`

कांग्रेसले बाँकी मन्त्री छान्न बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौँ – नेपाली कांग्रेसले सरकारमा सहभागी हुने बाँकी मन्त्री छान्नका लागि पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना प्रकाशित गरी आइतबार बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने गरी बैठक बोलाइएको जानकारी दिएका छन ।

उनको सूचनामा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ चैत्र १९ गते आइतबार बिहान १०ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगर, ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’

एमाले सचिवालय बैठककाे निर्णय : चितवन २ मा न्यौपाने र तनहुँ १ मा खनाललाई उम्मेदवार बनाउने

काठमाडौँ – नेकपा एमालेले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागी उम्मेदवार टुंगो लगाएको छ ।

शनिबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले चितवन २ र तनहुँ १ मा उपचुनाव लड्ने उम्मेदवार टुंगो लगाएको हो । बैठकले चितवन २ मा रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बारा २ मा भने आइतबार मात्र टुंगो लाग्ने भएको छ । बारा २ बाट जिल्ला कमिटीले पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री पुरुषोत्तम पौडेल,प्रदेश कमिटी सदस्य राजेश साह र बन्दना सिंहको नाम सिफारिस गरेको छ ।

पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरु कमिशनको खेलमा मात्रै लाग्दा रहेछन्: मन्त्री किराती

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरु कमिशनको खेलमा मात्रै लाग्ने गरेको पाइएको बताउनु भएको छ ।  

शनिबार बिहान पशुपतिनाथ क्षेत्रको सरसफाईमा सहभागी भएलगत्तै नेपाल पर्यटन बोर्डले आयोजना गरेको एक कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । पशुपति क्षेत्र परिसरमा सफाई गर्ने क्रममा आफूलाई त्यहाँ रहेका मानिसहरुले पशुपति क्षेत्र विकास कोष जताबाट कमिशन आउँछ, त्यतै लाग्ने गरेको बताएको उहाँको भनाई थियो ।

मन्त्री किरातीले पशुपतिनाथ क्षेत्रको फोहोर देखेर आफू साह्रै लज्जित भएर फर्केको पनि बताउनु भयो । त्यहाँ जाने दर्शनार्थीहरुले ट्वाईलेट आफूलाई सोधेको र आफू पनि टवाईलेट खोज्दै हिड्नुपर्ने अवस्था आएको पनि उहाँको गुनासो थियो । मन्त्री किरातीले पर्यटनको पहिलो आधार सरसफाई भएकाले आफू पनि पशुपतिनाथ क्षेत्रको सफाईमा गएको तर त्यहाँ धेरै फोहोर रहेको समेत बताउनु भयो ।

उहाँले सो क्षेत्रमा बिहान मोर्निङ वाकमा आउनेहरुले समेत फोहोर फ्याँकेर जाने गरेकाले त्यहाँको सफाईका लागि सबै सुध्रनुपर्ने अवस्था रहेको बताउनु भयो । मन्त्री किरातीले भन्नु भयो, ‘पशुपतिनाथ सरसफाई पनि पर्यटक बढाउनका लागि हो । यसको ठूलो उद्देश्य छ । आज म धेरै नै फोहोरमा पसेको छु । साथीहरुले डाँडाडाँडा सफा गरेर हिड्थ्यो । प्लाष्टिक मात्रै भेटिन्थ्यो । आज चाँही धेरै नै फोहोर देखेर म आफैं पनि साह्रै लज्जित भएर फर्केको छु ।

हाम्रो प्रवृत्ति कस्तो भयो भने मन्त्री भईसकेपछि गाडीबाट तल नझर्ने । कर्मचारी सिमित जागिर मात्रै खाने हो भन्ने ठान्ने । विकास कोषका साथीहरु कहाँबाट कमिशन आउँछ, खाली त्यतै मात्रै लाग्ने । आज त्यहाँको सबै जनताले भने नि त । त्यहाँको पसलदेखि लिएर बसको पैसा उठाएर फोहोर सफा नगर्नेदेखि लिएर अव संस्कृति जनतामा कस्तो भने कुकुर डोहोर्‍याउँदै जाने, मोर्निङ वाकमा जाँदाखेरी अर्को हातमा प्लाष्टिकमा होफोर फ्याँकेर हिँडने । हामी सबै सुध्रिनुपर्ने देखिन्छ । पर्यटनको पहिलो आधार भनेकै सरसफाई हो । जहाँ हामी सफाई नै गर्दैनौं । धेरै मानिसहरुले आज मलाई ट्वाईलेट कता भनेर सोध्यो पशुपतिनाथमा । म आफैं ट्वाईलेट खोजी हिँडदै थिए । कति गाह्रो छ । हामी चौतर्फी पर्यटनमा एउटा कम्पन ल्याउनका निम्ति कोसिस गर्दैछौं । त्यसमा यो पनि एउटा आधार भएको छ ।’

मन्त्री किरातीले पशुपतिनाथ क्षेत्रमा पैसा लिएर पनि त्यहाँ फोहोर नउठाउने गरेको आपूmले पाएको बताउनु भयो ।

दुजाङ शेर्पाको बर्खास्ती र महाधिवेशन माग गर्दै कांग्रेस कार्यालयमा रिले अनसन

काठमाडौँ – अध्यक्ष दुजाङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेस निकट नेविसंघका असन्तुष्ट पक्षले पार्टी कार्यालय सानेपामा रिले अनशन सुरु गरेका छन् ।

म्याद सकिसकेको असक्षम सभापतिलाई खारेज गरी नयाँ पदाधिकारीसहितको विधान सम्मत कमिटी ल्याउनुपर्ने भन्दै नेविसंघ वृहत् सङ्घर्ष समितिले शनिबारबाट रिले अनशन सुरु गरेका हुन् । अध्यक्ष शेर्पाले स्ववियु निर्वाचनको बेला जथाभाबी जिम्मेवारी तोकेको भन्दै ती निर्णयहरू खारेज गर्नुपर्ने माग असन्तुष्ट पक्षले राख्दै आएको छ ।

उनीहरूले असंवैधानिक सभापतिले गरेको सम्पूर्ण चिठी खारेज हुनुपर्ने, १२ औँ महाधिवेशनको सुनिश्चित गरिनुपर्ने माग राखेका छन् । पार्टी कार्यालय सानेपामा अनशन बस्दै नेविसंघका कार्यकर्ता अंशुल केसीले म्याद सकिसकेको अध्यक्षले सङ्गठन विरोधी काम गरेको र पार्टी दिएको म्यान्डेट अनुसार स्ववियु अधिवेशनको महाधिवेशनको तयारी गर्न नसकेको आरोप लगाए । उनले विधि विधानमा टेकेर नयाँ कमिटी गठन गर्नुपर्ने माग रहेको बताए ।

