`

लागुऔषधहित ७ जना पक्राउ

काठमाडाै – देशका विभिन्‍न स्थानबाट सातजना लागुऔषधसहित पक्राउ परेका छन् । कैलालीकाे धनगढी उपमहानगरपालिका-२ बाट अवैध लागुऔषध खैरो हेरोइन २ ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १७ वर्षीया किशोरी र कञ्चनपुर भिमदत्त नगरपालिका-६ बस्ने १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो । 

सुनसरीकाे इटहरी उपमहानगरपालिका-४ बाट अवैध लागुऔषध ब्राउनसुगर ८ ग्रामसहित दुईजनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैचा नगरपालिका-६ बस्ने ३२ वर्षीय लक्ष्मीप्रसाद ढकाल र सुनसरी इटहरी उपमहानगरपालिका-९ बस्ने २३ वर्षीय विनोद श्रेष्ठ रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट प्रदेश-१-०२-०४७ प ७८३२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

सिरहाकाे मिर्चैया नगरपालिका-६ कटारी चोकबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १८ ग्राम ५३ मिलिग्रामसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मिर्चैया नगरपालिका-६ बस्ने २५ वर्षीय जितेन्द्र साह, सोही नगरपालिका-१० बस्ने २५ वर्षीय ललित कुमार राम र सोही नगरपालिका-३ बस्ने २४ वर्षीय देवन यादव रहेका छन् । ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले मधेश प्रदेश ०१-००४ प २५६६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित

काठमाडौं – नेपाली क्रिकेट टोलीका पाँचजना खेलाडी सम्मानित भएका छन् । 

फिनिक्स कलेज अफ म्यानेजमेन्टले बिहीबार ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई ५० हजार नगदसहित सम्मान गरेको छ ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काको उपस्थितिमा उनीहरुलाई सम्मान गरिएको हो । 

मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ । 

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मिटरब्याजी पीडितको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको सो पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

मिटरब्याजी पीडितको संघर्षप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कांग्रेसले पीडितको माग संबोधन गरेर शीघ्रतापूर्वक सार्थक निष्कर्षमा पुर्‍याउन माग गरेको हो ।

कांग्रेसले पीडित पक्ष र सरकारबीच सुरु भएको संवाद सकारात्मक रहेको बताएको छ । 

बैठकले ‘मिटरव्याज पीडितले आफ्नो समस्यालाई अघि सारेर जारी राखेको संघर्षप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । पीडित पक्ष र सरकारबीच शुरु भएको संवाद सकारात्मक छ । पीडितको माग संबोधन गरेर शीघ्रतापूर्वक सार्थक निष्कर्षमा पु¥याउन र आम नागरिकको वित्तीय पहुँचलाई सहज बनाउनका लागि आवश्यक कानुन निर्माणको प्रक्रिया थाल्न पनि सरकारलाई नेपाली कांग्रेस आग्रह गर्दछ’ निर्णय गरेको मुख्य सचिव पौडेलले भने । 

रास्वपाका गणेश कार्कीले दिए बारा २ को निर्वाचन संयोजकबाट राजीनामा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले बारा क्षेत्र नम्बर २ को निर्वाचन संयोजकबाट राजीनामा दिनुभएकाे छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै कार्कीले पार्टीको सो जिम्मेवारीबाट राजिनामा दिएको जानकारी दिनुभयाे । 

पार्टी सभापति रबि लामिछानेलाई सम्बोधन गर्दै कार्कीले स्वास्थ्यका कारण निर्वाचन संयोजक पदमा रहेर काम गर्न नसक्ने विज्ञप्तिमा उल्लेख गर्नुभएकाे छ ।  

आफू निर्वाचन संयोजक हुँदा पार्टीलाई थप क्षति हुने भएकाले राजीनामा दिएको कार्कीले बताउनुभएकाे छ । 

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो,आजै पुन: वार्ता हुने

काठमाडौं – सरकार र मिटरब्याज पीडित किसानबीच बिहीबार दिउँसो भएको वार्ता पुनः बस्ने गरी सकिएको छ ।

गृह मन्त्रालयमा भएको वार्तामा सरकार र मिटरब्याज पीडितले आआफ्नो धारणा राखेका थिए ।

मिटरब्याजविरुद्धको संघर्ष समितिका संयोजक मनोज पासवानका अनुसार अर्को वार्ता बिहीबार नै साँझ ६ बजे बस्नेछ ।

वार्तामा संघर्ष समितिले प्रधानमन्त्रीलाई लेखेको ९ बुँदे माग सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मालाई बुझाएको छत ।

मिटरब्याज संघर्ष समितिले यसअघि मिटरब्याज अपराधन नियन्त्रण कार्यदलबाट प्रस्तुत प्रतिवेदन समेत अध्ययन गर्न र अन्य पीडितहरुसँग पनि छलफल गर्न समय मागेकाले बेलुका पुनः वार्ता गर्ने गरी दिउँसोको वार्ता स्थगित भएको पासवानले बताए । 

बलात्कार आराेपमा २ जना पक्राउ

पाल्पा – पाल्पामा  ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आराेपमा दुईजनालाई  प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रुपन्देही गैडहवा गाउँपालिका-६ घर भई पाल्पा तानसेन नगरपालिका-६ स्थित खानेपानि ट्याङ्की निर्माणको काम गरी बस्ने ५६ वर्षीय महताम लोध र रुपन्देही कोटहीमाई गाउँपालिका-२ घर भएका १८ वर्षीय किशोर रहेका छन् । 

उनीहरूले ती महिललाई गत मंगलबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी बर्तुङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

प्रभु बैंक संस्थापक सेयर बिक्रीमा

काठमाडौं – प्रभु बैंक लिमिटेडले संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको छ । बैंकले १४ लाख १६ हजार १९५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । 

उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने र आगामी ३५ दिनभित्र आवेदन पेस गर्नुपर्ने हुन्छ । 

बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्न बैंकले जनाएको छ ।
बैंकका अनुसार तोकिएको अवधिभित्र सेयरधनीहरूबाट खरीद आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उल्लेखित शेयर विक्री गरिने छ ।
 

कांग्रेसबाट मन्त्रीको नाम टुंगो लगाउने जिम्मा सभापति देउवालाई

काठमाडौं – नेपाली कांग्रेसले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिएको छ। 

बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा सभापति देउवालाई दिएको हाे । प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार कसलाई मन्त्री बनाउने भन्ने जिम्मा देउवाकै हातमा छ । 

‘नामको विषयमा यहाँबाट टुंगो लगाइरहनु पर्दैन। तर, क्राइटएरियालाई मध्यनजर राखेर सभापतिज्यूले सबैसँग छलफल गर्नुभएको छ। यसैलाई मध्यनजर राखेर नै निर्णय हुन्छ,’ उहाँले भन्नुभयाे।  

नयाँ मन्त्रीमण्डल गठनकाे तयारी पनि आजै रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आजै मन्त्रीमण्डल विस्तार गरिने बताउनुभएको छ । गठबन्धनबाट काँग्रेसको भागमा ८ मन्त्रालय परेको छ । 

