`

उपेन्द्रलाई ओलीको प्रश्न- जितेपछि के गर्नुहुन्छ ? फूलमाला अबिर लगाउनुबाहेक के गर्नुहुन्छ ?

बारा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बारा-२ मा पुरुषोत्तम पौडेल जित्ने दावी गर्नु भएको छ । बुधबार बारामा आयोजित सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले बारा-२ निर्वाचन क्षेत्रमा पौडेलको जित सुनिश्चित भएको बताउनु भयो।

ओलीले भन्नुभयो, ‘नेकपा एमालेको विजय सुनिश्चित भइसकेको देखेको छु । यहाँ अनेक प्रकारका भ्रमपूर्ण विषाक्त नाराहरू लाग्न सक्छन् । जातीवादी नारा लाग्न सक्छन् । तपाईंहरू सतर्क र सचेत रहनुहोला । वर्गीय  प्रेम मात्रै सही र साँचो हुन्छ। जात जात भनेर गरिने प्रेम झुटो हुन्छ। उपेन्द्र यादवले जितेर भोकै मर्नुभन्दा अर्कैले जितेर खान लाउन पाए भएन ।’

उपेन्द्र यादवले जिते देशको विकास नहुने अध्यक्ष ओलीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘यादवज्यू मोरङ, सुनसरीबाट उखेलिनुभयो । लाटा सोझा जनता छन् भनेर उपेन्द्र बारामा आउनुभयो । उहाँ जितेपछि के गर्नुहुन्छ ? फूलमाला लगाउनुहोला । मन्त्री हुनुहोला। उहाँ (यादवज्यू)बाट विकास हुन्छ त ? ’ 

अध्यक्ष ओलीले एमालेको एउटै उद्देश्य देशमा गरिबीको अन्त्य गर्नु रहेको बताउनु भयो ।  

वर्तमान सरकारले सोचेजस्तो लय समात्न सकेन : गगन थापा

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारले सोचेजस्तो लय समात्न नसकेको बताएका छन् ।

बुधबार काठमाडौँमा नेपाल वित्तीय संस्था कर्मचारी सङ्घको नवौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै थापाले तीव्र रूपमा अघि बढ्नुपर्ने सरकार अझै अलमलमा रहेको र सोचेजस्तो लय समात्न नसकेको बताएका हुन् ।

उनले अहिलेको सरकारलाई हिँडेर अघि बढ्ने समयको सुविधा नरहेको बताए । उनले गएको १०–१५ वर्ष खेर फालेको भन्दै अव काँग्रेस समेत सहभागी वर्तमान सरकारलाई गल्ती गर्ने कुनै छुट नभएको जिकिर गरे । पाँच महिनाभित्र सरकारले गति लिन थाल्यो भने लक्ष्यमा पुग्ने महसुस जनतालाई हुने उनको भनाइ छ ।

उनले अहिलेको अवस्थामा राष्ट्रपति, प्रधानमन्त्रीले नै अनावश्यक खर्च कटौती गरेर अप्ठेरो अवस्थालाई सहज बनाउनुपर्ने बताएका हुन् । थापाले प्रधानमन्त्री र मन्त्रीहरूले फुर्सद नलिई काम गरे सकारात्मक वातावरण बन्ने धारणा राखे ।

उनले मुलुकको आर्थिक समस्या समाधान हुन नसकेको अवस्थामा अर्थतन्त्रलाई सुधार गर्न परनिर्भरतालाई कम गर्नुपर्नेमा जोड दिएका छन् ।

एमालेले जतिको काम कुनै पनि सरकारले गर्न सकेन : गोकुल बाँस्कोटा

चितवन – नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटाले सामाजिक सुरक्षाका लागि एमालेले सरकारले जतिको काम कुनै पनि सरकारले गर्न नसकेको बताउनु भएको छ।

चितवन क्षेत्र-२ अन्तर्गत कालिका नगरकमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता बाँस्कोटाले मनमोहन अधिकारी नेतृत्वको सरकारदेखि केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको सामाजिक सुरक्षा, विकास र सम्वृद्धिलाई प्राथमिकतामा राखेर काम गरेको बताउनु भयो।

बाँस्कोटाले भन्नुभयो, ‘७० वर्ष पुगेका वृद्धवृद्धालाई कम्युनिष्टको सरकार आएपछि मार्छ भन्ने कांग्रेसले मच्चाएको हल्लालाई चिर्न महीनाको एक सय रुपैयाँ बृद्धभत्ता दिन एमालेले नै सुरु गरेको हो । एक सय रुपैयाँको बृद्धभत्तादेखि महिलाहरुलाई स्नानियटरी प्याड दिनेसम्मका काम एमालेले नै गरेको हो, छात्राहरु वर्षमा ५२ दिनसम्म विद्यालय जान नसक्ने अवस्थाको अन्त्य एमालेले गरेको देख्नुभएन ?’

उहाँले पहिलोपटक एमालेले ३३ प्रतिशत महिलाहरुको प्रतिनिधित्वको ग्यारेन्टी गराएको स्मरण गर्दै २०५४ सालको स्थानीय निकायको निर्वाचनमार्फत महिलाहरुको सहभागीता बढाउन भूमिका खेलेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘घाँस काटेर मात्रै बस्ने महिलाहरुलाई राजनीतिक र सामाजिक रुपमा अग्रसर, सहभागी र नेतृत्व गर्ने तहमा एमालेले नै पुरयाएको हैन ? घाँस काट्ने महिला, दूध दुहुने महिला, दूध बेच्ने पुरुष यस्तो अवस्थामा बदलाव त एमालेलेनै गरेको हो नि !’

नेता बाँस्कोटाले दुर्गम भेगमा सुत्केरी हुन नसकेर ज्यान फाल्ने महिलाहरुको उद्धार र उपचारको व्यवस्थाको सुरुवात एमाले सरकारले नै गरेको बताउनु भयो । रवि लामिछानेको पार्टी खहरेको खोला जस्तो भएको संज्ञा दिँदै नेता बाँस्कोटाले खहरेको काम नोक्सान गर्ने मात्रै भएको बताउनुभयो । विगतमा केही नयाँलाई हेरौं न भनेर जनताले मत दिएको भए पनि यसपटक त्यसलाई करेक्सन गर्नुपर्ने अवस्था आएको बताउँदै नेता बाँस्कोटाले भन्नुभयो, ‘एमालेले उनी भन्दा युवा, यहींका स्थानीय ब्यक्तिलाई उम्मेदवार बनाएको छ ।’

आफू मन्त्री हुँदा ल्याएको आइटी सम्वन्धी विषयेक पास हुन मात्रै दिएको भए १० अर्व राजश्व जोगिने नेता बाँस्कोटाको दावी छ।

शरदसिंह भण्डारीको सत्तारोहणले खुसी हुन नसकेको महोत्तरी

महोत्तरी – २०२८ सालदेखि सक्रिय राजनीति गर्दै आएका लोकतान्त्रिक समाजवादीका नेता शरदसिंह भण्डारी  १६औँपटक मन्त्री बनेका छन् । महोत्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित भण्डारी  अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका हुन्  । 

