`

राजनीतिक अभ्यास, आर्थिक शिथिलता र युवाको नैराश्यतालाई चिर्नुछ : डा वाग्ले

तनहुँ – तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा स्वर्णिम वाग्लेले देशको राजनीतिक अभ्यास, आर्थिक शिथिलता र युवाको नैराश्यतालाई एकसाथ चिर्नुपर्ने अवस्था आएको बताउनुभएको छ ।

मुख्य निर्वाचन कार्यालयबाट विजयीको प्रमाणपत्र लिए पश्चात् राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आज दमौलीको खुलाचौरमा आयोजित सभामा उहाँले भन्नुभयो–“राजनीति सही दिशामा छैन्, दूषित बन्दै गएको छ, यसलाई सङ्ल्याउनुपर्छ ।” राजनीतिलाई सङ्ल्याएर अर्थतन्त्रलाई माथि उकास्नुपर्ने डा वाग्लेको भनाइ थियो ।

राष्ट्रिय जीवनका विभिन्न पाटा ठप्प रहेका उल्लेख गर्दै उहाँले ती सबै कुरालाई खुकुलो बनाउँदै अन्तरनिहीत सम्भावनालाई प्रष्फुटनका लागि राजनीतिलाई सही दिशामा ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । एक व्यक्तिको प्रयासले मात्रै देशको विकास गर्न नसकिने उल्लेख गर्दै डा वाग्लेले यसका लागि सबै राजनीतिक दल एकै स्थानमा रहेर जिम्मेवारका साथ काम गर्नुपर्ने समय आएको उल्लेख गर्नुभयो ।

“रास्वपा छ महिनामा राष्ट्रिय पार्टी बन्न सफल भएको छ, राजनीतिमा यसले एक किसिमको झिल्को दिएको छ । यसले पराम्परागत दललाई सुध्रिन बाध्य बनाएको छ”, उहाँले भन्नुभयो । युवाका आकांक्षालाई पूर्णरुपले आत्मसाथ गर्दै अघि बढ्नुको विकल्प नरहेको वाग्लेको भनाइ थियो ।

उहाँले भन्नुभयो– “देशका विकृति विसङ्सङ्गतिलाई चिर्न तनहुँले ठूलो सन्देश दिएको छ”, उहाँले भन्नुभयो । तनहुँवासीले गर्ब गर्ने किसिमले इमान्दार र जिम्मेवार भएर काम गर्ने डा वाग्लेले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

बारा २ मा मतगणना रोकियो

बारा – बारा २ मा उपनिर्वाचनको जारी रहेको मत गणना रोकिएको छ। मतपेटिका राखिएको कोठाको साँचो जनमत पार्टीका प्रतिनिधिले लगेपछि बारा २ मा उपनिर्वाचनको मत गणना रोकिएको हो ।

पछिल्लो मत परिणामअनुसार जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहा झन् पछाडि पर्न थालेपछि जनमतका प्रतिनिधि मतपेटिका राखिएको कोठाको साँचो लिएर मतगणना स्थलबाट बाहिरिएका हुन्।

बारा २ मा जारी मत गणनामा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादवले आफ्नो अग्रता कायमै राख्नु भएको छ ।

पछिल्लो परिणामअनुसार जसपा अध्यक्ष यादवले १३ हजार ८ सय ४ मत ल्याउनु भएको छ भने जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले अहिलेसम्म ९ हजार २३१ मत प्राप्त गर्नुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ हजार ३१ मत ल्याउनु भएको छ । अहिलेसम्म ३२ हजार मत गनिसकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। बारा–२ मा कूल ६८ हजार ८ सय ८७ मत खसेको थियो।

रविलाई बधाई दिँदै जितनारायणले भने– दलहरुले आफ्ना कमजोरीलाई सच्याउनुपर्छ

काठमाडौं – चितवन–२ मा नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले अहिलेको मतपरिणामबाट जनताले परिवर्तन खोजेको कुरालाई स्वीकार गर्नुपर्ने बताउनुभएकाे छ । 

चितनव–२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेलाई जितका लागि बधाई दिँदै श्रेष्ठले यस्तो बताउनुभएकाे हाे ।

उम्मेदवार श्रेष्ठले जनताले परिवर्तन खोजिसकेको बताउनुभयाे । उपनिर्वाचनले अब ठूला दलहरु कि त सच्चिनुपर्ने कि त सक्किनुपर्ने चुनौति दिएको उहाँले बताउनुभयाे ।

‘जनताले परिवर्तन चाहेको छ भन्ने कुरा हामीले स्वीकार गर्नुपर्छ । अहिले जनताले राष्ट्रिय स्वतन्त्र पार्टी भन्दा पनि परिवर्तन खोजेको भन्ने कुरालाई बुझेका छौं । अहिले जुन मतपरिणाम आएको छ । संगठनले भन्दा पनि तल्लो तहको दैनिकीसँग जोडिन सक्यौं कि सकेनौं’, उहाँले भन्नुभयाे, ‘व्यक्तिगत उम्मेदवार भन्दा पनि राजनीतिक परिवर्तनलाई परिवर्तन गर्नैपर्छ । जनतासँग जोडिनुपर्ने हुन्छ । यो बाट सिक्नुपर्ने छ ।’

उपनिर्वाचनबाट जे परिणाम आएको छ त्यसलाई सहर्ष स्वीकार गर्ने बताउदै उहाँले भन्नुभयाे, ‘जनप्रतिनिधिलाई एउटा प्रतिस्पर्धीका रुपमा नकारात्मक होइन, सकारात्मक सहयोग रहन्छ ।’

उहाँले जनताले परिर्वतन खोजेको र परम्परागत दलहरुले आफ्ना कमजोरीलाई सच्याउनुपर्ने बताउनुभयाे । ‘सबैठाउँको मतपरिणाम हेर्दा सबैले परिवर्तनको आभास खोजेका छन् । आम जनता राष्ट्रिय स्वतन्त्र पार्टीप्रति भन्दा पनि परिवर्तन खोजेका छन् । ठूला दललाई कि त सच्चिनुपर्छ कि त सक्किनुपर्छ भनेर चुनौति दिएको छ ‘, उहाँले भन्नुभयाे ।

‘धुलो दूध र झोल दूध आयातका लागि पहल गरिने’

काठमाडौँ – नेपाल डेरी एसोसिएसनले हाल दूध अभावका कारण भइरहेको समस्या समाधानका लागि धुलो दूध र झोल दूध आयातका लागि तत्काल पहल गर्ने विषयमा छलफल गरेको छ ।

सर्लाहीको हरिवनमा हिजो र आज भएको एसोसिएसनको केन्द्रीय बिस्तारित बैठकमा ‘फ्रेस मिल्क’मा लगाइएको अन्तःशुल्क हटाउन पहल गर्ने, दूधको मूल्यवृद्धि पश्चात छुर्पिको मूल्य बढ्दा बिक्रीमा भएकाले समस्या समाधानका लागि पहल गर्ने विषयमा पनि छलफल भएको अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिनुभयो ।

बैठकमा प्रदेश र जिल्ला समितिलाई अझ सक्रिय बनाइ हरेक क्रियाकलाप अगाडि बढाउने, दुग्ध सङ्कलन केन्द्रले विद्युत महसुलमा पाउँदै आएको छुटलाई निरन्तर दिइनुपर्ने विषयमा छलफल गरिएको उहाँको भनाइ छ । उहाँका अनुसार बैठकमा नेपाल डेरी एसोसिएसनलाई महासङ्घमा लैजाने विषयमा पनि छलफल भएको थियो ।

“गण्डकी प्रदेशमा छुर्पी र पनिरमा भ्याट नलाग्ने भनि भएको निर्णय स्वागत गर्दै अब अन्य प्रदेशमा पनि सोहीअनुसार पहल गर्ने निर्णय बैठकले गरेको छ”, महासचिव हेमचन्द्र खनालले भन्नुभयो ।

वैशाख १२ गतेदेखि १४ गतेसम्म मधेस प्रदेशको हरिवनमा हुन लागेको डेरी तथा कृषि औजार मेलाको सन्दर्भमा एसोसिएशनको बिस्तारित बैठक एवं प्रदेश र जिल्ला समितिका पदाधिकारीलाई एक दिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा सातै प्रदेशका अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, सचिव एवं जिल्लाका अध्यक्षको सहभागिता रहेको केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल जानकारी दिनुभयो । साथै अध्यक्ष दाहाल र महासचिव खनालले प्रशिक्षण दिनुभएको थियो ।

बैठकमा विगतका भएका निर्णयमाथि समीक्षा, आय तथा व्ययको फछ्र्यौट, दूधको मूल्य वृद्धिका कारण परेको असरको समीक्षा, आगामी दिनमा प्रदेशअनुसार मूल्य निर्धारण गर्दा सहज हुने विषयमा पनि छलफल भएको थियो । एसोसिएसनको आगामी बिस्तारित बैठक लुम्बिनी प्रदेशमा गर्ने निर्णय भएको छ ।

