`

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । 

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दुई नेताबीच छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

दुई नेताबीच प्रधानन्यायाधीश नियुक्ति, संसदीय समिति गठन र टिआरसी विधेयक लगायतका विषयमा सहमति जुटाउन छलफल भएको बताइएको छ ।   

स्वर्णिम वाग्लेका बुबा चढ्ने गाडी तोडफोड

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तनहुँ क्षेत्र नं. १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेका बुबा जीवन वाग्ले चढ्ने गरेको गाडी अज्ञात समूहले तोडफोड गरेको छ ।

दमौली बजारमा सन्तोष होटेल अगाडि पार्किङ गरेर राखिएको बा ११ च ४२५० नम्बरको कारको बायाँ तर्फको पछिल्लो ढोकाको सिसा फुटाइएको छ ।

प्रहरीले गएराति भएका घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

अध्यक्ष भागेपछि सहकारी सञ्चालकनै पीडित !

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित एक सहकारीका अध्यक्षले अर्को सहकारीको समेत गरी रु १४ करोड रकम कुम्ल्याएर भागेपछि अन्य सञ्चालक न्यायका लागि विभिन्न निकाय धाउन थालेका छन् ।

दौपदा बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष तथा पुण्यश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक रामेछापको गुन्सीभदौरे–७ घर भई बनेपामा बस्दै आएका ३० वर्षीय कुमार गौतम दुई सहकारीबाट रु १४ करोड लिएर फरार भएपछि दुवै सहकारीका सञ्चालक नै पीडित बनेका छन् । दौपदाका अन्य सञ्चालकका अनुसार उक्त सहकारीको करिब रु पाँच करोड रकम अपचलन भएको छ ।

सोही सहकारीका सञ्चालक समितिका उपाध्यक्ष झम्कप्रसाद गौतमको रु ६५ लाख र उनका दाजु देवीप्रसाद गौतमको रु ५१ लाखसमेत गौतमले लिएर फरार भएको बताइएको छ । गौतम प्रमुख कार्यकारी अधिकृतसमेत रहेको पुण्यश्वर सहकारीको चौँरीदेउराली र पाँचखाल सेवा केन्द्रमा बचत गर्ने बनेपा नगरसहितका सात हजार दुई सय सदस्यको रु नौ करोड रकम गौतमले नै खर्च गरेर महिनौँदेखि बेपत्ता भएको पीडितको निवदेनमा उल्लेख छ ।

गौतमका साथै सो सहकारीका सचिव गङ्गाबहादुर तामाङ, अमृत गौतम, टीकालाल श्रेष्ठलगायत ३१ बचतकर्ताले बनेपा नगरपालिका कार्यालय, सहकारी विभाग, जिल्ला प्रशासन, प्रहरी कार्यालयलगायतका स्थानमा उजुरी दिएका छन् । विसं २०७९ पुस २६ गते जिल्ला प्रशासन कार्यालयमा पुण्यश्वर सहकारीले बचत फिर्ता नदिई कार्यालयसमेत बन्द गरेर भागेकाले आवश्यक गरिपाउँ भनी निवेदन दिएको पाइएको छ ।

पीडितले हेटौँडास्थित बागमती प्रदेशको सहकारी मन्त्रालयमा समेत निवदेन दिएका छन् । सोही निवेदनका आधारमा मन्त्रालयले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलाई खोजकार्य तथा आवश्यक कारबाहीका लागि पत्राचार गरेपछि फरार गौतम तथा सहकारीबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

गुल्मीमा आगो निभाउने क्रममा बालकको मृत्यु

गुल्मी – गुल्मीमा आगो निभाउने क्रममा आगलागीमा परी एक बालकको ज्यान गएको छ । 

आगलागीमा परी गम्भीर घाइते धुर्कोट गाउँपालिका–३ हाडहाडेका १३ वर्षीय दीपक मुखियाको आज बिहान उपचारका क्रममा मिशन अस्पताल, पाल्पामा मृत्यु भएको हो ।

गए राति आफ्नो परिवारका सदस्यका साथमा स्थानीय बर्दवास जङ्गलमा लागेको आगो निभाउने क्रममा मुखिया गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि राति नै गुल्मी अस्पताल तम्घास ल्याइएको थियो । यहाँ उपचार हुन नसकेपछि राति नै पाल्पा पठाइएको थियो । मुखियाको उपचारकै क्रममा बिहान मिसन अस्पताल पाल्पामा मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल, गुल्मीका सशस्त्र प्रहरी नायब उपरीक्षक निवनकुमार खड्काले जानकारी दिनुभयो ।

सोही ठाउँमा आगलागीमा परी घाइते भएका ५५ वर्षीय धनबहादुर जोगी कुँवरलाई पनि पाल्पामा उपचार हुन नसकेपछि आज बिहानै थप उपचारका लागि बुटवल पठाइएको छ । 

यसैबीच इस्मा गाउँपालिकामा बिहीबार भएको आगलागीबाट दुई घर र तीन गोठ पूर्णरूपमा जलेर नष्ट भएका छन् । इस्मा गाउँपालिका–५  दमारका शिवलाल कुमाल र रुद्रबहादुर कुमालको घर र गोठ जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

स्थानीय सामुदायिक वनबाट लागेको आगो बिहीबार अपराह्न एक्कासि गाउँ पसेपछि घर गोठसहित अन्न र लत्ताकपडा जलेर नष्ट भएको स्थानीय बोमबहादुर कुमालले जानकारी दिनुभयो । 

दुई सातादेखि गुल्मीका विभिन्न सामुदायिक वन तथा राष्ट्रिय वनमा आगलागी हुँदा आगो निभाउन स्थानीयवासी, जनपद प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीलाई हम्मे हम्मे भएको छ । रासस

निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्छौं : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको छिट्टै शिलान्यास गरिने बताउनुभएको छ ।

आज बाराको गढीमाईमा सत्ता गठबन्धन दलद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो विमानस्थलको कामले अब छिट्टै गति लिने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, “पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका बेला मैले भनेको थिएँ, निजगढ विमानस्थल छिट्टै अगाडि बढाउँछौँ । म तपाईहरू सामु प्रतिबद्धता व्यक्त गर्छु, निजगढ विमानस्थलको गृहकार्यसम्बन्धी काम सकेर छिट्टै यसको शिलान्यास गरिनेछ ।”

उहाँले गढीमाईलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पहल गर्ने र त्यसका लागि गढीमाइ विकास समिति बनाएर यसको संरक्षण र प्रवद्र्धन गर्ने सरकारको योजना रहेको बताउनुभयो । विद्युतीय सिँचाइ प्रणालीमार्फत् सिँचाइको व्यवस्था गर्ने र उपेन्द्र यादवको नेतृत्वमा यस क्षेत्रको विकासका लागि सरकारले विशेष ध्यान दिन प्रधानमन्त्रीको भनाइ छ ।

“यसपटक गाँठो पार्ने होइन, गाँठो फुकाउने राष्ट्रपति पाएका छौँ” प्रधानमन्त्रीले भन्नुभयो, “नागरिकता समस्या मधेशको मात्र समस्या होइन, देशको समस्या हो । यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गरिनेछ”, प्रधानमन्त्रीको कथन छ ।

प्रधानमन्त्रीले यसअघि अर्थतन्त्र सङ्कटमा भए पनि अहिले अर्थतन्त्रमा सुधार देखिएको बताउनुभयो । “पर्यटक आउने क्रम बढेको छ । विदेशी मुद्राको सञ्चिति बढेको छ । विदेशमा रहेका लाखौंँ नेपालीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेका छौँ । समृद्धिको दिशामा यो निकै ठूलो फड्को हो”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले उपेन्द्र यादव देशको नेता भएको भन्दै संसद्का लागि आवश्यक भएको बताउनुभयो । “उपेन्द्र यादवले जित्नु भनेको मधेशले जित्नु हो । मधेशले मात्रै नभएर देशले जित्नु हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रले जित्नु हो । समग्र परिवर्तनका मुद्दाले जित्नु हो”, उहाँले भन्नुभयो ।

संविधान र लोकतन्त्रको रक्षा एवं समृद्धिका लागि यो गठबन्धन बनेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले उपेन्द्र यादवलाई जिताएर लोकतन्त्र, संविधान र समृद्धिको बाटो फराकिलो पार्न आग्रह गर्नुभयो ।

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा निर्वाचन क्षेत्र नं–२ का उम्मेदवार उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता जीतेन्द्र सोनाललगायतले सम्बोधन गर्नुभएको थियोे ।

मिटरब्याज पीडितलाई आन्दोलन फिर्ता लिन सरकारको आग्रह

काठमाडौँ – सरकारले मिटरब्याज पीडितलाई न्याय दिने प्रक्रिया सुरु भइसकेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आन्दोलन फिर्ता लिएर सरकारलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

