`

संसदको ध्यान प्रभावकारी ऐन कानुन निर्माण गर्नेतर्फ केन्द्रित हुनुपर्छ : सभामुख घिमिरे

काठमाडौँ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अब संसदको ध्यान प्रभावकारी ऐन कानुन निर्माण गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय समावेशी आयोग दिवसका अवसरमा राष्ट्रिय समावेशी आयोगले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले संसदको पहिलो कार्यकालको अनुभवलाई आत्मसात गर्दै अव प्रभावकारी ऐन कानुन निर्माण गर्नेतर्फ संसदको ध्यान दिनुपर्ने बताउनुभएको हो । संसदको भूमिकालाई प्रभावकारी पार्नका लागि सांसदहरूको भूमिका महत्त्वपूर्ण हुने उहाँको भनाइ छ । सभामुख घिमिरेले सरकारलाई गतिशील बनाउनका लागि प्रतिपक्षीको भूमिका महत्त्वपूर्ण हुने र बहुमत हुँदैमा सरकारलाई पनि सांसदप्रति उत्तरदायी नहुने छुट नरहेको धारणा राख्नुभयो ।

उहाँले आयोगले सीमित स्रोत साधनका बाबजुद धेरै काम गर्न खोजेको र त्यसको लेखाजोखा संसदीय समिति मात्रै नभई फुल हाउसमा छलफल हुनुपर्ने धारणा राख्नुभयो । विभिन्न संवैधानिक आयोगका प्रतिवेदनहरू दर्ता गर्ने र राख्ने काम मात्रै भएकाले आयोगका कामहरूप्रति सरकार जबाफदेही हुने परिपाठी सिर्जना गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

त्यस्तै राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सेनाले समावेशिताको बुझाईमा एकरूपता आवश्यक पर्ने बताउनुभयो । मुलुकमा बस्ने प्रत्येक व्यक्तिहरू, समुदाय सबैलाई न्याय गर्न सक्ने परिकल्पना राज्यले गरेको अवस्थामा केही समुदायको मात्रै प्रतिनिधित्वलाई समावेशिता भन्न नमिल्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा अन्य संवैधानिक आयोगका अध्यक्षहरूले विभिन्न आयोगको कामकारबाहीलाई प्रभावकारी बनाउनका लागि समन्वयात्मक भूमिका आवश्यक रहेको धारणा राखेका थिए । सामाजिक न्याय प्राप्तिका लागि सबै अवरोध हटाऔँ र यसका अवसरहरूको उपयोग गरौँ भन्ने नारासहित सोमबार राष्ट्रिय समावेशी आयोग दिवस मनाइएको हो ।

मा‌ओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

काठमाडौं- सत्तारुढ नेकपा मा‌ओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ। बैठक पार्टी कार्यालय पेरिसडाँडामा जारी छ।

आजको बैठकमा राष्ट्रपति निर्वाचन, पार्टीको सांगठनिक गतिविधि र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।
माओवादी केन्द्र आफूले उम्मेदवारी नदिने भएपनि राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रयास गरेको छ।

हिजो नेपाली कांग्रेसका नेतासँगको छलफलमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहालले आजको पदाधिकारी बैठकले राष्ट्रपतिबारे औपचारिक निर्णय गर्ने बताएका थिए।

मोरङमा प्लाष्टिकको बोरामा महिलाको शव भेटियो

विराटनगर – मोरङको बुढीगंगा गाउँपालिका–२ मा प्लाष्टिकको बोरामा २८ वर्षीया प्रियंका सुनारको शव फेला परेको छ । 

विराटनगर महानगरपालिका–१९ की सुनारको शव नरसिंह चौधरीको गोठमा फेला परेको प्रहरीले जनाएको छ । प्लाष्टिकको बोराभित्र पोको पारेरको अवस्थामा उनको शव फेला परेको हो । 

शरीरमा चोट लागेकाले हत्या गरेर बोरामा पोको पारेर फ्यालेको हुन सक्ने प्रारम्भिक अनुमान गरेको प्रहरीले  घटनामा संलग्न भएको आशंकामा दुई जनालाई पक्राउ गरेको छ । 

स्कटल्याण्डले नामिबियालाई ४३ रनले पराजित

काठमाडौं – काठमाडौंमा जारी आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत सोमबार भएको खेलमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको छ ।

काठमाडौंको किर्तिपुरस्थीत टियु मैदानमा भएको खेलमा नामिबिया ४३ रनले पराजित भएको हो । स्कटल्याण्डले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको नामिबिया ३८.४ ओभरमा १ सय ७८ रनमा अलआउट भयो । नामिबियाका लागि लोहार्ड लोहारेन्सले ५२ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान ग्रेहार्ड इरास्मसले ४३ तथा जेन ग्रिनले २५ रन बनाए ।

स्कटल्याण्डका लागि मार्क वाटले ४ तथा माईकल लिस्कले ३ विकेट लिए । ब्राण्डन म्याकमुलानले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४८.४ ओभरमा अलआउट हुदै २ सय २१ रन बनाएको थियो ।

स्कटल्याण्डका लागि क्रिटोफर म्याकब्रिडले ४७ रन बनाए । टमस म्याकिन्टोसले ३४ तथा कप्तान रिचि बेरिङ्टनले ३२ रन बनाए । सात टोली सहभागी विश्वकप लिग टू मा स्कटल्याण्ड ३५ खेलमा २४ मा जित र ९ मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा छ । नामिबिया ३४ खेलमा १८ मा जित र १५ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ ।

अध्यागमनको सर्भर डाउन भएको करीब सवाघण्टा अन्तर्राष्ट्रिय उडान नियमित

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको सर्भर डाउन भएको करीब सवाघण्टा पछि अहिले नियमित रुपमा सञ्चालन भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।


सोमबार दिउँसो विमानस्थलको अध्यागमनको सर्भर डाउन हुँदा हुँदा प्रभावित बनेको हवाई उडान अहिले नियमित रुपमा सञ्चालन आएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।


उनका अनुसार “अध्यागमनको सर्भर डाउन हुँदा सवाघण्टा उडान सेवा प्रभावित भएको थियो । दिउँसो २ः३५ देखि नियमित उडान भइरहेको छ”, उनले भने ।

अन्तर्राष्ट्रिय उडानका विभिन्न गन्तव्यमा आवतजावत गर्ने यात्रुले सास्ती बेहोर्नुपरेको थियो । उडान अवतरण भए पनि लामो समय सम्बन्धित गन्तव्यका जहाजले उडान भर्न नसक्दा यात्रु मर्कामा परेका थिए । यसअघि पनि अध्यागमनको सर्भर डाउनले अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

केही घण्टा देखि अध्यागमनको सर्भर डाउन – सयाैँ यात्रु अलपत्र

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको सर्भर डाउन भएको छ । सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय तर्फको उडान प्रभावित भएको छ ।

उडान प्रभावित हुँदा सयौँ यात्रु समस्यामा परेका छन् । अध्यागमनको सर्भर डाउन भएपछि प्रवेशाज्ञा र प्रस्थान अनुमति दिने कार्य केही घण्टा यतादेखि प्रभावित भएको छ । अध्यागमनको सबै प्रणाली कम्प्युटरराइज्ड भएकाले सर्भर नचले सेवा ठप्प हुन्छ । जसका कारण विमानहरू समयमै उड्न पाएका छैनन् भने विमानस्थल आइपुगेका यात्रु र विमानहरू समस्यामा परेका छन् ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले धेरै बेर समस्या आए पार्किङ समेत समस्या हुन सक्ने भएकाले अवतरणमा समेत समस्या हुने जोखिम छ ।

राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ – निर्वाचन आयोगले आसन्न राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

संसद भवन नयाँ बानेश्वरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयको सोमबार आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उद्घाटन गर्नुभएको हो । प्रमुख निर्वाचन आयुक्त थपलियाले फागुन २५ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने र मत परिणाम साँझ ७ बजेभित्र आइसक्ने बताउनुभयो ।

निर्वाचनका लागि सङ्घीय संसदका सदस्यले मतदान गर्ने एउटा र प्रदेश सभाका सदस्यले मतदान गर्नेगरि दुई वटा मतदान केन्द्र निर्धारण गरिएको उहाँले बताउनुभयो । राष्ट्रपति निर्वाचनका लागि फागुन १० गते मतदाता नामावली प्रकाशन गर्दै प्रक्रिया सुरु हुने उहाँले बताउनुभयो । थपलियाले निर्वाचनमा कसैको बहुमत नआए २६ गते नै अर्को निर्वाचन हुने बताउनुभयो । उहाँले अर्को पटक देखि आफ्नै प्रदेशबाट नै राष्ट्रपति निर्वाचनमा मतदान गर्न सक्ने गरी कानुन संशोधन गर्न लागिएको जानकारी दिनुभयो ।