चितवन–२ को उपनिर्वाचन: रास्वपाका लामिछानेले गरे आफ्नै रेकर्ड बेक्र

काठमाडौँ–  आइतबार सम्पन्न उपनिर्वाचनको मतगणनामा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार तथा रास्वपाका उम्मेदवार रवि लामिछानेले आफ्नै यसअघिको रेकर्ड ब्रेक गरेका छन् । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा भन्दा पनि धेरै मत पाएर उनले रेकर्ड ब्रेक गरेका हुन् । 

 मतगणना जारी रहँदै उनले यसअघि आफूले पाएको भन्दा धेरै मत पाइसकेका छन् । उनले गत निर्वाचनमा ४९ हजार ३०० मत पाएर विजय हासिल गरेकामा मंगलबार बिहानसम्मको अध्यावधिक विवरणअनुसार  ५० हजार मत कटाइसकेका छन् । 

लामिछानेले ५० हजार २९ मत पाएका हुन् । अझै पनि चितवन २ को मतगणना जारी रहेको छ भने लामिछानेको विजय सुनिश्चित भइसकेको छ।  

प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता : नवप्रवर्तनको क्षेत्रलाई उच्च प्राथमिकता दिएर सरकारले काम गर्ने छ

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” नवप्रवर्तनको क्षेत्रलाई उच्च प्राथमिकता दिएर सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। 

मंगलबार बिहान राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा‍. महावीर पुनको टोलीलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले विज्ञान र प्रविधिलाई उच्च प्राथमिकता दिएर मात्र विकास र समृद्धिलाई गुणात्मकता दिन सम्भव रहेकाले नवप्रवर्तनको क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिने बताउनुभएको हो।

भेटमा अध्यक्ष डा। पुनले “यात्री” लगायत नेपालमै उत्पादित सवारीसाधनलाई सञ्चालन अनुमति प्रदान गर्न र नवप्रवर्तनको क्षेत्रमा लगानी वृद्धि गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो।

डा। पुनले नेपालमा उत्पादित सवारीसाधनलाई दर्ता गर्ने र प्रवर्धन गर्ने प्रयोजनका निम्ति सरकारले कानुन ल्याउने तयारी गरेकोमा धन्यवाद दिँदै कानुन निर्माणको काम छिट्टै सम्पन्न गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको थियो।

प्रधानमन्त्रीले डा। पुनले उठाएका विषयहरू राष्ट्रिय हित र समृद्धिको पक्षमा रहेको भन्दै नवप्रवर्तनलाई प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्रीले विज्ञान–प्रविधिको विकासबिना देशको विकास सम्भव नहुनेमा आफू स्पष्ट रहेको भन्दै नेपालमा उत्पादित सवारीसाधनलाई दर्ता गर्ने र राष्ट्रिय उत्पादनलाई प्रवर्धन गर्ने कानुनको मस्यौदा तयार पार्ने प्रक्रिया अघि बढिसकेको बताउनुभयो।

रास्वपाका लामिछाने मतान्तर बढाउँदै

चितवन – चितवन क्षेत्र नम्बर-२ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतान्तर बढाउँदै अग्रता लिनुभएको छ ।

भरतपुर महानगरपालिकाका क्षेत्र नम्बर २ मा पर्ने सबै वडा, इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकाको वडा नम्बर १ देखि ४ सम्म गणना हुँदा लामिछानेले ४५ हजार ८४२ मत प्राप्त गर्नुभएको छ ।

साथै लोकतान्त्रिक बाम गठवन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका जीतनारायण श्रेष्ठले आठ हजार ४२५ मत र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले आठ हजार ३३० मत प्राप्त गर्नुभएको छ ।

हाल सम्म ६४ हजार ५४५ मतगणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिनुभयो । गणनामा हालसम्म ९९६ मत बदर भएको छ ।

मतगणना दिउँसो १२ बजे सम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ । यस क्षेत्रमा ७८ हजार २७७ मत खसेको थियो । सो क्षेत्रमा ४३ स्थलका १३८ केन्द्रमा मतदान गरिएको हो । यस क्षेत्रमा १ लाख २४ हजार ६९५ जना मतदाता रहेका थिए । जसमध्ये ६३ हजार २९१ महिला, ६१ हजार ४०३ पुरुष र एक जना तेस्रो लिङ्गी छन् ।

तनहुँवासीले गर्व गर्न सक्ने काम गरेर देखाउँछु : सांसद डा वाग्ले

दमौली – तनहुँ क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेलाई प्रमाणपत्र प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले आज आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट निर्वाचित डा वाग्लेलाई प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

आज सम्पन्न मतगणनाअनुसार डा वाग्ले ३४ हजार नौ सय ११ मत प्राप्त गरी विजयी हुनुभएको थियो । सो अवसरमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा वाग्लेले तनहुँवासीले गर्व गर्न लायक सांसद बनेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जिल्लाको विकासका साथै देशका मुद्दा सम्बोधनका लागि आफूले भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

तनहुँवासीको विश्वास र भरोसालाई डगमगाउन नदिने बताउँदै भन्नुभयो, “जनताका अपेक्षा न्याय गर्नेछु ।” डा वाग्लेले जिल्लाका सबै राजनीतिक दलसँग सहकार्य र समन्वय गरेर काम गर्ने बताउनुभयो । नीति, क्षमता सही भएको खण्डमा देश विकास सम्भव रहेको जनाउँदै सामूहिक प्रयासलाई इमानदारीपूर्वक निभाउने बताउनुभयो । देश विकास गर्ने हुटहुटीले आफूहरू आएको जनाउँदै उहाँले भन्नुभयो, “सबैको सामूहिक प्रयत्नबाट मात्र देश विकास हुन्छ ।”

मुख्य निर्वाचन अधिकृत आचार्यले शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने सबैप्रति आभार व्यक्त गर्नुभयो । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको बताउनुभयो ।

विजयी डा वाग्लेलाई प्रतिस्पर्धी भट्टराईको बधाई

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा वाग्लेलाई प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले बधाई दिनुभएको छ । आज बिहान सार्वजनिक मतपरिणामअनुसार प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएपछि भट्टराईले वाग्लेलाई बधाई दिनुभएको हो ।

कांग्रेसका भट्टराईले भन्नुभयो, “चुनावी यात्राका दौरानमा हामीबीच सौहार्द प्रतिस्पर्धा रह्यो । र, संयोगले तपाईँ निर्वाचित हुनुभयो । मैले मेरा क्षेत्रका मतदाताको अपेक्षा पूरा गर्ने विश्वास दिलाउन सकिनँ, तपाईँले सक्नुभयो ।” उहाँले यस क्षेत्रको आधिकारिक प्रतिनिधि निर्वाचित भइरहँदा आफूप्रतिको विकास अपेक्षा राखेका मतदाताको विश्वास पनि अब डा वाग्लेको अभिभारा बन्न पुगेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “मैले पदको सपना नदेखे पनि यस क्षेत्रको विकासे अभियन्ताका रूपमा निरन्तर खटेको हुँ । अब पनि खटिरहनेछु । अनि तपाईँले चाहेमा यहाँका मतदाताको विकासे चाहना पूरा गर्ने अभियानमा मेरो रचनात्मक सहयोग अनि खबरदारीपूर्ण साथ रहिरहनेछ ।” निर्वाचनमा ६५ हजार तीन सय १६ मत खसेकामा ६४ हजार एक सय ३५ मत सदर भएको थियो भने एक हजार एक सय ८१ मत बदर भएको थियो ।

रवि लामिछानेले भने : ‘हामी सरकारमा जाँदैनौं बरु समर्थन फिर्ता हुन्छ’

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफुहरु सरकारमा नजाने बरु सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउनुभएको छ। 

जित सुनिश्चित भइसकेपछि मतगणास्थलमा पुगेका लामिछानेले पत्रकारसँगको कुराकानी गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउनुभएको हो । ‘हामी सरकारमा जाने अवस्था छैन, सरकारलाई दिएको समर्थन फिर्ता लिने बारे सोचिरहेका छौं, पार्टीबाट निर्णय गर्छौं।’, उहाँले भन्नुभयो ।  

‘सरकारले ठूला भ्रष्टाचारको फाइल नखोल्ने नीतिगत निर्णय गरेपछि सरकारलाई दिएको समर्थनको औचित्य छैन्।’रविलामिछाने भन्नुभयो । 

चितवन –२ को उपनिर्वाचनमा रास्वपाका उम्मेदवार लामिछाने फराकिलो अन्तरमा जित उन्मुख हुनुहुन्छ । पछिल्लो मतपरिणामअनुसार लामिछानेले निकतटम् प्रतिस्पर्धीलाई भारी मतान्तरले पछि पार्दै ४४ हजार ४८६ मत प्राप्त गर्नुभएको छ । निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठलाई लामिछानेले ३६ हजार २११ मतले पछि पारिसक्नुभएको छ । नेपाली कांग्रेसका श्रेष्ठले ८ हजार २७५ र नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले ८ हजार २१७ मत प्राप्त गरेका छन्।

