`

पदम लिम्बुको शवयात्राको क्रममा बिराटनगर तनावग्रस्त, प्रहरीले छाडयो अश्रुग्याँस

इटहरी – कोशी प्रदेश नामाकरणको माग गर्दै भएको आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बुको शवयात्राको क्रममा झडप भएको छ ।

शवयात्राको क्रममा विराटनगरको रोडशेषमा झडप भएको हो । बिराटनगरको रोडशेष तनावग्रस्त बने पछि स्थीतिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रुग्याँस छाडेको छ ।

एक महिनाअघि सुरक्षाकर्मीको लाठी प्रहारबाट घाइते भई उपचारका क्रममा मृत्यु भएका सहिद लिम्बूको आज अत्येष्टि गरिनु बिराटनगरमा शवयात्रा गरिएकाे हाे ।

‘पहिचानवादी आन्दोलन’ मा मृत्यु भएका लिम्बूलाई राजपत्रमा प्रकाशित गर्दै सहिद घोषणा गरिसकेको छ । 

संघीय लिम्बुवान राष्ट्रिय मञ्चका सुनसरी अध्यक्ष अमर इजमले जानकारी दिए अनुसार झन्डै एक महिना देखी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी हाउसमा राखिएको शवलाई याक्थुङ लिम्बू परम्पराअनुसार शनिवार अन्त्येष्टि गर्न लागिएको हो । 

उनका अनुसार शनिबार बिहान ९ बजे धरानमा शवयात्रा गरिने र भानुचोकमा श्रद्धाञ्जली अर्पण कार्यक्रम गरिने छ भने लिम्बूको स्थायी घर मोरङको उर्लाबारीस्थित लालभित्तीमा पुर्‍याएर अन्त्येष्टि गरिदैँछ ।

दार्चुलामा तुइनबाट खसेर एक पुरुष महाकालीमा बेपत्ता

दार्चुला – दार्चुलामा तुइनबाट खसेर एक पुरुष महाकाली नदीमा बेपत्ता भएका छन् ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ब्याँस गाउँपालिका–२ दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारी आज दिउँसो तुइनबाट खसेर तल्लो दुम्लिङस्थित महाकाली नदीमा बेपत्ता भएको ब्याँस गाउँपालिका–२ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले जानकारी दिनुभयो ।

दिउँसो साढे एक बजेतिर भण्डारी घरबाट भारत जाने क्रममा तुइनको सहारामा महाकाली नदी पार गर्न खोज्दा उक्त घटना भएको वडाध्यक्ष बुढाथोकीले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले तुइनबाट खसेर भण्डारी बेपत्ता भएको खबर प्राप्त भएको बताउनुभयो । “दुम्लिङबाट प्रहरी टोली घट्नास्थलमा गएको छ, खोजी कार्य जारी छ’’, उहाँले भन्नुभयो ।

जनता र राष्ट्रका पक्षमा काम गर्दा सत्ता र सरकारबाट बाहिर राख्ने षडयन्त्र हुन्छ : शंकर पाेखरेल

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनता र राष्ट्रका पक्षमा काम गर्दा सत्ता र सरकारबाट बाहिर राख्ने षडयन्त्र हुने गरेको बताउनुभएको छ ।

पार्टी कार्यलय च्यासलमा नेकपाको ७५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महासचिव पोखरेलले यस्तो बताउनुभएको हो । 

उहाँले एमाले जनताको रोजाइको पहिलो पार्टी रहेको भएपनि बलियो शत्तिका रुपमा प्रस्तुत हुन नसकोेका बताउनुभयो ।  ‘७७ जिल्लामध्ये ४४ जिल्लामा हाम्रो लोकप्रिय मत छ। तर, बलियो शक्तिका रूपमा प्रस्तुत हुन सकेका छैनौं। त्यही भएर पार्टी सुदृढीकरणका लागि ग्रासरुट अभियान चलाएका छौं। नेपालको राष्ट्रिय राजनीतिमा एमालेको भूमिका अग्रणी छ। जनता र राष्ट्रका पक्षमा काम गर्दा सत्ता र सरकारबाट बाहिर राख्ने षडयन्त्र हुन्छ’,उहाँले भन्नुभयो । 

उहाँले प्रधानमन्त्री केपी ओली जनताको बीचमा जान्छु भन्दा प्रधानमन्त्रीको चाहनालाई रोक्ने काम सर्वोच्च अदालतको माध्यमबाट भएको बताउनुभयो ।

‘सर्वोच्च अदालतले परमादेशको माध्यमबाट जनताले चुनेको सरकारलाई अपदस्थ गर्ने काम गर्‍यो। अदालत अदालत जस्तो छैन। सरकार सरकार जस्तो छैन। सरकारले सुशासनको मान्यता स्थापित गर्न सकेको छैन’,महासचिव पोखरेलले भन्नुभयो । 

शोषण र गरिबीको अन्त्य गर्न कम्युनिष्ट पार्टी स्थापना गरिएको हो : अध्यक्ष नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा शोषण र गरिबीको अन्त्य गर्न विसं २००६ मा कम्युनिष्ट पार्टी स्थापना गरिएको बताउनुभएको छ ।

पार्टी निकट युवा सङ्घ नेपालको सहकारी विभागले कम्युनिष्ट पार्टीको ७४औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको ‘सहकारीको वर्तमान अवस्था, अवस्था र चुनौती’ विषयक विचार गोष्ठीमा अध्यक्ष नेपालले जनतालाई अधिकार सम्पन्न बनाउन स्थापित कम्युनिष्ट पार्टी देशमा भएका सबै आन्दोलनमा क्रियाशील रहेको बताउनुभयो ।

युवालाई सिर्जनात्मक कार्य तथा उत्पादनमा जोड्न सकेमा देश विकास र जनताको समृद्धि कायम हुने उहाँले बताउनुभयो । विश्व अर्थतन्त्रमा असर देखा परेको अहिलेको परिस्थितिमा त्यसको असर नेपाली अर्थतन्त्रमा पनि पर्ने चुनौती रहेको उहाँको भनाइ थियो । सहकारी क्षेत्र सहभागितामूलक लोकतन्त्रको एउटा रुप भएको जनाउँदै उहाँले सहकारीले आममानिसको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले यसले मिश्रित अर्थतन्त्रका मान्यताअनुरूप सहकारी, निजी र राज्य सम्मिलित तीन खम्बे अर्थतन्त्रलाई संविधानले पनि अगाडि सारेको बताउँदै आर्थिक सङ्कटको न्यूनीकरण गर्न समाजमा छरिएका ससाना पुँजीलाई एकीकृत गरी ठूलो लगानीका लागि सहकारीले वातावरण निर्माण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । सन् १९३० मा भएको विश्व आर्थिक मन्दी समाधानमा सहकारी क्षेत्रको उल्लेखनीय भूमिका रहेको उहाँको भनाइ थियो ।

सङ्घका इञ्चार्ज दिलु पन्तले सहकारी क्षेत्रले ग्रामीण भेगका किसानलाई लक्षित गरी आर्थिक गतिविधि सञ्चालनका माध्यमबाट सामाजिक रुपान्तरणमा योगदान गर्नुपर्ने बताउनुभयो ।

विज्ञ कृष्ण आचार्य, सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेश शाही, सहकारी विभाग प्रमुख उर्मिला कुँवर, सङ्घका नेता समिप त्रिपाठीलगायतले सहकारीले उद्यमशीलता विकास गर्न लगानी बढाउनुपर्ने भन्दै सरकारले हालै सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा समेत यसलाई सम्बोधन गरिएको बताउनुभयो ।

शान्ति प्रक्रियालाई पूर्णता दिनुछ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक उपलब्धि माथि चौतर्फी आक्रमण भइरहेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको साधारणसभालाई आज सम्बोधन गर्दै उहाँले यो वा त्यो कोणबाट उपलब्धि माथि आक्रमण बढिरहेको बताउनुभयो ।

प्रतिगमनलाई परास्त गर्न राजनीतिक दलहरु अझै सचेत भएर लाग्नुपर्नेमा जोड दिँदै उहाँले जनसङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्नु अहिलको आवश्यकता रहेको बताउनुभयो । “संविधानका उपलब्धिलाई औपचारिकरुपमा नै खोस्ने वा संविधानका प्रावधानलाई उल्लङ्घ गर्ने प्रवृत्ति देखा परेका छन्”, उहाँले भन्नुभयो, “त्यस्ता प्रवृत्तिविरुद्ध हामी लड्यौँ, त्यसलाई परास्त बनायौँ ।”

शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नुपर्ने दायित्व वर्तमान सरकारको काँधमा रहेको भन्दै उहाँले संविधानमार्फत उपलब्धिलाई संस्थागत तथा सेना समायोजन सम्पन्न भएको र अब सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित काम बाँकी रहेको बताउनुभयो । सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानिबन आयोगलाई पूर्णता दिएर मात्रै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सकिने उहाँको भनाइ छ ।

“शान्ति प्रक्रियाको बाँकी काम हरहालतमा पूरा गर्नुछ, दशकभन्दा बढी बित्यो, तर हामीले त्यो काम पूरा गर्न सकिराखेका छैनौँ, संविधान जारी गरेको पनि सात वर्ष पूरा भइसक्यो, शान्ति प्रक्रियालाई पूरा हुन नदिन विभिन्न प्रयत्न भइरहेका छन्, त्यस्ता प्रयत्नलाई असफल पार्दै शान्ति प्रक्रियालाई समग्रतामा पूर्णता दिनुछ”, उहाँले भन्नुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाभिमान र स्वाधीनताको रक्षा तथा राष्ट्रिय सुरक्षालाई सुदृढ पार्नु वर्तमान सरकारको प्रमुख कार्यभार भएको बताउनुभयो । मुलुकलाई आर्थिक सामाजिकरुपमा समृद्धि बनाउने तत्कालिक कार्यभार भएको उहाँको भनाइ छ ।

प्रेस सेन्टरका इञ्चार्ज महेश्वर दाहालले श्रमजीवी पत्रकारको हितमा सेन्टरले आवाज बुलन्द गर्दै आएको बताउनुभयो । अहिले श्रमजीवी पत्रकारको अवस्था गम्भीर रहेको उल्लेख गर्दै उहाँले श्रमजीवी पत्रकारको दायित्व पूरा गर्न सरकार लाग्नुपर्ने बताउनुभयो । “सरकारी विज्ञापनलाई एकद्वार प्रणालीबाट वितरण गर्नुपर्छ, राज्यको रु छ अर्बको विज्ञापन छ, त्यो विचौलियाको हातमा छ, यसलाई सरकारले व्यवस्थित बनाउन सक्यो भने मात्र मिडिया बाँच्दछ”, उहाँले भन्नुभयो ।

रुससँगको सम्बन्धलाई उत्कृष्ट महत्व दिन्छौँ : अध्यक्ष तिमिल्सिना

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालले रुससँगको सम्बन्धलाई उत्कृष्ट महत्व दिँदै आएको बताउनुभएको छ ।

रुसको औपाचारिक भ्रमणका क्रममा आज त्यहाँको अन्तर्राष्ट्रिय सम्बन्ध संस्थानमा विद्यार्थीलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हामी रुससँगको हाम्रो सम्बन्धलाई उत्कृष्ट तरिकाले महत्व दिन्छौँ, विकासोन्मुख देशका रुपमा नेपालका लागि रुससँगको सम्बन्ध सुदृढ गर्ने ठूलो अवसर छ ।”

अध्यक्ष तिमिल्सिनाले छिमेकी चीन र भारतले हालै रुससँग आफ्नो व्यापारको मात्रा बढाएका चर्चा गर्दै नेपाल र रुसबीचको व्यापार र रुसबाट नेपाल आउने पर्यटकको सङ्ख्या बढाउने उपाय पनि खोज्ने आशा व्यक्त गर्नुभयो । उहाँले कूटनीतिक सम्बन्ध स्थापना भएपछि दुई मुलुकबीच विविध क्षेत्रमा सहकार्य हुँदै आएको बताउनुभयो । उहाँले सोभियत सङ्घले नेपाललाई अस्पताल, सडक, जलविद्युत् आयोजना र कारखाना निर्माणमा सहयोग गरेकामा धन्यवाद ज्ञापन गर्नुभयो ।

