`

बजेटमा कहिलेसम्म राख्ने कार्यान्वयन नहुने अमूर्त शब्द ?

काठमाडौँ / सरकारले हरेक वर्षको नीति तथा कार्यक्रम र बजेटमा राखिने अमूर्त भाषाका सन्दर्भमा प्रश्न उठ्ने गरेको छ । सम्पादन गर्न सकिने वा नसकिने दुवै विषय राखेर तय गरिने कार्यक्रम र बजेट कार्यान्वयन हुन सकेको छैन ।

हरेक जसो बजेटमा कार्यान्वयन गरिनेछ, हुनेछ, प्राथमिकतामा राखिनेछ, जोड दिइनेछ भन्ने शब्दहरु धेरै रहने गरेका छन् । यस्ता शब्दले सरकारको प्राथमिकता कुन हो, ती विषय कार्यान्वयनमा जाने हुन् कि होइनन् भन्ने प्रश्न उठ्ने गरेका छन् ।

आम मानिसले उठाउँदै आएको र हरेक वर्ष नीति तथा कार्यक्रम र बजेटमा राखिने यस्ता शब्द आगामी वर्ष समावेश नगर्न राष्ट्रियसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ । सांसद नारायण दाहालले भन्नुभयो, “कम से कम, आगामी आर्थिक वर्षको बजेटमा कार्यान्वयन गर्न सकिने विषय मात्रै समावेश गराँै । कार्यान्वयन गर्न नसकिने विषय राख्दै नाराखाँै ।” उहाँले कम्तीमा पनि गरिनेछ, हुनेछ भन्ने शब्दजाल नराख्न अर्थमन्त्री डा प्रकाशशरण महतको ध्यानाकर्षण गराउनुभयो । बजेट तथा योजना बनाउन हामी विज्ञ छौँ, तर कार्यान्वयन पक्ष फितलो भएको भन्दै उहाँले भन्नुभयो “धेरै विषय गरिनेछ भन्ने कुरा नराखौँ । विकास बजेट खर्च नै हुँदैन । किन त्यस्तो भएको होला भन्ने कुरालाई विशेष ध्यानमा राखौँ ।”

सांसद दाहालले साधारण खर्च घटाउने संयन्त्र बनाउन र पूँजीगत खर्च नहुनुको कारण पत्ता लगाइ सार्वजनिक खरिद ऐनमा केही जटिलता भए तत्काल निरुपण गर्नुपर्ने बताउनुभयो । सांसद शारदादेवी भट्टले किसानको माग अनुसार रासायनिक मलकारखाना स्थापनाका लागि बजेट विनियोजन गर्न माग गर्नुभयो ।

सांसद नारायणदत्त मिश्रले मुलुककै बिजुलीबाट चल्ने सवारी साधन, किसानलाई मल बीउको उचित प्रबन्ध गर्न, शिक्षा, स्वास्थ्यमा उचित बजेट विनियोजन गर्न माग गर्नुभयो । सांसद मदनकुमारी शाह ९गरिमा० ले निर्वाहमुखी कृषिलाई आत्मनिर्भर बनाउने गरी बजेटमा प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । ऊर्जा क्षेत्रको विकास गरेर इन्धन आयातमा भइरहेको ठूलो धनराशि देशभित्रै राख्न सकिने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

सांसद अर्जुननसिंहको माग : नक्कली शरणार्थी प्रकरणमा छानविन गर्न पूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा आयोग गठन गरियोस्

काठमाडौँ – नेपाली काँग्रेसका सांसद अर्जुननसिंह केसीले नक्कली शरणार्थी प्रकरणमा सत्य तथ्य छानविन गर्ने पूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा निष्पक्ष, पार्दशी र स्वतन्त्र सर्वाधिकार सम्पन्न आयोग गठन गर्न माग गरेका छन् ।

सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आयोग गठन गर्न माग गरेका हुन्।

उनले भने, ‘नक्कली शरणार्थी प्रकरणमा राज्य संयन्त्र नै मिसिएको छ। यसले राष्ट्रलाई लज्जीत बनाउने काम गरेको छ। अन्त्यन्त न्यून समय भएकाले जो जहाँ जुनसुकै पदमा भएपनि छिमेकीदेखि अन्य देशहरुमा पनि पूर्वप्रधानमन्त्रीहरुमाथि कारवाही भएको छ। त्यसकारण अहिले यो भ्रष्टाचारको काण्डमा यो छानविन गर्ने पक्षको नाम पनि आएकाले पूर्व प्रधानन्याधिशको संयोजकत्वमा निष्पक्ष, पार्दशी र स्वतन्त्र सर्वाधिकार सम्पन्न आयोग गठन गरेर यसलाई निश्चित टुंगोमा पुर्याउनुपर्छ।’

आर्थिक विकासलाई केन्द्रमा राखेर बजेट ल्याउन सांसदहरुको ध्यानाकर्षण

काठमाडौँ – राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले आर्थिक विकासलाई केन्द्रमा राखेर सरकारले आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता निर्धारण गरेकामा प्रसन्नता व्यक्त गरेका छन् । जडीबुटी, वनजङ्गल तथा शिक्षा, स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गर्दै सांसदहरुले ठेक्कापट्टामा रहेको समस्या समाधानमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सांसद मायाप्रसाद शर्माले विकास निर्माणमा देखिएको समस्या समाधानका लागि विशेष प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभयो । सांसद दिलकुमारी थापा रावलले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर तीन प्रतिशतको हाराहारीमा रहने अवस्था आएको सन्दर्भमा ‘फराकिलो आर्थिक’ भन्ने विषय प्रष्ट नभएको बताउनुभयो । दैनिक ठूलो सङ्ख्यामा युवा विदेश पलायन भइरहेको सन्दर्भमा देशभित्रै रोजगारीको प्रबन्ध गर्न, निजी क्षेत्रको समस्या समाधानमा मनोबल बढाउन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । सहकारीले निक्षेप लिएर भागेको, बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण तिर्नुपर्दैन भनेर फैलाइएको अराजकता नियन्त्रणका लागि पनि उहाँले आग्रह गर्नुभयो ।

सांसद कमला पन्तले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या स्वयम् अर्थमन्त्री र अर्थमन्त्रालयलाई नै थाहा भएकाले खास अर्थमा समाधानको उपाय अपनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “बिरोलो बाँधेर श्राद्ध’ गर्नेतर्फ भन्दा पनि खास खास अर्थमा गर्न सकिने विषयलाई बजेटमा समावेश गरौँ । हाम्रोमा कार्यान्वयनमा समस्या छ । योजनामा होइन ।”

सांसद पन्तले एकीकृत बस्तीको विकासमा ध्यान दिन र मानव जङ्गली जनवारबीचको द्वन्द्व समाधान गर्ने योजना ल्याउन, महिलालाई आर्थिक विकासमा लाग्ने वातावरण बनाउन, ओरालो लागेको शेयर बजारलाई उकालो लगाउने योजना बनाउन अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । सांसद पन्तले एक हजार र पाँच सयको नोट तत्काल प्रतिबन्ध लगाउन माग गर्नुभयो ।

यस्तै साधारण खर्च घटाएर पूँजीगत खर्च बढाउन देखिएका समस्या समाधान गर्नुपर्ने बताउनुभयो । नेपाल राष्ट्र बैंकले सधैँ मौद्रिक नीतिको समीक्षामा नकारात्मक विवरण मात्रै समावेश गरेर प्रकाशित गर्ने गरेकामा आपत्ति प्रकट गर्नुभयो । रासायनिक मल कारखाना स्थापना गर्ने प्रबन्ध बजेटमा गरिए त्यसले आम किसानको मनोबल बढाउने सांसद पन्तको भनाइ छ । सांसद सिंहदरबहादुर विश्वकर्माले ठूला भौतिक पूर्वाधार तथा ग्रामीण क्षेत्रको वृहत्तर विकास तथा विद्युत् खपत प्रोत्साहन गर्ने गरी बजेट विनियोजन गर्न सरकारलाई सुझाव दिनुभयो । नेपाललाई चलचित्र छायाङ्कनस्थलको विकास गर्ने गरी विशेष प्रबन्ध गर्न पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद मृगेन्द्रकुमार सिंह यादवले जनसङ्ख्याको आधारमा बजेटको विनियोजन गर्नुपर्ने, समयमै कार्यान्वयनको प्रबन्ध गर्न, शिक्षा, स्वास्थ्य र कृषिमा उल्लेख्य मात्रामा खर्च गर्ने गरी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद शेखरकुमार सिंहले जलविद्युत्मा मुलुकले ठूलो प्रगति गरेको भए पनि उद्योग धन्दामा लोडसेडिङ भइरहेको भन्दै समस्या समाधान गर्न आग्रह गर्नुभयो । त्यसअघि बैठकको सुरुमा नै नेकपा(एमाले)का सांसद भैरवसुन्दर श्रेष्ठले आइतबारको बैठकमा एक सांसदले संसदीय मर्यादा विपरीतको अभिव्यक्ति दिएको भन्दै त्यसलाई रेकर्डबाट हटाउन माग गर्नुभएको थियो । सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफूले आइतबारको उक्त अभिव्यिक्त सुनेर मात्रै आवश्यक निर्णय गर्ने जानकारी गराउनुभएको थियो ।

सांसद अमरेशकुमार सिंहको स्वास्थ्य जाँच गर्न संसदमा एमालेको माग

काठमाडौं – नेकपा एमालेका सांसद अच्युत मैनालीले स्वतन्त्र सांसद अमरेशकुमार सिंहको स्वास्थ्य जाँच गर्न माग गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै मैनालीले स्वास्थ्य जाँचको माग गरेका हुन् । बैठक सुरु भएलगत्तै सांसद सिंहले लुगा खोलेर हंगामा मच्चाएका थिए ।

