२ गते च्याँखुलेकमा हिमपहिरोमा परी यार्सागुम्बा सङ्कलन गर्न गएका जुम्लाको पातारासी गाउँपालिका–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की (४०), ३५ वर्षीय पुन्न सार्की र ३५ वर्षीय बीर बोहोरा बेपत्ता भएका थिए । उनीहरुको खोजीमा मङ्गलबारदेखि सुरक्षाकर्मी लागिपरे पनि बाक्लो हिउँ जमेकाले समस्या भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत वैशाख २४ गते बेपत्ताको खोजीका लागि सुरक्षाकर्मीसहित २३ जनालाई घटनास्थलमा पठाएको थियो । सुरक्षाकर्मीले घटनास्थलभन्दा चार घण्टा तल बेँसीमा रहेको छापाखोलामा क्याप राखी बेपत्ताको खाजी गर्दै आएको छ । घटनास्थलसम्म सुरक्षाकर्मी पुग्न भने सकिरहेको छैन् । आज पुनः उनीहरुको खोजी गरिने प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो । “डोरी र लठ्ठीको सहाराले बेपत्ताको खोजी भइरहेको छ, बाक्लो हिउँ छ, त्यसमाथि हिउँ लगातार परिरहेको छ”, उहाँले भन्नुभयो ।

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समिति बैठक बस्ने भएको छ ।

बुधबार बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बैठक बोलाइएको हो । बैठकमा सरकारमा मन्त्री पठाउनेबारे छलफल हुने छ ।

यस्तै पार्टीको विधान अधिवेशन लगायतका विषयले पनि प्रवेश पाउने नेताहरूले बताएका छन् ।

पूर्वगृहमन्त्री बालकृष्ण खाँड पक्राउ

काठमाडौं –  शरणार्थी काण्डमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण आफ्नो निवासबाट आज पक्राउ परेका छन् ।

उनीसँगै तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् ।हाल उनलाई अपराध अनुसन्धानको कार्यालयको हिरासतमा राखिएको परिसरका प्रवक्ता सिताराम रिजालले जानकारी दिए ।

प्रहरीले अर्का पूर्वगृहमन्त्री रामबहादुर थापा बादललाई पनि पक्राउ गर्ने तयारी गरेको बताइएको छ । उनका छोरा प्रतीक थापा पक्राउ पुर्जी जारी भएपछि फरार छन् । गिरोहका सदस्यले बादलकी श्रीमती नैनकला थापाको नाम पनि पोलेका छन् ।

यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् ।

यसअघि प्रहरीले गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

थप विवरण आउँन बाँकी छ ।

अध्यक्ष नेपाल र संयोजक गौतमबीच भेट : एकताका लागि छलफल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच आज भेटवार्ता भएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा अध्यक्ष नेपाल र नेता गौतमबीच भएको भेटघाटमा समसामयिक राजनीतिक विषय, समान विचार भएका वामपन्थी शक्तिबीचको एकताबारे भइरहेका प्रयासका साथै राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा छलफल भएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

अध्यक्ष नेपालले मुलुकको कम्युनिष्ट आन्दोलन जगेर्ना गरी राष्ट्रियताको संरक्षणका साथै विकास र समृद्धिका लागि छरिएका स–साना वामपन्थी दललाई एकीकृत गरी बलियो कम्युनिष्ट शक्ति निर्माणका क्रममा पार्टी रहेकाले एकताका लागि प्रस्ताव गर्नुभएको थियो ।

सो अवसरमा नेता गौतमले एकताका लागि आफू सकारात्मक रहेकाले आफ्नो समूहबाट छलफल गरी छिट्टै निर्णय लिने जानकारी गराउनुभयो । पार्टीले सङ्गठन सुदृढीकरणका साथै वामपन्थी दलसँग एकताका लागि समान दृष्टिकोण तथा वैचारिकरूपमा नजिक रहेका दललाई एकताबद्ध गर्न उपाध्यक्ष डा बेदुराम भुसालको नेतृत्वमा कार्यदलसमेत गठन गरेको थियो ।

उक्त कार्यदलले नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीसँग एकताका लागि विभिन्न चरणमा वार्ता गरेको जनाइएको छ ।

आर्थिक समस्या समाधान गर्ने गरी बजेट तर्जुमा गर्न सुझाव

काठमाडौँ – प्रतिनिधिसभाका सांसदहरुले वर्तमानमा देखिएको आर्थिक समस्या समाधान गर्ने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिनुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलका क्रममा आज उहाँहरुले स्वदेशी उद्योगलाई महत्व दिएर बजेट बनाउनुपर्नेमा जोड दिनुभएको हो ।

सांसद डा चन्द्रकान्त राउतले मजदुरलाई केन्द्रमा राखेर विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तय गरिनुपर्नेमा जोड दिनुभयो । सामान्य मानिसलाई हेरेर उसको न्यूनतम् आवश्यकता पूरा गर्न सामथ्र्यवान् बनाउने गरी बजेट बनाउनुपर्नेमा उहाँको भनाइ छ ।

सांसद योगेशकुमार भट्टराईले राज्य संयन्त्र अर्थात् गृह मन्त्रालय नै मानव बेचबिखनमा लाग्नु चिन्ताको विषय भएको बताउनुभयो । अपराधको गम्भीरतालाई हेरेर नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही गरिनुपर्ने उहाँको माग छ । हिमाल र पहाडका जनसङ्ख्या घटेर काठमाडौँलगायत उपत्यका र तराईको जनसङ्ख्या बढिरहेकाले त्यसलाई सम्बोधन गर्ने गरी नीति निर्धारण एवं बजेट विनियोजन गरिनुपर्ने सांसद भट्टराईको विचार थियो ।

सांसद सर्वेन्द्रनाथ शुक्लले स्वदेशी उद्योगलाई संरक्षण गर्ने गरी आगामी बजेटमा प्राथमिकता दिनुपर्ने बताउनुभयो । चुन उद्योगका कच्चापदार्थ बाहिरबाट ल्याउने विषयमा अर्थ मन्त्रालय गम्भीर हुनुपर्ने उहाँको भनाइ छ ।

सांसद अरुणकुमार चौधरीले आर्थिक वृद्धिदर हुनेगरी उद्योग व्यवसाय प्रवद्र्धन गर्ने गरी आगामी वर्षको बजेट आउनुपर्ने बताउनुभयो ।

सांसद विनोदकुमार चौधरीले सुशासन र निजी क्षेत्रको प्रवद्र्धनलाई प्राथमिकता दिएर विनियोजन विधेयकका सिद्धान्त आएकाले बजेट पनि त्यसैअनुरुप आउने विश्वास व्यक्त गर्नुभयो । विद्युत् निर्यातमार्फत् व्यापार घाटा पूर्ति गर्ने नीति बजेटले लिनुपर्ने उहाँको विचार छ । बूढानीलकण्ठजस्ता विद्यालय सकेसम्म प्रत्येक जिल्लामा नभए एउटा प्रदेशमा एउटा खोल्ने गरी बजेट व्यवस्थापन गर्न पनि सांसद चौधरीले माग गर्नुभयो । आवासको हकका लागि तीनै तहका सरकारले फरक–फरक कार्यक्रम अघि सारेपनि आवासविहीनले आवास पाउन नसकेकाले एकीकृत रुपमा कार्यक्रम अघि लैजानुपर्नेमा उहाँको जोड थियो ।

सांसद माधव सापकोटाले विनियोजन विधेयकमा विपद्का विषय छुटेकाले त्यसलाई समावेश गर्न माग गर्नुभयो । नीतिभन्दा बढी नियत खराब, कानुनभन्दा कार्यान्वयनमा समस्या रहेको उहाँले भनाइ राख्नुभयो ।

सांसद डा तोसिमा कार्कीले बजेट सङ्कुचन हुने हल्ला चलेकाले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा कटौती गर्न नहुने माग गर्नुभयो । गाउँगाउँमा चिकित्सक लैजान २०४६ को जनशक्तिले नपुग्ने भएकाले बढाउनुपर्नेमा उहाँको जोड थियो । कूल बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रमा छुट्याउन पनि सांसद कार्कीले माग गर्नुभयो ।

पाँचतारे होटलमा गरिने कार्यक्रमको बजेट मन्त्रालयकै हलमा गरेर बचाएर सेवामूलक काम लगिनुपर्ने उहाँको भनाइ थियो । सांसद रामनाथ अधिकारीले आम्दानी र खर्चमा तालमेल नमिलेकाले अहिले देशमा आर्थिक समस्या देखिन थालेको बताउनुभयो । अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको हालसम्म १३ प्रतिशतले कम राजस्व सङ्कलन भएको उहाँको भनाइ छ ।

सांसद भीमप्रसाद आचार्यले डिजिटल प्रविधिमा गए भ्रष्टाचार कम हुने बताउनुहुँदै तीन महिनामा सबै विषयलाई डिजिट्लाइज्ड गर्ने गरी नीति तथा कार्यक्रम बजेट बनाइनुपर्ने भनाइ राख्नुभयो । रोजगार प्रवद्र्धन, पर्यटन, उत्पादन वृद्धि, कृषिमा आधुनिकीकरणलगायत माध्यमबाट देशको आर्थिक अवस्था सुधार गर्न सकिने उहाँको भनाइ थियो ।

सांसद नारायणी शर्माले राष्ट्रिय पुँजी निर्माण गर्ने गरी आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट बनाइनुपर्ने बताउनुभयो । शिक्षा र स्वास्थ्यमा बढी लगानी गरी बालबालिकाले आत्महत्या नगर्ने वातावरण निर्माण गर्न पनि उहाँले माग गर्नुभएको थियो ।

सांसद सोविता गौतमले राम्रा प्राध्यापक भए पनि नेपालका विश्वविद्यालयमा राम्रो अध्यापन नहुने गरेकाले धेरै विद्यार्थी विदेशिएकाले कसरी नेपालमै राख्ने भनी आगामी अर्थ नीति निर्माण हुनुपर्ने बताउनुभयो । उद्यमशीलता र लगानीलाई जोड्ने गरी आगामी वर्षको बजेट आउनुपर्ने उहाँको भनाइ थियो । दिगो विकास लक्ष्यका छलफल पाँच तारे होटलमा हुने र यस विषयमा स्थानीय तहलाई थाहा नहुने अवस्थाको अन्त्य गरिनुपर्ने सांसद गौतमको विचार थियो ।

गण्डकीमा कुन दललाई कति मन्त्रालय ?