उपनिर्वाचन कांग्रेसले लगायो उम्मेदवारको टुंगो

काठमाडौँ – नेपाली कांग्रेसले वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । 

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।

कांग्रेसले तनहुँ १ मा केन्द्रीय सदस्य गोविन्द भट्टराई र चितवन २ मा जीत नारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

उपनिर्वाचनका लागि चैत २० गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ । 

रविलक्षित जितनारायणकाे टिप्पणी– मंसिरकाे हुरीले अब काम गर्दैन

काठमाडौं । नेपाली कांग्रेसले वैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन २ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेकाे छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिस्पर्धीका रूपमा कांग्रेसले श्रेष्ठलाई अघि सारेकाे हाे । 

उम्मेदवारकाे टुङ्गाे लागेसँगै पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै श्रेष्ठले रवि लामिछानेलाई लक्षित गर्दै मंसिरमा आएको हावाहुरीले अहिले काम नगर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे,‘मंसिरमा भएको निर्वाचन चितवनमा हावाहुरी आएको थियो। जे हावाहुरी आएको थियो त्यो मान्छे अहिले जनताको बीचमा आफ्नो स्थिति खोज्दै कहाँ हो मेरो पहिचान भनेर खोज्नुपर्ने परिस्थिति बनेको छ।

अहिले कहिले कसलाई समर्थन गरेको छ। कहिले कसलाई भोट हालेको छ। भोट हालेको कारण पनि खुलाउनु पर्दैन। किन सरकारलाई समर्थन गरेको र विश्वासको मत दिएको जनतालाई भन्नु पनि नपर्ने। पार्टीबाट निर्णय गर्नु पनि नपर्ने। चितवनको नागरिक सचेत छन्।’

रवि लामिछानेको हावा खुस्किसकेको बताउँदै उहाँले आफ्नो जीतलाई कसैले पनि रोक्न नसक्ने समेत बताउनुभयो । 

श्रममन्त्री बन्दै शरतसिंह भण्डारी,पञ्चायतदेखि गणतन्त्रसम्म आउँदा १६ औं पटक मन्त्री बन्दै

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट सांसद शरतसिंह भण्डारी मन्त्री बन्ने हुनुभएकाे छ। लोसपाले आफूले पाएको एउटा मन्त्रालय श्रम, रोजगारमा भण्डारीलाई पठाउने भएको हो। 

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठकमा लोसपालाई श्रम मन्त्रालय दिने टुंगो लागेको थियाे । उहाँ गत मंसिर ४ गतेको निर्वाचनमा महोत्तरी २ बाट निर्वाचित हुनुभएकाे हाे । भण्डारी १६औं पटक मन्त्री बन्दै हुनुहुन्छ ।

पञ्चायतकालदेखि गणतन्त्र आउँदासम्म १५ पटक मन्त्री बनिसक्नुभएकाे छ । याे पटक मन्त्री बन्दा उहाँ १६ पटक बन्नुहुनेछ । 

उपचुनावका लागि एमालेले शनिवार उम्मेदवार टुंगो लगाउने

काठमाडौँ – नेकपा एमालेले आगामी वैशाख १० मा हुने उपचुनावका लागि शनिवार उम्मेदवारको टुंगो लगाउने भएको छ ।

प्रमुख विपक्षी दल एमालेले उपचुनावका लागि आफ्ना उम्मेदवार खडा गर्ने र गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्ने तयारी गरेको छ । बारा २,चितवन २ र तनहुँ १ तीनवटै क्षेत्रमा एमाले एक्लै भिड्न भएको हो ।

चैत १७ गते शुक्रवारसम्म जिल्लाबाट उम्मेदवारका आकांक्षीहरुको नाम सिफारिस हुने र १८ गते सचिवालय बैठक बसेर तीनवटै क्षेत्रका उम्मेदवार तय गरिने एक नेताले जानकारी दिए ।

उपनिर्वाचनको लागि उम्मेदवारी दर्ता चैत २० गते हुँदैछ । एमालेविरुद्ध गठबन्धनले साझा उम्मेदवार तय गरेको छ ।

आजै मन्त्रिमण्डल विस्तार गरेर शपथ ग्रहण गराउने मेरो लक्ष्य छ : प्रधानमन्त्री प्रचण्ड

काडमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिमण्डल विस्तार गरेर शपथ पनि आजै गर्ने तयारीमा आफू रहेको बताएका छन् ।

बिहिबार चितवनस्थित भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले एक दुई वटा मन्त्रालयको भागबण्डा टुंग्याउन बाँकी छ, त्यो टुंगिए पछि आजै शपथ ग्रहण गराउने मेरो लक्ष्य छ ।

उनले भने, ‘आजै मन्त्रिमण्डल विस्तार गरेर शपथ ग्रहण गराउने मेरो लक्ष्य छ । आज सकिएन भने भोलि बिहान होला, काम त हाम्रो सकिएको छ । एक दुईटा मन्त्रालय थोरै मिलाउन बाँकी छ । बाँकी टुंगिएको छ यो पनि मलाई लाग्छ, तपाईँ हामी सबैको लागि खुसीको कुरा हो ।’

प्रधानमन्त्री प्रचण्डले नेपालको राजनीतिक स्थायित्वलाई नयाँ गति दिने सङ्कल्पसहित यो पटक आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको पनि बताए ।

सरकारमा लोसपाले शरदसिंह भण्डारीलाई पठाउने

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले शरदसिंह भण्डारीलाई सरकारमा पठाउने निर्णय गरेको छ ।

बिहिबार लोसपा पार्टीको केन्द्रीय कार्यकारिणी समितिको औपचारिक बैठक दिउँसो १ बजे बसेर निर्णय गर्ने गर्ने भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकारलाई पूर्णता दिने तयारी गरेका छन्।

गठबन्धनको बैठक बसेपछि मन्त्रालयको टुंगो लाग्ने नेता भण्डारीले बताए।

तनहुँ १ मा भट्टराई र चितवन २ मा श्रेष्ठलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौँ – नेपाली कांग्रेसले वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंग्याएको छ ।

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तनहुँ १ मा केन्द्रीय सदस्य गोविन्द भट्टराई र चितवन २ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय हाे ।

तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनका लागि चैत २० मा मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

सुनको भाउ घट्दा चाँदीकाे बढ्यो

काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको मूल्य ३०० रुपैयाँले घटेको छ। अघिल्लो दिन बुधबार प्रतितोला ५०० रुपैयाँले बढेको सुनको मूल्य बिहीबार प्रतितोला ३०० रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजाररुपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, बिहीबार पनि चाँदीको मूल्य १० रुपैयाँले बढेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो। बुधबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा किनबेच भएको थियो।

नेपालमा एकै दिन थपिए ३४ कोरोना संक्रमित

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आज थपिएका सँगै देशभर सक्रिय संक्रमितको संख्या १०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा देशभर ५३० पीसीआर तथा ८०० एन्टिजेन परीक्षण भएको थियो ।