उनले भने, ‘संसदमा जे गतिविधि देखिएको छ । म मनानीय सदस्यको स्वास्थ्य जाँचको माग गर्दैछु ।’ आफुलाई बोल्न समय नदिएको भन्दै बैठक सुरु हुनासाथ उठेर विरोध गर्दै सिंहले विरोध गरेका थिए । सिंह उठेर लुगा खोल्दै नाङगो भएपछि सभामुखले असभ्य व्यवहार नदेखाउन चेतावनी दिएका थिए ।

प्रतिनिधिसभा बैठकमा सांसद डा.अमरेशकुमार सिंहले आफ्नो कपडा फुकाले

काठमाडौं – प्रतिनिधिसभा बैठकमा स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले आफ्नो कपडा फुकालेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आफुलाई बोल्न समय नदिएको भन्दै बैठक सुरु हुनासाथ उठेर विरोध गर्दै सिंहले कपडा फुकालेर विरोध गरेका थिए ।

सिंह उठेर लुगा खोल्दै नाङगो भएपछि सभामुखले असभ्य व्यवहार नदेखाउन चेतावनी दिएका थिए ।

सिंहले संसद बैठकमा असभ्य व्यवहार देखाएपछि अन्य सांसदहरुले समेत विरोध गरेका थिए ।

काठमाडौँ महानगरपालिकाभित्रका अव्यवस्थित तार हटाउन सुरु

काठमाडौँ – काठमाडौँ महानगरपालिकाभित्रका अव्यवस्थित तार आजदेखि हटाउन सुरु गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि र महानगरपालिकाबीच आइतबार भएको छलफलमा आजदेखि महानगर क्षेत्रका अव्यवस्थित तार हटाउन प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनी सहमत भएपछि तार हटाउन सुरु गरिएको हो ।

महानगर बलका प्रहरी उपरीक्षक मनोज लामिछानेका अनुसार आज बिहान ८ बजेदेखि माइतीघर मण्डला र न्यूरोड क्षेत्रमा रहेका अव्यवस्थित तार हटाउन सुरु गरिएको छ । महानगरपालिकाले प्राधिकरण तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई यही वैशाख २७ गतेभित्र अव्यवस्थित तार हटाउन आग्रह गरेको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले काठमाडौँ महानगरसहित देशभरिका स्थानीय तहलाई सेवा अवरुद्ध हुनेगरी तार नहटाउन परिपत्र गरेको थियो ।

त्यसलगत्तै महानगरपालिकाले सम्बन्धित पक्षलाई बोलाएर तार हटाउने विषयमा छलफल गरेको हो । वैशाख २७ गतेसम्म सरोकारवाला निकायले तार नहटाए महानगरपालिका आफैंले तार हटाउने तयारी गरिरहेको महानगर बलका प्रहरी उपरीक्षक लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, “हिजोको छलफलमा आजदेखी नै तार हटाउने विषयमा सहमति भएको छ, आजबाट नै तार हटाउने कार्यक्रम सुरु हुन्छ ।” आइतबार भएको बैठकले राजधानीका विभिन्न क्षेत्रमा चरणबद्ध रुपमा तार व्यवस्थापन गर्ने निर्णय गरेको इन्टरनेट सेवाप्रदायक सङ्घ (आइस्पान) ले जनाएको छ । सहमतिअनुसार झुन्डिएका तार काट्ने र प्रयोग नभएका ५० प्रतिशत तार हटाइने भएको छ ।

उडिरहेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि…

काठमाडौँ – भैरहवाबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ । उडान नम्बर एसएचए ८२२ नम्बरको ८० सिट क्षमताको –एस ८ जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २० माइल दुरीमा पुग्दा प्राविधिक समस्या देखिएपछि पुनः सोही विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार श्री एयरलाइन्सको जहाजको ल्याडिङ् गियरमा समस्या देखिएकाले पुनः गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको थियो । अवतरणका क्रममा धावनमार्गमै जहाज अड्किएकोमा सो जहाजको प्राविधिक मर्मतपछि धावनमार्गबाट निकालेर विमानस्थलको उडान सामान्य भइसकेको प्रवक्ता सिटौलाले जानकारी दिनुभयो ।

उक्त जहाज भैरहवाबाट बिहान करिब ९ः४० बजे काठमाडौँ उडेको थियो । उडानभरेको केहीसमयमै जहाजमा प्राविधिक समस्या देखिएपछि विमानचालक (पाइलट) ले जहाजलाई भैरहवा फर्काएर अवतरण गराएका थिए ।

सर्वदलीय बैठक बस्दै

मकवानपुर / बागमती प्रदेशसभा सचिवालयमा आज अपराह्न सर्वदलीय बैठक बस्ने भएको छ ।

आज बस्ने उक्त सर्वदलीय बैंठक आगामी बजेट अधिवेशनका लागि मिति तोक्ने र प्रदेश सरकारद्वारा प्रस्तुत गरिने आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको सैद्धान्तिक पक्ष तथा पूर्ण तयारीसम्बन्धी विषयमा छलफल गरिने जनाइएको छ ।

आगामी प्रदेश सभाको बैठकमा प्रस्तुत गर्न कार्यसूची तयारी गरिने भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभयो । प्रदेशसभाको हिउँदे अधिवेशन यही वैशाख १३ गते राति अन्त्य गरिएको थियो ।

कांग्रेस नेताको अभिव्यक्तिप्रति एमालेको आपत्ति

काठमाडौं – राष्ट्रिय सभाका कांग्रेस संसदीय दलका नेता रमेशजंग रायमाझीको अभिव्यक्तिप्रति एमालेले आपत्ति जनाएको छ ।

सोमबार राष्ट्रिय सभा बैठक सुरु भएलगत्तै एमालेका सांसदहरु उठेर रायमाझीको अभिव्यक्तिप्रति विरोध जनाएका हुन् । सुरुमै अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकलाई कार्यसूचीमा प्रवेश गराउन खोजेपछि एमालेका सांसद उठे । अध्यक्ष तिमिल्सिनाले एमालेका भैरवसुन्दर श्रेष्ठलाई बोल्न समय दिए ।  

यसपछि श्रेष्ठले चालु अधिवेशनको पहिलो बैठक सोमबार कांग्रेस नेता रायमाझीले एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव टोपबहादुर रायमाझीलाई जोडेर दिएको अभिव्यक्तिको आपत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरे । उनको मागअनुसार अध्यक्ष तिमिल्सिनाले आफूले सुनेर आवश्यक निर्णय लिने र जानकारी गराउन बताए । 

यसपछि एमाले सांसदहरु आ–आफ्नो सिटमा बसेपछि अहिले बैठक चलिरहेको छ । बैठकमा आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा सदस्यहरुले आ–आफ्नो धारणा राखेका छन् । 

कस्तो आउँदैछ आगामी बजेट ?

काठमाडौँ – सरकारले मुलुकको आर्थिक विकासका लागि रोजगारी सिर्जना र सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले ‘आव २०८०/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्दै अर्थतन्त्रलाई गतिशील बनाई दिगो फराकिलो एवं समावेशी आर्थिक वृद्धि र समावेशी आर्थिक विकासलाई ध्यान दिएर बजेट ल्याइने बताउनुभयो ।

उहाँले विभिन्न चुनौतीका बाबजुद पनि विदेशी विनिमय सञ्चिति, विप्रेषण प्रवाह र पर्यटक आगमन सकारात्मक हुँदै गएकाले अर्थतन्त्रमा सकारात्मक सङ्केत देखिएको बताउनुभयो । अर्थमन्त्री महतले अर्थतन्त्रलाई लयमा फर्काउन, परिणामुखी पूँजीगत खर्च गरी साधारण खर्चमा मितव्ययिता अपनाइनाका साथै अर्थतन्त्रलाई सक्रिय बनाउन बजेट केन्द्रित हुने बताउनुभयो ।

आर्थिक वृद्धि न्यून हुने देखिएको, लक्ष्यअनुरूप राजस्व उठ्न नसकेको तथा सार्वजनिक खर्च बढ्नाका साथै पूँजीगत खर्चको प्रभावकारिता नदेखिएकाले सरकारको वित्तीय सन्तुलनमा चाप देखिएको उहाँले बताउनुभयो । “व्यापार घाटा, बैंकिङ क्षेत्रको खराब कर्जाजस्ता अर्थतन्त्रका चुनौतीहरू देखापरेका छन् । आगामी बजेट, निजी क्षेत्रलाई प्रोत्साहन, सार्वजनिक खर्चको पारदर्शिता, दिगो विकासको लक्ष्य प्राप्ति आदि विषयलाई प्राथमिकता दिनेछ”, अर्थमन्त्री डा महतले भन्नुभयो ।

उहाँका अनुसार आगामी बजेटमार्फत निर्यात प्रवर्द्धन, आयात कम र उत्पादन वृद्धि गर्दै डिजिटल इकोनोमीलाई प्रवर्द्धन गरिनेछ । सामाजिक क्षेत्रको विकास र सामाजिक न्यायलाई प्राथमिकता दिई, गुणस्तरीय शिक्षा, स्वास्थ्य र खानेपानीको सुनिश्चितता गरिनेछ ।

यस्तै, सामाजिक सुरक्षालाई थप प्रभावकारिता बनाई स्रोतको सुनिश्चितता गरिनाका साथै सबै प्रकारका विभेद अन्त्य गरी विकासमा जनतालाई सहभागी गराई मूल प्रवाहका सबै जनाताको पहुँच अभिवृद्धि गर्न बजेट केन्द्रित हुनेछ ।

