`

गुल्मीमा जीप दुर्घटनामा सहचालकको मृत्यु

गुल्मी – गुल्मीको मालिका गाउँपालिका–२ अन्तर्गत दर्लिङबाट बागलुङको बडिगाड गाउँपालिकाको भिमगिठे जाँदै गरेको लु१च ९९११ नम्बरको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

गए राति खाल्टुङ खोला भन्ने स्थानमा दुर्घटनामा हुँदा जीपका सहचालक बागलुङ बडिगाड –९ का १८ वर्षीय किशोर केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभएको छ । दुर्घटनामा परी जीप चालक बडिगाड–९ का २१ वर्षीय प्रेमबहादुर केसी गम्भीर घाइते हुनुभएको छ । उहाँको थप उपचारको लागि आज बिहानै पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रवास लगिएको छ ।

जीप दुर्घटनाको जानकारी पाउनासाथ पौदी अमराईबाट प्रहरीको टोली घटनास्थल पुगिसकेको प्रहरी नायब उपरीक्षक पाण्डेले जानकारी दिनुभयो । दुर्घटना हुँदा जीप सडकबाट एक सय ५० मिटर तल खसेको बताइएको छ । ‘ब्रेकफेल’ भई जीप दुर्घटना हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ ।

अर्थतन्त्र सुधार्न सत्तापक्ष र प्रतिपक्ष नभनौँ : अर्थमन्त्री महत

काठमाडौँ – अर्थमन्त्री डा प्रकाशशरण महतले अहिले समस्यामा रहेको अर्थतन्त्र सुधारका लागि सबै क्षेत्र र पक्षको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभएको छ ।

आज राष्ट्रियसभामा पेश भएको अर्थतन्त्र सुधारबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्तावको छलफलका क्रममा उठेका विषयमाथि जवाफ दिनुहुँदै अर्थमन्त्री महतले अर्थतन्त्र सुधार्न सरकारको प्रयास मात्र पर्याप्त नरहेको बताउनुभएको हो ।

“अर्थतन्त्रमा देखिएको समस्या अहिलेको सरकारले वा अघिल्ला सरकारले मात्रै सिर्जना गरेको समस्या होइन । यो परिवेश कसरी विकास भयो र कहाँ–कहाँ सुधारको आवश्यकता छ भनेर हामीले सामूहिकरूपमा समाधानतर्फ जानुपर्छ”, अर्थमन्त्री महतले भन्नुभयो, “अहिलेको आवश्यकता भनेको अर्थतन्त्रलाई गति दिनका लागि सरकार र बाहिर बसेका सबै दलको साझा दृष्टिकोण बन्न जरुरी छ । त्यसमा हामी सहकार्य गरेर अगाडि बढ्नुपर्दछ ।”

अर्थतन्त्र सुधारका लागि सबै दल मिलेर साझा धारणामार्फत अघि बढ्नेबारे नेतृत्व तहमा छलफल अगाडि बढिरहेको पनि उहाँले बताउनुभयो ।

मुलुकको अर्थतन्त्र सम्हाल्नै नसकिने गरी खराब अवस्थामा पुगिनसकेको पनि अर्थमन्त्री महतको दाबी छ । “अर्थतन्त्र एकदमै कहालीलाग्दो अवस्थामा होइन । हामी अर्थतन्त्रलाई सुधारतर्फ उन्मुख गराउन सक्छौँ । अहिले देखिएका समस्यालाई हल गर्न सक्छौँ । त्यसका लागि ठोस प्रतिबद्धता हामीसँग छ । अवश्य पनि समस्याका चाङ छन् । सबै समस्यालाई हटाउन केही समय लाग्छ । केही धैर्यको आवश्यकता पर्छ”, उहाँले भन्नुभयो ।

अहिले अर्थतन्त्रमा देखिएका दबाब र अप्ठेरा फुकाउन जरुरी रहेको डा महतको भनाइ छ । अर्थतन्त्रको समस्या अहिलेको वा यसभन्दा अघिको सरकारका कारणले सिर्जना नभएको पनि उहाँले स्पष्ट पार्नुभयो । विगतदेखिकै समस्या थुप्रिँदै गएर अहिले विकराल बनेको उहाँको भनाइ छ । “यी एक÷दुई वर्षमा आएका समस्या होइनन् । यसको एउटा शृङ्खला छ । त्यसमा समस्या थपिँदै थपिँदै गएर अहिलेको अवस्था आएको हो”, उहाँले भन्नुभयो, “अहिलेको सरकारले भर्खरै सिर्जना गरेको वा योभन्दा अगाडिको सरकारले एकै वर्षमा सिर्जना गरेको समस्या भन्ने होइन । लामो समयदेखिका विभिन्न समस्या जोडिँदै जोडिँदै आएर अहिलेको स्थिति बनेको हो ।”

नेपालको अर्थतन्त्रमा संरचनागत समस्या र शासन प्रणालीको समस्या रहेको उहाँको भनाइ छ । सरकारको तर्फबाट निर्वाह हुनुपर्ने भूमिकामा पनि कमी कमजोरी रहेको अर्थमन्त्री महतले बताउनुभयो । “हाम्रो पूँजीगत खर्चको प्रभावकारिता र विस्तारमा समस्या छ तर तलबभत्ता, सामाजिक सुरक्षालगायतका साधारण खर्चको दायित्व बढिरहेको छ । हरेक सरकारको बेलामा यो थपिँदै गएको छ”, उहाँले भन्नुभयो, “हाम्रा संरचनागत समस्या छन् । हामी ठेक्का लगाइसक्छौँ तर साइट क्लियरेन्स भएको हुँदैन ।”

अर्थतन्त्रलाई चलायमान बनाउने विषयमा आजको भोलि नै नतिजा देखाउन नसकिने पनि उहाँको भनाइ छ । तर सरकारले अर्थतन्त्र सुधारका लागि अधिकतम प्रयास गरिरहेको अर्थमन्त्री महतले दाबी गर्नुभयो । “आज बोलेर भोलि चमत्कार हुने कुरा होइन । यसका लागि निरन्तररूपमा काम गर्नुपर्छ । अर्थमन्त्रीको नाताले म सरकारको तर्फबाट हामी सम्पूर्णरूपमा इमानदारीपूर्वक आफ्नो क्षमता, योग्यताले भ्याएसम्म देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाउँछु”, उहाँले भन्नुभयो, “अहिले नै सबै समस्या हटाएर सबै कुरा ठीक पार्छु भनेर दाबी गर्दिनँ तर सबैको सहयोगबाट हरसम्भव प्रयास गर्नेतर्फ सरकारको प्रयास केन्द्रित हुनेछ ।”

कोभिड महामारीको समयमा मौद्रिक नीति खुकुलो बनाउँदा अहिले समस्या देखिएको उहाँको भनाइ छ । पूँजीगत खर्चको समस्या देखिनुमा यस वर्ष भएका चुनाव जिम्मेवार रहेको पनि उहाँको भनाइ छ । त्यस्तै, तरलता अभावका कारण ब्याजदर बढ्नु, पूँजीगत खर्च गर्ने क्षमता बढ्न नसक्नु र आर्थिक वर्षको अन्तमा मात्रै खर्च गर्ने प्रवृत्ति कायमै रहनुजस्ता समस्या रहेको डा महतले बताउनुभयो ।

एमाले अध्यक्ष ओलीमाथि अभद्र व्यवहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ : नारायणकाजी श्रेष्ठ

काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी ओलीमाथि कालोझण्डा प्रदर्शन र ढुंगामुढा गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिनुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा श्रेष्ठले कोसी नामकरणमा विरोध गर्ने समूहले कालोझण्डा प्रदर्शन गर्ने र कार्यक्रम हुन नदिने प्रयासस्वरुप ढुंगामुढा गर्ने काम गरेको भन्दै ढुंगामुढा प्रहारमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको जानकारी दिनुभएको हो ।

घटना लगतै प्रहरीले स्थिति नियन्त्रणमा लिएको र ओली आफ्नो कार्यक्रम स्थलतर्फ गएको उहाँले बताउनुभयो । उहाँले सरकार संविधानको प्रभावकारी कार्यान्वयनका लागि दृढ रहेको र संविधान अन्तर्गत लोकतान्त्रिक अधिकारको प्रयोग गर्न र शान्तिपूर्ण तवरबाट विचार राख्न छुट रहेको बताउनुभयो । तर कुनै पनि कोणबाट गैर संवैधानिक गतिविधि गर्ने, नेता, जनताको कार्यक्रमलाई अवरोध गर्ने कामलाई छुट दिन नसकिने उहाँले धारणा राख्नुभयो ।

त्यस्तै श्रेष्ठले मिटरब्याजी पीडितसँग गरिएको सम्झौतालाई कार्यान्वयन गर्दै यससम्बन्धी समस्या सदाका लागि अन्त्य गरिने बताउनुभयो । मिटर ब्याजलाई फौजदारी कानुनको परिभाषामा समेट्ने गरी मुलुकी फौजदारी संहिता संशोधन मस्यौदा विधेयक मन्त्रिपरिषद् स्वीकृत गरिसकेको र छिटै संसदमा पेश गरिने उहाँले जानकारी दिनुभयो ।

उपप्रधान एवं गृह मन्त्री श्रेष्ठले नागरिकता सम्बन्धी कानुनलाई सबैको सहमतिमा नै अघि बढाउनका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी कामलाई अघि बढाउनका लागि सबैको सहयोग आवश्यक रहेकाले सबैको भावना अनुसार नै सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानुनलाई अघि बढाइने जिकिर गर्नुभयो ।

पछिल्लो समय नेपाललाई अन्तर्राष्ट्रिय खेल मैदान बनाउने षड्यन्त्र भयो : धर्मेन्द्र बास्तोला

काठमाडौँ – नेकपा (बहुमत) संयोजक धर्मेन्द्र बास्तोलाले पछिल्लो समय नेपाललाई अन्तर्राष्ट्रिय खेल मैदान बनाउने षड्यन्त्र सतहमा आएको बताउनुभएको छ । 

बुधबार काठमाडौँमा प्रगतिशील लेखक तथा साहित्यकार खेम थपलियाको नाट्य कृति ‘कमरेड फिप्टी पर्सेन्ट’ को विमोचन गर्दै बास्तोलाले शक्ति केन्द्रहरू एमसिसी र एसपीपीलाई लागु गरेर नेपाललाई विदेशीको खेल मैदान बनाउन लागेको आरोप लगाउनुभयो । उहाँले सत्ता र प्रतिपक्षमा रहेका पार्टी र नेताहरू फेल भएको सङ्केत उपचुनावको परिणामले गरेको धारणा राख्नुभयो । उहाँले अहिलेको संसदीय प्रणालीले अराजकता र निरङ्कुशता देखिएको र जनतामा वितृष्णा पैदा भएको उल्लेख गर्नुभयो । 

लेखक थपलियाले चरम व्यक्तिवाद हाबी भएर समाज र युवा पङ्क्तिलाई रक्षानमा पुर्‍याउन लागेको भन्दै आफूले इमान्दार भएर त्यस विरुद्ध कलम चलाएको बताउनुभयो । 

बिरामी बडापत्र अस्पतालको अग्रभागमा राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ पालना गर्न सबै स्वास्थ्य सेवा प्रदायक निकायलाई निर्देशन गरेको छ । सो मापदण्डमा स्वास्थ्य संस्थाले विपन्न, असहाय र बेवारिसे बिरामीका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

आज मन्त्रालय अन्तर्गतको गुणस्तरमापन तथा मापदण्ड नियमन महाशाखाले सबै सरकारी, निजी, सामुदायिक, प्रतिष्ठान तथा मेडिकल कलेजलाई पत्राचार सो निर्देशन गरेको हो ।

मन्त्रालयका उपसचिव एकदेव खनालद्वारा आज यहाँ जारी परिपत्रमा अनुगमनका क्रममा मापदण्डअनुसार विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शय्याको दश प्रतिशत निःशुल्क उपचार सेवा उपलब्ध नभएको पाइएको उल्लेख छ । परिपत्रमा बिरामीले संस्थाबाट सेवा प्राप्त गर्दा लाग्ने शुल्क, प्रक्रिया तथा अवधिसमेत खुलाएको बिरामी बडापत्र अस्पतालको अग्रभागमा राख्न निर्देशन दिइएको छ । अनुगमनका क्रममा स्वास्थ्य संस्थाहरुले सवारी साधन पार्किङको शुल्क उठाएको पाइएको जनाउँदै पार्किङ शुल्क नउठाउन निर्देशन दिएको हो । परिपत्रले जनशक्तिलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन समेत निर्देशन दिएको छ ।

प्रतिनिधिसभा : एमाले अध्यक्ष ओलीमाथि भएको अभद्र व्यवहारप्रति ध्यानाकर्षण

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले आफ्नो पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि भद्रपुरको कार्यक्रमस्थलमा जाँदै गर्दा अभद्र व्यवहार भएको जनाउँदै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको सुरुमै आकस्मिक समयमा उहाँले भद्रपुर विमानस्थलबाट झापाको बुधबारेमा आयोजित एक कार्यक्रममा सहभागी हुन जाने क्रममा केही समूहबाट होहल्ला तथा ढुङ्गामुढाको प्रयास भएको भन्दै आपत्ति प्रकट गर्नुभयो ।

