बिचौलियालाई पाल्ने सरकार, दोषचाहिं एमालेलाई ? : पदम गिरी


काठमाडौँ – नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले अहिलेको गठबन्धन सरकारले बिचौलियालाई संरक्षण गर्ने काम गरिरहेको बताउनु भएको छ।
आइतबार संसद् बैठकमा बजेटमाथिको छलफलका क्रममा आफ्ना भनाइ राख्दै उहाँले यस्तो बताउनु भएको हो।
गिरीले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा पूर्वकर्मचारीलाई बिचौलियका रुपमा अर्थमन्त्रालयमा छिराएर करका दरमा जथाभावी हेरफेर गरिएको पनि बताउनु भयो।
आज प्रतिनिधि सभा बैठकमा बोल्दै गिरीले कांग्रेस र माओवादीको गठबन्धन दुई वर्षदेखि सरकारमा रहेको बताउँदै गिरीले आजको देशको अवस्था कस्तो भएको छ ? भन्दै प्रश्न गर्नुभयो।
१४ खर्ब राजश्व संकलन गर्ने लक्ष राखेकोमा ८ खर्ब रकम पनि संकलन गर्न नसकेको सरकार असफल भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो सरकारको असक्षमता देश र दुनियाँलाई थाहा हुनुपर्छ कि पर्दैन ?’
सकारले सेटिङमा राखिएका बिचौलिया भन्सार छलीमा संलग्न भएका कारण सोचे अनुसार राजश्व संकलन हुन नसकेको उहाँले दाबी गर्नुभयो। गिरीले भन्नुभयो, ‘भन्सार छल्ने काममा सरकारका मान्छेहरू लागेका छन्।’
अर्थतन्त्र टाट पल्टिने अवस्थामा पुगेको देशले आउने आर्थिक वर्षमा १२ खर्ब राजश्व संकलन गर्ने कुरा गर्नु हास्यास्पद भएको उहाँले बताउनुभयो । यो लक्ष कुनै पनि हालतमा प्राप्त हुन नसक्ने गिरीले बताउनुभयो । देशमा अवस्था अहिले कहालीलाग्दो अवस्थामा रहेको उहाँले प्रष्ट पार्नुभयो ।
हिजो केपी ओली सरकारले सुरु गरेका कामलाई निरन्तरता दिए मात्रै पनि देश समाजवादको बाटोमा अघि बढ्ने उहाँले दाबी गर्नुभयो । तर सरकारले ती कार्यक्रमलाई समेत निरन्तरता दिन नसकेको उहाँले बताउनुभयो । अहिले सरकार दृष्टिकोणहीन भएको गिरीको भनाइ छ ।
नेकपा एमाले अहिले सत्तामा नभए पनि देशको राजनीति एमाले वरिपरि घुमिरहेको उहाँले बत्ताउनुभयो । देशका समस्या सम्बोधन गर्ने पार्टी नेकपा एमाले भएको उहाँले दाबी गर्नुभयो।