`

साढे ५ वर्षमा ५ लाख नेक्सन विक्री

काठमाडौं –  टाटा मोटरसले भारतीय बजारमा ५ लाख वटा नेक्सन विक्री वितरण सफल भएको छ। कम्पनीको पुनास्थित रंजनगाव म्यानुफ्याक्चरिंग युनिटमा निर्मित यस गाडी  सन् २०१७ बाट बजारमा ल्याइएको थियो।  साढे पाँच वर्षको छोटो अवधिमै  यसले उक्त  सफलता हासिल  गरेको हो। अझ उल्लेखनीय पक्ष भनेको  ५ लाख मध्ये   पछिका १  लाख केवल सात महिनामा विक्री भएको थियो।  

हालका वर्षहरुमा नेक्सन कम्पनीको निरन्तर बजारले रुचाएको मोडेल रुपमा स्थापित भएको छ।  सन् २०२० मा  फेसलिफ्टको आगमन पछि यसको वजार विस्तारले झन् तिब्र  ढंगले अगाडि बढेको पाइन्छ।  

 नेक्सन  १२०० सय सिसिको रेभोट्रन  पेट्रोल  इन्जिन र १५०० सिसिको रेभोटर्क डिजेल इन्जिन उपल्क्ब्ध छ।  पहिलो प्रकारमा  १२० हर्सपावर एवं १७० एनएमको ूपिक टर्कूको क्षमता छ भने  दोस्रो प्रकारमा  १२० हर्सपावरको शक्ति एवं १७० एनएमको पिक टर्कको क्षमता छ।  दुवैमा म्यानुएल ट्रान्समिसन स्ट्यानडर्डको रुपमा र  सिक्स स्पिड एटिएमको रुपमा रहेको छ।  

 नेक्सन एसयुभीले मारुती सुजुकी ब्रेज्ज़ा, ह्युनडाइ भेनु , किया सोनेट, महिन्द्रा एक्सयुभी ३०० , निसान म्याग्नाइट र रेनल्ट किगरसँग सशक्त ढंगले प्रतिस्पर्धा गरिरहेको छ। यसमा टचस्क्रिन सिस्टम, सेमी-डिजिटल इन्स्ट्रुमेन्ट कन्सल, थ्री-स्पोक फ्ल्याट-बटम स्टिरिंग व्हिल, स्वचालित क्लाइमेट कन्ट्रोल , क्रुज कन्ट्रोल जस्ता विशेषताहरु छन्।  

 सर्वोत्कृष्ट  सुरक्षाको लागि नेक्सनले  ग्लोबल एनसीएपीद्वारा पाँच-तारे गाडीको मान्यता प्राप्त गरेको छ।   यस गाडीले बजारमा अग्रगति लिनुको पछाडी यो  एक प्रमुख कारण हो।  

नेक्सनको विद्धुतीय संस्करणले पनि बजारमा अग्रस्थानमा रहेको छ।  नेक्सन इभी हाल भारतको सबैभन्दा बढी विक्री भइरहेको विद्धुतीय गाडीको हो।        

टाटाको  यस वर्षको अन्त्यसम्म नेक्सनको  अझ परिष्कृत र परिमार्जित स्वरुप बजारमा ल्याउने योजना  छ।    यो नँया स्वरुप अटो एक्पो २०२३ मा प्रदर्शन गरिएको  कर्भ अवधारणामा आधारित छ।  १२०० सिसिको टर्बो पेट्रोल इन्जिन भएको यो गाडीको शक्ति  १२५ हर्सपावर बराबर हुनेछ।  

भारतबाट चन्द्र भण्डारीको भिडियो सन्देश- स्वास्थ्यमा सुधार भइरहेको छ, छिट्टै फर्किन्छु

काठमाडौं – भारतमा उपचाररत नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले नयाँ वर्षको अवसरमा शुभकामना व्यत्त गर्नुभएको छ । भारतबाट भिडियो सन्देशमार्फत उहाँले नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभएको हो । 


उहाँले आफ्नो स्वास्थ्यमा सुधार भएको बताउनुभो । ‘मेरो स्वास्थ्यको कारणले गर्दा हजुरहरुसित म सहभागी हुन सकिरहेको छैन। तपाईँहरूको माया सद्भाव, प्रेम र प्रार्थना कारण मेरो स्वास्थ्यमा सुधार भइरहेको छ’,उहाँले भन्नुभयो । 

उहाँले छिट्टै नेपालमै उपस्थित भएर आफ्नो स्वास्थ्य उपचार गर्ने समेत बताउनुभएको छ । 

जस्तोसुकै षड्यन्त्र भएपनि चाँडै आफ्नो पार्टीले सरकारको नेतृत्व गर्छ : रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यहि वैशाख १० गतेको उपनिर्वाचनमा अन्य सबै दल मिलेर रास्वपाविरुद्ध लागेको बताएका छन्।

चितवत २ स्थित रामनगरको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जस्तोसुकै षड्यन्त्र भएपनि चाँडै आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने बताए।

उनले भने, ‘यसपटकको निर्वाचनमा एकजना मात्रै होइन तीन जना नै संसदमा जानेगरी तयारी गरिरहेका छौं। तनहुँमा हिजो स्वणिम वाग्लेको चुनावी प्रचारमा पुगेको थिए। यस्तै जनलहर उहाँमा पनि छाएको छ। बारामा पनि रमेश खरेको पक्षमा पनि यस्तै जनलहर छाएको छ। यही जनलहरलाई निरन्तता दिएर हामीले चाँडै नै मुलुकको नेतृत्व सम्हाल्ने सोच बनाइसकेका छौँ। यो जनताको चाहना र आकांक्षालाई कसैले पनि रोक्न सक्दैन।’

जस्तोसुकै दलहरुको गठबन्धन भएपनि आफूहरुलाई कुनै असर नगर्ने उनले तर्क गरे।

उनले भने, ‘अघिल्लो निर्वाचनसम्म पनि अन्य राजनीतिक दल एकअर्कालाई गाली गर्थे। एकअर्काको आलोचना गर्थे। एकअर्काको विरोध गर्थे। आजभोलि भएभरका सबै एकातिर राष्ट्रिय स्वतन्त्र पार्टी एकातिर भएर चुनाव भएको देखिएको छ। केही छैन। हामी तयार छौं। कुनै गठबन्धन होस् कुनै पनि मिलिजुली भएको षड्यन्त्र र शक्तिविरुद्ध लड्न तयार छौं।’

तीन दलका शीर्ष नेताहरुको बैठक स्थगित

काठमाडौं – सभामुख देवराज घिमिरेको आहवानमा शुक्रबार बोलाइएको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक स्थगित भएको छ ।

दिउँसो १ बजे सिंहदरवारस्थित सभामुख कार्यकक्षमा बोलाइएको बैठक स्थगित भएको हो । सभामुखले संसदको बिजनेस, संयुक्त समिति, विषयगत समिति र संयुक्त नियमावली मस्यौदा समिति गठन लगायतका विषयमा सहमति जुटाउन निरन्तर संवाद गरिरहनुभएको छ ।

सभामुखले २०७९ चैत २५ गते सिंहदरवारमा र चैत २८ गते सरकारी निवास बालुवाटारमा छलफल गर्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डले भने : आफ्नो पार्टी सरकारमा रहेकाले परिवर्तन उल्टिँदैन जस्तो लागेपनि स्थिति सहज छैन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान सभामै उल्लेख भइसकेका र आत्मसाथ गरिसकेका कुरालाई अहिले तर्क, वितर्क गरेर असफल बनाउने र उल्ट्याउन खोज्ने प्रयास भइरहेको बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा पार्टीका नेता तथा कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले परिवर्तनलाई विचलनमा लैजाने काम भइरहेको भन्दै सबै सजग रहन आग्रह गरे ।

उनले वर्तमान समयमा आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र) सरकारमा रहेकाले परिवर्तन उल्टिँदैन जस्तो लागेपनि स्थिति सहज नरहेको जिकिर गरे । उनले जिम्मेवारी बोध गरी संघर्ष नगर्ने हो भने अफ्ठ्यारो स्थिति आउनसक्ने चेतावनी दिए । प्रधानमन्त्री दाहालले सरकारलाई जनमुखी बनाउने, जनताको आशा अनुसार काम गर्ने चुनौति रहेकाले योजनाहरुको कार्यान्वयन गर्दै जानुपर्ने बताए ।

उनले भने, ‘संविधान सभाबाट भएको घोषणालाई पनि आत्मसाथ गरियो, तर अहिले त्यसलाई विभिन्न तर्क, विर्तक गरेर यसलाई कसरी असफल र उल्ट्याउन सकिन्छ र यसमार्फत सम्पूर्ण परिवर्तनलाई कसरी असफल बनाएर विचलनमा लैजान सकिन्छ रु भन्ने कसरत ठूलै छ । त्यो ठूलै छ । अहिले हामी सरकारको नेतृत्वमा छौ‌ं, मन्त्री छौँ, प्रधानमन्त्री छौँ, त्यसकारण उल्टिँदैन होला जस्तो लाग्न पनि सक्छ, मैले सबै कमरेडहरुलाई बुझिनेगरी भन्न चाहन्छु, यो स्थिति सहज छैन । हामीले बुद्धि नपु¥याउने, जिम्मेवारी बोध नगर्ने हो, संघर्ष नगर्ने हो भने धेरै अफ्ठ्यारो स्थिति आउन सक्छ । त्यसकारण पनि पार्टी र सरकारको सम्बन्धलाई नयाँ उचाईमा उठाउन जरुरी छ । सरकारलाई जनमुखी बनाउने, जनताको आशा अनुसार काम गर्ने चुनौति छ । त्यसैले योजनावद्ध गर्नेकुरा सोचिएको हो । यसलाई कार्यान्वयन गर्दै जानुपर्छ ।’

प्रधानमन्त्री दाहालले आगामी दिनमा नेकपा (माओवादी केन्द्र) ले नेताहरुको समर्थन लिएर नेतृत्व प्राप्त गर्ने प्रणाली बदल्नुपर्ने बताए ।उनले नेतृत्वलाई दबाब दिएर नेतृत्व पाउने प्रणालीको अन्त्य नगरेसम्म पार्टी बन्न नसक्ने बताए ।