कर्णालीका मुख्यमन्त्री शर्माले चैत १७ गते विश्वासको मत लिने

सुर्खेत – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आगामी चैत १७ गते  दोस्रो पटक विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्रीको रुपमा माघ ६ गते पहिलोपटक विशवासको मत लिएका शर्माले राप्रपाले सर्मथन फिर्ता लिए पछि  पुन चैत १७ गते विश्वासकाे मत लिन लागेका हुन ।

उनले आज कर्णाली प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता गराएको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले  बताए । प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता भएको ४८ घण्टापछि विश्वासको मत लिनुपर्ने कानूनी व्यवस्था भए बमोजिम चैत १७ गते विश्वासको मत लिने करिब निश्चित देखिएको हो ।

मुख्यमन्त्री शर्माद्वारा दर्ता भएको पत्रमा संविधानको धारा १८८ को उपधारा दुई बमोजिम प्रदेश सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकोले चैत १७ गते उक्त व्यवस्था मिलाई दिन अनुरोध गरिएको छ ।

कर्णाली प्रदेश सरकारमा अहिले नेकपा एमाले र माओवादी सहभागी छन् । केन्द्रमा सत्ता गठबन्धनमा भएको फेरबदलसँगै कर्णालीमा के होला ? भन्ने चिन्ता र चासो बढन थालेको छ । यहाँ नेकपा एमालेले भने समर्थन फिर्ता लिएको छैन । 

एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा

काठमाडौं – नेकपा एकीकृत समाजवादीले दुई जना केन्द्रिय नेताले दिएको राजिनामा स्विकृत गरेको छ । 

आज अपरान्ह बसेको सो पार्टीको आकस्मिक सचिवालय बैठकले हिजो पार्टी परित्यागको घोषणा गरेका दुई जना केन्द्रिय नेताको राजिनामा स्विकृत गरेको हो ।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बैठकले उपाध्यध केदार न्यौपाने र स्थायी कमिटि सदस्य चुणामणी जंगलीले दिएको राजिनामा स्विकृत गरेको हो । 

यसैगरी, बैठकले मिटर ब्याँज पीडितहरुले गरेको आन्दोलनको समर्थन गर्दै सरकारलाई उनीहरुको माग तत्काल सम्बोधन गर्न पनि आग्रह गरेको छ ।

संसद् बैठकमा सांसद्को सङ्ख्या न्यून भयो : रामहरि खतिवडा

काठमाडौँ – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद् बैठकमा सांसद्को सङ्ख्या न्यून देखिएको भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा उहाँले संसद्मा हाजिर गर्ने र हिड्ने प्रवृत्ति देखिएको बताउनुभयो ।

“प्रधानमन्त्री विशेष कामले बाहिर हुनुहुन्छ होला । प्रतिपक्षी दलको पहिलो, दोस्रो, तेस्रो, चौथो लहरको कुर्सी खाली छ । अन्त पनि पहिलो र दोस्रो लहरका कुर्सीमा सांसदहरु हुनुहुन्न”, उहाँले भन्नुभयो, “संसद् हाजिर गर्ने र हिड्ने (हाटा) माध्यम नबनोस् ।”

नेकपा एसको निर्णय : तीन मन्त्रालय नपाए सरकारमा नजाने

काठमाडौँ – नेकपा एकीकृत समाजवादीले तीन मन्त्रालय नपाए सरकारमा नजाने निर्णय गरेको छ ।

बुधबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकमा नेकपा एसले यस्तो निर्णय गरेको हो । नेकपा एस प्रवक्ता जगन्नाथ खतिवडाले हाम्रो पार्टीले माग गरेको मन्त्रालय नपाए सरकारमा नजाने बताएका हुन ।

उनले भने, ‘हामीले भनेझैं तीन मन्त्रालय पाइसकेका छैनौँ । मन्त्रालयको पनि टुंगो लागेको छैन । हामी कुनै पनि बेलामा निर्णय गर्नेगरी प्रधानमन्त्रीको उत्तरको पर्खाइमा छौं ।’

उनले अहिले आफूहरु एक नभएर तीन जना मन्त्रीको नाम दिन तयार भएर बसेको बताए ।

केन्द्रीय बैंकको आग्रह: ऋण लिदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं

काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिंदा लिने शुल्कका बारेमा राम्रोसँग जानकारी लिन सर्वसाधारणसँग आग्रह गरेको छ ।

कर्जा उपयोग गर्दा ब्याज मात्र नभई अन्य विभिन्न शुल्कहरु भुक्तानीका बारेमा समेत जानकारी लिन बैंकले अनुरोध गरेको हो । 
 शुल्कका बारेमा कर्जा प्रदान गर्ने संस्थासँग विस्तृतमा छलफल गरी प्रष्ट भएपछि मात्र कारोबार गर्न पनि केन्द्रीय बैंकले अनुराेध गरेकाकाे छ । ऋणीलाई ब्याजदर तथा शुल्कका बारेमा सरल भाषामा बुझाउनु कर्जा प्रदान गर्ने संस्थाको दायित्व भएको केन्द्रीय बैंककाे भनाइ छ । 

विगतमा खुला छोडिएको शुल्कसम्बन्धी व्यवस्थालाई २०७७ साउनदेखि नियमन गरी कर्जा स्वीकृत गर्दा वाणिज्य बैंकले बढीमा ०.७५ प्रतिशत, विकास बैंकले बढीमा १ प्रतिशत, फाइनान्स कम्पनीले बढीमा १.२५ प्रतिशत र लघुवित्त वित्तीय संस्थाले बढीमा १.५ प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाउने व्यवस्था गरिएको छ ।
 
यी संस्थाले तोकिएको बाहेक अन्य कुनै शुल्क लिन पाउँदैनन् । साथै कर्जासँग सम्बन्धित सम्पूर्ण लागतबारे जानकारी हासिल गरेरमात्र कर्जा लिनुपर्ने राष्ट्र बैंकले जनाएको छ । 

सेयर बजारमा सामान्य अंकले उकालो, ८१ करोडको कारोबार

काठमाडौं – साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा सामान्य अंकले उकालो लागेको छ ।

नेप्से परिसूचक १.०२ अंकले वृद्धि भई १९१९.४२ विन्दुमा आएर अडिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६८ अङ्कले बढेर ३६१.२१ विन्दुमा पुगेको छ।

यसअघि मंगलबारको कारोबारमा पनि सेयरबजारमा उकालो लागेको थियो । सोहीदिन नेप्से परिसूचक नेप्से परिसूचक १२.१० अंकले वृद्धि भई १९१८.१० विन्दुमा पुगेको थियो  । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार कूल २५८ कम्पनीको २५ लाख ३९ हजार ४८ कित्ता सेयर खरिद बिक्री हुँदा ८१ करोड ६२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ।

यसैगरी, नेप्से सुचकमा १४२ कम्पनीमा वृद्धि भएको छ भने ६४ कम्पनीमा ओरालो लागेको र ७ कम्पनी स्थिर रहेको छ । 

त्यस्तै, कारोबारको आधारमा एनआइसि एशिया शीर्ष स्थानमा रहेको छ । उक्त बैंकले ३ करोड ५६ लाख रुपैयाँ भन्दा बढीको कारोबार गरेको छ । 