बुद्ध धर्मले रुसका विभिन्न क्षेत्रमा एक सहस्राब्दीभन्दा बढी समयदेखि गहिरो प्रभाव पारेको उहाँको भनाइ छ । “उन्नाइसौँ शताब्दीमा रुसी वैज्ञानिकले नेपालमा बुद्ध अभ्यासको विशेष अध्ययन गर्न आवश्यक ठाने, सन् १८७५ मा महान रुसी विद्वान इभान मिनाएभले बुद्ध धर्मका बारेमा आफ्नो अनुसन्धानका लागि काठमाडौँको भ्रमण गरे, यो आधुनिक इतिहासमा हाम्रो सम्बन्धको सुरुआत बिन्दु बन्यो”, उहाँले भन्नुभयो ।

उन्नाइसौँ र २० औँ शताब्दीका रूसी विद्वानले बौद्ध धर्ममा गरेका काम शैक्षिक क्षेत्रमा राम्रोसँग स्थापित भएका जनाउँदै उहाँले बुद्ध धर्मले नेपाल र रुसलाई औपचारिक सम्बन्ध स्थापना हुनुभन्दा धेरै पहिलेदेखि नै जोडेको बताउनुभयो ।

नेपालका तर्फबाट पहिलो पटक सन् १९५३ मा पूर्णबहादुर एमए, लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण समले तत्कालीन सोभियत सङ्घको भ्रमण गरेको स्मरण गर्दै उहाँले त्यसको तीन वर्षपछि मात्रै दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको बताउनुभयो ।

“त्यसपछि हामीबीच धेरै उच्च आदानप्रदान भएका छन् । सन् १९६० देखि धेरै नेपाली विद्यार्थीले यहाँ अध्ययन गरेका छन्, रुसी तर्फबाट विशेषगरी नेपाल हिमालयका अग्ला चुचुरा आरोहण गर्ने धेरै अन्वेषक थिए”, उहाँले भन्नुभयो ।

रुसको अन्तर्राष्ट्रिय सम्बन्ध संस्थान व्यावसायिक शैक्षिक कार्यका लागि विश्वभरि धेरै व्यापकरूपमा परिचित रहेको थाहा पाउँदा आफू अत्यन्त खुसी रहेको जनाउँदै उहाँले संस्थानका विद्यार्थी, सङ्काय र सम्पूर्ण अनुसन्धाता विद्वानलाई अनुकरणीय कार्यका लागि बधाई दिनुभयो ।

अध्यक्ष तिलिम्सिना नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै रुस भ्रमणमा हुनुहुन्छ । त्यसक्रममा उहाँले शुक्रबार रुसको तल्लो सदन डुमाका अध्यक्षसँग भेटवार्ता गर्नुभएको थियो ।

बाँकेमा कोभिडका कारण एकको मृत्यु

कोहलपुर – बाँकको भेरी अस्पताल नेपालगञ्जमा कोभिड भाइरस सङ्क्रमणबाटमा एकजनाको मृत्यु भएको छ ।

राप्तीसोनारी गाउँपालिका–२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाले जाानकारी दिनुयो ।

स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई भेरी अस्पताल लगिएको थियो । उहाँलाई यही वैशाख १ गते कोभिड सङ्क्रमण पुष्टि भएको थियो । बिरामीलाई गत एक हप्तादेखि उपचारमा राखिएको र उहाँलाई दमको पनि समस्या रहेको बताइएको छ ।

अहिले कुनै पार्टीसँग एकता होइन, महाधिवेशनको तयारीमा छौं : झलनाथ खनाल

जनकपुर – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी महाधिवेसनको तयारीमा लागेको बताउनुभएकाे छ ।  

जनकपुर बिमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै नेकपा एसका नेता खनालले महाधिवेसनको तयारीमा लागेको भन्दै कुनै पार्टीसँग तत्काल एकता हुन नसक्नेसमेत जनाउनुभयाे । 

‘हामी महाधिवेसन गर्ने दिशामा अघि बढदैछौं, अहिले कुनै पार्टीसँग एकीकरण गर्ने कुनै सम्भावना नै छैन्,’ खनालले सञ्चारकर्मीसँग भन्नुभयाे, ‘तर, साझा सबालमा मिलेर जाने सबालमा हाम्रो पार्टी तयार छ ।’ 

पुर्व प्रधानमन्त्रीसमेत रहनुभएका खनालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार आठौं पटक विस्तार हुदाँ पनि पुर्णता पाउन नसकेकोमा चिन्ता ब्यक्त गर्नुभयाे। 

‘अब नवौं पटकमा पुर्णता पाउला भन्ने अपेक्षा गरौं’ उहाँले भन्नुभयाे ।

विदेशी भन्नेबित्तिकै राम्रो, नेपाली नराम्रो भन्ने मानसिकता त्यागौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विदेश र विदेशी भन्नेबित्तिकै राम्रो र नेपाली नराम्रो भन्ने मानसिकता त्यागेर मात्र राष्ट्रिय अर्थतन्त्रको निर्माण र समृद्ध नेपाल सम्भव हुने बताउनुभएको छ ।

शनिबार बिहान गोकर्णमा बाह्रखरी मिडियाले आयोजना गरेको कर्पोरेट गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विदेशका अनुभव, शिक्षा र दृष्टान्तलाई बढी महत्व दिएर नेपाली विशेषता र मौलिकता नभुल्न सहभागीहरूलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, “हामीले विश्व पढ्नैपर्छ, विश्वका अनुभव र दृष्टान्तहरू पनि पढ्नुपर्छ । तर त्यसभन्दा बढी नेपालको इतिहास पढ्नुपर्दछ । हाम्रो अर्थराजनीतिक चरित्र, हाम्रो विशेषता र मौलिकता पढ्नुपर्छ । हामीकहाँ विदेशी भन्नेबित्तिकै राम्रो, नेपाली चाहिँ नराम्रो भन्ने मानसिकता पनि देखिन्छ । यसले राष्ट्रिय अर्थतन्त्र निर्माण, समृद्धि र स्वाधीनतालाई सहयोग गर्दैन । विश्वका मोडेल र अनुभवहरू पढ्दै गर्दा हामीले हाम्रो आफ्नोपन पढौँ र सोहीअनुरूप नीतिहरू तय गरौँ ।”

उहाँले भन्नुभयो, “अर्थनीति र अर्थतन्त्रबारे विश्वमा आ–आफ्नै मोडेल छन् । नवउदारवाद र समाजवादी अर्थतन्त्रका आ–आफ्नै चरित्र र विशेषता छन् । तर त्यसलाई हुबहु अवलम्बन गरेर हाम्रो अर्थनीति बनाउन सकिँदैन । हाम्रो अर्थराजनीति, उत्पादन पद्धति अरूको भन्दा मौलिक छ । हामी कुन बाटो जाने, त्यो महत्वपूर्ण कुरा हो । यसमा धेरैजसो मान्छेहरू अल्मलिएको देख्छु । हाम्रो संविधानले निजी, साझेदारी र सहकारीको तीनखम्बे अर्थनीति अवलम्बन गरेको छ, यो विश्वका अरू मोडेलसँग हुबहु मिल्दैन ।”

“हाम्रो संविधान धेरै प्रगतिशील छ । यसले राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माणको संकल्प गरेको छ” प्रधानमन्त्रीले भन्नुभयो, “संविधानमा एकतर्फ नवउदारवादका प्रगतिशील पक्षहरू समावेश गरिएको छ, अर्कोतर्फ समाजवादमा जाने संकल्प गरिएको छ । यसको अन्तर्य हामीले ठीक ढंगले बुझ्न सक्नुपर्छ । प्रतिस्पर्धा र समाजवाद सँगसँगै जाने प्रणाली हामीले अवलम्बन गरेका छौँ । हाम्रा बुद्धिजीवीहरूको पनि यतातिर बहस कम देख्छु । हामीले खास बहस गर्नुपर्ने र हाम्रो बाटो तय गर्नुपर्ने विषय यहीँनेर छ ।”

संघीय लोकतान्त्रिक गणतन्त्रभित्र राष्ट्र निर्माण र समृद्धिको मार्गचित्र स्पष्टतापूर्वक राखिएको प्रधानमन्त्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले तीन तहको सरकारको अवधारणा अभ्यास गरिरहेका छौँ । यसभित्र निकै ठूलो अर्थ छ । हामीले केन्द्रिकृत मानसिकता भत्काएर अवसर र विकासलाई तलसम्म लैजाने संकल्प गरेका छौँ । तर, हाम्रो मानसिकता चाहेजस्तो बदलिएको छैन । हाम्रो कर्मचारीतन्त्र, सुरक्षा संयन्त्र पूरानो सोचबाट माथि उठ्न सकेको देखिएको छैन । संघीयता र परिवर्तनको आत्मसातीकरण गर्न सकेको देखिँदैन । यसमा अझै मेहेनत गर्न आवश्यक छ ।”

“निजी क्षेत्रको सक्रियता बिना अर्थतन्त्रमा सुुधार ल्याउन सकिँदैन। त्यसका लागि हामीबीच बलियो सहकार्य जरूरी छ । राज्यले निजी क्षेत्रलाई निचोर्ने र निजी क्षेत्रले राज्यलाई छल्ने स्थिति बदलिनुपर्छ” प्रधानमन्त्रीले भन्नुभयो, “राज्यले निजी क्षेत्रलाई सम्मान गरेको छ भन्ने नभएसम्म लगानीकर्तामा उत्साह आउँदैन, लगानीको वातावरण पनि बन्दैन । निजी क्षेत्रले पनि इमानदार भएर कर नतिरेसम्म राज्य यस क्षेत्रप्रति सकारात्मक र उदार हुँदैन । हाम्रो कानुन, संरचना र कार्यशैलीबाट अत्तालिएर लगानीकर्ता बाहिरिएका छन् । उद्यमशील युवा पनि प्रक्रियागत झन्झटले उद्यम छोडेर विदेसिएका छन् । यो परिस्थिति हामीले बदल्नैपर्छ ।”

“सरकार र निजी क्षेत्रबीच साझा धारणा बनाएर अगाडि बढ्न आवश्यक छ । वर्तमान सरकार निजी क्षेत्रका समस्या सम्बोधन गरेर अगाडि बढ्न प्रयत्नशील छ । पछिल्लोसमय अर्थतन्त्रमा सुधारका संकेतहरू देखिएका छन् । सार्वजनिक सेवामा सुधार आएको छ, विदेशमा रहेका लाखौं नेपालीहरू सामाजिक सुरक्षा कोषमा जोडिँदैछन् । विदेशी मुद्राको सञ्चिति, रेमिट्यान्स बढेको छ । तर ढुक्क भइहाल्ने परिस्थिति बनिसकेको छैन । त्यसका निम्ति अझै मेहेनत आवश्यक छ ।”

कार्यक्रममा आर्थिक क्षेत्रका प्रतिनिधि र विज्ञहरू अर्थतन्त्रमा सुधार ल्याउन सरकारले गरेको पहल सकारात्मक रहेकोमा जोड दिँदै सहकार्यका आधारमा अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्ने बताउनुभयो ।

मतदानलाई निष्पक्ष र भयमुक्त बनाउन निर्देशन

काठमाडौँ – यही वैशाख १० गते हुने उपनिर्वाचन सहज, स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त रुपमा सम्पन्न गर्न सम्बद्ध राजनीतिक दल, उम्मेदवार र उम्मेदवारका प्रतिनिधिलाई निर्वाचन आयोगले आग्रह गरेको छ ।

निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४, निर्वाचन आचारसंहिता, २०७९, निर्वाचन विवाद (सुनुवाइ र निरुपण) सम्बन्धी कार्यविधि, २०७६, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७४ आदिमा भएका कानुनी व्यवस्थाको पालना गरी÷गराई देहायबमोजिम हुन सम्बन्धित मुख्य निर्वाचन अधिकृतमार्फत मतदान कार्यमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत सम्बद्ध कर्मचारीलाई आयोगले विशेष निर्देशन दिएको छ ।