कार्यकर्तासँगको भेटलाई सहज बनाउन प्रधानमन्त्री दाहाल पार्टी कार्यालयमा

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी कार्यकर्तासँगको भेटलाई सहज बनाउन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुग्नुभएको छ । नेकपा (माओवादी केन्द्र) ले आजदेखि प्रधानमन्त्री, मन्त्रीलगायतसँग पार्टी केन्द्रीय कार्यालयमा नेता, कार्यकर्तालाई भेट गर्ने व्यवस्था मिलाएको छ ।प्रधानमन्त्री दाहालले प्रत्येक शुक्रबार पार्टी कार्यालयमा नेता कार्यकर्तासँग भेट गर्ने उहाँको सचिवालयले जनाएको छ । सोहीअुनसार प्रधानमन्त्री दाहाल बिहान ८ बजे नै पार्टी केन्द्रीय कार्यालय पुगिसक्नुभएको छ ।

कार्यालय समयमा प्रधानमन्त्री तथा मन्त्रीहरूलाई काममा व्यवधान नआओस् भनेर माओवादी केन्द्रले कार्यालय समय बाहिर पार्टी कार्यालयमा प्रधानमन्त्री तथा मन्त्रीहरूलाई भेटघाटको व्यवस्था मिलाएको हो ।

एमालेका अध्यक्ष ओलीद्वारा नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बलियो राष्ट्रिय शक्ति निर्माणले नै राष्ट्र हितको रक्षा र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा प्रतिकूलका दुश्प्रयासहरुलाई परास्त गर्दै विकास र समृद्धि तर्फको यात्रामा मुलुकलाई अघि बढाउन सम्भव हुने बताउनुभएको छ । 

नयाँ वर्ष २०८० का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र सफलताको शुभकामना सन्देश दिनुहुँदै अध्यक्ष ओलीले विकास र समृद्धिका लागि जनतालाई आफू र आफ्ना सन्ततिको सुनिश्चित भविष्यप्रति आश्वस्त बनाउनुपर्ने बताउनुभयो । 

उहाँले जनतामा पैदा भएको निराशा चिर्दै बलियो राष्ट्रिय शक्तिमार्फत मुलुकलाई अघि बढाउन नेकपा (एमाले) सक्रिय रहेको उल्लेख गर्नुहुँदै बितेको वर्षका अन्तिम दुई महिना नेकपा (एमाले)लाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न ‘मिसन ग्रासरुट’ अभियान थालनी गरेको बताउनुभयो । अध्यक्ष ओलीले सिद्धान्तहीन सिन्डिकेटको राजनीतिबाट मुक्त गर्दै जनताको निराशा चिर्न, सुशासन, विकास र राष्ट्रिय हितको रक्षा गर्न नेकपा (एमाले)लाई बलियो बनाउन मिसन ग्रासरुट अभियानले मद्दत पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

एमाले विरुद्ध महागठबन्धन निर्माण गरी भएको चुनावमा पनि जनताको विश्वासका कारण नेकपा (एमाले) पहिलो लोकप्रिय राजनीतिक दलको रूपमा रहन सकेको उल्लेख गर्नुहुँदै अध्यक्ष ओलीले अस्थिरताको लाभ लिएर राजनीतिलाई विकृत तुल्याउने र राजनीतिलाई झन् अन्योलपूर्ण बनाउँदै मुलुकको विकास र समृद्धिको यात्रा बिथोल्ने प्रवृत्तिलाई निस्तेज पार्न एमालेलाई बलियो राजनीतिक शक्ति बनाउनुपर्ने बताउनुभयो । 

उहाँले मुलुक निर्माणको सुस्पष्ट दृष्टिकोण, दिशा र कार्यक्रम रहेको पार्टी एमालेलाई बलियो नबनाई राजनीतिक स्थिरता सम्भव नरहेको उल्लेख गर्नुहुँदै  राजनीतिक स्थिरता बिना विकास र समृद्धिका कार्यक्रमहरू अघि बढ्न नसक्ने  पनि बताउनुभयो । 

उहाँले नयाँ वर्षका अवसरमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्ने नेकपा एमालेको गन्तव्यमा साथ र सहयोग प्रदान गर्न आम देशवासी दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक आह्वान समेत गर्नुभयो । 

“देशको अवस्थाबारे विचार गरी जनताले मत परिवर्तन गर्न आवश्यक छ ” : रवि लामिछाने

दमौली – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशका समस्या समाधानका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताउनुभएको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा आज आयोजित कोणसभामा उहाँले देशका समस्या सबैका साझा भएकाले समाधानका लागि आपसी सहमति र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

गुणस्तरीय शिक्षा, बेरोजगारी अन्त्य, सुलभ स्वास्थ्य सबै दलका साझा मुद्दा भएकाले यसमा सहकार्य गरेर अगाडि बढ्नुको विकल्प नरहेको सभापति लामिछानेको भनाइ थियो । “मुलुकका समस्या सबै दलका साझा समस्या हुन्, पार्टीबीच सैद्दान्तिक मतभेद होला, तर मुलुकका साझा एजेण्डामा दलबीच फरक मतभेद हुनुहुँदैन,” उहाँले भन्नुभयो ।

“अहिले वादविवाद गर्ने, झै–झगडा गर्ने बेला नभइ देशको विकासका लागि जुट्ने बेला हो,” उहाँले भन्नुभयो । रास्वपा कुनै दलको दुश्मन नभइ आम जनताको असलमित्र बन्न चाहेको सभापति लामिछानेले बताउनुभयो । नागरिकका आम समस्या समाधानमा आफूहरु लागिरहेको भन्दै उहाँले भन्नुभयो, “देशको अवस्थाबारे विचार गरी जनताले मत परिवर्तन गर्न आवश्यक छ ।” उहाँले इमानको राजनीतिमा सम्झौता नगर्ने बताउँदै गलत काम गर्ने कसैलाई पनि छुट दिन नसकिने स्पष्ट पार्नुभयो । “सांसद ढाकाकुमार श्रेष्ठ सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले पैसाको बार्गेनिङ गरेको थाहा पाएपछि हामीले ऐतिहासिक निर्णय गरेका छौँ”, उहाँले भन्नुभयो ।

राजनीतिक यात्रा सुरु भएपछि हरेक किसिमका मानिस पार्टीमा जोडिने भएकाले गलत कुराको सधै विरोध गर्ने उहाँको भनाइ थियो । तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य उम्मेदवार डा स्वर्णिम वाग्लेले तनहुँका जनता चेतनशील भएकाले कस्तो नेतृत्व आवश्यक पर्छ भन्नेमा मूल्याङ्कन गर्न आग्रह गर्नुभयो । उहाँले जिल्लावासीले गर्व गर्न लायक सांसद बन्ने चाहना रहेको बताउँदै तनहुँको विकासका लागि योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

तीन वटा मुद्दा लिएर चुनावमा होमिएको बताउँदै वाग्लेले शिक्षा, स्वास्थ्य, बाटोघाटो, सिँचाइलगायत विकासका काममा जनतासँगै रहने प्रतिबद्धता जनाउनुभयो । “तनहुँबाट निर्वाचित भएको सांसदले तनहुँमात्र बनाउँदैन, देशलाई कुन दिशामा लैजाने भन्ने विषयमा पनि योगदान रहन्छ”, उहाँले भन्नुभयो ।

मेयर बालेनको सुझाव : सिंहदरबारलाई अरू पालिकामा सार्नु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारलाई अरू पालिकामा सार्न सुझाव दिएका छन् ।

बिहीबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै मेयर बालेनले काठमाडौँ महानगरपालिकाको हितमा काम नगर्ने भए सिंहदरबार सार्न सुझाव दिएका हुन् ।

‘कि काठमाडौँको हितमा काम गर्नुहोस् ,कि सिंहदरबार अरू पालिकामा सार्नुहोस्’,उनले लेदेका छन् । काठमाडौँ बासीलाई सिंहदरबार र राजधानी दुवै सारे पनि कुनै कुनै आपत्ति नरहेको बताउनुभयो । ‘हामी काठमाडौँ बासीलाई कुनै आपत्ति छैन ,चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् । हामीलाई हाम्रो सम्पदा, संकृती , कला, सभ्यता चाहिन्छ , राजनीति हैन’,उनले भने ।

मेयर बालेनले केही दिनदेखि सिंहदरबारको फोहोर फाल्न बन्देज लगाएका थिए ।

उद्योग वाणिज्य महासङ्घ एसोसिएटतर्फ उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचनको जारी मतगणनामा एसोसिएटतर्फ उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी हुनुभएको छ ।

कूल १ हजार ६५० मत खसेकोमा श्रेष्ठले ८४६ मत ल्याउँदै  विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी भरत आचार्यले ७८१ मत ल्याउनुभएको निर्वाचन समितिले जनाएको छ । आचार्यलाई ६५ मत अन्तरले पराजित गर्दै श्रेष्ठ विजयी हुनुभएको हो ।

महासङ्घको नयाँ नेतृत्व चयनका लागि काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा बुधवार मतदान भएको थियो।

प्रधानमन्त्री प्रचण्डसँग बार एसोसिएसनका पदाधिकारीहरूको छलफल

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”सँग नेपाल बार एसोसिएसनका पदाधिकारीहरूको छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा नेपाल बार एसोसिएसनका पदाधिकारीहरू, पूर्व पदाधिकारीहरू र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारीहरू उपस्थित भएका थिए ।

भेटमा प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र र संविधानको रक्षा एवं न्याय प्रणालीमा सुधारका लागि बारले खेलेको भूमिकाको प्रशंसा गरे ।

छलफलमा बारका पदाधिकारीहरूले १४ महिनादेखि सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश कायम रहेकाले तत्काल संवैधानिक परिषद्को बैठक राखी प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

जवाफमा प्रधानमन्त्रीले संवैधानिक परिषद्का पदाधिकारीहरूसँग समेत परामर्श गरी तत्काल बैठक बोलाई आवश्यक निर्णयमा पुग्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