गण्डकी – गण्डकी प्रदेश सरकारमा कुन दलले कति मन्त्रालय पाउनेबारे गठबन्धनमा सहमति जुटेको छ । प्रमुख सत्ता घटक नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित चार, नेकपा (माओवादी केन्द्र)ले दुई र नेकपा (एकीकृत समाजवादी)ले एक मन्त्रालाय पाउने भएको हो ।

कांग्रेसको प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेका अनुसार मन्त्रालयगत बाँडफाँट भने अझै टुङ्गिन बाँकी छ । “कुन दलले कुन मन्त्रालय लिने भन्ने विषयमा गठबन्धनमा गृहकार्य भइरहेको छ”, उहाँले भन्नुभयो, “केही दिनमै मुख्यमन्त्रीज्यूले सरकारलाई पूर्णता दिनुहुन्छ ।”

मन्त्रालयको बाँडफाँट मिलेपछि दलहरुले मन्त्रीको नाम टुङ्ग्याउने प्रमुख सचेतक न्यौपानेले बताउनुभयो । “केन्द्रीय गठबन्धनसँग पनि जोडिएको विषय भएकाले नेकपा एसलाई कुन मन्त्रालय दिने भन्ने विषयमा माथि नै सहमति बन्छ”, उहाँले भन्नुभयो ।

प्रदेशसभामा राजीव गुरुङ नेकपा (एस)का एक्लो सदस्य हुनुहुन्छ । मनाङ–१ (२) बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित हुनुभएका उहाँ पछि नेकपा एसमा प्रवेश गर्नुभएको थियो । प्रदेशसभामा सत्तारुढ दलतर्फ सबैभन्दा बढी कांग्रेसका २७ र माओवादी केन्द्रका सात (सभामुखबाहेक) प्रदेशसभा सदस्य छन् ।

माओवादी केन्द्रको गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले आफूहरुले तीन मन्त्रालयमा दाबी गर्दै आए पनि दुई मन्त्रालय पाउने सहमति बनेको बताउनुभयो । “कांग्रेस र माओवादी केन्द्रबीच सहमति भइसकेको छ, नेकपा एसको विषयमा मुख्यमन्त्रीज्यूले नै मिलाउनुहुन्छ”, उहाँले भन्नुभयो ।

पूर्वमन्त्रीसमेत रहनुभएका नेता चुमानले माओवादी केन्द्रले भौतिक पूर्वाधार विकास र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय पाउने सम्भावना रहेको उल्लेख गर्नुभयो । “अब माओवादीका कारण मन्त्रिपरिषद् विस्तार रोकिन्न, बरु कांग्रेसभित्रै मन्त्रीका आकांक्षीलाई मिलाउन समय लाग्न सक्छ”, उहाँले भन्नुभयो ।

निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारमा पनि माओवादीले दुई मन्त्रालय पाएको थियो । सोही सरकारले मन्त्रालयको सङ्ख्या १२ बाट घटाएर सातमा पु¥याएको थियो । नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि मन्त्रालयको सङ्ख्या नथप्ने प्रतिबद्धता जनाइसक्नुभएको छ । यही वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका उहाँले गत २१ गते प्रदेशसभाबाट विश्वासको मत पाउनुभएको थियो । विश्वासको मत पाएसँगै उहाँ मन्त्रिपरिषद् विस्तारको तयारीमा जुट्नुभएको छ ।

हाल मन्त्रिपरिषद्मा मुख्यमन्त्री पाण्डेसहित बिनाविभागीय मन्त्रीका रुपमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य सुशीला सिम्खडा र कांग्रेसका सरस्वती अर्याल तिवारी रहनुभएको छ । मन्त्रिपरिषद्को पूर्णतापछि सरकारका कामकारबाहीले गति दिने सरकारका प्रवक्ता एवं बिनाविभागीय मन्त्री तिवारीले बताउनुभयो ।

पछिल्लो चार वर्षमा पाँच सय १८ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

काठमाडौँ / पछिल्लो चार वर्षमा पाँच सय १८ गर्भवती तथा सुत्केरीेको उद्धार भएको छ । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यक्रम सुरु भएदेखि हालसम्म सो सङ्ख्यामा उद्धार भएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ । 

मन्त्रालयबाट कार्यान्वयन भइरहेको राष्ट्रपति महिला सशक्तीकरण परियोजनाअन्तर्गतको राष्ट्रपति महिला उत्थान समन्वय एकाइ प्रमुख नीता शर्माले १८ जिल्लाबाट पूर्ण र २९ जिल्लामा आशिंकरूपमा सञ्चालन रहेको जानकारी दिनुभयो । 

आर्थिक वर्ष २०७५/०७६ बाट सुरु भएको उक्त कार्यक्रम प्रसव समस्या न्यूनीकरण गरी मातृ शिशु मृत्युदर कम गर्ने उद्देश्यका साथ सुरु गरिएको थियो । उक्त आर्थिक वर्षमा २६ जना महिलाको उद्धार गरिएको थियो । आर्थिक वर्ष २०७६/०७७ मा ८७, २०७७/०७८ मा एक सय तीन, २०७८/०७९ मा एक सय ६९ र २०७९/०८० मा हालसम्म एक सय ३३ गरी जम्मा पाँच सय १८ महिलाको राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट निःशुल्क हवाई उद्धार सेवा प्रदान गरिएको एकाइ प्रमुख शर्माले जानकारी दिनुभयो । 

“प्रभावित क्षेत्रबाट मन्त्रालयलाई सम्पर्क गरेको आधारमा उद्धारको कामको प्रक्रिया अगाडि बढाइएको छ । सम्बन्धित स्वास्थ्य संस्थामा गएको व्यक्तिको उपचार सम्भव नभएको खण्डमा उक्त संस्थाबाट मन्त्रालयलाई महिलाको ज्यान जोखिम छ भनी गरिएको सूचनाको आधारमा प्रक्रिया सुरु गरिन्छ”, उहाँले भन्नुभयो । 

उपचार सम्भव नभएमा उक्त स्वास्थ्य संस्थाले रेफर कार्डसहित सम्बन्धित गाउँपालिका, जिल्ला प्रशासन कार्यलयलाई सूचना प्रदान गर्ने उहाँले बताउनुभयो । “उपचार सम्भव नभएको स्वास्थ्य संस्थाबाट मन्त्रालयलाई इमेल गरी पत्राचार गर्नुहुन्छ । तुरुन्त पत्र पठाउन सम्भव नभएमा बिरामीको नाम, अवस्था, उमेर ठेगाना फोनबाट उपलब्ध गराएको विवरणका आधारमा प्रक्रिया सुरु गर्छौं”,  उहाँले भन्नुभयो ।

दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लािग हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७७  मा तोकिएका क्षेत्रबाट मन्त्रालयले निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन गरेको छ ।  

“मन्त्रालयको निर्देशनमा नेपाली सेनालाई हेलिकप्टर उडानका लागि तयारी अवस्थामा रहन जानकारी गराउँछाँै । थप विवरण प्राप्त भएको सूचना प्राप्त भएसँगै तुरुन्त उडान हुन्छ । यसरी सूचना प्राप्त भएको आधा घण्टादेखि ४५ मिनेटसम्म हेलिकप्टर उडान गरिसकेका हुन्छाँै । प्रतिकूल मौसमको समयमा तोकिएको समयमा उडान हुन नसक्नु अपवाद मात्र हो”, उहाँले बताउनुभयो । 

मन्त्रालयले आमासुरक्षा कार्यक्रम लागू भएका तीनवटा अस्पतालसँग सम्झौता गरेको छ । काठमाडौँमा  थापाथली प्रसूतिगृह, पूर्वमा कोशी अस्पताल, विराटनगर र पश्चिममा प्रादेशिक सुर्खेत अस्पताल रहेका छन् । ती अस्पतालबाट निःशुल्क उपचार गरिन्छ ।  

“बिरामीको अवस्थाअनुसार पायक पर्ने अस्पतालमा पुर्याउँदै आएका छौँ । पूर्वतर्फ वर्षाको समयमा मात्र सेनाको हेलिकप्टर रहनाले अन्य समयमा थापाथली ल्याउने गरेका छौँ । काठमाडौँबाट पठाएको हेलिकप्टर कोशी अस्पतालभन्दा थापाथलीमा सहज हुनाले थापाथलीमै ल्याउने गरिएको छ”, एकाइ प्रमुख शर्माको भनाइ छ । 

उद्धार गरिएका महिलाको सम्बन्धित अस्पतालमा निःशुल्क उपचारपश्चात् कार्यविधिबमोजिम ज्यान जोखिममा परेकी महिलाको सुत्केरी पोषण स्याहार तथा यातायात सहयोगका लागि एकमुष्ट खर्च रु २० हजार उपलब्ध गराउने गरेको उहाँले जानकारी दिनुभयो । 

    “आमा सुरक्षा कार्यक्रम लागूभएका अस्पतालसँग सम्झौता गरेकाले प्रसूतिसम्बन्धी समस्या समाधान हुनाले सम्बन्धित अस्पतालमा नै उपचार गर्दै आएका छाँै । यसप्रति खासै गुनासो आएको छैन”, उहाँले भन्नुभयो । 

मन्त्रालयले प्रसूतिसँग सम्बन्धित उपचारमा सेवा गर्ने प्रावधान रहेकाले अन्य रोग देखापरेका बिरामीको खण्डमा सम्बन्धित व्यक्तिले आवश्यक अस्पतालमा उपचार गराउने गरेको शर्माले जानकारी दिनुभयो । कार्यविधिबमोजिम तोकिएका क्षेत्रमा गरिएको पूर्णरूपमा १८ वटा जिल्ला ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, मनाङ, मुस्ताङ, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, डोल्पा, कालिकोट, मुगु, हुम्ला, बाजुरा, अछाम र दाचुर्लामा तथा आशिंक २९ जिल्लामा सञ्चालित छन् । 

दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार राष्ट्रको प्राथमिकताको कार्यक्रम रहेकाले प्रभावकारी रहेको एकाइ प्रमुख शर्माले बताउनुभयो । 

थप ५१ जना कोरोना संक्रमित थपिए

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार एक हजार ९०२ जनामा गरिएको परीक्षणबाट ५१ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा नेपालमा २६ जना संक्रमण मुक्त भएका छन् ।

आज थपिएका सँगै नेपालमा २४ घण्टामा १४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

टोपबहादुर रायमाझीको घरमा प्रहरीले मार्याे छापा

काठमाडौं – नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ ।

रायमाझीको सातदाेबाटाेस्थित घरमा काठमाडौं र ललितपुरको प्रहरी टोली छापा मार्न पुगेको हो ।

नक्कली शरणार्थी प्रकरणमा रायमाझी पनि प्रहरी अनुसन्धानमा तानिनुभएकाे छ  । उहाँमाथि पक्राउ पूर्जी जारी भइसकेको छ । हाल रायमाझी सम्पर्कविहीन हुनुहुन्छ ।

प्रहरीले हिजोमात्र देशभरका युनिटमा निर्देशन दिँदै रायमाझीलाई खोजी गर्न भनेको थियो ।

भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भयो : प्रधानमन्त्री

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भएको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको आज शिलान्यास गर्दै भ्रष्टाचार नियन्त्रणका लागि आफू र पार्टीलाई जनयुद्धको जस्तै साथ चाहिएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले विकास र समृद्धिबिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सुत्रपात गर्न नसकिने बताउनुभयो । “यसका लागि हिजोका दिनमा तपाईंहरुले दिएको साथ आज पनि चाहिएको । यसका लागि म तपाईंहरुसँग सहयोगको अपिल गर्न चाहन्छु ।”

उहाँले आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्दलाई बढी महत्व दिएको बताउनुभयो । “अन्यायमा परेकालाई न्याय, समानता र अधिकार चाहिन्छ । सामाजिक न्याय भनेको त्यही हो”, प्रधानमन्त्रीले भन्नुभयो, “देशमा विसङ्गति, विकृति र भ्रष्टाचारले विकराल रुप लिएको छ । जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली जनताले सुख र समृद्धिको दिन देख्न पाउने छैनन् ।”

