`

लुम्बिनी प्रदेश का मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लिए शपथ

काठमाडौँ – लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज शपथ ग्रहण गरेका छन् ।

शुक्रबार बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री चौधरीलाई शपथ गराएका हुन् । चौधरी बिहीबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री चौधरीसहित माओवादी केन्द्रबाट धनबहादुर मास्की (राजेश), नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी, लोसपाबाट सन्तोष पाण्डेले मन्त्रीको शपथ लिएका हुन् । उनीहरूको मन्त्रालय भने टुंगिएको छैन ।

मास्की दाङ क्षेत्र नं.३ (२) बाट निर्वाचित हुन् भने लोसपाबाट मन्त्री बनेका पाण्डे रूपन्देही २ बाट र नागरिक उन्मुक्तिका चौधरी बर्दियाबाट निर्वाचित भएका हुन् ।

अयोग्य लडाकुका नाममा राज्यको ढुकुटीबाट पैसा बाँड्न हुँदैन

काठमाडौँ – राष्ट्रिय युवा सङ्घ नेपालले अयोग्य लडाकुका नाममा राज्यको ढुकुटीबाट पैसा बाँड्न नहुने भन्दै अर्थमन्त्री डा प्रकाशशरण महतलाई आज सातबुँदे ज्ञापनपत्र बुझाएको छ ।

शुक्रबार युवा सङ्घ नेपालले अर्थमन्त्री महतलाई ज्ञापनपत्र बुझाएको हो ।

“गत चैत ६ गतेको मन्त्रिपरिषद् निर्णयबाट अयोग्य लडाकुलाई प्रतिव्यक्ति रू दुई लाख वितरण गर्नेगरी गृह मन्त्रालयद्वारा तयार गरी यही वैशाख ६ गतेको मन्त्रिपरिषद् वैठकमा प्रस्तुत भएको सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राहत उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७९ प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ” राष्ट्रिय युवा सङ्घले बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।

अयोग्य लडाकुलाई पैसा बाँड्ने विषय मलाई जानकारी छैन : अर्थमन्त्री महत

काठमाडौँ – अर्थमन्त्री डा प्रकाशशरण महतले सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्ने विषयबारे आफू जानकार नरहेको र अर्थ मन्त्रालयबाट हालसम्म यसबारे कुनै निर्णय नभएको बताउनुभएको छ ।

सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राहत उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७९ बाट पूर्व लडाकुलाई सरकारले जनही रु दुई लाख रकम उपलब्ध गराउन लागेको भन्दै राष्ट्रिय युवा सङ्घ, नेपालले आज अर्थमन्त्रीको ध्यानाकर्षणसहित सात बुँदे ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री महतले अयोग्य लडाकु व्यवस्थापनको विषय चालू आर्थिक वर्षको बजेटमा राखिएको भए पनि त्यसबारे अर्थमन्त्रालयबाट कुनै निर्णय नभएको बताउनुभएको हो ।

“अयोग्य लडाकुका विषय अदालतमा पुग्यो । बजेटमा पनि रहेछ । म अर्थमन्त्री भएपछि कुनै निर्णय भएको छैन । यो विषय अगाडि बढाउन मन्त्रिपरिषद्ले पास गरेको भनिएको कार्यविधिबारे मलाई जानकारी छैन”, अर्थमन्त्री महतले भन्नुभयो, “बजेटको व्यवस्थाअनुसार कार्यविधि गृह मन्त्रालयले अघि बढाएको हुनुपर्छ । म आइसकेपछि कुनै निर्णयमा म संलग्न छैन । मलाई योबारे जानकारी नै छैन ।”

सरकारबाट अनावश्यकरुपमा राज्यको सम्पत्ति दुरुपयोग हुने विषयमा कुनै शङ्का नगर्न पनि अर्थमन्त्री महतले आग्रह गर्नुभयो । “अयोग्य लडाकुका नाममा राज्यकोष दुरुपयोग गर्ने, केही व्यक्तिलाई पोस्ने, भ्रष्टाचार गर्ने, ढुकुटी सक्न लागे कि भन्ने खालका आशङ्का नगर्न म आग्रह गर्दछु”, अर्थमन्त्री महतले भन्नुभयो ।

उहाँले व्यक्तिभन्दा माथि देश रहेको उल्लेख गर्नुहुँदै आफ्नो दल नेपाली कांग्रेसले पनि यो विषयमा चासो लिइरहेको बताउनुभयो । अयोग्य लडाकुका विषय सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत टुङ्गो लगाइनुपर्ने उहाँको भनाइ छ ।

अयोग्य लडाकुका नाममा राज्यको ढुकुटीबाट पैसा बाँड्न नहुने भन्दै राष्ट्रिय युवा सङ्घ, नेपालले अर्थमन्त्री महतलाई आज सातबुँदे ज्ञापनपत्र बुझाएको छ । “गत चैत ६ गतेको मन्त्रिपरिषद् निर्णयबाट अयोग्य लडाकुलाई प्रतिव्यक्ति रू दुई लाख वितरण गर्नेगरी गृह मन्त्रालयद्वारा तयार गरी यही वैशाख ६ गतेको मन्त्रिपरिषद् वैठकमा प्रस्तुत भएको सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राहत उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७९ प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ” राष्ट्रिय युवा सङ्घले बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।

विपद्को जोखिम हुन नदिन पूर्वतयारीलाई उच्च प्राथकिमता दिनुपर्छ : मन्त्री शर्मा

दाङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशका सबै पालिकामा विपद्को जोखिमै हुन नदिन पूर्वतयारीलाई उच्च प्राथमिकता दिन आग्रह गर्नुभएको छ ।

गृहमन्त्रालद्वारा आज दाङको तुलसीपुरमा आयोजित विपद् पूर्वतयारी तथा प्रतिकार्य कृत्रिम घटना अभ्यास कार्यक्रमको शुभारम्भ गर्नुहुँदै उहाँले विपद्को पूर्वतयारी गरेर सम्भावित घटनालाई न्यूनीकरण गर्न सकिने उहाँको भनाइ थियो ।

“विपद्को पूर्वतयारी कार्यक्रम सबै पालिकाले गर्नुपर्छ”, उहाँले भन्नुभयो, “यसोगर्दा सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ ।” विगतमा पनि पूर्वतयारी नहुँदा पनि विपद्बाट धेरै जनधनको क्षति हुने गरेको मन्त्री शर्माको भनाइ छ ।

भूकम्प, बाढी पहिरोलगायतका विपद्ले नेपालमा धेरै मानवीय तथा धनजनको क्षति भएको जनाउँदै यसका लागि पूर्वतयारी आवश्यक रहेको मन्त्री शर्माको भनाइ छ । उहाँले जनप्रतिनिधि, समाजका अगुवाहरुले पूर्वतयारीका कुराहरु सिक्नुपर्ने बताउनुभयो । “जनप्रतिनिधि, समाजका अगुवाहरुले विपद् पूर्वतयारीका कुराहरुमा जानकारी भएमा विपद् हुँदा उद्धारमा धेरै सहज हुन्छ”, उहाँले भन्नुभयो, “यसमा ख्याल गर्नुपर्छ, विपद्को पूर्वतयारी नहुँदा उद्धार फितलो हुन्छ ।”

रास्वपाका दुई सांसदको शपथ

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

उहाँलाई प्रतिनिधिसभा कानुन समितिको हलमा आज विहान सभामुख देवराज घिमिरेले शपथ गराउनुभएको हो ।

यही वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन–२ र वाग्ले तनहुँ–१ बाट निर्वाचित हुनुभएको हो ।

गएरातिको भूकम्पले २३ घरमा क्षति

बाजुरा – गएराति आएको भूकम्पका कारण हिमाली गाउँपालिका–२ विच्छ्यामा २३ घरमा पूर्णरुपमा क्षति पुगेको छ ।

गौमुल गाउँपालिकाको दहकोट आसपास केन्द्रबिन्दु भएर मध्यराति १ बजेर ३० मिनेट जाँदा गएको पाँच दशमलव नौ रेक्टर स्केलको भूकम्पले २३ घरमा पूर्णरुपमा क्षति भएको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त वडाका धञ्जित बुढा, दन्तिर बुढा, जोवलाल बुढा, नौउले बुढा, दिलबहादुर बुढा र सौरमल रोकायाको घरमा क्षति पुगेको छ । यस्तै वासु रोकाया, सुरेन्द्र बुढा, दुवलाल बुढा, देवबहादुर बुढा, पञ्च रोकाया, सुरेन्द्र बुुढा, जग्गी बोहरा, साइमल बोहराको घरमा क्षति पुगेको छ ।

सोही वडाका सुर्ज बोहरा, जस थापा, भयधन थापा, पूर्ण थापा, कुसुम खड्का, वाचमल रोकाया, कल रोकाया, सुर्ज खड्का, गोल्लाल खड्कालगायतको घरमा क्षति भएकोे गाउँपालिकाका प्रशासकीय अधिकृत भण्डारीको भनाइ छ । क्षतिको विवरण सङ्कलनका लागि पालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताउनुभयो ।

विदेशमा रहेका श्रमिकका लागि सञ्चालित टेलिमेडिसिन सेवा प्रभावकारी

काठमाडौँ – वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि लक्षित गरेर सञ्चालन गरिएको ‘टेलिमेडिसिन’ सेवा प्रभावकारी देखिएको छ । सरकारले गत चैत १५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि विशेषज्ञ सुविधासहितको टेलिमेडिसिन सेवा सञ्चालन गरेको थियो ।

त्यसयता विदेशमा रहेका एक सय ५६ श्रमिकले स्वास्थ्य सेवा लिएका वैदेशिक रोजगार बोर्डका निर्देशक राजन पौडेलले जानकारी दिनुभयो । मध्यपूर्व र मलेसियामा काम गर्दै आएका श्रमिकले टेलिमेडिसिनमार्फत सेवा लिएका छन् । चार जनालाई विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य सेवा प्रदान गरिएको छ ।

वैदेशिक क्षेत्रमा रहेका श्रमिकका लागि सञ्चालनमा ल्याइएको टेलिमेडिसिन सेवाको प्रभावकारिता विस्तारै बढ्दै गएको पौडेलको भनाइ छ । बोर्डले वीर अस्पतालसँग समन्वय गरेर सो सेवा सञ्चालन गर्दै आएको छ । साताको दुई दिन विशेषज्ञ सेवा र सार्वजनिक बिदाका दिनबाहेक सामान्य चिकित्सकीय सेवा प्रदान हुँदै आएको छ ।