दिगो विकास लक्ष्य हासिल गर्न र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि लक्षित हुने बजेटले प्राकृतिक र पर्यावरणमैत्री हरित अर्थतन्त्र निर्माणतर्फ पनि जोड दिने उहाँले बताउनुभयो ।

अर्थमन्त्री महतले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै सङ्घ, प्रदेश र स्थानीय तहमा वित्त हस्तान्तरण गरिनाका साथै तीन तहका सरकारको समन्वय र सहकार्य गरी प्रभावकारी बनाउन बजेटमा सम्बोधन गरिनेछ ।

बजेटले लगानीमैत्री वातावरण बनाई रोजगारी सिर्जना गर्न र निजी क्षेत्रलाई प्रोत्साहन गरिने उल्लेख गर्दै उहाँले अनौपचारिक आर्थिक क्रियाकलापलाई औपचारिक लगानीको वातावरण सिर्जना गरिने विश्वास व्यक्त गर्नुभयो । तीन तहका सरकारको कामकारबाहीलाई स्वस्थ्य, मितव्ययी र प्रभावकारी बनाई भ्रष्टाचारमा शून्य सहनशीलता अपनाइनाका साथै सुशासन कायम गरी दण्डसजायको व्यवस्था गरिनेछ ।

आगामी बजेटमा किसानलाई प्रोत्साहन गर्न कृषि उत्पादन, कृषिको यान्त्रिकीकरण, मल, बीउबिजन, कृषि अनुदान प्रणालीमा सुधार गरिने उहाँले जानकारी दिनुभयो । रैथाने बाली र प्राङ्गारिक तथा प्राकृतिक बालीलाई प्रोत्साहन गरिनेछ ।

हवाई यातायातलाई सुरक्षित, भरपर्दो र प्रभावकारी बनाइनेछ । सहरी विकासलाई व्यवस्थिगत ढङ्गले अघि बढाइनेछ । जलविद्युत् विकासमा जोड, स्वच्छ ऊर्जा, ग्रामीण विद्युतीकरण, विद्युतीय सवारी साधनको प्रयोगमा प्रोत्साहन, मुलुकको आर्थिक रूपान्तरणमा भूमिका खेल्नेगरी बजेटमा प्राथमिकता दिइनेछ ।

सरकारी सञ्चारमाध्यमको व्यावसायिकीरण गर्दै हुलाक सेवालाई प्रभावकारी बनाइने छ । पर्यटनलाई आयआर्जन र रोजगारीसँग जोडेर प्रवर्द्धनात्मक गतिविधि सञ्चालन गरिनेछ । कोरोना महामारीपछिको पर्यटनलाई थप गति दिन प्रोत्साहन कार्यक्रम, पर्यटकलाई आकर्षण, महत्त्वपूर्ण धार्मिक सम्पदाको प्रवर्द्धन तथा पर्यटन पूर्वाधारमा लगानीजस्ता कार्यक्रमलाई बजेटले समेट्ने अर्थमन्त्री महतले जानकारी दिनुभयो ।

उक्त प्रस्तावमाथि यही वैशाख २५, २६ र २७ गते छलफल हुनेछ । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख २५ गते बिहान ११ बजे बस्नेछ ।

बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकले सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन गरेको छ ।

बैठकले सांसद ईश्वरीदेवी न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, चन्दा कार्की भण्डारी, प्रतीक्षा तिवारी, विमला सुवेदी, बुद्धिमान तामाङ र रामकृष्ण यादवलाई सदस्य मनोयन गरेको हो ।

सभामुख देवराज घिमिरेद्वारा प्रस्तुत उक्त नामावली मनोनयसम्बन्धी प्रस्तावलाई सभाले अनुमोदन गरेको थियो । बैठकमा सभामुख घिमिरेले यही वैशाख १९ गते सांसद लक्ष्मी महतो कोइरीलाई निलम्बन गरिएको सूचना प्रकाशन गरिएको सम्बन्धमा जानकारी गराउनुभएको थियो ।

कक्षा १२ को वार्षिक परीक्षाको तयारी अन्तिम चरणमा

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को वार्षिक परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । यही वैशाख २६ गतेदेखि सञ्चालन हुन लागेको उक्त परीक्षाका लागि कूल चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले फाराम भरेको बोर्डले जनाएको छ ।

यस वर्षको कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र तोक्ने काम पूरा भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्राध्यक्ष, निरीक्षक, नियुक्त गर्नेलगायतका काम पनि अन्तिम चरणमा पुगिसकेको छ । प्राविधिक काम बाहेकका अन्य काम पूरा भइसकेको बोर्डले जनाएको छ । यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन लागेका बताइएको छ । उनीहरूले जति विषयमा कम नम्बर आएको थियो त्यत्तिकै विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ ।

यसअघि तीन वा सोभन्दा बढी विषयमा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेको थियो । त्योसँगै परीक्षाका लागि छ वटै विषयको फाराम भरे पनि जति विषयमा एनजी आएको छ, त्यतिकै विषयको मात्र परीक्षा दिनुपर्ने भएको हो । राष्ट्रिय परीक्षा बोर्डको प्रस्तावमा मन्त्रिस्तरीयबाट लेटर ग्रेडिङ निर्देशिका, २०७८ लाई संशोधन गर्ने निर्णय भएको थियो ।

दुई विषयभन्दा बढी जतिसुकै विषयमा एनजी प्राप्त भएको छ ती विषयको मात्र ग्रेड वृद्धिको परीक्षा दिनुपर्नेछ । यसअघि छ वटै विषयमा फाराम भरे पनि जति विषयमा एनजी आएको छ, त्यत्तिकै परीक्षा दिनुपर्ने अध्यक्ष डा शर्माले बताउनुभयो । परीक्षा फाराम भर्दा छ वटै विषय भरे पनि जुन विषयमा एनजी आएको छ ती विषयको मात्र परीक्षा दिनुपर्नेछ ।

यसअघि गत वर्षदेखि लागू भएको लेटर ग्रेडिङ सिस्टमअनुसार दुईभन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीले पूरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो । तर, गत वर्ष लिइएको ग्रेड वृद्धि परीक्षामा सफल हुन नसकेपछि ५६ हजार विद्यार्थीले यो वर्ष हुने परीक्षामा सबै विषयको परीक्षा दिनुपर्ने भएको थियो । यस्तो हुँदा ‘ड्रप आउट’ हुने सम्भावना बढेपछि बोर्डको प्रस्तावमा शिक्षामन्त्री अशोककुमार राईले निर्देशिका संशोधन गर्नुभएको हो ।

नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सह्य हुँदैन : डा. आरजु राणा

काठमाडौं – नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले आफूले कुनै गल्ती नगरेका कसैसँग नडराउने बताएकी छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा आरजुले भ्रष्टाचारका विभिन्न विषयमा आफ्नो नाम जोडिएको तर आफूले कुनै गल्ती नगरेकाले नडराउने बताइन् । 

उनले आफू राजनीतिमा अघि बढेको कसैलाई रुची नभएकाले आफ्नो विरोध गरिएएको बताइन् ।

“भ्रष्टाचारको कुरामा कति सिरियस छौँ भन्ने छ । म नभएको दिनमा यहाँ मेरो नाम इंगित गरेर अनेकथरि प्रश्न उठेको छ । आज पनि उठेको मैले पाएको छु,” उनले भनिन्, “नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सह्य हुँदैन । पुरुषले भनेको ठाउँमा मात्र नारी बस्नुपर्ने उनीहरूले भनेको मात्र गर्नुपर्ने । जति विरोध गरे पनि मैले बिराएको छैन, म डराउँदिनँ ।”

प्रतिनिधिसभामा अध्यादेश पेश

काठमाडौँ – प्रतिनिधिसभामा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेश भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सो अध्ययादेश पेश गर्नुभएको हो ।

यही वैशाख २० गते राष्ट्रपति रामचन्द्र पौडेलबाट सो अध्यायदेश जारी भएको थियो । सरकारले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेशमार्फत कानुन संशोधन गर्ने निर्णय गरेको थियो ।

नक्कली शरणार्थी प्रकरणमा सांसदहरु आरोप–प्रत्यारोपमा उत्रिए

काठमाडौं – प्रतिनिधिसभ बैठकमा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणले सांसदहरुलाई आरोप–प्रत्यारोपमा उत्रिएका छन् । 

संघीय संसद सचिवालयका जारी बैठकका एमाले, कांग्रेस र माओवादीका सांसदहरु आरोप–प्रत्यारोपमा उत्रिएका छन् । तर, उनीहरु सबैले हालसम्मका भ्रष्टाचारका काण्डमाथि छानबिन गर्नुपर्ने माग गरेका छन् । 

एमालेका प्रमुख सचेतक पदम गिरी, एमालेकै रघुजी पन्त, महेशकुमार बर्ताैला, सूर्य थापाले देशमा भएका भ्रष्टाचारका सबै काण्डमाथि छानबिन गर्नुपर्ने बताए । 

साथै माओवादीका माधव सापकोटाले भ्रष्टाचार आरोप आफ्ना नेतालाई कानुनको दायरामा ल्याउन एमालेलाई चुनौती दिए । भ्रष्टाचारका विषयमा गरेको छानबिनको विषयलाई लिएर प्रधानमन्त्रीप्रति खिसीट्युरी नगर्न उनले एमालेलाई सचेत गराए । 

कांग्रेसका रामहरि खनिवडा, एकीकृत समाजवादीका मेटमणि चौधरी, नेमकिपाका प्रेम सुवाललगायत सांसदले भ्रष्टाचारका सबै विषयमा पनि छानबिन गर्नुपर्ने बताए । तर, एक दलका सांसदले अर्काे दलका नेतालाई भ्रष्टाचारीकाे रुपमा इंगित गर्दै छानबिन गर्न माग गरे । 

