`

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भाेलीबाटै थाल्छाैँ : नवनियुक्त परराष्ट्रमन्त्री साउद

काठमाडौं – नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले पदभार ग्रहण गर्नुभएकाे छ ।

उहाँले सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको तयारी सुरु गरिहाल्ने प्रतिक्रिया दिनुभएकाे हाे । साउद आजै (आइतबार) मात्रै परराष्ट्रमन्त्रीमा नियुक्त हुनुभएकाे हाे ।

शितलनिवासको सपथ सकिएलगत्तै सिंहदरबारमा आएर पदभार गरेका मन्त्री साउदले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी थाल्ने र त्यसको लागि भोलिबाटै छलफल गर्ने बताउनुभयाे । 

उहाँले भन्नुभयाे,‘हामी प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल अगाडि बढाउछौं । भर्खरै म कार्यालय आएको छु, त्यसमा संलग्न कर्मचारीसँग ब्रिफिङ लिएर अगाडि बढाउछु ।’

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलविरुद्ध ६९ करोडको भ्रष्टाचार मुद्दा

काठमाडाैँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललगायत ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आइतवार विशेष अदालत काठमाडौंमा पौडेललगायत ९ जनालाई  मुद्दा दायर गरेको हो ।

पौडेलसँग ६९ करोड बिगो दाबी गरिएको छ ।

‘(सेक्युरिटी प्रिन्टिङ प्रेस) खरिद कार्यमा अस्वाभाविक लागत अनुमान तयार गरी स्वीकृत गर्ने, खरिद सम्झौताविपरीत गुणस्तरहीन इलेक्ट्रिक ट्रान्सफर्मर स्वीकार गर्ने, सम्झौतामा उल्लेख भएभन्दा फरक कन्ट्री अफ ओरिजिन भएको जेनेरेटर स्वीकार गरी भुक्तानी गर्ने, खरिद सम्झौताबमोजिम कामै नगरी संरचना सञ्चालनबापत र आपूर्तिपछिको सेवाबापत अग्रिम तवरमा बढी भुक्तानी दिने र आवश्यकता नै नरहेको तथा औचित्य पुष्टि हुन नसक्ने बल्क फ्युल ट्याङ्क सिस्टम खरिद गर्ने कार्य गरी नेपाल सरकारको सम्पत्ति गैरकानूनी तवरले हानी नोक्सानी तथा सरकारी रकम दुरुपयोग गरी सुरक्षण मुद्रणका लागि आवश्यक विद्युतीय पूर्वाधार खरिदमा भ्रष्टाचार गरेको पुष्टि भएको,’ अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

यस्तै मेकानिकल इन्जिनीयर (सीडीई) नवीनकुमार पोखरेलविरुद्ध ४९ करोड बिगो दाबी गर्दै बिगोबमोजिमको जरिवाना माग गरिएको छ ।

भीम रावल एमालेमै रहने पहिले भएका कमी कमजोरीलाई सुधार्ने

काठमाडौं – नेकपा (एमाले) का असन्तुष्ट नेता भीम रावलसँग वार्ता गर्न गठित समितिमार्फत छलफल सुरु गरेकाे छ । 

आइतबार दिउँसो एमाले पार्टी मुख्यालय च्यासलमा एमालेबाट रावलसँग वार्ता गर्न गठित समिति र रावलबीच छलफल भएको हो ।

वार्ता टोलीका संयोजक उपाध्यक्ष विष्णु पौडेलसहित अर्का सदस्य नेता कर्णबहादुर थापा र नेता रावलबीचको छलफल सकारात्मक भएको एमालेले जनाएकाे छ । 

लामो समयदेखि एमाले  असन्तुष्ट रहँदै आउनुभएका राववले एमाले नेतृत्वमाथि खनिदैँ आउनुभएको थियो । 

वार्ता टाेलीकाे छलफलमा रावलले एमालेमै बस्ने र कमी कमजाेरीलाई सुधार्ने जानकारी दिनुभएकाे एमालेले जनाएकाे छ । 

वैशाख १० गतेपछि वर्तमान सरकारले पूर्णता पाउँछ : जीवन परियार

काठमाडौँ – नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले वैशाख १० गतेपछि वर्तमान सरकारले पूर्णता पाउने बताएका छन् ।

आइतबार सङ्घीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै परियारले दलहरूबिच आपसी छलफल गरेर वैशाख १० गतेपछि वर्तमान सरकारले पूर्णता पाउने बताएका हुन् ।

मन्त्री चयनका विषयमा काँग्रेसभित्र कुनै विवाद नभएको दाबी गर्दै उनले पार्टी सभापतिले प्रधानमन्त्रीसँग आवश्यक कुराकानी गरिरहेको जिकिर गरेका छन् । त्यस्तै उनले दलहरूबिच भएको सहमति अनुसार वर्तमान सरकार पुरै कार्यकाल सञ्चालन हुने बताए । फरक प्रसङ्गमा उनले रास्वपाका सांसदलाई दलले छानबिन वा कारबाही गर्नु नौलो नभएको र कुनै व्यक्तिमाथि आरोप लागेपछि कारबाही गर्ने अधिकार दललाई रहेको पनि बताएका छन् ।

त्यस्तै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सांसदलाई कारबाही गरिएको पत्र सभामुख समक्ष पठाइसकेको भन्दै आवश्यक प्रक्रिया अघि बढ्ने जिकिर समेत गरे ।

उनले विगतमा पनि अन्य दलमा यस्ता अभ्यास भएकाले थप अध्ययनका लागि सभामुखलाई सहयोग गर्न पार्टी तयार रहेको बताए ।

सेयर बजार २.८० अंकले घट्याे

काठमाडौं – २०८० सालको पहिलो कारोबार अर्थात् साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ । 

बिहिबार नेप्से परिसूचक २.८० अंकले ओरालो लागेको हो । यो संगै सुचक १९३१.६८ को बिन्दुमा उक्लिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२६ अङ्कले घटेर ३६७.७३ विन्दुमा पुगेको छ।

यसअघि बिहीबारको कारोबारमा भने नेप्से परिसूचक २९ अंकले ओरालो लागि १९३४ विन्दुमा अडिएको थियो । सोहि दिन एक अर्ब ६५ करोड ३३ लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार कूल २६५ कम्पनीको ३० लाख ५६ हजार ७७५ कित्ता सेयर खरिद बिक्री हुँदा ९७ करोड ४५ लाख भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ। 

यसैगरी, नेप्से सुचकमा ७० कम्पनीमा वृद्धि भएको छ । १३९ कम्पनीमा ओरालो लागेको र १० कम्पनी स्थिर रहेको छ ।  कारोबारको आधारमा सोल्टी होटल शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ३ करोड ८९ लाख रुपैयाँको कारोबार गरेको छ । 

यसैगरि एनआसि एशिया कम्पनीले र सिवम सिमेन्टको ३ भन्दा बढि कारोबार भएको हो । आइतबार १३ उपसुचकहरु मध्ये ३ कम्पनीमा उकालो लागेको छ भने बाँकी सबै कम्पनीहरुमा ओरालो लागेको भएको छ । बैंकिङ सुचक, होटल तथा पर्यटन, जिवन बिमा र निर्जीवन बिमा कम्पनीहरुमा उकालो लागेको छ। 