२०३८ सालमा भएको राष्ट्रिय पञ्चायत निर्वाचनमा पहिलो पटक विजयी भएका भण्डारी त्यसयता हरेक संसदीय निर्वाचनमा भाग लिँदै आएका छन् । २०३८ देखि २०७९ सालसम्म्म आइपुग्दा विभिन्न दलहरूलाई प्रयोग गरेर मधेसको इतिहासमा नै सबैभन्दा बढी पटक मन्त्री हुने नेताका रूपमा  दर्ज भएका भण्डारीलाई लिएर उनको गृह क्षेत्र भने खुसी हुन सकेको छैन । 

उनलाई लगातार निर्वाचित गर्ने जनताहरुको अवस्था फेरिन नक्नु र मन्त्रीकै हैसियतमा हुन सक्ने आधारभूत काम समेत गर्न नसक्दा भण्डारीको १६औँ सत्तरोहणले गृहक्षेत्र खुसी हुन नसकेको हो । 
 
सक्रिय राजनीति गरेको पाँँच दशकमा सत्ता र शक्तिकै लागि आधा दर्जन पार्टी परिवर्तन गरेका उनको सत्तागमनले कुनै प्रभाव नपर्ने महोत्तरी–२ का स्थानीयको बुझाइ छ । उनको राजनीति इतिहासमा २०५१ सालमा पार्टीले टिकट नदिँदा दल त्याग गरेर स्वतन्त्र निर्वाचन लडेको घटना छ । जसले उनको केन्द्रभावमा जनता नभई सत्ता र शक्ति प्राप्तिमा रहेको बुझाउँछ । 


२०४५ सालमा मरिचमान सिंह श्रेष्ठको नेतृत्वमा पहिलोपटक सहायक मन्त्री बनेका भण्डारी अहिले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुँदा १६औँपटक मन्त्री बनेका हुन् । नेपाली कांग्रेसबबाट राजनीति सुरु गरेका भण्डारीले  स्वतन्त्र हुँदै २०६२/६३ को आन्दोलनपछी मधेश केन्द्रित राजनितिमा लागेका हुन् । उनको राजनीतिक जीवनमा ६ पटक निर्वाचित हुँदा तीनपटक मात्र पराजित व्यहोरेका छन् । 


तत्कालीन डा बाबुराम भट्टराई नेतृत्वको सरकारमा रक्षामन्त्री मधेश टुक्रन  सक्ने विवादास्पद अभिव्यक्ति दिएपछि बहिर्गमन व्यहोरेका थिए । आफ्ना जनप्रतिनिधि भण्डारी पटक पटक मन्त्री बने पनि गृह क्षेत्र भने खुसी मनाउन सकेको छैन । निर्वाचित भइसकेपछि आफ्नो गृह क्षेत्रमा कमै जाने र जनताको चाहना र आवश्यकताअनुसार काम नगर्ने भएकाले जनतामा उनको सत्तारोहणले खुसी दिन नसकेको हो । 


शिक्षा, स्वास्थ्य लगायतका आधारभूत जनताको आवश्यकता पूरा गर्न पनि उनले नसकेको महोत्तरी साक्षारता हिसावले देशकै ७५औँ स्थानमा पर्नुले पुष्टि हुने बर्दिबासका निरज अधिकारी बताउँछन् ।  यहाँ गरिबीकै कारण बर्सेनि धेरैले आत्महत्या गरेका तथ्यांक छ भने रोजगारको अभावले ७० प्रतिशत युवाहरु वैदेशिक रोजगारमा गएका तथ्यांकले देखाएको छ ।

सेयर बजारमा ८.३९ अंकले उकालो

काठमाडौं – साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा उकालो लागेको छ । बुधबार नेप्से परिसूचक ८.३९ अंकले उकालो लागि १८७५ को बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक करिब २ अङ्कले वृद्धि भई ३५३.९५ विन्दुमा पुगेको छ।

यसअघि मंगलबार कारोबारमा नेप्से परिसूचक ५.२० अंकले घटेर १८६६.६८ बिन्दुमा आएर रोकिएको थियो  । सोही दिन ९१ करोड ७६ लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार कूल २६२ कम्पनीको २६ लाख २ हजार ९५६ कित्ता सेयर खरिद बिक्री हुँदा ८१ करोड ६० लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको छ ।  नेप्से सुचकमा १४६ कम्पनीमा वृद्धि भएको छ । ६४ कम्पनीमा ओरालो लागेको र ७ कम्पनी स्थिर रहेको छ । 

कारोबारको आधारमा सिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ६ करोड ४३ लाख भन्दाबढीको कारोबार गरेको छ । नविल बैंक दोश्रो स्थानमा छ । उक्त बैंकले २ करोड ३५ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो । 

बुधबार १३ उपसुचक मध्ये ३ कम्पनी बाहेक सबै कम्पनीमा वृद्धि भएको छ । निमार्ण तथा प्रसोधन ०.१० प्रतिशत, निर्जीवन बिमा ०.५२ प्रतिशत र ट्रेडिङ सुचक ०.४१ प्रतिशतले ओरालो लागेको हो । वृद्धि हुनेमा होटल तथा पर्यटनको १ प्रतिशतले र अन्य सुचकहरुमा सामान्य सुधार देखिएको छ । 

बुधबारको कालिन्चोक दर्शनको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन्। यसैगरि सानिमा ग्रोथ फण्डको ८ प्रतिशत, लक्ष्मी लघुवित्त वित्तिय संस्थाको ७.४१ प्रतिशत र समता घरेलु लघुवित्त को ६.२२ प्रतिशतले सेयर कारोबार बढेको छ । 

माओवादीको पदाधिकारी बैठक बस्दै

काठमाडौं – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक आज दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।

बैठकमा आगामी बजेटमा सरकारले समेट्ने कार्यक्रमका विषय र समसामयीक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

योगेश भट्टराईको टिप्पणी : माओवादी अब फर्केर संसदमा आउन सक्दैन

दैलेख – नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी अब फर्केर संसदमा आउन नसक्ने टिप्पणी गर्नुभएको छ।

एमाले दैलेखको ठाटीकाँध गाउँपालिका कमिटीले गरेको मिसन ग्रासरूट कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गर्नुभएको हो।

सचिव भट्टराईले नेकपा माओवादी केन्द्र हिजो जस्तो फर्केर आउन नसक्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘हिजो नेकपा माओवादी केन्द्र बाढीको भल जस्तै थियो। हामीले देखेका थियौं। आज त्यो भल सुक्दै गएको छ। फर्केर बाढी आउनेवाला छैन। त्यसैले अहिले यता र उता हाम फाल्नु परेको छ।’

