`

सांसद डा ढाकाकुमार श्रेष्ठमाथि छानबिन गरि प्रतिवेदन बुझाउन रास्वपाको निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद डा ढाकाकुमार श्रेष्ठले दुई करोड मागेको सार्वजनिक अडिओमाथि छानबिन गरि तीनदिनभित्र प्रतिवेदन बुझाउन पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिइएको छ । 

प्रवक्ता तथा महामन्त्री डा मुकुल ढकालले आइतबार विज्ञप्ति निकालेर छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारवाही नगर्न नगराउन समेत डा. श्रेष्ठलाई निर्देशन दिइएको जानकारी दिएका छन् ।

अहिलेको सरकारले अर्थतन्त्र ध्वस्त बनायो : अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले अर्थतन्त्र ध्वस्त बनाएको बताएका छन् ।

आइतबार धादिङको रुवी भ्यालीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले एमालेको सरकार नबनेसम्म देश नबन्ने र अर्थतन्त्र नसुध्रने दाबी गरेका छन् ।

उनले भने, ‘बहुमत नहुनु बेग्लै कुरा हो । तर, अहिले पनि संसद र सबै प्रदेशमा बलियो पार्टी एमाले नै हो । त्यसैले अर्को निर्वाचनमा हामी सबै मिल्दा पनि एक्लै बहुमत आउने गरी काम गर्नुपर्छ । त्यसैले मिसन ग्रासरुट अभियान चलाएका छौं ।’

अहिलेको सरकारले अर्थतन्त्र ध्वस्त बनाएकाले धेरै विकासको बजेट आउने अपेक्षा गर्न नसकिने बताए । एमाले सिध्याउने षड्यन्त्रका साथ घेराबन्दी हुँदा समेत पहिलो पार्टी बनेको जिकिर गरे ।

श्रम आयोग गठनका लागि सबै क्षेत्रबाट दबाबको आवश्यकता छ : शेखर कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले श्रमिक वर्गको माग सम्बोधन गर्न श्रम आयोग गठन गर्नुपर्ने बताएका छन ।

नेपाल ट्रेड युनियन कांग्रेसनिकट नेपाल यातायात मजदुर सङ्घको सातौँ राष्ट्रिय महाधिवेशनको आज वीरगञ्जमा उद्घाटन गदै उनले भने – “संविधान बन्ने क्रममा श्रम आयोगको कुरा उठाएको थिए, तर यसमा ध्यान पुगेन ।” श्रम आयोग बनाउन सबैको ध्यान जानुपर्नेमा डा कोइरालाले जोड दिए ।

आयोग गठनका लागि सबै क्षेत्रबाट दबाबको आवश्यकता रहेको उनको भनाइ थियो । लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन मजदुरको ठूलो भूमिका रहेको उल्लेख गदै कोइरालाले श्रमिक वर्ग सवल र सक्षम भए मात्र लोकतान्त्रिक व्यवस्था मजबुत हुने बताए ।

संविधानमा मधेसी, महिला र दलित वर्गको प्रतिनिधित्व सुनिश्चित गरिए जस्तै श्रमिकको प्रतिनिधित्व सुनिश्चितामा उनले जोड दिए । यसका लागि श्रमिक सङ्गठित भएर लाग्नुपर्ने नेता कोइरालाको भनाइ थियो ।

मजदुर नै कांग्रेस पार्टीका जन्मदता हुन्”, डा कोइरालाले भने, “तर कांग्रेसले जसरी मजदुरका सवालमा गम्भीर हुनुपर्दथ्यो त्यो हुनसकेको छैन्, केबल समस्या परेका बेला मजदुरलाई खोज्ने र समस्या हल भएपछि बिर्सिदै आएको छ ।”

हालको यातायात व्यवस्था ऐन २० वर्ष पुरानो भइसकेकाले त्यसमा संशोधन गरी यातायात मजदुरका सवाललाई सम्बोधन गर्नुपर्ने नेता कोइरालाले बताए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य अजय चौरसियाले सातवटै प्रदेशमा मजदुरका लागि छुट्टै अस्पताल बनाउनुपर्ने बताए । यातायात क्षेत्रलाई पूर्ण रुपमा सुरक्षित बनाउनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य श्याम पटेल, पूर्व सांसद शोभाकर पराजुलीलगायतले आफ्नो धारणा राखेका थिए । वीरगञ्जस्थित टाउन हलमा सुरु भएको नेपाल यातायात मजदुर सङ्घको राष्ट्रिय महाधिवेशनमा देशभरीका मजदुर नेताको सहभागिता छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने आयोजकले जनाएको छ ।

क्रिकेटर लामिछानेको मुद्दामा डाक्टर र साहब आलमको बकपत्र लिन आदेश

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा आज अदालतले थप दुई व्यक्तिका बकपत्र लिन आदेश दिएको छ ।

आइतबार भएको सुन्वाइमा पीडितको स्वास्थ्य चाँच गर्ने डाक्टरको साटो अर्कोलाई पठाएर बकपत्र गराएको भेटिए पछि न्यायाधीश शंकरराज बरालको इजलासले ‘स्वास्थ्य परीक्षण गर्ने चिकित्सक नै झिकाउनू’ भनी आदेश गरेको छ । साथै सन्दीपका साथी क्रिकेट खेलाडी साहब आलमको बकपत्र छुटेकाले उनलाई समेत झिकाउनु भन्ने आदेश गरेको अदालत स्रोतले बताएको छ ।

आजको सुनवाइ सुरू हुनासाथ वादीतर्फका वकिलहरूले मेडिकल टिमका मुख्य डाक्टरको बकपत्र चाहिने माग गरेका थिए । यसअघि मुख्य डाक्टरको ठाउँमा सहयोगी डाक्टरको बकपत्र राखिएकोमा त्यसलाई अस्वीकार गर्दै वकिलहरूले सो माग गरेका हुन् । न्यायाधीश शंकरराज बराले सरकारी वकिलहरूको मागअनुसार मुख्य डाक्टरकै बकपत्र राख्न आदेश गरेका छन् ।

चारजना प्रहरी अतिरिक्त महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं – प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका चारजनालाई आइतबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ । 

२४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो । 

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गररेका हुन् । 

कर्मचारीलाई तलब खुवाउन ऋण गर्नेले कसरी देश विकास गर्छन् ? : गुरु घिमिरे

इलाम – नेपाली कांग्रेसका नेता गुरु घिमिरेले नेपाली काँग्रेसका उपसभापति एवम् उपप्रधानमन्त्री पूर्ण बहादुर खड्कामाथि कटाक्ष गर्नुभएको छ ।

इलाममा जारी इलाम साहित्य महोत्सवमा ‘राजनीतिमा एजेन्डा कि अनुहार’ शीर्षक प्यानलमा बोल्दै घिमिरेले कर्मचारीलाई तलब खुवाउन ऋण लिनेले देश विकास कसरी गर्छन् भन्दै प्रश्न गर्नुभयो । 

रक्षामन्त्री समेत रहनुभएका खड्कालाई संकेत गर्दै घिमिरेले भन्नुभयो, ‘अस्ति सरकारका उच्च ओहोदाका मान्छेको अन्तर्वार्ता सुनेको थिए । उनी कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था आएको भन्दै थिए’, घिमिरेले भने, कर्मचारीलाई तलब खुवाउन ऋण लिनेले देश कसरी विकास गर्छन् ?’

खड्काले गृह जिल्ला सुर्खेत पुगेर कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था भएकाे बताउनुभएकाे थियाे । 

‘मुलुकको अर्थतन्त्र ऋणात्मक बनिरहेको, कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था रहेको छ,’ उहाँले भन्नुभयाे।

उहाँले काङ्ग्रेस कम्युनिस्ट र अरू सबै दलहरू अहिलेको अवस्थामा जिम्मेवार हुने बताउनुभयो । 

सानिमा मिडल तमोर हाइड्रोपावरको आईपीओ सूचीकृत

काठमाडौं – नेपाल स्टक एक्सचेन्जमा सानिमा मिडल तमोर हाइड्रोपावरको आइपीओ सूचीकृत भएको छ । ‘टीएएमओआर’ संकेतबाट सूचीकृत भएको हो । 

सानिमा मिडलको चुक्ता पुँजीका आधारमा कायम ३ करोड ३३ लाख २५ हजार कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेले यसको ओपनिङ रेन्ज अर्थात् पहिलो कारोबार न्यूनतम ९८ रुपैयाँ ४३ पैसादेखि अधिकतम २९५ रुपैयाँ २९ पैसाभित्र रहेर हुनेछ ।

सूचीकृत पश्चात कम्पनीको सेयर कारोबार सोमबार (चैत २७ गते) देखि खुला हुनेछ ।

घुस मागेको अडियो सार्वजनिक भएपछि सांसद श्रेष्ठ निलम्बनमा

काठमडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पहिलोपटक विस्तार हुँदा नै पार्टीका तर्फबाट स्वास्थ्यमन्त्री बन्ने भन्दै उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई निलम्बन गरेको हो ।

समानुपातिक पद्धतिबाट सांसद बनेका श्रेष्ठले व्यवसायी प्रसाईंसँग आफू मन्त्री भएपछि सहयोग गर्छु भन्दै दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको हाे ।

उनीमाथि सो विषयमा थप अनुसन्धानगरि छानबिन अगाडि बढाउन निलम्बन गरिएको रास्वपाले जनाइएको हो।

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ ।

आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै श्रेष्ठले रकम मागेको सार्वजनिक भएको अडियोमा प्रष्ट सुनिएको छ ।

अडियो सार्वजनिक भएपछि रास्वपाले छानबिन गर्ने भएको छ । सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सांसद श्रेष्ठलाई निलम्बन गरेर छानबिन लागि समिति बनाउने पार्टीको तयारी छ ।