आयोगका अनुसार फागुन १३ गते उम्मेदवारी दर्ता, फागुन १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र फागुन २५ गते मतदान हुने कार्यसूची छ । त्यस्तै उपराष्ट्रपति निर्वाचनको प्रक्रिया भने फाल्गुन २७ गतेदेखि सुरु हुने छ । निर्वाचनका मतदान अधिकृतमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल यसअघि नै नियुक्त भइसक्नुभएको छ ।

भारतले नेपाललाई दियाे मिर्गौला डायलासिस उपकरण

काठमाडौँ – भारत सरकारले नेपाल सरकारलाई मिर्गौला डायलासिस उपकरण हस्तान्तरण गरेको छ ।

सोमबार स्वास्थ्य मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्यमन्त्री पद्म गिरीलाई डायलासिस उपकरण हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा भारतीय राजदूत श्रीवास्तबले नेपाल सरकारले एक वर्षअघि माग गरेको मेसिन अहिले उपलब्ध गराएको जानकारी दिनुभयो ।

डायलासिस उपकरणले नेपालको स्वास्थ्य संरचनाको पूर्वाधारमा सहयोग पुग्ने उहाँको विश्वास छ । उहाँले सन् २००३ देखि साना परियोजनामार्फत भारत सरकारले नेपालमा सामुदायिक अस्पताल, स्वास्थ्य उपकरण र औषधि उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।

त्यस्तै स्वास्थ्यमन्त्री गिरीले भारत सरकारले उपलब्ध गराएको उपकरणलाई आवश्यक ठाउँमा पुराएर सहज रूपमा उपचार सेवा सुरु गर्ने बताउनुभयो ।

भारतले दुई सय थानमध्ये कार्यक्रममा २० वटा उपकरण उपलब्ध गराएको हो । बाँकी उपकरण छिट्टै नेपाल भित्रिने दूतावासले जानकारी दिएको छ ।

सुरक्षाकर्मी र कर्मचारीकै मिलोमतोमा सीमानाकामा तस्करी, १८ प्रतिशत मात्र राजस्व असुली

सिरहा – सिराहामा प्रहरी प्रशासनकै सेटिङमा व्यापक चोरी, तस्करी हँुदा भन्सार कार्यालयले लिएको लक्ष्यको १८ प्रतिशत मात्र राजस्व उठेको छ । प्रहरी प्रशासन, भन्सारका कर्मचारी र तस्करबीचको  मिलेमतोमारु तस्करले ल्याएको सामानमध्ये केहीे सामानको मात्र राजस्व तिर्ने र बाँकीको   राजस्व नै नतिरी भित्र्याउने गरेकाले चालु आर्थिक वर्षका लागि लिइएको लक्ष्यको १८ प्रतिशत मात्र राजस्व उठेको हो । 

जिल्लाको माडर, औरही, बरियारपट्टी नरगी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, पटेर्वा लगायतका नाका तथा चोरबाटो प्रयोग गरी यस क्षेत्रमा व्यापक चोरी तस्करी बढेपछि भन्सार कार्यालय माडरको राजश्व असुली अवस्था निरन्तर खस्किँदै गइरहेको देखिएका छन् ।

सिरहा भन्सार कार्यालय माडर खैरटोका, सिराहाले चालु आर्थिक वर्ष २०७९÷०८० को साउन महिनामा एक करोड ३३ लाख ५५ हजार लक्ष्य रहेकोमा लक्ष्यको २३ प्रतिशत ३० लाख ७४ हजारमात्र राजश्व रकम असुली गरेको देखिन्छ । 

त्यस्तै भदौ महिनामा एक करोड ६६ लाख ५ हजार लक्ष्य लिएकोमा लक्ष्यको २० प्रतिशत ३३ लाख ० हजार, असोज महिनामा एक करोड ६७ लाख ८ हजार लक्ष्य रहेकोमा लक्ष्यको २७ प्रतिशत ४४ लाख ५३ हजार, कात्तिक महिनाको एक करोड ५९ लाख ४७ हजार लक्ष्यको ३० प्रतिशत ४७ लाख ८० हजार, मंसिर महिनाको एक करोड ६ लाख २२ हजार लक्ष्यको २५ प्रतिशत ४२ लाख ८ हजार र पुस महिनाको एक करोड ७७ लाख ७२ हजार लक्ष्यको ५७ प्रतिशत एक करोड २ लाख ११ हजार मात्र राजश्व असुली भएको र माघ महिनामा १ करोड ७० लाख ३८ हजार लक्ष्य लिएको भन्सार कार्यालयले लक्ष्यको ३८ प्रतिशत रकम मात्र असुली गरेका छन् । 

भन्सार कार्यालय माडर खैरटोकाले ७ महिनामा लिएको वार्षिक लक्ष्य जम्मा १९ करोड ९५ लाख ४६ हजारमा कुल रकमको १८ प्रतिशत अर्थात ३ करोड ५ लाख ८८ हजार रुपैया राजस्व मात्र असुली भएको सिरहा भन्सार कार्यालय माडर खैरटोकाका सूचना अधिकारी नायब सुब्बा गोपाल महतोले जानकारी दिए । 

चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको ७ महिनाको तथ्यांकले नै सिरहा जिल्लामा तस्करी भइरहेको पुष्टि गर्छ । तस्करहरुले सीमानाकामा बस्ने सुरक्षाकर्मी र भन्सार प्रमुख लगायतका कर्मचारीहरुलाई एकमुस्ठ रुपमा मोटो रकम तिरेर नाकाहरुको वरिपरि राखिएको गोदाममा भण्डारण गर्ने र रातभरि निर्धक रुपमा प्रहरी प्रशासनकै आखा अगाडिबाट तस्करी गर्ने गरेको स्थानीयहरु बताउँछन् । 

सीमानाका तस्करीको विशेष निगरानी गर्न खटाइएका सशस्त्र प्रहरी, नेपाल प्रहरीले नै तस्करसंग नजराना लिई  तस्करीको संरक्षणतर्फ आकर्षक रहेको नाम नखोल्ने सर्तमा एकजना तस्करले बताए । उनले भने, ‘प्रहरी प्रशासनलाई मासिक रुपमा आफूहरुले लाखौं रुपैयाँ बुझाएर मात्र मालसमान ओसार पसार गर्ने गरेको बताएका छन् । 

सीमानाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लै उपस्थिति रहे पनि प्रहरीको आँखा अगाडिबाटै तस्करले भन्सार राजश्व छली गरी निर्धक्क मालसामान वारपार गर्ने गरेको स्थानीयहरु बताउँछन्। 

जिल्लाको माडर,औरही, बरियारपट्टी नरगी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, पटेर्वा लगायतका नाका तथा चोरबाटोहरु प्रयोग गरी तस्करहरुले रातीको समयमा चिनी, कपडा, मोटरपार्टस्, किरानाको सामान, ग्यास चुल्हो, पान मसाला, सुर्तीजन्य पदार्थ(रजनीगन्धा, गुटखा) भन्सार राजश्व छली गरी वारी (नेपाल ) भि¥याउने र वारि(नेपाल)बाट व्यापक रुपमा मदिरा, चाइनिज स्याउ, सुपारी लगायतका सामग्रीहरु पारी (भारतीय बजार )पु¥याउने गरेको नाम नखाल्ने सर्तमा एकजना स्थानीयले सुनाए । 

उनले थपे, ‘यस क्षेत्रबाट रातभरी प्रहरी प्रशासनकै सेटिङमा भारतीय बजारबाट मालसमान ल्याएर टेम्पो, पिकअप र मोटरसाइकल मार्फत सिरहा सदरमुकाम लगायतका बजारहरु  मिर्चैया ,गोलबजार,लाहान, लगायतको वजार सम्म ल्याइन्छ ।’ 
सुरक्षाकर्मीले नै तस्करहरुलाई ‘लाइन क्लियर’ रहेको संकेत गरेपछि उनीहरुले अन्धाधुन्द सामान ढुवानी गर्न सुरु गर्छ उनले सुनाए । प्रहरीलाई खबर गरे पनि बेपत्ता गरेको उनले गुनासो पोखे ।

जिल्लामा चोरी तस्करी भइरहेको विषयमा जिज्ञासा राख्दा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेक्वा सिरहाका प्रमुख प्रमोद भारतीले आफू आएलगतै सम्पूर्ण सीमानाकामा कडाका साथ खटिन र तस्करी नियान्त्रण गर्न निर्देशन गरिसकेको दाबी गरे । 