बुधबार सानिमा माइ हाइड्रोपावर दोश्रो स्थानमा छ । उक्त कम्पनीको ३ करोड ३२ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो । 

बुधबार १३ उपसुचकहरु मध्ये ५ कम्पनीमा वृद्धि भएको छ भने बाँकी सबै कम्पनीमा गिरावट आएको छ । 

आजको सुपरमाइ हाइड्रोपावर कम्पनी  र कालिन्चोक दर्शनको १० प्रतिशतको सेयर कारोबार भएको छ। यि कम्पनीहरुले सर्वाधिक कमाएका छन्। 

युट्युब र टिकटक लगायत सामाजिक सञ्जालसँग टेलिभिजनहरु डराउन पर्दैन : अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युट्युब र टिकटक लगायत सामाजिक सञ्जालसँग टेलिभिजनहरु डराउन नपर्ने बताएका छन् ।

बुधबार बुटवलमा लुम्बिनी सामुदायिक टेलिभिजनको १७ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन । उनले २०४६ को परिवर्तनपछि सञ्चार जगतले व्यापकता लिएको उल्लेख गरे ।

उनले भने, ‘टेलिभिजनहरु युट्युब, टिकटक,फेसबुक आदिसँग तर्सिएको देख्छु, उनीहरुले टेलिभिजनकै समाचार सामग्री प्रयोग गरेका हुन्छन्,तिनीहरु व्यक्तिगत ढंगले चलेका हुन् टेलिभिजनहरु टिमवर्कमा चलेका हुन्छन्, सामुहिकतामा आधुनिक प्रविधि प्रयोग गर्दै इमान्दार भएर काम गरे व्यक्तिले चलाउने युट्युब, टिकटक र फेसबुकसँग डराउन हुँदैन ।’

विश्वमै टेलिभिजनको इतिहास धेरै पुरानो नभई १०२ वर्षको मात्रै रहेको र नेपालमा १९८५ देखि श्याम श्वेत टेलिभिजन प्रसारण सुरु भएको उल्लेख गर्दै ओलीले बदलिँदो समय अनुसार नयाँ प्रविधिको प्रयोग गरे सञ्चार माध्यमको प्रभावकारिता बढ्ने सुझाव दिए ।

दलहरूलाई जुटाएर सरकार बनाउनुपर्ने अवस्थाले स्थिरता आउँदैन : अध्यक्ष ओली

पाल्पा- नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अस्थिरता कायम रहँदासम्म मुलुकको समृद्धि सम्भव नरहेको बताउनुभएको छ।

नेकपा एमाले पाल्पाले दमकडामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो।

अध्यक्ष ओलीले एमालेलाई बलियो शक्ति बनाउन सबै कार्यकर्ता एकजुट भएर जनताको पक्षमा लाग्न आग्रह गर्नुभयो। अहिले स्थिरता चाहने र नचाहने शक्तिबीच सङ्घर्ष भएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘सही नीति र नेतृत्वबाट मात्र आम नेपाली नागरिकको हितमा काम गर्न सकिन्छ । दलहरूलाई जुटाएर सरकार बनाउनुपर्ने अवस्थाले स्थिरता आउँदैन ।’

एमालेले हरेक स्थानमा ५१ प्रतिशत मत ल्याए मात्र मुलुकले निकास पाउने उहाँको भनाइ छ। जनतामा गएर जनताको मन जितेर बहुमत ल्याउने गरी काम गर्न उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो।

देश अहिले आर्थिक रुपले सङ्कटमा रहे पनि सुधार गर्नेतर्फ सरकारको ध्यान जान नसकेको उहाँले आरोप लगाउनुभयो। देशलाई आर्थिक सङ्कटबाट मुक्त गर्न स्वदेशमै उत्पादन बढाउनुपर्ने र त्यसको व्यापार गर्न आवश्यक रहेको उहाँले बताउनुभयो।

अध्यक्ष ओलीले आफूलाई अब प्रधानमन्त्री बन्ने कुनै रहर नभएको समेत उल्लेख गर्नुभयो । ‘मलाई अब प्रधानमन्त्री हुने कुनै लोभ छैन’ उहाँले भन्नुभयो, ‘देशको पक्षमा, जनताको पक्षमा, आम किसानको पक्षमा बोल्न कुनै डर छैन । जनताबाट आफूले पाएको प्रत्यक्ष र अप्रत्यक्ष माया र सद्भाव देश र जनताका लागि खटेर पूरा गर्ने मेरो अठोट छ ।’

कार्यक्रममा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवाली, पार्टीका सचिव छविलाल विश्वकर्मा, पोलिटब्युरो सदस्य ठाकुर गैरे, खिमलाल भट्टराईलगायतले एमालेलाई मिसन ग्रासरुट अभियानले स्थापित गर्ने दाबी गर्नुभयो।

नेकपा एसबाट प्रकाश ज्वाला मन्त्री बन्दै

काठमाडौं – नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी जनाउन मन्त्री पठाउने भएको छ ।

आज दिउँसो पार्टी कार्यलयमा बसेको नेकपा एसको केन्द्रीय सचिवालयको बैठकले प्रकाश ज्वालालाई आजै साँझसम्म सपथग्रहण गर्नेगरी मन्त्री बनाउने निर्णय गरेको हो ।

बैठकले प्रधानमन्त्रीको आग्रहबमोजिम आज पहिलो चरणमा उपमहासचिव ज्वालालाई मन्त्रीमा सिफारिस गरिएको सम्मानित नेता झलनाथ खनालले बताए ।

स्रोतका अनुसार नेकपा एसले भौतिक पूर्वाधार मन्त्रालय पाउने निश्चित भएको छ । प्रधानमन्त्रीले अर्को मन्त्रालय वन प्रस्ताव गरेपनि नेकपा एसले भने कृषि वा श्रम मन्त्रालय दाबी गरेको छ ।

वर्तमान सरकारले देश र जनतालाई प्राथमिकतामा राखे छ : सञ्चारमन्त्री शर्मा

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको तेस्रो प्रधानमन्त्री कार्यकाल देश र जनताको समृद्धिको लागि सफल हुने दाबी गर्नुभएको छ ।

रिपोटर्स क्लब नेपालले बुधबार काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा उहाँले वर्तमान सरकारले देश र जनतालाई प्राथमिकतामा राखेको भन्दै प्रधानमन्त्री प्रचण्डको तेश्रो कार्यकाल सफल हुने दाबी गर्नुभएको हो । मन्त्री शर्माले प्रधानमन्त्री तेस्रो पटक प्रधानमन्त्री बन्दै गर्दा आम जनतामा नयाँ आशा र अपेक्षा देखिएको बताउनुभयो ।

मन्त्री शर्माले सरकारले केही महत्त्वपूर्ण कामको थालनी गरेको भन्दै छिटोभन्दा छिटो सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउने बताउनुभयो । उहाँले यसमा सर्वोच्चका फैसलाका नजिरलगायत सबैलाई समेट्ने कोसिस गरिएको धारणा राख्नुभयो । यस्तै, उहाँले नेपालमा पछिल्लो समय मिडियाको विकास तीव्र भएको उल्लेख गर्दै त्यसको लागि आम सञ्चार ऐन जरुरी रहेको जिकिर गर्नुभयो ।

