`

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बसेको बैठक निष्कर्षविहीन

काठमाडौँ – प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन भएको हो । 

बैठकपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भएको तर कुनै निर्णय नभएको जानकारी दिनुभयो ।

चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि २७ मङ्सिर २०७९ गतेदेखि प्रधानन्यायाधीश पद रिक्त छ । हाल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की हुनुहुन्छ।

आजको बैठकमा प्रधानमन्त्री दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना र रक्षा मन्त्री पूर्णबहादुर खड्का सहभागी हुनुहुन्थ्यो । 

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक जारी

काठमाडौँ – प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक बसिरहेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा संवैधानिक परिषद्को बैठक बसेको हो । 

बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने सम्भावना छ । यसअघि प्रमुख तीन दलका नेताहरूको बालकोटमा बसेको बैठकले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने सहमति गरेको थियो ।

नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसनलगायत कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति गर्न दबाब दिएसँगै संवैधानिक परिषद्को बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना र रक्षामन्त्री पुर्णबहादुर खड्का सहभागी हुनुहुन्छ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्‌मा प्रधानन्यायाधीश, प्रतिपक्षी दलका नेता, सभामुख, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना सदस्य रहने व्यवस्था छ ।

यस्तो छ आज हरियो तरकारी तथा फलफूलको मूल्य

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार कालो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी २२० रुपैयाँ, हरियो अङ्गुर १३० रुपैयाँ, अनार २५० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, अमला १२० रुपैयाँ र किवी ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । 

समितिका अनुसार नेपाली ठुलो गोलभेँडा ५० रुपैयाँ, अदुवा १२० रुपैयाँ, रातो आलु ३२ रुपैयाँ, सेतो आलु २६ रुपैयाँ रहेको छ भने स्थानीय काउली ३० रुपैयाँ, कागती २३० रुपैयाँ, कुरिलो २५० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम भएको छ । 

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ७० रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, राजमा घिउ सिमी ८० रुपैयाँ, घिरौँला ३० रुपैयाँ, चमसूरको साग ९० रुपैयाँमा किनबेच भइरहेको छ भने तोरीको साग ३० रुपैयाँ, तराइ परवर ८० रुपैयाँ, न्युरो ९० रुपैयाँ, भारतीय सुकेको प्याज ३१ रुपैयाँ, हरियो प्याज २० रुपैयाँ, पुदिना १२० रुपैयाँ, लोकल बन्दा २० रुपैयाँ, फर्सी पाकेको ३० रुपैयाँ केजी कायम गरिएको छ । 

ब्रोकाउली ५० रुपैयाँ, भ्यान्टा लाम्चो ३० रुपैयाँ, भिण्डी ७० रुपैयाँ केजी, मूला सेतो १५ रुपैयाँ, रुख कटहर ६० रुपैयाँ, भुईँ कटहर १८० रुपैयाँ प्रतिगोटामा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १७० रुपैयाँ, लौका २५ रुपैयाँ र हरियो धनियाँ ४० रुपैयाँ पाइने समितिले जनाएको छ । 

यसैगरी, ताजा छडी माछा २६० रुपैयाँ र बचुवा माछा २८० रुपैयाँ प्रतिकेजी पाइन्छ भने मंगुरी माछा ३०० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।

थप उपचारको लागि राष्ट्रपति रामचन्द्र पौडेललाई भारत लैजाँदै

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेललाई थप स्वास्थ्य उपचारका लागि छिमेकी मुलुक भारत लैजाने तयारी भएको छ ।

पेट र छातिमा देखिदै आएको स्वास्थ्य समस्या सुधार नभएपछि चिकित्सकको सल्लाहमा राष्ट्रपति पौडेललाई श्री एयरलाइन्स मार्फत अहिले भारत लैजाने तयारी भइरहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले रेडियो नेपाललाई जानकारी दिनुभयो ।

स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेल मंगलबार त्रि.वि शिक्षण अस्पातल भर्ना हुनुभएको थियो ।

यसअघि पनि राष्ट्रपति पौडेल चैत १८ गते त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका लागि भर्ना भएर चैत २२ गते डिस्चार्ज हुनुभएको थियो ।

तनहुँ जाँदै सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सत्तारुढ गठबन्धनका नेता आज तनहुँ जाँदै छन् । 

तनहुँ– १ मा नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेता तनहुँ जान लागेका हुन ।

आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेताहरू आज तनहुँ आउन लागेको नेपाली काँग्रेस तनहुँका सभापति जितप्रकाश आलेले जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रधानमन्त्री समेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तनहुँको डुम्रे बजारमा आज दिउँसो २ः०० बजे हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाद्वारा राष्ट्रपतिकाे स्वास्थ्य अवस्थाबारे जानकारी 

काठमाडौँ  – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार गराइरहनुभएका राष्ट्रपति रामचन्द्र पौडेललाई आज बिहान भेट गरी स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको छ । 

अध्यक्ष तिमिल्सिनाले राष्ट्रपति पौडेलको शीघ्र स्वास्थ्य लाभको कामना  समेत गर्नुभएको छ । 

सो अवसरमा अध्यक्ष तिमिल्सिनालाई राष्ट्रपतिको उपचारमा संलग्न चिकित्सकहरूले स्वास्थ्य अवस्थाबारे आत्तिइहाल्नुपर्ने नदेखिएको र उहाँलाई थप परीक्षण र उपचारका लागि भारत लैजानुपर्ने जानकारी गराउनुभएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ।

यी हुन् एमालेको जनसंगठनका अध्यक्षहरु

काठमाडौं – नेकपा एमालेको सवै जनसंगठनहरुको महाधिवेशन/राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। जनसंगठन समन्वय संयन्त्रका संयोजक एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले चैत मसान्तभित्र महाधिवेशन सक्नुपर्ने बाध्यात्मक निर्णय सुनाउनु भएपछि बाँकी रहेका सवै जनसंगठनले आफ्नो महाधिवेशन सम्पन्न गरेका हुन् ।

नेकपा एमालेको जनसंगठनमध्ये सवैभन्दा पहिला महाधिवेशन गर्नेमा प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन परेको छ । सो संगठनले २०७८ फागुन १४ गते आफ्नो अभिवेशन गरी भोजराज आचार्यलाई अध्यक्ष चयन गरेको हो।

यस्तै मानवअघिकार एलाइन्स दोस्रो र प्रेस चौतारी नेपाल तेस्रो बनेको छ। एलाइन्सको महाधिवेशन २०७८ फागुन २३ गते पोखरामा सुरु भएको एलाइन्सको अधिवेशनबाट मीनबहादुर शाही अध्यक्ष चयन हुनुभएको थियो। महाधिवेशन गर्ने अन्तिम संगठन भने अखिल नेपाल किसान महासंघ बनेको छ। महासंघको झापामा चैत ३० गते सुरु भएको सातौं महासम्मेलनले डा. प्रेम दंगालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।