प्रमुख सचेतक गिरीले आफ्नो पार्टी शान्तिपूर्ण राजनीतिमा विश्वास गर्ने उल्लेख गर्दै यस्ता अवाञ्छित गतिविधिको विरोध गर्ने स्पष्ट पार्नुभयो ।

सोही पार्टीका सांसद बिजुला रायमाझीले काठमाडौँ महानगरपालिका–६ को सरस्वती नगरस्थित आफ्नो व्यवसाय गर्दै आउनुभएकी निरा पाण्डे आचार्यको हत्या भएको सात दिन बितिसक्दा पनि अझै दोषी पत्ता लाग्न नसकेको भन्दै सभामुखमार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । उहाँले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई छिटोभन्दा छिटो कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो ।

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अहिले निरा पाण्डेको परिवार शोकमग्न अवस्थामा रहेको जनाउँदै घटनाका दोषी पत्ता लगाई कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

सांसद थापाले सिङ्गो काठमाडौँको सुरक्षा संवेदनशीलतालाई ध्यानमा दिएर कुनै ठाउँ विशेष मात्र नभई पूरै काठमाडौँमा सिसी क्यामेरा जडान गर्नुपर्ने सुझाव दिनुभयो । सांसद प्रभु साहले वर्षायामको सुरुआतसँगै आइपर्ने विपद् व्यवस्थापनको सम्बन्धमा सरकारले गरेका पूर्वतयारी बारे सदनलाई जानकारी गराउन माग गर्नुभयो ।

बामदेव गौतमको मनोनयनविरुद्ध निवेदनमा सर्वोच्चले मगायो बहस नोट

काठमाडौँ – बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरिएको विरुद्ध परेको निवेदनमा सर्वोच्च अदालतले साढे दुई वर्षपछि सुनुवाइ सकेको छ । बुधबार संवैधानिक इजलासमा सुनुवाइपछि बहस नोट मगाउने आदेश भएको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हाको इजलासले बहस नोट मगाउने आदेश दिएको हो।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा बर्दिया-१ बाट पराजित भएका गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभामा मनोनित गर्नुभएकाे थियाे । निर्वाचनमा पराजित व्यक्तिलाई प्रतिनिधि सभाको त्यही कार्यकालमा मनोनयनमार्फत् स‌ंघीय संसदमा लैजानु संविधानको मर्म विपरीत हुने भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रिराज भट्टले सर्वोच्चमा निवेदन दिएर गौतमको मनोनयन बदर गर्न माग गर्नुभएकाे थियाे ।

ती निवेदनहरूमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले २०७७ को कात्तिक २६ मा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो। तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तथा न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको इजलासले अन्तरिम आदेश दिन नपर्ने निर्णय सुनाएको थियो ।

घेराबन्दी तोडेर एमाले अगाडि बढिरहेको छ : एमाले अध्यक्ष ओली

झापा – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चौतर्फी घेराबन्दीलाई तोडेर एमाले एक्लै अगाडि बढिरहेको बताउनुभएको छ ।

बुद्धशान्ति गाउँपालिकाले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एमालेको ग्रासरुट अभियानमार्फत पार्टीलाई चलायनमान बनाउन सबै कार्यकर्तालाई आग्रह गर्नुभयो । एमालेलाई सिध्याउन गरिएको मोर्चाबन्दीलाई परास्त गर्दै देशले भोगिरहेको वर्तमान समस्यालाई समाधान गर्न लागेको उहाँले बताउनुभयो । उहाँले चारजना व्यक्तिले विगत ७४ वर्षअघि स्थापना गरेको पार्टी आज जहाँ नेपाली त्यहाँ एमाले भन्ने अवस्थामा पुगेको बताउनुभयो ।

“खेतको होस् या बारीको पाटो, सहर, गाउँबस्ती, देशविदेश सबै क्षेत्रमा एमाले पुगेको छ”, अध्यक्ष ओलीले भन्नुभयो । उहाँले पार्टीका नेतृत्व र कार्यकर्ताभित्र भएका असन्तुष्टिलाई पार्टीभित्रै छलफल र संवाद गरेर समाधान गर्न आग्रह गर्नुभयो । “साथीको बात नसहने तर शत्रुको लात सहने नगरौँ”, उहाँले भन्नुभयो, “यसले पार्टीलाई कमजोर बनाउँछ । देश बनाउने अभियान हाम्रो काँधमा छ । विकास, सुशासन र राष्ट्रिय एकताको अभियानमा जुटौँ, पार्टीलाई बलियो बनाऔँ ।”

उहाँले आगामी २०८४ को निर्वाचनमा पार्टीलाई देशको सबै तहसम्म पु¥याउन ‘हरेक टोलमा पार्टी हरेक घरमा सदस्य’ अभियानलाई मिसनग्रास रुटमार्फत तीब्र बनाउन सबै कार्यकर्तालाई आग्रह गर्नुभयो ।

घट्यो शेयर बजार

काठमाडौँ – पुँजीबजारमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ दशमलव ६८ अङ्कले घटेर एक हजार आठ सय ९२ को विन्दुमा कायम भएको हो । आज दुई सय ६४ वटा कम्पनीको २५ लाख ७१ हजार दुई सय दुई कित्ता शेयर २३ हजार चार सय २९ पटक खरिदबिक्री हुँदा रू ८४ करोड ७० लाख २८ हजार दुई सय १९ बराबरको कारोबार भएको छ ।

आज नेप्सेका सबै इन्डेक्सको सूचक रातो देखिएको छ । सेन्सेटिभ इन्डेक्स दुई दशमलव ११, फ्लोट इन्डेक्स एक दशमलव ०१ र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ७७ अङ्कले घटेको छ ।

त्यस्तै, सबै समूहका उपसूचक पनि रातो देखिएका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ५६ दशमलव ८२ र निर्जीवन बीमा समूहको उपसूचक ५० दशमलव ९५ अङ्कले घटेको छ । आज बैंकिङ समूह सात दशमलव ६७, विकास बैंक समूह ३५ दशमलव ९२, वित्त समूह १२ दशमलव ७५, होटल तथा पर्यटन समूह ४६ दशमलव ९० र जलविद्युत् समूह २० दशमलव ५७ अङ्कले घटेको छ ।

त्यसैगरी, लगानी समूह शून्य दशमलव ८५, उत्पादन तथा प्रशोधन समूह ३४ दशमलव ७२, लघुवित्त समूह २० दशमलव ९५, म्युचुअल फन्ड शून्य दशमलव ०४, व्यापार समूह छ दशमलव ५८ र अन्य समूह पाँच दशमलव ४५ अङ्कले घटेको छ । आज सबैभन्दा धेरै जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य तीन दशमलव २५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सनराइज ब्लुचिप फन्डको शेयर मूल्य नौ दशमलव १२ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज शिवम् सिमेन्ट लिमिटेडको रू सात करोड एक लाख ६० हजार चार सय ५७ बराबरको एक लाख ६४ हजार नौ सय ३० कित्ता शेयर किनबेच भएको छ ।-

गण्डकीमा माओवादीले मुख्यमन्त्री मागेपछि सरकार गठनमा अन्योल

काठमाडौं – गण्डकी प्रदेशमा माओवादी केन्द्रकाकै कारण सरकार गठनमा अन्योल देखिएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दलहरूलाई नयाँ सरकार गठनका लागि बिहीबार दिउँसो ४ बजेसम्मको समय दिएका छन् । तर सत्तारुढ गठबन्धनको माओवादी सांसदहरू सम्पर्कमै नआएपछि सरकार गठन अन्योलमा परेको छ ।

केन्द्रको समीकरणअनुसार गण्डकीमा कांग्रेसले पहिले मुख्यमन्त्री पाउने भन्ने छ । जसअनुसार कांग्रेस गण्डकी प्रदेश संसदीय दलका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्ने अवस्था छ । तर माओवादीले आफ्नो कारण एमाले नेतृत्वको सरकार ढलेको भन्दै पहिले आफूले मुख्यमन्त्री पाउनुपर्ने अडान राखेको छ । कांग्रेसले सरकारको नेतृत्व दाबी गर्ने तयारी गरिरहेका बेला माओवादी दलका नेता हरिबहादुर चुमानसहितका सांसदहरू काठमाडौं आएका छन् । उनीहरू प्रधानमन्त्री प्रचण्ड भेट्न आएका हुन् ।

गण्डकी प्रदेशमा नेपाली कांग्रेसको २७ र एमालेका २२ र माओवादीका आठ सांसद छन् । तर केन्द्रमा ३२ सिटे माओवादीले प्रधानमन्त्री चलाए जस्तै गण्डकीमा आठ सिट भएको माओवादीले मुख्यमन्त्रीमा दाबी गरेको छ । हालै सम्पन्न तनहुँ १ को उपनिर्वाचनमा माओवादीबाट मुख्यमन्त्रीमा दाबी गर्ने सांसद चुमानको वडामा कांग्रेसले तीन सय र राष्ट्रिय स्वतन्त्र पार्टीले आठ सय मत पाएको थियो । आफ्ना मतदातालाई कांग्रेसमा भोट हाल्न जानु भन्न नसक्ने चुमानले अहिले मुख्यमन्त्रीमा दाबी गरेपछि कांग्रेस सशंकित भएको छ । जबकि केन्द्रमा गण्डकीमा कांग्रेस र माओवादीबीच आधा आधा कार्यकाल सरकार चलाउने सहमति भएको छ ।

लुम्बिनीमा भने कांग्रेस नेतृत्वमै पहिले सरकार बन्ने भएको छ । प्रदेशको नयाँ मुख्यमन्त्रीमा गठबन्धनबाट कांग्रेसका डिल्ली चौधरीको दाबी प्रस्तुत भइसकेको छ । लुम्बिनीमा कांग्रेस र माओवादीलगायत राजनीतिक दलको गठबन्धनमा सरकार बन्ने निश्चित छ । प्रदेश सभामा ती दलसँगै एकीकृत समाजवादी, लोसपा, जसपा, जनमत, नागरिक उनमुक्तिलगायत एकातिर छन् भने एमाले र राप्रपा अर्कोतर्फ छन् ।

माओवादीका जोखबहादुर महरा पनि मुख्यमन्त्रीको निम्ति पार्टीको केन्द्रीय नेतृत्वसँग लबिङ गरिरहेका छन् । उनी कांग्रेसका चौधरीपछि मुख्यमन्त्री बन्ने दौडमा छन् । महरा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डका निकटमध्येका एक मानिन्छन् ।

अर्थतन्त्र सुधार्नेबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस

काठमाडौँ – बिग्रँदो अवस्थामा रहेको अर्थतन्त्रको सुधारका लागि भन्दै राष्ट्रियसभाको आजको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरिएको छ ।

‘सुदृढ अर्थतन्त्र निर्माण गर्नका लागि अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने’ विषयको सार्वजनिक महत्वको प्रस्ताव पेस गरिएको हो । सांसद मदनकुमारी शाह (गरिमा) प्रस्तावक रहनुभएको यो प्रस्तावमा सांसद अनिता देवकोटा, खिमलाल देवकोटा, जयन्तीदेवी राई, जीतेन्द्रनारायण देव, तुलप्रसाद विश्वकर्मा, दिलकुमारी रावल थापा (पार्वती), प्रमिला कुमारी, डा बिमला राई पौड्याल, शेखरकुमार सिंह र सुरेशकुमार आले मगर समर्थक रहनुभएको छ ।

राष्ट्रियसभामा उक्त प्रस्ताव पेस गर्दै सांसद शाहले राजनीतिक शासन व्यवस्था फेरिए पनि मुलुकको अर्थतन्त्र र विकासको अवस्था नफेरिएको बताउनुभयो । अब सबैको लक्ष्य र उद्देश्य समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुनुपर्ने उहाँको भनाइ छ । “मुलुकको अर्थतन्त्र ओरालोमा छ, यसैकारण मुलुक कतै असफल हुने त होइन भन्ने चिन्ता छ, पर्याप्त लगानी आएको छैन, नीतिगत भष्ट्राचार रोकिएको छैन, पारदर्शीता छैन”, उहाँले भन्नुभयो, “राजनीतिक परिवर्तन भए पनि हामीले आर्थिक परिवर्तन गर्न सकेनौँ, मुलुकको खराब अर्थतन्त्रका कारण आम मानिसको जनजीवन नराम्रोसँग प्रभावित भइरहेको छ ।”

आर्थिक गतिविधिमा सुस्तता देखिँदा र सूचकहरु बिग्रँदा त्यसले नागरिकमा सरकारप्रति वितृष्णा जगाएको पनि उहाँले बताउनुभयो । “बढ्दो महँगी, बैंक तथा वित्तीय संस्थाको कर्जा तिर्न नसक्ने अवस्था, चर्को ब्याजदरलगायतका कारण नागरिकमा निराशा र राजनीतिप्रति वितृष्णा देखिन थालेको छ, यसलाई समाधान गर्नु सरकारको पहिलो कर्तव्य हो”, सांसद शाहले भन्नुभयो ।

उक्त प्रस्तावको समर्थनमा सांसद अनिता देवकोटाले राजनीतिक व्यवस्था परिवर्तन भए पनि लामो समयदेखि नागरिकको अवस्था परिवर्तन हुन नसकेकाले सरकारले अब तत्काल सुधारको प्रयास थाल्नुपर्ने बताउनुभयो । “नागरिकको जनजीवन झन् खराब हुँदै गएको छ, अहिले आगामी आर्थिक वर्षको बजेटबारे पनि तयारी भइरहेकाले सरकारले अर्थतन्त्र सुधारका लागि तत्कालै प्रयास थाल्नुपर्छ”, उहाँले भन्नुभयो ।