एभरेष्ट एयरको हेलिकोप्टर धौलागिरी आधार शिविरमा दुर्घटना

काठमाडौं – एभरेष्ट एयरको हेलिकोप्टर धौलागिरीमा दुर्घटना भएको छ । आज (आइतबार) बिहान सम्पर्कबिहीन भएको एभरेष्ट एयरको हेलिकोप्टर धौलागिरी बेसक्याम्प नजिकै दुर्घटनामा परेको हो ।

धौलागिरी बेसक्याम्पबाट इटालियन बेसक्याम्पमा सामान लिएर जाने क्रममा एभरेष्ट एयरको हेलिकोप्टर आज बिहान ११ बजे पल्टिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौंलाले जानकारी दिनुभयाे ।

उहाँका अनुसार पाइलट सकुशल छन् । पाइलट सामान्य घाइते भएको बताइएको छ । त्यहाँको अवस्था बुझ्न अर्को हेलिकोप्टर गएको छ ।

युवा संघ नेपालको नवौ राष्ट्रिय महाधिवेशनमा महिला प्रतिनिधित्व ३३ प्रतिशत सुरक्षित गरिने छ : महेश बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य एवम युवा विभाग इन्चार्ज महेश बस्नेतले राष्ट्रिय युवा संघ नेपालको नवौ राष्ट्रिय महाधिवेशनमा महिला प्रतिनिधित्व ३३ प्रतिशत सुरक्षित गरिने दावी गर्नु भएको छ ।

बाँकेको नेपालगञ्जमा चैत २७ देखि २९ गतेसम्म हुने महाधिवेशनका महाधिवेशनको तयारीका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले समग्र युवा आन्दोलनको समिक्षा गर्दै युवालाई सामाजिक रुपान्तरण गर्न महाधिवेशनले मार्गनिर्देशन गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,“रचनात्मक, सिर्जनशिल र नवीनतम काम गर्दै आईरहेको युवा संघ नेपाल बाघ संगठन हो, महाधिवेशनमा समसामयिक राजनीति र युवा आन्दोलनमा भ्रष्टिकरण र अपराधीकरणलाई परास्त गर्दै अवको कार्यदिशाको गम्भीर समिक्षा हुनेछ । युवा आन्दोलनमा अराजकतावादी तत्वको प्रभाव पर्न दिईनेछैन । ”

उहाँले राष्ट्रिय युवा संघको नवौ राष्ट्रिय महाधिवेशनबाट कुनै प्रदेशमा धेरै पदाधिकारी, केन्द्रीय सदस्य पर्ने र कुनै प्रदेशमा कोही पनि नपर्ने परिपाटीको अन्त्य गर्दै महिला प्रतिनिधित्व ३३ प्रतिशत सुरक्षित गरिने दावी गर्नुभयो ।

त्यस्तै पत्रकार सम्मेलनमा राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । कर्णाली र सुदूरपश्चिम प्रदेशलाई समेत पायक पर्ने गरी लुम्बिनी प्रदेशको नेपालगञ्जमा महाधिवेशन गरिएको उल्लेख गर्दै उहाँले दशकपछि हुन थालेको महाधिवेशनले नेतृत्व चयनमात्रै नभई युवाका अहिलेका मुद्दा र राजनीतिप्रति युवाको निराशालाई समेत सम्वोधन गर्ने जानकारी दिनुभयो ।

“नेतृत्व चयनको लागि सर्वसहमत वा निर्वाचन गर्ने भन्ने प्रतिनिधिको जे माग हुन्छ त्यहि भावना अनुसार अघि बढिने छ”,उहाँले भन्नुभयो,“पार्टी र युवा संघमा राजनीतिक वा बैचारिक कुनै गुटबन्दी छैन पद प्राप्तीको लागि टकराव हुनसक्छ यसलाई हामीले व्यवस्थापन गर्नेछौँ ।”

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनको उद्घाटन समारोहलाई भव्य बनाउन मञ्च व्यवस्थापन, आवास तथा खाद्य व्यवस्थापन, प्रतिनिधि व्यवस्थापन लगायतका कामहरु धमाधम भईरहेको राष्ट्रिय युवा संघ नेपालका प्रवक्ता महाराज गुरुङले जानकारी दिनु भयो ।

महाधिवेशनको उद्घाटन समारोहलाई भव्य र ऐतिहासिक बनाउने गरी मञ्च निर्माणको कार्य भईरहेको उहाँको भनाई छ । महाधिवेशन उद्घाटन समारोहमा नेकपा (एमाले) बाँकेसँगको समन्वयमा दश हजार बढि जनपरिचालन गरिने उहाँको भनाई रहेको छ ।

महाधिवेशन उद्घाटन समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा (बादल), महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य एवम् मोर्चा संगठन इन्चार्ज भानुभक्त ढकाल, पोलिटव्यूरो सदस्य महेश बस्नेत लगायतका नेताहरु सहभागि हुनुहुने भएको छ ।
महाधिवेशनको तयारीको लागि संघका केन्द्रीय अध्यक्ष किरण पौडेल, केन्द्रीय उपाध्यक्षहरु, महासचिव लगायतका नेताहरु कार्यक्रम स्थल नेपालगन्जको होटल स्नेहमा खटिनु भएको छ ।

महाधिवेशनमा भाग लिन देशभरीका दुईहजार बढि प्रतिनिधि र अतिथिहरु नेपालगन्ज आउने स्वास्थ्य विभाग प्रमुख तथा कोशी प्रदेश कमिटिका सह–इन्चार्ज निरोज पौडेल जानकारी दिनु भयो ।

नागरिकता विधेयक छिट्टै प्रमाणीकरण गर्न राष्ट्रपति पौडेललाई बालकृष्ण खाँणको आग्रह

काठमाडाैँ – सत्तारुढ नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँणले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्नुभएकाे छ । 

संघीय संसद्को दुवै सदनले पास गरी दोस्रो पटक पठाइएको सो विधेयकलाई प्रमाणीकरण गरेर राष्ट्रपति पौडेलले नागरिकताविहीनलाई नागरिकता दिने कानुनी प्रबन्ध गर्नुपर्ने उहाँको भनाइ छ । 

नेपाल प्रेस युनियन, धनुषाले आइतबार जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बाेल्नुहुँदै उहाँले नागरिकता विधेयक प्रमाणीकरणका लागि आवश्यक वातावरण बनाउन सरकार र राजनीतिक दलहरुको पनि ध्यान जानुपर्नेमा जाेड दिनुभयाे । 

उहाँले संविधानको प्रावधान अनुसार नै आएकाले सो विधेयकलाई प्रमाणीकरण गर्न ढिलाइ गर्नुपर्ने कुनै कारण नरहेको बताउनुभयाे । 

संविधान अनुसार संघीय संसदका दुवै सदनले पास गरी दोस्रोपटक प्रमाणीकरणका लागि पठाइएको सो विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालयमै छ ।

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३ को बिक्री खुला

काठमाडौं – सिद्धार्थ क्यापिटलले आज चैत २६ गते आइतबारदेखि ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३’ फन्ड बिक्री खुला गरेको छ । सिद्धार्थ क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ इकाई बिक्रीमा ल्याएको छ । यो बन्दमुखी योजना हो ।

क्यापिटलले सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत १२ करोड इकाई बिक्री खुल्ला गरेको हो । जसमध्ये फन्डले १० प्रतिशत अर्थात १ करोड २० लाख इकाई कोष प्रवद्र्धक सिद्धार्थ बैंक र इकाई कोष व्यवस्थापक सिद्धार्थ क्यापिटलका लागि ५ प्रतिशत अर्थात ६० लाख सुरक्षित गरिएको छ । बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरेको हो । 

फन्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिन्छ । यसमा चैत २९ गतेसम्म आवेदन दिन सकिन्छ । सो समयमा सबै इकाई बिक्री नभएमा २०८० साल वैशाख १० गतेसम्म आवेदन खुला रहने छ ।

यस इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । सिद्धार्थ क्यापिटल सिद्धार्थ बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

सन्दिप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश बरालको इजलासमा

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाई आज हुँदैछ ।

जिल्ला अदालत काठमाडौंले आज तोकिएको पेसी न्यायाधीश शंकरराज बरालको इजलासमा परेको हो ।

यसअघि दुईपटक तोकिएको पेशी लगातार स्थगित भएका थिए । गत बिहीबार तोकिएको पेशीलाई सुनवाइ गर्न समयअभावका कारण नभ्याइनेमा राखिएको थियो ।

जिल्ला अदालतको २ नम्बर इजलासमा परेको पेशी ३ नम्बरमै पालो परेको छ ।

प्रदेश सांसद पाँचकर्ण राईमाथिको दुर्व्यवहार सुनियोजित : नेकपा एमाले

खोटाङ –  नेकपा एमाले खोटाङले प्रदेशको नामाकरणको विषयलाई लिएर सुनियोजितढंगबाट प्रदेश सांसद पाँचकर्ण राई (पिके)माथि दुव्र्यवहारको प्रयास भएको जनाएको छ ।

जिल्ला समन्वय समितिको सातौं जिल्लासभामा अतिथिका रुपमा बोलाइएका प्रदेश सांसद राईमाथि शनिबार पहिचान पक्षधरको नाममा पार्टीका कार्यकर्तालाई परिचालन गरेर दुव्र्यवहारको दुष्प्रयास भएको भन्दै एमालेले विज्ञाप्तिमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एमालेका सचिव कुमार आचार्यले आइतबार विज्ञाप्तीमार्फत कार्यक्रममा अतिथिका रुपमा आमन्त्रण गरी केही पार्टीका नेताहरुको ईसारामा योजनावद्ध ढंगले जिल्लासभाको रोस्टम प्रयोग गरी एमालेबाट निर्वाचित प्रदेश सांसद राईलाई आक्रमण गर्ने दुष्प्रयास भएको प्रतिक्रिया दिएका छन् । 