‘म आएको पनि २० दिन मात्र भएको छ, आएलगतै चोरी तस्करी नियन्त्रणमा खटिरहेका छौं,’ उनले थपे, ‘चोरी तस्करीमा हाम्रो युनिटको कुनै किसिमको संग्लनता भए काडा कारबाही गर्छाैँ ।’ 

चोरी निकासी र राजस्व छलिका विषयमा जिल्ला प्रहरी कार्यालयका प्रमुख ‘एसपी’ टेकु नन्द लिम्बूसँग सम्पर्क गर्दा उनले आफू मिटिङमा रहेको जवाफ दिएपछि कुरा हुन सकेन । यता भारतीय बजारबाट भन्सार छलि गरी ल्याइएका सामान भण्डारण गरिने लहान, सिरहा, मिर्चैया र गोलबजारका गोदामबारे स्थानीयबासी जानकार रहे पनि  प्रहरी बेखवरझँै बसेका छन् । मुकेशकुमार यादव

आगामी चैतमा जसपाले आफ्नो विधान अधिवेशन गर्दै

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो विधान अधिवेशन आगामी चैतमा गर्ने भएको छ । 

बालकुमारीस्थित पार्टी कार्यालयमा आइतबारदेखि सुरु भएको कार्यकारिणी समितिको बैठकले विधान अधिवेशन चैतको २७, २८ र २९ गते गर्ने निर्णय गरेको हो । 

पछिल्लो राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, विधान अधिवेशन, विभिन्न पार्टीसँग भइरहेको एकीकरणलगायतको विषयमा छलफल गर्नका लागि जसपाले आफ्नो कार्यकारिणी समितिको बैठक बसेको हो । 

उक्त बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा गठन भएको विधान संशोधन मस्यौदा समितिले आफ्नो काम गरिरहेको र उक्त समितिले अधिवेशनअघि प्रतिवेदन तयार गर्ने कार्यकारिणी सदस्य राम सहाय यादवले जानकारी दिनुभयो ।

यसैगरी यही फागुन २५ गते हुने राष्ट्रपतिको चुनावको विषयमा पनि बैठकमा छलफल भइरहेको छ । जनता समाजवादी पार्टी नेपाल पनि राष्ट्रिय सहमतिमा नै राष्ट्रपति बनोस् भने पक्षमा रहेको छ । 

उक्त बैठकमा राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिको आधारमा हुनुपर्ने र सोही लाइनमा जसपा पनि जाने कुरामा छलफल भएको बताइएको छ । 

बैठकमा गत प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा पार्टीभित्र भएको अन्तर्घातको विषयमा भइरहेको छानबिन प्रतिवेदन चाँडै पेस गर्नुपर्ने विषयमा पनि छलफल भएकोसमेत भएको छ । 

जसपाले नेकपा (एकीकृत समाजवादी) पार्टी लगायत अन्य  दलहरूसँग पनि पार्टी एकीकरणका लागि छलफल गरिरहेको जनाएको छ ।

एनआइसी एसिया बैकलाई ११ हजार जरिवाना

वीरगंज – वीरगंज महानगरलाई स्वच्छ सफा बनाउने अभियानविरुद्ध पटक-पटक चेतावनी दिँदासमेत सडकमा फोहोर फालेपछि एन आइ सी एसिया बैक वीरगंज शाखा जरिवानामा परेको छ । महानगरको निर्णय अटेरी गर्दै फोहोर फालेको आरोपमा आज ११ हजार रुपैयाँ जरिवाना असुल गरिएको हो ।  

महानगरपालिकाले पहिलो पटक चेतावनी दिएको र दोस्रो पटक ५ हजार जरिवाना समेत गरि सकेको अवस्थामा पुनः एन आई सी एसिया बैकले अटेरी गर्दै सडकमा फोहोर फालेपछि ११ हजार रुपैयाँ जरिवाना असुल गरिएको वीरगंज महानगरपालिकाका सरसफाइ अधिकृत सर्फुदिन मियाँले जानकारी दिए ।

फेरि पनि फोहोर फालेको भेटिएमा २५ हजारदेखि २ लाखसम्म जरिवाना असुल गरिने वीरगंज महानगरपालिकाले जनाएको छ ।

महानगरले विगत एक साता यता नगर क्षेत्र भित्र जथाभाबी फोहोर फाल्ने झण्डै २ सय भन्दा बढीलाई जरिवानासहित कारबाही गरेको छ ।

कैलालीबाट चितुवाको छालासहित दुई जना पक्राउ

धनगढी – कैलालीका चितुवाको छालासहित दुई जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले जुम्ला तातोपानी गाउँपालिका–४ रावतवडाका ५० वर्षीय तुलबहादुर खत्री र अछामको बिनायक नगरपालिका–६ तोलीका ३६ वर्षीय तुलबहादुर विक पक्राउ परेका हुन् ।

विकले चलाएको से.५प ८०३१ नम्बरको मोटरसाईकल पछाडी सवार खत्रीको झोलाबाट ७ फिट १० ईन्च लम्बाई र चार फिट ७ इन्च चौडाई भएको एक थान चितुवाको छाला र बन्यजन्तुका विभिन्न हड्डी दुई किलो ९५० ग्रामसहित आइतबार दुवै जना पक्राउ परेका हुन् ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एमालेबाट अलग भएको दुर्गा प्रसाईंको घोषणा

काठमाडौँ – चर्चित व्यवसायी दुर्गा प्रसाईँले एमाले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका प्रसाईँले पछिल्लो समय ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान चलाई रहनुभएको छ ।

प्रसाईँले पूर्वराजपरिवारलाई अघि सारेर झापाको मेचीपुलबाट महाअभियानको घोषणा गर्नुभएको थियो । सोही घटनालाई लिएर एमालेको स्थानीय कमिटीले प्रसाईँलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरे पनि एमालेले निर्णय नलिँदै प्रसाईँ आफैँले आफू एमालेबाट अलग भएको घोषणा गर्नुभएको हो ।

प्रसाईँले आजै काठमाडौँ आएर पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउने तयारी गर्नुभएको छ ।

एमाले केन्द्रीय समितिको बैठकले २०७८ मङ्सिर २६ मा प्रसाईँलाई केन्द्रीय समितिमा मनोनीत गरेको थियो । विगतमा माओवादी अध्यक्ष प्रचण्डनिकट प्रसाईँ पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्रका रूपमा चर्चित हुनुहुन्थ्यो । पूर्वराजसँग नजिकिएसँगै प्रसाईँको गतिविधिबारे एमालेमा विरोध सुरु भइरहेको थियो ।

दोस्रो स्टार म्युजिक भिडियो अवार्डको उत्कृष्ट मनोनयन प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

काठमाडौँ – नेपाली गीत सङ्गीत र संस्कृति संरक्षणको अभियान राष्ट्रिय एकता सहितको हाम्रो पहिचान भन्ने उद्देश्यका साथ दोस्रो स्टार म्युजिक भिडियो अवार्ड २०२३ को टप ५ नोमिनेसन प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।

अशोक बि.क.का अध्यक्षता र पूर्व शान्ति तथा पुन निर्माण मन्त्री सत्य पहाडीको प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रम गत शुक्रबार जमलस्थित Yellow Pagoda होटेलमा आयोजना गरिएको थियो ।


आधुनिक,लोक,पप तथा विभिन्न भाषा भाषी र सांस्कृतिक म्युजिक भिडियोका ३० विधामा हुन गइरहेको अवार्डको फाइनल अवार्ड वितरण कार्यक्रम भने आगामी मे महिनामा क्यानडाको Toranto शहरमा हुने अध्यक्ष अशोक बि.क. ले जानकारी दिनु भएको छ । स्टार म्युजिक भिडियो अवार्डको उत्कृष्ट मनोनयनमा नेपालको विभिन्न चर्चित कलाकारहरू पर्न सफल हुनु भएको छ ।
स्टार म्युजिक भिडियो अवार्डको सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना ।

राष्ट्रपति कांग्रेसबाट बन्नुहुन्छ : महामन्त्री शर्मा

सुर्खेत – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले अबको राष्ट्रपति कांग्रेसबाट बन्ने बताउनुभएको छ । 

नेपाली कांग्रेस सुर्खेतले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले कांग्रेस उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “राष्ट्रपति कांग्रेसले उमेदवार बनाएको व्यक्ति बन्नुहुन्छ, त्यसमा कुनै शङ्का छैन ।” 
 