सांसद खिमलाल देवकोटाले अर्थतन्त्रमा संरचनागत समस्या रहेकाले त्यसलाई जरैबाट समाधान गरिनुपर्ने बताउनभयो । “आयातमा आधारित राजस्व र उपभोगमा आधारित रेमिट्यान्सलाई अहिलेसम्म कुनै पनि सरकारले चिर्न सकेनन्, गम्भीरतापूर्वक प्रयास नै भएन”, उहाँले भन्नुभयो, “व्यापार घाटा हरेक वर्ष कहालीलाग्दो तरिकारले बढिरहेको छ, बिहान उठेदेखि बेलुका सुतेसम्म र जन्मेदेखि मृत्युसम्ममा प्रयोग हुने हरेक सामान आयात भइरहेका छन् ।” कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को तुलनामा व्यापार घाटाको अनुपात बढ्दै गएको उहाँको भनाइ छ ।

उक्त प्रस्तावमाथि छलफल गर्नेक्रममा सांसदहरुले यो विषयलाई सत्तापक्ष र प्रतिपक्षका रुपमा नभइ सबैको साझा सरोकारको विषय हुनुपर्नेमा समेत जोड दिनुभएको छ । सार्वजनिक महत्वको प्रस्ताव पेस हुँदै गर्दा र छलफलका क्रममा अर्थमन्त्री उपस्थित हुनुपर्ने भन्दै सांसदहरुले विरोध जनाउनुभएको थियो । प्रमुख प्रतिपक्ष दलका सांसदले उभिएर उक्त प्रस्तावको छलफलमाथि भाग नलिने भन्दै विरोध जनाउनुभएको हो । त्यसकारण १४ मिनेटका लागि बैठक नै स्थगित भएको थियो । अर्थमन्त्री राष्ट्रिय सभामा उपस्थित हुनु भएपछि छलफल अघि बढेको हो ।

राष्ट्रियसभाका बैठक : सांसदको सङ्ख्या घटाउन माग

काठमाडौँ – राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सङ्ख्या परिमार्जन गर्न माग गरिएको छ ।

बैठकको शून्य समयमा सांसद खिमलाल देवकोटाले शासन व्यवस्था तथा पार्टी नेतृत्व तहमा सुधारको आवश्यकता औँल्याउनुभयो ।

उहाँले भन्नुभयो “प्रधानमन्त्रीको कार्यकाल दुईपटक, सासंद वा मन्त्री तीनपटक र पार्टी-दलको नेतृत्व दुई कार्यकालभन्दा बढी नहुने व्यवस्था गरौँ । समानुपातिक समावेशी सहभागितालाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेश गरी समानुपातिक निर्वाचन प्रणाली खारेज गरौँ । ” उहाँले प्रतिनिधिसभामा सदस्य सङ्ख्या दुई सय ७५ बाट घटाएर एक सय ६५ र प्रदेशसभाको सङ्ख्या पाँच सय ५० बाट घटाएर तीन सय ३० मात्रै कायम गर्न सुझाव दिनुभयो ।

विभिन्न आयोग तथा सरकारी कार्यालयमा हुने नियुक्ति प्रक्रिया नियमसङ्गत नरहेको पनि उहाँको भनाइ छ । “अदालत, संवैधानिक निकाय, विश्वविद्यालयलगायतका निकायहरुमा दलीय भागबन्डाका आधारमा गरिने नियुक्ति र सार्वजनिक संस्थानहरुमा पार्टी सदस्य भर्ना गर्नेकाम बन्द गरौँ”, उहाँले भन्नुभयो ।

नागरिकका समस्या र गुनासा तत्कालै सम्बोधन गर्न सरकारले संयन्त्र बनाउनुपर्ने उहाँको सुझाव छ ।

कम्युनिष्ट पार्टीको पुनर्गठनमा स्व. अधिकारीको योगदान अविस्मरणीय

​​​​​​​काठमाडौं – नेपालको बाम–लोकतान्त्रिक आन्दोलनका लोकप्रिय नेता, पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको २४औं स्मृति दिवस बुधबार उहाँको शालिकमा माल्यार्पण गर्नुका साथै र उहाँका विचार र योगदानको स्मरण गरी मनाइयो ।   

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मनमोहन स्मृति प्रतिष्ठानद्वारा सानेपास्थित प्रतिष्ठानको कार्यालयमा बुधबार विहान आयोजित २४औं स्मृति दिवस कार्यक्रममा अधिकारीको शालिकमा माल्यार्पण गर्नुभयो । 

कार्यक्रममा पार्टीका बरिष्ठ उपाध्यक्ष तथा प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेल, पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृत कुमार बोहोरा, उपमहासचिवद्वय प्रदीप ज्ञवाली, विष्णु रिमाल, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, सचिव योगेश भट्टराई, स्थायी कमिटी, पोलिटव्यूरो र केन्द्रीय कमिटीका सदस्यहरू लगायतले अधिकारीको शालिकमा पुष्पगुच्छा अर्पण गरी उहाँप्रति सम्मान प्रकट गर्नुभयो ।

कार्यक्रममा सम्बोधन गर्दै पार्टीका बरिष्ठ उपाध्यक्ष तथा प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले नेपालको बाम–लोकतान्त्रिक आन्दोलनमा स्व.अधिकारीको भूमिका स्तुत्य रहेको वताउनुभयो । 

बरिष्ठ उपाध्यक्ष पोखरेलले विभाजित कम्युनिष्ट पार्टीलाई पुनर्गठन गर्न स्व. अधिकारीले गर्नुभएको पहल र प्रयत्न विर्सन नसकिने वताउनुभयो । 

स्व.अधिकारीले नेकपा (माले) र मार्क्सवादीबीच पार्टी एकीकरणको पहल ऐतिहासिक ढङ्गले गर्नुभएको स्मरण गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो– नेकपाको पहिलो महाधिवेशनका महासचिव अधिकारी एमालेसँग अत्यन्त सम्मानित ढङ्गले गाँसिनुभएको क्षण अविस्मरणीय रहेको छ । 

राष्ट्रियता, सार्वभौमसत्ता र प्राकृतिक स्रोतका सम्बन्धमा स्व. अधिकारीको धारणाबारे चर्चा गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो– राष्ट्रिय हितको रक्षामा उहाँको विशेष चासो र चिन्ता थियो । नागरिकताका सवालमा उदार भएर अगाडि बढ्न सकिँदैन भन्नुहुन्थ्यो । प्राकृतिक स्रोत साधनमा बाह्य शक्तिबाट दोहन हुनसक्छ, त्यसमा खबरदारी गर्नुपर्छ भन्नुहुन्थ्यो । 

‘सादगीपूर्ण जीवन विताउने कुरामा स्व.अधिकारीले कहिल्यै कमी हुन दिनुभएन,’ बरिष्ठ उपाध्यक्ष पोखरेलले कम्युनिष्ठ पार्टीका नेताकार्यकर्तामा आचरणगत प्रश्नहरू उठिरहेको समयमा अहिले उहाँको जीवनबाट सिक्नुपर्ने धारणा राख्नुभयो । 

अहिले पार्टी राष्ट्रिय शक्ति निर्माणमा लागिरहेको र यस कार्यमा अगाडि बढ्दा स्व. अधिकारीको विचारबाट अभिप्रेरित भई अगाडि बढ्नुपर्ने र राष्ट्रको स्वार्थलाई सर्वोपरि राख्नुपर्ने विचार पोखरेलले व्यक्त गर्नुभयो । 

मुलुकको राजनीति अहिले दुई ध्रूवमा अगाडि बढिरहेको चर्चा गर्दै उहाँले भन्नुभयो– एकातिर, राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र देश बनाउने जागरणको नेतृत्व नेकपा (एमाले) ले गरिरहेको छ, अर्कोतर्फ दिशाहीन र उद्देश्यविहीन गठबन्धनले देशलाई धराशायी बनाउने दिशातर्फ लगिरहेको छ, राष्ट्रिय राजनीतिलाई ठीक ढङ्गले बुझेर देश बनाउने पक्षमा उभिँदा पार्टीका तत्कालीन अध्यक्ष स्व. अधिकारीप्रति सच्चा श्रद्धाञ्जली हुने छ ।

प्रतिष्ठानका अध्यक्ष पोखरेलले देशभर स्व. अधिकारीको नाममा रहेका प्रतिष्ठानहरूलाई व्यवस्थित सञ्चालनको पहल प्रतिष्ठानबाट भइरहेको वताउनुभयो ।  

विश्व कम्युनिष्ट आन्दोलन धराशायी भइरहेको समयमा नेकपा (एमाले) का तत्कालीन अध्यक्ष अधिकारी २०५१ सालमा नेपालमा पहिलो कम्युनिष्ट सरकारका प्रधानमन्त्री बन्नुभएको र ज्येष्ठ नागरिकलाई राज्यबाट भत्ता उपलब्ध गराई सामाजिक सुरक्षाका क्षेत्रमा ऐतिहासिक कामको थालनी गर्नुभएको थियो भने  आफ्नो गाउँ आफै बनाउँ कार्यक्रम मार्फत स्थानीय तहमा बजेट विनियोजन गरी देशको विकासमा जग बसाउने काम गर्नुभएको थियो । 

नेकपा (एमाले) का तत्कालीन अध्यक्ष अधिकारीको २०५६ साल बैशाख १३ गते निधन भएको थियोे । 

सुनको मूल्य बढ्दा घट्यो चाँदी

काठमाडौँ – आज सुनको मूल्य नेपाली बजारमा बढेको छ भने चाँदीको मूल्य घटेको छ। 

मङ्गलवार प्रतितोला ४०० रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला २०० रुपैयाँ बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ७०० रुपैयाँ कायम गरिएको छ । यसैगरि तेजाबी सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।  

यसअघि मङ्गलवार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। मङ्गलवार चाँदी प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा किनबेच भएको थियो।

गाउँपालिकाबाटै श्रम स्वीकृति पाएपछि सेवाग्राहीलाई सहज

उर्लाबारी – सरकारले २०७९ चैत १६ गते गरेको निर्णयबमोजिम स्थानीय तहबाट श्रम स्वीकृति दिने व्यावस्थालाई मोरङको मिक्लाजुङ गाउँपालिकाले कार्यान्वयनमा ल्याएको छ ।

वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दोे तथा सहज बनाउन वैदेशिक रोजगारीमा जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन स्थानीय तहको रोजगार सेवा केन्द्रबाट पाउने व्यवस्था गरिएको छ । यसका लागि अब विराटनगर र काठमाडौँ धाउनुपर्ने झन्झटको अन्त्य भएको छ ।

श्रम स्वीकृति लिने पहिलो सेवाग्राही मिक्लाजुङ गाउँपालिका–७ का केशव सिग्देल बन्नुभएको छ । उहााले खुसी व्यक्त गर्दै भन्नुभयो, “यसअघि काठमाडौँ र विराटगर गएर श्रमसम्बन्धी स्वीकृति लिनुपर्दा झन्झट हुन्थ्यो, लागत पनि बढी पथ्र्यो । अब गाउँपालिकाबाटै सेवा सुरु भएपछि सहज भएको छ ।”

मिक्लाजुङले वैदेशिक रोजगारीका लागि जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिसम्बन्धी सेवा यही वैशाख २ गतेदेखि प्रारम्भ गनेए सूचना २०७९ चैत २९ गते प्रकाशन गरेको थियो ।

यसैगरी उर्लाबारी नगरपालिकाले पनि श्रम स्वीकृति दिने व्यवस्थालाई कार्यान्वयनमा ल्याएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुरारीप्रसाद घिमिरेले बताउनुभयो । नगरपालिकाले व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिसम्बन्धी सेवा यही वैशाख २ गतेदेखि दिन थालेको हो । वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्थाअनुसार वैदेशिक रोजगारीमा जाने हरेक नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

उपनिर्वाचनमा एमाले तेस्रो स्थानमा

काठमाडौं – हालै सम्पन्न उपनिर्वाचनमा नेकपा एमाले तीनवटै निर्वाचन क्षेत्रमा तेस्रो स्थानमा खुम्चिन पुगेको छ ।

चितवन–२ मा त पहिला भन्दा कम मत प्राप्त गरेको एमाले बारा–२ र तनहुँ–१ मा पनि तेस्रो स्थानमा रहन पुग्यो  । तीनवटै  निवार्चन क्षेत्रमा एमाले १८ हजार भन्दा बढी मतान्तरले पराजय हुन पुगेकाे छ ।

चितवन–२ अघिल्लो निर्वाचनमा एमालेका कृष्णभक्त पोखरेलले ल्याएको १४ हजार ७ सय ५२ मत जति पनि अहिले रामप्रसाद न्यौपानेले ल्याउन सकेनन । उनले बरु पोखरेलले भन्दा ३ हजार ७ सय ८६ कम मत ल्याए । सो निर्वाचन क्षेत्रवाट न्यौपानले १० हजार ९ सय ३६ मत मात्रै प्राप्त भयो ।

सो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका रबि लामिछानेले ५४ हजार १७६ ल्याएर बिजयी भए भने नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठ ११ हजार २१४ मतसहित दोस्रो स्थानमा खुम्चिए ।