मानवअधिकार एलाइन्सपछि प्रेस चौतारी नेपालले २०७८ फागुन २७ देखि २९ गतेसम्म पोखरामै आफ्नो ९औं महाधिवेशन सम्पन्न गर्यो । महाधिवेशनबाट अध्यक्ष गणेश बस्नेत पुनः अध्यक्ष चयन हुनुभयो । अघिल्लो वर्ष ९ वटा जनसंगठनले मात्र महाधिवेशन गरेकोमा यस वर्षको फागुन र चैतमा सवै जनसंगठनले महाधिवेशन सम्पन्न गरेका हुन् । वर्ष सवैभन्दा पहिला अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले आफ्नो महाधिवेशन सम्पन्न गरेका हो।

फागुन पहिलो साता काठमाडौंमा सम्पन्न महाधिवेशनले चुनावमार्फत समिक बडाललाई अध्यक्ष चयन गरेको छ। एमालेका जनसंगठनमध्ये अनेरास्ववियुमा मात्रै निर्वाचनमार्फत नेतृत्व चयन भएको हो । अन्य संगठनमा सर्वसम्मत नेतृत्व चयन भएको छ।

जनसंगठनहरुमा लामो समयदेखि महाधिवेशन नभएको पाइएपछि संयोजक ढकालले धुलिखेलमा अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा उपाध्यक्ष बिष्णु पौडेल, महासचिव शंकर पोखरेलसहितका नेताहरुलाई आमन्त्रण गरेर कार्यशालामार्फत २०७९ चैत मसान्तभित्र महाधिवेशन गर्नैपर्ने निर्णय लिनुभएको थियो ।

यी हुन् जनसंगठनका अध्यक्ष

अखिल नेपाल किसान महासंघ : डा. प्रेम दंगाल
अखिल नेपाल महिला संघ : टुका हमाल
प्रेस चौतारी नेपाल : गणेश बस्नेत
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन : समिक बडाल
राष्ट्रिय अपाङ्गता संगठन नेपाल : मित्रलाल शर्मा
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपाल : पासाङ शेर्पा
नेपाल उत्पीडित जातीय मुक्ति समाज : मनोहर बिश्वकर्मा
नेपाल उद्योग व्यवसाय महासंघ : एलपी सावा लिम्बु
नेपाल खेलकुद महासंघ : पर्शुराम बस्नेत
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) : बिनोद श्रेष्ठ
नेपाल बुद्धिजीवी परिषद् : डा. दिनेशचन्द्र देवकोटा
भूमि अधिकार तथा श्रमिक संगठन नेपाल : शान्ता चौधरी
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन : बिनोद पाण्डे
पेशागत महासंघ, नेपाल : पुण्यप्रसाद ढकाल
प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन : भोजराज आचार्य
प्रगतिशील इन्जिनियर्स एसोसिएसन : डा. सुरज लामिछाने
राष्ट्रिय जनसाँस्कृतिक महासंघ : प्रेमनाथ अधिकारी
मानवअधिकार तथा सामाजिक न्याय मञ्च : मीनबहादुर शाही
राष्ट्रिय युवा संघ, नेपाल : क्षितिज थेवे
नेपाल मुस्लिम इत्तेहाद संगठन : सिरज फारुकी
रिटर्नी फेडरेसन नेपाल : उत्तम अधिकारी
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल : डा. झलक गौतम
अखिल नेपाल पिछडाबर्ग (ओबिसी) महासंघ : तेजप्रसाद निसाद

सहकारी सञ्चालकलाई बचतकर्ताले दले कालोमोसो

काठमाडौँ – भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरमा सञ्चालित एक सहकारी संस्थाका सञ्चालकलाई बचतकर्ताहरुले कालोमोसो दलेर जुत्ताको माला लगाइदिएका छन् ।

ठ्ठाघरस्थित राम बहादुर मानन्धरको साढे तीन तले घरको दोस्रो तलामा रहेको कृषि बिकास तथा ऋण सहकारी संस्थाका प्रबन्ध निर्देशक समिर खत्रीलाई हातपात गरी कालोमोसो दलेर केही बचतकर्ताले जुत्ताको माला लगाएका हुन् ।

विगत १२ वर्षदेखि सञ्चालित उक्त सहकारमा रकम जम्मा गरेका बचतकर्ताहरुले उक्त दुर्व्यवहार गरेका हुन् । उनीहरूले किन सहकारी सञ्चालकमाथि दुर्व्यवहार गरे भन्ने हालसम्म खुलेकाे छैन ।

उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले मध्यपुर ठिमी नगरपालिका–७ धुन्चेपाखा बस्ने ४४ वर्षका मुरारी नेपाल, ओखलढुंङगाको हर्कपुर घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने ३६ वर्षकी प्रेमकुमारी तामाङ, झापा कोहोरा गाउँपालिका २ घर भई हाल गठ्ठाघर बस्ने बर्ष ३९ को कृष्ण संग्रौला, भक्तपुर मध्यपुरठिमी नगरपालिका– ९ बोडे बस्ने बर्ष ६३ को गोरखबहादुर गिरी र ओखलढुङगाको लिखु गाउँपालिका ४ घरभई कौशलटार बस्ने बर्ष ३४ की पवित्रा तामाङ उक्त घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ ।

नेकपा एसका स्थायी कमिटी सदस्य जंगली एमाले प्रवेश

काठमाडौं –  नेकपा एकीकृत समाजवादी छाडेका कास्कीका नेता चुँडामणि जंगली नेकपा (एमाले) मा प्रवेश गर्नुभएकाे छ । 

(मंगलबार) एमाले संगठन विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य खगराज अधिकारीले उहाँलाई पार्टीमा प्रवेश गराउनुभएकाे हाे । 

एसमा स्थायी कमिटी सदस्य रहनुभएका जंगलीले फागुन १२ गते पार्टीबाट राजीनामा दिनुभएकाे थियाे । 

पिडितहरुलाई हामी न्याय दिन प्रतिवद्ध छौं : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटर ब्याज पीडितहरुलाई न्याय दिन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

सोमबार शान्ति बाटिकामा मिटर ब्याज पीडित र प्रहरीबीच झडप भएको प्रसंगलाई लिएर आज मंगलबार गृह मन्त्रालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले मिटर ब्याज पीडितहरुमाथि भएको बल प्रयोगबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको जानकारी गराएका छन् । उनका अनुसार काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ५ सदस्यीय समिति बनाइएको हो ।

जागरण अभियानका रुपमा कसैले मिटरव्याजीलाई अगाडि बढाए पनि अन्यथा नसोच्ने मन्त्री श्रेष्ठको भनाइ थियो । तर, मिटरव्याज पिडितका नाममा न्याय दिने अभियानलाई कमजोर पार्ने काम कसैले गर्नु नहुनेमा उनले जोड दिए ।