रुपन्देही र बाँकेमा बढे एचआईभी संक्रमित, उपचारमा भेदभाव 

भैरहवा – एचआईभी संक्रमितप्रति स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले विभेद गर्ने गरेको पाइएको छ । संक्रमितहरुमा उच्चस्तरको स्वास्थ्य उपभोग गर्न पाउने अधिकार भए पनि लुम्बिनी प्रदेशमा यसको अवस्था नाजुक छ । 

राष्ट्रिय मानवअधिकार आयोगले गरेको अनुगमनबाट लुम्बिनी प्रदेशको रुपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिममा संक्रमित पहिचान हुदा भेदभाव र लान्छनात्मक अवस्था रहेको, उपचार नगरी विभिन्न बहानामा रेफर गर्ने गरेको  र संक्रमितको उपचारको क्रममा स्वास्थ्य संस्थाबाट गोपनीयता भंग हुने गरेको देखिएको छ ।

एचआईभी संक्रमितहरुको मानवअधिकारमध्ये बाँच्न पाउने अधिकार, भेदभावविरुद्धको अधिकार, महिलाहरुको मानव अधिकार, बालबालिकाको मानवअधिकार, विवाह गर्न पाउने अधिकार, गोपनीयताको अधिकारसँगै उपलबधता र पहुँचअनुसार रोकथाम, उपचार, हेरचाह र समर्थनमा पहुँचको मूल्याङ्कन, स्वीकार्यता र गुणस्तर सहितको उच्चस्तरको स्वास्थ्य उपभोग गर्न पाउने अधिकार छ । संक्रमितहरुको स्वास्थ्य उपचारको लागि स्वास्थ्यकर्मी र संस्थाको व्यवहार ठिक नभएको पाइएको हो । 

राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१÷२०२६ ले सन् २०३० सम्ममा नेपालमा एड्स इपिडेमिकलाई अन्त्य गर्ने परिकल्पना गरी नयाँ एचआईभी संक्रमण रोकथाम गर्ने, संक्रमितको स्वास्थ्यसम्बन्धी परिणमहरुमा सुधार ल्याउने र असमानताहरुमा कमि ल्याउने लक्ष्य लिएको राष्ट्रिय मानव अधिकार आयोगका उपसचिव बुद्ध नारायण साहनी केवटले जानकारी दिए ।

रणनीति योजनाले २०२६ सम्म संक्रमितमध्ये ९५ प्रतिशतको पहिचान गर्ने, संक्रमण पुष्टि भएका ९५ प्रतिशतको उपचार गर्ने, एआरटी सेवा लिइरहेकामध्ये ९५ प्रतिशतमा भाइरल लोड सप्रेसन हासिल गर्ने, नयाँ एचआईभी संक्रमणलाई ९० प्रतिशतले कम गरी आमाबाट बच्चामा एचआइभी संक्रमण निवारण गर्ने उद्देश्य रहेको उपसचिव केवटले जानकारी दिए । 

नेपालमा सन् २०२०को तथ्याङक अनुसार ३० हजार ३०० जना अनुमानित संक्रमित रहेका छन्, जसमध्ये महिला ४० प्रतिशत रहेको छ । संक्रमित मध्ये पुरुषसँग यौन सम्पर्क गर्ने पुरुष तथा तेस्रो लिंगी ९ प्रतिशत, यौनकर्मीका ग्राहकहरु ९ प्रतिशत, पुरुष यौनकर्मी ३ प्रतिशत, सुईद्वारा लागुऔषध प्रयोग गर्ने व्यक्ति २ प्रतिशत र महिला यौनकर्मी २ प्रतिशत रहेको आयोगले जानकारी दिएको छ । 

लुम्बिनी प्रदेशमा गरिएको अनुगमनबाट श्रमका लागि भारत गई संक्रमित हुने, संक्रमितले असुरक्षित रुपमा यौनसम्पर्क राख्ने, जन्मिएको सन्ँतानमा संक्रमण सर्ने, लागु औषध सेवनबाट संक्रमण हुने गरेको छ । 

लुम्बिनी प्रदेशको नारा समृद्ध प्रदेशका लागि स्वस्थ र खुशी नागरिक भएपनि प्रदेश स्वास्थ्य नीति २०७७ मा एचआईभीको कुरा नउठेको एचआइभी एड्स संक्रमित महासंघ लुम्बिनी प्रदेशको संयोजक अर्जुन ज्ञवालीले दाबी गरे । यस प्रदेशमा ४ हजार ५७१ जना संक्रमित भएपनि तिनीहरुलाई व्यवस्थित रुपमा स्वास्थ्य सेवा नभएको उनले भने । 

भौतिक पूर्वाधार, शौचालय, खानेपानीसमेत नभएको ठाँउमा एआरटी सेन्टरहरु राखिएकोमा यस तर्फ सरकारको ध्यान पुग्न जरुरी रहेको बताए । रणनीति योजना उद्देश्य र लक्ष्य राखे पनि एचआईभी पनि दीर्घ रोग भएकोले यसको उपचारमा पनि सरकारले सहुलीयत प्रदान गर्नुपर्ने बताए । अस्पतालमा भेदभाव र व्यवहारमा परिवर्तन नआए निवारण गर्न नसकिने उनले जिकिर गरे । 

पछिल्लो तीन वर्षमा एआईभी पोजिटिभको अवस्था लुम्बिनी प्रदेशमा बढदो छ । अन्य जिल्लाभन्दा रुपन्देही र बाँकेमा बढी मात्रामा एचाआईभी पोजिटिभका संक्रमितहरु छन् । आर्थिक वर्ष २०७८/७९मा रुपन्देहीमा १६७, बाकेमा १५७, कपिलवस्तुमा ६५, दाङमा ५८, पाल्पामा ५१,  नलपरासीमा ५१, बर्दियामा ३३, गुल्मीमा २९, प्युठानमा २९ अर्घाउखाचीमा १८, रोल्पामा १ जनामा संक्रमण रहेको छ । रुुकम पूर्वमा भने संक्रमित नरहेको आयोगले दिएको तथ्यांकमा उल्लेख छ ।  


आर्थिक वर्ष २०७६/७७मा ४८५ जनामा,  आर्थिक वर्ष २०७७÷७ ८ मा ४७३ जनामा एचआईभी पोजिटिभ देखिएकोमा आर्थिक वर्ष २०७८/७९मा संक्रमितको संख्या ६५९ ले बढेको छ । संक्रमितमध्ये एन्टीरेट्रो भाइरल उपचारपद्धति (एआरटी) लिने लुम्बिनी प्रदेशमा ४ हजार ३२५ जना छन् । 

एक्सेल डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं – एक्सेल डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने भएको छ ।

बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट कुनैपनि लाभांश वितरण नगर्ने गरी लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

बैंकले अघिल्लो आर्थिक वर्ष अर्थात २०७७–७८ मा भने ८.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

गठे संस्कृतिले देश ओरालो लाग्यो : केपी ओली

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठे (गठबन्धन)  संस्कृतिले देश निरन्तर ओरालोतर्फ लागेको बताउनुभएकाे छ । 

राष्ट्रिय युवा संघको ९ औं महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले सरकार बनाउनका लागि जोसुकैसँग गठबन्धन गर्ने संस्कृतिको विकासले देश ओरालो लागेको बताउनुभएकाे हाे ।

देशलाई ओरालो लाग्नबाट रोकेर सही बाटोमा देशलाई अगाडि लान सकिन्छ भन्ने कुरा आफू प्रधानमन्त्री हुँदाको छोटो अवधिमै प्रमाणित गरेर देखाएकोसमेत उहाँले बताउनुभयाे । 

अहिलेको सत्ता गठबन्धन कुनै राजनीतिक विचार र सिद्धान्तको आधारमा बनेको नभई केवल सरकारका लागि बनेको उहाँको  भनाइ छ । 

‘गठे संस्कृति, यो गठबन्धनको संस्कृति । राजनीति छैन, विचार छैन । जेसुकै भएपनि, जसरी भएपनि एउटा निकक्मा सरकार बनाउनु पर्ने र कुकर्म गर्नुपर्ने खाल्को स्थिति बनाएको छ । यस्ता समस्याहरु छन् । यसले देशलाई ओरालो लगाएको छ,’– उहाँले भन्नुभयाे ।

एमाले लौरो टेक्ने ज्येष्ठ नागरिकको मात्र होइन सशक्त युवाको पनि पार्टी हो: अध्यक्ष ओली

नेपालगञ्ज – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले समाजका सबै वर्ग र समुदायको पार्टी भएको बताउनुभएको छ।

राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनलाई आज नेपालगञ्जमा सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा एमालेले सुखी नेपाली समृद्ध नेपालीको आकांक्षा पूरा गर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘नेकपा एमाले लौरो टेक्ने ज्येष्ठ नागरिकको मात्र होइन सशक्त युवाको पनि पार्टी हो ।’

युवाहरूले इतिहास होइन भविष्यको कुरा गर्नु र सोच्नु पर्ने उहाँले बताउनुभयो । भविष्यको तयारी, काम, आन्दोलन, संकल्प, योजना र अनुशासनको कुरा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

युवाले भविष्य कस्तो बनाउने भन्ने कुरा सोच्नु पर्ने अध्यक्ष ओलीले बताउनुभयो । युवाहरू सूर्य जस्तै अनुशासित हुनु पर्नेमा उहाँको जोड छ। अनुशासनमा नबस्ने व्यक्ति र संगठन कुबाटोमा जाने ओलीले प्रष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले देशमा अहिले विभिन्न विकृति र विसङ्गति भए पनि त्यसलाई रोकेर देशलाई ओरालो लाग्नबाट बचाउन सकिने उहाँले प्रष्ट पार्नुभयो । हामी काम गर्न सक्छौँ भन्ने कुरा एमालेले छोटो समयमा नै प्रमाणित गरिसकेको उहाँले बताउनुभयो ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान पौडेललाई केपी ओली राष्ट्रिय युवा प्रतिभा पुरस्कार

नेपालगञ्ज – नेपालको राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई एक लाख रुपियाँको केपी ओली राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित गरिएको छ।