कांग्रेसकी आरजु राणा देउवाले सबै मन्त्री र सांसदहरुको सम्पत्ति र स्रोत सार्वजनिक गर्नुपर्ने बताइन् । रास्वपाका हरि ढकालले ३३ वर्षमा भएका ३३ सय भ्रष्टाचार काण्ड सबैको आगोग बनाएर छानबिन गर्नुपर्ने बताए । 

शरणार्थी प्रकरणका सम्बन्धमा गठित समितिको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ – राष्ट्रियसभाको आजदेखि सुरु भएको १४औँ अधिवेशनको पहिलो बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले नक्कली भूटानी शरणार्थी प्रकरणका सम्बन्धमा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।

बैठकमा नेकपा(एमाले)का देवेन्द्र दाहालले नक्कली भूटानी शरणार्थीसम्बन्धी हल्ला बन्द गरी छानबिनका लागि गठन भएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो । झापाका विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा केही दिनअघि पार्टी अध्यक्षको टोलीलाई लक्षित गरी भएको ढुङ्गामुढाको प्रयासका घटनाको छानबिन नभएकोमा आलोचना गर्दै उहाँले प्रतिपक्ष विरुद्धमा सरकार खनिएको आरोप लगाउनुभयो ।

आर्थिक सङ्कटले मुलुकमा भयावह स्थिति सिर्जना हुन सक्ने भएकाले समयमै सजग र रहन सुझाव दिँदै उहाँले मुलुकमा खोजी भएको वैकल्पिक शक्तिले जनताका आकाक्षालाई पूरा गर्न नसक्ने ठोकुवा गर्नुभयो । विपक्षलाई साथमा लिएर जाने भनेको प्रजातन्त्रको सुन्दर पक्ष भएको बताउँदै सदस्य दाहालले अर्थतन्त्र र देशको समग्र समस्या सम्बोधन गर्न प्रतिपक्षसँग बस्ने वातावरण नभएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “विधेयक अधिवेशन भए पनि अघिल्लो अधिवेशन त्यतिकै खेरा गयो, कुनै विधेयक पास हुन सकेन । सरकार गठन र फेर बदलमै बित्यो । देशमा गठबन्धनले विकृति ल्यायो । एमाले विरुद्ध गरिएको गठबन्धनले देशलाई अनिर्णय बन्दी बनाइएको छ ।” देशको बिग्रदो अर्थतन्त्रलाई सम्बोधन गर्ने खाका ल्याउन वर्तमान सरकारको ल्याकत नरहेको आरोप लगाउँदै नेता दाहालले भन्नुभयो, “जनताको पनि उत्पादनमा भन्दा उपभोगमा मात्र ध्यान गएको छ । सरकार पनि उद्योगधन्दा र रोजगारी सिर्जना गर्नमा सरकार उदासिन छ ।”

राजनीतिक शक्तिहरुले व्यवस्था फेरे पनि जनताको जीवनस्तरमा परिवर्नत ल्याउन सकेनन् : पूर्वप्रधानमन्त्री डा भट्टराई

मकवानपुर / नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पुराना राजनीतिक शक्तिहरुले व्यवस्था फेरे पनि जनताको जीवनस्तरमा परिवर्नत ल्याउन नसकेको बताउनुभएको छ ।

डा भट्टराईले आज हेटौँडामा पत्रकारहरुसँग कुराकानी गर्दै वर्तमान अवस्थामा राज्य व्यवस्थाप्रति जनताको असन्तुष्टि जायज रहेको बताउँदै अब अग्रगामी समाधान गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले वर्तमान शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन नगरेसम्म मुलुकले काँचुली फेर्न नसक्ने उल्लेख गर्नुभयो ।

पूर्व प्रधानमन्त्री भट्टराईले आफ्नो पार्टी वैकल्पिक शक्ति बनाउने प्रयासमा रहेको र समाजवादी विचारधाराबाट अघि बढ्न कोही तयार हुन्छ भने आफूहरु एकता गरेर अघि बढ्ने बताउनुभयो । उहाँले माओवादी केन्द्रसँग निर्वाचन तालमेल मात्रै भएको बताउँदै पार्टी एकताको विषय टुङ्गोमा पुगिनसकेको स्पष्ट पार्नुभयो । डा भट्टराईले पत्रकार सम्मेलनअघि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसँग प्रदेशको अवस्थाबारेमा जानकारी लिनुभएको थियो ।

नागरिकतासम्बन्धी विधेयक संसद्मा नल्याएर पास गर्न खोजे एमालेले प्रतिवाद गर्छ : रघुजी पन्त

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सत्ता गठबन्धनले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकतासम्बन्धी विधेयक पुनः पारित गर्न खोजेको भन्दै विरोध गरेका छन्।

आइतबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्तले नागरिकतासम्बन्धी विधेयक संसद्मा नल्याएर पास गर्न खोजे एमालेले प्रतिवाद गर्ने चेतावनी दिए ।

“नागरिकता हिउँदे अधिवेशनमा ल्याएको भए हामी पास गर्न तयार थियौँ । तर, त्यतिबेला नल्याएर अहिले संसद्मा नल्याएर पास गर्न खोज यो सह्य हुँदैन,” उनले भने, “यो संसद्को अधिकार हनन गर्न पाइँदैन । यहाँ तुरुन्त ल्याइयोस् यदि राष्ट्रपतिलाई अघि बढाएर पास गरे एमालेलाई स्वीकार हुँदैन ।”

नागरिकता विधेयकलाई तत्कालीन राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगरेर रोकेकी थिइन् ।

सबै भ्रष्टाचारका घटनाहरु छानबिन गर्न सरकारलाई एमालेको चुनौती

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारलाई सबै भ्रष्टाचारका घटनामा छानबिन गर्न चुनौती दिएका छन् । 

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणको कारबाही प्रधानमन्त्रीले ट्रेलर भनेको भन्दै अब आफूहरु टिकट नै काटेर फिल्म हेर्न बसेको बताएका हुन् । 

‘प्रधानमन्त्रीज्यूले बाहिर भन्दै हिँड्नु भएको छ– भ्रष्टाचारको सवालमा यो ट्रेलर मात्रै हो, फिल्म आउन त बाँकी नै छ,’ प्रधानमन्त्रीको अभिव्यक्तिलाई चुनौती दिँदै उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, हामी फिल्म हेर्न आतुर छौँ । हामी तपाईंले फिल्म देखाउनुहुन्छ भनेर टिकट काटेर बसेका छौँ । फिल्म देखाउनुस् । ’

अब वाइडबडी, बाँसबारी जग्गा घोटाला काण्ड, यति, ओम्नी, लडाकु शिविरका घोटाला काण्डको छानबिन गर्नुपर्ने बताउँदै उनले यसमा एमालेले सघाउने प्रतिबद्धता जनाए । 

एमाले दोषी जोगाउने पक्षमा नरहेको उनको भनाइ छ । 

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेहरु को को हुन ? : प्रेम सुवाल

काठमाडौँ – नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेहरु को को हुन त्यसबारे सरकारले जानकारी दिनु पर्ने बताएका छन् ।

प्रतिनिधिसभाको दोस्रो अधिवेशनको आइतबार बसेको पहिलो बैठकमा उजले यस्तो बताएका हुन् ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापाको निर्णय अनुसार नेपालीलाई भुटानी शरणार्थी बनाउने निर्णय भएको उल्लेख गर्दै उनले संसद बैठकमा भने, ‘८७५ जनासँग दशदेखि ५० लाखसम्म उठाउने को को हुन ? यी सबै विषयमा छानबिन हुनुपर्‍यो।’

राष्ट्रियसभाको १४औँ अधिवेशन आजदेखि

काठमाडौँ / राष्ट्रियसभाको आजदेखि १४औँ अधिवेशन सुरु भएको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अपराह्न ठिक ४ बजे सुरु भएको अधिवेशनको पहिलो बैठकको प्रारम्भमै सांसदहरुलाई स्वागत गर्नुभयो । बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र र वर्तमान मन्त्रिपरिषद्मा पछिल्लो समय भएको मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रको व्यहोरा अध्यक्ष तिमिल्सिनाले पढेर सुनाउनुभयो ।

बैठकमा लोकतन्त्र प्राप्त गर्ने सन्दर्भमा वीरगति प्राप्त गर्ने ज्ञातअज्ञात सहिदको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो । माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा ५९ सदस्यीय छ । समाजका विभिन्न क्षेत्र र समुदायको प्रतिनिधित्व रहेको राष्ट्रियसभामा प्रबुद्ध व्यक्तिको प्रतिनिधित्व रहेको छ । अधिवेशन प्रारम्भ भएका अवसरमा बैठकमा विभिन्न दलबाट प्रतिनिधित्व गर्नुहुने सांसदले शुभकामनासहित समसामयिक विषयमा आफ्नो धारणा राखिरहनुभएको छ ।

सङ्घीय संसद्को बर्खे अधिवेशन सुरु

काठमाडौँ – सङघीय संसद्को बर्खे अधिवेशन आजदेखि सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेश आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ भएको हो ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा अपरान्ह ४ बजेदेखि राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ । बैठकको सुरुमै सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुभएको थियो ।

यस अधिवेशनमा मुख्यरुपमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ । अधिवेशन प्रारम्भसँगै प्रि-बजेट छलफल गरिने भएकाले अर्थमन्त्री डा प्रकाशशरण महतले आजकै बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नुहुने जनाइएको छ ।

झुटा विवरण पेश गरी नेपाली नागरिकता लिने १० भारतीय पक्राउ

काठमाडौँ – झुटो विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले १० भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलले उनीहरुलाई उपत्यकाकाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