“मिटरब्याज पीडितलाई न्याय दिन सरकारले कदम चालिसकेको छ”, उहाँले भन्नुभयो, “उजुरी दिएर सरकारलाई सहयोग गरिदिनु होला ।”

सरकारले लिएको अग्रसरतालाई निरुत्साहित पार्ने गरी आन्दोलन नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।

मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको जानकारी दिँदै उहाँले सो समस्या समाधान गर्न उच्चस्तरीय आयोग बनाइएको बताउनुभयो ।

केपी ओलीकाे आरोप : यो गठबन्धन सरकारले विकासको योजना काटेर आफन्त पोस्यो

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारको ध्यान देश र जनता नभएर आफन्त पोस्नेमात्रै भएको आरोप लगाएका छन् ।

बिहिबार बाराको चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिलेको सरकारले विकासको योजना काटेर आफन्त पोसेको आरोप लगाए ।

उनले भने, ‘२० वर्षमा नभएको काम तीन वर्षमा गरेका थियौं । हामीले विकासको निर्माणको कामलाई अगाडि बढाइरहेका थियौं । अब यही सरकार कायम रह्यो भने प्रहरीहरुले कपडा फेर्न पाउँदैनन् । हामीले जेष्ठ नागरिक भत्ता गरेर चार हजार पुर्याएका थियौं । अहिलेसम्म त पाउँदै हुनुहुन्छ होला यही सरकार कायम रह्यो भने केही महिनाभित्र वृद्धभत्ता नपाउने खतरा छ । यसले रोक्छ ।’

२० वर्षमा नभएको काम तीन वर्षमा गरेका उनले दाबी गरे ।

मिर्चैया नगरपालिकाको भवन तोडफोड, पाँचजना प्रहरी घाइतेमिर्चैया नगरपालिका

सिरहा – सिरहाको मिर्चैया नगरपालिकाले सडक विस्तारका लागि घर तथा पसलहरु भत्काएको विरोधमा बजारका सुकुम्बासी र व्यापारीहरू आन्दोलनमा उत्रिएका छन् । 

बजारमा झन्डै सात दशकदेखि घर बनाएर बसोवास तथा व्यापार–व्यवसाय गर्दै आएका सुकुम्बासी र व्यापारी नगरपालिकाले घर भत्काइदिएपछि आन्दोलनमा उत्रिएका हुन्।

संघर्ष समितिले बिहीबार नगरपालिका घेराउ कार्यक्रम राखेको थियो । सयौंको संख्यामा आएका आन्दोलनकारीहरुले नगरपालिका भवनमा तोडफोडसँगै नगर प्रमुख चढने गाडीमा समेत तोडफोड गरेका छन् । 

उनीहरूले आफूहरूले उठाएका विषयहरूको जवाफ मेयर श्रवणकुमार यादवले दिनुपर्ने माग गरी प्रदर्शन गरहेका थिए । तर, मेयर यादव बाहिर नआएपछि प्रदर्शनकारी नगरपालिकाभित्र प्रवेश गर्न खोज्दा प्रहरीले रोकेपछि स्थानीयले नगरपालिका कार्यालयमा ढुंगामुढा गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको छ । 

आक्रोशित स्थानीयहरुले मिर्चैया नगरपालिकाको गेट तोडफोड गर्न थालेपछि प्रहरीले आन्दोलनकारिलाइ तितरबितर पार्न १० सेल अश्रुग्याँस र ७ राउन्ड  हवाई फायरिङ गरेका छन् । 

प्रहरी र आन्दोलनकारीबीच  भएको झडपमा ५ जना प्रहरी घाइते भएको र उनीहरुको अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता रविन्द्रराज पाण्डेकले जनाएको छ । उनले भने, ‘घाइते प्रहरीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र अहिले अबस्था समान्य छ ।’ 

मिर्चैया नगरपालिकाले संरचना निर्माण र नगर सुन्दर बनाउने नाममा बजार क्षेत्रका घर भत्काएपछि स्थानीयहरु आक्रोशित भएका छन्।
 

मतदानस्थलमा कर्मचारी खटिए

चितवन – चितवन क्षेत्र नं २ मा यही वैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदानस्थलमा कर्मचारी खटिएका छन् । ४३ स्थलका एक सय ३८ केन्द्रमा छ सय ९० कर्मचारी खटिएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी इश्वरी आचार्यका अनुसार मतदान अधिकृतलाई दुई दिनको तालिमसँगै आज मतदान केन्द्रमा खटाइएको छ ।

एक मतदान केन्द्रमा पाँच जना कर्मचारी खटाइएको उहाँले जानकारी दिनुभयो । कर्मचारीसँगै निर्वाचनका लागि आवश्यक ७७ प्रकारका सामग्री पठाउन लागिएको उहाँले बताउनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र र जिल्ला निर्वाचन कार्यालयबाट अन्य सामग्री वितरण गरिएको छ ।

उप निर्वाचनका लागि एक लाख ३८ हजार मतपत्र चितवन आइसकेका छन् । हरेक मतदान केन्द्रमा मतदाता सङ्ख्याभन्दा पाँचदेखि १० प्रतिशत बढी मतपत्र पठाइने उहाँले बताउनुभयो । मतदान केन्द्रमा कर्मचारी खटिएसँगै स्थानीयस्तरमा दलका प्रतिनिधिसँग छलफल र अन्य प्रक्रिया सुरु गरिने छ ।

मतदानका लागि कर्मचारीसँगै सुरक्षाकर्मीसमेत आज साँझनै हरेक स्थलमा पुगिसक्ने उहाँले बताउनुभयो । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन् । तीमध्ये ६३ हजार दुई ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।

प्रहरीले वैशाखदेखि असारसम्म तलब नपाउने

काठमाडौं – नेपाल प्रहरीले यही वैशाखदेखि असारसम्म तलब नपाउने सम्भावना छ । बजेट अपुग हुँदा प्रहरी कर्मचारीलाई तलब खुवाउन समस्या भएको हो । उनीहरूलाई एकैपटक आउँदो साउनमा तलब दिइने सम्भावना छ । 

चालु आर्थिक वर्षमा प्रहरी कर्मचारीको तलब १५ प्रतिशत बढाइएको थियो । प्रहरी प्रधान कार्यालयका अनुसार बढेको रकमबराबरको बजेट नआएकाले समस्या भएको हाे।
 त्यसाेत नेपाल प्रहरीमा चैत्र महिनाको पनि सबै प्रहरीले तलब सुविधा पाएका छैनन् ।  

प्रहरीमा हाल ७९ हजार ५०० बढी दरबन्दी छ । ७७ हजारजना कार्यरत छन् । पछिल्लो समय सरकारका सबै सरकारी निकायमा २० प्रतिशत खर्च कटौतीको प्रभाव पनि प्रहरीमा परेको छ ।

प्रहरी अधिकारीहरूका अनुसार खर्च कटौतीका कारण तालिमलगायत महत्त्वपूर्ण कामका लागि समेत बजेट अभाव हुन थालेको छ ।

प्रहरीमा गत वर्ष साउन १ गतेदखि नयाँ तलब स्केल लागु भएको थियो । हाल प्रहरी आईजीपीको तलब ६६ हजार ८६० रुपैयाँ छ । सबैभन्दा थोरै रिक्रुटले २१ हजार ४८० रुपैयाँ तलब पाउँछन् । प्रहरी प्रवक्ता एसएसपी दीपेन्द्र जिसीले तलब अभावबारे गृह मन्त्रालयलाई जानकारी गराइसकेको बताए ।
बजेट अभावले अरू सरकारी निकायमा पनि तलब सुविधा दिन समस्या भएको जनाइएको छ ।

कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ – कर्णाली प्रदेश सरकारका नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका हुन् ।

नेपाली कांग्रेसका तीन मन्त्रीले शपथ लिएका छन् । कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा बेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसीले शपथ लिएका हुन् । यस्तै यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी माओवादीकी उर्मिला विश्वकर्माले जलस्रोत तथा उर्जा विकास मन्त्रीको रुपमा शपथ लिएकी छन् ।
साथै, कर्णाली प्रदेशमा मन्त्रालयको संख्या पनि आठ नै बनाइएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई टुक्रयाएर ऊर्जा छुट्टै बनाएको थियो ।

यसअघि एमाले(माओवादीको गठबन्धनमा ऊर्जालाई भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयमा गाभिएको थियो ।

जाजरकोट र डोल्पा जोड्ने पुल भाँचिदा १ जनाको मृत्यु, २ जना बेपत्ता

काठमाडौँ –  जाजरकोट र डोल्पा जोड्ने तल्लुबगरको नवनिर्मित बेलिबृज पुल भाँचिदा १ जनाको मृत्यु भएको छ ।

