काठमाडौं – सेयर बजारका लगानीकर्ताहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन् । लगानीकर्ताहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरी पुँजी बजार सुधारका लागि विभिन्न मागहरु प्रस्तुत गरेका हुन् ।
उनीहरुले खुला रुपमा नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ती कार्यान्वयन गर्न माग गरेका छन् । सोमबार नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजी बजार लगानीकर्ता संघका प्रतिनिधिहरुको टोलीले अर्थमन्त्रीलाई भेटेका हुन् ।
यस्तै, लगानीकर्ताले सेयर धितो कर्जामा कायम रहेको १२ करोड रुपैयाँको सीमा खारेज र १५० प्रतिशत पुर्याइएको जोखिम भारित औसतलाइ १०० प्रतिशत नै कायम गर्नुपर्ने माग राखेका छन् ।
यता, अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई ३ प्रतिशत मात्र पुँजीगत लाभकरको व्यवस्था गर्नुपर्ने माग पनि रहेको छ । साथै, बैंक ब्याजदरलाई पुनरावलोकन गरी एकल अंकमा कायम गरिदिन र तरलता समस्याको समाधान गर्ने व्यवस्था तत्काल मिलाइदिन पनि लगानीकर्ताहरुले अर्थमन्त्री डा. महतसँग अनुरोध गरेका छन् ।
तातोपानी – सिन्धुपाल्चोककाे तातोपानी नाका साेमबारदेखि दुई तर्फी रुपमा सञ्चालनमा आएको छ । आठ वर्षपछि तातोपानी नाका सञ्चालनमा आएकाे हाे। पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप साेमबारदेखि दुईतर्फी आयात निर्यात सुरु भएको हो ।
साेमबार बिहान नेपालबाट २९ लाख २९ हजार ८ सय ११ रुपैयाँ बराबरको तीन ट्रक मुडा र म्याट्रेस चीन तर्फ निर्यात भएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले जानकारी दिए ।
गत महिना नेपाली र चिनियाँ अधिकारीहरूबीच ल्हासामा भएको बैठकपछि नाका भूकम्पअघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भएअनुसार साेमबारदेखि नेपाल र चीन दुबैतर्फबाट आयात निर्यात खुला भएको हो ।
काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको श्रमिक आन्दोलनका कारण अन्तर्राष्ट्रिय श्रमिक दिवस सम्मानित, सुरक्षित र समृद्ध जीवन प्राप्तिको उपलब्धिका रुपमा मनाउन पाइएको बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले एमाले सरकारले औद्योगिक प्रतिष्ठान र श्रमिकका सरोकारलाई सम्बोधन गरी सुस्थिर औद्योगिक वातावरण र श्रमिकको सुरक्षित तथा सम्मानित जीवनको सुनिश्चित गर्ने काम गरेको दाबी गर्नुभयो ।
अध्यक्ष ओलीले नयाँ श्रम ऐनमार्फत श्रमजीवी वर्गको सामाजिक सुरक्षा र रोजगारदाताका लागि लचकतायुक्त श्रम बजारको सुनिश्चितता गरी एमालेले औद्योगिक क्षेत्रमा अनावश्यक हड्ताल र सङ्घर्ष गर्न नपर्ने अवस्थाको सिर्जना गरेको उहाँको भनाइ छ ।
“विगतका वर्षमा हाम्रो सरकारले उद्यमी तथा श्रमिक दुवै पक्षबीच उच्च समझदारी कायम भएको थियो । त्यही समझदारीका कारणले न्यूनतम पारिश्रमिक इतिहासमा उच्च, ३९ प्रतिशतले वृद्धि भएको थियो”, उहाँले भन्नुभयो ।
उहाँले न्यूनतम पारिश्रमिक वृद्धिले नियमितजसो औद्योगिक द्वन्द्वको पीडा झेलिरहेको नेपाली श्रम क्षेत्रमा हड्ताल र तालाबन्दीको समस्या अन्त्य भएको भन्दै त्यसपछि मुलुकको अर्थतन्त्रले तीव्र विकासको लय समातेको उल्लेख गर्नुभयो ।
उहाँले एमालेको सरकारले श्रमिकको पारिश्रमिक बैंकमार्फत भुक्तानी गर्ने र काम गर्दाको समयमा वा सेवा निवृत्त भएपछिको जीवनको सुरक्षित गर्न योगदानमा आधारित सामाजिक सुरक्षाको सुरुआत गरेको उल्लेख गर्नुभयो ।
काठमाडौं – नेपाली चलचित्रमा शृङ्खलाको सुरूआत गरेर सफल भएको उदाहरण हो, ‘नाई नभन्नु ल’ । पहिलो शृङ्खला बनेको चार वर्षपछि दर्शकसामू आएको दोस्रो शृङ्खला सफल भयो । बालकलाकारमा अनुभव रेग्मी र गायनमा प्रेम परियार पनि स्थापित हुनुभयो । त्यसपछि यसको शृङ्खला बन्ने क्रम अगाडि बढ्दै गयो । यसकै छैटौँ श्रृङ्खला गत वैशाख १ गतेदेखि प्रदर्शनरत छ । बालप्रेममा केन्द्रित रहने विषयवस्तुलाई यसपटक वयस्कमा पु¥याइएको छ । तर, शृङ्खला अगाडि बढ्दै गर्दा निर्देशक विकासराज आचार्यले कमजोरी रहेको बताउनुभयो ।
गीत सङ्गीतमार्फत सफल बनिरहेको ‘नाई नभन्नु ल’ को छैटौँ शृङ्खलाको गीत दर्शकलाई याद छैन । त्यसको प्रभाव चलचित्र भवनमा देखिएको छ । चलचित्र भवनमा न्यून ‘सो’ पाएको चलचित्रको व्यापार पनि उस्तै छ । गीत सङ्गीत र कथाले दर्शकलाई आकर्षित गर्न सकेको छैन । भुल्ने रोग (एमेनेसिया) लाई आधार बनाएर तयार गरिएको चलचित्र ऋतु (आँचल शर्मा) को वरपर घुमेको छ । प्रेम सम्बन्धका लागि शिशिर (आशीर्वाद क्षत्री) ले गर्नुभएको त्याग, तपस्या र द्वन्द्व नै मुख्य कथा हो । ऋतुसँग शिशिरको भेट हुनु दुईबीच मायाप्रेम गाँसिनु र एउटा सानो दुर्घटनाका कारण सिर्जना हुने उतारचढाव नै विषयवस्तु हो।
भुल्ने रोगका कारण ऋतुले आफ्नो सबै वर्तमान भुलेर विगतमा फर्कंदै जाँदा शिशिरसँगको प्रेम के होला ? यही जिज्ञासालाई कथामार्फत मेटाउन खोजिएको छ । घिसिपिटी पुरानै शैलीको प्रस्तुतिले दर्शकलाई चलचित्र भवनमा आनन्दित पार्दैन । निर्देशक आचार्यले चलचित्रको पटकथा पत्रकार सामीप्यराज तिमल्सेना र अरुणदेव जोशीसँगको सहकार्यमा तयार पार्नुभएको हो । चलचित्रमा बालकलाकार एविलिना खड्का, अथर्व लुइँटेल उप्रेती, आयुष गुरागाईं, योगिशा खत्री, एन्जेल राई र अनुभव रेग्मीले अभिनय गरेका छन् । यसमा कलाकार केकी अधिकारी, प्रियङ्का कार्की, सरोज खनाललाई केवल पारिवारिक चरित्रको रूपमा मात्र चित्रण गरिएको छ ।
यो चलचित्र प्रदर्शन भएसँगै निर्देशक आचार्यले सातौँ शृङ्खला बन्ने सङ्केत गर्नुभएको छ । उहाँले चलचित्रको अन्त्यमा अभिनेत्री स्वस्तिमा खड्कामार्फत कथा अगाडि बढ्ने दृश्य राख्नुभएको छ । “दर्शकको रूचिअनुसार नै सातौँ शृङ्खलाको काम अगाडि बढ्ने छ । अहिले प्रदर्शनरत चलचित्रको प्रतिक्रिया हाम्रो लागि मार्गनिर्देश हुनेछ”, निर्देशक आचार्यले भन्नुभयो ।
काठमाडौँ – नेपाली कांगे्रसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मजदुर वर्गका समस्यालाई समाधान गरेर उनीहरुको हक र हितको सम्बद्र्धन गर्न कांग्रेस सदैव सचेत भएर लागिरहने उल्लेख गर्नुभएको छ ।
मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा उहाँले शुभकामना सन्देशमार्फत नेपाल तथा विश्वभर छरिएर रहेका सम्पूर्ण श्रमजीवीमा सुख, शान्ति र समृद्धिको शुभ–कामना व्यक्त गर्नुभएको छ । मे १ तारिख मजदुर वर्गले लामो सङ्घर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिन हो । यो दिनलाई संसारभरिका मजदुरहरुले अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाइँदै आएका छन् ।
सभापति देउवाले २००३ सालमा कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदुरहरुको पहिलो ऐतिहासिक आन्दोलन भएको उल्लेख गर्दै सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दबाउने नीति अख्तियार गरेर जननायक बीपी कोइरालालगायत धेरै नेताहरुलाई पक्राउ गरेको बताउनुभएको छ ।
“नेपालमा प्रजातन्त्रको स्थापना २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलन थियो । त्यसैले कांग्रेस र मजदूरहरु सधैँ एक अर्कामा आबद्ध भएर एक अर्काका अनन्य सहयोगी भएर रहिआएको कुरा सर्वविदितै छ”, उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।