‘आयोगले काम थालिसक्यो । सिडीओको नेतृत्वमा कमिटी बनिसक्यो । पिडितहरुलाई हामी न्याय दिन प्रतिवद्ध छौं । होलिस्टिक एप्रोचबाट समाधानका प्रक्रिया अगाडि बढाएको छ । जनजागरण अभियानबाट बल पुर्याउनेलाई पनि धन्यवाद । तर, जनजागरणका नाममा पिडितहरुलाई नै दुख दिने काम नगरौं,’ उनले भने ,

मन्त्री श्रेष्ठले हिजोको घटनाबारे आफूले सत्यतथ्य बुझेको उल्लेख गरे । घटनाबारे वर्णन गर्दै उनले भने, ‘उहाँहरु शान्तिबाटिकामा जहाँ बस्नुभएको छ, त्यहाँ प्रहरीहरु पहिले पनि जाने र निगरानजी गर्ने गर्थे । उनीहरुलाई सुरक्षा दिन पनि पर्यो । तर सँधैझैं हिजो त्यहाँ जाँदा अर्कै खालको परिस्थिति देखियो । त्यहाँभित्रबाट प्रहरीलाई तपाईंहरु बाहिर जानुस भनिएछ । टाउकोमा राता पट्टि लगाएका छन् । बाँसका भाटा र ईंटा जम्मा गरिएको छ । ‘निर्णायक दिन’ भनिएको छ । त्यसैले प्रहरी अलि सचेत भए । अलि बढी दवावको मनोविज्ञानमा आए । बाहिरबाट पनि केही मान्छे भित्र जान थाले । भित्र लाठी–ढुंगा थुपारेका छन् भनेपछि केही घटना गराउँछन् कि भन्ने भयो । खबरदार बाहिर जाउ भनेपछि प्रहरीले बाहिरबाट ढोका लगाएछन् । त्यति भइसकेपछ ढुंगा प्रहार हुन थाल्यो । मैले कमाण्डका डिएसपीलाई पनि भेटेँ । उहाँको नाक भाँचिएको छ, ओठ फुटेर सात टाँका लगाएको छ । हेरिसाध्ये छैन । सहायक हवल्दारको हात फ्याक्चर छ । आठ प्रहरी घाइते भएका छन् । कमाण्डरलाई आक्रमण भइसकेपछि प्रहरी उत्तेजित भएको देखिन्छ । तर, प्रहरी प्रशासन सँधै संयमित र जिम्मेवार हुनुपर्छ भन्ने हाम्रो दृष्टिकोण हो ।

पहिरो फुटाउन विष्फोटक पदार्थ मागिएको फाइल भारतीय दूतावासमा भेटियो: रघुजी पन्त

काठमाडौं – नेकपा एमालेका सांसद रघुजी पन्तले मुग्लिन-नारायणगढ सडक खण्डमा पुल बनाउन पहरो फुटाउन विष्फोटक पदार्थ मागिएको फाइल भारतीय दूतावासमा भेटिएको भन्दै आपत्ती जनाउनु भएको छ। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले विष्फोटक पदार्थ माग्दा फाइल नै पठाउनुपर्ने अवस्था आएको भन्दै आपत्ती जनाउनु भएको हो।

सांसद पन्तले भन्नुभयो, ‘मुग्लिन-नारायणगढ सडक खण्डमा पुल बनाउनका लागि पहरो फुटाउन विष्फोटक पदार्थ माग गरिएको फाइल न गृह मन्त्रालयमा पाइन्छ न रक्षा मन्त्रालयमा फेला पर्छ। गृहले रक्षालाई देखाउँछ, रक्षाले गृहलाई देखाउँछ। उसले भौतिकलाई देखाउँछ। अन्तमा त्यो  फाइल  ६ महिनापछि वैशाख १ गते भारतीय दूतावासमा पाइयो । के हामीले विष्फोटक पदार्थ माग्दा फाइल नै पठाउनुपर्छ ?’

उहाँले चिनियाँ कम्पनीले टेण्डर हालेर पाएको प्रोजेक्टमा पनि र चिनियाँ कम्पनीहरू इन्भल्भ भएका प्रोजेक्टमा भारतले विष्फोटक पदार्थ नपठाउने अवस्था आएको बताउनु भयो ।

भारतले नेपालाई विष्फोटक पदार्थ दिन अप्ठ्यारो मानिरहेको भन्दै उनले विष्फोटक पदार्थ नेपालमै बन्नुपर्नेमा जोड दिनुभयो ।

महानगरपालिकाका प्रमुख बालेन साहविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साह विरुद्ध कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा परेको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ ।

सिंहदरबार र राष्ट्रपति कार्यालय महाराजगञ्जको फोहोर नउठाएको भन्दै कामपा प्रमुख साहविरुद्ध सर्वोच्च अदालतमा अधिवक्ता पदम श्रेष्ठले रिट दर्ता गर्नुभएको थियो ।

अधिवक्ता श्रेष्ठले काठमाडौँ महानगरपालिकाले कानूनविपरीत फोहोर सङ्कलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर सङ्कलन गरी ल्यान्डफिल साइटमा लैजान, नियमित फोहोर सङ्कलन र विसर्जन गर्नु पर्नेलगायतका मागसहित सोमबार सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

हिन्दु राष्ट्र माग्दै राप्रपा सांसद जैसवालले वाचन गरिन् प्रतिनिधि सभामा गायत्री मन्त्र र जय श्रीरामको नारा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद विना जैसवालले प्रतिनिधिसभा बैठकमा हिन्दू राष्ट्र माग्दै गायन्त्री मन्त्र र जय श्रीरामको नारा लगाएकी छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा उनले गायत्री मन्त्र वाचन गर्दै कुनै पनि धर्ममा भेद नरहेको सबै धर्म समान रहेको भन्दै नेपाल हिन्दु राष्ट्र हुनुपर्नेमा जोड दिइन् ।

उनले भनिन्, ‘आइ स्ट्रोङली विलिभ इन अल द रिलिजन आर सेम । इन फ्याक्ट माइ ड्यु रेस्पेक्ट अल द रिलिजन बट माई रिलिजन इज माई प्राइड । कुनैपनि धर्ममा भेद छैन, मान्छेको मनमा भेद छ । सर्वधर्म सम्पन्न हिन्दू राष्ट्र नेपाल कायम होस, जय श्रीराम ।’

एनओसीमा लगाइएको रोक खारेजीको माग गर्दै विद्यार्थीहरूले गरे काठमाडौँमा प्रदर्शन

काठमाडौँ – पढ्नका लागि विदेश जाने विद्यार्थीहरूलाई नो अव्जेक्सन लेटर(एनओसी) दिन रोक लगाइएको भन्दै विद्यार्थीहरूले काठमाडौँमा प्रदर्शन गरेका छन् ।