बिहीबार दिउँसो तल्लुबगरमा रहेको भेरी नदीमाथिको बेलिबृज पुल भाँचिदा २ जना बेपत्ता भएका छन् भने ४ जना घाइते भएका छन् ।

घाइते भएका ४ जनालाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । बेपत्ता भएका २ जनाको खोजी प्रहरी र स्थानीय मिलेर गरिरहेका छन् ।

दुई पालिकाकाे चेतावनी : १५ दिनभित्र ६ बुँदे माग पुरा नगरे सिसडोलमा फोहोर फाल्न नदिने

काठमाडौं – नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले १५ दिनभित्र ६ बुँदे माग पुरा नगरे सिसडोलमा फोहोर फाल्न नदिने चेतावनी दिएको छ ।

दुई पालिकाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै ६ बुँदे माग १५ दिन भित्रमा पुरा नभए काठमाडौं उपत्यकाबाट उठ्ने फोहोर सिसडोल–बञ्चरेडाँडामा फाल्न नदिने चेतावनी दिएको हो ।

बुधबार दुई पालिकाका प्रतिनिधिहरू बैठक बसेर माग पुरा नभएमा संघर्ष गर्न बाध्य हुने र सो अवस्था सिर्जना नगर्न सरोकारवालालाई अनुरोध गरेको छ ।

विगत १८ वर्षदेखि काठमाडौं महानगरपालिकालगायत १८ वटा नगरपालिकाहरूको फोहोर सिसडोलमा विसर्जन हुँदै आएको छ ।

२०७९ जेठ मा नेपाल सरकार, शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, धुनिबेशी नगरपालिका र ककनी गाउँपालिकाका सरोकारवालाहरु बीच भएको सम्झौताका अनुरूप बुदाँहरु कार्यान्वयन नभएकाले ती बुदाँहरुलाई तत्कालै कार्यान्वयनमा ल्याउन माग गरेको छ ।

दुई पालिकाका अति प्रभावित, प्रभावित र बेलकोटगढी नगरपालिकालाई वर्गिकरण गरि प्रभावितलाई मुआब्जाको प्रकृया तुरुन्त अगाडि बढाउनुपर्ने उनीहरुको माग छ ।

साथै, ककनी गाउँपालिका, धुनिवेशी नगरपालिका वडाहरुमा वार्षिक १० करोड बराबरको शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासमा बजेट विनियोजन गर्न नेपाल सरकार, काठमाडौं महानगरपालिका र सरोकारवाला निकायमा आग्रह गरेका छन् ।

१५ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा

काठमाडौँ – सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्नेे १५ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।

कार्यालयले सूचना जारी गरी कालोसूचीमा राखिएका निर्माण व्यवसायी र आपूर्तिकर्ताले सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाउने जनाएको छ ।

कार्यालयका अनुसार मुख्य व्यक्ति सैलेन्द्रकुमार कुरुम्वाङ रहेको विराटनगरस्थित एसएएस कन्स्ट्रक्सन प्रालिलाई तीन वर्ष कालोसूचीमा राखिएको छ ।

कार्यालयले मुख्य व्यक्ति गोकर्णप्रसाद पण्डित रहेको नागार्जुन शङ्करमाली जेभी, मुख्य व्यक्ति दीपक सापकोटा रहेको शङ्करमाली निर्माण सेवा प्रालिलाई एक वर्ष तीन महिनाका लागि कालोसूचीमा राखेको छ ।

मुख्य व्यक्ति राजुप्रसाद श्रेष्ठ रहेको वाई पी कन्स्ट्रक्सन, रविनकुमार जोशी मुख्य व्यक्ति रहेको रफिना कन्स्ट्रक्सनलाई पनि एक वर्ष तीन महिनाका लागि कालोसूचीमा राखिएको छ ।

साथै मुख्य व्यक्ति टंकप्रसाद चौलागाई रहेको धुलिखेल–युनिकर्ण जेभी र मुख्य व्यक्ति हरि खड्का रहेको युनिकर्ण कन्स्ट्रक्सनलाई पनि एक वर्षका लागि कालोसूचीमा परेका छन् ।

त्यस्तै मुख्य व्यक्ति विमल चौधरी रहेको फेवा नेपाल प्रालि इटहरी, मुख्य व्यक्ति रेशम श्रेष्ठ रहेको कन्या कालिका स्टील फर्निचर, मुख्य व्यक्ति प्रमिला थापा रहेको ओम शान्ति निर्माण सेवा भद्रपुर, मुख्य व्यक्ति अनिल कुमार रहेको रेडलाइन कन्स्ट्रक्सन कम्पनी प्रालि वीरगञ्जलाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

त्यसैगरी मुख्य व्यक्ति जौवाद हुसेन रहेको सेफ मेटल कन्स्ट्रक्सन प्रालि वीरगञ्ज, मुख्य व्यक्ति राजुभाई सैँजु रहेको सिरुवा कन्स्ट्रक्सन, मुख्य व्यक्ति गोरे तामाङ रहेको कविर कन्स्ट्रक्सन, र मुख्य व्यक्ति सुनकोसी कन्स्ट्रक्सन नेपाल प्रालिलाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

नदीमा करेन्ट लगाइ माछा मार्ने चार जना पक्राउ

गोरखा – नदीमा करेन्ट लगाएर माछा मार्ने चार जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । स्थानीय तहसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालयका प्रहरीले गस्ती गर्ने क्रममा सिरानचोक गाउँपालिका–७ स्थित दराँैदी नदीमा करेन्ट लगाएर माछा मारिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

पक्राउपर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–२ घर भएका २८ वर्षका लीलामान कुमाल, २६ वर्षका सरोज कुमाल, राहुल कुमाल र रचिन कुमाल रहेको उहाँले बताउनुभयो । सिरानचोक गाउँपालिका–७ मा पर्ने ओडारेस्थित दरौँदी नदीमा राति १ः३० बजे ब्याट्रीमार्फत करेन्ट प्रवाह गरी माछा मार्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

पक्राउ परेकाको साथबाट करेन्ट प्रवाह गरी माछा मार्न प्रयोग गरिएकोे १२ भोल्टको ब्याट्री, करेन्ट प्रवाह गर्ने भाटा, माछा थाप्न बनाइएको जाली र माछा राख्न बनाइएको फुर्लुङसमेत बरामद गरिएको छ, उपरीक्षक लामिछानेले भन्नुभयो । नदीमा करेन्ट प्रवाह गरी माछा मार्नेक्रम बढ्दै गएपछि प्रहरीले यस्ता कार्र्य रोकथाम र नियन्त्रणका लागि पहल सुरु गरेको हो ।

मातातीर्थमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)

काठमाडौँ  – आज वैशाख कृष्ण औँसी अर्थात् मातातीर्थ औँसी । यस दिनलाई आमाको मुख हेर्ने दिनको रूपमा मनाइने गरिन्छ । 

मातातीर्थ औँसीमा आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा लिइन्छ । 

आमालाई विभिन्न खानेकुरा, कपडा तथा मन पर्ने वस्तु उपहार दिने चलन छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण दिएर आमाप्रति श्रद्धाभाव प्रकट गरिन्छ । सोही क्रममा काठमाडौँको थानकोटस्थित मातातीर्थमा बिहानैदेखि दर्शन गर्नेको भीड लागेको छ।

दिवङ्गत आमाको सम्झनामा मातातीर्थमा गई स्नान तथा हरिहर ९विष्णु र शिव०को दर्शन र पूजा गर्ने गर्दछन्।

भुटानी शरणार्थी प्रकरण : पाँच करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरीको सम्पर्कमा

काठमाडौँ – भुटानी शरणार्थी बनाई अमेरिका लैजाने बहानामा नागरिकलाई फसाएर रु पाँच करोड १९ लाख ठगी भएको भन्दै १० जना प्रहरीको सम्पर्कमा आइपुगेका छन् ।

नेपाल प्रहरीको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका अनुसार अहिलेसम्म १० जना पीडितहरु सम्पर्कमा आएका र उनीहरुले रु पाँच करोड १९ लाख ९७ हजारभन्दा बढी ठगी भएको भनी १० वटा छुट्टाछुट्टै किटानी जाहेरी दिएका छन् ।

कार्यालयमा परेका जाहेरी र आवश्यक अनुसन्धानका कागजातसहित थप कारबाहीका लागि बुधबार काठमाडौँ जिल्ला प्रहरी परिसर टेकुमा बुझाइएको कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो । उक्त ठगीको आरोपमा यसअघि नै कार्यालयले सन्देश शर्मा, सानु भण्डारी र केशव दुलाललाई पक्राउ गरी परिसरमा बुझाइसकेको छ ।