यसअघि काँग्रेसका सभापति शेरबहादुर देउवाले एक वर्ष अघि दुजाङ शेर्पालाई नेविसंघको अध्यक्षमा नियुक्त गर्नुभएको थियो भने स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनको परिणाम प्राप्त भएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नुपर्ने जिम्मेवारी तोकिएको थियो । तोकिएको समय अवधि भित्र पनि शेर्पाले आफ्नो जिम्मेवारी पूरा नगरेकाले पुरानो कार्यसमिति खारेज गर्दै नयाँ कार्यसमिति गठन गर्नुपर्ने माग असन्तुष्ट पक्षको छ ।

मन्त्री पो बन्दिनँ भनेको थिएँ, अहिले त म उपप्रधानमन्त्री बनेको छु :: पूर्णबहादुर खड्का

काठमाडौँ – उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मन्त्री नबन्ने आफ्नो अभिव्यक्तिबाट पछि नहटेको दाबी गरेका छन् ।

शनिबार ललितपुरको बाँडेगाँउमा रहेको सन्त नेता किसुनजीको आश्रममा पुगेका खड्काले सञ्चारकर्मीसँग कुरा गर्दै यसअघि आफूले मन्त्री मात्रै नबन्ने अभिव्यक्ति दिएको र उपप्रधानमन्त्री बन्दिन भनेर नभनेको बताएका हुन् ।

आफू धेरै चोटि मुलुकको मन्त्री बनेकाले फेरि त्यसमा लालच देखाउनु उपयुक्त नहुने देखेर आफूले मन्त्री बन्ने अभियान बन्द गरे पनि अहिले आफू उपप्रधानमन्त्री बनेको उनले बताए । उनले अहिले उपप्रधान र रक्षामन्त्रीको जिम्मेवारी पार्टीको सभापतिले विश्वास गरेर दिएको भन्दै खड्काले आफ्नो अभिव्यक्तिबाट कहीँ दायाँबायाँ नगरेको धारणा राखे ।

त्यस्तै उनले वर्तमान सरकारमा सहभागिताको लागी कुनै विशेष मन्त्रालयमा दाबी नगरेको स्पष्ट परे । उनले आफ्नो समेत सहमतिमा पार्टी सभापतिले प्रवक्ता डा प्रकाश शरण महतलाई अर्थमन्त्री बनाउनुभएको र यसमा अन्यथा मान्न नहुने बताएका हुन् । मन्त्री खड्काले आफूलाई बाँकी रहेका १९ मन्त्रालयबाट एउटा मन्त्रालय रोज्न लगाइएको र आफूले रक्षा रोजेको तर्क दिए ।

मन्त्री खड्काले शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनु, स्थायी शान्तिको जगमा आर्थिक समृद्धि हासिल गर्न ध्यान केन्द्रित गर्ने बताए । उनले आश्रममा रहेको नेपाली काँग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पूर्ण कदको सालिक अगाडि दीप प्रज्वलन गर्दै सालिकमा माल्यार्पण गरे ।

नेपाललाई विश्वकै ‘स्पोर्टर्स् हब’ बनाउन सकिन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई विश्वकै ‘स्पोर्टर्स् हब’ का रुपमा विकास गर्न सकिने बताएका छन् ।

शनिबार बिहान राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको खेलकुद पूर्वाधार नीति सम्वाद २०७९ लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले खेलकुद क्षेत्रको विकासका निम्ति खेल क्षेत्रलाई प्राथमिकतामा राखिने बताएका हुन ।

‘पछिल्लोसमय मैले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएको छु। खेलाडीहरूलाई पुरस्कृत गर्ने, मैदानमा नै पुगेर खेलाडीहरुको मनोबाद बढाउने, खेल क्षेत्रसँग सम्बन्धित विषयहरु सहभागी हुने जुन महत्व मैले यस क्षेत्रलाई दिएको छु। खेल क्षेत्रमा नेपाललाई विश्वकै हव बनाउन सकिन्छ भन्ने ठानेर नै दिएको हुँ,’ उनले भने, ‘संविधानले केन्द्र, प्रदेश र स्थानीय सरकारको स्पष्ट कार्यक्षेत्र तोकेको छ। तर त्यसअनुसार संघीय ऐनहरू बनिसकेका छैनन्। सरकारको ध्यान छिटोभन्दा छिटो संघीय ऐनहरुलाई पूर्णता दिनेमा छ। संघीय निजामती ऐन लगायतका ऐनहरू छिटो पारित गरेर संविधानको व्यवस्थित कार्यान्वयनमा जान्छौं ।’

यसैगरी, पधानमन्त्री प्रचण्डले भने, ‘प्रत्येक विद्यालय र प्रत्येक टोलमा खेल इकाई र खेल मैदान बनाउनुपर्छ। यसरी मात्र तल्लो तहदेखि नै खेलाडी उत्पादन र विकास गर्न सकिन्छ। पछिल्लो समय नेपालले खेलकुद प्रतियोगितामा जसरी सफलता हासिल गरेको छ, खेलाडी उत्पादन, पूर्वाधार विकास र खेलाडीहरूको वृत्तिविकासमा ध्यान दिन सकेमा नेपालले खेल क्षेत्रमा ठूलो फड्को मार्नेछ। यसका लागि नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग हुनेछ।’ 

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, बागमती प्रदेशका खेलकुदमन्त्री कुमारी मोक्तान, कोशी प्रदेशका खेलकुदमन्त्री बुद्धिकुमार राजभण्डारी, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायतले पूर्वाधार विकासमा तीन तहका सरकारको स्पष्ट नीति र सहकार्यमा जोड दिनुभएको थियो।

दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ – दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दोलखाको सुरी केन्द्रबिन्दु भएर आज बिहान ११ बजेर २७ मिनेट जाँदा पाँच दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भूकम्पको धक्का दोलखा, ओखलढुङ्गा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । पछिल्लो समय नेपालको पूर्व तथा पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जानेक्रम बढेको छ ।

यसअघि गत चैत १५ गते ताप्लेजुङको स्याओ केन्द्रबिन्दु भएर चार दशमलव छ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रधानमन्त्री प्रचण्डलाई भेटर पीडितले भने : ‘मिटर ब्याजबाट मुक्त गरिदिनुस्’

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिटर ब्याज पीडितले आज भेट गरेका छन् । 

बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता भएको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । 

भेटमा प्रधानमन्त्री दाहालसमक्ष पीडितले मिटर ब्याजबाट मुक्त गर्न आग्रह गर्नुभएको थियो । उनीहरूसँगको छलफलमा प्रधानमन्त्री दाहालले समस्या समाधानमा सरकार गम्भीर भएर लागेको जानकारी दिनुभएको उहाँको सचिवालयले जनाएको छ । 

तराईबाट ११ दिन हिँडेर केही दिनअघि काठमाडौँ आइपुगेका मिटर ब्याज पीडित न्याय नपाएसम्म नफर्किने भनेर बसिरहेका छन् । उनीहरूसँग गृह मन्त्रालयले तीन चरणको वार्ता गरिसकेको छ । अधिकार सम्पन्न आयोग गठन गर्नुपर्ने लगायतका माग भने गृह मन्त्रालयले सम्बोधन गरिसकेको छ । 