आयोगले मतदातालाई मतदानका लागि सहज र सुरक्षित वातावरण बनाई मतदान केन्द्रमा जाँदा प्रज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामरा वा यस्तै प्रकृतिका सामान लिएर जान तथा कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन गरी मतदान केन्द्रमा प्रवेश गर्न निधेष गरिएको जनाएको छ ।

निर्वाचन आचारसंहिता, २०७९ बमोजिम मतदान कार्यमा खटिने कर्मचारी र उम्मेदवारका प्रतिनिधिलाई अनुसूची बमोजिमको प्रतिबद्धतापत्रमा दस्तखत गराई सोको पूर्ण पालना गर्ने÷गराउने, अशक्त ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी वा गर्भवती वा आफ्नो काखे बच्चा साथमा भएकी महिला, किरियापुत्री आदि जस्ता मतदातालाई प्राथमिकता दिई सहजरुपमा मतदान गर्ने व्यवस्था मिलाइने आयोगले जनाएको छ ।

मतदान अधिकृतले दृष्टिविहीन वा शारीरिकरुपले पूर्ण अशक्त वा अति अशक्त अपाङ्गताको प्रमाणपत्र भएको वा कुनै दुर्घटनामा परी वा अन्य कारणले आफैँ मतदान कक्षमा गई एक्लै मतदान गर्न असमर्थ व्यक्ति हो होइन यकिन गरी त्यस्ता आफैँ मत सङ्केत गर्न नसक्ने मतदाताका हकमा एकाघरको परिवारको सदस्यलाई मतदान कक्षमा जान अनुमति दिई मतदान अधिकृतको रोहवरमा सम्बन्धित मतदाताले भने बमोजिमको निर्वाचन चिह्नमा मत सङ्केत गर्ने उपयुक्त व्यवस्था मिलाइने जनाइएको छ ।

दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरू कुनै कारणले आफैँ मत सङ्केत गर्न नसक्ने भई मत सङ्केत गर्न सहयोग मागेमा मतदान अधिकृतले त्यस्तो मतदाताको मतपत्रमा निजको इच्छाअनुसार मत सङ्केत गर्ने काममा सहयोग गर्ने निर्देशन गरिएको छ ।

यस्तै कुनै मतदाताले मतपत्रको दुरुपयोग गरेमा, गैरकानुनी तवरले मतपत्र दिने वा लिने कार्य गरेमा, मतदानको अधिकार बिना वा पटक पटक मतदान गर्न आएमा, मतदान गर्न बाधा हुने कुनै कार्य गरेमा, उक्त मतदान केन्द्रमा नाम नभएको वा मतदान केन्द्रमा प्रवेश गर्ने अनुमति नपाएको व्यक्ति प्रवेश गर्न आएमा, नाम ढाँटी अर्काको नाममा मतदान गर्न आएमा, मतपत्रमा आफूले लगाएको मत सङ्केत सार्वजनिक गरेमा, मतपत्रलाई बिगार्ने वा नष्ट गर्ने कार्य गरेमा, सङ्केत गरेको मतपत्र मतपेटिकामा नखसालेमा वा मतपत्रबाहेक अन्य वस्तु मतपेटिकामा खसालेमा त्यस्त व्यक्तिलाई तत्काल नियन्त्रणमा लिई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही गरिने आयोगले जनाएको छ ।

निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट विवाद हुन नदिने र त्यस्तो अवस्था सिर्जना भएमा निर्वाचन विवाद (सुनुवाइ र निरुपण) सम्बन्धी कार्यविधि, २०७६ बमोजिम विवाद निरुपण गरी मतदान कार्यलाई निरन्तरता दिने, मतदान केन्द्रमा मतदान प्रारम्भ भएको र प्रत्येक दुई घन्टामा मतदाताको कूल सङ्ख्या, खसेको मत तथा मतदानसम्बन्धी अन्य विवरण छिटो माध्यमबाट निर्वाचन अधिकृत तथा आयोगलाई जानकारी गराउने जनाइएको छ ।

मतदान प्रारम्भ भई सम्पन्न नभएसम्म कुनै पनि किसिमको अवाञ्छित क्रियाकलाप वा असामान्य परिस्थिति सृर्जना भएमा तत्काल निर्वाचन अधिकृत, सुरक्षा संयन्त्र र आयोगमा जानकारी गराई मतदान कार्य सुचारु गर्न आवश्यक वातावरण मिलाउन पनि निर्देशन दिइएको छ ।

धुँवाले बस्ती ढाकियो

मलेखु – नीलकण्ठ नगरपालिका–८ को च्याढुघुम्तीस्थित डम्पिङ साइटमा सल्किएको आगोबाट निस्किएको धुवाँले आसपासका झन्डै एक दर्जन बस्ती प्रदूषित बनेका छन् ।

सदरमुकाम धादिङबेँसीबाट निस्किएको फोहोर फाल्ने डम्पिङ साइटमा आगो सल्किएपछि निस्किएको धुवाँको मुस्लोले एक सातादेखि मानव बस्ती नै धुवाँले ढाकिएको छ । एक साताअघि वन क्षेत्रमा लागेको डढेलो डम्पिङ साइटको अव्यवस्थित ढङ्गले फालिएको फोहोरको थुप्रोमा सल्किएको हो ।

विशेषगरी नीलकण्ठ–८ को ससाह, ज्यामिरेमा प्रदूषण फैलिएको छ । नीलकण्ठ¬–७ सुनौलाबजारको मस्र्याङछाप, डमडाँडा, सिद्धलेकको नलाङस्थित कालीदह, नयाँबस्तीमा पनि धुवाँको मुस्लोसहित प्रदूषण फैलिएको छ । दुर्गन्धसहित मानव बस्तीमा फैलिएको पिरो धुवाँले स्थानीय बिरामी पर्न थालेका छन् ।

आँखा पोल्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने, बान्ता हुने जस्ता समस्या देखिएको ससाह ज्यामिरेका स्थानीय अर्जुन श्रेष्ठले बताउनुभयो । डम्पिङ साइटसँगै जोडिएको धादिङबेँसी मलेखु सडकमा सहजै हिँड्न सक्ने अवस्था छैन । प्रदूषणले गर्दा चालक र यात्रुलाई नाकमुख बन्द गरेर डम्पिङ साइट क्षेत्र पार गर्नुपर्ने बाध्यता छ ।

तीन दिनअघि नगरपालिकाले दमकलको प्रयोग गरेर आगो निभाएको भने पनि फोहोरको डङ्गुरको भित्रसम्म पुगेको आगो अहिले झन् बढेकोे छ । नगरपालिकाले डम्पिङ साइट व्यवस्थित गर्न नसक्दा दिनानुदिन समस्या बढ्दै गएको प्रभावित क्षेत्रका स्थानीयले बताएका छन् ।

खुला रूपमा फालिएको फोहोरले वातावरणलाई प्रदूषित बनाएको छ । आगो सल्किएपछि निस्किएको दुर्गन्धित धुवाँले बस्तीमा बसी नसक्नु भएको स्थानीय भरत ढुङ्गानाले बताउनुभयो । “फोहोरको दुर्गन्धले हैरान छौँ, दुर्गन्ध र धुवाँको मुस्लोले बस्तीलाई ढाकिदिँदा सास फेर्नसमेत अप्ठ्यारो हुने गरेको छ”, उहाँले भन्नुभयो । प्रदूषणले सास्ती भएको जानकारी गराउँदै नगरपालिकालाई पटकपटक ध्यानाकर्षण गराएको उहाँले बताउनुभयो ।

नगरपालिकामा समस्या राख्दा छिट्टै व्यवस्थापन हुने आश्वासन पाउने गरेको स्थानीयको भनाइ छ । “आश्वासन पाइन्छ”, ढुङ्गानाले भन्नुभयो, “तर काम कहिल्यै भएन ।” बस्ती र जङ्गलमाथिको आकाश धुवाँले ढाकिएको छ । धुवाँ र दुर्गन्ध बढेपछि स्थानीय गाईबाख्रा चराउनसमेत जङ्गल जान सकेका छैनन् ।

आगो सल्किनुअघि नजिकै पुग्दा मात्रै दुर्गन्ध थाहा पाउने गरेको भए पनि अहिले बस्तीसम्मै दुर्गन्ध आएपछि स्थानीय पीडित बनेका छन् ।

जनघनत्व बढिरहेको यहाँको बजार क्षेत्रबाट दैनिक निस्कने फोहोरलाई च्याडुघुम्तीबाट थोपल खोला किनारमा फाल्दै आइएको छ । करिब दुई दशकदेखि यहाँ फोहोर फाल्दै आए पनि नगरपालिकाले व्यवस्थापन गर्न सकेको छैन ।

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले दोस्रोपटक विश्वासको मत लिँदै हुनुहुन्छ ।

आज अपराह्न ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिनुभयो ।

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले गत चैत १० गते मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिएपछि वर्तमान सरकार अल्पमतमा परेको थियो ।

समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले प्रदेशसभाबाट विश्वासको मत लिन लाग्नुभएको हो ।

संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेशसभा सचिवालयले जनाएको छ । साठी सदस्यीय प्रदेशसभाको विश्वास लिन मुख्यमन्त्रीलाई ३१ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ ।

गत पुस २५ मा एमालेसहित माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा अधिकारी गण्डकी प्रदेशको तेस्रो मुख्यमन्त्री बन्नुभएको थियो ।

मुख्यमन्त्री अधिकारीले संवैधानिक व्यवस्थाको पूर्ण पालना गर्दै आफूले २९औँ दिनमा विश्वासको मतको सामना गर्न लागेको बताउनुभयो । प्रदेशसभाको अङ्कगणित हेर्दा उहाँले विश्वासको मत पाउने सम्भावना भने कम देखिन्छ ।

सरकार गठनका लागि निर्णायक माओवादी केन्द्रले समर्थन फिर्ता लिएर नेपाली कांग्रेससँगको गठबन्धनमा पुगेको छ । प्रदेशसभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका आठ (सभामुखसहित), राप्रपाका दुई र एक स्वतन्त्र सदस्य हुनुहुन्छ ।

मुख्यमन्त्री अधिकारी विश्वासको मत प्राप्त गर्न नसके स्वतः पदमुक्त हुनुहुनेछ । वर्तमान सरकार ढलेपछि संवैधानिक व्यवस्था अनुसार नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ ।

शिक्षामा छात्राको पहुँच बढाउन कन्या विद्यालय सञ्चालन

राँझा । बाँकेको जानकी गाउँपालिकाले शिक्षामा छात्राको पहुँच बढाउन कन्या विद्यालय सञ्चालन गरेको छ । शैक्षिक सत्र २०८० देखि गाउँपालिकामा पहिलोपटक छात्राहरुका लागि विद्यालय सञ्चालन गरिएको हो ।

जानकी–३ मानपुरमा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा छात्राका लागि मात्रै यस वर्षदेखि कक्षा छ सम्म अध्यापन सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो विद्यालय सञ्चालनसँगै शुक्रबारदेखि भर्ना अभियान पनि सुरु गरिएको छ । यस वर्ष करिब दुई सय छात्रालाई विद्यालयमा भर्ना गर्ने लक्ष्य लिइएको छ ।

गाउँपालिकाले यस वर्ष रु ९० लाखको लागतमा छात्रा विद्यालय सञ्चालन गरिरहेको छ । सङ्घीय सरकारको विशेष अनुदानबाट आएको रु ५० लाखबाट गाउँपालिकाले विद्यालयको पर्खाल र शौचालय निर्माणको काम गरिरहेको छ भने विद्यालय सञ्चालन गर्न गाउँपालिकाले रु ४० लाख विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत डाँगीले जानकारी दिनुभयो ।

गाउँपालिकाले विद्यालयमा छात्ररुका लागि निःशुल्क शिक्षासहित शैक्षिक सामग्री, पोसाक र आउन जानका लागि निःशुल्क यातायात, स्वच्छ पानी तथा शौचालयको पनि व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष छब्बन खाँले बताउनुभयो ।