उनीहरुको मिलेमतोमा २०७७ सालदेखि हालसम्म विभिन्न नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भनेर प्रलोभन र विश्वासमा पारी कास्की, दाङ, मोरङ, रुकुमलगायतका जिल्लाका नागरिकलाई करोडौँ रकम ठगेका पाइएको प्रहरीले जनाएको छ । यसरी ठगीमा ८१ जना परेका छन् । अहिलेसम्म १३ करोड ठगी भएको प्रारम्भिक अनुमान छ । पीडितहरुले फारम भर्न मात्रै १५ देखि २० लाख तिरेको तथ्य प्रहरीले फेला पारेको थियो ।

तनहुँमा चैते धान खेती घट्दो

तनहुँ – तनहुँमा चैते धान खेती विस्थापित हुने अवस्थामा पुगेको छ । 

१० वर्षअघि जिल्लामा छ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिए पनि अहिले मुस्किलले एक हजार आठ सय क्षेत्रफलमा खेती गरेको पाइन्छ । 

चैते धान खेती बर्सेनि घट्दै गएको बताउनुहुन्छ कृषि ज्ञान केन्द्र तनहुँका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारी । अहिले जिल्लामा चैते धान रोपाइँ भइरहेको छ । करिब ७० प्रतिशत रोपाइँ कार्य सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । 

लामो समयदेखि वर्षा नहुँदा रोपाइँ कार्य प्रभावित भएको छ । उहाँले भन्नुभयो, “युवा शक्ति बिदेसिँदा जनशक्तिको अभावमा खेती गर्ने परम्परा हराउँदै जान थालेको छ ।” 

चैते धान प्रायः चिउराको लागि प्रयोग गरिन्छ । चिउरा मिल सञ्चालकले चैते धान खरिद गरिदिँदा कृषक उत्साहित हुने गरे पनि पछिल्लो समय चिउरा मिल नै विस्थापित हुँदै गएपछि यस खेतीतर्फ कृषक निरुत्साहित बन्दै गएको उहाँले सुनाउनुभयो । 

जिल्लाको व्यास नगरपालिका, आँबुखैरेनी, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिकामा र बन्दीपुरका केही स्थानमा अहिले पनि चैते धान खेती गरिँदै आइएको छ । 

चैते धान काट्ने थन्काउने समयमा पानी पर्ने र पानीले भिजेको धानको गुणस्तरसमेत घट्ने हुँदा सस्तो मूल्यमा धान बिक्री गर्नुपर्ने समस्याले पनि कृषक यस खेतीतर्फ आकर्षित हुन छाडेको उहाँले बताउनुभयो ।

भारतबाट फर्किनेमा देखिन थाल्यो कोरोना सङ्क्रमण

महेन्द्रनगर – पछिल्लो समय भारतबाट रोजगारी गरेर स्वदेश फर्किनेमा कोरोना सङ्क्रमण दर वृद्धि भइरहेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका साथै पहाडी जिल्लाका नेपाल–भारत सीमा नाकामा पाँच वटा स्थानमा हेल्थ डेस्क स्थापना गरी कोरोना परीक्षण गर्दै आएको छ । 

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड सम्पर्क व्यक्ति हेमराज जोशीले सीमा नाकामा कोरोना परीक्षणमा सङ्क्रमण पुष्टि हुने क्रम दुई सातायता बढ्दै गइरहेको बताउनुभयो ।

यहाँ कञ्चनपुरको गड्डाचौकी नाका, कैलालीको त्रिनगर र खक्रौला, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाटमा भारतबाट फर्किनेको स्वास्थ्य परीक्षणका लागि हेल्थ डेस्क स्थापना गरिएको उहाँले जानकारी दिनुभयो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा पीसीआर विधिमा तीन र एन्टिजेनमा २७ गरी ३० जनामा सङ्क्रमण देखिएको छ ।

यहाँ बुधवार चार सय ११ जनालाई एन्टिजेन र २२ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो । जसमध्ये कञ्चनपुरका मात्रै बुधवार दश जनाको कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले यहाँ दश जनाको सङ्क्रमण देखिएको बताउनुभयो ।

उहाँका अनुसार गड्डाचौकीमा चार, बेलौरीमा चार र दोधारा चाँदनी र कृष्णपुर नगरपालिकामा एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।

त्यसैगरी कैलालीको धनगढीस्थित त्रिनगर हेल्थ डेस्कमा परीक्षण गर्दा तीन जना पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका कोभिड सम्पर्क व्यक्ति जोशीले जानकारी दिनुभयो ।

बुधवार मात्रै सिमाना गड्डाचौकीमा दुई सय आठ, बैतडीको झुलाघाटमा १९, टीकापुर खक्रौला नाकामा ४२, त्रिनगर भन्सारमा एक सय ९७ र दार्चुलाको पुलघाटमा नौ जनाको कोरोना परीक्षण गरिएको थियो । 

“कोभिडको खोप लगाएका छौँ भनेर मात्रै पुग्दैन”, जोशीले भन्नुभयो, “स्वास्थ्य मापदण्डको पनि ख्याल गर्दै स्वास्थ्यप्रति सजग रहन आवश्यक छ ।” उहाँले सीमा नाकामा एन्टिजेन र प्रादेशिक एवं जिल्ला अस्पतालमा पीसीआर विधिबाट कोरोना परीक्षण हुँदै आएको जानकारी दिनुभयो । रासस

गण्डकीका मुख्यमन्त्रीले शनिबार विश्वासको मत लिने

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार विश्वासको मत लिने भएका छन् ।

शनिबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिने विषयलाई प्रदेशसभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि मुख्यमन्त्रीले पत्रमार्फत सूचना दिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए।

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले गत चैत १० गते मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिएपछि वर्तमान सरकार अल्पमतमा परेको थियो । समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेशसभा सचिवालयले जनाएको छ । ६० सदस्यीय प्रदेशसभाको विश्वास लिन मुख्यमन्त्रीलाई ३१ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । गत पुस २५ मा एमालेसहित माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा अधिकारी गण्डकीको तेस्रो मुख्यमन्त्री बनेका थिए ।

माछापुच्छ्रे बैंकको नाफा १ अर्ब भन्दा बढि

काठमाडौं– माछापुच्छ्रे बैंकले तेस्रो त्रैमासमा १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा गरेको छ। बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५५ करोड रुपैयाँ गरेको थियो।

गत आवको सोही त्रैमासको तुलनामा यस वर्षको तेस्रो त्रैमासमा खुद नाफा १५ प्रतिशतले घटेको छ। यस्तै बैंकले १ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप संक्लन गरेको छ भने १ अर्ब ३१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

गत आर्थिक वर्षको सोही त्रैमासको तुलनामा बैंकको निक्षेप संकलन बढेको छ भने कर्जा स्थीर छ। गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको कुल निक्षेप १ खर्ब ४१ अर्ब र १ खर्ब ३१ अर्ब कर्जा लगानी गरेको थियो।

बैंकको यो अवधिमा २.५ प्रतिशत खराब कर्जा पुगेको छ भने सीडी रेसियो ८२ प्रतिशत कायम भएको छ। यस्तै गत आवको सोही त्रैमासमा बैंकको खराब कर्जा ०.८७ प्रतिशत र सीडी रेसियो ८९.१३ प्रतिशत थियो।

राष्ट्रिय आम्दानीको महत्वपूर्ण स्रोत ऊर्जा : अर्थमन्त्री महत

काठमाडौँ – अर्थमन्त्री डा. प्रकाशशरण महतले ऊर्जाक्षेत्र राष्ट्रको आम्दानी बढाउन महत्वपूर्ण स्रोत भएको बताउनुभएको छ । आज काठमाडौँमा ऊर्जा सम्मेलन समापन समारोहलाई सम्बोधन गर्दै उहाँले ऊर्जा उत्पादन क्षेत्रमा निजी क्षेत्रको पनि योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

“सन् ९० को दशकभन्दा अगाडि एक÷दुई मेगावाट बराबर मात्रै विद्युत् उत्पादन हुन्थ्यो । निजी क्षेत्र विद्युत् उत्पादनमा संलग्न भएपछि राष्ट्रिय प्रसारणमा विद्युत् थपिँदै गएको छ । यसबाट हाम्रो माग पूरा गरेर निर्यातसम्मको अवस्थामा पुगेका छौँ”, अर्थमन्त्री डा महतले भन्नुभयो ।

ऊर्जा क्षेत्रमा राम्रो सम्भावना देखेरै निजी क्षेत्रका लगानीकर्ता आकर्षित भएको उल्लेख गर्दै उहाँले अहिले नेपाल यो क्षेत्रमा आत्मनिर्भर भएर विदेशमा निर्यातसमेत थाल्नु खुसीको कुरा भएकोे बताउनुभयो । ऊर्जा क्षेत्रमा लगानीकर्तालाई आकर्षितसमेत गरेको अर्थमन्त्री डा महतको भनाइ थियो ।

“नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गर्दछु । लगानीकर्तालाई पर्ने समस्या समाधान गर्न सरकार तयार छ”, उहाँले भन्नुभयो, “लगानीकर्तालाई विभिन्न सहुलियत र सुविधा दिन तयार छौँ । निजी क्षेत्रले पछिल्लो समय गरेको लगानीमा पनि राम्रो नतिजा आएको छ । नेपालको गतिलो आम्दानीको स्रोत नै ऊर्जा हो ।”

नेपालको विद्युत् भारत, बङ्गलादेशलगायत देशमा पु¥याउनका लागि पनि सरकारले पहल गर्ने अर्थमन्त्री डा महतको भनाइ थियो । “सरकारले विद्युत् भारत निर्यात गर्ने संयन्त्र बनाउने छ । विद्युत्का लागि बङ्गलादेश अर्को ठूलो बजार हो । बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौतापछि त्यसतर्फ निर्यात गर्न सकिने छ”, उहाँले भन्नुभयो, “विश्व बैंकजस्ता ठूला लगानीकर्ताहरु समेत नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न इच्छुक छन् । उनीहरुले मध्यम खालका परियोजनामा चासो देखाएको मैले बुझेको छु ।”

विद्युत्को आन्तरिक खपत बढाउन आवश्यक रहेको उल्लेख गर्दै अर्थमन्त्री डा महतले विद्युतीय सवारी साधनको प्रयोग बढाएर यातायातको क्षेत्रलाई विद्युतीकरण गर्नुपर्छ । घरायसी प्रयोजनका लागि पनि बिजुलीको खपत बढाउन आवश्यक भएको उल्लेख गर्नुभयो ।

 मिटरब्याजपीडितको आन्दोलन जारी (तस्बिरसहित)

काठमाडौं – मिटरब्याजपीडितले बुधबार पनि आन्दोलन जारी राखेका छन् । शान्तिबाटिकादेखि नयाँबानेश्वरसम्म प्रदर्शन गर्दै उनीहरुले आफ्नो माग पूरा गराउन सरकारलाई दबाब दिएका छन् । 

केही हप्ताअघिदेखि काठमाडौं केन्द्रित आन्दोलन गरेका मिटरब्याजपीडितको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् । 

​​​​​​​

प्रधानन्यायाधीशलाई संवैधानिक परिषद्‌मा राख्‍नु अनुचित: रघुजी पन्त

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद रघुजी पन्तले प्रधानन्यायाधीशलाई संवैधानिक परिषद्‌मा राख्ने कुरा उचित नभएको दाबी गर्नुभएको छ ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले परिषद्‌मा रहेर मन्त्रिपरिषद्‌मा भाग खोजेकोतर्फ संकेत गर्दै उहाँले प्रधानन्यायाधीशलाई संवैधानिक परिषद्‌मा राख्न नहुने तर्क गर्नुभएको हो ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७७ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै नेता पन्तले कुनै पनि नियुक्तिका मुद्दाहरु सर्वोच्च अदालतमा जाने भएकाले सोही ठाउँका मानिसहरुलाई संवैधानिक परिषद्मा राख्नु उचित हो/होइन भन्ने प्रश्न उठेको बताउनु भयो ।

‘प्रधानन्यायाधीशलाई संवैधानिक परिषद्‌मा राख्यौं । उहाँ आफै क्याबिनेटमा समेत भाग खोज्न थाले । प्रधानन्यायाधीश अब त्यो नियुक्ति गरेको मुद्दा सर्वोच्च अदालतमा जान्छ । त्यही ठाउँको मान्छेलाई संवैधानिक परिषद्‌मा राख्ने कुरा आज उचित हो कि होइन ?’, उहाँको प्रश्न थियो ।

नेता पन्तले मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रण गर्न राजनीतिक नेतृत्वमा दृढता हुनुपर्ने आवश्यकता औंल्याउनु भयो । राजनीतिक नेतृत्व र राजनीतिक दलहरुमा सुधार नआउने हो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मात्रै गाली गरेर सो समस्या समाधान हुनै नसक्ने उहाँको भनाइ थियो ।

समाजवादी व्यवस्थाले मात्रै समाजमा देखिएका अनैतिकताहरू समाप्त हुँदैन : झलनाथ खनाल

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी व्यवस्थाले मात्रै समाजमा देखिएका अनैतिकताहरू समाप्त हुने बताएका छन् ।

बुधबार काठमाडौँमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले आयोजना गरेको कार्यक्रममा खनालले मुलुकमा समाजवादी व्यवस्था स्थापना गरेर मात्रै समाजको दमन, शोषण, भ्रष्टाचार समाप्त हुने बताएका हुन् । उनले आफ्ना पार्टीका सङ्गठनहरूको चरित्र समाजवादी चरित्र भएको जिकिर गरे ।

उनले आजको शिक्षा प्रणालीले जनताले चाहेको शिक्षा नपाईरहेको भन्दै समाजवादी शिक्षा प्रणालीमा रूपान्तरण गर्नुपर्ने धारणा राखेका छन् । ठोस कार्यदिशाका साथ सङ्गठनलाई अघि बढाउनका लागि अनेरास्ववियुलाई उनले निर्देशन दिए ।

बारामा मदिरा बिक्री वितरण पूर्ण रुपमा बन्द

बारा – आगामी १० वैशाखमा हुने बारा क्षेत्र नं. २ मा हुने उपनिर्वाचनमा शान्ति सुरक्षाका लागि भन्दै बारा जिल्लाभरमा मदिरा बिक्री वितरण तथा ओसार पसारमा रोक लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले वैशाख १० गते सम्मका लागि जिल्लाभरीमा मदिरा बिक्री वितरण तथा ओसारपसार गर्नमा रोक लगाएको हो । 

मदिराका कारण आसन्न निर्वाचनमा असरपर्ने देखिएकाले मदिरा बिक्री वितरण तथा ओसारपसारमा पूर्ण रुपमा बन्द गरिएको बाराका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डले जानकारी दिए ।

उनले भने, ‘चुनावको समयमा मदिरा बिक्रि बितरण तथा सेवनले बिभिन्न किसिमका झै झगडा लगायतका अन्य घटना हुनसक्ने भएकाले हामीले मदिरा बिक्रि बितरणको कार्य बन्द गरेका हौ ।’

त्यस्तै मदिरा बिक्री वितरण गरेमा वा मदिरा खायर कसैले र्सावजनिक स्थानमा होहल्ला गरेमा तत्कालै पक्राउ गर्न र कानुनी कारबाही गर्न प्रहरीलाई निर्देशन दिईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

सेयर बजार १५.१३ अंकले उकालो लाग्यो

काठमाडौँ – आज पूँजीबजारमा दोहोरो अङ्कको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५ दशमलव १३ अङ्कले बढेर एक हजार नौ सय २० दशमलव १२ अङ्कमा कायम भएको हो ।

आज दुई सय ७३ वटा कम्पनीको २५ लाख ७९ हजार तीन सय २५ कित्ता शेयर २३ हजार पाँच सय तीनपटक खरिदबिक्री हुँदा कारोबार रकम भने रु ८७ करोड २१ लाख ४१ हजारमा खुम्चिएको छ ।

आज म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव ०६ अङ्कले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूह ७० दशमलव ८४ र जीवन बीमा समूह ६२ दशमलव ९२ अङ्कले बढेको छ । आज बैंकिङ नौ दशमलव ४४, विकास बैंक ४४ दशमलव १२, वित्त १८ दशमलव १३, होटल तथा पर्यटन समूह १९ दशमलव ०५, जलविद्युत् २१ दशमलव ९७ र लगानी समूह शून्य दशमलव ६३ अङ्कले बढेको छ । त्यसैगरी, उत्पादन तथा प्रशोधन समूह १५ दशमलव १५, लघुवित्त समूह ३२ दशमलव १६, व्यापार समूह २८ दशमलव ८८ र अन्य समूह ६ दशमलव ४६ अङ्कले बढेको छ ।

आज कालीञ्चोक दर्शन लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमोटर शेयर रु आठ करोड ८३ लाख १३ हजार तीन सय बराबरको एक लाख ५९ हजार कित्ता शेयर किनबेच भएको छ ।

संसदमा युवराज सफललाई कारबाही गर्न माग

काठमाडौँ – नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले युवराज सफललाई कारबाही गर्न माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले तथ्यहीन आरोप लगाएकाले कारबाहीको माग गरेका हुन् । उनले दोहोरो नागरिकता लिएको विषयमा पौडेलले गृहमन्त्रालयमा दिएको उजुरीप्रति आपत्ति जनाउदै आधारहिन कुरालाई लिएर भ्रमछर्ने काम नर्गन आग्रह गरे ।