उहाँले जनता सबैको साथ र सहयोगसहितको प्रतिबद्धता भए अबका पाँच वर्षमा एउटा रेकर्ड बनाउने सकिने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री दाहालले लोडसेडिङको युगबाट विद्युत् बिक्री गर्ने युगमा आएको उल्लेख गर्दै आसन्न भारत भ्रमणमा विद्युत् बिक्री र उत्पादनका विषयमा सम्झौता हुने बताउनुभयो ।

“जुन–जुन प्रदेशलाई हिजोका दिनमा पछाडि पारिएको थियो, म तिनै प्रदेशमा विकास निर्माण गति दिन बढी जोड गरेको छु । म प्रधानमन्त्री भएपछि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलाई हिजो सामन्ती राज्यले बढी विभेदमा पा¥यो तिनै प्रदेशमा मैले बढी ध्यान दिएको छु”, उहाँले भन्नुभयो । 

प्रधानमन्त्री दाहालले काठमाडौँ नजिकै भए पनि हिजोका  दिनमा राज्यसत्ताले पछाडि पारेका क्षेत्रलाई विकासमा अगाडि ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

“हिजो राज्यले काठमाडौँ नजिकै भएर पनि यहाँका नागरिकलाई विकासबाट वञ्चित गरायो”, उहाँले भन्नुभयो, “अबका पाँच वर्षमा हुने विकास निर्माणले पर्यटक ओहिरिने छन् ।”

तत्कालीन राज्यसत्ताले गरेको अपमानजनक व्यवहार, असुविधा र विभेद र अन्यायविरुद्ध काभ्रेका जनता क्रान्तिमा होमिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले महाभारत र खानीखोला जस्ता विकट गाउँले गणतन्त्रको घोषणापछि सबैभन्दो छिटो विकास र सुविधा पाउने बताउनुभयो ।

प्रेस स्वतन्त्रता सुनिश्चित गर्न गणतन्त्र सुदृढ हुनुपर्छ : मन्त्री शर्मा

काठमाडौँ / सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक स्वतन्त्रता र प्रेस स्वतन्त्रता एकअर्कासँग जोडिएको बताउनुभएको छ ।

तिसौँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा युनेस्कोसँगको सहकार्यमा राष्ट्रिय मानवअधिकार आयोग, नेपाल पत्रकार महासङ्घ र त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता विभागद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले राजनीतिक स्वतन्त्रताविना प्रेस स्वतन्त्रता सम्भव नहुने उल्लेख गर्नुभयो ।

नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री शर्माले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतान्त्रिकको सुदृढीकरणबाट मात्रै प्रेस स्वतन्त्रता सुनिश्चित गर्न सम्भव छ, अहिलेको पुस्तालाई सुन्दा पनि कथाजस्ता लाग्छ, तर कुनै यस्तो जमाना थियो, जतिबेला लेख्ने बोल्ने स्वतन्त्रताकै लागि जनताले बलिदानपूर्ण सङ्घर्ष गर्नुपरेको थियो ।”

लोकतान्त्रिक गणतन्त्रमा अधिकारको हनन गर्नु दण्डनीय भएकाले अहिले हिजोको तुलनामा धेरै हिसाबले प्रेस स्वतन्त्रता सुनिश्चित रहेको बताउँदै उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग पत्रकारका लागि मात्र नभई हरेक मानिसका लागि आवश्यक विषय भएको धारणा राख्नुभयो ।

मन्त्री शर्माले भन्नुभयो, “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको जीवनरेखा हो । हामीले लोकतन्त्रलाई बलियो बनाउन पूर्ण प्रेस स्वतन्त्रतालाई संविधानको प्रस्तावनामै उल्लेख गरेका छौँ । प्रेस स्वतन्त्रतासम्बन्धी संविधानको व्यवस्थालाई कानुनमा र कानुनलाई कार्यान्वयनमा बदल्न वर्तमान सरकार दृढ र प्रतिबद्ध छ ।”

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले प्रेस स्वतन्त्रतालाई दिगो बनाउन तथा मानवअधिकारको सुनिश्चित गर्न निर्माण भएका कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउन आयोग प्रयत्नशील रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका सभापति विपुल पोखेलले मुलुकमा प्रेस स्वतन्त्रताको अवस्था निराशाजन नदेखिए पनि पूर्णरुपमा सुरक्षित रहेको अवस्था भने नरहेकाले सतर्क र सजग रहनुपर्ने विचार प्रकट गर्नुभयो ।

कार्यपत्र प्रस्तुत गर्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले राजनीतिक स्वतन्त्रता नभई प्रेस स्वतन्त्रता प्राप्त गर्न सकिन्न भनेर विगतमा पत्रकारले लोकतन्त्रका लागि सडकमा आउन परेको घटना सुनाउँदै समाजमा चौथो अङ्ग र तेस्रो आँखाका रुपमा रहेको पत्रकार मानव अधिकारको राम्रो रक्षक भएको उल्लेख गर्नुभयो ।

उहाँको कार्यपत्रमाथि महासङ्घका महासचिव रोशन पुरी र नेपाल भोटर्स राइट्स् फोरमका अध्यक्ष भक्त विश्वकर्माले टिप्पणी गर्दै स्वतन्त्र प्रेसका लागि भएका कानुन कार्यान्वयन र महासङ्घले खेलेको भूमिका स्पष्ट रहेको बताउनुभयो ।

नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हाना सिङ्गर हाम्डीले प्रेस स्वतन्त्रताका हिसाबले नेपाल दक्षिण एसियामा अघि नै रहेको तथा विचार तथा अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकार र लोकतन्त्र एक–अर्काका पूरक भएको उल्लेख गर्नुभयो ।

नेपालस्थित युनेस्को मुख्य कार्यालयका प्रतिनिधि माइकल क्रफ्टले समग्रतामा नेपालमा प्रेस स्वतन्त्रता सुदृढ रहेता पनि घृणा जगाउने अभिव्यक्ति, गलत सूचना र द्वेषपूर्ण अभिव्यक्तिबाट प्रेस स्वतन्त्रतालाई कसरी जोगाउने भन्ने अहिले चुनौती रहेको बताउनुभयो ।

युनेस्कोको पहलमा संयुक्त राष्ट्रसङ्घले १९९३ देखि प्रत्येक वर्ष मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा मनाउँदै आएको छ । युनेस्काले गरेको सन् २०१६ देखि २०२१ सम्म पाँच वर्षको अवधिमा गरेको एक अध्ययनअनुसार ८५ प्रतिशत जनताले प्रेस स्वतन्त्रताका अवस्था खुम्चँदै गएको अभिव्यक्ति दिएका तथा त्यस अवधिमा चार सय ५५ जना पत्रकारले ज्यान गुमाउन परेको तथ्य तथ्याङ्क कार्यक्रममा प्रस्तुत गरियो ।

आगामी बजेटमा प्राथमिकता क्षेत्र स्पष्टरुपमा तोक्न सांसदहरुको सुझाव

काठमाडौँ / प्रतिनिधिसभाका सदस्यहरुले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषय स्पष्टरुपमा उल्लेख गरिनुपर्नेमा जोड दिनुभएको छ। प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथिको छलफलका क्रममा उहाँहरुले बढी प्राथमिकता दिइएका विषय  प्रस्ट पारिनुपर्ने बताउनुभएको हो।

सांसद गोकर्ण विष्टले आधारभूत स्वास्थ्य सेवा महँगो भएकाले एउटा परिवारलाई कम्तीमा रु.तीन लाखबराबरको  स्वास्थ्य बीमा गरिनुपर्ने आवश्यकता औँल्यउनुभयो। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा सबै कुरा राखे पनि केही पनि प्राथमिकतामा नपरेको उहाँको भनाइ थियो।

सांसद महेन्द्रबहादुर शाहीले सन्तुलित विकास गर्न सरकारले फजुल खर्च न्यून गर्नुपर्ने र पिछडिएको क्षेत्रलाई विकासमा प्राथमिकतामा राख्नुपर्नेमा सुझाव दिनुभयो।

सांसद विराजभक्त श्रेष्ठले माटोको सुगन्ध आउने गरी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता निर्धारण गरिनुपर्ने बताउनुभयो। समृद्धि हुने गरी विनियोजन विधेयकका सिद्धान्त तय गरिनुपर्ने र आध्यात्मलाई पनि प्राथमिकतामा राखिनुपर्ने उहाँको भनाइ थियो।

सांसद राजेन्द्रप्रसाद लिङ्देनले सङ्कटकालमा अर्थतन्त्रलाई चलायमान बनाउने गरी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तय गरिनुपर्ने आवश्यकता औँल्याउनुभयोे । राष्ट्रिय गौरवका आयोजनामा किन ढिलाइ भइरहेको छ भन्दै उहाँले समयमै काम सक्ने गरी कानुन संशोधनलगायत सुधारका काम  गरिनुपर्छ भन्नुभयो। भ्रष्टाचारलाई कुनै पनि हिसाबले छुट गरिँदैन भन्ने विषयलाई प्राथमिकतामा राखिनुपर्ने सांसद लिङ्देनको प्रस्ताव थियो।

सांसद उपेन्द्र यादवले वित्तीय सङ्घीयतालाई कार्यान्वयन गर्ने अवसरका रुपमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतालाई उपयोग गरिनुपर्ने बताउनुभयो। उत्पादन वृद्धिका लागि समाजवादउन्मुख अर्थतन्त्रको विकास गरिनुपर्ने, आर्थिक विकासका लागि वित्तीय सङ्घीयतामै जानुपर्ने, उत्पादन वृद्धिका लागि बन्द भएका उद्योग पुनःस्थापना गरिनुपर्ने र पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो।

सांसद अमरबहादुर थापाले कृषि, विद्युत्, जल, जमिन र जङ्गललाई दिगो उपयोग गरेर आर्थिक समस्या समाधानमा योगदान गर्न सकिने बताउनुभयो।

साताकाे तेस्राे दिन सेयर बजारमा हरियाली

काठमाडाैं  – साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार सेयर बजारमा हरियाली छाएकाे छ । निरन्तर घटेकाे बजार तेस्राे काराेबारकाे दिन भने दाेहाेराे अंकले बढ्न पुगेकाे हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  आज १८४४.३६ बिन्दुमा बन्द भएको छ । आज २८ लाख ३६ हजार १३९ कित्ता सेयर किनेबेच हुदाँ ७७ करोड ४७ लाख ६० हजार ६४७ रुपैयाँको कारोबार भएको छ ।

आज कारोबार भएका १६१ कम्पनीको सेयरमूल्य बढेको छ । ५० कम्पनीको सेयरमूल्य घटेको छ भने ८ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । यस दिनपिपुल्स पावर कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आज हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक काराेबार भएकाे छ । आज युनिक नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।

प्रदेश सरकार खारेज नगरेसम्म देशको अर्थतन्त्रमा सुधार आउँदैन : राजेन्द्र लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश सरकार खारेज नगरेसम्म देशको अर्थतन्त्रमा सुधार नहुने बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफलको क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