विसं २०१६ मा कांग्रेसको जन–निर्वाचित सरकारले नै कारखाना र मजदुरसम्बन्धी कानुनको तर्जुमा गरेर, मजदुरलाई कानुनसम्मत् अधिकार प्रदान गरेको बताउँदै सभापति देउवाले आज पनि नेपालका श्रमजीवी दिदीबहिनी तथा दाजुभाइले अनेक समस्याहरुलाई बेहोरिरहन परेको उल्लेख गर्नुभएको छ । उहाँहरुको समस्यालाई समाधान गरेर मजदुर वर्गको हक र हितको सम्बद्र्धन गर्न कांग्रेस सदैव सचेत भएर लागिरहने सभापति देउवाले उल्लेख गर्नुभएको छ ।
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र कडाइका साथ लागू गर्न पहल गर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मई) को अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा सामाजिक सुरक्षा कार्यक्रमलाई सम्पूर्ण औद्योगिक प्रतिष्ठान, उद्योग र कार्यालयमा अनिवार्य र कडाइका साथ लागू गर्न पहल गरिने उल्लेख छ ।
“राष्ट्रका उच्च स्थानबाट वार्षिक रुपमा प्रदान गरिने विभिन्न सम्मान तथा पुरस्कारमा यसै वर्षदेखि लागू हुने गरी कम्तीमा २ प्रतिशत मजदुरलाई समावेश गर्ने नीति लिइने जानकारी गराउँदछु”, सन्देशमा भनिएको छ, यसैगरी सम्पूर्ण “मजदुरको काम, कर्तव्य र अधिकार स्पष्ट पार्दै सेवा शर्त र सुविधा निश्चित र वैधानिक गर्न अनुगमनकारी निकायलाई सक्रिय बनाइने प्रतिबद्धता व्यक्त गर्दछु ।”
स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी दिदीबहिनी, दाजुभाइ तथा आमा बुवामा सुख, शान्ति र समृद्धिसहित उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त प्रधानमन्त्री दाहालले गर्नुभएको छ । सन्देशमा अदक्ष तथा अप्रमाणित अवस्थामा जोखिमपूर्ण काम गरिरहेका सबै सरसफाइ मजदुरलाई आगामी आर्थिक वर्षभित्र दक्ष बनाउने उद्देश्यका साथ सरकारी निकाय र जिम्मेवार संस्थाहरुले अनिवार्य रुपमा आफ्ना मजदुरलाई उचित पेशागत तालिम दिन, आधुनिक सामग्री प्रयोग गर्न, सुरक्षासहितको उपयुक्त पोशाक प्रयोग गर्न तथा कामको नियमित अनुगमन गर्न निर्देशन दिइएको उल्लेख छ ।
नेपालमा श्रमजीवी जनसमुदायले आफ्नो अधिकारका निमित्त सङ्घर्ष र बलिदानका अनेकौँ कीर्तिमान कायम गरेका र मजदुरसहित उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको सङ्घर्ष र बलिदानको कीर्तिमानकै कारण देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख छ । नेपाल अहिले विकास, समृद्धि, स्थिरता र सुशासनको व्यावहारिक अभ्यासको चरणमा प्रवेश गरेको सन्देशमा छ ।
नेपाल र विश्वका मजदुरमा बधाई तथा शुभकामना व्यक्त गर्दै सन्देशमा भनिएको छ, “नेपाली श्रमिक जनसमुदाय खास गरी किसान मजदुरको हकहित र अधिकारका पक्षमा आफूलाई उभ्याउने प्रण गर्दछु, नेपाली श्रमजीवी जनतालाई सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगमा पु¥याउने ऐतिहासिक जिम्मेवारी हाम्रा सामू छ । यो जिम्मेवारी पूरा गर्न म अनवरतरुपमा लागिरहने प्रण गर्दछु ।”
आठ घण्टाको कार्यदिनको मागसहित आफ्नो अधिकारका निमित्त अमेरिकाको शिकागो सहरका मजदुरहरुले गरेको सङ्घर्षलाई स्मरण गर्दै नेपाललगायत विश्वभरका मजदुरहरुले १ मईको दिनलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाउँदै आएका छन् ।
काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी स्वदेश फर्किनु भएको छ । भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचारपछिभण्डारी आइतबार स्वदेश फर्किनु भएको हो ।
गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भएका भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्किनु भएको हो ।
पछिल्लो समय भण्डारीको स्वास्थ्यमा सुधार आएको छ । उहाँ बोल्ने र हिँड्ने गर्न थाल्नु भएको छ । नेपाल फर्केसँगै भण्डारी घरमा बसेर फिजियोथेरापी गर्नुका साथै पोलेको घाउ ड्रेसिङ गर्न अस्पताल जानु हुने छ ।
आगलागीमा परी सांसद भण्डारी र उहाँकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो । भण्डारीलाई सोही दिन थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो ।
रामपुर (पाल्पा) – पाल्पा–बुटवल सडकखण्डअन्तर्गत पर्ने सिद्धार्थ राजमार्ग रातको समयमा बन्द गरिएको छ । राजमार्गको दोभान–चिडियाखोला सडकखण्डमा दिउँसो हुँदै आएको बन्द खुला गरिएको छ भने राति गरिएको बन्द यथावत् राखिएको छ । शुक्रबारदेखि लागू हुने गरी रातको १० बजेदेखि बिहान ४ बजेसम्म राजमार्ग बन्द गरेर काम गरिएको छ ।
रामापिथेकस पार्क नजिक सडक डाइभर्सनको काम सुुरु भएको र माथिबाट खुुकुुला ढुँगाहरू पहरोबाट झरी काम गर्न जोखिम हुने भन्दै सिद्धबाबा सुुरुङ मार्ग योजना बुटवलले अर्को सूचना प्रकाशित नहुँदासम्म रातको समयमा राजमार्ग गर्ने जनाएको छ ।
आयोजनाका अनुसार दिउँसोको समय खुला गरिएको छ । निर्माण व्यवसायीले काममा ढिलासुस्ती गर्दा दिउँसो सवारी चाप अधिक रहेकाले दिउँसोको बन्द हटाएको बताइएको छ । गत चैत २१ गते दिउँसो र रातिको समयमा सडक बन्द गरिँदै आइएको थियो ।
रातिको समयमा सडक बन्द हुुँदा सो समय अवधिभर विभिन्न ठाउँमा सवारी साधन रोक्ने व्यवस्था मिलाइएको सुुरुङ मार्ग योजनाले जनाएको छ । सो समयमा पाल्पाबाट जाने सवारी साधनहरू जडीबुुटीचोक, सत्यवती जाने बाटोमा व्यवस्था मिलाइएको छ भने बुटवलबाट आउने सवारी साधानहरू चिडियाखोला तल्लो सिद्धबाबा मन्दिरमा रोक्ने व्यवस्था गरिएको योजनाले जनाएको छ ।
सुरुङमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनमार्फत काम भइरहेको छ । सडक बन्द रहेको समयमा आकस्मिकरूपमा यात्रा गर्नुपर्ने र साना/मझौला सवारी साधनका लागि दोभान–नुवाकोट खण्डको भित्री सडक प्रयोग गर्न सकिने छ । यस सडकखण्डमा पटक पटक सडक बन्द गरेर काम गरिरहँदा यात्रुले सास्ती खेप्नु परिरहेको छ ।
विराटनगर – नेपाल पोषण तथा आहार विज्ञान विद्यार्थी समाज धरानले पोषण सचेतनासहित निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
विराटनगर महानगरपालिका–१ स्थित दुर्गा मन्दिरमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले शिविरको उद्घाटन गर्नुभयो । उहाँले यस वडा शिक्षा र स्वास्थ्यमा पछाडि परेको भन्दै स्थान छनोट गरेर स्वास्थ्य शिविर आयोजना गरिएको बताउनुभयो ।
वडाध्यक्षसमेत रहनु भएका बस्नेतले शिविरमा स्वास्थ्य जाँचसँगै आहार, विहार र जीवनशैलीका विषयमा पनि जानकारी प्राप्त हुने उल्लेख गर्नुभयो ।
महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले गर्भावस्थाभन्दा अगाडिदेखि नै खानपान राम्रो भयो भने जन्मिने बच्चा स्वस्थ हुने बताउनुभयो ।
शिविरमा तौल, बोसोको मात्रा, मधुमेह, रक्तचाप, रक्त समूहलगायतको जाँच गरिएको थियो । जाँच गर्न आएका सेवाग्राहीलाई परामर्शसमेत दिइएको आयोजक संस्थाका अध्यक्ष रोशन तिम्सिनाले बताउनुभयो ।
काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि निरन्तर आक्रमणको प्रयास भएपनि सरकार मुकदर्शक बनेको गुनासो गर्नु भएको छ।
पार्टी निकट अखिल नेपाल किसान महासंघले आईतबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पूर्वका विभिन्न जिल्लाहरुमा आफूमाथिको आक्रमण प्रयासमा पूर्वराजा ज्ञानेन्द्र शाह र उहाँका परिवारको संलग्नता रहेको जिकीर गर्दै त्यस्ता उदण्ड, अराजनीतिक खालको गतिविधिलाई नियन्त्रण गर्नुको साटो सत्तारुढ दलकै कार्यकर्ताहरुले ढुंगामुढा गरेको पनि बताउनु भयो।