 विज्ञाप्तिमा प्रदेशको नामाकरणको निर्णय गर्ने प्रकृयामा सहभागी भएकै दलका जनप्रतिनिधि तथा नेताहरुको इसारामा एमालेबाट निर्वाचित जनप्रतिनिधिमाथि लक्षित गरी आक्रमणको प्रयास गर्ने तथा एकतर्फी दोषारोपण गरेर निरन्तर प्रहार गर्ने हर्कतप्रति घोर भर्त्सना गरिएको छ ।

‘केही जनप्रतिनिधिको संलग्नतामा पहिचान पक्षधरको नाममा पार्टीका कार्यकर्तालाई परिचालन गरी प्रदेश नामाकरणको विषयलाई लिएर सुनियोजितढंगबाट कार्यक्रम हलभित्र प्रवेश गराई माननीय पाँचकर्ण राई (पिके)लाई दुव्र्यवहारको दुष्प्रयास गर्न खोजेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञाप्तिमा भनिएको छ, ‘प्रदेश नामाकरणको निर्णय प्रकृयामा अधिकांश दलहरु सहभागी हुने तर निर्णय प्रकृयामा सहभागी भएका तिनै दलको जनप्रतिनिधि तथा नेताहरुको ईसारामा हाम्रो पार्टी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिमाथि लक्षित गरी आक्रमणको प्रयास गर्ने तथा एकतर्फी दोषारोपण गरेर निरन्तर प्रहार जस्ता हर्कतप्रति घोर भर्त्सना गर्दछ ।’ 


यस्तो थियो घटना 

पहिचानपक्षधर समूहले जिल्लासभाको कार्यक्रम हलभित्रै सांसद राईविरुद्ध नाराबाजी गरेर कालो झण्डा देखाएका थिए । यायोक्खाका अध्यक्ष युगसन किरातले कार्यक्रम सञ्चालकसँग समय मागेर आफ्नो धारणा राखेपछि नाराबाजी सुरु गरिएको थियो । बिरोधमा उत्रिएका समुहले प्रदेश सांसद राईलाई कालो मोसो दल्ने प्रयास गरेका थिए । परैबाट हानिएको कालो पदार्थको छिटा प्रदेश सांसद राई, पुर्वसांसद कुलप्रसाद फुयाँल र जिल्ला समन्वय समितिका पुर्वप्रमुख बबी चाम्लिङको शरीरमा लागेको थियो । कार्यक्रममा प्रतिनिधिसभा सांसद रामकुमार राई प्रमुख अतिथिका रुपमा उपस्थित थिए । कोशी प्रदेशको नाममा मतदान गर्ने सांसद तथा मन्त्रीलाई जिल्ला प्रवेश नगर्न आव्हान गरिएको तर त्यस विपरित गरिएकाले बिरोध गरिएको यायोक्खाका अध्यक्ष किरातले बताए ।

    बिरोधमा उत्रिएका समुहले प्रदेश सांसद भूपेन्द्र राई बिरुद्ध पनि नाराबाजी गरेका थिए । प्रदेश सांसद भुपेन्द्र भने कार्यक्रममा उपस्थित थिएनन् । बिरोध प्रदर्शन गर्नेक्रममा यायोक्खाका अध्यक्ष किरात, सह–कोषाध्यक्ष डार्विन राई, यायोक्खाको दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटिका पुर्वउपाध्यक्ष सप्तमणी राई र जसपाका जिल्ला सचिव सुनिल चाम्लिङ पक्राउ परेका थिए । उनीहरु केही घण्टामै रिहा भएका थिए ।

यायोक्खाले चैत २० गते प्रेस विज्ञाप्तिमार्फत कोशी प्रदेशको नाममा मतदान गर्ने सांसद एवं मन्त्रीलाई जिल्लामा हुने कुनै पनि कार्यक्रममा अतिथिका रुपमा नल्याउन आग्रह गरेको थियो । प्रदेशको किरात नामाकरणको विषयमा असहमती राख्दै यायोक्खा, जनता समाजवादी, जनजाती महासंघ लगायतका पहिचान पक्षधर पार्टी तथा संगठनले बिरोधका कार्यक्रम गर्दैआएको छ । 

अमेरिकी डलरको कारोबार स्थिर, युरोकाे भाउ बढ्याे

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

आइतबार अमेरिकी डलरको कारोबार स्थिर रहेको छ। यसअघि शुक्रबार डलरको भाउ १९ पैसाले घटेको थियो । आइतबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३२ पैसा कायम गरिएको छ । यसअघि शुक्रबार पनि उक्त डलरको खरिदबिक्री सोही मूल्यमा भएको थियो ।  

नेपाल राष्ट्र बैंकका अनुसार आइतबार युरोपियन युरोमा उकालाे लागेको छ । युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३१ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा १३ पैसाले बढेको हो । शुक्रबार युरो एकको खरिदमूल्य १४२ रुपैयाँ ५२ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ १८ पैसा कायम गरिएको थियो।  

आइतबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा तोकिएको छ। यो मूल्य शुक्रबारको तुलनामा एक रुपैयाँ २६ पैसाले घटेको हो । शुक्रबार यसको खरिदमूल्य १६२ रुपैयाँ ८७ पैसा र बिक्रीमूल्य १६३ रुपैयाँ ६२ पैसा कायम गरिएको थियो ।  

त्यसैगरी, आइतबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ३८ पैसा र बिक्रीमा ८७ रुपैयाँ ७७ पैसा तोकिएको छ । 

यता, क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ८२ पैसा र बिक्रीमा ९७ रुपैयाँ २६ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९२ पैसा कायम गरिएको छ । 

आइतबार साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७६ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ६९ पैसा र बिक्रीदर २९ रुपैयाँ ८३ पैसामा पाइनेछ । 

उता, कुवेती दिनार एकको खरिदमा आइतबार ४२६ रुपैयाँ ८ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ३ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ३५ पैसा तोकिएको छ।
 

सर्लाहीबाट २६८ थान नक्कली नोटसहित एक जना पक्राउ

सर्लाही – सर्लाहीबाट २६८ थान नक्कली नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बरहथवा नगरपालिका-१७ बागमती सिचाई नहरस्थित सडकबाट नेपाली एक हजार दरको २ सय ६८ थान नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

बलरा नगरपालिका-५ अर्नाहा बस्ने ३० वर्षीय रामप्रसाद रायलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय बरथहवाबाट खटिएको प्रहरीले बिआर ३० एम ३८२५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक रामप्रसादबाट उक्त नोट बरामद गरेको हो । 

कागजको बन्डल २४ थान, २ रिम प्रिन्टर पेपर, र पत्रिका १ बन्डल पनि उनीबाट बरामद भएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको तत्कालीन र दीर्घकालीन सुधारको खाका १५ दिन भित्र पेस गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तत्कालीन र दीर्घकालीन सुधारको खाका १५ दिन भित्र पेस गर्न निर्देशन दिएका छन् ।

शनिबार विमानस्थलस्थित अध्यागमन कार्यालयको अनुगमन तथा निरीक्षणका साथै सेवाग्राहीको गुनासो सुन्दै उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले विमानस्थलको विभिन्न विषयमा सुधारका लागि खाका तयार गरी १५ दिन भित्र पेस गर्न निर्देशन दिएका हुन् ।

सेवा प्रवाहको अवस्था, सेवाग्राहीले भोग्ने गरेका दुःख र हैरानी, लगेजको सुरक्षाको प्रश्न, राष्ट्रिय सुरक्षालाई केन्द्रमा राखेर ‘अपराध र अपराधी’ नियन्त्रणमा शून्य सहनशीलता, डिजिटलाईजेसन लगायतको विषयमा सुधारको खाका तयार पार्न उनले निर्देशन दिए । त्यस्तै श्रेष्ठले विमानस्थलमा श्रमिकलाई सम्मानजनक व्यवहार र पर्यटकलाई राम्रो सत्कार गर्ने पक्षमा कोही नचुक्न पनि निर्देशन भएको छ ।

नेपालमा ६४ जना कोरोना संक्रमित थपिए

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १ हजार १७० नमुना परीक्षण गर्दा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार हाल देशभरमा ३५७ संक्रिय संक्रमित रहेका छन् । उनीहरूमध्ये १५ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् भने १५ जनाको आईसीयू र ५ जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ ।

सभामुखको कार्यकक्षमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबिच सामुहिक भेटघाट (फोटो फिचर)

काठमाडौं – प्रतिनिधिसभाका सभामुखको कार्यकक्षमा शिर्ष नेताहरुको भेटघाट भएको छ ।

प्रतिनिधिसभाको बैठकलाई अघि बढाउने सन्दर्भमा सो भेट भएको हो । 

देशले समृद्ध नेपाल सुखी नेपाली चाहिरहेको छ : अध्यक्ष ओली

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले देशले समृद्ध नेपाल सुखी नेपाली चाहिरहेको बताउनुभएकाे  छ ।

शनिबार अनेमसंघको सातौ राष्ट्रि सम्मेलनको उद्घाटमा बोल्दै उहाँ समृद्ध नेपाल सुखी नेपाली विचारहरूकाे पनि विचार रहेको बताउनुभयाे । 

