`

जुम्ला कहाँ पर्छ ? कुन देशमा हो ? खोजिरहेको छु : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले जुम्ला कुन देशमा पर्छ भन्दै प्रश्न गर्नुभएकाे छ । 

प्रतिनिधि सभालाई सम्बोधन गर्दै सांसद शाहीले जुम्ला कहाँ पर्छ भन्दै प्रश्न गर्नुभएकाे हाे । 

उहाँलले भन्नुभयाे, ‘जुम्ला कहाँ पर्छ ? कुन देशमा हो ? खोजिरहेको छु । यहाँ फोरजी र टेक्नोलोजीको कुरा गर्छन् । अहिलेसम्म जुम्लामा राम्रो नेटवर्क बनाउन सकिएको छैन,’– उनले भने । जुम्लाको दूरसञ्चार सेवा सुधारका लागि मन्त्रालय र विभागमा पटक–पटक धाउँदा पनि समस्या समाधानमा कतैबाट पहल नभएको उनले गुनासो गरे । साथै उनले ‘जुम्ला नेपालमा पर्छ कि पर्दैन ?’ 

‘सञ्चार मन्त्रालय र सञ्चार विभागहरुमा पटक–पटक धाइयो तर अहिलेसम्म अप्टिकल फाइबर जुम्लामा एक पटक पनि पुगेको छैन । भनिदिनु पर्यो जुम्ला नेपालमा पर्छ पर्दैन ? पर्छभने जुम्लामा फोरजी सेवा कहिले सञ्चालन गर्ने ?’– उहाँले प्रश्न गर्नुभयाे ।

महानगरपालिकाविरुद्व घरेलु हातहतियारसहित प्रतिकारमा बागमती किनारका सुकुम्बासी

काठमाडौं – काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्ती हटाउने प्रयास गरे पछि  तीनकुने गैरीगाउँ क्षेत्र आसपासका बागमती किनारका सुकुम्बासी घरेलु हातहतियारसहित प्रतिकारमा उत्रिएका छन् । 

महानगरपालिकाले बस्ती हटाउने तयारी गरेपछि सुकुम्बासीहरू घरेलु हातहतियारसहित प्रतिकारको लागि तयारी अवस्थामा उत्रिएका हुन्। अहिले उनीहरू टायर बालेर विरोध गरिरहेका छन्। 

काठमाडौंका मेयर बालेन्द्र साहले अव्यवस्थित सुकुम्बासी हटाउन पटक-पटक सरकारलाई आग्रह गर्दै आएका छन्।

राष्ट्र हितभन्दा बाहिर गएर कुनै पनि विधेयक अघि बढ्दैन : सञ्चारमन्त्री शर्मा

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्र हितभन्दा बाहिर गएर कुनै पनि विधेयक अघि नबढ्ने स्पष्ट पार्नुभएको छ । 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा मन्त्री शर्माले दूरसञ्चार ऐनलाई लिएर भ्रमपूर्ण विषय बाहिर आइरहेको भन्दै राष्ट्र हितभन्दा बाहिर गएर कुनै पनि विधेयक अघि नबढ्ने बताउनुभएको हो । मन्त्री शर्माले दूरसञ्चार विधेयक प्रारम्भिक मस्यौदा तयारीको अवस्थामा रहेकाले गलत काम हुन नदिने र गर्न नदिनेमा आफू स्पष्ट रहेको जिकिर गर्नुभयो ।

दूरसञ्चार ऐनलाई अन्तिम रूप दिनका लागि सरोकारवालाहरूसँगको छलफल र यसअघिको कानुनलाई टेकेर मात्रै अघि बढ्ने उहाँले बताउनुभयो । दूरसञ्चार ऐन २०५३ लाई खारेज गरेर नयाँ दूरसञ्चार विधेयक तर्जुमा गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट स्वीकृति प्राप्त गरिसकेको जानकारी दिँदै मन्त्री शर्माले उक्त विधेयकको विषयमा प्रारम्भिक मस्यौदा तयार गर्न छलफल सुरु भएको बताउनुभयो । 

त्यस्तै उहाँले दूरसञ्चार सेवाको गुणस्तर अभिवृद्धि गरी सर्वसुलभ र सबैको  पहुँचमा पु¥याउनका लागि काम भइरहेको जानकारी दिनुभयो । 

प्रधानमन्त्रीको कामकारबाही हेर्दा आत्मविश्वास नभएको, बढी अलमल भएको जस्तो देखियो : गगन थापा

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले परिणाममुखी काममा केन्द्रित हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा थापाले सरकारको साझा कार्यक्रम सार्वजनिक भइसकेको अवस्थामा अव प्रधानमन्त्रीले परिणाममुखी काममा केन्द्रित हुनुपर्ने बताएका हुन् ।

उनले सरकारको साझा न्यूनतम कार्यक्रमलाई संसदमा प्रस्तुत गर्ने परम्परा कायम गर्नुपर्ने बताए । साझा न्यूनतम कार्यक्रममा उल्लेख प्राथमिकतालाई सम्बोधन गर्नका लागि सरकार केन्द्रित हुनुपर्ने उनले बताए । थापाले प्रधानमन्त्री भएर प्रधानमन्त्रीले जस्तो काम गर्नका लागि चुस्त टिम बनाएर अघि बढ्नुपर्ने धारणा राखे । उनले प्रधानमन्त्रीको कामकारबाही हेर्दा आत्मविश्वास नभएको, बढी अलमल भएको जस्तो देखिएको तर्क गरे ।

थापाले जनतालाई प्रत्यक्ष अनुभव हुने गरी काम गर्न प्रधानमन्त्रीले कार्यशैली नै परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।

मिटरब्याज पीडितको समस्या सरकारले समाधान गर्छ : माधवकुमार नेपाल

काठमाडौँ – नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले मिटरब्याज पीडितको समस्या सरकारले समाधान गर्ने बताएका छन् ।

शुक्रबार समाजवादी सहकारी सङ्गठन नेपालको क्यालेन्डर विमोचन गर्दै अध्यक्ष नेपालले अहिले मिटरब्याज पीडितहरूको अवस्था विकराल भएको भन्दै सरकारको न्यूनतम साझा कार्यक्रममा समेत त्यसलाई सम्बोधन गरिएको बताएका हुन् । त्यस्तै उनले सहकारीका नाममा देखिएका विकृति र विसङ्गतिलाई पनि अन्त्य गर्नुपर्ने उल्लेख गरे ।

अध्यक्ष नेपालले सहकारी ग्रासरुटको डेमोक्रेसी भएको सहभागिता मूलक लोकतन्त्र भएको भन्दै यसले आममानिसहरूको सर्वसाधारणको हित र जीवनमा काम गर्नुपर्ने बताए । उनले मिश्रित अर्थतन्त्रका मान्यता अनुरूप सहकारी निजी र राज्य सम्मिलित ३ खम्बे अर्थतन्त्रलाई संविधानले पनि अगाडि सारेकाले घर घरमा र विदेशमा छरिएका स–साना पुँजीहरूलाई एकीकृत गरी ठुलो आकार निर्माण गरी परिचालन गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा सङ्गठनका अध्यक्ष नवराज अर्यालले विश्वमै देखिएको अर्थतन्त्र सङ्कटलाई समाधान गर्न सहकारीहरूले जिम्मेवार भएर अघि बढ्नुपर्ने धारणा राखे ।

बलात्कार आरोपमा एक पुरुष पक्राउ

ओखलढुंगा / २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मानेभन्ज्याङ गाउँपालिका-२ वाक्सा बस्ने ६० वर्षीय गोपाल कटवाललाई  प्रहरीले पक्राउ गरेको छ । 

कटवालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सिंहदरवारअगाडि मिटरब्याजपीडितको आन्दोलन

काठमाडौं । मिटरब्याजपीडितले शुक्ररबार प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारअगाडि प्रदर्शन गरेका छन् ।

केही दिनयता उनीहरूले दैनिकजसो प्रदर्शन गर्दै आएका छन् ।

विभिन्न माग राखेर काठमाडौं केन्द्रित आन्दोलन गरेका उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराएका थिए ।

सरकारले सांसदमा उठाएका विषयमा चासो नदेखाएपछि हरि ढकालले गरे मौनधारण

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले प्रतिनिधिसभाको शुन्य समयमा मौनधारण गर्नुभएको छ ।

सांसदहरुले संसदमा उठाएका विषय सरकारले नसुनेको भन्दै त्यसको विरोधमा उहाँले सो समय मौनधारण गर्नुभएको हो ।

‘यो सरकारले हामी माननीयले बोलेको केही पनि नसुनेको भएर मैले यो शुन्य समयमा मौन धारण गरेँ । धन्यवाद’,उहाँले भन्नुभयो ।

सभामुखले शून्य समयमा बोल्दै समय दिएपछि उनले माइक्रोफोन लिएर ‘सभामुख महोदय’ भनी एक मिनेट मौनधारण गरेका थिए ।

मेयर प्रेमलाल साहविरुद्ध पक्राउ पुर्जी जारी

रौतहट / रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रेमलाल साह कानुविरुद्ध  पक्राउ पुर्जी जारी भएको छ । नक्कली परीक्षार्थी राखेर परीक्षा दिएको आराेपमा उनीविरुद्ध राैतहट जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

साहको सट्टामा माध्यमिक  शिक्षा परीक्षा (एसईई) दिँदै गरेका नक्कली परीक्षार्थी गरुडा नगरपालिका-६ पोठियाहीका कमल साह
बिहीबार पक्राउ परेपछि शुक्रबार जिल्ला अदालतले मेयर साहविरुद्ध  पक्राउ पुर्जी जारी गरेको हो ।

अनुसन्धानका क्रममा मेयर साहको नाम आएकोले छानबिन गर्नु परेकोले उनीविरुद्ध पनि जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गराइएको प्रहरीले जनाएको छ ।

मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ मावि केन्द्रबाट मेयर साहको नाममा  परीक्षा दिइरहेका बेला कमल पक्राउ परेका हुन् ।

संसदमा मनिष झाको प्रश्न : सरकार रातारात भ्रष्टचारीसँग मिलेको हो ?