महामन्त्री शर्माले संविधानको संरक्षक र कार्यान्वयनको जिम्मेवारीका रुपमा रहेको राष्ट्रपति पद ठूलो पार्टीको हैसियतले कांग्रेसले पाउनु स्वभाविक रहेको बताउनुभयो । पहिलो दल कांग्रेसले सरकार गठन गर्नुपर्ने भए पनि केही त्रुटीका कारण बाहिर बस्नुपरेको उल्लेख गर्दै उहाँले त्यसमा कसले के कति गल्ती ग¥यो भन्ने विषय पार्टीको छलफलको विषय रहेको बताउनुभयो । अबको केही दिनमा पुरानै गठबन्धन ब्यूँतिने उहाँको भनाइ थियो ।
 

ईच्छाराम परियारको अभिनय रहेको गीत ‘म मरेर के भो’ ले पायो एक करोड बढी भ्यूज

रमेश बि.क.रसाइली / काठमाडौँ – मोडल ईच्छाराम परियारको अभिनय रहेको कालजयी गीत म मरेर के भो म जस्तो हजार पाईहाल्छौको फिमेल भर्जन युट्युबमा एक करोड बढी दर्शकको नजरमा पर्न सफल भएको छ । 

भद्र ओलीको शब्द सङ्गीत र स्मृति शाहीको आवाज रहेको यो गीत नेपाली सङ्गीतमा सदाबहार तहल्का मच्चाएको गीत हो भने अडियोमा बिनोद बाजुरालीको सङ्गीत संयोजन र कुमार रानाको ध्वनि मुद्रण रहेको छ । रक्षा म्युजिकको अफिसियल युट्युब च्यानलमा सार्वजनिक भएको म मरेर के भो को म्युजिक भिडियोलाई लेजेण्डरी निर्देशक शिब बि.क.ले निर्देशन गरेका हुन । शम्भु चालीसेको छायाकंन र रबिन बि.क.को सम्पादन रहेको भिडियोलाई शिब फोर.एस.मिडियाले दृष्य निर्माण गरेको हो भने भिडियोमा ईच्छाराम सँगसँगै नायिका उशा खनालको अभिनय रहेको छ । 

म मरेर के भो म जस्तो हजार पाईहाल्छौको सम्पूर्ण टिमलाई करोड क्लबको धेरै धेरै शुभकामना । 

भिडियो

पोखरामा बस दुर्घटना,४० जनाभन्दा बढी यात्रु घाइते

कास्की- कास्कीको पोखरामा बस दुर्घटना भएको छ। ताल्चोकबाट पोखरा गएको बस आइतबार दिउँसो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिएको छ। 

ग १ ख ४७६७ नम्बरको बस जिल्ला प्रहरी कार्यालय नजिकैको सडकमा दुर्घटना भएको हो। दुर्घटना हुँदा ४० जनाभन्दा बढी घाइते भएको कार्यालयले जनाएको छ। 

घाइतेको उपचारको लागि अस्पताल लगिएको छ। थप विवरण खुल्न बाँकी छ।

गणतन्त्रवादी र राजावादीबीचको ‘सिनर्जी’ नेपालको हितमा : कमल थापा

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले गणतन्त्रवादी र राजावादीबीचको ुसिनर्जीु नेपालको हितमा रहेको बताएका छन् ।
उनले आज राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सन्देश दिँदै आफ्नो सामाजिक सञ्जालमा यस्तो लेखेका हुन् ।


उनले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका छन्,

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सन्देश दिँदै राजा ज्ञानेन्द्रले राजनीतिक दलहरुसँग सहकार्यको प्रस्ताव गरिनु सकारात्मक भएको मलाई लागेको छ । ‘अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्नु हुँदैन’ भन्ने राजा ज्ञानेन्द्रको भनाई सान्दर्भिक छ। यस्तो सोच धेरै अघि नै आउनुपर्थ्यो, धेरै ढिलो भैसक्यो। वागमतीमा धेरै पानी बगिसक्यो।

वास्तवमा नेपालको भूराजनीतिक अवस्था तथा सामाजिक सांस्कृतिक परिवेशलाई दृष्टिगत गर्दा परिवर्तनकारी शक्ति र विचार एवं परम्परागत शक्ति र विचार बिचको समाञ्जस्यता देशको निम्ति उपयुक्त हुन्छ भन्ने मेरो मान्यता हो। गणतन्त्रवादी र राजावादीबीचको ’सिनर्जी’ नेपालको हितमा हुन्छ ।

सहकार्यको प्रस्ताव वा विचार केवल भाषण वा नाराको विषय मात्र हुनु हुँदैन। सहकार्यको अवधारणा अघि सार्दा त्यसलाई व्यवहारमा रुपान्तरण गर्ने वारे समेत राजाले सोचेको हुनुपर्छ। बल राजा कै कोर्टमा छ। यद्यपि राजसंस्था पाखा लगाउने काम नेपाली जनताले भोट हालेर व क्रान्तिबाट गरेका होईनन्। देशीविदेशी शक्तिहरुको षडयन्त्रबाट एकप्रकारले भन्ने हो भने ’एम्बुस’मा पारेर राजसंस्था हटाईएको हो। तथापि अहिले राजसंस्था हटेको छ र देशमा गत चौध वर्षदेखि संघीय लोकतान्त्रिक गणतन्त्र कायम छ । यो धरातलीय यथार्थ हो। निश्चय पनि गणतन्त्रले जनताको जीवनमा सुधार आउन सकेको छैन, व्यवस्था परिवर्तन भए पनि अवस्था सुधार नभएको आम गुनासो छ। यसो भन्दैमा गणतन्त्र स्वतः हटेर राजसंस्था आउने होईन, राजा फर्कने वित्तिकै परिस्थितिमा चामत्कारिक सुधार हुने पनि होइन।

राजसंस्था पाखा लगाउँदा राजनीतिक दलहरुले विगतमा राजाबाट पटकपटक प्रजातन्त्र मास्ने काम भएको र नेपालमा राजसंस्था प्रजातन्त्र र दलहरु विरुद्ध रहेको धारणा थियो र अहिले पनि छ। सहकार्यको प्रस्ताव गर्दा यो अविश्वास र आशंका निराकरण गर्ने जिम्मेवारी स्वयं राजा कै हो। किनभने देश जतिसुकै संकटग्रस्त रहेता पनि राजसंस्थासँग सहकार्य गर्ने अहिले सम्म दलहरुको सोचाई र प्राथमिकतामा छैन। राजनीतिक दलहरु राजसंस्था पुनःस्थापनाको ’मुड’ मा छैनन्। त्यसर्थ, अविश्वास र आशंका निराकरण प्रयासको पहलकदमी राजाबाट हुनु सहकार्यको पहिलो पाईला हुनेछ। दलहरुसँगको अविश्वास र आशंकाको खाडल पुर्न राजाबाट आगामी दिनमा कस्तो पहल हुन्छ हेर्न बाँकी नै छ। पुरानो अनुभवलाई विचार गर्दा यो सहकार्यको प्रस्ताव पनि पानीको फोका हुनसक्छ। पहल राजा स्वयंबाट हुनु जरुरी छ।किनभने राजाको पक्षमा बोलिदिने अहिले राष्ट्रियस्तरका कुनै विश्वसनीय नेता वा भरपर्दो दल छैनन्। 

राजसंस्था पुनर्स्थापित भए राजनीतिक दलहरुको आन्तरिक मामिलामा हस्तक्षेप हुने छैन र प्रजातन्त्र कमजोर पार्ने काम हुने छैन दल र जनताले विश्वास गर्ने ’ग्यारेण्टी’ आवश्यक छ। 

दल र नेताहरुको कमजोरी वा असफलताको परिणामस्वरूप राजसंस्था पुनःस्थापना हुने होइन। प्रजातन्त्र रहेसम्म एउटा दल वा नेता असफल भए अर्को दल वा नेता छान्ने अधिकार जनतालाई रहन्छ। त्यसैले, दलहरुले सिर्जना गरेको फोहोर देखाएर होईन, राष्ट्रियता, प्रजातन्त्र र आर्थिक विकासको निम्ति राजसंस्था सहायक हुन्छ भन्ने मान्यताको विकास हुनुपर्छ। 

प्रजातन्त्र दिवसको अवसरमा राजाको सन्देशमा केही विरोधाभास देखिन्छ। एकातिर सहकार्यको कुरा गर्ने, अर्कोतर्फ अब “मौन नबस्ने“ चेतावनी दिईएको छ। यो परस्पर विरोधी कुरा हुन्। यस्तो चेतावनीले दलहरुसँग सहकार्य होईन, द्वन्द्व बढाउने छ।