उनदे भने, ‘मेरो सन्दर्भमा यस्तो गम्भीर आरोप लगाएर झूटा र आधारहीन समाचारप्रति गहिरो दुःख व्यक्त गर्दछु । ममाथि लगाइएको आरोप पुष्टि गर्न ठाडो चुनौती दिन्छु ।’

मन्त्रीको जिम्मेवारी सम्हालिसकेको आफू जस्तो व्यक्तिमाथि लगाइएको यस्तो आरोपले जिम्मेवार नागरिकको प्रतिष्ठामा गम्भीर चोट पुगेको उनको भनाइ छ ।

पौडेलले पूर्वमन्त्री बडूसहित केही व्यक्तिहरुको दोहोरो नागरिकता रहेको भन्दै छानबिन गर्न गृह मन्त्रालयमा उजुरी दिएका थिए ।

चुम उपत्यकाले शान्ति तथा अहिंसाको सन्देश दिएको छ : प्रधानमन्त्री दाहाल

गाेरखा- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको चुम उपत्यकाले सिङ्गो देश र दुनियाँलाई शान्ति तथा अहिंसाको सन्देश दिएको बताएका छन्।

उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका-७, छेकम्पारस्थित राजेन गुम्बामा ‘अहिंसा अभियान, चुमबासीको पहिचान’ भन्ने नाराकासाथ आजदेखि सुरु भएको ‘चुमशताब्दी श्याग्या महोत्सव २०८०’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले चुम उपत्यकालाई एक सय वर्षसम्म अहिंसा क्षेत्रका रुपमा स्थापित गरेर राख्नु आफैंमा एउटा ऐतिहासिक कार्य भएको बताएका हुन्।

“यो क्षेत्र आफैंमा एउटा ऐतिहासिक क्षेत्र छ, चुम उपत्यकालाई अहिंसा क्षेत्रका रुपमा स्थापित गरेको सय वर्ष पूरा हुनु पनि आफैंमा एउटा ठूलो इतिहास र गौरव हो”, प्रधानमन्त्री दाहालले भने, “तपाइँहरुले यो महोत्सवमार्फत सिङ्गै देश र दुनियाँलाई पनि शान्ति र अहिसांको सन्देश दिनुभएको छ।”

उनले चुम उपत्यकाको प्राकृतिक सौन्दर्यले गर्दा यस क्षेको पर्यटनसँगै आर्थिक र सामाजिक विकासको प्रशस्त सम्भावना रहेकोसमेत बताए।

प्रधानमन्त्री दाहालले चुमनुव्रीलगायत देशका विकट क्षेत्रहरुको आर्थिक, सामाजिक, सांस्कृतिक तथा समग्र क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेकोसमेत बताए।

“विकट क्षेत्रमा रहेका जनताले अझ धेरै दुःखकष्टको सामना गरिरहनुपरेको छ”, प्रधानमन्त्री दाहालले भने, “सरकार तपाइँहरुका साथमा छ, तत्काल सम्भव भए जति विकास निर्माण र आर्थिक क्रियाकलाप बढाउन पनि सरकार प्रतिबद्ध छ।” उनले देशमा संघीयता स्थापना भएसँगै विकट क्षेत्रका जनताको आवाज सिधै सिंहदरबारसम्म पुग्नसक्ने अवस्था सिर्जना भएको बताए।

“तपाइँको क्षेत्रको गाउँपालिकाका अध्यक्ष सिंहदरबारमा पुगेर पटक–पटक मसँग यहाँको विकास निर्माणका बारेमा मलाई झकझक्याई रहनुभएको छ”, प्रधानमन्त्री दाहालले भने, “त्यो आवाज तपाइँहरु सबै जनताको आवाज हो भन्ने मैले बुझेको छु, यहाँको दिगो पर्यटन पूर्वाधारका विकास लागि नीतिगत व्यवस्था गर्न सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।”

उनले चुमनुव्री गाउँपालिका–१ सामागाउँस्थित रुइलानाका र वडा नं ७ छेकम्पारस्थित तिब्बतसँग सिमाना जोडिएको रुइला नाका खुलाउन आवश्यक पहल गर्नेसमेत प्रतिबद्धता व्यक्त गरे।

“रुइला नाका खुलाउने विषयमा धैरै पहिलेदेखि नै कुरा भइरहेको छ”, प्रधानमन्त्री दाहालले भने, “त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने विश्वास दिलाउन चाहन्छु।”

सोही अवसरमा प्रधानमन्त्री दाहाललाई चुमनुव्रीबासीले चुमनुव्री गाउँपालिकाका विभिन्न क्षेत्रलाई हवाई निषेधित क्षेत्र तोकेको भन्दै यसले गर्भवती तथा सुत्केरीहरु, बिरामी र प्राकृतिक विपत्तिमा परेका मानिसहरुको उद्धारमा कठिनाइ भएकाले निषेधित क्षेत्र खुलाउन माग गरेका छन्।

त्यस्तै, सिर्दिबास-कम्पुल-लोक्पा–चुम्चेत–छेकम्पार मोटरबाटो निर्माणको योजना अघि बढाउन पनि प्रधानमन्त्री दाहालसँग स्थानीयवासीहरुले माग गरेका थिए।

प्रधानमन्त्री दाहालले राष्ट्रिय योजना आयोगसँग छलफल गरेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त मोटरबाटो निर्माणको योजना अघि बढाउने र हवाई उडान निषेधित क्षेत्रको सन्दर्भमा आवश्यक अध्ययन गरेर जनताका समस्याको उचित सम्बोधन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

मध्यवर्ती क्षेत्रको आवश्यकता छैन : महेशकुमार बर्तौला

काठमाडौँ – नेकपा (एमाले) का सचेतक महेशकुमार बर्तौलाले मध्यवर्ती क्षेत्र आवश्कता नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले निकुञ्जको सीमा हेरफेर र मध्यवर्ती क्षेत्रलाई राष्ट्रिय वनको क्षेत्रको रुपमा अघि बढाउनुपर्ने उल्लेख गर्नुभयो ।

“आगामी बजेट बनाउँदा यस विषयमा सरकारको ध्यानकर्षण गराउन चाहान्छु” उहाँले भन्नुभयो । सांसद बर्तौलाले मध्यवर्ती क्षेत्र आसपास नयाँ उद्योग सञ्चालन गर्न कठिनाइ भएको सम्बन्धमा सरकारको ध्यानकर्षण गराउँदै मध्यवर्ती क्षेत्रको समस्या दिगोरुपमा समाधान गर्न आग्रह गर्नुभयो । उहाँले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएको सम्बन्धमा आफ्नो व्यक्तिगत र पार्टीका तर्फबाट स्वास्थयलाभको कामना गर्नुभयो ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले गैरकानुनी रुपमा नागरिकको रुजु विवरण ठेक्का खारेज गर्ने सरकारको निर्णयको स्वागत गर्नुभयो । उहाँले यसवर्ष समयमै पाठ्यपुस्तक सबै विद्यालयमा पु¥याउन सकेकोप्रति सरकार र सम्बन्धित निकायलाई धन्यवाद दिनुभयो । उहाँले स्वदेशमै युरिया मल उत्पादन गर्नका लागि तत्काल योजना अघि बढाउन जरुरी रहेको उल्लेख गर्दै युरिया मल कारखाना छिट्टो भन्दा छिट्टो सञ्चालनमा ल्याउनका लागि आगामी बजेटमा समावेश गर्न आग्रह समेत गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले संसद् बैठक बस्दा ठूलो खर्च हुने गरेको बताउँदै अचानक संसद् बैठक स्थगित हुने गरेकोप्रति आपत्ति जनाउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले लामो समयसम्म प्रधानमन्त्री संसद् बैठकमा उपस्थित नदेखिनुभएको भन्दै ध्यानाकर्षण गराउनुभयो । उहाँले ठूला भ्रष्टाचारका विषयमा अख्तियारले अध्ययन गर्न र मुद्दामा दायर गर्नका लागि ढिलाइ गरिरकेको सम्बन्धमा सभामुखमार्फत ध्यानाकर्षण गराउनुभयो । जनता समाजवादी पार्टी नेपालका सांसद रञ्जुकुमारी झाले मुलुकभित्रै रोजगारी सिर्जना गर्न र रासायनिक मल आपूर्तिमा भएको फरक निर्णय तत्काल फिर्ता लिन आग्रह गर्नुभयो ।

नेकपा ९एकीकृत समाजवादी० का सांसद राजेन्द्रप्रसाद पाण्डेले बूढीगण्डकी आयोजना निर्माणका लागि आवश्यक बजेटको व्यवस्था भइसकेको उल्लेख गर्दै आयोजना तत्काल निर्माण गर्नका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

संसदमा डा आरजु राणाको प्रश्न, ‘सामुदायिक विद्यालयको नतिजा किन निराशाजनक ?’