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले प्रधानमन्त्रीले सत्ता गठबन्धनले जारी गरेको साझा न्यूनतम कार्यक्रमको विषयमा प्रश्न उठाएका छन् ।

शनिबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो प्रश्न उठाएका हुन् । उनले रास्वपाको बाचापत्रमा उल्लेख भएको विषयहरू अहिलेको न्यूनतम साझा कार्यक्रममा किन नअटाएको भन्दै प्रश्न उठाए ।

साथै उनले राष्ट्रिय सहमतिको सरकार भनेर प्रधानमन्त्रीले उच्चारण गरेपनि अघिल्लो गठबन्धन हुँदा समेटिएको साझा न्यूनतम कार्यक्रमको विषय किन हटाइएको भन्दै प्रश्न गरे ।

सरकारले दुई महिनाअघि ल्याएको नीति तथा कार्यक्रममा समेटिएको बलात्कारसम्बन्धी मुद्दामा द्रूत गतिमा छिनोफानो गर्ने भन्ने व्यवस्था हटाइएको भन्दै उनले आपत्ति जनाए ।

‘बलात्कारसम्बन्धी मुद्दामा द्रूत गतिबाट छिनोफानो गर्ने व्यवस्था गरेको थियो । अहिले हटाइएको छ । दुई महिनाअघि स्वीकार भएको यो व्यवस्था अहिले किन भएन ?,’ उनले अघि भने, ‘भ्रष्टाचारमा अख्तियार जोडिएका विषयहरूमा छानबिन गरी कानुनी कारबाही अघि बढाउने भन्ने कुरा पहिले थियो, अहिले छैन । रातारात भ्रष्टाचारीसँग मिलेमतो भएको हो वा अन्य केही कारण हो ?’

उनले पहिलेको नीति तथा कार्यक्रममा एक वर्षभित्र राष्ट्रिय परिचयपत्र दिइसक्ने उल्लेख भएकोमा यसपटक त्यसलाई हटाइएको बताए ।

एकल आमाका सन्तानको जन्म दर्तामा मावलीको थर राख्ने निर्णयप्रति बाबुरामको असन्तुष्टि

काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले एकल आमाका सन्तानलाई मावलीको थर राखेर जन्म दर्ता गर्ने सरकारको निर्देशनलाई लिएर असन्तुष्टि ब्यत्त गरेका छन् ।

आज सामाजिक सञ्जालमा लेख्दै भट्टराईले सरकारले सबै स्थानीय तहलाई जारी गरेको परिपत्रलाई लज्जास्पद रहेको बताएका हुन् ।

‘एकल आमाका सन्तानलाई मावलीको थर राखेर जन्म दर्ता गर्ने उर्दी राज्यका तर्फबाट कसैले दिएको सत्य हो भने २१औं शताब्दीमा यो भन्दा लज्जास्पद कुरा अरू केही हुनसक्दैन,’उनले भने ।

जन्मदिने आमा सबैभन्दा ठूलो पहिचान र प्रमाण भएको उल्लेख गर्दै उनले आमाले राखेको थर नै राख्न दिनु उपयुक्त हुने बताए ।

‘जन्म दिने आमा भन्दा ठूलो पहिचान र प्रमाण अरू केही हुन्छ र ? अनि आमाको वा आमाले राखेको थर किन नभन्ने ? बरू थर नै किन चाहिन्छ र ? ’,उनले लेखेका छन् ।

क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) बीच पार्टी एकता

काठमाडौँ – नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा ९बहुमत०बीच आज पार्टी एकता भएको छ ।

काठमाडौँमा आज पत्रकार सम्मेलन गरी पार्टी एकता भएको दुवै पार्टीका नेताहरुले जानकारी दिएका हुन् ।

आगामी मजदुर दिवसको दिन जनसभासहित एकताको औपचारिक घोषणा गर्ने नेकपा बहुमतका नेता हेमन्त प्रकाश ओली सुदर्शनले जानकारी दिए ।

यसअघि यी दुवै पार्टीले वैद्य र बास्तोला नेतृत्वमा वार्ता टोली गठन गरेका थिए । सो वार्ता टोलीमा गत साउन महिनामै पार्टी एकता गर्ने सहमति भएको थियो । त्यसको आठ महिनापछि काठमाडौंस्थित इच्छुक स्मृति प्रतिष्ठानमा पत्रकार सम्मेलन गरी पार्टी एकताको घोषणा गरिएको हो ।

आकस्मिक समयमा उठाएको विषय सान्दर्भिक नभएको भन्दै सभामुख घिमिरेले रोके

काठमाडौँ – प्रतिनिधिसभाको शुक्रबारको बैठकको आकस्मिक समयमा बोलिरहेका नेपाली कांग्रेसका सांसद् वीरवहादुर बलायरलाई सभामुख देवराज घिमिरेले रोकेका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा उठाएको विषय सान्दर्भिक नभएको भन्दै सभामुख घिमिरेले रोकेका हुन् ।

बलायरले बैठकमा सुदुरपश्चिमको राजधानीलाई केन्द्रीय सरकारले भोगाधिकार दिन नसकेको भनिरहँदा उनको भनाइ सभामुखले रोकेका हुन् ।

आकस्मिक समयमा अघिल्लो बैठक र आजको बैठकको बिचको घटना वा विषयमा मात्र उठान गर्न पाइने भएकाले बलायरलाई सभामुखले बिचैमा रोेकेका हुन् ।

दिगो विकास लक्ष्य हासिल गर्न सहकार्य गरौँः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिगो विकासको लक्ष्य हासिल गर्न संघ, प्रदेश र स्थानीय सरकारका साथै निजी क्षेत्र, सहकारी क्षेत्र, गैरसरकारी क्षेत्र, नागरिक समाज र विकास साझेदारहरूबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित दिगो विकास लक्ष्य राष्ट्रिय निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।

बैठकमा प्रधानमन्त्रीले भने, “दिगो विकास लक्ष्यको कार्यान्वयन सरकार एक्लैको प्रयत्नबाट सम्भव हुँदैन। यसमा निजी क्षेत्र, सहकारी क्षेत्र, गैरसरकारी संस्था, नागरिक समाज र विकास साझेदारहरू सबैको उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ। त्यसैले यी सबै क्षेत्रका बीचमा समन्वय, सहकार्य र साझेदारी हुनु आवश्यक छ। यसका लागि सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ भने अन्य क्षेत्रहरूले आ–आफ्नो जिम्मेवारीबोध गरी दिगो विकास अनुरूपका नीति तथा कार्यक्रम कार्यान्वयनमा सरकारसँग हातेमालो गर्नु जरुरी छ।”

बैठकमा प्रधानमन्त्रीले सरकार नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको चरणमा प्रवेश गरेको भन्दै दिगो विकास लक्ष्यसहित मुलुकको गुणात्मक विकासलाई केन्द्रमा राखेर काम गर्न पनि सरकारका सबै निकायहरूलाई निर्देशित गरे ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले दिगो विकास लक्ष्यका निम्ति नेपालले गरिरहेको प्रयास र प्रगतिसम्बन्धि आफ्नो प्रस्तुति राखेका थिए । 

सो बैठकमा जिल्ला समन्वय समिति महासंघ नेपाल, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघका प्रतिनिधिहरू, राष्ट्रिय योजना आयोगका सदस्यहरू, नेपाल सरकारका मुख्यसचिव, प्रदेशका मुख्यमन्त्रीहरू र अर्थमन्त्रीले दिगो विकास लक्ष्य प्राप्तिका लागि नेपालले खेल्नुपर्ने भूमिकाबारे आफ्नो विषय राखेका थियो।

बैठकको समापन गर्दै प्रधानमन्त्रीले बुँदागत निर्देशन दिएका थिए। बैठकमा प्रधानमन्त्रीले प्रस्तुत गरेका बुँदागत सुझावहरू निम्नानुसार छन् :

प्रधानमन्त्रीको सम्बोधनका बुँदाहरू : 

