`

नेकपा एसको प्रमुख सचेतकमा मेटमणि चौधरी

काठमाडाैँ – नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभाको प्रमुख सचेतककाे जिम्मेवारी मेटमणि चौधरीलाई दिएकाे  छ । उहाँलाई अध्यक्ष तथा संसदीय दलका नेता माधव नेपालले प्रमुख सचेतक नियुक्त गरेको चौधरीको सचिवालयले जनाएको छ ।

दाङ १ बाट निर्वाचित चौधरी नेकपा एसका पोलिटब्युरो सदस्यसमेत हुनुहुन्छ ।

यसअघि शहरी विकास मन्त्री बन्नुभएका चौधरी नेकपा एसबाट पार्टीबाट लुम्बिनीबाट प्रत्यक्षमा निर्वाचित एक मात्र सांसद हुनुहुन्छ । 

उपनिर्वाचन : र्‍यालीसहित मनोनयन दर्ता गर्न जाँदै सर्वेन्द्र खनाल

तनहुँ – आगामी १० वैशाखमा हुने उपनिर्वाचनको सोमबार मनोनयन दर्ताको समय तोकिएको छ । बारा–२, चितवन–२ र तनहुँ–१ मा १० वैशाखमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुन लागेको हो । 

जसका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ । तनहुँ १ बाट एमालेका तर्फबाट प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले मनोनयन दर्ता गर्दैछन् । मनोनयन दर्ताअघि उनले र्‍याली निकालेका छन् । 

मिटरब्याजीको आरोपमा जनमतका केन्द्रीय सदस्य सुरेन्द्र मधेसी पक्राउ

सप्तरी – मिटरब्याजीको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेशी पक्राउ परेका छन् । सप्तरीको राजविराजबाट सोमबार बिहान उनलाई प्रहरीले पक्राउ गरेको हो । 

मिटरब्याजी पीडित काठमाडौं पुगेर न्यायका लागि संघर्ष गरिरहेका बेला उनी पक्राउ परेका हुन् । गत शनिबार  पीडितसँग पाँच बुँदे सहमति गरेको सरकारले मिटरब्याजीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको थियो ।

साथै मिटरब्याजीलाई तत्काल  पक्राउ गरी कारबाही गर्नुपर्ने आवाज प्रतिनिधिसभामा उठेको थियो । 

ट्यांकर दुर्घटना हुँदा एकजनाको मृत्यु

चितवन – चितवनको इच्छाकामना गाउँपालिका ४ लेवटारमा आइतबार बिहान ट्यांकर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

मुग्लिङबाट काठमाडाैंतर्फ आउँदै गरेको भारतीय नम्बरको ट्याङ्कर अनियन्त्रित भएर सडक छेउमा पल्टिएको थियो ।

दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको र एकजनाको भने भरतपुरस्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहको  जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

आज मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनपछि आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

सोमबार अपरान्ह ४ बजे सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा पहिलो पटक बैठक बस्न लागेको हो।

सत्ता समीकरण फेरिएपछि कांग्रेससहित दल दलीय गठबन्धन दललाई समेटेर प्रधानमन्त्रीले शुक्रवार मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए।

सोमबार घट्यो सुनचाँदीको मूल्य

काठमाडौं – नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य घटेको छ। सोमबार सुनको भाउ प्रतितोला ६०० रुपैयाँ घटेको हो। यसअघि आइतबार प्रतितोला ६०० रुपैयाँ घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। 

आइतबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदीको मूल्य २० रुपैयाँले घटेको छ। साेमबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा किनबेच भएको थियो।
 

चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने

काठमाडौं – चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ । मौलिक यथार्थपरक, सन्देशमूलक, सांस्कृतिक, ऐतिहासिक, सिर्जनात्मक, कलात्मक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातीय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय पहिचान र कला संस्कृतिलाई संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले निर्माण भएका लघु चलचित्रको प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिताबारे बोर्डले केहि दिन अगाडी सार्वजनिक सूचना समेत निकालेको थियो । प्रतियोगितामा सहभागि हुनको लागि बोर्डबाट स्वीकृत ढाँचाको दरखास्त फारम भरी आगामी १० वैशाखसम्ममा दरखास्तसहित चलचित्र बोर्डको कार्यालयमा पेस गर्नुपर्नेछ ।

प्रतियोगिताको लागि उपलब्ध भएका चलचित्रहरु मध्ये उत्कृष्ट तीन चलचित्रहरुले क्रमशः प्रथम, द्वितीय र तृतीय गरी एक लाख ५० हजार, एक लाख र  ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । पुरस्कृत चलचित्रहरुलाई बोर्डले व्यावसायिक तथा गैरव्यावसायिक रुपमा आयोजना हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरु, विशेष प्रदर्शनीमा सहभागी गराउनेछ ।

प्रतियोगितामा सहभागि हुने चलचित्रहरु कम्तीमा ५० प्रतिशत नेपालमा नै छायांकन भएको र ५० प्रतियोगिता चलचित्रकर्मीहरु नेपाली भएको हुनुपर्नेछ । सूचना प्रकाशित भएको मितिले पछिल्ला तीन वर्षभित्र निर्माण भएका चलचित्रहरुले मात्र भाग लिन पाउनेछन् र ति चलचित्रहरुले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएको हुनुपर्नेछ ।

डा. बाबुराम भट्टराईकाे टिप्पणी : चुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्‍याउने भर्‍याङ बन्दैछ

काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्‍याउने भर्‍याङ बनेको टिप्पणी गरेका छन् ।

सोमबार आफ्नो सामाजिक सञ्जालमा एक पोष्ठ गर्दै उनले यस्तो टिप्पणी गरेका हुन । उनले  हाम्रो लोकतन्त्रमा चुनाव उपचुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्‍याउने भर्‍याङ बन्दैछ ! रोकौँ !

उनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन् :-

चुनाव केही बर्ष / महिनामा अमूक पार्टी / नेतालाई सत्तामा पुर्याउने र राज्यदोहनको लाइसेन्स दिने कर्मकाण्ड हैन ! यो जनताद्वारा जनताकोनिम्ति जनताको सार्वभौमसत्ताको अभ्यासगर्ने पवित्र विधिरअवसर हो। हाम्रो लोकतन्त्रमा चुनावरउपचुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्याउने भर्यांग बन्दैछ! रोकौं! 

जनता समाजबादी पाटीका अध्यक्ष उपेन्द्र यादब प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि पुन बैशाख १० गते उपचुनाबमा बारा २ बाट उम्मेदबार बन्दै हुनहुन्छ ।

म यो देशमा घाँडो नै भएको हुँ भने त मारिदिए भइहाल्यो नि: रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपनिर्वाचनमा आशावादी रहेको बताएका छन् ।

चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले यस्तो बताएका हुन् ।

‘पहिले यही प्रक्रियाबाट गएको, अहिले फेरि यही प्रक्रियामा जाँदा केही अनौठो लागेको छ । राजनीतिक जीवनमा, मान्छेको जीवनमा भइरहने घटना हुन्’, रविले भने, ‘म एकदमै आशावादी छु, उत्साहित छु ।’

सञ्चारकर्मीहरुले अदालतमा उनी विरुद्ध दायर गर्न लागिएको पासपोर्ट दुरुपयोगको मुद्दाबारे प्रश्न गर्दा रविले आफूले हरेक न्यायिक प्रक्रियालाई स्वीकार्ने र स्वीकार्दै आइरहेको बताए । तर अनाहकमा दुख दिन खोजिएकोप्रति उनले खेद व्यक्त गरे ।

‘अदालतको पूर्ण पाठमा नै लेखिएको छ कि २०१८ मा त्यागिसकिएको भनेर लेखिएको छ । त्यसलाई पनि कसैले व्याख्या गर्छ भने , यदि यो देशमा म घाँडो नै भएको हुँ भने त मारिदिए पनि भइहाल्यो, त्यो एउटा उपाय त छ नि’, रविले भने ।

‘म एकदमै आशावादी छु, उत्साहित छु’ : रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले चितवन-२ मा उम्मेदवारी दर्ता गरेका छन् ।

सोमबार बिहान उम्मेदवनरी दर्ता गराएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले उपनिर्वाचनबाट उत्साहित र आशावादी रहेको बताएका छन् । उनले विगतमा पनि यही प्रक्रियाबाट निर्वाचित भएको र अहिले फेरि त्यही प्रक्रिया अपनाउँदा केही अनौठो लागे पनि आफू आशावादी रहेको बताएका हुन ।

उनले भने, ‘पहिले यही प्रक्रियाबाट गएको, अहिले फेरि यही प्रक्रियामा जाँदा केही अनौठो लागेको छ, राजनीतिक मान्छेको जीवनमा भइरहने घटना हुन् ।’

आफूले जीवनमा यस्ता किसिमका परिस्थितिहरुको सामना गर्दा केही अनौठो लागेको बताउँदै उनले भने, ‘म एकदमै आशावादी छु, उत्साहित छु ।’

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन उपराष्ट्रपति शिक्षण अस्पतालमा

काठमाडौँ –  उपराष्ट्रपति रामसहाय प्रसाद यादवले त्रिविवि शिक्षण अस्पतालमा उपचारत राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

सोमबार बिहान राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव अस्पताल पुगेका हुन। उपराष्ट्रपतिले राष्ट्रपतिको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरे ।

पेट दुख्ने समस्या देखिएपछि शनिबार अस्पताल भर्ना भएका राष्ट्रपति पौडेललाई चिकित्सकको निगरानीमा राखिएको छ।

गोविन्दराज जोशीको टिप्पणी : कारबाही फुकुवा भन्ने पार्टीको निर्णय भ्रम छर्न गरीएको प्रयास हो

काठमाडौं – पूर्वमन्त्री गोविन्दराज जोशीले कारबाही फुकुवा भन्ने पार्टीको निर्णय भ्रम छर्न गरीएको टिप्पणी गर्नुभएको छ ।

सामाजिक सञ्जालमा जोशीले आफ्नो घारणा सार्वजनिक गर्दै यस बारेमा कुनै छलफल नभएको जनाउनु भएको छ ।

उहाँले लेख्नुभएको छ – गोबिन्द राज जोशी को कारबाही फुकुवा भन्ने पार्टीको निर्णय भ्रम छर्न गरीएको हो। मेरो कुनै व्यक्ति संग यसबारे छलफल भएको छैन। विस्तृत खण्डन को लागि प्रतीक्षा गर्नुहोला।

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आइतबार बसेको बैठकले पूर्वसहमहामन्त्री गोविन्दराज जोशी र चितवन जिल्लाका पूर्वसभापति विकास कोइरालामाथिको अनुशासनको कारबाही फुकुवा गर्ने निर्णय गरेको थियो ।

मेयरको नामबाट एसइईको परीक्षा दिने ज्वाइँ पक्राउ

रौतहट – नगरप्रमुखको नामबाट विद्यालय शिक्षा परीक्षा (एसइई) को गणित विषयको परीक्षा दिँदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । 

रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रेमलाल साह कानुको नामबाट एसइई परीक्षा दिँदै गरेका गरुडा–६ पोठियाहीका कमल साहलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका साह नगरप्रमुखको ज्वाई रहेको बताइएको छ । उनी पेशाले इन्जिनियर रहेको स्रोतले बतायो । 