हरेक ठाउँमा उनीहरुले निषेध गर्न खोज्ने, बाटो छेक्न खोज्ने, रुख ढालेर छेक्न खोज्ने, काँही ढुंगा हान्ने, काँही भिडन्त गर्न आउने तर सरकारले त्यस्ता गतिविधिलाई नियन्त्रण नगरेको उहाँको भनाई थियो । ओलीले हरेक ठाउँमा २० जनाजति उही समूहका मानिसहरुले आफूमाथि आक्रमण प्रयास गरेपनि त्यसलाई नियन्त्रण गर्न सरकारले नचाहेको आरोप लगाउनु भयो। उहाँले वर्तमान गठबन्धन सरकारले मुखले जे सुकै भने पनि आफूमाथिको आक्रमणलाई नियन्त्रण नगरेको भन्दै आपत्ति जनाउनु भयो । आफूहरुमाथि गाली बेइज्जति, अश्लिल शब्दको बर्षा गर्दा पनि ती अराजक समूहलाई नियन्त्रण गर्न प्रहरीलाई माथिबाट आदेश नगएको पनि ओलीले बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘मैले हिजो, अस्ती हामी तेह्रथुम, पाँचथर, इलाम, झापा अनेक ठाउँमा हामीले कार्यक्रम गरेका थियौं । तपाईहरुले अलिअलि सुन्नु पनि भएको होला । कार्यक्रममा जाँदै गर्दाखरी बीचमा केही गुण्डा प्रवृत्तिका व्यक्तिहरु, अराजनीतिक व्यक्तिहरुले हमला गर्ने, पहिचानको राजनीति भनेर अराजनीतिक क्रियाकलाप गर्ने, त्यस्ता खालको क्रियाकलाप गर्ने, ढुंगामुढा गर्ने, त्यस्ता खालको कुराहरु गरे । यसको संलग्नता विभिन्नतिर देखिएको छ । ज्ञानेन्द शाह र उनको परिवारको संलग्नता देखिएको छ । यो अनेकमार्फत् देखिएको छ । यहाँ भित्र उनीहरुले भित्र भित्र खेलाउने, जसलाई मैले छौडा भन्ने गरेको छु । यो पूर्व दरबारीयाहरुले छौडा खेलाएर पनि अलिकति यस्तो खालको काम गरेका छन । अर्को कुरा, अहिले सत्तामा हुने पार्टीका कार्यकर्ताहरु अर्काको नाममा ढुंगा हान्न त्यहाँ गएका छन । हाम्रा विरुद्ध अश्लील, असभ्य, त्यस्ता खालका गालीगलौज गर्ने कुराहरु यिनका मुखबाट भएको छ । त्यो म आफैंले देखेर, भोगेर आएको छु । हरेक ठाउँमा उनीहरुले निषेध गर्न खोज्ने, बाटो छेक्न खोज्ने, रुख ढालेर छेक्न खोज्ने, काँही ढुंगा हान्ने, काँही भिडन्त गर्न आउने । त्यसप्रकार उनीहरुले अनेक ठाउँमा आक्रमण गरे । त्यो खालको उदण्डता र सरकार मुकदर्शक । ढुंगा हान्दिएन भने बीचमा पुलिस उभिएको छ। अव ढुंगा हान्दियो भने त उसलाई पनि लाग्ने भयो । अरुलाई पनि लाग्ने भो । हामीलाई भन्दा पहिले त पुलिसलाई लाग्ने भयो। उसले रोकेर बसेको छ । अलिक मुकदर्शक । उनीहरुले पेलेका छन । धक्का दिएका छन । पुलिसलाई मुन्टयाइएको छ। धक्क्याइएको छ । धक्कामुक्का आएको छ । तर, चुप लागेर बस्छ । माथिको आदेश छैन । अथवा यो गठबन्धन सरकारको पनि यस्ता असामाजिक क्रियाकलापहरु गर्ने, गराउने कुरामा चाँही जेसुके भने पनि, मुखले जे सुकै भनेपनि तिनलाई नियन्त्रण गर्ने, त्यो २० जना केटा छैनन् त्यहाँ । त्यो २० जना, २५ जना केटाहरु च्यापच्याप समाउन सकिदैन ? त्यही मान्छे झापामा ढुंगा हान्छ। त्यही मान्छे इलाममा गएर उफ्रिन्छ । त्यही मान्छे फिदिम गएर उफ्रिन्छ । त्यही मान्छे तेह्रथुम गएर उफ्रिन्छ । त्यही मान्छे फर्किएर आएर फिदिममा उफ्रिन्छ फेरी । तिनै मान्छे । तर उनीहरुको मनोबल के छ भने पुलिसलाई धक्का दिएपनि केही हुँदैन । जे भने पनि केही हुँदैन । जति मुख छाडे पनि, गाली बेइज्जत जेसुके बोलेपनि केही पनि हुँदैन । त्यसो भएपछि उनीहरुले बोल्न बाँकि राख्ने केही कुराहरु पनि भएन । अनि अर्को कुरा, विरोध प्रर्दशन अलि डिस्ट्यान्टबाट गर्नु पर्छ नि । बाटो छेकेर गर्छन। बाटो जहाबाट छ, त्यही उभिएर गर्छन । बाटैमा उभिएर गर्छन । त्यसपछि त्यहाँ डण्डा हान्न थाल्छ। ढुंगा हान्न थाल्छ । अब यी तत्वहरु, कोही कम्युनिष्टको नाममा, कोही के का नाममा खोल ओडेर, बर्को ओडेर बसेका छन। यिनीहरुले भ्रम पार्न सक्छन।’
त्यस अवसरमा ओलीले फटामा, मुर्ख र बुद्धि नभएकाहरुले मात्रै राजतन्त्र मान्ने टिप्पणी समेत गर्नु भयो । स्वार्थी तत्व र बिकाउ मालहरु, अपराध कर्ममा लागेकाहरुले मात्रै राजतन्त्रलाई मान्ने उहाँको आरोप थियो । ओलीले भन्नु भयो, ‘राजतन्त्र भनेको कि फटाहाले मान्छ । स्वार्थी फटाहाले । कि मुर्खले मान्छ । राजतन्त्र मान्ने दुई खालको मान्छे हुन्छन । कोही कोही अज्ञानीमा पनि मान्छन । तीन खालकै भनौं । एकथरी अज्ञानी हुन्छन । बिचरा केही पनि बुझदैनन्। त्यसकारण मान्छन राजतन्त्र । अर्कोथरी श्वार्थ, साधना गर्नका लागि मान्छन । दलालहरुले मान्छन । बुद्धि नभएकाहरुले मान्छन । जन्मिदैखेरी यस्तो हुुनुपर्छ भनेर । अव स्वार्थी तत्वहरु र बिकाउ मालहरुले मान्छन । तिनलाई केही पनि छैन । अलिकति थोरैमा एक दिनका लागि, एक छिनका लागि, एक हप्ताका लागि, १० दिनका लागि जतिका लागि पनि किन्न सक्छ मान्छेले । अपराध कर्मका लागि । त्यस्ता तत्वहरुले मान्छन।’
अध्यक्ष ओलीले महाकाली सन्धि आफूहरुले सच्याएको दावी समेत गर्नु भयो । बाँध बाँध्नका लागि भारतलाई जमिन दिने गरी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारतसँग गरेको सहमतीलाई खारेज गरेर आफूहरुले बाँध बाँध्न मात्रै जमिन दिने गरी सो सन्धिलाई सच्याइएको ओलीको तर्क थियो । उहाँले महाकाली सन्धि आफूहरुले सच्याएपछि त्यसबाट अनेक फाईदा भईरहेको पुरानै अडान दोहो¥याउनु भयो । उहाँले महाकाली सन्धिलाई सच्याउने काम आफूहरुले प्रतिपक्षमा रहेर गरेको तथ्य अहिले नबुझ्नेहरुले पछि बुझ्दै जाने बताउनु भयो । ओलीले भन्नु भयो, ‘फेरी बीचमा २०५४ सालमा महाकाली सन्धिको अत्तो थापेर पार्टी फुटाउने काम भयो । महाकाली सन्धि, नबुझ्नेले अलि पछि बुझ्छन । कोहीकोही नबुझी बितेभने तिनका सन्तानले पछि बुझ्छन । नपढीकन बितेभने के गर्ने ? तिनका सन्तानले बुझ्लान । महाकाली सन्धि सच्याइएको सन्धि हो । हामीले गरेको सन्धि होइन । हामीले सच्याएको चाँही हो । हामी सरकारमा थिएनौं, प्रतिपक्षमा थियौं । प्रतिपक्षमा हुँदाखेरी पनि निर्णय पनि हामीले गरेका हौं । जस पनि । अपजस दिनेले हामीलाई दिए । जस त एमालेलाई किन दिन्थे उनीहरु । दिँदैनन् । अहिले पनि वर्षमा ४ अर्व रुपैयाँ विद्युतको त नेपालले पाईराखेको छ । ४ अर्व त वर्षमा त्यो सम्झौंता गरेको हुनाले पाईराखेको छ । अरु पानीका फाईदाहरु, चाँदनी–दोधरालाई १० क्युमेक्स पानी दिने कुराहरु, २८ क्यूमेक्स पूर्वतिर ल्याउने कुराहरु । यस्ता अनेक फाईदाहरु छन । माथि पञ्चेश्वरका अनेक फाईदाहरु छन । जमिन हाम्रो भारतलाई दिए भनेर गिरिजाप्रसाद कोइरालाले जमिन लिएर सम्झौंता होइन सहमती भनेर, समझदारी भनेर नेपाली जनतालाई ढाँटेका थिए । त्यस ढाँटेकोलाई सच्याएर हामीले समझदारी होइन, सम्झौंता हो । यो दुईं तिहाईमा आउनु पर्छ । र, दुई तिहाईले जमिन दिन कसैले पनि मिल्दैन । जमिन दिने होइन्, हाम्रो जमिनमा बाँधसम्म बाँध्न दिन सकिन्छ । हाम्रो जमिनमा बाँध बाँध्न हामीले दियौं । जमिन हाम्रो हो । पहिले चाँही बाँध बाँध्नका लागि जमिन दिने भनिएको थियो । हामीले हाम्रो जमिनमा बाँध बाँध्न दियौं । एकदमै फरक छ ।’
अध्यक्ष ओलीले तत्कालीन प्रधानमन्त्री कोइरालाले भारतलाई जमिन दिने गरी गरिएको सम्झौंतालाई होइन् भनेर नेपाली जनतालाई ढाँटने काम गरेपछि आफूहरुलाई त्यसलाई सच्याउने काम आफूहरुले गर्नु परेको समेत बताउनु भयो ।
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपश्चात लघुवित्तविरुद्धको सङ्घर्ष समितिका संरक्षक अगस्त अधिकारीले अनसन स्थगित गर्नुभएको छ । अधिकारीले आफूहरुको माग सम्बोधन नभए आज बेलुका ६ बजेदेखि वसन्तपुरमा आमरण अनसन बस्ने चेतावनी दिनुभएको थियो ।