विभिन्न समयमा नक्कली कागजात तथा ठेगाना विवरण पेश गरी तराईका जिल्लाबाट नेपाली नागरिकता लिएको प्रारम्भिक अनुसन्धानका आधारमा उनीहरुलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक डा मनोज केसीले जानकारी दिनुभयो । 

उहाँका अनुसार पक्राउ परेकाहरूले नागरिकता बनाउने टोली स्थलगत रूपमा खटिएको समयमा झुटा विवरण पेश गरी नेपाली नागरिकता लिएको पाइएको छ ।

पक्राउ पर्नेमा भारत बिहार घर भई काठमाडौँको शङ्खमुल बस्ने ५५ वर्षीय भरतप्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमति देवी गुप्ता र ३९ वर्षीय गोपाल गुप्ता छन् । 

यस्तै बिहार घर भई ललितपुरको लगनखेल बस्ने ४४ वर्षीय रामसुन्दर गुप्ता, गोङ्गबु बस्ने ४३ वर्षीय रामप्रवेश गुप्ता, कलङ्की बस्ने ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मिनदेवी गुप्ता र ५२ वर्षीया राजेशकुमार गुप्ता छन् । 

उनीहरूले जिल्ला प्रशासन कार्यालय रुपन्देही, बारा, पर्सालगायतबाट नागरिकता लिइएको पाइएको छ । आज पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेकाहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । 

उनीहरूको साथबाट नेपाली नागरिकता, मतदाता परिचय पत्र, भारतीय पासपोर्ट, भारतीय आधार कार्डलगायत बरामद गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेकाहरू उपत्यकाको शङ्खमुल, कलङ्की, लगनखेल, गोङ्गबु लगायतका स्थानमा बसोबास गर्दै आएका प्रहरीले जनाएको छ । उनीहरूको सन् २०२१ देखि हालसम्म भारतीय मतदाता परिचय पत्रमा नाम रहेको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्रीलाई राजेन्द्र लिङ्देनको सुझाव : क्यान्टोनमेन्टको फाइल पनि खोल्नुस्

काठमाडौं – राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली शरणार्थी प्रकरणको छानबिनलाई निष्कर्षमा नै पुराउने गरी अघि बढाउन प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ ।

आइतबार पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनलेको महाधिवेशन उद्घाटन गर्दै लिङ्देनले नक्कली शरणार्थी बनाएर विदेश पठाउने व्यापारमा एकपछि अर्को गर्दै उच्च पदस्थका व्यक्तिहरूको नाम आइरहेको भन्दै यसबाट पछि नहट्न र छानबिनलाई निष्कर्षमै पुराउन प्रधानमन्त्रीलाई सुझाव दिनुभएको हो । विगतका वाइडबडी काण्ड, ललिता निवास काण्ड, एन सेल काण्डजस्तै नक्कली शरणार्थी प्रकरणलाई पनि देखाउनका लागि मात्रै छानबिन गर्न नहुने उहाँले बताउनुभयो ।

उहाँले नक्कली शरणार्थी प्रकरणको छानबिनमा कुनै राजनीतिक स्वार्थ नभए यस विषयमा प्रधानमन्त्रीलाई राप्रपाको समर्थन रहने स्पष्ट पार्नुभयो । लिङ्देन अव वाइडबडी, एन सेल र ललिता निवासको फाइल पनि खोल्न सुझाव दिनुभयो । त्यस्तै उहाँले क्यान्टोनमेन्ट घोटाला काण्डको फाइल खोलेर आफू चोखो छु भनेर देखाउन पनि प्रधानमन्त्रीलाई सुझाव दिनुभयो । उहाँले यदि भ्रष्टचारको डंगुरमा बसेर शुद्धताको मन्त्र मात्रै उच्चारण गर्न खोजेको हो भने लामो समय नपत्याउने बताउनुभयो । देशको अवस्था असामान्य अवस्थातर्फ गइरहँदा पनि देशका नेता सत्ता केन्द्रित राजनीतिमा व्यस्त भइरहेको उहाँले बताउनुभयो ।

त्यस्तै लिङ्देनले मुलुकको नेतृत्व गर्न सक्ने विकल्पको रूपमा राप्रपालाई स्थापित गर्नुपर्ने भन्दै यसका लागि सङ्गठन र सङ्घर्षलाई सँगसँगै अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।

एमाले संसदीय दलको बैठक : नक्कली भूटानी शरणार्थीबारे छलफल

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठकमा पार्टीको नेतृत्वलाई नक्कली भूटानी शरणार्थीलगायत विषयमा सांसदहरुले चासो देखाएका छन् ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बसेको बैठकमा नक्कली भूटानी शरणार्थी प्रकरणमा सांसदहरुले चासो राख्नुभएको पार्टी सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सो घटनामा संलग्न पार्टीका कुनै पनि व्यक्तिलाई संरक्षण नदिने र अनुसन्धानमा पूर्णरुपले सहयोग पु¥याउने जानकारी गराउनुभएको उहाँले बताउनुभयो ।

“हामी कानुनी हिसाबले अनुसन्धानमा सहयोग गर्छौँ । तर छानबिनका क्रममा कुनै पनि पूवाग्रह नराखियोस्, छानिबनलाई सहयोग गर्छौँ, छानबिन पारदर्शी र तथ्यपरक हुनुपर्छ, राजनीतिक आग्रहबाट मुक्त हुनुपर्छ”, अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै सचिव भट्टराईले भन्नुभयो ।

बैठकमा संसदीय दलका नेता ओलीले आजदेखि सुरु भएको बर्खे अधिवेशनमा प्रभावकारी ढङ्गले प्रस्तुत हुन, विषयवस्तुको राम्रोसँग अध्ययन गर्न, नियमित उपस्थित हुन र हरेक विधेयकदेखि आउने प्रस्तावमा गहन अध्ययन गर्न र ठोस् ढङ्गले प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिनुभयो । बैठकले जनस्तरमा उठिरहेका र दैनिक जीवनमा भोगिरहेका विविध समस्या समाधान गर्न प्रभावकारी ढङ्गले सदनमा आवाज उठाउने विषयमा पनि जोड दिएको छ ।

झापामा बस्ने भनिएको एमाले केन्द्रीय कमिटीको बैठक काठमाडौं सर्‍यो

काठमाडौं – नेकपा एमालेले झापामा बस्ने भनेर बोलाएको केन्द्रीय कमिटीको बैठक काठमाडौंमा बस्ने भएको छ। एमालेले वैशाख २८ गतेदेखि ३० गतेसम्म झापामा बस्ने गरी केन्द्रीय कमिटीको बैठक बोलाएको थियो।

वैशाख २८ गतेदेखि ३० गतेसम्म केन्द्रीय कार्यालय च्यासलमै बैठक बस्ने भएको हो।

एमाले प्रचार-प्रसार विभागका उपप्रमुख विष्णु रिजालले बजेट अधिवेशन र संसदीय गतिविधिलगायत कारणले केन्द्रीय कमिटी बैठक काठमाडौंमै गर्ने निर्णय भएको जानकारी दिनुभयो।

सुशासनलाई थप बलियो बनाउन मन्त्रालयले काम गरिरहेको छ : गृहसचिव

काठमाडौँ – गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले सुशासनलाई थप बलियो बनाउन गृह मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ ।

गृह मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद् प्रस्ताव नं १३२५ र १८२० को कार्यान्वयनसम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजनाको कार्यशाला गोष्ठी’ मा उहाँले मन्त्रालयले सुशासनलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको हो ।

उहाँले कार्यशालामा उठेका विषयलाई सरकारले गम्भीर रुपमा लिएको बताउँदै यहाँबाट आउने सुझावलाई गृह मन्त्रालयले समयअनुसार सशक्त कार्यान्वयनमा लैजाने बताउनुभयो । राष्ट्रिय योजना आयोगकी अध्यक्ष कमलाकुमारी पौडेलले द्वन्द्वको समयमा महिला, बालबालिका र ज्येष्ठ नागरिक सबैभन्दा चपेटामा परेको बताउनुभयो ।

उहाँले द्वन्द्वकालमा हजारौँ बलात्कारका घटना घटेता पनि उक्त घटना अझैसम्म बाहिर आउन नसकेको गुनासो गर्नुभयो । अध्यक्ष पौडेलले गृह मन्त्रालयले तयार गरेको सम्बन्धी संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद् प्रस्ताव नं १३२५ र १८२० को कार्यान्वयनसम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजनाको सफल कार्यान्वयनमा सरकार लाग्नुपर्ने बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य मैना रावल कार्कीले द्वन्द्वका घटनालाई सरकारले समाधानको बाटोमा लैजानुपर्ने बताउनुभयो । उहाँले द्वन्द्वबाट पीडित दुरदराजका जनतालाई समेत सरकारले न्याय दिनुपर्ने उल्लेख गर्नुभयो । द्वन्द्वकालमा पीडित परिवारका बच्चाको अवस्था दयनीय रहेको उहाँको भनाइ थियो ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतमले प्रत्येक व्यक्तिले न्याय पाउने वातावरण सरकारले निर्माण गर्नुपर्ने बताउनुभयो । देशको विकासका लागि प्रत्येक व्यक्ति जागरुक हुनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सहसचिव लक्ष्मी बस्नेत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी सहसचिव अरुणा जोशी, राष्ट्रिय योजना आयोगका सहसचिव प्रकाश दाहाललगायतले विषयगत मन्त्रालयले महिला हिंसाको क्षेत्रमा फरक–फरक कार्ययोजना बनाउनुभन्दा एउटै कार्ययोजना बनाएर त्यसलाई लागु गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ / धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । साताको पहिलो दिनको कारोबारमा बजार खुले लगत्तै उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से परिसूच्क १९ दशमलब १२ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५० दशमलब ६१ मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलब १४ अङ्कले ओरालो लागेर तीन सय ५४ दशमलब ७८ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको नेप्सेले जनाएको छ ।