आइतबार आदर्श लघुवित्त वित्तिय संस्था सिद्धार्थ, मोलुङ जलविद्युत र कालिन्चोक दर्शनको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन्। 

परराष्ट्रमन्त्रीमा कांग्रेसका एनपी साउद नियुक्त

काठमाडौं – परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नारायणप्रकाश साउन (एनपी साउद) नियुक्त हुनुभएकाे छ । 

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई परराष्ट्रमन्त्री नियुक्त गर्नुभएकाे हाे । नवनियुक्त परराष्ट्रमन्त्री साउदले पद तथा गोपनियताको शपथग्रहण गर्नुभएकाे छ । 

केहीबेरअघि राष्ट्रपति पौडेल समक्ष पद तथा गोपनियताको शपथग्रहण गर्नुभएकाे हाे । 

त्यस्तै यता भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा एकीकृत समाजवादीकी चन्दा चपाईं नियुक्त हुनुभएकाे छ । 

नेकपा एसले पायाे थप एक राज्यमन्त्री नन्दा चपाईले लिइन् शपथ

काठमाडौं – दुई मन्त्रीसहित सरकारमा रहेको दल नेकपा (एकीकृत समाजवादी) ले थप एक राज्यमन्त्री पाएको छ । 

एकीकृत समाजवादीबाट राष्ट्रियसभा सदस्य नन्दा चपाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बनेकी हुन् । 

उनले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एकीकृत समाजवादीबाट प्रकाश ज्वाला भौतिक पूर्वाधार र बेदुराम भुसाल कृषिमन्त्री छन् ।

आजै नेपाली कांग्रेसका नेता एनपी साउदले परराष्ट्रमन्त्रीको शपथ लिएका छन् ।

नेकपा एसले भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा नन्दा चपाईंलाई पठाउने

काठमाडौँ – नेकपा एकीकृत समाजवादीले भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा पठाउने निणर्य लिएको छ ।

नेकपा एसले राष्ट्रिय सभा सदस्य नन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा पठाउन लागेको हो । चपाईंलाई आजै शपथ गराउनेगरी सरकारमा पठाउन लागेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा यससअघि नै सोही पार्टीका प्रकाश ज्वाला मन्त्री छन् । प्रधानमन्त्रीले आठौं पटक आज मन्त्रीपरिषद् विस्तार गर्दा कांग्रेसका एनपी साउद पनि परराष्ट्र मन्त्रीका रूपमा आजै शपथ लिँदैछन् ।

गण्डकीमा कांग्रेस नेतृत्वमा सरकार बन्ने सहमति, सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री

काठमाडौं – गण्डकी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भएको छ । आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच गण्डकीमा आलोपालो सरकार बनाउने सहमति भएको हो ।

दुई दलका शीर्ष नेतासहित कांग्रेस महामन्त्री गगन थापा, माओवादी प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस नेता रमेश लेखक, कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डे, माओवादी गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानसहितको छलफलपछि नयाँ सरकार बनाउने सहमति भएको हो ।

एमालेको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारलाई माओवादीले विश्वासको मत फिर्ता लिएको एक महिना पुग्नै लाग्दा यस्तो सहमति भएको हो ।

प्रदेशमा सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले सरकारको नेतृत्व गर्ने भएको छ । तर माओवादीले पहिले कांग्रेसकै नेतृत्वमा सरकार भएकाले आफूले पाउनुपर्ने दाबी गरिरहेको छ ।

एमालेको सरकार अल्पमतमा परेपछि गण्डकीमा गठबन्धनले सरकार गठन गर्ने तयारी गरेको हो । एमालेका मुख्यमन्त्री खगराज अधिकारी अल्पमतमा परिसकेका छन् । उनले केही दिनभित्रै राजीनामा दिने मनस्थिति बनाएका छन् । अधिकारीले पदबाट राजीनामा दिएलगत्तै कांग्रेस संसदीय दलका नेता पाण्डेले मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखसँग निवेदन गर्ने भएका छन् । पाण्डेपछि माओवादीका चुमान मुख्यमन्त्री बन्ने भएका छन् ।

समापनतिर एमालेको मिसन ग्रास रुट : भोली देखि प्रादेशिक समिक्षा बैठक

काठमाडौं । पार्टीको संगठन विस्तार र सुदृढीकरणका लागि नेकपा एमालेले महिना दुई महिना अघि सुरु गरेको मिसन ग्रास रुट अभियान अब समापनतिर गएको छ । केन्द्रीय पदाधिकारी सहित केन्द्रीय सदस्य,प्रदेश,जिल्ला सदस्यहरुलाई भूगोलमा जिम्मेवारी दिएर पार्टीले विभिन्न प्रदेश,जिल्ला र पालिकामा पठाएको थियो ।

उपाध्यक्षहरुलाई प्रदेश,सचिवहरुलाई प्रदेशका जिल्ला ,केन्द्रीय सदस्यहरुलाई पालिकामा खटाइएको थियो । यो अभियान सुरु भएको बैशाख पाँच गते दुई महिना पुग्दैछ । सबै पालिका र मातहतका कमिटीका बैठकहरु सकिएका छन् । ‘अभियानमा जिम्मेवारी पाउनु भएका नेता कमरेडहरुलाई ग्रास रुटबाट कार्यकर्ताहरुले रिर्पोटिङ गर्नुभएको छ’एमाले केन्द्रीय कार्यलय सचिव डा.भिष्म अधिकारीले यो बेला डट कमसँग भन्नुभयो ‘अभियानका क्रममा लिएक अनुभव,कार्यकर्ता र जनताका गुनासा र पार्टीप्रतिको अपेक्षा र सुझावहरुलाई प्रादेशिक रुपमा समिक्षा गर्ने तालिका तय भएको छ । ’

अधिकारीका अनुसार मिसन ग्रास रुटको समिक्षा कर्णाली प्रदेशमा भोलीबाट सुरु हुदैछ । कर्णालीमा बैशाख ४ र ५,लुम्बिनीमा ६ र ७,सुदुरपश्चिममा १० र ११ गते समिक्षा बैठक हुनेछ । यसैगरी १२ र १३ गते गण्डकी,१४ र १५ गते मधेस प्रदेशमा समिक्षा बैठक हुने अधिकारीले जानकारी दिनुभयो । यसैगरी बैशाख १९ र २० गते बागमती,२१ गते सम्पर्क सम्न्वय कमिटी र २२ गते उपत्यका विशेष कमिटीको समिक्षा बैठकको तयारी रहेको अधिकारीले जानकारी दिनुभयो ।

सबै प्रदेशका समिक्षा बैठक महासचिव शंकर पोखरेल उपस्थित हुने,उपमहासचिवहरु प्रदिप ज्ञवाली,पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल आवश्यकता अनुसार समिक्षा बैठकमा जाने एमाले स्रोतले जानकारी दिएको छ ।
बैशाखको अन्तिम वा जेठको पहिलो हप्ता पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने तयारी रहेको एमालेका एक पदाधिकारीले जानकारी दिए । उनका अनुसार पार्टीले मध्य पहाडमा आफ्नो शक्ती प्रदर्शन गर्नका लागि मंसिरमा मध्यपहाडी लोकमार्ग मार्फत मेची महाकाली अभियान सञ्चालन गर्ने तयारी गरेको छ । ‘मध्यपहाडी लोकमार्ग मार्फत जेठमा मेची महाकाली अभियान सञ्चालन गर्ने सोच थियो तर बर्खाका कारण असहज परिस्थिती सृजना हुने भएपछि मंसिरम ागर्ने गरी तयारी अघि बढाइएको छ ’ ति पदाधिकारीले जानकारी दिए ।