प्रधानमन्त्री प्रचण्डको निर्देशनमा राष्ट्र बैंकले लघुवित्त पीडितका माग सम्बोधन गरिने र छलफलका लागि प्रतिनिधि तोकिने विश्वास दिलाएपछि अधिकारीको अनसन स्थगित भएको हो । लघुवित्तविरुद्धको सङ्घर्ष समितिका अध्यक्ष पुनाराम ज्ञवाली (मनिराम) र ६ वटा किसान सङ्गठन सञ्जालका सदस्यबीच आज छलफल भएको थियो ।
आज बिहान सङ्घर्ष समितिका पदाधिकारीले प्रधानमन्त्री प्रचण्डलाई उहाँको निवास बालुवाटारमा भेटेका थिए । भेटमा प्रधानमन्त्रीले आगामी नीति तथा कार्यक्रममार्फत लघुवित्तसम्बन्धी समस्या नीतिगत रुपमै हल गर्ने र सङ्घर्ष समितिका मागहरुको अध्ययन गरी छलफल अगाडि बढाउने बारे आजै सरकारी प्रतिनिधि तोक्ने बताउनुभएको थियो । प्रधानमन्त्रीसँगको छलफलपछि आफूहरुको सङ्घर्षको कार्यक्रम तत्कालका लागि स्थगित भएको ज्ञवालीले जानकारी दिनुभयो ।
काठमाडौं – संघीय संसद् प्रतिनिधिसभा सचिवमा पद्मप्रसाद पाण्डेय र राष्ट्रिय सभा सचिवमा सुरेन्द्र अर्याल सिफारिस भएका छन्।
सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाका सचिव कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसमक्ष सिफरिस गरेका हुन् । संघीय संसद् सचिवालय स्रोतका अनुसार सभामुखले नायव महान्यायाधीवक्ता पाण्डेयलाई प्रतिनिधिसभा सचिवमा सिफारिस गरेका छन् भने अध्यक्ष तिमिल्सिनाले संघीय संसद् सचिवालयका सहसचिव अर्याललाई राष्ट्रिय सभा सचिवमा सिफारिस गरेका हुन्।
सभामुखले प्रतिनिधिसभा सचिव र राष्ट्रिय सभा अध्यक्षले राष्ट्रिय सभा सचिव राष्ट्रपतिसमक्ष सिफारिस गर्ने संवैधानिक व्यवस्था छ। राष्ट्रपतिले सिफारिस स्वीकृत गरेपछि नियुक्ति हुनेछ ।प्रतिनिधिसभा सचिव गोपालनाथ योगी र राष्ट्रिय सभा सचिव राजेन्द्र फुयालको कार्यकाल वैशाख १५ मा सकिएको थियो। दुवैको कार्यकाल सकिएपछि सभामुख र अध्यक्षले नयाँ सचिव नियुक्ति लागि कार्यवाहक राष्ट्रपति यादवसमक्ष सिफारिस गरेका हुन्।
महेन्द्रनगर – नेपाली कांग्रेसका प्रमुख सचेतक एवं पूर्वमन्त्री रमेश लेखकले अबको डेढ वर्षभित्र महाकाली करिडोरको ट्र्याक खुलिसक्ने बताउनुभएको छ ।
करिडोरको शून्य विन्दु कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा आइतबार स्थलगत अनुगमन गर्दै प्रमुख सचेतक लेखकले विगतमा सरकारले निर्णय नगर्दा करिडोरअन्तर्गत रुख कटान आदेश र अन्य प्रक्रियागत कारणले ढिलाइ भएको बताउनुभयो ।
“अहिलेको सरकारले करिडोरअन्तर्गत पर्ने कञ्चनपुरदेखि दार्चुलासम्मको रुख कटान आदेश दिएर काम अघि बढिसकेको छ”, उहाँले भन्नुभयो, “वर्ष डेढ वर्षभित्रमा करिडोरको ट्र्याक खुलेर कालोपत्र गर्ने चरणमा जान्छ ।”
रुख कटानको अनुमति नमिल्दा कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको जोगबुढासम्मको पहिलो प्याकेजको काम ठेक्का भएको करिब डेढ वर्षदेखि प्रभावित थियो ।
“आउँदो दशैँसम्म यही ट्र्याकबाट जोगबुढा पुग्ने गरी काम गर्ने भनिएको छ”, उहाँले भन्नुभयो, “अब माथिका जिल्लाहरूमा पनि रुख कटान आदेश आइसकेकाले अब निर्माण प्रभावित हुँदैन ।”
नेपाल–भारत र चीनसित जोड्ने र त्रिदेशीय नाकाका रूपमा विकास गर्ने अवधारणाका साथ अघि बढेको करिडोरको ६० प्रतिशत ट्र्याक खुलेको छ ।
महाकाली करिडोर दार्चुला–तिङ्कर सडक योजनाका प्रमुख लक्ष्मण जोशीले करिडोरको काम द्रुत गतिमा अघि बढेको जानकारी दिनुभयो । उहाँले कञ्चनपुरसँगै बैतडी र दार्चुलामा करिडोरको ट्र्याक खोल्नका लागि रुख कटानको अनुमति आइसकेको जानकारी दिनुभयो ।
करिडोरअन्तर्गत चार सय २५ किलोमिटर ट्र्याकमध्ये केही भाग नेपाली सेनाले खोलिरहेको छ । करिडोरको अनुगमनमा प्रमुख सचेतक लेखकसँगै सुदूरपश्चिम प्रदेशसभा सदस्य बेलबहादुर राना र मधु भारती, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरालगायतको सहभागिता रहेको थियो ।
काठमाडौं – अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवन भरतपुर महानगरपालिका-४ घर भई काठमाडौं महानगरपालिका-१ लाजिम्पाट बस्ने २७ वर्षीय सञ्जय रेग्मीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-१ लाजिम्पाटस्थित माझी बिष्ट्रो रेष्टुरेण्टका सञ्चालक रेग्मी समेतले एक व्यक्तिलाई वैदेशिक रोजगारका लागि अष्ट्रलिया पठाइ प्रतिष्ठित कम्पनीमा ३ लाख रूपैयाँ भन्दा बढी तलबमा हुने काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ३० लाख रूपैयाँ लिई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१ दरबारमार्गबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको जनाएकाे छ ।
लुम्बिनी – लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मङ्गलबार विश्वासको मत लिनुहुने भएको छ ।
यसअघि सोमबार विश्वासको मत लिने टुङ्गोमा पुग्नुभएका मुख्यमन्त्री चौधरी उक्त दिन अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्वजनिक बिदा परेकाले मङ्गलबार विश्वास लिन लाग्नु भएको प्रदेश सरकारका मन्त्री सन्तोष पाण्डेले जानकारी दिनुभयो ।
प्रदेशसभामा रहेका आठ दलको समर्थनमा वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका चौधरीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डललाई पूर्णता दिने योजना बनाउनु भएको छ । गठबन्धन दलमा मन्त्रालयको भागवण्डा नटुङ्गिएका कारण चार सदस्यीय मन्त्रिमण्डल गठन गरिएको छ । मुख्यमन्त्रीसँगै नियुक्त भएका तीन जना मन्त्री पनि बिना विभागीय हुनुहुन्छ ।
मुख्यमन्त्री चौधरीले मङ्गलबार विश्वासको मत लिने कार्यक्रम तय भएर प्रदेश सभालाई जानकारी गराएको मन्त्री पाण्डेले जानकारी दिनुभयो । मुख्यमन्त्रीले विश्वासको मत लिने भएपछि प्रदेशसभाको अधिवेशन मङ्गलबारका लागि बोलाइएको छ । प्रदेशसभाको पहिलो अधिवेशनको दशौँ बैठक वैशाख १९ गते मङ्गलबार बिहान ११ बजे बस्ने गरी तय भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जारी गर्नुभएको सूचनामा जनाइएको छ ।
जनकपुरधाम – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्र र जनताका लागि प्रहरी प्रशासन भन्ने मान्यतासहित काम गर्न सुरक्षाकर्मीहरुलाई निर्देशन दिनुभएको छ ।
आइतबार जनकपुरधाममा आयोजित सुरक्षासम्बन्धी बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्नुहुँदै गृहमन्त्री श्रेष्ठले समाजमा अमनचयनलाई चुनौति दिने गरी हुने आपराधिक घटना नियन्त्रणका लागि दृढ सङ्कल्प र उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएको बताउनुभयो । उहाँले मधेस प्रदेशमा व्याप्त जातीय छुवाछूत, महिला हिंसा, लागुऔषध दुव्र्यशनी, अपराध नियन्त्रणमा शूल्य सहनशीलताको नीतिअनुसार काममा लाग्न सम्बद्ध पक्षलाई आग्रह गर्नुभयो ।
“अनियमितता र भ्रष्टाचारलाई टाउँको उठाउन नदिन हामी सबैको सामूहिक प्रयत्न आवश्यक छ । यसका साथै समाजका उत्पीडित उपेक्षित वर्ग, समुदाय, महिला दलित, मिटरब्याज पीडितको न्यायका लागि पनि यसै बैठकबाट सङ्कल्प लिन आग्रह गरेको छु”, गृहमन्त्री श्रेष्ठले भन्नुभयो ।
त्यसैगरी उहाँले प्रहरी समायोजन सङ्घीयताको मर्मअनुसार अगाडि बढाइने र समायोजन नहुन्जेल प्रदेश सरकारले प्रहरीलाई निर्देशन, समन्वय र परिचालन गर्न कुनै दुविधा नरहेको समेत स्पष्ट पार्नुभयो । बैठकमा गृह सचिव विनोद प्रकाश सिंह, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुवँर, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, मधेस प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जनक भट्टराई, सशस्त्र प्रहरी मधेश प्रदेश प्रमुख, अनुसन्धान विभागलगायत आठै जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थिति रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिनुभयो ।