मौलापुर नगरपालिकास्थित लक्ष्मिनिया माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । परीक्षा सञ्चालन भइरहेको बेलामा केन्द्रमा परीक्षा दिइरहेका साह प्रति अनुगमन टोलीलाई शङ्का लागि चेकजाँच गर्दा उनी नक्कली परीक्षार्थी रहेको पाइएपछि नियन्त्रणमा लिइएको हो । 

प्रेमलाल साह कानुको प्रवेश पत्रमा रहेको सिम्बोल नम्बर ३५०३७२८ बाट उनले परीक्षा दिइरहेको अवस्थामा पक्राउ गरिएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीर बहादुर बुढामगरले पक्राउ परेका साह माथि अनुसन्धान भइरहेको बताउनुभयो । 

सभामुख भनेको तटस्थ र निष्पक्ष होस् : रामहरि खतिवडा

काठमाडौं – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सभामुखको भूमिका तटस्थ र निष्पक्ष बनाउन आफूले संशोधन प्रस्ताव दर्ता गरेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा नियमावलीमाथिको दफाबार छलफलका क्रममा उनले कार्यव्यवस्था परामर्श समितिको सल्लाहअनुसार सभामुख अघि बढ्नुपर्ने बताए ।

“सभामुख भनेको न सत्तापक्षको होस् न विपक्षको होस् । सभामुख तटस्थ र निष्पक्ष होस् भन्ने मेरो प्रस्तावको चाहना हो,” उनले भने, “सभामुखले न दायाँ न बायाँ, सभामुखले कतै पनि नहेरेर, सभामुखको छाया कतै पनि पर्नु हुँदैन भन्ने धारणा हो ।”

सभामुखलाई पार्टीको ‘चार्ज’ लाग्ने गरेकाले कार्यव्यवस्थाको निर्णयबाट अघि बढ्दा बलियो हुने उनको भनाइ छ ।

बारा–२ मा हाम्रो पार्टीकै उम्मेदवारले जित्छ : सीके राउत

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष सीके राउतले बारा–२ मा हाम्रो पार्टीकै उम्मेदवारले जित्ने दाबी गरेका छन् ।

आइतबार बारा–२ निर्वाचन क्षेत्र पुगेका राउतले जसपा अध्यक्ष उपेन्द्र यादवलाई जनताले भर्खरै अस्वीकार गरेकाले यति छिट्टै फेरि संसदमा जान नसक्ने बताएका छन् । उनले केही महिनाअघि मात्रै निर्वाचन हारेका यादव बारा २ मा निर्वाचन लड्न आए त्यो जनमतकै अपमान हुने बताएका हुन् ।

‘उपेन्द्र यादव भर्खर पराजित भएर आएको हुनाले यति चाँडो संसदमा जानु हुँदैन । त्यो गर्नुभयो भने जनमत र जनताले दिएको मतको अपमान हो भन्ने जनताले पनि बुझेका छन्’, राउतले भने, ‘त्यही भएर षड्यन्त्र गरेर उहाँ आउँदै हुनुहुन्छ, तर, यहाँका जनताले सफल हुन दिँदैनन् ।’

राउतले बारा २ मा जनमत पार्टीकै उम्मेदवारले जित्ने दाबी गर्दै भने आफू पनि अवश्यकताअनुसार निर्वाचन अवधिभर बारामै बस्ने बताए । ‘यहाँका जनतालाई सीके राउतलाई भेटौ भन्नेछ । त्यसका साथै जनमत पार्टीको स्वच्छ छवि र सदनमा देखाएको सक्रियताले गर्दा पनि जित्ने लगभग निश्चित छ’, राउतले भने, ‘उपेन्द्रजी बाहिरबाट आउनुभएको छ । यहाँका जनताले यहीकै भूमिपुत्रलाई जिताउँछन् ।’

सेयर बजार दोहोराे अंकले घट्याे

काठमाडौं – साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोराे अंकले ओरालो लागेको छ । आइतबार नेप्से परिसूचक २० अंकले घटेर १८८८ को बिन्दुमा झरेको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७२ अङ्कले घटेर ३५५.७५ विन्दुमा पुगेको छ। यसअघि गत साताकाे अन्तिम काराेबार दिन बिहीबारको कारोबारमा नेप्से परिसूचक १०.८७ अंकले घटेर १९०८.५५ विन्दुमा पुगेको थियो  । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार कूल २६० कम्पनीको ३७ लाख ८७ हजार २४१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २० करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

यसैगरी, नेप्से सुचकमा २३ कम्पनीमा वृद्धि भएको छ । १८९ कम्पनीमा ओरालो लागेको र ४ कम्पनी स्थिर रहेको छ । कारोबारको आधारमा एनआइसी एसिया बैंक शीर्ष स्थानमा रहेको छ । उक्त बैंकले ५ भन्दाबढीको कारोबार गरेको छ । 

सिवम सिमेन्ट दोश्रो स्थानमा छ । उक्त कम्पनीको ४ करोड ५१ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो । आइतबार सबै उपसुचकहरु राताम्मै भएको छ । सबैभन्दा धेरै ट्रेडिङ सुचक कम्पनीमा २.५८ प्रतिशतले गिरावट आएको छ । 

आजको कालिन्चोक दर्शनको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन्। 

काँग्रेसको चुनाव रणनीति : रविलाई रोक्न विश्वप्रकाश,स्वर्णिमलाई रोक्न गगन

काठमाडौं – वैशाख १० मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले तनहुँ १ र चितवन २ मा दुई महामन्त्रीद्वयलाई खटाएको छ । तनहुँ १ मा स्वर्णिम वाग्लेलाई रोक्न गगन थापा चितवन २ मा रवि लामिछानेलाई रोक्न विश्वप्रकाशलाई फिल्डमा उतारेको हो । 