उहाँले भारत भ्रमणको क्रममा आफूले एकपक्षीय र द्विपक्षीय थुप्रै भेटवार्ता गरेको पनि जानकारी दिनुभयो ।

मिटरब्याजी पीडितहरू धमाधम बिरामी पर्न थाले

काठमाडौँ – न्याय माग्न महोत्तरीको बर्दिवासबाट ११ दिन पैदल हिँडेर आएका मिटरब्याजीपीडितहरु धमाधम बिरामी पर्न थालेका छन् । गर्मी ठाउँबाट आएका धेरैजसो पीडित खुला सडकमा रात बिताएकाले चिसोका कारण बिरामी परेका छन् । धेरैजसोको घाँटी दुखेको छ भने हातखुट्टा र अनुहार सुन्निएको छ ।

मिटरब्याजीविरुद्धको संघर्ष समितिका संयोजक मनोजकुमार पासवानले लगातारको हिँडाइले धेरैजसो थकित भएको र काठमाडनैंको चिसोका कारण बिरामी परेको जानकारी दिए । ७३ जनामध्ये धेरैजसो खाली खुट्टै काठमाडौं आइपुगेका छन् । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा छिर्न नदिएपछि उनीहरुले चिसो सडकमै रात बिताएका थिए । मिटरब्याजीपीडितहरु अहिले अनामनगरको तमु बौद्धमा बसेका छन् ।

मिटरब्याजीपीडितको आन्दोलनमा धेरैले ओठेभक्ति देखाए पनि उनीहरूको समस्या समाधानमा भने मौन देखिएका छन् । अधिकांश साहुकार कांग्रेस, एमाले, माओवादी, जसपा, राप्रपाका भएकाले यो पनि राजनीतिबाट अछुतो छैन । सोही कारण पनि मंगलबार नै पीडितलाई भेट्छु भनेर सन्देश पठाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्म पीडितलाई भेट्न सकेका छैनन् ।

मंगलबारको मन्त्रिपरिषद्् बैठकबाट मिटरव्याजलाई अपराधको रुपमा ब्याख्या गर्नेगरी कानुन संशोधन गर्ने निर्णय गराएका प्रधानमन्त्रीले पीडितहरूलाई भेटेर उनीहरूको पीडा सुन्ने धेरैको अपेक्षा थियो । तर, प्रधानमन्त्रीले पनि उपेक्षा गरेपछि ११ दिन लगाएर काठमाडौं आएका पीडित निराश बन्न थालेका छन् । मंगलबार दिनभर प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले पीडितलाई भेट्न प्रधानमन्त्री जाँदैछन् भनेर प्रचार गरिरहेको थियो ।

पीडितको माग सम्बोधन गर्न मिटरब्याजलाई अपराध मानेर पीडकलाई आवश्यक कारबाही गर्ने प्रक्रिया अघि बढाउने सरकारको तयारी छ । यसमा सबै दलले साथ दिएका छन् ।

के सरकार मुठभेडतर्फ जान खोजेको हो ? : राजेन्द्र लिङदेन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सांसद ज्ञानेन्द्र शाहीलाई दुर्व्याबहारको प्रायस भएको भन्दै निन्दा गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले मंगलबार ज्ञानेन्द्र शाही मिटर ब्याज पिडितको समस्या बुझ्न गएको समयमा सत्ता पक्षका कार्यकर्ताले दुर्व्यबहार गर्ने प्रयास गरेको भन्दै त्यसको निन्दा गरेका हुन् ।

उनले के सरकार मुठभेडतर्फ जान खोजेको हो भन्दै देशमा यो गणतन्त्रमा राजावादी हुने छुट कुनै नागरिकलाई छैन ? भन्दै सरकारलाई प्रश्न गरेका छन् । उनले मिटर ब्याजपिडितलाई छिटो न्याय दिन आग्रह गरेका छन् ।

यो सरकार पाँच वर्ष टिक्छ, हामी केन्द्रमा सरकारलाई पूर्णता दिने प्रक्रियामा छौं : प्रधानमन्त्री प्रचण्ड (पूर्णपाठ)

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पाँच वर्ष नै टिक्ने बताएका छन् ।

बुधकार काठमाडौं महानगरपालिकाद्वारा आयोजित न्यायिक समितिको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू सरकारलाई पूर्णता दिने काममा केन्द्रित भएको बताए । सरकारले पूर्णता पाएपछि संघ, प्रदेश र केन्द्र सरकारको समन्वयमा लाग्ने उनले बताए ।

उनले भने, “अहिले हामी केन्द्रमा सरकारलाई पूर्णता दिने प्रक्रियामा छौं । आज बिहान पनि त्यसैको बैठकमा थिएँ । यहाँबाट गएपछि पनि सरकारलाई पूर्णता दिने काममा केन्द्रित हुनुछ, यो काम सकिएपछि संघ, प्रदेश र स्थानीय तहको समन्वयको कामलाई र आवश्यक पर्ने ऐन बनाउने कामलाई नै उच्च प्राथमिकता दिइनेछ ।”

(१४ चैत्र २०७९, प्रज्ञा भवन)

कार्यक्रमका अध्यक्षज्यू,
माननीय मन्त्रीज्यू,
माननीय प्रदेशमन्त्रीज्यू,
नेपाल सरकारका श्रीमान् सचिवज्यू,
जिल्ला समन्वय समिति संघका अध्यक्षज्यू, 
नगरपालिका र गाउँपालिका संघका अध्यक्षज्यूहरू,
महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका उपप्रमुख एवं उपाध्यक्षज्यूहरू,
सञ्चारकर्मी मित्रहरू,
उपस्थित आदरणीय महानुभावहरु ।

सर्वप्रथम काठमाडौँ महानरपालिकाद्वारा आयोजित न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनमा सहभागी यहाँहरू सबैमा हार्दिक स्वागत अभिवादनका साथ सम्मेलनको भव्यतम् सफलताको शुभकामना व्यक्त गर्दछु ।

स्थानीय न्यायिक समितिका पदाधिकारीहरूका अनुभवहरूको आदानप्रदान, नीतिगत एवं व्यवहारिक समस्याहरू समाधानको साझा प्रयास, आ–आफ्ना विशेषताका आधारमा न्याय निरूपण गर्ने प्रेरणा एवं माथिल्ला सरकारहरूसँग प्रभावकारी समन्वय गर्ने हेतुले आयोजित यस सम्मेलन नेपालको संघीय प्रणाली एवं स्थानीय तहमा न्याय निरूपणका दृष्टिले निकै महत्वपूर्ण छ । यसका निम्ति आयोजकहरूप्रति हार्दिक बधाइ ज्ञापन गर्दछु ।

महान् जनयुद्धको जग र ऐतिहासिक जनआन्दोलनको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि बनेको नयाँ संविधानले राज्यको अग्रगामी पुनर्संरचनासहित अधिकारको व्यवस्थित बाँडफाँट गरेको छ । यसको ठीक ढंगले प्रयोग र अभ्यास गर्न सकेमा नेपालको संघीय प्रणाली विश्वकै निम्ति अनुपम उदाहरण बन्न सक्दछ । नेपालको संविधान २०७२ मा स्थानीय तहलाई व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको अधिकारसहित एक स्वतन्त्र तहका रूपमा परिभाषित गर्दै अधिकार विन्यास गरेको छ । स्थानीय तहहरूले संविधान, संघीय कानुनहरू र प्रदेश कानुनहरूसँग नबाझिने हदसम्म कानुन निर्माणको अधिकारसमेत राख्दछन् । यो व्यवस्था विगतका परम्परा र अनुभवभन्दा पृथक मात्र छैन, विश्वका लागिसमेत प्रेरणादायी छ ।

नेपाली जनताको निकै ठूलो त्याग र बलिदानबाट नयाँ संविधान निर्माण भई परिवर्तन र सामाजिक रूपान्तरणका मुद्धा संस्थागत गरिएको भए पनि संविधानले परिकल्पना गरेअनुरूपका संघीय र प्रादेशिक ऐनहरू निर्माण हुने क्रम जारी छ । संविधानले व्यवस्था गरेअनुरूप राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूको सही विन्यास गर्न संघीय कानुनहरू यथाशीघ्र निर्माण गर्नुपर्ने राष्ट्रिय दायित्व हाम्रोसामु छ । वर्तमान सरकार संघीय शिक्षा ऐन, संघीय निजामती ऐन लगायत महत्वपूर्ण ऐनहरू निर्माण गर्न सक्रियताका साथ लागिरहेको छ । कतिपय संघीय कानुनहरूसमेत एकाअर्कासँग बाझिएको परिस्थितिमा त्यसको समाधानका निम्ति केन्द्र सरकारले समन्वयकारी भूमिका खेलिरहेको छ । उल्लेखित ऐनहरूले निर्माण र संशोधनको प्रक्रिया पूरा हुँदा हाम्रो संघीय व्यवस्था र अभ्यासले नयाँ फड्को मार्नेछ ।

संविधानको प्रस्तावनामा “जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधान सभाबाट पारित गरी यो संविधान जारी गर्दछौँ” भनिएको छ । संविधानले परिकल्पना गरेको समाजवादको आधार तयार पार्ने मुख्य जिम्मेवारीसमेत स्थानीय तहकै हो । यसर्थ, संविधानको मर्म र भावनाअनुरूप समाजवादको आधार तयार पार्नसमेत न्यायिक समितिको महत्वपूर्ण भूमिका रहेको तथ्य स्मरण गराउँछु । 

नेपालको संविधानले स्थानीय तहलाई एक अधिकार सूचिका रूपमा २१ कार्यकारी अधिकार प्रदान गरेको छ, जसमा न्याय सम्पादनको भूमिकासमेत समाविष्ट छ । स्थानीय तहको निर्वाचनपछि गठित स्थानीय सरकारहरूले गरेका महत्वपूर्ण काममध्ये न्याय निरूपणको काम र त्यसबाट प्राप्त प्रतिफल विशेष महत्वको छ । यस अवधिमा १९ हजारभन्दा बढी विवादहरू न्यायिक समितिमार्फत् समाधानको गरिएको तथ्यले नीतिगत र व्यवस्थाकीय पक्ष सुदृढ गरी कार्यक्षमता बढाउँदा न्यायिक समितिले स्थानीय रूपमा रहेका विवादहरूको समाधानका गुणात्मक भूमिका खेल्न सक्दछन् भन्ने प्रष्टाउँछ । यसले संघीय प्रणालीप्रति जनविश्वास र अपनत्वबोध गराउनुका साथै संविधानको प्रभावकारी कार्यान्वयनमा समेत योगदान पुर्‍याउँछ । यसका लागि तपाईहरू सबै धन्यवादका पात्र हुनुहुन्छ । 

नागरिकको मन मस्तिष्कमा सरकार भन्नेवित्तिकै स्थानीय जनप्रतिनिधि र कर्मचारीहरू नै अग्रपंक्तिमा आउँछ । स्थानीय जनप्रतिनिधि, कर्मचारी र सुरक्षा अंगको सोच्ने तरिका कस्तो छ, सेवाप्रवाह कति चुस्त र जनउत्तरदायी छ भन्ने कुराले सरकारको छवि आम नागरिकमा स्थापित हुन्छ । यसर्थ, राज्यप्रति नागरिकको आत्मीयता र अपनत्वबोधका निम्तिसमेत स्थानीय तह र जनप्रतिनिधिहरूले गम्भीर भूमिका खेल्नुपर्दछ । 

नेपालको संविधानले स्थानीय तहमा न्यायिक निरूपणका लागि न्यायिक समितिको व्यवस्था गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले न्यायिक समितिको संरचना र अधिकार क्षेत्र परिभाषित गरेको छ, जसअन्तर्गतः स्थानीय तहमा सिर्जना हुने विवादहरूको मेलमिलापको माध्यमबाट समाधान गर्ने र स्थानीय तह न्यायिक समितिको क्षेत्राधिकारभित्र भएका विषयमा न्यायिक निरूपण गर्ने मुख्य छन् । संविधान र कानुनमा व्यवस्था भएअनुसारको क्षेत्राधिकारको सही र वैज्ञानिक कार्यान्वयन गर्न यहाँहरूको भूमिका अत्यन्तै महत्वपूर्ण रहन्छ । यसतर्फ समेत म यहाँहरू सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।

नेपाल सरकारले जारी गरेका १६ ऐनहरूमा न्यायिक समितिको भूमिकाबारे व्यवस्था गरिएको । न्यायिक समितिहरूमार्फत् हुने न्याय निरूपणले सेवाग्राही आर्थिक भारबाट मुक्त हुने, मेलमिलापका माध्यमबाट समस्याको समाधान खोज्नुले सामाजिक एकता र सद्भाव बृद्धि हुने, पुस्तौँसम्म व्यक्तिगत एवं पारिवारिक रिसराग र कलह रहने परम्परागत मनोविज्ञानमा कमि आउने, सेवाग्राहीले शीघ्र र झन्झटमुक्त न्याय प्राप्त गर्ने अवस्था रहन्छ । स्थानीय सरकारसँग नागरिक खुसी भएका केही क्षेत्रमध्ये न्याय निरूपणको क्षेत्र पनि एक हो । तसर्थ, यसको संस्थागत र संरचनागत विकास, साधनस्रोतको व्यवस्थापन, जनशक्ति व्यवस्थापन र क्षमता अभिवृद्धिमा केन्द्र सरकारले विशेष ध्यान दिनैपर्दछ ।

न्याय सम्पादनमा स्थानीय तहहरूबिच एकरूपता कायम गर्न, अनुभवको आदानप्रदान गर्न, माथिल्ला सरकारसँग प्रभावकारी समन्वय गर्न र समस्याहरूको केन्द्रीकरण र समाधानको साझा प्रयासका लागि यस्ता फोरमहरू प्रभावकारी हुन सक्दछन् भन्ने मेरो विश्वास छ । आगामी दिनमा समेत यस्ता फोरमहरूले सचेतना र क्षमता अभिवृद्धिका क्षेत्रमा विभिन्न रचनात्मक कार्यक्रमहरूसमेत आयोजना गरी स्थानीय तह र न्यायिक समितिप्रति जनविश्वास बढाउन थप भूमिका खेल्नुपर्दछ ।