डोटीका ३३ वडामा छैनन् वडासचिव

डोटी – डोटी जिल्लाको ६५  वडामध्ये ३३  वडामा वडासचिवको दरबन्दी रिक्त रहेको छ । जिल्लाका नौ पालिकामध्ये सायल गाउँपालिका वडा सचिवविहीन छ । छ वडा रहेको यस पालिकाका कुनै पनि वडामा सचिव नरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वडा सचिव नभए पनि गाउँपालिकाका प्राविधिक र अन्य कर्मचारीले सेवा दिइरहेका छन् ।” 

जिल्ला सदरमुकामसमेत रहेको दिपायल सिलगढी नगरपालिकाका चार वडामा सचिव छैनन् । नौ वडा रहेको नगरपालिकामा वडा नं ५, ७, ८, ९ सचिवविहीन छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शङ्कर सुचीकारले सचिव नभएका वडामा पालिकाका प्राविधिक र करारका कर्मचारीले सेवा दिइरहेको बताउनुभयो ।
  
त्यस्तै ११ वडा रहेको शिखर नगरपालिकामा पनि चार वडामा सचिव छैनन् । वडामा सचिव नहुँदा एउटै व्यक्तिले दुई वडा हेर्नुपर्ने बाध्यता रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुत्तोषम घिमिरेले बताउनुभयो । बडीकेदार गाउँपालिकामा वडा सङ्ख्याका आधारमा सचिव छैनन् । पाँच वडा रहेको यस गाउँपालिकामा तीन वडा सचिवविहीन छन् । वडा नं १, २ र ४ मा सचिव नरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलाराज भट्टले बताउनुभयो । 
छ वडा रहेको जोरायल गाउँपालिकामा पनि दुईवटा वडामा सचिव छैनन् । वडा नं ३ र ६ मा सचिवको दरबन्दी रिक्त रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज भट्टले जानकारी दिनुभयो । वडासचिव नभएका वडामा अन्य कर्मचारीबाट कार्य सञ्चालन भइरहेको उहाँले बताउनुभयो । 

बोगटान फुड्सिल गाउँपालिकाका छवटा वडामा सचिव छैनन् । सात वडा रहेको यस गाउँपालिकामा नं ३ मा मात्र वडासचिव रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतबहादुर चन्दले बताउनुभयो । वडासचिव नभएका वडामा अन्य प्राविधिक र करारका कर्मचारीले काम गरिरहेका उहाँले बताउनुभयो ।
 
त्यस्तै सात वडा रहेको केआईसिंह गाउँपालिकामा पनि दुई वडा सचिवविहीन छन् । वडा नं १ र ७ मा सचिव नरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरत परियारले जानकारी दिनुभयो । पूर्वीचौकी गाउँपालिकामा पनि आवश्यकतानुसार वडासचिव छैनन् । सात वडा रहेको यस पालिकाका तीनवटा वडामा सचिवको दरबन्दी रिक्त छ । सचिव नहुँदा वडा नं ३ र ७ मा एक जनाले हेरिरहेका छन् भने २ र ६ मा वडासचिव नरहेको पालिकाले जनाएको छ । सचिव नभएका वडामा प्राविधिक कर्मचारीले काम चलाइरहेका छन् ।
 
सात वडा रहेको आदर्श गाउँपालिकामा पनि तीनवटा वडा सचिवविहीन छन् । वडा नं ३, ५ र ७ मा वडासचिव नरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत षडानन्द ओझाले बताउनुभयो । पालिकामा कर्मचारी अभाव भए पनि पालिकामा रिक्त दरबन्दीअनुसारका कर्मचारी लोकसेवामा माग नगर्नुले स्थानीय तहमा कर्मचारी अभाव हुने गरेको सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगका उपसचिव हीरालाल चौधरीले बताउनुभयो । 

प्रदेशका ८८  स्थानीय तहमध्ये ३९–४० स्थानीय तहले मात्रै केही आवश्यक कर्मचारी माग गरेको उपसचिव चौधरीको भनाइ छ । कर्मचारी अभाव भए÷नभएको आफूहरूलाई थाहा नहुने जनाउँदै उहाँ भन्नुभयो, “हामीले स्थानीय तहको मागअनुसार मात्र विज्ञापन खोल्ने गरेका छौँ ।” वडासचिव मात्र होइन, जिल्लाका स्थानीय तहमा अन्य पदमा पनि दरबन्दीअनुसारका कर्मचारी छैनन् । रासस

चितवन–२ को उपनिर्वाचन: रास्वपाका लामिछाने ३५ हजारभन्दा बढी मत अन्तरले अगाडि

चितवन – चितवन क्षेत्र नं. २ को उपनिर्वाचनमा ६० हजार छ सय ७३ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले ४३ हजार एक सय १ मत प्राप्त गर्नुभएको छ ।

नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ७ हजार नौ सय २५ र नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले ७ हजार सात सय ८७ मत प्राप्त गर्नुभएको छ ।

बारा–२ उपनिर्वाचनः जसपा अध्यक्ष यादवको फराकिलो अग्रता

बारा – बारा क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतगणना परिमाणअनुसार जनता समाजावदी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई फराकिलो बनाउनुभएको छ ।

जसपा अध्यक्ष यादवले १० हजार एक सय ९९ मतका साथ अग्रता कायम लिँदा जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले छ हजार आठ सय छ मत ल्याएर उहाँलाई पछ्याइरहनुभएको छ । यस्तै नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले चार हजार ११ मतसहित तेस्रो स्थानमा रहनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना भइरहेको जिल्ला सदरमुकाम कलैयास्थित शैक्षिक तालिम केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नं २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित भएपछि सो क्षेत्रमा आइतबार उपनिर्वाचन भएको हो ।

कुल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेको बारा–२ मा ६५ प्रतिशत अर्थात् ६८ हजार आठ सय ८७ मतदान भएको थियो । महागढी र पचरौता नगरपालिका, करैयामाई , सुवर्ण र देवताल गाँउपालिकाको ४४ वडा समेटिएको छ ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पुर्‍याउन संसदीय विशेष समिति गठन हुने

काठमाडौं – प्रमुख तीन दलका शीर्षनेताबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगोमा पु¥याउन संसदीय विशेष समिति गठन गर्ने सहमति भएको छ ।

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्षनेताहरुबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल गरेर निष्कर्षमा पुग्न संसदीय विशेष समिति गठन गर्ने पनि सहमति भएको एमालेका प्रमुख सचेकत पदम गिरीले जानकारी दिए । 

उनका अनुसार कांग्रेसबाट सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक, एमालेबाट अध्यक्ष केपी ओली, संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरी माओवादीबाट अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख सचेतक हितराज पाण्डे सहभागी बैठकमा  संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल गर्न १५ सदस्यीय विशेष समिति गठन गर्ने सहमति जुटेको हो । 

प्रतिनिधिसभामा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगसम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक पेस गरिएको छ ।  

अग्रज नेताहरुको योगदान र विचारलाई पार्टीले सधैँ आत्मसात गर्छ : सभापति देउवा

भक्तपुर – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अग्रज नेताहरुको योगदान र विचारलाई पार्टीले सधैँ आत्मसात गरेर लैजाने बताउनुभएको छ ।

आज भक्तपुरमा जगन्नाथ आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको नेपाली कांग्रेसका अग्रपङ्क्तिका नेता जगन्नाथ आचार्यको १००औँ जन्मजयन्ती कार्यक्रममा उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । सभापति देउवाले भन्नुभयो, “पार्टीका अग्रज नेता आचार्यको योगदान र विचारको पर्याप्त प्रचार हुन सकेको छैन, आगामी दिनमा पार्टीले त्यसतर्फ ध्यान दिनेछ ।”

स्व आचार्य पार्टीप्रति बफादार, जुझारु र सिद्धान्तमा अडिग नेता भएको चर्चा गर्दै सभापति देउवाले किसानका हकहितका लागि लड्नुभएका आचार्यको योगदानलाई नेपाली जनताले पनि स्मरण गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री ओमकार श्रेष्ठले नेता आचार्य सत्ता मोहलाई त्यागेर पार्टी हितमा लाग्ने नेता भएको स्मरण गर्नुभयो । प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले अहिलेको लाभहानिमा जोडिएको राजनीतिक परिवेशमा नेता आचार्यको जीवनीबाट पार्टीका नेता कार्यकर्ताले पाठ सिक्नुपर्ने औँल्याउनुभयो ।

त्यसअवसरमा कांग्रेस केन्द्रीय सदस्यद्वय मदनकृष्ण श्रेष्ठ र गङ्गालक्ष्मी अवाल, तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष विनोद कायस्थ, नेता आचार्यका पुत्र विनोद आचार्य, पार्टीका निर्वाचन क्षेत्र नंं २ का सभापति भेषबहादुर कार्की लगायतले नेता आचार्यको योगदानलाई पार्टीले कदर गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा कांग्रेस सभापति देउवाले भक्तपुर क्याम्पसका जेहेन्दार छात्रा सरु कोजुलाई रु २५ हजार नगदसहित जगन्नाथ आचार्य स्मृति पुरस्कार प्रदान गर्नुभयो ।