उहाँले भन्नुभयो, ‘जसरी भए पनि प्रधानमन्त्री बन्ने। किन भने अर्को पटक प्रधानमन्त्रीमा आउन सकिँदैन नि। तर, एमालेले यस्तो बल गर्दैन। किन गर्दैन भन्दा एमाले जतिबेला पनि आउन सक्छ’ एमालेको त जति पनि सत्तामा आउने बाटो छ।’

सचिव भट्टराईले सरकार लुते र कमजोर भएकाले देशको अर्थतन्त्रमा आएको समस्या समाधानमा सकस देखिएको बताउनु भयो ।

सचिव भट्टराईले केही नेताले पदका लागि जतिबेला जहाँ पनि हामफाल्ने गरेको बताउनु भयो ।

यी हुन् एमालेले उपचुनाव जिताउन खटाएको चुनावी कमाण्डरहरु

काठमाडाैँ – बैशाख १० मा हुने उपचुनावका लागि नेकपा (एमाले) ले चुनावी कमाण्डरहरु तोकेको छ ।

एमालेले बारा २ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, चितवन २ मा उपाध्यक्ष सुरेन्द्र पाण्डे र तनहुँ १ मा उपाध्यक्ष युवराज ज्ञवालीलाई कमाण्डर तोकेकाे हाे । 

बारा २ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र सचिव रघुवीर महासेठलाई जिम्मा दिइएकाे छ । बारा -२ मा एमालेबाट  पुरुषोत्तम पौडेललाई उम्मेदवार बन्नुभएकाे छ । 

त्यस्तै चितवन २ मा उपाध्यक्ष सुरेन्द्र पाण्डे ,गाेकर्ण विष्ट र गाेकुल बास्काेटालाई जिम्मेवारी दिइएकाे छ । चितवन ३ मा एमालेबाट रामप्रसाद न्यौपाने उम्मेदवार बन्नुभएकाे छ । 

यसैगरी तनहुँ १ को चुनावी कमाण्ड उपाध्यक्ष युवराज ज्ञवालीले पाउनुभएकाे छ उहाँसँग सचिव पद्मा अर्याल पनि खटिनुहुने एमालेले जनाएकाे छ । तनहुँ १ मा भने उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ पनि खटिनुभएकाे छ । तनहुँ-१ मा एमालेबाट सर्वेन्द्र खनाल उम्मेदवार बन्नुभएकाे छ । 

उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा अध्यक्ष केपी शर्मा ओली पनिजाने एमालेले जनाएको छ ।

कलेजका बस चालकमाथि कुटपिट गर्ने तामाङ पक्राउ

भक्तपुर – ख्वप कलेज देकोचा भक्तपुरको विद्यार्थी बोक्ने बस चालकमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् । भक्तपुर प्रहरी वृत जगातीबाट खटिएको टोलीले कुटपिट गर्नलाई अपरान्ह ३ बजे पक्राउ गरेको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जनाए ।

वृत जगातीका प्रहरी हवल्दार सुदन खतिवडाको टोलीले कार चालक भक्तपुर सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाडा बस्ने बर्ष ३८ को वाला तामाङलाई कारसहित नियन्त्रणमा लिएको एसपी केसीले जनाए । हाल उनलाई बृत जगातीमा राखिएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका- ८ गणेश मन्दिर नजिक गुण्डुबाट गणेश मन्दिरतर्फ आउदै गरेको बा ३ ख ५०५२ नं को ख्वप कलेजको विद्यार्थी बोक्ने बसको चालकमाथि यसअघि बिहान साढे १० बजे कुटपिट भएको थियो ।

काभ्रे नमोबुद्ध नगरपालिका ५ घर भई हाल भक्तपुर जगाती बस्ने बर्ष २५ को कलेजका बस चालक राजु लामालाई विपरित दिशातर्फ जादै गरेको बा ५ ख ५४७३ नं को कारमा सवार ४÷५ जना पुरुष ब्यक्तिहरुले गालीगलौज गरी स्ट्रेरिङमै कुटपिट गरेको प्रहरीले जनाएको छ । उनीहरुले निज चालकलाई मार्नेसमेत धाकधम्की दिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । 

उक्त कार र सवार व्यक्तिहरू कुटपिटपछि गुण्डुतर्फ फरार भएका थिए । कुटपिटबाट निज बस चालकको घाटीमा भित्री चोट लागेको जनाइएको छ । 
 

‘प्रसाद २’ प्रदर्शन राेक्न उच्च अदालत पाटनकाे अल्पकालीन आदेश

काठमाडौं –उच्च अदालत पाटनले यही शुक्रबारबाट रिलिज हुन लागेको फिल्म ‘प्रसाद २’ को रिलिज रोक्न अल्पकालिन आदेश दिएको छ ।

आफ्नो ९० प्रतिशत स्वामित्व रहेको फिल्म १० प्रतिशत स्वामित्व रहेका निर्माताले विना अनुमति रिलिज गर्न लागेको भन्दै केशव पाण्डेले फिल्मको तत्काल रिलिज रोक्न रिट हालेका थिए ।

उनको रिटमा उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन पाण्डेको एकल इजलासले अन्तरिम आदेशसँगै चलचित्र विकास बोर्डका नाममा कारण देखाउ आदेशसमेत जारी गरेको छ ।

पाण्डेको पक्षबाट अधिवक्ता सरोज अधिकारी, श्यामकुमार विश्वकर्मा र अरुण पौडेलले बहस गरेका थिए । पाण्डेले ‘प्रसाद २’ का निर्माता सुवास थापाले फिल्ममा सबै लगानी गरेर ९० प्रतिशत स्वामित्व हुने सम्झौता गरे पनि आफ्नो पैसा र स्वामित्व पनि नदिएको दाबी गरेका छन् ।

पाण्डेका अनुसार निर्माता थापाले उनको ६२ लाख ५० हजारसहित फिल्मका प्राविधिकको ११ लाख, सुटिङ गरेको ल्वाङगाउँका स्थानीयको १७ लाखलगायत रुपैंयाँ अझैसम्म दिएका छैनन् ।

सोमबार चलचित्र विकास बोर्डमा भएको सरोकारवालाको बैठकमा फिल्म रिलिजका लागि सहमति दिने निर्णय गरे पनि बैठकमा रहेका पाण्डेले सहमति पत्रमा हस्ताक्षर गरेका थिएनन् ।

राष्ट्रिय सभाबाट दुईवटा विधेयक पारित

काठमाडौं – राष्ट्रिय सभाले मंगलबार दुईवटा विधेयक पारित गरेको छ ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा मंगलबार बसेको राष्ट्रिय सभा बैठकले सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ लाई पारित गरेको हो । 

राष्ट्रिय सभामा उत्पत्ति भएका यी दुवै विधेयक अब प्रतिनिधिसभामा पठाइनेछ ।

राष्ट्रिय सभाको अर्को बैठक २७ चैत सोमबार दिउँसो १ः०१ बजे बस्नेछ।

मधेश सरकारबाट एमाले बाहिरियो

जनकपुरधाम – मधेश सरकारबाट एमाले बाहिरिएको छ । मधेश प्रदेश सरकारमा सहभागी भएका मन्त्रीहरुले राजीनामा दिएका छन् । 