नेपालको क्रिकेट इतिहासमा सबैभन्दा उत्कृष्ट नेतृत्व प्रदर्शन गरेर टोलीलाई विश्व कपको छनोटमा पुर्‍याएको तथा १२ खेल लगातार जितेर इतिहास कायम गरेको जनाउँदै कप्तान पौडेललाई सो पुरस्कार प्रदान गरिएको हो।

युवा सङ्घ नेपालको नेपालगञ्जमा आजबाट सुरु भएको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कप्तान पौडेललाई एक लाख रुपियाँको चेक र ट्रफी प्रदान गर्नुभएको हो।

देशभरिमा उत्कृष्ट काम गर्ने युवालाई प्रोत्साहन गरेर अन्य युवालाई समेत राम्रो कामका लागि उत्साहित गर्ने उद्देश्यले गत वर्षबाट केपी ओली राष्ट्रिय युवा प्रतिभा पुरस्कार दिन थालिएको युवा सङ्घ नेपालका अध्यक्ष किरण पौडेलले बताउनुभयो ।

पुरस्कार पाएपछि संक्षिप्त प्रतिक्रिया दिनुहुँदै कप्तान पौडेलले यस पुरस्कारले आफू लगायत सम्पूर्ण युवालाई देशका लागि केही गर्नुपर्छ भन्ने हौसला मिलेको बताउनुभयो ।

देशको रक्षाको निम्ति युवा संघ टाउकोमा कफन बाँधेर सडकमा उत्रिनुपर्छ: विष्णु पौडेल

नेपालगञ्ज – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सही विचार र सक्षम नेतृत्वले मात्र संगठनलाई अघि बढाउन सक्ने बताउनु भएको छ।

राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनलाई आज नेपालञ्जमा सम्बोधन गर्दै पौडेलले सबै कुरा हुँदा पनि नेतृत्व सही भएन भने संगठन गन्तव्यमा नपुग्ने बताउनुभयो।

राष्ट्रिय युवा संघ नेपाललाई सही गन्तव्यमा पुर्‍याउन महाधिवेशनले सही नेतृत्व छान्ने पौडेलले विश्वास व्यक्त गर्नुभयो । युवा संघले सबै विधाका युवालाई नेतृत्व दिन सक्ने उहाँले प्रष्ट पार्नुभयो।

सबै सृजनशील युवाको आशा र भरोसाको केन्द्र राष्ट्रिय युवा संघ नेपाल हुने पर्ने उहाँले बताउनुभयो। हरेक वर्ग, क्षेत्र र समुदायका युवाको प्रतिनिधित्व राष्ट्रिय युवा संघ नेपालले गर्नुपर्ने उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘अनेक विधाका युवाको नेतृत्व राष्ट्रिय युवा संघ नेपालले गर्नुपर्दछ।’

देशलाई जुन हिसाबले अघि बढाइँदै छ त्यसको विरुद्ध राष्ट्रिय युवा संघ नेपाल रातो फेटा बाँधेर सडकमा निस्कनु पर्ने अवस्था आउने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘राष्ट्र, राष्ट्रको स्वाभिमान र देशको रक्षाको निम्ति राष्ट्रिय युवा संघ नेपाल टाउकोमा कफन बाँधेर सडकमा उत्रिनुपर्ने स्थिति आउन सक्छ ।’

पौडेलले वर्तमान आपराधिक गठबन्धनको विरुद्ध सडकमा उत्रनु पर्ने अवस्था आउने बताउँदै त्यसको लागि तयार गर्नुपर्ने बताउनुभयो।

अहिले नेपालको आर्थिक अवस्था दयनीय भएको छ , यो अवस्थाबाट मुलुकलाई जोगाउन एमाले मात्रैले सक्छ : शङ्कर पोख्रेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले अहिले नेपालको आर्थिक अवस्था दयनीय भएको बताएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै पोख्रेलले यस्तो बताएका हुन् ।

उनले भने, ‘आर्थिक रुपमा संकटको डिलमा पुगेको छ ।, यो अवस्थामा मुलुकलाई जोगाउन एमाले मात्रैले सक्छ ।’ उनले भने,
नेपाली समाजलाई कमजोर बनाउन विखण्डन गर्ने गरि नेपाली मौलिक संस्कृति माथि प्रहार भइरहेको पोख्रेलको टिप्पणी थियो ।

महाधिवेशन बोल्दै पोख्रेलले आगामी निर्वाचनमा पहिलो शक्ति बन्ने र बहुमतको सरकार निर्माण गर्ने दाबी गरे ।

उनले अहिलेको निर्वाचनमा पनि जनताको लोकप्रिय पार्टी एमाले रहेको पुष्टि भएको उनले बताए । कांग्रेस एक्लै निर्वाचनमा होमिन डराएको भन्दै उनले भने, ‘अघिल्लो निर्वाचनमा सबै पार्टी एक्ला एक्लै निर्वाचनमा होमिएको भए कांग्रेसले अहिले भन्दा धेरै सिट जित्न सक्थ्यो, एमालेले दोब्बर सिट हासिल गथ्यो र सरकार बनाउने थियो ।’

उनले अदालतका कारण एमाले पार्टी सरकारबाट बाहिरिनु परेको र प्रतिनिधि सभा सभामुखका कारण पार्टी विभाजन भएको आरोप लगाए ।

‘अदालतको सहारमा हामीलाई सरकारलाई हटाउने काम भयो प्रतिनिधि सभाका सभामुखको माध्यमबाट हाम्रो पार्टी बिभाजन गर्ने काम भयो’ उनले भने ।

अहिलेको गठबन्धनको आयु धेरै नभएको उनले बताए ।

रास्वपाले दिएको २४ घण्टा वित्यो,ढाकाकुमारले बुझाएनन् स्पष्टीकरण

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमारले श्रेष्ठले पार्टीले सोधेको २४ घण्टे स्पष्टीकरणको वेवास्ता गर्नुभएको छ । 

मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड रुपैयाँ मागेको अडियो टेप बाहिरिएपछि विवादमा तानिनुभएका उहाँलाई रास्वपाले २४ घण्टे स्पष्टीरण सोधेको थियो । तर,उहाँले २४ घण्टा वितिसक्दासमेत स्पष्टीकरण दिनुभएको छैन । 

स्पष्टीकरण नबुझाएसँगै रास्वपाले थप कारबाहीको तयारी गरिरहेको ​​​​​​छ । उता ढाकाकुमार श्रेष्ठ निकटका अनुसार उहाँले राजीनामा दिने तयारी गरिरहनुभएको छ । 

सभापति रवि लामिछानेले अडियो टेप प्रकरणमा आफू अख्तियार दुरुपयोग आयोग अनुसन्धानमा जाने बताउनुभएको थियो । लामिछानेले भ्रष्टचारीलाई नछोड्ने भन्दै ढाकाकुमार श्रेष्ठलाई थप कारबाही गरिने बताउँदै आउनुभएको छ । 

श्रेष्ठले भने आफूलाई षड्यन्त्र गरेर फसाउन खोजिएको बताउँदै आउनुभएको छ । उहाँले असत्य कुरा गरेमा आफूलाई मात्रै नभई रवि लामिछानेलाई पनि घिसार्नुपर्ने बताउनुभएको छ । उहाँले आफ्नो भनाईलाई एडिट गरेर दुरुपयोग भएको र यो विषयमा अदालतमा समेत जान तयार रहेको बताउनुभएको छ । 

तनहुँ १ मा रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई लौरोको समर्थन

तनहुँ – हाम्रो नेपाली पार्टी (लौरो अभियान) ले तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई समर्थन गर्ने भएको छ ।

यसअघि लौरो अभियानले उक्त क्षेत्रमा विष्णु पराजुलीलाई अघि सारेको थियो । तर, अभियानले पराजुलीको उम्मेदवारीलाई निष्क्रिय पार्दै वाग्लेलाई समर्थन गर्ने निर्णय गरेको हो ।

‘उहाँ आर्थिक क्षेत्रमा अन्तराष्ट्रियरूपमा विज्ञता हासिल गर्नुभएको र हालको अवस्थामा उहाँको विज्ञता नेपालको संसदमा यथाशीघ्र आवश्यकता परेको महसुस गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई हामी सम्पूर्ण वैकल्पिक शक्ति, लौरो अभियान, हाम्रो नेपाली पाट्री र स्वतन्त्र नागरिक समाज ‘नेपाल’ एक भई समर्थन गर्ने निर्णय भएको छ ‘, जारी विज्ञप्तिमा भनिएको छ ।

बैंकको ब्याजदर घटाउने उपायहरू खोजिरहेका छौँ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपायहरू खोजिरहेको बताएका छन् । सोमबार दिउँसो सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको बताएका हुन् । 

‘मैले नै यो बैठकको आयोजना गरेको हुँ। अर्थतन्त्रमा देखा परेको दवावलाई कम गर्न लगातार छलफलमा छौँ। बैंकको ब्याजदर घटाउने उपायहरू खोजिरहेका छौँ। हामी छिट्टै एउटा निष्कर्षमा पुग्छौँ,’ बैठकमा प्रधानमन्त्रीले भने, ‘विदेशी मुद्रा सञ्चितिको दवावबाट अलि सजिलो महशुस हुँदैछ। अहिले विदेशी मुद्रा सञ्चिति र विप्रेषणमा सुधार आएको छ । बजेट बनाउनुअघि निजी र सरकारी क्षेत्रका प्रतिनिधिहरूसँग बृहत छलफल गर्ने सोच्दैछु। हामीले एकअर्कालाई आरोपित गरेर समस्या समाधान हुँदैन, सरकार र निजी क्षेत्रले एकले अर्कोलाई सहयोग गरेर मात्र अर्थतन्त्रको चुनौती र दवावलाई सकारात्मक दिशामा लैजान सक्छौँ ।’ 

अर्थतन्त्रमा संकट आउनुमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुबै कारण जिम्मेवार रहेको बताएका प्रधानमन्त्री प्रचण्डले भने, ‘यसमा भूकम्प, कोभिड, रूस र युक्रेनको युद्ध लगायतका कारण छन्। आयात, निर्यातसम्बन्धि निर्यातमा भएका सीमाहरूको कारण पनि छ। राजस्व संकलनमा वृद्धि ल्याउन, राजस्व चुहावट नियन्त्रण गर्न निकै गम्भीर रूपमा लागेका छौँ ।’ 