न्यौपाने लामिछाने भन्दा ४३ हजार ७ सय ८० मतले पछि परेका छन् ।

यसैगरी, तनहुँ–१ मा एमालेका सर्वेन्द्र खनाल पनि तेस्रो स्थानमा रहन पुग्यो । उनले त १० हजार मत पनि कटाउन सकेनन । उनी ८ हजार ४ सय ८८ मतमा सिमित भए ।

सो निर्वाचन क्षेत्रमा रास्वपाका स्विर्णिम वाग्ले ३४ हजार ९१९ मतसहित बिजयी भएका छन भने नेपाली कांग्रेसका गोविन्द भट्टराई २० हजार १२२ मतसहित दोस्रो स्थानमा रहन पुगे । बिजयी वाग्ले भन्दा एमालेका खनाल २६ हजार ४ सय ३१ मत अन्तरले पछि परेका छन् ।

उता, बारा–२ मा पुरुषोत्तम पौडेल पनि तेस्रो स्थानमा रहन पुगे । उनले १० हजार २१६ मत मात्रै प्राप्त गर्न सफल भए ।

सो क्षेत्रवाट बिजयी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले २८ हजार ४ सय १५ मत ल्याएका थिए भने उपबिजेता जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३ सय ३४ मत ल्याएका थिए ।

बिजयी यादव भन्दा एमालेका पौडेल १८ हजार १९९ मतले पछि परेका छन ।

नयाँ पार्टीको उदय सकारात्मक ठान्दछु: बाबुराम भट्टराई

काठमाडौं।नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका नयाँ पार्टीहरुको उदय सकारात्म भएको बताएका छन्।

भट्टराईले एक–अर्काको अनुभवबाट सिक्दै देशको अर्थ-राजनीति र भू-राजनीतिको विशिष्ठता अनुकुल नयाँवैकल्पिक शक्ति निर्माणमा सहकार्य गर्न पनि आह्वान गरेका छन्।

डा भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्–
एक दशकदेखि देशमा नयाँ शक्ति/वैकल्पिक शक्तिको पैरवीकर्ताको नाताले पछिल्लो चरणमा रास्वपा,जनमत,नागरिक उन्मुक्ति लगायतका एक दशकदेखि देशमा नयाँ शक्ति/वैकल्पिक शक्तिको पैरवीकर्ताको नाताले पछिल्लो चरणमा रास्वपा, जनमत, नागरिक उन्मुक्ति लगायतका नयाँ पार्टीहरूको उदय सकारात्मक ठान्दछु! सबैले एकअर्काका अनुभवबाट सिकौं। देशको अर्थ-राजनीति र भू-राजनीतिको विशिष्ठता अनुकुल नयाँवैकल्पिक शक्ति निर्माणमा सहकार्य गरौं!

चार दिनका लागि अध्यक्ष ओली कोसी प्रदेशका विभिन्न जिल्लाका कार्यक्रममा जानुहुँदै

काठमाडौँ –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चार दिनका लागि कोसी प्रदेशका विभिन्न जिल्लाका कार्यक्रमहरूका लागि आज त्यसतर्फ जाँदै हुनुहुन्छ ।

नेकपा एमाले कोसी प्रदेश कमिटी सचिव चिन्तन पाठकका अनुसार अध्यक्ष ओली आज बिहान काठमाडौँबाट भद्रपुरका जाने कार्यक्रम छ । 

आज झापाको बुद्धशान्त्ति गाउँपालिकामा आयोजना गरिएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ । अध्यक्ष ओलीसँगै उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको सचिव पाठकले जानकारी दिनुभयो । 

अध्यक्ष ओली आज इलामको पर्यटकीय क्षेत्र कन्याममा बस्ने तय भएको छ । बिहीबार इलाममा आयोजना हुने जिल्ला परिषद् भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । बिहीबार नै  उहाँ पाँचथरको फिदिममा बास बस्नुहुनेछ ।

वैशाख १५ गते अध्यक्ष ओली आफ्नो जन्म गाउँ तेह्रथुमको आठराई गाउँपालिका पुग्नुहुनेछ । आठराईमा अध्यक्ष ओलीले सिटिइभिटीले निर्माण गरेको टेक्निकल कलेजको उद्घाटन गर्ने कार्यक्रम छ । सो ठाउँमा आफ्ना बाल्यकालका साथीहरूसँग भेटघाट र पुनर्मिलनको कार्यक्रम समेत राखिएको छ ।

तेह्रथुमको कार्यक्रम सकेर अध्यक्ष ओली फिदिममै बस्नुहुने १६ गते बिहान फिदिममा कार्यकर्ता भेटघाट कार्यक्रम सकेर अध्यक्ष ओली झापाको दमकमा बस्नुहुनेछ । दमकमा पार्टीले आयोजना २८ गते देखि आयोजना गरेको केन्द्रीय कमिटी बैठकको तयारीका बारेमा जिल्ला र प्रदेशका नेताहरूसँग छलफल गर्ने कार्यक्रम रहेको प्रदेश कमिटी सदस्य एवं प्रदेशसभा सदस्य होमबहादुर थापाले जानकारी दिनुभयो ।

बैठक स्थलको निक्र्यौल, नेताहरूको वासस्थानको व्यवस्था, बैठकपछि झापाका विभिन्न राजनीतिक र पर्यटकीय स्थलहरू नेताहरूलाई अवलोकन गराउने ठाउँहरू टुङ्गो लगाइने थापाले जानकारी दिनुभयो ।

अध्यक्ष ओली १७ गते झापाबाट काठमाडौँ फर्कनुहुनेछ ।

महानगरले भत्कायो पुरानो बसपार्कमा रहेको प्रहरी बिट

काठमाडौँ – काठमाडौँ महानगरपालिकालेकाठमाडौँको पुरानो बसपार्कमा रहेको नेपाल प्रहरीको बिट भत्काएको छ ।

आज महानगरपालिकाले काठमाडौँको भ्यू टावर नजिक रहेको पुरानो बसपार्कस्थित सडक पेटीको उक्त बिट हटाएको जनाएको हो ।

पुरानो बसपार्क क्षेत्रमा रहेको उक्त बिटले सडक र पेटीमा असर गरेकाले त्यस्ता बिट योजनाअनुसार नै महानगरले हटाएको प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जानकारी दिनुभयो ।

फ्लाई दुबईको जहाजमा देखिएको समस्या के हो ?

काठमाडौँ – सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडान भरेको फ्लाई दुबईको जहाजको इञ्जिनमा खराबी देखियो ।

विमानस्थलबाट उडानभरेलगत्तै एफजेट ५७६ उडान नम्बरको ‘बोईङ७३७-८००’ जहाजको इञ्जिनमा ठूलो आवाजसहित आगोको मुस्लो देखियो । विमान चालक (पाइलट)ले जहाजलाई धादिङको धार्केमाथिको आकाशमा करिब २१ हजार फिट उचाइमा झण्डै ११ मिनेट जहाज आकाशमा ‘होल्ड’ (फन्को लगाएर) गरेर जहाजको इञ्जिनको ‘कन्डिसन’ जाँच गरे । जहाजको सिङ्गल इञ्जिन खराब भएपछि आकाशमा होल्ड गरेर जाँच गरिएको थियो ।

त्यतिन्जेलसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा आकस्मिक अवतरणका लागि सबै संयन्त्र तैनाथ भइसकेका थिए । फ्लाई दुबईको जहाज कोटेश्वरको आकाशमा विस्फोटको आवाजसँगै इञ्जिनमा आगो देखिएपछि उक्त जहाजका पाइलटले काठमाडौँ विमानस्थलको टावरलाई जहाजको बायाँ इञ्जिनमा आगलागी भएको जानकारी दिएका थिए  ।

उक्त जहाजको सबै इण्डिकेटरको चेक गरेपछि पाइलटले थप समस्या नदेखिएकाले उडानलाई निरन्तरता दिने निर्णय लिएका थिए । विमानस्थलको टावरका एटिसीले पनि उक्त जहाजलाई गन्तव्यतर्फ उड्न अनुमति दिएका थिए । जहाजले सामान्य रुपमा उडान भरेर दबईको ‘दुबई इन्टरनेशनल एयरपोर्ट’ मा सकुशल अवतरण ग¥यो । फ्लाई दुबई र त्यहाँको नियामक निकायले जहाज अवतरण गरेको सन्देश दिए । नेपाली समय अनुसार राति २ बजे (स्थानीय समय अनुसार १२ बजेर ११ मिनेटमा) उक्त जहाजले दुबईमा सफल अवतरण गरेको थियो । उक्त जहाजमा एक सय ६८ यात्रु सवार थिए ।

यसरी जहाजमा विमानस्थलबाट उड्नेवित्तिकै ठूलो आगोको मुस्लो निस्किएको विषय अझै जनमानसमा कौतुहलताको विषय बनिरहेको छ । फ्लाई दुबईको जहाजमा के भएको हो भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा विभिन्न अनुमान सार्वजनिक भएका छन् । जहाजमा चरा ठोक्किएर विष्फोट भएको भन्ने हल्ला फैलिएको छ । यसबारे नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले बाहिर आएको हल्लाजस्तो जहाजमा चरा ठोक्किएको पुष्टि नभएको जनाएका छन् ।

तथापि, दुबईको ‘गभरमेन्ट अफ फ्लाई दुबई मिडिया अफिस’ले भने सामाजिक सञ्जालमा पोष्ट गर्दै उक्त जहाजमा चरा ठोक्किएर विष्फोट भएको दाबी गरेको छ । यसै सन्दर्भमा लामो समय जहाजको मर्मतसम्बन्धी अनुभव रहेका जहाज मर्मतसम्बन्धी इञ्जिनियर एमके श्रेष्ठले सोमबार फ्लाई दुबईको जहाजमा देखिएको प्राविधिक समस्या सामान्य रहेको र यस किसिमको घटना विगतमा पनि हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “फ्लाई दुवईको जहाजमा भएकोजस्तो घटना सामान्य हो, यसमा अत्तिनुपर्दैन, यस्ता प्रकृतिका घटना विगतमा पनि हुने गरेको थियो ।

विगतमा एकदेखि दुई पटकसम्म मात्र ठूलो आवाज सुनिन्थ्यो । तर, यस पटक भने चार पटकसम्म ठूलो आवाजसहित आगोको मुस्लो बाहिर आउने घटना भने गम्भीर भएको सङ्केत हो । अनुसन्धान नगरी थप बोल्न मिल्दैन ।” नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का एक वरिष्ठ पाइलटका अनुसार कुनैपनि जहाजमा प्राविधिक समस्या देखिएपछि ‘स्ट्यानन्डर्ड अपरेटिङ प्रोसिडर’ हुन्छ । त्यसअनुरुप ‘चेकलिष्ट फलो गरिन्छ’ त्यसपछि सबै चिज नर्मल भएपछि मात्रै अपरेटिङ गरिन्छ । “जहाजको इञ्जिनको बाहिरबाट हेर्दा आगो देखिन्छ । यदि चरा छिरेको रहेछ भनेपनि त्यो आगो भएर बाहिर निस्कन्छ । कपपिटभित्रका पाइलटले सबै उपकरण जाँच गरेर ठीक छ भनेपछि मात्रै जहाज उडाउने निर्णय लिन्छन्”, उहाँले भन्नुभयो, “जहाजको इञ्जिनलगायत कुनैपनि समस्या आएमा ‘फ्लाइट सेफ्टी स्ट्यान्डर्स’ अनुरुप ‘चेकलिष्ट फलो’ गरिन्छ, त्यसपछि ‘एसओपी’ हुन्छ । रिस्कको प्यारामिटर जाँच गरेपछि पाइलटले निर्णय लिन्छन् ।” निगमका ती वरिष्ठ पाइलटको भनाइमा जहाजको इञ्जिनबाट आवाजसहित आगो निस्कने दुई अवस्थामा हुन्छ, पहिलो चरा वा कुनैपनि सामान इञ्जिनभित्र पसेर हुन्छ भने अर्को जहाजको इञ्जिनको कम्प्रेसर स्टल भएर वा इञ्जिनकै प्राविधिक समस्या भएर आगो निस्कन्छ’ । इञ्जिनियर श्रेष्ठ भने इञ्जिनमा हावाको कमी हुँदा अर्थात् ‘कम्प्रेसर स्टल’ भएमा पनि ठूलो आवाजसहित आगोको मुस्लो बाहिर आउको उल्लेख गर्नुभयो ।

उहाँका अनुसार जहाजको इञ्जिनको मुखमा चरा पसेको वा हावामा उडिरहेको कागजको टुक्रा परेमा पनि विष्फोट गराउनसक्छ । “सानो कागज मात्रै पनि इञ्जिनमा परेमा पड्किन्छ । कम्प्रेसरबाट हावा आवश्यकता अनुसार नहुँदा कहिलेकाहीँ यस्तो आवाजसहित आगो निस्कन्छ”, श्रेष्ठले भन्नुभयो । जहाज उड्नेवित्तिकै ठूलो आवाजसहित आगोको मुस्लो निस्किएको समयमा जहाज ‘थर्थराउछ’ र पूरै हल्लिन्छ ।

