`

मिटरब्याजीलाई कानुनको दायरामा ल्याउन सरकार सक्रियतापूर्वक लागिपरेको छ : गृहमन्त्री श्रेष्ठ

सर्लाही – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरीबलाई दुःख दिने मिटरब्याजीलाई कानुनको दायरामा ल्याउन सरकार सक्रियतापूर्वक लागिपरेको बताउनुभएको छ ।

आज सर्लाहीको बागमती नगरपालिका–११ स्थित नमूना पहरी बस्ती हस्तान्तरण कार्यक्रममा मन्त्री श्रेष्ठले राजनीतिक पहुँचका भरमा कुनै पनि मिटरब्याजीलाई उन्मुक्ति नदिने बताउनुभयो । उहाँले थप्नुभयो, “भ्रष्टाचार नियन्त्रणका लागि वर्तमान सरकार शून्य सहनशीलताको सिद्धान्तमा अघि बढेको छ ।”

बागमती नगरपालिका–११ स्थित चुरे पर्वतको फेदीमा लोपोन्मुख जाति पहरी परिवारका लागि रु एक करोड ५३ लाख निर्माण गरिएको १३ बेग्लाबेग्लै पक्की घरको साँचो ज्येष्ठ नागरिक ठूलीमाया पहरीलाई मन्त्री श्रेष्ठले हस्तान्तरण गर्नुभयो छ । बागमती नदी किनारमा असुरक्षित स्याउले घरमा बसोबास गरिरहेका पहरी जातिका सर्लाहीमा कूल ७० जना व्यक्ति सो घरमा बसोबास गर्ने बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाले बताउनुभयो ।

सांसदहरुले काम नगरे ढ्यांग्रो ठोकेर लखेट्छौं : महाबीर पुन

काठमाडौं – राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सांसदहरुले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिनुभएको छ ।

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै आन्दोलन सुरु गरेका उनले नेताहरुले नीति निर्माणको काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिनुभएको हो ।
पुनले सांसदहरुले खादा, माला र भाषण गर्न, उद्घाटन गर्न समय मिल्ने तर कानुन बनाउन समय नमिल्ने हो भन्ने प्रश्न गर्दै सांसदहरुले कानुन बनाएर देश विकासमा लाग्नुको विकल्प नरहेको बताउनुभयो।

अरु हेर्ने विभाग भए पनि अनुसन्धान आविष्कार नवप्रवद्र्धन गर्ने विभाग नभएको भन्दै उनले आफ्ना माग पूरा नभएसम्म धर्ना जारी रहने बताउनुभयो ।

एयर इन्डियाको जहाज ‘ओभरसुट’

काठमाडौँ – भारतको नयाँ दिल्लीबाट काठमाडौँ आएको एयर इन्डियाको जहाजले ‘ओभरसुट’ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा केही बेरअघि जहाजले ओभरसुट गरेको हो ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार एयर इन्डियाको जहाज ‘अनस्टेवल एप्रोज’ भएकाले ओभरसुट गरिएको हो । “जहाजले एप्रोच नमिलेर ओभरसुट गरेको हो, कहिलेकाहीँ ‘एप्रोज प्रोफाइल’ नमिलेर, जहाज हाई अल्टिच्युट भएर आउँदा पनि यस्तो हुन्छ”, उहाँले भन्नुभयो ।

यसरी ओभरसुट गरेको जहाजले एक राउन्ड लगाएर करिब २० मिनेटको समयावधिमा पुनः अवतरण गर्ने गरेको विमानस्थलले जनाएको छ । सिमरामाथिको आकाशबाट काठमाडौँ विमानस्थलमा एप्रोच लिनुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय उडानका जहाजले काठमाडौँ विमानस्थलमा अवतरण गर्दा सिमरामाथिको आकाशबाटै एप्रोच लिने गरेका छन् ।

बैंकहरु नयाँ शोषकको रुपमा उदाए : मन्त्री किराँती

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले बैंक तथा वित्तिय संस्थालाई नयाँ शोषकको संज्ञा दिनुभएको छ।

बैंक तथा वित्तिय संस्थाहरूले कम्प्युटर लिएर गाउँ जाने र त्यहाँका आमाहरूलाई ऋण दिएर डोरीमा पासो लगाउन बाध्य पार्ने थुप्रै कथाहरू रहेको मन्त्री किरातीको भनाई थियो।

होटल एशोशिएशन अफ नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले छोराछोरीहरूलाई मोबाइल किन्न लिएको ऋण तिर्न गाउँले आमाहरूको घरखेत उठेको र पछि चिन्ताले डोरीमा पासो लगाउने स्थिति बनेको बताउनुभयो।

मन्त्री किरातीले पहिले शोषकहरू दौरा सुरूवाल लगाएर तमसुक बोकेर आउने गरेको र अहिलेको नयाँ शोषक भने कम्प्युटर लिएर गाउँ जाने गरेको बताउनुभयो।

उहाँले शहरमा पनि बैंक तथा वित्तिय संस्थाहरूको ब्याज तिर्न नसकेर सर्वसाधारणले सास्ती व्यहोर्नु परेको स्मरण गराउनुभयो।

सडकमा उफ्रेकै भरमा ‘कोशी प्रदेश’को नाम फिर्ता हुँदैन : अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा उफ्रेकै भरमा ‘कोशी प्रदेश’ नाम फिर्ता नहुने बताउनुभएको छ।।

शनिबार पाँचथरको फिदिममा आयोजित कार्यकता भेलालाई सम्बोधन गर्दै ओलीले भने, दुईचार जना केटा सडकमा उफ्रँदैमा नामकरण परिवर्तनको सम्भावना छैन। म भन्न चहान्छु, जनताबाट दुई तिहाई मत ल्याएर नाम संशोधन गरेर देखाओ।’

अध्यक्ष ओलीले प्रदेशसभाबाट विधि र प्रक्रियामा छिरेर गरिएको नाम कुनै हालतमा फिर्ता नहुने दाबी गर्नुभयो। अध्यक्ष ओलीले नाम खारेजीको माग गर्दै आन्दोलनरत पक्षलाई आन्दोलन छोडेर विकास निर्माणमा जुट्न सुझाव दिनुभएको छ ।

सामाजिक सद्भाव भड्काउने कार्य स्वीकार्य हुँदैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

वीरगञ्ज – नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सबै जातजाति, वेशभूषा र समुदायबीचको सामाजिक सद्भाव भड्काउने कार्य स्वीकार्य नहुने बताउनुभएको छ ।

अम्बिका–ममता स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित अम्बिका सिंह–ममता राजकर्णिकार स्मृति पुरस्कार तथा सम्मान कार्यक्रममा उहाँले नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय मुलुक भएकाले सबैको सम्मान हुने गरी सामाजिक एकता अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

“कहिले जातजातिका नाममा त कहिले भाषाभाषीका नाममा सामाजिक सद्भाव भड्काउने काम हुने गर्छ”, उहाँले भन्नुभयो, “सामाजिक एकतालाई भड्काएर कसैको भलो हुँदैन, यो मुलुकका लागि दुर्भाग्यपूर्ण हुन्छ, यसले सामाजिक एकतालाई भड्काउने कार्यप्रति सबै सचेत हुनु आवश्यक छ ।”

राजनीतिक स्थिरता कायम गर्नु, आर्थिक विकास र समृद्धिको बाटोमा मुलुकलाई अघि बढाउनु तथा सामाजिक सद्भावलाई कायम राख्नु मुलुकको प्रमुख चुनौती भएको उल्लेख गर्दै पोखरेलले यसका लागि सबैको एकता र सहकार्य जरुरी रहेको बताउनुभयो ।

शिक्षा र स्वास्थ्यमा सुधार नभएसम्म मुलुकको विकास तथा समृद्धि सम्भव नरहेको जिकिर गर्दै उहाँले यसमा सुधार आवश्यक रहेको बताउनुभयो । “मुलुकमा राजनीतिक परिवर्तन आए पनि शिक्षा र स्वास्थ्यमा परिवर्तन आएको अझै अनुभूति हुन सकेको छैन”, उहाँले भन्नुभयो, “शिक्षा र स्वास्थ्य क्षेत्र जनतासँग प्रत्यक्ष जोडिएको विषय हो, यसमा सबैलाई अनुभूति हुने गरी सुधार हुन जरुरी छ ।”

कार्यक्रममा शिक्षाप्रेमी अम्बिका सिंह र ममता राजकर्णिकारको स्मृतिमा स्थापित अम्बिका–ममता स्मृति पुरस्कारबाट शिक्षा क्षेत्रमा विशेष योगदान पु¥याउने चारजनालाई सम्मान गरियो ।

शिक्षा क्षेत्रमा विशेष योगदान पु¥याएबापत पूर्वप्रअ जीवछ मिश्र, पूर्वशिक्षिका मुनाबदन राजभण्डारी, शिक्षाप्रेमी तथा समाजसेवी रामनारायण कुर्मी र उर्मिला लामालाई नगदसहित वरिष्ठ उपाध्यक्ष पोखरेलले दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

अनिवार्य शिक्षा कार्यान्वयनका लागि आवश्यक मापदण्ड निर्माण

मोरङ – शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानो ठिमी भक्तपुरले अनिवार्य आधारभूत शिक्षा कार्यान्वयनका लागि आवश्यक मापदण्ड निर्माण एवं कार्यक्रम सञ्चालनको समन्वय गरेको छ ।

केन्द्रद्वारा आज विराटनगरमा आयोजित शिक्षासम्बन्धी विभिन्न कार्यक्रम र प्रगति तथा विविध किसिमका शैक्षिक सूचना सरोकारवालालाई सुसूचित गर्ने कोशी प्रदेशस्तरीय पत्रकार भेटघाट कार्यक्रममा केन्द्रका निर्देशक सुरेश जोशीले प्रदेश र स्थानीयस्तरमा शिक्षासम्बन्धी सुधारका लागि आवश्यक सुझाव सङ्लकन गर्नाका साथै विद्यार्थी भर्ना, गुणस्तरिय शिक्षा पहुँच, नमूना विद्यालय स्थापना लगायतका कार्य भएको जानकारी दिनुभयो ।

उहाँले विद्यालयमा स्यानेटरी प्याड, भौतिक पूर्वाधार, कक्षा कोठाभित्र र बाहिर सुधार लगायतका विषयमा आवश्यक सुझाव सङ्कलन गरी कार्यान्वयन गर्ने दिशातर्फ अघि बढेको बताउनुभयो ।