अनुगमनलाई मात्रै कडाइ गर्दा पनि अर्थतन्त्रमा सुधार आउने बताएका उनले घरजग्गा कारोबारमा सहजीकरण नगरीकन तरलताको समस्या सम्बोधन गर्न नसकिने भएकाले यसबारे चाँडै निर्णय पुग्ने बताए । 

‘बैंक ऋण लिने तर तिर्दिनँ भन्नेहरूलाई छोड्नु हुँदैन। त्यस्तो अराजक प्रवृत्तिलाई छुट दिन सकिँदैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘हुलहुज्जतको सहज सकिँदैन, त्यसमा सरकार कठोर हुन्छ ।’ 

छलफलमा विभिन्न बैंकका कार्यकारी अधिकृत लगायत बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूले बैंक र कर्मचारीहरूको सुरक्षामा सरकारले ध्यान दिनुपर्ने र व्यवसायी एवं आम नागरिकको चासो सम्बोधनका लागि सरकारको आग्रहअनुरूप आफूहरू अगाडि बढ्ने बताए । 

बैठकमा प्रधानमन्त्रीका साथै अर्थमन्त्री डा. प्रकाशशरण महत, नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, गृहसचिव विनोदप्रकाश सिंह, अर्थसचिव तोयम राय लगायतका पदाधिकारीहरू उपस्थित थिए । 

प्रधानमन्त्री प्रचण्डको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रेस सल्लाहकारमा गोविन्द आचार्य नियुक्त भएका छन् ।

प्रधानमन्त्री प्रचण्डले उनलाई आफ्नो प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् । उनी पत्रकार महासंघ नेपालका पूर्वअध्यक्ष समेत हुन् । 
 

१० वर्षीया बालिकालाई बलात्कार गरेकाे आराेपमा एकजना पक्राउ

पाल्पा – १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तानसेन नगरपालिका-११ गाबुडाँडा बस्ने ३७ वर्षीय लिला बहादुर बस्याललाई  प्रहरीले पक्राउ गरेको छ । 

बस्यालले ती बालिकालाई चैत २२ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ । 

कोशी प्रदेशको नाम खारेजीका लागि खोटाङमा एक हजार २०३ सदस्यीय संघर्ष समिति

खोटाङ –  कोशी प्रदेशको नाम खारेजीको मागमा आन्दोलन चर्काउनका लागि खोटाङमा एक हजार २०३ सदस्यीय पुन: नामांकन संयुक्त संघर्ष समिति गठन गरिएको छ ।

कोशी नाम खारेज गरी किरात प्रदेश नामाकरण गराउन दबाबमुलक आन्दोलनलाई सशक्त बनाउनका लागि किरात राई यायोक्खाका अध्यक्ष युगसन किरातको संयोजकत्वमा पुन: नामांकन संयुक्त संघर्ष समिति गठन गरिएको हो ।

आइतबार ज्येष्ठ अगुवा पर्खनबहादुर राईको अध्यक्षतामा बसेको आदिबासी जनजाती महासंघ, यायोक्खा, जातीय संगठन, पहिचानपक्षधर दल, सामाजिक संघसंस्था, नागरिक समाज लगायत सम्मिलित बैठकले पुःन नामांकन संयुक्त संघर्ष समिति गठन गरेको हो । बैठकको निर्णय सोमबार दिक्तेलमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको छ । 

संघर्ष समितिको सह–संयोजकमा नेकपा एकीकृत समाजवादीका ओमीराज राई, जनता समाजवादी पार्टीका अध्यक्ष पिके खम्बू, जनजाती महासंघका अध्यक्ष फुर्वा शेर्पा, जनजाती महासंघका पुर्वसचिव रबिन खम्बू, किरात सेवा समाजका किसन राई, सैंजु नेवा देय दबुका धनकुमारी सैंजू चयन भएका छन् ।

नेपाल तामाङ घेदुङ संघका पर्शुराम राई, नेपाल शेर्पा संघका कसाङ शेर्पा, किरात राई चाम्लिङ खाम्बातिमका गणेश राई, साम्पाङ राई जुम्लेखाका अध्यक्ष प्रताप राई, वाम्बुले राई समाजका भुवन राई, किरात राई वान्तवा खिमका राजकुमार राई लगायतलाई संघर्ष समितिको सह–संयोजकमा राखिएको छ । जनजाती महासंघको उपाध्यक्ष एलबी मगर संघर्ष समितिको सचिव चयन भएका छन् । 

बैठकबाट ६ वटा उपसमिति गठन गरिएको संघर्ष समितिका संयोजक किरातले पत्रकार सम्मेलनमा जानकारी दिए । डा. केके राईको संयोजकत्वमा पाँच सदस्यीय बौद्धिक सल्लाहकार, सुर्य राईको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक, डा. केके राईको संयोजकत्वमा आकस्मिक औषधि उपचार उपसमिति गठन गरिएको हो ।

निर्मल राईको संयोजकत्वमा १०१ सदस्यीय युवा परिचालन, संगीता राईको संयोजकत्वमा २१ सदस्यीय महिला परिचालन र इन्द्र नाराथुंगेको संयोजकत्वमा पाँच सदस्यीय सुचना तथा सञ्चाल उपसमिति गठन गरिएको संयोजक किरातले जानकारी दिए । ‘पार्टीको पनि बिश्वास देखिएन । हाम्रोलागि पार्टीभन्दा पहिचान र अस्तित्व ठूलो हो । हामी जिल्लाको सबै पालिका कव्जा गर्न सक्छौँ,’ संयोजक किरातले भने, ‘पहिचानको आन्दोलनमा लाग्दा पार्टीले कारबाही गर्छ भने गरोस् । कारबाही भोग्न तयार छौँ । पहिचानको मुद्धा छोडिन्न ।’ जिल्लाका १० वटै पालिकामा आन्दोलनलाई शसक्त बनाउनका लागि जिम्मेवारी बाँडफाँड गरिएको छ । 


जनता समाजवादीले पनि बनायो १०१ सदस्यीय संघर्ष समिति  


पुन: नामांकन संयुक्त संघर्ष समिति गठनप्रति ऐक्यवद्धता जनाउँदै जनता समाजवादी पार्टी खोटाङले अध्यक्ष पिके खम्बुको संयोजकत्वमा १०१ सदस्यीय संघर्ष समिति गठन गरेको छ ।

जिल्ला समन्वय समिति, पालिका कमिटि अध्यक्ष एबं भातृ संगठनका प्रमुख लगायत १०१ सदस्यीय संघर्ष समिति गठन गरेको जानकारी दिइएको छ । पहिचानको आन्दोलनलाई क्रमशः सबै प्रदेशमा जगाउने योजनासहित संघर्ष सुरु गरिएको जनपाका प्रदेश सदस्य नविन राईले बताए । 


लेटर प्याड र छापमा कोशी नलेख्न नगरपालिकालाई ध्यानाकर्षण


पुन: नामांकन संयुक्त संघर्ष समितिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई बोर्ड, लेटर प्याड र छापमा कोशी नलेख्न ध्यानाकर्षण गराएको छ । पत्रकार सम्मेलन लगत्तै नगरपालिका पुगेर उपमेयर बिसन राई र प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेललाई ज्ञापन–पत्र बुझाउँदै लेटर प्याड र छापमा कोशी लेखिएको भए मेटाउन ध्यानाकर्षण गराएका हुन् । ज्ञापन–पत्र बुझाउँदै संघर्ष समितिका संयोजक किरातले नगरका वडा–वडामा कोशी नलेख्नका लागि आग्रह गरेका छन् । 

सेयर बजारमा ५.५४ अंकले उकालो

काठमाडौं – साताको दोश्रो कारोबार दिन सोमबार सेयर बजारमा उकालो लागेको छ । सोमबार नेप्से परिसूचक ५.५४ अंकले उकालो लागि १८४४ को बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८८ अङ्कले घटेर ३४९.६६ विन्दुमा पुगेको छ।

यसअघि आइतबारको कारोबारमा भने नेप्से परिसूचक २८.३१ अंकले ओरालो लागि १८३८.४८ विन्दुमा अडिएको थियो । सोहि दिन एक अर्ब १५ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार कूल २६१ कम्पनीको २९ लाख ६० हजार ८६३ कित्ता सेयर खरिद बिक्री हुँदा ९१ करोड १९ लाख भन्दाबढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ।  नेप्से सुचकमा १३२ कम्पनीमा वृद्धि भएको छ । ७७ कम्पनीमा ओरालो लागेको र ८ कम्पनी स्थिर रहेको छ । 

त्यस्तै, कारोबारको आधारमा सिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ६ करोड ८४ लाखको कारोबार गरेको छ । सानिमा मिडल तामोर हाइड्रोपावर कम्पनी दोश्रो स्थानमा छ । उक्त कम्पनीले ६ करोड ६५ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो । 

सोमबार १३ उपसुचक मध्ये फाइनान्स कम्पनी बाहेक सबै कम्पनीमा हरियाली छाएको छ । वृद्धि भएको कम्पनीहरु मध्ये सबैभन्दा धेरै होटल तथा पर्यटन र ट्रेडिङ सुचक कम्पनी रहेको छ । 

आजको सानिमा मिडल तामोर हाइड्रोपावर र कालिन्चोक दर्शनको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन्। 
 

संसदमा राप्रपा सांसदको प्रस्ताव-यही सदनबाट हिन्दू राष्ट्र पुनः स्थापना गरौँ

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद् धवलशमशेर जबराले  हिन्दू राष्ट्र कायम गर्न सबै सांसद्हरूलाई आग्रह गर्नुभएकाे छ ।

साेमबार प्रतिनिधिसभामा बाेल्नुहुँदै उहाँले हिन्दू राष्ट्र कायम गर्न संविधानलाई संसोधन र परिवर्तन् गरेर  सबैले श्रेय ल्याउन अनुरोध गर्नुभएकाे हाे । 

‘यो राष्ट्रमा पुनः सनातन हिन्दू राष्ट्र स्थापित हुन्छ। हामी सबै मिलेर संविधानलाई संसोधन गरौं, परिवर्तन गरौं, सबैले श्रेय ल्याऔं। पुनः यो राष्ट्रलाई हिन्दू राष्ट्र कायम गर्न यही सदनबाट सबै सांसद्हरूलाई अनुरोध गर्छु’,उहाँले भन्नुभयाे । 

जबराले देशमा काण्डैकाण्ड भइरहेको भन्दै राप्रपाले यसबारे नियालीरहेको बताउनुभयाे। जबराले भन्नुभयाे, ‘चाहे त्यो एनसेल काण्डको कुरा होस् चाहे त्यो नक्कली भुटानी शरणार्थी काण्ड, अढाइ करोड। काण्डै काण्ड भएको कुरा राप्रपाले हेरिरहेको छ। राप्रपाले भ्रष्टाचार हुन दिनुहुन्न।’

एमाले सांसदको व्यङ्ग्य-‘स्वास्थ्यमन्त्रीको भाउ दुई करोड रहेछ,अरु मालदार मन्त्रीहरुको कति होला ?’