रवि लामिछानेमाथि चित्रबहादुरको टिप्पणी-खास्टाले ढाकेको बिरालो छिट्टै म्याउँ गर्‍यो

काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेमाथि कडा टिप्पणी गर्नुभएको छ । 

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै केसीले नयाँ पार्टीप्रति पनि पुरानै प्रवृत्ति देखिएको टिप्पणी गर्नुभयो । 

उहाँले राष्ट्रिय परिचयपत्रमा आवद्ध नागरिकका विवरण रुजु गर्न निजी कम्पनीलाई ठेक्का दिनु आपत्तिजनक भएको बताउनुभयो । 

पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सार्वजनिक खरिद ऐन विपरीत ७ दिनको बोलपत्र आह्वान गरेर निजी कम्पनीलाई ठेक्का दिएको समाचार सार्वजनिक भएको विषय उठाउँदै केसीले नयाँ पार्टीले पनि पुरानै प्रवृत्ति बताउनुभएको हो । 

‘ठेक्का दिँदा विधिविधानले स्थापित गरेको मापदण्ड घटाएर जम्मा ७ दिनको बोलपत्र गर्नु कानुनी रुपमा पनि अक्ष्यम्य छ । देशको विधिविधानमा कसैको आर्थिक स्वार्थ हावी हुने स्थिति किमार्थ स्वीकार्य छैन’,उहाँले भन्नुभयो । 

पुराना पार्टीहरुले आफ्नो स्वार्थ अनुसार नियम कानुन बनाउने गरेको भन्दै केसीले नयाँ पार्टीले नयाँ व्यवहार अपेक्षा गरेकामा पूरा हुन नसकेको बताउनुभयो । 

‘पुराना पार्टीहरुले नै गल्ती कमजोरी गरेका थिए । आफ्नो स्वार्थ अनुसार नियम कानुन बनाउथे । नयाँ आउने पार्टीले नयाँ चिज ल्याउने भए भनेर नेपाली जनता छक्क परेर हेरिरहेका थिए’ केसीले भन्नुभयो, ‘खास्टाले ढाकेको बिरालो छिट्टै म्याउ गर्‍यो । त्यसैले यस्ता प्रवृत्तिलाई त्यसै छोड्नुहुँदैन ।’
 

एमालेका सांसद रघुजी पन्तले सुनाए संसदमा प्रधानमन्त्री हराएको सूचना

काठमाडौँ – नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा प्रधानमन्त्री हराएको सूचना सुनाएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उनले प्रधानमन्त्री हराएको सूचना पढेर सुनाएका थिए ।

एमाले सांसद पन्तले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि एमाले सांसद पन्तले व्यंग्य गरेका हुन् । उनले प्रहरीले मानिस हराएको सूचना निकाल्ने शैलीमा संसदमा प्रधानमन्त्री हराएको सूचना पढेका थिए ।

यस्तो छ पन्तले संसदमा सुनाएको सूचना–

‘नागरिकताको नाम : श्री पुष्पकमल दाहाल
चलन चल्तीको नाम : प्रचण्ड
स्थायी ठेगाना : फेरिराख्ने
अस्थायी ठेगाना : कहिले खुमलटार, कहिले बालुवाटार ।
हुलिया : पहिले पहिले कोट पाइन्ट लगाउने गरेपनि हाल दौरासुरुवाल र टोपी लगाउने, उमेर ६५ नाघेको ७० नपुगेको जस्तो देखिने । उहाँ केही दिनअघि प्रतिनिधिसभा बैठकमा झुलुक्क देखिएर हाल संसदमा आउनै छोडेकाले उहाँलाई फेला पार्नुहुने व्यक्तिले संसद भवन नयाँ बानेश्वरमा बुझाइदिनुहोला । उहाँ अन्तिम पटक देखिएको स्थान बालुवाटारको छेउछाऊ ।’

संसद्‌मा हाटाको संख्या बढ्यो : हरि ढकाल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले प्रतिनिधिसभा बैठकमा बिहान मात्र होइन बेलुका सदन सकिएपछि पनि हाजिरी गर्ने व्यवस्था गर्न माग गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले संसद्‌मा हाटाको संख्या बढ्दै गएको बताए ।

उनले भने,“गत २९ गतेको बैठकमा हाजिर गर्ने १६२ मान्य हुनुहुन्थ्यो । बेलुका जम्मा ६१ जनामात्र । यसलाई बोलिचालीको भाषामा हाटा भन्दो रहेछ । ,एक पटक होइन दुई पटक गणपूरक संख्या नपुगेर बैठक स्थगन भएको छ । यसले समाजलाई कस्तो सन्देश दिन्छ ।”

व्यवस्था उल्टाउने कसले हो, प्रधानमन्त्रीले सदनलाई जानकारी गराउनुपर्छ : ठाकुर गैरे

काठमाडौं – नेकपा (एमाले) का सांसद ठाकुर गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थामाथि आक्रमण भयो भनी दिएको अभिव्यक्तिमाथि प्रश्न उठाएका छन् । 

आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले प्रधानमन्त्रीले बैशाख १ गते पार्टी कार्यालयमा गएर व्यवस्थामा संकट आयो, उल्टिन लाग्यो भनेर के सन्देश दिन खोजेको भन्दै प्रश्न उठाए । 

“उहाँले पार्टी अफिसमा गएर भन्नुभयो । यो विषयमा सदन सुचित हुनुपर्यो,” उनले भने, “कसले यो व्यवस्था उल्टाउन खोजेको ? कसको कारणले यस्तो हुन लागेको हो ?”

उनले सदनलाई प्रधानमन्त्रीले सूचित गरे चुनौती सामना गर्न सबै तयार हुनुपर्ने बताए ।

काठमाडौंलाई संसारकै प्रदुषित सहरको सूचीको पहिलो नम्बरमा

काठमाडौं – हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरले काठमाडौंलाई संसारकै प्रदुषित सहरको सूचीको पहिलो स्थानमा राखेको छ । 

विश्वका १० प्रदूषित शहरमा काठमाडौं एक नम्बरमा परेको हाे । वर्ल्ड एयर क्वालिटी इन्डेक्सका अनुसार आइतबार मध्याह्न काठमाडौंको एयर क्वालिटी १९४ पुगेको छ । जुन खतरनाक मानिन्छ ।

एक्युआई १५० भन्दा माथि भएमा अस्वस्थकर मानिन्छ । एक्युआई ३०० भन्दा बढी हुनु निकै घातक हुन्छ र यो अवस्थामा विपद घोषणा गरिनुपर्छ ।

यस्तै दोस्रो नम्बरमा थाइल्यान्डको च्याङमा पर्दा तेस्रो नम्बरमा थाइल्यान्डकै बैंकक परेको छ । चौथो नम्बरमा भारतको कोलकाता र पाँचौ नम्बरमा बंगलादेशको ढाका छ । यस्तै छैटौँ नम्बरमा पाकिस्तानको लाहोर छ भने सातौँ स्थानमा भियतनामको हनोइ छ । आठौँ नम्बरमा मलेसियाको क्वालालम्पुर पर्दा नवौमा चीनको वुहान र दसौँ स्थानमा चीनकै सांघाई छ । 