काठमाडौँ – प्रतिनिधिसभाका सदस्य डा आरजु राणा देउवाले नेपालका सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरमा प्रश्न उठेको बताउँदै यसका कारणहरुको खोजी गरेर स्तरीय शिक्षाका लागि आवश्यक पहल थाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले नेपाल सरकारको तथ्याङ्कअनुसार झन्डै ९७ प्रतिशत शिक्षकहरु तालिम प्राप्त भए पनि नतिजा अपेक्षाकृत नभएको भन्दै सरकारको ठूलो लगानी हुँदाहुँदै पनि विद्यालय शिक्षाको नतिजा उल्लेख्य मात्रामा प्राप्त नहुनुले प्रश्न उठेको बताउनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा राणाले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्किएको दृष्टान्त पेश गर्दै भन्नुभयो, “धनगढी उपमहानगरपालिकाका विद्यालयमा कक्षा ८ को वार्षिक परीक्षामा सहभागी भएका सामुदायिकतर्फका १७ विद्यालयको नतिजा शून्य आउनु एउटा निराशाजनक हो । हाम्रो देशका विश्वविद्यालयहरुमा विद्यार्थी भर्ना सङ्ख्या कम हुँदै जानु पनि राम्रो लक्षण होइन साथै लगानी अनुसारको प्रतिफल नमिल्नु अर्को निराशा रहेको छ ।”

सांसद राणाले यो क्षेत्रको सुधार तथा सुशासन अभिवृद्धिका लागि केही महत्वपूर्ण पक्षमा सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले आधारभूत तथा माध्यमिक तहहरुमा निरन्तर मूल्याङ्कन गर्नुपर्ने र सो को ‘रेकर्ड’ राखी पृष्ठपोषण (फिडब्याक) दिनुपर्ने र नतिजाका आधारमा शिक्षक र विद्यालयहरुलाई दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो । त्यसैगरी विद्यालय व्यवस्थापन समिति गठन र सञ्चालनमा धेरै राजनीतिकरण भएको देखिएको भन्दै समितिको कार्यशैली परिवर्तन गर्न निर्देशिका अद्यावधिक गरिनुपर्ने उहाँको भनाइ थियो ।

सांसद राणाले देशभरका सरकारी विद्यालयहरुका आधारभूत तहमा अङ्ग्रेजी भाषाबाट पनि पढाइ हुने वातावरण तयार गर्न आवश्यक नीति, नियम र आवश्यक स्रोतसाधनको सुनिश्चितता गरिनुपर्नेमा जोड दिनुभयो । नेपालका विश्वविद्यालहरुमा विद्यार्थीहरुको भर्ना दरलाई बढाउन बहुक्षेत्रका निकायले ध्यान दिनुपर्ने उल्लेख गर्दै उहाँले शिक्षा अधिकारको सम्बन्धमा सङ्घ, प्रदेश र स्थानीय तहलाई प्राप्त अधिकारका बारेमा स्पष्ट व्यवस्था गरिनुपर्ने र शैक्षिक मूल्याङ्कनलाई अपरिहार्य पाटोका रूपमा स्थापित गर्नुपर्नेमा ध्यानाकर्षण गराउनुभयो ।

“जुन परिकल्पनाका साथ संविधानमा शिक्षाको महत्वलाई अङ्गीकार गर्दै हामीले हाम्रा भावी सन्ततिहरुका लागि नैसर्गिक अधिकारका रूपमा शिक्षालाई समावेश गरिएको थियो त्यसतर्फ उन्मुख हुन अझै धेरै नीतिगत र कार्यगत पहल आवश्यक रहेको हुँदा सम्पूर्ण सरकारी शिक्षा क्षेत्रको पुनर्वालोकनका लागि सम्माननीय सभामुखमार्फत नेपाल सरकारलाई निर्देशन गरिदिन हुन हार्दिक अनुरोध गर्दछु”, संसदमा उहाँले भन्नुभयो ।

उहाँले शिक्षाले मानवको चौतर्फी विकासका लागि अहम् भूमिका खेल्ने बताउँदै कुनै पनि देशको विकासका निम्ति शिक्षा महत्वपूर्ण स्तम्भ भएकाले संविधानमा पनि शिक्षाको अधिकारका बारेमा व्यवस्था गरिएको बताउनुभयो ।

नक्कली पासपोर्ट प्रकरणमा दोषी ठहरिएकाहरू नेता भएर सिंगारिएर हिँडिरहेको छ : घनश्याम भुसाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै नक्कली पाससोर्टमा दोषी ठहर भएका व्यक्ति सडकमा हिरो भएर हिँडिरहेको टिप्पणी गरेका छन् ।

नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो  बताएका हुन् ।

उनले भने, ‘अस्ति भर्खरै नक्कली पासपोर्ट प्रकरणमा दोषी ठहरिएकाहरू नेता भएर सिंगारिएर हिँडेका छन् । तीनिहरूसँग गठबन्धन भएको छ । पूजा भइरहेको छ ।’

नक्कली पासपोर्टदेखि अनेक अपराधमा दोषी भनिएका मान्छे थोरै दिन राज्यमा पुग्दा पनि लुट मच्चाएको भुसालले आरोप लगाएका छन्  ।

राजधानीमा वायुप्रदूषण र फोहर समस्या समाधान गर्न सांसदको माग

काठमाडौँ – प्रतिनिधिसभाका सांसदहरुले राजधानी काठमाडौँ उपत्यकामा बढेको वायु प्रदूषणलगायत फोहरको समस्या समाधान गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद उदयशमशेर जबराले काठमाडौँ उपत्यकामा वायु प्रदूषण नियन्त्रणका लागि छोटो र दीर्घकालिन समाधानको बाटो खोजिनुपर्ने बताउनुभयो ।

राजधानी वरपरका वनमा डढेलो र काठमाडौँ उपत्यकामा दुई किमी सडक निर्माण गर्न चार वर्ष लाग्ने गरेकाले पनि वायु प्रदूषण र फोहर बढेको उहाँको भनाइ थियो । सांसद असिम साहले सवारी चालक अनुमति प्रमाणपत्रलाई व्यवस्थित गरिनुपर्ने बताउनुभयो ।

सांसद उर्मिला माझीले महँगो र असमान शिक्षाका कारण भ्रष्टाचार बढेको, वर्षैपिच्छे पुस्तक फेरिँदा समस्या हुने गरेकाले तीन वर्षसम्म नफेर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो । सांसद एकनाथ ढकालले यहाँको राहदानीले ३७ देशको मात्र भ्रमण गर्न पाइने भएकाले कूटनीति बलियो बनाउन अनुरोध गर्नुभयो ।

सांसद ऐनबहादुर शाही ठकुरीले तिब्बत्सँग सीमा जोडिएका हुम्लाका नाका खोल्न माग गर्नुभयो । मुगुको खत्याड गाउँपालिकाबाट दुई दिन हिँडेर मात्र सदरमुकाम पुग्न सकिने भएकाले गाउँपालिकामै इलाका प्रशासन कार्यालय खोल्न उहाँले माग गर्नुभयो । सांसद कान्तिका सैँजुवाललले कर्णाली राजमार्गलाई गौरवको आयोजनाका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

सांसद गीता बस्नेतले राष्ट्रिय जनावर गाईको संरक्षाणका लागि सात सय ५३ वटै स्थानीय तहले गौशाला बनाउन बजेट छुट्याउनुपर्ने बताउनुभयो । सांसद चन्दा कार्की भण्डारीले स्वास्थ्य महत्वपूर्ण विषय भए पनि राज्यको प्राथमिकतामा नपरेको भन्दै सरकारी अस्पताल व्यवस्थित हुन नसकेकामा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद छिरिङ लामा तामाङले गणतन्त्रको मर्मअनुरुप विकास निर्माणको काम हुनुपर्नेमा जोड दिनुभयो । खस सभ्यता मौलिक भएकाले सिञ्जामा प्रतिष्ठान नै स्थापना गर्न उहाँले आग्रह गर्नुभयो । सांसद जावेगा खातुनले बर्दियाका किसानले सीमा क्षेत्रबाट मलखाद ल्याउँदा समस्या भोग्नुपरेकाले समाधान गर्न सरकारसँग आग्रह गर्नुभयो । बैठकमा सांसदहरु अनिषा नेपाली, किरणकुमार साह, गोमा लाभ सापकोटालगायतले रोल्पामा विद्युत् कार्य अलपत्र बनेको, जनताको दैनन्दिन जीवनयापनमा समस्या हुँदा पनि तीन तहका सरकारको ध्यान जान नसकेकोलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