देशको अर्थतन्त्रले जनप्रतिनिधिहरुलाई तलब भत्ता खुवायन नसक्ने भन्दै संधियता खारेजीको माग राप्रपाले विगतदेखि राख्दै आएको छ । देशको अर्थतन्त्रको एक अंश देशभरका निर्वाचित जनप्रतिनिधिलाई तलब भत्ता दिनुपर्ने भएकाले पनि अर्थ तन्त्र झन कम्जोर हुँदै गएको बताएका छन् ।

सरकारले बजेटका लागि प्रस्तुत गरेको सिद्धान्त र प्राथमिकताले अर्थतन्त्र सुधार नआउँने उनले बताए । देशको अर्थतन्त्र सुधारको लागि सरकारलाई आफूहरुले आवश्यक सहकार्य गर्न तयार रहेको समेत उनले उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीले ट्रेलर र फिल्मको कुरा गरेर अनावश्यक फण्डा गरे : खिमलाल भट्टराई

काठमाडौं – नेकपा एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चर्का कुरा नगर्न आग्रह गर्नुभएको छ। 

सामाजिक सञ्जाल फेसबुक मार्फत भट्टराईले प्रधानमन्त्रीलाई चर्का कुरा गरेर वातावरण उत्तेजित बनाउने भन्दा पनि साना-साना काम गरेर देखाउन आग्रह गर्नुभएको छ। उहाँले लेख्नु भएको छ, ‘वातावरणलाई उत्तेजित बनाउन भन्दा सानो काम गरेर देखाउँदा जनताले देख्छन् बुझ्छन्, काम पनि हुन्छ।’

प्रधानमन्त्रीले ट्रेलर र फिल्मको कुरा गरेर अनावश्यक फण्डा गरेको उहाँको धारणा छ । उहाँ लेख्नुहुन्छ, ‘प्रधानमन्त्रीज्यूले ट्रेलर र फिल्मका कुराभन्दा कोसिस गर्दैछाैँ, सबैतिरबाट साथ सहयोग पाऊँ भनेको भए कति राम्रो हुन्थ्यो।’ 

भ्रष्टाचार नियन्त्रणको लागि काम गर्न प्रधानमन्त्रीलाई कसैले नरोक्ने उहाँले प्रष्ट पार्नुभएको छ। ‘भ्रष्टाचारको विरुद्ध कदम चाल्दा अरू कसैले बाटो छेक्दैन, आफैमाथि फिलिङ्गो आउँदा के गर्छौ भन्ने हो’, उहाँले लेख्नुभएको छ। 

नेकपा एमालेको सचिवालय बैठक सुरू

काठमाडौँ – नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ।

ललितपुरस्थित च्यासलमा रहेको केन्द्रीय कार्यालयमा मंगलबार अपराह्न बाट सचिवालय बैठक सुरु भएको हो।

एमालेको वैशाख २८ गतेदेखि ३० गतेसम्म चल्ने केन्द्रीय कमिटी बैठकका एजेन्डालगायत विषयमा छलफल गर्न सचिवालय बैठक बसेको हो। आज बसेको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ।

विपद् जोखिममा रहेका पालिकामा साइरन जडान गरिँदै

टीकापुर/  कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा प्रकोपको जोखिम रहेका स्थानमा सूचना प्रवाहका लागि साइरन जडान गर्न थालिएको छ । यी पालिकामा सबैखाले विपद् तथा प्रकोपका समयमा सहज सूचना प्रदान गर्नका लागि बहु–विपद पूर्व सचेतना उपकरण साइरन जडान गर्न थालिएको हो । 

जानकी गाउँपालिकाका तीन स्थानमा साइरन जडान गरिएको छ भने टीकापुरमा तीन स्थानमा जडान गर्ने तयारी छ । जानकी–४, ६ र ९ मा साइरन प्रणाली जडान भएको पालिकाले जानकारी दिएको छ । विपत तथा प्रकोपका बेला आइपर्ने सम्भावित जोखिमबाट बच्न तथा क्षति न्यूनीकरण गर्नका लागि स्थानीयवासीलाई सहज र छिटो सूचना दिन साइरन प्रणाली जडान गरिएको गाउँपालिकाका विपद् फोकल पर्सन नेत्रप्रसाद जैशीले बताउनुभयो । 

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको रु १० लाख सहयोगमा वडा नं ४ को वडा कार्यालय मुनुवा, वडा नं ६ को बालज्योति आधारभूत विद्यालय जगतपुर र वडा नं ९ को वडा कार्यालय खैरीफाँटामा साइरन जडान गरिएको छ । उहाँले भन्नुभयो, ‘‘विपतका बेला प्रयोगमा आउने गरी अहिले साइरन जडान भएको छ ।’’

साइरन प्रणालीमार्फत विपद् जोखिम क्षेत्रमा रिमोट कन्ट्रोल, एसएमएस, अनलाइन र साइरनको आवाजमा सूचना सम्प्रेषण हुनेछ । यो प्रणालीमार्फत विपद्का बेला स्थानीय पालिका, जिल्ला, प्रदेश वा केन्द्रबाट सूचना प्रवाह गर्न सकिनेछ । सूचना प्रवाहका लागि पाँच सय मिटर पेरिफेरीमा रिमोटमार्फत वडा कार्यालय, एसएमएस र अनलाइन जानकारीका लागि गाउँपालिका विपद् शाखा र साइरनका लागि सम्बन्धी ठाउँका सम्बन्धित व्यक्तिमार्फत हुने जैशीले बताउनुभयो । 

यसरी विपतका बेला साइरनबाट प्रवाह हुने, जानकारी दुई किलोमिटरको दुरीसम्म सुन्न सकिने र सोहीनुसार पूर्वतयारी, सजग तथा सचेत रहनमा सहयोग पुग्नेछ । विगतमा विपद आउँदा समुदायका सरोकारवाला व्यक्ति तथा बड्घर, जनप्रतिनिधि कहाँ एसएमसमार्फत जानकारी दिने गरिएको थियो । यी दुबै पालिकामा स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रमार्फत २४सैँ घण्टा विपद्सम्बन्धी सूचना प्रवाह भइरहेका छन् । 

‘‘अब साइरनमार्फत सबैलाई एकैपटक सूचना प्रवाह गर्न सकिन्छ’’, जानकी–६ का वडाध्यक्ष इन्द्र चौधरीले भन्नुभयो, ‘‘सबैले बुझ्न सकिने गरी स्थानीय भाषामा सूचना सम्प्रेषण हुने भएकाले यो धेरै उपयोगी हुनेछ ।’’

टीकापुरकासमेत तीन स्थानमा साइरन जडान हुँदैछ । टीकापुरका विजयनगर सहरी स्वास्थ्य केन्द्र, भानु पुस्तकालय सत्ती र वडा नं ६ को वडा कार्यालयमा साइरन जडान गर्ने निर्णय भएको विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले जानकारी दिनुभयो । 

‘‘टीकापुर–८ स्थित सत्ती पुलको पोलमा गेज स्केल निर्माण गर्ने भएका छौँ’’, उहाँले भन्नुभयो, ‘‘टीकापुरले कर्णाली नदी तल्लो तटीय क्षेत्रमा पानीको सतहमापन गर्नका लागि गेज स्केल निर्माण गर्दैछ ।’’

यसका साथै टीकापुरमा सञ्चालित एम्बुलेन्सलाई व्यवस्थित गर्न जिपिएस जडान गर्ने प्रदेशको निर्णय कार्यान्वयन गराउन पालिकाले पहल गर्ने भएको छ । नगर प्रमुख रामलाल डगौरा थारुले नगरपालिकाको विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना अद्यावधिक गर्न थालेको बताउनुभयो । योजना अद्यावधिक गर्न वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक बलिराम चौधरीको संयोजकत्वमा नौ सदस्यीय समिति गठन भएको छ । 

नगर प्रमुख थारुले भन्नुभयो, ‘‘वडास्तरीय विपद् व्यवस्थापन समिति र समुदायलाई विपद् जोखिम व्यवस्थापनमा मौसम पूर्वनुमानमा आधारित पूर्वकार्य, पूर्व सूचना संयन्त्र तथा विपद् उत्तरदायी सामाजिक सुरक्षासम्बन्धी अभिमुखिकरणसमेत गर्ने तयारी भएको छ ।’’

कैलालीका यी पालिका हरेक वर्ष आउने विपद्को जोखिमबाट जोगिन पूर्व तयारीमा जुटेका छन् । बाढीको जोखिम बढी झेल्दै आएका पालिकामा बाढीको समयमा आवश्यक पर्ने सामान, समुदायलाई सचेत गराउन विभिन्न तालिम, विपद्मा खट्ने जनशक्ति तयार जस्ता कार्य भइरहेका छन् ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठलाई मातृशोक

काठमाडौं / राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठलाई मातृशोक परेको छ ।

प्रवक्ता श्रेष्ठकी ८१ वर्षीया आमा दिलमाया श्रेष्ठको उपचारका क्रममा ललितपुरको अल्का अस्पतालमा मंगलबार निधन भएको हो ।

उनी मुटु, रक्तचाप र स्नायुसम्बन्धी समस्याबाट पीडित थिइन् । दिलमायाको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । स्वर्गीय दिलमायाका एक छोरा र एक छोरी छन् ।
 

नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न शान्ति समाजको माग

काठमाडौँ / मानव अधिकार तथा शान्ति समाजले नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीमाथि कानुनसम्मत कारबाहीको माग गरेको छ ।

घटनाक्रमले उक्त प्रकरणमा राजनीतिज्ञसहित उच्च पदस्थको संलग्नता भएको देखाएको समाजका सभापति रामकृष्ण बरालले आज जारी गर्नुभएको वक्तव्यमा उल्लेख छ । यो प्रकरण प्रकाशमा आएपछि पक्राउ पुर्जी जारी भएका केही व्यक्ति रहस्यमय तवरमा बेपत्ता हुनुले राजनीतिक संरक्षण भएको देखिने वक्तव्यमा भनिएको छ ।

अध्यक्ष बरालले सरकारी कार्यदल गठनदेखि चलखेलसम्मका सबै प्रक्रियाको सुक्ष्म अध्ययन एवं अनुसन्धानको माग गर्नुभयो । दोषी जो कोही हुन् कानुनसम्मत कारबाही सुनिश्चित हुनुपर्ने माग समाजको छ । “यो प्रकरणमा संलग्नलाई उन्मुक्ति दिन गरिने कुनै पनि प्रयास र सौदाबाजीको अभ्यासको शान्ति समाजले निन्दा गर्छ”, विज्ञप्तिमा उल्लेख छ ।

ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाइने : अर्थमन्त्री महत

काठमाडौँ – अर्थमन्त्री डा प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था सुधारका लागि बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई चलायमान बनाइने बताउनुभएको छ ।

राष्ट्रियसभामा आर्थिक वर्ष २०८०-८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धी आजको छलफलमा सांसदले उठाउनु भएका जिज्ञासाको जवाफ दिँदै मन्त्री महतले सो कुरा बताउनुभएको हो । उहाँले विशेष परिवेशमा आगामी आर्थिक वर्षको बजेट आउन लागेको उल्लेख गर्दै अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सबै प्रयास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सांसदहरुले महत्वपूर्ण सुझाव दिनुभएको उल्लेख गर्दै मन्त्री महतले सांसदले उठाउनुभएका प्रश्न, खबरदारी र सुझावलाई आत्मसाथ गरिने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो– “आर्थिक वृद्धिदर कुनै सीमित वर्ग र समुदायमा मात्र सीमित नभइ समावेशी हुने गरी आगामी बजेट तय हुनेछ, वैदेशिक सहायता कम भएको सन्दर्भमा स्रोत जुटाउने सबै उपाय अवलम्बन गरिनेछ ।”

राजश्व घटेको र पुँजीगत खर्च कम भएको अवस्थामा आगामी आवमा पुँजीगत खर्चको प्रभावकारिता बढाउने र पहिलो दिनदेखि नै प्रभावकारी रुपमा अनुगमन गर्ने मन्त्री महतले उल्लेख गर्नुभयो । विदेशी सहायता, राजस्व र आन्तरिक ऋण नै बजेटको स्रोत हुने जिकिर गर्दै उहाँले प्रभावकारी ढङ्गबाट खर्च गर्ने व्यवस्था गरिने विश्वास दिलाउनुभयो ।

अहिले ब्याजदर बढेकाले लागत बढेको र यसले गर्दा लगानी कम भएको बारेमा सरकार जानकार रहेको उल्लेख गर्दै मन्त्री महतले भन्नुभयो, “मौद्रिक नीतिमार्फत ब्याजदर कम हुने व्यवस्था गरिनेछ, यसले राजस्व बढाउन र अर्थतन्त्र चलायमान बनाउन योगदान पुग्ने तथा सकारात्मक प्रभाव पर्नेछ ।”

राजस्व चुहावट कम गर्न गृह र अर्थ मन्त्रालय मिलेर नियन्त्रण गरिने मन्त्री महतको भनाइ थियो । उहाँले मुलुकमा केही विकास नै नभएको भनी निराश हुनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै भन्नुभयो, “प्रजातन्त्र पुनः स्थापनापछि मुलुकमा शिक्षा, स्वाास्थ्य, पूर्वाधारलगायत क्षेत्रमा धेरै काम भएका छन् । तर पनि यतिले पुग्दैन । अझै धेरै काम गर्नुछ ।”

करको विषयमा कुनै पनि सीमित वर्ग र समुदायलाई फाइदा पु¥याउने गरी कुनै काम नहुने एवम मुलुक र जनतालाई केन्द्रमा राखेर नै बजेट तय गरिने उहाँले बताउनुभयो । खर्च घटाउने र अनावश्यक संरचना कम गर्ने सम्बन्धमा प्रतिबद्धता व्यक्त गर्दै अर्थमन्त्री डा महतले यो विषयप्रति बजेट उन्मुख हुने बताउनुभयो । सांसदका सुझाव सल्लाह समेटेर बजेट निर्माण गरिने विश्वास दिलाउँदै उहाँले मितव्ययितातर्फ केन्द्रीत रही साधारण खर्च कटौती गरिने र अनावश्यक खर्चसमेत कटौती गरिने बताउनुभयो ।

सामाजिक सुरक्षाका सम्बन्धमा वर्तमान सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री महतले यसमा कटौती गर्ने कुनै योजना नरहेको बताउनुभयो । राष्ट्र बंैकमार्फत ब्याजदर घटाएर चलायमान बनाउने, रोजागारीका अवसर सिर्जना गर्ने गरी बजेट तय गरिने उहाँको भनाइ छ । यसमा सबैको सहयोग र प्रयासको आवश्यकता मन्त्री महतले औल्याउनुभयो ।

राष्ट्रियसभाको अर्काे बैठक आगामी जेठ ३ गते साँझ ६ः३१ बजे बस्नेछ ।

अर्थतन्त्रलाई चलायमान बनाउन समयमा नै पुँजीगत खर्च र मौद्रिक नीति खुकुलो पार्दै अघि बढ्नु पर्छ : अर्थमन्त्री महत

काठमाडौँ – अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको ध्यान केन्द्रित हुने बताउनुभएको छ ।

मंगलबार राष्ट्रियसभा बैठकमा आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि समयमा नै पुँजीगत खर्च र मौद्रिक नीति खुकुलो पार्दै अघि नीति अवलम्बन गरिने बताउनुभयो । उहाँले समयमा नै पुँजीगत खर्च र मौद्रिक नीति खुकुलो पार्दै अघि बढेपछि राजस्वको दायरा बढ्ने धारणा राख्नुभयो । अन्तिम समयमा मात्रै खर्च गर्ने प्रवृत्तिलाई अन्त्य गर्नका लागि पहिलो दिन देखि महिना महिनामा अनुगमन गर्ने उहाँले बताउनुभयो ।

मन्त्री महतले राजस्व चुहावट नियन्त्रणका लागि सरकार कठोर गम्भीर भएर लाग्ने जिकिर गर्नुभयो । उहाँले यो आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धि नहुने भन्दै आगामी वर्ष समावेशी र फराकिलो आर्थिक वृद्धिको लक्ष्यका साथ सरकार अघि बढेको बताउनुभयो । उहाँले करमा केही घरानलाई पोस्ने काम अहिलेको सरकारबाट नहुने भन्दै समग्र जनता र देशलाई केन्द्रबिन्दुमा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । मुलुकको अर्थतन्त्रमा कसरी समृद्धि सिर्जना गर्ने भन्ने बोरमा केन्द्रित हुनुपर्ने भन्दै उहाँले बिलासिताको वस्तुको आयात रोक्ने विषय मुख्य नभएको उल्लेख गर्नुभयो । उहाँले अनावश्यक साधारण खर्च नगर्ने प्रतिबद्धता सहितको बजेट उन्मुख हुने पनि बताउनुभयो ।

अर्थमन्त्री महतले देशको अर्थतन्त्रको वर्तमान स्थितिलाई मध्यनजर राखेर नै बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेको बताउनुभयो । अहिलेको चुनौतीपूर्ण अवस्थामा मुलुकको आगामी गन्तव्यलाई सिद्धान्त र प्राथमिकतामार्फत प्रस्तुत गरेको उहाँले बताउनुभयो ।

कानुन दिवसका अवसरमा बारको शुभकामना

काठमाडौँ / नेपाल बार एशोसिएशनले कानुन दिवसको अवसरमा नागरिक तथा आम सेवाग्राहीलाई छिटोछरितो तथा सर्वसुलभ न्याय दिनुपर्नेमा जोड दिएको छ ।

नेपाल बार एशोसिएनका अध्यक्ष गोपालकृष्ण घिमिरले आज जारी गरेको शुभकामना सन्देशमा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायापालिका, विधिको शासन, लोकतन्त्र र मानव अधिकार कायम गर्नुपर्ने उल्लेख छ ।

“कानुन व्यवसायीले जिम्मेवारी वहन गर्दा पेसागत दक्षतासँगै व्यावसायिक आचरण र निष्ठामासमेत प्रतिबद्ध हुने प्रेरणा आजको दिनमा प्राप्त होस्”, शुभकामना सन्देशमा भनिएको छ ।

नागरिक तथा आम सेवाग्राहीलाई छिटोछरितो तथा सर्वसुलभ न्याय एवम् न्यायमा सहज पहुँच हामी सबैको सरोकारको विषय भएकाले न्यायापालिका स्वतन्त्र, निष्पक्ष र सक्षम भएमा मात्र विधिको शासन, लोकतन्त्र र मानवअधिकारले सार्थकता पाउने सन्देशमा उल्लेख छ ।

“न्यायापालिकामा विकृति, विसङ्गति र भ्रष्ट्राचार व्याप्त रहेको भन्ने वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालको प्रतिवेदन र बारको सहभागितामा तयार हरिकृष्ण कार्कीको प्रतिवेदनले उजागर गरेको छ”, सन्देशमा भनिएको छ, “यसरी उजागर गरिएका विकृति, विसङ्गति र भ्रष्टाचारको निर्ममतापूर्वक अन्त्य गर्न सकिएमा मात्र न्यायापालिकाप्रतिको जनआस्था अभिवृद्धि हुन जाने र कानुन दिवस मनाउनुको पनि सार्थकता सिद्ध हुन्छ ।”

बारले लामो अवधिसम्म आन्दोलन गरेको र सोही विषयलाई हालको कार्यसमितिले स्वामित्व ग्रहण गरी न्यायापालिकाको शुद्धिकरण र सुदृढीकरणको अभियान अन्तर्गत विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्य, विचौलियाद्वारा न्याय किनबेच हुन्छ भन्ने कुराको विरोधका साथसाथै, प्रधान न्यायाधीशको नियुक्ति समेतको माग राखी हामी निरन्तर अभियानमा रहेको सन्देशमा उल्लेख छ ।

दिवसका अवसरमा अग्रजप्रति सम्मान व्यक्त गर्दै स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायापालिका, विधिको शासन, लोकतन्त्र र मानवअधिकारको संरक्षण र प्रवद्र्धन गर्दै व्यावसायिक र मर्यादित बारका लागि सदा क्रियाशील रहने प्रणसमेत गरेको सन्देशमा उल्लेख छ ।

महामन्त्री विश्वप्रकाश शर्माले भने : राज्यले भ्रष्टाचारीविरुद्ध फाइल मात्रै होइन फायर खोल्नुपर्छ 

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारीलाई कडा कारबाहीको नीति राज्यले लिनुपर्ने बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भ्रष्टाचारीविरुद्ध कडाइ पूर्वक नीति लिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘यहीँनेर भुटानी शरणार्थीको सन्दर्भको फाइल खोलिएको छ । यसलाई निष्कर्षमा पुर्‍याउनुपर्छ भन्ने अपिल र आग्रह गर्न चाहन्छु , भ्रष्टाचारका विरुद्ध फाइल मात्रै होइन फायर खोल्नुपर्छ राज्यले ।’
भ्रष्टाचारका फाइल खोल्दा र कारबाही प्रक्रिया अगाडि बढाउँदा ‘निर्दोष कोही फस्नुहुन्न, दोषी कोही बच्नु पनि हुन्न’ भन्ने दृष्टिकोण लिनुपर्ने शर्माले बताए ।

सरकारले भ्रष्टाचार निवारण ऐन, २०५९ को संशोधन ऐन र सरकारले ल्याएका नीतिमा विरोधाभास रहेको पनि शर्माले बताए । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता लिने सरकारको नीति रहेको कुरालाई कार्यान्वयनमा लिनुपर्ने बताए ।

पछिल्लो समय भ्रष्टाचारका फाइल खुलेको कुरालाई निष्कर्षमा पुर्‍याउनुपर्ने पनि उनको आग्रह थियो । भ्रष्टाचारको छानबिनका लागि राज्यले कुनै पनि हदम्याद राख्न नहुने शर्माको भनाइ छ ।

भारतको मध्य प्रदेशमा पुलबाट बस खस्दा १५ जनाको मृत्यु, २५ घाइते

खरगोन / मध्य प्रदेशको खरगोन जिल्लामा मङ्गलबार एक निजी यात्रुवाहक बस पुलबाट खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