१. सन् २०१५ मा नेपालसहित विश्वका १९३ राष्ट्रले संयुक्त रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको दिगो विकासका लक्ष्यले सन् २०३० सम्ममा विश्वव्यापी रूपमा गरिबी अन्त्य गर्ने, वातावरण संरक्षण गर्ने तथा शान्ति र समृद्धि हासिल गर्ने परिकल्पना गरेको छ। यो यसअघि कार्यान्वयन गरिएको सहश्राब्दी विकास लक्ष्यको परिस्कृत निरन्तरता पनि हो। “कसैलाई पनि पछि नछोडौं (Leave No One Behind)” भन्ने मूल मर्मसहित कार्यान्वयनमा ल्याइएका दिगो विकासका विश्वव्यापी १७ लक्ष्य, १६९ परिमाणात्मक लक्ष्य र २३२ सूचकहरूले विकासका आर्थिक, सामाजिक  र वातावरणीय पक्षहरूलाई समेटेका छन्।

२. हामीले अन्तर्राष्ट्रियरूपमा प्रतिवद्धता जनाएअनुरूप नै दिगो विकास लक्ष्य कार्यान्वयनमा जोड दिँदै आएका छौं। नेपालको संविधानमा मौलिक हक, राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरू र अन्य व्यवस्थाहरूमा समेत दिगो विकास लक्ष्य हासिल गर्न गर्नुपर्ने धेरै विषयहरू समेटिएका छन्। यसले हामीलाई दिगो विकास लक्ष्य कार्यान्वयनका लागि आधार प्रदान गरेको छ। हामीले दिगो विकास लक्ष्यलाई चौधौं योजनादेखि नै बजेट तथा कार्यक्रममा आन्तरिकीकरण गर्न सुरू गरेका थियौं। चालु पन्ध्रौं योजना पनि दिगो विकास लक्ष्यसँग सामन्जस्य कायम गरी तयार गरिएको छ। दिगो विकास लक्ष्यलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्नका लागि विभिन्न तहमा समितिहरू गठन गरिएका छन्। संघीय संसदमा दिगो विकास तथा सुशासन समिति रहेको छ। दिगो विकास लक्ष्य कार्यान्वयनको समग्र मार्गदर्शन गर्न यो दिगो विकास लक्ष्य राष्ट्रिय निर्देशक समिति रहेको छ। यसअन्तर्गत कार्यान्वयन तथा अनुगमन समिति र सातवटा विषय क्षेत्रगत समितिहरू समेत रहेका छन्।

३. अहिले हामी दिगो विकास लक्ष्य कार्यान्वयनको सातौं वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेका छौं। नेपालले सुरूमा दिगो विकास लक्ष्यका विश्वव्यापी २३२ सूचकमा आफ्नो आवश्यकता अनुसारका २४७ राष्ट्रिय सूचकहरू थप गरी कुल ४७९ सूचकहरू निर्धारण गरेको थियो। थप गरिएकामध्ये कतिपय सूचक दिगो विकास लक्ष्यसँग सोझै सम्बन्धित नभएको र कतिपयको तथ्य–तथ्याङ्क प्राप्त हुन नसक्ने देखिएकाले त्यस्ता सूचकहरूलाई हटाएर तथ्याङ्क उपलब्ध हुनसक्ने र नियमित अनुगमन तथा मूल्यांकन गर्न साथै प्रगति प्रतिवेदन गर्न सम्भव हुने सूचकहरूलाई मात्र समावेश गरी ३०१ सूचकहरू कायम गरिएको छ। 

४. हामीले यस अवधिमा गरिबी निवारणमा उल्लेख्य प्रगति हासिल गरेका छौं। बहुआयामिक गरिबी १७.४ प्रतिशतमा झरेको छ। शिक्षाको पहुँचमा महत्वपूर्ण प्रगति भएको छ। आधारभूत तहमा खुद भर्नादर ९५ प्रतिशत पुगेको छ। समग्र स्वास्थ्य सुविधाहरूमा जनताको पहुँचमा वृद्धि भएको छ। लैंगिक सशक्तिकरणमा उल्लेख्य सुधार भएको छ। आधारभूत खानेपानी सुविधामा ९५ प्रतिशत जनसंख्याको पहुँच पुगेको छ। विद्युत् विकासमा हाम्रो प्रगति उत्साहजनक छ। सडक घनत्वमा सुधार भइरहेको छ र असमानता घटाउनेतर्फ उल्लेख्य काम भएको छ। तर पनि पूर्वाधार निर्माण, औद्योगिक क्षेत्रको  विकास, कृषिको आधुनिकीकरण गर्नेजस्ता विषयमा हामीले अझै बढी ध्यान पु¥याउनुपर्ने भएको छ। 

५. विश्वभरि नै दिगो विकासको लक्ष्य हासिल गर्नेतर्फको प्रगति सुस्त रहेको महसुस गरिएको अवस्थामा कोभिड–१९ को महामारीले हालसम्म भए–गरेको प्रगतिलाई पनि क्षयीकरण गरेको छ। रूस–युक्रेन युध्दको असरले थप चुनौती सिर्जना गरेको छ। यो स्थिति हामीले पनि भोगिरहेका छौं। अहिले देखिएको बाह्य साथै आन्तरिक समस्याले स्रोतमा थप सङ्कुचन ल्याइदिएको अवस्था छ। अर्कोतर्फ तथ्याङ्कको उपलब्धतामा कमीले गर्दा दिगो विकास लक्ष्य कार्यान्वयनको अनुगमन तथा मूल्यांकन र प्रतिवेदनको कार्य प्रभावकारी हुन सकेको छैन। 

६. दिगो विकास लक्ष्य कार्यान्वयनमा तीनै तहका सरकारहरूको महत्वपूर्ण जिम्मेवारी हुन्छ। संविधानले धेरै अधिकार र स्रोतसाधन प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरेको छ। त्यसैले दिगो विकास लक्ष्य प्राप्तिमा समष्टिगत सरकारको अवधारणा (Whole of Government Approach) अवलम्बन गर्नु जरुरी छ। सबै तहका सरकारको क्रियाशीलताबाट मात्रै दिगो विकासको सफल कार्यान्वयन भई अपेक्षित लक्ष्य प्राप्ति हुन सक्दछ। त्यसैले दिगो विकास लक्ष्यलाई प्रदेश र स्थानीय तहमा स्थानीयकरण गर्नका लागि बलियो र प्रभावकारीरूपमा काम गर्ने संस्थागत संरचना निर्माण गर्नुपर्ने आवश्यकता छ। साथै, ती लक्ष्य तथा सूचकहरूलाई योजना, बजेट तथा कार्यक्रममा समाहित गर्दै तिनको कार्यान्वयन प्रक्रियालाई थप प्रभावकारी बनाउनुपर्दछ।

७. दिगो विकास लक्ष्यको कार्यान्वयन सरकार एक्लैको प्रयत्नबाट सम्भव हुँदैन। यसमा निजी क्षेत्र, सहकारी क्षेत्र, गैर–सरकारी संस्था, नागरिक समाज र विकास साझेदारहरू सबैको उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ। त्यसैले यी सबै क्षेत्रका बीचमा समन्वय, सहकार्य र साझेदारी हुनु आवश्यक छ। यसका लागि सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ भने अन्य क्षेत्रहरूले आ–आफ्नो जिम्मेवारीबोध गरी दिगो विकास अनुरुपका नीति तथा कार्यक्रम कार्यान्वयनमा सरकारसँग हातेमालो गर्नु जरुरी छ। सबै क्षेत्रसँगको सहकार्यबाटै हामीले कोभिड–१९ ले ल्याएका चुनौतीहरूसमेत सामना गर्दै आजसम्मका उपलब्धि हासिल गर्न सफल भएका हौं। आगामी दिनमा पनि यस्तो सहकार्यलाई अझ बलियो बनाएर थप प्रगति गर्न सकिन्छ भन्ने मैले विश्वास लिएको छु।

८. राष्ट्रिय योजना आयोगले दिगो विकास लक्ष्य प्राप्तिका लागि सबै तहका सरकार र अन्य सबै सरोकारवालाहरूसँग सहकार्य गरिरहेको छ। यसलाई आगामी दिनमा थप मजबुत बनाउँदै बाँकी अवधिमा दिगो विकासका सबैजसो निर्धारित लक्ष्यहरू प्राप्त गर्नमा प्रभावकारी भूमिका खेल्नेछ भन्ने विश्वास मैले लिएको छु। हाल आर्थिक वर्ष २०८०/८१ का लागि बजेट तथा कार्यक्रमको तयारी भइरहेको छ। प्रदेश र स्थानीय तहले पनि आ–आफ्नो तहको बजेट तथा कार्यक्रम तयारी गरिरहेका छन्। हामीले सोह्रौं योजना तर्जुमाको कार्य सुरू गरिसकेका छौं। नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदैछ। सोहीअनुरूप हामीले स्तरोन्नतिको रणनीति तर्जुमा गर्ने र अतिकम विकसित राष्ट्रहरूको पाँचौं संयुक्त राष्ट्र संघीय सम्मेलनले सन् २०२२ मा अनुमोदन गरेको Doha Program of Action कार्यान्वयनको राष्ट्रिय कार्ययोजना तयार गर्ने कार्यसमेत अघि बढाएका छौं।

९. यी सबै कार्यहरू दिगो विकास लक्ष्य प्राप्तिसँग प्रत्यक्षरूपमा जोडिएका छन्। यसै वर्ष हामीले दिगो विकास लक्ष्यको हालसम्मको प्रगति समीक्षा गरी परिवर्तित सन्दर्भमा यसको लागत अनुमान साथै वित्तीय रणनीतिमा पुनरावलोकन गर्दैछौं। यी सबै कामका लागि राष्ट्रिय योजना आयोग र निर्देशक समिति दुबैको अध्यक्षका हैसियतले मेरो तर्फबाट सबै किसिमको सहयोग रहने विश्वास दिलाउँदै तीनै तहका सरकार, नेपाल सरकारका सम्बन्धित मन्त्रालय तथा निकायहरू, निजी क्षेत्र, सहकारी क्षेत्र, गैरसरकारी संस्था, नागरिक समाज र अन्तर्राष्ट्रिय विकास साझेदारहरूलाई दिगो विकासका लक्ष्य हासिल गर्न केन्द्रित सहयोग र सहकार्यलाई थप प्रभावकारी बनाउन आव्हान गर्दछु । धन्यवाद !