नेपाली काँग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेर तनहुँ १ बाट टिकट पाउनुभएका वाग्लेलाई रोक्न गगन थापा सक्रिय रुपले लाग्नुभएको छ । त्यस्तै नागरिकता प्रकरणबाट सांसद पद खारेज हुन पुगेका लामिछानेलाई हराउन विश्वप्रकाश शर्मा लाग्नुभएको छ । 

उहाँहरुलाई समन्वय समितिमा रहेर काम गर्न पार्टीले निर्देशन दिईसकेको छ ।  सोमबार हुने मनोनयनपछि उहाँहरु निर्वाचन केन्द्रमा केन्द्रित हुनुहुनेछ । 

कांग्रेसले तनहुँ १ मा गोविन्द भट्टराई र चितवन २ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार तय गरिसकेको छ । उपनिर्वाचन हुने अर्को क्षेत्र बारा(२ मा भने कांग्रेसले जनता समाजवादी पार्टीलाई समर्थन गर्ने निर्णय गरिसकेको छ ।

त्यस्तै एमालेले तनहुँ १ मा पूर्व डिआईजि सर्वेन्द्र खनाल र चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ । 

मिटरब्याज पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले मिटरब्याज पीडितलाई न्याय दिन सरकारले आयोग गठन गर्न लागेको जानकारी दिए । त्यसपछि सांसदहरुले सरकारले आयोग गठन गरेर पीठकलाई उन्मुक्ति दिन खोजेको आशंका गरे । सांसदको आशंका र विभिन्न जिज्ञासाप्रति फेरि जवाफ दिने क्रममा गृहमन्त्री श्रेष्ठले यसअघिका जस्ता आयोग नभएर तत्काल नै पीडितलाई न्याय दिन आयोग गठन गर्न लागेको जानकारी गराए । 

कुनै पनि बहानामा मिटरब्याज पीडितलाई न्याय दिन र पीडकलाई कारबाही गर्ने विषयलाई पन्छयाउन वा ढिला गर्न सकिँदैन,’ उनले भने, ‘यसमा सबैको साथ र सहयोग चाहिन्छ । कुनै तर्क बितर्क गरेर अब बसिँदैन । पीडितलाई न्याय दिइनेछ ।’ 

गठन हुने आयोगले स्थालगत अध्ययन गरेर को कति पीडित भए, के कस्तो कानुनको आवश्यकता पर्नेछ भन्ने विषयमा अध्ययन गरेर दिने प्रतिवेदनका आधारमा पीडितलाई न्याय र पीडकलाई सजाय दिने उनको भनाइ छ । 

मिटरब्याजी पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको बताउँदै उनले तीन किसिमका पीडित रहेका जानकारी दिए । उनका अनुसार आवाज उठाउन नसक्ने, आवाज उठाउन संगठित भइरहेका र न्यायालयमा गए पनि तमसुकका आधारमा भएका फैसलाबाट पनि न्याय नपाएका तीन किसिमकै पीडितलाई न्याय दिइनेछ । 

राप्रपाले उपनिर्वाचनका लागि उम्मेदवा  टुङ्ग्यायो 

काठमाडौँ – आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उम्मेदवार चयन गरेको छ ।

आइतबार राप्रपाले उपनिर्वाचनका लागि तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरेको हो ।

राप्रपा संसदीय समितिको निर्णयअनुसार तनहुँ १ मा शोभा गुरुङ, बारा २ मा सोनेलाल शाह र चितवन २ मा जीवलाल पुरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उपनिर्वाचनका लागि मुख्य दलहरूले उम्मेदवार ढुंगो लगाइसकेका छन् ।

काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन

काठमाडौँ – पहिचानवादीको आन्दोलन चर्किदै गएपछि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले कोशी प्रदेशको नामाकरण परिवर्तन हुनु पर्ने जनाएकाे छ ।

अध्यक्ष यादवले जारी गरेको आन्तरिक सर्कुलर अनुसार तत्कालका लागि उक्त प्रदेशको नाम प्रदेश नं १ नै कायम हुनुपर्ने र प्रदेशसभाले पहिचान अनुसारको नाम परिवर्तन गरेमा मात्र उक्त परिवर्तित नयाँ नामाकरणलाई समर्थन गरिनेछ । 

प्रदेश नं १ मा उठाएको पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्दछ भन्ने आन्दाेलनकाे मागलाई यथोचित रुपमा सम्बोधन गर्न गराउन सरकारसँग जोडदार माग गरिएको पनि साे परिपत्रमा उल्लेख छ ।

गत चैत १ गते  प्रदेश १ को नाम कोशी प्रदेश शब्द पर्न गएको भन्दै पार्टीले उक्त नाम सच्च्याउन भएको आन्दोलनको समर्थनसमेत गरेको जनाईएको छ । 

काेशी नामाकरण गरे पछि  पछिल्ला दिनमा  बिराटनगरलगायतमा दिनहुँ आन्दाेलन भईरहेका छन् । 

कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो

काठमाडौं – पछिल्लो समय देशमा कोरोनाभाइरस संक्रमण बढ्न थालेपछि यसको नियन्त्रणको तयारीबारे सांसदहरुले चासो राखेका छन् । 

छिमेकी देशसहित नेपालमै कोरोना संक्रमण बढ्न थालेपछि प्रतिनिधिसभा सदस्यले कोरोनाभाइरस संक्रमण नियन्त्रणको तयारीबारे चासो राखेका हुन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले कोरोनाभाइरस संक्रमणको अवस्थाबारे जानकारी मागेका हुन् ।

कोरोना संक्रमण नियन्त्रणको तयारीबारे जानकारी मागेका उनले नयाँ भेरियन्टको संक्रमण बढेकोले रोकथामका लागि सरकारको कार्यनीति के छ ? भनेर प्रश्न पनि गरेका छन् । 
 

सांसद निशा डाँगीको प्रश्न : म बसेको कुर्सी कुन देशबाट आयात भएको हो ?