उक्त विद्यालयमा गाउँपालिकाका छवटै वडाका छात्रालाई समावेश गर्नेगरी पालिकाले यातायातको व्यवस्था गरेको छ । आवश्यकताअनुसार यातायातका साधन थप्दै जाने उहाँले बताउनुभयो । विद्यालय सञ्चालनका लागि शिक्षिकाको मात्रै व्यवस्था गरिएको छ । मधेसी र मुस्लिम समुदायको बाहुल्यता रहेको उक्त गाउँपालिकामा शिक्षालाई प्राथमिकता दिई काम गरिरहेको अध्यक्ष खाँको भनाइ छ ।

गाउँपालिकामा प्राथमिक विद्यालय १६, आधारभूत विद्यालय तीन र मावि पाँच छन् । यहाँ १४ मदरसा छन् । छ सामुदायिक विद्यालय रहेको उक्त पालिकामा एक गुरुकुल पनि सञ्चालनमा छ । माविसम्म सीमित रहेको सो गाउँपालिकामा यसै शैक्षिक सत्रदेखि कक्षा ११ को पढाइ सञ्चालनका लागि कार्यपालिकाबाट निर्णय भइसकेको शिक्षा अधिकृत कृष्णाकुमारी भण्डारीले बताउनुभयो ।

काेशी नामाकरण बिरुद्दकाे आन्दोलन मृत्यु भएका लिम्बुको अन्त्येष्टी आज

इटहरी – कोशी प्रदेश नामाकरणको माग गर्दै भएको आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बुको आज अन्त्येष्टी गरिदैछ । 

एक महिनाअघि सुरक्षाकर्मीको लाठी प्रहारबाट घाइते भई उपचारका क्रममा मृत्यु भएका सहिद लिम्बूको आज अत्येष्टि गरिन लागिएको हो । 

‘पहिचानवादी आन्दोलन’ मा मृत्यु भएका लिम्बूलाई राजपत्रमा प्रकाशित गर्दै सहिद घोषणा गरिसकेको छ । 

संघीय लिम्बुवान राष्ट्रिय मञ्चका सुनसरी अध्यक्ष अमर इजमले जानकारी दिए अनुसार झन्डै एक महिना देखी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी हाउसमा राखिएको शवलाई याक्थुङ लिम्बू परम्पराअनुसार शनिवार अन्त्येष्टि गर्न लागिएको हाे । 

उनका अनुसार शनिबार बिहान ९ बजे धरानमा शवयात्रा गरिने र भानुचोकमा श्रद्धाञ्जली अर्पण कार्यक्रम गरिने छ भने लिम्बूको स्थायी घर मोरङको उर्लाबारीस्थित लालभित्तीमा पुर्‍याएर अन्त्येष्टि गरिदैँछ ।

कञ्चनपुरमा मान्छे खाने बाघ २२ घन्टा पछि नियन्त्रणमा

कञ्चनपुर – कञ्चनपुरको बेलौरीमा महिलालाई आक्रमण गरी बेपत्ता पार्ने पाटे बाघलाई नियन्त्रणमा लिईएको छ। 

राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले नियन्त्रणमा लिदैँ झन्डै २२ घन्टासम्म बेपत्ता महिलालाई मृत अवस्थामा फेला पारेको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुइका गंगा चन्दलाई हिजो बाघले लगेको थियो । हिजो दिनभर र रातभर खोजे पनि फेला परेको थिएन तर शनिवार बिहान पुनः खोजबिन गर्दा २२ घन्टा पछि मात्रै उनको शव फेला परेको हो । 

यता, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले करिब २२ घण्टापछि बाघसमेत नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएको बाघलाई बेल्डाँडी पोस्टमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डांगीले बाघ फेला परेकै स्थानमा महिलाको शव पनि फेला परेको बताए। चन्दसहित स्थानीय महिला घाँस काट्न गएका बेला बाघले शुक्रवारआक्रमण गरेको थियो। सो क्रममा अन्य महिलाहरु भने भागेर ज्यान जोगाउन सफल भए पनि चन्दलाई भने बाघले लिएर गएको थियो । 

जङ्गली हात्तीले कुल्चेर वृद्धको मृत्यु

झापा – जङ्गली हात्तीको आक्रमणमा परी बुद्धशान्ति गाउँपालिका–५ खारखोलाका एक वृद्धको मृत्यु भएको छ ।

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार आज बिहान ७० वर्षीय भीमबहादुर भट्टराईलाई हात्तीले कुल्चेर मारेकोे हो । बारीमा पाक्न लागेको मकैबाली खान आएको हात्तीलाई लखेट्ने क्रममा भट्टराईलाई हात्तीले आक्रमण गरेको प्रमुख राईले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालय र प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको जनाउँदै उहाँले थप विवरण आउन बाँकी रहेको बताउनुभयो । जिल्लाको पूर्वी क्षेत्र बाहुनडाँगी हुँदै भारतबाट समेत जङ्गली हात्तीको हुल नेपाल प्रवेश गर्दै आएको छ भने एक दर्जनको सङ्ख्यामा रैथाने हात्ती स्थानीय जङ्गलमा बस्दै आएका छन् । हुलबाट एक्लिएको जङ्गली हात्तीले मान्छेमाथि आक्रमण गर्दै आएको स्थानीयवासी बताउँछन् ।

चितवन –२ : उपनिर्वाचनको तयारी अन्तिम चरणमा

चितवन – चितवन क्षेत्र नम्बर २ मा आइतबार हुने उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुर्‍याइएको छ । 

तयारी स्वरूप यस क्षेत्रमा रहेका मतदान स्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् । उनीहरूले मतदान स्थल निर्माण, चार किल्ला तोक्ने र राजनीतिक दलहरूसँग छलफल गर्ने लगायतका काम सम्पन्न गरिसकेका छन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी ईश्वरी आचार्यका अनुसार यस क्षेत्रमा रहेका ४३ स्थलका एक सय ३८ केन्द्रमा छ सय ९० कर्मचारी खटिएका हुन् । उनीहरूसँगै सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन् । तीमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।

यस्तै निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले निर्वाचनको दिन अत्यावश्यकबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाएको छ । 

निर्वाचन आयोगद्वारा जारी भएको मतदानको दिन सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड २०७९ बमोजिम अत्यावश्यक एम्बुलेन्स, दमकललगायतका सवारी साधन बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलद्वारा जरी विज्ञप्तिमा निर्वाचनको दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म उपनिर्वाचन हुने क्षेत्रका राजमार्ग एवं भित्री सडकमा सवारीमा रोक लगाइएको छ । उपनिर्वाचन सीमित क्षेत्रमा हुने भएकाले सुरक्षाका लागि यो व्यवस्था गरिएको हो ।

निर्वाचनलाई लक्षित गर्दै निर्वाचन हुने क्षेत्रभित्र मदिरा बिक्री वितरणका लागि रोक लगाइएको छ । यही वैशाख ७ गते रातिदेखि मतदान सम्पन्न नभएसम्मका लागि मदिरा बिक्री वितरणमा रोग लगाइएको हो । 

जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन २०२८ बमोजिम सो क्षेत्रभित्र मदिरा बिक्री वितरणमा रोक लगाएको हो ।

आज नेकपाकाे ७५ औँ स्थापना दिवस,एमालेले १४ जना योद्धालाई सम्मान गर्ने

काठमाडौं – आज नेपाल कम्यूनिष्ट पार्टीको स्थापना दिवशको दिन । २००६ वैशाख १० गते तद्नुरुप २२ अप्रिल १९४९ का दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको हो ।

कमरेड पुष्पलाल श्रेष्ठको नेतृत्वमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संस्थापक रहेर भारतको कोलकाताको श्यामबजार इलाका २८, नवीन सरकार लेनस्थित एक घरको दोस्रो तल्लामा नेकपाको स्थापना गरिएको थियो । मोतीदेवी भौतिक रुपमा उपस्थित हुनुहुन्थेन ।

कम्युनिष्ट घोषणापत्र जारी भएको १ सय २ वर्षपछि र सोभियत संघमा अक्टोबर क्रान्ति सम्पन्न भएको ३२ बर्षपछि नेपाली कम्युनिस्ट आन्दोलनको स्थापना भएको थियो । चीनमा माओत्सेतुङको नेतृत्वमा जनवादी क्रान्ति सफल हुनुभन्दा चार महिनाअघिको यस समयमै अंग्रेज उपनिवेशबाट छिमेकी भारत मुक्त बनिसकेको र नेपालीहरू १ सय ४ वर्ष लामो जहानियाँ राणा शासनको निरंकुशताबाट मुक्त हुन खोजिरहेको बेला भएको थियो ।

यसै सन्दर्भमा आज नेकपा एमालेले पार्टी केन्द्रीय कार्यलय च्यासलमा एक विशेष कार्यक्रमको आयोजना गरिएको छ । अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई विगतको संकटपूर्ण अवस्थाबाट यहाँसम्म ल्याइपुर्याउन महत्वपूर्ण योगदान १८ जना योद्धाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको पार्टी केन्द्रीय कार्यलयले जनाएको छ ।

यसैबीच हालै नेकपा एस छाडेका मुकुन्द न्यौपाने आफ्नो टिमसहित एमालेमै फर्किँदैछन्। २५ चैतमा नेकपा एकीकृत समाजवादी त्यागेका उनी नेकपा स्थापना दिवसको अवसरमा एमालेले राखेको कार्यक्रममै एमालेमा फर्किन लागेका हुन्र

उनीसँगै केदार न्यौपाने, चुडामणि जंगली बिश्वकर्मासहित मकवानपुर, दाङ, रुकुम, रोल्पासहित जिल्लाका नेताहरू एमालेमा फर्किन लागेका हुन्।

बागलुङमा डढेलोले ४५० हेक्टर वन सखाप

बलेवा – सुक्खा याम सुरु भएसँगै बागलुङको करिब चार सय ५० हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । 

पाँच राष्ट्रिय र १७ सामुदायिक वनमा आगलागी भएको हो । 

गत माघ १८ गते पहिलो पटक जिल्लाको तमानखोला गाउँपालिकाको खुंखानीमा पर्ने हापली छहरा मठुरे राष्ट्रिय वनमा आगलागी भएको थियो । चार दिनसम्म फैलिएको आगलागीले दुई सय हेक्टर वन क्षेत्र मासेको डिभिजन वन कार्यालय बागलुङको तथ्याङ्क छ । 

गत माघदेखि सुरु भएको आगलागीको शृङ्खला रोकिएको छैन । बस्ती नजिकैका सामुदायिक तथा निजी आवादी वन क्षेत्र र सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी भइरहेको डिभिजन वन अधिकृत मुकुन्दप्रसाद अधिकारीले बताउनुभयो । जानीजानी वा दुर्घटनावश बिहीबारसम्म बागलुङका २२ वनमा डढेलो लागेको तथ्याङ्क छ । केही तथ्याङ्क भने आउनै बाँकी छ ।

यस वर्ष सबैभन्दा धेरै आगलागी बागलुङ नगरपालिकाका वनमा भएको छ । बागलुङ नगरपालिकाका छ सामुदायिक वन र एक ठाउँमा राष्ट्रिय वन क्षेत्रमा आगलागी भएको हो । 

जैमिनी नगरपालिकाका पाँच, बडिगाडका तीन, काठेखोलाका दुई र तमानखोला, निसीखोला र बरेङ गाउँपालिका तथा ढोरपाटन नगरपालिकाको एक÷एक वनमा आगलागी भएको छ ।

जिल्लामा एक लाख पाँच हजार पाँच सय एक हेक्टर जमिनमा वन फैलिएको छ । जिल्लाभर पाँच सय २७ सामुदायिक वन ३३ हजार नौ सय नौ हेक्टरमा फैलिएका छन् भने, आठ  दर्ता भएका निजी र बाँकी राष्ट्रिय वन क्षेत्र रहेको सहायक वन अधिकृत मदन कँडेलले बताउनुभयो ।