हरेक आइतबार र शुक्रबार विशेषज्ञ चिकित्सकले श्रमिकलाई स्वास्थ्य सेवा दिनेछन् भने अन्य दिन एमबिबिएस गरेका चिकित्सकले सेवा दिँदै आएका बोर्डले जनाएको छ । एमबिबिएस चिकित्सकले श्रमिकका लागि विशेषज्ञ सेवा आवश्यक परे विशेषज्ञ चिकित्सकसमक्ष सिफारिस गर्ने गरेका छन् । आइतबार र शुक्रबार श्रम गन्तव्य मुलुकमा सार्वजनिक बिदा पर्ने भएकाले सो दिन विशेषज्ञ सेवा उपलब्ध गराइएको बोर्डले जनाएको छ ।

टेलिमेडिसनमार्फत सेवा लिने श्रमिकलाई विभिन्न स्वास्थ्य समस्याको उपचार, औषधिको सिफारिस र मनोपरामर्श प्रदान गरिँदै आइएको छ । बिरामी श्रमिकले सम्पर्क गरेको ह्वाट्सएप तथा भाइबरमा चिकित्सकले औषधि सिफारिस गर्ने गरेको बोर्डका निर्देशक पौडेलले जानकारी दिनुभयो । बिरामी श्रमिकले चिकित्सकले प्रस्ताव गरेका औषधि नेपाली बजारबाट खरिद गरेर लैजानुपर्ने उहाँको भनाइ छ ।

सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि आवश्यकताअनुसार समयमा नै सल्लाह, सुझाव र परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले टेलिमेडिसिन सेवा सुरु गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत फागुन २ गते टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेको थियो ।

टेलिमेडिसिन सेवा लिन चाहने नेपाली श्रमिकले मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ नम्बरको भाइवर र ह्वाट्सएपलगायत सामाजिक सञ्जालबाट फोन गर्न सक्नेछन् । वैदेशिक रोजगारीको सिलसिलामा हाल एक सय ५० भन्दा बढी मुलुकमा नेपाली श्रमिक रहेका छन् ।

एमाले अध्यक्ष ओली आज जन्मस्थान जानुहुँदै

काठमाडौँ –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज आफ्नो जन्मस्थान तेह्रथुमको आठराईमा निर्माण भएको बहु प्राविधिक शिक्षालयको उद्घाटन गर्न त्यसतर्फ जाँदै हुनुहुन्छ । 

उक्त कार्यक्रममा जानका लागि अध्यक्ष ओली बिहीबार नै फिदिम पुग्नुभएको छ । आज मध्य पहाडी लोक मार्ग हुँदै अध्यक्ष ओली आठराई जाने कार्यक्रम छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का उपाध्यक्ष खगेन्द्र अधिकारीका अनुसार तीन वर्षदेखि यहाँ तेस्रो बाली विज्ञान र पशु विज्ञानको तीन वर्षे डिप्लोमा कार्यक्रम सञ्चालन भइरहेको छ । 

आफू प्रधानमन्त्री हुनुभएका बेला अध्यक्ष ओलीले यो भवन भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभएको थियो । साढे ५ करोड रुपैयाँ लागतमा निर्माण भएको उक्त दुई तले भवन आज उद्घाटन हुदैछ । अर्को भवन डेढ करोड रुपैयाँ लागतमा निर्माणाधीन अवस्थामा छ ।

प्राविधिक विद्यालय सञ्चालनका लागि अध्यक्ष ओलीले आफ्नै पैतृक सम्पत्तिको रूपमा रहेको १ सय रोपनी जमिन उपलब्ध गराउनुभएको थियो ।

तेस्रो पटक विश्वासको मत लिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा

सुर्खेत – गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज तेस्रो पटक विश्वासको मत लिने हुनुभएको छ।

आज अपराह्न ३ः०० बजे बस्ने कर्णाली प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लाग्नुभएको हो । उहाँलाई नेपाली काँग्रेसले विश्वासको मत दिनेछ भने नेकपा एमाले प्रमुख प्रतिपक्षी दलको रूपमा आजदेखि औपचारिक रूपमा सदनमा उपस्थिति जनाउनेछ ।

उता, कर्णाली प्रदेशसभाका विभिन्न चार वटा समितिले आज नै पूर्णता पाउने भएका छन् । प्रदेशसभा सचिव जीवराज बुढाथोकीका अनुसार सदनमा रहेका सामाजिक विकास समिति, सार्वजनिक लेखा समिति, अर्थ तथा प्राकृतिक स्रोत समिति र प्रदेश मामिला समितिमा रहने सदस्यहरूको नामावली सदनमा रहेका दलहरूले सचिवालयमा बुझाइसकेका छन् । 

‘उहाँहरूले दलबाट प्रतिनिधित्व हुने गरी चार वटा समितिका लागि सांसदहरूको नाम पठाइसक्नुभएको छ,’ सचिव बुढाथोकीले भन्नुभयो ‘आज बस्ने प्रदेशसभा बैठकमा सभामुख ज्यूले नाम पढेर सुनाउनुहुन्छ । त्यसपछि समितिले पूर्णता पाउँछ ।’

आज समितिले पूर्णता पाए पनि समितिको अध्यक्षको निर्वाचन भने पछि हुने उहाँको भनाइ छ ।  ‘अहिले समितिको ज्येष्ठ सदस्यले समितिको अध्यक्षता ग्रहण गर्नुहुनेछ’, उहाँले भन्नुभयो, ‘त्यसपछि समितिले निर्वाचन प्रक्रियाअघि बढाएर अध्यक्ष चयन गर्नेछन् । अब समिति नै बनेको छैन भन्ने गुनासो भने रहँदैन ।’

आज प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ –  आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय स‌सद भवन, बानेश्वरमा अपरान्ह १ः०० बजे सो बैठक बस्ने छ।

यसअघि संसदीय सुनवाई समितिमा सदस्यहरु मनोनयन गर्ने, सत्य निरूपण तथा मेलमिलाप आयोगका लागि बिशेष समिति गठन गर्ने तथा सबैधानिक परिषद सबन्धी ऐन पारित गर्ने लगायतका कार्यसुची राखेर बैठक बोलाइएको थियो । तर, मुख्यतः संबैधानिक परिषद ऐनमा प्रधानमन्त्रीलाई बिशेषाधिकारसहित राखेर नयाँ प्रस्ताव ल्याए पछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाउँदा सो बिद्येयक कार्यसुचीवाट हटन पुगेको थियो ।

यस अघि माथी उल्लेखित प्रमुख बिषय नै समावेश नगरी बैठक बसेको थियो ।

रेसुङ्गा विमानस्थलमा परीक्षण उडान

गुल्मी – गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान गरिएको छ । रेसुङ्गा नगरपालिका–१० स्थित सिमीचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको नाइनएन–एबिटी जहाज आज बिहान ७ बजेर ३९ मिनेटमा यहाँ अवतरण भएको हो ।

निगम र रेसुङ्गा नगरपालिकाबीच सम्झौता भएपछि व्यावसायिक उडानका लागि निगमले आज परीक्षण उडान गरेको हो । विसं २०६३ देखि निर्माण सुरु गरिएको उक्त विमानस्थल १६ वर्षपछि सम्पन्न भएको हो । कुल रु ३३ करोड लगातमा निर्माण सम्पन्न भएको विमानस्थलको लम्बाइ पाँच सय २० मिटर र चौडाइ २० मिटर रहेको छ । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको रेसुङ्गा विमानस्थल समुद्र सतहदेखि एक हजार पाँच सय २६ मिटरको उचाइमा रहेको छ ।

आजको उडानपछि व्यावसायिक उडान गर्ने योजना रहेको वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेलले जानकारी दिनुभयो । प्राविधिक टोलीले सबै कुराको जानकारी लिएपछि निगमले व्यावसायिक उडान थाल्ने उहाँको भनाइ छ । कति यात्रु बोक्न सकिन्छ भन्ने विषयमा अध्ययन गरेपछि मात्र भाडादर निर्धारण गरिने कँडेल बताउनुहुन्छ । “रेसुङ्गा– काठमाडौँ उडानको भाडा अहिले प्रतिव्यक्ति सरदर रु छ हजार पाँच सय हुने भनिए पनि अन्तिममा रु छ हजारसम्म कायम हुनसक्छ”, उहाँले भन्नुभयो ।

निगमका क्याप्टेन मनिष विष्टले एक साताभित्र नागरिक उड्ययन प्राधिकरणलाई आजको उडान प्रतिवेदन बुझाएपछि नियमित उडान हुने बताउनुभयो । रेसुङ्गा विमानस्थलमा यसअघि २०७५ जेठ २५ गते पनि परीक्षण उडान गरिएको थियो ।

लामो समयपछि जहाज चढेर काठमाडौँ जाने गुल्मीवासीको सपना अब चाँडै साकार हुने रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।

संसदीय समितिमा रहने सदस्यको नाम एमालेले टुङ्ग्यायो

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सङ्घीय संसद् अन्तर्गतका संसदीय समितिमा रहने सदस्यको नाम टुङ्ग्याएको छ ।

प्रतिनिधिसभाका दश वटा विषयगत समिति तथा राष्ट्रियसभासहितको संयुक्त समितिमा पार्टीबाट प्रतिनिधित्व गर्ने सदस्यको नाम टुङ्ग्याउँदै एमालेले सङ्घीय संसद् सचिवालयमा नामावली बुझाएको छ । 

एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले सभामुख देवराज घिमिरेलाई बुझाएको विवरण अनुसार सो पार्टीका अध्यक्ष केपी शर्मा ओली अन्तर्राष्ट्रिय सबन्ध समितिमा रहनुहुने भएको छ भने अर्थ समितिमा विष्णु पौडेल रहनुभएको छ । 

त्यस्तै, कानुन, न्याय तथा मानव अधिकार समितिमा सुवास नेम्वाङ, सार्वजनिक लेखा समितिमा योगेश भट्टराईलगायतका नेता रहनुभएको छ । यसअघि भएको सहमति अनुसार एमालेले लेखा समिति, राष्ट्रियसभासहितको संयुक्त समिति राज्यको निर्देशक सिद्धान्त तथा निर्देशक समितिसहित ३ वटा समितिको नेतृत्व गर्दैछ ।  

यस्तो छ एमालेले सङ्घीय संसद् सचिवालयमा बुझाएको विवरण :-

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति:-  केपी शर्मा ओली, भीम आचार्य, हरि उप्रेती, सुनिता बराल, देवीप्रकाश भट्टचन, एकनाथ ढकाल, सम्झना थपलिया र दामोदर वैरागी । 
कानुन, न्याय तथा मानव अधिकार समिति:सुवास नेम्वाङ, महेशकुमार बर्तौला, मनबहादुर गुरुङ, किरणकुमार साह, नैनकला थापा, प्रतीक्षा तिवारी र चन्द्रबहादुर विश्वकर्मा ।  
​​​​​अर्थ समिति:- विष्णु पौडेल, पदम गिरी, जुली महतो, सूर्यबहादुर थापा, भगवती चौधरी, अमर रायमाझी, नारायणप्रसाद आचार्य र रणकुमारी बलम्पाकी मगर।
सार्वजनिक लेखा समिति:- योगेश भट्टराई, गोकुल बास्कोटा, अच्युतप्रसाद मैनाली, दामोदर भण्डारी, ऋषिकेश पोखरेल, सराज अहमद फारुकी, तारा लामा तामाङ र रुक्मिणी राना बराइली ।
राज्यव्यवस्था तथा सुशासन समिति:पृथ्वी सुब्बा गुरुङ, कृष्णगोपाल श्रेष्ठ, रघुजी पन्त, लीलानाथ श्रेष्ठ, राजेन्द्रकुमार राई, बलराम अधिकारी, वासुदेव घिमिरे र मेनकाकुमारी पोखरेल ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति:– रघुवीर महासेठ, शान्ति चौधरी, अमृतादेवी अग्रहरी, हेमराज राई, लालप्रसाद साँवा, रामशंकर यादव, मङ्गलप्रसाद गुप्ता र लक्ष्मी महतो कोइरी ।  
कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति:- ज्वालाकुमारी शाह, सूर्यप्रकाश ढकाल, बिजुला रायमाझी, सरस्वती सुब्बा, अमृतलाल राजवंशी, गङ्गाप्रसाद यादव, मानवीर राई र सूर्यकुमारी श्रेष्ठ । 
महिला तथा सामाजिक मामिला समिति: टोपबहादुर रायमाझी, ईश्वरीबहादुर रिजाल, शान्ति श्रेष्ठ, शोभा ज्ञवाली, हर्कमाया विश्वकर्मा, आश्मा चौधरी र विना देवी । 
पूर्वाधार विकास समिति:- गोकर्ण विष्ट, ठाकुर गैरे, वसन्त नेम्वाङ, महेश बस्नेत, निर्मला कोइराला (देवकोटा), दयालबहादुर शाही, प्रेमबहादुर महर्जन र राजकुमार गुप्ता । 
​​​​​​​शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति:-  छविलाल विश्वकर्मा, विद्या भट्टराई, प्रभु हजारा दुसाध, ईश्वरी घर्ती, सरिता भुसाल, दिपा शर्मा, उर्मिला थेवे र कालुराम राई ।

मिटरब्याजपीडितलाई निवेदन दिन आयोगको आह्वान

काठमाडौं – अनुचित लेनदेन (मिटरव्याज ) सम्बन्धि जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले मिटरब्याजपीडितलाई निवेदन दिन आह्वान गरेको छ।

बिहीबार आयोगले यही वैशाख १७ देखि ३१ गतेसम्म निवेदन सकिने जनाएको छ ।  आयोगको कार्यालय वा सम्बन्धित् जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सकिने आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिएका छन् । 

जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजपीडित सहायता कक्ष पनि स्थापना गरिएको र सोही स्थानबाट निःशुल्क फारम पाइने र भर्न नसक्नेका लागि प्रशासनकै कर्मचारीले सहयोग गरिदिने आयोगले जनाएको छ । 

तराई मधेशका विभिन्न जिल्लाबाट काठमाडौं आएर मिटरब्याजपीडित संघयर्षरत् छन् । सरकारले समस्या समाधान गर्न नखोजेको भन्दै उनीहरु वार्ता नै भंग गरेर आन्दोलनमा उत्रिएका थिए । 

सरकारले मिटरब्याजपीडितको समस्या समाधान गर्न विषेश अदालका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्य जाँचबुझ आयोग गठन गरेको हो । आयोगको सदस्यमा पूर्व नायव महान्याधिवक्त गणेशबाबु अर्याल र पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदी रहेका छन् ।

सेयर बजार २.२७ अंकले घट्याे

काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेको छ । यसअघि बुधबार १३.६८ अङ्कले घटेको सेयर बजार बिहीबार २.२७ अंकले घटेको हो ।

नेप्से परिसूचक २.२७ अङ्कले घटेर १८८९.७३ को विन्दुमा झरेको छ । बिहीबार १३ उपसूचकहरु मध्ये बैंकिङ र होटल तथा पर्यटनबाहेक सबै उपसूचकहरुमा ओरालो लागेको छ । 

यसैगरी, २६९ कम्पनीको २१ लाख ७४ हजार ९१४ कित्ता सेयर कारोबार हुँदा ७३ करोड ९६ लाख रुपैयाँभन्दा बढी रुपैयाँको कारोबार भएको हो । यो मूल्य अघिल्लो दिनको तुलनामा कम हो । 

सबैभन्दा धेरै एभरेष्ट बैंक, नविल बैंक र सिवम सिमेन्टको ३ करोड रुपैयाँ भन्दाबढिको सेयर किनबेच भएको हो। यसैगरि बिहिबार सिटिजन्स म्युचुअल फण्ड दुई र तेरथुम पावर कम्पनीको ५ प्रतिशतले मूल्य बढेको छ । 

कोरोना सङ्क्रमित एकको मृत्यु

काठमाडौँ – कोरोना सङ्क्रमित थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीका अनुसार आज एक कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।

आजमात्रै कोरोनाबाट एक सय ११ नयाँ सङ्क्रमित थपिएका हुन् । जम्मा दुई हजार पाँच सय १७ नमूना परीक्षणबाट एक सय ११ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकामा अहिले कोरोना सङ्क्रमितको सङ्ख्या तीन सय ७८, संस्थागत आइसोलेसनमा १८ र सघन उपचार कक्षमा छ बिरामी रहेका छन् । यस्तै भेन्टिलेटरमा एक बिरामी छन् ।

परिवार कल्याण महाशाखाअन्र्तगतको बालस्वास्थ्य तथा खोपसेवा शाखाका प्रमुख डा अभियान गौतमका अनुसार देशभर कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्यासमेत बढ्न थालेको छ । उहाँले खोप लगाउन छुटेका व्यक्तिलाई केन्द्रमा राखेर खोप अभियान सञ्चालन भइरहेको जनाउँदै नजिकैको स्वास्थ्य केन्द्रबाट छुटेका सबैलाई पहिलो, दोस्रो र बुस्टर खोप लगाउन आग्रहसमेत गर्नुभएको छ ।

नीति अधिवेशन बोलाएर कांग्रेसलाई समयानुकूल बनाउन माग

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तत्काल पार्टीको केन्द्रीय कार्यसमिति बैठक राखेर नीति अधिवेशन बोलाउन आग्रह गर्नुभएको छ ।

सम्पर्क समितिसँगको छलफलका क्रममा आज यहाँ आयोजित कार्यक्रममा उहाँले उपनिर्वाचनले देखाएको बदलिँदो राजनीतिक परिस्थितिका विषयमा नीति अधिवेशन बोलाएर समीक्षा गर्नुपर्ने बताउनुभयो ।

प्रत्येक दुई÷दुई महिनामा बस्नुपर्ने केन्द्रीय कार्यसमितिको बैठक सात महिनासम्म बस्न नसक्दा पार्टीमा वैचारिक र साङ्गठनिक गतिविधि शून्य हुन पुगेको नेता महरको भनाइ छ । गत मङ्सिर ४ मा आम निर्वाचन भएर यही वैशाख १० मा उपनिर्वाचन भइसक्दासमेत केन्द्रीय समिति बैठक बस्न नसकेको उहाँले बताउनुभयो ।

“पार्टीलाई व्यवस्थित, समयसान्दर्भिक र परिस्कृत बनाउनका लागि पनि चाँडोभन्दा चाँडो नीति अधिवेशन आह्वान गर्नुपर्छ । अब हामी नीति, नेतृत्व र कार्यक्रममाथि केन्द्रित हुनुपर्छ”, नेता महरले भन्नुभयो ।

उपनिर्वाचनको नतिजाले पनि कांग्रेस पूर्णरूपमा परिस्कृत हुनुपर्ने सन्देश दिएको उल्लेख गर्दै उहाँले नागरिकको भावनानुसार काम गर्न सकेमात्रै मुलुकमा स्थायित्वको राजनीति गर्न सकिने बताउनुभयो । उपनिर्वाचनको नतिजा मूल धारका राजनीतिक दलभन्दा बाहिर जानु चिन्ताको विषय भएको उहाँको भनाइ थियो ।

“हामीमा राम्रा कामको जस लिने र गलत काम भए क्षमा माग्दै सच्चिँदै जनभावनाअनुसार अगाडि बढ्ने भावनाको विकास गर्ने परिपाटी बसाउँदै जानुपर्छु”, नेता महरले भन्नुभयो, “पछिल्लो राजनीतिक स्थितिले नीति र नेतृत्वमा बदलाब र गतिशीलता खोजेको सङ्केत दिएको छ । हामी यसका लागि तयार हुनुपर्छ ।” समाज परिवर्तनशील हुने भएकाले राजनीतिक दल पनि सोहीअनुरुप गतिशील हुनसक्नुपर्ने उहाँको तर्क थियो ।

ब्याजदरकाे समस्या समाधान हुन्छ : अर्थमन्त्री महत

विराटनगर – अर्थमन्त्री प्रकाशशरण महतले ब्याजदरको समस्या आगामी मौद्रिक नीतिमार्फत समाधान हुने बताउनुभएको छ । आगामी आर्थिक वर्षको बजेट एवं राजस्व नीति तर्जुमाका सन्दर्भमा आज यहाँ आयोजित कोशी प्रदेशस्तरीय अन्तरक्रियामा उहाँले मौद्रिक नीतिमार्फत ब्याजदर घटाइने बताउनुभयो ।

“अर्थतन्त्रमा देखिएको शिथिलता किन आयो भन्ने निजी क्षेत्र जानकार छ”, उहाँले भन्नुभयो, “ब्याजदरका विषयमा मौद्रिक नीति खुकुलो गर्न जरुरी छ, यसका लागि नेपाल राष्ट्र बैंकलाई भनिसकेको छु ।” उहाँले राष्ट्र बैंकले यसलाई गम्भीररुपमा लिएको र छिट्टै एउटा निर्णयमा पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्र बैंकलाई स्वतन्त्ररुपमा काम गर्ने अधिकार भएको भन्दै उहाँले एउटा परिवेशमा राष्ट्र बैंकले मौद्रिक नीतिमा कसिकसाउ गरेको भए पनि अब भने खुकुलो गर्न जरुरी रहेको बताउनुभयो । उहाँले मौद्रिक नीतिमार्फत् बजारमा पुँजी प्रवाह आवश्यक रहेको बताउनुभयो । “ब्याजदरले अवश्य पनि समस्या सिर्जना गरेको छ । अब मौद्रिक नीतिमार्फत पुँजी प्रवाह जरुरी छ”, उहाँले भन्नुभयो, “यसमार्फत उद्योग व्यवसायलाई सहयोग पुग्नेछ ।”

उहाँले अहिले पुँजीगत खर्च कम भएको भन्दै यसलाई बढाउन आवश्यक रहेको उहाँको भनाइ छ । “हाम्रो ठेक्का प्रक्रिया, ‘साइट क्लियरेन्स’लगायतमा समस्या छ”, उहाँले भन्नुभयो, “यसले गर्दा आयोजनाको काम अपेक्षा अनुसार अघि बढ्न सकेको छैन ।” उहाँले आर्थिक वर्षको अन्तिम त्रैमासमा ठेक्का लगाउने परम्परा हटाउनुपर्ने धारणा राख्नुभयो ।

आर्थिक वर्षको पहिलो दिनबाट काम सुरु गर्नुपर्ने भन्दै उहाँले यसका लागि सबै मन्त्रालयका साथीसँग कुरा गरिरहेको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षको बजेट प्रस्तुतका लागि एक महिना बाँकी रहेको भन्दै बजेटमार्फत समस्या समाधानमा आफू इमान्दारिताका साथ लाग्ने स्पष्ट पार्नुभयो ।

“अर्थतन्त्र गाडी कुदेको जस्तै हो, गाडीमा, स्टेरिङ मात्रै राम्रो भएर हुँदैन अन्य पक्ष पनि राम्रो हुनुपर्छ”, उहाँले भन्नुभयो, “सबैले आ–आफ्नो जिम्मेवारी एक साथ पूरा गरेमात्रै गाडी गन्तव्यमा पुग्नसक्छ ।” उहाँले निजी क्षेत्रलाई समस्याका कारण र नतिजा बुँदागत रुपमा उल्लेख गरी सुझाव दिन आग्रह गर्नुभयो ।

गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

काठमाडौँ – गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।

बिहिबार उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्ति गरेका हुन् । नेता पाण्डेलाई नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ३५ सांसदको समर्थन छ ।

गत शनिबार विश्वासको मत पाउन नसकेपछि नेकपा (एमाले)का खगराज अधिकारी नेतृत्वको सरकार ढलेको थियो ।

देश सिद्ध्याउने नेतृत्व गठबन्धनले गर्यो : अध्यक्ष ओली

इलाम – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट भनेको विशेष विचार र आचरणको व्यक्ति भएको बताउनुभएको छ। 

नेकपा एमाले इलामको प्रथम जिल्ला प्रतिनिधि परिषद् बैठकलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले आज कम्युनिष्ट भए पछि जे गरे पनि हुन्छ भन्ने धारणा बढ्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आचार, विचार जे पनि हुने, जे पनि गर्ने, आफ्नो पार्टीलाई भोट हाले पनि हुने, नहाले पनि हुने व्यक्ति कम्युनिष्ट हुन सक्दैन ।’

हिंसा र आतङ्क मच्चाउने, समाज भाँड्ने भँडुवा कम्युनिष्ट नहुने उहाँले बताउनुभयो । समाज रूपान्तरण गरेर सही बाटोमा लैजाने गुण कम्युनिष्टमा हुनु पर्ने उहाँको भनाइ छ। 

देश दुनियाँ एमाले सिध्याउन लाग्दा पनि इलामका दुवै निर्वाचन क्षेत्रमा एमालेले चुनाव जितेको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो। राज्यका अङ्ग एमालेका विरुद्ध प्रयोग हुँदा पनि नेकपा एमाले देशको सर्वाधिक लोकप्रिय पार्टी बनेको उहाँले बताउनुभयो। 

अहिले एकातिर राष्ट्र बनाउने, समृद्ध नेपाल, सुखी नेपाली बनाउने शक्ति रहेको र अर्कोतिर देश सिद्ध्याउने शक्ति रहेको ओलीले बताउनुभयो । राष्ट्र बनाउने शक्तिको नेतृत्व नेकपा एमालेले गरेको र देश सिद्ध्याउने नेतृत्व गठबन्धनले गरेको उहाँको भनाइ छ । 

माओवादी र सरकाले देश भरी आतङ्क मच्चाउँदा पनि एमाले सधैँ शान्तिको पक्षमा लडेको ओलीले बताउनुभयो । नेकपा एमाले सधैँ सत्यको पक्षमा रहेको ओलीले प्रष्ट पार्नुभयो ।  

एमालेको काँधमा ठूलो जिम्मेवारी रहेको ओलीले बताउनुभयो । देश बनाउने जिम्मा नै एमालेको काँधमा रहेको उहाँले प्रष्ट पार्नुभयो । एमाले एक भयो भने यी सबै काम गर्न सक्ने उहाँले बताउनुभयाे। 

कामनपाले बालाजुस्थित कोतः धुक आयल स्टोर नामको पेट्रोल पम्प सिल गर्यो

काठमाडौं – काठमाडौं महानगरपालिकाले बालाजुस्थित कोतः धुक आयल स्टोर नामको पेट्रोल पम्प सिल गरेको छ।

महानगरपालिकाले मापदण्ड विपरीत ५ वर्षदेखि घरको सटरमा सञ्चालन भइरहेको बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको हो ।

सडकमै निर्बाध पेट्रोल पम्प चलाइएकाले सिल गरिएको नगर प्रहरी प्रमुख पाण्डेले जानकारी दिए। उनले भने, ‘बाटोमै निर्बाध सञ्चालन गरिएको छ, तत्काल सिल गर्न लागेका हौँ, सिल गरेपछि बन्द होला नभए हटाउँछौँ।’

बालाजु–ठमेल सडकको दायाँतर्फ रहेको कोतःधुकु आयल स्टोरका कारण असुरक्षा बढेको उजुरीपछि गत १० फागुनमा काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रका सबै पम्पको अवस्थाबारे निगमलाई सोधेको थियो ।

यसअघि काठमाडौं महानगरपालिकाले आयल निगमले मापदण्ड विपरीत रहेका पेट्रोल पम्पहरु हटाउन सहजीकरण नगरेको भन्दै गुनासो गर्दे आएको थियो ।

२०७५ सालमा फ्यूल पम्प सम्बन्धी विनियमावली संशोधन भएपछि सरकारले मुख्य सडक किनार, घना वस्ती र संवेदनशील क्षेत्रका १८ वटा पम्प हटाउने निर्णय ०७६ मा गरेको थियो । ती मध्ये १६ वटा पम्प राजनीतिक पहुँच लगाएर अझै पनि यथास्थानमै सञ्चालनमा छन् । त्यसमध्ये कोतःधुकु एक रहेको थियो ।

केही समयअघि मात्रै उक्त पेट्रोल पम्पका कारण असुरक्षा बढेको उजुरी परेपछि महानगरले आफ्नो क्षेत्रका सबै पम्पको अवस्थाबारे निगमबाट जानकारी लिएको थियो।

एसीसी प्रिमियर कप : कतारलाई हराउँदै नेपाल बन्यो समूह विजेता

काठमाडौँ – जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को अन्तिम खेलमा कतारविरुद्ध नेपालले जीत निकालेकाे छ ।

बिहीबार कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको हो ।

कीर्तिपुरमा भएको खेलमा नेपालले दिएको १५७ रनको लक्ष्य पछ्याएको कतार ८९ रनमात्र बनाउन सक्यो । कतारलाई सस्तैमा अलआउट गर्ने क्रममा नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए । त्यस्तै सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए ।

कञ्चनपुरमा कोरोना सङ्क्रमण बढ्यो

दोधारा चाँदनी – पछिल्लो एक सातायता कञ्चनपुरमा कोरोना सङ्क्रमण बढेको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार बुधबार मात्रै कञ्चनपुरमा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा अधिकांश भारतबाट नेपाल फर्किनेहरु छन ।

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड फोकल पर्सन शिद्धराज भट्टले भारतबाट आउनेमा सङ्क्रमण देखिएको बताउनुभयो । “पहिला जस्तो सिकिस्त बिरामी पर्ने खालको देखिएको छैन ।” उहाँले भन्नुभयो–“अहिले सीमानाका गड्डाचौकीमा भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण जाँच भइरहेको छ ।”

यहाँको बेलौरी नगरपालिकामा सबैभन्दा बढी सङ्क्रमित देखिएका छन । जिल्लामा जम्मा सक्रिय सङ्क्रमित २६ जनामध्ये २४ जना बेलौरीकै छन् । बैलौरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयसिंह बोहराले सङ्क्रमित हुने अधिकांश भारतबाट आएका रहेको बताउनुभयो ।

“बुधबार शङ्कास्पद १६ जनाको परीक्षण गर्दा नौ जनामा सङ्क्रमण देखिएको छ ।” उहाँले भन्नुभयो–“अहिले शङ्कास्पद बिरामीको मात्रै परीक्षण गर्ने गरेका छौँ ।”

गड्डाचौकी हेल्थ डेस्क प्रमुख प्रिति बोहराले भारतबाट आउनेमा कोरोना सङ्क्रमण देखिएको बताउनुभयो । “बुधबार तीन जनामा सङ्क्रमण देखिएको छ ।” उहाँले भन्नुभयो–“अहिले घर फर्किनेको सङ्ख्या कम छ ।” बुधबार नाकामा एक सय ४९ जनाको कोरोना परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको हो । अहिले कञ्चनपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या २६ रहेको छ ।

प्राप्त उपलब्धि रक्षामा प्रेसको भूमिका महत्वपूर्ण

गण्डकी – नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जनताको बलबाट प्राप्त उपलब्धिको रक्षाका लागि प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

प्रेस चौतारी कास्की शाखाद्वारा आज आयोजित पुरस्कार वितरण कार्यक्रममा उहाँले संविधान, राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रता र स्वाभिमानको रक्षामा सञ्चारमाध्यमले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

उहाँले प्राप्त उपलब्धि रक्षाका लागि मुलुकका ठूला राजनीतिक दल सङ्गठित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले दर्शन र सिद्धान्त स्पष्ट नहुने पार्टीबाट विकासको अपेक्षा गर्न नसकिने बताउनुभयो ।

प्रदेशका पूर्वमुख्यमन्त्री गुरुङले सङ्घीयताको मर्मअनुसार सरकारले काम गर्नुपर्ने सुझाव दिनुभयो ।

एमालेका सचिव एवं गण्डकी प्रदेश इञ्चार्ज पद्मा अर्यालले सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गरी जनतालाई सुसूचित गर्न प्रेस जगत सधैँ सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले संविधानको रक्षाका लागि पत्रकार राजनीतिकभन्दा माथि उठ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले नेपाली प्रेसले लोकतन्त्रका पक्षमा कलम चलाउँदै आएको उल्लेख गर्नुभयो ।

सो अवसरमा प्रेस चौतारी पत्रकारिता पुरस्कार २०७५ देखि ०७९ बाट पाँच पत्रकारलाई प्रदान गरिएको थियो । सो पुरस्कार श्यामनाथ कुँवर, रामकृष्ण ज्ञवाली, दीपेन्द्र श्रेष्ठ, केशव पाठक र सुष्मा पौडेललाई प्रदान गरिएको थियो ।

पुरस्कारको राशि जनही रु ११ हजार १११ र सम्मानपत्र रहेको छ । कार्यक्रममा प्रेस चौतारी कास्की सम्मान २०७९ पत्रकार राजु भण्डारी र सावित्री खनाललाई अर्पण गरियो ।

इम्बोस्ड नम्बर : प्रदेशको नाम नेपालीमा, अन्य यथावत

काठमाडौँ – सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम देवनागरी र अन्य नम्बर अङ्ग्रेजीमा राख्ने टुङ्गो लागेसँगै सरकारले सोहीअनुसार नम्बर प्लेट छपाइ गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ ।

प्रदेशको नाम नेपालीमा लेख्ने गरी टुङ्गो लागेको र अन्य विषय यथावत रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव इन्जिनियर अर्जुनजङ्ग थापाले जानकारी दिनुभयो । “जुन प्रदेशको नाम लेखिएको थियो त्यो नेपालीमा हुन्छ । नम्बर प्लेटमा नेपालको झण्डा रहेको छ । त्यसले नेपालको सवारीसाधन भन्ने जनाइहाल्छ”, उहाँले भन्नुभयो । इम्बोस्ड नम्बर आपूर्ति गर्न बङ्गलादेशको कम्पनी टाइगर आइटीले जिम्मा पाएको छ । पाँच वर्षभित्र २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्नेगरी विसं २०७३ मा सम्झौता भएको थियो ।

सरकारले इम्बोस्डमा राख्ने भाषा टुङ्गो लगाए पनि प्राविधिक विषय मिलाउनुपर्ने भन्दै ठेकेदार कम्पनीले अझै नम्बर प्लेट छपाइ गरेको छैन । “नम्बर प्लेटमा देवनागरी लिपि राख्नका लागि उनीहरुको सिस्टममा परिवर्तन गर्नुपर्ने रहेछ”, इन्जिनियर थापाले भन्नुभयो, “उनीहरुले त्यसका लागि तयारी गर्दैछ । अब छिट्टै सुरु हुन्छ । हामीले सोहीअनुसार तयारी गर्न भनेर सम्बन्धित ‘पार्टी’लाई निर्देशन दिएका छौँ ।”

विविआइएनअन्तर्गतका बङ्गलादेश, भूटान र भारतमा समेत नेपाली सवारीसाधन चल्ने र उनीहरुको उपकरणले नेपाली नम्बर प्लेटलाई बुझ्नसक्ने हुनुपर्ने भएकाले इम्बोस्ड नम्बरमा नेपाली र अङ्ग्रेजी भाषाको प्रयोग गरिएको उहाँको भनाइ थियो । भारत, चीनलगायत कतिपय मुलुकमा समेत इम्बोस्ड नम्बर अङ्ग्रेजीमा छपाइ हुने गरेको इन्जिनियर थापाले सुनाउनुभयो ।

यही वैशाख १२ गतेको प्रतिनिधिसभा बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले इम्बोस्ड नम्बर नेपालीमा, नेपाली तथा अङ्ग्रेजीमा र अङ्गे्रजीमा गरी तीनवटै विकल्पमा छपाइ गर्ने गरी मन्त्रिपरिषद्बाट निर्णय भइसकेको र केही समयमै लागू हुने जानकारी गराउनुभएको थियो ।

गत चैत २० गते बसेको मन्त्रिपरिषद् बैठकले इम्बोस्ड नम्बर प्लेट देवनागरीमा छपाइ गर्न पाउने निर्णय गरेको थियो । तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा इम्बोस्ड नम्बर देवनागरीमा छपाइ गर्ने विषयलाई अगाडि बढाइएको बताउनुभएको थियो । “त्यसका लागि सम्बन्धित एजेन्सीसँग पनि हामी छलफलको प्रक्रियामा छौँ । त्यो प्रक्रिया अघि बढाउने कार्ययोजना बनाएर हामी त्यसलाई तीव्रता प्रदान गर्न गइरहेका छौँ”, उहाँले भन्नुभएको थियो ।

सरकारले अङ्ग्रेजीमा इम्बोस्ड नम्बर छपाइ गर्न अनिवार्य गरेको भन्दै नेपाली भाषा बचाउ अभियन्ताले विरोध जनाउँदै आएका थिए । धेरै पटक सवारीसाधनमा राखिने इम्बोस्ड नम्बर नेपालीमा राख्नुपर्छ भनेर पनि बहस हुँदै आएको थियो । यसअघि इम्बोस्ड नम्बर अङ्ग्रेजीमा छपाइ हुँदै आएको थियो ।

निर्देशनको पर्खाइमा विभाग

सरकारले देवनागरी लिपिमा इम्बोस्ड नम्बर छपाइ गर्ने भने पनि मन्त्रालयबाट स्पष्ट निर्देशन नआउँदा यातायात व्यवस्था विभागले सो कार्य अगाडि बढाउन नसकिएको जिकिर गरेको छ । विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले यससम्बन्धमा विभागबाट कुनै तयारी नभएको र मन्त्रालयको निर्देशनको पर्खाइमा आफूहरु रहेको बताउनुभयो ।

“देवनागरी लिपिमा छाप्ने भन्ने भयो, तर कुनकुन अक्षर र अङ्क देवनागरीमा छाप्ने भन्ने स्पष्ट भएको छैन”, उहाँले भन्नुभयो, “मन्त्रालयबाट निर्देशन आएपछि मात्रै काम सुरु हुन्छ ।” विभागले अहिले पुरानै व्यवस्थाअनुसार इम्बोस्ड छपाइ गरिरहेको छ । “अङ्ग्रेजीलाई अमान्य भनेको होइन, इम्बोस्ड नम्बरका लागि प्राप्त ‘अर्डर’ अनुसार प्लेट छपाइ भइरहेको छ”, सूचना अधिकारी पनेरुले भन्नुभयो । हालसम्म करिब तीन लाख इम्बोस्ड नम्बर छपाइ भएको छ ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा डिल्ली चौधरीद्वारा दाबी पेस

रूपन्देही – लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीका लागि दाबी पेस गर्नुभएकोछ। नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार ८ दलका ५३ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष उनले दाबी पेस गर्नुभएको हो ।

चौधरीलाई कांग्रेसहित माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदको समर्थन छ।

चौधरीलाई कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्तिका ४, जनमत, जसपा र लोसपाका ३/३ र जनमोर्चा, नेकपा एस र स्वतन्त्रका १/१ जनासहित ५३ जनाको समर्थन छ । माओवादीका ११ मध्ये एक जना तुलाराम घर्ती सभामुख छन् ।

८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ मत आवश्यक पर्छ ।

चौधरी दाङको निर्वाचन क्षेत्र नं. ३ (१)बाट निर्वाचित हुन् । 

बालिका बलात्कारको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ

बैतडी – बालिका बलात्कारको आरोपमा बैतडीमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिकाका– ७० वर्षीय वृद्ध रहेका छन् ।

पीडित बालिका र आरोपित वृद्धको थर एउटै रहेकाले नाम सार्वजनिक नगरिएको इलाका प्रहरी कार्यालय, पाटनका प्रहरी निरीक्षक कमल चौधरीले जानकारी दिनुभयो ।

गत पुसमै बालिकामाथि बलात्कार भएको भए पनि आरोपित वृद्धले घटनाबारे कसैलाई भने ज्यान मार्ने धम्की दिँदै आएकाले ढिला गरी घटना बाहिरिएको हो । पीडित बालिकाकी आमाले वृद्धको नाममा जाहेरी दिएपछि उनलाई पक्राउ गरी प्रहरी हिरासतमा राखिएको छ ।

उनीमाथि जबरर्जस्तीकरणीसम्बन्धी मुद्दा दर्ता भइ १० दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्यपरीक्षण गरिएको र रिपोर्ट आउँन बाँकी रहेको प्रहरी निरीक्षक चौधरीको भना

विद्यालयमा राजनीतिक दल तथा भातृ सङ्गठनका कार्यक्रम नगर्न कामपाको निर्देशन

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले महानगर भित्रका केही विद्यालयमा राजनीतिक दल तथा तीनका भातृ सङ्गठनका कार्यक्रम सञ्चालन भएकामा ध्यानाकर्षण भएको जनाएको छ । प्रचलित शिक्षा ऐन तथा नियमावली विपरीत राजनीतिक दल र भातृ सङ्गठनका कार्यक्रम गरिएको प्रमाणसहितको उजुरी कामपा शिक्षा विभागमा आएकाले अब उप्रान्त त्यस्ता कार्यक्रम नगर्न निर्देशन पनि दिइएको छ ।

कामपा शिक्षा अधिकारी सीताराम कोइरालाका अनुसार उजुरीको आधारमा सम्बद्ध विद्यालयमा अनुगन गर्ने र त्यस्ता कार्यक्रम गरेको पाइए सम्बन्धित विद्यालयका प्राधानाध्यापकलाई विभागीय कारबाहीसमेत गर्ने तयारी कामपाको छ ।

यसैगरी यसै शैक्षिक सत्रदेखि सबै सामुदायिक विद्यालयमा ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सुरु गर्न लागिएको छ । सो बमोजिम अब विद्यार्थीले प्रत्येक शुक्रबार किताब नबोकी नियामित समयममै विद्यालय जान्छन् र अन्य अतिरिक्त क्रियाकलाप गरेर वा व्यवहारिक ज्ञान लिएर घर फर्कन्छन् । प्रत्येक सामुदायिक विद्यालयले उक्त कार्यक्रम अनिवार्य लागू गर्नुपर्ने छ । अहिले विद्यालयमा धमाधम भर्ना अभियान सञ्चालन भइरहेको छ भने केही विद्यालयमा पठनपाठनसमेत सुरु भइसकेको छ ।

उक्त कार्यक्रम सञ्चालनका लागि कामपाको प्रत्येक सामुदायिक विद्यालयलाई पत्राचार गर्नाका साथै प्राधानाध्यापकसँग छलफल पनि भइसकेको छ । सबै शुक्रबार किताबको ज्ञानभन्दा केही फरक कार्यकम गर्न लागिएको र यो विद्यार्थीको लागि जीवनोपयोगी शिक्षा हुने अधिकारी कोइरालाको भनाइ थियो । उक्त कार्यका लागि कामपाले प्रत्येक माध्यमिक विद्यालयलाई रु एक लाखका दरले बजेट वितरण गरिसकेको र आगामी वर्ष बढाएर कम्तीमा रु दुई लाख बजाउने तयारी छ ।

उक्त कार्यक्रम यसवर्ष सामुदायिक विद्यालयमा र आगामी वर्षदेखि निजी विद्यालयमा पनि विस्तार गरिने छ । हाल कामपामा ८९ सामुदायिक विद्यालय रहेकामा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय छन् । ती विद्यालयमा ५२ हजार विद्यार्थीले अध्ययन गर्दछन् । त्यसैगरी पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत छन् ।

यसरी गरिने अतिरिक्त क्रियाकलाप (हाजिरी जवाफ, कविता लेखन र वाचन, निबन्ध लेखन र वाचनलगायत समूगत छलफल) मध्याह्नपछि खेल्दै रमाउँदै कार्यक्रम सञ्चालन गरिने छ । उक्त कार्यक्रम कक्षा १ देखि १० सम्मका सबै विद्यार्थीका लागि हो ।

राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न मुस्किल

भजनी – चालु आर्थिक वर्षमा कैलालीको सत्ती भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न मुस्किल देखिएको छ । भन्सार कार्यालयको मासिक राजस्व सङ्कलनको अवस्था हेर्दा लक्ष्यको आधा रकम पनि सङ्कलन नभएको देखिएकाले चालु आर्थिक वर्षमा लक्ष्य भेटाउन मुस्किल पर्ने देखिएको हो ।

भन्सार कार्यालयले चालु आर्थिक वर्ष सकिन तीन महिना बाँकी रहँदा चैत मसान्तसम्म रु पाँच करोड ३१ लाख ६८ हजार एक सय ८७ अर्थात् कूल लक्ष्यको ३१ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको छ । भन्सारले १६ करोड ९४ लाख ४१ हजार राजस्व सङ्कलनको लक्ष्य लिएको थियो । लक्ष्य पूरा गर्नका लागि भन्सार कार्यालयले बाँकी रहेको तीन महिनामा ११ करोड ६२ लाख ७२ हजार आठ सय १३ रुपैयाँ राजस्व सङ्कलन गर्नुपर्ने देखिन्छ ।

भन्सार कार्यालयका निमित्त प्रमुख तुलसीराम थारुले चालू आर्थिक वर्षमा राजस्वको लक्ष्य भेटाउन मुस्किल रहेको बताउनुभयो । “चैतसम्म कूल राजस्वको ३१ प्रतिशत मात्रै सङ्कलन भएको छ । अब तीन महिनामा त्यस्तो कुनै चमत्कार नै भन्न सकिँदैन, नभए यस वर्ष लक्ष्य पूरा हुँदैन”, उहाँले भन्नुभयो, “अहिलेको आर्थिक मन्दीका कारण राजस्व सङ्कलनमा गिरावट आएको हो । दिनभर भन्सार सुनसान हुँदा राजस्व कसरी उठ्छ ? उहाँका अनुसार उठेको राजस्व पनि सबै आयातीत सामानबाट सङ्कलन भएको हो ।”

सत्ती भन्सारबाट निर्यात भने शून्य जस्तै भएको निमित्त प्रमुख थारु बताउनुहुन्छ । “भन्सारबाट आउने सबैभन्दा बढी भनेको हार्डवयरको सामान हो । त्यसपछि छिटफुट कपडालगायतका सामानको आयात हुन्छ”, थारुले भन्नुभयो, “त्यसबाहेकको सामान आयात निकै कम हुन्छ । तरकारीलगायतका वस्तुको आयातका लागि क्वारेन्टाइन छैन । त्यो भए राजस्व बढ्थ्यो की ? ।”

मूल भन्सार कायम भएपछि सत्ती भन्सार कार्यालयले एक वर्षमात्रै लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको देखिन्छ । आर्थिक वर्ष २०७७÷७८ मा भन्सार कार्यालयले एक सय ११ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । उक्त आर्थिक वर्ष भन्सार कार्यालयले रु १४ करोड २३ लाख ४८ हजार राजस्व सङ्कलनको लक्ष्य पाएकामा रु १५ करोड ८३ लाख सात हजार नौ सय ७३ राजस्व सङ्कलन गरेको थियो । त्यसभन्दा अन्य कुनै पनि वर्ष लक्ष्यअनुसारको राजस्व सङ्कलन नभएको थारु बताउनुहुन्छ ।

गत आवमा पनि भन्सारले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न सकेन । भन्सारले गत वर्ष पनि रु २० करोड ५८ लाख ६१ हजारको लक्ष्य लिएकामा रु १० करोड ६७ लाख ९३ हजार छ सय चार राजस्व सङ्कलन गर्न सकेको थियो । यो लक्ष्य सत्ती भन्सार कार्यालय स्थापनादेखिकै सबैभन्दा बढी हो । आर्थिक वर्ष २०७५÷७६ मा मूल भन्सारका रुपमा विकास भएको सत्ती भन्सार कार्यालयले त्यस वर्ष लक्ष्यको ६३ दशमलव २३ प्रतिशत अर्थात् रु पाँच करोड ६९ लाख ११ हजार छ सय ७३ राजस्व सङ्कलन भएको थियो । भन्सारलाई रु नौ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिइएको थियो ।

सञ्चारसम्बन्धी समस्या चाँडो समाधान गर्छौँ : सञ्चारमन्त्री शर्मा

देउखुरी – नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारसम्बन्धी समस्या चाँडै समाधान गर्ने बताउनुभयो ।

प्रेस सेन्टर दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले सरकार कानुन निर्माणका विषयमा गम्भीर रहेको बताउनुभयो । “नीति तथा बजेट बनाउने तयारीमा छौँ, कम लगानीमा बढी प्रतिफल दिने योजनाका बारेमा छलफल भइरहेको छ”, उहाँले भन्नुभयो ।

मन्त्री शर्माले दाङमा सञ्चार नेटवर्कको समस्या भएको ठाउँको पहिचान गर्ने तथा सञ्चारसम्बद्ध समस्याको समाधान गर्ने तयारीमा सरकार रहेको बताउनुभयो । “सार्वजनिक, सामाजिक स्थान र सरकारी विद्यालयमा सञ्चारको पहुँच पु¥याउन पहल भइरहेको छ ”, उहाँले भन्नुभयो ।

मन्त्री शर्माले घोराही–तुलसीपुर चार लेन सडक आयोजनाको काम नयाँ ढङ्गबाट थालनी गर्ने प्रक्रिया अघि बढेको जानकारी दिनुभयो । सरकारले बजेटको सिलिङ घटाएर कम लगानीमा बढी प्रतिफल दिने योजनालाई प्राथमिकतामा राख्न खोजेको उहाँको भनाइ थियो ।

“अनुत्पादक क्षेत्रमा बजेट खर्च हुँदा राज्यलाई व्ययभार बढेको छ, नागरिकलाई लाभ हुने आयोजनामा मात्र सरकारले ध्यान केन्द्रित छ”, उहाँले भन्नुभयो । सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पु¥याउन, सीमा समस्या समाधान गर्न, राज्यको शासन प्रणाली व्यवस्थित बनाउने सवालमा सर्वदलीय सहमति जुटाउने गरी काम भइरहेको मन्त्री शर्माले बताउनुभयो ।

एसीसी प्रिमियर कप : नेपालद्वारा कतारसामु १५८ रनको लक्ष्य

काठमाडौँ – एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ए’ को अन्तिम खेलमा नेपालले कतारसामु जितका लागि १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४० दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै एक सय ५७ रन बनायो । नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ५८ बल खेल्दै छ चौका प्रहार गरे । यस्तै कप्तान रोहितकुमार पौडेलले २७, आसिफ शेखले १९, दीपेन्द्रसिंह ऐरीले १२ तथा सोमपाल कामी र आरिफ शेखले समान ११÷११ रन बनाए ।

बलिङतर्फ कतारका लागि अमिर फारिक र ओवाइस अहमदलले समान तीन÷तीन विकेट लिए । यस्तै गयान मुनवाराले दुई विकेट लिए । नेपालले यसअघि खेलेका तीन खेलमध्ये दुईमा जित तथा एउटामा अङ्क बाँडेको थियो । नेपाल हालसम्म पाँच अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा छ ।

नेपालले पहिलो खेलमा मलेसियालाई छ विकेटलले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो । नेपालले साउदी अरेबियासँग वर्षाको कारण अंक बाँडेको थियो । आजको खेलमा जित हासिल गरे नेपाल समूह ‘ए’ को विजेता बन्ने छ । कतार हालसम्म खेलेका तीनवटै खेलमा जितविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । कतारले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

गण्डकीमा नयाँ सरकार बन्दै

गण्डकी – गण्डकी प्रदेशमा आज नयाँ सरकार बन्दैछ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) मिलेर नयाँ संयुक्त सरकार बनाउन लागेका हुन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि दिएको समय आज अपराह्न ४ बजे सकिँदैछ । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य विन्दुकुमार थापाले तोकिएको समयावधि भित्रै गठबन्धनबाट मुख्यमन्त्रीमा दाबी पेस गरिने बताउनुभयो । कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गर्ने उहाँले उल्लेख गर्नुभयो ।

“कांग्रेसले मुख्यमन्त्री पाउने शीर्ष तहमा सहमति भइसकेको छ, मन्त्रालय बाँडफाँटलगायत विषयमा गठबन्धन दलबीच थप समझदारी बनाएर अघि बढ्छौँ”, प्रदेशसभा सदस्य थापाले भन्नुभयो । कांग्रेसको मुख्यमन्त्री बन्नेमा कुनै द्वविधा नरहेको उहाँको भनाइ छ ।

माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले भने मुख्यमन्त्री दाबी गर्ने विषयमा केन्द्रको निर्देशन पर्खिरहेको बताउनुभयो । “हाम्रो पनि मुख्यमन्त्रीमा दाबी छ, केन्द्रबाट के निर्देशन आउँछ, सोहीअनुसार हुन्छ”, उहाँले भन्नुभयो, “अहिले नै सबै विषयवस्तु टुङ्गीसकेको छैन ।”

माओवादी केन्द्रले पनि मुख्यमन्त्री आफूले पाउनुपर्ने अडान राख्दै आएको छ । अहिले मुख्यमन्त्री नपाउने स्थितिमा आलोपालोका लागि समय नै तोकेर लिखित सहमति गर्नुपर्ने उसको माग छ । मुख्यमन्त्री कांग्रेसलाई छाड्दा सातमध्ये तीन मन्त्रालयमा माओवादी केन्द्रको दाबी छ ।

राष्ट्रपति चुनावमा केन्द्रीय सत्तागठबन्धन फेरिएसँगै गण्डकीमा पनि नयाँ सरकार गठन हुन लागेको हो । विश्वासको मत पाउन नसकेपछि नेकपा (एमाले)का खगराज अधिकारी नेतृत्वको सरकार गत शनिबार ढलेको थियो ।

सत्ता साझेदार माओवादी केन्द्रले गत चैत १० गते समर्थन फिर्ता लिएपछि अघिल्लो सरकार अल्पमतमा परेको थियो । अहिलेको कांग्रेस, माओवादी र एकीकृत समाजवादी सम्मिलित गठबन्धनसँग सरकार बनाउन सहज बहुमत छ । साठी सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, माओवादी केन्द्रका आठ (सभामुखसहित) र एकीकृत समाजवादीका एक सदस्य छन् ।

नेपालमा उत्पादित सवारीको दर्ताका लागि बाटो खुल्यो

काठमाडौँ – यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन भएका सवारीसाधन दर्ता गर्ने व्यवस्था गरेको छ । यातायात व्यवस्थापन कार्यविधि, निर्देशिका २०६०संशोधन गर्दै विभागले उक्त व्यवस्था गरेको हो ।

नेपालमा जडान वा नेपालमै उत्पादन हुने सवारी साधनको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनःदर्ता र नामसारीलगायत प्रयोजनका लागि त्यस्तो सवारी साधनको भन्सार प्रज्ञापन पत्र आवश्यक नपर्ने व्यवस्था गरिएकोे हो । नेपालमा उत्पादित विद्युतीय मोटरसाइकल ‘यात्री’को दर्ता र सञ्चालनमा समस्या देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो सवारी साधन दर्ताका लागि व्यवस्था मिलाउन निर्देशन दिनुभएको थियो ।

त्यस्तै नेपालमा जडान हुने वा उत्पादन हुने सवारी साधनको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनःदर्ता र नामसारीलगायत कार्यका लागि जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनपत्रको सट्टा मूल्य अभिवृद्धि कर विजक पेस गर्नुपर्नेछ । प्रचलित कानुनबमोजिम अन्तःशुल्कसम्बन्धी प्रावधान आकर्षित हुने सवारी साधनको हकमा अन्तःशुल्क निकासी फारामसमेत पेस गर्नुपर्ने विषय निर्देशिकामा थप गरिएको छ ।

विभागले यही वैशाख १३ गते निर्देशिका परिवर्तन गर्ने निर्णय गरेकामा आज सोसम्बन्धी सूचना सार्वजनिक गरेको हो । निर्देशिकाको बुँदा नं ११.१ अन्तर्गत नयाँ बुँदा ११.१.९ थप गरी उल्लेखित विषय संशोधन गरिएकोे जनाइएको छ ।

सवारीसाधन दर्तासम्बन्धी समस्या भएको विषयमा उठेको जनचासो सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले तत्काल समस्या समाधान गर्न निर्देशन दिनुभएपछि प्रधानमन्त्रीको कार्यालयले नेपालमा उत्पादित सवारीसाधन दर्ता प्रक्रियामा देखिएको कानुनी जटिलता समाधान गर्न सम्बन्धित कानुन संशोधन गरी मन्त्रिपरिषद् प्रस्ताव ल्याउने निर्णय गरेको थियो ।

चिनियाँ नागरिकको उद्धार गर्न नौसेना परिचालन

बेइजिङ – चीनले द्वन्द्वग्रस्त सुडानबाट करिब आठ सय नागरिकको उद्धार गर्न नौसेना परिचालन गरेको रक्षा मन्त्रालयले जनाएको छ । सोमबार मध्यरातदेखि युद्धविराम लागू भएपछि जनमुक्ति सेना आफ्ना नागरिकको उद्धारमा जुटेको हो । रक्षा मन्त्रालयले परिचालन हुने नौसेनाका जहाज र सैनिकबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

संयुक्त राज्य अमेरिका र साउदी अरबको मध्यस्थतामा सुडानी सशस्त्र बल (एसएएफ) र ¥यापिड सपोर्ट फोर्सेस (आएसएफ) ७२ घण्टा युद्धविराम गर्न सहमत भएपछि विश्वका विभिन्न मुलुकले दूतावासका कर्मचारी र नागरिकलाई सुडानबाट सतह, हवाई र समुद्री मार्गबाट उद्धार गरिरहेका छन् ।

दशदिन लामो युद्धबाट तहसनहस भएको राजधानी खार्तुममा खाद्यान्न, औषधि, पानी र इन्धनको चरम अभाव भएको छ । सन् २०२२ को मध्यसम्ममा एक सय ३० भन्दा बढी चिनियाँ कम्पनीले सुडानमा लगानी गरेकाले त्यहाँ एक हजारको हाराहारीमा चिनियाँ नागरिक रहेका अनुमान गरिएको छ । चीनले सुडानलाई अफ्रिकामा आफ्नो सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको बताएको छ ।

युद्धविरामको अवधि समाप्त हुनुअघि नै सुडानबाट कम्तीमा आठ सय चिनियाँ नागरिकलाई समुद्रीमार्गबाट उद्धार गर्ने लक्ष्य रहेको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बताएका छन् । रक्षा मन्त्रालयका प्रवक्ता तान केफेइले पनि सुडानको अवस्था बिग्रदै गएकाले त्यहाँबाट आफ्ना नागरिकलाई यथासक्य चाँडो उद्धार गर्न नौसेना प्रतिबद्ध रहेको बताएका छन् । चिनियाँ नागरिकको जीवन र सम्पत्ति रक्षार्थ सुडानका निम्ति नौसेना परिचालन गरिएको उनले बताएका छन् । प्रवक्ता तानका अनुसार गत सोमबार नै करिब तीन सय नागरिक सतहमार्ग भएर सुडानबाट बाहिरिएका छन् ।

सुडानको रक्षा मन्त्रालयका अनुसार दशदिने युद्धमा पाँच सय १२ जनाको ज्यान गएको छ भने चार हजारभन्दा बढी घाइते भएका छन् । ग्रेटर खार्तुमकाा केही भागका भवन भग्नावशेषमा परिणत भएका छन् । राजधानी खार्तुमको अन्तरराष्ट्रिय विमानस्थल बन्द भएकाले धेरै विदेशीले आफ्ना नागरिकलाई वैकल्पिक अन्य मार्गबाट उद्धार गरेका छन् । उद्धारका निम्ति खार्तुम बाहिरका साना ‘एयर स्ट्रिप’हरू प्रयोग गरिएका छन् । खार्तुमबाट आठ सय ५० किलोमिटर टाढा रहेको सुडान पोर्टबाट पनि उद्धारका काम युद्धस्तरमा भइरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय निकायहरूले सुडानीहरू चाड, इजिप्ट, दक्षिण सुडानलगायत स्थानतर्फ भागेका बताएका छन् । इण्डोनेसियाली सेनाले बुधबार सुडान पोर्टबाट एक सय १० जना आफ्ना नागरिकलाई उद्धार गरी साउदी अरबको जेद्दा पु¥याएको छ । हालसम्म छ सय ६७ जना इण्डोनेसियाका नागरिकको उद्धार भइसकेको छ । (रासस/एएफपी)

भूमिसम्बन्धी समस्या सम्बोधन गर्न क्रान्तिकारी निर्णय लिइन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमिसम्बन्धी विद्यमान व्यवस्थामा क्रान्तिकारी निर्णय लिएर मात्रै वर्षौँंदेखि थाँती रहेका समस्याको प्याकेजमा समाधान सम्भव भएको बताउनुभएको छ ।

राष्ट्रिय भूमि आयोगका पदाधिकारीलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर उहाँले भूमिसम्बन्धी समस्या समाधानका निम्ति सरकार गम्भीर रहेकाले सोही बमोजिम कार्यसम्पादन गर्न आयोगलाई निर्देशन दिनुभएको हो । छलफलका त्रलममा प्रधानमन्त्री दाहालले भन्नुभयो, “भूमि व्यवस्थाको दीर्घकालीन समाधान आवश्यक छ । यसपटक मैले मन्त्रिपरिषद्को बैठकबाट भूमिसम्बन्धी केही क्रान्तिकारी निर्णय लिने सोंच बनाएको छु । पटक–पटक उही समस्या बल्झिएर भूमिसम्बन्धी समस्या भूमरीमा पर्नुहुँदैन । हामीले वैज्ञानिक र दीर्घकालीन समाधान दिनुपर्छ ।”