मुख्यमन्त्री सरोजकुमार यादवलाई एमालेबाट मन्त्री भएका भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री पदमा मोहमद जयद आलम, गृह तथा सञ्चारमन्त्रीमा शत्रुधन प्रसाद सिंह, कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रीमा राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री पदमा केशव रायले मंगलबार राजीनामा दिएका हुन् । 

गत २७ पुसमा एमालेको समर्थनमा जसपाका  यादव मुख्यमन्त्री बनेका थिए । 
 

माओवादी घटकले चैत २७ गते अन्तर्क्रिया गर्ने

काठमाडौं – माओवादी विचार धारा बोकेका दलहरूले आगामी चैत २७ गते अन्तर्क्रिया गर्ने भएका छन् । 

शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायका विषयमा काठमाडौँको प्रज्ञा भवनमा अन्तर्क्रिया गर्ने भएका हुन्।

यसअघि सो विचार धारा बोकेकाहरुले प्रज्ञा भवनमै संयुक्त पत्रकार सम्मेलन गरेका थिए । आगामी चैत्र २७ गते हुने अन्तरक्रियामा भने द्वन्द्वरत पक्ष र विपक्ष दुबैलाई राखिने माओवादी केन्द्रका एक नेताले जानकारी दिनुभयाे । 

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले विशेष सम्बोधन गर्ने कार्यक्रममा सो विचार धारा बोक्ने दलका शीर्ष नेताहरुको उपस्थिति हुने जनाईएको छ ।

राष्ट्रिय सभा बैठकमा मोबाइल चलाएपछि…

काठमाडौं – सदन चलिरहँदा सांसद उपस्थित नहुने र उपस्थित भए पनि मोबाइल चलाउने वा निदाउने जस्ता घटनाले जनप्रतिनिधिप्रति विभिन्न टिकाटिप्पणी हुने गरेको छ । 

राष्ट्रिय सभाको मंगलबार बसेको बैठकमा अध्यक्ष   गणेशप्रसाद तिमिल्सिनाले सदस्यलाई मोबाइल नचलाउन आग्रह गर्नुपरेको छ । 

बैठकमा नेकपा एकीकृत समाजवादीकी सांसद मदन कुमारी शाह गरिमाले तिलगंगालाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउने गरी बजेट व्यवस्था गर्नुपर्ने धारणा राखिरहँदा अर्का एक सदस्यले मोबाइल चलाएको अध्यक्ष तिमिल्सिनाले थाहा पाए । त्यसपछि उनले मोबाइलन चलाउन आग्रह गरे । 

अध्यक्ष तिमिल्सिनाले भने, ‘माननीय जी मोबाइल स्वीच अफ गर्नुस् ।’  

अर्थमन्त्री र गभर्नरबीच भेटवार्ता : पूँजीगत खर्च बढाउन अधिकारीकाे सुझाव

काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री डा प्रकाशशरण महतबीच भेटवार्ता भएकाे छ । भेटमा गभर्नर महाप्रसाद अधिकारीले पूँजीगत खर्च बढाएर बजारमा सरकारात्मक सन्देश प्रवाह गर्न सकिने सुझाव दिनुभएको छ ।

अर्थमन्त्री महतले नेपाल राष्ट्र बैंकसँग औपचारिक ब्रिफिङ लिने क्रममा मंगलबार राष्ट्र बैंकको टोलीसँगको छलफलमा गभर्नर अधिकरीले पूँजीगत खर्च बढाएर र निर्माण व्यवसायीको भुक्तानीलाई तीव्रता दिन सुझाव दिनुभएको हो ।

छलफलमा अर्थमन्त्री डा महतले बजारमा सकारात्मक सन्देश कसरी प्रवाह गर्न सकिन्छ भन्नेबारे अर्थमन्त्री महतले सुझाव माग्नुभएको थियो ।

राष्ट्र बैंकले अहिले आन्तरिक ऋण परिचालन भइरहेको र सरकारले ओभरड्राफ्ट सुविधा पनि प्रयोग गर्नसक्ने अवस्था रहेको जानकारी गराएको थियो । त्यसैले निमार्ण व्यवसायीको भुक्तानी बढाएर पूँजीगत खर्च बढाउन सकिने उसले सुझाव दिएको बताइएको छ । अर्थमन्त्री महतलाई यसले बजारमा सकारात्मक सन्देश जाने सुझाव राष्ट्र बैंकले दिएको छ ।

१३ वटा मन्त्रालय दिनुहोस्, देश कस्तो बनाउनुपर्छ देखाइदिन्छु : रवि लामिछाने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले एक सय दिन १३ वटा मन्त्रालयको जिम्मेवारी दिए देश कस्तो बनाउनुपर्छ देखाइदिने बताएका छन् । 


चितवनमा मंगलबार आयोजित सभालाई सम्बोधन गर्दै उनले विभिन्न १३ वटा मन्त्रालयको जिम्मेवारी रास्वपालाई दिएमा देशको थिति बसाल्ने दाबी गरे । 


एक सय दिन १३ वटा मन्त्रालयको जिम्मेवारी दिएमा थिति बसालेर देश कस्तो बनाउनुपर्छ भन्ने देखाइदिने उनको भनाइ छ । 
 

एनएमबि बैंकको ऋणपत्र बिक्री खुला

काठमाडौं – एनएमबि बैंकले मंगलबारदेखि चार अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख इकाई ऋणपत्र बैंकले बिक्री खुला गरेको  हो ।

सो ऋणपत्र मध्ये २४ लाख इकाई बैंकको पहलमा अन्य संघसंस्थालाई बिक्री गरिनेछ । बाँकी १६ लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला भएको हो । न्यूनतम २५ इकाईदेखि अधिकतम १६ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।

बैंकका अनुसार उक्त ऋणपत्रमध्ये ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो । जसमध्ये ४५ हजार कित्ता ऋणपत्र बाँडफाँट गरिएको छ । 

यसमा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गरेको छ । यस ऋणपत्रमा चैत २४ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने २०८० वैशाख ५ गतेसम्म खुला रहनेछ ।

एनएमबि बैंकले १० वर्ष अवधिको ‘एनएमबि डिबेन्चर १०.७५ प्रतिशत २०८९÷९० जारी गरेको हो । यसमा वार्षिक १०.७५ प्रतिशत ब्याजदर दिने जानकारी दिएको छ । 


यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

सेतीमा कर्मचारी छनौटमा चलखेल भइरहेको प्रति सदस्य भट्टले गराए मेसुको ध्यानाकर्षण

धनगढी – सेती प्रादेशिक अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी छनौटमा व्यापक चलखेल भइरहेको आरोप लागेको छ।