उल्लेखित जिम्मेवारी, कार्य र उपलब्धिका बाबजुद न्यायिक समितिले अनेकन समस्याहरूको सामना गर्नु परिरहेको छ, जसमा, कानुनी व्यवस्थाको प्रयोग र अभ्यासबारे अन्यौलता, न्याय निरूपणका लागि पूर्वअनुभव र सन्दर्भ सामग्रीको कमि, स्रोत साधनको कमि, विषयगत ज्ञान र क्षमता विकासको चुनौती, स्थानीय रूपमा देखापर्ने राजनीतिक अन्तरविरोध र न्यायिक समितिमा दक्षताभन्दा व्यक्ति व्यवस्थापन गर्नुपर्ने दवाव, दक्ष प्रशासनिक जनशक्तिको अभाव, संगठनात्मक पद्धति र एकरूपताको कमि, एकात्मक एवं केन्द्रिकृत मनोविज्ञान र कार्यप्रणाली जस्ता विषयहरू मुख्य छन् । यस अवसरमा उल्लेखित समस्याहरूको समाधानमा केन्द्र सरकारले आफ्नो तर्फबाट आवश्यक समन्वय र समस्या समाधानको पहल गर्ने विश्वास दिलाउँदै यहाँहरूले पनि आफ्ना सीमाहरूको पहिचानसहित प्रभावकारी भूमिका खेल्नुहुने विश्वास लिएको छु । सम्मेलनले न्यायिक समितिको प्रभावकारिता, संस्थागत र संरचना क्षमता अभिवृद्धि एवं माथिल्ला सरकारहरूसँग व्यवस्थित समन्वय गर्ने नीति र कार्यक्रमहरू तर्जुमा र न्याय निरूपणका असल अभ्यासहरूको आदानप्रदान गर्ने प्रणालीको विकास गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु । 

अन्त्यमा, न्यायिक समितिका पदाधिकारी र काम गर्ने कर्मचारीहरूको तालिमका लागि संयन्त्र निर्माण तालिमको संयन्त्र निर्माणमा केन्द्र सरकारले भूमिका खेल्ने विश्वास दिलाउँदै संघीय प्रणालीको प्रभावकारी कार्यान्वयनका निम्ति नीतिगत, कानुनी, संस्थागत, संरचनागत र कार्यशैलीगत त्रुटिहरू सच्चाउँदै एकात्मक सोंच र प्रवृत्तिमाथि विजय हासिल गर्न साझा प्रयासको अपीलसहित पहिलो राष्ट्रिय सम्मेलनको भव्य सफलताको कामना गर्दै विदा हुन्छु, धन्यवाद ।

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ लाई गृह मन्त्रालयको जिम्मेवारी

काठमाडौँ – उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ गृह मन्त्री हुने निश्चित भएको छन् ।


बुधबार बिहान बसेको १० दलको बैठकमा नेकपा एकीकृत समाजवादीले भौतिक मन्त्रालय माग गरे पछि श्रेष्ठ उपप्रधानसहित गृह मन्त्री हुने टुङ्गो लागेको हो ।

माओवादी केन्द्रको भागमा परेपछि गृह मन्त्रालयमा श्रेष्ठको मन्त्री बन्ने निश्चित भएको हो ।

नेकपा एसको आकस्मिक बैठक बस्दै

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आकस्मिक बैठक बोलाएको छन् ।

बुधबार पार्टी कार्यालय आलोकनगरमा दिउँसो साढे १ बजे बस्नेगरी अध्यक्ष नेपालले सचिवालयको बैठक बोलाएका हुन् ।

यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले आज बेलुकासम्म मन्त्रीको नाम दिन भनेपछि सोहीअनुसार बैठक बोलाइएको बताइएको छ । बैठकले एक जनामात्रै पठाउँदा कसलाई र अर्को चरणमा कसलाई पठाउने भन्नेबारे निर्णय गर्नेछ ।

स्रोतका अनुसार प्रचण्डले आज बेलुकासम्म जसरी पनि मन्त्री बन्ने एक जनाको नाम दिन भनेका छन् । तर, मन्त्रालय भने दुई वटा दिन सकिने र अर्को पछि मिलाउँदै जाने भनिएको छ । आजै बसेको बैठकपछि कांग्रेस नेता रमेश लेखकले दुई चरणमा मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए ।

केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम गर्न गाह्रो भयो : मेयर शाह

काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम गर्न गाह्रो हुने बताएका छन् ।

बुधकार काठमाडौं महानगरपालिकाद्वारा आयोजित न्यायिक समितिको राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै शाहले यस्तो बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्थायी सरकार टिकिरहे स्थानीय तहलाई पनि सजिलो हुने बताए ।

उनले भने, ‘स्थानीय सरकार पाँच वर्षका लागि हुन्छ । तर, उहाँहरूको सरकार टिक्दैन । यसले गर्दा स्थानीय तहलाई समस्या पर्छ । म प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु, यसपालि चाहिँ सरकार केही समयलाई टिकिदिए हामीलाई समन्वय गर्न सजिलो हुने थियो ।’

उनले सरकार भनेको स्थानीय पालिका पालिकामा छ भन्ने अभाष दिलाउनुसक्नुपर्ने समेत बताएका छन् । उनले भने, ‘आफ्नै पालिकामा न्याय प्राप्त होस्, न्यायका लागि ११ दिन हिँडेर काठमाडौं आउनु नपरोस् ।’

प्रधानमन्त्री प्रचण्डले आजै सरकारलाई पूर्णता दिने तयारी

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै सरकारलाई पूर्णता दिने तयारी गरेका छन्।

प्रधानमन्त्रीको सरकारी निवासमा बसेको १० दलको जारी बैठकमा मन्त्रालय भागबन्डामा पनि सहमति जुटाएर आजै मन्त्रीहरूको शपथग्रहण गराउने गरी छलफल भइरहेको एक नेताले बताए ।

ती नेताले भने, ‘बैठक जारी छ, हिजो टुंगो लगाउने भनिएता कुरा मिल्न सकेको थिएन। सकेसम्म मिलाएर आजै मन्त्रीहरूको शपथ ग्रहण गराउने गरी छलफल भइरहेको छ।’

हिजोको बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल भएपनि दलहरुले धेरै मन्त्रालय मागेपछि सहमति बन्न सकेको थिए। कांग्रेसले ८ मन्त्रालय, जसपा र नेकपा एसले ३—३ मन्त्रालय पाउनै पर्ने अडान राखेपछि हिजोको बैठक निष्कर्षविहिन बनेको थियो।

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौँ – सत्तारुढ १० दलको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा गठबन्धन दलका शीर्ष नेताहरू सहभागी हुनुहुन्छ ।

आजको बैठकमा सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रम र मन्त्रालय भागबन्डाको विषयमा सहमति जुटाउने प्रयासमा दलहरू छन् ।