भेटमा प्रधानमन्त्री दाहालले सुकुम्बासी, अव्यवस्थित बसोबासीलगायत भूमिहीनका समस्या दीर्घकालीन रूपमा सम्बोधन गर्ने कामलाई प्राथमिकता दिन निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “धेरै वर्षदेखि हामी एउटै समस्यामा अल्झिरहेका छौँ । अब यसलाई सदाका लागि समाधान गर्नुपर्छ ।”

गाँस र बास जनताको पहिलो आवश्यकता भएको उल्लेख गर्दै उहाँले यसलाई गम्भीरताका साथ बुझेर काम गर्न निर्देशन दिनुभयो । “नीतिगत रूपमा गर्नुपर्ने काम सरकारले गर्छ । यसपटक यो समस्या सदाका लागि सम्बोधन गर्नैपर्छ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले बजेटको सिलिङ बढाउन पहल भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अर्थतन्त्र सङ्कटमुक्त भइसकेको छैन । तर पैसा छैन भन्दैमा हामीले काम गर्न र पहल लिन छोड्नुहुँदैन । जहाँ सङ्कट हुन्छ, त्यहाँ सम्भावना पनि हुन्छ ।”

अझ धेरै मेहेनत गरेर अर्थतन्त्र सुधार्ने र विकासलाई तीव्रता दिनेगरी काम गर्नुपर्नेमा प्रधानमन्त्री दाहालले जोड दिनुभयो । भेटमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी, मन्त्रालयका सचिव डा दामोदर रेग्मी, राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला, उपाध्यक्ष नहेन्द्र खड्कालगायत आयोगका पदाधिकारीको उपस्थिति थियो ।

सुनको मूल्य सामान्य घट्दा चाँदीको भने स्थिर

काठमाडौँ – सुनको मूल्य नेपाली बजारमा घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

बुधवार प्रतितोला २०० रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला १०० रुपैयाँ घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६०० रुपैयाँ कायम गरिएको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। 

यसअघि, बुधवार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा २०० रुपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

लुम्बिनीमा गठबन्धन दलको नेतृत्व गर्दै कांग्रेस

काठमाडौँ – लुम्बिनी प्रदेश सरकारको नेतृत्वका लागि ८ दलको गठबन्धनबाट कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले आज दिउसो प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्ने हुनुभएको छ ।

गठबन्धन दलको मङ्गलवारदेखि बुटवलमा जारी बैठकले यसअघिकै सहमतिअनुसार चौधरीको नेतृत्वमा जाने गरी दिउसो १ बजे दाबी पेश गर्न जाने सहमति जुटेको हो ।

चौधरी दाङ क्षेत्र नम्बर ३ को १ बाट प्रदेश सभामा निर्वाचित हुनुभएको हो । यसअघि मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । सोही सूचनाकै आधारमा आज १ बजे प्रदेश दाबी पेस गर्ने चौधरीको सचिवालयले जनाएको छ ।

कांग्रेस र माओवादी केन्द्रसहित ८ दल र एक स्वतन्त्र गरी ५३ सांसदहरूले मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेको भन्दै चौधरीलाई संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख अमिक शेरचनसमक्ष निवेदन दिइसकेका छन् । आज पनि ५३ जनाको हस्ताक्षर सहित दाबी पेस गर्ने तयारी रहेको चौधरीको सचिवालयले जनाएको छ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४–४ जना, जनमत पार्टी,जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद रहेका छन् ।

बहुमतको लागि ४४ सांसद आवश्यक पर्नेछ । यो सँगै लुम्बिनीमा कांग्रेस–माओवादीसहितको गठबन्धनबाट चौधरी मुख्यमन्त्री बन्ने निश्चित भएको हो । लुम्बिनीमा कांग्रेस संसदीय दल नेता चौधरीलाई मुख्यमन्त्री बनाउन माओवादीसमेत सहमत भएपनि लिखित नभएको रोकिएको थियो । तर मुख्यमन्त्रीसँगै मन्त्रालयको भागबन्डा नमिलेका कारण ढिलाइ भएको कांग्रेस प्रदेश कोषाध्यक्ष प्रकाश रानाले बताउनुभयो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १० मन्त्रालय रहेको लुम्बिनीमा माओवादीले अर्थ र भौतिकसहित ३ मन्त्रालय दाबी गरेको छ । काँग्रेसले भने अर्थ र भौतिकमध्ये एक मन्त्रालय आफूसँगै राख्न र माओवादीलाई दुई मन्त्रालय दिन चाहेको छ । कांग्रेसका एक सांसदका अनुसार काँग्रेसलाई ४, माओवादीलाई ३ र साना दललाई ४ गरी मन्त्रालय मिलाउने र पहिलो चरणमा सानो आकारको सरकार बनाउने सहमति भएको छ । आज दाबी पेश भएसँगै भोलि दिउसो सपथ हुने कार्यक्रम तय भएको छ ।

इमान्दार र पारदर्शी भएर काम गर्न भन्सार कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

विराटनगर – अर्थमन्त्री डा प्रकाशशरण महतले भन्सारका कर्मचारीलाई इमान्दारिताका साथ पारदर्शी भएर काम गर्न निर्देशन दिनुभएको छ ।

आज विराटनगर पुग्नुभएका उहाँले विराटनगर भन्सार कार्यालयको निरीक्षणपछि भन्नुभयो,“तपाईँहरु राज्यको राजस्व सङ्कलन जस्तो संवेदनशील सेवामा हुनुहुन्छ । कुनै पनि तहमा माथि देखाएर आफ्नो जिम्मेवारीको दुरुपयोग गर्ने अथवा अनुचित काम गर्ने छुट कसैलाई छैन । भन्सार चुहावट गर्ने प्रवृत्तिलाई हामी क्षमा दिँदैनौँ, मलाई विश्वास छ यहाँहरुले राम्रो गर्न कोसिस गरिराख्नु भएको छ र आगामी दिनमा झन् राम्रो गर्नुहुनेछ ।”

मन्त्री डा महतले कर्मचारीको मूल्याङ्कन कामका आधारमा हुने पनि स्पष्ट गर्नुभयो । उहाँको भनाइ थियो– कर्मचारीले आफ्नो जिम्मेवारी इमान्दारिताका साथ पारदर्शी रुपमा पूरा गर्नुहुनेछ ।

उहाँले यो आर्थिक वर्षको असारसम्ममा भन्सार असुलीको प्रतिशत निकै बढ्ने आफूले अपेक्षा गरेको पनि बताउनुभयो । तर राजस्व बढाउने नाममा करदातालाई अनावश्यक दुःख नदिन पनि उहाँले निर्देशन दिनुभयो ।

मन्त्री डा महतले भन्नुभयो,“समग्रमा हामी पारदर्शीताका साथ काम गरौँ, सेवाग्राहीलाई सहज र सौहादपूर्ण वातावरण निर्माण गरौँ, नियम कानुन अनुसार काम गरौँ हामीले गर्नुपर्ने काममा सम्झौता नगरौँ ।”

यस्तो छ आज हरियो तरकारी तथा फलफूलको मूल्य 

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार दसहरी आँपको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अङ्गुर १२० रुपैयाँ, कालो अङ्गुर १८० रुपैयाँ, अनार २२५ रुपैयाँ, आभोकाडो ५०० रुपैयाँ, अमला १२० रुपैयाँ र किवी ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठुलो गोलभेँडा ५० रुपैयाँ, अदुवा १९० रुपैयाँ, रातो आलु २८ रुपैयाँ, सेतो आलु २२ रुपैयाँ रहेको छ भने स्थानीय काउली ३० रुपैयाँ, कागती २२० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ७० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, घिरौँला ४० रुपैयाँ, चमसूरको साग ७० रुपैयाँमा किनबेच भइरहेको छ भने तोरीको साग ३० रुपैयाँ, लोकल परवर ७५ रुपैयाँ, न्युरो ९० रुपैयाँ, भारतीय सुकेको प्याज ३२ रुपैयाँ, हरियो प्याज ४० रुपैयाँ, पुदिना १२० रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ केजी कायम गरिएको छ ।

ब्रोकाउली ९० रुपैयाँ, भ्यान्टा लाम्चो ३० रुपैयाँ, मूला सेतो २० रुपैयाँ, रुख कटहर ६० रुपैयाँ, भुईँ कटहर १८० रुपैयाँ प्रतिगोटामा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १९० रुपैयाँ र हरियो धनियाँ ३० रुपैयाँ पाइने समितिले जनाएको छ ।

यसैगरी, ताजा छडी माछा २६० रुपैयाँ र बचुवा माछा २६० रुपैयाँ प्रति केजी पाइन्छ भने मंगुरी माछा ३०० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।

पूर्व अयोग्य लडाकुहरुलाई पैसा होईन रोजगारी दिउँ : शेखर कोइराला

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँड्ने कार्य स्वीकार्य नहुने बताएका छन् ।

बिहिबार आफ्नो सामाजिक संजाल फेसबुकमा लेख्दै उनले यस्तो बताएका हुन् । उनले पूर्व अयोग्य लडाकुहरुलाई पैसा होईन रोजगारी दिन अपिल गरेका छन् ।

उनले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेका छन्, उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘ बिगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाव किताव वुझाउन नसक्नु, द्वन्दकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्व्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलव र पूर्व शिक्षकहरुको पेन्सन दिन समेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँढ्ने कार्य स्वीकार्य हुनै सक्दैन । माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गरौं, रोकौं र भविष्यका लागि सचेत बनौं ।
उनीहरुलाई पैसा होईन रोजगारी दिउँ ।’

एसिसी प्रिमियर कप : नेपालले गुमायो दुई विकेट

काठमाडौँ – एसिसी प्रिमियर कपमा कतारविरुद्ध सुरुवातमै नेपालले दुई विकेट गुमाएको छ । 

त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४ ओभरमा २ विकेट गुमाएको हो । 

नेपालले ओपनर कुशल भुर्तेललाई दुई रनमै गुमाएको थियो भने भीम सार्की ६ रनमा विकेटकिपर इमाल लियानागेबाट क्याच आउट भएका हुन ।

नेपालका रोहित पौडेल र आसिफ शेख क्रिजमा छन् ।