प्रादेशिक अस्पतालले चिकित्सक, नर्सिङ कर्मचारी, अहेव, अनमी, ल्याब टेक्निसियिन लगायतको पदपूर्ति गर्ने भन्दै ७१ जनाका लागि विज्ञापन आह्वान गरेकोमा भर्ना प्रक्रियामा चलखेल भइरहेको आरोप लागेको हो।

६ चैतमा अस्पताल प्रशासनले ७ दिने सार्वजनिक सूचना जारी गर्दै ८ जना नवौँ तहका विशेषज्ञ चिकित्सक, ६ जना मेडिकल अधिकृत, ३५ जना स्टाफ नर्ससहितका ७१ जनाका लागि दरखास्त माग गरेको थियो। सबै पदमा एक हजार ८३ जनाले आवेदन दिएका छन्।

अस्पतालले करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापन मापदण्ड २०७९ अनुसार माग गरिएका कर्मचारी पदपूर्ति गर्नुपर्ने भए पनि आर्थिक र राजनीतिक चलखेल व्यापक भइरहेको सार्वजनिक भएको हो।

अस्पताल व्यवस्थापन समितिका सदस्य डिल्लीराज भट्टलेसमेत चिकित्सक र स्वास्थ्यकर्मीं छनौटमा कुनै दबाब र प्रभावमा नपर्न अस्पताल प्रशासनको ध्यानाकर्षण गराएका छन्।

मंगलबार अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाउँदै कर्मचारी पदपूर्तिमा कसैको दवाव र प्रभावमा परेर क्षमतावान, अनुभव र दक्ष कर्मचारी अवसर नपाउने हुन भन्ने चिन्ता सिर्जना भएको बताए।

उनले पदपूर्ति गदा ऐन, नियम, कानून तथा मापदण्डअनुसार पदपुर्ति गर्नुपर्ने भन्दै स्वास्थ्य सेवा संवेदनशिल भएका हुँदा सबै नागरिकलाई अनुभूति हुनेगरी प्रचलित संविधानको परिधिभित्र रही सेवा प्रदान गर्न निर्देशन समेत दिएका छन्।

व्यवस्थापन समितिमा कुनै न कुनै राजनीतिक दलसँग आस्था र विचार राख्ने व्यत्ति भए पनि अस्पतालको विकासका लागि दलगत वा राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

सामुदायिक शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्छ : सभामुख

काठमाडौं – सभामुख देवराज घिमिरेले सामुदायिक शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । 

काठमाडौंमा मंगलबारदेखि सुरु भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सभामुख घिमिरेले राजनीतिक क्षेत्रमा ठूलो परिवर्तन भए पनि सामुदायिक विद्यालयको शिक्षामा आधारभूतपरिवर्तन हुन नसकेको बताए । 

‘नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक सुनिश्चित गरेको छ,’ उनले भने, ‘आधारभूत शिक्षा निःशुल्क र सर्वसुलभ भए पनि कार्यान्वयन भएको छैन ।’ उनले शिक्षाले देशको भविष्य निर्धारण गर्नेसमेत बताए । 

 सभामुख घिमिरेले संघीय शिक्षा ऐन आउन बाँकी रहे पनि भएका कानुन पनि प्रभावकारी कार्यान्वयन नभएको उल्लेख गरे । ‘भएका कानून कार्यान्वयनमा किन बाधा पुगेको छ ? ठूलो लगानी सदुपयोग किन भएको छैन, लगानीको प्रतिफल किन पाएका छैनौं भनेर तपाईंहरुले छलफल गर्नुपर्छ,’ उनको भनाइ थियो ।

आर्थिक, सामाजिक र साँस्कृतिक सुधारका लागि शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्नेमा जोड दिँदै सभामुख घिमिरेले सार्वजनिक विद्यालयको गुणस्तर कम हुँदा सर्वसाधारणले खर्च कटाएर भए पनि निजी विद्यालयमा छोराछोरी भर्ना गर्नुपर्ने अवस्था आएको बताए । 
 ‘हामी सुधार गर्दछौं, हाम्रो विद्यालय’ नारका साथ सुरु भएको सम्मेलन दुई दिनसम्म चल्नेछ । सम्मेलनमा देशभरका ७५३ वटै स्थानीय तहहरुबाट विद्यालय व्यवस्थापन समितिको प्रतिनिधित्व रहेको महासंघका अध्यक्ष कृष्ण थापाले जानकारी दिए । 
 

अबको पाँच वर्षपछि रास्वपाको एकल सरकार बन्छ : सभापति लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पाँच वर्षपछि आफ्नो पार्टीले एकल सरकार बनाउने दाबी गरेका छन् । भरतपुरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै लामिछानेले रास्वपाको एकल सरकार बन्ने दाबी गरेका हुन्।

उनले भने,‘५ वर्षपछि राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकार कसैले रोकेर रोकिने वाला छैन।’

उनले मुद्दामाथि मुद्दा हालेर सिध्याउने षड्यन्त्र भइरहेपनि आफू नडराउने बताए । उनले भने,‘जताजता मुद्दा हाल्नुपर्छ हाले हुन्छ, देशमा हालेर पुग्दैन भने विदेशमा पनि हाले हुन्छ म यस्ता मुद्दाबाट डराउनेवाला छैन। ।’

सभापति लामिछानेले आफूले भ्रष्टाचारको फाइल खोल्ने भनेपछि भएभरको शत्ति लागेर आफूलाई सिध्याउन लागेको आरोप लगाएका छन् ।

एकैदिन प्रतितोला एक हजार रुपैयाँले बढ्याे सुनकाे भाउ

काठमाडौं – नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार सुनको भाउ एकैदिन प्रतितोला एक हजार रुपैयाँ बढेको हो। यसअघि सोमबार प्रतितोला ६०० रुपैयाँ घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। 

सोमबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ। मंगलबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ।सोमबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा किनबेच भएको थियो।

प्रि-ओपन सेसन नेप्सेमा झिनो सुधार

काठमाडौं- प्रि-ओपन सेसनमा मंगलबार सेयर बजारमा सामान्य अंकले वृद्धि भएको छ । नेप्से परिसुचकमा ०.७७ अंकले वृद्धिभइ ११८७२.६५ विन्दुमा आएको छ ।

यससँगै ९ कम्पनीको एक हजार १११ कित्ता सेयर खरिदबिक्री हुँदा ५२ हजार ९८३ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल ६ कम्पनीमा उकालो लागेको छ भने २ कम्पनी घटेको छ । 

यता, १३ उपसुचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको छ । २ कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

दक्षिणपन्थी गठबन्धनको सरकारबाट देश विकासको सम्भावना छैन : पृथ्वी सुब्बा गुरुङ

काठमाडौँ – नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले दक्षिणपन्थी गठबन्धनको सरकारबाट देश विकासको सम्भावना नरहेको बताएका छन् । आज सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै गुरुङले यस्तो बताएका हुन् ।