कूल २३ कम्पनीको शेयर मूल्य उकालो लाग्दा एक सय ८७ कम्पनीको भने ओरालो लागेको छ । यस्तै, आठ कम्पनीको शेयर मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । कूल २० लाख १५ हजार नौ सय ५९ कित्ता शेयर रु ६० करोड ८१ लाख ३५ हजार ९४ मूल्यमा खरिद बिक्री भए ।

कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु तीन करोड २२ लाख ३७ हजार छ सय सात मूल्य बराबरको शेयर कारोबार भयो । यस्तै, मकर जितुमाया सुरी हाइड्रोपावर रु एक करोड ८९ लाख ७६ हजार एक सय तीन, नबिल बैंक रु एक करोड ६८ लाख २३ हजार, एनआइसी एशिया बैंक रु एक करोड ५४ लाख ७० हजार छ सय २३ र ङादी ग्रुप पावरको रु एक करोड ५३ लाख १५ हजार पाँच सय ९२ बराबरको शेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार आत्मनिर्भर लघुवित्त आठ दशमलब २२,इस्टर्न हाइड्रोपावर सात दशमलब ६१, सनराइज ब्ल्यूचिप फण्ड पाँच दशमलब ८७,राष्ट्र उत्थान लघुवित्त तीन दशमलब ७८ र बलेफी हाइड्रोपावरको शेयर मूल्य तीन दशमलव ४८ प्रतिशतले बढेको छ । यस्तै एनएमबी बैंकको ऋणपत्र आठ दशमलब ८३, मकर जीतुमाया सुरी हाइड्रोपावर आठ दशमलब ३१, घलेम्दी हाइड्रोपावर पाँच दशमलब ८२, मन्दाकिनी हाइड्रोपावर पाँच दशमलब ७५ र श्वेतगङ्गा हाइड्रोपावरको शेयर मूल्य पाँच दशमलव ७१ प्रतिशतले घटेको छ ।

दर्ताविना सञ्चालनमा रहेका पसलमा ताला

बलेवा / पटकपटक आग्रह गर्दासमेत कानुनी प्रक्रिया पूरा नगरेका बागलुङको कुश्मीशेरा बजारका केही पसलमा जिल्ला प्रशासन कार्यालयले ताला लगाएको छ । अनुगमनका क्रममा दर्ताविना नै सञ्चालनमा रहेका पसलमा ताला लगाइएको हो ।

जैमिनी नगरपालिकाको मुकाम रहेको कुश्मीशेरा बजारमा शनिबार अनुगमन गरिएको थियो । जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जैमिनी नगरपालिकाका जनप्रतिनिधि, कृषि शाखा, प्रहरी, पत्रकार र बजार व्यवस्थापन समितिको रोहवरमा बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा स्वास्थ्य उपचार जस्तो संवेदनशील कार्यमा संलग्न क्लिनिकसमेत विनादर्ता निर्वाध सञ्चालनमा रहेको पाइएको थियो । “यहाँ लामो समयदेखि सञ्चालनमा रहेको ‘मेरो डेण्टल क्लिनिक’ दर्ता नभएको भेटियो, यसअघि पनि पटकपटक दर्ता गरेर सञ्चालन गर्न आग्रह गरिएको थियो”, बरालले भन्नुभयो, “अटेरी गरेकाले क्लिनिकमा ताला लगाइदिएका छौँ ।” अन्य केही श्रृङ्गार पसलमा समेत प्रशासनले ताला लगाएको छ ।

अनुगमनका क्रममा म्याद नाघेका खाद्यान्न भेटिएको, दर्ता नगरी व्यवसाय सञ्चालन गरिएको, केही पसलमा बिल, छाप नभएको, मूल्यसूची नराखी कारोबार गरिएको, एकै ठाउँमा फरकफरक प्रकृतिका सामानको व्यवसाय गरेको पाइएको बरालले बताउनुभयो ।

पटकपटक अनुगमन गरी सुझाव दिँदा पनि अटेरी गरिएको भन्दै केही व्यवसायका प्रमुखलाई आज जिल्ला प्रशासन कार्यलय बोलाइएको छ । अनुगमनका क्रममा थोरै समस्या रहेका पसललाई सुझाव दिइएको थियो भने कानुनी समस्या रहेका पसललाई बन्दसमेत गराई स्थानीय जनप्रतिनिधिलाई चाबी हस्तान्तरण गरिएको छ ।

अर्थतन्त्र थप बिग्रनुअघि राजनीति सच्चिन जरुरी छ : विनोद चौधरी

काठमाडौँ / प्रतिनिधिसभा सांसद विनोद चौधरीले नेपालको राजनीतिक प्रणाली तत्काल नसुध्रिए अर्थतन्त्र थप धराशायी बन्दै जाने बताउनुभएको छ ।

आज यहाँ आयोजित नेपाल व्यवसाय शिखर सम्मेलनमा उहाँले अर्थतन्त्र थप बिग्रन नदिन राजनीतिक चरित्र सुध्रन आवश्यक रहेको बताउनुभयो ।

“अर्थतन्त्रको यस गम्भीर अवस्थामा पनि हाम्रो राजनीति सत्ताको भागबण्डा, प्रशासनिक हेरफेर र आफन्तको नियुक्तिबाट बाहिर निस्कन सकेको छैन । अर्थतन्त्रलाई राजनीतिको केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने जिम्मेवारीलाई राजनीतिले आत्मसाथ गर्न सकेको छैन”, सांसद चौधरीले भन्नुभयो, “राजनीतिक दलहरुले राष्ट्रिय अर्थतन्त्रको एजेण्डामा एउटा गम्भीररुपमा बैठकसम्म बोलाएका छैनन् । अर्थतन्त्रमा अरु धेरैकुरा बिग्रनु अघि हामी सच्चिन जरुरी छ । राजनीति सच्चिन जरुरी छ ।”

नेपालको अर्थतन्त्रमा समस्याको सूचीमै रहेको र यसलाई तथ्याङ्कले प्रमाणित गर्दै लगेको भए पनि सकारात्मक आशा गर्ने ठाउँ भने बाँकी रहेको चौधरीको भनाइ छ ।

“हामीले नेपाली अर्थतन्त्रको कालो बादलमा चाँदीका घेरा खोज्नुपरेको छ । निर्यातमुखी जलविद्युत् परियोजना निर्माण, रेमिट्यान्स उत्पादनमुखी क्षेत्रमा लगानी, पोखरा र भैरहवा विमानस्थलको प्रयोग, पाइपलाइनमा रहेका ठूला आयोजना निर्माणलाई प्राथमिकतामा राखिनुपर्छ ।”

विकास निर्माणले गति लिन नसक्दा त्यसको बहुआयामिक असर मुलुकको अर्थतन्त्रमा देखिएको उहाँको भनाइ छ । सङ्घीय सरकारले मात्र नभइ प्रदेश र स्थानीय तहले पनि पुँजीगत खर्च गर्न नसक्नु गम्भीर चिन्ताको विषय रहेको उहाँले बताउनुभयो ।

“हामीले विकास निर्माणको प्रक्रियालाई ट्र्याकमा ल्याउन सकिरहेका छैनौँ । विकास निर्माणका गतिविधि समयमै सकेको भए कमजोर राजस्व सङ्कलन र आर्थिक वृद्धिदरको अवस्था सामना गर्नुपर्ने थिएन”, उहाँले भन्नुभयो, ‘‘प्रदेशको पुँजीगत खर्च हालसम्म करिब ३० प्रतिशत बराबर मात्रै छ । राजनीतिक स्थिरता, सुशासन र आर्थिक विकासमा केही योगदान गर्न नसक्ने तर नागरिकको टाउकोमा राजस्वको भार मात्रै थप्ने हो भने पक्कै पनि प्रदेश सरकारमाथि प्रश्न उठ्नेछ ।”

अहिले सामाजिक सुरक्षा र पेन्सन खर्चजस्ता अनिवार्य दायित्वका शीर्षकमा रकम व्यवस्थापन गर्न सरकारलाई गाह्रो परेको उल्लेख गर्नुुहुँदै सस्तो राजनीतिक लोकप्रियताका लागि सामाजिक सुरक्षा भत्ताको विषय ल्याउन नहुने उहाँले बताउनुभयो ।

औसत आयु सुधार हुँदै गएका बेला वृद्धभत्ता पाउने उमेर घटाउनु पनि उचित नरहेको सांसद चौधरीले भन्नुभयो । लगातार दुई त्रैमाससम्म आर्थिक वृद्धिदर ऋणात्मक हुनुलाई आर्थिक मन्दिको अवस्था मानिने अन्तर्राष्ट्रिय मान्यता रहेको उल्लेख गर्नुहुँदै उहाँले नेपालमा पछिल्लो तीन वटा त्रैमासमा लगातार आर्थिक वृद्धिदर नकारात्मक देखिएको बताउनुभयो । यसले नेपालको अर्थतन्त्री साँच्चिकै गम्भीर समस्यामा छ भन्ने पुष्टि भएको पनि उहाँको भनाइ छ ।

नेपालले जलविद्युत् आयोजनाको विकासमार्फत् लाभ लिनसक्ने प्रचुर सम्भावना रहेकाले यो क्षेत्रलाई सरकारले प्राथमिकता राख्नुपर्नेमा उहाँले जोड दिनुभयो । “हाल भारतले १२ हजार पाँच सय मेगावाट बराबर बिजुली आयात गर्न चाहेको पृष्ठभूमिमा हामीले त्यो अवसर गुमाउन हुँदैन । हाल देशभित्र पाइपलाइनमा रहेका करिब ११ हजार मेगावाटभन्दा बढी उत्पादन क्षमताका आयोजनाको विद्युत् खरिद सम्झौता ९पीपीए० खुलाइनुपर्छ ।”