सो घटना मङ्गलबार बिहान जिल्लाको ओन प्रहरी चौकी अन्तर्गत दसङ्गा क्षेत्र नजिकै डोङ्गरगाउँ पुलमा भएको हो। घटनाको जानकारी पाएलगत्तै प्रहरी प्रशासन र एम्बुलेन्स घटनास्थलमा पुगेर उद्धार कार्य शुरु गरेको थियो ।

खरगोनका प्रहरी उपरीक्षक (एसपी) धरमवीर सिंहले भनेका छन् ‘खरगोनको पुलबाट बस खसेर १५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। उद्धार कार्य जारी छ ।’

प्रदेश सरकारले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई रु चार लाख, गम्भीर घाइतेलाई रु ५० हजार र सामान्य घाइतेलाई रु २५ हजार तत्काल उपलब्ध गराउने घोषणा गरेको छ ।

घटना बारे अनुसन्धान जारी छ ।

‘सङ्घीयता कार्र्यान्वयन गर्न प्रदेश सरकारलाई पूर्ण अधिकार’

लुम्बिनी – लुम्बिनी प्रदेश सरकारका मन्त्री सन्तोष पाण्डेले सङ्घीयता पूर्ण कार्र्यान्वयनका लागि प्रदेश सरकारलाई पूर्ण अधिकार दिनुपर्ने बताउनुभएको छ । दिगो विकासको अवधारणाहित सरकारले काम गरिरहेको बताउँदै सरकारका प्रवक्ता समेत रहनुभएका उहाँले नीति नियमभित्र रही आम नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउने गरी वर्तमान सरकार लाग्ने बताउनुभयो ।

कानुन दिवसको अवसरमा आज बुटवलमा आयोजित कानुन र सुशासन विषयक साक्षात्कार कार्यक्रममा मन्त्री पाण्डेले जनताले अनुभव गर्ने गरी काम गर्ने टोली सहितको मन्त्रिमण्डल सरकार शुक्रबारसम्म विस्तार हुने बताउनुभयो । उहाँले जनताका काम गर्न सहज हुने गरी एक मन्त्रालय थप गरिने पनि जानकारी दिनुभयो ।
नेकपा (एमाले)का प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले आफ्नो दल कानुनी राज्यको पूर्ण पालना र सुशासनको पक्षमा रहेको बताउनुभयो । उहाँले प्रदेश सरकार कानुनको अभावका कारण सोचेअनुसारको गति लिन नसकेको बताउँदै अधुरा ऐन र कानुन निर्माणमा सहयोग गर्ने जानकारी दिनुभयो ।

प्रमुख सचेतक चौधरीले आर्थिक सङ्कटको अवस्थामा पनि मन्त्रालय थप्नु सुशासन बिरुद्ध हुने बताउनुभयो । वरिष्ठ अधिवक्ता डा दिनेश त्रिपाठीले नक्कली शरणार्थी काण्डले देशमा राजनीतिक नेतृत्व र कर्मचारीका भष्ट्र रहेको देखिएको बताउनुभयो । उहाँले मुलुकलाई सही बाटोमा लैजान नागरिक सचेत भई खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।

पाथीभरा जाँदा हराएका पराजुली मृत फेला

ताप्लेजुङ / पाथीभरा दर्शनका लागि जाने क्रममा शुक्रबारदेखि बेपत्ता हुनुभएका झापाअर्जुनधारा नगरपालिका– ५ का लोकप्रसाद पराजुली मृत अवस्थामा फेला पर्नुभएको छ ।

पाथीभरा क्षेत्रको माथिल्लो फेदीदेखि करिब अढाइ किलोमिटर उत्तर तर्फको जङ्गलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

मानसिकरुपमा सामान्य अस्वस्थ रहनुभएका ६० वर्षीय पराजुली आज बिहान मृत अवस्थामा फेला परेको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार भरियामार्फत मन्दिर जाँदै गर्दा बीचबाटोमै पिसाब फेर्न भन्दै निस्किनुभएका पराजुली उक्त समयदेखि नै बेपत्ता हुनुभएको थियो । पिसाब फेर्न निस्किनुभएका पराजुली लामो समयसम्म नफर्किएपछि आफन्त, स्थानीय र प्रहरीको टोली खोजीमा लागेको थियो ।

झापाबाट गत १९ गते श्रीमति, छोरा, बुहारी, नातिनी र आफन्तसहित आउनुभएका पराजुली बुधबार बेलुकी माथिल्लो फेदीस्थित होटलमा बसेर बिहान भरियामार्फत मन्दिरतर्फ जानुभएको थियो । पराजुलीको शव कानुनी प्रक्रिया पूरा गरेर निकाल्ने तयारी भएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले आज प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले विगतदेखि नै थाती रहेका केही विषयमा सरकारले स्पष्ट दृष्टिकोणका साथ निर्णय गर्ने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले शिक्षकका समस्याका बारेमा आफू जानकार रहेकाले सम्बोधनको पहल गर्ने बताउनुभएको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार महासङ्घले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न, सङ्घीय शिक्षा ऐन तत्काल जारी गर्न र आगामी आर्थिक वर्षको बजेटमा शिक्षक कर्मचारीका माग पूरा गर्न प्रधानमन्त्रीसमक्ष माग गरिएको छ ।

महासङ्घले विशेष गरी शिक्षा क्षेत्रका लागि कूल बजेटको २० प्रतिशत बराबरको रकम लगानी गर्न माग गरेको छ । विद्यालयमा कर्मचारीको दरबन्दी सिर्जना गरी विद्यालय कर्मचारीलाई दरबन्दी अनुसारको तलबभत्ताको प्रबन्ध गर्न, शिक्षक कर्मचारीको तलबभत्ता मासिक रुपमा उपलब्ध गराउन तथा शैक्षिक गुणस्तर वृद्धिका लागि पेसागत एवम् विषयगत तालिमको प्रबन्ध गर्न माग गरिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

निजी र सरकारी क्षेत्र मिलेर स्वास्थ्य क्षेत्रको सुधार गर्नुपर्छ :स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौँ – स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले सबै मिलेर स्वास्थ्य क्षेत्रको सुधार गर्नुपर्ने बताउनुभएको छ ।

मंगलबार काठमाडौँमा एकता व्यापार सङ्घले आयोजना गरेको वृहत् निःशुल्क स्वास्थ्य शिविर उद्घाटन गर्दै जनतालाई सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि निजी र सरकारी क्षेत्र मिलेर स्वास्थ्य क्षेत्रको सुधार गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले अझै पनि जनसङ्ख्या अनुसार स्वास्थ्य क्षेत्रमा दरबन्दी निकै कम भएकाले जनताले सहज रूपमा स्वास्थ्य सेवा पाउन नसकेको बताउनुभयो । सर्ने वा नसर्ने रोगको व्यवस्थापनका लागि समयमा नै सावधान अपनाउन नसके ठुलो क्षति हुने भएकाले यस विषयमा सरकारको उचित ध्यान जाने मन्त्री बस्नेतले धारणा राख्नुभयो ।

त्यस्तै उहाँले मुलुकको आर्थिक अवस्था कमजोर भएकाले कारण निजी क्षेत्र समस्यामा परेको भन्दै सरकारले आफ्नो नीति सुधार गरेर गरिखान दिने वातावरण बनाउनुपर्ने बताउनुभयो ।

चार महिनामा अमेरिकामा २०७ गोलीकाण्ड

वाशिङ्टन / सन् २०२३ को मे ७ सम्ममा अमेरिकामा २०७ गोलीकाण्ड भएको सीएनएनले उल्लेख गरेको छ।

सन् २०१३ यता २०२३ को चार माहिनामा भएको गोलीबारी सबैभन्दा बढी देखिएको  छ। अमेरिकामा सामूहिक गोलीबारीहरू सीएनएनद्वारा गन वाइलेन्स आर्काइभबाट डेटा प्रयोग गरेर ट्र्याक गरिएको हो । गैरसैनिकहरूले पनि  सहजरूपमा बन्दुक राख्न पाउँने कानूनका कारणले अमेरिकामा अपत्यारिला  र अप्रत्यासित गोलीकाण्ड घट्ने र निहत्था  व्यक्तिहरूको ज्यान जाने क्रम बढ्दो मात्रामा छ । सम्बन्धित हिंसा ट्र्याक गर्न सन् २०१३ मा गठन गरिएको यो एक गैर-लाभकारी समूह हो । 

अमेरिकाको लस भेगासस्थित भोन टोबेल मिडिल स्कुलमा गोली चल्दा एकजना घाइते भएको लस भेगास महानगरीय प्रहरीले सोमबार (स्थानीय समय) बताएको छ ।

लस भेगास मेट्रोपोलिटन प्रहरीले लस भेगास गोलीकाण्डको अनुसन्धान गरिरहेको छ। गोली लागेर घाइते भएका व्यक्तिलाई युनिभर्सिटी मेडिकल सेन्टर लगिएको छ ।

लस भेगास मेट्रोपोलिटन पुलिसका अनुसार घटना अझै  सेलाएको छैन। लस भेगास मेट्रोपोलिटन पुलिसले यसको आधिकारिक ट्विटर ह्यान्डलमा  लेखेको छ -“हामी भोन टोबेल मिडलमा भएको गोलीकाण्डको अनुसन्धान गरिरहेका छौं।”

यसअघि डलासको बाहिर एउटा मलमा शनिबार भएको गोलीकाण्डमा बन्दुकधारीसहित कम्तीमा नौ जनाको मृत्यु भएको स्थानीय प्रहरीका अनुसार द हिलले जनाएको छ । एलेन फायर डिपार्टमेन्टले नौ जनालाई क्षेत्रीय अस्पतालमा पुर्याएको एलेन फायर डिपार्टमेन्टका प्रमुख जोनाथन बॉयडले बताएका छन्। एलेन प्रिमियम आउटलेटमा सात जनाको घटनास्थलमा मृत्यु भएको थियो र अन्य दुईलाई अस्पतालमा मृत घोषित गरिएको थियो। 

अन्य तीन जनाको अवस्था गम्भीर रहेको द हिलले जनाएको छ।

रासस-एएनआई

सांसदको खबरदारी- नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी नजोगाइयोस्

काठमाडौं – प्रतिनिधिसभा सदस्यहरुले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगी प्रकरणका दोषी जोगाउने काम हुन नहुने बताएका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनीहरुले भुटानी शरणार्थी प्रकरणमा जोडिएका सबैमाथि छानबिन हुनुपर्ने र दोषीमाथि कारबाही गर्नुपर्नेमा जोड दिए । तर, कुनै पनि बाहनामा छानबिन र दोषीमाथि कारबाही गर्नबाट सरकार पछि हट्न नहुने भन्दै उनीहरुे खबरदारी गरेका छन् । 

सांसदहरु ठाकुर गैरे, तेजुलाल चौधरी, डा. तोसिमा कार्कीलगायतका सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् । देवेन्द्र पाैडेलले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटनाले नेपाल पक्ष भएर गरिएका सम्झाैता र सन्धिविपरीत भएकाले दाेषीलाई कारबाही गर्नुपर्ने बताए । 