संसदीय समितिको भागवण्डा : एमालेलाई तीन वटा समितिको सभापति

काठमााडौं – नेकपा एमालेले संघीय संसदको तीनवटा समिति पाउने भएको छ । 

सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको प्रमुख तीन ठुला दलका शिर्ष नेताको बैठकले एमालेलाई तीन संसदीय समिति दिने सहमति भएको हो । 

जसअनुसार प्रतिनिधिसभाका १० वटा समिति मध्ये महत्वपुर्ण मानिएका सार्वजनिक लेखा समिति र राज्यका निर्देशक सिद्धान्त अनुगमन तथा निर्देशन विशेष समितिसहित तीनवटा संसदीय एमालेको भागमा परेको छ । नयाँ सहमतिसँगै संसदीय समिति गठनको प्रक्रिया सुरु हुने भएको छ । 

यसैगरी, सत्य निरुपण तथा मेलमिलाप आयोगको बिबादलाई टुंग्याउनका लागि बिशेष समिति गठन गर्नेमा पनि प्रमुख दल सहमत भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित उपस्थित बैठकले सो निर्णय गरेको एमाले सांसद पदम गिरीले जानकारी दिनुभयो । 

थप ११३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं – नेपालमा थप ११३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा १८१० नमुना परीक्षण गर्दा ११३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । 

७६६ नमुनाको पीसीआर परीक्षण गर्दा ६४ जनामा र १०४४ नमुनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै देशभर संक्रमितको संख्या ३६२ पुगेको छ । पछिल्लो २४ घण्टामा ७२ जना संक्रमणमुक्त भएका छन् । 

मन्त्रालयका अनुसार २९ जना संक्रमतिको संस्थागत आईसोलेसनमा, ४ आईसीयूमा र एक जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । 

स्वदेशी सवारी साधन दर्ताका लागि सहजीकरण गरिने

काठमाडौँ – सरकारले नेपालमै उत्पादन भएका यात्रीलगायत सवारी साधनको दर्ताका लागि कानुनी जटिलता सहजीकरणका लागि पहलकदमी लिएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नेपालमा उत्पादन भएका सवारीसाधन सञ्चालनमा देखिएको कानुनी जटिलता तत्काल समाधान गर्न पहल गरिने बताउनुभयो ।

मन्त्री ज्वालाले आज मन्त्रालय मातहतका कर्मचारी र रोकारवाला निकायसँग कार्यविधि संशोधनका लागि निर्देशन दिनुभएको हो ।

“दुई दिनभित्र नेपालमा उत्पादन भएका सवारी साधनको दर्ता र सञ्चालनको समस्या हल हुन्छ”, उहाँले भन्नुभयो, “स्वदेशमै उत्पादन भएका सवारीसाधनलाई हामी प्रोत्साहन गर्छाै, तर त्यसको सुरक्षा, सुलभ मूल्यमा होस् भन्नेमा हाम्रो चासो छ ।”

नेपालमा उत्पादन भएका सवारी साधनको दर्ता र सञ्चालनमा लामो समयदेखि जटिलता रहँदै आएको थियो । मन्त्री ज्वालाले नेपाली उत्पादनलाई प्रोत्साहन र सहजीकरण गरिने उल्लेख गर्नुभयो । कानुनी जटिलतालाई तत्काल हल गर्न यातायात व्यवस्था विभागको कार्यविधि निर्देशिका संशोधन हुनेभएको छ । यात्रीलगायतले नेपालमा विद्युतीय मोटरसाइकल उत्पादन गर्दै आएका छन् ।

नेपालमा उत्पादन भएका सवारीसाधनको परीक्षण पनि भइसकेको छ । तर प्रज्ञापनपत्रको अभावमा दर्ता हुनसकेका थिएनन् । प्रज्ञापनपत्रको सट्टा कर विजक लिएर दर्ता गर्न मिल्ने व्यवस्था गरिएको छ । यातायात व्यवस्थाको कार्यविधिमा नेपालमा पनि सवारीसाधन उत्पादन हुन्छन् भन्ने आँकलन गरिएको छैन ।

विसं २०५४ मा बनेको ऐन र कार्यविधिमा विदेशबाट खरिद भएका सवारी साधनका लागि मात्र व्यवस्था गरिएको छ । मन्त्रालयका सचिव केशवकुमार शर्माले यात्रीलगायत स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नेगरी दर्ता प्रक्रियालाई सहज बनाउन आवश्यक कानुनी उल्झन सहजीकरण गरिने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाली उत्पादनका सवारीसाधन कम खर्चमा उपभोक्ताको पहुँच तथा सुरक्षित हुनुपर्नेमा जोड दिनुभयो ।

यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले यात्रीको दर्ताका लागि तत्काल कार्यविधि संशोधनको प्रक्रिया अघि बढाइएको र कम्पनीको उत्पादन सुरक्षित, गुणस्तरीय र उपभोक्तामैत्री हुनुपर्नेमा जोड दिनुभयो ।

नागरिकका आवश्यकता केन्द्रित बजेट बनाउन कांग्रेसको जोड

काठमाडौँ – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकका आवश्यकतालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्न सुझाव दिनुभएको छ ।

कांग्रेस संसदीय दलको आज बसेको बैठकमा उहाँले मुलुकको विषम आर्थिक परिस्थितिमा आगामी बजेटमा समेट्नुपर्ने विषयका बारेमा पार्टीका तर्फबाट सुझाव दिन सांसदहरुलाई आग्रह गर्नुभएको थियो । नागरिकका आवश्यकता सम्बोधन हुने गरी आगामी बजेट निर्माण हुनुपर्ने उहाँको भनाइ थियो ।

बैठकमा अर्थमन्त्री एवं पार्टीका नेता डा प्रकाशशरण महतले विषम आर्थिक अवस्थालाई सम्बोधन गर्नेगरी आगामी आर्थिक वर्षको बजेट बनाइने जानकारी गराउनुभएको राष्ट्रिय सभामा कांग्रेसका प्रमुख सचेतक अनिता देवकोटाले बताउनुभयो । मन्त्री डा महतले आगामी बजेटमा राख्नुपर्ने प्राथमिकताका बारेमा सांसदहरुको सुझावका लागि आग्रह गर्नुभएको थियो ।

उहाँले सांसदहरुले राख्नुभएका जिज्ञासाका बारेमा टिपोट गर्नुभएको र मङ्गलबारको बैठकमा जवाफ दिनुहुनुे बताइएको छ । सांसदहरुले सुझाव दिने क्रम बाँकी रहेकाले कांग्रेस संसदीय दलको बैठक भोलि बिहान १०ः३० बजे पुनः बस्ने प्रमुख सचेतक देवकोटाले जानकारी दिनुभयो ।

वाग्लेको अग्रता कायमै

डुम्रे – तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायमै राख्नुभएको छ ।

हालसम्म २९ हजार आठ सय दुई मतगणना हुँदा वाग्लेले १५ हजार एक सय ३५ मत प्राप्त गर्नुभएको छ । साथै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले आठ हजार सात सय ३४ मत र नेकपा (एमाले)का सर्वेन्द्र खनालले पाँच हजार मत प्राप्त गर्नुभएको छ ।

गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा तनहुँ–१ बाट नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो । कूल एक लाख २३ हजार तीन सय पाँच मतदातामध्ये कूल ६५ हजार ९९ मत खसेको छ ।

चितवन २ मा रवि लामिछानेको अग्रता

चितवन – चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार रास्वपाका लामिछानेले ११५५ मतका साथ अग्रता लिएका हुन् । सुरुवातमा भने एमालेले अग्रता लिएको थियो । तर, अहिले लामिछानेले अग्रता लिएका हुन्।

रविलाई पछ्याइरहेका एमालेका रामप्रसाद न्यौपानेले ६६५ मत पाएका छन् । तेस्रोमा रहनुभएका कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका छन् ।

सरकार गठन आह्वानमा ढिलाइ

गण्डकी – गण्डकी प्रदेशमा नयाँ सरकार गठन आह्वानमा ढिलाइ भएको छ । शनिबारको गण्डकी प्रदेशसभाको बैठकमा प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत नपाएसँगै नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखबाट आह्वान हुनुपर्ने भए पनि हालसम्म हुन सकेको छैन ।