स्नातक वा सो भन्दा माथिल्लो तहको अध्ययनका लागि मात्रै एनओसी दिने सरकारले निर्णयले आफूहरू मर्कामा परेको भन्दै विद्यार्थीहरूले काठमाडौँको नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएकाहरूले एनओसी निर्देशिका खारेज गर, हामीलाई एनओसी चाहियो लगाएताका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९’ जारी गर्दै शिक्षा मन्त्रालयले स्नातक वा त्योभन्दा माथिको उच्च शिक्षा पढ्न जानेका लागि मात्र एनओसी दिइने उल्लेख छ । जसका कारण लामो समयदेखि भाषा पढिरहेका विद्यार्थीहरू अन्यौलमा रहेका छन् ।

सिंहदरबारको फोहोर शहरी विकास मन्त्रालयले आफैँ उठाउन थाल्यो

काठमाडौँ – काठमाडाैँ महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारको फोहोर नउठाउने अडान लिएपछि  शहरी विकास मन्त्रालयले परिवर्तन सेवा प्रालि नामक संस्थासँग सम्झौता गरी सिंहदरबारको फोहोर उठाउन थालेको छ ।

मन्त्रालयको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले फोहोर व्यवस्थापनको वैकल्पिक उपायको खोजीमा परिवर्तन सेवा प्रािलसँग सम्झौता गरेको हो ।

महानगरप्रमुख साहले फोहोर नउठाउने घोषणा गरेसँगै महानगरपालिकाले सिंहदरबार क्षेत्रको फोहोर नउठाएपछि त्यसयता सिंहदरबारको फोहोर परिवर्तन सेवा प्रालिले उठाइरहेको छ ।

सहरी विकासमन्त्री सीता गुरुङले समस्या समाधान नभएसम्मका लागि वैकल्पिक उपायबाट फोहोर व्यवस्थापन गर्न संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयलाई निर्देशन दिनुभएको थियो ।

मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, “काठमाडौं महानगरपालिकाले संवैधानिक एवम् कानुनी प्रावधानविपरीत फोहोरमैला व्यवस्थापन गर्ने कार्यमा आफ्नो दायित्वबाट विमुख भई अवरोध सिर्जना गरेको अवस्थामा सिंहदरबार केन्द्रीय सचिवालय रहेको परिसर, अतिविशिष्ट र विशिष्ट पदाधिकारीहरुको निवास रहेको स्थानबाट फोहोरमैला उठाइ व्यवस्थापन गर्ने कामका लागि संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले परिवर्तन सेवा प्रालि नामक संस्थासँग सम्झौता गरी व्यवस्थापन गरिरहेको छ ।”

मिटरब्याज पीडितद्वारा गृहमन्त्रीको राजीनामा माग

काठमाडौं – गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै मिटरब्याज पीडितहरुले काठमाडौंमा प्रर्दशन गरेका छन्।

सोमबार शान्तिवाटिकामा प्रहरीको लाठी प्रहारबाट घाइते समेत भएका उनीहरुले मंगलबार दिउँसो गृहमन्त्री श्रेष्ठविरुद्ध चर्का नाराबाजी लगाउँदै काठमाडौंको माइतीघर मण्डलामा प्रर्दशन गरेका हुन्।

आफूहरुको माग सम्बोधन गर्नुको साटो गृहमन्त्री श्रेष्ठले प्रहरी प्रशासन लगाएर दमन गरेकाले त्यसको विरोधमा प्रर्दशन गर्नु परेको उनीहरुले बताएका छन्।

सोमबार (हिजो) काठमाडौंको शान्तिवाटिकामा प्रहरीसँगको झडपमा परी उनीहरु घाइते समेत भएका थिए। शान्तिपूर्ण आन्दोलनमा रहेका आफूहरुलाई सरकारले दमन गरेको भन्दै मिटरब्याज विरुद्ध किसान-मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाहले आपत्ति जनाउनुभयो ।

सरकारले मिटरब्याज पीडितको एक समूहसँग १८ चैतमा ५ बुँदे सहमति गरेको थियो । तर उक्त सहमतिले मिटरब्याज पीडितको तत्कालको समस्या समाधान नहुने भन्दै अर्को समूह २० चैतदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

नेकपा एसको संगठन सुदृढीकरण अभियान दुई महिना थप

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले सङ्गठन सुदृढीकरण विशेष अभियान दुई महिना थप गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय तीनकुनेमा मंगलबार बसेको सचिवालय बैठकले सङ्गठन सुदृढीकरण विशेष अभियानको म्याद आगामी जेठ मसान्तसम्म रहने गरी २ महिनालाई थप गरिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका हुन् । सचिवालयको निर्णय अनुसार पार्टी सङ्गठनले त्यसै अनुसार कार्ययोजना निर्माण गरी अघि बढ्ने उनले बताए ।

बैठकमा वैशाख ९ र १० गते मनाउने नेपाल कम्युनिस्ट पार्टीको ७४ औँ स्थापना दिवसको तयारीका विषयमा छलफल भएको थियो ।

एक दर्जन भन्दा बढि द्वन्द्वपीडित पक्राउ 

काठमाडौं – काठमाडौंको नयाँबानेश्वरमा प्रदर्शनमा उत्रिएका द्वन्द्वपीडितहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

संक्रमणकालीन न्यायसम्बन्धी सरकारद्वारा प्रस्तावित विधेयकले पीडितलाई न्याय नदिने भन्दै उनीहरू लगातार आन्दोलित छन् । सोमबार आन्दोलनको क्रममा प्रहरीले उनीहरूमाथि बल प्रयोग गर्नुका साथै नयाँबानेश्वरको एभरेष्ट होटल अगाडिको सडकबाट करिब एक दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

पीडकलाई उन्मुक्ति दिने गरी विधेयक ल्याइएको भन्दै उनीहरूले टीआरसी विधेयक संशोधनको माग गरेका छन् ।

सरकारले ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधारको रूपमा मान्यता दिएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ऊर्जा क्षेत्र मुलुकको समृद्धिको बलियो आधार भएकाले यसमा थप लगानी जुटाउनुपर्नेमा जोड दिनुभएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानको आयोजनामा मंगलबारबाट काठमाडौँमा सुरु पावर समिट २०२३ को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नीतिगत एवम् व्यावहारिक रूपमा नै सरकारले ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधारको रूपमा मान्यता दिएको भन्दै थप लगानी जुटाउनुपर्नेमा जोड दिनुभएको हो । उहाँले मुलुकलाई आर्थिक रूपमा सबल बनाउँदै अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्न पनि हरित ऊर्जा अत्यावश्यक रहेको धारणा राख्नुभयो ।