उनदे भने, उनले भने, ‘दक्षिणपन्थी गठबन्धनको सरकारबाट देश विकासको सम्भावना नरहेको र नेपालको भूराजनीतिक कूटनैतिक सम्बन्ध अवस्था अझै जटिल बन्दै गइरहेको छ । सरकारले आर्थिक, सामाजिक, कूटनैतिक क्षेत्रमा हामी सबै जुट्नु पर्ने र मुलुकलाई सही दिशामा लाग्नु पर्ने आजको आवश्यकता रहेको छ ।’

सरकारले आफ्नो हनिमुन पिरियड मन्त्रिमण्डल समेत बिस्तार गर्न नसकेको भन्दै आलोचना समेत उनले गरे ।

लोककल्याणकारी राज्य स्थापना गर्न बलियो राष्ट्रिय शक्तिको निर्माण आवश्यक : शंकर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक न्यायसहितको लोककल्याणकारी राज्य स्थापना गर्न बलियो राष्ट्रिय शक्तिको निर्माण आवश्यक रहेको बताएका छन् ।

मंगलबार आफ्नो सामाजिक सञ्जालमा लेख्दै उनले बलियो राष्ट्रिय शक्तिको निर्माण गर्न उपनिर्वाचनमा एमालेका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका हुन् ।

‘जीवन चक्रमा आधारित सामाजिक न्यायसहितको लोककल्याणकारी राज्य स्थापना गर्न बलियो राष्ट्रिय शक्तिको निर्माण आवश्यक छ,’ उनले लेखेका छन्, ‘अरूले होइन, नेकपा (एमाले) मात्र त्यो आवश्यकता पुरा गर्न सक्दछ । त्यसैले आसन्न उपनिर्वाचनमा नेकपा(एमाले)का सूर्यध्वजावाहक उम्मेदवारलाई अत्यधिक मतले विजयी बनाऔं ।’

उनले स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा गर्दै अन्तर्राष्ट्रिय रूपमा नेपालको गौरवपूर्ण पहिचान कायम गर्न र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न आर्थिक र सामाजिक विकासलाई तीव्रता दिन एमालेका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।

खैरो हेरोइनसहित पर्साबाट एक युवक पक्राउ

काठमाडौं – पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकबाट प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–१२ शितलपुर बस्ने २२ वर्षीय दिपक यादव रहेका छन् ।

आरोपीको साथबाट ३ ग्राम ८ सय ९० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

आइतबार साँझ प्रहरी चौकी ईनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो वीरगञ्जबाट संयुक्त रुपमा खटिएको प्रहरीले भारतको रक्सौलबाट नेपालतर्फ आउँदै गरेका अवस्थामा उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सरकारले सार्वजनिक गर्‍यो सय दिनका उपलब्धि (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको १०० दिनको उपलब्धि सार्वजनिक भएको छ । ३७ बुँदामा समेटिएको उक्त ‘उपलब्धि’मा अर्थतन्त्रदेखि शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनेसम्मका विषय समेटिएका छन् ।

खेलाडीलाई प्रोत्साहन र पुरस्कृत गरिने कार्यलाई सरकारले उपलब्धिका रुपमा लिएको छ ।

शान्ति प्रक्रियाका बाँकी काम र सङ्क्रमणकालीन न्यायलाई चाँडै टुङ्ग्याउने विषयलाई सरकारले उच्च प्राथमिकतामा राखी काम गरेको जनाएको छ । त्यस्तै अर्थतन्त्र सुधारका लागि प्रयत्न भएको सरकारले जनाएको छ ।

थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – नेपालमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ३ सय ४५ पिसिआर परिक्षणका क्रममा ४९ जना र ८ सय ६ एन्टीजेन परिक्षणका क्रममा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण गत २४ घण्टामा १६ जना निको भएका छन् । हाल पिसिआर परिक्षणका संक्रमण पुष्टि भएका २ सय २७ संक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

धन, पद, कद दिएर र लोभाएर सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ : पूर्वराजा शाह

सुनसरी – पूर्वराजा ज्ञानेन्द्र शाहले धन, पद, कद दिएर र लोभाएर देशको सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको बताएका छन् । 

सुनसरीको इनरुवामा सोमबार आयोजित अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उनले स्थिरता र स्थायित्व सही राज्यपद्धति, शान्ति एवं अनुशासनबिना हुन नसक्ने बताए । तर, कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर, लोभाएर देशको  सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको उनको भनाइ छ । 

परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खदिलो परिणाम दिन नसक्ने बताउँदै पूर्वराजा शाहले व्यक्ति, परिवार, समूह, दल वा गुट उपगुटमा नअल्झी हामी र हाम्रो भन्ने राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्नुपर्ने बताए । 

सम्बोधनको पूर्णपाठ :

उपस्थित दीदीबहीनी तथा दाजुभाइहरु,

सुनसरी जिल्लाको यो सुन्दर नगरी इनरुवामा भेला भएर तपाईहरुले राष्ट्रको हित चिन्तन गर्दै र आजका जनआकाँक्षा तथा आवश्यकताहरुलाई औँलाएर जुन प्रकारको अभिनन्दन भाव प्रकट गर्नु भएको छ, त्यसप्रति म कृतज्ञता व्यक्त गर्दछु ।

सदासर्वदा स्वधिन रहेको र आफ्नै मौलिख मान्यता भित्र स्वाभिमानपूर्वक आधुनिकता तर्फ लागेको हाम्रो नेपाल हामीलाई सधै राम्रो लाग्छ, हामीलाई सधै प्यारो लाग्छ । राष्ट्रको यही गौरवगाथा र राष्ट्रप्रतिको त्यही अघात प्रेम फेरी एकपटक यहाँ प्रकट भएको छ । तपाईंहरुले दर्शाउनु भएको यस्तो देशभक्ति हामीले हृदयदेखि सम्मान गर्दछौं । आफ्नो देशलाई माया गरेर, आफ्नो देशको अवस्थालाई बुझेर तपाईंहरुबाट जसप्रकारको चिन्ता चासो र चिन्तन प्रस्तुत भएको छ त्यसमा मेरो गहिरो ध्यान पुगेको छ।

स्थिरता र स्थायित्व सही राज्यपद्धति, शान्ति एवं अनुशासनबिना हुन सक्दैन । कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर, लोभाएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ । परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खदिलो परिणाम दिँदैन ।

निश्चय पनि हामीले राष्ट्रियता र राष्ट्र एकताको रक्षा गर्नुछ, निश्चयपनि हामीले हाम्रो राष्ट्रिय स्वाभिमान, अखण्डता तथा सार्वभौमिक स्वतन्त्रता जोगाउनु छ र निश्चयपनि हामीले शान्ति, सुब्यवस्था र सुशासनका माध्यमबाट चौतर्फि विकासको बाटो लाग्नु छ ।