नेकपा (एमाले)का अधिकारी नेतृत्वको सरकारले विश्वासको मत नपाएका अवस्थामा हाल केन्द्रको सत्तागठबन्धनमा रहेका दलको स्पष्ट बहुमत हुने भए पनि सरकारको नेतृत्व पहिले कसले गर्ने सम्बन्धमा सहमति जुट्न नसकेको बताइएको छ । साठी सदस्यीय गण्डकी प्रदेशसभामा २७ सिटसहित सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी गरेको छ भने आठ जना सदस्य रहेको नेकपा (माओवादी केन्द्र)ले आफूले पहिला सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी गर्दै आएको छ । माओवादीका आठमध्ये एक जना सभामुखको जिम्मेवारीमा हुनुहुन्छ । काठमाडौँमा शीर्ष नेतालाई भेटेर कुरा राख्ने गरी आफूहरू काठमाडौँ पुग्न लागेको बताउँदै प्रदेशसभा सदस्य विन्दुकुमार थापाले २७ सिट रहेको कांग्रेसको दाबी स्वाभाविक भएको बताउनुभयो ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले यसअघि कांग्रेसको नेतृत्वमा सरकार बनाउन आफूहरूले सहयोग गरेको बताउँदै अब बन्ने सरकारको पहिलो नेतृत्व माओवादीले पाउनु न्यायसङ्गत भएको बताउनुहुन्छ । शीर्ष नेताहरूसँग छलफल भइरहेको बताउँदै उहाँले मौखिकरुपमा सकारात्मक सङ्केत आएको बताउनुभयो । संविधानले गरेको व्यवस्थाअनुसार धारा १६८ को उपधारा १ मा बहुमत प्राप्त दलले सरकार गठनका लागि दाबी पेस गर्ने उल्लेख छ ।

कुनै एक दलको बहुमत नभएका अवस्थामा उक्त धाराकै उपधारा २ अनुसार सरकार गठन हुने व्यवस्था छ । सो उपधारामा दुई वा सोभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने सांसदले सरकार बनाउने गरी दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गर्ने व्यवस्था गरिएको छ । त्यस्तै उपधारा ३ मा संसद्को सबैभन्दा ठूलो दललाई प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्ने व्यवस्था छ । नयाँ सरकार गठन आह्वानका लागि प्रदेश प्रमुखले कानुनी परामर्श गरिरहनुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिनुभयो ।

शेयर बजारमा झिनो अङ्कको सुधार

काठमाडौं – साताको दोस्रोे कारोबार दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । सोमबार नेप्से परिसूचक २.७१ अंकले उकालो लागेको हो ।

योसँगै सूचक १८८८.३२ को बिन्दुमा आएर अडिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक ०.२३ अंकले बढेर सूचक ३५९.३७ विन्दुमा पुगेको छ।

यसअघि आइतबार नेप्से परिसूचक १८.८० अंकले ओरालो लागि १८८५.६० को बिन्दुमा अडिएको थियो । सोही दिन ८२ करोड ७५ लाख भन्दाबढी रुपैयाँको कारोबार भएको थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार कूल २७० कम्पनीको २२ लाख ६० हजार ८२३ कित्ता सेयर खरिद बिक्री हुँदा ७५ करोड १३ लाख भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ। 

नेप्से सुचकमा १२० कम्पनीमा वृद्धि भएको छ । ८५ कम्पनीमा ओरालो लागेको र १५ कम्पनी स्थिर रहेको छ ।  कारोबारको आधारमा कालिञ्चोक दर्शन शीर्ष स्थानमा रहेको छ । उक्त बैंकले ८ करोड ८१ लाख भन्दाबढि रुपैयाँको कारोबार गरेको छ । यसैगरि सिवम सिमेन्टको करिब ३ करोडको कारोबार भएको हो । 

सोमबार १३ उपसुचकहरु मध्ये ४ कम्पनीमा ओरालो लागेको छ  भने बाँकि सबैं कम्पनीहरुमा सामान्य वृद्धि भएके छ । सबै उपसुचक कम्पनीहरुमा ओरालो लागेको छ । सोमबार पिपुल्स पावर ८.११ प्रतिशत र नविल प्रगति फण्डको ७.९४ प्रतिशतको सेयर कारोबार भएको छ। 
 

सिंहदरबारमा  प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल जारी 

काठमाडौँ – प्रमुख तीन दलका शीर्ष नेताबीचको छलफल सिंहदरबारमा जारी  छ ।

बैठकमा संसदीय समितिहरूको गठन तथा टिआरसी विधेयक लगायतका विवादित विषयमा टुङ्गो लगाउने, समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा दलका सचेतकहरूको सहभागी हुनुहुन्छ । 

बारा २ मा उपेन्द्र यादवकाे अग्रता कायमै

​​​​​बारा – बारा २ मा सत्ता गठबन्धनका उम्मेदवार जसपाका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राख्नुभएकाे छ । 

पछिल्लो मतपरिणाम अनुसार जसपाका यादवले ५१३ मतका साथ अग्रता लिइरहनुभएकाे छ । उहाँलाई पछ्याइरहनुभएका जनमत पार्टीका शिवचन्द्र कुशवाहले ४८५ मत पाउनुभएकाे छ । 

यसैगरी, एमालेका पुरुषोत्तम पौडेलले ४२० मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २०६ मत पाएका छन् । 

चितवन-२ अपडेट : रामप्रसाद न्यौपानेको सुरुवाती अग्रता

काठमाडौं – चितवन–२ मा भएको उपनिर्वाचनको पहिलो अपडेट प्राप्त भएको छ ।

इच्छाकामना गाउँपालिकाको मतगणनामा एमाले उम्मेदवार रामप्रसाद न्यौपान्नेले रास्वपाका रवि लामिछानेमाथि झिनो अग्रता कायम गरेका छन् ।

प्राप्त परिणाम अनुसार न्योपानेले ३६७ मत ल्याउँदा अग्रता बनाएका हुन् । दोस्रो स्थानमा रास्वपाका लामिछानेको ३१९ मत छ । कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले २४४ भोट ल्याएर तेस्रो स्थानमा छन् ।

क्रिकेटर सन्दीप लामिछाने विरुद्ध मुद्दाको अन्तिम सुनुवाई सुरु

काठमाडौँ – काठमाडौँ जिल्ला अदालतले बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज अन्तिम सुनुवाई सुरु भएको छ । 

न्यायाधीश दीपक ढकालको इजलासमा लामिछाने विरुद्धको मुद्दामा आज अन्तिम सुनुवाई सुरु भएको हो । 

यसअघि, दुई जना साक्षीको बकपत्र नभएकाले चैत २६ गते न्यायाधीश शंकरराज बरालको इजलासले मुद्दाका साक्षी बुझ्न  आदेश दिएको थियो ।

सर्वोच्च अदालतले गत फागुन १५ गते सन्दीपविरुद्धको मुद्दा किनारा लगाउन द्रुतमार्गबाट अन्तिम सुनुवाइ गर्न आदेश दिएको थियो । 

राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तानसमेत रहेका सन्दीपविरुद्ध भदौ २१ गते जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा एक किशोरीको  जाहेरी परेको थियो ।

क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज गएका सन्दीप असोज २० गते नेपाल फर्किँदै गर्दा सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए ।

मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौँ जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । 

जिल्ला अदालतको आदेशविरुद्ध उच्चमा पुनरावेदन दिएका सन्दीपलाई उच्च अदालतले पुस २८ गते २० लाख रुपैयाँ धरौटीमा सशर्त रिहा गरेको थियो ।

रसुवा अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु

रसुवा – जिल्ला अस्पताल रसुवाले आइतबारदेखि स्वास्थ्य बीमाको काम अघि बढाएको छ । सबै नागरिकलाई स्वास्थ्य बीमा गराई उपचार प्रभावकारी बनाउने उद्देश्यले अस्पतालले बीमासम्बन्धी काम अघि बढाएको हो ।

जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले स्वास्थ्य बीमा कार्यान्वयनको थालनी गर्नुभयो । बीमासम्बन्धी काम गर्न छुट्टै कार्यालय स्थापना भइसकेको छ ।

बीमाले यथेष्ठ उपचार सेवा प्रदान गर्ने भएकाले सबै दाजुभाई तथा दिदीबहिनी यस कार्यक्रममा सहभागी हुन अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहले आग्रह गर्नुभयो ।

एउटा घरका पाँच जनासम्म परिवारका लागि एकमुष्ठ रु तीन हजार पाँच सय प्रिमियम बुझाएर बीमा गर्न सकिन्छ । एक वर्षसम्म बहाल रहने बीमा कार्डले रु एक लाखसम्मको औषधिसहित सबै प्रकारका उपचार एवं परीक्षण गर्न सकिन्छ ।

स्वास्थ्य बीमाको कार्ड प्राप्त गरेका तर स्थानीय अस्पतालमा उपचार हुन नसकेका नागरिकलाई थप उपचार गराउन काठमाडौँको सरकारी अस्पतालमा पनि बीमाले सहयोग गर्नेछ ।

जिल्लाका पाँच गाउँपालिकामध्ये कालिका गाउँपालिका धैबुङले सम्पूर्ण वडावासीलाई गत फागुनदेखिनै लागू हुनेगरी स्वास्थ्य बीमा गराई रकम भुक्तानी समेत गरेको छ ।

चितवनको मतगणना सुरु

चितवन – चितवन क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना सुरु भएको छ । आज मध्याह्न २ बजेदेखि चितवन उद्योग वाणिज्य सङ्घको प्रदर्शनी केन्द्रमा मतगणना सुरु भएको हो । इच्छाकामना गाउँपालिका वडा नं १ र ३ को मतपत्र मिसाएर गणना सुरु गरिएको हो ।