गत वर्ष हिउँदमा वर्षा हुँदा बागलुङका वन क्षेत्रमा आगलागी भएको थिएन । एकाध वन क्षेत्रमा लागेको आगोसमेत समयमै स्थानीयले नियन्त्रणमा लिएका थिए । यस वर्ष हिउँद सुक्खा हुँदा अधिकांश वन क्षेत्र आगलागीको जोखिममा परेको वन अधिकृत अधिकारीले बताउनुभयो । वर्षा नभएसम्म बाँकी रहेका वन क्षेत्रसमेत आगलागीको जोखिममा छन् ।   

“गत वर्ष डढेलो नलागेकाले वनमा कुहिएका काठ र पात पतिङ्गर सङ्कलन भएर बसेका थिए”, उहाँले भन्नुभयो, “थुप्रो लागेका काठ, पात र झाडीका कारण यो वर्ष वन थप जोखिममा परे, आगलागी भएको ठाउँमा नियन्त्रण गर्न कठिन भयो ।” डढेलोको सम्भावित जोखिम भएका ठाउँमा सचेतनामूलक कार्यक्रम गर्ने, अग्निरेखा बनाउने तालिम, आगलागी भइहालेमा रोकथाम र नियन्त्रणका लागि सुरक्षा निकायलाई उपकरण उपलब्ध गराउने लगायतका काम गरिएको उहाँले बताउनुभयो । वनमा आगो लगाउनेलाई बिगो असुल, तीन वर्ष कैद सजाय, रु ६० हजार जरिवाना वा ती सबै सजाय हुने कानुनी व्यवस्था छ तर वनमा आगो लगाउनेको पहिचान हुन सकेको छैन ।

जङ्गली जनावरबाट बच्न, वर्षा याममा मल हुने लोभलगायतका कारणबाट वनमा आगो लगाउने गरेको पाइन्छ । खरबारीमा डढेलो लगाएमा नयाँ घाँस राम्रो र बाक्लो पलाउँछ भनेर पनि आगो लगाउँदा नियन्त्रणभन्दा बाहिर गई  क्षति हुने गरेको छ । 

जनजङ्गलमा आगलागी हुँदा बस्तीमा ल्याइएका पानीका पाइप पोलिएर कयौँ ठाउँमा खानेपानीको समस्या छ भने कतिपय जङ्गल क्षेत्रमा रहेका महत्त्वपूर्ण जडीबुटी जलेका छन् ।रासस

मिसन ग्रासरुटले पार्टीमा नयाँ उत्साह थपेको छ : महासचिव पोखरेल

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले देशभर मिसन ग्रासरुटले पार्टीमा नयाँ उत्साह थपेको बताउनुभएको छ । मिसन ग्रासरुट अभियानका सबै प्रतिवेदनका आधारमा पार्टी केन्द्रीय कमिटीको आगामी कार्ययोजनाको जग तयार गरिने उहाँले बताउनुभयो ।

काठमाडौँको महाराजगञ्जमा भएको मिसन ग्रसरुट अभियान र सिकाइ छलफल तथा अन्तक्र्रिया कार्यक्रममा पार्टीले हाल अभियानको समीक्षा गरिरहेको उहाँले जानकारी दिनुभयो । “एउटा प्रदेशमा ९० वटा प्रतिवेदन तयारी हुने र देशभरिका सात सय ५३ पालिकाबाट अलगअलग प्रतिवेदन आउनेछ । पार्टी कमिटीको कार्ययोजना सबै प्रतिवेदनका आधारमा बन्नेछ”, उहाँले भन्नुभयो ।

प्रदेशको प्रतिवेदनका आधारमा प्रदेशको कार्ययोजना बन्ने, जिल्ला प्रतिवेदनको निष्कर्षका आधारमा जिल्ला कार्ययोजना बन्ने र पालिका प्रतिवेदनका आधारमा पालिका कार्ययोजना निर्माण गर्ने तयारी गरिएको महासचिव पोखरेलले बताउनुभयो ।

नेपालको राजनीतिक इतिहासमा यति ठूलो अभियान यो पहिलो पटक गरिएको भन्दै उहाँले पार्टीले के अपेक्षा राखेको थियो र केकस्तो नतिजा आयो भन्ने कुरा आगामी दिनमा आधारभूत तहका प्रतिवेदनले दिने बताउनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, “आगामी चार वर्षपछिको निर्वाचनमा बलियो राष्ट्रिय बहुमत प्राप्त गर्न सहज होस् भनेर पार्टीले देशव्यापी अभियान चलाएको छ । वैचारिक सङ्गठानिक अभियानको मुख्य उद्देश्य युवाबीच पार्टीलाई पु¥याउन र स्थापित गर्न पनि हो ।”

“मिसन ग्रासरुट पार्टी सुदृढीकरणको विस्तार अभियानलाई हामीले अगाडि बढाउन खोजेका छौँ । मिसनको उद्देश्य तत्कालको परिणाममा हामी केन्द्रित छैनौँ । चार वर्ष पछाडि यो मुलुकमा नेकपा एमालेलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नेछ । मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्नसक्ने खालको बहुमतको सरकार बनाउने सामथ्र्यका रूपमा हामीले अभियानलाई हेरेका छौँ”, उहाँले थप्नुभयो । पार्टीभित्रको सक्रियता निष्क्रियता सबै मापन गरेर सक्रियको जमातका रूपमा पार्टीलाई रुपान्तरित गरिने उहाँको भनाइ थियो ।

नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष डा दिनेशचन्द्र देवकोटाले पार्टीले देशभर सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको अनुभव र सिकाइ केकस्ता भए भनेर छलफल गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । यस अभियानले पार्टीमा थप सहयोग पु¥याउन सहरमा मात्र केन्द्रित नभएर हरेक स्थानीय तहसम्म पार्टीलाई सुदृढीकरण गर्न सहयोग पुग्ने बताउनुभयो । पार्टीलाई सही ढङ्गले प्रतिक्रिया दिन अनुभव र सिकाइको अन्तक्र्रिया गरिएको उहाँको भनाइ छ ।

मिसन ग्रासरुट : अभियान र सिकाइको कार्यपत्र प्रस्तुत गर्दै उपाध्यक्ष विधान आचार्यले मिसनको उद्देश्यमा जनसङ्गठनको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले विभिन्न समुदायमा पार्टीलाई लैजान र स्थापित गर्न, पार्टी कार्यकर्ता तयार गर्न नर्सरीका रूपमा विकास गर्न र सरोकारका विषयमा आफ्नो समुदायको बढी केन्द्रित गर्न जनसङ्गठनको भूमिका धेरै रहेको धारणा राख्नुभयो ।

उपाध्यक्ष आचार्यले मिसन ग्रासरुटबाट पार्टीभित्र छड्के परीक्षण भएकोसमेत बताउनुभयो । आफ्नो जिम्मेवारीको बोध नगरेका सदस्यलाई जिम्मेवार बनाउनसमेत भूमिका खेलेको उहाँको भनाइ थियो ।

त्यसैगरी टिप्पणीकर्ता मीनबहादुर शाहीले पार्टीभित्र सही ढङ्गले सदस्यता वितरण गर्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहमा भएका कमिटी चलायमान राख्नुपर्ने र स्थानीय तहका कमिटीमार्फत सदस्य थप गर्दा अझ प्रभावकारी हुने धारणा राख्नुभयो ।

हावाहुरीले हवाई उडान प्रभावित

काठमाडौँ – हुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएको छ ।

अपराह्नदेखि सुरु भएको हुरीले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार एक घण्टादेखि निरन्तर चलिरहेको हावाहुरीले आन्तरिकतर्फ उडान ‘डिले’ भएका छन् भने अन्तर्राष्ट्रियमा केही उडान आकाशमा फन्को लगाउने ‘होल्ड’ भएका छन् ।

भारतको नयाँदिल्लीबाट आएको भिस्तारा एयर र कतारको दोहाबाट आएको कतार एयरवेजको जहाज एक घण्टा बढी होल्डमा परेको हो । “वेगले चलेको हुरीले विमानस्थलबाट हुने सम्पूर्ण उडान प्रभावित भएको छ । बीचमा हुरी कम भएकाले आन्तरिक उडानका जहाज अवतरण गरिए पनि पुनः हुरी चलिरहेकाले आन्तरिक उडान स्थगित गरिएको छ । अन्तर्राष्ट्रियका दुई जहाज होल्डमा छन्”, महाप्रबन्धक तिवारीले भन्नुभयो ।

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेकाले देशका पहाडी भेगका कतिपय स्थानमा हल्कादेखि क्षणिक वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा अपराह्नपछि हल्कादेखि क्षणिक वर्षा भएको छ ।

सिंहदरबारको फोहोर उठाउन महानगरलाई सर्वोच्चको आदेश

काठमाडौँ – सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकालाई सिंहदरबारभित्रको फोहोर तीन दिनभित्र उठाउन अन्तरिम आदेश दिएको छ । 

शुक्रबार अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले सिंहरदरबारभित्रको क्षेत्र,राष्ट्रपतिको कार्यालय शितल निवास र प्रधानमन्त्री कार्यालय रहेको क्षेत्रका फोहोर उठाउन आदेश दिएको हो । 

महानगरपालिकाका मेयर बालेन्द्र शाहले संघीय सरकारले आफूहरुसँग समन्वय नगरेको भन्दै गत चैत २४ गतेदेखि ती क्षेत्रको फोहोर नउठाउने अडान लिनुभएकाे थियाे । 

ओमनमाथि नेपालको शानदार जित

काठमाडौं – एसीसी प्रिमियर कपमा नेपालले ओमानमाथि ८४ रनको जित हात पारेको छ ।

नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमानले २२६ रन मात्र बनाउन सक्यो । ४६.३ ओभरमा नवौं विकेट गुमाएको ओमानका अन्तिम ब्याट्सम्यान घाइते भएका कारण क्रिजमा आउन सकेनन् र नेपाल विजयी भयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशल मल्लको शतक र सोमपाल कामीको अर्धशतकको मदतमा कीर्तिमानी ३१० रन बनाएको थियो ।

थप १०६ जना कोरोना संक्रमित, १ जनाको मृत्यु

काठमाडौं – देशभर थप १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ८८६ जनाको नमूना परीक्षण गरिएको थियो ।

५ सय ८१ जनाको पीसीआर र १ हजार ३ सय २ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार ४६ जना संक्रमणमुक्त भएका छन् । हाल ४ सय १४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाको संक्रमणबाट एक जनाको मृत्यु हुनेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकहरुलाई गर्‍यो कारबाही

काठमाडौं – नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ । राष्ट्र बैंकको नियम विपरीत काम गर्ने कुल ९ वटा वाणिज्य बैंकहरुलाई बैंक सुपरीवेक्षण विभागले कारवाही गरेको छ । जसअनुसार तोकेको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) लाई कायम नगर्दा जरीवानामा परेका छन् । 

राष्ट्र बैंकले सीडी रेसियो कायम गर्न नसकेको सेन्चुरी बैंक (हाल प्रभु बैंक) लाई २ करोड ८४ लाख रुपैयाँको जरिवाना तिराएको हो । यसैगरि, नेपाल बैंकलाई १८ लाख ५९ हजार रुपैयाँ र नबिल बैंकलाई ६ करोड ४६ लाख ४५ हजार रुपैयाँ, सीडी रेसियो कायम नगर्दा ग्लोबल आइएमई बैंक ४ करोड ४२ लाख ४६ हजार रुपैयाँ, कृषि विकास बैंक ६९ लाख ५८ हजार रुपैयाँ र हिमालयन बैंक ७१ लाख ७२ हजार रुपैयाँ कारवाहीमा परेका छन् । 

राष्ट्र बैंकका अनुसार सम्पति शुद्धीकरण सम्बन्धी ऐन निर्देशन उल्लंघन गरेको राष्ट्रिय वाणिज्य बैंकलाई १० लाख रुपैयाँ नगद जरिवाना गरिएको हो । 

नेपाललाई सातौं सफलता

काठमाडौँ – एसीसी प्रिमियर कप अन्तर्गत ओमानविरुद्ध नेपाललाई सातौं सफलता मिलेको छ ।

टियु मैदानमा जारी खेलमा नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमानले सातौं विकेटका रुपमा मोहम्मद नदीमलाई गुमाएको हो । उनले ८४ बलमा ६५ रन जोड्दै पेभिलियन फर्किए ।

नेपालका करण केसीले उनलाई आउट पारे ।

यो समाचार तयार पार्दासम्म ओमान ४२.३ ओभरमा ७ विकेटको क्षतिमा २०४ रनको स्थितीमा छ ।

त्रिबिले साारयो १० गतेको परिक्षा,अब बैशाख १६ मा हुने

काठमाडौं – आगामी वैशाख १० गते हुने भनिएको परीक्षा वैशाख १६ गतेका लागि सारेको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले उपनिर्वाचनको दिन हुन गइरहेको परिक्षाले एकसाता पछि सारेको हो ।

गत वैशाख ४ गतेदेखि सुरु भएको स्नातक तह पहिलो वर्षको परीक्ष अन्र्तगत बैशाख १० गते मानविकी र व्यवस्थापन संकायका परिक्षा सञ्चालन हुनेमा सो दिनको परिक्षा सरेको हो ।

निर्वाचन आयोग, गृह र शिक्षा मन्त्रालयको आग्रहमा उक्त दिनको परीक्षा वैशाख १६ गते सोही समय र परीक्षा केन्द्रमा सञ्चालन हुनेछ ।

सुदूरपश्चिम सरकारले केही दिनमै पूर्णता पाउँछ : मुख्यमन्त्री शाह

बैतडी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले केही दिनमै पूर्णता पाउने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन बैतडीले गोठलापानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले उपनिर्वाचन लगत्तै केही दिनमै प्रदेश सरकारले पूर्णता पाउने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “केन्द्रमा गठबन्धन सरकार बनेकाले सोहीअनुसार प्रदेश सरकार बन्छ, केन्द्रीय गठबन्धनअनुसार प्रदेश सरकार विस्तार हुने भएकाले उपनिर्वाचनपछि सुदूरपश्चिम सरकारले पनि पूर्णता पाउँछ ।”

नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहलाई कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र एक स्वतन्त्र सांसदको समर्थन छ । शाह माघ २६ गते मुख्यमन्त्रीमा गत माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

मुख्यमन्त्री शाहले पश्चिम सेती परियोजनाको काम अघि बढाइने जानकारी दिनुभयो । उहाँले भन्न्नुभयो, “पश्चिम सेती सुदूरपश्चिम प्रदेशको मात्रै नभएर देशकै भविष्यसँग जोडिएको छ, यो परियोजनाले विकासमा सहयोग पु¥याउने भएकाले अबको छ महिनाभित्र देखिने गरेर काम अगाडि बढ्ने विश्वास छ ।”

पहिलोपटक जिल्ला भ्रमणमा रहेकाले जिल्लाको वस्तुस्थिति बुझ्ने सोहीअनुसार आगामी वर्षको बजेट र कार्यक्रम तर्जुमा गरिने विश्वास दिलाउनुभयो ।

उहाँले भन्नुभयो, “मुख्यमन्त्री भइसकेपछि म प्रदेशका सबै जिल्ला भम्रण गर्न गइरहेको छु, सबै जिल्लाको वस्तुस्थिति बुझेर सोहीअनुसार बजेट निर्माण गर्छौं ।” सुदूरपश्चिम प्रदेशको विकासका लागि लगानीकर्तालाई आह्वान गरेको र निर्धक्करुपमा लगानी गर्न आग्रह गर्नुभयो ।

उपनिर्वाचनपछि सरकारले पूर्णता पाउँछ : रक्षामन्त्री

वीरेन्द्रनगर – उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वैशाख १० मा हुन लागेको उपनिर्वाचनपछि संघीय सरकारले पूर्णता पाउने बताउनुभएको छ ।

आज सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै खड्काले भन्नुभयो, “यस बीचमा सर्वोच्च अदालतको प्रधानन्याधीशको नियुक्ति, सुनुवाइ समितिको निर्माण, संवैधानिक परिषद्सँगसम्बन्धित ऐन पेश भइसकेको छ त्यसलाई पनि अघि बढाउने गरी प्रक्रिया अघि बढेको छ ।”

उहाँले आगामी आर्थिक वर्षको बजेटमा कर्णाली करिडोरलाई प्राथमिकतामा राखिने बताउनुभयो । “अहिले मुलुकको अर्थतन्त्रको अवस्था अप्ठ्यारो छ त्यसका बाबजुत पनि कर्णाली करिडोरको सडकलाई राष्ट्रिय प्राथमिकताको राखेर बहुवर्षीय योजनामा अगाडि बढाउने योजनामा छौँ ”, खड्काले भन्नुभयो । यसका लागि कर्णालीबाट सङ्घमा प्रतिनिधित्व गर्ने सबै मन्त्रीहरुले प्राथमिकताका साथ काम अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ ।

साथै, हाल रत्नराजमार्गको सडकको डिपिआर तयार भइ अगाडि बढाउने काम भएको र वीरेन्द्रनगर तेलपानी भुरीगाउँ सडकलाई पनि प्राथमिकतामा राखेको उहाँको भनाइ छ ।

कर्णाली र सुदूरपश्चिमलाई सङ्घीय बजेटबाट धेरै पछाडि पार्ने चलन भएको भन्दै अब यी प्रदेशमा बजेटको प्राथमितामा पारिने बताउनुभयो । “सम्माननीय प्रधानमन्त्री र म चुनावी अभियानको क्रममा कर्णाली आउँदा हामीले चुनाव जित्यौँ भने त्यसपछि बन्ने सरकारले बजेटमा प्राथमिकता पार्छौँ भनेका थियौँ”, मन्त्री खड्काले भन्नुभयो, “यो कुरामा हामी प्रतिबद्ध छौँ । विगतमा यो प्रदेश पछाडि परेको अवस्था हो त्यसलाई चिर्दै अगाडि बढ्दैछौँ ।”

काठमाडौँको आकाश कहिले खुल्छ ?

काठमाडौँ – सङ्घीय राजधानी काठमाडौँको आकाश पछिल्लो एक सातादेखि धुलोयुक्त बाक्लो तुवाँलोले ढाकेको छ ।

मौसममा आएको फेरबदलले काठमाडौँको अधिकतम तापक्रम वृद्धि भई ३३ डिग्री हाराहारी पुगेको छ । मौसम बदलीसँगै अधिकतम तापक्रम निरन्तर बढिरहेकाले काठमाडौँमा निकै गर्मी महसुस गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार एक सातादेखि अधिकतम तापक्रम बढेर तराई क्षेत्रमा ४० देखि ४३ डिग्री हाराहारी पुगेको छ । आज सबैभन्दा बढी भैरहवाको अधिकतम तापक्रम ४२ दशमलव ३ डिग्रिसेल्सियस छ ।

नेपालगञ्ज र जनकपुरको तापक्रम ३९ डिग्रिसेल्सियस पुगेको छ ।ण् आज काठमाडौँको अधिकतम ३३ र न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस छ । बिहीबार काठमाडौँको अधिकतम तापक्रम ३३ डिग्रीसेल्सियस र न्यूनतम तापक्रम १५ दशमलव ८ डिग्रिसेल्सियस रहेको थियो ।

काठमाडौँमा पछिल्लो एक सातादेखि अधिकतम तापक्रम ३० देखि ३३ पुगेको छ । तापक्रम बढेकाले तराई क्षेत्रमा मात्रै नभइ काठमाडौँसहित पहाडी भेगमा समेत गर्मी बढेको छ ।

एकातर्फ अधिकतम तापक्रम वृद्धि भएको र अर्कोतर्फ वन डढेलोका घटना पनि बढिरहेकाले वायु प्रदूषण बढेको हो । तापक्रम वृद्धि र वन डढेलोका घटनाले काठमाडौँसहित देशभर वायु प्रदूषणसमेत बढेको विज्ञहरुको भनाइ छ । वातावरणविद् भूषण तुलाधरका अनुसार सामान्यतः यो मौसन प्रदूषित हुने र पछिल्ला दिनमा देशका विभिन्न भागमा वन डढेलोका कारण वायु प्रदूषण बढेकोहो ।

जलवायु परिवर्तनका कारण लामो समय पानी नपरेकाले वन डढेलोका घटना बढिरहेको र यसले वातावरणमा प्रत्यक्ष असर पु¥याइरहेको उहाँको भनाइ छ । तापक्रम वृद्धि भएसँगै वन डढेलोका घटना पनि ह्वात्तै बढेका छन् । सुक्खा खडेरी बढ्दो क्रमसँगै बुधबार मात्र देशभर एकै दिन १७ जिल्लामा तीन सय ७९ स्थानमा डढेलो लागेको थियो । बढ्दो तापक्रम, प्रतिकूल मौसम, वनमा रहेको ज्वलनशील पदार्थको उपस्थिति तथा भौगोलिक विकटताका कारण वन डढेलो नियन्त्रण र व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।

वन तथा भू–संरक्षण विभागले दिएको जानकारीअनुसार बुधबार एकै दिन तीन सय ७९ डढेलोका घटना यस वर्षकै सबैभन्दा उच्च हो । वन डढेलोबाट निस्केको धुवाँका कारण देशभरको आकाश तुवाँलोले ढाकेको छ भने यसको वायु प्रदूषणले जनस्वास्थ्यमा समस्या देखिन थालेको छ ।

वातावरणविद् तुलाधरले वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको बताउनुभयो । उहाँले वायु प्रदूषणले श्वासप्रश्वास, मुटु क्यान्सरलगायत दीर्घरोगको खतरा रहेको उहाँको भनाइ छ । “वायु प्रदूषण बढ्नुमा डढेलोको पनि मुख्य भूमिका छ, वन डढेलो लाग्ने दुई कारणमध्ये पहिलो मानवीय क्रियाकलाप र दोस्रो जलवायु परिवर्तनका कारण लामो समय वर्षा नभएर सुक्खापना बढिरहेकाले डढेलोको जोखिम बढाएको छ”, उहाँले भन्नुभयो ।

वायु प्रदूषण नियन्त्रणका लागि तत्कालै डढेलो नियन्त्रण र आगामी दिनमा यसको जोखिम न्यूनीकरणमा रणनीतिक योजना आवश्यक रहेको उहाँको भनाइ छ । “यो तापक्रम बढ्ने बेला भए पनि बीचबीचमा बादल थपिँदा तापक्रममा केही कमी हुने वा उस्तै रहने अवस्था हुन्थ्यो तर अहिले भने तापक्रम लगातार बढिरहेको छ”, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले भन्नुभयो । साथै नयाँ मौसमी प्रणाली विकास नहुँदा मौसम स्थिर रहेको उहाँको भनाइ छ ।

महाशाखाका मौसमविद् गोविन्द झाले पश्चिमी वायुको सक्रियतासँगै स्थानीय वायुको प्रभाव देखिएकाले बदली र वर्षा गराएको बताउनुभयो । बादल लागेर बर्सात हुने भएकाले विगत केही दिनको तुलनामा अबका दिनमा तापक्रम क्रमशः घट्ने उहाँको भनाइ छ । “अबको केही दिनसम्म यही मौसमी प्रणाली कायम रहे पनि आइतबारदेखि मौसम क्रमिकरुपमा सुधार आउने छ”, मौसमविद् झाले भन्नुभयो ।

दुई वर्षअघि चैतमा वायु प्रदूषण अत्यधिक बढेकाले स्वास्थ्यमा हुनसक्ने जोखिमलाई दृष्टिगत गर्दै सरकारले चार दिन विद्यालय बन्द गरेको थियो । तराईमा तापक्रम वृद्धि भएसँगै लुसमेत चलेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तराईमा गर्मी बढेसँगै ‘लु’ बाट बच्न आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले तापक्रम बढेसँगै तराईका जिल्लामा तातो हावासँगै लु चल्न सक्ने भएकाले बच्न सबैलाई आग्रह गर्नुभयो । मन्त्रालयले तातो हावा वा लुबाट बच्नका लागि दिउँसो घरबाट बाहिर ननिस्कन, बाहिर निस्कन परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्न, फलफूलको रस र पानी पिउन तथा धेरै पसिना आएमा जीवनजल खाना आग्रह गरेको छ ।