बालकोटमा बैठक बोलाएर प्रधानमन्त्री प्रचण्ड आफैं गएनन्

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैँले बोलाएको बालकोट बैठकमा अनुपस्थित भएका छन् ।

आइतबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीनिवास बालकोटमा बस्ने भनिएको बैठकमा प्रधानमन्त्री प्रचण्ड स्वयं अनुपस्थित भएका हुन्। उक्त बैठक प्रधानमन्त्री प्रचण्ड आफैँले बोलाएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले जानकारी दिए। 

आज  बिहान ९ बजे  प्रमुख प्रतिपक्षी दलको नेतासमेत रहेका अध्यक्ष ओली निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितको शीर्ष नेताहरूको बैठक बस्ने तय भएको थियो। तर, बैठकका लागि भनेर सभामुखसहित  एमाले नेताहरू सबैजना समयमै  बालकोट पुगिसकेका थिए। तर, प्रधानमन्त्री प्रचण्डले ९ः२० तिर आज बैठक बस्न नसक्ने जानकारी गराएको बर्तौंलाले जानकारी दिए। 

बैठकमा प्रचण्ड र देउवा अनुपस्थित रहेको उनले बताए। सचेतक बर्तौंलाले संसदमा विचाराधीन विधेयक, संयुक्त समिति निर्माणलगायत  विषयमा शीर्ष नेताहरूबीच छलफल गर्ने कार्यक्रम थियो। 

एमालेले प्रमुख प्रतिपक्षी दल छलफल तथा सम्वादका लागि तयार रहे पनि सरकारकै नेतृत्व भने  आफैँले बैठक बोलाएर बैठकप्रति उदासीन हुनु र  छलफल सम्बादलाई  प्राथमिकता नदिनु दुःखद् विषय भएको टिप्पणी गरेको छ। 

‘उहाँहरू देशका सामु उभिएका  ज्वलन्त मुद्दाहरूलाई निष्कर्षमा  पुर्‍याउन सकारात्मक हुनुहुन्न र प्रचार एउटा गर्ने अनि काम चाहिँ अर्कै गर्दै छन् भन्ने कुरा यसले पनि प्रष्ट गराउँछ। आजको यो  बैठक प्रधानमन्त्री स्वयं ले नै बोलाउनुभएको थियोे,’ बर्तौंलाले भने। 

कांग्रेस नेताहरुले आफूलाई समय अनुकूल बनाउन नसके गाह्रो पर्छ : प्रकाशमान सिंह

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस नेताहरुले आफूलाई समय अनुकूल बनाउन नसके गाह्रो पर्ने बताएका छन् ।

आइतबार झापामा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीभित्र देखापरेका कमीकमजोरीलाई शुद्धीकरण गर्दै जनअपेक्षा पूरा गर्नुपर्नेमा जोडदिएका छन् ।

उनले भने, ‘कांग्रेस नेताहरुले आफूलाई समय अनुकूल बनाउन नसके गाह्रो पर्ने छ । प्रजातन्त्र ल्याउन, जनतालाई अधिकार दिलाउन सबैभन्दा बढी संघर्ष गरेको पार्टी नेपाली कांग्रेस भएकाले कांग्रेसप्रति जनताको आशा बढी छ । त्यसैले अरु राजनीतिक दलहरुभन्दा बढी जिम्मेवारीपूर्ण तवरले हाम्रो गतिविधि हुनुपर्छ ।’

संगठनको शुद्धीकरण र सुदृढीकरणमा बढी जोड दिनुपर्ने उनले बताए । संगठनको शुद्धीकरण र सुदृढीकरणमा बढी जोड दिनुपर्ने उनले बताए । संगठन सन्चालनमा विधि र प्रक्रियालाई आधार मान्नुपर्ने उनको जोड छ ।

‘चितवन २ मा विगतको जस्तो नतिजा आए, फेरि पनि उपचुनाव हुन सक्छ’ : योगेश भट्टराई

काठमाडौँ – नेकपा एमालेका सचिव योगेश भट्टराईले चितवन २ मा गत ४ मंसिरको परीणाम दोहोरिए फेरि उपचुनाव हुनसक्ने आशंका गरेका छन् ।

पाँच महिनाअघि भएको संसदीय निर्वाचनमा सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका थिए । तर उनी नागरिकता सम्बन्धी विवादमा पदमुक्त भएपछि यही वैशाख १० गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा रवि पुनः उम्मेदवार बनेको सन्दर्भमा भट्टराईले यस्तो बताएका हुन्।

चुनाव प्रचारका लागि चितवन पुगेका एमाले सचिव भट्टराईले रास्वपाका सभापति लामिछानेले देशको कानून उल्लंघन गर्दा चितवन २ मा उपचुनाव गर्नुपरेको बताए ।

प्रेस चौतारी नेपालले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘अहिले पनि चितवन २ मा विगतको जस्तो नतिजा आए, फेरि पनि उपचुनाव हुन सक्छ। ‘यहाँका जनतालाई दुःख दिने काम गर्नु हुँदैन।’

उनले मंसिर ४ मा भएको गल्तीलाई जनताले वैशाख १० मा सच्चाउनुपर्नेमा जोड दिए। चितवन २ मा एमालेका रामप्रसाद न्यौपानेलाई सहयोग गर्न अपिल पनि गरे ।
सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार छन् ।

कैलालीमा कोरोना सङ्क्रमणबाट ७३ वर्षीया वृद्धाको मृत्यु

काठमाडौँ – कैलालीमा कोरोना सङ्क्रमणबाट ७३ वर्षीया वृद्धाको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित वृद्धाको आज मृत्यु भएको अस्पतालले जानकारी दिएको हो । अस्पतालको अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया वृद्धाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो।

मुटुको बिरामी रहेकी उनलाई चैत २६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। अस्थायी कोरोना अस्पतालमा आइसियुमा उपचार भइरहेको अवस्थामा उनको आज मृत्यु भएको हो ।

यस्तो छ आज हरियो तरकारी तथा फलफूलको मूल्य 

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार कालो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अङ्गुर १२० रुपैयाँ, अनार २२५ रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, अमला ११० रुपैयाँ र किवी ४०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठुलो गोलभेँडा ५० रुपैयाँ, अदुवा ११० रुपैयाँ, रातो आलु ३२ रुपैयाँ, सेतो आलु २६ रुपैयाँ रहेको छ भने स्थानीय काउली ३५ रुपैयाँ, कागती २४० रुपैयाँ, कुरिलो २५० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ५० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ, घिरौँला ३० रुपैयाँ, चमसूरको साग १०० रुपैयाँ, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ २८० रुपैयाँमा किनबेच भइरहेको छ भने तोरीको साग ३० रुपैयाँ, तराइ परवर र न्युरो ९० रुपैयाँ, भारतीय सुकेको प्याज ३१ रुपैयाँ, हरियो प्याज ४० रुपैयाँ, पुदिना १५० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, फर्सी पाकेको ४० रुपैयाँ केजी कायम गरिएको छ ।