यस्तो अवस्थामा इञ्जिनको पछाडिबाट आगोको ज्वाला निस्कने उहाँको भनाइ छ । हावा र इन्धनको ‘रेसियो’ नमिलेकाले विष्फोटको आवाज आएको विज्ञहरुको अनुमान छ । विज्ञका अनुसार जहाजको इञ्जिन चालु हुँदा आगो बलिरहेकै हुन्छ । आगोले नै इञ्जिनलाई पावर दिनु सामान्य कुरा हो । यस्तो बेला पाइलटले होसियारी अपनाउनुपर्छ । उडिरहेको जहाजको इञ्जिन खराब भएको भए काठमाडौँ विमानस्थलमा अवतरण गर्नुपर्ने अवस्था हुन्थ्यो । जहाजको सबै ‘पारामिटर नर्मल’ भएमा उडानलाई निरन्तरता दिने पाइलटले निर्णय लिएको देखिन्छ ।

यस्तो अवस्थामा पाइलटको निर्णय नै अन्तिम निर्णय हुन्छ । पाइलटले होसियारीपूर्वक पारामिटरको चेकजाँच गरेपनि जहाजलाई गन्तव्यतिर लगेको देखिन्छ । जहाजमा प्राविधिक समस्या देखिनासाथ पाइलटले जहाजलाई फन्को लगाएर ‘इन्डिकेटर र पारामिटर’ चेकजाँचपछि उडान गर्नसक्ने श्रेष्ठको भनाइ छ । आपतकालीन अवतरणका लागि सबै संयन्त्र सक्रिय उडिरहेको वा उडान भर्नासाथ जहाजमा प्राविधिक समस्या देखिएमा जहाजको तत्कालै होल्ड गरेर इण्डिकेटर जाँच गरेपछि जहाजको इञ्जिन फेल भएको खण्डमा आपतकालीन अवतरण गर्नुपर्छ ।

सोमबारको घटनामा जहाजको सबै इण्डिकेटरले काम गरेकाले गन्तव्यतिर लगिएको हो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओको) म्यानुअल अनुसार जहाजबारे अनुसन्धान गर्नुपर्ने हुन्छ । उक्त अनुसन्धानपछि मात्रै के कारणले घटना घटेको भन्ने बाहिर आउने उहाँले बताउनुभयो । नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार चराको जोखिम नियन्त्रणका लागि सिकारीको व्यवस्था गरिएको छ ।

उहाँले जहाजमा चरा ठोक्किँएको अहिलेसम्म पुष्टि नभएको बताउनुभयो । “नेपालमा दर्ता नभएको जहाज भएकाले फ्लाई दुबईको जहाजको अध्ययन सम्बन्धित मुलुकले गर्नेछ । नेपालको तर्फबाट जानकारी गराईसकेका छौँ, जहाजमा चरा ठोक्किएको पुष्टि भएको छैन, के भएको हो भन्ने विषय अनुसन्धानले पत्ता लाग्ला सहजीकरणका लागि प्राधिकरण तयार छ”, प्रवक्ता निरौलाले भन्नुभयो । उहाँले विमानस्थलको धावनमार्ग र आसपास निरीक्षण गर्दा चरा नभेटिएकाले घटना के कारणले भएको हो भन्ने अहिले पुष्टि गर्न नसकिने उल्लेख गर्नुभयो ।

प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार सोमबार जहाजको इञ्जिनमा खराबी आएपछि आकस्मिक अवतरणको तयारी गरिएको थियो । अवतरणका क्रममा रहेका विमानलाई राति ९ः२० मिनेटदेखि ९ः५९ सम्म आकाशमा होल्ड गरिएको थियो । विमानस्थलमा दमकल, ‘लोकल स्ट्याण्डबाई’ गरियो । यो भनेको कुनै जहाजले खराबी देखिए इमर्जेन्सी भनी घोषणा गरेपछि आकिस्मक अवतरणका लागि गरिने अभ्यास र तैनाथ संयन्त्र हुन् । दमकलसहित सवारी साधान, सुरक्षाकर्मी, अस्पताल सबै तयारी अवस्थामा राखिएको थियो । पाइलटले जहाज गन्तव्य पुग्छ भन्ने घोषणा गरेपछि विमानस्थलले सबै उडान खुलाइएको थियो । जहाजका सम्बन्धमा नेपालको एटिसीसँग सोधपुछ गर्न सक्छन् । नेपालमा अवतरण भएको भए यहाँ प्राविधिक समिति गठन गरेर अनुसन्धान गर्नुपर्ने हुन्थ्यो ।

तर जहाज दुबईमै अवतरण भएकाले दुबईको सिभिल एभिएसन अथ्योरिटीले प्राविधिक समिति बनाएर जहाजको अनुसन्धान गर्ने प्राधिकरणले जनाएको छ । आगो लागेपछि जहाजको इञ्जिन बन्द गरिन्छ । सिङ्गल इञ्जिनमा जहाज उड्छ तर गति कम हुन्छ । गन्तव्य पुग्न दोब्बर समय लाग्ने सहायक प्रवक्ता भुलले जानकारी दिनुभयो ।

विमानस्थलको टावरका एटिसीले विमानचालक (पाइलट) सँग कम्युनिकेसन गरेपछि जहाज सामान्यतवरले गन्तव्यतर्फ उडेको महाप्रबन्धक तिवारीको भनाइ छ ।

बारा क्षेत्र नम्बर २ मा उपेन्द्र यादवको अग्रता कायमैबारा क्षेत्र नम्बर २

बारा – बारा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको मतगणना भइरहेको छ ।

पछिल्लो विवरणअनुसार जसपा अध्यक्ष तथा सत्तारुढ गठबन्धन उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राख्नुभएकाे छ ।  

उहाँले १७ हजार ३९३  मत ल्याएर अग्रता लिँदा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले १२ हजार १९० मत ल्याएर पछ्याइरहनुभएकाे छ ।  

यसैगरी,एमाले पुरूषोत्तम पौडेलले ५ हजार ३१५ मत ल्याउनुभएकाे छ ।

बजेटमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिन कांग्रेस सांसदको सुझाव

काठमाडौँ – नेपाली कांग्रेसका सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी, पिछडिएका वर्ग, समुदाय र क्षेत्रलाई केन्द्रमा राखेर प्राथमिकता तोक्नुपर्ने सुझाव दिनुभएको छ ।

आगामी बजेटमा समेट्नुपर्ने विषयका बारेमा सुझाव लिन कांग्रेस संसदीय दलको आज बसेको बैठकमा उहाँहरुले मुलुकको विषम आर्थिक परिस्थितिमा जनतामुखी बजेट ल्याउन अर्थमन्त्री एवं पार्टीका नेता डा प्रकाशशरण महतलाई सुझाव दिनुभएको थियो । सोमबार र मङ्गलबार भएको बैठकमा कतिपय सांसदले सांसद विकास कार्यक्रमलाई निरन्तरता दिनुपर्ने माग गर्नुभएको थियो ।

बैठकमा पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकका आवश्यकतालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट तर्जुमा गनुपर्ने बताउनुभयो । साथै उहाँले बजेटमा समेट्नुपर्ने विषयका बारेमा सुझाव दिन सांसदहरुलाई आग्रह गर्नुभएको थियो ।

बैठकमा अर्थमन्त्री डा महतले विषम आर्थिक अवस्थालाई सम्बोधन गर्नेगरी आगामी आर्थिक वर्षको बजेट बनाइने जानकारी गराउनुभएको राष्ट्रियसभामा कांग्रेसका प्रमुख सचेतक अनिता देवकोटाले जानकारी दिनुभयो । अर्थमन्त्री डा महतले सांसदहरुले राख्नुभएका जिज्ञासाका बारेमा जवाफ दिँदै बजेटका लागि स्रोत र साधनको कमी रहेको र सोहीअनुसार तर्जुमा गरिने बताउनुभएको थियो ।

जनमुखी बजेट ल्याउने र रोजगार, शिक्षा, स्वास्थ्य, पूर्वाधार, उत्पादन वृद्धि र बजार विस्तारमा सहज हुने गरी बजेट तर्जुमा गरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । बैठकमा यही वैशाख १० गते सम्पन्न उपनिर्वाचनपछिको परिणाम, समसामयिक राजनीतिलगायत विषयमा समेत सांसदहरुले आफ्ना धारणा राख्नुभएको थियो ।

परिवर्तन उल्ट्याउन घेराबन्दी भइरहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ

गोरखा – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठूलो बलिदानबाट प्राप्त परिवर्तन उट्याउन ठूलो षड्यन्त्र र घेराबन्दी भइरहेको दाबी गर्नुभएको छ ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आज गोरखा भूकम्पको केन्द्रविन्दु बारपाकमा आयोजित भूकम्प स्मृति दिवस कार्यक्रममा उहाँले परिवर्तनलाई उल्ट्याउन खोज्ने सबै प्रकारका प्रयत्नलाई असफल पारेर महान उपलब्धिको रक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो ।

पछिल्लो समय राजनीतिक पार्टी तथा तिनका नेतालाई बदनाम गर्ने र देशमा अराजकता उत्पन्न गरी अराजकताको जगमा देशको राष्ट्रियता कमजोर पार्ने विभिन्न षड्यन्त्र भइरहेको भन्दै उहाँले त्यसकाविरुद्ध सचेत रहन पनि सबैलाई आग्रह गर्नुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले जनतालाई भ्रममा नपरी गलत प्रवृतिलाई असफल पार्नुपर्नेमा जोड दिनुभयो । “नेपालमा राजनीतिक पार्टीले ठूलो युगान्तकारी परिवर्तनका लागि सङ्र्घष गरेका छन्”, उहाँले भन्नुभयो, “यो परिवर्तनलाई संविधानसभाबाट संविधान बनाएर परिवर्तनको संस्थागत विकास भयो, अहिले त्यहीँ परिवर्तनलाई उल्ट्याउन खोज्ने सबै प्रकारका प्रयत्नलाई असफल पारेर महान उपलब्धिको रक्षा गर्नु आवश्यक छ ।”

उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान परिवर्तनलाई सामाजिक र आर्थिक क्षेत्रमा विस्तार गर्नका लागि भइरहेको प्रयत्नलाई बदनाम गर्न खोजिएको समेत बताउनुभयो । उहाँले व्यवस्थामा परिवर्तन भएपछि अवस्थामा सापेक्षित परिवर्तन गर्न किन सकिएन भन्ने तर्फ दलहरुले पनि समीक्षा गर्नुपर्ने आवश्यकता समेत औँल्याउनुभयो ।

“राजनीतिक पार्टी जसले यो परितर्वन ग¥यो, यो व्यवस्था ल्यायो, तर यो व्यवस्थामा परिवर्तन भएपछि जनताको अवस्थामा परिवर्तन गर्नका निम्ति हामीले आजसम्म के ग¥याँै र के गर्न सकेनाँै भन्ने विषयमा समीक्षा गरी आवश्यकता अनुसार आफूलाई बदलेर फेरि जनताको अपेक्षा र आवश्यकता पूरा गर्नेगरी सम्बृद्ध नेपाल बनाउने तर्फ हामी अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले जनतालाई रुपान्तरणको महसुस गराएरै छाड्नेसमेत बताउनुभयो । उहाँले विकास र समृद्धिको यात्रालाई तीव्र पार्नु अहिले अवश्यकता रहेको उल्लेख गर्नुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले सरकारले भूकम्पलगायतका विपतलाई रोक्न नसके पनि विपत्बाट हुने क्षतिलाई न्यूनीकरणका गर्न योजना निर्माण गरिरहेको उल्लेख गर्नुभयो ।

उहाँले सरकारले विपतबाट हुने क्षति न्यूनीकरणका लागि विपतको पूर्वसूचना प्रणालीलाई व्यवस्थित गर्ने गरी काम गरिरहेको भन्दै विगतका कमजोरीले भएका क्षतिलाई समीक्षा गरेर आगामी दिनमा त्यस्ता कमजोरी हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उहाँले विसं २०७२ को भूकम्पले बारपाकलाई नयाँ पहिचान दिएको बताउनुभयो ।

“पहिले बारपाकले सुन्दर गाउँ, पर्यटकीय गाउँलगायतको पहिचान दिएको थियो”, उहाँले भन्नुभयो, “२०७२ वैशाख १२ को भूकम्पले थप पहिचान पनि दिएको छ ।”

उपप्रधानमन्त्री श्रेष्ठले गोरखाको बाह्रकिलोे, बारपाक सडकखण्ड कालोपत्रको काममा ढिलाइ भइरहेको भन्दै काम छिटो सम्पन्न गर्न पहलगर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

मधेस प्रदेशका मुख्यमन्त्री यादवको स्पष्टीकरण

काठमाडौँ – मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले उपनिर्वाचनका दिन आफू कुनै उम्मेदवारको पक्ष विपक्षमा नभइ नातेदारको आमन्त्रणमा बारा क्षेत्र नं २ को पचरौता नगरपालिकामा गएको निर्वाचन आयोगलाई स्पष्टीकरण दिनुभएको छ ।

आयोगले उहाँलाई यही वैशाख १० गतेको उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको सम्बन्धमा उक्त दिन स्पष्टीकरण सोधेको थियो ।