केन्द्रका प्रवक्ता रुद्र न्यौपानेले पहिलो पटक मोफसलमा यस प्रकारको कार्यक्रम गरिएको जानकारी दिँदै सङ्घीय शिक्षा ऐन नआएकामा सरोकारवालाले चासो रहेको विचार व्यक्त गर्नुभयो । उहाँले शिक्षक तालिमको पाठ्यक्रमको ढाँचा निर्माण, सामग्री विकास, मापदण्ड विकास एवं प्रमाणीकरण लगायतका कार्य भएको बताउनुभयो ।

स्थानीय तहमा कर्मचारीको अपर्याप्त र क्षमता विकास, जिम्मेवारी तथा कार्यक्षेत्रको अन्योलता, जनशक्तिको अभाव, नमूना विद्यालय, भौतिक निर्माण सुधार लगायतका केही विषयमा दोहोरो समस्या रहेको उहाँले जानकारी दिनुभयो ।

शिक्षा विकास समन्वय एकाइ विराटनगरका प्रमुख टङ्कप्रसाद गौतमले हालै सम्पन्न एसइई परीक्षामा चार सय नक्कली परीक्षार्थी पक्राउ गरी कानुनअनुसार कारबाही गरेको जानकारी दिनुभयो । विसं २०७९ मा मुलुकमा आधारभूत शिक्षाको तह पार गर्ने दर ७७ दशमलव एक प्रतिशत रहेको छ भने पाँचदेखि १२ वर्ष उमेरका विद्यालयबाहिर रहेका बालबालिका तीन दशमलव नौ प्रतिशत रहेको तथ्याङ्क प्रस्तुत गरिएको थियो ।

विकासका लागि पार्टी हितभन्दा साझा रुपमा अघि बढ्औँ : मन्त्री साउँद

महेन्द्रनगर – परराष्ट्रमन्त्री नारायणप्रकाश साउँदले विकासका लागि राजनीति गरिएकाले पार्टीको हित मात्रै नभई साझा रुपमा अघि बढ्नुपर्ने बताउनुभएको छ ।

परराष्ट्रमन्त्री बनेपछि आज पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र पुग्नुभएका उहाँले कृष्णपुर नगरपालिकाको मालुबेलामा आयोजना गरिएको ग्वासी समैजी समितिको साधारणसभामा विकास एउटा पार्टी, एउटा व्यक्तिको भन्दा पनि सबैको हातेमालोबाट हुने बताउनुभयो ।

“विकासका लागि सबै पार्टी एक ठाउँमा आउनुपर्छ”, मन्त्री साउदले भन्नुभयो, “अहिले दश पार्टी मिलेर सरकार बनाएकाँ छौँ, विकासको काममा प्रतिपक्षी पार्टीले पनि दलीय स्वार्थ हेर्नु हँुदैन ।” उहाँले गेटामा दशरथ चन्द चिकित्सा विश्वविद्यालय खुलाउने कामसरकारले अघि बढाएको बताउनुभयो ।

“सरकारले त्यसका लागि विश्वविद्यालय ऐन बनाउन कमिटी बनाउने कुरो अगाडि भएको छ”, उहाँले भन्नुभयो, “यो अस्पताल प्रतिष्ठान मात्र नभई यहाँको पहिलो चिकित्सा विश्वविद्यालय हुनेछ ।”

उहाँले निर्वाचन क्षेत्रको सडक पूर्वाधार निर्माण, मोहना नदी तटबन्ध निर्माण लगायतका काममा आफू सक्रिय भएर लागेको बताउनुभयो । साथै सुदूरपश्चिमको धार्मिक पर्यटनको विकासका लागि एउटा सर्किट निर्माणको गृहकार्य भइरहेको उहाँको भनाइ थियो ।

अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौँ – अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जना पक्राउ गरेको छ । पक्राउपर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१३ घर भई हाल काठमाडौँ महानगरपालिका–१ लाजिम्पाट बस्ने २५ वर्षीया सयना श्रेष्ठ रहेकी छन् ।

सयनासमेतले वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाइ प्रतिष्ठित कम्पनीमा रु तीन लाखभन्दा बढी तलब हुने काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी रु ३० लाख लिई ठगी गरेको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई लाजिम्पाटबाट पक्राउ गरेको जनाइएको छ ।

पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो ।

पूर्व सांसद गुलेफन खातुन जेल चलान

काठमाडौं – कोशी प्रदेशकी पूर्व सांसद गुलेफन खातुन जेल चलान भएकी छन्। सरकारी सहिछाप किर्ते आरोपमा दोषी ठहर भएकी खातुन जेल चलान भएकी हुन् ।

दोषी ठहर भएपछि फरारको रहेकी खातुनले शुक्रबार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेकी थिइन् । ‘सरकारी सहीछाप र दस्तखत किर्ते’ मुद्दामा जिल्ला अदालत मोरङले उनलाई एक वर्ष कैद फैसला गरेको छ ।

२०७४ वैशाख ३१ गते तत्कालीन जिल्ला अदालत मोरङका जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले सांसद खातुन सहित उनका श्रीमान् शेख शिलबर मियाँ, तत्कालीन गाविसका कर्मचारी विजय कामत र दिपचन्द मण्डललाई एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना सुनाएको थियो ।

कामपाले उठायो रु छ अर्ब बढी राजस्व

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षको चैतसम्ममा रु छ अर्ब ४९ करोड ४२ लाख ५३ हजार राजस्व असुल गरेको ।

उक्त रकम लक्ष्यको ६२ दशमलव ३३ प्रतिशत हो । गत आवको चैतसम्ममा रु पाँच अर्ब आठ करोड ९७ लाख ८८ हजार असुल गरेको कामपा राजस्व विभाग प्रमुख ध्रुव काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत आर्थिक वर्षमा भन्दा चालु आर्थिक वर्षको सोही अवधिमा रु एक अर्ब ४० करोड ४४ लाख ६५ हजारले बढी हो । कामपाले चालू आवका लागि करिब रु १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार राजस्व असुल गर्ने लक्ष्य लिएको थियो । गत आवमा भने रु नौ अर्ब आठ करोड ७० लाख १३ हजारको लक्ष्य लिएको थियो ।

चालू आवका लागि हालसम्मको अवधिमा कामपाले सबैभन्दा बढी सम्पत्ति करबाट रु ७९ करोड ४३ लाख ६४ हजार प्राप्त गरेको छ । विगतका तीन वर्षमा कोरोना महामारीका कारण आशाअनुरुप कर असुल हुन नसकेको भए पनि चालू आवमा लक्ष्यमा पुग्न समस्या नहुने कामपा राजस्व विभागको भनाइ छ ।

सम्पत्ति, घरबहाल, व्यवसाय, विज्ञापन, मनोरञ्जन, भूमि, मूल्य अभिवृद्धि र सवारीसाधन करसहित ३६ शीर्षकमा कामपाले राजस्व असुल गर्दै आएको छ ।

विगतका वर्षमा कोरोनाका कारण राजस्व असुलीमा केही समस्या आए पनि यस वर्ष हालकै अवस्थामा राजस्व असुल भए लक्ष्यमा पुग्न कुनै समस्या नहुने प्रमुख काफ्लेको भनाइ छ ।

यस वर्ष कामपाका लागि बाह्य अनुदान रकम कम छ । आन्तरिक राजस्व असुलमा खासै समस्या नभएको विभागले जनाएको छ । पछिल्लो समय कामपाले राजस्व सङ्कलनका लागि थप कडाइ गरेसँगै लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम असुलउपर गर्न सहज भएको बताइएको छ ।

कामपाले गत फागुन ३ मा ‘घरबहाल व्यवस्था निर्देशिका २०७९’ जारी गरिसकेको छ । निर्देशिका अनुसार कुनै पनि घरधनीले घरभाडामा लगाउँदा वा घरखाली गराएकोबारेकोे सूचना सात दिनभित्र वडा कार्यलयमा दिनुपर्छ । लिखित सम्झौताको एकप्रति सम्बन्धित वडा कार्यालय, एकप्रति घरधनी र अर्को एकप्रति भाडामा बस्नेले राख्नुपर्ने निर्देशिकामा व्यवस्था छ । सम्झौतामा बहाल रकम, तिर्नुपर्ने मिति, बहाल कायम रहने अवधि र अवधि थपबारे उल्लेख हुनुपर्छ ।

चिया निर्यात वृद्धि भए पनि कारोबारमा कमी

काठमाडौँ – पछिल्लो समय चियाको निर्यातमा वृद्धि भए पनि त्यसबाट प्राप्त हुने आम्दानीमा कमी आएको पाइएको छ । प्रत्येक वर्ष निर्यातमा खडा हुने बाधाव्यवधान, झन्झटिलो प्रक्रिया, नेपाली चियामा हुने मिसावटलगायत कारणले न्यून मूल्यमा बिक्री गर्नुपर्ने बाध्यताले यो क्षेत्र क्षमताअनुसार नाफामूलक बन्न सकेको छैन ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार आव २०७७/७८ मा ११ हजार नौ सय २० मेट्रिकटन चिया निर्यात भई रु तीन अर्ब ७९ करोड ७१ लाख कारोवार भएकामा आव २०७८/७९ मा निर्यात वृद्धि भई १२ हजार चार सय ९४ मेट्रिकटन पुगेको छ । कारोबार भने घटेर रु तीन अर्ब ४३ करोड ४३ लाख पुगेको हो ।

बोर्डका कार्यकारी निर्देशक विष्णु भट्टराईका अनुसार भारतलगायत अन्य मुलुकमा चिया पाँच सय ७४ मेट्रिकटन निर्यात वृद्धि हुँदा रु ३६ करोड २८ लाखले कारोबारमा कमी हो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २७औँ ‘राष्ट्रिय चिया दिवस’ का सन्दर्भमा यही वैशाख १४ देखि आजसम्म चिया प्रवद्र्धनसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरेको छ । दिवसका क्रममा नेपाली अर्थोडक्स चियामा ‘ट्रेसाविलिटी प्रणाली’ लागू गरिएको छ ।

उक्त प्रणालीबाट चिया उत्पादक कम्पनीको उत्पादनलाई बिक्री वितरण गर्दा सूचना अनिवार्य बारकोटमा राख्नुपर्ने व्यवस्था गरिएको छ । उपभोक्ताले चियाका बारे आवश्यक सूचना बारकोटबाट प्राप्त गर्ने हुँदा गुणस्तर र तौलमा ठगी हुन पाउँदैन । चियाको उत्पादनमा वृद्धि तथा निर्यात प्रवद्र्धन गर्नसकेमा त्यसले राष्ट्रिय अर्थतन्त्रमा बलियो योगदान गर्न सक्नेछ । अन्तर्राष्ट्रिय बजारमा हुने चिया निर्यातले बढ्दो व्यपार घाटा न्यूनीकरण गरी कृषकको आर्थिक रुपान्तरणमा सहयोग पुग्नेछ ।

दिवसमा चिया उत्पादक किसान, प्रशोधक, उद्योगी व्यवसायी, बिक्रेता, उपभोक्ता, विभिन्न राष्ट्रबाट सहभागी हुने कूटनीतिज्ञलगायत विशिष्ट व्यक्तिको सहभागितामा चौथो अन्तर्राष्ट्रिय चिया महोत्सवसमेत गरिएको छ । महोत्सवमा विभिन्न प्रकारका चिया प्रदर्शनी गरिएको हो ।

दिवसअन्तर्गत इलाममा चियाका बगैँचा अवलोकनका लागि भ्रमणका साथै नेपाली र विदेशी चिया व्यापारीबीच शिष्टाचार व्यापारिक बैठक गराइने कार्यक्रम छ । यस वर्ष ‘गुणस्तर, निर्यात र आर्थिक उपार्जन बढाऔँ, चिया क्षेत्रलाई राष्ट्रको समृद्धिसँग जोडौँ’ भन्ने मूल नाराका साथ दिवस मनाउन लागिएको छ ।

विसं १९२० मा इलाममा कर्णेल गजराजसिंह थापाले चीनबाट उपहारस्वरूप प्राप्त चियाको बिरुवा रोपेपछि नेपालमा चियाखेतीको सुरुआत भएको मानिन्छ । त्यस अगाडि चिया रोपण भएको कुनै जानकारी छैन । कर्णेल थापा त्यस क्षेत्रमा बडाहाकिमका रुपमा कार्यरत रहँदा चियाखेती सुरु भएको इतिहास छ । त्यसको केही वर्षपछि झापाको फाँटमा सोक्तिम चिया कमानको स्थापनाबाट नेपालमा चियाखेती क्रमशः विस्तार हुँदै गएको हो ।

सरकारले विसं २०३९ मा झापा, पाँचथर, धनकुटा र तेह्रथुमलाई चिया क्षेत्रका रुपमा घोषणा गरी सरकारी तहबाट व्यावसायिक चिया खेतीको प्रवद्र्धन गरेको पाइन्छ । हाल नेपालका पूर्वी जिल्लाबाहेक ललितपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, कास्की, लमजुङलगायतका जिल्लामा समेत चिया खेती गर्न थालिएको बोर्डका निर्देशक दिपक काफ्लेले जानकारी दिनुभयो ।

विसं २०५७ मा सरकारले राष्ट्रिय चिया नीति ल्याएको थियो । सरकारले चिया प्रवद्र्धनका लागि बनाएको चिया तथा कफी विकास बोर्डले समेत प्रभावकारी काम गर्न नसकेको व्यवसायीको भनाइ छ । चिया किसान विकास लामाले चियाको विश्व बजारमा ठूलो माग हुँदा पनि नेपालले अपेक्षित लाभ लिन नसकिरहेकाले सरकारले उचित नीति निर्माण गर्नुपर्ने बताउनुभयो ।

नेपालको भौगोलिक अवस्था र वातावरण चिया खेतीका लागि उपयुक्त छ । यहाँको जैविक चियाको गुणस्तर राम्रो भएकाले विश्वबजारमा लोकप्रिय मानिन्छ । चिया क्षेत्रलाई व्यवस्थित गर्न सरकारले किसान प्रोत्साहन कार्यक्रम ल्याउनुपर्ने चिया किसान लामाको माग छ । चिया क्षेत्रमा अझै पनि निकै समस्या छन् तर समाधानमा सरकार, निजी क्षेत्र र किसानको समन्वय तथा सहकार्यको खाँचो रहेको बताइन्छ ।

चैतमा साढे ३३ अर्ब रकमान्तर

काठमाडौँ – चालु आर्थिक वर्षको चैत महिनामा मात्र सरकारले करिब साढे ३३ अर्ब रुपैयाँ बराबर रकमान्तर, स्रोतान्तर र थप निकासा गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘२०७९ चैत महिनामा पुँजीगततर्फ रू एक करोडभन्दा बढीको एक उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा भएको रकमान्तरको विवरण’अनुसार रू ३३ अर्ब ३४ करोड ४५ लाख ८१ हजार बराबर रकमान्तर भएको हो ।

यो अवधिमा अर्थ मन्त्रालयले रू २७ अर्ब बराबर आन्तरिक ऋण तिर्नका लागि रकमान्तर गरेको छ । यो रकम अर्थ विविध शीर्षकबाट निकासा दिइएको छ । त्यस्तै अर्थ विविध शीर्षकबाटै गण्डकी प्रदेश प्रमुखको कार्यालयको चालु खर्चका लागि रू २८ लाख ४३ हजार बराबर थप निकासा दिइएको छ । सङ्घीय संसद् सचिवालका कर्मचारी, सुरक्षाकर्मी र पदाधिकारीका स्वकीय सचिवालयका कर्मचारीका लागि अतिरिक्त समय भत्ताका रुपमा रू ५० लाख निकासा दिइएको छ । लोकसेवा आयोगलाई रू चार करोड ३३ लाख, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लागि रू छ करोडका बराबर निकासा दिइएको छ ।

चैत महिनामा दुई वटा योजना तथा कार्यक्रमका लागि बहुवर्षीय ठेक्काको स्रोत सहमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत ललितपुरको गोदावरीमा राष्ट्रिय ‘हरवोरियम’ भवन निर्माणका लागि रू ४० करोड ५० लाख र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सामाखुसी–टोखा–गुज्रे सडक आयोजनाका लागि रू सात करोड ६२ लाख बराबर स्रोत सहमति दिइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बूढीगण्डकी जलविद्युत् आयोजनाको रू १९ करोड रकमान्तर गरेर नदी नियन्त्रण आयोजनाका लागि दिएको छ । त्यसैगरी, पालुङटार–कुण्डुटार सिँचाइ आयोजनाको रू तीन करोड ६४ लाख र सिँचाई पुनःस्थापना आयोजनाको रू तीन करोड ९० लाख बराबर रकमान्तर गरेर नदी नियन्त्रण आयोजनाका लागि दिइएको छ ।

बूढीगण्डकी जलविद्युत् आयोजनाको रू २१ करोड रकमान्तर गरेर बृहत् सरकारी सिँचाइ योजनाको पुनःस्थापना तथा व्यवस्थापन कार्यक्रमका लागि र रू २५ करोड रकमान्तर गरी सुनसरी–मोरङ आयोजनालाई दिइएको छ । बूढीगण्डकीकै रू २० करोड समृद्ध तराई–मधेस सिँचाइ विशेष कार्यक्रमका लागि र रू छ करोड भूमिगत स्यालो ट्युबवेल कार्यक्रमका लागि दिइएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उत्तर–दक्षिण राजमार्गको रू नौ करोड घटाएर काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनालाई रकमान्तर गरिएको छ । राप्ती लोकमार्गको रू छ करोड ५० लाख रकमान्तर गरेर स्थानीय सडक पुल निर्माण कार्यक्रमका लागि र प्रदेश राजधानी जोड्ने राजमार्ग स्तरोन्नति कार्यक्रमको रू १० करोड रकमान्तर गरेर निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमलाई दिइएको छ ।

ईश्वरपुरका सय परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण

सर्लाही – ईश्वरपुर नगरपालिका–३ र ११ का एक सय परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको छ ।

ईश्वरपुर–३ र ११ का एक सय परिवारले वर्षौंदेखि भोगचलन गर्दै आइरहेको सो गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको नगर प्रमुख मनोजकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार करिब एक सय ५० जनाको लालपुर्जा बनेकामा पहिलो चरणमा करिब एक सयलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको हो । नगर प्रमुख आचार्यले वडा नं १० का गाउँब्लकवासीलाई पनि छिट्टै लालपुर्जा वितरण गरिने र भूमिहीनको लगत सङ्कलनका क्रममा विवरण लिइएका नगरभित्रका सात हजार दुई सय घरधुरीलाई समेत लालपुर्जा उपलब्ध गराउन पहल भइरहेको जानकारी दिनुभयो ।

नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धर, नगर प्रमुख आचार्य, प्रमुख प्रशासकीय अधिकृत हीराकाजी श्रेष्ठ, विभिन्न वडाका वडाध्यक्ष लगायतको उपस्थितिमा गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको हो ।

‘सिकलसेल एनिमिया’का बारेमा राष्ट्र सङ्घले सोच्नुपर्छ : अध्यक्ष मगर

काठमाडौँ – आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले नेपालका आदिवासी थारु समुदायमा देखिएको ‘सिकलसेल एनिमिया’ रोगका बारेमा संयुक्त राष्ट्रसङ्घको ध्यान जानुपर्ने बताउनुभएको छ ।

संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्यूयोर्कमा आयोजित आदिवासी मामिलासम्बन्धी संयुक्त राष्ट्रको स्थायी मञ्चको २२औँ अधिवेशनलाई सम्बोधन गर्दै उहाँले विश्वका आदिवासी समुदाय प्रभावित भएजस्तै नेपालका थारु समुदाय सिकलसेल एनिमियाबाट प्रभावित रहेको भन्दै राष्ट्र सङ्घको स्थायी मञ्चले यस विषयमा सोच्नुपर्ने बताउनुभएको हो ।

अध्यक्ष मगरले पर्याप्त स्रोतसाधनको अभावमा आदिवासी जनजातिको अधिकारलाई व्यवहारमा उतार्न चुनौती सामना गर्नुपरेको धारणा राख्नुभएको थियो । आदिवासीको ज्ञान प्रणाली दिगो विकास एकअर्कामा जोडिएको भन्दै उहाँले आदिवासी ज्ञान र सीपको संरक्षण तथा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल अन्तर्राष्ट्रिय श्रम सङ्गठनको पक्ष राष्ट्र रहेको भन्दै महासन्धि नम्बर एक सय ६९ अनुरूप संयुक्त राष्ट्रसङ्घद्वारा घोषित आदिवासीको अधिकारको प्रवद्र्धन र रक्षा गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

अयोग्य लडाकुलाई आर्थिक सहयोग पहिलाकै निर्णय : मन्त्री शर्मा

दाङ – सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अयोग्य लडाकुलाई आर्थिक सहयोग दिने निर्णय पहिलाकै भएको बताउनुभएको छ ।  

नेकपा (माओवादी केन्द्र) दाङ क्षेत्र नं ३ समन्वय कमिटीको आयोजनामा शुक्रवार भएको प्रशिक्षण कार्यक्रममा मन्त्री शर्माले पहिला गरिएको निर्णयलाई अहिले कार्यान्वयनमा ल्याउन लागको स्पष्ट पार्नुभयो । 

यस वर्ष विद्यालयको पठनपाठन सुरु हुनुभन्दा पहिले नै हात हातमा पुस्तक पुगेको उल्लेख गर्दै यो ऐतिहासिक काम भएको बताउनुभयो । विगतमा परीक्षा हुँदाका बेलासम्म पनि पुस्तक नपुगेको र यस पटक भने समयमै पाठ्यपुस्तक पुग्नु सरकारको ठुलो उपलब्धि भएको उहाँको भनाइ थियो । 

फरक प्रसङ्गमा मन्त्री शर्माले दाङमा विमानस्थलका नाममा राजनीति नगर्न आग्रह गर्नुभयो । “यसो गर्दा विमानस्थल विस्तारमा असर गर्छ”, उहाँले भन्नुभयो– “पहिलो प्राथमिकता भनेको तुलसीपुरमा रहेको टरिगाउँ विमानस्थललाई नै प्रभावकारी बनाउने हो । त्यहाँ प्राविधिक समस्या भए मात्र दाङको जुनसुकै ठाउँमा भए पनि प्रभावकारी विमानस्थल हुनुपर्छ ।”

जिल्लाका धेरै ठाउँमा अझै पनि टेलिकम टावर नहुँदा फोन सेवाको पहुँच पुग्न नसकेको मन्त्री शर्माले बताउनुभयो । धेरै ठाउँमा टावर निर्माणको प्रक्रिया अघि बढेको उहाँले जानकारी दिनुभयो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सुरु भएको भन्दै अबको केही समयमा स्नातक तहका शैक्षिक कार्यक्रम सुरु गर्ने तयारी रहेको उहाँले बताउनुभयो । 

सो अवसरमा चार वटै पालिकाका माओवादी केन्द्रका अध्यक्षले विकास निर्माणको अवस्थाका बारेमा मन्त्री शर्मालाई जानकारी दिनुभएको थियो । बबई गाउँपालिकाका अध्यक्ष एकलाल घर्ती, दङ्गीशरणका अध्यक्ष मनिराम चौधरी, तुलसीपुरका अध्यक्ष खुसीराम चौधरीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।  

महावीर पुनद्वारा रातभर माइतीघर मण्डलाको सडकमा सुतेर प्रदर्शन 

काठमाडौँ – राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन रातभर माइतीघर मण्डला सुत्नुभएको छ ।

शुक्रवारदेखि  ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामबाट आन्दोलनमा उत्रनुभएका पुन रातभर माइतीघर मण्डलामा सुतेर प्रदर्शन गर्नुभएको हो।   

‘लु, हामी चाहिँ माइतीघर मण्डलाको सडकमा रात भर सुतेर उठ्यौँ, जनताहरू सुती रहनुहोस् र नेपाल सरकारलाई मज्जाले सुत्न दिई रहनु होस्,’ पुनले शनिवार बिहान भन्नुभयो, ‘के त होला र ? केही चिन्ता छैन, हद्दै भए यही नेपाल ता जाला, पृथ्वी ता रही रहन्छ नि ।’ 

अविश्कार केन्द्रका प्रमुख पुनले ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ को कार्य अघि बढाउनुपर्ने तथा अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष सङ्घीय र प्रदेश सरकारले कम्तीमा १ प्रतिशत रकम छुट्याउनुपर्ने लगायतका माग राखेर उहाँ आन्दोलनमा उत्रनुभएको हो । 

गत २०७६ सालमा ल्याएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीतिमा पनि कोष स्थापना गर्ने परिकल्पना गरिएको तथा त्यसमा १ अर्ब रुपैयाँ राखेर नवप्रवर्तन कोष सञ्चालन गरिने भनिए पनि सो बारेमा सरकारले कुनै काम कारबाही अघि नबढाएपछि आक्रोशित पुनः आन्दोलनमा होम्मिनुभएको हो । 

‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारसँग तपाईँको सन्तानको, तपाईँको भावी सन्ततिको र मातृभूमिको भविष्य जोडिएको छ,’ आन्दोलनमा जानु अघि उहाँले भन्नुभएको थियो, ‘वैशाख १५ गते शुक्रवारदेखि माग पुरा नहुँदा सम्म माइतीघर मण्डला र बबरमहल क्षेत्रबाट नेपाल सरकारलाई घुँडा टेकाउने गरी आन्दोलन गर्न सम्पूर्ण नेपालीहरूलाई आह्वान गर्दछु ।’ 

प्रतिनिधिसभाका १० संसदीय समिति गठन, सभामुखले पेश गरे सदस्यको नाम (सूचीसहित)

काठमाडौँ – प्रतिनिधिसभाले १० वटा विभिन्न विषयगत समितिहरू गठन गरेको छ। शुक्रवार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले विभिन्न समितिका लागि सांसद सदस्यहरूको नाम प्रस्ताव गर्नुभएको थियो ।

सभामुख घिमिरेको प्रस्तावलाई संसद्ले अनुमोदन गरेसँगै विषयगत समितिहरू गठन भएका छन् ।

प्रतिनिधि सभामा १० वटा विषयगत समितिहरूमा अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति रहेका छन् । 

यस्तै संयुक्त समिति अन्तर्गत संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति रहेका छन् ।  समिति गठनसँगै यसअघि राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त भएका विभिन्न विधेयकहरू र प्रतिनिधि सभामा दर्ता भई सदनमा सैद्धान्तिक छलफल भइसकेका विधेयकहरूलाई सम्बन्धित समितिमा पठाउन स्वीकृति समेत दिइएको छ ।

​​​​​​​

सबैलाई न्याय हुने गरी पारिश्रमिक निर्धारण गरिनुपर्नेमा जोड

काठमाडौँ – श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्दा निजी क्षेत्रको सक्षमता र उद्यमशीलता, देशको आर्थिक अवस्था, अर्थतन्त्रको वृद्धिदर र उत्पादकत्व समेतलाई ख्याल राख्नुपर्नेमा जोड दिइएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)सँगको सहकार्यमा आज आयोजना गरिएको ‘नेपालमा न्यूनतम पारिश्रमिक नीति तथा निर्धारण पद्दति’ विषयको अन्तरक्रियामा सहभागीले रोजगारदाता र श्रमिकलाई न्याय हुने गरी पारिश्रमिक निर्धारण गरिनुपर्नेमा जोड दिनुभयो ।

सहभागीले न्यूनतम पारिश्रमिक निर्धारण गर्दा प्रतिव्यक्ति आय, आर्थिक गतिविधिको प्रकृति, मूल्यवृद्धि, समग्र अर्थतन्त्रको अवस्था आदिलाई मध्यनजर गर्नुपर्ने विषयलाई प्रमुखताका साथ उठाउनुभएको थियो ।

कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले न्यूनतम आय निर्धारण सिफारिसका लागि गठन भएको समितिले उद्योग व्यवसाय र श्रमिक सबैका लागि न्यायोचित हुने न्यूनतम आय निक्र्यौल गर्नुपर्ने सुुझाव दिनुुभयो । उहाँले भन्नुभयो, “समितिले सुुझाव दिँदा उद्योग व्यवसायको अवस्था, अर्थतन्त्र तथा उत्पादकत्व समेतलाई ख्याल गरेर सुुझाव दिनुपर्छ ।”

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डन्डुराज घिमिरेले अर्थतन्त्रको अवस्था राम्रो नभएको र निजी क्षेत्र पनि दबाबमा रहेको अहिलेको परिस्थितिमा न्यूनतम पारिश्रमिक निर्धारण गर्दा सबैलाई न्याय हुने ढङ्गबाट गरिनुपर्ने बताउनुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव विमलप्रसाद बरालले भूगोल र आर्थिक गतिविधिअनुसार फरक न्यूनतम आय निर्धारण गर्ने कुरा जायज रहेको बताउनुभयो ।

आइएलओ नेपालका वरिष्ठ कार्यक्रम अधिकृत सलोमन राजवंशीले न्यूनतम पारिश्रमिक निर्धारणसम्बन्धी आधारपत्र निकै महत्वपूर्ण दस्तावेज बनेको र यसले न्यूनतम पारिश्रमिक निर्धारणका विषयमा वार्तामा बस्दा ठूलो सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

महासङ्घका वरिष्ठ विज्ञ हंसराम पाण्डेले न्यूनतम पारिश्रमिकसम्बन्धी नीति, तथ्य र प्रमाणमा आधारित हुनुपर्ने बताउनुभयो । न्यूनतम पारिश्रमिक बहुपक्षीय सहमतिबाट निर्धारण गर्दा उत्तम हुने उहाँको भनाइ थियो ।

कार्यक्रममा न्यूनतम पारिश्रमिकसम्बन्धी रोजगारदाताको आधारपत्रका विषयमा छलफल गरिएको थियो । आधारपत्रमा न्यूनतम पारिश्रमिकसम्बन्धी छिमेकी राष्ट्रहरूमा रहेको नीतिगत व्यवस्था तथा अभ्यासलाई नेपालको परिवेशसँग तुलनासमेत गरिएको छ ।

महासङ्घले आइएलको सहयोगमा विज्ञमार्फत आधारपत्र तयार गरेको हो । श्रम ऐन २०७४ ले प्रत्येक दुुई/दुुई वर्षमा न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्नुपर्ने व्यवस्था गरेको छ ।

समयमै निर्माण नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न माग

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा समयमा निर्माण नगर्ने त्यस्ता निर्माण व्यवसायीलाई कारबाही गर्न माग गरिएको छ ।

बैठकको शून्य समयमा नेकपा (एमाले) का सांसद विद्या भट्टराईले कास्कीमा कुनै पनि पुलहरु समयमै निर्माण हुन नसकेको भन्दै निर्माण सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न माग गर्नुभयो ।

सांसद सूर्यकुमारी श्रेष्ठले दैलेखमा सडक तथा पुल निर्माणका लागि ठूलो रकम विनियोजन गरेको भए पनि निर्माण गर्ने ठेकेदारको बेइमानीका कारण अलपत्र परेको भन्दै सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।

सांसद श्यामकुमार घिमिरेले १६ वर्षपछि आएर अयोग्य लडाकुमा नाममा दुई÷दुई लाख रकम बाँड्ने सरकारको निर्णय फिर्ता लिन आग्रह गर्नुभयो । सांसद शान्ति विकले अयोग्य लडाकुलाई दिने भनिएको फिर्ता गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सांसद सुनिता बरालले सामान्य श्रमिकदेखि ठूला व्यवसायीलाई समस्या परेको अवस्थामा गृहमन्त्रालयले अयोग्य लडाकुलाई पैसा बाँड्न गरेको निर्णय फिर्ता लिन माग गर्नुभयो ।

सांसद सरिता भुसालले देशको अर्थतन्त्र संकटमा परेको, सामाजिक सुरक्षा भत्ता प्रदान गर्न नसक्ने अवस्थामा अयोग्य लडाकुलाई दुई÷दुई लाख बाँड्न खोज्नु गलत भएको भन्दै उक्त निर्णय फिर्ता लिन आग्रह गर्नुभयो । सांसद सुशीला थिङले अयोग्य लडाकुलाई पैसा बाँड्न गृहमन्त्रालयले गरेको निर्णय फिर्ता लिनुपर्ने माग गर्नुभयो ।

सांसद विराज भट्ट श्रेष्ठले विद्यार्थीको भविष्य नै असर पर्ने गरी भ्रातृ सङ्घसंस्थाहरुले राजनीतिक गतिविधि गर्न नहुने बताउनुभयो । सांसद विनिताकुमारी सिंहले सरकारी कार्यालयमा कामकाज ढिलासुस्ती हुने गरेको र त्यस्ता स्थानमा सिसिटिभी क्यामरा जडान गरी निगरानी गर्न माग गर्नुभयो ।

सांसद सन्तोष चालिसेले काठमाडौँकै सरस्वती नगरमा दिनदहाडै महिलाको हत्या भएको विषयमा अहिलेसम्म दोषी पत्ता नलागेको प्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।

सांसद सपना राजभण्डारीले हनुमान ढोकास्थित काष्ठमण्डपको पुनःनिर्माण सम्पन्न भइसकेको भए पनि आम सर्वसाधारणका लागि ढोका नखोलिएको भन्दै तत्काल प्रवेशका लागि खुल्ला गर्न आग्रह गर्नुभयो । सांसद सम्झना थपलियाले हुलाकी मार्ग सिराहा र धनुषा जोड्ने पुल भत्किएको उल्लेख गर्दै तत्काल राजमार्गको काम सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद सरस्वती बजिमयले खोटाङको तराई जोड्ने बाटो तत्काल निर्माण तथा मर्मत गर्न माग गर्नुभयो ।

सांसद स्वर्णिम वाग्लेले निर्वाचित गर्ने तनहँुका आममतदाताप्रति आभार व्यक्त गर्दै मुग्लिन–पोखरा राजमार्गको मर्मतमा ढिलाइ हुँदा जनता मारमा परेकाले तत्काल मर्मत सम्पन्न गर्न आग्रह गर्नुभयो ।

सांसद सुमना श्रेष्ठले विदेश भ्रमण र श्रमिकका समस्या समाधानका लागि मुलुकको परराष्ट्र मामिलामा एकरुपता हुन जरुरी रहेको बताउनुभयो ।

सांसद सूर्यप्रसाद ढकालले मध्यवर्ती क्षेत्र खारेज गर्न माग गर्नुभयो । सांसद सूर्य थापाले मुलुकको राष्ट्रप्रमुख बिरामी भएको सम्बन्धमा संसद्लाई जानकारी गराउन माग गर्नुभयो । सांसद सोविता गौतमले साना लगानीकर्ताहरुले व्यवसाय गर्ने पुँजी बजार कमजोर भइरहेको र यस्तो अवस्थामा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।

सांसद हेमराज राईले आगामी बजेटमा किरातको संस्कृति संरक्षणको व्यवस्था गर्न माग गर्नुभयो । सांसद ज्ञानु बस्नेत सुवेदीले शान्ति प्रक्रियाको बाँकी कामहरु बाँकी रहेको हुनाले त्यसलाई गिजोल्ने काम नगर्न सभामुखमार्फत सबैको ध्यानाकर्षण गराउनुभयो ।

एसिसी प्रिमियर कपको सेमिफानइनलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्ने

काठमाडौँ – एसिसी मेन्स प्रिमियर कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले कुवेतको सामना गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने उक्त प्रतियोगितामा समूह ‘ए’ को विजेता नेपाल र समूह ‘बी’ को उपविजेता कुवेतबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल भोलि बिहान ९ बजेदेखि सुरु हुनेछ । नेपाल समूह चरणको अन्तिम खेलमा हिजो कतारलाई ६८ रनले पराजित गर्दै समूह ‘ए’ को शीर्ष स्थानमा रही सेमिफाइनलमा पुगेको हो ।

नेपालले समूह चरणको पहिलो खेलमा मलेसियालाई छ विकेटलले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो । त्यस्तै नेपालले आफ्नो तेस्रो खेलमा साउदी अरेबियासँग वर्षाका कारण प्रभावित भएपछि अङ्क बाँडेको थियो । समूह ‘बी’ मा रहेको कुवेतले हिजै भएको समूह चरणको अन्तिम खेलमा हङकङलाई ३० रनले पराजित गर्दै सेमिफाइनल नेपालसँगको भेट पक्का गरेको हो ।

भोलि नै हुने अर्को सेमिफाइनल खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ । समूह ‘ए’ को उपविजेता ओमानले समूह ‘बी’ को विजेता संयुक्त अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाल र कुवेत तथा ओमान र युएईबीचको विजेता टोलीले फाइनल खेल्नेछन् भने पराजित दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल यही वैशाख १८ गते हुनेछ भने तेस्रो स्थानका लागि यही वैशाख १७ गते खेल हुनेछ

राज्य शक्तिको दुरुपयोग नगर्न राजेन्द्र लिङदेनको आग्रह

काठमाडौं – राष्ट्रि प्रजातन्त्र पार्टीका सांसद सांसद् राजेन्द्र लिङदेनले राज्य शक्तिको दुरुपयोग नगर्न सरकारलाई आग्रह गर्नुभएकाे छ । प्रतिनिधिसभा बैठकमा बोल्दै लिङ्देनले अर्थतन्त्रले देश थला परिरहेको बेला अयोग्य लडाकुलाई रकम वितरण तथा राष्ट्रपतिको अस्वभाविक र महंगो वैदेशीक उपचारयात्रा सत्ता दुरुपयोगको चरम दुरुपयोग भएको बताउनुभयाे।

उहाँले अयोग्य लडाकुलाई रकम नभइ सिप र रोजगारी दिनुपर्ने बताउनुभयाे।

लिङदेनले भन्नुभयाे,‘निर्माण व्यवसायीलाई ८० अर्ब भुक्तानी गर्न बाँकी छ । राजस्वले चालु खर्च समेत धान्न सकेको छैन । यस्तो बेला राष्ट्रपतिको अस्वभाविक र महंगो वैदेशीक उपचारयात्रा र अयोग्य लडाकुलाई रकम बाँड्नु सत्ताको दुरुपयोग हो । ’

बौद्धिक पलायन रोक्न सांसदको माग

काठमाडौँ – प्रतिनिधिसभामा सांसदहरुले मुलुकमा अवसरको कमी हुँदा बौद्धिक पलायन भइरहेको बताउँदै यसलाई रोक्नका लागि आवश्यक नीति ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद राजेन्द्रप्रसाद लिङ्देनले नेपालमा बौद्धिकता पलायन भइरहेको बताउँदै बौद्धिक पलायन रोक्नका लागि सरकारले आवश्यक कार्यक्रम अघि बढाउनपर्ने धारणा व्यक्त गर्नुभयो ।

सांसद माधवप्रसाद सापकोटाले जनआन्दोलनमा लडाकुले गरेको योगदानलाई बिर्सन नहुने बताउँदै अयोग्य लडाकुको विषयमा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलकै पालाको नीति तथा कार्यक्रममा व्यवस्था गरिएको बताउनुभयो । उहाँले संसद्लाई भ्रमित पार्ने गरी यो विषयमा कुरा उठाउन उपयुक्त नभएको स्पष्ट पार्नुभयो ।

सांसद गणेश पराजुलीले गत राति बाजुरामा भूकम्प गएको र आगामी दिनमा थप भूकम्प जान सक्ने विषयमा सरकारको आवश्यक तयारीका बारेमा सजग गराउनुभयो । सांसद राजकिशोर यादवले बजेट निर्माण भइरहेको अवस्थामा कृषि क्षेत्रलाई प्राथमिकता राखी आवश्यक कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद अब्दुल खानले इदमा दिने गरेको एक दिनको बिदा वर्तमान सरकारले कटौती गरेकोप्रति आपत्ति प्रकट गर्दै मुस्लिम समुदायका लागि एक दिन बिदा दिने विषयलाई गम्भीरतापूर्वक लिन आग्रह गर्नुभयो ।

सांसद प्रेम सुवालले सरकारले जनगणना २०७८ मा लिम्पियाधुरालाई किन छुट्याएको भनी प्रश्न गर्दै पटक पटक लडाकुका नाममा कार्यकतालाई पैसा बाँड्नु भ्रष्टाचार भएको बताउनुभयो । सांसद प्रभु साहले नेपालमा आठ महिनायता मात्रै आठ अर्बभन्दा बढी पैसा विदेशिएको भन्दै त्यसतर्फ राज्यले ध्यान दिनुपर्ने आग्रह गर्नुभयो ।

सांसद डा अमरेशकुमार सिंहले मुलुकमा चरम भ्रष्टाचार बढ्दै गएको हुनाले त्यो रोक्नका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । शान्तिप्रक्रियाका नाममा यसअघि पनि पार्टीले पैसा लिएको र अहिले पनि दुई लाख लिएर पार्टीले एक–एक लाख लिन खोजेको आरोप लगाउनुभयो ।

सांसद गोकुल बाँस्कोटाले आफ्नो पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा भएको अवाञ्छित गतिविधिप्रति दुःख व्यक्त गर्दै सरकारले शान्तिसुरक्षाको उचित प्रबन्ध गर्न नसकेको टिप्पणी गर्नुभयो ।

सांसद राजु थापाले सिद्धार्थ राजमार्गको रानीघाट पुल तत्काल निर्माण गर्नुपर्ने र त्यसले नेपालको पर्यटकमार्फत आर्थिक अवस्थामाथि उठाउनका लागि सहयोग गर्ने बताउनुभयो । उहाँले उक्त राजमार्ग निर्माण गर्ने क्रममा पीडित परिवारलाई राहत प्रदान गर्न आग्रह गर्नुभयो ।

पुष्पबहादुर शाहले माथिल्लो कर्णाली जलविद्युत् भारतको जिएमआर कम्पनीले बनाउने भने पनि हालसम्म निर्माण प्रक्रिया अघि बढ्न नसकेको भन्दै प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका बेला सो जलविद्युत् निर्माण प्रक्रिया अघि बढाउन आग्रह गर्नुभयो ।

लक्ष्यअनुसार राजस्व सङ्कलन नहुनुले आर्थिक अवस्था कस्तो छ देखाउँछ : सांसद पौडेल

काठमाडौँ – सांसद प्रदीप पौडेलले चालु आर्थिक वर्षमा हालसम्म लक्ष्यको ५० प्रतिशत मात्रै राजस्व उठ्नु आर्थिक अवस्थाले अर्थतन्त्र कुन अवस्थामा छ भन्ने स्पष्ट पारेको बताउनुभएको छ । कुल रु १४ खर्ब तीन अर्ब राजस्व सङ्कलनको लक्ष्य लिइएकोमा हालसम्म जम्मा रु सात खर्ब तीन अर्ब मात्रै राजस्व सङ्कलन हुनु राम्रो नभएको उहाँको भनाइ छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले यही अनुपातमा राजस्व उठ्दा चालु आवको बाँकी अवधिमा करिब दुई खर्ब राजस्व थपिने बताउनुभयो ।

“यो भनेको लक्ष्यको करिब ६४ प्रतिशत मात्रै हुन्छ, यो किन र कसरी भएको छ ? किन राजस्व क्षमतामा ह्रास आएको छ ? यस विषयमा सदनमा गम्भीर समीक्षा हुनु आवश्यक छ, आजका मितिसम्म सरकारले जम्मा नौ खर्ब ७६ अर्ब खर्च गरेको छ, खर्च र आम्दानीका बीचमा तालमेल देखिएन, त्यस्तै अनुदान रु ५५ अर्ब प्राप्त गर्ने भनेकामा रु पाँच अर्ब अर्थात् आठ दशमलव ६६ प्रतिशत पनि प्राप्त गर्न सकेका छैनाैँ”, उहाँले भन्नुभयो ।

वैशाख १४ गतेसम्मको चालु खर्च रु सात खर्ब २७ अर्ब रहेको उल्लेख गर्नुहुँदै सांसद पौडेलले चालु खर्च धान्न रु २४ अर्ब ऋण लिनुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो । चालु खर्च धान्नसमेत राजस्वको आर्जन पर्याप्त नहुनु अत्यन्त गम्भीर विषय भएको उहाँको भनाइ थियो ।

दिगो एवं फराकिलो आर्थिक वृद्धिको कुरा गर्ने मुलुकमा चालु खर्च धान्न ऋण लिनुपर्ने अवस्था सिर्जना हुने विडम्बनापूर्ण अवस्था रहेकामा सांसद पौडेलले सरकारको ध्यानाकर्षण गराउनुभयो । वैशाख १४ गतेसम्म चालु खर्च लक्ष्यको ६१ दशमलव ५२ प्रतिशत र पुँजीगत खर्च लक्ष्यको ३० दशमलव ४९ प्रतिशत मात्र भएको उहाँले सुनाउनुभयो ।

महाविर पुन धर्नामा

काठमाडाैँ – राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक महावीर पुनले सरकार समक्ष विभिन्न माग राख्दै आजदेखि माइतीघरमा धर्ना सुरु गर्नुभएको छ । 

“अर्थतन्त्र सुधार नै हाम्रो माग हो”, उहाँले भन्नुभयो, “युवा जनशक्ति विदेश पलायन हुनबाट रोक्न सरकारले सहज वातावरण सिर्जना गर्नुपर्छ ।”

पुनले अनुसन्धान, नवप्रर्वतन र अविष्कार तथा अनुसन्धानमा सहयोग गर्न सङ्घ र प्रदेश सरकारले विकास बजेटको एक प्रतिशत रकम छुट्याउन र ‘अनुसन्धान, नवप्रर्वतन र अविष्कार कोष’मा उक्त रकम जम्मा गर्नुपर्ने माग गर्नुभयो । 

उहाँले कोषको रकम सहज तरिकाले समयमै प्रतिभाशाली र नवीनतम सोच भएका नेपालीलाई उपलब्ध गराउन छुट्टै ‘अनुसन्धान, नवप्रर्वतन र अविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरिद ऐन’ बनाउनुपर्ने बताउनुभयो । अनुसन्धान केन्द्रबाट उत्पादन भएका वस्तुको बजारीकरणका लागि नीति नियम बनाउनुपर्ने, कामलाई सहज बनाउन र आवश्यक अनुसारको नीति नियम बनाउन ‘नवउद्यमी प्रवर्द्धन समिति’ बनाउनुपर्ने, नवउद्यमी बन्न चाहने नेपालीका लागि अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराउनुपर्ने पनि उहाँको माग छ । 

निजी अनुसन्धान केन्द्र, मुनाफा वितरण नगर्ने अनुसन्धान केन्द्र र विश्वविद्यालयमा व्यवहारिक अनुसन्धानलाई उच्च प्राथमिकताका साथ प्रोत्साहन गर्न र प्रवर्द्धनका लागि विज्ञान मन्त्रालयअन्तर्गत व्यवहारिक अनुसन्धान र नवप्रवर्तन विभाग खोल्नुपर्ने उहाँको माग छ । 

एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : मुख्यमन्त्री पाण्डे

गण्डकी – गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदभार ग्रहण गर्नुभएको छ । आज पद तथा गोपनीयताको शपथ लिएसँगै उहाँले मुख्यमन्त्री कार्यालयमा पदभार ग्रहण गर्नुभएको हो ।

सो अवसरमा उहाँले आगामी आवका लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्माणका लागि प्रमुख सचिवको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको थियो ।

नवनियुक्त पाण्डेले उत्पादन र आर्थिक गतिविधिसँग जोडिने आयोजना सञ्चालनलाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताउनुभयो । “प्रदेशले अर्काको मुखमात्र ताकेर योजना बनाउनुपर्ने अवस्था हुनुहुँदैन, आम्दानीका स्रोत बढाउने, आर्थिक गतिविधिलाई प्रभावकारी बनाउनेमा सरकारको जोड रहन्छ”, उहाँले भन्नुभयो ।

पर्यटन, कृषि, जलविद्युत्लगायत क्षेत्रको विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गर्ने उहाँको भनाइ छ । मुख्यमन्त्री पाण्डेले एक साताभित्रैमा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभयो । उहाँले मन्त्रालयको सङ्ख्या पनि नथपिने प्रष्ट पार्नुभयो ।

आज मुख्यमन्त्री पाण्डेसँगै दुई नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य सुशीला सिम्खडा र नेपाली कांग्रेसका सरस्वती अर्याल तिवारीले विनाविभागीय मन्त्रीका रुपमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कांग्रेस संसदीय दलका नेता पाण्डे बिहीबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

कांग्रेसका २७, माओवादी केन्द्रका सात र नेकपा (एकीकृत समाजवादी)का एकसहित प्रदेशसभाका ३५ सदस्यको समर्थनमा पाण्डे गण्डकी प्रदेशको चौथो मुख्यमन्त्री बन्नुभएको हो । नवनियुक्त मुख्यमन्त्री गत मङ्सिरमा भएको प्रदेशसभा निर्वाचनमा गोरखा–२ (२) बाट निर्वाचित हुनुभएको थियो ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका मुख्यमन्त्री पाण्डे विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय व्यक्तित्व हुनुहुन्छ । प्रदेशसभाबाट विश्वासको मत गुमाउँदै एमाले नेतृत्वको सरकार ढलेपछि गण्डकीमा नयाँ संयुक्त सरकार बनेको हो ।

राज्य स्रोतमा हातहाल्न पाउने बित्तिकै ब्रह्मलुट मच्चाउने प्रवृत्ति देखा पर्यो : राजेन्द्र लिङ्देन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राज्य स्रोतमा हातहाल्न पाउने बित्तिकै ब्रह्मलुट मच्चाउने प्रवृत्ति देखा परेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौँमा राप्रपा बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै लिङ्देनले श्रोत साधनको अभावका कारण विकास आयोजनाहरू सुस्त रहेको , ऋण उठाएर चालू खर्च चलाउनुपरेको अवस्थामा अहिले राज्य स्रोतमा हातहाल्न पाउने बित्तिकै ब्रह्मलुट मच्चाउने प्रवृत्ति देखा परेको बताउनुभएको हो ।

अहिलेको अवस्थामा राष्ट्रपतिको औषधी उपचारका लागि विदेश यात्रा जानु काम भएको र अयोग्य लडाकुलाई रकम दिने तयारी गरिएको भन्दै त्यसलाई रोक्न राप्रपा जस्तो दलहरू मजबुत हुनुपर्ने उहाँले बताउनुभयो । लिङ्देनले प्रारम्भदेखि नै उपनिर्वाचनलाई प्राथमिकतामा नराखेका कारण मत परिणामले आत्तिनुपर्ने कुनै कारण नभए पनि जनताले विकल्पको खोजी गरेको सन्देश दिएको बताउनुभयो ।

उहाँले यसअघि सरकारको नेतृत्व गरेकाले नै प्रतिबद्धता विपरीतको काम गरेकाले सरकार छाडेको स्पष्ट पार्दै सरकारमा बसेका समयमा राप्रपाका मन्त्रीहरूले गरेको कामका कारण लजाउनुपर्ने र शिर झुकाउनुपर्ने अवस्था नआउने जिकिर गर्नुभयो । त्यस्तै उहाँले भागबण्डा गरेर र पहिलेको अवस्था फर्काएर पार्टीलाई समाप्त पार्ने छुट आफूलाई नभएको स्पष्ट पार्नुभयो ।

लिङ्देनले पार्टीमा बसेर पार्टीलाई नै भोट दिन सकिँदैन भने पार्टी छाडेर सघाउन सुझाव दिनुभयो ।

पार्टीका भ्रातृ संगठनविरुद्ध विद्रोह गर्ने रास्वपा सांसद श्रेष्ठको चेतावनी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले राजनीतिक दलका भ्रातृ संगठनविरुद्ध विद्रोह गर्ने चेतावनी दिएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले विद्यालयमा राजनीतिक दलका भ्रातृ संगठनको हुने राजनीतिक गतिविधि नरोकिए विद्रोह गर्ने चेतावनी दिएका हुन् । 

काठमाडौं–८ बाट निर्वाचित सांसद श्रेष्ठले आफ्ना भ्रातृ संगठनलाई विद्यालय क्षेत्रमा गतिविधि नगर्न सुझाउन दलहरुलाई सुझाव दिए । कानुनविपरीत राजनीतिक दल र भ्रातृ संगठनका गतिविधिबारे आफूहरुको ध्यानाकर्षण भएको बताउँदै उनले विद्यालयमा हुने झण्डाहरूसहित राजनीतिक कार्यक्रम रोक्न खोज्दा अभद्र व्यवहार गरेको जानकारी गराए । 

विद्यार्थीहरुको भविश्यमा खेलवाड गर्न नपाइँने भन्दै उनले माध्यामिक तहमा राजनीतिक दलका गतिविधि नरोकिए विद्रोह गर्ने राजनीतिक दललाई चेतावनी दिए । 

‘अध्यक्ष ओली र एमालेका नेतामाथि आक्रमण गरेर सरकारले के गर्न खोजेको हो ?’ : विष्णु पौडेल

काठमाडौं । एमाले सांसद विष्णु पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित आफ्ना नेताहरुमाथि भएको आक्रमणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले १३ वैशाखमा झापमा ओलीसहित सुवास नेम्वाङसहित एमालेका नेतामाथि आक्रमण भएको विषयमा गृहमन्त्रीको जवाफप्रति चित्त बुझाउन नसकिएको भन्दै प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरे ।

अध्यक्ष ओली पाँचथरमा रहेका र त्यहाँको शान्ति सुरक्षा राम्रो नभएकाले कुनै अप्रिय घटना भए सरकारलाई महंगो पर्ने उनले चेतावनी दिए ।

झापामा ओलीमाथि भएको सांघातिक आक्रमणको प्रयासमा सत्तारुढ दलका कार्यकर्ताको संलग्नता रहेको सूचना आएको भन्दै उनले भने, ‘अध्यक्ष ओली र एमालेका नेतामाथि आक्रमण गरेर सरकारले के गर्न खोजेको हो ?’

नेतामात्र होइन आमनागरिकमाथि आक्रमण भएको र हत्या भएको भन्दै उनले सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको हो भन्दै प्रधानमन्त्रीसँग प्रश्न गरे ।

दिनदहाडै कपनमा पसलमै निरा पाण्डे आचार्यको हत्या भएको र हत्यारा पत्ता लगाउन नसकेको भन्दै उनले देशभर सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको बताए ।

अयोग्यले त दुई लाख पाउने हो भने योग्यले कति पाउने हो : रामहरि खतिवडा

काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले देशको अन्र्थतन्त्र कमजोर भइरहेको बेलामा सरकारको पैसा बाँड्ने काम बन्द गर्नुपर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अयोग्य लडाकुको नाममा पैसा बाँड्न बन्द गर्नुपर्ने बताएका हुन् ।

उनले सरकारलाई प्रश्न गर्दै भने, ‘सबै देशका नागरिकहरु योग्य छन् । अयोग्यले त दुई लाख पाउने हो भने योग्यले कति पाउने सरकारले निर्णय गरोस्र , अयोग्यलाई होइन योग्यलाई पनि निर्णय गरोस् ।’

वैदेशिक हस्तक्षेप रोक्न नेताको विदेश भ्रमणको कार्यसूची संसदबाट पास गर्नुपर्छ : सुमना श्रेष्ठ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले वैदेशिक हस्तक्षेप रोक्न नेताको विदेश भ्रमणको कार्यसूची संसदबाट पास गर्नुपर्ने प्रस्ताव गरेकी छन् । 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले वैदेशिक हस्तक्षेप रोक्ने कंक्रिट प्रस्ताव भन्दै नेताको विदेश भ्रमणको कार्यसूची संसदबाट पास गर्नुपर्ने बताएकी हुन् । 

यसले नेपालको विदेश नीतिमा दलीय एकमत रहेको मित्रराष्ट्रहरुले पनि अनुभूति गर्ने भन्दै उनले भ्रमणपछि भ्रमणमा के के भए भन्ने विषय पनि सदनलाई जानकारी गराउनुपर्ने बताइन् । 

सांसद लक्ष्मी महतो कोइरीबारे संसदलाई कुनै जानकारी छैन : सभामुख घिमिरे

काठमाडौँ – सभामुख देवराज घिमिरेले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीबारे संसदलाई कुनै जानकारी नभएको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले कोइरीलाई किन निलम्बित नगरिएको भन्ने प्रश्न उठाएपछि उनले त्यस्तो बताएका हुन् ।

उनले भने, ‘लक्ष्मी महतो कोइरीका सम्बन्धमा प्रतिनिधि सभा नियमावली २०७९ सभाबाट पारित भइसकेपछि नियम २४८ का सम्बन्धमा सभामुखलाई कुनै जानकारी प्राप्त नभएको व्यहोरा म जानकारी गराउन चाहन्छु ।’

‘विकास बजेट कटौती नगरियोस्’

काठमाडौँ – प्रतिनिधिसभाका सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा विकास बजेट कटौती नगर्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद रोशन कार्कीले तत्कालीन नेकपा (माओवादी)का अयोग्य लडाकुलाई पैसा दिने निर्णय तत्काल फिर्ता लिन सरकारसंग माग गर्नुभयो ।

सांसद बद्री पाण्डेले बाजुरालाई केन्द्रबिन्दु भएर शुक्रबार भूकम्प गएको र सुदूरपश्चिम अझै भूकम्प आउने विशेषज्ञले बताइरहेका सन्दर्भमा यसको तयारीका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद ठाकुर गैरेले संसद्को हिउँदे अधिवेशन आज अन्तिम भन्ने सुनिएको तर प्रधानमन्त्रीले संसद्मा उठेका प्रश्नको जवाफ कहिले दिनुहुन्छ भनी प्रश्न गर्नुभयो । सांसद चन्दा कार्कीले राष्ट्रपति उत्थान कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयअन्तर्गत राख्नुपर्ने, प्र्रसूति गृहमा हेलिप्याड राख्ने व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।

सांसद विश्वप्रकाश शर्माले झापामा हात्तीको आक्रमणबाट व्यक्तिको मृत्यु हुनेक्रम बढ्दो रहेको र वन्यजन्तु तथा बालीनाली विनाश गर्ने गरेको अवगत गराउँदै राहत प्रदान गर्न एवं समस्या समाधानका लागि आवश्यक पहल गर्न माग गर्नुभयो ।

सांसद रामहरि खतिवडाले अयोग्य लडाकुलाई जनही रु दुई÷दुई लाख रकम वितरण गर्न लागिएकोप्रति विरोध जनाउँदै आर्थिक मन्दी भएका बेलामा यो कार्य रोकिनुपर्छ भन्नुभयो । सांसद वासुदेव घिमिरेले राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले राखेका जायज माग पूरा गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । सांसद लालवीर चौधरीले किसानलाई समय मै मल र बीउको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

अयोग्य लडाकुलाई रकम वितरण गर्ने निर्णय खारेज गर्न माग

काठमाडौँ – नेकपा (एमाले)ले तत्कालीन नेकपा (माओवादी)का अयोग्य लडाकुलाई रकम वितरण गर्ने गरी वर्तमान सरकारले निर्देशिका पारित गरेको निर्णय तत्काल खारेज गर्न माग गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरी मुलुकको आर्थिक अवस्था नाजुक रहेको अवस्थामा शान्ति प्रक्रिया टुङ्ग्याउने नाममा अयोग्य लडाकुलाई वितरण गर्न रु एक अर्बभन्दा बढी रकम वितरण गर्ने तयारी गरेको आरोप लगाउनुभयो ।

उहाँले निर्माण सम्पन्न भएका परियोजनाको भुक्तानी, शिक्षकको पेन्सनबापत, निजामती कर्मचारीको पेन्सन भुक्तानीमा अपुग, सामाजिक सुरक्षा भत्ताको भुक्तानी बाँकी रहेको, राज्यले तिर्नुपर्ने ऋणको साँवा÷ब्याज भुक्तानी बाँकीलगायत विषयमा अर्बाै रकम अपुग रहेको अवस्थामा राज्यको रकम मनपरि वितरण गर्न नहुने बताउनुभयो ।

प्रमुख सचेतक गिरीले स्थानीय तहको सामान्यीकरण बजेट कटौती भएको र सर्वसाधारणले सामान्य जोहोसमेत गर्न नसकेको अवस्थामा अयोग्य लडाकुका चार हजार आठ सय बढी व्यक्तिलाई राज्यको कोषबाट रकम वितरण गर्न खोज्नु दुःखद भएको टिप्पणी गर्नुभयो ।

साथै उहाँले यसअघि माओवादीका लडाकुका नाममा निकासा गरिएको रकमको हिसाबकिताबसमेत स्पष्ट नभएको बताउनुभयो । उक्त निर्णय तत्काल खारेज नभए आन्दोलन गर्ने उहाँको चेतावनी थियो ।

साथै उहाँले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओली केही दिनअघि झापाको कार्यक्रममा सहभागी भएका बेला केही व्यक्तिले अवान्छित गतिविधि गरेको र त्यस्ता व्यक्तिलाई सत्ता पक्षले उम्काउने प्रयास गरेको जनाउँदै छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।

संसद्‌को अधिवेशन अन्त्य हुँदै

काठमाडौँ – संघीय संसद्‌को अधिवेशन अन्त्यको तयारी गरिएको छ । आजको बैठकपछि अधिवेशन अन्त्यका लागि तयारी गरिएको सभामुख देवराज घिमिरेको सचिवालयले जनायो ।

मंसिरमा १० को निर्वाचनपछि पुस २५ गते संसद्को पहिलो बैठक राखिएको थियो । यो अधिवेशनभरि २८ वटा बैठक भएका छन् ।

कार्यवाहक राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस

काठमाडौँ – निर्वाचन आयोगले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसमक्ष यही वैशाख १० मा सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन, २०८० को निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा कार्यवाहक राष्ट्रपति यादवसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन पेस गर्नुभएको हो । सो अवसरमा कार्यवाहक राष्ट्रपति यादवले निर्वाचन सम्पन्न गरी संवैधानिक र कानुनी दायित्व पूरा गरेकामा आयोग र सम्बद्ध सबैमा धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले स्वच्छ, भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न भएको अवगत गराउनुभएको थियो । सो अवसरमा निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, डा जानकीकुमारी तुलाधर, आयोगका सचिव गोर्कणमणि दुवाडी, सहसचिव शालिग्राम शर्मा पौडेललगायत सहभागी हुनुहुन्थ्यो । निर्वाचनको परिणाम सार्वजनिक भएको एक साताभित्र सो प्रतिवेदन बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको छ ।

अयोग्य, लडाकु र भत्तामा राजनीति नगरौं : विष्णु रिमाल

काठमाडौँ – नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले अयोग्य, लडाकु र भत्तामा राजनीति नगर्न सरकारलाई सुझाव दिनुभएको छ । 

आज बिहान सामाजिक सञ्जालमा लेख्दै उपमहासचिव रिमालले मुलुकको अर्थतन्त्र धरमराई रहेको बेला अयोग्य, लडाकु र भत्तामा राजनीति नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिनुभएको हो । 

‘प्रधानमन्त्री ज्यू, मुलुकको अर्थतन्त्र यति नराम्रोसँग धरमराई रहेको बेला यस्तै निर्णय गर्ने हो र ? द्वन्द्वबाट भविष्य बर्बाद पारिएका युवा–स्वाभिमानलाई अझै नचिमोटौं । मानवीय संवेदनासँग नखेलौं !, उहाँले लेख्नुभएको छ, “अयोग्य, लडाकु र भत्ता” जस्ता विषयमा “राजनीति” नगरौं प्लिज ! 