नक्कली शरणार्थी प्रकरणको विषयमा छानबिन के भइरहेको छ : ठाकुर गैरे

काठमाडौँ – नेकपा एमालेका सांसद ठाकुर गैरेले नक्कली शरणार्थी प्रकरणको विषयमा छानबिन के भइरहेको छ भन्दै सरकारसँग जवाफ मागेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले देशद्रोही काममा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।

उनले भने, ‘देशद्रोही काममा संलग्न व्यक्तिहरूलाई छिटोभन्दा छिटो कारबाहीको प्रक्रियामा ल्याइनुपर्छ। केही व्यक्तिहरू पक्राउ परेका छन्। केही सांसदहरू भागिरहनुभएको छ। केही सांसद जो नोटिसमा हुनुहुन्छ। जो सदनमा बोलिरहनुभएको छ।’

टोपबहादुर रायमाझी दोषी छैनन् भने किन लुकेर बसेका छन् ? : प्रदीप यादव

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादवले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भनिएका नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझी दोषी छैनन् भने किन लुकेर बसेका छन् भन्दै प्रश्न गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउनुपर्ने बताएका हुन् ।

“यदि, दोषी छैनन् भने किन लुकेर बसेका छन् ? लुक्नु भनेको कुनै न कुनै रूपमा यो प्रकरणमा उनको संलग्नता भएको पुष्टि गर्दछ,” सांसद यादवले भने, “उनको छोरा पक्राउ पर्नुले यसलाई थप बल पुगेको अवस्था छ ।”

प्रहरीले नियन्त्रणमा लिएर कारबाही नगरे प्रहरीमाथि नै प्रश्न उठ्ने उनले बताए ।

कम्बोडियाको जुलाईमा हुने आम चुनावमा प्रतिस्पर्धा गर्न २० राजनीतिक दल दर्ता

नोम पेन्ह / कम्बोडियाको आगामी आमनिर्वाचनमा भाग लिन करिब २० वटा राजनीतिक दल दर्ता भएका छन् । पार्टी दर्ताको १५ दिने अवधि सोमबार सकिएको राष्ट्रिय निर्वाचन समिति (एनईसी) ले जनाएको छ ।

समितिको विज्ञप्तिमा भनिएको छ- सातौं राष्ट्रियसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न २० वटा राजनीतिक दल दर्ता भएका छन् र तीमध्ये ११ वटालाई आधिकारिक मान्यता दिइएको छ ।

आयोगले दर्ता भएका अन्य नौ राजनीतिक दललाई मान्यता दिने वा नदिने भन्ने निर्णय एक साताभित्र गर्नेछ ।
दक्षिणपूर्वी एसियाली राष्ट्रमा आगामी २३ जुलाईमा १२५ सिटको राष्ट्रिय सभाको लागि आम चुनाव गर्ने कार्यक्रम छ रहेको र ९.७ मिलियन भन्दा बढी कम्बोडियालीहरूले आफ्नो मतदान गर्नेछन्।

पाँच वर्षअघि भएको निर्वाचनमा २० राजनीतिक दलले दौडमा भाग लिएका थिए तर सत्तारूढ कम्बोडियन पिपुल्स पार्टीले संसद्मा सबै १२५ सीट नै जितेको थियो ।(रासस/सिन्ह्वा)

तीन महिनाको बेसरेट हेरेर कर्जाको ब्याजदर हरेक महिना तोकिने

काठमाडौँ / बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो तीन महिनाको औसत आधारदर (एभरेज बेसरेट) का आधारमा हरेक महिना ऋणको ब्याजदर कायम गर्नुपर्ने भएको छ । ‘इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९’ लाई परिमार्जन गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था कार्यान्वयन गर्न सोमबार परिपत्र गरेको हो ।

“कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधारदरमा भएको थपघटको सीमासम्म मासिकरुपमा परिवर्तन गर्नुपर्नेछ”,राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, “तर पछिल्लो तीन महिनाको औसत आधारदरमा भएको परिवर्तनभन्दा बढीले ब्याजदर घटाउन, जुनसुकै अवस्थामा वृद्धि गर्न तथा ऋणीसँगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न भने बाधा पर्नेछैन ।”

पछिल्लो तीन महिनाको औसत आधारदरमा परिवर्तन हुँदा ब्याजदरमा परिवर्तन हुने-नहुनेबारे बैंक तथा वित्तीय संस्थाले अनिवार्यरुपमा ऋणीलाई जानकारी दिनुपर्नेछ । त्यस्तै कुनै पनि कर्जा पछिल्लो तीन महिनाको औसत आधारदरभन्दा कम ब्याजदरमा प्रबाह गर्न नपाइने व्यवस्था राष्ट्र बैंकले लागू गरेको छ ।

आधारदर निर्धारणसम्बन्धी कार्यविधि, २०६९ बमोजिम मासिकरुपले आधारदर गणना गरी उक्त विवरण महिना समाप्त भएको सात दिनभित्र राष्ट्र बैंकमा पेस गर्नुपर्ने व्यवस्था छ । नयाँ व्यवस्थाअनुसार मासिक तथा पछिल्लो तीन महिनाको औसत आधारदर बैंक तथा वित्तीय संस्थाले आफ्नो वेभसाइटमासमेत प्रकाशित गर्नुपर्नेछ । कुनै व्यक्ति वा फर्मलाई प्रदान गरिने कर्जा तथा सापटको ब्याजदर निर्धारण गर्दा आधारदरमा थप गरिने प्रिमियम दर स्पष्ट रुपमा उल्लेख गर्नुपर्ने व्यवस्था रहेको छ । जस्तै कुनै ग्राहकलाई प्रदान गरिने कर्जाको ब्याजदर निर्धारण गर्दा आधारदरमा बैंक तथा वित्तीय संस्थाले दुई प्रतिशत बिन्दुले प्रिमियम थप गर्न पाउँछन् ।

मंगलबार सुनको मूल्य बढ्यो, चाँदीको भाऊ कति ?

काठमाडौँ / आज सुनको मूल्यमा ३ सय रुपैयाँले वृद्धि भएको छ । योसँगै प्रतितोला सुनको मूल्य १ लाख ११ हजार २ सय रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप ३ सय रुपैयाँले वृद्धि भएको हो ।

यस्तै आज तेजाबी सुन १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने स्थिर रहँदै अघिल्लो दिनकै मूल्य प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

नक्कली शरणार्थी प्रकरणमा कसैको दबाबमा नपर्न प्रधानमन्त्री ‘प्रचण्ड’ लाई देवेन्द्र पौडेलको आग्रह

काडमाडौँ – नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नक्कली शरणार्थी प्रकरणमा कसैको दबाबमा नपर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरेका छन् ।

मंगलबार मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले भने, ‘त्यो घटनामा निष्पक्ष ढंगले छानबिन गरेर नेपाली जनता र नेपाल पक्षराष्ट्र भएर गरिएको अन्तराष्ट्रिय सन्धि सम्झौताको पक्षमा नेपाल निष्पक्षतापूर्वक उभिएको कुरालाई अगाडि बढाउनुपर्छ ।’

उनले प्रधानमन्त्रीको प्रतिबद्धतालाई समर्थन गर्दै अरु कुनै दबाब र प्रेसरमा नपरी घटनाको निष्पक्ष छानबिन गर्न माग गरे ।

मकैको खोस्टाबाट टोपी र झोला

डुम्रे /  तनहुँको व्यास नगरपालिका–५ की प्रतिमा श्रेष्ठ मकैको खोस्टाबाट टोपी र झोला बनाउन व्यस्त हुनुहुन्छ । 

उहाँ भन्नुहुन्छ “कच्चा पदार्थ विदेशबाट ल्याएर सिकेको सीपले बजार आफैँ खोज्नुपर्ने हुन्छ, गाउँघरमा फालिएका खेर जाने कच्चा पदार्थ प्रयोगबाट सिकेको सीपले आम्दानी हुने हुँदा प्रेरित र प्रोत्साहन मिलेको छ ।”

 विभिन्न सीप सिक्दा  कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्ने र बजार पाउन पनि मुस्किल हुने उहाँको भनाइ छ ।  “गाउँघरमा प्रशस्त पाइने मकैको खोस्टा खेर गइरहेको वस्तु हो, गाईवस्तु भए दिने नत्र त्यसै पोलेर खेर जाने वस्तुको उपयोग गरेका छौँ”, उहाँ भन्नुहुन्छ, “विभिन्न तालिम तथा सीप सिके पनि बजारको व्यवस्थापन गर्न सकस हुन्छ तर गाउँघरमा खेर गएको वस्तु उपयोग हुने र सिक्दै गर्दादेखि नै यसबाट आयआर्जनमा जोडिएका छौँ ।”

गाउँघरमा उत्पादित कच्चा पदार्थ खेर गइरहेको हुन्छ, कच्चा पदार्थ उपयोग गरी टोपी र झोला विदेश निर्यात गर्दा मुलुकको बिग्रिएको अर्थतन्त्रलाई सहयोग पुग्ने श्रेष्ठको भनाइ छ । “हरेक वस्तु बनाउँदा कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्छ, स्थानीयस्तरमा खेर जाने मकैको खोस्टाबाट आम्दानी हुने र विदेशबाट माग हुँदा प्रोत्साहन मिलेको छ”, उहाँले भन्नुभयो । 

यो सीपले गाउँघरको उत्पादन भएका कच्चा पदार्थ उपभोगबाट टोपी र झोला बनाउन सकिने भएपछि बनाउने र कच्चा पदार्थसमेत बिक्री हुने उहाँले बताउनुभयो । सिक्ने क्रममा गाउँघर भएकाले सबैले खोस्टा दिएर सहयोग गर्नुभएको उहाँले बताउनुभयो । “सीप सिकिसकेपछि भने तालिम सिकाउने प्राविधिक सहयोग रहेको ओम राजश्री मल्टी एग्रो प्रालि काठमाडौँले मकैको खोस्टा खरिदका लागि व्यवस्थापन गर्ने जनाएको छ”, श्रेष्ठले भन्नुभयो । 

प्लाष्टिकजन्य पदार्थको बढी उपयोगले वातावरणमा प्रदूषण भइरहेको अवस्थामा मकैको खोस्टाबाट बनेका वस्तु प्रयोगले वातावरणमैत्री बनाउने अपेक्षा रहेको उहाँले बताउनुभयो । “प्लाष्टिकजन्य पदार्थको उपयोग वातावरणमैत्री छ, प्लाष्टिकजन्य पदार्थ जलाउँदा क्यान्सरजस्ता जघन्य रोगबाट ग्रसित हुनुपर्ने अवस्था छ, प्लाष्टिकका वस्तुको उपयोग न्यूनीकरणका लागि मकैको खोस्टाबाट बनेको टोपी, झोला प्रभावकारी रहेको छ”, उहाँले भन्नुभयो । तालिम लिए पनि बजारको अभावले सिकेको सीप खेर जाने हुन्थ्यो, यस तालिम प्रदान गर्ने संस्थाले नै बजारीकरणको लागि व्यवस्थापन गरेको उहाँले बताउनुभयो । 