नेपालमा विदेशीले बोकेर वा देशमा राजनीतिक अस्थिरता बढाएर सेनाले राजसंस्था ल्याईदिन्छ भन्ने राजा ज्ञानेन्द्रको सोचमा परिवर्तन आएको मैले महसुस गरेको छु। राजाको आगामी कदमको म उत्सुकतापुर्वक पर्खिरहेको छु।

वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ र स्पष्ट छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको बताउनुभएको छ । उहाँले सूचना प्रविधिको तीव्र र द्रुत विकासले सञ्चार जगतका साथै सामाजिक जीवनका सम्पूर्ण आयाम र अवयवहरूलाई समेटेको धारणा राख्नुभयो ।

विश्वमा सूचना र प्रविधिको द्रुत गतिमा भइरहेको विकास र विश्वव्यापी प्रभावको परिप्रेक्ष्यमा सहज र आधुनिक माध्यमबाट नागरिकलाई सूचना प्रदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले कुनै पनि नागरिकलाई सूचनाबाट वञ्चित गर्नु भनेको उनीहरूलाई आफ्ना सम्भावना र अवसरबाट नै वञ्चित गर्नु हो भन्ने मान्यता राखेर सञ्चारमाध्यमले काम गर्नुपर्ने पनि बताउनुभयो । 

सत्ताधारी गठबन्धनको भविष्य टुङ्गो छैन, याे कुन दिन भत्किन्छ : अध्यक्ष नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले उनले राष्ट्रपतिको चुनावबाट यो सत्ताधारी गठबन्धनको भविष्य टुङ्गो लाग्ने बताए ।

पार्टी निकट भ्रातृ संगठन अनेरास्ववियूको स्थायी कमिटीको कीर्तिपुरमा दोस्रो बैठक उद्घाटन कार्यक्ममा बोल्दै उनले सत्ताधारी गठन्धन कुन दिन भत्किन्छ थाहा नभएको बताएका हुन् ।

कार्यक्रममा उनले भने, ‘राष्ट्रपतिको चुनावबाट यो सत्ताधारी गठबन्धनको भविष्य टुङ्गो लाग्ने र त्यो एक हप्ताभित्र हुन्छ ।, सत्ताधारी गठबन्धनमा संविधान विरोधीदेखि संविधानका पक्षपाती सबै खाले शक्तिहरु भएका कारण उक्त गठबन्धन लामो नटिक्ने सक्दैन ।’

चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान

काठमाडौँ – निर्वाचन आयोगले आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ ।
आयोगले एक सुचना जारी गर्दै गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो ।

सूचनामा २०७९ फागुन ५ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई दर्ता गर्न भनिएको छ । नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम २०७९ फागुन १ देखि फागुन १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ता निवेदन दिन सूचित गरिएको सूचनामा उल्लेख छ ।

प्रतिनिधिसभाका तत्कालीन सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएपछि रिक्त रहेको चितवन क्षेत्र नं २ मा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने तय भएको छ । उपनिर्वाचनका लागि आयोगले निर्वाचन कार्यातालिकासमेत सार्वजनिक गरिसकेको छ । आगामी चैत २० गतेलाई मनोनयनको कार्यतालिका सार्वजनिक भएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार चैत २१ गते उम्मेदवारको विरोधमा उजुरी, चैत २२ गते मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने रहेको छ ।

यस्तै चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

ज्ञानेन्द्रजीलाई अझैपनि पुरानो झल्को आइरहन्छ : अध्यक्ष ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहसँग के विषयमा सहकार्य गर्ने भन्दै प्रश्न गरेका छन् । आइतबार विरटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो प्रश्न गरेका हुन् ।

उनले भने, ‘ज्ञानेन्द्रजी आफैं अलमलमा हुनुहुन्छ। उहाँ अझैपनि पुरानो झल्को आइरहन्छ । दुई–चारजना मान्छे वरिपरि देख्यो भने उहाँलाई जोस आउँछ । त्यतिमात्रै हो, अरु केही होइन । उहाँहरुले २४० बर्षसम्म चलाउनुभएको होइन ? के गर्नुभएको थियो ? देश कहाँ पुर्याउनुभयो ? ज्ञानेन्द्रजीसँग के विषयमा सहकार्य गर्ने ?’


त्यस्तै, राष्ट्रपति निर्वाचनमा यसअघि भएकै सहमति कार्यान्वयन हुने र आफूहरूले दिएको उम्मेदवारमा नै राष्ट्रिय सहमति हुने उनले बताए । अध्यक्ष ओलीले को उम्मेदवार हुने र बनाउने भन्ने विषय १३ गते थाहा हुने बताए ।

टुँडिखेलमा प्रजातन्त्र दिवसको उत्सव (फोटो फिचर)

काठमाडौं – ७३औँ प्रजातन्त्र दिवसको अवसरमा आइतबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ । 

उक्त समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मन्त्री, सांसद, सभामुख, पूर्वप्रधानमन्त्रीलगायतको उपस्थिति थियो । 

सो समारोहमा विभिन्न झाँकी, कलाहरु प्रस्तुत गरिएको थियो ।

कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङकाे नियुक्त

काठमाडौं – कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले गुरुङलाई सीईओ नियुक्त गरेको हो ।

बैंकको सीईओका लागि २२ जनाले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि आवेदन दिएका थिए जसमध्ये ५ जनाको नाम सर्ट लिष्टिङमा परेका थिए ।

सर्टलिष्टमा परेकाहरुको शनिबार अन्तर्वार्ता भएको थियो । उक्तअन्तर्वार्ताबाट गुरुङ छानिएका हुन् ।

गुरुङले ४ वर्षको कार्यकाल सम्म यस बैंकको सिईओ पदमा बसेर काम गर्नेछन । उनलाई शैक्षिक योग्यता, अनुभव, उल्लेखनीय कार्य तथा व्यवसायिक कार्ययोजनाको मूल्याङ्कनका आधारमा गुरुङ छानिएका हुन् । 

प्रजातन्त्र दिवसमा प्रहरी कार्यालय परिसरमा वृक्षारोपण (फोटोफिचर)

भैरहवा – ७३औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा वृक्षारोपण गरिएको छ । दिवसको अवसर पारेर लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी टेकप्रसाद राई, नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक रेवती ढकाल, प्रहरी अधिकृत र कर्मचारीलगायतले भैरहवा स्थित कार्यालय परिसरमा बृक्षारोपण गरेका हुन । 

मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

सुनसरी – सुनसरीको हरिनगर  गाउँपालिका-१ मा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुबोध मुखीयाकी ७ वर्षीया छोरी नैना कुमारी रहेकी छिन्  ।

गम्भिर घाइते बालिकाको उपचारको क्रममा गोल्डेन अस्पताल बिराटनगरमा मृत्यु भएको हो  । को २५ प ८८ ०९ नम्बरको मोटरसाइकलले  सडक पार गर्दै गरेकी बालिकालाई ठक्कर दिएको थियो।

मोटरसाइकल चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ  । 

साझा व्यक्ति नै राष्ट्रपति हुनुपर्छ : देव गुरुङ

पोखरा – नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले साझा व्यक्ति राष्ट्रपति हुनुपर्ने बताएका छन्।

आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव गुरुङले पक्ष र विपक्ष नभन्ने संस्थामा साझा व्यक्ति र राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिएका हुन्।

सत्ता र विपक्ष भन्ने परिकल्पना नगरिएको ठाउँमा सहमति हुन नसक्ने कारण नहुनुपर्ने उनको भनाइ थियो। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता र विपक्ष नभनी विश्वासको मत प्राप्त भएको हुँदा राष्ट्रपतिमा राष्ट्रिय सहमति आवश्यक भएको औंल्याए।

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्दा अहिलेको सत्ता गठबन्धनसँग उक्त कुरा जोड्न नमिल्ने महासचिव गुरुङको भनाई छ। संविधान, गणतन्त्रको रक्षा गर्ने र परिवर्तनलाई आत्मसात गर्ने व्यक्ति राष्ट्रपति हुनुपर्नेमा उनले जोड दिए।

कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्ने विश्वप्रकाश शर्माको दाबी

सुर्खेत – नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसकै उम्मेदवार राष्ट्रपति बन्ने दाबी गरेका छन् । आइतबार बिहान सुर्खेत पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै शर्माले पार्टीकै कमजोरीको कारण काँग्रेस सत्ता बाहिर पुगेको बताए ।

समाजका सबै मान्छेहरूमा असन्तुष्टि बढिरहेको वर्तमान सत्ता समीकरण धेरै नटिक्ने दाबी गरे । वर्तमान गठबन्धन एम्बुस‌ थापेर बनेको शर्माको टिप्पणी थियो । चुनावअघिको गठबन्धन कुनै एम्बुस थापेर नभई समयको आवश्यकताले बनेको उनको जिकिर थियो ।