काठमाडौं – राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनुपर्ने बताउनुभएको छ।
आज उच्च शिक्षा र वैदेशिक शिक्षाको अवस्थाबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले विदेश जाने क्रम रोक्नका लागि सबैभन्दा पहिला नेपालको सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनुपर्ने बताउनु भयो। उहाँले विदेश अध्ययनका लागि जाने विद्यार्थीहरु समाज, नयाँ ठाउँका लागि र गुणस्तरीय शिक्षाका लागि नै जाने गरेको उल्लेख गर्दै सरकारले सार्वजनिक शिक्षालाई विश्वसनीय र गुणस्तरीय बनाउनुपर्ने बताउनु भयो । सदस्य पौड्यालले गुणस्तरीय शिक्षा सहज तरिकाले पाउने व्यवस्थाको ग्यारेन्टी सरकारले लिनुपर्ने बताउनु भयो । उहाँले विद्यार्थीहरुल रोजेको विषय पढ्नपाउने व्यवस्था हुन जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मलाई थाहा छ, विदेश अध्ययनका लागि जाने मानिसहरु यहाँ जतिसुकै पढ्ने अवसर पाएपनि सोसाइटीबाट सिक्छु, साथीभाई, नयाँ ठाउँबाट सिक्छु भनेर जान्छन्, अर्को कुरा यहाँ अध्ययन गर्न चाहेको कुरा अध्ययन गर्न नपाएर जान्छन् । नेपालमा कुनैपनि विद्यार्थी गरिव, धनी, रोल्पा, रुकुम जहाँको होस्, बाहिरको जस्तो गुणस्तरीय शिक्षा सहज तरिकाले पाउनुपर्छ भनेर खोजि गर्दा त्यो पाउने व्यवस्था गर्नु हाम्रो दायित्व हो । भएका कलेजमा पढाउन सक्ने कलेजमा विद्यार्थीको विषयगत कोटा बढाउनुपर्छ । गुणस्तरीय शिक्षा सार्वजनिक शिक्षामा लागू गर्नुपर्छ ।’
राष्ट्रिय सभा सदस्य पौड्यालले नेपालमा कोही पनि विद्यार्थीले रोजेको विषय र सहज शिक्षा पाउनुपर्ने अधिकारको प्रत्याभुति गराउनसक्ने काम सरकारले गर्नुपर्ने बताउनु भयो ।
काठमाडौँ – कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा बेदुराम भुसालले १० लाख ३० हजार हेक्टर कृषियोग्य जमिन बाँझो रहेको बताउनुभएको छ ।
अखिल नेपाल किसान महासङ्घले ७३औँ स्थापना दिवसमा मन्त्री भुसालले उत्पादन वृद्धि गर्नका लागि बाँझो जमिनमा खेतीपातिको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । त्यसका लागि सरकारले सम्बन्धित कृषकलाई सहुलियत उपलब्ध गराउने नीति तथा कार्यक्रम ल्याउने उहाँले जानकारी दिनुभयो ।
कृषि क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै मन्त्री भुसालले भन्नुभयो, “यो क्षेत्रमा व्याप्त समस्याका कारण कृषि अपहेलित छ ।” कूल ५१ अर्बको बजेटमध्ये ३१ अर्ब मलमा, १२ अर्ब स्थानीय र प्रदेशमा तथा आठ अर्ब कर्मचारीको तलबमा खर्च हुने गरेको जानकारी दिँदै उहाँले किसानलाई सहयोग गरी यस क्षेत्रको विकास गर्न थप बजेट व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
मन्त्री भुसालले किसानमाथि हुने शोषण अन्त्य गर्न अखिल नेपाल किसान सङ्घको स्थापना गरिएको भन्दै उनीहरुलाई मल, बीउ विजन, सिँचाइ, बजारीकरण, यान्त्रिकरण तथा पूर्वाधारको विकास गर्नुपर्ने बताउनुभयो । खाद्य संप्रभुताको नियामावली बनाउन सरकार क्रियाशील रहेको जानकारी दिँदै उहाँले त्यसलाई अगाडि बढाउन कानुन र अर्थ मन्त्रालयसँग समन्वय भइरहेको बताउनुभयो ।
किसान आन्दोलनका नेता भैरव रेग्मीले किसान अधिकार सुनिश्चित गर्न आफूहरुले राखेको ६२ सुत्रीय माग पूरा गर्नुपर्नेमा जोड दिँदै किसानलाई सम्पन्न बनाउन राजनीतिक दलसँग आबद्ध किसान एकीकृत रुपमा अगाडि बढनुपर्ने विचार व्यक्त गर्नुभयो ।
महासङ्घका अध्यक्ष बलराम बाँस्कोटाले देशको विकास र जनताको समृद्धिका लागि कृषि क्षेत्रको विकास गर्नुपर्ने विचार व्यक्त गर्दै सरकारले यो क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको जावलाखेल युथ क्लब र सङ्कटा क्लबबीचको खेल बराबरीमा सकिएको छ ।
सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा भएको खेलमा लिग लिडर जावलाखेल र सङ्कटा क्लबबीचको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको हो । खेलमा पहिलो अग्रता भने जाउलाखेलले लिएको थियो ।
खेलको ३३औँ मिनेटमा जाउलाखेलका विदेशी खेलाडी फोडे फोफानाले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । जाउलाखेलको १–० गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ७३औँ मिनेटमा सङ्कटाका खेलाडी निशान खड्काले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
यस बराबरी खेलसँगै जावलाखेलले १३ खेलमा २४ अङ्क जोडेको छ । जावलाखेल अङ्क तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै समान १३ खेल नै खेलको सङ्कटा १६ अङ्क जोडेर अङ्क तालिकाको ११ औँ स्थानमा रहेको छ ।
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र फटाहा र बुद्धि नभएकाहरूले मान्ने टिप्पणी गर्नुभएको छ ।
नेकपा एमालेनिकट अखिल नेपाल किसान महासंघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजतन्त्र स्वार्थी तत्वले मान्ने टिप्पणी गर्नुभयो।
अध्यक्ष ओलीले भन्नुभयो, ‘राजतन्त्र कि स्वार्थी, फटाहाले मान्छ कि मुर्खले मान्छ। कोही कोही अज्ञानीले पनि मान्छ। एकथरी अज्ञानी हुन्छन् केही पनि बुझ्दैनन् त्यही भएर मान्छन् । अर्कोथरी स्वार्थ साधना गर्नका लागि मान्छन् । दलाल र बुद्धि नभएकाहरुले मान्छन् जन्मिदै यस्तो हुनुपर्छ भनेर।’
स्वार्थी तत्वहरूलाई आफ्नो समयअनुकूल जति समयको लागि पनि प्रयोग गर्न सकिने अध्यक्ष ओलीको भनाई छ । उहाँले भन्नुभयो, ‘स्वार्थी तत्व त बिकाउ मालहरूले मान्छन् । तिनीहरूको केही पनि छैन । थोरैमा एक दिनका लागि एकछिनका लागि एक हप्ता दश दिन जतिका लागि पनि किन्न सक्छ मान्छेले अपराधीकरणका लागि त्यस्ता तत्वले मान्छन् ।’
काठमाडौं – पछिल्लो २४ घण्टामा थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ४७३ नमुनामध्ये २७२ जनाको पीसीआर परीक्षण गर्दा २२ जना र १ हजार २०१ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी ६० जनामा कोरोना संक्रमण देखिएको हो। यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३२८ जना पुगेको छ भने संस्थागत आईशोलेशनमा २८ जना, आईसीयूमा ९ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् ।
मन्त्रालयका अनुसार आइतबार मात्रै ५५ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किइसकेका छन् ।
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा उल्लेख्य सुधारपछि आज राति भारतबाट स्वदेश फर्किंदै हुनुहुन्छ ।
राष्ट्रपति कार्यालयका अनुसार स्वास्थ्य उपचारका लागि झण्डै दुई साताअघि भारत पुग्नुभएका राष्ट्रपति पौडेल आजै राति नेपाल एयरलाइन्सको नियमित उडानबाट नेपाल फर्किंदै हुनुहुन्छ ।
उहाँ स्वास्थ्य उपचारका लागि यही वैशाख ६ गतेदेखि भारतको दिल्लीस्थत अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस ९एम्स०मा उपचाररत हुनुहुन्थ्यो । स्वास्थ्यमा उल्लेख्य सुधारपछि घर फर्किए पनि केही हप्ता पर्याप्त आराम गर्न राष्ट्रपति पौडेललाई उपचारमा संलग्न चिकित्सकको सुझाव छ ।
कञ्चनपुर – परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले देशको अर्थतन्त्र सुदृढ रहेको बताउनुभएको छ ।