काठमाडौं – नेकपा एमालेका सांसद ऋषिकेश पाेखरेलले ‘स्वास्थ्यमन्त्रीको भाउ दुई करोड रहेछ’ भन्दै ब्यङ्ग्य गर्नुभएकाे छ । 

सोमबार प्रतिनिधिसभाको बैठकमा बाेल्नुहुँदै उहाँले यस्ताे ब्यङ्ग्य गर्नुभएकाे हाे । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो प्रकरण सार्वजनिक भएपछि उहाँले स्वास्थ्यमन्त्रीको भाउ दुई करोड रहेछ । अरु अरु मालदार मन्त्रीहरुको कति होला ? भन्दै व्यङ्ग्य गर्नुभयाे । 

आफूलाई स्वास्थ्यमन्त्री बन्ने अफर आएको र त्यसको लागि पार्टीलाई २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सांसद श्रेष्ठले दुर्गा प्रसाइँसँग घुस मागेको अडियो आइतबार बाहिरिएको थियाे । 

भ्रष्टाचारकै कारण नेताहरु सामाजिक रुपमै बहिष्करणमा पर्न सक्ने सांसद पोखरेलले भन्नुभयाे।

प्रधानमन्त्री प्रचण्डकाे काम निर्देशन दिनेबाहेक केही भएन : पदम गिरी

काठमाडौं – नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले देशमा आर्थिक संकट गम्भीर बन्दै जाँदासमेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिने बाहेक केहि गर्न नसकेको बताउनुभएकाे छ ।

सोमबार  संसदमा बाेल्नुहुँदै गिरीले प्रधानमन्त्री संसद्प्रति जवाफदेही नभएको बताउनुभयाे । 

गिरीले भन्नुभयाे,‘संसद्मा जनताका समस्याबारे घनिभूत छलफल गर्न सकेनौं । जनतामा निरासा सृजना भएको छ । संसद् बैठक २१ पटक बस्यो तर,उपलब्धी केहि हुनै सकेको छैन । एउटा ऐन समेत निर्माण हुन सकेको छैन । ’

युवाहरू गह भरी आँशु बोकेर विदेशीन बाध्य भएको र आम जनतामा ठूलो निरासा छाएको बताउनुभयाे । गिरीले भन्नुभयाे,‘संसद्मा आएर जवाफदेहि हुनुपर्छ,प्रधानमन्त् ज्यूले । आज सरकारका उपप्रधानमन्त्री पश्चिममा गएर देशको अर्थतन्त्र संकट छ भनेर बोल्नुहुन्छ, यहि कुरा संसद्मा प्रधानमन्त्री र अर्थ मन्त्रीले जवाफ किन दिनुहुन्न ?’

गिरीले प्रधानमन्त्री प्रचण्डले सत्ताको फोहोरी खेल खेलेर आनन्द लिइरहेको बताउनुभयाे । 

अमृतपाल खोज्न भारतीय सुरक्षाकर्मी नेपाल आउँदा हाम्रो सुरक्षा संयन्त्रमाथि अविश्वास भयो : रघुजी पन्त

काठमाडौँ – नेकपा एमालेका सांसद रघुजी पन्तले खालिस्तानी आन्दोलनकारी अमृतपाल सिंह खोज्न भारतीय सुरक्षाकर्मीहरु अनुमति विनै नेपाल आएर खोजिरहेको भन्दै यसले नेपालको सुरक्षा संयन्त्रप्रति अविश्वास पैदा भएको बताउनुभएको छ ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले नेपालले कुनै पनि विखडन र आतंककारी गतिविधिलाई नसघाउने भन्दै बाह्य देशका सुरक्षाकर्मीलाई अनुमति विना नेपाल आउन नेपालको कानुनले नदिएको बताउनुभयो।

‘वीरगञ्ज र बाँकेको जमुनाहा नाका भएर भारतीय सुरक्षा संयन्त्रका कर्मचारीहरु नेपाल प्रवेश गरेका छन् र उनीहरु अमृतपाल सिंह खोज्न आएका छन् भन्ने समाचारहरु छापिएका छन्’, उहाँले भन्नुभयो, ‘कुनै पनि बाह्य देशको सुरक्षाकर्मीलाई नेपालको कानुनले नेपालभित्र पसेर त्यसरी खोजबिन गर्ने अधिकार दिएको छैन ।’

उहाँले नेपाल स्वतन्त्र र सार्वभौम देश भएकाले यसले आफ्नो आत्मनिर्णयको अधिकार आफै प्रयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अरु देशबाट भागेर आएका अपराधीलाई पनि नेपालको सुरक्षा संयन्त्रले पक्रेको छ। उदाहरणको लागि चाल्र्स शोभराजलाई लिन सकिन्छ तर हाम्रो सुरक्षा संयन्त्रप्रति अविश्वास हुनेगरी अहिले भारतीय सुरक्षाकर्मी यहाँ आएर यसरी अमृतपाल सिंहलाई खोजिरहेका छन् भने हाम्रो सुरक्षा संयन्त्रप्रति अविश्वास उठ्यो ।’

सांसद श्रेष्ठको अडियो प्रकरणमा रास्वपाले संसद्‍मा माग्यो माफी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आफ्नो पार्टीका सांसद् ढाकाकुमार श्रेष्ठमाथि भएको घटनाले संसद्को सम्मानमा परेको चोटप्रति क्षमा माग्नुभएकाे छ । 

सोमबार संसद बैठकमा बोल्दै सांसद् परियारले श्रेष्ठको सार्वजनिक टेलिफोन संवादलाई गम्भीररुपमा लिएको बताउनुभयाे।

परियारले यो घटनाले आफूहरू कत्ति पनि विचलित नहुने जिकिर गर्नुभयाे।

श्रेष्ठको घटनाले संसद्को सम्मानमा परेको चोटप्रति क्षमा माग्दै परियारले भन्नुभयाे,‘यो संसद्को गरिमा बढाउने अभियानमा हामी अछुर्ण रहनेछौं । यो घटनाले हामीलाई कत्ति पनि विचलित गर्ने छैन भन्ने जानकारी गराउन चाहन्छु । ’

‘टेलिफोन संवादलाइ गम्भीररुपमा लिएको छ । छानविन पूरा नभएसम्म साधारण सदस्य समेत नरहने गरि निस्काशन गरिएको छ,’उने भने,’हाम्रो पार्टीले विधि,विधानलाई मान्छ ।  सुशासन र भ्रष्टाचारविरुद्धको अभियानलाई मान्छ । यो घटनालाई राष्ट्रिय स्वतन्त्र पार्टीले गम्भीर रुपमा लिएको छ । नेपालको राजनीतिमा यो घटना पहिलो भने होइन । यस्ता सबै घटनाको सत्यतथ्य छानविन हुनुपर्छ । ’

रास्वपा सांसद ढाकालले आफू स्वास्थ्यमन्त्री बन्न व्यापारी दुर्गा प्रसाईसँग २ करोड घुस मागेको अडियो सार्वजनिक भएको छ।

स्थानीय तहलाई सिंहदरवार आउनुपर्ने बाध्यताको अन्त्य गरियोस् : गगन थापा

काठमाडौं – कांग्रेस महामन्त्री गगनकुमार थापाले स्थानीय तहका प्रतिनिधि काम गराउन सिंहदरवार धाउनुपर्ने बाध्यता हटाउन माग गरेका छन् । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले देशभरका स्थानीय तहलाई काम गर्न सिंहदरवारर धाउनुपर्नेे बाध्यता तत्काल अन्त्य गर्नुपर्ने बताए ।

काठमाडौं महानगरपालिकाले सिंहदरवारसहितको स्थानको फोहोर उठाउन छाडेको घटनालाई लिएर उनले स्थानीय सरकारले आफ्नो अधिकार प्रयोग गरेर काम गर्न सक्ने वातावरण बनाउनुपर्ने उनले बताए । यसका लागि प्रधानमन्त्री आफैँँले तत्काल पहल गर्नुपर्ने सांसद थापाको माग छ । 

स्थानीय तहलाई काम गर्न सक्ने वातावरण बनाउन आवश्यक पर्ने कानुन बनाउन आफूहरु तयार रहेको भन्दै उनले यसका लागि प्रस्ताव ल्याउन सरकारलाई आग्रह गरे ।

एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

सुर्खेत – नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

सोमबारबाट लागू हुनेगरी सरकारलाई दिएको समर्थन फिर्ता लिइएको एमालेले जानकारी दिएको हो ।

मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिएको १५ दिन पनि नपुग्दै एमालेले समर्थन फिर्ता लिएको हो ।

आइतबार एमालेका तीन मन्त्रीले राजीनामा दिएका थिए ।

प्रधानमन्त्री प्रचण्डलाई गगन थापाको आग्रह : सिंहदरबारभित्रको फोहोर उठाउन बालेन शाहसँग तत्काल वार्ता गर्नुहोस्

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग तत्काल वार्ता गर्न ग्रह गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले यस विषयमा तत्काल बालेन शाहसँग वार्ता गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

मेयर बालेन शाहले संघीय सरकारप्रति असहमति प्रकट गर्दै सिंहदरबारभित्रको फोहोर नउठाउन निर्देशन दिएका छन् ।

‘प्रधानमन्त्रीलाई आग्रह मेरो आग्रह छ, काठमाडौं महानगरपालिका प्रमुखसँग तत्काल वार्ता गरियोस्, जायज माग पूरा गरियोस्, यसमा काठमाडौंबाट निर्वाचित जनप्रतिनिधिलाई पनि सहभागी गराइयोस्’ उनले भने ।

संघीय सरकारले बनाउनुपर्ने कानुन नबनाउँदा र अन्तर तह समन्वय गर्नुपर्ने संयन्त्रहरुलाई सक्रिय नराख्दा स्थानीय तह र प्रदेशहरुले राम्रोसँग काम गर्न नसकेको थापाले बताए ।

भ्रष्टाचारमा लागेको व्यक्तिलाई जनताको बीचमा कठालो समातेर ल्याउँछु : रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारमा लागेको व्यक्तिलाई जनताको बीचमा कठालो समातेर ल्याउने बताएका छन् ।

चितवनमा चुनावी अभियानका क्रममा बोल्दै उनले जसले गल्ती गरेपनि कारबाही गर्न सक्ने छाती लिएर हिँडेको बताए।

उनले भने, ‘कसैलाई बचाउनु छैन । मेरै नजिकका मेरै वरपर बसेका मान्छेहरूलाई आरोप लागेको छ । आज म आफैँ अख्तियारमा निवेदन दिनेछु । मेरै वरपर भएका ती मान्छे को हुन् रु छानबिन गर्नु, कारबाही गर्ने जिम्मा हामी पनि लिन्छौँ । सबैभन्दा ठूलो कारबाही गर्नू, निर्मम भएर कारबाही गर्नु भनेर हामीले भनेका छौँ । म थाकेको छैन । हैरान अवश्य भएको छु । तर, पनि हरेक प्रहारलाई सहन सक्ने क्षमता राख्नुपर्छ ।’

अदालत र निर्वाचन आयोगबाट नसकेपछि चुनावकै मुखमा पारेर यस्ता चिज आउनुको गहिरो अर्थ भएको pgn] बताएका छन् ।

केही नयाँ र गुणात्मक परियोजना अगाडि बढाइनेछ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमार्फत् केही नयाँ र गुणात्मक प्रकृतिका परियोजना अगाडि बढाउने बताएका छन् । 

सोमबार बिहान नेपाल चेम्बर अफ कमर्शको ७२औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले परम्परागत सोंचबाट माथि उठेर विगतभन्दा भिन्न, विगतभन्दा नयाँ, विगतभन्दा गुणात्मक केही नीति, कार्यक्रम र योजनाहरू अगाडि बढाउने गृहकार्य भइरहेको बताए । 

‘नेपाल सरकार आर्थिक वर्ष २०८०/०८१ को नीति कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा छ। परम्परागत सोच, नीति, कार्यक्रम र बजेटबाट मुलुकको समृद्धि सम्भव छैन भन्नेमा सरकार स्पष्ट छ। सरकारले यसपटक विगतभन्दा भिन्न, विगतभन्दा नयाँ, विगतभन्दा गुणात्मक केही नीति, कार्यक्रम र योजनाहरू अगाडि बढाउने गृहकार्य गरिरहेको छ, ताकि जसबाट मुलुकको विकास र समृद्धिमा गुणात्मक योगदान दिन सकियोस्, भविष्यमा आउने सरकारहरूले समेत त्यसबाट प्रेरणा लिन सकून्,’ प्रधानमन्त्री प्रचण्डले भने । 

यस्तो छ प्रधानमन्त्रीको बुँदागत सम्बोधन (पूर्णपाठ)

१. सर्वप्रथम म नेपाल चेम्बर अफ कमर्शको यो वार्षिक साधारणसभाको अवसरमा चेम्बरका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूमा हार्दिक बधाइ ज्ञापन गर्दछु। मुलुकको उद्योग–व्यापारको विकास र विस्तारमा निजी क्षेत्रको योगदान बढाउन चेम्बरले गरेको हालसम्मको प्रयासका लागि धन्यवाद व्यक्त गर्दै यहाँहरूको ७२ औं साधारण सभाको सफलताका लागि शुभकामना व्यक्त गर्दछु।

२. वि.स. २००७ सालमा स्थापित नेपाल चेम्बर अफ कमर्स नेपालको सबैभन्दा पूरानो वाणिज्य संगठन हो। यस संस्थाले स्थापनाकालदेखि नै उद्योग तथा वाणिज्य क्षेत्रको विकास र आर्थिक समृद्धिका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको छ।


३. चेम्बरले निजी र सरकारी क्षेत्रबीच समन्वयकारी भूमिका निर्वाह गरिरहेको छ। नेपाल चेम्बर अफ कमर्सले प्रदेश, जिल्ला तथा नगर चेम्बर अफ कमर्स, वस्तुगत संघ, आवद्ध संघ लगायत द्वीराष्ट्रिय वाणिज्य तथा उद्योग संघहरूको प्रतिनिधित्व गर्दै आएको छ। रजिष्टर्ड फर्महरू, व्यापार र उद्योग क्षेत्रका संघसंस्था, द्वराष्ट्रिय व्यापार तथा उद्योग संघहरू चेम्बरसँग आवद्ध रहिआएका छन्। 

४. ब्यवसायिक समुदाय र उद्योगपतिहरूबीच सहकार्य र एकता, विश्वव्यापी वाणिज्य, औद्योगिक संस्थासँग सम्पर्क विकास, राष्ट्रिय अर्थतन्त्रको सुधारका लागि सामूहिक प्रयास, महामारी र प्राकृतिक बिपत्तिहरूमा राहत र सामाजिक कार्यक्रमहरू आयोजना, औद्योगिक एवं व्यापारिक मेलाहरूको आयोजना, निकासी व्यापारलाई प्रोत्साहन, वाणिज्य र उद्योग सम्बन्धि शैक्षिक संस्थाहरू स्थापनाका लागि प्रोत्साहन, मुलुकमा रोजगारी सिर्जना र अर्थतन्त्रको सुधारलाई प्रमुख उद्देश्य बनाएर चेम्बर अगाडि बढिरहेको छ।


५. वैदेशिक लगानीका क्षेत्रहरू पहिचान गरी त्यस्तो क्षेत्रमा लगानी आकर्षित गर्न आवश्यक वातावरण गराउने, नेपाल सरकारले तर्जुमा गर्ने आर्थिक, मौद्रिक तथा वाणिज्य क्षेत्रसँग सम्वन्धित कानुन तथा नीति निर्माण सम्वन्धी पुनरावलोकन प्रक्रियामा समयसापेक्ष परामर्श दिनेसमेत काम गर्दै आएको चेम्बरले महिला चेम्बर, युथ चेम्बर बनाएर आफ्नो क्षेत्र बिस्तार मात्र गरेको छैन, सामाजिक जीवनका बहुआयमिक पक्षलाई व्यावसायिक सम्बन्धमार्फत् आर्थिक–सामाजिक सशक्तिकरणसमेत गरिरहेको छ। यो महत्वपूर्ण प्रयासका निम्ति चेम्बरप्रति हार्दिक आभार व्यक्त गर्दछु।

६. मुलुकको अर्थतन्त्र संचालनमा निजि क्षेत्रको ठूलो योगदान रहिआएको कुरा सर्वविदितै छ। कुल लगानीमा करिब दुईतिहाइ योगदान गर्ने निजी क्षेत्रले मुलुकमा उत्पादन र रोजगारी बढाउन साथै आवश्यकीय वस्तु तथा सेवाको आपूर्ति गर्न अग्रणी भूमिका खेल्दै आएको छ। राज्यका तिनै तहका सरकारहरुले नीति तथा योजना निर्माणमा निजि क्षेत्रसँग समन्वय गरिआएका छन्। यस क्रममा निजी क्षेत्रको तर्फबाट चेम्बरबाट प्राप्त सहकार्य, सुझाव एवं पृष्ठपोषणका लागि यहाँहरूप्रति धन्यवाद व्यक्त गर्दछु।

७. नेपाल सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने, सन् २०२६ मा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने र द्रूत साथै सन्तुलित विकास र समृद्धि हासिल गर्ने दिशातर्फ केन्द्रित छौं। यसका लागि सरकार र निजी क्षेत्र दुबैबाट हुने लगानीलाई वृद्धि गर्नुपर्ने साथै लगानीलाई उचित ढंगले प्राथमिकीकरण गर्नुपर्ने आवश्यकता छ।

८. हामीले हालसम्म अगाडि बढाएका प्रयासबाट सामाजिक–आर्थिक क्षेत्र केही प्रगति हासिल भएका छन्। बहुआयामिक गरिवी १७.४ प्रतिशतमा झरेको छ। शिक्षाको पहुँचमा महत्वपूर्ण प्रगति भएको छ। आधारभूत तहमा खुद भर्नादर ९५ प्रतिशत पुगेको छ। समग्र स्वास्थ्य सुविधाहरुमा जनताको पहुँचमा वृद्धि भएको छ। लैंगिक सशक्तिकरणमा उल्लेख्य सुधार भएको छ। आधारभूत खानेपानी सुविधामा ९५ प्रतिशत जनसंख्याको पहुँच पुगेको छ। विद्युत् विकासमा हाम्रो प्रगति उत्साहजन छ। सडक घनत्वमा सुधार भइरहेको छ र असमानता घटाउनेतर्फ उल्लेख्य काम भएको छ। 

९. पूर्वाधार निर्माण, औद्योगिक क्षेत्रको  विकास, कृषिको आधुनिकीकरण गर्ने जस्ता विषयमा हामीले अझै बढी ध्यान पु¥याउन जरूरी छ। खासगरी उत्पादन र रोजगारी वृद्धितर्फ हाम्रो आवश्यकता र सम्भावनाभन्दा भएको प्रगति ज्यादै न्यून छ। यसको फलस्वरूप पेट्रोलियम पदार्थ र औद्योगिक वस्तुमात्र नभई मुलुकभित्रै उत्पादन हुनसक्ने कृषिजन्य वस्तु पनि वर्षेनी खर्बौंको आयात गरिरहेका छौं। त्यसैगरी रोजगारीका लागि दैनिक दुईहजारभन्दा बढी युवाहरु विदेशिनु परेको अवस्था छ।

