‘कोशी प्रदेश’मा नामकरणविरुद्ध भइरहेको आन्दोलनमा प्रधानमन्त्री प्रचण्डको संलग्नता छ: अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘कोशी प्रदेश’मा नामकरणविरुद्ध भइरहेको आन्दोलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रत्यक्ष संलग्नता रहेको बताउनु भएको छ।
बिहीबार पार्टी कार्यालयमा केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूको शपथ कार्यक्रममा बोल्दै उहाँले माओवादीले पहिले कोशी प्रदेश नामकरणमा साथ दिएको र पछि पुनर्विचार गर्नुपर्छ भनेर भड्काइरहेको आरोप लगाउनु भयो।
अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम नै लिएर नेपालका जातजातिका नाममा दंगाफसाद गराउने षड्यन्त्र स्वरूप देशभर पहिचानको विष फैल्याउने कोशिश गरेको टिप्पणी गर्नुभयाे। त्यसमा प्रधानमन्त्री दाहाल सफल हुन नसक्ने उहाँको भनाइ थियो। उहाँले पहिचानवादको संरक्षक पुष्पकमलवादीहरू भएको भन्दै प्रचण्डपथ देशद्रोही र अपराधी पथ भएको जिकिर गर्नुभयाे।
अध्यक्ष ओलीले भन्नुभयो, ‘कोशी प्रदेश नामकरणविरुद्ध प्रचण्डको प्रत्यक्ष संलग्नता देखिन्छ। नाम राख्ने, अलि पछि गल्ती भो भन्ने अब पुनर्विचार गर्नुपर्छ भन्ने त्यता मान्छे भड्काउन थाल्ने।’
अध्यक्ष ओलीले अब कोशीमा नामकरणविरुद्ध भइरहेको आन्दोलनको एमालेले प्रतिवाद गर्ने पनि बताउनु भयो। “एमाले चुप लागेर बस्न सक्दैन, हाम्रो कार्यकर्ताको रक्षा आफैँले गर्नुपर्छ। गुन्डाहरू न नियन्त्रण गर्छ, न समात्छ, प्रोत्साहित गरेको छ प्रचण्ड सरकारले। अब जवाफ दिनुपर्ने बेला आइसकेको छ। पहिचानवादको संरक्षक यो पुष्पकमलवादीहरू प्रचण्डपथ हो। प्रचण्डपथ अझै गएको छैन। यो देशद्रोही र अपराधी पथ हो,” उहाँले भन्नुभयाे।
उहाँले भन्नुभयो, ‘अब नेकपा एमालेले तयारीका सडक तताउनु पर्ने अवस्था आएको छ । किनभने सरकारले यस्तो गराइरहेको छ भने एमाले चुप लागेर बस्न सक्दैन। हाम्रो कार्यकर्ताको रक्षा हामी आफैंले गर्नुपर्छ । गुण्डाहरु न नियन्त्रण गर्छ, न गिरफ्तार गर्छ न केही गर्छ, प्रोत्साहित गरेको छ, प्रोटेक्सन गरेको छ प्रचण्ड सरकारले।’
कोशीमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमालेविरुद्ध पहिचानको नाममा मान्छे भड्काइरहेको ओलीले आरोप लगाउनु भयो। बिहीबार इलाममा एमाले कोशी प्रदेशसभा संसदीय दलका उपनेता राम रानामाथि पहिचान पक्षधरहरुले आक्रमण प्रयास गरेका थिए।