त्यस्तै तारा सिलवालले सिक्दै गरेको अवस्थामा घरकै सामग्रीले आयआर्जन गर्न प्रोत्साहन मिलेको बताउनुभयो । फालिएका वस्तुबाट पनि आयआर्जन गर्न सकिन्छ भन्ने थाहा पाएअनुसार मकैको खोस्टाबाट टोपी र झोला बनाउन सिकेको र आयआर्जन भइरहेको उहाँले बताउनुभयो । फालिएको वस्तुबाट झोला र टोपी बनाएर सन्तुष्ट तुल्याएको उहाँको भनाइ थियो ।  

तालिम आयोजक र तालिम प्रदान गर्न सहयोग गर्ने संस्थाको समन्वयमा कम्पनी स्थापना गरी उत्पादनलाई निरन्तरता दिने उहाँले बताउनुभयो । “आफैँले बोेकेर हिँड्दा सबैले विदेशबाट आएको झोला हो भनेर प्रशंसा गरेको र यसको प्रवद्र्धनमा सहयोग पुगेको छ, हामीलाई पनि माग गरिदिनु भन्ने गर्छन्”, उहाँले भन्नुभयो, “आफैँले बनाएको भनेपछि माग आउन थालेको छ ।”

घरमा बसिरहेको अवस्थामा खेर गएको समय र गफ गर्दासमेत कच्चा पदार्थ घरमै पाइने भएकाले खाली समयमा टोपी र झोला बुन्न सकिने कमला श्रेष्ठ अधिकारीले बताउनुभयो । मकैको खोस्टाबाट टोपी र झोला बुनेको देखेपछि घर वरपरका महिला आकर्षित भएको उहाँको भनाइ थियो । 

व्यास नगरपालिका–५ वडा कार्यालयको आयोजना र ओम राजश्री मल्टी एग्रो प्रालि काठमाडौँले मकैको खोस्टाबाट टोपी र झोला बुन्न तालिम दिएपछि महिला प्रेरित भएका छन् । गण्डकी प्रदेशमा नै पहिलोपटक मकैको खोस्टाबाट टोपी र झोला बनाउने तालिम ल्याइएको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ (हिमाल)ले बताउनुभयो । 

विदेशी मुद्रा सञ्चितिमा सहयोग पु¥याउने गरी तालिम दिनुपर्छ भन्ने उद्देश्यले विदेशमा नै निर्यात गर्ने गरी उत्पादनमा जोड्न लागिपरेको उहाँले बताउनुभयो । “पूर्णरूपमा स्वदेशको लागि मात्र नभई विदेश निर्यात गर्नकै लागि उत्पादनसँग जोड्नुपर्छ, डलर सञ्चितिकै लागि यो कदम चालेका हौँ”, वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, “जापान, ट्युनिसिया र दुबईमा माग आइरहेको छ, माग वृद्धि हुँदै गएपछि अझ थप देशमा पनि पठाउने व्यवस्थापन गर्नेछौँ ।”

अहिलेका लागि देशमा डलर सञ्चितिमा टेवा पु¥याउने उद्देश्यले नै विदेशबाट आयात गर्नुभन्दा निर्यातमा जोड दिइएको उहाँको भनाइ थियो ।  “घरमा खेर फालिने मकैको खोस्टा कि त जलाइन्छ कि गाईवस्तुलाई खुवाएर खेर जान्छ, गाउँघरमा उत्पादित कच्चा पदार्थ उपयोग पनि हुन्छ, तालिमकै अवधिमा प्रशिक्षार्थीले गाउँघरबाट खोजेर ल्याउने गरेका छन्, उहाँहरूलाई जोखेर भुक्तानी दिने गरिएको छ”, उहाँले भन्नुभयो । 

सिक्दै गरेको अवस्थामा समेत प्रशिक्षार्थीलाई टोपीको रु एक हजार दुई सय, झोलाको रु नौ सय निर्धारण गरिएको उहाँले बताउनुभयो । प्रशिक्षणकै अवधिमा पनि बनेका सामग्री विदेश निर्यात गर्न ओम राजश्री मल्टी एग्रोले समन्वय गरिरहेको उहाँले जानकारी दिनुभयो । वडाबाट उत्पादन वृद्धि गर्ने उद्देश्यले प्रशिक्षार्थी र उत्पादन गर्न मात्रै नभएर प्रशिक्षक उत्पादन गरी वडाका २० टोलका महिलालाई प्रशिक्षित गरी आयआर्जन गर्ने वातावरण बनाउने उहाँले बताउनुभयो । 

प्रशिक्षार्थीले जाँगर लगाएर सिक्दा आफूलाई सिकाउन सहज भएको प्रशिक्षक सुशिला बराई मगरले बताउनुभयो । “प्रशिक्षार्थीको जोश र प्रेरणाले सिकाउन सहज भएको छ”, उहाँले भन्नुभयो । बीस दिनको सिकाइ प्रशिक्षक बन्नुभएकी प्रशिक्षक मगरले प्युठान, गुल्मी, पाल्पा र कञ्चनपुरसम्म पुगेर प्रशिक्षण दिँदै आउनुभएको छ । 

स्वदेशमा घरेलु कच्चा पदार्थबाट बनेका टोपी, झोलाको माग भए पनि देशमा डलर सञ्चितिका लागि टेवा पु¥याउने उद्देश्यले अन्तर्राष्ट्रिय बजारमा निर्यातलाई प्राथमिकता दिएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । पोखरा, काठमाडौँलगायतका पर्यटकीय क्षेत्रबाट स्थानीय कच्चा पदार्थबाट बनेका वस्तुको माग भए पनि पूर्णरूपमा उत्पादित वस्तु विदेश पठाउने गरिएको छ ।

 खेर जाने वस्तुको मूल्य र व्यवसाय नै हुने भएको छ । प्रशिक्षार्थीले ल्याएका मकैको खोस्टा प्रति केजी रु एक सय ४५ मा खरिद गर्ने गरिएको छ । मकैको खोस्टाबाट पेपल, गमला, फूलदानी, ढकिया, टेलगायतका सजावटका सामग्री बनाउन सकिने र यसको अहिले स्थानीय बजारभन्दा पनि बढी अन्तर्राष्ट्रिय बजारमा माग बढी छ ।

महिलालाई पृथ्वीनारायण शाहको मूर्ति बनाउन तालिम

गोरखा / गोरखामा नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको मूर्ति बनाउने तालिम सुरु भएको छ । गोरखा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि गोरखामै उत्पादित गोरखाको पहिचान र चिनारी झल्कने चिनो लैजाने अवसर प्रदान गर्नका लागि गोरखा नगरपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो । 

नगरप्रमुख कृष्णबहादुर रानामगरले महिला उद्यमी सङ्घ  र नगरपालिकाको संयुक्त आयोजनामा भएको तालिममा १५ महिलाको सहभागिता रहेको जानकारी दिनुभयो । “अहिले दिन लागिएको तालिम पृथ्वीनारायण शाहको मूर्ति बनाउनेसम्बन्धी एकमहिने एड्भान्स तालिम हो”, उहाँले भन्नुभयो, “यसअघि एकमहिने आधारभूत तालिममा सहभागी भएकाहरू दोस्रोपटकको एड्भान्स तालिममा सहभागी भएका छन् ।”

तालिमका क्रममा निर्माण गर्ने मूर्ति विभिन्न कार्यक्रममा मायाको चिनोका रूपमा अतिथिलाई दिनका लागि समेत प्रयोग हुने उहाँको भनाइ छ । “गोरखा भन्नेबित्तिकै नेपाल एकीकरणको उद्गम थलो र तत्कालीन पृथ्वीनारायण शाहले राज्य गरेको ठाउँका रूपमा विश्वभर परिचित ऐतिहासिक जिल्ला हो”, नगरप्रमुख रानामगरले भन्नुभयो, “त्यसैले पनि गोरखा आउँदा गोरखाको इतिहासलाई सम्झाउने मायाको चिनो लैजान धेरैजसो लालायित हुने भएकाले पनि तालिमलाई व्यवहारमा कार्यान्वयन गर्न सके प्रभावकारी हुनेछ ।”

यस्ता खालका सीपमूलक तालिमले रोजगारीको अवसर सिर्जना गर्नुका साथै आर्थिक आयआर्जनमा समेत व्यक्तिलाई आत्मनिर्भर बनाउन सक्ने भएकाले नगरपालिकाले सीपमूलक तालिममा जोड दिँदै आएको उहाँले बताउनुभयो । तालिममा सहभागीलाई मूर्ति बनाउने, मूर्तिका लागि आवश्यक पर्ने फ्रेम बनाउने साथै ऐन र फोटो फ्रेम बनाउनसमेत सिकाइने तालिमको प्रशिक्षकका रूपमा योगेन्द्र गुरुङले बताउनुभयो । तालिममा प्रशिक्षक योगेन्द्र गुरुङ र शारदा खत्रीले सहभागीलाई तालिम प्रदान गरिरहनुभएको छ ।

महिला उद्यमी सङ्घ नेपाल गोरखाको आयोजना तथा गोरखा नगरपालिकाको आर्थिक सहयोगमा एकमहिने मूर्ति बनाउने तालिम सोमबारबाट सुरु भएको हो । नगरपालिकाले तालिम सहभागीका लागि आवश्यक सामग्री खरिद लागि रु तीन लाख बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । सोमबारदेखि सुरु भएको तालिम आगामी जेठ २५ गतेसम्म सञ्चालन हुने जनाइएको छ । तालिमको एक कार्यक्रमका बीच गोरखा नगरपालिकाका उपप्रमुख मसलीमाया थोकर (सपना पुन)ले शुभारम्भ गर्नुभएको हो ।

स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन आग्रह गर्नुभएको छ ।

कानुन दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिनुहुँदै उहाँले स्वतन्त्र न्यायपालिका, सरल, स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन सबै नेपालीलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

नियन्त्रण र सन्तुलनको सिद्धान्तको अभावमा राज्यका निकायहरुमा स्वेच्छाचारिता बढ्दै गएको छ : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले शक्तिपृथकीकरणको सिद्धान्तलाई स्थापित गर्नुपर्ने बताउनुभएको छ । आज कानुन दिवसको अवसरमा शुभकामना दिनुहुँदै उहाँले  मुलुकलाई सही बाटोमा अघि बढाउन नियन्त्रण र सन्तुलन कायम गर्न शक्तिपृथकीकरणको सिद्धान्तलाई स्थापित गर्नुपर्ने बताउनुभएको हो । 

‘शक्ति पृथकीकरणको सिद्धान्त अनुरुप राज्यका निकायहरु चल्न नसक्दाको परिणाम आज राज्यका सबै अंगप्रति जनताको भरोसा टुट्दै गएको छ । नियन्त्रण र सन्तुलनको सिद्धान्तको अभावमा राज्यका निकायहरुमा स्वेच्छाचारिता बढ्दै गएको छ,’ महासचिव  पोखरेलले लेख्नुभएको छ, ‘राज्य कमजोर हुने र सामाजिक अराजकता बढ्दै जाने आजको परिस्थितिले नै चरम आर्थिक सङ्कट उत्पन्न भएको हो । मुलुकलाई सहीबाटोमा अघि बढाउन नियन्त्रण र सन्तुलन कायम गर्न शक्तिपृथकीकरणको सिद्धान्तलाई स्थापित गरौं ।’ 

आज देशभर कानुन दिवसको मनाइँदै छ ।