काठमाडाैँ – राष्ट्रिय स्वतन्त्र पार्टीकी संसाद निशा डाँगीले प्रधानमन्त्री र सभामुख बस्ने कुर्सी कुन देशबाट आयत भएको भन्दै प्रश्न गर्नुभएकाे छ ।

आइतबार संसद बैठकमा उहाँले हरेक सामान आयात भइरहेको भन्दै कुर्सीसमेत कुन देशबाट आयात भएको भनि प्रश्न गर्नुभएकाे हाे । 

‘म सदनमा बसिरहेको कुर्सी कुन देशबाट आयात भएको हो ? कि नेपालमा नै बनेको हो । कुर्सीका लागि जुन झगडा हुने गरेको छ, प्रधानमन्त्री, सभामुखको कुर्सी, त्यो कुन देशबाट आयात भएको हो ? सिंहदरबार, बालुवाटार , शीतलनिवास र यो सदनको क्षेत्रलाई आत्मनिर्भर घोषणा गरौँ,’ उहाँले भन्नुभयाे ।

संसदमा प्रयोग भइरहेको कुर्सीदेखि माइकसम्म, कलमदेखि कापीसम्म सबै नेपाली नै प्रयोग गर्नका लागि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएकाे छ ।  

मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग

काठमाडौं – प्रतिनिधिसभामा मिटरब्याजी पीडितलाई न्याय दिन माग  गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका दिलेन्द्र बडू र प्रेम सुवालले कानुन बनाएर मिटरब्याजी पीडितलाई न्याय दिनुपर्ने माग गरेका हुन् । 

न्याय माग्न सिरहाबाट हिँडेर गत सोमबार काठमाडौं आएका मिटरब्याजीको समस्या समाधान गर्न आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पनि माग गरिएको हो । 

गत बुधबार बसेको प्रतिनिधिसभा बैठकमा अधिकांश सांसदहरुले मिटरब्याजी पीडितको समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका भए पनि आइतबारको शून्य समयमा बडु र सुवालबाहेक अरु सांसदले आफ्नो विषय बनाएनन् । 

बडुले कानुन बनाएर मिटरब्याजी पीडितलाई न्याय दिनुपर्ने बताउँदा सुवालले मिटरब्याजीले लगानी गरेको रकम राष्ट्रियकरण गर्दै पीडितलाई छुटकरा दिनुपर्ने बताए । 

साथै आइतबारकै बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडितलाई न्याय दिन र पीडकलाई कारबाही गर्न तयार रहेको बताए । सांसदहरुले गराएको ध्यानाकर्षणप्रति सरकारले गम्भीरतापूर्वक लिएर समाधान गर्ने उनले बताए । 

सांसद दीपकबहादुर सिंहको प्रश्न : मलको अनुदान काटेर नेपालका युवालाई खाडी मुलुक जान भनेको हो ?

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले ‘मिसन’ महाकाली अभियान कहिले सञ्चालन हुन्छ भन्दै प्रश्न गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले एमाले मिसन ग्रास रुट अभियानतर्फ संकेत गर्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘ठूला पार्टीहरूले मिसन एभरेष्ट, मिसन ग्रासरुष्ट अभियान अगाडि बढाइरहेका छन्। सभामुखज्यू मिसन महाकाली अभियान कहिले सञ्चालन गर्ने ? महाकाली, कालापानी, लिपुलेकको बारेमा कसैले पनि एक शब्द उठाउन सकिरहेको छैन। सत्ता जान्छ भन्ने डरले केही बोल्न नसकेको हो कि ।’

सांसद सिंहले किसानले मल नपाएको बताउँदै अनुदान काटेर नेपालका युवालाई खाडी मुलुक जान भनेको हो ? भन्दै प्रश्न गरे ।

मिटरब्याजी पीडितहरुलाई सरकारले फेरि धोका दियो : ठाकुर गैरे

काठमाडौं – नेकपा एमालेका सांसद ठाकुर गैरेले मिटरब्याजी पीडितहरुलाई फेरि धोका दिएको आरोप लगाएका छन्।

आइतवार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘सरकारले मिटरब्याजीपीडितहरुलाई फेरि धोका दियो’, उनले भने, ‘पीडितहरुमाथि सरकारबट अर्को धोखा भएको छ। एउटा आयोगको प्रतिवेदन लुकाएर अर्को आयोग बनाउनु पीडितहरुलाई अझै धोका दिने काम भएको छ।’

उनले आयोगमाथि आयोग बनाउँदा पीडितहरुले न्याय पाउने भन्दा पीडकहरुलाई उन्मुक्तिको वातावरण मिल्ने पनि बताए ।

सांसद गैरेले शून्य समय र विशेष समयमा आएका सवालहरुबारे सरकार जवाफदेही हुन नसकेको भन्दै आपत्ति जनाए।

सभामुखको विशेषाधिकार कटौतीको प्रस्तावबाट यसरी भयो ब्याक

काठमाडाैँ – सभामुखले गर्ने कामकारबाही कार्यव्यवस्था परामर्श समितिको निर्णयका आधारमा हुनुपर्ने संशोधन प्रस्तावबाट सत्तारूढ दलहरू पछि हटेपछि प्रतिनिधि सभा नियमावलीमा सहमति भएको छ ।

शनिबार सभामुख देवराज घिमिरेको आह्वानमा भएको छलफलमा सभामुखले सदनका कामकारबाही कार्यव्यवस्था समितिको नियमित परामर्शका आधारमा गर्ने सहमति भएपछि नियमावलीको गाँठो फुकेको हो । सत्तारूढ दलबाट सभामुखको कामकारबाही समितिको निर्णयबाट मात्र हुनुपर्ने संशोधन दर्ता भएपछि नियमावली पारितको प्रक्रिया रोकिएको थियो ।