सुक्खा मौसममा पनि बिजुली आयात गर्न आवश्यक नपर्ने गरी निजी क्षेत्रसँगको सहकार्यमा जलविद्युत आयोजनालाई अघि बढाउनका लागि सरकार अघि बढिरहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले देशका सबै जनतालाई बिजुली उपलब्ध गराउने लक्ष्यका साथ ग्रिड विस्तार गर्न र अफ ग्रिड प्रविधिमा लगानी विस्तार गर्दै स्थिर विद्युत आपूर्ति सुनिश्चित गर्ने प्रयास भइरहेको उल्लेख गर्नुभयो ।

उहाँले मूलकमा नै अधिकतम विद्युत खपत गर्न सक्ने क्षेत्रको प्रवर्द्धन, प्रतिव्यक्ति खपत बढाउन सक्ने वातावरण तय गर्दै जीवाश्म इन्धनमा रहेको निर्भरता कम गर्न तथा ठुलो व्यापार घाटालाई कम गर्न पनि बिजुलीको उपयोगिता बढाउनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले पावर समिटमार्फत नेपालको हरित ऊर्जाको बजारलाई फराकिलो बनाउन मद्दत गर्ने स्पष्ट मार्ग निर्देश गर्ने उल्लेख गर्नुभयो ।

‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ सुरु पावर समिट बुधवारसम्म चल्नेछ । सम्मेलनमा भारत, बङ्गलादेश, भुटान, श्रीलङ्कालगायत ३० भन्दा बढी देशका तीन सय बढी स्वदेशी तथा विदेशी प्रतिनिधि सहभागी छन् । आठौँ संस्करणको पावर समिट ऊर्जा क्षेत्रमा संलग्न सवैका लागि सञ्जाल बनाउने र एक अर्काबाट अनुभव आदान प्रदान गर्ने ठुलो अवसर भएको इपानका अध्यक्ष कृष्ण प्रसाद आचार्यले जानकारी दिनुभयो ।

मेयर बालेनविरुद्धको मुद्दा कामु प्रधानन्यायाधीशको इजलासमा

काठमाडौँ – काठमाडौँ महानगरपालिका मेयर बालेन साहविरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ ।

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर साहविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा हुने भएको हो ।

अधिवक्ता पदम श्रेष्ठले काठमाडौँ महानगरपालिकाले कानुनविपरीत फोहोर सङ्कलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर सङ्कलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर सङ्कलन र विसर्जन गर्नु पर्नेलगायतका मागसहित सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

​​​​​​​काठमाडौं – राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिइएको छ । 

मंगलबार दिउँसो २ः३१ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाएर अनिश्चितकालका लागि स्थगित गरिएको हो । 

मंगलबार दिउँसो बोलाइएको राष्ट्रिय सभा बैठक विशेष कारणले स्थगित गरिएको र अर्काे बैठक अर्काे सूचना जारी गरेर दिन र समय तोकिने संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए । 

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ – मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ ।

आज बेलुका ४ बजे बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने भएको हो ।

आजको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ । यसअघि मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्दै आएको थियो । यसलाई परिवर्तन गरेर हप्ताको एकदिन मंगलबार मात्रै मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो ।

फाेहोर नउठाउने वालेन शाहबिरुद्ध परेको रिटको सुनवाई आज

काठमाडौं – काठमाडौं महानगरपालिका मेयर बालेन साहविरुद्धको रिटमा आज सुनुवाइ हुनेछ ।

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर साहविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनवाई हुन लागेको हो ।

अधिवक्ता पदम श्रेष्ठले काठमाडौं महानगरपालिकाले कानुनविपरीत फोहोर संकलन नगरेको उल्लेख गर्दैै तत्काल फोहोर संकलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर संकलन र बिसर्जन गर्नु पर्नेलगायतका माग गर्दैै सोमवार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोही रिटमा आज सुनवाई हुन लागेको हो ।
 

प्रधानमन्त्री प्रचण्डद्वारा संवैधानिक परिषद्को बैठक आह्वान

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले आगामी शुक्रबार बिहान ९ बजे संवैधानिक परिषद्‍को बैठक आह्वान गरेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए।

उनले सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का शीर्ष नेताहरूबीच हिजो भएको बैठकमा प्रधानन्यायाधीश नियुक्त गर्ने विषयमा सहमति जुटेपछि प्रधानमन्त्रीले बैठक आह्वान गरेको जानकारी दिएका हुन् ।

शुक्रबारको सो बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न सक्ने बताइएको छ । संवैधानिक परिषद्‍मा प्रधानमन्त्रीसहित, सभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग लागेसँगै सर्वोच्च अदालत कायममुकायमको भरमा चल्दै आएको छ । बैठक आह्वानका लागि हिजो बिहान प्रधानमन्त्रीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली र सभामुख देवराज घिमिरेबीच छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्रीले प्रधानन्यायाधीश नियुक्तिको संवैधानिक प्रक्रियाका लागि पहल गरेका थिए। सोही बैठकमा संवैधानिक परिषद्‍को बैठक बोलाउने र प्रधानन्यायाधीशको विषयमा निर्णय गरेर अगाडि बढ्ने सहमति भएको थियो ।

आयल निगमका पूर्व कार्यकारी निर्देशक विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं – नेपाल आयल निगम लिमिटेडका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। विशेष अदालतका न्यायाधिशहरु यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको संयुक्त इजालसले आज खड्काविरुद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएको हो।

खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ पुस २०७५ मा १८ करोड रुपैयाँ बढी अकुत सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो मुद्दा सुनुवाईका लागि खड्कालाई पटक-पटक ताकेता गर्दा पनि उपस्थित नभएपछि पक्राउ गरी इजलासमा हाजिर गराउन आदेश भएको हो।

अख्तियारले शुरुमा खड्काविरुद्ध पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माणका लागि चार स्थान (झापा, सर्लाही, चितवन र रुपन्देही)मा जग्गा खरिद गर्दा ठूलो रकम भ्रष्टाचार गरेको आरोपमा छानबिन गरेको थियो । खड्काको नेतृत्वमा निगमले चार स्थानमा ७६ बिघा १४ कठ्ठा जग्गा कूल दुई अर्ब ३३ करोड ४० लाख रुपैयाँमा खरिद गर्ने निर्णय गरेको थियो ।

चलनचल्ती भन्दा तीन गुणा महँगोमा जग्गा खरिदको बिल बनाई धमाधम भुक्तानी गर्न थालेपछि अनियमितता बाहिरिएको थियो। त्यसपछि संसदीय छानबिन समितिले अनुसन्धान गरेपछि भ्रष्टाचार प्रमाणित भएको थियो । सो जग्गा खरिदमा १ अर्ब ६ करोड रुपैयाँ घोटाला भएको संसद्को तत्कालीन उद्योग बाणिज्य तथा श्रमसम्बन्धी उपसमितिले ठहर गरेको थियो ।