यस क्षेत्रमा ७८ हजार दुई सय ७७ मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९७ जना मतदाता रहेका थिए । सोमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रोलिङ्गी रहेका छन् ।

यस क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकता विवादमा सर्वाेच्च अदालतको निर्णयबाट सांसद पदसमेत खारेज भएपछि उपनिर्वाचन भएको हो ।

बारा २ मा जसपाका उम्मेदवार उपेन्द्र यादवको अग्रता

काठमाडौँ – बारा निर्वाचन क्षेत्र २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता लिनुभएको छ । 

६ सय७० मत गनिसक्दा जसपाका यादवले २ सय २३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै जनमत पार्टीका उम्मेदवार शिवचन्द्र प्रसाद कुशवाहाले १ सय ७० मत प्राप्त गर्नुभएको छ । 

एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले १ सय ६६ मत ल्याउनुभएको छ । त्यस्तै रास्वपाका उम्मेदवार रमेश खरेलले ८० मत प्राप्त गर्नुभएको छ । 

एडिबीलाई उत्पादन र रोजगारी सिर्जना हुने परियोजनामा लगानी गर्न आग्रह

काठमाडौँ – नेपालले एशियाली विकास बैंकलाई उत्पादन र रोजगारी सिर्जना हुने परियोजनामा लगानी गर्न आग्रह गरेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ र एशियाली विकास बैंक (एडिबी)का देशीय निर्देशक अर्नौड कौकोइसबीच आज सिंहदरबारमा भएको भेटमा उपाध्यक्ष श्रेष्ठले सरकारले उत्पादन र रोजगारी दिने खालका कार्यक्रम ल्याउने जनाउँदै त्यस्ता परियोजनामा लगानी बढाउन आग्रह गर्नुभएको हो ।

उहाँले नेपालमा उत्पादनमूलक र रोजगारी सिर्जना हुने परियोजनामा लगानी आवश्यक रहेको औँल्याउनभुयो । छलफलमा उपाध्यक्ष डा श्रेष्ठले नेपालको विकासमा बैंकले गरेको सहयोगप्रति आभार प्रकट गर्नुभयो । उहाँले आगामी दिनमा समेत सरकारलाई बैंकको सहयोग निरन्तर हुने विश्वास व्यक्त गर्नुभयो ।

सो क्रममा उहाँहरुबीच आयोग र बैंकबीचको सहकार्य तथा बैंकको सहयोगमा सञ्चालित आयोजनाको प्रभावकारी कार्यान्वयन सम्बन्धमा छलफल भएको थियो ।

बैंकका देशीय निर्देशक कौकोइसले हालै एडिबीले नेपालमा गरेको लगानीको ‘पोर्टफोलियो रिभ्यू’ भएको जानकारी दिँदै नयाँ सरकारले ल्याएका नयाँ परियोजनामा लगानी गर्न एडिबी तयार रहेको बताउनुभयो । एडिबीले लगानी गरेका नेपालका विकास परियोजनाको ‘पोर्टफोलियो’ सुधारिएको उहाँको भनाइ थियो ।

बैंकले नेपालको भौतिक पूर्वाधारलगायत क्षेत्रमा करिब रु चार खर्ब २१ अर्ब (३.२ विलियन डलर) बराबरको लगानी गरेको छ । सन् २०२२ सम्ममा बैंकले ऊर्जा, यातायात, कृषि, खानेपानी, सहरी पूर्वाधार, सेवा क्षेत्र, ग्रामीण विकास र प्राकृतिक स्रोत, स्वास्थ्य शिक्षालगायत क्षेत्रमा त्यस्तो लगानी गरेको हो । मेलम्ची खानेपानी आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो त्रिशूली जलविद्युत् आयोजनालगायत दर्जनौँ आयोजनामा बैंकले लगानी गरेको छ ।

गत वर्ष मात्र बैंकले नेपाललाई २५ करोड ५० लाख अमेरिकी डलर बराबर ऋण लगानी गरेको थियो । पोर्टफोलियो रिभ्यू कार्यक्रममा बैंकले सहरी खानेपानी तथा सरसफाइ आयोजना, बाग्मती नदी बेसिन सुधार, ग्रामीण उद्यम वित्तीय आयोजना र विद्युत् प्रसारण तथा वितरण दक्षता अभिवृद्धि आयोजनालगायतलाई पुरस्कृतसमेत गरेको थियो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त

काठमाडौँ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त हुनुभएको छ ।

सोमबार प्रदेशसभा बैठकमा विश्वासको मत हासिल गर्न नसकेपछि मुख्यमन्त्री गिरी पदमुक्त हुनुभएको हो । विश्वासको मतमा भएको मतदानका क्रममा गिरीको पक्षमा ३३ मत र विश्वासको मतको प्रस्तावको विपक्षमा ५३ मत परेको थियो ।

गिरीले एमालेका ३३ र राप्रपाका चार प्रदेशसभा सदस्यको मत प्राप्त गर्नुभएको थियो भने माओवादी , काँग्रेस लगायतले विपक्षमा मतदान गरेको थियो ।

बैठकमा लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीले लुम्बिनी प्रदेश सरकारको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा गर्नुभएको थियो । माओवादी सहितका दलले समर्थन फिर्ता लिएपछि गिरीले सोमबार विश्वासको मत माग्नुभएको थियो ।

खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेकाले खोप लगाउन आग्रह गरेको छ ।

मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउँदा सङ्क्रमण नहुने भएकाले खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले खोप लगाएका व्यक्तिको तुलनामा खोप नलगाएका व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भएमा सिकिस्त बिरामी हुने सम्भावना १० गुणाबढी हुने गरेको बताउनुभयो ।

उहाँका अनुुसार खोप नलगाएका मानिसमा खोप लगाएको मानिसको तुलनामा सङ्क्रमण भएपछि मृत्यु हुने सम्भवाना १० गुणा बढी हुने गरेको छ । सहप्रवक्ता डा अधिकारीले आफूलाई पायक पर्ने स्वास्थ्य संस्थामा गई सङ्क्रमणविरुद्धको बुस्टर डोजको खोप लगाउन आग्रह गर्नुभएको हो ।

आइतबार ८१ सङ्क्रमित र सक्रिय सङ्क्रमित तीन सय ७० पुगेका छन् । नेपालमा छिमेकी देश भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ देखा परेको छ । शून्यमा झरेको सङ्क्रमण नेपाल र भारतको खुला सिमानाका कारणले सङ्क्रमित नेपाल प्रवेश गर्नाले फैलिएको हो । अहिले विभिन्न स्वास्थ्य संस्था र स्थानीय तहले कोरोना भाइरसविरुद्धको खोप प्रदान गरिरहेका छन् ।

काठमाडौँमा वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, नेपाल सशस्त्र प्रहरी बल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, नेपाल प्रहरी अस्पतालमा नियमित पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज खोप लगाइरहेका छन् ।

निर्वाचन आयोगले सोध्यो लामिछानेलाई स्पष्टीकरण

चितवन – आइतबार भएको मतदानका क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

नेपाली कांग्रेस चितवनले लामिछानेसहित प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका विरुद्ध निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी दिएपछि कार्यालयले लामिछानेलाई स्पष्टीकरण सोधेको हो ।

निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले आइतबार अबेर स्पष्टीकरण सोधिएको र आइतबारै जवाफ आएको बताउनुभयो । उहाँका अनुसार प्राप्त जवाफ निर्वाचन आयोगमा पठाइएको छ ।

निर्वाचन भइराखेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार रवि लामिछानेले फेसबुक लाइभमार्फत मत मागेको, मतदानस्थलमा हूल हुज्जत गरी प्रचार गरेको र प्रमुख जिल्ला अधिकारी पौडेलले लामिछानेलाई नै सहयोग गरेको भन्दै कांग्रेसले उजुरी दिएको थियो । उजुरीमा निर्वाचन ऐन, निर्देशिका, कार्यविधि र निर्देशनबमोजिम दोषीमाथि कारबाहीको माग गरिएको छ ।

नेपाल र साउदीबीचको खेल रद्द, नेपाल सेमिफाइनलमा

काठमाडौं – एसीसी प्रिमियर कप अन्तरगत नेपाल र साउदी अरबबीचको खेल वर्षाका कारण रद्द भएको छ । दुई टीमले १-१ अंक बाँडेसँगै नेपालले सेमिफाइनलमा स्थान बनाएको छ ।

समूह ए को शीर्ष स्थानमा रहेको नेपालले दुई खेल र एक बराबरीसहित ५ अंक बटुल्दै एक खेलअगावै सेमिफाइनल प्रवेश गरेको हो । नेपालले अब अन्तिम खेल कतारसँग खेल्न बाँकी छ ।

समूह विजेता को हुने भने चाहीँ अन्तिम खेलले निर्धारण गर्नेछ । नेपालले कतारसँग जित हासिल गरेको खण्डमा समूह विजेता भएर अर्को समूहको उपविजेतासँग सेमिफाइनल खेल्नेछ । यदि नेपालले सो खेल हार्‍यो र दोस्रो स्थानमा रहेको ओमानले साउदीअरबसँगको अन्तिम खेल जित्यो भने नेपाल उपविजेता बन्नेछ र अर्को समूहको विजेतासँग सेमिफाइनल खेल्नेछ ।