ब्रोकाउली ६० रुपैयाँ, भ्यान्टा लाम्चो ३० रुपैयाँ, भिण्डी ६० रुपैयाँ केजी, मूला सेतो २० रुपैयाँ, रुख कटहर ६० रुपैयाँ, भुईँ कटहर १८० रुपैयाँ प्रतिगोटामा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १७० रुपैयाँ, लौका ३० रुपैयाँ र हरियो धनियाँ ४० रुपैयाँ पाइने समितिले जनाएको छ ।

आठौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दै छन्।

प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । उनले नेपाली काँग्रेसका सांसद एनपी साउदलाई आज परराष्ट्र मन्त्रीमा शपथ गराउने तयारी गरेका छन् । अन्य मन्त्रीहरूको भने टुङ्गो लागेको छैन । नयाँ मन्त्रीहरूको शपथ अपराह्न ३ः०० बजेका लागि तोकिएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी गर्न परराष्ट्र मन्त्री तत्काल आवश्यक भएपछि आज सांसद साउदको शपथ ग्रहण गराउन लागिएको हो ।

काँग्रेसको भागका अन्य चार मन्त्रीको शपथ ग्रहण भने उपचुनावपछि हुने बताइएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमण वैशाख दोस्रो साताभित्रै हुँदै छ ।

नेपालमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सेटिङबाट चलिरहेको छ : चित्र बहादुर केसी

काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नेपालमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सेटिङबाट चलिरहेको आरोप लगाएका छन् ।

जनमोर्चाले शनिबार काठमाडौँमा आयोजना गरेको नेपालमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप र राष्ट्रियता रक्षाको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रममा केसीले नागरिकता नभएकै व्यक्तिलाई निर्वाचन लड्न लडाउने र उपप्रधानमन्त्री बनाउने काम भएकाले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सेटिङबाट चलिरहेको पुष्टि भएको बताएका हुन् ।

उनले अहिले मुलुकको राष्ट्रियतामाथि नै विषम परिस्थिति आउँदा राष्ट्रिय जनमोर्चामात्रै लडिरहेको जिकिर गरे । केसीले स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई विदेशबाट सञ्चालिन मान्छेको संज्ञा दिँदै चितवनमा त्यस्ता मान्छेलाई भगवान मान्नु दुर्भाग्य भएको धारणा राखेका थिए । लोकतन्त्र गणतन्त्र ल्याउनेहरूले नै मौका पाएपछि सत्ताको दुरुपयोग गरेको उनको भनाइ छ । केसीले पुराना दलका नेताहरूले राष्ट्रियतामाथि नै सौदाबाजी गरेका कारण बाध्य भएर विकल्प खोज्न बाध्य भएको उल्लेख गरेका छन् ।

उनले सङ्घीयताको विरोध गरेकै कारण जनमोर्चालाई आँखाको कसिङ्गर बनाइएको बताए ।

मुलुकको नेतृत्व गर्नेले प्राप्त उपलब्धिको रक्षाका साथै जनतालाई निराशाबाट मुक्त गर्नुपर्छ : विमलेन्द्र निधि

काठमाडौँ – नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले संविधानको सफल कार्यान्वयन गर्नका लागि ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।

काँग्रेस ओखलढुङ्गा काठमाडौँ उपत्यका सम्पर्क समितिद्वारा शनिबार काठमाडौँमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा निधिले अहिलेको सङ्घीय गणतन्त्रात्मक प्रणालीलाई रक्षा गर्दै संविधानको सफल कार्यान्वयन गर्नका लागि ध्यान केन्द्रित गर्नुपर्ने बताएका हुन् ।

उनले आवश्यकता अनुसार संविधानलाई परिमार्जन गर्न सकिने भन्दै कसैले संविधान च्यात्न खोजे हतोत्साहित गर्नुपर्ने धारणा राखे । नेता निधिले संसदीय प्रणालीमा प्रधानमन्त्रीले चाहेका बेला संसद् विघटन गरेर जनतामाझ जान पाउन भए पनि संविधानमा नै पाँच वर्ष सम्म संसद् विघटन गर्न नपाउने व्यवस्था भएकाले राजनीतिका कारण नेताहरू निराश हुनुपर्ने अवस्था नरहेको धारणा राखेका हुन् ।

त्यस्तै उनले मुलुकको नेतृत्व गर्नेले प्राप्त उपलब्धिको रक्षाका साथै जनतालाई निराशाबाट मुक्त गराउनुपर्नेमा जोड दिए ।

मुलुकमा बिदेशी हस्तक्षेप बढेको छ : मुख्यमन्त्री गिरी

काठमाडौँ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मुलुकमा बिदेशी हस्तक्षेप बढेको बताएका छन् ।

शनिबार बुटवलमा प्रेस चौतारी नेपाल रुपन्देहीको २४ औं साधारणसभामा बोल्दै गिरीले बामपन्थी दलहरु विभाजित हुंदा राष्ट्रियता कमजोर भएको बताउदै केही दलहरु वामपन्थीको नाममा विदेशी शक्तिको स्वार्थमा लागेको आरोप लगाएका हुन् ।

उनले देशमा राजनीतिक अस्थिरताका कारण जनताका समस्याहरु समाधान नहुदाँ संघीयताको नै औचित्य छैन भन्ने आवाज उठ्न थालेको धारणा राखे । मुख्यमन्त्री गिरीले नेकपा एमाले नेतृत्वको सरकारले राष्ट्रियताको पक्षमा गरेका राम्रा कामको समेत उचित प्रचार नभएको गुनासो गर्दै मिडियाले राष्ट्रियताको पक्षमा दह्रो वकालत गरेर जनमत बनाउनुपर्नेमा जोड दिए ।

गिरीले देशको राष्ट्रियता गुम्ने खतरा रहेको बताउदै पत्रकारहरुलाई अस्थिरताबाट फाइदा लिने शक्तिका विरुद्ध पनि कलम चलाउन आग्रह गरे ।

वर्षमान पुनकी आमालाई नियतवश गोली नचलाएको प्रहरी हवल्दारको बयान

काठमाडौँ – माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तीर्थमालीलाई नियतवश गोली नचलाएको प्रहरी हवल्दार प्रकाश पुन मगरले  बताएका छन्  ।

प्रहरी प्रधान कार्यालय, नक्सालमा सोधपुछ गर्ने क्रममा उनले गल्तीले गोली चलेको बताएका हुन्  । शुक्रवार नयाँ वर्षको अवसरमा बालुवाटारस्थित तीर्थमाली बस्ने घरमा पारिवारिक जमघट थियो । त्यस क्रममा राति साढे ९ बजे घरमा गोली चलेको थियो । कामु प्रधानन्यायाधीशको निजी सुरक्षा टोलीका सदस्य प्रहरी हवल्दार प्रकाश पुन मगरले गोली चलाएका थिए ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका उनको पेस्तोलबाट एक्कासि गोली तीर्थमालीको खुट्टामा लागेको थियो । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।घटनाबारे प्रहरीलाई मध्य राति १ बजे मात्रै खबर आएको थियो । त्यतिञ्जेल प्रकाश त्यहाँबाट भागिसकेका थिए । बिहान उनको कोठाबाट नियन्त्रणमा लिइएको एआईजी ज्ञवाली बताए ।

पक्राउ परेपछि गरिएको सोधपुछका क्रममा उनले दुर्घटनावश गोली पड्किएको दाबी गरेका छन् । तर, विशिष्ट व्यक्तिको सुरक्षामा खटिने उनले किन लोडेड हतियार त्यसरी बोकेका थिए भन्ने खुलेको छैन ।