‘देशले समृद्ध नेपाल सुखी नेपाली चाहिरहेको छ । हाम्रो राष्ट्रिय आकांक्षा नेपाल समृद्ध हुनुपर्छ नेपाली खुसी हुनुपर्छ  । समृद्ध नेपाल सुखी नेपाली विचारहरूको पनि विचार, आजको जनताको बुदलीय जनवाद हो,’ उहाँले भन्नुभयाे । उहाँले एमाले फुटाएर पदको लोभ देखाउँदा समेत पार्टी बलियो पारेको भन्दै अनेमसंघलाई धन्यवाद दिनुभयाे । 

‘पार्टी जोगिएर देशको पहिलो पार्टी बनेर उभिन महिला दिदीबहिनीहरूको हात छ । यस क्रममा महिला दिदीबहिनीहरूलाई धन्यवाद दिन चाहान्छु,’ उहाँले भन्नुभयाे, ‘एमाले फुटाउ केन्द्रीय कमिटी दिन्छु भनेको कोही पनि छैन होला । पार्टी फुटाउ पोलिटब्यूरो फलाने भन्दै पद दिएका होलान् । तर पनि तपाईंहरू एमालेमा रहेका कारणले पार्टी बलियो बनेको छ ।’ 

अध्यक्ष ओलीले अनेमसंघले आफ्नो संगठनकी पूर्वअध्यक्ष विद्या भण्डारीलाई नेपालको पहिलो महिला राष्ट्रपति बनाएर मुलुककै लागि गर्व गर्न लायक काम गरेको पनि बताउनुभयाे । उहाँले पार्टीभित्र गुटबन्दी नगर्न पनि निर्देशन दिनुभयाे । एमालेभित्र अहिले कुनै पनि गुटबन्दी नभएको भन्दै उहाँ निहित स्वार्थका लागि गुट बनाउने काम नगर्न सचेत गराउनुभयाे । उहाँले पार्टीभित्र योग्यता, क्षमता र काम गरेर जिम्मेवारी दिइने पनि स्पष्ट समेत पार्नुभयाे ।

अध्यक्ष ओलीले भन्नुभयाे, ‘आजको एमालेभित्र कुनै पनि किसिमको गुटबन्दी छैन । त्यहाँ प्रतिपक्ष छैन । सब एकजुट छ । स्वार्थका लागि कसैले यस्तोउस्तो नभन्नुस् । हुन्छ नि स्वार्थका लागि यसो गु्रप बनाएझैं । खेल्न खोजे झैं त्यस्तो खालको नगर्नुहोला । एक छिन स्वार्थ पूरा भएन भने पनि केही फरक पर्दैन । संगठन एकजुट हुनुपर्दछ । योग्यता, क्षमता, कामलाई हेरेर जिम्मेवारी दिन्छौं । यसमा तलमाथि हुँदैन ।’ 

कोरोना संक्रमण बढेपछि सुदूरपश्चिमका सीमा नाकामा कडाई

धनगढी – सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रम दर बढ्न थालेपछि प्रदेश सरकारले भारतसंग जोडीएका सीमा नाकामा स्वास्थ्य चेकजाँचमा कडाई गरेको छ ।

पछिल्लो समय भारतबाट आउने नागरिकमा कारोना संक्रम देखिन थालेपछि स्वास्थ्य चेकजाँचमा कडाई गरिएको सामाजिक बिकास मन्त्रालयका प्रबक्ता तथा बरिष्ट स्वास्थ्य शिक्षा प्रशासक नरेन्द्र सिंह कार्कीले बताए ।

‘अहिले भारत संग सीमाना जोडिएका प्रदेशका सवै नाकामा स्वास्थ्य चेकजाँचमा कडाई गरिएको छ,’ कार्कीले भने, ‘रोग लागेका व्यक्तिलाई अन्य यात्रुबाट छुट्टै राखेर उनिहरुको गन्तव्य स्थान सम्म जान सुझाव पनि दिइरहेका छौं ।’ पछिल्लो समय देखिएको संक्रमण कोरोनाको ओमिक्रोनको ‘एक्स बीबी’ भेरियन्ट हुन सक्ने उनले बताए । भारतमा ओमिक्रोनको ‘एक्स बीबी’ भेरियन्ट तिब्र रुपमा फैलिरहेको हुँदा अहिले देखिने संक्रमितमा पनि सो भेरियन्ट सक्रिय हुन सक्ने उनले बताए । 

‘यो ओमिक्रोनको रुपान्तरित भेरियन्ट हो,’ कार्कीले भने, ‘अहिले भारतमा यो भेरियन्ट तिब्र रुपमा फैलिरहेको छ, भारतबाट नेपाल भित्रीने नागरिकमा पनि पछिल्लो दिनहरुमा संक्रमण देखिने क्रम बढेको छ ।’ सुदूरपश्चिममा कोरोना संक्रमण नियन्त्रणका लागि हालसम्म खास्सै तयारीको योजना भने नरहेको उनले बताए ।

‘अहिले सम्म संक्रमितपनि त्यती धेरै देखिएका छैनन्, उनले भने, ‘भएकाहरुमा पनि गम्भिर स्वास्थ्य समस्या छैन, संक्रमणदर उच्च भएमा त्यसबारेमा केन्द्रले निर्णय गर्ला ।’ कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी निर्णय केन्द्रिय कोभीड नियन्त्रण समितिले गर्ने गरेको उनले बताए । 

सुदूरपश्चिममा कारोना रोकथामका लागि भौतिक संरचनाको अभाव नरहेको उनले बताए । ‘संरचना हामीसंग प्रयाप्त रहेको छ,’ यदी नयाँ भेरियन्ट तिब्र रुपमा फैलि हालेपनि त्यसलाई रोक्न र व्यवस्थापन गर्न यहाँ कुनै समस्या हुनेछैन ।’

सेति प्रादेशिक अस्पतालका बरिष्ट कन्सल्टेन्ट फिजिसियन डाक्टर शेरबहादुर कमरका अनुसार ओमिक्रोनको नयाँ भेरियन्ट तिब्र रुपमा फैलिने भएपनि स्वास्थ्य जटिता भने कम रहेको बताए । ‘अहिले सम्म भारतमा देखिएको संक्रमणको अवस्था हेर्दा यो भेरियन्ट तिब्र रुपमा फैलने गरेको छ,’ कमरले भने, ‘तर रोगिको स्वास्थ्य जटिलता भने पहिलाको भन्दा न्यून छ, दिर्घ रोगि र कम्जोर स्वास्थ्य अवस्था भएका व्यक्तिलाई रोग लागे समस्या हुन सक्दछ ।’

अहिले सेति प्रादेशिक अस्पतालमा फाटफुट रुपमा कोरोना संक्रमति आउने गरेका उनले बताए । संक्रमण पुष्टि भएका विरामीलाई भर्ना गरेर उपचार गर्नुपर्ने समस्या भने अहिलेसम्म नरहेको उनले बताए । ‘पीसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएका विरामीलाई स्वास्थ्य सुझाव दिएर पठाउने गरेका छौं,’ कमरले भने, ‘अस्पतालमा भर्ना गर्नु पर्ने बिरामी आएका छैनन्, भर्ना गर्नुपरे अस्पतालको कोभीड वार्ड तयारी अवस्थामा छ ।’

त्रिनगर सीमा नाकामा स्थापना गरिएको स्वास्थ्य डेस्कका इन्चार्ज गणेश साउदका अनुसार पछिल्लो समय भारतबाट आउने धेरै मानिसमा कोरोना संक्रामण पुष्टि हुन थालेको छ ।

‘विभिन्न कारणले भारतगएका नेपालीहरु नयाँ बर्ष मनाउन भारतबाट फर्कने क्रम पनि उच्च छ,’ साउँदले भने, ‘उनिहरुमा संक्रमण पनि तिब्र गतिमा देखिएको छ, यसबारेमा सरकोकारवालाले सोच्नु जरुरी छ ।’ भारतबाट आउने मध्य ५ प्रतिशत नागरिकमा कोरोना संक्रमण देखिने गरेको उनले बताए । 

ह्याम्स अस्पतालमा अवतरणको क्रममा हेलिकप्टर दुर्घटना

काठमाडौं – काठमाडौंको ह्याम्स अस्पतालमा हेलिकप्टर दुर्घटना भएको छ। अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो। 

महाराजगञ्ज प्रहरी वृत्तका प्रमुख डीएसपी अंगुर जिसीका अुनसार एयर डाइग्नोस्टिकको हेलिकप्टर पछाडिको भाग खुस्किएको छ। 

चितवनमा बिरामी लिनका लागि डाक्टर लिन पुगेको हेलिकप्टरको पछाडिको भाग खुस्किएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो , ‘हेलिकप्टरको पछाडिको भाग चोइटिएर भागेको भेटिएको छ। अहिले हेलिकप्टर हेलिप्याडमा नै राखिएको छ।’

घटनामा कुनै मानवीय क्षति भएको छैन। प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ। 

कुखुरा ब्यवसायीकाे गृहमन्त्रीसँग गुनासाे, ‘स्विटकर्न र फ्रेन्च फ्राई भन्दै भारतबाट मासु ल्याइयाे’

काठमाडौं – भारतबाट कुखुराको मासु र अन्डाको अवैध तस्करी रोक्न नेपाल दाना उद्योग संघ र नेप ह्याचरी उद्योग संघले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

दाना संघका अध्यक्ष रविन पुरी र ह्याचरीका अध्यक्ष ऋषिराम पौडेलसहितको टोलीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ध्यानाकर्षण गराएका थिए। भेटमा उनीहरूले नेपालको कृषि क्षेत्रमध्ये पोल्ट्री व्यवसाय आत्मनिर्भर रहेको तर भारतबाट बढेको तस्करीले करिव १ खर्ब ६० अर्ब रुपैयाँ लगानी जोखिममा परेको बताएका थिए।