यसअघि शान्ति प्रक्रियाको क्रममा “अयोग्य” भनिएकाहरूलाई केही राहत दिइएको भन्दै उहाँले फेरि २०७८ को बजेटमार्फत करिब १ अर्ब भुक्तानी गरिएको पनि जानकारी गराउनुभएको छ । 

‘सुनिँदैछ, सरकारले प्रदेश र स्थानीय तहमा पठाउनु पर्ने ४४ अर्ब समानिकरण अनुदानमा आधा कटौती गऱ्यो रे ! परिणाम–प्रदेश र स्थानीय तहका कर्मचारीको तलब र अनिवार्य दायित्वमा हुने खर्च अब रोकिने छ,’ उहाँले थप लेख्नुभएको छ, ‘जनता नुन किन्न सकिरहेका छैनन् । बजारको सर्वे गर्नुस्–सर्वसाधारणले प्रयोग गर्ने आन्तरिक वस्त्रको समेत बिक्री घटेको छ ।’

अनिवार्य दायित्वभित्रको कूल १ खर्ब २० अर्ब भुक्तानी गर्न बाँकी रहेको उहाँले उल्लेख गर्नुभएको छ । 

सङ्घीय र प्रदेश सरकारमा गठबन्धन दलको पालैपालो सरकार : माधवकुमार नेपाल

धनुषा – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कुनै पनि पार्टीको स्पष्ट बहुमत नरहेकाले सङ्घीय र प्रदेश सबै सरकारमा गठबन्धनका दलको पालैपालो नेतृत्व हुने बताउनुभएको छ ।

जनकपुरधाममा आज समाजवादी पत्रकार सङ्गठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यो प्रदेश मेरो त्यो प्रदेश तिम्रो भन्ने स्थिति नरहेकाले सबै सरकारमा गठबन्धनकारी दलहरुले नेतृत्व पाउनुपर्नेसमेत बताउनुभयो । चितवन, तनहुँ र बाराको उपनिर्वाचनको परिणामले हालका देशका मुख्य मूलधारका पार्टी समयमै समीक्षासहित सुध्रिन सन्देश दिएकाले त्यसको तत्कालै समीक्षा र सुधार हुन आवयश्क रहेको उहाँको भनाइ थियो ।

अध्यक्ष नेपालले अब ७० लागेका नेता आराम गर्नुको विकल्प नरहेको भन्दै उहाँले स्वयं आफूलगायत त्यस्ता सम्पूर्ण नेतालाई पुस्तान्तरणका लागि आह्वान गर्नुभयो ।

उहाँले समाजवादी मोर्चाका लागि पनि अब पहल सुरु हुने बताउनुभयो । माओवादी र जसपासँग मात्र होइन विप्लव समूहसँग समेत कुराकानी भइरहेको बताउँदै उहाँले कम्युनिष्ट आन्दोलन बचाउन मोर्चा गरिने जानकारी गराउनुभयो ।

निजामती अस्पताल नेपाल र चीनबीचको घनिष्ट सम्बन्धको प्रतीकः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र चीनबीचको मैत्रीपूर्ण एवं जनस्तरको सहयोगी सम्बन्धको लामो इतिहास रहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “दुई देशबीचको आर्थिक, सांस्कृतिक एवं जनस्तरको सम्बन्ध अनादिकालदेखि नै छ । मित्रता, पारस्परिक सम्मान, समझदारी र एकअर्काको जायज चासो तथा संवेदनशीलताको कदरले असल छिमेकी सम्बन्धको आधार बनाउँछ ।” प्रधानमन्त्री दाहालले पछिल्ला दिनमा दुई देशबीचको सम्बन्ध थप विस्तारितै हुँदै गएकामा खुसी व्यक्त गर्नुभयो ।

चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको निजामती अस्पतालको भवन हस्तान्तरण कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्रीले विस्तारित र स्तरोन्नति पूर्वाधार र सुविधाले अस्पतालले राम्रो उपचार तथा सेवाको खोजीमा रहेका बिरामीलाई सहज सेवा प्रदान गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “म यस अस्पताल र स्तरोन्नति र पुनःनिर्माणको यो विशेष परियोजनामा सहयोग गरेकोमा जनवादी गणतन्त्र चीन सरकारलाई धन्यवाद दिन चाहन्छु ।” नेपालको विकास प्रयासमा चीनको निरन्तर सहयोग रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “हामीलाई प्राप्त सहयोग विकास पूर्वाधार निर्माण गर्न सम्पर्क सञ्जालको विस्तार तथा नेपाली नागरिकलाई सहज स्वास्थ्य सुविधा प्रदान गर्न एवं मानव संसाधनको विकास र जीविकोपार्जनलाई थप सहज बनाउन धेरै सहयोगी रहँदै आएको छ ।”

प्रधानमन्त्रीले निजामती अस्पताल दुई देशबीचको दशकौँदेखिको घनिष्ट सम्बन्धको प्रतीकका रूपमा पनि उभिएको उल्लेख गर्नुभयो । स्वास्थ्य पूर्वाधार सिर्जना एवं विस्तार गर्न र स्वास्थ्य संस्थामा आवश्यक उपकरण र चिकित्सा सहयोगका लागि चीन सरकारले उपलब्ध गराएको चीनको सहयोग सह्रानीय रहेको उहाँको भनाइ छ ।

भरतपुरमा क्यान्सर अस्पताल निर्माणमा पनि चीनले सहयोग उपलब्ध गराएकामा चीन सरकारलाई धन्यवाद दिँदै प्रधानमन्त्रीले यस क्षेत्रमा चीन सरकारबाट निरन्तर प्राप्त भएको साथप्रति आभार प्रकट गर्नुभयो । चीनका विभिन्न विश्वविद्यालयमा नेपालमा चिकित्सक र स्वास्थ्यकर्मीले अध्ययन गरिरहेको तथ्य पेश गर्दै प्रधानमन्त्रीले त्यहाँबाट फर्किएकाले यहाँ उत्कृष्ट सेवा गरिरहेकोमा प्रसन्नता व्यक्त गर्नुभयो ।

कोरोनाकालमा कोभिड खोप, अत्यावश्यक चिकित्सा उपकरण र अन्य अत्यावश्यक चिकित्सा सामग्रीमा चीनले गरेको उदार सहयोगप्रति कृतज्ञ रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “नजिकको छिमेकी र मित्रराष्ट्र चीनको यो उदारता र वास्तविक ऐक्यबद्धतालाई हामी सधैँ स्मरण गरिरहन्छौँ ।” चीन र अन्य विकास साझेदारको सहयोगका कारण हामी महामारीका कठिनाइ पार गर्न सक्षम भएको प्रधानमन्त्रीको भनाइ छ ।

नजिकको छिमेकी, असल मित्र र भरपर्दोे साझेदारका रूपमा नेपालले चीनसँग थप सम्बन्ध विस्तार गर्न चाहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले चीनले चिकित्सा विज्ञान र प्रविधिसहितको सामाजिक आर्थिक विकासमा गरेको ठूलो फड्कोबाट हामीले पनि फाइदा लिनुपर्ने बताउनुभयो ।

नेपाली जनताको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न, थप सुविधा विस्तार गर्न, पूर्वाधारको निर्माण गर्न आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले निजामती अस्पताललाई थप पूर्वाधार र सुविधासहितको विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्ने सोचका साथ सरकार लागिपरेको उल्लेख गर्नुभयो ।

गण्डकीका मुख्यमन्त्री र दुई मन्त्रीको शपथ

गण्डकी – गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित दुई बिनाविभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

आज प्रदेश प्रमुखको निवासमा आयोजित समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री र मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । बिनाविभागीय मन्त्रीका रुपमा प्रदेशसभा सदस्य सुशीला सिम्खडा र सरस्वती अर्याल तिवारीले शपथ ग्रहण गर्नुभएको हो ।

सिम्खडा नेकपा (माओवादी केन्द्र) र तिवारी नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । मन्त्रिपरिषद् विस्तार र नवनियुक्त मन्त्रीहरूको जिम्मेवारी बाँडफाँट छिट्टै हुने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कांग्रेस संसदीय दलका नेता पाण्डेलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

कांग्रेसका २७, माओवादी केन्द्रका सात र नेकपा (एकीकृत समाजवादी)का एकसहित प्रदेशसभाका ३५ सदस्यको समर्थनमा कांग्रेसका पाण्डे गण्डकी प्रदेशको चौथो मुख्यमन्त्री बन्नुभएको हो । नवनियुक्त मुख्यमन्त्री गत मङ्सिरमा भएको प्रदेशसभा निर्वाचनमा गोरखा–२ (२) बाट निर्वाचित हुनुभएको थियो ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका मुख्यमन्त्री पाण्डे विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय व्यक्तित्व हुनुहुन्छ । प्रदेशसभाबाट विश्वासको मत गुमाउँदै नेकपा (एमाले) नेतृत्वको सरकार ढलेपछि गण्डकीमा नयाँ संयुक्त सरकार बनेको हो ।