हवल्दार प्रकाशले नेता पुनको आमालाई हजुरआमा भन्दै सम्बोधन गर्थे । पुनका भाइका साथीसमेत हुन्, उनी । रोल्पामा उनी छिमेकी समेत भएको पारिवारिक स्रोतले जनाएको छ । त्यसैले उनको नेता पुनकी आमा बसेको घरमा आउजाउ भइराख्थ्यो ।

सुजनले पहिलो पटक जिब्रो छेडे

भक्तपुर – भक्तपुरको मध्यपुरथिमि नगरपालिका– ८ बोडेमा मनाइने जिब्रो छेड्ने जात्रामा स्थानीय सुजन बाग श्रेष्ठले पहिलो पटक जिब्रो छेड्नुभएको छ ।

नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गण रहेको पाटीस्थीत मञ्चमा सुजन बागको जिब्रो छेडिएको हो । यसअघि सुजका बुबा बुद्धकृष्ण बाग श्रेष्ठले नौपल्ट जिब्रो छेडाइसक्नुभएको छ भने यसबर्ष सजनले जिब्रो छेड्नुभएको हो ।

चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर जिब्रो छेड्ने चलन छ । जिब्रो छेडेपछि चन्द्राकारको भ्वाय् अर्थात् महाद्विप बोकेर टोल टोल घुम्ने र भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरमा ठोकेपछि यो जात्रा सम्पन्न हुने परम्परा रहेको छ । दैवी शक्तिलाई आधार मानेर प्राचीनकालदेखि नै मनाइँदै आएको बोडेको सिङ्गो ऐतिहासिक, धार्मिक र संस्कृतिसँग सम्बन्धित यो जात्रा नीलबाराही देवगणसँग सम्बन्धित रहेको छ ।

किंवदन्तीअनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भुतप्रेत, पिशाच, ख्याक तथा कङ्कालले बोडेका मानिसलाई धेरै दुःख दिने गर्थे । यो थाहा पाई तान्त्रिक भीमदत्त त्यहाँ आएर तान्त्रिक विद्याअनुसार बोडेभरि पासो राखेर दुःख दिने पिशाचलाई समातेर उसको जिब्रो छेडी बलेको महाद्वीप बोकाएर बोडे घुमाएपछि यो जात्राको परम्परा चलेको हो ।

भक्तपुरमा मनाइयो सिन्दुरे जात्रा

भक्तपुर – भक्तपुरको मध्यपुरथिमीमा हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दूर जात्रा अर्थात् सुथः सिया जात्रा मनाइएको छ ।

बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये सिन्दूर जात्रा अति प्रसिद्ध जात्रा हो । थिमिमा मात्र मनाइने सिन्दूर जात्रामा बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो । बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरूसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो । जात्रा सुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराइएको थियो ।

यसैगरी विष्णुवीर, सिद्धिकाली लगायतका देवदेवीहरुको खट ल्याएर यो जात्रा मनाइएको छ । थिमिमा ३२ वटा खट सहभागी रथ बोकेर परम्परागत रुपमा मनाउँदै आएको भएपनि पछिल्लो समय खटको सङ्ख्या घट्दै गएको छ । जात्रामा बालकदेखि वृद्ध वृद्धासम्म सहभागी थिए । एक आपसमा छ्यापिएको सिन्दूरका कारण मध्यपुर ठिमी क्षेत्रको सडक राताम्मे भएको थियो । सिन्दूर जात्रा मध्यपुर ठिमीको सबैभन्दा ठुलो जात्रा हो ।

जात्रामा ठिमी क्षेत्रबाट २३ तथा नगदेश, बोडे र टिगनीबाट ९ वटा गरी ३२ वटा खटसहित नगर परिक्रमा गर्ने परम्परा रहेको थियो । यसमा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी, र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरि टोल टोलमा सिन्दूर खेल्दै सिन्दूर जात्रा मनाइन्छ ।

मूल देवता खटमा राखी धिमे बाजाका साथ चिराक बाली सिन्दुरे जात्रा मनाइने परम्परा रहेको छ । जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दूर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ । जात्रामा काँया बाजा, भुस्याबाजा, धिमे बाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दूर दल्ने, आपसमा सिन्दूर खेली स्थानीय जात्रालुहरु रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दूर जात्रा भनिएको हो ।

सीके राउतको दावी : कांग्रेस इमान्दार रहे मधेसमा जनमतको मुख्यमन्त्री बन्दैछ

काठमाडौं – जनमत पार्टीका अध्यक्ष सीके राउतले उपनिर्वाचनपछि मधेस प्रदेशमा आफ्नो पार्टीको मुख्यमन्त्री बन्ने दाबी गरेका छन् ।

अध्यक्ष राउतले आफ्नो फेसबुकमा लेखका छन्, ‘चैत्र १५ गतेको माओवादी, काँग्रेस र जनमतको सहमतिप्रति कांग्रेस इमान्दार रहे उपनिर्वाचनपछि मधेसमा जनमतको मुख्यमन्त्री बन्दैछ, नभए कांग्रेसको ।’

यहाँ प्रधानमन्त्री आफैं कति दिन टिक्ने ठेगान नरहेको टिप्पणी गर्दै उनले थप लेखेका छन्, ‘मधेस प्रदेशका मुख्यमन्त्रीको उपनिर्वाचन पछि आफै बहिर्गमन हुँदैछ । यस्तो अवस्थामा जनतालाई दिग्भ्रमित गर्न सत्ताधारीहरूले अतिरञ्जित अभिव्यक्ति दिनुको अर्थ छैन । जसपाका आफ्नै मुख्यमन्त्री र संघीय मन्त्रीहरूको भविष्यको ठेगान छैन, अरू बारेमा के भ्रम छर्नु ।’

जनमत पार्टीले छाडेको मन्त्रालय कांग्रेसले लिने भएपछि सरकार तथा गठबन्धनमा जनमत नरहने समाचार बाहिर आएसँगै अध्यक्ष राउतको यस्तो अभिव्यक्ति आएको हो ।

स्वास्थ्य मन्त्रालयले वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने भएको छ । 

मन्त्रालयले वैशाखलाई पूर्णखोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाउन लागिएको हो । 

लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाई नेपालमा पूर्णखोप रहेको सुनिश्चित गर्नका लागि सप्ताह मनाउन लागेको स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लालले जानकारी दिनुभयो । उहाँले सप्ताहमा लगाउन छुटका सबै बालबालिकालाई खोप दिइने बताउनुभयो । 

विभिन्न जिल्लामा खोप लगाउन छुटेका बालबालिकाको सङ्ख्या बढ्दै गइरहेकाले उनीहरूमा दादुरा, रुवेलालगायत महामारीको जोखिम बढ्न सक्ने भएकाले खोप सप्ताहअन्तर्गत वैशाखभरि सबै बालबालिका खोप दिइने निर्देशक डा.लालले बताउनुभयो ।

वैशाख पहिलो हप्तादेखि विभिन्न माध्यमबाट १५ महिनासम्म लगाउनुपर्ने पूर्ण खोपको जानकारी दिनुका साथै खोप छुटेका बालबालिकाको पहिचान गर्ने, वैशाख १५ र ३१ गते दुई दिन नियमित अभियान सञ्चालन गरी खोप लगाइने छ ।