राष्ट्र नै हाम्रो आफ्नो ब्रम्ह हो । आफ्नो भूभागका जनता नै हाम्रा विधाता हुन, अनि यही प्रकृति र यिनै प्राणीको बोध गर्नु नै हाम्रो अहंम धर्म हो । त्यसैले व्यक्ति, परिवार, समूह, दल वा गुट उपगुटमा अल्झिएर होइन अब हामीले हामी र हाम्रो भन्ने सुहाउदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्नु पर्दछ । तपाईंहरु जस्तै सबैमा यस्तै राष्ट्रिय दृष्टिकोण जाग्रत हुदै जावोस । धन्यवाद । जय नेपाल ।

सुनसरी, इनरुवा, चैत्र २०, २०७९

मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं – नेपाल सरकार मन्त्रिपरिषद् बैठक बसिरहेको छ । सिंदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी बैठकमा मन्त्रालयगत एजेण्डासहित समसामयिक विषयमा छलफल भइरहेको छ । 
 

मिटरब्याजपीडितको कृषि औजारसहित प्रदर्शन, राजनीतिक दलको झण्डा प्रयोग

काठमाडौं – मिटरब्याजपीडितले सोमबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । गत सोमबार सिरहाबाट हिँडेर काठमाडौंमा आएर विभिन्न माग राख्दै संघर्ष गरिरहेका बेला अर्काे मिटरब्याजपीडित टोली पनि काठमाडौं आइपुगेको छ । 

जसले सोमबार माइतीघर मण्डलादेखि भद्रकालीसम्म विरोध प्रदर्शन गरेका छन् । सिंहदरवार अगाडि मिटरब्याजविरुद्ध कार्यक्रम गरेका उनीहरुले कीर्ते तमसुक खारेज गर्नुपर्ने, हडपेको आफ्नो जमिन फिर्ता हुनुपर्नेलगायतका माग राखेका छन् । उनीहरु शान्तिबाटिकामा बस्ने बताइएको छ । 

गत शनिबार सरकारले पीडितसँग पाँच बुँदे सहमति गर्दै मिटरब्याजीलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको थियो । जसअनुसार सोमबार बिहान सप्तरीको राजविराजबाट जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेशीलाई मिटरब्याजीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

साथै सरकारले आयोग गठन गरे मिटरब्याजको समस्या समाधान गर्ने र पीडितलाई न्याय दिने बताएको छ । यसबारे आइतबार संसदमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजको समस्या दीर्घकालीन समाधान गर्न र पीडितलाई न्याय दिन आयोग गठन गर्ने बताएका थिए । 
तर, पीडित र सरकारबीच भएको पाँच बुँदे सहमति फितलो रहेको भन्दै सोमबार उनीहरूले प्रदर्शन गर्दै आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।
१३ चैतमा काठमाडौंमा आएको मिटरब्याज पीडितसँग सरकारले पाँच बुँदे सहमति गरेको भए पनि अर्काे समूहले भने सो सहमति फितलो रहेको दाबी गरेको हो । सहमतिप्रति असन्तुष्ट समूहले सोमबार प्रदर्शन गरेको हो । 

सोमबार भएको प्रदर्शनमा राजनीतिक दलको झण्डासमेत प्रयोग भएको छ । सोमबार काठमाडौंमा आएका मिटिरब्याजपीडितहरूले मिटरब्याजविरुद्ध अदालतमा दायर गरेका मुद्दा खारेज गर्नुपर्ने लगायतका विभिन्न माग राखेका छन् । किसान–मजदुर मोर्चा लेखिएको ब्यानरमा आवद्ध भएर सोमबार पीडितहरूले प्रदर्शन गरेका हुन् । 


 

उपनिर्वाचन : चितवन–२ मा जितनारायण श्रेष्ठले उम्मेदवारी दर्ता

चितवन – आगामी १० वैशाखमा हुने उपनिर्वाचनको सोमबार मनोनयन दर्ताको समय तोकिएको छ । बारा–२, चितवन–२ र तनहुँ–१ मा १० वैशाखमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुन लागेको हो । 

जसका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ । चितवन–२ कांग्रेसका जितनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गरेका हुन् ।

सत्तारुढ गठनबन्धनको समर्थनमा उम्मेदवारी दिएका श्रेष्ठको प्रस्तावकमा कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल र समर्थकमा माओवादी जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी छन् ।

चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि मनोनयन दर्ता गरेका छन् । 

उपनिर्वाचन : तनहुँ–१ मा स्वर्णिम वाग्लेले गरे उम्मेदवारी दर्ता

तनहुँ – आगामी १० वैशाखमा हुने उपनिर्वाचनको सोमबार मनोनयन दर्ताको समय तोकिएको छ । बारा–२, चितवन–२ र तनहुँ–१ मा १० वैशाखमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुन लागेको हो । 

जसका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ । तनहुँ १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट स्वर्णिम वाग्लेले मनोनयन दर्ता गरेका छन् । उनको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा. रुपक घिमिरे छन् ।

तनहुँ–१ मा कांग्रेसबाट गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल, नेमकिपाका रामप्रसाद प्रजापती र राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर रानाको उम्मेदवारी परेको छ । 
 

सेयर बजार १६.६७ अंकले घट्याे

काठमाडौं –  साताको दोश्रो कारोबार दिन सोमबार सेयर बजारमा ओरालो लागेको छ । सोमबार नेप्से सुचकमा १६.६७ अंकले ओरालो लागि १८७१.८८ विन्दुमा आएर रोकिएको छ। 

यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा ३ अङ्कले बढेर ३५२.७१ विन्दुमा पुगेको छ। साेमबार नेप्से सुचकको ३३ कम्पनीमा उकालो लागेको छ । १७३ कम्पनीमा ओरालो लागेको छ भने १० कम्पनी स्थिर रहेको छ ।

यसअघि आइतबार नेप्से सुचक २० अंकले घटेर १८८८ विन्दुमा अडिएको थियो । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६० कम्पनीको २८ लाख २९ हजार ४२६ कित्ता सेयर खरिद बिक्री हुँदा ९२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा नविल बैंक शीर्ष स्थानमा छ। यसको ३ करोड ६२ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै एनआइसि एसियाको २ करोड ९३ लाखभन्दा बढीको कारोबार भएको छ। 

यता १३ उपसुचकहरु मध्ये ट्रेडिङ सुचक बाहेक सबै उपसुचकहरुमा ओरालो लागेको छ । साेमबारको कारोबारमा कालिनचोक दर्शनको १० प्रतिशतले सेयर मूल्य बढेको छ। यस कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्। 

रविलाई गोकुल बाँस्कोटाको प्रश्न- नैतिकताको राजनीति गर्छु भन्नेले झुट किन बोलेको ? सत्तासँग के साटेको ?