शुक्रवार उपप्रधानमन्त्री एवं नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठले कार्यभार सम्हालेपछि मिटर ब्याज पीडितको समस्या समाधानका लागि अधिकार सम्पन्न आयोग गठन गर्ने पहिलो निर्णय गरेको र आउँदो मन्त्रिपरिषद्मा प्रस्ताव लिएर जाने जानकारी दिनुभएको थियो । 

मिटरब्याज पीडितलाई प्रधानमन्त्री प्रचण्डको आश्वासन : सबै माग पूरा गर्ने तयारीमा छु

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले कानून बनाएर दीर्घकालीन रुपमै यसको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शनिबार न्याय माग्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका मिटरब्याज पीडितको गुनासो सुनेपछि प्रचण्डले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले मिटरब्याज पीडितहरुका समस्या दीर्घकालीन समाधानका लागि ऐनको नै व्यवस्था नभएकाले अब सरकारले ऐन निर्माणको काम थालिसकेको बताए । उनले मिटरब्याजीलाई ऐनद्वारा नै कारबाही गर्न र उनीहरुमाथि मुद्दा चलाउन सक्नेगरी ऐन तयारीको अन्तिम चरणमा रहेको स्पष्ट पारे ।

उनले भने, ‘मिटरब्याजीलाई ऐनद्वारा नै कारबाही गर्न सकियोस्, उनीहरुमाथि मुद्दा चलाउन सकियोस् भनेर ऐन बनाउने प्रक्रिया अघि बढाइएको छ । मिटरब्याजीको समस्या अहिले समाधान भएन भने कहिल्यै पनि हुँदैन । मिटरब्याजी समस्यालाई लिएर मन्त्रीस्तरीय बैठकबाट नै एउटा उच्चस्तरीय आयोग तत्काल फिल्डमा गएर कारबाही गर्नसक्ने, न्यायिक अधिकारसमेत प्रयोग गर्नसक्ने आयोग बनाउने निर्णय मन्त्रीपरिषद्ले गरेको छ । त्यो प्रक्रिया अघि बढीसकेको छ । त्यसलाई र्‍यापिड एक्शन पोस्ट जस्तो गरेर जाओस्, त्यसले मान्छेलाई बोलाउने, पूर्जि काट्ने र कारबाही गर्ने खालको होस् ।’

प्रधानमन्त्री दाहालले मिटरब्याज पीडितका सबै माग पूरा गर्ने तयारीमा आफू रहेको बताए ।

बैशाख १० गते हुने उप-चुनावको उम्मेदवार टुंगो लगाउन एमाले बैठक बस्दै

काठमाडौँ – नेकपा एमालेले बैशाख १० गते हुने उप-चुनावको उम्मेदवार टुंगो लगाउन आज सचिवालय बैठक बस्दैछ ।

पार्टी मूख्य कार्यालय च्यासलमा साढे १२ बजे बैठक बस्ने उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

चितवन -२ मा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र तनहुँ -१ मा पूर्व आईजीपी सर्वेन्द्र खनालको नाम लगभग टुंगिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार उनको सचिवालय बैठकबाट टुंगो लाग्नेछ ।

बारा – १ बाट को उठाउने भनेर पनि बैठकमा टुंगो लगाउने जनाइएको छ ।

नगद प्रवाहलाई सहज बनाउन समिति गठन गर्ने अर्थमन्त्रीको पहिलो निर्णय

काठमाडाैं – अर्थमन्त्री डा. प्रकाशशरण महतले नगद प्रवाहलाई सहज बनाउन समिति गठन गर्ने निर्णय गरेका छन् । 

शुक्रवार अपराह्न अर्थ मन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री महतले नगद प्रवाहलाई सहज गर्न समिति गठन गर्ने पहिलो निर्णय गरेका हुन् ।

मन्त्रिपरिषद्को बैठकमार्फत विज्ञसहितको समिति गठन गरिने उनले बताए । उद्योग वाणिज्य महासंघ लगायत निजी क्षेत्रले तरलता सहज गर्नका लागि नीतिगत निर्णय गर्न सरकारसँग माग गर्दै आएको थियो । 

मन्त्री महतले निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्रलाई सही गति दिने बताए । 

प्रभु शाहलाई मन्त्री नबनाउनु अपमानजनक धाेखा हाे : आजपा

काठमाडौं –  प्रभु शाहलाई मन्त्री नबनाएपछि आम जनता पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरूलाई धोका दिएको बताएको छ।

आजपाका प्रवक्ता चन्द्र भुषण साहले प्रचण्डले प्रभु शाहलाई मन्त्री नबनाएर धोका दिएको बताउनुभएकाे हाे । साहले मन्त्रालयकाे भागवण्डामा आम जनता पार्टीकाे पनि भाग छुट्याउनु र सरकार विस्तार गर्दा भने सहभागी नगराउनुले अपमानजनक धाेका भएकाे बताउनुभएकाे छ । 

प्रधानमन्त्री प्रचण्डले प्रभु शाहलाई मन्त्री बनाउने बचन दिनुभएकाे थियाे । तर, अन्तिम समयमा शाहलाई छुटाएपछि आजपा असन्तुष्ट बनेको हो। 

न्यायको पर्खाइमा प्रसूति महिला, श्रीमान फरार भएपछि शिशु र आमाको बिचल्ली

सिरहा – प्रेमको मायाजालमा फसेकी एक प्रसूति  महिला  अहिले न्यायको खोजीमा भाँैतारिरहेकी छिन् । सिरहाका सुलैना दासलाई  प्रेमको मायाजालमा फसाएर गर्भवती बनाइ श्रीमानले छोडेर हिँडेपछि  दुई वर्षीय बालक र १९ दिने दुधे बालिकासहित अहिले न्यायको पर्खाइमा बसिरहेकी छिन् ।

सिरहाको सुखीपुर नगरपालिका–३ सलमपुरका कुलदिप दाससँग प्रेम विवाह गरेकी सुलेना दास श्रीमान फरार भएपछि दुधे बालिकासहित उनी बिचल्लीमा परेकी हुन्।

दुई वर्षअघि कुलदिपसँग प्रेम विवाह गरेको सुलेनाले बताइन् । सुखीपुरमा टेन्टको बाजा बजाउने काम गर्दै आएका कुलदिपसँग नजिकिएकी उनले आफू दोस्रोपटक  गर्भवती भएको बताएपछि श्रीमानले गोलबजारमा डेरा खोजेर राखिदिएको सुनाइन् । 

कुलदिपसंग बिहे गरेलगतै छोरा जन्माएका उनी १९ दिन पहिले फेरि अर्को सन्तानको रुपमा छोरीलाई जन्म दिएकी छिन् । उनले भनिन्, ‘पहिलो सन्तान दुई वर्षको छ, अहिले फेरि छोरी पाएको छु ।’ 

तीन महिनाको गर्भ भएपछि घरबाहिर गोलबजारमा राखेर फरार भएका श्रीमानको खोजी गरी न्याय दिलाइदिन जिल्ला प्रहरीसँग गुहार मागे पनि न्याय पाउन नसकेको उनले गुनासो गरिन्  । ‘अब सुत्केरी अवस्थामा दुधे बालक लिएर कहाँ जानु, कसलाई गुहार्नु ?,’ उनले दुखेसो पोख्दै भनिन्, ‘प्रहरीकोमा जाँदा उल्टै गाली गरेर फर्काउँछन्, कोसँग कहाँ गएर न्याय माग्नु ?’ 