जग्गा खरिदमा घोटाला पुष्टि भएपछि खड्कालाई सरकारले बर्खास्त गरेको थियो । तर उहाँले सर्वोच्च अदालत गएर पद थमौती लिनु भएको थियो । त्यसपछि सरकारले खड्कालाई जिम्मेवारीविहीन बनाएपछि उहाँले २५ जेठ ०७५ मा पत्रकार सम्मेलन गरेर राजीनामा दिनु भएको थियो ।

खरिद प्रकृया विवादित बनेपछि निगमले दुई अर्ब ५ करोड ६६ लाख रुपैयाँ भुक्तानी गरी ६८ बिघा जग्गाको मात्रै स्वामित्व लिएको छ । अख्तियारले जग्गा खरिदमा भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनमा खड्काविरुद्ध मुद्दा दायर गरेपनि विशेषले जग्गा खरिदमा ‘क्लिन चिट’ दिएर अकुत सम्पत्ति आर्जनको मुद्दालाई मात्रै अगाडि बढाएको छ ।

युवाहरुलाई स्वदेशमा रोजागारको व्यवस्था नभएसम्म यो देश बन्दैन : दुर्गा प्रसाईं

काठमाडौँ – व्यवसायी दुर्गा प्रसाईंले युवाहरुलाई स्वदेशमा रोजागारको व्यवस्था नभएसम्म यो देश नबन्ने बताएका छन् ।

सोमबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । उनलेनेपाली युवाहरुले स्वदेशमै काम गर्ने वातावरण बन्नुपर्ने बताएका छन् ।

उनले भने, ‘गाँस, बास र कपासका लागि युवाहरु विदेश जान बाध्य छन् । युवाहरुलाई स्वदेशमा रोजागारको व्यवस्था नभएसम्म यो देश बन्दैन ।’

उनले विदेशमा अलपत्र परेका १७० मध्ये ४२ जना आफुले नेपाल ल्याइसकेको बताए । उनले नेपालका युवाहरु सवै विदेशमा जानुपर्ने अवस्था आएपछि यो देशमा कहिल्यै विकास नहुने बताए ।

केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा सुधार

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उहाँ प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिनुभयो ।

घरमै आराम गरिरहनुभएका अध्यक्ष ओलीको उपचार निजी चिकित्सक डा. दिव्यासिंह शाहले गरिरहनुभएको छ ।

“उहाँको स्वास्थ्य अवस्था हिजोभन्दा सुधारोन्मुख भइरहेको छ”, प्रेस संयोजक बजगाईंले भन्नुभयो, “भाइरल ज्वरो भएकाले सिटामोल खाइरहनुभएको छ ।” हिजो पार्टी अध्यक्ष ओलीलाई भाइरल ज्वरोका कारणले स्वास्थ्यमा समस्या आएको थियो ।

आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र सभामुख देवराज घिमिरेले ओली निवास बालकोटमा पुगी स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।

सरकारी राजश्वसम्बन्धी सर्भर डाउन हुँदा चेक साट्न समस्या

काठमाडौँ – सरकारी राजश्वसम्बन्धी सर्भर डाउन हुँदा राजस्व सङ्कलन प्रभावित बनेको छ । आज बिहान ११ बजेदेखि १ बजेसम्म सरकारी राजश्वसम्बन्धी सर्भर डाउन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

“यस कार्यालयबाट सञ्चालित प्रणाली आरएम आइए, टिएसए, सिजीएएस, सुत्र, पिएएमएसलगायत प्रणालीमा प्राविधिक समस्या देखिएकाले आज बिहान ११ बजेदेखि १ बजेसम्म प्रणाली सञ्चालन हन नसकेकाले यसबाट पर्न गएको असुविधाप्रति क्षमायाचना गदछौँ”, कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ।

दिउँसो १ बजेपछि सर्भर सञ्चालनमा आए पनि पूर्णरुपमा भने सञ्चालनमा आउन नसकेको महालेखा नियन्त्रकको कार्यालयका सूचना अधिकारी गायत्रीरमण खनालले जानकारी दिनुभयो । “दिउँसो ३ घण्टा सर्भर पूर्णरुपमा डाउन भएको थियो, १ बजेपछि सञ्चालनमा आउँदा एकैपटक धेरैले सर्भर चलाउन स्लो भएको छ’, उहाँले भन्नुभयो ।

उहाँका अनुसार सरकारी सर्भरमा समस्या देखिएपछि आज अनलाईनमार्फत हुने राजस्व सङ्कलन ठप्प भएको छ । राजस्व सङ्कलनसँगै काटिएका चेकसमेत नसाटिएको उहाँले बताउनुभयो ।

मेयर बालेनले सिंहदरवारको फोहोर नउठाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

​​​​​​​काठमाडौं – देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई विपक्षी बनाएर अधिवक्ता पदम श्रेष्ठले सोमबार रिट दायर गरेका हुन्।

निवेदनमा आफ्नो क्षेत्रभित्र फोहोर संकलन गर्ने दायित्व काठमाडौं महानगरपालिकाको भएकाले कानुन विपरित फोहोर संकलन नगरेकाले तत्काल संकलन गरी ल्याण्डफिल्ड साइडमा लैजान र नियमित फोहोर संकलन र विसर्जन गर्न माग गरिएको छ।

निवेदनमा भनिएको छ, ‘नेपालको संविधानको धारा ३० बमोजिम प्रत्येक नागरिक स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न पाउने हक हुनेछ भन्ने संविधानमा भएको मौलिक हकको उपयोगबाट वञ्चित हुने भएकाले उक्त विषय सार्वजनिक सरोकारको विषयसमेत भएको हुँदा नेपालको संविधानको धारा ३०, ४, फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३, ४, वातावारण संरक्षण ऐन २०७६ को दफा १५ बमोजिम निवेदन माग गरेको छु।’

काठमाडौं महानगरपालिकाको कार्यालय स्थानीय निकाय भएकाले नेपालको संविधानको धारा ३० मा प्रत्येक व्यक्ति स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न पाउने हक भएको, फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३ र ४ बमोजिम स्वच्छ वातावरण कायम गर्न निवेदनमा माग गरिएको छ।

काठमाडौंको सिंहदरवार भित्रको क्षेत्र, राष्ट्रपतिको कार्यालय शीतल निवास, प्रधानमन्त्रीको आवास रहेको क्षेत्रभित्र फोहोर संकलन नगर्ने भन्दै शाहले अभिव्यक्ति दिएका थिए।

सो क्षेत्र सार्वजनिक स्थल र विभिन्न महत्वपूर्ण कार्यालयहरू भएकाले देशभरिको सामान्य जनताहरू दिनहुँ हजारौंको संख्यामा आवतजावत गर्नुको साथै उक्त स्थानमा कार्यरत कर्मचारीसमेत करिब दुई हजार हजार जनाको संख्यामा रहेको र सो क्षेत्रभित्र होटलसमेत रहेकाले कुहिने र नकुहिने फोहोर नियमित संकलन गर्नुपर्ने निवेदनमा उल्लेख छ। 