नेपालमा खासगरी माघदेखि जेठसम्म बढी वनमा डढेलो लाग्ने गरेको छ । विभागको तथ्याङ्कअनुसार यही वैशाख १ गते २६ जिल्लाका एक सय १२, वैशाख २ गते आठ जिल्लाका २८, वैशाख ३ गते १२ जिल्लाका ३२, वैशाख ४ गते १० जिल्लाका ६४ र वैशाख ५ गते ३३ जिल्लाका एक सय ८० स्थानमा डढेलो लागेको थियो । नेपालमा विशेषगरी तराई र भित्री मधेसका जिल्लामा वन डढेलो बढी लाग्ने गरेको विभागको वन डढेलो सूचना कक्षका सहायक वन अधिकृत गोविन्दकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पछिल्लो समय जलवायु परिवर्तन र वन डढेलो बीचको दुष्चक्रिय अन्तरसम्बन्धले समस्या जटिल बन्नाका साथै डढेलोका घटनासमेत वृद्धि हुँदै आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सन् २००८ देखि सन् २०२१ सम्म वन डढेलोका ३४ हजार सात सय २५ घटना घटेका छन् । –सिबी अधिकारी

कोदो खानुहोस् सुगर र प्रेसर कम हुन्छ : झलनाथ खनाल

काठमाडौं- नेकपा एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले कोदोले सुगर र प्रेसर कम गर्ने बताउनुभएको छ।

आज काठमाडौंमा आयोजित नेशनल नर्सिङ कन्फ्रेन्सलाई सम्बोधन गर्दै उहाँले कोदो बहुगुणी भएकाले कोदो खान र उत्पदान गर्न सुझाव दिनुभएको हो । उहाँले आफूले पनि पछिल्लो समय कोदोको सेवन धेरै गरेको भन्दै अहिले सुगर र प्रेसर हराएको बताउनुभयो ।

सम्मानित नेता खनालले कोदोको सेवनले गर्दा आफू अहिले म्याराथनमा दौडिन पनि सक्षम र बलवान भएको बताउनु भयो । उहाँले हरेका कुरालाई पराजय गर्नको लागि आत्मविश्वासको आवश्यक्ता रहेको बताउनुभयो ।

मुलुकको विकास र समृद्धिको लक्ष्यका साथ सरकार अघि बढिरहेको छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको विकास र समृद्धिको लक्ष्यका साथ सरकार अघि बढिरहेको बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा मुलुकको परिवर्तनलाई बलियो बनाउँदै संविधानको सफल कार्यान्वयन गर्दै मुलुकको विकास र समृद्धिको लक्ष्यका साथ सरकार अघि बढिरहेको बताएका हुन् ।

अर्थतन्त्रलाई चलायमान बनाएर तत्काल देखिएका समस्या समाधान गर्न सरकारको सम्पूर्ण ध्यान केन्द्रित भएको उनले बताए । उनले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्रको तात्कालिक समस्या समाधान गर्न सरकारले निरन्तर छलफल गरिरहेको धारणा राखेका छन् ।

उनले छिटै अर्थतन्त्रमा देखिएका समस्या समाधान हुने दाबी गरे ।

बालेनको मुद्दा खारेजीको मागसहित अदालतमा लिखित जवाफ पेश

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सहित चारजनाका विरुद्ध उच्च अदालत पाटनमा परेको मुद्दा खारेजी गर्न माग गर्दै लिखित जवाफ पेस भएको छ।

महानगरले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा, नेवा: सभ्यता राष्ट्रिय सम्पत्ति तथा स्रोत साधनको संरक्षण गर्ने दायित्वबाट विमुख बनाउने उद्देश्य रिट निवेदनमा राखिनु नहुने उक्त जवाफमा उल्लेख गरिएको छ।

यस्तै गैरसुकुम्बासीको योजनामा कानुन हातमा लिने, नदीको जग्गा कब्जा गर्ने, बिना स्वीकृति पक्की घर, टहरा, सटर कवल बनाउने, तह तह किनबेच गर्ने, भाडा वा व्यापारिक प्रयोजनमा लगाउने, राज्य संयन्त्रलाई अनुगमन गर्न नदिने, सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न समेत नदिने, घरेलु हतियार तथा विस्फोटक पदार्थसहित आपराधिक बल प्रयोग गर्ने, उक्त क्षेत्रमा सडक, ढल निर्माण, सरसफाइ तथा ढल प्रशोधन प्लान्ट, सम्पदा संरक्षण, सहरी सौन्दर्यीकरणको कुनै पनि काम गर्न नदिने जस्ता कानुनद्वारा वर्जित कार्यहरूको समर्थन गर्ने विपक्षीको रिट निवेदन भित्रको मनसाय प्रश्नयोग्य छ।

​​​​​​​

निर्वाचन आयोगको ५ बुँदे निर्देशन : आचारसंहिता नमान्नेलाई नियन्त्रणमा लिनू

काठमाडाै‌ – बैशाख १० गते सम्पन्न हुन गईरहेको उपनिर्वाचनका लागि निर्वाचन आयोगले अनुगमन बिशेष टोली खटाएको छ ।

आजवाट लागु भएको मौन अबधिमा हुन सक्ने आचारसंहिता विपरितको कार्य बुझनका लागि बिशेष टोली खटाएको हो । 

प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचार प्रसार लगायत कुनै पनि प्रकारका छलफल,अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिसकेका समेत जनाएको छ ।

आयोगले पाँच बुदेँ निर्देशन गरी मौन समयमा प्रचार प्रसार गरेको तथा मतदातालाई प्रभावित पार्न रकम बाँडेको भेटिएमा कारबाहीसमेत गर्ने उल्लेख गरेको छ । 

यस्तो छ बिज्ञप्ति:

प्रचारप्रसार निधेष अवधिको अनुगमन तथा निगरानी सम्बन्धमा
प्रेस विज्ञप्ति
मिति : २०८० वैशाख ८ गते
प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन, २०८० का लागि जारी निर्वाचन आचारसंहिता, २०७९ मा भएको व्यवस्थाबमोजिम मतदान हुने दिन यही वैशाख १० गते आइतबार भन्दा ४८ घन्टा अघि (हिजो मिति २०८० वैशाख ७ गते बिहीबारको राति १२ बजे) देखि मतगणनाको काम सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको व्यहोरा बिदितै छ । 


आयोगले यस अवधिमा उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ दफा २४ को उपदफा ५ को व्यवस्था कार्यान्वयनको अनुगमन गर्न विशेष संयन्त्रमार्फत् सूक्ष्म अनुगमन गराउने व्यवस्थासमेत मिलाइसकेको छ । यसका लागि अनुगमन समितिहरूका अतिरिक्त आयोगले विशेष अनुगमन टोलीसमेत खटाएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा ३२ बमोजिम आयोगबाट उपनिर्वाचन हुन गइरहेका सम्बन्धित जिल्लाका जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ । साथै निर्वाचन हुने जिल्लाभित्र मतगणना सम्पन्न नभएसम्म मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनलाई नियन्त्रण गर्ने व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालयमार्फत निर्देशन दिइसकिएको छ । 


आयोगले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचार प्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिसकेकाले सोको पालना गर्न/गराउन सम्बन्धित सबैमा पुन: स्मरण गराइन्छ । साथै, निर्वाचन आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने, सञ्चार माध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रकाशन तथा प्रसारणजस्ता कार्य नगरी निर्वाचनको स्वच्छता  र निष्पक्षता कायम गर्न आयोग पुन: जानकारी गराउँदछ । यस उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरणमा सम्पन्न गर्न/गराउन प्रचारप्रसार निधेष अवधिको अनुगमन र निगरानी गरी सोको जानकारी आयोगलाई समेत गराउन सम्बन्धित निकायलाई देहाय बमोजिमको निर्देश गर्दछ :


१. नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका सम्बन्धित सबै एकाइ, आयोगबाट खटिएका विशेष अनुगमन टोली, जिल्ला आचारसंहिता अनुगमन समितिका पदाधिकारी र अनुगमन अधिकृतले नियमित र सघन अनुगमन गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता, निष्पक्षता कायम गर्ने ।

२. उपनिर्वाचन हुने सम्बन्धित जिल्लाका निर्वाचन क्षेत्रका राजनीतिक दल, उम्मेदवार, उम्मेदवारका प्रतिनिधि, मतदाता, निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षक, सञ्चारकर्मी तथा निर्वाचनमा संलग्न व्यक्ति, सङ्घ/संस्था र निकाय बाहेक निर्वाचन कार्यसँग असम्बन्धित बाह्य जिल्ला वा क्षेत्रका व्यक्ति र व्यक्तिहरूको अवाञ्छित आवागमन र अनधिकृत गतिविधिलाई कानुनबमोजिम नियन्त्रण गर्ने । 


३. बुँदा नं. २ मा उल्लेखित अवाञ्छित आवागमन र गतिविधि भई निर्वाचनको स्वच्छता र मर्यादामा प्रतिकूल असर पर्ने अवस्था देखिएमा अनुगमनमा खटिएका टोली र सम्बन्धित सुरक्षा निकायले नियन्त्रणमा लिइ कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने ।


४. निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २१ बमोजिम उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरेबापत उपहार, पुरस्कार, इनाम, दानदातव्य वा बकसको रुपमा नगद वा जिन्सी दिन वा दिन मञ्जुर गर्न वा सार्वजनिक भोज आयोजना गर्न र मतदाताले पनि त्यस्तो प्रयोजनको लागि त्यस्तो नगद वा जिन्सी लिन वा लिन मञ्जुर गर्न र सार्वजनिक भोजमा सहभागी हुने जस्ता कार्य निर्वाचन कसुर भएकाले त्यस्तो कार्य कहीँ कतै भए गरेको पाइएका कानुनबमोजिम तत्काल कारबाही गर्ने ।
५. निर्वाचन आचारसंहिता, निर्वाचन आयोग तथा जिल्ला सुरक्षा समितिको निर्णय तथा अनुमति विपरीत निर्वाचनका क्रममा राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले सवारी साधन प्रयोग गरेको पाइएमा त्यस्तो सवारी साधन मतदान सम्पन्न नभएसम्म कब्जामा लिइ आवश्यक कारबाही गर्ने व्यवस्था मिलाउने । 

        
गुरुप्रसाद वाग्ले 
उपन्यायाधिवक्ता एवं सहायक प्रवक्ता

कर्णालीमा कांग्रेसको प्रमुख सचेतकमा विष्ट

कर्णाली – नेपाली कांग्रेस कर्णाली प्रदेशको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य हिक्मत विष्टलाई चयन गरिएको छ ।

नेपाली कांग्रेस प्रदेशसभा दलको बिहीबार बसेको बैठकले सदस्य विष्टलाई दलको प्रमुख सचेतक चयन गरेको हो । प्रदेश सरकारका पूर्वमुख्यमन्त्री एवं दलका नेता जीवनबहादुर शाहीले दलको बैठकले सबैको सहमतिमा विष्टलाई उक्त पदमा चयन गरेको जानकारी दिनुभयो ।

विष्ट कालीकोट प्रदेश–२ बाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ ।

नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउन रुस तयार

काठमाडौं – रुस नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउन तयार नेपालमा लामो समय देखि मलको अभाव झेलिरहेको अधस्थमा मित्रराष्ट्र रुस नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउन सकारात्मक देखिएको छ ।

रुसको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सँगको भेटमा रुसका उपप्रधानमन्त्री दिमित्री चेर्निसेन्कोले नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउन तयार रहेको जानकारी दिनुभएको हो ।