प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं – प्रभु बैंकले संस्थापक सेयरधनीको नाममा संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ६ लाख ७७ हजार १०५ कित्ता संस्थापक सेयर बिक्रमा ल्याएको हो ।

यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् भने बैंकले यो सेयरको भाउ भने तोकेको छैन ।


यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले आज देखि बाट ३५ दिनभित्र निवेदन पेश गर्नु पर्नेछ । बैकका अनुसार उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई पनि सेयर बिक्री गरिने छ ।

सरकारले गर्‍यो पदम लिम्बूलाई शहीद घोषणा

काठमाडौं – संघीय सरकारले पहिचनवादीको आन्दोलनका क्रममा घाइते भई सहादत प्राप्त गरेका पदम लिम्बू (लाजिहाङ)लाई शहीद घोषणा गरेको छ । 

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले कोशी प्रदेश कोशी नामकरणविरुद्ध भएको आन्दोलनको क्रममा मृत्यु भएका धरान उपहानगरपालिका–१५ का लिम्बूलाई शहीद घोषणा गरेको हो । 

बैठकले लिम्बूको परिवारलाई सहयोग गर्ने निर्णय पनि गरेको छ ।  गत ५ चैतमा विराटनगरमा भएको आन्दोलनमा क्रममा भएका लिम्बूको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

यसअघि कोशी प्रदेश सरकारले लिम्बूको परिवारलाई तीन लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो । 
 

सरकारको न्युनतम साझा कार्यक्रम कर्मकाण्डी, जनतालाई त्रासमुक्त गराउन सकेन : राप्रपा प्रवक्ता श्रेष्ठ

काठमाडौं –राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सरकारले सार्वजनिक गरेको न्युनतम साझा कार्यक्रम कर्मकाण्डी मात्रै भएको टिप्पणी गरेका छन् । 

बिहीबार सरकारले सार्वजनिक गरेको साझा न्युनतम कार्यक्रम कर्मकाण्डी र जनतालाई त्रासमुक्त गराउन नसकेको प्रवक्ता श्रेष्ठले बताए ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गरेका प्रवक्ता श्रेष्ठले सरकारको न्युनतम साझा कार्यक्रमलाई ‘क्वाँटी’ दस्तावेजको रुपमा रहेको टिप्पणी गरेका हुन् । 

‘न्युनतम साझा कार्यक्रम समस्याको पहिचान गर्न असफल, यथास्थितिमा बदलाव ल्याउन अपूर्ण, भ्रम छर्ने खालको र भागवण्डाको कार्यक्रमको रुपमा मात्रै सीमित रहने ‘क्वाँटी’ दस्तावेज हो,’ उनले भनेका छन्, ‘देशले चरम आर्थिक संकट बेहोरिरहेको त्रासदीपूर्ण अवस्थामा सरकारले आफ्नो न्युनतम साझा कार्यक्रममार्फत् जनतामा आशा, विश्वास र भरोसा पैदा गर्न सकेन । अघिल्लो गठबन्धनका कतिपय सकारात्मक विषयलाई पूर्वाग्रही ढंगबाट उपेक्षा गरिएको छ ।’ 


फेसबुकमा प्रवक्ता श्रेष्ठले लेखेका छन् :

अकारण अघिल्लो सत्ता गठबन्धन बदलेर अस्थिरताको मार्गतर्फ अघि बढेको प्रचण्ड नेतृत्वको सरकारले सार्वजनिक गरेको न्युनतम साझा कार्यक्रम समस्याको पहिचान गर्न असफल, यथास्थितिमा बदलाव ल्याउन अपूर्ण, भ्रम छर्ने खालको र भागवण्डाको कार्यक्रमको रुपमा मात्रै सीमित रहने ‘क्वाँटी’दस्तावेज हो। देशले चरम आर्थिक संकट बेहोरिरहेको त्रासदीपूर्ण अवस्थामा सरकारले आफ्नो न्युनतम साझा कार्यक्रम मार्फत जनतामा आशा, विश्वास र भरोसा पैदा गर्न सकेन । अघिल्लो गठबन्धनका कतिपय सकारात्मक विषयलाई पूर्वाग्रही ढंगबाट उपेक्षा गरिएको छ ।

देशलाई खोक्रो बनाउने भ्रष्टाचार जस्तो जघन्य विषयलाई राप्रपा समेत सहभागी अघिल्लो गठबन्धनले जुन कडाइ र प्राथमिकता दिएको थियो,  कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अघि बढाएर कानुनको कठघरामा उभ्याउने विश्वास नागरिकलाई दिइएको थियो, यसपटक यति गम्भीर विषयलाई ‘कदम चाल्ने’ मात्रै भनेर सामान्यीकरण गरिएको छ । साझा कार्यक्रममा उल्लेखित कतिपय विषय कार्यान्वयन हुनेमा आशंका छ जसबाट यो साझा कार्यक्रम केवल ‘कागजी घोडा’मात्रै हुने ठोकुवा गर्न सकिन्छ ।

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची 

काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०० बजे बानेश्वरस्थित सङ्घीय संसद् भवन बस्नेछ ।

सङ्घीय संसद् सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७८/०७९’ पेस गर्ने कार्य तालिका रहेको छ ।

यसैगरी, आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले राष्ट्रियसभाबाट सन्देश सहित प्राप्त ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ – सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केही बेरअघि मन्त्रिपरिषद् नियमित बैठक सुरु भएको हो ।  सरकारले साझा न्यूनतम नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

आजको बैठकले सरकारको न्यूनता साझा कार्यक्रम पास गर्ने एजेन्डा रहेको प्रधानमन्त्री स्रोतले बतायो । बैठकमा अन्य मन्त्रालयगत नियमित एजेन्डामाथि छलफल भइरहेको बताइएको छ । 

सत्ता गठबन्धनले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन बेर छैन : अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सक्ने आशंका व्यत्त गर्नुभएको छ । 

बिहीबार पार्टी निकट पेशागत महासंघको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले कुनै दिन सभामुखविरुद्ध पनि महाअभियोग ल्याउन बेर नलगाउने टिप्पणी गर्नुभएको हो । 

उहाँले भन्नुभयो,‘राष्ट्रपतिज्यूलाई महाअभियोग लगाउन खोजेका थिए, कुन दिन सभामुखविरुद्ध पनि ल्याउन बेर लगाउँदैनन्, लाजशरम भन्ने छैन, के गर्न हुन्छ के गर्न हुन्न भन्ने कुनै सीमा छैन ।’

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति सदस्यको नाम टुंगियो (सूचीसहित)

काठमाडौं – प्रतिनिधिसभाअन्तर्गतको कार्यव्यवस्था परामर्श समिति सदस्य चयन गरिएको छ ।  बिहीबार बसेको प्रतिनिधिसभा बैठकले समिति सदस्यको नाम अनुमोदन गरेको छ । 

बुधबार बसेको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलको बैठकले कार्यव्यवस्था परामर्श समिति बैठकमा सहभागी हुने दलीय प्रतिनिधित्वको संख्या टुंग्याएको थियो । जसअनुसार बिहीबार बसेको बैठकमा प्रस्तुत गरिएको सदस्यहरुको नामलाई अनुमोदन गरिएको हो । 

परामर्श समिति सदस्यहरूको नाम यसप्रकार छ-

१. अजय कुमार चौरसिया

२. अनिता देवी

३. गंगाराम चौधरी

४. जीवन परियार

५. तारा लामा तामाङ्ग

६. नागिना यादव

७. पदम गिरी

८. प्रदिप यादव

९. महेश कुमार बर्तौला

१०. मेटमणि चौधरी

११. रमेश लेखक

१२. रामप्रकाश चौधरी

१३. रामहरि खतिवडा

१४. रुपा सो.शी. (चौधरी)

१५. लिलानाथ श्रेष्ठ

१६. विद्या भट्टराई

१७. सन्तोष परियार

१८. सरिता प्रसाई

१९. हितराज पाण्डे

२०. ज्ञानबहादुर शाही

विदेशीको इसारामा बनेको सत्ता गठबन्धनबाट मुलुक बन्दैन : पृथ्वीसुब्बा गुरुङ

जुम्ला – नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले विदेशीको इसारामा बनेको सत्ता गठबन्धनबाट मुलुक बन्न नसक्ने बताउनुभएको छ।