संघीय निजामती सेवा ऐन सरकारको प्राथमिकतामा छ : सञ्चारमन्त्री शर्मा

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संघीय निजामती सेवा ऐनलाई प्राथमिकतामा राखेर सरकारले अघि बढाउन लागेको जानकारी दिनुभएको छ ।

सोमबार बसेको राष्ट्रियसभाको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै उहाँले संघीय संरचनाको सफल कार्यान्वयनका लागि सरकारले आवश्यक कानुनलाई प्राथमिकतामा राखेको भन्दै संघीय निजामती सेवा ऐन कानुन मन्त्रालयमा अन्तिम चरणमा रहेको जानकारी दिनुभएको हो ।

उहाँले छिटै मन्त्रीपरिषद्बाट उक्त विधेयकलाई संसदलाई प्रस्तुत गर्ने निर्णय हुने बताउनुभयो । कर्मचारीको व्यवस्थापन ठिक ढङ्गले हुन सक्दा छिटो छिटो कर्मचारीको सरुवा देखि अनेक समस्या देखा परेको भन्दै मन्त्री शर्माले संघीय निजामती सेवा ऐन अधिकांश समस्याहरूलाई समाधान गर्ने जिकिर गर्नुभयो ।

त्यस्तै उहाँले पूर्वाधार निर्माणमा देखिएका समस्याहरूका विषयमा मन्त्रीपरिषद्मा गम्भीर रूपमा छलफल भएको र सार्वजनिक खरिद ऐनलाई संशोधन गरी विभिन्न समस्याहरू समाधान गर्न सरकारले तयारी गरिरहेको बताउनुभयो ।

मन्त्री शर्माले पशुपति क्षेत्र विकास कोषलाई पारदर्शी रूपमा सञ्चालन गर्नका लागि कोषको गुरुयोजना निर्माणका लागि निर्देशन दिइसकेको र अहिले कार्ययोजना अनुसार काम भइरहेको जानकारी दिनुभयो ।

त्यस्तै मन्त्री शर्माले समितिले दिएका निर्देशन र सुझावहरूलाई कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसअघि बैठकमा समितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै राष्ट्रिय सभा सदस्यहरूले समितिहरूले गम्भीर रूपमा छलफल गरेर सरकारलाई निर्देशन र सुझाव दिँदा पनि कार्यान्वयन हुन नसकेको गुनासो गरेका थिए । बैठकले पूर्व सांसद एवं नेपाली काँग्रेसका नेता तेजमान तुम्बाहाम्फेको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाको अर्को बैठक वैशाख ५ गते बोलाइएको छ ।

बाहिर बाहिर रुख भन्दै हिँडेर तलमाथि नगर्न गगन थापाको चेतावनी

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चितवनका कार्यकर्तालाई दायाँबायाँ नगर्न चेतावनी दिएका छन् ।

चितवनको कालिकानगरमा सोमबार आयोजित उपचुनाव लक्षित सभालाई सम्बोधन गर्दै थापाले अघिल्लो चुनावमा जस्तो गल्ती नगर्न आग्रह गरेका हुन्।

यसअघि कांग्रेस कार्यकर्ताले पनि रवि लामिछानेलाई मतदान गरेको तर्फ संकेत गर्दै महामन्त्री थापाले पाँच महिनाको अवधिमा सच्चिने मौका आएको उल्लेख गरे।

‘गएको ५ महिनालाई राम्रोसँग हेर्नुभएको छ। तपाईंले अब मान्छे चिन्नुभएको छ। तपाईँहरूले हिजो के गर्नुभयो, के कारणले गर्दा गर्नुभयो, किन गर्नुभयो भन्ने सबै कुरालाई बिर्सिएर म नेपाली कांग्रेसका तमाम साथीहरूलाई आग्रह गर्न चाहन्छु।’ थापाले भने, ‘पार्टीसँग, नेताहरूसँग तमाम असन्तुष्टि होलान्। यथोचित समयमा बसेर छलफल गरौंला तर अहिले पार्टी चुनावमा होमिएको बेला तलमाथि गर्ने छुट छैन।’

उनले कसैले मतदान गर्न नसक्ने भए स्पष्ट भन्न आग्रह गर्दै बाहिर बाहिर रुख भन्दै हिँडेर तलमाथि नगर्न चेतावनी दिए।

अब मन्त्रिपरिषद्को नियमित बैठक हप्ताको एक दिन मात्र बस्ने

काठमाडौँ – मन्त्रिपरिषद्को नियमित बैठक हप्ताको एक दिन मात्र बस्ने भएको छ ।

यसअघि हप्ताको दुई दिन बस्दै आएको मन्त्रिपरिषद्को नियमित बैठक अब मंगलबार मात्रै बस्ने भएको हो ।

सोमबार र बिहीबार बस्दै आएको मन्त्रिपरिषद्को नियमित बैठकलाई परिवर्तन गरेर हप्ताको एकदिन मंगलबार मात्रै बैठक बस्ने तयारी गरीएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आवश्यक परेमा जुनसुकै बार पनि मन्त्रिपरिषद्को बैठक बस्ने छ ।

योग्यताक्रम विपरीतको भर्ना प्रक्रियाविरुद्ध चिकित्सकहरुले गरे काठमाडौँमा प्रदर्शन

काठमाडौँ – चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरीतको भर्ना प्रक्रिया विरुद्ध चिकित्सकहरूले काठमाडौँमा प्रदर्शन गरेका छन् ।

चिकित्सा शिक्षा आयोगले सर्वोच्चको आदेश अवज्ञा गरेको र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरीतको भर्ना प्रक्रिया सुरु गरेको भन्दै उनीहरूले सोमबार माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

बढी अङ्क ल्याएका विद्यार्थीहरूलाई छात्रवृत्ति नदिने तथा योग्यता र प्राथमिकताको आधारमा आफूले चाहेको विषय र अध्ययन संस्थामा अध्ययन गर्नबाट वञ्चित हुने अवस्थामा पुराएको उनीहरूको गुनासो छ । प्रदर्शनमा सहभागीहरूले न्यायपालिका भन्दा ठुलो कार्यपालिका कसरी भयो, मेरिट मिच्न पाइँदैन, अस्पतालमा डाक्टर खै लगायतका प्लेकार्ड देखाएका थिए ।

मुग्लिनमा धर्ना बसेका लघुवित्त पीडितमाथि प्रहरीद्वारा अश्रुग्याँस प्रहारमुग्लिन

मुग्लिन – आइतबार बिहानदेखि मुग्लिन बजार चोकमा राजमार्ग छेकेर धर्ना बसेका लघुवित्त पीडितहरुमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।