रुसी उपप्रधानमन्त्री चेर्निसेन्कोले नेपाल सरकारले चाहेको अवस्थामा जिटुजी मार्फत मल र गहुँ उपलब्ध गराउन तयार रहेको बताउनुभएको हो । त्यसका लागि नेपालले मन्त्री परिषदबाट निर्णय गरेर प्रक्रिया अगाडी बढाउन उहाँको आग्रह थियो । अध्यक्ष तिमिल्सिना र उपप्रधानमन्त्री चेर्निसेन्को बिच भएको भेटमा नेपाल र रुसबीचको सिधा हवाई सेवा सुचारु गर्ने, रुसमा नेपाली विद्यार्थीको शिक्षाको लागि कोटा बढाउने, सबवे, रेलमार्ग, मोटरवे र जलविद्युत आयोजना निर्माणमा पूर्वाधार निर्माणमा सहयोग गर्ने विषयमा पनि छलफल भएको थियो ।

भेटवार्तामा नेपाललाई खाद्यान्न, रासायनिक मल, हेलिकप्टर र मोटरसाइकल उपलब्ध गराउने विषयमा छलफल भएको उपप्रधानमन्त्रीको कार्यालयलाई उद्धृत गर्दै रुसी समाचार एजेन्सी तासले जनाएको छ । ‘दिमित्री चेर्निसेन्को र गणेशप्रसाद तिमिल्सिनाले नेपाललाई खाद्यान्न, रासायनिक मल, रुसी हेलिकप्टर र मोटरसाइकल उपलब्ध गराउने अवसर र चेस प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने विषयमा पनि छलफल भएको छ’, समाचारमा उल्लेख छ ।

“तपाईँको भ्रमण एउटा उल्लेखनीय कार्यक्रम बन्ने र रुस–नेपालबीचको अन्तरक्रियालाई प्रोत्साहन दिने मलाई विश्वास छ। नेपाल दक्षिण एसियामा रुसको लामो समयदेखिको साझेदार हो, हाम्रा जनताबीच मित्रताको बलियो सम्बन्ध छ।

रुस र नेपालबीचको सम्बन्ध सुमधुर छ। सधैँ समानता र आपसी सम्मानको आधारमा निर्माण गरिएको छ, “चेर्निसेन्कोले उपप्रधानमन्त्रीको कार्यालयलाई उद्धृत गर्दै तासले उल्लेख गरेको छ ।

उक्त भेटमा अध्यक्ष तिमिल्सिनाले नेपालमा ऊर्जा, पर्यटन, ब्यापार क्षेत्रमा लगानी अभिवृद्धि र यातायात क्षेत्रको पूर्वाधार विकासमा सहकार्यका पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै नेपालमा राजनैतिक स्थायित्व कायम भई लगानीमैत्री वातावरण बन्दै गएकोले पूर्वाधार र ऊर्जा क्षेत्रमा रुसी लगानी भित्रने विश्वास ब्यक्त गर्नुभएको थियो ।

६६ प्रतिशतले बढ्यो विद्युतीय सवारी आयात

काठमाडौँ – चालु आर्थिक वर्षको नौ महिनामा विद्युतीय सवारी साधानको आयात ६६ दशमलव ३९ प्रतिशतले बढेको छ ।

भन्सार विभागका अनुसार समीक्षा अवधिमा दुई हजार चार सय ५१ वटा विद्युतीय सवारी साधान आयात भएको छ । गत आवको सोही अवधिमा एक हजार चार सय ७३ वटा विद्युतीय सवारी आयात भएका थिए ।

विभागको तथ्यांक अनुसार चैतमा मात्रै दुई सय ५३ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । गत आवको सोही अवधिमा एक सय १६ वटा मात्र विद्युतीय सवारी साधान आयात भएको थियो ।

विभागका अनुसार समीक्षा अवधिमा सबैभन्दा धेरै भारतबाट आयात भएका छन् । उक्त अवधिमा भारतबाट एक सय किलोवाट क्षमताका एक हजार सात सय ५५ वटा विद्युतीय सवारी आयात भएका छन् ।

भारतपछि सबैभन्दा धेरै विद्युतीय गाडीहरु चीनबाट नेपाल भित्रिएका छन् । चीनबाट एक सय किलोवाट क्षमताका तीन सय ८१, दक्षिण कोरियाबाट एक सय किलोवाट क्षमताका दुई सय ४०, र इन्डोनोसियाबाट तीन वटा विद्युतीय सवारी साधान आयात भएका छन् । यस्तै, दक्षिण कोरियाबाट एक सयदेखि दुई सय किलोवाट क्षमताका २० वटा, चीनबाट ४३, युकेबाट दुई वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । भन्सार विभागका अनुसार चीनबाट दुई सयदेखि ३०० किलोवाट क्षमताका पाँच र बेलायतबाट दुई वटा विद्युतीय गाडी नेपाल भित्रिएका हुन् ।

समीक्षा अवधिमा भारतबाट मात्रै रु चार अर्ब ७१ करोड ९८ लाख बराबरको विद्युतीय सवारी आयात भएका छन् । पछिल्लो समय भारतबाट टाटाको विद्युतीय गाडी नेक्सन र टिगोर इभी र महिन्द्राका गाडीहरु आयात भएका छन् । यस्तै, चीनबाट समा नेटा भी, बीवाइडी, एमजी र टेस्लाका गाडीहरु आयात हुने गरेको छ ।

सात अर्बका गाडी भित्रिए
चालू आर्थिक वर्षको नौ महिनामा करिब रु सात अर्ब बराबरका विद्युतीय सवारी साधान नेपाल भित्रिएका छन् । भन्सार विभागका अनुसार चैत मसान्तसम्म दुई हजार ४५१ वटा विद्युतीय सवारी आयातमा रु छ अर्ब ८५ करोड ७९ लाख बाहिरिएको छ ।

विद्युतीय सवारी आयातबाट सरकारले रु एक अर्ब ९३ करोड १३ लाख ५९ लाख राजश्व संकलन गरेको छ । गत आवको सोही अवधिमा रु चार अर्ब २९ करोड ६६ लाख ३१ हजार बराबरको विद्युतीय गाडी आयात भएको थियो । उक्त आयातबाट सरकारले रु एक अर्ब १६ करोड ५५ लाख २० हजार राजश्व संकलन गरेको थियो ।

सुनको भाउ बढ्यो, चाँदीको भने स्थिर

काठमाडौँ– साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ उकालो लागेको छ। 

 आज प्रतितोला छापावाल सुनको भाउ ४०० रुपैयाँ तेजाबी सुनको भाउ ३५० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छाापावाल सुन १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ६५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो प्रतितोला छापावाल सुन ५०० रुपैयाँ र तेजाबी सुन ५५० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावालसुन १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। 

आज पनि चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ४४५ रुपैयाँ कायम भएको छ। हिजो पनि भाउ स्थिर रहँदै तोलको १ हजार ४४५ रुपैयाँमा किनबेच भएको थियो। 

चैते धान खेती लोप हुने अवस्थामा

तनहुँ – तनहुँमा चैते धान खेती लोप हुने अवस्थामा पुगेको छ । दश वर्षअघि जिल्लामा छ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गर्ने गरिए पनि अहिले मुस्किलले एक हजार आठ सय क्षेत्रफलमा खेती भइरहेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारी जिल्लामा चैते धान खेती बर्सेनि घट्दै गएको बताउनुहुन्छ । “यो चैते धान रोपाइँ गर्ने समय हो, हालसम्म करिब ७० प्रतिशत रोपाइँ सकिएको छ”, उहाँले भन्नुभयो, “बर्षेनि चैत धान खेती हुने जमिन कम हुँदै गएको छ ।”

लामो समयदेखि वर्षा नहुँदा रोपाइँ प्रभावित भएको छ । गाउँबाट युवाहरु विदेशिँदा जनशक्तिको अभावमा खेती गर्ने परम्परा हराउँदै जान थालेको उहाँको बुझाइ छ । चैते धान प्रायः चिउराका लागि प्रयोग गरिन्छ ।

प्रचारप्रसार निषेध अवधिको सूक्ष्म अनुगमन र निगरानी

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बिहीबार राति १२ बजेदेखि लागू भएको प्रचारप्रसार गर्न निषेधको अवधिको सूक्ष्म अनुगमन र निगरानीका लागि विशेष व्यवस्था गरेको छ । निर्वाचन आचारसंहिता, २०७९ अनुसार आयोगले सो निगरानीका लागि विशेष व्यवस्था गरेको हो ।

उक्त व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि आयोगले राजनीतिक दल, उम्मेदवार र मतदातालाई आग्रह गरिसकेको छ भने राज्य संयन्त्रका सम्बन्धित नियकालाई आचारसंहिता प्रतिकूलका गतिविधिमाथिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गर्न निर्देशन दिइसकेको छ ।

आयोग उपनिर्वाचन हुने सम्बन्धित निर्वाचन क्षेत्रका राजनीतिक दल, उम्मेदवार, उम्मेदवारका प्रतिनिधि र मतदाताबोहक बाह्य जिल्ला वा क्षेत्रका व्यक्तिहरूको अवाञ्छित आवागमन र अनधिकृत गतिविधि नगर्न÷नगराउन सम्बन्धित सबैमा आग्रह गरेको छ । यदि त्यस प्रकारका अवाञ्छित आवागमन र गतिविधि भई निर्वाचनको स्वच्छता र मर्यादामा प्रतिकूल असर पर्ने अवस्था देखिएमा अनुगमनमा खटिएका टोली र सम्बन्धित सुरक्षा निकायले नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाउने जनाइएको छ ।

आयोग नेपाल प्रहरीका सम्बन्धित सबै एकाइ, राष्ट्रिय अनुसन्धान विभाग मातहतका सम्बन्धित एकाइ र आयोगबाट खटिएका विशेष अनुगमन टोली, जिल्ला आचारसंहिता अनुगमन समितिका पदाधिकारी र अनुगमन अधिकृत तथा अन्य सरोकारवाला सबै पक्षलाई सोही बमोजिम गर्न÷गराउन आयोगले निर्देश गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जनाउनुभयो ।

आयोगले उपनिर्वाचन हुने सम्बन्धित क्षेत्रमा आचारसंहिता प्रतिकूल गतिविधिमाथिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउन तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ दफा २४ को उपदफा ५ को व्यवस्था कार्यान्वयनको अनुगमन गर्न विशेष संयन्त्रमार्फत सूक्ष्म अनुगमन गराउने निर्णयसमेत गरिसकेको छ । यसका लागि आयोगले विशेष अनुगमन टोली खटाएको छ भने निर्वाचन आचारसंहिता, २०७९ को दफा ३२ बमोजिम आयोगबाट सम्बन्धित जिल्लाका जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।

साथै निर्वाचन हुने जिल्लाभित्र मतगणना सम्पन्न नभएसम्म मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवननलाई नियन्त्रण गर्ने व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालयमार्फत लेखी पठाइसकेको छ ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २१ बमोजिम उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरेबापत उपहार, पुरस्कार, इनाम, दानदातव्य वा बकसका रुपमा नगद वा जिन्सी दिन वा दिन मञ्जुर गर्न वा सार्वजनिक भोज आयोजना गर्न र मतदाताले पनि त्यस्तो प्रयोजनका लागि त्यस्तो नगद वा जिन्सी लिन वा लिन मञ्जुर गर्न र सार्वजनिक भोजमा सहभागी हुन÷नहुने र त्यस्तो कार्य गर्ने व्यक्तिलाई रु पचास हजारसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने सक्नेछ ।

सोही ऐनको दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम प्रचारप्रसार निधेषको अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएकाले सम्बन्धित सबैमा पुनः स्मरण गराएको आयोगले जनाएको छ ।

साथै, निर्वाचन आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य नगरी निर्वाचनको स्वच्छता निष्पक्षता कायम गर्न आयोगले आग्रह गरेको छ । निर्वाचनका क्रममा राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले तोकिएकोभन्दा बाहेक वा अनुमति विपरीत सवारी साधन प्रयोग गरेको पाइएमा जरिवाना गर्ने अधिकारीले त्यस्तो सवारी साधन निर्वाचन अवधिभरका लागि कब्जामा लिई आवश्यक कारबाही गर्ने पनि आयोगले जनाएको छ ।