सत्तारूढ दलको प्रस्तावले सभामुखको विशेषाधिकारमा समेत अङ्कुश लाग्न लागेको भन्दै विपक्षी दल र पूर्वसभामुखहरूले समेत आपत्ति जनाएका थिए । संसदीय मान्यता र स्थापित अभ्यासविपरीत अधिकार कटौतीको प्रस्ताव भएको भन्दै नियमावली पारितको प्रक्रिया रोकिएको थियो । दलीय सहमतिसँगै आइतबारको बैठकमा नियमावली पारित गर्ने सहमति भएको छ ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले नियमावली मस्यौदा समितिको प्रतिवेदनलाई पारितको प्रक्रिया अघि बढाउने सम्भावित कार्यसूची तय भएको छ । “नियमावलीका विषयमा एकप्रकारको सहमति भएको छ । सचिवालयले सम्भावित कार्यसूचीमा प्रकाशन गरेको छ । सकेसम्म भोलि नै नियमावली पारितको तयारी छ,” गिरीले भने ।

मुख्य विवादित बनेको संशोधनलाई भाषा मिलाएर स्वीकार गर्ने राजनीतिक रूपमा सहमति भएको नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक पदम गिरीले बताए । गिरीले भने, “पेचिलो रहेको नियम १३ को संशोधन (सभामुखको अधिकारबारे)मा भाषा मिलाएर अघि बढ्ने कुरा भयो । सभामुखले निर्णयका आधारमा हैन, अधिवेशन चालु भएका बेला नियमित परामर्शमा र नभएको अवस्थामा आवश्यकताअनुसार परामर्शमा अघि बढ्ने भन्ने शब्दावली राखेर अघि बढ्ने सहमति भयो ।”

दलीय सहमतिअनुसार सचिवालयले मस्यौदा गरेको नियम १३ को उपनियम ४ मा ‘उपनियम १ बमोजिमको समितिको बैठक अधिवेशन चालु रहेको अवस्थामा नियमित रूपमा र अन्य समयमा आवश्यकताअनुसार बस्नेछ’ भन्ने शब्दावली राख्ने दलीय सहमति भएको छ । यसअघि उपनियम चारमा सभामुखले गर्ने काम कारबाही कार्यव्यवस्था परामर्श समितिको निर्णयका आधारमा हुने व्यवस्था प्रस्तावित थियो ।

रामचन्द्र पौडेलविरुद्व बागी उम्मेदवारी दिएका गोविन्दराज जोशीकाे कारबाही फुकुवा

काठमाडौँ – नेपाली कांग्रेसले पूर्वमन्त्री गोविन्दराज जोशी, विकास कोइरालालगायत नेताको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । 

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार सानेपामा बसेको बैठकमा २०७९ भन्दा पहिले नेताहरुमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिनुभयाे ।

तनहुँका पूर्वमन्त्री जोशी गत निर्वाचनमा रामचन्द्र पौडेलविरुद्व बागी उम्मेदवारी दिएपछि कारबाहीमा पर्नभुएकाे थियाे । मंसिर ४ गतेको निर्वाचनमा तनहुँ-१ मा स्वतन्त्र उम्मेदवार बनेका थिए । चितवनका कोइराला पूर्वजिल्ला सभापति हुनुहुन्छ ।

रास्वपाका तीन उम्मेदवार जसले आफैँलाई मत हाल्न पाउँदैनन्

काठमाडौँ – आगामी वैशाख १० गते तीन वटा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुँदैछ । चितवन–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदैछ ।

गत मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ–१ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित हुनुभएको थियो तर उहाँ राष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

त्यस्तै बारा–२ बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा) का रामसहायप्रसाद यादव पनि उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्र खाली भएको हो । चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रविलामिछानेको सांसद पद दोहोरो नागरिकता प्रकरणका कारण सर्वोच्च अदालतले खारेज गरिदिएपछ सो निर्वाचन क्षेत्र पनि खाली छ ।

लामिछानेले पुन: नेपाली नागरिकता लिएपछि उहाँ पुन: चितवन–२ बाट उपनिर्वाचनमा उम्मेदवारी दिने हुनुभएको छ । रास्वपाले तनहुँ–१ बाट भर्खरै नेपाली कांग्रेस परित्याग गर्नुभएका डा स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यस्तै नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले पनि रास्वपाबाटै बारा–२ बाट उम्मेदवारी दिँदै हुनुहुन्छ ।

तर रास्वपाका यी तीन जना उम्मेदवारले उम्मेदवारी दिएको निर्वाचन क्षेत्रमा भने स्वयंलाई मत हाल्न नपाउने भएका छन् ।

निर्वाचन आयोगको मतदाता नामावलीमा रवि लामिछानेको नाम काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा रहेकाले उहाँ आफू उम्मेदवार भएको चितवन–२ बाट मतदान गर्न वञ्चित हुनुभएको छ ।

त्यस्तै डा वाग्लेको पनि मतदाता नामावलीमा चितवन–२ मा उहाँको नाम भएकाले उहाँले उम्मेदवारी दिएको तनहुँ–२ बाट उहाँले मतदान गर्न पाउनु हुनेछैन ।

खरेल पनि काठमाडौँ निर्वाचन क्षेत्र नं १ को मतदाता हुनुहुन्छ । गत मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा उहाँ सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार हुनुहुन्थ्यो । अब उहाँले पनि आफू उम्मेदवार भएको बारा–२ बाट आफूलाई मतदान गर्न पाउनु हुनेछैन ।

मिटरब्याज पीडितको स्वास्थ्य अवस्थाबारे गृहमन्त्रीको चासो

काठमाडौं – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरुको स्वास्थ्य अवस्थाबारे चासो राखेका छन् । 

पीडितहरुको स्वास्थ्य अवस्था परीक्षण भइरहेको स्थल अनामनगरमा पुगेर उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