५ लाख व्यक्तिलाई रोजगारी दिएको र आयात प्रतिस्थापन गर्दै सस्तो मूल्यमा गुणस्तरीय र पोषणयुक्त कुखुराको मासु र अण्डा उपलब्ध गराउदै आएको ब्यवसाय अबैध तस्करीले संकटमा परेको दुबै संघको प्रतिनिधिले गृहमन्त्रीलाई जानकारी गराएका थिए। ‘नेपालको पोल्ट्री क्षेत्रमा सबै भन्दा प्रमुख समस्या देशको खुला सीमानाका रहेको छ। भारतीय सीमा नाकाहरुवाट अवैध रुपमा पोल्ट्रीजन्य वस्तुहरु चल्ला, कुखुरा, तयारी मासु र अण्डा दिनहु भित्रँदा यस पेशालाई अत्यन्त ठुलो जोखिम रहेको छ’ दुबै संघले बुझाएको ज्ञापन पत्रमा लेखिएको छ।

भारतमा समय समयमा देखा पर्ने बर्ड फ्लु रोगको संक्रमणले रोग मित्रने सन्त्रास र अवैध आयात हुँदा देशको राजश्व चुहावट समेत हुने गरेको उल्लेख छ। भारतबाट प्रज्ञापन पत्र लिएका मालबाहक कन्टेनरहरुमा स्वीट कर्न, फ्रेन्च फ्राई मात्र उल्लेख भई भन्सार कार्यालयबाट पास भएमा मालबाहक कन्टेनरमा कुखुराको मासु, माछा भेटिने गरेको भन्दै उनीहरूले नाकामा कडाई गर्न आग्रह गरेका हुन्। नेपालगन्ज, कृष्णनगर, भैरहवा, धनगढी, तौलिहवा, त्रिवेणी, परासी, विरगन्ज, वारा, पर्सा, रौतहट, सर्लाही, मलगवा, जलेश्वर, विराटनगर नाकाहरुबाट अवैध रुपमा कुखुरा, तयारी मासु, चल्ला, अण्डा आयात हुने गरेको उनीहरूको दाबी छ।

विशेष गरी भारतीय सीमा नाकाहरुका जिल्लामा सञ्चालित कोल्ड स्टोर्सहरुले भारतबाट अवैध रुपमा कुखुरा आयातगरि ड्रेसिङ्ग गरेर नेपालका प्रमुख शहरहरुमा कुखुराको मासु निर्यात गरिरहेको, भारतीय सीमा नाकाका भन्सार कार्यालयमा सतर्कतापूर्वक चेक जाँच नगर्ने गरेको उनीहरूको गुनासो छ। सिमामा गृह मातहतकै सशस्त्र प्रहरी बल खटिदै आएको छ। दुबै संघले भारतीय सीमा नाकाहरुबाट आयात हुने चल्ला, कुखुरा, तयारी मासु, अण्डाहरुको नियन्त्रणका लागि सुरक्षा निकायहरुलाई आवश्यक निर्देशन दिन माग गरेका थिए।

ब्यबसायीको गुनासो सुनेपछि गृहमन्त्री श्रेष्ठले सरकार ह्याचरी मात्र नभई कुनै पनि प्रकारको तस्करी हुन नदिनेगरि अगाडि बढेको बताएका थिए। आत्मनिर्भर बनिसकेको दाना र ह्याचरी उद्योगलाई असर पर्ने कुनै पनि गतिविधी सह्य नहुने र यसमा संलग्न जो कोहीलाई कारबाही दायरामा ल्याउने भन्दै उनले तत्काल सम्बन्धित निकायलाई मन्त्रालयबाट निर्देशन जाने वचन दिएका थिए।

नेकपा एस परित्याग गर्दै मुकुन्द न्यौपानेले भने, ‘माधव नेपालवाट झलनाथ पनि दिक्क छन् ‘

काठमाडौं – नेकपा एकीकृत समाजवादीका नेता तथा मुकुन्द न्यौपानेले पार्टी छाडेका छन् ।

माधवकुमार नेपाल र झलनाथ खनाल पछिको वरियतामा रहेर नेकपा एकीकृत समाजवादी गठन गरेका नेता न्यौपानेले शनिवार पत्रकार सम्मेलन आयोजना गरेर सो पार्टी छाडेको घोषणा गरेका हुन् ।

न्यौपानेले नेकपा एसमा कम्युनिस्ट चरित्र सकिएर दक्षिणपन्थीको सेवक मात्र बनेको र जति खाएपनि नभरिने नेताहरूको चरित्र देखिएको भन्दै सो पार्टी परित्याग गरेको जनाएका छन् । आफूले केन्द्रीय कमिटी बैठकमा ३३ बुँदे फरक मत राखेर छलफलको माग राखे पनि छलफल गर्न नदिएको पनि उनको गुनासो छ । 

नेता न्यौपानेले भविष्य नभएको पार्टीको नेता भएर बसिरहनु भन्दा सम्मानित नागरिक भएर जिउने खोजेको भन्दै पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएको बताए । 

उनका अनुसार एसका अध्यक्ष माधवकुमार नेपालको कार्यशैलीवाट झलनाथ खनाल पनि असन्तुष्ट रहेको जनाउँदै एमालेले सम्मानित स्थान दिए फर्केर आउने मनस्थितिमा रहेका छन् ।  त्यसका लागि नेकपा एमालेले पहल गर्नुपर्ने उनको भनाई छ । 

रबि लामिछानेले भने, ‘भ्रष्ट मानिसलाई जवाफ दिने होइन, जेल कोच्ने हो’

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले भ्रष्ट मानिस र युवाहरुलाई पलायन गर्ने राजनीतिक दलका नेतालाई जवाफ दिन नसकिने बताएका छन । 

चितवन–२ को उपनिर्वाचनका लागि आयोजना गरिएको आबुखैरनी सभालाई सम्वोधन गर्दै ३० बर्ष सरकारको नेतृत्व गर्नेहरुले युवाहरुलाई देशवाट पलायन गराएको उनको आरोप पनि छ । 

नौं महिना अघि खुलेको पार्टी र ३० दिन मात्र सरकार चलाएको पार्टीलाई प्रश्न गर्ने ठाउँ नभएको पनि उनको भनाई छ । ‘हामीलाई त्यस्ता मान्छेहरुले आलोचना गरिरहेका छन, जसलाई हामीले जेल कोच्ने भनेर लिस्ट बनाई राखेका छौं,’ लामिछानेले भने, ‘त्यसैले भ्रष्ट मानिसहरुले सोधेको जवाफ एउटा पनि दिन्न किनकी तीनलाई जेल कोच्ने हो, जवाफ दिएर हिडने होइन ।’  

उपनिर्वाचन नजिकिदैँ गर्दा उम्मेदवारहरुको चुनावी सभाहरु सुरु हुन थालेका छन् । 

आर्थिक तथा सामाजिक विकास गर्नका लागि अनेक चुनौतीहरू देखा परेको छ : सभामुख घिमिरे

काठमाडौँ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आर्थिक तथा सामाजिक विकास गर्नका लागि अनेक चुनौतीहरू देखा परेको बताएका छन् ।

लायन्स क्लबले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले ठुलो राजनीतिक परिवर्तन गरेर अहिलेको अवस्थामा आइपुगे पनि अहिले आर्थिक तथा सामाजिक विकास गर्नका लागि अनेक चुनौतीहरू देखा परेको बताएका हुन् ।

उनले अहिलेको प्रणाली र प्रणालीलाई नेतृत्व गरेका नेताहरूलाई कुर्सीका लागि मात्रै होडबाजी हो की भन्ने आशङ्का समाजबाट भइरहेको जिकिर गरे । त्यस्तै उनले पदका लागि नभई सेवाभावका लागि अघि बढ्न लायन्सलाई सुझाव दिए । उनले क्लबमार्फत समाजलाई आइपरेका विपत्तिहरूमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै यसलाई निरन्तरता दिन सुझाव दिएका छन् ।

सभामुख घिमिरेले अन्धोपन हटाउनका साथै शिक्षा र स्वास्थ्यको विकासमा लायन्स क्लबले खेलेको भूमिकाको प्रशंसा गरे ।

रवि लामिछानेले भने : मेरो विरोध गर्नेहरू भ्रष्टाचारी हुन्र

तनहुँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो विरोध गर्नेहरू भ्रष्टाचारी रहेको दाबी गर्नुभएको छ । 

तनहुँको आँबुखैरेनीमा स्वर्णिम वाग्लेका लागि मत माग्न आयोजित आमसभालाई सम्बोधन गर्नुहुँदै सभापति लामिछानेले आफूलाई प्रश्न सोध्ने व्यक्तिहरूलाई सरकार बनेपछि भ्रष्टाचारमा जेल कोच्ने चेतावनी दिनुभयो।

३० वर्षसम्म शासन सत्ता चलाएर देश खोक्रो बनाउनेहरूले आफूलाई प्रश्न सोध्ने र आलोचना गर्ने अधिकार नरहेको उहाँको भनाई छ । ‘हाम्रो सरकार बन्यो भने भ्रष्टाचारमा जेल कोच्ने भनेका मान्छेले हाम्रो आलोचना गरेका छन् । तीनका प्रश्नको जवाफ म दिन्न,तीनलाई त जेल ठोक्ने हो । ३० वर्ष देश लुट्नेहरूले हामीलाई प्रश्न सोध्न लाज मान्नुपर्छ, हामीलाई प्रश्न सोध्ने होइन ।’

नेकपा एसका मुकुन्द न्याैपानेले छाेडे पार्टी

काठमाडौं – नेकपा एकीकृत समाजवादीका तेस्रो वरियताका नेता तथा पूर्व मन्त्री मुकुन्द न्यौपानेले पार्टी परित्याग गर्नुभएकाे छ । 