चितवन – नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले रवि लामिछानेलाई नैतिकताको राजनीति गर्छु भन्नेले झुट किन बोलेको ? भन्दै प्रश्न गर्नुभएकाे छ । 

चितवन २ मा एमाले उम्मेदवार राम न्यौपानेको मनोनयनअघि आयोजित सभालाई सम्बोधन गर्दै नेता बाँस्कोटाले निष्ठाको राजनीति गर्छु भन्नेले झुटो बोलेको पनि देखियो भन्दै फेरि चुनावको मौका दिएकोमा लामिछानेलाई धन्यवाद दिनुभयाे । 

चितवन २ मा एमालेलाई नजिताउँने हो भने केही समयपछि उही कथा दोहोरिने भन्दै रवि लामिछानेविरुद्धको अर्को मुद्दातर्फ संकेत गर्नुभयाे ।

उहाँले भन्नुभयाे, ‘सबैलाई थाहा भइसक्यो एउटै दल सत्तामा पनि हुन्छ, त्यही दल प्रतिपक्षमा पनि हुन्छ । त्यही दल एउटा सरकार बन्दा पनि हुन्छ, त्यही दल अर्को बन्दा पनि हुन्छ । निष्ठाको राजनीति गर्छु भन्नेहरूले झुट बोलेको पनि देखियो, थ्याङ्क्यु त्यही भएर पाँच महिनामै पुनः परीक्षण हुन पर्‍यो । अब प्रश्न गर्नुपर्छ सत्तासँग के साटेको ? के को लागि के साटेको ? केसित के साटेको त्यही भएर सत्तासँग टाँसिएको ? आँट रहेछ ? हिम्मत रहेछ ? त्यसैले चर्का कुराको काम छैन ।’

​​​​​​​

रवि लामिछानेले पत्रकार हुँदा नेता खराब र नेता भएपछि पत्रकार खराब भने : विश्वप्रकाश शर्मा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पत्रकार हुँदा नेता खराब र नेता भएपछि पत्रकार खराब भनेको भन्दै आलोचना गरेका छन् ।


सोमबार प्रतिनिधि सभा सदस्य उपनिर्वाचको उम्मेदवारी दर्ताका विषयमा चितवन २ मा आयोजना गरिएको कार्यक्रमलाई सम्बोन गर्दै उनले यस्तो आलोचना गरेका हुन् ।

शर्माले भने , ‘आफै, वकिल, आफैँ न्यायाधीश बन्न मिल्छ, ‘रवि लामिछानेले हिजो पत्रकार हुँदा नेता खराब भने, आज नेता हुँदा पत्र खराब भन्दैछन् ।’

उनले निर्वाचनमा कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले चितवन २ मा जित हासिल गर्ने बताए। शर्मालाई नेपाली काँग्रेसले चितवन-२ मा खटाएको छ ।

उपनिर्वाचन : बारा–२ मा रमेश खरेलद्वारा उम्मेदवारी दर्ता

काठमाडाैँ – प्रतिनिधिसभा सदस्यका लागि बारा–२ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

गत मंसिर ४ गते सम्पन्न उक्त क्षेत्रबाट जनता समाजवादी पार्टी (जसपा) का रामसहाय प्रसाद यादव निर्वाचित हुनुभएको थियो । तर उहाँ उपराष्ट्रपतिमा निर्वाचित हुनुभएपछि उक्त निर्वाचन क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

उक्त क्षेत्रबाट जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उठाउँदै छ । उहाँलाई नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी० र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० को साथ छ ।

सो निर्वाचन क्षेत्रबाट नेकपा (एमाले) ले पुरुषोत्त पौडेललाई उठाउने निर्णय गरेको छ । त्यसैगरी नेकपा ९माओवादी केन्द्र० परित्याग गरी जनमत पार्टी प्रवेश गरेका शिवचन्द्र प्रसाद कुशवाहा जनमत पार्टीबाट उठ्दैछन् ।

अहिलेसम्म स्वतन्त्र उम्मेदवारहरु विनोदकुमार कर्ण, ध्रवलाल हजरा, हाम्रो नेपाली पार्टीका चन्द्रप्रकाश सुवेदी र नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष मुक्ति यादवले मनोनयन पत्र दर्ता गराइसकेका छन् ।

उपनिर्वाचन : बारा–२ मा उपेन्द्र यादवले गरे मनोनयन दर्ता

काठमाडौं –  प्रतिनिधिसभा सदस्य चयनका लागि हुने उपनिर्वाचनका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ । बारा–२, चितवन–२ र तनहुँ–१ मा १० वैशाखमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुन लागेको हो । 

जसका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको हो । बारा–२ मा जसपा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गरेका छन् । 

कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । सत्तारुढ गठबन्धनको समर्थनमा उनले मनोनयन दर्ता गरेका हुन् ।

गत मंसिरमा भएको निर्वाचनजमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका उनी अहिले बारा–२मा उम्मेदवारी दिएका हुन् । 

बारा–२ मा एमालेबाट पुरुषोत्तम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, रास्वपाबाट रमेश खरेलले उम्मेदवारी दिँदैछन् 

गोविन्द भट्टराईले गरे मनोनयन दर्ता

तनहुँ – १० वैशाखमा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसकातर्फबाट गोविन्द भट्टराईले मनोनयन दर्ता गर्नुभएकाे छ । 

प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङसहित उहाँले मनाेनयन दर्ता गराउनुभएकाे हाे । 

निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको छ ।

यहाँ नेकपा एमालेबाट सर्वेन्द्र खनालले मनोनयन दर्ता गराइसक्नुभएकाे छ ।

उपनिर्वाचन : तनहुँ-१ मा एमालेबाट सर्वेन्द्र खनालको उम्मेदवारी दर्ता

तनहुँ – प्रतिनिधिसभा सदस्य चयनका लागि हुने उपनिर्वाचनका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ । बारा–२, चितवन–२ र तनहुँ–१ मा १० वैशाखमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुन लागेको हो । 

जसका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको हो । तनहुँ १ बाट एमालेका तर्फबाट प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले मनोनयन दर्ता गरेका छन् । 

खनालको प्रस्तावकमा एमालेका केन्द्रीय सदस्य भगवती न्यौपाने र समर्थकमा एमाले केन्द्रीय परिषद सल्लाहकार सदस्य एकबहादुर राना रहेका छन् ।  खनाल मनोनयन दर्ता ¥यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । 

अहिलेसम्म तनहुँ–१ मा नेमकिपाका रामप्रसाद प्रजापती र राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर रानाको उम्मेदवारी परेको छ । कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि मनोनयन दर्ता गर्ने भएको छ । 

रविविरुद्धको रिट सर्वोच्चमा दर्ता, भोलि नै पेशी

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध युवराज पौडेल (सफल) ले सर्वोच्चमा पेश गरेको रिट दर्ता भएको छ ।

लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध पौडेलले आइतबार पेश गरेको रिट सोमबार दर्ता भएको हो । रिटउपर पहिलो सुनुवाइका लागि भोलि पेशी तोकिएको छ ।

सफलले नै यसअघि लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले लामिछानेको सांसद पद खारेज गरेको थियो । चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा चलाउनु नपर्ने निर्णय सदर गरेको थियो ।