राष्ट्रपतिद्वारा पूर्वमन्त्री पाण्डेको परिवारलाई समवेदना
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वमन्त्री मीना पाण्डेको परिवारजनलाई समवेदना पठाउनुभएको छ । पाण्डेको ७२ वर्षीया उमेरमा जेठ १३ गते निधन भएको थियो ।
राष्ट्रपति पौडेलले समवेदना सन्देशमा सादा र सरल जीवन शैलीकी धनी पाण्डेका योगदानले हरेक नेपालीलाई प्रेरणा प्रदान गर्ने बताउनुभएको छ । पाण्डेको निधनले लोकतान्त्रिक आन्दोलन र मुलुकलाई अपूरणीय क्षति पुगेको राष्ट्रपति पौडेलले पठाएको समवेदना सन्देशमा उल्लेख छ ।
राष्ट्रपति पौडेलले पुरुषलाई समेत आन्दोलनमा होमिन कठिन अवस्थामा पाण्डेले आफूलाई लोकतन्त्रको आन्दोलनमा समाहित गर्नु सबैका लागि गौरवको विषय भएको सन्देशमा उल्लेख गर्नुभएको छ । राष्ट्रपति पौडेलका तर्फबाट प्रेस सल्लाहकार किरण पोखरेल, राष्ट्रपति पौडेलको परिवारको तर्फबाट छोरी अवज्ञा पौडेल र संज्ञा पोखरेलले पाण्डेको निवास गौशालामा पुगेर दुःख व्यक्त गर्नुभएको हो ।
पौडेलले पठाएको सन्देशमा भनिएको छ, “विसं २०३६ को जनमत सङ्ग्र्रह घोषणा गराउन बाध्य पार्ने विद्यार्थी आन्दोलनमा पाण्डेले नेतृत्वदायी भूमिका निर्वाह गरेको र सो बेलाको विद्यार्थी आन्दोलनमा पाण्डे पक्राउ परेको मेरो मानसपटलमा अझै ताजै छ ।” बिपी, गणेशमानजस्ता नेताहरूले प्रवासको जीवन भोगेको देखेपछि आफूमा थप विद्रोही भावना पलाएको भनेर बेलाबेलामा आफूहरूलाई सुनाउने गरेको पनि राष्ट्रपति पौडेलले समवेदना सन्देशमा उल्लेख गर्नुभएको छ ।