शनिवार काठमाडाैँमा पत्रकार सम्मेलन गर्दे न्याैपानेले पार्टी परित्याग गरेकाे जानकारी दिनुभएकाे हाे । 

५४ वर्षदेखि राजनीतिमा लागेकाे स्मरण गर्नुहुँदै उहाँले काे अर्डिनेशन,मुत्ति माेर्चा,माले,एमाले हुँदै आएकाे विगत स्मरण समेत गर्नुभयाे । 

तत्कालीन नेकपा एमालेबाट विद्रोह गर्दा माधव नेपाल र झलनाथ खनालपछिको वरियतामा रहेर नेकपा एस गठन गर्नुभएका नेता न्यौपानेले शनिवार पत्रकार सम्मेलनमार्फत पुनः विद्रोहको घोषणा गर्नुभएकाे हाे ।

न्यौपानेले नेकपा एसमा कम्युनिस्ट चरित्र सकिएर दक्षिणपन्थीको सेवक मात्र बनेको र जति खाए पनि नभरिने नेताहरूको चरित्र देखिएको भन्दै सो पार्टी परित्याग गर्नुभएकाे हाे । 

उहाँले भविष्य नभएको पार्टीको नेता हुनुभन्दा सम्मानित नागरिक भएर जिउने भन्दै पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएको बताउनुभएकाे हाे । 

उहाँले आफूले केन्द्रीय कमिटी बैठकमा ३३ बुँदे फरक मत राखेर छलफलको माग राखे पनि छलफल नगरिएको बताउनुभयाे । 

​​​​​​​

विदेशबाट बाक्सामा फर्किनेहरुकाे बिमा रकम हत्याउने अपराधीक गिराेह प्रहरी फन्दामा

काठमाडाैं – वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएपछि आफन्तलेराहत स्वरुप  पाउने बिमा रकम हत्याउन ठूलो गिरोह नै सक्रिय भएकाे देखिएको छ।   प्रहरीले वैदेशिक रोजगार विभागका कर्मचारीसहित सात जनालाई समातेपछि विदेशमा मृत्यु हुनेहरुका घर परिवारलाई समेत ठग्ने गिरोह नेपालमा सकृय रहेको खुलेको हो । 

उनीहरूले विदेशमा  गएर ज्यान गुमाएका वा  स्वदेशमै ज्यान गुमाएका परिवारका सदस्यहरूलाई आफू बिमा कम्पनीको मान्छे रहेको ,आफूहरू पैसा निकाल्न सहयोग गर्ने भन्दै उनीहरूको काम गरिदिने र उनीहरूको बिमा मार्फत कति रकम निकालेको भन्ने पनि नबताएर आफूहरूले पीडितहरूले पाउने रकम लिने गरेका थिए । उनीहरूले पीडितहरूलाई उनीहरूले पाउने रकमको थौरै रकममात्र दिने गरेका  थिए  । 

सरकारी कर्मचारी पशुपति अधिकारीले दिने सूचनाका आधारमा काभ्रेको रोशी गाउँपालिका-१२ का ४१ वर्षीय रामबहादुर तामाङ, सर्लाहीको लालबन्दी नगरपालिका-८ का ३४ वर्षीय विनोद कुमार लामा, सोही ठेगाना भएका ४० वर्षीय डिकबहादुर मल्ल, ३५ वर्षीय रविन भन्ने रविन्द्र मोक्तान लगायतले विदेशमा आफन्त गुमाउनेमाथि नै अपराध गर्दै आइरहेका थिए । 

काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले त्यस्ता कार्यमा संलग्न रहेका व्यक्तिहरुको निग्रानी राखी खोजतलास गर्ने क्रममा मिति २०७९ चैत २३ गते दिउँसो जिल्ला काठमाण्डौ गोंगबु स्थितबाट राम बहादुर तामाङ समेत ६ जना व्यक्तिहरुलाई पक्राउ गरिएकाे हाे ।

निजहरूबाट विभिन्न मृतक व्यक्तिहरूको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्यूदर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस बीमा कम्पनीको लेटरप्याड लगायतका महत्वपूर्ण अन्य विविध कागजातहरु सहित फेला पारी निजहरुलाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौँ पठाइएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएकाे छ ।  

उनीहरुले   प्रहरीका अनुसारवैदेशिक रोजगारीको लागि विदेशमा काम गर्दागर्दै विविध कारणले मृत्यू भएका तथा विदामा नेपाल आउँदा मृत्यू भएका नेपालीहरुले बीमा बापत पाउने बीमा रकम मृतकका आफन्तहरुलाई दिलाई दिन्छु भनी बीमा बापत प्राप्त हुने रकमको केही रकम मात्र आफन्तलाई दिई बाँकी रकम लिई ठगी गर्ने गरेका थिए । 

प्रहरीका अनुसार कर्मचारीको सुचनापछि विदेशबाट बक्सामा आउने शवसँगै उनीहरुको परिवारसँग पूरै घुलमिल भएर रकम हत्याउने पृष्ठभूमि तयार पार्ने गरेको थिए । मृतकका परिवारलाई साहनुभूति दिने नाममा उनीहरु गाउँगाउँ पुग्ने  र काजक्रिया सकिएपछि आफन्तले पाउने बिमा वापतको रकम हडप्न सहयोगीका रुपमा देखा पर्दथे । उनीहरुले आवश्यक कागजात बनाउन सघाउनेदेखि वडामा मृत्यु दर्ता, विवाह दर्ता, नाता प्रमाणित लगायतका सबैजसो कागजात तयार पार्न उनीहरु खटिने र त्यसैबाट पीडितलाई विश्वासमा लिने गरेको देखिन्छ। यसरी सबै कागजपत्र तयार भएपछि उनीहरूलाई काठमाडौंमा ल्याएर बिमाको रकम झिक्ने र हडप्ने  गरेकाे प्रहरीले बताएकाे छ।

ती व्यक्तिहरूको समुहले  ८ -१० जनाको बिमाको रकमका लागि भन्दै सिफारिस लिएर आए पछि शंका लाग्दा अनुसन्धान थालिएको हो ।अनुसन्धानबाट उनीहरूले  धनुषाधाम नगरपालिका-९ का एक जान विदेश गएका तर उनी बिरामी भएपछि,नेपाल आएका र नेपालमा आएपछि उनको निधन भएको र उनको निधन भएपछि ती व्यक्तिहरू उनको घरमा गएका र उनकी श्रीमतीलाई इन्स्युरेन्स कम्पनीको कर्मचारी हौ भनेका र आफूहरूले पैसा निकाल्न सहयोग गर्न बताएका थिए । उनीहरूले भने अनुसार आफूहरू पैसा त निकाले तर निकाले पैसामा भने केही पैसा मात्रै उनलाई दिए । उनलाई थाहा थिएन पैसा पाइन्छ भनेर उनले जति पाए त्यति लिइन् । ती व्यक्तिहरूले बिमा मार्फत १३ लाख निकाले तर मृतकको श्रीमतीलाई ५ लाख  मात्रै दिएको अनुसन्धानबाट खुल्न आयो ।

पक्राउ परेका एजेन्ट सर्लाहीका डिकबहादुर मल्ल, रविन भनिने रविन्द्र मोक्तान र प्रकाशबहादुर गोलेको साथबाट गरेर ३५ जना मृतकको विवरण फेला परेको छ । जस मध्ये उनीहरूले धरैको बिमा मार्फतका रकम निकालेको पाइएको छ । उनीहरूले विदेशबाट शव ल्याँउदा विमानस्थमै  मृतकका परिवार भेट्ने गरेको पाइएको छ । 

प्रहरीका अनुसार वैदेशिक रोजगार बोर्डका नायब सुब्बा पशुपति अधिकारीले मृतकको विवरण ठगी गर्ने गिरोहका सदस्यस पुर्‍याउने गरेको पाइएको छ । अपराध अनुसन्धान कार्यालयले शुक्रबार अपराह्न उनलाई बोर्डको कार्यालयबाटै पक्राउ गरेको छ । प्रहरी अनुसन्धानकै क्रममा रुन्द्रमान र विनोदकुमार लामा  पनि पक्राउ परेका थिए । उनीहरूलाई एजेन्टका रुपमा खटाएको  थियो ।  गिरोहका योजनाकार काभ्रेपलाञ्चोकका रामबहादुर तामाङ रहेका प्रहरीले जनाएको छ । 

पक्राउ परेका गिराेहका व्यक्तिहरूकाे विवरण  


१. नामः राम बहादुर तामाङ, उमेर : ४१ वर्ष
 ठेगानाः जिल्ला काभ्रेपलाञ्चोक रोशी गा.पा. वडा नं. १२

२. नामः विनोद कुमार लामा
उमेर: ३४ वर्ष,    ठेगानाः जिल्ला सर्लाही लालबन्दी न.पा. वडा नं. ८ ।


३. नामः डिक बहादुर मल्ल, उमेर: ४० वर्ष
ठेगानाः जिल्ला सर्लाही लालबन्दी न.पा. वडा नं. ८

४. नामः रविन भन्ने रविन्द्र मोक्तान          
उमेर: ३५ वर्ष, ठेगानाः जिल्ला सर्लाही लालबन्दी न.पा. वडा नं. ८

५. नामः प्रकाश बहादुर गोले   
उमेर: ३५ वर्ष,  ठेगानाः जिल्ला सर्लाही लालबन्दी न.पा. वडा नं. ८

६. नामः रुद्रमान गोले     
उमेर: ३९ वर्ष,  ठेगानाः जिल्ला सर्लाही हरिवन न.पा. वडा नं. २

मेयर बालेनलाई शंकर पोखरेलको ‘काउन्टर’- जिम्मेवारीमा बसेपछि जिम्मेवार र जवाफदेही बन्नुपर्छ

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहलाई जिम्मेवार र जवाफदेही बन्न सुझाउनुभएको छ ।