मुख्यमन्त्री यादवले आयोगमा पेस गरेको स्पष्टीकरणमा उहाँले आफूले निर्वाचन प्रयोजनका लागि नभइ त्यहाँ व्यक्तिगत कामले गएकोमा सरकारी गाडी प्रयोग नगरी मुख्य निर्वाचन अधिकृतबाट स्वीकृति लिएको निजी गाडी प्रयोग गरेकाले निर्वाचन आचारसंहिताको उलङ्घन हुने कुनै पनि कार्य नगरेको स्पष्ट पार्नुभएको छ ।

समयमा काम सम्पन्न नगर्नेको ठेक्का तोडिन्छ : मन्त्री ज्वाला

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुलुकको समृद्धि र अर्थतन्त्रमा टेवा पुर्‍याउने राष्ट्रिय गौरव र रुपान्तकारणकारी आयोजना तोकिएको समयसीमाभित्र सक्ने निर्माण व्यवसायीलाई जस्तोसुकै आवश्यक सहयोग पुर्‍याउन सरकार तयार रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक, विशेष र शून्य समयमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा अस्तव्यस्त तुल्याउनेसँगको ठेक्का सम्झौता तोड्न पनि सरकार पछि नपर्ने चेतावनी दिनुभयो । उहाँले काठमाडौँको कोटेश्वरमा ‘फलाइओभर’ निर्माण गर्ने तथा उपत्यकाका अरु केही स्थानमा देखिएको यातायातको चाप व्यवस्थित गर्न आवश्यक पूर्वाधार निर्माण गरिने उल्लेख गर्नुभयो ।

कर्णालीको सदरमुकासँग राष्ट्रिय सडक सञ्जाल जोड्न तीव्रताकासाथ नेपाली सेनाले काम गरिरहेको बताउँदै मन्त्री ज्वालाले जनकपुर क्षेत्रका सडक र कमला पुलको पुन डिजाइनको काम गर्ने कार्य भइसकेकाले अब कसरी अघि बढ्ने भन्नेबारेमा निर्णय गरिने उल्लेख गर्नुभयो ।

मुग्लिन–पोखरा सडक खण्डको केही क्षेत्रको काम तीव्ररुपमा अघि बढेपनि केही क्षेत्रले अझै गति लिन नसकेको जानकारी दिँदै उहाँले ओखलढुङ्गा र खोटाङ जिल्लाका सडकलाई पनि प्राथमिकताका साथ अघि बढाइने विश्वास दिलाउनुभयो । यातायात व्यवस्था सुधारको प्रयत्न अगाडि बढाइएको जनाउँदै मन्त्री ज्वालाले सवारी चालक अनुमतिपत्र लिन लाइन लाग्नुपर्ने अवस्थालाई केही समयभित्र अन्त्य गरिने बताउनुभयो ।

अनुमतिपत्र नवीकरणको अवधि १० वर्षमा राख्ने व्यवस्था गर्न कानुन संशोधन गर्न लागिएको उहाँको भनाइ छ । यात्री विद्युतीय मोटरसाइकल दर्ताको सम्बन्धमा सरोकारवालासँग छलफल गरी कार्यविधि संशोधनको तयारी गरिएको जनाउँदै उहाँले यातायात क्षेत्रमा सुधारका काम गरिएको र यसलाई तीव्र गतिमा अगाडि बढाउने बताउनुभयो

नेप्सेमा दोहोरो अङ्कको सुधार

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक १७ दशमलव ३६ अङ्कले बढेर एक हजार नौ सय पाँच दशमलव ६८ को विन्दुमा पुगेको हो ।

आज दुई सय ६५ वटा कम्पनीको २७ लाख पाँच सय ७० कित्ता शेयर २७ हजार सात सय ६६ पटक खरिदबिक्री हुँदा रु ८८ करोड ५५ लाख ७८ हजार बराबरको कारोबार भएको छ ।

आज म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव एक अङ्कले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूह ९५ दशमलव ४२ र उत्पादन तथा प्रशोधन समूह ७९ दशमलव ६३ अङ्कले बढेको छ ।

आज बैंकिङ समूह १२ दशमलव १७, विकास समूह ५७ दशमलव ०५, वित्त समूह १७ दशमलव ४९, होटल तथा पर्यटन समूह ६६ दशमलव ९७ र जलविद्युत् समूह १२ दशमलव नौ अङ्कले बढेको छ ।

त्यस्तै जीवन बीमा समूहको उपसूचक ५७ दशमलव ३०, उत्पादन समूह १५ दशमलव ८०, व्यापार समूह १३ दशमलव २२ र अन्य समूह छ दशमलव ७४ अङ्कले बढेको छ ।

आज तारागाउँ होटल रिजेन्सीको शेयर मूल्य सबैभन्दा धेरै आठ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सनराइज ब्लुचिप फन्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रु सात करोड ९१ हजार पाँच सय ५७ बराबरको एक लाख ६६ हजार २२ कित्ता शेयर किनबेच भएको छ ।

‘अर्थतन्त्र सुधारका लागि सत्ता र प्रतिपक्षको भाव नबोकौँ’

काठमाडौँ – सांसद धनराज गुरुङले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सत्तापक्ष र प्रतिपक्षले एकबताबद्ध भएर सामूहिक प्रयत्न गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले मुलुक आर्थिक महासङ्कटमा परेकाले यस्तो अवस्थामा सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।

“सत्ता र प्रतिपक्षको भाव बोकेर होइन, एक ठाउँमा बसेर काम गर्नुपर्छ”, उहाँले भन्नुभयो, “समाधानको उपाय खोज्नुपर्छ, पुँजीगत खर्च कटौती गर्न खोजिएको आभाष भएको छ, पुँजीगत खर्च कटौती गरेर मुलुकलाई उभोगतितर्फ लैजान सकिँदैन ।”

वन व्यवस्थापन कार्यविधि बनाएर वन जङ्गलमा रहेका पुराना काठ बिक्री गरेर भए पनि अर्थतन्त्रलाई टेवा दिनुपर्ने जनाउँदै उहाँले नेपालमा उपलब्ध निकासीजन्य वस्तुलाई यो अवस्थामा प्रयोग नगरे कहिले गर्ने ? भन्दै प्रश्न गर्नुभयो । भ्रष्टाचार मुलुकको आर्थिक समृद्धिमा बाधक रहेको भन्दै सांसद गुरुङले भ्रष्टाचार नियन्त्रणमा ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो ।

सांसद भीमप्रसाद आचार्यले नेपालको संविधानले तीन खम्बे अर्थनीतिको परिकल्पना गरेको भन्दै सहकारी तथा लघुवित्त क्षेत्रमा देखिएको समास्या समाधान गर्न सरकारले ध्यान दिन नसकेको बताउनुभयो । रुपान्तरणकारी आयोजनाको निर्माण गर्न तोकिएको भन्दा धेरै समय लाग्दा राजस्व सिर्जनाको वातावरण नबनेको भन्दै उहाँले त्यस्ता परियोजना समयमै सम्पन्न गर्न ध्यान दिनुपर्ने बताउनुभयो ।

सांसद महेन्द्रबहादुर शाहीले मुलुकका बारेमा सदनदेखि सडकसम्म वहस भइरहँदा दिनप्रतिदिन अवस्था खस्किरहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । सङ्घीय व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्न सङ्घीय ऐन बनाउन सरकारले ध्यान दिनुपर्नेमा जोड दिँदै उहाँले निजामती, प्रहरीलगायत विधेयक तत्काल संसद्मा ल्याउन माग गर्नुभयो ।

उहाँले भन्नुभयो, “संसद् भाषणवीरहरु जन्माउने थलोको रुपमा विकास हुँदैछ । तर यहाँ चाहिएको काम हो । संसद् प्रभावकारी बनाउन समितिको गठन तत्काल हुनुपर्छ । संसद् ‘विजनेसविहीन’ भएको छ । निजामति, प्रहरी र प्राकृतिक साधन स्रोत बाँडफाँडसम्बन्धी विधेयक पेश गर्न जरुरी छ ।”

सांसद अशोककुमार चौधरीले बाध्यकारी वैदेशिक रोजगारीलाई अन्त्य गरी स्वदेशमा रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयो । श्रम बेचेर कहिलेसम्म देशको अर्थतन्त्र धान्ने हो भन्दै उहाँले रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याउन माग गर्नुभयो ।

सांसद विक्रम पाण्डेले चितवनका जनताले बर्सेनि बाढीको जोमिख व्यहोर्दै आएकाले नारायणी तथा राप्ती नदीको तटबन्ध कार्यक्रमलाई छिटो सम्पन्न गर्न आग्रह गर्नुभयो । उहाँले आउने वर्षामा पश्चिम चितवन र माडी जोखिममा रहेकाले समयमै साधन स्रोतको व्यवस्था गरी आधुनिक तटबन्धन गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रेखा यादव देशको पहरेदार भएर काम गरिरहेका सुरक्षाकर्मीलाई तत्काल तलब दिन सरकारसँग माग गर्नुभयो । उहाँले सांसदको तलब प्रहरीलाई दिन र प्रहरीको तलब आफूहरुलाई दिन प्रस्ताव गर्नुभयो ।

सांसद भानुभक्त जोशीले नेपाल कृषिप्रधान मुलुक भए पनि खाद्य सामग्री विदेशबाट आयात भएको, उत्पादनमा संलग्न हुनुपर्ने युवा जनशक्ति विदेशिएको अवस्थामा आगामी वर्षको बजेट निर्माण गर्दा सांसद र विज्ञसँग छलफल गर्न आग्रह गर्नुभयो ।

सांसद विनिताकुमारी सिंहले सिरहाको लक्ष्मीपुरमा रहेका प्राचीन पोखरीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यानकर्षण गराउनुभयो । सांसद सर्वेन्द्रनाथ शुक्लाले सरकारले पाँच वर्षमा कृषि उत्पादन दोब्बर गर्ने लक्ष्य लिएको भए पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सोे लक्ष्य पूरा गर्ने गरी काम गर्न नसकेको बताउनभयो ।

सांसद लालवीर चौधरी थारु समुदाय सिकलसेल एनिमियालगायत रोगबाट प्रभावित रहेकाले सो रोगको उपचार तथा नियन्त्रणमा ध्यान दिन आग्रह गर्नुभयो ।सांसद प्रेम सुवालले किसानलाई समयमै मल उपलब्ध गराउन माग गर्नुभयो ।


प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनमा जानकारी गराउन माग

काठमाडौं – एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गर्नुभएकाे छ ।  

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद पन्तले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे सञ्चारमाध्यमबाट जानकारी पाएको भन्दै सदनमा जानकारी गराउन माग गर्नुभयाे। 

भारतले बोलाएको खण्डमा प्रधानमन्त्री प्रचण्ड भारत जानु उपयुक्त हुने बताउँदै उहाँले हालसम्म भारत भ्रमणको मितिसमेत तय भइनसक्दा पनि प्रधानमन्त्री ‘भारत जान्छु, भारत जान्छु भन्नुहुन्छ’ भन्ने अभिव्यक्ति दिने गरेको भन्दै आपत्ति जनाउनुभयाे । ‘संसदमा प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल हुनुपर्छ,’ उहाँले भन्नुभयाे । 

भारत भ्रमणका क्रममा असमान सन्धि, सम्झौता लगायतका विषयमा छलफल गर्नुपर्ने उहाँको भनाइ छ । भारत भ्रमणमा जाँदा संसद र प्रमुख प्रतिपक्षी दलको समर्थन लिएर जानुपर्ने सांसद पन्तले बताउनुभयाे ।

लघुवित्तको ऋण तिर्न नसक्दा परिवारको बिचल्ली

भजनी – कैलाली जानकी गाउँपालिका–४ मुनुवाकी स्वस्तिका चौधरी कक्षा ७ मा पढ्नुहुन्छ । तर स्वस्तिकाको यसवर्षको रिजल्ट भने राम्रो भएन । लघुवित्तबाट लिएको ऋण तिर्न नसकेपछि बुबाआमा भारत जागिर गएपछि घरको जिम्मेवारी यतिबेला स्वस्तिकाको काँधमा आएको छ । घरको हेरचाह गर्दा उहाँको पढाइ राम्रो हुन सकेको छैन ।

स्वस्तिकालाई लघुवित्तमा कति रकम तिर्नुपर्छ भन्नेसम्म थाहा छैन । तर हरेक दिन जसो लघुवित्तका कर्मचारीका कुरा भने सुन्नु परिरहेको छ । उनी घरमा कक्षा ५ मा अध्ययनरत भाइसँग बस्छिन् । “खानका लागि घरमा अन्न छैन । किन्नलाई पैसा पनि छैन”, उहाँले भन्नुभयो, “आमाबुबा नहुँदा हाम्रो बिचल्ली भएको छ ।”

लघुवित्तको ऋणले समस्यामा परेको स्वस्तिकाको परिवार उदाहरण मात्रै हो । लघुवित्तको ऋण तिर्न नसक्दा कैयौँ व्यक्ति आज घरबारविहीन भएका छन् भने कतिपयले सन्तान छाडेर हिँडेका छन् ।
कैयौँ परिवारमा लघुवित्तको ऋणका कारण फाटो आएको छ भने कैयौँ समूहमा बसेर मात्रै पनि विचल्लीमा परेका छन् । मुनुवा गाउँकै पनि एक दर्जनभन्दा बढी परिवार घरबार छोडेर लघुवित्तको ऋण तिर्न नसकेर भागेका छन् ।