आज बिहानैदेखिको वर्षाका कारण टस हुन सकेको थिएन । दिउँसो २ बजेसम्म टस भए खेल सम्भव हुने भए पनि वर्षा रोकिने छाँट नदेखिएपछि खेल स्थगित गरिएको हो । नेपालको खेल हेर्न मैदानमा आएका दर्शकहरू निराश भएर फर्किएका छन् ।

बारा – २ मा मतगणना सुरु

बारा – आइतबार भएको बारा क्षेत्र नम्बर २ को उप निर्वाचनको मतगणना सुरु भएको छ ।

सोमबार शैक्षिक तालिम केन्द्रमा भर्खरै मतगणना सुरु भएको हो ।मतगणना करैयामाई गाउँपालिका १ र सुवर्णपुर गाउँपालिका १ नम्बर वडाबाट सुरु गरिएको छ ।

बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, रास्वपाका रमेश खरेल उम्मेदवार छन् ।

बारा -२ को मतगणना लाइभ गर्न सिके राउतको माग

काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले बारा -२ उपनिर्वाचनको मतगणनाको प्रत्यक्ष प्रसारण गर्न माग गर्नुभएको छ।

बारा- २ स्थित सुवर्ण गाउँपालिकाका ४ वटा बाकसमा सिल टुटेको भन्दै राउतले मतगणनाको लाइभ गर्न माग गर्नुभएको हो।

अध्यक्ष राउतले सामाजिक सञ्जाल ट्विटरमा एउटा भिडियो पोष्ट गर्दै लेख्नुभएको छ, ‘बारा- २ मा मतगणना स्थलको लाइभ हुनुपर्छ।‌ सप्तरी-२ मा हामीले भोगिसकेका छौं, हार्न लागेपछि जसपाले भित्र नै उत्पात र दंगा मचाएर निर्वाचन बदर गराउने कसरी कोसिस गरेको थियो। प्रहरी प्रमुखको मिलेमतो थियो।’

बारा २ मा सुवर्ण गाउँपालिकाका ४ वटा बाकसको सिल टुटेको भेटिएको छ। आइतबार बारा- २, चितवन २ र तनहुँ- १ मा उपनिर्वाचन भएको थियो।

चितवन -२ मा दिउँसो १ बजेदेखि  मतगणना सुरू गर्ने

काठमाडौँ – आइतबार भएको चितवन -२ को उप निर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि गर्ने भएको छ ।

सोमबार बिहान बसेको सर्बदलीय बैठकले मतगणना आज दिउँसो देखि गर्ने सर्वदलीय सहमति भएको हो ।

चितवन-२ मा कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत उम्मेदवार छन् ।

तनहुँ–१ उपनिर्वाचन : रास्वपाका वाग्लेलाई पाँच हजारको अग्रता

दमौली – आइतबार सम्पन्न तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले पाँच हजारभन्दा बढी मतान्तरले अग्रता लिनुभएको छ ।

आइतबार राति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान १० बजेसम्मको नतिजाअनुसार उहाँले पाँच हजार दुई सय ५६ मतान्तरले अग्रता लिनुभएको हो । हालसम्म १३ वडाको मतपरिणाम सम्पन्न हुँदा डा वाग्लेले दस हजार दुई सय ५९ प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका गोविन्द भट्टराईले पाँच हजार तीन मत प्राप्त गर्नुभएको छ भने नेकपा ९एमाले० का सर्वेन्द्र खनालले दुई हजार सात सय ९७ मत प्राप्त गर्नुभएको छ ।

आँबुखैरेनी–१, आँबुखैरेनी–२, आँबुखैरेनी–३, आँबुखैरेनी–४, आँबुखैरेनी–५, आँबुखैरेनी–६, भानु–१०, भानु–८, भानु–३, भानु–७, भानु–४, भानु–५ र भानु–११को मतगणना सम्पन्न भएकोे मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिनुभयो ।

आँबुखैरेनी–१ मा एक हजार चार सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले एक हजार ६५, नेपाली कांग्रेसका भट्टराईले दुई सय ६५ र नेकपा ९एमाले०का खनालले ५४ मत प्राप्त गर्नुभयो ।

आँबुखैरेनी–२ मा एक हजार तीन सय ९२ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ८१, नेपाली कांग्रेसका भट्टराईले तीन सय ३६ र नेकपा (एमाले)का खनालले एक सय आठ मत प्राप्त गर्नुभयो ।

आँबुखैरेनी–३ मा दुई हजार एक सय ७३ मत खसेकामा रास्वपाका वाग्लेले एक हजार पाँच सय १८, नेपाली कांग्रेसका भट्टराईले चार सय एक र नेकपा (एमाले)का खनालले एक सय ९१ मत प्राप्त गर्नुभयो । आँबुखैरेनी–४ मा छ सय ९४ मत खसेकामा रास्वपाका वाग्लेले तीन सय ३२, नेपाली कांग्रेसका भट्टराईले दुई सय ३७ र नेकपा (एमाले)का खनालले ८५ मत प्राप्त गर्नुभयो । आँबुखैरेनी–५ मा पाँच सय ७० मत खसेकामा रास्वपाका वाग्लेले तीन सय ७१, नेपाली कांग्रेसका भट्टराईले एक सय ४९ र नेकपा (एमाले)का खनालले २८ मत प्राप्त गर्नुभयो । आँबुखैरेनी–६ मा सात सय चार मत खसेकामा रास्वपाका वाग्लेले दुई सय ८१, नेपाली कांग्रेसका भट्टराईले दुई सय ५९ र नेकपा (एमाले)का खनालले एक सय ३० मत प्राप्त गर्नुभयो ।

भानु–३ मा एक हजार पाँच सय ७४ मत खसेकामा रास्वपाका वाग्लेले सात सय १६, नेपाली कांग्रेसका भट्टराईले चार सय १८ र नेकपा (एमाले)का खनालले तीन सय ५१ मत प्राप्त गर्नुभयो । भानु–४ मा एक हजार छ सय ७५ मत खसेकामा रास्वपाका वाग्लेले सात सय ५९, नेपाली कांग्रेसका भट्टराईले चार सय ८२ र नेकपा (एमाले)का खनालले तीन सय ९४ मत प्राप्त गर्नुभयो । भानु–५ मा एक हजार पाँच सय ८४ मत खसेकामा रास्वपाका वाग्लेले सात सय ७६, नेपाली कांग्रेसका भट्टराईले पाँच सय ३१ र नेकपा (एमाले)का खनालले दुई सय ३७ मत प्राप्त गर्नुभयो ।

भानु–७ मा एक हजार दुई सय ८१ मत खसेकामा रास्वपाका वाग्लेले छ सय ५५, नेपाली कांग्रेसका भट्टराईले तीन सय १२ र नेकपा ९एमाले०का खनालले दुई सय ७० मत प्राप्त गर्नुभयो । भानु–८ मा एक हजार सात सय ९४ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ५६, नेपाली कांग्रेसका भट्टराईले चार सय ५८ र नेकपा ९एमाले०का खनालले चार सय ३७ मत प्राप्त गर्नुभयो ।

भानु–१० मा एक हजार सात सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ४६, नेपाली कांग्रेसका भट्टराईले पाँच सय ५१ र नेकपा ९एमाले०का खनालले तीन सय २९ मत प्राप्त गर्नुभयो । भानु–११ मा दुई हजार १४ मत खसेकामा रास्वपाका वाग्लेले एक हजार दुई सय दुई, नेपाली कांग्रेसका भट्टराईले पाँच सय ९३ र नेकपा ९एमाले०का खनालले एक सय ८३ मत प्राप्त गर्नुभयो ।
तनहुँ क्षेत्र नं १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना कार्य जारी छ ।

जडीबुटी निकासी घट्यो

देउखुरी – दाङमा यस वर्ष जडीबुटी निकासा घटेको छ । यस वर्ष जिल्लामा दुई लाख किलो बराबर जडीबुटी निकासा भएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष आधाले निकासा घटेको हो । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत भक्तबहादुर चौधरीका अनुसार निजी वनबाट सबैभन्दा बढी कालीकाठ ७३ हजार पाँच सय ३० किलो निकासा भएको छ ।

यसपछि टिमुर ५३ हजार पाँच सय ८६ किलो निकासा भएको छ । काउलो २१ हजार आठ सय ७५ किलो, रिठा १४ हजार दुई सय किलो, मालागेडी १३ हजार पाँच सय किलो निकासा भएको छ भने तेजपात पाँच हजार पाँच सय किलो, दालचिनी सात हजार एक सय ४५ किलो, मालागेडी पाँच हजार किलो निकास भएको छ । जसमा निजी वनबाट एक लाख ९४ हजार तीन सय ३६ किलो र राष्ट्रिय वनबाट २९ हजार सात सय किलो गरी दुई लाख २४ हजार २६ किलो जडीबुटी निकासा भएको छ ।