शनिबार बिहान मेयर बालेनले सामाजिक सञ्जालमा दिएकोृ अभिव्यक्तिको पछि नेता पोखरेलले यस्तो बताउनुभएको हो । मेयर बालेनले साँच्चिकै देश सफा गर्नु परे नेताहरूलाई सिसडोलमा ‘डम्प’ गर्नुपर्ने अभिव्यक्ति दिएपछि पोखरेलले त्यसको ‘काउन्टर’ दिनुभएको हो । 
एमाले महासचिव पोखरेलले मेयर बालेनको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गर्ने बताउनुभएको ५ ।

‘मेयर बालेनको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गर्दछ। जिम्मेवारीमा बसेपछि जिम्मेवार र जवाफदेही बन्नै पर्दछ’, पोखरेलले सामाजिक सञ्जालमा लेख्नुभएको ५ ।

मेयर वालेनको अभिव्यक्तिले नेपाली समाजलाई चरम अराजकतातिर लैजाने नियोजित प्रयास भइरहेको संकेत गर्दछ । जिम्मेवारीमा वसेपछि जिम्मेवार र जवाफदेही वन्नै पर्दछ ।— shankar.pokhrel (@shankarpokhrel8) April 8, 2023

बारा-२ : एमाले उम्मेदवार पुरुषोत्तम पौडेलको घरदैलो

बारा – बारा-२ को उपचुनावका निम्ति नेकपा एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले मतदातासँगको भेटलाई तीव्रता दिनु भएको छ।

अरू उम्मेदवार आरोप प्रत्यारोपमा उत्रिदा पौडेलसहितको एमाले टोली भने मतदातालाई भेट्न खेत खेतमा गएर भेट गर्नुभएको छ। अहिले हिउँदे धान लगाउने मौसम रहेकाले बारा २ का अधिकांश किसान खेतमा हुन्छन् ।

घरदैलो गर्दै मत मागिरहेका पौडेलले एमालेले नजित्दा यो क्षेत्रमा विकास नभएको उहाँ आफूले विकासको अभियान चलाउने किसानहरुलाई बताउनु भयो ।

निर्वाचन परिचालन कमिटी संयोजक तथा क्षेत्र नम्बर १ का सांसद अच्युत मैनाली, पूर्व मन्त्री तथा क्षेत्र नम्बर ३ की सांसद ज्वालाकुमारी साहलगायतका नेता कार्यकर्ता घरदैलोमा उम्मेदवारसँगै घरदैलो कार्यक्रममा हुनुहुन्छ।

सरकार कृषि केन्द्रित हुनुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकारले कृषि क्षेत्रको लगानीमा ध्यान दिनुपर्ने बताएका छन्। डेमोक्रेटिक एग्रिकल्चरिस्ट एशोसियसन नेपाल (डान) ले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै महरले कृषि प्रधान देशमा कृषिमा लगानी नहुनु चिन्ताको विषय भएको बताए।

‘नेपाल भारत र चीन जस्तो विशाल मुलुकको बीचमा छ। ती दुई देशमा चार प्रतिशत भन्दा बढी बजेट कृषिमा छुट्याइन्छ। नेपालमा दुई प्रतिशत हाराहारीमा मात्र छ। यसले नेपाली किसानलाई अनुदान दिन पनि पुग्दैन। यस्तो हुँदा हाम्रो उत्पादन महंगो र आयातित सामान सस्तो हुने हुन्छ’, उनले भने। कृषिलाई आधुनिकिकरण गर्दै रोजगार मुलक बनाउन सक्नुपर्नेमा महरको जोड छ। वैज्ञानिक कृषि प्रणाली आजको आवश्यकता भएको उनले बताए।

‘कृषि प्रधान मुलुकमा सरकारले कृषिलाई नै प्रथमिकतामा राख्नुपर्छ। यस्ले उत्पादन बढ्नुका साथै युवालाई कृषितर्फ आकर्षित गर्छ। नेपालमै राम्रो उत्पादन भएमा बाह्य देशबाट खाद्य सामग्री आयात गर्नु पनि गर्दैन। नेपालकै उत्पादकत्व बढेर मुलुक आर्थिक रुपमा समृद्ध हुने हो’, महरले भने।

नेपालको २७ प्रतिशत खेति योग्य जमिन मध्ये २० प्रतिशतमामात्र खेति भइरहेको तथ्यांकले देखाएको महरले स्मरण गरे।  यस पटकको बजेटमा सरकारले कृषिलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

यसका साथै फरक प्रसंगमा बोल्दै उनले उपनिर्वाचन भइरहेका स्थानमा सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन मतदातासँग आग्रह गरेका छन्। यस्तै सत्ता गठबन्धनले ल्याएको न्यूनतम साझा कार्यक्रम राम्रो रहेको बताउँदै उनले त्यसको कार्यान्वयनमा ध्यान दिन आग्रह गरे। मन्त्री र प्रधानमन्त्रीले उद्‍घाटन र मिडियाबाजीमा ध्यान दिनु भन्दा पनि काममा ध्यान दिनुपर्ने बताए।

रामेछाप कारागारका कैदी बन्दीकाे उपचारको क्रममा मृत्यु

रामेछाप – झन्डै दुई महिना देखी रामेछाप कारागारमा रहदै आएका एक कैदीको मृत्यु भएको छ । 

कर्तव्य ज्यान मुद्दामा पुर्पक्षको लागि १ महिना १९ दिन अघि देखी मात्र कारागारमा रहदै आएका कैदी बन्दीको मृत्यु भएको हो । 

रामेछाप कारागारका प्रमुख रुपलाल तामाङका अनुसार लिखु तामाकोशी गाउँपालिका–५ का ५२ वर्षीय वीरे दमाई भन्ने वीरे दर्जीको उपचारको क्रममा मृत्यु भएको हो । उनका अनुसार कारागारमा रहेको बेला अकस्मात पेट दुखेको बताएपछि कारागर प्रशासनले उनलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल रामेछाप लगिएको थियाे । उपचारको क्रममा उनको मृत्यु भएको चिकित्सकले घोषणा गरेका थिए ।

मृतक दमाईलाई कर्तव्य ज्यान मुुद्दामा रामेछाप जिल्ला अदालतले गत फागुन ४ गते मात्रै पुर्पक्षको लागि जेल पठाएको थियो । उनको शुक्रवार निधन भएको हो । 

अब चाँडै कर्णाली सरकारमा कांग्रेस देख्नु हुनेछः उपप्रधानमन्त्री खडका

सुर्खेत – उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले केही दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन्। 

शनिबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको सहभागिता पनि चाडै हुने बताएका छन् । 

उनका अनुसार मन्त्री पठाउने विषयमा पार्टीमा विवाद नभएको जिकिर गर्दै सो बारेमा आन्तरिक छलफल चलिरहेकाले ढिलाई भएकाे हाे । यद्दपी, अबको केही दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने उनको भनाई छ । ‘केही आन्तरिक कुराले मात्र सरकारमा मन्त्रीको नाम पठाउन ढिलाई भएको हो,’ उनले भने, ‘यस विषयमा अहिले पार्टीमा कुनै विवाद छैन्, एकदुई दिनमा सरकारले पुर्णता पाउँछ,’ उनले भने

शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गर्ने जनाउँदै कांग्रेस उपसभापतिसमेत रहेका खड्काले सरकारले हालै सार्वजनिक गरेको न्युनतम साझा कार्यक्रमको जगमा नै टेकेर आगामी बजेट ल्याइने बताए।

कर्णाली प्रदेशको सरकार पनि केन्द्रको गठबन्धन अनुसार हुने अघि बढने जनाएका उपप्रधानमन्त्री खड्काले भने, ‘शीर्ष नेताहरुबीचको बैठक बसेर कर्णाली सरकार परिवर्तनको विषयमा छलफल हुनेछ, अब चाँडै कर्णालीमा कांग्रेस सरकारमा गएको देख्नु हुनेछ।’

फुटपाथ मिचेर बनाईएका प्रहरी बिट नहटाए आफै हटाउने बालेन शाहको चेतावनी

काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयर बालेन शाहले फुटपाथ मिचेर प्रहरी बिट बनाएको भन्दै आक्रोशित भएका छन् ।

फोहोरको बिषयलाई लिएर बिहान बिहानै आक्रोशित मुडमा आएका मेयर बालेन शाहले प्रहरी माथी आक्रोशित भएका हुन । महानगरपालिका भित्र फुटपाथ मिचेर बनाइएको भन्दै प्रहरी बिटहरुको तस्विर पनि उनले सार्वजनिक गरेका छन । 

‘फुटपाथ सँधै मान्छे हिड्नका लागि प्रयोग हुनु पर्छ भनेर हामीले फुटपाथमा व्यापार गर्न रोकेका छौँ । यो नियम सर्वसाधारणका लागि मात्रै होइन । सबैका लागि हो र हुनु पर्छ’, उनले फेसबुकमा लेखेका छन, ‘कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैले हटाउनुहोला, नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ति संरचना हटाउन बाध्य हुनेछौँ ।’ 

मेयर शाहले फुटपाथ मिचेर संरचना बनाएको भन्दै बिभिन्न देशका राजदुतावासलाई पनि पत्राचार गरेको जनाएका छन । ‘राजदुतावास लगायत विदेशी नियोगका हकमा पनि हामीले सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेका छौँ,’ उनले भनेका छन, ‘कानुन सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न हामी तयार हुनु पर्छ । तयार बनौँ ।’

माओवादी केन्द्रले आगामी नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलन गर्ने

काठमाडौं – नेकपा (माओवादी केन्द्र) ले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयमा सुझाव सङ्कलन गर्ने भएको छ ।