यस्तै वैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाउने क्रममा पनि खोप लगाउन छुटेका बालबालिकाको सूची तयार पारिने परिवार कल्याण महाशाखाले जनाएको छ । 

खोप लगाउने छुटेका इँटा भट्टा, कलकारखानालगायत स्थानमा समुदायमा विशेष कार्यक्रम सञ्चालन गर्ने, यही वैशाख मसान्तभित्र सबै वडा, स्वास्थ्य संस्था राष्ट्रिय पूर्णखोप निर्देशिकाअनुसार घरधुरी सर्वेक्षण, पालिका वडा खोप समन्वय समितिको बैठकलगायत क्रियाकलाप गरी सबै वडा तथा स्थानीय तह पूर्णखोप सुनिश्चित भएको प्रमाणीकरण गर्ने जनाइएको छ । 

आगामी शैक्षिक सत्रका लागि विद्यालयमा नयाँ भर्ना हुने पाँच वर्षमुनिका सबै बालबालिकाका लागि खोप कार्ड अनुगमन गर्नसमेत सबै विद्यालयमा जानकारी एवं समन्वय गरिने निर्देशक लालले बताउनुभयो । 

स्थानीय तह स्तरमा बालबालिकाले पाउने विभिन्न सेवा, सुविधा वितरणमा खोप कार्य अनिवार्य गरिने छ । महाशाखा निर्देशक डा लालले सबै स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयमार्फत खोप सप्ताह सफल बनाउन लागि अनुरोध गरिएको जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्षको घरमा भेटियो प्रेसर कुकर बम

रुपन्देही – रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेको घरमा प्रेसर कुकर बम फेला परेको छ ।

नेपाली कांग्रेस रुपन्देहीका उपसभापति समेत रहेका अध्यक्ष घिमिरेको सियारी–६ स्थित घरको पछाडिपट्टि राखिएको बम आज बिहान फेला परेको हो ।

बम फेला परेपछि अध्यक्ष घिमिरेले सुरक्षा निकायलाई खबर गरेपछि दिउसो १२ बजेतिर नेपाली सेनाको टोलीले बम डिस्पोज गरेको छ ।

जिल्ला प्रहरी कार्यलय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालका अनुसार सिमेन्टको बोराभित्र हालेर बम राखेको ठाउंमा मधेश पिपुल्स पार्टीको नाममा पर्चाहरु भेटिएको छ ।

प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको उनले बताए ।

कोलम्बियाको शान्ति प्रक्रियाका अनुभव नेपालका लागि सान्दर्भिक : सुवास नेम्वाङ

काठमाडौँ – संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले कोलम्बियाको शान्ति प्रक्रियाका सकारात्मक अनुभवबाट पाठ सिकेर नेपालले बाँकी काम पूरा गर्न सक्ने बताउनुभएको छ ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी अध्ययनका लागि कोलम्बिया पुगेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संविधानसभाका अध्यक्ष नेम्वाङले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन राष्ट्रपति हुवाँ म्यानुअल सान्तोषले निर्वाह गर्नुभएको मुख्य भूमिकाको प्रशंसा गर्नुभएको थियो ।

अध्यक्ष नेम्वाङले भन्नुभयो, “लामो युद्ध समाप्त गर्न तपाईँको उत्कृष्ट प्रयासको हामी प्रशंसा गर्दछौँ ।” शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याएकामा प्रोत्साहनस्वरुप सन् २०१६ मा राष्ट्रपति हुवाँ म्यानुअल सान्तोषलाई नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो ।

सरकार र कोलम्बियाको क्रान्तिकारी सशस्त्र बल (फार्क) लगायत विभिन्न सशस्त्र समूहबीचको ५० वर्षभन्दा लामो सशस्त्र सङ्घर्ष अन्त्य भएको थियो । नेपालले पनि १० वर्ष लामो सशस्त्र सङ्घर्ष सन् २००६ मा शान्ति सम्झौतामार्फत अन्त्य भएको प्रसङ्ग जोड्दै अध्यक्ष नेम्वाङले त्यसपछि नेपाल थप दिगो शान्तितर्फ उन्मुख भएको बताउनुभयो ।

शान्ति प्रक्रियाको आधारभूमिमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना, धर्मनिरपेक्षता, समावेशी लोकतान्त्रिक प्रावधान र प्रगतिशील विषयवस्तुसहितको नयाँ संविधान जारी भएको छ । त्यस्तै पूर्वलडाकुको व्यवस्थापन सफलतापूर्वक सम्पन्न भएको छ । नेम्वाङले भन्नुभयो, “नेपाली जनताले मलाई संविधान निर्माण गर्ने दुवै संविधानसभाको अध्यक्षता गर्ने ऐतिहासिक अवसर प्रदान गरेकामा म प्रशन्नता व्यक्त गर्दछु ।”

नेपालको सङ्क्रमणकालीन न्यायका केही काम बाँकी रहेकाले त्यसलाई तार्किक निष्कर्षमा पु¥याउन आफूहरू प्रयासरत रहेको उहाँको भनाइ थियो । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्मा विचाराधीन अवस्थामा छ । उहाँले नेपाली शान्ति प्रक्रियामा खेलेको भूमिकाका लागि स्वीस सरकार र बोगोटास्थित स्वीस दूतावासलाई स्वागत समारोहको आयोजना गरेकामा विशेष धन्यवाद दिनुभयो ।

नेपाली प्रतिनिधिमण्डलका नेतासमेत रहनुभएका अध्यक्ष नेम्बाङले राष्ट्रपति सान्तोषको भूमिकाको उच्च प्रशंसा गर्दै कोलम्बियाको शान्ति प्रक्रियाका कतिपय अनुभव नेपालका लागि पनि सान्दर्भिक हुने बताउनुभएको थियो ।

नेपाली प्रतिनिधिमण्डलले कोलम्बियाका तत्कालीन सशस्त्र विद्रोही समूहका प्रमुख रोड्रिगो लोन्डोनो, शान्तिका लागि विशेष अदालतका अध्यक्ष रोबर्टो कार्लोस भिडाल, शान्ति प्रक्रियामा विशेष भूमिका खेल्ने पूर्वमन्त्री क्रिस्टो र विभिन्न पीडितसँग भेटवार्ता गरी अन्तक्र्रिया गरेको थियो ।

नेपाली प्रतिनिधिमण्डलमा नेम्वाङसहित नेताहरू प्रदीप ज्ञवाली, रमेश लेखक, राधेश्याम अधिकारी, खिमलाल देवकोटा, नेपाली सेनाका रथी चित्रबहादुर गुरुङ र पवन पाण्डे पनि सहभागी हुनुहुन्छ । सोमबार कोलम्बिया गएको नेपाली प्रतिनिधिमण्डल आज स्वदेश फर्कँदैछ ।

बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

काठमाडौं – सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता जारी छ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता जारी छ।