यही १३ चैतदेखि काठमाडौंमा न्यायका लागि संघर्षरत उनीहरुको उपचारमा कमी हुन नदिन उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्देशन पनि दिएका छन् । 

कांग्रेसले बारा २ मा जसपालाई सघाउने

काठमाडौँ – नेपाली कांग्रेसले बारा २ को उपचुनावमा जसपालाई सघाउने निर्णय गरेको छ ।

आइतबार पार्टी कार्यलय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । आगामी वैशाख १० गते हुने उपचुनावका लागि जसपालाई सहयोग गर्ने भएको हो ।

यहाँ जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उठाउँदैछ । यादवको नाम सर्वसम्मतरूपमा सिफारिस भइसकेको छ ।

बारा २ मा जनमत पार्टीले शिवचन्द्र कुशवाहलाई उठाउने निर्णय गरिसकेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्व डीआईजी रमेश खरेललाई अघि सार्ने भएको छ । लोसपाबाट राजेन्द्र महतोको चर्चा छ । एमालेले निर्णय गरिसकेको छैन ।

उपनिर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै

काठमाडौँ – आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।

निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नुहुनेछ ।

गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित रवी लामिछाने नागरिकतासम्बन्धी मुद्धामा सर्वाेच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं. २, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नंं. १ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नं. २ का लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।
 

देश किन बनेन भनेर चिन्ता गर्नेहरु सबै राष्ट्रिय शक्ति निर्माणको दिशामा अघि बढौँ : शंकर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्वका लागि बलियो राष्ट्रिय शक्ति अपरिहार्य रहेको बताउनुभएको छ ।  उहाँले विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व अपरिहार्य रहेको बताउनुभएको हो । 

सामाजिक सञ्जालमा महासचिव पोखरेलले लेख्नुभएको छ,  ‘विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व र राजनीतिक स्थायित्वका लागि बलियो राष्ट्रिय शक्ति अपरिहार्य छ । देश किन बनेन भनेर चिन्ता गर्नेहरु सबै राष्ट्रिय शक्ति निर्माणको दिशामा अघि बढौँ ।’

उहाँले वैशाख १० गते हुने उपनिर्वाचनमा बलियो राष्ट्रिय शक्ति निर्माणको संकल्प पुरागर्न तनहुं-१,चितवन-२ र बारा-२ मा एमाले उम्मेदवारलाई विजयी बनाउने अभियानमा जुट्न आग्रह गर्नुभएको छ ।

शान्ति सम्झौताको मर्मअनुसार पीडितका मुद्दा सम्बोधन गर्ने : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं –  सशस्त्र द्वन्द्वको क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई भेटेका छन् । 

आइतबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा उनीहरुले प्रधानमन्त्रीलाई भेटेका हुन् । सो क्रममा उनीहरुले सत्य निरूपण तथा मेलमिलाप विधेयकमा विद्रोह पक्ष र राज्यपक्षप्रति समान व्यवहारको प्रबन्ध गर्न, क्षतिपूर्ति र परिपूरणमा ध्यान दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । 

जवाफमा प्रधानमन्त्री प्रचण्डले देशको राजनीतिक, सामाजिक रूपान्तरणको आन्दोलनका क्रममा ज्यान गुमाउने सबैप्रति आफ्नो समान सद्भाव भएको बताउँदै शान्ति सम्झौताको मर्मअनुसार पीडितका मुद्दा सम्बोधन गर्ने बताए । 

कैलालीबाट लागूऔषधसहित एक जना पक्राउ

धनगढी – कैलालीबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भजनी नगरपालिका–७ चर्राका २३ वर्षीय इन्द्रबहादुर कठरिया लागूऔषधसहित पक्राउ परेका हुन् ।

शुक्रबार इलाका प्रहरी कार्यालय भजनीबाट प्रहरी निरीक्षक मानसिंह ऐरीको कमाण्डमा खटिएको प्रहरी टोलीले ३३ ग्राम लागूऔषधसहित कठरियालाई पक्राउ गरेको छ ।

उनलाई लागूऔषधसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अब कांग्रेसमा फर्किन्न : स्वर्णिम वाग्ले

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अब रास्वपा नछाड्ने बताएका छन् । 

रास्वपाले आयोजना गरेको पत्रकार सम्मेलनमा वाग्लेले आफूले कथमकदाचित चुनाव हारे पनि रास्वपा नछाड्ने बताएका हुन् । 
‘म रास्वपाको साधारण सदस्य भएर आएको हुँ। म फेरि नेपाली कांग्रेसमा फर्किन्न। मेरो पछाडि फर्किने बानी छैन। गण्डकी प्रदेशको पानी खाएको छु,’  उनले भने ।

यो देशलाई देखिन लायक बनाउन युवाहरू लाग्न आवश्यक रहेको उनको भनाइ छ । 

भागबण्डा प्रवृत्ति तोड्न रास्वपा राेजे : रमेश खरेल

काठमाडौं – बारा-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार बनेका रमेश खरेलले सुशासन कायम गर्न सबै देशभक्तहरु एक ठाउमा आउनुपर्ने अवस्था सिर्जना भएकाे बताएका छन् । 

रास्वपाले शनिबार गरेको पत्रकार सम्मेलनमा बोल्दै खरेलले नेपाल आमा रोइरहेको बताउदै अहिलेको भागबण्डा र लुछाचुडीलाई तोड्नुपर्ने बताएका छन् ।

अहिले देशमा भइरहेको निराशालाई आशामा बदल्ने पार्टी रास्वपा मात्र आफुले पाएर आफु यस पार्टीमा आएको बताउदै खरेलले आफु चुनाव लड्न मात्र पार्टीमा नआएको बताए ।