१०. मुलुकभित्र मुख्यगरी आन्तरिक उत्पादन र रोजगारी बढ्न नसकेमा अन्य क्षेत्रका उपलव्धि दिगो रहन सक्दैन भन्ने कुरा यसअघि अन्य मुलुकको उदाहरणबाट देख्थ्यौं, अहिले हामी आफैले भोगिरहेका छौं। यस सन्दर्भमा अबको बाटो भनेको सरकार र निजी क्षेत्रले उत्पादन र रोजगारी वृद्धिमा ध्यान केन्द्रित गर्नुपर्दछ। यसतर्फ चेम्बरको ध्यान जानेछ भन्ने मैले विश्वास लिएको छु।

११. मेरो नेतृत्वमा गठित सरकारले मन्त्रिपरिषदको पहिलो बैठकबाट नै चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रमा सुधार ल्याउन निजी क्षेत्रसँग सहकार्य गर्ने, निजी क्षेत्रमैत्री आर्थिक एवं मौद्रिक नीतिमा पहल गर्ने महत्वपूर्ण निर्णय गरेको थियो। त्यसयता व्यावसायी, वित्तीय संस्थाका प्रतिनिधि र आर्थिक क्षेत्रसँग सरोकार राख्ने सबैसँग अन्तरक्रिया गरिरहेको छु। देशको अर्थतन्त्र संकटबाट सुधारतर्फ उन्मुख हुनुमा सरकारका यिनै प्रयासहरू जिम्मेवार छन्। अर्थतन्त्रका आधारभूत सूचकहरू प्रारम्भिक रूपमा सकारात्मक दिशातर्फ बढिरहेका छन्।

१२. अर्थतन्त्र सुधारतर्फ उन्मुख भइरहे पनि पूर्णतः संकटमुक्त भइसकेको छैन। अर्थतन्त्रलाई सुधार ल्याई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा तीव्रताका साथ अगाडि बढ्न सरकार प्रतिवद्ध छ। यसका निम्ति सरकारलाई चेम्बर लगायतका निजी क्षेत्रको पूर्ण सहयोग रहनेछ भन्ने मैले विश्वास लिएको छु।

१३. नेपाल सरकार आर्थिक वर्ष २०८०।०८१ को नीति कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा छ। परम्परागत सोच, नीति, कार्यक्रम र बजेटबाट मुलुकको समृद्धि सम्भव छैन भन्नेमा सरकार स्पष्ट छ। सरकारले यसपटक विगतभन्दा भिन्न, विगतभन्दा नयाँ, विगतभन्दा गुणात्मक केही नीति, कार्यक्रम र योजनाहरू अगाडि बढाउने गृहकार्य गरिरहेको छ, ताकि जसबाट मुलुकको विकास र समृद्धिमा गुणात्मक योगदान दिन सकियोस्, भविष्यमा आउने सरकारहरूले समेत त्यसबाट प्रेरणा लिन सकून्। सरकारको यस प्रयासमा समेत यहाँहरूको महत्वपूर्ण साथ र सहयोग मिल्नेछ भन्नेमा सरकार विश्वस्त छ।

१४. अन्त्यमा अर्थतन्त्रको सुधारका निम्ति नेपाल चेम्बर अफ कमर्शले विगतमा झैं महत्वपूर्ण भूमिका खेल्ने विश्वासका साथ यहाँहरूको ७२ औं साधारण सभाको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै विदा हुन्छु, धन्यवाद।

असत्य कुरा गरेमा मलाई मात्रै होइन रविलाई पनि घिसार्नुपर्छ : ढाकाकुमार श्रेष्ठ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले असत्य कुरा गरेमा आफूलाई मात्रै नभई रवि लामिछानेलाई पनि घिसार्नुपर्ने बताउनुभएको छ । 

मन्त्री बन्नको लागि भन्दै व्यवसायी दुर्गा प्रसाइँसँग २ करोड रुपैयाँ घुस मागेको आरोप लागेपछि उहाँले यस्तो बताउनुभएको हो ।

टेलिभिजनको एक अन्तवार्तामा बोल्नुहुँदै उहाँले आफ्नो आवाज नभएको भन्दै आफूलाई फसाउने षड्यन्त्र भइरहेको जिकिर गर्नुभयो । 

‘त्यहाँ भएको स्वर मेरो होइन, सार्वजनिक भएको अडियोको स्वर र मेरो स्वर जाँच्नुपर्छ, मलाई फसाउने षड्यन्त्र भइरहेको ।’  उहाँले भन्नुभयो । 

‘असत्य कुरा गर्‍यो भने म मात्रै होइन रवि जी लाई पनि घिसार्नुपर्छ’,श्रेष्ठले थप्नुभयो । 

उहाँले आफ्नो भनाईलाई एडिट गरेर दुरुपयोग भएको र यो विषयमा अदालतमा समेत जान तयार रहेको बताउनुभएको छ । 

आफूलाई स्वास्थ्यमन्त्री बन्ने अफर आएको र त्यसको लागि पार्टीलाई २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सांसद श्रेष्ठले दुर्गा प्रसाइँसँग घुस मागेको अडियो आइतबार बाहिरिएको छ ।

युवा संघ नेपालको नवौँ महाधिवेशन उद्घाटन गर्न एमालेका अध्यक्ष ओली नेपालगन्जमा

नेपालगन्ज – राष्ट्रिय युवा संघ नेपालको नवौँ महाधिवेशन उद्घाटन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालगन्ज पुग्नु भएको छ । युवा संघको नवौँ महाधिवेशन आजदेखि चैत २९ गतेसम्म चल्ने छ । 

अध्यक्ष ओलीको साथमा पार्टी उपाध्यक्ष विष्णु पौडेल, जनसंगठन समन्वय संयन्त्रका संयोजक रहनुभएका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल पनि कार्यक्रममा भाग लिन नेपालगन्ज जानुभएको हो ।

विमानस्थलमा अध्यक्ष ओलीलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य एव राष्ट्रिय युवा संघ नेपालका इञ्चार्ज महेश बस्नेत, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेललगायतले स्वागत गर्नुभएको थियो ।

महाधिवेशनमा भाग लिन देशभरका युवा नेपालगन्जमा जम्मा भएका छन् । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै विभिन्न राजनीतिक प्रस्ताव समेत पास गर्दै छ ।

बालेनलाई गृहमन्त्रीको जवाफ- कामको औचित्य पुष्टि हुनेगरी आए संघीय सरकारले सहयोग गर्छ

चितवन – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गर्न लागेको कामको औचित्य पुष्टि हुनेगरी आए स्थानीय तथा प्रादेशिक सरकारलाई संघीय सरकारले सहयोग गर्ने बताएका छन् । 

काठमाडौं महानगरलाई संघीय सरकारले सहयोग नगरेकाले सिंहदरवारको फोहोर नउठाउने निर्णय गर्नुपरेको महानगर प्रमुख बालेन्द्र (बालेन) शाहले बताएपछि जवाफ स्वतरुप उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले आफूले गर्न लागेको कामको औचित्य पुष्टि हुनेगरी आए प्रादेशिक र स्थानीय सरकारलाई सहयोग गर्न सकिने बताएका हुन् । 

तर, स्थानीय वा प्रदेश सरकारले बल प्रयोग गर्न अनुरोध मात्र गर्ने जानकारी दिएर नहुने उनको भनाइ छ । सोमबार बिहान चितवन पुगेका उपप्रधानमन्त्री श्रेष्ठले औचित्य पुष्टि हुने गरी तथ्यगत रूपमा आए स्थानीय र प्रदेश सरकारसँग समन्वय गर्न सकिने बताएका हुन् । 

संविधानले दिएको जिम्मेवारीलाई पूरा गर्न प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्न संघीय सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । 
 

कर्णाली सरकारबाट बाहिरियो एमाले

सुर्खेत – कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।

नेकपा माओवादी र एमालेबीचको सहमति अनुसार गठन भएको सरकारबाट आज नेकपा एमाले बाहिरिएपछि अब नेपाली कांग्रेस सरकारमा सहभागि हुने निश्चित भएको हो ।

मुख्यमन्त्री राजकुमार शर्मासामू नेकपा एमालेका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री विनोद कुमार शाह, उद्योग, पयटन वन तथा वातावरण मन्त्री जीतबहादुर मल्ल र सामाजिक विकास मन्त्री टेकराज पछाईले राजीनामा दिएका छन् ।

धनगढीबाट लागूऔषधसहित चार युवा पक्राउ

धनगढी – कैलालीको धनगढीबाट प्रहरीले लागूऔषधसहित चार युवालाई पक्राउ गरेको छ। धनगढीका विभिन्न स्थानबाट लागूऔषधसहित चार जना युवा पक्राउ परेका हुन्।

धनगढी उपमहानगरपालिका–२ मिलन चोकबाट २ सय मिलिग्राम लागूऔषधसहित दुई जना शनिबार साँझ पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा धनगढी–२ का ४० वर्षीय ओम अधिकारी र सोही स्थानका २२ वर्षीय भुपेन्द्र मिश्र रहेका छन्। वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगरसहित दुबै जनालाई पक्राउ गरेको हो।

त्यस्तै धनगढी उपमहानगरपालिका–७ मनेहराबाट लागूऔषधसहित थप दुई जना पक्राउ परेका छन्। २ सय ६० मिलिग्रामसहित शनिबार साँझ प्रहरीले धनगढी–७ का १८ वर्षीय किशोर र जोशीपुर गाउँपालिका–४ का २० वर्षीय असिम सागर चौधरीलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको जनाएको छ।

धनगढीका विभिन्न स्थानबाट पछिल्लो समय लागुऔषध ओसापसार, विक्रीवितरण सेवनमा संकग्नहरु धमाधम पक्राउ पर्न थालेका छन्। लागुऔषधको जालो सहर हुँदै गाउँसम्मै फैलिएपछि यस कार्यमा संलग्नहरु दैनिक रुपमा पक्राउ पर्न थालेको कैलाली प्रहरीले जनाएको छ। लागुऔषध सेवनकर्ता गाउँगाउँमा रहेको स्थानीयले बताएका छन्।