दुई ठूला छिमेकीमुलुक भारत र चीन अहिले विश्वका उदियमान अर्थतन्त्रमा रुपमा देखापरेकाले नेपालले पनि त्यसको लाभ लिनसक्ने ठाउँको खोजी गर्नुपर्ने चौधरीले बताउनुभयो ।

निसीखोलामा डुबेर बालिकाको मृत्यु

गलकोट / निसीखोलामा डुबेर बालिकाको मृत्यु भएको छ । बागलुङको निसिखोला गाउँपालिका–६ भल्कोट बस्ने चक्रबहादुर बुढाकी छोरी पाँच वर्षीया साकीराको डुबेर मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मदन केसीले जानकारी दिनुभयो ।

घर भन्दा दुई सय मिटर तल रहेको निसीखोलामा खेल्ने क्रममा डुबेर गम्भीर भएकी बालिकाको बुर्तिवाङ प्राथमिक स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

निष्क्रिय बनाएको नागरिकता विधेयकलाई वर्तमान राष्ट्रपतिबाट ब्युताउँदै गठबन्धन

काठमाडौं – पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले निष्क्रिय बनाएको विधेयक सत्ता गठबन्धनका नयाँ राष्ट्रपति पौडेलबाट जारी गराउन खोजेको छ ।

हिजो बसेको सत्ता गठबन्धनको बैठकले नागरिकता विधेयकका सन्दर्भमा एउटा अनौपचारिक निर्णय लिंदै राष्ट्रपति रामचन्द्र पौडेलबाट जारी गराउन कुनै वाधा नभएको निष्कर्ष निकालेको थियो ।

पूर्व राष्ट्रपति भण्डारीले तत्कालीन संसद्को दुवै सदनले प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयकलाई सुझावसहित फिर्ता पठाउनुभएको थियो ।  तर, राष्ट्रपतिले दिनुभएको सुझावलाई बेवास्ता गरी दोस्रो पटक पनि उक्त विधेयक जस्ताको तस्तै पठाएपछि  राष्ट्रपतिले निर्धारित समयभित्र जारी नगरी निष्क्रिय बनाइदिनु भएको थियो ।

संविधानको धारा ११३ (४) मा भनिएको छ, ‘राष्ट्रपतिले कुने विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नेछ ।’

१५ दिनभित्र प्रमाणीकरण नभएको विधेयक के हुन्छ ? भन्ने संविधानमा उल्लेख छैन । संविधानविदहरुका अनुसार तोकिएको समयभित्र प्रमाणीकरण नभएको खण्डमा विधेयक स्वतः ‘मृत’ हुने बताउँछन् ।

त्यस्तै एक वरिष्ठ अधिवक्ताका अनुसार, ‘यति दिनभित्र प्रमाणीकरण हुनुपर्ने भन्नुको मतलब त्यसपछि गर्न मिल्दैन भन्ने हो । नागरिकता विधेयक उति बेलै मृत भइसकेको हो । अहिले आएर जारी गरियो भने त्यो असंवैधानिक हुन्छ ।’  

त्यस्तै नयाँ जनप्रतिनिधिहरू आइसकेपछि पुरानो संसद्ले पारित गरेको विधेयक जारी गर्न खोजिनु बलमिच्याईं मात्र भएको अर्का संविधानविद्ले बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले विवादित नागरिकता विधेयकलाई जबरजस्ती जारी गर्न खोजे कार्यकालको प्रारम्भमै उहाँ विवादमा तानिनु हुन्छ ।

नागरिकता विधेयक जारी गर्न मिल्ने वा नमिल्ने विषयमा छलफल गर्न वर्तमान राष्ट्रपति पौडेलले आज कानूनविदहरुसँग छलफल गर्न  शीतल निवास निम्त्याउनुभएको छ ।

हिजो बसेको सत्तारुढ गठवन्धनको बैठकले आफु निकटका कानून व्यवसायीहरूलाई बोलाएर राष्ट्रपति पौडेलबाट विधेयक जारी गर्न कुनै रोकावट नभएको सुझाव दिएका थिए ।

जनताले सांसदहरू तलब भत्ता खान मात्रै बैठकमा आउँछन् भन्न थाले : सभामुख घिमिरे

काठमाडौं – सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठकमा सांसदहरुको कम उपस्थितिलाई लिएर आज मध्यान्ह बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कुरा उठाउनु भएको छ।

संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरुसँगको बैठकका क्रममा सभामुख घिमिरेले सांसदहरुका बारे जनगुनासो बढ्दै गएको बताउनु भएको हो ।

आफूले पनि संसद बैठकमा सांसदहरुको उपस्थिति कमजोर देखेको टिप्पणी सभामुख घिमिरेले बैठकमा गर्नुभयो । उहाँले भन्नुभयो, ‘संसदमा माननीयहरुको उपस्थिति कमजोर भएको छ। सांसद तलब भत्ता खान मात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ छ। दल तथा माननीयज्यूहरुलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण गराउँदछु।’

घिमिरेले सरकार सदनप्रति उत्तरदायी हुन नसकेको समेत बताउनु भयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थितिलाई पनि कानून मन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराउँदछु ।’

घिमिरेले सांसदहरुको उपस्थिति बढाउने गरी अब इलेक्ट्रोनिक हाजिरीको व्यवस्था गर्ने पनि बताउनु भयो । ‘संसद सचिवालयलाई ई-हाजिरीको तयारी गर्न र राष्ट्रिय सभाको अनुभवबारे अध्ययन गर्न निर्देश गर्दछु ,’ उहाँले बैठकमा भन्नुभयो ।

उहाँले संसद नियमावली अनुसार प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर जेठदेखि सुरु हुने बताउनु भयो । कानुनमन्त्री र मुख्य सचेतकसँग छलफल गरेर समय निर्धारण गरिने पनि उहाँले बताउनु भयो । 

सभामुख घिमिरेले संसदीय सुनुवाई समितिहरुसहित दुई संयुक्त समिति तीन दिनभित्र टुंग्याउनुपर्नेमा जोड दिनुभयो । समितिको नेतृत्व पनि यहीबीचमा टुंग्याउनुपर्ने उहाँले बताउनु भयो ।

महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गछौँ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ / उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गरिने बताउनुभएको छ ।

गृह मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद् प्रस्ताव नं १३२५ र १८२० को कार्यान्वयनसम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजनाको कार्यशाला गोष्ठी’ मा बोल्दै उहाँले महिला हिंसाका पीडकलाई कारबाही र पीडितलाई न्याय दिन सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो ।

“महिलामाथि हुने हिंसाका दोषीलाई कारबाही गर्दै पीडितलाई न्याय दिन सरकारले कुनै कसर राख्दैन,” उहाँले भन्नुभयो । महिलामाथि हुने हिंसा अन्त्य गर्न यस्ता गोष्ठिले आफूलाई थप हौसला पुगेको उहाँको भनाइ थियो ।

गृहमन्त्री श्रेष्ठले आफूले गृह मन्त्रालयमा पदभार ग्रहण गरेसँगै शान्ति सुरक्षा, अपराध नियन्त्रणसँगै महिला हिंसा अन्त्य र पीडकलाई कारबाहीको मुद्दालाई उच्च प्राथमिकतामा राखेको बताउँदै गल्ती गर्ने जोकोहीलाई कानूनको दायरामा ल्याउने बताउनुभयो । पछिल्लो समय गृह मन्त्रालयले भ्रष्टाचारीविरुद्ध लिएको नीतिप्रति सकारात्मक टिप्पणी प्राप्त भइरहेको उहाँको भनाइ थियो ।

उपप्रधानमन्त्री श्रेष्ठले पछिल्लो समय मुलुकका विभिन्न तहमा महिला सहभागिता बढ्नु खुशीको कुरा भएको बताउनुभयो । उहाँले महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि राष्ट्रिय, प्रदेश, जिल्ला र स्थानीय स्तरमा समिति बनाएर कार्यान्वयन गरिने स्पष्ट पार्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का नेतासमेत रहनुभएका श्रेष्ठले द्वन्द्वकालका घटनालाई सत्य मेलमिलाप तथा वेपत्ता छानविन आयोगमार्फत टुङ्गोमा पुर्याउनुपर्ने बताउनुभयो ।

चीनको नयाँ संशोधित प्रति-जासुसी कानूनको बारेमा अमेरिकी राजदूतको चिन्ता

बेइजिङ / चीनका लागि अमेरिकी राजदूत निकोलस बर्न्सले बेइजिङलाई नयाँ-संशोधित प्रतिजासुसी कानूनलाई स्पष्ट पार्न आग्रह गरेका छन् ।   संशोधित कानूनले अमेरिकी व्यवसायी, शिक्षाविद् र पत्रकारहरूको केही सामान्य कार्यलाई  समेत अवैध बनाउन सक्ने  उनको बुझाइ रहेको  एशिया टाइम्सले उल्लेख गरेको छ ।  