प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि प्रदर्शनकारीहरु तितरबितर गराउन प्रहरीले दुईसेल अश्रुग्याँस प्रहार गरेको थियो । अश्रुग्याँस प्रहारपछि भीड तितरबितर भएको छ भने एकजना घाइते भएका छन् । उनको स्थानीय हाइवे अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

लघुवित्त पीडितहरुले सोमबार बिहान १० बजेदेखि पृथ्वीराजमार्ग छेकेर प्रदर्शन गरिरहेका थिए । राजमार्गमा धर्नाका कारण मुग्लिन हुँदै काठमाडौँ, पोखरा, चितवन जाने यात्रुहरुलाई सास्ती भएको थियो ।

विभिन्न जिल्लाबाट आएका प्रदर्शनकारीहरु आइतबारदेखि सडकमै पकाउने, खाने, सडकमै सुत्ने गरेका छन् ।

स्मार्ट टेलिकमको लाइसेन्स खारेज

काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकम प्रालिको आधारभूत टेलिफोन सेवाको लाइन्सेन्स खारेज गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरण ऐनअनुसार नवीकरण नगरिएकाले स्मार्ट टेलिकम प्रालि स्वत्त: खारेज भएको बताइएको छ ।

स्मार्ट टेलिकमले लाइसेन्स नवीकरणका लागि शुल्कसहित आवेदन नदिएपछि खारेजीमा गएको प्राधिकरणले बताएको छ ।

प्राधिकरणका अनुसार स्मार्टले नवीकरण दस्तुरका रुपमा रु २० अर्ब १३ करोड २७ लाखभन्दा बढी तिर्नुपर्ने भए पनि हालसम्म ७५ करोडमात्रै तिरेको छ ।

प्राधिकरणले सबै रकमसहित नवीकरण गर्न यही वैशाख ३ गतेसम्मको समय दिएको थियो । तर स्मार्टले सो अवधिभित्र कुनै आवेदन नदिएपछि उसको लाइसेन्स स्वत्त: खारेज भएको हो ।

दूरसञ्चार सेवाप्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली २०७९ अनुसार प्राधिकरणले कम्पनीको सेवा सञ्चालन र सम्पत्ति लिलामीको जिम्मा व्यवस्थापन समूहलाई दिएको छ ।

स्मार्ट राजनीतिक लबिङबाट नवीकरण शुल्क पछि मिलान गर्नेगरी नवीकरणको बाटोमा लागेको थियो तर अब उसको लाइसेन्स लाइसेन्स खारेज भएको छ ।

बैशाख ७ गते बारा २ मा पाँचदलिय गठबन्धनको चुनावी महासभा हुने

काठमाडौँ – पाँचदलिय गठबन्धनले बारा २ को महागढीमाईको बरियारपुरमा चुनावी महासभा गर्ने भएको छ । गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार रहेको उक्त क्षेत्रमा बैशाख ७ गते सभा गर्न लागिएको हो ।

चुनावी महासभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर लगायतका गठबन्धनका दलका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पाँचदलिय गठबन्धनको आयोजनामा हुने सभा बिहानको ११ बजे शुरु हुने छ ।

गोकुल बास्कोटाको प्रश्न : सोसल साइट दुरुपयोग रोक्न कानुन खै ?

काठमाडौँ – नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बास्कोटाले उपनिर्वाचनका क्रममा सोसल साइट दुरुपयोगले हद नाघेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा बास्कोटाले लोकतन्त्रमा सबैलाई बोल्ने हक, कसैप्रति आलोचना र समर्थन गर्ने छुट भएपनि त्यसको दुरुपयोग हुन नहुने बताएका हुन् ।

उनले दुरुपयोग रोक्न कानुन खै भन्दै प्रश्न समेत गरेका छन् ।

‘लोकतन्त्र त्यो प्रणाली हो जहाँ सबैलाई बोल्ने हक छ । कसैप्रति समर्थन र आलोचना गर्ने छुट छ। प्रश्न र जवाफदेहिताभन्दा माथि कोही छैन। उपनिर्वाचनमा सोसल साइट दुरुपयोगले हद नाग्यो,’ बास्कोटाले ट्वीटरमा लेखेका छन्, ‘ म जान्दिन तर कोलम्बसले अमेरिका पत्ता लगाउनुभन्दा ४० वर्षअघि नै नेपाली कालीगढले चागनारायण बनाका थिए । कानुन खै ?’

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकताहरू आफ्ना नेताविरुद्ध बोल्नेहरूमाथि बेइज्जेतीपूर्ण तरिकाले सोसल साइटमा जाइलागेपछि बास्कोटाको यस्तो टिप्पणी गरेका हुन्।

मन्त्री रन्जिता श्रेष्ठको निर्देशन : मालपोत कार्यालय कास्कीका कर्मचारीले आर्थिक चलखेल गरेको भन्ने विषयमा तत्काल छानबिन गर्न

काठमाडौँ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठले मालपोत कार्यालय कास्कीका कर्मचारीले आर्थिक चलखेल गरेको भन्ने विषयमा तत्काल छानबिन गर्न निर्देशन दिएका छन् ।

केही दिनअघि मात्रै मालपोत कार्यालय कास्कीका कर्मचारीले आर्थिक चलखेल गरी सेटिङमा काम गर्ने गरेको समाचार बाहिरिएको थियो । मालपोत कार्यालय कास्कीका कर्मचारीले आर्थिक चलखेल गर्ने गरेका विषयमा आएका समाचारका बारेमा तत्काल छानबिन गर्न मन्त्रालयका सचिव डा दामोदर रेग्मी तथा भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पद्मनिधि सोतीलाई मन्त्री श्रेष्ठले निर्देशन दिएका हुन् ।

सोही घटनाको विषयमा थप सत्यतथ्य छानबिन गरी दोषी देखिएकालाई विभागीय कारबाही गर्नसमेत मन्त्री श्रेष्ठले निर्देशन दिएका छन् ।

अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड, देउवा र सभामुख घिमिरे

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनीहरु बालकोट पुगेका हुन् ।

यो भेटमा संसदमा टीआरसी र संसदीय समितिमा सहमति खोज्ने गरी छलफल गर्नेछन् । अध्यक्ष ओली भाइरल ज्वरोका कारण बिरामी भएर आराम गरिरहेका छन् ।

छलफलका लागि तीन प्रमुख दलका सचेतकहरू पनि बालकोटमा  जानुभएको छ ।

रवि लामिछानेका सवारी चालक तीन तले घरको छतबाट खसेर गम्भीर घाइते

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका गाडी चालक तीन तले घरको छतबाट खसेर गम्भीर घाइते हुनुभएको छ ।

चितवन भरतपुर-११ मा रहेको एक घरको तीन तलाबाट खसेर सभापति  लामिछानेका सवारी चालक दिलबहादुर थापा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

टाउको र खुट्टामा गम्भीर चोट लागेका थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।