आज शुक्लाफाँटा नगरपालिका–५ वनसमितिमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले विदेशी मुद्राको सञ्चिति १०÷१२ महिनाका लागि पुग्ने भएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले देश श्रीलङ्का जस्तै हुन्छ भनेर हल्ला फिँजाइएको चर्चा गर्दै वास्तविकता त्यस्तो नरहेको बताउनुभयो । भूमिसम्बन्धी आयोगले निर्धारण गरेको जग्गाको राजस्व पुनरावलोकन गरिने उहाँले बताउनुभयो । जग्गाको राजस्वको दर निकै उच्च रहेकाले घटाउनका लागि काम अगाडि बढाइने उहाँको भनाइ थियो ।
उहाँले आरक्ष विस्थापितको समस्या वर्षौंदेखि थाति रहेकाले सामाधानका लागि प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले आरक्ष विस्थापित परिवारलाई पुनःस्थापन गराउन पहल गरिने बताउनुभयो । चौधर नदी नियन्त्रणका लागि चालू आवदेखि काम अगाडि बढ्ने उल्लेख गर्दै उहाँले जिल्लाका सनबोरा, स्याली र दोदा नदी नियन्त्रणका लागि योजनाबद्धरुपमा काम अगाडि बढाइने बताउनुभयो ।
उहाँले पार्टी सङ्गठन मजबुत रहेको उल्लेख गर्दै युवा पङ्क्तिलाई भरोसा दिनुपर्ने बताउनुभयो । भ्रातृ सङ्गठनलाई तन्दुरुस्त राख्ने चुनौती रहेको धारणा अघि सार्दै मन्त्री साउदले पार्टीको नीति तथा कार्यक्रमलाई प्रभावकारीरुपमा जनताका बीचमा लैजानुपर्ने आवश्यकता रहेको बताउनुभयो । एजेण्डा र मुद्वा लिएर जनताका बीचमा जान उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो ।
काठमाडौँ – नेपाल राष्ट्र बैंकले अमेरिकी डलर सटहीका लागि तोकिएको सीमा बढाएको छ ।
बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत परिपत्र, २०७९ मा संशोधन गर्दै राष्ट्र बैंकले यस्तो सीमा बढाएको हो । यसअघि नेपाल राष्ट्र बैंकबाट इजाजत पाएका मनी एक्सचेञ्रले नेपाली नागरिकसँग गर्ने सटही कारोबार गर्दा अमेरिकी डलर पाँच सय वा सो बराबरको परिवत्र्य मुद्रा बराबर मात्रै सटही गर्न सक्ने व्यवस्था थियो । यसलाई संशोधन गरेर अमेरिकी डलर पाँच हजारसम्म सटही गर्नसक्ने व्यवस्था गरिएको छ ।
“नेपाली नागरिकसँग अमेरिकी डलर पाँच हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा (भन्सार घोषणाको प्रमाणित कागजात भए त्यस्तो कागजातमा उल्लिखित सम्पूर्ण रकम)को खरिद कारोबार गर्न सकिनेछ”, संशोधन गरिएको परिपत्रमा भनिएको छ, “तर विदेशी इष्टमित्र र ग्राहकबाट उपहार, टिप्सबाट प्राप्त हुने रकम भने अधिकतम अमेरिकी डलर पाँच सयसम्म मात्र सटही गर्न सकिनेछ ।”
राष्ट्र बैंकले एकीकृत परिपत्रमा संशोधनमार्फत् विदेश पढ्न जाने विद्यार्थीका लागि दिइने सटही सुविधासम्बन्धी व्यवस्था थप गरेको छ ।
“शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९’ बमोजिम उक्त मन्त्रालयले व्यवस्था गरेको पोर्टल प्रयोगमा आएपश्चात् बैंक तथा वित्तीय संस्थाले सोही पोर्टमा उलपब्ध वैदेशिक अध्ययनको स्वीकृति (नो अब्जेक्सन सर्टिफिकेट)सम्बन्धी विवरण यकिन गरी सटही सुविधा उपलब्ध गराउनुपर्नेछ”, एकीकृत परिपत्रमा भनिएको छ । यसअघि यस्तो व्यवस्था थिएन ।
त्यस्तै नेपाली नागरिकलाई विभिन्न प्रयोजनका लागि भारतीय मुद्रा बाहेकको परिवत्र्य विदेशी मुद्राको सटही सुविधासम्बन्धी व्यवस्थामा पनि संशोधन गरिएको छ । यसअघि यस्तो सटही सुविधा अधिकतम अमेरिकी डलर एक हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्म प्रदान गर्न सकिनेछ भन्ने व्यवस्था रहेको थियो ।
तर संशोधित व्यवस्थाअनुसार भिसा आवदेनको हकमा सम्बन्धित दूतावासलगायत भिसा आवेदन शुल्क सङ्कलन गर्न अधिकारप्राप्त निकायले परिवत्र्य विदेशी मुद्रामा नै भिसा शुल्क लिने व्यवस्था गरेमा तोकिएको भिसा शुल्कसम्मको सटही सुविधा प्रदान गर्दा अधिकतम अमेरिकी डलर एक हजारको सीमाले बाधा पु¥याएको मानिने छैन भन्ने व्यवस्था राखिएको छ ।
त्यस्तै, नेपालमा काम गरिरहेका विदेशीले सटही गरेर लैजान पाउने विदेशी मुद्रासम्बन्धी व्यवस्थामा पनि संशोधन गरिएको छ । नेपालमा वायुसेवा दिइरहेका कम्पनीमा कार्यरत विदेशी नागरिकका लागि नयाँ व्यवस्था थप गरिएको छ ।
“श्रम स्वीकृति र सम्झौताको अवधि बहाल रहेको अवस्थामा रोजगारदातासँग गरेको करारमा उल्लिखित पारिश्रमिकमा प्रचलित कानुन बमोजिम कर कट्टी पश्चात् हुन आउने रकमको बढीमा ७० प्रतिशतसम्मको रकम भुक्तानीको लागि कागजातको आधारमा पारिश्रमिक कर तिरेको प्रमाण लिई परिवत्र्य विदेशी मुद्रामा सम्बन्धित मुलुकमा पठाउन सकिनेछ”, राष्ट्र बैंकले परिपत्रमार्फत् भनेको छ ।
काठमाडौं – सरस्वतीनगरकी निरा आचार्यको हत्यामा झापाका विनोद विश्वकर्मा एक्लै जिम्मेवार रहेको प्रहरीले जनाएको छ । आज पत्रकार सम्मेलन गरी प्रहरीले अहिलेसम्मको अनुसन्धानबारे जानकारी दिएको हो ।
प्रहरीका अनुसार झापामा बाउन्सरको काम गर्ने विश्वकर्मा घटनाको एक हप्ताजति अगाडि काठमाडौं आएर लोकन्थलीमा साथीको घरमा बसेका थिए ।
घटनाको दिन उनी लोकन्थलीबाट सात बजे बस चढेर केएल टावर पुगेको र त्यहाँबाट निरा आचार्यको पसलमा पुगेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) का एसएसपी दिनेश आचार्यले बताउनुभयाे ।
आचार्यका अनुसार सुरुमा पसलमा गएर उनले भाँडाको मोलमोलाइ गरेका थिए । केही भाँडाहरु रोजिसकेपछि पैसा निकालेर ल्याउने बहानामा पसलबाट निस्किए ।
‘पसलबाट निस्किएएर १०,१५ मिनेटपछि दिउँसो २ः४४ मा फेरि फर्केर आक्रमण भएको देखिएको छ’, उनले भने । विश्वकर्माले पसलमै रहेको चक्कुले प्रहार गरेका थिए । उनले कुनै हतियार लगेका थिएनन् । हत्यापछि उनी त्यहीँ लुगा फेरेर निस्किएको र टेम्पु चढेर भागेको प्रहरीले जनाएको छ ।
आचार्यका अनुसार विश्वकर्माले निरुले लगाएको करिब एक तोलाको सिक्रीका साथै पसलको ड्रयरबाट ११,१२ सय रुपैयाँ लुटेका छन् । लुटेको सिक्री उनले सुन पसलमा बेच्न भ्याइसकेका थिए । प्रहरी उक्त सिक्री पनि फेला पारेको छ ।
विश्वकर्माले अपराध स्वीकार गरिसकेको आचार्यले जानकारी दिए ।
यसअघि चारवटा डिस्कोमा बाउन्सरका रुपमा काम गरिरहेका उनी पछिल्लो समय बेरोजगार थिए। बेरोजगार उनी वैशाख सुरुदेखि भक्तपुरको लोकन्थलीस्थित साथीको घरमा बस्दै आएका थिए।
साथीको घरमा बस्दै आएका उनी वैशाख ७ गते लोकन्थलीबाट गाडी चढेर चाबहिलस्थित केएल टावरअगाडि झरेका थिए।
त्यहाँबाट उनी चाबहिलमै डिस्कोमा काम गर्दा पहिले नै परिचित सरस्वतीनगरतिर पैदलै निस्केका थिए।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता दिनेश आचार्यका अनुसार करिब २ बजे आसपास निरुको भाँडा पसलमा छिरेका उनी आधा घण्टासम्म त्यहीँ अलमलिएका थिए।
उनले त्यहाँ आफूलाई आवश्यक परेको भन्दै केही भाँडा पनि रोजेर निरुलाई प्याकिङ गर्न लगाएका थिए। तर भाँडा प्याकिङ गरिसकेपछि उनी दिउँसो २ बजेर ३३ मिनेटतिर पैसा चाहिने भन्दै निकाल्ने बहानामा एटीएम जान्छु भन्दै हिँडेका थिए।
‘एटीएमबाट पैसा लिएर आउँछु भनेर विनो दिउँसो २ बजेर ३३ मिनेटतिर पसलबाट निस्केको देखियो’, आचार्यले भने, ‘त्यसपछि उनी दिउँसो २ बजेर ४४ मिनेटमा पसलमा पसेर निरुमाथि पछाडिबाट आक्रमण गरेका भेटियो। उनले निरुको हत्यामा पसलमै रहेका छुरीको प्रयोग गरेको पत्ता लागेको छ।’
प्रहरीका अनुसार निरुको पसलमा सीसीटीभी जडान नगरेकाले विनोद सजिलै उम्किएका थिए। ‘निरुको पसलमा सीसीटीभी जडान गरिएको थिएन’, आचार्यले भने, ‘त्यहीकारण उनी त्यहाँबाट सजिलै निस्किएर लुक्न सफल भए। तर अन्यत्रको सीसीटीभी फुटेजले उनले लगाएको जुत्ता, बोकेको झोला र लुगाले पहिचान गर्न सजिलो भयो।’