कार्यक्रममा उनले नेपाल देशलाई चिन्नका लागि कर्णाली बुझ्नुपर्ने बताए। कर्णालीलाई समृद्ध नबनाई नेपालको समृद्धि हुन नसक्ने उनको भनाइ थियो । नेपाल देश चिन्नका लागि कर्णाली पैदल हिँड्नुपर्ने उनले बताए ।

आइतबार बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं – आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीको मूल्य निरन्तर बढिरहेको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँ थियो ।

 तेजाबी सुनको मूल्य १ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ थियो ।

आइतबार चाँदीको मूल्य पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेको चाँदीको मूल्य १२ सय ९० रुपैयाँ पुुगेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १२ सय ७५ रुपैयाँ थियो ।
 

राष्ट्रपतिको आममाफीबाट अरुण चौधरी रिहा, भन्छन्– म माथि प्रतिशोध साँधियो

काठमाडौं – नागरिक उन्मुक्ति पार्टी (नाउपा)का नेता अरुण कुमार चौधरी कारागारमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आममाफी पाएपछि आइतबार उनी कारगारमुक्त भएका हुन् । 

उनलाई नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठले कारगार पुगेर स्वागत गरेकी थिइन् । १८ दिन कारागार बसेर रिहा भएकाले चौधरीले आफूमाथि प्रतिशोध साँधिएको आरोप लगाएका छन् । 

गत ४ मंसिरमा भएको निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका चौधरीलाई ट्याक्टर जलाएको आरोपमा ९ वैशाख २०७० मा कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जनामाथि ६ महिना कैद र ८ लाख १९ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो ।

उनीमाथि ३ भदौमा २०६६ मा बन्दको अवज्ञा गरेको भन्दै ट्याक्टर जलाएको आरोपमा सो सजाय सुनाइएको थियो । 
तर,  उनी प्रहरीको फरार सूचीमा रहँदै आएका बेला उनी गत माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए ।

बृहत्तर राष्ट्रिय सहमति आजको आवश्यकता : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताएका छन् ।


७३ औं प्रजातन्त्र मूल समारोह समितिका अध्यक्ष समेत रहेका प्रचण्डले आइतबार बिहान टुँडिखेलमा आयोजित प्रजातन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार क्रियाशील रहेको बताए ।

उनले भने, ‘देशको राजनीति र अर्थतन्त्रले संकटपूर्ण परिस्थितिको सामना गरिरहेको पृष्ठभूमिमा गठन भएको नयाँ सरकार राष्ट्रिय सहमतिसहित सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता निर्धारित गर्दै जनताको अवस्था बदल्न, सरल र सहज सेवाप्रवाहमार्फत् सुशासनको प्रत्याभूत गर्न, अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्दै समृद्धि संस्थागत गर्न, संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा मुलुकमा दीगो शान्ति स्थापित गर्न, देशको भूराजनीतिक अवस्थालाई हृदयंगम् गर्दै स्वतन्त्र र सन्तुलित कुटनीतिक सम्बन्ध स्थापित गर्न सरकार दृढ छ ।’

प्रधानमन्त्रीको सम्वोधनको पूर्णपाठ:-
फागुन ७ गते नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको दिन हो। आजभन्दा ठीक ७३ वर्षअगाडि हाम्रा अग्रज पुर्खाहरूले प्रजातान्त्रिक अधिकारका निम्ति जीवनमरणको संघर्षमार्फत् जहाँनियाँ निरंकुश व्यवस्थामाथि विजय हासिल गरेका थिए। यस महत्वपूर्ण दिनमा प्रजातान्त्रिक अधिकार, गणतान्त्रिक व्यवस्था र राष्ट्रियताको रक्षाका निम्ति आफ्नो जीवनको बलिदान गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। सम्पूर्ण बेपत्ता योद्धाहरूप्रति उच्च सम्मानसहित स्मरण गर्दछु।

विभिन्न आन्दोलन र संघर्षका क्रममा घाइते एवं अंगभंग हुनुभएका सम्पूर्ण योद्धाहरूको शीघ्र स्वास्थ्यलाभसहित दीर्घायुको कामना गर्दछु। निरंकुशतन्त्रको अन्त्य र प्रजातन्त्रको स्थापनाका लागि संघर्षको मैदानमा खट्नुभएका सम्पूर्ण योद्धाहरूप्रति सम्मान व्यक्त गर्दै न्याय, समानता र स्वतन्त्रताका पक्षमा संघर्षशील स्वदेश तथा विदेशमा रहनुभएका आम नेपाली जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

निरंकुश जहाँनियाँ राणाशासनको अन्त्य गर्दै प्रजातन्त्रको स्थापना गर्ने नेपाली जनताको वलिदानीपूर्ण संघर्षदेखि वर्तमानसम्म देशमा निकै ठूला क्रान्ति, आन्दोलन र संघर्षहरू भएका छन्। ती सबै क्रान्ति, आन्दोलन र संघर्षहरूले लोकतन्त्र, शान्ति, अग्रगमन, सामाजिक न्याय र आर्थिक–सामाजिक रूपान्तरणका निम्ति ऐतिहासिक भूमिका निर्वाह गरेका छन्। यस ऐतिहासिक अवसरमा ती सबै आन्दोलनहरूप्रति उच्च सम्मान व्यक्त गर्दै समाजवादउन्मुख राज्यको आधार तयार पार्ने राष्ट्रिय कार्यभारमा एकजुट भएर लाग्न सम्पूर्ण जनसमुदायमा अपील गर्दछु।

लोकतन्त्रका राजनीतिक, आर्थिक र सामाजिक आयामहरूको उच्चतम् तथा परिष्कृत अभ्यासबाट मात्र जनस्तरमा लोकतन्त्रप्रतिको गहिरो विश्वास, आत्मीयता एवं व्यवस्थाको रक्षा एवं निरन्तर विकासका निम्ति अपनत्वबोध पैदा हुन्छ। लोकतन्त्रको संस्थागत सुनिश्चितता, संघीयताको गतिशील कार्यान्वयन र शासन प्रक्रियामा जनताको सक्रिय र उत्साहजनक सहभागिताबाट मात्र प्रजातन्त्रको निरन्तर सुदृढीकरण एवं समाजवादको आधार तयार पार्न सम्भव हुन्छ।

सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट जनतालाई परिवर्तनको वास्तविक अनुभूति दिलाउँदै बदलिएको व्यवस्थाअनुरूप जनताको अवस्था बदल्ने महत्वपूर्ण कार्यभार हाम्रासामु छ। जनताको जागरूकता र अपनत्वले मात्र लोकतन्त्रको निरन्तर विकास तथा दिगोपन सम्भव छ। लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ गर्दै दशकौंदेखिको नेपाल र नेपाली जनताको विकास र समृद्धिको राष्ट्रिय आकांक्ष पूरा गर्न सकिन्छ। उपेक्षित, उत्पीडित, सीमान्तकृत एवं विभेदमा पारिएका वर्ग, जाति, क्षेत्र, लिंग र समुदायको राज्यमा समानुपातिक प्रतिनिधित्व एवं आर्थिक जीवनमा गुणात्मक रूपान्तरणको माध्यमबाट मात्र सामाजिक न्यायको प्रत्याभूत गर्न, सुशासन र समृद्धिलाई गति दिन सकिन्छ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ एवं प्रभावकारी कार्यान्वयन गरेर नै मुलुकको लोकतान्त्रिक प्रणाली र संविधानको प्रगतिशील कार्यान्वयन सम्भव छ।संविधानले अवलम्बन गरेको सामाजिक न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्रको निर्माण गर्ने तथा समावेशी आर्थिक समृद्धि हासिल गर्नका लागि वृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता हो।

देशको राजनीति र अर्थतन्त्रले संकटपूर्ण परिस्थितिको सामना गरिरहेको पृष्ठभूमिमा गठन भएको नयाँ सरकार राष्ट्रिय सहमतिसहित सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता निर्धारित गर्दै जनताको अवस्था बदल्न, सरल र सहज सेवाप्रवाहमार्फत् सुशासनको प्रत्याभूत गर्न, अर्थतन्त्रका चुनौतीहरू सम्वोधन गर्दै समृद्धि संस्थागत गर्न, संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा मुलुकमा दीगो शान्ति स्थापित गर्न, देशको भूराजनीतिक अवस्थालाई हृदयंगम् गर्दै स्वतन्त्र र सन्तुलित कुटनीतिक सम्बन्ध स्थापित गर्न सरकार दृढ छ।