तीन शीर्ष नेताबीच वैशाख १० गते हुने उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रवासमा रहेका नेपालीहरुलाई विदेशबाट मतदान गर्न पाउने व्यवस्था गरिने छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहरुलाई विदेशबाट मतदान गर्न पाउने व्यवस्था गरिने बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई शुक्रबार राति सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले यसबाट लाखौं प्रवासी नेपाली लाभान्वित हुने र मताधिकारबाट बञ्चित हुनुनपर्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपालीले पठाएको विप्रेषणबाट विदेशी मुद्राको सञ्चितिमा उत्साह थपेको जनाउँदै बैदेशिक रोजगारीको सुधारको लागी सरकारले धेरै काम गरिसकेको र अझै थप गर्ने बताएका छन् । उनले भने, “वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले विदेशी मुद्रा सञ्चिती ११ महिनालाई धान्ने अवस्थामा पुग्नु आफैँमा अर्थतन्त्र सुधारको सङ्केत हो ।”

उनले सामाजिक सुरक्षा कोषमा प्रवासी नेपालीको आबद्धता श्रमिकको सुरक्षा भएको बताए । उनले राज्यका सबै निकायलाई राम्रोसँग परिचालन गरेर राजस्वमा उल्लेख्य सुधार भएको उल्लेख गर्दै आफू प्रधानमन्त्री बनेपछि सार्वजनिक सहकारी र निजी क्षेत्रको समन्वयलाई अगाडि बढाउन र निजी क्षेत्रलाई आर्थिक विकास निर्माणमा परिचालन गर्न जोड दिएको बताएका हुन् ।

प्रधानमन्त्री दाहालले भने, “संविधान निर्माण गर्ने र देशलाई अहिलेको अवस्थामा ल्याउने प्रमुख शक्ति माओवादी हो । हामीलाई विकासको गति पैदा गर्ने र रोजगारी ग्यारेन्टी गर्ने चुनौति छ । अर्थतन्त्रमा परेको अफ्ठ्यारो अहिलेको होइन, पहिले देखि नै हो । यसमा म आएपछि सुधार भइरहेको छ ।” नेपालको अर्थतन्त्रको समस्या समाधानका लागि तीन महिनामै सकारात्मक सङ्केत देखिएको उनको भनाइ छ ।

पछिल्ला दिनमा राजस्व सङ्कलनमा उल्लेखित सुधार भएको जनउँदै उहाँले आफ्नै पहलमा ब्याज घट्ने क्रम सुरु भएको बताएका छन् ।

शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन

काठमाडौँ – शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको आज बिहान ५ बजे र १५ मिनेटमा निधन भएको छ।

सय वर्षीय राधादेवीको आज बिहान किस्ट अस्पतालमा निधन भएको हो ।

श्वासप्रश्वासका कारण दुई साताअघि उनलाई किस्ट अस्पतालमा भर्ना गरिएको थियो। उपचारको क्रममा बिहान निधन भएको अस्पतालले जानकारी दिएको हो । यसअघि गत वर्ष असोज ३० गते जोशीको पति सत्यमोहन जोशीको निधन भएको थियो ।

नेपालले ओमानसँग अभ्यास खेल खेल्दै

काठमाडौँ  – नेपालले आज र एक दिवसीय अभ्यास खेलमा ओमानसँग खेल्दै छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज बिहान हुने खेल ५० ५० ओभरको हुनेछ । नेपालले एसीसी प्रिमियर कपअघि ओमानसँग अभ्यास खेल खेल्न लागेको हो । आज हुने यो खेलले कुनै पनि अन्तर्राष्ट्रिय मान्यता पाउने छैन । 

नेपालको कप्तानी रोहित पौडेल र ओमानको जिशान मकसुदले गर्नेछन् । नेपालले आफ्नो अन्तिम १४ सदस्य टोली घोषणा गरेको छैन । 

आइसिसी विश्वकप लिग २ मा ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेका थिए ।

व्यक्तिगत घटना दर्ता सप्ताहको आज दोस्रो दिन

काठमाडौँ  – व्यक्तिगत घटना दर्ता सप्ताहको आज दोस्रो दिन रहेको छ । देशभर शुक्रवारबाट सुरु भएको व्यक्तिगत घटना दर्ता सप्ताहको आज दोस्रो दिन हो । 

शुक्रवारदेखि ७ वैशाखसम्म देशैभर व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन भएको छ । 

१ वैशाखबाट गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले व्यक्तिगत घटना समयमै दर्ता गराउन नागरिक जागरूक गराउन सप्ताहव्यापी अभियान सुरु गरेको हो । 

जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँ सराइजस्ता व्यक्तिगत घटना, घटना भएको ३५ दिनभित्र दर्ता गराउन विभागले आग्रह गरेको छ । 

मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ – आज केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी  भू–भागको मौसम आंशिक बदली रहनेछ । 

सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थान र बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी  भू–भागको मौसम आंशिक बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको छ ।

नेता वर्षमान पुनको आमामाथि गोली प्रहार

काठमाडौं – माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा शुक्रबार राति साढे ९ बजे गोली चलेको छ ।

गए राति बालुवाटार स्थित निवासमा प्रहरी सहायक हवलदार प्रकाश पुन मगरले गोली प्रहार गरेका हुन् । प्रहरी सहायक हवलदार प्रकाश पुन वर्षमानका नातेदार पनि हुन् । प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत प्रकाश पुनलाई प्रहरीले पक्राउ गरेको छ ।

उपत्यका प्रहरी कार्यालयका एक उच्च अधिकृतका अनुसार गोली लागेर नेता पुनकी आमा ७० वर्षीय तीर्थमाली पुन घाइते भएकी छन् । उनको खुट्टामा गोली लागेको छ ।

ट्रमा सेन्टरमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

जेठको पहिलो हप्ताबाट ‘सक्किगोनि’को सिजन–३ प्रशारण हुँदै

काठमाडौं – हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ पुनः प्रशारणमा आउने भएको छ । लेखक तथा निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले कलाकार र कथावस्तुमा हेरफेर गर्दै नयाँ सिजन ल्याउने तयारी भइरहेको जानकारी दिनुभयाे ।

तेस्रो सिजनमा कलाकार हेरफेर हुने भएको छ । विषयवस्तु, प्रोडक्सन र भेषभूषालाई अझै गुणस्तरीय देखाउन प्रयास हुने जानकारी पाँडेले दिनुभयाे । 

जेठको पहिलो हप्ताबाट सक्किगोनि सुरु हुनेछ । “जेठको पहिलो हप्ताबाट प्रशारण गर्ने हाम्रो तयारी छ,” अर्जुन घिमिरे भन्नुहुन्छ, “अबको केही दिनबाटै हामी काम सुरु गर्दैछौँ । स्क्रिप्ट लेख्न सुरु भइसकेको छैन । तर, टिमका  केही थपघट भने हुनेछ ।” ‘सक्किगोनि’ हिमालयन टेलिभिजनबाट प्रशारण हुनेछ । 

यो सोसल कमेडी टिभी सिरिजको छायांकन चाँडै सुरु हुनेछ । पाँडेले कुमार कट्टेल ‘जिग्री ब्रो’सँग मिलेर सिरिज निर्देशन गर्ने हुनुभएकाे छ । यो सिरियल हिमालय टिभी एचडीबाट प्रसारण हुँदैछ ।

नेकपा एसको सचिवालय बैठक आज बस्दै

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका समाजवादीको बैठक आज दिउँसो २ बजे बस्दैछ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो बैठक बस्न लागेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

बैठकमा समसामयिक राजनीति विषयमा छलफल हुने बताइएको छ।