संविधानको रक्षाका लागि गठबन्धनमा मतदान : नेता सिंह

चितवन – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको रक्षाका लागि उपनिर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर ७ विकास चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उहाँले विसं २०६२÷६३ सालको परिवर्तनपछि प्राप्त गरेको संविधानको रक्षाका लागि गठबन्धन बनेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“जनताको सङ्घर्षबाट पाएको संविधान कार्यान्वयनका लागि जिम्मेवार दललाई अधिकार दिनुस् ।” अहिले देशमा राजनीतिक अस्थिरताको अन्त्यका लागि र देशको परिवर्तनका लागि गठबन्धनमा मतदान गर्न उहाँले आग्रह गर्नुभयो । यो क्षेत्रमा किन चाँडै निर्वाचन भयो भन्ने तपाईलाई थाहानै छ उहाँले थप्नुभयो, “अब फेरि निर्वाचन गर्न नपर्ने गरी स्थानीय नेतालाई मतदान गर्नुस् ।”

सङ्घीय सरकार गठबन्धनको सरकार भएको भन्दै उहाँले यसको गतिका लागि पनि चितवनमा कांग्रेसलाई जिताउनुपर्ने बताउनुभयो । गठबन्धनको जीतसँगै विकास निर्माणमा समेत गति लिने उहाँको भनाइ थियो ।

मलेसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं –  मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पर्सा बहुदरमाई गाउँपालिका-५ भौराटार घर भई काठमाडौं कीर्तिपुर बस्ने ३६ वर्षीय हिरालाल महतो नुनियालाई प्रहरीले पक्राउ गरेको छ । 

वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिन्छु, त्यहाँ पुगेपछि राम्रो कम्पनीमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी ६ जना पीडितहरूबाट नगद ३ लाख ५० हजार रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं चोभारबाट पक्राउ गरेको हो ।

उनलाई  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।

राष्ट्रपति पौडेलको भारतमा उपचार सुरू

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस ९एम्स० मा उपचार सुरु भएको छ ।

आज बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो । नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएपछि परिवारका सदस्य र चिकित्सकहरूले थप उपचारका लागि भारत लैजान भनेपछि उनलाई भारत लगिएको हो ।

राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको थियो । राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र ७ जना चिकित्सकको टोली छ ।

कोरोना संक्रमण देखिए सात दिनसम्म आइसोलेशनमा बस्न स्वास्थ्यमन्त्रालयको आग्रह

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ ।


मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गर्नु भएको छ ।

उहाँका अनुसार कुनै पनि लक्षण नरहेको, पाँच दिनसम्म आइसोलेशनमा बसेको वा पाँच दिनभन्दा बढी बसेको, २४ घण्टाभित्र ज्वरोको औषधि नखाइ नै ज्वरो कम भएको भए भने आइसोलेशनमा बस्नुपर्दैन । सात दिनसम्म आइसोलेशनमा बसेर आठौँ दिनमा बाहिर निस्केपनि अरु मानिसको सम्पर्कमा नजानसमेत आग्रह गरिएको छ ।

मन्त्रालयले आइसोलेशनमा रहेकाले मिलेसम्म छुट्टै शौचालय भएको प्रशस्त हावा आउने छुट्टै कोठामा बस्ने तथा नाक, मुख र चिउडो छोपिने गरी मास्क लगाउने र प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्ने तथा बेला बेलामा साबुन पानीले हात धुुन आग्रह गरेको छ । अहिले दैनिक कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ । हिजो एक सय ७१ जनामा सङ्क्रमण, दुई जनाको निधन र तीन सय ९७ जना सङ्क्रिय सङ्क्रमित पुगेका छन् ।

लमजुङका स्थानीय तहसँग छैन दमकल

लमजुङ – जिल्लाका अघिकांश स्थानीय तहसँग आगलागी नियन्त्रण गर्न दमकल रहेका छैनन् । जिल्लामा चार नगरपालिका र चार गाउँपालिका छन् ।

आगलागी भइहाले पनि बेँसीसहर नगरपालिकाकै दमकल पुग्नुपर्ने बाध्यता छ । टाढाटाढा आगलागी हुँदा जान समय लाग्ने गरेकाले पनि समस्या हुने गरेको छ । बँेसीसहर नगरप्रमुख गुमानसिंह अर्यालले भन्नुभयो, “ठूलो आगलागी भएको बेला अन्य स्थानीय तहले हाम्रै नगरकै दमकल प्रयोग गर्ने गरेकोे छ । प्रायः स्थानीय तहको अधिकांश बस्ती तथा भागमा सडक पुगे पनि भौगोलिक संरचनाका कारण जिल्लाका सबै ठाउँमा आगलागी हँुदा दमकल पुग्न सम्भव छैन ।”

क्व्होलासोथर गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले पालिकाभित्र दमकल आवश्यक रहे पनि बजेट अभावले खरिद गर्न नसकेको बताउनुभयो । “दमकल मात्र खरिद गरेर पनि हुँदैन आवश्यक दक्ष जनशक्तिदेखि प्राविधिक कुराहरु पनि आवश्यक हुन्छ”, उहाँले भन्नुभयो ।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना रुस प्रस्थान

काठमाडौं – राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको  आठ सदस्यीय संसदीय प्रतिनिधी मण्डल बुधबार रुस प्रस्थान गरेको छ ।

रुसको उपल्लो सदन फेडरेसन काउन्सिल अफ फेडेरेल एसेम्बली अफ रसियाका अध्यक्ष भ्यालेन्टिना मत्भिएन्कोको निमन्त्रणामा अध्यक्ष तिमिल्सिनाको टोली औपचारिक भ्रमणका क्रममा बुधबार बिहान रुस प्रस्थान गरेको हो ।

अध्यक्ष तिमिल्सिना नेतृत्वको संसदीय टोलीमा राष्ट्रिय सभाका सदस्यहरू वामदेव गौतम, रमेशजङ्ग रायमाझी, दिलकुमारी रावल थापा ’पार्वती’, महेश कुमार महरा र शेखर कुमार सिंह तथा संघीय संसद सचिवालयका सहसचिव सीता काफ्ले वाग्ले र स्वकीय सचिव उदय तिमिल्सिना रहनु भएको छ। भ्रमण टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपालका लागि रुसी राजदुत अलेक्सेइ नोभिकोभ र संघीय संसदका महासचिव डा. भरतराज गौतमले बिदाई गरेका थिए । 

भ्रमणका क्रममा अध्यक्ष तिमिल्सिनाले रुसी उपल्लो सदनका अध्यक्ष मत्भिएन्को र स्टेट डुमाका अध्यक्ष भ्याचेस्लाभ भलोदिनसँग द्विपक्षीय वार्ता गर्नेछन् । यस बाहेक रुसी सरकारका पदाधिकारीहरु, प्रान्तीय सभाका अध्यक्ष र प्रान्तीय सरकारका पदाधिकारीहरु संग पनि भेटघाट र संवाद गर्नेछन् ।  

अध्यक्ष तिमिल्सनाले रुसमा बसोबास गर्ने नेपाली डायस्पोरा संग भेटभाट गर्ने कार्यक्रम छ भने मस्को स्टेट इन्स्टिच्युट अफ इन्टरनेशनल रिलेसनका बिद्यार्थीहरुलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।

रुस प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष तिमिल्सिनाले भ्रमणले नेपाल र रुसका बिचको सम्बन्धलाई अझै प्रगाढ बनाउने तथा भ्रमण फलदायी हुने  बिश्वास ब्यक्त गरे । 

रुस गएको संसदीय प्रतिनिधी मण्डलमा  राष्ट्रिय सभाकासदस्यहरू वामदेव गौतम, रमेशजङ्ग रायमाझी, दिलकुमारी रावल थापा ’पार्वती’, महेश कुमार महरा र शेखर कुमार सिंह तथा संघीय संसद सचिवालयका सहसचिव सीता काफ्ले वाग्ले र  अध्यक्षका स्वकीय सचिव उदय तिमिल्सिना रहेका छन् 

अध्यक्ष तिमिल्सिना सहितको प्रतिनिधि टोली रुसको भ्रमण पूरा गरि १२ वैशाख बैषाख नेपाल फर्कने कार्यक्रम रहेको छ ।

थप उपचारका लागि राष्ट्रपति पौडेललाई भारत लगियो

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली लगिएको छ ।

मंगलबार साँझ महाराजगन्जस्थित राष्ट्रपति भवन शीतल निवासमै बेहोस भए पछि उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरीएको थियो ।

राष्ट्रपतिको सचिवालयको अनुसार राष्ट्रपति पौडेललाई श्रीएयरको एयर एम्बुलेन्समार्फत केही बेरअघि नयाँ दिल्ली लागिएको हो।  

राष्ट्रपति पौडेललाई थप उपचारका लागि नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस ९एम्स० लागिएको हो ।

यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेलको गत चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो ।