`

चितवन -२ मा सर्बदलीय बैठक सुरु

काठमाडौँ – आइतबार भएको चितवन -२ को उप निर्वाचनको मतगणनाका लागि सर्बदलीय बैठक सुरु भएको छ।

सोमबार बिहान ८ बजे नै बस्ने भनिएको बैठक ढिला गरी सुरु भएको हो ।मतगणनाको सहमतिका लागि बैठक बसेको हो ।

मतगणना उद्योग संघको हलमा गर्ने तयारी गरिएको छ ।

चितवन-२ मा कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत उम्मेदवार छन् ।

आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत लिँदै

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।   आज बिहान ११:०० बजे बस्ने प्रदेशसभाको बैठकमा उहाँले विश्वासको मत लिन लाग्नुभएको हो ।   

एमालेबाट मुख्यमन्त्री बन्नुभएका गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादी केन्द्र लगायतका दलले फिर्ता लिएपछि गिरीले पुनः विश्वासको मत लिन लाग्नुभएको हो ।  

८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत आवश्यक पर्छ । तर एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै सरकारलाई समर्थन गर्नुभएको छ । 

यो अङ्कगणित अनुसार एमालेका मुख्यमन्त्रीले गिरीले ३३ मत मात्रै पाउने देखिन्छ । सरकार टिकाउन आवश्यक ४४ मत पुर्‍याउन नसके गिरी नेतृत्वको सरकार ढल्ने छ ।

तनहुँ १ उपनिर्वाचन : रास्वपाका डा. वाग्लेको अग्रता कायमै 

काठमाडौँ – आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा.स्वर्णिम वाग्लेले अग्रता कायमै रहेको छ ।

तनहुँ नगरपालिका र आँबुखैरेनी गाउँपालिकाको ११ वडाको १६ हजार ३७२ मत गनिसक्दा रास्वपाका डा. वाग्लेले ९२०९ मत प्राप्त गरेका छन् ।

अहिलेसम्म गणना गरिएको मतको स्वर्णिमले मात्र ५६ प्रतिशत भोट प्राप्त गरेका छन् ।

गठबन्धनबाट कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई ४२१३ मत ल्याएर दोस्रो स्थानमा रहँदा एमालेका सर्वेन्द्र खनाल २४३० मतका साथ तेस्रो स्थानमा छन् ।

बारा–२ मा सर्वदलीय बैठक जारी

बारा  – आइतबार हुन नसकेको बारा–२ को मतगणनाका लागि अहिले सर्वदलीय बैठक सुरु भएको छ । 

हावाहुरी बतासका कारण आइतबार बैठक हुन सकेको थिएन । आइतबार हुन नसकेको बैठक आज सुरु भएको हो ।

जारी सर्वदलीय सर्वदलीय बैठकमा सहमति कायम गरेर एक छिनमा मतगणना सुरु गर्ने तयारी गरिएको छ । 

मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार सर्वदलीय बैठक सकिए लगत्तै मत गणना सुरु हुनेछ ।

बारा–२ मा नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनता समाजवादी पार्टी नेपालका उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल मुख्य प्रतिस्पर्धी मानिएका छन् । 

राष्ट्र र जनताको आवश्यकता अनुसार कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र र जनताको आवश्यकताअनुसार कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा आज यहाँ नेकपा (एकीकृत समाजवादी)द्वारा आज आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलन : उपलब्धि, चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा उहाँले नयाँ आधारमा नयाँ सोचका साथ कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाएर लैजाने बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “सही विचार र नीतिका आधारमा कम्युनिष्टहरुलाई एकताबद्ध गर्ने कुरा जारी राख्नु पर्दछ । अहिले हामी त्यही प्रक्रियामा छौँ । जनवादी केन्द्रीयताको सिद्धान्तविरुद्ध रहेकाहरु कम्युनिष्ट एकताको पक्षमा छैनन् । हामी अहिले पनि एकताकै पक्षमा छौँ ।” उहाँले केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिने र त्यहीँबाट कम्युनिष्ट आन्दोलनमा नयाँ धुव्रीकरणको प्रक्रिया अगाडि बढ्ने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले आफूहरु राष्ट्र र जनताको आवश्यकताअनुसार थुप्रै नेताहरुसँगको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ भन्ने विषयमा छलफल गरी नेकपा तिरै फर्कनेमा रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “कम्युनिष्ट पार्टीभित्र नेतृत्वलाई साँचोका रुपमा लिइन्थ्यो, र हो पनि । नेतृत्वले गलत विचार र प्रवृत्ति अङ्गीकार ग¥यो भने, धेरै ठूलो क्षति हुन्छ र ठूलो प्रतिक्रान्ति हुन्छ । हामीले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा पनि देख्यौँ र आफ्नै आँखा अगाडि पनि देख्यौँ ।”

उहाँले २०७४ को आम निर्वाचन कम्युनिष्टहरुले चालेको ठूलो अग्रगामी कदम रहेको उल्लेख गर्दै उक्त प्रस्ताव आफूहरुले नै गरेको र त्यसको पहिलो प्रस्तावक आफैँ भएको बताउनुभयो ।

“राष्ट्रको स्वाधीनता, राष्ट्रिय एकता, जनताको जनजीविका, सामाजिक न्याय र विकासको आवश्यकतालाई सम्बोधन गर्न पनि कम्युनिष्टहरु एक हुन जरुरी छ”, उहाँले भन्नुभयो । लोकतन्त्रको सुदृढीकरण र गणतन्त्रलाई मजबुत गर्नका लागि पनि कम्युनिष्टहरु एक हुन जरुरी रहेको प्रधानमन्त्रीको भनाइ थियो ।

उहाँले बिना आग्रह पूर्वाग्रह विचारधारात्मक रुपले समीक्षा गर्दै राष्ट्रको हितमा एकताको नयाँ पहलका लागि वामपन्थी कम्युनिष्टलाई आह्वान पनि गर्नुभयो । उहाँले अगाडि भन्नुभयो, “एकताबद्ध भएर मात्र हामी कम्युनिष्ट आन्दोलनप्रति इमान्दार हुनसक्छौँ । अहिले हामी कम्युनिष्ट पार्टीहरु कहाँबाट सुरु गर्ने भन्ने छलफलमा छौँ । अहिले राष्ट्रको आवश्यकता, रााष्ट्रियता, जनतन्त्र जनजीविका, विकासको आवश्यकता र दलाल पूँजीवादको विरुद्ध सङ्घर्षको आवश्यकता महसुस गर्नेहरु सबै एउटा मोर्चामा आबद्ध भएर एउटा सन्देह दिऔँ ।” उहाँले छिट्टै समाजवादी मोर्चा गठन गरिने र नेकपातिर फर्कनका लागि सबैलाई अपिल गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समान विचार भएका कम्युनिष्ट पार्टीका बीचमा छिट्टै समाजवादी मोर्चा बनाएर एकताको प्रक्रिया अगाडि बढाइने बताउनुभयो । उहाँले मोर्चाका लागि प्रधानमन्त्रीसमेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत पहल गरिरहनु भएकाले छिट्टै सार्थकता पाउने विश्वास व्यक्त गर्नुभयो ।

विचार, नीति, सिद्धान्त, राजनीतिक कार्यदिशा, सङ्गठनात्मक सोच, कार्यशैली र मन मिल्ने पार्टीबीच छिट्टै एउटै पार्टी बनाउने गरी तयारी भइरहेको पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले बताउनुभयो । “विचार, नीति, सिद्धान्त, राजनीतिक कार्यदिशा, सङ्गठनात्मक सोचहरु, कार्यशैली पनि व्यवस्थापन गर्न सकियो भने, मन पनि मिल्यो भने हामी एउटै पार्टी हुन सक्छौँ”, उहाँले भन्नुभयो ।

अध्यक्ष नेपालले वामपन्थी कम्युनिष्ट एकापसमा मिलिदिए हुन्थ्यो भन्ने जनताको भावना रहेकाले त्यो दिन धेरै टाढा नभएको बताउनुभयो । राष्ट्रिय समस्या समाधानका लागि वामपन्थी शक्तिबीचको एकता जरुरी रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव गङ्गालाल तुलाधर, पुराना वामपन्थी नेता चन्द्रदेव जोशी लगायतको उपस्थिति थियो ।

प्राविधिक समस्याले केही बिजुली काटिएको हुनसक्छ : प्राधिकरण

काठमाडौँ – बढ्दो सुक्खायामका कारण खोला तथा नदीमा जलसतह घट्दा नदीप्रवाही जलविद्युत् आयोजनाको विद्युत् उत्पादन करिब २५ प्रतिशतको हाराहारीमा सीमित हुन पुगेको छ ।

झण्डै दुई सय मेगावाट बिजुली उत्पादन गर्ने काबेली करिडोरको पछिल्लो उत्पादन झण्डै ३० मेगावाटको हाराहारीमा छ । सोही कारण बिजुली आपूर्तिमा समस्या देखिँदा पूर्वका केही उद्योगमा समस्या देखिएको छ ।

यद्यपि, पूर्णरुपमा बिजुली काटिएको भनेर उद्योगी तथा व्यवसायीले लगाएको आरोपमा प्राधिकरणले भनेको छ, “पूर्णरुपमा बिजुली काटिएको होइन, पूर्ण क्षमतामा नचलाउनुस् भनिएको हो । ‘लाइट लोड’ कायम छ ।” विराटनगर क्षेत्रमा उद्योगी तथा व्यवसायीले प्राधिकरणले लोडसेडिङ गरेको भन्दै विरोध गरेका छन् ।

प्राधिकरणले आज पनि विराटनगर क्षेत्रमा नियमित रुपमा बिजुली आपूर्ति गरेको छ । कुनै पनि समस्या नरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुक्खायाममा औद्योगिक क्षेत्रको लोडसेडिङ गतवर्ष भन्दा सहज अवस्थामा छौँ । एकाध क्षेत्रमा केही प्राविधिक समस्या देखिएको थियो । त्यो समाधान भइसकेको छ ।”

धेरै ठाउँबाट आयात गर्न सक्ने अवस्था नभएका कारणले पनि केही जटिलता स्वभाविक रुपमा पैदा भएको जानकारी दिँदै उहाँले भन्नुभयो, “उद्योगले विगत केही समयदेखि लोड काटियो भनेर उजुरी गरेका थिए । रुपैनीमा प्राविधिक समस्या देखिएको थियो । सोही कारण पूर्वाञ्चलमा समस्या भएको हो । अहिले कुनै जटिलता छैन ।”

बिजुली नभएर भन्दा पनि प्रसारण लाइनको क्षमता अभावमा ‘ओभरलोड’ भएर समस्या भएको भए पनि अहिले सामान्य भइसकेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । गतवर्ष वैशाखको पहिलो साता कूल जडित क्षमता दुई हजार मेगावाट बराबर थियो । यस पटक जडित क्षमता दुई हजार छ सय मेगावाट बराबर पुगेको छ । तर यसवर्ष तर हिउँ कम परेकाले पनि नदीमा जल सतह घटन गई उत्पादन घटेको छ ।

यसवर्ष जडित क्षमतामा वृद्धि भएको भए पनि गत वर्षको तुलनामा २५ देखि ३० प्रतिशत उत्पादन घटेको छ । निजी क्षेत्रका आयोजना औसतमा १५ प्रतिशत हाराहारीको क्षमतामा मात्रै चलिरहेका छन् । औद्योगिक ग्राहकको विद्युत् माग बढेको छ । त्यो माग सात सयदेखि आठसय मेगावाट बराबर छ ।

तराईमा पानी नपर्दा सिँचाइमा प्रयोग हुने बिजुलीको खपत बढेको छ । कार्यकारी निर्देशक घिसिङका अनुसार अहिले सिँचाइका लागि एक सय ५० देखि दुई सय मेगावाटसम्म बिजुली खपत भइरहेको छ । अहिले भारतमा पनि विद्युत् माग बढेकाले भारतले बेलुका सात बजेदेखि राति २÷३ बजेसम्म बिजुली नपठाउने गरेको छ । ढल्केबर– मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनबाट मागअनुसार बिजुली आयात गर्न सकिने भए पनि पूर्व–पश्चिम जाने प्रसारण लाइनको क्षमताका कारण सम्भव नभएको उहाँको भनाइ छ ।

आगामी एक वर्षभित्र निर्माणाधीन हेटौँडा– ढल्केबर– इनरुवा प्रसारण लाइनको निर्माण सक्ने प्राधिकरणको योजना छ । सो प्रसारण लाइनको क्षमता चार सय केभीको छ । यस्तै, हेटौँडा– भरतपुर– बर्दघाट प्रसारण लाइन पनि आगामी वर्षभित्र सम्पन्न हुनेछ । सो प्रसारण लाइनको क्षमता दुई सय २० केभी क्षमताको छ ।

उद्योगी व्यवसायीलाई बिहान बेलुका कम चलाउन आग्रह गरिएको र त्यसैलाई बिजुली पाइएन भनेर गलत प्रचार गर्नुको अर्थ नभएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

“प्रि–मनसुन सुरु हुनुअघि समस्या हुनसक्छ । तर अर्को वर्षको सुक्खा समयमा यो समस्या आउँदैन”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो । प्रसारणलाइनका कारणले छोटो समयका लागि समस्या देखिएको हो । केही समयपछि फेरि हामी निर्यातमा जानुपर्ने उहाँको भनाइ छ ।

“कम्तीमा पनि एक हजार मेगावाट बिजुली निर्यात गर्नैपर्छ । त्यसका लागि आवश्यक तयारी भइरहेको छ”, उहाँले भन्नुभयो । प्राधिकरणले कूल चार सय ५२ मेगावाट बिजुली भारत निर्यात गरेको थियो ।

अझै एक दर्जन आयोजनाको बिजुली निर्यातका लागि अनुरोध गरिएको छ । उहाँले सन् २०५० सम्मको आपूर्ति व्यवस्थापनका लागि प्रसारण, सवस्टेशन निर्माणका लागि रु १० खर्ब बराबरको लगानी जरुरी रहेको जानकारी दिनुभयो । हाल दैनिक अवस्था हेरी पाँच सय मेगावाट बराबरको बिजुली आयात भइरहेको छ ।

स्टक एक्सचेन्ज र कमोडिटी मार्केटको लाइसेन्सका लागि आवेदन

काठमाडौँ – धितोपत्र बजारमा नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनका लागि इजाजत लिन समान दुई-दुईवटा कम्पनीको आवेदन परेको छ ।

नयाँ स्टक एक्सचेन्ज र कमोडिटी मार्केटको इजाजत पत्र लिनका लागि आवदेन दिने आज अन्तिम दिन रहेकोमा चारवटा कम्पनीको आवेदन दर्ता भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

“कमोडिटी मार्केटका लागि मेक्स नेपाल र मल्टिडेरिभेटिभ एक्सचेन्जको आवेदन परेको छ भने नयाँ स्टक एक्सचेन्जका लागि हिमालयन स्टक एक्सचेन्ज र नेशनल स्टक एक्सचेन्ज अफ नेपालको आवेदन परेको छ”,बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले जानकारी दिनुभयो ।

सर्वोच्च अदालतको गत चैत २६ गतेको फैसलाले नयाँ स्टक कम्पनी, कमोडिटी मार्केट र धितोपत्र कारोबारका लागि नयाँ दलाल व्यवसायी (ब्रोकर) लाइसेन्स जारी गर्न बोर्डलाई बाटो खुलेको थियो ।

धितोपत्र बोर्डले गत असोज २ गते नयाँ स्टक र धितोपत्र दलाल व्यापारीको अनुमतिपत्रका लागि निवदेन मागेको थियो । बोर्डको उक्त निर्णयविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसमेतलाई विपक्षी बनाई अधिवक्ता दीपक विक्रम मिश्रले गत असोज ३१ गते सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो । तर उक्त मुद्दा सर्वोच्चको चैत २६ गतेको फैसलाले खारेज गरेपछि धितोपत्र बोर्डले चैत ३० गते सूचना जारी गर्दै वैशाख १० गतेसम्म आवेदन दिइसक्न भनेको थियो ।

धितोपत्र बजारको विकास तथा विस्तारका लागि नयाँ स्टक एक्सचेन्ज तथा कमोडिटी मार्केट खोल्न र थप ब्रोकर लाइसेन्स खुलाउन आवश्यक रहेको बोर्डले बताउँदै आएको छ । धितोपत्र बजारलाई थप प्रतिस्पर्धी, प्रभावकारी, लगानीकर्तामैत्री एवम् अन्तर्राष्ट्रियस्तरको प्रविधि सहितको बनाउन पनि बजारमा नयाँ स्टक चाहिने बोर्डको भनाइ छ ।

वडाध्यक्ष अधिकारीको निधन

कीर्तिपुर – कीर्तिपुर नगरपालिका–४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको निधन भएको छ । मोटरसाइकल दुर्घटनामा परी सख्त घाइते हुनुभएका उहाँको आज उपचारका क्रममा निधन भएको नगर उपप्रमुख शुभलक्ष्मी शाक्यले जानकारी दिनुभयो ।

अधिकारी यही वैशाख १ गते वडा नं–४ स्थित चम्पादेवी मेलामा सरिक हुन जाँदै गर्दा बा८३प ९४४८ नम्बरको मोटरसाइकल दुर्घटनामा परी घाइते हुनुभएको थियो । उहाँ चढेको मोटरसाइकल पुष्पलाल उद्यान नजिक दुर्घटनामा भएको थियो ।

टाउकोमा गम्भीर चोट लागेका वडाध्यक्ष अधिकारीलाई उपचारका लागि माइतिघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरिएको थियो । उहाँ गत वर्ष वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित हुनुभएको थियो ।

केही दिनभित्रै समाजवादी मोर्चा गठन गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनभित्रै समाजवादी मोर्चा गठन गर्ने घोषणा गर्नुभएको छ ।

कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा नेकपा एकीकृत समाजवादीले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले समाजवादी मोर्चामार्फत नै कम्युनिष्ट ध्रुवीकरण सुरु हुने समेत बताउनुभयो । उहाँले विभिन्न कारणले यसअघि नेकपा दुर्घटना परेको उल्लेख गर्दै लाखौँ कार्यकर्ता र जनताले अनुमोदन गरेको नेकपातर्फ फर्किन पहल गरिने धारणा राख्नुभयो । मोर्चा र एकताको अभियान सुरु गरेपछि एमालेभित्रै पनि डिबेट सुरु हुने प्रचण्डले बताउनुभयो ।

उहाँले आग्रह वा पूर्वाग्रहमा नगई देशको आवश्यकतालाई मध्यनजर गर्दै कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम र बजेट मार्फत देशलाई नयाँ आशा र विश्वास दिने गरी सरकारले तयारी गरिरहेको बताउनुभयो ।

उहाँले आफ्नो विदेश भ्रमण हुन लागेको भन्दै त्यसको तयारीमा लागेको पनि धारणा राख्नुभयो ।

शेयर बजारमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । यो साता कारोबारको पहिलो दिन नेप्से परिसूचक १८ दशमलव ८० अङ्कले घटेर एक हजार आठ सय ८५ दशमलव ६० अङ्कमा कायम भएको हो ।

आज दुई सय ६५ कम्पनीका २७ लाख ३४ हजार तीन सय सात कित्ता शेयर ३१ हजार चार सय १५ पटक खरिद बिक्री हुँदा रू ८२ करोड ८५ लाख ३४ हजार बराबरको कारोबार भएको छ । आज होटल तथा पर्यटन समूहको उपसूचक ११ दशमलव शुन्य सात अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ ।

जीवन बीमा समूहको आज उपसूचक एक सय १८ दशमलव ७४ अङ्कले घटेको छ भने विकास बैंक समूहको उपसूचक ३५ दशमलव ९८ अङ्कले घटेको छ । बैँकिङ समूह १६ दशमलव ७१, वित्त समूह ३२ दशमलव ३०, जलविद्युत् समूह २७ दशमलव ९४, लगानी समूह शून्य दशमलव ५२ र उत्पादन तथा प्रशोधन समूह १४ दशमलव ३९ अङ्कले घटेको छ ।

त्यसैगरी लघुवित्त समूह २९ दशमलवशुन्य आठ, म्युर्चुअल फन्ड शून्य दशमलव शुन्य एक, निर्जीवन बीमा समूह २९ दशमलव ५४, व्यापार समूह ३१ दशमलव २३ र अन्य समूह एक दशमलव ९९ अङ्कले घटेको छ । नेप्सेको आजको कारोबारमा सनराइज ब्लुचिप फन्ड, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सनराइज फोकस्ड इक्विटी फन्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र शेयर सङ्ख्यामा आज सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको रू तीन करोड ११ लाख ९५ हजार बराबरको एक लाख २० हजार पाँच सय १२ कित्ता शेयर खरिद बिक्री भएका छन् ।

रास्वपाले माफी मागेपछि चितवनमा मतदान सुरु

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले आचार संहिता उलंघन गरेको स्वीकार गरेर माफी मागेर निर्वाचन आयोग पठाउने सहमति पछि नयाँ किरण माविमा निर्वाचन सुचारु हुने भएको छ ।

भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा रोकिएको मतदान सुरु भएको हो ।

सत्ता साझेदार दल र नेकपा एमालेका कार्यकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले मतदान कार्य प्रभावित पारेको भन्दै माफी माग्नुपर्ने अडान राखेको थियो।

रवि लामिछाने भरतपुर–१२ को मोहन माविबाट नयाँ किरण मावि भोजाडमा जाँदा उनका समर्थकहरूले पक्षमा नारावाजी गरेका थिए । मतदानस्थलमा नाराबाजी गरेको भन्दै त्यसको विरोध अन्य दलले गरेपछि तनाव उत्पन्न भएको थियो ।

खाद्यले उचित मूल्य नदिएपछि गाउँमै गहुँ बिक्री गर्दै किसान

बेदकोट – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान चेतराज चौधरीले यसपटक खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई गहुँ बेच्नुभएन । उत्पादित ५३ क्विन्टल गहुँ उहाँले गाउँमै बिक्री गर्नुभयो ।

खाद्यले निर्धारण गरेको गहुँको मूल्यभन्दा राम्रो मूल्य गाउँमै पाएपछि खाद्यलाई गहुँ बिक्री नगरिएको कृषक चौधरीले बताउनुभयो । “गाउँमै गहुँको राम्रो मूल्य पाइयो, “हामीले रु चारहजारदेखि रु चार हजार दुईसय प्रतिक्विन्टलका दरले गाउँमै गहुँ बेचिरहेका छौँँ”, कृषक चौधरीले भन्नुभयो, “खाद्यले गहुँको मूल्य चलनचल्तीभन्दा धेरै कम निर्धारण गरेको छ ।”
खाद्यले यस वर्ष गहुँको मूल्य प्रतिक्विन्टल रु तीन हजार तीन सय रुपैयाँ ५१ पैसा निर्धारण गरेको छ । ग्रामीण भेगमा गहुँ प्रतिक्विन्टल रु चार हजारदेखि रु चार हजार दुई सयसम्ममा खरिद बिक्री भइरहेको छ । “विगत वर्षभन्दा यसवर्ष गहुँको उत्पादन राम्रो भएको छ, गाउँमै किसानले मूल्य पनि पाएका छन्” किसान चौधरीले भन्नुभयो, “त्यसैले गहुँ बिक्रीका लागि खाद्यसम्म पुगेका छैनन्, गहुँको मूल्य अझै बढ्नसक्छ ।”

किसानले गाउँमै गहुँको मोल पाउन थालेपछि खाद्यलाई बिक्री नगरेर गाउँमै बिक्री गरिरहेका छन् । गहुँ खरिद गर्ने सरकारी निकाय खाद्यले गहुँको मूल्य बजारमा चलनचल्तीभन्दा कम निर्धारण गरेकोले हालसम्म गहुँ खरिद नै गर्न सकेको छैन । उक्त संस्थाले गत चैत १४ मा मूल्य निर्धारण गरेर १६गते देखि गहुँ खरिद गर्ने निर्णय गरेकामा हालसम्म गहुँ खरिद नै नभएको कम्पनीका निमित्त प्रमुख तपेन्द्र उपाध्यायले बताउनुभयो ।

“हाम्रोभन्दा बढी मूल्य बजारमा छ, त्यही भएर हामीकहाँ गहुँ आएको छैन”, उहाँले भन्नुभयो, “त्यसैले यो निर्णय पुनःविचार गर्न आग्रह गरेका छौँ, गहुँको चलनचल्तीको मूल्य रु चार हजार उल्लेख गरेर पठाएका छौँ ।”कञ्चनपुरमा यसवर्ष ३२ हजार दुई सय १० हेक्टर
जमिनमा गहुँखेती गरिएको छ । यसपटक जिल्लामा गहुँको उत्पादन बढ्ने अनुमान गरिएको छ । समयमै खेती, सिँचाइ र उन्नत बिउँबिजनको प्रयोगले यसपटक गहुँको उत्पादन बढ्ने अनुमान रहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले बताउनुभयो ।

“यसपटक तुसारो पनि परेन, बालीलाई त्यस्तो क्षति गरेको छैन”, उहाँले भन्नुभयो, “समयमै सिँचाइ र उन्नत बीउँको प्रयोग भएकाले यसपटक उत्पादन बढ्ने अनुमान गरेका छौँ ।”यसवर्ष तीनदेखि साढे तीन मेट्रिकटन प्रतिहेक्टर गहुँ उत्पादन हुने केन्द्रको अनुमान छ । कञ्चनपुरमा ३१ हजार दुई सय १० हेक्टर जमिनमा गहुँ खेती हुने गरेको छ ।

गतवर्षको औसत उत्पादन तीन मेट्रिक टन प्रतिहेक्टर रहेकामा ९४ हजार मेट्रिकटन गहुँ उत्पादन भएको थियो । जिल्लाको भीमदत्त, बेदकोट, दोधारा चाँदनी, शुक्लाफाँटा, कृष्णपुर, बेलडाँडी, बेलौरी, पुनर्वास र लालझाडीमा गहुँखेती हुने गरेको छ ।

उपनिर्वाचन : तनहुँमा ३५ प्रतिशत मत खस्यो

दमौली – प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नं १ मा दिउँसो १ः४५ बजेसम्म ३५ प्रतिशत मतदान भएको छ ।

निर्वाचन कार्यालय तनहुँका अनुसार बिहान ७ बजेदेखि मतदान सुरु भएकामा करिब सात घण्टामा ३५ प्रतिशत मत खसेको हो । यस क्षेत्रमा एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेकामा ४३ हजार एक सय ५६ मत खसेको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार एक सय ५२ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान चलिरहेको छ । निर्वाचन क्षेत्रमा व्यास नगरपालिकाका ५ र ६ बाहेक १२ वडा, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिका पर्दछ । उपनिर्वाचनमा सबैभन्दा बढी मतदाता भानु नगरपालिकामा छन् ।

भानु नगरपालिकाका १३ वडामा ४० हजार आठ सय ४४ मतदाता छन् । भानुमा २१ मतदानस्थल र ५० मतदान केन्द्र रहेका छन् । त्यस्तै कम मतदाता देवघाट गाउँपालिकामा रहेको कार्यालयले जनाएको छ । देवघाटका पाँच वडामा १२ हजार सात सय १२ मतदाता छन् ।

देवघाटमा आठ मतदानस्थल र १५ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै आँबुखैरेनी गाउँपालिकाका छ वडामा १३ हजार छ सय २२ मतदाता कायम भएका छन् । आँबुखैरेनीमा नौ मतदानस्थल र १७ मतदान केन्द्र छन् । बन्दीपुर गाउँपालिकाका छ वडामा १५ हजार छ सय ७८ मतदाता कायम भएका छन् । बन्दीपुरमा ११ मतदानस्थल र२२ मतदान केन्द्र छन् ।

व्यास नगरपालिकाका वडा नम्बर ५ र ६ बाहेकका १२ वडामा ४० हजार चार सय ४९ मतदाता छन् । व्यासमा २० मतदानस्थल र ४८ मतदान केन्द्र छन् । तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएपछि रिक्त ठाउँमा उपनिर्वाचन गरिएको हो ।

उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेसबाट गोविन्द भट्टराई, नेकपा ९एमाले०बाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा स्वर्णिम वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार चुनावी मैदानमा हुनुहुन्छ ।

साथै, बारा निर्वाचन क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा दिउँसो साढे २ बजेसम्म ४० प्रतिशत मतदान भएको छ । निर्वाचन शान्तिपूर्ण अवस्थामा सञ्चालन भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो ।

चितवनमा एमाले सचिव सैलेस खनालमाथि आक्रमणको प्रयास,मतदान राेकियाे

काठमाडौं – चितवन जिल्ला सचिव सैलेस खनालमाथि आक्रमणको प्रयास भएको छ । नवकिरण कमलकुसुम मावि मतदान केन्द्रमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिइरहेको बेला उनीमाथि रास्वपाको समर्थकहरुद्वारा आक्रमणको प्रयास भएको हो ।

उक्त निर्वाचन केन्द्रमा दुई पक्षबीच विवाद हुँदा मतदान रोकिएको छ । नवकिरण कमलकुसुम मावि मतदान केन्द्रमा दुई पक्षबीच झडप भएपछि मतदान रोकिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरुले नाराबाजीसहित मतदानस्थलमा प्रवेश गरेपछि एमाले र गठबन्धन दलका समर्थकले त्यसको विरोध गर्ने क्रममा झडपको स्थिति बनेको हो ।

त्यस क्रममा केही कार्यकर्ता पक्राउ परेका छन् । उक्त मतदान केन्द्रमा नेपाली सेना पुगिसकेको भएपनि अझै मतदान सुरु हुन सकेको छैन । मतदाताहरुले शान्ति सुरुक्षा कायम गर्न माग गर्दै नाराबाजी गरेका छन् । राजनीतिक दलका प्रतिनिधि र सुपरिवेक्षकबीच पनि विवादको अवस्था सिर्जना भएको छ । उक्त मतदानस्थलमा अहिले सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

उपनिर्वाचन: बारा–२ मा १ बजेसम्म २२ प्रतिशत मतदान

बारा – बारा क्षेत्र नं २ मा आज दिउँसो १ बजेसम्म २२ प्रतिशत मतदान भएको भएको छ । बारा क्षेत्र नं २ को सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको र १ बजेसम्ममा २२ प्रतिशत मतदान भइसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो ।