केही दिनअगाडि  प्रहरीले पैसा खाएर गुपचुपै कुलदिपलाई विदेश पठाइदिएको सुनेको उनले बताइन् । ‘अब त न्याय पाउने आश पनि मरेर गयो । म जस्तो असहायलाई कसले सहायता गर्छ ?,’ उनले भनिन्, ‘डेरामै रहँदा कहिलेकाहीं आउने श्रीमानले एकाध हजार दिएर जान्थे, त्यही बेला गर्भवती भएछु । दुई छाक खान समेत गाह्रो परिरहेको छ ।’ 


हालसम्म उनलाइ मुक्ति नेपालले सहयोग गरिरहेको बताइन् । कुलदिपले ल्याए पनि उनको घरपरिवारले नस्वीकारेकाले घर जान नसकिएको र आफ्नै खुसीले विवाह गरेकाले माइत जाने अवस्था पनि नरहेको सुनैनाले सुनाए । उनले भनिन्, ‘घर जाउँ सासु ससुराले तँलाई चिन्दैनौँ, हामी घरमा भन्दै पस्नै दिँदैनौँ भन्नुहुन्छ ।  आफ्नै मर्जीले विवाह गरेकाले माइत जान पनि सक्दिनँ ।’

गर्भवत्ति अवस्थामा सुनैना कसको सहारामा सुत्केरी हुने चिन्तामा थिइन् । काखे बालक र अर्को जन्मने अवस्थाको गर्भले उनी ब्याकुल रहेको अवस्थामा हामीले समाजिक उतरदायित्व पूरा गरेको मुक्ति नेपाल संस्थाका कार्यकारी निर्देशक श्यामकुमारी साहले बताइन् ।

महिला अधिकारका लागि क्रियायाशील स्थानीय मुक्ति नेपालले गर्भवती दासलाई मनोविमर्श सेवा, स्वास्थ्य उपचारमा सहयोगसहित जिल्ला प्रहरीमा निवेदन दिन सघाएको संस्थाका निर्देशक साहले जनाइन् । विवाह गरेको दुई वर्ष बितिसकेपनि उनको नागरिकता बनेको छैन । माइतीबाट जन्म प्रमाणित ल्याएको कागज पनि श्रीमानले लिएर हिँडेको सुनैनाले बताइन् । उनले भनिन्, ‘अरु केही नभएपनि तत्काल नागरिकता, विवाह दर्ता र छोराको जन्मदर्ता बनाई दिए हुनेथियो ।’
 

चितवन २- एमालेबाट रामप्रसाद न्यौपानेको एकल नाम सिफारिस

चितवन – नेकपा एमालेले चितवन २ को उपचुनावका लागि उम्मेदवार बन्न जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको एकल नाम सिफारिस गरेको छ ।

शुक्रबार बसेको जिल्ला कमिटी बैठकले न्यौपानेलाई उम्मेदवार बनाउन केन्द्रमा सिफारिस गरेको हो ।

यसअघि न्याैपाने क्षेत्र नम्बर ३ मा उम्मेदवार हुनुभएकाे थियाे । तर, पछि पार्टीले स्वतन्त्र उम्मेदवार दिनेश कोइरालालाई समर्थन गरेपछि उहाँ ब्याक हुनुभएकाे थियाे । 

देशले इतिहासकै सबै भन्दा बढी आर्थिक सङ्कटको सामना गर्दै छ : योगेश भट्टराई

हुम्ला – नेकपा (एमाले) का सचिव योगेश भट्टराईले माओवादीको नेतृत्वमा देशमा समाजवाद आउँछ भन्नु बालुवा पेलेर तेल निकाल्छु भन्ने जस्तो मुर्खता भएको बताउनुभएको छ । 

पार्टीको दुई महिने मिसन ग्रासरुट अन्तर्गत हुम्लाको चंखेली गाउँपालिकाको मध्यावधि समीक्षा बैठकलाई सम्वोधन गर्दै सचिव भट्टराईले देशमा समाजवादको नेतृत्व एमाले बाहेक अरु कसैले गर्न नसक्ने धारणा व्यक्त गर्नुभयो । 

समाजवाद हुँदै साम्यवादका नारा लगाएर दश वर्षे सशस्त्र सङ्घर्ष गरेको माओवादीका अध्यक्ष प्रचण्ड देशको प्रधानमन्त्री हुँदा देशले इतिहासकै सबै भन्दा बढी आर्थिक सङ्कटको सामना गरिरहेको उहाँको भनाइ छ । 

नेकपा (एमाले) नेतृत्वको सरकारले कर्णाली कोरिडोर र कर्णाली राजमार्गलाई कर्णालीको लाइफ लाइनका रूपमा अघि बढाएको उहाँले वताउनुभयो । 

नेकपा (एमाले) चंखेली गाउँ कमिटीका इन्चार्ज पुनिमल रावलको  अध्यक्षतामा बसेको बैठकमा पार्टीका स्थायी कमिटी सदस्य तथा हुम्ला जिल्ला इञ्चार्ज गोरखबहादुर बोगटी, केन्द्रीय सदस्यत्रय निरज आचार्य, नवराज रावत, दल फडेरालगायत नेताहरूले निर्देशनात्मक मन्तव्य राख्नुभएको थियो । 

सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएकाे छ । १० पुसमा प्रधानमन्त्री हुनुभएका उनले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका दललाई समेटेर शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे हाे । तर सरकारले अझै पूर्णता पाउन भने सकेकाे छैन ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेसको सिफारिसमा चार सांसदलाई मन्त्री नियुक्त गर्नुभएकाे छ । उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री हुनुभएकाे छ भने डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ शहरी विकासमन्त्री हुनुभएकाे छ । 

जनता समाजवादी पार्टी (जसपा)को सिफारिसमा अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री हुनुभएकाे छ । 

यस्तै एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त हुनुभएकाे छ । 

माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बन्नुभएकाे छ । 

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको भने मन्त्रालय फेरिएको छ । ११ पुसमा भौतिक पूर्वाधारमन्त्री हुनुभएका उहाँलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

सञ्चार तथा सूचना प्रविधिमा रेखा शर्मा, पर्यटन तथा नागरिक उड्डयनमा सुदन किराती र संघीय मामिला तथा समान्य प्रशासनमा अमनलाल मोदीले निरन्तरता पाउनुभएकाे छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शरदसिंह भण्डारी श्रम तथा रोजगार र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री हुनुभएकाे छ । 

नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बन्नुभएकाे छ । 

कांग्रेसबाट चार जना मन्त्रीहरुको नाम फाइनल

काठमाडौँ – नेपाली कांग्रेसले चार जना मन्त्रीहरुको नाम फाइनल गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै विस्तार गर्न लागेको मन्त्रिपरिषद्मा कांग्रेसले मन्त्री बन्नेहरुमध्ये ४ जनाको नाम फाइनल गरेको हो । प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर सूची टुंग्याएका हुन् ।

जसअनुसार अर्थमन्त्री प्रकाशशरण महत बन्ने भएका छन् । यस्तै रमेश रिजाल उद्योग, रक्षामन्त्री पूणबहादुर खड्का, सहरी विकास मन्त्री सीता गुरुङ बन्ने भएकी छन् । कांग्रेसले पाउने अरु मन्त्रालयबारे अझै टुंगो लागेको छैन ।

माओवादीको शक्ति निरन्तर घटिरहेको छ : विष्णु रिजाल

​​​​​​​जुम्ला – नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले माओवादी उग्रवामपन्थी दलबाट विचौलिया दलमा रुपान्तरण भएको बताउनु भएको छ ।

जुम्लाको खलंगामा शुक्रवार विहान आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले यस्तो बताउनु भएको हो । 

जुम्लाको खलंगामा आज बिहान आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्ननुभयो, ‘माओवादीको शक्ति निरन्तर घटिरहेको छ, नेताको महत्वकांक्षा बढिरहेको छ। यसले माओवादीलाई उग्रवामपन्थी दलबाट विचौलिया दलमा रूपान्तरण गरेको छ । एमाले नभए कांग्रेस, कांग्रेस नभए एमाले भन्ने मानसिकता यसैको उपज हो ।’

वर्तमान सत्ता गठबन्धन नीतिहीन र उद्देश्यविहीन भएकाले मुलुकका लागि दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै नेता रिजालले अब मुलुकको सम्पूर्ण समय सेटिङ, ठेक्कापट्टा, भागवण्डा र कमिसनको खेलमा बित्ने चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘तीन महिनामा सात पटक मन्त्रिपरिषद् पुनर्गठन गर्नपर्ने, महिना–महिनामा विश्वासको मत लिनुपर्ने र सम्पूर्ण समय सत्तारूढ दलकै बैठकमा बिताउनु पर्नेबाट देशको विकास होला भन्ने अपेक्षा गर्नु नै व्यर्थ छ ।’

सत्तारूढ पार्टीहरूबीच नीति र सिद्धान्तमा कुनै तालमेल नभए पनि प्रमुख नेताहरूबीच निजी स्वार्थमा भने समानता रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘आफू जसरी पनि पदमा जाने, परिवारका सदस्यहरूलाई नियुक्ति दिने, आफू निकटलाई ठेक्कापट्टा दिने जस्ता कुरामा प्रचण्ड र शेरबहादुर देउवाबीच प्रतिस्पर्धा छ । अब मुलुक दुई परिवारको प्राइभेट कम्पनीका रूपमा दुरुपयोग हुनेछ ।’

कांग्रेसको भविष्य नदेखेर नेता–कार्यकर्ताले पार्टी छाडिरहेको प्रसङ्ग उल्लेख गर्दै उनले पार्टीकै पदाधिकारीसँग सल्लाह गरेर पार्टी छाड्नुले भोलि उनीहरू स्वयमले पार्टी छाड्नका लागि आधार बनाएको हुन सक्ने आशंका व्यक्त गर्नुभयो । नेकपा (एमाले) जुम्लाका अध्यक्ष शान्तिलाल महतको अध्यक्षतामा आयोजित पत्रकार भेटघाटमा मिसन ग्रासरुट अभियानका बारेमा जानकारी दिनुभयो ।

तीन मन्त्रालय नपाए सरकारमा जाँदैनौ : शेखर समूह

काठमाडौँ – नेपाली कांग्रेसको संस्थापनइतर  शेखर काेईराला समूहले मन्त्रिपरिषद्‍मा सम्मानजनक सहभागिता नभए सरकारमा नजाने चेतावनी दिएको छ ।

सभापति शेरबहादुर देउवालाई शुक्रबार बिहान सन्देश पठाउँदै कोइराला समूहले मन्त्रिपरिषद्‍मा आफूहरूको सम्मानजनक सहभागिता नभए सरकारमा सहभागि नहुने चेतावनी दिएको हो । 

शेखर समूहका एक नेताका अनुसार बिहान एक सन्देश पठाउँदै देउवालाई सम्मानजनक सहभागिता नभए सरकार बाहिरबाटै सघाउने बताएका छन् । 

शेखर समूहले तीन मन्त्रालयमा दाबी गरेको छ । तर देउवाले भने शेखर समूहलाई दुई मन्त्रालयमात्रै दिने तयारी गरिरहेका छन् । आज मन्त्रिपरिषद् विस्तार हुँदैछ । कांग्रेसले अर्थ मन्त्रालयसहित आठ मन्त्रालयले पाएको छ । 

नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्री बन्ने

काठमाडौँ / नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्री बन्ने निर्णय भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै विस्तार गर्न लागेको मन्त्रिपरिषद्मा नाउपाले पाउने एक मन्त्रालयमा पार्टी अध्यक्ष श्रेष्ठलाई पठाउने निर्णय भएको सांसद गंगाराम चौधरीले जानकारी दिएका हुन् ।

नाउपाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पाउने भएको छ ।

दुर्गा प्रसाईले गरे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका युवालाई सम्मान

काठमाडौं / व्यवसायी दुर्गा प्रसाईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्दा पक्राउ परेका तीन युवालाई खादा र माला लगाएर सम्मान गर्नुभएको छ ।

आज एक पत्रकार सम्मेलन गर्दै प्रसाईले तीन युवाहरुलाई सम्मान गर्नुभएको हो ।

प्रसाईबाट सम्मानित भएकाहरूमा सोम शर्मा, विप्लव खड्का र उद्धव बस्नेत रहनुभएको छ । उहाँले ती युवाले धरौटी राख्दा लागेको सबै खर्च र अन्य आर्थिक क्षति आफ्नो अभियानले व्यहोर्ने पनि प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममै प्रसाईले युवाहरूलाई सहयोग रकम प्रदान समेत गर्नुभएको थियो ।

अंग्रेजीको सट्टा नेपाली विषयको प्रश्नपत्र पुगेपछि ५० मिनेट ढिलो सुरु भयो परीक्षा

जनकपुरधाम / अंग्रेजी विषयको सट्टा नेपाली विषयको प्रश्नपत्र पुगेपछि धनुषाको एक परीक्षा केन्द्रमा झण्डै एक घण्टा ढिलो एसईई परीक्षा सुरु भएको छ ।

धनुषाको औरही गाउँपालिका स्थित मा।वि। चक्कर परीक्षा केन्द्रमा ५० मिनेट ढिलो परीक्षा सुरु भएको हो । बिहान ८ बजे सुरु हुने परीक्षा ८ बजेर ५० मिनेटमा सुरु भएको छ ।