सोही ठाउँकी सीतादेवी रावरले केहीवर्ष पहिले एक लघुवित्तबाट रु एक लाख पचास हजार ऋण लिनुभयो । उहाँले महिनैपिच्छे लघुवित्तको किस्ता र ब्याज तिर्दै आउनुभएको थियो । कोरोना सङ्क्रमणपछिका दिनमा आर्थिक जोहो गर्न नसकेपछि उहाँकाअनुसार दुईतीन किस्ता रोकिएको छ । किस्ता रोकिएपछि लघुवित्तका कर्मचारीले उहाँलाई वैशाख १७ गतेसम्मको भाका दिएको छ ।

“कुन दिन दशा लागेर लघुवित्तको ऋण लिन पुगेछु । ऋण दिँदा सहजरुपमा काम भयो अहिले मर्नु न बाँच्नु जस्तो भएको छ”, सीतादेवीले दुःखेसो गर्नुभयो, “वैशाख १७ गतेसम्म किस्ता र ब्याज तिर्न नसके घरमा भएको सामान, बाख्रा उठाउने धम्की दिएर लघुवित्तका कर्मचारी गएका छन् ।” उहाँले कर्मचारीले पैसा तिर्न नसक्दा धम्काउने, तर्साउने र नहुँदा शब्द प्रयोग गर्ने गरेको दुःखेसो पोख्नुभयो ।

कैयौँ व्यक्ति विस्थापित भएर घरबारविहीन हुने अवस्थामा पुगेको रुपनी डगौँराको भनाइ छ । “पछिल्लो ११ वर्षदेखि लघुवित्तको समूहमा बसेर कारोबार गर्दै आएकी छु । गाउँघरमा लेखपढ गर्न नजानेका महिलालाई लघुवित्तले नराम्रोसँग फसाएको रहेछ”, उहाँले भन्नुभयो, “अहिले थाहा भयो । अनि आवाज उठ्न थालेको हो । ऋण दिने बेलामा १५ प्रतिशत ब्याजदरमा दिने र सेवा शुल्क, बीमा शुल्कबाट गरिबलाई झन गरिब बनाउने काम भइरहेको रहेछ ।”

लघुवित्तले रु एक लाख ऋण दिँदा ८० हजार मात्रै पाइने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार समूह बनाएपछि आयआर्जनका लागि सीपमूलक तालिम दिनुपर्ने राष्ट्र बैंकको नीति भए पनि लघुवित्तले बचतमा केन्द्रित भएर तालिम दिने गरेका छन् ।

वडा नं ४ मुनुवाकी सिरनदेवी डगौँरा लघुवित्तका कर्मचारीले ऋण तिर्न नसकेपछि आत्महत्या गर्न वा देहव्यापार गरेर भए पनि ऋण तिर्न भनेको भन्दै मिडियामा आएपछि महिला समूहमाथि लघुवित्तले गरेको ज्यादतीविरुद्ध महिलाको समूह गाउँपाकिका–१ दुर्गौंली कार्यालयमा नै पुग्यो । जानकी गाउँपालिका–४ मा रहेका महिलाले लघुवित्तले किस्तामा ज्यादती गरेको भन्दै उहाँहरू लघुवित्तको कार्यालयमा पुगेका थिए ।

समूहका महिलालाई लिएको ऋणको किस्ता बुझाउन लघुवित्तका कर्मचारीले अभद्र व्यवहार गरेको भन्दै महिलाले कार्यालयमा पुगेर तालबन्दीसमेत गरेका थिए । उहाँले महिलामाथि अभद्र व्यवहार गर्ने कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन र किस्ताका लागि आत्महत्याका लागि लघुवित्तले उक्साएको भन्दै कार्यालयमा तोडफोडसमेत गरे ।

त्यसपछि किस्ताका लागि दबाब नदिने सहमति भएको थियो । डिप्रोस लघुवित्त वित्तीय संस्थाका सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख अर्जुन पोख्रेलले लिएको कर्जा तिर्दैन भनेर कसैले भन्न नपाउने बताउनुभयो । उहाँले देशभर लघुवित्तप्रति फैलाइएको भ्रमको उपज मात्रै भएको दाबी समेत गर्नुभयो ।

“केही मानिसहरुले लघुवित्तबाट लिएको कर्जा मिनाहा गर्नुपर्ने भन्दै भ्रम फैलाएका छन्, किस्ता नतिर्ने, बैठकमा नआउने अनि आफूले लगानी गरेको पैसा माग्दा यस्तो गर्नु निकै निन्दनीय छ”, उहाँले भन्नुभयो ।

प्रतिपक्षले भागवण्डा लिने होइन निगरानी गर्ने हो : प्रेम सुवाल

काठमाडौं – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिपक्षले भागवण्डा लिने होइन निगरानी गर्ने बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सत्तापक्ष र प्रतिपक्षीचको भागवण्डाले लोकतन्त्र बलियो नहुने बताए ।

उनले भने, “सभामुख महोदय, सत्तापक्ष र प्रतिपक्षबीच संसदीय समितिमा भागवण्डा मिलेको समाचार आएको छ । यसले लोकतन्त्रलाई बलियो बनाउँदैन, प्रतिपक्षले भागवण्डा लिने होइन निगरानी गर्ने हो ।”

उनले संसदीय सुनुवाइ समिति र कार्यव्यवस्था परामर्श समितिमा भने सबै दलको प्रतिनिधित्व हुनुपर्ने बताए ।

सांसदहरुले सदनमा उठाएका प्रश्न र अवस्थाबारे वेबसाइटमा राख्न डा‍. तोसिमा कार्कीको माग 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले सांसदहरुले सदनमा उठाएका प्रश्न र यसबारे भएका सम्बोधनको अवस्थालाई वेबसाइटमा राख्न माग गर्नुभएकाे छ ।  

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्यमा बोल्दै उहाँले बैठकमा सांसदहरुले उठाएका प्रश्न र यसबारे सरकारले गरेका सम्बोधनको अवस्थालाई संसद सचिवालयकै वेबसाइटमा राखेर जनतालाई जानकारी गराउनुपर्ने माग गर्नुभयाे । 

‘सदनमा उठेका प्रश्नहरुलाई सदनको व्यवसाइटमा राख्ने र साथै ति प्रश्नहरुको अवस्था के छन् भन्ने बारे आमनागरिकले हेर्ने गरेर व्यवस्था पनि मिलाउ माग गर्छु,’ उहाँले बैठकमा भन्नुभयाे। 

सदनमा सांसदहरुले कुरा उठाउने र सात दिनभित्र सम्बन्धित् मन्त्रीबाट जवाफ आउने कानुनी व्यवस्था भए पनि यसप्रति सरकार जिम्मेवार नभएको उहाँको आरोप छ । उनले ललितपुरमा स्वास्थ्य बिमा कार्यक्रम लागु हुनेबारेमा पनि सरकारसँग जवाफ माग्नुभएकाे छ ।  

‘संसदमा आइपुग्न अर्बौं खर्च हुन्छ ।  एक दिनको संसदीय बैठकमा लाखौं खर्च हुन्छ । आर्थिक पक्षभन्दा पनि मूल्यवान आशा भरोसा विश्वास नागरिकको हामीसँग जोडिएको हुन्छ । हामी प्रश्न उठाउँछौं, उत्तर आउँदैन् । प्रतिनिधिसभा नियामावली २०७९ को नियम १५ को उपनियम २ मा स्पस्ट व्यवस्था छ, सात दिनभित्र सम्बन्धित् मन्त्रीले जवाफ दिनुपर्छ । तर, खै ललितपुरमा स्वास्थ्य बिमा कहिले आउँछ ? नख्खु भैंसेपाटी सडक कहिले निर्माण/बनिसक्छ ? स्वास्थ्यकर्मीको दरबन्दी कहिले बढ्छ ? यी प्रश्नहरुको जवाफ आएन सभामुख महोदय । सरकारलाई सदनप्रति र सदनलाई जनताप्रति उत्तरदायि बनाउन आवश्यक छ । सदनमा उठेका प्रश्नहरुलाई सदनको व्यवसाइटमा राख्ने र साथै ति प्रश्नहरुको अवस्था के छन् ? भन्ने बारे आमनागरिकले हेर्ने गरेर व्यवस्था पनि मिलाउ माग गर्छु,’ उहाँले भन्नुभयाे। 

‘फ्लाई दुबई’को जहाजमा चरा ठोक्किएको पुष्टि भएको छैन : सुदन किराती

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्राविधिक समस्या देखिएको ‘फ्लाई दुबई’को जहाजमा चरा ठोक्किएको भन्ने कुरा अहिलेसम्म पुष्टि नभएको बताउनुभएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गए राति उडेलगत्तै फ्लाई दुबईको जहाजबाट ठूलो आवाजसहित आगोको झिल्का देखिएको थियो । पर्यटनमन्त्री किरातीले भन्नुभयो– “जहाजमा चरा ठोक्किएको कुरा अहिलेसम्म प्रमाणित नभएको
सबैमा स्पष्ट गर्दछु ।”

विमानचालकले फ्लाई दुबईको जहाज धादिङको धार्केमाथिको आकाशमा केहीबेर फन्को लगाइ ‘होल्ड’ गरेर विमानको सबै इन्डिकेटरको चेकजाँच गरेपछि थप समस्या नदेखिएकाले उडानलाई निरन्तरता दिने निर्णय लिएका थिए । विमानस्थलको टावरका एटिसीले पनि उक्त जहाजलाई गन्तव्यतर्फ उड्न अनुमति दिएका थिए । प्राविधिक समस्या देखिएको उक्त जहाज दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको फ्लाई दुबईले जनाएको छ ।

यसैबीच, नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार राति काठमाडौँबाट दुबईका लागि उडेको फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको विषय पुष्टि हुन नसकेको जनाएको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जहाजमा चरा ठोक्किएको अहिलेसम्म पुष्टि नभएको बताउनुभयो । “विमानस्थलमा निरीक्षणका क्रममा यसको पुष्टि हुन सकेको छैन”, उहाँले भन्नुभयो । यसअघि फ्लाई दुबईले जहाजमा सम्भावित रुपमा चरा ठोक्किएको हुन सक्ने भन्दै ट्विट गरेको थियो ।

“नेपालमा दर्ता नभएको जहाज भएकाले फ्लाई दुबईको जहाजको अध्ययन सम्बन्धित मुलुकले गर्नेछ । नेपालका तर्फबाट जानकारी गराइसकेका छौँ, जहाजमा चरा ठोकिएको पुष्टि भएको छैन, के भएको हो भन्ने विषय अनुसन्धानका क्रममा पत्ता लाग्ला । सहजीकरणका लागि प्राधिकरण तयार छ”, प्रवक्ता निरौलाले भन्नुभयो ।

विमानस्थलको धावनमार्ग र आसपास निरीक्षण गर्दा चरा नभेटिएकाले घटना के कारणले भएको हो भन्ने अहिले पुष्टि गर्न नसकिने उहाँको भनाइ छ । प्राधिकरणका अनुसार एफजेड ५७६ जहाजको पाइलटले असामान्य अवस्थाबारे विमानस्थललाई जानकारी गराएका थिए । त्यसपछि प्राधिकरणले सबै आपत्कालीन प्रावधानको प्रबन्ध गरेको थियो ।

उडिरहेको जहाजमा प्राविधिक समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि आवश्यक तयारी गरिएको थियो । तर, पाइलटले मेनुअल परीक्षणपछि उडानलाई निरन्तरता दिने निर्णय लिएपछि जहाज गन्तव्यतर्फ उडेर सकुशल अवतरण भएको प्राधिकरणले जनाएको छ । जहाजको अवस्थाबारे कम्पनीले प्राधिकरणलाई रिपोर्टिङ गर्नेछ । तत्पश्चात् मात्रै जहाजमा भएको समस्याको कारण खुल्ने बताइएको छ ।

सदनमा भूकम्पको स्मरणदेखि हवाई सुरक्षासम्मका विषयमा बहस

काठमाडौँ – संसद्मा भूकम्प स्मृति दिवस, आगलागी, किसानको अनशन, नेपालको हवाई सुरक्षा, आर्थिक सङ्कट र भ्रष्टाचारलगायतका विषयले प्रवेश पाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले तटबन्ध, नदीकटान, सिँचाइ, मलसँग जोडिएका विषयबस्तुबारे सदनमार्फत सरकारको ध्यानाकर्षण गर्नुभयो ।

नेकपा (एमाले)का सूर्यप्रसाद ढकालले यही वैशाख ८ गते बाँकेको नरेनापुरमा आगालागीबाट धेरै घर जलेर नष्ट हुनाका साथै रु २५ लाखभन्दा बढीको सम्पत्ति क्षति भएकाले पीडितलाई राहतस्वरुप क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का हितबहादुर तामाङले नुवाकोट ककनी गाउँपालिका–२ का श्रीराम घिमिरे कृषि र कृषकसम्बन्धी पाँचबुँदे माग राखेर एक सातादेखि काठमाडौँको भूगोल पार्कमा अनशन बस्नुभएकाले उहाँको माग सम्बोधन गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेपाली कांग्रेसका तेजुलाल चौधरीले सप्तरीको निर्वाचन क्षेत्र नं ४ मा केही दिनअघि भएको आगलागीबाट १४ घर पूर्णरुपमा क्षति भएको, पशुचौपायको पनि मृत्यु भई ठूलो सम्पत्तिको क्षति भएकाले पीडित परिवारलाई राहत र सहयोग उपलब्ध गराउन कञ्जुस्याइँ नगरियोस् भन्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झाले भारतले विगतमा भएको हवाई दुर्घटनापछि आफ्नो आकाश सुरक्षालाई जोड दिएको परिप्रेक्ष्यमा हिजोको हवाई उडानसम्वन्धी घटनाले नेपालले आफ्नो हवाई आकाश कति सुरक्षित छ भनी अध्ययन र विश्लेषण गर्न आवश्यक रहेको बताउनुभयो ।