गर्भवती, अशक्त, ज्येष्ठ नागरिकले लाइनमा बस्नु नपर्ने र उनीहरुलाई पहिलो प्राथमिकता दिएर मतदान गर्ने व्यवस्था मिलाइएको छ । स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न जिल्लाको निर्वाचन क्षेत्र नं २ मा दुई हजार छ सय पाँच सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसक्षेत्रमा निर्वाचनका लागि एक हजार छ सय ८८ नेपाल प्रहरी, छ सय पाँच सशस्त्र प्रहरी र तीन सय नेपाली सेनालाई निर्वाचनमा परिचालन गरिएको छ । बदनियतपूर्वक कसैले मतपेटिका चलाउन वा धाँधली गर्न खोजेको अवस्थामा त्यस्ता व्यक्तिलाई सिधै गोली हान्नसक्ने गरी सुरक्षाकर्मीलाई निर्देशन दिइसकेको प्रजिअ सापकोटाले बताउनुभयो ।

यसैबीच निर्वाचन विथोल्ने कार्य गरेको भन्दै देवताल गाउँपालिका–७ पीपरपाती बुथ केन्द्रबाट छ जना पक्राउ परेका छन् । पक्राउपर्नेमा रौतहट जिल्ला बौधीमाई गाउँपालिका–४ निवासी ४७ वर्षीय वृजकिशोरप्रसाद यादव, रौतहत वृदावन नगरपालिका–१ निवासी ४२ वर्षीय दायाराम राउत, सोही नगरपालिका–४ निवासी ३५ वर्षीय उमेश यादव,े प्रसौनी गाउँपालिका–४ निवासी ३८ वर्षीय मङ्गलप्रसाद साह र देवताल गाउँपालिका–७ निवासी ६२ वर्षीय रामसागर यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पुरुषोत्तम सिँह पाण्डेयले जानकारी दिनुभयो ।

उक्त क्षेत्रको ८२ मतदानस्थलमा एक सय ३८ मतदान केन्द्र तोकिएकामा ६५ वटा मतदानस्थल अतिसंवेदनशील र १७ वटा समान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । महागढी नगरपालिका, पचरौता नगरपालिका, करैयामाई गाउँपालिका, सुवर्ण गाउँपालिका र देवताल गाउँपालिकाको ४४ वटा वडा समेटिएको सो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कूल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोजकुमार चौधरीले जानकारी दिनुभयो । यस क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

 लाइभमा आउँदै रवि लामिछानेले भने-साथीहरू एक माघले जाडो जाँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रको कुरा गर्ने राजनीतिक दलहरूलाई इतिहासले मूल्यांकन गर्ने बताएका छन्। 

आइतबार चितवनको भरतपुर–११ स्थित नयाँकिरण माविमा अवलोकनका लागि पुगेका उनीमाथि हुलहुज्जत भएपछि फेसबुक लाइभमार्फत लोकतन्त्रको सुन्दर पक्षलाई नजरअन्दाज, हुलहुज्जत गरे इतिहासको मूल्यांकन गर्ने बताएका हुन्। 

उनले भनेका छन्, ‘सबैजनालाई संयमित हुनुहोला। यतिखेर हामीसँग मतदान बाहेक विकल्प छैन। लोकतन्त्रको सुन्दर पक्ष मतदान हो। अन्य राजनीतिक दलले के तयारी गरिरहेका छन् थाहा छैन। राजनीतिक दलहरूलाई लोकतन्त्रको सुन्दरताको कुरा गरिरहनुभएको छ। यो पक्षलाई नजरअन्दाज, हुहुज्जत गर्नुभयो भने इतिहासको मूल्यांकन गर्नेछ।’ 

सभापति लामिछानेले अन्य राजनीतिक दलहरूको गलत हर्कतलाई चितवन वासीले हेरिरहेकाले एक माघले जाडो नजाने चेतावनी दिएका छन्। 

‘साथीहरू एक माघले जाडो जाँदैन। चितवन बासीले तपाईंहरूलाई हेरिरहेका छन्।  हामीले मतदाताको भरमा ममाथि भएको षड्यन्त्र र घेराबन्दीलाई मतदाताले हेरिरहेका छन्,’ उनले भनेका छन्। 

सभापति लामिछानेले चितवनलाई संसारले हेरिरहेकाले आफू पनि संयमित भएको बताएका छन। उनले आफ्ना पार्टीका समर्थकहरूलाई संयमित भएर उपनिर्वाचनमा खटिन पनि निर्देशन दिएका छन्। 

‘मभित्र ज्वाला बलेको छ। तर, संयमित भएको छु। तपाईंहरू पनि संयमित रहनुहोला,’उनले भने। 

रास्वपाका अधिकांश सांसद र नेताहरु युवा संघ र एमालेको स्कुलिङबाटै आएका हुन् : महेश बस्नेत

काठमाडाैँ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश सांसद र नेताहरु एमाले र युवासंघको स्कुलिङबाट आएकाहरू भएको बताउनुभएको छ ।

नेपालगञ्ज महाधिवेशनबाट युवा संघको अध्यक्षमा निर्वाचित क्षितिज थेबेको पदभार ग्रहणका क्रममा बस्नेतले यस्तो बताउनुभएको हो।

राष्ट्रिय युवा संघ नेपालको नवनिर्वाचित अध्यक्ष क्षितिज थेबेको पदभार कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ पार्टीहरूमा पनि युवा संघका नेताहरू सांसद बनेका बताउनुभयो ।

उहाँले अहिले एमालेमा कुनै गुट नभएको जिकिर गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीको लक्ष्य र उद्देश्य पूरा गर्न आफूहरू समाहित भएर लाग्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक समीकरण फेरेर राजनीतिक वेश्यावृत्ति गरेको आपोप लगाउनु भयो । उहाँले भन्नुभयो, ‘प्रचण्ड कमरेडले तनहुँ र चितवन लगायतमा बोल्नुभएको थियो। हामी एमालेसँग सहकार्य गरिरहेका थियौँ, मेरो ध्यान शेरबहादुर देउवातिर थियो । देउवासँग मेरो ‘डिप लभ’ परेको थियो भन्नुलाई राजनीतिक वेश्याको उपमा दिँदा हुन्छ। प्रचण्डको उक्त राजनीतिक प्रवृत्तिविरुद्ध युवा संघ लड्छ।’

पाल्पा वस दुर्घटना अपडेट : एकको मृत्यु,३८ घाइते

ढोरपाटन – बुटवलदेखि बागलुङको बुर्तिबाङ आउँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको छ ।

आज बिहान बुटवलदेखि बुर्तिबाङतर्फ आउँदै गरेको लु१ख ५९५६ नम्बरको बस पाल्पाको तिनाउ गाउँपालिका–५ जोरधारा नजिकै बिहान ९ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमेन्द्र शर्माले जानकारी दिनुभयो । मृत्यु हुनेको पहिचान नखुलेको शर्माको भनाइ छ ।

घाइते सबैलाई लुम्बिनी मेडिकल कलेजमा पठाइएको शर्माले जानकारी दिनुभयो । घाइते अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बस भिरमा अड्किएको बताइएको छ ।

चितवनमा रवि लामिछानेमाथि नाराबाजी गरेको भन्दै मतदान स्थगित

चितवन – चितवन क्षेत्र नं २ को उपनिर्वाचनका क्रममा एक मतदानस्थलमा मतदान प्रक्रिया स्थगित भएको छ । भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा मतदान स्थगित भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएसँगै बिहान ११ः३० बजेबाट मतदान स्थगित भएको हो । यस स्थलमा सात केन्द्रबाट मतदान भइरहेको थियो । अहिले मतदानस्थलमा छलफल जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले जानकारी दिनुभयो । नाराबाजी गरेसँगै आचारसंहिता कार्यान्वयन नभएको आरोप अन्य दलका प्रतिनिधिले लगाएका छन् ।

सर्वदलीय बैठक बसेर मतदान प्रक्रिया सुरु गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बैठकको तयारी भइरहेको छ, जटिल समस्या नभएकाले बैठकपछि मतदान सुरु हुन्छ ।” यसैबीच आज जारी उपनिर्वाचनका क्रममा अहिले १२ बजेसम्म ३७ प्रतिशत मत खसेको आचार्यले बताउनुभयो । आज बिहान ७ बजेबाट मतदान जारी छ । यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान जारी रहेको छ ।

आज बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ ।

यहाँ एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन् । त्यसमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक तेस्रो लिङ्गी रहेका छन् । यस क्षेत्रमा लोकतान्त्रिक–बाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा (एमाले)बाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट लामिछानेसँगै २२ उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले सांसद पदच्युत गरेपछि उपनिर्वाचन हुन लागेको हो ।

कांग्रेस उम्मेदवार भट्टराईलाई २४ घण्टे स्पष्टिकरण  (पत्रसहित)

तनहुँ – जिल्ला आचारसंहिता अनुगमन समितिले तनहुँले कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई आचारसंहिता उल्लंघन गरेको आरोपमा २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । 

तनहुँ–१ उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार भट्टराईले ७ वैशाखको मध्यराति १२ बजेपछि प्रचार प्रसार निषेधको अवधि सुरु भइसकेपछि निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ (ग) प्रतिकूल हुने गरी मोबाइल नम्बर ९८८०२९८८०२ बाट भ्वाइस मेसेजमार्फत मत मागेको सूचना प्राप्त भएको भन्दै समितिले स्पष्टीकरण सोधेको छ ।

‘आचारसंहिता प्रतिकूल हुने गरी मत माग्नु भएको हो होइन ?’ मुख्य निर्वाचन अधिकृतको कार्यालय, तनहुँ, दमौलीमा आफैँ वा प्रतिनिधि मार्फत उपस्थित भइ २४ घण्टाभित्र स्पष्टिकरण पेस गर्न भनिएको छ ।

रौतहटमा निर्वाचन बिथोल्न खोज्ने ६ जना पक्राउ

बारा – बारा निर्वाचन क्षेत्र नम्बर २ को उप निर्वाचन बिथोल्न खोज्ने छ जनालाई  प्रहरीले नियन्त्रणमा लिएको  छ ।  देवताल गाउँपालिका वडा नम्बर ७ पिपरपाती बुथ केन्द्रमा निर्वाचन बिथोल्न सक्रिय उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरूमा रौतहट जिल्ला बौधीमाई नगरपालिका  वडा नम्बर ४ बस्ने बर्ष ४७ का बृजकिशोर प्रसाद यादव, रौतहट बृदाबन नगरपालिका वडा नम्बर १ बस्ने वर्ष ४२ का दयाराम राउत, सोही नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष ३५ का उमेश यादव, बारा जिल्ला प्रसौनी गाउँपालिका वडा नम्बर ४ निवासी वर्ष ३८ को मङ्गल प्रसाद साह र बारा देवताल गाँपा वडा नम्बर ७ बस्ने वर्ष ६२ को रामसागर यादव रहेको प्रहरी प्रवक्ता पुरुषोत्तम सिंह पाण्डेयले जानकारी दिनुभयो । 

बारा २ मा अहिलेसम्म २० प्रतिशत मत खसेको प्रमुख निर्वाचन अधिकृत मुकेश उपपाध्याले जानकारी दिनुभयो । यहाँ  १ लाख ५ हजार २ सय ४८ मतदाता रहेका छन् । 

पिपरपाती बुथ बाहेक १ सय ३७ मतदान केन्द्रमा शान्ति पूर्वक मतदान भई रहेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो । 

सुनको भाउ ९०० रुपैयाँ घट्यो

काठमाडौं – साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मूल्य नेपाली बजारमा घटेको छ। यसअघि शुक्रबार तोलामा ४०० रुपैयाँ बढेको सुनको मूल्य आइतबार प्रतितोला ९०० रुपैयाँ घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँकायम गरिएकाे छ । यस्तै तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। 

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आइतबार चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ। आइतबार चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

नेपालमा उत्पादित सवारीसाधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा बनेका सवारीसाधन दर्ता प्रक्रियाका लागि कानुनको मस्यौदा छिट्टै अगाडि बढाउन तथा प्रोत्साहनको नीति ल्याउन निर्देशन दिनुभएको छ ।

आज बिहान सरकारका मुख्यसचिव शङ्करदास बैरागीलाई नेपालमा बनेका सवारीसाधन दर्ता नभएको भन्ने गुनासो आएको उल्लेख गर्दै नागरिकको गुनासो सम्बोधन हुनेगरी दर्तासम्बन्धी कानुनको तयारी गर्न र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्न निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री दाहालले ‘यात्री’लगायत नेपालमै उत्पादित सवारीसाधनले दर्ता भई काम गर्न नपाएको भनि सञ्चारमाध्यममा आएका गुनासोप्रति आफू गम्भीर रहेको भन्दै सोका लागि आवश्यक कार्यविधिलाई छिटो टुङ्गोमा पु¥याउन मुख्य सचिवलाई निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री दाहालको निर्देशनलगत्तै मुख्यसचिव बैरागीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीलाई तत्कालै नेपालमा उत्पादित सवारीसाधनको दर्ता एवं प्रवद्र्धनसम्बन्धी कानुनको मस्यौदा बनाइ पेस गर्न निर्देशन दिनुभएको छ ।

बढ्न थाल्यो सिमेन्ट निर्यात

काठमाडौँ – चालू आर्थिक वर्षका नौ महिनामा नेपालले रु ४२ करोड बढीको नेपाली सिमेन्ट निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको चैतसम्मको तथ्यांक अनुसार नेपालले यस अवधिमा रु ४२ करोड ३२ लाख ८९ हजार बराबरको सिमेन्ट र क्लिंकर निर्यात गरेको हो ।

समीक्षा अवधिमा रु २३ करोड ७२ लाख ७३ हजार बराबरको क्लिंकर र रु १८ करोड ५९ लाख १६ हजार बराबरको सिमेन्ट निर्यात भएको हो । सो अवधिमा दुई लाख ७२ हजार तीन सय २८ टन क्लिङ्कर र एक लाख ९२ हजार एक टन सिमेन्ट निर्यात भएको छ ।

सरकारले चालु आवको बजेटमा निर्यातमा छुटको घोषणा गरेसँगै दुई सिमेन्ट उद्योगले भारतमा सिमेन्ट निर्यात गर्दै आएका छन् । गत असार २४ गतेदेखि पाल्पा सिमेन्टको तानसेन र असोज ३१ गतेदेखि अर्घाखाँची सिमेन्ट भारत निर्यात सुरु भएको हो ।

नियमित निर्यात
पाल्पा र अर्घखाँची सिमेन्टरले भारतका विभिन्न सहरमा नेपाली सिमेन्ट निर्यात भैरहेको बताएका छन् । अर्घखाँची सिमेन्ट उद्योगका सञ्चालक राजेश अग्रवालले ठूला चाडपर्वमा निर्यातमा केही सुस्तता आएपनि हाल नियमित रुपमा निर्यात भइरहेको बताउनुभयो ।

“ठूला चाडपर्वका कारण केही सुस्तता भएको थियो, नयाँ सामग्री, नयाँ ब्राण्ड, नयाँ बजार भएपछि हामीसँगै ग्राहकले बुझन समेत केही समय लाग्छ, नयाँ स्थानमा पिकअप लिन केही समय लाग्यो”, उहाँले भन्नुभयो ।

अर्घाखाँची ब्राण्डको सिमेन्ट पनि हाल भारतको युपी सहरमा निर्यात भइरहेको छ । पाल्पा सिमेन्टले गत असार २४ गते श्री स्टीलले साउन ४ गते तथा अर्घखाँची सिमन्टले गत असोज ३१ गतेदेखि नेपाली उत्पादन भारत निर्यातको सुरु गरेका हुन ।

सरकारले सिमेन्ट, स्टील लगायत सामान निर्यातमा ८ प्रतिशत अनुदान र वार्षिक रु दश करोड बढीको विद्युत खपत गर्ने उद्योगलाई २ देखि १५ प्रतिशतसम्म महसुलमा छुट दिने घोषणा गरेको थियो । चालु आर्थिक वर्षको बजेटमार्फत् सो व्यवस्था गरेको थियो । त्यसका लागि कार्यविधि पनि बनिसकेको छ ।

सिमेन्ट उत्पादक सङ्घले सरकारले सिमेन्ट निर्यातमा छुटको घोषणा गरेपछि भारतको विभिन्न सहरमा निर्यात सुरु भएको हो । भारत सरकारबाट सिमेन्ट निर्यातमा गुणस्तर प्रमाणपत्रको पर्खाइमा धेरै सिमेन्ट उद्योग रहेको सङ्घले जनाएको छ । नेपाली सिमेन्ट उद्योगले भारत निर्यातका लागि भारत सरकारबाट गुणस्तर प्रमाणित प्रमाणपत्र लिनुपर्नेछ ।

सिमेन्ट उत्पादक सङ्घको तथ्यांकअनुसार नेपालमा ६० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन् । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएका छन् । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झण्डै २ करोड २० लाख टन जति रहेको अनुमान छ ।

निर्यात र विद्युत महसुलमा छुट पाउने भएपछि उद्योगीहरु उत्साहित भएका छन् । सरकारको उक्त छुटसँगै पाल्पा र अर्घाखाँची सिमेन्टपछि जगदम्बा, सर्वोत्तम र सौर्य लगायत सिमेन्ट उद्योग पनि निर्यातको तयारीमा छन् ।

बारा–२ : दुईवटा मतपत्र खसाउन खोजेपछि जसपा नेता पक्राउ

काठमाडौं – दुईवटा मतपत्र लिएर मतदान केन्द्रमा पुगेपछि बारा–२ बाट जनता समाजवादी पार्टीका नेता पक्राउ परेका छन्।

जिल्ला समन्वय समितिका सदस्य समेत रहेका रामसागर यादवलाई प्रहरीले पक्राउ गरेकाे हो। 

उनलाई बाराको देवताल गाउँपालिका वडा ७ स्थित वडा कार्यालय पिपरवती जब्दीमा रहेको मतदान केन्द्रबाट पक्राउ गरिएको हो। 

यादवले स्वस्तिक छाप लगाएको दुईवटा मतपत्र मतपेटिकामा खसाउन खोजेपछि पक्राउ गरिएको हो। 

मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई सोधियो स्पष्टीकरण

काठमाडौँ – निर्वाचन आयोगले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ । उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

आयोगले बारा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचन भइरहेको अवस्थामा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत हुने गरी उहाँलाई के-कति कारणबाट पचरौता नगरपालिका क्षेत्रमा जानुभएको हो ? भनी स्पष्टीकरण सोधेको हो ।

“तपाईं त्यहाँ जाँदा प्रयोग गरेको सवारीसाधन र सुरक्षा व्यवस्था सरकारी हो, होइन ? तपाईंको यो कार्यले पदको गरिमा र निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को उल्लङ्घन हुन्छ, हुँदैन ? निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकामा तपाईँलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारबाही किन नगर्ने ?”, आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ । आयोगका उपसचिव कमल ज्ञवालीले मुख्यमन्त्री यादवलाई २४ घन्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।

पाल्पामा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु

काठमाडौँ – पाल्पाको जोरधारामा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

आज बिहान बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको बस पाल्पाको जोरधारामा दुर्घटना भएको हो । बस दुर्घटना हुँदा बसमा सवार १८ जना घाइते भएका छन् ।

टवलबाट पाल्पा हुँदै बाग्लुङ जाँदै गरेको लु १ ख ६९५६ नम्बरको बस तिनाउ गाउँपालिका ५ जोरधारामा सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा घाइते भएकाहरुलाई प्रभासस्थित लुम्बिनी मेडिकल कजेलमा उपचारका लागि पठाइएको छ ।

मृतक महिलाको परिचय खुल्न नसकेको पनि प्रहरीले जनाएको छ ।

पर्यटकीय आकर्षण बन्दै लहानको ‘हात्तीदह सिमसार’

लहान – एक समय जङ्गली हात्तीको क्रिडास्थल रहने गरेको सिराहाको लहान नगरपालिका–१५ मा अवस्थित हात्तीदह सिमसार क्षेत्रमा हिजोआज भने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ ।

  पूर्व–पश्चिम महेन्द्र राजमार्गस्थित लहान बजारबाट करिब सात किलोमिटर उत्तरतर्फ चुरे पर्वत नजिकै सो सिमसार क्षेत्र रहेको छ ।   

आकर्षक रूपमा निर्माण भएका प्राकृतिक तथा मानव निर्मित संरचना एवं वरिपरिको हरियाली वातावरणले आन्तरिक तथा बाह्य पर्यटकलाई सो क्षेत्रले लोभ्याएको हो ।

कोइरालो खोला नमुना सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत रहेको हात्तीदह सिमसार क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिएको हो । 

करिब पाँच हेक्टर क्षेत्रफलमा फैलिएको यस ‘हात्तीदह सिमसार तथा पर्यटक क्षेत्र’लाई आकर्षक बनाउने यहाँको हरियाली जङ्गलले घेरिएको उद्यान, चिसो हावापानी र शान्त वातावरण हुन् । 

त्यसैगरी बाह्रै महिना पानी नसुक्ने चार वटा पोखरी, वनभोज स्थल र आकर्षक उद्यानको सौन्दर्यसँग रमाउन पछिल्लो समय दैनिक सयौँको सङ्ख्यामा पर्यटक यहाँ आउने गरेका छन् । 

कोइरालोखोला सामुदायिक वन तथा हात्तीदह सिमसार तथा पर्यटक क्षेत्र संरक्षण तथा सञ्चालक समितिका अध्यक्ष रुद्रनारायण चौधरीले एक वर्ष अघि मात्र पर्यटकीय क्षेत्रका रूपमा औपचारिक घोषणा भएता पनि छोटो समयमै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न सफल भएको बताउनुभयो ।  उहाँका अनुसार आजभोलि शनिवार तथा सार्वजनिक बिदाको दिनबाहेक दैनिक दुई सयदेखि तीन सयसम्म पर्यटक आउने गरेका छन् ।

“अरू दिनभन्दा सार्वजनिक बिदाका दिन र शनिवारका दिन अलि बढी नै पर्यटक हात्तीदह सिमसार तथा पर्यटक क्षेत्रमा घुम्न आउने गर्छन्”, उहाँले भन्नुभयो, “बिस्तारै यहाँ घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ, त्यही हिसाबले हामीले पनि पर्यटकलाई रमणीय र आकर्षित बनाउने गरी भौतिक पूर्वाधारका काम गरिरहेका छौँ ।”

पर्यटक आगमनलाई थप आकर्षित बनाउन वन तथा भू–संरक्षण विभाग बबरमहल, काठमाडौँबाट अनुमति लिई केही वन्यजन्तुको समेत संरक्षण गरी उद्यानभित्र राखिएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । पार्कभित्र संरक्षित वन्यजन्तुमा जङ्गली कालो भालु, चरी बाघ, दुम्सी, खरायोलगायत रहेका छन्, यसको सजिलै अवलोकन गर्न सकिने छ । 

त्यसैगरी यस सिमसार क्षेत्रलाई आकर्षण थप्न उद्यानभित्र फूलको बगैँचा, बालबालिकाका लागि ‘चिल्ड्रेन पार्क’ तथा सेल्फी खिच्नका लागि विभिन्न आकर्षक डिजाइन निर्माण गर्नुका साथै पर्यटकका लागि पोखरीमा माछा हेर्दै बोटिङ गर्ने व्यवस्थासमेत मिलाइएको छ । 

अहिले पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएको यस हात्तीदह सिमसार क्षेत्र अवलोकन तथा वनभोज कार्यक्रमका लागि जिल्लाका सर्वसाधारण मात्र नभएर छिमेकी जिल्ला उदयपुर, सप्तरी, धनुषालगायत देशका विभिन्न जिल्लाबाट स्कुल तथा कलेजका विद्यार्थीसमेत आउने गरेको सञ्चालक समितिका सचिव बद्री सदायले बताउनुभयो । उहाँका अनुसार नयाँ वर्ष तथा चाडपर्वका बेला छिमेकी राष्ट्र भारतबाट समेत पर्यटकको घुइँचो लाग्ने गरेको छ । 

हात्तीदह सिमसार पर्यटकीय क्षेत्र विकासका लागि डिभिजन वन कार्यालय सिराहा, बृहत् जलाधार व्यवस्थापन केन्द्र कोसी उदयपुर, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, लहान नगरपालिकालगायतले आर्थिक सहयोग गरेको अध्यक्ष चौधरीले बताउनुभयो । 

त्यस्तै बौद्धिक नेता तथा तत्कालीन सांसद स्व प्रदीप गिरीले आफ्नो संसदीय कोषबाट पार्कका लागि खानेपानी ट्याङ्की निर्माण गर्न रु १० लाख रकम विनियोजन गर्नुभएको थियो । “तत्कालीन सांसद गिरीले गर्नुभएको आर्थिक सहयोगले बनेको यस खानेपानी ट्याङ्की उहाँले देख्न पाउनुभएन । बडो अफसोच लागिरहेको छ । उहाँको स्मरण यस पार्क रहँदासम्म सधैँ रहिरहने छ”, उहाँले भन्नुभयो । 

चाडबाड, नयाँ वर्षलगायतका अनुकूल समयमा घुमफिरका लागि ठुलो सङ्ख्यामा मानिस जान थालेपछि यस ठाउँको विकासमा स्थानीय सरकारको चासो पनि बढेर गएको छ । 

लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले हात्तीदह सिमसार पर्यटन क्षेत्रको विकासमा उच्च प्राथमिकता दिएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “यस पर्यटन क्षेत्रको भौतिक विकासका लागि, स्थानीय युवाहरूको रोजगारी सिर्जनाका लागि, आर्थिक विकासका लागि स्थानीय सरकारले भरपुर सहयोग गर्नेछ ।” 

नगरप्रमुख चौधरीका अनुसार राजमार्गबाट हात्तीदह सिमसारसम्मको ग्राभेल बाटोको स्तरोन्नति तथा कालोपत्र गर्नका लागि नगरबाट बजेट व्यवस्था गरी निर्माण सुरुआत भएको पनि जानकारी दिनुभयो । त्यसैगरी पार्कभित्र ‘सेल्फी ब्रिज’ निर्माणका लागि रु १० लाख रकम छ्ट्याइएको पनि बताउनुभयो ।

हात्तीदह सिमसार पर्यटकीय क्षेत्रका रूपमा विस्तार भएपछि रोजगारीको सिर्जना एवं यस वरिपरि व्यापार तथा व्यवसाय पनि वृद्धि भएको छ । आफ्नो व्यापार व्यवसायबाट मनग्गे आम्दानी भइरहेको स्थानीय व्यापारी पोषण सदायले बताउनुभयो । 

आगामी दिनमा अझ व्यवस्थित बनाउने योजनासहित आफू लागिपरेको समितिका अध्यक्ष चौधरीले बताउनुभयो । यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म प्रचार–प्रसार गरी हात्तीदह सिमसार पर्यटन क्षेत्रको पहिचान उच्च बनाउनुपर्ने उहाँको भनाइ छ । रासस

सिके राउतको आरोप : बारामा जसपाले दुई वटा स्थानमा बुथ कब्जा गरे

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष सिके राउतले बाराका दुई वटा बुथमा आफ्नो प्रतिनिधिलाई प्रवेश गर्न नदिएको आरोप लगाएका छन् ।

बिहानै गढीमाई दर्शन गरेर मतदान केन्द्र घुम्न निस्केका अध्यक्ष राउतले जनता समाजवादी पार्टी, नेपालले दुई वटा स्थानमा बुथ कब्जा गरेको समेत आरोप लगाएका हुन् ।

”पचरौता नगरपालिका बेलडाडीमा हाम्रा प्रतिनिधिलाई छिर्न दिइएको छैन, त्यस्तो अवस्था देबताल झिपकैया बुथमा पनि देखिएको छ”, राउतले सञ्चारकर्मीसँग भने ,”मैले हिजोदेखि नै जसपाले बुथ कब्जा गर्न खोजेको भनेर प्रहरी प्रशासनलाई जानकारी दिएको थिएँ तर अहिलेसम्म हाम्रो कुराको सुनवाइ भएको छैन ।” प्रहरी प्रशासनको मिलेमतोमा नै जसपाले बुथ कब्जा गरेको जनाउँदै अध्यक्ष राउतले सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराएका छन् ।

बारा–२ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहा उम्मेदवार रहेको छ ।

व्यवसायीद्वारा मालवाहक ढुवानी ठप्प

काभ्रेपलाञ्चोक – अरनिको, बिपी र हेलम्बु राजमार्गमा गुड्ने मालवाहक सवारीलाई जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएपछि व्यवसायीले निर्माण सामग्री ढुवानी ठप्प पारेका छन् । तीन दिनदेखि ढुवानी रोक्ने चेतावनी दिँदै आएका उनीहरूले गए रातिदेखि ढुवानी ठप्प पारेका हुन् ।

गृह मन्त्रालयले जिल्लाका तौलपुल सञ्चालनमा ल्याउन परिपत्र गरेपछि गत मङ्गलबार यातायात व्यवसायी तथा सरोकारवालाको छलफलमा कार्यालयले बिहीबारदेखि अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिइएको थियो । यातायात व्यवस्था विभागको सात दशमलव पाँच घनमिटर निर्माण सामग्री बोक्न पाउने प्रावधानअनुसार ढुवानी भइरहेकामा भारमापन केन्द्र (तौलपुल)मा तौल लिँदा समय लाग्ने तथा प्रशासनले बोक्नुपर्ने तौलको यकिन नगरी दुःख दिएको कारण देखाउँदै व्यवसायीले ढुवानी रोकेका बताएका छन् ।

व्ययसायीले पनौती क्षेत्रबाट शुक्रबार रातिदेखि नै ढुवानी ठप्प पारेका थिए भने शनिबार राति अरनिको राजमार्ग, बिपी राजमार्ग र हेलम्बु राजमार्गका ढुवानी ठप्प पारेका हुन् । टिपरलाई दिउँसो ढुवानी गर्न प्रतिबन्ध लगाउँदै आइएको छ । विसं २०७८ पुसमा काभ्रेपलाञ्चोकको तीन स्थान पाँचखाल नगरपालिकाको केराघारी, पनौती नगरको नैकिन्टार र नमोबुद्ध नगरको भकुण्डेमा भारमापन केन्द्र (तौलपुल) व्यवस्थित गरिएको थियो ।

केराघारीमा शनिबार साँझदेखि नै चालकले मालवाहक गाडी तौलन नहुने भन्दै विरोध जनाएका थिए । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक भाग्यपुरुष ढकालका अनुसार सबै तौलपुलमा व्यवसायी तथा यातायात मजदुरले विरोध जनाउन थालेपछि त्यस आपसाप ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको हो । प्रहरी परिचालन र विरोधका बीच नगन्य मात्रामा मालवाहक सवारी चलेको थियो ।

बागमती टिपर व्यवसायी सङ्घका अध्यक्ष सुरेश खत्रीले प्रशासनले कति तौल बोक्नुुपर्ने स्पष्ट नगरी गाडीको तौल लिएर झन्झट दिलाएको आरोप लगाउँदै आउनुभएको छ । “हामी पनि विभागको प्रावधानअनुसार नै चलेका छौँ, तौल लिने नाममा दुःख दिनुभएन, त्यसैको विरोधस्वरुप ढुवानी रोकिएको हो”, उहाँले भन्नुभयो । तौलपुलमा गाडी जोखेर सामग्री ढुवानी गर्न नसकिने उहाँको भनाइ छ ।

तौलपुल स्थापनापछि मालवाहक सवारीले आनाकानी गर्दै भारमापन गर्न नमानेका कारण तौलपुल लथालिङ्ग अवस्थामा रहेपछि काभ्रेपलाञ्चोक प्रशासनले बिहीबारदेखि अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएको थियो । तौलपुल स्थापनापछि तीनै स्थानीय तहले भारमापन केन्द्र सञ्चालन गरी ‘लोडसिट’ लिई ढुवानी गर्न÷गराउन आग्रहसमेत गर्दै आएका थिए ।

दुई राजमार्ग तथा जिल्लाको दक्षिणी क्षेत्र बनेपा–खोपासी सडक, उत्तरी क्षेत्रको हेलम्बु राजमार्गमा दैनिक करिब दुई हजार निर्माण सामग्रीलगायतका मालवाहक सवारी चल्ने गर्दछन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेश थापाले टिपर तथा ट्रकलाई ढालाभन्दा माथि सामग्री बोकेर नहिँड्न आग्रह गर्दै आइएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले तीन राजमार्गमा गुड्ने मालवाहक सवारीलाई अनिवार्यरूपमा नियमसङ्गत ढङ्गले भारमापन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मालवाहक सवारीलाई अनिवार्यरूपमा भारमापन गर्न लगाइनेछ, यसबाट सडक जोगिने छ भने व्यावसायीको समेत विश्वास बढ्नेछ ।” उहाँका अनुसार मालवाहक सवारीसाधनको भारमापन नगर्दा जिल्लास्थित राजमार्गका सडक जीर्ण बन्दै गएका छन् ।

भारवहन नियमनसम्बन्धी निर्देशिका, २०७४ (संशोधनसहित)को व्यवस्था, यातायात विभागको पत्र र जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकद्वारा २०७८ फागुनमा जारी पत्रानुसार स्थानीय तहले भारमापन कार्यलाई कडाइ गरे पनि भारमापन हुनसकेको थिएन । तौलपुलमा भारमापन गरेवापत प्रतिसवारीले रु एक सय ५० तिर्नुपर्ने नियम बनाइएको छ । निर्देशिकाअनुसार छ पाङ्ग्रेभन्दा माथि क्षमताका मालवाहक सवारीसाधनले अनिवार्य भारमापन गर्नुपर्ने हुन्छ ।

राष्ट्रपति पौडेलेको स्वास्थ्यमा सुधार

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य थप सुधार भएको छ।

भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उपचाररत राष्ट्रपति पौडेलेको स्वास्थ्यमा सुधार हुँदै आएको उहाँको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले यससम्बन्धी जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

मुटुमा जमेको पानीमा सङ्क्रमण फैलिएपछि राष्ट्रपति पौडेललाई एअर एम्बुलेन्समार्फत भारत लगिएको थियो । उहाँ बुधवारदेखि त्यहाँ उपचाररत रहनुभएको छ । 

स्वास्थ्यमा सुधार आए पनि उपचारपछि कहिले स्वदेश फर्कने हो? त्यो भने अझै टुङ्गो नलागेको दूतावास स्रोतले अनभिज्ञता प्रकट गरेको छ । 

महिला मार्ने बाघलाई  चिडियाखाना लगिने

दोधारा चाँदनी – शनिवार कञ्चनपुरमा नियन्त्रणमा लिइएको बाघ ललितपुरस्थित चिडियाखाना लगिने भएको छ । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रोशन ठगुन्नाले  कञ्चनपुरको बेलौरी नगरपालिकाबाट नियन्त्रणमा लिइएको बाघलाई चिडियाखाना लगिन लागेको बताउनुभयो । “हामीसँग यहाँ खोरमा राख्न पर्याप्त स्रोत साधन नभएको र बाघले भविष्यमा थप मानवीय क्षति गर्न सक्ने भएकाले चिडियाखाना लगिन लागेको हो । ” 

बाघले शुक्रवार बेलौरी पचुइमा घाँस काटिरहेकी सोही ठाउँकी ४२ वर्षीया गङ्गा चन्दलाई आक्रमण गरी मारेको थियो । 

चन्दसँगै घाँस काट्न गएका अन्य चार–पाँच  महिलाले भागेर ज्यान जोगाएका थिए । बाघलाई नियन्त्रणमा लिन बर्दियाबाट बाघविज्ञ डा दिनेश देवकोटा नेतृत्वको टोलीले शनिवार बिहान बाघ नियन्त्रणमा लिएको थियो ।  

मृतक महिलाको परिवारलाई निर्देशिकाबमोजिम राहत उपलब्ध गराउने निकुञ्जले जनाएको छ ।

तनहुँ–१ उपनिर्वाचन : मतदान सुरु

दमौली – तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत आज बिहानदेखि मतदान सुरु भएको छ । सो क्षेत्र अन्तर्गतका एक सय ५२ मतदान केन्द्र छन् ।

जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार मतदान गर्न मतदाता सबेरैदेखि लामबद्ध छन् । शान्तिपूर्णरूपमा मतदान सुरु भएको उहाँले जानकारी दिनुभयो । मतदान साँझ ५ बजेसम्म रहनेछ । निर्वाचनका लागि सुरक्षा प्रबन्ध सदृढ बनाइएकाले ढुक्कसँग मतदानमा सहभागी हुन प्रमुख ढकालले आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार गोविन्द भट्टराईले व्यास नगरपालिका–११ बेल्टारीस्थित तनहुँ आधारभूत प्रावि मतदान केन्द्रमा मतदान गर्ने कार्यक्रम रहेको छ । नेकपा (एमाले)का तर्फबाट उम्मेदवार सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार डा स्वर्णिम वाग्लेको जिल्लामा मतदाता नामावलीमा नाम नरहेको जनाइएको छ ।
मतदान सकिएपछि राजनीतिक दलका प्रतिनिधिको रोहवरमा मुचुल्का गरेर मतपेटिका दमौली ल्याइनेछ । देवघाट गाउँपालिकाको कोटा, बैदीलगायतका केही विकट ठाउँबाट मतपेटिका दमौली आइपुग्न केही बढी समय लाग्छ । मतपेटिका सङ्कलनपश्चात् सर्वदलीय बैठक आयोजना गरेर मतगणनाबारे निर्णय लिइने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिनुभयो ।

तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएपछि रिक्त रहेको ठाउँमा उपनिर्वाचन गरिएको हो । उपनिर्वाचनका लागि कांग्रेसबाट भट्टराई, एमालेबाट खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार चुनावी मैदानमा हुनुहुन्छ । उपनिर्वाचनका लागि एक लाख २३ हजार तीन सय पाँच मतदाता छन् ।

उपनिर्वाचनको संवेदनशीलतालाई ध्यानमा राखेर पृथ्वी राजमार्गको तनहुँ–१ खण्ड तथा स्थानीय राजमार्ग पूर्णरूपमा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले बिहान ५ देखि साँझ ६ बजेसम्म सबै सडकमा यातायात सञ्चालनमा रोक लगाएको हो ।

मुग्लिन पुलबाट व्यास नगरपालिकाको चापाघाटसम्म, डुम्रे–बेँसीसहर सडकखण्ड, आँबुखैरेनी–गोरखा सडकखण्ड, दमौली–दुईपिप्ले सडकखण्डलगायत सम्पूर्ण स्थानीय सडकमा यातायात बन्द रहने प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो ।

दमकल, एम्बुलेन्स, खानेपानी ट्याङ्कर, दूध बोक्ने सवारीसाधन, शववाहन, फोहरमैला ओसार्ने सवारीसाधन, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालको पत्रसहित चलेको सवारीसाधन र सूचना तथा प्रसारण विभागबाट जारी प्रेसपास भएका पत्रकार चढेको सवारी भने निर्वाध सञ्चालन हुनेछ ।

अध्यक्ष ओलीको आरोप : प्रचण्ड-माधव सस्तो मूल्यमा बिकेर कम्युनिष्ट पार्टीलाई ध्वस्त बनाए

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल सस्तो मूल्यमा बिकेर कम्युनिष्ट पार्टीलाई ध्वस्त बनाएको आरोप लगाउनु भएको छ।

कम्युनिष्ट पार्टी स्थापना दिवसको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उनीहरुले कम्युनिष्ट पार्टीको झण्डा राख्नु नै केकार भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘दुई तिहाई पुर्यायौं हामीले। पार्टी एकता गरेर। तर, टुप्पामा बस्ने नेताहरुलाई सहिसक्नु भएन र विके। यतिकै उहाँहरुले कम्युनिष्ट पार्टी ध्वस्त पारेको होइन होला। सस्तो मूल्यमा बिक्नुभयो। के कस्तो मुल्य उहाँहरुले नै जान्नुहोला। बाहिरबाट देख्ने धेरै कुरा हामीले देखेका छौं। भित्रीकुरा उहाँहरु नै जान्नुहोला।’

उहाँले सबै पार्टीमा रहेका वामपन्थी र परिवर्तन चाहनेहरुलाई एमालेमा आउन आह्वान गर्नुभयो ।

नेकपा एस पार्टी नै हाेइन : मुकुन्द न्याैपाने

काठमाडौं – नेकपा एमाले प्रवेश गर्नुभएका नेता मुकुन्द न्यौपानेले  एकीकृत समाजवादी पार्टी नै नभएको टिप्पणी गर्नुभएको छ । 

शनिबार एमालेले नेकपाको ७५ औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा पार्टी प्रवेश गर्दै नेता न्यौपानेले नेकपा एस पार्टी नै नभएको जिकिर गर्नुभयो । 

नेता न्यौपाने सहितका ३० जनाको टोली एमालेमा प्रवेश गर्नुभएका उहाँले एकीकृत समाजवादी पार्टीले नेपालमा गरी नखाने बताउनुभयो ।  उहाँले समाजवादको मुकुण्डो ओडेर मात्रै समाजवाद नआउने बताउनुभयो ।  

उहाँले एकीकृत समाजवादी पार्टी छोड्ने अभियान जारी रहने बताउँदै एक देश एक कम्युनिष्ट पार्टी हुनुपर्ने बताउनुभयो। उहाँले एमालेको झण्डा मुनी आउन एकीकृत समाजवादीमा रहेका सबै नेता तथा कार्यकर्ताहरूलाई आह्वान समेत गर्नुभयो । 

उहाँले नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरेका थियो। न्यौपाने सहितका नेता तथा कार्यकर्ताहरूलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभएको थियो । 

गण्डकीका मुख्यमन्त्री अधिकारीले मागे विश्वासको मत (पूर्ण पाठसहित)

​​​​​पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएकाे छ ।

सत्ता साझेदार दल माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार उहाँले विश्वासको मत लिन लाग्नुभएकाे हाे । 

एमाले नेता अधिकारी नेतृत्वको सरकारबाट चैत १० गते माओवादी बाहिरिएको थियो। संविधानमा सरकारमा सामेल दलले समर्थन फिर्ता लिए मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ। मुख्यमन्त्री अधिकारीले आफूले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव राख्ने पत्र बिहीबार नै प्रदेश सभा सचिवालयलाई पठाउनुभएकाे थियाे । सोही अनुसार शनिबारको प्रदेश सभाको बैठकमा कार्यसूची तयार छ। 

६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादीका (समामुखसहित) ८, राप्रपाका २ र १ स्वतन्त्र सांसद छन्। 

पूर्णपाठ

आयोगको १० बुदेँ निर्देशनः मतदानस्थलमा मोबाइल क्यामेरा लैजान निषेध

काठमाडौं – निर्वाचन आयोगले आगमी १० गते हुने उपनिर्वाचनमा मतदान गर्नेहरुलाई मोबाइल लैजान प्रतिबन्ध लगाएको छ ।

आज सो निर्वाचन प्रयोजनका लागि १० बुदेँ निर्देशन जारी गर्दै आयोगले क्यामारा, मोबाइललगायत लैजान निषेध गरेको हो । 

‘मतदाताहरूलाई मतदानका लागि सहज र सुरक्षित वातावरण बनाई मतदान केन्द्रमा मतदान गर्न जाँदा प्रज्ज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामरा वा यस्तै प्रकृतिका सामानहरू साथमा लिएर जान तथा कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन गरी मतदान केन्द्रमा प्रवेश गर्न निधेष गर्ने’ आयोगको निर्देशनमा उल्लेख गरिएको छ ।

यसैगरी, निर्वाचन आचारसंहिता, २०७९ बमोजिम मतदान कार्यमा खटिने कर्मचारी र उम्मेदवारको प्रतिनिधिलाई तोकिए अनुसारका अनुसूची बमोजिमको प्रतिबद्धतापत्रमा दस्तखत गराई सोको पूर्ण पालना गर्ने गराउन पनि निर्देशन दिएको छ ।

नेकपा एसका मुकुन्द न्यौपाने र चुडामणी जंगलीसहित  ३० जना केन्द्रीय र जिल्लास्तरीय नेता एमाले प्रवेश

काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टी छाडेका ३० जना नेता तथा कार्यकर्ता आज एमाले प्रवेश गरेका छन्।

शनिबार पार्टी कार्यालय च्यासलमा कम्युनिष्ट पार्टी स्थापना दिवसको विशेष कार्यक्रम नेकपा एसका नेता मुकुन्द न्यौपाने सहित ३० जना केन्द्रीय र जिल्लास्तरीय नेता एमालेमै फर्किएका हुन्।

न्यौपानेले गत चैत २५ गतेमात्रै पार्टी परित्यागको घोषणा गरेका थिए। उनी एकीकृत समाजवादीमा तेस्रो वरियताका नेता थिए। 

उनी सहित नेकपा एसका नेता चुडामणि जंगली, मुना वानियाँ, शान्ता आचार्य, महाप्रसाद सुवेदी, नरेश्वर दयाल ज्ञवाली, हरिकुमार श्रेष्ठ, छविलाल पौडेल, तोरणबहादुर केसी, माया अधिकारी, दलबहादुर केसी, भिमकान्त पोखरेल, खेमराज आचार्य, चन्द्रकिशोर गौतम, देवी गिरी, चन्द्रप्रसाद गुरुङ, लालसिंह घताने, हर्कबहादुर गुरुङ, विकास तामाङ, सरोज घलान, वाल्बो तामाङ, सुकमान तामाङ, हर्कमान तामाङ लगायत दर्जनौं नेताहरु एमालेमा प्रवेश गरेका छन्।

नेता न्यौपानेलाई एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत नेताहरुले स्वागत गरे।

‘छात्रवृत्ति उपलब्ध गराउनुस्’

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई अनिवार्यरुपमा छात्रवृत्ति उपलब्ध गराउन आग्रह गर्नुभएको छ । कूल विद्यार्थी सङ्ख्याको १० प्रतिशत नघटाइ छात्रवृत्ति उपलब्ध गराउन महानगरपालिका भित्रका सबै विद्यालयलाई उहाँले आग्रह गर्नुभएको हो ।

नयाँ शैक्षिक सत्र सुरु भई भर्ना अभियान चलिरहेको उल्लेख गर्दै प्रमुख साहले कामपा क्षेत्र भित्र रहेका निजी विद्यालयलाई निमयसङ्गत छात्रवृत्ति प्रदान गर्न ध्यानाकर्षण गराउनुभएको छ । कामपाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ र ५९ मा छात्रवृत्तिसम्बन्धी व्यवस्था छ ।

“सो नियमअनुसार निजी तथा संस्थागत विद्यालयले प्रत्येक कक्षामा प्रथम र द्वितीय हुने विद्यार्थीलाई क्रमशः शत प्रतिशत र ५० प्रतिशत शुल्क मिनाहा गर्नुपर्छ”, उहाँ भन्नुहुन्छ– “विद्यालयले कूल विद्यार्र्थी सङ्ख्याको कम्तीमा १० प्रतिशत नघटाइ जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपाङ्गता भएका, महिला, दलित, जनजाति, द्वन्द्वपीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्छ ।”

यसरी उपलब्ध गराइएको छात्रवृत्तिसम्बन्धी विवरण विद्यालयको वेबसाइट तथा सूचना पाटीमा टाँस गरेर अभिभावक र विद्यार्थीलाई सूचित गराउन सम्बन्धित सबै विद्यालयलाई प्रमुख साहले आग्रह गर्नुभएको छ । नियमको पालना गर्ने विद्यालयको दायित्व हो । अभिभावक र सरोकारवालाले नियम पालना भए÷नभएको निगरानी गर्नुपर्छ । प्रमुख साहले व्यवस्था कार्यान्वयनका लागि आग्रह गर्दै, अन्यथा अवस्था देखिए कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने बताउनुभयो ।

कामपाभित्र ८९ सामुदायिक विद्यालय छन् । त्यसमा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय रहेका छन् । ती विद्यालयमा ५२ हजार विद्यार्थीले अध्ययन गरिरहेको तथ्याङ्क छ । त्यसैगरी पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत छन् ।

केही दिनअघि कामपाले एक सूचना जारी गर्दै शिक्षा नियमावली २०७९ को ९ संशोधनको नियम १४६ (२) बमोजिम सामुदायिक विद्यालयको प्राथमिक र निम्नमाध्यमिक तहमा अध्ययन गर्ने कुनै पनि विद्यार्थीसँग शुल्क लिन नपाउने भन्दै सार्वजनिक सूचना जारी गरेको थियो । अभिभावकले आफ्नो इच्छाले सामुदायिक विद्यालयलाई दिएको दान, उपहार, चन्दा वा सहयोग भने लिन सकिने सूचनामा उल्लेख छ ।

एकाउन्न दिनमा ‘छक्का पञ्जा ४’

काठमाडौँ – गत फागुन १९ गतेदेखि प्रदर्शनमा रहेको चलचित्र ‘छक्का पञ्जा ४’ ले काठमाडौँ उपत्यकाका एघार र मोफसलका छ हलमा एकसाथ एकाउन्न दिन पार गरेको छ ।

यो समूहको अघिल्ला चलचित्र झैँ यसलाई पनि दर्शकले माया दिएका छन् । अभिनेता, निर्माता तथा लेखक दीपकराज गिरीले दर्शकको मायाले दायित्व थपिएको बताउनुभयो । “हामीले चलचित्र निर्माण गरेदेखि नै एकाउन्न दिनको यात्रा तय गरिरहेका छौँ, यसले दायित्व थपेको छ, हामीले अझैँ मेहनती भएर दर्शक मन जित्नुपर्ने हुन्छ”, गिरीले भन्नुभयो ।

दर्शकले सामाजिक सञ्जालसँगै विविध माध्यममार्फत ‘छक्का पञ्जा ५’ ल्याउनुपर्ने माग राखिरहेका छन् । ‘छक्का पञ्जा’ को पाँचौँ शृङ्खला घोषणा हुने सम्भावना रहेता पनि आधिकारिक निर्णय नभएको अर्का निर्माता तथा कलाकार निर्मल शर्माले बताउनुभयो ।

“हामी समूहमा छलफल गरेर निर्माण लिनेछौँ, हाम्रो एकाउन्न दिनको यात्रामा रु २० करोड बढीको कूल व्यापार भएको छ, दर्शकले दिनुभएको मायाले हामीलाई अगाडि बढ्न हौसला मिलेको छ”, कलाकार शर्माले भन्नुभयो । चलचित्रमा दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशी, बुद्धि तामाङ लगायतका कलाकारले अभिनय गर्नुभएको छ । ‘छक्का पञ्जा’ को तेस्रो शृङ्खलासम्म अभिनेत्री निरौलाले नै निर्देशन गर्नुभए पनि चौथो शृङ्खलालाई हेमराज बिसीले निर्देशन गर्नुभएको हो ।