अन्त्यमा, ७३ औं प्रजातन्त्र दिवसले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदृढीकरण, लोकतन्त्र र संविधानको रक्षा एवं प्रगतिशील कार्यान्वयनसहित आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय प्रत्याभूत गर्न सफल रहोस् भन्ने कामनाका साथ फेरि एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु, धन्यवाद।

लोकतन्त्रविरुद्ध ‘कृत्रिम ब्ल्याकहोल’ निर्माण गर्ने सपना कसैले नदेखे हुन्छ : नैनसिंह महर

काठमाडौं –  नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताएका छन्। प्रजातन्त्र स्थापना दिवसको अवसरमा स्कुल अफ डेमोक्रेसीले काठमाडौंको नयाँ बानेश्वरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले शासकीय व्यवस्थामा लोकतन्त्र नै सबैभन्दा उत्कृष्ट शासन व्यवस्था भएको बताए।

‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो। तर, आज देशभित्र विद्यमान रहेका समस्याहरूको कारण बहुदलीय व्यवस्था हो कि भन्ने भ्रमजाल छर्ने काम लोकतान्त्रिक व्यवस्थाको जन्मजात विरोधीहरूबाट भइरहेको छ। गल्ति-कमजोरी, असल-खराब राज्य सञ्चालकहरूको हातबाट हुनसक्छ तर विषयहरूको समाधान तथा हल भने लोकतान्त्रिक प्रणाली भित्रमात्र सम्भव छ,’ महरले भने। पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको निरन्तर अधोगतिप्रति अब आफू मौन रहन नसक्ने अभिव्यक्ति दिएसँगै उत्क अभिव्यक्तिलाई इंगित गर्दै महरले उक्त धारणा राखेका हुन्।


त्यसैले जुनसुकै कुनाकन्दराबाट थालिएको लोकतान्त्रिक व्यवस्था विरोधी ‘कृत्रिम ब्ल्याकहोल’ निर्माण गर्ने दिवास्वप्न छोडेर लोकतान्त्रिक पद्धतिका माध्यमबाटै जनता र देशको समुन्नतिको महाअभियानमा लाग्ने प्रेरणा लोकतन्त्रवादी र सबैखाले अतिवादीहरूमा मिल्नुपर्ने उनले बताए।

मुलुकको समृद्धिका लागि लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउनुपर्ने महरको भनाइ छ। नागरिक अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका सङ्घर्षहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूप्रति सच्चा सम्मान पनि लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेमात्रै हुने उनले बताए।

‘जनताको आन्दोलनले निरङ्कुश राणा शासनलाई घुँडा टेकाएको सात दशक पूरा भएको छ। एक सय चार वर्षसम्म राणाहरूको स्वेच्छाकारी शासनले जनताको हकहितलाई कुण्ठित पारेको थियो। मानव अधिकारको उपयोग गर्न पाएका थिएनन्। राणाहरूको निरङ्कुश शासनबाट दबिएका जनता बिस्तारै सङ्गठित भई प्रजातन्त्रको स्थापनाका लागि आन्दोलन गरेका थिए । देशमा विद्यमान एकतन्त्रीय राणा शासनविरुद्ध सुरु भएको जनताको क्रान्तिले २००७ फागुन ७ गते सफलता पाएसँगै राणा शासनको अन्त्य गरी प्रजातन्त्रको घाम उदाएको थियो,’ उनले भने।

जनताको शक्तिका अगाडि जस्तोसुकै निरङ्कुश शासकहरूले पनि घुँडा टेक्नै पर्ने बताउँदै लोकतान्त्रिक चरित्र भएको नेता नै सच्चा जनप्रिय नेता हुने उनले बताए। ‘विश्वको इतिहासले पनि यही देखाएको छ। रुसमा जारको निरङ्कुश शासन, फ्रान्समा लुई सोहौँको निरङ्कुश शासन, बेलायतको गौरवमय क्रान्ति यसका केही उदाहरण हुन्,’ महरले भने।

नेपालमा लोकतन्त्रको स्थापना भएपछि जनताको आर्थिक जीवनस्तरमा जसरी परिवर्तन हुनुपर्नेमा त्यसो हुन नसके पनि धेरै सकारात्मक प्रभावहरू भने पक्कै परेको महरले दाबी गरे। जनताले मौलिक हकको निर्वाधरुपमा उपयोग गर्न पाउनु नै सबैभन्दा ठूलो उपलब्धि भएको उनको भनाइ छ। ‘जनताले चित्त नबुझेका कुराहरूमा आफ्नो आवाज पनि उठाउन सक्दछन् । विकासका लागि नयाँ सोच र अवधारणा आउनुका साथै सुशासन र जनउत्तरदायित्वको बहसले पनि ठाउँ पाएको छ । विकासमा जनताको सहभागिता र समान सहभागिता सुनिश्चित गर्नुपर्ने मान्यताले स्थापित भएको छ,’ उनले भने।

२००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ७३औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ। जनक्रान्तिका माध्यमबाट राणा शासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ। 

प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षकै क्रममा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा जीवनको आहुति दिएका थिए। नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको आन्दोलनले नेपालमा २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको मानिन्छ। 

फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष संघीय राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेष रूपमा दिवस मनाउँदै आएको छ। आज सरकारले प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा पनि दिएको छ।

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी कारागारबाट रिहा 

काठमाडौँ – कैलाली निर्वाचन क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी कारागारबाट रिहा भएका छन् ।

कैलाली कारागारमा थुनामा रहेका सांसद चौधरी आज रिहा भएका हुन् । जिल्ला कारागार कैलालीमा रहेका उनी राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय माफी पाएसँगै आज रिहा भएको हो।

उनीसहित कैलाली जिल्ला कारागारबाट चार जना रिहा भएका छन्। सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएका थिए ।

रिहा भए लगत्तै उनको स्वागतका लागि नागरिक उन्मुक्तिको अध्यक्ष रञ्जिता श्रेष्ठ कारागार पुगेक िथिइन् ।

चौधरीलाई विसं २०६६ सालमा ट्याक्टरमा आगजनी गरेको घटनामा अदालतले दोषी ठहर गरेर ६ महिना कैद सजाय सुनाइएको थियो। तर उनले कैद भुक्तान गरेका थिएन ।

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)नेपालले देशको समसामयिक राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, विधान अधिवेशन, विभिन्न पार्टीसँग भइरहेको एकीकरणलगायतको विषयमा छलफल गर्न आज आफ्नो कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

यही फागुन २५ गते हुन गइरहेको राष्ट्रपति र चैत ३ मा हुने उपराष्ट्रपतिको चुनावका लागि राष्ट्रपति र उपराष्ट्रपति चुनावमा पार्टीको भूमिकाबारे छलफल गर्न उक्त बैठक आज आह्वान गरिएको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिनुभयो । उहाँका अनुसार बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने भएको छ ।

यसैगरी, जसपाले नेकपा (एकीकृत समाजवादी) पार्टीलगायत अन्य साना दलहरूसँग पनि पार्टी एकीकरणका लागि छलफल गरिरहेको जनाएको छ ।

राष्ट्रपति भण्डारीद्धारा महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर पूजा अर्चना

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर पुगेर पूजा अर्चना गर्नुभएको छ ।

महाशिवरात्रिको अवसरमा राष्ट्रपति भण्डारी शनिबार पशुपतिनाथ मन्दिर पुगेर आराध्यदेव शिवको विशेष पूजा अर्चना गर्नुभएको हो । पशुपतिमा राष्ट्रपति भण्डारीलाई पशुपति क्षेत्र बिकास कोषका पदाधिकारीहरुले स्वागत गरेका थिए । महाशिवरात्रिमा अवसरमा राष्ट्रप्रमुखले पशुपतिको दर्शन गर्ने परम्परा रहेको छ ।

राष्ट्रपतिबाट टुँडिखेलमा महाशिवरात्रि बढाइँ अवलोकन

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा २६०औँ सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा शनिबार आयोजित विशेष समारोहमा सरिक भएकी छन् ।

उक्त अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गरिन् ।

राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति छिन् । नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिने गरिन्छ ।

समारोहमा राष्ट्रपति भण्डारीले नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही–२०७९ वार्षिक पत्रिका र (विसं १८७२–२००७) नेपाली सेनाको इतिहास’को विमोचन गरिन् । उनले ‘फ्री फल जम्प’मा प्रथम र दोस्रो सेनानी टेकबहादुर कार्कीलाई पुरस्कार प्रदान गरिन् । राष्ट्रपति भण्डारीले सेना दिवस समारोहमा ब्याण्ड प्रस्तुत गर्ने भारतीय र बेलायती सेनामा कार्यरत गोर्खा ब्याण्ड समूहका प्रमुखलाई उपहार प्रदान गरिन् ।