यसअघि मङ्गलवार साँझ बसेको बैठकमा दलहरूलाई न्यूनतम साझा कार्यक्रम आन्तरिक अध्ययन र सुझावका लागि वितरण गरिएको थियो ।

आज एमाले अध्यक्ष ओली पाल्पाको रानी महल जाँदै

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पाल्पाको रानी महल जाँदै हुनुहुन्छ ।

पाँच दिनदेखि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा रहनुभएका अध्यक्ष ओली आज पाल्पाको रानी महल जान लाग्नुभएको हो ।

अध्यक्ष ओलीको सचिवालयका अनुसार अहिले पाल्पाको तानसेनमा रहनुभएका अध्यक्ष ओलीले रानी महलको अवलोकनपछि बुटवल पाल्पा सडक खण्डको सिद्ध बाबाको प्रस्तावित सुरुङ मार्गको पनि निरीक्षण गर्नुहुनेछ । सधैँ पहिरोको चपेटमा पर्ने सडकको यो खण्डमा अध्यक्ष ओली प्रधानमन्त्री भएका बेला सुरुङ मार्ग निर्माण गर्ने प्रस्ताव गरिएको थियो ।

अध्यक्ष ओलीले आजै बुटवलस्थित लुम्बिनी टेलिभिजनको साधारण सभाको उद्घाटन गर्ने कार्यक्रम छ । यसैगरी बुटवलमा रुपन्देही जिल्ला स्तरीय कार्यकर्ता भेलालाई समेत सम्बोधन गरेर साँझ काठमाडौँ फर्कने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

यसैगरी चैतको २२ र २३ गते अध्यक्ष ओली रोल्पा र रुकुमका विभिन्न कार्यक्रममा सहभागी हुन जाने तयारी गर्नुभएको छ ।

पार्टीको हैसियत अनुसार तीनवटा मन्त्रालयमा दाबी गरेका हौँ : झलनाथ खनाल

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको हैसियत अनुसार तीनवटा मन्त्रालयमा दाबी गरेको बताएका छन् ।

मंगलबार काठमाडौँको बानेश्वरमा मिटरब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका खनालले सञ्चारकर्मीसँग कुरा गर्दै अहिले सङ्घीय संसदमा नेकपा एकीकृत समाजवादीसँग १८ सिट रहेकाले पार्टीको हैसियत अनुसार नै मन्त्रालयको सिट माग गरिएको बताएका हुन ।

उनले १० दल सरकारमा जाने र मन्त्रालयको सिट २५ रहेकाले दलहरूको भूमिकाका आधारमा मन्त्रीमण्डल बाँडफाँट गर्नुपर्ने धारणा राखे । उनले सरकारको पाँच बर्षे नीति कार्यक्रमको योजना बनाएर मात्रै मन्त्रीमण्डल बाँडफाँट गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताए ।

त्यस्तै खनालले मिटरब्याज पीडितहरूको माग जायज रहेको भन्दै आन्दोलनमा समर्थन रहेको बताएका छन् । उनले मिटरब्याज पीडितहरूको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउने पनि बताए ।

कोशी नामकरणविरोधी आन्दोलनको क्रममा झडप हुँदा ६ प्रहरीसहित १४ जना घाइते

काठमाडाैँ – प्रदेशको नामकरणविरुद्ध विराटनगरमा मंगलबार भएको प्रदर्शनमा झडप हुँदा ६ जना प्रहरी घाइते भएका छन् । झडपमा परी नेपाल प्रहरीका तीन र सशस्त्र प्रहरीका तीन गरी ६ जना प्रहरी घाइते भएका हुन् ।

प्रहरीका अनुसार प्रदर्शनकारीतर्फ पनि ८ जना घाइते भएका छन् । यद्यपि, आन्दोलनकारीतर्फ कति घाइते भए भन्ने यकिन विवरण भने आइनसकेको प्रहरीले जानकारी दिएको छ ।

कोशी प्रदेश नामकरणको खारेजीको माग गर्दै विराटनगरमा पहिचान पक्षधरहरूले आन्दोलन चर्काइरहेका छन् । सोही आन्दोलनका क्रममा मंगलबार सुरक्षाकर्मीसँग झडप भएको हो ।

आन्दोलनकारीले घेरा तोड्दै प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले पानीको फोहरा र तीन दर्जन अश्रुग्यास प्रहार गरेको थियो । केही समय अघिसम्म तनावग्रस्त बनेको विराटनगरको रोडशेष चौक क्षेत्र अहिले भने शान्त भएको छ ।

मुख्यमन्त्री हिक्मत र्कीको राजीनामा माग गर्दै भएको प्रदर्शनमा ढुङ्गामुढा भएपछि प्रहरीले हवाइ फायर गरेको छ ।

नेकपा एसका उपाध्यक्ष न्यौपानेले छाडे पार्टी

काठमाडाैँ – नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष केदारप्रसाद न्यौपाने र स्थायी कमिटी सदस्य चुडामणी जंगलीले पार्टी परित्याग गर्नुभएकाे छ । 

पार्टीले लिएको नीति र कार्यदिशाप्रति असहमति राख्दै नेताद्वयले दिएको राजीनामा मंगलबार बसेको सचिवालय बैठकले स्वीकृत गरेको नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले जनाउनुभएकाे छ । 

उपाध्यक्ष न्यौपाने एमाले प्रवेश गर्ने तयारीमा रहेको स्रोतकाे दाबी छ ।  एक महिनाअघि देखि नै एमाले नेताहरुसँग नजिकिरहनुभएका उहाँकाे संवाद चलिरहेको थियो ।

उहाँ एमाले–माओवादी केन्द्र एकतापछि बनेको नेकपामा पोलिटब्युरो सदस्य हुनुहुन्थ्याे । एमालेमा २०४५ सालदेखि केन्द्रीय सदस्यको भूमिका निर्वाह गर्नुभएका न्यौपाने एमालेमा अन्तरविरोध चर्किएपछि बनेको एकीकृत समाजवादीमा उपाध्यक्ष बनेका थियाे । 

सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन

काठमाडौं – एकीकृत समाजवादीले आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी हुने व्यक्तिको नामावली पेस गर्न अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदललाई निर्देशन दिएको छ । 

मंगलबार आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने मन्त्रीहरूको नामावली सचिवालयमा पेस गर्न अध्यक्ष नेतृत्वको तीन सदस्यीय कार्यदललाई निर्देशन दिएको हो । 

एकीकृत समाजवादीले कार्यदलले मन्त्रीको हुनेको नामसहितको प्रस्ताव पेस गरेपछि मात्र सरकारमा सहभागी हुने व्यक्ति टुंग्याउने भएको हो । 
साथै बर्दिबासबाट १२ दिन हिँडेर सोमबार काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरूको आन्दोलनप्रति बैठकले ऐक्यबद्धता जनाएको छ ।

बैठकले उनीहरुरुको माग तत्काल सम्बोधन गर्न र पीडकलाई कारबाही गर्न पनि माग गरेको छ । पार्टीका उपाध्यक्ष केदारप्रसाद न्यौपाने र स्थायी कमिटी सदस्य चुडामणि जंगलीले पदबाट दिएको राजीनामा पनि बैठकले स्वीकृत गरेको छ ।