नेकपा एमाले कर्णाली प्रचार विभागले आज आयोजना गरेको कर्णाली प्रचार भेलामा उपमहासचिव गुरुङले यस्तो बताउनुभएको हो।

उपमहासचिव गुरुङले भन्नुभयो, ‘विदेशीको दलाली गर्ने र उसैको पाउमा पर्नेहरूले मुकुलको हितमा कुनै काम गर्दैन, मुलुक पनि बन्दैन।’

नेता गुरुङले कांग्रेसको पाउमा पर्ने पार्टी कम्युनिष्ट हुनै नसक्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘कांग्रेसको पाउमा पर्ने पार्टीहरू कम्युनिष्ट हुनै सकदैन, तिनीहरू कम्युनिष्ट आन्दोलनको गद्दार हुन्। यो तथ्यलाई सवै जनतालाई बुझाउनु पर्छ ।’

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशीकै इशारामा नेकपा एमालेलाई घात गरेर कांग्रेसको पाउमा परेको बताउनु भयो। उहाँले भन्नुभयो, ‘माओवादीले दुई महीना नै घात गरेर शत्रुको पाउमा परेर सिंगो नेपालीको शीर झुकाउने काम गर्यो ।जनतामाथि घात गर्यो ।’

नेकपा एमालेले देश बनाउने नेतृत्वगरेको कारण नै देशी–विदेशी प्रतिक्रियावादीले घेराबन्दी गरेको तथ्य राख्नुभयो। एमाले उपमहासचिव गुरूङले कर्णालीका जनतालाई माओवादीले निरन्तर ठगीरहेको बताउनु भयो।

‘कर्णालीबाट नै माओवादीले युद्द सुरू गर्यो, चुनाव पनि जित्यो तर कर्णालीको विकाशका लागि कुनै काम गरेन। कर्णालीका जनतालाई माओवादीले लगातार ठग्यो, एमालेको नेतृत्वबिना समृद्ध कर्णालीको सपना साकार हुन्न,’ एमाले उपमहासचिव गुरूङले भन्नुभयो।

कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्यद्वय गोरखबहादुर बोगटी,  डा. शिबमाया तुम्बाहाम्फे, केन्द्रीय सदस्य बिष्णु रिजाल, नगेन्द्र शाही, प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, एमाले केन्द्रीय प्रचार विभागका सचिव गगन बिष्ट, नेकपा एमाले जुम्ला जिल्लाका अध्यक्ष शान्तिलाल महत र एमाले केन्द्रीय प्रचार विभागका सदस्य टीका बिष्टले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

पुँजीगत खर्च बढाउन विशेष मेहेनत गरौँः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा देखापरेको आर्थिक चुनौतीलाई सम्बोधन गर्ने गरी काम गर्न र पुँजीगत खर्च बढाउन विशेष मेहेनत गर्न निर्देशन दिएका छन् । 

बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ५० औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो निर्देशन दिएका हुन् । 

‘पुँजीगत खर्च समयमा हुन सकेन भने त्यसले विकासनिर्माणको कार्य पछाडि पार्ने मात्र नभई त्यसबाट अर्थतन्त्रमा बहुआयामिक असर पर्दछ। तसर्थ संघ, प्रदेश र स्थानीय गरी तीनै तहको सरकारले पुँजीगत खर्चलाई तीव्रता दिन र कामको गुणस्तर कायम गर्नमा विशेष जोड दिन आवश्यक छ। अन्तरतह समन्वय गर्ने विषयमा अवश्य नै हामी पहल गर्नेछौं। बजेट कार्यान्वयनको सम्बन्धमा मन्त्रालयहरू र प्रदेश सरकारसँग समेत छलफल गरी अर्थ मन्त्रालयले प्रगति राम्रो भएका विकास आयोजनाहरूमा साधनस्रोतको अभाव नहुने व्यवस्था मिलाउने छ,’ उनले भने । 

बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकार आर्थिक वर्ष २०८०÷०८१ को नीति, कार्यक्रम र बजेटको पूर्वसन्ध्यामा रहेकोमा जोड दिँदै विगतभन्दा नयाँ र गुणात्मक प्रकृतिको योजना निर्माण र बजेट व्यवस्थाका लागि आवश्यक तयारी गर्नसमेत निर्देशन दिएका हुन् । 

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले आर्थिक वर्ष २०७९।०८० को अर्धवार्षिक समीक्षासहितको प्रस्तुति राखेका थिए । 

प्रस्तुतिमा समष्टिगत आर्थिक परिसूचकहरू, आर्थिक वर्षको अर्धवार्षिक प्रमुख आर्थिक परिसूचकहरू, राजस्व तथा वैदेशिक सहायता परिचालनको स्थिति, पन्ध्रौं योजनाको मध्यावधि समीक्षा विवरण, मन्त्रालयगत र निकायगत खर्चको प्रगति स्थिति र बिबरण, प्रदेशगत आर्थिक परिसूचकहरू र बजेट कार्यान्वयनको अवस्था, राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति बिबरण, राष्ट्रिय विकास समस्या समाधान समितिको ४७ औँ, ४८ औँ र ४९ औँ बैठकका निर्णय कार्यान्वयन तथा पहिलो प्राथमिकता प्राप्त आयोजनाहरूको भौतिक प्रगतिको बिबरण र ५० औँ बैठकमा पेश भएका समस्याहरू र समाधानका लागि प्रस्तावित उपायहरू मुख्य छन् ।

बैठकमा संघीय सरकारका मन्त्रीहरू, प्रदेशका मुख्यमन्त्रीहरू, महालेखा परीक्षक, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त विभागका अध्यक्ष, नेपाल सरकारका मुख्यसचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, जिल्ला समन्वय समिति महासंघका अध्यक्ष, नेपाल नगरपालिका संघका अध्यक्ष र गाउँपालिका महासंघका अध्यक्ष लगायतले आ–आफ्ना विषयहरू राखेका थिए । 


बैठकमा प्रधानमन्त्रीले गरेका सम्बोधनका मूल बुँदाहरू

१.    सर्वप्रथम म राष्ट्रिय विकास समस्या समाधान समितिको यो ५०औं बैठकमा यहाँहरूको सहभागिता साथै महत्वपूर्ण विचारका लागि धन्यवाद व्यक्त गर्दछु । आज हामीले आर्थिक वर्ष २०७८।७९ को वार्षिक र आ.व. २०७९।८० को प्रथम ६ महिनामा मुलुकको विकास कार्यतर्फ भएको प्रगतिको समीक्षा गरेका छौं। मुलुकको समग्र विकास निर्माण कार्यको सन्दर्भमा हासिल भएका प्रमुख उपलब्धिहरूको समीक्षा गर्नुका साथै विकास आयोजना र कार्यक्रमहरूको कार्यान्वयनमा देखिएका समस्याको समाधान गर्ने र भावी दिनमा विकास निर्माणलाई थप गति दिन यस बैठकले मद्दत गर्ने मैले विश्वास लिएको छु। मुलुकको समग्र विकास प्रयासलाई दिशानिर्देश गर्न यसले महत्वपूर्ण भूमिका खेल्नुका साथै समन्वयका समस्याहरू समाधान गरी लक्षित उपलब्धि हासिल गर्न सहयोग पुग्नेछ।

२.    नेपाल सरकार, प्रदेश र स्थानीय तहको सामूहिक प्रयासबाट संघीय प्रणालीलाई संस्थागत गर्दै लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा नेपाली जनताको आकांक्षाहरूको सम्बोधन गर्न, विकास प्रयासलाई गति दिन साथै विकासलाई सन्तुलित बनाउन जरुरी छ। नेपालको संविधानले प्रत्याभूत गरेका जनताका मौलिक हकहरूको कार्यान्वयनका साथै आवधिक योजनाले लिएका लक्ष्य प्राप्त गर्न, सरकारमा सम्मिलित दलहरूको नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रमहरूको कार्यान्वयन गरी जनतालाई प्रभावकारीरूपमा सेवा प्रवाह गर्न र आर्थिक सामाजिक पूर्वाधार निर्माण गर्न हामी सबैले समन्वयात्मक प्रयत्न गर्नुपर्दछ। 

३.    विश्व अर्थतन्त्रमा देखिएका चुनौतीहरूका साथै नेपालको अर्थतन्त्रमा देखिएका संरचनागत समस्याहरूलाई सम्बोधन गर्दै दिगो आर्थिक वृद्धि एवं सामाजिक प्रगतिको आधार निर्माण गर्न आजको यस छलफलबाट निस्केका निष्कर्ष र सोको कार्यन्वयनबाट बल मिल्नेछ। अहिलेको विषम परिस्थितिमा खर्चमा मितव्ययिता गर्ने, स्रोत परिचालनमा विशेष मेहनत गर्ने र उत्पादन बढाउने कार्यमा हामीले ध्यान केन्द्रित गर्नुपर्दछ।

४.    हालसालै राष्ट्रिय योजना आयोगले पन्ध्रौं योजनाको मध्यावधि मूल्याङ्कन गरेको छ। यस अनुसार केही क्षेत्रमा प्रगति भएको देखिएको छ। तर समग्रमा हाम्रो विकास प्रयासले अपेक्षित लक्ष्य हासिल गर्न नसकेको र धेरै क्षेत्रमा सुधार आवश्यक रहेको तथ्य पनि उजागर भएको छ।