प्राविधिक गडबडीले अंग्रेजी विषयको खाममा नेपाली विषयको प्रश्न पत्र पाइएपछि मुचुल्का गरेर ढिलो गरी पुरीक्षा सुरु गरिएको जिल्ला शिक्षा समन्वय इकाइ धनुषाका प्रमुख युक्त शर्माले जानकारी दिनुभयो । एसईई अन्तर्गत आज बिहान ८ बजेदेखि देशैभर अनिवार्य अंग्रेजी विषयको परीक्षा सुरु भएको छ ।

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

भक्तपुर / भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलासे चोकमा मोटरसाइकल दुर्घटना हुँदा स्थानीय २४ वर्षीय निश्चल महतको मृत्यु भएको छ । 

शुक्रबार बिहान प्रदेश ३–०२–०१० प ६८९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका उनको उपचारका क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको हो । 

जगातीबाट साँगा तर्फ जाँदै गर्दा मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल महत आफैंले चलाएका थिए । 
 

भीम रावलले पार्टीको साधारण सदस्यको भूमिका निर्वाह गर्न सक्नुभएन : उपाध्यक्ष पौडेल

काठमाडौँ / नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावलले पार्टीको साधारण सदस्यको पनि भूमिका निर्वाह नगरेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपालले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बाल्नुहुँदै उहाँले रावलले नेकपा एमाले मै छु भन्ने तर काम भने साधारण सदस्यको सम्म पनि नगरेको बताउनुभयो ।

‘भीम रावलजीले पार्टीको अनुशासन उल्लङ्घन गर्दै एकपछि अर्को गल्ती गर्दै जानुभएको छु, उहाँले भन्नुभयो, उहाँले पार्टी सदस्यको कर्तव्य निर्वाह गर्नुभएको छैन । पार्टीलाई कमजोर पार्ने काम गर्नुभएको छ । एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ । कहिले पत्रकार सम्मेलन, कहिले क्रिया प्रतिक्रियामा उत्रिनुहुन्छ ।’

भीम रावलले आफ्ना गल्तीहरू स्वीकार गरेर आत्मालोचना गर्नुपर्ने पौडेलले बताउनुभयो । रावलले विगतमा पार्टीमा बसेर नेतृत्वदायी भूमिका खेलिसकेको बताउँदै पौडेलले अब पनि यदि काम गर्न चाहनुहुन्छ भने आफ्नो गल्तीलाई स्वीकार गरेर फेरि मिलेर अघि बढ्न सकिने बताउनुभयो ।

एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ

काठमाडौं /  नेपाली बजारमा सुनचाँदीको मूल्य शुक्रबार बढेको छ। बिहीबार प्रतितोला ३०० रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। 

बिहीबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ। शुक्रबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

बिहीबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने

काठमाडौं / बिमा कम्पनीहरुले लाइसेन्स नवीकरण गर्नु नपर्ने भएको छ । नेपाल बिमा प्राधिकरणका अनुसार सञ्चालित बिमा कम्पनीहरु जीवन, निर्जीवन र पुनर्बिमा व्यवसाय गर्दै आएका कम्पनीहरुले आफ्नो इजाजतपत्र अर्थात लाइसेन्स नवीकरण गर्नु नपर्ने भएको हो । 

यो व्यवस्था वैशाखदेखि लागु हुनेछ भने नवीकरण हुन बाँकी कम्पनीहरुले भने चैत मसान्तसम्मको लागि नवीकरण गर्नुपर्ने छ ।

बिमा प्राधिकरणले बिमा ऐन २०७९ मा बिमक नविकरणसम्बन्धी व्यवस्था नरहेकोले अब उप्रान्त बिमा कम्पनीको इजाजतपत्र नवीकरण गर्नु नपर्ने जनाएको हो ।

साविक बिमा ऐन २०४९ मा हरेक वर्ष बिमा कम्पनीहरुको लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था थियो ।

भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो

खोटाङ / क्यान्सर भएपछि भारत पुगेर उपचार गराइरहेका खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेका चन्द्रकुमार राईलाई आर्थिक सहयोग जुटाइएको छ ।

क्यान्सर भएपछि विगत सात महिनादेखि नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर ईन्स्टिच्युट एण्ड रिसर्च सेन्टर अस्पतालमा उपचार गराइरहेका राईलाई शुभेच्छुकको पहलमा १७ लाख एक हजार १६६ रुपैयाँ उपचार सहयोग जुटाइएको हो । 

आफ्नो गाउँठाउँको शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ, सोलार वितरण लगायतका क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएका राईलाई क्यान्सर भएपछि सोही ठाउँका युवा अभियान्ता केदार आले मगरको नेतृत्वमा ‘क्यान्सरपिडित चन्द्रकुमार राई बचाऊ अभियान’ सञ्चालन गरिएको थियो । गाउँ ठाउँको परिवर्तनका लागि योगदान दिएका समाजसेवी राईको जीवन बचाउका लागि १५२ दाताबाट एक हजारदेखि तीन लाख ५० हजारसम्म सहयोग प्राप्त भएको अभियान्ता मगरले जानकारी दिए । 

क्यान्सर पीडित राईको उपचारका क्रममा हालसम्म १८ लाख खर्च भइसकेको छ । डाक्टरको परामर्श अनुसार औषधि सेवनमा मात्र उनको मासिक दुई लाख खर्च भइरहेको छ । सात महिना यता महंगो औषधि सेवन गरिरहेका कारण उपचारमा सहयोग पुर्‍याउनका लागि सहयोग संकलन अभियान सञ्चालन गरिएको अर्का अभियन्ता ईश्वर बन्जाराले बताए । 

विभिन्न अभियान्ताबाट संकलन भएको रकमको चेक बिहिबार ललितपुरमा आयोजित कार्यक्रममा खोटाङका प्रतिनिधिसभा सदस्य रामकुमार राईले क्यान्सर पीडित राईलाई हस्तान्तरण गरेका छन् । क्यान्सरसँग जुधिरहेका बेला सहयोग रकम जुटेको देख्दा रोगले गाँजे पनि ‘परोपकारी, निस्वार्थी र समाजसेवी व्यक्तिलाई शुभेच्छुकको साथ मिल्दोरहेछ’ भन्ने महसुस भएको राईले बताए ।

क्यान्सर पिडित राईले यसअघि साकुमा फ्रेण्डसीप ट्रष्टमार्फत गाउँमा २१ वटा सामाजिक काम गरेका थिए । 

आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै

काठमाडौं / कान्तिपुर टेलिभिजन नेटवर्क कम्पनी लिमिटेडको विशेष साधारणसभा आज बस्दैछ । सभाबाट कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिनेछ । 

कम्पनीले ७ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न यसअघि नै सानिमा क्यापिटललाई नियुक्त गरिसकेको छ । कम्पनीले गत आर्थिक वर्षकोे नाफाबाट सेयरधनीहरुलाई बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय तीनकुने, काठमाडौंमा, दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु

काठमाडौं / सुर्खेत र गाेरखामा भएका दुई छुट्टाछुट्टै माेटरसाइकल दुर्घटनामा दुईजनाकाे मृत्यु भएकाे छ । सुर्खेतको विरेन्द्रनगर नगरपालिका ७ शिवालय चोकमा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडी सवार एकजना घाइते भएका छन् ।

सुर्खेतकै वीरेन्द्रनगर नगरपालिका-२ कोलडाँडाका २४ वर्षीय सुदिप चौधरीको मृत्यु भएको हो । घाईते भएका उनलाई उपचारको लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेको थियो ।

घाइते भएका पछाडी सवार बाँकेको बैजनाथ गाउँपालिका ३ का  २२ वर्षीय सुशील चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।  कर्णाली प्रदेश ०२-००१ प ४९८७ नम्बरको मोटरसाईकल  अनियन्त्रित भई पल्टीएको थियो । मृतक र घाईते दुबै जना नेपाल आर्मीका सैनिक जवान रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

गोरखाको भिमसेनथापा गाउँपालिका १ निवेलमा मोटरसाईकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको कृष्णसरवण गाउँपालिका २ का २३ वर्षीय लक्ष्मी कान्त चौधरी रहेका छन् ।  घ्याम्पेसालबाट निवेल तर्फ जाँदै गरेको भे ६ प ७४३ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई सडकबाट करिब १० मिटर तल खसेको प्रहरी चौकी घ्याम्पेसालले जनाएको छ । 

मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीमा दुई जनाको मृत्यु

सर्लाही – सर्लाहीको हरिपूर्वामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार अपराह्न ४ बजे हरिपूर्वा नगरपालिका–३, धनकौलमा दक्षिणतर्फबाट आइरहेको ना ३४ प ८२८९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई जना पुरुषको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ भने मृतकको परिचय खुल्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक कैलाश राईले प्रहरी चौकी हरिपूर्वाका प्रहरीले अहिले घटनास्थल सुरक्षित गरी राखिरहेको र मुचुल्का गर्न तथा थप अनुसन्धानका लागि जिल्लाबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गइरहेको जानकारी दिए ।

एमालेका उपाध्यक्ष ईश्वर पोखरेल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङ्गबीच बिहीबार भेटवार्ता भएको छ ।

वरिष्ठ उपाध्यक्ष पोखरेललाई भेट्न राजदूत सोङग् पोखरेल निवास धापासी पुगेका थिए । पोखरेल र सोङ्गबीच दुई देशको सम्बन्धका विषयमा महत्वपूर्ण छलफल भएको थियो ।

दुई देश र जनताको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा वरिष्ठ उपाध्यक्ष पोखरेल र राजदूत सोङ्गले जोड दिएका छन् ।

मेयर शाह र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत छन सोङ् र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । उनीहरूबीच बिहीबार भेटवार्ता भएको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ ।

चिनियाँ राजदूत छनले भेटमा चाइना ओभरसिज इन्जिनियरिङ ग्रुपको सञ्चालक समितिका अध्यक्ष ली होङलाई समेत लिएर गएका थिए ।

उक्त अवसरमा काठमाडौंमा सार्वजनिक सुविधाहरूको स्तरोन्नति गर्न सम्भावित सहकार्यबारे छलफल भएको राजदूत छनले ट्विटरमा उल्लेख गरेका छन् ।

कांग्रेसबाट अलग भएको स्वर्णिम वाग्लेको घोषणा

काठमाडौं – स्वर्णिम वाग्लेले नेपाली कांग्रेसबाट अलग भएको घोषणा गरेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले कांग्रेसबाट अलग भएको घोषणा गरेका हुन् । 


कांग्रेसबाट अलग भएको घोषणा गर्दै वाग्लेले फेसबुकमा लेखेका छन् :

वि. स. २०४२ सालको ’सत्याग्रह’ र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु। 

त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक–सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरें। विशेषतः योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुबैले दिनुभएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व छ। तर पछिल्ला वर्षहरुमा काँग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ। जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई–भाउजु–साला–भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ। 

अब कांग्रेस–कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ। सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु। आम नैराश्य चिरेर ’यो देश बन्छ’ भन्ने आशा जगाउने हो, बनाउने नै हो। जय नेपाल।
 

राजाले साहुकारको तमसुक जलाएजस्तै मिटरब्याजीको तमसुक जलाउन राजेन्द्र लिङ्देनको चुनौती

काठमाडौं – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मिटरब्याजीको तमसुक जलाउन चुनौती दिएका छन् । 

बिहीबार सामाजिक सञ्जालमा एक भिडिओ सेयर गर्दै उनले राजाले साहुकारको तमसुक जलाएजस्तै मिटरब्याजीको तमसुृक जलाउन चुनौती दिएका हुन् । 

मिटरब्याजी पीडित काठमाडौं आएर न्यायका लागि संघर्ष गरिरहेका बेला उनले सत्ताको नेतृत्वमा रहेकालाई मिटरब्याजीको तमसुक राजाले जस्तै जलाउन चुनौती दिएका हुन् । 

तमसुक व्यवस्थालाई सामन्ती व्यवस्थाको अवशेष र त्यसको जग राजतन्त्र  हो भन्ने भाष्य निर्माण गर्नेहरू नै अहिले राज्यसत्ताको नेतृत्वमा रहेको भन्दै उनले राजाले साहुकारहरूको तमसुक जलाए जस्तै मिटरब्याजीहरूको तमसुक जलाउन (खारेज)गर्न तयार छन् भन्दै प्रश्न गरेका छन् । 

बिहीबार ट्वीटरमा आफूले सेयर गरेको भिडिओ हेर्न आग्रह गर्दै उनले लेखेका छन्, ‘ तमसुक (मिटरब्याज) व्यवस्थालाई सामन्ती व्यवस्थाको अवशेष र त्यसको जग राजतन्त्र  हो भन्ने भाष्य निर्माण गर्नेहरू नै राज्यसत्ताको नेतृत्वमा छन् ।  के राजाले साहुकारहरूको तमसुक जलाए जस्तै मिटरब्याजीहरूको तमसुक (कागजात) जलाउन (खारेज) गर्न तयार छन् ?’