स्वतन्त्र सांसद अमरेशकुमार सिहले मुलुक आर्थिक सङ्कटमा मात्र नभई भ्रष्टाचारको दलदलमा फसेको विषय दूरसञ्चार सेवा प्रदायकको अनुमतिपत्र नवीकरणको घटनाले पुष्टयाई गरेको आरोप लगाउनुभयो ।

उहाँले नेपाल स्टक एक्स्चेञ्जलाई निजीकरण गर्ने वा नगर्ने भन्ने विषयमा पनि अनियमिताको चलखेल भइरहेको बताउनुभयो ।

नेकपा एमालेका ईश्वरबहादुर रिजालले मुलुकमा राजनीतिक परिवर्तनका लागि ठूलो योगदान पु¥याएका एमाले लगायतका राजनीतिक दललाई पुरानो दल भनी योगदानको नजरान्दाज नगर्न चेतावनी दिँनुभयो । नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले नेपाल कृषि प्रधान देश भए पनि कृषि क्षेत्र र किसानका लागि राज्यले छुट्याउने बजेट अन्त्यन्त न्यून रहेको जनाउँदै त्यस क्षेत्रको विकास र विस्तारका माग मुद्दा लिएर अनशनमा रहेका श्रीराम घिमिरेको माग र मुद्दा सम्बोधन गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “कृषि क्षेत्रका माग मुद्दा उठाएर अनशनमा बसेका घिमिरेको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर बन्दै गएको छ, उहाँको जीवन रक्षा र माग मुद्दा सम्बोधन गरिनुपर्छ, कृषिक्षेत्रको विकासका लागि भनी सञ्चालित प्रधानमन्त्री कृषि कार्यक्रम कृषिमुखी नभई कार्यकर्तामुखी देखिएकाले पुनः विचार गरियोस् ।”

सांसद ईश्वरबहादुर रिजालको आग्रह : एमालेलाई पुरानो पार्टी नभनियोस्

काठमाडौं – नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले आफ्नो पार्टीलाई पुरानो पार्टी नभनिदिन आग्रह गर्नुभएको छ।

मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उहाँले पुरानो र नयाँ पार्टीको भाष्य बनाउन खोजिएको र एमालेलाई पुरानो पार्टीमा राखिएको भन्दै असन्तुष्टि जनाउनु भयो ।

सांसद रिजालले भन्नुभयो, ‘मेरा पार्टी, मेरो दलले इतिहासमा केही कमजोरी गरेको छ भने एक्लै त्यसको जवाफदेही ब्यहोर्न तयार छ । तर, इतिहासमा गरेका राम्रा कामहरु र जो अरुले नराम्रा काम गरेका छन् ती सँग मिसाएर हाम्रो दललाई पुरानो दल भन्ने भाष्य खडा नगरियोस्, त्यसरी नबुझियोस्।’

नयाँ दल आउनु स्वभाविक भएको भन्दै उहाँले त्यही आधारमा पुरानो दलको औचित्य नसकिने रिजालले बताउनु भयो। उहाँले भन्नुभयो, ‘सौर्यमण्डलमा धेरै ताराहरु जन्मिने गर्छन्। ताराहरु बिलाउने पनि गर्छन् । तर, सूर्य आयूमा पुरानो होला। त्यसको काम पुरानो भएको छैन । त्यसले उज्यालो दिने र ताप दिने काम त्यो नयाँ नै छ।’

गण्डकीमा सरकार गठनका लागि आह्वान

कास्की – गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि आह्वान गर्नु भएको छ । 

मुख्यमन्त्री खगराज अधिकारीले वैशाख ९ गते सदनबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख गुरुङले नयाँ सरकार गठनका लागि वैशाख १४ गते दिउँसो ४ बजेसम्मको समय दिनु भएको छ । 

नेपालको संविधानको धारा १६८ को २ अनुसार सरकार गठनका लागि उहाँले आह्वान गर्नु भएको हो । अधिकारी सरकार पनि यही धारा अनुसार गठन भएको थियो । प्रदेश सभामा कुनै पनि दलको प्रष्ट बहुमत नभएको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्न सक्ने व्यवस्था धारा २ ले गरेको छ ।

एमालेका खगराज अधिकारी माओवादी र राप्रपा समेतको समर्थनमा पुस २५ मा मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । चैत १० गते माओवादीले समर्थन फिर्ता लिएपछि खगराज अधिकारी वैशाख ९ गते शनिबार विश्वासको मत प्राप्त गर्न सक्नु भएन ।  

पोखरादेखि चीनका सहरमा सिधा हवाई सम्पर्कका लागि आग्रह

गण्डकी – पोखराका पर्यटन व्यवसायीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा सिधा हवाई सम्पर्क स्थापनाका लागि चिनियाँ राजदूतसँग आग्रह गरेका छन् ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठको नेतृत्वमा गएको टोलीले आज नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गलाई भेट गरी पोखराबाट चीनका विभिन्न सहरमा सिधा उडान गर्ने व्यवस्था मिलाइदिनका लागि अनुरोध गरेको हो ।

सो क्रममा कोरला नाका छिटो खोल्नका लागि विशेष पहल गर्न पनि राजदूतसँग अनुरोध गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

भेटघाटमा पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख मोतिराज तिमल्सिना, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवन प्रजापति, ओभरसिज चाइनिज नेपाल एसोसिएसनका अध्यक्ष, सचिव लगायतको उपस्थिति थियो ।

पोखरेली पर्यटन व्यवसायीका तर्फबाट चिनियाँ राजदूतावासको आयोजनामा जुनको २२ र २३ मा पोखराको फेवातालमा हुन लागेको ड्रागन बोट रेस फेस्टिभललाई भव्य बनाउनका लागि पनि आफूहरू प्रतिबद्ध रहेको उक्त अवसरमा जानकारी गराइएको थियो ।

पुनःनिर्माणको काम बाँकी भए सरकारको पूर्ण साथ रहन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपछिको उद्धार, राहत र पुनःस्थापनामा आर्थिक, भौतिक सहयोग एवम् सद्भाव व्यक्त गर्नुहुने सबैप्रति सम्मान व्यक्त गर्नुभएको छ ।

गोरखा भूकम्पको स्मृतिका अवसरका आज सन्देश दिनुहुँदै प्रधानमन्त्रीले पुनः निर्माणका मूलभूत काम सम्पन्न भइसके पनि अझै केही काम बाँकी भए त्यसका लागि सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताउनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभएको छ, “यस अवधिमा बाँकी रहेका कामहरू सम्पन्न गर्ने कुरा सरकारको प्राथमिकतामा राखेको छु । सरकारको प्राथमिकतामा सदाझैँ सम्पूर्ण नेपालीको साथ र सहयोग रहने विश्वास व्यक्त गर्दछु ।”

विसं २०७२ वैशाख १२ गते गएको भूकम्पमा परी ज्यान गुमाउनुहुने नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति प्रधानमन्त्रीले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

यस्तै, मृतकका आफन्तप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ । भूकम्पका कारण घाइते एवं अङ्गभङ्ग हुनुभएका सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभसहित दीर्घायुको कामनासमेत प्रधानमन्त्रीले गर्नुभएको छ ।

भूकम्पपछि २०७३ सालमा गठित आफ्नो नेतृत्वको सरकारको पालामा राष्ट्रिय महत्वका पूर्वाधार एवं सांस्कृतिक सम्पदाको पुनःनिर्माण, निजी घरको निर्माणमा उल्लेख्य प्रगति हासिल भएको प्रधानमन्त्रीले स्मरण गर्नुभएको छ । उहाँले त्यस अवधिमा निजी घर निर्माणका निम्ति प्रतिघर रु एक लाख अनुदान रकम थप गर्नेलगायत जनतालाई राहत दिन महत्वपूर्ण निर्णय भएको प्रधानमन्त्रीले बताउनुभएको छ ।

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त

काठमाडाैँ – राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त हुनुभएकाे छ । 

मन्त्री बन्न दुई करोड घुस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले उहाँलाई कारबाही गरेको थियो । र, सांसदबाट हटाउन संसद सचिवालयलाई पत्र पठाएको थियो ।

संसद सचिवालयले अध्ययन गरेपछि आजको संसद बैठकमा सभामुख देवराज घिमिरेले दलबाट निष्कासन गरिएको संसदलाई जानकारी गाराउने कार्यसूची छ । संसद बैठक १ बजे बस्दै छ ।

चितवन-२ मा भारी मतसहित रवि लामिछानेको शानदार विजय

काठमाडौं – चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरका साथ विजयी भएका छन् ।

अन्तिम परिणाम अनुसार लामिछानेले ५४ हजार १७६ मत पाए निकटतम प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले ११२१४ मत प्राप्त गरे । दुईजनाबीचको मतान्तर ४२ हजार ९६२ रहेको छ । मंसिर ४ को चुनावमा रविले ४९ हजार ३ सय मत प्राप्त गरेका थिए ।

जहाँ नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उमेश श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए भने एमालेका कृष्णभक्त पोखरेल १४ हजार ६५४ मत पाएर तेस्रो भएका थिए । लामिछानेले ३४ हजार ३१२ मतको भारी मतान्तरले जितेका थिए ।

नागरिकतासम्बन्धी विवादमा दोषी ठहर भएपछि सांसद पद गुमाएका उनले उपचुनावमार्फत प्रतिनिसभामामा पुन: इन्ट्री मारेका छन् ।

कमोडिटी एक्सचेञ्ज र स्टक एक्सचेञ्जमा सात कम्पनीको आवेदन

काठमाडौँ – धितोपत्र बजारमा नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनका लागि सात कम्पनीको आवेदन परेको छ ।

नयाँ स्टक एक्सचेन्ज र कमोडिटी मार्केटका लागि आवदेन दिने यही वैशाख १० गतेसम्मका लागि समयसीमा तोकिएकामा सात कम्पनीको आवेदन दर्ता भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । “धितोपत्र बजार सञ्चालनका लागि सङ्गठित संस्था स्थापना गर्न सिफारिसका लागि तथा वस्तु विनिमय बजार सञ्चालन गर्न कम्पनी स्थापना गर्नु पूर्व स्वीकृतिका लागि निवेदन माग गरिएको थियो,” बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बोर्डकाअनुसार कमोडिटिज एक्सचेञ्जतर्फ मल्टी डेरिभेटिभ एक्सचेञ्ज लिमिटेड, मल्टी एसेट्स एन्ड डेरिभेटिभ एक्सचेञ्ज लिमिटेड, हिमालयन कमोडिटिज एण्ड डेरिभेटिभ एक्सचेञ्ज लिमिटेड र नेपाल मल्टी कमोडिटिज एक्सचेञ्ज लिमिटेडको आवेदनको परेको छ ।

त्यस्तै स्टक एक्सचेञ्जतर्फ हिमालयन स्टक एक्सचेञ्ज, नेशनल स्टक एक्सचेञ्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेञ्ज लिमिटेडको आवेदन परेको बोर्डले जनाएको छ ।
सर्वोच्च अदालतको गत वर्ष चैत २६ गतेको फैसलाले नयाँ स्टक कम्पनी, कमोडिटी मार्केट र धितोपत्र कारोबारका लागि नयाँ दलाल व्यवसायी (ब्रोकर) लाइसेन्स जारी गर्न बाटो खुलेको थियो ।

धितोपत्र बोर्डले गत वर्ष असोज २ गते नयाँ स्टक र धितोपत्र दलाल व्यापारीको अनुमतिपत्रका लागि निवदेन मागेको थियो । बोर्डको उक्त निर्णय विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसमेतलाई विपक्षी बनाइ अधिवक्ता दीपक विक्रम मिश्रले गत असोज ३१ गते सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो । तर उक्त मुद्दा सर्वोच्चको चैत २६ गतेको फैसलाले खारेज गरेपछि धितोपत्र बोर्डले चैत ३० गते सूचना जारी गर्दै वैशाख १० गतेसम्म आवेदन दिइसक्न भनेको थियो । धितोपत्र बजारको विकास तथा विस्तारका लागि नयाँ स्टक एक्सचेन्ज तथा कमोडिटी मार्केट खोल्नुपर्ने र थप ब्रोकर लाइसेन्स खुलाउनुपर्ने बोर्डले जनाएको छ ।

धितोपत्र कारोबारको सेवा तथा गुणस्तर स्वच्छ, निष्पक्ष, पारदर्शी र प्रतिस्पर्धी बनाई सर्वसाधारण लगानीकर्ताको पहुँच अभिवृद्धि गर्न धितोपत्र दलाल तथा धितोपत्र व्यापारी थप गर्न लागिएको बोर्डले जनाएको छ । चालु आर्थिक वर्ष २०७९÷८० को धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममा पनि ‘धितोपत्र बजारलाई देशव्यापी बनाउन वित्तीय रुपले सबल नयाँ धितोपत्र दलाल व्यवसायीको संख्या थप गरिनेछ ।