दाङबाट बितेको एक वर्षमा करिब साढे चार लाख किलो जडीबुटी निकासा भएको थियो । डिभिजन वन कार्यालय घोराहीका अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा राष्ट्रिय वन र निजी वन क्षेत्रबाट चार लाख ३८ हजार नौ सय ५२ किलो बराबरको विभिन्न प्रकारका जडीबुटी निकासी भएको थियो ।

वन नियमावलीमा तोकिएअनुसार राष्ट्रिय वनको जडीबुटी सङ्कलनको राजस्व लिने गरिए पनि निजी वनको जडीबुटी सङ्कलनको राजस्व पूर्णरुपमा छुट गरिएको छ । निजी वन क्षेत्रबाट उत्पादित जडीबुटीको उत्पादन र प्रवद्र्धनलाई प्रोत्साहन गर्ने सरकारको लक्ष्य रहेकाले निकासीमा राजस्व छुट गरिएको सहायक वन अधिकृत चौधरीले बताउनुभयो ।

यसैगरी, राष्ट्रिय वन क्षेत्रबाट सबैभन्दा बढी दारुहल्दी सात हजार सात सय किलो निकास भएको छ । तेजपात पाँच हजार किलो, टिमुर चार हजार पाँच सय किलो निकासा हुँदा कालीकाठ चार हजार किलो निकासा भएको छ । रिठा तीन हजार किलो, दालचिनी तीन हजार किलो, मालागेडी तीन हजार किलो निकासा हुँदा दुई लाख ३३ हजार पाँच सय राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो । राष्ट्रिय वनबाट विभिन्न १५ प्रकारका जडीबुटी सङ्कलनको अनुमति दिइएकोमा निजी वन क्षेत्रबाट १३ प्रकारका जडीबुटी सङ्कलनको अनुमति दिइएको थियो ।

यसअनुसार अघिल्लो वर्ष राष्ट्रिय वन क्षेत्रबाट टिमुर २९ हजार पाँच सय ५० किलो, रिठागेडी १६ हजार किलो, मालागेडी १४ हजार पाँच सय किलो, तेजपात सात हजार किलो, अमला तीन हजार किलो, बर्रो एक हजार पाँच सय किलो, लहरे गुर्जो दुई हजार पाँच सय किलो, ब्राहमी एक हजार किलो र चुत्रो दुई हजार किलो निकासी हुँदा रु छ लाख ५३ हजार राजस्व सङ्कलन गरेको डिभिजन वन कार्यालय घोराहीले जानकारी दिएको छ । यो वर्ष कम निकासा हुँदा राजस्व पनि घटेको छ ।

पछिल्ला केही वर्षयता जिल्लाबाट जडीबुटीको उत्पादन र निकासी परिणाम बढ्दै गएको बेला यो वर्ष निकासा अपेक्षितरुपमा हुन सकेको छैन । जडीबुटी खेतीको प्रवद्र्धन गर्दै वनका माध्यमबाट उपभोक्ताको आयआर्जनमा वृद्धि गर्ने गत वर्षदेखि जडीबुटी खेती गर्न डिभिजन वन कार्यालयले प्रोत्साहन गर्दै आएको छ ।

टिमुर उत्पादनको दृष्टिले दाङको पहाडी क्षेत्र सम्भावनायुक्त क्षेत्र भएको डिभिजन वन कार्यालय दाङले घोराही उपमहानगरपालिकाको १८ र १९ नम्बर वडा र बंगलाचुली गाउँ पालिकालाई गतवर्ष पकेट क्षेत्र समेत घोषणा गरेको छ । पकेट क्षेत्रमा टिमुरसँगै माला गेडी र दालचिनीका एक लाख ८४ हजार बिरुवा दुई वर्षको अवधिमा रोपिएको वन कार्यालयले जनाएको छ । जसमा करिब एक लाख बढी बिरुवा टिमुरका मात्रै रहेका छन् ।

वनमा जडीबुटी खेती गरेर उपभोक्तालाई आयआर्जनमा सहयोग गर्ने उद्देश्यले वन कार्यालयले जडीबुटी खेतीमा किसानलाई निःशुल्क बिरुवा वितरणदेखि बिरुवा संरक्षण गर्नेलाई प्रतिबिरुवा रु २० दिने गरेको छ । जसले गर्दा जिल्लामा जडीबुटी खेती गर्ने किसान बढेको डिभिजन वनको दाबी छ । जिल्लाको करिब ३३ हेक्टर वन क्षेत्रमा विभिन्न प्रजातिका जटीबुटीका बिरुवा रोपिएको छ ।

घरेलु उद्यम प्रवद्र्धन गर्दै स्थानीय तह

स्वर्गद्वारी – प्युठानका स्थानीय तहहरुले घरेलु उद्यम प्रवद्र्धनमा प्राथमिकता दिन थालेका छन् । चोयाचित्रो, गिठो, सालका पातजस्ता गाउँघरमा पाइने कच्चा पदार्थबाट तयार गरिने सामग्रीको उत्पादनमा स्थानीय तहले प्रवद्र्धनका कार्यक्रम कार्यान्वयन गरेका हुन् ।

प्युठानको झिमरुक गाउँपालिकाले चोया चित्रोबाट डोको, डाली, सोफा, कुर्सी, आस्ट्रेलगायतका सामग्री बनाउने उद्यम प्रवद्र्धन गर्न थालेको छ । झिमरुक–५ ओखरकोटमा ओखरकोट चोया चित्रो उद्योग सञ्चालनमा आएको छ । घरमै परम्परागत रूपमा गरिँदै आएको चोयाचित्राको कामलाई गुणस्तरीय र दिगो उद्यमका लागि योजना अघि सारिएको झिमरुक गाउँपालिकाकाका अध्यक्ष पितबहादुर क्षेत्रीले जानकारी दिनुभयो । “गाउँघरमा पुख्र्यौली पेसामा रहेको कामलाई जगेर्ना गर्दै सामूहिक रुपमा उद्यममा जोड्न कार्यक्रम ल्याइएको हो”, उहाँले भन्नुभयो । गाउँघरमा भएको बासबाट सामग्री उत्पादन भइ व्यवसाय तथा रोजगारी सिर्जना गर्ने उहाँको विश्वास छ । बाँझो जमिनलाई उचित सदुपयोग गर्दै बाँसको ब्यबसायिक खेती गर्न प्रोत्साहित गर्नुका साथै भू–क्षय हुनबाट रोक्न यो योजना अतिप्रभावकारी हुने कार्यक्रमको रुपमा लिएको गाउँपालिकाले जनाएको छ ।

स्थानीय युवालाई आफ्नो गाउँ ठाउँमै सीप युक्त र आत्मनिर्भर बनाउने युवा व्यवसायी तथा चोयाचित्रो उद्योगका अध्यक्ष प्रदीप जिसीले बताउनुभयो । सो उद्योगबाट पच्चीस स्थानीयवासीले डोको, मान्द्रो, डाला, सुपो, बास्केट, ढाकी, पिङ्गो, ढडिया, मुडा, स्टुल , बेञ्च, टेबुल, चियादानी, ट्रे, ओरो, सिङ्के कुचो, बाकस तथा विभिन्न चरा तथा फूलका आकर्षक चित्र बनाउन तालिम समेत लिएका छन् ।

नौबहिनी गाउँपालिकाले काठका भाडा बनाउने उद्यमलाई अघि सारेको छ । नौबहिनी–८ फोप्ली, लुप्लुङमा काठका भाडा बनाउने तालिम सञ्चालन गरी काठका भाडा बनाउन थालिएको हो । नौबहिनीका १२ युवालाई मोटरको प्रयोग गरी काठका भाँडा बनाउने तालिम प्रदान गरिएको नौबहिनी गाउँपालिकाका अध्यक्ष डिलाराम थापामगरले बताउनुभयो । उहाँका अनुसार काठबाट मही पार्ने ठेकी, घ्यू राख्ने हर्पे, कोसी, काठको गिलासलगायतका सामग्री बन्ने छन् ।

स्थानीयस्तरमा पहिले देखि गरिँदै आएको काठबाट भाँडा बनाउने पेसालाई आधुनिक प्रविधियुक्त बनाई जीविकोपार्जनमा सहयोग प¥याउने उद्देश्यले गाउँपालिकाले काठका भाडा निर्माणको उद्यमलाई प्राथमिकता दिएको उहाँको भनाइ छ ।

माण्डवी गाउँपालिकाले दुना टपरी जन्य उद्यम अघि सारेको छ । माण्डवी गाउँपालिका–१ कुमलटारमा सालका पातबाट दुना, टपरी, प्लेट बनाउने उद्यममा स्थानीय महिलालाई जोडिएको माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले जानकारी दिनुभयो ।त्यसैगरी जिल्लाका अन्य पालिकामा पनि सिलाइ, होजियारी, क्रिस्टलका गहना बनाउनेलगायतका उद्यमलाई स्थानीय तहबाट तालिम सञ्चालन भइरहेका छन् ।