काठमाडौँ – यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ११ अङ्कले घटेर एक हजार आठ सय ७० दशमलव ६५ को विन्दुमा कायम भएको हो ।
आज दुई सय ७१ कम्पनीको ३२ लाख छ हजार चार सय ५० कित्ता शेयर २६ हजार आठ सय एक पटक खरिद बिक्री हुँदा रू ९५ करोड ४३ लाख २२ हजार तीन सय ७७ बराबरको कारोबार भएको छ । आज सेन्सेटिभ इन्डेक्स दुई दशमलव ९५ र फ्लोट इक्डेक्स एक दशमलव ३४ अङ्कले घटेको छ ।
त्यस्तै, सबै समूहका उपसूचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ८७ दशमलव १७ र निर्जीवन बीमा समूहको उपसूचक ४६ दशमलव ६६ अङ्कले घटेको छ । आज बैंकिङ समूह नौ दशमलव ४७, विकास बैंक समूह ४२ दशमलव ६७, वित्त समूह २०, होटल तथा पर्यटन समूह २६ दशमलव ९३ र जलविद्युत् समूह ४५ दशमलव ४४ अङ्कले घटेको छ ।
यसैगरी, लगानी समूह शून्य दशमलव ३३, उत्पादन तथा प्रशोधन समूह ४१ दशमलव २२, लघुवित्त समूह ३१ दशमलव ४३, म्युचुअल फन्ड शून्य दशमलव १९, व्यापार समूह ३५ दशमलव ४१ र अन्य समूह १८ दशमलव २८ अङ्कले घटेको छ ।
एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को शेयर मूल्य सबैभन्दा धेरै तीन दशमलव ३३ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड ग्रोथ फन्डको शेयर मूल्य आठ दशमलव ८९ अङ्कले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू चार करोड २५ लाख १० हजार आठ सय बराबरको शेयर किनबेच भएको छ ।
कारोबार भएका शेयर सङ्ख्याको आधारमा भने सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको एक लाख ९५ हजार एक सय ७८ कित्ता शेयर किनबेच भएको छ ।
काठमाडौँ – नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०२३ का अवसरमा ग्राहकका लागि विभिन्न अफर उपलब्ध गराएको छ ।
दिवसका अवसरमा कम्पनीले आजदेखि भ्वाइस र डाडा प्याकेज उपलब्ध गराइएको विज्ञप्तिमार्फत उल्लेख गरेको छ । यो अफर यही वैशाख १९ गतेसम्म लागू हुनेछ ।
यसअन्तर्गत रु ४९ मा एक दिन चलाउन सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने एक सय मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ ।
यसैगरी डाटा प्याकेजअन्तर्गत रु ९८ मा तीन दिन चलाउन सकिने छ जिबी डाटा, रु एक सय ९९ मा सात दिन चलाउन सकिने १३ जिबी डाटा, रु दुई सय ९४ मा १० दिन चलाउन सकिने २० जिबी डाटा र रु तीन सय ९९ मा १५ दिन चलाउन सकिने ३० जिबी डाटा प्याकेज उपलब्ध छ ।
‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नारासहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ वैशाख १९ गते मनाइँदैछ ।
काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक गर्नुभएकाे छ ।
निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्दै गर्दा निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक गर्नुभएकाे हाे । पोखरेलले निर्वाचन आयोगमा २४ लाख १८ हजार ८०६ रुपैयाँ खर्च भएको विवरण पेश गर्नुभएकाे छ।
काठमाडौं – कपनको सरस्वतीनगरस्थित निरु किचनकी सञ्चालक निरा पाण्डे आचार्यको हत्यामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।
आचार्यको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका विनोद विश्वकर्मालाई काठमाडौं ल्याइएको हो । झापाबाट पक्राउ परेका विकलाई आजै प्रहरीले सार्वजनिक गर्ने जनाएको छ ।
प्रहरीले लुटपाटको उद्देश्यले हत्या भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । हत्यापछि लुटिएको सुनको सिक्रीपनि बानेश्वरको एक पसलबाट भेटिएको प्रहरीले जनाएको छ ।
काठमाडौँ – नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ।
यसअघि शुक्रवार तोलामा ५०० रुपैयाँ घटेको सुनको मूल्य आइतबार प्रतितोला १०० रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी, शुक्रवार छापावाल सुन प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रवारको तुलनामा आइतबार चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो । आइतबार चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रवार चाँदी प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो।
धनुषा – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजकोे हकमा सरकार सदैव कठोर भएर प्रस्तुत भएको बताउनुभएको छ । आज जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगको कार्यालयको उद्घाटन गर्दै उहाँले त्यस सम्बन्धमा थप अनुसन्धान र कारबाही अघि बढाइनेसमेत बताउनुभयो ।
मधेसमा मिटरब्याजीको जालो फैलिएको दाबी गर्दै उपप्रधानमन्त्री श्रेष्ठले राजनीतिक पहुँचका आधारमा कुनै पनि मिटरब्याजीले उन्मुक्ति नपाउने पनि बताउनुभयो । उहाँले मिटरब्याजीको पक्षमा रहेका जोसुकैलाई पनि सरकारले कारबाही गर्ने चेतावनी दिनुभयो ।
अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगले जनकपुरधाममा आजदेखि केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको छ । प्रारम्भिक काम जारी राखेको आयोगले आजदेखि जनकपुरधाममा कार्यालय स्थापना गरी कार्य सुरू गरेको हो । सरकारले मिटरब्याज पीडितको माग सम्बोधन गर्न गत चैत २० गते तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।
कार्यालय स्थापना भएसँगै मिटरब्याजीलाई कारबाहीको दायरामा ल्याउन पीडितको निवेदन आह्वान गरिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बताउनुभयो । निवेदन आजदेखि यही वैशाख ३१ गतेसम्म दिनुपर्ने आयोगले जनाएको छ । मिटरब्याज पीडितले आफूसँग उपलब्ध रहेका सवुद प्रमाणसहित अनलाइनबाट सिधैँ आयोगमा वा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सक्नेछन् ।
प्रत्येक जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज पीडित सहायता कक्ष स्थापना गरिएको उहाँले बताउनुभयो । सोही कक्षमा निवेदन फाराम निःशुल्क उपलब्ध रहेको उहाँले जानकारी दिनुभयो । निवेदन फाराम जिल्ला प्रशासन कार्यालयकै कर्मचारीले भराइ दिने प्रबन्ध गरिएको आयोगले जनाएको हो ।
काठमाडौँ – प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ ।
भिजिबिलिटी कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार प्रतिकूल मौसमले भिजिबिलिटी कमजोर हुँदा अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका विभिन्न गन्तव्यको उडान समयमै हुन सकेका छैनन् भने अन्तर्राष्ट्रियतर्फका केही जहाज आकाशमा फन्को (होल्ड) लगाइरहेका छन् ।
कोलम्बोबाट काठमाडौँ आएको श्रीलङ्कन एयरलाइन्सको जहाज आधा घण्टादेखि आकाशमा होल्डमा छ । यस्तै मलेसियाको क्वालालम्पुरबाट आएको बाटिक एयरको जहाज पनि अहिले सिमरामाथिको आकाशमा होल्ड भएको छ । आन्तरिकतर्फ केही जहाजको उडान ढिला भएको विमानस्थलले जनाएको छ ।
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाकै कारण शनिबार दिउँसोदेखि राति अबेरसम्म हवाई उडान प्रभावित भएको थियो ।
अहिले देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा साथै कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । काठमाडौँको आकाशमा आज बिहानैदेखि आंशिक बदली रहेको छ । अहिले उपत्यकाका केही क्षेत्रमा मेघगर्जनसहित वर्षा भइरहेको छ ।