५.    राष्ट्रिय योजना आयोगका उपाध्यक्षज्यूले प्रस्तुत गर्नुभएको समीक्षामा उल्लेखित तथ्यहरूले केही आयोजनाहरूमा राम्रो प्रगति भए पनि वार्षिक बजेट र आयोजनाहरूको कार्यान्वयनमा यस आर्थिक वर्षको प्रथम ६ महिनामा आशातित लक्ष्य हासिल हुन नसकेको देखाएको छ, यो अत्यन्त संवेदनशील विषय हो। यसो हेर्दा खासै ठूलो समस्या छ र त्यसका कारण काम भएन भन्ने पनि देखिन्न। तर बजेट, योजना र कार्यक्रमहरू ठीक ढंगले कार्यान्वयन हुन पनि सकेका छैनन्। खास समस्या के–के हुन्, तिनको पहिचान गरी समाधानका प्रभावकारी उपाय निक्र्यौल गर्ने कार्य पनि अहिले नै गर्नुपर्दछ। माननीय मन्त्रीहरूले यसमा विशेष पहलकदमी लिएर ठोस कार्य गर्नुहुनेछ भन्ने मेरो अपेक्षा छ। यहाँ छलफल भएबाहेक पनि अन्तरमन्त्रालयगत समन्वयका समस्याहरू छन् भने तिनलाई तुरुन्तै समाधान गर्नुहुनेछ।

६.    पुँजीगत खर्च समयमा हुन सकेन भने त्यसले विकासनिर्माणको कार्य पछाडि पार्ने मात्र नभई त्यसबाट अर्थतन्त्रमा बहुआयामिक असर पर्दछ। तसर्थ संघ, प्रदेश र स्थानीय गरी तीनै तहको सरकारले पुँजीगत खर्चलाई तीव्रता दिन र कामको गुणस्तर कायम गर्नमा विशेष जोड दिन आवश्यक छ। अन्तरतह समन्वय गर्ने विषयमा अवश्य नै हामी पहल गर्नेछौं। सातै प्रदेशका माननीय मुख्यमन्त्रीज्यूहरूको उपस्थितिमा राष्ट्रिय विकासको गतिलाई अझ बढी सुदृढ बनाउन सामूहिक प्रण गरौं। संघीयताको प्रभावकारी कार्यान्वयन प्रदेश सरकारको कार्यसम्पादनमा निर्भर गर्दछ भन्ने मेरो ठहर छ, यो मेरो आग्रहसमेत हो। बजेट कार्यान्वयनको सम्बन्धमा मन्त्रालयहरू र प्रदेश सरकारसँग समेत छलफल गरी अर्थ मन्त्रालयले प्रगति राम्रो भएका विकास आयोजनाहरूमा साधनस्रोतको अभाव नहुने व्यवस्था मिलाउने छ।

७.    अर्थतन्त्रका संरचनागत समस्या समाधान गर्न अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगले कार्ययोजना निर्माण गर्नसमेत निर्देश गर्दछु। बाह्य क्षेत्र सन्तुलनको लागि निर्यात प्रवद्र्धन गर्ने र आयात व्यवस्थापन गर्ने रणनीति तयार गरी कार्यान्वयन गर्ने व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पहल गर्नेछ। औद्योगिक क्षेत्रको विकास र उद्योग सञ्चालनमा सहज वातावरण निर्माण गर्न जरुरी रहेको छ। निजी क्षेत्रलाई लगानीयोग्य साधन प्राप्तिमा कमी हुन नदिन वित्तीय क्षेत्र सुधार रणनीति तयार गरी कार्यान्वयन गर्न निर्देशन गर्दछु।  

८.    नेपाल सन् २०२६ पछि अति कम विकासित राष्ट्रबाट विकासशील राष्ट्रको श्रेणीमा स्तरोन्नति हुने भएकोले सोको लागि आवश्यक तयारी गर्नुहुनेछ। साथै, जलवायु परिवर्तनबाट हुने जोखिम नियन्त्रणका लागि अग्रिम पहलकदमी लिन आग्रह गर्दछु। विकास निर्माण कार्यक्रम र आयोजना तर्जुमा गर्दा जोखिम न्यूनीकरणका उपायहरू शुरुदेखि नै समावेश गर्दै जानुपर्दछ। सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्न पनि उत्तिकै मेहेनत गर्न जरुरी छ।    

९.    विकास निर्माण कार्यमा रहेका अवरोध हटाउन जरुरी छ। खासगरी जग्गा अधिग्रहण र  पूरक इआइए गर्नमा हुने गरेको प्रशासनिक ढिलासुस्तीका कारण बेलाबेलामा समस्या भोग्नुपरेको अवस्था पनि छ। यस दिशामा आवश्यक संस्थागत समन्वय र प्रक्रियागत सरलीकरणको कामलाई गति दिनु जरुरी छ। अतिक्रमणमा परेका सरकारी जग्गाको स्वामित्व नेपाल सरकारमा कायम गर्ने व्यवस्था मिलाउनुपर्दछ।

१०.    आयोजना व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आयोजनाको वर्गीकरण र मूल्याङ्कन सम्बन्धी कार्यविधि लागू गर्न सबै तहलाई अनुरोध गर्दछु। यसले बजेटको प्राथमिकीकरणलाई समेत सघाउ पुग्नेछ। अन्तरतह र अन्तरनिकाय समन्वयलाई सुदृढ पार्दै विकास निर्माणका कार्यलाई तीव्रताका साथ अघि बढाउन म सबैलाई आग्रह गर्दछु। आयोजना र कार्यक्रमको अनुगमनलाई प्रणालीवद्ध, निरन्तर र नतिजामा आधारित बनाउन सकेमात्र विकास कार्यलाई गति दिन सकिन्छ। सोको लागि एकीकृत प्रणाली र प्रक्रिया अवलम्बन गरी दोहोरोपन हटाउन पहल गरौँ।  

११.    राष्ट्रिय योजना आयोगले प्रस्ताव गरेका विकासका समस्या समाधान गर्न प्रस्तावित उपायहरूलाई यस बैठकमा छलफलबाट प्राप्त सुझावलाई समेत समावेश गरी पारित गरौँ।   

१२.    सरकारमा सहभागी दलहरूको न्यूनतम साझा कार्यक्रमको कार्यान्वयनलाई उच्च प्राथमिकता दिनुहुनेछ। यस सरकारले जनतालाई अनुभूति हुने गरी सेवा प्रदान गर्ने प्रण गरेको यहाँहरूलाई अवगत नै छ। राष्ट्रिय नीतिहरूलाई सबै तहको समन्वयबाट कार्यान्वयनमा लैजान जरुरी छ।

१३.    समृद्धि हासिल गर्न अर्थतन्त्रमा उत्पादन र उत्पादकत्व वृद्धि गर्न जरूरी हुन्छ। कृषि क्षेत्रलाई व्यवसायीकरण गरी आत्म निर्भरता हासिल गर्ने र आयात प्रतिस्थापन गर्ने क्षेत्रको रूपमा विकास गर्न जरूरी छ। जलस्रोत क्षेत्रको विकास र विद्युत निर्यात गरी बाह्य क्षेत्र सन्तुलनका साथै सिंचाइको माध्यमबाट कृषि उत्पादन बढाउन सक्नु अहिलेको आवश्यकता हो। आवधिक योजना तथा राष्ट्रिय नीति कार्यान्वयन गर्न कार्यक्रमको प्राथमिकीकरण गरी उत्पादन र रोजगरी बढाउने कार्यलाई केन्द्रमा राखेर बजेट तर्जुमा गर्नुहुनेछ। यसका लागि विद्यमान कार्यक्रमहरूलाई पुनरसंरचना गर्नुका साथै केही नयांँनतिजामूलक कार्यक्रम पनि अघि बढाउन आवश्यक छ। 

१४.    एकातिर बजेट खर्च नहुने र अर्कोतिर आवश्यकताभन्दा बढी बजेट माग गर्ने प्रवृत्तिसमेत नियन्त्रण गर्न जरुरी छ। सम्पादन गर्न नसकिएका कार्यहरूलाई सम्पन्न गर्न तत्काल वैकल्पिक कार्ययोजना बनाई सम्पादन गर्ने र अधुरा आयोजनाहरूमा बजेट छुट्टाएर मात्र नयाँ कार्यक्रम प्रस्ताव गर्नुहुनेछ। 

१५.    आयोगले पन्ध्रौ योजनाको मध्यावधि मूल्याङ्कनबाट सिकेका पाठहरूलाई समेत समावेश गरी नेपालको संविधानले परिकल्पना गरेको आर्थिक समानता, समृद्वि र सामाजिक न्याय प्रदान गर्ने उद्देश्य पूरा गर्न १६ औं योजना तयार गरौं। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्विको आकांक्षा पूरा गर्नु हामी सबैको अभिष्ट हो। सबैले यसमा एक भएर आ–आफ्नो कर्तव्य पालनाका साथै जिम्मेवारी बहन गरौं। यो नै हाम्रो साझा उत्तरदायित्व समेत हो। यस आर्थिक वर्षको कार्यक्रम कार्यान्वयनका साथै आगामी आर्थिक वर्षको बजेट निर्माणमा केन्द्रित हुनसमेत सबैलाई अनुरोध गर्छु । 