नेशनल पिपुल्स कङ्ग्रेसको स्थायी समितिले गत अप्रिल २६ मा चीनको जासुसी विरोधी कानूनलाई बलियो बनाउन थप संशोधन पारित गरेको  थियो। संशोधित कानून जुलाई १ देखि लागू हुनेछ। एशिया टाइम्सका अनुसार अपराधीहरूको परिभाषालाई जासुसी सङ्गठनबाट “सामेल हुने वा कार्यहरू स्वीकार गर्ने” व्यक्तिबाट “शरण लिने” व्यक्तिहरूसम्म विस्तार गरिनेछ । यसैगरी “राज्य गोप्य र खुफिया” बाट “अन्य कागजातहरू, डेटा, सामग्री र राष्ट्रिय सुरक्षा र स्वार्थसँग सम्बन्धित वस्तुहरूको अनुसन्धानको दायरालाई पनि विस्तारित गरिने छ ।
द स्टिमसन सेन्टरद्वारा आयोजित वेबिनारको क्रममा राजदूत बर्न्सले मङ्गलबार वाशिङ्गटनमा रहेको थिंक ट्याङ्कबीच भनेका छन्- “यो एउटा कानून हो जसले सम्भावित रूपमा चीनमा व्यवसायीहरूको गतिविधिहरूलाई अवैध बनाउन सक्छ। हामीले यस बारे थप जान्न आवश्यक छ त्यसैले हामी यहाँ बेइजिङमा प्रश्नहरू सोधिरहेका छौं।”

त्यसैगरी राजदूत बर्न्सले अमेरिकी फर्महरूले ठूला लगानी सम्झौताहरूमा सहमत हुनु अघि उचित  सजगता पुर्याउँनु  आवश्यक रहेको भन्दै आर्थिक डेटामा पूर्ण पहुँच हुनु आवश्यक  रहेको बताएका छन्।

“कानूनले सम्भवतः शैक्षिक अनुसन्धानमा बाधा पुर्याथउन सक्छ। प्रोफेसर र पत्रकारहरू यसमा संलग्न हुन सक्छन्” राजदूतको टिप्पणी छ । 

(रासस-एएनआई)

नवनियुक्त मन्त्री सुरेन्द्रराज आचार्यले लिए शपथ

काठमाडौँ – नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले पद तथा गोपनियताको शपथ लिएका छन् ।

आइतबार राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्दै आएका नेसपाका महिन्द्रराय यादवलाई भने खानेपानी मन्त्रालयको जिम्मा दिइएको छ ।

नवनियुक्त मन्त्री आचार्य कपिलवस्तु क्षेत्र नम्बर २ बाट विजयी भएका थिए । राष्ट्रपति रामचन्द्र पौडल निकट मानिने आचार्य यसअघि सिंचाइ राज्यमन्त्रीसमेत बनेका थिए ।

सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सन्दीप लामिछानेविरुद्ध परेको मुद्दाको आइतबारको सुनुवाइ स्थगित भएको छ ।

जाहेरीकर्ताबाट अन्तरिम क्षतिपूर्तिका लागि निवेदन दिएपछि आइतबारका लागि तोकिएको पेसी स्थगित भएको छ । 

आइतबार सन्दीपको मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको थियो। तर, अब मुख्य मुद्दाको ठाउँमा क्षतिपूर्तिको निवेदनलाई प्राथमिकतामा राखिएको छ । 

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्ने विश्वास

काठमाडौँ – प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया लामो समयदेखि अघि बढ्न नसकेको भन्दै नेपाल बार एसोसिएसनले तत्काल प्रक्रिया अघि बढाउन निरन्तर दबाब दिँदै आएको छ ।

यसै अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार संवैधानिक परिषद्को बैठक बोलाउनुभएकाले प्रधान न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्ने विश्वास बढेको छ ।

न्यायालयको इतिहासमा २०७९ साल कायम कामुकै नेतृत्वमा सर्वोच्च अदालतको सयम बितेको छ । विसं २०७८ फागुन १ गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता भएपछि वरिष्ठतम न्यायाधीशले कार्यभार सम्हाल्दै आएकामा अहिले वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश रहनुभएको छ ।

बारले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियाअघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरेसँग आग्रह गरे पनि ठोसरुपमा काम अघि बढ्न सकेको छैन ।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया यथाशीघ्र अघि बढाउन माग गरिरहेकामा सोमबार संवैधानिक परिषद्को बैठक बोलाइएकाले प्रक्रियाअघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । बारले प्रधानन्यायाधीशको तत्काल नियुक्तिलगायत विषयमा एकहप्ताअघिदेखि दबाबमूलक कार्यक्रम गर्दै आएको थियो ।

“ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउनाका साथै न्यायालयको शुद्धीकरणका लागि निरन्तर आन्दोलन भइरहेको छ”, उहाँले भन्नुभयो, “संवैधानिक परिषद्को बैठक सोमबार बोलाइएको हुनाले प्रधानन्यायाधीश नियुक्तिको काम अघि बढ्ने विश्वास छ ।”

न्यायपालिका भित्रको भ्रष्टाचार, विकृति विसङ्गति अन्त्य गर्न तत्कालीन न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गर्नसमेत बारले माग गर्दै आएको छ ।

नेपालको संविधानको धारा २८४ मा संवैधानिक परिषद्सम्बन्धी व्यवस्था छ । उक्त धाराको उपधारा ३ मा परिषद्ले प्रधानन्यायाधीश वा अन्य संवैधानिक निकायका प्रमुख वा पदाधिकारीको पद रिक्त हुनु एक महिनाअगावै नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ तर सर्वोच्च अदालतमा महाअभियोगको प्रस्ताव निर्णयमा नपुग्दै तत्कालीन निलम्बित प्रधानन्यायाधीश राणाको अवकाश भएपछि वरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउन संवैधानिक परिषद्बाट सिफारिस हुनुपर्नेमा परिषद्को बैठक बस्न सकेको थिएन ।

टेक्सासको मलमा गोली चल्यो, बन्दुकधारीसहित ९ जनाको मृत्यु, ७ घाइते

वाशिङ्टन / अमेरिकाको डलास नजिकैको एउटा आउटलेट मलमा भएको गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । न्युयोर्क टाइम्सले शनिबार राति अधिकारीहरूलाई उद्धृत गर्दै सो घटनाबारे जानकारी दिएको छ ।

एलेन, टेक्सासका प्रहरी प्रमुख ब्रायन ई हार्वेले शनिबार राति पत्रकार सम्मेलनमा बताएअनुसार बन्दुकधारीको अझै पहिचान हुन सकेको छैन ।

गोली चलेको समयमा मलमा अर्कोतिर रहेका एकजना प्रहरी अधिकारीले बन्दुकको आवाज सुनेपछि त्यसतर्फ दौडिएको र आक्रमणकारीलाई गोली हानेको बताएका छन् । न्युयोर्क टाइम्सका अनुसार दिउँसो ३:३० बजे (स्थानीय समय) अनुसार, डलासबाट २५ माईल उत्तरमा रहेको १२० भन्दा बढी खुद्रा विक्रेता भएको बाहिरी किनमेल केन्द्र, एलेन प्रिमियम आउटलेटमा गोली हानाहान भएको हो । यता सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले कालो लुगा लगाएको, लामो राइफल बोकेको आक्रमणकारीलाई भुइँमा लडिरहेको तस्बीर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।

घटनास्थलबाट खिचिएको भिडियोमा सयौं उपभोक्ता सो क्षेत्र छाडेर दौडेको देखिएको छ । हवाई फुटेजमा कम्तिमा तीनवटा शव मल बाहिर छोपेर राखिएको देखाइएको छ। एलेन, टेक्सासका फायर चीफ जोनाथन बॉयडले नौ जना घाइतेलाई अस्पताल लगिएको बताएका छन्।

‘अस्पताल पुर्याइएका घाइते मध्ये, दुई जनाको मृत्यु भइसकेको छ। तीन जनाको गम्भीर प्रकृतिको शल्यक्रिया भइरहेको र चारजनाको स्वास्थ्य स्थिर रहेको छ,’ बोइडले बताएका छन् ।

एलेनमा भएको सामूहिक गोलीबारी देशभरि बन्दुक आक्रमणको लामो लाइनमा सबैभन्दा पछिल्लो हो जसले पसल, अस्पताल, विद्यालय र अन्य सार्वजनिक ठाउँहरूलाई आतङ्कित पारेको छ जुन सामान्यतया सुरक्षित मानिन्छ।

यस आक्रमणलाई टेक्सासका गभर्नर ग्रेग एबोटले ‘अवर्णनीय त्रासदी’ भनेका छन्।

शनिबारको घटना मोन्टेरी पार्क क्यालिफोर्नियामा भएको नरसंहारपछि वर्षको दोस्रो सबैभन्दा घातक गोलीबारी हो जसमा एकजना बन्दुकधारीले गत २१ जनवरीमा बलरूममा ११ जनाको हत्या गरेको थियो। (रासस/एएनआई)

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणा माथि पनि कारबाही हुनुपर्छ : महेश बस्नेत

काठमाडौँ – नेकपा एमालेका नेता महेश बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका नेता आरजु राणा माथि पनि कारबाही हुनुपर्ने बताउनुभएको छ ।

आज पोखरामा प्रेस चौतारी नेपालको पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्री बस्नेतले कांग्रेस नेताहरु आरजु राणा, मञ्जु खाणलगायतलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।

‘मुख्य दोषी पूर्वगृहमन्त्री बालकृष्ण खाणदेखि पूर्व उपराष्ट्रपतिका छोरा दीपेश पुन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवापत्नि आरजु राणा समेतलाई छानबिनको दायरामा ल्याउनुपर्छ भन्ने हो’, बस्नेतले भन्नुभयो, ‘टोपबहादुर रायमाझीको सवाल जेछ उहाँ कानुनी प्रक्रियाबाट बाहिर जानुहुन्न ।’

रायमाझीले यो प्रकरणमा राज्यलाई सहजीकरण गर्ने काममा भूमिका खेल्ने भन्दै बस्नेतले भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ भनेर एमालेले भन्दै आएको बताउनुभयो ।

उहाँले नक्कली भुटानीलाई अमेरिका पठाउने फाइल खोलिएकामा सरकारलाई धन्यवाद पनि दिनुभयो ।