काठमाडौँ – राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले दोस्रो रातमा पनि माइतीघर मण्डलामा सुतेर प्रदर्शन गर्नुभएको छ।
शुक्रवारदेखि ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामबाट आन्दोलनमा उत्रनुभएका पुनले शनिवार रातभर माइतीघर मण्डलामा सुतेर प्रदर्शन गर्नुभएको हो ।
शनिवार दिउँसोदेखि नै मुसलधारे पानी परे पनि पुनको टोली भने कठयाङिद्रो चिसोमा त्रिपालमुनि बसेको थियो । उहाँले त्यसको भिडियो पनि सार्वजनिक गर्नुभएको छ । ‘धर्ना जारी छ र हुनेछ, आज राती पनि यतै सुत्ने हो’ शनिवार साँझ नै उहाँले जानकारी दिँदै भन्नुभएको थियो ।
शनिवार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछाने तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवि मिश्रलगायत उहाँको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघर मण्डलामा पुग्नुभएको थियो ।
शुक्रवारको रात पनि माइतीघर मण्डलाको सडकमा नै सुतेर कटाए थिए । ‘लु’, हामी चाहिँ माइतीघर मण्डलाको सडकमा रात भर सुतेर उठ्यौँ, जनताहरू सुती रहनुहोस् र नेपाल सरकारलाई मज्जाले सुत्न दिइरहनु होस्,’ पुनले शनिवार बिहान जानकारी दिँदै भन्नुभएको थियो, ‘के त होला र ? केही चिन्ता छैन, हद्दै भए यही नेपाल ता जाला, पृथ्वी ता रही रहन्छ नि ।’
आविष्कार केन्द्रका प्रमुख पुनले ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ को कार्य अघि बढाउनुपर्ने तथा अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष सङ्घीय र प्रदेश सरकारले कम्तीमा १ प्रतिशत रकम छुट्याउनुपर्ने लगायतका माग राखेर उहाँ आन्दोलनमा उत्रनुभएको हो।
गत २०७६ सालमा ल्याएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीतिमा पनि कोष स्थापना गर्ने परिकल्पना गरिएको तथा त्यसमा १ अर्ब रुपैयाँ राखेर नवप्रवर्तन कोष सञ्चालन गरिने भनिए पनि सो बारेमा सरकारले कुनै काम कारबाही अघि नबढाएपछि आक्रोशित पुनः आन्दोलनमा होम्मिनुभएको हो ।
‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारसँग तपाईँको सन्तानको, तपाईँको भावी सन्ततिको र मातृभूमिको भविष्य जोडिएको छ,’ आन्दोलनमा जानु अघि उहाँले भन्नुभएको थियो, ‘वैशाख १५ गते शुक्रवारदेखि माग पुरा नहुँदा सम्म माइतीघर मण्डला र बबरमहल क्षेत्रबाट नेपाल सरकारलाई घुँडा टेकाउने गरी आन्दोलन गर्न सम्पूर्ण नेपालीहरूलाई आह्वान गर्दछु ।’
काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले झापामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा भएको आक्रमण संघीयताको दुष्परिणाम भन्नुभएको छ । शनिबार एक विज्ञप्ति जारी गरी उनले ओलीमाथि जातिवादीहरुले आक्रमण गरेको भन्दै विरोध जनाएका छन् ।
‘हामीले भन्दै आइरहेका छौँ, सङ्घीयता—त्यसमा पनि जातीय सङ्घीयताले नेपालको राष्ट्रिय विखण्डन गर्ने छ । त्यसले देशको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि नै आँच पुर्याउने छ । अहिले एमाले अध्यक्ष ओलीमाथिको आक्रमण सङ्घीयताको त्यस्तै दुष्परिणाम हो’ केसीले भन्नुभएको छ ।
१३ वैशाखमा झापामा अध्यक्ष ओली सहभागी कार्यक्रममा कोशी नामकरणको विपक्षमा आन्दोलनरत पक्षले आक्रमण गरेका थिए ।
कोशी प्रदेशको नामकरणको सन्दर्भमा भइरहेको प्रदर्शनले विखण्डनको अवस्था उत्पन्न गर्ने भन्दै राष्ट्रिय जनमोर्चाले यथाशीघ्र सङ्घीयता खारेज गरी प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक शासन कायम गर्नुपर्ने धारणा राखेको छ ।
काठमाडौँ – स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले राजधानी काठमाडौँ उपत्यकासहित देशका आधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार काठमाडौँमा विगत दुई घण्टादेखि मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ । अहिले कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगमा हल्का वर्षा भइरहेको छ । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले आज र भोलि बदलीसँगै वर्षा गराउने उहाँले बताउनुभयो ।
रातिको समयमा पनि देशका पहाडी क्षेत्रमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
काठमाडौँ – मुलुकमा शान्ति सुरक्षा कायम गर्न नसकेको र अयोग्य लडाकुलाई अनावश्यक रकम दिन लागिएको भन्दै एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालले प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।
युवा सङ्घले शनिबार काठमाडौँको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गर्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो । उनीहरूले पूर्वप्रधानमन्त्रीको सुरक्षा गर्न नसक्नेले जनताको सुरक्षा गर्न नसक्ने भन्दै सरकार विरुद्ध नाराबाजी गरेका थिए ।
त्यस्तै उनीहरूले वर्तमान सरकारले नीतिगत भ्रष्टचार सुरु गरेको आरोप लगाएका छन् । प्रदर्शनमा सहभागीहरूले शान्ति सुरक्षा कायम गर, भ्रष्टाचार अन्त्य गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शन गर्दै उनीहरूले बानेश्वरको निषेधित क्षेत्रबाट अघि बढ्न खोजेपछि प्रहरीले रोकेका थिए ।
भक्तपुर – राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक नेपाली नागरिकलाई प्राप्त सबैभन्दा बलियो अधिकार भएको बताउनुभएको छ ।
मध्यपुरथिमि नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक सारथीले आज यहाँ आयोजना गरेको ‘सूचनाको हक र सार्वजनिक निकायको भूमिका’ विषयक कार्यशालामा उहाँले संविधानले नागरिकलाई शक्तिशाली बनाएको बताउनुभयो ।
देशका सबै सार्वजनिक निकायले पारदर्शीता, जवाफदेहिता, इमान्दारिता हुँदै भ्रष्टाचार नियन्न्त्रण गर्ने र सूचना व्यवस्थितरुपमा सार्वजनिक गर्दै जानुपर्ने बताउनुभयो ।
विश्वमा एक सय ३५ राष्ट्रमा सूचनाको हकसम्बन्धी कानुन रहेको चर्चा गर्दै प्रमुख आयुक्त गुरुङले यो मानव अधिकारका रुपमा स्थापित बनेको बताउनुुभयो । सबै नागरिककोमा अधिकांश सूचना पु¥याउनै नसकिएको चर्चा गर्दै उहाँले भन्नुभयो, “आयोगमा नौ हजारभन्दा बढी पुनरावेदन परेको छ, अहिलेसम्म ३३ जनालाई कारबाही गरिसक्यौँ । सकेसम्म आयोगले कसैलाई सूचना नदिएकै आधारमा कारबाही गर्न नपरोस् भन्ने हो, त्यसका लागि कानुनले देऊ भनेका सूचना सहजरुपमा दिनुस् ।”
नगरपालिकाले कार्यालयको सबै निर्णयको अभिलेखीकरण राख्ने, दैनिक आफ्नो वेभसाइटमा सार्वजनिक गर्ने, तीन तीन महिनामा सबै सूचना सार्वजनिक गर्ने गरेमा सूचना माग्न आउनेको पनि कमी हुने उहाँको भनाइ थियो ।
कार्यक्रममा फ्रिडम फोरमका अध्यक्ष एवं वरिष्ठ पत्रकार तारानाथ दाहालले लामो समयको आन्दोलनपछि आएको सूचनाको हकसम्बन्धी कानुनको सबैले प्रयोग गर्नुपर्ने औँल्याउनुभयो ।
सूचनाको हक आफैँमा स्थानीय तहदेखि सबै सार्वजनिक निकायलाई अनुगमन गर्ने कार्य पनि हो भन्दै उहाँले यसले प्रत्येक नागरिकलाई प्रश्न सोध्ने अधिकार रहेको बताउनुभयो । कार्यक्रममा सामुदायिक सारथीका प्रमुख ताराबहादुर भण्डारीले सूचनाको हक कार्यान्वयन र यसको आवश्यकतासम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै विश्वमा रहेको यसको अभ्यास र नेपालमा सूचनाको हकको प्रयोगका बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयराज सुवेदी, नगरपालिकाका महाशाखा प्रमुख एवं सूचना अधिकारी केशव सिलवाललगायतले सूचनाको हकको कार्यान्वयनले सार्वजनिक निकायको पनि जिम्मेवारी बढेको बताउनुभयो ।