बञ्चरेडाँडामा अव्यवस्थित रुप फोहोर फ्याल्न रोक लगाउन माग

काठमाडौं – एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले बञ्चरेडाँडामा अव्यवस्थित रुपमा फोहोर फाल्न रोक लगाउन माग गरेका छन् ।

 बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले बञ्चरेडाँडामा अव्यवस्थित रुपमा फोहोर फाल्न थालिएकाले यसलाई रोक्न माग गरेका हुन् ।

बन्चरेडाँडामा फोहोरको व्यवस्थापनबारे अनुगमन गर्न संसदीय टोलीलाई बन्चरेडाँडा पठाउनुपर्ने बताएका उनले बन्चरेडाँडामा व्यवस्थित रुपमा फोहोर फाल्न ल्याण्डफिल साइट बनाएको स्मरण गराए । 

सिसडोलमा फ्यालिएजस्तै बन्चरेडाँडामा पनि फोहोर फ्याल्न थालिएकाले स्थानीयलाई बस्नसमेत नसकिने अवस्था सृजना भएको उनको भनाइ छ । 

एउटासँग बिहे गर्‍यो, अर्कोसँग पोइल गयो : रघुजी पन्त

काठमाडौं – नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारको १०० दिनको उपलब्धी भ्रष्टाचार र दिशाहीन भएको बताउनुभएको छ । 

बिहीबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उहाँले सरकारको सय दिन खेर गएको बताउनुभयो । 

‘आजको प्रधानमन्त्रीसँग देशलाई कहाँ लैजाने थाहा छैन’,उहाँले भन्नुभयो । उहाँले प्रचण्ड प्रधानमन्त्री भएको सय दिनमा भ्रष्टाचार बढ्नेबाहेक केही काम नभएको टिप्पणी गर्नुभयो । ‘काम गरेको छैन, एउटासँग बिहे गर्‍यो, अर्कोसँग पोइल गयो । अनि केही दललाई लिएर सरकार बनायो’, उहाँले भन्नुभयो । 

 ‘३७ बुँदा पढ्दा के पढेको भन्ने नै बुझिँदैन । यस्तो योजना तर्जुमा गरिएको छ, यस्तो निर्देशन दिइएको छ भन्ने जस्ता कुरा छन्’ पन्तलेले भन्नुभयो, ‘न किसानका समस्या छन्, न मुलुकको गम्भीर अवस्थाबारे भिजन छ न गरेको कामको उल्लेल छ ।’

कतिपटक प्रधानमन्त्री बने भन्नुभन्दा उपलब्धि के भयो भन्ने कुरा महत्वपूर्ण हुने भन्दै उहाँले भन्नुभयो,‘मनमोहन एकपटक प्रधानमन्त्री बन्नु भएको थियो, त्यो पनि अल्पमतको, अहिलेसम्म उहाँलाई किन स्मरण गरिन्छ ?’ 

सांसद पन्तले बोल्दै गर्दा माओवादीका सूर्यमान दोङ तामाङले नियमापत्ति गर्नुभएको थियो । उहाँले पन्तको भनाइ रेकर्डबाट हटाउन माग गर्नुभएको थियो तर किन हटाउने भन्नेबारे तर्क भने दिन सक्नुभएन । 

बोल्दा मर्यादित भाषा प्रयोग गर्न सांसदलाई सभामुखको रुलिङ

काठमाडौं –सभामुख देवराज घिमिरेले मर्यादित भाषा प्रयोग गरेर आफ्नो धारणा राख्न सांसदहरुलाई रुलिङ गरेका छन् । 

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्तले सरकारको सय दिनको उपलब्धिबारे गरेको टिप्पणी गर्दा अमर्यादित भाषा र शब्द प्रयोग गरेको भन्दै सांसद लेखनाथ दाहालले यसमा सभामुखको ध्यान जानुपर्ने र संसदलाई मर्यादित बनाउनुपर्ने बताए । 

यसपछि सभामुख घिमिरेले यसप्रति आफ्नो ध्यानाकर्षण भएको बताए ।  साथै आफ्नो धारणा राख्दा मर्यादित भाषा प्रयोग गर्न रुलिङ गर्दै सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २१ (घ)लाई ध्यानमा राखेर आफ्नो धारणा राख्न निर्देशन दिएका हुन् । 
 

विमानस्थलमा भ्रष्टाचारले सबै सीमा नाघेको छ : हरि ढकाल

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले त्रिभुवन विमानस्थलमा भ्रष्टाचारले सबै सीमा नाघेको बताएका छन्। आज बसेको प्रतिनिधिसभाको बैठकको आकष्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,’विदेशबाट ल्याइएका शवका बाकस पनि एयरपोर्टमा फोडिएको छ। गरगहना र महत्वपूर्ण सामान छन् कि भनेर लुट्न कर्मचारीले त्यसो गरिरहेका छन्, शव ल्याएका बाक्साहरु पनि फोडिएको देख्दा भ्रष्टचारको जरो कति गाडिएको छ भन्ने छर्लङ्ग भएको छ।’

उनले लागुऔषध बोकेका कुरा नदेख्ने एयरपोर्टका कर्मचारी र प्रणालीले यात्रुका सुटकेस र बाकस फुटाइरहेको देख्दा भ्रष्टाचारले जरो गाडेको देखिन्छ ।

प्रतिनिधिसभामा सांसद माधव सापकोटाको प्रस्ताव : बार्षिक बजेट कार्यान्वयन क्यालेन्डर बनाउने

काठमाडौँ – नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुवोधले बार्षिक बजेट कार्यान्वयन क्यालेन्डर बनाउने प्रस्ताव गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन् ।

उनले भने, ‘बार्षिक बजेट क्यालेन्डर बनाइ प्रत्येक महिना निश्चित बजेट खर्च गर्न र सोही अनुरुप सम्बन्त्रिधत निकायको कार्यसम्पादन मुल्याङ्कन गरेर बजेट व्यवस्थावनको कमजोरी हटाउन सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु ।’

चालु आर्थिक बर्ष सकिन तीन महिना बाँकी रहँदा २५.८८ प्रतिशत मात्रै पुँजीगत खर्च भएको महालेखा परिक्षकको कार्यालयको तथ्याङ्क रहेको उल्लेख गर्दै उनले औसत ६० प्रतिशत बजेट अन्तिम समयमा हुने गरेको बताए ।

गत आर्थिक वर्षको अन्तिम महिनामा मात्रै २० प्रतिशत बजेट खर्च भएको स्मरण गर्दै उनले आगामी आर्थिक बर्षको बजेट ल्याउँदा यसतर्फ ख्याल गर्न सरकारको ध्यानाकर्षण गरेका हुन् ।

देश विदेशबाट ऋण ल्याएर संघीयता पाल्न सकिँदैन : ज्ञानेन्द्र शाही

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले देश विदेशबाट ऋण ल्याएर संघीयता पाल्न नसकिने बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘आज संघीयता कार्यकर्ता भर्ती गर्ने कहीँ नअटेको व्यक्तिलाई सांसद बनाउने प्रवृत्ति बढ्यो । देश विदेशबाट ऋण ल्याएर संघीयता पाल्न सकिँदैन ।’

देशको बढ्दो ऋण र युवा पलायनको विषयमा सरकारले जवाफ दिनुपर्ने उनले बताए ।

सिंगो देश र संसदलाई उपेन्द्र यादवको खाँचो छ : माधवकुमार नेपाल

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सिंगो देश र संसदलाई उपेन्द्र यादवको खाँचो रहेको बताएका छन् ।

आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा उपेन्द्र यादवका लागि मत माग्न बुधबार साँझ बारा- २ मा पुगे नेपालले यस्तो बताएका हुन् ।

उनले भने, ’यादवको जित सुनिश्चित छ।, सिंगो देश र संसदलाई उपेन्द्र यादवको खाँचो छ, त्यसैले राष्ट्रले खोजेको नेता उपेन्द्र यादवलाई अत्याधिक मत दिएर विजयी गराउन नेकपा एकीकृत समाजवादीको पार्टी पंक्ति एवं सिंगो बाराबासीलाई आग्रह गर्दछु ।’

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा मधेश जनविद्रोहको उच्च स्थान रहेको भन्दै नेता नेपालले मधेश विद्रोह, पहिचान, समावेशी र संघीयता जस्ता महत्वपूर्ण परिवर्तनका एजेन्डालाई संस्थागत गर्न देश र प्रदेशहरुको समयानुकूल विकास गर्न संसदमा जसपा अध्यक्ष यादवको उपस्थिति अपरिहार्य रहेको जिकिर गरे।

उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदै, आजै चुनाव चिन्ह दिइने

काठमाडौँ – निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका उम्मेदवारहरूको आज अन्तिम नामावली प्रकाशन गर्ने भएको छ ।

आयोगले चितवन–२, तनहुँ–१ र बारा–२ मा हुने उपनिर्वाचनका लागि आज बिहान ९ बजेदेखि १ बजेसम्म का लागि उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको छ ।