साताको सेयर बजार : ३ दिन बढ्यो, २ दिन घट्यो

कठमाडौं – चालु सातामा सेयर बजार तीनदिन बढ्दा दुईदिन ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार २६.७८ अंकले घटेको नेप्से दोस्रो दिन सोमबार १७.७० अंकले बढेको थियो । सोमबार बढेको सेयर बजार निरन्तर तीनदिन बुधबारसम्म बढिरह्यो । 

यसैगरी साताको तेस्रो दिन मंगलबार १२.१० अंकले बढेको सेयर बजार सोमबारको तुलनामा करिब ६ अंकले कम हो । 

बुधबार भने नेप्से झिनो अंकले बढेको थियो । उक्त दिन एक अंकले बढेर १९१९ को विन्दुमा आएर रोकिएको थियो । सोही दिन कारोबार रकम भने घटेको थियो ।  

गत आइतबार १ अर्ब २८ करोडभन्दा बढी रुपैयाँको कारोबार भएको सेयर बजार बुधबार भने कारोबार रकम घटेर ८१ करोड रुपैयाँले झरेको थियो 
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ओरालो लागेको छ । लगातार तीनदिनदेखि बढेको सेयर बजार बिहीबार ०.५७ प्रतिशतले घटेको छ । 

बिहीबार नेप्से परिसूचक १०.८७ अंकले घटेर १९०८.५५ विन्दुमा आएर अडिएको छ ।

आइतबार नेप्से परिसूचकको विन्दु १८८८.१७ बाट सुरु भएर अन्तिम कारोबार दिन बिहीबार १९०८.५५ विन्दुमा उक्लिएको छ । 

एकैदिन ४२ जनामा कोरोना संक्रमण

काठमाडौं – पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार ९१५ नमुना परीक्षण गर्दा ४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । 

३०० पीसीआर परीक्षण गर्दा ३७ जनामा र ६१५ एन्टिजेन परीक्षण गर्दा पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

साथै पछिल्लो २४ घण्टामा १७ जना कोरोनाभाइरस संक्रमणमुक्त हुँदा ४१ हजार ४०९ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।  सक्रिय संक्रमितको संख्या १२३ रहेको छ । 
 

उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त

काठमाडौं – निर्वाचन आयोगले आगामी १० वैशाख आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि न्यायपरिषद्को परामर्शमा बिहीबार मुख्य निर्वाचन अधिकृतहरूको नियुक्ति गरेको छ ।

 यही १८ चैतदेखि लागु हुने गरी नियुक्त भएका मुख्य निर्वाचन अधिकृतहरूमा चितवन क्षेत्र नं. २ का लागि चितवन जिल्ला अदालतका न्यायाधीश वासुदेव न्यौपाने, बारा क्षेत्र नं. २ का लागि बारा जिल्ला अदालतका न्यायाधीश मुकेश उपाध्याय र तनहुँ क्षेत्र नं. १ का लागि तनहुँ जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्य रहेका आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै १८ चैतदेखि सम्बन्धित् निर्वाचन अधिकृतको कार्यालय खुल्ने र उपनिर्वाचनका लागि यही २० चैतमा उम्मेदवारीको मनोनयनपत्र दर्ता हुने कार्यक्रम रहेको प्रवक्ता पौड्यालले जानकारी दिए । 

भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव

काठमाडौं – एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा नेपालको भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारत भ्रमणमा जाँदा सीमा अतिक्रमणको विषयमा बोल्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएका हुन् । 

तर, प्रधानमन्त्री प्रचण्डले भौगोलिक अखण्डता र सीमा अतिक्रमणको विषयमा बोल्न नसक्ने ओलीको दाबी छ । सीमा अतिक्रमणका विषयमा बोल्दा सरकार ढल्ने भएकाले प्रधानमन्त्री प्रचण्डले नेपाली भूमिमाथिको दाबेदारी प्रस्तुत नगर्ने अध्यक्ष ओलीले बताए । 

प्रधानमन्त्री विदेश (भारत) भ्रमण जान लागेको बताउँदै अध्यक्ष ओलीले सो क्रममा नेपालको भूमिमाथिको दाबेदारी प्रस्तुत गर्न सुझाव दिए । साथै उनले भारतबाट अतिक्रमण भएको नेपाली भूमिबारे के भइरहेको छ भन्दै प्रधानमन्त्रीलाई जवाफ दिन आग्रह गरे । 
 

सेयर बजार १०.८७ अंकले ओरालो

काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ओरालो लागेको छ । लगातार तिनदिन देखि बढेको सेयरबजार बिहीबार ०.५७ प्रतिशतले घटेको छ । 

बिहीबार नेप्से परिसूचक १०.८७ अंकले घटेर १९०८.५५ विन्दुमा आएर अडिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६६ अङ्कले घटेर ३५९.४८ विन्दुमा पुगेको छ।

यसअघि बुधबारको कारोबारमा सेयर बजारमा उकालो लागेको थियो । साेही दिन नेप्से परिसूचक नेप्से परिसूचक १.०२ अंकले वृद्धि भई १९१९.४२ विन्दुमा पुगेको थियो  । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार कूल २५४ कम्पनीको २७ लाख ५० हजार ६५५ कित्ता सेयर खरिद बिक्री हुँदा ८९ करोड ९५ लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको छ । नेप्से सुचकमा ४९ कम्पनीमा वृद्धि भएको छ । १५७ कम्पनीमा ओरालो लागेको र ९ कम्पनी स्थिर रहेको छ । 

कारोबारको आधारमा शिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त बैंकले ५ भन्दाबढीको कारोबार गरेको छ । हिमालय डिस्टिलरी दोस्राे स्थानमा छ । उक्त कम्पनीको ३ करोड १२ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो । 

सोमबार १३ उपसूचकहरू मध्ये होटल तथा पर्यटन र म्युचुअल फण्ड कम्पनीमा सामान्य वृद्धि भएको छ भने बाँकी सबै कम्पनीमा गिरावट आएको छ । 
आजको सुपरमाइ हाइड्रोपावर कम्पनीको १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन्। 
 

प्रचण्डलाई ओलीको सुझाव-भारत जाँदा ताबेदारी हाेइन भूमिकाे दाबेदारी गर्नुस्

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भौगोलिक अखण्डता र सीमा अतिक्रमणको विषयमा बोल्न सुझाव दिनुभएको छ । 

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले नेपाली भूमिबारे के भइरहेको छ भनेर बोल्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिनुभएको हो । उहाँले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जान लागेको भन्दै ताबेदारीको सट्टा भूमिमा दाबेदारीको कुरा गर्न सुझाव दिनुभयो । 

उहाँले भन्नुभयो, ‘विदेश भ्रमणमा जाँदै हुनुहुन्छ, त्यहाँ बोल्न सक्ने त उहाँको खुबी नै छैन । आफ्नो जमिनको दाबेदारीको कुरा गर्न जाँदै हुनुहुन्छ कि अरु नै कुरा ? प्रश्न दाबेदारी कि ताबेदारीको भन्ने हो ।’

 ‘सरकारले कमसेकम जमिनको बारेमा, हाम्रो भौगोलिक अखण्डताको बारेमा बोल्नुपर्छ । प्रधानमन्त्रीले बोल्नुस् हाम्रो भूमि के भइरहेको छ । कहाँ कहाँ के भएको छ खुलस्त भन्नुस्’,उहाँले थप्नुभयो । 

नेपालको राष्ट्रिय स्वाधिनता र स्वतन्त्रता कमजोर स्थितिमा पुगेकोमा उहाँले चिन्ता व्यत्त समेत गर्नुभयो ।