रवि लामिछानेको दाबी : रास्वपा देशको सबैभन्दा ठूलो र लोकप्रिय पार्टी बन्छ

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपा देशको सबैभन्दा ठूलो र लोकप्रिय पार्टी बन्ने दाबी गरेका छन् ।

शनिबार वैशाख १० मा हुने उपचुनावका लागि उम्मेदवारी घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा लामिछाने अर्को चुनावपछि हाम्रो पार्टी सबभन्द ठुलो र लोकतान्त्रिक पार्टी बन्ने दाबी गरेका हुन् ।

कांग्रेस परित्याग गरेका अर्थविद् स्वर्णिम वाग्ले तनहुँ १ र पूर्व डीआईजी रमेश खरेललाई बारा २ मा उम्मेदवार बनाएका रास्वपाका सभापति लामिछानेले अघि भने, स्वर्णिम वाग्ले र रमेश खरेलजस्ता व्यक्तिहरू जोडिनु यो जनाउ घण्टी मात्र होइन । उहाँहरूभन्दा पनि क्षमतावान् व्यक्तिहरू अहिले हामीसँग जोडिन संवादमा हुनुहुन्छ । यस्तै व्यक्तिहरू जोडिएर हामी दुई तिहाइको सरकार बनाउनेछौँ र विषय विज्ञहरुले मन्त्रालय हाँक्नेछन् । यो देशबाट भ्रष्टाचार र घुसखोरी अन्त्य हुनेछ ।

उनले आफ्नै नेतृत्वको सरकार बनाउने गरी रास्वपा अर्को चुनावमा उपस्थित हुने दाबी गरे ।

रास्वपाले घोषणा गर्‍यो उपनिर्वाचन लड्ने ३ उम्मेदवार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणा गरेको छ ।

पार्टी कार्यालय महाराजगञ्जमा कार्यक्रम गरी रास्वपाले चितवन २ मा अध्यक्ष रवि लामिछाने, तनहुँ १ मा स्वर्णिम वाग्ले र बारा २ मा रमेश खरेललाई उम्मेदवार बनाउने घोषणा गरेको हो ।

गत मंसिरको चुनावमा चितवन २ मा रवि लामिछाने नै निर्वाचित हुनुभएकाे थियाे । तर नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले उहाँको पद खारेज गरे पछि त्यहाँ उपचुनाव हुन लागेको हो ।

नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि खाली रहेको तनहुँ १ मा रास्वपाले कांग्रेस छाड्नुभएका वाग्लेलाई उम्मेदवार बनाउन लागेको हो ।

बारा २ मा उठ्न लाग्नुभएका रमेश खरेल भने गत मंसिरको चुनावमा हाम्रो सुशासन पार्टीबाट काठमाडौं १ मा उठ्नुभएकाे थियाे । काठमाडौं १ मा पाँचाै भएका खरेल अहिले पार्टी परिवर्तन गरेर बारा २ मा रास्वपाबाट उपचुनाव लड्न लाग्नुभएकाे हाे । 

रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि बारा २ मा उपचुनाव हुन लागेको हो ।

एमालले भिम रावलसँग बार्ता गरेर उपयुक्त जिम्मेवारी दिने

काठमाडौँ । नेकपा एमालेले पार्टीका पूर्व उपाध्यक्ष डा. भीम रावलसँग संवाद गर्न र पार्टीमा बस्ने वा नबस्ने टुंगो लगाउँदा तीन सदस्य टोली गठन गरेको छ ।

पार्टीको मिसन ग्रासरुट अभियानको सुदूरपश्चिम कमाण्डर रहेका उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको वार्ता टोलीमा सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्ट र कर्ण थापा सदस्य रहेको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

पार्टीका प्रचार विभाग प्रमुख समेत रहेका उपमहासचिव गुरुङले पूर्व उपाध्यक्ष रावल दशौं महाधिवेशनपछि पार्टीको विधि विधानबाहिर रहेर पार्टीको गतिविधिमा समेत संलग्न नरहेकाले संवाद गर्न पौडेल नेतृत्वको टोलीलाई जिम्मा दिइएको बताए । सोही टोलीले संवाद गरेर आवश्यक टुंगोमा पुग्ने र पार्टीको जिम्मेवारी दिने उनले बताए ।

यो पनि पढ्नुहोस् : भीम रावलले वरिष्ठ नेता मागेका हुन् ? अनुशासन आयोगका अध्यक्षको घरमा ३ घण्टा ‘केरकार’

पछिल्लो पटक उपाध्यक्ष पौडेल मिसन ग्रासरुट अभियानकै क्रममा रावलको गृह नगर साँफेबगर पुग्दा उनीनिकट केही कार्यकर्ताले अन्य नेता बोलिरहेका बेला होहल्ला र अवरोध सिर्जना गरेका थिए ।

रावलले उनीहरूलाई समर्थन जनाउँदै विष्णु पौडेलविरुद्ध अभिव्यक्ति दिएका थिए । पौडेलले रावलको बारेमा पार्टीले चाँडै एउटा निर्णय गर्ने बताएका थिए । पौडेलको रिपोर्टिङपछि नै सचिवालय बैठकले उनीसँगै संवाद गरेर टुंगो लगाउन टोली गठन गरेको हो ।

यसअघि अनुशासन आयोगका अध्यक्ष केशव बडालले पनि रावललाई आफ्नै निवासमा बोलाएर लामो छलफल गरेका थिए ।

कांग्रेसले बाँकी मन्त्री छान्न बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौँ – नेपाली कांग्रेसले सरकारमा सहभागी हुने बाँकी मन्त्री छान्नका लागि पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना प्रकाशित गरी आइतबार बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने गरी बैठक बोलाइएको जानकारी दिएका छन ।

उनको सूचनामा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ चैत्र १९ गते आइतबार बिहान १०ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगर, ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’