निर्वाचन आयोगका अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि आजै चुनाव चिह्न दिइने छ । चितवन–२, तनहुँ–१ र बारा–२ मा हुने उपनिर्वाचनका लागि गत सोमबार उम्मेदवारी दर्ता भएको थियो।

गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित रवी लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं २, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नंं १ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नं २ का लागि उपनिर्वाचन हुन लागेको हो ।

लागुऔषधसहित ८ जना पक्राउ

काठमाडौं – अवैध लागुऔषध सहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा साँगुरीगढी गाउँपालिका–३ बस्ने २३ वर्षीय सरोज याख्खा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो।  

प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले साँगुरीगढी गाउँपालिका–१ लाबरबोटेबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम फेला पारी उनिहरुलाई पक्राउ गरेको हो ।

यसैगरि, बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ परेका छन । करिब ४ ग्राम ब्राउनसुगर सहित बाँके कोहलपुर नगरपालिका–२ बस्ने २४ वर्षीय दिपक विक समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित फेला गरी पक्राउ गरेको हो । 

व्यक्तिगत गालीगलौज नगरौं, एजेण्डामा आधारित बहस गरौं : अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एजेण्डामा आधारित बहसका गर्न आग्रह गरेका छन् ।

आज आफ्नो सामाजिक सञ्जालमार्फत उनले उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न आग्रह गरेका हुन् ।

वैशाख १० गते हुने उपचुनावमा धेरैजसो उम्मेदवारहरू नयाँ र युवा अनुहार भएको भन्दै ओलीले यो खुसीको कुरा भएको बताए ।

‘युवामय उपचुनाव १ वैशाख १० गते उपनिर्वाचमा भाग लिने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुँदैछ । धेरैजसो उम्मेद्वारहरूमा नयाँ र युवा अनुहार देखिरहेको छु, यो खुसीको कुरा हो । उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न म आग्रह गर्दछु,’ उनले भनेका छन्,’मैले गत आम निर्वाचनका क्रममा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई बहसका निम्ति आउन आह्वान गरेको थिएँ, त्यसबेला मेरो प्रयास सफल भएन । अब हामीले राजनीतिलाई सही बाटोमा लैजान एजेण्डा केन्द्रित बनाउनै पर्छ । चुनावी मैदानमा उत्रिनु भएका सबै उम्मेदवारलाई शुभकामना !’ 

उनले यसअघि मंसिर ४ गते भएको आम चुनावमा पनि शेरबहादुर देउवालाई ‘लाइभ डिबेट’ मा आउन चुनौती दिएका थिए ।

बारा-२ मा उपनिर्वाचनका उम्मेदवारले २९ लाखसम्म खर्च गर्न पाउने

बारा – निर्वाचन आयोग नेपालले बारा क्षेत्र नं. २ को उपनिर्वाचनमा उम्मेदवारले अधिकतम २९ लाख सम्म खर्च गर्न पाउने जनाएको छ । आयोगले बुधवार विज्ञप्ति जारी गर्दै उम्मेदवारको खर्च सीमा निर्धारण गरेको हो ।

आयोगले बारा २, चितवन २ का उम्मेदवारले अधिकतम २९ लाख र तनहुँ १ का उम्मेदवारले ३१ लाख खर्च गर्न सक्ने जनाएको छ । नेपालको राजपत्रमा तोकिए बमोजिमको सिमा भित्र रहेर उम्मेदवारले चुनाव प्रचारका लागि खर्च गर्न सक्नेछन् ।

आयोगले निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमा खर्च विवरण पेश गर्न समेत विज्ञप्तिमार्फत सूचित गरेको छ ।

वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं – जिल्ला अदालत कपिलवस्तुले न्याय परिषदमा कार्यरत न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । 

वैवाहिक जबरजस्ती करणी मुद्दामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अदालतसमक्ष अनुसन्धानका लागि पक्राउ पुर्जी माग गरेको थियो ।

जसअनुसार अदालतले उनलाई पक्राउ गर्न आदेश दिएको हो । श्रीमती आरती रावलले आफूमाथि वैवाहिक बलात्कार भएको भन्दै कपिलवस्तु प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा प्रहरीले न्यायाधीश गिरीविरुद्ध अनुसन्धानका लागि पक्राउ पुर्जी माग गरेअनुसार अदालतले दिएको हो । 

यसअघि शैक्षिक प्रमाणपत्र नक्कली रहेको लगायतका विषयमा न्यायाधीश गिरीकी पत्नी रावलविरुद्ध पनि बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।  
 

माओवादी पदाधिकारी बैठक सुरु

काठमाडौं – नेकपा माओवादीको पदाधिकारी बैठक सुरु भएको छ । कोटेश्वरस्थित पार्टी मुख्यालयमा पदाधिकारी बैठक सुरु भएको हो । 

बैठकमा सरकारलाई पूर्णता दिनेलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् । 

रविविरुद्धको रिटमा अन्तरिम आदेश भएन, कारण देखाऊ आदेश जारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।

राहदानी दुरुपयोगमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा भएको सुनुवाइपछि अन्तरिम आदेश भने दिएन ।

सुनुवाइको क्रममा रविका वकिलहरूले संवैधानिक इजालासमा अमेरिकी नागरिकता त्यागिसकेको स्वीकार गरिसकेकाले अहिले यो विषयमा कुनै विवाद नरहेको जिकिर गरेका थिए ।

मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा परेको मुद्दाको पेशी उनले हेर्न नमिल्ने भनेपछि सुनुवाइ स्थगित भएको थियो ।

सोमबार युवराज पौडेल (सफल) ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

वर्तमान सरकारको स्थायित्वका विषयमा आशंका नगर्न माधव नेपालको आग्रह

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारको स्थायित्वका विषयमा आशंका नगर्न आग्रह गरेका छन् ।

बुधबार काठमाडौँमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलका क्रममा अध्यक्ष नेपालले वर्तमान सरकार र सत्तारुढ गठबन्धनका विषयमा विभिन्न आशंका गर्ने गरेको भन्दै गठबन्धन पाँच वर्षसम्मै कायम रहनेमा ढुक्क हुन सुझाव दिएका हुन् । राजनीतिक स्थायित्व दिनका लागि नै दलहरू मिलेर अघि बढ्ने प्रतिबद्धता गरेको उनले बताए ।

अध्यक्ष नेपालले पद र अवसरका लागि दलहरू मिलेको भन्ने आरोप लाग्ने गरेकाले त्यसलाई चिर्दे जनता र देशलाई केन्द्रित भएर काम गर्न सके त्यस्ता आरोपहरू आफै हट्ने जिकिर गरे । उनले अहिलेको गठबन्धन निर्वाचनका जनताले दिएको जनादेश अनुसारको रहेकाले मुलुकको समृद्धि र विकासमा जनताको अपेक्षा अनुसार नै अघि बढ्ने धारणा राखे ।

अध्यक्ष नेपालले गठबन्धनभित्र रहेका तीन वटा पार्टीबिच बाममोर्चा बनाएर अघि बढ्ने तयारी भइरहेको जानकारी दिए । त्यस्तै उनले कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन कम्युनिष्टबीचको एकतालाई पनि महत्त्व दिएको भन्दै कुनै दल सप्रेर मिलेर जानुपर्छ भन्न मान्यताका साथ आए एकता हुन सक्ने बताए ।

अध्यक्ष नेपालले विचार, नीति, दृष्टिकोण र भावनामा एकरूपता भए सँगै बसेर काम गर्न समस्या नहुने तर कुनै पार्टीमा गएर भने गाभिन नसकिने स्पष्ट पारे ।

सभापति लामिछानेविरुद्ध परेका  उजुरी खारेज, उम्मेदवारी कायम

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध परेको ४ वटा उजुरीमध्ये ३ वटा उजुरीमाथिको दाबी नपुगेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले खारेज गरेको छ ।

चितवन क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि उम्मेदवारी दिएका रास्वपाका सभापतिलामिछानेको उम्मेदवारी कायम नै रहेको हो ।

उनका प्रतिस्पर्धी उम्मेदवारले गरेको दाबी विरोध खारेज भएसँगै उनको उम्मेदवारी कायम भएको हो । लामिछानेको उम्मेदवारी विरुद्ध इमेलबाट उजुरी गरेका युवराज पौडेल सफलको उजुरीमाथि निर्णय गर्न आयोगको केन्द्रीय कार्यालयमा पठाइएको चितवनका मुख्य निर्वाचन अधिकृत बासुदेव शर्माले बताए।

रवि लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ सकियो

काठमाडौँ – रवि लामिछानेकाे राहदानी दुरुपयोगमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटकाे सुनुवाइ सकिएकाे छ । न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा  पेशी तोकिएको मुद्दाकाे सुनुवाइ सकिएकाले आजै आदेश आउने तयारी छ ।

सुनुवाइको क्रममा रविका वकिलहरूले संवैधानिक इजालासमा अमेरिकी नागरिकता त्यागिसकेको स्वीकार गरिसकेकाले अहिले यो विषयमा कुनै विवाद नरहेको जिकिर गरेका छन् ।

मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा परेको मुद्दाको पेशी उनले हेर्न नमिल्ने भनेपछि सुनुवाइ स्थगित भएको थियो ।

सोमबार युवराज पौडेल (सफल) ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।