सरकारको नेतृत्व गरिरहेको सो पार्टीको कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय ३४ विभागका प्रमुखहरुसँगको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयमा सुझाव माग गरेका थिए । नीति तथा कार्यक्रमबारे पाँच दिनभित्र सुझाव दिन पार्टीका केन्द्रीय विभागका प्रमुखलाई आग्रह गरिएको पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए । आगामी आवको बजेट दीर्घकालीन रूपमा महत्व राख्ने बजेट ल्याउन लागेकाले आआफ्नो विभागका तर्फबाट सुझाव दिन आग्रह गरिएको उनको भनाइ छ ।

उनले भने, “आगामी आवका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रमबारे सुझाव सङ्कलनको काम चलिरहेको छ, हाम्रो पार्टीले पनि आफ्ना कमिटीलाई पनि सुझाव सङ्कलनका लागि आग्रह गरेको छ, प्राप्त सुझाव अध्ययन गरेर नीति तथा कार्यक्रममा समेटिने छ”, उनले भने । विभागले विषय विज्ञलाई राखेर प्रधानमन्त्रीलाई लिखित रूपमा सुझाव दिने तयारी गरेका छन् ।

भारतमा उत्कृष्ट पशुको उपाधी जितेकाे घोलु–२ नामक भैसीको मुल्य १६ करोड

नयादिल्ली – करोडौंको कार वा बंगलाको बारेमा तपाइले सुन्नु भएको होला तर १० करोड भारतीय रुपैया (नेपाली १६ करोड बढी) को भैंसीको बारेमा सायदै थाहा होला ।

एउटा भैंसीको यति धेरै मुल्य पर्छ भनेर पत्याउन पनि तपाई हिचकिचाउनुहुन्छ तर वास्तवमा भारतमा एक ब्यक्तिसँग एउटा यस्तो भैसी छ, जसको मूल्य करोडौं तोकिएको छ । 

उत्तर प्रदेशको मुजफ्फरनगरमा आयोजित कृषि तथा पशु मेलामा घोलु–२ नामको त्यो भैंसी ल्याईएको थियो । ५ फिट ७ इन्चको यो भैँसीको तौल १६ क्विन्टल रहेको छ । उनका मालिकले त्याे भैंसीको मुल्य १० करोड भारु राखेका छन् । जसकाकारण अहिले यो भैंसीको मूल्यसहित यसको शारीरिक बनावटकाे पनि चर्चा परिचर्चा हुन थालेकाे छ । त्याे भैंसी देखेर पनि मानिसहरु छक्क परेका छन् ।

 घोलु–२ का मालिक हरियाणाको पानीपतका नरेन्द्र सिंह हुन् । उनी त्यो भैसी लिएर मुजफ्फरनगरमा आयोजना गरिएको कृषि तथा पशु मेलामा पुगे पछि चर्चा परिचर्चा देशैभरी सुरू भएकाे हाे ।

घोलु–२ काे मात्रै होइन, त्यसवाट जन्मेका देखी हजुरबुवासम्मको पनि मुल्य करोडौं तोकिएको छ । घोलु–२ को आमाको नाम रानी हो भने ​​बाबुको नाम पीसी ४८३ र हजुरबुवाको नाम घोलु हाे । हालै मुजफ्फरनगरमा ल्याईएको घोलु–२ का हजुरबुवा घोलुले भने बिगत ११ वर्षदेखि राष्ट्रिय च्याम्पियन बनिरहेको छ ।

सोही क्रममा हालै मार्च १३ मा हरियाणाको दादरीमा भएको राज्य शोमा घोलु २ ले पनि ५ लाख रुपैयाँको उत्कृष्ट पशुको उपाधि जितिसकेकाे छ, त्यसपछि त्यसलाइ मुजफ्फरनगरमा ल्याइएकाे हाे । 

घोलु–२ ले दिनमा ३० किलो हरियो सुख्खा घाँस र १० किलो चना खाने गरेको त्यसका मालिक नरेन्द्र सिंहले बताए । उनका अनुसार यसको खानपानमा मात्रै मासिक ३० हजार रुपैयाँ खर्च हुन्छ । तर, घोलु–२ का परिवारले उनका मालिकलाई भने ३० देखि ४० करोडको आम्दानी दिने गरेका छन । 

आजतकका अनुसार त्यसैले त घोलुका  परिवारलाई नुहाउनको लागि स्विमिङ पुल नै बनाईएको छ ।

नयादिल्ली, २५ चैत । करोडौंको कार वा बंगलाको बारेमा तपाइले सुन्नु भएको होला तर १० करोड भारतीय रुपैया (नेपाली १६ करोड बढी) को भैंसीको बारेमा सायदै थाहा होला ।

एउटा भैंसीको यति धेरै मुल्य पर्छ भनेर पत्याउन पनि तपाई हिचकिचाउनुहुन्छ तर वास्तवमा भारतमा एक ब्यक्तिसँग एउटा यस्तो भैसी छ, जसको मूल्य करोडौं तोकिएको छ । 

उत्तर प्रदेशको मुजफ्फरनगरमा आयोजित कृषि तथा पशु मेलामा घोलु–२ नामको त्यो भैंसी ल्याईएको थियो । ५ फिट ७ इन्चको यो भैँसीको तौल १६ क्विन्टल रहेको छ । उनका मालिकले त्याे भैंसीको मुल्य १० करोड भारु राखेका छन् । जसकाकारण अहिले यो भैंसीको मूल्यसहित यसको शारीरिक बनावटकाे पनि चर्चा परिचर्चा हुन थालेकाे छ । त्याे भैंसी देखेर पनि मानिसहरु छक्क परेका छन् ।

घोलु–२ का मालिक हरियाणाको पानीपतका नरेन्द्र सिंह हुन् । उनी त्यो भैसी लिएर मुजफ्फरनगरमा आयोजना गरिएको कृषि तथा पशु मेलामा पुगे पछि चर्चा परिचर्चा देशैभरी सुरू भएकाे हाे ।

घोलु–२ काे मात्रै होइन, त्यसवाट जन्मेका देखी हजुरबुवासम्मको पनि मुल्य करोडौं तोकिएको छ । घोलु–२ को आमाको नाम रानी हो भने ​​बाबुको नाम पीसी ४८३ र हजुरबुवाको नाम घोलु हाे । हालै मुजफ्फरनगरमा ल्याईएको घोलु–२ का हजुरबुवा घोलुले भने बिगत ११ वर्षदेखि राष्ट्रिय च्याम्पियन बनिरहेको छ ।

सोही क्रममा हालै मार्च १३ मा हरियाणाको दादरीमा भएको राज्य शोमा घोलु २ ले पनि ५ लाख रुपैयाँको उत्कृष्ट पशुको उपाधि जितिसकेकाे छ, त्यसपछि त्यसलाइ मुजफ्फरनगरमा ल्याइएकाे हाे । 

घोलु–२ ले दिनमा ३० किलो हरियो सुख्खा घाँस र १० किलो चना खाने गरेको त्यसका मालिक नरेन्द्र सिंहले बताए । उनका अनुसार यसको खानपानमा मात्रै मासिक ३० हजार रुपैयाँ खर्च हुन्छ । तर, घोलु–२ का परिवारले उनका मालिकलाई भने ३० देखि ४० करोडको आम्दानी दिने गरेका छन । 

आजतकका अनुसार त्यसैले त घोलुका  परिवारलाई नुहाउनको लागि स्विमिङ पुल नै बनाईएको छ ।

रक्षामन्त्री खड्काले भने : कर्मचारीलाई तलव खुवाउन पनि ऋण लिनुपर्ने अवस्था छ

काठमाडौँ – उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्मचारीलाई तलव खुवाउन पनि ऋण लिनुपर्ने अवस्था आएको बताएका छन् ।

शनिबार सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले मुलुकको अर्थतन्त्र ऋणात्मक कमजोर बनिरहेको बताएका हुन् ।

उनले भने, ‘मुलुकको अर्थतन्त्र ऋणात्मक कमजोर बनिरहेको, कर्मचारीलाई तलव खुवाउन पनि ऋण लिनुपर्ने अवस्था रहेको छ । यसबाट मुक्ति हुनका लागि सरकारले आवश्यक नीति, कार्यक्रम र बजेटको कार्यान्वयन गर्नेछौं ।’

प्रतिस्पर्धा आफ्नो ठाउँमा रहेपनि मुलक बनाउने र जनताको हितमा काम गर्न, मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र मुलुकको भुगोलको रक्षामा गर्नमा कसैको पनि डर मान्न नपर्ने खड्काले बताए ।

अनेमसङ्घको सातौँ राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदै, अध्यक्ष ओलीले उद्घाटन गर्ने

​​​​​​​काठमाडौँ – अखिल नेपाल महिला सङ्घको सातौँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु हुँदै छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली हाम्रो अभियान: समान सहभागिताका लागि सुदृढ सङ्गठन’ भन्ने मूल नाराका साथ आज र भोलि सातौँ राष्ट्रिय सम्मेलन हुन लागेको अनेमसंघले जनाएको छ । 

काठमाडौँको प्रज्ञा प्रतिष्ठान कमलादीमा अपराह्न १२:०० बजेबाट सुरु हुने  सम्मेलनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने छ । 

सम्मेलनमा देशभरबाट एक हजार २ सय ६२ जना प्रतिनिधिहरू सहभागी हुने  आयोजकले जनाएको छ ।

सम्मेलनले आगामी ३ वर्षका लागि नयाँ नेतृत्व चयन समेत गर्ने सङ्घका संयोजक थममाया थापाले जानकारी दिनुभयो । सम्मेलनबाट सङ्घको नीति, कार्यक्रम तथा योजनाहरू समेत तय गर्ने जनाइएको छ ।