यसअघि सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नाका साथै राष्ट्रिय झन्डा र ‘सेना दिवस–२०७९’ लेखिएको ब्यानर प्रदर्शन गरियो । त्यस अवसरमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ र कवाज प्रस्तुत गरेको थियो । समारोहमा सेनाले विभिन्न रणकौशल तथा परम्परागत वेषभूषा झल्कने विविध कला, नृत्य र संगीतको धुन प्रदर्शन गरियो । कार्यक्रममा मार्चपास, पिटी र तेक्वान्दो प्रस्तुत गरियो । सो अवसरमा नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारीसाधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो ।

उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र सभामुख देवराज घिमिरे समारोहमा उपस्थित थिए । समारोहमा मन्त्रिगण, सांसद, संवैधानिक निकायका प्रमख एवं पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका लब्ध प्रतिष्ठित महानुभाव पनि शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल पुगेका थिए । समारोहमा भारतीय सेनाका पाँच पूवप्रमुख अतिथिका रूपमा सहभागी थिए ।

शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल वरपर सर्वसाधारणको घुइँचो लागेको थियो । समारोहपछि प्रधानसेनापति प्रभुराम शर्माले समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तिलाई प्रधानसेनापति प्रशंसा पदक प्रदान गरे ।

राष्ट्रपतिको उम्मेदवार सत्ता गठबन्धनको साझा उम्मेदवार हुन्छ : योगेश भट्टराई

सुर्खेत – नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेले प्रस्ताव गर्ने राष्ट्रपतिको उम्मेदवार सत्ता गठबन्धनको साझा उम्मेदवार हुने बताए ।

आज प्रेस चौतारी नेपाल, कर्णाली प्रदेश समितिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले यस्तो बताएका हुन्।

उनले भने, ‘एमालेले प्रस्तावित गरेको उम्मेदवार नै राष्ट्रपतिको उम्मेदवार हुन्छ। र, गठबन्धनभित्र रहेका दलहरूको साझा उम्मेदवार हुनेछ।’

सचिव भट्टराईले गत मंसिर ४ मा भएको आम निर्वाचन नेकपा एमालेलाई हराउन गठबन्धन बनाएर घेराबन्दी गरिएको बताएका छन् । उनले भने, ‘त्यो गठबन्धन स्वार्थ र अवसरवादी गठबन्धन थियो। त्यो गठबन्धन पुस १० गते साँझ टुट्यो। टुट्नुपर्ने नै थियो।’

एमाले–माओवादीबीच एक खालको सहमति भएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै राष्ट्रपति दिन सहमति भएको भट्टराईले बताए । उनले भने, ‘पाँच वर्षमा आधा आधा कार्यकाल प्रधानमन्त्री बन्ने उनको प्रस्ताव थियो। उन आफैले राष्ट्रपति लिनुस् भनेर दिन आएकाले कुरा अहिले पनि राष्ट्रपति एमालेकै हुन्छ। पुस १० गतेकमो भौतिक अवस्था बदलिएको छैन।’

उहाँले वर्तमान गठबन्धनमा एमालेकै व्यक्ति राष्ट्रपतिको साझा उम्मेदवार हुने दावी गर्नुभयो ।

सांसद भण्डारीको स्वास्थ्य अवस्था खतरामुक्त

काठमाडौं । ग्यास सिलिण्डर चुहिएर घाइते भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार खतरामुक्त देखिएको छ ।

उनको पहिलो शल्यक्रिया शुक्रबार सफलतापूर्वक सम्पन्न भएको थियो । नेता भण्डारीको थप उपचार बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भइरहेको छ । डा. धनन्जयका अनुसार अहिले बिहान नेता भण्डारीको सबै पारामिटर नर्मल रहेको उपचार समन्वयमा सँगै रहेका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिए ।

पहिलो शल्यक्रिया गर्दा दायाँ खुट्टामा ‘डिप इन्ज्यूरी’ रहेका कारण सोचेभन्दा धेरै समय लागेको र ‘अब्जरवेसन’ पनि कम्तीमा एक–दुई घण्टा राख्नुपर्ने नियम रहेको कारण दोस्रो सर्जरी गर्न नसकिएको जानकारी डा। मुकेशबाट प्राप्त भएको नेता कँडेलको भनाइ छ ।

नेता भण्डारीको फोक्सोको तल्लो भागमा मात्र कार्बन मोनोअक्साइडको मात्रा देखिएको र चिकित्सकको भनाइअनुसार हाल तल्लो भागमा मात्र रहेकाले हृदयमा असर नपर्ने बताइएको छ । बुधबार राति आफ्नो निवासमा ग्यास सिलिन्डर चुहिएर सांसद डा। भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । घट्नालगत्तै उनीहरु दुवै जनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो ।

नेता डा। भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि बिहीबार नै श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो । नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको थियो ।

भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो

भक्तपुर – महाशिवरात्रि पर्वको अवसरमा भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । 

सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा बिहानैबाट दर्शनार्थीको घुइँचो लागेको हो ।  मध्यराति मन्दिरमा विशेष पूजा गरेपछि दर्शनका लागि मन्दिरको चारैवटा ढोका खुला गरिएको थियो । अरू दिन मन्दिरभित्र प्रवेश गर्न नपाइने भए पनि शिवरात्रिका दिन भने दर्शनार्थीले मन्दिरभित्र प्रवेश गरेर डोलेश्वरमा आफैँले पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाइएको थियो ।

महाशिवरात्रि पर्वका लागि डोलेश्वरमा भारतबाट तीन सयभन्दा बढी साधुसन्त आएका छन् ।  डोलेश्वर आएका साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउने र फर्कने बेलामा भेटीको रूपमा यातायात खर्चको व्यवस्थासमेत गरिएको छ । यस्तै भक्तपुर दत्रातयमा पनि शिवरात्रिका अवसरमा भक्तजनको घुइँचो लागेको छ । 

राइनासका वडा अध्यक्षले लिए दुइ बिपन्न २ विद्यार्थीको अध्ययन जिम्मेवारी

लमजुङ – लमजुङको राइनास नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष शंखवहादुर सार्कीले विपन्न दुई विद्यार्थीको अभिभाकत्व लिएका छन्।

वडा अध्यक्ष सार्कीले आफूले व्यक्तिगत खर्चबाट दुई विद्यार्थीको अध्ययन खर्च उठाउने प्रतिवद्धता जनाउदै राइनास नगरपालिका वडा नं. ५ कै दुई स्थानीय विद्यार्थीको अध्ययनको जिम्मेवारी लिएका हुन । 


उनले माध्यमिक तहको शिक्षा हासिल गरी प्राविधिक धारतर्फ कक्षा ११ र १२ सिभिल इञ्जिनियर अध्ययनको लागि अन्जली कुमाल र राजन विकको अभिभाकत्व लिएका हुन । सोहि वडाको तिनपिप्लेस्थित शिशु विद्याश्रममा सिभिल इन्जिनियर अध्ययन गरिरहेका दुवै विद्यार्थीलाई ११ र १२ मा अध्ययन गर्न लाग्ने सवै खर्च व्यहोर्ने प्रतिवद्धता सहित वडाअध्यक्ष सार्कीले विद्यालयको वार्षिकउत्सवको अवसरमा कक्षा ११ मा दुवै विद्यार्थीको भर्ना र मासिक शूल्क वापत लाग्ने खर्चको ५० प्रतिशत रकमसमेत हस्तान्तरण गरेकाे विद्यालयका प्रधानाध्यापक नानुमाया पराजुलीले वताए। 

सिभिल इञ्जिनियरतर्फ कक्षा ११ र १२ मात्र सञ्चालनमा रहेको उक्त विद्यालयमा दुवै विद्यार्थीको अध्ययन पुरा भएपछि पनि आफू वडाअध्यक्ष रहदाँसम्म अन्य दुई विपन्न विद्यार्थीको अध्ययन खर्चको व्यवस्थापन गर्ने समेत वडाअध्यक्ष सार्कीले प्रतिवद्धता जनाए। 


 विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई शिक्षामा पहुँच पुर्याउन तथा कमजोर आर्थिक अवस्थाकै कारण बिचैमा अध्ययन छोड्नुपर्ने वाध्यताको अन्त्यका लागि पनि सवैले आफूले सकेको सहयोग गर्नूपर्ने वडाअध्यक्ष सार्कीको भनाई छ ।